Category: रोचक खवर

  • पार्टी गठन भएको एक साता मै बामदेव गौतम निष्काशनमा परेपछि..

    पार्टी गठन भएको एक साता मै बामदेव गौतम निष्काशनमा परेपछि..

    काठमाडौं । बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबाट उनी स्वयमः निस्कासनमा परेका छन् । विरलै हुने यस्तो घटना हुने पार्टी घोषणा गरेको एक सातामै भएको हो । गौतमले नेकपा एकता राष्ट्रिय अभियान घोषणा गर्दा उनलाई आम नेपाली पार्टी, नेकपा (राष्ट्रवादी), आधुनिक नेपाल समाजवादी पार्टी र समाजवादी केन्द्र नेपालले साथ दिएका थिए। तर आफूहरूलाई देखाएर गौतमले जथाभावी गर्न खोजेको आरोप लगाउँदै चार वटै पार्टीले उनलाई निष्काशन गरेको विज्ञप्ती निकाल्दै जनाएका छन् ।

    गौतमलाई हटाएर उनको ठाउँमा समाजवादी केन्द्रका सर्वोच्च नेता युवराज सफललाई नेतृत्व घोषणा समेत गरिएको छ । सांगठनिक अराजकता, निरंकुश तानाशाही शैली, चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरेकाले गौतमलाई कारबाही गरेको ती पार्टीको भनाई छ ।

    सम्पूर्ण बामपन्थी र समाजवादी शक्तिलाई एक ठाउँमा जोड्ने गरी नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान गठन गरिएकोमा सत्ता र शक्ति र पदका लागि बार्गेनिङको माध्यम बनाइएको समेत आरोप उनीमाथि लागेको छ । अभियान घोषणापछि उनले केपी ओली, प्रचण्ड र माधव नेपाललाई भेटेका थिए । यसबाट अभियान भित्रका गुटहरु असन्तुष्ट बनेका हुन् ।

  • ओलीको आरोप : एमालेले सरकार छाडेपछि ४९ अर्बको चामल आयात भयो

    ओलीको आरोप : एमालेले सरकार छाडेपछि ४९ अर्बको चामल आयात भयो

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालले सरकार छाडेपछि ४९ अर्ब रुपैयाँको चामल आयात भएको बताएका छन् । शनिबार अखिल नेपाल किसान महासंघले एमाले मूख्यालयमा आयोजना गरेको कार्यक्रममा ओलीले कृषि प्रधान देशमा यति धेरै चामल आयात हुनु अशोभनीय भएको उल्लेख गरे ।

    ‘हामीले सरकार छाडेपछिको मात्र हिसाब गर्दा ४९ अर्बको चामल आयात कसरी भयो ?’ उनको प्रश्न छ, ‘‘यस्तो उर्बर देशमा जहाँ यति हिमाली नदीनाला, उर्बर फाँटहरु छन्, जहाँको जनसंख्या ३ करोड भन्दा कम छ, त्यस्तो देशमा किन हामी खाद्यान्नमा आत्मनिर्भर हुन नसकेर ४९ अर्बको आयात गर्छौं, यो अशोभनीय स्थिति हो ।’

    सरकारले उपयुक्त नीति नलिएका कारण कृषि क्षेत्र धरासायी हुँदै गएको उनको आरोप छ । सरकारले अझै पनि किसानका लागि मल ल्याउने प्रबन्ध गर्न नसकेको भन्दै उनले आलोचना गरे । उनले मल ल्याउन नसकेको भन्दै कृषि मन्त्रीले राजिनामा दिनु पर्ने बताए ।

  • आज २१ जुन, वर्षकै लामो दिन

    आज २१ जुन, वर्षकै लामो दिन

    काठमाडौं । २१ जुन, आज यो वर्षकै लामो दिन हो । जुन २१ तारिखलाई वर्षकै सबैभन्दा लामो दिन मानिन्छ । यस दिन पृथ्वीको उत्तरी गोलार्द्धमा दिन लामो हुन्छ । नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आज १३ घण्टा ४५ मिनेटको छ । सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले २१ जुनमा दिन वर्षकै लामो हुन्छ ।

    जुन २०, २१ र २२ तारिखमध्ये कुनै एक दिन लामो दिन पर्दै आएको छ । भोलिदेखि बिस्तारै दिन छोटो र रात लामो हुँदै जान्छन् । आजबाट सामान्यतया जाडो याम प्रारम्भ भएको मानिन्छ ।

  • सडक खन्दा कसौडीभरी प्राचिन चाँदीका सिक्का भेटिएपछि…

    सडक खन्दा कसौडीभरी प्राचिन चाँदीका सिक्का भेटिएपछि…

    दाङ । दाङको तुलसीपुरमा सडकको नयाँ ट्र्याक खन्ने क्रममा गाडेको अवस्थामा एक कसौँडी पुराना चाँदीका सिक्का भेटिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ४ सिमराटोलको खेत हुँदै आँखा अस्पतालसम्मको नयाँ ट्र्याक खोल्ने क्रममा डोजरका चालकले गत बुधवार गाडेको अवस्थामा एक कसौँडी प्राचीन सिक्का फेला पारेका हुन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार ५ सय ३७ वटा सिक्का फेला परेको छ । जसमा ७६ वटा भारतीय र ४ सय ६१ वटा सिक्कामा श्री ३ लेखिएको छ ।

    फेला परेका सबै प्राचीन मुद्राहरु डोजरका चालक सुवासचन्द्र चौधरीले आफ्नो घरमा लागेर राखेको र अर्का चालक राजन खड्काले भागबन्डा नमिले पछि त्यो कुरा जग्गा धनी शोभा भण्डारीलाई भनेपछि गाडेको धन फेला परेको कुरा सार्वजनिक भएको हो । प्रहरी निरीक्षक शाहीका अनुसार चौधरीले ती सिक्काहरु घरमा लगेर धातुको कसौँडीको भाँडोबाट निकालेर छुट्टै एउटा पोलेथिनमा राखेको अवस्थामा फेला परेको हो । यी सबै सिक्काहरु झन्डै साढे दुई सय वर्ष पहिलेका हुन्।

  • आफुले कसैमाथि हातपात नगरेको पर्यटन मन्त्री आलेको स्पष्टीकरण

    आफुले कसैमाथि हातपात नगरेको पर्यटन मन्त्री आलेको स्पष्टीकरण

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात नगरेको दावि गरेका छन् । शुक्रबार भाइरस अडियो र समाचारको खण्डन गर्दै उनले कुनै पनि कर्मचारीमाथि दुर्व्यवहार नगरेको बताएका हुन् । उनले विभिन्न सञ्चारमाध्यममा कार्यकारी अध्यक्षमाथि हातपात गरेको भनी आफूलाई जोडेर आएका समाचारप्रति आफ्नोे गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । उनले मन्त्रालय र सिंहदरबार परिसरमा रहेका सीसीटिभी क्यामेरा हेर्न समेत भनेका छन् ।

    आवश्यक परे मन्त्रालय र प्रशासनले सीसीटिभीका फुटेज उपलब्ध गराउन सक्नेछ । कतिपय कामहरूमा निर्देशन दिनुपर्ने, सचेत गराउनुपर्ने, सम्झाउनुपर्ने हुनसक्ने र मन्त्रालयलको नेतृत्वकर्ताको हैसियतले त्यो क्रम निरन्तर पनि रहने भन्दै मन्त्री आलेले कर्मचारीमाथि भने दुर्व्यवहार नभएको उल्लेख गरेका छन् ।

    पछिल्ला दिनमा उडान सङ्ख्या वृद्धि हुँदै गएको तर जापानलगायतका गन्तव्यमा सर्वसाधारण, विद्यार्थी, भारतमा उपचारमा जाने बिरामीलगायतले टिकट सहजै नपाउने, निगमकै कारण बजारमा कृत्रिम अभाव गराइ आफू निकट एजेन्सीबाट मात्रै टिकट बिक्री गर्ने गरेको भन्नेजस्ता गुनासो अत्यधिक आएपछि पालिका चुनावअघि नै कार्यकारी अध्यक्षलाई स्पष्टीकरण सोधिएको र त्यसपछि पनि सचेत गराउने काम भने जारी नै रहेको उनको भनाई छ । आफ्नाविरुद्ध निरन्तर प्रचारमा लागेका केही व्यक्तिहरूले आफूलाई बदनाम गर्नका लागि समाचार लेखाएको समेत उनको आरोप छ ।

  • युवती प्रयोग गरेर ब्ल्याकमेल गर्ने गिरोह पक्राउ

    युवती प्रयोग गरेर ब्ल्याकमेल गर्ने गिरोह पक्राउ

    काठमाडौं । युवतीहरुलाई प्रयोग गरेर ब्ल्याकमेल गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले उपत्यकाका विभिन्न स्थानमा अपराधिक लाभ लिने उद्देश्यले युवतीको प्रयोग गरी ब्ल्याकमेल गर्ने गिरोहलाई समातेको हो ।

    कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार पक्राउ पर्नेमा सूर्यविनायक–९ भक्तपुरकी १९ वर्षीय निकिता केसी, ढुसेनी–३, काभ्रपलाञ्चोककी १८ वर्षीय मनिषा परियार, हलेसी–७, खोटाङका ३२ वर्षीय डिकबहादुर शर्मा, इटहरी–७, सुनसरीका ३० वर्षीय सञ्जिब दर्जी, मेलुङ–५, दोलखाका २५ वर्षीय निमा लामा र ३० वर्षीय पासाङ लामा छन् ।

    एसपी कोइरालाका अनुसार उनीहरुले सामाजिक सञ्जालको माध्यमबाट युवतीको प्रयोग गरेर पुरुषहरुलाई खाजा खाने बहानामा रेष्टुरेन्टमा लगेर भेटघाट गर्ने गराउने गरेका थिए । त्यसपछि ती व्यक्तिहरुको घर, कार्यालय तथा सवारीसाधन लगायतका सम्पूर्ण विवरण राख्ने गरेका थिए ।

    ‘सबै विवरण संकलन गरेर झुठ्ठा मुद्दा लगाएर फसाइदिने भन्दै डर, धम्की तथा त्रास देखाएर मोलमोलाई गर्ने गरेको प्रहरीको भनाई छ । दबाबमुलक रुपमा रकम दिनलाई बाध्य गराउन केटीको नक्कली पारिवारिक सदस्य, वकिल तथा पत्रकार खडा गरेर मोलमोलाई गरी मासिक हैरानी दिने गरेको खुलेको समेत प्रहरीले जनाएको छ ।

  • पर्यटनमन्त्री प्रेम आले पुनः विवादित, अपशब्द बोलेको अडियो सार्वजनिक

    पर्यटनमन्त्री प्रेम आले पुनः विवादित, अपशब्द बोलेको अडियो सार्वजनिक

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आले पुनः विवादमा तानिएका छन् । उनले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई अपशब्द तथा अश्लील गाली गरेको अडियो सार्वजनिक भएको छ । अश्लिल गालीगलौज समेटिएको अडियो सार्वजनिक भएपछि उनको सामाजिक सञ्जालमा आलोचना थालिएको छ । यसअघि मन्त्री आलेले भारतको मुम्बई पुगेका एक नेपाली युवकसँग गालीगलौज गरेको भिडियो सार्वजनिक भएपछि आलोचित भएका थिए । खासगरी अश्लिल बोल्दै गाली गर्ने शैलीका कारण उनी बदनाम बनेका हुन् ।

  • अदालतको आदेशपछि बेलायतले रुवाण्डा पठाउन लागेका सात शरणार्थी लण्डनमै रोकिए, यस्तो छ कारण

    अदालतको आदेशपछि बेलायतले रुवाण्डा पठाउन लागेका सात शरणार्थी लण्डनमै रोकिए, यस्तो छ कारण

    काठमाडौं । बेलायतबाट मङ्गलवार शरणार्थीहरूलाई रुवान्डा पठाउन लागिएको उडान अन्तिम समयको कानुनी लडाइँपछि रद्द भएको छ । उक्त उडानमार्फत् सात जनालाई ब्रिटेनबाट पूर्वी अफ्रिकी देशमा फिर्ता पठाउने तयारी थियो । तर युरोपेली मानव अधिकार अदालतको हस्तक्षेपपछि उक्त उडान रोकियो। ब्रिटेनकी गृहमन्त्री प्रीति पटेलले उक्त निर्णयका कारण आफू निराश भए पनि विचलित नहुने भन्दै अब अर्को उडानको तयारी सुरु हुने बताइन्।

    उक्त रद्द गरिएको उडान ब्रिटेनको एउटा अदालतले त्यसलाई अघि बढाउन सकिन्छ भनेपछि र ब्रिटेनमा भएका श्रृङ्खलाबद्ध कानुनी लडाइँ असफल भएपछि तय भएको थियो। तर ब्रिटेनका अदालत र युरोपेली मानव अधिकार अदालतमा उक्त जहाजमा फर्कनुपर्ने व्यक्तिहरूले अपिल गरेपछि पछिल्लो घटना भएको हो। उक्त विमानले ब्रिटिश समयअनुसार रातको साढे १० बजे विल्टशर सैन्य विमानस्थलबाट उडान गर्नुपर्ने थियो।

    तर स्ट्रासबर्गस्थित युरोपेली मानव अधिकार अदालत र लन्डनका अदालतहरूबाट त्यससँग सम्बन्धित कतिपय निर्णयहरू आएपछि सबै यात्रुलाई जहाजबाट ओरालिएको थियो। उडान प्रस्थानको केही घण्टा अघि मात्र एक विज्ञप्तिमा युरोपेली मानव अधिकार अदालतले ूकेएनू भनेर चिनाइएका एक इराकी व्यक्तिको मामिलामा ूतत्काल अन्तरिम उपायू गर्न आदेश दिएको जनाएको थियो। उक्त अदालतले त्यस्तो अनुरोध केवल असाधारण अवस्थाका आधारमा प्रदान गरिएको जनाएको छ।

    निवेदनकले क्षतिको वास्तविक जोखिमको सामना गर्ने अवस्थामा मात्र त्यस्तो आदेश दिइने उसले स्पष्ट पारेको छ। उक्त निर्णय लन्डनका न्यायाधीशहरूको निर्णयभन्दा विपरीत देखिएको छ। लन्डनका न्यायाधीशहरूले चाहिँ ती व्यक्तिलाई रुवान्डा पठाउँदा तत्काल कुनै खतरा नभएको देखिएको आदेश दिएका थिए। युरोपेली मानव अधिकार अदालतले मानव अधिकार कानुनको दायराको निरीक्षण गर्ने गर्छ। उक्त कुरामा अन्य राष्ट्रहरूसहित ब्रिटेनले पनि सहमतिमा हस्ताक्षर गरेको छ। यो युरोपेली सङ्घभन्दा भिन्न रहेको संस्था हो।

    ब्रिटेनको उच्च अदालतका न्यायाधीशले गत शुक्रवार मानिसहरूलाई रुवान्डा फिर्ता पठाउने नीतिको पूर्ण समीक्षा हुनुपर्ने आदेश दिएका थिए। तर गृहमन्त्री पटेलले यस बीचमा केही शरणार्थीहरूलाई कानुनी रूपमै फिर्ता पठाएकी छन्। अब उक्त नीति गैरकानुनी भएको पाइएमा केही व्यक्तिलाई रुवाण्डाबाट बेलायत फर्काउन सकिन्छ। यसअघि प्रधानमन्त्री बोरिस जोन्सनले आफू उक्त नीतिबाट विचलित नहुने बताएका थिए।
    बीबीसी

  • प्रेमीकी श्रीमतीमाथि हातपात गरेको भन्दै लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला खत्रीविरुद्ध उजुरी

    प्रेमीकी श्रीमतीमाथि हातपात गरेको भन्दै लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला खत्रीविरुद्ध उजुरी

    दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका ५ कि मीना भण्डारी बस्नेतले लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला खत्री वलीविरुद्ध जिल्ला प्रहरी कार्यालय घोराहीमा उजुरी दिएकी छिन् । मीनाले आफू र छोरीमाथि अनाहकमा घरभित्रै पसेर कुटपिट गरेको तथा घरका सरसामान जथाभाबी फालिदिएको भन्दै वलीविरुद्ध किटानी जाहेरी दिएको प्रहरीको भनाई छ । मीनाका पति एकराज बस्नेत भने सम्पर्कविहीन छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । राज्यमन्त्री वलीलाई बुटवल पठाइएको छ ।

    विमलाले बिहान तुलसीपुर नगरपालिका वडा नम्बर ५ का एकराज बस्नेतको घरमा गएर एकराजकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी छोरीलाई हातपात गरेपछि प्रहरीले पक्राउ गरेको थियो । विमलाको कुटाइबाट मीनाको अनुहार र छातीमा चोट लागेको र कपडा च्यातिएको प्रहरीले बताएको छ । राज्यमन्त्री वलीले एकराज बस्नेत आफ्नो श्रीमान् रहेको दाबी गर्दै आफूहरूमाथि कुटपिट गरेको पीडित मीना भण्डारीले बताएकी छिन् ।

    विमला एकराजको घरमा सुरक्षागार्डसहित झण्डावाल गाडीमा पुगेकी थिइन् । विमलालाई प्रहरीले इलाका प्रहरी कार्यालयबाट बाहिर निकाल्दा पीडितका आफन्तले कारबाहीको माग गर्दै नाराबाजी गरेका थिए । विमला पछिल्लो समय आफ्नै व्यवहारका कारण आलोचित हुँदै आएकी छिन् ।

  • नुवाकोटमा एक व्यक्ति आठ घण्टासम्म प्रसारण लाइनको तारमा चढेपछि..

    नुवाकोटमा एक व्यक्ति आठ घण्टासम्म प्रसारण लाइनको तारमा चढेपछि..

    नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्री ए को प्रसारण लाइनमा चढेका व्यक्तिलाई करिब ८ घण्टापछि उद्धार गरिएको छ । नेपाली सेनाको रेञ्जर गणको उद्धार टोलीले उनलाई प्रसारण लाइनमै नियन्त्रणमा लिएर भुइँमा झारेको हो ।

    शनिबार विहान करिब ११ बजे ककनी गाउँपालिका ७ स्थित त्रिशुली–मातातीर्थ प्रशारण लाइनमा चढेका बेलकोटगढी नगरपालिका-१२ का माइला विक दिनभर प्रसारण लाइनको तारमा झुण्डिएर बसेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दाले उनलाई प्रसारण लाइनबाट ओराल्ने कोशिस गर्दा पनि असफल भएका थिए । साढे ६ बजेतिर नेपाली सेनाको उद्धार टोली पुगेपछि उनलाई भुइँमा झारिएको नुवाकोट प्रहरीले जनाएको छ ।

    नेपाली सेनाको उद्धार टोलीले इक्वीपमेन्टसहित पोलमा चढेर ती व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो । प्रसारण लाइनमा चढेका विक दिनभर तारम झुण्डिएर बस्दा त्रिशुली थ्री ए र यस नजिकका अरु साना जलविद्युत गृह बन्द गरिएको थियो । प्रशारण लाइनमा विद्युत प्रवाह गर्दा दुर्घटना हुने जोखिम भएका कारण करिब ८ घण्टा विद्युत प्रशारण बन्द गरिएको थियो ।

  • टर्कीले किन नाम राख्यो टर्कीय ?

    टर्कीले किन नाम राख्यो टर्कीय ?

    इस्तानबुल । सन् १९२३ मा विभिन्न मुलुकको उपनिवेशबाट स्वतन्त्र भएको टर्कीले नाम परिवर्तन गरी टर्कीये राखेको छ । अंकाराको आग्रहसँगै संयुक्त राष्ट्र संघले टर्कीको नाम टर्कीये राख्न सहमति दिएको हो । संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफा दुजारिचले बुधबार टर्किस विदेशमन्त्री मेभलुत चाभुसोलुले पठाएको पत्र प्राप्त भएको जानकारी दिएका छन् । पत्रमा अबदेखि सबै गतिविधिमा टर्कीको सट्टा टर्किये प्रयोगमा ल्याउन आग्रह गरिएको थियो । प्रवक्ता दुजारिचका अनुसार पत्र प्राप्त भएसँगै नाम परिवर्तन भइसकेको छ ।

    विदेशमन्त्री चाभुसोलुले भनेका छन्, ‘संयुक्त राष्ट्र संघ र अन्य अन्तर्राष्ट्रिय संगठन र मुलुकहरूका लागि पनि टर्कीये प्रयोगमा ल्याउन हामी सफल भएका छौँ।’ गत डिसेम्बरमै राष्ट्रपति रेचेप तय्यप एर्दोआनले सबै भाषामा टर्किये सम्बोधन गरिने बताएका थिए । राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा टर्कियेलाई अम्ब्रेला ब्रान्डका रूपमा स्विकारिएको छ, ’उनले भनेका थिए, ‘टर्किस नागरिकको संस्कृति, सभ्यता र मान्यतालाई सही प्रतिनिधित्व टर्किये ले नै गर्नेछ। राष्ट्रपति एर्दोआनले विभिन्न कम्पनीलाई निर्यात गरिने वस्तुमा पनि मेड इन टर्किये लेख्न सल्लाह दिएका थिए ।

    टर्कीले क्रिसमस, नयाँ वर्ष र थ्यांक्सगिभिङसँग जोडिएको चरा बुझिने भएकाले पनि देशको नाम परिवर्तन गरिएको बताइएको छ । त्यस्तै क्याम्ब्रिज इंग्लिस डिक्सनरीमा पनि टर्कीुलाई असफल वा मूर्ख व्यक्ति रूपमा परिभाषित गरिएको छ । आफ्नो मुलुकको नाम परिवर्तन गर्ने टर्की पहिलो मुलुक होइन। सन् २०२० मा हल्यान्डबाट नेदरल्यान्ड्स गरिएको थियो । ग्रीससँगको राजनीतिक विवादका कारण युगोस्लाभ गणतन्त्र म्यासेडोनियाबाट नाम परिवर्तन गरी नर्थ म्यासेडोनिया बनाइएको थियो । त्यस्तै सन् २०१८ मा राजा स्वाती तेस्रोले स्वाजिल्यान्डको नाम परिवर्तन गरी इस्वातिनी बनाएका थिए । त्यस्तै सन् २०१६ मा चेक गणतन्त्रले आफ्नो आधिकारिक नाम चेकिया बनाएको थियो ।

  • ओलीप्रति आक्रामक प्रचण्ड : आँखा जुधाएर बहस गर्न चूनौति

    ओलीप्रति आक्रामक प्रचण्ड : आँखा जुधाएर बहस गर्न चूनौति

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रप्रति गरेको टिप्पणीलाई लिएर अध्यक्ष प्रचण्ड आक्रामक बनेका छन् । संसदमा ओलीले कुनै दल अरुको सहारा बीना निर्वाचनमा जान नसक्दै भन्दै व्यंग गरेका थिए । साथै उनले जनयुद्धबारे समेत कटाक्ष गरेका थिए । जवाफमा प्रचण्डले एउटा कालखण्डमा भएको आन्दोलनलाई लिएर पटक पटक प्रहार गर्दा अन्याय हुने बताए । साथै उनले भने, ‘तपाइहरु पनि टाउको काटेर जेल गएको हो भन्यो भने के हुन्छ ?’ एमालेको विगत समेत सोही रहेको तर्फ उनले स्मरण गराए ।

    एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउन माओवादी र आफुले ठूलो योगदान गरेको भन्दै आगामी निर्वाचनबाट एक्लै एमालेको प्रधानमन्त्री बनेर देखाउन समेत प्रचण्डले चूनौति दिए । ओलीको प्रवृत्तिसँग काम गर्न असहज भएको भन्दै उनलेृ एमालेका अन्य नेता र कार्यकर्तासँग काम गर्न भने कुनै कठिन नभएको बताए । दाहालले प्रतिनिधिसभाको शनिबारको बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि सहभागी हुने क्रममा ओलीलाई आफ्नो प्रवृत्ति सुधार्न सुझाव दिए ।

    उनले भने, ‘मलाई त एमालेका धेरै नेता कार्यकर्ताप्रति भरोसा, विश्वास छ अहिले पनि । यो प्रवृत्ति जसमा यति धेरै अहंकार, यतिधेरै दम्भ र निषेधात्मक प्रवृत्ति नहुने हो भने एमालेका नेता कार्यकर्तासँग काम गर्न कठिन हुने देखिँदैन ।’ यसअघि प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा स्थानीय तहको निर्वाचन, राष्ट्रिय सभाको निर्वाचन, संघीय र प्रदेश सरकार गुमाएको कुरालाई लिएर ओलीले आत्मसमीक्षा गरी वामपन्थी एकताको कुरा गर्ने अपेक्षा गरेको तर त्यसो नभएको बताए । एमाले अध्यक्ष ओलीले निर्वाचनमा माओवादी पत्तासाफ हुने भनेको सम्झँदै उनले आँखा जुधाएर बहसमा आउन समेत ओलीलाई चूनौति दिए ।

  • एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको आह्वान : जनमतको कदर गर

    एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको आह्वान : जनमतको कदर गर

    काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले छिटपुट घटनालाई लिएर समग्र निर्वाचनबारे धारणा बनाउन नहुने बताएका छन् । एमाले अध्यक्ष ओलीले राज्यसत्ताको दुरुपयोग भएको, पञ्चायत कालमा भन्दा पनि बढ्ता बुथ कब्जा गर्ने काम गरेको भन्दै भन्दै संसदमा सरकारको आलोचना गरेका थिए । जवाफमा प्रधानमन्त्री देउवाले प्रधानमन्त्री देउवाले छिटफुट घटनालाई लिएर निर्वाचनप्रति संशय व्यक्त नगर्न आग्रह गरे ।

    उनले भने, ‘छिटफुट घटनालाई दिएर निर्वाचनको समग्र प्रक्रिया र परिणमममा संशय व्यक्त गर्नु उपयुक्त हुन्न, ‘सार्वभौम जनता नै निर्णयक शक्ति भएकाले जनमतको कदर गर्नुको विकल्प छैन ।’ उनले नीति तथा कार्यक्रममा ऐतिहासिक सन्धि, नक्सा, तथ्य र प्रमाणाक आधारमा कूटनीतिक माध्यमबाट सीमा सम्बन्धमा बाँकी रहेका विषय समाधान गरिने उल्लेख भएको पं्रसंग निकाले । यसअघि संसदमा ओलीले लिपुलेक, लिम्पियाधुरा, लिपुलेकबारे नीति तथा कार्यक्रममा उल्लेख नभएको भन्दै प्रश्न गरेका थिए ।

    प्रधानमन्त्री देउवाले भने, , ‘लिम्पियाधुरा, लिपुलेक र कालपानी नेपालको भूमि नेपालको हो भन्नेमा नेपाल सरकार प्रष्ट छ ।’ बुढीगण्डकी जलविद्यत् आयोजना नेपालले नै बनाउने निर्णय गरेको, बीआरआईबारे केही उल्लेख नभएको भन्दै ओलीले परराष्ट्र नीतिमाथि प्रश्न उठाएका थिए । अमेरिकी विदेश उपमन्त्रीले गुम्बा भ्रमण गरेको विषयमा लिएर ओलीले नेपाल एक चीन नीतिमा प्रतिवद्ध छ कि छैन भनेर प्रश्न गरेका थिए ।

    प्रधानमन्त्री देउवाले नेपाल एक चीन नीतिप्रति दृढ रहेको बताए । अमेरिकी उपमन्त्रीको गुम्बा भ्रमणबारे ओलीले उठाएको प्रश्नमा देउवाले छिमेकी मित्रराष्ट्रविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिन सरकार सचेत रहेको बताए । नेपाल सरकारको आर्थिक सामाजिक विकासमा मित्र राष्ट्र तथा अन्तर्राष्ट्रिय संघ संस्थाबाट प्राप्त हुने उदार सहायता र सहयोगका लागि आभार समेत व्यक्त गरे ।

  • सिन्धुलीका डोरबहादुर बने विश्वकै होँचो व्यक्ति

    सिन्धुलीका डोरबहादुर बने विश्वकै होँचो व्यक्ति

    काठमाडौं । सिन्धुलीका डोरबहादुर खपाङ्गीले विश्वकै होचो किशोर बनेका छन् । उनले यस्तो विश्व कीर्तिमान बनाएपछि गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखिएको छ ।


    ७३.४३ सेन्टिमिटर अर्थात २ फिट ४।९ इन्च अग्ला १८ वर्षका खपाङ्गीले संसारकै होचा किशोर (टीनएजर) मा नाम लेखाउन सफल भएका हुन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा गिनिज बुक अफ वर्ल्ड रेकर्डसको प्रमाणपत्र हस्तान्तरण गरियो ।

  • सुन भन्दै इटा बेच्न खोजेपछि…

    सुन भन्दै इटा बेच्न खोजेपछि…

    दाङ । दाङको तुलसीपुरमा माटोको इँटालाई सुन भनी झुक्याएर बिक्रि गर्न खोजेपछि पाँच जना प्रहरीको फन्दामा परेका छन् । पक्राउ पर्नेमा दाङको राजपुर गाउँपालिका ६ खाङ्ग्रानाका २६ वर्षीय राजकुमार बुढा, २४ वर्षीय प्रकाश खड्का, दार्चुलाको व्यास गाउँपालिका २ का २३ वर्षीय सुरेन्द्र सिंह धामी रहेका छन् । यसैगरी सल्यानको शारदा नगरपालिका १ की ४९ वर्षीया सावित्रा बुढाथोकी र सल्यानकै कुमाख गाउँपालिका १ की ३० वर्षीया गीता बुढा रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

    हिजो आइतवार राति तुलसीपुर उपमहानगरपालिका ६ को एकान्त होटलमा नक्कली सुन बिक्री, वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट झोलाभित्र लुकाइ राखेको माटोको दुई वटा पक्की इँटा र सुनजस्तो देखिने धातुको टुक्रा एक थान बरामद गरिएको प्रहरीले बताएको छ ।

  • चुनाव सकिएको तीन दिन पछि एमालेले भन्यो : धाँधली भयो

    चुनाव सकिएको तीन दिन पछि एमालेले भन्यो : धाँधली भयो

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तह निर्वाचनमा सत्ताधारी गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ। आइतवार एक वक्तव्य जारी गर्दै एमालेका महासचिव शङ्कर पोखरेलले सरकार पक्षीय दलहरूले प्रशासनको दुरुपयोग गर्दै धाँधली गरेको आरोप लगाएका छन्। तर, निर्वाचन सकिएको तीन दिन पछि एमालेको यस्तो वक्तब्य आउनुलाई भने मानिसहरुले आफ्नो पक्षमा जनमत आउने नदेखिएपछि आएको प्रतिक्रियाका रुपमा मात्र बुझेका छन् ।

    अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेले सबैभन्दा धेरै पालिकाहरूमा जित हासिल गरे पनि मतगणनाको प्रारम्भिक नतिजाले यो दलले यसअघिको जस्तो नतिजा ल्याउन नसक्ने सङ्केत गरेको छ। एमालेले स्थानीय तह निर्वाचन सुरु हुनुभन्दा अघि, मतदानको क्रममा र मतगणनाको क्रममा योजनाबद्ध धाँधली भएको भनेको छ । एमालेले आफ्नो दल र उम्मेदवारहरूको तर्फबाट कतिपय पालिकाको पुनः मतदान र मतगणना गराउन माग गर्दै दिएको निवेदनको सुनुवाइ गर्न निर्वाचन आयोगसँग माग समेत गरेको छ ।

  • प्रधानमन्त्री शेर बहादुर देउवाको वडामा कांग्रेस पराजित

    प्रधानमन्त्री शेर बहादुर देउवाको वडामा कांग्रेस पराजित

    डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाकै वडामा कांग्रेसका उम्मेदवार पराजित भएका छन् । यहाँ देउवाले मतदान गरेका थिए । वडामा कांग्रेस बिपीका उम्मेदवार विजयी भएका छन् । डडेल्धुराको गन्यापधुरा वडा नम्बर १ रुवाखोलामा कांग्रेसका उम्मेदवारलाई हराउँदै कांग्रेस बिपी (करुवा चुनाव चिन्ह) का नरेश भण्डारी अध्यक्षमा विजयी भए । भण्डारीले ६७३ मत ल्याए । कांग्रेस उम्मेदवार चन्द्रबहादुर देउवाले ५४४ मात्र मत ल्याउन सके ।

  • ओलीको आरोप : सत्तापक्षले हिंसा भड्कायो

    ओलीको आरोप : सत्तापक्षले हिंसा भड्कायो

    काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावमा सत्ता पक्षले दर्जनौं स्थानमा हिंसा भड्काएको आरोप लगाएका छन् । स्थानीय तह निर्वाचनको मतदान सम्पन्न भएपछि वक्तव्य जारी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षबाट अधिनायकवादी कार्य भएको उल्लेख गरेका छन् ।

    उनले भनेका छन्, ‘हामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित होस् भन्ने चाहन्थ्यौं, तर सत्तापक्षीय गठबन्धनले केही स्थानमा हाम्रा विरुद्ध नक्कली मतपत्र समेत छापी वितरण गर्ने, उत्तेजनापूर्व गतिविधि गरी अनावश्क रुपमा वातावरण विथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने जस्ता कार्य गर्‍यो ।’

    त्यस्ता ठाउँमा गृह प्रशासन अस्वभाविक रुपमा असन्तुलित भएको भन्दै एमालेले अध्यक्ष ओलीले भनेका छन्, ‘यस प्रकृतिका घटना दर्जनौं स्थानमा भएका छन् । स्वतन्त्र निर्वाचनविरुद्ध भएका यस्ता घटनाको विरोध गर्दै सरकारको पूर्वाग्रही र पक्षपाती व्यवहारप्रति म दुःख व्यक्त गर्दछु ।’

  • नेपालमा मैले बोलेको बुझ्ने थोरै मात्र बुद्धिजिवी छन् : ओली

    नेपालमा मैले बोलेको बुझ्ने थोरै मात्र बुद्धिजिवी छन् : ओली

    पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले बोलेका कुरा बुझ्ने थौरै मात्र बुद्धिजीवि नेपालमा रहेको बताएका छन्। पोखरामा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेका नीति बङ्ग्याएर प्रस्तुत गर्न खोजिएको आरोप लगाए । ‘एमालेका नीतिहरू बङ्ग्याएर प्रस्तुत गर्न खोजियो, मैले बोलेको त बुझ्ने बुद्धिजीवि थोरै मात्र छन् कि क्या हो नेपालमा भन्ने लाग्छ,’ उनले भने।

    आफूले शास्त्रका कुरा गर्दा उखान टुक्का भन्ने गरिएको उनको आरोप छ । ‘मैले कहाँ शास्त्रका कुरा गर्छ, उसले उखान टुक्का भन्, कांग्रेसका नेताले भन्नु ठिकै हो बुझ्दैनन् उनीहरू,’ उनले भने ‘तर अरूले पनि कतिपय केही मानिस छन् बुद्धिजीवि उनीहरूले पनि मैले बोलेका कुरालाई उखान टुक्का भन्छन्।’

  • आज महाविनासकारी भूकम्पको सातौं वार्षिकी, सुरक्षात्मक उपाय अपनाउन राष्ट्रपतिको आह्वान

    आज महाविनासकारी भूकम्पको सातौं वार्षिकी, सुरक्षात्मक उपाय अपनाउन राष्ट्रपतिको आह्वान

    काठमाडौं । नेपालमा विनासकारी भूकम्प आएको आज सातौं वार्षिकी आज मनाईंदैछ । यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विपद् जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्व तयारी एवं विपद्को समयमा अपनाउनुपर्ने सुरक्षात्मक उपायबारे समुदायस्तरमै सचेतना अभिवृद्धि गरिनुपर्ने बताएकी छन्।

    राष्ट्रपति भण्डारीले आज सातौँ भूकम्प स्मृति दिवसका अवसरमा जारी गरेको सन्देशमा विपद्को समयमा अपनाउनुपर्ने सुरक्षात्मक उपाय समुदायस्तरमा पुर्याउन सङ्घीय तथा प्रदेश सरकार र स्थानीय तहको अहम् भूमिका रहेको उल्लेख गरेकी छन्। साथै, उनले यस विषयमा सम्बद्ध सबैको ध्यानाकर्षण गराएकी छिन् । गोरखाको बारपाक केन्द्रविन्दु भई २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पहरूमा परी जीवन गुमाउनेप्रति उनले श्रद्धासुमन व्यक्त गरेकी छन्।


    बाँकी रहेका कामहरू सम्पन्न गर्ने जिम्मेवारीसमेत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट सम्बन्धित निकायहरूलाई हस्तान्तरण भइसकेको र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायत भूकम्पपश्चात्को पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यहरूमा सहयोग गर्ने मित्र राष्ट्रहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरू र स्वयंसेवकहरू सबैलाई राष्ट्रपति भण्डारीले धन्यवाद ज्ञापन गरिन्।

  • चीन हाइपरसोनिक विमान दौडमा, २ घण्टामै बेइजिङबाट न्यूयोर्क पुग्ने

    चीन हाइपरसोनिक विमान दौडमा, २ घण्टामै बेइजिङबाट न्यूयोर्क पुग्ने

    सीएनएन । चीनको बेइजिङमा आधारित स्पेस यात्रासम्बन्धी कम्पनी लिङकङ टिआनशिङले प्रतिसेकेन्ड १.६ किलोमिटरको गतिमा यात्रा गर्नसक्ने सम्भावना बोकेको व्यावसायिक हवाई यात्रा विकसित गरिरहेको छ । यो भनेको चीनको सांघाई सहरबाट अमेरिकाको न्यूयोर्कसम्म दुई घण्टामै पुग्न सकिने गति हो ।

    हाइपरसोनिक विमान भनेको आवाजको गतिभन्दा ५ गुणा तेज रफ्तारमा यात्रा गर्न सकिने उडान हो । सो फर्मले अहिले नै प्रचारका लागि आकर्षक एनिमेटेड भिडियो सार्वजनिक गरिसकेको छ, जसमा यात्रुहरूले हेल्मेट या स्पेससुट नलगाई १२ वटा सिट भएको विमानमा यात्रा गरिरहेका छन् । यसको गति बढाउन दुईवटा ‘टाइटेनिक बुस्टर’ रकेट जडान गरिएको छ ।

    यो विमान प्रतिघण्टा ७ हजार किलोमिटरसम्म यात्रा गर्न सक्ने छ । कम्पनीको वेबसाइटका अनुसार यसको पहिलो परीक्षण उडान अबको तीन वर्षमा सम्पन्न हुनेछ जसपछि २०३० सम्म आइपुग्दा विमानले पूर्ण रूपमा हाइपरसोनिक उडान सञ्चालन गर्ने छ ।

    यसरी हाइपरसोनिक उडानप्रति विश्वमा बढ्दो आकर्षण छ, जुन रेसमा चीन पनि पछि पर्न नचाहेको स्पष्ट देखिन्छ । यसमा चिनियाँ सरकारबाट उल्लेखनीय लगानी हुने हुनाले पनि यस्ता परियोजना अन्य राष्ट्र भन्दा त्यहाँ छिटो सम्पन्न हुन सक्ने अनुमान गरिएको छ जसले चीनलाई यो हाइपरसोनिक दौडमा अग्रता दिलाउने छ ।

    गत अगस्टमा मात्र शाङ्घाईको लगानीकर्ता मेट्रिक्स पार्टनर्स चाइना र सरकारको स्वामित्वमा रहेको सांघाई गोसेङ ग्रुपले यसका लागि सुरुआती ४ करोड ७० लाख डलरको आर्थिक कोष खडा गरेका थिए ।

  • सोमबार एमाले प्रवेश गरेका बेनिघाट गाउँपालिकाका अध्यक्ष पित्तबहादुर मंगलबार माओवादी मै फर्किए

    सोमबार एमाले प्रवेश गरेका बेनिघाट गाउँपालिकाका अध्यक्ष पित्तबहादुर मंगलबार माओवादी मै फर्किए

    काठमाडौं । सोमबार नेकपा एमालेमा प्रवेश गरेका धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) मंगलबार भने नेकपा माओवादी केन्द्रमा मै फर्किएका छन् । उनले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट माला लगाएका थिए । तर, मंगलबार भने विज्ञप्ति नै निकालेर आफू माओवादी केन्द्रमा मै रहेको उल्लेख गरेका हुन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘म भित्र क्षणिक आक्रोश र आवेगमा आई राजनीतिक रुपमा गम्भीर गल्ती कमजोरी हुन गई समग्र पार्टी, बेनिघाट रोराङ र धादिङको पार्टी पंक्तिमा पर्न गएको क्षतिप्रति गम्भीर आत्माआलोचना गर्न चाहन्छु ।’ उनी झण्डै १५ वर्ष अगाडि एमाले नै थिए । माओवादी शान्ति प्रक्रियामा आएसँगै उनी माओवादी बनेका थिए । गत स्थानीय तहको निर्वाचनमा धादिङबाट स्थानीय तहको प्रमुख पदमा निर्वाचित हुने उनी माओवादीका एक्ला उम्मेदवार थिए ।

  • दाहाल-नेपाल बामपन्थी होइनन्, बाम एकता हुँदैन : ओली

    दाहाल-नेपाल बामपन्थी होइनन्, बाम एकता हुँदैन : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल, माधवकुमार नेपाल र मोहनविक्रम सिंह बामपन्थी नभएका कारण नेपालमा अब बाम एकता भन्ने सम्भव नरहेको बताएका छन् । सोमबार एमालेको पोलिटब्युरो बैठक समापनका अवसरमा बोल्दै अध्यक्ष ओलीले परस्परिक लाभको आधारमा चुनावी तालमेल सम्म गर्न सकिने भएपनि कुनै पनि पार्टीसँग एकता भने सम्भव नरहेको बताएका हुन् । ओलीले नेपालमा एमाले मात्रै वामपन्थी दल रहेको दावि समेत गरे ।

    यसअघि नेता घनश्याम भूसालले वाम एकताको प्रस्ताव ल्याएका थिए । पुष्पकमल दाहाल र माधवकुमार नेपालको पार्टी र ती पार्टीका मान्छे दुवै वामपन्थी नभएको उनको भनाई छ । एमाले आफ्नो सामर्थ्यमा एकल प्रयासमा अघि बढ्ने भन्दै आवश्यकताअनुसार विभिन्न पक्षसँग तालमेल भने गर्न सकिने उनले बताएका छन् । बैठकको सुरुमा स्थायी कमिटीका सदस्य घनश्याम भूसालले वामपन्थी एकताको प्रस्ताव राखेको बताइएको छ ।

  • चुनावबाट माधव नेपालहरुलाई समाप्त गर्ने र कांग्रेसलाई १३ सिटमा झार्ने एमाले अध्यक्ष ओलीको दावि

    चुनावबाट माधव नेपालहरुलाई समाप्त गर्ने र कांग्रेसलाई १३ सिटमा झार्ने एमाले अध्यक्ष ओलीको दावि

    काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आगामी चुनावबाट माधव नेपालहरु समाप्त हुने दावि गरेका छन् । कांग्रेसलाई पनि १३ सिटमा खुम्च्याउने भन्दै कार्यकर्तालाई निर्वाचनमा होमिन ओलीले निर्देशन दिएका छन् । ६० वर्ष नाघेका कुनै पनि ज्येष्ठ नागरिकले कांग्रेस र माओवादीलाई भोट नहाल्ने उनको दाबी छ । पार्टीको सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै ओलीले यस्तो दावि गरेका हुन् ।

    ओलीले माओवादी केन्द्रलाई गत संसदीय निर्वाचनमा आफूहरूले जोगाइदिएको दावि गरे । ‘एमालेलाई चौथो पार्टी बनाउँछु भन्छ कोही, अहिले चौथो पार्टी हो एमाले संसदमा ? संसदमा एमालेसँग ९८ सिट छ। अरूको धेरै भएकाको पनि ६१ सिट छ। कोही हामीले बनाइदिएको ४८ सिट लिएर हामीले टाँसीदिएको जुँगामा ताउ लाउँछ,’ उनले भने, यो गठबन्धन केही होइन। बुढो कांग्रेस पाँच वर्षअघि २३ सिटमा झरेको होइन ? कांग्रेसलाई १३ सिटमा झारिदिनुपर्छ ।’ अदालतबाट बनेको वर्तमान सरकारलाई जनताको मतबाट हराउने उनको दावि छ ।

  • ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको शासनकाल ७० वर्ष नाघ्यो

    ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको शासनकाल ७० वर्ष नाघ्यो

    लण्डन । ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको शासनकाल ७० वर्ष पुरा भएको छ । यस उपलक्ष्यमा महारानीले केक काटेकी छिन् । आफ्नो जीवनको पहिलो दशक शाही भाग्यको झीनो अपेक्षामा हुर्केकी ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको बाल्यकाल घोडा र कुकुरहरूसँग खेलेर बितेको बीबीसीले लेखेको छ । उनी महारानी भएको आइतवार ७० वर्ष पुरा भएको हो । उनी २५ वर्षको उमेरमा सन् १९५२ फेब्रुअरी ६ मा ब्रिटिश महारानी बनेकी थिइन्।

    राजकुमारी रहँदा एलिजाबेथ ब्रिटिश राजपरिवारमा अहिले दोस्रो मर्यादामा रहने ड्यूक अफ योर्क एन्ड्रूकी छोरी बिएट्रेसको जस्तै रोल क्रममा थिइन्। यसको अर्थ उनी महारानी बन्ने सम्भावना धेरै कम थियो। तर सन् १९३६ को डिसेम्बरमा ब्रिटिश राजपरिवारमा एउटा नाटकीय परिवर्तन भयो।

    एलिजाबेथले काका डेभिड बोलाउने राजा एडवार्ड तेस्रोले अमेरिकी महिलासँग विवाहका लागि सिंहासन त्याग गरे। यो निर्णयले १० वर्षकी एलिजाबेथलाई दरबारको उत्तराधिकारी बन्ने बाटो खोलिदिएको थियो । उनका बुबा राजकुमार अल्बर्टलाई राजा जर्ज चौथोको उपाधि मिल्यो। उनकी जेठी छोरी एलिजाबेथ उत्तराधिकारीको पहिलो दाबेदार बनिन्।

  • डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न अर्थमन्त्रीको आह्वान

    डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न अर्थमन्त्रीको आह्वान

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सबैलाई आह्वान गरेका छन् । बिहीबार माओवादी केन्द्र कर्णाली प्रदेशको भर्चुअल विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरे । डिजिटल नेटवर्किङको माध्यमबाट देशको पुँजी विदेश पलायन भइरहेकोले यस्तो गैर कानुनी गतिविधि नियन्त्रणका लागि सरकारलाई सहयोग गर्न उनले आग्रह गरे । कतै कोही व्यक्ति यस व्यवसायमा संलग्न रहेको भए त्यसको सूचना दिएर सरकारलाई सहयोग गर्न समेत उनले अनुरोध गरे ।

    उनले प्राकृतिक साधन स्रोतमा स्थानीय जनताको स्वामित्व कायम गरी सामुदायिक पुँजी निर्माण गर्ने कार्यक्रम बनाउन कार्यकर्ताहरूलाई निर्देशन दिए । अर्थमन्त्री शर्माले कर्णाली प्रदेशमा समाजवादको आधार तयार गर्न उत्पादन र रोजगार अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । जिम्मेवार तहका नेताहरूले नै वडाको नेतृत्व लिएर श्रम समूह र श्रम दल बनाएर उत्पादनको काम अघि बढाउन उनले आग्रह गरेका छन् ।


    मन्त्री शर्माले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्णसमानुपातिक निर्वाचन प्रणाली र पहिचानको मुद्दा स्थापित गराउने विषयलाई आगामी निर्वाचनको एजेण्डा बनाउन कार्यकर्ताहरूलाई निर्देशन दिए । पार्टीको हरेक कार्यकर्ताले अभावको जिवनबाट मुक्ति पाउन उत्पादन कार्यमा जोडिएर समृद्ध बन्ने र जनतालाई पनि समृद्ध बनाउने अभियानमा लाग्नुपर्नेमा उनको जोड थियो ।

  • बेलायती प्रदानमन्त्री जोन्सनले जनतासँग किन मागे माफी ?

    बेलायती प्रदानमन्त्री जोन्सनले जनतासँग किन मागे माफी ?

    लण्डन । प्रधानमन्त्री बोरिस जोन्सनले जनतासँग माफी मागेका छन् । बेलायती संचारमाध्यमहरुका अनुसार कोरोना महामारीका बेला मुलुकमा प्रोटोकल लागु थियो । त्यही अवस्थामा भोजमा सहभागी भएका उनको आलोचना भएको थियो । त्यसपछि उनले जनतासँग माफि मागेका छन् । सरकारी आवास १० डाउनिङ स्ट्रिटमा आयोजित एक भोजमा सहभागी भएपछि उनको आलोचना भएको हो । आलोचनापछि उनले संसदमा माफी मागेका छन् ।

    विपक्षी लेबर पार्टीले उनको राजिनामा मागेको छ । उनले आफूबाट गल्ती भएको स्वीकार्दै छानविन रिपोर्टलाई स्वीकार गर्ने बताए । गल्तीबाट पाठ सिक्नु पर्ने उनको भनाई छ । बेलायतमा विपक्षी लेबर पार्टीले भने प्रधानमन्त्री जोन्सनको राजिनामा यस अगाडी नै माग्दै आएको हो । प्रधानमन्त्री र यस कार्यक्रमसँग सम्बन्धित सबैले आफ्नो कद आफैं घटाएको विपक्षी दलको भनाई छ । उनीहरुले सरकार र जनताको विश्वास तोडेको आरोप समेत लगाएइका छन् ।

  • ११ घण्टा उडेको जहाजको पांग्रामा जब जिवित व्यक्ति भेटिए….

    ११ घण्टा उडेको जहाजको पांग्रामा जब जिवित व्यक्ति भेटिए….

    काठमाडौं । लगातार ११ घण्टा उडेको एक जहाजको पांग्रामा एक जिवित व्यक्ति भेटिएपछि विश्वभर अहिले यसको चर्चा भइरहेको छ । दक्षिण अफ्रिकाबाट आएको एउटा मालवाहक विमानको पाङ्ग्रा भएको भागमा लुकेर बसेका एक व्यक्तिलाई डच प्रहरीले एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलमा जीवितै फेला पारेको हो । सामान्यतया जोह्यानिस्बर्गबाट एम्स्टर्ड्यामको उडानका लागि ११ घण्टा लाग्छ।

    बीबीसीका अनुसार दक्षिण अफ्रिकाको उक्त सहरबाट उडेको कार्गो विमान केन्याको राजधानी नाइरोबीमा एक पटक रोकिएको ठानिएको छ। लामो दूरीको उडानमा विमानको बाहिरी भागमा लुकेर त्यसरी चढ्ने मानिस जीवित फेला पर्नु असामान्य मानिन्छ। आकाशमा निकै माथि पुगेपछि अक्सिजनको मात्रा तथा तापक्रम घट्ने हुँदा सास फेर्न नसकेर र कठ्याङ्ग्रिएर मानिसको मृत्यु हुन्छ।

    प्रहरीले ती व्यक्तिको उमेर र उनी कुन देशका नागरिक हुन् भन्ने पत्ता लागिनसकेको बताएको छ। विमानको अग्रभागमुनि रहेको र विमान अवतरण गर्दा प्रयोग हुने पाङ्ग्रालाई नोज ह्वील भनिन्छ। डच प्रसारक एनओसका अनुसार विमानस्थलमा फेला परेपछि ती व्यक्तिको शरीरको तापक्रम बढाइएको थियो। एम्बुलेन्स आउँदासम्म सोधिएका प्रश्नको उनले उत्तर दिएका थिए।

    कार्गो विमान कम्पनी कार्गोलक्सकी एक प्रवक्ताले समाचारसंस्था रोएटर्सलाई इमेलमार्फत् कार्गोलक्स इटालियाले सञ्चालन गरेको विमानमा ती व्यक्ति लुकेर आएको पुष्टि गरेकी छन्। आइतवार जोह्यानिस्बर्गबाट स्किपोल उडेको कार्गोलक्सको मालवाहक विमान नाइरोबीमा एकचोटि ओर्लिएको उडानसम्बन्धी डेटामा देखिन्छ। तर ती व्यक्ति दक्षिण अफ्रिकाबाटै कि केन्याबाट उक्त विमानमा त्यसरी लुकेका हुन् भन्ने थाहा हुन सकेको छैन।

  • अमेरिकाको मेरिल्याण्डमा एक ब्यक्तिको घर भित्र सर्पैसर्प; साथमा घर मालिक मृतक फेला

    अमेरिकाको मेरिल्याण्डमा एक ब्यक्तिको घर भित्र सर्पैसर्प; साथमा घर मालिक मृतक फेला

    मेरिल्याण्ड

    अमेरिकाको मेरिल्याण्ड राज्यस्थित एउटा घर भित्र एक मृत ब्यक्तिको साथमा १ सय २४ वटा जिउँदा सर्पहरु पालेको अवस्थामा फेला परेका छन् । पालिएका १ सय २४ वटा सर्पहरु मध्ये कतिपय कानुनले वर्जित गरेका विषालु सर्पहरु समेत रहेका छन् । सर्पहरुलाई अत्यन्त राम्रोसँग पिंजडा भित्र राखेर पालिएको राज्यका अधिकारीहरुले संचार माध्यमहरुलाई बताएका छन् । गत बुधबार छिमेकीहरुको अनुरोधमा राज्यका अधिकारीहरुले घर जाँच गर्दा मृत ब्यक्ति र सर्पहरु फेला परेका हुन । पालिएका ति सबै सर्पहरुलाई जनाबर बिज्ञहरुले बिहीबार उद्धार गरेर निकालेका छन् ।

    Picture : (AFP via Getty Images )

    ति १ सय २४ वटा सर्पहरुमा रेटल स्नेक्स, कोब्रा, ब्ल्याक मम्बाज लगायत १४ फिट लम्बाईको जात नखुलेको सर्प समेत भेटिएको मेरिल्याण्डस्थित अधिकारीहरुले जनाएका छन । मेरिल्याण्ड राज्यको चार्ल्स काउन्टीस्थित एक घर भित्र त्यति ठुलो संख्यामा गैर कानुनीरुपमा सर्प पालन गरिएको कुरा छर छिमेक र टोलबासी समेत अनभिज्ञ भएको बताईएको छ भने सर्पहरुलाई सुरक्षित रुपमा उद्धार गरेर स्थानान्नतरण गरिएको हुँदा सुरक्षा खतरा नभएको जनाईएको छ । सर्प पालक ति ब्यक्तिको मृत्‍युको कारण हालसम्म नखुले पनि जनावरले टोकेर वा बाह्य आक्रमणबाट भने भए जस्तो नदेखिएको बिभिन्न सरकारी अधिकारीहरुको हवाला दिदै संचार माध्यमहरुले जनाएका छन् ।

  • अष्ट्रेलियाबाट देश निकालामा परे विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच

    अष्ट्रेलियाबाट देश निकालामा परे विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच

    मेलबर्न । विश्व नम्बर एक टेनिस स्टार नोभाक जोकोभिच अस्ट्रेलियाबाट देशनिकालामा परेका छन् । सरकारले उनको भिसा रद्द गरेको थियो ।उक्त निर्णयलाई सङ्घीय अदालतले सदर गरेपछि आइतवार उनी मेलबर्नबाट देश निकालामा परेका हुन् । उनी आइतबार नै दुबईको उडानबाट बाहिरिएको बीबीसीले जनाएको छ । अस्ट्रेलियाको सङ्घीय अदालतले ३४ वर्षीय सर्बियाली नागरिक जोकोभिचले भिसा रद्द गर्ने सरकारको निर्णयलाई कानुनसम्मत भनेको हो ।

    अदालतका तीन न्यायाधीशहरूले सर्वसम्मतिले उनको भिसा रद्द विरुद्धको अपिललाई खारेज गर्ने निर्णय दिएका हुन्। यो निर्णयसँगै जोकोभिचले गत वर्ष जितेको अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता खेल्न नपाउने भएका छन्। अदालतको निर्णयपछि जोकोभिचले आफू निराश भएको भए पनि निर्णयलाई सम्मान गर्ने बताएका छन्। शुक्रवार अस्ट्रेलियाका आप्रवासन मन्त्री एलेक्स हकले जोकोभिचको उपस्थितिले अस्ट्रेलियाली समुदायमा स्वास्थ्यसम्बन्धी जोखिम रहने भन्दै दोस्रो पटक भिसा रद्द गरेका थिए। अस्ट्रेलिया प्रवेश गर्न विदेशी नागरिकका लागि कोभिड खोप अनिवार्य गरिएको भए पनि जोकोभिचले खोप लगाएका छैनन्।