Category: रोचक खवर

  • पेरुमा २८ वर्षदेखि जेलमा रहेका माओवादी नेता गोन्जालोको मृत्यु

    पेरुमा २८ वर्षदेखि जेलमा रहेका माओवादी नेता गोन्जालोको मृत्यु

    काठमाडौं । पेरुमा २८ वर्षदेखि सैनिक जेलमा रहेका माओवादी नेता गोन्जालोका जेलमै निधन भएको छ । पेरुमा सन १९८० र ९० दशकमा चलेको साइनिङ पाथ नामक माओवादी आन्दोलनका बेला उनी प्रमुख नेता थिए । न्यूयोर्क टाइम्सका अनुसार पेरुको कायालो क्षेत्रको सैन्य जेलमा उनको मृत्यु भएको हो । गोन्जालो ८६ वर्षका थिए । पेरुमा वामपन्थी रास्ट्रपति पेद्रो कास्टियो आएपछि उनको रिहाईको माग विश्वभरबाट भइरहेको थियो ।

    यसैबीच उनको निधनको खबर सार्वजनिक भएको हो । पेरुमा भएको तत्कालिन आन्दोलनमा ७० हजार मानिस मारिएको बताइन्छ । गोन्जाकोलाइ २८ वर्ष अगाडि सन् १९९२ मा राजधानी लिमाबाट पक्राउ गरि जेल हालिएको हो । आज विश्वभरबाट उनको निधनमा समवेदना सार्वजनिक भइरहेको छ ।

  • अमेरिका जाने डीभी भर्न तीन युवाले गरे नक्कली प्रमाणपत्र पेश

    अमेरिका जाने डीभी भर्न तीन युवाले गरे नक्कली प्रमाणपत्र पेश

    काठमाडौं । अमेरिकाको यूएस डाइभर्सिटी भिसा (डीभी) भर्न तीन युवाले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोप लागेको छ । उनीहरु प्रहरीको फन्दामा परेका छन् । डिभीमा नाम निकालेका उनीहरुले नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेको आरोप लागेसँगै प्रहरीले पक्राउ गरेको हो । भिषा प्रक्रिया शुरु भएपछि शैक्षिक प्रमाणपत्रमा शंका लागेसँगै नेपालस्थित अमेरिकी दूतावासले प्रहरीलाई अनुसन्धान गर्न पत्राचार गरेको थियो ।

    उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका अनुसार डीभी परे पनि नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेको आरोपमा पाल्पाका सुमित रत्न गुभाजु, मोरङका अमरबहादुर कटुवाल र नवलपरासीका नरेश केसी पक्राउ परेका हुन् । उनीहरुलाई शैक्षिक प्रमाण पत्र बनाउन सहयोग गर्ने लक्ष्मण पाठक, दिप विष्ट र सोहिली शाही समेत प्रहरीको फन्दामा परेका छन् । तीनै जनालाई सन् २०२० मा डिभी परेको हो ।

  • काठमाडौंमा राँगोलाई गोली हानेर मार्नु परेपछि…

    काठमाडौंमा राँगोलाई गोली हानेर मार्नु परेपछि…

    काठमाडौं । काठमाडौंमा भागेको एक राँगोलाई गोली हानेर मार्नु परेको छ । काठमाडौंको सडकमा आतंक मच्याएपछि राँगोलाई प्रहरीले गोली हानेर मारेको हो । यो घटना बिहीबार राति करिब १० बजेतिरको हो । कालिमाटी रामघाटस्थितबाट एक राँगो दौडेर सडकमा निस्किएपछि सडकमा भागदौड मच्चिएको थियो । त्यसक्रममा राँगोले सवारीसाधन तथा मानिसहरूलाई हान्न थालेको थियो । बधशालामा ट्रकबाट राँगोलाई ओरालेपछि भागेको थियो । प्रहरीको गाडीले राँगोलाई पच्छ्याएको थियो ।

    टेकूबाट दौडिएको राँगो सुरूमा त्रिपुरेश्वर, थापाथली हुँदै माइतीघर पुगेको थियो । त्यहाँबाट टेकु पुगेर परोपकार, बसन्तपुर, भीमसेनस्थान हुँदै क्षेत्रपाटी पुगेपछि राँगोमाथि प्रहरीले गोली हानेको हो । चार राउन्ड गोली चलाएपछि राँगो मरेको छ । राँगोले हानेर मानिसहरु घाइते भएको विवरण भने नआएको प्रहरीले जनाएको छ । काठमाडौंमा वधशाला व्यवस्थित नहुँदा यसरी राँगो र भैसीहरु सडकमा निस्कने गर्छन् ।

  • करीव दुई किलो सुनसहित तीन भारतीय पक्राउ, विदेशबाट आउने नेपालीमार्फत तस्करी

    करीव दुई किलो सुनसहित तीन भारतीय पक्राउ, विदेशबाट आउने नेपालीमार्फत तस्करी

    काठमाडौं । प्रहरीले १ किलो ८ सय ६६ ग्राम सुनसहित काठमाडौंको एक होटेलबाट तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत राजस्थान नागौर जिल्ला छोटीखाटुका २७ वर्षीय साकिर अली, भारत राजस्थानकै २८ वर्षीय अब्दुल सतार र राजस्थानकै २४ वर्षीय प्यार मोहम्मद रहेको प्रहरीले जनाएको छ । उपत्यका अपराध अनुसनधान कार्यालययले सिनामंगलका अनुसार उनीहरुलाई सिरहा मल्हनिया होटलबाट पक्राउ गरिएको हो ।

    उनीहरुले वैदेशिक रोजगारीबाट आउने नेपालीमार्फत सुन तस्कर गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । वैदेशिक रोजगारीबाट फर्कनेहरुले विभिन्न घरायसी सामानमा लुकाएर सुन ल्याउने गरेको बताइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

  • माधव नेपालविरुद्ध केपी ओलीको आक्रोस, लगाए ‘देशद्रोही’को गम्भीर आरोप

    माधव नेपालविरुद्ध केपी ओलीको आक्रोस, लगाए ‘देशद्रोही’को गम्भीर आरोप

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई देशद्रोहीको गम्भीर आरोप लगाएका छन् । ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल आन्दोलन विरोधी र देशद्रोही भएको भन्दै उनको एमालेमा अब कुनै ठाउँ नरहेको समेत बताए । वरिष्ठ नेता नेपाल पक्षले एमालेका अध्यक्ष ओलीको राजिनामा मागिरहेको समयमा उनको यस्तो उद्घोष आएको हो ।

    एमाले काठमाडौं जिल्ला कमिटीको बैठकलाई शनिबार सम्बोधन गर्दै ओलीले भने ‘माधव नेपाल जस्ता आन्दोलन विरोधी देशद्रोहीलाई कुनै ठाउँ छैन, ‘वामपन्थी सरकार ढाल्ने, आफ्नो अध्यक्षले माग्दा पनि विश्वासको मत नदिने, दक्षिणपन्थी सरकारलाई मेरो विश्वास छ भनेर ह्वीप क्रस गर्ने ।’

    ओलीले जनताको सरकार ढलेर दक्षिणपन्थीको पार्टी बनेको समेत आरोप लगाए । माधव नेपालले प्रतिक्रियावादीहरुसँग मिलेर एमालेको सरकार ढालेको उनको आरोप छ । पार्टीको सरकार ढल्दा अग्रगमनको आफ्नो सपनामै ढक्का लागेको उनको भनाई छ । पार्टीको सरकार ढल्दा जनताको सरकार ढलेको भन्दै अहिले दक्षिणपन्थीको सरकार बनेको ओलीको आरोप छ ।

    उनको यो उत्ताउलो भाषणले एमालेमा तत्काल एकताको सम्भावना क्षीण भएको देखिएको छ । किनकी आजै राजधानीमा आयोजना भएको अर्को एक कार्यक्रममा माधव नेपाल पक्षका नेताहरुले एकता चाहने भने हो भने ओलीले अध्यक्ष पदबाट राजिनामा दिनुपर्ने बताएका छन् ।

  • मापसे गरि हेलमेट नलगाई बाइक कुदाई रहेका पारस शाहले प्रहरीलाई गरे दुर्व्यवहार

    मापसे गरि हेलमेट नलगाई बाइक कुदाई रहेका पारस शाहले प्रहरीलाई गरे दुर्व्यवहार

    काठमाडौं । हेलमेट नलाई बाइक चलाइरहेका पूर्वयुवराज पारस शाहले ड्यूटीमा खटिएका प्रहरीमाथि दुर्व्यवहार गरेपछि उनको व्यापक आलोचना शुरु भएको छ । शुक्रबार राती महाराजगञ्जस्थित नारायणगोपाल चोकमा उनी चेकजाँचमा परेका थिए । ट्राफिक प्रहरीले रोकेपछि आक्रोसिनत बनेका उनले दुर्व्यवहार गरेका थिए । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका उनले हेलमेट समेत नलगाएका कारण प्रहरीले समातेको थियो । प्रहरीले शाहलाई नियन्त्रणमा लिन खोज्दा उनी भिडिरहेको भिडियोमा देखिन्छ ।

    घम्साघम्सी र वादविवादमै उत्रिएर उनले प्रहरीको हुर्मत लिन खोजेका छन् । प्रहरीले उनलाई गाडीमा राखेर चौकीमा लैजान खोजेको थियो । उनले भने ‘जान्न, यहीं बस्छु’ भनिरहेका थिए । पारसको समर्थनमा केही युवाले नारा समेत लगाएका थिए । प्रहरीले सम्झाएर पठाएको भनेपनि उनलाई पक्राउ भने गरेन । पोखरामा हेलमेट नलगाई निस्फिक्रि डुल्ने गरेका उनलाई काठमाडौंमा भने प्रहरीले समातेको हो ।

  • एल्फ्रेड नोवल; प्रेरक व्यक्तित्व

    एल्फ्रेड नोवल; प्रेरक व्यक्तित्व

    अच्युत सिग्देल, न्युयोर्क

    ईम्यानुल नोवल एक स्वीडिस ईन्जिनिएर थिए। पेशाले ईन्जिनियर ईमान्युएलको सानो ईन्जिनियरिङ वर्कशप (कारखाना) थियो। जहॉ टनेल र रोड बनाउदा प्रयोग गरिने बिस्फोटक पदार्थको निर्माण गरिन्थ्यो। उनका मातापिताका आठ बालबच्चा भएपनि जम्मा तीन जना मात्र बॉचेका थिए । सबैभन्दा कान्छा छोरा जो एक सुस्त, दुर्वल र रोगी बच्चा थिए । उनैको नाम राखिएको थियो – अल्फ्रेड नोवल ।

    हुने बिरूवाको चिल्लो पात भने झैं तीन बर्षको उमेर देखिनै पढ्नमा ज्यादै तेज निस्किएका थिए अल्फ्रेड । साईन्स, केमेस्ट्री, म्याथमा अव्वल एल्फ्रेड सानैदेखि विभिन प्रयोग गरिरहन्थे। उनका पिता ईम्यानुललाई लागेको थियो उनको छोरो पक्कै ईन्जिनियर बन्नेछ । न भन्दै नौ बर्षको उमेरमा नै आफ्नो बाबुको फ्याक्ट्रीको ल्यावमा केमिकलहरूको परिक्षण गरेर पड्काउदा आवाज नआउने गनपाउडर आविस्कार गरेका थिए उनले । रसियन सरकारले उनलाई गोल्ड मेडल पनि दिएका थिए ।

    ईन्जिनियर वर्कशप व्यापारमा टाट पल्टिएर बैंक करप्सीमा परेपछि नोवल परिवारमा थप संकट परेको थियो। बसाई सराई र विभिन्न व्यवधान खेप्नु परेपनि अल्फ्रेडले पढ़ाई भने सुचारू नै राखिरहे। केही समय फ्रान्स हुदै अमेरिकाबाट ग्राजुएसन गरेपछि उनी यूवा जोश लिएर आफ्नो पारिवारिक पेशा सम्हाल्न फर्के । तब उनले आफ्ना दाजुहरूसँग मिलेर रिसर्च गरे । नाईट्रो ग्लिसिरिन, डाईनामाईट जस्ता बिस्फोटक पदार्थको आविस्कार गरेर पेटेन्ट राईट्स लिए।

    १७ बर्षको उमेरमै पॉच भाषामा पोख्त उनले आफूलाई स्वीडेनमा मात्र सिमित राखेनन् रसिया, फ्रान्स, ईटाली र अमेरिकामा उनले आफ्नो नयॉ खोज, आविस्कारको पेटेन्ट राईट्स लिन सफल भए । उनी विश्व विख्यात बन्दै गए । फ्याक्ट्रीमा आवश्यक सुरक्षा नीति पुरा नगरेको आरोपमा फ्रान्स सरकारले उनलाई पक्राउ गरेर कम्पनी बन्द समेत गरिदियो । त्यसपछि उनी ईटाली तिर लागे ।

    अनेकौं सोध र सफल आविस्कारले उनी अठारौ शताव्दीका विश्व विख्यात बैज्ञानिक, धनी सफल व्यक्ति कहलिए। विश्व बजारमा उनको ३५५ आविस्कारले प्याटेन्ट राईट्स पाएका थिए। रकेट प्रोपिलरदेखि ग्यास बर्नरसम्म । धारा पानीको मिटरदेखि गन पाउडरसम्म सबै उनका आविस्कार थिए।

    केमेस्ट्री ईन्जिनियर, आविष्कारकर्ता बैज्ञानिक, डानिनामाईट र वेफोर्सका मालिक आफूलाई सँसारको सबैभन्दा सफल मानिस सम्झन्थे । उनको शान सौकत सगरमाथा भन्दा उच्च थियो। सडक, टनेल ईन्जिनिएरिङ होस वा युद्दमा प्रयोग हुने हात हतियार होस। प्राय छिट्टो पड्केर बिध्वस बनाउने सबै कुराहरूको आविस्कारको प्याटेन्ट राईट्स र व्यापार उनको थियो।

    जव १८८८ मा उनको दाइको निधन भयो ।उनी बिहान सौचालयमा बसेर पत्रिका पढ्दै थिए । फ्रान्सको एउटा प्रशिद्ध अखबारले उनको बारेमा समाचार लेखेको थियो। संसारमा छिटो भन्दा छिटो मान्छेहरू मारेर चॉडै धनी बन्ने कुबेर एल्फ्रेड नोवलको मृत्यू” अरू एक दुई पत्रिकाले लेखे “मान्छे मार्ने जल्लादको मृत्यू” आफु मरेको समाचार पढेर एल्फ्रेड स्तव्ध भए । दुई घण्टासम्म उनको दिमागले काम गरेन। उनले दुई बर्ष आविस्कारको काम रोकेर सोच मग्न रहिरहे।

    झण्डै तीन बर्षपछि १८९३ ताका उनले एक जना सहायक नियुक्त गरे । आफु मरेर गए पनि आफ्नो नाम रहि रहने गतिलो के काम गर्न सकिन्छ बनेर रिसर्च गराए । झण्डै दुई वर्षको गहन अध्ययन पछि नोभेम्वर २७, १८९५ मा उनले एउटा वारेसनामामा हस्ताक्षर गरे। जसमा उनीसँग मौजात रहेको सम्पूर्ण सम्पत्तिको ९४ प्रतिशत कुल लागत रहने गरी उनको मृत्यू पश्चात उनको सम्झना स्वरूप प्रदान गरिने जम्मा २६५ मिलियन २८७ हजार यू एस डलर बरावरको नोवल प्राईजको स्थापना गरे ।
    हाल नोवल पुरस्कार हरेक वर्ष बिभिन्न छ बिधामा संसारका अति बिशिष्ट व्यक्तिलाई प्रदान गरिन्छ ।
    आज नोवेल पुरस्कार बिश्वमा एक अति विशिष्ट पुरस्कारको रूपमा चिनिन्छ।

    अल्फ्रेड नोवलको कम्पनीले हजारौ मानिसको ज्यान लिए पनि लाखौ मानिसलाई रोजगार दियो होला। आज उनलाई रोज़गार दाता, ईन्जिनियर भन्दा नोवल प्राईजको स्थापना गर्ने व्यक्ति भनेर चिनिन्छ । तसर्थ मरेर जाने चोला न हो । भोली कस्ले देखेको छ। यदि आफूलाई अमर राखिने हो भने यस्तै दीर्घकालीन र यादगार सामाजिक क्षेत्रमा लगानि गर्नु ज़रूरी छ।
    तथास्तु !

  • कांग्रेसको बैठक अब प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नबस्ने

    कांग्रेसको बैठक अब प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नबस्ने

    काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अब पार्टीको बैठक नराखिने भएको छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बालुवाटारको चरम दूरुपयोग गरिएको थियो । शेरबहादुर देउवा प्रधानमन्त्री भएर आएपछि पहिलो बैठक बालुवाटारमा बोलाएपछि उनको समेत आलोचना भएको थियो । पार्टी कार्यालयमा धर्ना रहेका कारण बालुवाटारमा बोलाउनु परेको उनले बताएका थिए । तर, शुक्रबार र शनिबार बोलाइएको पार्टी पदाधिकारी बैठक भने प्रधानमन्त्री देउवाको निजी निवास बुढानिलकण्ठमा बस्ने भएको छ ।

    कांग्रेसले १४ औँ महाधिवेशन तयारीका लागि पदाधिकारीको बैठक बोलाइएको हो । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको बैठक सरकारी निवास बालुवाटारमा नगर्ने स्पष्ट पारे । उनले विगतको गलत–गलत परम्परालाई तोड्दै अबदेखि नेपाली कांग्रेस पार्टीको औपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने भनी ट्वीट गरेका छन् ।

  • देउवाले पनि बालुवाटारमै पार्टीका बैठक बोलाएपछि कांग्रेस भित्रै असन्तुष्टी, नदोहोर्याउने प्रतिवद्धता

    देउवाले पनि बालुवाटारमै पार्टीका बैठक बोलाएपछि कांग्रेस भित्रै असन्तुष्टी, नदोहोर्याउने प्रतिवद्धता

    काठमाडौं । नेपाली कांग्रेसले दुई दिन लगातार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको बैठक राख्यो । यसअघि बालुवाटार दुरुपयोग गरेको भन्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाले समेत सोही प्रवृत्ति दोहोर्याएपछि नेताहरुले नै यसको विरोध गरेका छन् । उनीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छन् ।

    नेता गगन थापाका अनुसार पार्टीका काम बालुवाटारबाट नगर्न सभापतिसँग अनुरोध गरिएको छ । त्यसमा प्रधानमन्त्री सकारात्मक छन् । प्रधानमन्त्री देउवाले आफू सरकारी निवासमा सरेको भोलिपल्ट कांग्रेस पदाधिकारीको बैठक बालुवाटारमा बोलाएका थिए । थापाका अनुसार प्रधानमन्त्रीले पार्टी कार्यालयमा धर्ना भएका कारण बालुवाटारमा गरेको जनाएका थिए । अबदेखि त्यस्तो नहुने भनेर समेत प्रधानमन्त्रीले विश्वास दिलाएका छन् । केपी ओलीले भने पार्टीका बैठकदेखि मन्त्रिपरिषद् बैठकसम्म बालुवाटारमा गरेका थिए ।

  • जसपाका चार सांसदले छाडे ठाकुर-महतो गुट

    जसपाका चार सांसदले छाडे ठाकुर-महतो गुट

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का चार सांसदले महन्त ठाकुर र राजेन्द्र महतो गुट छाडेका छन् । उनीहरु अब अध्यक्ष उपेन्द्र यादव तथा बाबुराम भट्टराई पक्षमा समावेश भएका छन् । अदालतले संसद विघटनलाई असंवैधानिक भनेसँगै यसअघि ठाकुर र महतो पक्षमा लागेका चार सांसदले कित्ता परिवर्तन गरेका हुन् ।

    शनिबार पार्टी कार्यालय, बालकुमारीमा बसेको संसदीय दलको बैठकमा सांसदहरु प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल सहभागी भएका छन् । ठाकुर पक्षका यी नेता शुक्रबार पार्टी कार्यालयमा भएको छलफलमा भने अनुपस्थित भए । अब ३२ सदस्यीय संसदीय दलमा दुवै पक्षको १६, १६ सांसद भएको छ । ठाकुर पक्षका थप केही सांसद यादव पक्षमा आउने दावि नेताहरुले गरेका छन् ।

    यसले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत प्राप्त गर्न अझ सहज हुने छ । महतो र ठाकुर पक्ष भने ओलीको कदमको समर्थन गर्दै सरकारमा सहभागी भएको थियो । तर, उनीहरुको मन्त्री पदलाई अदालतले असंवैधानिक मानेसँगै मन्त्रीपद गुमेको थियो ।

  • डा. बाबुराम भट्टराई भन्छन् : गणतन्त्रका राष्ट्रपतिको भूमिका निम्न स्तरको भयो

    डा. बाबुराम भट्टराई भन्छन् : गणतन्त्रका राष्ट्रपतिको भूमिका निम्न स्तरको भयो

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपति परिवर्तनको मुद्दा बहसमा ल्याएका छन् । पछिल्लो समय राष्ट्रपति विद्यादेवि भण्डारीको अश्वभाविक प्रदर्शनलाई लिएर व्यापक आलोचना भइरहेको समयमा डा. भट्टराईले यस्तो प्रस्ताव ल्याएका हुन् । उनले प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई राष्ट्रपति बनाउन प्रस्ताव राखेका छन्। सामाजिक सञ्जाल ट्वीटरमा उनले यस्तो प्रस्ताव सार्वजनिक गरेका छन् ।

    उनले गणतन्त्र नेपालका संवैधानिक राष्ट्रपतिहरूको भूमिका, स्तर निकै कमजोर र निम्न रहेको भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमै जानु श्रेयस्कर देखिएको उल्लेख गरेका छन् ।त्यो नभएसम्मको अन्तरिम अवधिमा पार्टीका सक्रिय नेता भन्दा प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई बनाउने प्रस्ताव उनको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेर बहादुर देउवाको सपथमा प्रधानमन्त्रीलाई सपथसम्म नभई बाहिरिएपछि उनको मुलुकको अभिभावकीय भूमिकामाथि प्रश्न उठिरहेको छ । त्यसमाथि सरकारका संविधान विरोधी कदमलाई आँखा चिम्लेर समर्थन गरेसँगै उनको आलोचना बढेको हो ।

  • अफगानिस्तानमा तालिवान राज : पुरुषले दारी नकाट्नु, महिला-पूरुषसँगै बजार नजानु

    अफगानिस्तानमा तालिवान राज : पुरुषले दारी नकाट्नु, महिला-पूरुषसँगै बजार नजानु

    काबुल । अफगानिस्तानबाट अमेरिकी नेतृत्वको सुरक्षा फौज फिर्ता हुने क्रमसँगै देशभर तालिवानले कब्जा जमाइरहेको छ । आफ्नो कब्जा जमाएको भेगमा तालिवानले आफ्नो नियमहरु समेत जारी गर्न थालेको छ । समाचार एजेंसी एएफपीलाई उदृत गर्दै संचारमाध्यमहरुले जनाए अनसार उत्तरी अफगानिस्तानको एक सुदूर क्षेत्रमा कब्जा जमाएसँगै कट्टरपन्थी इस्लामिक संगठन तालिवानले आदेश जारी गरेको छ ।

    जसमा महिलालाई अब पुरुषको साथमा बजार जान रोक लगाइएको छ । पुरुषलाई समेत अब दारी नकाट्न आदेश जारी गरिएको छ । पुरुषलाई धुम्रपान समेत नगर्न भनिएको छ । समाचार एजेन्सीले यसको जानकारी स्थानीयबासीसँगको कुराकानीमा आधारित रहेर बनाएको हो । तालिवानले स्थानीय प्रशासनलाई पत्र लेख्दै स्तो आदेश नमान्नेमाथि कारवाही गर्न समेत भनेको छ ।

    नेटो सैनिकोको फिर्तीसँगै अफगानिस्तानमा तालिवानको गतिविधि बढेको हो । केही दिन अगाडी शेर खाँ बान्देर क्षेत्रमा महिलालाई घर बाहिर ननिस्कन आदेश जारी भएको थियो । यसअघि विभिन्न पेशा व्यवसाय गर्ने महिलाले तालिवानको यो आदेशसँगै काम तथा रोजगारी गुमाउनु परेको छ । तालिवानले लगाएको यो नियम इश्लामिक रुढिवादी कानून अनुसारको हो ।

  • बुधबारका दुई चर्चित भेट, देउवा-नेपाल र प्रचण्ड-विप्लव

    बुधबारका दुई चर्चित भेट, देउवा-नेपाल र प्रचण्ड-विप्लव

    काठमाडौं । बुधबार नेपालको राजनीतिमा अर्थपूर्ण दुई भेट भएका छन् । आज नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा उनको कोटेश्वरस्थित निवासमा पुगेका छन् । सामान्यतया प्रधानमन्त्रीसँग अन्य नेताको भेट सरकारी निवास, प्रधानमन्त्री कार्यालय वा प्रधानमन्त्रीको निजी निवासमा हुने गर्छ ।

    अझ केपी शर्मा ओलीको कार्यकालको लामो समय त ओली बालुवाटारबाट कतै निस्किएका थिएनन् । तर, आफ्नो सरकार बनाउन निर्णायक भूमिका खेलेका माधव कुमार नेपाललाई भने देउवाले उनकै निवासमा पुगी भेट गरेका छन् । नेपालको निम्तोमा प्रधानमन्त्री देउवा नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्कासहित नेपाल निवास पुगेका हुन् ।


    उनीहरूबीच करिब एक घन्टा कुराकानी भएको छ । भेटमा सरकार सञ्चालन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ । अब देउवाको ध्यान एक महिना भित्र संसदबाट विश्वासको मत लिनुमा हुनेछ । त्यसका लागि पुनः उनलाई एमाले नेता माधव कुमार नेपाल र उनको समूहको साथ चाहिन्छ । यता नेपाल नेपालको गतिविधिलाई भने एमाले अध्यक्ष ओलीले अस्वभाविक भन्दै अब एमालेमा ढोका बन्द हुने चेतावनी दिएका छन् ।


    उता, आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । २१ फागुन २०७७ मा सरकारसँग तीनबुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएका विप्लव पार्टी नेता धर्मेन्द्र बास्तोलासँगै प्रचण्ड निवास खुमलटार पुगेका हुन् । प्रचण्डसँग छुट्टिएर नयाँ पार्टी बनाई भूमिगत जिवन बिताएका विप्लवले २०७१ सालपछि पहिलो पटक आफ्ना पूर्वसुप्रिमोसँग भेटेका हुन् ।

    अहिले विप्लव समेत शान्तिपूर्ण राजनीतिमा फर्किएका छन् । दुई नेताबीचको भेटमा विप्लवले एमाले अध्यक्ष ओलीको समयमा विप्लवसँग भएका सहमतिको कार्यान्वयनबारे चासो राखेका थिए । त्यो सम्झौता ओली व्यक्तिसँग नभई सरकारसँग भएको भन्दै कार्यान्वयनमा प्राथमिकता दिनुपर्ने भनाई उनले प्रचण्डसँग राखेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएपछि अहिले परिस्थिति फेरिएको छ । तर, राजनीतिको मियो भने प्रचण्ड छन् । सोहीकारण आज उनीसँगको विप्लवको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

  • दोन मोन्तेरो !

    दोन मोन्तेरो !

    अच्युत सिग्देल, न्युयोर्क

    दोन मोन्तेरो स्पेनको प्रख्यात रेष्टुरेन्टका मालिक थिए। चेन रेष्टुरा ज़्यादै लोकप्रिय थियो। “सबै मानव जातिलाई सम्मान गर, सबैलाई सेवा देउ” भन्ने उनको मुलमन्त्र थियो। “रैतिदेखि रँकसम्म रोगीदेखि भोगीसम्म” सबैको बराबर ईज्जत दिनु उनको रेष्टुराँको नारा थियो।
    उत्तम सेवा र गुणस्तरीय खानाले प्रसिद्धि कमाएको उनको रेष्टुराँ ज्यादै व्यस्त थियो। कामको चापाचापमा उनलाई आफ्नो स्वास्थ्यको बारेमा ध्यानदिने फुर्सद पनि थिएन।

    मेसिन त बेला बेलामा मर्मत गर्नु पर्छ मान्छेको शरिरको त के कुरा ? उनलाई हल्का छातीको भित्र पट्टी दुख्न सुरू भएर चर्किदै गईरहेको थियो। भरे जँचाउन जाउँला, भोली जाऔला भन्दाभन्दै एक दिन स्वास फेर्न नै नसकेपछि अस्पताल जचाउन गए। डाक्टरले उनलाई लङ क्यान्सर भएको नतिजा आएको बताए। उनको अनुहार पहेलो भयो। डाक्टरले लामो स्वास फेर्दै उनीसँग पॉच छ महिना मात्र बॉकि रहेको कुरा बताए। सँसार जित्ने उद्देश्य लिएर सफलताको सगरमाथा चढ्दै गरेको मान्छेलाई नियतिले धोका दियो। लाग्यो उनलाई आफ्नै भरोसाको दैवले पनि ढाँट्यो।

    उनले गहिरो स्वाश लिए। ऑखा अगाडि आफ्नो बिगत चलचित्र बनेर घुमिरह्यो। आफू छँदै आफूले गरेको कामको मुल्यॉकन र पारख गर्ने अठोट गरे उनले। यतिकै त के मर्नु र हौ। मर्नु अगाडि एउटा गतिलो निर्णय लिनुपर्ने भान भयो उनलाई। आफूले आफैलाई जोख्न र के पाएको र के गुमाएको परिक्षण गर्ने अठोट गरे।

    एक दिन भेष र हुलिया बदलेर उनले आफूलाई घरबार बिहिन मागन्तेको स्वरूपमा ढाले। लवज फेरे, मैला लुगा लगाएर आफ्नो रेष्टुरेन्टको भ्रमणमा निस्किए।

    पहिलो रेस्टुराको गेटमा नपुग्दै गेटपालेले उनलाई रोके। तिमी जस्ता होमलेस भिखारी यो रेष्टुरामा आउन मनाही छ। दोन मोन्तेरो अवाक् भए । मेनेजरलाई भेट्न अनुरोध गरे। मेनेजर उनको नजिक नै आएन अचकाली गाली दिएर उनलाई त्यहॉबाट भगाइयो।

    उनी दोश्रो रेष्टुरामा गए । त्यहाँको सेफले उनलाई तिमी पछाडीको ढोकावाट आए हिजोको बासी पाउरोटी दिन्छु। त्यो पनि तिमीलाई ज़िन्दगीको सबैभन्दा ठूलो गिफ्ट हुनेछ। यो रेष्टुरामा खान त तिमी नुहाएर नयॉ कपडा लगाएर आए पनि पाउने छैनौ भने। यो उच्च घरानीया र खानदानीहरूको ठाउँ हो। तिमी यो रेष्टुराको वरिपरीनै नपर्नु भन्दै उनलाई भगाईयो।

    दोन मोन्तेरो जहॉ जहॉ गए उनको रेष्टूरामा उनलाई नराम्रो गाली र अपहेलना खानु पऱ्यो। उनले सबैलाई लेक्चर दिदै तालिममा सिकाएको “सबैलाई सेवा र सम्मान गर” कही कतै लागू नभएको आफ्नै ऑखाले देखे। मानवता मरेको देखेर उनको ऑखाबाट ऑसु आयो। घडीको सुई झै नरोईकन लगातार घोटिई रहँदा उनको मानवता र मानव सेवा पनि मेसिनरी भै सकेको उसलाई भान भयो। सम्भ्रान्तको वाहीवाहीको घेरामा उनको कम्पनीले मानवीय सेवा र सत्कारको सानो ख़्यालसम्म नगरेको उनलाई भान भयो। जुन धरातलमा टेकेर उनी सफल भएका थिए। त्यही भासिएको महसुस हुँदै गयो उनलाई ।

    सडक छेउको बेन्चमा बसेर चराचुरूङी र लोखर्कै हेरिरहे । आफूले तालिम दिएको स्टाफबाट यस्तो हर्कतको अपेक्षा थिएन उनलाई। हात समाएर काम सिकाएका भान्सेहरूले व्यवसायिक मर्मलाई भूलेकोमा स्तव्ध बन्दै गए उनी । नजिकै बगैचाबाट ओईलिएको एउटा गुलाबको फूल टिपे। सुगन्ध र सौन्दर्य बिनाको फूलसँगै दॉजे उनले आफूलाई। गतिशील जीवनरूपि रेलले ट्याक छोडेपछिको सम्भावित दुर्घटनाले अत्यास दिलाए जस्तो भयो उनलाई। चिटचिट पसिना आयो। ऑखाको कोश रसाएर आयो । एक थोपा ऑशु थपक्क चुंहियो उनको हातको गुलाबमा। नजिकै रहेको चर्चको ढोकामा फूल चढाएर भने ईश्वर यो सुन्दर शृष्टीको राम्रा रचनाहरूमा पनि कति धेरै कैफ़ियत किन लुकेको हुन्छ हँ?

    उनको दिमागमा सहरको सबैभन्दा चलेको अर्को एक रेष्टुरा जहॉ आफ्नो सबैभन्दा नजिकको मित्रवत कर्मचारी थिए। जहॉ हलिउड र फ्रान्सका ठूला ठूला सिनेमा सुटिङ हुन्थ्यो। एक सुन्दर रेष्टुराँका सजावटमा ठूलो लगानि भएको थियो। जसको मेनेजर रोजारीयोलाई सम्झिए। उसकोमा त कम्पनीको मूल्यमान्यता बॉकी रहेको कुरामा उनलाई विस्वास थियो। उनी रोजरियोले चलाउने रेष्टुराँमा गए। उनी कतै नरोकिई सिधै रोजारियो बसेको बारमा गएर सामुन्ने कुर्सीमा बसे। रोजारियोले उनलाई तलदेखि माथीसम्म हेर्यो । दोन मोन्तेरोलाई लाग्यो रोजारियोले उनलाई चिने होला भनेर।

    रोजारियोले झ्यालतिर हेर्दै उनलाई तिमी ग़लत ठाउँमा आएछौ भन्यो। दोन मोन्तेरोले अनुनय विनय गरे । म पनि रेष्टूरा मालिक थिएँ। स्टक व्यापारमा सबै चौपट भयो। म बरबाद भएँ । मलाई कमसेकम एउटा ब्रेड भएपनि दिनुस। मैले एक हप्तादेखि खान पाएको छैन। मलाई बचाउनुस म ज़िन्दगीभर तपाईको गुण भुल्ने छैन। अहमताले भरिएको रोजारियो पग्लिएन। उसले दोनलाई खिस्याउँदै भन्यो; “व्यापार गर्न दिमाग चाहिन्छ। दिमाग नहुनेहरू तिमी जस्तै भिखारी हुन्छन्। मेरो साहुजी पनि बेफाल्तुको कन्जुस थियो। स्वॉठ थियो। कुनै जुक्ति र तरिका नै थिएन। यो सबै मैले गर्दा भएको हो । मेरो मालिक एक दुई महिनामा क्यान्सरले मर्दैछ । त्यसपछि यो सारा चेन रेष्टुरा मेरै नाममा हुनेछ। म जतिको योग्य रेष्टुरेन्ट व्यापारी अर्को जन्मने नै छैन। तिमी जस्तो भिखारीको यो रेष्टुरामा कुनै स्थान छैन। तिमी बाहिर निस्किहाल”। उसले पालेलाई आदेशदियो “यस्ता भिखारीहरूलाई मेरो रेष्टुराको आसपास आउन नदिनु”। मोन्तेरोको ऑखा भरि ऑसु भरियो।

    दोन मोन्तेरो भाव विव्हल भए। अन्तिममा सहर बाहिर पट्टी एकान्तमा रहेको एउटा भिलेज रिजोर्ट टाईपको सुन्दर रेष्टुरा भ्रमण गर्ने निधो गरे। सायद त्यस दिनको लागि त्यो उनको अन्तिम रेष्टुराँ भ्रमण थियो। उनको मनमा कुनै आशा बॉकि थिएन। मनमनै हदैसम्मको नराम्रो व्यवहार सहन उनले आफूलाई तयार पारे । उनले गेटपालेलाई देखे गेटपालेले नरम भएर अभिवादन गर्यो। मोन्तेरोले सबै ठाउँमा जस्तै व्यथा यहॉपनि बताए। गेटपालेले म्यानेजर बोलाई दिए । म्यानेजर आएर परिचय मागे उनको व्यथा सोधे। एक छिन मोन्तेरोलाई त्यही रोकिन भन्दै म्यानेजर भित्र पसे। मोन्तेरोलाई पटक्कै विश्वास थिएन। उनलाई यहॉ खाना मिल्छ तर उनले सोचेजस्तो भएन म्यानेजरले उनलाई भित्र लगे ठूलो डाईनिङ टेवलमा विभिन्न प्रकारको डिस राखिएको थियो। क्यानडल लाईट सजिएको सुन्दर टेवल तर्फ ईशारा गर्दै मेनेजर म्याटियोले दोन मोन्तेरोलाई बस्न अनुरोध गरे।

    यी सबै तिमी र मेरोलागि हो । ल सुरू गर। म पनि तिमी जस्तै बेरोज़गार भएको थिएँ। बाटोमा माग्दै हिड्थे । एकदिन यो रेष्टुरा मालिकसँग मेरो भेटभयो । उनले मलाई भेटभरी खाना दिएर यहि रेष्टुरामा कामपनि दिए। म अहिले म्यानेजर भएको छु। यो समय गतिशील छ । समयले एकै झड्कामा कस्लाई कहॉ पुर्याउँछ थाहा छैन। त्यसैले तिमी हरेस नखाउ सफा भएर भोलिदेखि काम गर्न आउ म तिमीलाई काममा राख्ने छु। ईमान्दारी साथ काम गर। तिम्रो सबै ऋण चुक्ता हुनेछ । म तिमीलाई काम सिकाउँछु। दोन मोन्तेरोको ऑखामा खुसीको ऑशु टल्कियो । खाना खाएर उनी नमस्ते गरेर बिंदा भए। मेनेजरले ढोकासम्म छोडिदिए।

    भोलीपल्ट दोन मोन्तेरोले सबै ब्रान्च मेनेजरको मिटिङ डाके । उनी त्यही ड्रेसमा थिए। मिटिङ स्थानमा उनलाई देखेर सबैले नाक खुम्च्याए। सभाहलना सबैको उपस्थितिपछि एकाएक आफ्नो गेटअप फ्याकेर आफ्नो असली रूप देखाए। सबै म्यानेजरहरूको होस उड्यो। म्याटियो बाहेक सबैको जागीर चैट भयो । उनले आफूलाई क्यान्सर भएको धेरै दिन नबॉच्ने भएकोले सही उत्तराधिकारी खोज्न यो सबै गरेको बताए। उनीसँग समय थिएन, राम्रो उत्तराधिकारीको खोजीमा थिए। म्याटियोलाई उनले आफ्नो वील (वारिस) हस्तान्तरण गरे। सबै श्री सम्पति र रेष्टुराहरू म्याटियोको हुने भयो। रोजारियो लगायतका म्यानेजरहरू सबै बेरोज़गार भए। दोन मोन्तेरोलाई मर्नुपूर्व एक गतिलो निर्णय लिन पाएकोमा गौरव महसुस भयो। तथास्तु !

  • ओलीले बालुवाटार छाड्दै, यूथफोर्सले बालकोटसम्म स्कर्टिङ गर्ने

    ओलीले बालुवाटार छाड्दै, यूथफोर्सले बालकोटसम्म स्कर्टिङ गर्ने

    काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार अपरान्ह सरकारी निवास बालुवाटार छाड्दैछन् । त्यसपछि उनी निजी निवास बालकोटमा रहनेछन् । उनले बिहान ११ बजे सरकारी निवास छाड्ने योजना छ । प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार सर्ने समय भने तय भइसकेको छैन ।

    देउवा मंगलबारे राती सपथग्रहण, पदभार ग्रहण र मन्त्रिपरिषद् बैठक सकेर निजी निवास बूढानिलकण्ठ फर्केका छन् । उता, ओलीलाई निजी निवास फर्काउने क्रममा भने एमालेको भातृ संगठन युथफोर्सले आज काठमाडौंमा तामझाम देखाउने भएको छ ।

    ओलीलाई बालुवाटारदेखि बालकोटसम्म एमालेको भातृ संगठन युथ फोर्सले स्कर्टिङ गरेर पुर्‍याउने तयारी गरेको हो । यो कामको नेतृत्व भक्तपुरका सांसद महेश बस्नेतले गर्नेछन् । ओलीलाई दुई हजार गाडी र तीन हजार मोटरसाइकलको लावालस्करको बीचमा राखेर बालुवाटारबाट बालकोट पुर्याइने भएको छ ।

  • देउवाको सपथ ग्रहणमा ओली गएनन, माधव नेपाल उपस्थित

    देउवाको सपथ ग्रहणमा ओली गएनन, माधव नेपाल उपस्थित

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ ग्रहण समारोहमा निवर्तमान प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले भाग लिएनन् । मंगलबार साँझ सम्पन्न भएको सपथ ग्रहणमा सामान्यतया पूर्वप्रधानमन्त्री उपस्थित भई नयाँ प्रधानमन्त्रीलाई शुभकामना दिने प्रचलन रहेको छ । तर, ओली भने उपस्थित भएनन् ।

    सपथ ग्रहण समारोहमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई र माधवकुमार नेपाल समेत उपस्थित भए । उनीहरुले देउवालाई सफल कार्यकालको शुभकामना समेत दिएका छन् । देउवाको सपथमा माधव कुमार नेपाल पुगेपछि एमाले कार्यकर्ता भने आक्रोसित बनेका छन् । उनीहरुले सामाजिक संजालमा आफ्नो नेताको सरकार गिराएर विपक्षी दलको नेता प्रधानमन्त्री हुँदा खुसीयाली मनाएको भन्दै नेता नेपालको चर्को आलोचना गरिरहेका छन् ।

  • जाँदाजाँदै ओलीले वालुवाटारमै बोलाए एमाले स्थायी कमिटी बैठक

    जाँदाजाँदै ओलीले वालुवाटारमै बोलाए एमाले स्थायी कमिटी बैठक

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीकालमा मुस्किलले आधा दर्जन पटक मात्र सरकारी कार्यालय टेकेका छन् । सबै कामकाज उनले सरकारी निवास वालुवाटारबाटै गरे । सरकारी कामबाहेक उनले पार्टीका हरेक बैठकहरु समेत सरकारी निवासमै डाके । सोहीकारण उनीमाथि सरकारी निवासलाई पार्टी कार्यालय बनाएको आरोप समेत लाग्छ । उनले जाँदा जाँदै नेकपा एमालेको स्थायी कमिटीको बैठक समेत आज बालुवाटारमै बोलाएका छन् ।

    दिउँसो एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरि बैठक बोलाइएको छ । आजको बैठकमा सर्वोच्च अदालतको फैसलाको समीक्षा, पार्टी एकता कार्यदलबीच भएको १० बुँदे सहमतिलगायतका विषयमा छलफल हुने भएको छ । आज पार्टीको आधिकारिक धारणा समेत सार्वजनिक गर्ने तयारी छ ।

    आजको बैठकमा माधव नेपाल पक्षसमेत सहभागी हुने बताइएको छ । सर्वोच्च अदालतले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र विघटटित प्रतिनिधिसभालाई पुनःस्थापित गर्न परमादेश जारी गरेसँगै ओलीको राजनीतिक भविश्य भने अन्यौलमा छ ।

  • निधारमा एमाले अध्यक्ष ओलीको चित्र बनाएका युवासंघका कार्यकर्ता विपक्षी गठबन्धनविरुद्ध सडकमा

    निधारमा एमाले अध्यक्ष ओलीको चित्र बनाएका युवासंघका कार्यकर्ता विपक्षी गठबन्धनविरुद्ध सडकमा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चित्र निधारमा कोरेका एमालेको भातृसंगठन युवा संघका कार्यकर्ता विपक्षी गठबन्धनविरुद्ध सडक प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले आज काठमाडौंको माइतिघर मण्डलामा प्रदर्शन गरेका हुन् । उनीहरुले सरकार र नेकपा एमालेविरुद्धको घेराबन्दी गरेको र काम गर्न नदिएको भन्दै विपक्षी गठबन्धनविरुद्ध आन्दोलन गर्नुपरेको समेत बताए ।

    सरकारविरुद्ध विपक्षी गठबन्धनका दलका भातृ सङ्गठनले चरणबद्ध आन्दोलन शुरु गरेसँगै सडकमा केपी ओलीको समर्थनमा जुलुस निकालिएको हो । सत्तारुढ दलबाट भएको यो हर्कतलाई भने धेरैले पंचायतकालिन शैलीको समर्थन भनेका छन् । आन्दोलनकारीले भने चारैतिरबाट घेराबन्दीमा परेका कारण प्रतिकारमा उत्रनु परेको बताएका छन् । प्रदर्शनकारीले चुच्चेनक्सा सहितको नेपालको झण्डा र एमाले अध्यक्ष केपी शर्मा ओलीको ठूलो फोटो अंकित ब्यानर बोकेका थिए ।

  • विश्वकै महंगो ट्राफिक जाम पार्ने पानीजहाज अब नियमित संचालनमा

    विश्वकै महंगो ट्राफिक जाम पार्ने पानीजहाज अब नियमित संचालनमा

    कायरो । गत मार्च महिनामा सुइज नहरमा तेर्सो परेर अड्किँदा दैनिक करोडौं डलर घाटा लगाएको विशाल पानीजहाज अन्ततः पुनः व्यवसायिक संचालनमा फर्किएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार सूइज नहरलाई अड्किएको यो पानीजहाजका कारण यूरोप र एसियाबीच समुन्द्रीमार्गबाट हुने व्यापार रोकिएको थियो । यसले विश्व व्यापारमै असर पारेको थियो । इजिप्टले उक्त पानीजहाजलाई नियन्त्रणमा लिएको थियो ।

    तर, पानीजहाज कम्पनी र बिमक कम्पनीसँग क्षतिपूर्तिसम्बन्धी एउटा सम्झौता गरेपछि इजिप्टले जहाजलाई नियन्त्रणमुक्त गरेको छ । एभरग्रीन नाम दिइएको पानीजहाज बुधबार दिउँसोबाट संचालनमा आएको छ । जहाज भूमध्य सागरतर्फ लागेको छ । पानीजहाजलाई उक्त नहर पर्ने सहर इस्माइलिआमा तीन महिनासम्म नियन्त्रणमा राखिएको हो ।

    क्षतिपूर्तिसम्बन्धी सम्झौताको सर्तहरू सार्वजनिक गरिएका छैनन् । बीबीसीका अनुसार इजिप्टले ५५ करोड अमेरिकी डलर माग गरेको थियो। १९३ किलोमिटर लामो सूइज नहरले भूमध्य सागरलाई उत्तरी पुछारमा र दक्षिणतर्फ लालसागरलाई जोड्दै एशिया र युरोपबीचको सबैभन्दा छोटो जलमार्गको काम गर्छ। यो जलमार्गलाई ४०० मिटर लामो एभरग्रीन उच्च वायुका कारण छड्के पर्दै पानीमुनिको सतहलाई छुँदा अड्किएको थियो ।

    यसले नहरमा हजारौं पानीजहाज ट्राफिक जाममा परेका थिए । मालवाहक उक्त पानीजहाज छ दिनपछि पुनः तैरन सम्भव पारिएपछि नहर खुलेको हो । सो क्रममा एकजनाको मृत्यु समेत भएको थियो । एभरग्रीन जापानी कम्पनीको पानीजहाज हो । जहाजमा चालक दलका सदस्य भने भारतीय थिए । पानीजहाजमा अझै १८,३०० कन्टेनर छन्।

  • जब म्याद सकिएको बेलायती बैंकको डेविट कार्डबाट काठमाडौंमा निस्कियो साढे ३४ लाख…

    जब म्याद सकिएको बेलायती बैंकको डेविट कार्डबाट काठमाडौंमा निस्कियो साढे ३४ लाख…

    काठमाडौं । नेपालको बैंकिंग प्रणालीमाथि पटक पटक प्रश्न चिन्ह उठ्ने गरेको छ । यस्तै एक रहस्यमय घटना अहिले काठमाडौंमा भएको छ । जहाँ म्याद सकिएको डेबिट कार्डबाट साढे ३४ लाख रुपैयाँ निकालिएको छ । यो आरोपमा प्रहरीले दुई जनालाई पक्राउ समेत गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ५ स्थित भत्केको पुलबाट दुई जनालाई आइतबार पक्राउ परेका हुन् ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरीले सोलुखुम्बु घर भइ भत्केको पुलमा कोठामा बस्ने ५७ वर्षीय जगतबहादुर गुरुङ र पर्साकी ३० वर्षीया सावित्री गुरुङलाई पक्राउ गरेको ह । गुरुङ पूर्व ब्रिटिस लाहुरे समेत हुन् । उनीहरूले काठमाडौंको चाबाहिल, कालोपुल, हात्तिसार, भाटभटेनी क्षेत्रमा सिद्धार्थ बैंकको एटिएम मेसिनबाट पैसा झिकेका छन् ।

    पैसा निकाल्न बेलायतको लोइज बैंकको भिसा डेबिट कार्ड प्रयोग भएको छ । अघिल्लो बुधबार ३० रकम निकालेका उनीहरुले जब म्याद सकिएको डेबिट कार्डबाट पैसा आउने थाहा पाए, त्यसपछि भने पटक पटक गरि साढे ३४ लाख रुपैयाँ निकालेका छन् । प्रहरीका अनुसार त्यसरी निकालेको रकमध्ये २१ लाख बरामद भएको छ ।

    १० लाख भन्दा बढी सहकारीमा जम्मा गरेको र २ लाख रुपैयाँ आफैले खर्च गरेको पाइएको छ । म्याद गुज्रिएको कार्डबाट पैसा झिकिएको पत्ता पाएपछि भने बैंकले प्रहरीलाई खबर गरेको थियो । सीसीटीभी फुटेजका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । बैंकले भने प्रणालीमा आएको एक दुर्लभ समस्याका कारण यस्तो घटना भएको बताएको छ ।

    सामान्यतया म्याद सकिएको कार्डबाट पैसा आउँदैन । वास्तविक कार्ड होल्डरले नै पैसा झिकेपनि म्याद सकिएको र आफ्नो खातामा भएको भन्दा बढी रकम झिकिएको पत्ता पाएपछि बैंकले प्रणालीमा गडबड भएको पत्ता पाएको थियो । प्रहरीले यो कसरी भयो भन्नेबारे अनुसन्धान गरिरहेको बताएको छ ।

  • कोही नहुनेको भगवान आफ्नो हुन्छ

    कोही नहुनेको भगवान आफ्नो हुन्छ

    अच्युत सिग्देल, न्युयोर्क

    अमेरिकाको दक्षिणी राज्य आलावामालाई टोर्नेडो र हरिकेनले वर्षेनि दु:ख दिन्छ । हरेक वर्ष मानिसहरू सुरक्षित ठाउँमा घरवार सार्न वाध्य हुन्छन । यो वर्ष क्याथी लगायत धेरैको घर पनि हरिकेनले तहसनहस पार्यो। क्याथी बचेखुचेको सामान लिएर उनीहरू सर्दै थिए। नसकेपछि मुभिङ कम्पनीलाई सामान सार्न बोलाए ।
    क्याथीले बोलाएको मुभिङ कम्पनीले कामदार माग गरेको थियो। हरिकेनले उजाडिएको रेष्टुराँको टिनएजर सेफ वाल्टर कार्रको ऑखा बिज्ञापनमा पऱ्यो । उस्ले चुनौति नै उठाएर भए पनि नयाँ काम शुरु गर्ने निर्णय गऱ्यो। मुभिङ कम्पनीमा गएर अन्तरवार्ता दियो । भोलीदेखि नै काममा बोलायो । घरबाट २० माईल दुरीको काम सामान्यतया नजिकै मानिन्छ, अमेरिकामा ।
    नयाँ काम पक्का गरेर जब वाल्टर घर फर्कदै थियो । घर नजिकै पुग्दा आफ्नो कार जलेर भग्नावशेष भएको देख्यो । उसलाई फसाद पऱ्यो, अब के गर्ने ?
    भोलीपल्ट बिहान छ बजेको काममा पुग्नु थियो। गुगल म्यापमा राउट सर्च गर्दा हिडेर पुग्न सात-आठ घण्टा लाग्ने रहेछ। भर्खर घरभाडा तिरेकोले ऊ टाट पल्टिएको थियो। बगलिमा कौडी थिएन। फ्रिज खोलेर आधा दर्जन अण्डा उमाल्यो। हार्ड ब्वाईल्ड अण्डा खाएर दुई/तीन घण्टा ऑखाको विष मार्यो । मध्यरातमा उठेर उ काम तिर पैदल लाग्यो । उ स्थानीय स्तरको धावक भएकोले दौडेरै समयमा पुग्ने हिसाव लगायो । जँगल र बुट्यान भएको बाटो र छाडा कुकुरहरूको डर थियो। प्राय: बाहिर मानिसहरू आफ्नो छिमेक भन्दा पर हिड्दै हिड्दैनन। नीलो वर्णको मान्छे आधारातमा हिड्नु परेकोले आत्मरक्षाको लागि किचन नाईफ लिएको थियो।

    करिव चार घण्टा हिडेपछि ऊ थकित भयो। सडकको पेटीमा थचक्क बस्यो। राति खाएको अण्डा पचिसकेको थियो। प्यासले मुख सुकेको थियो। पसिनाले लगाएको लुगा भिजेको थियो। सड़क किनारमा शंकास्पद मान्छे देखेकोले राति गस्ति आएको पुलिसको नजर ऊमाथि पऱ्यो । साईरन बजाउँदै पुलिस आएर सोधखोज गर्यो । उस्ले आफ्नो कामको पहिलो दिन, गाडी बिग्रेकोले पैदल आएको कुरा सुनायो। पुलिस अचम्मित भयो । कोही नहुनेको भगवान आफ्नो हुन्छ भने झैं उसलाई लगेर एउटा वर्गर पसलमा गएर रोक्यो। पुलिसले उसलाई दुईवटा चिकेन बिस्किट र एक बोटल पानी किनिदियो।
    वाल्टरको डिस्टीनेसन पुलिसको सीमा क्षेत्र भन्दा चार पॉच माईल अझै टाढा थियो। पुलिस ड्युटीमा भएकोले आफ्नो क्षेत्र छोडेर जान सकेन । वाल्टरलाई एउटा चर्चमा सुरक्षित राख्दै मेरो सिफ्ट सकिने बेला भयो। म तिमीलाई छोडी दिन्छु यही बसिराख भन्दै पुलिसले बिंदा लियो।

    बिहानको पॉच बजिसकेको थियो। वाल्टरलाई अरूको भरोसामा बस्नु उचित लागेन । भर्खर खाएको विस्किट पानीको फुर्ति थियो – ऊ बाटो लाग्यो। क़रीब दुई माईल के हिडेको थियो। ड्युटी सकेर आएको पुलिसले उसलाई लिफ़्ट दियो। तिम्रो बारेमा मलाई मेरो साथीले भनेकोले म घर जॉदै गर्दा तिमीलाई छोडीदिन्छु भनेर आएको।

    “पुलिस जनताको साथी हुन्छन”। पुलीसले उसलाई ड्रप गर्यो । जुन घरको सामान सार्नु थियो, उस्को घरपेटी तिनै क्याथी थिईन। पुलिस यतिकै त्यहाँबाट हिडेन। उसले क्याथीलाई भेट्दै भन्यो; “यो केटा २० माईल हिडेर तिम्रो काममा आउदै थियो। एउटा असल बच्चा हो। ह्याट्स अफ टु हिज डेडिकेसन एण्ड वोर्कहोलिक प्यासन । प्लिज टेक केएर हिम”। घरपेटीका ऑखा रसाए आफ्ना बच्चाहरू सरहको केटा यत्रो २० माईल हिडेर उस्को राहतको लागी आउनु उनलाई चमत्कार भए जस्तो लाग्यो। क्याथीले वाल्टरलाई भित्र डाकिन । ब्रेक फास्ट दिईन र थोरै न्याप (थकाई) मार्न भनिन। वाल्टरले मान्दै मानेन ।हैन म काम सुरू गर्छु भन्दै प्याकिङ मिलाउन थाल्यो । उस्को टिमका थप दुईजना साथी नआइपुग्दै उसले धेरै काम सकिसकेको थियो।
    वाल्टरले दिनभरी फटाफट काम गर्यो । उनीहरूले निर्धारित समय भन्दा चाँडै नै काम सकाए। वाल्टरले एकछन घरपेटी क्याथीका बच्चाहरूसँग बास्केट बल खेल्यो । सबैसँग राम्रो सम्वन्ध बनायो। सॉझपख उस्लाई सँगै काम गरेको साथीले घर छोडी दिए।
    भोलीपल्ट कामको रिभ्यूको लागी मुभिङ कम्पनीको म्यानेजरले क्याथी घरपेटीलाई फ़ोन गर्यो। क्यथीले वाल्टरको बारेमा बताउँदै गर्दा दुबै फोनमा रोए। क्याथीले वाल्टरको जलेको कार मर्मत गर्न २००० डलर लक्ष राखी वाल्टरको कहानी राखेर गो फण्ड खोलिदिईन । दुई चार दिनमा झण्डै १०० के( एक लाख डलर) खातामा जम्मा भयो। वाल्टर भाईरल बने ।
    मुभिङ कम्पनीको सि ई योले यो कुरा थाहा पाए। आफ्नो कम्पनिको डेडिकेटेड कामदारसँग मिल्ने ईच्छा देखाए । वाल्टरको घर नजिकैको कफी शपमा भेट गरे । सिईओले आफूले चढेको फ़ोर्ट स्केप नयॉ गाडीको सॉचो वाल्टरलाई हस्तान्तरण गर्दै भने; “यो गाडी मलाई भन्दा तिमीलाई सुहाउँछ। यस्को हकदार म भन्दा तिमी बढी छौ”।
    वाल्टरका ऑखा रसाएँ। सिसीओले वाल्टरको वुवा, आमा, परिवार, सँस्कार र विनम्रता प्रति कृतज्ञता जाहेर गरे ।

    आफ्नो गाडीको आवश्यकता पुराभएकोले वाल्टरले क्याथीले संकलन गरेको पैसा लिन मानेनन। त्यो पैसाले वाल्टरको समाजमा गरिव बच्चाहरूको शिक्षा दीक्षा, ट्यूसन, कोचिङमा खर्च गर्ने निर्णय भयो। वाल्टरको कहानि सबै न्युज च्यानल र रियालिटी टिभीले लाईभ टेलिकाष्ट गरे। त्यसैले त भनिन्छ नि एक असल कर्मबीर मान्छे नै ईश्वरका असल सन्तान हुन।
    अहिले क्याथीको परिवार र वाल्टर साथी बनेका छन्। एक आपसमा सामाजिक सद्भाव क़ायम राखेका छन्। समाजका दु:ख सुखमा साथ दिन्छन। त्यसैले भनेको होला – ‘प्रहार खानु तर हरेश नखानु’ ।

  • चिनियाँ कम्यूनिष्ट पार्टी स्थापनाको १ सय वर्ष पुरा, कसरी मनाईंदै उत्सव ?

    चिनियाँ कम्यूनिष्ट पार्टी स्थापनाको १ सय वर्ष पुरा, कसरी मनाईंदै उत्सव ?

    बेइजिङ । चीनमा सत्तारुढ कम्युनिस्ट पार्टी स्थापनाको १ सय वर्ष पुगेको छ । चीनले यो अवसरलाई विशेष उत्सवका रुपमा मनाइरहेको छ। बीबीसीका अनुसार विशेष कार्यक्रमबारे खुलासा भने गरिएको छैन । तर राष्ट्रपति सी जिन्पिङले बिहीवार एक मन्तव्य दिने कार्यक्रम छ । चीनमा कैयौँ ठूलो स्तरका कार्यक्रम भइरहेको र संचारमाध्यममा चीनको इतिहासबारे कार्यक्रम प्रसारण गरिएका छन् ।


    सन् १९२१ मा स्थापना भएको चीनको कम्युनिस्ट पार्टी एउटा लामो गृहयुद्धपछि ७२ वर्षअघि सत्तामा पुगेको हो । त्यो समयमा देशमा व्यापक परिवर्तनहरू भएका थिए । बीबीसी लेख्छ, केही त्यस्ता परिवर्तन भने स्पष्ट रूपमा देखिनेगरी हटाइएको छ। सोमवार, बेइजिङस्थित बर्डस् नेस्ट रङ्गशालामा द ग्रेट जर्नी नाम दिइएको कला देखाइएको थियो। प्रदर्शनमा कलाकारले पार्टी र देशको इतिहास झल्काउने खालका पहिरन लगाएका थिए र साजसज्जा प्रदर्शन गरेका थिए ।

    चीनले कोभिड१९ को महामारीलाई कसरी पराजित गर्यो भन्ने पनि प्रस्तुति देखाइएको थियो । वार्षिकोत्सव मनाउन वर्षैभरि प्रसारणका लागि १०० टेलिभिजन कार्यक्रमको मिति समेत तय भएको छ । विज्ञहरूका अनुसार पार्टी र देशको इतिहासलाई प्राथमिकता दिएर उत्सवहरू मनाइरहँदा चीनको तीव्र विकासलाई पनि पर्यायका रूपमा देखाउन खोजेको देखिएको छ ।

  • माधव नेपाल प्रचण्डको पुच्छर बनेको र कांग्रेस प्रचण्डपथमा हिँडेको एमाले अध्यक्ष ओलीको आरोप

    माधव नेपाल प्रचण्डको पुच्छर बनेको र कांग्रेस प्रचण्डपथमा हिँडेको एमाले अध्यक्ष ओलीको आरोप

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार आफ्नो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, कांग्रेस सभापति शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध तुच्छ टिप्पणी गरेका छन् । ७०औं मदन भण्डारी जयन्तीको अवसरमा सोमबार बालुवाटारमा आयोजित कार्यक्रममा उनले माधवकुमार नेपाललाई प्रचण्डको एक मामुली कार्यक्रता मात्र भएको आरोप लगाए । उनले नेपाल प्रचण्डको पुच्छर मात्र भएको समेत टिप्पणी गरे ।

    लाजसरम पचेको, अराजक, अनुशासनहीन र इमान नभएको भन्दै उनले नेपालविरुद्ध विषवमन गरेका हुन् । हालै नेपालले आफुलाई ओलीले प्रधानमन्त्रीको प्रस्ताव आएको बताएकोतर्फ इंिगत गर्दै प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो मान्छेलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न आफुलाई बहुला कुकुरले नटोकेको बताए । उनले प्रचण्डलाई मान्छे मारेर आएको भन्दै आलोचना गरे ।

    तर, उनले विगतमा प्रचण्डका विश्वासिला केही कार्यक्रतालाई भने काखी च्यापेका छन् । उनले नेपाली कांग्रेसलाई भने प्रचण्डपथमा लागेको आरोप लगाए । उनको यो आरोपलाई भने कांग्रेसले अशोभनीय टिप्पणी भनेको छ । विगतमा स्वास्थ्य मिल्दा प्रचण्डसँग टासिएको सन्दर्भ सम्झाउँदै कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले प्रधानमन्त्रीले अशोभनीय अभिव्यक्ति दिएको बताए । उनले सर्वोच्च अदालततर्फ समेत आलोचना गर्न भ्याएका छन् ।

  • स्वास्थ्य प्रोटोकल बिर्सिएर महिला सहकर्मीलाई चुम्बन गरेका बेलायती स्वास्थ्यमन्त्रीद्धारा राजिनामा

    स्वास्थ्य प्रोटोकल बिर्सिएर महिला सहकर्मीलाई चुम्बन गरेका बेलायती स्वास्थ्यमन्त्रीद्धारा राजिनामा

    लण्डन । बेलायतमा स्वास्थ्य प्रोटोकल यति कडा छ की त्यहाँ कुनै पनि ओहदाका मानिसले यसको उल्लंघन गर्न पाउदैनन् । हरेक दिन टेलिभिजनमा जनतालाई स्वास्थ्य प्रोटोकलबारे जानकारी गराउने स्वास्थ्य मन्त्रीले नै प्रोटोकल तोडेपछि अन्ततः उनले राजिनामा दिनु परेको छ । बेलायती संचारमाध्यमहरुका अनुसार बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककले राजीनामा गरेका छन् ।

    कोरोनाभाइरस नियन्त्रण गर्न बनाइएको प्रोटोकल तोड्दै उनले एक महिला सहयोगीलाई अँगालो हालेको र चुम्बन गरेपछि उनी आलोचित बनेका हुन् । ती महिलाले समेत राजिनामा गरेकी छिन् । ह्यानककले शनिबार प्रधानमन्त्री बोरिस जोन्सनलाई राजीनामा बुझाएका छन् । उनी केही महिना अगाडी मात्र मन्त्री बनेका थिए ।

    उनले स्वास्थ्य प्रोटोकल तोडेको तस्वीर द सन पत्रिकामा शुक्रबार छापिएको थियो । ४२ वर्षिय उनले आफुबाट गल्ती भएको स्वीकार गर्दै राजिनामा गरेका हुन् । उनको स्थानमा प्रधानमन्त्री जोनसनले साजिद जावेदलाई नयाँ स्वास्थ्य मन्त्री तोक्दैछन् । बेलायतमा ४७ लाख १७ हजार मानिसमा संक्रमण पुष्टी भइसकेको छ । १ लाख २८ हजार जनाको मृत्यु भएको छ ।

  • विश्वकै ठूलो परिवारका घरमुलीको मृत्यु

    विश्वकै ठूलो परिवारका घरमुलीको मृत्यु

    मिजोरम । विश्वको सबभन्दा ठूलो परिवारका घरमुली मानिने ७६ वर्षीय पुरुषको निधन भएको छ । वर्तमान विश्वमा भारतका जिओना चाना विश्वकै धेरै सन्तानका मुखिया मानिन्थे ।

    बीबीसीका अनुसार उनको भारतको मिजोरम राज्यमा निधन भएको हो । बहुपत्नी प्रथा भएको एउटा धार्मिक सम्प्रदायका प्रमुख रहेका चानाका ३८ श्रीमती, ८९ सन्तान र ३६ नातिनातिना रहेको पाइएको छ ।

    मिजोरमका मुख्यमन्त्री जोरामथाङ्गाले ट्विटरमा उनको निधन भएको बारे लेखेका छन् । भारतीय संचारमाध्यमहरुका अनुसार चानामा मधुमेह र उच्च रक्तचापको समस्या थियो।

    चिकित्सकहरूले पीटीआई समाचार संस्थालाई चानाको घरमै स्वास्थ्य बिग्रिएको र आइतवार साँझ मृत अवस्थामा अस्पताल ल्याइएको बताएका छन्। उनको परिवार विश्वकै दावि गरिएको छ । यसको आधिकारिक रेकर्ड भने छैन ।

    चानाको परिवारको संख्या समेत यकिन गर्न सहज नभएको बीबीसीले लेखेको छ । एउटा विवरणमा उनका ३८ श्रीमती, ९४ सन्तान, ३३ नातिनातिना र एक पनाति रहेको पाइएको छ । स्थानीय सञ्चारमाध्यमहरूले सबैभन्दा ठूलो परिवारको विश्व कीर्तिमान भएको विवरण दिएका छन् ।

    चानाको परिवारकै कारण भारतको उत्तरपूर्वी गाउँ पर्यटकीय आकर्षणको केन्द्र भने बनेको बताइएको छ । रोयटर्सका अनुसार चाना सन् १९४५ मा जन्मेका हुन् र उनले आफूभन्दा तीन वर्ष जेठी पहिलो श्रीमतीलाई १७ वर्षको उमेरमा भेटेका हुन्। सो परिवार २,००० जना अनुयायी रहेको इसाई धर्मको चाना पउल सम्प्रदायको रहेको छ।

  • १२ वर्षपछि इजरायलमा  बेन्जामिन नेतान्याहु सत्ता बाहिर

    १२ वर्षपछि इजरायलमा बेन्जामिन नेतान्याहु सत्ता बाहिर

    काठमाडौं\एजेन्सी । इजरायलमा सर्वाधिक समय सत्तामा रहेका नेता बेन्जामिन नेतान्याहुको सत्ता यात्रा पुरा भएको छ । त्यहाँको संसद्ले नयाँ नेता निर्वाचित गरेसँगै १२ वर्ष सत्तामा रहेका बेन्जामिन नेतान्याहुको पद गुमेको बीबीसीले लेखेको छ । दक्षिणपन्थी राष्ट्रवादी नाफ्ताली बेनेटले परिवर्तनको सरकार को नेतृत्व गर्दै शपथ ग्रहण गरेका छन्। ६०\५९ बहुमतका आधारमा अभूतपूर्व गठबन्धनको नेतृत्व गर्दै बेनेट संसद्‌बाट प्रधानमन्त्री चुनिएको समेत बीबीसीले जनाएको छ ।


    सत्ता समीकरणसम्बन्धी सम्झौताका अनुसार उनी सन् २०२३ को सेप्टेम्बर महिनासम्म प्रधानमन्त्री रहने भएका हुन् । त्यसपछि उनले येश अटिड पार्टीका नेता याएर लापिडलाई अर्को दुई वर्षका लागि प्रधानमन्त्री पद हस्तान्तरण गर्नेछन्। नेतान्याहु इजरेलका हालसम्मकै सर्वाधिक लामो समय सत्तामा रहेका नेता हुन्। इजरेलको राजनीतिमा वर्षौंसम्म वर्चस्व कायम राखेका उनी दक्षिणपन्थी लिकुड पार्टीको प्रमुख तथा विपक्षी दलको नेता रहने छन्।

    अमेरिकी राष्ट्रपति जो बाइडनले बेनेटलाई बधाई सन्देश पठाउँदै आफूले उनीसँग काम गर्न चाहेको उल्लेख गरेका छन् । नेतान्याहुले पाँचवटा कार्यकाल शासन गरेका छन्। सबैभन्दा सुरुमा सन् १९९६ देखि १९९९ सम्म सत्ता सम्हालेका उनी सन् २००९ देखि २०२१ सम्म निरन्तर शक्तिमा छन्। सन् २०१९ को एप्रिलमा उनले चुनाव घोषणा गरेका थिए।

  • प्रधानमन्त्री ओलीलाई झट्का दिने ‘एकै दिनका चार निर्णय’

    प्रधानमन्त्री ओलीलाई झट्का दिने ‘एकै दिनका चार निर्णय’

    काठमाडौं । राजनीतिक रुपमा निकै चतुर रुपमा खेलिरहेका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला दिनमा केही गलेका छन् । खासगरी विपक्षी दल एकजुट भएर उनीविरुद्ध सक्रिय मात्र भएनन्, नतिजामा समेत त्यसले प्रभाव पार्न थालेको छ । आज ओलीका तीन वटा निर्णय उल्टिएका छन् । एक प्रदेशमा उनको समर्थन रहेको सरकार ढलेको छ ।

    आज गण्डकी प्रदेशमा ओलीको समर्थनमा रहेको सरकार ढलेको छ । ३१ सांसदको साथ पाउनु पर्ने प्रदेश सभामा मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको पक्षमा मात्र २७ भोट आयो । यो प्रदेशमा एमाओवादीको साथ लिएर कांग्रेसले सरकार बनाउने गृहकार्य थालेको छ ।


    बिहीबार नै सर्वोच्च अदालतबाट प्रधानमन्त्री ओलीका तीन निर्णय उल्टिएका छन् । यसमा मधेषवादी दलका नेताको सत्ताको भर्यांग बनेको नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी भएको छ । यसले ओलीलाई ठूलो धक्का लागेको छ ।

    सर्वोच्चले विधायिका छलेर ल्याइएको अध्यादेशलाई वैधानिकता दिएन । आजै सर्वोच्चले कर्णालीमा एमाले ओली पक्षले कारवाही गरेका सांसदलाई पुनर्वहाली गर्ने आदेश गरेको छ ।

    साथै सर्वोच्चले एमालेको १० औं महाधिवेशन आयोजक कमिटी भनी ओलीले गठन गरेको समितिलाई समेत अवैधानिक घोषित गरेको छ । अब ओली २ जेठ २०७५ मा फर्कनु पर्छ । त्यस अवस्थामा एमालेमा माधव नेपाल पक्ष बलियो रहने छ ।

    ओली पक्ष अल्पमतमा हुने छ । किनकी आयोजक कमिटीमा ओलीले आफु निकटका नेताहरुलाई राखेका थिए । एमालेको १० औं महाधिवेशन समितिलाई मान्यता नदिएपछि एमालेले कारवाही गरेका ११ नेतामाथिको कारवाही समेत अवैधानिक हुने छ ।

  • फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोनलाई सार्वजनिक स्थलमा हानियो थप्पड, दुई गिरफ्तार

    फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोनलाई सार्वजनिक स्थलमा हानियो थप्पड, दुई गिरफ्तार

    पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोनलाई सार्वजनिक स्थलमा थप्पड हानिएको छ । यो घटना मंगलबार भएको हो । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार मंगलवार फ्रान्सको दक्षिण पूर्वी इलाकामा आयोजना भएको एक सार्वजनिक कार्यक्रममा उनी सहभागी भएका थिए । सोशलमा भाइरल भएको एक भिडियो अनुसार सार्वजनिक स्थलमा रहेका समर्थकलाई अभिवादन गर्ने क्रममा एक व्यक्ति उनको नजिक आउँछन्, त्यसपछि राष्ट्रपतिको गालामा उनले चड्कन् दिन्छन् ।

    वेलेंस शहरमा भएको घटनापछि प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ । घटनापछि सुरक्षा अधिकारीले राष्ट्रपतिलाई सुरक्षित स्थानमा लगेका थिए । उनका समर्थकले ताली बजाएर उनको स्वागत गरिरहेको समयमा घटना भएको हो । फ्रान्समा यो घटनाको भने निन्दा भइरहेको छ ।

  • उत्तर कोरियामा विदेशी चलचित्र, लुगा र भाषाको प्रयोगमा प्रतिवन्ध, बिक्रि गरे मृत्युदण्ड

    उत्तर कोरियामा विदेशी चलचित्र, लुगा र भाषाको प्रयोगमा प्रतिवन्ध, बिक्रि गरे मृत्युदण्ड

    सोल । उत्तर कोरियामा विदेशी भाषा, चलचित्र लुगाको प्रयोगमा कडा प्रतिवन्ध लागेको छ । मुलुक भित्र विदेशी संस्कृतिको प्रभाव कम गर्न भन्दै विदेशी चलचित्र वा लुगा वा विदेशी भाषाका तुक्का बोल्नेलाई कडा सजाय भएको कानुनहरू लागु गरेको बीबीसीले जनाएको छ । उत्तर कोरियाका नेता किम जोन उनले थप कडा कानुन लागु गरेका हुन् ।

    अब दक्षिण कोरिया, अमेरिका वा जापानका चलचित्रको ठूलो सङ्ख्यासहित पक्राउ परेकाहरूलाई मृत्युदण्ड दिइने भएको छ। हेर्नेलाई १५ वर्षको जेल शिविर तोकिएको छ। उनले विदेशी भाषा, कपाल काट्ने तरिका र लुगा समेत रोक्ने घोषणा उनले गरेका छन् ।

    उत्तर कोरियाभित्र स्रोत भएको सोलको अनलाइन पत्रिका डेली एनकेको समाचार अनुसार हालै तीन युवालाई पप गायकको जस्तो कपाल काटेको र पाइन्ट कुर्कुच्चोमाथि हुने गरी लगाएको आरोपमा पुनः शिक्षा शिविरमा पठाइएको छ । उत्तर कोरियामा लाखौँ मानिसहरूलाई दुई छाक राम्ररी खान नपुग्ने बीबीसीले लेखेको छ ।

    गत वर्ष कोभिड महामारीका कारण सीमा बन्द गरिएपछि उत्तर कोरिया पहिलेभन्दा बाहिरी विश्वबाट छुट्टिएको छ। छिमेकी चीनबाट हुने अत्यावश्यक वस्तुहरूको आपूर्ति समेत घटेको छ। त्यहाँ हतियार कार्यक्रममा धेरै पैसा खर्च गर्ने शासकको चाहनाले अर्थतन्त्र असफल हुँदै गएको छ। अन्य देशको संस्कृति भित्रिएमा देशमा विद्रोहको सोच आउन सक्ने त्यहाँको शासकको निष्कर्ष छ ।

  • सरकार पशुपति क्षेत्रबाट किन हटाउन चाहन्छ घाट ?

    सरकार पशुपति क्षेत्रबाट किन हटाउन चाहन्छ घाट ?

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर मन्दिर परिसरबाट घाट हटाउने तयारी गरेको छ । मन्दिरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वलाई कायम राख्न नजिक घाट नराखी अन्यत्र सार्ने गरी गुरुयोजनामा प्रस्तावको तयारी कोषले गरेको हो ।

    राससका अनुसार यसअघि कोष सञ्चालक परिषद्ले पारित गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरेको गुरुयोजनालाई स्थानीयवासी एवं सरोकार भएका निकायसँग छलफल गरी अन्तिम रुप दिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्राडा चन्द्रमणि अधिकारीको संयोजकत्वमा समिति गठन गरी पुनरावलोकनका लागि पठाएको हो ।

    पुनरावलोकन समितिमा मन्दिर नजिक घाट राख्दा मसानघाटको जस्तो वातावरण बनी धार्मिक स्थलजस्तो हुन नसकेकाले यस्तो प्रस्ताव गर्न लागिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिएका छन् ।

    पशुपतिनाथ मन्दिरमा धुप, दीप, बलेर त्यसको सुगन्धमा भक्तजन रमाउनुपर्नेमा कोरोना महामारीका बेला दैनिक कम्तीमा पनि १०० वटा शव आउन थालेकाले पशुपतिनाथ मन्दिरबाट घाट अन्यत्रै वाग्मती किनारमा सार्ने गरी प्रस्ताव गर्न लागिएको उनको भनाई छ ।

    Photo Source : Sulav Shrestha/Xinhua


    कोरोना महामारी फैलिएका बेला कुनै दिन २०० वटा त कोरोना भई निधन भएकाको शवदाह गरिएको अभिलेख कोषमा छ । पशुपति क्षेत्र कि घाट हो भनी ठम्याउन असहज हुने गरी धुवाँ आउन थालेपछि आर्यघाट पूर्णरुपमा बन्द गर्ने गुरुयोजना कोषले तयार पार्न लागेको हो । विद्युतीय शवदाह गृहलाई पनि अन्यत्र उपयुक्त स्थानमा सार्न प्रस्ताव गन लागिएको छ ।

    भष्मेश्वरघाटका दुई वटा घाट राखी अरु हटाएर पशुपतिस्थित वाग्मती किनारलाई पूजा, आरधना, ध्यान, साधना केन्द्रका रुपमा विकास गर्ने गरी योजना बनाउने तयारी अन्तिम चरणमा पुगेको गुरुयोजना पुनरावलोकन समितिको समेत सदस्य सचिव रहेका ढकालले बताएका छन् ।

    सरकारले आगामी आर्थिक वर्षमा पशुपति क्षेत्रको विस्तारित गुरुयोजना सम्पन्न गर्न रु ३५ करोड बजेट विनियोजन गरेको छ । आम्दानीका अरु धेरै स्रोत भएकाले शवदाह गरेको दृश्यकै आधारमा विदेशी पर्यटक आकर्षित गर्न सकिन्छ भन्ने तर्क उचित नहुने कोषको निष्कर्ष छ ।

    आर्यतीर्थबाट घाट हटाएपनि ब्रह्मनालको व्यवस्था गरिने जनाइएको छ । काठमाडौं उपत्यकामा जनसङ्ख्यासमेत बढ्दै गएकाले घाटको विकल्प खोज्न कोषले सरोकार भएका निकायलाई अनुरोध गर्ने भएको छ । एक करोडसम्म जनसङ्ख्यालाई धान्ने गरी घाट व्यवस्था गरिनुपर्ने कोषको सुझाव छ ।

    पशुपति क्षेत्रमा हाल आर्यघाटमा दुई, भष्मेश्वर घाटमा १० र विद्युतीय शवदाह गृहमा तीन गरी १५ घाट सञ्चालनमा छन् । पछिल्लो समय पशुपति क्षेत्रका यी सबै घाटमा २४ सै घण्टाजसो शवदाह हुन थालेको छ । पहिले वाग्मती किनारका गोकर्णेश्वर, हत्यामोचनघाट, शङ्खमूल क्षेत्र, कालमोचनघाटलगायत स्थानमा पनि शवदाह हुने गरेको थियो ।

    पछिल्लो समय पशुपति क्षेत्रमा शवदाह सामग्री, क्रियापुत्री भवन, ब्राह्मणको सुविधा आदि कारणले सबै मानिस यहीँ आउँदा मसानघाटका रुपमा विकास हुन लागेको भन्दै कोषले वैकल्पिक व्यवस्था गर्ने प्रस्ताव गुरुयोजनामार्फत् गर्न लागेको हो ।