Category: रोचक खवर

  • श्रीलंकाली तटमा डुब्न लागेको विशाल पानीजहाजप्रति किन चिन्तित छन् वातावरण संरक्षणकर्मी ?

    श्रीलंकाली तटमा डुब्न लागेको विशाल पानीजहाजप्रति किन चिन्तित छन् वातावरण संरक्षणकर्मी ?

    कोलम्बो । श्रीलङ्काको एक तटमा विशाल पानीजहाज क्रमशः समुन्द्रमा डुब्ने क्रममा छ । दुई साता अगाडी लागो लागेको यो जहाज डुब्न लागेसँगै यसले संरक्षणकर्मीहरुको चिन्ता बढेको छ । समाचारमा जनाइए अनुसार यो जहाजमा रसायन भरिएको छ । जहाज डुब्दा वातावरणीय प्रकोपको जोखिम उत्पन्न हुने भन्दै संरक्षणकर्मीले चिन्ता जनाएका छन् ।

    यो जहाज सिंगापुरमा दर्ता भएको एक्स–प्रेस पर्ल हो । जहाजमा दुई सातादेखि आगो लागेको थियो । आगो निभाइएको छ । तर, अब जहाज डुब्ने क्रममा छ । बीबीसीका अनुसार सयौं टन इन्धन टयाङ्क लादिएको उक्त जहाज चुहिए समुद्री जीवमा ठूलो असर पर्ने भएको छ । भारतीय र श्रीलङ्काली नाभीहरु केही दिन यता आगो निभाउन प्रयासरत थिए ।

    आगो निभेपनि जहाज टुक्रिन र डुब्नबाट जोगाउन नसकिएको समाचारमा उल्लेख छ । समुद्री छाल र मौसमी हावाले पोर्ट अफ कोलम्बो बाहिर भइरहेको उक्त अपरेशनमा बाधा उत्पन्न गराइ रहेको छ । नाइट्रिक एसिडसहित जहाजमा लादिएको इन्धनसहितको सामग्री डुबे समुद्री फेदमा रहेका जीव नष्ट हुने चिन्ता बढेको छ । नेगोम्बोको तटीय क्षेत्रमा पानीमाथि इन्धन उत्रिएको छ ।

    श्रीलंकाको मत्स्य मन्त्रालयले उक्त क्षेत्रमा तत्काल माछा मार्ने गतिबिधि रोक्न भनेको छ । जहाजमा करिब २५ टन एसिड भरिएको थियो । नाइट्रिक एसिड चुहिएर जहाजमा आगो लागेको हो । सिंगापुरको एक्स प्रेस पर्लले भारत र कतारसँग जहाजलाई सो स्थानमै छोड्न अनुमति मागे पनि ती राष्ट्रले दिएनन् ।

    तर श्रीलङ्काले सहमति दिएको थियो । सरकारको यो कदमको सर्वसाधारणले आलोचना गरिरहेका छन् । १८६ मिटर लामो जहाज १५ मेमा भारतीय बन्दरगाह हजिराबाट एक हजार ४८६ कन्टेनर बोकेर प्रस्थान गरेको थियो ।

  • एक अमेरिकी पाइलटले ककपिटमै अश्लिल हर्कत गरेको स्वीकार

    एक अमेरिकी पाइलटले ककपिटमै अश्लिल हर्कत गरेको स्वीकार

    मेरिल्यान्ड । एक अमेरिकी वायुसेवाका भूतपूर्व विमान चालकले ककपिटमै अश्लिल हर्कत गरेको स्वयमः स्वीकार गरेका छन् । यो घटना गतवर्षको हो । जहाज उडिरहेको समयमा ककपिटमै अश्लील र अभद्र कार्य गरेको उनले अदालतसामु स्वीकार गरेको बीबीसीले उल्लेख गरेको छ ।

    माइकल हाक नामक ती पाइलटले विमानकी सहचालिकाको अगाडि ककपिटमै लुगा खोलेको र ल्यापटपमा अश्लील चलचित्र हेरेको विपक्षी वकिलहरुको आरोप थियो । साउथवेस्ट वायुसेवाको उडान जारी रहँदा ६० वर्षीय हाकले ककपिटमा थप अभद्र व्यवहार समेत गरेको आरोप लागेको छ ।


    मेरिल्यान्डमा एक न्यायाधीशले हाकलाई ५,००० अमेरिकी डलर जरिबाना गर्नुका साथै एक वर्ष परीक्षणकालमा राख्न आदेश दिएको समाचारमा उल्लेख छ । यो घटना सन् २०२० अगस्ट २० को दिन फिलाडेल्फीयादेखि ओर्ल्यान्डोसम्मको उडानमा भएको हो ।

    विमान सुरक्षित उचाइमा पुगेपछि हाक आफ्नो कुर्सीबाट उठेको, जानाजान लुगा खोलेको र ल्यापटपमा अश्लील चित्र र चलचित्र हेर्न थालेको बयानमा उल्लेख छ । विमानकी सहचालिकाले आफ्नो काम गरिरहँदा हाक भने अझै थप अभद्र व्यवहार देखाइरहेको सरकारी वकिलको कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । हाकले उडानअघि कहिल्यै ती सहचालिकालाई नभेको समेत बताइएको छ ।

    अमेरिकाका सहमहकन्यायाधिवक्ता माइकल कनिङ्घमले सहचालिकाले त्यस्तो व्यवहार भोग्नु नपर्ने अधिकार रहेको बताएको एपी समाचार संस्थालाई उदृत गर्दै बीबीसीले लेखेको छ । सो घटना हुँदा विमान मेरिल्यान्डमाथि उडिरहेकोले त्यहाँ मुद्दा चलाइएको हो। हाकले सार्वजनिक स्थलमा अश्लील र अभद्र व्यवहार देखाएको स्वीकार गरेका छन्।

    न्यायाधीश जे मार्क कल्सनले हाकको व्यवहारले सहचालिकालाई आघात पारेको र त्यसले यात्रुहरूको सुरक्षालाई खतरामा पार्न सक्ने बताएका थिए। फ्लोरिडाका हाक २७ वर्ष सो वायुसेवामा विमान चालक रहेर गत वर्ष अगस्टमा सेवा निवृत्त भएका छन् ।

  • काठमाडौँको गोकर्णमा प्रतिनिधि सभा विघटनको विरुद्ध मसाल जुलुस प्रदर्शन

    काठमाडौँको गोकर्णमा प्रतिनिधि सभा विघटनको विरुद्ध मसाल जुलुस प्रदर्शन


    अमृता के सी ( रोनी )
    काठमाडौँ, जेष्ठ १४ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित भैरव चौरमा नेपाली कांग्रेसको आयोजनामा प्रतिनिधि सभा विघटनको विरुद्ध मसाल जुलुस सहित बिरोध प्रदर्शन भएको छ।
    नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ३ का कोषाध्यक्ष किरण केसीको नेतृत्वमा गरिएको प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ‌ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन र मध्यावधि चुनावको घोषणा असंवैधानिक कदमको बिरोध गर्दै प्रदर्शनकारिले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला समेत जलाएका थिए ।
    प्रतिनिधि सभा विघटन र मध्यावधि चुनावको घोषणा असंवैधानिक कदम भन्दै गरिएको प्रदर्शनमा उक्त क्षेत्रका दर्जनौ काँग्रेसका कार्यकर्ता सहभागी थिए। प्रदर्शनलाई बौद्व प्रहरीले नियन्त्रणमा लिए पनि कोही पनि प्रदर्शनकारी गिरफ्तार नभएको नेपाली कांग्रेसका कोषाध्यक्ष केसीले बताए ।

  • आफ्ना नागरिक सवार विमान बीनासूचना अन्तै मोडेर घण्टौं कुराएको घटनामा अमेरिकाको निन्दा

    आफ्ना नागरिक सवार विमान बीनासूचना अन्तै मोडेर घण्टौं कुराएको घटनामा अमेरिकाको निन्दा

    काठमाडौं\एजेन्सी । ग्रीसबाट लिथुआनियातर्फ उडेको र्‍यानएयरको जहाज आइतवार कैयौँ घण्टासम्म बेलारुसतर्फ मोडिएको घटनाप्रति अमेरिकाले कडा आपत्ति जनाएको छ । बीबीसीका अनुसार अमेरिकी विदेश मन्त्रालयले यस्तो आपत्ति जनाएको छ ।

    समाचारमा जनाएअनुसार विमानमा सवार एक पत्रकारलाई पक्राउ गर्न त्यसो गरिएको हो । अमेरिकाले बेलारुसको कार्यले विमानमा सवार अमेरिकी नागरिकसहितका यात्रुहरूको जीवन खतरामा पारेको भन्दै निन्दा गरेको हो । युरोपेली देशहरूले समेत बेलारुसमाथि राज्य आतङ्कको आरोप लगाएका छन्।

    बीबीसीका अनुसार नेक्स्टा ग्रुपका पूर्वसम्पादक रोमन प्रोटासेभिचलाई हिरासतमा लिएपछि उक्त विमानलाई पुनः उड्न दिइएको छ । बेलारुसका सञ्चारमाध्यमका अनुसार उक्त जेट विमानमा बम भएको भन्दै मिग २९ लडाकू विमानहरूले घेरेर बेलारुसको राजधानी मिन्स्कमा जहाज ओरालेका थिए। तर जहाजमा बम थिएन ।

    अन्ततः विमान उसको वास्तविक गन्तव्य लिथुआनियाको राजधानी भिल्नियसमा स्थानीय समयअनुसार राति सवा नौ बजे ओर्लियो । यो समय तोकिएकोभन्दा ७ घण्टा ढिलो हो । विमानमा रहेका यात्रुहरूले आफूहरूलाई विमान मिन्स्कतर्फ मोडिएको कारणबारे केही सूचना नदिइएको प्रतिक्रिया समेत दिएका छन् ।

    बेलायती विदेशमन्त्री डोमिनिक राबले समेत बेलारुसको यस्तो हर्कतको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । बेलारुसकी विपक्षी नेता स्भेत्लाना तिखानोभ्स्कायाले प्रोटासेभिचको रिहाइको माग गरेकी छन्। उक्त विमान ग्रीसको एथेन्सबाट भिल्नियसतर्फ जाँदै गर्दा लिथुआनियाली सिमाना नजिकै पुगेपछि मिन्स्कतर्फ मोडाइएको समाचारमा उल्लेख छ । विमानमा १७१ जना यात्रु थिए ।

  • ‘इण्डियन भेरियन्ट’ लेखेका पोष्ट सामाजिक संजालबाट हटाउन भारत सरकारको निर्देशन

    ‘इण्डियन भेरियन्ट’ लेखेका पोष्ट सामाजिक संजालबाट हटाउन भारत सरकारको निर्देशन

    नयाँ दिल्ली । कोरोना भाइरस महामारीबाट दैनिक ४ हजार भन्द्या बढी मानिसको ज्यान गइरहेको समयमा भारत सरकार भने कोरोना भाइरसको नामसँग भड्किएको छ । भारत सरकारले ‘इण्डियन भेरियन्ट’ लेखिएका र यसप्रति संकेत गरिएको सबै पोस्ट सामाजिक सञ्जालबाट हटाउन सम्बन्धित कम्पनीलाई निर्देशन दिएको छ । बीबीसीका अनुसार भारत सरकारको सूचना प्रौद्योगिकी मत्रालयले विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको १.६१७ भेरियन्टलाई इण्डियन भेरियन्ट नभनेको भन्दै यसलाई उक्त नाम दिन नहुने बताएको हो ।

    कोरोना भाइरसको भेरियन्ट भेटिएको स्थानका आधारमा नाम दिने गरिएको छ । भारत सरकार पछिल्लो समय सामाजिक संजालमार्फत भइरहेको चर्को आलोचनाबाट डराइरहेको छ । यसले उसको क्षतिको सम्बन्धमा व्यापक प्रचार भइरहेको छ । पछिल्लो महिना भारत सरकारले सामाजिक सञ्जाल कम्पनीहरुसँग कोरोना महामारीबाट मुक्त हुनको लागि सरकारको आलोचना गरिएको पोस्ट हटाउन निर्देशन दिएको थियो । शुक्रबार सूचना प्रौद्योगिकी मन्त्रालयले एक सरकारी आदेश जारी गर्दै सामाजिक सञ्जाल कम्पनीहरुलाई यो आदेश दिएको छ ।

  • प्रतिनिधिसभा भङ्ग, कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचन घोषणा

    प्रतिनिधिसभा भङ्ग, कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचन घोषणा


    काठमाडौं । सरकारले वर्तमान प्रतिनिधिसभा भङ्ग गरि मध्यावधि निर्वाचनको मिति तोकेको छ । शुक्रबार मध्यरात १२ बजे बालुवाटारमा बसेको आकस्मिक मन्त्रीपरिसद बैठकले यस्तो निर्णय गरेको हो । यो सिफारिस अब रास्ट्रपति विद्यादेवि भन्डारी समक्ष पुग्ने छ । यसअघि आजै प्रधानमन्त्रीका लागि पेश भएका दुबै दावी खारेज गरि रास्ट्रपतिले निर्वाचनको ढोका खोलिदिएकि थिइन् ।

  • प्रधानमन्त्री हाकाहाकी बोल्छन् झुट, बाबुराम भट्टराई पनि आफ्नो पक्षमा रहेको दावि

    प्रधानमन्त्री हाकाहाकी बोल्छन् झुट, बाबुराम भट्टराई पनि आफ्नो पक्षमा रहेको दावि

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिउँसो नेपाली संचारमाध्यमका सम्पादकसँग अन्तरक्रियामा बसे । उक्त अवसरमा वर्तमान संसदले आफुलाई विश्वासको मत नदिने भन्दै सोहीकारण एक महिना भित्र लिनु पर्ने विश्वासको मतको प्रक्रियामा आफु नगएको दावि गरे । त्यस्तो दावि गरेको एक घण्टा भित्रै उनी राष्ट्रपति कार्यालय पुगेर भने, ‘म सँग १५३ जना सांसदको समर्थन छ, मलाई प्रधानमन्त्री पदमा नियुक्त गरियोस ।’

    प्रधानमन्त्री ओलीको झुट त्यतिमा सिमित थिएन, उनकै विरुद्धमा हस्ताक्षर गरि शीतल निवास पुगेका माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई सहितका नेता समेत आफ्नो समर्थनमा रहेको झुटो दावि गरे । यो दाविको राष्ट्रपतिकै अगाडी प्रतिवाद समेत गरेका छन् । डा. बाबुराम भट्टराई ओलीका कडा आलोचक मात्र होइनन्, ओलीको बहिर्गमनमा सबैभन्दा पहिले खुलेर लागेका नेता समेत हुन् ।

    उनलाई समेत आफ्नो समर्थक दावि गरेसँगै प्रधानमन्त्रीको झुट पर्दाफास भएको छ । उनले संविधान अनुसार बहुमत सिद्ध गर्न विवासको मत लिनु पर्ने थियो । उनी त्यसो नगरि नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको बताएका थिए । शुक्रबार बिहानसम्म पनि ओली आफ्नो हैसियत बैशाख २७ को भन्दा फरक नभएकाले विश्वासको मत नलिई सीधै संविधानको धारा ५ जान बाध्य भएको दावि गर्दै थिए ।

    तर, जब शुक्रबार उनी राष्ट्रपति निवास पुगे, त्यहाँ उनले आफुसँग नै बहुमत रहेको भन्दै दावि प्रस्तुत गरे । बहुमतको भरपर्दो आधारै पेश नगरी पार्टीको तर्फबाट पत्रमात्रै दर्ता गरेर ओलीले दाबी गरेको यो पत्रलाई राष्ट्रपतिले वैधानिकता दिन्छिन् वा विपक्षी दलले आधारसहित दिएको दाविलाई, यो अहिले प्रतिक्षाको विषय बनेको छ ।

  • चीनको अन्तरिक्ष यान मंगलग्रहमा सफल अवतरण

    चीनको अन्तरिक्ष यान मंगलग्रहमा सफल अवतरण

    काठमाडौं\एजेन्सी । चीनको अन्तरिक्ष यान मंगल ग्रहमा सफल अवतरण भएको छ । अब मंगल ग्रहमा यान पुर्याउन सफल अमेरिकापछि दोस्रो स्थानमा चीन पुगेको छ । यो रोवर्टको नाम ‘चु रोङ्ग रोभर’ राखिएको छ । बीबीसीका अनुसार अन्तरिक्ष रोबोट शनिबार मंगल ग्रहमा सफलतापूर्वक अवतरण गरेको हो । चाइना नेशनल एडमिनिस्ट्रेशनले यसको पुष्टी गरेको छ । चीनले मंगलग्रहको अभियानलाई ठूलो सफलताका रुपमा लिएको छ । पौराणिक अग्नि र युद्ध देवताको नामबाट चीनले रोबोटको नाम ‘चु रोङ्ग रोभर’ राखेको बीबीसीले लेखेको छ । यो रोबर्टमा ६ वटा पांग्रा जडान गरिएको छ ।


    ‘चु रोङ्ग रोभर’ मंगल ग्रहको उत्तरी गोलार्धको युटोपिया प्लेनेशियाको समतल भागमा अवतरण गरेको समाचारमा उल्ले छ । युटोपियाबाट रोभरले मंगल ग्रहका तस्वीर पठाउने बताइएको छ । चीन पछिल्लो दिनमा अन्तरिक्ष सम्बन्धि अनुसन्धानमा निकै माथि पुगिसकेको छ । यसलाई अमेरिकालाई चूनौति दिइएको रुपमा समेत लिइन्छ । चीन अहिले आफ्नै अन्तरीक्ष स्टेशन निर्माणमा समेत जुटेको छ । चु रोङ्ग अन्तरिक्ष रोबोटले मंगल ग्रहबाट सूचना संकलन र तस्वीर पठाउन सकेमा मंगल ग्रहबारे थप अनुसन्धानमा समेत चीनले सफलता प्राप्त गर्न सक्ने बताइएको छ ।

  • प्रधानमन्त्री ओलीलाई माधव नेपालको चेतावनी: महामारीमा ध्यान दिनुस

    प्रधानमन्त्री ओलीलाई माधव नेपालको चेतावनी: महामारीमा ध्यान दिनुस

    काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले महामारीको समयमा यसको नियन्त्रण र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन सरकारले ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले आइतबार संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

    गलत बाटो प्रयोग गरी गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्ने तयारी गरिएसँगै शनिबार बिहानै नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका हुन् । उनले अध्यादेशमार्फत् बलमिच्याइँ गर्न नहुने भन्दै अहिले मुलुकको ध्यान कोरोना नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुपर्ने बताए ।

    आज सामाजिक संजालबाट आफ्नो धारणा राख्दै नेपालले बलमिच्याइँ गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य भएको बताए । उनले लेखेका छन्, ‘मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन । अतः गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आह्वान गर्छु ।’

  • अफ्रिकी मुलुक मालिकी एक महिलाबाट एकैपटक जन्मिए ९ बच्चा

    अफ्रिकी मुलुक मालिकी एक महिलाबाट एकैपटक जन्मिए ९ बच्चा

    काठमाडौं\एजेन्सी । अफ्रिकी मुलुक मालिकी एक महिलाबाट एकैपटक ९ बच्चा जन्मिएका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार मालीको स्वास्थ्य मन्त्रालयले यसको पुष्टी गरेको छ । महिला वर्षीया हुन् ।

    मंगलबार मालीकी स्वास्थ्य तथा सामाजिक विकास मन्त्री डा. फान्ता सिबेले मोरोक्कोको एक अस्पतालमा हालिमा सिसे नामम महिलाको कोखबाट पाँच छोरी र चार छोराको जन्म भएको पुष्टी गरकी छिन् । उनको अपरेशन गरी बच्चालाई जन्म दिइएको हो । मालिमा धेरै बच्चा भएको महिलाबाट सुरक्षित प्रसुती गराउने विशेषज्ञताको अभाव भएपछि उनलाई सरकारले खर्च बेहोर्ने गरि मोरक्को पठाइएको थियो ।

    मन्त्रालयका अनुसार जन्मिएका सबै शिशु र आमाको स्वास्थ्य अवस्था राम्रो रहेको छ । उनीहरूलाई केही समय अस्पतालमै राखिने छ । त्यसपछि घर फर्काइने छ । यो दुर्लभ घटना भएको बताइएको छ । समाचारमा यी बच्चालाई सुरक्षित बचाउनु चूनौतिपूर्ण रहेपनि चिकित्सकले प्रयास गरिरहेको बताइएको छ ।

  • नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको विपक्षमा मत दिने

    नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको विपक्षमा मत दिने

    काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्रीले विश्वासको मत लिन २७ वैशाखका लागि संसदको विशेष बैठक बोलाएका छन् ।

    ओलीले लिने विश्वासको मतलाई विफल बनाउन अरु दलसँग पनि छलफल गर्ने निर्णय बैठकले गरेको कांग्रेस नेताहरुले जानकारी दिएका छन् । संसद जिवितै रहेको अवस्थामा अध्यादेशबाट सरकार चलाउन खोज्ने ओलीको कदमको समेत कांग्रेसले भत्र्सना गरेको छ ।

    आज सरकारले संवैधानिक परिषद् लगायतका सातवटा अध्यादेश ल्याएको थियो । त्यसलाई राष्ट्रपतिले आजै सदर गरिदिएकी छिन् । माओवादी केन्द्र र कांग्रेसले एकै दिन प्रधानमन्त्री ओली विरुद्ध एक मतमा विरोध गर्ने निर्णय गरेका हुन् ।

  • सिङ्गापुरमा झण्डै शून्य संक्रमित, कसरी नियन्त्रण गरिरहेको छ कोरोना ?

    सिङ्गापुरमा झण्डै शून्य संक्रमित, कसरी नियन्त्रण गरिरहेको छ कोरोना ?

    काठमाडौं\एजेन्सी । सिङ्गापुर कोरोना महामारीबाट सबैभन्दा सुरक्षित मुलुकको पहिलो नम्बरमा रहेको पाइएको छ । ब्लूमबर्गको एक प्रतिवेदनलाई उदृत गर्दै बीबीसीेले जनाए अनुसार यो मुलुकमा समुदायमा संक्रमण शून्य छ । आगन्तुकमा देखिएमा तत्काल त्यसलाई नियन्त्रणमा लिइएको छ ।

    संसारमा मानिसहरुको ज्यान तिब्र गतिमा गइरहेको समयमा पनि सिङ्गापुरले एक सामान्य जिन्दगी जिउने वातावरण बनाउन सफल भएको छ । ब्लूमबर्गको प्रतिवेदन अनुसार सिङ्गापुरले न्युजिल्यान्डलाई उछिनेको छ र सुरक्षित स्थानमा एक नम्बरमा पर्न सफल भएको हो ।

    यो सूचीको आधार कोरोना सङ्क्रमणको दर, मानिसहरुलाई घुमफिरमा दिइएको स्वतन्त्रतालाई ध्यानमा राखेर तयार पारिएको हो । सिङ्गापुरले कोरोना नियन्त्रण भित्र राख्नुमा खोप अभियानलाई पहिलो कारण मानिएको छ । उसले १५ प्रतिशत मानिसमा पुरै डोज खोप दिन सफल भएको छ ।

    Photo by Maverick Asio / SOPA Images/Sipa USA)(Sipa via AP Images)

    मुलुक सानो र शक्ति सम्पन्न भएका कारण उसले यो सम्भव गरि देखायो । यहाँ मात्र ६० लाख जनसंख्या रहेको छ । सिङ्गापुरले सीमा सुरक्षामा कडाई गरि मुलुक भित्रको गतिविधि यथावत राखेको छ । यसले संक्रमण भित्रन पाएको छैन ।

    यो मुलुकमा एक वर्षको अवधिमा दुई महिना मात्र लकडाउन भएको छ । सोही समयमा सिंगापुरले कोरोना करीव नियन्त्रणमा लिएको हो । सरकारले समेत महामारी नियन्त्रणमा ठूलो खर्च गरेको छ । गरिब र धनीबीचको असमानता नदेखियोस भनी भत्ताको व्यवस्था गरिएको बताइएको छ ।

  • अर्बपति बिल गेट्स र मेलिन्दा गेट्सको डिभोर्स हुने

    अर्बपति बिल गेट्स र मेलिन्दा गेट्सको डिभोर्स हुने

    न्युयोर्क

    विश्वकै सर्बाधिक धनि मध्येका बिल गेट्सको बिबाह गरेको २७ बर्षपछि मेलिन्दा गेट्ससँग पारपाचुके हुने भएको छ । गेट्स दम्पत्तिको पारपाचुके गर्ने निर्णय बिल गेट्सको भेरीफाई गरिएको ट्विटर एकाउण्टबाट आज सार्वजनिक गरिएको हो । ति दुई दम्पत्तिले सोमबार एक सँयुक्त बिज्ञप्ति प्रकाशित गर्दै भनेका छन् “हाम्रो सम्बन्धमा धेरै सोच बिचार गरेर धेरै समयसम्म सम्झौता गर्दै गर्दै अन्त्यमा बैबाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णयमा पुगेका छौं। २७ बर्ष भन्दा लामो हाम्रो सम्बन्धबाट ३ जना सुन्दर सन्तान प्राप्त गर्यौं भने सँसारलाई काम लाग्ने एवम् विश्वमा मानिसलाई स्वस्थ भएर बाँच्न सक्ने संस्थाको स्थापना गरियो । अब जीवनको अर्को पाटोमा सँगसंगै हिंड्न नसकिने देखेर छुट्टीने निर्णयमा पुगेका छौं। “

    बिल गेट्स र मेलिन्दा गेट्सले सन् २००० मा बिल एण्ड मेलिन्दा गेट्स फाउन्डेसन स्थापना गरेका थिए भने बिल गेट्सले सन् १९७५ मा माईक्रो सफ्टको सह- संस्थापकको रुपमा काम सुरु गरी सन् २००० सम्म माईक्रो सफ्टको प्रमुख कार्यकारीको रुपमा काम गरेका थिए । बिल गेट्ससँग अहिले पनि माईक्रोसफ्टको एक दशमलब ३ प्रतिशत सेयर हिस्सा सुरक्षित छ । फोर्बसका अनुसार बिल गेट्स १ सय ३० अरब अमेरिकी डलरको सम्पत्तिका मालिक छन् । बिल गेट्स ६५ बर्षका भए भने मेलिन्दा गेट्स ५६ बर्षकी भईन् । उनीहरुका २१ वर्षीय एक छोरा, २५ वर्षीया र १८ वर्षीया २ छोरी छन् ।

  • शंकर पोखरेलले लिए मूख्यमन्त्रीको सपथ, कांग्रेस र माओवादीद्धारा कडा विरोध

    शंकर पोखरेलले लिए मूख्यमन्त्रीको सपथ, कांग्रेस र माओवादीद्धारा कडा विरोध

    काठमाडौं । विपक्षी गठबन्धनबाट बहुमत आफुसँग रहेको दावि गर्दै हस्ताक्षर बुझाएपनि मूख्यमन्त्रीमा नियुक्त भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको सपथ लिएका छन । आज बिहान पदबाट राजिनामा गरेका उनले एमालेसँग एक्लै बहुमत रहेको दावि गरेका थिए ।

    उनलाई नियुक्त नगर्न विपक्षी दलले हस्ताक्षर बुझाएपनि प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले पोखरेललाई नै मूख्यमन्त्रीमा नियुक्त गरेका हुन् । तर, एमाले भित्रका कुल चार सांसदले उनको विपक्षमा हस्ताक्षर गरेका छन् ।


    पोखरेललाई प्रदेश प्रमुखको कार्यालयमा सपथ खुवाउने तयारी गरिएपनि विपक्षीको कडा विरोधका बीच निवासमा सपथ खुवाइएको छ । यो घटनाबारे प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेलको पुनःनियुक्ति घोर अलोकतान्त्रिक प्रवृत्ति भएको बताएका छन् ।

    आइतबार विज्ञप्ति निकाल्दै उनले लुम्बिनी प्रदेशमा आज भएको समग्र घटनाक्रमलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको उल्लेख गरेका छन् ।

    उता, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेललाई पुनः नियुक्ति गर्नु अनैतिक र असंवैधानिक भएको बताएका छन् ।

    आज एक विज्ञप्ती निकाल्दै प्रचण्डले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी दल, राष्ट्रिय जनमोर्चा र अन्य स्वतन्त्र हैसियतका समेत गरी ४२ सांसदहरुले हस्ताक्षर गरी मुख्यमन्त्रीमा कुलप्रसाद केसीलाई समर्थन गरेको उल्लेख गरेका छन् । उनले पोखरेललाई ३७ जनाको मात्र समर्थन रहेको जानकारी गराउँदै प्रदेश प्रमुखलाई आफ्नो कदम सच्याउन आग्रह गरेका छन् ।

  • राष्ट्रपतिले बोलाइन् संसदको विशेष अधिवेशन, प्रधानमन्त्रीले विश्वासको मत लिने

    राष्ट्रपतिले बोलाइन् संसदको विशेष अधिवेशन, प्रधानमन्त्रीले विश्वासको मत लिने

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाएकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा उनले २७ वैशाखमा बस्ने गरी विशेष अधिवेशन बोलाएकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको भन्दै राष्ट्रपति भण्डारीले सोही प्रयोजनका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    आइतबार बसेको मन्त्रिपरिषद बैठकले संसदको विशेष अधिवेशनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव ल्याउने सम्बन्धमा समेत विपक्षी दलहरु लागिरहेको समयमा विशेष अधिवेशन आह्वान भएको हो ।

    प्रधानमन्त्री पदमा कायम रहन प्रधानमन्त्रीले १३६ सांसदको समर्थन लिनुपर्छ । अहिले प्रतिनिधिसभामा २७५ सदस्य छन् । जसमा नेकपा एमालेसँग १२१ सिट रहेको छ । नेपाली कांग्रेससँग ६३, नेकपा माओवादी केन्द्रसँग ४९, जनता समाजवादी पार्टीसँग ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसदसँग १, १ सिट छ ।

  • धवलागिरीमा १५ वर्ष अगाडी दुर्घटनामा परेको हेलिकोप्टर सेनाले भेटायो

    धवलागिरीमा १५ वर्ष अगाडी दुर्घटनामा परेको हेलिकोप्टर सेनाले भेटायो

    काठमाडौं । सन् २००६ मा दुर्घटनामा परेको हेलिकोप्टरको केही भाग नेपाली सेनाले फेला पारेको छ । धवलागिरीमा नेपाली सेनाले दुर्घटनाग्रस्त हेलिकप्टर र दुईवटा मानव अवशेष फेला पारेको शुक्रबार एक विज्ञप्ती जारी गर्दै जनाएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार सेनाको हिमाल सफाइ अभियान २०२१ को टोलीले वैशाख १५ गते बुधबार धवलागिरी आधार शिविरमा दुई मानव अवशेष र हेलिकप्टरको भग्नावशेष फेला पारेको छ ।

    एयर डाइनेस्टीको नाइन एन एसीआर कल साइन भएको यो हेलिकोप्टर दुर्घटनामा मानवीय क्षति भने भएको थिएन । बिरामीलाई लिन त्यहाँ पुगेको हेलिकोप्टरको आकस्मिक अवतरणका क्रममा दुर्घटना भएको थियो । चालक मात्र रहेका कारण उनी सकुसल रहन सफल भएका थिए । उनलाई अर्को हेलिकोप्टरले उद्धार गरेको थियो । हेलिकोप्टर नजिकै दुई मानव अवशेष समेत फेला परेको छ । मृतकको पहिचान खुलेको छैन ।

  • पीसीआर नेगेटिभ रिर्पोट आएका सांसद कोभिड अस्पतालको आइसीयूमा भेटिएपछि…

    पीसीआर नेगेटिभ रिर्पोट आएका सांसद कोभिड अस्पतालको आइसीयूमा भेटिएपछि…

    पोखरा । बुधबार गण्डकी प्रदेशसभामा मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा छलफल जारी थियो । त्यसअगाडी राष्ट्रिय जनमोर्चाकी प्रमुख सचेतक पियारी थापाले प्रदेशसभा सदस्य खिमविक्रम शाही सम्पर्कविहीन भएको भन्दै बैठक रोक्न माग गर्दै प्रदेशसभामा निवेदन दिएकी थिइन् ।

    प्रदेशसभामा उनको महत्व यस आधारमा थियो, किनकी उनी मात्र अनुपस्थित हुँदा पनि मूख्यमन्त्री गुरुङलाई बहुमत पुग्थ्यो र अविश्वासको प्रस्ताव असफल हुन्थ्यो । सोहीकारण चलखेल हुन सक्ने सम्भावनातर्फ विपक्षी दल निकै सचेत थिए ।

    तर, अचानक सांसद शाही वेपत्ता भएपछि प्रदेशसभामा हंगामा मच्चियो । उनको खोजी शुरु भयो, अन्ततः सम्पर्कविहीन भएका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही कोभिड १९ उपचार गर्ने अस्पतालको आईसीयूमा भेटिए । तर, उनको मंगलबार गरेको कोरोना परीक्षणमा भने नेगेटिभ रिजल्ट आएको छ ।

    प्रदेशसभा सदस्य शाही पोखरास्थित चरक अस्पतालको कोभिड वार्डको आईसीयूमा भेटिएका हुन् । मंगलबार प्रदेशसभा सचिवालयले गरेको पीसीआर टेष्टमा शाहीको रिपोर्ट नेगेटिभ आएको र अस्पतालमा पोजेटिभ रिपोर्ट देखाएर भर्ना भएको विषय भने बाझिएको छ ।

    यसबारे बुझेर मात्र पार्टीले आफ्नो धारणा सार्वजनिक गर्ने प्रतिक्रिया जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दिएका छन् । जनमोर्चाकी प्रमुख सचेतक पियारी थापाले प्रदेशसभा सदस्य शाही सम्पर्कविहीन भएको भन्दै बैठक रोक्न माग गर्दै प्रदेशसभामा निवेदन दिएसँगै प्रदेश सभाको बैठक अर्को सूचना नआउँदासम्म स्थगित भएको छ ।

  • राम, रामायण, राजनीति र वाल्मिकी

    राम, रामायण, राजनीति र वाल्मिकी

    पुरुषोत्तम लम्साल, अमेरिका

    वाल्मिकीले हनुमानको अनुमान कसरी गरे म जान्दिन। शरीरको आकार बदलेर विशाल हुन पनि सक्ने, मुसा जत्रो पनि हुनसक्ने मान्छे जस्तो बाँदर र बाँदर जस्तो मान्छे वाल्मिकीको परिकल्पनाभन्दा पहिला पनि थिए होलान्?

    आदिम सभ्यताअघि पनि बाली, सुग्रिव वा हनुमान जस्तै जो सूर्यको डल्लो खर्लप्पै निल्नसक्छ, जो हत्केलामा पहाड उचाल्नसक्छ, जो पुच्छर तन्काएर वस्ती बाँध्न पनि सक्छ बाल्न पनि सक्छ, पात्र थिए होलान् भनेर म पत्याउन्न। आफ्नो छाती आफैंले सर्लक्क चिरेर त्यहाँभित्र आफ्नो आस्थाको चित्र देखाउने हनुमानको अनुमान वा कल्पनाशिलता वाल्मिकीको काव्यमा भेटिन्छ। त्या काव्य रामायण हो।

    मलाई वाल्मिकीले परिकल्पना गरेको चामत्कारिक पात्र हनुमानका वर्णन सुन्दा आनन्द लाग्छ। जसले हनुमानको पूजा आराधना गर्छन् त्यो उनीहरुको आस्था, स्वतन्त्रताको कुरा भयो। विश्वाशको कुरा भयो। मलाई चाँहि त्यति शक्तिशाली ‘क्यारेक्टर’ जन्माएर समाजमा हजारौं वर्षसम्म स्थायी र जड मनोविज्ञान निर्माण गरिदिने वाल्मिकी विशिष्ठ लाग्छन्। ‘सुपर्ब’ लाग्छन्। सभ्यताको एउटा बिन्दूमा त्यत्तिको विराट ‘क्यारेक्टर’को परिकल्पना गज्जब मान्नपर्छ।

    म आस्थावादी होइन। जे भनेको वा सुनाइएको छ त्यसैमाथि निर्भर रहनु वा त्यसमाथि पूर्णत: विश्वाश गर्नु आस्थावाद हो। आस्थावादीले सन्देहलाई निषेध गर्छन्, प्रश्नलाई निषेध गर्छन्। यसैले आस्थावादीको नजरमा म पापी हूँ। किनकि उनीहरु जस्लाई ईश्वर मान्छन् म तिनलाई काव्यको पात्र वा चरित्र मान्छु र जसलाई उनीहरु धर्मग्रन्थ मान्छन् त्यसमाथि पनि म प्रश्न उठाउँछु वा पूर्णरुपेण सहमत हुन सक्दिन।

    म यो किन लेख्दैछु भने मलाई रामकथा सुन्न आनन्द आउँछ। कसैले रामायणका गाथा गाइदिए एकचित्तले त्यो सुन्छु। कसैले पत्थरलाई आकार दिएर यो राम हो, यो हनुमान हो भन्यो भने उसँगै उभिएर श्रद्धाले टाउको झुकाउँछु। र, जब हरेक वर्ष रामनवमी आँछ यसैगरी फुर्सद उपयोग गर्छु।
    ….

    महाभारतलाई चाँहि हामी राजनीतिको केन्द्रमा राखेर ब्याख्या बढी गर्छौं तर रामायणलाई चाँहि विशुद्ध धार्मिक ग्रन्थ मान्छौं। दुवै ग्रन्थले राज्यशास्त्रकै भाषा बराबर बोल्दछ भनेर केलाउनु गलत हुँदैन। भन्न खोजेको रामायणमा पनि उत्तिकै राजनीतिक चिन्तन छ जति महाभारतमा भेटिन्छ। दुबैले तात्कालीन समयको धर्मनिर्देशित समाज र राज्यको पेटबोली बोलेका न हुन्।

    कथामा कृष्ण आउन् वा राम, कंश आउन् वा रावण फरकफरक पात्रमार्फत उस्तै राजनीतिक द्वन्द्वको उठान र वैठान भएको न हो। कतै कुन्ती र द्रौपदी उभ्याइन्छन् त कतै सीता, तारा र मन्दोदरीमार्फत राजनीतिको भाषा र संघर्ष बोलिन्छ। रामायणमा हामी धर्मको रंगमा बढी रुमल्लिन्छौं यसले गर्दा वाल्मिकीको राजनीतिक चिन्तन गौण बनिरहेको छ जस्तो लाग्छ मलाई।

    महाभारतमा जस्तो राजनीतिक जटिलता, कौशल र सातपत्रे सम्बन्ध म रामायणमा देख्दिन। यो एकसुत्रीय विचारधारामा सलल बग्छ जहाँ केही पारिवारिक सम्बन्ध र राजनीति आउँछ, महिला पुरुषबीचका तात्कालीन समयका प्रभुत्व र संघर्षका कथा आउँछन्। सुर्पणखाको नाक काटिनु र सीता अपहरण हुनुबीच पनि बदलाको राजनीतिक साइनो त हो।

    रामलाई अग्नी शर्मा उर्फ वाल्मिकीकृत रामायण ग्रन्थका मूल पुरुष चरित्र मान्ने कि देवता ? त्यो तपाइको स्वभाव र चरित्रले निर्धारण गर्ने कुरा हो। म चाँहि वाल्मिकीले राममार्फत तात्कालीन समाजको राजनीतिक, सामाजिक, अर्थव्यवस्था केलाउँदै आदर्श राज्यको परिकल्पना गरेको मान्दछु।

    रामायणमा कैकेयीले कूटनीतिको साहारामा दशरथलाई परिबन्धमा पारेर वंशपरम्परामा आधारित राजतन्त्रमा ‘क्रमभंग’ खोजेकी थिइन। तर भरतले रामकै प्रतिनिधि भएर शासन चलाएपछि त्यो परम्परा क्रमभंग भएन। अर्थात राजाको जेठो छोरो राजा हुने चलनको कुरा हो यो।

    राजनीति सुग्रिवले बालीसँग पनि गरेका हुन्। कथाको ‘प्लट’ तन्काएर वाल्मिकीले निकै परसम्म पुर्याए पनि सुग्रिवले रामसँग सहकार्य गरेर सत्तापलट परेका हुन्।
    जसरी रावणले कुबेरको सत्तामाथि आफ्नो पकड जमाए त्यसले रावण चरित्र जन्मायो। यो चरित्र रुपमा रावणको देखिए पनि सारमा सत्ताको चरित्र हो। सत्ताको चरित्र दम्भ, अहंकार र घमण्डले निर्देशित भयो भने दरबारभित्रै विद्रोह जन्मन्छ भनेर विभिषणको कथा जोडिएको हो। र, विभिषणले रामको सहयोगमा रावणको सत्ता दखल गरेका हुन्।

    विश्वामित्रको दृष्टान्त दिएर वाल्मिकी ब्यक्तिको असल र खराब कर्मको आधारमा वर्ण पनि परिवर्तन हुन्छ भन्छन् अयोध्याकाण्डमा। यो त्योबेलाको चतुर्वणी समाजको चित्र होला।

    समाज चाँहि श्राप एवम् आशिर्वादको प्रभावका कारण ब्यक्तिप्रति धारण बनाउँछ र सोही अनुसार ब्यवहार गर्छ भन्छन् वाल्मिकी। यो भनेको स्वर्गको मोह, पुनर्जन्मको मोहको कथ्यमा बुनिएको हो।

    भूमिपति, जमिन्दार वा सामन्तको सेवा गर्ने मजदूरलाई वाल्मिकीले कहीं पनि मालिकको निजी सम्पत्तिको रुपमा चित्रण गरेका छैनन्। बरु पश्चिमा दार्शनिक अरस्तुले दासलाई मालिको सम्पत्ति मान्दै उनीहरुको क्रय विक्रयको ब्याख्या गर्दथे। यो गम्भीर पाटो रामायणबाट छुटाउन हुँदैन।

    रामायणमा बर्ग चिन्तन छैन?
    रामायणलाई ईश्वरवादी वा अनिश्वरवादीको दृष्टिभन्दा माथि गएर केलाउनु पनि उत्तम हुन्छ। यो मानेमा वाल्मिकीले युद्धकाण्डमा बर्गको चिन्तन र चेतना मिहीन रुपमा केलाएका छन्। उनी भन्छन् पर्वतबाट नदी उत्पन्न भए जस्तै अर्थबाट सबै बिmया उत्पन्न हुन्छ। अर्थको अभावमा समस्त क्रिया अवरुद्ध हुन्छ जसरी गृष्ममा साना छोटा नदीहरुसुख्खा हुन्छन्।

    हामी माक्र्सले के भने भनेर खोज्छौं तर वाल्मिकीले के भन्न खोजेका हुन् भनेर केलाउँदैनौ। समाजमा धनले वा सम्पत्तिले वा अर्थले कसरी बर्ग जन्माउँछ वा निर्धारण गर्दछ भनेर वाल्मिकीले सरल शब्दमा मिहीन व्याख्या गरेका छन्। युद्धकाण्डमै उनी लेख्छन् “जोसँग धन छ उसँग सबै भाइ, बन्धु र मित्र बन्छन्। त्यही व्यक्तिको गणना श्रेष्ठ पुरुषमा हुन्छ।” ‘अर्थदेतानी सर्वाणी’ भन्दै वाल्मिकीले धनी ब्यक्तिलाई सबैले बुद्धिमान, पराक्रमी, भाग्यमानी र गुणवान सम्झने सामाजक चरित्र उठाए । सम्पन्न र विपन्न बर्गबीचको तात्कालीन समयको यो चिन्तन र यसले उठान गरेको मुद्दा गज्जब मान्नपर्छ।
    रामकथामा रामराज्य भनेको देवताको राज्य हुँदै होइन। रामराज्यको मुलभुत चरित्रलाई राज्यको नीतिनिर्देशक सिद्धान्तको रुपमा बुझ्दा हुन्छ। किनकि वाल्मिकीले रामायणमा राजा, राजाको चयन मन्त्री, धर्मपालक अथवा न्यायाधीशसम्मको विवेचना दिएका हुन्।

    उदाहरणका लागि वाल्मिकी के भन्छन् भने राज्यको कोष बुद्धि गर्न मन्त्रीहरुले सामान्य जनतालाई अत्याचार हुने गरी निर्णय गर्न हुँदैन। यो भनेको संघीय नेपालका स्थानीय निकायले शव जलाउने दाउरामा समेत कर लगाएको जस्तो होइन। कौटिल्यकालीन मगधमा धनानन्दको कर प्रणालीको सिको गर्ने हाम्रा स्थानीय तहले वाल्मिकीको उक्त नीतिलाई असल शासनको बुँदा माने लोककल्याणकारी काम भइहाल्छ। किनकि लोककल्याणकारी शासन नै रामराज्यको केन्द्रीय तत्व त हो।

    रामायणमार्फत वाल्मिकी के भन्छन् भने शत्रु पनि यदि निरपराध छ भने उसको अहित गर्न हुँदैन। यो न्यायको कुरा हो। दण्डविधानको कुरा हो। धर्म कुनै बर्ग, विशेश जाती वा साम्प्रदायिक तत्वबाट प्रभावित नभै सदाचार, आत्मकल्याण, लोककल्याण आदि भावनाको स्तम्भमा आधारित हुनपर्छ भनेका न हुन् वाल्मिकीले। यही नै आदर्श राज्य हो भनेका न हुन् उनले।

    धर्मभित्रबाट पनि वाल्मिकीले केही लोकतान्त्रिक पाटो उधिनेका छन्। जस्तै राजाको चयनमा पनि सामन्तहरुसँग छलफल चलाएर सहमति लिनपर्छ भनेर। मन्त्री ब्यक्तिगत गुणको आधारमा चयन हुनपर्छ पनि भन्छन् उनी। रातको पछिल्लो प्रहरमा राजाले कोषको विषयमा मन्त्रीहरुसँग नियमित संवाद गर्नपर्छ पनि भन्छन् उनी। राम त माध्यम मात्र न हुन् वाल्मिकीले राज्य सञ्चालनको प्रक्रिया उल्लेख गरेका हुन्।

    दश वर्षअघि रामनवमीको सन्दर्भमा बेलायतमा आयोजित एक कार्यक्रमा तात्कालीन प्रधानमन्त्री डेविड क्यामरुनले “राजनीति गर्ने र सत्ता चलाउनेहरुलाई रामायण मार्गनिर्देशक ग्रन्थ” भन्दै केहीबेर रामराज्यको प्रवचन दिएका थिए। मैले पनि ग्रन्थकै रुपमा यो विचार बनाएको हुँ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी के भन्छन् वा नेपालका प्रम केपी शर्मा ओली के भन्छन्, राम कहाँ जन्मिए,माडीमा प्राणप्रतिष्ठा गरिएको रामको मुर्तिको नाक किन असुहाउँदो छ भन्ने म जान्दिन।

    जो नाम मात्र नप्छन् तिनलाई पनि प्रणाम,
    जो राम मात्र जप्छन् तिनलाई पनि प्रणाम।

  • लुम्बिनी प्रदेशमा मूख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसद बने मन्त्री, कारवाही गर्ने पार्टीको तयारी

    लुम्बिनी प्रदेशमा मूख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसद बने मन्त्री, कारवाही गर्ने पार्टीको तयारी

    बुटवल । लुम्बिनी प्रदेशको राजनीतिमा सोमबार नाटकीय घटनाक्रम देखिएको छ । सोमबार बिहान लुम्बिनी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदले अविश्वास प्रस्ताव दर्ता गरे । प्रस्ताव दर्ता गरेको केही बेरमै जसपाका ४ जना नेता मन्त्रीमा नियुक्त भए । त्यसमध्ये तीन सांसद मन्त्री बनाइए, जसले मूख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । एक जनाले भने गरेका थिएनन् ।

    नैतिकताको सामान्य ख्याल नगरी विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साल मन्त्री बनेका हुन् । उनीहरुलाई जनता समाजवादी पार्टीले सांसद पद नै नरहने गरी कारवाहीको तयारी गरेको छ । पार्टीले आजै मन्त्री पदको सपथ लिने ४ नेतालाई निलम्बन गरी २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

    जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले सोमबार विज्ञप्ति जारी यस्ते जानकारी गराएका हुन् । सरकारबाट राजीनामा दिई चित्तबुझ्दो स्पष्टीकरण नदिए सांसद पद नरहने गरी उनीहरु कारबाहीमा पर्ने भएका छन् । मन्त्री बनेका चारै जनाले आज नै सपथ लिएका छन् ।

  • गृहमन्त्री थापाको सांसद पद गयो, मन्त्रीपदमा भने पुनः नियुक्त

    गृहमन्त्री थापाको सांसद पद गयो, मन्त्रीपदमा भने पुनः नियुक्त

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापाको सांसद पद गएको छ । नेकपा माओवादी केन्द्रबाट सांसद बनेका उनलाई पार्टीले कारवाही गरेसँगै सांसद पद गुमेको हो । सांसद पद गुमेपनि उनी आजै गृहमन्त्री पदमा भने पुनःनियुक्त भएका हुन् । अब उनी नेकपा एमालेका नेताको हैसियतमा गृहमन्त्री बनेका छन् । गृहमन्त्रीमा नियुक्त भएका उनले अब सांसद बीना बढीमा ६ महिना मात्र मन्त्री पदमा बस्न पाउने छन् ।

    आइतबार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले थापालाई मन्त्री पदको सपथ ग्रहण गराएकी छन् । आजै उनले कार्यभार समेत सम्हालेका छन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिँदै एमाले बनेसँगै माओवादी केन्द्रले कारबाही गरेको हो । उनी राष्ट्रिय सभा सांसद थिए ।

  • कांग्रेसलाई फकाउन एमसीसीको दाउ खेल्दै प्रधानमन्त्री

    कांग्रेसलाई फकाउन एमसीसीको दाउ खेल्दै प्रधानमन्त्री

    काठमाडौं । प्रदेश तहमा कांग्रेस, माओवादी र एमाले (नेपाल) समुहको सहमतिमा एमाले (ओली) समुह एक्लो बन्दै गएको छ । यसले एमालेले नेतृत्व गरेका प्रदेश सरकारहरु ढल्ने देखिन्छ । यसबाट केन्द्रिय समिकरणमा समेत असर पुग्ने देखेसँगै प्रधानमन्त्री ओलीले नयाँ कार्ड खेलेका छन् । उनले शनिबार सर्वदलीय बैठक बोलाए । जसको मूख्य एजेण्डा कोरोना भाइरसको रोकथाममा सरकारले चाल्ने कदम हुने अपेक्षा धेरैको थियो ।

    तर, अपेक्षा विपरित प्रधानमन्त्रीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषय उठान गरे । एमसीसीलाई आफुले सदनमा पेश गर्न चाहेको भए पनि सभामुखले रोकिरहेको भन्दै उनले सभामुख अग्नी सापकोटाको कडा आलोचना गरे । एमसीसी अगाडी बढाउन चाहनु प्रधानमन्त्रीले सत्ता टिकाउन कांग्रेस फकाउने थप एक कार्ड चालेको विज्ञहरुले बताएका छन् ।

    आज काठमाडौंबाट प्रकाशित हुने अधिकांश पत्रिकाले यसको चिरफार गर्ने प्रयास समेत गरेका छन् । नयाँ पत्रिकाले लेखेको छ, ‘नयाँ गठबन्धनका लागि विपक्षी एक ठाउँ भएपछि एमसीसीमार्फत कांग्रेससँग सहकार्य गर्ने प्रधानमन्त्रीको योजना ।’ कांग्रेस एमसीसी नेपालमा भित्राउन चाहन्छ । सोहीकारण प्रधानमन्त्री उसलाई फकाउन समेत यो प्रस्ताव टेबुल गर्न चाहन्छन् । तर, एमाले भित्रको माधव नेपाल समुह र माओवादी भने एमसीसीको कडा विरोधमा छन् ।

  • बूढानीलकण्ठको पार्कमा गाडीयो १३ फिटे राष्ट्रिय झण्डा

    बूढानीलकण्ठको पार्कमा गाडीयो १३ फिटे राष्ट्रिय झण्डा


    अमृता के सी ( रोनी )
    काठमाडौँ । बूढानीलकण्ठको कालिका पार्कमा बिशाल कदको राष्ट्रिय झण्डा गाडीएको छ। नगरपालिकाको दुई नम्बर वडामा रहेको कालिका पार्कमा राष्ट्रिय-झण्डा फहराहिएको हो। नव बर्ष २०७८ को उपलक्ष्यमा नगरपालिका प्रमुख उद्दव प्रसाद खरेल र उपप्रमुख रमा देवि राईले संयुक्त रुपमा झण्डोत्तोलन गरेका थिए ।
    नव निर्मित कालिका पार्कको थप आकर्षणका लागि २६ फिटको फलामे रडमा १३ फिट अग्लो राष्ट्रिय-ध्वजा अथवा राष्ट्रिय झण्डा फहराइएको पार्क संचालकले जनाएका छन् ।

    झण्डोत्तोलन कार्यक्रममा वडा नं ०२ का वडा अध्यक्ष राजेन्द्र खड्का, सदस्य राजेन्द्र श्रेष्ठ, वडा सदस्य ज्ञानु कार्की, गैरसरकारी संस्था महासंघ काठमाडौं अध्यक्ष प्रदिप डंगोल, ध्रुवतारा बोर्डिङ विद्यालय प्रधान्याध्यापक जे.एस. पौडेल लगयात स्थानीयहरुको उपस्थितमा रहेको थियोे ।
    मुलुकको पहिचान, नेपालि राष्ट्रिय-झण्डाको महत्व र राष्ट्रिय चिन्हहरूको आवश्यकता झल्काउन सार्वजनिक स्थान, पार्क, मन्दिर जस्ता ठाँउमा राष्ट्रिय झण्डा फहराउने अभियान सुरु गरिएको वडा सदस्य राजेन्द्र श्रेष्ठले जानकारी दिए।

  • माओवादी केन्द्रले कारवाही गरेका चार मन्त्रीको आजै नियुक्ती र सपथ

    माओवादी केन्द्रले कारवाही गरेका चार मन्त्रीको आजै नियुक्ती र सपथ

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सांसद पदबाट मुक्त गर्ने गरी कारवाही गरेका चार जना नेता आजै मन्त्री पदमा पुननियुक्त भई सपथ समेत लिएका छन् । नेताहरु टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीलाई माओवादीले कारवाही गरेसँगै उनीहरुको सांसद पद गुमेको थियो ।

    सांसद नरहेपछि उनीहरु स्वतः मन्त्रीबाट समेत पदमुक्त बनेका थिए । अब संवैधानिक प्रावधान अनुसार उनीहरु ६ महिना मन्त्री बन्न सक्नेछन् । त्यतिन्जेल सांसद बन्न नसकेमा भने पुनः पद जानेछ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा मन्त्रीहरूलाई पद तथा गोपनीयताको सथप खुवाएकी छिन् ।

    त्यसअगाडी प्रधानमन्त्रीले उनलाई मन्त्री पदमा नियुक्तीको सिफारिस गरेसँगै राष्ट्रपतिबाट मन्त्री पदमा नियुक्त गरिएको थियो । उनीहरूले पहिलेकै मन्त्रालयमा नियुक्त लिएका छन् । रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइ, भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति, साह सहरी विकास र चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री हुन् ।

  • नग्न फोटो सूट गरेपछि दुबईमा एक दर्जन महिला गिरफ्तार

    नग्न फोटो सूट गरेपछि दुबईमा एक दर्जन महिला गिरफ्तार

    दुबई । दुबईमा एक घरको बाल्कनीमा नग्न फोटो सूट गरेका कम्तिमा एक दर्जन महिला गिरफ्तारीमा परेका छन । शरीया कानून लागु हुने दुबईमा नग्नता प्रदर्शनलाई अपराध सरह मानिन्छ । एक समुहले बालकनीमा नग्न फोटोसूट गरेको फोटो तथा भिडियो सार्वजनिक भएको थियो । यो समुह युक्रेनी महिलाहरुको रहेको बताइएको छ ।

    भिडियो शनिबार नै अनलाइनमा पोष्ट भएको थियो । बीबीसीका अनुसार यूक्रेनी वाणिज्य दूतावासले ११ जना युक्रेनी नागरिक गिरफ्तारीमा परेको पुष्टी गरेको छ । उता, रूसले समेत आफ्नो एक जना जना नागरिक गिरफ्तारीमा परेको पुष्टी गरेको छ । दुबईमा सार्वजनिक नग्नता प्रदर्शनको अभियोगमा कम्तिमा ६ महिना जेल र ५ हजार दिराम जरिवाना हुने प्रावधान रहेको छ ।

    त्यसो त दुबईमा यस प्रकारको घटना घटेको पहिलो पटक भने होइन । दुबईमा विदेशीहरुबाट हुने उच्छृंखल गतिविधिमाथि यसअघि पनि कारवाही भइसकेको छ । बीबीसीका अनुसार शनिबार सार्वजनिक भएको पोष्ट अनुसार एक दर्जन महिला दुबईको मरीना इलाकामा बालकनीमा नग्न फोटो सूट गरिरहेका थिए । यूएईमा रहने पर्यटकले उक्त मुलुकको कानूनको पालना गर्नुपर्छ ।

  • कलाकारको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षिय किशोर पक्राउ

    कलाकारको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षिय किशोर पक्राउ

    काठमाडौं । कलाकार दीपाश्री निरौलासहितको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षिय किशोर पक्राउ परेका छन् । साइबर ब्युरोले कलाकारहरूको फेसबुक अकाउण्ट ह्याक गरेको अभियोगमा पर्सा बहुदजरमाई नगरपालिका ५ बस्ने १४ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।

    निरौलालगायत केही कलाकारहरूको फेसबुक ह्याक गरी साथीहरूसँग पैसा माग गरेको भन्ने उजुरी प्रहरी समक्ष पुगेको थियो । प्रहरीले १४ वर्षीय बालकलाई जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर पर्साबाट पक्राउ गरेको हो। उनी जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा सोमबार पक्राउ परेको प्रहरीले जनाएको छ ।

  • नाइजेरियामा जेलमा आक्रमण गरी भगाइयो १८ सय कैदी

    नाइजेरियामा जेलमा आक्रमण गरी भगाइयो १८ सय कैदी

    काठमाडौं \एजेन्सी । नाइजेरियामा जेलमा आक्रमण गरी १८ सय भन्दा बढी कैदी भगाइएको छ । नाइजेरियाका दक्षिण पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा आक्रमण गरि पृथकतावादी समुहले आफ्नो १८ सय ४५ जना कार्यकर्तालाई भगाउन सफल भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् ।

    बीबीसीका अनुसार सोमवार बिहान पीकअप ट्रक र बस चढी ठूलो हातहतियारसहित आएका आक्रमणकारीले जेलबाट कैदी भगाउन सफल भएका छन् । आक्रमणकारीहरुले रकेटबाट फ्याक्न सकिने ग्रेनेड, स्वचालित बन्दुक, बिस्फोटक पदार्थ र राइफल बोकेका थिए ।

    अहिलेसम्म ६ जना कैदि भने जेल फर्किएका छन् । ३५ जनाले भने नभागी जेलमै बसेका थिए । यो घटनामा पृथक्तावादी समूह द इन्डीजीनीएस पीपल अफ बीयाफ्राको हात रहेको प्रहरीले जनाएको छ । यो समुह नाइजेरियामा प्रतिवन्धित छ । तर, समुहले प्रहरीको आरोपको खण्डन गरेको समेत बीबीसीले लेखेको छ ।

  • रूसी राष्ट्रपति पुटिन सन्  २०३६ सम्म सत्तामा रहन सक्ने

    रूसी राष्ट्रपति पुटिन सन् २०३६ सम्म सत्तामा रहन सक्ने

    मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सन् २०३६ सम्म सत्तामै रहन सक्ने भएका छन् । उनले आफ्नो सत्ता सन् २०३६ सम्म लम्ब्याउन मिल्ने एक कानूनमा सोमबार हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । त्यसो त यो कानुन विधायीकाबाट पास गराउन समेत उनी सफल बनेका छन् ।

    संसदको दुबै सदनबाट गत महिना नै कानून पास भएको हो । यो कानून अनुसार पुटिन थप दुई कार्यकाल राष्ट्रपति बन्न सक्ने छन् । जारी कार्यकाल सन् २०२४ मा सकिने भएको छ । रूसमा राष्ट्रपतिको एक कार्यकालको अवधि ६ वर्ष रहेको छ ।

    उनले अघिल्लो वर्ष संविधान संशोधन गर्दै यसको बाटो खोलेका थिए । पुटिन ६८ वर्षका भएका छन् । जारी कार्यकालसँगै सन् २०२४ भित्र उनले चार कार्यकाल राष्ट्रपति र एक कार्यकाल प्रधानमन्त्रीका रुपमा बिताउने छन् ।

  • स्वेज नहरमा अड्किएको विशाल कन्टेनर जहाज ६ दिनपछि किनारबाट हटाइयो

    स्वेज नहरमा अड्किएको विशाल कन्टेनर जहाज ६ दिनपछि किनारबाट हटाइयो

    इजिप्ट । स्वेज नहरमा अड्किएको एक विशाल कन्टेनर जहाजले ६ दिनदेखि अन्तर्राष्ट्रिय व्यापार ठप्प थियो । स्वेज नहर यूरोप र एसिया जोड्ने सबैभन्दा छोटो दूरीको समुन्द्री मार्ग हो । तर, यसै मार्गमा जहाज तेस्रो परी अड्किएपछि सयौं कन्टेनरको जाम लागेको थियो ।

    यसले दुई महादेशबीचकै व्यापारमा प्रभाव पारेको थियो । अधिकारिहरुका अनुसार एक सातादेखि नहरमा फसेको कन्टेनर जहाज़लाई पानीमा तैराउने प्रयास गरिएको छ । जसलाई फसेको स्थान नहरको किनाराबाट हटाइएको छ । स्वीस नहर प्राधिकरणका अनुसार यो जहाज ४ सय मिटर लामो छ ।

    यसलाई ८० प्रतिशतसम्म सिधा बनाउने काम भएको छ । जहाजलाई सिधा गराउने काम अहिले पनि जारी भने रहेको छ । यो नहरबाट दैनिक ९.६ अर्ब डलर बराबरको सामान आवतजावत हुने गरेको बीबीसीले जनाएको छ ।

    समाचार एजेन्सी रोयटर्सलाई उदृत गर्दै बीबीसीले लेखे अनुसार जहाजको पछिल्लो भाग किनाराबाट ४ मिटरको दुरीमा थियो । अब यसलाई १ सय २ मिटर सम्म पर लगिएको छ । यो जहाजले कम्तिमा ३६५ अन्य जहाजलाई फसाएर राखेको छ । जसमा इन्धन, ग्याससहितका सामान लोड गरिएको छ ।

  • एमालेको मूख्यालय अब थापाथलीको आलिसान भवनमा

    एमालेको मूख्यालय अब थापाथलीको आलिसान भवनमा

    काठमाडौं । सत्तारुढ नेकपा एमालेको मूख्यालय अब काठमाडौं, थापाथलीस्थित आलिसान भवनमा सर्ने भएको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज नयाँ कार्यालय भवनको स्थलगत अवलोकन गरेका छन्। प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा पूर्वउद्योग राज्यमन्त्री मोती दुगडका आफन्तको यो घर अब एमालेले ५ वर्षसम्म रहने गरी लिन लागेको बताइएको छ ।

    कार्यालय थापाथली हाइटस्थित उमंगमार्गमा रहने भएको छ । एमालेले १ वैशाख २०७८ बाट नयाँ कार्यालयमा सर्ने निर्णय गरेको हो । आज मन्त्री तथा नेताहरुसहित प्रधानमन्त्री पार्टी कार्यलयको अवलोकनमा पुगेका हुन् ।

    प्रधानमन्त्रीले अवलोकन गरेसँगै कार्यालय लिने निश्चित भएको बताइएको छ । यो कार्यालय उद्योगीले सित्तैमा दिएका हुन वा भाडा तिर्नुपर्ने हो भन्नेबारे भने खुलेको छैन । साढे २ तलाको यो घरमा १३ कोठा छन् । एमाले आउनु अगाडी यो घरमा संयुक्त राष्ट्रसंघ युएन वुमनको कार्यालय रहेको थियो । अहिले एमालेको कार्यालय धुम्बाराहीस्थित पासांग ल्हामु प्रतिष्ठानको घरमा छ । यो घर यति ग्रुपको हो ।

  • आफ्नै सामाजिक संजाल खोल्दै अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प

    आफ्नै सामाजिक संजाल खोल्दै अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प

    काठमाडौं । ट्वीटर र फेसबुकसहितका साइटले आफ्नो प्लेटफर्ममा प्रतिवन्ध लगाएसँगै अमेरिकाका पूर्वराष्ट्रपति तथा अमेरिकी धनाढ्य डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक संजाल खोल्ने भएका छन् । उनका सल्लाहकारले यस्तो जानकारी सार्वजनिक गरेको अमेरिकी संचारमाध्यमले लेखेका छन् ।

    आगामी तीन महिना भित्र ट्रम्प आफ्नै लगानीको सामाजिक सञ्जालमार्फत सक्रिय भइसक्ने तयारीमा रहेको बताइएको छ । उनका सल्लाहकार जेसन मिलरले फक्स न्युजसँग यसको खुलासा गरेका हुन् । मिलरले यस्तो सामाजिक संजाल अन्य मिडियाको भन्दा फरक हुने समेत बताएका छन् ।

    जनवरी ६ मा अमेरिकाको वासिङटन डिसीस्थित क्यापिटलमा भएको हिंसापछि ट्रम्पलाई फेसबुक, ट्विटर, स्नापच्याटसहितका सामाजिक संजालले एक्सेस दिएका छैनन् । युट्यूवमा समेत उनी प्रतिवन्धित छन् । हिंसा ट्रम्प समर्थकले गरेका थिए । जहाँ ५ जनाको मृत्यु भएको थियो । ट्रम्प सामाजिक संजालमा सक्रिय हुने भिभिआइपी मध्ये एक हुन् ।

    राष्ट्रपति ट्रम्पका गतिविधिबारे आम नागरिकलाई उत्तिकै चासो हुने भन्दै आगामी दिनमा नयाँ प्लेटफर्ममा समेत उत्तिकै लोकप्रिय हुने उनका सल्लाहकारको भनाई छ । त्यसो त अन्य दर्जनौं कम्पनीले समेत ट्रम्पलाई आफ्नो प्लेटफर्म प्रयोग गर्न आह्वान गरिरहेको बताइएको छ । यसबारे ट्रम्पले निर्णय गरिसकेका छन् ।