Category: रोचक खवर

  • नेपालमा आजबाट गैंडा गणना थालिने

    नेपालमा आजबाट गैंडा गणना थालिने

    काठमाडौं । नेपालमा आजबाट एक सिंगे गैंडाको गणना थालिँदै छ । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरमा वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले यस कार्यको शुभारम्भ गर्ने कार्यक्र छ । उनले त्यहाँ वनदेवीको पूजा गर्ने कार्यक्रम रहेको जनाइएको छ । नेपालमा चार वटा निकुञ्जमा एक सिंगे गैंडा पाइन्छ । त्यसमध्ये सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा रहेका छन् ।

    गणनाको नेतृत्व चितवन निकुञ्जले गर्दैछ । यस कार्यमा ३ सय भन्दा बढी मानवीय जनशक्ति र ६० वटा हात्तीसहितको टोली खटिने छ । चितवनमा मात्र २०० सय बढी मानवीय जनशक्ति र ४० वटा हात्ती खटिने छन् ।


    चितवन राष्ट्रिय निकुञ्ज, पर्सा, बर्दिया र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा गैंडाको गणना हुने छ । यसअघि नेपालमासन् १९९४, २०००, २००५, २००८, २०११ र २०१५ मा गैंडाको गणना भएको छ । पछिल्लो गणनामा अनुसार देशभर ६सय ४५ वटा गैंडा फेला परेका थिए ।

  • ललितपुर महानगरभित्र पम्प्लेट र पोष्टर टाँस्न नपाइने

    ललितपुर महानगरभित्र पम्प्लेट र पोष्टर टाँस्न नपाइने

    ललितपुर । ललितपुर महानगरपालिका भित्र अब पम्प्लेट तथा पोस्टरहरु टास्न नपाइने भएको छ । सहरलाई सुन्दर र सफा बनाउन यस्तो अभियान चलाइएको महानगरपालिकाले जनाएको छ । घर र पर्खालका भित्ता, टेलिफोन, बिजुलीको खम्बामा पम्प्लेट र पोष्टर टाँस्न पाइने छैन । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले खम्बामा टाँसिएका पम्प्लेट, पोष्टर उप्काएर शुक्रबार यस अभियानको प्रारम्भ गरेका हुन् ।

    महानगरले सडकपेटीमा रोपिएको रुखमा ६ फिटसम्म हरियो रङ लगाउने भएको छ । यस्तो अभियान आइतबारबाट प्रारम्भ गरिने भएको हो । यसरी रंग लगाएको स्थानमा जथाभावी पम्प्लेट टाँस्न आउनेमाथि भने कारवाही हुने भएको छ ।

    महानगरले तत्काल यो काम बाग्मती पुलबाट जावलाखेल लगनखेलहुँदै सातदोबाटोसम्म, हिमालय होटेल, पाटनढोका, अशोक हल, क्वाल्खुहुँदै मंगलबजार, लगनखेलसम्म र पुल्चोक महानगरपालिका कार्यालयबाट मंगलबजार हुँदै ग्वार्कोसम्म गर्ने उल्लेख गरेको छ ।

    कसैले पोस्टर टाँस्दै गरेको भेटिए तत्कालै नियन्त्रणमा लिएर कारवाही अघि बढाइने भएको छ । महानगरले यसअघि महानगरपालिकाभित्र अव्यवस्थित मोटरसाइकल वर्कसप हटाएको छ । सडक पेटी व्यवस्थित बनाउने अभियान समेत जारी रहेको छ ।

  • ओलीको चियापानमा नेपाल-खनाल पक्षका नेता नजाने

    ओलीको चियापानमा नेपाल-खनाल पक्षका नेता नजाने

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज चियापान आयोजना गरेको छन् । ११ बजे वालुवाटारमा चियापानका लागि एमालेका नेताहरुलाई निम्ता पुगेको छ । २८ फागुनमा एकलौटी रुपमा एमालेका नेताहरुको जिम्मेवारी खोसेका उनले पछिल्लो समय सम्बन्ध सुधारको प्रयास गरेको देखिन्छ । यद्दपी पटक पटक धोका पाएका अन्य समुहका नेताहरु भने उनको चियापानमा नजाने भएका छन् ।

    नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल नेतृत्वको समूहले बुधबार र बिहिबार राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । त्यसअगाडी ओलीले बोलाएको चियापान समारोहमा नजाने निर्णय यो समुहले गरेको छ । उता, बामदेव गौतम समुहले समेत आज ओलीले चियापान राखेकै समयमा काठमाडौंमा भेला राखेको छ ।

    सोहीकारण उक्त समुह समेत वालुवाटार नजाने भएको हो । सोमबार दिउँसो अध्यक्ष ओलीले एमाले नेपाल र उनीपक्षधरसँग पार्टी कार्यालय धुम्बाराहीमा छलफल गरेका थिए । छलफल सकारात्मक नभएपछि सबै समुहले आआफ्ना कार्यक्रमलाई निरन्तरता दिन लागेका हुन् ।

  • राष्ट्रपतिबाट सर्वदलीय बैठक आह्वान

    राष्ट्रपतिबाट सर्वदलीय बैठक आह्वान

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सर्वदलीय बैठक आह्वान भएको छ । मंगलबार दिउँसो ४ बजे बस्ने गरी दलहरुलाई राष्ट्रपति कार्यालयले आमन्त्रण गरेको हो । बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई निम्ता पठाइएको छ । बदलिँदो परिस्थितिमा दलहरुबीच तिब्र ध्रुविकरणका बीच बोलाइएको यो बैठकलाई महत्वका साथ हेरिएको छ ।

    यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत मंगलबार नै एमालेका केन्द्रिय सदस्यहरुका लागि चियापानको निम्ता दिएका छन् । उनी बिग्रिएको सम्बन्ध सुधार गर्न एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधरसँग आज पार्टी कार्यालय धम्बाराहीमै पुगेका भेट गरेका छन् । आजै उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन गरी भेटको निम्ता दिएको बताइएको छ ।

  • दैलेखमा पेट्रोलियम पदार्थको व्यवसायिक सम्भावनाबारे टुंगो लगाउन चिनियाँ प्राविधिक आउँदै

    दैलेखमा पेट्रोलियम पदार्थको व्यवसायिक सम्भावनाबारे टुंगो लगाउन चिनियाँ प्राविधिक आउँदै

    काठमाडौं । दैलेखमा पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन पुरा भएको छ । अब यस स्थानबाट व्यवसायिक रुपमा पेट्रोलियम पदार्थ निकाल्न सकिने सम्भावनाबारे टुंगो लगाउन पुनः चिनियाँ प्राविधिकको टोली नेपाल आउने भएको छ । दैलेखको श्रीस्थान नाभिस्थानमा पेट्रोलियम पद्धार्थको अन्वेषण चीनले नै गरिसकेको छ । अब सो स्थानमा व्यावसायिक उत्खनन सम्भावनाको टुङ्गो लगाउने भएको हो । चिनियाँ प्राविधिक टोली चैत १९ मा नेपाल आउन लागेको हो ।

    अन्वेषणका क्रममा तीन वटा पूर्व पश्चिम र ७ वटा उत्तर दक्षिण दिशामा खनिएका दश वटा सिस्मिक लाइनहरूमा सर्भे कार्य सकिएको छ । अब वास्तविक अध्ययन हुने र त्यस क्रममा पेट्रोलियम पद्धार्थको अन्वेषणका लागि गरिने मुख्य ड्रिलिङको काम यस चरणमा गरिने भएको छ ।

    खानी तथा भूगर्भ विभागका अनुसार पहिलो चरणमा आएको प्राविधिक टोलीले जिल्लाको कुल चार सय वर्ग किलोमिटर भुभाग समेटेर सर्भे गरिसकेको छ । यसमादुल्लु नगरपालिका ,भैरवी गाउँपालिका, महावु गाउँपालिका र नारायण नगरपालिका क्षेत्रलाई केन्द्रित गरिएको छ । यसबाहेक रचामुण्डाबिन्द्रासैनी नगरपालिका,डुगेश्वर गाउँपालिका, नौमुले गाउँपालिका र भगवतीमाई गाउँपालिकाका केही भुभाग समेटिएका छन् ।

    २०७२ चैतमा नेपाल र चीनबिच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननमा सहकार्य गर्ने सहमति भएको थियो । २०७५ गत माघमा नै चीनलाई नेपालका दुई वटा क्षेत्रमा पेट्रोलियम तथा ग्याँस खानीबारे विस्तृत अन्वेषण गर्न दिनेसम्बन्धी परियोजना स्वीकृत गरेको थियो ।

    उक्त सहमतिअनुसार २०७६ फागुनमा खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्वे कम्पनीबिच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्नका लागि दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भएको थियो । २०७६ कात्तिकमा तत्कालीन उद्योगमन्त्री मातृका यादवले दैलेखको नाभिस्थानबाट पेट्रोलियम पदार्थ अन्वेषणको कार्यको उद्घाटन गरेका थिए । अन्वेषणको खर्च चीनले बेहोर्ने सहमति भएको छ ।

  • नेपालमा रासायनिक मल कारखाना स्थापना सम्भव रहेको अध्ययन समितिको निष्कर्ष

    नेपालमा रासायनिक मल कारखाना स्थापना सम्भव रहेको अध्ययन समितिको निष्कर्ष

    काठमाडौं । नेपालमा प्राकृतिक ग्यास प्रविधिमा आधारित रासायनिक मल कारखाना स्थापना र सञ्चालन सम्भव रहेको देखिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठन भएको रासायनिक मल कारखाना स्थापनाको प्राराम्भिक अध्ययन समितिले यस्तो निष्कर्ष निकालेको हो । समितिले आज आफ्नो प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ ।

    कार्तिक २४ गते बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नेपालमा रासायनिक मल कारखाना स्थापनाको प्रारम्भिक अध्ययन गर्न अर्थमन्त्रीको संयोजकत्वमा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री र कृषि तथा पशुपंक्षी विकास मन्त्री रहेको समिति गठन गरेको थियो ।
    समितिले प्राकृतिक ग्यास प्रविधिमा आधारित मल कारखाना स्थापना र सञ्चालन गर्न सकिने सुझाव सहितको प्रतिवेदन तयार पारेको हो ।

    ‘सुरु पूँजी लगानी, लगानी फिर्ता अवधि तथा नाफाको दृष्टिकोणबाट प्राकृतिक ग्यास प्रविधिमा आधारित मल कारखाना स्थापना गर्न अन्य प्रविधिको तुलनामा उपयुक्त देखिन्छ,’ प्रतिवेदनले भनेको छ । अर्थ मन्त्रालयका अनुसार प्रतिवेदनमा प्राकृतिक ग्यास प्रविधिमा आधारित मल कारखाना स्थापना गरेमा मल आपूर्तिको दिगो समाधान हुने र कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि भइ मुलुकको आर्थिक विकासमा योगदान पुग्ने छ ।

    समितिले विश्वव्यापी रुपमा रासायनिक मल उत्पादनका लागि प्राकृतिक ग्यास, थर्मोकोल र वाटर इलेक्ट्रोसिस प्रविधि प्रचलनमा रहेको मध्ये तत्कालका लागि नेपालमा प्राकृतिक ग्यास प्रविधिमा आधारित मल कारखाना स्थापना गर्दा सरकारले उपलब्ध गराउनुपर्ने अनुदान रकम बचत हुन सक्ने निष्कर्ष निकालेको हो ।

    सरकारले कृषकहरुलाई रासायनिक मल खरिदमा अनुदान उपलब्ध गराउनका लागि चालू आर्थिक वर्षमा ११ अर्ब रुपैयाँ विनियोजन गरेको छ । अघिल्लो आर्थिक वर्षमा १० अर्ब ५२ अर्ब रुपैयाँ विनियोजन गरी उपलब्ध गराइएको थियो ।

    समितिले प्राकृतिक ग्यास प्रविधिमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि सुरु लगानी १ खर्ब ३ अर्ब र वाटर इलेक्ट्रोसिस प्रविधिमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि १ खर्ब ८९ अर्ब रुपैयाँ लाग्ने र थर्मोकोल प्रविधिमा आधारित रासायनिक मल कारखाना स्थापना वातावरणीय लगायतका कारण उपयुक्त नहुने सुझाव तयार पारेको छ ।

    सार्वजनिक निजी साझेदारी मोडालिटीमा मल कारखाना स्थापना गर्ने परियोजना सञ्चालन गर्न उपयुक्त हुने पनि समितिको सुझाव छ । प्रतिवेदनमा प्राकृतिक ग्याँस प्रविधिमा आधारित भइ मल उत्पादनका लागि अवसरका रुपमा वाषिर्क करिब १६ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा प्रयोग गरेर रासायनिक मल आयात गर्नु पर्ने बाध्यताको अन्त्य हुने, व्यापार घाटा न्यूनीकरण गर्न सहयोग पुग्ने, कृषकहरुले समयमा मल प्राप्त गर्न नसक्ने अवस्थाको अन्त्य हुने लगायत उल्लेख गरिएको छ ।

    मन्त्रालयका अनुसार मल कारखाना स्थापना गर्न पूँजीको व्यवस्थापन, लगानीकर्तालाई आकषिर्त गर्ने, कारखाना स्थापनाका लागि उपयुक्त स्थानको छनौट, लगानी र पुँजी संरचना निर्माणलाई चुनौतीका रुपमा उल्लेख गरिएको छ ।

    नेपालमा करिब ८ लाख मेट्रिक टन मलको माग रहेको र बालीको विविधिकरणको आधारमा रासायनिक मलको उपयोग विधि र परिणाम समेत बढाउँदा रासायनिक मलको सम्भावित माग अबको केही वर्षमा करिब २० लाख मेट्रिक सम्म हुने अनुमान गरिएको छ ।

  • महाशिव रात्रीको अवसरमा गोकर्णेश्वर महादेब मन्दिरमा विषेश आरती सम्पन्न

    महाशिव रात्रीको अवसरमा गोकर्णेश्वर महादेब मन्दिरमा विषेश आरती सम्पन्न

    अमृता के सी ( रोनी )

    काठमाडौँ/गोकर्णेश्वर नगरपालिका स्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा महाशिवरात्री पर्व २०७७ को अवसरमा विशेष बागमती गङ्गा आरति सम्पन्न भएको छ।गोकर्णेश्वर बागमती गङ्गा आरति उपसमितिले हरेक महिनाको अन्तिम सोमबार गर्दै आएको बागमती गङ्गा आरति शिवरात्रिको अवसरमा भगवान शिवको पूजा आराधनाबाट सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने भएकोले विशेष बागमती गङ्गा आरतिको आयोजना गरेको बताएको छ।
    अपरान्ह ४ बजे देखि भजन किर्तन सहित आयोजना गरिएको विशेष आरतीमा तीन सय भन्दा बढी श्रद्धालु भक्तजनको उपस्थिति रहेको थियो।
    शिवरात्रिका लागि मन्दिर परिसरमा सरसफाइ,स्वयं सेवक परिचालन,मन्दिरमा दर्शन र पूजा गर्न आउने भक्तजनलाई सहज वातावरणको व्यवस्था लगायतको कार्य मन्दिर व्यवस्थापन समितिले गरेको थियोे।शिव रात्रिमा विशेष पूजाअर्चना साथै सन्ध्याकालीन आरती र भजन किर्तन सहित कार्यक्रममा सहभागीहरुलाई प्रसाद वितरण मन्दिर व्यवस्थापन समितिले गरेको थियो।

  • आफ्नै निर्वाचन क्षेत्रमा अर्थमन्त्री पौडेलमाथि स्थानीयले गरे ढुंगामुडा

    आफ्नै निर्वाचन क्षेत्रमा अर्थमन्त्री पौडेलमाथि स्थानीयले गरे ढुंगामुडा

    बुटवल । अर्थमन्त्री विष्णु पौडेलविरुद्ध आफ्नै निर्वाचन क्षेत्रमा ढुंगामुडा भएको छ । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा पुगेका उनीमाथि प्रभावित स्थानीयवासीले नाराबाजी गर्दै ढुंगा प्रहार गरेका हुन् । आज कडा सुरक्षा घेरामा मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास भएको थियो । त्यसपछि अर्थमन्त्रीले भाषण शुरु गरेलगत्तै स्थानीयबाट स्टेजमा ढुंगा प्रहार शुरु भयो ।

    नाराबाजी र होहल्लाका बीच भाषण दुई मिनेटमै सकेर अर्थमन्त्री भाग्नु परेको छ । अर्थमन्त्रीलाई भूमाफियाको आरोप लगाउँदै स्थानीयले लखेटेका हुन् । उनीहरुले यो जग्गा वालुवाटार नभएको भन्दै विरोध गरेका हुन् । मञ्चको चारै तर्फबाट नाराबाजी र ढुंगा प्रहार भएपछि प्रहरीले बल प्रयोग गर्नु परेको थियो ।

    प्रहरीको कुटपिटबाट तीन जना घाइते भएका छन् । दुईजनालाई नियन्त्रणमा लिएको स्थानीयले बताएका छन् । अर्थमन्त्रीले भाषणा गर्नु अगाडी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मन्तव्य राखेका थिए ।

    स्थानीयले अर्थमन्त्रीले शिलान्यास गरेको औद्योगिक क्षेत्रको शिलास्तम्भ र आयोजनासम्बन्धी जानकारी बोर्ड समेत भत्काएका छन् । स्थानीयले बिहीबार नै शिलान्यास कार्यक्रमका लागि तयार गरेको स्टेज भत्काएका थिए । तर, जबर्जस्ती अर्थमन्त्रीले प्रहरी घेरामा कार्यक्रम राखेपछि स्थानीय आक्रोसित बनेका हुन् ।

    मोतीपुरमा स्थानीयले वर्षौंदेखि जोतभोग गर्दै आएको जग्गा, विद्यालय, वन, मठ मन्दिरको जग्गामा औद्योगिक क्षेत्र बन्न लागेपछि विरोध शुरु भएको हो । स्थानीयसंग गरेका प्रतिवद्धता विपरीत अपारदर्शी ढंगले काम अघि बढाएको भन्दै स्थानीयले औद्योगिक क्षेत्र बन्न नदिने बताएका छन् ।

    औद्योगिक क्षेत्र निर्माणमा करिब १२ अर्ब रुपैयाँ लागत अनुमान छ । कार्यक्रम स्थलबाट स्थानीयको लखेटाइमा परेका अर्थमन्त्रीले भने प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पुगी पत्रकार सम्मेलन गरेका थिए । उनले खुला रुपमा अगाडी आएर विरोध गर्न चूनौति दिँदै स्थानीयको नाममा पर्दा पछाडीबाट विरोध भइरहेको बताए ।

  • चिडियाखाना भ्रमणमा प्रधानमन्त्री, एक सिंगे गैडाको अभिभावकत्व ग्रहण

    चिडियाखाना भ्रमणमा प्रधानमन्त्री, एक सिंगे गैडाको अभिभावकत्व ग्रहण

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सदर चिडियाखाना जावलाखेलमा घुमफिरमा निस्किए । उनले चिडियाखानाको करीव सबै तिर घुमे र जनवारहरुको अवलोकन गरे । सो अवसरमा उनले एकसिंगे गैंडाको अभिभावकत्व समेत ग्रहण गरे । चिडियाखानामा वन्यजन्तुको अभिभावकत्व अभियानको प्रधानमन्त्रीबाट आज शुभारम्भ गराइएको छ ।

    यस अभियान अन्तर्गत नेपाल सरकारले एक वर्षसम्म गैंडाका लागि चाहिने सबै खर्च बेहोर्नेछ । त्यसमध्ये ११ महिना सरकारको खर्च लाग्ने छ भने १ महिना प्रधानमन्त्री ओलीले व्यक्तिगत खर्च बेहोर्न प्रतिवद्धता व्यक्त गरे । राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखाना व्यवस्थापन गरेको २५ वर्ष पूरा भएको अवसरमा यो अभियानको थालेको हो । विश्वमै दुर्लभ प्राणी एकसिंगे गैंडाको संरक्षण गर्ने उद्देश्यले यस्तो अभियान थालिएको हो ।

    आज विश्व वन्यजन्तु दिवस समेत हो । दिवसको यस वर्षको नारा ‘जंगल र जीविकोपार्जनः प्राणी र पृथ्वीको दीर्घकालीन अवस्थिति’ राखिएको छ । विश्वका वन्यजन्तु तथा वनस्पतिको दिगो संरक्षणका लागि जनचेतना फैलाउन सन् २०१३ को डिसेम्बर २० मा संयुक्त राष्ट्रसंघको महासभाबाट हरेक वर्ष मार्च ३ तारिखका दिन विश्व वन्यजन्तु दिवस मनाउने घोषणा गरिएको हो ।

  • विश्वमा सबैभन्दा बढी अर्बपति चीनमा, भारत तेस्रो स्थानमा

    विश्वमा सबैभन्दा बढी अर्बपति चीनमा, भारत तेस्रो स्थानमा

    काठमाडौं । संसारमा सबैभन्दा बढी अर्बपति भएको मुलुक हो चीन । कोरोना भाइरसले विश्व आक्रान्त भएको समयमा पनि चीनको अर्थतन्त्रमा त्यति ठूलो प्रभाव परेन । किनकी चीनले कोरोना रोकथाममा कडा नीति लियो र त्यसलाई नियन्त्रण गर्न सफल भयो । त्यसपछि कोरोना सँग सम्बन्धित क्षेत्रको व्यापार थालेको चीनको आर्थिक वृद्धिसमेत यो वर्ष सबैभन्दा बढी भएको छ ।

    तथ्यांक अनुसार अर्बपतिको संख्या तिब्र गतिमा बढ्ने मुलुकमा चीन र भारत नै अग्रस्थानमा छन् । अमेरिका दोस्रो स्थानमा झरेको छ । हालै सार्वजनिक भएको ग्लोबल रिच लिस्ट अनुसार भारत विश्वमा सर्वाधिक अर्बपति भएको मुलुकको तेस्रो स्थानमा आउन सफल भएको छ । भारतमा १ सय ७७ अर्बपति रहेका छन् । जसमा ६१ जना मुम्बई शहरमा मात्र बस्छन् ।

    नयाँ दिल्लीमा ४० र बेंग्लौंरमा २२ जना अर्बपति रहेका छन्। विदेशमा रहेका भारतीय अर्बपति जोड्दा भारतका मात्र २ सय ९ जना पुग्ने तथ्यांक छ । चीनमा भने १ हजार ५८ जना अर्बपति रहेका छन्। यस वर्ष मात्रै चीनमा २ सय ५९ जना अर्बपतिको संख्या थप भएको छ ।

    राजधानी बेइजिङमा १ सय ४५ जना अर्बपति छन्। सांघाईमा १ सय १३ जना अर्बपति रहेको सूचिमा उल्लेख छ । अमेरिका दोस्रो स्थानमा छ । यहाँ ६ सय ९६ अर्बपति छन्। एक वर्षमा अमेरिकामा ७० जना नयाँ अर्बपति थपिए । विश्वका सबैभन्दा बढी सम्पत्ति अमेरिकी नागरिक इलन मस्कसँग रहेको छ । उनको कुल सम्पत्ति १ सय ९७ बिलियन डलर रहेको तथ्यांक छ ।

    भारतमा रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानी सबैभन्दा धनी व्यक्ति हुन । उनी विश्वका सबैभन्दा धनी व्यक्तिको ९ औं सूचीमा छन् । उनको सम्पत्ति ८३ अर्ब डलर पुगेको छ ।

  • ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्दा चालक पक्राउ

    ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्दा चालक पक्राउ

    काठमाडौं । नेपालमा ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोजेका एक ट्रक चालक पक्राउ परेका छन् । सोमबार साँझ बालाजुमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवल्दार वसन्तकुमार गौतमलाई एक सय रुपैयाँ घुस दिन खोजेका ना ५ ख ९१२५ नम्बरको ट्रक चालक बाराका विजय चौधरी पक्राउ परेका हुन् । प्रहरीले उनीसँग कागज पत्र मागेका थिए ।

    ट्राफिक प्रहरीका अनुसार उनलाई पक्राउ गरी कारबाहीका लागि प्रहरी वृत्त बालाजुमा बुझाइएको छ । सोमबार नै बालाजुमा ट्राफिक प्रहरी जवान विवेक नकाललाई २ सय रुपैयाँ घुस दिन खोजेका अर्का ट्रक चालक समेत प्रहरीको फन्दामा परेका छन् । ना ५ ख ६५१४ नम्बरको ट्रक चालक मकवानपुरका अनोज मोक्तानले घुस दिन खोजेका थिए ।

  • २०७८ सालमा पर्यो तीन वटा दशैं, कसरी ?

    २०७८ सालमा पर्यो तीन वटा दशैं, कसरी ?

    काठमाडौं । हिन्दु धर्मावलम्बीले विसं २०७८ मा तीन वटा दशैँ मान्नु पर्ने भएको छ । सामान्यतया चैते दशैं र मुल दशैं गरी वर्षमा दुई वटा दशैं पर्छ । तर, २०७८ सालमा भने तीन वटा दशैं परेको छ । २०७७ सालमा हुनुपर्ने चैते दशैं समेत वैशाखमा परेपछि यस्तो संयोग जुरेको हो । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेका हो ।

    वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख भएको राष्ट्रिय समाचार समितिले उल्लेख गरेको छ । विसं २०७८ को चैत २६ गते शनिबार पनि अर्को चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको छ। बडादशैँका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दशैँ आगामी वर्ष असोज २१ गते बिहीबार घटस्थापनासहित शुरु हुनेछ ।

    असोज २७ गते बुधबार महाअष्टमी, असोज २८ गते बिहीबार महानवमी र असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ। कार्तिककृष्ण पक्षमा शुरु भएर शुक्ल पक्षमा सकिने तिहार कात्तिक १६ गते मङ्गलबारदेखि शुरु हुने भएको छ । लक्ष्मीपूजा कात्तिक १८ गते बिहीबार र भाइटीका कात्तिक २० गते शनिबार परेको छ। चैत्र शुक्ल र आश्विन शुक्ल पक्षमा पर्ने दशैँलाई वैदिक सनातन धर्मावलम्बी नेपालीले ठूलो चाडका रूपमा मनाउे प्रचलन रहेको छ ।

    वर्षमा चारपटक अर्थात् चैत, असार, असोज र पुस महिनाको शुक्ल पक्षमा देवीको आराधना गर्ने नवरात्र पर्छ। असार र पुसमा पर्ने नवरात्रमा साधकले साधना गर्ने गरे पनि आमरूपमा मनाउने परम्परा छैन। यस वर्ष विसं २०७७ असोजमा मलमास परेकाले विसं २०७८ मा तीन वटा दशैँ परेको बताइएको छ ।

  • माटोको डिजिटल नक्सा तयार, घरमै बसेर परीक्षण गर्न सकिने

    माटोको डिजिटल नक्सा तयार, घरमै बसेर परीक्षण गर्न सकिने

    काठमाडौं । नेपाल सरकारले माटोको डिजिटल नक्सा तयार पारेको छ । माटोमा रहेको विभिन्न तत्त्व र गुण देखाउन अब जिपिएस माध्यमबाट नक्सा तयार पारिएको हो । माटोको डिजिटल नक्साको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । कृषि तथा पशुपक्षीं विकास मन्त्रालयका अनुसार देशभरको माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एशियामै पहिलो बनेको छ ।

    नेपाल बाहेकका दक्षिण एशियाका अन्य मुलुकमा केही सिमित क्षेत्रको मात्र डिजिटल नक्सा बनेको छ । नेपालको भने देशभरको बनेको बताइएको छ । यो प्रविधिको प्रयोगबाट माटोमा कुन पोषक तत्त्व छ, कुन पोषक तत्त्व छैन वा बढी छ, रोग के छ र के गर्नुपर्छ भन्ने कुरा किसानले सजिलोसँग थाहा पाउन सक्ने मन्त्रालयले जनाएको छ ।

    किसानले आफूसँग कम्प्युटर नभए मोबाइल एप्स र त्यो पनि नभए हेर्न जान्नेसँग सम्पर्क गरेर आफू उभिएको जमिनको माटोको गुणस्तर जाँच्न सक्ने प्रधानमन्त्री ओलीले बताए । जनतालाई देशमै उत्पादित वस्तुको उपभोगतर्फ आकर्षित गरिने समेत उनले उल्लेख गरे ।

    कृषि तथा पशुपक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्नेतर्फ माटोको डिजिटल म्यापिङ महत्त्वपूर्ण फड्को भएको उल्लेख गरिन् । उनका अनुसार माटोको विद्युतीय नक्साङ्कनमार्फत किसानले आफ्नो जग्गाको माटोमा कुन तत्त्व आवश्यक छ भन्ने पत्ता लगाउन सक्ने छन् । त्यसको पूर्ति, कुन बाली लगाउँदा राम्रो उत्पादन हुन्छ भन्ने जानकारी समेत पाउने छन् ।

  • सर्वोच्चको फैसला आउँदा प्रधानमन्त्री केक काट्दै, एउटै होटेलमा थिए प्रचण्ड र माधव नेपाल

    सर्वोच्चको फैसला आउँदा प्रधानमन्त्री केक काट्दै, एउटै होटेलमा थिए प्रचण्ड र माधव नेपाल

    काठमाडौं । मंगलबार सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाउँदै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीको कदमलाई असंवैधानिक ठहर गरेको छ । सर्वोच्चको यो फैसलाको समयमा भने वालुवाटारमा प्रधानमन्त्रीको जन्मदिनको उपलक्ष्यमा केक पार्टी थियो । उनी आफ्ना बुबासहित आफन्तसँग खुसी साटासाट गरिरहेका थिए । तर, उनको खुसी लामो समय टिक्न सकेन ।

    अदालतबाट ठूलो भरोसा गरेका प्रधानमन्त्रीको अपेक्षा विपरित फैसला भयो । यसले नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाललाई भने हौसला दियो । उनीहरु आफ्नो पार्टीले बुधबार चितवनमा आयोजना गरेको विरोध सभामा भाग लिन चितवन पुगेका थिए । दुबै नेता एउटै होटेलमा थिए । जब सर्वोच्चको फैसला आयो, त्यसपछि नेकपा नेताहरुले खुसीयाली मनाए ।

    उनीहरुले मिठाई आदान प्रदान गरेको तस्वीर अहिले सामाजिक संजालमा भाइरल गराइएको छ । अध्यक्षद्वय प्रचण्ड र माधवले एकअर्कालाई मिठाई खुवाएका थिए । उक्त अवसरमा सहभागीलाई सम्बोधन गर्दै प्रचण्डले नैतिकता भए प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताए । अझै अर्को नौटंकी गरे ओलीको दुर्गती हुने उनको भनाई छ । प्रचण्ड र माधव नेपालसहित नेताहरुले चितवनमा बुधबार हुने सभालाई विजय जुलुसका रुपमा मनाउने भएका छन् ।

  • साउदीमा अब महिला पनि सेनामा भर्ति हुन सक्ने

    साउदीमा अब महिला पनि सेनामा भर्ति हुन सक्ने

    काठमाडौं । साउदी अरबले सेनामा महिलालाई समेत समावेश गर्ने भएको छ । यो निर्णयलाई महत्वपूर्ण निर्णयका रुपमा समेत लिइएको छ । साउदीको रक्षा मन्त्रालयले सेनामा महिलाका लागि पनि भर्ती खोल्ने योजना सार्वजनिक गरेको हो । साउदी महिलाले साउदी अरेबियन आर्मी, रोयल साउदी एयर डिफेन्स, रोयल साउदी नेभी, रोयल साउदी स्ट्राटेजिक मिसाइल फोर्स र आर्म्ड फोर्सेस मेडिकल सर्भिसेजमा भर्तीका लागि आवेदन दिन पाउने भएका छन् ।

    साउदी महिलालाई सिपाहीदेखि सर्जेन्टसम्मको पदमा भर्ती दिलाउने तयारी भएको हो । साउदी युवराज मोहम्मद बिन सलमानले भिजन २०३० इनिसियटिभ ल्याएका छन् । जहाँ महिलालाई अझ बढी उदार बनाउने योजना छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार सेनामा भर्ती हुन महिला २१ देखि ४० वर्षका हुनु पर्छ। १५५ सेन्टिमिटर उचाइ भएका र कुनै सरकारी जागिर नखाएका महिलालाई भर्ती लिइने छ । हाइस्कुल उत्तीर्ण गरेका र विदेशीसँग विवाह नगरेका युवतिले सेनामा प्रवेश पाउने छन् । एजेन्सी

  • प्रदेश २ प्रमुख राजेश झालाई ओली समुहको युवा संघले लगाइदियो १०१ किलाको माला

    प्रदेश २ प्रमुख राजेश झालाई ओली समुहको युवा संघले लगाइदियो १०१ किलाको माला

    जनकपुर । राष्ट्रपतिबाट शुक्रबार प्रदेश २ प्रमुखमा नियुक्त भएका राजेश झालाई प्रधानमन्त्री केपी शर्मा ओली समुह अन्तर्गतको युवा संघले १ सय १ किलाको माला लगाएर स्वागत गरेको छ । कार्यभार सम्हाल्न प्रदेशको अस्थायी राजधानी जनकपुरधाम पुगेका उनलाई युवासंघले उक्त माला पहिराएको हो ।


    आइतबार दिउँसो जनकपुरधाम आएका उनलाई नेकपा केपी ओली समूहका युवाहरुले विमानस्थलमा स्वागत गरे । त्यसक्रममा उनलाई १ सय १ किलाको माला पहिराएको हो । उनीहरुले विमानस्थलमा प्रदेश प्रमुख जिन्दावाद, प्रधानमन्त्री जिन्दावादजस्ता नारा लगाएका थिए ।

    उनलाई प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज कुशवाहले स्वागत गरे । तिलक परियारलाई हटाएर राष्ट्रपतिले झालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् । सरकारको यस कार्यको आलोचना भइरहेको छ । यसअघि परियार प्रदेश प्रमुख बनी जनकपुर जाँदा भने मुख्यमन्त्री लालबाबु राउतसहित उच्च पदस्थ अधिकारी नै विमानस्थल पुगेका थिए ।

  • विप्लव समुहले दियो वार्तामा आउने संकेत

    विप्लव समुहले दियो वार्तामा आउने संकेत

    काठमाडौं । नेकपा विप्लव समूहले सरकारसँग वार्ता गर्न सकारात्मक रहेको जानकारी गराएको छ । शनिबार विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । आफूहरुको क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारलागि गरिएको सचेत पहल भएको उनको भनाई छ ।

    यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा आफ्नो पार्टी सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको समेत उनले स्पष्ट पारेका छन् । सरकारले केही सातायता विप्लवसँग वार्ताको वातावरणका लागि पहल गरिरहेको थियो । सोही अनुसार विप्लव समुहले समेत वार्तामा आउने संकेत गरेको छ ।

  • आज बृहत् नागरिक आन्दोलन टुडिखेल छिर्दै

    आज बृहत् नागरिक आन्दोलन टुडिखेल छिर्दै

    काठमाडौं । आज बृहत् नागरिक आन्दोलन अभियानले टुडिखेल प्रवेशको कार्यक्रम राखेको छ । आज प्रजान्तन्त्र दिवस, अर्कोतर्फ टुडिखेलमा सेनाको कब्जा, यसै परिस्थितिमा नागरिक आन्दोलनको अभियानले समेत कडा रुप लिने संकेत गरेको छ । अभियन्ताहरुले यसलाई टुँडिखेल मार्च भनेका छन् ।

    आज दिउँसो २ बजे रत्नपार्कमा भेला भएर सहिद गेट हुँदै टुँडिखेल प्रवेश गर्ने बृहत नागरिक आन्दोलनको तयारी छ । नागरिक घोषणा सभाबाट विभिन्न विषय समेटिएको घोषणापत्र समेत जारी गरिने भएको छ । नागरिक अगुवा तथा पत्रकार नारायण वाग्लेले आजै तेस्रो जनआन्दोलन घोषणा हुने यसअघि नै बताएका छन् ।

    सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि अहिले विभिन्न क्षेत्रमा आन्दोलन जारी रहेको छ । लेखक खगेन्द्र संग्रौला, नारायण वाग्ले, सम्पदा संरक्षणकर्मी आलोकसिद्धि तुलाधर, नेपालमान डंगोल, चेपाङ संघका जितेन्द्र चेपाङ, रिता शाहसहितका अभियन्ताले नागरिक सभालाई सम्बोधनको कार्यक्रम राखिएको छ ।

  • परीक्षा हलमै टिकटक बनाएका विद्यार्थीको रिजल्ट रद्द, शिक्षकलाई कारवाही सिफारिस

    परीक्षा हलमै टिकटक बनाएका विद्यार्थीको रिजल्ट रद्द, शिक्षकलाई कारवाही सिफारिस

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मा पढ्ने एक विद्यार्थीका सम्पूर्ण परीक्षा रद्द गरिदिएको छ । परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राखेका कालिका माबि, दैलेखका विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्द भएको हो । बोर्डले गत मंसिरमा भएको कक्षा १२ को परीक्षामा सहभागी शाहीले परीक्षा चलिरहेकै समयमा टिकटक बनाएर सामाजिक संजालमा भाइरल बनाएका थिए ।

    बोर्डले उनको चालु खण्डको परीक्षा रद्द गरेको जनाएको छ । बोर्डले विद्यालयमा निरीक्षकका रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र केन्द्रध्यक्ष चक्रबहादुर शाही तीन वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी विभागीय कारबाही गर्न समेत सिफारिस गरेको छ । यसको निर्णय भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गर्नेछ । पछिल्लो समय टिकटिकमा भाइरल हुन अनेक हर्कत गर्ने प्रचलन बढेको छ ।

  • ओली क्याविनेटका दुई मन्त्री आफ्नो पक्षमा फर्कने तयारीमा रहेको प्रचण्डको खुलासा

    ओली क्याविनेटका दुई मन्त्री आफ्नो पक्षमा फर्कने तयारीमा रहेको प्रचण्डको खुलासा

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली क्याविनेटका दुईमन्त्री आफ्नो पक्षमा फर्किने तयारीमा रहेको खुलासा गरेका छन् । समूहले मंगलबार राजधानीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो जानकारी गराएका हुन् ।

    प्रचण्डको यो उद्घोस सत्य भए पनि नभए पनि यसले क्याविनेटमा खुलेर आफ्नो रणनीति बारे बोल्न प्रधानमन्त्रीलाई भने मुस्किल हुने देखिएको छ । किनकी प्रचण्डले ओली समुह छाडेर आफ्नो समुहमा आउने मानिसको लर्को लागेको भन्दै त्यसमा दुई मन्त्री समेत रहेका बताएका छन् ।

    उनले प्रतिनिधिसभा विघटनका पक्षमा कोही पनि नरहेको समेत बताएका छन् । प्रचण्डले ती मन्त्रीको नाम भने खुलाएका छैनन् । जसले ओलीलाई अझ मनोवैज्ञानिक दवाव दिएको छ ।

  • मर्मतका लागि बाँध खोलेर घटाइयो फेवातालको पानी

    मर्मतका लागि बाँध खोलेर घटाइयो फेवातालको पानी

    पोखरा । कास्कीको सुन्दर फेवातालको रुप अहिले कुरुप बनेको छ । कारण हो, फेवातालको मूख्य आकर्षणका रुपमा रहेको जलको स्तर घटाइएको छ । अर्थातः बाँध नै खोलेर फेवातालबाट पानी कम गरिएको छ । यसअघि फेवातालमा २०१८ सालमा भारतीय सहयोग मिसनको आर्थिक सहायतामा बाँध बाँधिएको हो ।

    यो बाँधका माध्यमबाट सिँचाइका लागि नहर, त्यसैबाट बिजुली समेत निकालिएको थियो । यो बाँध २०३१ सालमा भत्कियो । २०३४ सालबाट पुनः बाँध बाध्न थालिएको थियो । २०४१ सालमा अहिलेको विद्यमान बाँध तयार भएको हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कास्कीका अनुसार अहिले तालको पानी सुकाएर बाँध मर्मत थालिएको हो ।

    पानीको बहाब नियन्त्रण गर्ने रबरसिल्ड र डाउनस्टिम साइट मर्मत गर्न शुक्रबार रातिदेखि तालको पानी घटाइएको कार्यालयको भनाई छ । करीव १ मिटर पानीको सतह घटाइएको छ । यसले किनारमा जमिन देखिएको छ । फेवातालको पानीको सतह ३ मिटर घटाइयो भने ०३१ सालमा ताल फुटेर बनेको तालको आकार बराबर नै हुने बताइएको छ ।

  • प्रतिगमनविरुद्ध शान्तिपूर्ण आन्दोलन गरौं : कांग्रेस

    प्रतिगमनविरुद्ध शान्तिपूर्ण आन्दोलन गरौं : कांग्रेस

    काठमाडौं । नेपाली कांग्रेसले प्रतिगमनका विरुद्धमा हुने आन्दोलन शान्तिपूर्ण गर्न सबै दल तथा संस्थालाई आह्वान गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्ति निकाल्दै यस्तो आह्वान गरेका हुन् । उनले जनतालाई दुख नदिने गरी शान्तिपूर्ण आन्दोलनमा लाग्न सबैसँग अपिल गरेका हुन् ।


    प्रतिनिधिसभा विघटनविरूद्ध कांग्रेसले शनिबार प्रदर्शनको कार्यक्रम राखेको छ । यसअघि नेकपालको प्रचण्ड, नेपाल समुहले बिहीबार नेपाल बन्द आयोजना गरेको थियो । त्यसको प्रभाव आजको प्रधानमन्त्रीले गरेको प्रदर्शनमा समेत देखिएको छ । सरकारले अपेक्षा गरेभन्दा निकै कम मात्र मानिस काठमाडौं आएका छन् ।

    उता, कांग्रेसले शनिबार आयोजना गरेको प्रदर्शनको पूर्वसन्ध्यामा विज्ञप्ति निकाल्दै सडकबाट सालिन ढंगले विरोध गर्न आह्वान गरेको हो । नेकपाको सरकार बनेपछि जनविरोधी कदमहरु र प्रवृत्तिविरुद्ध कांग्रेस संसद र सडक दुबै ठाउँमा सालिन ढंगले प्रस्तुत हुँदै आएको स्मरण प्रवक्ता शर्माले गरेका छन् ।

    उनले अनेक घटनाका बाबजुद उपत्यका या नेपाल बन्दको कार्यक्रम हामीले आयोजना नगरेको समेत बताएका छन् । संसद विघटनको असंवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने तर जनताले दुःख पाउने गरि बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न कांगे्रस दृढ रहेको उनले बताए ।

  • बन्दप्रति कडा रुपमा प्रस्तुत हुने गृह मन्त्रालयको चेतावनी

    बन्दप्रति कडा रुपमा प्रस्तुत हुने गृह मन्त्रालयको चेतावनी

    काठमाडौं । प्रचण्ड–माधव समूहको नेकपाले संवैधानिक निकायमा सरकारले गरेको नियुक्तीको विरोधमा बिहीबार आकस्मिक आम हड्ताल आयोजना गरेको छ । यसको विरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी सरकारले दिएको छ । आम हड्तालप्रति ध्यानाकर्षण भएको भन्दै गृह मन्त्रालयले यस्तो चेतावनी दिएको हो ।

    गृह मन्त्रालयले भने बुधबार साँझ विज्ञप्ति जारी गर्दै संविधान र प्रचलित कानून विपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, सार्वजनिक यातायात सञ्चालनमा अवरोध नगर्न आग्रह आह्वान गरेको हो । आफ्नो पेशा व्यवसाय निरन्तर संचावन गर्न र सरकारले सुरक्षाको जिम्मेवारी लिने समेत गृहको भनाई छ ।

    शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका गतिविधि गरे कानून बमोजिम कारबाही गर्ने मन्त्रालयको चेतावनी छ । दैनिक रुपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिन सुरक्षा व्यवस्था मिलाउने मन्त्रालयको आश्वासन रहेको छ ।

  • प्रधानमन्त्री आज चितवन जाँदै, महानगरपालिकाले कार्यक्रम बहिष्कार गर्ने

    प्रधानमन्त्री आज चितवन जाँदै, महानगरपालिकाले कार्यक्रम बहिष्कार गर्ने

    भरतपुर । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाँदैछन् । तर, भरतपुर महानगरपालिकाले भने प्रधानमन्त्रीको कार्यक्रम बहिष्कार गर्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले चितवनमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न चितवन जान लागेका उनलाई प्रचण्ड नेपाल समुहको नेतृत्वमा रहेको महानगरपालिकाले बहिष्कार गर्न लागेको हो । भरतपुर महानगरको मेयर प्रचण्ड पुत्री रेणु दाहाल हुन् । चितवन जिल्ला कमिटीको आयोजनामा हुने सभालाई ओलीले सम्बोधन गर्नेछन । दिउँसो साढे १२ बजे केन्द्रीय बस टर्मिनल भरतपुरमा आयोजना हुने सभालाई प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतले पनि सम्बोधन गर्ने कार्यक्रम राखिएको छ । सभाका लागि चितवनको गाउँगाउँबाट कार्यकर्ता ओसारिएको छ । सभामा जानुअघि प्रधानमन्त्री ओलीले भरतपुरमा बन्न लागेको पुल्चोक–गोन्द्राङ ६ लेन सडक विस्तारको शुभारम्भ गर्ने कार्यक्रम छ । साथै भरतपुरमा निर्माण हुन लागेको सिटी हलको शिलान्यास पनि गर्ने भएको बताइएको छ ।

  • प्रधानमन्त्रीको भनाईप्रति कांग्रेसको कडा आपत्ति

    प्रधानमन्त्रीको भनाईप्रति कांग्रेसको कडा आपत्ति

    काठमाडौं । ‘संसद विघटनको विरोध गर्नेहरु देशविरोधी हुन’ भनी प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘अलोकतान्त्रिक’ र ‘अधिनायक आकाङ्क्षालाई थप उजागर’ गर्ने संज्ञा दिएका छन् ।

    प्रधानमन्त्रीले सर्वोच्च अदालतको बहसलाई ‘तमासा’ भन्नु ‘अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न’ र आलोचक पत्रकारलाई नर्क जान्छन् भन्नु प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति’ रहेको समेत कांग्रेसले जनाएको छ । प्रधानमन्त्रीका पछिल्ला कैयौँ अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई ‘धूलिसात’ बनाउँदै लगेको समेत काङ्ग्रेसले उल्लेख गरेको छ ।

    आफ्नो कदमविरुद्ध उठेका स्वर र समुदाय हरेकलाई होच्याउने र अपमान गर्ने काम गरेर आफ्नै जिम्मेवारीको प्रधानमन्त्रीबाट अपमान भइरहेको कांग्रेसको विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्रीको यो प्रवृत्ति दुःखद मात्र नभई लज्जास्पद समेत भएको कांग्रेसको ठहर छ ।

  • नेकपा नेपाल–दाहाल पक्षद्वारा १५ दिने आन्दोलन सार्वजनिक,यस्ता छन् नयाँ कार्यक्रम

    नेकपा नेपाल–दाहाल पक्षद्वारा १५ दिने आन्दोलन सार्वजनिक,यस्ता छन् नयाँ कार्यक्रम

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

    सोमबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रचण्ड-नेपाल पक्षले माघ १३ देखि २८ गतेसम्म विरोध कार्यक्रम सार्वजनिक गरेका छन्।

    जसअनुसार माघ १३ गते सिठ्ठी जुलुस, माघ १४ देखि २१ गतेसम्म माइतीघर मण्डलमा धर्ना, माघ १६ गते शान्तिबाटिकामा भेला भएर लैनचौरसम्म प्रदर्शन गर्ने तयारी छ ।

    त्यस्तै देशका विभिन्न सहरमा विरोध कार्यक्रम गर्न लागेको छ।

    जसमा १५ गते बुटवलमा, १६ गते विराटनगर र १७ गते धनगढीमा कार्यक्रम गर्न र उक्त कार्यक्रमलाई अध्यक्षद्वयलगायतले सम्बोधन गर्ने, यस्तै माघ २२ गते काठमाडौंमा युवाहरूको वृहत र्‍याली गर्ने, २६ गते मसाल जुलुस गर्ने र माघ २८ मा काठमाडौंमा विरोध सभा गर्ने घोषणा गरिएको छ ।

  • जनयुद्धलाई कुहिएको फर्सी भनेका प्रधानमन्त्रीबाट पूर्वजनमुक्ति सेनाको प्रसंशा

    जनयुद्धलाई कुहिएको फर्सी भनेका प्रधानमन्त्रीबाट पूर्वजनमुक्ति सेनाको प्रसंशा

    काठमाडौं । केही दिन अगाडी प्रचण्डले नेतृत्व गरेको जनयुद्धलाई कुहिएको संज्ञा दिएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार भने जनयुद्ध र त्यसमा सहभागी भएका योद्धाको खुलेर प्रसंशा गर्न भ्याएका छन् । जनमुक्ति सेना नेपाल र बहिगर्मित बाल सेनाको नेतृत्वसँग शनिबार भेट गर्दै उनले जनयुद्धमा लडेका लडाकुको प्रसंशा गरेका हुन् ।

    उनले जनयुद्धको अवधिमा गरेको योगदान, त्यागको सम्मान गर्ने बताउँदै उनीहरुका सबै माग पुरा गर्ने आश्वासन समेत दिएका छन् । राजनीतिक रुपमा समस्याको वास्तविक समाधान गर्ने र विगतमा जस्तो धोका नदिने बताएपछि पूर्व लडाकुका संगठनले ओलीलाई साथ दिने समेत भएका छन् ।

    यसअघि शुक्रबारको सभामा आफ्ना लडाकुलाई प्रधानमन्त्रीले हेर्ने सम्बन्धमा कटाक्ष गरेका थिए । प्रधानमन्त्री ओलीले आन्दोलनका घाइतेहरुको उपचार खर्च व्यहोर्ने निर्णय भइसकेको बताएका थिए । सहिद परिवारलाई एक घर एक रोजगारीको आश्वासन समेत उनले दिएका छन् ।

    वेपत्ताको अवस्था सार्वजनिक, संक्रमणकालीन न्यायका बाँकी काम छिटो टुंग्याउनुपर्नेलगायत मागमा पनि प्रधानमन्त्री ओली सकारात्मक देखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।

  • खेलकुद मन्त्रीलाई गृहजिल्लामा स्थानीयको कालोझण्डा, रुख ढालेर बाटो अवरुद्ध

    खेलकुद मन्त्रीलाई गृहजिल्लामा स्थानीयको कालोझण्डा, रुख ढालेर बाटो अवरुद्ध

    सिन्धुपाल्चोक । गृहजिल्ला सिन्धुपाल्चोक पुगेका युवा तथा खेलकुदमन्त्री दावा तामाङलाई स्थानीयले अवरोध गरेका छन् । उनलाई चार घण्टासम्म स्थानीयले कालो झण्डा देखाउँदै बाटो अवरुद्ध गरी विरोध गरेका हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि बिस्तार गरेको मन्त्रिपरिषद् बिस्तारमा उनी मन्त्री बनेका थिए । तामाङ कार्यकर्ता भेलालाई सम्बोधन गर्न भन्दै गृहजिल्ला सिन्धुपाल्चोक पुगेका थिए ।

    प्रहरीका अनुसार इन्द्रावती गाउँपालिका ४ टाकुरेमा स्थानीयले बीच बाटोमै रुख ढालेर कालो झण्डा देखाइएको थियो । स्थानीयको अवरोध पछि मन्त्री तामाङ ४ घण्टासम्म मेलम्ची बजारमा रोकिएका थिए।

    प्रहरीले स्थानीयले ढालेका रुख पन्छाउने तथा नाराबाजी गरिरहेका स्थानीयलाई लखेटेपछि मात्र मन्त्री कार्यक्रमस्थल पुग्न पाएका हुन् ।

    गृह जिल्ला सिन्धुपाल्चोकमा नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको पकड रहेको तर उनले प्रधानमन्त्रीलाई साथ दिँदै मन्त्री खान पुगेपछि उनको क्षेत्रमै व्यापक असन्तुष्टी रहेको छ । त्यसो त उनी निर्वाचनमा प्रदेश सांसदमै पराजित अनुहार हुन् ।

  • सरकारको कदमविरुद्ध आज कांग्रेसले ६७४३ वडामा प्रदर्शन गर्दै

    सरकारको कदमविरुद्ध आज कांग्रेसले ६७४३ वडामा प्रदर्शन गर्दै

    काठमाडौं । संसद विघटन गरी निर्वाचनमा जाने सरकारको निर्णयको विरोधमा आज नेपाली कांग्रेसले देशभर प्रदर्शन गर्दैछ । आज वडास्तरमा प्रदर्शनको कार्यक्रम राखिएको छ । देशभर रहेका ६७४३ वडामा आज विरोध प्रदर्शन हुने नेपाली कांग्रेसले जानकारी दिएको छ ।

    संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको कांग्रेसका नेताहरु भने निर्वाचनमा जान इच्छुक देखिएका छन् । विरोध कार्यक्रमका दौरान सभापति देउवा पक्षधर नेताले भने निर्वाचनको माहौल बनाउन कार्यकर्तालाई निर्देशन दिने गरेका छन् ।

    नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरेको छ । वडा स्तरीय प्रदर्शनमा घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन सभापति शेरबहादुर देउवाले आह्वान गरेका छन् ।

  • ६० मुलुकमा पुग्यो कोरोनाको नयाँ भाइरस

    ६० मुलुकमा पुग्यो कोरोनाको नयाँ भाइरस

    जेनेभा । बेलायतबाट शुरु भएको कोरोना भाइरसको नयाँ प्रकृतिको भाइरस विश्वका ६० मुलुकमा पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले यस्तो पुष्टी गरेको हो । पछिल्लो एक सातामा मात्र थप १० मुलुकमा कोरोनाको नयाँ प्रकार फैलिएको डब्ल्यूएचओको भनाई छ ।

    डब्ल्यूएचओले बुधबार दिएको जानकारीअनुसार बेलायतबाट फैलिएको कोरोनाको नयाँ प्रकारको कारण विश्वभर कोरोना संक्रमणको दर समेत वृद्धि भएको छ । अहिलेसम्म कोरोनाबाट विश्वभर २० लाख मानिसको मृत्यु भइसकेको छ । नयाँ प्रकारको कोरोना फैलिएसँगै अहिले धेरै मुलुकलाई थप संकटमा पारेको छ ।

    त्यसो त मानिसहरु कोरोना खोप आएपछि अवस्था सामान्य हुने अपेक्षामा रहेका छन् । डब्ल्यूएचओका अनुसार बेलायतमा देखिएको कोरोनाको नयाँ प्रकारजस्तै दक्षिण अफ्रिकाबाट फैलिएको कोरोनाको अर्को प्रकार पनि अहिलेसम्म विश्वका २३ मुलुकमा फैलिसकेको छ ।

    डब्ल्यूएचओका अनुसार पछिल्लो एक सातामा विश्वभर कोरोनाको कारण ९३ हजारको मृत्यु भएको छ । यो एकसातामा भएको सबैभन्दा धेरै मृत्यु
    हो । यस अवधिमा ४७ लाख मानिसमा कोरोना संक्रमण पुष्टी भएको छ ।

    बेलायतमा पाइएको कोरोनाको नयाँ प्रकार साधारण प्रकारको तुलनामा ५० देखि ७० प्रतिशतसम्म बढी संक्रामक रहेको बताइएको छ ।