Category: रोचक खवर

  • उत्तर कोरियाली ह्याकरले चोरे ४० करोड  डलरको क्रिप्टोकरेन्सी

    उत्तर कोरियाली ह्याकरले चोरे ४० करोड डलरको क्रिप्टोकरेन्सी

    काठमाडौं । उत्तर कोरियाली ह्याकरले ४० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको खुलासा भएको छ । गत वर्ष उत्तर कोरियाली ह्याकरहरूले विभिन्न क्रिप्टोकरेन्सी मञ्चमा कम्तीमा सात पटक आक्रमण गरेर झन्डै ४० करोड अमेरिकी डलरजतिको डिजिटल मुद्रा चोरेको दाबी एउटा प्रतिवेदनले गरेको बीबीसीले लेखेको छ । ब्लकचेनबारे अनुसन्धान गर्ने संस्था चेनएनलिसिसुका अनुसार उत्तर कोरियाका साइबर अपराधीका लागि सन् २०२१ एउटा सफल वर्ष प्रमाणित भएको हो ।

    उत्तर कोरियाली ह्याकरहरूले मुख्यतया लगानी गर्ने कम्पनी तथा क्रिप्टोकरेन्सी किनबेच गर्न मध्यस्थता गरिदिने केन्द्रीकृत मञ्चलाई लक्ष्य बनाएका थिए। उत्तर कोरियाले आफू त्यस्ता आक्रमणमा संलग्न भएको भन्ने आरोपको बारम्बार खण्डन गर्ने गरेको छ। २०२० बाट २०२१ मा पुग्दा उत्तर कोरियासँग सम्बन्धित ह्याक आक्रमणको सङ्ख्या चारबाट बढेर सात भयो, अनि ती ह्याकबाट दोहन गरिएको डिजिटल मुद्राकोे मूल्य ४० प्रतिशतले बढ्यो, चेनएनलिसिसले एउटा प्रतिवदेनमा लेखेको छ ।

    चेनएनलिसिसका अनुसार ह्याकरहरूले लक्षित संस्थाका हट वालेटबाट सम्पत्ति चोरेर उत्तर कोरियाको नियन्त्रणमा भएका स्थानमा पठाउन विभिन्न विधि प्रयोग गरेका थिए। त्यस्ता विधिमा फिशिङ, सफ्टवेअरको कमजोरी पत्ता लगाउने विशेष कोड र मालवेअर थिए। क्रिप्टोकरेन्सी हट वालेटहरू इन्टरनेट तथा क्रिप्टोकरेन्सी नेटवर्कसँग जोडिएका हुन्छन्। त्यसैले ती ह्याकिङमा पर्ने जोखिममा हुन्छन्।

    क्रिप्टोकरेन्सी पठाउन र लिन ती वालेटको प्रयोग गरिन्छ। तिनले प्रयोगकर्तालाई आफूसँग कति वटा टोकन छन् भनेर देखाउँछन्। आफूलाई दैनिक आवश्यक नपर्ने हुँदा ठूलो परिमाणको क्रिप्टोकरेन्सी हटूवालेटको सट्टा कोल्ड वालेटमा राख्ने सल्लाह धेरै विज्ञले दिएका छन्। किनभने कोल्ड वालेटहरू बृहत्तर इन्टरनेटसँग जोडिएका हुँदैनन्।

    चेनएनलिसिसका अनुसार गत वर्ष भएका आक्रमणमध्ये धेरैमा तथाकथित ल्याजरस ग्रूप को संलग्नता छ। अमेरिकाले प्रतिबन्ध लगाएको उक्त समूह उत्तर कोरियाको जासुसी संयन्त्रले सञ्चालन गर्ने ठानिएको छ।

  • विस्फोटक पत्ता लगाउने स्वर्ण पदक विजेता ‘हिरोर्‍याट’ मुसाको मृत्यु

    विस्फोटक पत्ता लगाउने स्वर्ण पदक विजेता ‘हिरोर्‍याट’ मुसाको मृत्यु

    काठमाडौं । विस्फोटक पदार्थ पत्ता लगाउने वीरतापूर्ण कार्यका लागि स्वर्ण पदक पाएको चर्चित मुसा मागावाको आठ वर्षको उमेरमा मृत्यु भएको छ।

    पाँच वर्ष लामो सेवामा मागावाले क्याम्बोडियामा १०० भन्दा बढी ल्याण्डमाइन अर्थात जमिनमुनि बिछ्याइएको विस्फोटक र अन्य विस्फोटक पदार्थ पत्ता लगाएको थियो। उसले वीरताका लागि पीडीएसए मेडल फर ग्यालेन्ट्री नामक स्वर्ण पदक पनि प्राप्त गरेको थियो ।

    माइनहरू पत्ता लगाउन भन्दै मगावालाई बेल्जियन च्यारिटी एपोपोले प्रशिक्षण दिएको थियो । च्यारिटीले ‘अफ्रिकन जाइन्ट पोच र्‍याट’ को गत सप्ताहान्तमा निधन भएको जानकारी दिएको छ । गत हप्ता मगावाको स्वास्थ्य अवस्था सामान्य भए पनि सप्‍ताहको अन्त्यतिर उनी धेरै सुत्ने र कम खाने भएको च्यारिटीले जनाएको छ ।

    तान्जानियामा हुर्किएका मगावालाई एक वर्षको प्रशिक्षणपछि कम्बोडिया लगिएको थियो । जहाँ उनको बम सुँघ्ने करियरको सुरुवात भएको थियो ।

    दक्षिण पूर्वी एसियाली राष्ट्रमा ६० लाखभन्दा बढी माइन रहेको बताइन्छ । विस्फोटकमा रहेको रसायनिक पदार्थलाइै सुँघेर पत्ता लगाउन सक्ने गरी प्रशिक्षित गरिएका मगवाले १ लाख ४१ हजार वर्ग मिटर क्षेत्रफललाई विस्फोटक मुक्त बनाएका थिए ।

    मगावाको तौल १.२ किलोग्राम रहेको थियो भने लम्बाई ७० सेन्टिमिटर रहेको थियो । अन्य मुसाको तुलनामा ठूलो भए पनि माइनको माथि हिँड्दा विस्फोट हुनका लागि भने उनको तौल कम नै थियो । सन् २०२० मा उनलाई पीडीएसए गोल्ड मेडल प्रदान गरिएको थियो ।

    अपोपोले ७७ वर्षको इतिहासमा मुसालाई यो पदक दिएको पहिलो पटक थियो। मगावाले गत जुनदेखि वृद्ध उमेरका कारण काम गर्न छोडेको थियो।

    अपोपोले हिरोर्‍याट भनिने यस्ता मुसालाई सन् १९९० को दशकदेखि नै तालिम दिन थालेको हो।

    -बिबिसी

  • नरेन्द्र मोदीको सवारीलाई प्रदर्शनकारीले छेकेपछि…

    नरेन्द्र मोदीको सवारीलाई प्रदर्शनकारीले छेकेपछि…

    पञ्जाव । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सवारीलाई प्रदर्शनकारीले विफल पारेको घटनाले यतिबेला भारतमा ठूलो वहस सिर्जना गरेको छ । बुधबार एक कार्यक्रममा जाने बाटो नपाएपछि उनी बीच बाटो बाटै फर्कनु परेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार मोदी बुधबार पन्जाब राज्यमा यसरी फसेका हुन् । यहाँ निर्वाचनको प्रचार प्रसार शुरु भएको छ । सोही सिलसिलामा उनी त्यहाँ पुगेका थिए । मोदी बुधबार बिहान बाथिन्डा विमानस्थलमा पुगेका थिए।

    त्यहाँबाट उनी हेलिकप्टरमा राष्ट्रिय शहिद मेमोरियल जाने कार्यक्रम थियो। मौसम खराब भएपछि हेलिकप्टर उड्न सकेन। मौसम खुल्ने आशमा मोदी २० मिनेट जति कुरेका थिए । मौसममा सुधार नभएपछि उनले झन्डै दुई घन्टा सडक मार्गबाट जाने निर्णय लिएका थिए । गन्तब्यमा पुग्न झन्डै ३० किलोमिटर बाँकी रहँदा भने मोदीको सवारी रोकियो ।

    मोदी भ्रमणको विरोध गरिरहेका किसानले आन्दोलन गरेर सडक बन्द गराएका थिए । मोदीको सवारी १५\२० मिनेट त्यहाँ रोकिएको थियो । विशाल प्रदर्शनका कारण बाटो खुल्ने अवस्था नभएपछि उनी कार्यक्रम रद्द गरेर फर्किएको समाचारमा उल्लेख छ । भातको केन्द्रीय सरकारले भने मोदीको सुरक्षामा पन्जाब प्रदेश सरकारले हेलचक्र्याइँ गरेको आरोप लगाएको छ ।

  • लकडाउनको असर: जहाँ सामान अभाव भएपछि चुरोटसँग तरकारी साटियो

    लकडाउनको असर: जहाँ सामान अभाव भएपछि चुरोटसँग तरकारी साटियो

    काठमाडौं । चीनको शीआन सहरमा लकडाउनका बेला खाद्यपदार्थको अभाव हुँदा नगरवासीहरू आफूसँग भएको सामान साटफेर गर्न थालेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक सामग्रीहरूमा त्यहाँका बासिन्दाले खाद्यपदार्थ लिन आफूसँग भएको खाद्यान्न वा विद्युतीय उपकरण दिइरहेको देखिन्छ।

    कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन फैलिएसँगै शीआनमा झन्डै एक करोड ३० लाख मानिस घरभित्र बस्न बाध्य छन्। उनीहरू खाद्यान्न किन्न पनि बाहिर निस्किन पाउँदैनन्। केही समययता मानिसहरूले यसबारे सामाजिक सञ्जालमार्फत् गुनासो पोख्न थालेका छन्।

    अधिकारी निकायले स्थानीय परिवारहरूलाई निःशुल्क खाना उपलब्ध गराउँदै आएको छ। तर केहीले सरकारबाट प्राप्त खाना पर्याप्त नभएको बताएका छन् भने केहीले अझै पनि सहायता पाउन नसकेको जनाएका छन्।

    चीनको सामाजिक सञ्जाल वेबोमा मानिसहरूले बन्दा र चुरोट, स्याउ र भाँडा माझ्ने तरल पदार्थ तथा तरकारी र स्यानिनटरी प्याड आदानप्रदान गरेको भिडिओ तथा तस्बिर सार्वजनिक गरेका छन्।

    एउटा भिडिओमा एक व्यक्ति आफ्नो भिडिओ गेम उपकरण ुनिन्टेन्डो स्विचु एक पुरिया तयारी चाउचाउ र दुई पुरिया पाउरोटीसँग साट्न तत्पर भएको देखिन्छन्। ‘मानिसहरूले एउटै भवनमा बस्ने अन्य बासिन्दासँग सामानहरू साटासाट गरिरहेका छन्। किनकि उनीहरूसँग पर्याप्त खाना छैन,’ वाङ उपनाम भएका एक व्यक्तिले रेडिओ फ्री एशियालाई भनेका छन्। समाचारका अनुसार एक मानिसले चामलका लागि स्मार्टफोन र ट्याब्लेट समेत दिन खोजेका थिए।

    ‘बेसहारा नागरिकहरू वस्तु साटफेरको युगमा आइपुगेका छन्। आलुको लागि कपासको कान सफा गर्ने सामान दिन्छन्,’ एक वेबो प्रयोगकर्ताले भने। उनले यस अवस्थालाई ‘आदीम समाजमा फर्किनु’को सङ्ज्ञा दिएका छन्।

    कोही मानिस निकै आशावादी सुनिन्छन्। उनीहरूले आफ्ना छिमेकीहरूले दयाका साथ सामान आदानप्रदान गर्दा आफ्नो मन छोएको बताएका छन्।त्यहाँका स्थानीय निकायहरूले सङ्क्रमण नियन्त्रणका लागि कडा नियमहरू लागु गरेका छन् जुन सामाजिक सञ्जालमा आलोचनाको विषय बनेको छ।

    सहरको दक्षिण भेगमा रहेको मिङ्दे ८ यिङ्ली हाउजिङ कम्पाउन्डका बासिन्दाहरूलाई ज्यानुअरीको १ को मध्यरातपछि घर छोडेर क्वारन्टीनमा बस्न जानुपर्ने बताइएको थियो।

    इन्टरनेट प्रयोगकर्ताहरू सोमवार भाइरल भएको एक अपुष्ट सामग्रीका कारण छक्क परेका छन्। एक शीआनवासीले आफ्ना बुबाको हृदयाघातपछि मृत्यु भएको र सहरमा कोभिड(१९ सङ्क्रमणको अवस्था जटिल भएका कारण अस्पतालबाट टाढा लगिएको बताएका छन्।

    यस सहरमा फैलिएको सङ्क्रमण चीनले महिनौँपछि भोगेको सबैभन्दा खराब अवस्था हो। त्यहाँ शून्य सङ्क्रमणको रणनीति छ तथा सङ्क्रमण पूर्ण रूपमा हटाउने प्रयास भइरहेको छ।मङ्गलबार तीन लक्षणविहीन मानिसमा सङ्क्रमण पुष्टि भएपछि अधिकारीहरूले दोस्रो सहरमा पनि पूर्ण लकडाउन गराएका छन्।

    शीआनबाट ५०० किलोमिटर टाढा रहेको सहर युझाउका करिब ११ लाख मानिसलाई घरभित्रै बस्न निर्देशन दिइएको छ। सोमबार साँझसम्ममा लगभग सबै सवारीसाधनलाई सडकमा जान प्रतिबन्ध लगाइएको छ।

    साथै अत्यावश्यक सामान आपूर्ति गर्ने सुपरमार्केटबाहेक अन्य पसल तथा व्यवसायहरू बन्द गर्न निर्देशन दिइएको छ। यी कडा नियमहरू चिनियाँ नयाँ वर्ष र अर्को महिना बेइजिङमा हुने हिउँदे ओलिम्पिक्सको पूर्वसन्ध्यामा जारी गरिएका हुन्।बीबीसी

  • जहाजमा कोरोना पुष्टी भएपछि अमेरिकी शिक्षिकाले बनाइन् शौचालयलाई आइशोलेसन

    जहाजमा कोरोना पुष्टी भएपछि अमेरिकी शिक्षिकाले बनाइन् शौचालयलाई आइशोलेसन

    शिकागो । एक अमेरिकी शिक्षिकाले उडानका बेला गरिएको परीक्षणमा आफूलाई कोभिड १९ भएको पुष्टि भएपछि विमानको शौचालयलाई आइशोलेसन बनाएकी छिन् उनी पाँच घण्टा शौचालयमा एक्लै बसेको बीबीसीले लेखेको छ । घटना २० डिसेम्बरको हो । शिकागोबाट आइसल्यान्डको रीकिभिक उडेकी मरिसा फोटियोले विमानभित्र घाँटी दुखेको बताइन्। उनका अनुसार उनले आफूसँग भएको तत्काल परीक्षण गर्ने किट प्रयोग गरेर सङ्क्रमण भएको हो कि भनेर हेरेकी थिइन्।

    परीक्षणमा सङ्क्रमण देखिएपछि उनी स्वैच्छिक रूपमा उडान अवधिभरि विमानको शौचालयमै बसिन्। विमानका एक कर्मचारीले उनलाई त्यहीँ खानेकुरा र आवश्यक सामाग्री उपलब्ध गराएको उनको भनाइ छ। विमान चढ्न जानुअघि कोभिड १९ परीक्षणको नतिजा पेस गर्नु पर्ने वा नपर्ने प्रष्ट थिएन। विमानमा १५० यात्रु सवार रहेको र उनीहरुको सुरक्षाका लागि आफुले यस्तो निर्णय लिएको समेत ती महिलाले बताएकी छिन् ।

    आइसल्यान्ड एअर विमानको शौचालयबाट उनले टिकटकमा सार्वजनिक गरेको भिडिओ ४० लाख पटकभन्दा बढी हेरिएको समेत बताइएको छ। उनले आफूलाई अप्ठेरो बेलामा सहयोग गर्ने विमान परिचारिकाको प्रशंसा गरेकी छन्। फोटियोका अनुसार आइसल्यान्डमा अवतरण गरेपछि उनी रेडक्रसको होटलमा आइसोलेशनमा बसिरहेकी छन्।

  • रवीन्द्र मिश्र र राजेन्द्र लिङ्देनबीचको भेटको अर्थ के हो ?

    रवीन्द्र मिश्र र राजेन्द्र लिङ्देनबीचको भेटको अर्थ के हो ?

    काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच शुक्रबार भेटवार्ता भएको छ । भेटवार्ताको तस्वीर स्वयमः मिश्रले सार्वजनिक गरेका हुन् । मिश्रले राजनीति र देशको भविष्यबारे कुराकानी भएको समेत जनाएका छन् । शुक्रबार बिहान चियासँगै राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्गदेन तथा महामन्त्री धवलशमशेर राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भएको भन्दै मिश्रले तस्वीर सार्वजनिक गरेका हुन् ।

    मिश्रले नेपालबाट फेजआउट भइसकेको पुरातनवादी राजसंस्थगाको पक्ष लिएको भन्दै युवापिँडीले धमाधम पार्टी छाडिरहेको समयमा यी दुई बीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सामाजिक संजालमा धेरैले राजसंस्थामा आस्था राख्नेहरुलाई एक हुन सुझाव समेत दिएका छन् । कतिपयले राप्रपा र विवेकशील साझा पार्टीबीचको सम्भावित एकताका रुपमा समेत यो भेटलाई अथ्र्याएका छन् ।

  • कुमारी बैंकको सिस्टम ह्याक गर्ने ह्याकरको धम्की

    कुमारी बैंकको सिस्टम ह्याक गर्ने ह्याकरको धम्की

    काठमाडौं । ह्याकरले कुमारी बैंकको सबै सिस्टम ह्याक गर्ने धम्की दिएसङ्गै सतर्कता बढाइएको छ । साउदी ग्रुप नाम गरेको इमेलबाट बैंकको सूचना प्रविधि शाखामा सबै सिस्टम नै ह्याक गरिदिने चेतावनीसहितको धम्की आएको बैंकले जनाएको छ ।

    बिहीबार विहान यस्तो धम्कीपूर्ण इमेल आएपछि बैंकले सबै सिस्टम बन्द गरेको समेत स्थानीय संचारमाध्यमले लेखेका छन् । बैंकको सबै  सिस्टम ठीकठाक रहेको समेत जनाएको छ ।  धम्की आइसकेपछि बैंकले सतर्कता अपनाएको समेत बताएको छ ।

  • तीन घण्टा माओवादीको महाधिवेशन उद्घाटनमा बसेका देउवाले यसरी गरे प्रचण्डको प्रशंसा

    तीन घण्टा माओवादीको महाधिवेशन उद्घाटनमा बसेका देउवाले यसरी गरे प्रचण्डको प्रशंसा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार नेकपा माओवादी केन्द्रको महाधिवेशन तथा राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा करीप ३ घण्टा बसे । आफुभन्दा अगाडीका सबै वक्ताको भाषण सुनेका उनले प्रचण्ड भन्दा अगाडी अन्तिम दोस्रो वक्ताका रुपमा भोषण गरे । सो क्रममा उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको खुलेर प्रसंशा गरे ।

    प्रचण्डको जोडबलमा नेपालमा संविधानसभा निर्वाचन भएको र सोही निर्वाचनमा टेकेरै मुलुकमा गणतन्त्र, संघीयता, समानुपातिक समावेशी संविधान बनेको उनको भनाई छ । प्रचण्डकैं कारण २००७ सालदेखि देखेको सपना नेपालमा पुरा भएको समेत उनले उल्लेख गरे ।

    ‘नेपालको राजनीतिमा प्रचण्डको ठूलो योगदान छ, उनले भने ‘उहाँको बलले संविधानसभामा हामीहरु गएका हौं । पुष्पकमलजीकै अगुवाइमा संविधानसभाको चुनाव भएर संविधानसभाबाट संविधान बनेको छ ।’

    संविधान बनाउन समेत प्रचण्डको सबैभन्दा महत्वपूर्ण योगदान भएको विषय सबैले मान्नुपर्ने उनको भनाई छ । फरक प्रसंगमा उनले ठबन्धन कसैको बर्खिलापमा नबनेको भन्दै शंका नगर्न अनुरोध गरे । अहिलेको गठबन्धन कसैको विरुद्धमा बनेको होइन भन्दै उनले अहिलेको संविधानबाट संसद्‍ बीचमा भंग नहोस् । संविधान अनुसार संसद चलोस् भन्ने पुनित लक्ष्यका साथ बनेको उल्लेख गरे ।

  • गेष्ट हाउसमा बास-पशुपतिमा पाकेटमार काम

    गेष्ट हाउसमा बास-पशुपतिमा पाकेटमार काम

    काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा पाकेटमार गर्ने एक महिलासहित दुई जना पक्राउ परेका छन् । गेष्ट हाउसमा बसेर पशुपतिनाथ मन्दिर परिसरमा पकेटमार धन्दा धलाइरहेका उनीहरलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । प्रहरीले सार्वजसिनक गरेको विवरण अनुसार २६ वर्षका गोपाल अग्रवाल र १८ वर्षकी मुस्कान गुप्तालाई प्रहरीले पक्राउ गरेको छ।

    उनीहरू भारतीय नागरिक हुन्। पक्राउ परेकाहरूसँग सोधपुछ गर्दा यसअघि मनकामना र पोखरालगायत ठाउँमा बसेर पनि पाकेटमार गर्ने गरेको खुलेको छ । पशुपतिनाथ परिसरभित्र पाकेटमार गर्ने र जयबागेश्वरीस्थित सित्तला गेस्ट हाउसमा बस्ने गरेको समेत प्रहरीले जनाएको छ ।

    गेष्ट हाउसको कोठाबाट विभिन्न ब्राण्डका मोबाइललगायत सामान बरामद भएको छ । प्रहरीले उनीहरूलाई थप अनुसन्धानका लागि गौशाला प्रहरीमा राखेको समेत जनाएको छ । उनीहरूको साथबाट आइफोनसहित ५ थान मोबाइल र ४२ हजार ४२ हजार नगद समेत बरामद भएको छ ।

  • बाघ गन्न राखिएका क्यामरा चोरी भएपछि….

    बाघ गन्न राखिएका क्यामरा चोरी भएपछि….

    चितवन । नेपालमा बाघ गणनाका लागि राखिएका क्यामरा चोरी भएको छ । राष्ट्रिय बाघ सर्वेक्षणमा प्रयोग भएका स्वचालित ट्र्याकिङ क्यामेरा चोरी भएको राससले लेखेको छ । चितवन पर्सा कम्प्लेक्सअन्तर्गत क्लस्टर नम्बर १ मा बाघ सर्वेक्षणका लागि राखिएको पाँच वटा क्यामेरा चोरी भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

    निकुञ्जमा गत मङ्सिर १९ गतेदेखि सुरु भएको राष्ट्रिय बाघ सर्वेक्षण २०७८ का लागि विभिन्न स्थानमा राखिएका पाँच वटा क्यामेरा चोरी भएको समाचारमा उल्लेख छ । बाघ सर्वेक्षणका लागि राखिएको क्यामेरामध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चार तथा चितवनमा एउटा क्यामेरा चोरी भएको निकुञ्जले उल्लेख गरेको छ ।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार नवलपरासीको कावासोतीमा चार वटा क्यामेरा तथा चितवनको कालिका नगरपालिका क्षेत्रबाट एउटा क्यामेरा हराएको हो । बाघ गणनाका लागि चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जको पश्चिम क्षेत्रमा स्वचालित ट्र्यापिङ क्यामेरा राखेको छ ।

    चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई तीन वटा क्लस्टरमा विभाजन गरेर पहिलो क्लस्टरमा पर्ने निकुञ्जको मुख्यालय कसरादेखि पश्चिमतर्फ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को त्रिवेणीसम्मको क्षेत्रमा बाघ सर्वेक्षणको काम भइरहेको छ । बाघ सर्वेक्षणका लागि निकुञ्ज, मध्यवर्ती, सामुदायिक वन र राष्ट्रिय वनलाई ग्रिड बनाएर क्यामेरा राखिएको छ ।


    निकुञ्जले हरेक चार वर्ग किलोमिटर क्षेत्रफलमा बाघ गणनाका लागि एक जोडा स्वचालित क्यामेरा राखेको छ । बाघ सर्वेक्षणका लागि प्रयोग भएको स्वचालित ट्र्यापिङ क्यामेरा अन्य प्रयोजनमा काममा आउँदैन । क्यामेरा जडान गरिएको तेस्रो दिनमै हराएको हो । बाघ सर्वेक्षणका लागि निकुञ्जले जमिनबाट ४५ सेन्टिमिटरदेखि ६० सेन्टिमिटरको उचाइमा क्यामेरा राखेको छ ।

    बाघ सर्वेक्षणका लागि राखिएको स्थानमा एउटै बाघलाई दुई वटा क्यामेराले खिच्ने गरी बाटोबाट दुवैतर्फ राखिएको छ । बाघको ढाडमा हुने पाटाको आधारमा बाघको गणना गरिने छ ।

  • माओवादीले बागमती प्रदेश अध्यक्ष निर्वाचनबाट छान्यो

    माओवादीले बागमती प्रदेश अध्यक्ष निर्वाचनबाट छान्यो

    काठमाडौं । सामान्यतया माओवादी केन्द्रमा निर्वाचनको प्रचलन छैन । तर, दल भित्रको आन्तरिक प्रतिस्पर्धाका क्रममा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशको अध्यक्षमा सिन्धुपाल्चोकका सरल सहयात्री पौडेल विजयी भएका छन् । काभ्रेपलान्चोकका दीननाथ गौतम (प्रयास)लाई हराउँदै उनी सरल अध्यक्ष बनेका हुन् । पौडेलले १६२ मत ल्याए । गौतमको ८६ मत आयो ।

    तीन जना उपाध्यक्षमा रुपा महर्जन, प्रेमबहादुर पुलामी र रामप्रसाद ढुंगाना विजयी भए । सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ (छिन्ताङ) निर्वाचित भए । तीन जना सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भए । कोषाध्यक्षमा संगीता भट्टराई विजयी भइन् । सम्मेलन सुरु भएको १० दिनसम्म पनि अध्यक्षसहित पदाधिकारीमा सहमति हुन सकेको थिएन । त्यसपछि सोमबार राती मतदान भएको हो ।

  • एमालेका पदाधिकारीको तोकियो वरियताक्रम, गोकर्ण र योगेश पुछारमा

    एमालेका पदाधिकारीको तोकियो वरियताक्रम, गोकर्ण र योगेश पुछारमा

    काठमाडौं । नेकपा एमालेले पदाधिकारी बनेका पार्टीका नेताहरूको वरीयताक्रम तोकेको छ । आइतवार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीहरूको वरीयताक्रम तोक्ने निर्णय गरेको हो । वरीयताक्रम अनुसार अध्यक्ष केपी ओली पहिलो र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दोस्रोमा रहने भएका छन् । उपाध्यक्षमा युवराज ज्ञवाली पहिलो, रामबहादुर थापा दोस्रो, विष्णु पौडेल तेस्रो, सुवास नेम्वाङ चौथो र सुरेन्द्र पाण्डे पाँचौँ वरीयतामा रहने भएका छन् ।

    महासचिव शंकर पोखरेलपछि उपमहासचिवमा प्रदीप ज्ञवाली पहिलो, पृथ्वीसुब्बा गुरुङ दोस्रो र विष्णु रिमाल तेस्रो वरीयतामा रहेका छन् । सचिवहरूमा टोपबहादुर रायमाझी पहिलो, लेखराज भट्ट दोस्रो, रघुवीर महासेठ तेस्रो, छविलाल विश्वकर्मा चौथो, गोकर्ण विष्ट पाँचौँ, योगेश भट्टराई छैटौँ र पद्मा अर्याल सातौँ नम्बरमा परेका छन् । एमालेमा गोकर्ण र योगेश पुछारमा पर्दा माओवादी त्यागेर आएका नेताहरुले भने वरियतामा समेत छलांग मारेका छन् ।

  • कांग्रेसको महाधिवेशन लक्षित आचारसंहिता, के-के छन् नियम ?

    कांग्रेसको महाधिवेशन लक्षित आचारसंहिता, के-के छन् नियम ?

    काठमाडौं । कांग्रेसले १४ औं महाधिवेशन लक्षित आचारसंहिता जारी गरेको छ। कांग्रेसको निर्वाचन समितिले बुधबार निर्वाचनलाई लक्षित गरि ६ बुँदे आचारसंहिता जारी गरेको हो । नियम अनुसार उम्मेदवारीको प्रचारप्रसार गर्दा भिजिटिङ कार्ड सामान्य अपिल मात्र वितरण गर्न सकिने छ। कसैको पनि व्यक्तिगत चरित्रमा लान्छना लाग्ने गरी प्रचार(प्रसार गर्न पाइने छैन । कांग्रेसको केन्द्रीय कार्यालय र राष्ट्रिय सभागृह, भृकुटीमण्डपको वरपर पाँच सय मिटर क्षेत्रभित्र निर्वाचनसँग सम्बन्धित कुनै पनि प्रचार सामग्री, ब्यानर, भित्तेलेखन, पोस्टर, चुल, पम्प्लेट टाँस्न र माइकिङ गर्न पाइने छैन ।

    प्रचारलाई मर्यादित, संयमित र अनुशासित बनाउन निर्वाचन समितिले अनुरोध गरेको छ। मतदानस्थलभित्र प्रवेश गर्दा मोबाइल फोन लिएर जान पाइने छैन । कांग्रेस महाधिवेशन मंसिर २४ मा उद्घाटन हुँदैछ। उम्मेदवारी मनोनयन मंसिर २५ मा, मतदान मंसिर २७ बिहान ८ बजेदेखि हुने कार्यक्रम छ । यज्ञपी महाधिवेशन स्थलमा पप्लेट र बोर्ड राख्न आजैबाट शुरु भइसकेको छ ।

  • आफ्नो हारमा पूर्वराजा ज्ञानेन्द्रको हात रहेको कमल थापाको आरोप

    आफ्नो हारमा पूर्वराजा ज्ञानेन्द्रको हात रहेको कमल थापाको आरोप

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा पराजित भएसँगै यसको कारक पूर्वराजा ज्ञानेन्द्र भएको कमल थापाले आरोप लगाएका छन् । उनलाई राजेन्द्र लिङ्देनले हराएका हुन् । थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासले हस्तक्षेप गरेको भन्दै आक्रोसित टिप्पणी गरेका छन् । थापाले सामाजिक संजाल टुइटरमार्फत आफूलाई ‘राजनीतिक रुपमा समाप्त पार्ने चेष्टा गरिएको आरोप लगाएका छन् ।

    उनले भनेका छन्, पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपको भ्रर्तसना गर्दछ ।,’ उनी अगाडी लेख्छन्, ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शीरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् । हार्दिक शुभकामना ।’

  • रावलले अध्यक्ष र भुषालले एमालेको उपाध्यक्षमा दिए उमेदवारी

    रावलले अध्यक्ष र भुषालले एमालेको उपाध्यक्षमा दिए उमेदवारी

    चितवन । नेकपा एमालेको जारी महाधिवेशनमा निर्वाचन प्रक्रिया शुरु भएको छ । अध्यक्ष ओलीले आफुले प्रस्ताव गरेका नाममा सहमति जनाउन गरेको आह्वान अस्वीकार गरेका नेता भीम रावलले अध्यक्ष पदका लागि निर्वाचनमा होमिएका हुन् । उनले उम्मेदवारी दर्ता गराए । रावल पार्टीमा यसअघि उपाध्यक्ष छन् ।

    उता, नेता घनश्याम भुसालले एमालेको उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । उनलाई अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि पदमा राखेका थिएनन् । उनले पदाधिकारी र केन्द्रीय कमिटी मै असन्तुष्टी जनाइरहेका छन् । उमेदवारी दर्तापछि नेता रावलले अध्यक्ष बनेर पार्टीलाई बहुमत दिलाउने बताए ।

  • एमालेमा पदाधिकारी र सदस्य छान्ने अधिकार ओलीलाइ, रावलले नमान्ने

    एमालेमा पदाधिकारी र सदस्य छान्ने अधिकार ओलीलाइ, रावलले नमान्ने

    चितवन । नेकपा एमालेमा पदाधिकारी र केन्द्रीय सदस्य छान्ने विशेषाधिकार अध्यक्ष केपी शर्मा ओलीले पाएका छन् । उनलाई बन्दसत्रले यस्तो अधिकार दिएको हो । शनिबार सौराहामा शुरु एमालेको १० औं महाधिवेशनको बन्दसत्रमा नेता विष्णु पौडेलले यस्तो प्रस्ताव राखे । उनको प्रस्तावमा बहुमत सदस्यले ताली बजाएर समर्थन गरे ।

    तर, यो निर्णय नेकपा एमालेका नेता भीम रावलले भने नमान्ने भएका छन् । उनले आफूले अध्यक्षमा उम्मेदवारी दिने अडान कायम राखेका छन् । अन्य पदाधिकारीमा सर्वसम्मत बनाउन प्रयासरत ओली आफ्नै पदमा भने चुनाव लड्नु पर्ने तनावमा छन् । उमेदवारी दर्ता आइतबार हुने छ ।

  • एमालेको महाधिवेशनमा प्रचण्ड नजाने

    एमालेको महाधिवेशनमा प्रचण्ड नजाने

    काठमाडौं । भोलिबाट शुरु हुने नेकपा एमालेको १० औं महाधिवेशनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी नहुने भएका छन् । उनकै निर्वाचन क्षेत्रमा आयोजना भएका कारण उनी आउने वा नआउने भन्ने विषयलाई चासोपुर्वक हेरिएको थियो ।

    एमालेले माओवादी लगायतका विभिन्न दलका नेताहरुलाई महाधिवेशनमा सहभागी हुन आमन्त्रण गरेको छ । माओवादीले स्थायी कमिटी सदस्य लीलामणि पोखरेललाई महाधिवेशनमा पठाउने निर्णय समेत गरेको छ । प्रधानमन्त्री शेर बहादुर देउवा भने सहभागी हुदैछन ।

  • अल्बर्ट आइन्स्टाइनको सापेक्षतासम्बन्धी सिद्धान्तको पाण्डुलिपी १ करोड ३० लाख डलरमा बिक्रि

    अल्बर्ट आइन्स्टाइनको सापेक्षतासम्बन्धी सिद्धान्तको पाण्डुलिपी १ करोड ३० लाख डलरमा बिक्रि

    पेरिस । अल्बर्ट आइन्स्टाइनले सापेक्षतासम्बन्धी सिद्धान्त तयार गर्ने प्रयास गरिरहँदा गरेको हिसाबकिताबको एक पाण्डुलिपि १ करोड ३० लाख डलरमा लिलामीमा बिक्रि भएको छ । बीबीसीका अनुसार फ्रान्सको पेरिसस्थित क्रिस्टिको लिलामी घरमा यो पाण्डुलिपी बिक्रि भएको हो । यो बिक्रीले वैज्ञानिक दस्तावेजको लिलामीको कीर्तिमान नै तोडेको समाचारमा उल्लेख छ ।

    सैद्धान्तिक भौतिकशास्त्रीको महान् वैज्ञानिक काम देखिएका उपलब्ध दुई मध्ये यो एउटा कागज हो। सन् १९१५ मा प्रकाशित यो सिद्धान्तले मानवजातिको अन्तरिक्ष, समय र गुरुत्त्वाकर्षणबारेको बुझाइ परिवर्तन गरिदिएको थियो। हिसाबकिताबको यो पाण्डुलिपि आइन्स्टाइन र उनका स्वीस सहकर्मी मिसेल बेसोले सन् १९१३ र १९१४ तयार गरेका थिए।

    यी कागजात पनि बेसोले नै राखेका थिए। क्रिस्टिको लिलामी घरले यी पाण्डुलिपिलाई जोगाएर राख्ने बेसोको सोचको तारिफ समेत गरेको समाचार छ । आइन्स्टाइनले आफूले लेखेका थोरैमात्रै कागजात सुरक्षित राखेको बताइएको छ । सोहीकारण यो दस्तावेजलाई महत्वपूर्ण मानिएको हो ।

    पाण्डुलिपिमा कालो कलमले हिसाबकिताब गरिएको छ । बेल्लोएका अनुसार सिद्धान्त तर्जुमा गर्ने दौरान त्यहाँ थुप्रै गल्ती देखिएका छन् । लिलामी घर क्रिस्टिले यो बिक्रीले यी कागजातको महत्त्व बुझ्ने विश्वभरिका सङ्ग्रहकर्तालाई आकर्षित गरेको समेत उल्लेख गरेको छ ।

    ५४ पृष्ठको यो पाण्डुलिपि कसले खरिद गरेको भन्ने नखुलाइएको बीबीसीको भनाई छ । आइन्स्टाइनको सापेक्षताको सिद्धान्तले ब्रह्माण्ड, ग्रहका कक्ष र ब्ल्याक होलको उत्पत्तिमा थप स्पष्टता ल्याएको थियो।

  • प्रचण्ड आउने खुसीयालीमा नगरपालिकाले सार्वजनिक बिदा दिएपछि….

    प्रचण्ड आउने खुसीयालीमा नगरपालिकाले सार्वजनिक बिदा दिएपछि….

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रमुख अतिथि बनेर आफ्नो नगरपालिका आउने भएपछि महोत्तरीको रामगोपालपुर नगरपालिकाले एक दिन सार्वजनिक बिदा दिएको छ । उनी नगरपालिकाका विभिन्न वडामा निर्माण भएका स्वास्थ्य केन्द्र भवनको उद्घाटनका लागि सो नगरपालिका जान लागेका हुन् ।

    बिदा आज बुधबारका लागि दिइएको छ । नगर प्रमुख अशोककुमार मण्डलले मंगलबार सूचना जारी गर्दै जिल्लाका आधारभूत स्वास्थ्य केन्द्रहरु वडा नं २, ३, ४, ६, ७, ८ र ९ को उद्घाटन कार्यक्रमका लागि सार्वजनिक बिदा दिएको उल्लेख गरेका छन् । कार्यक्रम बुधबार मध्याह्न १२ बजे रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्र, रामगोपालपुर५ मा हुनेछ ।

  • न्यूजिल्याण्डमा इच्छा मृत्यु रोज्न पाइने कानुन लागु

    न्यूजिल्याण्डमा इच्छा मृत्यु रोज्न पाइने कानुन लागु

    काठमाडौं । न्युजिल्यान्डले इच्छा–मृत्यु रोज्न पाउने गरि कानुनी व्यवस्था कार्यान्वयनमा ल्याएको छ । न्युजिल्यान्डमा इच्छाअनुसार मृत्युवरण गर्न पाउने कानुनी व्यवस्था लागू भएको हो । । यस्तो व्यवस्था यसअघि स्विट्जरल्यान्ड, नेदरल्यान्ड्स, स्पेन, बेल्जियम, लग्जमबर्ग, क्यानडा, अस्ट्रेलिया र कोलम्बियामा कार्यान्वयनमा छ ।

    न्युजिल्यान्डमा इच्छा मृत्यु गम्भीर रोगका कारण डाक्टरले ६ महिनाभन्दा बढी बाँच्न नसक्ने भनेर प्रमाणित गरेका व्यक्तिमा मात्र लागू हुने समेत बताइएको छ । न्युजिल्यान्डमा इच्छा मृत्युका विषयमा भएको जनमत सङ्ग्रहमा ६५ प्रतिशतभन्दा बढी मत यस कानुनका पक्षमा आएसँगै कानून कार्यान्वयनको बाटो समेत खुलेको हो । इच्छा मृत्युलाई कानुनी मान्यता दिने कि नदिने भन्ने विषयमाभएको लामो बहसपछि अन्ततः न्युजिल्यान्ड यस्तो निष्कर्षमा पुगेको हो ।

  • एमालेले महाधिवेशनमा माधव नेपालको बाहेक अन्य सबै पार्टीलाई निम्ता दिने

    एमालेले महाधिवेशनमा माधव नेपालको बाहेक अन्य सबै पार्टीलाई निम्ता दिने

    काठमाडौं । एमाले पार्टी निर्माणमा आफ्नो जिवनको महत्वपूर्ण समय खर्च गरेका नेता माधव कुमार नेपालको पार्टीबाहेक अन्य सबै पार्टीलाई एमालेले महाधिवेशन उद्घाटन समारोहमा निम्दा दिने भएको छ । दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनमा विदेशी पाहुनालाई समेत निमन्त्रणा दिइएको छ । सो पार्टीले पार्टीसँग भाइचारा तथा मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टी र दक्षिण एसियाका सत्तारुढ एवं विपक्षी दलका प्रतिनिधिलाई आमन्त्रण गरेको पार्टीको प्रचार विभागले जनाएको छ ।

    आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने सो महाधिवेशनको पूर्वसन्ध्यामा आज एमाले केन्द्रीय प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका प्रमुख योगेश भट्टराईले यस्तो जानकारी गराए । तर, माधव कुमार नेपालको पार्टीलाई भने निम्ता नदिने उनको भनाई छ ।

    विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदन र विधान संशोधन प्रस्ताव सर्वसम्मतरुपमा पारित गरेकाले पार्टीलाई महाधिवेशनले थप एकताबद्ध र सुदृढ बनाउने भट्टराईले बताए । नेकपा एकीकृत समाजवादी पहिचान स्थापित भइनसकेको पार्टी भएकाले त्यसलाई आमन्त्रण गरिरहनुनपर्ने उनको भनाई छ । नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिने भएको छ ।

    विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्था अनुसार दशौँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव गरी १५ जना पदाधिकारीसहितको २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । एक तिहाई महिलासहित नेपालको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व हुने गरी केन्द्रीय कमिटी समावेशी हुनेछ ।

  • एक मुलुक, जहाँ शुक्रबार एक जनामा पुष्टी भयो पहिलो कोरोना संक्रमण

    एक मुलुक, जहाँ शुक्रबार एक जनामा पुष्टी भयो पहिलो कोरोना संक्रमण

    काठमाडौं । संसार कोरोना भाइरसको संक्रमणबाट आक्रान्त छ । तर, एउटा मुलुक, जहाँ भने शुक्रवार मात्र पहिलो संक्रमण पुष्टी भएको छ । त्यो पनि मात्र एक जनामा । प्रशान्त महासागरस्थित टापु राष्ट्र टोङ्गामा महामारी सुरु भएयताकै पहिलो कोभिड सङ्क्रमण पुष्टि भएको बीबीसीले लेखेको छ । कोभिड पुष्टी भएपछि त्यहाँका मानिसहरू कोभिड खोप लगाउन हतारिएको समेत समाचारमा जनाइएको छ । एक जना पूर्ण मात्रा खोप लगाएका मानिसमा सङ्क्रमण पुष्टि भएको थियो जो उडानमार्फत न्यूजील्यान्डबाट आएका थिए।

    टोङ्गाका प्रधानमन्त्री पोहिभा तुएनिटोआले मुख्य द्विप टोङ्गाटपुमा अर्को साता लकडाउन हुनसक्ने बताएका छन्। टोङ्गा कोभिड सङ्क्रमण नपाइएको अन्तिममध्येको देश थियो। उक्त टापु देशमा एक लाखभन्दा धेरै मानिस बस्छन् । जुन न्यूजील्यान्डभन्दा उत्तर पश्चिममा अवस्थित छ। टोङ्गाका एकतिहाइ जनसङ्ख्याले मात्र पूर्ण मात्रा खोप लगाएका छन्। त्यहाँको राष्ट्रिय खोप कार्यक्रम संयोजकले खोप लगाउन हजारौँ मानिसहरू केन्द्रहरूमा जम्मा भएको बताएका छन्।

    सङ्क्रमित व्यक्ति घर फिर्तीका लागि न्यूजील्यान्डको क्राइस्टचर्चबाट आएको उडानमा रहेका २१५ जनामध्येका एक हुन्। सो उडानमा रहेका अन्य यात्रुमा टोङ्गाको ओलिम्पिक्स टोली पनि छ जो टोक्यो ओलिम्पिक्सयता न्यूजील्यान्डमा रोकिएको थियो। न्यूजील्यान्डको स्वास्थ्य मन्त्रालयले आफ्नो देश छाड्ने बेलामा ती व्यक्तिमा कोभिड नदेखिएको जनाएको छ। टोङ्गाका अधिकारीहरूले नियमित परीक्षणका बेला बिहीवार सङ्क्रमण पुष्टि भएको जनाएका छन्।

  • परमादेश दिने पाँचै जना न्यायाधीसले राजीनामा दिनुपर्छ : ओली

    परमादेश दिने पाँचै जना न्यायाधीसले राजीनामा दिनुपर्छ : ओली

    काठमाडौं । न्यायालयमा विवाद चर्किरहेका बेला नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले परमादेश दिने सर्वोच्च अदालतका पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन्। एमालेको पालिका अधिवेशनलाई भर्चुअल रूपमा मंगलबार सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले परमादेशबाट सरकार बनेपछि अदालतमा पनि समस्या देखिएको दावि गरे । उता, ओलीलाई भने अदालतमा राजनीति छिराएको आरोप लाग्ने गरेको छ ।

    खासगरी संवैधानिक निकायमा गरिएका नियुक्तीमा उनले प्रधानन्यायाधीशलाई पनि भाग छुट्याएको आरोप लाग्दै आएको छ । उनले एक जनाले मात्र नभई परमादेश दिने सबैले राजीनामा दिनुपर्ने बताए । सरकारमा भाग खोजेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले राजीनामा दिनुपर्ने माग उठेको समयमा उनले यस्तो बताएका हुन् ।

  • एमालेमा १० बुँदे भन्नेहरुको हरिविजोग : नेपाल

    एमालेमा १० बुँदे भन्नेहरुको हरिविजोग : नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले विगतमा आफुसँगै रहेपनि अन्तिममा धोका दिएका नेताहरुबारे व्यग्य गर्दै हरिविजोग भएको बताएका छन् । नेकपा (एमाले)लाई विभाजनबाट जोगाउन भन्दै १० बुँदै सहमति गरेका उनीहरुलाई अअिले एमालेमा अध्यक्ष ओलीसहितका नेताले पेलिरहेको समयमा नेता नेपालको यस्तो अभिव्यक्ति आएको हो ।

    सिन्धुपाल्चोक(काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा शनिबार अध्यक्ष नेपालले १० बुँदेमा टेकेर एमालेमै बसेका नेताको हरिबिजोग भएको बताए । एमालेमा बस्न अध्यक्ष केपी शर्मा ओलीको आदेश पालनु गर्नुपर्ने नभए कुनै मर्यादा नरहने भन्दै उनले भने, ‘एमालेमा आदेश पालन गर्‍यो भने बस्न पाउँछ, आदेशको पालन गरेन भने कति ट्याउँ ट्याउँ गरेको ? कति ट्याउँ ट्याउँ गरेको ? १० बुँदे, भनेर सुन्नुपर्छ ।’ एमालेमा नेताहरूको मर्यादा र सम्भावना नभएको भन्दै उनले त्यो पार्टी बनाउन आफुहरुले ठूलो मिहेनत गरेको बताए ।

  • रसुवाको रहस्य; सिङ्गेभूमी थान

    रसुवाको रहस्य; सिङ्गेभूमी थान

    सरस्वती न्यौपाने, रसुवा

    “हजारौँ वर्षदेखिको रूखहरू जस्ताको त्यस्तै”

    रसुवा भौगोलिक हिसाबले हिमाली जिल्ला हो । यो जिल्ला प्राकृतिक छटाले भरिपूर्ण हुनुका साथै धार्मिक हिसाबले पनि उच्च स्थानमा रहेको छ ।जिल्लाभित्र अनेकौँ धार्मिक महिमा बोकेका ठाउँहरू छन्, जसमध्ये केही रहस्यमय छन् । त्यस्तै स्थानीयलाई बाहेक बाहिरका मानिसलाई थाहा नभएको धार्मिक महत्त्व बोकेको ठाउँ हो- सिङेभूमी थान ।

    गोसाईंकुण्ड गाउँपालिका वडा नं ६ ठाडे निवासी साप ग्याल्वो घलेका अनुसार उक्त थान परापूर्व कालदेखि आफै उत्पत्ति भएको ढुङ्गा हो । अरू देवीदेवता भन्दा यसको महिमा बेग्लै छ । यस सिङगेभूमी थान र छङगम देवी बूढाबूढी हुन् भन्ने धार्मिक किंवदन्ती समेत रहेको छ ।

    यिनी बुढाबुढी एक आपसमा नमिलेर छुट्टै वारपार गरेर बसेका छन् । यस थानमा पूजा गर्दा रातो लुगा लगाएर रातो अविरले पूजा गर्नुहुँदैन र केटी मान्छे जानै नहुने भन्ने धार्मिक भनाइ छ । जहाँ विशुद्ध अछेता, गाईको दूध, पैसा मात्र चढाउनुपर्छ भन्ने मान्यता छ ।

    यस थान नजिक घना रूखै रूख छन्‚ सो रूखहरु काटे अनिष्ट हुने जनविश्वास छ । यसर्थ गाउँलेले त्यहाँका रुख पनि काट्दैन र गाईबस्तु र बाख्रा पनि चराउँदैनन् । यस ठाउँमा सोमबार र बिहीबार पारेर जानुपर्ने हुन्छ । अर्को रहस्यमय कुरा चाहिँ छङगमदेवि र मूलखर्कदेवी दिदीबहिनी हुन् । मुलखर्क देवीमा चाहिँ पहिरोले पुरेर ढुङ्गा देखिँदैन ।

    लाङटाङ राष्ट्रिय निकुञ्जभित्रमा रहेका सिङगे भूमिथानलाई स्थानीय सरकारले संरक्षणमा जोड दिने हो भने पर्यटन प्रवर्द्धनमा टेवा पुग्दछ । यहाँ हजारौँ वर्षदेखिको रूखहरू जस्ताको त्यस्तै छन् । पासाङल्हामु राजमार्गसँग जोडिएको भए तापनि धार्मिक हिसाबले स्थानीय बाहेक कमैलाई मात्र यसबारे जानकारी छ।

    आजको २१ ‍औँ शताब्दीमा मानिसको चालचलन‚ रीतिरिवाज परम्परा संस्कृति परिवर्तनतर्फ अग्रसर भइरहँदा भगवानलाई विश्वास नगरे पनि ठाडे गाउँवासी भने रीतिरिवाज र भगवानप्रति आस्था राख्छन् ।

    सरस्वती आधारभूत निमाविका प्राध्यापक भन्छन्‚ ‘यो त कुनै मानव निर्मित नभई भगवानको पालाकै हो । यहाँ फोहोर गर्ने महिलाहरू महिनावारी हुँदा हेलचक्र्याइँ गरे रोग लाग्ने गाउँमा भयावह हुने गर्छ ।

    विद्यालय व्यवस्थापन समिति अध्यक्ष लाक्पा घलेका अनुसार हामी जतिऔँ शताब्दीका मान्छे भए पनि आफ्नो संस्कृति, संस्कारलाई मान्नु पर्छ । यसले मानिसहरूलाई मानिस हुन सिकाएको छ । सिङ्गेभुमि थान ओझेलमा रहेको थान हो । यसले यस गाउँ र मानिसलाई असल बाटोमा डोर्‍याएको छ । यसको महिमाबारे विश्वसामु चिनाउन जरुरी रहेको विव्यस अध्यक्ष घले बताउँछन् ।

    पर्यटन विकास र आधुनिकीकरणको प्रभावले परापूर्वकालदेखि नै जगेर्ना गर्दै आएको प्रकृति सम्बद्ध खास मूल्य, मान्यता र विश्वास रही धार्मिक हिसाबले रसुवाको माथिल्लो भेगलाई भगवानले लुकाएको स्वर्गको एक पवित्र भूमि मानिएको पनि लामा बताउँछन् । लोक कथामा छङ्गमदेवीजस्तै उच्च महिमा यहाँका धेरै गाउँ ठाउँका नामसँग जोडिएका छन् ।

  • काठमाडौंको सार्वजनिक यातायातमा पाकेट मार्ने २०७ पाकेटमार पक्राउ, यस्तो थियो कोड वर्ड

    काठमाडौंको सार्वजनिक यातायातमा पाकेट मार्ने २०७ पाकेटमार पक्राउ, यस्तो थियो कोड वर्ड

    काठमाडौं । काठमाडौंको सार्वजनिक यातायातमा चढी पाकेटमार्ने दुई सय सात जना पाकेटमार र चोर पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले दुई सय सात जनालाई पक्राउ गरेको सोमबार जानकारी गराएइको हो । दसैं तिहारमा घर फर्किनेको पाकेटमार्ने तथा चोरी गर्न सक्ने भन्दै परिसरले उपत्यकाबाट दुई सय सात जनालाई पक्राउ गरेको छ । प्रहरीले भदौ २५ गतेदेखि अपरेसन थालेको थियो ।

    प्रहरीले यातायात व्यवसायीसँगको समन्वयमा अपरेसन थालेको थियो । प्रहरीले १६१ जनामाथि अनुसन्धान गरिरहेको छ। उनीहरूमाथि अभद्र व्यवहारमा मुद्दा चलाइएको छ । ४६ जना भने पुर्पक्षका लागि जेल चलान भइसकेका छन्। प्रहरीका अनुसार उनीहरू दुई, दुई जनाको दरले ६ जनाको टोली बनाएर बसभित्र जाने गर्थे। भित्र पसेपछि उनीहरूले पैसा धेरै हुने व्यक्ति पहिचान गरि पकेट मार्थे । व्यक्ति पहिचान भएपछि व्यक्तिलाई घेराबन्दी गरि ठेलमठेल गर्ने र त्यही मौकामा उनीहरुले पर्स निकाल्ने गरेको पाइएको छ ।

    त्यसक्रममा उनीहरुले कोड वर्ड प्रयोग गरि संचार गर्थे । पीडितलाई रामे, पैसालाई द, मोबाइललाई कान, पाकेटमार गर्ने व्यक्ति मास्टर वा काशी, पैसा धेरै छ भन्ने संकेत दिन टानको द पैसा, थोरै छ जुटको द, गाडीलाई काँचा भन्ने कोडवर्ड प्रयाग भएको प्रहरीले जनाएको छ । केटालाई छापा, केटीलाई भद्री, पुलिसलाई ठूल्दाइ, ड्राइभरलाई माम, खलासीलाई मले, गाडीबाट झरेर भाग भन्नलाई टप्की शब्द प्रयोग गर्ने गरेको समेत खुलेको छ ।

  • ‘प्यान्डोरा पेपर्स’ खुलासामा विश्वका ठूला नेता को-को मुछिए ?

    ‘प्यान्डोरा पेपर्स’ खुलासामा विश्वका ठूला नेता को-को मुछिए ?

    काठमाडौं । हालसम्मै ठूलो सङ्ख्यामा चुहिएका वित्तीय दस्तावेजहरूको अध्ययनले विश्व नेता, राजनितिज्ञ र अर्बपतिहरूका गोप्य धन तथा कारोबारबारे खुलासा गरेको छ। बीबीसीका अनुसार करिब ३५ वर्तमान र पूर्वनेता तथा ३०० भन्दा बढी सार्वजनिक अधिकारीका विवरण प्यान्डोरा पेपर्समा सार्वजनिक गरिएको छ । उनीहरुले देशबाहिर कर छल्ने हिसाबले स्थापना गरिएका अफशोर कम्पनीमा लगानी गरेको खुलेको हो ।

    ती कागजपत्र अनुसार जोर्डनका राजाले यूके र अमेरिकाका सम्पत्तिबाट सात करोड पाउन्ड गोप्य रूपमा जम्मा गरेका छन् । बेलायती पूर्वप्रधानमन्त्री टोनी ब्लेयर र उनकी श्रीमतीले लन्डनस्थित कार्यालय खरिद गर्दा सम्पत्ति खरिदसम्बन्धी करबाट ३ लाख १२ हजार पाउन्ड जोगाएको देखिएको छ । उनीहरूले उक्त भवन खरिद गर्ने एउटा अफशोर कम्पनी नै किनेका थिए।

    चुहिएका दस्तावेजहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सम्बन्ध मोनाकोमा रहेको गोप्य सम्पत्तिमा देखाएको छ । अनुसन्धानमा आईसीआईजेसँग सहकार्य गरेको खोज पत्रकारिता केन्द्र नेपालका अनुसार अफशोर कम्पनी खोलेर लगानी गर्नेहरूमा नेपालका पनि ठूला व्यापारिक घरानिया रहेका छन्।

    चेक प्रधानमन्त्री आन्द्रे बाबिस दक्षिणी फ्रान्समा एक करोड २० लाख पाउन्ड बराबरका दुईवटा भिल्ला खरिद गर्न अफशोर लगानी कम्पनी प्रयोग गरेको तथ्य घोषणा नगरी बसेका थिए। यो हप्ता चेक गणतन्त्रमा हुने संसदीय चुनावलाई प्रभावित पार्न र आफूलाई बदनाम गर्न ती दाबी गरिएको उनको भनाइ छ।

    चुहिएका ती दस्तावेजमा पाकिस्तानी प्रधानमन्त्री इमरान खाननिकट व्यक्तिका दशौँ लाख डलर सम्पत्ति रहेका गोप्य कम्पनी र कोषहरूमा स्वामित्व रहेको पाइएको छ। उनको मन्त्रिपरिषद्‌ र परिवारका सदस्यहरूको नाममा ती सम्पत्ति रहेको छ। त्यसबारे जबाफ दिँदै प्रधानमन्त्री खानले प्यान्डोरा पेपर्समा नाम रहेका सबै पाकिस्तानी नागरिकबारे आफ्नो सरकारले छानबिन गर्ने र कुनै गल्ती गरेको स्थापित भए कारबाही गरिने बताएका छन्।

    उनले सम्भ्रान्तहरूले गलत ढङ्गलेु कमाएको सम्पत्तिसम्बन्धी रहस्योद्घाटनको स्वागत गरेका छन्। प्यान्डोरा पेपर्सले केन्याका राष्ट्रपति उहुरु केन्याटाले दशकौँसम्म अफशोर कम्पनीको सञ्जालमाथि गोप्य रूपमा आफ्नो स्वामित्व कायम राखेको देखाएको छ। एउटा सेअर र बन्डसम्बन्धी कम्पनीमा तीन करोड डलर लगानी गरिएको थियो। केन्याटा परिवारले कुनै प्रतिक्रिया दिएको छैन। यसअघि फिनसेन फाइल्स, द प्याराडाइज पेपर्स, द पानामा पेपर्स र लक्सलिक्स खुलासा भएका थिए।

  • जापानी राजकुमारीले प्रेमीसँग विवाह गर्न पद त्याग्ने

    जापानी राजकुमारीले प्रेमीसँग विवाह गर्न पद त्याग्ने

    टोकियो । जापानी राजकुमारी माकोले सर्वसाधारण नागरिकसँग विवाह गर्न शाही हैसियत त्याग्ने घोषणा गरेकी छन्। बीबीसीका अनुसार जापानमा केही वर्षयता यो प्रेम सम्बन्ध विवादित बनेको थियो । उनले पूर्व सहपाठी समेत रहेका आफ्ना प्रेमीसँग यसै महिना विवाह गर्ने तयारी गरेको समेत समाचारमा उल्लेख छ । जापानको राजपरिवार इम्पेरियल हाउसहोल्ड एजेन्सीले अक्टोबर २६ मा उनीहरूको विवाह तय भएको जनाएको छ।

    उनीहरूबीच सन् २०१८ मै विवाह तय भए पनि राजकुमारीसँग विवाह गर्न लागेका कोमुरोको परिवारमा आएको भनिएको आर्थिक सङ्कटका कारण विवाह सारिएको थियो। विवाहपछि नवदम्पती अमेरिकामा बस्ने बताइएको छ। उनका प्रेमी केइ कोमुरो अमेरिकामा कानुन व्यवसायीको काम गर्दै आएका छन्। स्थानीय सञ्चार माध्यममा यो जोडीबारे धेरै समाचारहरू आएका थिए।

    राजकुमार फुहिमितो र कोमुरोको परिवारलाई जोडेर पछिल्ला वर्षहरूमा आएका समाचारले राजकुमारी माको मानसिक आघातको सिकार भएको इम्पेरियल हाउसहोल्ड एजेन्सीलाई उद्धृत गर्दै समाचार संस्था क्योदोले जनाएको छ। यस अघि राजपरिवारकै अर्की सदस्यले पनि पुरुष उत्तराधिकारी चयन गर्न दिइएको दबाबका कारण तनाव सम्बन्धी समस्याबाट बिरामी परेको बताइएको छ।

    जापानमा मानसिक समस्यालाई समाजमा नराम्रो रूपमा चित्रित गर्ने गरिएको छ। राजकुमारीको जोडीबीच सन् २०१२ मा टोकियोको एक अन्तर्राष्ट्रिय क्रिश्चियन विश्वविद्यालयमा भेट भएको थियो। सन् २०१७ इन्गेजमेन्ट गरेको यो जोडीले त्यसको एक वर्षपछि विवाह गर्ने तय गरेको थियो। राजकुमारी माकोले जापानमा परिवारबाट छुट्टिने शाही सदस्यले पाउने १३ लाख अमेरिकी डलर समेत त्याग गर्ने बताइएको छ।

    उनले परम्परागत शैलीको शाही विवाह समेत नगर्ने अपेक्षा गरिएको छ। उनले दुवै सुविधा त्याग गरेको अवस्थामा उनी दुवै सुविधा त्याग गर्ने पहिलो राजपरिवार सदस्य बन्नेछिन्। जापानको कानुन बमोजिम सर्वसाधारणसँग विवाह गर्ने राजपरिवारको महिला सदस्यले शाही हैसियत त्याग्नु पर्छ तर पुरुष सदस्यले पर्दैन।

  • ‘राजा बन्ने’ भन्दै नारायणहिटीको श्रीपेच चोर्न खोजेको अभियोगमा एक युवक नियन्त्रणमा

    ‘राजा बन्ने’ भन्दै नारायणहिटीको श्रीपेच चोर्न खोजेको अभियोगमा एक युवक नियन्त्रणमा

    काठमाडौं । नारायणहिटी दरबार संग्राहलयमा रहेको श्रीपेच चोर्न खोजेको अभियोगमा प्रहरीले एक जना युवकलाई नियन्त्रणमा लिएको छ।

    पश्चिम रुकुम मुसिकोट घर भएका २५ वर्षीय खीमबहादुर घर्तीलाई नियन्त्रणमा लिएको हो। उनले संग्राहलय घुम्ने क्रममा आज श्रीपेच रहेको स्थानको सिसा फुटाएर चोर्न खोजेको देखिएको छ।

    ‘हामीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ। उसले आफू राज बन्ने भन्दै चोर्न खोजेको बताएको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले भने।

    घर्तीलाई महानगरीय प्रहरी वृत्त दरमार्गमा राखिएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

  • हिमालय एयरलाइन्सका जहाजमा अब हार्ट अट्याक रोक्ने मेसिन उपलब्ध

    हिमालय एयरलाइन्सका जहाजमा अब हार्ट अट्याक रोक्ने मेसिन उपलब्ध

    काठमाडौं । नेपालको निजी लगानीको हिमालय एयरलाइन्समा यात्रारात यात्रुमा आकस्मिक मुटु र स्वास प्रश्वास सम्बन्धी समस्यामा आएमा पनि जहाज डाइभर्ट गर्नु नपर्ने भएको छ । हिमालय एयरलाइन्सले जहाजमै अब अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर (एईडी) मेसिन राखेको छ । कम्पनीका अनुसार अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर एक जीवनदायी मेसिन हो, जसले बिरामीको हृदयगति अकस्मात् बन्द हुँदा वा हुन लाग्दा त्यसलाई रोकी हृदय गति सुचारु राख्न मद्दत गर्छ ।

    यस्तो मेसिनसहित सेवा थाल्ने नेपालको एक मात्र कम्पनी बनेको हिमालय एयरलाइन्सले विज्ञप्ती निकाल्दै जनाएको छ । नेपाल–चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सका सबै जहाज (तीनवटा एअरबस ३२० र एउटा एअरबस ३१९)मा यो मेसिन राखिएको हो । कम्पनीको सेवालाई सुरक्षित, विश्वसनीय र आरामदायी बनाउन यो मेसिन सहयोगी हुने बताएको छ ।

    अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर मध्य आकाशमा जहाज उडिरहँदा भवितव्य वा कुनै यात्रुमा श्वासप्रश्वास बन्द हुने वा हृदय गति बन्द हुने जटिल समस्या आउँदा पनि निदान गरी बचाउन सकिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यात्रुको हृदय गति बन्द भए, नाडी बन्द भए वा सास फेन नसके मेसिनको सहायताले बिरामीको मुटुमा एक प्रकारको दबाव दिएर मुटु, श्वास–प्रश्वास र नाडीको गति पुनःकायम गराउन सकिने बताइएको छ । विगत केही सातादेखि हिमालय एयरलाइन्सका सबै उडान कर्मचारीलाई यो मेसिनको प्रयोगबारे तालिम दिइएको छ ।