Category: अमेरिका

  • ओबामाद्वारा ट्रम्पको क्लिपको आलोचना

    ओबामाद्वारा ट्रम्पको क्लिपको आलोचना

    वासिङ्टन, ४ फागुन (रासस–एएफपी) । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल खाताबाट आफू र मिशेल ओबामालाई बाँदरको रूपमा चित्रण गरिएको भिडियो सार्वजनिक भएपछि अमेरिकी राजनीतिक संवादमा शिष्टाचार र लज्जाको अभाव बढ्दै गएको भन्दै कडा टिप्पणी गरेका छन् ।

    वामपन्थी टिप्पणीकार ब्रायन टायलर कोहेनसँगको विस्तृत पोडकास्ट अन्तर्वार्तामा उनले राजनीतिक बहस ‘पहिले कहिल्यै नदेखिएको क्रूरतामा’ झरेको उल्लेख गर्दै अधिकांश अमेरिकी नागरिकले यस्तो व्यवहारलाई गम्भीर रूपमा चिन्ताजनक ठान्ने बताए । उनले कसैको नाम नलिई सामाजिक सञ्जाल र टेलिभिजनमा देखिने ‘जोकर शैलीको प्रस्तुति’ ले सार्वजनिक पदप्रति आवश्यक सम्मान हराउँदै गएको सङ्केत गरेको बताए ।


    फेब्रुअरी ५ मा ट्रम्पको ट्रुथ सोसल खाताबाट सेयर गरिएको एक मिनेटको भिडियोमा सन् २०२० को चुनावबारे षड्यन्त्रपूर्ण दाबी दोहोर्‍याइएको थियो । भिडियोको अन्त्यतिर जो बाइडेन र ओबामा दम्पतीको अनुहार बाँदरको शरीरमा देखाइएको अंश समावेश थियो, जसले व्यापक आलोचना निम्त्यायो । ह्वाइट हाउसले प्रारम्भमा ‘नक्कली आक्रोश’ अस्वीकार गरे पनि पछि उक्त पोस्ट स्टाफको त्रुटिका कारण भएको भन्दै हटाइएको जनाएको थियो । ट्रम्पले भिडियोका दाबीहरूको पक्षमा उभिएको बताए पनि आपत्तिजनक दृश्य आफूले नदेखेको दाबी गरे ।


    अन्तर्वार्ताका क्रममा ओबामाले यस्ता सन्देशले आगामी मध्यावधि चुनावमा रिपब्लिकनहरूलाई नै नोक्सान पुग्न सक्ने आकलन गरे र अन्ततः जवाफ अमेरिकी जनताबाटै आउने बताए । उनले ट्रम्प प्रशासनद्वारा मिनेसोटामा सञ्चालन गरिएको आप्रवासन दमन अभियानको पनि आलोचना गरे । आइसिई अधिकारीहरू समेत संलग्न हजारौँ सङ्घीय एजेन्टले अपराधीविरुद्ध लक्षित अपरेसन भन्दै व्यापक छापा र गिरफ्तारी सञ्चालन गरेका थिए । ओबामाले केही घटनामा भएको घातक गोलीकाण्डसहित एजेन्टहरूको व्यवहारलाई ‘अधिनायकवादी मुलुकहरूमा देखिने शैलीसँग मिल्दोजुल्दो’ भन्दै चिन्ता व्यक्त गरे । यसलाई ‘दुष्ट व्यवहार’ को संज्ञा दिए ।
    मिनेसोटामा उक्त अभियानपछि ठूलो विरोध प्रदर्शन र देशव्यापी आक्रोश देखिएको छ । यसैबीच सांसदहरूबीच आप्रवासन कारबाहीको निरीक्षण गर्ने निकायलाई थप बजेट दिने विषयमा जारी विवादले गृह मन्त्रालय आंशिक सरकारी शटडाउनमा परेको छ । डेमोक्रेट सांसदहरूले आइसिईको कार्यशैलीमा ठोस परिवर्तन नगरेसम्म नयाँ कोष स्वीकृत नगर्ने अडान लिएका छन् ।

    ओबामाले भने समुदायस्तरमा शान्तिपूर्ण र सङ्गठित प्रतिरोध देखिनु नै आशाको आधार भएको उल्लेख गर्दै नागरिकहरू सत्य र शान्तिपूर्ण विरोधमार्फत आफूहरूले विश्वास गर्ने मूल्यहरूको पक्षमा उभिएको बताए । उनले सामान्य नागरिकको यस्तो निरन्तर सक्रियताले लोकतन्त्रलाई सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

  • अमेरिकाले प्रतिबन्ध फुकुवा गरे परमाणु सम्झौताका इरान तयार

    अमेरिकाले प्रतिबन्ध फुकुवा गरे परमाणु सम्झौताका इरान तयार

    तेहरान, ४ फागुन (रासस–एएफपी) । इरान अमेरिकी नाकाबन्दी फुकुवाको बदलामा अत्यधिक प्रवर्धित युरेनियमको भण्डारमा सम्झौता गर्न तयार रहेको इरानी उपविदेशमन्त्रीले आइतबार प्रकाशित बीबीसीसँगको अन्तर्वार्तामा बताएका छन् । इरान र अमेरिकाबीच आगामी फेब्रुअरी ६ मा ओमानमा भएको आणविक वार्ता पुनः सुरु भएपछि उपविदेशमन्त्री माजिद तख्त–रभाञ्चीको उक्त भनाइ आएको हो । स्विट्जरल्यान्डले अर्को हप्ता जेनेभामा नयाँ चरणको वार्ता हुने शनिबार घोषणा गरेको छ ।

    इरानले नयाँ चरणको वार्ताको आधिकारिक पुष्टि गरेको छैन, तर विदेशमन्त्री अब्बास अराघचीको नेतृत्वमा रहेको इरानको ओमानको प्रतिनिधिमण्डलमा रहेका तख्त–भान्चीले मङ्गलबार वार्ता हुने बताएका छन् । पश्चिमा देशहरूले इरानले आणविक हतियार प्राप्त गर्न खोजेको आरोप विशेषज्ञहरूले लगाउने गरेका छन् । संयुक्त राज्य अमेरिका र इरानको कट्टर शत्रु इजरायलको नेतृत्वमा केही समय पहिले इरानी आणविक भण्डारमा आक्रमण गरेका थिए । इरानले त्यस्ता सैन्य महत्वाकांक्षाहरू नराखेको तर नागरिक उद्देश्यका लागि यो प्रविधिमा आफ्नो अधिकारमा जोड दिने तेहरानको जिकिर रहने गरेको छ।

    “इरान अमेरिकासँग सम्झौता गर्न तयार छ, तर त्यसका लागि अमेरिकाले इरानको अर्थतन्त्रलाई धराशायी बनाइरहेको प्रतिबन्ध हटाउनुपर्छ,” तख्त–रभान्चीले भने । उनले भने, “यदि हामीले उनीहरूको (अमेरिकी) पक्षको इमान्दारिता देख्यौँ भने म विश्वस्त छु कि हामी सम्झौताका लागि तयार हुनेछौँ ।” बीबीसीले भनेको छ, “तेहरानले ४०० किलोभन्दा बढी उच्च संवर्धित युरेनियम भण्डार देशबाहिर पठाउन सहमत हुने सम्भावनाको बारेमा पनि उहाँलाई प्रश्न गरिएको थियो र सम्झौताको सम्भावनालाई उसले अस्वीकार गरेन।”

    रुसलगायत धेरै देशहरूले भण्डारको जिम्मेवारी लिने प्रस्ताव गरेका छन्, जुन प्रस्ताव इरानले अहिलेसम्म अस्वीकार गर्दै आएको छ। इरानको ४०० किलोभन्दा बढी ६० प्रतिशत संवर्धित युरेनियमको भण्डारको नियति धेरै अनिश्चितताले घेरेको छ, जुन गत जुन १० मा (इजरायल र अमेरिकाले इरानी आणविक स्थलहरूमा आक्रमण गर्नु अघि) आणविक निगरानी निरीक्षकहरूले अन्तिम पटक अनुगमनका क्रममा देखेका थिए।

    अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानले युरेनियमलाई ६० प्रतिशतमा संवर्धन गरिरहेको छ, जुन सन् २०१५ को आणविक सम्झौताले अनुमति दिएको ३।६७ प्रतिशत र आणविक हतियार बनाउन आवश्यक ९० प्रतिशत आवश्यकताभन्दा बढी हो। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमा शून्य प्रशोधन गर्न बारम्बार आह्वान गर्दै आउनुभएको छ।

    ’शून्य संवर्धनको मुद्दा अब कुनै मुद्दा होइन र जहाँसम्म इरानको कुरा छ, यो अब टेबलमा छैन,’ तख्त–रभान्चीले बीबीसीसँग भने । विदेश मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै फार्स न्यूज एजेन्सीले आइतबार लेखेको छ, “वार्तामा इरानको ऊर्जा क्षेत्रमा सम्भावित अमेरिकी लगानीका बारेमा पनि छलफल हुनेछ।”

  • क्यारेबियनमा अमेरिकी आक्रमण, तीनको मृत्यु

    क्यारेबियनमा अमेरिकी आक्रमण, तीनको मृत्यु

    वासिङ्टन, २ फागुन (रासस–एपी) । क्यारेबियन सागर क्षेत्रमा लागुऔषध तस्करी नियन्त्रण अभियान तीव्र बनाइरहेको अमेरिकी सेनाले अर्को एक कथित तस्करी डुङ्गामाथि घातक आक्रमण गरेको जनाएको छ । उक्त कारबाहीमा कम्तीमा तीन जनाको मृत्यु भएको जानकारी शुक्रबार सार्वजनिक गरिएको हो । अमेरिकी दक्षिणी कमान्डले सामाजिक सञ्जालमार्फत दिएको विवरणअनुसार सो डुङ्गा ‘क्यारेबियन क्षेत्रमा परिचित लागुऔषध तस्करी मार्गमा आवागमन गरिरहेको र तस्करी अपरेसनमा संलग्न’ रहेको दाबी गरिएको छ ।

    आक्रमणसँगै जोडिएको भिडियोमा डुङ्गा समुद्र सतहमा तीव्र गतिमा अघि बढिरहेको देखिन्छ र त्यसपछि विस्फोटसहित आगो लागेको दृश्य देखिन्छ । शुक्रबारको यो कारबाहीसँगै सेप्टेम्बरको सुरुदेखि क्यारेबियन सागर र पूर्वी प्रशान्त महासागर क्षेत्रमा गरिएको कम्तीमा ३८ वटा यस्तै आक्रमणमा ज्यान गुमाउनेहरूको सङ्ख्या १३३ पुगेको उल्लेख गरिएको छ । यी आक्रमणहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनकालदेखि कथित लागुऔषध डुङ्गाहरू लक्षित गर्दै सञ्चालन हुँदै आएका छन् ।

    गत साता अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले क्यारेबियन क्षेत्रमा अमेरिकी सेनाले हालै गरेका कडा र प्रभावकारी आक्रमणका कारण त्यहाँ सक्रिय केही ठूला लागुऔषध तस्कर समूहहरूले आफ्नो तस्करी काम अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको बताएका थिए । तर उनले उक्त दाबीलाई पुष्टि गर्ने ठोस विवरण वा प्रमाण सार्वजनिक गरेका छैनन् ।

    यसैबीच राष्ट्रपति ट्रम्पले ल्याटिन अमेरिकाका कार्टेलहरूसँग अमेरिका ‘सशस्त्र द्वन्द्व’ मा रहेको बताउँदै लागुऔषधको प्रवाह रोक्नका लागि यस्ता आक्रमण आवश्यक भएको धारणा व्यक्त गरेका छन् । यद्यपि प्रशासनले ‘नार्कोटेररिस्ट’ भनिएका व्यक्तिहरूको हत्या भएको दाबीलाई समर्थन गर्ने पर्याप्त प्रमाण भने सार्वजनिक गरेको छैन । क्यारेबियन र पूर्वी प्रशान्त क्षेत्रमा लागुऔषध विरुद्धको यो सैन्य कारबाहीले क्षेत्रीय सुरक्षाबारे बहस चर्काइरहेको छ, जहाँ मानवअधिकार र अन्तर्राष्ट्रिय कानूनी दायित्वका प्रश्नहरू पनि उठ्न थालेका छन् ।

  • अमेरिकासँगको व्यापार सम्झौताको भारतीय किसानद्वारा विरोध

    अमेरिकासँगको व्यापार सम्झौताको भारतीय किसानद्वारा विरोध

    नयाँदिल्ली, १ फागुन, (रासस–एएफपी) । अमेरिकी सामानमा कर घटाउने वाशिङ्गटनसँगको व्यापार सम्झौताले भारतीय कृषिलाई चोट पुर्याउने र कृषकको जीविकोपार्जनलाई खतरामा पार्ने चेतावनी दिँदै बिहीबार भारतीय किसानहरूले सम्झौताको विरोधका लागि नयाँदिल्लीलगायतका प्रमुख शहरमा प्रदर्शन गरेका छन् । गत हप्ता घोषणा गरिएको सम्झौतालाई किसान सङ्गठनहरूले भारतीय संघीय सरकारले किसानलाई दिएको आश्वासनका बाबजुद अमेरिकी कृषि क्षेत्रका ठूला कम्पनीसमक्ष ‘पूर्ण आत्मसमर्पण’ भनेका छन्।

    झन्डा फहराउँदै र ब्यानर बोकेका किसान र ट्रेड युनियनका सदस्यहरूले भारतका प्रमुख शहरहरूमा र्याली गरे, केही स्थानहरूमा प्रहरीसँग सामान्य झडप भएको रिपोर्ट गरिएको छ । आयोजकहरूले साझा गरेका तस्वीरमा हजारौँ मानिसहरू सडकमा उत्रिएका देखिन्छ । प्रमुख प्रतिपक्षी दलका नेता राहुल गान्धीले आफलेू किसानको सङ्घर्षलाई साथ दिएको बताए ।


    उनले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “किसानहरू व्यापार सम्झौताले उनीहरूको जीविकोपार्जनमा असर पार्छ कि भन्ने चिन्तामा छन् ।” व्यापार सम्झौताका सर्तहरू अन्तर्गत, भारतले ‘सबै अमेरिकी औद्योगिक वस्तुहरू र अन्य खाद्य र कृषि उत्पादनहरूमा कर हटाउने वा घटाउनेछ। अमेरिकाले भारतबाट आयात हुने कपडा तथा तयारी पोशाक, छालाका जुत्ता, छालाबाट बनेका सामान प्लास्टिक, रबर, जैविक रसायन र केही मेसिनरी सामग्रीमा १८ प्रतिशत कर लगाउने भएको छ ।

    मोदी सरकारले संवेदनशील कृषि उत्पादन, दुग्ध र कुखुरापालनलाई सम्झौताको दायराबाट बाहिर राखिएको भन्दै किसानहरूको चासो हटाउन खोजेको छ।

    कृषि क्षेत्रले विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको राष्ट्र भारतमा ४५ प्रतिशतभन्दा बढी मानिसहरूलाई धान्न मद्दत गर्दछ, जसले यसलाई शक्तिशाली सडक शक्ति भएको प्रभावशाली मतदाताको समूह बनाउँछ । व्यक्तिगत फार्महरू साना र प्रायः अनुत्पादक हुन्छन् र एकपछि अर्को भारतीय सरकारहरूले ऐतिहासिक रूपमा उनीहरूलाई विदेशी प्रतिस्पर्धाबाट जोगाउन हस्तक्षेप गर्दै आएका छन् ।

    बिहीबार भएको प्रदर्शनले सन् २०२० र सन् २०२१ मा महिनौंको प्रदर्शनको सम्झना ताजा गरेको छ, जसमा किसानहरूले नयाँदिल्लीको राजमार्गहरू अवरुद्ध गरेका थिए र राजधानीको ऐतिहासिक लाल किल्ला परिसरमा ट्याक्टर रोकेर विरोध प्रदर्शन गरेका थिए। विरोधको त्यो लहरले सरकारलाई यस क्षेत्रमा सुधार गर्ने उद्देश्यका कानूनहरू फिर्ता लिन दवाव सिर्जना गरेकोे छ ।

  • अमेरिकी अटो उद्योग आर्थिक संकटमा, फोर्ड पनि प्रभावित

    अमेरिकी अटो उद्योग आर्थिक संकटमा, फोर्ड पनि प्रभावित

    न्यूयोर्क,२९ माघ (रासस–एपी) । अमेरिकी अटोमोबाइल निर्माता फोर्ड मोटर कम्पनीले सन् २०२५ को चौथो त्रैमासिकमा घाटा व्यहोरेको जनाएको छ। यो सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीपछि देखिएको सबैभन्दा ठूलो त्रैमासिक नोक्सानमध्ये एक हो। उक्त अवधिमा कम्पनीले करिब ४५ दशमलव ९ अर्ब डलर आम्दानी गरेको भए पनि उच्च आयात शुल्क, कच्चा पदार्थको मूल्यवृद्धि, उत्पादन लागतमा वृद्धि तथा आपूर्ति शृंखलामा आएको अवरोधका कारण नाफा प्रभावित भएको कम्पनीले जनाएको छ। विशेषगरी केही आयातित अटो पार्ट्समा लाग्ने अतिरिक्त कर र शुल्कले वित्तीय दबाब बढाएको उल्लेख गरिएको छ।

    कम्पनीले विद्युतीय सवारी साधन कार्यक्रमतर्फ गरिएको ठूलो लगानी र संरचनात्मक पुनर्संरचनासम्बन्धी खर्चले पनि घाटा बढाउन भूमिका खेलेको बताएको छ। विद्युतीय सवारी उत्पादन विस्तार गर्ने क्रममा प्रारम्भिक चरणमा उच्च लागत व्यहोर्नुपरेको विश्लेषकहरूले बताएका छन्। फोर्डका प्रमुख कार्यकारी अधिकृतले आगामी वर्ष लागत नियन्त्रण, उत्पादन दक्षता वृद्धि र प्रतिस्पर्धी मोडेल विकासमार्फत वित्तीय अवस्थामा सुधार ल्याउने लक्ष्य रहेको बताएका छन् ।


    कम्पनीले सन् २०२६ मा ब्याज र करअघिको नाफामा उल्लेखनीय सुधार हुने अपेक्षा व्यक्त गरेको छ। यद्यपि, विश्वव्यापी बजार प्रतिस्पर्धा, व्यापार नीतिमा अनिश्चितता तथा लागत वृद्धिका चुनौतीहरू कायम रहेकाले कम्पनीले दीर्घकालीन रणनीति सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको विश्लेषण गरिएको छ।

  • दबाबबीच इरानमा क्रान्ति दिवस

    दबाबबीच इरानमा क्रान्ति दिवस

    दुबई, २९ माघ (रासस–एपी) । इरानले सन् १९७९ को इस्लामिक क्रान्तिको ४७औँ वार्षिकोत्सव बुधबार मनाएको छ, तर देश भित्री असन्तोष र बाह्य दबाबका कारण संवेदनशील अवस्थामा रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा अर्को विमानवाहक समूह पठाउने सङ्केत गरेका छन् । इरानभित्र हालै भएका विरोध प्रदर्शनमाथि गरिएको कठोर दमनको अन्तर्राष्ट्रिय आलोचना जारी छ ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको वासिङ्टन भ्रमणको सन्दर्भमा ट्रम्पले तेहरानसँग सम्भावित नयाँ आणविक सम्झौतामा कडा सर्त राख्नुपर्ने धारणा व्यक्त गरेका थिए । यसैक्रममा, पछिल्लो चरणको वार्तामा मध्यस्थता गरेको ओमान भ्रमणपछि एक वरिष्ठ इरानी सुरक्षा अधिकारी कतार पुग्ने कार्यक्रम रहेको जनाइएको छ ।

    राज्य सञ्चारमाध्यमहरूले तेहरानसहित देशभर हजारौँ समर्थकहरू सडकमा उत्रिएको दृश्य प्रसारण गरेका छन्, जहाँ इस्लामिक गणतन्त्र र ८६ वर्षीय सर्वोच्च नेता अयातुल्ला अली खामेनीप्रति समर्थन जनाइएको छ । यद्यपि राजधानी तेहरानमा केही स्थानबाट ‘तानाशाह मूर्दावाद’ जस्ता नारासमेत सुनिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

    सडक प्रदर्शनमा सहभागीहरूले इरानी र प्यालेस्टिनी झण्डासहित खामेनी तथा इस्लामिक गणतन्त्रका संस्थापक आयातोल्लाह रुहोल्लाह खोमेनीका तस्बिर बोकेका थिए । कतिपयले ‘अमेरिका मूर्दावाद’ र ‘इजरायल मूर्दावाद’ जस्ता नारा लगाएका थिए । सुधारवादी राष्ट्रपति मसुद पेजेस्कियानले तेहरानको आजादी स्क्वायरमा सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । उनले यसअघि विदेशमन्त्रीलाई अमेरिकी पक्षसँग वार्ता अघि बढाउन निर्देशन दिएका थिए ।


    आठ करोड ५० लाख जनसङ्ख्या भएको इरानमा शासनप्रति बलियो समर्थन गर्ने समूह अझै सक्रिय रहेको छ, जसमा अर्धसैनिक क्रान्तिकारी गार्डका सदस्यहरू पनि पर्छन् । हालैको दमनमा हजारौँ पक्राउ परेका र कैयौँ मारिएका विवरण सार्वजनिक भएका छन् । केही नागरिकहरू सरकारी कर्मचारी भएकाले वा सरकारी प्रायोजनमा आयोजित कार्यक्रमको वातावरणका कारण पनि समारोहमा सहभागी हुने गरेका छन् ।

    स्मरणोत्सवपछि वरिष्ठ सुरक्षा अधिकारी अली लारिजानी ओमानबाट कतारतर्फ प्रस्थान गर्नुभएको छ । कतारले अमेरिकी सैन्य आधार होस्ट गर्दछ, जसलाई इरानले गत जुनको १२ दिने इरान–इजरायल युद्धको क्रममा आक्रमण गरेको थियो । कतार विगतमा इरानसँग वार्तामा महत्त्वपूर्ण मध्यस्थकर्ता रहँदै आएको छ । रूसी सञ्चारमाध्यमसँग कुरा गर्दै विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाप्रति पूर्ण विश्वास नरहेको बताए ।

    गत जुनमा वार्ताकै बीचमा आक्रमण भएको अनुभव अत्यन्तै नकारात्मक रहेको उनको भनाइ थियो । भविष्यमा त्यस्तो अवस्था दोहोरिन नदिन ग्यारेन्टी आवश्यक रहेको र त्यसमा धेरै हदसम्म अमेरिका जिम्मेवार हुने उनले बताए । यद्यपि उहाँले सन् २०१५ को आणविक सम्झौताभन्दा अझ राम्रो सहमति सम्भव हुन सक्ने सङ्केत गरेका छन् ।


    संयुक्त राज्य अमेरिकाले युएसएस अब्राहम लिङ्कनसहितका युद्धपोत र लडाकू विमानहरू यसअघि नै मध्यपूर्वमा तैनाथ गरिसकेको छ । ट्रम्पले आवश्यक परे दोस्रो विमानवाहक पनि पठाउन सकिने बताए । कुन जहाज पठाइने हो भन्ने स्पष्ट नभए पनि युएसएस जर्ज एच. डब्ल्यु. बुश र युएसएस जेराल्ड आर. फोर्ड क्षेत्रीय गतिविधिसँग जोडिएका नामका रूपमा उल्लेख भएका छन् ।

  • क्यानाडामा गोलीकाण्डमा ज्यान जानको संख्या ९ पुग्यो

    क्यानाडामा गोलीकाण्डमा ज्यान जानको संख्या ९ पुग्यो

    टोरन्टो, २९ माघ (रासस–एएफपी) । पश्चिमी क्यानाडाको दुर्गम क्षेत्रमा मङ्गलबार भएको सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । घटनामा सात जना माध्यमिक विद्यालयमा गोली हानेर मारिएका छन् । घटना रकी पर्वतमालाको फेदीमा अवस्थित सुरम्य पहाडी उपत्यका सहर ब्रिटिस कोलम्बियाको टम्बलर रिजमा भएको हो । रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसिएमपी) ले जारी गरेको विज्ञप्तिअनुसार कुल २७ जना घाइते भएका छन् । तीमध्ये दुई जनाको अवस्था गम्भीर छ भने अन्य २५ जनालाई विभिन्न किसिमको चोटपटक लागेको छ ।

    क्यानाडाली सञ्चारमाध्यमहरूले बन्दुकधारी महिला भएको जनाएका छन् । तर आरसिएमपीले मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा संदिग्धको पहिचानबारे विस्तृत विवरण दिन अस्वीकार गरेको छ । प्रहरीका अनुसार मङ्गलबार दिउँसो टम्बलर रिज माध्यमिक विद्यालयमा सक्रिय बन्दुकधारी रहेको चेतावनी जारी गरिएको थियो । सुरक्षाकर्मीहरूले विद्यालय परिसरको खोजी गर्दा छ जनालाई गोली हानेर हत्या गरिएको अवस्थामा फेला पारेका थिए । अर्को एक जना घाइतेको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो ।

    यसैबीच प्रहरीले टम्बलर रिजस्थित एक निवासबाट थप दुई जनाको शव फेला पारेको जनाएको छ । उक्त घर घटनासँग जोडिएको विश्वास गरिएको प्रहरीले उल्लेख गरेको छ । विद्यालय परिसरभित्र गोली चलाउने व्यक्तिको रूपमा आशङ्का गरिएको व्यक्ति पनि मृत अवस्थामा फेला परेको र प्रारम्भिक रूपमा आत्महत्या जस्तो देखिएको प्रहरीले जनाएको छ । टम्बलर रिज नगरपालिकाले जारी गरेको वक्तव्यमा समुदायले भोगिरहेको पीडालाई शब्दमा व्यक्त गर्न नसकिने उल्लेख गरिएको छ ।

    घटनाका बेला विद्यालयमा रहेका विद्यार्थी डेरियन क्विस्टले सार्वजनिक प्रसारक सिबिसीलाई आफू मेकानिक्स कक्षामा रहेका बेला विद्यालय सुरक्षात्मक बन्द अवस्थाको घोषणा भएको बताए । सुरुमा आफूले सामान्य सावधानी ठाने पनि केही समयपछि विद्यालयभित्रको घटनाका तस्बिरहरू प्राप्त हुन थालेपछि स्थिति गम्भीर रहेको महसुस भएको उनले बताए । त्यसपछि वास्तविकता स्पष्ट भएको उनले बताए ।
    उनले करिब दुई घण्टाभन्दा बढी समय सुरक्षात्मक बन्द अवस्थामा बस्नुपरेको र त्यसपछि प्रहरी विद्यालयभित्र प्रवेश गरी सबैलाई हात माथि उठाएर बाहिर निस्कन निर्देशन दिएको जानकारी दिए । डेरियनकी आमा शेली क्विस्टले पनि सिबिसीसँग कुरा गर्दै स्थल सुरक्षित घोषणा भएपछि छोरोसँग भेट हुँदा अँगालो हालेर समातेको बताइन् ।

    अब केही समय उहाँलाई आफ्नो नजरबाट टाढा जान नदिने उनले उल्लेख गरे । प्रधानमन्त्री मार्क कार्नीले घटनाप्रति आफू स्तब्ध भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले हिंसाका यस्ता भयानक कार्यमा आफ्ना प्रियजन गुमाउने परिवार र साथीहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।


    ब्रिटिस कोलम्बियाका प्रिमियर डेभिड इबीले पनि घटनालाई अकल्पनीय हिंसा भन्दै निन्दा गरेका छन् । सङ्घीय विपक्षी नेता पियरे पोइलिभ्रेले यसलाई हिंसाको मूर्खतापूर्ण कार्यको संज्ञा दिएका छन् । क्यानाडामा यस्ता सामूहिक गोलीकाण्ड विरलै हुने गर्दछन् । तर गत अप्रिलमा भ्यानकुभरमा फिलिपिन्सको सांस्कृतिक उत्सवलाई लक्षित गरी गरिएको गाडी आक्रमणमा ११ जनाको मृत्यु भएको थियो ।

    आरसिएमपीका उत्तरी जिल्ला कमान्डर केन फ्लोइडले घटनालाई द्रुत रूपमा विकसित र अत्यन्त जटिल अवस्था भएको बताएका छन् । उनले यो दिन समुदायका लागि अत्यन्त गाह्रो र भावनात्मक रहेको उल्लेख गर्दै अनुसन्धान अघि बढाउन देखाएको सहयोगप्रति आभार व्यक्त गरेका छन् । प्रहरीले घटनासँग सम्बन्धित थप स्थानहरू हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै समुदायका अन्य घर तथा सम्पत्तिको पनि खोजी गरिरहेको जनाएको छ ।

    करिब दुई हजार ४०० जनसङ्ख्या रहेको शान्त सहर टम्बलर रिज, ब्रिटिस कोलम्बियाको सबैभन्दा ठुलो सहर भ्यानकुभरबाट एक हजार १०० किलोमिटरभन्दा बढी उत्तरमा अवस्थित छ । नगरपालिकाले ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यस त्रासदीले परिवार, विद्यार्थी, कर्मचारी र सम्पूर्ण समुदायमा गहिरो प्रभाव पारेको उल्लेख गरेको छ । समुदाय अहिले शोक र स्तब्धताको अवस्थामा रहेको जनाइएको छ ।

  • इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर भोलि नेपाल आउँदै

    इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर भोलि नेपाल आउँदै

    काठमाडौँ, २८ माघ । संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो तीनदिने भ्रमणका लागि भोलि (बिहीबार) नेपाल आउँदै छन् । भ्रमणका दौरान उहाँले औपचारिक भेटघाटका साथै पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकनसमेत गर्ने नेपाली सेनाले जनाएको छ ।

    यस प्रकारको भ्रमणबाट दुई देशबीचकोसम्बन्ध थप प्रगाढ हुनुका साथै मानवीय सहयोग, विपद् व्यवस्थापन तथा अन्तरराष्ट्रिय शान्ति स्थापनाकार्यजस्ता क्षेत्रमा टेवा पुग्ने विश्वास गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उनी पूर्वनिर्धारित कार्यक्रमबमोजिम नेपाल आउन लागेको बताइएको छ ।

  • समुन्द्रमा अमेरिकी सेनाको कारबाही : प्रतिबन्धित तेल जहाज नियन्त्रणमा

    समुन्द्रमा अमेरिकी सेनाको कारबाही : प्रतिबन्धित तेल जहाज नियन्त्रणमा

    वासिङ्टन, २८ माघ (रासस–एपी) । संयुक्त राज्य अमेरिकाले प्रतिबन्धित तेल ढुवानी गर्ने जहाज नियन्त्रणमा लिएको छ । अमेरिकी रक्षा मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका अनुसार यो जहाजलाई कारिबियन समुद्रमा ट्र्याक गरी बोर्डिङ गरिएको हो । जहाजले प्रतिबन्ध पालना नगरेको आशङ्का गरिएको थियो र यसलाई नियन्त्रणमा लिनु आवश्यक देखियो । अमेरिकी अधिकारीहरूले जहाजले हाल कुनै तेल नबोकेको भनेका छन्, तर यसबारे थप अनुसन्धान र निर्णय प्रक्रिया जारी छ ।

    अमेरिकाले भेनेजुएलासँग सम्बन्धित तेलमा लगाइएको प्रतिबन्धलाई उल्लङ्घन गर्ने जहाजहरूमाथि निगरानी राख्दै आएको छ । यस बोर्डिङको उद्देश्य यस्तो जहाजलाई रोक्नु मात्र नभई अन्तर्राष्ट्रिय नियम र प्रतिबन्धको पालना सुनिश्चित गर्नु हो । अधिकारीहरूले अमेरिकाले यस प्रकारका जहाजहरूलाई नियन्त्रणमा लिन र अनियन्त्रित तेल ढुवानी रोक्न प्रतिबद्धता जनाएको छ ।

    यस घटनाले अमेरिका र भेनेजुएला सम्बन्धमा व्यापारिक र राजनीतिक दबाबको विषयलाई फेरि उजागर गरेको छ । अन्तर्राष्ट्रिय समुद्री मार्गहरूमा तेल ढुवानी र प्रतिबन्धको पालना सुनिश्चित गर्न अमेरिकी कदमलाई ध्यान दिइएको छ । सुरक्षा अधिकारीहरूले भनेका छन् कि आगामी दिनमा यस्ता जहाजहरूको निगरानी अझ कडा बनाइनेछ र नियम उल्लङ्घन गर्ने गतिविधि नहुने सुनिश्चित गरिनेछ ।

  • संयुक्त राष्ट्रसंघमा बजेट अभाव, अमेरिकाले दिएन ठूलो भुक्तानी

    संयुक्त राष्ट्रसंघमा बजेट अभाव, अमेरिकाले दिएन ठूलो भुक्तानी

    संयुक्त राष्ट्रसंघ, २८ माघ (रासस–एपी) । संयुक्त राष्ट्रसङ्घले अमेरिकाबाट अपेक्षित रकम नआउँदा आर्थिक संकटको सामना गरिरहेको छ। महासचिव एन्टोनियो गुटेरेसले सबै सदस्य राष्ट्रले समयमै शुल्क तिर्न नसकेमा तथा सङ्गठनका वित्तीय नियमहरू सुधार नभएमा संयुक्त राष्ट्रसङ्घ गम्भीर आर्थिक सङ्कटमा पर्न सक्ने चेतावनी दिएका थिए ।

    संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूका अनुसार, अमेरिकाले नियमित सञ्चालन बजेटका लागि करिब दुई अर्ब डलर तिर्न बाँकी छ, जसमा यस वर्षको लागि सात करोड ६७ लाख डलर पनि समावेश छ । साथै, शान्ति स्थापना कार्यका लागि छुट्टै बजेटमा पनि ठूलो रकम बाँकी छ ।

    अमेरिकी प्रतिनिधित्वको अनुसार आगामी केही हप्ताभित्र अमेरिकी प्रशासनले आफ्नो बाँकी रकमको आंशिक भुक्तानी गर्ने योजना बनाइरहेको छ । यस विषयमा महासचिव गुटेरेस र अमेरिकी अधिकारीहरूबीच निरन्तर सम्पर्क भइरहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

    महासचिव गुटेरेसका अनुसार यदि आवश्यक रकम समयमै प्राप्त भएन भने, यस वर्ष जुलाईसम्म नियमित बजेट सकिन सक्ने र यसले सङ्गठनका गतिविधिमा गम्भीर असर पार्न सक्ने सम्भावना छ । संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले नियमित बजेटतर्फको अधिकांश बक्यौता अमेरिकाकै हिस्सामा रहेको बताएका छन् । हालसम्म करिब ६० देशले तोकिएको समयभित्र आफ्नो वार्षिक शुल्क भुक्तानी गरिसकेका छन् ।

  • हमासद्वारा निशस्त्रीकरण र विदेशी शासन अस्वीकार

    हमासद्वारा निशस्त्रीकरण र विदेशी शासन अस्वीकार

    दोहा, २६ माघ (रासस–एएफपी) । हमासका एक शीर्ष नेताले आइतबार प्यालेस्टिनी इस्लामवादी आन्दोलनले आफ्नो हतियार नत्याग्ने र गाजामा कुनै पनि प्रकारको विदेशी हस्तक्षेप वा शासन स्वीकार नगर्ने स्पष्ट पार्दै अमेरिका र इजरायलतर्फबाट आएको दबाबलाई अस्वीकार गरेका छन् । दोहामा आयोजित एक सम्मेलनमा वरिष्ठ हमास नेता खालिद मेशालले प्रतिरोध आन्दोलन, त्यसका हतियार र तिनलाई सञ्चालन गर्ने व्यक्तिहरूलाई आपराधीकरण गर्ने प्रयास अस्वीकार्य भएको बताए । उनले भने, “प्रतिरोध, त्यसका हतियार र यसलाई सञ्चालन गर्नेहरूलाई अपराधका रूपमा प्रस्तुत गर्नु हामीले स्वीकार गर्न सक्दैनौँ ।”

    उनका अनुसार, जबसम्म कुनै भूभागमा कब्जा कायम रहन्छ, तबसम्म प्रतिरोध पनि रहनेछ । “जहाँ कब्जा हुन्छ, त्यहाँ प्रतिरोध हुन्छ । प्रतिरोध कब्जामा परेका जनताको अधिकार हो, जसलाई संसारका राष्ट्रहरूले पनि सम्मान र गर्वका साथ हेर्छन्”, यस समूहका पूर्व प्रमुखसमेत रहनुभएका मेशालले भने । इस्लामवादी आन्दोलन हमासले प्यालेस्टिनी भूभागहरूमा इजरायलको कब्जा रहेको दाबी गर्दै त्यसको विरोधमा सशस्त्र सङ्घर्ष गर्दै आएको छ । सन् २०२३ अक्टोबर ७ मा गाजाबाट इजरायलतर्फ गरिएको घातक सीमापार आक्रमणपछि पछिल्लो युद्ध सुरु भएको थियो ।

    हाल गाजामा अमेरिकी मध्यस्थतामा गरिएको युद्धविराम दोस्रो चरणमा प्रवेश गरिसकेको छ, जसअन्तर्गत इजरायली सेनाको क्रमिक फिर्तीसँगै हमासको निशस्त्रीकरण र क्षेत्रको विसैन्यीकरणको परिकल्पना गरिएको छ । तर हमासले बारम्बार निशस्त्रीकरण आफूहरूका लागि ‘लक्ष्मण रेखा’ भएको स्पष्ट गर्दै आएको छ । यद्यपि, भविष्यमा बन्न सक्ने प्यालेस्टिनी शासक प्राधिकरणलाई आफ्ना हतियार हस्तान्तरण गर्ने विषयमा भने विचार गर्न सकिने सङ्केत यसले यसअघि दिएको थियो ।

    इजरायली अधिकारीहरूको दाबीअनुसार, हाल पनि हमाससँग गाजामा करिब २० हजार लडाकू र लगभग ६० हजार कलाश्निकोभ राइफलहरू छन् । दैनिक प्रशासनिक जिम्मेवारी सम्हाल्ने उद्देश्यसहित गाजामा एक प्यालेस्टिनी प्राविधिक समिति गठन गरिएको छ, तर यस समितिले क्षेत्रको सैन्यीकरणसम्बन्धी विषयलाई कसरी सम्बोधन गर्ने भन्नेबारे अझै स्पष्टता देखिएको छैन ।

    यो समिति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा अघि सारिएको तथाकथित ‘बोर्ड अफ पिस’ पहलअन्तर्गत सञ्चालनमा रहेको बताइएको छ । सुरुमा गाजा युद्धविरामको निगरानी र युद्धपछिको पुनर्निर्माणका लागि कल्पना गरिएको यस बोर्डको कार्यक्षेत्र पछि विस्तार गरिएको थियो । यस विस्तारले संयुक्त राष्ट्रसङ्घको भूमिकासँग प्रतिस्पर्धा हुन सक्ने भन्दै आलोचकहरूमा चिन्ता उत्पन्न गरेको छ । गत महिना स्विट्जरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक फोरमका क्रममा राष्ट्रपति ट्रम्पले उक्त बोर्डको औपचारिक घोषणा गर्नुभएको थियो । सो अवसरमा करिब दुई दर्जन देशका नेता र अधिकारीहरूले बोर्डको स्थापना चार्टरमा हस्ताक्षर गर्दै समर्थन जनाएका थिए ।

    शान्ति बोर्डसँगै, ट्रम्पले गाजा कार्यकारी बोर्ड पनि गठन गर्नुभएको छ, जसलाई प्यालेस्टिनी टेक्नोक्रेटिक समितिको सल्लाहकार प्यानलका रूपमा प्रस्तुत गरिएको छ । यस प्यानलमा अमेरिकी दूत स्टिभ विटकफ, जारेड कुशनर तथा बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरलगायत अन्तर्राष्ट्रिय व्यक्ति सहभागी छन् । आइतबार फेरि प्रतिक्रिया दिँदै मेशालले शान्ति बोर्डले गाजाको पुनर्निर्माण र करिब २२ लाख बासिन्दालाई मानवीय सहायता प्रवाह गर्न सन्तुलित दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिए । तर उनले हमासले प्यालेस्टिनी भूमिमा कुनै पनि प्रकारको विदेशी शासन स्वीकार नगर्ने चेतावनीसमेत दिए ।


    “हामी हाम्रा राष्ट्रिय सिद्धान्तहरूमा अडिग छौँ र संरक्षकता, बाह्य हस्तक्षेप वा कुनै पनि रूपमा जनादेश पुनःस्थापित गर्ने तर्कलाई अस्वीकार गर्छौं”, उनले भने, “प्यालेस्टिनीहरूले प्यालेस्टिनीहरूलाई नै शासन गर्नुपर्छ । गाजा गाजावासी र सम्पूर्ण प्यालेस्टिनी जनताको हो । हामी विदेशी शासनलाई स्वीकार गर्दैनौँ ।”

  • इरानले अमेरिकी वार्तामा कडा अडान दोहोर्‍यायो

    इरानले अमेरिकी वार्तामा कडा अडान दोहोर्‍यायो

    दुबई, २६ माघ (रासस–एपी) । इरानका शीर्ष कूटनीतिज्ञले आइतबार तेहरानको शक्ति ‘महान शक्तिहरूलाई होइन भन्न सक्ने क्षमता’ बाट आएको दाबी गर्दै अमेरिकी वार्ताप्रति कडा अडान प्रस्तुत गरेका छन् । आफ्नो आणविक कार्यक्रमलाई लिएर संयुक्त राज्य अमेरिकासँग संवाद भइरहेका बेला र देशभित्र विरोध चर्किएको पृष्ठभूमिमा उक्त टिप्पणी आएको हो । तेहरानमा आयोजित शिखर सम्मेलनमा कूटनीतिज्ञहरूसँग बोल्दै विदेशमन्त्री अब्बास अराघचीले इरान युरेनियम संवर्धन गर्न सक्षम हुनैपर्ने अडानमा कायम रहने सङ्केत दिनुभयो । यही विषय १२ दिनसम्म चलेको इरान–इजरायल युद्ध र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको तीव्र विवादको केन्द्रमा रहेको थियो ।

    इरानी राष्ट्रपति मसुद पेजेस्कियानले शुक्रबार ओमानमा अमेरिकी पक्षसँग भएको वार्तालाई ‘एक कदम अगाडि’ भएको बताएको भए पनि अराघचीका भनाइले आगामी वार्ता सजिलो नहुने सङ्केत गरेको छ । यसबीच संयुक्त राज्य अमेरिकाले विमान वाहक युएसएस अब्राहम लिङ्कन, युद्धपोत र लडाकू विमानहरू मध्यपूर्वमा तैनाथ गरेको छ, जसलाई ट्रम्प प्रशासनले दबाबको माध्यमका रूपमा लिएको छ । अराघचीले इस्लामिक गणतन्त्रको शक्ति बदमाशी, प्रभुत्व र बाह्य दबाबविरुद्ध उभिन सक्ने क्षमतामा रहेको बताए । उनले ‘आणविक बम’ शब्दलाई प्रतीकात्मक रूपमा प्रयोग गर्दै इरान कुनै बम बनाउन नलागेको तर शक्तिहरूलाई अस्वीकार गर्न सक्ने क्षमताकै कारण डर पैदा भएको दाबी गरे ।


    इरानले लामो समयदेखि आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण रहेको बताउँदै आएको छ । तर पश्चिमी देशहरू र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका अनुसार सन् २००३ सम्म इरानसँग बम विकाससम्बन्धी सङ्गठित सैन्य कार्यक्रम थियो । इरानले ६० प्रतिशतसम्म युरेनियम संवर्धन गरिरहेको छ, जुन हतियारस्तरभन्दा केही कम हो ।

    राष्ट्रपति पेजेस्कियानले सामाजिक सञ्जालमा वार्तालाई क्षेत्रीय मित्र राष्ट्रहरूको मध्यस्थतामा भएको प्रगति भन्दै शान्तिपूर्ण समाधानका लागि संवाद नै इरानको रणनीति रहेको उल्लेख गरे । तर उनले इरानी राष्ट्रले बलको भाषा स्वीकार नगर्ने स्पष्ट गरे । दोस्रो चरणको वार्ता कहिले र कहाँ हुने भन्ने अझै स्पष्ट छैन । वार्ताकै समयमा अमेरिकी सेन्ट्रल कमान्डका प्रमुख ब्राड कुपर ओमानमा उपस्थित हुनु अमेरिकी सैन्य दबाबको सङ्केतका रूपमा हेरिएको छ । अराघचीले विगतका वार्ताका क्रममा पनि अमेरिकी आक्रमण भएको अनुभव स्मरण गर्दै यदि वार्तामा एक कदम पछि हटे स्थिति कहाँ पुग्छ भन्ने अनिश्चित रहेको चेतावनी दिए ।

  • मस्कको नयाँ कदम : अन्तरिक्षमा डाटा सेन्टर र एआई

    मस्कको नयाँ कदम : अन्तरिक्षमा डाटा सेन्टर र एआई

    न्यूयोर्क,२४ माघ (रासस–एपी) । एलन मस्कले अन्तरिक्षमा सूचना केन्द्र स्थापना गर्ने योजना सार्वजनिक गरेका छन् । करिब एक लाख उपग्रहलाई आकाशमा राखेर सूर्यको ऊर्जाबाट चल्ने सूचना केन्द्र निर्माण गरिनेछ, जसले कृत्रिम बुद्धिमत्ता प्रणाली र संवादात्मक कार्यक्रमहरू सञ्चालन गर्दा विजुली संकट रोक्न मद्दत गर्नेछ।

    यसको लागि उनले आफ्नो अन्तरिक्ष संस्था र एआई व्यवसायलाई एकसाथ जोडेर ठूलो सार्वजनिक प्रस्ताव गर्ने योजना बनाएका छन् । तर विज्ञहरूले चेतावनी दिए, ‘अन्तरिक्षमा सूचना केन्द्र स्थापना गर्न धेरै प्राविधिक, आर्थिक र वातावरणीय चुनौतीहरू छन्।

    कम्प्युटर चिपहरूले धेरै तातो उत्पादन गर्छन्, र अन्तरिक्षको शून्य हावामा तातो बाहिर जान कठिन हुन्छ। यस समस्याको समाधानका लागि विशाल रेडिएटर प्यानलहरू बनाउने योजना छ, तर यस्ता संरचना अहिलेसम्म कहिल्यै निर्माण भएका छैनन्।’


    अन्तरिक्षमा उपग्रह बिग्रिनुको सम्भावना पनि उच्च छ, जसले आपतकालीन सञ्चार र मौसम पूर्वानुमानमा असर पार्न सक्छ। मस्कका अनुसार, आगामी ३०–३६ महिनाभित्र अन्तरिक्ष नै बुद्धिमत्ता प्रणालीको सबैभन्दा उपयुक्त स्थान बन्नेछ। तर विज्ञहरूले भनेका छन्,’ बिग्रेका उपकरण मर्मत गर्न मानिसहरू पुग्न नसक्ने र सूर्यको उच्च ऊर्जा कणले उपकरणमा असर पार्ने चुनौती रहन्छ।’ अन्य कम्पनीहरू पनि अन्तरिक्षमा सूचना केन्द्र स्थापना गर्ने प्रयास गर्दैछन्। विशेषज्ञहरूले यसलाई अन्तरिक्ष क्षेत्रमा शक्ति प्रदर्शनको रूपमा पनि व्याख्या गरेका छन्।

  • अमेरिका–भारत अन्तरिम व्यापार सम्झौता घोषणा

    अमेरिका–भारत अन्तरिम व्यापार सम्झौता घोषणा

    नयाँदिल्ली, २४ माघ (रासस–क्युएनए) । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२५ फेब्रुअरी मा सुरु गरेको अमेरिका–भारत द्विपक्षीय व्यापार सम्झौता (बिटीए) वार्तालाई अगाडि बढाउन अन्तरिम व्यापार सम्झौताको घोषणा गरेका छन् । संयुक्त राज्य अमेरिका र भारत बीचको अन्तरिम सम्झौताले व्यापारमा ऐतिहासिक कोसेढुङ्गाको प्रतिनिधित्व गर्दै आपसी हित र पारस्परिक सन्तुलित व्यापारको साझा प्रतिबद्धता प्रदर्शन गर्ने जनाइएको छ ।

    सम्झौताको एक हिस्साको रूपमा, भारतले सबै अमेरिकी औद्योगिक सामानहरू र अमेरिकी खाद्य र कृषि उत्पादनहरूको विस्तृत श्रृंखलामा शुल्क हटाउने वा घटाउने छ । जसमा सुकेको अन्न, रूख बदाम, ताजा र प्रशोधन गरिएका फलफुलहरू, सोयाबिन तेल, वाइन लगायत समावेश छन् ।

    संयुक्त वक्तव्य अनुसार संयुक्त राज्य अमेरिकाले कपडा , छाला जुत्ता, प्लास्टिक , रबर, जैविक रसायन, घरको सजावट, र केही मेसिनरी क्षेत्रहरूलाई समेट्ने सान्दर्भिक कार्यकारी आदेश अन्तर्गत भारतीय मूलका सामानहरूमा १८ प्रतिशतको पारस्परिक शुल्क लागू गर्नेछ । “अन्तरिम सम्झौताको सफल निष्कर्षमा, अमेरिकाले जेनेरिक फार्मास्यूटिकल्स, रत्न र हीरा, र विमानका भागहरू लगायत सामानहरूको विस्तृत श्रृंखलामा पारस्परिक शुल्क हटाउनेछ । “

    सम्झौताले एल्युमिनियम, स्टिल र तामामा राष्ट्रिय सुरक्षा सम्बन्धी घोषणाहरू अन्तर्गत लगाइएका केही भारतीय विमान र विमानका भागहरूमा अमेरिकी शुल्क हटाउने पनि व्यवस्था गरेको छ । भारतले अमेरिकी राष्ट्रिय सुरक्षा आवश्यकता अनुरूप अटोमोटिभ पाट्र्सका लागि प्राथमिकता शुल्क दर प्राप्त गर्नेछ । अमेरिकी अनुसन्धानको नतिजाको आधारमा, भारत पनि जेनेरिक औषधि र औषधि सामग्रीका लागि वार्ताको नतिजाहरू प्राप्त गर्न तयार भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    दुवै देशहरू एक–अर्कालाई दिगो आपसी हितका क्षेत्रहरूमा बजार पहुँच प्रदान गर्न र सम्झौताको लाभ संयुक्त राज्य अमेरिका र भारतलाई सुनिश्चित गर्न उत्पत्ति नियमहरू स्थापना गर्न प्रतिबद्ध रहेको जनाइएको छ । दुवै पक्षले द्विपक्षीय व्यापारलाई असर गर्ने गैर– शुल्क बाधाहरूलाई सम्बोधन गर्ने विज्ञप्तिमा उल्लेख छ । भारत अमेरिकी चिकित्सा उपकरण, सूचना र सञ्चार प्रविधि सामान, खाद्य र कृषि उत्पादन जस्ता क्षेत्रमा लामो समय देखि रहेका बाधाहरूलाई सम्बोधन गर्न कदम चाल्न छ महिना भित्र अन्तर्राष्ट्रिय मापदण्डको स्वीकृतिको समीक्षा गर्न सहमत भएको जनाइएको छ ।

    अन्तरिम सम्झौता बाहेक, दुवै देशले बिटिए वार्ताको माध्यमबाट बजार पहुँच थप विस्तार गर्ने काम गर्ने बताएका छन् । वार्ताका क्रममा अमेरिकाले भारतीय सामानमा कर घटाउने प्रयास जारी राख्ने भारतको अनुरोधलाई विचार गर्ने बताएको छ । सम्झौताले आपूर्ति श्रृंखलामा लचिलोपन, लगानी समीक्षा, निर्यात नियन्त्रण, र तेस्रो पक्षहरूको गैर–बजार नीतिहरूको सम्बोधनमा सहयोग सहित आर्थिक सुरक्षालाई सुदृढ पार्ने जनाइएको छ ।

    सम्झौता अनुसार भारतले आगामी पाँच वर्षमा ५०० अर्ब अमेरिकी डलर मूल्यका अमेरिकी ऊर्जा उत्पादनहरू, विमान र विमानका पुर्जाहरू, बहुमूल्य धातुहरू, कोइला खरिद गर्ने इच्छा व्यक्त गरेको छ । डाटा सेन्टरमा प्रयोग हुने ग्राफिक्स प्रशोधन एकाइसहित प्रविधि उत्पादन व्यापारमा उल्लेखनीय वृद्धि गर्न र संयुक्त प्रविधि सहयोग विस्तार गर्न दुवै पक्ष सहमत भएका छन् ।

    संयुक्त राज्य अमेरिका र भारत डिजिटल व्यापारका बाधाहरूलाई सम्बोधन गर्न र बिटिए अन्तर्गत बलियो, पारस्परिक रूपमा फाइदाजनक डिजिटल व्यापार नियमहरूको लागि मार्ग प्रसस्त गर्न प्रतिबद्ध छन् । दुवै पक्षको सहमति अनुरूप व्यापक र पारस्परिक रूपमा फाइदाजनक द्विपक्षीय व्यापार सम्झौता सम्पन्न गर्ने दृष्टिकोणका साथ अन्तरिम सम्झौतालाई अन्तिम रूप दिन यथासिग्र काम गर्ने र यस सम्झौतालाई तुरुन्तै कार्यान्वयन गर्ने बताइएको छ ।

  • ट्रम्पले ओबामालाई बाँदरका रूपमा चित्रण गरेको भिडियो पोस्ट गरेपछि…

    ट्रम्पले ओबामालाई बाँदरका रूपमा चित्रण गरेको भिडियो पोस्ट गरेपछि…

    वासिङ्टन, २४ माघ (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एक चुनावी षड्यन्त्रसम्बन्धी भिडियो पोस्ट गरेका छन् । भिडियोमा पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामालाई बाँदरका रूपमा चित्रण गरिएको छ । उक्त भिडियो सार्वजनिक भएपछि प्रमुख डेमोक्रेट नेताहरूले कडा निन्दा गरेका छन् । राष्ट्रपति ट्रम्पको स्वामित्वमा रहेको ट्रुथ सोसल प्लेटफर्ममा पोस्ट गरिएको करिब एक मिनेट लामो भिडियोको अन्त्यतिर पूर्वराष्ट्रपति ओबामालाई बाँदरको शरीरमा झण्डै एक सेकेन्डका लागि अनुहारसहित देखाइएको छ ।

    ओबामाहरू देखिने दृश्यमा पृष्ठभूमिमा ‘द लायन स्लीप्स टुनाइट’ गीत बजिरहेको सुनिन्छ । उक्त भिडियोमा मतपत्र गणना गर्ने कम्पनी डोमिनियन भोटिङ सिस्टमले सन् २०२० को राष्ट्रपति निर्वाचन ट्रम्पबाट चोर्न सहयोग गरेको भन्ने झुटो आरोपलाई पुनः दोहोर्‍याइएको छ । शुक्रबार बिहानसम्म राष्ट्रपतिको सामाजिक सञ्जाल प्लेटफर्ममा उक्त भिडियो हजारौँ पटक लाइक गरिएको देखिएको थियो ।

    क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमको कार्यालयले उक्त पोस्टको आलोचना गरेको छ । न्युसम सन् २०२८ को एक सम्भावित डेमोक्रेटिक राष्ट्रपति उम्मेद्वार छन् । उनी राष्ट्रपति ट्रम्पका प्रमुख आलोचकहरूमध्ये एक हुन् । “राष्ट्रपतिको घृणित व्यवहार । प्रत्येक रिपब्लिकनले यसको निन्दा गर्नुपर्छ”, न्युसमको प्रेस अफिसको आधिकारिक एक्स खातामा पोस्ट गरिएको छ ।

    पूर्व शीर्ष राष्ट्रिय सुरक्षा सल्लाहकार तथा बाराक ओबामाका निकट विश्वासपात्र बेन रोड्सले पनि उक्त तस्बिरको आलोचना गरेका छन् । “यो ट्रम्प र उनका जातिवादी अनुयायीहरूलाई सताउन दिनुहोस् कि भावी अमेरिकीहरूले ओबामालाई हाम्रो इतिहासमा दागका रूपमा होइन, प्रिय व्यक्तित्वका रूपमा अध्ययन र अँगाल्नेछन्”, उनले एक्समा लेखेका छन् ।


    बाराक ओबामा अमेरिकी इतिहासका एक मात्र अश्वेत राष्ट्रपति हुन् । उनले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति ट्रम्पकी प्रतिद्वन्द्वी कमला ह्यारिसलाई समर्थन गरेका थिए । ह्वाइट हाउसमा आफ्नो दोस्रो कार्यकालको पहिलो वर्षमा राष्ट्रपति ट्रम्पले ट्रुथ सोसल तथा अन्य प्लेटफर्महरूमा अति–यथार्थवादी तर बनावटी दृश्यहरूको प्रयोगलाई निरन्तर बढावा दिएका छन् । ती पोस्टहरूमा प्रायः आफ्ना आलोचकहरूको निन्दा गर्दै आफूलाई महिमामण्डित गरिएको देखिन्छ ।

    उनले आफ्ना रूढिवादी समर्थकहरूलाई एकताबद्ध र सक्रिय बनाउन उत्तेजक पोस्टहरू प्रयोग गर्दै आएका छन् । गत वर्ष राष्ट्रपति ट्रम्पले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी बनाइएको एउटा भिडियो पोस्ट गरेका थिए । जसमा बाराक ओबामालाई ओभल अफिसमा गिरफ्तार गरिएको र सुन्तला रङको जम्पसुट लगाएर जेलमा देखाइएको थियो ।

    त्यसपछि उनले सदनका अल्पसङ्ख्यक नेता हाकिम जेफ्रीजलाई नक्कली जुँगा र सोमब्रेरो लगाइएको एआई क्लिप पनि पोस्ट गरेका थिए । जेफ्रीजले उक्त छविलाई खुला जातिवादी व्यवहारको संज्ञा दिएका थिए । ह्वाइट हाउसमा फर्किएपछि राष्ट्रपति ट्रम्पले विविधता, समानता र समावेशीकरण, अर्थात् डिइआई कार्यक्रमहरूविरुद्ध अभियान चलाएको भन्दै विरोधीहरूको आलोचना खेपेका छन् । राष्ट्रपति ट्रम्पका प्रारम्भिक निर्णयहरूमध्ये एक सङ्घीय सरकारका सबै डिइआई कार्यक्रमहरू, सेनासम्बन्धी नीतिहरू समेत, समाप्त गर्नु रहेको थियो ।

    उहाँले ‘अवेक’ पहलका रूपमा उपहास गर्नुभएको सशस्त्र फौजलाई मुक्त गर्ने अभियानअन्तर्गत अमेरिकाको भेदभावपूर्ण इतिहास समेट्ने थुप्रै पुस्तकहरू केही सैन्य एकेडेमीका पुस्तकालयका सेल्फबाट हटाइएको छ । अमेरिकाका सङ्घीय भेदभावविरोधी कार्यक्रमहरू सन् १९६० को दशकको नागरिक अधिकार आन्दोलनबाट जन्मिएका थिए । ती आन्दोलनहरू मुख्यतः अश्वेत अमेरिकीहरूको नेतृत्वमा सयौँ वर्षको दासत्वपछि समानता र न्यायका लागि सञ्चालन गरिएका थिए । सन् १८६५ मा दासत्व उन्मूलन भए पनि त्यसपछि अन्य संस्थागत स्वरूपका जातिवाद लागू भएको इतिहास रहेको देखिन्छ ।

  • अमेरिका–रुसबीच सैन्य संवाद पुनः सुरु

    अमेरिका–रुसबीच सैन्य संवाद पुनः सुरु

    किएभ, २४ माघ (रासस–एपी) । युक्रेन युद्ध अन्त्यको प्रयाससँगै अमेरिका र रुसले चार वर्षभन्दा बढी समयपछि उच्च–स्तरीय सैन्य संवाद पुनः स्थापना गर्न सहमति जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः कार्यभारमा फर्किएपछि दुई देशबीच देखिएको सम्बन्ध सुधारको यो अर्को सङ्केत मानिएको छ ।

    फेब्रुअरी २०२२ मा युक्रेनमा रुसी पूर्णस्तरको आक्रमण हुनुअघि बढ्दो तनावका कारण सन् २०२१ को अन्त्यतिर मस्को र वासिङ्टनबीच उच्च–स्तरीय सैन्य सञ्चार रोकिएको थियो । ट्रम्पले दोस्रो कार्यकालका लागि चुनावी अभियान चलाउँदा युद्ध तत्काल अन्त्य गर्ने वाचा गरेका थिए । उनका केही शान्ति प्रस्तावहरूले क्रेमलिनलाई अनुकूल देखिएको भन्दै आलोचना पनि भएको छ, जसमा युक्रेनले रुसलाई केही भूभाग सुम्पिनुपर्ने धारणा समावेश छन् ।

    पुनःस्थापित सैन्य सञ्चार च्यानलले दुवै पक्ष स्थायी शान्तितर्फ काम गरिरहेका बेला नियमित सैन्य–सैन्य सम्पर्क सुनिश्चित गर्ने अमेरिकी युरोपेली कमान्डले जनाएको छ । संयुक्त अरब इमिरेट्सको राजधानी अबु धाबीमा वरिष्ठ अमेरिकी र रुसी सैन्य अधिकारीहरूबीच भएको बैठकपछि यो सहमति बनेको हो ।


    युरोपमा अमेरिकी र नाटो दुवै सेनाका कमान्डर रहनुभएका अमेरिकी जनरल एलेक्सस ग्रिन्केविच अबु धाबीमा रहेका थिए । त्यहाँ अमेरिकी, रुसी र युक्रेनी अधिकारीहरूबीच युद्ध अन्त्यसम्बन्धी वार्ता दोस्रो दिनमा प्रवेश गरेको थियो ।

    यसैबीच, रुसले युक्रेनको पावर ग्रिडमाथि आक्रमण तीव्र बनाएको छ । युक्रेनका अनुसार यसले नागरिक मनोबल कमजोर पार्ने उद्देश्य बोकेको छ । करिब एक हजार किलोमिटर लामो पूर्वी र दक्षिणी मोर्चामा लडाइँ जारी नै छ । सैन्य हटलाइन पुनः सुरु हुनु युद्धपछि बढेको तनाव कम गर्ने र अमेरिकी तथा रुसी सेनाबीच आकस्मिक टकराव रोक्ने प्रयासका रूपमा हेरिएको छ ।

    मार्च २०२३ मा कृष्ण सागरमाथि अमेरिकी एमक्यू–९ ड्रोन र रुसी लडाकू विमानबीच भएको घटनाले यस्तो जोखिम उजागर गरेको थियो । रुसले उक्त ड्रोन खसालिएको आरोप अस्वीकार गर्दै नो–फ्लाई जोन उल्लङ्घनको प्रतिक्रिया मात्र भएको दाबी गरेको थियो ।

    नाटो सदस्य राष्ट्रहरूले सहयोगी हवाई क्षेत्रमा रुसी गतिविधि बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । गत सेप्टेम्बरमा रुसी ड्रोनहरू पोल्यान्डको हवाई क्षेत्रमा प्रवेश गरेपछि नाटो विमानहरू परिचालन गरिएको थियो । त्यसपछि एस्टोनियाको हवाई क्षेत्रबाट पनि रुसी लडाकू विमानहरू हटाइएको थियो । युक्रेन र रुसबीचको वार्तापछि कैदी आदानप्रदान पनि भएको छ ।

    रुसी रक्षा मन्त्रालयका अनुसार १५७ रुसी सैनिक र तीन नागरिक फिर्ता ल्याइएका छन् । युक्रेनी अधिकारीहरूले १५० सैनिक र सात नागरिक रुसी कैदबाट फर्किएको जानकारी दिएका छन् । रिहा गरिएका रुसी सैनिकहरू हाल बेलारुसमा चिकित्सकीय सहयोग लिइरहेका छन् ।

    युक्रेनी मानव अधिकार आयुक्त दमित्रो लुबिनेट्सले फर्किएका धेरै सैनिकहरू कठिन मनोवैज्ञानिक अवस्थामा रहेको र केही गम्भीर रूपमा कुपोषित देखिएको बताए । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसको आक्रमणपछि करिब ५५ हजार युक्रेनी सैनिकको मृत्यु भएको बताएका छन् । उनका अनुसार अझै धेरै व्यक्ति बेपत्ता मानिएका छन् ।

    युद्धपछिको कुनै पनि सम्भावित रुसी आक्रमण रोक्न अमेरिका र युरोपबाट सुरक्षा ग्यारेन्टी आवश्यक रहेको उनले दोहोर्‍याएका छन् । मानव अधिकार समूहहरूका अनुसार गत वर्ष युक्रेनी नागरिक हताहत २०२४ को तुलनामा ३१ प्रतिशतले बढेको छ । संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार युद्ध सुरु भएदेखि करिब १५ हजार नागरिक मारिएका छन् र ४० हजारभन्दा बढी घाइते भएका छन् ।

    अन्य घटनाक्रममा, युक्रेनले रुसी सेनाले फ्रन्ट लाइनमा स्टारलिङ्क इन्टरनेट टर्मिनल प्रयोग गर्न नसक्ने अवस्था आएको दाबी गरेको छ । पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले किएभ भ्रमणका क्रममा गोला–बारुदको संयुक्त उत्पादन र ऊर्जा सहकार्य विस्तारमा सहमति भएको जानकारी दिए । युक्रेनी वायु सेनाका अनुसार रुसले रातभर १८३ ड्रोन र दुई ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । रुसले भने आफ्नो हवाई रक्षाले विभिन्न क्षेत्रमा ९५ युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ ।

  • अन्तर्राष्ट्रिय आणविक सन्धि समाप्त, नयाँ हतियार दौडको जोखिम

    अन्तर्राष्ट्रिय आणविक सन्धि समाप्त, नयाँ हतियार दौडको जोखिम

    मस्को, २३ माघ (रासस–एपी) । रुस र संयुक्त राज्य अमेरिकाबीचको अन्तिम बाँकी रहेको आणविक हतियार नियन्त्रण सन्धि ‘न्यु स्टार्ट’ बिहीबार समाप्त भएको छ । यो सन्धि समाप्तिले आधा शताब्दीभन्दा बढी समयपछि दुई ठूला आणविक शक्तिमा कुनै हतियार सीमा नहुने स्थिति सिर्जना गरेको छ । सन्धि समाप्त भएपछि विशेषज्ञहरूले नयाँ अनियन्त्रित आणविक हतियार दौडको खतरा बढ्ने चेतावनी दिएका छन् ।

    रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत वर्ष सन्धि सीमामा एक वर्षका लागि अडिग रहन प्रस्ताव गरेका थिए । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विस्तारमा प्रतिवद्धता जनाएनन् । ट्रम्पले सम्भावित नयाँ सम्झौतामा चीनलाई समावेश गर्नुपर्ने सङ्केत दिनुभएको छ, तर बेइजिङले यसलाई अस्वीकार गरेको छ ।

    पुटिनले बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग सन्धि म्याद समाप्त भएको विषयमा छलफल गरेका छन् । तर क्रेमलिनका सल्लाहकार युरी उसाकोभका अनुसार वासिङ्टनले प्रस्तावमा प्रतिक्रिया दिएको छैन । रुसले सुरक्षा अवस्थाको गहन विश्लेषणपछि सन्तुलित र जिम्मेवार ढङ्गले कदम चाल्ने बताएको छ । विदेश मन्त्रालयको विज्ञप्तिमा सन्धिको म्याद सकिएपछि रुस अब मुख्य प्रावधान वा कुनै दायित्वबाट बाध्य छैन र आफ्नो अर्को कदम स्वतन्त्र रूपमा तय गर्न सक्नेछ भनिएको छ ।

    न्यु स्टार्ट सन्धि सन् २०१० मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा र रूसी राष्ट्रपति दिमित्री मेदभेदेवले हस्ताक्षर गरेका थिए । उक्त सन्धिले प्रत्येक पक्षलाई ७०० भन्दा बढी मिसाइल र बमवर्षकमा एक हजार ५५० भन्दा बढी तयार अवस्थामा रहेका आणविक हतियारमा सीमा लगाएको थियो । यो सन्धि सन् २०२१ मा समाप्त हुने थियो, तर पाँच वर्षका लागि विस्तार गरिएको थियो । सन्धिले अनुपालन प्रमाणित गर्न साइट निरीक्षणको व्यवस्था गरेको थियो, तर सन् २०२० को कोभिड–१९ महामारीपछि ती निरीक्षण रोकिएका थिए ।

    फेब्रुअरी २०२३ मा पुटिनले अमेरिकी निरीक्षण निलम्बन गर्दै युक्रेनसँगको सङ्घर्षमा वासिङ्टन र नाटोले मस्कोको हारलाई आफ्नो लक्ष्य घोषणा गरेपछि रुसले आफ्ना साइटहरू निरीक्षण गर्न अनुमति दिन नसक्ने बताएका थिए । तर क्रेमलिनले सन्धिको मुख्य प्रतिबन्धको सम्मान जारी राख्ने र पूर्ण रूपमा पछि हट्ने नभएको स्पष्ट पारेको थियो ।

    सन् २०१० को सम्झौता न्यु स्टार्टले अमेरिका–रुस बीचको लामो ऐतिहासिक आणविक हतियार घटाउने शृङ्खलालाई जारी राखेको थियो, जसका अघिल्ला सम्झौताहरू सबै समाप्त भइसकेका छन् । ट्रम्पले नयाँ सम्झौतामा चीनलाई समावेश गर्ने प्रस्ताव राख्नुभएको छ, तर बेइजिङले आफ्नो बढ्दो आणविक भण्डारमा कुनै प्रतिबन्ध मान्न अस्वीकार गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानका अनुसार चीन वर्तमान चरणमा वार्तामा भाग लिन तयार छैन, तर अमेरिका र रूससँग चाँडै वार्ता पुनः सुरु गर्न आह्वान गर्दछ र दुवै पक्षले हालका सन्धि सीमाहरू पालन गर्न जारी राख्नुपर्छ ।

  • अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

    अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

    वाशिङ्टन डिसी (अमेरिका), १६ माघ । अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका कुनै विदेशी नागरिक अमेरिकामा रहँदा अवैधानिक तवरले वा गलत सूचना वा विवरण पेस गरी अमेरिकी सरकारले आफ्ना नागरिकहरूका लागि उपलब्ध गराउने गरेको सहुलियत नलिन समेत अपिल गरेको छ ।

    दूतावासले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, “अमेरिकी सरकारले आफ्ना नागरिकका लागि उपलब्ध गराउने गरेको सहुलियतपूर्ण स्वास्थ्योपचार सुविधा, आवास सुविधा, परिवार सहायता, शैक्षिक सहायताजस्ता कुनै पनि सुविधा वा सहायतामाथि निर्भर भएरगरेको पाइएमा त्यस्तो कार्यमा संलग्न व्यक्तिको भिसा वा ग्रिनकार्ड स्टाटसमा सोझै असर पर्ने र रद्दसमेत हुने जानकारी सम्बन्धित अमेरिकी अधिकारीहरूबाट प्राप्त भएको छ ।”

    विज्ञप्तिमा दूतावासले अमेरिका आएका नेपालीहरूमध्ये सन् २०२४ मात्र नेपाली नागरिकहरू अमेरिकी सरकारका सहुलियतपूर्ण सेवा लिनेहरूको माथिल्लो सूचीमा रहेका पाइएकाले नेपालीका लागि हाललाई आप्रवासी भिसा बन्द गरेको सम्बन्धमा अमेरिकाले सार्वजनिक सूचना नै जारी गरेको स्मरण गराइएको छ ।

    विज्ञप्तिमा विभिन्न उद्देश्यले संयुक्त राज्य अमेरिकामा रहनुभएका नेपाली नागरिकले यहाँ रहँदा गैरकानुनी तवरले वा गलत सूचना वा विवरण पेस गरी सहुलियतपूर्ण स्वास्थ्योपचार सुविधा, आवास सुविधा, परिवार सहायता, शैक्षिक सहायताजस्ता कुनै पनि सुविधा\सहायतामाथि निर्भर नहुन/नगराउनुहुन हार्दिक दूतावासले अनुरोध गरेको छ । दूतावासले व्यापारिक तथा पर्यटकीय प्रयोजनको लागि प्राप्त हुने ‘बी १’, ‘बी २’ भिसाको दुरूपयोग नगर्नु हुन पनि अनुरोध गरेको छ । पछिल्ला दिनमा अमेरिकी सरकारले विभिन्न प्रयोजनका भिसामा कठिन प्रावधान समावेश गर्दै गएको छ ।

  • भेनेजुएलालाई अमेरिकी चेतावनी, सैन्य विकल्प खुला

    भेनेजुएलालाई अमेरिकी चेतावनी, सैन्य विकल्प खुला

    वासिङ्टन, १५ माघ (रासस–एपी) । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भेनेजुएलाको अन्तरिम नेतृत्व अमेरिकी अपेक्षा र लक्ष्यबाट भट्किएमा ट्रम्प प्रशासन भविष्यमा सैन्य कारबाही गर्न पनि तयार रहेको चेतावनी दिएका छन् । बुधबार सिनेटको विदेश सम्बन्ध समिति समक्ष प्रस्तुत गर्न तयार पारिएको सुनुवाइमा उनले अमेरिका भेनेजुएलासँग युद्धमा नरहेको स्पष्ट पार्दै आवश्यक परे थप बल प्रयोग अस्वीकार नगरिने सङ्केत गरे ।


    उनका अनुसार यस महिनाको सुरुआतमा पूर्वराष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गर्न गरिएको छापापछि पनि अमेरिका सतर्क अवस्थामा छ । “अन्य सबै उपाय असफल भएमा अधिकतम सहयोग सुनिश्चित गर्न हामी बल प्रयोग गर्न तयार छौँ”, विदेश मन्त्रालयले सार्वजनिक गरेको उहाँको वक्तव्यमा उल्लेख छ । तर यस्तो अवस्था नआओस् भन्ने नै अमेरिकाको चाहना रहेको उनले जोड दिए ।


    फ्लोरिडाका पूर्व सिनेटरसमेत रहेका रुबियो राष्ट्रपति डोनाल्ड ट्रम्पका केही विवादास्पद विदेश नीतिहरू कंग्रेसका सहकर्मीहरूसमक्ष स्पष्ट पार्ने भूमिकामा छन् । पश्चिमी गोलार्ध, युरोप र मध्यपूर्वमा केन्द्रित अमेरिकी नीतिका विषयमा आफ्नै पार्टीभित्र उठेका चिन्तालाई सम्बोधन गर्नु पनि उनको चुनौती बनेको छ ।भेनेजुएलामाथि केन्द्रित सुनुवाइमा रुबियोले लागुऔषध तस्करीको आरोपमा मदुरोलाई हटाउने निर्णयको बचाउ गरेका छन् ।

    उनले समुद्री मार्गबाट लागुऔषध तस्करीमा संलग्न डुङ्गामाथि गरिएका सैन्य कारबाही र प्रतिबन्धित तेल ट्याङ्कर कब्जा गर्ने कदमलाई कानूनी दायराभित्रको कारबाही भएको बताए । “भेनेजुएलाविरुद्ध कुनै युद्ध छैन र त्यहाँ अमेरिकी सैनिकहरू भूमिमा तैनाथ छैनन्”, उनको भनाइ छ ।

    यद्यपि कंग्रेसका डेमोक्रेट सदस्यहरूले यी कदमलाई कार्यकारी अधिकारको अतिक्रमण भन्दै आलोचना गरेका छन् । युद्ध शक्ति ऐनअन्तर्गत अमेरिकी सेना फिर्ता बोलाउने प्रस्ताव सदनमा अल्पमतले अस्वीकृत भएको थियो । प्रशासनका अनुसार ठूलो सैन्य तयारी देखिए पनि भेनेजुएलाको भूमिमा अमेरिकी सेना छैन । यसबीच, ट्रम्प प्रशासनले भेनेजुएलासँग सम्बन्ध सामान्य बनाउने प्रयास पनि अघि बढाएको छ ।

    अमेरिकी अधिकारीहरूले कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजसँग संवाद बढाइरहेका छन् । रुबियोले रोड्रिगेज ट्रम्प प्रशासनका मागहरूबारे जानकार रहेको र ती माग पूरा गर्नु नै उनको हितमा हुने विश्वास व्यक्त गरेका छन् । ती मागहरूमा भेनेजुएलाको ऊर्जा क्षेत्र अमेरिकी कम्पनीका लागि खोल्ने, तेल राजस्व अमेरिकी सामान खरिदमा प्रयोग गर्ने र क्युबालाई दिइँदै आएको सहुलियतपूर्ण तेल आपूर्ति बन्द गर्ने विषय समावेश छन् ।

    रोड्रिगेजले मङ्गलबार दुवै पक्षबीच सम्मानजनक संवाद च्यानल स्थापना भएको बताएकी छिन् । पछिल्ला हप्तामा भेनेजुएलाले सयौँ राजनीतिक बन्दीहरू रिहा गरेको जनाइएको छ, जसको अमेरिकी राष्ट्रपति ट्रम्पले सार्वजनिक रूपमा प्रशंसा गरेका छन् । कूटनीतिक सम्बन्ध पुनःस्थापनातर्फ एक महत्त्वपूर्ण कदमस्वरूप विदेश मन्त्रालयले कारकासस्थित अमेरिकी दूतावास पुनः खोल्न तयारी थालेको जानकारी कंग्रेसलाई दिएको छ ।

    सन् २०१९ देखि बन्द रहेको दूतावास पुनः सञ्चालन गर्ने यो पहिलो औपचारिक सङ्केत हो । यद्यपि सम्बन्ध पूर्ण रूपमा सामान्य बनाउन अझै कानूनी र राजनीतिक प्रक्रियाहरू बाँकी रहेको अमेरिकी पक्षले जनाएको छ । यसै क्रममा रुबियोले भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई विदेश मन्त्रालयमा भेट्ने तयारी गरेका छन् । मदुरोलाई हटाइएपछि वासिङ्टन आएकी मचाडोले हालै ट्रम्पसँग भेट गरी आफ्नो नोबेल शान्ति पुरस्कार पदक उपहार दिएकी थिइन् । जसलाई अमेरिकी राजनीतिक वृत्तमा अर्थपूर्ण सङ्केतका रूपमा हेरिएको छ ।

  • इराकका प्रधानमन्त्रीका उम्मेदवार मलिकीद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पको हस्तक्षेपको निन्दा

    इराकका प्रधानमन्त्रीका उम्मेदवार मलिकीद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पको हस्तक्षेपको निन्दा

    बगदाद, १५ माघ (रासस–एएफपी) । राष्ट्रपति डोनाल्ड ट्रम्पले नूरी अल–मलिकीले प्रधानमन्त्री पद सम्हालेमा देशलाई सबै सहयोग अन्त्य गर्ने चेतावनी दिएपछि इराकका मुख्य प्रधानमन्त्री पदका उम्मेदवार मलिकीले बुधबार वाशिङ्गटनको ‘हस्तक्षेप’ को निन्दा गरेका छन् ।

    “हामी इराकको आन्तरिक मामिलामा अमेरिकी हस्तक्षेपलाई स्पष्ट रूपमा अस्वीकार गर्दछौँ,” मलिकीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “हामी यसलाई इराकको ‘लोकतान्त्रिक प्रणाली’ को उल्लङ्घन मान्छौँ । यो प्रणालीसन् २००३ मा अमेरिकी नेतृत्वको आक्रमणपछि लागु भएको थियो ।

    राष्ट्रपति ट्रम्पले मङ्गलबार मलिकीलाई शीर्ष पदका लागि चयन गरिएमा इराकले ‘धेरै खराब छनौट’ गर्ने बताएका थिए । उनले भने, “मलिकीको ‘मनपरी नीति र विचारधाराको कारण यदि उनी निर्वाचित भए संयुक्त राज्य अमेरिकाले इराकलाई सहयोग गर्नेछैन ।” ‘इराकी कोअर्डिनेशन फ्रेमवर्क’ ले मलिकीलाई इराकको नयाँ प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अनुमोदन गरेको छ ।

    यो इरानसँग फरक सम्बन्ध भएका शिया समूहहरूको गठबन्धन हो जुन हालैका वर्षहरूमा इराकको मुख्य सत्ताधारी गठबन्धन पनि हो। आफ्नो पोस्टमा मलिकीले अमेरिकी हस्तक्षेपको निन्दा गरेका छन् । उनले भने, “हस्तक्षेपले ‘इराकी कोअर्डिनेशन फ्रेमवर्क’को आफ्नो उम्मेदवार मनोनयन गर्ने निर्णयको उल्लङ्घन गर्दछ ।

    उनले भने, “त्यो निर्णय अनुरूप उहाँ ‘अन्तसम्म काम जारी राख्नुहुनेछ, यसले इराकी जनताको उच्च हित प्राप्त गर्दछ।” इराकमा दुई पटक ९सन् २००६–सन् २०१४० सम्म प्रधानमन्त्री रहेका मलिकीले इरानसँगको सम्बन्ध प्रगाढ बनाउने र साम्प्रदायिक मुद्दालाई अघि बढाएको आरोप लागेपछि अमेरिकासँग मतभेद भएका थिए । चतुर राजनीतिज्ञ रहेका ७५ वर्षीय मलिकी इराकको राजनीतिमा एक केन्द्रीय व्यक्ति र इराकी शक्तिको एक हस्ती बनेका उनको अनुमोदन कुनै पनि शासकीय गठबन्धनको लागि अपरिहार्य मानिन्छ।

  • अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

    अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

    न्यूयोर्क, १५ माघ (रासस–एएफपी) । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन) ले अक्टोबरमा घोषणा गरिएको पुनर्संरचना अन्तर्गत भन्दै विश्वव्यापी रूपमा १६ हजार रोजगारी कटौती गर्ने बुधबार बताएको छ । यस पहिले नै १४ हजार पदहरू कटौती गर्ने योजना सार्वजनिक गरेको विशाल ई–कमर्स कम्पनी अमेजनले थप १६ हजार पदलाई समायोजन गर्ने बताएको हो । वरिष्ठ उपाध्यक्ष बेथ गालेट्टीले एक विज्ञप्ति जारी गरी पद समायोजनसम्बन्धी आगामी योजनाबारे जानकारी गराए । उनले भने, “रोजगारी कटौतीको उद्देश्य ‘तहहरू घटाउने, स्वामित्व बढाउने, र कर्मचारीतन्त्र हटाउने’ हो।”

    अक्टोबरका मिडिया रिपोर्टहरूले गरेको प्रक्षेपण अनुसार करिब ३० हजार रोजगार कटौती अमेजनको तीन लाख ५० हजार प्रत्यक्षरूपमा यसका कार्यालयमा काम गर्ने रोजगारीहरूको १० प्रतिशतभन्दा बढी हो । योजनाले वितरण र गोदाम कामदारहरूलाई प्रभावित नगरी कार्यालयमा काम गर्ने जनशक्तिलाई कम गर्नेछ । यो क्षेत्रमा रहेको करिब १५ लाख कर्मचारीहरूलाई भने यो योजनाले कुनै प्रभाव पार्ने छैन ।

    कम्पनीले जनशक्ति कटौतीसम्बन्धी मिडिया रिपोर्टहरूमा टिप्पणी गर्न अस्वीकार गरेको छ। अमेजनका जनशक्ति कटौति कृत्रिम बुद्धिमत्ता ९एएआई०मा बढ्दो लगानीको बीच आएका हुन् । अमेजनले बुधबार भर्खरको रोजगार कटौतीको कुनै पुष्टि गरेन । कम्पनीले आफ्नो पूर्ण वर्ष सन् २०२५ को योजनाबारे पत्रकार सम्मेलन गरी फेब्रुअरी ६ मा जानकारी गराउनेछ ।

  • इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु, हजारौँ अझै बेपत्ता

    इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु, हजारौँ अझै बेपत्ता

    दुबई, १४ माघ (रासस–एपी) । इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा कम्तीमा ६ हजार १२६ जनाको ज्यान गएको अधिकारकर्मी संस्थाहरूले बताएका छन् । अझै पनि धेरै मानिस बेपत्ता रहेको आशङ्का गरिएको छ । अमेरिकामा आधारित मानव अधिकार कार्यकर्ता समाचार एजेन्सीले मङ्गलबार सार्वजनिक गरेको विवरणअनुसार मृतकमध्ये कम्तीमा ५ हजार ७७७ जना प्रदर्शनकारी, २१४ जना सरकारसमर्थित सुरक्षाकर्मी, ८६ जना बालबालिका तथा प्रदर्शनमा सहभागी नभएका ४९ जना सर्वसाधारण रहेका छन् । साथै, ४१ हजार ८ सयभन्दा बढी मानिसलाई पक्राउ गरिएको जनाइएको छ ।

    इरानका अधिकारीहरूले इन्टरनेट सेवा बन्द गर्नुका साथै सञ्चारमा अवरोध गरेकाले स्वतन्त्र रूपमा मृतकको सङ्ख्या पुष्टि गर्न कठिन भएको एसोसिएटेड प्रेसले जनाएको छ । यसैबीच, इरान सरकारले भने मृत्यु हुनेको सङ्ख्या ३ हजार ११७ रहेको दाबी गर्दै अधिकांश नागरिक र सुरक्षाकर्मी भएको जनाएको छ भने बाँकीलाई ‘आतङ्ककारी’को संज्ञा दिएको छ । यसअघि पनि इरानी सरकारले आन्दोलनका क्रममा भएको क्षतिको यथार्थ विवरण सार्वजनिक नगरेको आलोचना हुँदै आएको छ ।

    यी प्रदर्शनहरू गत डिसेम्बर १३ गतेदेखि सुरु भएका हुन् । इरानी मुद्राको तीव्र अवमूल्यनपछि सुरु भएको आन्दोलन देशभर फैलिएको थियो । प्रदर्शनलाई नियन्त्रण गर्न सरकारले कडा दमन गरेपछि अवस्था झन् तनावपूर्ण बनेको छ । दुई साताभन्दा बढी समयसम्म इन्टरनेट पूर्ण रूपमा बन्द गरिएको छ, जुन इरानको इतिहासकै सबैभन्दा व्यापक अवरोध मानिएको छ । यसबीच, अमेरिकाले मध्यपूर्व क्षेत्रमा सैनिक गतिविधि बढाएको छ । अमेरिकी विमानवाहक युद्धपोत समूह उक्त क्षेत्रमा पुगेको छ, जसलाई इरानविरुद्ध सम्भावित सैन्य कारबाहीका लागि तयारीका रूपमा हेरिएको छ । यद्यपि खाडी क्षेत्रका केही अरब राष्ट्रहरूले आफूहरू कुनै पनि आक्रमणमा सहभागी नहुने संकेत दिएका छन् ।

    इरानले अमेरिकाको धम्कीले क्षेत्रीय तनाव बढाएको आरोप लगाएको भनेको छ । संयुक्त राष्ट्रसङ्घमा इरानका प्रतिनिधिले अमेरिकाले हिंसा भड्काएको दाबी गरे पनि त्यसको ठोस प्रमाण भने प्रस्तुत गरिएको छैन । यी घटनाले इरानमा दशकौँयताकै सबैभन्दा ठूलो मानवीय संकट उत्पन्न गरेको विश्लेषकहरूको भनाइ छ । सन् १९७९ को इस्लामिक क्रान्तिपछिको अवस्थासँग तुलना गर्न थालिएको छ ।

  • अमेरिकामा हिमआँधीको वितण्डा, तस्वीरमा

    अमेरिकामा हिमआँधीको वितण्डा, तस्वीरमा

    १४ माघ, काठमाडौं । अमेरिकाका विभिन्न राज्यहरूमा आएको भीषण आँधीका कारण कम्तीमा ३० जनाको मृत्यु भएको छ भने पाँच लाखभन्दा बढी मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन् । न्यु मेक्सिकोदेखि मेन राज्यसम्म फैलिएको आँधीले भारी हिमपात, चिसो वर्षा, असिना र तेज हावासहित जनजीवन अस्तव्यस्त बनाएको छ ।

    (260126) — NEW YORK, Jan. 26, 2026 (Xinhua) — People walk on a street amid snow in New York, the United States, on Jan. 25, 2026. A historic winter storm is sweeping across the Midwest and eastern parts of the United States on Sunday, causing unprecedented travel chaos. (Xinhua/Zhang Fengguo)

    अत्यधिक चिसो आर्कटिक हावाका कारण उद्धार तथा पुनःस्थापना कार्यमा कठिनाइ उत्पन्न भएको मौसमविद्हरूले बताएका छन् । अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार फेब्रुअरी १ सम्म देशको उत्तरी क्षेत्रमा तापक्रम लगातार शून्य डिग्रीभन्दा तल रहनेछ । दक्षिणी राज्यहरूमा पनि असामान्य चिसोका कारण न्यूनतम तापक्रमका नयाँ कीर्तिमान कायम भएका छन् ।

    A tree blocks the road days after an ice storm in Nashville, Tenn., on Tuesday, Jan. 27, 2026. (AP Photo/Travis Loller)

    उत्तरपूर्वी क्षेत्रमा हिमपात जारी रहँदा कनेक्टिकटमा २२ इन्चभन्दा बढी र बोस्टनमा १६ इन्चभन्दा बढी हिउँ जमेको छ । आँधीसँग सम्बन्धित घटनाहरूमा हाइपोथर्मिया, सवारी दुर्घटना तथा अन्य हिमपातजन्य दुर्घटनाका कारण ज्यान गएको जनाइएको छ ।

    (260126) — NEW YORK, Jan. 26, 2026 (Xinhua) — People push a car stuck in snow in New York, the United States, on Jan. 25, 2026. A historic winter storm is sweeping across the Midwest and eastern parts of the United States on Sunday, causing unprecedented travel chaos. (Xinhua/Zhang Fengguo)

    मेन राज्यको बाङ्गोरमा उडान भर्ने क्रममा सानो विमान दुर्घटनाग्रस्त हुँदा सात जनाको मृत्यु भएको छ । मङ्गलबार बिहानसम्म पाँच लाख ४० हजारभन्दा बढी उपभोक्ता विद्युत् सेवाविहीन रहेका छन् । टेनेसी, टेक्सास, मिसिसिपी र लुइसियाना राज्यहरू सबैभन्दा बढी प्रभावित भएका छन् । देशभर ९ हजारभन्दा बढी उडानहरू रद्द तथा प्रभावित भएका छन् ।

    (260126) — NEW YORK, Jan. 26, 2026 (Xinhua) — Snow removers are at work at LaGuardia Airport in New York, the United States, Jan. 25, 2026. A historic winter storm is sweeping across the Midwest and eastern parts of the United States on Sunday, causing unprecedented travel chaos. Airlines have canceled 888 flights in and out of LaGuardia Airport in New York City so far on Sunday, 93 percent of the airport’s entire-day schedule, local media reported. Meanwhile, over 30,000 flights have been disrupted nationwide, and 21 states have announced State of Emergency, according to Fox Weather. (Xinhua/Zhang Fengguo)
    A worker clears a street of debris and ice in Oxford, Miss. on Monday, Jan. 26, 2026, following a weekend ice storm. (AP Photo/Bruce Newman)
    A lineman works to restore power in Oxford, Miss. on Monday, Jan. 26, 2026, following a weekend ice storm. (AP Photo/Bruce Newman)
    An electric worker is framed by downed trees in Oxford, Miss. on Monday, Jan. 26, 2026, following a weekend ice storm. (AP Photo/Bruce Newman)
  • अमेरिकामा भीषण आँधी : कम्तीमा ३० जनाको मृत्यु

    अमेरिकामा भीषण आँधी : कम्तीमा ३० जनाको मृत्यु

    न्युयोर्क,१४ माघ (रासस–एएफपी) । अमेरिकाका विभिन्न राज्यहरूमा आएको भीषण आँधीका कारण कम्तीमा ३० जनाको मृत्यु भएको छ भने पाँच लाखभन्दा बढी मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन् । न्यु मेक्सिकोदेखि मेन राज्यसम्म फैलिएको आँधीले भारी हिमपात, चिसो वर्षा, असिना र तेज हावासहित जनजीवन अस्तव्यस्त बनाएको छ ।

    अत्यधिक चिसो आर्कटिक हावाका कारण उद्धार तथा पुनःस्थापना कार्यमा कठिनाइ उत्पन्न भएको मौसमविद्हरूले बताएका छन् । अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार फेब्रुअरी १ सम्म देशको उत्तरी क्षेत्रमा तापक्रम लगातार शून्य डिग्रीभन्दा तल रहनेछ । दक्षिणी राज्यहरूमा पनि असामान्य चिसोका कारण न्यूनतम तापक्रमका नयाँ कीर्तिमान कायम भएका छन् ।

    उत्तरपूर्वी क्षेत्रमा हिमपात जारी रहँदा कनेक्टिकटमा २२ इन्चभन्दा बढी र बोस्टनमा १६ इन्चभन्दा बढी हिउँ जमेको छ । आँधीसँग सम्बन्धित घटनाहरूमा हाइपोथर्मिया, सवारी दुर्घटना तथा अन्य हिमपातजन्य दुर्घटनाका कारण ज्यान गएको जनाइएको छ ।

    मेन राज्यको बाङ्गोरमा उडान भर्ने क्रममा सानो विमान दुर्घटनाग्रस्त हुँदा सात जनाको मृत्यु भएको छ । मङ्गलबार बिहानसम्म पाँच लाख ४० हजारभन्दा बढी उपभोक्ता विद्युत् सेवाविहीन रहेका छन् । टेनेसी, टेक्सास, मिसिसिपी र लुइसियाना राज्यहरू सबैभन्दा बढी प्रभावित भएका छन् । देशभर ९ हजारभन्दा बढी उडानहरू रद्द तथा प्रभावित भएका छन् ।

  • क्यालिफोर्नियामा ३० हजारभन्दा बढी स्वास्थ्यकर्मी हडतालमा

    क्यालिफोर्नियामा ३० हजारभन्दा बढी स्वास्थ्यकर्मी हडतालमा

    लस एन्जलस, १४ माघ (रासस–सिन्ह्वा) । अमेरिकाको क्यालिफोर्निया राज्यमा काइजर पर्मानेन्टे नामक स्वास्थ्य सेवा संस्थामा कार्यरत ३० हजारभन्दा बढी स्वास्थ्यकर्मी सोमबार बिहानदेखि खुला अवधिको हडतालमा उत्रिएका छन् । यो हडताल अमेरिकाको सबैभन्दा ठूलो गैरनाफामुखी स्वास्थ्य सेवा प्रणालीमा देखिएको पछिल्लो श्रमिक आन्दोलन हो ।

    क्यालिफोर्निया संयुक्त नर्स सङ्घ तथा स्वास्थ्य सेवा पेशाकर्मी सङ्घअन्तर्गत रहेका करिब ३१ हजार कर्मचारी हडतालमा सहभागी छन् । हडतालमा दर्ता प्राप्त नर्स, नर्स एनेस्थेसिया विशेषज्ञ, औषधि विज्ञ, सुँडेनी, चिकित्सक सहयोगी, उपचारक, पोषण विज्ञ तथा अन्य विशेषज्ञ स्वास्थ्यकर्मीहरू सहभागी छन् ।


    क्यालिफोर्नियाका विभिन्न स्वास्थ्य केन्द्रहरूमा बिहानैदेखि धर्ना सुरु गरिएको छ । उत्तरी क्यालिफोर्नियाका रोजभिल, सान्ता क्लारा र ओकल्यान्डस्थित प्रमुख अस्पतालहरूमा प्रदर्शन भइरहेको छ । ओकल्यान्डमै काइजर पर्मानेन्टेको केन्द्रीय कार्यालय रहेको छ । उत्तरी र दक्षिणी क्यालिफोर्नियाका अन्य क्षेत्रमा पनि आन्दोलन विस्तार गरिने योजना रहेको छ भने हवाई राज्यको एक अस्पतालमा समेत हडताल गरिने जनाइएको छ ।


    “यो हडताल टार्नै नसकिने अवस्थामा पुगेको थियो,” पश्चिमी तटमा कार्यरत एक नर्स साराह एचले भनिन्, “सधैं कर्मचारी अभाव हुन्छ, अत्यधिक काम र लामो कार्यघण्टाका कारण शारीरिक तथा मानसिक थकान बढेको छ ।” लामो समयदेखि श्रम सम्झौतासम्बन्धी वार्ता अवरुद्ध भएपछि हडताल सुरु भएको हो । यसअघि मार्च महिनामा पाँच दिनसम्म चलेको हडतालमा पश्चिमी अमेरिकाका विभिन्न राज्यका ४० हजारभन्दा बढी कर्मचारी सहभागी भएका थिए ।

    श्रमिक सम्झौता मार्च ३० गते समाप्त भएको थियो भने वार्ता सात महिनाभन्दा बढी समयदेखि जारी छ । युनियन नेताहरूका अनुसार तलब वृद्धि, दीर्घकालीन कर्मचारी अभाव, कार्यस्थलको सुरक्षा र बढ्दो थकानजस्ता विषयमा सहमति नजुटेकाले हडतालको निर्णय गरिएको हो । युनियनले चार वर्षमा कुल २५ प्रतिशत तलब वृद्धि माग गरेको छ भने काइजर पर्मानेन्टेले २१ दशमलव ५ प्रतिशत तलब वृद्धि प्रस्ताव गरेको छ, जसलाई संस्थाले हालसम्मकै सबैभन्दा बलियो प्रस्ताव भनेको छ ।

    हडतालका क्रममा पनि बिरामी सेवामा असर नपरोस् भनेर वैकल्पिक व्यवस्था गरिएको काइजर पर्मानेन्टेको भनाइ छ । चिकित्सक, व्यवस्थापक, स्थानान्तरण गरिएका कर्मचारी तथा अस्थायी स्वास्थ्यकर्मी परिचालन गरिने जनाइएको छ । अधिकांश अस्पताल र स्वास्थ्य केन्द्र खुला रहनेछन् भने आपतकालीन सेवा निरन्तर सञ्चालन हुनेछ । युनियनको अनुमानअनुसार क्यालिफोर्नियाका करिब प्रत्येक चार जनामध्ये एक जनाले काइजर पर्मानेन्टेबाट स्वास्थ्य सेवा लिन्छन् ।

  • मेक्सिको फुटबल खेलमा बन्दुकधारीको आक्रमण, ११ को मृत्यु

    मेक्सिको फुटबल खेलमा बन्दुकधारीको आक्रमण, ११ को मृत्यु

    सालामान्का (मेक्सिको), १३ माघ (रासस–एएफपी) । मध्य मेक्सिकोको सालामान्का सहरमा आइतबार एक फुटबल खेलपछि सशस्त्र बन्दुकधारीहरूले दर्शकहरूमा गोली चलाउँदा ११ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको स्थानीय अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।

    गुआनाजुआटो राज्यको एक लाख ६० हजार जनसङ्ख्याको सानो सहर सालामान्कामा खेल सकिएलगत्तै सशस्त्र व्यक्तिहरू सामुदायिक फुटबल मैदानमा प्रवेश गरे । घटनास्थलमै १० जनाको मृत्यु भएको थियो भने एकजनाको पछि अस्पतालमा निधन भयो । घाइतेमध्ये एक महिला र एक बालकसमेत छन् ।

    मेयर सेजर प्रिटोले सङ्गठित अपराध समूहहरूलाई हिंसाको दोष दिँदै राष्ट्रिय सरकारसँग आफ्नो समुदायमा ‘शान्ति, सुरक्षा र स्थिरता पुनःस्थापना’ गर्न आग्रह गरे । उनले भने, “हामी एउटा गम्भीर सामाजिक विघटनको सामना गर्दैछौँ । अपराधी समूहहरूले स्थानीय अधिकारीहरूलाई वशमा पार्ने प्रयास गरिरहेका छन् ।” सालामान्कामा यसअघि शनिबार राति मानव अवशेष भएका चार झोला फेला परेका थिए भने नजिकैका दुई समुदायमा सोही दिन छ जनाको मृत्यु भएको थियो । गत हप्तामा सरकारी तेल कम्पनी पेमेक्सको सालामान्कास्थित रिफाइनरीमा बमको धम्की पनि दिइएको थियो ।

    गुआनाजुआटो औद्योगिक र पर्यटनको केन्द्र भए पनि आधिकारिक तथ्याङ्कअनुसार यो राज्य मेक्सिकोमा सबैभन्दा हिंसक मानिन्छ । हिंसाको अधिकांश भाग तेल चोरी र ड्रग कार्टेल—सान्ता रोजा डे लिमा गिरोह र जलिस्को न्यु जेनेरेसन—बीचको द्वन्द्वसँग जोडिएको छ । बन्दुकधारीहरूको खोजी भइरहेको छ ।
    मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामले आफ्नो प्रशासनको राष्ट्रिय सुरक्षा रणनीतिका कारण सन् २०२५ मा हत्या दर एक दशकको सबैभन्दा तल्लो तहमा झरेको बताउनुभए पनि विज्ञहरूले तथ्याङ्कको पूर्ण विश्वसनीयता स्वीकार गरेका छैनन् ।

    सन् २००६ मा कार्टेलहरूमाथि कारबाही सुरु भएदेखि मेक्सिकोमा चार लाख ८० हजारभन्दा बढीको ज्यान गएको छ । एक लाख २० हजारभन्दा बढी मानिस बेपत्ता भएका छन्, धेरैलाई जबरजस्ती भर्ती वा अपहरण गरिएको मानिन्छ । अपराधले ग्रस्त राष्ट्रमा सामूहिक चिहान र दफन नगरिएका शवहरू नियमित रूपमा फेला पर्छन् ।

  • अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट

    अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट

    काठमाडौँ, ७ माघ । अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी राससलाई दिए । अमेरिकाले चाटर्ड विमानमार्फत उनीहरुलाई काठमाडौँ ल्याएर छाडेको हो । विभागका महानिर्देशक तिवारीले यसरी अहिलेसम्म ४०० भन्दाबढी नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका बताए ।

    डिपोर्ट हुनेहरु कागजात नभेटिएका, गैरकानुनी बसेका, अध्यागमन कानुन उल्लङ्घन गरेकालगायत रहेको विभागले जनाएको छ । उनीहरुमाथि अहिले प्रहरीको मानव बेचबिखन ब्युरोले अनुसन्धान गरिरहेको र बेचबिखनमा परेको भए उजुरी दिन ब्युरोले अनुरोध गरेको छ । आवश्यक अनुसन्धान पछि ब्युरोले परिवारको जिम्मा लगाउने जनाएको छ ।

  • पुनः उच्च विन्दुमा पुग्यो अमेरिकी डलरको मूल्य

    पुनः उच्च विन्दुमा पुग्यो अमेरिकी डलरको मूल्य

    ४ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा पुगेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६९ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९५ रुपैयाँ ३१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ९७ पैसा र बिक्रीदर १८१ रुपैयाँ ७१ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११२ रुपैयाँ ७० पैसा र बिक्रीदर ११३ रुपैयाँ १६ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ १८ पैसा र बिक्रीदर नौ रुपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ८२ पैसा र बिक्रीदर २० रुपैयाँ ९० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४० रुपैयाँ कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५० पैसा र बिक्रीदर ३९ रुपैयाँ ६७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९१ पैसा रहेको छ ।

    साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८५ पैसा र बिक्रीदर नौ रुपैयाँ ८९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५ रुपैयाँ ८१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ४२ पैसा, बहराइन दिनार एकको खरिददर ३८४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ४४ पैसा रहेको छ ।

    ओमनी रियाल एकको खरिददर ३७६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ४३ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।रासस

  • ट्रम्पले लेखे : भेनेजुएलाकी विपक्षी दलकी नेता मचाडोले मलाई नोबेल पुरस्कार दिइन्

    ट्रम्पले लेखे : भेनेजुएलाकी विपक्षी दलकी नेता मचाडोले मलाई नोबेल पुरस्कार दिइन्

    २ माघ, काठमाडौं । भेनेजुएलाकी विपक्षी दल नेता मारिया कोरिना मचाडोले आफूले पाएको नोबेल शान्ति पुरस्कार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हस्तान्तरण गरेको स्वयमः ट्रम्पले जानकारी दिएका छन् । उनको बिहीबार ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पसँग भएको भेट भएको थियो । सो क्रममा मचाडोले आफूले पाएको नोबेल शान्ति पुरस्कारको पदक हस्तान्तरण गरेको बताइएको छ । राष्ट्रपति ट्रम्प सामाजिक सञ्जाल प्ल्याटफर्म ट्रुथ सोसलमा पोस्ट लेखेका छन् ।

    ु‘मेरो कामको सम्मानस्वरूप मारियाले आफ्नो नोबेल शान्ति पुरस्कार मलाई प्रदान गर्नुभएको छ। यो पारस्परिक सम्मानको सुन्दर संकेत हो। धन्यवाद मारिया, ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्। माचाडोले भेटवार्ता अत्यन्त सकारात्मक भएको भन्दै भेनेजुएली जनताको स्वतन्त्रताप्रति ट्रम्पले देखाएको प्रतिबद्धताको कदरस्वरूप आफूले पाएको पदक ट्रम्पलाई दिएको प्रतिक्रिया दिएकी छिन् । ट्रम्प उक्त पदक आफैले राख्ने तयारीमा रहेको रोयटर्सले जनाएको छ ।
    नोबेल पुरस्कार प्रदान गर्ने नर्वेजियन नोबेल इन्स्टिच्युटले भने यसअघि नै पुरस्कार हस्तान्तरण, बाँडफाँड वा फिर्ता गर्न नमिल्ने बताइसकेको छ ।

    ुएक पटक नोबेल पुरस्कार घोषणा भइसकेपछि यसलाई खारेज गर्न, बाँड्न वा अरूलाई हस्तान्तरण गर्न सकिँदैन। यो निर्णय अन्तिम हुन्छ र सधैँका लागि कायम रहन्छ,ु नर्वेली नोबेल समिति र नर्वेली नोबेल संस्थानले भनेका छन्। यसको अर्थ मचादोले पुरस्कारस्वरूप पाएकी सुनको पदक ट्रम्पलाई उपहार दिए पनि नोबेल शान्ति पुरस्कारको सम्मान भने उनकै नाममा कायम रहनेछ।

  • ७५ देशका आवेदकको आप्रभासी भिसा प्रक्रिया रोक्ने निर्णयले नेपाल पनि प्रभावित

    ७५ देशका आवेदकको आप्रभासी भिसा प्रक्रिया रोक्ने निर्णयले नेपाल पनि प्रभावित

    २ माघ, काठमाडौं । अमेरिकाले ७५ मुलुकका आवेदकको आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने निर्णयले नेपाल पनि प्रभासित बनेको छ । अमेरिकी विदेश विभागले ७५ देशमा आप्रवासी भिसा आवेदन बन्द गर्न निर्देशन दिएको हो । २१ जनवरीदेखि यो निर्णय लागु हुने सूचनामा उल्लेख छ । ल्याटिन अमेरिका, क्यारेबियन, बाल्कन, दक्षिण एशिया, अफ्रिका र मध्यपूर्वी देशलाई लक्षित गरी यो निर्णय आएको हो । यद्दपी यसले अमेरिकामा स्थायी रुपमा बसोबासको योजना बनाएका व्यक्ति मात्र प्रभावित हुनेछन् । पर्यटन भिसा वा छोटो अवधिको भिसामा असर नगर्ने समेत सूचनामा जनाइएको छ ।


    ‘अमेरिकी जनताको धन निकाल्न खोज्नेलाई मध्यनजर गर्दै ट्रम्प प्रशासनले अमेरिकी आप्रवासन प्रणालीको दुरुपयोगलाई अन्त्य गर्दै छ,’ विभागले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘७५ देशहरुबाट आप्रवासी भिसा प्रक्रियालाई रोकिनेछ । लोककल्याण र सार्वजनिक सुविधाहरु लिन चाहने विदेशी नागरिकहरुको प्रवेश रोक्नका लागि विदेश विभागले आप्रवासन प्रक्रियाहरुको पुनर्मुल्यांकन गर्दैछ ।’
    विदेश विभागका अनुसार प्रभावित देशका मानिसले पनि अझै आप्रवासन भिसाका लागि आवेदन दिनसक्छन् ।

    तर स्थगन अवधिसम्म कुनै पनि भिसा स्विकृत हुने वा जारी हुनेवाला छैन । कति समयसम्म यो स्थगन कायम रहन्छ भन्ने खुलाइएको छैन । यसअघि गत सोमबार विदेश विभागले सन् २०२५ मा १ लाखभन्दा धेरै मानिसको भिसा खारेज गरिएको जनाएको थियो । यसमा ओभरस्टे गर्ने पर्यटक, आपराधिक कार्यमा सहभागि मानिस, मादक पदार्थ सेवन गरेर सवारी चलाउने व्यक्तिलगायत थिए । पर्यटक, विद्यार्थी र विशिष्टकृत कामदारको भिसा रद्द गरिएको थियो ।