Category: अमेरिका

  • अमेरिकासँग तत्काल वार्ताको सम्भावना नभएको इरानी कुटनीतिज्ञको भनाइ

    अमेरिकासँग तत्काल वार्ताको सम्भावना नभएको इरानी कुटनीतिज्ञको भनाइ

    तेहरान, २ चैत (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अडानलाई पछि पार्दै इरानका विदेशमन्त्री अब्बास अराघचीले इरान अमेरिकासँग वार्ताका लागि तत्काल इच्छुक नभएको बताएका छन् । अराघचीले सीबीएसको ‘फेस द नेशन’ लाई दिएको आइतबार प्रसारित एक अन्तर्वार्तामा भने, “हामीले अमेरिकीहरूसँग कुरा गर्नुपर्ने कुनै कारण देख्दैनौं, किनकि हामीले उनीहरूसँग कुरा गरिरहेका समय उनीहरूले हामीलाई आक्रमण गर्ने निर्णय गरेका थिए । अहिले हामी स्थिर र बलियो छौँ। हामी केवल हाम्रा जनताको रक्षा गरिरहेका छौँ।”

    उनले स्पस्ट भाषामा भने, “अमेरिकीहरूसँग कुरा गर्ने कुनै राम्रो अनुभव छैन।” ट्रम्पले शनिबार अमेरिकाले इरानसँग सम्झौता चाहेको तर वर्तमान सर्तमा सम्झौता गर्न आफू तयार नभएको बताएका थिए । “हामीले कहिल्यै युद्धविरामको लागि आग्रह गरेका छैनौं, र हामीले कहिल्यै पनि वार्ताको लागि सोधेका छैनौं“ अराघचीले भने । उनले भने, “इरान ती देशहरूसँग वार्ता गर्न तयार छ जसले छनौट गरिएका तेल ट्याङ्करहरू हर्मुज निर्यात मार्गबाट पार गर्न वार्ता गर्न चाहन्छन्।” “म कुनै पनि देशको विशेष उल्लेख गर्न सक्दिनँ, तर हामीलाई धेरै देशहरूले सम्पर्क गरेका छन् जो उनीहरूको जहाजहरूको लागि सुरक्षित मार्ग चाहन्छन्,” उनले भने ।

  • इन्धन जहाजलाई सुरक्षा दिन विश्व शक्तिराष्ट्रलाई अमेरिकाको आग्रह, युद्धमा संलग्न नहुन इरानको चेतावनी

    इन्धन जहाजलाई सुरक्षा दिन विश्व शक्तिराष्ट्रलाई अमेरिकाको आग्रह, युद्धमा संलग्न नहुन इरानको चेतावनी

    तेहरान, २ चैत (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व शक्तिहरूलाई खाडीको ‘स्ट्रेट अफ हर्मुज’ बाट तेल ट्याङ्करहरू पार गराउन र विश्व बजारमा इन्धन आपूर्ति नियमित गर्न सघाउन गरेको आग्रहपछि इरानले आइतवार थप देशहरूलाई अमेरिका र इजरायलसँगको युद्धमा संलग्न नहुन आइतबार चेतावनी दिएको छ। इरानले अमेरिका–इजरायल अभियानको प्रतिक्रिया दिँदै खाडीको प्रमुख तेल र ग्यास निर्यातकर्ताहरूलाई विश्व बजारसँग जोड्ने जलमार्ग हुँदै इन्धन ढुवानी गर्ने जहाजलाई आवतजावतमा रोक लगाएपछि विश्वभरि ऊर्जाको मूल्य बढेको छ।

    राष्ट्रपति ट्रम्पले शनिबार चीन, फ्रान्स, जापान, दक्षिण कोरिया, बेलायत र अन्य देशलाई ‘इस्कर्र्ट ट्याङ्कर’ मा जहाज पठाउन आग्रह गर्नुभएको थियो भने अमेरिकी सेनाले ‘स्ट्रेट अफ हर्मुज’को उत्तरी तटमा रहेको इरानी इलाकामा ड्रोन र क्षेप्यास्त्र प्रक्षेपण स्थलहरूमा , आक्रमण जारी राखेको थियो । उनले सूचीबद्ध गरेका देशहरूले अहिलेसम्म यस विचारलाई सावधानीपूर्वक स्वागत गरेका छन् । यसैबीच, इरानका विदेशमन्त्री अराघचीले फ्रान्सेली समकक्षी जाँ–नोएल ब्यारोँसँग फोनमा उनीहरूलाई ‘द्वन्द्व बढाउन र विस्तार गर्न सक्ने कुनै पनि कार्यबाट टाढा रहन’ चेतावनी दिएका छन् ।


    बेलायतको रक्षा मन्त्रालयले कुनै प्रतिबद्धता जनाएको छैन । “हामीले पहिले नै भनेका छौँ, हामी हाल हाम्रा सहयोगी र साझेदारहरूसँग यस क्षेत्रमा ढुवानीको सुरक्षा सुनिश्चित गर्न विभिन्न विकल्पहरूमा छलफल गरिरहेका छौँ,” उसले भनेको छ । बेलायतका ऊर्जा सुरक्षा मन्त्री एड मिलिब्यान्डले बीबीसीसँग भनेका छन्, “अब द्वन्द्व कम गर्ने योजना हुनुपर्छ । हामी हाम्रा सहयोगीहरूसँग कुरा गरिरहेका छौँ। त्यहाँ समुद्री ढुवानी सम्भव बनाउने विभिन्न उपायहरू छन् ।”

    दक्षिण कोरियाले सामाजिक सञ्जालमा राष्ट्रपति ट्रम्पको टिप्पणीलाई नजिकबाट नियालिरहेको बताएको छ भने जापानी प्रधानमन्त्री साने ताकाइचीको सत्तारुढ पार्टीका नीति प्रमुख ताकायुकी कोबायाशीले विद्यमान कानुनअनुसार उक्त क्षेत्रमा जापानी जलसेनाका जहाज पठाउने प्रतिबन्ध ‘अत्यन्त उच्च’ भएको बताएका छन् । इरानले महत्त्वपूर्ण समुद्री मार्ग बन्द गरेपछि र खाडी छिमेकीहरूमा ऊर्जा र ढुवानी उद्योगको लक्ष्यमा आक्रमण गरेपछि इन्धनको मूल्य विश्वव्यापीरूपमा ४० प्रतिशतले बढेको छ। इरानी सर्वोच्च नेताको हत्या गरेको अमेरिका र इजरायलको हवाई अभियानको बदलामा यो आक्रमण गरिएको थियो र क्षेत्रीय मध्यपूर्व युद्ध सुरु भएको थियो।

    विश्व बजारमा उतारचढावको क्रममा ट्रम्पले एनबीसी न्यूजलाई सप्ताहन्तमा दिएको अन्तर्वार्तामा तेहरान टेबलमा आउन इच्छुक रहेको तर अमेरिकाले अझ राम्रो सर्तहरू लागू गर्न लड्ने बताएका थिए । उनले इरानको तेल केन्द्र खार्ग टापुमा फेरि पनि ‘रमाइलोका लागि’ बम प्रहार गर्न सक्ने बताएका थिए । ट्रम्पले एनबीसी न्यूजसँग भने, “इरान सम्झौता गर्न चाहन्छ, र म यो गर्न चाहन्न किनकि सर्तहरू अझै पर्याप्त छैनन्।” इरानका नयाँ सर्वोच्च नेता आयातोल्लाह मोजतबा खामेनीले एक लिखित वक्तव्यमा हर्मुजलाई बन्द राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


    अमेरिकी आक्रमणमा नयाँ सर्वोच्च नेता पनि मारिएको हल्ला आएपछि इरानले उक्त खबरको खण्डन गरेको थियो । राष्ट्रपति ट्रम्पले यसलाई अस्वीकार गरेका छन् र सुझाव दिएका छन्, “उनी जीवित छन्, कि छैनन्, मलाई थाहा छैन । अहिलेसम्म कसैले पनि उनलाई देखाउन सकेका छैनन् ।” इरानले शनिबार भनेको छ, “नयाँ सर्वोच्च नेतालाई कुनै समस्या भएको छैन ।”

    यद्यपि उनी अझै सार्वजनिक रूपमा देखा परेका छैनन् । यसैबीच, इजरायली सेनाले पश्चिमी इरानका विभिन्न स्थानमा लक्षित आक्रमणको श्रङ्खला घोषणा गरेपछि इरानको रिभोलुसनरी गाड्र्सले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई अपराधी घोषणा गर्दै उनीहरूले नेतन्याहूलाई पछ्याउने र हत्या गर्ने चेतावनी दिएका छन् ।

  • रुस भन्छ : इरानलाई आफ्नो सुरक्षा सुनिश्चित गर्ने अधिकार छ

    रुस भन्छ : इरानलाई आफ्नो सुरक्षा सुनिश्चित गर्ने अधिकार छ

    मस्को, १ चैत,(रासस–एएफपी) । इरानसँग आफ्नो सुरक्षा सुनिश्चित गर्ने अधिकार रहेको संयुक्त राष्ट्रसङ्घका लागि रुसी स्थायी प्रतिनिधि भासिली नेबेन्जियाले बताएका छन् । नेबेन्जियाले शुक्रबार सञ्चारकर्मीसँग भने, “इरान एक स्वतन्त्र राष्ट्र भएको नाताले उसँग आफ्नो सुरक्षा सुनिश्चित गर्ने र नागरिक तथा नागरिक पूर्वाधारमाथिको आक्रमणलाई स्वीकार नगर्ने अधिकार छ ।”

    बुधबार संयुक्त राष्ट्र सुरक्षा परिषदमा पारित हुन असफल भएको मध्यपूर्वमा जारी सैन्य द्वन्द्वलाई सम्बोधन गर्ने रुस प्रायोजित प्रस्तावको उल्लेख गर्दै रुसी कूटनीतिज्ञले समाचार संस्था आरटीसँग भने, “अहिले मध्यपूर्वको स्थिति वास्तवमै भयावह छ र हामी कूटनीतिक समाधानका लागि आह्वान गर्दछौँ । हाम्रो प्रस्तावको पक्षमा मतदान नगरेर उनीहरूले लिएको अडान उनीहरूको इरान, इरानी नागरिक भूगोलको लागि अन्तरराष्ट्रिय कानुनद्वारा प्रदत्त अधिकार र जिम्मेवारी हो।”

    सैन्य कारबाही तत्काल रोक्न सबै पक्षलाई आग्रह गर्ने मस्यौदा प्रस्तावलाई पक्षमा चार, विपक्षमा दुई र नौ अनुपस्थित मतले अस्वीकृत भएको थियो । रुस, चीन, पाकिस्तान र सोमालियाले पक्षमा मतदान गरेका थिए भने अमेरिका र लाटभियाले विपक्षमा मतदान गरेका थिए । इरानविरुद्ध अमेरिका–इजरायलले गरेको व्यापक हवाई आक्रमण र गोलाबारी असफल भएको नेबेन्ज्याले बताए । उनले भने, “हामीलाई थाहा छैन के हुन्छ । आक्रमण असफल भएको छ । उनीहरूले इरानी शासनलाई पतन गराउने उद्देश्यले गरेको आक्रमणमा अमेरिकीहरूको अनुमान अनुरुप इरानी जनताले विद्यमान् इरानी सत्ताविरूद्ध विद्रोह गरेनन् ।

  • इजरायली आक्रमणमा मार्च २ पछि २६ जना स्वास्थ्यकर्मीको मृत्यु भएको लेबनानद्वारा पुष्टि

    इजरायली आक्रमणमा मार्च २ पछि २६ जना स्वास्थ्यकर्मीको मृत्यु भएको लेबनानद्वारा पुष्टि

    बेरुत, १ चैत, (रासस–एएफपी) । इजरायल र हेजबुल्लाहबीच द्वन्द्व सुरु भएयता इजरायली आक्रमणमा २६ जना प्यारामेडिक्स (स्वास्थ्यकर्मी)को मृत्यु हुनुको साथै अन्य ५१ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ। लेबनानी अधिकारीहरूले दक्षिणी शहर बुर्ज कलवियाको एक स्वास्थ्य केन्द्रमा काम गर्ने १२ जना चिकित्सक र नर्सहरूको मृत्यु भएको बताएका छन्।

    सावानेह शहरमा भएको अर्को आक्रमणपछि हेजबुल्लाहसँग सम्बन्धित दुई स्वास्थ्यकर्मी र एक सहयोगीको मृत्यु भएको थियो। इजरायली सेनाले शनिबार हेजबुल्लाहले सैन्य गतिविधिका लागि एम्बुलेन्स प्रयोग गरेको आरोप लगाएपछि लेबनानी मन्त्रालयले इजरायलले बारम्बार ‘एम्बुलेन्स कर्मचारीहरूलाई निशाना बनाएको’ आरोप लगाएको हो ।

  • इरानमा आक्रमण गर्न खटिएका छन् अमेरिकाका ५० हजार सैनिक

    इरानमा आक्रमण गर्न खटिएका छन् अमेरिकाका ५० हजार सैनिक

    वासिङटन, १ चैत, (रासस–सिन्ह्वा) । पेन्टागनका एक वरिष्ठ अधिकारीले शुक्रबार बताए अनुसार, इरानमाथि सैन्य हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्न छन् । पेन्टागनका प्रेस सचिव किंग्स्ली विल्सनले भने, “यी बलहरूले हवाई र समुद्री क्षेत्रमा नियन्त्रण स्थापना गरेका छन् र हजारौं चिन्हित इरानी लक्ष्यमा आक्रमण गरेका छन्, जसले सञ्चालनात्मक प्रभुत्व देखाउँछ ।” अमेरिकी सेन्ट्रल कमाण्डले बिहीबार लगभग ६ हजार लक्ष्यमा हमला गरिएको, ६० भन्दा बढी जहाज र ३० मिनेलयर नष्ट भएको जानकारी दिएको छ ।


    यस अपरेशनमा प्रयोग हुने हतियारहरूमा लडाकू जहाज, ड्रोन, मिसाइल रक्षा प्रणाली, युद्धपोत, ड्रोनविरुद्धका उपकरण, इन्धन आपूर्ति गर्ने विमान र कार्गो विमानहरू समावेश छन् । पेन्टागनले अर्को विवरण अनुसार, ट्रिपोली नामक एक उभयचर हमला जहाज र लगभग दुई हजार ५०० मरीनलाई मध्यपूर्वमा तैनाथ गरिरहेको छ ।


    सेन्ट्रल कमाण्डले शुक्रबार पश्चिम इराकमा बिहीबार दुर्घटनाग्रस्त भएको अमेरिकी इन्धन आपूर्ति विमानमा रहेका सबै ६ चालक दलका सदस्यको मृत्यु भएको पुष्टि गरेको छ । यसले संयुक्त अमेरिकी–इजरायली इरानमाथि फेब्रुअरी २८ देखि सुरु गरेका आक्रमणमा मृत्यु हुने अमेरिकी सैनिकको संख्या कम्तीमा १३ पुगेको जनाएको छ । इरानका संयुक्त राष्ट्रस्थित स्थायी प्रतिनिधि अमीर सईद इरावानीका अनुसार, हमलामा एक हजार ३०० भन्दा बढी नागरिकको मृत्यु भएको र ९ हजार ६६९ नागरिक स्थल नष्ट भएका छन् ।

  • इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

    इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

    दुबई, १ चैत, (रासस–एएफपी) । इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा शनिबार ड्रोन हमला गरेको छ। यो हमला अमेरिकाले इरानको खार्ग द्वीपमा भीषण हमला गरेलगत्तै भएको हो । यूएईका अधिकारीहरूले फुजाइरामा लागेको आगो निभाउने कार्य भइरहेको जनाएका छन्। उनीहरूले हवाई प्रतिरोध प्रणालीले नष्ट गरेको ड्रोन खस्दा आगलागी भएको बताएका छन्। उक्त बन्दरगाह यूएईका निम्ति अत्यन्त महत्त्वपूर्ण स्थान हो भने मध्येपूर्वकै सबैभन्दा विशाल तेलभण्डार केन्द्रहरूमध्ये एक हो।

    साथै पानीजहाजहरूमा इन्धन भर्नका निम्ति पनि यो महत्त्वपूर्ण स्थल हो। फुजाइरा बन्दरगाह ओमानको खाडीमा पर्छ । त्यहाँ पुग्न पानीजहाजहरूलाई जलक्षेत्रमा युद्ध सुरु भएको दुई सातायता पानीजहाजको आवतजावत लगभग बन्द रहेको हर्मुज स्ट्रेट पार गर्नुपर्दैन । ड्रोन हमलापछि अनलाइन माध्यममा देखिएका फुटेजमा यूएईको पूर्वी तटमा रहेको उक्त पूर्वाधार परिसरबाट बाक्लो धुवाँको मुस्लो उडिरहेको देखिएको थियो।

    फुजाइरा बन्दरगाहमा ड्रोन हमला त्यतिखेर भएको छ जतिखेर इरानी रिभोलूशनरी गाड्र्स कोर (आईआरजीसी)ले अमेरिकाले उसको खार्ग द्वीपमा हमला गरेका कारण अब यूएईका बन्दरगाह तथा अमेरिकी सैन्य ठेगानाहरू आफ्नो निम्ति वैध निसाना बनेको जनाएको छ। तेहरानको तेल उद्योग तथा समग्र अर्थतन्त्रका निम्ति खार्ग द्वीपको महत्त्व निकै रहेको मानिन्छ।

    यसैबीच, इरानी सेनाको खताम मुख्यालयका एक प्रवक्ता कर्णेल इब्राहिम जुल्फीगरीले यूएईका बन्दरगाहमा रहेका अमेरिकी क्षेप्यास्त्र तथा अमेरिकी सैनिक ‘लुक्ने स्थल’हरूमा आक्रमण गर्ने इरानको वैध अधिकार भएको बताएका छन् । उनले हानिबाट जोगिन यूएईका सहरहरू खाली गर्न मुस्लिमहरूलाई आह्वान गरेका छन् ।
    यसअघि अर्को खाडी देश कतारमा अमेरिकी व्यापारिक स्वार्थ जोडिएका कतिपय ठाउँहरू खाली गर्न अधिकारीहरूले आदेश दिएका थिए । इरानले तिनलाई वैध निसाना भनेपछि मानिसहरूलाई त्यहाँबाट अन्यत्र जान अधिकारीहरूले भनेका छन्। गुगल तथा ‘अमेरिकन एक्सप्रेस’जस्ता अमेरिकी कम्पनीहरूको कार्यालय रहेको राजधानी दोहाको केन्द्रमा रहेको मुशेइरेब डिस्ट्रिक्टमा मानिसहरूलाई फोनमार्फत् ती ठाउँ छाड्न सावधान गराइएका सन्देश जारी गरिएका छन्।

  • बग्दादस्थित अमेरिकी दूतावासमा आक्रमण

    बग्दादस्थित अमेरिकी दूतावासमा आक्रमण

    बग्दाद, १ चैत, (रासस–एएफपी) । इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा स्रोतहरूले बताएका छन् । बग्दादमा इरान समर्थित शक्तिशाली समूह काताइब हेजबुल्लाहलाई लक्षित गरी दुई वटा आक्रमणमा एक कमान्डरसहित यसका तीन सदस्यको मृत्यु भएको केही समयपछि दूतावासमा आक्रमण भएको थियो। लामो समयदेखि अमेरिका र इरानबीचको छद्म युद्धको मैदान रहेको इराकलाई फेब्रुअरी २८ मा इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेपछि मध्यपूर्व युद्धमा तानेको थियो।

    शनिबार बिहान विस्फोटको आवाज आएलगत्तै अमेरिकी कुटनीतिक नियोगमाथि कालो धुवाँको मुस्लो उठेको एएफपीका एक पत्रकारले बताएका छन् ।
    दुई सुरक्षा अधिकारीहरूले एएफपीलाई बताएअनुसार दूतावास परिसरमा ड्रोनद्वारा आक्रमण भएको थियो। घटनाबारे अमेरिकी दूतावासले कुनै प्रतिक्रिया जनाएको छैन । युद्ध सुरु भएयता बग्दादस्थित अमेरिकी दूतावासमाथि दोस्रो पटक आक्रमण भएको छ ।

    तेहरान समर्थित धेरै सशस्त्र समूहहरूलाई वाशिङ्गटनले ‘आतङ्कवादी सङ्गठन’ को रूपमा घोषणा गरेको छ । इराकमा इस्लामिक प्रतिरोध भनेर चिनिने इरान सहयोगी अभियान अन्तर्गत विभिन्न गठबन्धन गरिएको छ । इराक र यस क्षेत्रमा अमेरिकी आधारशिविरहरूमा दैनिक ड्रोन र रकेट आक्रमणको दाबी ती सङ्गठनहरूले गर्ने गरेका छन् ।

    युद्ध सुरु भएदेखि इराकमा ती समूहका सदस्यहरूलाई लक्षित गरी गरिएका धेरै आक्रमणहरूमा अमेरिका र इजरायलमाथि आरोप लगाइएको छ। पहिलो आक्रमण इरान समर्थित धेरै समूहहरूको उपस्थिति रहेको अरासतको छिमेकमा रहेको एक घरमा भएको थियो। त्यसको दुई घण्टापछि नहरावान जिल्लामा एउटा गाडीमा दोस्रो आक्रमण भएको थियो । सुरक्षा स्रोतहरूले सुरुमा दुई समूहका सदस्यहरू मारिएको बताएका थिए ।

    इरान समर्थक स्रोतले एएफपीलाई बताएअनुसार पछि घरमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको पुष्टि भएको छ । कमाण्डर अबु अली अल–अमिरीसहित तीन लडाकुका लागि काताइब हेजबुल्लाहले बग्दादमा अन्त्येष्टि जुलुस निकालेका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त समूहका उच्च नेता अहमद अल–हमिदावी उक्त समूहको घरमा भएको आक्रमणमा घाइते भएका बताइएको छ। इरान समर्थक स्रोतले उक्त आक्रमण ‘लक्षित हत्याको प्रयास’ भएको बताएको छ।

    अरासत जिल्लाका एक बासिन्दाले एएफपीसँग भने, “काताइब हेजबुल्लाहले कब्जा गरेको निकै साधारण देखिने घरबारे छिमेकमा कसैलाई पनि थाहा थिएन।” कुनै पनि स्रोतले इरान समर्थक गुटमाथि भएको आक्रमणमा कसको हात रहेको भन्ने कुरा बताएको छैन र कतैब हेजबुल्लाह समूहले भने यस विषयमा कुनै टिप्पणी गरेको छैन।

  • इराकमा अमेरिकी इन्धन विमान दुर्घटनामा सबै ६ चालक दलका सदस्यको मृत्यु भएको पुष्टी

    इराकमा अमेरिकी इन्धन विमान दुर्घटनामा सबै ६ चालक दलका सदस्यको मृत्यु भएको पुष्टी

    वाशिङ्गटन, ३० फागुन (रासस–एपी) । इरानसँगको सैन्य अभियानको क्रममा इराकको पश्चिम क्षेत्रमा अमेरिकी इन्धन विमान ‘केसी–१३५’ दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ चालक दलका सदस्यको मृत्यु भएको अमेरिकी सेनाले शुक्रबार पुष्टि गरेको छ । अमेरिकी सेनाको मध्यपूर्व क्षेत्र जिम्मेवारी लिने सेनाले अनुसार, दुर्घटना ‘मैत्रीपूर्ण हवाई क्षेत्र’ मा दुई विमानको संलग्नताको क्रममा भएको थियो र अर्को विमान सुरक्षित अवतरणमा सफल भएको छ ।

    ओहायो राज्यका गभर्नर माइक डेवाईनले सामाजिक सञ्जालमा दुर्घटनामा परेका ६ मध्ये ३ चालक दलका सदस्य ओहायो हवाई राष्ट्रिय गार्डको १२१औँ एयर रिफ्यूलिङ विङ्गमा कार्यरत रहेका जानकारी दिनुभयो । उहाँले परिवारप्रति शोक व्यक्त गर्दै उनीहरूको नाम खुलाइएको छैन । यो दुर्घटनाले सेनामा मृत्यु हुने सङ्ख्या कम्तिमा १३ पुगेको छ, जसमा सात जना युद्धमा मारिएका छन् र करिब १४० जना घाइते भएका छन् ।

    केसी–१३५ स्ट्राटोट्याङ्कर विमानले अन्य विमानलाई हवाईबाट इन्धन आपूर्ति गर्ने काम गर्छ, जसले लामो दूरीको मिशन पूरा गर्न मद्दत गर्छ । साथै यसलाई घाइते सैनिकको आपतकालीन निकासी र निगरानी अभियानमा पनि प्रयोग गरिन्छ । यो विमान १९६० दशकको डिजाइनमा आधारित छ र क्रमिक रूपमा नयाँ विमानले प्रतिस्थापन हुँदैछ ।

    संयुक्त राज्यको सेनाले दुर्घटनाको कारण तत्काल पत्ता नलागेको बताए पनि, यो ‘शत्रु वा मैत्रीपूर्ण गोलीबारीका कारण नभएको’ स्पष्ट पारेको छ । सेनाध्यक्ष जनरल ड्यान केनले भने, “ दुर्घटना मैत्रीपूर्ण क्षेत्रको वरिपरि भएको, जबकि चालक दल युद्ध मिशनमा थियो ।” रक्षा सचिव पीट हेगसेथले चालक दललाई वीरको रूपमा सम्बोधन गर्दै भने, “युद्ध नरक हो । युद्धमा अराजकता हुन्छ । हाम्रो विमानको दुखद दुर्घटनाले देखायो कि नराम्रो घटना कहिले पनि हुन सक्छ ।”


    सुरक्षा विशेषज्ञ याङ उकका अनुसार, युद्ध क्षेत्रमा इन्धन आपूर्ति गर्ने विमान शत्रु आक्रमणमा कम जोखिममा हुन्छ, किनभने यस्ता मिशन प्रायः अग्रभूमि भन्दा टाढा सम्पन्न हुन्छ । केसी–१३५ विमानले विगतमा केही घातक दुर्घटना भोगिसकेको छ । सन् २०१३ मा किर्गिस्तानमा एक विमान दुर्घटना हुँदा चालक दलका तीन सदस्य मारिएका थिए । त्यस्तै, १९६६ मा स्पेनको पालोमारेसमा बमबारी विमानसँगको मध्य हवाई ठोक्कामा चार चालक दलको मृत्यु भएको थियो । यद्यपि विमानको सुरक्षा र मर्मत व्यवस्थापन उच्चस्तरीय रहेको बताइएको छ ।

    अधिकांश विमानमा छालाबाट बाहिर जानको लागि प्यारासुट नराखिएको हुन्छ । यसबारे पूर्व अनुसन्धानकर्ताका अनुसार, “विमानमा दुर्घटना हुने सम्भावना अत्यन्त कम हुन्छ। यसले गर्दा चालक दलले विमानमै रहनु सुरक्षा दृष्टिले बढी उपयुक्त हुन्छ ।” केसी–१३५ को चालक दल सामान्यतया तीन सदस्य हुन्छ । आवश्यक भएमा हवाई निकासीमा नर्स र चिकित्सक पनि सवार हुन्छन् ।

    इन्धन आपूर्ति प्रायः विमानको पछाडि बूमबाट गरिन्छ, जसले लडाकू वा अन्य विमानसँग जडान गर्दछ । यो दुर्घटना इरान–अमेरिका युद्धको क्रममा सार्वजनिक रूपमा देखिएका चौथो विमान दुर्घटना हो । यसले खाडी क्षेत्रमा सैन्य अपरेशनको चुनौती र लामो दूरीको मिशनमा इन्धन आपूर्तिको महत्त्वलाई झन् बढाएको छ ।

  • इरानको तेल नेटवर्कमाथि अमेरिकी आक्रमणः युद्ध बढ्दै

    इरानको तेल नेटवर्कमाथि अमेरिकी आक्रमणः युद्ध बढ्दै

    वासिङ्टन ,३० फागुन (रासस–एपी) । अमेरिका र इरानबीचको द्वन्द्व तीव्र हुँदै गएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार अमेरिकाले इरानको तेल नेटवर्कसँग सम्बन्धित महत्त्वपूर्ण खार्ग टापुमा सैनिक लक्ष्यमा बमबारी गरेको छ । यो टापु इरानको मुख्य तेल निर्यात टर्मिनल भएको स्थान हो । अमेरिकी सेनाले टापुमा रहेका सैन्य लक्ष्यहरू पूर्ण रूपमा नष्ट गरेको र आवश्यक परे तेल पूर्वाधारलाई पनि निशाना बनाउन सकिने चेतावनी ट्रम्पले दिएका थिए । यसअघि इरानी संसदको अध्यक्ष मोहम्मद बाघेर कालीबाफले यस्ता आक्रमणहरू इरानको कडा प्रतिक्रिया निम्त्याउने चेतावनी दिएका थिए ।

    इरानको राजधानी तेहरानमा शुक्रबार एक ठूलो विस्फोट भएको छ । विस्फोट त्यही क्षेत्रमा भएको थियो जहाँ हजारौं मानिसहरूले वार्षिक प्यालेस्टिनी समर्थक र्यालीमा सहभागी भई इजरायल र अमेरिकाविरुद्ध नाराहरू लगाएका थिए । यस र्यालीमा केही उच्च सरकारी अधिकारी पनि उपस्थित थिए । विस्फोटका कारण मानवीय क्षति नभएको जानकारी दिइएको छ, तर यस घटनाले द्वन्द्वमा दुबै पक्षको अडिग निर्णय र प्रतिकार क्षमतालाई स्पष्ट पारेको छ ।


    युद्धमा अमेरिकी बललाई थप सुदृढ गर्न ३१औँ मरीन एक्सपेडिसनरी युनिट र उभयचर हमला जहाज ट्रिपोली मध्यपूर्वमा पठाइएको छ । यी मरीन युनिटहरूले उभयचर आक्रमणमा मात्र होइन, दूतावास सुरक्षा, नागरिक उद्धार र विपद् राहतका कार्यमा पनि विशेषज्ञता राख्छन् । यो तैनाथीले अनिवार्य रूपमा कुनै भू–आक्रमणको सङ्केत नगर्ने अमेरिकी अधिकारीहरूले बताएका छन् । पहिले नै अमेरिकी नौसेनाले अरब सागरमा एरोक्राफ्ट क्यारियर अब्राहाम लिङ्कन र आठ विध्वंसक जहाजसहित १२ जहाज परिचालनमा राखेको थियो । ट्रिपोली जहाज सामेल भएपछि यो बल क्षेत्रको दोस्रो सबैभन्दा ठूलो जहाज हुनेछ ।


    इरानले इजरायल र खाडी क्षेत्रका छिमेकी देशहरूमा मिसाइल र ड्रोन आक्रमण निरन्तर जारी राखेको छ । स्ट्रेट अफ होरमज, जहाँ विश्व व्यापारमा प्रयोग हुने तेलको करिब पाँचौं भाग जान्छ, प्रायः बन्द भएको छ । यसले खाडी क्षेत्रमा तेल आपूर्ति र अन्तर्राष्ट्रिय बजारमा दबाव सिर्जना गरेको छ ।

    मानवीय सङ्कट गहिरो हुँदै गएको छ । लेबननमा इजरान समर्थित हिजबुल्लाह मिलिटनहरूमा इजरायली हमला हुँदा करिब ८०० जनाको मृत्यु भइसकेको छ भने आठ लाख ५० हजार जना विस्थापित भएका छन् । इजरायल–हिजबुल्लाह द्वन्द्वमा लेबननमा ७७३ जनाको मृत्यु भइसकेको छ, जसमा १०० भन्दा बढी बालबालिका र १८ स्वास्थ्यकर्मीहरू रहेका छन् ।


    अमेरिकाले युद्धको सुरुदेखि १५ हजार भन्दा बढी इरानी लक्ष्यमा हमला गरेको छ । अमेरिकी रक्षा सचिवले प्रतिदिन एक हजार भन्दा बढी लक्ष्यमा आक्रमण भइरहेको जानकारी दिनुभएका छन् । पश्चिम इराकमा अमेरिकी ईन्धन आपूर्ति विमान दुर्घटनामा परेर ६ चालक दलका सदस्यको मृत्यु भएको छ । यो दुर्घटना अमेरिकी सेनाका चारवटा सार्वजनिक रूपमा पुष्टि भएका विमान दुर्घटनाहरू मध्ये चौथो हो । यसअघि तीन अमेरिकी लडाकू जहाज कुवेतबाट आएको मित्र राष्ट्रको गल्तीपूर्ण फायरमा क्षतिग्रस्त भएका थिए ।


    यो द्वन्द्वले विश्वव्यापी अर्थतन्त्र, खाडी क्षेत्रको सुरक्षा स्थिति र मानवीय सङ्कटमा गम्भीर प्रभाव पारेको छ । तेल र ऊर्जा आपूर्तिमा जोखिम बढेको, लाखौं नागरिक विस्थापित भएका र सम्पत्ति नष्ट भएको स्थिति छ । दुबै पक्षको कडा प्रतिकार र युद्ध रणनीतिले यस द्वन्द्वलाई अझ जटिल र खतरनाक बनाएको छ ।

  • इरान–अमेरिका युद्ध : तेल बजारमा तनाव

    इरान–अमेरिका युद्ध : तेल बजारमा तनाव

    तेहरान, २८ फागुन (रासस–एएफपी) । मध्यपूर्वमा जारी युद्धका बीच इरानले बुधबार इजरायल र खाडी क्षेत्रका लक्ष्यहरूतर्फ नयाँ आक्रमण सुरु गरेको छ । साउदी अरबको तेल क्षेत्रसमेत लक्षित भएको बताइँदै गर्दा विश्व ऊर्जा बजारमा उत्पन्न अस्थिरता नियन्त्रण गर्न ठूलो परिमाणमा तेल भण्डार सार्वजनिक गर्ने प्रस्तावसम्बन्धी खबरहरूले बजारलाई केही हदसम्म शान्त बनाउने प्रयास भइरहेको छ । अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि सुरु भएको युद्ध अहिले क्षेत्रभर फैलिएको छ । यसको प्रभाव ऊर्जा बजारदेखि दैनिक जनजीवनसम्म पुगेको छ । कतिपय स्थानमा इन्धनको राशनिङ सुरु भएको छ भने विद्यालयहरू समेत बन्द भएका छन् ।

    युद्धको आर्थिक असर, विशेषगरी ऊर्जा आपूर्तिको अवस्थाबारे छलफल गर्न जी–७ देशका नेताहरू बुधबार भिडियो सम्मेलनमार्फत बैठक बस्ने तयारीमा छन् । यसैबीच अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले इतिहासकै ठूलो परिमाणमा तेल भण्डार सार्वजनिक गर्ने प्रस्तावबारे निर्णय गर्ने सम्भावना रहेको वाल स्ट्रिट जर्नलले जनाएको छ । संयुक्त राज्य अमेरिकाले मङ्गलबार होर्मुज जलडमरूमध्यमा बारुदी सुरुङ बिछ्याउन सक्ने क्षमता राख्ने इरानका जहाजमाथि प्रहार गरेको जनाएको छ । अमेरिकी सेनाले सार्वजनिक गरेको भिडियोमा इरानी डुङ्गाहरू ध्वस्त पारिएको देखिएको बताइएको छ । अमेरिकाका अनुसार विश्वको झण्डै पाँचौँ भाग तेल ओसारपसार हुने यस जलमार्ग नजिकै १६ वटा माइन बिछ्याउने जहाज नष्ट गरिएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत चेतावनी दिँदै यदि जलडमरूमध्यमा सुरुङ राखिएको पुष्टि भए र त्यसलाई तुरुन्त हटाइएन भने इरानले ‘पहिले कहिल्यै नदेखिएको स्तरको सैन्य परिणाम’ भोग्नुपर्ने बताए । अमेरिकी निर्वाचन नजिकिँदै गर्दा बढ्दो तेल मूल्यले ट्रम्पमाथि राजनीतिक दबाब पनि बढाइरहेको छ । मङ्गलबार कच्चा तेलको मूल्य करिब पाँच प्रतिशत बढे पनि भण्डार सार्वजनिक गर्ने सम्भावनाको खबरपछि बुधबार केही घटेको छ ।

    ट्रम्पले अमेरिकी सेनाले जलडमरूमध्य हुँदै जाने तेल ट्याङ्करलाई सुरक्षा दिन सक्ने बताएका थिए । तर अमेरिकी प्रशासनले ऊर्जा मन्त्रीले यस्तो सुरक्षा व्यवस्था घोषणा गरेको भनी सामाजिक सञ्जालमा फैलिएको पोस्ट असत्य भएको स्वीकार गरेको छ । युद्धको जोखिम समुद्री यातायातमा पनि देखिएको छ । बेलायतको समुद्री सुरक्षा एजेन्सीका अनुसार बुधबार बिहान संयुक्त अरब इमिरेट्सको तट नजिक एउटा कन्टेनर जहाजलाई ‘अज्ञात प्रक्षेप्य’ ले प्रहार गरेको छ । यसले क्षेत्रीय जलमार्ग अझै असुरक्षित रहेको सङ्केत गरेको छ ।

    यद्यपि ट्रम्पले सोमबार युद्ध छोटो रहने दाबी गरेका थिए । तर अमेरिकी रक्षामन्त्री पीट हेग्सेथले तेहरानमा अभूतपूर्व गोलीबारी हुन सक्ने चेतावनी दिएका थिए । यसैबीच इरानले युद्धविरामको कुनै सङ्केत नदिएको स्पष्ट पारेको छ । इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबाफले सामाजिक सञ्जाल एक्समा लेख्दै इरान युद्धविराम खोजिरहेको छैन भन्दै आक्रमणकारीलाई सजाय दिनुपर्ने धारणा व्यक्त गरे ।


    इरानी सेनाले इजरायलका सहरहरूतर्फ क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । जेरुसेलममा हवाई हमलाको साइरन र विस्फोटको आवाज सुनिएको एएफपीका पत्रकारहरूले बताएका छन् । आपतकालीन सेवाहरूले तत्काल ठूलो क्षतिको विवरण सार्वजनिक नगरे पनि तेल अभिवमा केही मानिस घाइते भएको स्थानीय टेलिभिजनले जनाएको छ ।

    इरानको रिभोलुसनरी गार्ड्सले बहराइन र इराकी कुर्दिस्तानतर्फ पनि आक्रमण गरेको दाबी गरेको छ । कुवेतस्थित अमेरिकी सैन्य अड्डा समेत लक्षित गरिएको इरानी मिडियाले जनाएको छ, यद्यपि कुवेतले आठ वटा ड्रोन खसालेको मात्र पुष्टि गरेको छ । साउदी अरबले पनि शायबाह तेल क्षेत्रतर्फ आएका ड्रोन र ब्यालेस्टिक मिसाइलहरू अवरोध गरिएको जनाएको छ ।

    फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गरेको आक्रमणपछि यो युद्ध सुरु भएको थियो । त्यसपछि उहाँका छोरा मोजताबा खामेनीलाई उत्तराधिकारीको रूपमा नाम दिइएको छ, तर उनी अझै सार्वजनिक रूपमा देखिएका छैनन् । तेहरानमा बम विस्फोटको त्रास अझै कायम छ । त्यहाँकी एक महिलाले बम आक्रमणले सामान्य आवासीय भवनलाई लक्षित नगरे पनि विस्फोटको आवाजले अत्यन्त डर पैदा गरेको बताइन् ।


    इरानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च ८ सम्म युद्धमा एक हजार २०० भन्दा बढी मानिस मारिएका छन् भने १० हजारभन्दा बढी नागरिक घाइते भएका छन् । पेन्टागनका अनुसार सात अमेरिकी सैनिकको मृत्यु भएको छ र करिब १४० जना घाइते भएका छन् । द्वन्द्व क्षेत्रीय सीमाभन्दा बाहिर पनि फैलिएको छ । श्रीलङ्काको समुद्रमा अमेरिकी सेनाले इरानी जहाजमाथि टार्पिडो प्रहार गरेको बताइएको छ भने अस्ट्रेलियाले इरानी महिला फुटबल टोलीका थप दुई सदस्यलाई शरण दिएको जनाएको छ ।

    इराक र लेबनान पनि यस युद्धका प्रोक्सी मोर्चा बनेका छन् । इराकमा इरानसँग सम्बन्धित समूहले मङ्गलबार अमेरिकी आक्रमणमा आफ्ना पाँच लडाकू मारिएको बताएको छ । लेबनानमा इरान समर्थित हिजबुल्लाहलाई लक्षित इजरायली हवाई र स्थल आक्रमणपछि सयौँ मानिस मारिएका छन् र लाखौँ विस्थापित भएका छन् । बेरुतको दक्षिणी क्षेत्रमा बुधबार नयाँ इजरायली आक्रमण भएको खबर आएको छ । दक्षिणी सहर कानामा थप पाँच जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राज्य सञ्चारमाध्यमका अनुसार मध्य बेरुतको एउटा क्षेत्रमा पनि आक्रमण भएको छ ।

    यसअघि इरानले संयुक्त राष्ट्रसङ्घमा दिएको उजुरीमा मध्य बेरुतको समुद्री किनारस्थित होटलमा भएको आक्रमणमा आफ्ना चार कूटनीतिज्ञ मारिएको जनाएको थियो । इजरायलले भने त्यहाँ इरानको रिभोलुसनरी गाड्र्सका प्रमुख कमान्डरहरू लक्षित गरिएको दाबी गरेको छ । युद्धको असर विश्वभर महसुस हुन थालेको छ ।

    संयुक्त राष्ट्र व्यापार तथा विकास एजेन्सीले इन्धन र खाद्यान्नको मूल्य बढ्दै जाँदा विश्वका कमजोर समुदाय सबैभन्दा बढी प्रभावित हुने चेतावनी दिएको छ । इजिप्टमा सरकारले इन्धनको मूल्य करिब ३० प्रतिशत बढाएपछि सर्वसाधारण चिन्तित भएका छन् । कायरोको बजारमा भेटिएकी छ सन्तानकी आमा ओम मोहम्मदले पहिले नै जीवन धान्न गाह्रो भएको भन्दै अब मानिसहरूले कसरी व्यवस्थापन गर्ने भन्नेबारे आफू चिन्तित रहेको बताइन् ।

  • अमेरिकाले दक्षिण कोरियाबाट ‘थाड एन्टी मिसाइल सिस्टम’को केही भाग मध्यपूर्वमा सार्ने

    अमेरिकाले दक्षिण कोरियाबाट ‘थाड एन्टी मिसाइल सिस्टम’को केही भाग मध्यपूर्वमा सार्ने

    सियोल, २८ फागुन (रासस–योन्हाप) । संयुक्त राज्य अमेरिकाले ‘टर्मिनल हाइ अल्टिच्युड एरिया डिफेन्स ९थाड०’ नामक क्षेप्यास्त्र विरोधी प्रणालीको केही भाग दक्षिण कोरियाबाट मध्यपूर्वतर्फ सार्ने प्रयास गरिरहेको दुई अमेरिकी अधिकारीलाई उद्धृत गर्दै वासिङ्टन पोस्टले जनाएको छ ।

    दक्षिण कोरियामा तैनाथ अमेरिकी सेनाले मध्यपूर्वमा युद्ध चर्किरहेका बेला थाड क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका केही भागहरू बाहिर पठाएको समाचार सार्वजनिक भइरहेका बेला यो रिपोर्ट आएको हो । रिपोर्ट अनुसार पेन्टागनले थाडको केही भाग दक्षिण कोरियाबाट मध्यपूर्वमा सार्नेछ ।

    उत्तर कोरियाको क्षेप्यास्त्र खतराको सामना गर्न थाडलाई दक्षिण कोरियामा तैनाथ गरिएको थियो । अमेरिकी सेना कोरियाको स्वामित्वमा रहेको सैन्य सम्पत्तिको सम्भावित स्थानान्तरणले उत्तर कोरियाविरुद्धको प्रतिरोधात्मक अवस्थालाई असर नगर्ने राष्ट्रपति ली जे म्युङले बसधबारको मन्त्रिपरिषद्को बैठकमा बताएका थिए ।

  • इरानसँगको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको भनाइ

    इरानसँगको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको भनाइ

    वासिङ्टन, २८ फागुन (रासस–योन्हाप) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरानसँगको युद्ध ‘चाँडै’ अन्त्य हुने बताएका छन् । ‘अपरेसन एपिक फ्युरी’ नाम दिइएको अमेरिकी–इजरायली संयुक्त सैन्य अभियानले इरानको मिसाइल क्षमता र नौसेनालाई नष्ट गर्न र आणविक हतियारको कुनै पनि मार्ग तोड्न आफ्नो युद्धको १२ औँ दिनमा प्रवेश गरिसकेपछि एक्सियोससँगको करिब पाँच मिनेट लामो संक्षिप्त फोन संवादमा ट्रम्पले उक्त टिप्पणी गरेका हुन् । “कुनै पनि बेला म यो अन्त्य गर्न चाहन्छु, यो छिट्टै अन्त्य हुनेछ,” ट्रम्पले भने ।


    एक्समा पोस्ट गरिएको एक भिडियोमा अमेरिकी केन्द्रीय कमान्डका नेता एडमिरल ब्राड कूपरले भने, “अमेरिकी सेनाले फेब्रुअरी २८ मा तेहरान विरुद्ध अभियान सुरु गरेदेखि इरानमा पाँचहजार ५०० भन्दा बढी लक्ष्यहरूमा आक्रमण गरेको छ, जसमा ६० भन्दा बढी जहाजहरू पनि रहेका छन् ।

    अन्तर्वार्ताका क्रममा ट्रम्पले युद्ध ‘राम्रोसँग चलिरहेको’ बताएका थिए । उनले भने, “हामी समय तालिकाभन्दा धेरै अगाडि छौँ । सोचेको मूल छ हप्ताको अवधि भन्दापनि छोटो समयमा भन्दा हामीले बढी क्षति गरेका छौँ।” इरानले ४७ वर्षसम्मको मृत्यु र विनाशको मूल्य अहिले चुकाइरहेको पनि राष्ट्रपति ट्रम्पले बताए । “यो भुक्तानी हो। तिनीहरू त्यति सजिलै बाहिर निस्कने छैनन्,” उनले भने ।

  • इरानी विद्यालयमा ‘गलत निशाना’ का कारण’ टोमाहक क्षेप्यास्त्रले लागेको अमेरिकी भनाइ

    इरानी विद्यालयमा ‘गलत निशाना’ का कारण’ टोमाहक क्षेप्यास्त्रले लागेको अमेरिकी भनाइ

    वासिङ्टन, २८ फागुन (रासस–एएफपी) । इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक क्षेप्यास्त्र खसेको र यसमा अमेरिका जिम्मेवार रहेको द न्यूयोर्क टाइम्सले अमेरिकी अधिकारीलाई उद्धृत गरी बुधबार रिपोर्ट गरेको छ । टाइम्सले २८ फेब्रुअरीमा भएको आक्रमणको अनुसन्धान जारी रहेको तर यसको लागि अमेरिका जिम्मेवार रहेको प्रारम्भिक निष्कर्ष आएको जनाएको हो । “अमेरिकी सेनाले नजिकैको इरानी बेसमा आक्रमण गर्ने क्रममा पुरानो तथ्याङ्क प्रयोग गरेर लक्ष्य समन्वय तय गरिएको कारण विद्यालय भवनमा परेको हो,” रिपोर्टमा अमेरिकी अधिकारीहरूको भनाइलाई आधार बनाउँदै लेखिएको छ।

    यसै हप्ताको सुरुमा विद्यालयका आक्रमणमा इरान नै जिम्मेवार हुन सक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका थिए । तर पछि अनुसन्धानले जे कुरा प्रकट गरे पनि आफूले सहने बताएका थिए । अमेरिका–इजरायलले संयुक्तरूपमा सुरू गरेको सुरुवाती आक्रमणमा इरानको दक्षिणी शहर मिनाबको प्राथमिक विद्यालयमा लागेको थियो । उक्त घटनामा परी १५० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताइएको छ ।

  • युरोपले इच्छा देखाए तेल र ग्यास आपूर्तिमा सहकार्य सम्भव : पुटिन

    युरोपले इच्छा देखाए तेल र ग्यास आपूर्तिमा सहकार्य सम्भव : पुटिन

    मस्को, २७ फागुन (रासस–सिन्ह्वा) । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली देशहरूले सहकार्यका लागि स्पष्ट र सकारात्मक सङ्केत दिएमा रूस तेल तथा प्राकृतिक ग्यास आपूर्तिमा सहकार्य गर्न तयार रहेको बताएका छन् । उनले दीर्घकालीन, स्थिर र राजनीतिक दबाबबाट मुक्त सहकार्य भएमा दुवै पक्षका लागि लाभदायी हुने धारणा व्यक्त गरे ।


    सोमबार आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति पुटिनले युरोपेली कम्पनीहरू र ऊर्जा खरिदकर्ताहरूले दीर्घकालीन तथा दिगो सहकार्यतर्फ अग्रसर भए रूस त्यसका लागि खुला रहेको उल्लेख गरे । उनले रूसले विगतमा पनि ऊर्जा आपूर्ति सम्बन्धी सहकार्य अस्वीकार नगरेको र भविष्यमा पनि पारस्परिक हितका आधारमा सहकार्य जारी राख्न इच्छुक रहेको बताए ।


    उनको यो अभिव्यक्ति हाल मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र त्यसका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा देखिएको तीव्र वृद्धिका बीच आएको हो । विश्लेषकहरूका अनुसार यस प्रकारका क्षेत्रीय द्वन्द्वले विश्व ऊर्जा बजारमा अस्थिरता बढाउने सम्भावना रहन्छ, जसको प्रभाव विभिन्न क्षेत्रीय अर्थतन्त्रहरूमा देखिन सक्छ । राष्ट्रपति पुटिनले युरोपेली सङ्घले आगामी अप्रिलदेखि रूसबाट ऊर्जा स्रोत खरिदमा थप प्रतिबन्ध लगाउने योजना बनाएको जानकारी पनि दिए । उनका अनुसार युरोपेली सङ्घले सन् २०२७ सम्म रूसबाट हुने ऊर्जा आयात पूर्ण रूपमा अन्त्य गर्ने लक्ष्य लिएको बताइएको छ ।

    यस परिप्रेक्ष्यमा रूस सरकारले युरोपतर्फको ऊर्जा आपूर्तिसम्बन्धी नीति तथा सम्भावनाबारे अध्ययन गर्न सम्बन्धित निकायलाई जिम्मेवारी दिएको पुटिनले बताए । उनले रूसले आफ्ना ऊर्जा निर्यातलाई अन्य आकर्षक बजारतर्फ विस्तार गर्दै नयाँ साझेदारीहरू सुदृढ गर्न आवश्यक रहेको पनि उल्लेख गरे ।


    उनका अनुसार रूस अझै पनि विश्वसनीय ऊर्जा आपूर्तिकर्ता राष्ट्रका रूपमा रहेको छ र विश्वासिलो साझेदार देशहरूसँग तेल तथा ग्यास आपूर्ति सम्बन्धी सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता राख्दछ । उहाँले एशिया–प्रशान्त क्षेत्रका देश तथा पूर्वी युरोपका केही देशहरूसँग ऊर्जा सहकार्य जारी रहेको जानकारी पनि दिए ।

  • मध्यपूर्व युद्धः लेबनानमा सात लाख मानिस विस्थापित

    मध्यपूर्व युद्धः लेबनानमा सात लाख मानिस विस्थापित

    जेनेभा, २६ फागुन (राससएएफपी) । इजरायली हवाई हमलाका कारण लेबनानमा करिब सात लाख मानिसहरू एक हप्ताभित्र आफ्नो घर छोड्न बाध्य भएका छन् । संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका प्रतिनिधि करोलिना लिन्डहोम बिलिङले भने, “जीवनहरू ठूलो मात्रामा प्रभावित भएका छन् । धेरै परिवारहरू केही मिनेटमै गाउँ छोड्न बाध्य भएका थिए ।” करिब एक लाख बीस हजार मानिसहरू सरकारद्वारा तोकिएका सामूहिक शरणस्थलमा बसिरहेका छन्, जबकि अरू आफन्त तथा साथीहरूसँग बसिरहेका छन् वा सुरक्षित बसोबास खोजिरहेका छन् ।

    लेबनान यस युद्धमा तब प्रवेश ग¥यो, जब इरान समर्थित हिजÞबुल्लाहले इजरायलमाथि हमला ग¥यो, जुन अमेरिकी–इजरायली आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेइको हत्या पछि भएको थियो । लेबनानका अधिकारीहरूले मार्च २ देखि भएको हमलामा कम्तीमा चार सय ६६ मानिसको मृत्यु र एक हजार तीन सय १३ घाइते भएको जानकारी दिएका छन्, जसमा ८४ बालबालिकाहरू पनि छन् ।

    धेरै विस्थापित मानिसहरू बीरुत, माउन्ट लेबनान, उत्तर जिल्ला, बेक्का उपत्यका र छिमेकी सिरियामा सुरक्षित स्थान खोजिरहेका छन् । संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले भनेको छ, “द्रुत र निरन्तर अन्तर्राष्ट्रिय सहयोग अत्यावश्यक छ, ताकि लेबनन सरकारले उत्पन्न आवश्यकतामा सहयोग पाउन सकोस् । हरेक दिन जारी रहँदा सयौं हजार नागरिकहरू अझ बढी पीडा भोगिरहेका छन् र लेबनन तथा क्षेत्र अझ अस्थिर हुँदैछ ।”

  • रिजउड नेपाली समाजलाई ९ लाख अमेरिकी डलर अनुदान

    रिजउड नेपाली समाजलाई ९ लाख अमेरिकी डलर अनुदान

    न्यूयोर्क । रिजउड नेपाली समाज (आरएनएस)ले न्यूयोर्कको रिजउडस्थित नेपाली सामुदायिक तथा सांस्कृतिक केन्द्रको मर्मत तथा विस्तारका लागि ९ लाख अमेरिकी डलरबराबरको संयुक्त राज्य अमेरिकाको संघीय अनुदान प्राप्त गरेको औपचारिक घोषणा गरेको छ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिद्वारा हस्ताक्षरित आर्थिक वर्ष सन् २०२६ को संघीय बजेट प्याकेजअन्तर्गत सहयोग प्राप्त भएको हो । यो अनुदान यातायात, आवास तथा शहरी विकास विनियोजन प्रक्रियाअन्तर्गत सुरक्षित गरिएको हो । यस ऐतिहासिक उपलब्धि न्यूयोर्कबाट निर्वाचित अमेरिकी सिनेटर चक शुमरको नेतृत्व र पहल महत्वपूर्ण रहेको समाजले उल्लेख गरेको छ ।


    नेपाली सामुदायिक तथा सांस्कृतिक केन्द्र सांस्कृतिक सम्पदा संरक्षण, भाषा तथा परम्पराको प्रवद्र्धन, युवा नेतृत्व विकास, ज्येष्ठ नागरिक सेवा, अन्तरपुस्ते संवाद तथा सामुदायिक सशक्तीकरणको प्रमुख केन्द्रका रुपमा स्थापित हुँदै आएको छ । प्रस्तावित मर्मत तथा विस्तार योजनाले केन्द्रको भौतिक क्षमता वृद्धि, पहुँच योग्यता र सुरक्षा सुधार गर्नुका साथै भावी पुस्ताका लागि नेपाली कला, संस्कृति र परम्पराको संरक्षण सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।


    रिजउड नेपाली समाजका लागि ९ लाख अमेरिकी डलर संघीय अनुदान उपलब्ध गराउन पाउँदा गर्व महसुस भएको सिनेटर शुमरले बताएका छन् । उनका अनुसार यस्ता परियोजनाहरुले बढ्दो नेपाली–अमेरिकी समुदाय र नयाँ आप्रवासी नेपालीहरुका लागि अत्यावश्यक सेवाहरु उपलब्ध गराउनेछन् । ‘यो नेपाली समुदायहरुको पहिलो संघीय अनुदान हो, जसले क्विन्सस्थित नेपाली सामुदायिक तथा सांस्कृतिक केन्द्रको मर्मत तथा विस्तारमा महत्वपूर्ण योगदान पु¥याउनेछ’, सिनेटर शुमरले भनेका छन्– ‘यस्ता पहलहरुले न्यूयोर्कवासीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउनेछ । हाम्रो समुदायलाई अझ सुदृढ बनाउन र आवश्यक स्रोतसाधन उपलब्ध गराउन मेरो निरन्तर प्रयास रहनेछ ।’


    रिजउड नेपाली समाजले सिनेटर शुमरप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ । नेपाली–अमेरिकी समुदायको योगदानलाई संघीय तहमा मान्यता दिलाउन सिनेटर शुमरले निर्वाह गरेको भूमिकाको समाजले उच्च प्रशंसा गरेको छ ।
    रिजउड नेपाली समाजका सरकार सम्बन्ध तथा अनुदान समितिका संयोजक अमित प्रताप शाहले यो संघीय अनुदान पूर्वाधार विकासको रकम मात्र नभई यो हाम्रो समुदायको पहिचान, साझेदारी र अवसरको मान्यता भएको बताएका छन् । ‘यो उपलब्धिले हाम्रो दीर्घकालीन सामूहिक प्रयासको परिणाम हो । नेपाली–अमेरिकी पहिचानको संरक्षण, सांस्कृतिक सम्पदाको जगेर्ना, एकीकरण सुदृढीकरण तथा संस्थागत विकास र सामुदायिक सशक्तीकरणका लागि आगामी दिनमा निरन्तर सहकार्यको अपेक्षा गर्दछौं,’ शाहले भने ।


    यो संघीय अनुदान सामुदायिक तथा सांस्कृतिक केन्द्रको मर्मत तथा विस्तारका लागि मात्र रहेको समाजका अध्यक्ष राजेश भट्टले स्पष्ट पारेका छन् । ‘परियोजनामुखी अनुदान भएकाले भवन खरिद तथा विकाससँग सम्बन्धित करिब १० लाख अमेरिकी डलर बराबरको बाँकी ऋण दायित्व यसमा समेटिएको छैन’, उनले भनेका छन्– ‘त्यसैले हाम्रो संस्थाको दीर्घकालीन स्थायित्वका लागि समुदायको निरन्तर सहयोग अपरिहार्य छ ।’ समाजले यस अनुदानको जिम्मेवार रुपमा उपयोग गर्दै सांस्कृतिक गौरव, सम्पदा संरक्षण, सामाजिक एकीकरण, आर्थिक सशक्तीकरण तथा संस्थागत स्थायित्व प्रवद्र्धन गर्न दीर्घकालीन कार्यक्रमहरु अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

  • एनआरएनएको १२औं बृहत एकता अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन कार्यतालिका सार्वजनिक

    एनआरएनएको १२औं बृहत एकता अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन कार्यतालिका सार्वजनिक

    न्यूयोर्क । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले १२औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ । एनआरएनएले दुई वर्षे कार्यकालका लागि ७४ जना पदाधिकारी चयन गर्न निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो । निर्वाचन यही फागुन ३० देखि चैत १ सम्ममा सम्पन्न गर्ने जनाएको छ । यसअघि निर्वाचन समितिको माघ २९ को निर्णयअनुसार कार्यतालिका तोकिएको हो ।


    निर्वाचन समितिको कार्यालयका अनुसार २० पदका लागि ७४ जना पदाधिकारीहरु निर्वाचित हुनेछन् । जसअन्तर्गत अध्यक्ष १, उपाध्यक्ष ६, महिला उपाध्यक्ष १, युवा उपाध्यक्ष १, महासचिव १, उपमहासचिव २, सचिव ६, महिला सचिव १, कोषाध्यक्ष १, सहकोषाध्यक्ष ३ र महिला सहकोषाध्यक्ष १ पद रहेका छन् ।


    त्यसैगरी महिला संयोजक १, युवा संयोजक १, क्षेत्रीय संयोजक ६ (प्रत्येक क्षेत्रमा १ जना, क्षेत्रीय उपसंयोजक १७ (अफ्रिका क्षेत्र २ र अन्य क्षेत्र ३ का दरले), क्षेत्रीय महिला संयोजक ६ (प्रत्येक क्षेत्रमा १ जना), क्षेत्रीय महिला उपसंयोजक ६ (प्रत्येक क्षेत्रमा १ जना), क्षेत्रीय युवा संयोजक ६ (प्रत्येक क्षेत्रमा १ जना), क्षेत्रीय युवा उपसंयोजक ६ (प्रत्येक क्षेत्रमा १ जना) र दोस्रो पुस्ताका गैरआवासीय नेपाली संयोजक १ रहने निर्वाचन समितिको कार्यालयले जनाएको छ ।


    एनआरएनएको १२औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन १४–१६ मार्च, २०२६ मा काठमाडौंमा आयोजना हुनेछ। यस निर्वाचनले संघको आगामी दुई वर्षे कार्यकालका लागि नेतृत्व चयन गर्नेछ ।

  • प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा इजरायलको बधाई

    प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा इजरायलको बधाई

    काठमाडौँ, २६ फागुन । इजरायलले नेपालमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएको छ । नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बासले आज दिउँसो यहाँ ‘नयाँ पश्चिम एसियामा नव प्रभात’ विषयमा पत्रकार सम्मेलन गरेर नेपालसँगको द्विपक्षीय मैत्री र सहकार्य अझ सुदृढ बनाउने इजरायलको इच्छा व्यक्त गरे । साथै उनले सम्पन्न निर्वाचनलाई लोकतन्त्र सुदृढ पार्ने महत्वपूर्ण कदमका रूपमा वर्णन गरे ।


    इजरायली राजदूतले इजरायल पश्चिम एसियामा शान्ति चाहने र सम्पूर्ण क्षेत्रको शान्ति र प्रगतिका लागि आफ्ना सबै छिमेकी देशसँग वार्ता गर्न तयार रहेको बताए । उनले आफ्नो देशलाई हिज्बोल्लाह र हमासजस्ता कट्टरपन्थी समूहहरूले बारम्बार आक्रमण गरेका तथा ती समूहलाई इरानले वित्तीय तथा अन्य सहयोग गरेको आरोप लगाए ।

    इजरायलले ती अतिवादी समूहका कारण आफ्नो अस्तित्व सङ्कटका परेकाले आत्मरक्षाका निम्ति प्रतिकार गर्दै आएको स्पष्ट पार्दै उनले जारी हवाई हमलामा इजरायलले इरानी नागरिकलाई लक्षित गर्न नचाहेको बताए । उनले भने, “संयुक्त राज्य अमेरिका र इजरायलद्वारा गरिएका हवाई आक्रमण इरानको आणविक खतरालाई निष्प्रभावी बनाउने उद्देश्य हो । यो पश्चिम एसिया मात्र नभई विश्वव्यापी सुरक्षासँग जोडिएको विषय हो ।”

  • पाँच दिनमा टर्कीएको हवाई क्षेत्रमा इरानको दोस्रो क्षेप्यास्त्र छेदन

    पाँच दिनमा टर्कीएको हवाई क्षेत्रमा इरानको दोस्रो क्षेप्यास्त्र छेदन

    अङ्कारा, २६ फागुन (रासस–एएफपी) । वाशिंगटनले आफ्ना सबै नागरिकहरूलाई सुरक्षा चिन्ताको कारण दक्षिणपूर्वी टर्की छोड्न आग्रह गरेलगत्तै इरानबाट प्रहार गरिएको दोस्रो ब्यालेस्टिक क्षेप्यास्त्र टर्कीएको हवाई क्षेत्रमा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) रक्षा प्रणालीले खसालेको अङ्काराले सोमबार बताएको छ । नेटोले पाँच दिनमा टर्कीएको हवाई क्षेत्रमा प्रहार गरेको यो दोस्रो क्षेप्यास्त्र आक्रमण भएको पुष्टि गरेको छ । घटनापछि नेटोले ‘कुनै पनि खतराको बिरूद्ध सबै सहयोगीहरूको रक्षा गर्न’ तयार रहेको बताएको छ ।

    फेब्रुअरी २८ मा अमेरिका–इजरायल आक्रमण सुरु भएयता इरानले त्यसको बदलामा क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दै आएको छ । आक्रमणबाट अहिलेसम्म टर्कीए बचेको जस्तो देखिन्छ । अमेरिकी सेनाहरू टर्कीएका धेरै आधार शिविरहरूमा तैनाथ छन् । इरानले टर्कीएको दक्षिणी शहर अदानाको बाहिर क्षेत्रमा इन्सर्लिक आधार शिविरलाई लक्षित गरी आक्रमण गरिरहेको छ ।

    सोमबार टर्कीएस्थित अमेरिकी दूतावासले अदानामा रहेको वाणिज्य दूतावास बन्द गरेको र अत्यावश्यक बाहेकका कर्मचारीलाई त्यहाँबाट बाहिर जान सल्लाह दिएको छ । “सन् २०२६ मार्च ९ मा विदेश मन्त्रालयले गैर–आकस्मिक अमेरिकी सरकारी कर्मचारी र अमेरिकी सरकारी कर्मचारीका परिवारका सदस्यहरूलाई सुरक्षा जोखिमको कारण वाणिज्य दूतावास छोड्न आदेश दिएको छ,” दूतावासले एक्समा जारी सन्देशमा भनिएको छ।

    यसले विदेश मन्त्रालयको यात्रा सुझाबलाई उद्धृत गर्दै भनेको छ, “दक्षिणपूर्वी टर्कीबाट अमेरिकीहरूलाई अब प्रस्थान गर्न कडा रूपमा निर्देशित गरिएको छ।” त्यसको एक घण्टापछि इरानबाट प्रहार गरिएको अर्को ब्यालेस्टिक क्षेप्यास्त्र टर्कीएको हवाई क्षेत्रमा छेदन गरेको र यो घटना नेटो रक्षा प्रणालीले पाँच दिनमा गरेको दोस्रो भएको पुष्टि टर्कीएको रक्षा मन्त्रालयले गरेको थियो।

    “इरानबाट प्रक्षेपण गरिएको र टर्कीको हवाई क्षेत्रमा प्रवेश गरेको ब्यालिस्टिक गोलाबारुद पूर्वी भूमध्यसागरमा नेटोको हवाई र क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले निष्प्रभावी बनाएकोे छ,” पश्चिमा सैन्य गठबन्धन नेटोले पनि पुष्टि गरेको छ। “नेटोले फेरि टकीर्एतर्फ जाँदै गरेको मिसाइललाई रोकेको छ। नेटो कुनै पनि खतराको बिरूद्ध सबै सहयोगीहरूको रक्षा गर्न आफ्नो तत्परतामा दृढ छ,” प्रवक्ता एलिसन हार्टले एक्समा भने । इन्सर्लिक एयर बेस एक महत्त्वपूर्ण नेटो सुविधा हो जुन दशकौंदेखि अमेरिकी सेनाले प्रयोग गर्दै आएको छ र यो अदानाबाट केवल १० किलोमिटर टाढा रहेको छ ।

  • अमेरिकी डेमोक्र्याटिक सांसद्द्वारा इरानी विद्यालयमा भएको विस्फोटको निष्पक्ष छानबिनको माग

    अमेरिकी डेमोक्र्याटिक सांसद्द्वारा इरानी विद्यालयमा भएको विस्फोटको निष्पक्ष छानबिनको माग

    वासिङ्टन, २६ फागुन (रासस–एएफपी) । अमेरिकी डेमोक्र्याटिक सांसदहरूले सोमबार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई इरानको एक विद्यालयमा भएको आक्रमणमा दर्जनौँको मृत्यु भएको भनिएको आक्रमणको निष्पक्ष छानबिन गर्न आग्रह गरेका छन् । इरानले इजरायल र अमेरिकाले युद्धको सुरुवातमै दक्षिणी शहर मिनाबको प्राथमिक विद्यालयमा आक्रमण गरेको आरोप लगाएको छ । इरानका अनुसार उक्त विस्फोटमा परी १५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो, जसमा अधिकांश विद्यार्थी थिए। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले घटनाका लागि इरानमाथि नै आरोप लगाइरहनुभएको छ भने पेन्टागनले यसबारे अनुसन्धान गरिरहेको बताएको छ ।

    धेरै उच्च पदस्थ सिनेटरहरूले एक संयुक्त विज्ञप्तिमार्फत् भनेका छन्, “स्वतन्त्र विश्लेषणले आक्रमण अमेरिकी सेनाले गरेको हो वा होइन विश्वसनीय रूपमा सुझाव दिनेछ र यदि यो सत्य पुष्टि भएमा मध्य पूर्वमा अमेरिकी सैन्य कारबाहीको पछिल्ला दशकहरूमा नागरिक हताहतीको यो सबैभन्दा खराब घटनाहरूमध्ये एक हुनेछ।” “स्कुले बालबालिकाको हत्या डरलाग्दो र कुनै पनि हालतमा अस्वीकार्य छ,” पेन्टागनका प्रमुख पिट हेगसेथले यस त्रासदीको पूर्ण र निष्पक्ष समीक्षा गर्नुपर्ने बताएका छन् ।


    न्यूयोर्क टाइम्सले इरानको अर्धसरकारी मेहर न्यूजले अपलोड गरेको भिडियोलाई प्रमाणित गरेको छ, जसमा अमेरिकी टोमाहक क्रुज मिसाइलले रिभोलुसनरी गाड्र्सको स्कूलको नजिकै रहेको क्लिनिकको संरचनामा प्रहार गरेको देखिन्छ। टाइम्सका अनुसार यस युद्धमा टोमाहक्स प्रयोग गर्ने एक मात्र शक्ति संयुक्त राज्य अमेरिकाको सेना हो । अमेरिकी सेनाले रणनीतिक ‘स्ट्रेट अफ होर्मुज’ नजिकै रिभोलुसनरी गाड्र्सको आधार शिविर रहेको नौसैनिक लक्ष्यहरूमा आक्रमण गरेको बताएपनि विद्यालयमा भएको विस्फोट आफ्नो सेनाले नगराएको द टाइम्सले अमेरिकी सैन्य अधिकारीलाई उद्धृत गरी जानकारी गराएको छ।

    सांसदहरूले भनेका छन, “यो घटना अझ चिन्ताजनक छ किनकि यसलाई उनीहरूले हेगसेथको बल प्रयोगको लागि ‘खुला रूपमा अभद्र दृष्टिकोण’ भनेका छन्। उनले गत हप्ता इरानमा अमेरिकी आक्रमण ‘संलग्नताको मूर्खतापूर्ण नियमहरू’ द्वारा बाँधिन बाध्य नहुने बताएका छन् । वक्तव्यमा हस्ताक्षर गर्नेहरूमा सिनेटको विदेश सम्बन्ध समितिमा शीर्ष ‘डेमोक्र्याट’ जीन शाहीन पनि छन् । एएफपीले विस्फोटस्थलको भ्रमण गरी विद्यालयमा भएको मृतकको सङ्ख्या वा घटनाको विवरण स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन ।

  • बहराइन, जोर्डन र इराक छाड्न अमेरिकी नागरिकलाई विदेश मन्त्रालयको निर्देशन

    बहराइन, जोर्डन र इराक छाड्न अमेरिकी नागरिकलाई विदेश मन्त्रालयको निर्देशन

    वासिङ्टन, २० फागुन (रासस–एएफपी) । अमेरिकाले बहराइन, जोर्डन र इराकमा सुरक्षा सेवामा रहेका कर्मचारीबाहेक अन्य गैर–आकस्मिक सेवामा कार्यरत अमेरिकी नागरिकलाई ती मुलुकबाट जतिसक्दो छिटो बाहिरिन सूचना जारी गरेको छ। अमेरिकी विदेश मन्त्रालयले मङ्गलबार बहराइन र जोर्डन छाड्न गैर–आकस्मिक सेवाका कर्मचारीहरूलाई आदेश दिएको हो ।

    इरानले अमेरिका–इजरायली आक्रमणको प्रतिकार गरिरहेको अवस्थामा नागरिकको सुरक्षालाई मध्यनजर गर्दै यो सूचना जारी गरिएको हो । मन्त्रालयले एक्समा गरेको पोष्टमा भनेको छ, “गैर–आकस्मिक सेवामा रहेका अमेरिकी सरकारी कर्मचारी र सरकारी कर्मचारीका परिवारका सदस्यहरूलाई प्रतिबिम्बित गदै विदेश मन्त्रालयले अमेरिकी नागरिकलाई बहराइन, जोर्डन र इराकमा यात्रा नगर्न सुझाब दिएको छ।

    एक छुट्टै पोस्टमा मन्त्रालयले भनेको छ, “अमेरिकाले इराक यात्रा निर्देशन अद्यावधिक गरिएको थियो कि यसले सोमबार “सुरक्षा चिन्ताका कारण गैर–आकस्मिक अमेरिकी सरकारी कर्मचारीहरूलाई इराक छोड्न आदेश दिएको थियो। त्यसमा उनीहरूका आफन्तको उल्लेख गरिएको थिएन।”
    अमेरिका–इजरायलले इरानमाथि गरेको संयुक्त आक्रमणमा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको तेहरानले बताएको छ ।

    इरानको रिभोलुसनरी गाड्र्सले बहराइनमा रहेको अमेरिकी हवाई अड्डालाई निशाना बनाएको इरानको रिभोलुसनरी गार्ड्सले मङ्गलबार जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ । इराकको राजधानी बग्दादमा कालो पोशाकमा सयौँ प्रदर्शनकारीले आइतबार अमेरिकी दूतावास रहेको ग्रिन जोनमा प्रवेश गर्ने प्रयास गरेका छन् ।

    जोर्डनको राजधानी अम्मानस्थित अमेरिकी दूतावासले सोमबार अज्ञात खतराका कारण अस्थायी रूपमा आफ्ना कर्मचारीहरूलाई खाली गरेको बताएको छ। साउदी अरबले शनिबार इरानले जवाफी आक्रमण सुरु गरेयता एक दर्जनभन्दा बढी क्षेप्यास्त्र पनि छेदन गरिएको जनाएको छ ।

  • खाडी क्षेत्रमा इरानी प्रहार, तेल पूर्वाधार प्रभावित

    खाडी क्षेत्रमा इरानी प्रहार, तेल पूर्वाधार प्रभावित

    मस्कट (ओमान), २० फागुन (रासस–एएफपी) । अमेरिका र इजरायलसँग जारी युद्धको पृष्ठभूमिमा इरानले आफ्नो आक्रमणको दायरा विस्तार गर्दै खाडी क्षेत्रका ऊर्जा पूर्वाधारलाई लक्षित गरेपछि तेल तथा ग्यास आपूर्तिमा नयाँ अनिश्चितता देखिएको छ । मङ्गलबार कतार, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) मा भएका आक्रमणले उत्पादन र भण्डारण संरचनामा असर पारेका छन् भने अन्तर्राष्ट्रिय बजारमा मूल्यसमेत उकालो लागेको छ ।

    कतारको राज्य सञ्चालित कतार एनर्जीले इरानी आक्रमणका कारण आफ्ना दुई ग्यास प्रशोधन प्लान्ट प्रभावित भएको जनाएको छ । कम्पनीका अनुसार ड्रोन हमलापछि युरिया, पोलिमर, मेथनोल र एल्युमिनियमजस्ता पदार्थहरूको केही डाउनस्ट्रीम उत्पादन रोकिएको छ । यस घोषणासँगै लन्डन मेटल एक्सचेन्जमा आल्युमिनियमको मूल्य तत्काल करिब दुई प्रतिशतले बढेको छ । विश्वकै प्रमुख तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) निर्यातकमध्ये एक मानिने कतारले सोमबार नै आफ्ना दुई साइटमा ड्रोन प्रहार भएपछि एलएनजी उत्पादन अस्थायी रूपमा स्थगित गरेको थियो । उत्पादन रोकिएपछि युरोपेली बजारमा मूल्य तीव्र रूपमा बढेको जनाइएको छ ।

    यसैबीच ओमानमा पनि ऊर्जा संरचनामाथि आक्रमण भएको छ । आधिकारिक समाचार एजेन्सीका अनुसार मङ्गलबार धेरै ड्रोनले देशको पूर्वी तटमा रहेको डुकम बन्दरगाहलाई निशाना बनाएका थिए । सुरक्षा स्रोतलाई उद्धृत गर्दै प्रकाशित समाचारमा मानवीय क्षति नभएको र भएको क्षति नियन्त्रणमा लिइएको उल्लेख छ । युद्ध सुरु हुनुअघि इरान र अमेरिकाबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको ओमानका लागि यो तीन दिनयताको दोस्रो आक्रमण हो ।

    आइतबार पनि सोही बन्दरगाहमा दुई ड्रोन प्रहार हुँदा एक कामदार घाइते भएका थिए । एउटा ड्रोन कामदार आवासमा खसेको र अर्कोको भग्नावशेष इन्धन ट्याङ्की नजिकै परेको जनाइएको छ । मङ्गलबार ओमानले थप दुई ड्रोन खसालेको र अर्को सलालाह बन्दरगाह नजिकै दुर्घटनाग्रस्त भएको सरकारी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

    संयुक्त अरब इमिरेट्समा भने रोकिने क्रममा खसालिएको ड्रोनको भग्नावशेष फुजैराहस्थित तेल भण्डारण तथा व्यापारिक क्षेत्रमा खसेर आगलागी भएको अधिकारीहरूले जनाएका छन् । फुजैराह मिडिया कार्यालयले कुनै मानवीय क्षति नभएको, आगो नियन्त्रणमा लिइएको र सामान्य सञ्चालन पुनः सुरु भएको जानकारी दिएको छ । युएईले युद्ध सुरु भएयता आफूलाई ८०० भन्दा बढी ड्रोन र करिब २०० मिसाइलले लक्षित गरेको दाबी गरेको छ ।

    इरानले सोमबारदेखि साउदी अरेबिया, युएई र कतारजस्ता अमेरिकी सहयोगी देशहरूका पूर्वाधारलाई पनि लक्ष्य बनाउने सङ्केत दिएको थियो । कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले मङ्गलबार इरानी क्षेप्यास्त्रले दोहा विमानस्थललाई निशाना बनाएको तर त्यसलाई सेनाले खसालेको बताए ।


    अन्तर्राष्ट्रिय बजार विश्लेषकहरूले ऊर्जा आपूर्तिमा देखिएको अवरोधले धातु तथा ऊर्जा मूल्यमा थप दबाब सिर्जना गर्ने बताएका छन् । आइएनजी बैंकका विश्लेषकहरूले आल्युमिनियम उत्पादन निलम्बनले बजारमा जोखिम बढाउने उल्लेख गर्दै खाडी क्षेत्रमा विश्व उत्पादनको करिब आठ प्रतिशत हिस्सा केन्द्रित रहेको र आपूर्ति हर्मुज जलडमरूमध्य हुँदै समुद्री मार्गमा निर्भर रहेको बताएका छन् ।

    यसै सन्दर्भमा इरानको रिभोल्युसनरी गाड्र्सका एक जनरलले सोमबार हर्मुज जलडमरूमध्य हुँदै आवागमन गर्न खोज्ने कुनै पनि जहाज जलाइदिने चेतावनी दिएका छन् । विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्तै महत्त्वपूर्ण मानिने यो मार्गमा अस्थिरता बढेमा अन्तर्राष्ट्रिय बजारमा थप उथलपुथल आउने आकलन गरिएको छ ।

  • मध्यपूर्व युद्धको चौथो दिन कहाँ के भयो ?

    मध्यपूर्व युद्धको चौथो दिन कहाँ के भयो ?

    पेरिस, २०, फागुन (रासस–एएफपी) । अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएको आक्रमणपछि सुरु भएको युद्ध चौथो दिनमा झन् तीव्र बन्दै गएको छ । तेहरानदेखि खाडी राष्ट्रहरू, लेबनान, इजरायल र युरोपसम्म यसको प्रभाव फैलिएको छ । इरानले औद्योगिक र कूटनीतिक लक्ष्यहरूमा आक्रमण जारी राख्दै अमेरिका र इजरायलविरुद्ध ‘नरकको ढोका’ खुल्ने चेतावनी दिएको छ भने विभिन्न देशहरूमा विस्फोट, ड्रोन आक्रमण र सैन्य गतिविधि बढेको छ ।

    मङ्गलबार तेहरानमा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपी पत्रकारहरूले जनाएका छन्, यद्यपि के लक्ष्य थियो भन्ने तत्काल स्पष्ट भएको छैन । इरानले संयुक्त राष्ट्र सुरक्षा परिषद्समक्ष युद्ध रोक्न पहल गर्न आग्रह गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले परिषद्ले चाहेमा तत्काल कदम चाल्न सक्ने बताए ।


    यसैबीच, इरानको रिभोलुसनरी गाड्र्सले अमेरिका र इजरायलविरुद्ध थप कडा आक्रमण गर्ने चेतावनी दिएको छ । प्रवक्ता अली मोहम्मद नैनीले राज्य टेलिभिजनमार्फत ‘शत्रुले निरन्तर दण्डात्मक कारबाही भोग्नुपर्ने’ र ‘नरकको ढोका झन् खुल्दै जाने’ चेतावनी दिए । इजरायलले दक्षिण लेबनानमा रणनीतिक स्थानहरू नियन्त्रणमा लिन सेना अघि बढाएको छ । लेबनानी सैन्य स्रोतका अनुसार कफर किला र खियाम क्षेत्रतर्फ इजरायली सेना अघि बढेको छ । इजरायली प्रवक्ता एफी डेफ्रिनले आफ्ना बासिन्दा र सम्भावित खतराबीच ‘बफर जोन’ बनाउने उद्देश्य रहेको बताए ।


    खाडी क्षेत्रमा पनि तनाव चुलिएको छ । बहराइनको मनामा र कतारको दोहामा विस्फोट सुनिएको छ । ओमान, युएई र इराकमा ड्रोन आक्रमण भएका छन् । युएईको फुजैराहस्थित तेल क्षेत्रमा ड्रोनको भग्नावशेष खसेर आगलागी भएको छ भने ओमानको बन्दरगाहमा इन्धन ट्याङ्कीमा क्षति पुगेको जनाइएको छ, यद्यपि मानवीय क्षति नभएको बताइएको छ । साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा दुई ड्रोन प्रहार भई आगलागी भएको र साउदी विदेश मन्त्रालयले उक्त घटनाको निन्दा गरेको छ ।

    तेहरानले आफ्नो प्रमुख आणविक स्थल नातान्जमा क्षति पुगेको पुष्टि गरेको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले उपग्रह तस्वीरका आधारमा भूमिगत संरचनामा क्षति देखिएको जनाएको छ, तर रेडियोलोजिकल असर नहुने बताएको छ । यस युद्धले विश्व बजारमा पनि प्रभाव पारेको छ । स्ट्रेट अफ होर्मुज प्रभावकारी रूपमा अवरुद्ध भएपछि ब्रेन्ट क्रुडको मूल्य आठ प्रतिशतभन्दा बढी बढेर प्रतिब्यारेल ८५।१२ डलर पुगेको छ । यो जुलाई २०२४ पछिको उच्च स्तर हो । ऊर्जा र अमेरिकी डलरमा लगानी बढेपछि सुन चार प्रतिशतभन्दा बढी घटेर ५,०७५ डलर प्रति औँस र चाँदी १२ प्रतिशतभन्दा बढी घटेर ७८ डलर प्रति औँसमा झरेको छ ।

    इरान रेड क्रिसेन्टका अनुसार युद्ध सुरु भएयता ७८० भन्दा बढी मानिसको मृत्यु भएको छ, यद्यपि स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । लेबनानमा कम्तीमा ३० हजार मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री किर स्टार्मरले बेलायती सैन्य आधार प्रयोग गर्न अनुमति नदिएको भन्दै अमेरिका–बेलायत सम्बन्ध ‘पहिले जस्तो नरहेको’ टिप्पणी गरेका छन् । यसबीच फ्रान्सले संयुक्त अरब इमिरेट्समा आफ्ना राफेल लडाकू जेट तैनाथ गरेको छ ।

    चीनले सबै पक्षलाई तुरुन्त सैन्य कारबाही रोक्न र होर्मुज जलडमरूमध्यको सुरक्षा कायम राख्न आग्रह गरेको छ । युद्धले क्षेत्रीय मात्र नभई, विश्वव्यापी स्थिरतामाथि गम्भीर चुनौती खडा गरेको विश्लेषण गरिएको छ ।

  • इयुविरुद्ध रुसी केन्द्रीय बैंकको मुद्दा

    इयुविरुद्ध रुसी केन्द्रीय बैंकको मुद्दा

    मस्को, २० फागुन (रासस–एएफपी) । युक्रेनमाथिको आक्रमणपछि युरोपेली सङ्घ (इयु) ले फ्रिज गरेको करिब दुई खर्ब ३० अर्ब डलर बराबरको रुसी सम्पत्तिका विषयमा रुसको केन्द्रीय बैंकले युरोपेली अदालतमा मुद्दा दायर गरेको जनाएको छ । अनिश्चितकालका लागि सम्पत्ति रोकेको निर्णय गैरकानूनी भएको दाबी गर्दै मस्कोले लक्जमबर्गस्थित युरोपेली सङ्घको जनरल कोर्टमा मुद्दा दायर गरेको हो ।

    इयुका सदस्य राष्ट्रहरूले सन् २०२२ मा युद्ध सुरु भएपछि पहिलोपटक रुसी सम्पत्ति फ्रिज गरेका थिए । गत वर्ष ब्लकले करिब दुई खर्ब युरो बराबरको कोषमाथि आफ्नो नियन्त्रणको कानूनी आधार थप कडा बनाएको थियो । उक्त रकमलाई युक्रेनलाई उपलब्ध गराइने ठूलो ऋण कार्यक्रमसँग जोड्ने प्रयास गरिएको थियो । नयाँ व्यवस्थाअनुसार रुसले आक्रमण रोक्दै युक्रेनलाई क्षतिपूर्ति नदिएसम्म ती सम्पत्ति फ्रिज नै रहनेछन् ।

    यसअघि प्रत्येक छ महिनामा इयुका २७ सदस्य राष्ट्रको सर्वसम्मत निर्णयबाट मात्रै फ्रिज अवधि थप गर्नुपर्ने व्यवस्था थियो । हङ्गेरी र स्लोभाकियाजस्ता मस्कोप्रति तुलनात्मक रूपमा सहानुभूतिशील देशहरूले यस प्रक्रियालाई राजनीतिक लाभका लागि प्रयोग गर्ने सम्भावना रहेको भन्दै कानूनी संरचना परिवर्तन गरिएको थियो । रुसको केन्द्रीय बैंकले नयाँ नियमले आधारभूत अधिकारहरूको उल्लङ्घन गरेको दाबी गरेको छ ।

    “इयु नियमनले न्यायमा पहुँचको आधारभूत र अपरिहार्य अधिकार, सम्पत्तिको अलङ्घनीयता तथा राज्य र तिनका केन्द्रीय बैंकहरूको सार्वभौम प्रतिरक्षाको सिद्धान्तको उल्लङ्घन गरेको छ”, बैंकले विज्ञप्तिमार्फत जनाएको छ । इयु अदालतका अनुसार मुद्दा फेब्रुअरी २७ मा दर्ता गरिएको हो ।

    यसैबीच, मस्कोले बेल्जियमस्थित युरोक्लियर डिपोजिटरीविरुद्ध पनि रुसी अदालतमा छुट्टै मुद्दा दायर गरेको छ । युरोक्लियर डिपोजिटरले फ्रिज गरिएका सम्पत्तिको ठूलो हिस्सा व्यवस्थापन गर्दै आएको छ । इयुका प्रवक्ता बालाज्स उज्वारीले उक्त कदमलाई युक्रेनका लागि इयुको समर्थनसम्बन्धी रूसी कानूनी चुनौतीहरूको बढ्दो शृङ्खलाको एक हिस्सा भएको बताएका छन् । “हामी यस नियमनको वैधानिकता र इयु कानूनसँग यसको अनुकूलताबारे पूर्ण रूपमा विश्वस्त छौँ”, उनले स्पष्ट पारेका छन् ।

  • इरान आक्रमणप्रति चीन असहम

    इरान आक्रमणप्रति चीन असहम

    बेइजिङ, २० फागुन (रासस–एएफपी) । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहो¥याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्गलबार इजरायलका विदेशमन्त्री गिडियोन सारसँग टेलिफोन वार्ता गर्दै बेइजिङले इरानविरुद्धको सैन्य कारबाहीको विरोध गरेको बताएका राज्य सञ्चारमाध्यमले जनाएका छन् ।


    मध्यपूर्वमा सप्ताहन्तमा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि युद्ध सुरु भएको हो । उक्त आक्रमणमा इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको मृत्यु भएको जनाइएको छ र त्यसयता द्वन्द्व व्यापक क्षेत्रमा फैलिएको छ । तेहरानको निकट साझेदार चीनले यसअघि नै युद्धविरामको आह्वान गर्दै खामेनीको हत्यालाई ‘गम्भीर उल्लङ्घन’ भन्दै निन्दा गरेको थियो ।

    सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार वाङले इजरायली समकक्षीसँगको वार्तामा संवाद र परामर्शमार्फत मतभेद समाधान गर्नुपर्नेमा जोड दिएका छन् । उनले इरान र अमेरिकाबीच हालैका वार्ताहरू सकारात्मक दिशामा अघि बढिरहेको अवस्थामा सैन्य आक्रमणले त्यस प्रक्रियालाई अवरुद्ध गरेको बताए । “हालैको इरान–अमेरिका वार्ताले स्पष्ट प्रगति गरिरहेको थियो, तर दुर्भाग्यवश गोली हानाहानले त्यो प्रक्रिया रोकिएको छ”, उनको भनाइ उद्धृत गरिएको छ ।

    वाङले अमेरिका–इजरायलको सैन्य कारबाहीप्रति चीनको विरोध पुनः व्यक्त गर्दै बल प्रयोगले समस्या समाधान नगर्ने धारणा राखे । “बलले समस्याको समाधान गर्दैन, बरु नयाँ समस्या र गम्भीर परिणाम निम्त्याउँछ”, उनले स्पष्ट पारे । उनले द्वन्द्व अझ फैलिन नदिन र नियन्त्रणबाहिर जानबाट रोक्न तत्काल सैन्य कारबाही रोक्नुपर्नेमा चीनको जोड रहेको उल्लेख गरे । चीनले संवादमार्फत समाधान खोज्ने प्रयासलाई पुनर्जीवित गर्न अन्तर्राष्ट्रिय समुदायलाई सक्रिय भूमिका खेल्न आग्रह गरेको छ ।

  • इजरायल–अमेरिकी आक्रमण : इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने भवन निशानामा

    इजरायल–अमेरिकी आक्रमण : इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने भवन निशानामा

    तेहरान, २० फागुन (रासस–एएफपी) । इजरायल र अमेरिकाले मङ्गलबार इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने निकायको भवनमा आक्रमण गरेको स्थानीय मिडियाले जनाएको छ । यस आक्रमणले भवनमा गम्भीर क्षति पुगेको र त्यसलाई बैठकका लागि प्रयोग नगर्ने निर्णय भएको जनाइएको छ । पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनी शनिबार अमेरिकाको आक्रमणमा मारिएका थिए । खामेनीको मृत्युपछि इरानले आइतबारबाट नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गरेको घोषणा गरेको थियो । मङ्गलबारको आक्रमणमा भवनमा क्षति पुगेको भए पनि कुनै हताहतको रिपोर्ट तत्काल उपलब्ध छैन ।

    स्थानीय मिडियाका अनुसार, यो भवनले सर्वोच्च नेताको नियुक्ति, पर्यवेक्षण र सम्भावित बर्खास्त गर्ने जिम्मेवारी पाएको छ । आक्रमणमा विशेषज्ञ सभा र अन्य सरकारी अधिकारीहरूको केन्द्रीय कार्यालय निशानामा परेको थियो । स्थायी सर्वोच्च नेताको निर्वाचन र नियुक्ति सम्पन्न नभएसम्म इरानको अन्तरिम नेतृत्व परिषद्ले देशको प्रशासनिक काम सम्हाल्नेछ ।

    परिषद्को संरचनामा राष्ट्रपति, न्यायपालिकाका प्रमुख, कानून निरीक्षण गर्ने निकायका न्यायविद् र शीर्ष सुरक्षा प्रमुख अली लारिजानीको केन्द्रीय भूमिका रहेको छ । सामाजिक र राजनीतिक विश्लेषकहरूले यस घटनालाई इरानको संवेदनशील सङ्क्रमणकालीन चरणमा विदेशी हस्तक्षेपको सङ्केतका रूपमा व्याख्या गरेका छन् ।

  • इरानले तेल प्रशोधन केन्द्रमा आक्रमण जारी राखे सैन्य प्रतिक्रिया जनाइने : साउदी सरकार

    इरानले तेल प्रशोधन केन्द्रमा आक्रमण जारी राखे सैन्य प्रतिक्रिया जनाइने : साउदी सरकार

    रियाद, साउदी अरब, १९ फागुन (रासस–एएफपी) । साउदी तेल प्रशोधन केन्द्रमा इरानले गरेको आक्रमणले साउदी अरबबाट सैन्य प्रतिक्रिया हुनसक्ने साउदी सरकार निकट स्रोतले सोमबार एएफपीलाई बताएको छ । साउदी अरबको खाडी तटमा रहेको विशाल रास तनुरा रिफाइनरीमा सोमबार दुई वटा ड्रोनद्वारा आक्रमणपछि यो आंशिक रूपमा बन्द भएको छ । स्रोतले सरकारी तेल कम्पनीलाई सङ्केत गर्दै एएफपीसँग भनेको छ, “यो इरानको नेतृत्वले अरामकोमाथि प्रत्यक्ष आक्रमण गरेको हो वा गलत लक्ष्यमा ड्रोनले आक्रमण गरेको हो भन्ने कुरामा निर्भर पर्छ ।

    स्रोतले भनेको छ, “मलाई लाग्छ कि यो चरणमा साउदी अरबले हेर्नेछ र पर्खनेछ।” यदि इरानले साउदी अरबका तेल कम्पनीहरू विरुद्ध लक्षित अभियान सुरु गरेको रूपमा हेरियो भने सैन्य प्रतिशोध एक सम्भावित विकल्प हुनेछ। साउदी अरब विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता हो । स्रोतका अनुसार यदि इरानले अरामकोमाथि आक्रमण गर्‍यो भने साउदी अरबले इरानका तेल प्रशोधन केन्द्रलाई निशाना बनाउनेछ ।

  • दुबई विमानस्थलले पुनः ‘सीमित’ उडानहरू सुरु गर्ने

    दुबई विमानस्थलले पुनः ‘सीमित’ उडानहरू सुरु गर्ने

    दुबई, १९ फागुन (रासस–एएफपी) । दुबई र अबु धाबी विमानस्थलहरूसहित खाडी क्षेत्रमा इरानले आक्रमण गर्न थालेपछि रद्द गरिएको तीन दिनपछि सोमबार साँझबाट पुनः ‘सीमित’ उडानहरू सुरु हुने आबुधावी विमानस्थल प्रशासनले जानकारी गराएको छ। “दुबईले ‘दुबई अन्तर्राष्ट्रिय विमानस्थल (डिएक्सबी)’ र ‘दुबई वल्र्ड सेन्ट्रल–अल मकतूम’ अन्तर्राष्ट्रिय विमानस्थल (डिडब्ल्यूसी)बाट उडानहरू सीमित रूपमा पुनः सुरु गर्ने घोषणा गरेको छ। ‘एमिरेट्स’ र कम लागतको विमान कम्पनी ‘फ्लाई दुबई’ दुवैले सोमबार साँझ केही उडानहरू पुनः सुरु गर्ने बताएका छन्।

    अबुधाबीबाट उडान भर्ने इहाद एयरवेजले मङ्गलबारदेखि उडान सुरु गर्ने जनाएको छ । खाडी मुलुकहरूमा इरानले व्यापक बमबारीको सहयोगमा सैन्य अखडाहरूमा प्रहार गरेको छ, साथै उसले आवासीय भवनहरू, होटलहरू, विमानस्थल र समुद्री बन्दरगाहजस्ता नागरिक पूर्वाधारहरूमा पनि प्रहार गरेको पाइएको छ। आक्रमणले लामो समयदेखि जारी मध्यपूर्व द्वन्द्वबाट सुरक्षितस्थलको रूपमा हेरिएको क्षेत्रमा तनाव सिर्जना भएको छ।

    इरानले शनिबारदेखि अभियान सुरु गरेयता दुबई, अबुधाबी, कुवेत र मनामा विमानस्थललाई निशाना बनाइएको छ । संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा भएको उक्त घटनामा एक जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । संयुक्त अरब इमिरेट्स ९युएई० ले आफ्नो हवाई क्षेत्र अस्थायी र आंशिक रूपमा बन्द गरेको शनिबार घोषणा गरेको थियो ।

    दुबईको मुख्य विमानस्थल (डिएक्सबी) संयुक्त राज्य अमेरिकाको एटलान्टापछि विश्वव्यापी रूपमा दोस्रो व्यस्त विमानस्थलको रूपमा रहेको ‘अन्तराष्ट्रिय विमानस्थल परिषद्’ले जनाएको छ । हवाई क्षेत्र बन्दले शहरको लागि एक महत्त्वपूर्ण क्षेत्रलाई असर गर्यो, दुबईको हवाई उद्योगले युएईको अर्थव्यवस्थाको लगभग एक तिहाई हिस्सा ओगटेको छ।

  • इरानी धर्मगुरुको शासनलाई हटाउने दिन नजिकिँदै : इजरायली प्रधानमन्त्री

    इरानी धर्मगुरुको शासनलाई हटाउने दिन नजिकिँदै : इजरायली प्रधानमन्त्री

    जेरुसलेम, १९ फागुन (रासस–एएफपी) । इरानविरुद्ध अमेरिका–इजरायलको संयुक्त अभियानको उद्देश्य इरानीहरूलाई उनीहरूको धार्मिक नेतृत्वलाई हटाउने अवस्था सिर्जना गर्नु भएको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार बताएका छन् । इरानी मिसाइलद्वारा प्रहार गरिएको इजरायली घटनास्थलको भ्रमण गरेपछि सञ्चारमाध्यमसँग गरेको कुराकानीमा प्रधानमन्त्री नेतन्याहुले भने, “त्यो दिन नजिकिँदै छ, र जब यो आउँछ, इरानी जनतासँग इजरायल र संयुक्त राज्य अमेरिका त्यहाँ साथमा हुनेछन् । इरानी जनता हामीसँग हुनु महत्त्वपूर्ण छ । उनीहरूले चाहेमा हामी त्यहाँ हुनेछौँ ।”

    इजरायल र संयुक्त राज्य अमेरिकाले शनिबार इरानमा आक्रमण गरेपछि पहिलोपटक इरानबारे बोल्दै नेतान्याहूले भने, “इरानीहरूले ‘निरंकुशताको खेल त्याग्ने’ समय आएको छ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनीहरूलाई ‘आफ्नो देश फिर्ता लिन’ भनेका छन्।” यसैबीच तेहरानबाट प्राप्त समाचार अनुसार, इरानले अमेरिका र इजरायलले गरेको संयुक्त आक्रमणपछि जवाफी आक्रमण गरिरहेको बताएको छ ।

    अहिलेसम्म मध्यपूर्वमा संयुक्त राज्य अमेरिका र इजरायलसँग सम्बन्धित ५०० स्थलहरूलाई लक्षित गरी आक्रमण गरिएको रिभोलुसनरी गाड्र्सले युद्धको तेस्रो दिन सोमबार जानकारी गराएको हो । “द्वन्द्व सुरु भएयता इरानी सैनिकहरूले ६० वटा रणनीतिक लक्ष्य र ५०० अमेरिकी सैन्य लक्ष्यमा आक्रमण गरेका छन्,” गार्ड्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ । गार्ड्सले जारी पछिल्लो द्वन्द्वमा ७०० भन्दा बढी ड्रोन र सयौँ क्षेप्यास्त्र प्रक्षेपण गरेको जनाएको छ।

  • खाडी मुलुकप्रति आफ्नो कुनै शत्रुता नरहेको इरानको दाबी

    खाडी मुलुकप्रति आफ्नो कुनै शत्रुता नरहेको इरानको दाबी

    तेहरान, १८ फागुन (रासस–एएफपी) । अमेरिका–इजरायल आक्रमणपछि मध्यपूर्वमा कारबाही सुरु गरेको इरानले खाडी मुलुकप्रति कुनै दुर्भावना नराखेको विदेशमन्त्रीले सोमबार बताएका छन् । “इरानले पर्सियाली खाडी मुलुकहरुप्रति कुनै शत्रुता राख्दैन र उनीहरुसँग राम्रो छिमेकी सम्बन्ध कायम गर्न प्रतिबद्ध छ,” विदेशमन्त्री अब्बास अराघचीले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँगको टेलिफोन वार्तामा भने ।

    चिनियाँ विदेश मन्त्रालयले इरानी विदेशमन्त्रीलाई उद्धृत गर्दै भनेको छ, “अमेरिकी सैन्य अखडाहरूविरुद्ध इरानको रक्षात्मक प्रतिक्रियालाई खाडी देशहरूविरुद्ध इरानको आक्रमणको रूपमा हेर्न हुँदैन।” इरानमाथि अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा इरानी सर्वोच्च नेता आयोतोल्लाह अली खामेनी, रक्षामन्त्री अमिर नसिरजादेहसहित दर्जनौँ सैन्य अधिकारी मारिएको थियो । प्रतिक्रियामा अहिलेसम्म मध्यपूर्वमा संयुक्त राज्य अमेरिका र इजरायलसँग सम्बन्धित ५०० स्थलहरूलाई लक्षित गरी आक्रमण गरेको रिभोलुसनरी गाड्र्सले युद्धको तेस्रो दिन सोमबार जानकारी गराएको छ ।

    इरानले छिमेकी मुलुकबारे पछिल्लो युद्धको धारणा स्पस्ट गर्दै आफ्नो शत्रुता खाडी मुलुकहरू नभएको बताएपनि शनिबार अमेरिका र इजरायलले अभियान सुरु गरेयता दुबई, अबुधाबी, कुवेत र मनामा विमानस्थललाई निशाना बनाइएको छ ।