Category: अमेरिका

  • ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको इरानलाई चेतावनी

    ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको इरानलाई चेतावनी

    वासिङ्टन, २२ चैत (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँग विश्व व्यापारका लागि महत्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ खोल्ने सम्झौता गर्न ४८ घण्टा मात्र बाँकी रहेको चेतावनी दिएका छन् । ट्रम्पले आफ्नै स्वामित्वको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल नेटवर्क’मा लेखेका छन्, “स्मरण गरियोस् । मैले इरानलाई सम्झौता गर्न वा हर्मुज स्ट्रेट खोल्न दस दिनको समय दिएको थिएँ ।” उनले लेखेका छन्, “समय बित्दै गइरहेको छ । दुश्चक्रले उनीहरूमाथि शासन गर्न अब केबल ४८ घण्टा मात्र बाँकी छ।”

    राष्ट्रपति ट्रम्पले चेतावनीको सुरुमा अर्थात् मार्च २१ मा यदि इरानले ४८ घण्टाभित्र बिना कुनै खतरा महत्वपूर्ण जलमार्ग ‘हर्मुज घाँटी’ पूर्ण रूपमा खुला गरेन भने इरानको सबैभन्दा ठूलो ऊर्जा प्लान्टलाई ‘नष्ट गर्ने’ चेतावनी दिएका थिए । दुई दिनपछि उनले इरानी अधिकारीहरूसँग ‘धेरै राम्रो र फलदायी कुराकानी’ भइरहेको र पावर प्लान्टहरूमा कुनै पनि आक्रमण आगामी पाँच दिनका लागि स्थगित गरेको बताएका थिए ।

    उनले फेरि म्याद थप्दै यसलाई १० दिन बनाएका थिए । उक्त १९ दिनको समयसिमा अमेरिकी समयअनुसार सोमबार बेलुका ८ः०० बजे समाप्त हुनेछ । नागरिक ऊर्जा पूर्वाधारमा आक्रमण युद्ध अपराध हुन सक्ने विज्ञहरूले बताएका छन् ।

  • इराकमा मारिएका इरानी जनरल सुलेमानीका आफन्त अमेरिकाबाट पक्राउ

    इराकमा मारिएका इरानी जनरल सुलेमानीका आफन्त अमेरिकाबाट पक्राउ

    वासिङ्टन, २१ चैत (रासस–एएफपी) । इराकमा मारिएका इरानी जनरल कासिम सुलेमानीको परिवारका दुई सदस्यलाई संयुक्त राज्य अमेरिकामा पक्राउ गरिएको अमेरिकी विदेश मन्त्रालयले शनिबार जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इरानका ‘रिभोलुसनरी गाड्र्स कप्र्स’का मेजर जनरल कासिम सुलेमानीकी भतिजी र भतिजीकी छोरी (नातिनी) लाई संघीय सुरक्षा अधिकारीले पक्राउ गरेका छन् ।

    मृतककी भतिजीको नाम हमिद सुलेमानी अफसार रहेको बताइएको छ । सुलेमानी अफसारकी छोरीको नाम भने उल्लेख गरिएको छैन । विज्ञप्तिमा भनिएको छ, “दुवै अहिले अमेरिकी आप्रवासन र भन्सार प्रवर्तन (आइसिई) को हिरासतमा छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ह्वाइट हाउसमा पहिलो कार्यकालको अन्तिम वर्ष सन् २०२० को जनवरीमा इराकको राजधानी बग्दादमा रहेका बेला आइआरजिसीको विदेशमामिला शाखाको नेतृत्व गरेका सुलेमानीको अमेरिकी ड्रोन आक्रमणमा मृत्यु भएको थियो ।

    अमेरिकी विदेश मन्त्रालयले भनेको छ, “प्रेस रिपोर्टिङ र आफ्नै सामाजिक सञ्जालहरूमा आएका उनको प्रतिक्रिया दुबैले सुलेमानी अफसार इरानी वर्तमान् सत्ताका मुखर समर्थक भएको पुष्टि गरेका छन्।” उनीहरूले इरानका नयाँ सर्वोच्च नेता अली खामेनीको प्रशंसा गर्नुका साथै अमेरिकालाई ‘महान् शैतान’ भन्दै निन्दा गरेको पनि विज्ञप्तिमा उल्लेख छ । सुलेमानी अफसारका पतिलाई पनि अमेरिका प्रवेशमा रोक लगाइएको छ । मारिएका अर्का इरानी पूर्व सुरक्षा प्रमुख अली लारीजानीकी छोरी र ज्वाइँको पनि कानुनी हैसियत खारेज गरिएको छ।

    विज्ञप्तिमा भनिएको छ, “दुवै अहिले संयुक्त राज्य अमेरिकामा छैनन् र भविष्यमा प्रवेशमा प्रतिबन्ध लगाइएको छ।” इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव लारीजानी गत मार्च १७ मा इजरायली आक्रमणमा मारिएका थिए । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले एक्समा एक पोस्टमा उनीहरूको पक्राउको पु्ष्टि गर्दै भनेका छन्, “ट्रम्प प्रशासनले हाम्रो देशलाई अमेरिका विरोधी आतङ्कवादी शासनलाई समर्थन गर्ने विदेशी नागरिकहरूको घर बन्न अनुमति दिँदैन।”

  • नेटो प्रमुख रुटले ट्रम्पसँग वासिङ्टनमा भेटवार्ता गर्ने

    नेटो प्रमुख रुटले ट्रम्पसँग वासिङ्टनमा भेटवार्ता गर्ने

    ब्रसेल्स, २१ चैत (रासस–एएफपी) । नेटोका प्रमुख मार्क रुटले अर्को हप्ता वासिङ्टन भ्रमणमा डोनाल्ड ट्रम्पलाई भेट्ने भएका छन् । ट्रम्पले युरोपेली राष्ट्रहरूले आफ्नो युद्धको प्रतिक्रियाका कारण ७७ वर्ष पुरानो सैन्य गठबन्धन छोड्ने विचार गरिरहेको बताए । अमेरिकी राष्ट्रपति ट्रम्पले नेटो सदस्यहरूले अमेरिकी सेनालाई उनीहरूको भूमिमा बेसहरूमा पहुँच सीमित गरेको र स्ट्रेट अफ हर्मुज खोल्ने प्रयासहरूको नेतृत्व गर्न अस्वीकार गरेको भन्दै आलोचना गरेको समाचार आइरहेका समय यो भेटवार्ता तय भएको हो ।

    नेटोका अनुसार रुटले अप्रिल ८ मा ट्रम्पसँग भेट गर्नेछन् । विदेशमन्त्री मार्को रुबियो र रक्षा प्रमुख पिट हेगसेथलाई पनि भेट्ने कार्यक्रम छ । नेटो गठबन्धन प्रमुख रूटलेले अप्रिल ९ मा रोनाल्ड रेगन प्रेसिडेन्सियल फाउन्डेसन इन्स्टिच्यूटमा सम्बोधन गर्नेछन् । गत वर्ष राष्ट्रपति पदमा फर्केदेखि सङ्कटको श्रृङ्खलाबिच अमेरिकी राष्ट्रपतिलाई सँगै राख्न सक्ने क्षमताका लागि नेदरल्यान्ड्सका पूर्व प्रधानमन्त्री रुटलाई ट्रम्पका निकटस्थ भएको बताउने गरिएको छ। ट्रम्पले युरोपेली देशहरूलाई रक्षा खर्च बढाउन सहमत गराएर नेटोलाई बलियो बनाएको दाबी रुटले गर्ने गरेका छन् ।

  • ह्वाइट हाउसद्वारा १.५ ट्रिलियन डलरको रक्षा बजेट माग

    ह्वाइट हाउसद्वारा १.५ ट्रिलियन डलरको रक्षा बजेट माग

    वासिङ्टन, २१ चैत (रासस–एएफपी) । ह्वाइट हाउसले शुक्रबार अर्को वर्ष १.५ ट्रिलियन डलरको अमेरिकी रक्षा बजेट माग गरिएको खर्च प्रस्ताव संसद्मा पठाएको छ । अमेरिकाले इरानसँग युद्ध गरिरहँदा अधिकारीले रक्षा खर्चमा वृद्धि गर्ने प्रस्ताव गरेका हुन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार पेन्टागनको कुल वार्षिक खर्चमा भएको वृद्धि दोस्रो विश्वयुद्धपछि सबैभन्दा ठूलो हुनेछ ।

    यद्यपि राष्ट्रपतिको बजेट इच्छा प्रस्ताव सूची मात्र हो जुन बाध्यकारी आदेश नभई यसलाई अमेरिकी कङ्ग्रेसले अनुमोदन गर्नु पर्नेछ। प्रस्तावमा लेखिएको छ, “सन् २०२६ को बजेटले यो बर्षका लागि ऐतिहासिक एक ट्रिलियन डलरको समग्र रक्षा खर्च निर्धारण गरेको थियो ।

    नयाँ प्रस्तावमा सन् २०२७ को लागि कुल बजेट स्रोतहरूमा १.५ ट्रिलियन डलर रक्षा बजेको लागि अनुरोध गरिएको छ।” प्रस्तावमा भनिएको छ, “यो चार खर्ब ४५ अर्ब वा सन् २०२६ को कुल संसाधन स्तरबाट ४२ प्रतिशत वृद्धि हो।”

  • हर्मुज पार गर्ने अधिकांश वस्तु इरानसँग सम्बन्धित

    हर्मुज पार गर्ने अधिकांश वस्तु इरानसँग सम्बन्धित

    पेरिस, २० चैत (रासस–एएफपी) । मध्यपूर्वमा युद्ध सुरु भएदेखि हर्मुज जलमार्ग पार गर्ने ६० प्रतिशत जहाजहरू इरानबाट आएका वा त्यहाँ जाँदै गरेका रहेको पाइएको एएफपीको समुद्री तथ्याङ्कको विश्लेषणले देखाएको छ । इरानले फेब्रुअरी २८ मा अमेरिका–इजरायल हमलाको बदलामा विश्वव्यापी इन्धन आपूर्ति बन्द गरेको छ, जसले विश्व ऊर्जा बजारलाई हलचल पारेको छ । मार्च १ देखि अप्रिल ३ को बिहानसम्म २२१ जहाजहरू इरान प्रवेश गर्न वा छोड्न हर्मुज जलमार्ग पार गरेका ‘ग्लोबल सामुद्रिक एनालिटिक्स फर्म केप्लर’ ले जनाएको छ ।

    केहीले यसलाई धेरै पटक पार गरेका कारण जलमार्गको प्रयोग गर्ने जहाजको सङ्ख्या कुल २४० भन्दा बढी पुगेको छ । हर्मुजमा आवागमन भएका १० मध्ये छ वटा जहाज इरानबाट आउने वा जाने जहाजहरू रहेका थिए, कार्गो ढुवानी गर्ने जहाजहरूको जुन हिस्सा ६४ प्रतिशतसम्म पुग्छ । संयुक्त अरब इमिरेट्स ९युएई० २० प्रतिशत, चीन १५ प्रतिशत, भारत १४ प्रतिशत, साउदी अरब आठ प्रतिशत, ओमान आठ प्रतिशत, ब्राजिल छ प्रतिशत र इराक पाँच प्रतिशत रहेका छन् भने विश्व अर्थतन्त्रमा उल्लेख्य भूमिका रहने मुख्य गन्तव्य र देश देशहरू यस तथ्याङ्कबाट धेरै पछाडि छन्।

    यो अवघिमा कार्गो बोक्ने ११८ जहाजहरूमध्ये ३७ ले कुल ८।४५ मिलियन टन कच्चा तेल ओसारपसार गरेका थिए । ३७ वटा तेल ट्यांकरमध्ये ३० वटा इरानबाट आएका थिए भने सबै खाडी छोड्दै थिए । धेरै जसोले यात्रा गरिरहेको गन्तव्य बताउन चाहेका थिएनन् ।

    आफ्नो गन्तव्य रिपोर्ट गरेका र इरानी तेल बोकेका केही जहाजहरूमध्ये एउटा अपवाद बाहेक सबै चीनतर्फ जाँदै थिए। कार्गो लिएर स्ट्रेट पार गरेका अन्य सात तेल ट्याङ्करहरू साउदी अरबबाट छुटेका थिए र उनीहरूमध्ये एक हङकङको ध्वजाबाहक जहाज न्यू भिजन मार्च १ मा छुटेको थियो र शनिबार फ्रान्सको बन्दरगाह ले हाब्रे आइपुग्ने अपेक्षा गरिएको छ ।

  • इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार

    इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार

    वासिङ्टन, २१ चैत (रासस–एएफपी) । इरानी आकाशबाट एक अमेरिकी युद्धक विमान खसेको र अमेरिकी सेनाले चालक दलका सदस्यमध्ये एकलाई उद्धार गरेको छ । इरानी सञ्चारमाध्यमले विमानको भग्नावशेषको फुटेज प्रसारण गरेपछि प्रमुख अमेरिकी सञ्चारमाध्यमहरूले पनि शुक्रबार इरानी आकाशबाट एक अमेरिकी युद्धक विमान खसेको पुष्टि गरेका छन् । एक्सिओस र सीबीएस न्यूजले अज्ञात स्रोतलाई उद्धृत गर्दै विमानमा रहेका दुई चालक दलमध्ये एकलाई अमेरिकी विशेष बलले उद्धार गरिसकेको तर चालक दलका दोस्रो सदस्यको खोजी कार्य जारी रहेको जनाएको छ ।

    द न्यूयोर्क टाइम्स र वाल स्ट्रिट जर्नलका अनुसार उक्त एफ–१५–इ लडाकु विमानमा चालक र अमेरिकी रक्षा प्रणालीका एक अधिकृत सवार थिए । सीएनएनले इरानी मिडियाले देखाएको भग्नावशेषमा एफ–३५ स्टील्थ लडाकुको सट्टा एफ–१५ देखिएको छ । अमेरिकी सञ्चारमाध्यमले राष्ट्रपति डोनल्ड ट्रम्पलाई घटनाबारे जानकारी गराइएको जनाएका छन् तर प्रतिक्रियाकोे लागि एएफपीले गरेको सम्पर्कमा ह्वाइट हाउस वा पेन्टागनबाट तत्काल कुनै प्रतिक्रिया जनाइएको छैन।

    अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पले युद्धको आदेश दिएयता इरानभित्र पहिलो विमान गुमाएपछि विशेष अमेरिकी सेनाले खोज तथा उद्धार अभियान जारी राखेको छ। सामाजिक सञ्जाल र इरानी सञ्चारमाध्यमहरूमा प्रसारित तस्बिर र भिडियोहरूलाई उद्धृत गर्दै प्रमुख अमेरिकी सञ्चारमाध्यमले अमेरिकी हेलिकप्टर र अन्य विमानहरू खसालिएको अनुमान गरिएको लडाकू विमानको भन्दा कम उचाइबाट उडिरहेको बताएका छन्।

  • अमेरिकी व्यापार घाटा अनुमान गरिएभन्दा कम , करवृद्धिको असर बढ्दो

    अमेरिकी व्यापार घाटा अनुमान गरिएभन्दा कम , करवृद्धिको असर बढ्दो

    वासिङ्टन, २० चैत (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगभग सबै व्यापारिक साझेदारहरूमा व्यापक ट्यारिफ लगाएको एक वर्षपछि बिहीबार अमेरिकी व्यापार घाटा बढेको तर विश्लेषकहरूले अपेक्षा गरेभन्दा कम भएको सरकारी तथ्याङ्कले बिहीबार देखाएको छ ।

    आयात निर्यातमा वृद्धि हुँदा कुल घाटा ४.९ प्रतिशतले बढेर ५७.३ अर्ब अमेरिकी डलर पुगेको अमेरिकी वाणिज्य मन्त्रालयले जनाएको छ । ट्रम्पको कर नीतिका कारण विश्व आर्थिक सङ्कट झेलेको र यसमा इरानमाथि गरेको आक्रमणको बदलामा इरानले ‘हर्मुज घाँटी’ मा जहाजको आवागमनलाई गरेको प्रतिवन्धबिच विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकामा व्यापार प्रवाहमा देखिएको तनावलाई निरन्तरता दिने देखिन्छ ।

    गत वर्षको अप्रिल २ मा राष्ट्रपति ट्रम्पले घोषणा गरेको ‘मुक्ति दिवस’ सहित अमेरिकी सर्वोच्च अदालतले ट्रम्पको कर खारेज गरेपछि बिहीबार सार्वजनिक गरिएको यो तथ्याङ्क सार्वजनिक भएको हो । यसैबीच, प्यू रिसर्च सेन्टरले बुधबार सार्वजनिक गरेको सर्वेक्षणमा १० मध्ये छ जना अमेरिकी वयस्कहरू ट्रम्पले अमेरिकी व्यापार नीतिबारे राम्रो निर्णय लिन सक्छन् भन्नेमा विश्वस्त नभएको देखाएको छ र ६३ प्रतिशतले कर नीतिको व्यवस्थापनमा थोरै विश्वास व्यक्त गरे वा यो विश्वास खासै उल्लेखनीय रहेन ।

    यद्यपि, अदालतको निर्णयले फेब्रुअरीको तथ्याङ्कमा धेरै प्रभाव पार्ने सम्भावना छैन, ट्रम्पले त्यसपछि आयातमा नयाँ, अस्थायी १० प्रतिशत शुल्क लगाउन अधिकारीहरूलाई निर्देशन दिएका छन् । अमेरिकी अधिकारीहरूले दर्जनौं देशहरूमा थप स्थायी करहरू पुनः स्थापना गर्ने उद्देश्यका साथ अनुसन्धान सुरु गरेका छन्, जसले आगामी महिनाहरूमा थप व्यापार अनिश्चितताको पूर्वाभास गरेको छ।

    केपिएमजीका वरिष्ठ अर्थशास्त्री मेगन स्कोनबर्गरले भने, “उच्च अदालतको निर्णयले निश्चित रूपमा डाटालाई असर गर्न सक्छ र आयातमा फ्रन्ट–रनिङ लहरको लागि अर्को ढोका खोलेको छ।” उनले भने, “अहिलेका लागि कम्प्युटर र सेमीकन्डक्टरमा अधिकांश वृद्धिको साथ प्रविधि क्षेत्र र एआई तथ्याङ्क केन्द्र निर्माणमा उच्च आयात भएको छ।” “ती अधिकांश वस्तुहरूमा कर छुट दिइएको छ,” उनले भने ।


    स्टिल, एल्युमिनियम र सवारी साधन (कार) जस्ता उत्पादनहरूमा ट्रम्पको क्षेत्र–विशिष्ट करहरू अझै पनि जारी छन्, जसले व्यापारमा सन्तुलन गरिरहेको छ।
    ट्रम्प प्रशासनले अन्य क्षेत्रहरूमा अनुसन्धान जारी राखेको छ । अनुसन्धानले थप कर घोषणाहरू निम्त्याउने सुझाब नेतृत्वलाई दिन सक्ने सम्भावना अझै जारी छ । फेब्रुअरीको व्यापार घाटा ‘डाउ जोन्स न्यूजवायर’ र ‘द वाल स्ट्रिट जर्नल’ले सर्वेक्षणपछि अर्थशास्त्रीहरूले अपेक्षा गरेको ६२ अर्ब डलरभन्दा केही कम देखिएको छ।

    औदोगिक प्रयोजनका लागि हुने गैर–मौद्रिक सुन र प्राकृतिक ग्यासजस्ता वस्तुका कारण निर्यात ४.२ प्रतिशतले बढेर तीन खर्ब १४ अर्ब ८० करोड डलर पुगेको छ । कम्प्युटर र सेमिकन्डक्टरजस्ता उत्पादनका कारण अमेरिकी आयात ४।३ प्रतिशतले बढेर तीन खर्ब ७२ हर्ब १० करोड डल् पुगेको छ ।

  • इरानको मिसाइल आक्रमणबाट कतारको ट्याङ्करमा क्षति

    इरानको मिसाइल आक्रमणबाट कतारको ट्याङ्करमा क्षति

    दोहा, १९ चैत (रासस–एएफपी) । कतारको सरकारी स्वामित्वमा रहेको ऊर्जा कम्पनीको एक ट्याङ्करमा कतारको सामुद्रिक इलाकामा इरानी मिसाइलद्वारा प्रहार भएको छ । इरानबाट तीनवटा क्रुज क्षेप्यास्त्रा प्रक्षेपण गरिएको यसबाट कतारको एक इन्धन ट्याङ्करलाई निशाना बनाइएको कतारको रक्षा मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्तिमा भनिएको छ, “सेनाले दुई वटा क्रुज क्षेप्यास्त्रलाई रोकेको छ भने तेस्रो क्षेप्यास्त्र कतारको जलक्षेत्रमा कतार इनर्जिनीलाई दिइएको तेल ट्याङ्करमा खसेको छ ।” चालक दलका २१ सदस्य रहेको उक्त ट्याङ्करलाई कुनै मानवीय क्षति नपु¥याउन सम्बन्धित अधिकारीहरूसँग समन्वय गरिएको रक्षा मन्त्रालयले जनाएको छ । इरानको रिभोलुसनरी गाड्र्सले कतारको स्वामित्वमा रहेको ट्याङ्कर एक्वा–१ लाई आक्रमण गरेको पुष्टि गरेको छ। गाड्र्सले सरकारी टेलिभिजनमार्फत् जारी एक विज्ञप्तिमा जहाज इजरायली भएको र निशाना बनाइएको जनाएको छ।

    फेब्रुअरीको अन्त्यदेखि सुरु भएको अमेरिका र इजरायली आक्रमणको जवाफमा खाडी मुलुकहरूले गत महिनादेखि इरानबाट बारम्बार ड्रोन र क्षेप्यास्त्र आक्रमणको सामना गर्नुपरेको छ। इरानले तेलको धनी खाडी राष्ट्रहरूमा हाइड्रोकार्बन पूर्वाधारहरू र ढुवानीमा प्रयोग हुने जहाजलाई लक्षित गरेको छ । यी निशानाले प्रभावकारी रूपमा रणनीतिक ‘स्ट्रेट अफ हर्मुज’ बन्द गरेको छ । यो क्षेत्रबाट विश्वको करिब २० प्रतिशत इन्धन (तेल) आपूर्ति हुन्छ ।

    इन्धन ट्याङ्कर एक्वा–१ ले बुधबार बिहानै कतारको उत्तरी जलक्षेत्रमा क्षेप्यास्त्र आक्रमणमा जहाजमा सामान्य क्षति भएको तर यसबाट चालक दलका कुनै सदस्य घाइते नभएको पुष्टि गरेको छ । बेलायती सामुद्रिक सुरक्षा निकाय ‘यूके मेरिटाइम ट्रेड अपरेसन (युकेएमटीओ)’का अनुसार दोहाबाट १७ नटिकल माइल उत्तरमा सो दुर्घटना भएको हो । जहाजलाई विश्वको सबैभन्दा ठूलो तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) क्षेत्र रास लाफानको उत्तरमा दुई प्रोजेक्टाइलले लागेको थियो।

    “एउटा प्रोजेक्टाइलले लागेपछि आगो लागेको थियो तर यसलाई पछि निभाइएको थियो र अर्को ‘जहाजको इन्जिन कोठामा विस्फोट भएको छैन,” बेलायती सामुद्रिक सुरक्षा निकायले भनेको छ। निजी सुरक्षा फर्म एम्ब्रे र भ्यानगार्डले पनि ट्याङ्करको इन्जिन कोठामा विस्फोट नभएको बताएका छन् । यसबारे अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्। यसअघि युकेएमटीओले ट्याङ्करलाई बन्दरगाहको छेउमा अज्ञात प्रोजेक्टाइलले ठक्कर दिएको र पानीको रेखामाथिको हलमा क्षति पुर्याएको बताएको थियो।

  • इरानले युद्धविरामको माग गरेको भन्ने राष्ट्रपति ट्रम्पको दाबीमा सत्यता छैन : इरान

    इरानले युद्धविरामको माग गरेको भन्ने राष्ट्रपति ट्रम्पको दाबीमा सत्यता छैन : इरान

    तेहरान, १९ चैत (रासस–एएफपी) । इरानले युद्धविरामका लागि आग्रह गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई इरानले बुधबार खण्डन गरेको छ।
    इरानले युद्धविरामका लागि गरेको अनुरोधबारे ट्रम्पको अभिव्यक्ति ‘असत्य’ र ‘आधारहीन’ रहेको इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले बताएका छन् । यसअघि, राष्ट्रपति ट्रम्पले इरानी राष्ट्रपतिले इरानले युद्ध रोक्न चाहेको दाबी गरेको सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका थिए ।

    “इरानका राष्ट्रपतिले अमेरिकासँग युद्धविरामका लागि आग्रह गरेका छन्, राष्ट्रपति ट्रम्पले आफ्नो लगानीको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल प्लेटफर्म’मा लेखेका थिए ।
    उनले अगाडी लेखेका छन्, “स्वतन्त्र आवागमनका लागि हर्मुज घाँटी खुला गर्न इरान तयार हुनुपर्नेमा हामी जोड दिन्छौँ । त्यसो भएमा युद्ध रोक्ने बिषयमा हामी विचार गर्नेछौँ । त्यतिबेलासम्म, हामी इरानलाई अस्तव्यस्त अवस्थामा धकेल्नेछौँ वा उनीहरूले चाहेजस्तो ढुङ्गे युगमा फर्कनेछन् ।” राष्ट्रपति ट्रम्पको दाबीको स्वतन्त्र पुष्टि भने भएको छैन ।

  • मध्यपूर्व तनावबिच रसद समाधान दिन रूस तयार : पुटिन

    मध्यपूर्व तनावबिच रसद समाधान दिन रूस तयार : पुटिन

    सेन्ट पिटर्सबर्ग, १९ चैत (रासस–सिन्ह्वा) । रुसले मध्य पूर्वमा पछिल्ला घटनाक्रमहरूको बीचमा विश्वव्यापी रसद र व्यापार व्यवस्थापनलाई पुनः आकार दिन मद्दत गर्न समाधान प्रस्ताव गर्न सक्ने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार बताएका छन् । यसै साता सेन्ट पिटर्सबर्गमा आयोजित पहिलो अन्तर्राष्ट्रिय यातायात तथा रसद व्यवस्थापनमामिला मञ्चमा भाग लिने क्रममा राष्ट्रपति पुटिनले यस्तो बताएका हुन् । उनले भने, “विश्व अर्थतन्त्रको प्रमुख स्तम्भको रूपमा रहेको यातायात र रसद व्यवस्थापनमा महत्त्वपूर्ण सङ्कटबिच गुज्रिरहेको छ। यसको समाधानका लागि रूससँग नयाँ प्रस्ताव रहेको छ।”

    “इरान युद्धले विश्वव्यापी ऊर्जा बजार र ‘स्ट्रेट अफ हर्मुज’ हुँदै तेल र ग्याँसको ढुवानीलाई असर गरिसकेको छ”, उनले भने, “देश र कम्पनीहरूले गति र लागतमा मात्र होइन, यातायात मार्गहरू र आपूर्ति श्रृङ्खलाहरूको सुरक्षा र लचिलोपनमा पनि जोड दिइरहेका छन्।” उनले भने, “रूसले नयाँ विश्वव्यापी रसद ढाँचा निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ, जसले आर्थिक रूपमा कुशल र अन्तर्राष्ट्रिय यातायात प्रवाहलाई विविधीकरण गर्न सक्षम मार्गहरू प्रदान गर्दछ ।” नेता पुटिनले यातायात र रसदको विकासलाई समर्थन गर्न, संयुक्त वैज्ञानिक र प्राविधिक कार्यक्रमहरू पछ्याउन र विशेषज्ञहरूलाई तालिम दिन रूसको तत्परताको पुष्टि गरे ।

  • रुसी ड्रोन आक्रमणमा परी पाँच युक्रेनीको मृत्यु

    रुसी ड्रोन आक्रमणमा परी पाँच युक्रेनीको मृत्यु

    किएभ, १९ चैत (रासस–एएफपी) । रूसले युक्रेनमा रातभर र बुधबार दिनभर सयौँ ड्रोन आक्रमण गरेको र आक्रमणका क्रममा कम्तिमा पाँच जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। आक्रमणबाट एउटा हुलाक कम्पनीको कार्यालय ध्वस्त भएको बताइएको छ। आक्रमणपछि युक्रेनको नोभा पोश्ता हुलाक कम्पनीले पश्चिमी शहर लुत्स्कको एक गोदाममा आगो लागेको र छतबाट बाक्लो धुवाँ निस्किरहेको तस्बिर प्रकाशित गरेको छ।

    क्रेमलिनले इस्टरको बिदामा अस्थायी युद्धविरामका लागि युक्रेनी प्रस्तावलाई अस्वीकार गरेको भोलिपल्ट यो आक्रमण भएको हो। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेसबुकमा भने, “हामीले इस्टरका लागि युद्धविराम प्रस्ताव गरेका छौँ । जवाफमा, हामीले ‘शाहेद’को आक्रमण पाइरहेका छौँ। रूसले युक्रेनमा मङ्गलबार राति ३३९ र दिउसो ३६० भन्दा बढी ड्रोन प्रहार गरेको युक्रेनी वायु सेनाले जनाएको छ ।

    मध्य चेर्कासी क्षेत्रमा रुसी ड्रोनले चार जनाको ज्यान लिएको छ भने युक्रेनको फ्रन्टलाइन खेरसोन क्षेत्रमा कारमा भएको ड्रोन आक्रमणमा एक महिलाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । यसैबीच, रुसले सिमामा दबाब बढाएको छ र बुधबार पूर्वी युक्रेनका दुई गाउँहरू कब्जा गरेको र लुगान्स्क क्षेत्र पूर्ण रूपमा कब्जा गरेको दाबी गरेको छ । रूसी सेनाले पहिले नै यो क्षेत्रमा ठूलो मात्रामा गाउँहरू कब्जा गरिसकेको छ।

    जेलेन्स्कीले एक छुट्टै सामाजिक सञ्जालमा गरेको पोस्टमा अग्रपङ्तीको लडाकू मोर्चाको स्थितिलाई ‘एकदम तनावपूर्ण’ अवस्थाको रूपमा वर्णन गरे । रूससँग इरानमा युद्धका कारण रोकिएका वार्ता पुनः सुरु गर्ने उद्देश्यले युक्रेनी नेता जेलेन्स्कीले बुधबार अबेर अमेरिकी दूतहरू स्टिभ विटकोफ र जारेड कुश्नरसँग भिडियो कल गर्ने बताइएको छ ।

  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रका नाममा सम्बोधन गर्दै

    अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रका नाममा सम्बोधन गर्दै

    वासिङ्टन, १८ चैत (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरान युद्धबारे जानकारी गराउन राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । इरानमा अमेरिका–इजरायलको संयुक्त आक्रमण सुरु भएयता घट्दो अनुमोदन दर र बढ्दो आर्थिक चिन्ताले देशमा राजनीतिक दबाबलाई गहिरो बनाएका समय राष्ट्रका नाममा पहिलो सम्बोधन गर्नेछन् । ह्वाइट हाउसले सम्बोधनको बारेमा कुनै विवरण दिएको छैन, तर यो सम्बोधनको मिति राष्ट्रपति ट्रम्पले इरानले युद्ध रोक्न चाहेको दाबी गरेको केही घण्टापछि आएको हो ।

    “इरानका राष्ट्रपतिले अमेरिकासँग युद्धविरामका लागि आग्रह गरेका छन्, ‘राष्ट्रपति ट्रम्पले आफ्नो लगानीको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल प्लेटफर्म’मा लेखेका छन् । “स्वतन्त्र आवागमनका लागि हर्मुज घाँटी खुला गर्न इरान तयार हुनुपर्नेमा हामी जोड दिन्छौँ । त्यसो भएमा युद्ध रोक्ने बिषयमा हामी विचार गर्नेछौँ । त्यतिबेलासम्म, हामी इरानलाई अस्तव्यस्त अवस्थामा धकेल्नेछौँ वा उनीहरूले चाहेजस्तो ढुङ्गे युगमा फर्कनेछन् ।”

    राष्ट्रपति ट्रम्पको दाबीको स्वतन्त्र पुष्टि भने भएको छैन । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेको एक महिनाभन्दा बढी समयपछि राष्ट्रपति ट्रम्पले वासिङ्टन समय अनुसार बुधबार राति ९ः०० बजे सम्बोधन गर्नेछन् । उनको टिप्पणी एक अनिश्चित राजनीतिक क्षणमा आएको हो।

    पछिल्लो सर्वेक्षणले ट्रम्पको ख्याति अनुमोदन दर ४० प्रतिशतभन्दा तल झरेको देखाएको छ । युद्ध र यसको प्रभावले पारेको आर्थिक गिरावटले अमेरिकी मतदाताहरू रूष्ट छन् । त्यसैले उहाँलाई अनुमोदन गर्नेको प्रतिशत ५० को दशकको मध्यतिरभन्दा माथि चढेको छ । इरान अभियानको समर्थन आफैँमा अस्पष्ट छ, बहुसंख्यकले आक्रमणको विरोध गरिरहेका छन् र स्वतन्त्रहरू यसको विपक्षमा छन् ।

    आर्थिक चित्रले समस्यालाई झनै जटिल बनाएको छ । पेट्रोलको मूल्य वर्षौंमा पहिलो पटक प्रति लिटर एक डलरभन्दा माथि बढेको छ, भने उपभोक्ताको विश्वास कमजोर भएको छ । यसले अर्थव्यवस्थामा ट्रम्पको पहिले नै देखिको कमजोर अडानलाई थप तल तान्छ।

    यसैबिच, राष्ट्रपतिको सन्देश वृद्धि र फिर्ताको बीचमा मोडिएको छ। हालैका दिनहरूमा ट्रम्पले दुई वा तीन हप्ताभित्र युद्ध अन्त्य हुन सक्ने बताउँदै अमेरिकाले आफ्नो उद्देश्य हासिल गरेको कुरामा जोड दिएका छन् । यद्यपि उनले इरानको ऊर्जा पूर्वाधारमा विस्तारित आक्रमणको चेतावनी पनि दिएका छन् । स्थल कारबाहीको सम्भावनालाई पनि अघि सारेका छन् । सहयोगीहरूले निजी रूपमा प्रशासनको दीर्घकालीन रणनीतिको बारेमा अनिश्चितता स्वीकार गरेका छन् ।

  • अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

    अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

    न्युयोर्क,१८ चैत (रासस–एपी) । इरानसँगको युद्धका कारण विश्वभर इन्धनको मूल्य बढ्दै जाँदा अमेरिकामा पेट्रोलको औसत मूल्य प्रति ग्यालन ४ डलर नाघेको छ, जुन सन् २०२२ पछि पहिलो पटक हो । ‘मोटर क्लब’का अनुसार अहिले साधारण पेट्रोलको औसत मूल्य ४.०२ डलर पुगेको छ, जुन युद्ध सुरु हुनुअघि भन्दा एक डलरभन्दा बढी वृद्धि हो । यसअघि सन् २०२२ मा युक्रेन युद्धपछि यस्तो उच्च मूल्य देखिएको थियो। विभिन्न राज्यहरूमा मूल्य फरक–फरक रहेको छ, जसको कारण आपूर्ति, कर दर र स्थानीय अवस्था रहेका छन् ।

    फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानविरुद्ध संयुक्त युद्ध सुरु गरेपछि कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । मध्यपूर्वका प्रमुख उत्पादक देशहरूबाट आपूर्ति अवरुद्ध भएपछि मूल्यमा असर परेको हो ।

    अर्थतन्त्रमा असर पर्ने सम्भावना

    पेट्रोलको मूल्य बढ्दा उपभोक्ता र व्यवसाय दुवै प्रभावित भएका छन्। दैनिक खर्च बढ्दै जाँदा मानिसहरूले अन्य क्षेत्रमा खर्च घटाउनुपर्ने अवस्था आउन सक्छ । ढुवानी खर्च बढ्दा खाद्यान्न, बिजुली तथा अन्य दैनिक उपभोग्य वस्तुको मूल्य पनि बढ्ने सम्भावना रहेको छ । हालै गरिएको एक सर्वेक्षण अनुसार करिब ४५ प्रतिशत अमेरिकी नागरिक पेट्रोल किन्न सक्ने क्षमताबारे गम्भीर चिन्तित रहेका छन् ।

    ढुवानी र सेवा क्षेत्रमा असर

    इन्धन महँगो हुँदा ढुवानी क्षेत्र पनि प्रभावित भएको छ । हुलाक सेवाले केही सेवामा अस्थायी रूपमा ८ प्रतिशत अतिरिक्त शुल्क लगाउने प्रस्ताव गरेको छ ।
    डिजेलको मूल्य पनि उल्लेखनीय रूपमा बढेको छ, जसले सामान ढुवानी गर्ने सवारी साधनहरूलाई थप भार परेको छ ।

    विश्व आपूर्ति सङ्कट

    विश्वको करिब पाँच भागको एक भाग तेल ओसारपसार हुने महत्वपूर्ण समुद्री मार्ग अवरुद्ध हुँदा आपूर्ति सङ्कट गहिरिएको छ । इरान, अमेरिका र इजरायलबीचका आक्रमणले तेल र ग्यास संरचनामा क्षति पुगेको छ ।

    भण्डार प्रयोग गर्ने प्रयास

    मूल्य घटाउने प्रयासस्वरूप अन्तर्राष्ट्रिय ऊर्जा निकायले सदस्य राष्ट्रहरूको आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा ल्याउने निर्णय गरेको छ ।

    अमेरिकाले भेनेजुएला र रुसबाट केही तेल आपूर्ति सहज बनाउन प्रतिबन्धमा आंशिक छुट दिएको छ ।

    भविष्यको अवस्था

    युद्ध लम्बिएमा पेट्रोलको मूल्य अझै बढ्न सक्ने विश्लेषकहरूको भनाइ छ । साथै गर्मी मौसम सुरु भएसँगै माग बढ्ने भएकाले मूल्यमा थप दबाब पर्ने देखिन्छ ।

  • युद्धको असर सामना गर्न जी ७ सक्रिय

    युद्धको असर सामना गर्न जी ७ सक्रिय

    पेरिस, १७ चैत (रासस–एएफपी) । मध्यपूर्वमा चर्किंदै गएको युद्धले विश्व अर्थतन्त्रमा गहिरो दबाब सिर्जना गरिरहेका बेला धनी राष्ट्रहरूको समूह जी ७ का मन्त्रीहरू त्यसको आर्थिक असर व्यवस्थापन गर्न आपतकालीन समन्वयमा जुटेका छन् । तेल र ग्यासको मूल्य तीव्र रूपमा बढ्दै जाँदा ऊर्जा, वित्त र मौद्रिक नीतिमा संयुक्त प्रतिक्रिया खोज्न सोमबार विशेष बैठक आयोजना गरिएको हो । फ्रान्सका अर्थमन्त्री रोलान्ड लेस्क्योरका अनुसार भिडियो कन्फरेन्समार्फत हुने यस बैठकमा ऊर्जा र अर्थमन्त्रीहरूका साथै केन्द्रीय बैंकका प्रमुख र अन्तर्राष्ट्रिय निकायका प्रतिनिधिहरू सहभागी हुँदैछन् । उनले वित्तीय बजार र विश्व अर्थतन्त्रमा देखिएको अस्थिरताबारे साझा धारणा बनाउन यो बैठक महत्त्वपूर्ण हुने बताए ।


    फेब्रुअरी अन्त्यतिर संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि स्थिति झन् जटिल बनेको हो । त्यसको प्रतिकारस्वरूप तेहरानले खाडी क्षेत्रका तेल निर्यातकर्ता मुलुकहरूलाई लक्षित गर्दै ढुवानी मार्ग अवरुद्ध गरेको छ, जसले विश्व आपूर्तिमा ठूलो अवरोध सिर्जना गरेको छ । यसको प्रत्यक्ष असर ऊर्जा बजारमा परेको छ । तेल र प्राकृतिक ग्यासको मूल्य आकासिँदा उत्पादनदेखि ढुवानीसम्मका आपूर्ति शृङ्खलामा व्यापक प्रभाव परेको छ । विशेषगरी एसियाली मुलुकहरूमा यसको प्रभाव गहिरो देखिएको भन्दै लेस्क्योरले विभिन्न देशका प्रतिक्रियामा फरक–फरक दृष्टिकोण देखा परेको उल्लेख गरे । र्नुभयो ।

    उनका अनुसार यही कारणले ऊर्जा, वित्त र केन्द्रीय बैंकहरूलाई एकै ठाउँमा ल्याएर समन्वय गर्न आवश्यक भएको हो । स्थानीय मिडियासँग कुरा गर्दै उनले झण्डै आधा शताब्दीपछि पहिलोपटक यस्तो स्वरूपमा जी७ बैठक आयोजना गरिएको जानकारी दिए । जी७ समूहमा अमेरिका, क्यानाडा, बेलायत, फ्रान्स, जर्मनी, इटाली र जापान समावेश छन् । यी मुलुकले विश्वका प्रमुख अर्थतन्त्रहरूबीच नीतिगत दिशा निर्धारणमा प्रभाव पार्दै आएका छन् । हालको सङ्कटमा विशेषगरी अमेरिकाले इरानद्वारा अवरुद्ध गरिएको स्ट्रेट अफ होर्मुज मार्ग पुनः सञ्चालन गराउन समूहको समर्थन खोजिरहेको छ ।

    हालै सम्पन्न विदेशमन्त्रीहरूको बैठकपछि जी७ ले इरानलाई उक्त जलमार्ग खुला गर्न ‘पूर्ण आवश्यक’ भएको बताउँदै नागरिक पूर्वाधारमा हुने आक्रमण रोक्न आह्वान गरेको थियो । युद्धको प्रभाव बढ्दै जाँदा विभिन्न देशहरूले आन्तरिक रूपमा पनि दबाब झेलिरहेका छन् । ऊर्जा अभाव र मूल्यवृद्धिको असर कम गर्न सरकारले विभिन्न राहत तथा नियन्त्रणका उपायहरू अघि सारेका छन् । तर युद्धको अवधि कति लम्बिने र त्यसको दायरा कति फैलिने भन्ने अन्योलले प्रभावकारी र एकीकृत प्रतिक्रिया दिन कठिन बनाएको छ ।

    यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धका उद्देश्य लगभग पूरा भएको दाबी गरेका थिए । तर सोही समयमा हजारौँ अमेरिकी सैनिकहरू मध्यपूर्वमा तैनाथ गरिँदै गएका छन्, जसले स्थिति अझ जटिल बन्ने सङ्केत दिएको छ । मानवीय क्षतिको पक्ष पनि गम्भीर बन्दै गएको छ । इरानबाहिरका अधिकारकर्मीहरूका अनुसार अमेरिका–इजरायल आक्रमणमा तीन हजारभन्दा बढी मानिस मारिएका छन्, जसमा आधाभन्दा बढी सर्वसाधारण रहेका छन् ।

    लेबनानमा पनि हिजबुल्लाहविरुद्ध इजरायली कारबाहीपछि एक हजारभन्दा बढीको ज्यान गएको अधिकारीहरूले बताएका छन् । यद्यपि इजरायल र खाडी राष्ट्रहरूले भने आफ्नातर्फ कम क्षति भएको दाबी गरेका छन् । समग्रमा युद्धले सैन्य मात्र नभइ, आर्थिक र मानवीय दुवै मोर्चामा गहिरो सङ्कट निम्त्याइरहेको देखिएको छ, जसको सामना गर्न जी७ देशहरू समन्वित रणनीति खोज्न बाध्य भएका छन् ।

  • फिनल्याण्डमा युक्रेनी ड्रोन दुर्घटना, गलत निशाना लागेको भन्दै क्षमा याचना

    फिनल्याण्डमा युक्रेनी ड्रोन दुर्घटना, गलत निशाना लागेको भन्दै क्षमा याचना

    किएभ, १७ चैत (रासस–एएफपी) । गत साताको अन्त्यमा दक्षिणी फिनल्याण्डमा दुई युक्रेनी ड्रोन दुर्घटनाग्रस्त भएको पु्ष्टि गर्दै युक्रेनले सोमबार हेलसिन्कीसँग यसका लागि माफी मागेको छ । युक्रेनी विदेश मन्त्रालयले घटना गल्तीबस भएको भन्दै माफी मागेको हो । मस्कोले रातिको समयमा युक्रेनी ब्यारेज र अन्य सैन्य स्थलहरूलाई लक्षित गरीसयौँ ड्रोनले आक्रमण गरेपछि जवाफमा किएभले गरेको आक्रमणका क्रममा दुई ड्रोन फिनल्याण्डमा खसेका थिए ।

    “कुनै पनि युक्रेनी ड्रोनहरू फिनल्याण्डतर्फ निर्देशित थिएनन्। सबैभन्दा सम्भावित कारण रूसी इलेक्ट्रोनिक युद्ध प्रणालीको हस्तक्षेप हो। हामीले यस घटनाका लागि फिनल्याण्डसँग माफी मागेका छौँ,” युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता जर्जी टाइकीले पत्रकारहरूसँग भने । युक्रेनले गत हप्ता फिनल्याण्डको खाडी नजिककोरूसी तटमा बन्दरगाह सुविधाहरूमा धेरै पटक आक्रमण गरेको थियो ।

    फिनल्याण्डको रक्षा मन्त्रालयका अनुसार फिनल्याण्डले आइतवार एफ\ए–१८ हर्नेट लडाकू विमान पहिचानका लागि पठाएको थियो। एउटा ड्रोन दक्षिणी फिनल्याण्डको कोउभोला शहरको उत्तरमा खसेको थियो भने अर्को कोउभोलाको पूर्वमा खसेको मन्त्रालयले जनाएको छ ।

  • इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति

    इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति

    जेरुसलेम, १७ (रासस–एएफपी) । इजरायली सेनाले इरानको रिभोलुसनरी गाड्र्सद्वारा सञ्चालित तेहरानमा रहेको एक विश्वविद्यालयमा आक्रमण गरेको बताएको छ । इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हालैका दिनहरूमा, आइआरजिसीको केन्द्रीय सैन्य पूर्वाधारस्थलहरू मध्ये एकमा हालै आक्रमण भएको छ ।

    इमाम हुसेन विश्वविद्यालयलेको परिसरमा रहेको आइआरजिसीको प्राथमिक सैन्य शैक्षिक संस्थाले इरानको सैन्य निकायहरूको लागि आपतकालीन उपकरणको आपूर्तिका लागि काम गर्दछ ।” अमेरिकी–इजरायली आक्रमणमा दिवङ्गत भएका इरानका पूर्व सर्वोच्च नेता अली खामेनीसहित वरिष्ठ इरानी अधिकारीहरूले युद्धअघि उक्त विश्वविद्यालयको भ्रमण गरेका थिए।

    इजरायली सेनाले भनेको छ, “युद्धका क्रममा इजरायली सेनाले विश्वविद्यालयभित्रको सैन्य पूर्वाधारमा धेरै पटक आक्रमण गरेको थियो भने यसबाट इरानी हतियार उत्पादन र विकास क्षमतामा ठूलो क्षति पुगेको थियो । उसले विश्वविद्यालय, यसको रसायन विज्ञान केन्द्र, र यसको मेकानिक्स र विकास समूहको टेक्नोलोजी र इन्जिनियरिङ केन्द्रको मुनिका सुरुङहरू नष्ट गरेको बताएको छ । सुरूङलाई सबै हतियार विकासको लागि प्रयोग गरिएको इजरायली सेनाले बताएको छ ।

  • इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    तेहरान, १६ चैत (रासस–सिन्ह्वा) । अमेरिकी रक्षा विभाग पेन्टागनले इरानमा केही हप्तासम्म चल्ने सम्भावित सशस्त्र अभियानको तयारी गरेको छ । हाल हजारौं अमेरिकी सेनाका सदस्य मध्यपूर्व क्षेत्रमा तैनाथ गरिएको छ । यो तयारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई तीव्र बनाउने निर्णय गरेमा नयाँ, जोखिमपूर्ण चरणको सुरुवात हुनसक्ने सङ्केतको रुपमा लिइन्छ ।

    पेन्टागन स्रोतका अनुसार सम्भावित अभियान पूर्ण रूपमा आक्रमणको आकारमा नहुन सक्छ । यसको सट्टा, विशेष अपरेसन बल र नियमित सैनिकको संयुक्त टोलीमार्फत ‘छिटो र सटीक’ लक्ष्यमा आक्रमण गर्ने योजना हुनसक्छ । यस्तो अभियानमा अमेरिकी सेनालाई इरानी हवाई ड्रोन, क्षेप्यास्त्र, जमीनबाट गोलीबारी र विभिन्न प्रकारका बिस्फोटकबाट खतरा हुनसक्ने चेतावनी दिइएको छ ।

    अमेरिकी प्रशासनको निर्णय यसबारे अस्थिर देखिएको छ । कहिले युद्धको समाप्ति घोषणा गरिन्छ भने कहिले यसलाई बढाउने चेतावनी दिइन्छ । यसले क्षेत्रीय सुरक्षा र अन्तर्राष्ट्रिय व्यापार मार्गमा अस्थिरता बढाउने आशंका गरिएको छ । विशेषज्ञहरूले इरानमा यस्तो अभियानले स्थानीय जनसङ्ख्या र पूर्वी भूमध्यसागर क्षेत्रका जलमार्गमा असर पार्न सक्ने अनुमान गरेका छन् । यसले ऊर्जा आपूर्ति र तेल मूल्यमा पनि असर पु¥याउने सम्भावना छ ।

  • अमेरिकामा नो किङ्ग्स’ आन्दोलनको लहर, कहाँ कस्तो छ अवस्था ?

    अमेरिकामा नो किङ्ग्स’ आन्दोलनको लहर, कहाँ कस्तो छ अवस्था ?

    मिनियापोलिस (संयुक्त राज्य अमेरिका), १६ चैत रासस–एएफपी) । अमेरिकी आप्रवासन नीतिविरुद्ध बढ्दो असन्तुष्टिका बीच ‘नो किङ्ग्स’ आन्दोलनले मिनियापोलिसलाई फेरि राष्ट्रिय ध्यानको केन्द्रमा ल्याएको छ । यस सहरमा शनिबार दशौँ हजार प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन् । सङ्घीय आप्रवासन छापापछि केही महिनाअघि हिंसात्मक घटनाले स्तब्ध बनेको यो सहरमा पुनः ठूलो सङ्ख्यामा नागरिकहरू भेला भएका हुन् ।

    आयोजकहरूका अनुसार करिब दुई लाख मानिस सहभागी भएको यो प्रदर्शन ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिको विरोधमा केन्द्रित थियो । जनवरीमा गरिएको विवादास्पद छापाका क्रममा सङ्घीय एजेन्टहरूको हातबाट दुई अमेरिकी नागरिक रेनी गुड र एलेक्स प्रिटीको मृत्यु भएपछि मिनियापोलिस राष्ट्रिय बहसको केन्द्र बनेको थियो । उक्त घटनाले राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीति विरुद्ध व्यापक आक्रोश जन्माएको थियो ।

    गत वर्षदेखि आम नागरिकको पहलमा सुरु भएको ‘नो किङ्ग्स’ आन्दोलन अन्तर्गत यो तेस्रो ठूलो प्रदर्शन हो, जसले ट्रम्पको नेतृत्व शैली र दक्षिणपन्थी एजेन्डाप्रति असहमति जनाउँदै आएको छ । प्रदर्शनमा सहभागीहरूले ‘कुनै राजा छैन, कुनै आइस छैन, कुनै युद्ध छैन ?’ जस्ता नाराहरू घन्काएका थिए, जसले आप्रवासन कार्यान्वयन निकाय ‘आइस’ (आइसिई) विरुद्धको असन्तोषलाई समेत प्रस्ट पारेको थियो ।

    कार्यक्रमको सांस्कृतिक पक्ष पनि प्रभावशाली देखिएको थियो । चर्चित सङ्गीतकार ब्रुस स्प्रिङ्गस्टीनले छिमेकी सेन्ट पल सहरमा आयोजित कार्यक्रममा प्रस्तुति दिँदै ‘स्ट्रिट्स अफ मिनियापोलिस’ गीतमार्फत मृतक गुड र प्रिटीप्रति श्रद्धाञ्जली व्यक्त गरे । उनले उनीहरूको बलिदान र साहसलाई स्मरण गर्दै उनीहरूको नाम कहिल्यै नबिर्सिने बताए ।


    ¥यालीमा सहभागी ७३ वर्षीया पामेला सिन्नेसले आफू सबै मानिसहरूको समान अधिकारको पक्षमा उभिन आएको बताइन् । उनका अनुसार, सहरले हालैको हिंसात्मक घटनाबाट गहिरो आघात भोगेको छ र त्यस्तो अवस्थाको पुनरावृत्ति नहोस् भन्ने भावना लिएर मानिसहरू सडकमा आएका हुन् । राजनीतिक नेतृत्वले पनि विरोधमा स्वर मिलाएको देखिएको छ । मिनेसोटाका गभर्नर टिम वाल्जले प्रदर्शनकारीहरूलाई धन्यवाद दिँदै ट्रम्पको आलोचना गरेका थिए । त्यस्तै, वामपन्थी नेता बर्नी स्यान्डर्सले पनि सम्बोधन गर्दै ट्रम्पमाथि संविधान र कानूनी शासनको अवमूल्यन गरेको आरोप लगाए ।


    प्रदर्शनमा सहभागी जिना बिलोटा–रेसेलिसले ट्रम्प नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै उहाँलाई अयोग्य रहेको टिप्पणी गरेकी थिइन् । उनले मध्यपूर्वमा भइरहेको युद्ध, बढ्दो तेल मूल्य र आन्तरिक नीतिगत विवादहरूले सरकारको विश्वसनीयता घटाएको धारणा राखिन् । उनका अनुसार आगामी नोभेम्बरको मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले आफ्नो सङ्कीर्ण बहुमत जोगाउन कठिन हुने देखिन्छ । “मतदानको प्रवृत्ति हेर्दा परिवर्तनको सङ्केत देखिन्छ”, उनले भनिन्, “मलाई लाग्छ उनीहरूले हार्नेछन् ।”

  • उत्तर कोरिया : अमेरिकासम्म पुग्ने मिसाइल तयारी तीव्र

    उत्तर कोरिया : अमेरिकासम्म पुग्ने मिसाइल तयारी तीव्र

    सियोल, १६ चैत (रासस–एपी) । उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिनको परीक्षण गरेको छ । यसलाई अमेरिकाको मुख्य भूमिसम्म प्रहार गर्न सक्ने मिसाइल कार्यक्रमसँग जोडेर हेरिएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले उक्त इन्जिन परीक्षण प्रत्यक्ष अवलोकन गरेका छन् ।

    यसलाई देशको सैन्य शक्ति थप उकास्ने महत्त्वपूर्ण उपलब्धि बताएको कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए)ले जनाएको छ । परीक्षण गरिएको इन्जिन कम्पोजिट कार्बन फाइबर सामग्री प्रयोग गरी उन्नत बनाइएको बताइएको छ । यसको अधिकतम थ्रस्ट दुई हजार ५०० किलोटन पुगेको उल्लेख गरिएको छ । यसअघि सेप्टेम्बरमा परीक्षण गरिएको यस्तै इन्जिनको क्षमता करिब एक हजार ९७१ किलोटन रहेको थियो ।

    विश्लेषकहरूका अनुसार इन्जिनको थ्रस्ट क्षमता वृद्धि गर्नुको उद्देश्य एउटै क्षेप्यास्त्रमा बहु वारहेड जडान गर्ने सम्भावना बढाउनु हुन सक्छ, जसले प्रतिरक्षा प्रणाली छल्ने क्षमता थप मजबुत बनाउँछ । यद्यपि परीक्षण कहिले र कहाँ गरिएको हो भन्नेबारे केसिएनएले स्पष्ट जानकारी दिएको छैन । यो परीक्षण उत्तर कोरियाको पाँच वर्षे सैन्य आधुनिकीकरण योजनाअन्तर्गत गरिएको हो, जसको लक्ष्य ‘रणनीतिक आक्रमणका साधनहरू’ लाई स्तरोन्नति गर्नु रहेको बताइएको छ ।

    यसले अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल (आइसिबिएम) विकासलाई सङ्केत गर्छ, जसले अमेरिकाको मुख्य भूमिसम्म प्रहार गर्न सक्ने क्षमता राख्ने मानिन्छ ।
    किमले पछिल्लो परीक्षणले देशको रणनीतिक शक्ति उच्च स्तरमा पु¥याउने महत्त्व राख्ने बर्ताका छन् ।

    पछिल्ला वर्षहरूमा उत्तर कोरियाले विभिन्न प्रकारका आइसिबिएम परीक्षण गर्दै आएको छ, विशेषगरी ठोस इन्धन प्रयोग गर्ने प्रविधिमा प्रगति गरेको छ । यस्तो इन्धनयुक्त मिसाइलहरू छिटो प्रक्षेपण गर्न सकिने र पहिल्यै पत्ता लगाउन कठिन हुने भएकाले अझ खतरनाक मानिन्छ । यसअघि प्रयोग हुँदै आएका तरल इन्धन मिसाइलहरू प्रक्षेपणअघि लामो तयारी आवश्यक पर्ने र लामो समयसम्म तयार अवस्थामा राख्न नसकिने कमजोरी रहेका थिए ।

    तर केही अन्तर्राष्ट्रिय विज्ञहरूले उत्तर कोरियाले अझै पूर्ण रूपमा कार्यक्षम आइसिबिएम विकास गर्न प्राविधिक चुनौतीहरू सामना गरिरहेको बताएका छन् । विशेषगरी वारहेडलाई वायुमण्डलीय पुनःप्रवेशका क्रममा हुने अत्यधिक ताप र दबाबबाट सुरक्षित राख्ने विषय चुनौतीपूर्ण रहेको उनीहरूको भनाइ छ । यद्यपि अन्य विश्लेषकहरू भने उत्तर कोरियाले लामो समयदेखि गरेको लगानी र परीक्षणका आधारमा ती अवरोधहरू पार गरिसकेको हुन सक्ने तर्क गर्छन् ।

    यसैबीच, उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमलाई थप विस्तार गर्ने नीति निरन्तर अघि बढाइरहेको छ । किमको अमेरिकासँगको उच्चस्तरीय कूटनीतिक प्रयास सन् २०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग असफल भएपछि यस्तो रणनीति थप आक्रामक बनेको देखिन्छ । हालै फेब्रुअरीमा आयोजित सत्तारूढ वर्कर्स पार्टीको बैठकमा किमले अमेरिकासँग वार्ताका लागि ढोका खुला राखे पनि त्यसका लागि उत्तर कोरियाको आणविक निशस्त्रीकरणको माग त्याग्न वासिङ्टनलाई आग्रह गरेका थिए ।


    यसबीच, किमले हालै संसद्मा सम्बोधन गर्दै आफ्नो देशको आणविक शक्ति हैसियतलाई अपरिवर्तनीय बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । मध्यपूर्वको विकसित परिस्थितिलाई उल्लेख गर्दै अमेरिकामाथि ‘वैश्विक राज्य आतङ्कवाद र आक्रामकता’ को आरोप लगाएका थिए ।

  • नेपाल बनाउन डायस्पोराका नेपालीलाई रातो कार्पेट बिच्छ्याऔं : कार्यबाहक राजदूत आरण

    नेपाल बनाउन डायस्पोराका नेपालीलाई रातो कार्पेट बिच्छ्याऔं : कार्यबाहक राजदूत आरण

    ईश्वरी न्यौपाने
    १५ चैत, सान फ्रान्सिस्को, क्यालिफोर्निया अमेरिका । नेपालका कार्यबाहक राजदूत शरदराज आरणले नेपाल बनाउन प्रवासका नेपालीलाई रातो कार्पेट बिच्छ्याउनु पर्ने बताएका छन् । विदेशमा रहेको नेपाली डायस्पोरा मुलुकको लागि सबैभन्दा ठुलो सम्पत्ती रहेको उल्लेख गर्दै उनले नेपाल निर्माण गर्न नेपाली डायस्पोरालाई स्वागत गर्नुपर्नमा जोड दिए ।

    अमेरिकामा ६ महिनादेखि कार्यबाहक राजदूतको जिम्मेवारीमा रहेका आरणले भने, नयाँ नेपाल बनाउने, समुन्नत नेपाल बनाउने समृद्धि नेपाल बनाउनको लागि नेपाली डायस्पोरालाई डिग्निटी सहित नेपालमा बस्ने वातावरण बनाएर उहाँहरुको पूँजी र सिपलाई नेपालमा एट्याक्ट गर्नैपर्छ ।’

    नेपाली महावाणिज्य दूताबास सान् फ्रान्सिस्कोद्वारा बुधवार यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा वासिंटन डिसीदेखि पुगेका आरणले आत्सम्मान महसुस हुनेगरी यो भूमि मेरो हो, मेरा पुर्खाहरुको पनि हो मेरा अरु सन्ततीहरुको लागि पनि हो भन्ने फिल गराउनु पर्ने बताए ।


    त्यसका लागि नीतिगत सुधार, प्रकृयागत सुधारमा जोड दिनुपर्ने उनको भनाई छ । त्यसो हुन सके स्वभाविक रुपमा प्रवासका नेपाली स्वदेश फर्कने उनको भनाई छ । ‘हामीले नेपाल नबुझेको, नेपाली नै नजान्नेलाई नेपाल गईदेउ, नेपालमा लगानी गरिदेउ, नेपालमा व्यापार गर भन्दा उसले नपत्याउने अवस्था छ,’ उनले भने । अब नेपालमा स्थायी सरकार आएको र पार्टीहरुको घोषणा पत्रले सकारात्मक दिशातर्फ नेपाली डायस्पोरालाई तान्न खोजिरहेको उनले बताए ।

    अहिले नेपालमा लगानीका लागि सही समय आएको उनको भनाई छ । डायस्पोरा नै सबैभन्दा ठुलो पूँजी भएको उल्लेख गर्दै उनले विश्वकै शक्तिशाली मुलुक अमेरिकामा रहेका नेपालीलाई नेपालमा उच्च दक्ष मानिने बताए । उनले ज्ञान, सूचना र पुँजी सबै हिसाबले उच्च दक्ष वर्गले नेपालको विकासलाई झन् ठुलो योगदान गर्न सक्ने उनले बताए ।

    नेपालीलाई पनि नेपालमा समान अधिकार हुनुपर्ने माग जायज रहेको पनि उनको भनाई छ । कानूनमा रहेका कमजोरीकै कारण लगानी भित्राउन र त्यहाँबाट मुनाफा फिर्ता लैजान समस्या रहेको उनको भनाई छ । विदेश बस्ने नेपालीलाई आफ्नो मुलुकमा जाँदा विभेद हुने गरेको भन्दै त्यसलाई समेत सच्याउनु पर्ने बताए । ‘भाई भिसा लिन लाग्नुपर्छ, दाई सिधै पाउँछ, यस्तो विभागको उदाहरण दिँदै उनले भने, ‘नेपाली भएर भिसा लिनुपर्ने अवस्थामा परिवर्तन गर्नुपर्छ ।’ उनले वंशजको नागरिकता लिएका आधारमा झनै विभेद हुन नहुने बताए ।


    नेपाल सरकारले दिएको गैरआवासीय नागरिकता र परिचय पत्र सरकारी अड्डामा नचल्ने भन्दै यसलाई समेत सच्याउनु पर्ने बताए । ‘त्यसबाट जग्गा किन्छु भन्दा पाइदैन, मेरो बाउ बाजेको सम्पत्ती हस्तान्तरण होस् न भन्दा पनि समस्या छ, यो के भएको भन्नेमै प्रश्न छ,’ उनले भने । नीतिगत स्पष्टटाको अभावले यस्तो भएको उनको भनाई छ । नेपालको भूमिमा टेक्ने वित्तिकै गर्व महसुस गराउनु पर्ने भन्दै उनले भने, ‘नेपाली दाजुभाई तिमीमा केही फरक छैन, बराबर व्यवहार हुन्छ भन्ने विश्वास दिलाउनुपर्छ ।’ लगानी गर्न पूर्ण अधिकार दिनुपर्ने उनको भनाई छ ।

    अहिले मुलुकले पाँच वर्षे स्थायी सरकार पाएको भन्दै उनले नयाँ सरकारसँग नयाँ ढंगले पुर्ण जोशका साथ काम गर्नुपर्ने बताए । राजनितिज्ञ सुध्रिएमा कर्मचारीतन्त्रमा समेत सुधार आउने उनको विश्वास छ । सो अवसरमा बे एरिया क्षेत्रमा बसोबास गर्ने विभिन्न उद्यम, पेशा, व्यवसाय तथा क्षेत्रसँग सम्बद्ध नेपाली समुदायका प्रतिनिधिहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको छ ।

    कार्यक्रममा हर्कुलस सिटीका काउन्सील सदस्य डिल्ली भट्टराई, सान् फ्रान्सिस्कोका महावाणिज्य दूत लक्ष्मण खनाल, उप महावाणिज्य दूत ऋषिराज आचार्य, युसिएसएपफका एशोशियट प्रोफेसर डा. तारा सिग्देल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष सर्वज्ञ वाग्ले, समाजसेवी चिनकाजी श्रेष्ठ, मदरल्याण्ड नेपालका अध्यक्ष अनील पाण्डे, अन्तरानेपाल तामांग संघका अध्यक्ष सूरज पाख्रिन, समाजसेवी कृष्ण गिरी, एनआरएनएका निवर्तमान अध्यक्ष हरी ओझा, क्यालिफोर्निया शेर्पा संघका अध्यक्ष गोम्बु शेर्पालगायतले आफ्नो धारणा राखेका थिए ।

  • इजरायल–हेजबुल्लाह युद्धमा ४६ उद्धारकर्ता र पाँच स्वास्थ्यकर्मीको मृत्यु : लेबनान

    इजरायल–हेजबुल्लाह युद्धमा ४६ उद्धारकर्ता र पाँच स्वास्थ्यकर्मीको मृत्यु : लेबनान

    बेरुत, १५ चैत (रासस–एएफपी) । हेजबुल्लाहसँग युद्ध सुरु भएको दिन मार्च २ देखि इजरायलले गरेको आक्रमणबाट ४६ सहायताकर्मी र पाँच स्वास्थ्यकर्मीको मृत्यु भएको लेबनानका स्वास्थ्यमन्त्री राकान नासेरेद्दीनले शनिबार बताएका छन् । नासेरेद्दीनले एक पत्रकार सम्मेलनमा भने, “युद्ध भएदेखि करिब एक महिनाको समयमा ४६ जना स्वास्थ्य सहायताकर्मी र पाँच स्वास्थ्यकर्मी गरी ५१ जनाको मृत्यु भएको छ। मृत्युहुनेमध्ये नौ जनाले शनिबार शाहादत प्राप्त गरेका हुन् ।”

    दक्षिण लेबनानमा शनिबार मारिएका नौ चिकित्सकमा हेजबुल्लाहको इस्लामिक स्वास्थ्य समितिका चार जना रहेका छन् जसलाई उद्धार अभियानका क्रममा इजरायली आक्रमणको निशाना बनाइएको थियो र पाँच जना हेजबुल्लाह–सहयोगी अमाल आन्दोलनका ‘रिसाला स्काउट्स’को सेवामा रहेका समय मारिएका थिए ।

  • नवनियुक्त प्रधानमन्त्री शाहलाई अमेरिकाको बधाई

    नवनियुक्त प्रधानमन्त्री शाहलाई अमेरिकाको बधाई

    काठमाडौँ, १४ चैत्र ।नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ । यहाँस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाह र नयाँ सरकारलाई बधाई दिँदै अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको उल्लेख गरेको छ ।

  • इरानद्वारा मध्यस्थकर्तामार्फत अमेरिकी प्रस्तावको जवाफ दियो, थप प्रतिक्रिया पर्खाइमा तेहरान

    इरानद्वारा मध्यस्थकर्तामार्फत अमेरिकी प्रस्तावको जवाफ दियो, थप प्रतिक्रिया पर्खाइमा तेहरान

    तेहरान, १३ चैत (रासस–एएफपी) । इरानले अज्ञात मध्यस्थकर्ताहरूमार्फत युद्ध अन्त्य गर्ने १५ बुँदे अमेरिकी योजनाको जवाफ दिएको इरानी अधिकारीलाई उद्धृत गरी तस्निम न्यूज एजेन्सीले बिहीबार जानकारी गराएको छ । अब इरानले वाशिङ्गटनको थप जवाफको पर्खाइमा रहनेछ । पाकिस्तानी अधिकारीहरूका अनुसार अमेरिकी योजनाको वास्तविक विषयवस्तु, पाकिस्तानमार्फत इरानलाई जानकारी गराइएको छ तर प्रस्तावमा के छ आधिकारिक रूपमा जानकारी गराइएको छैन ।

    अमेरिकाले प्रस्ताव गरेका १५ बुँदामा इरानले दिएको जवाफ मध्यस्थकर्तामार्फत गएराति पठाइएको थियो र इरानले अर्को पक्षको प्रतिक्रियाको पर्खाइमा रहेको जानकारी प्राप्त गरेको स्रोतलाई उद्धृत गर्दै तस्निमले जनाएको छ । इरानले पाँच बुँदे प्रतिप्रस्ताव पठाएर जवाफ दिएको स्रोतले जनाएको छ।

    पाँच बुँदामा ‘आक्रामकता’ को अन्त्य गर्दै इजरायल र संयुक्त राज्य अमेरिका युद्धबाट फर्कने, इरानलाई आर्थिक क्षतिपूर्ति दिने र इजरायलले लेबनानमा हेजबुल्लाह र गाजामा हमाससँगको युद्ध रोक्नेजस्ता सबै मोर्चामा शत्रुताको अन्त्य गर्ने सुनिश्चितताको लागि संयन्त्रको स्थापना गर्ने कुरा उल्लेख गरेको बताइएको छ। स्रोतले इरान महत्त्वपूर्ण ‘स्ट्रेट अफ हर्मुज’माथि आफ्नो सार्वभौमिकतालाई मान्यता दिन पनि चाहन्छ ।

  • भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि न्यूयोर्क अदालतमा पेश

    भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि न्यूयोर्क अदालतमा पेश

    न्यूयोर्क, १३ चैत (रासस–एएफपी) । भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोलाई बिहीबार दोस्रो पटक न्यूयोर्कको एक अदालतमा बिहीबार सुनुवाईका लागि उपस्थित गराइएको छ । अमेरिकी सेनाले भेनेजुयालाको राष्ट्रपति भवनमा छापा मारी पक्राउ परेपछि उहाँलाई जनवरीमा अमेरिका पु¥याइएको थियो र उहाँमाथि अमेरिकाले लगाएको ‘नार्को–आतङ्कवाद’, कोकिन कारोबार, मेसिनगन र विध्वंसक उपकरणहरू राखेको र मेसिनगन र विनाशकारी उपकरणहरू राख्ने षड्यन्त्र गरेको चार अभियोगमा न्यायिक कारबाहीका लागि उक्त अदालतमा पेश गरिएको थियो ।

    मदुरोसँगै र उनकी पत्नी सिलिया फ्लोरेसलाई पनि लगिएको थियो र तीन महिनादेखि ब्रुकलिनको जेलमा राखिएको छ । मदुरोले आफूलाई ‘युद्धबन्दी’ घोषित गरेका छन् । तर ‘नार्को–आतङ्कवाद’ षड्यन्त्र, कोकिन आयात षड्यन्त्र, मेसिनगन र विध्वंसक उपकरणहरू राखेको र मेसिनगन र विनाशकारी उपकरणहरू राख्ने षड्यन्त्र गरेको चार अभियोगमा दोषी नभएको दावी गरेका छन् ।


    बिहीबारको सुनुवाइमा बिहान ११ः०० बजे मदुरोले आफ्नो मुद्दा खारेज गर्न आफ्नो अडान दोहोर्याउने सम्भावना छ । उनको मुद्दा हेरिरहेका वकिलहरूले पूर्व नेताको कानुनी शुल्क कसले तिर्ने भन्ने विषयमा निर्णयको पर्खाइमा रहेका छन्। भेनेजुयलाको सरकारले खर्च बेहोर्न खोजिरहेको छ, तर वाशिङ्गटनको प्रतिबन्धका कारण, उनका वकिल ब्यारी पोलाकले अमेरिकी लाइसेन्स लिनु पर्छ जुन जारी गरिएको छैन।

    पोलाकले अदालतमा पेश गरेको निवेदनमा तर्क गरेका छन् । “लाइसेन्सको आवश्यकताले मदुरोको कानुनी प्रतिनिधित्वको संवैधानिक अधिकारको उल्लङ्घन गरेको छ र प्रक्रियागत आधारमा मुद्दा खारेज गर्न माग गर्दछ।” मदुरो र फ्लोरेसलाई बोकेको मानिएको एक प्रहरी लस्कर बिहान ४ः०० बजे जेलबाट म्यानह्याटन अदालत पुग्न जेलबाट बाहिरिएको एएफपीका पत्रकारहरूले देखेको बताएका छन्।

    ब्रुकलिनको ‘महानगरीय कैदी केन्द्रमा हिरासत’मा रहेका मदुरोलाई इन्टरनेट वा अखबारको पहुँच नभएको कोठामा एक्लै राखिएको छ । भेनेजुएला सरकार निकट स्रोतका अनुसार जेलमा रहेका मदुरोले बाइबल पढ्छन् र उनका केही सहकर्मीले उनलाई ‘राष्ट्रपति’ भनेर सम्बोधन गर्छन् । स्रोतका अनुसार उनले आफ्नो परिवार र वकिलसँग फोनमा अधिकतम १५ मिनेट मात्र कुराकानी गर्न पाउँछन् ।


    वकिलहरूले हामी (पत्रकार)लाई दिएको जानकारीमा मदुरो ‘सशक्त’ रहेको बताइएको छ । उनका छोरा निकोलस मदुरो गुएराले आफ्ना पिताका सम्बन्धमा सोधिएको प्रश्नमा भने, “हामी ठीक छौँ किनकि हामी लडाकु हौँ ।” मदुरो र उनकी पत्नीलाई अमेरिकी कमान्डोहरूले जनवरी ३ को बिहान भेनेजुएलाको राजधानीमा लडाकु विमानको सहयोगमा हवाई आक्रमण गरेर जबरजस्ती नियन्त्रणमा लिई गोप्यरूपमा अमेरिका पुर्याएका थिए ।

  • इजरायली आक्रमणमा इरानी नौसेनाका कमान्डरको मृत्यु

    इजरायली आक्रमणमा इरानी नौसेनाका कमान्डरको मृत्यु

    वासिङ्टन, १३ चैत (रासस–एएफपी) । अमेरिकी सेनाले बिहीबार इजरायली हवाई आक्रमणमा इरानी रिभोलुसनरी गाड्र्सको नौसेनाका कमान्डर मारिएको बताएको छ । “इरानी नौसेना कमाण्डरको मृत्युले मध्यपूर्वलगायत समग्र खाडी क्षेत्रलाई थप सुरक्षित बनाएको छ,” अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)का कमान्डर एडमिरल ब्राड कूपरले भने । उनले भने, “आइआरजिसीको नौसेनामा सेवा गर्ने प्रत्येक इरानीले ‘अनावश्यक चोट वा मृत्युको थप जोखिमबाट बच्न आफ्नो पद छोड्नु पर्छ र घर फर्कनु पर्छ।”

    यसैबीच, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानविरुद्ध अमेरिकी सैन्य कारबाही निर्धारित समयभन्दा अगावै आफ्नो उद्देश्य प्राप्ति गर्न सफल भएको बताएका छन् । “हाम्रो अभियान सफल पार्न हामीले लगभग चारदेखि छ हप्ता लाग्ने अनुमान गरेका थियौँ । आक्रमणको छब्बीस दिनपछि नै हामी निर्धारित लक्ष्यभन्दा धेरै अगाडि पुगेका छौँ,” ट्रम्पले द्वन्द्व सुरु भएपछिको आफ्नो पहिलो क्याबिनेट बैठकमा भने ।

  • अमेरिकासँगको व्यापार कर सम्झौता इयूको संसदबाट ससर्त अनुमोदन गर्ने सङ्केत

    अमेरिकासँगको व्यापार कर सम्झौता इयूको संसदबाट ससर्त अनुमोदन गर्ने सङ्केत

    ब्रसेल्स, बेल्जियम, १३ चैत (रासस–एएफपी) । युरोपेली युनियनका सांसदहरूले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युरोपेली संघको व्यापार कर सम्झौतालाई सर्तसहित अनुमोदन गर्ने सङ्केत दिएका छन्, जसलाई युरोपले बचाउन चाहन्छ र इयूले विश्वभरको व्यापार सम्बन्धलाई विविधीकरण गर्न पनि दौडिरहेको छ। ब्रसेल्स र वाशिङ्गटनबिच गत ग्रीष्म ऋतुमा इयुका अधिकांश सामानहरूको लागि १५ प्रतिशत कर निर्धारण गर्ने सम्झौता भएको थियो ।

    राष्ट्रपति ट्रम्पले स्टिल, एल्युमिनियम र कारका पार्टपुर्जाहरूमा भारी कर सहित सन् २०२५ को अतिरिक्त कर लगाउने नीतिले २७ देशहरूको समूह ययुलाई विश्वभरि व्यापार सम्बन्ध विकास गर्न बाध्य बनाएको थियो । इयूले त्यसपछि दक्षिण अमेरिकादेखि अष्ट्रेलियासम्म सम्झौताहरूमा हस्ताक्षर गरेको छ र अन्यलाई पछ्याइरहेको छ। यसको अर्थ यो होइन कि उसले आफ्नो सबैभन्दा ठूलो व्यापार साझेदार अमेरिकासँगको १.६ ट्रिलियन युरो (१.९ ट्रिलियन डलर) सम्बन्धबाट टाढा जान चाहन्छ।

    युरोपेली सङ्घका अधिकांश सांसदहरूले सन् २०२५ को सम्झौता कार्यान्वयन गर्ने पहिलो कदमको रूपमा केही अमेरिकी आयातमा इयुको करवृद्धि कटौती गर्न सहमति जनाएका छन् । “आजको मतदान एक महत्त्वपूर्ण प्रक्रियागत कदम हो र इयु आफ्नो वचनमा अडिग छ भन्ने राजनीतिक सङ्केत हो,” युरोपेली सङ्घका अर्थव्यवस्था प्रमुख वाल्डिस डोम्ब्रोभ्स्किसले मतदानअघि बिहीबार संसदीय बहसमा भने ।


    युरोपेली सङ्घका व्यापार आयुक्त मारोस सेफकोभिकले यो कदमलाई ‘महत्वपूर्ण कदम’ भन्दै शुक्रबार क्यामरुनमा विश्व व्यापार सङ्गठनको बैठकका क्रममा अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरसँग भेट गर्ने बताएका छन् । युरोपेली सङ्घका लागि अमेरिकी राजदूत एन्ड्रयु पुज्दरले पनि मतदानको तयारीपछि यसको स्वागत गरेका छन् ।


    उनले सामाजिक सञ्जाल एक्समा भने, “तपाईहरुको प्रयासका लागि धन्यवाद, हामी अमेरिका–इयु व्यापार सम्बन्धमा एक महत्वपूर्ण कोशेढुङ्गाको नजिक छौँ, जसले हाम्रा व्यवसाय, कामदार र उपभोक्ताका लागि ट्रान्सएटलान्टिक स्थिरता र आर्थिक अवसर प्रदान गर्नेछ ।” पुज्दरले यसअघि इयुलाई संशोधन बिना नै सम्झौता पारित गर्न सुझाब दिएका थिए । अमेरिकी कर सम्झौता इयुले लागू गर्नुअघि यसका लागि अझै इयु राष्ट्रहरूसँग वार्ता गर्न आवश्यक छ जुन वार्ता कठिन हुने अपेक्षा गरिएको छ तर इयु कूटनीतिज्ञहरूले यो चाँडै समाप्त हुने आशा गरेका छन् ।

  • तेहरानद्वारा अमेरिकी शान्ति योजना अस्वीकार

    तेहरानद्वारा अमेरिकी शान्ति योजना अस्वीकार

    तेहरान, १२ चैत (रासस–एएफपी) । इरानको सरकारी टेलिभिजनले एक अज्ञात वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै बुधबार मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकाले प्रस्ताव गरेको शान्ति योजनालाई इरानले अस्वीकार गरेको जनाएको छ । “जारी युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्तावप्रति इरानले नकारात्मक प्रतिक्रिया दिएको छ,” ती अधिकारीले भने। “ट्रम्पले युद्धको निष्कर्षको कल्पना गर्दैमा युद्धको अन्त्य नहुने यो इरानका लागि पनि मान्य हुन्ुपर्नेछ,” उनले भने ।


    इरानले उक्त कथित शान्ति योजनाबारे कुनै आधिकारिक भनाइ दिएको छैन । अमेरिकासँग युद्धपूर्व वार्ताको नेतृत्व गरेका विदेशमन्त्री अब्बास अराघचीले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् । मेहर र तस्निम एजेन्सीजस्ता इरानी मिडियाले प्रेस टिभीको रिपोर्टलाई आधार बनाएर समाचार सम्प्रेषण गरेका छन् । यसअघि बुधबार दुई वरिष्ठ पाकिस्तानी अधिकारीले मध्यस्थताको प्रयासमा इस्लामाबादले इरानलाई १५ बुँदे योजना दिएको र यसमा करिब एक महिना लामो इरान युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्ताव समावेश रहेको पनि उल्लेख छ ।

    तेहरानले शत्रुता अन्त्यका लागि आफ्नै पाँच सर्त अघि सारेको प्रेस टिभीले नाम उल्लेख नगरीकन एक इरानी अधिकारीलाई उद्धृत गर्दै जनाएको छ।
    सर्तमा देश र यसका नेताहरू विरुद्ध ‘आक्रमण र हत्या’ अन्त्य गर्ने, इजरायल र संयुक्त राज्य अमेरिका दुवैले युद्ध पुनः सुरु नगर्ने सुनिश्चितता गर्ने बलियो संयन्त्र स्थापना गर्नु, साथै पुनर्निर्माणको दृष्टिकोणले भएको विनाशको क्षतिपूर्ति पनि समावेश छ।

    इरानको सर्तहरूमा विशेष गरी तेहरान समर्थित लेबनानी समूह हेजबुल्लाहको लागि एक अप्रत्यक्ष सन्दर्भसहितको सबै क्षेत्रीय मोर्चा र सबै प्रतिरोध समूहविरुद्ध शत्रुताको अन्त्य पनि उल्लेख छ । इरानी अधिकारीका अनुसार तेहरानले अन्तर्राष्ट्रिय मान्यता पनि चाहन्छ र वर्तमान युद्धको केन्द्रमा रहेको विश्व व्यापारको प्रमुख समुद्री मार्ग हर्मुजको जलमार्गमा आफ्नो सार्वभौमिकता प्रयोग गर्ने इरानको अधिकारको सुनिश्चितता चाहन्छ ।

  • अफगानिस्तानमा पक्राउ अमेरिकी नागरिक रिहा हुने

    अफगानिस्तानमा पक्राउ अमेरिकी नागरिक रिहा हुने

    काबुल, ११ चैत (रासस–एएफपी) । अफगानिस्तानको तालिबान सरकारले एक वर्षभन्दा बढी समयदेखि पक्राउ परेका एक अमेरिकी नागरिकलाई रिहा गर्ने घोषणा गरेको छ । विदेश मन्त्रालयका अनुसार भाषा विज्ञ तथा अनुसन्धानकर्ता डेनिस कोयलका परिवारले ईदको अवसरमा उनको रिहाइका लागि अफगानिस्तानका सर्वोच्च नेतासमक्ष निवेदन दिएका थिए । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इस्लामिक इमिरेटको सर्वोच्च अदालतले उनको हिरासत अवधि पर्याप्त ठहर गर्दै रिहा गर्ने निर्णय गरेको हो ।”

    यो घोषणा विदेशमन्त्री अमिर खान मुत्ताकी, अफगानिस्तानका लागि पूर्व अमेरिकी विशेष दूत जाल्माय खलिलजाद, काबुलका संयुक्त अरब इमिरेट्सका राजदूत सैफ मोहम्मद अल–केतबी तथा कोयलका एक परिवार सदस्यबीच भएको भेटपछि आएको हो । मन्त्रालयका अनुसार संयुक्त अरब इमिरेट्सले रिहाइ प्रक्रियामा सहजीकरण गरेको थियो र मङ्गलबार कोयल आफ्ना परिवारसँग काबुलमै पुनर्मिलन भएका छन् ।

    ६४ वर्षीय कोयललाई सन् २०२५ जनवरीमा अफगान अधिकारीहरूले पक्राउ गरेका थिए । परिवारद्वारा सञ्चालित एक विवरण अनुसार उनी शैक्षिक अनुसन्धानकर्ताको रूपमा अफगान समुदायलाई सहयोग गर्ने कानुनी काममा संलग्न रहेका बेला पक्राउ परेका थिए । परिवारले उनी लगभग एकान्त हिरासतमा राखिएको, सामान्य सुविधाका लागि समेत अनुमति लिनुपर्ने अवस्था रहेको र पर्याप्त स्वास्थ्य सेवाबाट वञ्चित गरिएको दाबी गरेको छ ।

    कोयल पहिलो पटक सन् २००० को दशकको सुरुवाततिर अफगानिस्तान पुगेका थिए, जहाँ उनले भाषिक विविधताको अध्ययन र स्थानीय भाषामा स्रोत विकास गर्न सहयोग गरेका थिए । उनी वर्षौँदेखि काबुलमै बसोबास गर्दै आएका थिए र अफगान जनतासँग गहिरो सम्बन्ध बनाएका थिए । यस महिनाको सुरुवातमा अमेरिकाले अफगानिस्तानलाई ‘गलत तरिकाले मानिसहरूलाई हिरासतमा राख्ने देश’ को सूचीमा समावेश गरेको थियो ।

    अफगान अधिकारीहरूले उक्त निर्णयलाई ‘दुःखद’ बताएका छन् र दुवै पक्षबीच वार्ता तथा अघिल्ला रिहाइ प्रक्रियामा मध्यस्थकर्ताको भूमिका रहेको उल्लेख गरेका छन् । सन् २०२५ मा तालिबान सरकारले ‘सद्भावना सङ्केत’ का रूपमा पाँच अमेरिकी नागरिकलाई रिहा गरेको जनाएको थियो ।

  • इरान–इजरायल तनाव थप चर्कियो

    इरान–इजरायल तनाव थप चर्कियो

    तेहरान, १० चैत (रासस–एएफपी) । मध्यपूर्वमा युद्धविरामको सम्भावना झल्किएको केही घण्टामै इरानले इजरायलमाथि नयाँ क्षेप्यास्त्र प्रहार गरेपछि क्षेत्रीय तनाव फेरि तीव्र बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘धेरै राम्रो’ वार्ता भइरहेको दाबी गरेको भए पनि तेहरानले औपचारिक रूपमा कुनै संवाद नरहेको स्पष्ट पारेको छ । ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि गोप्य वार्ता भइरहेको उल्लेख गर्दै पाँच दिनभित्र सहमति नभए कडा सैन्य कदम चालिने चेतावनी दिएका थिए ।

    उनको उक्त अभिव्यक्तिले विश्व बजारमा सकारात्मक सङ्केत देखिएको थियो भने तेलको मूल्यमा पनि गिरावट आएको थियो । तर इरानले भने यस्तो दाबी अस्वीकार गर्दै यसलाई बजारमा प्रभाव पार्ने प्रयासका रूपमा व्याख्या गरेको छ ।

    अमेरिकी पक्षले इरानका उच्च तहका नेतासँग संवाद भइरहेको जनाएको थियो । केही सञ्चारमाध्यमले इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफलाई वार्ताको प्रमुख पात्रका रूपमा उल्लेख गरेका छन् । साथै अमेरिकी प्रतिनिधिहरू स्टिभ विटकफ र जारेड कुशनरले पाकिस्तानमा सम्भावित भेटवार्ता गर्न सक्ने चर्चा पनि गरिएको छ । यद्यपि ह्वाइट हाउसले औपचारिक पुष्टि नगरेसम्म यस्ता विवरणलाई अन्तिम मान्न नहुने बताएको छ ।

    यसैबीच, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले इरानी राष्ट्रपति मसुद पेजेस्कियानसँग संवाद गर्दै क्षेत्रीय शान्तिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । तर इरानका अधिकारीहरूले प्रत्यक्ष वार्ता नभएको दोहोर्‍याइरहेका छन् । इजरायलतर्फ भने प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकासँग सहमति सम्भव भएको सङ्केत पाए पनि आफ्नो देशको सुरक्षाका लागि इरान र लेबनानमा सैन्य कारबाही जारी रहने बताए । उनका अनुसार हालको सैन्य उपलब्धिलाई कूटनीतिक अवसरमा रूपान्तरण गर्न सकिने अवस्था देखिएको छ ।

    मङ्गलबार बिहान इरानी सरकारी सञ्चारमाध्यमहरूले इजरायलमाथि नयाँ क्षेप्यास्त्र आक्रमण भएको जानकारी दिएका छन् । इजरायलको उत्तर क्षेत्रमा केही संरचनामा क्षति पुगेको भए पनि मानवीय क्षति नभएको जनाइएको छ । उता, लेबनानमा इजरायलले दक्षिण बेरुतमा लगातार हवाई आक्रमण गरेको विवरण सार्वजनिक भएको छ । यसअघि ट्रम्पले इरानको ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्ने चेतावनी दिएका थिए । तर सम्भावित प्रतिशोधको जोखिमलाई ध्यानमा राख्दै उनी पछि हटेको विश्लेषकले बताएका छन् ।

    क्षेत्रीय ऊर्जा आपूर्ति र जलडमरूमध्यमा आवागमन अवरुद्ध हुँदा विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने चिन्ता बढ्दै गएको छ । इरानले स्ट्रेट अफ होर्मुजमार्फत हुने तेल आपूर्ति प्रभावित पारेपछि विश्व बजारमा अस्थिरता देखिएको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका प्रमुखले यस्तो अवस्था लम्बिँदा ऐतिहासिक ऊर्जा सङ्कट निम्तिन सक्ने चेतावनी दिनुभएको छ । हाल तेलको मूल्य उच्च विन्दुमा पुगेपछि ट्रम्पको वार्ता दाबीले केही राहत दिएको देखिएको छ ।

    युद्ध विस्तारसँगै लेबनानमा इजरायलको स्थलगत अभियान पनि तीव्र बनेको छ । इजरायलले इरान समर्थित हिजबुल्लाहविरुद्ध कारबाही बढाएको छ भने हजारौँ मानिस प्रभावित भएका छन् । उपलब्ध विवरणअनुसार, द्वन्द्वमा हजारौँको ज्यान गइसकेको छ, तर स्वतन्त्र रूपमा तथ्य पुष्टि गर्न कठिन रहेको बताइएको छ । समग्रमा, कूटनीतिक संवादको चर्चा चलिरहे पनि मैदानमा सैन्य गतिविधि नरोकिनुले मध्यपूर्वमा द्वन्द्व झन् जटिल बन्दै गएको सङ्केत गरेको छ ।

  • कोलम्बियामा सैन्य विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६६ पुग्यो

    कोलम्बियामा सैन्य विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६६ पुग्यो

    बोगोटा, १० चैत (रासस–एपी) । कोलम्बियाको दुर्गम अमेजन क्षेत्र पोर्टो लेगुइजामो नजिकै भएको सैन्य यातायात विमान दुर्घटनाले देशलाई गहिरो शोकमा डुबाएको छ । एक सय २८ जना सवार रहेको विमान उडेको केही समयमै दुर्घटनाग्रस्त हुँदा कम्तीमा ६६ जनाको मृत्यु भएको पुष्टि गरिएको छ भने दर्जनौँ घाइते भएका छन् । कोलम्बियाका सशस्त्र बल प्रमुख ह्युगो अलेजान्द्रो लोपेज ब्यारेटोले दुर्घटनामा ६६ जना सैनिकको ज्यान गएको जानकारी दिए । उनका अनुसार अझै चार जना सैनिक बेपत्ता रहेका छन् । “यो अत्यन्त दुःखद घटना हो, जसले हाम्रो सेनामा ठूलो क्षति पुर्‍याएको छ”, उनले भने ।


    उनले प्रारम्भिक अनुसन्धानका आधारमा यो घटना कुनै अवैध सशस्त्र समूहको आक्रमणका कारण भएको देखिँदैन भन्दै त्यस्तो कुनै सङ्केत हालसम्म नदेखिएको स्पष्ट पारे । दुर्घटनास्थल पोर्टो लेगुइजामो, पुतुमायो प्रान्तमा पर्छ । यो इक्वेडर र पेरुको सीमासँग जोडिएको दुर्गम अमेजन क्षेत्र हो । स्थानीय उपमेयर कार्लोस क्लारोसले मृतकहरूको शव सानो सहरको शवगृहमा राखिएको र सीमित स्वास्थ्य पूर्वाधारका कारण घाइतेहरूलाई प्राथमिक उपचारपछि ठूला सहरतर्फ पठाइएको बताए । उनले स्थानीय बासिन्दाहरूले उद्धारमा सक्रिय सहयोग गरेको भन्दै आभार व्यक्त गरे ।


    कोलम्बियाका रक्षामन्त्री पेद्रो सान्चेजले दुर्घटनाग्रस्त विमानले पुतुमायोको अर्को क्षेत्रमा सेना लैजाँदै गरेको जानकारी दिए । विमानमा ११५ जना सैनिक, ११ जना चालक दलका सदस्य र दुई जना राष्ट्रिय प्रहरी सवार थिए । दुर्घटनापछि ५७ जनालाई जीवितै उद्धार गरिएको बताइएको छ । दुर्घटनापछि सार्वजनिक भएका तस्बिर र भिडियोहरूमा दुर्घटनास्थलबाट बाक्लो कालो धुवाँ उठिरहेको देखिन्छ भने सैनिकहरू र स्थानीय बासिन्दाहरू उद्धार तथा आगो निभाउने प्रयासमा जुटेको दृश्य देखिन्छ । केही घाइतेहरूलाई मोटरसाइकलमार्फत हतारमा सुरक्षित स्थानतर्फ सारिएको थियो ।

    कोलम्बियाको वायु सेनाका कमान्डर कार्लोस फर्नान्डो सिल्भाले दुर्घटनाको कारणबारे अझै स्पष्ट हुन नसकेको बताए । उनका अनुसार विमानमा प्राविधिक समस्या आएको र विमानस्थलबाट करिब दुई किलोमिटर टाढा खसेको हो । घाइतेहरूको उद्धारका लागि विशेष विमानमार्फत राजधानी बोगोटा लगायतका अस्पतालहरूमा सारिएको छ ।

    दुर्घटनालाई लिएर राष्ट्रपति गुस्ताभो पेट्रोले सैन्य उपकरणको आधुनिकीकरण आवश्यक रहेको पुनः जोड दिए । उनले प्रशासनिक कमजोरी र ढिलासुस्तीका कारण सुधारका प्रयासहरू अवरुद्ध भएको उल्लेख गर्दै जिम्मेवार अधिकारीलाई जवाफदेही बनाउनुपर्ने सङ्केत गरे । यद्यपि विपक्षीहरूले भने बजेट कटौतीका कारण सैन्य उडान समय घट्दा अनुभवहीन चालक दलका सदस्यहरू बढेको र त्यसले जोखिम बढाएको तर्क गरेका छन् ।

    उड्डयन तथा सैन्य विश्लेषक एरिक सौमेथका अनुसार दुर्घटनाग्रस्त ‘हकुलुलस सी–१३०’ विमान सन् २०२० मा अमेरिकाले कोलम्बियालाई उपलब्ध गराएको थियो र त्यसपछि यसको विस्तृत मर्मतसम्भार पनि गरिएको थियो । उनले विमानमा प्रयोग गरिएका उपकरण वा पार्ट्सको कमीका कारण दुर्घटना भएको सम्भावना कम रहेको बताउँदै इन्जिन किन उडानपछि छिट्टै असफल भयो भन्नेबारे अनुसन्धानले स्पष्ट पार्नुपर्ने उल्लेख गरे ।


    रक्षामन्त्री सान्चेजले पनि दुर्घटनास्थल नजिक सक्रिय विद्रोही समूहको संलग्नताको कुनै प्रमाण नभएको बताए । उनले यस घटनालाई ‘राष्ट्रका लागि गहिरो पीडादायी’ भन्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरे । यो दुर्घटनाले कोलम्बियाको सुरक्षा संयन्त्र, सैन्य तयारी र पूर्वाधारमाथि गम्भीर प्रश्न उठाएको छ भने देशभर शोकको वातावरण सिर्जना गरेको छ ।