Category: अमेरिका

  • इरानी प्रतिनिधिमण्डल र पाकिस्तानी प्रधानमन्त्रीबीच भेटवार्ता

    इरानी प्रतिनिधिमण्डल र पाकिस्तानी प्रधानमन्त्रीबीच भेटवार्ता

    इस्लामावाद, २९ चैत (रासस–एएफपी) । इरान सरकारको एक प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा रहेको अमेरिकी पक्षसँग मध्यपूर्व युद्ध अन्त्य गर्न योजनाबद्ध वार्ताका सर्तहरूमा छलफल गरेको छ । इस्लामावादको सेरेना होटलमा पहिलो वार्ता चलिरहँदा इरानी सञ्चारमाध्यमले प्रधानमन्त्री शहबाज सरीफसँगको बैठकको अन्त्यमा इरानी पक्षले अमेरिकीहरूसँग प्रत्यक्ष वार्ता अघि बढाउने वा नबढाउने भन्ने निर्णय गर्ने बताएका छन् ।

    इरानले यसअघि नै लडाईको स्थायी अन्त्यको कुनै पनि सम्झौतामा रोक्का गरिएको इरानी सम्पत्ति फुकुवा हुनु्पर्ने र लेबनानमा हेजबुल्लाहमाथि इजरायलको युद्धको अन्त्य समावेश हुनुपर्ने बताएको थियो । अमेरिकी उपराष्ट्रपति भान्सले रोक्का इरानी सम्पत्तिको फुकुवा इस्लामाबादमा छलफलको बिषय नहुने बताएका छन् । संसदीय सभामुख मोहम्मद बाघेर गालिबाफको नेतृत्वमा रहेको इरानी प्रतिनिधिमण्डललाई पाकिस्तानका शक्तिशाली सेना प्रमुख असिम मुनिरले स्वागत गरेपछि दुवै पार्टी वार्ता स्थलमा पुगेका थिए ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सुमधुर व्यक्तिगत सम्बन्ध रहेका मुनीरले भान्सलाई पनि स्वागत गरेका थिए । उनलाई नुर खान हवाई अड्डामा विशेष सम्मानसहित स्वागत गरिएको थियो । उक्त अवसरमा अमेरिकी विशेष दूत स्टिभ विटकोफ र राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुश्नर पनि आफ्ना उपराष्ट्रपतिको स्वागतका लागि उपस्थित थिए । युद्धरत पक्षहरू अझै पनि प्रतिबन्ध, लेबनानमा युद्धविराम सम्झौताको पालना र रणनीतिक स्ट्रेट अफ हर्मुज खोल्ने जस्ता प्रमुख मुद्दाहरूमा टाढा रहेको देखिन्छ र उनीहरूले आपसी शङ्का लुकाउने कुनै प्रयास गरेनन् ।

  • पाकिस्तानी प्रधानमन्त्री र अमेरिकी उपराष्ट्रपति भान्सबीच भेटवार्ता

    पाकिस्तानी प्रधानमन्त्री र अमेरिकी उपराष्ट्रपति भान्सबीच भेटवार्ता

    इीलामावाद, २८ चैत (रासस–एएफपी) । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले शनिबार इस्लामावादमा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भेटवार्ता गरेका छन् । पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले पूधानमन्त्री सरिफको संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति जेडी भान्ससँग आज वार्ता सुरु भएको उल्लेख गर्दै भनेको छ, “पाकिस्तान यस क्षेत्रमा दिगो शान्तिको दिशामा प्रगतिको लागि दुवै पक्षलाई सहयोग गर्न तत्पर छ।” अमेरिकाको तर्फबाट भान्ससँगै शीर्ष अमेरिकी दूत स्टिभ विटकोफ र जारेड कुश्नर पनि सहभागी हुनुभएको थियो भने पाकिस्तानका तर्फबाट पूधानमन्त्री सरिफसहित विदेशमन्त्री इशाक डार र गृहमन्त्री मोहसिन नकवी पनि सहभागी थिए ।


    पाकिस्तानले सार्वजनिक गरेको फुटेजमा सरिफले भान्सलाई स्वागत गर्नुभएको र दुई देशका शीर्ष नेतृत्व पृष्ठभूमिमा पाकिस्तानी र अमेरिकी झण्डासहितका तस्वीर सार्वजनिक गरिएको छ। यसअघि सरिफले इरानी प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेको तेहरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । अमेरिका र इरानी प्रतिनिधिमण्डलहरूबीच वार्ताको ढाँचा स्पष्ट हुन सकेको छैन। विगतमा, तेहरान र वाशिङ्गटनले वार्ताको क्रममा सन्देशहरू आदानप्रदान गर्न मध्यस्थकर्ताहरूको प्रयोग गरेर अप्रत्यक्ष वार्ता विधि अपनाएका थिए ।

  • पाकिस्तानमा इरान–अमेरिका वार्ता सुरु

    पाकिस्तानमा इरान–अमेरिका वार्ता सुरु

    तेहरान, २८ चैत (रासस–एएफपी) । मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु भएको इरानी सञ्चारमाध्यमले शनिबार बताएका छन् ।
    फार्स र तस्निम समाचार संस्थाले इरानी स्रोतलाई उल्लेख गरी भनेका छन्, “वार्ताको प्रक्रिया र एजेण्डाका लागि गरिएको प्रारम्भिक वार्ताको क्रममा भएको प्रगति र लेबनानको दक्षिणी बेरुतमा यहुदी शासन (इजरायली सेना)को आक्रमणलाई कम गरिएपछि वार्ता सुरु गर्ने निर्णय गरिएको छ ।” पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफको कार्यालयले शान्ति वार्ता सुरु भएको बताएको छ भने मेहर र इस्नाले पनि वार्ता सुरु भएको पुष्टि गरेका छन् ।

  • इस्टर अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

    इस्टर अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

    किएभ, २८ चैत (रासस–एएफपी) । चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर पारेर रुस र युक्रेनबीच शनिबारदेखि छोटो अवधिको अस्थायी युद्धविराम लागू हुने भएको छ । अमेरिकी नेतृत्वमा भइरहेको शान्ति प्रयासहरू अपेक्षित रूपमा सफल हुन नसकेको सन्दर्भमा यो कदमलाई मानवीय राहतको सानो तर महत्त्वपूर्ण सङ्केतका रूपमा हेरिएको छ । क्रेमलिनले जारी गरेको निर्देशनअनुसार शनिबार साँझ ४ः०० बजेदेखि आइतबार रातिसम्म ३२ घण्टे युद्धविराम लागू हुनेछ । यस अवधिमा सबै मोर्चामा शत्रुतापूर्ण गतिविधि पूर्ण रूपमा रोक्न रक्षामन्त्री आन्द्रेई बेलोसोभ र सेना प्रमुख भ्यालेरी गेरासिमोभलाई आदेश दिइएको जनाइएको छ ।

    युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पनि आफ्नो देश इस्टरका अवसरमा युद्धविरामका लागि तयार रहेको कुरा पटक–पटक व्यक्त गर्दै आएको उल्लेख गरेका छन् । उनले रुसको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिन इच्छुक रहेको बताए । यद्यपि, यो अस्थायी युद्धविराम दीर्घकालीन शान्ति प्रक्रियासँग प्रत्यक्ष रूपमा जोडिएको छैन । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले यस विषयमा युक्रेन वा संयुक्त राज्य अमेरिकासँग पूर्व छलफल नगरेको स्पष्ट पार्दै यो कदमलाई छुट्टै मानवीय पहलका रूपमा प्रस्तुत गरे ।


    यसबीच, युद्धविराम लागू हुनुअघि पनि हिंसात्मक घटना रोकिएका छैनन् । युक्रेनको पोल्टावा र सुमी क्षेत्रमा शुक्रबार राति भएका छुट्टाछुट्टै आक्रमणमा एक जनाको ज्यान गएको र करिब १५ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । युक्रेनी वायु सेनाका अनुसार रुसले बिहीबार राति मात्रै १२८ वटा ड्रोन प्रहार गरेको थियो ।

    अमेरिकी मध्यस्थतामा भएका शान्ति वार्ताहरूले अहिलेसम्म ठोस उपलब्धि हासिल गर्न सकेका छैनन् । मस्कोले क्षेत्रीय तथा राजनीतिक छुटहरूको माग गरिरहेको छ, जसलाई युक्रेनले आत्मसमर्पणसरह ठानेर अस्वीकार गर्दै आएको छ । त्यसमाथि, अमेरिकाको ध्यान पछिल्लो समय मध्यपूर्वतर्फ केन्द्रित भएकाले पनि वार्ता थप जटिल बनेको छ ।

    युद्धले अहिलेसम्म लाखौँ मानिसको ज्यान लिइसकेको छ भने करोडौँ विस्थापित भएका छन् । दोस्रो विश्वयुद्धपछिको युरोपकै सबैभन्दा घातक द्वन्द्वका रूपमा यसलाई लिइन्छ । मोर्चामा पछिल्ला वर्षहरूमा लडाइँ केही हदसम्म स्थिर भए पनि रुसले सानो–सानो क्षेत्रीय उपलब्धि महँगो मूल्य चुकाएर हासिल गरिरहेको छ । तर, सन् २०२५ को अन्त्यदेखि रुसको प्रगति सुस्त बन्दै गएको विश्लेषणहरू सार्वजनिक भएका छन् । युक्रेनले दक्षिणपूर्वी क्षेत्रमा केही प्रतिआक्रमण गर्दै रुसलाई पछाडि धकेल्न सफल भएको बताइएको छ । साथै, प्रविधि तथा सञ्चारमा देखिएका अवरोधहरू, विशेषगरी स्टारलिङ्क स्याटेलाइट प्रयोगमा लगाइएको प्रतिबन्ध र टेलिग्राम एप नियन्त्रण गर्ने प्रयासले पनि रुसको सैन्य गतिमा असर पारेको विश्लेषकहरूको भनाइ छ ।

    यद्यपि, डोनेट्स्क क्षेत्रका क्रामटोरस्क र स्लोभियान्स्क सहरतर्फको अवस्था भने अझै युक्रेनका लागि चुनौतीपूर्ण रहेको बताइएको छ । हालसम्म रुसले युक्रेनको करिब १९ प्रतिशत भूभाग नियन्त्रणमा राखेको छ, जसको अधिकांश भाग द्वन्द्वको सुरुआती चरणमै कब्जा गरिएको थियो । यस्तो अवस्थामा इस्टर युद्धविरामले केही समयका लागि हिंसा रोकिए पनि स्थायी शान्तिको सम्भावना भने अझै अनिश्चित देखिएको छ ।

  • पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै

    पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै

    इस्लामाबाद, २८ चैत (रासस–एपी) । मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप अमेरिका र इरानबीच उच्चस्तरीय वार्ता शनिबारदेखि पाकिस्तानमा सुरु हुने भएको छ । एक महिनाअघि सुरु भएको युद्धपछि पहिलोपटक दुवै पक्ष आमनेसामने हुन लागेका हुन् । यसलाई सम्भावित दीर्घकालीन शान्तितर्फको प्रारम्भिक कदमका रूपमा हेरिएको छ ।

    अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल यस वार्तामा सहभागी हुन इस्लामाबाद पुग्दैछ । यसअघि नै इरानी टोली संसद्का अध्यक्ष मोहम्मद बाघेर कालिबाफको नेतृत्वमा त्यहाँ आइपुगेको छ । उनले लेबनानमा इजरायलसँगको युद्धविराम सुनिश्चित भएमा मात्र अवरुद्ध इरानी सम्पत्तिको रिहाइबारे छलफल हुने सङ्केत गरेका छन् ।
    यद्यपि, वार्ता सुरु हुनुअघि नै चुनौतीहरू स्पष्ट देखिएका छन् । दक्षिणी लेबनानको सीमामा इजरायल र हिजबुल्लाहबीच गोलीबारी जारी रहनु र इरानले पूर्वसर्तहरू अघि सार्नुले पाकिस्तानले मध्यस्थता गरेको युद्धविरामलाई कमजोर बनाउने जोखिम देखिएको छ । वार्ताको सुरक्षालाई ध्यानमा राख्दै इस्लामाबादका सडकहरू शनिबार बिहानदेखि खालीजस्तै देखिएका छन् । सुरक्षा निकायहरूले मुख्य मार्गहरू बन्द गरेका छन् भने सर्वसाधारणलाई घरमै बस्न आग्रह गरिएको छ । यसले सहरमा कफ्र्यूजस्तो अवस्था सिर्जना गरेको छ ।

    पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले द्वन्द्व ‘कठिन चरण’ मा प्रवेश गरिरहेको बताउँदै अस्थायी युद्धविरामलाई स्थायी समाधानतर्फ रूपान्तरण गर्नु अहिलेको मुख्य चुनौती भएको उल्लेख गरे । वासिङ्टनबाट इस्लामाबादतर्फ प्रस्थान गर्नुअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले भान्सलाई शुभकामना दिँदै इरान सैन्य रूपमा कमजोर अवस्थामा रहेको टिप्पणी गरे । भान्सले पनि वार्ता सकारात्मक हुने विश्वास व्यक्त गरेका छन् । तर आवश्यक परे कडा अडान अपनाइने चेतावनी दिएका छन् ।


    यसैबीच, इजरायल र लेबनानबीच पनि प्रत्यक्ष वार्ताको तयारी भइरहेको छ । लेबनानका राष्ट्रपति जोसेफ आउनको कार्यालयका अनुसार उक्त वार्ता अमेरिकी राजधानीमा सुरु हुने अपेक्षा गरिएको छ । बेरुतले इजरायलसँग प्रत्यक्ष संवाद गर्न तत्परता देखाए पनि त्यसलाई इरानसँगको जस्तै युद्धविरामको ढाँचामा अघि बढाउन चाहेको छ । तर इजरायलले हिजबुल्लाहविरुद्धको सैन्य कारबाही नरोकिने अडान लिँदा सहमति प्रक्रिया थप जटिल बनेको छ । हिजबुल्लाह इरानको समर्थनमा युद्धमा संलग्न भएको हो । युद्धविराम घोषणा भएकै दिन बेरुतमा इजरायली हवाई आक्रमण हुँदा ३०० भन्दा बढी मानिसको ज्यान गएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो फेब्रुअरी २८ मा सुरु भएको द्वन्द्वयताकै सबैभन्दा ठूलो क्षति हो ।

    त्यसपछि पनि आक्रमणहरू जारी रहेका छन् । दक्षिणी सहर नबातीहमा इजरायली आक्रमणमा १३ जना सुरक्षा अधिकारी मारिएको लेबनानी पक्षले जनाएको छ । इजरायली सेनाले भने उत्तरी इजरायलतर्फ प्रहार गरिएका रकेट लन्चरहरूलाई निशाना बनाएको दाबी गरेको छ । यस द्वन्द्वको अर्को महत्त्वपूर्ण आयाम स्ट्रेट अफ होर्मुज बनेको छ । इरानले यो जलमार्ग बन्द गरेपछि अन्तर्राष्ट्रिय तेल बजारमा ठूलो असर परेको छ । तेलको मूल्य उल्लेखनीय रूपमा बढेको छ भने विश्व अर्थतन्त्रमा दबाब सिर्जना भएको छ । युद्धअघि दैनिक १०० भन्दा बढी जहाज आवतजावत गर्ने उक्त मार्गबाट अहिले अत्यन्तै कम जहाज मात्र गुज्रिरहेका छन् ।

    ट्रम्पले इरानसँग वार्तामा सीमित विकल्प रहेको दाबी गर्दै उसले अन्तर्राष्ट्रिय जलमार्ग प्रयोगलाई दबाबको साधन बनाएको टिप्पणी गरे । उनका अनुसार वार्तामा सहभागी हुनु नै इरानका लागि अहिलेको प्रमुख विकल्प बनेको छ । यस परिस्थितिमा पाकिस्तानमा सुरु हुन लागेको अमेरिका–इरान वार्ताले केवल द्वन्द्वमा अस्थायी विराम ल्याउने मात्र नभई व्यापक क्षेत्रीय स्थायित्वतर्फ मार्ग खोल्न सक्छ कि सक्दैन भन्ने चासो अन्तर्राष्ट्रिय समुदायमा बढ्दो छ ।

  • चन्द्रयात्राबाट सुरक्षित फर्कियो आर्टेमिस द्वितीय

    चन्द्रयात्राबाट सुरक्षित फर्कियो आर्टेमिस द्वितीय

    ह्युस्टन, २८ चैत (रासस–एपी) । आधा शताब्दीपछि मानवलाई पुनः चन्द्रमाको नजिक पुर्‍याएको ऐतिहासिक आर्टेमिस द्वितीय अभियान शुक्रबार प्रशान्त महासागरमा सफल स्प्ल्यासडाउन (समुद्र वा पानीमा हुने अवतरण) सँगै सम्पन्न भएको छ । अत्यन्त जोखिमपूर्ण पुनःप्रवेश पार गर्दै अन्तरिक्ष यात्रीहरूले केवल सुरक्षित अवतरण मात्र गरेनन्, मानव अन्वेषणको नयाँ अध्याय सुरु गर्ने मार्ग पनि तयार पारे । करिब १० दिन लामो यस अभियानले चन्द्रमाको टाढाको भागदेखि दुर्लभ खगोलीय दृश्यहरू अवलोकन गर्‍यो । अन्तरिक्षको असीम शून्यताबीच देखिएको पूर्ण सूर्यग्रहण, ग्रहहरूको अद्भुत पङ्क्ति र पृथ्वीको झल्कोले यात्रालाई वैज्ञानिक मात्र नभई, भावनात्मक रूपमा पनि ऐतिहासिक बनायो ।

    मिसन सम्पन्न गरी फर्किएका कमान्डर रिड वाइसम्यान, पाइलट भिक्टर ग्लोभर, क्रिस्टिना कोच र क्यानाडाका जेरेमी ह्यानसेन सान डिएगो नजिक समुद्रमा अवतरण गरेको क्याप्सुलबाट बाहिरिँदा उहाँहरूमा उत्साह र राहत दुवै झल्किएको थियो । सैन्य हेलिकप्टरहरूले उहाँहरूलाई एक–एक गरी उद्धार गर्दै अमेरिकी नौसेनाको जहाज युएसएस जोन पी मुर्तासम्म पुर्‍याएका थिए । नासाका प्रशासक जारेड आइज्याकम्यानले यस टोलीलाई ‘मानवताको प्रतिनिधि’ का रूपमा व्याख्या गर्दै उहाँहरूको योगदानले आगामी चन्द्र अवतरणका लागि आधार तयार गरेको बताउनुभयो । नासाको मिसन कन्ट्रोलमा पनि सफल अवतरणसँगै उत्सवको माहोल देखिएको थियो । अधिकारीहरूले यसलाई ‘नयाँ मूनसटको सुरुआत’ का रूपमा चित्रण गरेका छन् ।

    In this photo provided by NASA, its astronaut Victor Glover, Artemis II pilot is assisted off the flight deck after arriving aboard USS John P. Murtha after he and fellow crewmates after they and fellow crewmates were extracted from their Orion spacecraft after splashdown, Friday, April 10, 2026, in the Pacific Ocean off the coast of California. (Bill Ingalls/NASA via AP)

    ओरिअन क्याप्सुल ‘इन्टिग्रिटी’ ले पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा ध्वनिको गतिभन्दा ३३ गुणा तीव्र गतिमा यात्रा गरेको थियो । पुनःप्रवेशका क्रममा क्याप्सुल अत्यधिक तापमा रातो–तातो प्लाज्माले घेरिएको थियो, जसका कारण केही समय सञ्चार अवरुद्ध भएको थियो । यही क्षण मिसनको सबैभन्दा संवेदनशील चरण मानिएको थियो, जहाँ तापीय ढालको सफलतामाथि सम्पूर्ण टोलीको सुरक्षाको निर्भरता थियो ।

    छ मिनेट लामो ब्ल्याकआउटपछि क्याप्सुल पुनः सम्पर्कमा आउँदा परिवारजन र वैज्ञानिकहरू दुवैले राहत महसुस गरेका थिए । अन्ततः करिब ३९ हजार ६९३ किलोमिटर प्रतिघण्टा गतिबाट घट्दै क्याप्सुल सुरक्षित रूपमा समुद्रमा अवतरण भएको थियो । यस अभियानले विविधता र समावेशीताको सन्देश पनि दिएको छ । क्रिस्टिना कोच चन्द्रमातर्फ उड्ने पहिलो महिला बन्नुभयो भने भिक्टर ग्लोभर पहिलो अश्वेत अन्तरिक्ष यात्री र जेरेमी ह्यानसेन पहिलो गैर–अमेरिकी नागरिकका रूपमा इतिहासमा दर्ज भए । उनीहरुले आफ्नो अनुभव साझा गर्दै भावुक क्षणहरू पनि व्यक्त गरेका थिए ।


    अप्रिल १ मा फ्लोरिडाबाट प्रक्षेपण गरिएको यो अभियानले चन्द्रमाको परिक्रमा नगरे पनि मानवले अहिलेसम्म यात्रा गरेको सबैभन्दा टाढाको दूरी—चार लाख छ हजार ७७१ किलोमिटर—पार गर्दै नयाँ कीर्तिमान बनायो । यस क्रममा अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको टाढाको भागका दृश्यहरू क्यामेरामा कैद गरेका थिए, जुन मानव आँखाले यसअघि कहिल्यै देखेको थिएन ।

    यात्राका क्रममा केही प्राविधिक समस्या पनि देखिएका थिए । पिउने पानी प्रणाली, इन्धन प्रवाह नियन्त्रण गर्ने भल्भमा समस्या देखिएको थियो र शौचालयमा समस्या आए पनि टोलीले ती चुनौतीहरू सफलतापूर्वक व्यवस्थापन गरेको जनाएको छ । पुनःप्रवेशपछि क्याप्सुलको तापीय ढालको थप परीक्षण गरिने तयारी गरिएको छ ।

    नासाका अनुसार यो अभियान आगामी चन्द्र अवतरण योजनाको परीक्षण उडान थियो । संशोधित कार्यक्रमअनुसार अर्को चरणमा आर्टेमिस तृतीय मार्फत कक्षीय अभ्यास गरिनेछ भने सन् २०२८ मा आर्टेमिस चतुर्थअन्तर्गत चन्द्रमाको दक्षिणी ध्रुवमा मानव अवतरणको लक्ष्य राखिएको छ । अन्तरिक्ष यात्री वाइसम्यानले यस अभियानलाई केवल प्राविधिक उपलब्धि मात्र नभई मानवतालाई एकताबद्ध गर्ने अवसरका रूपमा लिन आग्रह गरे । उनले पृथ्वीको सुन्दरता र ब्रह्माण्डमा यसको विशिष्ट स्थान सम्झनुपर्ने आवश्यकता औँल्याउँदै यस यात्राले सबैलाई साझा भविष्यतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

  • लेबनानमा इजरायलको अन्धाधुन्ध आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

    लेबनानमा इजरायलको अन्धाधुन्ध आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

    संयुक्त राष्ट्रसङ्घ , २७चैत (रासस–सिन्ह्वा) । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजरायलले बुधबार लेबनानमा गरेको आक्रमणको निन्दा गरेका छन् । महासचिव गुटेरेसले विज्ञप्ति जारी गर्दै आक्रमणमा अधिकाशं निर्दोश सर्वसाधारण ज्यान गुमाउन बाध्य भएको भन्दै आक्रमणको कडा निन्दा गर्नु भएको छ ।
    लेबनानमा जारी सैन्य गतिविधिले अमेरिका – इरान युद्धविराम र यस क्षेत्रमा स्थायी शान्तिको प्रयासको लागि गम्भीर जोखिम खडा गरेको जनाइएको छ ।

    महासचिवले सम्बन्धित पक्षलाई तुरुन्तै विवाद अन्त्य गर्न आह्वान गर्दै अन्तर्राष्ट्रिय कानूनको सम्मान नागरिकको सुरक्षा गर्नपर्ने बताएका छन् । द्धन्द्वको कुनै सैन्य समाधान हुन नसक्ने कुरामा जोड दिँदै सबै पक्षलाई कूटनीतिक माध्यामहरू प्रयोग गर्न र सुरक्षा परिषद्को प्रस्ताव– १७०१ को पूर्ण कार्यान्वयनमा प्रतिबद्ध हुन आग्रह गरेका छन् ।

  • सम्झौताअघि सेना कायमः ट्रम्प

    सम्झौताअघि सेना कायमः ट्रम्प

    वासिङ्टन, २७ चैत (रासस–एएफपी) । अमेरिका–इरानबीच नाजुक युद्धविराम कायम भइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘वास्तविक र पूर्ण कार्यान्वयन हुने सम्झौता’ नभएसम्म इरान नजिकै तैनाथ अमेरिकी सैन्य शक्ति यथावत् रहने स्पष्ट पारेका छन् । यसले वार्तासँगै सैन्य दबाब कायम राख्ने अमेरिकी रणनीति झल्काएको छ ।

    मङ्गलबार भएको दुई साताको युद्धविरामले द्वन्द्वमा केही विरामको सङ्केत दिए पनि क्षेत्रीय तनाव घटेको छैन । इजरायलले लेबनानमा बमबारी जारी राख्दै इरानका केही प्रमुख मागहरू अस्वीकार गरेपछि परिस्थिति अझै जटिल बनेको छ, जसले आगामी वार्ताको वातावरणमा समेत असर पार्ने देखिएको छ ।

    ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत अमेरिकी सैन्य उपस्थितिबारे स्पष्ट पार्दै इरान वरपर तैनाथ जहाज, विमान र सैन्य जनशक्ति आवश्यक सबै हतियार र सामग्रीसहित त्यहीँ रहने बताए । उनले ‘दुश्मनको क्षमतामा पहिले नै ठूलो क्षति पुगिसकेको’ उल्लेख गर्दै वास्तविक सम्झौता पूर्ण रूपमा कार्यान्वयन नभएसम्म सैन्य तयारी कायम रहने धारणा राखे ।


    यद्यपि, उनले सम्झौता हुने सम्भावनालाई ‘अत्यन्तै कम’ भएको टिप्पणी गरे । त्यससँगै, सम्झौता असफल भए ‘अझ ठूलो, अझ सशक्त’ आक्रमणमा फर्किने चेतावनी पनि दिए । “हाम्रो सेना तयार छ र अर्को सफलताका लागि अघि बढ्न उत्सुक छ”, भन्दै उनले अमेरिकी सैन्य तयारीप्रति आत्मविश्वास व्यक्त गरे ।


    यसबीच, इरानले युद्धविराम अवधिमा महत्त्वपूर्ण समुद्री मार्ग खुला राख्न सहमति जनाएको भए पनि त्यस क्षेत्रमा आफ्नो नियन्त्रण कायम रहने स्पष्ट पारेको छ । विशेषगरी होरमुज जलडमरूमध्य विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त संवेदनशील क्षेत्र मानिन्छ, जहाँबाट सामान्य अवस्थामा विश्वको करिब पाँचौँ भाग तेल आपूर्ति हुने गर्दछ ।

    इरानी राज्य सञ्चारमाध्यममार्फत सार्वजनिक विवरणमा तेहरानले वासिङ्टनसँगको सम्भावित सम्झौतामा आफ्नो युरेनियम संवर्धन कार्यक्रमलाई मान्यता दिन आग्रह गरेको देखिएको छ । तर, संयुक्त राष्ट्रसङ्घमार्फत प्रस्तुत औपचारिक मागहरूमा यो विषय समावेश नभएको जनाइएको छ ।

    ट्रम्पले भने कुनै पनि सम्भावित सम्झौतामा संवर्धनसम्बन्धी विषयलाई समाधान गरिने बताए । पाकिस्तानमा तय भएको आगामी वार्तालाई लक्षित गर्दै ट्रम्पले इरानसँगको अन्तिम समझदारीमा ‘इरानसँग कुनै आणविक हतियार नहुने’ र होरमुज जलडमरूमध्य सुरक्षित र खुला रहने सुनिश्चित गरिने दोहोर्‍याए ।

  • मध्यपूर्व युद्धः तनाव, वार्ता र अनिश्चितता

    मध्यपूर्व युद्धः तनाव, वार्ता र अनिश्चितता

    पेरिस, २७ चैत (रासस–एएफपी) । अमेरिका–इरानबीच युद्धविराम सहमति भए पनि मध्यपूर्वमा हिंसा रोकिएको छैन । लेबनानमा तीव्र आक्रमण, इजरायल–हिजबुल्लाहबीच प्रतिकारात्मक कारबाही, तथा कूटनीतिक पहलहरू एकसाथ अघि बढिरहेका छन्, जसले क्षेत्रीय शान्ति अझै अनिश्चित रहेको स्पष्ट सङ्केत दिएको छ ।

    इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले बिहीबार इजरायलतर्फ रकेट प्रहार गरेको जनाएको छ । उसले यस कदमलाई अमेरिका–इरान युद्धविरामको ‘उल्लङ्घन’ विरुद्धको प्रतिक्रिया भनेको छ । एक दिनअघि मात्र लेबनानभरि भइरहेको इजरायली आक्रमणको घातक शृङ्खलाप्रति प्रतिक्रिया दिने ‘अधिकार’ रहेको उसले सार्वजनिक रूपमा बताएको थियो ।

    यसैबीच, इरानले रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिने होरमुज जलडमरूमध्य क्षेत्रमा समुद्री जोखिम बढेको भन्दै जहाजहरूका लागि वैकल्पिक समुद्री मार्ग घोषणा गरेको छ । सो मार्गमार्फत आवतजावतका लागि नयाँ निर्देशिका समेत सार्वजनिक गरिएको छ, जसले क्षेत्रीय व्यापार र ऊर्जा आपूर्तिमा असर पार्ने सङ्केत देखाएको छ ।

    लेबनानमा भएको आक्रमणप्रति अन्तर्राष्ट्रिय रेड क्रस समितिले तीव्र आक्रोश व्यक्त गरेको छ । लेबनानस्थित प्रतिनिधिमण्डल प्रमुख एग्नेस धुरले नागरिकहरू युद्धविरामको प्रतीक्षामा रहेका बेला भएको ‘विनाशकारी आक्रमण’ ले देशलाई त्रास र अराजकतामा धकेलेको बताए । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले भने अमेरिका र इरानका नेताहरूसँग संवाद गर्दै लेबनानलाई समेत युद्धविरामको दायरामा समेट्न आग्रह गरेका छन् । उनले सबै सङ्घर्षग्रस्त क्षेत्रहरूमा युद्धविरामको पूर्ण पालना हुनुपर्नेमा जोड दिए।


    लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार इजरायली आक्रमणमा कम्तीमा १८२ जनाको मृत्यु भएको छ भने ८९० जना घाइते भएका छन् । राजधानी बेरुतले हालसम्मकै सबैभन्दा भीषण बमबारी झेलेको जनाइएको छ । इजरायली रक्षामन्त्रीले भने हिजबुल्लाहका संरचनाहरू लक्षित गरी आक्रमण गरिएको र यसलाई सन् २०२४ पछि उक्त समूहविरुद्धकै ठूलो कारबाही भएको दाबी गरे । उता, तेहरानमा बसोबास गर्ने सर्वसाधारणमा मिश्रित प्रतिक्रिया देखिएको छ ।

    केहीले युद्धविराम दिगो नहुने चिन्ता व्यक्त गरेका छन् भने धेरैले हप्तौँको तनावपछि राहत महसुस गरेको बताएका छन् । ५० वर्षीया गृहिणी साकिनेह मोहम्मदीले आफूहरू अहिले ‘धेरै सहज’ भएको र देशप्रति गर्व लागेको बताइन् । आर्थिक क्षेत्रमा भने युद्धविरामको प्रभाव देखिन थालेको छ । तेल तथा ग्यासको मूल्य घटेको छ भने विश्व सेयर बजारमा सुधार आएको छ । डाउ जोन्स इन्डस्ट्रियल एभरेज करिब २।९ प्रतिशतले बढेको छ भने प्रमुख तेल सम्झौता करिब १५ प्रतिशतले घटेर प्रतिब्यारेल ९५ डलरमा झरेको छ । यसले होरमुज जलडमरूमध्य पुनः खुल्न सक्ने अपेक्षा बलियो बनाएको छ ।


    इरानका राष्ट्रपति मसुद पेजेस्कियानले लेबनानमा इजरायली आक्रमण रोक्नु क्षेत्रीय युद्ध अन्त्यका लागि प्रस्तुत १० बुँदे जनाको मुख्य शर्त भएको बताएका छन् । इजरायलले हिजबुल्लाहविरुद्ध ठूलो आक्रमण सुरु गरेपछि उनको यस्तो धारणा सार्वजनिक भएको हो । यसै सन्दर्भमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इस्लामाबादमा हुने वार्तामा अमेरिकी टोलीको नेतृत्व गर्ने तयारी गरेका छन् ।

    उनीसँगै विशेष दूत स्टिभ विटकफ र जारेड कुसनर पनि सहभागी हुने बताइएको छ । भान्सले इरानलाई लेबनानमा युद्धविराम अवरुद्ध नगर्न आग्रह गर्दै त्यहाँको द्वन्द्व हालको सहमतिको हिस्सा नभएको स्पष्ट पारे । संयुक्त राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले लेबनानमा भइरहेको हिंसालाई ‘भयावह’ भन्दै कडा आलोचना गरेका छन् ।

    उनले युद्धविराम सहमति भएको केही घण्टामै भएको यस्तो आक्रमणले विश्वासमाथि गम्भीर चोट पुर्‍याएको बताए । रेड क्रसले पनि यस घटनाबाट ‘गहिरो आक्रोश’ व्यक्त गरेको छ । यता, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने आवश्यक परे इरानविरुद्ध पुनः युद्धमा फर्कन आफूहरू तयार रहेको स्पष्ट पारे । “हामीसँग अझै पूरा गर्न बाँकी लक्ष्यहरू छन् र ती हामी सम्झौता वा लडाइँमार्फत पूरा गर्नेछौँ”, उनले टेलिभिजन सम्बोधनमा भने ।

  • इरान–अमेरिका वार्ताअघि इस्लामाबाद बन्द

    इरान–अमेरिका वार्ताअघि इस्लामाबाद बन्द

    इस्लामाबाद, २७ चैत (रासस–एएफपी) । अमेरिका–इरानबीच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले राजधानी इस्लामाबादमा दुई दिनको आकस्मिक स्थानीय बिदा घोषणा गरेको छ । यसलाई सुरक्षा तयारीसँग जोडेर हेरिएको छ । बिहीबारदेखि लागू हुने गरी गरिएको यस निर्णयबारे इस्लामाबाद जिल्ला प्रशासनले बुधबार राति सूचना जारी गर्दै औपचारिक कारण खुलाएको छैन । तथापि, राजधानीका अधिकारीहरूले विगतमा पनि उच्चस्तरीय कूटनीतिक गतिविधिहरूअघि सुरक्षा संवेदनशीलता ध्यानमा राख्दै यस्ता बिदा वा प्रतिबन्धहरू लागू गर्ने अभ्यास दोहोर्‍याउँदै आएका छन् ।

    पाकिस्तान हाल मध्यपूर्वमा जारी तनावका सन्दर्भमा अमेरिका र इरानबीच हुने वार्ताको तयारीमा जुटिरहेको छ । ह्वाइट हाउसका अनुसार अमेरिकी उपराष्ट्रपति जेडी भान्सले यसै सप्ताहन्त इस्लामाबादमा हुने वार्ताका लागि प्रतिनिधिमण्डलको नेतृत्व गर्ने कार्यक्रम रहेको छ । उक्त वार्तालाई क्षेत्रीय स्थिरतासँग जोडेर महत्त्वपूर्ण रूपमा हेरिएको छ । घोषित बिदा बिहीबार र शुक्रबार इस्लामाबाद राजधानी क्षेत्रभित्र मात्र लागू हुने इस्लामाबाद जिल्ला प्रशासनले जनाएको छ । यस अवधिमा सरकारी तथा निजी कार्यालयहरू बन्द रहनेछन्, जसले राजधानीको गतिविधिमा उल्लेखनीय प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

    यद्यपि, प्रशासनले अत्यावश्यक सेवाहरू निरन्तर सञ्चालनमा रहने स्पष्ट पारेको छ । प्रहरी, अस्पताल, विद्युत् तथा ग्यास आपूर्ति गर्ने निकायहरू खुला रहनेछन् । “आवश्यक सेवाहरू सञ्चालनमा रहनेछन्”, भन्दै उपायुक्तको कार्यालयले सामाजिक सञ्जालमार्फत बासिन्दाहरूलाई आफ्ना दैनिक गतिविधिहरू सोहीअनुसार योजना बनाउन आग्रह गरेको छ ।

    यस कदमलाई पाकिस्तानले अन्तर्राष्ट्रिय कूटनीतिक मञ्चमा आफूलाई मध्यस्थकर्ताको रूपमा प्रस्तुत गर्ने प्रयासका रूपमा समेत व्याख्या गरिएको छ, जहाँ सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकता दिइएको देखिन्छ ।

  • लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

    लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

    संयुक्त राष्ट्रसङ्घ, २७ चैत (रासस–एएफपी) । लेबनानमा इजरायलद्वारा भइरहेको घातक सैन्य आक्रमणले अमेरिका–इरानबीच हालै सहमति भएको नाजुक युद्धविरामलाई गम्भीर जोखिममा पारेको भन्दै संयुक्त राष्ट्रसङ्घले तीव्र चिन्ता व्यक्त गरेको छ । द्वन्द्व थप चर्किने सङ्केत देखिएपछि कूटनीतिक प्रयासहरू कमजोर बन्दै गएको मूल्याङ्कन गरिएको छ ।

    संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्तामार्फत जारी वक्तव्यमा लेबनानमा जारी सैन्य गतिविधिले युद्धविराम मात्र नभइ, क्षेत्रीय स्थायित्व र दीर्घकालीन शान्ति स्थापनाका प्रयासहरूलाई समेत गम्भीर चुनौती दिएको उल्लेख गरिएको छ । महासचिवले सबै पक्षलाई तत्काल शत्रुता अन्त्य गरी वार्ताको बाटो रोज्न पुनः आह्वान गरेको प्रवक्ताले जनाए ।


    लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार भएको इजरायली आक्रमणमा कम्तीमा १८२ जनाको ज्यान गएको छ भने ८९० जना घाइते भएका छन् । राजधानी बेरुत केन्द्रित यस बमबारीलाई इजरायल–हिजबुल्लाहबीचको हालको द्वन्द्व सुरु भएयताकै सबैभन्दा भीषण आक्रमण मानिएको छ । क्षेत्रीय तनाव अमेरिका–इरानबीचको टकरावसँग जोडिएर थप जटिल बनेको छ । इरान समर्थित समूहहरूले इजरायललाई निशाना बनाएपछि लेबनान पनि युद्धको घेरामा तानिएको हो । यसैबीच, इरान र संयुक्त राज्य अमेरिका दुई साताको युद्धविराममा सहमत भए पनि इजरायलले लेबनानमा भइरहेको सैन्य कारबाही उक्त सहमतिको हिस्सा नभएको स्पष्ट पारेको छ ।

    हिजबुल्लाहले इजरायलतर्फ रकेट प्रहार गरेपछि स्थिति थप तनावपूर्ण बनेको छ । इरानको संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबाफले समेत युद्धविराममाथि प्रश्न उठाउने अभिव्यक्ति दिएको देखिएको छ । संयुक्त राष्ट्रसङ्घले बढ्दो नागरिक हताहतीप्रति गहिरो दुःख व्यक्त गर्दै सर्वसाधारणमाथि भएको क्षतिको कडा निन्दा गरेको छ । “द्वन्द्वको कुनै सैन्य समाधान छैन”, भन्दै महासचिवले पुनः कूटनीतिक पहललाई प्राथमिकता दिन आग्रह गरेका छन् ।


    यसअघि संयुक्त राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्क तथा अन्तर्राष्ट्रिय रेड क्रस समितिले लेबनानमा भएको व्यापक हत्या र विनाशलाई ‘भयावह’ भन्दै आलोचना गरेका थिए । टर्कले इरानसँग युद्धविराम सहमति भएको केही घण्टामै यस्तो हिंसा हुनु विश्वासमाथिको गम्भीर आघात भएको टिप्पणी गरेका थिए । उता, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि लेबनानलाई समेट्ने गरी व्यापक युद्धविरामको पहल गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् ।

  • इयुद्वारा हर्मुज आवागमनमा अनियन्त्रित स्वतन्त्रताको आग्रह

    इयुद्वारा हर्मुज आवागमनमा अनियन्त्रित स्वतन्त्रताको आग्रह

    ब्रसेल्स, २७ चैत (रासस–एएफपी) । इयुले ‘स्ट्रेट अफ हर्मुज’ मा आवागमनको स्वतन्त्रता ‘कुनै पनि भुक्तानी बिना’ सुनिश्चित गरिनु पर्ने बताएको छ । इरानले जहाजहरू प्रवेश गर्न अनुमति दिन भुक्तानीका लागि सुझाव दिएपछि इयुको उक्त भनाइ सार्वजनिक भएको हो । इरान र संयुक्त राज्य अमेरिकाले एक महिनाभन्दा लामो तनावपछि दुई हप्ताको युद्धविरामको घोषणा गरेपछि वार्ता सुरु हुने भएकाले महत्त्वपूर्ण खाडी जलमार्ग पूर्ण रूपमा पुनः खोल्ने विवादको मुख्य बिन्दु बनेको छ।

    “अन्तर्राष्ट्रिय कानूनले आवागमनको स्वतन्त्रताको लागि सुनिश्चितता प्रदान गर्दछ, जसको अर्थ वास्तवमा कुनै भुक्तानी हुने छैन,” युरोपेली आयोगका प्रवक्ता अनौर एल अनौनीले ब्रसेल्समा आयोजित पत्रकार सम्मेलनमा भने । “आवागमनको स्वतन्त्रता सार्वजनिक हित हो र यसलाई सुनिश्चित गर्न आवश्यक छ,” उनले भने । इरानले दुई हप्ताको युद्धविरामको अवधिमा सडक पुनः खोल्न सहमत भएको छ तर उसले टोल प्रणाली स्थापना गर्ने कुरा पनि गरेको छ, जसले यसलाई आफ्नो पुनर्निर्माणमा लगानी गर्न अनुमति दिनेछ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका र इरानले संयुक्त लगानीमा यो प्रणाली सञ्चालन गर्न सक्ने सुझाव दिएका छन् तर ह्वाइट हाउसले कुनै प्रतिबन्ध बिना स्ट्रेट तत्काल खोल्न भनेको छ। युद्धविरामका बाबजुद हर्मुज हुँदै यातायात अत्यन्त सीमित रहेको छ ।

  • मानव इतिहासमा सबैभन्दा टाढाको यात्रा सम्पन्न

    मानव इतिहासमा सबैभन्दा टाढाको यात्रा सम्पन्न

    लस एन्जेलस, २६ चैत (रासस–सिन्ह्वा) । अमेरिकी राष्ट्रिय अन्तरिक्ष संस्थाको हालको चन्द्रमाको उडानमा सहभागी चालक दलले मङ्गलबार १० दिने यात्रा समाप्त गर्दै फिर्तीको चरण सुरु गरेको छ । यसैबीच, अन्तरिक्ष संस्थाले सोमबार चन्द्रमाको नजिकको उडानमा खिचिएका पहिलो तस्वीरहरू सार्वजनिक गरेको छ र क्यालिफोर्नियाको सान डिएगो नजिक प्रशान्त महासागरमा अप्रिल १० मा अन्तरिक्ष यानको अवतरण हुने घोषणा गरेको छ ।

    अन्तरिक्ष यानको झ्यालबाट खिचिएको पहिलो तस्वीरमा, बादलहरू सहितको मद्धिम नीलो पृथ्वी चन्द्रमाको गड्ठा सतहको पृष्ठभूमिमा देखिन्छ । संस्थाले तस्वीरमा देखिएको अँध्यारो पृथ्वीको भागमा रात भइरहेको जनाएको छ भने उज्यालो भागमा अस्ट्रेलिया र ओशिनिया क्षेत्रका बादलहरूको घुमावट देखिन्छ । तस्वीरको अगाडिको भागमा गड्ठा देखिन्छ ।


    दोस्रो तस्वीरमा, अन्तरिक्ष यानबाट हेर्दा चन्द्रमाले सूर्यलाई पूरै ढाकेको देखिन्छ । सोमबार, मिशनले मानवहरूले पृथ्वीबाट सबैभन्दा टाढा यात्रा गरेको रेकर्ड तोड्यो। चालक दलले आफ्नो अन्तरिक्ष यानमा चार लाख १७१ किलोमिटरको पूर्व रेकर्ड तोडी, १९७० मा कायम गरिएको दूरी पार गरेको छ ।

  • अमेरिका र इरान कसरी सहमत भए युद्धविराममा ?

    अमेरिका र इरान कसरी सहमत भए युद्धविराममा ?

    तेहरान, २६ चैत (रासस–एपी) । अन्तिम क्षणसम्म तीव्र बनेको युद्धको जोखिमबीच अमेरिका र इरान दुई हप्ताको अस्थायी युद्धविराममा सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विनाशकारी आक्रमणको चेतावनी फिर्ता लिएपछि भएको यस सहमतिले तत्कालका लागि तनाव घटाएको भए पनि क्षेत्रीय अवस्था अझै अस्थिर देखिएको छ ।

    निर्धारित समयसीमा सकिन केही घण्टाअघि ट्रम्प प्रशासन युद्धबाट पछि हट्दै वार्ताको बाटो रोजेको हो । इरानले पनि युद्धविराम स्वीकार गरेको घोषणा गर्दै पाकिस्तानमा अमेरिकासँग वार्ता अघि बढाउने जनाएको छ । यद्यपि युद्धविराम कहिलेबाट लागू हुन्छ भन्ने स्पष्ट नभएकै अवस्थामा बुधबार बिहानसम्म इजरायल, इरान र खाडी क्षेत्रमा आक्रमणहरू जारी रहे ।

    इजरायलले अमेरिका–इरानबीचको सहमतिलाई समर्थन जनाए पनि लेबनानमा हिजबुल्लाहसँगको लडाइँ यसमा नसमेटिएको स्पष्ट पारेको छ । इजरायली पक्षले इरानले आणविक वा क्षेप्यास्त्र खतरा पुनः नउठाउने सुनिश्चिततामा जोड दिएको छ । युद्धविरामको एक प्रमुख अंशका रूपमा स्ट्रेट अफ होर्मुज पुनः खोल्ने सहमति भएको बताइएको छ । यस मार्गमा इरानले आफ्नो नियन्त्रण केही खुकुलो पार्ने सङ्केत दिएको छ, तर पूर्ण रूपमा खुला हुनेबारे अस्पष्टता कायम छ । इरान र ओमानले जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने योजना पनि अघि आएको छ, जसबाट प्राप्त रकम पुनर्निर्माणमा खर्च गरिने बताइएको छ ।

    युद्ध अन्त्यका लागि इरानले अमेरिकी सेना क्षेत्रबाट फिर्ता, आर्थिक प्रतिबन्ध हटाउने र फ्रिज भएका सम्पत्ति फुकुवा गर्ने माग अघि सारेको छ । यसबीच, इरानले प्रस्ताव गरेको १०–बुँदे योजनामा आणविक कार्यक्रमसम्बन्धी भाषा फरक–फरक संस्करणमा प्रस्तुत गरिएकाले थप अन्योल सिर्जना भएको छ ।युद्धविराम घोषणा भएलगत्तै तेहरानमा सरकार समर्थक प्रदर्शनहरू चर्किएका छन् । प्रदर्शनकारीहरूले अमेरिका र इजरायलविरुद्ध नाराबाजी गर्दै झण्डा जलाएका छन्, जसले देशभित्रको कट्टर असन्तुष्टि झल्काउँछ ।

    यसअघि ट्रम्पले सम्झौता नभए इरानी ‘सभ्यता’ नै नष्ट गर्ने चेतावनी दिएका थिए । जसले अन्तर्राष्ट्रिय स्तरमा आलोचना निम्त्याएको थियो । संयुक्त राष्ट्रसङ्घका अधिकारीहरू र कानूनी विज्ञहरूले त्यस्ता सम्भावित आक्रमणलाई अन्तर्राष्ट्रिय कानूनविपरीत ठहर गरेका छन् । फेब्रुअरीदेखि सुरु भएको द्वन्द्वमा हजारौँ मानिसले ज्यान गुमाइसकेका छन् । इरान, इजरायल, लेबनान र खाडी क्षेत्रमा फैलिएको हिंसाले ठूलो मानवीय र आर्थिक क्षति पुर्‍याएको छ । जलडमरूमध्यमा इरानको नियन्त्रणले विश्व अर्थतन्त्रमा समेत दबाब सिर्जना गरेको छ ।

    युद्धविरामको सहमति भए पनि दुवै पक्षबाट आक्रमण पूर्ण रूपमा रोकिएको छैन । अमेरिकाले आक्रामक कारबाही रोकेको दाबी गरे पनि रक्षात्मक गतिविधि जारी रहेको जनाएको छ भने इजरायल र इरानबीच प्रत्यक्ष आक्रमण आदानप्रदान भइरहेको छ । कूटनीतिक प्रयास तीव्र भइरहेका बेला दुई हप्ताको यो समयावधि स्थायी समाधानतर्फ जाने अवसर बन्ने वा फेरि द्वन्द्व चर्किने हो भन्ने अझै अनिश्चित छ ।

  • खाडी द्वन्द्व शान्तिका लागि अमेरिका–इरान वार्ता पाकिस्तानमा

    खाडी द्वन्द्व शान्तिका लागि अमेरिका–इरान वार्ता पाकिस्तानमा

    इस्लामाबाद, २६ चैत (रासस–एएफपी) । पाकिस्तानले अमेरिका र इरानबीच भएको युद्धविरामपछि थप वार्ताका लागि दुवै देशका प्रतिनिधिमण्डललाई शुक्रबार इस्लामाबादमा स्वागत गर्ने भएको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै दुवै देशका नेतृत्वप्रति आभार व्यक्त गर्नुभयो र सबै विवाद समाधानका लागि अन्तिम सहमति गर्न वार्ता आवश्यक रहेको बताए । हालका हप्ताहरूमा पाकिस्तान इरान र अमेरिकाबीच सन्देश आदानप्रदान गर्ने महत्वपूर्ण माध्यमको रूपमा उदाएको छ । अमेरिका र इरानसँग सम्बन्ध सन्तुलित राख्दै आएको पाकिस्तानले शान्ति पहलमा सक्रिय भूमिका खेलेको देखिएको छ ।

    प्रधानमन्त्री शरीफले इस्लामाबाद वार्ता सफल भई दीर्घकालीन शान्ति स्थापना हुने आशा व्यक्त गरेका छन् । तेहरान र वासिङ्टनले युद्धविराममा सहमति जनाउनु अघि तीव्र तनावको अवस्था रहेको थियो । अमेरिकी समयसीमा समाप्त हुनुअघि अन्तिम क्षणमा दुवै पक्ष युद्धविराममा सहमत भएका थिए ।

    यो द्वन्द्व फेब्रुअरी २८ मा सुरु भएको थियो, जब इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेका थिए । त्यसपछि इरानले खाडी क्षेत्रका देशहरू र इजरायलमाथि प्रतिआक्रमण सुरु गरेको थियो । यस द्वन्द्वमा लेबनान पनि तानिएको छ । इरान समर्थित समूहले इजरायलमाथि आक्रमण गरेपछि इजरायलले लेबनानमा हवाई तथा स्थलगत कारबाही बढाएको छ ।

    पाकिस्तानका अनुसार, युद्धविराम लेबनानसहित सबै क्षेत्रमा लागू हुने अपेक्षा गरिएको छ । तर इजरायलले भने उक्त क्षेत्रमा आफ्नो कारबाही जारी राख्ने सङ्केत दिएको छ । यो अस्थायी युद्धविराम पाकिस्तानसहित अन्य मध्यस्थकर्ताहरूको प्रयासपछि सम्भव भएको हो। यसअघि अमेरिकाले इरानका पूर्वाधारहरूमा व्यापक आक्रमण गर्ने चेतावनी दिएको थियो, जसलाई केही कानुनविद्हरूले सम्भावित युद्ध अपराधको रूपमा व्याख्या गरेका थिए ।

    हालैका दिनहरूमा टर्कीए, इजिप्ट, चीन, साउदी अरब र कतारले पनि मध्यस्थतामा सहयोग पुर्‍याएका छन् । पाकिस्तानले क्षेत्रीय शान्ति र स्थिरताका लागि खाडी राष्ट्रहरूको प्रतिबद्धताको प्रशंसा गरेको छ । इरानसँग करिब ९०० किलोमिटर सीमा जोडिएको पाकिस्तानमा ठूलो शिया मुस्लिम जनसङ्ख्या रहेको छ । साथै, अमेरिकासँगको सम्बन्ध पनि सन्तुलित रूपमा कायम राख्दै आएको पाकिस्तान अहिले दुवै पक्षबीच वार्ताका लागि उपयुक्त मध्यस्थकर्ताको रूपमा देखिएको छ ।

  • युद्धविराम अघि अमेरिका–इजरायल आक्रमणमा इरानका पुल, राजमार्ग र रेल संरचनामा व्यापक क्षति

    युद्धविराम अघि अमेरिका–इजरायल आक्रमणमा इरानका पुल, राजमार्ग र रेल संरचनामा व्यापक क्षति

    तेहरान, २५ चैत (रासस–एएफपी) । इरानका अधिकारीहरूले मङ्गलबार अमेरिका–इजरायलद्वारा गरिएका हवाई आक्रमणका क्रममा देशका महत्वपूर्ण पूर्वाधारहरूमा क्षति पुगेको बताएका छन् । सरकारी सञ्चारमाध्यमका अनुसार, पवित्र शहर कुम नजिकको एक पुल तथा केन्द्रीय शहर काशानमा रहेको रेलमार्गसहितको अर्को पुलमा आक्रमण गरिएको छ । काशानमा भएको आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । यो जानकारी क्षेत्रीय सुरक्षा अधिकारी अकबर सालेहीलाई उद्धृत गर्दै इरानको आईआरएनए समाचार एजेन्सीले दिएको हो ।

    उत्तरी इरानमा रहेको प्रमुख राजमार्ग पनि प्रभावित भएको छ । तब्रिज शहरलाई तेहरानसँग जोड्ने उक्त राजमार्गमा आक्रमण भएपछि करिब ९० किलोमिटर दूरीमा यातायात अवरुद्ध भएको अधिकारीहरूले बताएका छन् । इरानको रिभोलुसनरी गाड्र्ससँग सम्बन्धित एक टेलिग्राम च्यानलका अनुसार, आक्रमण ओभरपास पुलमा लक्षित गरिएको थियो । तेहरान नजिकको कराज क्षेत्रमा रेलमार्गमा पनि आक्रमण भएको मिजान समाचार एजेन्सीले जनाएको छ । सार्वजनिक गरिएका तस्बिरहरूमा उद्धारकर्मीहरूले घाइतेलाई स्ट्रेचरमा लैजाँदै गरेको देखिन्छ ।

    इजरायलले रेलमार्ग प्रयोग नगर्न चेतावनी दिएपछि मङ्गलबार इरानको दोस्रो ठूलो शहर मशहदतर्फ जाने र आउने सबै रेल सेवा रद्द गरिएको छ । आईआरएनए समाचार एजेन्सीका अनुसार, कराज र फर्दिस क्षेत्रमा विद्युत् प्रसारण लाइन तथा सबस्टेसनमा क्षति पुगेपछि आंशिक विद्युत् अवरोध भएको छ । यसैबीच, इजरायली सेनाले ‘पूर्वाधार लक्षित व्यापक आक्रमण’ सम्पन्न गरेको पुष्टि गरेको छ, तर कुन–कुन स्थानमा आक्रमण गरिएको भन्ने विवरण दिएको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि इरानले युद्ध अन्त्यका लागि सम्झौता नगरे पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिएका थिए । उनले ‘सबै कुरा ध्वस्त पार्ने र तेल नियन्त्रणमा लिने’ सम्भावनाबारे पनि विचार गरिरहेको बताए ।

  • अमेरिका–इरान युद्धविराम, पाकिस्तानले गर्यो मध्यष्तता

    अमेरिका–इरान युद्धविराम, पाकिस्तानले गर्यो मध्यष्तता

    २५ चैत, काठमाडौं । अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका बीच अस्थायी राहतको संकेत देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई साताका लागि सैन्य कारबाही स्थगित गर्ने घोषणा गरेका छन् । यो निर्णयसँगै इजरायल पनि आक्रमण रोक्न सहमत भएको ट्रम्पको भनाइ छ । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानमाथिको बमबारी तथा आक्रमण अस्थायी रूपमा रोक्ने सहमति जनाएको उल्लेख गरेका छन् । उनले यसलाई व्यापक युद्धविरामतर्फको प्रारम्भिक कदमका रूपमा व्याख्या गरेका छन् ।

    उनका अनुसार यो निर्णय पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख असिम मुनिरसँगको छलफलपछि लिइएको हो । उनीहरूले सम्भावित आक्रमण टार्न आग्रह गरेका थिए । ट्रम्पले युद्धविराम सशर्त रहेको स्पष्ट गर्दै इरानले स्ट्रेट अफ होर्मुज समुद्री मार्ग पुनस् खोल्नुपर्ने बताएका छन् । तनाव कम गर्न उक्त जलमार्ग खुला हुनु आवश्यक रहेको उनको भनाइ छ ।

    ‘यो दुई पक्षीय युद्धविराम हुनेछ,’ ट्रम्पले भनेका छन्, ‘यस अवधिमा दुवै पक्षले आक्रामक गतिविधि रोक्ने अपेक्षा गरिएको छ ।’ उनले अमेरिकी सैन्य लक्ष्यहरू पूरा भइसकेको दाबी गर्दै दीर्घकालीन शान्ति सम्झौतामा प्रगति भएको पनि उल्लेख गरेका छन् । ट्रम्पका अनुसार इरानबाट १० बुँदे शान्ति प्रस्ताव प्राप्त भएको छ, जसलाई उनले वार्ताको व्यावहारिक आधार मानेका छन् । अधिकांश महत्वपूर्ण विषयमा प्रारम्भिक सहमति भइसकेको उनको दाबी छ ।

    ट्रम्पले दुई साताको युद्धविरामले दुवै पक्षलाई अन्तिम सम्झौतामा पुग्न समय दिने बताएका छन् । उनले लामो समयदेखि जारी द्वन्द्व समाधानतर्फ उन्मुख भएको संकेत गरेका छन् । ट्रम्पको यो घोषणा उनले तय गरेको अन्तिम समयसीमा सकिनुअघि आएको हो । यसअघि उनले इरानविरुद्ध कडा चेतावनी दिँदै ‘सभ्यता समाप्त’ पार्ने धम्की दिएका थिए, जसलाई परमाणु आक्रमणको धम्कीका रूपमा समेत व्याख्या गरिएको थियो । उक्त अभिव्यक्तिको अमेरिकाभित्रै आलोचना भएको थियो ।

    युद्धविराम घोषणापछि ह्वाइ हाउसले पनि प्रतिक्रिया दिएको छ । प्रेस सचिव क्यारोलिन लेभिटले वार्ता प्रक्रिया जारी रहने बताएकी छन् । उनका अनुसार आगामी दिशा राष्ट्रपति ट्रम्पको अभिव्यक्तिले निर्धारण गर्नेछ । लेविटले अमेरिकी प्रशासनले इरानलाई स्ट्रेट अफ होर्मुज खोल्न सहमत गराएको दाबी गर्दै अब थप कूटनीतिक संवाद अघि बढ्ने बताएकी छन् । आगामी वार्ता पाकिस्तानमा हुने बताइएको छ । यद्यपि, पाकिस्तानमा हुने भनिएको वार्ताले ठोस परिणाम दिन्छ कि दिँदैन भन्नेमा अन्तर्राष्ट्रिय समुदायको चासो छ ।

  • आर्टेमिस–२’ टोलीले तोड्यो ‘अपोलो–१३’ को दूरी रेकर्ड, अन्तरिक्ष यात्रामा नयाँ इतिहास

    आर्टेमिस–२’ टोलीले तोड्यो ‘अपोलो–१३’ को दूरी रेकर्ड, अन्तरिक्ष यात्रामा नयाँ इतिहास

    लस एन्जलस, २५ चैत (रासस–एपी) । अमेरिकी अन्तरिक्ष निकाय नासाको ‘आर्टेमिस–२’ मिशनले मानव अन्तरिक्ष यात्राको इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ । यस मिशनका अन्तरिक्ष यात्रीहरूले पृथ्वीबाट सबैभन्दा टाढा पुग्ने रेकर्ड बनाउँदै सन् १९७० मा अपोलो–१३ द्वारा स्थापित दूरीलाई उछिनेका छन् ।
    नासाका अनुसार, यो ऐतिहासिक उपलब्धि सोमबार दिउँसो करिब १ः५६ बजे (पूर्वी समय) हासिल गरिएको हो ।

    आर्टेमिस–२ मिशनमा चार सदस्यीय टोली सहभागी छ, जसमा कमाण्डर रिड वाइसम्यान, पाइलट भिक्टर ग्लोभर, मिशन विशेषज्ञ क्रिस्टिना कोच र क्यानाडियन स्पेस एजेन्सीका जेरमी ह्यान्सन रहेका छन् । यो मिशन अप्रिल १ मा अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको थियो ।

    यसअघि अपोलो–१३ का अन्तरिक्ष यात्रीहरूले सन् १९७० अप्रिल १५ मा दुई लाख ४८ हजार ६५५ माइल (करिब ४ लाख किलोमिटर) टाढा पुगेर कीर्तिमान कायम गरेका थिए । उक्त मिशनमा अक्सिजन ट्याङ्क विस्फोट भएपछि चन्द्रमा अवतरण योजना रद्द गरी आपतकालीन रूपमा ‘फ्री–रिटर्न ट्राजेक्टोरी’ प्रयोग गरिएको थियो । आर्टेमिस–२ टोलीले आफ्नो ओरायन अन्तरिक्ष यानलाई ‘इन्टेग्रिटी’ नाम दिएको छ । टोलीका अनुसार यो नाम विश्वास, सम्मान, पारदर्शिता र विनम्रता जस्ता मूल्यमाथि आधारित छ, जुन गहिरो अन्तरिक्ष अन्वेषणका लागि आवश्यक मानिन्छ ।

    चन्द्रमाको नजिक पुगेपछि टोलीले दुईवटा अज्ञात क्रेटरलाई नामकरण गर्ने प्रस्ताव पनि राखेको छ । पहिलो क्रेटरलाई ‘इन्टेग्रिटी’ नाम दिन प्रस्ताव गरिएको छ, जुन चन्द्रमाको दूरभागमा रहेको ओरिएन्टाले बेसिन र ओहम प्रभाव क्रेटरबीच अवस्थित छ । दोस्रो क्रेटरलाई ‘क्यारोल’ नाम दिन प्रस्ताव गरिएको छ, जुन चन्द्रमाको नजिक र टाढाको सीमाक्षेत्रमा पर्छ । यसैबीच, अपोलो–१३ का अनुभवी अन्तरिक्ष यात्री जिम लोवेलले आफ्नो निधनअघि आर्टेमिस–२ टोलीका लागि शुभकामना सन्देश रेकर्ड गर्नुभएको थियो । सोमबार बिहान टोलीले उक्त सन्देश सुनेको थियो, जसमा उहाँले भन्नुभयो, “पृथ्वीबाट हामी सबैको तर्फबाट शुभकामना ।”

    आर्टेमिस–२ मिशन पनि अपोलो–१३ जस्तै ‘फ्री–रिटर्न ट्राजेक्टोरी’ मा आधारित छ, जसले अन्तरिक्ष यानलाई चन्द्रमाको परिक्रमा गरेर स्वतः पृथ्वीमा फर्कने मार्ग प्रदान गर्छ । यो अन्तरिक्ष यानले अधिकतम करिब दुई लाख ५२ हजार ७६० माइल दूरी पार गर्ने अपेक्षा गरिएको छ ।

    मिशनमा चन्द्रमामा अवतरण समावेश छैन । यस मिशनको अन्त्य अप्रिल १० मा क्यालिफोर्नियाको सान डिएगो नजिक प्रशान्त महासागरमा अवतरण ९स्प्ल्यासडाउन० गरेर हुने तालिका छ । आर्टेमिस कार्यक्रमलाई मानवलाई पुनः चन्द्रमामा पठाउने दीर्घकालीन योजनाको रूपमा हेरिएको छ, जसले भविष्यमा मङ्गल ग्रहसम्मको यात्राका लागि मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ ।

  • ट्रम्प–इरान तनाव बढ्दै, ट्रम्पले दिए समाप्त पार्ने अहिलेसम्मकै कडा धम्की

    ट्रम्प–इरान तनाव बढ्दै, ट्रम्पले दिए समाप्त पार्ने अहिलेसम्मकै कडा धम्की

    वासिङटन, २४ चैत (रासस–एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता गर्न वा होर्मुज स्ट्रेट खुला गर्न दिएको म्याद सोमबारबाट मङ्गलवारमा सारिएको छ । ट्रम्पको अघिल्लो डेडलाइन मार्च २३ का लागि तय गरिएको थियो, तर त्यसपछि उनले पटक–पटक चेतावनी जारी गर्दै र कहिलेकाहीँ वार्ता सफल भएको दाबी गर्दै म्याद सार्दै आएका छन् ।

    इरानले पछिल्लो सङ्घर्षविराम प्रस्ताव अस्वीकार गरेको इरानको सरकारी समाचार एजेन्सीले सोमबार रिपोर्ट गरेको छ । त्यसपछि ट्रम्पले चेतावनी दिँदै मङ्गलबार साँझ ८ बजेको म्याद अन्तिम हुन सक्ने सङ्केत दिएका छन् । उनले भने, “उनीहरूलाई कुनै पुल, विद्युत गृह वा अन्य पूर्वाधार बाँकी रहँदैन ।”


    संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले अमेरिकीलाई नागरिक पूर्वाधारमा आक्रमण अन्तर्राष्ट्रिय कानूनअनुसार निषेधित रहेको बताए । मार्च २१ मा, ट्रम्पले ट्रुथ सोशलमा पोस्ट गर्दै यदि इरानले ४८ घण्टाभित्र स्ट्रेट पूर्ण रूपमा खुला नगरे, अमेरिकाले उनका विद्युत गृहहरू नष्ट गर्ने चेतावनी दिएका थिए । म्याद मार्च २३ साँझसम्म थियो । तर १२ घण्टा अघि, ट्रम्पले सकारात्मक वार्ताको जानकारी दिँदै म्याद पाँच दिनका लागि स्थगित गरे । यसरी डेडलाइन त्यो हप्ताको अन्त्यसम्म धकेलिएको थियो ।


    मार्च २६ मा, ट्रम्पले फेरि चेतावनी दिँदै भने, “उहाँहरूले छिट्टै गम्भीर हुनुपर्छ, नभएपछि पछाडि फर्कन सकिँदैन र परिस्थिती रमाइलो हुने छैन ।” तर पछि उनले डेडलाइन १० दिन थप्दै अप्रिल ६ बेलुका ८ बजे सम्मको नयाँ म्याद तोके र वार्ता ‘देरै राम्रो भइरहेको’ बताए । मार्च ३० मा, उनले मिश्रित बयान जारी गर्दै वार्तामा प्रगति भएको कुरा मनाए र सम्झौता छिट्टै नभए बमवर्षण धम्की बढाउने चेतावनी पनि दिए । इरान र अमेरिकाबीचको यो तनावले मध्यपूर्वमा तेल आपूर्ति, अन्तर्राष्ट्रिय सुरक्षा र विश्वव्यापी बजारमा व्यापक असर पार्ने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन् ।

  • नाइजेरियाली सेनाद्वारा अपहरण गरिएका ३१ जनालाई उद्धार, ५ जनाको मृत्यु

    नाइजेरियाली सेनाद्वारा अपहरण गरिएका ३१ जनालाई उद्धार, ५ जनाको मृत्यु

    लागोस, २४ चैत (रासस–एएफपी) । नाइजेरियाको सैनिक बलले कादुना राज्यको उत्तरपश्चिमी क्षेत्रमा ईस्टर पर्वको अवसरमा अपहरण गरिएका ३१ जनालाई उद्धार गरेको घोषणा गरेको छ । तर, यस घटनामा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । क्यालेब बावा माआजी अनुसार, स्थानीय क्याथोलिक र इभान्जेलिकल चर्चहरूमा आक्रमण भएको थियो । अपहरणको घटना अबुजाबाट करिब १०० किलोमिटर उत्तरमा रहेको अरिको गाउँमा घट्यो ।

    यसअघि पुलिस प्रमुखले ईस्टर पर्वको अवसरमा पूजा स्थलहरूमा ‘व्यापक सुरक्षा व्यवस्था’ गर्न आदेश दिनुभएको थियो । सैनिक बलका अनुसार, “द्रुत प्रतिक्रिया मार्फत आतङ्ककारी आक्रमण असफल पार्दै ३१ जनालाई उद्धार गरिएको” हो । सैनिकहरूले आक्रमणकारीसँग गोलीबारी गरेको र त्यसपछि अपहरणकर्ताहरूले होस्टेज छोड्न बाध्य भएको जनाएको छ । घटनामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ, तर माआजी अनुसार सात जनाको मृत्यु भएको थियो ।


    जनवरीमा कादुनामा तीन चर्चमा सामूहिक अपहरण हुँदा १७० भन्दा बढी व्यक्तिहरू अपहरणमा परेका थिए । तीमध्ये ८० जना भाग्न सफल भए र बाँकीको तीन हप्तापछि वार्ता पश्चात रिहाइ भएको थियो । कादुना उत्तरपश्चिमी र मध्य नाइजेरियाका केही राज्यहरूमा वर्षौंदेखि अपराधी गिरोह ९ब्यान्डिट्स० ले समुदायहरूमा आक्रमण गरी अपहरण गर्ने गतिविधि जारी छ । यद्यपि यी ब्यान्डिटहरू प्रायः आर्थिक लाभका लागि हिंसा गर्छन्, उनीहरू पूर्वोत्तरका जिहादी समूहहरूसँग पनि सहकार्य गर्दै आएका छन् । सैनिकले प्रयोग गरेको ‘आतङ्ककारी’ शब्द जिहादी वा ब्यान्डिटलाई जनाउँछ कि भन्ने स्पष्ट छैन ।


    यसैबीच, नाइजेरियाली सेना जाम्फारा राज्यमा ६५ ब्यान्डिट मारिएको रिपोर्ट पनि सार्वजनिक भएको छ । यो आक्रमण अपहरण भएको क्षेत्रमा होइन, तर सैनिक बलले त्यहाँ ‘महत्वपूर्ण सफलता’ हासिल गरेको जनाएको छ । नाइजेरियामा हिंसा बढ्दै गएपछि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यहाँका क्रिश्चियनहरूमाथि भएको ‘हत्याकाण्ड’ बारे ध्यानाकर्षण गराए ।

  • युद्धको घेरामा मध्यपूर्व, विश्व चिन्तामा

    युद्धको घेरामा मध्यपूर्व, विश्व चिन्तामा

    पेरिस, २४ चैत (रासस–एएफपी) । मध्यपूर्वमा जारी द्वन्द्व तीव्र बन्दै जाँदा इरान, इजरायल, अमेरिका र क्षेत्रीय शक्तिहरूबीचको तनाव खतरनाक मोडमा पुगेको छ । पछिल्ला घटनाक्रमहरूले युद्ध अझ फैलिने सङ्केत देखाएका छन् भने मानव क्षति, ऊर्जा सङ्कट र कूटनीतिक टकराव एकैसाथ बढिरहेका छन् । इजरायलको उत्तरी सहर हाइफामा इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ ।

    सात तले आवासीय भवनमा सीधा प्रहार हुँदा भवन आंशिक रूपमा ढलेको र भग्नावशेषमा हराइरहेका अन्य दुई जनाको खोजी भइरहेको इजरायली अग्नि तथा उद्धार सेवाले जनाएको छ । यस आक्रमणसँगै इजरायलले पनि इरानको राजधानी तेहरानमा ‘शासन लक्षित’ आक्रमणको शृङ्खला सञ्चालन गरेको पुष्टि गरेको छ । इरानी सञ्चारमाध्यमहरूले तेहरानका विभिन्न आवासीय क्षेत्रमा विस्फोट भएको र केही स्थानमा ग्यास आपूर्ति अवरुद्ध भएको बताएका छन् ।

    यसैबीच, इरानले नागरिक संरचनामाथि आक्रमण दोहोरिए अझ ‘विनाशकारी’ जवाफी कारबाही गर्ने चेतावनी दिएको छ । खातम अल–अन्बिया केन्द्रीय मुख्यालयका प्रवक्ताले आगामी चरण अझ व्यापक हुने सङ्केत दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानले स्ट्रेट अफ होर्मुज पुनः सञ्चालन नगरे नागरिक पूर्वाधारमाथि कडा आक्रमण गर्ने चेतावनी दोहोर्‍याउँदै समयसीमा २४ घण्टा थप गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत पुल र विद्युत् संरचनामाथि आक्रमण गर्ने धम्की दिए । इरानका संसदीय नेतृत्वले यस्तो कदमले सम्पूर्ण क्षेत्र जल्न सक्ने प्रतिक्रिया दिएको छ ।

    द्वन्द्व क्षेत्र विस्तार हुँदै खाडी मुलुकहरूसम्म पुगेको छ । कुवेत र संयुक्त अरब इमिरेट्सले आफ्नो हवाई सुरक्षाले मिसाइल र ड्रोन आक्रमणहरू विफल पारिरहेको बताएका छन् । यसैबीच, इरान समर्थित लेबनानी समूह हिजबुल्लाहले उत्तरी इजरायलतर्फ रकेट प्रहार पुनः सुरु गरेपछि लेबनान पनि युद्धमा गहिरिँदै गएको छ । लेबनानमा इजरायली आक्रमणले ठूलो मानवीय क्षति पुर्‍याएको छ । आइतबार मात्र कम्तीमा १५ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएका छन् । बेरुतमा पाँच जनाको ज्यान गएको, पूर्वी क्षेत्रमा रहेको ऐन सादेहमा तीन जनाको मृत्यु भएको तथा दक्षिणी सहर कफर हट्टामा चार वर्षीया बालिकासहित सात जनाको ज्यान गएको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    युद्धको प्रभाव ऊर्जा बजारमा पनि स्पष्ट देखिएको छ । विश्वव्यापी आपूर्ति जोखिमका कारण कच्चा तेलको मूल्य उल्लेख्य रूपमा बढेको छ । नर्थ सी ब्रेन्ट र अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियेट दुवैको मूल्य १० प्रतिशतभन्दा माथि उक्लिएको छ, जसले विश्व अर्थतन्त्रमा थप दबाब सिर्जना गर्ने सङ्केत गरेको छ । यस्तै, ओपेक प्लसले मे महिनादेखि दैनिक दुई लाख छ हजार ब्यारेल उत्पादन वृद्धि गर्ने निर्णय गरे पनि हालैका आक्रमणले क्षतिग्रस्त ऊर्जा संरचना मर्मत गर्न समय लाग्ने चेतावनी दिएको छ ।

    सैन्य मोर्चामा अमेरिका पनि प्रत्यक्ष रूपमा सक्रिय देखिएको छ । खसालिएको एफ–१५ लडाकू विमानका एक एयरम्यानलाई ‘साहसी’ उद्धार अभियानमार्फत जिवितै फेला पारिएको अमेरिकी पक्षले जनाएको छ । उक्त अभियानमा दर्जनौँ अमेरिकी विमान संलग्न भएको र एयरम्यान गम्भीर घाइते रहेको बताइएको छ । तर इरानले भने अमेरिकी कारबाही पूर्ण रूपमा असफल भएको दाबी गरेको छ । अमेरिकी विशेष बलहरू इरानी भूमिमा गहिरो प्रवेश गरेको र उद्धारका क्रममा प्रयोग गरिएका दुई विमान नष्ट गर्नुपरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    यसै क्रममा दक्षिणपश्चिमी इरानस्थित कासिम सुलेमानी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिका–इजरायलले संयुक्त हवाई आक्रमण गरेको इरानी सरकारी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । धार्मिक र मानवीय पक्षमा पनि तनाव बढेको छ । पोप लियो चौधौँले आफ्नो पहिलो इस्टर सन्देशमार्फत युद्ध विस्तार गर्न सक्ने शक्तिहरूलाई शान्तिको बाटो रोज्न आग्रह गरेका छन् । उनले हिंसाप्रति बढ्दो उदासीनताप्रति चिन्ता व्यक्त गर्दै हजारौँ मानिसको मृत्युमा विश्व समुदाय संवेदनशील हुनुपर्ने बताए । यता, इस्टरका अवसरमा इजरायली सुरक्षा बलले पूर्वी जेरुसेलमस्थित पवित्र सेपुल्चर चर्चमा प्रवेशमा प्रतिबन्ध लगाएपछि धार्मिक गतिविधि समेत प्रभावित भएका छन् ।

  • चन्द्र परिक्रमा उडानमा ऐतिहासिक मोड

    चन्द्र परिक्रमा उडानमा ऐतिहासिक मोड

    हस्टन, २४ चैत (रासस–एएफपी) । नासाको आर्टेमिस अभियानअन्तर्गत अन्तरिक्ष यात्रीहरूको टोली आइतबार चन्द्रमाको वरिपरि ‘स्लिङ्गशट’ मार्गमा प्रवेश गर्दै एक महत्त्वपूर्ण चरणमा पुगेको छ, जसले भविष्यका चन्द्र अवतरण मिसनका लागि नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ । आधा शताब्दीभन्दा बढीपछि मानवयुक्त चन्द्र परिक्रमा उडान पुनः सुरु भएको यो क्षणले वैज्ञानिक तथा ऐतिहासिक दुवै दृष्टिले विशेष अर्थ राखेको छ ।

    ओरियन क्याप्सुलमा सवार तीन अमेरिकी र एक क्यानाडाली अन्तरिक्ष यात्री चन्द्रमाको गुरुत्वाकर्षणको प्रभावमा आफ्नो मार्ग परिवर्तन गर्दै पृथ्वीबाट अहिलेसम्मको सबैभन्दा टाढाको दूरीतर्फ अघि बढिरहेका छन् । यो उडानले केवल दूरीको रेकर्ड मात्र होइन, विविधताको नयाँ इतिहास पनि रचेको छ । भिक्टर ग्लोभर चन्द्र परिक्रमा गर्ने पहिलो रङको व्यक्ति बन्ने क्रममा हुनुहुन्छ भने क्रिस्टिना कोच पहिलो महिला बन्ने निश्चित भएको छ । त्यसैगरी, जेरेमी ह्यानसेन चन्द्र परिक्रमा गर्ने पहिलो गैर–अमेरिकीको रूपमा इतिहासमा अङ्कित हुनेछन् । मिशन कमान्डर रिड वाइसम्यानको नेतृत्वमा टोलीले चन्द्रमाको अध्ययनलाई प्राथमिकतामा राखेको छ ।

    चन्द्रमाको टाढाको भागमा पुग्दै गर्दा अन्तरिक्ष यात्रीहरूले मानव आँखाले कहिल्यै प्रत्यक्ष नदेखेका दृश्यहरू अवलोकन गर्न थालेका छन् । आइतबार नासाले सार्वजनिक गरेको तस्बिरमा ओरियन्टल बेसिन स्पष्ट देखिएको छ, जुन विशाल क्रेटरलाई कहिलेकाहीँ ‘चन्द्रमाको ग्रान्ड क्यानियन’ पनि भनिन्छ । यसअघि यस्ता दृश्य केवल स्वचालित क्यामेराबाट मात्र कैद भएका थिए । अन्तरिक्षबाट क्यानाडाली बालबालिकासँगको संवादमा कोचले उक्त बेसिन प्रत्यक्ष देख्न पाउँदा टोली अत्यन्त उत्साहित भएको बताए ।


    उडानको अन्तिम चरणतिर अन्तरिक्ष यात्रीहरूले दुर्लभ खगोलीय दृश्य—सूर्यग्रहण—अवलोकन गर्ने अवसर पनि पाउनेछन्, जहाँ सूर्य चन्द्रमाको पछाडि लुकेको अवस्थामा यसको बाहिरी तह ‘कोरोना’ स्पष्ट देख्न सकिनेछ । यससँगै उनीहरूले ‘ओरियन क्रु सर्भाइवल सिस्टम’ (ओसिएसएस) स्पेससुटको परीक्षण पनि गरिरहेका छन्, जसले आपतकालीन अवस्थामा छ दिनसम्म जीवन धान्न सक्ने हावा उपलब्ध गराउन सक्छ ।


    यो मिशनले चन्द्रमामा अवतरण नगरे पनि चन्द्र परिक्रमा क्रममा पृथ्वीबाट सबैभन्दा टाढा पुग्ने नयाँ कीर्तिमान कायम गर्ने अपेक्षा गरिएको छ । नासाका प्रशासक जारेड आइज्याकम्यानका अनुसार यस अभियानबाट सङ्कलित तथ्याङ्क आगामी आर्टेमिस–३ (२०२७) र आर्टेमिस–४ (२०२८) जस्ता चन्द्र अवतरण मिसनका लागि अत्यन्त महत्त्वपूर्ण हुनेछन् ।

    हालसम्म अन्तरिक्ष यात्रीहरूले म्यानुअल पाइलटिङ अभ्यास सम्पन्न गर्नुका साथै चन्द्र सतहका विभिन्न भू–आकृतिको अध्ययन, तस्बिर सङ्कलन र उडान योजनाको समीक्षा गरिसकेका छन् । नासाले विशेषगरी अन्तरिक्ष यानको जीवन समर्थन प्रणाली र समग्र इकोसिस्टमको कार्यक्षमतामा ध्यान केन्द्रित गरिएको जनाएको छ । यो पहिलो पटक भएकोले अन्तरिक्ष यात्रीहरूले यस यानबाट प्राप्त हुने प्रत्येक तथ्याङ्कलाई उच्च प्राथमिकताका साथ सङ्कलन गरिरहेका छन् ।

  • तेहरान दक्षिणी आवासीय क्षेत्रमा हवाई आक्रमण, कम्तीमा १३ जनाको मृत्यु

    तेहरान दक्षिणी आवासीय क्षेत्रमा हवाई आक्रमण, कम्तीमा १३ जनाको मृत्यु

    तेहरान, २४ चैत (रासस–सिन्ह्वा) । इस्लामशहरमा सोमबार बिहान भएको हवाई आक्रमणमा कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ र धेरै अन्य घाइते भएका छन् । फर्स समाचार एजेन्सी र नूर न्यूजका अनुसार, आक्रमण स्थानीय समय अनुसार बिहानै एक आवासीय भवनमा परेको थियो । यस घटनाले क्षेत्रीय बासिन्दा र परिवारहरूमा भय र त्रास मच्चाएको छ ।

    आक्रमणको उद्देश्य अहिलेसम्म स्पष्ट छैन । यसमा संलग्न पक्षको जिम्मेवारी सार्वजनिक गरिएको छैन, र इजरायल तथा संयुक्त राज्य अमेरिका ले यसबारे कुनै टिप्पणी गरेका छैनन् । सुरक्षा अधिकारीहरूले घटनास्थलको नियन्त्रण लिएका छन् र घाइतेहरूको उपचारका लागि उद्धार कार्य तीव्र बनाइएको छ । घटनास्थलमा स्थानीय प्रशासन, सुरक्षा बल र स्वास्थ्य टोलीले राहत तथा खोजकार्यलाई प्राथमिकता दिएका छन् ।

    विशेषज्ञहरूले जनाएका अनुसार आवासीय क्षेत्रलाई लक्षित गरेको हवाई आक्रमण अन्तर्राष्ट्रिय मानवअधिकार र युद्ध कानूनको दृष्टिले संवेदनशील विषय हो । नागरिक जनसङ्ख्यामा प्रत्यक्ष असर पर्ने यस प्रकारको हमला दीर्घकालीन सामाजिक र मनोवैज्ञानिक प्रभावहरू पनि पार्न सक् । यो आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प द्वारा हर्मुज जलडमरू पुनः खोल्न नसके ‘नरक खोलन’ धम्की दिएका केही घण्टापछि भएको हो । यसले क्षेत्रीय तनाव बढाएको र अन्तर्राष्ट्रिय स्तरमा पनि चेतावनी सङ्केत दिएको छ ।

  • मध्यपूर्व द्वन्द्वबीच तेल उत्पादनमा वृद्धि

    मध्यपूर्व द्वन्द्वबीच तेल उत्पादनमा वृद्धि

    भिएना, २४ चैत (रासस–सिन्ह्वा) । तेल निर्यात गर्ने मुलुकहरूको सङ्गठन (ओपेक) र उसका सहयोगी देशहरूले मे महिनामा दैनिक दुई लाख ६ हजार ब्यारेल तेल उत्पादन बढाउने निर्णय गरेका छन् । यो निर्णय ओपेक द्वारा जारी गरिएको आधिकारिक वक्तव्यमा उल्लेख छ । निर्णय भर्चुअल बैठकपछि सार्वजनिक गरिएको थियो, जसमा साउदी अरेबिया, रुस, इराक, संयुक्त अरब इमिरेट्स, कुवेत, काजाकस्तान, अल्जेरिया र ओमान ले सहभागी थिए ।

    बैठकले विश्व बजारको अवस्था र भावी दृष्टिकोणको समीक्षा गरेको थियो । मध्यपूर्वमा जारी सैनिक सङ्घर्षका बीच, यी आठ ओपेक प्लस देशहरूले ऊर्जा आपूर्ति सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुद्री मार्गको सुरक्षा अत्यन्त महत्वपूर्ण भएको औँल्याएका छन् । साथै, ऊर्जा पूर्वाधारमाथि भएका आक्रमणहरूले आपूर्ति प्रणालीमा नकारात्मक असर पुर्याएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरूले क्षतिग्रस्त ऊर्जा संरचनालाई पूर्ण क्षमतामा पुनःस्थापना गर्न महँगो र समय लाग्ने भएकाले सावधानी अपनाउन आवश्यक भएको बताए ।


    ओपेक प्लसका यी आठ देशहरू अर्को बैठक मे ३ मा आयोजना गर्दै थप निर्णय गर्ने योजना बनाएका छन् । फेब्रुअरी २८ देखि संयुक्त राज्य अमेरिका र इजरायलद्वारा इरानमा गरिएको हवाई आक्रमणपछि मध्यपूर्वमा द्वन्द्वले क्षेत्रीय ऊर्जा आपूर्तिमा गम्भीर अवरोध सिर्जना गरेको छ । यसका कारण कच्चा तेल र परिष्कृत तेल उत्पादन तथा ढुवानीमा उल्लेखनीय गिरावट आएको छ । तेल आपूर्ति वृद्धि गर्ने यो कदमले विश्व ऊर्जा सङ्कटसँग जुध्ने रणनीतिक प्रयासको रुपमा हेरिएको छ ।

  • इरानभित्र ‘दोस्रो एयरम्यान’लाई उद्धार गरिएको ट्रम्पको दाबी

    इरानभित्र ‘दोस्रो एयरम्यान’लाई उद्धार गरिएको ट्रम्पको दाबी

    तेहरान, २३ चैत (रासस\एएफपी) । मध्यपूर्वमा चर्किंदो युद्धका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानभित्र खसालिएको दोस्रो अमेरिकी एयरम्यानलाई सफलतापूर्वक उद्धार गरिएको दाबी गरेका छन् । उनले उक्त अपरेसनलाई अमेरिकी सैन्य इतिहासकै ‘सबैभन्दा साहसी खोजी तथा उद्धार अभियानमध्ये एक’ भन्दै उल्लेख गरे ।

    ट्रम्पका अनुसार एयरम्यान शत्रु नियन्त्रणमा रहेको कठिन पहाडी क्षेत्रमा फसेका थिए र उनीमाथि खोजी अभियान चलिरहेको अवस्थामा अमेरिकी सेनाले उच्च जोखिम मोलेर उद्धार गरेको हो । उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत एयरम्यान घाइते भए पनि सुरक्षित अवस्थामा रहेको जानकारी दिए । यसअघि अर्को एक पाइलटलाई पनि उद्धार गरिएको तर दोस्रो अभियान प्रभावित नहोस् भनेर सार्वजनिक नगरेको उनले स्पष्ट पारे ।


    यस घटनासँगै क्षेत्रीय तनाव थप चर्किएको छ । ट्रम्पले इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न वा ‘गम्भीर परिणाम’ भोग्न चेतावनी दिएको भोलिपल्टै उद्धारको घोषणा आएको हो । सोही क्रममा इरानले बहराइन, इजरायल, कुवेत र अबु धाबीमा मिसाइल तथा ड्रोन आक्रमण गरेको बताइएको छ । इरानी सञ्चारमाध्यमका अनुसार अमेरिकी उद्धार प्रयाससँग सम्बन्धित आक्रमणमा पाँच जनाको मृत्यु भएको छ । इरानले आफ्नो सेनाले विमान खसालेको दाबी गरे पनि अमेरिकी प्रशासनले त्यसबारे औपचारिक पुष्टि गरेको छैन ।

    फेब्रुअरी २८ मा सुरु भएको अमेरिका–इजरायलको आक्रमणपछि फैलिएको युद्धले अहिले मध्यपूर्वका धेरै देश समेट्दै विश्व अर्थतन्त्रमा समेत प्रभाव पारेको छ । इरानले रणनीतिक रूपमा महत्त्त्वपूर्ण स्ट्रेट अफ होर्मुजमा अवरोध सिर्जना गर्दै इजरायल र खाडी क्षेत्रका देशहरूमाथि आक्रमण जारी राखेको छ ।उता, इरानभित्र पनि अमेरिका–इजरायलका हमलाहरूले औद्योगिक तथा ऊर्जा संरचनामा ठूलो क्षति पु¥याएका छन् । खुजेस्तान प्रान्तको पेट्रोकेमिकल केन्द्रमा भएको आक्रमणमा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

    राजनीतिक रूपमा पनि दुवै पक्षबीच कडा शब्दयुद्ध जारी छ । ट्रम्पले ‘समय सकिँदै गएको’ चेतावनी दिँदै इरानमाथि दबाब बढाएका छन् भने इरानी सैन्य नेतृत्वले त्यसलाई अस्वीकार गर्दै उल्टै कडा प्रतिक्रिया जनाएको छ । जनरल अली अब्दुल्लाह अलीआबादीले अमेरिकी चेतावनीलाई असन्तुलित र अविवेकी कदम भन्दै ‘नरकका ढोका खुल्ने’ चेतावनी दिए ।


    यसैबीच, पाकिस्तानले युद्ध अन्त्यका लागि मध्यस्थता प्रस्ताव गरेको छ र कूटनीतिक पहल सुरु भएको सङ्केत देखिएको छ । तर मैदानमा हिंसा घट्ने कुनै स्पष्ट सङ्केत देखिएको छैन । बहराइनमा ऊर्जा भण्डारण ट्याङ्कीमा ड्रोन आक्रमणबाट आगलागी भएको छ भने अबु धाबीको पेट्रोकेमिकल संरचनामा पनि क्षति पुगेको छ । लेबनानमा इरान समर्थित हिजबुल्लाहले इजरायली युद्धपोतलाई लक्षित गरी क्रुज मिसाइल प्रहार गरेको दाबी गरेको छ, यद्यपि इजरायलले त्यसको पुष्टि गरेको छैन । दक्षिणी लेबनानका बासिन्दाहरू निरन्तर बमबारीबीच भयभीत अवस्थामा जीवन बिताइरहेका छन् । स्थानीयवासीहरूले रातभर गोलाबारी नरोकिने र सुत्न नसकिएको बताएका छन् ।

    इरानको बुशहर आणविक संयन्त्र नजिकै भएको आक्रमणले थप चिन्ता बढाएको छ । उक्त घटनामा एक सुरक्षाकर्मीको मृत्यु भएको छ भने रुसले त्यहाँ कार्यरत आफ्ना १९८ कामदारहरू फिर्ता बोलाउने निर्णय गरेको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले निरन्तर आक्रमण जारी रहे रेडियोधर्मी जोखिम फैलिन सक्ने चेतावनी दिनुभएको छ, जसको असर खाडी क्षेत्रका देशहरूमा समेत पर्न सक्ने बताइएको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले विकिरण स्तर नबढेको जनाएको भए पनि पछिल्ला आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । पूर्व प्रमुख मोहम्मद एल–बरादेईले खाडी राष्ट्रहरूलाई क्षेत्रलाई थप विनाशबाट जोगाउन सक्रिय भूमिका खेल्न आह्वान गरे ।


    युद्धकै पृष्ठभूमिमा इरानभित्र आन्तरिक दमन पनि तीव्र भएको छ । सरकारले विरोध प्रदर्शन दबाउँदै दुई जनालाई मृत्युदण्ड दिने घोषणा गरेको छ भने इन्टरनेट सेवा अवरुद्ध गरिँदा यो देशको इतिहासकै सबैभन्दा लामो ब्ल्याकआउट बनेको बताइएको छ । समग्रमा, सैन्य कारबाही, कूटनीतिक चेतावनी र मानवीय सङ्कट एकसाथ गहिरिँदै जाँदा मध्यपूर्वको अवस्था झन् जटिल र अस्थिर बन्दै गएको देखिएको छ ।

  • इन्धन उत्पादन कोटा बढाउन ओपेक प्लस सहमत

    इन्धन उत्पादन कोटा बढाउन ओपेक प्लस सहमत

    भियना, २२ चैत (रासस–एएफपी) । इन्धन उत्पादक सदस्य राष्ट्रहरूको सङ्गठन ओपेक प्लसले आइतबार पुनः तेल उत्पादन कोटा बढाउन सहमत भएको छ ।
    इरानमा चलिरहेको युद्ध र इरानले प्रतिशोधका लागि मध्य पूर्वमा गरेका आक्रमणले त्यहाँका इन्धन प्लान्टमा क्षति पुगेको र विश्व बजारको करिब पाँच भागको करिब एक भाग (२० प्रतिशत) इन्धन आपूर्ति हुने स्ट्रेट अफ हर्मुजबाट आवतजावतमा इरानले लगाएको प्रतिबन्धका कारण विश्व बजारमा ऊर्जाको मूल्य आकासिएको छ । प्रमुख तेल उत्पादक साउदी अरब र रुस र तेहरानको आक्रमणको मार खेपिरहेका खाडी मुलुकहरू सम्मिलित ओपेक प्लसले मेदेखि प्रति दिन दुई लाख छ हजार ब्यारेल को उत्पादन समायोजन लागू गर्ने निर्णय गरेको छ।

    इरानमाथि अमेरिका–इजरायलले गरेको आक्रमणपछि इरानले खाडी मुलुकका नागरिक पूर्वाधारमा आक्रमण गर्ने चेतावनी बारम्बार दिँदै आएको छ भने अमेरिकाले स्ट्रेट अफ हर्मुजलाई सोमबारसम्ममा जहाजहरूको आवागमनका लागि खुला नगरे नयाँ चरणको थप आक्रामक कारबाही थाल्ने चेतावनी दिएको छ ।

  • मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

    मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

    बेइजिङ, २३ चैत (रासस–एएफपी) । चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा जारी द्वन्द्वका कारण देखिएको ‘तनाव न्यूनीकरण’ गर्न आफू मिलेर काम गर्न इच्छुक रहेको बताएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीले रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभलाई फोन गरेर ‘चीन र रुस’ले अन्तर्राष्ट्रिय प्रमुख सिद्धान्तका विषयमा निष्पक्षता कायम गर्नुपर्ने बताएको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वा न्यूज एजेन्सीले आफ्नो समाचारमा उल्लेख गरेको छ। वाङले भने, “मध्यपूर्वमा स्थिति थप बिग्रँदै गएको छ र लडाइँ बढिरहेको छ ।”

    उनले फेब्रुअरी २८ देखि सुरु भएको इरानविरुद्ध अमेरिका–इजरायल आक्रमणपछि सुरु भएको लडाइँलाई ’तत्काल युद्धविराम’ गर्न चीनले आह्वान गरेको पनि दोहोर्याए । “संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मारुससँग सहकार्य जारी राख्न, प्रमुख मुद्दामा तत्काल संवाद गर्न चीन इच्छुक छ,” चिनियाँ विदेशमन्त्री वाङलाई उद्धृत गरी सिन्ह्वाले जनाएको छ । बेइजिङ र मस्को घनिष्ठ आर्थिक र राजनीतिक साझेदार हुन् र रूसले सन् २०२२ मा युक्रेनमा आक्रमण गरेपछि उनीहरूबिचको सम्बन्ध थप प्रगाढ भएको छ।

  • इरानमा ‘सबैभन्दा लामो’ इन्टरनेट सेवा अवरोध

    इरानमा ‘सबैभन्दा लामो’ इन्टरनेट सेवा अवरोध

    पेरिस, २३ चैत (रासस–एएफपी) । अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमा आक्रमण गरेलगत्तै लागू गरिएको इरानको इन्टरनेट अवरूद्धता अहिलेसम्म रेकर्ड गरिएको ‘सबैभन्दा लामो’ राष्ट्रव्यापी अवरूद्धता भएको इन्टरनेट अनुगमन तथा विश्लेषण गर्ने संस्था नेटब्लक्सले आइतबार जनाएको छ। नेटब्लक्सले ट्वीटमा भनेको छ, “इरानको इन्टरनेट अवरोध कुनै पनि देशमा अहिलेसम्मकै सबैभन्दा लामो राष्ट्रस्तरीय इन्टरनेट अवरोध हो । यो लगातार ८६४ घण्टा अर्थात् ३७ औं दिनसम्म पनि खुलेको छैन ।” अर्को ट्वीटमा नेटब्लक्सले उल्लेख गरेको छ, “केही देशहरूले लामो समयसम्म बिच–बिचमा वा क्षेत्रीय–स्तरमा इन्टरनेटको अवरोधको अनुभव गरेका थिए भने उत्तर कोरियामा अहिले पनि विश्वव्यापी इन्टरनेट सञ्जालमा जडान गरिएको छैन ।

    “हामी केवल भरपर्दो समाचार सुन्न सक्षम हुन निरन्तर सम्पर्कको उपायको खोजीमा छौँ,” मध्य शहर इस्फाहानकी एक ४७ वर्षीया महिलाले शनिबार एएफपीसँग इन्टरनेट अवरोधबारे चिन्ता व्यक्त गरिन् । “इन्टरनेट बिना हुनु मलाई अक्सिजन बिना हुनु जस्तो लाग्छ। म फसेको र निसास्सिएको महसुस गरिरहेको छु,” तेहरानका एक ५३ वर्षीय स्थानीयले बताए ।


    इरानको अत्यन्त प्रतिबन्धित स्थानीय इन्टरनेटले युद्धभरि काम गरिरहेको छ, जसले मानिसहरूलाई घरेलु वेबसाइटहरूमा जोडिन सम्भव बनाएको छ।
    समाचारका लागि अन्तर्राष्ट्रिय इन्टरनेटमा जडान गर्न वा इन्स्टाग्राम जस्ता प्रतिबन्धित सामाजिक मिडिया नेटवर्कहरू, केहीले नेटवर्क उपलब्ध हुँदा दुर्लभ क्षणहरूमा आफ्नो उत्पत्ति लुकाउन भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) प्रयोग गरिरहेका छन्।

    युद्ध सुरु भएदेखि नै भिपिएन प्रयोग गरेको आशङ्कामा इरानीहरूले उनीहरूलाई पक्राउ गर्ने वा जेल हाल्ने चेतावनी दिने सूचना र सन्देशहरू प्राप्त गर्ने गरेका छन्। धेरै सीमित सङ्ख्या वा व्यक्तिहरूसँग स्टारलिङ्क वा अन्य उपग्रह–आधारित इन्टरनेट प्रदायकहरूमा पहुँच छ । इरानमा यो नेटवर्क पनि प्रतिबन्धित छ । यसअघि जनवरीमा सरकार विरोधी प्रदर्शनका क्रममा हजारौँको ज्यान जाने क्रममा इरानीहरूले १८ दिने इन्टरनेट अवरोधको सामना गरेका थिए ।

  • इरानमा अमेरिकी सेनाका जहाज खसाल्नु २० यताकै दुर्लभ घटना

    इरानमा अमेरिकी सेनाका जहाज खसाल्नु २० यताकै दुर्लभ घटना

    वाशिङ्टन, २३ चैत (रासस–एपी) । इरानले अमेरिकी दुई युद्धविमान खसाल्नु पछिल्लो २० वर्षयताकै दुर्लभ घटना भएको जनाइएको छ । यस घटनाले इरानको प्रतिकार क्षमता अझै कायम रहेको देखाएको विश्लेषण गरिएको छ । रिपोर्टअनुसार शुक्रबार इरानले अमेरिकी लडाकु विमान खसाल्दा एक सैनिकलाई उद्धार गरिएको छ भने अर्का एक अझै बेपत्ता छन् र उहाँको खोजी जारी रहेको छ । इरानी सञ्चारमाध्यमले अर्को एक आक्रमण विमान पनि खसालिएको दाबी गरेका छन् ।

    सैन्य विज्ञहरूका अनुसार यसअघि सन् २००३ मा इराकमाथि आक्रमणका क्रममा अमेरिकी युद्धविमान शत्रुपक्षबाट खसालिएको थियो। त्यसयता यस्तो घटना भएको थिएन । विशेषज्ञहरूका अनुसार पछिल्ला वर्षहरूमा अमेरिका मुख्यतः कमजोर हतियार भएका विद्रोही समूहसँग लड्दै आएको थियो, जसले यस्ता आक्रमण गर्न सक्ने क्षमता राख्दैनथे । तर इरानसँग भने हवाई प्रतिरक्षा प्रणाली रहेकोले यस्तो घटना सम्भव भएको बताइएको छ ।


    इरानमाथि एक महिनाभन्दा बढी समयदेखि अमेरिका र इजरायलले निरन्तर हवाई आक्रमण गरिरहेका छन् । यद्यपि ती आक्रमणपछि पनि इरानले क्षेप्यास्त्र र मानवरहित यानमार्फत प्रतिकार जारी राखेको छ । अमेरिकी सेनाले इरानविरुद्ध हजारौँ उडान अभियान सञ्चालन गरी हजारौँ लक्ष्यमा आक्रमण गरेको जनाएको छ । यसले क्षेत्रीय तनाव मात्र होइन, विश्व अर्थतन्त्रमा समेत प्रभाव पारेको छ । विश्लेषकहरूका अनुसार हवाई क्षेत्रमा वर्चस्व कायम राख्नु र पूर्ण नियन्त्रण हासिल गर्नु फरक कुरा भएकाले हालको अवस्थाले युद्ध अझ जटिल बन्दै गएको संकेत दिएको छ ।

  • परमाणु ऊर्जा केन्द्रमा आक्रमण नगर्न आइएइएको सुझाब

    परमाणु ऊर्जा केन्द्रमा आक्रमण नगर्न आइएइएको सुझाब

    तेहरान, २२ चैत (रासस–एएफपी) । अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)ले बुशेहर परमाणु ऊर्जा केन्द्रमा भएका हमलाबारे आफूलाई जानकारी दिइएको भन्दै ‘गम्भीर चिन्ता’ प्रकट गरेको छ। परमाणु मामिलाको अन्तर्राष्ट्रिय निगरानी निकायले आक्रमणपछि पनि अहिले रेडियोविकिरणको स्तर बढेको नदेखिएको जनाएको छ। आइएइएले परमाणु ऊर्जा केन्द्र र छेउछाउका भूभागमा ‘कदापि आक्रमण गर्न नहुने’ भन्दै उसले परमाणु दुर्घटना हुन नदिन अधिकतम सैन्य सावधानी अपनाउन आह्वान गरेको छ।

    –चेतावनी–

    यसैबीच, इरानको बुशेहर परमाणु ऊर्जा केन्द्र नजिकै भएका भनिएका हमलाहरूबारे प्रतिक्रिया दिँदै इरानका विदेशमन्त्री अब्बास अराघचीले रेडियोविकिरण चुहिए खाडी क्षेत्रभर सङ्क्रमणको जोखिम हुने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “युक्रेनको जापोरिज्जिया परमाणु ऊर्जा केन्द्रनजिक आक्रमण हुँदा पश्चिमा जगतले प्रकट गरेको आक्रोश सम्झनु हुन्छरु इजरायल–अमेरिकाले हाम्रो बुशेहर केन्द्रमा चौथो पटक बमबारी गरेका छन्।”

    उनले भने, त्यहाँबाट रेडियोविकिरण चुहावट भयो भने यसले तेहरानमा नभई खाडी समन्वय परिषद् (जिसिसी) सदस्य राष्ट्रका राजधानीहरूमा बढी मानवीय जीवनमा जोखिम निम्तिने छ ।” जिसिसी समूहमा बहराइन, कुवेत, ओमान, कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएइ) पर्छन्। अमेरिका र इजरायलले सो आक्रमणमा उनीहरूको संलग्नताबारे अझै पुष्टि गरेका छैनन्।