Category: अमेरिका

  • गुप्तचर साझेदारीमा अमेरिका–दक्षिण कोरिया तनाव

    गुप्तचर साझेदारीमा अमेरिका–दक्षिण कोरिया तनाव

    सियोल, वैशाख ९ । उत्तर कोरियाको संवेदनशील आणविक गतिविधिबारे सार्वजनिक अभिव्यक्तिपछि अमेरिका र दक्षिण कोरियाबिच गुप्तचर साझेदारीमा चिसोपन देखिएको छ । सियोलका एक मन्त्रीको टिप्पणीपछि वासिङ्टनले उत्तर कोरिया सम्बन्धी केही उपग्रह खुफिया जानकारी साझेदारीमा आंशिक सीमितता लगाएको विवरण सार्वजनिक भएको छ ।

    दक्षिण कोरियाका एकीकरण मन्त्री चुङ डोङ(युङले गत महिना संसद्‌मा उत्तर कोरियाको उत्तरपश्चिमी कुसोङ क्षेत्रमा युरेनियम संवर्धन स्थल सञ्चालन भइरहेको आशङ्का व्यक्त गरेका थिए । यही अभिव्यक्तिलाई लिएर अमेरिकाले असन्तुष्टि जनाएको र संवेदनशील सूचनाको अनुमतिबिना खुलासा भएको ठहर गर्दै प्रतिक्रिया दिएको दक्षिण कोरियाली समाचार संस्था योन्हापसहितका विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

    रिपोर्ट अनुसार यस घटनापछि अमेरिकाले पहिले नियमितरूपमा सियोललाई दिँदै आएको केही उपग्रह सूचनामा सीमितता लगाएको छ । उक्त प्रतिबन्ध यसै महिनाको सुरुदेखि लागु भएको बताइए पनि यसले समग्र सैन्य तयारीमा ठुलो असर नपारेको एक अज्ञात दक्षिण कोरियाली सैन्य अधिकारीलाई उद्धृत गर्दै जनाइएको छ । ती अधिकारीका उत्तर कोरियाको सैन्य गतिविधिबारे गुप्तचर सङ्कलन र आदानप्रदान भने अझै सामान्यरूपमा जारी छ ।

    यद्यपि, दक्षिण कोरिया वा अमेरिकाका अधिकारीले औपचारिक रूपमा यस्तो प्रतिबन्धको पुष्टि गरेका छैनन् । कोरियामा तैनाथ अमेरिकी सैन्य संरचना ‘युनाइटेड स्टेट्स फोर्सेज कोरिया’ ले पनि सञ्चारमाध्यममा आएका विवरणबारे जानकारी भएको जनाउँदै थप टिप्पणी गर्न अस्वीकार गरेको छ । यसैबिच, दक्षिण कोरियाको एकीकरण मन्त्रालयले कुसोङस्थित कथित आणविक सुविधाबारे अन्य कुनै स्रोतबाट नयाँ जानकारी प्राप्त नभएको जनाएको छ । उत्तर कोरियाले यसअघि योङब्योन र राजधानी प्योङयाङ नजिक कङ्गसन क्षेत्रमा युरेनियम संवर्धन सुविधा सञ्चालन गर्दै आएको जानकारी सार्वजनिक भइसकेको छ ।

    चुङको अभिव्यक्तिलाई लिएर विपक्षी दलले आलोचना गरेका छन् र यसले अमेरिका(दक्षिण कोरिया सम्बन्धमा असर पारेको आरोप लगाएका छन् । तर चुङले आफ्नो भनाइ सार्वजनिकरूपमा उपलब्ध जानकारीमा आधारित रहेको र यसलाई गोप्य सूचनाको चुहावटका रूपमा व्याख्या गरिनु ‘दुःखद्’ भएको बताउनुभएको छ । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले पनि चुङको बचाउ गर्दै कुसोङ सुविधा सम्बन्धी जानकारी पहिले नै विभिन्न शैक्षिक अध्ययन र सञ्चार माध्यममार्फत सार्वजनिक भइसकेको ‘स्पष्ट तथ्य’ भएको उल्लेख गर्नुभएको छ । उहाँले अमेरिकी गोप्य सूचनाको चुहावट भएको दाबी आधारहीन रहेको स्पष्ट पार्नुभयो ।

    यसै क्रममा, केही रिपोर्टहरूमा कोरियास्थित अमेरिकी सैन्य कमान्डर जेभियर ब्रुनसनले दक्षिण कोरियाका रक्षामन्त्रीसँग असन्तुष्टि व्यक्त गरेको उल्लेख भए पनि रक्षा मन्त्रालयले यस्तो दाबीलाई कूटनीतिक रूपमा उपयुक्त नहुने भन्दै अस्वीकार गरेको छ । उत्तर कोरिया निरन्तर आणविक हतियार र ब्यालेस्टिक मिसाइल कार्यक्रम अघि बढाइरहेको भन्दै संयुक्त राष्ट्रसङ्घका विभिन्न प्रतिबन्धहरू अन्तर्गत छ, जसलाई उसले बारम्बार उल्लङ्घन गर्दै आएको आरोप छ ।

    हालै संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकायका प्रमुखले उत्तर कोरियाले आफ्नो आणविक क्षमतामा ‘धेरै गम्भीर वृद्धि’ गरिरहेको चेतावनी दिएका थिए । उत्तर कोरियाको सम्भावित सैन्य खतरा नियन्त्रण गर्न अमेरिकाले दक्षिण कोरियामा करिब २८ हजार ५०० सैनिक तैनाथ गरेको छ । साथै, स्याटेलाइट र अन्य माध्यमबाट प्राप्त गुप्तचर सूचना सियोलसँग साझेदारी गर्दै आएको छ । पछिल्लो घटनाक्रमले दुई सहयोगीबिच विश्वास र सूचनाको संवेदनशीलता कति महत्त्वपूर्ण हुन्छ भन्ने प्रश्न फेरि उठाएको छ । रासस-एएफपी

  • अर्थमन्त्री र अमेरिकी सहायक मन्त्रीबीच भेटवार्ता

    अर्थमन्त्री र अमेरिकी सहायक मन्त्रीबीच भेटवार्ता

    ८ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री एस पउल कपुरबीच भेटवार्ता भएको छ । मंगलबार अर्थ मन्त्रालयमा भएको भेटमा हालै सम्पन्न निर्वाचनपछि गठित वर्तमान सरकार र अमेरिकी सरकारबीच सम्भावित साझेदारीका क्षेत्र, लगानी प्रवर्द्धन र द्विपक्षीय सहयोगका विषयमा गहन छलफल भएको मन्त्रालयले जनाएको छ ।

    छलफलमा अर्थमन्त्री डा। वाग्लेले सरकारको मुख्य प्राथमिकता सुशासन, आर्थिक सुधार र गुणस्तरयुक्त भौतिक पूर्वाधार निर्माण रहेको उल्लेख गरे । उनले पुराना अनावश्यक कानुन खारेजी र नयाँ कानुन निर्माणबाट आर्थिक सुधार र लगानीको वातावरण सिर्जना गर्नु सरकारको प्राथमिकता रहेको प्रष्ट पारे ।

    अमेरिकी लगानीकर्ता तथा गैरआवासीय नेपाली लगानीकर्ताबाट पर्यटन, स्वच्छ ऊर्जा र सूचना प्रविधि क्षेत्रमा लगानी अपेक्षित रहेको समेत उनले बताए । अमेरिकी सहायक विदेशमन्त्री कपुरले नेपाल र अमेरिकाबीचको ऐतिहासिक सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विचार व्यक्त गरे । शान्तिपूर्ण निर्वाचनपछि गठित वर्तमान सरकारले लिएको सुधारका कार्यक्रमलाई अमेरिकी राष्ट्रपति र अमेरिकी जनताले सकारात्मक रूपमा नजिकबाट हेरिरहेको समेत उनले बताए ।

    सफल व्यापारिक सम्बन्ध र यूएस इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसनजस्ता संस्थासँगको साझेदारीमा दुवै राष्ट्रले लाभ लिन सक्ने विषयमा सहायक विदेशमन्त्री कपुरले जोड दिएको समेत अर्थले बताएको छ । बैठकमा अर्थ सचिव डा। घनश्याम उपाध्याय, अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका पदाधिकारी लगायत उपस्थित थिए ।

  • ट्रम्प भन्छन्– इरानमा प्रतिबन्ध यथावत

    ट्रम्प भन्छन्– इरानमा प्रतिबन्ध यथावत

    ८ वैशाख, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता नहुँदासम्म इरानी बन्दरगाहहरूमा लगाइएको प्रतिबन्ध नहटाउने बताएका छन् ।
    जारी युद्ध समाप्तीका लागि दोस्रो चरणको वार्ता हुने–नहुने अन्योल रहेका बेला राष्ट्रपति ट्रम्पले इरानी बन्दरगाहहरूमा जारी नाकाबन्दीबारे प्रतिक्रिया दिएका हुन् । अमेरिकी नाकाबन्दीले इरानलाई पूर्णतया ध्वस्त गरिरहेको दाबी गर्दै ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘उनीहरू दैनिक ५ सय मिलियन डलर गुमाइरहेका छन् । यस्तो लामो समयसम्म चल्न असम्भव छ ।’

    उता, इरानले बन्दरगाहहरूमा लगाइएको अमेरिकी नाकाबन्दी नहटाउँदासम्म वार्ता नहुने बताइसकेको छ । यद्यपि, पाकिस्तानको राजधानीमा सम्भावित वार्ताका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । तर, बैठकमा अमेरिकाको प्रतिनिधित्व गरेका उपराष्ट्रपति जेडी भान्स अहिलेसम्म वासिङ्गटन छाडेका छैनन् । इरानले पनि अहिलेसम्म वार्तामा सहभागी हुने–नहुने बारे तय गरिनसकेको बीबीसीले जनाएको छ । ट्रम्पको धम्कीका बीच वार्ता स्वीकार्य स् इरान

    इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीका बीच वार्ता स्वीकार्य नरहेको बताएको छ । अमेरिकासँगको अघिल्लो वार्तामा सहभागी इरानी संसद्का सभामुख मोहम्मद बगर गालिबाफले ट्रम्पको धम्कीका बीच इरानले वार्ता नस्वीकार्ने बताएका हुन् ।

    गालिबाफले एक्समा लेखेका छन्, ‘हामी धम्कीको छायामा वार्ता स्वीकार गर्दैनौं । विगत दुई हप्तादेखि हामीले युद्धभूमिमा नयाँ चालहरू चाल्ने तयारी गरिसकेका छौं ।’ ट्रम्पले घेराबन्दी गरेर र युद्धविराम तोडेर वार्ताको मेजलाई आफ्नो कल्पनामा आत्मसमर्पणको मेज बनाउने वा युद्धलाई जायज ठहराउने प्रयास गरिरहेका उनको भनाइ छ ।

    गालिबाफले अमेरिकासँगको पहिलो चरणको वार्तामा इरानी प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । अहिले पाकिस्तानको राजधानी इस्लामाबादमा दोस्रो चरणको वार्ताका लागि तयारी भइरहेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल पाकिस्तान जाने बताइसकेका छन् । तर, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले भने वार्ताका लागि निर्णय भइनसकेको बताएका छन् ।

  • ट्रम्पको दावि : इरानी पानीजहाज नियन्त्रणमा लिइयो

    ट्रम्पको दावि : इरानी पानीजहाज नियन्त्रणमा लिइयो

    ७ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथिको सामुद्रिक नाकाबन्दी अन्तर्गत एउटा इरानी झन्डावाहक पानीजहाज नियन्त्रणमा लिइएको बताएका छन्। खाडी क्षेत्रमा अमेरिकाले नियन्त्रणमा लिएको भनिएको मालवाहक जहाजबारे इरानले कुनै प्रतिक्रिया जनाएको छैन। रोक्न दिइएको चेतावनीलाई बेवास्ता गरेपछि अमेरिकी नौसेनाले टोस्का नाम गरेको जहाजलाई कब्जामा लिएको अमेरिकी राष्ट्रपतिले ट्रुथ सोशलमा उल्लेख गरेका छन्।


    इरानसँगको युद्ध अन्त्यका लागि पाकिस्तानमा हुन लागेको दोस्रो चरणको वार्ता टोलीको नेतृत्व फेरि पनि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले गर्ने ह्वाइट हाउसले पुष्टि गरेलगत्तै ट्रम्पको यो घोषणा आएको हो। दोस्रो चरणको वार्तामा तेहरानले आफ्नो सहभागिता हुनेबारे अहिलेसम्म पुष्टि गरेको छैन। इरानी सरकारी सञ्चारमाध्यमले अमेरिकी नाकाबन्दी कायम रहेसम्म इरानी अधिकारीहरूले सहभागिता नजनाउने बताएका छन्।

    ट्रम्पले अमेरिकी नियन्त्रणमा रहेको पानीजहाज करिब ९०० फिट लामो र विमानवाहक जहाज जत्तिकै तौलको रहेको उल्लेख गरेका छन्। अमेरिकी सामुद्रिक नाकाबन्दी अटेर गरेर जान खोजेको भन्दै ट्रम्पले उक्त जहाजको इन्जिन रहने कोठामा प्वाल पारेर जहाजलाई रोकेको जनाएका छन्। अवैध गतिविधिको विगतका कारण टोस्का अमेरिकी ट्रेजरीको प्रतिबन्धमा छ। जहाजलाई हामीले पूर्ण नियन्त्रणमा लिएका छौँ र त्यसमा के छ भनेर हेर्दै छौँ, ट्रम्पले भनेका छन्।


    अमेरिकी सेन्ट्रल कमान्डले सार्वजनिक गरेको एउटा भिडिओमा अमेरिकी जलसेनाको जहाजले उक्त जहाजलाई रोक्न चेतावनी दिएको र गोली प्रहार गरिएको देखिएको छ। इरान र अमेरिकाबीच पहिलो चरणको वार्ता असफल भएपछि ट्रम्पले दुई देशबीच सम्झौता नभएसम्म इरानी बन्दरगाहमा अमेरिकाले सामुद्रिक नाकाबन्दी जारी राख्ने चेतावनी शुक्रवार दिएका थिए। पाकिस्तानमा भएको वार्ताबाट मध्यपूर्वमा दुई हप्ताको युद्धविराम घोषणा हुनुअघि गएको फेब्रुअरी २८ बाट पाँच हप्तासम्म इरानमा युद्ध चलेको थियो।

    इरान र अमेरिकाबीच इरानको परमाणु कार्यक्रम र स्ट्रेट अफ होर्मुज भनिने तेल ओसारपसारको प्रमुख जलमार्गमा नियन्त्रण सहितका विषयहरूमा सहमति हुन सकेको छैन। अमेरिकी राष्ट्रपति ट्रम्पले आइतवार दुई पक्षबीच वार्ताको मध्यस्थता गरिरहेको पाकिस्तानमा आफ्ना प्रतिनिधिहरू सोमवार पुग्ने बताएका थिए। यसअघि घोषणा भएको युद्धविरामको दुई साता लामो अवधि बुधवारबाट सकिँदै छ। भान्ससँगै ट्रम्पका सल्लाहकार स्टिभ विट्कोफ र ट्रम्पका ज्वाइँ ज्यारड कुश्नर पनि अमेरिकी प्रतिनिधिमण्डलमा समावेश रहेको ह्वाइट हाउसका एक अधिकारीले बीबीसीलाई बताएका छन्। उनीहरू दुवै जना अघिल्लो चरणको वार्तामा पनि सहभागी थिए।

    तर इरानको सरकारी समाचार संस्था आईआरएनए ले अमेरिकासँग दोस्रो चरणको वार्ता हुने विवरणहरूमा सत्यता नभएको बताएको छ। अमेरिकी नाकाबन्दीसँगै वाशिङ्टनका अत्यधिकू माग र धम्कीपूर्ण भाषाले वार्ताको प्रगतिमा बाधा पुर्‍याएको इरानी समाचार संस्थाले उल्लेख गरेको छ। यद्यपि पाकिस्तानको राजधानी इस्लामाबादमा थप छलफलका लागि तयारी सुरु गरिएको छ।

  • अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमणमा

    अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमणमा

    ७ वैशाख, काठमाडौं । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगेका छन् । उनी आज बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । भारतीय मूलका कपुर बालेन शाह नेतृत्वको नयाँ सरकारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित काठमाडौं आइपुगेको बताइएको छ ।

    काठमाडौं बसाइको क्रममा कपुरले उच्चस्तरीय भेटघाट गर्ने र सरकारका केही मन्त्रीहरुलाई पनि भेट्ने तयारी छ । गत वर्ष अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण एशियाली सुरक्षाका विज्ञ कपुरलाई दक्षिण एशिया मामिला हेर्ने सहायक विदेशमन्त्रीमा नियुक्त गरेका थिए । त्यसअघि डोनाल्ड लुले दक्षिण एशिया मामिला हेर्दथे ।

    कपुरको काठमाडौं भ्रमण तीन दिनको हुने बताइएको छ । उनी बुधबार फर्किनेछन् । नेपाल आएका कपुर बालेन नेतृत्वको सरकार बनेपछि काठमाडौं आउने सबैभन्दा वरिष्ठ विदेशी कूटनीतिज्ञ हुन् ।

  • अमेरिकाको लुजियानामा गोलीकाण्ड, कम्तिमा ८ बालबालिकाको मृत्यु

    अमेरिकाको लुजियानामा गोलीकाण्ड, कम्तिमा ८ बालबालिकाको मृत्यु

    ७ वैशाख, काठमाडौं । अमेरिकाको लुजियाना राज्यमा भएको गोलीकाण्डमा ८ बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेहरु एकदेखि १४ वर्ष उमेर समूहका छन् । गोली चलाउने व्यक्ति पनि प्रहरी कारबाहीमा मारिएका छन् । प्रहरीले यस घटनालाई ‘घरेलु विवाद’ (डोमेस्टिक डिस्टर्बेन्स) को परिणामका रूपमा व्याख्या गरेको छ । स्थानीय समय अनुसार बिहान करिब ५ बजे सुरु भएको घटनामा एक जना बन्दुकधारीले १० जनामाथि गोली चलाएका थिए । त्यसपछि उनी चोरी गरिएको गाडी चढेर फरार भएका थिए । प्रहरीले पछ्याएर आक्रमणकारीलाई गोली हानी मारिएको जनाएको छ ।

    सो गोलीकाण्डमा केही घाइतेसमेत भएका छन् । तर प्रहरीले मृतक र घाइतेहरुको पूर्ण विवरण सार्वजनिक गरेको छैन । घटनामा घाइते भएका केहीलाई अस्पताल लगिएको छ । प्रहरीले घटना एक ठाउँमा मात्र नभई वेस्ट ७९ औँ स्ट्रिटका दुई घर र ह्यारिसन स्ट्रिटस्थित अर्को घरसहित तीन स्थानमा भएको जनाएको छ । अधिकारीहरुले यो घटनालाई इतिहासकै सबैभन्दा दुःखद भनेका छन् ।

    आक्रमणकारीको पहिचान शमर एल्किन्सको रुपमा गरिएको छ । उनी एक व्यक्तिको गाडी कब्जा गरी भाग्ने प्रयास गरेका थिए । प्रहरीले उनलाई बोसियर पारिस क्षेत्रमा पछ्याएर गोली चलाएको थियो ।

  • होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा

    होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा

    तेहरान, ६ वैशाख (रासस–एएफपी) । इरानले संयुक्त राज्य अमेरिकाले आफ्ना बन्दरगाहहरूमाथिको नौसैनिक नाकाबन्दी नहटाएसम्म होर्मुजको जल डमरूमध्य पूर्ण रूपमा खुला नहुने स्पष्ट पारेसँगै क्षेत्रीय तनाव पुनः चुलिएको छ । केही समयका लागि खुलेको जलमार्ग फेरि अनिश्चित बनेपछि विश्व ऊर्जा बजारमा पनि पुनः चासो र चिन्ता बढेको छ ।

    इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबफले टेलिभिजनमार्फत् सम्बोधन गर्दै अमेरिकासँग भइरहेको वार्तामा केही प्रगति भए पनि आधारभूत विषयहरूमा अझै गहिरो मतभेद रहेको बताए । उनका अनुसार अन्तिम शान्ति सम्झौता तत्काल सम्भव देखिँदैन र वार्ता अझै निर्णायक चरणमा पुगेको छैन । इजरायल र अमेरिकासँगको युद्ध अन्त्य गर्ने उद्देश्यले भइरहेको संवादमा धेरै जटिल पक्षहरू बाँकी रहेको उनको भनाइ थियो ।

    दुई साताका लागि गरिएको युद्धविराम बुधबार समाप्त हुने तयारीमा छ, जसले आगामी अवस्था थप अन्योलपूर्ण बनाएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘राम्रो वार्ता’ भइरहेको दाबी गर्दै तेहरानलाई दबाबमूलक रणनीति नअपनाउन चेतावनी दिए । उनले इरानले होर्मुजमार्फत् अन्तर्राष्ट्रिय समुदायलाई ‘ब्ल्याकमेल’ गर्न खोजेको आरोप समेत लगाए ।


    शुक्रबार इरानले लेबनानमा आफ्नो सहयोगी हिजबुल्लाहसँग इजरायलबीच सहमति भएपछि होर्मुज जल डमरूमध्य खुला गरिएको घोषणा गरेको थियो । विश्वको करिब पाँचौँ भाग तेल र तरलीकृत प्राकृतिक ग्यास यही मार्गबाट ओसारपसार हुने भएकाले यस निर्णयले विश्व बजारमा राहत दिएको थियो र तेलको मूल्य घटेको थियो । तर अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी कायम राख्ने अडान लिएपछि तेहरानले पुनः जलमार्ग सीमित गर्ने सङ्केत दिएको हो ।

    “यदि अमेरिकाले नाकाबन्दी हटाएन भने होर्मुजमा आवागमन निश्चित रूपमा सीमित हुनेछ”, गालिबफले चेतावनी दिए । यसैबीच इरानका सर्वोच्च नेता मोजताबा खमेनीले लिखित सन्देशमार्फत् इरानी नौसेना अमेरिकाविरुद्ध लड्न पूर्ण रूपमा तयार रहेको उल्लेख गरेका छन् । तनावबीच इरानको रिभोलुसनरी गार्ड्सले अनुमति बिना जल डमरूमध्य पार गर्ने जहाजहरूलाई शत्रुसँगको सहकार्य मानिने र आवश्यक परे ‘लक्षित’ गरिने चेतावनी दिएको छ । छोटो समयका लागि खुल्दा केही तेल र ग्यास ट्याङ्करहरू पार भए पनि धेरै जहाजहरू पछि हटेका छन् र शनिबार दिउँसोसम्म जलमार्ग प्रायः सुनसान देखिएको ट्र्याकिङ तथ्याङ्कले देखाएको छ ।

    समुद्री सुरक्षासम्बन्धी बेलायती एजेन्सीले एक ट्याङ्करमाथि गोली प्रहार भएको जानकारी दिएको छ भने भ्यानगार्ड टेक नामक सुरक्षा फर्मका अनुसार इरानी सेनाले खाडी क्षेत्रबाट बाहिरिँदै गरेको एक खाली क्रूज जहाजलाई नष्ट गर्ने धम्की दिएको छ । अर्को घटनामा अज्ञात प्रक्षेप्यले एक जहाजमा प्रहार गर्दा कन्टेनरहरू क्षतिग्रस्त भएका छन्, यद्यपि आगलागी भएको छैन । यसै क्रममा भारतले जल डमरूमध्यमा आफ्ना झण्डा बोकेका दुई जहाजमाथि भएको गोलीकाण्डप्रति कडा आपत्ति जनाउँदै नयाँदिल्लीस्थित इरानी राजदूतलाई बोलाएर विरोध दर्ता गराएको छ ।

    कूटनीतिक पहलहरू पनि जारी छन् । पाकिस्तानसँगको मध्यस्थतामा संलग्न इजिप्टले चाँडै नै अन्तिम सम्झौता सम्भव हुने आशा व्यक्त गरेको छ । वार्ताका प्रमुख अवरोधका रूपमा इरानको उच्च स्तरसम्म समृद्ध गरिएको युरेनियमको भण्डार र होर्मुज जल डमरूमध्यको नियन्त्रणलाई लिइएको छ ।

    अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले ४४० किलोग्राम समृद्ध युरेनियम हस्तान्तरण गर्न सहमति जनाएको दाबी गर्नुभएको छ, तर इरानले त्यसलाई अस्वीकार गर्दै यस्तो प्रस्ताव कहिल्यै वार्तामा नआएको स्पष्ट पारेको छ । इरानी विदेश मन्त्रालयका अनुसार उक्त भण्डार सुरक्षित स्थानमा रहेको छ र कुनै पनि हालतमा अमेरिकालाई सुम्पिने योजना छैन ।

    फेब्रुअरी २८ मा सुरु भएको मध्यपूर्वीय द्वन्द्वले व्यापक रूप लिँदै इरान, खाडी देशहरू, इजरायल र लेबनानलाई समेटेको छ । लेबनानमा संयुक्त राष्ट्रसङ्घीय शान्तिरक्षकमाथि भएको आक्रमणमा एक फ्रान्सेली सैनिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले घटनाका लागि हिजबुल्लाहलाई दोष दिनुभएको छ, तर उक्त समूहले आरोप अस्वीकार गरेको छ ।

    संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले घटनाको निन्दा गर्दै प्रारम्भिक मूल्याङ्कनअनुसार आक्रमण हिजबुल्लाहबाट भएको देखिएको बताएका छन् । यस घटनाले क्षेत्रीय तनावलाई थप जटिल बनाएको छ र शान्ति प्रयासहरूमा चुनौती थपिएको छ ।

  • गाजा युद्धमा ३८ हजार महिला र बालिकाको मृत्यु

    गाजा युद्धमा ३८ हजार महिला र बालिकाको मृत्यु

    जेनेभा, ५ वैशाख (रासस–एएफपी) । सन् २०२५ सम्ममा गाजा युद्धमा ३८ हजारभन्दा बढी महिला र बालिकाहरूको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जारी गरेको अनुमानित तथ्याङ्कमा जनाइएको छ। गाजामा अवस्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले सन् २०२५ को अन्त्यसम्म रेकर्ड गरिएको यो सङ्ख्या गाजा युद्धमा उक्त समयसम्म मारिएका कुल ७१ हजार व्यक्तिको आधाभन्दा बढी हो।

    “सन् २०२३ अक्टोबरदेखिसन् २०२५ डिसेम्बरको बीचमा गाजामा ३८ हजार भन्दा बढी महिला र केटीहरू मारिएका छन्, जुन इजरायली सेनाको हवाई र स्थल आक्रमणको कारण भएको होे,” संयुक्त राष्ट्रसङ्घ महिला तथा बालबालिका मामिला निकाय (युएन वुमनका)की प्रवक्ता सोफिया कलटर्पले जेनेभामा एक पत्रकार सम्मेलनमा भनिन् ।


    “गाजा युद्धमा मारिएका ती महिला तथा बालिकामध्ये २२ हजारभन्दा बढी महिला र १६ हजार भन्दा बढी केटीहरू रहेका छन् । यसरी हेर्दा यो सङ्ख्या औसतमा कम्तिमा ४७ महिला र केटीहरूको भएको मृत्यु सङ्ख्या हो । ‘युएन वुमन’ले भनेको छ, “शवहरू अझै भग्नावशेषमा पुरिएको अवस्थामा भेटिने गरेको र रिपोर्टिङ प्रणालीहरू गम्भीर रूपमा सीमित रहेकाले युद्धमा मारिएका महिला तथा बालबालिकाको वास्तविक तथ्याङ्क योभन्दा अझ बढी हुन सक्छ।”

    “महिला र बालिकाहरूको मृत्युको अनुपात गाजामा यसअघिको द्वन्द्वमा देखिएको भन्दा धेरै बढी रहेको देखिएको छ,” कलटोर्पले थपिन् । सन् २००८ देखि २००९ को द्वन्द्वमा मारिनेमध्ये १५ प्रतिशत र सन् २०१४ को द्वन्द्वमा मारिनेमा २२ प्रतिशत महिला र बालिकाको रहेको युएन वुमनको प्रतिवेदनमा उल्लेख छ ।
    युएन वुमनले भनेको छ, “दुःखको कुरा के छ भने यति धेरै सङ्ख्यामा मृत्युपछि पनि युद्धबाट जीवन जोगिएका महिला तथा बालिकाहरूले अझै पनि जीवनमा दैनिक खतरा, भोकमरी, बारम्बार विस्थापन र अत्यावश्यक सेवाहरूमा गहिरो प्रतिबन्धित पहुँचको सामना गर्नु परेको छ।”

    “कहालीलाग्दो मृत्युको सङ्ख्यासँग गाजामा लगभग ११ हजार महिला तथा बालिकाहरूलाई विनाशकारी चोटपटक लागेको छ र उनीहरू आजीवन अशक्तताको साथ मात्र बाँच्नेछन्,” कलटोर्पले भनिन् । उनले थपिन्, “युद्धले प्यालेस्टिनी परिवारलाई नयाँ आकार दिएको छ, गाजाका दशौँ हजार घरपरिवारहरू उनीहरूको पुरूष अभिभावक गुमाएका कारण अहिले महिलाहरूको अभिभावकत्वमा रहेका छन् । अविभावकत्व गुमाएका महिलाहरूले बाध्यात्मक र चुनौतिपूर्ण अवस्थामा परिवारको जिम्मेवारी बहन गरिरहेका छन् र उनीहरू अब ‘आय बिना, सहयोगको पर्खाइमा वा आवश्यक सेवाहरूमा पहुँचबिना’ आफ्नो परिवारको भरणपोषणको व्यवस्थापन गर्न बाध्य छन्।

    – कहालीलाग्दो अवस्था –

    द्वन्द्वका क्रममा झण्डै १० लाख महिला तथा बालिकाहरू बारम्बार विस्थापित भएका छन् भने करिब सात लाख ९० हजार महिलाहरूले खाद्य असुरक्षाको सङ्कट–स्तर वा विनाशकारी स्तरको अनुभव गरेका छन्। कलटोर्पले भनिन्, “फेब्रुअरी २८ मा इरानमा अमेरिका–इजरायल आक्रमणसँगै सुरु भएको मध्यपूर्व युद्धले पनि सीमा पार बन्द र मानवीय पहुँचमा अवरोधका कारण गाजाको जनजीवन थप कठिनाइपूर्ण बनेको छ।”

    सन् २०२५ अक्टोबरमा घोषणा गरिएको इजरायल र हमासबीचको कमजोर युद्धविराम गाजामा दुई वर्षभन्दा बढी युद्धपछि भएको थियो । हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि सीमापार आक्रमण गरेपछि इजरायलले गाजामा व्यापक हवाई तथा स्थल आक्रमण गरेको थियो । हमासको नियन्त्रणमा रहेको र संयुक्त राष्ट्रसङ्घले भरपर्दो मानेको गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविराम लागू भएयता कम्तीमा ७६६ प्यालेस्टिनीहरू मारिएका छन् । युद्धविरामका बाबजुद हालैका महिनाहरूमा महिला र बालिकाहरूको हत्या जारी रहेको युएन वुमनले जनाएको छ।

  • ‘स्ट्रेट अफ हर्मुज’ मा इरानले हामीलाई सौदाबाजी गर्न सक्दैन : ट्रम्प

    ‘स्ट्रेट अफ हर्मुज’ मा इरानले हामीलाई सौदाबाजी गर्न सक्दैन : ट्रम्प

    वासिङ्टन, ५ वैशाख (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानलाई स्ट्रेट अफ हर्मुजको भविष्यमा सौदाबाजी (ब्ल्याकमेल) नगर्न चेतावनी दिएका छन् । “तपाईंलाई थाहा छ, उनीहरूले वर्षौंदेखि गरेजस्तै हर्मुज घाँटी फेरि बन्द गर्न चाहन्थे । हामी उनीहरूसँग वार्ता गरिरहेका छौँ। उनीहरूले हामीलाई ‘ब्ल्याकमेल’ गर्न सक्दैनन्,” ट्रम्पले ह्वाइट हाउसको एक कार्यक्रममा भने । राष्ट्रपति ट्रम्पले इरानका बारेमा केही जानकारी प्राप्त हुने बताउँदै भने, “हामी कडा अडान लिइरहेका छौँ । यसैबीच, इरानको सेनाले शनिबार विश्वको कच्चा र तरलीकृत प्राकृतिक ग्यासको पाँच भागको एक भाग पार हुँदै जाने जलमार्ग हर्मुज घाँटी फेरि एकपटक बन्द गरिएको घोषणा गरेको छ।

  • इरानले ‘स्ट्रेट अफ हर्मुज’ मा आवागमनमा रोक लगाएको घोषणापछि इन्धन बोकेका जहाजमाथि आक्रमण

    इरानले ‘स्ट्रेट अफ हर्मुज’ मा आवागमनमा रोक लगाएको घोषणापछि इन्धन बोकेका जहाजमाथि आक्रमण

    लन्डन, ५ वैशाख (रासस–एएफपी) । इरानले शनिबार ‘स्ट्रेट अफ हर्मुज’ पार गर्ने क्रममा इन्धन बोकेका व्यावसायिक जहाजहरूमा आक्रमण भएको साथै थप आक्रमणको चेतावनीको सामना गर्नुपरेको सुरक्षा अनुगमनकर्ताहरूले बताएका छन्। इरानले मध्यपूर्व युद्धमा युद्धविरामको क्रममा जलमार्गलाई व्यापारिक यातायातका लागि पुनः खोल्ने आफ्नो प्रतिज्ञालाई शुक्रबार उल्ट्याउँदै अनुमतिविना यहाँबाट कुनै पनि आवागमनमा रोक लगाइएको घोषणा गरेको थियो । उक्त मार्ग मध्यपूर्वका लागि र त्यहाँबाट अन्य देश जाने सामानको ढुवानीको लागि एक महत्त्वपूर्ण मार्ग हो।

    बेलायतको एक समुद्री सुरक्षा एजेन्सीले भनेको छ, “इरानको रिभोलुसनरी गाड्र्स (आईआरजीसी) ले एक ट्यांकरमा गोली चलाएको छ।” सामुद्रिक सुरक्षा निगरानी का लागि प्रयोग हुने संूथा ‘भ्यानगार्ड टेक’ले शुक्रबार तेहरानले केही समयको राहत घोषणा गरेपछि खाडीबाट भागिरहेका खाली यात्रुबाहक जहाजलाई ‘आक्रमण गर्ने’ चेतावनी दिएको छ।

    यद्यपि, केही तेल र ग्याँस ट्याङ्करहरूले शनिबार बिहानै स्ट्रेट पार गरेका निगरानी समूहका तथ्याङ्कले देखाएको छ । ‘यूके मेरिटाइम ट्रेड अपरेसन सेन्टर (यूकेएमटीओ)’ ले एक अनलाइन विज्ञप्तिमा भनेको छ, “ओमानको उत्तरपूर्वी जलमार्गमा ट्याङ्करमा ‘गनबोट’ हरूले गोली चलाएका छन् तर जहाज र चालक दल सुरक्षित रहेका छन्।”

    भ्यानगार्डले ट्याङ्करलाई भारतको ध्वजावाहक ट्यांकर सनमार हेराल्डको रूपमा पहिचान गरेको छ। यसले क्याप्टेनलाई उद्धृत गर्दै भन्यो, “आईआरजीसीका दुई गस्ती डुङ्गाहरू रेडियो सम्पर्क बिना नै नजिक आए र त्यसपछि ‘गोली चलेको’ थियो, आक्रमणबाट जहाजको झ्यालहरूमा क्षति पुगेको थियो।”

  • लेबनानमा युद्ध–विराम लागु

    लेबनानमा युद्ध–विराम लागु

    बेरुत, ५ वैशाख (रासस–क्युएनए) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प द्वारा घोषणा गरिएको लेबनान र इजरायल बीचको युद्धविराम सम्झौता लागु भएको जनाइएको छ । राष्ट्रपति ट्रम्पले बिहीबार दुई देशकोबीचमा १० दिनको युद्ध–विराम सुरु हुने बताएको जनाइएको छ भने दीर्घकालीन सम्झौतामा पुग्ने उद्देश्यले वार्ताका अस्थाइ युद्धविराम गरेको जनाइएको छ । स्थायी सुरक्षा व्यवस्था र शान्तिका लागि वार्ताको वातावरण सिर्जना गर्ने प्रयासमा लेबनान र इजरायल दुवैले युद्धविराम लागु गर्ने अमेरिकी विदेश विभागले पुष्टि गरेको छ ।

    लेबनानका प्रधानमन्त्री नवाफ सलामले युद्धविरामको घोषणालाई स्वागत गर्दै यसलाई वाशिङ्टनमा हालैको वार्तामा समेत द्वन्द्वको सुरुवात देखि बेरुतले चाहेको प्रमुख विषयको रुपमा वर्णन गरेका छन् । यसैबीच, लेबनानी सेनाले नागरिकहरूलाई युद्धविराम पूर्ण रूपमा लागु नभएसम्म दक्षिणी क्षेत्रका गाउँ र सहरहरूमा नफर्कन आग्रह गरेको छ, भने इजरायली सेनाले कब्जा गरेको क्षेत्रहरू नजिक नआउने चेतावनी पनि दिएको छ ।

    लेबनानको जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका अनुसार द्वन्द्व सुरु भए देखि लेबनानमा दुई हजार १९६ जना भन्दा बढी मानिसहरुले मृत्यु वरण गर्नु का साथै सात हजार १८५ भन्दा बढी घाइते भएका छन् ।

  • इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    तेहरान, ५ वैशाख (रासस–एएफपी) । इरानले शुक्रबार युद्धविराम अवधिमा व्यवसायिक जहाजहरूका लागि हर्मुज जलमार्ग खुला गर्ने घोषणा गरेको छ । इजरायल र लेबनानबीच शुक्रबार १० दिनका लागि युद्धविराम गर्ने सहमति भएपछि इरानले हर्मुज जलमार्ग खोल्न सहमति जनाएको हो । इजरायल र लेबनानबीच १० दिने युद्धविराम सम्झौता कार्यान्वयनमा आएसँगै अमेरिकाले उक्त युद्धविराम त्यसभन्दा पनि धेरै लम्बिन सक्ने बताएको छ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले लेबनानसँग ‘ऐतिहासिक सम्झौताका लागि’ यसले अवसर सिर्जना गर्ने आशा व्यक्त गर्नुभएको छ । इरान समर्थित हिज्बुल्लाहले पनि युद्धविराम सम्झौता पालना गर्ने जनाएको छ। उक्त लडाकु समूहले लेबनानको भूमिमा आक्रमण रोक्ने र इजरेली सेना उक्त भूमिमा हिँडडुल बन्द गर्ने सर्तमा सहमति हुनुपर्ने पनि माग गरेको छ।

    नभाडामा कर दिवसको छलफलमा युद्धबारे छोटो टिप्पणी गर्दै ट्रम्पले भने, “यो निकै छिट्टै नै अन्त्य हुनु पर्छ।“ उनले यसबारे थप व्याख्या नगरी युद्ध राम्रोसँग अघि बढिरहेको बताए । ट्रम्पले युद्धमा अमेरिकी सेनाको भूमिकाको पनि प्रशंसा गरे । गत सप्ताहान्तमा अमेरिका र इरानबीच इस्लामाबादमा भएको वार्ता असफल भएको थियो। यद्यपि पाकिस्तान सहितका मध्यस्थकर्ताहरूले दोस्रो चरणको वार्ताका लागि पहल गरिरहेका छन्।

    ह्वाइट हाउसले सम्भावित दोस्रो चरणको शान्ति वार्ताबारे छलफलहरू भइरहे पनि मिति र स्थान तय नभएको तर वार्ताको सम्भावना बढेको जनाएको छ ।
    इरानका विदेश मन्त्री सइद अब्बास अरागचीले सामाजिक सञ्जाल एक्समा एक पोस्टमा लेखेका छन्, “लेबनानमा युद्धविरामको अनुरूप, अमेरिका–इरानबिचको युद्धविरामको बाँकी अवधिको लागि हर्मुज जलमार्ग भएर आवत जावत गर्ने सबै व्यावसायिक जहाजहरूको लागि मार्ग पूर्ण रूपमा खुला गरिएको छ।”

    उनले लेबनान र इजरायलबीच मध्यरातदेखि लागू भएको १० दिने युद्धविरामको कुरा गरेका हुन् वा अप्रिल ८ मा इरान र संयुक्त राज्य अमेरिकाबीच सुरु भएको दुई हप्ताको युद्धविरामको बारेमा कुरा गरेका भन्ने प्रष्ट हुन सकेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि महत्वपूर्ण ‘स्ट्रेट अफ हर्मुज’ व्यवसायिक जहाजका लागि खुला गर्ने इरानको घोषणाको स्वागत गरेका छन् । ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, “धन्यवाद, इरानले हर्मुजको साँघुरो जलमार्ग पूर्ण रूपमा खुला गरेको छ । यो सबै व्यवसायिक जहाजका लागि खुला भएको छ ।”

    मस्कोले शुक्रबार इजरायल र लेबनानबीच भएको युद्धविराम सम्झौताको समर्थन गरेको छ र १० दिने युद्धविरामले दीर्घकालीन सम्झौताको मार्ग प्रशस्त गर्ने आशा व्यक्त गरेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारसँगको भेटमा भने, “हामी युद्धविरामको निर्णयको स्वागत गर्दछौं र आशा गर्दछौं कि यी केही दिनहरूमा सैन्य भिडन्तहरू दोहोरिन नदिन सम्झौतामा पुग्न सम्भव हुनेछ।” युद्धविराम गर्ने सहमतिको विश्व समुदायले प्रशंसा गरेको छ। फ्रान्स, बेलायत, भारत, चीन, अमेरिकालगायत विश्व शक्ति राष्ट्रका नेताहरूले पनि सहमतिको लागि खुशी व्यक्त गरेका छन् ।

  • दक्षिणी लेबनानमा इजरायली आक्रमण, मानवीय क्षति जारी

    दक्षिणी लेबनानमा इजरायली आक्रमण, मानवीय क्षति जारी

    बेरुत, ३ वैशाख (रासस–क्युएनए) । दक्षिणी लेबनानको अन्सारीयेह शहरमा भएको इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको जनाइएको छ ।
    लेबनानी राष्ट्रिय समाचार एजेन्सीले बुधबार शहरलाई लक्षित गरी गरिएको आक्रमणमा पाँच जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

    यसले इजरायले अल–कुलाइलाह शहरको प्रवेशद्वार, साथै बिन्त जबेल शहरको वरपरका क्षेत्रहरूलाई लक्षित गरी हात्रलमण गरेको र हानिन शहरका घरहरूमा विस्फोट गराएको पनि बताएको छ । लेबनानी स्वास्थ्य मन्त्रालयले मार्च– २ देखि देशमा जारी इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार १२४ जना पुगेको र छ हजार ९२१ जना घाइते भएको जनाएको छ।

  • अमेरिका–इरान वार्ताका लागि पहल गर्दै पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा

    अमेरिका–इरान वार्ताका लागि पहल गर्दै पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा

    जेद्दाह, साउदी अरब, (रासस–एएफपी) । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ अमेरिका–इरान शान्ति वार्ताको सम्भावित दोस्रो चरणको सम्भावनाअघि चार दिने भ्रमणको शुरुवातमा बुधबार साउदी अरब पुगेका छन् । गत साता इस्लामावादमा वासिङ्टन र तेहरानबीच दशकौँपछि भएको उच्चस्तरीय वार्तापछि सरिफले साउदी अरबका उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गर्ने बताइएको छ। उनी साउदी अरबपछि कतार र टर्कीको भ्रमण गर्ने कार्यक्रम पनि रहेको छ । पाकिस्तानी नेताले ‘क्षेत्रीय अवस्था’ बारे साउदी राजकुमार मोहम्मद बिन सलमानसँग छलफल गर्ने उनको कार्यालयले जनाएको छ ।

    पाकिस्तानको विदेश मन्त्रालयले यसअघि साउदी अरब र कतारको भ्रमण ‘द्विपक्षीय परिवेश’लाई ध्यानमा राख्दै हुन लागेको बताएको थियो । साउदी अरब र कतारपछि सरिफले अन्टाल्या कूटनीति मञ्चमा भाग लिर्ने पनि बताइएको छ। शरीफले अन्टाल्या फोरमको छेउछाउमा राष्ट्रपति रेसेप तैयप एर्दोगान र अन्य नेताहरूसँग द्विपक्षीय बैठकहरू गर्ने कार्यक्रम रहेको छ । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्ध अन्त्य गर्ने प्रयासमा इस्लामाबाद वार्ता एक कदम अगाडिको प्रगति हो । वार्ताबाट कुनै उपलब्धी नभएपनि दुई पक्षलाई संवादमा ल्याउन वार्ता पहल सफल भएको छ ।

    इरानले अमेरिका–इजरायलले इरानमा गरेको आक्रमणको बदलामा साउदी अरब र कतारलगायत खाडीमा रहेका अमेरिकी सहयोगीलाई निशाना बनायो र उक्त क्षेत्रबाट ऊर्जा निर्यातमा अवरोध गर्यो, जसका कारण तेलको मूल्य अत्यधिक बढेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले द्वन्द्व अन्त्यका लागि कुनै सहमति नभए पनि वार्ता यसै हप्ता पाकिस्तानी राजधानीमा पुनः सुरु हुन सक्ने बताएका छन् । संयुक्त राज्य अमेरिकाले इरानको नौसैनिक नाकाबन्दीको आदेश दिए पनि अर्को हप्ता समाप्त हुने युद्धविराम जारी छ ।

    सरिफसँगै अमेरिका–इरान वार्ताका क्रममा मध्यस्थकर्ता रहेका विदेशमन्त्री इशाक दार र अन्य वरिष्ठ अधिकारीहरु पनि छलफलमा सहभागी हुने उहाँको कार्यालयले जनाएको छ । पाकिस्तान र साउदी अरबबीच घनिष्ठ सम्बन्ध छ र इस्लामाबादको अर्थ मन्त्रालयले बुधबार रियादले पाकिस्तानलाई आफ्नो विदेशी मुद्रा भण्डार बढाउन तीन अर्ब डलर उपलब्ध गराउने घोषणा गरेको छ । पाकिस्तानले रियादको सहयोगी बनेको संयुक्त अरब इमिरेट्सलाई अर्बौं ऋण फिर्ता गर्ने बताएको केही दिनपछि यो सहयोग आएको हो।

    साउदी अरबको विद्यमान पाँच अर्ब अमेरिकी डलर बराबरको निक्षेप पनि अनिर्दिष्ट अवधिका लागि विस्तार गरिने अर्थ मन्त्रालयले जनाएको छ । यसैबीच, सेना प्रमुख असिम मुनिरको नेतृत्वमा पाकिस्तानी प्रतिनिधिमण्डल इरान पुगेको छ भने उहाँलाई इरानी विदेशमन्त्री अब्बास अराघचीले स्वागत गरेका छन् ।
    इरानको सरकारी टेलिभिजनले यसअघि नै प्रतिनिधिमण्डलले वासिङ्टनको नयाँ सन्देश ल्याउने र दोस्रो चरणको वार्ताबारे छलफल गर्ने बताएको थियो।

  • अमेरिकी सैनिकलाई कारबाहि गर्न राष्ट्रसङ्घलाई इरानको आग्रह

    अमेरिकी सैनिकलाई कारबाहि गर्न राष्ट्रसङ्घलाई इरानको आग्रह

    तेहरान (इरान), २ वैशाख (रासस–एएनआई) । संयुक्त राष्ट्रका लागि इरानी राजदूत अमिर सइद इरवानीले अमेरिकी सैनिकले इरानी सार्वभौमसत्ताको उल्लङ्घन गरेको विषयको निन्दा गर्दै संयुक्त राष्ट्रसङ्घलाई अमेरिकी सैनिकलाई कारबाही गर्न आग्रह गरेका छन् ।

    संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्का अध्यक्षलाई पठाएको पत्रमा इरवानीले अमेरिकाको कदमलाई क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई खतरामा पार्ने आक्रमक कार्य भन्दै निन्दा गरेका छन् । सैनिक नाकाबंदी लागू गर्नु इस्लामिक गणतन्त्र इरानको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको घोर उल्लङ्घन भएको उनले बताए । गत अप्रिल –१२ मा युएस सेन्ट्रल कमान्ड (सेन्टकम) द्वारा सार्वजनिक रूपमा सैनिक आतंकवादको घोषणा गरिएको थियो ।

    उनले अमेरिकाले संयुक्त राष्ट्रको बडापत्रको धारा– २, अनुच्छेद ४ को उल्लङ्घन गर्दै आतंकवाद घोषणा गरेको बताए । उनले अवैध नाकाबंदीले समुद्र सम्बन्धि अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरेको बताए । इरानी बन्दरगाहहरूमा आउने र जाने समुद्री यातायात रोक्ने प्रयास गरेर, अमेरिकाले इरानको सार्वभौम अधिकारको प्रयोगमा हस्तक्षेप गरिरहेको र अन्तर्राष्ट्रिय कानून अनुसार तेस्रो राज्यहरूको अधिकार र वैध समुद्री व्यापारको उल्लङ्घन गरिरहेको पत्रमा उल्लेख गरिएको छ ।

    इरानले अमेरिकाको अवैध कार्यलाई अस्वीकार र निन्दा गर्दै आफ्नो सार्वभौमिकता, क्षेत्रीय अखण्डता र राष्ट्रिय हितहरूको रक्षा गर्न आवश्यक उपायहरू गर्ने आफ्नो “अन्तर्निहित अधिकार“ राख्ने बताएको छ । उनले अमेरिकाले अन्तर्राष्ट्रिय रुपमा गैर जिम्मेवारपुर्ण कार्य र क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा गलत प्रभावहरू लगायत यसका सबै परिणामहरूको लागि पूर्ण जिम्मेवारी वहन गर्नु पर्ने बताए । तत्काल अन्तर्राष्ट्रिय हस्तक्षेपको आह्वान गर्दै, इरानी दूतले संयुक्त राष्ट्र सुरक्षा परिषदलाई नाकाबंदीको निन्दा गर्न र तनाव रोक्न कदम चाल्न आग्रह गर्नु भएको छ ।

    इरवानीले संयुक्त राष्ट्र सङ्घलाई सम्वोधन गर्दै लेखेको पत्रमा इरान विरुद्ध अमेरिकाको निरन्तर अन्तर्राष्ट्रिय कानूनको उलङ्घन गरेको विषय उजागर गर्नु भएको छ । उता, अमेरिकी सेनाले हाल मध्य पूर्वमा कम्तिमा १५ वठा लडाँकु जहाजहरूको उपस्थिति कायम राखेको छ, राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश पछि सेनाले इरानको बन्दरगाहहरूको समुद्री नाकाबंदीमा भाग लिन सक्ने अमेरिकी अधिकारीलाई उदृत गर्दै सिएनएनले रिपोर्ट गरेको छ । यस अघि पाकिस्तानमा भएको वार्तामा कुनै सहमति हुन नसकेपछि अमेरिकी राष्ट्रपतिले इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबंदी लगाएको जनाइएको छ ।

  • मध्यपूर्व युद्धबारे छलफल गर्न रूसी विदेशमन्त्री चीनमा

    मध्यपूर्व युद्धबारे छलफल गर्न रूसी विदेशमन्त्री चीनमा

    बेइजिङ, २ वैशाख (रासस–एएफपी) । रूसका विदेशमन्त्री सर्गेइ लाभरोभले मध्य–पूर्व युद्धको विषयमा सहयोग गर्ने उदेश्यले चिनियाँ राजधानी पुगेको रूसी विदेश मन्त्रालयले जनाएको छ । चीनले मङ्गलबार भियतनामको टो लाम र अबु धाबीका राजकुमार मोहम्मद बिन जायद अल नाह्यानसहित युद्धको कारण प्रभावित भएका देशका नेताहरूलाई छलफलका लागि आमन्त्रण गरेको जनाएको छ । लाभ्रोभले चिनियाँ शीर्ष कूटनीतिज्ञ वाङ्ग यीसँग वार्ता गर्ने जनाइएको छ जसमा द्विपक्षीय सम्बन्धको विकास, विभिन्न क्षेत्रमा सहयोग, र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयहरुमा छलफल र स्थिति समन्वय गर्ने चिनियाँ विदेश मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

    रूसी विदेश मन्त्रालयले युक्रेनको युद्ध र मध्यपूर्वको अवस्थाबारे छलफल गर्ने पनि बताएको छ । बेइजिङ र मस्को घनिष्ठ आर्थिक र राजनीतिक साझेदार हुन्, भने सन् २०२२ मा रूसले युक्रेनमा आक्रमण गरे पछि सम्बन्ध अझ मझभुत भएको जनाइएको छ । मध्यपूर्वमा तनाव कम गर्न बेइजिङ र मस्कोले मिलेर काम गर्ने विषयमा सहमति भएपछि वाङले गत अप्रिल – ५ मा लाभ्रोभसँग फोन वार्ता समेत गरेका जनाइएको छ । यसैबीच चिनियाँ प्रधानमन्त्री ली किआङले संयुक्त अरब इमिरेट्सका नेतालाई बेइजिङ “थप रचनात्मक भूमिका खेल्न र खाडी क्षेत्रमा शान्ति पुनः स्नाथापमा योगदान गर्न तयार रहेका बताएका छन् ।

  • नेपाली महावाणिज्यदूतावास सान फ्रान्सिस्कोमा आरोग्य दिवस मनाइयो

    नेपाली महावाणिज्यदूतावास सान फ्रान्सिस्कोमा आरोग्य दिवस मनाइयो

    काठमाडौँ, १ वैशाख । नेपाली महावाणिज्यदूतावास सान फ्रान्सिस्कोले सोमबार विविध कार्यक्रम गर्दै अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाएको छ । नेपालको पहलमा संयुक्त राष्ट्रसंघको महासभाले १० मार्च २०२६ मा एक प्रस्ताव पारित गर्दै हरेक वर्ष अप्रिल १५ तारिखलाई अन्तर्राष्ट्रिय आरोग्य दिवसको रूपमा मनाउने घोषणा गरेको थियो । सोही सन्दर्भमा नेपाली महावाणिज्यदूतावास सान फ्रान्सिस्कोले उक्त दिवस मनाएको हो ।

    सान फ्रान्सिस्को वे एरियाको रिचमण्डस्थित नेपाली कम्यूनिटी सेन्टरमा एक औपचारिक कार्यक्रम आयोजना गरी प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइएको महावाणिज्यदूतावास कार्यालयले जनाएको छ । नेपाली एशोसियशन अफ नर्दन क्यालिफोर्निया र जीवन विज्ञान–युसएसँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा औपचारिक मन्तव्य, योग तथा प्राकृतिक चिकित्सा क्षेत्रका विज्ञहरूको प्रस्तुतिकरणलगायत सहभागीका लागि योग अभ्यास, ध्यान, प्राणायम र ध्वनी चिकित्सा सत्र सञ्चालन गरिएको जनाइएको छ ।

  • इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

    इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

    वासिङ्टन, १ वैशाख, रासस\एएफपी
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक नाकाबन्दी’ लगाइएको घोषणा गर्दै बन्दरगाह नजिक पुग्ने कुनै पनि इरानी युद्धक जहाजलाई अमेरिकी सेनाले नष्ट गर्ने बताएका छन् । “सावधान, यदि यी (इरानी) जहाजहरू हाम्रो नाकाबन्दी घोषित क्षेत्रको नजिक पुगे भने तुरून्तै आक्रमण हुनेछ,” राष्ट्रपति ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ‘ट्रुथ सोशल नेटवर्क’मा लेखेका छन् ।

    भेनेजुयलाको समुद्री तटमा कथित लागुऔषध डुङ्गामा भएको हवाई आक्रमणलाई सङ्केत गर्दै राष्ट्रपति ट्रम्पले भने, “अमेरिकी सेनाले समुद्रमा आउने इरानी युद्धक जहाजलाई ‘लागुऔषध व्यापारी’विरुद्ध क्यारेवियाली सागरमा तैनाथ उनीहरूका ‘युद्धक जहाज’ लाई ध्वस्त पार्न हामीले प्रयोग गरेको समान र प्रणाली प्रयोग गर्नेछ।”

    इरानले यसअघि नै शत्रुको जहाजको आवागमनका लागि हर्मुज जलमार्ग बन्द गरिसकेको छ र केवल चीनजस्ता मित्रवत देशहरूको सेवा गर्ने जहाजहरूलाई मात्र पार गर्न अनुमति दिइरहेको छ। नयाँ गतिरोधले थप ट्याङ्करहरूको आवागमन रोकिने डरका बीच सोमबार कच्चा तेलको मूल्य लगभग थप आठ प्रतिशतले बढेको छ। अमेरिकी नाकावन्दीको चेतावनीलाई स्पेनले ‘वेकारको लफडा’ को संज्ञा दिएको छ । त्यसैगरी, चीनले पनि नाकावन्दीको चेतावनीको विरोध गरेको छ ।

    चीनले आफ्नो इन्धन आपूर्तिको ठूलो हिस्सा इरानबाट ल्याउने गर्छ । त्यसैगरी, बेलायत र फ्रान्सले अमेरिकी नाकावन्दीमा आफ्नो कुनै संलग्नता नरहने तर यसको विकल्पमा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले स्ट्रेट सुरक्षित गर्न ‘शान्तिपूर्ण बहुराष्ट्रिय अभियान’मा सामेल हुन तयार भएका देशहरूसँग फ्रान्स र बेलायतले एक सम्मेलन आयोजना गर्ने बता्रएका छन् ।

  • अमेरिका–इरानबीच युद्धविरामको प्रक्रिया जारी रहेको पाकिस्तानी प्रधानमन्त्रीको भनाइ

    अमेरिका–इरानबीच युद्धविरामको प्रक्रिया जारी रहेको पाकिस्तानी प्रधानमन्त्रीको भनाइ

    इस्लामावाद, १ वैशाख, (रासस–एएफपी) । अमेरिका र इरानबीच गत सप्ताहन्तमा भएको शान्तिवार्तामा तत्काल उद्देश्य प्राप्त गर्न नसकिएको भएपनि युद्धविराम जारी रहेको र सहमतिमा पुग्ने प्रयास अझै भइरहेको पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले सोमबार बताएका छन् । “युद्धविराम अझै जारी छ र विवाद समाधान हुन बाँकी रहेका मुद्दाहरू समाधान गर्न पूर्ण प्रयास भइरहेको छ,” शरीफले टेलिभिजनमार्फत संक्षिप्त टिप्पणी गर्दै भने ।

    –समयसीमा सकिएको अमेरिकी भनाइ–

    यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका बन्दरगाहमा नौसैनिक नाकाबन्दीका लागि तोकेको सोमबारको समयसीमा सकिएको छ । तेहरानसँग सप्ताहन्तमा भएको शान्ति वार्ता बिना कुनै सहमति सकिएपछि ट्रम्पले इन्धन ढुवानीका लागि रणनीतिक महत्वको ‘स्ट्रेट अफ हर्मुज’ नाकाबन्दीको घोषणा गरेका थिए । अमेरिकी सेनाले सोमबार ग्रीनविच समयअनुसार सबै खाडी बन्दरगाहहरूमा नाकाबन्दी सुरु गर्ने बताएको छ । इरानबाट नआएका र इरानतर्फ नजाने जहाजहरूलाई स्ट्रेट हुँदै आवतजावत गर्न अनुमति दिइने सेनाले बताएको छ ।

    –वार्ताका लागि खुला रहन इरानसँग कतारको आग्रह–

    कतारका प्रधानमन्त्रीद्वारा सोमबार इरानी विदेशमन्त्रीलाई इरान र संयुक्त राज्य अमेरिकाले मध्यस्थताको प्रयासमा सकारात्मक रूपमा संलग्न हुन आग्रह गर्दै समुद्री मार्गहरूलाई ‘मोलमोलाइ गर्ने औजार’ को रूपमा प्रयोग गर्न नहुने चेतावनी दिएका छन् । कतारको विदेश मन्त्रीको समेत जिम्मेवारी हेर्दै आउनुभएका शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले अब्बास अरागचीसँगको फोनमा जारी मध्यस्थताको प्रयासमा सबै पक्षले सकारात्मक प्रतिक्रिया दिनुपर्नेमा जोड दिए ।


    विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उनले समुद्री मार्गहरू खोल्नुपर्ने, नौवहनको स्वतन्त्रताको सुनिश्चितता गरिनुपर्ने र तिनीहरूलाई दबाब वा सौदाबाजीको उपकरणको रूपमा प्रयोग गर्न नहुने कुरामा जोड दिए ।

  • इरानलाई हतियार दिएको आरोपमा चीनको आक्रामक प्रतिक्रिया

    इरानलाई हतियार दिएको आरोपमा चीनको आक्रामक प्रतिक्रिया

    बेइजिङ, १ वैशाख, (रासस–एएफपी) । इरानलाई हतियार आपूर्ति गरेको आरोपलाई चीनले ठाडै अस्वीकार गर्दै त्यसलाई ‘आधारहीन र दुर्भावनापूर्ण’ भनेको छ । अमेरिकी चेतावनी र अन्तर्राष्ट्रिय मिडियामा आएका रिपोर्टबीच बेइजिङले आफू जिम्मेवार निर्यात नीति पालना गर्ने मुलुक भएको पुनः दोहोर्‍याएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले इरानलाई सैन्य सहायता उपलब्ध गराएमा ५० प्रतिशतसम्मको नयाँ कर लगाउने चेतावनी दिएका थिए । उनको यो अभिव्यक्ति अमेरिकी सञ्चारमाध्यमहरूले चीनले निकट भविष्यमा इरानलाई हवाई रक्षा प्रणाली उपलब्ध गराउने तयारी गरेको दाबी गरेका बेला आएको हो ।

    सिएनएनले अमेरिकी गुप्तचर स्रोतहरू उद्धृत गर्दै चीनले आगामी केही साताभित्र इरानतर्फ उन्नत रक्षा प्रणाली पठाउन सक्ने सङ्केत गरेको जनाएको थियो । यसैबीच, द न्युयोर्क टाइम्सले पनि बेइजिङले काँधमा बोकेर प्रहार गर्न सकिने मिसाइलहरू पठाइसकेको हुन सक्ने आशङ्का सार्वजनिक गरेको थियो ।


    यी सबै आरोपहरूको जवाफ दिँदै चीनले सोमबार आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो । विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नियमित पत्रकार सम्मेलनमा चीनले सैन्य सामग्रीको निर्यातमा सधैँ कडा नियन्त्रण र जिम्मेवारीपूर्ण नीति अपनाउने बताए । “हामी आधारहीन धब्बा र दुर्भावनापूर्ण आरोपहरूको कडा विरोध गर्छौं”, उनले भने ।


    चीनले आफ्नो निर्यात नियन्त्रण कानून र अन्तर्राष्ट्रिय दायित्वअनुसार हतियार आपूर्तिमा कडाइ गर्ने नीति कायम रहेको स्पष्ट पारेको छ । यसले आफू कुनै पनि प्रकारको गैरजिम्मेवार सैन्य हस्तक्षेपमा संलग्न नभएको सङ्केत दिन खोजेको देखिन्छ । यद्यपि चीन र इरानबीच घनिष्ठ आर्थिक सम्बन्ध रहेको छ । चीन इरानको प्रमुख तेल खरिदकर्ता हो, जसले तेहरानको ऊर्जा निर्यातमा महत्त्वपूर्ण भूमिका खेलेको छ । तर विश्लेषकहरूका अनुसार यी दुई देशबीच औपचारिक सैन्य गठबन्धन भने छैन, र उनीहरूको सम्बन्ध मुख्यतः आर्थिक तथा रणनीतिक स्वार्थमा आधारित रहेको मानिन्छ ।

    साथै, चीनले खाडी क्षेत्रका अन्य देशहरूसँग पनि सुदृढ आर्थिक सम्बन्ध कायम राख्दै आएको छ । इरानले युद्धका क्रममा ती देशहरूमाथि गरेको आक्रमणप्रति चीनले आलोचना समेत गर्दै आएको छ, जसले बेइजिङ सन्तुलित कूटनीति अपनाउन खोजिरहेको सङ्केत गर्छ ।

  • इरानलाई सहयोग गरे चीनविरूद्ध ५० प्रतिशत करवृद्धि गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

    इरानलाई सहयोग गरे चीनविरूद्ध ५० प्रतिशत करवृद्धि गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

    वासिङ्टन, ३० चैत (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व युद्धको क्रममा इरानलाई सैन्य सहयोग गरे अमेरिका भित्रिने चिनियाँ सामानमा नयाँ ९थप० कर लगाउने चेतावनी आइतबार दिएका छन् । फक्स न्यूजको कार्यक्रम ‘सन्डे मर्निङ फ्युचर्स विथ मारिया बार्टिरोमो’ मा ट्रम्पले भने, “यदि हामीले उनीहरूलाई त्यसो गरेको देख्यौँ वा पायौँ भने उनीहरूले ५० प्रतिशत थप भन्सार महसुलको सामना गर्नुपर्नेछ।”

    इरानविरुद्धको युद्धका कारण आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँगको शिखर वार्तामा ढिलाइ भएको तर आफू अर्को महिना बेइजिङ जाने अमेरिकी राष्ट्रपति ट्रम्पले बताए । चीनले इरानलाई हतियार पठाउन लागेको भनेर अमेरिकी खुफिया संस्थाको हवाला दिंदै केही सञ्चारमाध्यमले समाचार लेखेका छन्। चीनले केही विमान खसाल्न मिल्ने रकेटसहित ‘एयर डिफेन्स’मा प्रयोग हुने हतियार केही हप्तामै इरान पुग्ने गरी पठाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। यसबारे अमेरिकी समाचार संस्था सिएनएनले ट्रम्पलाई सोधेको थियो। राष्ट्रपति ट्रम्पले भने, “चीनले त्यसो गर्न लागेको हो भने चीनका लागि त्यो ठूलो समस्या हुनेछ ।” अमेरिका र इजराइलले फेब्रुअरी २८ मा इरानमाथि संयुक्त आक्रमण गरेका थिए ।

    केही दिन अघि अमेरिका र इरानबीच दुई हप्ते युद्धविराम भएको थियो। युद्धको स्थायी अन्त्य गर्न अमेरिका र इरानबीच पाकिस्तानमा शनिबार भएको वार्ता निष्कर्षविहीन भएको छ। शनिबार दिउँसोदेखि आइतबार बिहान ५ बजेसम्म चलेको वार्ता निष्कर्षविहीन भएको अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताए ।

  • हर्मुज घाँटीमा ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन

    हर्मुज घाँटीमा ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन

    वासिङ्टन, ३० चैत (रासस–एएफपी) । इस्लामावादमा भएको शान्ति वार्ताका क्रममा इरानले आफ्नो आणविक महत्वाकाङ्क्षा त्याग्न अस्वीकार गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । वार्ता विना निश्कर्ष टुङ्गिएपछि पहिलो प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले भने, “स्ट्रेट अफ हर्मुज’मा अमेरिकी नौसेनाको नाकाबन्दी जारी गर्न आइतबार आदेश दिइएको छ ।’


    पाकिस्तानमा भएको वार्ता ‘राम्रा’े भएको र अधिकांश बुँदामा सहमति भएको स्वीकार गर्दै राष्ट्रपति ट्रम्पले तेहरानले आफ्नो पारमाणविक कार्यक्रमका विषय त्याग्न अस्वीकार गरेको बताए । राष्ट्रपति ट्रम्पले ‘स्ट्रेट अफ हर्मुज’ मा प्रवेश गर्न वा त्यहाँबाट बाहिर निस्कन खोज्ने कुनै पनि पानीजहाजमाथि नाकाबन्दी लगाउने प्रक्रिया तत्कालदेखि लागू हुने गरी काम गर्न अमेरिकी नौसेनालाई निर्देशन जारी गरे ।
    यसैबिच, सन् १९७९ को इस्लामिक क्रान्तिपछि दुई पक्षबीचको उच्चस्तरीय बैठकपछि शान्ति वार्ताको लागि पाकिस्तान पुगेको अमेरिकी प्रतिनिधिमण्डल फिर्ता भएको छ । वार्तामा वासिङ्टनले सम्झौताका लागि तेहरानलाई ‘अन्तिम र उत्तम प्रस्ताव’ दिएको छ।” “हामी यहाँ एक धेरै साधारण प्रस्तावसहित सहभागी भएका थियौँ । हामी हेर्नेछौं कि इरानीहरूले यसलाई स्वीकार गर्छन् कि गर्दैनन्।”

    जर्मनीको रामस्टिन एयर बेसमा एयर फोर्स २ मा इन्धन भर्ने क्रममा एक अमेरिकी अधिकारीले पत्रकारहरूसँग भने, “अमेरिकी वार्ता टोलीका कुनै पनि सदस्य इस्लामाबादमा छैनन् ।” प्रमुख अमेरिकी वार्ताकारहरू स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नरसहितको प्रतिनिधिमण्डल वार्तामा सहभागी भएको थियो ।

  • वार्ता विफल, युद्धविराम कायम राख्न अपिल

    वार्ता विफल, युद्धविराम कायम राख्न अपिल

    इस्लामावाद, २९ चैत (रासस–एएनआई) । अमेरिका र इरानबीच शान्ति वार्ता निष्कर्षविहीन बनेपछि क्षेत्रीय तनाव थप चर्किने सङ्केत देखिएको छ । यस्तो अवस्थामा पाकिस्तानले दुवै पक्षलाई युद्धविराम कायम राख्दै संवादलाई निरन्तरता दिन आग्रह गरेको छ । पाकिस्तानका विदेशमन्त्री इशाक दारले आइतबार दिएको वक्तव्यमा शान्तिपूर्ण समाधानको विकल्प अझै खुला रहेको उल्लेख गर्दै दुवै देशलाई सकारात्मक भावनाका साथ वार्तामा संलग्न रहन आग्रह गरे । उनले क्षेत्रीय मात्र नभई विश्वव्यापी स्थायित्वका लागि पनि युद्धविरामको प्रतिबद्धता कायम राख्नु अत्यन्त आवश्यक रहेको बताए ।


    दारका अनुसार पाकिस्तानले इस्लामिक गणतन्त्र इरान र संयुक्त राज्य अमेरिकाबीच संवादको वातावरण निर्माण गर्न सक्रिय भूमिका खेलेको छ र आगामी दिनहरूमा पनि सहजीकरण जारी राख्नेछ । उहाँले शान्ति वार्तामा सहभागी हुन पाकिस्तानको निमन्त्रणालाई स्वीकार गरेकोमा दुवै देशप्रति आभार व्यक्त गरे ।
    उनले यसअघि पाकिस्तानका प्रधानमन्त्री मुहम्मद शाहबाज सरिफले तत्काल युद्धविरामको आह्वान गर्दै इस्लामाबादमा वार्ताका लागि दिएको निमन्त्रणालाई दुवै पक्षले सकारात्मक रूपमा लिएको उल्लेख गरे ।

    यसलाई क्षेत्रीय कूटनीतिमा महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ । ‘इस्लामावाद वार्ता’ का रूपमा चिनिएको उक्त उच्चस्तरीय बैठकमा दुवै देशका शीर्ष अधिकारीहरूको अभूतपूर्व सहभागिता रहेको थियो । अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गर्नुभएको थियो भने इरानी पक्षको नेतृत्व संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबफले गरेका थिए ।


    दारले आफूले चिफ अफ डिफेन्स फोर्स र सेना प्रमुख फिल्ड मार्शल सैयद असीम मुनीरसँग मिलेर करिब २४ घण्टा लामो गहन र बहुपक्षीय छलफलमा मध्यस्थता गरेको जानकारी दिए । उनका अनुसार वार्ता आइतबार बिहान टुङ्गिएको हो, तर अपेक्षित सहमति भने जुट्न सकेन । वार्ता असफल भएसँगै अमेरिकी उपराष्ट्रपति भान्स इस्लामाबादबाट प्रस्थान गरेका छन् । वार्तामा मुख्य विवादका विषयहरू इरानको आणविक कार्यक्रम र होर्मुज जलडमरूमध्यको नियन्त्रणसँग सम्बन्धित थिए ।

    भान्सले पत्रकारहरूसँग कुरा गर्दै केही विषयमा प्रगति भए पनि अन्ततः कुनै औपचारिक सम्झौता हुन नसकेको बताए । उनले यो अवस्था विशेषगरी इरानका लागि प्रतिकूल भएको टिप्पणी गरे । यद्यपि यसले अमेरिकालाई पनि असर पार्ने स्वीकार गरे । यस घटनाक्रमले कूटनीतिक प्रयासहरू जारी रहे पनि आपसी अविश्वास र रणनीतिक मतभेदका कारण तत्काल समाधानको सम्भावना कमजोर देखिएको सङ्केत गरेको छ ।

  • कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान

    कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान

    टोकियो, २९ चैत (रासस–एएनआई) । अमेरिका–इरान तनावबीच कूटनीतिक वार्ताको औचित्यमाथि प्रश्न उठाउँदै जापानस्थित इरानी दूतावासले सैन्य आक्रमणबाट हासिल गर्न नसकिएका उद्देश्यहरू कूटनीतिका माध्यमबाट थोपर्न नसकिने स्पष्ट पारेको छ । इस्लामाबादमा भएको हालैको वार्तापछि सार्वजनिक धारणा तीव्र भइरहेका बेला इरानले आफ्नो अडान पुनः दोहोर्‍याएको हो ।

    दूतावासले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको वक्तव्यमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अघि सारेको ‘अन्तिम र उत्कृष्ट प्रस्ताव’ लाई एकपक्षीय रूपमा प्रस्तुत गरिएको भन्दै अस्वीकार्य ठहर गरेको छ । उक्त प्रस्ताव स्वभावतः पारस्परिक हुनुपर्ने भन्दै इरानले यसलाई कुनै एक पक्षले दबाब सिर्जना गर्ने औजारका रूपमा प्रयोग गर्न नसकिने जनाएको छ ।

    वक्तव्यमा इरानले भान्सको ‘इरानले हाम्रो सर्त स्वीकार नगर्ने छनोट गरेको छ’ भन्ने अभिव्यक्तिलाई पनि जबरजस्ती तर्कको संज्ञा दिएको छ । दूतावासका अनुसार यस्तो धारणा अर्को पक्षलाई युद्धमैदानमा असफल भएका मागहरू स्वीकार गर्न बाध्य पार्ने प्रयास हो, जुन कूटनीतिक सिद्धान्तविपरीत छ । साथै, पछिल्लो द्वन्द्वको सुरुआत इरानबाट नभई अन्य पक्षबाट भएको दाबीसमेत गरिएको छ ।

    इरानले भान्सका अभिव्यक्तिहरूले अन्तर्राष्ट्रिय समुदायमा थप गम्भीर र आलोचनात्मक बहस आवश्यक बनाएको उल्लेख गरेको छ । ‘इरानका लागि नराम्रो खबर’ भन्ने टिप्पणीलाई लक्षित गर्दै दूतावासले त्यसको यथार्थ मूल्याङ्कन हुनुपर्ने बताएको छ । साथै, वार्ता आयोजना र सहजीकरणमा भूमिका खेलेको पाकिस्तानप्रति इरानले कृतज्ञता व्यक्त गरेको छ ।

    यसैबीच, क्षेत्रीय तनाव अझ चर्काउने सङ्केत देखिएका छन् । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले आफ्ना दुई युद्धपोत युएसएस फ्रान्क ई. पिटरसन (डिडिजी १२१) र युएसएस माइकल मर्फी (डिडिजी ११२) ले होर्मुज जलडमरूमध्य पार गर्दै खानी सफा गर्ने तयारी थालेको जनाएको छ । उक्त कदमलाई उसले जलमार्ग सुरक्षित बनाउने व्यापक अभियानको हिस्सा बताएको छ ।

    तर इरानले अमेरिकी दाबीलाई तत्काल अस्वीकार गरेको छ । इरानी सेनाको खताम अल–अन्बिया केन्द्रीय मुख्यालयका प्रवक्ताले कुनै पनि अमेरिकी जहाज उक्त क्षेत्रमा प्रवेश गरेको दाबी असत्य रहेको बताएका छन् । उनका अनुसार होर्मुज जलडमरूमध्यमा जहाजहरूको आवागमन पूर्ण रूपमा इरानका सशस्त्र बलको नियन्त्रणमा रहेको छ । दुवै पक्षबीच बढ्दो आरोप–प्रत्यारोपले कूटनीतिक समाधानको सम्भावनालाई थप जटिल बनाइरहेको विश्लेषण गरिएको छ, जहाँ वार्ताभन्दा बढी शक्ति प्रदर्शनले प्राथमिकता पाएको सङ्केत देखिन्छ ।

  • इरान–अमेरिका वार्ता निष्कर्षविहीन

    इरान–अमेरिका वार्ता निष्कर्षविहीन

    इस्लामावाद, २९ चैत (रासस–एएफपी) । मध्यपूर्वमा चर्किंदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको मध्यस्थतामा भएको इरान र संयुक्त राज्य अमेरिकाबीचको लामो वार्ता कुनै ठोस सहमतिविना टुङ्गिएको छ । २१ घण्टासम्म चलेको म्याराथन छलफलपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आइतबार वार्ता निष्कर्षविहीन बनेको जानकारी दिए ।

    वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले वासिङ्टनले तेहरानसँग आणविक हतियार विकास नगर्ने ‘मौलिक प्रतिबद्धता’ खोजेको भए पनि त्यसतर्फ स्पष्ट सङ्केत नदेखिएको बताए । सन् १९७९ को इस्लामिक क्रान्तिपछि उच्चस्तरीय रूपमा भएको यस्तो संवादलाई महत्त्वपूर्ण मानिए पनि अपेक्षित उपलब्धि हासिल हुन सकेन । उनका अनुसार अमेरिकाले इरानलाई ‘अन्तिम र उत्तम प्रस्ताव’ दिएको छ र त्यसबारे निर्णय लिन केही समय प्रदान गरिएको छ ।

    यसैबीच, संयुक्त राज्य अमेरिका र इजरायलले मङ्गलबारदेखि दुई साताका लागि वार्ता स्थगित गर्ने सङ्केत दिएका छन् । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको द्वन्द्वले मध्यपूर्व क्षेत्रलाई अस्थिर बनाउनुका साथै विश्व अर्थतन्त्रमा समेत असर पारेको छ । आक्रमणपछि इरानले प्रतिशोधात्मक कदम चालेपछि तनाव झनै चुलिएको हो ।

    वार्ताका क्रममा दुवै पक्ष आ–आफ्ना कडा अडानसहित प्रस्तुत भएका थिए । अमेरिकाले होर्मुज जलडमरूमध्य क्षेत्रमा माइन हटाउन युद्धपोत पठाएको दाबी गर्दै दबाब सिर्जना गरिरहेको आरोप इरानी पक्षले लगाएको छ । उक्त जलडमरूमध्य विश्वको करिब पाँचौँ भाग तेल आपूर्तिको प्रमुख मार्ग मानिन्छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने वार्ताको परिणामप्रति आफूलाई खास चासो नभएको प्रतिक्रिया दिएका छन् । उनले युद्धमैदानमा अमेरिका पहिले नै विजयी भइसकेको दाबी गर्दै इरानी नेतृत्वलाई कमजोर पारिएको र सैन्य संरचनामा क्षति पुर्‍याइएको उल्लेख गरे । “सम्झौता भए पनि नभए पनि फरक पर्दैन, हामीले जितिसकेका छौँ”, उनले भने ।


    उता, इरानले भने कुनै पनि सम्भावित सम्झौतामा आफ्ना जफत गरिएका सम्पत्ति फुकुवा हुनुपर्ने र लेबनानमा हिजबुल्लाहविरुद्धको इजरायली आक्रमण रोकिनुपर्ने माग राखेको छ । तर भान्सले ती विषयहरू इस्लामावाद वार्ताको दायराभन्दा बाहिर रहेको स्पष्ट पारे । वार्तामा इरानी प्रतिनिधिमण्डलको नेतृत्व संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबफले गरेका थिए ।

    विदेशमन्त्री अब्बास अराघची पनि सहभागी थिए । अमेरिकी टोलीमा ट्रम्पका निकट सहयोगी स्टिभ विटकफ र जारेड कुशनरसमेत सहभागी थिए । इरानले विशेषतः भान्सको उपस्थिति र विगतमा युद्धविरोधी धारणा राखेकाले वार्ताप्रति केही अपेक्षा गरेको थियो ।

    युद्ध सुरु भएसँगै इरानले होर्मुज जलडमरूमध्यमाथि नियन्त्रण कायम गर्दै विश्व तेल बजारमा प्रभाव पारेको छ । तेलको मूल्य वृद्धिले अमेरिकामा समेत राजनीतिक दबाब सिर्जना गरेको छ । अमेरिकी सेनाले जलडमरूमध्य सुरक्षित बनाउने प्रयास गरिरहेको दाबी गरे पनि इरानले त्यस्तो कुनै गतिविधि स्वीकार गरेको छैन र हस्तक्षेप भए कडा जवाफ दिने चेतावनी दिएको छ ।

    यता लेबनानमा इजरायल र हिजबुल्लाहबीचको द्वन्द्व पनि जारी छ । इजरायली आक्रमणमा मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघिसकेको लेबनानी अधिकारीहरूले जनाएका छन् । आगामी साता इजरायल र लेबनानबीच वासिङ्टनमा छुट्टै वार्ता हुने तयारी छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दीर्घकालीन शान्ति सम्झौताको चाहना व्यक्त गरेको भए पनि हिजबुल्लाहसँग तत्काल युद्धविराममा सहमति जनाएका छैनन् ।

    यसैबीच, इरानभित्रै पनि अमेरिकाप्रति गहिरो अविश्वास कायमै देखिएको छ। “अमेरिकासँगको वार्ताको अनुभव सधैँ असफलता र भङ्ग गरिएका प्रतिबद्धतासँग जोडिएको छ”, गालिबफले भने। यद्यपि दुवै पक्षले कूटनीतिक ढोका पूर्ण रूपमा बन्द नगरेको सङ्केत दिएका छन् । विशेषज्ञहरूका अनुसार ठूलो र उच्चस्तरीय इरानी टोलीको सहभागिताले उनीहरू सम्झौताको सम्भावनाप्रति गम्भीर रहेको देखाए पनि आपसी अविश्वास र क्षेत्रीय जटिलताले सहमति टाढा धकेलेको छ ।

  • युरोपियन युनियनद्वारा अवैध इजरायली विस्तारको निन्दा

    युरोपियन युनियनद्वारा अवैध इजरायली विस्तारको निन्दा

    ब्रसेल्स (बेल्जियम), २९ चैत (रासस–एएनआई) । इजरायलले कब्जा गरेको वेस्ट ब्याङ्क क्षेत्रमा ३० भन्दा बढी नयाँ बस्तीहरू स्थापना गर्ने पछिल्लो इजरायली निर्णयको युरोपियन युनियनले कडा निन्दा गरेको छ । विज्ञप्ति जारी गर्दै इयुले इजरायलको विस्तारले अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन र दुई–राज्य बीचको लामो समयदेखिको सौभार्दपूर्ण सम्बन्धमा खतरा उत्पन्न भएको बताएको छ ।

    युरोपेली युनियनले पूर्वी जेरुसेलमसहित वेस्ट ब्याङ्कमा आफ्नो कब्जा विस्तार गर्ने इजरायली कदमको निन्दा गरेको छ भने अन्तर्राष्ट्रिय अदालतको गैरकानूनी घोषणा गरेको छ । इयुले इजरायललाई यी निर्णयहरू उल्टाइ अन्तर्राष्ट्रिय कानून अनुसार आफ्नो दायित्वहरूको पालना गर्न र कब्जा गरिएका क्षेत्रहरूका प्यालेस्टिनीहरुको रक्षा गर्न आग्रह गरेका छन् ।


    यसै बीच युरोपियन युनियनले प्यालेस्टिनी नागरिकहरू विरुद्धको गरिएको हिंसाको निन्दा गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्का प्रस्ताव अनुसार दुई–राज्य इजरायल र प्यालेस्टाइन, न्यायपूर्ण र स्थायी शान्ति हित आफ्नो सीमाभित्र शान्तिको साथ बस्न् पाउनु पर्ने बताएको छ । इस्लामिक सहयोग सङ्गठन (ओआईसी) ले पनि शुक्रबार इजरायली कब्जामा रहेको वेस्ट ब्याङ्कमा ३४ वटा नयाँ बस्तीहरूको स्वीकृतिको निन्दा गर्दै यो निर्णयले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको बताएको छ ।

    इजरायली सरकारले अप्रिलको सुरुमा “गोप्य रूपमा“ गरेको यो निर्णयले अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन भएको प्यालेस्टिन सरकारले जनाएको छ ।
    अल जजिराका अनुसार इजरायली सरकारबाट हाल सम्म यस विषयमा कुनै टिप्पणी आएको छैन । गत बिहीबार स्वीकृत भएका बस्तीहरू सहित सन् २०२२ मा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकार सत्तामा आएपछि स्वीकृत भएका ६८ वटा भन्दा माथि भएको अल जजिराले जनाएको छ ।

  • संयुक्त राष्ट्रसङ्घद्वारा जवाफदेहिताका लागि माग

    संयुक्त राष्ट्रसङ्घद्वारा जवाफदेहिताका लागि माग

    जेनेभा, २९ चैत (रासस–एएफपी) । संयुक्त राष्ट्र सङ्घका प्रमुखहरूले शनिबार मध्यपूर्वमा व्यापक अन्तर्राष्ट्रिय कानून उल्लङ्घनको लागि दण्डहीनताको अन्त्य गर्न माग गरेका छन् । इरानमा अमेरिका–इजरायल आक्रमणले सुरु गरेको युद्धमा हताहतीको सङ्ख्या बढ्दै गएको छ । संयुक्त राष्ट्रसङ्घका विभिन्न निकायका प्रमुखले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रमा ‘युद्धका नियम र अन्तर्राष्ट्रिय मानवीय कानुनको निरन्तर उल्लङ्घनबाट आत्तिएको’ बताएका हुन् । संयुक्त राष्ट्रसंघको अन्तर–निकाय स्थायी समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘युद्धका पनि नियम हुन्छन् र यी नियमको सम्मान गर्नुपर्छ ।”

    संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख टम फ्लेचर र संयुक्त राष्ट्रसंघीय मानवअधिकार, स्वास्थ्य, खाद्य, शरणार्थी र बालबालिकाका लागि संयुक्त राष्ट्रसंघीय निकायका प्रमुखहरूले लेखेको संयुक्त वक्तव्यमा फेब्रुअरी २८ मा मध्यपूर्व युद्ध सुरु भएयता बढ्दो हताहती सङ्ख्याको निन्दा गरिएको छ । “मध्य पूर्वमा गत महिना मात्र हजारौं नागरिक मारिएका छन् र घाइते भएका छन्। लाखौँ धेरै पटक विस्थापित भएका छन्”, वक्तव्यमा भनिएको छ,
    “संख्या बढ्दै गएको छ र आवश्यक सेवाहरूमा पहुँचका लागि झन् गाह्रो भइरहेको छ।”

    वक्तव्यमा भनिएको छ, “युद्धका क्रममा स्वास्थ्यकर्मी, अस्पताल र एम्बुलेन्सलाई निशाना बनाइएको छ । विद्यालयहरू प्रभावित भएका छन्। पुल, आवासीय भवन, घर, खानेपानी सुविधा र पावर प्लान्टलगायत नागरिक पूर्वाधारहरू ध्वस्त भएका छन् ।” उनीहरूले खाद्यान्न र इन्धनको मूल्य बढेसँगै महिला र बालबालिका तथा अन्य विशिष्ट आवश्यकता भएका व्यक्तिहरूका साथै विश्वव्यापी आपूर्ति शृङ्खलामा पर्ने प्रभावबारे विशेष चिन्ता व्यक्त गरेका छन् ।

    यसैबिच, उनीहरूले आफ्ना मानवीय सहकर्मीहरू युद्धमा फसेका बताएका छन् । क्तव्यमा भनिएको छ, “यस वर्षको सुरुदेखि नै प्यालेस्टाइन क्षेत्रमा १४, इरानमा आठ र लेबनानमा पाँच सहायताकर्मीहरू मारिएका छन् वा घाइते भएका छन्। यो सहायताकर्मीको हताहतीको एक खतरनाक सङ्ख्या हो।” एजेन्सीका प्रमुखहरूले भनेका छन्, “हामी मानवीय र स्वास्थ्यकर्मीहरू र नागरिक वस्तुहरू सहित नागरिकहरूमाथि हुने सबै आक्रमणको कडा निन्दा गर्दछौँ।”

    “संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरू हुन् वा सशस्त्र समूहहरू सबै पक्षले मानवीय कर्मचारीहरू र नागरिक पूर्वाधारहरू सहित नागरिकहरूको सुरक्षा गर्ने उनीहरूको कानुनी दायित्वको सम्मान गर्नुपर्छ,“ उनीहरूले भने, “सबै उल्लङ्घनहरू जवाफदेहीताका साथ पूरा गरिनु पर्छ।”

  • कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

    कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

    बोगोटा, २९ चैत (रासस–एएफपी) । दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी व्यापार तनाव थप चर्किएको छ । इक्वेडरले कोलम्बियाली सामानमा कर बढाएको भोलिपल्ट नै कोलम्बियाले पनि प्रतिउत्तरस्वरूप इक्वेडरबाट आयात हुने वस्तुमा १०० प्रतिशतसम्मको भन्सार शुल्क लगाउने निर्णय गरेको जनाएको छ । कोलम्बियाको वाणिज्य मन्त्रालयका अनुसार यो कदम प्रत्यक्ष रूपमा इक्वेडरको निर्णयको प्रतिक्रिया हो । बिहीबार इक्वेडरले कोलम्बियाली वस्तुमा लगाइँदै आएको ५० प्रतिशत करलाई बढाएर १०० प्रतिशत पुर्‍याएको थियो । त्यसको जवाफमा कोलम्बियाले पनि समान स्तरको शुल्क लागू गरेको हो ।

    दुवै देशबीच केही महिनादेखि व्यापारिक विवाद चल्दै आएको छ । इक्वेडरका राष्ट्रपति डेनियल नोबोआले कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले साझा सीमामा लागुऔषध तस्करी र अवैध खनन नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै आउनुभएको छ । यही विषयले दुई देशबीचको सम्बन्धलाई थप तनावपूर्ण बनाएको छ ।

    कर वृद्धि मात्र नभई कूटनीतिक सम्बन्धमा पनि असर परेको छ । इक्वेडरको निर्णयपछि कोलम्बियाले आफ्नो राजदूतलाई बोगोटा फिर्ता बोलाएको छ । वर्षको सुरुदेखि नै इक्वेडरले चरणबद्ध रूपमा भन्सार शुल्क बढाउँदै आएको र त्यसको जवाफमा कोलम्बियाले पनि पारस्परिक भन्सार शुल्क लागू गर्दै आएको देखिन्छ । यो सुरुमा ३० प्रतिशतबाट बढ्दै १०० प्रतिशतसम्म पुगेको छ ।

    यद्यपि, कोलम्बियाले केही क्षेत्रलाई भने आंशिक रूपमा सहज बनाउने सङ्केत दिएको छ । राष्ट्रपति पेट्रोले औद्योगिक उत्पादनका लागि आवश्यक केही कच्चा पदार्थमा ‘शून्य प्रतिशत कर’ लागू गरिने उल्लेख गरेका छन् । जसले घरेलु उद्योगलाई राहत दिन सक्छ । कोलम्बियाकी वाणिज्यमन्त्री डायना मोरालेसले दुवै देशबीच कूटनीतिक प्रयासहरू लगभग समाप्त भइसकेको बताउँदै स्थिति गम्भीर बन्दै गएको सङ्केत गरिन् । यसै साता पेट्रोले इक्वेडरका पूर्वउपराष्ट्रपति जोर्ज ग्लासलाई ‘राजनीतिक बन्दी’ भनेपछि विवाद झन् बढेको हो ।

    ग्लासले २०१३ देखि २०१८ सम्म विभिन्न सरकारहरूमा सेवा गरेका थिए । गत वर्ष भ्रष्टाचारको आरोपमा १३ वर्षको जेल सजाय पा्रएका थिए । उनले जेलमा अमानवीय व्यवहार भोग्नुपरेको दाबी गर्दै आएका छन्् । तनाव यति बढेको छ कि कोलम्बियाले पेरु, बोलिभिया र इक्वेडर सम्मिलित क्षेत्रीय सङ्गठन एन्डियन कम्युनिटी अफ नेसन्स (क्यान) बाट बाहिरिने सम्भावना पनि उठाएको छ । यद्यपि, क्यानले शुक्रबार दुवै देशबीच संवाद गराउने प्रयासस्वरूप कूटनीतिक बैठक आयोजना गरेको जनाएको छ ।

    आर्थिक दृष्टिले दुवै देश एकअर्कामा निर्भर छन् । कोलम्बियाले इक्वेडरमा मुख्य रूपमा बिजुली, औषधि, सवारी साधन, सौन्दर्य सामग्री र प्लास्टिकजन्य वस्तु निर्यात गर्छ भने इक्वेडरबाट तरकारीजन्य तेल, डिब्बाबन्द टुना, खनिज तथा धातु आयात गर्छ । यस क्षेत्रको अर्को जटिल पक्ष लागुऔषध तस्करी पनि हो । कोलम्बिया र पेरुमा उत्पादित करिब ७० प्रतिशत कोकेन इक्वेडर हुँदै प्रशान्त महासागरका बन्दरगाहबाट बाहिरिने गरेको छ । यसले इक्वेडरलाई आपराधिक गतिविधिको केन्द्र बनाएको छ ।

    एक समय शान्त मानिएको इक्वेडर अहिले आपराधिक समूहहरूबीचको सङ्घर्षले प्रभावित भएको छ, जसका कारण हिंसा र हत्याका घटनामा उल्लेखनीय वृद्धि भएको छ । यस्तो अवस्थामा व्यापार युद्धसँगै सुरक्षाको चुनौतीले पनि क्षेत्रीय स्थायित्वमा थप दबाब सिर्जना गरेको छ ।

  • युद्धविरामअघि ओडिसामा घातक हमला

    युद्धविरामअघि ओडिसामा घातक हमला

    किएभ, २९ चैत (रासस–एपी) । अर्थोडक्स इस्टरको अवसरमा घोषणा गरिएको अस्थायी युद्धविराम लागू हुन केही घण्टाअघि नै युक्रेनको ओडिसा सहरमा भएको रुसी ड्रोन आक्रमणले शान्तिको प्रयासमाथि गम्भीर प्रश्न उठाएको छ । शनिबार राति भएको उक्त हमलामा कम्तीमा दुई जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् । कृष्ण सागर किनारमा अवस्थित रणनीतिक बन्दरगाह सहर ओडिसामा ड्रोन प्रहार हुँदा आवासीय क्षेत्र नराम्ररी प्रभावित भएको छ । स्थानीय अधिकारीहरूका अनुसार आक्रमणले अपार्टमेन्ट भवन, निजी घरहरू र एक किन्डरगार्टेनमा क्षति पुर्‍याएको छ, जसले सर्वसाधारणको सुरक्षाप्रति चिन्ता बढाएको छ ।

    युक्रेनी वायु सेनाका अनुसार रुसले रातभर देशभर १६० वटा ड्रोन प्रक्षेपण गरेको थियो । तीमध्ये १३३ वटा खसालिएका वा निष्क्रिय पारिएका थिए । यो आक्रमण प्रस्तावित ३२ घण्टे इस्टर युद्धविराम लागू हुनुअघि भएको हो । उता, रुसको रक्षा मन्त्रालयले पनि आफ्ना क्षेत्रमा युक्रेनी आक्रमण भएको दाबी गर्दै रातभर ९९ वटा ड्रोन खसालेको जनाएको छ । यसले दुवै पक्षबीचको तनाव अझै उच्च स्तरमै रहेको सङ्केत गरेको छ ।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार इस्टर सप्ताहन्तका लागि ३२ घण्टे युद्धविराम घोषणा गर्दै शनिबार साँझ ४ बजेदेखि सबै सैन्य गतिविधि रोक्न निर्देशन दिएका थिए । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि यस कदमलाई प्रतिबिम्बित गर्न आफ्नो देश तयार रहेको बताए । तर विगतका अनुभवले यस्तो युद्धविराम प्रभावकारी हुनेमा शङ्का उत्पन्न भएको छ । अघिल्ला प्रयासहरूमा दुवै पक्षले एकअर्कामाथि उल्लङ्घनको आरोप लगाउँदै आएका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पुटिनको घोषणालाई ‘मानवीय पहल’ भन्दै प्रस्तुत गरेका छन् । तर दीर्घकालीन समाधानका लागि रुसका प्रमुख मागहरू अझै कायम रहेको स्पष्ट पारेका छन् ।


    यसबीच, इस्टरको अवसर पारेर कैदी आदानप्रदानको सम्भावनाबारे पनि छलफल भइरहेको छ । रुसकी मानवअधिकार लोकपाल तात्याना मोस्काल्कोभाले दुवै पक्ष यस विषयमा काम गरिरहेको बताए । नियमित कैदी आदानप्रदानलाई मस्को र किएभबीचको लामो समयदेखिको तनावपूर्ण सम्बन्धमा दुर्लभ सकारात्मक पक्षका रूपमा हेरिएको छ । अमेरिकी मध्यस्थतामा भएका वार्ताहरूले अहिलेसम्म ठोस प्रगति गर्न सकेका छैनन् । युद्ध पाँचौँ वर्षमा प्रवेश गरिसकेको अवस्थामा मूल विवादका मुद्दाहरू अझै समाधान नहुँदा स्थायी शान्तिको सम्भावना अनिश्चित देखिएको छ ।

  • गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु

    गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु

    गाजा , प्यालेस्टिनी क्षेत्रहरू, २९ चैत (रासस–एएफपी) । गाजाको नागरिक रक्षा तथा उद्धार सेवाले शनिबार प्यालेस्टिनी क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा परी सात जनाको मृत्यु भएको बताएको छ । अल–बुरेज शरणार्थी शिविरमा रहेको प्रहरी चौकी नजिकै इजरायलले दुईवटा क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ । मध्य गाजाको अल–अक्सा अस्पतालमा छ जनाको शव आएको र सात जना घाइतेहरु उपचारको लागि आएको उल्लेख गरिएको छ भने घाइते मध्य चार जनाको अवस्था गम्भीर रहेको बताएको छ ।

    नजिकैको अल–अवदा अस्पतालमा एक जनाको मृत्यु भएको र दुई जना घाइते भएको बताइएको छ । सन् २०२३ देखि सुरु भएको सीमापार आक्रमणको दुई वर्ष पछि अक्टोबर– १० देखि लागु भएको युद्धविराम उल्लङ्घन गरेको आरोप इजरायल र हमासले एक–अर्कालाई लगाउदै आएका छन् । युद्धविराम सुरु भए देखि कम्तिमा ७३८ प्यालेस्टिनीहरू मारिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबीच इजरायली सेनाले युद्धविराम सुरु भए देखि पाँच जना सैनिक मारिएको जनाएको छ । गाजामा मिडिया प्रतिबन्ध कारण अन्तर्राष्ट्रिय प्रेसलाई अझै पनि इजरायली अधिकारीहरूले प्रवेश गर्न प्रतिबन्ध लगाएको एएफपीले जनाइएको छ ।