Category: अमेरिका

  • थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

    थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

    वासिङ्टन, १० चैत (रासस–एएफपी) । अमेरिकी विदेश मन्त्रालयले कम्बोडिया, इथियोपिया र जर्जियासहित थप १२ देशका विदेशीहरूले भिसा प्राप्त गर्न १५ हजार डलर जम्मा गर्नुपर्ने बुधबार बताएको छ। अमेरिकी विदेश मन्त्रालयले भनेको छ, “पछिल्लो निर्णयले ट्रम्प प्रशासनको ‘भिसा बन्ड कार्यक्रम’ अप्रिल २ देखि लागू हुने गरी ५० राष्ट्रहरूमा ल्याउनेछ। यो कार्यक्रम, जुन छोटो अवधिको व्यापार र पर्यटन भिसा दुवैमा लागू हुन्छ, गत वर्ष अवैध आप्रवासनमाथि ट्रम्प प्रशासनको सामूहिक दमनको एक भागको रूपमा ‘भिसा अनुमतिभन्दा बढी’ समय बस्ने विदेशीलाई त्यसो गर्नबाट रोक्नका लागि सुरु गरिएको हो ।

    यदि आवेदकले सबै भिसा सर्तहरू पालना गरेमा रकम फिर्ता गरिनेछ। यदि आवेदक समय सीमा भन्दा धेरै समय संयुक्त राज्य अमेरिकामा रहेमा रकम जफत गरिनेछ। अमेरिकी विदेश मन्त्रालयले जारी गरेको तथ्यपत्रमा भनिएको छ, “यस कार्यक्रमअन्तर्गत करिब एक हजार विदेशीहरूलाई भिसा जारी गरिएको छ र सर्तमा बाँधिएका ९७ प्रतिशत यात्रीहरू समयमै अमेरिकाबाट स्वदेश फर्किएका छन् ।”

    कम्बोडिया, इथियोपिया, जर्जिया, ग्रेनाडा, लेसोथो, मौरिसस, मङ्गोलिया, मोजाम्बिक, निकारागुआ, पपुवा न्युगिनी, सेसेल्स र ट्युनिसिया गरी नयाँ राष्ट्रहरु यस कार्यक्रममा थपिएका छन् । अन्य ३८ देशमा अल्जेरिया, अङ्गोला, एन्टिगुवा र बार्बुडा, बङ्गलादेश, बेनिन, भुटान, बोत्सवाना, बुरुन्डी, काबो भर्दे, मध्य अफ्रिकी गणतन्त्र, आइभरी कोस्ट, क्युबा, जिबुटी, डोमिनिका र फिजी रहेका छन् । यो समूहमा गाम्बिया, गिनी, गिनी बिसाउ, किर्गिस्तान, मलावी, मौरिटानिया, नामिबिया, नाइजेरिया, साओ टोमे, प्रिन्सेपे, सेनेगल, ताजिकिस्तान, तान्जानिया, टोगो, टोंगा, तुर्कमेनिस्तान, तुभालु, युगान्डा, भानुआटु, भेनेजुएला, जाम्बिया र जिम्बावेलाई पनि समावेश गरिएको थियो ।

  • न्यूयोर्क विमान दुर्घटनापछि कैयौं उडान प्रभावित

    न्यूयोर्क विमान दुर्घटनापछि कैयौं उडान प्रभावित

    न्यूयोक, १० चैत (रासस–एएफपी) । सोमबार बिहान न्यूयोर्कको लागार्डिया विमानस्थलमा एक विमान रनवेमा ठोक्किँदा विमानस्थलका उडानहरू रद्द भएका छन् । एयर क्यानाडा एक्सप्रेसको यात्रुवाहक जहाज माउन्ट्रियलबाट उत्रँदै गर्दा रनवेमा रहेको गाडीमा ठक्कर दिएको बताइएको छ । विमानको अगाडिको भाग र ककपिट क्षेत्र गम्भीर रूपमा क्षतिग्रस्त भएको दृश्यहरू सामाजिक सञ्जालमा देखा परेका छन् भने उद्धार र आपत्कालीन सेवाहरूले घटनास्थलमा सक्रिय प्रतिक्रिया जनाएका छन् ।

    संयुक्त राज्य नागरिक उड्डयन प्रशासनले सम्पूर्ण उडानहरूमा ग्राउन्ड स्टप जारी गरेको छ र स्थानीय आपत्कालीन प्राधिकरणले यात्रु तथा यातायातमा रद्द र ढिलाइ हुने चेतावनी दिएको छ । अहिलेसम्म यस दुर्घटनामा कति घाइते भएका छन् भन्ने आधिकारिक पुष्टि नभएको छ र घटनाको जाँच जारी रहेको अधिकारीहरूले जनाएका छन् ।

  • इरानको कडा प्रतिवादको चेतावनीपछि गले ट्रम्प

    इरानको कडा प्रतिवादको चेतावनीपछि गले ट्रम्प

    तेहरान, ९ चैत (रासस–एपी) । मध्यपूर्वमा जारी युद्धको चौथो हप्तामा, अमेरिकाले इरानविरुद्धको चेतावनी जारी गरेपछि इरानले हर्मुज स्ट्रेट ‘पूर्ण रूपमा बन्द’ गर्ने चेतावनी दिएको थियो । स्ट्रेट तेल र अन्य निर्यातका लागि अत्यन्त महत्वपूर्ण छ । तर, अमेरिकी राष्ट्रपति आफ्नो चेतावनीबाट ब्याक भएका छन् । अन्ततः उनी स्वयमले युद्धविरामको घोषणा गरेका छन् । यसअघि इरानले यदि अमेरिका इरानका पावर प्लान्टहरूमा आक्रमण गर्छ भने तत्काल प्रतिक्रिया स्वरूप हर्मुज स्ट्रेट बन्द गरिने जनाएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार साँझ स्ट्रेट खोल्न ४८ घण्टे समयसीमा तोकेका थिए ।

    इजरायली नेताहरूले दक्षिणी इलाकाका दुई समुदायको भ्रमण गरे जहाँ इरानी मिसाइल आक्रमणबाट धेरै मानिस घाइते भएका थिए । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले कुनै मृत्यु नहुँदा यसलाई ‘अद्भुत’ बताएका थिए । नेतन्याहूले इजरायल र अमेरिकाले युद्ध लक्ष्य हासिल गर्न प्रगति गर्दै आएको दाबी गरे । यसमा इरानको नाभिकीय कार्यक्रम, मिसाइल कार्यक्रम र हथियारयुक्त समूहहरूको समर्थन कमजोर पार्ने साथै इरानी जनतालाई धर्मनिरपेक्ष शासनतर्फ उन्मुख गर्ने उद्देश्य रहेको छ ।

    इरानले हर्मुज स्ट्रेटमा प्रभावकारी रूपमा जहाज आवागमन रोकिरहेको छ, तर शत्रु देशहरू बाहेकका जहाजहरूलाई सुरक्षित आवागमनको अनुमति दिएको छ । यो स्ट्रेट विश्व तेल आपूर्तिको लगभग एक–पाँचौं हिस्साका लागि अत्यन्त महत्त्वपूर्ण छ । इरानी संसदका अध्यक्ष मोहम्मद बाघेर कलीबाफले यदि इरानका पावर प्लान्ट र संरचना निशाना बनाइए, यसले सम्पूर्ण क्षेत्रका ऊर्जा र पेयजल (डिजेलिनेसन) सुविधा प्रभावित हुने चेतावनी दिएका थिए ।

    इरानले आफ्नो मुख्य नाभिकीय समृद्धि केन्द्र नातान्जमाथि गरिएको आक्रमणको प्रतिकार स्वरूप नेगेभ मरुभूमिमा मिसाइल प्रहार गरेको छ । दक्षिण इजरायलको मुख्य अस्पतालले अराद र डिमोना शहरबाट कम्तीमा १७५ घाइते प्राप्त गरेको जनाएको छ । इजरायलको सुरक्षा बलले हिजोदेखि लेबननमा लक्ष्य सूचीमा पुलहरू समेत समावेश गरेका छन्, जसले शत्रु समूह हिजबुल्लाहको सेनालाई दक्षिणमा सर्न कठिन बनाउनेछ ।

  • रूसद्वारा इरान युद्धको ‘राजनीतिक’ समाधानको माग, पहल भइरहेको अमेरिकाको भनाइ

    रूसद्वारा इरान युद्धको ‘राजनीतिक’ समाधानको माग, पहल भइरहेको अमेरिकाको भनाइ

    वासिङ्टन, ९ चैत (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्व अन्त्यका लागि वासिङ्टन र तेहरानबीच वार्ता भएको खुलासा गरेसँगै रुसले मध्यपूर्व युद्धको ‘राजनीतिक र कूटनीतिक’ समाधानका लागि सोमबार आह्वान गरेको छ । इरानी विदेश मन्त्री अब्बास अराघचीसँगको कुराकानीमा रुसी कूटनीतिज्ञ सर्गेई लाभरोभले शत्रुता तत्काल अन्त्य गर्न र इरानमा संलग्न सबै पक्षको वैधानिक हितलाई ध्यानमा राख्ने राजनीतिक समाधान खोज्न आग्रह गरेका हुन् । रुसी वक्तव्यमा अमेरिका–इरान वार्ताको कुनै उल्लेख गरिएको छैन । अमेरिकाले वार्ताको पहल भइरहेको बताए पनि तेहरानले यसको पुष्टि गरेको छैन ।

    राष्ट्रपति ट्रम्पले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, “विगत दुई दिनमा दुवै पक्षबीच शत्रुताको पूर्णसमाधानका लागि निकै राम्रो र फलदायी कुराकानी भएको छ ।” राष्ट्रपति ट्रम्पले पहिले इरानलाई ‘स्ट्रेट अफ हर्मुज’ पुनः खोल्न चेतावनी जारी गर्दै अन्यथा इरानको ऊर्जा पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिएक थिए । तर सोमबार पाँच दिनका लागि आक्रमण रोक्न आदेश दिएको बताएका छन् । फेब्रुअरी २८ मा अमेरिका–इजरायलले इरानमाथि गरेको बमबारीका कारण युद्ध सुरु भएदेखि नै जलमार्ग बन्द गरिएको छ । मस्कोले वार्ताका लागि पहिले पहल इरानले सुरु गरेको बताएको छ ।

  • इरानसँग फलदायी वार्ता भएको ट्रम्पको भनाइ, ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न निर्देशन

    इरानसँग फलदायी वार्ता भएको ट्रम्पको भनाइ, ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न निर्देशन

    वासिङ्टन, ९ चैत (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार तेहरानसँग ‘धेरै राम्रो र फलदायी वार्ता’ पछि इरानको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न आदेश दिएको बताएका छन् । आफ्नो पूर्व चेतावनी बमोजिम अघि नबढ्न र कारबाही रोक्न अमेरिकी र इजरायली सेनालाई आदेश दिएको उनले बताए । वार्ता यो हप्ता जारी रहनेछ ।

    ट्रम्पले सोमबार बिहान आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा लेखेका छन्, “संयुक्त राज्य अमेरिका र इरानबीच मध्य पूर्वमा हाम्रो शत्रुताको पूर्ण समाधानको बारेमा विगत दुई दिनमा धेरै राम्रो र फलदायी कुराकानी भएको छ।” उनले भने, “हप्ताभरि जारी रहने यो रचनात्मक वार्ताको प्रतिवद्धतालाई ध्यानमा राख्दै मैले युद्ध विभागलाई इरानको ऊर्जा प्लान्ट र पूर्वाधारमा सबै सैन्य आक्रमणहरू पाँच दिनका लागि स्थगित गर्न निर्देशन दिएको छु। यो निर्णय बैठक र छलफलको सफलतामा निर्भर हुनेछ।”

  • द्वन्द्व अन्त्यका लागि इरानका छ सर्त

    द्वन्द्व अन्त्यका लागि इरानका छ सर्त

    बेरुत, ९ चैत (रासस–सिन्ह्वा) । तेहरानले अमेरिका–इजरायली आक्रमणको प्रतिक्रियामा पूर्व–योजनाबद्ध, बहु–चरणीय रणनीति बनाइरहेको र द्वन्द्व अन्त्यका लागि छवटा सर्तहरू राखेको इरानका एक वरिष्ठ अधिकारीले आइतबार बताएका छन् । नाम नबताउने सर्तमा ती अधिकारीले भने, “महिनौं पहिले तयार गरिएको रणनीति ‘उच्च रणनीतिक धैर्यताका साथ’ कार्यान्वयन भइरहेको छ। इरानले आफ्नो पूर्वाधार, सेवा सुविधा र रणनीतिक स्थानहरूमा आक्रमण गरेपछि चाँडै युद्धविराम हुने अपेक्षा नगरेको पनि उनले बताए।

    धेरै क्षेत्रीय अभिनेता र मध्यस्थकर्ताहरूले द्वन्द्व अन्त्यका लागि उपायहरू प्रस्ताव गरेका छन्, ती अधिकारीले भने। तेहरानले कुनै पनि सम्झौताअघि नयाँ आक्रमण नहुने सुनिश्चितता, यस क्षेत्रमा अमेरिकी आधार बन्द गर्ने, इरानलाई क्षतिपूर्ति, क्षेत्रीय मोर्चामा शत्रुताको अन्त्य, ‘स्ट्रेट अफ हर्मुज’का लागि नयाँ कानुनी ढाँचा र इरानप्रति शत्रुतापूर्ण मानिने मिडिया र व्यक्तित्वहरू विरुद्ध कानुनी कारबाहीसहित पूरा गर्नुपर्ने छवटा सर्त राखेको छ ।

    फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले तेहरान र अन्य इरानी शहरहरूमा संयुक्त आक्रमण गर्दा इरानका तत्कालीन सर्वोच्च नेता अली खामेनी, वरिष्ठ सैन्य कमान्डर र नागरिकहरू मारिए। इरानले यसको इजरायल र मध्यपूर्वमा अमेरिकी आधार र सम्पत्तिलाई लक्षित गरी मिसाइल र ड्रोन आक्रमणको श्रृङ्खलासहित प्रतिक्रिया दिएको थियो ।

  • होर्मुज तनाव चर्किँदै, प्रतिआक्रमणको चेतावनी

    होर्मुज तनाव चर्किँदै, प्रतिआक्रमणको चेतावनी

    तेहरान, ९ चैत (रासस–एएफपी) । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिकी चेतावनीको कडा प्रतिवाद गर्दै आफ्ना पूर्वाधारमा कुनै पनि आक्रमण भए क्षेत्रभरिका रणनीतिक संरचनामाथि प्रतिआक्रमण गर्ने स्पष्ट सङ्केत दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुज जलडमरूमध्य खुला नगरे शक्तिशाली प्रहार गर्ने चेतावनी दिएसँगै परिस्थितिले थप जटिल मोड लिएको छ ।

    ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममार्फत इरानलाई ४८ घण्टाको समयसीमा दिँदै जलडमरूमध्य खुला नगरे देशका प्रमुख पावर प्लान्टहरूलाई लक्षित गरी ‘नष्ट गर्ने’ चेतावनी दिएका थिए । त्यसको प्रत्युत्तरमा इरानको सैन्य परिचालन कमान्डले अमेरिकासँग सम्बन्धित ऊर्जा, सूचना प्रविधि तथा डिसेलिनेसन पूर्वाधारहरू क्षेत्रभरि निशानामा पर्ने चेतावनी दिएको छ ।

    यसैबीच, इरानले नतान्जस्थित आणविक स्थलमा भएको आक्रमणपछि दक्षिणी इजरायलका अराद र डिमोना सहरमा क्षेप्यास्त्र प्रहार गरेको छ । इजरायली हवाई सुरक्षालाई पार गर्दै प्रहार गरिएका मिसाइलहरूले आवासीय संरचनामा क्षति पुर्‍याएका छन् भने १०० भन्दा बढी मानिस घाइते भएका छन् । डिमोनामा रहेको संवेदनशील आणविक क्षेत्रमा नजिकै प्रहार हुँदा थप चिन्ता बढेको छ, यद्यपि इजरायलले आफ्नो आणविक क्षमताबारे औपचारिक रूपमा स्वीकार गरेको छैन ।

    इजरायलले यसको जवाफस्वरूप तेहरानमा नयाँ हवाई आक्रमण सुरु गरेको जनाएको छ । तीन हप्तादेखि जारी द्वन्द्वमा यो आक्रमण सबैभन्दा विनाशकारीमध्ये एक मानिएको छ । अरादमा विस्फोटपछि उद्धारकर्मीहरूले भग्नावशेषबाट घाइतेहरूको खोजी गरिरहेका दृश्यहरू सार्वजनिक भएका छन् । स्थानीय बासिन्दाहरूले विस्फोटको भयावह अनुभव सुनाएका छन् ।

    यस तनावको केन्द्रमा रहेको होर्मुज जलडमरूमध्य विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्त्वपूर्ण मार्ग हो । यहाँबाट विश्वको झन्डै पाँचौँ भाग कच्चा तेल ओसारपसार हुने गर्दछ । हालको अवरोधका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रतिब्यारेल १०५ डलरभन्दा माथि पुगेको छ, जसले आर्थिक अस्थिरताको सङ्केत दिएको छ ।

    ट्रम्पले नाटो सहयोगीहरूको आलोचना गर्दै जलडमरूमध्य सुरक्षित गर्न सक्रिय भूमिका खेल्न आग्रह गरेका छन् । बेलायत, फ्रान्स, इटाली, जर्मनी, दक्षिण कोरिया, अस्ट्रेलिया, संयुक्त अरब इमिरेट्स र बहराइनसहित २२ राष्ट्रले इरानद्वारा जलमार्ग अवरुद्ध गरिएको भन्दै विरोध जनाएका छन् । अमेरिकी सेन्ट्रल कमान्डका अनुसार हालै इरानका तटीय भूमिगत संरचनामाथि बङ्कर–बस्टिङ बम प्रहार गरिएको छ, जसले इरानको समुद्री मार्ग नियन्त्रण क्षमतामा केही हदसम्म असर पारेको दाबी गरिएको छ । यसैबीच हजारौँ अमेरिकी सैनिकहरू मध्यपूर्वतर्फ परिचालन भइरहेका छन् ।

    इरानले खाडी क्षेत्रका देशहरूलाई पनि निशाना बनाउँदै आएको छ । साउदी अरेबियाले रियाद नजिक तीनवटा ब्यालेस्टिक मिसाइल फेला परेको र तीन ड्रोन खसालिएको जनाएको छ । संयुक्त अरब इमिरेट्सले पनि इरानी आक्रमणको प्रतिकार गरेको बताएको छ । त्यस्तै, इरानले डिएगो गार्सियास्थित अमेरिका–बेलायत सैन्य अड्डामाथि लामो दूरीको मिसाइल प्रहार गर्ने प्रयास गरेको दाबी गरिएको छ, यद्यपि त्यो असफल भएको जनाइएको छ ।

    विश्लेषकहरूका अनुसार इरानको सैन्य क्षमता अपेक्षा गरिएकोभन्दा बढी टिकाउ देखिएको छ । शीर्ष नेतृत्वमा क्षति पुगे पनि सरकार र सैन्य संरचनाले लचकता प्रदर्शन गरेको ठानिएको छ । यस तनावपूर्ण अवस्थाबीच इरानमा रमजानको अन्त्य र नौरोज पर्व मनाइएको छ । सर्वोच्च नेता परिवर्तनपछि सार्वजनिक रूपमा कम देखिएका छन् भने धार्मिक गतिविधिहरू अन्य नेतृत्वमार्फत सम्पन्न भइरहेका छन् । सर्वसाधारणले नयाँ वर्ष मनाइरहँदा युद्धको त्रासले वातावरण गम्भीर बनेको अनुभव गरेका छन् ।

  • इरान तनावबीच संयुक्त राज्य अमेरिका लाई बेलायतको सैन्य सहयोग

    इरान तनावबीच संयुक्त राज्य अमेरिका लाई बेलायतको सैन्य सहयोग

    लण्डन, ८ चैत (रासस–सिन्ह्वा) । बेलायतले संयुक्त राज्य अमेरिकालाई हर्मुज क्षेत्रमा हुने आक्रमणका लागि आफ्ना सैन्य अड्डाहरू प्रयोग गर्न अनुमति दिएको छ । यसबारे डाउनिङ स्ट्रिटले शुक्रबार सार्वजनिक गरेको वक्तव्यमा जानकारी दिएको हो । वक्तव्यअनुसार हर्मुज क्षेत्रमा जहाजहरूलाई लक्षित गरी भइरहेका आक्रमणमा प्रयोग भएका मिसाइल स्थल र क्षमताहरू कमजोर बनाउन यस्तो कदम चालिएको हो ।

    साथै बेलायतले अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर उक्त क्षेत्रमा अन्तर्राष्ट्रिय जल यातायात सुरक्षित गर्ने योजना बनाइरहेको जनाएको छ । यद्यपि, बेलायतले आफू ‘ठूलो द्वन्द्वमा तानिन नचाहेको’ स्पष्ट पारेको छ । यसैबीच, इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले शुक्रबार बेलायती समकक्षीलाई चेतावनी दिँदै अमेरिका र इजरायलको इरानविरुद्धको आक्रमणमा सहयोग नगर्न आग्रह गरेका छन् । उनले यस्तो सहयोगले क्षेत्रीय तनाव थप चर्काउने बताए ।


    गत फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा तेहरान सहित इरानका विभिन्न सहरहरूमा आक्रमण गरेका थिए । उक्त आक्रमणमा अली खामेनेई सहित उच्च सैन्य अधिकारी र सर्वसाधारणको मृत्यु भएको थियो । त्यसपछि इरानले जवाफस्वरूप इजरायल र मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमणहरू गरेको जनाएको छ ।

  • इरानमाथि दबाब क्रमिक रूपमा घटाइने

    इरानमाथि दबाब क्रमिक रूपमा घटाइने

    वासिङ्टन, ८ चैत (रासस–सिन्ह्वा) । डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त राज्य अमेरिका इरानमाथि जारी सैन्य आक्रमण क्रमशः घटाउने विकल्पमा विचार गरिरहेको बताएका छन् । ट्रम्पले सामाजिक सञ्जालमा भने, “हामी हाम्रो उद्देश्य पूरा गर्न निकै नजिक पुगेका छौँ र मध्यपूर्वमा जारी हाम्रो महान सैन्य प्रयासलाई क्रमशः घटाउने विचार गरिरहेका छौँ ।” ट्रम्पले प्रस्तुत गरेको उद्देश्यहरूमा इरानको मिसाइल क्षमतामा क्षति पुर्‍याउने, रक्षा उद्योग ध्वस्त पार्ने, नौसेना र वायुसेना नष्ट गर्ने, परमाणु क्षमता प्राप्त गर्नबाट रोक्ने र क्षेत्रका अमेरिकी सहयोगीहरूलाई सुरक्षा प्रदान गर्ने समावेश छ ।

    तर ट्रम्पले शान्ति समझौता चाहँदैनन् भने पनि संवादको विकल्प खुला राखेको बताएका छन् । उनले पत्रकारहरूसँग भन्नुभयो, “तपाईं शान्ति समझौतामा जान सक्नुहुन्छ, तर म शान्ति समझौता गर्न चाहन्न । जब तपाईं अर्कोपक्षलाई पूर्ण रूपमा नष्ट गर्दै हुनुहुन्छ, तब यो सम्भव हुँदैन ।” ट्रम्पले इरानको नौसेना र वायुसेना ध्वस्त भइसकेको र उनका नेता सबै स्तरमा मारिएका बताए । हर्मुज जलमार्ग सम्बन्धमा ट्रम्पले यसलाई प्रयोग गर्ने देशहरूले सुरक्षा सुनिश्चित गर्नुपर्ने बताए । अमेरिका आवश्यक परे सहयोग गर्नेछ ।

    पूर्वै ट्रम्पले नाटोका सहयोगीहरूलाई पनि ‘कायर’ भनेका थिए र युरोपले यस युद्धमा प्रत्यक्ष भूमिका नलिनेतर्फ संकेत गरेको छ । काजा कलासले भने । “यो युरोपको युद्ध होइन, तर युरोपका हित सिधै जोखिममा छन् ।” गत फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि आक्रमण गरेपछि विश्वव्यापी ढुवानीमा अवरोध, तेल मूल्य वृद्धि र आर्थिक प्रभाव देखिएको थियो ।

  • अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी

    अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी

    न्युयोर्क, ७ चैत (रासस–सिन्ह्वा) । अमेरिकाले हर्मुजमा जारी ढुवानी अवरोधको बीचमा आपूर्ति अभावलाई सम्बोधन गर्न ३० दिनका लागि समुद्र क्षेत्रमा इरानी तेलमा अस्थायी प्रतिबन्ध हटाउने अनुमति जारी गरेको छ । अमेरिकी विदेश विभागद्वारा जारी गरिएको अनुमति शुक्रबार देखि जहाजहरूमा लोड गरिएको इरानी मूलको कच्चा तेल र पेट्रोलियम पदार्थको ओसार – पसार र बिक्रीलाई अनुमति दिएको छ । सम्बन्धित जहाजहरूको सुरक्षित स्थानान्त्रण चालक दलका सदस्यहरूको स्वास्थ्य वा सुरक्षाको संरक्षण, आपतकालीन मर्मत र वातावरणीय संरक्षणका साथै विभिन्न सेवाहरूका लागि पनि अनुमति दिइएको जनाइएको छ ।

    अनुमतिमा लेनदेनहरूमा संयुक्त राज्य अमेरिकामा इरानी मूलको कच्चा तेल र पेट्रोलियम उत्पादनहरूको आयात समावेश रहेको छ । अस्थायी तथा छोटो अवधिको कडाइका साथ पारवहनमा सीमित तेलमा मात्र अनुमति दिएको उल्लेख गर्दै नयाँ खरीद वा उत्पादनलाई अनुमति नदिने अमेरिकी स्रोतले जनाएको छ । वासिङ्टनले यस अघि नै अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको सहयोगमा आपतकालीन तेल भण्डार अतिरिक्त रूसी र भेनेजुएलाको तेलमा प्रतिबन्धहरू कम गरिसकेको छ । संयुक्त राज्य अमेरिका, इजरायल र इरान बीचको युद्ध तीन हप्तासम्म चलेको छ, जसले स्ट्रेट अफ हर्मुज हुँदै ढुवानीलाई गम्भीर अवरुद्ध गरेको छ ।

  • युद्धको समयमा ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ

    युद्धको समयमा ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ

    अबु धाबी, ६ चैत (रासस–एएफपी) । मध्यपूर्व युद्धको समयमा गलत सूचना खिचेको र गलत सूचना पोष्ट गरेको आरोपमा १०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको संयुक्त अरब इमिरेट्सको अबु धाबी प्रहरीले शुक्रबार जनाएको छ। खाडी देशहरूले इस्लामिक गणतन्त्रमा अमेरिका र इजरायलको आक्रमणपछि सुरु भएको द्वन्द्वको क्रममा इरानले गरेको आक्रमणसँग सम्बन्धित फुटेज र पोष्टहरूमा कडाइ गरिरहेका बेला उनीहरू पक्राउ परेका हुन्।

    “अबु धाबी प्रहरीले इरानी आक्रमणस्थल र घटनाहरूको भिडियो खिचेको र सामाजिक सञ्जालमार्फत गलत जानकारी प्रसारित गरेका विभिन्न देशका १०९ व्यक्तिहरूलाई पक्राउ गरेको घोषणा गरेको छ,” अबु धाबी प्रहरीले एक्समा जारी एक विज्ञप्तिमा उल्लेख गरेको छ।

    “यस्ता कार्यहरूले जनमत भड्काउन र समुदायका सदस्यहरूमा अफवाह फैलाउन सक्छ,” विज्ञप्तिमा भनिएको छ। युएईका महान्यायाधिवक्ताले गलत सूचना प्रकाशित गरेको, युद्धसँग सम्बन्धित घटनाहरूको भिडियो खिचेको वा फुटेज प्रकाशित गरेको वा ‘शत्रुतापूर्ण राज्य र यसको राजनीतिक र सैन्य नेतृत्व’ को महिमामण्डन गरेको आरोपमा अहिलेसम्म ३५ जनालाई पक्राउ गर्न आदेश दिएका छन् ।


    इरानले अमेरिकी सम्पत्तिका साथै तेल र ग्यास सुविधा, विमानस्थल र आवासीय क्षेत्रलगायत नागरिक पूर्वाधारमाथि पनि आक्रमण गरिरहेको बेला खाडीभर पनि यस्तै उपायहरू अपनाइएको छ । कतारमा अधिकारीहरूले युद्धको समयमा ‘भ्रामक सूचना’ र तस्बिरहरू साझा गरेको आरोपमा ३०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेका छन् । बहराइन र कुवेतले पनि यस्तै कदम चालेका छन् । अमेरिका–इजरायल सैन्य अभियानको जवाफमा इरानले गरेको आक्रमणबाट खाडी क्षेत्र प्रभावित भएको छ ।

  • होर्मुज अवरोधले खाडी क्षेत्रमा महँगी चर्कियो

    होर्मुज अवरोधले खाडी क्षेत्रमा महँगी चर्कियो

    दुबई, ६ चैत (रासस–एएफपी) । मध्यपूर्वमा जारी युद्धका कारण रणनीतिक स्ट्रेट अफ होर्मुज अवरुद्ध भएपछि खाडी मुलुकहरूमा खाद्य आपूर्ति प्रणालीमा गम्भीर दबाब परेको छ । यसको प्रत्यक्ष असर उपभोक्ता मूल्यमा देखिन थालेको छ । बजारमा वस्तुको अभाव नभए पनि मूल्य तीव्र रूपमा बढ्न थालेपछि दैनिक जीवनयापन महँगिएको छ ।

    बहराइनका एक उपभोक्ता महमुद अलीले सुपरमार्केटमा सामान सहजै पाइए पनि पछिल्ला दिनहरूमा केही खाद्य वस्तुको मूल्य उल्लेखनीय रूपमा बढेको बताए । उनका अनुसार विशेष गरी मासुको मूल्य झन्डै दोब्बर भएको छ । खाडीका अधिकांश देशहरूजस्तै बहराइन पनि खाद्य आपूर्तिका लागि आयातमा निर्भर रहेकाले आपूर्ति मार्गमा आएको अवरोधले सीधै मूल्यमा असर पारेको हो ।

    फेब्रुअरी २८ मा इरानविरुद्ध सुरु भएको इजरायल–अमेरिका आक्रमणपछि क्षेत्रीय द्वन्द्व चर्किँदा होर्मुज जलडमरू हुँदै हुने ढुवानी लगभग ठप्प भएको छ । यसले संयुक्त अरब इमिरेट्स, कतार, कुवेत र बहराइनका प्रमुख बन्दरगाहहरूमा कार्गो प्रशोधन या त स्थगित भएको छ वा उल्लेखनीय रूपमा घटाइएको छ । अर्थशास्त्री फ्रेडरिक स्नाइडरका अनुसार निरन्तर ड्रोन र क्षेप्यास्त्र आक्रमणका कारण हवाई ढुवानी पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।

    यस अवस्थाले खाडीका प्रमुख समुद्री प्रवेशद्वारहरू प्रभावहीन बनेका छन् । अबु धाबीका बन्दरगाह, दुबईको जेबेल अली र साउदी अरबको दम्माम जस्ता केन्द्रहरूमा आवागमन अवरुद्धजस्तै भएको छ भने जहाजहरू ओमान तथा स्ट्रेटको दक्षिणतर्फका वैकल्पिक बन्दरगाहतर्फ मोडिएका छन् । साउदी अरेबियाले भने खुला हवाई क्षेत्र र लाल सागरका बन्दरगाहमार्फत आफूलाई वैकल्पिक आपूर्ति केन्द्रका रूपमा स्थापित गर्ने प्रयास गरिरहेको छ ।

    ट्राफिक अवरोध समाधान गर्न साउदी अरबले पूर्वी बन्दरगाहबाट डाइभर्ट गरिएका कार्गो व्यवस्थापनका लागि नयाँ रसद मार्ग र सञ्चालन कोरिडोर थप्ने पहल सुरु गरेको जनाएको छ । कतारतर्फ जाने सीमाक्षेत्रमा भारी ट्रकहरूको आवागमन बढेको देखिएको छ, जसले भूमि मार्गको प्रयोग बढ्दै गएको सङ्केत गर्छ । यद्यपि, सिरिया वा जोर्डन हुँदै भूमध्यसागर जोड्ने स्थलमार्गहरू सीमित, महँगा र अपर्याप्त भएको विज्ञहरूको भनाइ छ ।

    विशेष गरी ताजा खाद्य सामग्रीहरू सबैभन्दा बढी प्रभावित भएका छन्, किनकि ती प्रायः एसियाबाट आयात गरिन्छन् र लामो समयसम्म भण्डारण गर्न सकिँदैन । यस्तो अवस्थामा खाडी मुलुकहरूको तयारी फरक–फरक देखिएको छ । साउदी अरेबियासँग लाल सागरमार्फत वैकल्पिक पहुँच छ भने संयुक्त अरब इमिरेट्सले चारदेखि छ महिनासम्म पुग्ने भण्डार रहेको जनाएको छ । सन् २०१७ को नाकाबन्दीपछि कतारले पनि रणनीतिक भण्डारणमा उल्लेखनीय लगानी गरेको थियो ।

    तर बहराइन र कुवेतजस्ता देशहरूले भने प्रत्यक्ष प्रभाव महसुस गर्न थालेका छन् । कुवेतमा प्रारम्भिक दिनमै सुपरमार्केटहरूमा भीड बढेपछि सरकारले केही आधारभूत वस्तुको मूल्य नियन्त्रण र अनुदानित मासु आयात स्थगित गर्ने कदम चालेको थियो । कुवेती अधिकारीका अनुसार समग्र मूल्य स्थिर देखिए पनि मासु र माछाको मूल्य ३० प्रतिशतभन्दा बढीले बढेको छ, जसको कारण माछा मार्ने गतिविधि रोकिनु र इरान, भारत तथा पाकिस्तानबाट आयात अवरुद्ध हुनु हो ।

    निजी क्षेत्रले पनि आपूर्ति व्यवस्थापन गर्न प्रयास गरिरहेको छ । लुलु रिटेल चेनले गैर–नाशवान वस्तुहरूको चारदेखि छ महिनासम्म पुग्ने भण्डार राखेको र ताजा खाद्य सामग्री ल्याउन विशेष उडान सञ्चालन गरिरहेको जनाएको छ । कम्पनीका अनुसार हालसम्म ३७ वटा चार्टर्ड उडानमार्फत छ हजार टनभन्दा बढी ताजा सामग्री आयात गरिएको छ र यसबाट उत्पन्न अतिरिक्त लागत तत्काल उपभोक्तामा नथोपारिएको बताइएको छ ।

    विश्लेषक स्नाइडरका अनुसार अहिले मूल्य वृद्धि नियन्त्रणमै देखिए पनि युद्ध लामो समयसम्म जारी रहे आयातित खाद्य सामग्रीको मूल्य अझ बढ्ने ठोस जोखिम रहेको छ । त्यसैले होर्मुज अवरोध केवल सामरिक सङ्कट मात्र नभई खाडी क्षेत्रका लागि खाद्य सुरक्षासँग जोडिएको दीर्घकालीन चुनौतीका रूपमा उभिएको देखिएको छ ।

  • होर्मुज तनावबीच ट्रम्प–ताकाइची भेट

    होर्मुज तनावबीच ट्रम्प–ताकाइची भेट

    वासिङ्टन, ६ चैत (रासस–एपी) । मध्यपूर्वमा चर्किएको युद्ध र रणनीतिक स्ट्रेट अफ होर्मुजको सुरक्षालाई लिएर बढ्दो अन्तर्राष्ट्रिय दबाबका बीच जापानका प्रधानमन्त्री साने ताकाइची र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भएको भेटलाई उच्च जोखिमयुक्त कूटनीतिक संवादका रूपमा देखिएको छ । विश्व ऊर्जा आपूर्तिको मुख्य नाडी मानिने जलमार्गको सुरक्षामा सहयोग जुटाउने प्रयास असफल भइरहेका बेला यो भेटले अमेरिका–जापान सम्बन्धको संवेदनशील पक्ष उजागर गरेको छ ।

    यसअघि सामान्य द्विपक्षीय समन्वय र सम्बन्ध सुदृढीकरणमा केन्द्रित हुने अपेक्षा गरिएको भेट, इरानसँगको युद्ध र त्यसले सिर्जना गरेको सुरक्षा सङ्कटका कारण जटिल बनेको हो । ट्रम्पले जापानसहित आफ्ना सहयोगी राष्ट्रहरूले होर्मुज जलडमरूको सुरक्षामा अपेक्षित सहयोग नगरेको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि जनाउँदै आएका छन् । सहयोग नपाएपछि उहाँले अमेरिका आफैँ सक्षम रहेको प्रतिक्रिया दिएका थिए ।


    प्रधानमन्त्री ताकाइचीले पनि वासिङ्टन प्रस्थानअघि ट्रम्पसँगको भेट ‘धेरै गाह्रो’ हुने स्वीकार गरेका थिए । जापानले अमेरिकी–इजरायली सैन्य अभियानमा आफ्ना युद्धपोत पठाउने प्रस्ताव अस्वीकार गरिसकेको छ । यसले दुई देशबीचको सुरक्षा समन्वयमा तनाव बढाएको छ । एसिया समूहका अध्यक्ष तथा पूर्व अमेरिकी कूटनीतिज्ञ कर्ट क्याम्पबेलका अनुसार ट्रम्पले ताकाइचीमाथि उच्च स्तरको दबाब दिने सम्भावना रहेको छ, र यस्तो संवेदनशील भेट दुर्लभ मानिन्छ ।

    क्याम्पबेलका अनुसार ताकाइचीले जापानलाई मध्यपूर्वको अमेरिकी योजनाको साझेदारका रूपमा प्रस्तुत गर्ने सन्तुलित उपाय खोज्ने प्रयास गरेकी छिन् । यसले ताइवानलगायत क्षेत्रीय विषयहरूमा जापानका चासोहरू अमेरिकासमक्ष संयमित र प्रभावकारी रूपमा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
    तर जापानको संवैधानिक सीमाले यस्तो सहयोगमा जटिलता थपेको छ ।

    दोस्रो विश्वयुद्धपछिको संविधानले आफ्नो भूभागको रक्षा बाहेक सैन्य शक्ति प्रयोगमा प्रतिबन्ध लगाएको छ, जसका कारण जापानको सेना ‘आत्मरक्षा बल’ का रूपमा सीमित छ । यद्यपि, विश्लेषकहरूका अनुसार जापानले समुद्री माइन हटाउने कार्य वा सीमित नौसैनिक उपस्थिति जस्ता सहयोग गर्न सक्ने सम्भावना भने रहन्छ । तर अमेरिकी सैन्य अभियानमा प्रत्यक्ष संलग्न हुन ‘सामूहिक आत्मरक्षा’ को प्रावधान सक्रिय गर्नुपर्ने हुन्छ । यो राजनीतिक रूपमा अत्यन्त संवेदनशील विषय हो ।

    ताकाइचीले यस भेटलाई इन्डो–प्यासिफिक क्षेत्रमा व्यापार, सुरक्षा र रणनीतिक सहकार्यमा केन्द्रित गर्ने योजना बनाएकी छिन् । अक्टोबरमा टोकियोमा ट्रम्पसँग पहिलो पटक भेट गरेकी ताकाइची जापानकी पहिलो महिला प्रधानमन्त्री हुनुका साथै पूर्वप्रधानमन्त्री सिन्जो आबेका निकट सहयोगीका रूपमा चिनिन्छन् । उनी ताइवानप्रति स्पष्ट समर्थन जनाउने नेताका रूपमा चिनिन्छन् । जसले चीनसँगको सम्बन्धमा संवेदनशीलता थपेको मानिन्छ ।

    भेटअघि जापानी अधिकारीहरूले अमेरिका–जापान सम्बन्धलाई थप सुदृढ पार्ने, ऊर्जा, महत्त्वपूर्ण खनिज र क्षेत्रीय सुरक्षामा सहकार्य बढाउने विषयमा छलफल हुने बताएका थिए । तर होर्मुज जलडमरूको सुरक्षामा सहयोग गर्ने विषयले ती एजेन्डालाई ओझेलमा पार्ने देखिएको छ । इरान युद्धका कारण उत्पन्न वैश्विक प्रभावहरूले पनि ताकाइचीलाई कठिन स्थितिमा राखेको छ । जापानले चीनलाई उदाउँदो सुरक्षा चुनौतीका रूपमा हेर्दै पूर्वी चीन सागर आसपास आफ्नो सुरक्षा तयारी क्रमशः सुदृढ गर्दै आएको छ । तर अमेरिकाले जापानमा तैनाथ केही सैनिकलाई मध्यपूर्वतर्फ सार्दा पूर्वी एसियामा शक्ति सन्तुलन कमजोर हुने चिन्ता बढेको छ ।

    विशेष गरी चीनले ताइवान वरिपरि अभ्यासहरू बढाएको परिस्थितिमा ताकाइचीले ट्रम्पसँग सैनिक स्थानान्तरणको विषय सूक्ष्म ढङ्गले उठाउने सम्भावना छ । विश्लेषक क्रिस्टोफर जोनस्टोनका अनुसार यस्तो अवस्थाले अमेरिका फेरि मध्यपूर्वमै अल्झिने र पूर्वी एसियामा प्रतिरोध क्षमतामा कमी आउने जोखिम बढाएको छ । यसरी, होर्मुजको सुरक्षा, इरान युद्धको प्रभाव र चीनसँगको रणनीतिक प्रतिस्पर्धा एकैसाथ जोडिँदा ट्रम्प–ताकाइची भेट केवल द्विपक्षीय वार्तामा सीमित नरही व्यापक भू–राजनीतिक सन्तुलनको परीक्षणका रूपमा उभिएको छ ।

  • पूर्वाधारमा थप आक्रमण भएमा इरान संयम रहनु आवश्यक नरहने विदेशमन्त्री अराघचीको भनाइ

    पूर्वाधारमा थप आक्रमण भएमा इरान संयम रहनु आवश्यक नरहने विदेशमन्त्री अराघचीको भनाइ

    तेहरान, ६ चैत (रासस–एएफपी) । इरानका विदेशमन्त्री सयैद अब्बास अराघचीले इरानका पूर्वाधारमा पुनः आक्रमण गरिएमा ’शून्य संयम’ अपनाउने बताएका छन् । सामाजिक सञ्जाल प्लेटफर्म एक्समा गरेको एक पोस्टमा अराघचीले भने, ‘संयमको एक मात्र कारण’ शुभेच्छुकहरूबाट तनाव कम गर्न गरिएको अनुरोध हो । “यो युद्धको कुनै पनि अवस्थामा हुने अन्त्यले हाम्रा नागरिक बस्तीहरूमा भएको क्षतिलाई सम्बोधन गर्नुपर्दछ,“ उनले भने ।


    बुधबार इजरायलले दोहासँग साझेदारी गरेको खाडीमा रहेको इरानको ‘साउथ पार्स’ अपतटीय प्राकृतिक ग्यास क्षेत्रमा आक्रमण सुरु गरेको छ । यसको केहस् समयपछि कतारले इरानद्वारा आफ्नो तरलीकृत प्राकृतिक ग्यास प्रशोधन केन्द्रमा निशाना बनाएको र आक्रमणका कारण केन्द्रमा आगलागी र व्यापक क्षति भएको जनाएको छ। जवाफमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो लगानीको सामाजिक सञ्जाल ट्रुथ सोशलमा भनेका छन्, “संयुक्त राज्य अमेरिका इजरायली आक्रमणको बारेमा अनभिज्ञ छ, न त कतार यसमा संलग्न छ ।”

    उनले भने, “यदि इरानले कतारमा फेरि आक्रमण गर्यो भने, अमेरिकी सेनाले इरानको साउथ पार्स ग्यास फिल्डको ‘सम्पूर्ण विस्फोट’ गर्नेछ।” यो घटनाक्रमको विकास फेब्रुअरी २८ देखि इरानमा सुरु भएको अमेरिका–इजरायल संयुक्त आक्रमणपछि बढेको तनावको बीचमा आएको हो । आक्रमणको बदलामा इरान र उसका क्षेत्रीय सहयोगीहरूले मध्यपूर्वमा इजरायल र अमेरिकी चासाका क्षेत्रमाथि आक्रमण गरेका छन् । यद्यपि आक्रमणबाट स्वभाविक रूपमा इरानले बढी क्षति व्यहोरेको छ ।

  • इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

    इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

    मस्को, ५ चैत (रासस–एएफपी) । रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल हमला’ भएको भन्दै कडा शब्दमा निन्दा गरेको छ।
    रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले साप्ताहिक ब्रिफिङमा भनेकी छिन्, “हामी बुशहर आणविक ऊर्जा संयन्त्रको भित्री घेरामा गरिएको गैरजिम्मेवार, पूर्ण रूपमा अस्वीकार्य क्षेप्यास्त्र आक्रमणको कडा निन्दा गर्दछौँ ।” उनले थपिन्, “रूसले संयुक्त राज्य अमेरिका र इजरायललाई प्लान्टमा अझै पनि काम गरिरहेका रूसी नागरिकहरूको ‘जीवनलाई जोखिम सिर्जना हुने कार्य“ नगर्न चेतावनी दिएको थियो । मस्कोले बुशहर आणविक ऊर्जा संयन्त्रको निर्माण गर्न मद्दत गरेको थियो।

  • राष्ट्रपति ट्रम्पद्वारा ऊर्जा खर्च कम गर्न सामुद्रिक पारवाहन कानुन अस्थायी रूपमा खारेज

    राष्ट्रपति ट्रम्पद्वारा ऊर्जा खर्च कम गर्न सामुद्रिक पारवाहन कानुन अस्थायी रूपमा खारेज

    वासिङ्टन, ५ चैत (रासस–एएफपी) । इरानमाथि अमेरिका–इजरायल आक्रमणका कारण मध्यपूर्व युद्धमा फसेपछि बढेको ऊर्जा लागत कम गर्न सदियौँ पुरानो समुद्री ढुवानी कानुनलाई अस्थायी रूपमा खारेज गरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बताएका छन् । राष्ट्रपति ट्रम्पले ६० दिनका लागि जोन्स एक्ट छुट जारी गर्ने कदम अघि बढाएपछि यस अवधिमा अमेरिकी बन्दरगाह भएर कार्गो ओसारपसार गर्ने विदेशी ध्वजाबाहक जहाजहरूमा लगाइएको प्रतिबन्ध हटाउनेछ।

    सन् १९२० को कानुनको उद्देश्य अमेरिकी जहाज निर्माणलाई बढावा दिनु रहेको बताइएको छ । यसले स्वतन्त्र व्यापारमा बाधा पुर्याउने र उपभोक्ताहरूको लागि लागत बढाउने आलोचकहरूले तर्क गरेका छन् । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेविटले फेब्रुअरी २८ मा इरानविरुद्ध अमेरिका–इजरायलले संयुक्त रूपमा गरेको आक्रमणलाई सङ्केत गर्दैएक विज्ञप्तिमा भनेकी छिन्, “अमेरिकी सेनाले ‘अपरेसन एपिक फ्युरी’को लक्ष्य मा अघि बढिरहेकाले तेल बजारमा छोटो अवधिको अवरोधलाई कम गर्ने दिशामा ट्रम्पको पछिल्लो कदम आएको हो।”

    “यो कार्यले तेल, प्राकृतिक ग्यास, मल र कोइलाजस्ता महत्त्वपूर्ण स्रोतहरूलाई साठी दिनसम्म अमेरिकी बन्दरगाहहरूमा स्वतन्त्र रूपमा प्रवाह गर्न अनुमति दिनेछ,” लेविटले थपिन् । उनले ट्रम्प प्रशासन ‘आफ्नो महत्वपूर्ण आपूर्ति श्रृङ्खला’लाई बलियो बनाउन जारी राख्न प्रतिबद्ध रहेको बताइन् ।
    ‘ट्रिपल ए’ मोटर समूहको तथ्याङ्क अनुसार युद्ध सुरु भएयता अमेरिकी पेट्रोलको मूल्य २७ प्रतिशतभन्दा बढीले बढेको छ ।

  • एक लाख १९ हजार सिरियाली नागरिक लेबनानबाट स्वदेश फिर्ता

    एक लाख १९ हजार सिरियाली नागरिक लेबनानबाट स्वदेश फिर्ता

    बेरुत, लेबनान, ५ चैत (रासस–एएफपी) । इजरायल र हेजबुल्लाहबीच पछिल्लो युद्ध सुरु भएयता छिमेकी देश लेबनानबाट करिब एक लाख २० हजार सिरियाली नागरिक स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसङ्घीय निकायको विस्थापन लेखाजोखा तथ्याङ्कका अनुसार, मार्च १७ सम्म एक लाख २५ हजार ७८४ व्यक्ति इजरायल र लेबनानबीच युद्ध सुरु भएदेखि सिरिया प्रवेश गरेका छन्, जसमध्ये लगभग एक लाख १९ हजार सिरियाली हुन्।

    सन् २०११ देखि सुरु भएको गृहयुद्धबाट भागेका करिब १० लाख सिरियालीहरूको आश्रय रहेको लेबनान तेहरान समर्थित लडाकू समूह हेजबुल्लाहले यही मार्च २ मा सुरू भएको अमेरिका–इजरायली हमलाको बदला लिन इजरायलविरूद्धको आक्रमणमा संलग्न भएको थियो । इजरायलले लेबनानमा तीव्र आक्रमण र दक्षिणी क्षेत्रमा स्थलगत कारबाहीको साथ प्रतिक्रिया दिएको छ । इजरायली स्वास्थ्य मन्त्रालयले मङ्गलबार चार सिरियाली मारिएको बताएको छ।

    सिरिया अहिलेसम्म क्षेत्रीय युद्धबाट बाहिर रहेको छ । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकायका अनुसार सन् २०२४ मा इरान र हेजबुल्लाहको समर्थनमा रहेका बशर अल–असदको पतनपछि गत वर्ष पाँच लाखभन्दा बढी सिरियालीहरू लेबनानबाट फर्किएका थिए ।

  • खोप कार्यक्रम गलत सूचनाको मारमा : डब्ल्युएचओ

    खोप कार्यक्रम गलत सूचनाको मारमा : डब्ल्युएचओ

    जेनेभा, ५ चैत (रासस–एएफपी) । बढ्दो गलत सूचना र अनुसन्धान कोषको लागि अनिश्चित पाइपलाइनले खोप कार्यक्रमहरूलाई चुनौती दिइरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का खोप विज्ञहरूले बुधबार बताएका छन् । मध्यपूर्वमा युद्धले पोलियो विरुद्धको लडाईमा बाधा पुर्याउने देखिएको डब्ल्युएचओको खोप विशेषज्ञहरूको रणनीतिक सल्लाहकार समूह (एसएजिई) ले जनाएको छ। समूहले गत हप्ता आफ्नो द्विवार्षिक बैठक आयोजना गरेको थियो भने कोभिड–१९ खोपको सिफारिसहरू, टाइफाइड खोपको मात्रा तालिका र नियमित खोपमा मुखबाट दिइने पोलियो खोपको मात्रामा ध्यान केन्द्रित गरिएको थियो।

    “भविष्यका लागि उदीयमान चुनौतीहरूमा खोप अनुसन्धान र विकासको लागि अनिश्चित कोष र गलत एवं विकृत सूचना रहेका देखिएको छ, जसले खोपमा जनताको विश्वास घटाउँछ,” एसएजिईले बताएको छ । “विश्वासको रक्षा गर्नु र गलत सूचनाको सामना गर्नु सङ्गठनको सन् २०२६ मा प्रमुख लक्ष्य हुनेछ,” समूहले बताएको छ।

    डब्ल्यूएचओका खोप प्रमुख केट ओब्रायनले यस वर्ष खास खोप कार्यक्रमहरूको तैनाथीकोे लागि संसाधनहरू लक्षित गरिने बताए । “हामी सङ्क्रामक रोगहरू र खोप कार्यक्रमहरूका लागि साँच्चिकै गहिरो परिवर्तनशील संसारमा छौँ”, उनले भने, “द्वन्द्व, आर्थिक चुनौती र स्वास्थ्य बजेटमा कटौती भइरहेको छ।” खोपमाथिको विश्वास गलत सूचनाका कारण खतरामा परेको उनले बताए ।


    अमेरिकी स्वास्थ्य प्रमुख रोबर्ट एफ केनेडी जुनियरले लामो समयदेखि खोप विरोधी बयानबाजी र खोप तथा अटिजमसँग सम्बन्धित गलत दाबीहरूविरूद्ध आवाज उठाउँदै आएका छन् । डब्ल्यूएचओले डिसेम्बरमा जारी गरिएका सबै उपलब्ध प्रमाणहरूको समीक्षाले संयुक्त राज्य अमेरिका र बाहिर प्रचार भइरहेको सिद्धान्तको विपरीत खोप र अटिजमबीच कुनै सम्बन्ध छैन भनेर पुष्टि गरेको थियो ।

    “खोपहरूले अटिजम निम्त्याउँदैन र यसले कहिल्यै अटिजम निम्त्याएको छैन,” ओब्रायनले जोड दिए । उनले विगत ५० वर्षमा खोपले १५ करोड ४० लाखको ज्यान बचाएको र खोपमार्फत ३० भन्दा बढी रोगबाट बच्न सकिने बताए । उनले भने, “जोखिम पछाडि हट्ने वा देशहरूले आफ्नो कार्यक्रममा रहेका सबै खोपहरू किन्न नसक्ने भनी निर्णय गर्ने पनि गरेका छन् ।”

    – सङ्कट र प्रतिक्रिया चक्र –

    समूहले पाकिस्तान र अफगानिस्तानमा ‘वाइल्ड पोलियो भाइरस’को जारी प्रचार र धेरै अफ्रिकी देशहरूमा खोप–व्युत्पन्न टाइप–२ पोलियो भाइरसको लगातार पत्ता लागेकोप्रति चिन्ता व्यक्त गर्यो, जुन खुवाइने पोलियो खोपहरूमा निहित कमजोर जीवित पोलियो भाइरससँग सम्बन्धित एक स्ट्रेन हो। “मध्य पूर्वमा द्वन्द्वले पोलियो भाइरसको थप फैलावटलाई निम्त्याउन सक्छ, जसले त्यसपछि त्यो उन्मूलन लक्ष्यमा पुग्नको लागि बोझ बढाउनेछ,” एसएजिईका अध्यक्ष एन्थोनी स्कटले पत्रकारहरूसँग बताए ।
    ओब्रायनले थपे, “युद्धको माध्यमबाट जीवन नष्ट गर्न दिनहुँ अर्बौँ र अरब डलर खर्च भइरहेको छ ।” उनले सोधे, “के हामीले केमा लगानी गरिरहेका छौं भन्ने बारेमा विश्वको प्राथमिकता सिधा छ ?” कोभिड खोपको सन्दर्भमा एसएजिईले भनेको छ, “देशहरूले गम्भीर रोगको उच्च जोखिममा रहेका समूहहरूका लागि वर्षमा दुई पटक नियमित खोपको बारेमा विचार गर्नुपर्दछ, किनकि छ महिनाभन्दा बढी सुरक्षा स्तर घट्दै गएको छ।”

    ओब्रायनले भने, “कोभिड–१९ खोपको बजार सीमित सङ्ख्यामा निर्माता र प्रकारहरूमा खुम्चिएको र एमआरएनए खोपहरू प्रमुख रूपमा रहेका छन्।”
    उनले कोभिड खोपमा थप लगानीको लागि आह्वान गरे । एक प्राथमिकता कोभिड–१९ भन्दा बढी समाधान गर्ने स्वास्थ्य सेवा र वृद्धहरूमा दोहो¥याइएको खोपको बोझ कम गर्न लामो समयसम्म टिक्ने इन्जेक्सन र प्यान–कोरोनाभाइरस खोपहरू विकास गर्नु हो । “तर अनुसन्धान र विकास कोषले प्रमुख प्रकोपहरू पछ्याउँछ, जसको अर्थ ‘हामी सँधै सङ्कट र प्रतिक्रियाको चक्र’मा छौँ,” उनले भने । एसएजिईका कार्यकारी सचिव एनेलिस वाइल्डर–स्मिथले भने, “हामीलाई वास्तवमै कोभिड खोपहरू चाहिन्छ जसले हल्का रोगमा ठूलो प्रभाव पार्दछ र भाइरसको प्रसारण कम गर्दछ।”

  • इरानी गुप्तचर निकायका प्रमुखको कारबाहीमा मृत्यु भएको इजरायलको दावी

    इरानी गुप्तचर निकायका प्रमुखको कारबाहीमा मृत्यु भएको इजरायलको दावी

    जेरुसलेम, ५ चैत (रासस–एएफपी) । इरानका अर्का वरिष्ठ अधिकारी गुप्तचर मन्त्री इस्माइल खतिबको अमेरिकी–इजरायली कारबाहीमा मृत्यु भएको इजरायलले बुधबार जानकारी गराएको छ। इरानका राष्ट्रपति मसुद पेजेस्कियनले खतिबमाथिको कारबाहीलाई ‘कायरतापूर्ण हत्या’ को संज्ञा दिएका छन् ।
    फेब्रुअरी २८ मा अमेरिका र इजरायली सेनाले इरानमा आक्रमण गरी सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको हत्या गरेपछि मध्यपूर्वमा युद्ध सुरु भएको थियो ।

    इरानी सुरक्षा प्रमुख अली लारीजानी इजरायली आक्रमणमा मारिएको पुष्टि भएको भोलिपल्ट खतिबको मृत्युको खबर आएको हो। इजरायलका रक्षामन्त्री इजरायली काट्जले खतिबको मृत्युको प्ुष्टि गर्दै भने, “प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र मैले आइडिएफलाई कुनै पनि वरिष्ठ इरानी अधिकारीलाई थप स्वीकृतिको आवश्यकता बिना मार्नसक्ने आदेश दिएका छौँ, जसका लागि गुप्तचर र परिचालन सर्कल बन्द गरिएको छ ।

    “हामी तिनीहरूलाई असफल पार्न र ती सबैविरूद्ध हमला जारी राख्नेछौँ।” इजरायलले इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनीलाई पनि खोज्ने वाचा गरेको छ, उनी आफ्ना पिताको उत्तराधिकारी बनेपछि सार्वजनिक रूपमा देखा परेका छैनन् ।

  • मध्यपूर्व तनावले विश्व बजार प्रभावित

    मध्यपूर्व तनावले विश्व बजार प्रभावित

    पेरिस, ५ चैत (रासस–एएफपी) । मध्यपूर्वमा जारी युद्धले अब प्रत्यक्ष रूपमा विश्व अर्थतन्त्रमा असर पार्न थालेको छ, जसले ऊर्जा बजारदेखि वित्तीय नीतिसम्म दबाब सिर्जना गरेको छ । तेल आपूर्ति, मूल्य अस्थिरता र अन्तर्राष्ट्रिय व्यापार मार्गमा अवरोधका कारण विश्वभर आर्थिक अनिश्चितता बढ्दै गएको देखिएको छ । बुधबार तेल बजारमा उतारचढाव देखियो ।

    इरानले तेल उत्पादक छिमेकी देशहरूलाई लक्षित गरी आक्रमण गरेपछि अघिल्लो दिन बढेको मूल्य घट्दै वेस्ट टेक्सास इन्टरमिडियेट करिब ९३ डलर आसपास झर्दा तीन प्रतिशतभन्दा बढी घट्यो भने ब्रेन्ट कच्चा तेल पनि दुई प्रतिशतभन्दा बढीले ओरालो लाग्यो । यद्यपि विश्लेषकहरूले होर्मुज जलडमरूमध्यमा थप तनाव बढे विश्व ऊर्जा लागत तीव्र रूपमा बढ्न सक्ने चेतावनी दिएका छन्, किनकि यही मार्गबाट विश्वको करिब पाँचौँ हिस्सा तेल र ग्यास आपूर्ति हुन्छ ।

    ऊर्जा आपूर्तिमा जोखिम बढेपछि वैकल्पिक व्यवस्थातर्फ देशहरू अग्रसर भएका छन् । दक्षिण कोरियाले होर्मुज मार्ग प्रयोग नगरी संयुक्त अरब इमिरेट्सबाट थप एक करोड ८० लाख ब्यारेल तेल ल्याउने निर्णय गरेको छ । राष्ट्रपति कार्यालयका प्रमुखले विविध आपूर्ति च्यानल प्रयोग गरिने जानकारी दिनुभएको छ, यद्यपि मार्गबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन । दक्षिण कोरियाको करिब ७० प्रतिशत तेल आयात सामान्यतया यही जलडमरूमध्य हुँदै आउने गर्दछ ।

    इरानले पनि जलमार्ग नियन्त्रणलाई कडाइ गर्दै मित्र राष्ट्रका जहाजहरूलाई मात्र प्राथमिकता दिइरहेको सङ्केत देखिएको छ । इराकले आफ्ना केही तेल ट्याङ्करहरू होर्मुज हुँदै पठाउन इरानसँग समन्वय गरिरहेको जनाएको छ । यसैबीच इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर घालीबाफले यो जलडमरूमध्य अब पहिलेको जस्तो सामान्य अवस्थामा फर्किन नसक्ने चेतावनी दिएका छन् ।


    युद्धको प्रभावबारे इरानी विदेशमन्त्री अब्बास अराघचीले विश्वव्यापी असर पर्ने स्पष्ट पारे । उनका अनुसार सुरु भएको प्रतिक्रिया लहरले सबै मुलुक र वर्गलाई प्रभावित पार्नेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सहयोगी राष्ट्रहरूले अपेक्षित साथ नदिएको गुनासो गर्दै अब अमेरिकी सेनालाई थप सैन्य सहयोग आवश्यक नरहेको बताएका छन् । होर्मुज जलडमरूमध्यमा तेल ढुवानी सुरक्षित गर्न युद्धपोत पठाउने प्रस्ताव धेरै देशहरूले अस्वीकार गरेका छन् ।

    फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले स्थिति शान्त भएपछि मात्र सहयोग गर्न सकिने सङ्केत गरेका छन् । युद्धको असर युरोपसम्म पुगेको छ । जर्मनीले ऊर्जा कम्पनीहरूले सङ्कटको फाइदा उठाएर पेट्रोलियम मूल्य कृत्रिम रूपमा बढाएको हुनसक्ने आशङ्कामा निगरानी कडा गर्ने जनाएको छ । युरोपकै ठूलो अर्थतन्त्र जर्मनीमा लगानीकर्ताको मनोबल करिब एक वर्षयताकै न्यून स्तरमा झरेको सर्वेक्षणले देखाएको छ ।

    संयुक्त अरब इमिरेट्सको फुजैराह तेल परिसरमा भएको ड्रोन आक्रमणले आपूर्ति संरचनामा थप जोखिम देखाएको छ । उक्त क्षेत्रमा आगलागी भए पनि मानवीय क्षति नभएको जनाइएको छ, तर केही समयका लागि तेल लोडिङ प्रभावित भएको बताइएको छ । यो सुविधा होर्मुज मार्गलाई बाइपास गर्ने महत्त्वपूर्ण केन्द्र मानिन्छ ।

    इन्धन मूल्यको चापले मौद्रिक नीतिमा पनि असर पारेको छ । अस्ट्रेलियाको केन्द्रीय बैंकले उच्च इन्धन मूल्यलाई ध्यानमा राख्दै आफ्नो ब्याजदर ०.२५ प्रतिशतले बढाएर ४.१० प्रतिशत पुर्‍याएको छ । यसले युद्धका कारण उत्पन्न महँगी दबाबलाई नियन्त्रण गर्ने प्रयास झल्काउँछ । एसियामा भने प्रत्यक्ष प्रभाव झन् स्पष्ट देखिएको छ । थाइल्यान्डमा पेट्रोल अभाव र मूल्य वृद्धिको डरले राजधानी बैङ्ककदेखि चियाङ राईसम्म सवारी चालकहरू लामबद्ध भएका छन् । सरकारले डिजेल मूल्यमा सीमा तोके पनि आगामी दिनमा मूल्य तीव्र रूपमा बढ्ने चिन्ता बढिरहेको छ ।

    हवाई क्षेत्रमा पनि असर पर्न थालेको छ । जेट इन्धन महँगिएसँगै एयरलाइन्सहरू दबाबमा परेका छन् । केही अमेरिकी कम्पनीहरूले चुनौती बढ्ने बताएका छन् भने स्क्यान्डिनेभियन एयरलाइन्स एसएएसले अप्रिलमा कम्तीमा एक हजार उडान रद्द गर्ने निर्णय गरेको छ । समग्रमा, मध्यपूर्वको युद्धले अब केवल सैन्य द्वन्द्वमा सीमित नरही विश्व अर्थतन्त्रलाई गहिरो रूपमा प्रभावित पार्ने चरणमा प्रवेश गरेको देखिएको छ ।

  • इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा

    इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा

    रियाद, ४ चैत (रासस–क्युएनए) । युक्रेनले इरानी आक्रमणको बिरूद्ध खाडी सहयोग परिषद (जीसीसी)राज्यहरूको समर्थन गर्ने पुष्टि गरेको छ । यसै बीच खाडी मुलुकहरू विरुद्धको इरानी सैन्य कारबाहीलाई तत्काल रोक्न र सबै प्रकारका आक्रमणको अन्त्यको आवश्यकतामा युक्रेनले जोड दिएको छ । जिसिसीका महासचिव जसिम मोहम्मद अल बुदैवीले युक्रेनका विदेश मामिला मन्त्री एन्ड्री सिबिहासँग गरेको फोन वार्ताको माध्यामबाट यो समर्थन पुष्टि भएको जनाइएको छ ।

    यसै बीच जीसीसी राज्यहरूले र जोर्डनको हाशेमाइट राज्यमा इरानी आक्रमणको निन्दा गर्ने ऐतिहासिक संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव २८१७ लाई प्रायोजन र समर्थन गर्न युक्रेनको प्रयासको प्रशंसासमेत गरेका छन् । यस अवसरमा साझा हितका लागि जीसीसी–युक्रेनी सम्बन्धलाई सुदृढ पार्ने तरिकाहरूबारे पनि छलफल भएको जनाइएको छ ।

  • मध्यपूर्वमा दशौँ लाख मानिस भोकमरीको जोखिममा : संयुक्त राष्ट्रसङ्घ

    मध्यपूर्वमा दशौँ लाख मानिस भोकमरीको जोखिममा : संयुक्त राष्ट्रसङ्घ

    जेनेभा, ४ चैत (रासस–एएफपी) । संयुक्त राष्ट्रसङ्घले मङ्गलबार चेतावनी दिएको छ कि यदि मध्यपूर्व युद्ध जुनसम्म जारी रह्यो भने थप चार करोड ५० लाख मानिसले भोकमरीको सामना गर्न सक्छन् । युद्धको तेस्रो हप्तासम्ममा सयौँको मृत्यु भएको छ र इरानले इजरायल र खाडी राष्ट्रहरू विरुद्ध प्रतिशोधात्मक आक्रमण गरेपछि इजरायलले लेबनानमा हेजबुल्लाहसँग पनि लडिरहेको छ।

    “यदि मध्यपूर्व द्वन्द्व जुनसम्म जारी रह्यो भने, थप चार करोड ५० लाख जनसङ्ख्या महँगी वृद्धिका कारण तीव्र भोकमरीतर्फ धकेलिनेछ,“ संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमका उपकार्यकारी निर्देशक कार्ल स्काउले जेनेभामा एक पत्रकार सम्मेलनमा भने । “यसले विश्वव्यापी भोकमरीको स्तरलाई अहिलेसम्मकै उच्च स्तरमा पुर्याउनेछ र यो एक भयानक सम्भावना हो,” उनले भने, “यसपहिले नै तीन करोड १९ लाख मानिसहरू तीव्ररूपमा खाद्य असुरक्षाको शिकार भइरहेका छन् ।”

    स्काउले भने, “डब्ल्यूएफपीले फेब्रुअरी २८ मा युद्ध सुरु हुनु अघि नै ‘व्यापक खाद्य सङ्कट’ को सामना गरिरहेको थियो । चरम मौसमी घटना, द्वन्द्व र भोकमरीको घोषणा भइरहेका कारण उनले भने, “भोकमरी अहिलेजस्तो गम्भीर कहिल्यै भएको थिएन।” उनले मध्यपूर्व युद्धका कारण डब्लुएफपीको कार्यलाई ‘धेरै खर्चिलो’ बनाइरहेको बताए । स्काउले भने, “विशेष गरी बढ्दो इन्धनको मूल्य र लामो मार्गको कारण संस्थाले आपूर्ति श्रृङ्खलाको अवरोधको सामना गर्न कोशिस गरिरहेको छ तर यसको सञ्चालन लागत बढेको छ ।

  • मध्यपूर्वमा द्वन्द्व चर्किँदै, लाखौँ मानिस विस्थापित

    मध्यपूर्वमा द्वन्द्व चर्किँदै, लाखौँ मानिस विस्थापित

    संयुक्त राष्ट्रसङ्घ, ४ चैत (रासस–सिन्ह्वा) । मध्यपूर्व क्षेत्रमा बढ्दो द्वन्द्वका कारण नागरिक र पूर्वाधारमाथि गम्भीर असर परिरहेको भन्दै संयुक्त राष्ट्रसंघले मानवीय सङ्कट झन् गहिरिँदै गएको चेतावनी दिएको छ । संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला समन्वय कार्यालयले इरान र लेबनानमा स्वास्थ्य सेवा पूर्वाधारमा ठूलो क्षति पुगेको जनाएको छ । इरानी रेड क्रिसेन्ट सोसाइटीका अनुसार इरानमा २३० भन्दा बढी स्वास्थ्य संस्था र ३० भन्दा बढी एम्बुलेन्स तथा स्वास्थ्य सेवा सवारी साधन क्षतिग्रस्त वा नष्ट भएका छन् । साथै केही स्वास्थ्यकर्मीको मृत्यु र घाइते भएको पनि जनाइएको छ ।

    यसैबीच, लेबनानमा दुई साताको अवधिमा स्वास्थ्य सेवामाथि २८ वटा आक्रमण भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । ती घटनामा कम्तीमा ३० जनाको मृत्यु र ३५ जना घाइते भएका छन् । संयुक्त राष्ट्रसङ्घका विभिन्न निकायहरूले प्रभावित नागरिकलाई सहायता उपलब्ध गराइरहेका छन् । विश्व खाद्य कार्यक्रम, शरणार्थीसम्बन्धी एजेन्सी र बाल कोषलगायत संस्थाले ८ लाखभन्दा बढी तातो खाना वितरण गरेका छन् । साथै कम्बल, म्याट्रेस, सुत्ने म्याट र अन्य आश्रय सामग्री पनि वितरण गरिएको छ ।

    लेबनानको दक्षिणी क्षेत्रमा ठूलो सङ्ख्यामा मानिस विस्थापित भइरहेका छन् । सरकारी तथ्याङ्कअनुसार ८ लाख ३० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्, जसमा करिब २ लाख ९० हजार बालबालिका छन् । गाजामा पनि मानवीय अवस्था अत्यन्तै गम्भीर रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । धुलोको आँधीका कारण सयौँ आश्रयस्थलमा क्षति पुगेको छ भने हजारौँ मानिस खुला आकाशमुनि बस्न बाध्य छन् ।

    खाद्य आपूर्ति अवरुद्ध हुँदा गाजामा धेरै परिवारले खाना पकाउन फोहोर जलाउन बाध्य भएको विश्व खाद्य कार्यक्रमले चेतावनी दिएको छ । संयुक्त राष्ट्रसङ्घले गाजामा नियमित रूपमा खाना पकाउने ग्यास र अन्य आवश्यक सामग्री प्रवेश गर्न दिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।

  • काबुलको सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

    काबुलको सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

    जेनेभा, ४ चैत (रासस–एएफपी) । अफगान सरकारले काबुलको एक सुधार गृहमा पाकिस्तानले गरेको आक्रमणमा सयौं व्यक्तिको मृत्यु भएको बताएपछि संयुक्त राष्ट्रसङ्घले मङ्गलबार छिटो र स्वतन्त्र छानबिनको माग गरेको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयका प्रवक्ता थमिन अल–खितानले जेनेभामा पत्रकारहरूसँग भने, “हिजो राति काबुलको सुधार केन्द्रमा भएको त्रासदीपूर्ण विस्फोटको तत्काल स्वतन्त्र र पारदर्शी ढङ्गले अनुसन्धान गरिनुपर्छ ।”

    उनले जिम्मेवारहरूलाई ‘अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप जवाफदेही’ बनाउन आह्वान गरे र कुनै पनि अनुसन्धानको नतिजा ‘सार्वजनिक गरिनुपर्ने’ मा जोड दिए । उनले भने, “पीडित र उनीहरूका परिवारलाई परिपूरणको अधिकार छ ।” अफगानिस्तानको राजधानी काबुलमा रहेको लागूऔषध सुधार केन्द्रमा पाकिस्तानले गरेको हवाई आक्रमणमा परी कम्तीमा ४०० जनाको मृत्यु भएको अफगान सरकारले मङ्गलबार जनाएको छ ।

    सोमबार राति गाँजा, ‘एम्फेटामाइन’ र अन्य लागूपदार्थको लत लागेका देशभरका मानिसहरूलाई उपचार गर्न प्रयोग गरिने सुधार गृहका भवनहरू भत्किँदा सयौँ घाइते भएको बताइएको छ । मृतकको सङ्ख्याको तत्काल स्वतन्त्र प्रमाणीकरण हुन सकेको छैन, तर एएफपीका पत्रकारहरूले सोमबार राति घटनास्थलबाट कम्तीमा ३० जनाको शव र मङ्गलबार ६५ भन्दा बढीलाई निकालिएको देखेको बताएका थिए।

    –युद्धविरामको माग–

    तालिबान सरकारले जानाजानी सर्वसाधारणलाई निशाना बनाएको आरोप पाकिस्तानमाथि लगाएको छ तर पाकिस्तानले यसलाई अस्वीकार गरेको छ। पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले आफ्नो सरकारले जानाजानी काबुलको सुधार गृहलाई निशाना बनाएको दाबी ‘पूर्णतया आधारहीन’ भएको बताए ।
    दुई पक्ष महिनौँदेखि द्वन्द्वमा छन् । इस्लामाबादले आफ्नो भूमिमा घातक सीमापार आक्रमण गरेका इस्लामिक अतिवादीहरूलाई आश्रय दिएको काबुलमाथि आरोप लगाएको छ । गत महिनाको अन्त्यमा द्वन्द्व बढेपछि अल–खितानले भन्नुभयो, “आक्रमणमा १०४ बालबालिका र ५९ महिलासहित २८९ अफगान नागरिक हताहत भएका छन् भने दशौँ हजार विस्थापित भएका छन्।” हताहत भएका भनिएका अधिकांशको मृत्यु भएको अफगानी सञ्चारमाध्यमले जनाएका छन् ।

    अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय नियोग (युनामा) ले सुधार गृहमा आक्रमण हुनुअघि फेब्रुअरी २६ देखि सोमबारसम्म अफगानिस्तानमा कम्तीमा ७६ जना सर्वसाधारणको मृत्यु भएको पुष्टि भएको मङ्गलबार जनाएको छ । संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले पनि ‘तत्काल युद्धविराम’ गर्न आह्वान गरेका छन् । अल–खितानले भने, “अन्तर्राष्ट्रिय मानवीय कानून अन्तर्गत नागरिक र गैर–सैनिक वस्तुहरूको कडाईका साथ संरक्षण गरिन्छ।”

    “युद्धको कानूनले स्पष्ट रूपमा कुनै पनि आक्रमणको भिन्नता, समानुपातिक र सावधानीको आधारभूत सिद्धान्तहरूको पालना गर्नुपर्दछ,” उनले भने, “अन्तर्राष्ट्रिय मानवीय कानूनले चिकित्सा सुविधाहरूको लागि विशिष्ट र अधिक सुरक्षा प्रदान गर्दछ।” यसैबीच, विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेहब्रेयससले एक्समा भनेका छन्, “फेब्रुअरीको अन्त्यदेखि बढ्दो शत्रुताको कारण ‘अफगानिस्तानमा कम्तिमा छ स्वास्थ्य निकायहरू प्रभावित भएका छन्।”

    उनले भने, “संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य निकायले यस्ता घटनाको पुष्टि गर्न काम गरिरहेको छ ।” टेड्रोसले भने, “म सबै पक्षलाई तनाव कम गर्न र शान्ति र स्वास्थ्यलाई प्राथमिकता दिन आग्रह गर्दछु ।”

  • अर्जेन्टिना विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरियो

    अर्जेन्टिना विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरियो

    ब्युनस आयर्स, अर्जेन्टिना, (रासस–एएफपी) । अर्जेन्टिनाले मङ्गलबार विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)बाट औपचारिक रूपमा आफ्नो सदस्यता फिर्ता लिएको छ । अजेन्टिनाका विदेशमन्त्रीले संयुक्त राज्य अमेरिकालाई पछ्याउँदै अर्जेन्टिनाले पनि आफ्नो डब्ल्युएचओ सदस्यता परित्याग गरेको छ । अमेरिकाले यस वर्षको सुरुमा यही कदम चालेको थियो। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका निकट सहयोगी राष्ट्रपति ज्याभियर माइलीको सरकारले कोभिड–१९ को महामारी नियन्त्रणमा विश्व स्वास्थ्य सङ्गठनको आलोचना गर्दै एक वर्षअघि संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य संस्था छोड्ने घोषणा गरेको थियो ।

    अर्जेन्टिनाको विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय सन्धिले तोकेको समयसीमाभित्र फिर्ताको प्रक्रिया पूरा भएको जनाएको छ । “अर्जेन्टिनाले आफ्नो सार्वभौमिकता र स्वास्थ्य नीतिहरूको बारेमा निर्णय गर्ने क्षमतालाई पूर्ण रूपमा संरक्षण गर्दै द्विपक्षीय सम्झौताहरू र क्षेत्रीय मञ्चहरू मार्फत स्वास्थ्यमा अन्तर्राष्ट्रिय सहयोगलाई बढावा दिने कार्यलाई जारी राख्नेछ,” विदेश मन्त्री पाब्लो क्विर्नोले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
    गत वर्ष अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठनका सिफारिसहरू विज्ञानमा आधारित नभएर राजनीतिक स्वार्थमा आधारित भएकाले प्रभावकारी नभएको घोषणा गरेको थियो । ट्रम्पले ह्वाइट हाउसमा फर्केपछि बहुराष्ट्रिय समूहबाट बाहिरिने कार्यकारी आदेशमा हस्ताक्षर गरेको एक वर्षपछि अमेरिकाले जनवरीमा डब्लुएचओबाट बाहिरिने औपचारिक घोषणा गरेको थियो।

    विश्व स्वास्थ्य सङ्गठनले बिफर उन्मूलन र पोलियो, एचआईभी, इबोला र क्षयरोगलगायतका रोग र जनस्वास्थ्यसम्बन्धी खतराहरूको सामना गर्न विशेष भूमिका खेलेको छ । गत जनवरीमा विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेहब्रेयससले यस कदमप्रति गहिरो खेद व्यक्त गर्दै यसले संयुक्त राज्य अमेरिका र बाँकी विश्वलाई असुरक्षित बनाउने बताएका थिए ।

  • अहिलेको अवस्थामा ‘स्ट्रेट अफ हर्मुज’ मा जहाजलाई सुरक्षा दिन असम्भव : फ्रान्स

    अहिलेको अवस्थामा ‘स्ट्रेट अफ हर्मुज’ मा जहाजलाई सुरक्षा दिन असम्भव : फ्रान्स

    पेरिस, ४ चैत (रासस–एएफपी) । फ्रान्सले वर्तमान् स्थिति ‘शान्त’ भएपछि मात्र ‘स्ट्रेट अफ हर्मुज’बाट जहाजहरूलाई सुरक्षा दिन मद्दत गर्न तयार रहेको बताएको छ। अहिलेको अशान्त अवस्थामा इन्धन लगायतका सामग्री ढुवानी गर्ने जहाजहरूलाई सुरक्षा दिन असम्भव रहेको फ्रान्सका राष्ट्रपति राष्ट्रपति इम्यानुएल म्याक्रोँले मङ्गलबार बताएका छन् । उनले भने, “फ्रान्सले अहिलेको स्थिति ‘शान्त’ भएपछि मात्र ‘स्ट्रेट अफ हर्मुज’बाट जहाजहरूलाई सुरक्षा गर्न मद्दत गर्न तयार छ ।”

    इरानले बन्द गरेको जलमार्ग सुरक्षित गर्न सघाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मागपछि राष्ट्रपति म्याक्रोँले भने, “हामी द्वन्द्वको पक्षहरू होइनौँ, त्यसैले फ्रान्सले वर्तमान अवस्थामा ‘स्ट्रेट अफ हर्मुज’लाई मुक्त गर्ने वा खोल्ने अभियानमा कहिल्यै भाग लिने छैन ।”

    “यद्यपि, हामी विश्वस्त छौं कि एक पटक स्थिति शान्त भएपछि हामी अन्य राष्ट्रहरूसँगै सुरक्षा निगरानी प्रणालीको जिम्मेवारी लिन तयार छौँ।” अमेरिका र इजरायलको इरानी भूमिमा भएको आक्रमणपछि इरानले विश्वको करिब २० प्रतिशत इन्धनको आपूर्ति हुने नाका ‘स्ट्रेट अफ हर्मुज’ लाई बन्द गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व शक्ति राष्ट्रहरूलाई उक्त नाकाबाट जहाजहरूलाई आवागमन गर्न सुरक्षा दिन सहयोग गर्न आग्रह गरेका थिए ।

  • इरान युद्धका विषयलाई लिएर ट्रम्पका उच्च सहयोगीद्वारा राजीनामा

    इरान युद्धका विषयलाई लिएर ट्रम्पका उच्च सहयोगीद्वारा राजीनामा

    वासिङ्टन, ४ चैत (रासस–एएफपी) । ट्रम्प प्रशासनको आतङ्कवादविरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धको विषय र प्रक्रियाप्रति विमति राख्दै आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत् जारी गरेको विज्ञप्तिमा राष्ट्रपति ट्रम्पलाई आफ्नो अडान परिवर्तन गर्न पनि आग्रह गरे । केन्द्रका निर्देशक केन्टले आफ्नो एक्स अकाउन्टमा पोस्ट गरेको पत्रमा इरान अमेरिकाका लागि तत्काल खतरा नभएको बताएका छन् । उनले ट्रम्प प्रशासनले इजरायल र उसको शक्तिशाली अमेरिकी लबीको दबाबमा यो युद्ध सुरु गरेको दाबी गरे ।


    अमेरिकी विशेष बल र सीआईएका अनुभवी व्यक्ति ४५ वर्षीय केन्टले स्वदेश तथा विदेशमा रहेर मातृभूमिको पक्षमा लामो समय योगदान पु¥याएका थिए ।
    उनकी पत्नी शैनन केन्टले पनि अमेरिकी नौसेनामा ‘क्रिप्टोलोजिक टेक्निसियन’ का रूपमा काम गरेकी थिइन् । सन् २०१९ मा सिरियामा भएको आत्मघाती आक्रमणमा श्रीमती केन्ट मारिएकी थिइन् । जो केन्टले आफ्नो पत्रमा भनेका छन्, “सन् २०२५ को जुनसम्ममा ट्रम्पले मध्यपूर्वमा युद्धले अमेरिकालाई हाम्रा देशभक्तहरूको बहुमूल्य जीवनबाट वञ्चित गरेको र हाम्रो राष्ट्रको सम्पत्ति र समृद्धिलाई कम गरेको कुरा बुझ्नुभएको छ ।”

    “उच्च पदस्थ इजरायली अधिकारी र प्रभावशाली अमेरिकी पत्रकारहरूले ‘गलत सूचना’ फैलाएको र यसले ट्रम्पलाई आफ्नो ‘अमेरिका फस्र्ट’ प्लेटफर्मलाई कमजोर बनाएको पनि बताएका छन । पत्रमा अगाडि लेखिएको छ, “इरान अमेरिकाका लागि ठूलो खतरा छ भन्ने तपाइँलाई विश्वास दिलाउन यसको प्रयोग गरिएको थियो । यो झूट थियो।”

    लामो समयदेखि ट्रम्पका समर्थक रहेका केन्ट गत वर्ष जुलाईदेखि अमेरिकी आतङ्कवादविरोधी केन्द्रको निर्देशकको रूपमा नियुक्त भएका थिए ।
    यसअघि केन्ट अमेरिकी सेनासँग ११ पटक विदेशमा तैनाथ भइसकेका छन् । यसमा इराकमा अमेरिकी सैन्य विशेष बलको तैनाथी पनि समावेश छ। अमेरिकी गुप्तचर निकाय सिआइएमा पनि काम गरेको अनुभवी केन्टले श्रीमतीको मृत्युपछि सरकारी जागिर छाडेका थिए । आफ्नो पत्रमा केन्टले आफ्नो सैन्य सेवा र आफ्नी पत्नीको मृत्युलाई उद्धृत गर्दै भनेका छन्, “उहाँ अर्को पुस्तालाई युद्धमा लड्न र मर्न पठाउन समर्थन गर्न सक्नुहुन्न जसले अमेरिकी जनताको हित गर्दैन र अमेरिकी जीवनको लागतलाई न्यायोचित ठहराउँदैन ।”

    राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका धेरै वरिष्ठ अधिकारीहरूले राजीनामा दिएका छन्, जसमा सेक्युरिटिज र एक्सचेन्ज कमिशन प्रवर्तन निर्देशक मार्गरेट रायन र केनेडी सेन्टरका अध्यक्ष रिक ग्रेनेल समावेश छन्। यद्यपि, राष्ट्रपतिको दोस्रो कार्यकालमा अफिसरको आवागमनको दर उनको पहिलो कार्यकाल सन् २०१७ देखि सन् २०२१ को तुलनामा धेरै कम छ।

  • इरानको सैन्य र राजनीतिक क्षमता प्रभावित भएको इजरायली दावी

    इरानको सैन्य र राजनीतिक क्षमता प्रभावित भएको इजरायली दावी

    जेरुसलेम, ३ चैत (रासस–सिन्ह्वा) । इजरायली सेनाले सोमबार तेहरानको मेहराबाद विमानस्थलमा इरानका शीर्ष नेतृत्व प्रयोग गर्ने विमान नष्ट गरेको घोषणा गरेको छ । इजरायलका अनुसार यस आक्रमणले तेहरान र यसको क्षेत्रीय सहयोगीहरूबीच समन्वयमा बाधा पुर्याउने अपेक्षा गरिएको छ।

    सेनाले दिएको विज्ञप्तिमा सो विमान वरिष्ठ राजनीतिक र सैन्य नेताहरूले घरेलु तथा अन्तर्राष्ट्रिय यात्राका लागि प्रयोग गर्दै आएका थिए। सेनाले विमान नष्ट हुँदा इरानी नेतृत्व र क्षेत्रीय सहयोगी समूहहरूबीच सञ्चारमा अवरोध आउने भनेको छ, तेहरानको सैन्य सुदृढीकरण ढिलो हुनेछ, र क्षतिग्रस्त क्षमताहरू पुनःस्थापना गर्ने क्षमता सीमित हुनेछ।

    उक्त विमान एअरबस ४४०को रूपमा पहिचान गरिएको छ, जुन पूर्व राष्ट्रपति मासूद पेझेस्कियन र अघिल्ला समयमा सुप्रीम लिडर अली खमेनेई लगायत वरिष्ठ नेताहरूलाई विदेश यात्रा गर्न प्रयोग गरिएको थियो। इरानी अधिकारीहरूले आक्रमणको तत्काल पुष्टि गरेका छैनन्। मेहराबाद विमानस्थल पश्चिमी तेहरानमा अवस्थित छ र राजधानीको पुरानो विमानस्थलमध्ये एक हो। तेहरानको इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थलले अधिकांश लामो दूरीका उडानहरू संचालन गरेको भए पनि, मेहराबाद अझै देशको व्यस्त घरेलु विमानस्थल हो र यहाँ इरानी वायु सेना सहितका सैन्य सुविधा पनि रहेको छ।

    सोमबार इजरायली सेनाले तेहरान, शिराज र टाबरिज शहरमा पनि लक्षित आक्रमण गरेको बताएको छ। यसरी, अमेरिकासँगको संयुक्त अभियान इरानविरुद्ध १७औं दिनमा प्रवेश गरेको छ।

  • होर्मुज बन्दः विश्व बजारमा दबाब

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    तेहरान, ३ चैत (रासस–एएफपी) । इरानले कच्चा तेल आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुज प्रभावकारी रूपमा बन्द गरेपछि विश्व ऊर्जा बजारमा तीव्र दबाब देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार नाटोका साझेदार राष्ट्रहरू तथा चीनलाई उक्त जलमार्ग पुनः सञ्चालनमा ल्याउन सहयोग गर्न आग्रह गरेका छन् । अमेरिका–इजरायलसँग जारी युद्धको प्रतिउत्तरस्वरूप इरानले खाडी क्षेत्रको यो प्रमुख जलमार्ग बन्द गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य एकाएक ४० देखि ५० प्रतिशतसम्म उक्लिएको छ । युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा कच्चा तेलको मूल्य सोमबार करिब १०० डलर आसपास पुगेको देखिएको छ । इजरायलले इरानभित्र अझै पनि ‘हजारौँ लक्ष्य’ रहेको दाबी गर्दै दैनिक रूपमा नयाँ लक्ष्य पहिचान गरिरहेको जनाएको छ ।

    ट्रम्पले संयुक्त राज्य अमेरिका इरानसँग वार्तामा रहेको भए पनि तेहरान तत्काल युद्ध अन्त्य गर्ने सहमतिमा पुग्ने अवस्थामा नदेखिएको बताए । “मलाई लाग्दैन उनीहरू अहिले तयार छन्, तर उनीहरू निकै नजिक आइपुगेका छन्”, उनले भने । यसअघि इरानका विदेशमन्त्रीले भने वासिङ्टनसँग कुनै पनि प्रकारको वार्ता अस्वीकार गरिएको बताएका थिए ।
    अमेरिकी राष्ट्रपतिले चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतजस्ता देशहरूलाई स्ट्रेट अफ होर्मुज हुँदै जाने तेल ट्याङ्करहरूको सुरक्षाका लागि नौसैनिक जहाज पठाउन आग्रह गरेका छन् । फाइनान्सियल टाइम्ससँग कुरा गर्दै उहाँले स्ट्रेट अफ होर्मुजबाट लाभ लिने देशहरूले त्यस क्षेत्रमा कुनै अप्रिय घटना हुन नदिन सहयोग गर्नु उचित हुने बताए । संयुक्त राज्य अमेरिकाको तुलनामा युरोपेली देशहरू र चीन खाडी क्षेत्रबाट आउने तेलमा धेरै निर्भर रहेका छन् ।

    बेइजिङले स्ट्रेट अफ होर्मुज पुनः सञ्चालनका प्रयासमा सहयोग नगरे चिनियाँ राष्ट्रपति सी जिनपिङसँग यस महिनाको अन्त्यमा हुने तय गरिएको शिखर सम्मेलन स्थगित हुन सक्ने चेतावनी पनि ट्रम्पले दिएका छन् । उनले आफ्नो आग्रह अस्वीकार भएमा त्यसले नाटोको भविष्यका लागि पनि नकारात्मक प्रभाव पार्न सक्ने बताए । तर जापान र अस्ट्रेलियाले भने अहिलेका लागि सैनिक तैनाथ गर्ने योजना नभएको स्पष्ट पारेका छन् ।

    यसैबीच इरानले अन्य देशहरूलाई मध्यपूर्वमा फैलिएको युद्धमा प्रत्यक्ष रूपमा संलग्न नहुन चेतावनी दिएको छ । फ्रान्सका विदेशमन्त्री जिन–नोएल बारोटसँगको टेलिफोन संवादमा इरानका विदेशमन्त्री अब्बास अराघचीले द्वन्द्वलाई थप विस्तार गर्ने कुनै पनि कदमबाट टाढा रहन आग्रह गरेका छन् । उनले क्षेत्रीय सुरक्षाका नाममा अमेरिकी सैन्य उपस्थितिले समस्या समाधान गर्नुको सट्टा तनाव बढाइरहेको आरोप लगाए । छिमेकी देशहरूलाई ‘विदेशी आक्रमणकारीलाई बाहिर निकाल्न’ आह्वान गरे ।
    युद्धसँगै इरानले अमेरिकी सेना रहेको मध्यपूर्वका विभिन्न स्थानमा आक्रमण तीव्र बनाएको छ । इटालीको सेनाले कुवेतस्थित अली अल सलेम एयरबेसमा भएको ड्रोन आक्रमणमा इटालीको मानवरहित विमान नष्ट भएको तर मानवीय क्षति नभएको जनाएको छ । इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले घटनालाई कम महत्त्व दिँदै आफ्नो देश कसैसँग युद्धमा नरहेको स्पष्ट पारे ।
    इराकी अधिकारीहरूका अनुसार बगदाद अन्तर्राष्ट्रिय विमानस्थलस्थित अमेरिकी कूटनीतिक सुविधा नजिकै रकेट प्रहार हुँदा पाँच जना घाइते भएका छन् । उता इरानको रिभोलुसनरी गार्ड्सले हालसम्म अमेरिका र इजरायलसँग सम्बन्धित लक्ष्यहरूतर्फ करिब ७०० मिसाइल र तीन हजार ६०० ड्रोन प्रहार गरिएको दाबी गरेको छ ।

    साउदी अरेबियाले पनि सोमबार मध्यरातयता ६० भन्दा बढी ड्रोन रोकेको जनाएको छ । दुबई विमानस्थल नजिक ड्रोनसँग सम्बन्धित घटनापछि आगलागी हुँदा केही समयका लागि उडान स्थगित गर्नुपरेको थियो । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले भने इराकको कुर्दिस्तान क्षेत्रमा इरानी डिजाइनको ड्रोन आक्रमणमा फ्रान्सेली सैनिक मारिएपछि फ्रान्सका हितमाथि भएको आक्रमण अस्वीकार्य भएको बताएका छन् ।
    यसबीच द्वन्द्व लेबनानसम्म फैलिएको देखिएको छ । इजरायलले बेरुतको दक्षिणी उपनगरहरूमा नयाँ हवाई आक्रमण सुरु गरेको जनाएको छ । ऊर्जा बजारमा भने आपूर्ति सङ्कट टार्न अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट करिब ४० करोड ब्यारेल तेल बजारमा पठाउन सुरु गर्ने निर्णय गरेको जनाएको छ । एसिया–ओसिनिया क्षेत्रका देशहरूले तत्काल भण्डार उपलब्ध गराउनेछन् भने युरोप र अमेरिकाले आगामी हप्तामा त्यसलाई पछ्याउने अपेक्षा गरिएको छ ।

    मध्यपूर्वबाट आउने तेलमा ९५ प्रतिशत निर्भर रहेको जापानले आफ्नो सरकारी राजपत्रमार्फत देशको तेल भण्डार स्तर घट्दै गएको सूचना जारी गरेको छ । यस कदमले भण्डार व्यवस्थापकहरूलाई केही तेल बजारमा छोड्न बाध्य पार्नेछ । स्ट्रेट अफ होर्मुज बन्द भएपछि विश्वका विभिन्न देशमा त्यसको प्रभाव देखिन थालेको छ । अस्ट्रेलियाका अधिकारीहरूले मूल्य वृद्धि र हडबडाहटमा किनमेल नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । भारतमा भने आयात अवरोधका कारण रेस्टुरेन्टहरूले खाना पकाउने ग्यास बचत गर्न मेनु परिवर्तन गर्न थालेका छन् ।

    सिड्नी नजिकै बस्ने ल्यान्डस्केपर एम्मा फुटर्लेबले इन्धन महँगिएपछि आफ्नो बजेटमा दबाब परेको बताए । “यसले हाम्रो खर्चमा सीधा असर गरेको छ”, उहाँले भने ।
    उता तेहरानमा भने युद्ध सुरु भएको केही दिनपछि जीवन क्रमशः सामान्य बन्न थालेको देखिएको छ । गत हप्ताको तुलनामा सहरमा यातायात चहलपहल बढेको छ र केही क्याफे तथा रेस्टुरेन्ट पुनः सञ्चालनमा आएका छन् । फारसी नयाँ वर्ष नौरुज नजिकिँदै गर्दा लोकप्रिय ताजरिश बजारका धेरै स्टलहरू खुल्न थालेका छन् । नगद निकाल्न एटीएमहरूमा लामो लाइन देखिएको छ भने देशकै ठूलो बैंक मेलीको अनलाइन सेवा केही दिनदेखि अवरुद्ध भएको जनाइएको छ ।

    राजधानी बाहिरका क्षेत्रहरूमा पनि समान अवस्था देखिएको छ । क्यास्पियन सागर किनारको मजन्दरान प्रान्तस्थित टोनेकाबोन सहरका ४९ वर्षीय अलीले पसलहरू खुला र भीडभाड रहेको बताए । यद्यपि मूल्य बढेको अनुभव भइरहेको उनको भनाइ छ । उनका अनुसार मुख्य चोक भने हरेक रात बन्द गरिन्छ र सरकारी प्रदर्शनहरू आयोजना भइरहेका छन् । बाह्य इन्टरनेट सेवा बन्द भएकाले देशभित्रको इन्ट्रानेट मात्रै चलिरहेको बताइएको छ । इरानी स्वास्थ्य मन्त्रालयका अनुसार अमेरिका र इजरायलका आक्रमणबाट हालसम्म एक हजार २०० भन्दा बढी मानिसको मृत्यु भएको छ, यद्यपि यो तथ्याङ्क स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीले इरानभित्र करिब ३२ लाख मानिस विस्थापित भएको जनाएको छ ।

  • यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा सात जनाको मृत्यु

    यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा सात जनाको मृत्यु

    दुबई, ३ चैत (रासस–सिन्ह्वा) । इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमणका कारण फेब्रुअरी २८ यता संयुक्त अरब इमिरेट्स (यूएई) मा कम्तीमा ७ जनाको मृत्यु भएको यूएई रक्षा मन्त्रालयले सोमबार जनाएको छ। मारिनेहरूमा २ जना सैनिक र ५ जना सर्वसाधारण रहेका छन् भने विभिन्न देशका १४५ जना घाइते भएका छन्।

    मन्त्रालयका अनुसार सो अवधिमा यूएई सुरक्षाबलले इरानबाट प्रक्षेपण गरिएका ३०४ वटा ब्यालिस्टिक मिसाइल, १५ वटा क्रुज मिसाइल र एक हजार ६२७ वटा ड्रोन अवरोध गरी नष्ट गरेका छन्। सोमबार भएको आक्रमणमा ६ वटा ब्यालिस्टिक मिसाइल र २१ वटा ड्रोन प्रयोग गरिएको थियो, जसले अबुधाबी, दुबई, फुजैराह र उम्म अल क्वैन क्षेत्रमा क्षति पुर्‍याएको बताइएको छ। अबुधाबीको अल बह्याह क्षेत्रमा मिसाइल लागेर एक नागरिक सवारी साधन नष्ट हुँदा एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ।

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन आक्रमण हुँदा इन्धन ट्याङ्कमा आगलागी भएको र केही समय उडान सेवा रोकिएको थियो। फुजैराह तेल उद्योग क्षेत्रमा पनि आगलागी भएको भए पनि त्यहाँ कुनै मानवीय क्षति भएको छैन। यूएई रक्षा मन्त्रालयले सम्भावित थप आक्रमणलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाइएको जनाएको छ।