Category: अमेरिका

  • ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’

    ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’

    चितवन, ३० पुस । केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहेका थिए । त्यही समय छाडा छोडिएको एउटा कुकुर उनीहरु नजिकै पुग्यो । पाहुनालाई कुकुरले टोक्ला भनेर सुरक्षा गार्ड दगुर्दै त्यहाँ आइपुगे । हतारिदैँ चोट लाग्ने गरी लखेटे । त्यो देखेर ती आमाछोरीलाई नरमाइलो लाग्यो । दुवैका आँखा रसाए । उनीहरुले भगाइसकेको कुकुर खोज्न सुरक्षा गार्डलाई आग्रह गरे । सोही अनुरोधअनुसार सुरक्षा गार्डले भागेको कुकुर खोजेर ल्याइदिए । आमाछोरीले कुकुरलाई सुमसुम्याउँदै माया गरेँ । माया मात्रै गरेनन्, सोही कुकुरलाई आफ्नो देश अमेरिका लैजाने निधो गरे ।

    ती विदेशी पाहुनालाई व्यवस्थापनमा सहयोग पु¥याएका विनोद ढकालले उक्त कुकुर यसै साता अमेरिका पुगेको जानकारी दिए । उनका अमेरिकी नागरिक ५० वर्षीया चन्दा रेनेग्रेगर र उनकी १६ वर्षीया छोरी म्याडिसनले लखेटिएको कुकुरलाई प्रक्रिया मिलाएर अमेरिका लगेका हुन् । ढकालले भने, “कुकुरलाई पिट्दा रोएका ती आमाछोरीले अमेरिका लैजान्छौँ भनेपछि सबै प्रक्रिया पु¥याएर पठाएको हुँ । गत आइतबार त्यहाँ पुगेको खबर पाउँदा निकै खुसी लागेको छ ।”

    गत जुनमा उहाँहरू यहाँ आउनुभएको थियो । दुई साता सोही होटलमा बस्ने क्रममा यो घटना भएको थियो । ढकालका अनुसार त्यतिबेला दुवै जना पूर्वनिर्धारित कार्यसूचीका कारण कुकुर रेखदेखका लागि एक जना व्यक्तिलाई जिम्मा लगाएर गए । उनले भने, “पशु चिकित्सकको परामर्शमा नियमित स्वास्थ्य परीक्षण गर्दै कुकुरलाई राखियो । पछि फिट टू फ्लाइटको अनुमति र पेट पासपोर्ट बनाएर कतार एयरलाइन्समार्फत कुकुरलाई पठाइयो । उक्त कुकुर अमेरिकाको कोलोराडोमा पुगेको छ ।”

    कुकुर अमेरिका पु¥याउने सबै प्रक्रिया पूरा गर्दा अमेरिकन आमाछोरीले १० हजार अमेरिकन डलरभन्दा बढी खर्च गरेको ढकालले सुनाए । “मानिसलाई जनावरको माया कतिसम्म हुँदोरहेछ भन्ने उनीहरूबाट थाहा पाएँ । अमेरिका पुगेपछि दुई दिन क्वारेन्टिनमा राखेको खबर र स्वास्थ्य परीक्षण गरेर बाहिर हिँडाइएको तस्बिर र भिडियो पठाएपछि म पनि ढुक्क भएको छु”, ढकालले भने ।

  • आइसिई हिरासतमा आप्रवासी मृत्यु बढ्दै

    आइसिई हिरासतमा आप्रवासी मृत्यु बढ्दै

    न्युयोर्क, १ माघ, (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वकालमा अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन निकाय (आइसिई) का हिरासत केन्द्रहरूमा आप्रवासीहरूको मृत्यु बढ्दो क्रममा रहेको तथ्याङ्कले देखाएको छ । जनवरी ७ मा मिनियापोलिस, मिनेसोटामा प्रदर्शनकारी रेनी निकोल गुडमाथि भएको घातक गोलीकाण्डपछि आइसिईले प्रयोग गर्दै आएको टकरावपूर्ण रणनीति पुनः सार्वजनिक बहसको केन्द्रमा आएको छ ।

    तर आइसिईले आफैँ सार्वजनिक गरेको विवरणले अध्यागमन हिरासत केन्द्रहरूमा राखिएका व्यक्तिहरूका लागि ती स्थानहरू अझै जोखिमपूर्ण र कहिलेकाहीँ घातकसमेत बन्ने गरेको देखाएको छ । एजेन्सीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सन् २०२६ को सुरुआती केही दिनमै हिरासतमा रहेका धेरै व्यक्तिको मृत्यु भएको खुलासा गरिएको छ । यो अवस्था त्यही समयपछि आएको हो, जब सन् २०२५ मा आइसिई हिरासतमा आप्रवासी कैदीहरूको मृत्यु दुई दशककै उच्च स्तरमा पुगेको थियो र हिरासतमा राखिने व्यक्तिको सङ्ख्या तीव्र गतिमा बढेको थियो ।

    आइसिईको तथ्याङ्कअनुसार डिसेम्बर २०२५ को अन्त्यसम्म ६८ हजारभन्दा बढी वयस्कहरू आइसिई हिरासतमा थिए । यो सङ्ख्या डिसेम्बर २०२३ मा करिब ३६ हजार मात्रै रहेको थियो, जसले छोटो अवधिमै हिरासतमा रहेकाहरूको सङ्ख्या झन्डै दोब्बर भएको देखाउँछ ।

    सन् २०२६ को सुरुआतदेखि अहिलेसम्म आइसिईको हिरासतमा रहँदा कम्तीमा चार जनाको मृत्यु भइसकेको एजेन्सीले जनाएको छ । यी सबै मृत्यु वर्षको पहिलो १० दिनभित्र भएका हुन् । जनवरी ९ र १० को अवधिमा मात्र तीन जनाको मृत्यु भएको घोषणा गरिएको थियो । मृतकहरू सबै पुरुष थिए, जसको उमेर ४२ देखि ६८ वर्षबीच रहेको बताइएको छ । तीमध्ये दुई जना होन्डुरसका नागरिक, एक जना क्युबाली र एक जना कम्बोडियाली नागरिक थिए ।

    आइसिईका अनुसार दुई जनाको मृत्यु ‘मुटुसम्बन्धी स्वास्थ्य समस्या’ का कारण भएको थियो भने बाँकी दुई घटनाको स्पष्ट कारण उल्लेख गरिएको थिएन । पछिल्ला घटनामध्ये एउटा मात्रै ‘अनुसन्धान अन्तर्गत’ भनेर सूचीबद्ध गरिएको छ । सन् २०२५ लाई आइसिई हिरासतमा रहेका आप्रवासीहरूका लागि पछिल्ला २० वर्षकै सबैभन्दा घातक वर्षका रूपमा लिइएको छ । उक्त वर्ष अध्यागमन हिरासत केन्द्रहरूमा राखिएका कम्तीमा ३० जनाको मृत्यु भएको थियो । यो सङ्ख्या सन् २००४ मा आइसिई स्थापना भएपछिको सबैभन्दा उच्च हो ।

    सन् २०२५ को मृत्यु सङ्ख्याले बाइडेन प्रशासनकाल ९सन् २०२१–२०२५० को सम्पूर्ण अवधिमा आइसिई हिरासतमा रेकर्ड गरिएका कुल मृत्यु सङ्ख्याभन्दा पनि बढी प्रतिनिधित्व गरेको छ । आइसिईका प्रतिवेदनहरूका आधारमा अमेरिकी अध्यागमन वकिल सङ्घले सङ्कलन गरेको तथ्याङ्कअनुसार ती चार वर्षमा हिरासतमा रहँदा जम्मा २६ जनाको मृत्यु भएको थियो ।

    बाह्य पर्यवेक्षक र मानवअधिकार संस्थाहरूले आइसिई हिरासत केन्द्रहरूमा बन्दीहरूले पाउने चिकित्सा उपचारको स्तरप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आएका छन् । अमेरिकन सिभिल लिबर्टीज युनियन (एसिएलयु) ले सन् २०२४ मा सार्वजनिक गरेको प्रतिवेदनमा आइसिई हिरासतमा भएका ९५ प्रतिशत मृत्यु उचित हेरचाह उपलब्ध गराइएको भए रोक्न सकिन्थ्यो भन्ने निष्कर्ष निकालिएको थियो ।

    उक्त प्रतिवेदन सार्वजनिक अभिलेख अनुरोधमार्फत प्राप्त हजारौँ पृष्ठ कागजातको अध्ययनका आधारमा तयार पारिएको थियो । यसमा सन् २०१७ देखि २०२१ को अवधिमा आइसिई हिरासतमा भएका मृत्युहरूको विस्तृत विश्लेषण गरिएको थियो । ती कागजातहरूको समीक्षा गर्ने चिकित्सा विज्ञहरूले गलत वा अनुपयुक्त उपचारका साथै अत्यधिक ढिलाइ भएको चिकित्सा सेवाका व्यापक प्रमाणहरू फेला पारेका थिए ।

  • इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो

    इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो

    तेहरान, ३० पुस (रासस–एपी) । इरानले आफ्ना नागरिकमाथि लगाइएका केही प्रतिबन्धहरू मङ्गलबार आंशिक रूपमा खुकुलो पारेको छ । देशभर फैलिएको रक्तपातपूर्ण विरोध प्रदर्शनपछि पहिलोपटक इरानी नागरिकलाई मोबाइल फोनमार्फत विदेशमा फोन कल गर्न अनुमति दिइएको हो । तर इन्टरनेटमा लगाइएका प्रतिबन्ध भने यथावत् राखिएका छन् र एसएमएस टेक्स्ट सन्देश सेवा अझै पुनः सञ्चालन गरिएको छैन । पछिल्ला दिनहरूमा राज्यविरुद्धको प्रदर्शनका क्रममा कम्तीमा ६४६ जनाको मृत्यु भइसकेको बताइएको छ ।

    इरानीहरूले विदेशमा फोन गर्न सके पनि विदेशबाट इरानभित्र कल गर्न भने सम्भव नभएको राजधानी तेहरानका धेरै नागरिकले एसोसिएटेड प्रेसलाई जानकारी दिएका छन् । प्रतिशोधको डरले नाम नखुलाउने सर्तमा बोलेका साक्षीहरूका अनुसार एसएमएस सेवा अझै बन्द छ र इरानभित्रका इन्टरनेट प्रयोगकर्ताहरूले बाहिरी संसारका वेबसाइट वा सेवामा पहुँच पाएका छैनन् । यद्यपि सरकारद्वारा अनुमोदित केही स्थानीय वेबसाइटहरूमा सीमित पहुँच उपलब्ध रहेको उनीहरूको भनाइ छ ।

    बिहीबार राति अधिकारीहरूले देशभित्र र बाहिरी संसारसँगको सबै सञ्चार एकाएक बन्द गरेपछि अब थप छुट दिइने हो वा होइन भन्ने विषयमा अझै स्पष्टता आएको छैन । यसैबीच, फ्रान्सेली विदेश मन्त्रालयले सुरक्षा अवस्था कमजोर भएकाले तेहरानस्थित आफ्नो दूतावासका अनावश्यक कर्मचारीलाई फिर्ता बोलाई दूतावासलाई सीमित कर्मचारी र सावधानीका साथ सञ्चालन गर्ने गरी पुनः व्यवस्थापन गरिएको जानकारी दिएको छ ।

    यस हप्ताको सुरुमा अनावश्यक कर्मचारीहरूलाई इरानबाट बाहिर पठाइएको थियो । फ्रान्सेली समाचार एजेन्सीका अनुसार दूतावासका गैरआवश्यक कर्मचारीहरू आइतबार र सोमबार देश छोडेर गएका थिए । यद्यपि फ्रान्सका राजदूत भने तेहरानमै रहनुभएको छ र दूतावासले आफ्नो कामकाज जारी राखेको मन्त्रालयले सोमबार राति जनाएको छ ।

    जर्मन चान्सलर फ्रेडरिक मेर्जले इरानी सरकार प्रदर्शनकारीहरूमाथि गरिरहेको हिंसा तुरुन्तै अन्त्य गर्न आह्वान गर्दै वर्तमान शासन आफ्नो ‘अन्तिम दिन र हप्ता’ मा रहेको विश्वास व्यक्त गरे । भारतको बेङ्गलुरु भ्रमणका क्रममा मङ्गलबार उनले भने । “यदि कुनै शासनले बल प्रयोग गरेर मात्र सत्ता जोगाउन सक्छ भने त्यो प्रभावकारी रूपमा अन्त्यतिर पुगेको हुन्छ ।”

    उनले चुनावमार्फत जनताको वैधता नपाएको यो शासनविरुद्ध जनआक्रोश बढ्दै गएको उल्लेख गर्दै द्वन्द्व शान्तिपूर्ण रूपमा अन्त्य हुने आशा व्यक्त गरे । साथै, जर्मनी यस विषयमा अमेरिका र युरोपेली सरकारहरूसँग नजिकको सम्पर्कमा रहेको जानकारी दिए ।


    उता, इजरायली सेनाले इरानमा जारी विरोध प्रदर्शनका कारण ‘आश्चर्यजनक परिदृश्यहरूका लागि सतर्क’ रहेको बताएको छ । तर नागरिकहरूका लागि जारी गरिएका सुरक्षा निर्देशनमा कुनै परिवर्तन नगरिएको इजरायली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएका छन् । उनले इरानमा भइरहेको प्रदर्शनलाई आन्तरिक विषयका रूपमा वर्णन गरे ।


    यसको पृष्ठभूमिमा गत गर्मीमा इजरायलले इरानको आणविक कार्यक्रममा आक्रमण गरेको थियो, जसपछि १२ दिनसम्म चलेको युद्धमा करिब एक हजार २०० इरानी र झन्डै ३० इजरायलीको ज्यान गएको थियो । पछिल्लो साता इरानले इजरायल वा अमेरिकाबाट आक्रमण भएमा जवाफी कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

    इन्टरनेट र अन्तर्राष्ट्रिय कल सेवा बन्द गरेर विरोध प्रदर्शन दमन गरिएपछि मङ्गलबार मात्र इरानी मोबाइल फोनहरूले विदेशमा कल गर्न सकेका हुन् । तेहरानका धेरै नागरिकले एसोसिएटेड प्रेससँग कुरा गर्न सफल भए पनि संयुक्त अरब इमिरेट्सको दुबईस्थित एपी ब्युरोले ती नम्बरहरूमा फिर्ता कल गर्न सकेन । प्रत्यक्षदर्शीहरूका अनुसार इन्टरनेट अझै पनि बाहिरी संसारसँग पूर्ण रूपमा काटिएको छ । विरोध प्रदर्शन चर्किँदै गएपछि इरानले बिहीबार इन्टरनेट र फोन सेवा बन्द गरेको थियो ।

    मानव अधिकार कार्यकर्ताहरूका अनुसार जारी विरोध प्रदर्शनका कारण मृत्यु हुनेको सङ्ख्या कम्तीमा ६४६ पुगेको छ । यसअघि पनि सही तथ्याङ्क प्रदान गर्दै आएको अमेरिकामा आधारित मानव अधिकार कार्यकर्ता समाचार एजेन्सीले मङ्गलबार बिहान अद्यावधिक विवरण सार्वजनिक गरेको हो । सो एजेन्सीले इरानभित्रका विभिन्न स्रोतबाट प्राप्त सूचनाको क्रस–चेकिङमा आधारित तथ्याङ्क प्रयोग गरेको जनाएको छ । एजेन्सीका अनुसार मृतकमध्ये ५१२ जना प्रदर्शनकारी र १३४ जना सुरक्षा बलका सदस्य रहेका छन् । पछिल्ला दुई हप्तामा १० हजार ७०० भन्दा बढी मानिसलाई हिरासतमा लिइएको पनि जनाइएको छ ।

  • इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४

    इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४

    दुबई, २९ पुस (रासस–एपी) । इरानमा जारी सरकारविरोधी प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सङ्ख्या कम्तीमा ५४४ पुगेको मानव अधिकार कार्यकर्ताहरूले बताएका छन् । यसैबीच, संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्ताका लागि तयार भएको दाबी गरेका छन् । तर अवस्था गम्भीर बन्दै गएमा बैठकअघि नै कडा कदम चाल्नुपर्ने चेतावनी पनि दिएका छन् ।


    आइतबार राति एयर फोर्स वनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानमाथि साइबर आक्रमणदेखि लिएर प्रत्यक्ष सैन्य कारबाहीसम्मका विकल्पहरूबारे आफ्नो राष्ट्रिय सुरक्षा टोलीले छलफल गरिरहेको जानकारी दिए । “सेनाले सबै कुरा गहिराइमा हेरिरहेको छ र हामीसँग निकै बलिया विकल्पहरू छन्”, उनले भने । इरानले प्रतिशोध लिएमा ‘पहिल्यै कहिल्यै नदेखिएको स्तरको जवाफ’ दिने चेतावनी पनि उनले दिए । राष्ट्रपति ट्रम्पका अनुसार तेहरानले वार्ताको प्रस्ताव गरेको छ र बैठक तय गर्ने प्रयास भइरहेको छ ।

    तर प्रदर्शनकारीमाथि भइरहेको दमन र मृतकको सङ्ख्या बढिरहेकाले बैठकअघि नै कदम चाल्नुपर्ने अवस्था आउन सक्ने उहाँको भनाइ छ । “इरान वार्ता गर्न चाहन्छ”, उनले भने । यद्यपि, उक्त बैठक प्रस्तावबारे इरानी पक्षबाट तत्काल आधिकारिक प्रतिक्रिया आएको छैन । यसैबीच, क्यारिबियन क्षेत्रमा अमेरिकी सेनाको ठूलो तैनाथी र मध्यपूर्वको सुरक्षा अवस्था पनि ह्वाइट हाउसका लागि प्रमुख चिन्ताको विषय बनेको छ ।

    इरानले चेतावनी दिँदै यदि अमेरिकाले प्रदर्शनकारीहरूको नाममा हस्तक्षेप गर्‍यो भने अमेरिकी सेना र इजरायल ‘वैध लक्ष्य’ हुने बताएको छ । मानव अधिकार कार्यकर्ताहरूका अनुसार पछिल्ला दुई सातामा १० हजार ६०० भन्दा बढी मानिस पक्राउ परिसकेका छन् । मृतकमध्ये ४९६ जना प्रदर्शनकारी र ४८ जना सुरक्षा निकायका सदस्य रहेको बताइएको छ । इरानमा इन्टरनेट र फोन सेवा अवरुद्ध भएकाले वास्तविक अवस्था बुझ्न कठिन भएको र एसोसिएटेड प्रेसले मृतक सङ्ख्या स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको जनाएको छ । इरानी सरकारले अहिलेसम्म आधिकारिक तथ्याङ्क सार्वजनिक गरेको छैन ।

    विदेशमा रहेका विश्लेषकहरूका अनुसार सूचना अवरोधले सुरक्षा निकायभित्रका कठोर धारलाई थप बल मिलेको आशङ्का गरिएको छ । शनिबार रातिदेखि आइतबार बिहानसम्म राजधानी तेहरान र दोस्रो ठूलो सहर मशहदसहित विभिन्न सहरमा ठूलो सङ्ख्यामा मानिसहरू सडकमा उत्रिएका थिए । सामाजिक सञ्जालमा आएका भिडियोहरूमा प्रदर्शनकारीहरूले मोबाइल फोनको उज्यालो देखाउँदै नारा लगाएको देखिन्छ ।

    इरानी संसद्मा पनि कडा अभिव्यक्ति आएका छन् । प्रभावशाली सांसद मोहम्मद बाघेर कालिबाफले इरानमाथि आक्रमण भएमा इजरायल र यस क्षेत्रमा रहेका सबै अमेरिकी सैन्य केन्द्रहरू वैध लक्ष्य हुने चेतावनी दिए । संसद्मा ‘अमेरिका मूर्दावाद’ भन्ने नारा समेत लागेको राज्य सञ्चारमाध्यमले देखाएका छन् । मध्यपूर्वमा अमेरिकी सेनाले आफ्नो तथा सहयोगीहरूको सुरक्षाका लागि पूर्ण तयारी अवस्थामा रहेको जनाएको छ । इजरायलले पनि अमेरिका–इरानबीचको अवस्थालाई नजिकबाट नियालिरहेको बताएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग इरानसम्बन्धी छलफल गरेका छन् ।


    भ्याटिकनमा पोप लियो चौधौँले इरानमा भइरहेको हिंसाप्रति चिन्ता व्यक्त गर्दै संवाद र शान्तिको आह्वान गरेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि प्रदर्शनकारीविरुद्धको हिंसाबाट ‘स्तब्ध’ भएको प्रतिक्रिया दिँदै इरानी अधिकारीहरूलाई संयम अपनाउन र सञ्चार सेवा पुनःस्थापना गर्न आग्रह गरेका छन् । डिसेम्बर २८ देखि सुरु भएको यो आन्दोलन इरानी रियालको तीव्र अवमूल्यन र अन्तर्राष्ट्रिय प्रतिबन्धले थलिएको अर्थतन्त्रको विरोधबाट सुरु भई अहिले इस्लामिक शासन व्यवस्थामाथि प्रत्यक्ष चुनौतीमा रूपान्तरण भएको छ ।

  • अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प

    अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प

    एयर फोर्स वन, २९ पुस (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ आफ्नो नियन्त्रणमा लिने दाबी गरेका छन् । आइतबार एयर फोर्स वनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यदि वासिङ्टनले कदम नचाले रुस वा चीनले उक्त टापु ‘कब्जा’ गर्ने चेतावनी दिए ।


    राष्ट्रपति ट्रम्पका अनुसार आर्कटिक क्षेत्रमा रुस र चीनको सैन्य गतिविधि बढिरहेका बेला खनिज स्रोतले भरिपूर्ण डेनमार्कको स्वशासित क्षेत्र ग्रिनल्यान्डमाथि नियन्त्रण अमेरिकी राष्ट्रिय सुरक्षाका लागि अत्यन्तै महत्त्वपूर्ण छ । “यदि हामीले ग्रिनल्यान्ड लिएनौँ भने, रुस वा चीनले लिनेछन् र म त्यसो हुन दिन्नँ”, उनले भने । यद्यपि, कुनै पनि देशले औपचारिक रूपमा उक्त विशाल टापुमा दाबी गरेको छैन ।

    उनले डेनमार्कको स्वशासित क्षेत्रसँग सम्झौता गर्न आफू खुला रहेको बताउँदै ‘तर कुनै न कुनै तरिकाले ग्रिनल्यान्ड हामीसँग हुनेछ’ भन्ने अभिव्यक्ति दिए । ट्रम्पको यस भनाइप्रति डेनमार्क र अन्य युरोपेली सहयोगीहरूले गहिरो चिन्ता व्यक्त गरेका छन् । ग्रिनल्यान्ड उत्तर अमेरिका र आर्कटिकबीच रणनीतिक रूपमा महत्त्वपूर्ण स्थानमा रहेको छ र दोस्रो विश्वयुद्धदेखि नै त्यहाँ अमेरिकी सैन्य आधार अवस्थित छ ।

    सन् १९५३ सम्म डेनमार्कको उपनिवेश रहेको ग्रिनल्यान्डले पछि स्वशासन पाएको थियो र पछिल्ला वर्षहरूमा डेनमार्कसँगको सम्बन्धलाई क्रमशः खुकुलो बनाउनेबारे बहस चलिरहेको छ । तर टापुका अधिकांश बासिन्दा र राजनीतिक दलहरूले आफूहरू अमेरिकी नियन्त्रणमा जान नचाहेको स्पष्ट गर्दै आफ्नै भविष्य आफैँले तय गर्ने अधिकारमा जोड दिँदै आएका छन् । राष्ट्रपति ट्रम्पले भने यस दृष्टिकोणलाई पटक–पटक चुनौती दिँदै आएका छन् ।


    “ग्रिनल्यान्डले सम्झौता गर्नुपर्छ किनभने ग्रिनल्यान्डले रुस वा चीनलाई आफ्नो नियन्त्रणमा लिएको देख्न चाहँदैन”, भन्दै उनले आफ्नो भनाइलाई ठट्टामिश्रित शैलीमा बचाउ गरे । ग्रिनल्यान्डको सुरक्षालाई व्यङ्ग्य गर्दै उनले ‘त्यहाँको रक्षा के हो भने दुईवटा कुकुर स्लेज मात्र हुन्’ भने । उनले रुस र चीनसँग ‘सबैतिर विध्वंसक हतियार र पनडुब्बीहरू छन्’ भन्ने दाबी गरे ।


    यसअघि डेनमार्कका प्रधानमन्त्रीले ग्रिनल्यान्डमाथि बल प्रयोग गरेर नियन्त्रण गर्ने कुनै पनि अमेरिकी प्रयासले आठ दशकदेखि कायम रहेको ट्रान्सएटलान्टिक सुरक्षा सम्बन्धलाई गम्भीर रूपमा क्षति पुर्‍याउने चेतावनी दिएका थिए । त्यसप्रति प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले ‘यदि यसले नाटोलाई असर गर्छ भने, असर गर्छ’ भन्दै टिप्पणीलाई हल्का रूपमा लिने प्रयास गरे । उनले भने, “तर तपाईंलाई थाहा छ, ग्रिनल्यान्ड हामीलाई उनीहरूलाई चाहिनेभन्दा धेरै आवश्यक छ ।”

  • अपदस्थ नेता ममुरोको पहिलो प्रतिक्रिया सार्वजनिक, के भने ?

    अपदस्थ नेता ममुरोको पहिलो प्रतिक्रिया सार्वजनिक, के भने ?

    काराकास, २८ पुस (रासस–एएफपी) । भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले एक साताअघि अमेरिकी सेनाले पक्राउ परेपछि अहिलेसम्म आफू ठीक रहेको बताएका छन् । अमेरिकाले भने भेनेजुएलाको वर्तमान् प्रशासनलाई विपक्षी दलका नेता तथा पूर्व प्रशासक मदुरोको समयमा उनको विरोध गरेको आरोपमा विभिन्न ठाउँमा जेलमा राखिएका कैदीहरूलाई प्रक्रिया मिलाएर रिहा गर्न दवाव दिइरहेको छ। भेनेजुएलाका दल तथा नागरिकहरू आइतवार थप राजनीतिक बन्दीहरू रिहा हुने प्रतीक्षामा देखिएका थिए।

    अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले मदुरोको शासनकालमा जेलमा रहेका कैदीहरूलाई रिहा गर्न सुरु गरेकी छिन् । भेनेजुयलामा देखिएको अशान्त वातावरणलाई सङ्केत गर्दै देशमा शान्ति स्थापनाका लागि ‘ठूलो’ संख्यालाई रिहा गरिने बताइन् । यद्यपि, यसको श्रेय वाशिङ्गटनले लिएको छ अर्थात् भेनेजुएलामा अन्यायपूर्ण रूपमा जेलमा राखिएका नेता तथा कार्यकर्ताहरूलाई रिहाइका लागि वर्तमान् प्रशासनलाई दवाव दिइरहेको वाशिङ्टनले दावी गरेको छ।

    राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाको नेतृत्व गरेको भन्दै भेनेजुएलाले अमेरिकासँग कूटनीतिक बाटो अपनाउने बताएका छन् ।
    “भेनेजुएलाले आफ्ना राजनीतिक बन्दीहरूलाई रिहा गर्ने प्रक्रिया व्यापकरूपमा सुरु गरेको छ। धन्यवाद,” ट्रम्पले शनिबार राति आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा एक पोस्टमा लेखेका छन् । उनले लेखेका छन्, “मलाई आशा छ, संयुक्त राज्य अमेरिका भेनेजुएलामा आयो र जे गर्नुपर्ने थियो त्यो गर्यो भनेर ती कैदीहरूले सम्झनेछन् ।”

    अधिकारवादी समूहहरूका अनुसार भेनेजुएलामा ८०० देखि एक हजार २०० राजनीतिक बन्दीहरू छन् भन्ने अनुमान छ । पूर्व नेता मदुरो र उनकी पत्नीलाई जनवरी ३ मा काराकासमा रातको समयमा हवाई आक्रमणबाट नाटकीय रूपमा पक्राउ गरिएको थियो उनीहरूलाई अमेरिकी सेनाले न्यूयोर्क शहरमा लागूऔषध ओसारपसार र हतियारको आरोपमा मुद्दा चलाउन लगेको थियो।

    –कैदीबन्दीको चिन्ता–

    शनिबार साँझसम्म कैयौँ प्रमुख विपक्षी व्यक्तित्व, कैदीबन्दी अधिकार समूह र विपक्षीसहित २१ जनालाई मात्र रिहा गरिएको छ । भेनेजुएलाविरुद्ध ‘देशद्रोह’ को आरोप लागेका एक प्रहरी अधिकारीको पनि राज्यको हिरासतमा मृत्यु भएको विपक्षी र अधिकारवादी समूहहरूले शनिबार बताएका छन्। “हामी यस मृत्युको लागि डेल्सी रोड्रिगेजको शासनलाई प्रत्यक्ष रूपमा जिम्मेवार ठहराउँछौं,” भेनेजुएलाको विपक्षी गठबन्धनको एक हिस्सा प्रिमेरो जस्टिसिया (जस्टिस फस्र्ट) ले एक्समा जारी गरिएको एक विज्ञप्तिमा भनिएको छ।

    प्रतिज्ञा गरिएका राजनीतिक बन्दीहरूकोे रिहाइको पर्खाइमा चिन्तित आफन्तहरू जेलबाहिर बसेका छन् । जेलमा रहेका पिडितका परिवारले काराकासको पूर्वमा एल रोडियो कारागार र गुप्तचर सेवाद्वारा सञ्चालित कुख्यात जेल एल हेलिकोइड बाहिर मैनबत्ती जुलुस प्रदर्शन गरेका छन् । उनीहरूले जेलमा रहेका आफन्तहरूको नामसहित प्लाकार्डहरू पनि बोकेका थिए ।

    “म थाकिसकेको छु र आक्रोशित छु,” आफ्नो छोरालाई एल रोडियोबाट छुटाउन पर्खिरहेका बेला ५७ वर्षीया नेब्रास्का रिभासले भने । तर मलाई विश्वास छ, उनीहरूले छोरालाई चाँडै हामीलाई हस्तान्तरण गर्नेछन्,” दुई रात जेल बाहिर फुटपाथमा सुतेको बताउने उनले बताए ।

    –‘आँखा चिम्लेर विश्वास गर्नुहोस्’–

    राष्ट्रपति मदुरोका छोरा निकोलस मदुरो गुएराले शनिबार सार्वजनिक गरेको एक भिडियोमा राष्ट्रपति मदुरो न्यूयोर्कको जेलमा ‘ठीक’ रहेको बताएका छन् ।
    करिब एकहजार प्रदर्शनकारीले पार्टीको झण्डा र प्लेकार्डहरू हल्लाउँदै जुँगा लगाएका पूर्व नेता र उनकी पत्नी सिलिया फ्लोरेसको अनुहार सहित, काराकासको पश्चिमी र केही सय पूर्वी पेटारे जिल्लामा भेला भए। “निकोलस र सिलिया नआउन्जेल म जति पटक मार्च गर्नेछु,“ ६९ वर्षीय प्रदर्शनकारी सोलेदाद रोड्रिगेजले भने ।
    “मदुरो र पत्नीलाई अपहरण गरिएको छ, म आँखा चिम्लेर विश्वास गर्दछु कि तिनीहरू फर्कनेछन् । जुलुशमा विगतमा मदुरोको शिविरले गरेको भन्दा प्रदर्शनहरू निकै साना थिए र उनको सरकारका शीर्ष व्यक्तिहरू उल्लेखनीय रूपमा अनुपस्थित थिए। रोड्रिगेजले कृषि मेलामा भाग लिएको तर जुलुशलाई सम्बोधन भने नगरेको देखिएको थियो। उनले शक्तिशाली मदुरो समर्थक आधारलाई शान्त पार्न भेनेजुएला वाशिङ्गटनको ‘अधीनस्थ’ स्वतन्त्र छ भनी आफ्नो देशभक्तिपूर्ण भनाईद्वारा समर्थकलाई शान्त पार्ने प्रयास गरेकी छिन् ।
    टेलिभिजन टिप्पणीहरूमा उनले भनिन्, ‘आफुले राष्ट्रपति फिर्ता नभएसम्म एक मिनेट पनि आराम नगर्ने’ प्रतिवद्धता गरेको छु ।” उनको सरकारका अन्य दुई कट्टरपन्थी शक्तिहरू गृहमन्त्री डियोस्डाडो काबेलो र रक्षामन्त्री भ्लादिमिर पाड्रिनो लोपेज पनि र्‍यालीमा देखिएनन् ।

    –तेल वार्ता –

    मदुरो पक्राउ परेपछि ट्रम्पले भेनेजुएलाको विशाल तेल भण्डारमा अमेरिकी पहुँच सुरक्षित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । रोड्रिगेजले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । ह्वाइट हाउसले भनेको छ, “ट्रम्पले भेनेजुएलाको तेलको बिक्रीबाट प्राप्त हुने अमेरिकी स्वामित्वमा रहेको राजस्वलाई अदालत वा ऋणदाताहरूले जफत गर्नबाट रोक्ने एक आपतकालीन आदेशमा हस्ताक्षर गरेका छन् । ह्वाइट हाउसमा शुक्रबार भएको बैठकमा ट्रम्पले भेनेजुएलाको सञ्चिति भण्डारमा लगानी गर्न शीर्ष तेल अधिकारीहरूलाई दबाब दिनुभयो तर सावधानीपूर्वक स्वागत गरियो। शेवरोन हाल भेनेजुएलामा प्रतिबन्ध छुटको माध्यमबाट काम गर्न इजाजतपत्र प्राप्त एक मात्र अमेरिकी फर्म हो।

    विज्ञहरूले वर्षौँदेखिको कुव्यवस्थापन र नाकाबन्दीपछि भेनेजुयलाको तेल पूर्वाधार जीर्ण भएको बताएका छन्। वासिङ्टनले अमेरिकी दूतहरूले शुक्रबार काराकासमा आफ्नो दूतावास पुनः खोल्ने बारेमा छलफल गर्न भ्रमण गरेका पनि पुष्टि गरेको छ । अमेरिकी अधिकारीहरूले रोड्रिगेजसँग भेट गरेका थिए कि थिएनन् भन्ने प्रश्नमा भेनेजुएला सरकारले कुनै प्रतिक्रिया दिएन। कोलम्वियास्थित अमेरिकी दूतावासले शनिबार ‘भेनेजुएलाको सुरक्षा अवस्था अझै कमजोर रहेको छ’ भन्दै व्यापारिक उडानहरू उपलब्ध भएलगत्तै अमेरिकीहरूलाई ’तुरुन्त’ देश छाड्न सुझाव दिएको छ ।

  • इरानमा दुई हप्तानजिक विरोध, दमन अझ कडा

    इरानमा दुई हप्तानजिक विरोध, दमन अझ कडा

    दुबईरपेरिस, २७ पुस (रासस–एपी–एएफपी) । इरानभर फैलिएको सरकारविरोधी प्रदर्शन शनिबार दुई हप्ताको नजिक पुगेको छ । अधिकारीहरूले कडा दमन जारी राखेको भए पनि आन्दोलन रोकिएको छैन, बरु प्रमुख सहरहरूमा नयाँ र्‍यालीहरू देखिएका छन् । इन्टरनेट र अन्तर्राष्ट्रिय फोन सेवा लगभग पूर्ण रूपमा बन्द गरिएपछि देशभित्रको वास्तविक अवस्था बाहिरी संसारका लागि झनै अस्पष्ट बनेको छ । यद्यपि मानव अधिकार समूहहरू र सीमित रूपमा उपलब्ध भिडियो प्रमाणका आधारमा मृतक, घाइते र पक्राउ पर्नेहरूको सङ्ख्या तीव्र रूपमा बढिरहेको देखिएको छ ।

    अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सीका अनुसार हालसम्म कम्तीमा ६५ जनाको ज्यान गएको छ भने दुई हजार ३०० भन्दा बढी प्रदर्शनकारीलाई हिरासतमा लिइएको छ । अर्कोतर्फ, नर्वेमा आधारित इरान मानव अधिकार समूहले मृतकको सङ्ख्या कम्तीमा ५१ पुगेको भए पनि वास्तविक आँकडा अझ धेरै हुनसक्ने चेतावनी दिएको छ । इरानी राज्य टेलिभिजनले भने सुरक्षा बलमाथि भएको आक्रमण र सुरक्षाकर्मीको हताहतलाई जोड दिँदै राष्ट्रको नियन्त्रण कायम रहेको सन्देश प्रसारण गरिरहेको छ ।

    सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले पछिल्लो सम्बोधनमा प्रदर्शनलाई बाह्य शक्तिले उक्साएको आरोप लगाउँदै कडा शब्दमा निन्दा गरेका छन् । उनले अवज्ञा र अराजकता सहन नसकिने भन्दै थप दमनको सङ्केत गरेका छन् । यसबीच, संयुक्त राज्य अमेरिकाले प्रदर्शनकारीहरूप्रति समर्थन जनाउँदै कडा चेतावनी दिएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जाल एक्समार्फत ‘संयुक्त राज्य अमेरिकाले इरानका साहसी नागरिकहरूलाई समर्थन गर्छ’ भनेका छन् । अमेरिकी विदेश मन्त्रालयले छुट्टै वक्तव्य जारी गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ‘खेल नखेल्न’ चेतावनी दिएको छ ।

    शनिबार इरानमा कार्यसप्ताह सुरु भए पनि धेरै विद्यालय र विश्वविद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गरेका छन् । सरकारी तथा अर्ध–सरकारी वेबसाइटहरू आन्तरिक रूपमा सञ्चालनमा रहेको विश्वास गरिए पनि आम नागरिकको इन्टरनेट पहुँच प्रायः बन्द छ । कतारस्थित अल जजिरालाई अपवाद मान्दा अधिकांश अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू इरानभित्र स्वतन्त्र रूपमा काम गर्न असमर्थ छन् ।

    राज्य टेलिभिजनले सरकार समर्थक प्रदर्शनहरू देखाउँदै देशका अधिकांश सहरहरूमा राति शान्ति कायम रहेको दाबी गरेको छ । राष्ट्रवादी भावनालाई बलियो बनाउन इरान–इराक युद्धकालीन गीतहरू बारम्बार प्रसारण गरिएका छन् । तर एसोसिएटेड प्रेस र एएफपीले प्रमाणित गरेका भिडियोहरूले उत्तरी तेहरानको सादाताबादसहित विभिन्न क्षेत्रमा हजारौँ मानिस सडकमा उत्रिएर ‘खमेनी मूर्दावाद’ जस्ता नाराहरू लगाइरहेको देखाएका छन् ।

    अर्ध–आधिकारिक फार्स समाचार एजेन्सीले इस्फहानबाट आएको भन्दै सार्वजनिक गरेको निगरानी क्यामेरा फुटेजमा केही प्रदर्शनकारीले आगजनी र हतियार प्रयोग गरेको देखाइएको छ । राज्य सञ्चालित यङ जर्नालिस्ट्स क्लबका अनुसार विभिन्न सहरमा बासिज स्वयंसेवक बल र प्रहरीसहित सुरक्षा निकायका केही सदस्यहरू मारिएका छन् । ती सुरक्षाकर्मीहरूको अन्त्येष्टि दृश्यहरू कोम र शिराजलगायत सहरहरूमा सरकारी टेलिभिजनले प्रसारण गरेको छ ।

    बिहीबारदेखि सरकारले इन्टरनेट र अन्तर्राष्ट्रिय सञ्चार पूर्ण रूपमा बन्द गरेपछि अधिकारकर्मीहरू गम्भीर रूपमा चिन्तित बनेका छन् । नेटब्लक्स नामक इन्टरनेट निगरानी संस्थाले राष्ट्रव्यापी ब्ल्याकआउट ३६ घण्टाभन्दा बढी समयदेखि जारी रहेको जनाएको छ । एम्नेस्टी इन्टरनेसनलले सुरक्षा बलले प्रदर्शनकारीहरूमाथि घातक बलको गैरकानूनी प्रयोग बढाएको कष्टप्रद रिपोर्टहरू प्राप्त भइरहेको बताएको छ ।

    नोबेल शान्ति पुरस्कार विजेता शिरिन एबादीले सञ्चार अवरोधको आवरणमा ‘व्यापक हिंसा र सम्भावित नरसंहार’ को जोखिम रहेको चेतावनी दिएका छन् । उनका अनुसार तेहरानका अस्पतालहरूमा आँखामा गम्भीर चोट लागेका सयौँ घाइतेहरू पुगेका छन् । यसअघि भएका आन्दोलनहरूमा पनि सुरक्षा बलले जानाजानी प्रदर्शनकारीहरूको आँखामा गोली हानेको आरोप लाग्दै आएको छ ।

    तेहरान, मशहद, तब्रिज, कोम, हामेदानलगायत प्रमुख सहरहरूमा रातभर भएका प्रदर्शनमा मानिसहरूले भाँडा पिटेर, आगो बालेर र कारको हर्न बजाएर सरकारविरोधी भावना व्यक्त गरेका छन् । केही स्थानमा प्रदर्शनकारीहरूले शाहकालीन सिंह र सूर्य अङ्कित झण्डा फहराएका दृश्यहरू देखिएका छन्, जसले आन्दोलनभित्र विभिन्न राजनीतिक धाराहरू सक्रिय रहेको सङ्केत गर्छ । इरानका निर्वासित पूर्व युवराज रेजा पहलवीले आन्दोलनलाई ‘ऐतिहासिक’ भन्दै शनिबार र आइतबार थप लक्षित प्रदर्शन गर्न आह्वान गरेका छन् । उनले अब आन्दोलनको लक्ष्य केवल सडकमा निस्कनु मात्र नभई ‘सहरका केन्द्रहरू कब्जा गर्ने तयारी’ रहेको बताएका छन् । यद्यपि उनको भूमिका र समर्थनबारे इरानभित्र मत विभाजित देखिन्छ ।

    यो आन्दोलन डिसेम्बर २८ मा इरानी रियालको तीव्र अवमूल्यनपछि सुरु भएको हो । हाल रियाल करिब १४ लाख प्रतिअमेरिकी डलरमा कारोबार भइरहेको छ । आणविक कार्यक्रमका कारण लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धले थलिएको अर्थतन्त्र, बढ्दो महँगी र बेरोजगारीले सुरु गरेको असन्तोष क्रमशः इस्लामिक गणतन्त्रको शासन व्यवस्थामाथि प्रत्यक्ष चुनौतीमा परिणत भएको विश्लेषकहरू बताउँछन् ।

    इरानी अधिकारीहरूले भने देश ‘युद्धको अवस्थामा’ रहेको दाबी गर्दै कडा कदम चाल्ने चेतावनी दिएका छन् । अन्तर्राष्ट्रिय समुदायले बढ्दो हिंसा र दमनप्रति गहिरो चासो व्यक्त गर्दै संयमता, मानव अधिकारको सम्मान र संवादमार्फत समाधान खोज्न आग्रह गरिरहेको छ ।

  • मिसिसिपी गोलीकाण्डमा ६ जनाको मृत्यु, एक व्यक्ति हिरासतमा

    मिसिसिपी गोलीकाण्डमा ६ जनाको मृत्यु, एक व्यक्ति हिरासतमा

    वेस्ट पोइन्ट (मिसिसिपी), २७ पुस (रासस–एपी) । अमेरिकाको पूर्वी मिसिसिपी राज्यमा आपसमा सम्बन्धित गोलीबारीका घटनाहरूको शृङ्खलामा परी छ जनाको ज्यान गएको छ । उक्त घटनापछि शनिबार एक जना संदिग्धलाई हिरासतमा लिइएको स्थानीय अधिकारीहरूले बताएका छन् । क्ले काउन्टीका शेरिफ एडी स्कटले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्नुभएको वक्तव्यमा अलाबामा राज्यको सीमा नजिकै पर्ने वेस्ट पोइन्ट सहरमा ‘हिंसाका कारण’ धेरै निर्दोष व्यक्तिले ज्यान गुमाउनुपरेको बताए । उनका अनुसार घटनाहरू फरक–फरक तीन स्थानमा भएका थिए, जहाँ कुल छ जनाको मृत्यु भएको पुष्टि गरिएको छ ।

    शेरिफ स्कटले स्थानीय सञ्चार माध्यम डब्ल्युटिभिएसँग कुरा गर्दै तीनवटै स्थानमा भएको गोलीबारी एकआपसमा सम्बन्धित रहेको र ती घटनाबाट छ जनाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार घटनासँग सम्बन्धित एक संदिग्धलाई सुरक्षाकर्मीहरूले हिरासतमा लिइसकेका छन् । सामाजिक सञ्जालमार्फत नै शेरिफ स्कटले हाल समुदायका लागि कुनै थप खतरा नरहेको स्पष्ट पारेका छन् ।

    “म सबैलाई अनुरोध गर्दछु कि कृपया पीडितहरू तथा उनीहरूका परिवारजनलाई आफ्ना प्रार्थनामा सम्झिनुहोस्”, उनले लेखेका छन्, उनले कानून कार्यान्वय गर्ने निकायहरू घटनाको गहिरो अनुसन्धानमा व्यस्त रहेको र सम्भव भएसम्म चाँडै थप जानकारी सार्वजनिक गरिने पनि उल्लेख गरेका छन् ।

  • रुसको घातक आक्रमण, नयाँ मिसाइलद्वारा पश्चिमलाई चेतावनी

    रुसको घातक आक्रमण, नयाँ मिसाइलद्वारा पश्चिमलाई चेतावनी

    किएभ, २६ पुस (रासस–एपी) । रुसले युक्रेनमाथि सयौँ ड्रोन र दर्जनौँ क्षेप्यास्त्र प्रहार गर्दै रातभर व्यापक आक्रमण गरेको छ । यस आक्रमणमा राजधानी किएभमा कम्तीमा चार जनाको ज्यान गएको र २५ भन्दा बढी घाइते भएको युक्रेनी अधिकारीहरूले जनाएका छन् । करिब चार वर्षदेखि जारी युद्धमा दोस्रो पटक मात्र रुसले शक्तिशाली नयाँ हाइपरसोनिक ब्यालेस्टिक मिसाइल ‘ओरेसनिक’ प्रयोग गरेको हो, जसलाई पश्चिमी युक्रेन हुँदै किएभका नाटो सहयोगीहरूतर्फ स्पष्ट चेतावनीका रूपमा हेरिएको छ ।

    यो आक्रमण युक्रेन र उसका सहयोगीहरूले अमेरिकी नेतृत्वमा सम्भावित शान्ति सम्झौतापछि देशको सुरक्षा कसरी सुनिश्चित गर्ने भन्ने विषयमा छलफल गरिरहेका बेला भएको हो । युरोपेली नेताहरूले यसलाई ‘बढ्दो र अस्वीकार्य’ भन्दै कडा निन्दा गरेका छन् । युरोपेली सङ्घ (इयु) का शीर्ष विदेश नीति प्रतिनिधि काजा कल्लासले कूटनीतिमा रुसको जवाफ ‘थप मिसाइल र विनाश’ भएको टिप्पणी गर्नुभएको छ ।

    किएभमा भएको आक्रमणका कारण हिउँ परेको चिसो मौसममा करिब छ हजार अपार्टमेन्ट भवनहरू तापविहीन बनेका छन् । तापक्रम माइनस आठ डिग्री सेल्सियससम्म झरेको बेला पानी आपूर्ति समेत अवरुद्ध भएको छ । किएभ सहर सैन्य प्रशासन प्रमुख तिमुर टाकाचेन्कोका अनुसार आपतकालीन सेवामा संलग्न एक स्वास्थ्यकर्मीको ज्यान गएको छ भने चार स्वास्थ्यकर्मी र एक प्रहरी अधिकारी घाइते भएका छन् । नगरपालिकाले पोर्टेबल बायलर प्रयोग गरी अस्पताल, प्रसूति वार्ड लगायत अत्यावश्यक सेवामा ताप र बिजुली पुनःस्थापना गरेको जनाएको छ ।

    आक्रमणका क्रममा किएभस्थित कतारी दूतावासमा पनि क्षति पुगेको राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले जानकारी दिएका छन् । कतारले युद्धबन्दी आदानप्रदानमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको भन्दै उनले विशेषगरी अमेरिकाबाट ‘स्पष्ट र कडा प्रतिक्रिया’ आवश्यक रहेको बताए । युक्रेनको सुरक्षा सेवाले पश्चिमी सहर लिभिभ क्षेत्रमा ओरेसनिक मिसाइलका भग्नावशेष फेला पारेको जनाएको छ । यो मिसाइल रुसको कपुस्टिन यार परीक्षण केन्द्रबाट प्रक्षेपण गरिएको र नागरिक पूर्वाधार लक्षित भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । स्थानीय बासिन्दाहरूले ठूलो विस्फोट सुनेको तर लामो समयदेखि युद्धको अवस्थासँग अभ्यस्त भइसकेकाले मनोबल नटुटेको प्रतिक्रिया दिएका छन् ।

    रुसको रक्षा मन्त्रालयले भने यो आक्रमण गत महिना राष्ट्रपति भ्लादिमिर पुटिनको एक निवासमाथि युक्रेनी ड्रोन आक्रमण भएको दाबीको प्रतिशोध भएको जनाएको छ । युक्रेन र अमेरिकाले भने सो दाबी अस्वीकार गरेका छन् । रुसी सञ्चारमाध्यमका अनुसार लिभिभ क्षेत्रमा रहेको भूमिगत ग्यास भण्डारण केन्द्र लक्ष्य हुनसक्ने बताइएको छ, जहाँबाट पोल्यान्ड हुँदै पश्चिमी सैन्य सहायता युक्रेन प्रवेश गर्ने गर्छ ।

    यसअघि पुटिनले ओरेसनिक मिसाइल माक १० गतिमा ‘उल्कापिण्डजस्तै’ लक्ष्यमा पुग्ने र कुनै पनि क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबाट रोक्न नसकिने दाबी गर्नुभएको थियो । युक्रेनी गुप्तचरका अनुसार उक्त मिसाइलमा बहुविध वारहेड जडान गरिएको छ । रुसले पहिलो पटक सन् २०२४ नोभेम्बरमा डिनिप्रो सहरमा यो मिसाइल प्रयोग गरेको थियो । विश्लेषकहरूका अनुसार यसले मनोवैज्ञानिक युद्धको नयाँ आयाम थपेको छ ।

    यस घटनापछि युक्रेनी विदेशमन्त्री आन्द्रिइ सिबिहाले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद् र युक्रेन–नाटो परिषद्को आपतकालीन बैठक आह्वान गरिने जानकारी दिएका छन् । उनले इयु र नाटो सीमासँग नजिकै भएको यस्तो आक्रमणले सम्पूर्ण युरोपको सुरक्षामाथि गम्भीर खतरा उत्पन्न गरेको बताए । भ्याटिकनबाट पोप लियो चौधौँले अन्तर्राष्ट्रिय समुदायलाई तत्काल युद्धविराम र संवादमार्फत शान्तिको बाटो खोज्न आग्रह गरेका छन् । बेलायत, फ्रान्स र जर्मनीका नेताहरूले पनि आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई अस्वीकार्य बताएका छन् ।

  • युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी

    युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी

    मस्को, २६ पुस (रासस–एपी) । रुसले युक्रेनविरुद्धको पछिल्लो आक्रमणमा नयाँ ‘ओरेसनिक’ मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रयोग गरेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उक्त मिसाइल प्रयोग गर्दै युक्रेनको महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी व्यापक आक्रमण गरिएको जनाएको हो ।

    मन्त्रालयका अनुसार यो आक्रमण गत महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निवास नजिक युक्रेनी ड्रोन आक्रमण भएको दाबीको प्रतिउत्तरस्वरूप गरिएको हो । तर युक्रेनले उक्त आरोप अस्वीकार गर्दै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पुटिनको निवासमाथि युक्रेनी आक्रमण भएको भन्ने रुसी दाबीलाई सार्वजनिक रूपमा नकारेका छन् ।


    रुसी पक्षका अनुसार ओरेसनिक ब्यालेस्टिक मिसाइलसँगै अन्य भूमि र समुद्रबाट प्रक्षेपण गरिने मिसाइलहरू प्रयोग गरी युक्रेनका ऊर्जा तथा रणनीतिक पूर्वाधारमाथि आक्रमण गरिएको थियो । शुक्रबार राति भएको ड्रोन र मिसाइल आक्रमणमा चार जनाको मृत्यु भएको र कम्तीमा २२ जना घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

    युक्रेनको पश्चिमी सहर लिभिभको महत्त्वपूर्ण पूर्वाधारमा अज्ञात प्रकारको ब्यालेस्टिक मिसाइल प्रहार भएको मेयर एन्ड्री सडोभीले जानकारी दिनुभएको छ । युक्रेनी वायु सेनाको पश्चिमी कमान्डका अनुसार उक्त मिसाइलले करिब १३ हजार किलोमिटर प्रतिघण्टाको तीव्र गतिमा यात्रा गरेको थियो र यसको प्राविधिक विशेषतामाथि अनुसन्धान भइरहेको छ ।

    मृतकमध्ये एक जना आपतकालीन स्वास्थ्यकर्मी रहेको किएभ सहर सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोले बताए । आक्रमण स्थलमा उद्धार कार्य गरिरहेका पाँच जना उद्धारकर्मी घाइते भएको युक्रेनको सुरक्षा सेवाले जनाएको छ । आक्रमणका कारण राजधानी किएभका विभिन्न जिल्लामा क्षति पुगेको छ । देस्न्यान्स्की जिल्लामा एउटा ड्रोन बहुतले भवनको छतमा खस्दा क्षति पुगेको छ भने सोही जिल्लाको अर्को स्थानमा आवासीय भवनका तल्ला क्षतिग्रस्त भएका छन् । डिनिप्रो जिल्लामा ड्रोनका टुक्रा खस्दा बहुतले भवनमा आगलागी भएको जनाइएको छ ।

    किएभका मेयर भिटाली क्लिट्स्कोका अनुसार आक्रमणपछि राजधानीका केही क्षेत्रमा पानी र बिजुली आपूर्ति अवरुद्ध भएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले चिसो मौसमको फाइदा उठाउँदै ठूलो मात्रामा आक्रमण गर्न सक्ने चेतावनी दिएको केही घण्टामै यो हमला भएको हो । उनले हिउँले ढाकिएका सडक र प्रतिकूल मौसमलाई लक्ष्य बनाउँदै रुसले जनजीवन थप कष्टकर बनाउन खोजेको आरोप लगाए ।

  • पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा

    पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा

    बोगोटा, २५ पुस (रासस–एपी) । भेनेजुएलामा ट्रम्प प्रशासनले गरेको सैन्य हस्तक्षेपलाई लिएर कोलम्बियाका वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोले गरेको कडा आलोचनाले वासिङ्टन र बोगोटाबीचको सम्बन्धलाई अभूतपूर्व तनावमा पु¥याएको छ । यस हस्तक्षेपलाई पेट्रोले ल्याटिन अमेरिकी सार्वभौमसत्तामाथिको ‘घृणित उल्लङ्घन’ भन्दै सन् १९३७ मा नाजी जर्मनीले स्पेनको गुएर्निकामा गरेको कार्पेट बमबारीसँग तुलना गरेका छन् ।


    अमेरिकाको ऐतिहासिक रूपमा निकट सहयोगी रहँदै आएको कोलम्बियाबाट यस्तो तीव्र प्रतिक्रिया आउनु असामान्य मानिएको छ । विगत तीन दशकदेखि लागुऔषध तस्करी नियन्त्रण, विद्रोही समूहविरुद्धको कारबाही र ग्रामीण विकासका क्षेत्रमा संयुक्त राज्य अमेरिका र कोलम्बियाबीच गहिरो सहकार्य हुँदै आएको छ । यही सहकार्यअन्तर्गत वासिङ्टनले कोलम्बियालाई अर्बौं डलरको सहायता प्रदान गरेको छ ।

    तर राष्ट्रपति पेट्रोले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको अमेरिकी नियन्त्रणलाई खुलेर विरोध गरेपछि उनी र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच शब्दयुद्ध चर्कियो । ट्रम्पले कोलम्बियामा अमेरिकी सैन्य कारबाही ‘उचित हुन सक्ने’ टिप्पणी गरेपछि पेट्रोले राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्न जनतालाई सडकमा उतार्न आह्वान गरे । त्यसको प्रत्युत्तरमा हजारौँ कोलम्बियालीहरू सार्वजनिक चोकहरूमा भेला भई ‘स्वतन्त्र र सार्वभौम कोलम्बिया अमर रहोस्’ भन्ने नारा लगाए ।

    तर सबैलाई चकित पार्दै विरोध प्रदर्शनकै दिन राष्ट्रपति पेट्रोले आफ्नो अघिल्लो कडा अभिव्यक्ति नरम पार्दै राष्ट्रपति ट्रम्पसँग भएको मैत्रीपूर्ण टेलिफोन वार्ताको जानकारी दिए । उनले दुवै सरकारबीच प्रत्यक्ष संवाद पुनःस्थापित गर्न आग्रह गरेको र संवाद नहुँदा द्वन्द्वको खतरा बढ्ने चेतावनी दिएको बताए ।


    राष्ट्रपति ट्रम्पले पनि सामाजिक सञ्जालमार्फत पेट्रोसँगको कुराकानीलाई ‘सम्मानजनक’ भन्दै उनलाई ह्वाइट हाउस भ्रमणको निम्तो दिएका छन् । लामो समयदेखि एक–अर्काप्रति कठोर टिप्पणी गर्दै आएका यी दुई नेताबीच अचानक देखिएको शान्तिले व्यावहारिक स्वार्थका लागि वैचारिक मतभेद पन्छाउन सक्ने सङ्केत दिएको विश्लेषकहरू बताउँछन् ।

    कोलम्बियाका लागि अमेरिकी सहयोग अझै पनि विद्रोही र लागुऔषध तस्करविरुद्धको लडाइँमा अत्यन्त महत्त्वपूर्ण छ भने अमेरिकाका लागि कोलम्बिया क्यारिबियन क्षेत्रमा लागुऔषध रोकथामको प्रमुख आधार बनेको छ । वासिङ्टनस्थित थिङ्क ट्याङ्कका विज्ञहरूका अनुसार कोलम्बियाली कूटनीतिज्ञ र निजी क्षेत्रले पनि सम्बन्ध पूर्णरूपमा बिग्रन नदिन सक्रिय भूमिका खेलेका छन् ।

    यसअघि राष्ट्रपति ट्रम्पले पेट्रोलाई ‘अन्तर्राष्ट्रिय लागुऔषध नेता’ भन्दै कडा शब्द प्रयोग गरेका थिए । कोलम्बियाली अधिकारीहरूको अमेरिकी भिसा रद्द गर्ने, आर्थिक सहायता रोक्ने र निर्यातमा दण्डात्मक शुल्क लगाउने धम्कीसमेत दिइएको थियो । यसले कोलम्बियामा अमेरिकी हस्तक्षेपको सम्भावनालाई लिएर गम्भीर चिन्ता बढाएको थियो । यद्यपि विज्ञहरू लोकतान्त्रिक रूपमा निर्वाचित राष्ट्रपति पेट्रोविरुद्ध प्रत्यक्ष अमेरिकी सैन्य कारबाही हुने सम्भावनालाई कम आँक्छन् ।

    त्यसबीच कोलम्बियाका रक्षा र कूटनीतिक अधिकारीहरूले सहकार्य जारी रहने सन्देश दिँदै तनाव कम गर्न प्रयास गरेका छन् । अन्ततः राष्ट्रपति पेट्रोले वार्तामार्फत शान्ति नै प्राथमिकता भएको स्पष्ट पार्दै नागरिकहरूलाई ढुक्क हुन आग्रह गरे । हाल उनले सम्भावित ह्वाइट हाउस भ्रमणको तयारी अघि बढिरहेको छ, यद्यपि त्यसका लागि औपचारिक कूटनीतिक प्रक्रिया अझै पूरा हुन बाँकी छ ।

  • अमेरिकी व्यापार घाटा सन् २००९ पछि सबैभन्दा न्यून

    अमेरिकी व्यापार घाटा सन् २००९ पछि सबैभन्दा न्यून

    वासिङ्टन, २५ पुस (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेशी सामानमा अतिरिक्त करवृद्धि गर्ने नीतिका कारण सामानको आयातमा कमी आएसँगै अमेरिकी व्यापार घाटा अक्टोबरमा तीव्र र अप्रत्याशित रूपमा घटेको देखिएको छ । यो सन् २००९ पछिको सबैभन्दा न्यून स्तरमा पुगेको अमेरिकी सरकारी तथ्याङ्कले देखाएको छ । वाणिज्य विभागका अनुसार अक्टोबरमा कुल व्यापार घाटा ३९ प्रतिशतले घटेर २९।४ अर्ब डलरमा झरेको छ ।

    यो घाटा ‘डाउ जोन्स न्यूजवायर’ र ‘द वाल स्ट्रिट जर्नल’ले अर्थशास्त्रीहरूको सर्वेक्षणबाट गरेको ५८।४ अर्ब डलरको औसत पूर्वानुमानभन्दा निकै कम हो । उनीहरूले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेकिराको आर्थिक अवस्थाको मूल्याङ्कन गर्छन्। गत वर्ष लामो सरकारी बन्दका कारण व्यापार तथ्याङ्क जारी गर्न एक महिनाभन्दा बढी ढिलाइ भएको थियो । यसका कारण अधिकारीहरू र कम्पनीहरूलाई अद्यावधिक तथ्याङ्क सार्वजनिक गर्न सम्भव भएको थिएन ।

    अक्टोबरमा अमेरिकी निर्यात ७।८ अर्ब डलरले बढेर ३०२।० अर्ब डलर पुगेको थियो भने आयात ११।० अर्ब डलरले घटेर ३३१।४ अर्ब डलर पुगेको थियो । यो मुख्य रूपमा वस्तु आयातमा गिरावटको कारण उपभोग्य वस्तुहरूको खरिद्मा आएको गिरावट थियो, जुन अक्टोबरमा १४ अर्ब डलर घटेको थियो। यस अवधिमा फार्मास्युटिकल उत्पादनहरू तीव्र रूपमा घटेको वाणिज्य विभागले जनाएको छ।

    औद्योगिक आपूर्ति र गैरमौद्रिक सुनजस्ता सामग्रीको आयात पनि घटेको छ । गत वर्ष राष्ट्रपति पदमा फर्किएपछि ट्रम्पको द्रुत परिवर्तनशील र व्यापक करवृद्धिको नीतिले कसरी व्यापार प्रवाहलाई ठूलो असर पारेको छ भन्ने तथ्याङ्कले देखाउँछ । अमेरिकी नेताले विभिन्न व्यापारिक साझेदारहरूबाट आयातमा व्यापक करको घोषणा गरेपछि अमेरिकी व्यवसायहरूले करमा योजनाबद्ध वृद्धि गर्नु अघि सामानहरूको व्यापक खरिद् गरी भण्डार गर्न हतार गरेका थिए ।

    यसले धेरै कम्पनीहरूलाई कम्तिमा अहिलेका लागि उपभोक्ताहरूलाई अतिरिक्त करको पूर्ण लागत खर्च गर्नबाट बच्न सम्भव भएको छ। अमेरिकी घरपरिवार जीवनयापनको लागतको चिन्तासँग जुधिरहेका बेला ट्रम्पले हालसालै केही करबाट छुट पाएका सामानहरूको दायरा फराकिलो पार्नुभएको छ तर यी धेरै छुटहरू नोभेम्बरदेखि लागू हुनुपर्ने थियो ।

    येल विश्वविद्यालयको बजेट ल्याबले अनुमान गरे अनुसार नोभेम्बरको मध्यसम्म उपभोक्ताहरूले समग्र औसत प्रभावकारी करवृद्धि दरको सामना गरेका छन् । यो सन् १९३० को दशकपछि सबैभन्दा बढी हो । सेप्टेम्बरमा अमेरिकाको व्यापार घाटा ४८।१ अर्ब डलर थियो । यद्यपि ट्रम्पको करनीतिले यस वर्ष व्यापार प्रवाहलाई प्रभावित गरेको छ, ती मध्ये ठूलो हिस्साले कानुनी चुनौतीहरूको पनि सामना गरिरहेका छन्।

    विशेष गरी, सर्वोच्च अदालतले नोभेम्बरमा बहस सुनेपछि अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐन प्रयोग गरेर लगाइएको करको वैधानिकतामा निर्णय गर्न लागेको छ। यदि कन्जरभेटिभ–बहुमत उच्च अदालतले राष्ट्रपतिले यी कर्तव्यहरू लागू गर्न आफ्नो अधिकार नाघेको बताएमा, यसले अस्थायी रूपमा प्रशासनले लागू गरेको धेरै देश–विशिष्ट ट्यारिफहरूमा असर पार्न सक्छ ।

  • बुवाको सोंच र विश्वास : आरकेको संघर्ष र परिश्रममा सफलताको शिखर

    बुवाको सोंच र विश्वास : आरकेको संघर्ष र परिश्रममा सफलताको शिखर

    बागलुङ जिल्लाको साविक सुखौरा गाविस, हाल बरेङ गाउँपालिका वडा नंं.–५, गुल्मी र बागलुङको सिमानामा पर्ने एक दुर्गम पहाडी भुगोल । यही भुगोलमा विक्रम संवत् २०३८ सालमा जन्मिएका हुन् राजेन्द्रकुमार शर्मा, जसलाई आज धेरैले आरके शर्माका नामले चिन्छन् । अहिले अन्तर्राष्ट्रिय व्यावसायिक क्षेत्रमा सफल उद्यमीका रुपमा स्थापित शर्माको बाल्यकाल भने अभाव, संघर्ष र कठिन परिश्रमले भरिएको थियो ।


    सुखौरामा बस्दाको पारिवारिक आर्थिक अवस्था निम्न–मध्यम थियो । गाउँका अधिकांश परिवारलाई आफ्नै खेतबारीको उब्जनीले छ महिना पनि धान्न मुस्किल पथ्र्यो । यही बाध्यताले आरकेका बुवा भारतको गुहावटीमा रोजगारी गर्न जान्थे । तर, आर्थिक अभावका बीच पनि शर्माको परिवार सामाजिक चेतना र सेवाभावले परिचित थियो । पछि उनका बुवा गाउँका उपप्रधानपञ्च भइसकेका व्यक्ति थिए ।

    गाउँमा कुनै समस्या आए वा सामूहिक निर्णय आवश्यक परे, वा तत्कालीन समय माँ विधालय स्थापना सिक्षक माग वा गाउँका समस्या समाधानका लागि जिल्ला जानेबारे गाउँलेहरु शर्मा परिवारकै आँगनमा सल्लाह लिन आइपुग्थे । समाजसेवाको यही संस्कारले आरकेको बालमनमा नेतृत्व, जिम्मेवारी र सहानुभूतिका बीउ रोपिदिएको थियो ।


    बाल्यकालमै उनले गाउँले जीवनको कठोर यथार्थ नजिकबाट देखे । त्यो समय गाउँमा धेरैले चप्पलसमेत लगाउने चलन थिएन । चिसो मौसममा पनि नाङ्गो खुट्टै घाँसदाउरा गर्नुपथ्र्यो । बिहान–बेलुकी घाँसदाउरा, खेतपातीको काम र पढाइ–यिनैबीच आरकेको दैनिकी बित्थ्यो । झण्डै एक घण्टा पैदल हिंडेर पुगिने गाउँकै विद्यालयबाट उनले प्राथमिक तहको अध्ययन पूरा गरे ।

    शारीरिक श्रम र अध्ययनलाई सँगसँगै अगाडि बढाउनु नै उनको पहिलो संघर्षको पाठशाला थियो ।
    विस २०५० सालमा प्राथमिक शिक्षा सकेपछि परिवार चितवन बसाइँ स¥यो । तर, आरके भने पढाइ निरन्तरता दिन दिदी घर नवलपरासी पुगे । त्यहाँको भीमसेन आदर्श माध्यमिक विद्यालयमा कक्षा ८ सम्म अध्ययन गरेपछि उनी पुनः परिवारसँगै चितवन फर्किए । चितवनको विश्व प्रकाश माध्यमिक विद्यालयबाट उनले एसएलसी उत्तीर्ण गरे । बसाइँसराइ, नयाँ वातावरण र सीमित साधनका बाबजुद पनि उनले पढाइप्रति कहिल्यै हार मानेनन् । अध्ययनलाई निरन्तरता दिए ।


    गरिबी, आर्थिक अभाव र श्रमको मूल्यलाई नजिकबाट नियाल्दै हुर्किएका आरके शर्माले करिब २३ वर्षअघि जीवनका दुईवटा मात्र लक्ष्य बोकेर विदेसिने निर्णय गरे । त्यो गन्तव्य थियो– कतार । सपना ठूलो थियो, साधन साना थिए । तर, उनले भरोसा गरेका थिए आफ्नै मेहनत र इमानदार श्रममा ।


    कतारमा सुरुवाती दिनहरु सजिला थिएनन् । धेरै घण्टा काम, नयाँ भाषा, नयाँ संस्कृति र प्रतिस्पर्धाले उनलाई बारम्बार चुनौती दियो । तर, सुखौराको पहाडमा घाँसदाउरा गर्दै हुर्किएको मनोबलले उनलाई थाक्न दिएन । उनले प्रत्येक अवसरलाई सिकाइका रुपमा लिए, अनुभव संकलन गरे र बिस्तारै आफ्नै बाटो निर्माण गरे ।


    आज आरके शर्मा केवल एक सफल व्यवसायी मात्र होइनन्, संघर्षबाट सम्भावनातर्फ उक्लिएको एउटा प्रेरक पात्र हुन् । मेहनत, धैर्य र दूरदृष्टिको मेलले उनले व्यावसायिक क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेका छन् । गाउँको साधारण परिवेशबाट उठेर अन्तर्राष्ट्रिय व्यावसायिक पहिचान बनाउनु उनको यात्राको सबैभन्दा ठूलो उपलब्धि हो ।


    विश्वसन्देशको यस अंकमा हामी यही यात्राको कथा प्रस्तुत गर्दैछौं– सुखौराको माटो, घाँसदाउरा र संघर्षबाट जन्मिएको एउटा सपना, जसले निरन्तर मेहनतका बलमा विश्वव्यापी सफलता चुम्न सकेको छ । आरके शर्माको जीवनकथा आजका युवाका लागि मात्र होइन, हरेक संघर्षरत मनका लागि प्रेरणाको उज्यालो दीप हो ।

    चितवनदेखि मध्यपूर्व र अमेरिकासम्म
    चितवन बसाइँसराइपछि राजेन्द्रकुमार शर्मा (आरके शर्मा)को परिवारको जीवन झन् चुनौतीपूर्ण बन्यो । पाँच भाइ र तीन दिदीबहिनीसहितको ठूलो परिवार, दाजुहरुको उद्यममा ठूलो नोक्सान बेहोर्दा करिब ७० प्रतिशत सम्पत्ति विक्रीपछि सीमित आम्दानी र बढ्दो खर्चले घरको आर्थिक अवस्था दिनप्रतिदिन कमजोर बन्दै गयो । पहाडको संघर्षपछि तराईमा सहज जीवनको अपेक्षा गरिएको थियो, तर चितवनले पनि आरकेको परिवारलाई सहजता दिएन । संघर्ष त गरियो, तर आर्थिक अभाव टार्न सकिने अवस्था बनेन ।


    प्लस टु अध्ययन पूरा गरेपछि आरकेले परिवारको आर्थिक बोझ हल्का बनाउने उद्देश्यले भारत जाने निर्णय गरे । सपना थियो– काम पाइएला, आम्दानी होला र घरको अवस्था केही सुध्रेला । तर, भारत पुगेपछि वास्तविकता निकै कठोर साबित भयो । रोजगारी खोज्दै उनले धेरै हण्डर खानुप¥यो । दिनौंसम्म काम नपाएर भौंतारिनु, अपरिचित ठाउँमा असहज जीवन बिताउनु, यी सबै अनुभवले उनलाई झन् परिपक्व बनाउँदै लग्यो ।

    अन्ततः उनले एक ट्राभल एजेन्सीमा रोजगारी पाए । पढाइ–लेखाइ भएकाले उनलाई ट्राभल एजेन्सीमा उधारो रकम उठाउने जिम्मेवारी दिइयो । यही जिम्मेवारीले आरकेको जीवनको दिशा नै बदलिदियो । उधारो रकम उठाउने सिलसिलामै उनी करिब २३ वर्षअघि कतार पुगे । त्यो यात्राले केवल रकम संकलन गर्ने काम मात्र दिएन, जीवनको नयाँ अध्याय खोलिदियो ।


    त्यो समय आरकेको मन अत्यन्तै तनावग्रस्त थियो । बुवा–आमा दुवै दमको रोगबाट पीडित थिए । उपचार खर्चको चिन्ता, घरमा नवजात छोरीको जिम्मेवारी– यी सबैले उनलाई भित्रैदेखि दबाइरहेका थिए । कतार पुगेर उधारो उठाउने व्यक्तिसँग भेट हुँदा भने उनले अर्कै यथार्थ देखे । आरके सम्झन्छन्, ‘उधारो रकम उठाउन गएको थिएँ, तर ती व्यक्ति आफैं गहिरो आर्थिक समस्यामा परेका रहेछन् । त्यसपछि मैले आफ्नो अवस्था सम्झिएँ र कतारमै बसेर काम गर्ने निर्णय लिएँ ।’


    त्यही निर्णय आरकेको जीवनको टर्निङ पोइन्ट बन्यो । उनले कतारमै काम खोजे र कतारीहरुसँग मिलेर काम गर्न थाले । सुरुमा उनी एक निर्माण कम्पनीमा एकाउन्टेन्टका रुपमा आबद्ध भए । कामसँगै उनले व्यवस्थापन, वित्तीय अनुशासन र व्यावसायिक संस्कृतिलाई नजिकबाट बुझ्ने अवसर पाए । यही अनुभवका आधारमा उनले पछि क्याटरिङ र निर्माण व्यवसायमा लगानी गरे ।


    कतारमा संघर्षका दिनहरु बिताउँदै गर्दा उनलाई आफ्ना बुवाका शब्द सधैं सम्झनामा आउँथे । आरके भन्छन्, ‘बुवाले जहिल्यै पनि जागिरभन्दा व्यवसाय गर्न प्रेरित गर्नुहुन्थ्यो । आफ्नै केही गर्नुपर्छ भन्ने उहाँको प्रेरणाले नै मलाई अघि बढायो ।’ बुवाको त्यही सोच र विश्वास आज उनको सफलताको आधार बनेको छ ।


    समयसँगै आरके शर्मा कतारमै बसेर आफ्नो आर्थिक अवस्था सुधार गर्ने दिशामा केन्द्रित भए । निर्माण कम्पनीमा एकाउन्टेन्टबाट सुरु भएको यात्रा लगानीकर्ता र सञ्चालकसम्म आइपुग्यो । आज उनी कतारस्थित पिजन इन्जिनियरिङका सञ्चालक हुन् । उनका कम्पनीहरु अहिले हस्पिटालिटी, सेक्युरिटी र पूर्वाधार विकासका क्षेत्रमा सक्रिय छन् । यी व्यवसायहरु केवल कतारमै सीमित छैनन्– मध्यपूर्वका विभिन्न देशदेखि अमेरिकासम्म फैलिएका छन् ।


    आरके शर्माको नेतृत्वमा रहेका कम्पनीहरुले झण्डै ३ हजारलाई प्रत्यक्ष रोजगारी दिएका छन् । कतारमा आयोजना भएको फिफा विश्वकपका बेला भने उनका कम्पनीहरुले ४५ सयसम्मलाई रोजगारी उपलब्ध गराएका थिए । कतार फिफा विश्वकपका धेरै क्षेत्रहरुमा शर्माकै नेतृत्वका कम्पनीहरु सूचिकृत थिए । निर्माण, हाउसकिपिङ, सेक्युरिटी र हस्पिटालिटी सेवा प्रदान गरेका थिए, जुन उनको व्यावसायिक विश्वसनीयताको प्रमाण हो । फिफाले पनि उनका कम्पनीलाई विश्वसनीय भन्दै टिप्पणी गरेको थियो ।


    निर्माण क्षेत्रलाई प्राथमिकतामा राखे पनि उनका कम्पनीहरु हाउसकिपिङ, हस्पिटालिटी, रियल इस्टेट र सेक्युरिटी सर्भिसमा समान रुपमा सक्रिय छन् । आज आरके शर्माको व्यवसाय मध्यपूर्वदेखि अमेरिकासम्म बिस्तार भइसकेको छ– जसले एक समय आर्थिक अभावमा भारत भौंतारिएको युवालाई अन्तर्राष्ट्रिय उद्यमीका रुपमा स्थापित गरेको छ ।


    चितवनको संघर्ष, भारतको हण्डर र कतारको अवसर । यी सबै चरण पार गर्दै आरके शर्माले प्रमाणित गरेका छन् कि सपना ठूलो हुनुपर्छ, तर त्यसलाई पूरा गर्ने साहस र धैर्य अझ ठूलो । उनको कथा आज हजारौं युवाका लागि आशा र प्रेरणाको उदाहरण बनेको छ ।

    १८ घण्टा कामदेखि व्यावसायिक साम्राज्यसम्म
    आरके शर्माको सफलताको कथा चम्किलो उपलब्धिको मात्र होइन, निरन्तर संघर्ष र अथक मेहनतको दस्तावेज हो । आज हजारौंलाई रोजगारी दिने उद्यमी बनेका शर्मा आफ्ना सुरुवाती दिन सम्झँदा भन्छन्– ‘मैले कतिपय दिन १८ घन्टासम्म काम गरें ।’ लामो समय उनी विदाबिनै काममा खटिए । छ वर्षसम्म लगातार १५ घण्टासम्म काम गर्नु उनको दैनिकी बन्यो । त्यही पसिना, अनुशासन र धैर्यको परिणामस्वरुप आज उनका कम्पनीहरुको पे–रोलमा झण्डै ३ हजार कर्मचारी आबद्ध छन् ।


    शर्मा आफूले गरेको मेहनतले एक दिन सफलता त अवश्य दिन्छ भन्ने विश्वासमा थिए । तर, यति छिट्टै, यति ठूलो सफलता हात लाग्ला भन्ने कल्पना भने उनले गरेका थिएनन् । सामान्य जीवन चलाउने, बिरामी बुवा–आमाको उपचार गर्ने र परिवारलाई आर्थिक सुरक्षा दिने उद्देश्य लिएर कतार पुगेका उनी आज एउटा सशक्त व्यावसायिक साम्राज्यका सञ्चालक बनेका छन् । उनको लगानी विदेशमा मात्र सीमित छैन– नेपालका विभिन्न क्षेत्रमा पनि फैलिएको छ, जसले मातृभूमिप्रतिको उनको प्रतिबद्धता झल्काउँछ ।


    सफलतासँगै शर्माले सामाजिक उत्तरदायित्वलाई कहिल्यै भुलेनन् । नेपालमा अप्ठ्यारो पर्दा, प्राकृतिक विपत्तिका बेला वा मानवीय संकट आउँदा उनले मन फुकाएर सहयोग गर्दै आएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र पनि उनी अदक्ष श्रमिकका साथीका रुपमा परिचित छन् ।

    श्रमिक अधिकारको पक्षमा निरन्तर आवाज उठाउँदै आएका शर्माले विदेशमा पसिना बगाउने नेपाली श्रमिकको सम्मान र सुरक्षा नै देश विकासको आधार हो भन्ने विश्वास राख्छन् । आफूसँग काम गर्ने श्रमिकप्रतिको उनको सोच व्यवहारमै देखिन्छ । उनी गर्वका साथ भन्छन्, ‘मसँग काम गर्ने झण्डै ३ सय सहकर्मीका छोरा–छोरी आज इन्जिनीयर, नर्स, डाक्टर र पाइलट पढिरहेका छन् ।’

    श्रमिकका सन्तानले राम्रो शिक्षा पाएको देख्दा उनलाई असाध्यै सन्तुष्टि मिल्छ । उनका लागि यो केवल व्यक्तिगत खुसी होइन, सामाजिक परिवर्तनको संकेत हो ।
    मध्यपूर्व र मलेसियासमेत जोड्दा झण्डै ३० लाख नेपाली श्रमिक कार्यरत छन् । उनीहरुलाई केवल श्रम बेच्ने हैन, दक्ष जनशक्तिका रुपमा रूपान्तरण गर्नुपर्नेमा शर्माको जोड छ ।

    उनी भन्छन्, ‘ग्याजेट र प्रविधिको सही प्रयोग गर्न सके अदक्ष कामदारलाई पनि दक्ष बनाउन सकिन्छ । सरकार र एनआरएनएले अबका १० वर्षमा कस्ता सम्भावना छन् भन्ने अध्ययन गरेर दीर्घकालीन योजना बनाउनुपर्छ ।’ आफूले गर्न सक्ने ठाउँबाट पहल गरिरहेको उनी स्पष्ट पार्छन् । उनको विश्वासमा, नेपालको गरिबी घटाउने निरन्तर काम गर्ने वास्तविक शक्ति भनेका यही श्रमिक दाजुभाइ तथा दिदीबहिनी हुन् ।


    एनआरएनएभित्र विभिन्न समूहमा विभाजित अवस्थालाई एकतामा ल्याउन पनि शर्माको भूमिका निर्णायक रह्यो । एक समय उनी स्वयं एउटा समूहको अध्यक्षका रुपमा काम गरे । तर, पछिल्लो अधिवेशनमा नेतृत्वमा नआउने घोषणा गर्दै उनले दुई समूह जोड्ने पुलको भूमिका निर्वाह गरे । अहिले उनी स्टेरिङ कमिटीमा बसेर संस्थागत एकता र सुधारका लागि सक्रिय छन् । उनको ध्यान एकताको १२औं महाधिवेशन सफल पार्नमा केन्द्रित छ ।

    पदभन्दा उद्देश्य ठूलो हुनुपर्छ भन्ने उनको व्यावहारिक उदाहरण हो । उनी पछिल्लो समय विदेशमा रहेका नेपालीका हकअधिकारका लागि पोर्चुगलमा दूतावास स्थापना गर्न होस् वा इराकमा पासपोर्ट नवीकरणका लागि घुम्ती शिविरदेखि, कोभिडको बेला मध्यपूर्वबाट ५६० अक्सिजन सिलिण्डर एयरलिफ्टबाट पठाउने संयोजन होस् वा उनको निजी पहलमा भूकम्पका बेला धादिङको पूराई सेर्थुंगवासीलाई न्यानो कम्बल बाँड्ने काम लगायत मानवीय कार्य वा बेलाबेला सीमान्तकृत चेपाङ विधार्थीलाई छात्रवृत्तिका लागि आरके शर्माको आरोह–अवरोधले भरिएको जीवन यात्राले एउटा स्पष्ट सन्देश दिन्छ– मेहनत कहिल्यै खेर जाँदैन ।

    गाउँको सामान्य परिवेश, आर्थिक अभाव, विदेशको कठोर श्रम र निरन्तर संघर्ष पार गर्दै उनले प्रमाणित गरेका छन् । इमानदार, मेहनत, धैर्य र सामाजिक उत्तरदायित्वसँगै अघि बढे एक दिन अवश्य सफलताको शिखरमा पुगिन्छ । उनको जीवनका विभिन्न पाटाबाट यही शिक्षा पाइन्छ– आज पसिना बगाउनेले भोलि केवल आफ्नै होइन, अरुको जीवन पनि उज्यालो बनाउन सक्छ ।


    उनले अध्ययनलाई पनि लगातार अघि बढाउनुपर्छ भन्ने उद्देश्यका साथ कोभिडको बेलामा विश्वको नम्बर वान युनिभर्सिटी एचसी पेरिसबाट साना तथा मझौले उधम अनि मुख्य विषय लियर एमबीए अध्ययन गरेका छन् भने उनले रेमिट्यान्सको सामूहिक लगानी प्राधिकरण स्थापना गरेर कसरी राष्ट्र विकास र श्रमिकको आर्थिक अवस्था मजबुत गराउन सकिन्छ भन्ने विषयमा थेसिस लेखेका छन् । अहिले उनी बेलायतको प्रसिद्ध विश्वविधालय डरहम युनिभर्सिटीबाट उद्यमशीलताका बारेमा डक्टरेट अन बिजनेस एडमिनिस्टे«ेसन अध्यनरत छन् ।

  • भेनेजुएला कारबाहीमा राष्ट्रसङ्घको चिन्ता

    भेनेजुएला कारबाहीमा राष्ट्रसङ्घको चिन्ता

    जेनेभा, २३ पुस (रासस\एएफपी) । संयुक्त राष्ट्रसङ्घले भेनेजुएलामा गरिएको अमेरिकी सैन्य कारबाहीप्रति गहिरो चिन्ता व्यक्त गर्दै यसले अन्तर्राष्ट्रिय कानूनका मौलिक सिद्धान्तहरूलाई स्पष्ट रूपमा अवमूल्यन गरेको चेतावनी दिएको छ । मङ्गलबार जेनेभामा पत्रकारहरूसँग कुरा गर्दै संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयकी प्रवक्ता रविना शामदासानीले भनिन्, “कुनै पनि राज्यले अर्को राज्यको क्षेत्रीय अखण्डता वा राजनीतिक स्वतन्त्रताको विरुद्ध धम्की दिन वा बल प्रयोग गर्न हुँदैन ।” उनको यो प्रतिक्रिया शनिबार बिहान अमेरिकी कमान्डोहरूले युद्धविमान र भारी नौसैनिक तैनाथीको समर्थनमा भेनेजुएलाको राजधानीमा कारबाही गर्दै राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएपछि आएको हो ।

    प्रवक्ता शामदासानीले भेनेजुएलामा लामो समयदेखि भइरहेको र गम्भीर मानव अधिकार उल्लङ्घनलाई आधार बनाएर गरिएको अमेरिकी औचित्यलाई अस्वीकार गरिन् । “अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गर्दै गरिएको एकपक्षीय सैन्य हस्तक्षेपमार्फत मानव अधिकार उल्लङ्घनका लागि जवाफदेहिता हासिल गर्न सकिँदैन”, उनले जोड दिइन् । उनले संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले विगत एक दशकदेखि भेनेजुएलाको अवस्था निरन्तर बिग्रँदै गएको विषयमा प्रतिवेदन गर्दै आएको स्मरण गराइन् । तर अमेरिकी हस्तक्षेपका कारण हाल देखिएको अस्थिरता र बढ्दो सैन्यीकरणले परिस्थितिलाई अझै खराब बनाउने जोखिम रहेकोप्रति राष्ट्रसङ्घ चिन्तित रहेको उनले स्पष्ट पारिन् ।

  • ग्रिनल्याण्डलाई गाभ्ने चेतावनीलाई नदोहोराउन अमेरिकालाई आग्रह

    ग्रिनल्याण्डलाई गाभ्ने चेतावनीलाई नदोहोराउन अमेरिकालाई आग्रह

    कोपनहेगन, २२ पुस (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकाको हिस्सा बनाउन गरेको आह्वानको सोमबार अन्तर्राष्ट्रिय स्तरमा निन्दा भएको छ । भेनेजुएलामा वासिङ्टनको सैन्य हस्तक्षेपले खनिजको धनी आर्कटिक क्षेत्र ग्रिनल्यान्डबारे चिन्ता उत्पन्न भएपछि अन्तरराष्ट्रिय समुदायको भनाई आएका हुन् । आइतबार राति एयर फोर्स वानमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, “हामीलाई राष्ट्रिय सुरक्षाको दृष्टिकोणले ग्रिनल्याण्ड चाहिएको छ । डेनमार्कले सक्दैन ।ु’

    ग्रीनल्याण्ड टापुमा दुर्लभ खनिजहरू छन् र ध्रुवीय हिउँ पग्लने र नयाँ ढुवानी मार्गहरू देखा पर्दा यो एक महत्त्वपूर्ण आकर्षण हुन सक्छ । ग्रिनल्याण्ड रुस र अमेरिकाबीच क्षेप्यास्त्र प्रहार गर्न सबैभन्दा छोटो मार्गमा पर्छ र वासिङ्टनले त्यहाँ पहिले नै सैन्य आधार बनाइसकेको छ । ट्रम्पले भने, “ग्रीनल्याण्डको बारेमा २० दिनमा कुरा गरौँ । हामी दुई महिनाभित्र ग्रीनल्याण्डको बिषयमा हाम्रो चिन्तालाई सम्बोधन गर्न लागिपर्नेछौँ ।”

    ग्रिनल्याण्डका प्रधानमन्त्री जेन्स फ्रेडरिक निल्सनले सामाजिक सञ्जालमार्फत अमेरिकी नेतालाई सङ्केत गर्दै भने, “अब अति नै भयो । अब कुनै दबाब छैन । थप आक्षेपहरू छैनन् । अब विलयको कुनै कल्पना छैन।” उनले भने, “हामी वार्ताका लागि खुला छौँ । छलफलको लागि खुला छौँ । तर यो उचित च्यानल मार्फत र अन्तर्राष्ट्रिय कानूनको सम्मानका साथ हुनुपर्दछ।” डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले पनि संयुक्त राज्य अमेरिकालाई सप्ताहन्तमा आफ्नो परम्परागत सहयोगीलाई धम्की नदिन आग्रह गरे । सोमबार धेरै युरोपेली देशसहित इयूले कोपेनहेगनको समर्थन गरेका छन् ।

    अमेरिकी राष्ट्रपति ट्रम्पले काराकासमाथि आक्रमण गरेर र न्यूयोर्कमा हिरासतमा रहेका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई कब्जा गरेर युरोपेली नेताहरूलाई चकित पारेका छन् । ट्रम्पले अब अमेरिकाले भेनेजुएलालाई अनिश्चितकालका लागि सञ्चालन गर्ने र तेलको विशाल भण्डार प्रयोग गर्ने बताएका छन् ।
    द एटलान्टिकसँगको टेलिफोन अन्तर्वार्तामा ट्रम्पले ग्रीनल्याण्डमा भेनेजुयलाको सैन्य अभियानको प्रभावबारे सोधिएको प्रश्नमा यो निर्णय अरुले गर्ने बताए ।

    “उनीहरूले यसलाई आफैंले हेर्नुपर्छ। मलाई थाहा छैन”, ट्रम्पले भने, “अमेरिकालाई आफ्नो सुरक्षाका लागि ग्रीनल्याण्ड चाहिएको छ ।” ट्रम्पले गत महिना रुस र चिनियाँ पानीजहाज सबै क्षेत्रमा रहेको दाबी गरेका थिए । चीनको विदेश मन्त्रालयले सोमबार यसको जवाफ दिँदै अमेरिकालाई ‘तथाकथित चिनियाँ धम्कीलाई व्यक्तिगत फाइदाको बहानाको रूपमा प्रयोग नगर्न’ आग्रह गरेको छ।

    यस विवादले युरोपभरिबाट धेरै भनाइहरू चीनको समर्थनमा आएका छन् । युरोपेली सङ्घको विदेश नीतिमामिला प्रवक्ता अनिता हिप्परले पत्रकारहरूसँग भन्नुभयो, “इयू आफ्ना सदस्यहरूको क्षेत्रीय अखण्डताको रक्षा गर्न प्रतिबद्ध छ।” फिनल्याण्ड, स्वीडेन र नर्वेका नेताहरूको भनाइमा बेलायती प्रधानमन्त्री केइर स्टार्मरले ‘केवल ग्रीनल्याण्ड र डेनमार्क अधिराज्य’ ले मात्र क्षेत्रको भविष्य निर्धारण गर्न सक्ने बताएका छन् ।

  • भेनेजुयलामा तत्काल चुनाव गर्नु हुँदैन : अमेरिका

    भेनेजुयलामा तत्काल चुनाव गर्नु हुँदैन : अमेरिका

    वासिङ्टन, २१ पुस (रासस–एएफपी) । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार निकोलस मदुरोलाई पदच्युत गरी अनुसन्धानको दायरामा ल्याइएको बताएका छन् । उनले अहिले भनेजुएलामा सरकारविशीन अवस्था रहेको तर यही अवस्थामा भेनेजुएलामा चुनाव गर्ने छलफल ‘अपरिपक्व’ धारणा हुने बताए ।

    शनिबार अमेरिकी सेनाले मदुरोलाई पक्राउ गरेपछि भेनेजुयलामा के छिट्टै निर्वाचन हुनेछ भन्ने सवालको जवाफमा रुबियोले एनबिसीको ‘मिट द प्रेस’ मा भने, “मलाई लाग्छ, यी सबै कुरा अहिले नै गर्नु ‘अपरिपक्व’ हुन्छ । उनले भने, “अहिले हामीले मदुरो हुँदाका सबै समस्यामा ध्यान केन्द्रित गरिरहेका छौँ । हामीसँग अझै पनि ती समस्याहरू छन् र तिनीहरूलाई सम्बोधन गर्न आवश्यक छ । हामी मानिसहरूलाई ती चुनौती र समस्यालाई सम्बोधन गर्ने अवसर दिइरहेका छौँ ।”

    यसैबीच काराकसबाट प्राप्त एक समाचारअनुसार भेनेजुएलाको सेनाले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यबाहक राष्ट्रपतिको रूपमा मान्यता दिएको छ।
    अमेरिकाले भेनेजुएलामा आक्रमण गरी शनिबार राष्ट्रपति मदुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिई न्यूयोुर्कमा अनुसन्धानका लागि लगेपछि खाली रहेको पदमा रोड्रिगेजलाई कार्यबाहक राष्ट्रपतिका रूपमा मान्यता दिने बताएको हो ।

  • युक्रेन ड्रोनको खतराका कारण मस्कोका विमानस्थल बन्द

    युक्रेन ड्रोनको खतराका कारण मस्कोका विमानस्थल बन्द

    मस्को, २१ पुस (रासस–एएफपी) । युक्रेनले रुसको राजधानीमा दर्जनौं ड्रोन प्रक्षेपण गरेपछि मस्कोका चारमध्ये तीन विमानस्थल आइतबार केही समय हवाई यातायातका लागि बन्द भएका छन् । रुसी सञ्चारमाध्यमका अनुसार यी आक्रमणका कारण मस्कोको दोस्रो सबैभन्दा व्यस्त विमानस्थल भनुकोभोलगायतका अन्य दुई विमानस्थलमा कैयौँ उडानहरू ढिलाइ भएका छन् । करिब चार वर्षको युद्धमा रुसी ड्रोन आक्रमणको लहर सहेको युक्रेनले तत्काल कुनै टिप्पणी गरेको छैन ।

    रुसी उड्डयन नियामक रोसाभियात्सियाका प्रवक्ताले ग्रीनचि ुमय अनुसार विहान १ः०० देखि २ः०० बजेसम्मको बीचमा सेवा बन्द गर्ने घोषणा गरेका थिए । “उडानको सुरक्षा सुनिश्चित गर्न प्रतिबन्धहरू आवश्यक छन्,” आर्टेम कोरेन्याकोले टेलिग्राममा भनका छन् । उनले भने, “भनुकोभो, डोमोडेडोभो र झुकोभस्कीमा केही समय सेवा अवरूद्ध भएको र केही घण्टा पछि आंशिक रूपमा सेवा पुनः सञ्चालनमा ल्याइएको थियो ।

    मस्कोका मेयर सर्गेइ सोब्यानिनले आइतबार राजधानीतर्फ जाँदै गरेको कम्तीमा २७ वटा ड्रोन खसालेको जानकारी दिएका छन् । सन् २०२२ मा आफ्नो छिमेकीमाथि पूर्ण सैन्य आक्रमण सुरु गरेको रुसले युक्रेनी ड्रोन आक्रमणको जवाफमा पटकपटक आफ्नो हवाई क्षेत्र बन्द गरेको छ ।

  • भेनेजुएलाको अवस्थाबारे सोमबार संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक

    भेनेजुएलाको अवस्थाबारे सोमबार संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक

    संयुक्त राष्ट्र, २१ पुस (रासस–सिन्ह्वा) । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सोमबार भेनेजुएलासम्बन्धी विषयमा आपतकालीन बैठक बसाल्ने भएको छ । सुरक्षा परिषद्को वर्तमान अध्यक्षताले शनिबार यसबारे जानकारी दिएको हो । सोमाली स्थायी मिसनकी प्रवक्ता खादिजा अहमदका अनुसार, अध्यक्षताले सोमबार बिहान १० बजे आपतकालीन बैठक आयोजना गर्ने तयारी गरेको छ ।

    जनवरी महिनाका लागि सुरक्षा परिषद्को अध्यक्षता सोमालियाले सम्हालेको छ । समाचारअनुसार, संयुक्त राज्य अमेरिकाले शनिबार भेनेजुएलाविरुद्ध सैन्य कारबाही सञ्चालन गर्दै राजधानी काराकासबाट भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको छ ।

  • भेनेजुएलामाथिको कारबाहीपछि अमेरिकाले क्यारिबियन हवाई क्षेत्रको प्रतिबन्ध हटायो

    भेनेजुएलामाथिको कारबाहीपछि अमेरिकाले क्यारिबियन हवाई क्षेत्रको प्रतिबन्ध हटायो

    वाशिङ्टन, २१ पुस (रासस–एएफपी) । भेनेजुएलामाथि गरिएको सैन्य कारबाहीपछि क्यारिबियन क्षेत्रमा लगाइएको हवाई क्षेत्रसम्बन्धी प्रतिबन्ध अमेरिकाले शनिबार राति हटाएको छ । उक्त प्रतिबन्धका कारण यसअघि व्यावसायिक उडानहरू अस्थायी रूपमा रोकिएका थिए ।

    समाचारअनुसार भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई हेलिकोप्टरमार्फत न्युयोर्क सहर लगिएको छ, जहाँ उहाँहरूमाथि लागूऔषध तस्करी तथा हतियारसम्बन्धी अभियोग लगाइएको छ । अमेरिकी विशेष फौजले शनिबार बिहान सबेरै राजधानी काराकास तथा वरपरका क्षेत्रमा हवाई आक्रमणसहितको सैन्य कारबाही सञ्चालन गरी मादुरो दम्पतीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।


    अमेरिकी यातायातमन्त्री सीन डफीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मध्यरात १२ बजेपछि प्रारम्भिक प्रतिबन्ध समाप्त भएको र त्यसपछि नियमित उडानहरू पुनः सञ्चालन गर्न अनुमति दिइएको बताएका छन् । उनका अनुसार सम्बन्धित वायुसेवा कम्पनीहरूलाई आवश्यक सूचना दिइसकिएको छ र उडान तालिका छिट्टै अद्यावधिक गरिनेछ । यसअघि अमेरिकी संघीय उड्डयन निकायले जारी गरेको सूचनामा क्यारिबियन क्षेत्रमा जारी सैन्य गतिविधिका कारण उडान सुरक्षामा जोखिम देखिएको उल्लेख गर्दै उक्त हवाई क्षेत्र प्रयोग नगर्न निर्देशन दिएको थियो ।

  • मदुरो अपदस्थपछि भेनेजुएलामा अमेरिकी हस्तक्षेप

    मदुरो अपदस्थपछि भेनेजुएलामा अमेरिकी हस्तक्षेप

    काराकास, २१ पुस (रासस–एपी) । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई सत्ताबाट हटाएर देश बाहिर लगिएको केही घन्टापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले कम्तीमा अस्थायी रूपमा भेनेजुएला चलाउने र यसको विशाल तेल भण्डार अन्य राष्ट्रहरूलाई बिक्री गर्ने योजना बनाएको बताएका छन् । उनले शनिबार पत्रकारहरूसँग कुरा गर्दै नेतृत्वको शून्यतालाई प्रयोग गरी तेल पूर्वाधार सुधार्ने र ठूलो परिमाणमा तेल निर्यात गर्ने तयारी रहेको स्पष्ट गरे ।


    यो नाटकीय घटनाक्रम दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामाथि ट्रम्प प्रशासनले महिनौँदेखि गर्दै आएको गहिरो दबाब र गोप्य योजनाको परिणामका रूपमा देखिएको छ । सन् २००३ मा इराक आक्रमणपछि शासन परिवर्तन हासिल गर्ने यो सबैभन्दा आक्रामक अमेरिकी कदम मानिएको छ । तर, कङ्ग्रेसको स्वीकृति बिना गरिएको यस सैन्य कारबाहीको कानूनी वैधतामाथि कानूनी विज्ञहरूले तुरुन्तै प्रश्न उठाएका छन् ।

    मदुरो र उनकी पत्नी सिलिया फ्लोर्सलाई राजधानी काराकासस्थित एक सैन्य आधारको निवासबाट रातारात नियन्त्रणमा लिई अमेरिकी युद्धपोतमार्फत अमेरिका लगिएको थियो । उनीहरूलाई ‘नार्को–आतङ्कवाद’ षड्यन्त्रमा संलग्न भएको आरोपमा अभियोजनका लागि ल्याइएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

    मदुरोलाई बोकेको विमान शनिबार अपराह्न न्युयोर्क नजिकै अवतरण गरेपछि सङ्घीय एजेन्टहरूको कडा सुरक्षाबीच उनलाई म्यानहट्टनस्थित अमेरिकी लागुऔषध नियन्त्रण प्रशासन (डिइए) कार्यालय लगिएको थियो । ब्रुकलिनको सङ्घीय जेलमा मुद्दाको पर्खाइमा उनलाई हिरासतमा राखिने अपेक्षा गरिएको छ ।

    ह्वाइट हाउसद्वारा सार्वजनिक गरिएको भिडियोमा मदुरो मुस्कुराउँदै डिइए एजेन्टहरूको साथमा देखिएका छन् । यद्यपि अमेरिकी अधिकारीहरूले तत्काल उनी जेलमा रहेको औपचारिक पुष्टि गरेका छैनन् । यस कदमबारे भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले कडा आपत्ति जनाउँदै मदुरोलाई तत्काल रिहा गरी देशको वैध नेता मान्नुपर्ने माग गरेकी छिन् । भेनेजुएलाको कानूनअनुसार उनले अन्तरिम भूमिका ग्रहण गर्न सक्ने व्यवस्था भए पनि रोड्रिग्जले राज्य टेलिभिजनमार्फत आफू सत्ता लिन इच्छुक नरहेको र ‘भेनेजुएलामा एक मात्र राष्ट्रपति निकोलस मदुरो मोरोस नै हुनुहुन्छ’ भन्ने धारणा व्यक्त गरेकी छिन् ।

    (260103) — PALM BEACH, Jan. 3, 2026 (Xinhua) — A screen shot taken from a video released by the White House shows U.S. President Donald Trump holding a press conference at the Mar-a-Lago estate in Palm Beach, Florida, the United States, Jan. 3, 2026. U.S. raid “a heavily fortified military fortress in the heart of Caracas” to capture Maduro — Trump (Xinhua)

    ट्रम्प प्रशासनले यो अपरेसनलाई अमेरिकामा लागुऔषधको अवैध प्रवाह रोक्ने कदमका रूपमा व्याख्या गरेको छ । राष्ट्रपति ट्रम्पले मार–ए–लागोमा आयोजित पत्रकार सम्मेलनमा ‘सुरक्षित र विवेकपूर्ण सङ्क्रमण सम्भव नहुन्जेलसम्म अमेरिकाले भेनेजुएलाको प्रशासनमा सहयोग गर्ने’ बताए । उनले यसलाई अमेरिकी सार्वभौमिकता र नागरिकको सुरक्षामाथि खतरा पु¥याउनेहरूप्रति कडा चेतावनीका रूपमा पनि वर्णन गरे ।


    शनिबार बिहान काराकासमा विस्फोटहरू सुनिनुका साथै कम उचाइमा सैन्य विमानहरू उडेको देखिएको थियो । भेनेजुएलाको सरकारले यसलाई ‘साम्राज्यवादी आक्रमण” भन्दै नागरिक र सैन्य प्रतिष्ठानहरूमा क्षति पुगेको आरोप लगाएको छ’। आक्रमण करिब ३० मिनेट चलेको बताइन्छ । उपराष्ट्रपति रोड्रिग्जका अनुसार केही नागरिक र सुरक्षाकर्मी मारिएका छन्, तर सङ्ख्या खुलाइएको छैन । अमेरिकी पक्षले भने केही सैनिक घाइते भए पनि मृत्यु नभएको जनाएको छ ।

    मदुरोको कब्जापछि काराकासका केही क्षेत्रमा समर्थकहरू सडकमा उत्रिएर विरोध प्रदर्शन गरे भने अन्य स्थानहरू सुनसान देखिए । बिजुली अवरुद्ध भएका क्षेत्रहरूमा त्रासको वातावरण थियो । “सबैजना डराएका छन्, धेरै परिवार सुत्न सकेनन्”, काराकासका बासिन्दा नोरिस प्रादाले भने । यसबीच, अमेरिकाको फ्लोरिडास्थित डोरल सहरमा ठूलो भेनेजुएलाली समुदायले मदुरोको पतनलाई स्वागत गर्दै उत्सव मनाएको देखियो ।

    अन्तर्राष्ट्रिय रूपमा पनि यस घटनाले तरङ्ग ल्याएको छ । कोलम्बियाको आग्रहमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले भेनेजुएलामा अमेरिकी सैन्य अपरेसनबारे छलफल गर्न आपतकालीन बैठक बोलाउने तयारी गरेको कूटनीतिक स्रोतहरूले जनाएका छन् । अमेरिकी कङ्ग्रेसका दुवै दलका केही सांसदहरूले कङ्ग्रेसको स्वीकृति बिना गरिएको आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रशासनसँग यसको कानूनी आधार र क्षेत्रीय स्थिरताबारे स्पष्ट जवाफ माग गरेका छन् ।

  • भेनेजुयलाद्वारा अमेरिकासँग राष्ट्रपति मदुरोको अवस्थाबारे जानकारी माग

    भेनेजुयलाद्वारा अमेरिकासँग राष्ट्रपति मदुरोको अवस्थाबारे जानकारी माग

    काराकस, १९ पुस (रासस–एएफपी) । भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपति निकोलस मदुरो र प्रथम महिला सेलिया फ्लोरेसबारे सरकारसँग कुनै सूचना नभएको बताएकी छन् । सरकारले उनीहरु जीवित रहेको तत्काल प्रमाण मागेको उनले बताइन् । भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाड्रिनो लोपेजले सरकारले शनिबार बिहानै भएको अमेरिकी आक्रमणका मृतक र घाइतेको बारेमा जानकारी लिन काम गरिरहेको बताएका छन् । उनले सर्वसाधारण बसोबास गर्ने आवासीय क्षेत्रमा आक्रमण भएको दावी गरे ।


    उनले भेनेजुएलाले विदेशी सेनाको उपस्थितिको विरोध गर्ने पनि बताए । यसका साथै भेनेजुएलाका रक्षामन्त्रीले देशभरि तत्काल सैन्य बल तैनाथ गर्ने घोषणा गरे । स्पेनी भाषामा बोल्दै लोपेजले भेनेजुएलामाथि अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमणको सामना गर्न सर्वसाधारणलाई एकजुट हुन आह्वान गरेका छन् । उनले भेनेजुएलाले सबै सशस्त्र सेना परिचालन गर्ने मदुरोको आदेशलाई पालना गरिरहेको बताए ।


    “उनीहरूले हामीमाथि आक्रमण गरेका छन् तर उनीसँग हामी झुक्ने छैनौँ,” रक्षामन्त्री लोपेजले भने । प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणबाट ला कार्लोटा, शहरको मुटुमा रहेको सैन्य अखडा र मुख्य सैन्य अड्डा फुएर्ते तिउना पनि प्रभावित भएका छन्। दुवै ठाउँमा भएका विस्फोटको भिडियो पनि सार्वजनिक भएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई ट्रम्प प्रशासनले हप्तौँदेखि दबाब दिएपछि यो आक्रमण भएको हो ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुयलाका राष्ट्रपतिमाथि लागुऔषध ओसारपसार र अमेरिकामा अपराध फैलाउने कार्यमा संलग्न रहेको आरोप लगाएका छन् । अमेरिकी हवार्य हमलापछि भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले एक विज्ञप्ति जारी गर्दै आक्रमणको निन्दा गर्नुभएको थियो भने राष्ट्रिय आपतकाल घोषणा गरेका थिए ।


    भेनेजुएलाका राष्ट्रपति मदुरोले अमेरिकी सेनाको आक्रमणपछि एक विज्ञप्ति जारी गर्दै काराकासमा भएको आक्रमणको उद्देश्य आफ्नो देशको स्रोतसाधन कब्जा गर्ने अमेरिकी रणनीति बताएका थिए । भेनेजुएलाको राजधानी काराकासका कैयौँ क्षेत्रमा एकैपटक विस्फोटको आवाज सुनिएको थियो। विस्फोट भएका क्षेत्रमा सैन्य अखडा पनि रहेका छन् ।

  • आवासीय क्षेत्रमा अमेरिकाले बम आक्रमण गरेको भेनेजुएलाका रक्षामन्त्रीको भनाइ

    आवासीय क्षेत्रमा अमेरिकाले बम आक्रमण गरेको भेनेजुएलाका रक्षामन्त्रीको भनाइ

    काराकस, १९ पुस (रासस–एएफपी–एपी) । भेनेजुएलाले शनिबार बिहानै अमेरिकाले आवासीय क्षेत्रमा आक्रमण गरेको आरोप लगाउँदै ठूलो मात्रामा सैन्य स्रोतहरू परिचालन गर्ने घोषणा गरेको छ । आक्रमणपछि अमेरिकी सेनाले भेनेजुयलाका राष्ट्रपति र उनकी पत्नीलाई नियन्त्रणमा लिई देशबाहिर लगिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका थिए । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “मदुरोलाई उनकी पत्नीसहित पक्राउ गरिएको छ र देश बाहिर लगिएको छ । यो कारबाही अमेरिकी कानून प्रवर्तनसँग मिलेर गरिएको थियो। थप विवरणहरू पछि प्राप्त हुनेछन् ।”

    अमेरिकी राष्ट्रपति ट्रम्पले यस घटनाबारे थप विवरणका लागि अमेरिकी समय अनुसार शनिबार बिहान पत्रकार सम्मेलन गर्ने बताएका छन् । भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर प्याड्रिनो लोपेजले सामाजिक सञ्जालमा साझा गरिएको एक भिडियो वक्तव्यमा भनेका छन्, “आक्रमणमा संलग्न अमेरिकी सेनाले हाम्रो भूमिमा ‘अपवित्र हस्तक्षेप’ गरेको छ । उनीहरूले आफ्नो लडाकु हेलिकप्टरबाट मिसाइल र रकेटहरू प्रयोग गरी भेनेजुयलामाथि प्रहार गरेका छन् ।”

    लोपेजले थपे, “भेनेजुयलाले राष्ट्रको सार्वैभौम रक्षाको लागि स्थलसेना, वायुसेना, नौसेना, नदी र मिसाइल क्षमताहरूको ठूलो प्रयोग गर्नेछ ।” अमेरिकी कानून अन्तर्गत आक्रमणको कानुनी कारण तत्काल स्पष्ट भएको छैन। सिनेटर माइक ली, आर–यूटाले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “आफुले विदेशमन्त्री मार्को रुबियोसँग भेनेजुयलाको पछिल्लो घटनाबारे कुरा गरेको र रूबियोबाट नै आक्रमणबारे जानकारी प्राप्त भएको हो।”

    लीले रुबियोलाई उद्धृत गर्दै भने, “मदुरोलाई अमेरिकी अधिकारीहरूले संयुक्त राज्य अमेरिकामा आपराधिक आरोपमा मुद्दा चलाउन पक्राउ गरिएको हो ।”
    ह्वाइट हाउसले मदुरो र उहाँकी पत्नीलाई कहाँ लगिएको हो भन्नेबारे तत्काल केही बताएको छैन । सन् २०२० मार्चमा मादुरोलाई न्यूयोर्कको दक्षिणी जिल्लामा ‘नार्को–आतङ्कवाद’ षड्यन्त्रको आरोपमा अभियोग लगाइएको थियो।

    राष्ट्रपति मादुरो पछिल्लो पटक शुक्रबार काराकासमा चिनियाँ अधिकारीहरूसँगको भेटघाटका क्रममा सार्वजनिक भएका छन् । यसैबीच, भेनेजुयलाका अधिकारीहरूले वाशिङ्गटनको आक्रमणमा मृत्यु भएका र घाइते भएका सेना र सर्वसाधारणको तथ्याङ्क संकलन भइरहेको जनाएका छन् । लोपेजका अनुसार भेनेजुएलाको सबैभन्दा ठूलो सैन्य शिविर फुएर्ते तिउना, राजधानी वरपरका मिरान्डा, अराग्वा र ला ग्वाइरा राज्यमा केही आवासीय क्षेत्रमा क्षति पुगेको छ ।

    एएफपीका पत्रकारहरूले राजधानी काराकासमा बिहान २ बजे विस्फोटनको आवाज सुनिएको र राजधानी काराकास र वरपरका क्षेत्रमा ‘आतङ्क मच्चिएको’ बताएका छन्। देशका अन्य शहरहरूमा पनि थप विस्फोटहरू भएका बताइएको छ । राजधानीका आकासमा करिब एक घण्टासम्म विमानको आवाज सुनिएको र उक्त अवधिभर व्यापक हवाई आक्रमणहरू भएको र ठूला ठूला विस्फोटका आवाज सुनिएको थियो । आक्रमणबाट भेनेजुयलाको राजधानीका कैयौँ क्षेत्र बिजुलीविहीन भएका छन् । रक्षामन्त्री लोपेजले अमेरिकी आक्रमणबाट संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन भएको भन्दै भेनेजुयलाले अमेरिकी आक्रमणको कडा शब्दमा निन्दा गरेको बताए ।

  • भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो श्रीमतीसहित पक्राउ : राष्ट्रपति ट्रम्प

    भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो श्रीमतीसहित पक्राउ : राष्ट्रपति ट्रम्प

    वासिङ्टन डीसी (अमेरिका), १९ पुस (रासस–एएनआई) । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकाले भेनेजुएलाको बिरूद्ध ठूलो आक्रमण गरेको उल्लेख गर्दै वर्तमान राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरी देश निकाला गरिएको बताएका छन् ।

    “संयुक्त राज्य अमेरिकाले भेनेजुएला र राष्ट्रपति निकोलस मादुरो विरुद्ध सफलतापूर्वक आक्रमण गरी पत्नीसहित पक्राउ गरी देश बाहिर निकालिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल मार्फत जनाएका छन् । मादुरोको पक्राउ ट्रम्पद्वारा पुष्टि गरिए अनुसार, संयुक्त राज्य अमेरिका र भेनेजुएला बिच तीव्र तनावको बीचमा आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपतिलाई बारम्बार “नार्को–आतंकवादी“ सरकारको अध्यक्षता गरेको आरोप लगाएका थिए ।

    अमेरिकाले भेनेजुएलाको तेल ओसारपसारमा संलग्न रहेको दाबी गर्ने जहाजहरूमा पनि प्रतिबन्ध लगाएको थियो । सोही समयमा, अमेरिकी सेनाले लागुऔषध तस्करीमा संलग्न भएको आरोप लगाउँदै यस क्षेत्रमा भेनेजुएलाका डुङ्गाहरू विरुद्ध कारबाही बढाएको छ । भेनेजुएलाले अमेरिकाविरुद्ध काम“ गरेको आरोप लगाउँदै ट्रम्पले मादुरोलाई पदबाट हट्न आह्वान गरेको जनाइएको छ ।

    यसैबीच, भेनेजुएला सरकारले शनिबार विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्र संघको बडापत्र उल्लङ्घन गरेको र क्षेत्रीय शान्ति र स्थिरतालाई खतरा पुर्याएको आरोप लगाउँदै भेनेजुएलाको भूभागविरुद्ध अमेरिकाले गरेको “सैन्य आक्रमणको निन्दा गरेको छ । आधिकारिक विज्ञप्तिमा, अमेरिकाले काराकास र मिरान्डा, अरागुआ र ला गुएराका नागरिक र सैन्य स्थानहरूमा आक्रमण गरी संयुक्त राष्ट्रको बडापत्र र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरेको उल्लेख गरिएको छ ।

    भेनेजुएला सरकारले आक्रमणको उद्देश्य देशको रणनीतिक स्रोतहरू, विशेष गरी तेल र खनिजहरू कब्जा गर्नु र भेनेजुएलाको राजनीतिक स्वतन्त्रतालाई कमजोर पार्नु रहेको बताएको छ । विज्ञप्तिमा भेनेजुएलाका जनताले साइमन बोलिभर र अन्य राष्ट्रिय नेताहरूको विरासतलाई आह्वान गर्दै एक पटक फेरि आफ्नो स्वतन्त्रताको रक्षा गर्ने सबै सामाजिक र राजनीतिक शक्तिहरूलाई “साम्राज्यवादी आक्रमणको अस्वीकार गर्न आग्रह गरेको छ ।

    बोलिभेरियन राष्ट्रिय सशस्त्र बलहरू सार्वभौमिकता र शान्तिको ग्यारेन्टी गर्न राष्ट्रव्यापी रूपमा तैनाथ गरिएको छ । जबकि कूटनीतिक च्यानलहरू संयुक्त राष्ट्र सुरक्षा परिषद, संयुक्त राष्ट्र महासचिव, समक्ष उजुरी गर्ने जनाइएको छ । राष्ट्रपति निकोलस मादुरोले संविधान र सान्दर्भिक राष्ट्रिय सुरक्षा कानुन अनुरूप राष्ट्रिय योजनाहरू कार्यान्वयन गर्न आदेश दिई भेनेजुएलामा सङ्कटकालको आदेशमा हस्ताक्षर गरेको जनाइएको छ ।

    हाल राज्य र नगरपालिकाहरूमा व्यापक राष्ट्रिय रक्षा कमान्ड संरचनाहरू तैनाथ गरिएको बताएको छ । संयुक्त राष्ट्रको बडापत्रको धारा ५१ लाई आह्वान गर्दै भेनेजुएला सरकारले आफ्ना जनता, क्षेत्र र स्वतन्त्रताको रक्षा गर्न आत्मरक्षा गर्ने अधिकार सुरक्षित राखेको र विश्वव्यापी सरकार र जनतालाई एकता व्यक्त गर्न आह्वान गरेको छ ।

    भेनेजुएलाको राजधानी काराकासमा शनिबार ठूलो विस्फोट भएको रिपोर्टको बीचमा यो विज्ञप्ति जारी गरिएको थियो, जसले धेरै क्षेत्रमा बिजुली कटौती गरेको सिएनएनले जनाएको छ । घटनाक्रममा प्रतिक्रिया दिँदै कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले भेनेजुएलाविरुद्ध अमेरिकी कारबाहीबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद् बोलाउन आह्वान गर्नु भएको छ ।

  • काराकासमा श्रुङ्खलाबद्व विस्फोट, कस्तो छ अहिलेको अवस्था ?

    काराकासमा श्रुङ्खलाबद्व विस्फोट, कस्तो छ अहिलेको अवस्था ?

    काराकास (भेनेजुयला), १९ पुस (रासस–एएफपी) । राष्ट्रपति डोनाल्ड ट्रम्पको एक महिना लामो दबाब अभियान पछि शनिबार राजधानी काराकासमा विस्फोट भएको उल्लेख गर्दै भेनेजुएलाले संयुक्त राज्य अमेरिकालाई गम्भीर सैन्य आक्रमण“ गरेको आरोप लगाएको छ । फक्स न्यूज र सीबीएस न्यूज लगायत अमेरिकी मिडियाहरूले संयुक्त राज्य अमेरिकाले क्यारिबियन देशमा सैन्य आक्रमण गरिरहेको रिपोर्ट गरेका छन् । ह्वाइट हाउस र पेन्टागनले भने आक्रमणको बारेमा हाल सम्म कुनै टिप्पणी गरेका छैनन् ।

    विस्फोट, शहरमा उड्ने विमानहरूको आवाजसँगै, उस्तै सुनिने गरी शनिबार राती २ः०० बजे देखि भएको एएफपीले जनाएको छ । राजधानीको उत्तरमा रहेको ला गुइरामा पनि विस्फोटको आवाज सुनिएको जनाइएको छ जहाँ काराकासको विमानस्थल र बन्दरगाह अवस्थित छ । “भेनेजुएलाका वामपन्थी राष्ट्रपति निकोलस मादुरोको सरकारले भेनेजुएलाको भूभाग र जनता विरुद्ध संयुक्त राज्य अमेरिकाको वर्तमान सरकारले गरेको गम्भीर सैन्य आक्रमणलाई भेनेजुएलाले अन्तर्राष्ट्रिय समुदाय सामु अस्वीकार, र निन्दा गरेको जनाएको छ । आक्रमण पछि उहाँले मुलुकमा आपतकालकोसमेत घोषणा गरिसकेको बताइएको छ ।

    छिमेकी कोलम्बियाका राष्ट्रपतिले आक्रमणको विषयलाई लिएर संयुक्त राष्ट्र सङ्घको आपतकालीन बैठक बोलाएका छन् । वामपन्थी नेता गुस्ताभो पेट्रोले सामाजिक सञ्जाल एक्समा भेनेजुएलामा भएको आक्रमणको बारेमा सम्पूर्ण विश्वलाई सचेत गराइरहेको जनाइएको छ । अहिले पनि मेसिन गन जस्तो धेरै विस्फोट र गोली चलेको आवाज सुनिरहेको अधिकारीहरुलाई उदृत गर्दै एएफपीले बताएको छ । स्थानिय बासिन्दाहरुका अनुसार सहरका केही भागहरूमा आक्रमण पछि बिजुली काटिएको छ ।

    (FILES) Venezuela’s President Nicolas Maduro and his wife Cilia Flores wave to supporters as they leave the Capitolio -home of the National Assembly- after taking the oath during the presidential inauguration in Caracas on January 10, 2025. President Donald Trump said on January 3, 2026, that US forces had captured Venezuelan leader Nicolas Maduro after launching a “large scale strike” on the South American country. “The United States of America has successfully carried out a large scale strike against Venezuela and its leader, President Nicolas Maduro, who has been, along with his wife, captured and flown out of the Country,” Trump said on Truth Social. (Photo by Juan BARRETO / AFP)

    सुरुमा लागुऔषध तस्करी विरोधी अभियानको रूपमा प्रस्तुत गरेको क्यारिबियनमा विमान वाहक र लडाकु विमान तैनाथ गर्ने ट्रम्पले भेनेजुएलाको भूमिमा बारम्बार आक्रमण गर्ने धम्की दिएको जनाइएको छ । यस अघि सोमबार ट्रम्पले अमेरिकाले भेनेजुएलाका कथित लागुऔषध डुङ्गाहरू आक्रमण गरी नष्ट गर्ने बताउदै नियन्त्रण अभियानको पहिलो प्रयास आक्रमण हुने बताएका थिए । मादुरोले भने आक्रमणको पुष्टि तथा अस्वीकार नगरी बिहीबार वासिङ्टनसँगको सहकार्यका लागि खुला रहेको बताएका थिए । ट्रम्प प्रशासनले भने मादुरोलाई लागु औषध ओसार पसारको नेतृत्व गरेको आरोप लगाएको छ ।

    मादुरोले लागु औषध कारोबारमा आफ्नो संलग्नतालाई अस्वीकार गर्दै वासिङ्टनले आफुलार्ई सत्ताच्युत गर्न खोजिरहेको बताए । वासिङ्टनले पछिल्लो समयमा अनौपचारिक रूपमा भेनेजुएलाको हवाई क्षेत्र बन्द गरी थप प्रतिबन्ध लगाएको छ र भेनेजुएलाको तेलले भरिएका ट्याङ्करहरू जफत गर्न आदेश दिएको छ ।
    अमेरिकी सेनाले सेप्टेम्बर देखि क्यारेबियन सागर र पूर्वी प्रशान्त महासागरमा डुङ्गाहरूमा धेरै आक्रमणहरू गरेको छ, जसलाई वासिङ्टनले लागुऔषध तस्करहरू भनेको छ । अमेरिकी सेनाका अनुसार आक्रमणमा कम्तीमा १०७ जनाको मृत्यु भएको छ ।

  • भेनेजुएलाको राजधानीमा अमेरिकाले थाल्यो हवाई आक्रमण

    भेनेजुएलाको राजधानीमा अमेरिकाले थाल्यो हवाई आक्रमण

    काराकस, भेनेजुएला, १९ पुस (रासस–एपी) । भेनेजुएलाले अमेरिकालाई नागरिक तथा सैनिक क्षेत्रहरूमा आक्रमण गरेको आरोप लगाएको छ । विस्फोट करिब ३० मिनेटको अन्तरालमा भएका थिए । केही क्षेत्रमा बिजुली गएको थियो, तर सडकमा सवारी साधनहरू सामान्य रूपमा चलिरहेका थिए । राजधानीको एक सैन्य ह्यान्गरबाट धुवाँ उठेको देखियो ।

    २१ वर्षीया कार्यालयकर्मी कारमेन हिडाल्गोले भनिन्, “सारा जमिन हल्लियो । यो अनुभव अत्यन्त डर लाग्दो थियो । हामीले विस्फोट र विमान देख्यौं ।” राष्ट्रपति निकोलस मादुरोले आफ्ना समर्थकहरूलाई सडकमा आउन र ‘साम्राज्यवादी आक्रमण’ को विरोध गर्न आह्वान गरेका छन् । सरकारले सबै राष्ट्रिय सुरक्षा योजना लागू गर्न आदेश दिएको छ र बाह्य सङ्कटको घोषणा गरेको छ । यसअघि अमेरिकी सेनाले ड्रग तस्करी गर्ने डुङ्गाहरूलाई निशाना बनाएको थियो । मादुरोले अमेरिकाले भेनेजुएलामा सरकार परिवर्तन गर्न र देशका तेल स्रोतमा पहुँच बनाउन खोजेको आरोप लगाएका छन् ।

  • अमेरिका आयात हुने फर्निचरमा बढाउने भनेको करवृद्धि एक बर्षका लागि स्थगित

    अमेरिका आयात हुने फर्निचरमा बढाउने भनेको करवृद्धि एक बर्षका लागि स्थगित

    वासिङ्टन, १८ पुस (रासस–एएफपी) । विभिन्न मुलुकबाट अमेरिकामा आयात हुने फर्निचर सामानमा अमेरिकी करवृद्धि गर्ने योजना एक वर्षका लागि स्थगित गरिएको छ। अमेरिकी राष्ट्रपतिको कार्यालयले फर्निचरमा करवृद्धि गर्ने योजना आगामी एक बर्षका लागि पर सारिएको जानकारी गराएको छ। यो वृद्धि ट्रम्पले ह्वाइट हाउसमा फर्केपछि लागू गरेको क्षेत्र–विशिष्ट करको पहिलेको घोषणा अन्तर्गत योजना गरिएको थियो ।

    अमेरिकी परिवारहरूले जीवनयापनको उच्च लागतको महसुस गरेपछि ट्रम्पले बुधबार अबेर योजनाबद्ध करहरूलाई एक बर्ष पछि सार्नेगरी स्थगित गर्ने बताउनुभएको हो । प्रशासनले सन् २०२६ जनवरी १ देखि केही असवाव फर्निचरमा ३० प्रतिशत र ‘किचन क्याबिनेट’ र ‘भ्यानिटी’ हरूमा ५० प्रतिशत करवृद्धि गर्ने योजनालाई सन् २०२७ जनवरी सम्मका लागि स्थगित गरेको छ।

    “काठजन्य वस्तुको आयातका लागि जारी फलदायी वार्तालाई मध्यनजर गर्दै राष्ट्रपतिले अन्य मुलुकसँग थप वार्ताका लागि भन्सार वृद्धिमा ढिलाइ गर्ने घोषणा गर्नुभएको छ,” ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ । सन् २०२५ मा राष्ट्रपति ट्रम्पको कर नीतिले स्टिलदेखि कारसम्मका सामानहरूको आयातमा असर गरेको थियो । प्रशासनले थप अनुसन्धान जारी राखेको र नयाँ करहरूको घोषणा गर्न सक्ने सम्भावना रहेको बताएको छ।

    अक्टोबरमा आयातित ‘सफ्टवुड’ र काठमा १० प्रतिशत शुल्क लागू भएको थियो साथै केही असबाबवाला फर्निचर र किचेन क्याबिनेटहरूमा २५ प्रतिशत शुल्क लगाइएको थियो। ट्रम्प प्रशासनले अमेरिकी उद्योगलाई बढावा दिने र राष्ट्रिय सुरक्षाको रक्षा गर्ने माध्यमका रूपमा यो करलाई उचित ठह¥याएको थियो ।

    बिहीबारदेखि लागू हुने उच्च दरले भियतनाम र चीनजस्ता देशहरूबाट हुने आयातलाई असर गर्नेछ । चीन र भियतनाम संयुक्त राज्य अमेरिकामा आयातित फर्निचरको प्रमुख आपूर्तिकर्ता हुन् । अमेरिकी सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐन अन्तर्गत लागू गरिएको देशव्यापी करवृद्धिको वैधानिकतामाथि फैसला सुनाएको छ।

  • सन् २०२५ : अत्यन्त तातो वर्ष

    सन् २०२५ : अत्यन्त तातो वर्ष

    डेट्रोइट (संयुक्त राज्य अमेरिका), १६ पुस (रासस–एपी) । वैज्ञानिकहरूका अनुसार सन् २०२५ मानव गतिविधिबाट प्रेरित जलवायु परिवर्तनका कारण इतिहासकै सबैभन्दा तातो तीन वर्षमध्ये एक बनेको छ । यस वर्षले पहिलो पटक तीन वर्षको औसत तापक्रमका आधारमा पूर्व–औद्योगिक कालको तुलनामा तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा तल राख्ने सन् २०१५ को पेरिस सम्झौतामा तोकिएको सीमा पार गरेको हो । विज्ञहरूका अनुसार उक्त सीमा नाघ्दा मानव जीवन, पारिस्थितिकी र विश्वव्यापी वातावरणमा गम्भीर जोखिम बढ्ने गर्दछ ।

    युरोपमा मङ्गलबार सार्वजनिक गरिएको वल्र्ड वेदर एट्रिब्युसन (डब्लुडब्लुए) का अनुसन्धानकर्ताहरूको विश्लेषणले सन् २०२५ लाई खतरनाक चरम मौसमले भरिएको वर्षका रूपमा चित्रित गरेको छ । प्रशान्त महासागरमा ला निनाजस्तो प्राकृतिक चिसोपनको अवस्था हुँदाहुँदै पनि विश्वव्यापी तापक्रम उच्च रहनुमा तेल, ग्यास र कोइलाजस्ता जीवाश्म इन्धनको निरन्तर दहन प्रमुख कारण भएको वैज्ञानिकहरूको निष्कर्ष छ । इम्पेरियल कलेज लन्डनका जलवायु वैज्ञानिक तथा डब्लुडब्लएका सह–संस्थापक फ्रेडेरिक ओटोका अनुसार जीवाश्म इन्धन छिटो र व्यापक रूपमा प्रयोग गर्न रोक्न नसके १।५ डिग्रीको लक्ष्य जोगाउन अत्यन्त कठिन हुनेछ ।

    डब्लुडब्लएले सन् २०२५ मा विश्वभर देखिएका १५७ चरम मौसम घटनालाई गम्भीर श्रेणीमा राखेको छ, जसमा ठूलो मानवीय क्षति, व्यापक जनसङ्ख्यामा प्रभाव वा आपतकाल घोषणा गरिएको अवस्था समावेश छन् । तीमध्ये केही घटनाको विस्तृत अध्ययनले तातो लहरहरू यस वर्षका सबैभन्दा घातक विपद् बनेको र यस्ता घटना जलवायु परिवर्तनका कारण विगतको तुलनामा धेरै गुणा बढी सम्भावित भएको देखाएका छन् । ओटोका अनुसार मानव–प्रेरित जलवायु परिवर्तन नभएको भए यस्ता तातो लहरहरू प्रायः असम्भव हुने थिए ।

    यस वर्ष ग्रिस र टर्कीमा लामो खडेरीले डढेलोलाई उक्सायो भने मेक्सिकोमा भारी वर्षा र बाढीले धेरैको ज्यान गयो । फिलिपिन्समा सुपर टाइफुन फङ–वोङका कारण १० लाखभन्दा बढी मानिस विस्थापित भए भने भारतमा मनसुनका कारण बाढी र भूस्खलनले जनजीवन प्रभावित भयो । वैज्ञानिकहरूले यस्ता तीव्र र जटिल विपद्ले धेरै देशको अनुकूलन क्षमतामाथि गम्भीर दबाब सिर्जना गरेको चेतावनी दिएका छन् ।

    यसैबीच, ब्राजिलमा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्ता जीवाश्म इन्धनबाट टाढा सर्ने स्पष्ट योजनाविना सकिएको छ । यद्यपि जलवायु अनुकूलनका लागि थप सहयोगको प्रतिबद्धता व्यक्त गरिए पनि कार्यान्वयनमा ढिलाइ हुने देखिएको छ । चीन, युरोप र संयुक्त राज्य अमेरिकालगायत विश्वका प्रमुख शक्तिहरूमा जलवायु नीतिमा असमान प्रगति देखिएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

    कोलम्बिया युनिभर्सिटी क्लाइमेट स्कुलका वरिष्ठ अनुसन्धानकर्ता एन्ड्र्यु क्रुज्किभिजका अनुसार विश्वका धेरै स्थानमा पहिले नदेखिएका विपद् देखिन थालेका छन्, जसका लागि छिटो चेतावनी, नयाँ प्रतिक्रिया प्रणाली र दीर्घकालीन रणनीति आवश्यक छ । उहाँका शब्दमा, “केही प्रगति भए पनि विश्वले अझ धेरै र छिटो कदम चाल्न जरुरी छ ।”

  • शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी

    शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी

    पाम बीच (फ्लोरिडा), १५ पुस (रासस–एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई आइतबार फ्लोरिडास्थित आफ्नो रिसोर्टमा स्वागत गर्दै युक्रेन र रुसबीच शान्ति सम्झौता ‘पहिलेभन्दा धेरै नजिक’ पुगेको दाबी गरेका छन् । यद्यपि उनले वार्ता अत्यन्तै जटिल रहेको र अझै पनि बिग्रन सक्ने सम्भावना रहेको स्वीकार गर्दै यसका कारण चार वर्षदेखि जारी युद्ध अझै लम्बिन सक्ने चिन्ता पनि व्यक्त गरे । राष्ट्रपति ट्रम्पले यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग करिब अढाई घण्टा लामो ‘उत्कृष्ट’ फोन वार्ता भएको जानकारी दिए । सोही पृष्ठभूमिमा जेलेन्स्कीसँग प्रत्यक्ष भेटपछि ट्रम्पले पुटिन अझै पनि शान्ति चाहन्छन् भन्ने आफ्नो विश्वास दोहोर्‍याए । यद्यपि युक्रेनमा रुसी आक्रमणहरू जारी नै छन् ।

    संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले ‘रुस युक्रेनलाई सफल देख्न चाहन्छ’ भन्दै जेलेन्स्कीको ‘साहस’ को खुलेर प्रशंसा गरे । विशेष गरी रुसले कब्जा गरेका युक्रेनी क्षेत्रहरूको भविष्य र भविष्यमा युक्रेनमाथि फेरि आक्रमण नहोस् भन्ने सुनिश्चित गर्ने सुरक्षा ग्यारेन्टीका विषयमा दुवै नेताले शान्ति प्रक्रियामा अझै कठिन प्रश्नहरू बाँकी रहेको स्वीकार गरे । वार्तापछि ट्रम्प र जेलेन्स्कीले युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनसहित फिनल्यान्ड, फ्रान्स, जर्मनी, बेलायत र पोल्यान्डका नेताहरूसँग सामूहिक छलफल गरे । जेलेन्स्कीका अनुसार राष्ट्रपति ट्रम्पले सम्भवतः जनवरीमा युरोपेली नेताहरूलाई ह्वाइट हाउसमा पुनः आमन्त्रण गर्न सहमति जनाएका छन् । बैठक वासिङ्टन वा अन्य कुनै स्थानमा हुन सक्ने ट्रम्पले बताए ।


    जेलेन्स्कीले शान्तिका लागि अमेरिकाको प्रयासप्रति धन्यवाद दिँदै ‘युक्रेन शान्तिका लागि तयार छ’ भने । भेटपछि राष्ट्रपति ट्रम्पले राष्ट्रपति पुटिनसँग पुनः फोन वार्ता गर्ने योजना रहेको जानकारी दिए । पुटिनका विदेश मामिला सल्लाहकार युरी उशाकोभका अनुसार आइतबार भएको ट्रम्प–पुटिन वार्ता अमेरिकी पक्षको पहलमा भएको र ‘मैत्रीपूर्ण तथा व्यावहारिक’ रहेको थियो । जेलेन्स्कीसँगको भेटपछि ट्रम्प र पुटिन ‘तुरुन्तै’ फेरि कुरा गर्न सहमत भएको उशाकोभले बताए । तर उशाकोभले पूर्वी युक्रेनको डोनबास क्षेत्रलगायत विषयमा शत्रुताको पूर्ण अन्त्यका लागि किएभबाट ‘साहसी र जिम्मेवार राजनीतिक निर्णय’ आवश्यक पर्ने धारणा राखे । दुवै पक्षका अनुसार डोनबास क्षेत्रको भविष्य नै अहिलेको सबैभन्दा ठूलो अड्चन हो ।

    राष्ट्रपति ट्रम्पले सम्झौता नजिकिएको दाबी गर्दै भने, “यो निकै कठिन मुद्दा हो तर समाधान सम्भव छ ।” जेलेन्स्कीले पनि यो विषयमा युक्रेन र रुसबीच गहिरो मतभेद रहेको स्पष्ट पारे । यसबीच, जेलेन्स्की अमेरिका भ्रमणमा रहँदा पनि युक्रेनमा आक्रमण जारी रहे तापनि राष्ट्रपति ट्रम्पले पुटिन युद्ध अन्त्यप्रति ‘गम्भीर’ रहेको विश्वास आफूलाई अझै रहेको बताए । उनले वार्ता असफल हुन सक्ने सम्भावनालाई पनि अस्वीकार गर्नुभएन र ‘केही हप्ताभित्र स्थिति स्पष्ट हुनेछ’ भने ।

    हालैका हप्ताहरूमा अमेरिकी शीर्ष वार्ताकारहरूले शान्ति योजनाका मस्यौदामा उल्लेखनीय प्रगति गरेको ट्रम्प–जेलेन्स्की भेटले देखाएको छ । जेलेन्स्कीका अनुसार करिब २० बुँदे प्रस्ताव ‘करिब ९० प्रतिशत तयार’ भइसकेको छ । अमेरिकाले युक्रेनलाई केही नाटो–जस्तै सुरक्षा ग्यारेन्टी दिन सहमति जनाएको छ, जसको साटो युक्रेनले नाटो सदस्यता प्रयास स्थगित गर्न तयार रहेको सङ्केत गरेको छ ।

    रुसतर्फबाट राष्ट्रपति पुटिनले कब्जा गरिएका चार क्षेत्र र क्रिमियालाई रूसी क्षेत्रका रूपमा मान्यता दिनुपर्ने माग दोहोर्‍याउँदै आउनुभएको छ । साथै, युक्रेनले नाटोमा सामेल हुने प्रयास त्याग्नुपर्ने, सेनाको आकार सीमित गर्नुपर्ने र रूसी भाषालाई आधिकारिक मान्यता दिनुपर्ने जस्ता शर्तहरू पनि राखिएका छन् । किएभले यी मागहरू सार्वजनिक रूपमा अस्वीकार गर्दै आएको छ । क्रेमलिनले शान्ति सम्झौता सजिलै नटुङ्गिने चेतावनी दिँदै वार्ता लामो समय लिन सक्ने सङ्केत गरेको छ । यद्यपि राष्ट्रपति ट्रम्प भने युक्रेन र रुसबीच युद्ध अन्त्यको सम्भावना अझै जीवित रहेको र प्रयास जारी रहनेमा आशावादी देखिन्छन् ।

  • उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण

    उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण

    सियोल, १५ पुस (रासस–एपी) । उत्तर कोरियाले सोमबार समुद्रतर्फ लामो दूरीको रणनीतिक क्रुज मिसाइल प्रहार गरेको दाबी गरेको छ । देशको आणविक प्रतिरोध क्षमताको परीक्षणका रूपमा गरिएको यो प्रक्षेपण उत्तर कोरियाले पहिलो आणविक–सञ्चालित पनडुब्बी निर्माणमा प्रगति देखाएको केही दिनपछि सार्वजनिक भएको हो । उत्तर कोरियाली सञ्चारमाध्यमका अनुसार आइतबार पश्चिमी तटबाट गरिएको प्रक्षेपणमा सर्वोच्च नेता किम जोङ–उनले ‘ठूलो सन्तुष्टि’ व्यक्त गरेका छन् ।

    उनले आणविक प्रतिरोधको विश्वसनीयता परीक्षण गर्नु र यसको शक्ति प्रदर्शन गर्नु बाह्य सुरक्षा खतराको सामना गर्न आत्मरक्षा तथा युद्ध प्रतिरोधको अधिकारअन्तर्गत गरिएको जिम्मेवार अभ्यास भएको बताएका छन् । यो प्रक्षेपण उत्तर कोरियाले आगामी वर्षको सुरुमा हुने सत्तारुढ वर्कर्स पार्टीको महत्त्वपूर्ण सम्मेलन अघि गरेको पछिल्लो हतियार प्रदर्शन हो ।

    सो सम्मेलनमा किमले अमेरिकासँगको सम्बन्धमा नयाँ प्राथमिकता निर्धारण गर्ने र लामो समयदेखि ठप्प रहेको वार्ताबारे वासिङ्टनको प्रस्तावप्रति उत्तर कोरियाको धारणा स्पष्ट पार्ने अपेक्षा गरिएको छ । दक्षिण कोरियाली ज्वाइन्ट चिफ्स अफ स्टाफका अनुसार आइतबार बिहान उत्तर कोरियाको राजधानी क्षेत्र आसपासबाट थुप्रै क्रुज मिसाइल प्रक्षेपण भएको पत्ता लागेको थियो । दक्षिण कोरियाले अमेरिकासँगको सैन्य गठबन्धनमार्फत उत्तर कोरियाबाट हुन सक्ने कुनै पनि उक्साहटको सामना गर्न तयार रहेको स्पष्ट पारेको छ ।

    संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का प्रस्तावहरूले उत्तर कोरियालाई ब्यालेस्टिक मिसाइल परीक्षण गर्न प्रतिबन्ध लगाए पनि क्रुज मिसाइल परीक्षणमा त्यस्तो स्पष्ट निषेध छैन । यद्यपि, ती मिसाइलहरू कम उचाइमा उड्ने र रडारबाट बच्न सक्ने भएकाले अमेरिका र दक्षिण कोरियाका लागि गम्भीर सुरक्षा चुनौती मानिन्छन् । विश्लेषकहरूका अनुसार द्वन्द्वको अवस्थामा उत्तर कोरियाले अमेरिकी युद्धपोत र विमानवाहक जहाजहरूलाई लक्षित गर्न यस्ता मिसाइल प्रयोग गर्ने रणनीति बनाएको हुन सक्छ ।

    गत हप्ता उत्तर कोरियाले नयाँ एन्टी–एयर मिसाइलहरूको परीक्षण गर्नुका साथै विकासाशील आणविक–सञ्चालित पनडुब्बीको झण्डै पूर्ण हुल देखाउने तस्बिर सार्वजनिक गरेको थियो । उत्तर कोरियाले उक्त पनडुब्बीलाई आणविक क्षेप्यास्त्रले सुसज्जित गर्ने सङ्केत दिएको छ । यस्तो पनडुब्बी किमले अमेरिकी नेतृत्वमा रहेको सुरक्षा खतराको सामना गर्न विकास गर्ने वाचा गर्नुभएको परिष्कृत हतियार प्रणालीमध्ये एक हो । केही विज्ञहरूका अनुसार युक्रेन युद्धमा रुसलाई समर्थन गर्दै हजारौँ सैनिक र सैन्य सामग्री पठाएको उत्तर कोरियाले बदलामा महत्त्वपूर्ण प्रविधि सहयोग प्राप्त गरेको हुनसक्छ ।

    सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको उच्चस्तरीय आणविक कूटनीति असफल भएपछि उत्तर कोरियाले आफ्नो आणविक शस्त्रागार विस्तार र हतियार परीक्षणलाई प्राथमिकता दिएको छ । यद्यपि ट्रम्पको बारम्बारको पहलपछि किमले सेप्टेम्बरमा अमेरिकाले यदि ‘आणविक निःशस्त्रीकरणको भ्रम’ त्यागे वार्ता पुनः सुरु हुन सक्ने सङ्केत दिएका थिए । विज्ञहरूका अनुसार विस्तार भएको आणविक क्षमताले किमलाई सम्भावित वार्तामा थप लाभको स्थितिमा राख्ने विश्वास हुन सक्छ ।

  • युद्धविरामका लागि थाईल्याण्ड र कम्बोडियाको ट्रम्पले गरे प्रसंशा

    युद्धविरामका लागि थाईल्याण्ड र कम्बोडियाको ट्रम्पले गरे प्रसंशा

    वासिङ्टन, १४ पुस (रासस–एएफपी) । थाइल्यान्ड र कम्बोडियाका दुई नेताबीच हप्तौँंदेखि जारी सीमामा भएको झडपपछि अघिल्लो दिन भएको युद्धविरामको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार प्रसंशा गरेका छन् । “म दुबै महान नेताहरूलाई यो द्रुत र धेरै निष्पक्ष निष्कर्षमा पुग्न प्रयोग भएको उनीहरूको प्रतिभाको लागि बधाई दिन चाहन्छु,” राष्ट्रपति ट्रम्पले भने ।

    उनले डिसेम्बरको सुरुमा सीमा द्वन्द्व फेरि सुरु भएपछि तोडिएको अघिल्लो युद्धविरामको श्रेय लिएका छन् । ट्रुथ सोसल प्लेटफर्ममा एक पोस्टमा राष्ट्रपति ट्रम्पले यी सबै परिस्थितिहरू हुनुपर्दछ भन्दै अन्तिम परिणामलाई ‘छिटो र निर्णायक’ भएको बताए ।

    उनले चीन र मलेसियासँगै मध्यस्थताको प्रयासमा संलग्न रहेको वाशिङ्टनले शान्ति प्रयासमा सहयोग गर्न पाउँदा आफुले गर्व महसुस गरेको बताए । आइतबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको वार्ताअघि ट्रम्पले विश्व द्वन्द्व अन्त्य गर्न आफ्नो स्वघोषित भूमिकाको प्रशंसा गर्दै भने, “सायद यस कामका लागि संयुक्त राज्य अमेरिका वास्तविक ‘संयुक्त राष्ट्रसङ्घ’ बनेको छ । उनले भने, “संयुक्त राष्ट्रसङ्घले विश्व शान्तिमा सक्रिय र संलग्न हुन थाल्नु पर्छ ।”

    अमेरिकी विदेशमन्त्री मार्को रुबिओले शनिबार थाइल्यान्ड र कम्बोडियाबीच भएको युद्धविरामको स्वागत गर्दै दुवै पक्षलाई ‘यो प्रतिबद्धतालाई तुरुन्त सम्मान गर्न’ आग्रह गरे । तीन हप्ताको लडाइँमा कम्तीमा ४७ जनाको मृत्यु भएको छ भने १० लाखभन्दा बढी विस्थापित भएका छन् । थाइल्यान्ड र कम्बोडियाले शनिबार आफ्नो सम्झौताको घोषणा गर्दै सैनिकको आवतजावतमा रोक लगाउने र सीमा क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई जतिसक्दो चाँडो घर फर्कन दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    युद्धविरामपछि चीनका उच्च कूटनीतिज्ञ वाङ यीले कम्बोडिया र थाई विदेशमन्त्रीसँग आइतबारदेखि सुरु भएको दुई दिने वार्ताका लागि आमन्त्रण गरेका थिए । वाङले कम्बोडियाली समकक्षी प्राक सोखोनलाई युद्धविरामले ‘शान्ति पुनर्निर्माणको प्रक्रिया सुरु भएको’ बताए । “दुवै पक्षले विस्तृत र दिगो युद्धविरामलाई प्रबद्र्धन गर्न एकपछि अर्को कदम अघि सार्नुुपर्छ र आपसी विश्वास पुनर्निर्माण गर्नुपर्छ,” वाङले भने ।