एजेन्सी ३ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको सरकारद्वारा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले अघिल्लो वर्ष पारित गरेका ‘महामारीसम्बन्धी नियम’ संशोधन अस्वीकार गरिएको छ, जसमा अमेरिकी प्रशासनको भनाइ अनुसार ती परिवर्तनले राष्ट्रको संप्रभुतामा हस्तक्षेप गर्छन् । ट्रम्पले जनवरी २० मा राष्ट्रपति पदमा पुनः फर्किएपछि अमेरिका डब्लुएचओबाट औपचारिक रूपमा हट्ने प्रक्रिया सुरु गरेका थिए । तर परराष्ट्र मन्त्रालयले भनेका अनुसार, अघिल्लो वर्ष पारित भएका नियमहरू अमेरिका सदस्य नरहे पनि बाध्यकारी बन्न सक्ने थिए ।
परराष्ट्र मन्त्री मार्को रुबियो र स्वास्थ्यमन्त्री रोबर्ट एफ. केनेडी जुनियरले संयुक्त वक्तव्य जारी गर्दै ती नियमले अमेरिकाको आफ्नै स्वास्थ्य नीति बनाउने अधिकार, नागरिकको अभिव्यक्ति स्वतन्त्रता, गोपनीयता र व्यक्तिगत स्वतन्त्रतामा असर पार्न सक्ने भएकाले अस्वीकार गरिएको बताए । यता, डब्लुएचओका प्रमुख डा. टेड्रोस अधानोम घेब्रेयससले अमेरिकी निर्णयप्रति खेद व्यक्त गर्दै ती संशोधनले सदस्य राष्ट्रहरूको संप्रभुतामा कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने र डब्लुएचओले कुनै पनि देशमा लकडाउन वा यस्तै उपायहरू जबर्जस्ती लाद्न नसक्ने बताए ।
ती नियम संशोधनमा सबै सदस्य राष्ट्रबाट सहकार्य र समानताको प्रतिबद्धता जनाउने उल्लेख गरिएको छ र भविष्यमा महामारीको अवस्थामा विकासोन्मुख राष्ट्रहरूको आवश्यकता बुझ्न एक छुट्टै संयन्त्र बनाउने प्रावधान पनि समावेश गरिएको छ । यद्यपि, अमेरिका लगायतका केही देशले यसलाई भविष्यमा डब्लुएचओमार्फत हुने नीतिगत हस्तक्षेपको जोखिमका रूपमा हेरेका छन् । नयाँ नियमप्रति असहमति जनाउनका लागि राष्ट्रहरूले जुलाई २० भित्र आपत्ति जनाउनु पर्ने व्यवस्था छ ।
यसैबीच, ब्रिटेन र अष्ट्रेलियामा रहेका केही कट्टरपन्थी समूह र खोपप्रति शङ्का राख्ने नागरिकहरूले पनि तिनै नियमविरुद्ध जनमत निर्माणका अभियान चलाएका छन् । धेरैजसो राष्ट्रले यस वर्षको मे महिनामा नयाँ महामारी सम्झौतामा हस्ताक्षर गरे पनि अमेरिका त्यसमा सहभागी भएन, किनभने त्यतिबेला डब्लुएचओबाट हट्ने प्रक्रिया अघि बढिरहेको थियो ।
सन् २०२४ को मे र जुन महिनामा भएका छलफलहरूमा सहभागी रहे पनि अमेरिकाले खोपसम्बन्धी बौद्धिक सम्पत्तिको अधिकारलाई पर्याप्त सुरक्षा नदिएको भन्दै सहमति जनाउन अस्वीकार गरेको थियो । ट्रम्प सरकारभन्दा अगाडिका विदेश मन्त्री एन्टोनी ब्लिन्कनले भने ती नियमलाई सकारात्मक प्रगति मानेका थिए, तर हालका मन्त्री रुबियो र केनेडीले ती नियमहरूमा चीनको राजनीतिक प्रभाव देखिएको आरोप लगाउँदै अस्वीकार गरे । डब्लुएचओ प्रमुख डा. टेड्रोसले भने “डब्लुएचओ निष्पक्ष संस्था हो र हामी सबै राष्ट्रसँग मिलेर जनस्वास्थ्यको सुधारका लागि काम गर्छौं ।”
एजेन्सी ३ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेफरी एपस्टाइनलाई लेखेको पत्रका बिषयमा ‘द वाल स्ट्रिट जर्नल’ र यसका मालिक रुपर्ट मर्डोकविरुद्ध मुद्दा दायर गर्ने चेतावनी दिएका छन् । सन् २००३ मा एपस्टिनको ५० औँ जन्मदिनको नोटसङ्ग्रहमा एक नग्न महिलाको स्केच र ट्रम्पको हस्ताक्षर सहितको पत्र समावेश गरिएको थियो । उक्त पत्रिकाले पत्रको पुनरावलोकन गरेको तर फोटो नछापिएको जनाएको छ ।
ट्रम्पले ट्रुथ सोसल नेटवर्कमा लेखेका छन्, “मैले रुपर्ट मर्डोकलाई यो अफबाह हो भनेको र नक्कली सामग्री (फेक स्टोरी) नछाप्न भनेको थिएँ । “तर उहाँले छाप्नुभयो, अब म उहाँको काम र उहाँको ‘न्यून दर्जा’कोे पत्रिकाविरूद्ध मुद्दा दायर गर्छु ।” यसअघि वाल स्ट्रिट जर्नलकी प्रधान सम्पादक एम्मा टकरलाई ह्वाइट हाउसकी प्रेस सचिव कारोलिन लेभिट र राष्ट्रपति ट्रम्पले उक्त पत्र नक्कली भएको बताएका थिए ।
रिपब्लिकन राष्ट्रपति ट्रम्पले उक्त समाचारलाई ‘गलत, दुर्भावनापूर्ण र अपमानजनक’ भनेका छन् । पोस्टमा भनिएको छ, “राष्ट्रपति ट्रम्पले द वाल स्ट्रिट जर्नल, न्यूजकर्प र रुपर्ट मर्डोकविरुद्ध चाँडै मुद्दा दायर गर्नुहुनेछ । प्रेसले सत्यवादी हुन सिक्नुपर्छ र सम्भवतः अस्तित्वमा पनि नभएका स्रोतहरूमा भरोसा गर्नु हुँदैन ।” ट्रम्पले एपस्टीनसँगको आफ्नो विगतको सम्बन्धलाई लिएर पहिले नै कडा आलोचनाको सामना गरेका थिए ।
उनको प्रशासनले धनी र शक्तिशाली व्यक्तिहरूको रक्षा गर्न एपस्टिनको अपराधको गलत विवरणहरू ढाकछोप गरिरहेको दाबी गरेको छ । संघीय यौन तस्करीको आरोप लगाइएपछि सन् २०१९ मा ट्रम्पको पहिलो कार्यकालमा न्यूयोर्कको जेलमा एपस्टाइनले आत्महत्या गरेका थिए । वेश्यावृत्तिसम्बन्धी दुई अभियोगमा दोषी स्वीकार गरेपछि उनी फ्लोरिडामा यौन अपराधीको रूपमा दर्ता हुनुपर्ने थियो ।
बिहीबार ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई एपस्टाइन प्रकरणमा ‘ग्रान्ड जुरी’को बयानको प्रतिलिपि जारी गर्न आग्रह गरेका थिए । जर्नलले रिपोर्ट गरेको छ, “ट्रम्पले आफुले लेखेको अस्वीकार गरेको उक्त कथित पत्र सङ्ग्रहका अन्य पत्रहरू जस्तै डरलाग्दो छ । यसमा टाइप गरिएको पाठका थुप्रै पङ्क्तिहरू छन्, जसमा मार्करले कोरिएको नाङ्गो स्त्रीको रूपरेखा समावेश गरिएको छ ।”
“भावी राष्ट्रपतिको हस्ताक्षर कम्मरमुनि कोरिएको ‘डोनाल्ड’ हो, जसले यौनाङ्ग वरिपरीका केशको नक्कल गरेको छ,” जर्नलमा लेखिएको छ । “पत्रको अन्तमा भनिएको छ, “जन्मदिनको शुभकामना र हरेक दिन अर्को अद्भुत रहस्य हुन सकोस्।” ट्रम्पले पत्र लेखेको वा आकृति कोरेको अस्वीकार गर्दै जर्नलसँग भने, “यो म होइन । यो नक्कली कुरा हो।” उनले भने, “म महिलाको चित्र कोर्दिनँ । यो मेरो भाषा र शब्द पनि होइन।”
न्यूजकर्पको ग्लोबल मिडिया कम्पनीलाई नियन्त्रण गर्ने मर्डोक फिफा क्लब विश्वकप फाइनलका लागि आइतबार न्यूयोर्क शहरबाहिर मेटलाइफ स्टेडियममा ट्रम्पसँगै थिए । मोर्डकको पत्रिकामा जनवरीमा ह्वाइट हाउसमा फर्केपछि ट्रम्पसँग पहिलो पटक टिभी अन्तर्वार्ता दिने कन्जरभेटिभ अमेरिकीहरूको लोकप्रिय टिभी न्युज च्यानल फक्स न्यूजको पनि स्वामित्व छ ।
राष्ट्रपति ट्रम्पले वर्षौंदेखि फक्स र यसका प्रस्तोताहरूको नियमित प्रशंसा गर्दै आएका छन् । केहीलाई आफ्नो प्रशासनमा नियुक्त पनि गरेका छन् । ट्रम्पसमर्थित अति दक्षिणपन्थी शुभेच्छुकले लामो समयदेखि एपस्टिन काण्डमा केन्द्रित भएको पाइन्छ । उनले ‘गोप्य ग्राहक सूची’को अस्तित्व रहेको दाबी गर्दै आएका थिए । तर उनको हत्या उनको जेलको एक कोठामा घटनालाई ढाकछोप गर्ने उद्देश्यले भएको दावी गरिएको छ ।
ट्रम्पका समर्थकहरूले जनवरीमा ट्रम्पको राष्ट्रपति कार्यालय फर्किएपछि रिपब्लिकनले आफ्ना प्रश्नहरूको जवाफ दिने अपेक्षा गरेका थिए तर अहिले उनीहरूले नै षडयन्त्रका सिद्धान्तहरू झूटा भएको बताउन थालेका छन् । न्याय विभाग र एफबीआईले यसै महिना सार्वजनिक गरेको मेमोमा एपस्टिनले ‘ग्राहक सूची’ राखेको वा शक्तिशाली व्यक्तिलाई ब्ल्याकमेल गरेको कुनै प्रमाण नभएको बताएको छ ।
उनीहरूले एपस्टिनको जेलमा हत्या भएको भन्ने दाबीलाई पनि अस्वीकार गर्दै उनले आत्महत्या गरेको दावी गरेका छन् र उनीहरूले अनुसन्धानको बारेमा थप जानकारी जारी नगर्ने बताएका छन् । यदि ग्रान्ड जुरीको सुनुवाई वा प्रमाणहरू जारी गरियो भने यो परिवर्तन गरी सार्वजनिक हुनसक्ने आशङ्क ट्रम्पका आलोचकहरूले व्यक्त बताएका छन् ।
ट्रम्पका एक प्रमुख आलोचककी छोरी एपस्टिनको मुद्दा हेर्ने संघीय अभियोजकलाई अचानक बर्खास्त गरिएको अमेरिकी सञ्चारमाध्यमले बिहीबार जनाएका छन् । एफबीआईका पूर्व निर्देशक जेम्स कोमीका पिता माउरिन कोमीलाई म्यानहट्टनमा सहायक अमेरिकी अटर्नीको पदबाट बर्खास्त गरिएको छ । कोमीले एपस्टिनका एक मात्र पूर्व सहयोगी गिस्लेन म्याक्सवेललाई पनि मुद्दा चलाएका थिए । म्याक्सवेलले सन् २००३ मा एपस्टिनलाई लेखिएका पत्रको पुस्तक तयार पारेका थिए । उपराष्ट्रपति जेडी भान्सले एक्समा लेखेका छन्, “डब्लूएसजेले यसलाई प्रकाशित गरेकोमा लज्जित हुनुपर्छ । यो पत्र कहाँ छ ? के तपाईंले यो पुस्तक प्रकाशित गर्नुअघि हामीलाई कहिल्यै नदेखाइएको कुरा थाह पाउँदा छक्क पर्नुहुनेछ ?” यसैबीच डेमोक्र्याटिक सांसद प्याट रायनले लेखेका छन्, “मलाई लाग्छ, डोनाल्ड ट्रम्पले एपस्टिनका फाइलहरू सार्वजनिक गर्न किन इन्कार गरे भन्ने कुरा अहिले हामीलाई थाहा भएको छ ।”
एजेन्सी २ साउन, काठमाडौं । गत महिना शान्ति वार्ताका लागि भएको सहमतिअनुसार रुसले बिहीबार युक्रेनलाई एक हजार सैनिकको मृत शरीर हस्तान्तरण गरेको छ । मस्को र किएभबीच इस्तानबुलमा भएको दुई चरणको वार्ताले युद्धविरामको दिशामा कुनै प्रगति हुन सकेको छैन । ठूलो मात्रामा कैदी आदानप्रदान र मारिएका सैनिकहरूको शव फिर्ता गर्ने काम भइरहेको छ । “युद्धका क्रममा मारिएका एक हजार सैनिकको शब रुसले युक्रेनलाई हस्तान्तरण गरेको छ,” युक्रेनको सरकारी निकायले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा रुसले युक्रेनी सैनिकसहित केही लडाकू गैरसैनिकलाई फिर्ता गरिएको दाबी गरेको छ । यसबारे किएभका तर्फबाट पुष्टि भने भइसकेको छैन । यसअघि रुसले युक्रेनी भेषमा रहेको बेलाय मारिएका रुसी सैनिकको शवलाई रूसले सुपुर्दगी गरेको आरोप लगाएको थियो । रुसी वार्ताकार तथा क्रेमलिनका सहयोगी भ्लादिमिर मेडिन्स्कीले किएभले १९ जना मारिएका रुसी सैनिकको अवशेष फिर्ता पठाएको बताए । दुवै पक्षबीच भएका केही सफल कूटनीतिक पहलहरूमध्ये कब्जामा लिएका सैनिकहरूको आदानप्रदान र अवशेषहरूको स्वदेश फिर्ती द्वन्द्वको दौडान नियमित रूपमा हुँदै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबका बावजुद रुसले युद्धविरामको आह्वानलाई अस्वीकार गरेको छ र दुई पक्ष तीन वर्षदेखि जारी द्वन्द्व अन्त्यका लागि सहमत हुने सम्भावनाको नजिक पुगेका छैनन् ।
गत महिना भएको वार्तामा रुसले युक्रेनलाई थप भूभाग फिर्ता गर्नुपर्ने र सबै प्रकारका पश्चिमा सैन्य सहयोग अस्वीकार गर्नुपर्नेलगायतका कडा मागहरूको सूची पेश गरेको थियो । किएभले रूसी अडानहरूलाई अस्वीकार्य मागको रूपमा व्याख्या गर्दै ती मागलाई खारेज गरेको छ र यदि मस्को लचक बन्न इच्छुक छैन भने थप वार्ताको औचित्यमाथि प्रश्न उठाएको छ ।
एजेन्सी ३२ असार, काठमाडौं । अमेरिकाले ब्राजिलबाट आउने सामानहरूमा ५० प्रतिशत महसुल (कर) लगाउने घोषणा गरेपछि ब्राजिलको कुल आम्दानी (जीडीपी) ०.४१ प्रतिशतले घट्न सक्ने एउटा प्रतिवेदनमा जनाइएको छ। यो प्रतिवेदन ब्राजिलको प्रसिद्ध संस्था गेटुलियो भर्गास फाउन्डेसनले तयार पारेको हो। सो अनुसार, ट्रम्प सरकारले घोषणा गरेको नयाँ महसुलले ब्राजिलको खाद्यान्न सम्बन्धी सामानको अमेरिका पठाउने कारोबार ७५ प्रतिशतसम्म घटाउन सक्छ। यसले देशको कुल आम्दानीमा ठूलो असर पार्नेछ।
ब्राजिलको कृषि व्यवसाय अमेरिका निर्यातको झन्डै ३० प्रतिशत हिस्सा ओगट्छ। यसमा कफी, चिनी, सुन्तलाको रसजस्ता सामान पर्छन्। अझै महसुल नलागे पनि, अन्तर्राष्ट्रिय व्यापारको वातावरणमा असुरक्षा बढेको कारण दुई देशबीचको व्यापार सम्बन्धमा असर परिरहेको प्रतिवेदनमा उल्लेख छ। साथै, ट्रम्पको यो निर्णयले विश्व व्यापार संगठनका नियमहरू उल्लंघन गरेको आरोप पनि लगाइएको छ। अमेरिकी सरकारले आगामी अगस्ट १ देखि ब्राजिलका सामानमा नयाँ महसुल लागु गर्ने घोषणा गरेको छ।
३२ असार, काठमाडौं । भारत, पोल्यान्ड र हङ्गेरीबाट ४० वर्षभन्दा बढी समयपछि पहिलो अन्तरिक्ष यात्रीहरू समावेश गरेको निजी अन्तरिक्ष उडान मङ्गलबार प्रशान्त महासागरमा अवतरणसँगै समापन भएको छ । उनीहरूको स्पेसएक्स क्याप्सुल सोमबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट अलग भएको थियो र २४ घण्टाभन्दा कम समयमा दक्षिणी क्यालिफोर्नियाको तटमा समुद्रमा प्यारासुटको सहायताले अवतरण गरेको थियो । चार जनाको टोलीले लगभग तीन हप्ताअघि ह्युस्टन कम्पनी एक्सिओम स्पेसद्वारा चार्टर्ड उडानमा प्रक्षेपण गरेको थियो ।
सबैभन्दा अनुभवी अमेरिकी अन्तरिक्ष यात्री एक्सिओमकी पेगी ह्विटसनले कमान्डरका रूपमा सेवा गरे । उनीसँगै भारतका शुभांशु शुक्ला, पोल्यान्डका स्लावोस्ज उज्नान्स्की–विस्निएव्स्की र हङ्गेरीका तिबोर कापु थिए । उनीहरुको देशहरूले मिशनका लागि प्रत्येकले छ करोड ५० लाख डलरभन्दा बढी तिरेका थिए । भ्रमण गर्ने अन्तरिक्ष यात्रीहरूले आफ्नो सम्पदाको उत्सव मनाउँदै कक्षामा दर्जनौँ प्रयोगहरू सञ्चालन गरे । भारत, पोल्यान्ड र हङ्गेरीले अन्तिम पटक सन् १९७० र सन् १९८० को दशकको अन्त्यमा सोभियतहरूसँग अन्तरिक्षमा प्रक्षेपण गरेका थिए ।
यो सन् २०२२ पछि परिक्रमा चौकीमा एक्सिओमको चौथो मिशन थियो र नासाको थप व्यवसाय र मानिसहरूका लागि ठाउँ खोल्ने चलिरहेको प्रयासको एक हिस्सा हो । कम्पनी हालको स्टेसन प्रतिस्थापन गर्न आफ्नै अन्तरिक्ष स्टेसनहरू विकास गर्ने धेरैमध्ये एक हो । नासाले ३० वर्षभन्दा बढी सञ्चालनपछि सन् २०३० मा चौकी त्याग्ने योजना बनाएको छ ।
३२ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा युक्रेनलाई थप सैन्य सहायता प्रदान गर्ने घोषणा र रूसी व्यापारिक साझेदारहरूमाथि सम्भावित प्रतिबन्धको चेतावनी दिएपछि रूसले उक्त अभिव्यक्तिलाई शान्ति प्रक्रियामा प्रतिकूल असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । राष्ट्रपति ट्रम्पले रूसलाई ५० दिनको समयसीमा दिँदै युक्रेनसँग शान्ति सम्झौता गर्न आग्रह गरेका छन् । साथै, उनले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का सदस्य राष्ट्रहरूसँग समन्वय गर्दै युक्रेनलाई नयाँ अमेरिकी हतियार उपलब्ध गराउने योजनाको घोषणा गरेका छन् । रूसी प्रवक्ता दिमित्री पेस्कोभले मस्कोमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, “वाशिङ्टन तथा नेटोका राष्ट्रबाट लिइएको यस्तो निर्णयलाई युक्रेनी नेतृत्वले सम्भवतः युद्ध जारी राख्न प्रोत्साहनको रूपमा बुझ्न सक्छ । ट्रम्पद्वारा व्यक्त विचार अत्यन्त गम्भीर छन्, र त्यसको यथोचित विश्लेषण आवश्यक रहेको छ ।” यदि उक्त अवधिमा शान्ति सम्झौता हुन नसकेको खण्डमा, राष्ट्रपति ट्रम्पले रूसका बाँकी व्यापारिक साझेदारमाथि उच्च दरको आयात कर (ट्यारिफ) लगाउने चेतावनी दिएका छन् । जसको उद्देश्य रूसको सैन्य अर्थतन्त्रमा प्रत्यक्ष असर पार्नु हो ।
हालसम्म रूसले चीन, भारतजस्ता व्यापारिक साझेदारहरूसँगको सहकार्यबाट पश्चिमी प्रतिबन्धको प्रभावलाई न्यून तुल्याउँदै आएको देखिन्छ । यसैबीच, डेनमार्क र नेदरल्यान्ड जस्ता युरोपेली राष्ट्रहरूले राष्ट्रपति ट्रम्पको प्रस्तावित योजनामा सहभागी हुने इच्छा व्यक्त गरेका छन् । उक्त योजनाअनुसार, अमेरिका निर्मित उच्च प्रविधियुक्त हतियार युक्रेनलाई आपूर्ति गरिनेछ ।
रूसले शान्ति वार्ताका लागि खुला रहनुको साथै युक्रेनी पक्षबाट समय र स्थान सम्बन्धी प्रस्तावको प्रतीक्षा गरिरहेको बताएको छ । यद्यपि, युक्रेनी नेतृत्वले वर्तमान रूसी वार्ता टोलीसँग संवाद गर्नु ‘अप्रभावकारी’ हुने धारणा व्यक्त गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले अघिल्ला वार्तामा युक्रेनले सम्पूर्ण पश्चिमी सैन्य समर्थन त्याग्नुपर्ने तथा पूर्व र दक्षिणका चारवटा क्षेत्रहरूबाट सेना फिर्ता गर्नुपर्ने सर्तहरू राख्नुभएको थियो, जसलाई युक्रेन तथा उसका पश्चिमी सहयोगी राष्ट्रहरूले अस्वीकार गरेका छन् ।
रूसी राजधानी मस्कोमा सर्वसाधारणहरूले राष्ट्रपति ट्रम्पको अभिव्यक्तिलाई विविध दृष्टिकोणबाट व्याख्या गरेका छन् । एभिएसन इन्जिनिय स्वेतलानाले भने, “यो एक रणनीतिक खेलजस्तै हो । उनले ५० दिन दिनेका थिए, त्यसपछि अर्को निर्णय आउनेछ । अब हामी हाम्रो राष्ट्रपतिको आगामी कदम प्रतिक्षा गरिरहेका छौँ ।” त्यस्तै, युक्रेनका अग्रपंक्तिमा रहेर डटेर लडिरहेका सुरक्षाकर्मीहरूले आशावादी भए पनि सतर्क प्रतिक्रिया दिएका छन् ।
एक सैनिकले भने, “पछिल्ला अभिव्यक्तिहरूको आधारमा मात्र विश्वास गर्न गाह्रो छ । अतीतमा पनि यस्ता धेरै वाचा भएका थिए, तर सबै पूरा भएका थिएनन् ।” एक अन्य सुरक्षाकर्मीले भने, “यदि यी हतियार केही समयअघि आएका भए, हामीलाई धेरै सहयोग पुग्थ्यो । तर अहिले पनि यदि यसले स्थिति सुधार गर्न सघाउँछ भने, हामी त्यसलाई सकारात्मक रूपमा लिन्छौँ ।”
एजेन्सी ३० असार, काठमाडौं । अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) मन्त्री क्रिस्टी नोएमले फ्लोरिडाको ’एलिगेटर अल्काट्राज’को नामबाट आप्रवासी हिरासत केन्द्र स्थापनाका लागि पाँच वटा राज्यसँग छलफल भइरहेको बताएका छन् । शनिबार एक पत्रकार सम्मेलनमा नोएमले यी पाँच राज्यको नेतृत्व रिपब्लिकन गभर्नरले गरिरहेको बताए । तर उनीहरूको नाम भने खुलाएनन् ।
उनले फ्लोरिडाका गभर्नर रोन डेसान्टिसले ‘एलिगेटर अल्काट्राज’ डिटेन्सन सेन्टरको सफलतापूर्वक उद्घाटन गर्न डीएचएससँगको सहकार्यको प्रशंसा गरे । फ्लोरिडा एभरग्लेड्स (.घाँसे मैदान) मा अवस्थित केवल आठ दिनमा निर्माण गरिएका डेड–कोलियर ट्रेनिङ एन्ड ट्रान्जिसन एयरपोर्टमा ३९ वर्ग माइल (१०० वर्ग किलोमिटर) क्षेत्रमा बनेको संरचनामा बन्दीहरूको पहिलो समूहलाई जुलाईको सुरुमा त्यहाँ स्थानान्तरण गरिएको थियो ।
यो केन्द्र हालको अमेरिकी प्रशासनको अवैध आप्रवासनविरुद्ध कडा कदम चाल्ने तीव्र प्रयासको एक हिस्सा हो । यसले राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रशासन र समर्थकहरूबाट प्रशंसा प्राप्त गरेको छ, तर यसले मानव अधिकारका पक्षधरबीच स्थितिको बारेमा चिन्ताजनक रिपोर्टहरू आएको भन्दै चिन्ता व्यक्त गरेको छ ।
२८ असार, अमेरिकी अन्तरिक्ष संस्था नासाले ‘अक्सियम मिसन–४’ अन्तर्गत अन्तरिक्षबाट फर्किंदै गरेका अन्तरिक्ष यात्रीहरूको प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने घोषणा गरेको छ । नासाको सहकार्यमा सञ्चालित ‘अक्सियम मिसन–४’ एक निजी अन्तरिक्ष अभियान हो, जसमा चार अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (अअस) मा १७ दिन बसेर वैज्ञानिक अनुसन्धान गरेका थिए । यो मिशन सन् २०२५ जुन २५ मा स्पेस एक्सको रकेटमार्फत सुरु भएको थियो । टोलीमा अमेरिकी अन्तरिक्ष यात्री पेगी विट्सन, पोल्याण्डका स्लावोस उजनान्स्की, हंगेरीका टिबोर कपु र भारतका समूह कप्तान शुभांशु शुक्ला सहभागी थिए । शुक्ला अन्तरिक्षमा पुग्ने पहिलो भारतीय वायुसेना पाइलट हुन् ।
मिसनका क्रममा करिब ६० भन्दा बढी अनुसन्धान सम्पन्न गरिएको थियो । अब टोली स्पेस एक्सको ड्रागन यानमार्फत पृथ्वी फर्किंदैछ र यसको प्रत्यक्ष प्रसारण नासाले जुलाई १४ मा गर्नेछ । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (अअस) मा १७ दिन बिताएका चार सदस्यीय टोलीको नेतृत्व अनुभवी अमेरिकी अन्तरिक्ष यात्री पेगी विट्सनले गरे । प्रस्थानको प्रत्यक्ष प्रसारण नासाको वेबसाइटमा हेर्न सकिनेछ । शुभांशु शुक्लाको यो सफल यात्रा भारतका लागि ऐतिहासिक उपलब्धि हो, जसले भविष्यमा अन्तरिक्ष क्षेत्रमा भारतीय सहभागिता अझ सशक्त बनाउने अपेक्षा गरिएको छ ।
एजेन्सी २८ असार, काठमाडौं । प्यालेस्टाइन टुडे समाचार एजेन्सीका सम्पादक र फोटोग्राफरका रूपमा काम गरेका पत्रकार अहमद सलामा अबु आइशाको मृत्युको घोषणा भएपछि इजरायली आक्रमण सुरु भएदेखि गाजा पट्टीमा मारिएका पत्रकारहरूको सङ्ख्या दुई सय २९ पुगेको छ । आज जारी गरिएको एक विज्ञप्तिमा गाजाको सरकारी मिडिया कार्यालयले मध्य गाजाको नुसिरात शरणार्थी शिविरको पश्चिममा रहेको अल–सवारा क्षेत्रमा रहेको आफ्नो घर बाहिर लक्षित इजरायली ड्रोन हमलामा अबु आइशा मारिएको पुष्टि गरेको छ ।
मिडिया कार्यालयले प्यालेस्टिनी पत्रकारहरूको ‘व्यवस्थित लक्षित र हत्या’ भन्दै कडा निन्दा गरेको छ । कार्यालयले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अरब पत्रकार महासङ्घ र विश्वभरिका सबै प्रेस र युनियन निकायहरूलाई गाजामा मिडिया व्यवसायीहरू विरुद्ध भइरहेको अपराधको निन्दा गर्न आग्रह गरेको छ । वक्तव्यमा मानव अधिकार सङ्गठनहरू र व्यावसायिक पत्रकारिता सङ्घहरूसँगै अन्तर्राष्ट्रिय समुदायलाई ‘प्यालेस्टिनी जनता विरुद्धको नरसंहारको अपराध’ भन्दै यस विरुद्ध निर्णायक कदम चाल्न आह्वान गरिएको छ ।
यसले गाजा पट्टीमा पत्रकारहरूको सुरक्षा गर्न तत्काल उपायहरू गर्न, मिडियाका कर्मचारीहरूलाई जानाजानी लक्षित गर्न रोक्न र अन्तर्राष्ट्रिय अदालतमा जिम्मेवारहरूलाई मुद्दा हालेर जवाफदेहिता सुनिश्चित गर्न पनि आह्वान गरेको छ । मानव अधिकार सङ्गठनहरू र संयुक्त राष्ट्रसङ्घका रिपोर्टहरूका अनुसार इजरायली सेनाले आक्रमणका क्रममा पत्रकार र मिडिया संस्थाहरूलाई जानाजानी लक्षित गरेको छ । चार सयभन्दा बढी पत्रकार घाइते भएका छन्, दर्जनौँ पक्राउ परेका छन् र गाजा पट्टीमा सञ्चालन हुने अधिकांश स्थानीय र अन्तर्राष्ट्रिय मिडिया आउटलेटहरूको कार्यालयहरू ध्वस्त पारिएका छन् । यसबाहेक, सबै स्थानीय रेडियो स्टेसनहरू व्यापक विस्थापन र बिजुली र इन्टरनेट पहुँचको गम्भीर अभावका कारण सञ्चालन बन्द गर्न बाध्य भएका छन् ।
एजेन्सी २८ असार, काठमाडौं । गाजासम्बन्धी अमेरिकी नीतिको आलोचना गरेपछि संयुक्त राष्ट्रसंघका विशेष विज्ञ फ्रान्चेस्का अल्बानेसेमाथि लगाइएको अमेरिकी प्रतिबन्धप्रति युरोपेली संघले गहिरो खेद व्यक्त गरेको छ । युरोपेली संघका प्रवक्ता अनोआर एल अनौनीले भने, “युरोपेली संघ संयुक्त राष्ट्रसंघको मानव अधिकार प्रणालीप्रति पूर्ण समर्थन व्यक्त गर्दछ, र संयुक्त राष्ट्रसंघका विशेष विज्ञ फ्रान्चेस्का अल्बानेसेमाथि प्रतिबन्ध लगाउने अमेरिकी निर्णयप्रति हामी गहिरो खेद व्यक्त गर्दछौं ।”
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बुधबार उक्त प्रतिबन्धको घोषणा गर्नुभएको हो । उहाँले गाजासम्बन्धी अमेरिकी नीतिको आलोचना गरेको आरोप लगाउँदै उक्त निर्णय लिइएको बताए । संयुक्त राष्ट्रसंघले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो कदमले अन्तर्राष्ट्रिय अभ्यासमा गम्भीर असर पार्ने खतरा रहेको जनाउँदै उक्त निर्णय पुनरावलोकन गर्न आग्रह गरेको छ ।
संयुक्त राष्ट्रसंघका मानव अधिकार उच्चायुक्त भोल्कर टुर्कले पनि संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय आपराधिक अदालत ९आईसीसी० अन्तर्गत कार्यरत व्यक्तिहरू विरुद्ध हुने व्यक्तिगत आक्रमण तथा धम्की तत्काल रोक्नुपर्नेमा जोड दिनुभएको छ । केही समयअघि अमेरिकाले प्रधानमन्त्री नेतान्याहूविरुद्ध पक्राउ पुर्जी जारी गर्ने विषयमा संलग्न चार आईसीसी न्यायाधीशमाथि पनि प्रतिबन्ध लगाएको थियो ।
इटालीमा जन्मिएकी फ्रान्चेस्का अल्बानेसे सन् २०२२ देखि संयुक्त राष्ट्रसंघका विशेष विज्ञको भूमिकामा कार्यरत छिन् । हालै उहाँले प्रकाशित गर्नुभएको प्रतिवेदनमा केही बहुराष्ट्रिय कम्पनी, विशेषतः अमेरिकी कम्पनी, इजरायलको कब्जा, रंगभेद र गाजामा भइरहेको हिंसाबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ उठाइरहेका छन् भन्ने उल्लेख गरिएको छ । उक्त प्रतिवेदनप्रति इजरायलले कडा आपत्ति जनाएको छ भने प्रतिवेदनमा नाम उल्लेख गरिएका केही कम्पनीहरूले पनि असहमति जनाएका छन् ।
एजेन्सी २६ असार, टेक्सासमा विनाशकारी बाढीपछि एक सय ६० भन्दा बढी मानिस बेपत्ता भएको राज्यका गभर्नरले मङ्गलबार बताएका छन् । अहिलेसम्म एक सय नौ जनाको ज्यान लिएको यो त्रासदीबाट बेपत्ता हुनेहरूको सङ्ख्यामा नाटकीय वृद्धि भएको छ । टेक्सासका केही काउन्टीमा अचानक बाढी आएको चार दिनपछि बाँचेका व्यक्तिहरू भेट्ने आशा मिसिएको थियो र गभर्नर ग्रेग एबटले बेपत्ताहरूको सूची अझै बढ्न सक्ने चेतावनी दिएका छन् । “केर काउन्टी क्षेत्रमा मात्रै एक सय ६१ जना बेपत्ता भएको थाहा छ”, उनले मङ्गलबार गम्भीर खोजी जारी रहँदा पत्रकारहरूलाई भने, “त्यो सूचीमा अझ धेरै थप्न सकिने सम्भावना छ ।”
उनले यो आँकडा साथीहरू, आफन्तहरू र छिमेकीहरूले बेपत्ताका रूपमा रिपोर्ट गरेका व्यक्तिहरूमा आधारित रहेको बताए । मध्य टेक्सास क्षेत्रको ‘फ्ल्यास फ्लड एली’ भनेर चिनिने केर काउन्टीमा सबैभन्दा धेरै क्षति भएको छ । यहाँ कम्तीमा ९४ जनाको मृत्यु भएको छ । यसमा कम्तीमा २७ केटी र सल्लाहकारहरू समावेश छन् । शुक्रबार बिहान सबेरै जुलाई चौथो बिदाको सुरुआत हुँदा नदीमा बाढी आउँदा उनीहरू गुआडालुपे नदीमा युवा समर क्याम्पमा बसिरहेका थिए । सयौँ मानिस सुतिरहेका बेला क्याबिनहरूलाई बगाएको थियो र पानीको धाराले क्याम्पलाई बगाएको थियो ।
एबटका अनुसार मङ्गलबार साँझसम्म पाँच जना क्याम्पर र एक सल्लाहकार अझै बेपत्ता छन् । साथै क्याम्पसँग सम्बन्धित नभएको अर्को बच्चा पनि बेपत्ता भएका छन् । “हाम्रो हृदय र दिमागमा यस समुदायका मानिसहरू, विशेष गरी अझै हराएका मानिसहरूभन्दा महत्त्वपूर्ण अरू केही छैन”, एबटले भने । राज्यका अन्य ठाउँमा अहिलेसम्म कम्तीमा १५ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ । टेक्सास गेम वार्डन्सका बेन बेकरले पानी र माटोका कारण हेलिकप्टर, ड्रोन र कुकुरहरू सम्मिलित खोजी र उद्धार प्रयासहरू अत्यन्त कठिन भएको बताए ।
“जब हामी यी उद्धार गर्ने प्रयास गरिरहेका हुन्छौँ, यी ठूला थुप्रोहरू धेरै अवरोधकारी हुन सक्छन्, र यी थुप्रोहरूमा गहिरो प्रवेश गर्न, यो धेरै खतरनाक हुन्छ”, बेकरले भने, “यो अत्यन्त विश्वासघाती, समय खपत गर्ने हो । यो फोहोर काम हो, पानी अझै छ ।” अमेरिकी राष्ट्रिय मौसम सेवा (एनडब्लुएस) ले मङ्गलबार छिमेकी राज्य न्यु मेक्सिकोको अल्बुकर्कबाट एक सय ८४ माइल ९दुई सय ९६ किलोमिटर० दक्षिणमा रहेको सानो सहर रुइडोसोमा आकस्मिक बाढी आपत्काल घोषणा गरेको छ ।
अधिकारीहरूले रिपोर्ट गरे कि धेरै व्यक्ति अचानक आएको बाढीले फसेका छन्, धेरै घरमा क्षति भएको छ । एनडब्लुएसले रियो रुइडोसो २० फिट (छ मिटर) भन्दा बढी उचाइमा पुगेको हुनसक्ने बताएको छ । विपद्को केन्द्रविन्दु हन्ट सहरमा, एएफपी टोलीले उद्धारकर्मीहरूलाई हेलिकप्टरहरू माथि उडिरहेको अवस्थामा भग्नावशेषका थुप्रोहरूमा खोजी गरिरहेको देख्यो । चौबिस वर्षीय जेभियर टोरेस आफ्ना हजुरबुबाको शव फेला पारेपछि आफ्नी हजुरआमाको शव खोज्दै हिलोमा खनिरहेका थिए ।
उनले नदीले बगाएका दुई बालबालिकाको शव पनि फेला पारे । अधिकारीहरूले आगामी दिनहरूमा थप भारी वर्षाको चेतावनी दिएका छन् । यसले खोजी कार्यलाई प्रभावित पार्न सक्छ । यद्यपि बेकरले यसले खोजी प्रयासहरूलाई ‘नरोक्ने’ बताए । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार प्रथम महिला मेलानिया ट्रम्पसँग टेक्सास भ्रमण गर्ने कार्यक्रम छ ।
“हामीले चारैतिरबाट धेरै हेलिकप्टर ल्यायौँ, तिनीहरू वास्तविक पेशेवर थिए, र तिनीहरू धेरै मानिसलाई बाहिर निकाल्न जिम्मेवार थिए”, ट्रम्पले भने । यसैबीच, ट्रम्प सरकारको कोष कटौतीले चेतावनी प्रणालीलाई कमजोर पारेको र उद्धार अभियानको व्यवस्थापनलाई लिएर प्रश्नहरू बढेका छन् । कहिलेकाहीँ तनावपूर्ण प्रेस सम्मेलनका क्रममा बेकरले आपत्कालीन प्रतिक्रियाको गतिमाथिको प्रश्नलाई छाडे । “अहिले, यहाँको यो टोली मानिसहरूलाई घर फर्काउनमा केन्द्रित छ”, उनले भने ।
क्लाइमेट सेन्ट्रल रिसर्च समूहका मौसम विज्ञ शेल विङ्क्लेले सुक्खा माटोले कम वर्षा अवशोषित गर्दा भूगोल र असाधारण खडेरीमा प्रकोपको सीमालाई दोष दिए । “टेक्सासको यो भाग, कमसेकम केर काउन्टी बाढीमा विशेष गरी, चरमदेखि असाधारण खडेरीमा थियो।।। हामीलाई थाहा छ कि मेदेखि तापक्रम औसतभन्दा माथि छ”, विङ्क्लेले पत्रकारहरूलाई भने । सङ्गठनका मिडिया निर्देशक टम डि लिबर्टोले राष्ट्रिय मौसम सेवामा कर्मचारी अभावले प्रकोप निम्त्याएको बताए । “तपाईँले त्यो अनुभवलाई प्रतिस्थापन गर्न सक्नुहुन्न”, उनले भने ।
एजेन्सी २६ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसमा आयोजना हुने दिवाभोजमा पाँच अफ्रिकी नेतालाई स्वागत गर्ने भएका छन् । एटलान्टिक किनारामा अवस्थित अफ्रिकाका सेनेगल, लाइबेरिया, गिनी–बिसाउ, मौरिटानिया र ग्याबोनका राष्ट्रपतिले ट्रम्पको आग्रहमा बैठक गर्न लागेका हुन् । अधिकारीहरूले एएफपीलाई बताएअनुसार अमेरिकी राष्ट्रपति भवनमा हसने भेटमा उनीहरुबीच व्यापार, लगानी र सुरक्षालगायत अन्य विषयमा वार्ता हुने अपेक्षा गरिएको छ ।
भेटका लागि ह्वाइट हाउसको रूचीबारे केही ठोस विवरण बाहिर आएका छैनन् । ट्रम्प प्रशासनले कर र व्यापार सम्झौतामा ध्यान केन्द्रित गरिरहेको र महत्वपूर्ण खनिजहरूको स्थिर आपूर्ति सुनिश्चित गर्न खोजिरहेको बेला यो बैठक हुन लागेको हो । यद्यपि, यी पाँच राष्ट्रमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोजस्ता अन्य अफ्रिकी मुलुकहरूमा जस्तो अत्यधिक खनिज सम्पदा भने छैन । ट्रम्प प्रशासनले अमेरिकी वैदेशिक सहायता एजेन्सी युएसएआईडीको औपचारिक बन्दको औपचारिक थालनी भएको केही दिनपछि यो भेला हुने भएको हो ।
एएफपीसँग कुरा गर्ने पाँच देशका अधिकारीहरू ह्वाइट हाउसको रूचीबारे जानकारजस्तो देखिन्थे । लाइबेरियाका राष्ट्रपति जोसेफ बोकाईका प्रेस सचिव कुला फोफानाका अनुसार लाइबेरियाका राष्ट्रपति जोसेफ बोकाईले निमन्त्रणा स्वीकार गर्नुभएको र यस्ता भेट राष्ट्रको हितमा लगानी गर्न चाहने जोकोहीसँग पनि गर्न सकिने बताए । उनले भने, “हाम्रो चासो लगानी गर्ने व्यापार र संलग्नता साझेदारहरूलाई महत्व दिने हो ।” भेटबारे गाबोनी राष्ट्रपतिका प्रवक्ता थियोफेन बियोगेले भने, “यो बैठकले ‘हाम्रो अर्थतन्त्रको औद्योगीकरणमा केन्द्रित’ सहकार्यको अवसर प्रदान गर्नेछ ।
ड्यालस । नेपाली मूलका बालबालिकाहरुलाई हिन्दू धर्म, संस्कार–संस्कृति र नैतिक शिक्षा सिकाउने उद्देश्यले आयोजित समर क्याम्प ड्यालसमा सम्पन्न भएको छ । नेपाली समाज टेक्सासद्वारा आयोजित समर क्याम्प शनिबार सम्पन्न भएको हो । समर क्याम्प उमेर समूहअनुसार सिनियर र जुनियर गरी दुई चरणमा विभाजन गरिएको थियो । गत साता जुनियर समर क्याम्प सम्पन्न भएको थियो । शनिबार भने सिनियर बालबालिकाहरुको दीक्षान्त (ग्राजुएसन) कार्यक्रम सम्पन्न गरेको छ ।
दुई दशकदेखि नेपाली बालबालिकाहरुलाई हरेक समर याममा डा. चिन्तामणि योगीले समर क्याम्प सञ्चालन गर्दै आएका छन् । १ सय ५७ जुनियर र १ सय ४४ सिनियर बालबालिकाले समर क्याम्पमा सहभागिता जनाएका थिए । नेपाली समाज टेक्सस र नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रले अमेरिकामा विद्यालय बिदाको सदुपयोग गर्दै लामो समयदेखि समर क्याम्प चलाउँदै आएका छन् ।
एजेन्सी २३ असार, काठमाडौं । अमेरिकाको टेक्सास राज्यमा मुसलधारे वर्षाका कारण आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ५० पुगेको छ । उद्धारकर्मीले हराइरहेका २७ जना बालिकाको खोजी जारी गरिरहेका छन् । मध्य टेक्सासमा समुदायहरूमा पानी बढेपछि धेरै आकस्मिक बाढीको चेतावनी जारी गरिएको छ, ग्वाडालुप नदी बाढीका कारण मात्र ४५ मिनेटमा २६ फिट (आठ मिटर) ले बढेको थियो । केर काउन्टीको ग्रीष्मकालीन शिविरमा सयौँ मानिस बसिरहेका समय आएको बाढीका कारण ठूलो सङ्ख्यामा मानवीय हताहत भएको हो ।
बाढीप्रभावित क्षेत्रका शेरिफ ल्यारी लेइथाले भने, “हामीले केर काउन्टीमा ४३ जना मृतकलाई उद्धार गरेका छौँ । तीमध्ये २८ जना वयस्क र १५ जना बालबालिका छन् ।” अन्य काउन्टीहरूमा पनि बाढीको असर परेको र धेरै पीडितहरू फेला परेका छन् । बाढीका कारण अहिलेसम्म मृत्यु हुनेहरूको सङ्ख्या ५० पुगेको छ ।
टेक्सास डिपार्टमेन्ट अफ इमर्जेन्सी म्यानेजमेन्टका प्रमुख निम किडले वायु, स्थल र जल सेनाले ग्वाडालुप नदीको किनारमा वेपत्ताहरूको खोजी कार्य जारी राखेका छन् । उनले भने, “बेपत्ता भएका सबै नभेटिँदासम्म उनीहरूको खोजी जारी रहनेछ ।” टेक्सासका गभर्नर ग्रेग एबोटले आफूले राज्यको विपद् घोषणालाई विस्तार गरिरहेको र राष्ट्रपति डोनाल्ड ट्रम्पसँग थप सङ्घीय स्रोतको अनुरोध गरिरहेको बताए । उपराष्ट्रपति जेडी भान्सले शनिबार उक्त विपत्तिलाई ’नबुझिने खालको त्रासदी’ को संज्ञा दिएका छन् । टेक्सास राज्यको सार्वजनिक सुरक्षा विभागका निर्देशक फ्रिम्यान मार्टिनले लगातारको भारी वर्षाका कारण उद्धारकर्ताका लागि अवस्था चुनौतीपूर्ण बनेको बताए । मार्टिनले यस विपत्तिलाई ‘सामूहिक हताहतको घटना’ भनेका छन् ।
राज्य र स्थानीय अधिकारीहरूले नदीको किनारमा अवस्थित याम्प मैदानहरूसहित दर्जनौं सडक क्षेत्रमा यात्रा गर्ने बासिन्दाहरूलाई चेतावनी दिएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा १२ फिटसम्मको भारी वर्षाका कारण आएको बाढीले घर र रूखहरू बगाएको देखाइएको छ जुन केर काउन्टीको औसत वार्षिक वर्षाको एक तिहाइ हो ।
एजेन्सी २३ असार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सहयोगी एलन मस्कले शनिबार देशको ‘एक–दलीय प्रणाली’ भनेर वर्णन गरेको कुरालाई चुनौती दिन संयुक्त राज्य अमेरिकामा नयाँ राजनीतिक दल स्थापना गरेको बताएका छन् । संसारका सबैभन्दा धनी व्यक्ति तथा सन् २०२४ को चुनावमा ट्रम्पका सबैभन्दा ठूला राजनीतिक दाता मस्कसँग तथाकथित सरकारी दक्षता विभाग (डिओजिई) को प्रमुखका रूपमा खर्च कटौती र सङ्घीय जागिरहरू घटाउने ट्रम्पको प्रयासको नेतृत्व गरेपछि राष्ट्रपतिसँग तीतो मतभेद भएको थियो ।
मस्कले राष्ट्रपतिको विशाल घरेलु खर्च योजनालाई लिएर ट्रम्पसँग झगडा गरेका थिए । यसले अमेरिकी ऋण विस्फोट गराउनेछ भन्दै उनले यसका लागि मतदान गर्ने सांसदहरूलाई पराजित गर्न आफ्नो शक्तिमा सबै गर्ने वाचा गरेका छन् । अब उनले कथित ‘अमेरिका पार्टी’ आफ्नै राजनीतिक ढाँचा सिर्जना गरेका छन् । यसमार्फत त्यो हासिल गर्ने प्रयास गर्ने बताएका छन् । “हाम्रो देशलाई बर्बादी र भ्रष्टाचारले दिवालिया बनाउने कुरामा हामी एक–दलीय प्रणालीमा बाँचिरहेका छौँ, लोकतन्त्रमा होइन”, स्पेस एक्स र टेस्लाका मालिकले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गरे, “आज, अमेरिका पार्टी तपाईंलाई तपाईंको स्वतन्त्रता फिर्ता दिन गठन गरिएको छ ।”
मस्कले शुक्रबार, अमेरिकी स्वतन्त्रता दिवसमा अपलोड गरिएको एउटा सर्वेक्षणलाई उद्धृत गरे । उक्त सर्वेक्षणमा उनले हाँले उत्तरदाताहरूलाई ‘लगभग दुई शताब्दीदेखि अमेरिकी राजनीतिमा प्रभुत्व जमाएको दुई–पार्टी (कोहीले एक–पार्टी भन्छन्) प्रणालीबाट स्वतन्त्रता चाहन्छन् कि’ भनेर सोधेरेका थिए । यस सर्वेक्षणले १२ लाखभन्दा बढी प्रतिक्रिया प्राप्त गरेको थियो ।
“दुईदेखि एकको अनुपातले, तपाईंहरू नयाँ राजनीतिक दल चाहनुहुन्छ र तपाईंहरूले त्यो पाउनुहुनेछ,” उनले शनिबार पोस्ट गरे, मस्कले दुई टाउको भएको सर्पको चित्र र ‘एक–दलीय प्रणालीको अन्त्य गर’ भन्ने क्याप्सन भएको मिम पनि साझा गरे । नयाँ पार्टीले सन् २०२६ को मध्यावधि चुनाव वा त्यसको दुई वर्षपछि हुने राष्ट्रपतीय निर्वाचनमा कति प्रभाव पार्नेछ भन्ने स्पष्ट छैन ।
ट्रम्पले कांग्रेसका रिपब्लिकनहरूलाई आफ्नो ठूलो घरेलु एजेन्डा ‘वन बिग ब्युटिफुल बिल’ का रूपमा पारित गर्न दबाब दिएपछि ट्रम्प–मस्क विवाद गत महिनाको अन्त्यमा नाटकीय रूपमा पुनः सुरु भयो । मस्कले कानूनको कडा विरोध गर्नुभयो र ‘ऋण दासत्व’ लाई समर्थन गरेकामा यसका रिपब्लिकन समर्थकहरूलाई निर्दयतापूर्वक आक्रमण गरे । उनले विधेयकको पक्षमा मतदान गर्न सङ्घीय खर्च घटाउन अभियान चलाउने कानून निर्माताहरूलाई चुनौती दिन नयाँ राजनीतिक पार्टी सुरु गर्ने प्रतिज्ञा गरे । विज्ञहरूले यसले अमेरिकी घाटामा एक दशकमा थप ३४ खर्ब डलर थप्ने बताएका छन् ।
“यदि यो पृथ्वीमा मैले गर्ने अन्तिम काम भयो भने पनि तिनीहरूले अर्को वर्ष आफ्नो प्राथमिक चुनाव हार्नेछन्”, मस्कले यस हप्ताको सुरुमा भने । मस्कले मुख्य खर्च विधेयकको कडा आलोचना गरेपछि ट्रम्पले प्रविधि व्यापारीलाई निर्वासन गर्ने र उहाँका व्यापारहरूबाट सङ्घीय कोष रोक्ने धम्की दिए । उक्त विधेयक अन्ततः कांग्रेसबाट पारित भएर कानूनमा हस्ताक्षर भयो ।
दक्षिण अफ्रिकामा जन्मिएका र सन् २००२ देखि अमेरिकी नागरिकता लिएका मस्कलाई निर्वासन गर्नेबारे विचार गर्ने हो कि भनेर सोधिएको प्रश्नमा राष्ट्रपतिले पत्रकारहरूलाई भने, “हामीले हेर्नु पर्नेछ ।” सर्वेक्षण पोस्ट गरेपछि शुक्रबार मस्कले जोखिममा रहेका सदन र सिनेटका सिटहरू छान्न र मुख्य कानूनहरूमा ‘निर्णायक भोट’ बन्न सम्भावित राजनीतिक युद्ध योजना प्रस्तुत गरे ।
“यसलाई कार्यान्वयन गर्ने एक तरिका केवल दुई वा तीन सिनेट सिट र आठदेखि १० सदन जिल्लामा लेजर–फोकस गर्नु हो”, मस्कले एक्समा पोस्ट गरे । अमेरिकी सदनका सबै चार सय ३५ सिट प्रत्येक दुई वर्षमा कब्जा गरिन्छ भने सिनेटका एक सय सदस्यमध्ये छ वर्षको कार्यकाल पूरा गर्ने लगभग एक तिहाइ प्रत्येक दुई वर्षमा निर्वाचित हुन्छन् ।
केही पर्यवेक्षकहरू कसरी तेस्रो–पार्टी अभियानहरूले ऐतिहासिक रूपमा मत विभाजन गरेको छ भनेर औँल्याउन सङ्कोच गरेनन् । व्यापारी रस पेरोटको स्वतन्त्र राष्ट्रपति उम्मेदवारीले सन् १९९२ मा जर्ज डब्लु बुसलाई पराजित गर्न मद्दत गरेको थियो । बुसको पुनः उम्मेदवारीका कारण डेमोक्रेट बिल क्लिन्टनको विजयी भए । “तपाईँले रस पेरोट तान्दै हुनुहुन्छ र मलाई यो मनपर्दैन”, एक एक्स प्रयोगकर्ताले मस्कलाई लेखे ।
२१ असार, काठमाडौं । अमेरिकाको टेक्सास राज्यको दक्षिण–मध्य क्षेत्रमा शुक्रबार बिहान आएको अचानक बाढीले ठूलो मानवीय क्षति पु¥याएको छ । स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार, सो बाढीमा परी अहिलेसम्म २५ जनाको मृत्यु भइसकेको छ । ग्वाडालुपे नदीको किनारमा रहेको एक ग्रीष्मकालीन बाल शिविरमा सहभागी भएका २३ भन्दा बढी बालिकाहरू अझै सम्पर्कमा आउन सकेका छैनन् । केर जिल्लाका शेरिफ ल्यारी लाइथाले पत्रकार सम्मेलनमार्फत जनाइअनुसार, थप व्यक्तिहरू हराइरहेका हुन सक्ने भएकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने सम्भावना रहेको छ ।
टेक्सास राज्यका उपराज्य प्रमुख ड्यान प्याट्रिकका अनुसार, मृत्यु हुनेहरूमा केही बालबालिका पनि परेका छन्। उहाँले बताएअनुसार, ग्वाडालुपे नदीको पानीको सतह एकैचोटि २६ फिट ९करिब ८ मिटर०ले बढेपछि शिविरमा सहभागी करिब ७५० बालिकामध्ये २३ जति अझै सम्पर्कविहीन अवस्थामा छन् ।
शिविरका प्रमुखले पठाएको सन्देश अनुसार, बाढीका कारण त्यहाँ पानी, विद्युत् तथा सञ्चार सेवा पूर्णरूपमा अवरुद्ध भएको छ । हाल बाढीबाट प्रभावित क्षेत्रमा ठूलो सङ्ख्यामा उद्धारकर्मी परिचालन गरिएको छ। सयौँ सुरक्षाकर्मी तथा दर्जनौँ उड्ने साधनको माध्यमबाट उद्दार कार्य जारी रहेको छ। उद्धार टोलीहरू रातदिन खटिएको बताइएको छ ।
स्थानीय प्रशासनले बाढी प्रभावित क्षेत्रमा नजान सबै नागरिकलाई अनुरोध गरेको छ, किनभने धेरै सडकहरू अवरुद्ध अवस्थामा छन् । विज्ञहरूका अनुसार हालका वर्षहरूमा मानवनिर्मित जलवायु परिवर्तनका कारण अत्यधिक वर्षा, बाढी, खडेरी, आँधी र गर्मीका लहरहरू बारम्बार र बढी तीव्र रुपमा देखिन थालेका छन् ।
२१ असार, गोरखा । गोरखा नगरपालिका–८ ले कृषिलाई प्रविधिमैत्री बनाउन किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ । वडाभित्रका १६ जना किसानलाई अनुदानमा हाते ट्र्याक्टर गरिएको वडाध्यक्ष ऋषिराम खत्रीले जानकारी दिए । किसानलाई कृषि प्रविधिमैत्री बनाउँदै खेती गर्दा कम लगानीमा उत्पादन वृद्धि गराउनका लागि कृषिमा आश्रित विपन्न, युवा कृषक र महिलालाई लक्षित गरेको ट्र्याक्टर वितरण गरिएको उनको भनाइ छ ।
“प्रत्येकलाई किसानलाई रु २०र२० हजार अनुदान पर्ने गरी हाते ट्र्याक्टर वितरण गरिएको हो”, वडाध्यक्ष खत्रीले भने, “तीन वर्षको अवधीमा वडाभित्र ८४ जना किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको छ ।” कृषकलाई वितरण गरिएको ट्र्याक्टर छ हर्जपावर क्षमताको रहेको उनले बताए ।
वडा कार्यालयको चालु आर्थिक वर्ष २०८१–८२ को कृषिमा यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको हो । परम्परागत खेती प्रणालीमा खेतबारी जोत्न लागि गोरुको प्रयोग गर्दै आएको भए पनि गाउँमा पछिल्लोसमय गोरु पाल्नेको सङ्ख्या न्यून हुँदै गएकाले गोरुको अभावमा खेतबारी बाँझो नबनोस् भन्ने उद्देश्यसहित नगरपालिकाले कृषकलाई कृषि औजारमा अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको नगरप्रमुख कृष्णबहादुर रानामगरको भनाइ छ ।
अनुदान उपलब्ध गराउँदा यसअघि अनुदान नपाएका किसानलाई मात्र छनोट गर्ने गरिएको उहाँले बताउनुभयो । कृषि क्षेत्रलाई व्यावसायिक बनाउन र उत्पादन वृद्धिका लागि कृषि प्रणालीलाई यान्त्रिक एवं आधुनिकीकरण गर्नु आवश्यक रहेकाले पनि कृषि औजार अनुदान कार्यक्रमलाई नगरपालिकाले प्राथामिकता दिँदै आएको नगरप्रमुख रानामगरले जानकारी दिए ।
एजेन्सी २१ असार, काठमाडौं । संयुक्त राज्य अमेरिकाले श्रीलङ्काको निर्यातमा ४४ प्रतिशत कर कायम गरेमा र प्रतिस्पर्धी व्यापारिक साझेदारहरूमाथिको कर घटाएमा श्रीलङ्काको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा १।५ प्रतिशतसम्म गिरावट आउन सक्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को एक प्रतिवेदनले देखाएको छ । संयुक्त राज्य अमेरिकाले श्रीलङ्काविद्ध लगाएको ४४ प्रतिशत कर जुलाई ९ सम्मका लागि स्थगित भएको छ भने हाल आधारभूत १० प्रतिशत निर्यात करको सामना गरिरहेको छ ।
आइएमएफका अनुसार विशेष गरी गार्मेन्ट क्षेत्रका लागि नाफादर कम छ जसले फर्महरूको पर्याप्त कर वृद्धिलाई अवशोषित गर्ने क्षमतालाई सीमित गर्दछ । प्रतिवेदनमा बाह्य मागमा कमी र व्यापारमा देखिएको अस्थिरताका कारण कुल गार्हस्थ्य उत्पादनको तीन प्रतिशत बिन्दुले निर्यात घट्न सक्ने उल्लेख छ । आईएमएफले आयातित सामग्रीको न्यून आवश्यकता, विश्वव्यापी वस्तुको मूल्यमा आएको कमी र विनिमय दरको अवमूल्यनका कारण निर्यातमा आएको कमीलाई आंशिक रुपमा पूर्ति गर्ने बताएको छ ।
श्रीलङ्काको प्रतिस्पर्धात्मक क्षमतामा आएको कमी र बढ्दो अनिश्चितताले व्यावसायिक लगानीलाई निरुत्साहित गर्ने र कुल गार्हस्थ्य उत्पादनमा नोक्सानी हुने आइएमएफले जनाएको छ । आइएमएफले बेरोजगारी बढ्ने चेतावनी पनि दिएको छ भने सहयोग प्रदान गर्न सरकारमाथि सार्वजनिक दबाबले सुधार कार्यान्वयनलाई सुस्त बनाउन सक्छ र कार्यक्रमको कमजोर प्रदर्शनको जोखिम बढाउन सक्छ ।
एजेन्सी २१ असार, काठमाडौं । संयुक्त राज्य अमेरिकाले क्यानाडाबाट आयात हुने सामानमा कर लगाउन थालेपछि क्यानाडाको अमेरिका तर्फको निर्यात निरन्तर घटिरहेको छ । क्यानाडाको राष्ट्रिय तथ्यांक संस्था अनुसार अमेरिका तर्फको निर्यात पछिल्लो पटक ०.९ प्रतिशतले घटेको छ, जुन लगातार चौथो पटकको गिरावट हो । यसअघि क्यानाडाको निर्यातको झन्डै ७६ प्रतिशत हिस्सा अमेरिकातर्फ जान्थ्यो, तर हाल त्यो घटेर ६८.३ प्रतिशतमा झरेको छ – जुन इतिहासमै सबैभन्दा कम अनुपातहरूमध्ये एक हो ।
अमेरिका बाहेक अन्य देशहरूसँगको क्यानाडाको व्यापार भने तीव्र रूपमा बढेको छ । निर्यात ५.७ प्रतिशतले बढेको छ र कुल व्यापार ४७.६ अर्ब क्यानाडियन डलर (३५ अर्ब अमेरिकी डलर) पुगेको छ, जुन लगातार तेस्रो पटकको रेकर्ड हो । साथै, क्यानाडाको कुल निर्यात १.१ प्रतिशतले बढेर ६०.८ अर्ब क्यानाडियन डलर पुगेको छ भने आयात १.६ प्रतिशतले घटेर ६६.७ अर्ब क्यानाडियन डलरमा झरेको छ ।
२१ असार, काठमाडौं । रूसी सरकारी प्रवक्ताले शुक्रबार एक प्रेस ब्रिफिङमार्फत युक्रेनमाथिको जारी युद्धको सन्दर्भमा तत्काल कुनै कूटनीतिक समाधान सम्भव नरहेको स्पष्ट पारेका छन् । उक्त अभिव्यक्तिसँगै रूसले युक्रेनविरुद्ध हालसम्मकै सबैभन्दा व्यापक हवाई आक्रमण आरम्भ गरेको पुष्टि भएको छ ।
उक्त आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको टेलिफोन संवाद निष्कर्षविहीन रूपमा समाप्त भएको केही घण्टापछि सुरु भएको हो । राजधानी किभ लगायत युक्रेनका विभिन्न सहरहरूमा रातभरि ड्रोनको गुन्जन र विस्फोटहरूको आवाज सुनिएको थियो, जसमा युक्रेनी हवाई सुरक्षा प्रणाली सक्रिय रूपमा परिचालित रहेको जानकारी प्राप्त भएको छ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले संवाददातासँग कुराकानी गर्दै भन्नुभयो, “हामी हाम्रो उद्देश्यहरू हासिल गर्न विशेष सैन्य अभियानलाई प्राथमिकता दिइरहेका छौं, तर त्यसलाई राजनीतिक तथा कूटनीतिक माध्यमबाट समाधान गर्नु अझ उपयुक्त हुनेछ ।” यद्यपि उनले वर्तमान अवस्थामा कूटनीतिक समाधान सम्भव नरहेको स्पष्ट गरे ।
राष्ट्रपति ट्रम्पले एक दिनअघि राष्ट्रपति पुटिनसँग भएको संवादमा युद्ध अन्त्यको विषयमा कुनै प्रगति नभएको जानकारी दिएका थिए । युक्रेनी अधिकारीका अनुसार ट्रम्प र राष्ट्रपति भोलोदिमिर जेलन्स्कीबीच थप कुराकानी शुक्रबार नै तय गरिएको थियो ।
किभका बासिन्दा तिमुरले उक्त आक्रमणलाई विगतका घटनाहरूभन्दा निकै फरक र भयावह भएको बताउँदै भने, “यसअघि कहिल्यै यति धेरै विस्फोटहरू एकसाथ भएको थाहा थिएन ।” राष्ट्रपति जेलन्स्कीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भने, “रूसले फेरि एकपटक प्रमाणित गरेको छ कि उसले युद्ध र आतंकको अन्त्य गर्ने कुनै तयारी गरेको छैन । यदि अन्तर्राष्ट्रिय समुदायबाट ठोस र ठुलो दबाब नपरेसम्म, रूसको विनाशकारी व्यवहारमा परिवर्तन आउन गाह्रो देखिन्छ ।” रूसी सेनाले डोनेत्स्क क्षेत्रमा रहेको एक गाउँ नियन्त्रणमा लिएको दाबी गरेसँगै युक्रेनी भूभागमा थप दबाब सिर्जना भएको देखिन्छ ।
आक्रमणको क्रममा पोल्यान्डको किभस्थित दूतावासमा क्षति पुगे पनि त्यहाँका कर्मचारीहरू सुरक्षित रहेको जनाइएको छ । जर्मन परराष्ट्र मन्त्रालयले आक्रमणको समयबारे प्रतिक्रिया दिँदै भनेको छ, “नेताहरूबीचको संवाद सम्पन्न भएको तुरुन्तै आक्रमण हुनु यहि देखाउँछ कि रूस अझै पनि बल प्रयोगमा निर्भर रहन चाहन्छ । युक्रेनले आफ्नो रक्षा गर्न झन बढी सहयोगको आवश्यकता छ ।”
उक्त आक्रमण युक्रेनमाथिको रूसी आक्रमणमा हालसम्मकै सबैभन्दा ठूलो भएको युक्रेनी वायु सेनाले जनाएको छ । वायु सेनाका अनुसार सो आक्रमणमा ५३९ ड्रोन र ११ मिसाइल प्रयोग गरिएको थियो, जसबाट कम्तीमा २३ जना घाइते भएको पुष्टि भएको छ । युक्रेनले पनि पछिल्लो समय रूसभित्र प्रतिक्रिया स्वरूप हमला बढाएको छ । रुसको रोस्तोभ क्षेत्रमा युक्रेनी ड्रोन खस्दा एक महिलाको मृत्यु भएको त्यहाँका कार्यवाहक क्षेत्रीय गभर्नरले जनाएका छन् ।
युद्धविरामका लागि संयुक्त राज्य अमेरिकाको पहलमा सुरु गरिएका वार्ताहरू अहिले निष्क्रिय अवस्थामा देखिए पनि युक्रेन र रूसले युद्धबन्दीको नयाँ विनिमय कार्यक्रम जारी राखेका छन्, जुन इस्तानबुलमा भएको पछिल्लो छलफलको परिणामस्वरूप सम्भव भएको बताइएको छ ।
आरएल श्रमजीवी २० असार । कुरा त लामै छन्, तर छोटोमा निजात्मक लेख्दै छु । लेखेरै नसकिने भोगाइमध्येको आफू छ वर्षअघि अमेरिकमा ढलेको घटनाबाट शुरु गरें । अमेरिकाको क्यालिफोर्नियास्थित काम गर्ने नान क्याफेमा काम गर्दागर्दै एक्कासि नाथ्री फुट्यो । नाकबाट ह्वालह्वाल्ती रगत बगेपछि मलाई रेस्टुरेन्टका साहु कट्टेलले उत्तानो पारेर सुताउनु भो । नाकमा कपास राखे पनि रगत रोकिएन । दश मिनेटपछि रगत रोकियो र मलाई गाडीबाट कोठामा लगियो । त्यो दिन बेडरेस्ट गरें । खोकी चाहिँ मलाई बोस्टन हुँदा २०१९ को अक्टोबरदेखि नै लागिरहेको थियो । नाथ्री फुटेपछि खोकी झन् बढ्यो । छाती दुख्न थाल्यो ।
काम गर्दा पनि खोकी लागेपछि उनै कट्टेलले फार्मेसीबाट खोकीको औषधि ल्याएका थिए । औषधि खाएको दुई घण्टासम्म खोकी हराउँथ्यो फेरि लागिहाल्थ्यो । दबाइमुलो गर्दागर्दै दुई महिना बित्यो । उपचारमा चार सयदेखि पाँच सय डलर खर्च गर्दा पनि खोकी निको भएन । गोडा सुन्निन थाल्यो । हिंड्दा स्वाँस्वाँ हुन थाल्यो । बस्दै उठ्दै बिस्तार घिच्चिदै काममा जान थाले । यति कि फराकिलो सडक पनि एकै झमटमा फटाफट पार गर्न आँट आउन छाडेको थियो । अब यो तरिकाले भएन भन्दै मैले न्यूयोर्क जाने निर्णय गरें ।
वकिल खगेन्द्र जिसीकोमा २०२० फेबु्रअरी २१ को डेट थियो । म १९ को राति टिकट काटेर उडें । जहाजभरि खोकी लाग्थ्यो, तर स्टे«प्सिल मुखमा राखेर रोक्ने कोसिस गर्थें । सकी–नसकी बिहानै मामाघर सनिसाइड पुगें । खोकी निरन्तर थियो माइजुले बेसार पानी बनाएर दिनु भो । राति अदुवा मुखमा राखे । जीरा पानी खाँदा पनि खोकी रोकिएन । भोलिपल्ट वकिलकोमा पुगें, मागेका कागजपत्र जम्मा गराएर ग्रीनकार्डको सपना पाल्दै म म्यानह्याटनबाट फर्किएँ ।
म्यानह्याटनबाट ज्याक्सन हाइट्स जाने रेल समातें । बस्ने सिट थिएन डन्डी (खाबो)मा समाएर उभिएँ । कमजोरीले ढल्ला जस्तो भयो । धन्न अर्को स्टेसनमा खाली सिट भेटें । मनमा हजारौं कुरा खेल्थ्यो; गाउँका साँघुरा गोरेटो छिचोल्दै फराकिला राजमार्गमा आफ्नै गाडीमा हुइँकिएको मान्छे म के नपुगेर यता भासिएँ होला ? युरोपका एक दर्जन देशका गल्लीहरु यी पैतालाले नाप्यो । यतिबेला अवैध मान्छे बनें । के मान्छे पनि वैध र अवैध हुन्छ र ? आफैंले आफैंसँग गरेको प्रश्नको उत्तर म स्वयम् थिएँ । वास्तवमा जति नराम्रो हुनीहुनामी नेपालमै भएको थियो । मसँग एउटा नाम थियो ।
नामसँगै अरुले देख्दा मेरो सान जस्तो थियो, तर म भित्रभित्रै यति मक्किएको थिएँ कि धमिराले खाएको खाबोझैं । जति संघर्ष गरें, त्यो मेरा लागि ठाउँ थिएन वा भएन ? म आफैंलाई भत्काउँदै १२ वर्ष अघि बादलभित्र हराएको चरोझैं युरोप छिरेको थिएँ । एक्लो जीवन, एक्लोपन र आफैंलाई व्यस्त बनाउँदै अनेकौं उत्तरचढावका बीच मैले युरोपियन कार्ड हात पारेको थिएँ । त्यो कार्ड हुँदाहुँदै किन ग्रीनकार्डको यत्रो मोह ? यस्तै कुरा सोच्दासोच्दै सन्नीसाइड भन्ने म ओर्लने ठाउँ आयो ।
म बिस्तारै रेल स्टेसनको तलाबाट ओर्लिएर मामाघर पुगें । खोकी रोकिने छाँट देखिन । औषधि होस् वा माइजूले बनाएको परम्परागत घरेलु दबाइले नछोएपछि मैले युरोप फर्किने टिकट काटें । फेब्रुअरी २८ राति ८ बजेको फ्लाइट थियो । युरोपको इटालीमा कोरोनाले भकाभक मान्छे मरिरहेका र न्यूयोर्कका अस्पतालहरुमा कोरोनाका बिरामीले बेड नपाएका खबर सीएनएनले भनिरहेका बेला मामाले भन्नु भो– तपाईं युरोप जानै पर्ने हो र ? मैले भनें ‘हो मामा । म जान्छु । यहाँको उपचार मेरा लागि महँगो भो । युरोपमै सजिलो हुन्छ होला । मैले त आजको टिकट लिइसकेको छु’ भन्दै टिकट देखाइदिएँ ।
ए, आजै रातिको पो रेछ । एक बज्यो तयार हुनुपर्छ होला नि । यी किताबहरु त्यो जुत्ता केही लान्न म रोग निको पारेर फर्किन्छु मामा । लुगा पनि दुई जोर भए पुग्छ भनेर कालो ह्याण्ड ब्यागभित्र सामान हालें । ‘म एयरपोर्टसम्म पु¥याउला तपाईंको त्यस्तो हालत देख्दा कसरी जानु होला‘ भन्नु भो । हामी ४ः३० बजे घरबाट निस्कियौं । चिसो हावा चलिरहेको थियो । मान्छे नै उडाउला जस्तो । रेल स्टेसनको दूरी मात्र ५ मिनेटको थियो, तर म हिंड्न सकिन । मामाले टिकट क्यान्सिल गरौं कि भन्नु भो । मैले क्यान्सिल हुने टिकट होइन मामा म जान्छु भन्दै थिएँ । मामाले भाइ विजयलाई फोन लगाउनु भो । दाइ ! हिंड्न नसकी पनि जाने भन्नुहुन्छ के गर्ने होला विजय ? काम गरेको ठामबाट विजयले मामालाई मलाई फोन दिन भनेछन् । दाइ ! नजानु बरु ड्याडीसँगै हस्पिटल जानु ।
बाबु म हिंडिसके अब जान्छु भनेर कुरा गर्दै ५ मिनेटको दूरीको बाटो २१ मिनेट लागेछ । रेल आयो हामी रेल चढेको कुरा भाइलाई भनेर फोन मामालाई दिएँ । रेल भरिभराउ थियो । खुट्टाले भुइँ भेट्यो हामी मामा भानिज टाँसिएर उभियौं । मामाले मलाई हेर्नु भो मैले मामालाई । मानौं यही नै अन्तिम भेट हो भने जसरी हामी आँखा–आँखाले कुरा गरिरहेका थियौं । अनायास मोतीदाना तप्पतप्प झरे । मास्क नलगाएको भए त्यो नुनिलो आँशु मेरो खोकीको औषधि हुन्थ्यो कि ?
मामाले मेरो टाउको समाउँदै टोपी मिलाइदिनु भो । सम्झिएँ, कि आमा कि मामा भनेको यही होला । रेलभरि हामी बोलेनांै खोकी लाग्दा म निहुरिएर खोक्थे धेरैले मास्क लगाएका थिएनन् । कोरोना महामारीको खबर उनीहरुलाई पत्तो छैन जस्तो लाग्थ्यो । रेलको अन्तिम गन्तव्य एयरपोर्टको एयर टर्न हो भनेर सूचित गर्दै थियो । सबै ओर्लने तयारीमा ठेलमठेल गर्दै थिए ।
हामी ढोका छेउमै थियौं, अन्तिम स्टेसनमा ढोका खोल्नासाथ हामी ओर्लियौं । भिड कुम्भमेला जस्तै थियो भिड छलेर हामी एउटा कुनामा गयौं । मैले– मामा स्टेशन बाहिर नजानुस् फेरि किन टिकट काट्नु । म बाहिर गएर एयर ट्रेन समातेर टर्मिनल ८ मा ओर्लिन्छु भनें । मामा बोल्न सक्नु भएन । हामी दुबैले मास्कले मुख छोपेका थियौं भक्कानिन सजिलो भयो । म बाइबाइ भनेर हात हल्लाउँदै अगाडि बढें । मामा उभिएर मलाई हेरिरहनु भएको थियो । अलि वर आएर हेर्दा मामाको टाउको मात्रै देखिन्थ्यो । हाल : लण्डन, बेलायत
कुमार न्यौपाने २० असार, न्युयोर्क । न्यूयोर्क शहर– विश्वकै व्यस्त (नसुत्ने) र समृद्ध शहरमध्ये एक । केही समयदेखि केही गहिरा सामाजिक संकटको सामना गर्दैछ– एक, मानसिक स्वास्थ्य र अर्को, घरबारविहीन हुनुको समस्या । हजारौं मानिस सडकमा वा अस्थायी आश्रयस्थलमा बसिरहेका छन्, तीमध्ये धेरै मानसिक रोगबाट पीडित छन् । यो समस्या केवल आवासको कमी होइन; यो राज्यको स्वास्थ्य प्रणाली, आवास नीति र मानवीय संवेदनाको परीक्षण पनि हो ।
न्यूयोर्क शहर, जहाँ सपना बुन्छन् अनि सम्भावनाको खोजीमा मानिसहरु पुग्छन् । तर, यस्तै चम्किलो शहरका गल्लीहरुमा, पुलमुनि, ट्रेन स्टेशनमा र पार्कका कुना–कुनामा हजारौं मानिस जीवनका कठिन संघर्षमा छन्– घरबारविहीन, भोक र मानसिक रोगले ग्रस्त । यो समस्या केवल व्यक्तिको हो भन्ने ठान्नु भूल हो । यो शहरको नीति, समाज, स्वास्थ्य प्रणाली र हाम्रो सामूहिक जिम्मेवारीसँग जोडिएको गम्भीर संकट हो ।
माथि उल्लेखित मानसिक समस्याहरु आजको समाजमा व्याप्त छ । न्यूयोर्कमा धेरै मानिसहरु मानसिक रोगको उचित उपचार नपाएर वा निरन्तर निगरानीको अभावमा बेघरबार बनेका छन् । शहरी रहनसहनले मानिसमा डिप्रेसन, सिजोफ्रेनिया, बाइपोलार डिसअर्डर जस्ता रोगहरु बढ्दै गइरहेका छन् । यस्ता रोगहरु उपचारविना झन् बिग्रिन्छन्, जसले उनीहरुलाई काम, घर र सामाजिक सम्बन्धबाट टाढा लैजान्छ । सडकमा पुगेपछि यो समस्या झन् जटिल बन्छ । मानसिक अवस्था बिग्रँदै जान्छ, नशा सेवन शुरु हुन्छ, आत्मसन्तुष्टिपना र आत्मसम्मान हराउँछ । एक पटक यस्तो जीवनचक्र सुरु भएपछि पुनः सामान्य जीवनमा फर्किन कठिन हुन्छ ।
file
सरकारको प्रतिक्रिया र चुनौती
तथ्यांक भयावह छ । चारमा एक जना वयस्कमा मानसिक समस्या देखिनु ठूलो चिन्ताको विषय हो । २०२५ को जनमत सर्वेक्षणअनुसार, ८० प्रतिशत न्यूयोर्कवासीले मानसिक रोगलाई शहरको ठूलो चिन्ताका रुपमा चिनाएका छन् । परिणामतः विशेष गरी मेट्रो ट्रेनहरु, सार्वजनिक पार्कहरु र आश्रयस्थलहरुमा अस्वाभाविक र तनावपूर्ण घटनाहरु वृद्धि हुँदै गइरहेका छन् । यस समस्यालाई सम्बोधन गर्न मेयर एरिक एडम्सको नेतृत्वमा सरकारले केही कार्यक्रमहरु शुरु गरेका छन्–
मानसिक स्वास्थ्य सेवा, सुरक्षित आश्रय र समर्थनयुक्त आवासमा झण्डै ६५० मिलियन डलरको लगानी घोषणा । मोबाइल क्राइसिस टीमको संख्या वृद्धि गरी आकस्मिक अवस्थाहरुमा छिटोछरितो सेवा । मानसिक रुपमा असक्षम मानिसहरुलाई अनिवार्य उपचारका लागि अस्पतालमा भर्ना गर्न सक्ने नीति, तर यो हालसम्म विवादास्पद रुपमै रहेको देखिन्छ ।
केही मानवअधिकार संगठनहरुले यस नीतिको आलोचना गर्दै यसले व्यक्तिको स्वतन्त्रता हनन गर्ने तर्क गरेका छन् । उनीहरु भन्छन्– जबसम्म दीर्घकालीन समाधान छैन, यस्तो कदमले समस्या समाधान गर्दैन ।
घरबारविहीनको संख्या बढ्दै
मानसिक रोग मात्र होइन, आवासको अत्यधिक महँगीले पनि घरबारविहीन हुने जोखिमलाई बढाएको छ । धेरैजसो न्यून आय भएका मानिसहरु, सानो आय वा कुनै रोजगारीविना घरभाडा तिर्न असमर्थ छन् । मानसिक समस्यासँग जुधिरहेका व्यक्तिहरु त झन् यस्ता परिस्थितिमा उच्च जोखिममा छन् । मुख्य रुपमा सन् २०२२ देखि शहरमा बढेको आप्रवासीहरुको चाप, त्यही विषयमा शहरले खर्च गर्न परिरहेको २ अर्ब डलर र कामको लागि अधिकार खोज्नेहरुको लामो लाइनले यी समस्याहरु समाधानमा ठूलो धैर्यता र क्षमता आवश्यक देखिन्छ ।
हालसालै शहरमा अत्यधिक आप्रवासीहरुको आगमनले आश्रय प्रणालीलाई थप दबाबमा पारेको छ । अस्थायी बसोवासका लागि प्रतिस्पर्धा तीव्र छ, जसले गर्दा मानसिक रोग भएका स्थानीय नागरिकहरु झन् पछाडि परिरहेका छन् । आप्रवासी र मानसिक स्वास्थ्य सँगसँगै आउने विषय भएकाले नीति सोहीअनुरुप बनाउन जरूरी छ ।
आवास संकट र नीतिगत असफलता
न्यूयोर्कमा माध्यमिक मासिक भाडा दर लगभग ४३५०० पुगिसकेको छ । न्यून आय भएका वा मानसिक रोग भएका व्यक्तिहरुका लागि यस्तो महँगो शहरमा बस्न सम्भव छैन । हजारौं आप्रवासीहरुको आगमनले आश्रय प्रणालीमा बोझ थपेको छ । दीर्घकालीन आवास (क्गउउयचतष्खभ जयगकष्लन) पर्याप्त छैन । अस्पतालहरुमा मानसिक उपचारका लागि बेड कम छन्, जसले गर्दा धेरैजसो मानिसहरु उपचार नै नपाई सडकमा बस्न बाध्य छन् ।
आशा र समाधानको बाटो
यस्ता संकटहरुको समाधान सतही उपचारले सम्भव छैन । यो दीर्घकालीन नीति, सामुदायिक समर्थन र मानवता आवश्यक पर्ने विषय हो । केही सम्भावित समाधानहरु–
आपतकालीन सहायता केन्द्रमा ९८८ नम्बरको प्रयोग गरी २०० भन्दा बढी भाषाहरुमा परामर्श लिन सक्ने व्यवस्था अझ प्रभावकारी होस् ।
स्थायी समर्थनयुक्त आवास, जहाँ मानिसहरुलाई आवास मात्र होइन, दैनिक स्वास्थ्य निगरानी र परामर्श पनि प्राप्त होस् ।
थेरापी र परामर्श केन्द्रहरु अल्वर्ट इलिस, ह्युमनटोल्ड, शोहो केन्द्र जस्ता सामुदायिक मानसिक स्वास्थ्य केन्द्रहरुको विस्तार, विशेष गरी ब्रोंक्स र ब्रुकलिन जस्ता बढी प्रभावित क्षेत्रहरुमा गर्नुपर्छ ।
ग घरबारविहीन हुनु भनेको अपराधीकरण हुनु नभई गम्भीर मानवीयतासम्बन्धी समस्या हो । उनीहरुप्रति प्रहरी हस्तक्षेपको सट्टा सामाजिक कार्यकर्ता र चिकित्सकद्वारा सहारा प्रदान गर्नुपर्ने देखिन्छ ।
ग न्यूयोर्क शहरका प्रत्येक अस्पतालमा अनिवार्य मानसिक स्वास्थ्य उपचारको व्यवस्था या मेयरको कार्यालयले उपलब्ध गराउने सुविधा र सुचनाहरु पक्कै पनि प्रभावकारी छन् ।
निष्कर्षमा भन्नुपर्दा, न्यूयोर्क शहरको मानसिक स्वास्थ्य र घरबारविहीनताको समस्या अब नजरअन्दाज गर्न सकिने विषय होइन । यो एक मानवीय आपतकाल हो । जहाँ नीति, सेवा र संवेदनशीलता एकसाथ आउन आवश्यक छ । यदि हामीले इच्छाशक्ति र उपाय दुवै जुटायौं भने सडकमा रहेका ती प्रत्येक व्यक्तिको जीवन सुधार्न सकिन्छ ।
२० असार, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बिहीबार फोनमा कुराकानी हुने भएको छ । यसैगरी, राष्ट्रपति ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि शुक्रबार फोनवार्ता गर्ने युक्रेनका एक वरिष्ठ अधिकारीले एएफपी जानकारी गराएका छन् । गत जनवरीमा पदभार ग्रहण गरेदेखि नै ट्रम्प दुवै नेतासँग नियमित सम्पर्कमा छन्, र उनले करिब साढे तीन वर्ष लामो द्वन्द्व अन्त्यका लागि दबाब दिइरहेका छन् ।
पुटिन र ट्रम्प दुवैले बिहीबारको वार्तामा के छलफल गर्ने भन्नेबारे केही बताएका छैनन् । यसअघि युक्रेन द्वन्द्व र आर्थिक सहयोगजस्ता विषयमा छलफल गरेका दुई नेताबीच बिहीबार के बिषयमा छलफल हुनेछ भन्नेबारे ती देशका प्रशासनले जानकारी गराएका छैनन् । मस्कोको एक प्रदर्शनी केन्द्रको भ्रमणका क्रममा पुटिनले ट्रम्पसँग फोनवार्ता हुनलागेको भन्ने कुराको पुष्टि गर्दै संक्षिप्तमा भने, “हो, म आज अमेरिकी राष्ट्रपतिसँग कुरा गर्नेछु ।”
ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलमा गरेकोे आह्वानलाई पुष्टि गर्दै अमेरिकी समयअनुसार बिहान १० ः०० बजे वार्ता सुरु हुने बताइएको छ । मस्कोले युक्रेनमाथि जारी आक्रमणका बावजुद यी दुईले हालैका हप्ताहरूमा एकअर्काको प्रशंसा गरेका छन्। पुटिनले गत हप्ता ट्रम्पप्रति आफ्नो ठूलो सम्मान रहेको र केही कठिनाइका बाबजुद पनि अमेरिकी सम्बन्धमा सुधार भइरहेको बताएका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनको प्रतिक्रिया ‘निकै राम्रो’ भएको बताएका थिए ।
एजेन्सी १९ असार, काठमाडौं । जासुसी गरेको र गुप्तचर सेवामा काम गर्न अमेरिकी नौसेनाका सदस्य भर्ती गर्न खोजेको आरोपमा दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको अमेरिकी न्याय मन्त्रालयले मङ्गलबार जनाएको छ । आरोपित ३८ वर्षीय युन्स चेन र ३९ वर्षीया लिरेन लाईलाई चीन सरकारको एजेन्टको रूपमा काम गरेको अभियोगमा दोषी ठहरिएमा बढीमा १० वर्षको जेल सजाय हुने मन्त्रालयले जनाएको छ ।
ओरेगनको ह्याप्पी भ्यालीनिवासी चेन र गत अप्रिलमा पर्यटक भिसामा टेक्सासको ह्युस्टन आइपुगेका लाइलाई एफबीआईले शुक्रबार पक्राउ गरेको हो । एक आपराधिक उजुरीका अनुसार चेन र लाइले चीनको राज्य सुरक्षा मन्त्रालयको तर्फबाट संयुक्त राज्य अमेरिकामा धेरै गुप्तचर गतिविधिहरू गरेका थिए। राष्ट्रिय सुरक्षा जानकारीको लागि नगद भुक्तान गर्ने र राज्य सुरक्षा मन्त्रालयको सम्भावित सम्पत्तिको रूपमा अमेरिकी नौसेनाका सदस्यहरू भर्ती गर्न खोजेको आरोप उनीहरूमाथि लगाइएको छ ।
महान्यायाधिवक्ता पामेला बोन्डीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “यो घटनाले हाम्रो सेनामा घुसपैठ गर्न र हाम्रो राष्ट्रिय सुरक्षालाई भित्रबाट कमजोर पार्न चीन सरकारको निरन्तर र आक्रामक प्रयासलाई दर्शाउँछ।” आपराधिक उजुरीअनुसार लाइले सन् २०२१ मा संयुक्त राज्य अमेरिकाका कानुनी स्थायी बासिन्दा चेनलाई राज्य सुरक्षा मन्त्रालयका लागि काम गर्ने जिम्मेवारीसहित भर्ती गरेका थिए ।
बुधबार यस घटनाबारे सोधिएको प्रश्नमा चीनको विदेश मन्त्रालयले ‘तथाकथित चिनियाँ जासुसहरूको हाइपिङको विरोध गरेको’ बताएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भने, “हामी चिनियाँ नागरिकको कानुनी अधिकार र हितको रक्षाका लागि पनि आवश्यक कदम चाल्नेछौं ।”
एजेन्सी १९ असार, काठमाडौं । संयुक्त राज्य अमेरिकाले आफ्नो वैदेशिक सहयोगमा गरेको व्यापक कटौतीका कारण सन् २०३० सम्ममा विश्वका अति कमजोर र जोखिममा परेका समुदायहरूमा एक करोड ४० लाखभन्दा बढी व्यक्तिको मृत्यु हुन सक्ने अनुमान गरिएको छ । एक तिहाइभन्दा बढी मृतकहरू पाँच वर्षमुनिका बालबालिका हुने सम्भावना रहेको अध्ययनले देखाएको छ । यो अध्ययन स्वास्थ्य क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय पत्रिकामा प्रकाशित गरिएको हो, जुन हाल स्पेनको सेविल्ला सहरमा सम्पन्न अन्तर्राष्ट्रिय सहयोग सम्मेलनको सन्दर्भमा सार्वजनिक गरिएको हो । सो सम्मेलनमा विश्वभरका नेताहरू तथा विज्ञहरू सहभागी भएका थिए ।
उक्त अध्ययनमा विगतमा गरिएको सहयोगको प्रभाव मूल्याङ्कन गर्दै विकासशील मुलुकहरूमा अमेरिकाको वैदेशिक सहयोगबाट सन् २००१ देखि २०२१ सम्ममा करिब नौ करोड १८ लाख व्यक्तिको ज्यान बचाइएको उल्लेख गरिएको छ । यो संख्या दोस्रो विश्वयुद्धमा मृत्यु भएका मानिसहरूको तुलनामा पनि बढी रहेको छ । सन् २०२५ मा राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः सत्तामा फर्किएपछि अमेरिकी सरकारद्वारा वैदेशिक सहायता कार्यक्रमको करिब ८३ प्रतिशत बजेट कटौती गरिएको थियो । यो नीतिले दीर्घकालीन रूपमा स्वास्थ्य सेवामा नकारात्मक प्रभाव पार्ने सम्भावनाबारे विज्ञहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
सहयोग कटौतीको प्रत्यक्ष असरस्वरूप, विशेष गरी पाँच वर्षमुनिका बालबालिका सबैभन्दा बढी प्रभावित हुने प्रक्षेपण गरिएको छ । अध्ययन अनुसार, आगामी पाँच वर्षभित्र ४५ लाखभन्दा बढी बालबालिकाको मृत्यु हुने जोखिम छ, जुन वार्षिक हिसाबमा करिब सात लाख बाल मृत्यु बराबर हो । विज्ञहरूका अनुसार अमेरिकाबाट प्राप्त सहयोगले एचआईभी÷एड्स, मलेरिया तथा अन्य उपेक्षित रोगहरू विरुद्धको उपचार तथा रोकथाममा महत्वपूर्ण योगदान पु¥याएको थियो । ती क्षेत्रमा सहयोग पाएका देशहरूमा मृत्युदर ६५ प्रतिशतसम्म घटेको देखिएको छ ।
संयुक्त राष्ट्रसंघको एचआईभी कार्यक्रम (युएनएड्स) प्रमुख विनी ब्यान्यीमाले सहयोग कटौतीका कारण चार वर्षभित्र ६६ लाख नयाँ एचआईभी संक्रमण र ४२ लाख मृत्यु हुनसक्ने जानकारी दिनुभयो, जसमा तीन लाख बालबालिका पनि समावेश हुनेछन् । अमेरिकी सहयोग कटौतीपछि, फ्रान्स, जर्मनी, बेलायत लगायतका अन्य प्रमुख दातृ राष्ट्रहरूले पनि आफ्नो सहायता बजेट घटाउने घोषणा गरेका छन् । यसले हालको संकटलाई अझ गहिरो बनाउने विज्ञहरूको धारणा रहेको छ ।
स्पेनको सेविल्ला सहरमा हालै सम्पन्न अन्तर्राष्ट्रिय सहयोग सम्मेलनमा दर्जनौँ मुलुकका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए । यद्यपि, संयुक्त राज्य अमेरिका भने सो सम्मेलनमा सहभागी भएन। सम्मेलनमा साझा प्रतिबद्धता दोहो¥याइएको घोषणापत्र जारी गरिएको भए तापनि, त्यसले कानुनी बाध्यता भने राख्दैन ।
यस अध्ययनले सामान्य नागरिकको सानो सहयोगबाट पनि ठूलो परिणाम हासिल गर्न सकिने देखाएको छ । एकजना अनुसन्धानकर्ताका अनुसार, अमेरिकी नागरिकहरूले दैनिक करिब १७ पैसा बराबर सहयोग गरिरहेका थिए, जुन वार्षिक रूपमा करिब ६४ अमेरिकी डलर हुन आउँछ । यस्तो सानो रकमले करोडौँ मानिसको जीवन जोगाउन सक्ने सम्भावना रहेको भन्दै, यदि नागरिकलाई यसको प्रभावबारे जानकारी गराइयो भने उनीहरू सहयोग जारी राख्न इच्छुक हुने सम्भावना उच्च रहेको उनले उल्लेख गरे ।
एजेन्सी १७ असार, काठमाडौं । इजरायलसँग भएको १२ दिन लामो युद्धका क्रममा इरानमा कम्तीमा ९३५ जनाले ज्यान गुमाएको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ । युद्धविराम लागू भएको करिब एक सातापछि यो विवरण सार्वजनिक गरिएको हो । “सियोनवादी शासनद्वारा हाम्रो देशमाथि थालिएको १२ दिने युद्धको क्रममा हालसम्म ९३५ जना शहीदको पहिचान गरिएको छ,” न्याय परिषद्का प्रवक्ता असगर जहाङ्गीरलाई उद्धृत गर्दै सरकारी समाचार संस्था इरना ले जनाएको छ । मृतकमध्ये १३२ जना महिला र ३८ जना बालबालक रहेका छन् ।
इरानका अनुसार जुन १३ गते इजरायलले इरानका सैनिक शिविर, आणविक अनुसन्धान स्थल र आवासीय क्षेत्रहरूलाई लक्षित गरी बम आक्रमण शुरु गरेको थियो । ती आक्रमणमा उच्चपदस्थ सैनिक अधिकृतहरू र वैज्ञानिकहरूको मृत्यु भएको उल्लेख गरिएको छ । इरानले पनि जवाफी कारबाहीस्वरूप मिसाइल र मानवरहित विमान प्रयोग गरी इजरायलका प्रमुख सहरहरूमा आक्रमण गरेको थियो। इजरायली अधिकारीहरूका अनुसार ती कारबाहीमा २८ जनाको मृत्यु भएको थियो । दुवै देशबीच जुन २४ गते युद्धविराम लागू भएको हो ।
१७ असार, काठमाडौं । अमेरिकाद्वारा मध्य अमेरिकी निर्यातमाथि गरिएको भन्सार शुल्क अनुचित मात्र नभई क्षेत्रीय अर्थतन्त्रका लागि गम्भीर चुनौती बन्ने अर्थशास्त्रीले चेतावनी दिएका छन् । फाउन्डेशन फर द डेभलपमेन्ट अफ सेन्ट्रल अमेरिकाका अध्यक्ष डा. ओस्कार काब्रेराले यस कदमका कारण कृषि तथा वस्त्रजस्ता प्रमुख निर्यात क्षेत्रहरूमा प्रतिकूल असर पर्न सक्ने बताउनुभयो, जसले गर्दा सम्पूर्ण क्षेत्रको निर्यातमा करिब एक–दुई प्रतिशतको गिरावट आउने सम्भावना रहेको छ ।
उनले एल साल्भाडोरले मात्रै यस वर्ष करिब १०० मिलियन अमेरिकी डलर बराबरको आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था आउन सक्ने बताए ।यसबाहेक, आयातमा निर्भर खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यक वस्तुहरूको मूल्यमा वृद्धि हुने सम्भावना रहेकाले आम नागरिकको दैनिक जीवनमा थप आर्थिक दबाब सिर्जना हुन सक्ने उनकोभनाइ छ। यसले मुद्रास्फीति समेत बढ्न सक्ने संकेत गरेको छ ।
डा. काब्रेराले मध्य अमेरिकी राष्ट्रहरूलाई अमेरिकी बजारमा निर्भरता घटाउँदै वैकल्पिक व्यापार साझेदारहरूको खोजी गर्न तथा दीर्घकालीन औद्योगिक नीतिहरू निर्माणमार्फत आर्थिक विविधीकरणको मार्ग अँगाल्न आग्रह गरेका छन् । “हामीले छोटो अवधिका व्यापारिक प्रभावको समाधान गर्दै दीर्घकालीन रूपमा उत्पादनशीलता, नवप्रवर्तन तथा उच्च मूल्य सिर्जना गर्ने औद्योगिक संरचना निर्माणतर्फ ध्यान दिन आवश्यक छ,” उनले भने ।
मे १८ तारिख आइतबार बिहानको २:३९ बजे फोनको घण्टी बेस्सरी बज्यो । चकमन्न रातमा कतिबेर बजेपछि म ब्यूझिएछु हेक्का भएन । नचिनेको नम्बर थियो तर पनि सधैंव झैं उठाएँ । “म रेचल माउण्ट साइनाई हस्पिटल म्यानहयाटनबाट । म गुप्ता डंगोलको कोअर्डिनेटर हुँ । तँ गुप्ताको छोरा योगेश हो ?” भनेर एक्कै सासमा सोध्यो । मैले उत्साह र जिज्ञाशाको भाव दबाएर समान्य किसिमले “हो” मात्र भनें । “तेरो आमालाई ‘अर्गेन अफर’ छ । स्विकार्ने हो ? हो, भने छिटो भन्, तँसँग त्यतिधेरै निर्णय गर्ने समय खासै छैन” समेत भन्न भ्यायो । करिब २ हप्ताअघि पनि ६७ बर्षको महिलाको अफर आएर पनि तुरुन्तै ‘नमिल्ने भनेर’ हामीलाई निराश बनाईसकेको थियो । त्यसैले मलाई हर्ष वा बिस्मातको भावले खासै छुन सकेको थिएन । यद्यपि ८ बर्ष लामो डायलाइशिसको पिडा आमाले खेपेको देखेकोले मैले आशाको लामो श्वास फेरें । बिगत ६ बर्षदेखि नेपाल जान रोकिएको मेरो नेपाल मोहले अलिकति राहत महसुस् गर्यो ।
हप्ताको ३ पटक करिब ४ घण्टा लगाएर हातमा सर्जरी गरेर बनाएको ‘फिस्टुला’ मार्फत शरिर भरिको रगत मेसिनमा पठाउने र रगतको पानी/बिकार मेसिनले छानेर पुन: रगतलाई शरिरमा पठाउने प्रकृया (हेमोडायलाइसिस्) सजिलो जस्तो लागेपनि साह्रै पिडादायी हुन्छ । अत्यन्तै मोटो पाइपवाला दुइवटा सियोले दुईतिर घोचेर सुईले पटक पटक पोजिसन लिनुपर्ने भएकोले बिरामीको पिडादायी खपाई महसुस मात्र गर्दापनि सिरिङ्ग हुन्छ । पाईपमा रगत क्लग (जम) हुने । पुन: अर्को ठाउँमा घोच्नुपर्ने । बिरामीको प्रेशर र अक्सिजन एक्कासी घटेर कयौं पटक डायलाइसिस सेन्टरबाट अस्पतालमा कुदाउनु पर्ने घटना सामान्य जस्तै भइसकेको हुन्छ । यदाकदा डायलाइसिसकै क्रममा कयौं बिरामी घर नफर्केको दृष्य स्विकारेर नै यो सबै प्रकृया भइरहेको हुन्छ ।
खैर, मैले सोध्ने कुरा लाख थियो, सोच्ने करोड । तर केही सोध्नुअघि “हामी रेसिपेण्टले थाहा पाउनु पर्ने केही भए भन्नुस्” भनेर कोअर्डिनेटर रेचललाई अनुरोध गरें । उसले भन्यो “तेरो आमाको फाइलमा “हेप्सी” खुल्ला रहेछ । रेस, जेण्डर, कलरको पनि पाबन्दी रहेनछ अनि यो अफर अल्गरिदमले टप लिष्टमा भएकाहरुलाई पठाएको हो । यहाँ आएपछि मेरो नम्बरमा फोन गर । हामी पर्खिराको हुन्छौं” भन्यो । मलाई नेफ्रोलोजिष्टले (मृगौलाको डाक्टर) पहिले लिष्टमा राख्दा नै हेपाटाइटिस् सि आजकल कुनै समस्या होइन । ३ महिना औषधि खाए निको हुन्छ । मलाई ट्रान्सप्लाण्टपछि हेपाटोजिष्टले (कलेजोको डाक्टर) हेर्नेछ भन्ने ज्ञात थियो । ७ बर्ष पर्खाइको सूचिमा बस्दैगर्दा मैलेपनि धेरथोर यस बिषयमा अनुमान लगाउन सक्ने भइसकेको थिएँ ।
शरिरको मुख्य मुख्य अंगहरुको बिशेषज्ञहरुले क्लियरेन्य दिएपछि मात्र रेनल ट्रानसप्लाण्ट (मृगौला प्रत्यारोपण) मा योग्य हुने भएकोले, सो गरिसक्दा मैले अवस्था अनुमान गरिसकेको थिएँ । उसको अनुसार हेप्सी भनेको हेपाटाइटिस् सी संक्रमित भन्न खोजेको हो । “अस्पतालको टिमले र मेडिकल साइन्सले गर्न मिल्ले भएर त भनेको होला नि !” भनेर भनें । उस्को कुरा अनुसार ४६ बर्षको पुरुषको मृगौंला रहेछ । उसैको एउटा मृगौला मेरो आमालाई प्रत्यारोपण गर्ने मोटमोटी जानकारी पाएँ । लिभिङ् डोनर (मृगौला दिने जिउँदो मान्छे) नहुने हामी जस्तो बिरामी र परिवारले लिष्टमा कुर्ने बाहेक बिकल्प नै हुँदैन । मैले परिवारको कसैलाई पनि नसोधि कोअर्डिनेटरलाई “हुन्छ म आमालाई लिएर अहिले नै आउँछु” भनेर भनें ।
एकछिन् किंकर्तव्यविमूढ भएँ । मेरो श्रीमती रमीले मलाई सहज बनाउन आमालाई उठाउन जानु भन्न थाली । मेरो बुवाआमाको कोठाको ढोका लक हुँदैन, त्यसैले मैले सिधै ढोका खोलेर आमाबुबालाई उठाएँ । बेलिबिस्तार लगाएँ । दुबै अकर्मण्य हुनु भो । लुगा लगाउनु छिटो भनें । म र रमी पनि तयार भयौं । मैले एम्बुलेन्स चाहिदैन भनिसकेको थिएँ त्यसैले हामी ४ जना करिब बिहानको सवा ३ बजेतिर मेरै गाडीमा निस्कियौं । २०७२ सालमा भुकम्पपछि आमाको मृगौंला खराब भएको आज ठ्याक्कै १० बर्षमा पालो आयो, अब सजिलो हुन्छ । अमेरिकाको अस्पताल गज्जब राम्रो हुन्छ । जस्ता आमालाई खुसी र हौसला मिल्ने गफ गर्दै करिव २५ मिनेटमा म्यानह्याटनको माउण्ट साइनाई हस्पिटल पुग्यौं ।
म आमाबुवा र रमीलाई छाडेर गाडी पार्किङ खोज्न थालें । ५ मिनेटपछि म पुग्दा रमी र बुवाले माथि लगेर भर्ना गरिसकेको रहेछ । आमाको मुटुको अब्लेशन (पाइप लगाएर धड्कन मिलाउने सर्जरी) र भल्भ रिपेयर गरि सकेकोले कार्डियोलोजिष्टले सबै चेक गर्यो । तर आमाको शरिरमा धेरै पानी देखियो किनकि डायलाइसिस् नगरेको २ दिन भइसकेोको थियो । आमाले ७ बर्षदेखि १ थोपा पनि पिसाब गर्नुभएको थिएन । डायलायसिस् गर्ने मेसिन नै आमाको किड्नि थियो । तत्कालै पानी निकाल्न त्यहीबेला नै डायलायसिस् गर्नुपर्ने भयो । करिव ८ बजेतिर प्रकृया सकेर ओआरमा (अपरेसन रुम) लग्यो ।
हामीलाई एनेस्थेसियोलोजिष्टदेखि सर्जन र नर्सहरुले थरिथरको जानकारी दिंदादिदै विहानको १० बजायो । आमालाई ओआरमा लगेपछि हामी एकैछिनको लागि घर फर्कियौं । करिव ४ घण्टा लामो सर्जरी भएछ । डाक्टरले फोन गरेर शल्यक्रिया सफल भएको जानकारी गराएपछि बुवा र म अस्पताल फर्कियौं । दिउँसोको ३ बजे आमालाई रिकभरीमा भेट्न बुबा र म गयौं । क्याथेटर (पिसाब वा रगत निस्कने पाइप) र आईभी (हातबाट औषधि दिने पाइप) लगाइएको सिथिल आमाको बन्द आँखा बिस्तारै खु्ल्यो । जन्मदै लिएर आएको पछाडि ढाडको मुनि हुने २ वटा किड्निलाई नचलाउँदो रहेछ । केवल आवश्यक नसाहरु र युरेटर (किड्निबाट मुत्र थैलीमा पिसाब जाने पाइप) मात्र छुटाएर नयाँ किड्निमा जोड्दो रहेछ । नयाँ किड्निलाई अगाडि तल्लो पेटनेर करिब ८ इन्च काटेर भित्र राख्दो रहेछ । सर्जनले अपरेसन राम्रो भयो । आमाले राम्रो किड्नि पाउनु भो भनेर हामीलाई वजनदार महसुल गराए । आमाले ७ बर्षपछि पिसाब गर्न थाल्नुभो । सुख्खा पिसाबको थैलीमा अब पिसब जम्मा हुन थाल्यो । पानी नखानु भनेर भनिरहनु पर्ने आमालाई अहिले पानी पिएकोपिएै गर्नु भनेर भनिरहनु पर्ने दिन आएको छ । बुबालाई सबै बुझाएँ । नेपालमा रञ्जना मामूलाई जानकारी गराएँ ।
५ दिनपछि अस्पतालबाट डिस्चार्ज गर्नुअघि डायटिसियन र फर्मासिष्टले पटक पटक के कति कसरी कहिले खाने इत्यादि सिकाइ रहन्थे । २ महिनासम्म हप्तामा २ पटक ल्याब र डाक्टर भिजिट हुँने सेड्यूल पाएँ । दिनमा १८ चक्की औषधि खानुपर्ने बतायो । एण्टी रिजेक्सनको २ चक्की औषधि चाहिँ जीवनभर खानुपर्ने रहेछ । अन्य एण्टी इन्फेसन, पेन मेडिकेशनहरु आवधिक रहेछ । पुरानो अन्य रोगको औषधि निरन्तर गर्दो रहेछ । २ हप्तापछि हेपाटोलोजिष्टले १० हप्ताको लागि हेप्सी (हेपाटाइटिस् सी) को मेडिकेशन शुरु गरायो । अब केही समयपछि किड्निदेखि ब्लाडरसम्म युरेटर भित्र राखेको स्टेन्ट निकालेपछि प्रकृया पुरा हुने रहेछ । एक दिन बिराएर एम्बुलेट (रातो बत्ति र साइरन नभएको) मा डायलायसिस सेन्टर जानुको बदलामा फलोअप र खानामा सावधानी अपनाउनु पर्ने जिम्मेवारी स्विकारेर हामी खुसी छौं ।
१२ असार, काठमाडौं । लेबनानको दक्षिणी क्षेत्रमा इजरायलले गराएका दुई छुट्टाछुट्टै हवाई आक्रमणमा हिजबुल्लाह समूहका दुई सदस्यको मृत्यु भएको छ। यो जानकारी स्थानिय सञ्चार माध्यम र सुरक्षा स्रोतहरूबाट प्राप्त भएको हो। लेबनानको आधिकारिक राष्ट्रिय समाचार संस्थाका अनुसार, इजरायली ड्रोनले दक्षिण लेबनानको बायत लिफ गाउँको पश्चिमी प्रवेशद्वारमा एउटा मोटरसाइकललाई लक्षित गरी आक्रमण गर्दा एक जनाको ज्यान गएको हो।
त्यसैगरी अर्को घटनामा, शक्रा र बराचित गाउँहरूबीच सडक निर्माणका लागि प्रयोग भइरहेको एक बुलडोजरलाई अर्को ड्रोन आक्रमणले लक्षित गर्दा एक जनाको मृत्यु भएको सार्वजनिक स्वास्थ्य मन्त्रालयको आपत्कालीन स्वास्थ्य कार्य सञ्चालन केन्द्रले जनाएको छ।
लेबनानी सुरक्षाकर्मीले सिन्ह्वालाई दिएको जानकारीअनुसार, दुबै मृतकहरू हिजबुल्लाहसँग सम्बद्ध थिए। यी घटनाहरू इजरायल र हिजबुल्लाहबीच नोभेम्बर २७, २०२४ देखि लागू भएको युद्धविराम सम्झौताका बावजुद भएका हुन्। सो सम्झौताले गाजा क्षेत्रमा भएको युद्धपछि करिब एक वर्ष लामो संघर्ष अन्त्य गराएको थियो। यद्यपि, इजरायली सेनाले हिजबुल्लाहबाट हुने सम्भावित खतरा हटाउने उद्देश्यले छिटपुट रूपमा लेबनानमा आक्रमण जारी राखेको दाबी गर्दै आएको छ।
एजेन्सी १२ असार, अमेरिकी अर्थतन्त्र सन् २०२५ को पहिलो तीन महिनामा अघिल्लो अनुमानभन्दा बढी घटेको सरकारी तथ्याङ्कले देखाएको छ । अमेरिकी वाणिज्य विभागले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार, पहिलो त्रैमासिकमा कुल गार्हस्थ उत्पादन (जीडीपी) वार्षिक दरमा ०.५ प्रतिशतले घटेको हो । यसअघि ०।२ प्रतिशतको गिरावट हुने अनुमान गरिए पनि हालको तथ्याङ्कले त्यसलाई परिमार्जन गर्दै सङ्कुचन अझ गहिरो भएको देखाएको छ। गत वर्षको अन्तिम त्रैमासमा अमेरिकी अर्थतन्त्र २.४ प्रतिशतले वृद्धि भएको थियो ।
जीडीपी घट्नुमा उपभोग खर्च र निर्यात अपेक्षाभन्दा कमजोर हुनु मुख्य कारण मानिएको छ। साथै, राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः कार्यभार सम्हालेपछि लगाइएका व्यापक भन्सार शुल्कका कारण आयातमा तीव्र वृद्धि भएको छ । व्यापारिक साझेदारहरूबाट आयातमा लाग्ने नयाँ कर लागू हुनुअघि व्यापारीहरूले ठूलो मात्रामा सामग्री आयात गरी भण्डारण गरेकाले यो असर देखिएको हो ।
जीडीपीको गणनामा आयात नकारात्मक रूपमा गनिन्छ, जसका कारण सरकारी खर्चमा गिरावट र उपभोगमा कमजोरीसँगै समग्र अर्थतन्त्रमा घटावट देखिएको हो । वाणिज्य विभागका अनुसार, हालको परिमार्जित अनुमानले उपभोग खर्च र निर्यातमा गिरावट देखाएको छ, यद्यपि आयातको गिरावटले केही हदसम्म त्यसको असरलाई न्यून तुल्याएको छ ।
हाल अमेरिकी प्रशासनले अधिकांश व्यापारिक साझेदारहरूबाट आउने सामानमा १० प्रतिशत भन्सार कर घोषणा गरिसकेको छ, जुन अझै कार्यान्वयनको चरणमा पुगेको छैन । तर जुलाईमा सो निर्णय कार्यान्वयन हुने सम्भावना भएकाले बजारमा अनिश्चितता बढेको छ । राष्ट्रपति ट्रम्पले स्टिल, एल्युमिनियम र सवारीसाधन आयातमा समेत उच्च कर लगाएका छन् ।
यस्ता कदमहरूले बजारमा अस्थिरता ल्याउनुका साथै आपूर्ति प्रणालीमा बाधा र उपभोक्ताहरूको मनोबलमा गिरावट ल्याएको अर्थविद्हरूको भनाइ छ । हालका लागि नीति निर्माताहरूले गर्मीयामभर आर्थिक तथ्याङ्कहरू नजिकबाट विश्लेषण गरिरहेकाले आगामी नीतिमा त्यसको असर देखिने अनुमान गरिएको छ ।