Category: अमेरिका

  • जेरूसलेम, तेल अविभको भ्रमणमा नजान अमेरिकाले गर्यो यात्रा एडभाइजरी

    जेरूसलेम, तेल अविभको भ्रमणमा नजान अमेरिकाले गर्यो यात्रा एडभाइजरी

    काठमाडौं । अमेरिकाले इसराइलस्थित दूतावासमा कार्यरत आफ्ना कर्मचारीहरूलाई यात्रा प्रतिबन्ध लगाएको छ। इसराइलमा इरानले आक्रमण गर्ने खतरा रहेकाले अमेरिकी दूतावासमा कार्यरत आफ्ना नागरिकहरूलाई बाहिर ननिस्कन भनेको हो। बिबिसीका अनुसार इसराइलस्थित अमेरिकी दूतावासले जेरूसलेम, तेल अविभ, बेरसेवा लगायतका क्षेत्रहरूमा यात्रा गर्न प्रतिबन्ध लगाएको छ। इसराइलले ११ दिनअघि सिरियास्थित इरानी दूतावासमा आक्रमण हुँदा त्यहाँ इरानी कुड्स फोर्सका वरिष्ठ कमाण्डर र सैन्य अधिकारीसहित १३ जना मारिएका थिए।

    इरानले उक्त आक्रमणमा इसराइलको हात रहेको बताउँदै त्यसको बदला लिने घोषणा गरेको थियो। यद्यपि इसराइलले उक्त आक्रमणको जिम्मा लिएको छैन। इसराइल अक्टोबरदेखि प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासँगको लडाईंमा छ। सोही क्रममा हिजबुल्लाह लगायत हमासका अन्य सहयोगी विद्रोही समूहसँग उसको युद्ध जारी छ।

    बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले इसराइलमा इरानी आक्रमणको खतराबारे बताउँदै त्यसमा इसराइललाई रक्षा गर्न अमेरिका तयार रहेको बताएका थिए। इसराइलमा इरानले आक्रमण गर्छ कि उसको तर्फबाट सहयोगी राष्ट्र तथा अन्य विद्रोही समूहले आक्रमण गर्छ भन्ने निश्चित नभएको बिबिसीले उल्लेख गरेको छ।

  • अमेरिकी चेम्बर अफ कमर्शले भेट्यो अर्थमन्त्री, के भयो कुराकानी ?

    अमेरिकी चेम्बर अफ कमर्शले भेट्यो अर्थमन्त्री, के भयो कुराकानी ?

    काठमाडौं । अमेरिकी चेम्बर अफ कमर्सले कर स्थायित्वको वातावरण निर्माण गर्न सरकारसँग माग गरेको छ । सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा अमेरिकी चेम्बर अफ कमर्सका प्रतिनिधिले यस्तो माग गरेका हुन् । अमेरिकन च्याम्बर अमेरिकी लगानीमा नेपालमा स्थापना भई सञ्चालनमा रहेका उद्योगी व्यवसायीहरूको हक हित संरक्षण र प्रवर्द्धन गर्न स्थापित संस्था हो ।

    संस्थामा करिब ५० उद्योग व्यवसाय आबद्ध छन् । भेटमा प्रत्यक्ष वैदेशिक लगानीको महत्व नेपालमा झन् बढ्दै गएको भन्दै स्थायी कर नीतिको माग गरिएको हो । लगानीको क्षेत्र विस्तार गर्न, पूर्व बजेटमा घोषित एफडीआईसम्बन्धी कानुनको कार्यान्वयन विशेष गरी नेपाली आईटी कम्पनीहरूलाई विदेशमा लगानी गर्न अनुमति दिनेसम्बन्धी कानुनहरू बनाउन समेत अर्थमन्त्रीसँग माग गरिएको छ ।

    लगानी सहजीकरण, एफडीआई भएका कम्पनीहरूको हकमा आईपीओपछि एक वर्षको लकअप अवधि, लगानी फिर्ता गर्ने र सहायक कम्पनीका कर्मचारीले प्रधान कार्यालयको सेयर राख्न पाउने सुविधाको समेत माग गरिएको छ ।

    डिजिटल सेवा निर्यात गर्ने व्यवसायलाई छुट दिन, डिजिटल भुक्तानी प्रणालीलाई अनिवार्य गर्न, विद्यमान द्विपक्षीय कर सम्झौता (डीटीएए) को सम्मान गर्दै सरकारलाई थप देशहरुसँग सम्झौता हस्ताक्षर गर्न समेत माग गरिएको छ ।

    अमेरिकी लगायत लगानीकर्ताको हकमा व्यवसायिक भिसाको अवधि बढाउन, व्यावसायिक भिसाको अग्रिम प्रशोधन, लगानीकर्ताको पति वा पत्नीलाई व्यावसायिक भिसा तथा व्यवसायमा काम गर्नेका लागि गैरपर्यटक भिसा दिन समेत माग गरिएको छ । भेटमा अर्थमन्त्री पुनले सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्ने बताए । लगानी सम्मेलनको वातावरण बनाउन लगानीसम्बन्धी ऐनका दर्जन प्रावधानमा संशोधन गर्न लागिएको र उक्त संशोधन वैदेशिक लगानी आकर्षित गर्न मात्र नभई आन्तरिक लगानीको वातावरण निर्माणका लागि समेत भएको उनले बताए ।

    मुलुकमा तीव्र आर्थिक विकासका लागि आन्तरिक श्रोत परिचालन मात्र पर्याप्त नहुने भएकाले बाह्य लगानी आकर्षित गर्नैपर्नेमा अर्थमन्त्री पुनले जोड दिए । नेपालमा लगानीको वातावरण बनाउनुपर्छ भन्नेमा राजनीतिक दलहरूबीच एकमत रहेको उनले बताए । ‘सरकारले निजी क्षेत्रलाई ‘ड्राइभिङ’ सिटमै राखेर काम गर्ने हो,’ मन्त्री पुनले भने, ‘सरकार र निजी क्षेत्रबीच आपसी साझेदारी र विश्वासका साथ काम गरौं भन्नेमै प्रधानमन्त्री र मेरो जोड छ ।’

    लगानी वातावरणका लागि नीतिगत निरन्तरता र स्थायित्व हुनुपर्नेमा सरकार स्पष्ट गरेको चर्चा गर्दै उनले पछिल्लो डेढ देशकमा जलविद्युत् र सिमेन्ट उद्योगको विकासमा भएको प्रगतिका कारण नीतिगत स्थायित्व भएको उल्लेख गरे ।

  • इरानले इजरायलमा आक्रमण गर्न सक्ने आशंकाका बीच अमेरिकी सुरक्षा बल उच्च सतर्कतामा

    इरानले इजरायलमा आक्रमण गर्न सक्ने आशंकाका बीच अमेरिकी सुरक्षा बल उच्च सतर्कतामा

    काठमाडौं । संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले सिरियाको राजधानी दमास्कसस्थित आफ्नो कूटनीतिक नियोगको परिसरमा गरिएको हमलाको बदलामा इरानले इजरेलमा आक्रमण गर्न सक्ने भन्दै आफ्ना सुरक्षा बललाई ‘उच्च सतर्कता’ अवस्थामा राखिएको जनाएका छन्। इरानले पनि उसले सेनालाई ‘उच्च सतर्क’ अवस्थामा राखेको विवरणहरू आइरहेका छन्। गत सोमवार दमास्कसमा गरिएको आक्रमणमा रिभोल्युसनरी गार्ड्सका कमान्डरहरू मारिएका थिए र तेहरानले त्यसमा इजरेलको हात रहेको आरोप लगाइरहेको छ। इजरेली सेनाले प्रतिक्रिया दिन अस्वीकार गरेको छ।

    वाशिङ्टनमा इरानले मध्यपूर्वमा अवस्थित अमेरिकी सेना रहेका आधार शिविरहरू तथा नियोगहरूसमेत आक्रमण गर्न सक्ने आशङ्काहरू व्यक्त भइरहेका छन्। अमेरिकी सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका खबरहरूमा इजरेलमाथि आरोप लगाइएको दमास्कस हमलाको जवाफमा इरानले कुनै प्रकारको सैन्य कारबाहीको तयारी गरिरहेको जनाइएको छ।

    यद्यपि रमजानको अन्तिम शुक्रवार प्यालेस्टाइनको समर्थनमा मनाइने दिवस कुड्स डे कुनै पनि घटना बिना नै बितेको छ। तर पनि इरान वा यसको कुनै क्षेत्रीय साझेदारले उक्त महत्त्वपूर्ण दिनलाई आफ्ना कमान्डरहरूको ज्यान गएको हमलाको बदला लिनका लागि प्रयोग गर्न सक्ने कतिपयले ठानेका थिए।

    त्यस्तो नभए पनि अमेरिकी सञ्चारमाध्यमहरूमा आएका विवरणहरूले आक्रमण निकट भविष्यमै हुने आकलन गरिरहेका छन्। अमेरिकी अधिकारीहरूले एउटा बिफ्रिङ दिएका छन् जसमा उनीहरूले इरानले ड्रोन र क्रुज क्षेप्यास्त्र प्रयोग गरी हमला गर्ने योजना बनाइरहेको उल्लेख गरेका छन्। तर हमलाको समय र निसानाबारे कुनै जानकारी दिइएको छैन।

    एउटा अलग्गै अमेरिकी विवरणमा दुई जना इरानी अधिकारीहरूलाई उद्धृत गर्दै तेहरानले आफ्नो सैन्य बललाई उच्च सतर्कतामा राखेको जनाइएको छ।
    त्यसले हालै जगेडामा राखिएका सैनिकहरूलाई बोलाउने र लडाइमा खटिने सैनिकहरूको बिदा रद्द गर्ने इजरेली कदमको साङ्केतिक अर्थलाई प्रस्ट पार्छ।
    कुद्स दिवसका दिन दिएको सन्देशमा इरानसँग निकट सम्बन्ध रहेको शक्तिशाली क्षेत्रीय शक्ति हेजबुल्लाहका नेता हसन नसराल्लाहले दमास्कस आक्रमण जारी द्वन्द्वको निर्णायक मोड रहेको बताएका थिए।

    आउँदो हप्ता आक्रमण हुन सक्ने विवरण अमेरिकी सञ्चारमाध्यम सीएनएनले प्रकाशित गरेको छ। रोएटर्सका अनुसार एक जना अमेरिकी अधिकारीले त्यसलाई पुष्टि गर्दै भनेका छन्, “हामीले उच्चस्तरको निगरानी गरिरहेका छौँ।” इजरेलले आफ्नो देशका विभिन्न भागमा जीपीएस नचल्ने बनाएका विवरण आएका छन् । इजरेली युद्ध विमानहरूमाथि दमास्कसस्थित इरानी राजदूतावासमा बम खसालेको आरोप लागेको छ।

    सो आक्रमणमा एक जना इरानी सैन्य कमान्डर मारिएका थिए भने ७ जना इरानी सैन्य सल्लाहकारहरू मारिएको इरानको रिभोल्युशनरी गार्डस्‌ले जनाएको थियो। मारिनेमा विदेशी गुप्तचर समेत हेर्ने विशेष अर्ध सैनिक बल कुड्स फोर्सका एक जना वरिष्ठ कमान्डर मोहम्मद रेजा जाहेदी पनि रहेको विवरण आएका छन्। इरानले ‘निर्णायक प्रतिक्रिया जनाउने’ अधिकार आफूमा रहेको बताएको छ। उक्त घटनापछि इरानबाट हुन सक्ने जोखिमबारे अमेरिकी राष्ट्रपति जो बाइडनले इजरेली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुसँग छलफल गरेका छन्। बाइडन प्रशासनका एक जना वरिष्ठ अधिकारीले अमेरिकाले इरानबाट हुन सक्ने जोखिममा इजरेललाई पूर्ण समर्थन गर्ने बताएका छन्।
    बीबीसी

  • एप्पलले गर्यो ६ सय भन्दा धेरै कर्मचारी कटौती

    एप्पलले गर्यो ६ सय भन्दा धेरै कर्मचारी कटौती

    काठमाडौं । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले छ सयभन्दा धेरै कर्मचारी कटौती गरेको छ । यो आइफोनको जनशक्तिमा कोरोना महामारीपछिको ठूलो सङ्ख्यामा कर्मचारी कटौती हो । एप्पलले छ सय १४ कर्मचारीलाई निकालेको हो । कोरोना महामारीपछि अमेजन, मेटा, गुगल र अन्य प्राविधिक कम्पनीमा पनि कर्मचारी कटौती गरिएको थियो ।

    तर एप्पलले अहिलेसम्म महामारीको ठूलो असर भोगेको थिएन । ब्लुमबर्गले आइफोन निर्माता कम्पनीले कर्मचारी कटौती गर्नुपर्ने अवस्था विद्युतीय कार बनाउने असफल योजनासँग सम्बन्धीत रहेको उल्लेख गरेको छ । क्यालिफोर्निया राज्यको रोजगार विभागलाई गएको मार्च २७ तारिखमा मे महिनामा कर्मचारी कटौती हुन सक्नेबारे जानकारी गराइएको थियो ।

  • अमेरिकाको न्यूयोर्कमा भूकम्पको झट्का

    अमेरिकाको न्यूयोर्कमा भूकम्पको झट्का

    न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा भूकम्पको झट्का महसुस भएको छ । शुक्रबार आएको भूकम्पको तिव्रता ४.८ रेक्टर स्केल मापन गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरुमा न्युयोर्कको आइकोनिक प्रतिमा स्टेचु अफ लिबर्टी समेत हल्लिएको पाइएको छ । न्यूयोर्कका गगनचुम्बी भवन समेत केही बेर हल्लिएका थिए ।

    भूकम्पको केन्द्र न्यू जर्सी नजिकै रहेको पाइएको छ । यसको अनुभव भने पेन्सिलभेनियासम्म गरिएको छ । अहिलेसम्म भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन । यूनाइटेड स्टेट्स अफ नियोलोजिकल सर्वेका अनुसार मूख्य भूकम्पपछि ६ पराकम्पहरु महसुस भएको भएको थियो । जसमध्ये एटा ४ रेक्टरस्केल बराबरको थियो ।

  • लगानी सम्मेलनमा अमेरिकी चेम्बरका लगानीकर्ता आउने

    लगानी सम्मेलनमा अमेरिकी चेम्बरका लगानीकर्ता आउने

    काठमाडौं । अमेरिकी चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डल आगामी वैशाखमा हुने लगानी सम्मेलनमा सहभागी हुने भएको छ । सोमबार अर्थमन्त्री वर्षमान पुनसँग भेट गर्दै नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले यस्तो जानकारी गराएका हुन् । लगानी सम्मेलन सफल पार्न आफूहरुको तर्फबाट सहयोग हुने उनको भनाइ छ । भेटमा द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको थियो ।

    भेटमा अमेरिकी सहयोगमा नेपालमा सञ्चालित विकास विभिन्न विकास परियोजना पूर्वनिर्धारित समयमै सम्पन्न गर्नेबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।
    अर्थमन्त्री पुनले लगानी सम्मेलनको राम्रो तयारी भएको भन्दै लगानीमैत्री वातावरण निर्माणका लागि गरिनुपर्ने कानुनी र प्रक्रियागत सुधारको तयारी भइरहेको बताए । ‘प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकमै सबै खाले तयारी गर्न निर्देशन दिनुभएको छ,’ पुनले भने, ‘लगानीको वातावरण निर्माण हुने भएकाले बढीभन्दा बढी अमेरिकी लगानीकर्ता ल्याइदिन यहाँ र दूतावासबाट सहयोगको अपेक्षा गरेका छौं ।’

    राजदूत थम्प्सनले लगानी सम्मेलनको पूर्वसन्ध्यामा लगानी वातावरण रहेको सन्देश दिन मन्त्री पुनलाई आग्रह गरे । नेपालले लगानी वातावरण सुधारका लागि क्रेडिट मूल्यांकन (कन्ट्री रेटिङ) को काम अघि बढेको जानकारी पनि मन्त्री पुनले राजदूत थम्प्सनलाई दिए ।

  • अमेरिकामा नेपालकी एरिकाले जितिन् स्वर्ण पदक

    अमेरिकामा नेपालकी एरिकाले जितिन् स्वर्ण पदक

    काठमाडौं । नेपालकी कराँते स्टार एरिका गुरुङले युएस ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जितेकी छिन् । एरिकाले अमेरिकाको‌ टेक्ससमा जारी प्रतियोगितामा यु–२१ इलाइट महिला ६८ केजी माथि तौल समूहमा स्वर्ण पदक जितेकी हुन् । फाइनलमा उनले आयोजक अमेरिकाको खेलाडीलाई पराजित गरेकी हुन् ।


    चीनमा गत असोजमा भएको १९औँ एसियाली खेलकुद (एसियाड) मा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउन सफल एरिका युएस ओपन अन्तर्राष्ट्रिय करातेको ६८ केजी माथि (सिनियर) खुलातर्फ पनि फाइनलमा पुगेकी हुन् । यस प्रतियोगितामा सहभागि नेपालका अर्का खेलाडी विप्लभलाल श्रेष्ठ पुरुष ८४ केजी मुनि तौल समूहको सेमिफाइनलमा पराजित भए । चार सदस्यीय नेपाली कराँते टोलीको‌ प्रशिक्षकमा कुशल श्रेष्ठ र दीपक श्रेष्ठ छन् ।

  • नेपालमा कर छलेको अभियोगमा अमेरिकी कम्पनीविरुद्ध अहिलेसम्मकै ठूलो मुद्दा

    नेपालमा कर छलेको अभियोगमा अमेरिकी कम्पनीविरुद्ध अहिलेसम्मकै ठूलो मुद्दा

    काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छलीको आरोपमा १० अर्ब ३६ करोड ४५ लाख रुपैयाँ बराबरको मागदाबी गर्दै मुद्दा दायर गरेको छ । कोटिभिटी नेपाल प्रालिविरुद्ध मुद्दा दायर गरेको विभागले जनाएको छ । विभागले यस कम्पनीविरुद्ध ५ अर्ब १८ करोड २२ लाख ६१ हजार ३२१ रुपैयाँ बिगो
    र त्यति नै जरिबानाको दाबी गर्दै मुद्दा दायर गरेको हो । विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार एउटै व्यवसायिक कम्पनीलाई यति ठूलो मात्रामा सजाय मागदाबी गरी अभियोग दायर गरिएको यो पहिलोपटक हो ।

    यो कम्पनीले स्वामित्व परिवर्तनका बेला नेपाल सरकारको निकायलाई जानकारी नदिई आयकर ऐन २०५५ र मूल्य अभिवृद्धि ऐन २०५२ बमोजिम कर राजस्व समेत दाखिला नगरी राजस्व चुहावट गरेको विभागले जनाएको छ । कोटिभिटी नेपाल प्रालि पूर्ण वैदेशिक लगानीमा स्थापना भएको सूचना प्रविधि कम्पनी हो ।

    अमेरिकी लगानी रहेको यो कम्पनीको एकल सेयरधनी कोटिभिटी इन्क रहेको विभागले जनाएको छ । आफूमा निहीत रहेको शेयर स्वामित्व परिवर्तन र सो बाट कम्पनीको नियन्त्रण परिवर्तन भएको विषय सम्बन्धित निकायमा जानकारी नदिई सो बमोजिम सिर्जना हुने कर दायित्व पूरा नगरेको विभागको दाबी छ ।

    यसका साथै, नेपालमा आधिकारिक प्रतिनिधि भएको कम्पनीलाई सेवा निर्यात गर्दा मूल्य अभिवृद्धि कर तिर्नुपर्नेमा त्यो नतिरी छली गरिएको पनि विभागको आरोप छ । सोहीकारण साजयसहित बिगो र जरिवानासहित साढे १० अर्ब रुपैयाँ बराबरको भएको विभागको भनाइ छ ।

  • बाल्टिमोर पुल कोल्याप्स : दुई जनाको शव भेटियो

    बाल्टिमोर पुल कोल्याप्स : दुई जनाको शव भेटियो

    काठमाडौं । बाल्टिमोरमा पानीजहाज ठोकिएपछि भत्किएको पुलबाट खसेर नदीमा डुबेको एउटा ट्रकमा दुई व्यक्तिको शव फेला परेको अमेरिकी अधिकारीहरूले बताएका छन्। पट्याप्स्को नदीमाथि निर्मित २.६ किमि लामो फ्रान्सिस स्कट की ब्रिज भत्किँदा सडक मर्मत गर्न खटिएका आठ मजदुर पानीमा खसेका थिए। तीमध्ये दुई जनालाई जीवितै उद्धार गरिएको थियो। हराइरहेका बाँकी चार जना जीवित भेटिने सम्भावना नभएको अधिकारीहरूले बताएका छन्। यद्यपि खोजीकार्य जारी छ। अनुसन्धानकर्ताहरू घटनास्थलमा खटिएका छन्।

    पुलको भग्नावशेषले थिचिएको दुर्घटनाग्रस्त पानीजहाजमा भएका घातक सामग्री व्यवस्थापन गर्ने काम पनि भइरहेको छ। दुर्घटनामा परेका छमध्ये चार जनाको पहिचान गरिएको छ। मेरिल्यान्ड राज्यको प्रहरीले ट्रकभित्रबाट ३५ वर्षका एलिहान्ड्रो हर्नान्डेज फ्युन्टिज र २६ वर्षका कास्टिलो क्याब्रिराको शव फेला परेको जानकारी दिएको छ। फ्युन्टिजको मूल थलो मेक्सिको हो भने क्याब्रिरा ग्वाटेमालाबाट अमेरिका पुगेका हुन्।

    प्रहरीका अनुसार नदीमा रहेको भग्नावशेष र कङ्क्रिटका कारण गोताखोरहरूले सुरक्षित रूपमा खोजीकार्य अघि बढाउन सकेका छैनन्। खोजीकार्यमा सोनर स्क्यान पनि प्रयोग गरिएको छ। बाँकी शव रहेको ठानिएका सवारीसाधन पुलबाट खसेको कङ्क्रिट र अन्य संरचनाले सम्भवतः थिचिएको एक अधिकारीले बताए। बेपत्ता भएकामध्ये अरू दुई जनाको पनि नाम सार्वजनिक भएको छ। प्रहरीले तीमध्ये एक जना एल साल्भडोर र अर्का होन्डुरसका नागरिक भएको जनाएको छ। दुवै जनाको मृत्यु भएको मानिएको छ।

    यसअघि मेक्सिकोको विदेश मन्त्रालयले आफ्ना दुई नागरिकले ज्यान गुमाएको हुन सक्ने जनाएको थियो।तीमध्ये एकको पहिचान खुलेको छ भने अर्का व्यक्तिको जीवितै उद्धार गरिएको थियो। अधिकारीहरूका अनुसार नदीबाट उद्धार गरिएका एक जनालाई अस्पतालले बिदा गरेको छ। मङ्गलवार राति झन्डै १ः३० बजेतिर दुर्घटना भएपछि प्रतिकार्यका लागि खटेका उद्धारकर्ताले नदीमा खसेका मानिसहरूको खोज्न थालेका थिए।

    अमेरिकी कोस्ट गार्डले सूर्यास्त हुनै लाग्दा खोजीकार्य स्थगित गर्दै पुल भत्किएपछि कठ्याङ्ग्रिने चिसो पानीमा खसेका मानिस लामो समयसम्म जीवित नभएको अनुमान गरेको थियो। अधिकारीहरूले शव खोज्न प्रयास भइरहेको जनाएका छन्। “हामीले ती मानिसका परिवारलाई यथार्थ खबर दिनैपर्छ,” मेरिल्यान्डका गभर्नर वेस मोरले भनेका छन्।

  • गाजामा भोकमरी, युद्ध अपराध ठहरिने

    गाजामा भोकमरी, युद्ध अपराध ठहरिने

    काठमाडौं । महिनौँको चेतावनीपछि संयुक्त राष्ट्रसङ्घले सघाएको पछिल्लो एक प्रतिवेदनले तथ्याङ्कसहितको बलिया प्रमाण पेस गर्दै गाजाको मानवीय विपद् मानव सिर्जित अनिकाल बनेको जनाएको छ। राष्ट्रसङ्घका शीर्ष मानवअधिकार अधिकारीले बीबीसीका जेरमी बोअनसँगको एक अन्तर्वार्तामा त्यसको उल्लेख्य दोष इजरेलको रहेको र उसले गाजामा भोकमरीलाई युद्ध अस्त्रको रूपमा प्रयोग गरेको भरपर्दो आधार रहेको बताएका छन् । राष्ट्रसङ्घीय मानवअधिकार निकायका उच्चायुक्त फोल्कर ट्यूर्कले यदि उनीहरूको मनसाय पुष्टि भएमा त्यो युद्ध अपराध हुने बताए।


    इजरेलका अर्थमन्त्री तथा प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको दलका एकजना वरिष्ठ नेता निर बर्कटले ट्यूर्कको चेतावनीलाई पूरै बेतुकको – एउटा पूरै गैरजिम्मेवार अभिव्यक्ति भनेका छन्। इजरेली मन्त्रीमण्डलका अन्यलेझैँ बर्कटले समेत इजरेलले अमेरिका र अन्यत्रबाट आएका सहायता गाजा लैजान दिइएको दाबी गरेका छन्। इजरेलले राष्ट्रसङ्घ सहायता वितरण गर्न विफल भएको र यसअघि बचेखुचेको सामग्री समेत हमासले प्रयोग गरेको बताउने गर्छ।

    तर सहायता सामग्री भरिएको लरीहरूको लामो ताँती गाजाको इजिप्टतर्फको सीमानाका रफाहमा रोकिराखेको छ। ती इजरेलमार्फत मात्रै लम्बे प्रक्रिया र जाँच पासपछि गाजा प्रवेश गर्न पाउँछन्। गाजामा अत्यावश्यक सामग्रीको अभावले जोर्डन, अमेरिका र यूके सहितका देशलाई सहायता आकाशबाट छाड्ने उपाय रोज्न बाध्य पारेको छ।

    मानवीय सहायताका लागि त्यो सबैभन्दा कम प्रभावकारी तरिका मानिन्छ। तर राष्ट्रसङ्घीय उच्च अधिकारीको यस अभिव्यक्तिले इजरेललाई प्यालेस्टिनी नागरिकहरूको संरक्षण गर्न कानुनी जिम्मेवारीहरू पालना गर्न र मानिसहरूसम्म मानवीय सहायता पुर्‍याउन दबाब बढाएको छ।

    इजरेली सेनाको लडाइँ यतिखेर गाजाका तीन अस्पताल वरपर केन्द्रित बनेको छ। इजरेलले गाजा सहरको अल–शिफा अस्पताललाई ११औँ दिनयता कब्जा गरेको जनाउँदै त्यस बीचमा कम्तीमा २०० हमास र इस्लामिक जिहादी लडाकुहरू मारिएको जनाएको छ। तर एक प्यालेस्टिनी नागरिक समूहका प्रवक्ताले भने निर्दोष मानिसहरू मारिएको र लडाइँबीचमा महिला र बालबालिकाहरू फसेको जनाएका छन्।

    अस्पतालबाट बाहिर निकालिएका केही प्यालेस्टिनी चिकित्सकहरूले बिरामीहरूलाई तत्काल अन्यत्र सारिनुपर्ने बताएका छन्। दक्षिणतर्फको खान यूनिसमा इजरेली ट्याङ्क र स्थल फौजले पुनस् अल-अमल र अल-नासेर अस्पताल घेरेका छन्। नासेर अस्पतालमा हजारौँ मानिसहरू रहेकाले उनीहरूको सुरक्षा चिन्ता बढेको छ। बीबीसी संवाददाताले त्यहाँको अवस्था बताउँदै निकै कम अस्पतालले समेत आंशिक रूपमा मात्र काम गर्न सकिरहेको जनाएका छन्।
    बीबीसी

  • अमेरिकामा अन्धाधुन्ध चक्कु प्रहार, कम्तिमा चार जना मारिए

    अमेरिकामा अन्धाधुन्ध चक्कु प्रहार, कम्तिमा चार जना मारिए

    काठमाडौं । संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार गर्दा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । प्रहरीले उक्त घटनामा शङ्कास्पद आरोपी एक २२ वर्षीय युवकलाई पक्राउ गरेको रकफोर्ड प्रहरी प्रमुख कार्ला रेडले बताएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । कार्लाका अनुसार राति १ बजेतिर घटनास्थलबाट सहयोगका लागि प्रहरीमा खबर आएको थियो ।

    प्रहरीका अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने चौथो व्यक्तिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । मृत्यु हुनेमा १५ वर्षीया एक किशोरी, ६३ वर्षीया महिला, ४९ वर्षीय व्यक्ति र २२ वर्षीय युवा छन् । उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

    कार्लाका अनुसार घटनाका बारेमा विस्तृत विवरण प्राप्त गर्न पीडितका घर आसपास राखिएका सिसिटिभी क्यामेरा दुरुस्त राख्न अनुरोध गरिएको छ । रकफोर्डको जनसङ्ख्या करिब एकलाख ५० हजार रहेको र यो स्थान सिकागो शहरबाट करिब १४५ किलोमिटर टाढा छ । रकफोर्डस्थित वाल्मार्ट सपिङ मलमा कार्यरत एक युवाको वाल्मार्टभित्रै बुधबार हत्या भएपछि यस्तो घटना भएको प्रहरीको भनाइ छ । रासस

  • अमेरिकी दूतावासको स्पष्टीकरण : हामी धार्मिक स्वतन्त्रताको पक्षमा छौं

    अमेरिकी दूतावासको स्पष्टीकरण : हामी धार्मिक स्वतन्त्रताको पक्षमा छौं

    काठमाडौं । अमेरिकाले नेपालमा धार्मिक स्वतन्त्रता तथा नास्तिकता प्रवर्द्धन गर्न रकम बाँडेको भनी अमेरिकी सिनेटरले लगाएको आरोप र त्यससँग जोडिएर आएका सार्वजनिक टिप्पणीहरुबारे आफ्नो स्पष्टीकरण सार्वजनिक गरेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले मंगलबार यससम्बन्धी ‘टकिङ प्वाइन्ट’ सार्वजनिक गर्दै अमेरिकी सरकार हरेक नागरिकहरुलाई आफ्नो रोजाइको धर्म मान्ने वा नमान्ने अधिकारको पक्षमा रहेको स्पष्टीकरण दिएको हो ।

    ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता ऐन पारित भएको २५ वर्षभन्दा लामो समयदेखि अमेरिकी सरकार संसार भर सबै ठाउँका मानिसहरूको आआफ्नो सिद्धान्तअनुसार विश्वास गर्ने वा नगर्ने अधिकारका पक्षमा उभिएको छ’ दूतावासबाट जारी नोटमा भनिएको छ, ‘अमेरिकी विदेश मन्त्रालयको यस विश्वव्यापी अनुदानलाई सबै व्यक्तिको धार्मिक स्वतन्त्रताको प्रवर्द्धन र रक्षा गर्नका निम्ति तर्जुमा गरिएको थियो । यसमा त्यस्ता देशका सीमान्तकृत धार्मिक वा विश्वास समुदायका सदस्यहरू समेत पर्दछन्, जहाँ उनीहरूले उत्पीडनको सामना गरिरहेका छन् ।’

    दूतावासको नोटमा भनिएको छ….

    ‘अमेरिकी विदेश मन्त्रालयका कार्यक्रमहरूले कहिल्यै पनि कुनै निश्चित धार्मिक विश्वास, दर्शन वा सिद्धान्तहरूलाई प्रवर्द्धन गर्दैनन् । बरु तिनीहरूले सबै व्यक्तिहरूको दुर्व्यवहार, विभेद र हिंसाबाट मुक्त रही आफ्नो रोजाइको धर्म वा विश्वास ग्रहण गर्न वा अपनाउन सक्ने क्षमतालाई प्रवर्द्धन गर्दछन् । यस कार्यक्रमले दक्षिण एसियाका त्यस्ता स्थानीय संघसंस्था र समुदायहरूको क्षमता अभिवृद्धि गर्न मद्दत पुर्‍याएको छ जहाँ उनीहरूले आफ्नो विश्वासका कारण विभेद र सीमान्तीकरण भोगेका छन् ।

    नेपालमा अमेरिकी सरकारको यस आर्थिक सहयोगले जातीय विभेद तथा बालविवाह विरुद्ध लड्ने र सबैको सहिष्णुता र पारस्परिक सम्मानका लागि वकालत गर्ने लगायतका कार्यमार्फत सीमान्तकृत विश्वास समुदायका सदस्यहरूको संरक्षण र उनीहरूका लागि पैरवी गर्ने प्रयासमा सहयोग गरेको छ ।’

    अघिल्लो साता अमेरिकी सिनेटमा विपक्षी दल रिपब्लिकनका सांसद माट ब्रायनले सरकारमाथि नेपालमा धार्मिक स्वतन्त्रता र नास्तिकताको प्रवर्द्धनका लागि रकम बाँडेको आरोप लगाएका थिए । उनले कोलम्बिया लगायत देशमा यौनकर्मी समलिंगीहरुलाई समेत रकम बाँडिएको भन्दै असन्तोष जनाएका थिए ।

    नेपालसँग सम्बन्धित भएर उनले उठाएका प्रश्न र त्यसबारे नेपालका विभिन्न व्यक्ति, पार्टी र संस्थाहरुले प्रश्न उठाइरहेको सन्दर्भमा अमेरिकी दूतावासले जवाफ दिएको हो ।

    नेपालमा धार्मिक आस्था, धर्म परिवर्तन लगायत विषयमा बाह्य देशहरुले भूमिका खेलिरहेको भनी उठ्ने गरेका आशंकालाई बल दिंदै रिपब्लिकन सिनेटरले मार्च २२ मा संसदीय समितिमा प्रश्न उठाएका थिए । दुई वर्षअघि रिपब्लिकनकै अर्का सांसद न्युट ग्रिनरिचले पनि यस्तै आशंका सहित प्रश्नहरु गरेका थिए ।

  • बाल्टिमोरमा पानीजहाजको ठक्करबाट पुलमा आंशिक क्षति

    बाल्टिमोरमा पानीजहाजको ठक्करबाट पुलमा आंशिक क्षति

    वासिङ्टन । अमेरिकी सहर बाल्टिमोरको फ्रान्सिस स्कट कि ब्रिज (पुल) मा जहाज ठोक्किएपछि पुल भत्किएको र उक्त दुर्घटनाका कारण कम्तीमा २० जना पानीमा फसेको मेरिल्याण्ड यातायात प्राधिकरणले मङ्गलबार जनाएको छ ।

    पानीजहाजको ठक्करका कारण ‘आई–६९५ कि ब्रिज’ मा आंशिक क्षति पुगेको प्राधिकरणले सामाजिक सञ्जाल एक्समा अन्तरराज्य राजमार्ग प्रशासनलाई उद्धृत गरी साझा गरेको पोस्टमा उल्लेख गरिएको छ । प्राधिकरणले भिडियोमार्फत सवारी चालकहरूलाई पटाप्सको नदीको पुल प्रयोग नगर्न निर्देशन दिएको छ ।

    प्राधिकरणले पुलमा भएको क्षतिका कारण पुलको दुवै तर्फका सडकहरु बन्द गरिएको जनाएको हो ।

    बाल्टिमोर प्रहरी विभागका प्रहरी प्रवक्ताले एनबिसी न्यूजलाई दुर्घटनामा परेका मानिसहरू नदीमा रहेको हुन सक्ने बताउनुभएको छ । स्थानीय अधिकारीका अनुसार दुर्घटनाका कारण कम्तीमा २० जना पानीमा फसेका छन् ।

    बाल्टिमोर सिटी प्रहरीलार्ई मङ्गलबार बिहानै जहाजको ठक्करका कारण करिब १ः३५ मा पुल भत्किएको सूचना आएको बाल्टिमोर प्रहरीका निकी फिनोयद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ ।

    पानीजहाजहरूको अनुगमनबारे जानकारी दिने वेबसाइट ‘मरिन ट्राफिक’ ले मङ्गलबार बिहान डाली नामक सिङ्गापुरको ध्वजा बहाक कन्टेनर दुर्घटनाग्रस्त पुलमुनि रोकिएको देखाएको थियो ।

    बाल्टिमोरका मेयर ब्रान्डन स्कुट र बाल्टिमोर काउन्टीका कार्यकारी जोनी ओल्सेव्स्की जुनियर दुवैले घटनाबारे जानकारी पाएपछि तत्काल उद्धार कार्यका लागि उद्धारकर्मी खटाइएको बताउनुभएको छ ।

    यसैगरी प्रभावितहरूको जीवन रक्षाका लागि प्रार्थना गरिदिन ओल्सेव्स्कीले सामाजिक सञ्जाल एक्समार्फत आह्वान गर्नुभएको छ ।

  • मस्को आक्रमण अगाडी अमेरिकाले पूर्व सूचना दिएको खुलासा

    मस्को आक्रमण अगाडी अमेरिकाले पूर्व सूचना दिएको खुलासा

    काठमाडौं । मस्कोमा भएको पछिल्लो हमलाको अमेरिकाले पूर्वचेतावनी दिएको पाइएको छ । मार्च ७ मा अमेरिकाले यस्तो चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यसबेला ‘उग्रवादीहरूले मस्कोका ठूला भीड भएका ठाउँमा निकट भविष्यमा नै निशाना बनाउने योजना बनाएको’ चर्चा गरिएको थियो र ठ्याक्कै कन्सर्टको पनि उल्लेख गरिएको थियो। उसले सो सहरमा रहेका अमेरिकीहरूलाई त्यसपछिका ४८ घण्टा उक्त सहरमा हुने ठूला भिडभाडमा सहभागी नबन्न सूचना निकालेको थियो।

    हमलाको समय नमिलेको हो तर अन्य विवरण मार्च २२ मा भएको आक्रमणसँग लगभग पूर्ण रूपमा मेल खान्छ। वासिङ्टनसँग केही गुप्तचरी सूचना रहेको प्रस्ट देखिन्छ र त्यो मस्को हमलाको जिम्मेवारी लिएको इस्लामिक स्टेट (आईएस) समूहसँग जोडिएको देखिएको छ । आफ्ना नागरिकलाई सार्वजनिक रूपमा चेतावनी दिएको अमेरिकाले रुसी सरकारलाई पनि सोझै उक्त जानकारी दिएको जनाएको छ।

    “अमेरिकी सरकारले यो सूचना लामो समयदेखि कायम ‘चेतावनी दिने दायित्व’ सम्बन्धी नीति अन्तर्गत रुसी अधिकारीहरूलाई पनि जानकारी गराएको थियो,” हमलापछि एक जना अमेरिकी अधिकारीले भने। देशहरूबीच गुप्तचरी सूचनाहरू आदानप्रदान हुने माध्यमहरू हुन्छन्। सर्वसाधारणहरूमाथि आक्रमण हुने सम्भावित परिस्थितिमा साझेदार नरहेका देशहरूसँग पनि ती माध्यमबाट सूचना सम्प्रेषित गरिन्छ। मस्कोले ती चेतावनीलाई बेवास्ता गर्‍यो जुन समस्या बन्न पुगेको छ।

    हमलाको तीन दिन अघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशको रक्षा गर्ने जिम्मा पाएको रुसको सङ्घीय सुरक्षा सेवा (एफएसबी) को उच्च नेतृत्वसँग छलफल गरेका थिए। भेला भएका सुरक्षा निकायका नेताहरूलाई पुटिनले आफ्नो मुलुकको उच्च प्राथमिकता विशेष सुरक्षा कारबाहीलाई समर्थन गर्नु भएको बताए। युक्रेनविरुद्धको लडाइँ बुझाउन उक्त पदावलीको प्रयोग गर्ने गरिन्छ।

    पुटिनले युक्रेनले ‘आतङ्कवादी दाउपेच’ अवलम्बन गरेको बताए। उनले पश्चिमा जगतबाट रुसभित्र सम्भावित आक्रमण हुने भनी ‘उत्तेजनात्मक टिप्पणी’ गरिएको बताए। ती चेतावनीहरूले ‘सोझै मोलतोल गर्ने र हाम्रो समाजलाई धम्क्याउने अनि अस्थिर बनाउने उद्देश्य’ राखेको पुटिनले बताएका थिए। यसले अमेरिका र रुसबिचको अविश्वासको अर्थ मस्कोले ती चेतावनी सुन्नै चाहँदैन थियो भन्ने सङ्केत दिन्छ। त्यसलाई युक्रेन द्वन्द्वसँग जोडेर आफ्नो मुलुकलाई धम्की दिने प्रयास गरिएको अर्थमा उसले लियो।

    अमेरिकासँग ठूलो जासुसी संयन्त्र रहेको छ र उसले आईएसलाई नजिकबाट निगरानी गर्छ। मस्कोमा हमला गरेको समूह अमेरिकी सुरक्षा बल र सर्वसाधारणहरूलाई सन् २०२१ को अगस्टमा काबुलमा भएको आक्रमणमा पनि जोडिएको छ। हालै इराकमा भएका घातक बम हमलामा पनि उसको भूमिका छ।

  • आप्रवासन सम्बन्धी टेक्सस राज्यको विवादास्पद कानून तत्काल कार्यान्वयन नगर्न अदालतको आदेश

    आप्रवासन सम्बन्धी टेक्सस राज्यको विवादास्पद कानून तत्काल कार्यान्वयन नगर्न अदालतको आदेश

    काठमाडौं । संयुक्त राज्य अमेरिकाको एउटा सङ्घीय पुनरावदेन अदालतले आप्रवासनसम्बन्धी टेक्सस राज्यको एउटा विवादास्पद कानुन तत्काल कार्यन्वयन नगर्न आदेश दिएको छ। उक्त कानुनलाई कुनै पनि अमेरिकी राज्यले बनाएको सबैभन्दा कठोर कानुन मानिन्छ। सर्वोच्च अदालतले एसबीफोर नामक आप्रवासनसम्बन्धी उक्त कानुनको पुनरावेदन सकिएपछि त्यसलाई कार्यान्वयनमा लैजान बाटो खोलिदिएको थियो। त्यसको केही घण्टापछि पुनरावेदन अदालतको निर्णय आएको हो। सो कानुनले टेक्ससस्थित अधिकारीहरू गैरकानुनी आप्रवासीहरूलाई पक्राउ गर्न र मुद्दा चलाउन अनुमति दिन्छ।

    टेक्ससका अधिकारीले देशनिकाला गरेका आप्रवासीलाई आफूले स्वीकार नगर्ने मेक्सिकोले जनाएको छ। जो बाइडन राष्ट्रपति बनेपछि अमेरिकाको दक्षिणी सीमामा आप्रवासीहरूको आगमन उच्चतम सङ्ख्यामा पुगेको छ। आगामी नोभेम्बर महिनाको चुनावअघि आप्रवासन एउटा गम्भीर मुद्दा बनेको छ। एसबीफोर कानुन मार्च ५ देखि कार्यान्वयनमा आउने भनिएको थियो। तर बाइडन सरकारले त्यो असंवैधानिक भएको भन्दै उक्त योजनालाई चुनौती दिँदै आएको छ।

    उक्त कानुनविरुद्ध परेका मुद्दामा यसअघि पनि अदालतबाट पटकपटक आदेशहरू आएका थिए। टेक्सस राज्यले बनाएको उक्त कानुन कार्यान्वयनमा आएको भए त्यसले अमेरिकामा आप्रवासनसम्बन्धी मुद्दा हेर्ने विषयमा उल्लेख्य परिवर्तन आउने थियो। विगतमा अदालतले अमेरिकाको कुनै एउटा राज्यले नभई सङ्घीय सरकारले मात्रै देशको आप्रवासन कानुनबारे निर्णय गर्न सक्ने जनाएको थियो। गैरकानुनी रूपमा अमेरिकाको सीमा पार गर्नु सङ्घीय अपराध हो। तर त्यसलाई आप्रवासन अदालत प्रणालीले देवानी मुद्दाका रूपमा हेर्ने गरेको थियो।

    एसबीफोर कानुनका अनुसार टेक्ससमा गैरकानुनी प्रवेश वा पुनर्प्रवेश गरे २० वर्षसम्मको जेल सजाय हुन सक्छ। उक्त कानुन कार्यान्वयनमा रहेको छोटो अवधिमा कोही आप्रवासी पक्राउ परे या नपरेको विवरण सार्वजनिक भएको छैन। मेक्सिकोको विदेश मन्त्रालयले मङ्गलवार भनेको छ, “कुनै पनि राज्य वा स्थानीय निकायहरूबाट आप्रवासन नियन्त्रणका लागि चालेका कदमहरू, कुनै नागरिक वा विदेशीहरूलाई पक्राउ गर्ने वा मेक्सिकोको भूभागमा फर्काउने कुरालाई मेक्सिको ठाडै अस्वीकार गर्छ।”

    पुनरावेदन अदातलको आदेश एसबीफोर कार्यान्वयन हुन सक्छ कि सक्दैन भन्ने विषयमा न्यापालिकाले दिएका विभिन्न निर्णयहरूमध्ये सबैभन्दा नयाँ हो।
    ज्यानुअरीमा बाइडन प्रशासनले टेक्सस राज्यमाथि मुद्दा दायर गर्दै आप्रवासन सङ्घीय मुद्दा भएको तर्क गरेको थियो। फेब्रुअरीमा एउटा जिल्ला अदालतले एसीबीफोर गैरकानुनी भएको ठहर गरेको थियो। उक्त कानुन कार्यान्वयनमा आएको खण्डमा प्रत्येक राज्यले छुट्टै आप्रवासन कानुन ल्याउन सक्ने अवस्था रहेको भन्दै त्यस्तो निर्णय सुनाइएको थियो।

    त्यसपछि न्यूओर्लियन्सस्थित फिफ्थ सर्किट यूएस कोर्ट अफ अपील्सले सर्वोच्च अदालतले हस्तक्षेप नगर्दासम्म उक्त कानुन कार्यान्वयनमा आउन सक्ने निर्णय सुनाएको थियो। बाइडन प्रशासनले त्यसपछि मुद्दा जारी रहेको अवधिभरि जिल्ला अदालतको निर्णयलाई कायम राखिनुपर्ने मागसहित तुरुन्तै सर्वोच्च अदालतमा आपत्कालीन निवेदन दिएको थियो। त्यस बीचमा सर्वोच्च अदालतका न्यायाधीश सामुअल अलीटोले उक्त कानुनलाई कसरी अघि बढाउने भनेर निर्णय लिन अदालतहरूलाई समय उपलब्ध गराउन त्यसलाई मुल्तबीमा राखिदिएका थिए।

    तलको सङ्घीय पुनरावदेन अदालतले उक्त कानुनको वैधानिकता जाँच गर्दै गर्दा मङ्गलवार सर्वोच्च अदालतले उक्त व्यवस्था कार्यान्वयन गर्न बाटो खोलिदिएको थियो। त्यसपछि मङ्गलवार राति नै फिफ्थ सर्किटको तीन(सदस्यीय इजलासले पुनरावेदनको सुनुवाइ गर्दै त्यसको कार्यान्वयन रोक्का गरिदियो। बुधवार पनि इजलास तोकिएको छ। सङ्घीय सरकारले पहिलादेखि नै आप्रवासनसम्बन्धी नियम र कानुन बनाउँदै आएको छ। तर अमेरिकाको संविधानले स्पष्ट रूपमा सरकारले त्यसो गर्ने अधिकारी दिएको छैन।

    अन्य देशहरूसँग सन्धि र सम्झौताबारे कुराकानी गर्ने काम पनि सङ्घीय सरकारहरूले नै गर्छन्। रिपब्लिकनहरूले डेमोक्र्याटिक राष्ट्रपति बाइडनले अमेरिका-मेक्सिको सीमाबारे अवलम्बन गरेको नीतिको बारम्बार आलोचना गर्दै आएका छन्। सर्वेक्षणहरूले नोभेम्बरको चुनावमा आप्रवासन मुख्य मुद्दा बन्न सक्ने देखाएका छन्। फेब्रुअरीमा सार्वजनिक गरिएको ग्यालप सर्वेक्षणमा झन्डै एकतिहाइ अमेरिकीहरूले देशमा देखा परेको सबैभन्दा ठूलो समस्या आप्रवासनसँग सम्बन्धित रहेको धारणा व्यक्त गरेका थिए। त्यसपछि बल्ल अर्थतन्त्र र मूल्यवृद्धिलाई अमेरिकीहरूले मुख्य समस्या ठानेका थिए।
    बीबीसीको सहयोगमा

  • टिकटकको स्वामित्व अमेरिकाले नपाए प्रतिबन्ध लगाउने तयारी

    टिकटकको स्वामित्व अमेरिकाले नपाए प्रतिबन्ध लगाउने तयारी

    काठमाडौं । चिनियाँ नागरिकको स्वामित्वमा रहेको टिकटक अमेरिकालाई नबेचे सो एप देशभर प्रतिबन्ध लगाउने विधेयक अमेरिकन हाउस अफ रिप्रेजेन्टेटिभले पास गरेको समाचारहरुमा उल्लेख छ । चिनियाँको स्वामित्वमा रहेको टिकटक अमेरिकाका लागि सुरक्षा चुनौती भएको भन्दै बुधबार अमेरिकी हाउसले यस्तो विधेयक पास गरेको हो। द न्यूयोर्क टाइम्सका अनुसार यो विधेयक अब सिनेटमा जानेछ। सिनेटले यो विधेयक पास गर्छ कि गर्दैन भन्ने यकिन छैन।

    दुबै सदन हाउस र सिनेटले पास गरेपछि यो विधेयक राष्ट्रपतिकहाँ जान्छ। राष्ट्रपतिले हस्ताक्षर गरेपछि यो विधेयक कानुन बन्नेछ। राष्ट्रपति जो बाइडेनले कंग्रेस (दुबै सदन) ले यो विधेयक पास गरेमा आफूले हस्ताक्षर गर्ने बताएका छन्। चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकमा अहिले १५ करोडभन्दा बढी अमेरिकी प्रयोगकर्ताहरू छन्।

    यो बाइटडान्स कम्पनी चीन सरकारको भएको र यसले अमेरिकी प्रयोगकर्ताहरूको व्यक्तिगत विवरणहरू संकलन गरिरहेको अमेरिकी हाउसका सदस्यहरूको भनाइ छ। चीनले कुनै पनि बेला प्रयोगकर्ताहरूको थप विवरण माग्ने पनि उनीहरूको भनाइ छ। यसबाट अमेरिकालाई असुरक्षा हुने भन्दै उनीहरूले कि टिकटकको स्वामित्व बेच्नुपर्ने, नभए प्रतिबन्ध लगाउनुपर्ने भनेका हुन्।

  • चार अन्तरिक्ष यात्रु ६ महिनापछि पृथ्वीमा फर्किए

    चार अन्तरिक्ष यात्रु ६ महिनापछि पृथ्वीमा फर्किए

    काठमाडौं । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा आधा वर्षको मिसन समाप्त गरी चार मुलुकका चार अन्तरिक्ष यात्री मङ्गलबार स्पेसएक्ससँग पृथ्वी फर्किएका छन् । उनीहरुको स्पेसएक्स क्याप्सुल बिहानको अँध्यारोमा सम्पूर्ण अमेरिकाभर फैलियो र फ्लोरिडाको पेनह्यान्डल नजिकै मेक्सिको खाडीमा खस्यो । नासाका सामुद्रिक हेलिकप्टर पाइलट ज्यास्मिन मोघबेलीले डेनमार्कका एन्ड्रियास मोगेन्सन, जापानका सातोशी फुरुकावा र रुसका कन्स्टेन्टिन बोरिसोभको फिर्ती टोलीको नेतृत्व गरेका थिए । उनीहरु गत अगस्टमा अन्तरिक्ष स्टेसनमा गएका थिए । उनीहरुलाई प्रतिस्थापन गर्नेहरू गत साता उनीहरुकै आफ्नो स्पेसएक्स क्याप्सुलमा आएका थिए ।
    मोघबेलीले सोमबार परिक्रमा परिसरबाट प्रस्थान गरेपछि रेडियोमा भने,“हामीले तपाईंहरूका लागि बदामको केही बटर र टर्टिला छाडेका छौँ ।” नासाका लोरल ओ’हाराले जवाफ दिए, , “म तपाईंलाई पहिलादेखि नै सम्झन्छु र उदार उपहारका लागि धन्यवाद ।”

    रुसी सोयुज क्याप्सुलमा सवार हुनुअघि ओ’हारासँग अन्तरिक्ष स्टेसनमा अझै केही साता छन् । अन्तरिक्ष स्टेसन छाड्नुअघि मोगेन्सनले सामाजिक सञ्जाल एक्समा भने, “रुखहरूमा चराहरूको गीत सुन्नका लागि प्रतीक्षा गर्न सक्तिनँ र कुरकुरे भोजन खाने पनि इच्छा छ ।” रकेटमा गडबडीको अवस्थामा नासाले धेरै विकल्पलाई प्राथमिकता दिन्छ । बोइङले मेको प्रारम्भमा दुई–पाइलट परीक्षण उडानसहित अन्तरिक्ष यात्री ट्याक्सी प्रदान गर्न सुरु गर्नुपर्छ । रासस\एपी

  • एमसीसी परियोजना समयमै सक्न अमेरिकाको आग्रह

    एमसीसी परियोजना समयमै सक्न अमेरिकाको आग्रह

    काठमाडौं । अमेरिकी राजदूत डिन थम्पसनले ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) परियोजना समयमै सक्न नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।
    नेपालका लागि अमेरिकी राजदूत थम्पसनले नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई आइतबार मन्त्रालयमा शिष्टाचार भेट गरेर ध्यानाकर्षण गराएका हुन् ।

    भेटमा उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र एमसीसी परियोजनाबारे चासो राखेका थिए । अमेरिकाले नेपालको शान्ति प्रक्रियाका बाँकी निष्कर्षमा पुर्‍याउन सहयोग गर्ने प्रतिबद्धता जनाएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ । भेटमा राजदूत थम्पसनले संक्रमणालीन न्यायसम्बन्धी विधेयक छिट्टै टुंगो लाग्ने र त्यसलगत्तै शान्ति प्रक्रियाको कामले तीव्रता पाउने विश्वास व्यक्त गरे ।

    ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक छिट्टै टुंगिने र शान्ति प्रक्रियाका बाँकी काम सकिनेमा अमेरिका आशावादी छ,’ राजदूत थम्पसनले भने, ‘त्यसमा सहयोग गर्न अमेरिकी सरकार तयार छ ।’ उनले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन आवश्यक आर्थिक सहयोगका लागि अमेरिका तयार रहेको र विश्वका अरू धेरै देश पनि सहयोगका लागि तत्पर रहेको पाएको उल्लेख गरे ।

    भेटमा उनले अमेरिकाले गर्दै आएको विकास सहयोग जारी रहने प्रतिबद्धता पनि जनाए । यस्तै उनले एमसीसी परियोजना समयमै सक्ने गरी काम अघि बढोस् भन्ने चासो राखेका थिए । जवाफमा मन्त्री पुनले अमेरिकाले नेपालको समग्र विकासमा गर्दै आएको स्मरण गर्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएकामा राजदूत थम्पसनलाई धन्यवाद दिए । यस्तै उनले एमसीसी परियोजनाको काम सुरु भइसकेको भन्दै समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको जनाए ।

  • अन्तर-देशीय प्रसारण लाइन फास्ट-ट्रयाकमा अगाडि बढाउने एमसीएको निर्णय

    अन्तर-देशीय प्रसारण लाइन फास्ट-ट्रयाकमा अगाडि बढाउने एमसीएको निर्णय

    काठमाडौं मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले १८ किलोमिटर लामो बुटवल–गोरखपुर विद्युत् प्रसारण लाइन खण्डको काम फास्टट्रयाकमा अगाडि बढाउने निर्णय गरेको छ । एमसीए–नेपाल सञ्चालक समितिको २१ फागुनमा बसेको ४०औं बैठकले यस्तो निर्णय गरेको हो । यसअघि एमसीए नेपालअन्तर्गतको ३ सय १५ किलोमिटर लामो प्रसारण लाइनलाई तीन खण्डमा विभाजन गरी निर्माणको तयारी गरिएको थियो ।

    तर, त्यसरी निर्माण गर्दा क्रसबोर्डर प्रसारण लाइन निर्माणमा ढिलाइ हुने चिन्ता नेपाल विद्युत् प्राधिकरणले गर्दै आएको थियो । त्यो प्रसारण लाइन चाँडो सम्पन्न होस् भन्ने उद्देश्यले १८ किलोमिटर खण्डलाई छुट्टै कार्यान्वयन गर्ने निर्णय गरेको हो । सीमापार खण्डसम्बन्धी कामलाई तीव्रता दिँदा नेपाल र भारतबीच सीमापार ऊर्जा व्यापार सम्झौता अन्तर्गतको दायित्व निर्वाह गर्न सहयोग पुग्ने एमसीए सञ्चालक समितिले जनाएको छ ।

    ‘सरकार र नेपाल विद्युत् प्राधिकरणका लागि यस खण्डको गम्भीरतापूर्ण महत्व दृष्टिगत गर्दै एमसीए नेपाल सञ्चालक समितिले यस्तो निर्णय गरेको हो,’ सञ्चालक समिति बैठकपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव तथा प्रवक्ता नविनराज सिंहले भने ।

    उनका अनुसार उक्त खण्डलाई वृहत् प्रसारण लाइन सञ्जालबाट छुट्ट्याउँदा खरिद प्रक्रिया छिटो सम्पन्न गर्न सकिने र भारतमा निर्माणाधीन प्रसारण लाइनसँग जोड्न यसको निर्माण २०८३ साल जेठभित्रै सम्पन्न हुने सुनिश्चित गर्ने छ । यो सीमापार प्रसारण लाइन विद्युत् प्रसारण आयोजनाको महत्वपूर्ण अंश भएको र यसले नेपालको आवश्यकता पूरा गर्न सीमापार विद्युत् व्यापारलाई सहजीकरण गर्ने एमसीए नेपालले जनाएको छ ।

    नयाँ बुटवल–गोरखपुर सीमापार प्रसारण लाइन निर्माण कार्य व्यवस्थापन गर्ने वित्तीय तथा स्वामित्व संरचना सम्बन्धमा नेपाल र भारतबीच असोज २०७६ मा सहमति भएको थियो । बाँकी २ सय ९७ किलोमिटर प्रसारण लाइनको डिजाइन–बिल्ड निर्माण कम्पनीका सेवा खरिदका लागि काम अगाडि बढाइरहेको एमसीए नेपालले जनाएको छ । ‘एमसीए नेपाल प्रसारण लाइन समयमै, बजेटभित्रै र नेपाल सरकार एवम् एमसीसीको वातावरणीय तथा सामाजिक मापदण्ड अनुसार निर्माण हुने सुनिश्चित गर्न प्रतिबद्ध रहेको छ,’ बोर्ड बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

  • ट्रम्पलाई राष्ट्रपतिमा उठ्न रोक्ने प्रयासलाई अदालतले लगायो अंकुश

    ट्रम्पलाई राष्ट्रपतिमा उठ्न रोक्ने प्रयासलाई अदालतले लगायो अंकुश

    काठमाडौं । राज्यद्रोहसम्बन्धी संविधानको धारा प्रयोग गरी डोनल्ड ट्रम्पलाई राष्ट्रपतिका उम्मेदवार बन्न रोक्न खोज्ने राज्यहरूको प्रयासमाथि अमेरिकी सर्वोच्च अदालतले अङ्कुश लगाइदिएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरूको सर्वसम्मत आदेशले कोलोराडो राज्यलाई किटान गरे पनि कानूनी चुनौती दिएका अन्य राज्यको हकमा पनि त्यो लागु हुन्छ। संविधानको धारा ३ ले “देशद्रोह वा विद्रोह” मा संलग्न व्यक्तिलाई अमेरिकाको सङ्घीय निर्वाचनमा भाग लिनबाट अयोग्य भनेको छ। अमेरिकी संविधानको १४औँ संशोधनले “देशद्रोह वा विद्रोहमा संलग्न” जो कोहीलाई सङ्घीय पद धारण गर्न अयोग्य ठहराउँछ।

    सन् २०२१ मा क्यापिटल हिलमा भएको दङ्गामा संलग्न भएको ठहर गर्दै कोलोराडोको सर्वोच्च अदालतले ट्रम्पलाई उक्त राज्यबाट आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्न रोक लगाएको थियो। कोलोराडोको सर्वोच्च अदालतले “ट्रम्प देशद्रोहमा संलग्न भएको प्रस्ट र विश्वसनीय प्रमाण फेला पारेको” जनाएको थियो। राजद्रोहको आरोपमा फैसला गर्दै उनलाई उक्त राज्यमा चुनाव लड्न रोक लगाइएको थियो।

    तर राष्ट्रपतीय उम्मेदवार हुनबाट त्यसरी रोक्न लगाउन सक्ने अधिकार कङ्ग्रेससँग मात्र रहेको अमेरिकाको सर्वोच्च अदालतले बताएको छ। योसँगै मङ्गलवार हुने कोलराडोको प्राइमरी चुनावमा प्रतिस्पर्धा गर्ने बाटो ट्रम्पका लागि खुलेको छ। अमेरिकामा प्रमुख दुई पार्टीले आ(आफ्ना राष्ट्रपतिका उम्मेदवार छान्न हरेक राज्य र पार्टीका ककसहरूमा प्राइमरी चुनाव गर्छन्। ट्रम्प रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका लागि अग्रणी उम्मेदवार हुन्।

    उनलाई यस वर्षको नोभेम्बरमा हुने चुनावमा डेमोक्र्याट राष्ट्रपति जो बाइडनको प्रतिस्पर्धी हुने ठानिएको छ। सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै सोमवार आफ्नो सामाजिक सञ्जाल ट्रूथ सोसलमा लेख्दै ट्रम्पले “अमेरिकाका लागि ठूलो जित” भनी टिप्पणी गरेका छन्। तर कोलोराडोकी विदेशमन्त्रीले सर्वोच्च अदालतको आदेशबाट आफू निराश भएको बताएकी छन्।

    उनले “राष्ट्रपतिको शपथमा अवरोध पुर्‍याउन खोजेर राज्यद्रोह गर्नेलाई हाम्रो मतपत्रसम्म पुग्नबाट कोलराडोले रोक्नुपर्ने” बताएकी छन्। कोलराडोमा मुद्दा हालेको निगरानी समूह सिटिजन्स फर रेस्पन्सिबिलिटी एन्ड इथिक्सले एउटा वक्तव्यमार्फत् भनेको छः “अदालतले अपेक्षा पूरा गर्न सकेन। तर अझै त्यो लोकतन्त्रका लागि जित होः इतिहासमा ट्रम्प राज्यद्रोहीको रूपमा चिनिनेछन्।”

  • गाजामा राहत मागिरहेका ११२ जनाको हत्या, कसरी भयो घटना ?

    गाजामा राहत मागिरहेका ११२ जनाको हत्या, कसरी भयो घटना ?

    काठमाडौं । गाजामा राहत सामग्री प्राप्त गर्ने प्रयासमा रहेका कम्तीमा ११२ जना मारिएका छन् । घटना गत बिहीवारको हो । घटना कसरी भयो र त्यसमा को जिम्मेवार थियो भन्नेबारे फरक फरक दाबी गरिएको छ । फ्रेब्रुअरीको २८ का दिनकेही मानिसहरु राहतको प्रतिक्षामा थिए । संयुक्त राष्ट्रसङ्घले यसअघिबाटै गाजामा करिब ३,००,००० मानिसहरू क्षेत्रमा भोकमरीको जोखिममा रहेको चेतावनी दिँदै आएको छ । उनीहरू रहेको क्षेत्रमा पछिल्लो साता राहत सामग्री निकै कम पुगिरहेको थियो।

    फेब्रुअरी २९ का दिन राहत ओसार्ने लरीहरू इजरेलको सेना रहेको स्थानबाट कटेर खाली बाटो हुँदै अल राशिद सडकमा पुगेका थिए । इजरेल डिफेन्स फोर्स आईडीएफ अनुसार त्यसमा ३० वटा गाडीहरूको लस्कर थियो। तर कतिपय प्रत्यक्षदर्शीहरूले १८ वा त्यो भन्दा कम सङ्ख्यामा सामान ओसार्ने गाडीहरू रहेको बताएका छन्।


    कतिपयले राहत सामग्री त्यस ठाउँमा पुगे लगत्तै इजरेली सेनाले गोली चलाउन थालेको बताएका छन् । पिठो ल्याएका ट्रक नजिक जान खोजिरहेका मानिसहरू माथि इजरेली सेनाले जानाजान गोली चलाएको समाचारमा उल्लेख छ । घटनामा कैयौँको ज्यान गएको र शवहरूलाई अस्पताल लगिएको विवरण आएका छन्।

  • अमेरिकी चन्द्रयानले आफ्नो खुट्टा भाच्चिएको आफ्नै तस्वीर पठायो

    अमेरिकी चन्द्रयानले आफ्नो खुट्टा भाच्चिएको आफ्नै तस्वीर पठायो

    काठमाडौं । अमेरिकी कम्पनी इन्टूइटिभ मशीन्सले आफूले चन्द्रमामा पठाएको ओडिसिअस रोबट सतहमा बसेको देखिने स्पष्ट तस्बिर सार्वजनिक गरेको छ।
    ती तस्बिरमा उक्त अमेरिकी अन्तरिक्षयान एक ठाउँमा बसेको देखिन्छ। अवतरणका क्रममा ल्यान्डरको एउटा खुट्टा भाँच्चिएको थियो। यद्यपि ओडिसिअसले योजनानुरूप काम गर्न सक्यो र चन्द्रमाको वातावरणसँग सम्बन्धित डेटा पृथ्वीमा पठायो।

    ओडिसिअस निजी कम्पनीद्वारा निर्मित चन्द्रमामा सकुशल अवतरण गर्ने पहिलो अन्तरिक्षयान हो। गत बिहीवार चन्द्रमामा पुगेपछि त्यसलाई अमेरिकाले ठूलो उपलब्धि मानेको छ। अमेरिकी अन्तरिक्ष निकाय नासाका प्रमुख बिल नेल्सनले चन्द्रमाको सतहमा अप्ठ्यारो गरी बसेको भए पनि उक्त रोबटको प्रशंसा गर्नुपर्ने बताएका छन्। नासाले ह्यूस्टनस्थित इन्टूइटिभ मशीन्सलाई पैसा तिरेर उक्त ल्यान्डरमा छवटा वैज्ञानिक उपकरण पठाएको छ। चन्द्रमामा ओर्लिँदा ओडिसिअसले केही अप्ठ्यारो खेप्नुपरेको थियो।

    उक्त रोबट एक मिटर प्रतिसेकन्डको गतिमा सीधा तल ओर्लिनुपर्ने थियो। तर ल्यान्डरमा भएको कम्प्युटरले लेजरको रेन्ज खोज्ने डेटासम्बन्धी चाँडो काम गर्न नसक्दा उचाइ र गतिसँग सम्बन्धित सूचना सङ्कलन गर्न अप्टिकल क्यामरामा मात्र भर पर्नुपरेको थियो। अर्थात् यो यान तीन गुना तीव्र गतिमा ओर्लियो। त्यसो हुँदा त्यो छेउछाउमा पनि हल्लियो र अन्ततः सतहमा चिप्लियो। सम्भवतः त्यसैले खुट्टा भाँचियो र ल्यान्डर ढल्कियो।

    अहिले ल्यान्डर सतहसँग झन्डै ३० डिग्रीको कोण बनाएर आफ्नो एउटा हीलिअम प्रेसर ट्याङ्कमा अडिएर बसेको छ। आफूले पठाएका छवटा उपकरणबाट नयाँ न्याभिगेशन प्रविधिहरूको परीक्षण गर्न तथा अवतरणस्थलमा चन्द्रमाको सतहको अवस्था अध्ययन गर्ने नासाको उद्देश्य थियो। ती सबै परीक्षण र प्रयोगको निरीक्षण गरेकी सुजन लेडररका अनुसार नासाका वैज्ञानिकहरू र इन्टूइटिभ मशीन्सका कर्मचारीले सहकार्य गरेर यो अभियानलाई सफल बनाएका हुन्।

  • रुस-युक्रेन युद्धमा ३१ हजार युक्रेनी सैनिकको मृत्यु

    रुस-युक्रेन युद्धमा ३१ हजार युक्रेनी सैनिकको मृत्यु

    काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्धमा हालसम्म आफ्नो देशका ३१,००० सैनिकको ज्यान गइसकेको पुष्टी गरेका छन् । उनले रुसलाई सैन्य योजना बनाउन सहयोग पुग्न सक्ने भनी घाइतेहरूको सङ्ख्या भने सार्वजनिक गरेनन्। सामान्यतया युक्रेनले मृत्युको सङ्ख्या सार्वजनिक गर्दैन र अन्य स्रोतहरूले हाल बताइएको भन्दा धेरै जनाले ज्यान गुमाइसकेको अनुमान गरेका छन्।

    अमेरिकी अधिकारीहरूले गत अगस्टमा ७०,००० सैनिक मारिएको र १,२०,००० मानिस घाइते भएको तथ्याङ्क अगाडि सारेका थिए। तर युक्रेनी रक्षामन्त्रीले हालै पश्चिमा शक्तिले प्रतिबद्धता गरेको सहायताको आधा परिमाण प्राप्त हुन ढिला भइरहेकाले आफ्नो देशले जनधन र भूभाग गुमाउनु परिरहेको बताएसँगै यो तथ्याङ्क सार्वजनिक गरिएको छ।

    जेलेन्स्कीले रुसले युक्रेनले भोगेको मानवीय क्षतिको अतिरञ्‍जित तथ्याङ्क फैलाएकोले आफूले अद्यावधिक जानकारी दिएको बताए। यस युद्धमा ३१,००० युक्रेनी सैनिकहरूको मृत्यु भएको छ, ३,००,००० वा १,५०,००० वा पुटिन र उनका सहयोगीहरूले बताउँदै आएजस्तो अन्य कुनै मिथ्या सङ्ख्या होइन। तर मारिएको हरेक व्यक्ति हाम्रो लागि ठूलो क्षति हो। तर उनले रुसले कब्जा गरेको क्षेत्रहरूमा हजारौँ सर्वसाधारणको मृत्यु भइसकेको र ठ्याक्कै सङ्ख्या थाहा हुन नसकेको पनि बताए।

    उनले भने, ‘मलाई थाहा छैन कति मरे, कतिलाई मारियो, कतिलाई यातना दिइयो, कतिलाई निकाला गरियो।’ फेब्रुअरीमा ब्रिटेनको रक्षा मन्त्रालयले युक्रेनसँगको युद्धमा ३,५०,००० रुसी सैनिकहरू मरिसकेको वा घाइते भएको बताएको थियो। राष्ट्रपति जेलेन्स्कीले यो सबै जानकारी उनका रक्षामन्त्री रुसटम उमेरभले पश्चिमा मित्रराष्ट्रहरूले सैन्य सहायता प्रदान गर्न ढिलाइ गरेको भनी असन्तुष्टि पोखेपछि प्रस्तुत गरेका हुन्।

  • भारतीय युवा पनि रुसी सेनामा भर्ती भएको पुष्टी

    भारतीय युवा पनि रुसी सेनामा भर्ती भएको पुष्टी

    काठमाडौं । भारतीय युवाहरु समेत रुसी सेनामा भर्ती भएको पुष्टी भएको छ । लाखौँ रुपैयाँ कमाउने आशामा भारतबाट रुस पुगेका युवा समस्यामा परेपछि यो जानकारी सार्वजनिक भएको बीबीसीले जनाएको छ । कामको प्रलोभनमा आफूलाई एजेन्टहरूले रुस बोलाएर सेनामा भर्ती गराएको केही युवाको दाबी छ। एजेन्टहरूले सेनामा नभई हेल्पर र सुरक्षागार्डको जागिर दिने भनेर आफूहरूलाई रुस पुर्‍याएको उनीहरूले बताएका छन्। पछिल्लो समय भारतको कर्नाटक, गुजरात, महाराष्ट्र, जम्मू तथा कश्मीर र तेलङ्गानाबाट १६ जना रुस पुगेका छन्। उनीहरूलाई रुस पुर्‍याउने केही एजेन्टहरू भारत, यूएई र रुसमा रहेर काम गरिरहेको दाबी गरिएको छ।

    हेल्परको काम दिने आश्वासनमा रुस पुर्‍याइएका उनीहरूलाई केही दिनको लागि तालिमलगत्तै सन् २०२३ को डिसेम्बरबाट रुसी सेनामा भर्ती गरिएको परिवारका सदस्यहरूले बताएका छन्। रुसी सेनामा भारतीय युवाहरूलाई पुर्‍याउन यूएईमा बसेर काम गरिरहेको आरोप लागेका बाबा भ्लग चलाउने फैसल खानसँग बीबीसीले कुरा गरेको छ। उनले आफूले रुसी सेनाको सहयोगीको जागिर भन्ने जानकारी दिएरै युवाहरूलाई रुस पठाएको दाबी गरेका छन्। ूमैले जागिर खोज्ने उम्मेदवारहरूलाई यो सेनामै हेल्परको जागिर हो भनेको थिएँ,” उनले भने। रुस पुगेका भारतीय युवाले लामो समयसम्म आफ्नो परिवारसँग सम्पर्क गर्न नसकेपछि यो कुरा बाहिर आएको थियो।

    पछिल्लो समय उनीहरूका केही भिडिओहरू पनि बाहिर आएका छन् जसमा उनीहरू हताश भएर सहयोग मागिरहेको देखिएको छ। भाइरल भएकामध्ये एउटा भिडिओमा तेलङ्गानाका दुई जनाले आफूहरूलाई झुक्क्याइएको दाबी गरेका छन्। हामीलाई सुरक्षा हेल्परको काम भनिएको थियो तर रुसी सेनामा भर्ती गरियो। रुसी अधिकारीहरूले युद्धको अग्रमोर्चामा ल्याए। हामीलाई युद्ध क्षेत्रको एउटा जङ्गलमा तैनाथ गरिएको छ। बाबा भ्लगका एजेन्टले हामीलाई धोका दिए, उनीहरूले भनेका छन्।

  • अमेरिकाको एसिया–प्रशान्त क्षेत्र कमान्डका नौसेनाध्यक्षले भेटे प्रधानमन्त्री

    अमेरिकाको एसिया–प्रशान्त क्षेत्र कमान्डका नौसेनाध्यक्षले भेटे प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अमेरिकाको एसिया–प्रशान्त क्षेत्र कमान्डका नौसेनाध्यक्ष एड्माइरल जोन सी एक्विलिनोले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार अपराह्न भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको थियो। त्यस अवसरमा प्रधानमन्त्रीले नेपाल–अमेरिका सम्बन्धलाई आफूले उच्च महत्व दिँदै आएको बताए। उनले नेपालको आर्थिक विकासका निम्ति अमेरिकाबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको भन्दै त्यसप्रति कृतज्ञता व्यक्त गरे।

    नौसेनाध्यक्ष एक्विलिनोले विश्व शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघको नेतृत्वमा विभिन्न शान्ति ‘मिसन’मा नेपालले सबैभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरेकामा बधाई ज्ञापन गरे। उनले शान्ति सेनामार्फत नेपालले निर्वाह गरेको भूमिकाको प्रशांसा पनि गरे। नौसेनाध्यक्ष एक्विलिनो यही फागुन ८ देखि यहाँ जारी ‘अभ्यास शान्ति प्रसास–४’ अवलोकनका लागि नेपाल भ्रमणमा छन्। भेटका अवसरमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रुपक सापकोटा, नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्सन र परराष्ट्र मन्त्रालयका उच्चअधिकारीको उपस्थिति थियो। रासस

  • रुस-युक्रेन युद्धको दुई वर्ष पुरा

    रुस-युक्रेन युद्धको दुई वर्ष पुरा

    काठमाडौं । रुस युक्रेन युद्धको दुई वर्ष पुरा भएको छ । रुसी राष्ट्रपति भलादमिर पुटिनले सुरु गरेको पूर्ण आकारको अतिक्रमणको दुई वर्ष पूरा भई तेस्रो वर्ष सुरु भएको हो । यद्दपी युद्ध भने जारी छ । पछिल्लो समय युक्रेनी सहरहरूमा थप रुसी हमला भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनलाई सैन्य सहायता दिन ढिलो भइरहँदा रुसले त्यसको लाभ उठाइरहेको चिन्ता युक्रेनमा रहेको छ ।

    शनिवार युक्रेनी राष्ट्रपतिले युक्रेनमा विदेशी नेताहरूका सान्त्वना दिने शब्द र भ्रमणहरू भइरहेका तर आफूहरूलाई अस्त्रको आवश्यकता रहेको बताएका थिए । उक्त द्वन्द्वको मूल्य भयानक छ। दुवै पक्षमा हजारौँ सैनिकहरू मारिएका छन्। हजारौँको सङ्ख्यामा युक्रेनी सर्वसाधारणको समेत युद्धका क्रममा मृत्यु भएको छ। विश्व ब्याङ्कको अनुमान अनुसार युक्रेनी अर्थतन्त्रलाई पुनरुत्थान गर्न पाँच सय अर्ब डलर लाग्नेछ।

  • रुसविरुद्ध आक्रामक अमेरिका, लगायो नयाँ प्रतिवन्ध

    रुसविरुद्ध आक्रामक अमेरिका, लगायो नयाँ प्रतिवन्ध

    काठमाडौं । संयुक्त राज्य अमेरिकाले रुसविरुद्ध नयाँ प्रतिबन्धहरू घोषणा गरेको छ। उसले व्यक्ति र संस्थाहरूविरुद्ध लगाएका प्रतिबन्धहरू ५०० भन्दा धेरै छन्।अमेरिकाले रुसद्वारा युक्रेनमाथि गरिएको हमला तथा युक्रेनी भूभाग कब्जा तथा विपक्षी नेता एलेक्सी नभाल्नीको जेलमै भएको मृत्युलाई लिएर ती प्रतिबन्धहरू घोषणा गरेको हो।

    अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त प्रतिबन्ध नभाल्नीलाई जेल हाल्ने कार्यमा सहायक बनेका तथा युद्ध मामिलामा संलग्न भएकाहरूमाथि केन्द्रित रहेको बताएका छन्।व्यक्तिगत वा संस्थागत गरी १०० जतिलाई निर्यात प्रतिबन्ध लगाइएको छ। पछिल्लो अमेरिकी प्रतिबन्धले रुसी अर्थतन्त्रमा कस्तो प्रभाव पर्नसक्छ भन्ने स्पष्ट छैन।

    एउटा विज्ञप्तिमा अमेरिकी राष्ट्रपति बाइडनले विदेशमा गरिएको आक्रमण र देशभित्रै भइरहेको दमनका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अझ ठूलो मूल्य चुकाउने कुरालाई सुनिश्चित गर्ने जनाएका छन्। रुसी विपक्षी नेता नभाल्नीको जेलमा निधन भएको एक सातापछि अमेरिकाले त्यस्तो प्रतिबन्ध लगाएको हो। उनको मृत्युमा रुसी राष्ट्रपति दोषी रहेकोमा कुनै शङ्का नभएको बाइडनले बताए।


    युरोपेली सङ्घ ईयूले पनि रुसलाई अस्त्र खरिदमा सहयोग गरेका वा युक्रेनी बालबालिकाहरूलाई अपहरण गर्नेलगायतका कार्यमा संलग्न भएका भन्दै २०० जनामाथि प्रतिबन्ध लगाएको छ। रुसले ती आरोपहरूको खण्डन गर्दै आएको छ। नयाँ प्रतिबन्ध घोषणाको प्रतिक्रियास्वरुप रुसी विदेश मन्त्रालयले रुसमा प्रवेश गर्न नपाउने सूचीमा युरोपेली सङ्घका थप अधिकारीहरूलाई समावेश गरेको बताएको छ।

  • युक्रेनको हवाई हमलामा कम्तिमा ६० रुसी सैनिकको ज्यान गयो

    युक्रेनको हवाई हमलामा कम्तिमा ६० रुसी सैनिकको ज्यान गयो

    काठमाडौं । अधिनस्थ पूर्वी युक्रेनस्थित एउटा सैनिक प्रशिक्षण क्षेत्रमा गरिएका दुईवटा क्षेप्यास्त्र हमलामा परी कम्तीमा ६० जना रुसी सैनिकहरू मारिएको विवरणमा जनाइएको छ। घटनाबारे जानकार स्रोतहरूले बीबीसीलाई बताएअनुसार एकजना वरिष्ठ रुसी कमान्डरको स्वागतका लागि दोनेत्स्क क्षेत्रमा सैनिकहरू भेला भएका थिए। ठूलो सङ्ख्यामा हताहती भएको उक्त घटनासम्बन्धी भिडिओ फुटेजमा देखिन्छ। बीबीसीले त्यसको आधिकारिकता पुष्टि गर्ने प्रयास गरिरहेको बताएको छ । एकजना रुसी अधिकारीले हमला गरिएको पुष्टि गरेका छन्।

    युक्रेनले अमेरिकामा निर्मित हाइमार्स क्षेप्यास्त्र प्रहार गरेको ठानिएको छ। तर युक्रेनी अधिकारीहरूको तर्फबाट अहिलेसम्म त्यसबारे कुनै टिप्पणी गरिएको छैन। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षामन्त्री सेर्गेई शोइगुसँग बैठक गरेको केही घण्टापछि घटना भएको बताइएको छ।

    बैठकका क्रममा शोइगुले धेरै क्षेत्रको अग्रपङ्क्तिमा रुसले सफलता हासिल गरिरहेको दाबी गर्दै पछिल्लो समय एभ्डीभ्का नगरमाथि गरिएको कब्जाबारे उल्लेख गरे। तर दोनेत्स्कमा भएको घटनाबारे उनले केही उल्लेख गरेनन्। घटनामा बाँच्न सफल एक सैनिकका अनुसार मेजर जेनरल ओलेग मोइसिएफको स्वागतका लागि सैनिक जवानहरूलाई ब्रिगेड कमान्डरहरूले खुला मैदानमा उभिन लगाएका थिए।

    उनीहरूलाई दुईवटा क्षेप्यास्त्रले निशाना बनाइएको बताइएको छ। सो क्षेत्रका गभर्नर एलेक्सान्डर ओसिपोभले घुमाउरो तरिकाले घटनाको पुष्टि गरेका छन्।
    तर त्यसबारे आएका विवरणहरूलाई ओसिपोभले उनकै शब्दमा तथ्यमा आधारित नभएको र बढाइचढाइ गरिएको दाबी गरेका छन्।

  • स्पेनमा पूर्व रुसी पाइलटको हत्या

    स्पेनमा पूर्व रुसी पाइलटको हत्या


    काठमाडौं । स्पेनमा पूर्वरुसी पाइलटको हत्या गरिएको छ । गत वर्ष भागेर युक्रेन गएका रुसी हेलिकप्टर पाइलटको स्पेनमा हत्या गरिएको अन्तर्राष्टिय सञ्चारमाध्यमले जनाएका छन् । गत वर्ष अगस्टमा म्याक्सीम कुज्मीनोभले युक्रेनी क्षेत्रमा हेलिकप्टर उडाएका थिए र उनी आफैँले युक्रेनसमक्ष आत्मसमर्पण गरेका थिए। गत साता अलिकान्टीनजिकै मारिएका एक व्यक्तिको परिचय स्पेनी प्रहरीले सार्वजनिक रूपमा खुलाएको छैन। यद्यपि युक्रेनी गुप्तचरहरूले सोमवार कुज्मीनोभको मृत्यु भएको पुष्टि गरेका छन्।

    एकजना प्रवक्ताले युक्रेनी समाचार संस्था युक्रेइन्स्का प्राभ्दालाई भनेका छन्, हामी उनको मृत्यु भएको कुरालाई पुष्टि गर्छौं, उनले यहाँ बस्नुको साटो स्पेन जाने निर्णय गरेका थिए। हामीलाई के थाहा छ भने उनले आफ्नी पूर्वपत्नीलाई आफू बसेको ठाउँमा बोलाएका थिए। त्यसपछि उनको गोली हानी हत्या गरियो। स्पेनी अधिकारीहरूले बीबीसीलाई पीडित गलत पहिचानका साथ रहेको हुनसक्ने बताएका छन्।

    स्पेनी समाचार एजेन्सी एफएका अनुसार कुज्मीनोभको शव स्पेनको पूर्वी तटमा रहेको भीयाखोयोसा सहरमा पाइएको थियो। उक्त शवसँग उनको राष्ट्रियतासँग मेल खाने कागजपत्र फेला परेका थिए। तर ती कागजपत्रमा नाम भने फरक थियो। युक्रेनी गुप्तचर निकायको सञ्चार सेवाले आक्रमणकारीहरूले प्रयोग गरेको हुनसक्ने एउटा जलेको कार घटनास्थलनजिकै फेला परेको जानकारी उक्त समाचार संस्थालाई दिएको थियो।

    कुज्मीनोभले युक्रेनी ुसिक्रेट सर्भिसुलाई गत वर्ष कुनै बेला देश छोड्ने आफ्नो निर्णयबारे जानकारी दिन सम्पर्क गरेका थिए। अन्ततः उनले आफ्नो एमआई(८ हेलिकप्टरलाई सीमा क्षेत्रमा उडाएको र अगस्ट ९ मा पूर्वी युक्रेनमा अवतरण गरेको देखियो। कुज्मीनोभको योजनाबारे अनभिज्ञ उक्त उडानमा रहेका अन्य दुईजना हेलिकप्टर अवतरणपछि सीमातर्फ फर्कन थालेका थिए। उनीहरूको गोली हानी हत्या गरिएको थियो। कुज्मीनोभलाई पनि गोडामा गोली लागेको थियो। उनले चाहिँ ती हत्याका लागि रुसी सेनालाई दोष दिएका थिए।

    गत वर्ष अगस्टमा म्याक्सीम कुज्मीनोभले युक्रेनी क्षेत्रमा हेलिकप्टर उडाएका थिए र उनी आफैँले युक्रेनसमक्ष आत्मसमर्पण गरेका थिए । गत वर्ष सेप्टेम्बरमा एउटा पत्रकार सम्मेलनमा कुज्मीनोभले युक्रेनमाथि रुसी हमलाको विरोध गर्दा आफूले देश छाड्नुपरेको बताएका थिए। उनले युक्रेनले उनलाई नयाँ कागजात र उनको परिवारको सुरक्षाको ग्यारेन्टीसहित पाँच लाख डलर दिने वाचा गरेको पनि बताएका थिए। युक्रेनी अधिकारीहरूले कुज्मीनोभलाई युक्रेनमा बस्ने मौका दिएको बताएका छन्।

    युक्रेनको राष्ट्रिय सुरक्षा र रक्षा परिषद्का सचिव ओलेक्सी डानिलोभले भने, उनी पक्कै पनि यहाँ सुरक्षित हुने थिए। मलाई लाग्दैन उनीहरूले स्पेनमा गरेजस्तो अपमानजनक व्यवहार यहाँ गर्न सक्थे। उक्त घटनाबारे रुसी अधिकारीहरूले आधिकारिक टिप्पणी गरेका छैनन्। यद्यपि मङ्गलवार रुसको एउटा गुप्तचर सेवाका निर्देशकले ूत्यो देशद्रोही र अपराधीको लाश भएकोू बताएका छन्।

  • भारतीय नागरिकलाई मेक्सिको हुँदै अमेरिका पुर्याउने गिरोह नेपालमा पक्राउ

    भारतीय नागरिकलाई मेक्सिको हुँदै अमेरिका पुर्याउने गिरोह नेपालमा पक्राउ

    काठमाडौं । नेपालबाट अवैध रुपमा मेक्सिको हुँदै ११ भारतीयहरूलाई अमेरिका पठाउन सक्रिय रहेको आरोपसहित प्रहरीले ८ जना भारतीयलाई पक्राउ गरेको छ। उनीहरूमाथि अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी परिसरले उक्त गिरफ्तारीबारे बिहीवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो। उनीहरूलाई नक्कली कागजपत्र बनाउन सहयोग गरेको भन्दै एक जना नेपाली पनि पक्राउ परेका छन्। अमेरिका जान भनेर नेपाल ल्याइएका भनिएका ११ जना भारतीय नागरिकहरूलाई उद्धार गरिएको र उक्त गतिविधिमा संलग्न रहेको ठानिएका ८ जना भारतीयलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौं प्रमुख भूपेन्द्र खत्रीले जानकारी दिए ।


    अमेरिकी विदेश मन्त्रालयको मानव बेचबिखनसम्बन्धी एउटा प्रतिवेदनले गैर कानुनी आप्रवासनका क्रममा नेपाललाई मानव तस्करहरूलाई ‘ट्रान्जिट’ मुलुकका रूपमा पनि प्रयोग गर्ने गरेको उल्लेख गरेको छ। प्रहरीका अनुसार गिरोहले मेक्सिको हुँदै अमेरिका पठाइदिन्छु भनेर ठूलो रकम लिएर नेपालमा ल्याएर दुबइ हुँदै त्यता पठाउने भनेर राखेको भेटिएको छ । पक्राउ परेको समूहबाट नक्कली कागजपत्रहरू पनि पाइएको छ । प्रहरीका अनुसार फर्जी राहदानीदेखि टिकट र स्ट्याम्पसमेत सो समूहबाट प्रहरीले बरामद गरेको छ। पीडितहरू भारतको हरियाणा, दिल्ली लगायत विभिन्न ठाउँका रहेको भन्दै त्यसबारे आफूहरूले अनुसन्धान गरिरहेको खत्रीले बताए।

    “पक्राउ पर्नेहरू पनि सबै भारतीय नै छन्। पञ्जाब र मध्यप्रदेश सहितका ठाउँका मानिसहरू गिरफ्तार भएका छन्।” पत्रकार सम्मेलनमा खत्रीले अपरेशन डङ्की नाम दिइएको उक्त कारबाहीलाई सङ्गठित अपराधका रूपमा हेरिएको बताए। अनुसन्धानका क्रममा भारतीय गिरोहले अमेरिका नपठाउने उद्देश्य राखेर ती पीडितहरूलाई बन्धक बनाएको पाइएको प्रहरीले जनाएको छ। प्रहरीले पत्रकार सम्मेलनका बेला विभिन्न एअरलाइन्सका नक्कली बोर्डिङ पास, पीडितहरूको पासपोर्ट, यातना दिन प्रयोग गर्ने गरिएको पाइप र विभिन्न देशका मुद्राहरू सबुत प्रमाणका रूपमा सार्वजनिक गरेको छ।

    प्रहरीले मुलुकी अपराध संहिता २०७४ को अपहरण तथा शरीर बन्धक सम्बन्धी महल र मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार कारबाही गरिने बताएको छ। प्रहरीका अनुसार पीडितहरूलाई काठमाडौंको रातोपुलमा सिङ्गै घर भाडामा लिएर राखिएको अवस्थामा पाइएको छ। ती व्यक्तिहरूलाई ४० देखि ४५ लाख भारतीय रुपैयाँ बुझाउन भनिएको र काठमाडौंमा ३ हजार डलर र पासपोर्ट बुझाउनुपर्ने सर्त राखिएको थियो । उनले कूल नौ जना पक्राउ गरिएको र त्यसमा कागजात बनाउन सहयोग गर्ने एक जना नेपाली मतियार रहेको बताइएको छ । भारतीयहरूले ७५ हजार मासिक शुल्क तिरेर घर भाडामा लिएको बताउँदै उनीहरूले पीडितहरूलाई बन्धक बनाएको र यातना दिएको पाइएको बताए।