Category: अमेरिका

  • इजरायलमा पुगेर अमेरिकी राष्ट्रपति बाइडेनले के दिए सन्देश ?

    इजरायलमा पुगेर अमेरिकी राष्ट्रपति बाइडेनले के दिए सन्देश ?

    काठमाडौं । अविरल रुपमा बमवर्षा गर्दै निहत्या नागरिकको ज्यान लिइरहेको इजरायललाई अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो मुलुकको समर्थन रहेको सन्देश दिएका छन् । हमासले इजरायलमा गरेको आतंककारी हमलाको विरुद्धमा इजरायलले गाजा क्षेत्रमा बम खसालिरहेको छ । यसबाट निहत्था नागरिकको ज्यान गएको छ । मंगलबार राती मात्र एक अस्पतालमा बम खस्दा कम्तिमा १ हजार जना मानिस मारिएका छन् ।

    यो आक्रमण अगाडी आक्रामक देखिएका अमेरिका र इजरायली नेता त्यसपछि भने रक्षात्मक स्थितिमा पुगेका छन् । जुन घटनाको विश्वभर आलोचना भइरहेको छ । जो बाइडेन केबल चार घण्टाका लागि इजरायल पुगेका थिए । उनले इजरायल एक्लै नभएको र अमेरिका उसको साथमा रहेको बताए ।


    प्यालेस्टिनी चरमपन्थी समूह हमासविरुद्धको लडाइँमा अमेरिकाले सुरुदेखि नै इजरायललाई साथ दिँदै आएको छ । अमेरिकाले हमासलाई प्रतिबन्धसमेत लगाएको छ । पछिल्लोपटक हमासले २० असोजमा एक्कासी इजरायलमाथि आक्रमण गरेको थियो । त्यसपछिका दोहोरो लडाइँमा परी दुवैतर्फ ४ हजार ५०० भन्दा बढीको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    बाइडनको आग्रहमा इजिप्टले गाजा क्षेत्रमा गर्न चाहेको सहयोग सीमित मात्रामा उपलब्ध गराउने अनुमति दिन इजरायल तयार भएको छ । तर, त्यसका लागि बन्दी निशर्त रिहाई हुनुपर्ने शर्त राखिएको छ । बाइडनले गाजा क्षेत्रका पीडितलाई मद्दत गर्ने घोषणा पनि गरेका छन् ।

    बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति बाइडनले गाजा र वेस्ट बैंकमा मानवीय सहायता पुर्याउन १०० मिलियन डलर सहयोग घोषणा गरेका छन् । अमरिकाले उपलब्ध गराउने रकमबाट १० लाखभन्दा बढी विस्थापित र युद्ध प्रभावित प्यालेस्टिनीले राहत पाउने बताइएको छ । तर यो सहयोग हमास या अरु कुनै आतंकवादी समूहसम्म पुग्न नहुनेमा बाइडनले जोड दिएका छन् ।

  • हमासको आक्रमणमा इरानतर्फ किन सोझिएको छ प्रश्न ?

    हमासको आक्रमणमा इरानतर्फ किन सोझिएको छ प्रश्न ?

    काठमाडौं । गाजाक्षेत्र आसपासका इजरेली समुदायमाथि हमासले गरेको घातक आक्रमणमा इजरायलको शत्रु राष्ट्र इरानको संलग्नताबारे प्रश्न उठ्न थालेको छ । वालस्ट्रिट जर्नलमा प्रकाशित एक विवरणमा नाम उल्लेख नगरिएका हमासका र लेबननका गुरिल्ला हिजबुल्लाहका सदस्यलाई उद्धृत गर्दै इरानले एक साता अघि नै इजरायलमा आक्रमण गर्न अनुमति दिएको उल्लेख गरिएसँगै इरानमाथि प्रश्न उठ्न थालेको हो ।

    आक्रमण पछाडि इरानको हात देखिएमा यसले द्वन्द्वलाई क्षेत्रीय स्तरको द्वन्द्वमा विस्तार गर्नसक्ने बीबीसीले लेखेको छ । उक्त आक्रमणको प्रशंसा गर्न र त्यसमा हर्षोल्लास मनाउन इरानी नेताहरू अगाडि देखिए पनि उनीहरूले तत्कालै आफ्नो संलग्नता अस्वीकार गरेका छन् । इरानको भूमिकाबारेका आरोपहरू। राजनीतिक कारणबाट प्रेरित छन्, इरानको विदेश मन्त्रालयले भनेको छ।

    हमासका प्रवक्ता गाजी हमादले उक्त आक्रमणका लागि आफ्नो समूहलाई इरानबाट प्रत्यक्ष आड रहेको बीबीसीसँग बताएको बताइएको छ । इरानले प्यालेस्टाइन र जेरुसलेमको मुक्तिका लागि प्यालेस्टिनी लडाकुहरूको पक्षमा उभिने वाचा गरेको उनको भनाई छ ।

    अमेरिकाले हमास हमलापछाडि इरानको संलग्नताबारे अहिलेसम्म कुनै पनि प्रमाण नभेटिएको जनाएको छ। यद्यपि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले घटनाक्रमपछि पक्कै पनि लामो सम्बन्ध रहेको दाबी गरेका छन्। तेहरान वर्षौँदेखि हमासको प्रमुख आर्थिक दाताको रूपमा रहेको छ। उसले आर्थिक सहयोगका अतिरिक्त हमासलाई रकेट सहितका कैयौँ अस्त्रहरू पनि उपलब्ध गराउँदै आएको छ।

  • इजरायलमा अमेरिकाका ११ नागरिक मारिएको पुष्टी, अन्य कुन देशका कति ?

    इजरायलमा अमेरिकाका ११ नागरिक मारिएको पुष्टी, अन्य कुन देशका कति ?

    काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी नेपालसहित २० भन्दा बढी मुलुकका नागरिकको मृत्यु वा हराइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । शनिबार प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको ज्यान गएको छ । सम्पर्कविहीन रहेको १ जना नेपाली विद्यार्थीको खोजी जारी छ । अमेरिकी राष्ट्रपति जो बाइडेनका अनुसार हमासको आक्रमणमा परी ११ अमेरिकी नागरिकको मृत्यु भएको छ । त्यस्तै केही अमेरिकी हमासको नियन्त्रणमा रहेको पनि अमेरिकाले आशंका व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपति बाइडेनले एक्समा लेखेका छन्, यस हप्ता हामीले इजरायलविरुद्ध भयावह आतंकवादी आक्रमण र सयौँ नागरिक हताहती भएको हिसाब दिइरहेका छौँ । दुःखको कुरा यो छ कि अहिलेसम्म ११ अमेरिकी नागरिक मारिएको हामीलाई जानकारी आएको छ ।

    थाइल्यान्डका उपविदेशमन्त्री जाकापोङ साङमानीका अनुसार १८ जना थाई नागरिक हमासको आक्रमणमा मारिएका छन् । त्यस्तै ११ जना थाई नागरिक हमासको अपहरणमा परेको पनि थाई उपविदेशमन्त्री साङमानीले जानकारी दिएका छन् । इजरायलमा करिब ३० हजार थाई नागरिक कार्यरत छन् । ३ हजार थाई नागरिक स्वदेश फर्किन चाहेको थाई विदेश मन्त्रालयले जानकारी दिएको छ । ७ जना अर्जेन्टिनी नागरिक मारिएको र १५ जनाभन्दा बढी हराइरहेको अर्जेन्टिनी विदेशमन्त्री सान्टिआगो क्याफिएरोले बताएका छन् । फ्रान्सेली विदेश मन्त्रालयले आफ्ना २ जना आफ्ना नागरिक मारिएको र १४ जना हराइरहेको जनाएको छ ।

    जर्मन विदेश मन्त्रालयका अनुसार केही जर्मन–इजरायली नागरिक हमासको कब्जामा परेका छन् । त्यस्तै १ जना बेलायती नागरिक मारिएको र १ जना हराइरहेको बेलायतका लागि इजरायली राजदूतले जानकारी दिएका छन् । २ जना युक्रेनी महिला पनि हमासको आक्रमणमा मारिएको त्यहाँको विदेश मन्त्रालयले जानकारी दिएको छ ।

    एक रसियाली नागरिक मारिएको र ४ जना हराइरहेको तेल अभिभस्थित रूसी दूतावासले जनाएको छ । फिलिपिन्सको विदेश मन्त्रालयका अनुसार ७ जना नागरिक हराइरहेका छन् । फिलिपिनी विदेश मन्त्रालयका अनुसार इजरायलमा करिब ३० हजार फिलिपिनी कार्यरत छन् । तीमध्ये अधिकांश स्वास्थ्य सेवासँग सम्बन्धित उद्योगमा काम गर्दै आएका छन् ।


    हमासको आक्रमणमा परी एक क्यानडेली नागरिक मारिएका छन् भने ३ जना हराइरहेका छन् । कम्बोडियाका प्रधानमन्त्री हुन मानेतका अनुसार एक जना कम्बोडियाली विद्यार्थी हमासको आक्रमणमा मारिएका छन् । अस्ट्रिया र ब्राजिलका ३–३ जना, चिली, कोलम्बिया,इटाली, पाराग्वे, पेरु र तान्जानियाका २–२ जना नागरिक हराइरहेका छन् । त्यसैगरी आयरल्यान्ड र पनामाका १–१ नागरिक हराइरहेका छन् । हमासको आक्रमणमा परी इजरायलतर्फ ९ सयभन्दा बढीको मृत्यु भएको छ ।

  • अमेरिकामा ७५ हजार भन्दा धेरै स्वास्थ्यकर्मी हडतालमा उत्रिए

    अमेरिकामा ७५ हजार भन्दा धेरै स्वास्थ्यकर्मी हडतालमा उत्रिए

    काठमाडौं । अमेरिकामा ७५ हजारभन्दा धेरै स्वास्थ्यकर्मीले हडतालमा उत्रिएका छन् । कर्मचारी तहको विवाद सुल्झाउन नसकेपछि स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले हडताल थालेका हुन् । अमेरिकाको सबैभन्दा ठूलो गैरनाफामूलक स्वास्थ्य संस्थामा युनियनका सदस्यहरूको हडताल भर्जिनिया र कोलम्बियाका विभिन्न ठाउँहरुमा सुरू भएको र वेस्ट कोस्टमा पनि हडतालमा हजारौँ स्वास्थ्यकर्मी सहभागी हुने युनियनले जनाएको छ ।

    स्थानीय युनियनहरूको प्रतिनिधित्व गर्ने छाता समूह ‘कैसर परमानेन्टी युनियन्सले’ ले गएको महिना एक विज्ञप्ति निकालेर यो ‘अमेरिकी इतिहासमा सबैभन्दा ठूलो स्वास्थ्यकर्मी हडताल’ हुने बताएको थियो । युनियनले बोर्डमा तलब वृद्धि र श्रमको उप–सम्झौता तथा अन्य मागहरू सम्बोधन गर्न माग राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

  • आजबाट खुल्दैछ २०२५ को डिभी कार्यक्रम

    आजबाट खुल्दैछ २०२५ को डिभी कार्यक्रम

    काठमाडौं । सन् २०२५ को डिभी कार्यक्रमको लागि आजदेखि आवेदन खुल्दैछ । बुधबार राति ९ः४५ देखि डिभी कार्यक्रम खुला हुने काठमाडौंस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ। डिभीको लागि आवेदन कात्तिक २१ गते राति १०ः४५ बजेसम्म दिन सकिनेछ। डिभी भर्नका लागि कुनै पनि शुल्क नलाग्ने पनि दूतावासले जनाएको छ। यसका लागि कुनै पनि कन्सल्टेन्टको पनि आवश्यक नपर्ने र सहयोग नलिन पनि सुझाव दिएको छ।

    ‘आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला। सहयोग जसले उपलब्ध गराएतापनि आफ्नो आवेदनका लागि तपाईं स्वयम् जिम्मेवार रहनुहुनेछ,’ दूतावासले बुधबार जारी गरेको विज्ञप्तिमा भनेको छ।

    कार्यक्रमका लागि दर्ता गर्ने अवधिमा इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई.डि.भी.) आवेदन फारम भर्नु पर्ने हुन्छ। दर्ता गर्दा आफ्ना पतिरपत्नी र आवेदको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्न अनिवार्य रहेको र यदी समावेश नगरी विवरणहरू पेश गरे आवेदन अमान्य पनि ठहरिने दूतावासले जनाएको छ। कुनै पनि व्यक्तिले हालसालै खिचेको तस्बिर र एउटा मात्रै आवेदन बुझाउनुपर्ने हुन्छ। अघिल्लो वर्षको डिभीमा प्रयोग गरिएको फोटो हाले पनि अयोग्य नै ठहरिने विज्ञप्तिमा उल्लेख छ।


    ‘अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिनेछ। फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ। कृपया ध्यान दिनुहोला, फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु हुँदैन,’ दूतावासले भनेको छ।


    यसअघि अमेरिकाको विदेश मन्त्रालयले आवेदकहरूलाई डिभी आवेदन भर्दा राहदानी भएको जानकारी दिनुपर्थ्यो। तर अहिले राहदानी हुनु अनिवार्य नभएको दूतावासले जनाएको छ। आवेदन भरिसकेपछि उपलब्ध गराउने कन्फर्मेशन नम्बरलाई सेभ वा प्रिन्ट गरी राख्न पनि अनुरोध गरिएको छ। २०८१ वैशाख २२ गते त्यही कन्फर्मेशन नम्बर राखेर डिभी परेरनपरेको जानकारी पाइनेछ।

    छनोटमा परेपनि भिसा पाउने–नपाउने भन्ने चाहि अन्तर्वार्तामार्फत मात्रै थाहा हुने पनि दूतावासले जनाएको छ। ‘डिभीका लागि छानिँदैमा तपाईंले भिसा पाउनुहुन्छ भन्ने कुरा यसले प्रत्याभूत गर्दैन। तपाईंले भिसाका लागि अन्तर्वार्ता दिने मौका पाउनुभयो भने कन्सुलर अफिसरले तपाईंसँग आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डिभीका लागि तपाईं योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको निर्क्‍यौल गर्नेछन्। अन्तर्वार्ताका लागि जाँदा आफूसँग लैजानुपर्ने दस्तावेजहरूको सूची वेवसाइटमा दिइएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

  • अमेरिकामा आफ्नै पार्टीका सांसदले हटाए सभामुख

    अमेरिकामा आफ्नै पार्टीका सांसदले हटाए सभामुख

    काठमाडौं । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सभामुख केभिन म्याकर्थी पदमुक्त बनेका छन् । स्थानीय समयअनुसार मंगलबार भएको चुनावमा उनले सभामुख पदमा बसिरहन सदनमा बहुमत ल्याउन सकेनन्। उनको पक्षमा २१० र विपक्षमा २१६ मत खसेको द न्युयोर्क टाइम्सले लेखेको छ ।

    म्याकर्थीलाई सभामुखबाट हटाउन उनको आफ्नै रिपब्लिकन पार्टीका सांसदहरूले भूमिका खेलेका छन्। मंगलबारको मतदानमा ८ जना रिपब्लिकन सांसदले उनको विपक्षमा मतदान गरेका थिए। डेमोक्र्याटिक पार्टीका २०८ जना सांसदले पनि उनीविरूद्ध भोट हाले । यसअघि तिनै ८ जना उग्र दक्षिणपन्थी रिपब्लिकन सांसदहरूको समूहले म्याकर्थीलाई सभामुखबाट हटाउने प्रस्ताव संसदमा दर्ता गरेका थिए। त्यसको नेतृत्व फ्लोरिडा राज्यबाट प्रतिनिधित्व गर्ने सांसद म्याट गाएट्जले गरेका थिए।

    उग्र दक्षिणपन्थी रिपब्लिकन सांसदहरूले म्याकर्थीमाथि सरकारलाई खर्च गर्ने बाटो खोल्न स्टपग्याप फन्डिङ विल पास गराउन सहयोगी भूमिका खेलेको आरोप लगाएका छन्। डेमोक्र्याटिक पार्टीबाट निर्वाचित राष्ट्रपति जो बाइडेनले सरकार चलाउन ल्याएको बजेट संसदका दुबै सदनले पारित नगरे कार्यान्वयनमा जान सक्दैन। तल्लो सदनमा झिनो बहुमत भएकाले रिपब्लिकन पार्टीका सांसदहरूले त्यसलाई लेनदेनको विषय बनाएका छन्।

    सरकारले खर्च नै गर्न नपाउने भएपछि गत शनिबार ४५ दिनका लागि स्टपग्याप फन्डिङ विल पास गरेको थियो। उक्त विलमा १२६ जना रिपब्लिकन सांसदले पनि मतदान गरेका थिए। तर उग्र दक्षिणपन्थी रिपब्लिकन सांसदहरूले त्यसको विरोध गर्दै सभामुख हटाउने प्रस्ताव ल्याएका हुन्। पदमुक्त भएपछि म्याकर्थीले आफू फेरि सभामुख बन्ने दौडमा नलाग्ने प्रतिक्रिया दिएका छन्। अमेरिकी संसद बैठक अर्को साता बस्नेछ। सम्भवतः अक्टोबर ११ मा नयाँ सभामुख चयनका लागि मतदान हुनेछ। गम्भीर आन्तरिक कलहमा फसेको रिपब्लिकन पार्टीबाट अब को सभामुख बन्छ भन्ने यकिन छैन। त्यही कारण सभामुख चयनको प्रक्रिया लम्बिन सक्छ।

  • किन संकटमा पर्दैछ डोनाल्ड ट्रम्पको व्यापारिक साम्राज्य

    किन संकटमा पर्दैछ डोनाल्ड ट्रम्पको व्यापारिक साम्राज्य

    काठमाडौं । आफ्ना दुई छोराविरुद्ध नागरिक जालसाजीको मुद्दा सुरु हुँदै गर्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार न्युयोर्कको एक अदालतमा उपस्थित हुँदैछन् । आगामी राष्ट्रपति निर्वाचनमा विजयी भएर पुनः ह्वाइट हाउस हासिल गर्न अभियान चलाइरहेका ट्रम्पमाथि यो मामिलाले उनको व्यापारिक साम्राज्य खतरामा परेको छ ।

    सोमबारको मुद्दामा पूर्वराष्ट्रपति ट्रम्प र उहाँका दुई छोरा एरिक तथा डन जुनियरले ट्रम्प सङ्गठनको घर जग्गा र वित्तीय सम्पत्तिको मूल्य बढाएर जालसाजी गरेको न्यायाधीश आर्थर एनगोरनले पहिला नै फैसला गरिसकेका छन् । न्युयोर्कका महान्यायाधिवक्ता लेट्टिया जेम्सले २५ करोड अमेरिकी डलर जरिवाना र ट्रम्प तथा उनका छोराहरूलाई ट्रम्प साम्राज्यको व्यवस्थापनबाट हटाउन खोजिरहेका छन् ।


    सोमबार बिहानको सुनुवाइमा आफू उपस्थित हुने ट्रम्पले आइतबार बेलुका बताएका थिए । “मेरो नाम र प्रतिष्ठाविरुद्ध लड्न भोलि बिहान म अदालत जाँदैछु”, आफ्नो ट्रुथ सोसियल प्लेटफर्ममा उनले लेखेका छन्, “यो सम्पूर्ण मामिला नक्कली हो ।”

    यो नागरिक मामिलाबाहेक आगामी महिनाहरूमा ट्रम्पले धेरै ठुला आपराधिक मामिलाको पनि सामना गर्नु पर्नेछ । जो बाइडेनले जितेको सन् २०२० को राष्ट्रपति निर्वाचनको नतिजालाई उल्ट्याउने प्रयास गरेको आरोपमा उनलाई आगामी मार्च ४ मा वासिङ्टनस्थित सङ्घीय न्यायाधीशसमक्ष उपस्थित गराउने कार्यक्रम छ ।

    त्यसपछि उनी न्युयोर्क राज्य अदालतमा फिर्ता हुनेछन् । अहिले आपराधिक गुप्त सम्पत्तिको आरोपमा र पछि फ्लोरिडा सङ्घीय अदालतमा हाजिर हुनेछन् । उनमाथि राष्ट्रपति कार्यालय छोडेपछि वर्गीकृत दस्ताबेजहरू गलत तरिकाले प्रयोग गरेको आरोप लगाइएको छ । अन्तिममा उनले जर्जिया राज्यमा लागेको आरोपहरूको पनि जवाफ दिनुपर्ने छ । जर्जियामा उहाँमाथि अवैधरूपमा सन् २०२० को राष्ट्रपति निर्वाचनको परिणाम आफ्नो पक्षमा परिवर्तन गर्न प्रयास गरेको आरोप लगाइएको छ । रासस-एएफपी

  • एसीसीका कार्यकारी निर्देशक र एमाले अध्यक्ष ओलीबीच भेट

    एसीसीका कार्यकारी निर्देशक र एमाले अध्यक्ष ओलीबीच भेट

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का कार्यकारी निर्देशक एलेक्स अलवाइडले भेट गरेकी छन्। उनीहरूबीच पार्टी कार्यालय च्यासल, ललितपुरमा सोमबार साँझ भेटवार्ता भएको एमालेले बताएको छ। भेटमा एमसीसी परियोजना कार्यान्वयनका विषयमा कुराकानी भएको एमाले स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराईले बताए ।

    एमसीसीका कार्यकारी निर्देशक अलवाइडले एमसीसी परियोजना कार्यान्वयनको समयावधि अब एक वर्ष ११ महिना बाँकी रहेकाले तोकिएको समयमा सम्पन्न होस् भन्ने चाहना व्यक्त गरेकी थिइन्। भेटमा अध्यक्ष ओलीले एमसीसी परियोजना सहमतिअनुसार अगाडि बढ्नुपर्ने धारणा राखेको भट्टराईले बताए। भेटमा एमाले उपमहासचिव विष्णु रिमाल, कार्यालय सचिव भीष्मनाथ अधिकारी पनि थिए।

  • अमेरिका पुनः चन्द्रमामा पुग्ने तयारीमा

    अमेरिका पुनः चन्द्रमामा पुग्ने तयारीमा

    काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय (नासा)का प्रमुखले संयुक्त राज्य अमेरिका चन्द्रमा फेरि पुग्ने अभियानमा चीनसँग प्रतिस्पर्धामा रहेको बताएका छन्। बीबीसीसँगको अन्तरवार्तामा उनले आफूले ‘हामी त्यहाँ पहिला पुगेको’ सुनिश्चित गर्न चाहेको बताए। उनको प्रतिक्रियाले सन् १९६० र सन् १९७० को दशक सम्झाएको छ( जुनबेला नासा सोभियत सङ्घसँग अन्तरिक्षमा प्रतिस्पर्धा गरिरहेको थियो।

    तर आधा शताब्दीपछि नासाले अधिकांश कामहरू गर्नका लागि निजी क्षेत्रका कम्पनीहरूलाई खटाएको छ। बिल नेल्सनले तिनीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै त्यसले उच्च लागतमा साझेदारी गर्न र नासालाई ‘निजी क्षेत्रका उद्यमीहरूको रचनात्मकताबाट’ लाभ लिन सघाउने बताए। नेल्सनले इलोन मस्कको स्पेस एक्सलाई चन्द्रमा मिशनमा प्रयोग हुने ल्यान्डर निर्माणका लागि सन् २०२१ मा ३ अर्ब बराबरको ठेक्का दिइएको उल्लेख गर्दै उक्त कम्पनीले हालसम्मकै सर्वाधिक शक्तिशाली रकेटको विकास गरेको पनि उल्लेख गरे। अन्तरिक्ष मिशनमा देखा परिरहेको प्रतिस्पर्धाबाट अन्य निजी फर्महरूलाई पनि फाइदा भइरहेको छ।

    यसै वर्षको सुरुमा नासाले जेफ बेजोसको ब्लू ओरिजिनसँग तत्कालको नभई भावी चन्द्र मिसनहरूको अवतरणका लागि ल्यान्डर निर्माण गरिदिन ३।४ अर्ब अमेरिकी डलर बराबरको सम्झौता गरेको थियो। अर्बौँ डलरको सरकारी लगानीबाट लाभ पाएका यी दुई कम्पनी मात्रै हुन्। यो रकम विश्वका सबैभन्दा दुई ठूला अर्थतन्त्रबीचको बृहत् तनावमाझ कम्तीमा चीनभन्दा अघि अन्तरिक्ष प्रतिस्पर्धा आफूलाई उभ्याउन खर्च भइरहेको छ।

    गएको अगस्टको अन्त्यमा भारत चन्द्रमामा ‘सफ्ट ल्यान्डिङ’ गराउन सफल चौथो देश बनेको थियो। चन्द्रमाको दक्षिणी ध्रुवमा मानव रहित अन्तरीक्षयानलाई अवतरण गराउने पहिलो देश भारत बनेको थियो। उक्त सफलताका बावजुद चीनको अन्तरिक्ष कार्यक्रमलाई नासाले नजिकबाट नियालिरहेको छ। आफ्नै अन्तरिक्ष केन्द्र भएको एकमात्र देश चीन हो। उसले चन्द्रमाबाट नमुनाहरू पृथ्वीमा ल्याइसकेको छ। चन्द्रमाको ध्रुवीय क्षेत्रको नजिक पुग्ने लक्ष्य उसले राखेको छ।

    यसले नेल्सनलाई चिन्तित तुल्याएको छ। “मलाई के चिन्ता लागेको छ भने हामीले चन्द्रमाको दक्षिणी ध्रुवमा पानी फेला पार्न सक्छौँ। चीन त्यहाँ पुग्यो र उसले यो हाम्रो भूमि हो। तिमी यहाँ आउन पाउँदैनौँ भन्यो, यो हाम्रो हो भन्यो भने।” नेल्सनले कृत्रिम टापुहरू निर्माण गरेर साउथ चाइना सीका अरू क्षेत्रहरूमा सार्वभौमसत्ता दाबी गर्ने चीनको कदमले आफ्नो चिन्तालाई आधार दिएको बताए।


    नेल्सनले चीनले अमेरिकी नेतृत्वमा अन्तरिक्ष र चन्द्रमामा अपनाउनुपर्ने असल अचारणबारे तयार पारिएको आर्टिमिस सम्झौतामा हस्ताक्षर नगरेको पनि उल्लेख गरे। चीनले आफू शान्तिपूर्ण रूपमा अन्तरिक्षको अन्वेषण गर्न प्रतिबद्ध रहेको बताएको छ। विगतमा उसले आफ्ना कार्यक्रमबारेका अमेरिकी चिन्ताहरूलाई चीनका नियमित र उद्देश्यसहितको बाहिरी अन्तरिक्ष प्रयासहरूलाई बदनाम गराउने अभियान भएको बताएको थियो।

  • अमेरिकाको न्यूयोर्कमा आँधीका कारण आपतकालिन अवस्था घोषणा

    अमेरिकाको न्यूयोर्कमा आँधीका कारण आपतकालिन अवस्था घोषणा

    काठमाडौं । अमेरिकाको न्युयोर्कमा आँधीका कारण आपत्कालीन अवस्था घोषणा गरिएको छ । न्युयोर्क सहरमा शक्तिशाली आँधीपछिको बाढीका कारण आपत्कालीन अवस्थाको घोषणा गरिएको हो । त्यहाँ मुख्य गरी सडक र विमानस्थल अस्तव्यस्त भएको छ । लागार्डिया एअरपोर्टको एउटा टर्मिनल बाढीपछि बन्द गरिएको बीबीसीले जनाएको छ । जनजीवन प्रभावित भएको छ ।

    केही क्षेत्रमा पाँच इन्च अर्थात् १२ दशमलव ७ सेन्टिमिटरसम्म पानी परेको छ । न्युयोर्कका गभर्नर क्याथी होचुलले मानिसलाई सुरक्षित रहन र बाढी पसेका सडकमा यात्रा नगर्न आग्रह गर्नुभएको छ । हवाई यात्रुलाई पनि यात्रा गर्नुपूर्व अधिकारीसँग सोधीखोजी गर्न अनुरोध गरिएको छ । बाढीमा फसेका ६ जनाको उद्धार भएको र थप क्षतिको विवरण प्राप्त नभएको उद्धारमा संलग्न अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

  • अमेरिकासँग दुई महिनामै नेपालको व्यापार १ अर्ब नाफामा

    अमेरिकासँग दुई महिनामै नेपालको व्यापार १ अर्ब नाफामा

    काठमाडौं । नेपाल र अमेरिकाबचीको व्यापार चालु आर्थिक वर्ष २०८०–८१ को दुई महिना .साउन–भदौ)मै १ अर्ब रुपैयाँ भन्दा बढीले नाफामा गएको देखिएको छ । भन्सार विभागको तथ्यांकले यस्तो देखाएको हो । साउन र भदौमा अमेरिकाबाट दुई अर्ब २२ करोड बराबरको वस्तु आयात गर्दा तीन अर्ब ३६ करोड बराबरको निर्यात गरेको छ । अरिकासँगको व्यापार नाफा एक अर्ब १४ करोड रुपैयाँ देखिएको छ । उता, समग्र व्यापार भने गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो दुई महिनामा आयात र निर्यात दुवै घटेको छ।

    भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत वर्षको पहिलो दुई महिनामा दुई खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख ५२ हजारको आयात भएकोमा यस वर्षको पहिलो दुई महिना (साउन र भदौ) मा दुई खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख ९८ हजारको आयात भएको छ। गत वर्षको तुलनामा यो आयात ५.०६ प्रतिशतले कम हो।

    यस्तै निर्यात पनि ७.७९ प्रतिशतले खुम्चिएको छ। गत आर्थिक वर्षको पहिलो दुई महिनामा २८ अर्ब ६८ करोड चार लाख ३७ हजारको निर्यात भएकोमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा २६ अर्ब ४४ करोड ७० लाख ३३ हजारको निर्यात भएको छ। गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा व्यापार घाटा ४.७४ प्रतिशतले घटेको छ।

    अघिल्लो आर्थिक वर्षको पहिलो दुई महिनामा व्यापार घाटा दुई खर्ब ४४ अर्ब ९१ करोड ९२ लाख १५ हजार रहेकोमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा घटेर दुई खर्ब ३३ अर्ब ३० करोड २८ लाख ६५ हजारमा झरेको छ। गत साउन र भदौ महिनामा नेपालले भारतबाट मात्र एक खर्ब ६० अर्ब ७५ करोड बराबरको वस्तु आयात हुँदा १६ अर्ब ७३ करोड बराबरको निर्यात भएको छ।

    नेपालले यो अवधिमा भारतसँग मात्र एक खर्ब ४४ अर्बको व्यापार घाटा व्यहोरको छ। चीनबाट ४६ अर्ब ५४ करोड ३२ लाख बराबरको वस्तु आयात हुँदा ५४ करोड ३३ लाख बराबरको मात्रै निर्यात भएको छ। गत दुई महिना अवधिको चीनसँगको व्यापार घाटा करिब ४६ अर्ब बराबर हो।

  • २७ वर्ष अघिको अपराधमा अमेरिकामा एक जनालाई आज मृत्युदण्ड

    २७ वर्ष अघिको अपराधमा अमेरिकामा एक जनालाई आज मृत्युदण्ड

    काठमाडौं । सत्ताइस वर्षअघि एक जना नृत्य छात्रालाई मारेको अभियोगमा दोषी ठहर भएका ४४ वर्षीय एन्थोनी साञ्चेजलाई बिहीबार बिहान मृत्युदण्ड दिइएको छ । वर्षौसम्म हत्याबारेमा स्पष्ट जानकारी नभएपछि अपराध भएको स्थानबाट सुरक्षा निकायले डिएनए सङ्कलन एवम् परीक्षण गरेर साञ्चेजमाथि हत्या अभियोगमा मुद्दा चलाएको थियो ।

    ओक्लाहोमा कारागारमा रहेका उनलाई आज बिहान १० बजे तीन वटा घातक सुइ लगाएर प्राणदण्ड दिइएको हो । साञ्चेजले सम्भावित आममाफीको विकल्पलाई त्यागेर मृत्युलाई स्वीकार गरेका छन् । राज्यको आममाफी तथा मुक्ति परिषदमा आवेदन गर्न अस्वीकार गरेर उनले जीवनप्रतिको वितृष्णा प्रस्तुत गरेका उनका धेरै आफन्तले बताएका छन् । यद्यपि उनका वकिलले मृत्युदण्ड रोक्न गरेको अपिललाई अदालतले अस्वीकार गरेको थियो ।

    अदालतले सान्चेजलाई अर्कान्सास निवासी २१ वर्षीया जुली बुस्केनलाई बलात्कारपछि हत्या गरेको अभियोगमा दोषी ठहर गरेको थियो । सन् १९९६ को डिसेम्बर २० मा नर्मन अपार्टमेन्ट कम्प्लेक्सको पार्किङ स्थलबाट अपहरणमा परेकी उनको शव त्यसैदिन साँझ नर्मन अपार्टमेन्टबाट धेरै टाढा दक्षिणपूर्वी ओक्लाहोमा शहरको ताल नजिकै फेला परेको थियो । हातखुट्टा बाँधिएको र टाउकोमा गोली हानेर मारिएको अवस्थामा बुस्केनको शव भेटिएको थियो । रासस-एपी

  • डलरको भाउ अहिलेसम्मकै उच्च

    डलरको भाउ अहिलेसम्मकै उच्च

    काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार १ अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ५४ पैसा र खरिददर मूल्य १३२ रुपैयाँ ९४ पैसा पुगेको छ । पछिल्ला दिनहरूमा विश्व बजारमा डलरको माग बढ्दा भाउ बढेको हो । अमेरिकी फेडरल रिजर्भ बैंकले फेरि ब्याजदर बढाउने चर्चा चलेसँगै विश्वका लगानीकर्ताहरुले डलरको माग बढाउँदा मजबुत बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    ब्याजदर बढ्दा विश्वका लगानीकर्ता अमेरिकामा लगानीका लागि आकर्षित हुन जान्छन्, यसले स्वतः डलरको माग बढ्न जान्छ । त्यसै पनि अहिले फेडले तोकेको सन्दर्भ ब्याजदर २२ वर्षयताकै उच्च हो । हाल फेडको सन्दर्भ ब्याजदर ५।२५ देखि ५.५० प्रतिशत छ ।


    डलरको भाउ बढ्नु भनेकै भारतीयसँगै नेपाली मुद्रा कमजोर हुनु हो । नेपाली मुद्रा कमजोर हुँदा विदेशी वस्तु आयात गर्दा बाहिरिने रकम बढ्न जान्छ । यसले मुलुकको व्यापार घाटा बढ्न गई सञ्चित विदेशी मुद्रामा समेत असर पर्न जान्छ । नेपाली रुपैयाँ कमजोर हुँदा वैदेशिक ऋण लगानी भुक्तानीको दायित्व समेत बढ्छ । विदेशबाट लिएको ऋणको साँवा ब्याज भुक्तानीका लागि पनि धेरै रकम तिर्नुपर्छ ।

    पछिल्ला महिनामा नेपाली विदेशमा औषधोपचार, अध्ययन, भ्रमणलगायतका लागि जाने क्रम हृवात्तै बढेको छ । डलर महँगो भएको समयमा विदेशमा औषधोपचार, अध्ययन, भ्रमण खर्च महँगो हुने भएकाले धेरै विदेशी मुद्रा राष्ट्रबाट बाहिरिन्छ । जसले अर्थतन्त्रका वाहृय अवस्था कमजोर बनाउँछ । डलरको मूल्यवृद्धिले नेपाल भित्रिने रेमिट्यान्समा भने सकारात्मक प्रभाव पार्दछ । यद्यपि आयातमा निर्भर नेपालको अर्थतन्त्रलाई समग्रमा डलरको मूल्यवृद्धिले नकारात्मक असर बढी पार्ने जानकार बताउँछन् ।

  • प्रधानमन्त्री आज अमेरिका प्रस्थान गर्ने

    प्रधानमन्त्री आज अमेरिका प्रस्थान गर्ने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अमेरिका प्रस्थान गर्दैछन् । उनी साँझ ६ बजे कतार एअरलाइन्सको फ्लाइटबाट अमेरिकाको न्युयोर्क जानेछन्। १८ देखि २६ सेप्टेम्बरसम्म न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिननेपालका प्रतिनिधिमण्डलको प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका हुन्। भ्रमण टोलीमा प्रधानमन्त्रीको सचिवालयबाट पाँच जना र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता हुनेछ।

    प्रधानमन्त्रीको सचिवालयबाट स्वकीय सचिव गंगा दाहाल, फोटोग्राफर प्रदीपराज वन्त र दुईजना सुरक्षा गार्ड रहेका छन्। महासभाको ७८ औं सभालाई प्रधानमन्त्री प्रचण्डले असोज ४ गते नेपालका तर्फबाट सम्बोधन गर्नेछन्। न्युयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्ड दीगो विकास लक्ष्य सम्मेलन, क्लाइमेट एम्बिसन समिटलगायत अन्य महत्वपूर्ण एजेन्डासहितका उच्चस्तरीय कार्यक्रममा सहभागी हुनेछन्।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले महासभामा सहभागी हुन पुगेका विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सम्मान दिने रात्रीभोजमा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन्। महासभा चलिरहँदा प्रधानमन्त्री प्रचण्डले विभिन्न देशका समकक्षी तथा प्रतिनिधि मण्डलसँग साइडलाइन भेटवार्ता गर्नेछन्। प्रधानमन्त्री प्रचण्ड असोज ५ गते अमेरिकाबाट सीधै चीन जानेछन्।

  • जो बाइडेनसहित २० शक्तिशाली मुलुकका राष्ट्रप्रमुख भारतमा

    जो बाइडेनसहित २० शक्तिशाली मुलुकका राष्ट्रप्रमुख भारतमा

    काठमाडौं । विश्वको अग्रणी अर्थतन्त्र भएका शक्तिशाली मुलुकका नेताहरू भारतमा आइपुगेका छन् । जसमा अमेरिकी राष्ट्रपति जो बाइडेनसमेत सहभागी छन् । उनीहरु जी–२० शिखर सम्मेलनमा भाग लिन भारतको राजधानी दिल्लीमा आइपुगेका हुन् । नयाँ दिल्लीमा सेप्टेम्बर ९–१० मा यो सम्मेलन आयोजना भएको छ । यो वर्षको शिखर सम्मेलनको मुख्य विषय दिगो विकास र युक्रेनमा जारी द्वन्द्वबारे राखिएको छ । ग्रुप अफ ट्वेन्टी अर्थात् जी२० विश्वका शक्तिराष्ट्रहरूको एउटा समूह हो। यसको बैठक विश्वव्यापी अर्थतन्त्रबारे योजना बनाउन केन्द्रित हुने गर्छ।

    जी२० राष्ट्रहरूले वैश्विक अर्थव्यवस्थाको ८५ प्रतिशत हिस्सा ओगट्छन् भने उनीहरूबीच कुल व्यापारमध्ये ७५ प्रतिशत हुने गर्छ। विश्वको कुल जनसङ्ख्यामध्ये दुईतिहाइ मानिसहरू ती देशमा बस्छन्। आर्जेन्टिना, अस्ट्रेलिया, ब्रजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेशिया, इटली, जापान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, टर्की, दक्षिण कोरिया, यूके र अमेरिका उक्त समूहका सदस्य हुन्।

    स्पेनलाई पाहुनाका रूपमा निम्तो दिइएको छ। जी२० राष्ट्रमध्ये सात वटाको समूह जी७ पनि छ। जी२० का कतिपय देशहरू (ब्रजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका ( ले ब्रिक्सु नामक अलग्गै समूह बनाएका छन्। उक्त समूह ठूलो हुने क्रममा छ। ब्रिक्सको हालै सम्पन्न शिखर बैठकमा आर्जेन्टिना, इजिप्ट, इरान, इथिओपिया, साउदी अरब र यूएईसहित छ देशलाई पनि आमन्त्रण गरिएको थियो।

    जी२० राष्ट्रका शीर्षस्थ नेताहरूले छलफल गर्ने विषयहरू हालैका वर्षहरूमा अर्थतन्त्रमा मात्र सीमित छैन। जलवायु परिवर्तन, दिगो ऊर्जा, अन्तर्राष्ट्रिय ऋण मिनाहा, बहुराष्ट्रिय कम्पनीहरूलाई कर लगाउने विषयहरूमा पनि छलफल हुन थालेको छ। प्रत्येक वर्ष एउटा फरक जी२० सदस्यराष्ट्रले अध्यक्षता ग्रहण गर्ने अभ्यास छ। सोही राष्ट्रले बैठकको विषयवस्तु तय गर्ने गरेको पाइन्छ। सन् २०२२ मा इन्डोनेशियाले जी२० को अध्यक्षता ग्रहण गरेको थियो र शिखर सम्मेलन बालीमा आयोजना गरिएको थियो।

    सन् २०२३ को अध्यक्ष भारतले दिल्लीमा हुने शिखर सम्मेलन दिगो विकासमा केन्द्रित भएको हेर्न चाहेको छ। भारतले विकसित र विकासशील देशहरूबीच आर्थिक वृद्धिमा समान पहुँच कायम गर्न चालिनुपर्ने कदमहरूप्रति पनि रुचि व्यक्त गरेको छ। सम्मेलनमा सामूहिक बैठकबाहेक विश्वका राष्ट्रपति र प्रधानमन्त्रीहरूले एक्लाएक्लै भेटवार्ताको अवसर पनि पाउने छन्।

    अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले राष्ट्रपति जो बाइडनले विभिन्न नेताहरूसँग भेटवार्ता गर्ने र जलवायु परिवर्तनसँग जुझ्ने उपाय, युक्रेनमा जारी रुसी युद्ध र गरिबीविरुद्धको विश्वव्यापी लडाइँमा विश्व ब्याङ्कजस्ता संस्थाहरूले चाल्नुपर्ने कदमलाई अझ बलियो बनाउनुपर्ने विषयमा छलफल गर्ने जनाएको छ। तर क्रेम्लिनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने जनाएको छ। चिनियाँ राष्ट्रपति सी जिन्पिङ पनि सम्मेलनमा सहभागी नहुने विवरणहरू आएका छन्।

  • अमेरिकाको क्यालिफोर्नियामा अब जातका आधारमा हुने भेदभाव अपराध मानिने

    अमेरिकाको क्यालिफोर्नियामा अब जातका आधारमा हुने भेदभाव अपराध मानिने

    काठमाडौं । अमेरिकामा विधानसभाबाट जातको आधारमा हुने भेदभावलाई दण्डनीय अपराध ठहर गर्ने विधेयक पारित गर्ने क्यालिफोर्निया पहिलो राज्य बनेको छ । क्यालिफोर्निया राज्यको पछिल्लो कदमले आफूमाथि जातको आधारमा भेदभाव हुने गरेको गुनासो गर्दै आएका दक्षिण एसियाली मूलका मानिसलाई सुरक्षा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

    राज्यको विधानसभाले पारित गरेको यो विधेयकमा हस्ताक्षर गरेर अब त्यसलाई कानुनको रूप दिने कि नदिने भन्ने निर्णय राज्यका गभर्नरले गर्नुपर्ने हुन्छ । गएको फेब्रुअरीमा जातीय विभेदमा प्रतिबन्ध लगाएर सियाटल त्यस्तो नियम बनाउने पहिलो सहर बनेको थियो ।

    क्यालिफोर्निया राज्यका डेमोक्र्याट गभर्नर ग्याभिन न्युसमको कार्यालयले विधेयक आफ्नो टेबलमा आएपछि त्यसको समीक्षा गर्ने बताएका बीबीसीले जनाएको छ । केही हिन्दु समूहले जातीय प्रणाली उत्तरी अमेरिकामा गम्भीर मुद्दाको रूपमा नरहेको दाबी गर्दै आएका छन् । केही दलित अधिकारकर्मीले त्यस्तो दाबीलाई अस्वीकार गर्दै आफूहरूले परम्परागत रूपमा विशेष सुविधा पाउँदै आएका भनिने समुदायका मानिसबाट भेदभावको सामना गर्नुपरिरहेको बताएका छन् ।

  • उत्तर कोरियाली नेता किम रुस भ्रमणमा जाने तयारीसँगै अमेरिका रुष्ट

    उत्तर कोरियाली नेता किम रुस भ्रमणमा जाने तयारीसँगै अमेरिका रुष्ट

    काठमाडौं । उत्तर कोरियाली नेता किम जङ उन रुस भ्रमणमा जाने भएका छन् । यसका लागि तयारी तिव्र पारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो तयारीसँगै अमेरिका भने रुष्ट बनेको छ । उत्तर कोरियाले रुसलाई हतियार आपूर्ति गरेमा उसले त्यसको ‘मूल्य’ चुकाउनुपर्ने एक जना अमेरिकी अधिकारीले बताएका छन् ।

    उत्तर कोरिया र रुसबीच हतियार आपूर्तिलाई लिएर सघन वार्ता सक्रिय रूपमा अगाडि बढिरहेको तथा उत्तर कोरियाली नेता किम जङ उन रुस भ्रमणमा जाने विवरण सार्वजनिक भएको हो । यदि उत्तर कोरियाले युक्रेनविरुद्ध युद्ध लड्न रुसलाई हतियार प्रदान गरेमा उसले त्यसको मूल्य चुकाउनुपर्ने अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले मंगलबारको एक ब्रिफिङमा बताए ।

    उत्तर कोरियाली नेता किम राष्ट्रपति भ्लादिमिर पुटिनसँग हतियारसम्बन्धी वार्ता गर्न यसै महिना रुसको भ्रमण गर्ने योजनामा रहेको बताउँदै सल्लाहकार सुलिभानले दुवै नेताबीच कहिले भेटवार्ता हुन्छ भन्नेबारेमा भने केही खुलाएनन् । उनले नेताद्वयबीच रुसमा भेटवार्ता हुने जानकारी अमेरिकासँग रहेको दाबी गरे ।

    गत जुलाईमा रुसी रक्षामन्त्री सर्गेई सोइगुको उत्तर कोरियाको भ्रमणपछि नेता किम रुस भ्रमण निस्कन लागेका हुन् । प्योङयाङका तर्फबाट हतियार सम्झौता गर्न उनी रुस भ्रमणमा जान लागेको अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनलाई उद्धृत गर्दै केबल न्युज नेटवर्कले जनाएको छ ।

  • अमेरिकी संसदमा हंगामा गर्ने समूहका नेतालाई २२ वर्ष जेल सजाय

    अमेरिकी संसदमा हंगामा गर्ने समूहका नेतालाई २२ वर्ष जेल सजाय

    काठमाडौं । सन् २०२१ को जनवरीमा अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकद्वारा अमेरिकी संसद् भवनमा भएको दङ्गाको योजना बनाएको आरोपमा प्राउड बोइज समूहका एक पूर्वनेता लाई २२ वर्षको जेल सजाय सुनाइएको छ। क्यापिटल भनिने अमेरिकी संसद् भवनभित्र त्यसबेला भएको घटनामा संलग्नहरूलाई दिइएको यो नै सबैभन्दा लामो सजाय हो। उनलाई गत मे महिनामा सरकारविरुद्धको षड्यन्त्र र अन्य केही आरोपमा दोषी ठहर्‍याइएको थियो।

    उनन्चालीस वर्षीय एनरिके तारिओ उक्त घटनाका समयमा वाशिङ्टनमा थिएनन् तर त्यहाँ भएको दङ्गामा उनले उक्त चरम दक्षिणपन्थी समूहको सङ्लग्नताको संयोजन गर्न सघाएका थिए। उक्त घटनामा संलग्नताको आरोपमा १,१०० भन्दा बढी मानिसहरू पक्राउ परेका छन्।

    मङ्गलवार आफूमाथि हुने सजाय थाहा पाउनुअघि तारिओले भावुक भएर प्रहरी र वाशिङ्टन डीसीका मानिसहरूसँग सन् २०२१ जनवरी ६ को घटनामा आफ्नो संलग्नताका लागि माफी मागेका थिए। त्यति बेला जो बाइडनले राष्ट्रपतीय निर्वाचन जितेको प्रमाणित गर्नका लागि सांसदहरूको बैठक भइरहेका समयमा डोनल्ड ट्रम्पका समर्थकहरू संसद् भवनभित्र प्रवेश गरी आक्रमण गरेका थिए।

    उनीहरूमाथि शोक र दुःख पर्न गएकामा म एकदमै लज्जित र दुःखित छु, वाशिङ्टनको सङ्घीय अदालतमा उनले भने। अब म आजीवन त्यो लज्जा बोकेर बाँच्नुपर्ने छ। बन्दीहरूले लगाउने सुन्तला रङको लुगामा आएका तारिओले भने, म आफ्नै लागि सबैभन्दा खराब शत्रु रहेछु।

    सन् २०२० को नोभेम्बर महिनामा भएको निर्वाचनमा डोनल्ड ट्रम्प पराजित भएको स्विकार्दै तारिओले भने, म राजनीतिक कट्टरपन्थी होइन। हानि गर्नु वा चुनावी नतिजा बदल्नु मेरो उद्देश्य थिएन। चुनावको नतिजा बदल्नु सम्भव थियो भन्ने पनि मलाई लाग्दैन। कृपया ममाथि करुणा देखाउनुहोस्, तारिओले न्यायाधीशलाई भने कृपया मेरो ४० वर्षपछिको दशक मबाट नखोस्नुहोस्।

    यसअघि एक पटक उनकी आमाले न्यायाधीशसमक्ष कम सजायको आग्रह गर्दा उनी रोइरहेको देखिएको थियो। तारिओ प्राउड बोइजका राष्ट्रिय अध्यक्ष थिए। सन् २०१६ मा न्यूयोर्क सिटीमा स्थापित यस चरम दक्षिणपन्थी समूहका सदस्यहरू यस समूहलाई पुरुष मात्र भएको साथै बसेर रमाइलोका लागि मदिरा सेवन गर्नेहरूको जमघट एक ड्रिङ्किङ क्लब का रूपमा व्याख्या गर्छन्।

    यद्यपि उनीहरू आफूलाई ट्रम्पका सैनिक भएको पनि बताउँछन्। चरम वामपन्थी फासीवादविरोधीहरूसँग उनीहरूको बारम्बार झडप हुने गरेको छ। तारिओका वकिलले मङ्गलवार तारिओ किबोर्ड निन्जा र गलत दिशातर्फ निर्देशित देशभक्त भएको बताए। उनी रद्दी कुरा बोल्न उद्यत रहे पनि सरकार नै भङ्ग गर्ने उनको मनसाय नरहेको उनको दाबी थियो।

    यद्यपि ट्रम्पद्वारा नै सिफारिस गरिएका न्यायाधीश टिमोथी केलीले विगतका कतिपय अवस्थामा तारिओले आफ्ना गतिविधिबारे पश्चात्ताप नगरेको बताए। सरकारविरुद्धको षड्यन्त्र गम्भीर कसुर हो, न्यायाधीशले भने। त्यो षड्यन्त्रका मुख्य नाइके तारिओ नै थिए। गत मेमा उनलाई अमनचयनमा अवरोध र षड्यन्त्र तथा सरकारी सम्पत्तिको विनाश जस्ता अभियोगमा पनि दोषी ठहर गरिएको थियो।

    अभियोजकहरूले उनका गतिविधिलाई अपराधको सुनियोजित कदम भन्दै त्यसका लागि ३३ वर्षको कैद सजाय मागेका थिए। तारिओ पक्षका वकिलहरूले १५ वर्ष मात्र सजाय हुनुपर्ने माग गरेका थिए। न्यायाधीशले सजाय सुनाउँदा तारिओ चुपचाप बसेका थिए। अदालतबाट निस्कँदा उनले आफ्ना परिवारका सदस्यहरूलाई हात हल्लाए र शान्तिको सङ्केत बनाएर देखाए। उनका वकिलहरूका अनुसार तारिओले पुनरावेदन गर्ने योजना बनाएका छन्।

    सन् २०२० को चुनावपछि तारिओ र उनको समूहका सदस्यहरूले ट्रम्पले राष्ट्रपति कार्यालय छाडेमा हिंसा भड्काउने धम्कीपूर्ण अनलाइन सन्देशहरू पठाएका थिए। सन् २०२१ को जनवरीको घटनाको दुई दिनअघि उनी वाशिङ्टन डीसी प्रवेश गर्दा उनलाई प्रहरीले रोकेका थिए।

    आफूलाई अफ्रो-क्यूबन भनी चिनाउने तारिओलाई जनवरीको घटनाभन्दा तीन साताअघि ब्ल्याक लाइभ्स म्याटरु आन्दोलनको ब्यानर जलाएको आरोपमा पक्राउ गरिएको थियो। त्यति बेला उनका साथमा उच्च क्षमताको गोलीगट्ठा पनि भेटिएका थिए, जुन त्यहाँको कानुनअनुसार अवैध थियो।

    त्यसपछि उनलाई धरौटीमा रिहा गरी राजधानीबाट निस्कन आदेश दिइएको थियो। घटना भएको दिन उनी बाल्टिमोरमा थिए। ट्रम्प समर्थकले संसद् परिसर घेराउ गरेपछि तारिओले एक अनलाइन सन्देशमा आफूले उक्त घटनाक्रमहरूबाट मजा लिइरहेको बताएका थिए। दङ्गामा संलग्नहरूलाई उनले भनेका थिए, जे गर्नुपर्ने हो गर। दङ्गाको योजनामा संलग्न नाइकेहरूको सजायबारे मङ्गलवार अदालतमा अन्तिम सुनुवाइ भएको थियो।

    BBC

  • अमेरिकी सेनाको टोली अभ्यासका लागि नेपाल आउँदै

    अमेरिकी सेनाको टोली अभ्यासका लागि नेपाल आउँदै

    काठमाडौं । अमेरिकी सेनाको एउटा टुकडी संयुक्त अभ्यासका लागि बन्दोबस्तका सामग्रीसहित वायुसेनाको विमान मार्फत नेपाल आउने भएको छ । नेपाली सेनासँग काठमाडौंमा संयुक्त अभ्यास गर्ने अमेरिकी सेनाको टुकडी बिहीबार नेपाल आउने भएको हो ।

    अमेरिकी सेनाको टुकडीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएपछि अमेरिकी वायु सेनाको विमान त्यसको भोलिपल्ट २२ भदौमा फिर्ता हुनेछ । नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले दुई देशका सेनाबीच चल्ने संयुक्त अभ्यास तालिम २४ भदौदेखि १२ असोजसम्म सञ्चालन हुने जानकारी दिएका छन् ।

    नियमित रुपमा सञ्चालन हुँदै आएको दुई देशका सेनाबीचको संयुक्त अभ्यासको ४०औं संस्करणमा नेपाली सेनाका ३० जना र अमेरिकी सेनाका १२ जना गरी ४२ जना सैनिक सहभागी हुने प्रवक्ता भण्डारीले जानकारी दिएका छन् । संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता लगायत विषयहरुमा अनुभव तथा ज्ञान आदानप्रदान हुने सेनाको भनाइ छ ।

    सैनिक मुख्यालयका अनुसार नेपाली सेना अमेरिका, बेलायत, भारत, चीन, श्रीलङ्का, मंगोलिया, बंगलादेश, इजरायल लगायत देशका सैन्य संगठनहरूसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्रति आतंकवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा सहभागी रहँदा निर्वाह गर्नुपर्ने भूमिकाहरू लगायतका विषयमा संयुक्त तालिम तथा अभ्यासहरुमा सहभागी हुँदै आएको छ ।

    यसैबीच, संयुक्त अधिराज्यमा संचालन हुने प्रतिस्पर्धात्मक क्याम्ब्रियन गस्ती अभ्यासमा सहभागी हुन सेनाको टोली बुधबार बेलायततर्फ प्रस्थान गरेको छ । नेपाली सेनाको १० सदस्यीय टोली प्रमुख सेनानी विवेक विक्रम शाहको कमाण्डमा बेलायततर्फ प्रस्थान गरेको सेनाले जानकारी दिएको छ ।

  • किन नेपाल आएका हुन अमेरिकी सिनेटर होलेन ?

    किन नेपाल आएका हुन अमेरिकी सिनेटर होलेन ?

    काठमाडौं । अमेरिकी संसद्को विदेश मामिला समिति र राज्य तथा विदेश सञ्चालन विनियोजन उपसमितिका सदस्य सिनेटर क्रिस भान होलेनले नेपाल भ्रमण पुरा गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड अमेरिका जाने मिति नजिकिँदै गर्दा भएको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

    उनी नेपाललागयत दक्षिण एसियाका तीनवटा मुलुक श्रीलंका र माल्दिभ्सको आठ दिने भ्रमणका लागि आएका थिए । शुक्रबार नेपाल आइपुगेका उनी आइतबार नेपालको भ्रमण सकाएर श्रीलंका प्रस्थान गरेका छन् ।

    मेरील्याण्ड राज्यबाट सिनेटर रहेका होलेनले नेपाल भ्रमणका क्रममा विशेष गरी अमेरिकी लगानीमा रहेका परियोजना र आर्थिक तथा राजनीतिक क्षेत्रका विषयमा छलफल गर्ने उद्देश्य रहेको जनाइएको थियो ।

    ‘अमेरिका र यी भ्रमण हुने प्रत्येक देशहरू बीचको सम्बन्धनलाई सुदृढ पार्ने यो भ्रमणको मूल लक्ष्य हो । जसमा सुरक्षा सहयोग, आर्थिक सम्बन्धलाई प्रगाढ बनाउने, जलवायु परिवर्तनसँग लड्ने, प्रजातन्त्र र मानवअधिकारको विकास गर्नेलगायत विषयहरू समावेश छन्’, सिनेटको वेबसाइटमा उनको भ्रमण बारे उल्लेख छ ।

    भ्रमणको अन्तिम दिन सञ्चारकर्मीसँग अन्तर्क्रिया गर्दै सिनेटर होलेनले आफू पहिले पनि नेपाल आएको र दोहोर्‍याएर आउन पाउँदा खुसी भएको बताए । ‘नेपाल फर्केर आउन पाउँदा खुसी लागेको छ । म यहाँ सन् १९८० मा आएको थिएँ । यो सुन्दर देश यात्रा गरेको धेरै वर्षपछि संयुक्त राज्य अमेरिका र नेपाली जनताबीचको मित्रताको ७६ वर्ष मनाउँदै गर्दा यहाँ आउन पाउँदा खुसी भएको छु’, उनले भने ।

    उनले पछिल्ला वर्षहरूमा नेपाल धेरै परिवर्तन भएको, तर एउटा कुरा उस्तै रहेको भन्दै प्रशंसा गरे । ‘यस देशको सुन्दरता र सांस्कृतिक सम्पदा अहिल पनि उस्तै छन्’, उनले भने । भ्रमणका क्रममा उनले काठमाडौं र जनकपुरका हिन्दू मन्दिरहरू तथा बौद्ध स्तुपको समेत अवलोकन गरेका उनले नेपालको सुन्दर कुरा भनेको समृद्ध सांस्कृतिक सम्पदा रहेको बताए ।

    उनले अमेरिकाले नेपालसँग बलियो आर्थिक सम्बन्ध विकास गर्न चाहेको बताए । एमसीसी कार्यान्वयको घोषणा भएको केही दिनपछि नेपाल आएका उनले अमेरिकी लगानीमा रहेका विभिन्न परियोजनाको निरिक्षण गरेका थिए ।

    ‘मैले मेरो यात्राको क्रममा एमसीए (एमसीसीको नेपाल शाखा) कार्यालयको भ्रमण गरेको थिएँ । एमसीसी कार्यान्वयन सुरु भएको केही दिनपछि म आएँ’, उनले भने, ‘यसको पाँच वर्षे समयावधि सुरु भएको छ । यो महत्वपूर्ण परियोजनालाई समयमै पूरा गर्न प्रयास गर्ने दृढ संकल्प छ ।’ उनले भ्रमणका क्रममा यहाँका महिला सहकारी, कला क्षेत्र, स्वास्थ्य क्षेत्रलगायत यूएसआईडीले लगानी गरेका परियोजनाहरूको निरीक्षण गरेका छन् । साथै, अमेरिकन चेम्बर अफ कमर्सका सदस्यहरूसँग पनि भेट गरे ।

    उनले नेपालको प्रेस स्वतन्त्रता र मिडिया क्षेत्रको विकासको पनि प्रशंसा गरे । उनले नेपालमा यूएआईडीमार्फत लगानी भएका क्षेत्रको प्रगतिबाट आफू सन्तुष्ट रहेको समेत बताए । उनले नेपालको निजी क्षेत्रसँग सहकार्य गर्न चाहेको भन्दै अमेरिकी व्यापारिक संस्थाहरूले नेपालमा काम गर्न चाहेको बताए । उनले नेपाल र अमेरिकाको संसदबीच सहकार्य गर्न चाहेको भन्दै यस विषयमा छलफल होस् भन्ने चाहेको बताए ।

  • अमेरिकामा रोजगारी दरमा आश्चर्यजनक वृद्धि

    अमेरिकामा रोजगारी दरमा आश्चर्यजनक वृद्धि

    वासिङ्टन । संयुक्त राज्य अमेरिकामा गत महिना रोजगारी दरमा आश्चर्यजनक वृद्धि भएको शुक्रबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । बेरोजगारी सन् २०२२ को सुरुदेखि नै उच्च स्तरमा पुगेको छ ।

    श्रम विभागका अनुसार विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको अमेरिकाले अगस्टमा १ लाख ८७ हजार रोजगारी थपेको छ, तर ज्याला वृद्धिमा सुस्तता देखिएको र बेरोजगार दर ३.८ प्रतिशत पुगेको छ ।

    जुन र जुलाइका लागि रोजगारीको आँकडा दुवैमा गिरावट आएको छ । नयाँ नियुक्ति लिनेहरूको समग्र सङ्ख्याहरूले भर्तीको स्थिर गतिलाई सङ्केत गर्दछ भने श्रम बजारले सहजताको सङ्केत देखाउँदछ ।

    नीति निर्माताहरूले माग कम गर्न र उच्च मुद्रास्फीतिमा लगाम लगाउन सङ्घर्ष गरिरहेका छन् । फेडरल रिजर्भले ब्याज दरहरूलाई द्रूत गतिमा वृद्धि गरेको छ । हालै, फेडले ब्याज दरहरूलाई दुई दशकभन्दा बढीको उच्चतम स्तरमा ल्याएको छ, तर केन्द्रीय बैंकले आगामी निर्णयहरूमा डाटामा निर्भर रहने प्रतिबद्धता पनि जनाएको छ ।

    तुलनात्मक रूपमा बलियो श्रम बजारले संयुक्त राज्य अमेरिकाले अर्थव्यवस्थालाई मन्दीमा नपारी मुद्रास्फीति लाई कम गर्न सक्छ भन्ने आशाहरू थपेको छ ।

    शुक्रबार श्रम विभागको तथ्याङ्कअनुसार अगष्टमा औसत प्रतिघण्टा आम्दानी ०.२ प्रतिशतले बढेको छ । यद्यपि, अघिल्लो महिना (अगस्ट) को पहिलो पाक्षिकको तुलनामा महिनाको अन्त्यमा समग्र वृद्धिमा कमी आएको छ ।

    कुनै पूर्व कार्य अनुभव नभएका व्यक्तिहरूको उल्लेख गर्दै सार्वजनिक शुक्रबारको रिपोर्टअनुसार बेरोजगारहरूमध्ये ‘नयाँ प्रवेशकर्ताहरू’ को सङ्ख्या पनि बढेको छ ।

    मोर्टगेज बैंकर्स एसोसिएसनका प्रमुख अर्थशास्त्री माइक फ्राटान्टोनीले भने, ‘जुन र जुलाईको लागि रोजगार वृद्धिको दरमा श्रम मूल्यमा आएको गिरावटका साथ अगस्टमा पेरोल रोजगारी बढेको छ । पछिल्लो तीन महिनामा औसतमा १ लाख ५० हजार मात्रै रोजगारी सिर्जना भएको छ ।’

    श्रम विभागले स्वास्थ्य सेवा, अवकाश र आतिथ्य, सामाजिक सहायता र निर्माण क्षेत्रमा रोजगारीको क्रम जारी रहेको उल्लेख गरेको छ । यसबीचमा यातायात र गोदाममा रोजगारी घटेको छ ।

    तर ईवाई-पार्थेनननका प्रमुख अर्थशास्त्री ग्रेगरी डाकाका अनुसारे गत महिना स्क्रिन एक्टर्स गिल्ड (एसएजी-एएफटीआरए) का करिब १६ हजार कामदारहरू सर्वेक्षण अवधिमा हडतालमा उत्रेका र यसकारण सूचना क्षेत्रका करिब १५ हजार रोजगारीका अवसर गुमेका थिए ।

  • ट्रम्पको अदालती कारवाही प्रत्यक्ष प्रसारण गरिने

    ट्रम्पको अदालती कारवाही प्रत्यक्ष प्रसारण गरिने

    काठमाडौं । एटलान्टाको फुल्टन काउन्टीका एक न्यायाधीशले पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँसँगै अभियोग लागेका अन्य १८ जनाकोे अदालती कारवाही टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिने बताएका छन् । ट्रायल युट्युबमा लाइभ स्ट्रिम पनि हुने फुल्टन काउन्टी सुपीरियर कोर्टका न्यायाधीश स्कट म्याकफीले घोषणा गरेका छन् ।

    सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा जर्जिया राज्यमा भएको चुनावी धोखाधडी र आफ्ना प्रतिद्वन्द्वी जो बाइडेनलाई हराउन ट्रम्पसहित १९ जनाले षड्यन्त्र गरेको अभियोगको सुनुवाइ प्रत्यक्ष प्रसारण गर्ने घोषणा भएको हो ।

    बिहीबार दायर गरिएको अदालतको कागजातमा पूर्वराष्ट्रपति ट्रम्पले आरोपहरूको प्रकृति र अदालतमा उपस्थित हुने आफ्नो अधिकारलाई पूर्ण रूपमा बुझेको बताएका छन् । यद्यपि उहाँले आफू दोषी नभएको दाबी गर्दै आफूविरुद्ध लगाइएका मुद्दा राजनीतिक रूपमा प्रेरित भएको बताए । गत साता उहाँले फुल्टन काउन्टीको जेलमा आत्मसमर्पण गरेका हुन् ।


    अर्बपति व्यापारी ट्रम्पलाई गत अप्रिलदेखि चार पटक आपराधिक रूपमा अभियोग लगाइएको छ तर उनी आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनमा भाग लिने दृढ निश्चयका साथ अघि बढेका छन् । जर्जियामा उहाँमाथि जालसाजी गरेको, सरकारी अधिकारीलाई झुटा बयान दिन अभिप्रेरित गरेकोलगायत चार वटा मुद्दा दायर गरिएको छ ।

    यसअघि पूर्वराष्ट्रपति ट्रम्पमाथि वयस्क चलचित्रकी नायिका स्टोर्मी डेनियलसँगको यौनसम्बन्ध, त्यसलाई सार्वजनिक नगर्न निजलाई भुक्तान गरिएको ठूलो रकम, आफ्नो निजी निवासमा गोप्य सरकारी कागजात राखेको र ती कागतपत्र सरकारलाई फिर्ता गर्न अस्वीकार गरेको तथा संसद् भवनमा समर्थक परिचालन गरेर तोडफोड र आक्रमण गराएको अभियोग लगाइएको छ ।

    सन् २०२० को जनवरी छ तारिखमा अमेरिकी संसद् क्यापिटल हिलमा भएको हुलदङ्गा एवम् आक्रमणमा सात जनाको मृत्यु हुनका साथै संसद्, महानगर र स्थानीय सुरक्षा निकायका एक सय ५० जना सुरक्षाकर्मी घाइते भएका थिए । त्यहाँ ट्रम्पले परिचालन गरेको भीडले अन्धाधुन्ध आक्रमण गरेको आरोप छ । रासस\एपी

  • एक महिनामा भित्रिए ६७ हजार पर्यटक, अमेरिकी कति ?

    एक महिनामा भित्रिए ६७ हजार पर्यटक, अमेरिकी कति ?

    काठमाडौं । पछिल्लो एक महिनामा ६७ हजार १५३ जना पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अगस्ट २०२३ मा सो संख्यामा पर्यटक नेपाल आएका हुन् । यस महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतपछि चीन र अमेरिका बाट धेरै पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ । यो महिनामा नेपाल भ्रमण गर्ने भारतीयको संख्या २६ हजार ६६५ रहेको छ ।

    चीनबाट ५ हजार २७ जना र अमेरिकाबाट ४ हजार ६२९ पर्यटक नेपाल भ्रमणमा आएका छन् । श्रीलंकाबाट ३ हजार ८५८ जना पर्यटक नेपाल भित्रिदा बंगलादेशबाट ३ हजार १९० जनाले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ ।

    बेलायतबाट २ हजार ७११ जना पर्यटक नेपाल आएका छन् भने स्पेनबाट १५ सय ८८ जना पर्यटक नेपाल आएका छन् । यस्तै जापानबाट १५ सय २०, इटालीबाट १४ सय ९६ र अष्टे«लियाबाट १३ सय ४७ जनाले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ ।

  • अमेरिकामा घातक आँधी, कम्तिमा तीन जनाको मृत्यु

    अमेरिकामा घातक आँधी, कम्तिमा तीन जनाको मृत्यु

    काठमाडौं । अमेरिकामा समुद्री आँधी ‘इडालिया’का कारण तीन जनाको ज्यान गएको छ । दक्षिणपूर्वी क्षेत्रमा आँधीबाट तीन जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा दुई जना मोटरसाइकल चालक र एक जना जर्जियाका नागरिक रहेका छन् । समुद्री आँधीले क्यालिफोर्निया सबैभन्दा बढी प्रभावित भएको छ भने अन्य राज्यहरुमा पनि तुफानसहित ठूलो पानी परेको छ ।

    तीव्र गतिको तुफानका कारण अमेरिकामा एक हजारभन्दा धेरै हवाई उडान रद्द भएका छन् । आँधीका कारण राष्ट्रपति जो बाइडेनका पूर्वनिर्धारित कार्यक्रमहरु पनि प्रभावित भएका ह्वाइटहाउसलाई उद्धृत गरी अलजजिराले जनाएको छ । आजदेखि इडालिया आँधीको गति केही मत्थर हुँदै जाने मौसमविद्को अनुमान छ ।

  • एमसीसी कार्यान्वयनको दिनगन्ती सुरु

    एमसीसी कार्यान्वयनको दिनगन्ती सुरु

    काठमाडौं । अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना कार्यान्वयन (इन्ट्री इन्टु फोर्स –ईआईएफ) मा प्रवेश गरेको छ । अर्थमन्त्री प्रकाशशरण महत र एमसीसीका उपाध्यक्ष क्यामरुन एलफोर्डले ईआईएफ आदानप्रदान गरेपश्चात परियोजना कार्यान्वयन सुरु भएको हो ।

    एमसीसी ईआईएफका लागि उपाध्यक्ष क्यामरुन एलफोर्ड मंगलबार नेपाल आइपुगेका थिए । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सम्झौता आदान प्रदानपश्चात पाँच वर्षे अवधिको सम्झौता सुरु भएको हो । सम्झौताअनुसार ‘इन्ट्री इन्टु फोर्स’ अर्थात् कार्यान्वयनमा गएको ५ वर्षमा (२०८५ भदौ १३ भित्र) परियोजना सक्नुपर्ने हुन्छ ।

    आयोजना कार्यान्वयनका लागि गठित एमसीए–नेपालअन्तर्गत विद्युत् प्रसारण लाइन र सडक निर्माणसम्बन्धी आयोजना सञ्चालन हुनेछन् । तोकिएको समयमा परियोजना पूरा नभए नेपालले एमसीसीमार्फत रकम प्राप्त नगर्ने सर्त रहेको उल्लेख छ ।

    विद्युत् प्रसारण लाइन आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्ने, विद्युत् नियमन आयोग ऐन लागू गर्ने, कार्यक्रम कार्यान्वयनको सम्झौतामा हस्ताक्षर गर्ने, अन्तर्राष्ट्रिय प्रसारण लाइनका लागि नेपाल सरकार तथा भारत सरकारबीच कार्यसञ्चालन कार्ययोजना र प्रसारण लाइनसम्बन्धी सम्झौता गर्ने, प्रतिनिधिसभाबाट सम्झौता अनुमोदन तथा आयोजना निर्माणस्थलमा पहुँचका लागि जग्गा प्राप्ति र रूख कटानी सम्पन्न गर्नुपर्ने सर्त छन् ।

  • अमेरिकी अनुदानको कार्यक्रम एमसीसी आजबाट कार्यान्वयनमा

    अमेरिकी अनुदानको कार्यक्रम एमसीसी आजबाट कार्यान्वयनमा

    काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) आजदेखि कार्यान्वयनमा जाँदैछ । बुधबार दिउँसो सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एक कार्यक्रम गरी एमसिसी कार्यान्वयनमा गएको घोषणा गर्ने तयारी छ । कार्यक्रमका लागि एमसिसीका सम्झौता कार्य-सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरून एलफोर्ड काठमाडौंमा छन् ।


    काठमाडौंस्थित अमेरिकी दूतावासले नेपालको नेतृत्वदायी भूमिका रहेको एमसिसी सम्झौताको प्रगतिबाट अमेरिकी सरकार उत्साहित भएको जनाएको छ।
    ‘नेपालमा एमसिसीको कार्य अवधिभर बृहत्तर सरोकारवालाहरू, नेपालका सरकारहरू र राजनीतिक दलहरूको निरन्तर सहयोगबाट मात्र यो सम्भव भएको हो ।

    यस सम्झौताको सफल कार्यान्वयन सुनिश्‍चित गर्न एमसिए-नेपालसँग साझेदारी गर्न हामी प्रतिबद्ध छौं। साथै, सम्झौताका लक्ष्यहरू समयमै हासिल गर्न संलग्न सबैले लगनशीलताका साथ काम गरिरहेका छौं,’ दूतावासले भनेको छ।

    आज कार्यान्वयनमा गएको घोषणा भएसँगै एमसिसीको पाँच वर्षे अवधि पनि गणना सुरू हुनेछ। यसको अर्थ एमसिसीअन्तर्गत बन्ने परियोजनाहरू सन् २०२८ को अगस्ट ३० सम्म सम्पन्न भइसक्नुपर्ने छ। एमसिसीअन्तर्गत ३१५ किलोमिटर लामो विद्युत प्रसारण लाइन, विद्युत सबस्टेशन र सडक मर्मत आयोजना रहेका छन्।

    प्रसारण लाइनअन्तर्गत पहिलो खण्डमा लप्सीफेदी – रातमाटे – नयाँ हेटौँडासम्मको ११७ किमि लामो प्रसारण लाइन बनाइने छ भने दोस्रो खण्डमा रातमाटेदेखि नयाँ दमौलीसम्मको ९० किमि र तेस्रो खण्डमा नयाँ दमौलीदेखि नयाँ बुटवलसम्मको ९० किमि र नयाँ बुटवलदेखि नेपाल–भारत सीमासम्मको १८ किमिको प्रसारण लाइन बनाइने छ।

    नुवाकोटको रातमाटे, तनहुँको दमौली र नवलपरासी-बर्दघाट सुस्ता पश्चिम) को भुमहीमा ४०० केभी क्षमताका सबस्टेशन बनाउन लागिएको छ। सडक आयोजनाअन्तर्गत पूर्व-पश्चिम राजमार्गमा पर्ने दाङको धानखोलादेखि लमहीसम्मको सडकको स्तरोन्नति गरिनेछ।

    यी सबै आयोजनाहरू कार्यान्वयनमा गएको पाँच वर्षभित्र सकिनै पर्ने एमसिसी सम्झौतामा उल्लेख छ। आयोजनाहरू समयमै सम्पन्न गर्नका लागि कार्यान्वयनमा गएको घोषणा गर्नुअघि पूर्वतयारीका कामहरू सम्पन्न गरिएको एमसिए नेपालले जनाएको छ।

  • अमेरिकी परियोजना एमसीसीको ५ वर्षे गणना मंगलबारबाट सुरु हुने, पुरा नभए अनुदान फिर्ता

    अमेरिकी परियोजना एमसीसीको ५ वर्षे गणना मंगलबारबाट सुरु हुने, पुरा नभए अनुदान फिर्ता

    काठमाडौं । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबिच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) मङ्गलबार (भदौ १२)बाट गणना थालिने भएको छ । यो अवधिबाट ५ वर्षको बीचमा परियोजनाको काम सम्पन्न हुनुपर्छ । नभए अनुदान फिर्ता जान्छ । एमसिसीको नेपालस्थित कार्यालय मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसिए) ले मङ्गलबारदेखि एमसिसी कार्यान्वयनमा जाने बताएको छ ।

    एमसिए नेपालका अनुसार एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गतका आयोजनालाई कार्यान्वयन चरणमा प्रवेश गराउनुपूर्व नेपाल सरकारले पूरा गर्नुपर्ने अधिकांश पूर्वसर्त पूरा भएका छन् । छ वटा प्राथमिक पूर्वसर्तमध्ये छैटौँ वातावरणीय प्रभाव मूल्याङ्नको स्वीकृति तथा जग्गा अधिग्रहण र रुख कटानी पूरा हुन बाँकी छ ।

    पूरा भएका पूर्वसर्तहरूमा विद्युत् प्रसारण लाइन आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरिएको, विद्युत् नियमन आयोग ऐन लागू गरी आयोग गठन भएको, कार्यक्रम कार्यान्वयन सम्झौतामा हस्ताक्षर भएको, नेपालको बुटवलदेखि भारतको गोरखपुरसम्म अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि भारत सरकारसँगको सहमतिमा योजना तर्जुमा भएको र संसद्बाट कम्प्याक्टको अनुमोदन भएको छ ।

    सम्झौता कार्यान्वयनमा जानुअघि नेपाल सरकारले लगानी बढाएको छ । नेपाल सरकार र एमसिसीबिच गत जेठ १४ गते आदानप्रदान गरिएको कार्यान्वयन पत्र अनुसार नेपाल सरकारले एमसिसी कम्प्याक्टमा आफ्नो लगानी ६.७० करोड अमेरिकी डलर थपेको हो ।

    सुरुवाती सम्झौतामा एमसिसीका तर्फबाट ५० करोड डलर अनुदान र नेपाल सरकारले १३ करोड डलर लगानी गर्ने सहमति भएको थियो । सरकारकातर्फबाट थप गरिएको लगानी एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गत विद्युत् प्रसारण आयोजनाका लागि उपयोग गरिने छ ।


    एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गत तीन वटा सबस्टेसन निर्माण हुने छन् । नेपाल विद्युत् प्राधिकरणको आवश्यकता र अनुरोध अनुसार थप नयाँ पावर ट्रान्सफर्मर सबस्टेसन युनिट जडान गरी ती सबस्टेसनको क्षमता विस्तार गरिने छ ।

  • स्याङ्जाको छुर्पी अमेरिका निर्यात

    स्याङ्जाको छुर्पी अमेरिका निर्यात

    काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका–८ जैसीपँधेरास्थित अकला नमूना साना किसान कृषि सहकारीद्वारा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । सहकारीका अध्यक्ष पुण्यप्रसाद अर्यालले सहकारीले कृषकबाट दूध सङ्कलन गरेर विभिन्न प्रकारका परिकार उत्पादन गर्दै आएकोसमेत बताए ।


    “हामीले यहाँ सङ्कलित दूधबाट छुर्पी, पनिर, दही, नौनीघ्यू, आइसक्रिमलगायतका वस्तु उत्पादन गर्दै आएका छौँ, छुर्पी अमेरिका निर्यात हुँदै आएको छ ”, उनले भने, “दूधबाट बनेका परिकार स्थानीय बजारमा बिक्री गरेर पनि काठमाडौँ निर्यात गर्ने गरेका छौँ ।” उनले विशेष गरेर सहकारीले उत्पादन गरेको छुर्पीमात्र अमेरिका निर्यात हुने गरेको दाबी गरे । यहाँको दुग्ध सङ्कलन केन्द्रमा वालिङ नगरपालिकासहित दक्षिणी पर्वतबाट समेत कृषकले दूध जम्मा गर्ने गरेका छन् ।

    “साना किसान कृषि सहकारीले सञ्चालन गरेको डेरीमा दैनिक आठ सयदेखि एक हजार एक सय लिटरसम्म दूध सङ्कलन हुन्छ”, उनले भने, “दैनिक २५ देखि ३० किलोसम्म छुर्पी उत्पादन हुँदै आएको छ, दूधको सिजनमा छुर्पीको उत्पादन धेरै नै हुन्छ ।” अध्यक्ष अर्यालले प्रतिकिलो छुर्पीलाई रु एक हजारदेखि एक हजार एक सयसम्म पर्ने बताउनुभयो । उहाँले दूधबाट उत्पादित परिकारको बजारीकरणका लागि समस्या नभएको बताए ।


    सहकारीका प्रबन्धक लक्ष्मी पोख्रेल रेग्मीले प्रतिलिटर दुई रुपैयाँ ५० पैसा दूधमा दिएको अनुदानले कृषक व्यावसायिक गाईभैँसीपालनमा आकर्षित हुँदै गएको बताइन् । “कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री, लहरेबालीका बीउबिजन, घाँसका बिरुवा वितरण गर्दै आएका छौँ”, उनले भनिन्, “बाख्रापालक कृषकलाई बोयर बोका, एक सय ५० किलोदेखि माथि अदुवा लगाउने कृषकलाई किलोमा रु २५ अनुदान दिँदै आएका छौँ ।”

    प्रबन्धक रेग्मीले प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजनासँगको सहकार्यमा गत आर्थिक वर्षमा १० जना कृषकलाई ‘भँैसी अनुदान कार्यक्रम’ अन्तर्गत ५० प्रतिशत अनुदान उपलब्ध गराएको बताइन् । उनले २८ जना कृषकलाई ‘भकारो सुधार कार्यक्रम’अन्तर्गत अनुदान वितरण गरिएकोसमेत जानकारी दिनुभयो ।

    विसं २०७५ मा स्थापन भएको सहकारीमा दुई हजार आठ सय ५० शेयर सदस्य रहेका छन् । सहकारीले चालु आर्थिक वर्षमा पशुधन सुरक्षण कार्यक्रमअन्तर्गत निःशुल्क पशु बीमा कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । कृषि पेसातर्फ किसानलाई आकर्षित गर्दै रोजगारीको सिर्जना गर्ने उद्देश्यले कृषकलाई अनुदान दिँदै आएको प्रबन्धक रेग्मीको भनाइ छ । रासस

  • प्रभावशाली अमेरिकी सिनेटर होलेन नेपाल आउँदै

    प्रभावशाली अमेरिकी सिनेटर होलेन नेपाल आउँदै

    काठमाडौं । अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनले नेपाल भ्रमणमा आउने भएका छन् । उनी सेप्टेम्बर पहिलो साता काठमाडौं आउने भएका हुन् । सिनेटर भ्यान होलेनको कार्यालयका अनुसार नेपाल भ्रमणको क्रममा उनले सरकारी अधिकारी, युवा नेता, सांसद, नागरिक समाजका प्रतिनिधि, गैरनाफामूलक संस्थाका प्रतिनिधि र व्यवसायीलगायतसँग भेट गर्नेछन् । उनले अमेरिकी सहयोगमा सञ्चालित प्रोजेक्ट र स्थानीय सांस्कृतिक महत्त्वका क्षेत्रमा भ्रमण गर्ने कार्यक्रम छ ।

    उनको भ्रमणले नेपाल र अमेरिकाको राजनीतिक तथा व्यावसायिक साझेदारी मजबुत हुने विश्वास लिइएको छ । त्यसैगरी उनले अमेरिकाको नेपालमा हुने सहयोगको बारेमा समेत छलफल गर्ने तय भएको छ । खासगरी स्वास्थ्य क्षेत्रमा र विद्युत् तथा यातायात पूर्वाधारमा महत्त्वपूर्ण लगानीको आधार तय गरिनेछ । क्रिस भ्यान होलेन अमेरिकाको डेमोक्रयाट पार्टीका प्रभावशाली सिनेटर हुन् ।

  • पूर्व राष्ट्रपति ट्रम्प पुगे काउन्टी जेलमा

    पूर्व राष्ट्रपति ट्रम्प पुगे काउन्टी जेलमा

    न्यूयोर्क । पूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प जोर्जिया राज्यस्थित फुल्टन काउन्टी जेलमा पुग्दा वरपर अत्यन्तै कडा सुरक्षा बन्दोबस्त गरिएको थियो। त्यहाँ उनका औँठाछाप लिइएको र मगशट भनिने प्रहरी रेकर्डमा राखिने फोटो खिँचिएको थियो। लगत्तै उक्त फोटो सार्वजनिक गरियो। छोटो प्रक्रियापश्चात् २ लाख डलरको जमानतमा उनी रिहा भए। उनी त्यसपछि जोर्जियाबाट फर्किँदै छन्। अघिल्लो राष्ट्रपतीय चुनावमा धोखाधडी भएको आरोप लगाउँदै उनले गरेका काम र दिएका अभिव्यक्तिहरूलाई लिएर उनीमाथि झुटो बोलेको तथा मिलीभगत अपराध गरेका १३ अभियोग लागेका छन्।

    उनले ती सबै अभियोग राजनीतिक पूर्वाग्रह प्रेरित भन्दै अस्वीकार गर्दै आएका छन्। फुल्टन काउन्टी जेलमा उनलाई सन् २०२० मा जोर्जिया राज्यमा भएको उनको चुनावी पराजय उल्ट्याउन खोजेको अभियोगमा ट्रम्पको नाम आधिकारिक रूपमा दर्ज गरिएको छ। ट्रम्पले आफूविरुद्ध राजनीति प्रेरित अभियोगहरू लगाइएको बताएका छन् । जेलमा छोटो प्रक्रियामा सामेल भएपछि रिहा गरिने बित्तिकै ट्रम्प जोर्जिया राज्यबाट फर्कन विमानस्थल पुगेका थिए।

    त्यहाँ उनले टिप्पणी गर्दै आफू निर्दोष भएको र सन् २०२० मा वास्तवमै निर्वाचनमा हस्तक्षेप भएको बताए। “निर्वाचनलाई चुनौती दिन पाउनुपर्छ। मलाई विश्वास छ त्यो निर्वाचन धाँधलीपूर्ण थियो,” उनको विमानबाहिर पर्खिरहेका पत्रकारहरूलाई उनले भने। “मैलै कुनै गल्ती गरेको छैन र यो सबैलाई थाहा छ।”

    उनले यसअघि चुनाव हारेपछि विरोध जनाएका दुई डेमोक्र्याट नेताहरूको उदाहरण दिए – हिलरी क्लिन्टन जसले सन् २०१६ मा उनीसँग पराजय बेहोरेकी थिइन् अनि स्टेसी एब्राम्स जसले सन् २०१८ मा जोर्जियाको गभर्नर पदको चुनाव हारेकी थिइन्। तर खासमा ट्रम्पलाई चुनावी नतिजाप्रति आपत्ति जनाएकोमा अभियोग लगाइएको भने होइन। उनलाई निर्वाचन प्रक्रियामा नै प्रभाव पार्ने गरी गैरकानुनी कार्य गरेको अभियोग लागेका छन्।

    सन् २०२४ मा पुनः राष्ट्रपति निर्वाचनमा लड्न आँटेका ट्रम्पले सामना गरिरहेको यो चौथो फौजदारी मुद्दा हो। यसअघि बुधवार ट्रम्पका पूर्व वकिल रुडि जुलियानी तथा अन्य प्रतिवादीहरूले पनि सोही मामिलामा फुल्टन जेलमा आत्मसमर्पण गरेका थिए। थप सात जना प्रतिवादीहरूले त्यहाँ आत्मसमर्पण गर्ने फुल्टन काउन्टी शेरिफ कार्यालयले जनाएको छ। यसबीच एक जना पूर्व सङ्घीय अभियोजनकर्ता तथा एफबीआईका परामर्शदाता जोसेफ मोरेनोले जोर्जिया मामिला लगायत ट्रम्पले सामना गरिरहेको अन्य तीन फौजदारी मामिलाका अदालती सुनुवाइ प्रक्रिया सुरु हुन लामो समय लाग्न सक्ने बताएका छन्।

    bbc