Category: अमेरिका

  • विश्वकप छनोट : आज नेपाल र अमेरिका भिड्दै

    विश्वकप छनोट : आज नेपाल र अमेरिका भिड्दै

    काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा आज नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग भिड्दै छ। खेल जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा दिउँस १२ः४५ बजे सुरु हुनेछ। पहिलो खेलमा नेपाल र अमेरिका दुवैले हार बेहोरेका थिए। यद्यपी नेपालले जिम्बावे र अमेरिकाले वेस्ट इन्डिजसँग प्रतिस्पर्धात्मक खेल देखाएका थिए। सुपर सिक्समा पुग्नका लागि दुवै टिमलाई आजको खेल महत्वपूर्ण छ।

    आजको खेलमा जित निकाल्न सके मात्र सुपर सिक्स सम्भावना जीवित हुन सक्छ। नेपाल र अमेरिकाबीच भएका पछिल्ला पाँच एकदिवसीय खेल मध्ये नेपाल र अमेरिका दुई दुई खेलमा विजयी भएका छन्। एक खेल भने बराबरीमा सकिएको छ। आइसिसी विश्वकप लिग-२ अन्तर्गत २०२० मा घरेलु मैदानमा खेलिएका दुवै खेलमा नेपालले अमरिकालाई पराजित गरेको थियो।

    त्यसपछि ओमानमा २०२१ मा भएको दुई मध्ये नेपाल र अमेरिकाले एक एक खेलमा जित निकालेका थिए। अमेरिकामा २०२२ मा भएको अन्तिम सिरिजमा भने एक खेल बराबरीमा सकिदा अर्को खेलमा अमेरिका वियजी भएको थियो। १० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्। समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्। आज अमेरिकासँग खेलेपछि नेपालले २२ जुनमा वेस्ट इन्डिज (असार ७) र २४ जुनमा (असार ९) नेदरल्यान्ड्ससँग खेल्नेछ।

    पाँच(पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन(तीन टिम पुग्नेछन्। सुपर सिक्समा एक समूहका तीन टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर(नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।

  • अमेरिकाको राजकीय भ्रमणको तयारीमा मोदी

    अमेरिकाको राजकीय भ्रमणको तयारीमा मोदी

    काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ६ असारमा अमेरिकाको राजकीय भ्रमणमा जाने भएका छन् । मोदीको भ्रमणले अमेरिका र भारतका नागरिकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने र भ्रमण महत्वपूर्ण तथा उपलब्धिपूर्ण हुने कूटनीतिज्ञले बताएका समाचार संस्था एएनआईले लेखेको छ ।

    अमेरिका–भारत व्यापार परिषद्ले वासिङ्टनमा गरेको कार्यक्रममा भारतका लागि पूर्वअमेरिकी राजदूत अतुल केशपले भारतका प्रधानमन्त्री मोदीको भावी भ्रमण मैत्री र विश्वासमा आधारित अमेरिका र भारतबीचको सम्बन्धलाई पारस्परिक साझेदारी थप वृद्धि गर्न वास्तवमै महत्वपूर्ण हुने बताए ।


    अमेरिका र भारतबीचको साझेदारी पछिल्ला दिनमा थप लचिलो बनेको तथा पारस्परिक सम्बन्धमा धेरै परिवर्तन आएको उनको भनाई छ । कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकाका लागि भारतका राजदूत तरनजीतसिंह सन्धुले भारत–अमेरिका सम्बन्धमा अभूतपूर्व परिवर्तन आएको बताए ।

    चारदिने अमेरिका भ्रमणका क्रममा भारतका प्रधानमन्त्रीले अमेरिकी संसद्का दुवै सदनका संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । अमेरिकी राष्ट्रपतिका राजकीय पाहुना मोदी सम्बोधनको यो अवसर एवं सम्मान पाउने तेस्रो भारतीय नेता हुन् । उनी अमेरिकी कङ्ग्रेसलाई दुईपटक सम्बोधन गर्ने एक मात्र भारतीय प्रधानमन्त्री बन्नेछन् ।

  • अमेरिका र माल्टा पठाउने भन्दै ठगी गर्ने दुई जना पक्राउ

    अमेरिका र माल्टा पठाउने भन्दै ठगी गर्ने दुई जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारका लागि अमेरिका र माल्टा पठाइदिने भन्दै रकम लिई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालका अनुसार पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी नगरपालिका–७ वेलटार घर भई हाल ललितपुर गोदावरी नगरपालिका–१४ बस्ने ३७ वर्षीया सुनिता न्यौपाने श्रेष्ठ र मुगु छायानाथ रारा नगरपालिका–३ घर भई हाल काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने ३४ वर्षीय प्रवीन खड्का रहेका छन् ।


    श्रेष्ठले ओमनाथ मैनालीलाई वैदेशिक रोजगारका लागि अमेरिका पठाइदिने र त्यसका लागि ३१ लाख लाग्ने भन्दै झुक्याएर सम्पर्कविहीन भएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।यसबीचमा श्रेष्ठले पीडितबाट पटकपटक गरी जम्मा ६ लाख २१ हजार रकम लिई ठगी गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।

    यसैगरी, खड्काले कर्णबहादुर बुढासमेत दुई जनालाई वैदेशिक रोजगारका लागि माल्टा पठाइदिने र त्यसका लागि प्रतिव्यक्ति ११ लाख ५० हजार लाग्ने भन्दै उनीहरूबाट पटकपटक गरी जम्मा ९ लाख रकम लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रेग्मीले बताए ।

  • ट्रम्पमाथि अभियोग दायर

    ट्रम्पमाथि अभियोग दायर

    काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि ह्वाइट हाउस छोडेपछि गोप्य दस्तावेजहरूको व्यवस्थापनलाई लिएर औपचारिक रूपमा अभियोग दायर गरिएको छ। ट्रम्पले कैयौँ आरोप सामना गरिरहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् जसमा न्यायमा बाधा पुर्‍याएको, षडयन्त्र गरेको र गलत वक्तव्य दिएको लगायतका छन्।

    ट्रम्पले आफू निर्दोष रहेको उनको सामाजिक सञ्जाल ट्रुथ सोसिअलमा उल्लेख गरेका छन्। साथै आफूलाई मङ्गलवार मायामीस्थित एउटा अदालतमा डाकिएको जनाएका छन्। अभियोजकहरूले फ्लोरिडास्थित ट्रम्पको घरमा राखिएका करिब ११ हजार दस्तावेजको परीक्षण गरेका थिए। ७६ वर्षीय ट्रम्पमाथि सातवटा अभियोग लगाइएको छ जसमध्ये एउटा स्वीकृतिबेगर गोप्य दस्तावेजहरू आफूसँग राखेको पनि भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

    यो ट्रम्पमाथिको दोस्रो अभियोजन हो। अमेरिकी पूर्वराष्ट्रपतिमाथिको पहिलो सङ्घीय अभियोजनको रूपमा यसलाई लिइएको छ। सन् २०२४ को आम चुनावबाट राष्ट्रपति निर्वाचित हुने योजना ट्रम्पले बनाइरहेका छन्। ट्रुथ सोसिअलमा राखिएको पोस्टमा ट्रम्पले लेखेका छन्, “मैले कहिले पनि सोचेको थिइनँ कि संयुक्त राज्य अमेरिकाको पूर्वराष्ट्रपतिमाथि यस्तो कुरा गर्न सम्भव हुनेछ।”

    उनले थपेका छन्, “यो वास्तवमै संयुक्त राज्य अमेरिकाको लागि कालो दिन हो। हामी गम्भीर र द्रुत ढङ्गले तल झरिरहेको देश हौँ। तर हामी सबै मिलेर अमेरिकालाई महान् बनाउनेछौँ।” उनले सत्तारूढ दलले आगामी चुनावमा हस्तक्षेप गर्ने उद्देश्य राखेर ‘लाजमर्दो कदम’ चालेको आरोप लगाएका छन्।

    अमेरिकास्थित बीबीसीको साझेदार सीबीएस न्यूजले स्रोतलाई उल्लेख गर्दै सो अभियोजन सरकारी दस्तावेजहरूसँग जोडिएको र एक भन्दा बढी आरोपहरू लगाइएको उल्लेख गरेको छ। सीएनएन र एबीसी न्यूज जस्ता अन्य समाचार च्यानलहरूले कम्तीमा सातवटा अभियोग लगाइएको बताइरहेका छन्। अभियोजनले आरोप लगाइएका विषयलाई सन्दिग्ध व्यक्तिमाथि कानुनी प्रक्रिया अघि बढाउने बाटो खुल्ने गर्छ।

    अमेरिकी महान्यायाधिवक्ताले विशेष अभियोजनकर्ता ज्याक स्मिथलाई उक्त दस्तावेज प्रकरणहरूबारे जाँच गर्न गएको नोभेम्बरमा जिम्मेवारी दिएका थिए। अघिल्लो वर्ष ट्रम्पको फ्लोरिडास्थित घर ‘मर(आ(लागो’ मा छापा हानेर ११ हजार दस्तावेज जफत गरिएका थिए र त्यसमध्ये १०० वटा गोपनीयताका दृष्टिले संवेदनशील मानिएको थियो। त्यसमध्ये कतिपयमा ‘अति गोप्य’ सङ्केत चिह्न उल्लेख गरिएको थियो।

    अघिल्लो हप्ता अभियोजनकर्ताहरूले ट्रम्पको एउटा अडियो रिकर्डिङ प्राप्त गरेको विवरण आएका थिए। त्यसमा उनले ह्वाइट हाउस छाडेपछि पनि गोप्य दस्तावेज राखेको स्वीकार गरेका जनाइएको छ। अमेरिकामा राष्ट्रपतिदेखि कुनै पनि सङ्घीय अधिकारीले गोप्य दस्तावेजलाई हटाउने वा अनधिकृत स्थानमा आफूसँग राख्नु कानुनविपरीत काम हो। कानुनविद्‌हरूले पछिल्लो अभियोगले आगामी राष्ट्रपतीय चुनावमा लड्नसक्ने ट्रम्पको सामर्थ्यमा प्रभाव नपार्ने बताएका छन्।

    जर्जटाउन युनिभर्सिटी ल सेन्टरका प्राध्यापक डेभिड सुपरले भने, “उनीमाथि पटकपटक अभियोग लाग्नसक्छ, तर त्यसले चुनावमा लड्नसक्ने उनको क्षमतालाई रोक्न सक्नेछैन।” सुपरका अनुसार दस्तावेज प्रकरणमा दोषी नै ठहर भए पनि ट्रम्पले राष्ट्रपति पदमा उम्मेदवारी दिन सक्छन्। तर रिपब्लिकन दल उनको पक्षमा उभिनेछ या छैन त्यो भने प्रस्ट भइसकेको छैन।

    विगतमा युद्ध अपराधहरूको अनुसन्धानमा संलग्न स्मिथ दृढ खालका जाँचकर्ता मानिन्छन् र उनले ट्रम्प पराजित भएको सन् २०२० को चुनावको परिणाम उल्टाउने प्रयासबारे अलग्गै जाँच पनि गरिरहेका छन्। गत एप्रिलमा ट्रम्प अपराधमा संलग्न रहेको अभियोग लगाइने पहिलो पूर्वअमेरिकी राष्ट्रपति बनेका थिए।
    वयस्क चलचित्रकी एकजना अभिनेत्रीसँगको आफ्नो सम्बन्धबारे उनलाई चुप लगाउन पैसा दिएकोबारे गलत व्यावसायिक हिसाबकिताब राखेको विषयसँग सम्बन्धित आरोपमा आफू निर्दोष रहेको उनले बताएका थिए। आगामी वर्ष उक्त मुद्दालाई लिएर न्यूयोर्कमा सुनुवाइ हुनेछ।

    bbc

  • साउदी क्लवको मोटो रकमको प्रस्ताव लत्याउँदै अमेरिकी क्लव इन्टर मियामी जाने भए लियोनल मेसी

    साउदी क्लवको मोटो रकमको प्रस्ताव लत्याउँदै अमेरिकी क्लव इन्टर मियामी जाने भए लियोनल मेसी

    काठमाडौं । समकालिन फूटबलका महान फूटबलर अर्जेन्टिनी स्टार लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन छाडेर अमेरिकन क्लब इन्टर मियामी जाने निश्चित भएको छ । स्पेनिस क्लब बार्सिलोनाका पूर्व स्टार मेस्सीले साउदी अरेबियाका अल हिलालले प्रस्ताव गरेको मोटो रकम त्यागेर अमेरिकी क्लबमा जाने निर्णय गरेका हुन् ।


    उनले मियामीमा जाने निर्णय गर्नुमा एडिडास, एप्पलजस्ता कम्पनीको सहयोग रहेको छ । सात पटक विश्वकै उत्कृष्ट खेलाडी चुनिएका ३५ वर्षका मेस्सीले पहिलो पल्ट युरोप बाहिर खेल्ने निर्णय गरेका हुन् । उनले अर्को सिजन पनि युरोपमै खेल्न चाहेका थिए । तर युरोपेली क्लबबाट सन्तोषजनक प्रस्तावहरू प्राप्त नभएपछि उनीसँग इन्टर मियामी वा अल–हिलाल मध्ये एक रोज्नु पर्ने बाध्यता थियो ।

    साउदी अरबका लिगमा क्रिस्टियानो रोनाल्डो र करिम बेन्जिमाले पाएको भन्दा बढी रकम उनले पाउन सक्थे । तर त्यो छाडेर मेसी अमेरिकी मेजर लिग सकर क्लब इन्टर मियामीमा परे । मियामीको जीवन शैली, विश्वकै ठूला ब्राण्ड एडिडास र एप्पलसँगको सम्झौता लगायतका कारणले उनी अमेरिकामा लोभिएको हुन सक्ने बिबिसीले जनाएको छ ।

    २१ वर्षसम्म खेलेको बार्सिलोना त्यागेर उनी सन् २०२१ मा पिएसजी पुगेका थिए । उनी रहँदा दुवै सिजन पिएसजीले फ्रेञ्च लिग जितेको थियो । तर यसपालि च्याम्पियन्स लिगमा पिएसजी अन्तिम १६ बाटै बाहिरिएको थियो ।

  • हाइपरसोनिक मिसाइल बनाएको इरानको दाविले भड्किएला अमेरिका ?

    हाइपरसोनिक मिसाइल बनाएको इरानको दाविले भड्किएला अमेरिका ?

    काठमाडौं । इरानले हाइपरसोनिक मिसाइल बनाएको दाबी गरेको छ । यो मिसाइलको गति ध्वनिको तुलनामा १५ गुणा बढी हुने दावि इरानको छ । इरानको आणविक कार्यक्रमका बारेमा अमेरिकासँग चलिरहेको तनावका बीच यो घोषणा भएको हो । यसबाट अमेरिका भड्किन सक्ने अनुमान गरिएको छ । ‘

    फत्ताह’ नाम गरिएको उक्त मिसाइलले १४ सय किलोमिटरसम्म मार हान्न सक्ने इरानका टेलिभिजन रिपोर्टमा उल्लेख गरिएको छ । इरानका राष्ट्रपति इब्राहिम रायसीले यो शक्तिबाट मध्य एसियामा सुरक्षा र शान्ति कायम सहज हुने टेलिभिजन कार्यक्रममा बताएका छन् । यसलाई कुनै पनि क्षेत्रीय रक्षा संयन्त्रले पनि रोक्न नसक्ने इरानको दाबी छ । यद्यपि, दाबीलाई बल पुग्ने प्रमाण उसले सार्वजनिक नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

  • अमेरिकाले गर्यो चिनियाँ सामानको आयातमा कटौती

    अमेरिकाले गर्यो चिनियाँ सामानको आयातमा कटौती

    काठमाडौं । अमेरिकाले चिनियाँ सामानको आयात घटाएको छ । हालै सार्वजनिक भएको तथ्यांकअनुसार दस वर्षको अन्तरालमा पहिलो पटक चिनियाँ सामानको आयातमा ५० प्रतिशतले कमी आएको छ ।

    परामर्श कम्पनी केर्निकोका अनुसार चीनमाथिको निर्भरता कम गर्न अमेरिकाले सरकारीस्तरमा नै चिनियाँ उत्पादनको आयात कटौती गरेको छ । दक्षिण कोरिया र जापानका उत्पादनतर्फ अमेरिकी उपभोक्ता आकर्षित हुँदै गएका छन् । यद्यपि ती मुलुकबाट अमेरिका आयातको हिस्सा ५० प्रतिशतभन्दा कम हुने ठानिएको छ ।

    भारत, भियतनाम, ताइवान र मलेसियाका उत्पादनप्रति पनि अमेरिकी उपभोक्ता आकर्षित भएका छन् । चीन र अमेरिका एकअर्काका सबैभन्दा ठूला व्यापारिक साझेदार हुन् । अमेरिकी व्यापार तथ्यांक प्रयोग गर्ने किर्नीको रिसोरिङ इन्डेक्सका आधारमा गत वर्ष एसियाली देशहरूबाट अमेरिकाले आयात गरेको वस्तुको ५०.७ प्रतिशत चिनियाँ सामान थियो ।

  • अमेरिकी राष्ट्रपति सार्वजनिक कार्यक्रममा लडेपछि…

    अमेरिकी राष्ट्रपति सार्वजनिक कार्यक्रममा लडेपछि…

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार कोलोराडोमा एयर फोर्स एकेडेमीको कार्यक्रममा भुइँमा लडेका छन् । दीक्षान्त समारोहमा सहभागी हुन आएका बाइडेनले मन्तव्य दिएपछि क्याडेटसँग हात मिलाएर आफ्नो सिटतर्फ जाँदै गर्दा भुइँमा पछारिएका हुन् । वायुसेनाका अधिकारीहरूको सहयोगमा उनी उठेका थिए । ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले ट्वीट गर्दै राष्ट्रपति ठिक रहेको र चोट नलागेको स्पष्ट पारेका छन् । बालुवा भरिएको कालो रंगको झोलामा खुट्टा अड्किएर उनी लडेको बताइएको छ ।

    बाइडेन अमेरिकामा राष्ट्रपति पद सम्हाल्ने सबैभन्दा वृद्ध नेता हुन् । ८० वर्षीय डेमोक्र्याट नेताले जनवरी २०, २०२१ मा राष्ट्रपतिको रूपमा शपथ लिएका थिए। उनले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई हराएका थिए । बुढ्यौली लागे पनि उनले २०२४ मा फेरि चुनाव लड्ने घोषणा गरेका छन् । एक दिन अघि उनका डाक्टरले बाइडेन शारीरिक रूपमा फिट रहेको र दैनिक व्यायाम गरिरहेको रिपोर्ट जारी गरेका थिए । बाइडेन यसअघि पनि सार्वजनिक कार्यक्रममा लडेका थिए । नोभेम्बर २०२० मा बाइडेनको दाहिने खुट्टामा स्ट्रेस (हेयरलाइन) फ्र्याक्चर भएको थियो। उनी आफ्नो कुकुरसँग खेलिरहेको बेला उक्त दुर्घटना भएको थियो ।

    गत फेब्रुअरी २३ मा पोल्याण्डबाट अमेरिका फर्कने क्रममा एयरफोर्स वनको भर्‍याङ उक्लिइरहेको बेला पनि उनी लडेका थिए । त्यस्तै १६ नोभेम्बर २०२२ मा जी(२० शिखर सम्मेलनमा भाग लिन बाली गएका बेला पनि जङ्गलमा हिंड्नेक्रममा उनी लडेका थिए । सोही वर्ष जुनमा लस एन्जलसमा टेलिभिजन अन्तर्वार्ता दिन जाने क्रममा विमानको भर्‍याङ चढ्ने बेला उनी ठोक्किएर लडेका थिए ।

  • गैरआवासीय नेपाली संघ अमेरिकाको अब आफ्नै भवन

    गैरआवासीय नेपाली संघ अमेरिकाको अब आफ्नै भवन

    काठमाडौं । गैर आवासीय नेपाली सङ्घ, अमेरिकाले करिब तीन लाख डलरमा भवन खरिद गरेको छ । एक समारोहबिच मुटुरोग विशेषज्ञ डा.भगवान् कोइरालाले उक्त भवनको उद्घाटन गरे । उद्घाटनपछि छोटो मन्तव्य व्यक्त गर्दै डा. कोइरालाले एनआरएनले नयाँ भवन खरिद गर्नु एक नयाँ आयाम भएको बताए । उनले आगामी दिनमा एनआरएनले महत्त्वपूर्ण काम गर्न सकोस् भन्ने कामना गर्दै एनआरएनलाई आफूहरूको सधैँ साथ र सहयोग रहने बताए ।

    समारोहमा उपस्थित डा. रमेशकान्त अधिकारीले बधाई र खुसी व्यक्त गरे । भवन खरिद एनआरएन अभियानमा लागेका सबैजनाका लागि यो खुसीको कुरा भएको बताएका छन् । उनीहरुले आगामी दिनमा एनआरएन अमेरिकाले महत्त्वपूर्ण काम गर्ने अपेक्षा व्यक्त गरे । भर्जिनिया क्षेत्रका एनआरएनमा सक्रिय मानिसहरू भवन खरिदपछि खुसी भएका छन् । एनआरएन भर्जिनिया च्याप्टरका पूर्व अध्यक्ष तथा आइसिसी सदस्य गोविन्द सुवेदीले एनआरएन अमेरिकालाई धन्यवाद दिँदै यो एक ऐतिहासिक उपलब्धि र सफलता भएको बताए ।

  • धार्मिक स्वतन्त्रता सम्बन्धी अमेरिकी प्रतिवेदनमाथि असन्तुष्टी जनाउँदै नेपालले अमेरिकालाई लेख्यो कुटनीतिक नोट

    धार्मिक स्वतन्त्रता सम्बन्धी अमेरिकी प्रतिवेदनमाथि असन्तुष्टी जनाउँदै नेपालले अमेरिकालाई लेख्यो कुटनीतिक नोट

    काठमाडौं । संयुक्त राज्य अमेरिकाको धार्मिक स्वतन्त्रतासम्बन्धी एउटा प्रतिवेदनमा नेपालबारे उल्लेख भएका विषयवस्तुप्रति असहमति जनाउँदै सरकारले अमेरिकालाई कूटनीतिक नोट लेखेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस्तो जानकारी दिए । प्रचण्डले संसद्‌लाई गराएको जानकारीअनुसार नेपालको परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित अमेरिकी दूतावासमार्फत् अमेरिकी प्रतिवेदनप्रति असहमति जनाएको हो।

    सन् २०२२ को धार्मिक स्वतन्त्रतासम्बन्धी अमेरिकी विदेश मन्त्रालयको प्रतिवेदनमा नागरिक समाजलाई उद्धृत गर्दै भारतको सत्तारूढ दल भारतीय जनता पार्टी भाजपा र अन्य समूहहरूले नेपालका नेताहरूलाई ‘हिन्दू राज्यमा फर्किने’ विषयमा समर्थन गर्न दबाव दिइरहेको जनाइएको छ। आइतवार अबेरसम्म अमेरिकाले त्यसको कुनै जवाफ दिएको छैन। कूटनीतिक असहमति व्यक्त गर्न पठाइने यस्तो नोटमा उल्लेखित विवरण पनि मन्त्रालयले गोप्य राखेको छ।

    प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रतिपक्षी सांसदहरूले अमेरिकी प्रतिवेदनबारे चासो राखेका थिए। “अमेरिकाको सरकारी निकायले नेपालमा धर्मान्तरण र धर्म अतिक्रमण जस्ता विषयमा गम्भीर प्रतिवेदन सार्वजनिक गरेको छ र यसमा हाम्रो मित्रराष्ट्र भारतलाई समेत प्रतिवेदनले तानेको छ,” नेकपा एमालेका सचिव योगेश भट्टराईले संसद्‌मा शनिवार भनेका छन् । “प्रधानमन्त्रीले त्यस विषयमा केही पनि बोल्नु भएन। नेपाल सरकारको धारणा म बुझ्न चाहन्छु।” नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग राख्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि यसअघि प्रतिवेदनबारे विरोध जनाएको थियो।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिवेदनमा असहमति राख्दै नेपालस्थित अमेरिकी राजदूतलाई पत्र पठाएको उक्त पार्टीले जनाएको छ। नीति तथा कार्यक्रमबारे सांसदहरूका जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भट्टराईले राखेको चासोबारे पनि बोलेका थिए। “धर्मान्तरणबारे के भएको छ भनेर सोध्नु भएको छ। नेपाल सरकारको तर्फबाट गम्भीर ध्यानाकर्षणसहित अमेरिकी दूतावासमार्फत् अमेरिकी सरकारलाई नोट पठाइसकिएको छ, यो के हो भनेर,” प्रधानमन्त्री प्रचण्डले भने।


    प्रत्येक वर्ष अमेरिकी विदेश मन्त्रालयले तयार पार्ने यस्तो प्रतिवेदन त्यहाँको संसद्‌मा प्रस्तुत गर्नका लागि अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता ऐन १९९८ अनुसार तयार गरिएको हुन्छ। यसअघि भारतले पनि यस्तो प्रतिवेदनको आलोचना गरेको थियो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भनेका थिए, “यस्ता रिपोर्ट भ्रामक सूचना र गलत विश्लेषणमा आधारित हुन्छन्।”

  • नेपाल-अमेरिका अन्तर्राष्ट्रिय महोत्सवमा ३७ फिल्म

    नेपाल-अमेरिका अन्तर्राष्ट्रिय महोत्सवमा ३७ फिल्म

    काठमाडौं । गत वर्ष लघु फिल्मको विधातर्फ कान्स जितेको अविनाश विक्रम शाह निर्देशित फिल्म लोरी, नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवमा देखाइने भएको छ । यससँगै सुजित बिडारी निर्देशित ऐना झ्यालको पुतली, पाकिस्तानका साइम सदिक निर्देशित जोइल्याण्ड र दीपक रौनियार निर्देशित फोर नाइट्सलगायत फिल्म महोत्सवमा देखाइने भएको छ ।

    जुन २२ देखि २५ सम्म आयोजना हुने महोत्सवमा नेपाल, अमेरिका, इजिप्ट, भारत, पाकिस्तानलगायतका ११ देशका फिल्म समेटिनेछन् । फिचर, वृत्तचित्र, लघु र एनिमेसन विधामा ३७ फिल्म देखाउने भएको हो ।

    वासिङ्टन डिसी महानगर क्षेत्र स्थापित महोत्सवको उद्घाटन र समापन मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा हुने र फिल्म एएफआई तथा ओल्ड ग्रिनवेल्ट थिएटरमा प्रदर्शन हुने जनाइएको छ । आयोजक नेपाल-अमेरिका फिल्म सोसाइटीका अनुसार जुन २२ मा नेपालको तर्फबाट अस्कर अवार्डका लागि छनोट भएको बिडारी निर्देशित ऐना झ्यालको पुतली देखाउँदै महोत्सवको उद्घाटन हुनेछ ।

    अमेरिकी निर्देशक न्यन्सी स्भेंन्डसेनको निर्देशनमा बनेको ुपासाङस् इन द स्याडो अफ एभरेष्टुको प्रदर्शनसँगै जुन २५ मा महोत्सव समापन तथा पुरस्कार वितरण गरिनेछ । त्यस्तै महोत्सवमा सुवर्ण थापा निर्देशित द सिक्रेट अफ राधाको विशेष प्रदर्शन हुनेसमेत जनाइएको छ ।

    उत्कृष्ट फिल्महरु पुरस्कृत पनि गरिने बताइएको छ । महोत्सवमा फिल्म संस्कृति र नयाँ प्रविधिबारे अन्तर्क्रियात्मक छलफल हुनेछ । म्यारिल्याण्ड राज्यको पार्क्स तथा योजना आयोगको सहयोगमा उक्त छलफल हुने जनाइएको हो । म्यारिल्याण्ड राज्यमा स्थापित नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष निरन्तर महोत्सव आयोजना गर्दै आइरहेको छ ।

  • अर्थमन्त्री महत र एमसीसीका क्षेत्रीय उपाध्यक्ष जोनाथनबीच भेट

    अर्थमन्त्री महत र एमसीसीका क्षेत्रीय उपाध्यक्ष जोनाथनबीच भेट

    अर्थमन्त्री डा. प्रकाशशरण महतसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को एसिया, युरोप, प्यासिफिक र लेटिन अमेरिकाको कार्यक्रम हेर्ने क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्स नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।

    भेटमा एमसीसी परियोजनाको कार्यान्वयन र सम्झौता कार्यान्वयनमा जानुपूर्व सम्पन्न भइसक्नुपर्ने कार्यका बारेमा दुवै पक्षवीच विस्तृत छलफल भएको थियो ।

    सो अवसरमा अर्थमन्त्री महतले एमसीसी आयोजना पूर्वनिर्धारित समयावधिभित्रै सम्पन्न भइ नेपालको आयोजना व्यवस्थापनमा उदाहरणीय बन्न सक्ने विश्वास व्यक्त गरेका थिए । आयोजना चक्रमा आउने महत्वपूर्ण विषयहरुलाई कानूनको प्रक्रिया पूरा गरी यथाशीघ्र टुंग्याउने उनले प्रतिबद्धता जनाए ।

    मन्त्री महतले एमसीसीको सफलता अन्य आयोजनाका लागि पनि अनुकरणीय हुने विचार व्यक्त गर्दै एमसीसीका पदाधिकारीलाई नेपाल भ्रमण गरेकामा धन्यवाद ज्ञापन गरे ।

    भेटका क्रममा उपाध्यक्ष ब्रुक्सले जग्गा प्राप्ति, खरिद प्रक्रिया जस्ता पूर्वतयारीमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गरेको बुझिएको छ ।

    एमसीसी सम्झौता कार्यान्वयनमा जाने मिति (अगष्ट २०२३) नजिकै आएको र यो कार्यान्वयनमा गएको मितिले ५ वर्षभित्र आयोजना सम्पन्न गरिसक्नु पर्ने सन्दर्भमा यसको पूर्वतयारीको बारेमा जानकारी लिन एमसीसीका पदाधिकारीको नेपाल भ्रमण भएको हो ।

  • एमसीसी परियोजनाका लागि ६ कम्पनीले दिए बोलपत्र

    एमसीसी परियोजनाका लागि ६ कम्पनीले दिए बोलपत्र

    काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले एमसीसी परियोजना अन्तर्गतको प्रसारणलाइन निर्माणका लागि ६ वटा कम्पनीहरुले बोलपत्र पेश गरेका छन् । नेपालमा रातमाटे–लप्सीफेदी( हेटौंडा–नयाँ दमौली–नयाँ बुटवल खण्डमा प्रसारणलाइन निर्माणका लागि एमसीए नेपालले सोमबार बोलपत्र आह्वान गरेको थियो ।

    जसमा मेघा इन्जिनियरिङ एन्ड इन्फ्रास्ट्रक्चर लिमिटेड र पावर मेक प्रोजेक्ट्स लिमिटेडले संयुक्त रूपमा बोलपत्र पेश गरेका छन् । यस्तै कल्पतरू पावर ट्रान्समिसन लिमिटेड, केईसी इन्टरनेशनल लिमिटेड, ट्रान्सरेल लाइटिङ लिमिटेड, टाटा प्रोजेक्ट्स लिमिटेड र लार्सन एण्ड टर्बो लिमिटेडबाट पनि बोलपत्रहरु प्राप्त भएको एमसीए नेपालले जनाएको छ । बोलपत्र बारेको निर्णय भने वेबसाइटमा प्रकाशित गरिने जनाइएको छ ।

    प्रसारणलाइन निर्माणका लागि बोलपत्र लिइसक्दा पनि परियोजनाको पूर्वतयारीको काममा चरम ढिलाइ भइरहेको छ । पूर्वतयारीलाई गति नदिई ढिलाइकै बीच आयोजना कार्यान्वयन गर्ने एमसीए नेपालको तयारी छ ।

    प्रसारणलाइन बन्ने १० वटा जिल्लाका ३० वटा गाउँपालिका तथा नगरपालिका (९२ वटा वडाहरु) भएर जाने प्रस्तावित प्रसारणलाइन बन्ने क्षेत्रको तार र टावर रहने जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ । एमसीए नेपालका अनुसार अहिले जग्गा अधिग्रहणका लागि १० मध्ये ९ वटा जिल्लामा मात्रै प्रारम्भिक सूचनाहरु प्रकाशन भएका छन् ।

  • नेपाल–अमेरिका व्यापार : १६ अर्बको आयात, १५ अर्बको निर्यात

    नेपाल–अमेरिका व्यापार : १६ अर्बको आयात, १५ अर्बको निर्यात

    काठमाडौं । नेपाल र अमेरिकाबीच तुलनात्मक रुपमा कम व्यापार घाटा रहेको छ । चालु आर्थिक वर्ष २०७९\८० को १० महिनाको अवधिमा अमेरिकाबाट १६ अर्ब ३० करोडको वस्तु आयात भएको छ । यसै अवधिमा १५ अर्ब ५८ अर्बको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ । अमेरिकासँग तुलनात्मक रुपमा कम व्यापार घाटा रहेको पाइएको छ । नेपालले १० महिनाको अवधिमा १६६ भन्दा बढी मुलुकसँग वैदेशिक व्यापार गरेको छ ।

    जसमध्ये सबैभन्दा ठूलो व्यापार भारतसँग रहेको छ । १० महिनामा भारतबाट ८ खर्ब ४४ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । नेपालबाट भारततर्फ भने ९१ अर्ब १४ करोड रुपैयाँको निर्यात भएको छ । जस अनुसार नेपालको भारतसँग ७ खर्ब ५३ अर्ब रुपैयाँको व्यापार घाटा देखिन्छ । चीनबाट १ खर्ब ७९ अर्बको वस्तु आयात भएको छ । निर्यात भने मात्र १ अर्ब ३५ करोड रुपैयाँको भएको छ । इण्डोनेसियाबाट ३५ अर्ब र अर्जेण्टिनाबाट २१ अर्बको वस्तु आयात भएको छ ।

  • हलिउड अभिनेता टम हार्डीले दिए हरि बुढामगरलाई बधाई

    हलिउड अभिनेता टम हार्डीले दिए हरि बुढामगरलाई बधाई

    काठमाडौं । विश्वचर्चित हलिउड अभिनेता टम हार्डीले कृत्रिम खुट्टाको मद्दतमा सगरमाथा आरोहण गरेका पूर्वबेलायती गोर्खा सैनिक हरि बुढामगरलाई बधाई दिएका छन् । बुढामगरको सगरमाथा विजयलाई उनले अविश्वसनीय र प्रेरणादायी भएको बताएका छन् ।

    इन्स्टाग्राममा तस्वीर सेयर गर्दै उनले आरोहणका टिम लिडर एचएसटी एडभेन्चर्सका कृष थापालाई पनि बधाई दिएका छन् । वसन्त ऋतुको जारी आरोहणमा बुढामगरले यही जेठ ५ गते दिउँसो तीन बजे सगरमाथाको चुचुरोमा पुगेका हुन् । यससँगै बुढामगरले चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अंग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् ।

    अभिनेता हार्डी भेनम, स्टार वार्स, स्पाइडरम्यान नो वे होम, द म्याट्रिक्स, द रेभिनेन्ट, म्याड म्याक्स फ्युरी रोड, इनसेप्सन, डार्क नाइट राइजेज लगायत चर्चित हलिउड फिल्मका लागि चिनिएका छन् । यसअघि उनले नेपाली आरोही निर्मल पूर्जालाई पनि ‘फोर्टिन पिक्स’ नेटफ्ल्क्सि फिल्मका लागि बधाई दिएका थिए ।

  • गृहमन्त्री श्रेष्ठ र एमसीसीका उपाध्यक्षबीच भेट, के भयो कुराकानी

    गृहमन्त्री श्रेष्ठ र एमसीसीका उपाध्यक्षबीच भेट, के भयो कुराकानी

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष जोनाथन ब्रुक्सले भेटवार्ता गरेका छन् । नेपाल भ्रमणमा रहेका एमसीसी उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले शनिबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठसँग शिष्टाचार भेट गरेको हो । भेटमा ब्रुक्सले एमसीसी परियोजनाका लागि आवश्यक जग्गा प्राप्ति, सुरक्षा र समन्वयनको काममा गृह मन्त्रालयको तर्फबाट सहयोग उपलब्ध गराउन आग्रह गरेका थिए । उपप्रधानमन्त्री श्रेष्ठले सो परियोजनालाई समयमै सम्पन्न हुनेगरी अघि बढाउनका लागि गृह मन्त्रालय र मातहतका प्रशासनिक निकायहरूको आवश्यक सहयोग हुने बताएका थिए ।
    उपप्रधानमन्त्री श्रेष्ठले एमसीसी परियोजनालाई समयमै सम्पन्न गर्नका लागि गृह मन्त्रालयको तर्फबाट पर्याप्त र आवश्यक सहयोग हुने कुरा सो परियोजनाको प्रतिनिधिमण्डललाई बताएको भेटमा सहभागी गृहसचिव गोविन्द भट्टराईले जानकारी दिए । ‘आज २०८० साल जेष्ठ महिनाको ६ गते गृह मन्त्रालयका माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्रीज्यू र एमसीसीका भाइस प्रेसिडेन्ट जोनाथन ब्रुक्सबीच भेटघाट भएको छ ।

    उहाँहरूको नेपाल भ्रमणको क्रममा माननीय उपप्रधानमन्त्रीज्यूसँग शिष्टाचार भेट हो, उनले भने, ‘एमसीसीका बारेमा सामान्य कुरा गर्न र परिचयात्मक रुपमा आफूलाई प्रस्तुत गर्न उपस्थिति हुनुभएको थियो । र, भेटघाटको क्रममा परियोजनाका आगामी गतिविधिहरूमा मूल रुपमा प्रमुख जिल्ला अधिकारीहरू संलग्न भई गर्नुपर्ने काम जग्गा प्राप्ती, परियोजनालाई उपलब्ध गराउनुपर्ने सुरक्षा तथा समन्वयको पार्टमा गृह मन्त्रालयको तर्फबाट हुन सक्ने सहयोगका लागि आग्रह गर्नुभएको छ ।’

    गृहमन्त्री श्रेष्ठले परियोजनाको सफल कार्यान्वयन, समयमै सम्पन्न गर्ने गरेर कार्यान्वयन गर्न मन्त्रालयको प्रशासन र प्रमुख जिल्ला अधिकारीहरूबाट पर्याप्त र आवश्यक सहयोग हुने आश्वासन उपलब्ध गराउने आश्वासन दिएको उनले बताए । भेटमा उपाध्यक्ष ब्रुक्ससहितको टोलीले उपप्रधानमन्त्री श्रेष्ठसँग परियोजनाबारे सामान्य ब्रिफिङ पनि गरेको थियो ।

  • अमेरिकामा राजकुमार ह्यारी र पत्नी मेगन पापाराजीको डरलाग्दो निसानामा परेपछि…

    अमेरिकामा राजकुमार ह्यारी र पत्नी मेगन पापाराजीको डरलाग्दो निसानामा परेपछि…

    काठमाडौं । राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्कलको कारलाई पापाराजीहरू संलग्न एउटा घटनामा ‘खतरनाक’ ढङ्गले पछयाएको उनीहरूका प्रवक्ताले बताएका छन्। ड्यूक र डचिस अफ ससिक्सले न्यू योर्कमा मङ्गलवार एउटा पुरस्कार वितरण समारोहमा भाग लिएपछि यो घटना भएको थियो। एउटा विज्ञप्तिमा उनीहरूका प्रवक्ताले निरन्तर दुई घण्टा भन्दा बढी समयसम्म कारलाई पछयाइएको र त्यसका कारण एक भन्दा बढी दुर्घटना हुने अवस्था झण्डै निम्तिएको जनाएका छन्। न्यू योर्क प्रहरीका प्रवक्ताले कसैलाई पनि पक्राउ नगरिएको र कोही पनि घाइते नभएको जनाएका छन्।


    बीबीसी न्यूजले सबै विवरणहरूको स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको बताएको छ । तर बुधवार दिनभर त्यसबारे विभिन्न किसिमका बयान र सूचनाहरू प्राप्त भइरहेका थिए। न्यू योर्क प्रहरीले ह्यारी र मेगनसँग सम्बन्धित घटना भएको र कैयौँ फोटोग्राफरहरूले ‘उनीहरूको सवारीलाई चुनौतीपूर्ण बनाएको’ बताएको छ।

    बकिङ्गम प्यालेसले कुनै प्रतिक्रिया दिएको छैन। मनोरञ्जनसम्बन्धी फोटो एजेन्सी ब्याकग्रीडले कैयौँ स्वतन्त्र पत्रकारहरूमाथि अनुसन्धान गरिरहेको जनाउँदै घटनाबारे उनीहरूले प्राप्त गरेका प्रारम्भिक विवरण फरक रहेको जनाएको छ। “फोटोग्राफरहरूले उक्त जोडी कुनै पनि बिन्दुमा तत्कालै जोखिममा नरहेको विवरण दिएका छन्,” उसले भनेको छ। यसअघि आधा दर्जन कारहरूले पछयाउदा लापरबाहीपूर्ण ढङ्गले गाडी चलाइएको दाबी गरिएको थियो।

    रातो बत्ती बलेको समयमा कार गुडाइएको, सडक पेटीबाट पनि कार कुदाइएको, बाटोमा अवरोध पुर्‍याउन खोजेको, एकतर्फी बाटोमा गैरकानुनी ढङ्गले सवारी चलाएको र गाडी चलाउँदा तस्बिर खिचिएको दाबी गरिएको थियो। बीबीसीका अनुसार ह्यारी र मेगन साथीको घरमा बसिरहेका छन्। सुरक्षा चुनौती थपिने गरी उनीहरू सोझै आफू बस्ने स्थानमा फर्किएनन्।

    उक्त जोडी र मेगनकी आमा डोरियाले पापाराजीहरूबाट जोगिन म्यानह्याटनको प्रहरी स्टेसनमा आश्रय लिने प्रयास गरेको पनि जनाइएको छ। त्यसपछि उनीहरूले न्यू योर्कको ट्याक्सी प्रयोग गर्ने योजना बनाए। उक्त ट्याक्सी र त्यहाँभित्र ह्यारी, मेगन, डोरिया र सुरक्षाअधिकारी बसेको फोटोग्राफरहरूले देखेपछि उनीहरू आफ्नै सवारी साधनमा फर्किएका थिए। कारका चालक सुखचरन सिंहले आफ्नो कारमा चार जना चढेको बीबीसीलाई बताए।

    केही पर गइसकेपछि उक्त कारलाई फोहोर बोक्ने ट्रकले रोकेको भन्दै उनले अकस्मात् पापाराजीहरू आएर तस्बिर लिन थालेको बताए। उनले त्यतिबेला उनीहरूले आफूलाई पुग्नुपर्ने गन्तव्यबारे जानकारी दिन लागेको जनाउँदै त्यसपछि सो क्षेत्रको एक फन्को मार्न भनेको बताए। उनीहरूलाई ‘असल मानिसहरू’ भन्दै उनले ‘केही आत्तिएको’ देखिएको जनाए।


    उनले ‘खतरनाक ढङ्गले कार पिछा गरिएको’ दाबी बढाइ चढाइ हुनसक्ने भन्दै पापाराजीहरू आक्रामक भएको आफूलाई नलागेको बताए। “उनीहरू हाम्रो पछाडि थिए‘।। उनीहरूले दुरी कायम राखेका थिए।” न्यू योर्कमा प्रत्येक कुनामा प्रहरी चौकी रहेको भन्दै उनले उक्त ठाउँ सुरक्षित रहेको जनाए। उनले छोटो यात्राका लागि उक्त जोडीले ५० डलर तिरेको जानकारी दिए।


    ह्यारी र उनकी पत्नीका प्रवक्ताले दुई घण्टाको पीडादायी अवस्था भनी चित्रण गरेको घटनाको जम्मा १० मिनेट सिंहले व्याख्या गरेको परिस्थितिसँग जोडिन्छ।
    ती ड्राइभरको व्याख्या ह्यारी र मेगनको सुरक्षा टोलीका सदस्य क्रिश सान्चेजको विवरणसँग पूर्ण रूपमा अमिल्दो सुनिन्छ। सान्चेजले सीएनएनलाई ‘एकदमै अस्तव्यस्त दृश्य’ रहेको जनाएका छन्।

    सर्वसाधारणहरू धेरै पटक जोखिममा परेको भन्दै उनले उक्त परिस्थिति घातक बन्न सक्ने अवस्था देखिएको उल्लेख गरे। उनीहरू मिस फाउन्डेशन वीमिन अफ भिजन अवार्डस् नामक एउटा पुरस्कार वितरण समारोहमा भाग लिएर फर्किदा यो घटना भएको हो।

    राजा चार्ल्सको राज्याभिषेकपछि उक्त जोडी पहिलो पटक संयुक्त रूपमा कुनै सार्वजनिक कार्यक्रममा उपस्थित भएको थियो। न्यू योर्क सिटीका मेयर एरिक एडम्सले यस्तो घटनामा दुई जना प्रहरी घाइते हुनसक्ने वा कुनै निर्दोष प्रत्यक्षदर्शी गुमाउनु पीडादायी हुने टिप्पणी गरे। राजकुमार ह्यारी र मेगनको विज्ञप्तिले तीव्र गतिमा कारलाई पछयाएको कहिल्यै पनि उल्लेख गरेको छैन। उसले निरन्तर दुई घण्टा पछ्याइएको चर्चा गरेको छ ।

  • हिन्दु राष्ट्रका पक्षमा बोल्न नेपाली नेताले पैसा लिने गरेको अमेरिकाको दावि

    हिन्दु राष्ट्रका पक्षमा बोल्न नेपाली नेताले पैसा लिने गरेको अमेरिकाको दावि

    काठमाडौं । अमेरिकाले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)सँग सम्बन्ध भएका धार्मिक समूहले नेपाललाई हिन्दूराष्ट्रको पक्षमा बोल्न राजनीतिक दलका प्रभावशाली नेताहरूलाई पैसा दिने गरेको दाबी गरेको छ । अमेरिकी विदेशमन्त्री एन्थोनी जे ब्लिंकेनले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदनमा नागरिक समाजका अगुवाहरूलाई उद्धृत गर्दै हिन्दूराष्ट्रका पक्षमा बोल्न नेपालका नेताहरूलाई पैसा दिँदै आएको दाबी गरेको हो ।

    ‘नागरिक समाजका अगुवाहरूले उनीहरूले दक्षिणपन्थी भन्ने गरेको भारतको भाजपासम्बद्ध धार्मिक समूहहरूले सबै राजनीतिक दलका प्रभावशाली नेताहरूलाई हिन्दूराष्ट्रका समर्थनमा बोल्न निरन्तर रूपमा रकम उपलब्ध गराउने गरेका छन्,’ प्रतिवेदनमा भनिएको छ । उक्त अमेरिकी प्रतिवेदनको १३ पृष्ठमा नेपालको धार्मिक अवस्थाका बारेमा चर्चा गरिएको छ ।

    ‘नागरिक समाजका अगुवाहरूले भारतको हिन्दूराष्ट्रवादी सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र भारतका अन्य हिन्दू समूहहरूले नेपालका राजनीतिज्ञलाई विशेषगरी राप्रपालाई हिन्दू राज्य पुनस्स्थापित गर्न निरन्तर रूपमा दबाब दिइरहेको छ,’ प्रतिवेदनमा उल्लेख छ । विभिन्न अनुसन्धान र समाचारमा आधारित भएर प्रतिवेदन तयार गरिएको अमेरिकाको दाबी छ । अमेरिकाले १९९८ मा पारित गरेको कानुनअनुसार अमेरिकी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रतासम्बन्धी प्रतिवेदन तयार पार्छ ।

    प्रतिवेदनमा नेपालको विभिन्न धर्मको अभ्यास गर्ने जनसंख्या, विभिन्न धर्मप्रति सरकारले गर्ने व्यवहार र कानुनी अवस्थाबारे चर्चा गरिएको छ । त्यसैगरी धर्मिक स्वतन्त्रताप्रति समाजिक सम्मानको अवस्था र अमेरिकी सरकारको भूमिकाको विषयमा विस्तृत चर्चा गरिएको छ । जसमा धार्मिक स्वतन्त्र उल्लंघन हुने गरी भएका घटनाहरूको विवरण राखिएको छ । जसमा सन् २०२२ जनवरी १ देखि डिसेम्बर ३१ सम्मका घटनाहरूलाई समावेश गरिएको छ ।

    काठमाडौंस्थित अमेरिकी दूतावासले सरकारी अधिकारी, धार्मिक समूह, गैरसरकारी संस्था, पत्रकार, मानवअधिकारकर्मी, प्राज्ञ, सञ्चार माध्यम तथा अन्य स्रोतबाट सूचनाबाट प्रतिवेदनको प्रारम्भिक मस्यौदा तयार पारिएको उल्लेख छ । प्रतिवदेनमा नेपालमा तिब्बती बौद्ध धर्मालम्बी नेताहरूले धार्मिक गतिविधि गर्न पछिल्लो वर्ष सहज भए पनि क्रिश्चियनलाई कठिनाइ बन्दै गएको जनाएको छ ।

    प्रतिवेदनमा नेपालमा धार्मिक स्वतन्त्रताको अवस्थाको बारेमा चर्चा गर्दा तिब्बती बौद्धहरूले गैरराजनीतिक कार्यक्रम गर्न खुकुलो भएको तर क्रिश्चियनहरूमाथि जबर्जस्ती धर्मान्तरणको नाममा कानुनको अत्यधिक प्रयोग गर्ने गरिएको उल्लेख छ ।

    ‘तिब्बती बौद्ध समुदायका नेताहरूले यो वर्ष केही धार्मिक तथा सांस्कृतिक पर्व प्रहरी हस्तक्षेपबिना सम्पन्न गरिएको भएको जोड दिएका छन् । सरकारले लोसार, दलाई लामाको जन्मदिनसहित अन्य धार्मिक कार्यक्रम’ आयोजना गर्न दिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा दलाई लामोको फोटो कार्यक्रममा राख्न दिएको विषयलाई जोड दिएको छ । तिब्बती बौद्धहरूलाई अघि वर्षभन्दा सन् २०२२ मा धार्मिक गतिविधि गर्नका लागि सहज भएको प्रतिवेदनमा भनिएको छ ।

    प्रतिवदेनमा धर्मान्तरण गराउने क्रिश्चियन धर्मावलम्बीलाई पक्राउ गरिएकोदेखि दूतावासले उधौलीको शुभकामना दिए समाजिक सञ्जालमा राखेको पोस्टमा भएको ुइन्गेजमेन्टु सम्मका विषयलाई राखिएको छ । प्रतिवेदनमा क्रिश्चियन समुदायका नेताहरूले क्रिश्चियन धर्मविरुद्ध फैलाइएको भावनाप्रति गम्भीर चासो व्यक्त गरेको उल्लेख छ ।

    प्रतिवदेनमा गौहत्याको विषयमा गरिएको विवरण दिँदै गत फेब्रुअरीमा बेलायती सांसदहरूको अनौपचारिक समूहले नेपालमा धार्मिक स्वतन्त्रता सम्बन्धमा जारी गरेको विश्लेषणलाई समावेश गरिएको छ । सो प्रतिवेदनमा नेपालमा फरक धर्म वा धार्मिक आस्था राख्नेहरुमाथि कानुनको अत्यधिक प्रयोग वा दुरुपयोग भएको उद्धृत गरिएको छ । जसमा कानुनको प्रयोग गरेर धार्मिक अल्पसंख्यकलाई दबाउने गरिएको उल्लेख छ । त्यसैगरी फौजदारी न्याय संहितामा रहेको कतिपय विषयलाई धार्मिक अधिकारी र कानुन व्यवसायीहरुले चासो व्यक्त गरेको बताइएको छ ।

    उता, अमेरिकी सरकारको प्रतिवेदनप्रति भारत सरकारले भने असन्तुष्टि व्यक्त गरेको छ । प्रतिवेदनमा भारतमा सरकारी निकायबाट नै धार्मिक अल्पसंख्यक समुदायमाथि ज्यादती हुने गरेको उल्लेख छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागचीले धार्मिक स्वतन्त्रतासम्बन्धी प्रतिवेदन पक्षपातपूर्ण भनेका छन् । ‘यस्तो प्रतिवेदन भ्रामक सूचना र गलत बुझाइमा आधारित हुन्छ,’ बागचीले भनेका छन् ।

    source : Ekantipur.com

  • युट्युवका लागि जानाजान प्लेन दुर्घटना गराउने युट्युवरलाई अमेरिकामा २० वर्षको जेल

    युट्युवका लागि जानाजान प्लेन दुर्घटना गराउने युट्युवरलाई अमेरिकामा २० वर्षको जेल

    काठमाडौं । सन् २०२१ को डिसेम्बरमा आफ्नो युट्युब च्यानलको भ्युज बढाउने नियतका साथ सानो आकारको प्लेनलाई नियतवश दुर्घटना गराएको र त्यसयता अमेरिकी सरकारको अनुसन्धानमा बारम्बार ढाँटेको अभियोगमा एक अमेरिकी युट्युबरलाई जेल सजाय हुने भएको छ ।

    क्यालिफोर्नियाको शान्ता बार्बरा क्षेत्रमा स्नोबोर्डरबाट युट्युबर बनेका २९ वर्षीय ट्रेभर जेकब नामक २९ वर्षीय व्यक्तिले २०२१ मा ‘आई क्र्यास्ड माई एयरप्लेन’ नामक भिडियो युट्युबमा अपलोड गरेका थिए । झन्डै ४० लाख जनाले हेरेको उक्त भिडियोमा उनलाई आफ्नो प्लेनको सबै भागमा क्यामरा राखेर प्लेन उडाउँदै गरेको र केही समय पछि प्यारासुटको सहायताले ओर्लिएको देख्न सकिन्छ ।

    पछि दुर्घटना गराएको स्थानमा फर्केर आफ्नो दर्शकलाई समेत ढाँटेका जेकबले अमेरिकी सरकारी निकाय नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डलाई दुई दिनपछि मात्रै दुर्घटनाको जानकारी गराएका थिए । बोर्डले दुर्घटनास्थललाई अनुसन्धानको लागि जोगाउने भनेकोमा युट्युबरले हेलिकप्टरमा सो स्थानमा फर्केर प्लेनको बचेका टुक्रा लिएर हिँडेका थिए ।

    उनलाई पछि अनुसन्धानकै क्रममा पनि बारम्बार ढाँटेको र अमेरिकाको संघीय न्यायिक अनुसन्धानलाई बारम्बार प्रभावित गर्न खोजेको आरोप पनि लगाइएको थियो । त्यसलाई उनले स्वीकार गरेका छन् । अमेरिकी कानुनअनुसार यस्तो अभियोगमा २० वर्षसम्म जेल सजाय हुन सक्छ ।

    जेकबले शुरूमा अनुसन्धानकर्ताहरूलाई प्लेन उड्दा–उड्दै बन्द भएकोले आफू प्यारासुटको सहायतामा उत्रनु परेको भनेर झुक्याएका थिए । तर युट्युबमा रहेको भिडियोमा उनले सेल्फी स्टिकको सहायताले आफू झरेको मात्र नभएर प्लेन खसेको दृष्‍य पनि अपलोड गरेका छन् ।

    एक वालेट कम्पनीको विज्ञापन गर्ने गरी सो भिडियोका लागि प्रायोजन पाएका जेकबले पहिले वालेटको प्रवर्द्धन गर्ने लामो भिडियो पनि अपलोड गरेका थिए, जुना अहिले हटाइसकिएको छ । अमेरिकाको संघीय उडान प्राधिकरणले सन् २०२२ को अप्रिलमा उनको पाइलट लाइसेन्स रद्द गरिदिएको थियो । सन् २०१४ को हिउँदे ओलम्पिकमा सहभागिता जनाएका जेकब आफ्नो स्नोबोर्डिङ करियर छोडेर युट्युबर बनेका थिए ।

  • जासुसीको आरोपमा चीनमा एक अमेरिकी नागरिकलाई आजिवन जेल

    जासुसीको आरोपमा चीनमा एक अमेरिकी नागरिकलाई आजिवन जेल

    काठमाडौं । एक चिनियाँ अदालतले ७८ वर्षीय अमेरिकी नागरिकलाई जासुसी गरेको आरोप लगाउँदै आजीवन कारावासको सजाय सुनाएको छ। हङकङका स्थायी बासिन्दा जोन शिङ्-वान लिअङ्लाई सोमवार जेल चलान गरिएको हो। दक्षिणपूर्वी सहर सुजोस्थित एक अदालतले उनीविरुद्धका आरोपबारे थप जानकारी दिएन।

    अदालतद्वारा जारी विज्ञप्तिमा चीनको प्रतिगुप्तचरी निकायको स्थानीय ब्युरोले लिअङ्लाई दुई वर्षअघि नै पक्राउ गरेको जनाइएको छ। उनलाई “जासुसीको कसुरमा दोषी पाइएको र राजनीतिक अधिकारबाट समेत वञ्चित रहने गरी आजीवन कैद सुनाइएको” चिनियाँ सामाजिक सञ्जाल वीच्याटमा सार्वजनिक इन्टरमिडियट पिपल्स कोर्टको विज्ञप्तिमा उल्लेख छ।

    गिरफ्तारीको समयमा लिअङ् कहाँ बस्थे भन्ने कुरा अस्पष्ट थियो। बेइजिङस्थित अमेरिकी दूतावासका एकजना प्रवक्ताले यस खबरबारे आफूहरू जानकार रहेको बताए। “विदेश मन्त्रालयका लागि विदेशमा रहेका अमेरिकी नागरिकको सुरक्षाभन्दा ठूलो प्राथमिकता अरू केही छैन,” उनले भने।

    चीनमा बन्द इजलास सामान्य प्रक्रिया हो र त्यहाँ विशेषगरी जासुसीको आरोपजस्ता संवेदनशील घटनाहरूबारे आम मानिसलाई निकै कम जानकारी दिइन्छ।

    यद्यपि, विदेशी नागरिकका लागि यति कठोर सजाय तुलनात्मक रूपमा बिरलै दिइन्छ। आगामी जुलाईदेखि चीनमा नयाँ नियम लागु हुँदै छ जसले चीनको जासुसी सम्बन्धी नियम थप फराकिलो बनाउँछ। त्यसले चिनियाँ अधिकारीहरूले राष्ट्रिय सुरक्षासँग सम्बन्धित भनिएका तथ्याङ्कहरू हस्तान्तरण गर्न प्रतिबन्ध लगाउँछ। लिअङ्को कैद सजायले चीन र अमेरिकाबिचको सम्बन्ध झनै तनावपूर्ण बन्न सक्ने देखिन्छ।

    यी दुई देशबीचको सम्बन्ध सन् २०१८ मा चीनविरुद्ध व्यापार युद्ध सुरु गरेयता पूर्वअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकालमा बिग्रिएको थियो। यी दुई महाशक्तिहरू( ताइवान, दक्षिण चीन सागरमा चिनियाँ सैन्यिकरण र कोभिडको उत्पत्तिलगायत विभिन्न मुद्दाहरूमा विवादरत छन्। गत फेब्रुअरीमा अमेरिकाले कथित चिनियाँ जासुसी बलुनलाई खसालेपछि उनीहरूबिचको तनाव झनै चुलिएको थियो। उक्त बलुनलाई बेइजिङले मौसम निगरानी गर्ने उपकरण भएको दाबी गर्दै आएको छ। बीबीसी

  • पूर्वसभासद आङटावा पुगे प्रहरी कार्यालय

    पूर्वसभासद आङटावा पुगे प्रहरी कार्यालय

    काठमाडौं । पूर्वसभासद आङटावा शेर्पा जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित भएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएको थाहा पाएको भन्दै उनी सोमबार परिसरमा उपस्थित भएका हुन् । उनीविरूद्ध कुनै पक्राउ पुर्जी भने जारी भएको थिएन। तर समाचारहरूमा उनीविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको भन्‍ने खबर पाएर त्यसबारे बुझ्न परिसर आएको बताइएको छ ।

  • २०२१ मा काबुल विमानस्थलमा आक्रमण गर्ने आइएस नेता मारिए

    २०२१ मा काबुल विमानस्थलमा आक्रमण गर्ने आइएस नेता मारिए

    काठमाडौं । तालिबानबाट इस्लामिक स्टेटका एक जना योजनाकार मारिएको अमेरिकी अधिकारीहरूले बताएका छन्। तालिबानले सत्ता लिएपछि सन् २०२१ मा अफगानिस्तानको छोडेर जान काबुल विमानस्थलमा कैयौँ मानिसहरू भेला भएको ठाउँमा बम प्रहार भएको थियो। अमेरिकी अधिकारीहरूले १७० जना सर्वसाधारण र १३ अमेरिकी फौजको ज्यान जाने गरी भएको उक्त बम हमलाका मुख्य योजनाकार दुई साता अघि मारिएको बीबीसीको अमेरिकी समाचार साझेदार सीबीएस न्यूजलाई बताएका छन्। उनी मारिएको निश्चित गर्न समय लागेको बताइएको छ र उनको नाम हालसम्म सार्वजनिक गरिएको छैन।

    अमेरिकी अधिकारीहरूले गुप्तचर सूचना र उक्त क्षेत्रको अनुगमनबाट आईएसका ती नेता मारिएको ठहर गरिएको बताएका छन्। उक्त बम आक्रमणमा उनको संलग्नताबारे थप विवरण पनि अधिकारीहरूले खुलाएका छैनन्। “सरकारी विज्ञहरू यो कुरामा पक्का छन् कि ती व्यक्ति सबैभन्दा बढी जिम्मेवार मानिस हुन्,” एक जना वरिष्ठ अमेरिकी अधिकारीले सीबीएससँग भने।

    न्यूयोर्क टाइम्समा प्रकाशित एक विवरण अनुसार अमेरिकाले उनको मृत्युबारे अप्रिलको सुरुमै थाहा पाएको थियो। तर उनी तालिबानको निशानामा मारिएको वा आईएस र तालिबानबीच जारी द्वन्द्वमा उनी मारिएको भन्ने प्रस्ट नभएको उक्त पत्रिकाले उल्लेख गरेको छ।

    सोमवारबाट अमेरिकाले उक्त बम आक्रमणमा मारिएका सैनिकहरूका परिवारलाई आईएस नेताको मृत्युबारे जानकारी गराउन सुरु गरेको थियो। उक्त बम आक्रमणमा मारिएका अमेरिकी जल सेनामा कार्यरत टेलर हुभरका पिता डरिनले जलसेनाले आफूलाई उक्त समाचारबारे जानकारी दिएको सीबीएससँग पुष्टि गरे।

    “उनीहरूले मलाई विस्तृतमा केही बताएनन् तर धेरै वटा र विश्वसनीय स्रोतबाट ती व्यक्ति मारिएको थाहा पाएको बताए,” हुभरले मङ्गलवार एक अन्तर्वार्तामा भने। आईएसको अफगानिस्तान शाखाले आक्रमणको चेतावनी दिएपछि पश्चिमी देशका सरकारहरूले आफ्ना नागरिकहरूलाई काबुल अन्तर्राष्ट्रिय विमानस्थलबाट टाढै रहन चेतावनी दिएलगत्तै विमानस्थलमा विस्फोट भएको थियो।

    विमानस्थलको गेट बाहिर परिवारका सदस्यलाई पर्खिरहेका मानिसहरूको भीडमा एक जना आत्मघाती हमलाकारी प्रवेश गरेर विस्फोट गराएका थिए। अफगानिस्तानबाट फिर्ता हुँदै गरेका अमेरिकी सैनिकहरूको उद्धार उडानमा समावेश गराइने आशामा उक्त क्षेत्रमा ठूलो भीड लागेको थियो। त्यसको एक दिनपछि अमेरिकाले काबुलमा आत्मघाती बम हमलाकारीलाई लक्षित गर्दै गरेको ड्रोन आक्रमणमा सात जना बालबालिका सहित १० जना सर्वसाधारण मारिएका थिए।


    अमेरिकाले आईएसको अफगानिस्तान शाखा आईएस(के का नेता अनाउल्लाह गफारीलाई पक्राउ गर्ने वा उक्त बम आक्रमणमा संलग्नलाई पक्राउ गर्नेलाई १० लाख अमेरिकी डलर इनाम दिने घोषणा गरेको थियो। अफगानिस्तानबाट अमेरिकी सैनिकहरू फिर्ता भएसँगै यहाँ जारी सबैभन्दा लामो युद्ध समाप्ति भएको थियो। अमेरिकी फौज फिर्ता भएसँगै अफगानिस्तानमा उसले दुई दशकदेखि समर्थन गरेको सरकार ढलेर पुन तालिबान सत्तामा फर्किएको थियो।
    फौज फिर्तीको निर्णयपछि जो बाइडन नेतृत्वको अमेरिकी प्रशासनको आन्तरिक र बाह्य आलोचना भएको थियो।

    अमेरिकाको विपक्षी रिपब्लिकन पार्टीले नेतृत्व गरेका सुनुवाइहरूमा धेरैले अफगानहरूलाई अलपत्र बनाएको भन्दै आक्रोश व्यक्त गरेका थिए। बम आक्रमणमा घाइते भएका एक जना अमेरिकी जलसेनाले फौज फिर्तीको निर्णयलाई “महा विपत्ति”को संज्ञा दिएका थिए। रिपब्लिकन सांसद माइकल म्याकले आईएस नेता मारिएको समाचार स्वागतयोग्य भए पनि मारिएका अमेरिकी फौजका परिवारलाई त्यतिले मात्रै न्याय नहुने बताए।

    “यी विवरण साँचो भए त्यो राम्रो कुरा हो। तर यसले मात्रै बाइडन प्रशासनको असफलता जसले आक्रमण निम्त्यायो त्यसको दोषलाई कम गर्दैन,” उनले भने। राष्ट्रपति बाइडनले फौज फिर्ताबारे बृहत् समीक्षा गर्न निर्देशन दिएका थिए। जसको प्रतिवेदन यसै महिनाको सुरुमा प्रकाशित भएको छ। उक्त समीक्षाले सन् २०२० मा तालिबानसँग युद्ध अन्त्य गर्ने त्यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई दोष लगाएको छ।

  • फेरि राष्ट्रपति निर्वाचनमा लड्ने योजनामा जो बाइडेन

    फेरि राष्ट्रपति निर्वाचनमा लड्ने योजनामा जो बाइडेन

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा प्रतिष्पर्धा गर्ने योजनाको घोषणा गरेका छन्। उनले आफ्नो चुनावी क्याम्पेनका लागि म्यानेजरसमेत नियुक्त गरिसकेका छन्।

    ह्वाइट हाउसमा बस्ने सबैभन्दा पाका राष्ट्रपति बनेका बाइडेनले फेरि निर्वाचन लड्ने घोषणा गरेका हुन्। ‘मिड टर्म’ निर्वाचनमा राम्रो नतिजा ल्याएको जस लिएका बाइडेनलाई डेमोक्रेट पार्टीभित्रै बाट अरुले चुनौती दिने सम्भावना भने कम रहेको बताइन्छ।

    रिपब्लिकन पार्टीबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पार्टीभित्र राष्ट्रपतिका लागि उम्मेदवार बन्न घोषणा गरिसकेका छन्।

  • क्यानडामा विमानस्थलबाटै  चोरी भयो २ अर्ब हाराहारी मूल्यको सुन

    क्यानडामा विमानस्थलबाटै चोरी भयो २ अर्ब हाराहारी मूल्यको सुन

    काठमाडौं । क्यानडाको ओन्टेरियो प्रान्तका खानीबाट निकालिएको सुन पठाउन प्रायः प्रयोग हुने टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको एउटा ठलो परिमाणको सुन चोरीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। अधिकारीहरूले दुई करोड क्यानेडियन डलर अर्थात् एक अर्ब ९४ करोड नेपाली रुपैयाँभन्दा बढीको सुन र बहुमूल्य वस्तुहरू गत सोमवार चोरी भएको बताएका छन्।

    सामान बोकेको हवाई कन्टेनर उक्त दिन साँझ विमानस्थलमा आइपुगेपछि कार्गोहरू राखिने स्थलमा लगिएको बीबीसीले जनाएको छ । सोही गोदामबाटै सुन तथा बहुमूल्य वस्तुहरू चोरिएको हुनसक्ने प्रहरीको अनुमान छ। यो चोरी क्यानडाको इतिहासकै सबैभन्दा ठूलो यस्तो खालको चोरी हुनसक्ने प्रहरीको भनाई छ । पीलका क्षेत्रीय प्रहरी निरीक्षक स्टीफन डाईभेस्टाइनले उक्त घटनाको यथार्थसम्म पुग्नका लागि प्रहरीले सबैखाले अनुसन्धान गरिरहेको बताएका छन् ।

    उनले सोमवारको घटनालाई पृथक र दुर्लभ भनेका छन्। पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार हराएको विमान कन्टेनर करिब पाँच वर्गफिट आकारको थियो। त्यसमा सुनसहित अन्य बहुमूल्य वस्तु छन् । अधिकारीहरूले कुन विमान कम्पनीले उक्त कार्गो ढुवानी गरेको थियो र उसले कहाँबाट त्यसलाई ल्याएको थियो वा त्यसको गन्तव्य कहाँ थियो भनेर जानकारी दिन अस्वीकार गरेका छन्।

    ती प्रहरी अधिकृतले आफूहरूको उद्देश्य चोर पत्ता लगाउनु र उक्त घटनाको कारण पत्ता लगाउनु भएको बताउँदै त्यसको विस्तृत विवरण सार्वजनिक गर्न नमिल्ने बताए। तर यात्रुहरू खतरामा नभएकाले उक्त विषयलाई सार्वजनिक सुरक्षा मामिलाका रूपमा आफूहरूले नलिएको उनको भनाइ छ।

    टोरन्टो सन पत्रिकाले बिहीवार प्रहरीले सङ्गठित अपराधी समूहहरू त्यसमा संलग्न भएको शङ्का गरेको खबर प्रकाशित गरेको थियो। तर त्यसो भन्नु हतारो हुने डाईभेस्टाइनले बताए। उनले अनुसन्धानका लागि सबै पाटाहरूबारे सूक्ष्म रूपमा अध्ययन गरिरहेको जानकारी दिए। एउटा वक्तव्यमा उक्त विमानस्थलले चोरले विमानस्थलमा नै पहुँच प्राप्त नगरेको जनाएको छ।

  • अलबाबामा जन्म दिनको पार्टी मनाइंरहँदा अन्धाधुन्द गोली, कम्तिमा ४ जना मारिए

    अलबाबामा जन्म दिनको पार्टी मनाइंरहँदा अन्धाधुन्द गोली, कम्तिमा ४ जना मारिए

    काठमाडौं । अमेरिकाको अलबामामा जन्मदिनको पार्टी भइरहेका बेला गोली चल्दा चार जनाको ज्यान गएको छ । २८ जना घाइते भएका छन् । डाडेभिल सहरमा एक किशोरको जन्मदिन मनाइरहेका बेला गोली चलेको बीबीसीले जनाएको छ ।

    घटनास्थललाई प्रहरीले घेराबन्दी गरेको छ । घटनाको थप विवरण आउन बाँकी छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले घटनाको भत्सर्ना गरेका छन् । कही वर्षयता अमेरिकाका विभिन्न सहरमा गोलीकाण्ड बढ्दै गएको छ ।

  • गोप्य अमेरिकी दस्तावेजहरु लिक गराएको आरोपमा २१ वर्षिय युवक पक्राउ

    गोप्य अमेरिकी दस्तावेजहरु लिक गराएको आरोपमा २१ वर्षिय युवक पक्राउ

    काठमाडौं\बीबीसी । अमेरिकी गोप्य दस्तावेजहरूको चुहावटलाई लिएर पक्राउ परेका २१ वर्षीय अमेरिकी एअर फोर्स न्याश्नल गार्ड सदस्य ज्याक टेइसेइराको अदालतको सुनुवाइ बुधवारको लागि तय भएको छ। त्यसअघि उनी हिरासतमै रहने जनाइएको छ। अमेरिकी न्याय मन्त्रालयले उनलाई सुनुवाइको दिनसम्मका लागि राख्न अनुरोध गरेको हो। उनी शुक्रवार अमेरिकाको गोप्य सुरक्षा र गुप्तचरी दस्तावेजहरू चुहावट गरेको आरोपको सामना गर्न बोस्टन अदालतमा उपस्थित भएका थिए। सीएनएनका अनुसार उनलाई अदालत ल्याउँदा हतकडी लगाइएको थियो।

    टेइसेइरा सबै आरोपहरूमा दोषी ठहर भएमा उनलाई १५ वर्ष लामो जेल सजाय हुन सक्छ। शुक्रवार भएको सुनुवाइमा उनीमाथि अनधिकृत ढङ्गमा गोप्य दस्ताबेजहरू हटाएको, तीमध्ये केहीको स्वामित्व लिएको र ओसारपसार गरेको आरोप लगाइएको छ। यदि उनले ती दस्तावेजहरू आफूसँग राखेको ठहर भए १० वर्षको जेल सजाय भोग्ने छन्। त्यस्तै ओसारपसारको आरोप पुष्टि भएको खण्डमा थप ५ वर्ष जेल सजाय हुने न्यायाधीशको ठहर छ।

    ज्याक टेइसेइरा उक्त दस्तावेजहरू चुहिएको अनलाइन गेमिङ समूहको नेता भएको बताइएको छ। अमेरिकी अधिकारीहरूका अनुसार उनलाई जासुसी सम्बन्धी कानुनका आधारमा अभियोग चलाइनेछ जसले गोप्य रक्षा सूचना चुहाउनुलाई अपराधका रूपमा हेर्छ। ती दस्तावेजहरूमा युक्रेन युद्ध र अन्य देशहरूबारेका संवेदनशील गोप्य सूचना पाइन्छ।

    भिडिओहरूमा बिहीवार उनलाई बोस्टनभन्दा दक्षिणतर्फ पर्ने झण्डै ८,००० मानिसहरू बस्ने डाइटन नगरस्थित आफ्नो घरबाट प्रहरीले पक्राउ गरेको देखिन्छ। पक्राउको फुटेजमा टेइसेइरा ठानिएका व्यक्तिलाई हत्कडी लगाएर गाडीमा राखिनुअघि उनले एफबीआईसामु हात उठाएको देख्न सकिन्छ। उनलाई पक्राउ गरिँदा प्रहरीले त्यस क्षेत्रका सडकमा यातायात अवरोध गरेको थियो। ‘त्यहाँ लगभग ६ देखि ८ जना राइफल बोकेका सैनिकहरू डुलेका थिए,’ एक स्थानीयवासी डिक ट्रेसीले रोयटर्स समाचार संस्थासँग भने। ‘यो निकै शान्त क्षेत्र हो।’ उनले जो वेस्टर्न केप कडस्थित ओटिस एअर न्याश्नल गार्ड बेसमा काम गरेका छन्।


    उनले जो वेस्टर्न केप कडस्थित ओटिस एअर न्याश्नल गार्ड बेसमा काम गरेका छन्। उनी म्यास्याचुसेट्स एअर न्याश्नल गार्डको गुप्तचरी शाखाका सदस्य हुन् जो वेस्टर्न केप कडस्थित ओटिस एअर न्याश्नल गार्ड बेसमा काम गरेका छन्। बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजले प्राप्त गरेको उनको सेवा विवरण अनुसार टेइसेइराले सन् २०१९ मा उक्त सैन्य बलमा संलग्न भएका थिए।

    उनको औपचारिक पद साइबर ट्रान्सपोर्ट सिस्टम्स जर्नीम्यान रहेको छ र उनी तुलनात्मक रूपमा कनिष्ठ पदको एअरम्यान फस्ट क्लास ओहदाका हुन्। बिहीवार जारी गरिएको एउटा संक्षिप्त विज्ञप्तिमा अमेरिकी महान्यायाधिवक्ता मेरिक गार्ल्यान्डले ती सन्दिग्धलाई कुनै घटनाबिना पक्राउ गरिएको जनाइएको छ। गार्ल्याण्डले अनुसन्धान वा चुहावटको उद्देश्यबारे कुनै थप जानकारी दिएनन्। एउटा छुट्टै पत्रकार सम्मेलनमा बिहीवार नै रक्षा मन्त्रालयका प्रवक्ता ब्रिगेडिअर जेनरल पट राइडरले उक्त चुहावटलाई नियतवशको फौजदारी कार्य बताएका थिए।

    त्यति कनिष्ठ कर्मचारीको कसरी ती गोप्य दस्तावेजमा पहुँच पुग्यो भन्ने प्रश्नमा जेनरल राइडरले अमेरिकी सेनाभर, सैनिकहरूलाई कम उमेरमै धेरै जिम्मेवारीूका लागि विश्वास गरिने गरेको बताए। टेइसेइरासँगै विद्यालयमा पढेको दाबी गरेका २२ वर्षीय इडी सोउजाले रोयटर्स समाचार संस्थासँग कुरा गर्दै चुहावटमा ती सन्दिग्ध देखा परेको घटनाले आफू आश्चर्यचकित भएको बताए। ‘उनी समस्या उत्पन्न गराउने नभई राम्रा मानिस हुन्, एकदम शान्त मानिस,’ उनले भने।


    १४ महिनाअघि रुसले युक्रेनमा अतिक्रमण सुरु गरेयता यो गुप्त अमेरिकी सूचनाको सबैभन्दा ठूलो चुहावट हो। केही दस्तावेजहरू केवल साताअघिका हुन्। तर त्यसबाट पर्ने प्रभाव निकै ठूलो छ। समयरेखा र दर्जनौँ क्लिष्ट सैन्य शब्दावलीयुक्त पूर्ण दस्तावेजमा केहीमा अतिगोप्य समेत लेखिएको छ। यसले युक्रेन युद्धको विस्तृत चित्र देखाउँछ। तिनले दुवैतर्फ हताहत भएका मानिसको सङ्ख्या, प्रत्येक पक्षका सैन्य कमजोरी र युक्रेनले अब वसन्तयाममा गर्ने अपेक्षा गरिएको प्रत्याक्रमणका बेला उसको सामर्थ्यबारे बताउँछन्।

    ती दस्तावेजहरूमध्ये एकले युक्रेनभित्र यूकेसहितका कैयौँ देशका विशेष सैनिक बलहरू रहेको देखाएको छ। सन्देशहरू पठाइने प्ल्याटफर्म ुडिस्कर्डुदेखि ुफोरचानु र टेलिग्रामसम्ममा ती दस्तावेज कसरी फैलिए भनेर बेलिङक्याट भनिने इन्भेस्टिगेटिभ ओपन सोर्स इन्टेलिजन्स ग्रूपका एरिक टोलरले बताएका छन्।
    टोलरका अनुसार अझै यो सुरुमा कहाँबाट चुहियो भनेर थाहा पाउन सम्भव भएको छैन।

    तर मार्च महिनाको सुरुमा गेमर्सहरूमाझ लोकप्रिय सन्देश प्ल्याटफर्ममा चुहिएका सूचनाहरू देखा पर्न थालेका थिए। युक्रेन युद्धबारेको बहसपछि मार्च ४ मा डिस्कर्डको सर्भरमा धेरै देखा परेका कम्प्युटर गेम माइनक्राफ्टका प्लेअरहरूमध्ये एक जनाले यहाँ केही चुहिएका दस्तावेजहरू छन् भन्दै १० वटा दस्तावेज राखे।

    गोप्य सूचना चुहाउने त्यो अस्वाभाविक तरिका हो। सन् २०१९ मा यूकेमा भएको निर्वाचनअघि अमेरिका-यूके व्यापार सम्बन्धसँग सम्बन्धित दस्तावेजहरू रेडिट, फोरचान र अन्य साइटमा देखा परेका थिए। त्यस बेला रेडिटले ती प्रशोधित विवरणहरू रुसबाट उत्पन्न भएको जनाएको थियो।

    अर्को घटनामा गत वर्ष, अनलाइन गेम वार ठन्डरुका प्लेअरहरूले बारम्बार संवेदनशील सैन्य दस्तावेजहरू पोस्ट गरेका थिए। त्यसो गर्नुलाई उनीहरूबीच भएको बहसमा जित्ने प्रयास मानिएको थियो। अहिलेको यो चुहावट निकै संवेदनशील र सम्भवतः क्षति पुर्‍याउने खालको छ।

  • टेक्ससको डेरी उद्योगमा विष्फोट, १८ हजार गाई मारिए

    टेक्ससको डेरी उद्योगमा विष्फोट, १८ हजार गाई मारिए

    काठमाडौं\बीबीसी । अमेरिकाको टेक्ससस्थित एउटा डेरी उद्योगमा भएको विस्फोटनमा झन्डै १८,००० वटा गाईको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। केही दिनअघि डिम्मिट नगरनजिकै अवस्थित साउथ फोर्क डेरीमा उक्त विष्फोटन भएको थियो। उक्त घटनामा परी एक व्यक्ति पनि गम्भीर भएका छन्। अधिकारीहरूले उक्त डेरीका उपकरणबाट निस्किएको आगोको झिल्को मीथेन ग्यासमा पुगेको हुनसक्ने अनुमान गरेका छन्। सन् २०१८ देखि सन् २०२१ सम्म अमेरिकाका विभिन्न ठाउँमा भएका आगलागीमा फार्ममा पालिएका झन्डै ३० लाख चौपायाको मृत्यु भएको थियो।

    क्यास्ट्रो काउन्टीको प्रशासनका अनुसार उक्त फार्ममा आगो लागेको जानकारी सोमवार मात्रै प्राप्त भएको थियो। उक्त कार्यालयले पोस्ट गरेको तस्बिरमा भुइँबाट ठूलो धुवाँको मुस्लोमाथि उडिरहेको देखिन्छ। प्रहरी र आपत्कालीन सेवाका व्यक्तिहरू घटनास्थलमा पुग्दा उनीहरूले एक व्यक्ति त्यहाँ फसेको फेला पारेका थिए। उनलाई उद्धार गरी अस्पताल पठाइएको छ। गाईबस्तुको डकार र अपानवायुमा मीथेन ग्यास हुन्छ र गोबरबाट पनि यो अतिज्वलनशील ग्यास बन्छ।

    ‘गोबर र पानीलाई सोहोर्न प्रयोग गरिने भ्याक्यूम’ जस्तो एउटा उपकरणबाट आगलागी भएको हुनसक्ने उनले केएफडीएलाई बताए। उनले भने, “सायद त्यो तातो भयो र सम्भवतः मीथेन र अरू त्यस्तै पदार्थ फैलियो र विस्फोटन भयो।” साउथ फोर्क डेरीमा विस्फोटन भएपछि उद्धार टोली पुगेको थियो । उक्त आगलागीमा मारिएका गाईबस्तुको स्पष्ट सङ्ख्या थाहा हुन सकेको छैन। तर काउन्टी प्रशासन कार्यालयले ू१८,००० चौपाया मारिएकोू हुनसक्ने जानकारी बीबीसीलाई दिएको छ।

    स्थानीय सञ्चारमाध्यम केएफडीएसँग कुरा गर्दै शेरिफ साल रिभेराले दूध दुहुनका लागि लैजाने ठाउँअघि गाईहरूलाई राख्ने ठाउँमा आगो फैलिएपछि अधिकांश चौपायाहरू मरेको बताए। “केही जीवितै पनि फेला परेका छन्,” उनले भने, “कतिपय निको हुन नसक्नेगरी घाइते भएकाले उनीहरूलाई नष्ट गरिनुपर्ने अवस्था छ।” बीबीसीलाई पठाइएको एउटा विज्ञप्तिमा वाशिङ्टन डीसीमा मुख्यालय रहेको एनिमल वेलफेअर इन्स्टिट्यूट (एडब्ल्यूआई)ले यदि १८,००० चौपाया मृत्यु भएको पुष्टि भए त्यो आफूले सन् २०१३ यता तथ्याङ्क राख्ने थालेदेखिकै सबैभन्दा खराब घटना भएको जनाएको छ।

    “हामी यो विषयमा उद्योगहरूले ध्यान दिऊन् भन्ने चाहन्छौँ र उनीहरूलाई अग्निसुरक्षाका उपायहरू अवलम्बन गरून् भन्न चाहन्छौँ,” एडब्ल्यूआईकी पलिसी अशोसिएट एली ग्रयाङ्गरले भनिन्, “जिउँदै जल्नुभन्दा अरू पीडादायी अवस्था कल्पना गर्न पनि सकिँदैन।’ एडब्ल्यूआईका अनुसार सन् २०१३ यता फार्महरूमा लागेका आगलागीमा ६५ लाख पशुपक्षीको ज्यान गएको छ। त्यसमध्ये ६० लाखवटा कुखुरा र ७,३०० गाई रहेको बताइएको छ। सन् २०१८ देखि सन् २०२१ सम्म आगलागीमा परेर ३० लाख चौपायाको मृत्यु भएको थियो।

  • अमेरिका र कोरिया पठाउँछु भन्दै ठगी गर्ने पक्राउ

    अमेरिका र कोरिया पठाउँछु भन्दै ठगी गर्ने पक्राउ

    काठमाडौं । अमेरिका र कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले
    काठमाडौं‌ महानगरपालिका–१४ घर भई बूढानीलकण्ठ नगरपालिका कपन बस्ने ४२ वर्षीय पवन राणालाई प्रहरीले पक्राउ गरेको हो।

    राणाले सयौँ व्यक्तिलाई वैदेशिक रोजगारीको लागि सहजै अमेरिका तथा दक्षिण कोरिया पठाइदिन सक्छु भन्दै प्रलोभनमा पारी करोडौँ रकम लिएर सम्पर्कविहीन भएकाले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंबाट पत्राचार भएपछि प्रहरीले उनलाई बूढानीलकण्ठ कपनबाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेका राणालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ।

  • युक्रेनमा पश्चिमा मुलुकका सैनिक खटिएको खुलासा

    युक्रेनमा पश्चिमा मुलुकका सैनिक खटिएको खुलासा

    काठमाडौं । युक्रेन युद्धबारे हालै चुहिएका दस्तावेजहरूमध्ये एकले युक्रेनभित्र यूकेसहितका कैयौँ देशका विशेष सैनिक बल रहेको खुलासा गरेको छ । एक वर्षभन्दा बढी समयदेखि अनुमानमा रहेको विषयलाई यसले पुष्टि गरेको बीबीसीले लेखेको छ । केहीमा अति गोप्य समेत लेखिएको चुहिएका दस्तावेजहरूले युक्रेन युद्धको विस्तृत चित्र देखाउँछ। जसमा युक्रेनको वसन्त याममा गरिने भनिएका प्रत्याक्रमणको तयारीका संवेदनशील विवरण समेत छन्। अमेरिका सरकारले उक्त चुहावटको स्रोतबारे आफूले अनुसन्धान गरिरहेको जनाएको छ।


    २३ मार्चको लेखिएको उक्त दस्तावेजका अनुसार यूकेले सबैभन्दा धेरै विशेष फौजका ५० वटा दस्ता पठाएको छ। त्यसपछि नेटो सदस्य लाट्भियाले १७, फ्रान्सले १५, अमेरिकाले १४ र द नेदरल्यान्ड्सले एउटा पठाएका छन्। उक्त दस्तावेजले ती फौजहरू कहाँ छन् र के गरिरहेका छन् भन्नेबारे खुलाएको छैन।
    सैनिकहरूको सङ्ख्या कम र स्वाभाविक रूपमा थपघट हुनसक्छ। तर ‘स्पेसल फोर्स’ भनिने विशेष फौजहरू उनीहरूका स्वभावैले निकै प्रभावकारी हुन्छन्।

    युक्रेनमा रहेको उनीहरूको उपस्थितिले मस्कोलाई क्रुद्ध पार्न सक्छ। पछिल्ला महिनामा रुसले आफू युक्रेनसँग मात्र नभएर नेटोसँग लडिरहेको तर्क गर्दै आएको थियो। यस्ता विषयमा आफ्नो विशिष्ट नीतिकै लयमा रहेर यूकेको रक्षा मन्त्रालयले कुनै प्रतिक्रिया जनाएको छैन। तर मङ्गलवार एक ट्विटमार्फत गोप्य सूचना भनिएका चुहावटमा गम्भीर तहका गल्तीहरू देखिएको जनाएको छ। उसले भनेको छ, ठाडै लगाइएका आरोपलाई कसरी लिने भन्ने विषयमा पाठकहरू सजग हुनुपर्छ जसले गलत सूचना फैलाउन सक्छ।

    कुन खास दस्तावेजलाई उसले त्यसरी इङ्गित गरेको भनेर उसले थप बताएको छैन। यद्यपि ती दस्तावेजहरू वास्तविक रहेको भन्दै पेन्टागनका अधिकारीहरूलाई उद्धृत गरिएका छन्। युक्रेनमा दुवैतर्फ भएका मानवीय क्षतिको विवरण राखेको एक दस्तावेजका सङ्ख्या तोडमोड गरिएको देखिन्छ। यूके स्पेशल फोर्सेस कैयौँ विशिष्ट सैन्य क्षमता भएका सैनिकहरू हुने गर्छन् र त्यो संसारकै सबैभन्दा सक्षममध्येमा गनिन्छ। अमेरिकासहितका देशहरूभन्दा फरक आफ्ना स्पेशल फोर्सेसबारे प्रतिक्रिया नजनाउने ब्रिटिश सरकारको नीति रहेको छ।

    युक्रेनको प्रखर समर्थक रहँदै आएको यूकेले किएभलाई अमेरिकापछि सबैभन्दा धेरै सैन्य सहायता गर्दै आएको छ। अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले आफ्नो देशको न्याय मन्त्रालयले एक फौजदारी अनुसन्धान सुरु गरेको र आफू उक्त चुहावटको स्रोत पत्ता लगाउन प्रतिबद्ध रहेको बताएका छन्।

  • अमेरिकाको केन्टकीमा बैंक भित्र चल्यो गोली, कम्तिमा ५ जना मारिए

    अमेरिकाको केन्टकीमा बैंक भित्र चल्यो गोली, कम्तिमा ५ जना मारिए

    काठमाडौं । अमेरिकाको केन्टकी शहरमा एक बैंक भित्र गोली चलेको छ । घटनामा पाँच जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । गोली लागेर तीन प्रहरीसहित ९ जना घाइते भएका छन् । ओल्ड नेशनल बैंकका २३ वर्षीय कर्मचारीले नै बैंकभित्र गोली चलाएका थिए । उनले इन्स्टाग्राममा आक्रमणको प्रत्यक्ष प्रसारणसमेत गरेका थिए ।

    उनले हानेको गोली लागेर चार जनाको मृत्यु भएको र प्रहरीको गोली लागेर गोली चलाउने व्यक्ति पनि मारिएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले बन्दुकको हिंसाबाट अमेरिका शोकमा परेको बताएका छन् ।