Category: अमेरिका

  • अमेरिकामा मेसीको जादु जारी, लगातार सातौं खेलमा गरे गोल

    अमेरिकामा मेसीको जादु जारी, लगातार सातौं खेलमा गरे गोल

    न्यूयोर्क । अमेरिकामा लियोनल मेसीको जादु जारी छ । उनले लिग्स कपको फाइनलमा गोल गर्दै लगातार सात खेलमा गोल गरेका छन् । सभिल एससीविरुद्ध भइरहेको खेलको पहिलो हाफ जारी रहँदा मियामीले १–० गोलको अग्रता लिएको थियो । खेलको ५७ औं मिनेटमा सभिलले गोल फर्काएको छ ।

    कप्तान मेस्सीले २३ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । मेस्सीले मियामीका लागि लगातार सातौँ खेलमा गोल गरेका हुन्। यसबीचमा उनले १० गोल गरेका छन्। इन्टर मियामीका लागि खेलेका हरेक खेलमा मेस्सीले गोल गरेका हुन्। मियामी पहिलो पटक कुनै पनि प्रतियोगिताको उपाधि जित्ने प्रयासमा छ।

  • ट्रम्पलाई चिठीमा विष पठाउने महिलालाई २२ वर्ष जेल

    ट्रम्पलाई चिठीमा विष पठाउने महिलालाई २२ वर्ष जेल

    काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिठीमार्फत् जैविक हतियार (विष) पठाएको आरोपमा क्यानडाकी एक महिलालाई अदालतले झण्डै २२ वर्षको जेल सजायँ सुनाएको छ । ५६ वर्षीया पास्कल फेरियरलाई अदालतले २६२ महिना (झण्डै २२ वर्ष) जेल सजायँ सुनाएको हो ।

    सन् २०२० मा तत्कालीन राष्ट्रपति ट्रम्पलाई सम्बोधन गरिएको एक घातक चिठी ह्वाइट हाउस पुग्नुभन्दा अगाडि नै सुरक्षाकर्मीले बरामद गरेका थिए । सो चिठीमा रिसिन नामको विष रहेको पत्ता लागेको थियो । लगत्तै उनी पक्राउ परेकी थिइन् ।


    फेरियरले अदालत समक्ष आफूले जैविक हतियार ट्रम्पलाई पठाएको स्वीकारसमेत गरेकी थिइन् । तर उक्त जैविक हतियार ट्रम्पसम्म पुग्न नपाएकोमा आफू दुःखी भएको उनले बताएकी थिइन् । फेरियरले जेल सजायँ भोगिसकेपछि अमेरिकाबाट निर्वासनमा पठाइने र यदि अमेरिका फर्किए पनि कडा निगरानीमा राखिने बीबीसीले जनाएको छ ।

    रिसिन विषाक्त प्रोटिन हो । यो अडेर (अरन्डी) को बिउमा पाइन्छ । यसमा तेलको मात्रा बढी हुन्छ । अडेरको तेल औषधिको रुपमा प्रयोग हुन्छ । बिउबाट तेल निकालिसकेपछिको पिनामा ५ देखि १० प्रतिशत रिसन नामको विष पनि हुन्छ । निश्चित प्रक्रिया पूरा गरी त्यसबाट विष निकालिन्छ ।

    त्यो प्रक्रिया सरल भएकाले अमेरिकाले त्यसको रेसिपीलाई इन्टरनेटमा प्रतिबन्ध लगाइदिएको छ । त्यो विष सेवन गरेमा वा नाकको माध्यमबाट शरीरमा प्रवेश गरेमा मानिसमा ज्वरो आउने, रुखाखोकी लाग्ने, फोक्सोमा पानी जम्ने र मानिसको मृत्यु पनि हुन सक्ने जोखिम रहन्छ ।

  • एक वर्षमा अमेरिकामा झण्डै ५० हजार मानिसले गरे आत्महत्या

    एक वर्षमा अमेरिकामा झण्डै ५० हजार मानिसले गरे आत्महत्या

    काठमाडौं । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरूको अस्थायी तथ्याङ्कले अन्य कुनै पनि वर्षको तुलनामा गत वर्ष आत्महत्याका कारण धेरै अमेरिकीको मृत्यु भएको देखाएको छ । सन् २०२२ मा ४९ हजार ४४९ जनाको ज्यान गुमाएका छन् । प्रत्येक एक लाख मानिसमा लगभग १५ जनाको मृत्यु आत्महत्याबाट हुने गरेको सीएनएनले बिहीबार डाटालाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

    विगत दुई वर्षमा यहाँ आत्महत्या गर्नेको सङ्ख्यामा १० प्रतिशतले वृद्धि भएको पाइएको छ । तथ्याङ्कले अप्राकृतिक मृत्युमध्ये सन् २०२१ मा आत्महत्या ११औँ प्रमुख कारणमा रहेको त्यस्तै २०२२ को अस्थायी तथ्याङ्कले पनि त्यसैलाई पुष्टि गरेको छ । रासस

  • अमेरिकाद्वारा चिनियाँ प्रविधि क्षेत्रमा थप प्रतिबन्धको घोषणा

    अमेरिकाद्वारा चिनियाँ प्रविधि क्षेत्रमा थप प्रतिबन्धको घोषणा

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले यो साता एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै चिनियाँ प्रविधि क्षेत्रमा हुने अमेरिकी लगानी तथा चिप लगायत प्रविधिमा चीनको पहुँच नियन्त्रण गर्ने सहितका थप प्रतिबन्धको घोषणा गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

    यो आदेशले अमेरिकी ट्रेजरी मन्त्रीलाई चिनियाँ सेमीकन्डक्टर चिप, माइक्रोइलेक्ट्रोनिक्स, क्वान्टम कम्प्युटिङ प्रविधि र केही आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि जस्ता क्षेत्रमा हुने अमेरिकी लगानीमाथि प्रतिबन्ध लगाउने वा नियन्त्रण गर्नसक्ने अधिकार प्राप्त भएको छ ।

    प्रतिबन्ध नलागेका कतिपय चिनियाँ प्रविधि क्षेत्रमा लगानी गर्दा अमेरिकी सरकारलाई स्पष्ट जानकारी गराउनुपर्ने व्यवस्था पनि आदेशमा उल्लेख छ । बाइडेन प्रशासनले यो आदेश विशेषगरी तीनवटा संवेदनशील क्षेत्रतर्फ मात्रै लक्षित रहेको स्पष्ट पारेको छ ।

    चीनले आफ्नो सैन्य प्रविधिको अत्याधुनिकीकरण गरेर अमेरिकी राष्ट्रिय सुरक्षालाई कमजोर बनाउन गरेको प्रयत्नमा अमेरिकी पुँजी र विज्ञताले सघाउन सक्ने आँकलन गर्दै सो कार्य रोक्नका लागि यस्तो आदेश जारी गर्नुपरेको अमेरिकी अधिकारीहरूको दाबी छ । यो आदेशले तोकिएका क्षेत्रमा हुने निजी, साझेदारी, भेन्चर पुँजी तथा ग्रीनफिल्ड लगानी समेतलाई प्रभावित गर्नेछ ।

    यसअघि अमेरिकी संसदलाई लेखेको एक पत्रमा बाइडेनले सैन्य, जासुसी, निगरानी तथा साइबरमा आधारित संवेदनशील प्रविधि र उत्पादनहरूमा चीनजस्ता देशहरूको उन्नतीले ल्याउनसक्ने जोखिमको सामना गर्न एक राष्ट्रिय संकटकालको घोषणा गर्ने उल्लेख गरेका थिए ।

    एक उच्च अमेरिकी अधिकारीलाई उदृत गर्दै लेखिएका विभिन्न समाचारहरूमा यो कदम आर्थिक वा वित्ती भन्दा पनि राष्ट्रिय सुरक्षाको दृष्‍टिकोणबाट आएको र चीनसँगको व्यापार यथावत राख्दै सैन्य प्रविधि लगायत अति संवेदनशील केही क्षेत्रमा मात्रै प्रतिबन्ध वा निगरानीको व्यवस्था गर्न खोजेको दाबी गरेका छन् ।

    डेमोक्र्याटिक पार्टीका नेता चक सुमरले अमेरिकी सरकारको पछिल्लो कदमको प्रसंशा गरेका छन् । विकसित शैन्य प्रविधिहरूमा समेत सेमिकन्डक्टर चिपहरू प्रयोग हुने भएकाले लामो समयदेखि अमेरिकी लगानीले नै चिनियाँ शैन्य शक्तीको विकासमा सघाइरहेको र अहिलेको कदमले त्यसो हुन नदिने सुमरले उल्लेख गरेका छन् ।

    चीनले भने कम्प्युटर चिप्स र अन्य संवेदनशील प्रविधिमा लगानी प्रतिबन्ध लगाउने अमेरिकी कमदको बारेमा ‘गम्भिर चिन्ता’ प्रकट गरेको छ । चीनको वाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा वासिङ्टनले ‘विश्व अर्थतन्त्र र व्यापार साझेदारी तथा सयोगमा बाधा पुर्‍याएको’ र ‘विश्व अर्थतन्त्रको पुनरुत्थानको लागि अवरोध’ खडा गरेको आरोप लगाइएको छ ।

  • अमेरिकाको हवाईमा डडेलोमा परी कम्तिमा ८० जनाको मृत्यु

    अमेरिकाको हवाईमा डडेलोमा परी कम्तिमा ८० जनाको मृत्यु

    काठमाडौं । अमेरिकाको पश्चिमी राज्य हवाईमा डढेलोमा परी मृत्यु हुनेको संख्या ८० पुगिसकेको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार माउई टापुको पर्यटकीय सहर लाहैनामा तीव्र गतिमा फैलिएको डढेलोमा ठूलो मात्रामा मानवीय र भौतिक संरचनाहरूको क्षति भएको छ । डढेलोमा थुप्रै घाइते भएका छन् भने हजारौं परिवार विस्थापित भएका छन् ।

    घटनापछि हवाई राज्यमा आपत्काल घोषणा गरिएको छ । माउई काउन्टी सरकारले डढेलो नियन्त्रणको प्रयास गरिएको जानकारी दिएको छ । यद्यपि, तीव्र हावा र सुख्खा अवस्थाले अग्नि नियन्त्रकलाई डढेलो नियन्त्रणमा लिन मुस्किल परेको बताइएको छ । यस्तै ११ हजारभन्दा बढीको हवाई उद्धार गरिएको पनि स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

  • अमेरिकी सरकारबाट प्राप्त सहयोगको नेपालले गर्यो प्रसंशा

    अमेरिकी सरकारबाट प्राप्त सहयोगको नेपालले गर्यो प्रसंशा

    काठमाडौं । नेपाल सरकार र नेपालस्थित अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) बीच संयुक्त समीक्षा सम्पन्न भएको छ । दुई निकायबीचको आपसी समझदारी, जवाफदेहिता र सहकार्यलाई वृद्धि गर्दै उनीहरू बीचको साझेदारीलाई थप सुदृढ बनाउने दिशामा यो कार्यक्रम एक असाधारण मञ्च साबित भएको छ ।

    अघिल्लो समीक्षाको सफलताको जगमा थप कार्य गर्दै संयुक्त समीक्षा २०२३ ले नेपालमा विकासका चुनौतीलाई सम्बोधन गर्न र नेपाली नागरिकको हितका लागि रणनीतिलाई पङ्क्तिबद्ध गर्न संयुक्त प्रयासलाई बढावा दिएको छ ।

    कार्यक्रमले नेपाल सरकार र नेपाली जनतासँगको युएसएआईडीको साझेदारीमार्फत हासिल भएका महत्त्वपूर्ण उपलब्धिहरू माथि प्रकाश पार्दै साझा विकास लक्ष्यहरूमा थप सहकार्यका लागि क्षेत्रहरू पहिचान गरेको छ । अर्थ मन्त्रालय र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) बीच अमेरिकी सहायतामा सञ्चालित आयोजनाहरुको प्रगति समीक्षा बैठक सम्पन्न भयो ।

    बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा, स्वास्थ्य, कृषि, विपद् व्यवस्थापन, लोकतन्त्र र सुशासनका क्षेत्रमा अमेरिकाले निरन्तरता दिइरहेको द्विपक्षीय सहयोगको प्रशंसा गर्दै वर्षौंदेखिको नेपाल–अमेरिका साझेदारीको स्मरण गरे। मन्त्री महतले नेपाली जनताको जीविकोपार्जनका लागि ग्रामीण सडक, खानेपानी र सुधारका लागि प्रत्यक्ष सहयोग गर्ने ग्रामीण पूर्वाधार आयोजनामा लगानी गरेर ठोस नतिजा हासिल गर्न अमेरिकी सहयोग परिचालन गर्नुपर्नेमा जोड दिए ।


    त्यस्तै, अमेरिकी राजदूत डीन थम्पसनले विकासका विभिन्न क्षेत्रमा नेपाल–अमेरिकाबीच लामो समयदेखि साझेदारी रहेकोमा सन्तुष्टि व्यक्त गरे । यूएसएआईडीको सहयोग सम्झौता अन्तर्गत सञ्चालित आयोजनाहरुको आजसम्मका उपलब्धिहरू, कोष प्रवाह, स्थानीय संस्थाहरूको उपयोगमा बजेटमा बढेको जोड साथै यस अवधिमा भूमिका र जिम्मेवारीहरू स्पष्ट गर्दै नेपाल अमेरिकाबीच साझेदारीलाई सुदृढ पार्नु यस समीक्षा बैठकको उद्देश्य रहेको थियो ।

    बैठकमा अर्थमन्त्री डा। महत, अर्थ सचिव अर्जुनप्रसाद पोखरेल, नेपालका लागि अमेरिकी राजदूत थम्पसन, युएसएआईडीका मिसन निर्देशक सेपिदेह किभनशाद, मन्त्रालयका अधिकारीहरू, युएसएआईडीका पदाधिकारीहरू लगायतको उपस्थिति थियो । विकास उद्देश्य सम्झौताबाट गत वर्ष नेपाल र अमेरिकाबीच भएको द्विपक्षीय छाता सम्झौतामा पाँच वर्षको अवधिमा ६५ करोड ९० लाख अमेरिकी डलर उपयोग गर्ने उद्देश्यले नेपालको बजेट प्रणालीबाट अमेरिकी सहायता प्रयोग गर्ने व्यवस्था छ ।

  • अमेरिकी ‘ग्लोबल एन्टी–करप्सन’ संयोजक रिचार्ड नेफ्यु नेपाल भ्रमणमा

    अमेरिकी ‘ग्लोबल एन्टी–करप्सन’ संयोजक रिचार्ड नेफ्यु नेपाल भ्रमणमा

    काठमाडौं । अमेरिकी ‘ग्लोबल एन्टी–करप्सन’ संयोजक रिचार्ड नेफ्यु नेपाल भ्रमणमा आएका छन् । अमेरिकी दूतावासका अनुसार नेपाल सरकारका पदाधिकारी र नागरिक समाजका प्रतिनिधिहरूसँग नेपालले समिट फर डेमोक्रेसीमा गरेको भ्रष्टाचारविरुद्धको प्रतिबद्धताको बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ । संयोजक नेफ्यु विदेशमन्त्री एन्टोनी ब्लिन्केन र उपविदेशमन्त्री उज्रा जियाको मातहतमा रहेर काम गरिरहेका छन् ।

  • अमेरिकी राष्ट्रपतिलाई फेसबुकमार्फत धम्क्याउने व्यक्तिलाई गुप्तचरले मार्यो

    अमेरिकी राष्ट्रपतिलाई फेसबुकमार्फत धम्क्याउने व्यक्तिलाई गुप्तचरले मार्यो

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनलाई फेसबुकमार्फत् धम्की दिँदै आएका एक व्यक्तिलाई एफबीआईको टोलीले गोली हानेर मारेको छ । बाइडेन युटाह राज्यको भ्रमणमा जानुभन्दा केही घण्टा अगाडि अमेरिकाको गुप्तचर निकाय एफबीआईको टोलीले क्रेग रोबर्टसन नामका व्यक्तिलाई युटाहस्थित उनकै घरमा गोली हानेर मारेको हो ।

    एफबीआईका अनुसार साल्ट लेक सिटीको दक्षिणमा पर्ने प्रोवो भन्ने स्थानमा रोबर्टसनकै घरमा उनीमाथि गोली प्रहार भएको थियो । एफबीआईको टोली उनलाई पक्रन गएको बेला गोली चलेको बीबीसीले जनाएको छ । यस घटनाबार थप विवरणहरु सार्वजनिक भएको छैन । ती व्यक्तिले फेसबुक वालमा बाइडन र बन्दुकका फोटाहरु राख्दै मार्ने धम्कीसहितका दर्जनौं स्टाटस राखेका थिए ।

  • प्रचण्ड गर्मीले अमेरिकाका पाँचवटा काउन्टीमा कम्तीमा एक सय ४७ जनाको मृत्यु

    प्रचण्ड गर्मीले अमेरिकाका पाँचवटा काउन्टीमा कम्तीमा एक सय ४७ जनाको मृत्यु

    न्यूयोर्क । अमेरिकामा प्रचण्ड गर्मीका कारण पाँचवटा काउन्टीमा कम्तीमा एक सय ४७ जनाको ज्यान गएको छ । यो विज्ञहरूले अनुमान गरेभन्दा निकै कम भएको केबल न्युज नेटवर्क (सिएनएन)ले जनाएको छ । मृत्युको रिपोर्ट तीन राज्यमा भएको छ जुन सबैभन्दा खराब पीडित छ ।

    यसै महिनाको प्रारम्भमा एरिजोनाको पिमा काउन्टीमा ६४ र म्यारीकोपामा ३९ जना, नेभाडाको क्लार्क काउन्टीमा २६ जना, टेक्सासको वेबमा ११ र ह्यारिस काउन्टीमा सात जनाको ज्यान गएको उनीहरूले बताएका छन् ।

    जुनको अन्तिम सातादेखि बढेको गर्मी अझैसम्म जारी नै छ । जुन र जुलाई महिनामा लगातार ३१ दिन एक सय १० डिग्री फरेनहाइटभन्दा माथि तापक्रम पुगेपछि जनजीवन अस्तव्यस्त भएको थियो ।

    आँधी र बाढीमा भन्दा गर्मीले ज्यान गुमाउनेको सङ्ख्या अधिक भएकामा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । जलवायु सङ्कटले यस्तो अवस्था निम्त्याएको उनीहरूको तर्क छ । हार्वर्ड विश्वविद्यालयका चिकित्सक डेभिड एस जोन्स देशभरिबाट सङ्कलन गरिएको मृत्युको विवरण कम भएको टिप्पणी गर्दै गणनालाई रहस्यमय भनेका छन् ।

  • नासाको भोइजर टू यान कहाँ हरायो ?

    नासाको भोइजर टू यान कहाँ हरायो ?

    काठमाडौं । अन्तरिक्षमा अर्बौँ किलोमिटर पर सम्पर्कविहीन भएको भोइजर टू अन्तरिक्षयानबाट सङ्केतहरू प्राप्त गरेको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ। गलत निर्देशनका कारण नासाले गत महिनादेखि त्यससँग सम्पर्क गर्न सकेको थिएन। उक्त अन्तरिक्षयान सन् १९७७ देखि अन्तरिक्ष अन्वेषणमा संलग्न छ।

    पृथ्वीबाट पठाइएको गलत निर्देशनका कारण उक्त यानले आफ्नो एन्टेना पृथ्वीबाट ०.२ डिग्रीमा ढल्काएको थियो। फलतः उक्त यानको निर्देशन पालना गर्ने वा पृथ्वीमा डेटा पठाउने क्षमता अवरुद्ध भयो। तर मङ्गलवार आकाश नियमित रूपमा स्क्यान गर्ने क्रममा उक्त यानबाट उत्पन्न सङ्केतहरू भेटिएको नासाले बताएको छ।

    अक्टोबरमा उक्त यान रिसेट हुँदा फेरि सम्पर्क र्स्थापित हुने नासाको आशा छ। भोइजर टू पृथ्वीबाट १९.९ अर्ब किलोमिटरभन्दा पर छ। त्यहाँ उक्त उक्त यान ताराहरूको बीचको भागमा ५५,३४६ किलोमिटर प्रतिघण्टाको गतिमा अगाडि बढिरहेको छ। गत जुलाई २१ यता उक्त यानले कमान्ड लिन वा नासाको ुडीप स्पेस नेटवर्कुलाई डेटा पठाउन सकिरहेको थिएन।

    नासाको उक्त सञ्जालअन्तर्गत संसारभरि ठूला रेडिओ एन्टेनाहरू जडान गरिएको छ। तर भोइजर टूले पृथ्वीमा रहेका कन्ट्रोलरहरूले पठाएको निर्देशन लिइरहेको छैन। सीमित सम्पर्क पुनर्स्थापित भएसँगै अब यसबाट सूचना आदानप्रदान हुने आशा वैज्ञानिकहरूले गरेका छन्। नासाले भोइजर टूले अहिले पनि राम्रो अवस्थामा सङ्केतहरू प्रसारण गरिरहेको जनाएको छ।

    यसअघि सोमवार अस्ट्रेलियाको राजधानी क्यान्बरामा रहेको नासाको एउटा विशाल डिशले विगत ४६ वर्षदेखि काम गरिरहेको भोइजर टूबाट उत्पन्न सङ्केत खोज्ने प्रयास गरेको थियो। सम्पर्क पुनर्स्थापित गर्ने प्रयासमा उक्त एन्टेनाले भोइजर टू भएको क्षेत्रतर्फ व्यापक रूपमा सही निर्देशनहरू पठाएको उक्त मिशनको व्यवस्थापन गरिरहेको नासाको जेट प्रोपल्शन ल्याबोरटरीले जनाएको थियो। अर्बौँ किलोमिटर पर रहेको उक्त यानबाट पृथ्वीसम्म सङ्केत आइपुग्न १८ घण्टाभन्दा लामो समय लाग्छ।

    पूर्ण सम्पर्क स्थापित गर्न नसकिएको अवस्थामा आफ्ना एन्टेना पृथ्वीतर्फ सोझ्याउनका लागि भोइजर टू वर्षमा कैयौँ पटक रिसेट हुनेगरी प्रोग्र्यामिङ गरिएको छ। अर्को रिसेटको समय अब अक्टोबर १५ मा तय गरिएको छ। त्यतिखेर पूर्णसम्पर्क पुनर्स्थापित गर्न सकिने नासाले जनाएको छ। सन् १९७७ मा भोइजर टूलाई भोइजर वनभन्दा १६ दिनअघि अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो

    यसबीचमा वैज्ञानिक उपकरणहरू जडित उक्त अन्तरिक्षयान ब्रह्माण्डमा योजनाबद्ध मार्गमा रहने नासाको अपेक्षा छ। भोइजर टू र सँगसँगै बनेको भोइजर वनले मात्र अहिलेसम्म हेलिओस्फिअर र समग्र सौर्यमण्डल बाहिर रहेर काम गर्न सकेका छन्। सूर्यबाट उत्पन्न कणहरूको सुरक्षात्मक घेरा र चुम्बकीय क्षेत्रलाई हेलिओस्फिअर भनिन्छ।

    ती दुई यान इन्टर्स्टेलर स्पेस अर्थात् ताराहरूबीचको अन्तरिक्षमा क्रमशः सन् २०१८ र २०१२ मा पुगेका थिए। ती यानलाई सौर्यमण्डलका बाह्य ग्रहहरूको दुर्लभ एकत्रीकरणबाट लाभ हुनेगरी बृहस्पति र शनि ग्रहको अन्वेषण गर्न बनाइएको थियो। त्यस्तो अवस्थिति १७६ वर्षमा हुने गर्छ।

    भोइजर टू वरुण र अरुणको अगाडिबाट यात्रा गर्ने एक मात्र अन्तरिक्षयान हो। अहिले पृथ्वीबाट २४ अर्ब किलोमिटरभन्दा पर अवस्थित भोइजर वन सबैभन्दा टाढा पुगेको अन्तरिक्षयान हो। ती प्रत्येक यानमा पृथ्वीका कुरा ‘बाह्य संसार’ लाई थाहा दिन सकिनेगरी पृथ्वीका ध्वनि, तस्बिर र सन्देशहरू भएको एउटा ‘गोल्डन रेकर्ड’ राखिएको छ।

  • एक महिनामा अमेरिकाबाट आए ५ हजार ५६१ जना पर्यटक

    एक महिनामा अमेरिकाबाट आए ५ हजार ५६१ जना पर्यटक

    काठमाडौं । नेपालमा एक महिनाको अवधिमा ५ हजार ५६१ जना अमेरिकी पर्यटक भ्रमणमा आएका छन् । यो संख्या देश अनुसार तेस्रो हो । नेपाल पर्यटन बोर्डका अनुसार जुलाई २०२३ मा कुल ५७ हजार ७२६ जना पर्यटक नेपाल आएका छन् । त्यसमध्ये भारतीय मात्र २१ हजार ३५७ जना आएका छन् । दोस्रो स्थानमा चिनियाँ नागरिक छन् । उनीहरुको संख्या ५ हजार ५९३ जना छन् ।

    अमेरिकी पर्यटकको संख्या ५ हजार ५६१ जना रहेको बोर्डले जनाएको छ । जुलाई २०२३ मा सार्क मुलुकबाट मात्र कुल पर्यटकको ५० प्रतिशत हाराहारी पर्यटक आगमन भएको तथ्यांकमा देखिएको छ । भारतबाट २१ हजार ३५७, बंगलादेशबाट २६ सय ९६ जना, भुटानबाट ८०७ जना, श्रीलंकाबाट ४८४ जना र पाकिस्तानबाट ३७२ जना पर्यटक यो महिनामा नेपाल भ्रमणमा आएका छन् ।

    एसियाका अन्य मुलुकमध्ये चीनपछि दक्षिण कोरियाबाट १३ सय ७५ जना पर्यटक आएका छन् । युरोपेली मुलुकमध्ये सबैभन्दा धेरै ३ हजार ६३० जना बेलायती पर्यटक नेपाल आएका छन् । अष्ट्रेलियाबाट १ हजार १०२ जना नेपाल आउँदा क्यानडाबाट ६५३ जना नेपाल आएको तथ्यांक छ ।

    नेपालमा पछिल्लो सात महिनामा ५ लाख ३४ हजार २०७ जना पर्यटक आएका छन् । जुलाई २०२३ मा आएका ५७ हजार ७२६ पर्यटकसमेत जनवरीदेखि जुलाईसम्म यो संख्यामा पर्यटक नेपाल आएका हुन् । यस जुलाईमा कोभिड–१९ भन्दा अगाडिकै हाराहारीमा पर्यटक आगमन भएको छ ।

    बोर्डका निर्देशक लामिछानेका अनुसार सन् २०१९ को जुलाईमा ५८ हजार ८११ जना पर्यटक नेपाल आएका थिए । त्यसयताका वर्षहरुलाई भने कोभिड–१९ ले नराम्रोसँग प्रभावित बनाएको थियो ।

  • अमेरिकाले ताइवानलाई दिने भयो ४० अर्ब हाराहारीको सैन्य सहायता

    अमेरिकाले ताइवानलाई दिने भयो ४० अर्ब हाराहारीको सैन्य सहायता

    काठमाडौं । अमेरिकाले ताइवानलाई ३४ करोड ५० लाख डलरको सैन्य सहायता घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति प्रशासनले शुक्रबार रक्षा सामग्री, सैन्य शिक्षा र प्रशिक्षण सहायता हुने जनाएको हो । यद्यपि, उसले दिने हतियार वा उपकरणको बारेमा विस्तृत जानकारी खुलाएको छैन ।

    तर, अमेरिकी सञ्चारमाध्यमले ती उपकरणहरूमा वायु रक्षा प्रणाली, साना हतियार, युद्ध सामग्री हुने उल्लेख गरेका छन् । अमेरिकाको उक्त घोषणाको चीनले विरोध गरेको छ । ताइवानलाई चीनले आफ्नो स्वशासित क्षेत्र दाबी गर्दै आएको छ ।

    तर, ताइवानले भने आफूलाई स्वतन्त्र राज्य रहेको बताउने गरेको छ । चीनले आवश्यकता परेमा बलपूर्वक ताइवानलाई आफ्नो भूमिमा एकीकृत गर्ने चेतावनी दिएको छ । वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ता लियु पेंग्युले एक विज्ञप्ति जारी गर्दै अमेरिकाले ताइवानलाई हतियार बेच्न बन्द गर्नुपर्ने उल्लेख गरेका छन् ।

  • ठमेलबाट चरेससहित अमेरिकी र बेल्जियमका नागरिक पक्राउ

    ठमेलबाट चरेससहित अमेरिकी र बेल्जियमका नागरिक पक्राउ

    काठमाडौं । काठमाडौंको ठमेलबाट दुई जना विदेशी नागरिक चरेशसहित पक्राउ परेका छन्। बुधबार अपराह्न ४ बजे ठमेलको फ्यामेली हाउसबाट दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारीले जानकारी दिए।

    अमेरिकी नागरिक जोर्डन रफेल र बेल्जियमका नागरिक साफरलाई पक्राउ गरेको हो। उनीहरू उक्त हाउसको कोठा नम्बर २०२ मा बसिरहेका थिए। लागुऔषध भएको भन्ने सुराक पाएपछि प्रहरी वृत्त सोह्रखुट्टेबाट खटिएको टोलीले उनीहरूलई पक्राउ गरेको हो।

  • अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाएर २२ वर्षयताकै माथि पुर्यायो

    अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाएर २२ वर्षयताकै माथि पुर्यायो

    काठमाडौं । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले फेरि पनि ब्याजदर बढाएर २२ वर्षयताकै उच्च बनाएको छ । यसपटक फेडले २५ आधार अंक ९० दशमलव २५ प्रतिशत विन्दु०ले ब्याजदर बढाएर ५.२५ प्रतिशतदेखि ५.५० प्रतिशतको रेञ्जमा पुर्‍याएको छ । अमेरिकामा मूल्यवृद्धि आकाशिन थालेपछि २०२२ को सुरुवातदेखि नै फेडले ब्याजदर बढाउन थालेको हो । त्यसयता एघारौं पटकको ब्याजदर बढाएर फेडले ५ दशमलव ५ प्रतिशत पुर्‍याएको हो । फेडले सेप्टेम्बरमा थप ब्याजदर बढाउनक्ने संकेत गरेको बीबीसीले जनाएको छ ।


    फेडले ब्याजदर बढाएसँगै यो २००१ यताकै उच्च पुगेको हो । मुद्रास्फीति नियन्त्रणमा नआएसम्म ब्याजदर बढ्नसक्ने फेडका अध्यक्ष जेरोमी पावेलले बताए । जुन महिनामा अमेरिकामा मुद्रास्फीति ३ प्रतिशत थियो । फेडरल रिजर्भले यसलाई २ प्रतिशतभन्दा तल राख्ने लक्ष्य राखेको छ । गत वर्ष अमेरिकामा मुल्य वृद्धिको दर ९ प्रतिशतभन्दा माथि पुगेको थियो । मुद्रास्फीति नघटेमा आगामी महिना अझै ब्याजदर बढ्नसक्ने र त्यसो गर्नुअघि अन्य तथ्यांकहरु हेर्नुपर्ने उनले बताए ।

    फेडले कोभिड(१९ पछि करिब शून्यको नजिक रहेको ब्याजदर बढाएर न्यून लागतको ऋण सापटीलाई अन्त्य गरेको थियो । यसले जनतालाई घर, व्यवसाय विस्तार र अन्य गतिविधिका लागि लिने कर्जालाई महँगो बनाएको छ । बढ्दो ब्याजदरले ऋणको माग घटाउने र बचतलाई प्रोत्साहन गर्ने अपेक्षा फेडको छ । ब्याजदर वृद्धिका बाबजुद पनि अमेरिकाको अर्थतन्त्रको प्रदर्शन अपेक्षा गरेभन्दा राम्रो रहेको जनाइएको छ । ‘विशेष गरी श्रम बजारमा रोजगारी थपिने क्रम जारी छ र ज्याला बढिरहेको छ,’ बीबीसीले उल्लेख गरेको छ ।

    युरोप र जापानका केन्द्रीय बैंकले पनि ब्याजदर सम्बन्धी निर्णय गर्न बैठक गर्दैछन् । त्यसअघि फेडले ब्याजदर बढाउन निर्णय गरेको हो । बेलायतको ‘बैंक अफ इंग्ल्याण्ड’को आगामी ३ अगस्टमा बस्ने बैठकले ब्याजदर थप बढाउन सक्ने अनुमान गरिएको पनि बीबीसीले जनाएको छ ।

  • महिला विश्वकप : साविक विजेता अमेरिकाको सानदार जित

    महिला विश्वकप : साविक विजेता अमेरिकाको सानदार जित

    काठमाडौं । साबिक विजेता अमेरिका र जापानले फिफा महिला विश्वकप फुटबलको पहिलो खेलमा सहज जित निकालेका छन् । समूह ‘ई’ अन्तर्गत शनिबार भएको खेलमा अमेरिकाले एसियाली टोली भियतनामलाई ३–० गोलले हरायो । यस्तै समूह ‘सी’ अन्तर्गत अर्को खेलमा जापानले जाम्बियालाई ५–० गोलले स्तब्ध बनायो । अमेरिकाको जितमा अमेरिकाका लागि सोफियो स्मिथले १४औँ र पहिलो हाफको इन्जुरी समयमा दुई गोल गरिन् ।

    लिन्ड्सले होरानले ७७औँ मिनेटमा एक गोल थपिन् । यसअघि अमेरिकाकी एलेक्स मोर्गन ४४औँ मिनेटमा पेनाल्टीमा चुकेकी थिइन् । खेलभर अमेरिकाको दबाब झेलेको भियतनामको गोल फर्काउने प्रयास सफल भएन । जितसँगै अमेरिकाले समूहमा तीन अङ्क बनाएको छ । भियतनामले हारबाट विश्वकपको सुरुवात गरेको छ ।

    जापानको जितमा हानाता मायाजावाको दुई गरिन् । मिना तानाका, जुन एन्डो र रिको उकेईले एक एक गोल थपे । जितसँगै जापानले तीन अङ्क बनाएको छ । यस समूहमा स्पेन पनि समान तीन अङ्क जोड्दै दोस्रो स्थानमा छ ।

  • अमेरिकामा मेसीको सानदार इन्ट्री, मियामीका लागि पहिलो खेलमै उत्कृष्ट गोल

    अमेरिकामा मेसीको सानदार इन्ट्री, मियामीका लागि पहिलो खेलमै उत्कृष्ट गोल

    काठमाडौं । अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सीले अमेरिकी क्लब इन्टर मियामीको डेब्यु खेलमै उत्कृष्ट गोल गरेका छन् । उनको निर्णायक गोलको मद्दतमा क्लव विजयी भएको छ । गतसाता मात्र मियामीमा अनुबन्ध भएका मेस्सीले लिग्स कप २०२३ अन्तर्गत क्रुज अजुलविरुद्ध गोल गर्दै मियामीमा सुखद डेब्यु गरेका हुन् । लिग्स कप अन्तर्गत शनिबार बिहान भएको खेलमा मियामीले क्रुज अजुललाई २–१ गोलले हरायो ।

    प्रतिस्पर्धात्मक खेलमा मियामीले ४४औं मिनेटमा सुरुवाती गोल गरेको थियो । रोबर्ट टेलरले गोल गरे । त्यसपछि ५४औं मिनेटमा क्रुज अजुलका रिएल अन्तुनाले गोल गर्दै खेललाई बराबरीमा ल्याए । अन्तिममा बराबरीमा धकेलिएको खेलको इन्जुरी समयमा मेस्सीले करिव २५ यार्ड टाढाबाट फ्रिकिकमा दर्शनिय गोल गर्दै टोलीलाई जित दिलाए ।

    ३६ वर्षको ढल्कँदो उमेरमा मेस्सीले पहिलो पटक युरोप बाहिरको क्लबमा खेल्दैछन् । उनले यसअघि दुई सिजन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा बिताए । मेस्सीले त्यसअघि २१ वर्ष स्पेनिस क्लब बार्सिलोनामा खेलेका थिए । मेस्सीले मियामीमा सन् २०२५ सम्म रहने सम्झौता गरेका छन् ।

  • रुसविरुद्ध युक्रेनले घातक अमेरिकी क्लस्टर बम प्रयोग गरिरहेको पुष्टी

    रुसविरुद्ध युक्रेनले घातक अमेरिकी क्लस्टर बम प्रयोग गरिरहेको पुष्टी

    काठमाडौं । युक्रेनले रुसी सेनाविरुद्ध अमेरिकी क्लस्टर बम प्रयोग गरिरहेको अमेरिकाले पुष्टि गरेको छ । अमेरिकाको राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले प्रारम्भिक प्रतिक्रियाबाट क्लस्टर बम रक्षात्मक कदमका लागि प्रभावी ढंगले प्रयोग गरिरहेको पत्ता लागेको बताएका छन् । क्लस्टर बमले धेरै बमहरु खसाल्ने र त्यसबाट सर्वसाधारणमा वर्षौंसम्म पनि नराम्रो असर पर्ने भन्दै १०० भन्दा धेरै देशले त्यसलाई प्रतिबन्ध लगाएका छन् ।

    तर रुसविरुद्ध लडिरहेको युक्रेनलाई सैन्य सहयोग गर्ने क्रममा अमेरिकाले क्लस्टर बम सहयोग गरेको थियो । अमेरिकाको राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले युक्रेनले क्लस्टर बमको उचित उपयोग गरिरहेको दाबी गरेका छन् । ‘उनीहरुले त्यसलाई प्रभावी ढंगले उपयोग गरिरहेका छन् । त्यसले रुसविरुद्धको युद्धमा प्रभाव पारिराखेको छ,’ उनले भनेका छन् ।

    रुसविरुद्धको लडाइँमा युक्रेनसँग गोलाबारुद्ध समाप्त हुन थालेको भन्दै युक्रेनले अमेरिकासँग क्लस्टर बम दिन आग्रह गरेको थियो । अमेरिकी राष्ट्रपति जो बाइडनले यसबारे निर्णय लिन ‘धेरै गाह्रो’ भएको बताएका थिए । तर सहयोगी देशहरु बेलायत, क्यानडा, न्युजिल्याण्ड र स्पेनको विरोधका बाबजुद अमेरिकाले क्लस्टर बम युक्रेनलाई दिएको थियो ।

    युक्रेनले उक्त बम रुसी सैनिकलाई पछि हटाउनका लागि मात्र प्रयोग गर्ने प्रतिबद्धता जनाएको थियो । क्लस्टर बम सयौं साना–साना बमहरुको संग्रह हो । रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी)का अनुसार क्लस्टर बमलाई विमान, तोपखाना वा मिसाइलबाट प्रहार गरिन्छ । यसलाई आकाश र जमिन दुवै ठाउँबाट प्रहार गर्न सकिन्छ ।

    यो बम प्रहार गर्दा ठूलो इलाकालाई क्षति पुर्याउँछ । यसको प्रयोग खासगरी दुश्मनको एकत्रित फौजलाई क्षति पुर्याउने उद्देश्यले गरिन्छ । बम जमिनमा खस्नासाथ विष्फोट हुने ढंगले बनाइएको हुन्छ । कतिपय बम तुरुन्तै विष्फोट नहुन पनि सक्छन् । तर ती बारुदी धरापको रुपमा लामो समयसम्म खतरापूर्ण अवस्थामा रहिरन्छन् । क्लस्टर बम प्रहार भएको वर्षौंसम्म पनि यसको असरले मानिसको मृत्यु हुने वा अपाङ्ग हुने जोखिम रहन्छ ।

    सन् २००८ मा डबलिन कन्भेशन अन क्लस्टर म्युनिशन नामको एक अन्तर्राष्ट्रिय सन्धि अनुसार क्लस्टर बम राख्न, बेच्न या प्रयोग गर्न रोक लगाइएको थियो । यद्यपि कतिपयले यो सन्धिको विरोध पनि गरे । भारत, रुस, अमेरिका, चीन, पाकिस्तान र इजरायलले यो सन्धिको विरोध गर्दै यो सन्धिमा संलग्न भएनन् ।

    सन् २०१८ सम्ममा यो सन्धिमा विश्वका १०८ देशले हस्ताक्षर गरिसकेका छन् । क्लस्टर बमको उत्पादन र प्रयोग प्रतिबन्धित भए पनि अमेरिका, इराक, उत्तर कोरिया, इजरायल लगायत देशले यी बम प्रयोग गरिरहेको आरोप लाग्दै आएको छ । मानवअधिकारकर्मीका अनुसार मानव वस्ती भएको क्षेत्रमा यो बम प्रयोग गर्नु अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन मानिन्छ ।

  • अन्न निर्यात रोक्ने रुसको घोषणा, के पर्छ प्रभाव ?

    अन्न निर्यात रोक्ने रुसको घोषणा, के पर्छ प्रभाव ?

    काठमाडौं । रुसले ब्ल्याक सीहुँदै अन्न निर्यात गर्ने सम्झौता समाप्त भएको घोषणा गरेको छ । गएरातिदेखि समाप्त हुने सम्झौतालाई क्रेमलिनले हिजो नै म्याद समाप्त भएको बताएको हो । रुसले लामो समयदेखि युक्रेनमा आक्रमण गर्दै आएको छ । आफूले अघि सारेका सर्तहरू पूरा भएमा पुनः सम्झौतामा फर्कनसक्ने पनि रुसले स्पष्ट गरेको छ । यो घोषणापछि रुसले टर्की, युक्रेन र संयुक्त राष्ट्र सङ्घलाई सम्झौताको म्यादबारे जानकारी पठाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

    संयुक्त राष्ट्रसङ्घ र टर्कीको मध्यस्थतामा भएको यो सम्झौता राम्ररी कार्यान्वयन नभएको आरोप लगाउँदै रुसले त्यसलाई पालना नगर्ने बताएको समाचार संस्था एएफपीले जनाएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रूसी पक्षसम्बन्धी सम्झौताका बुँदा पूरा हुने बित्तिकै त्यसमा फर्किन सक्ने बताएका छन् ।


    अन्न सम्झौताबाट बाहिरिने रुसको घोषणालाई अमेरिकाले क्रुर निर्णय भनेको छ । संयुक्त राष्ट्र सङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले राष्ट्रसङ्घीय मुख्यालय न्युयोर्कमा मस्कोले मानवतालाई बन्धक बनाएको आरोप लगाएका छन् । जर्मनीले सम्झौताको म्याद लम्ब्याउन रुससँग आग्रह गरेको छ । रुसको यो निर्णयले संसारभर नै अन्नको मूल्यमा ठूलो उतार चढाव आउन सक्ने बताइएको छ ।

  • अमेरिकासँग वार्ता नगर्ने किमको संकेत

    अमेरिकासँग वार्ता नगर्ने किमको संकेत

    काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनीले संयुक्त राज्य अमेरिकासँग वार्ता नहुने बताएकी छन् । शक्तिशाली एवम् प्रभावशाली व्यक्तित्व उनी वार्ताको विचारलाई दिवास्वप्न भन्छिन् । आणविक प्रतिरोधसम्बन्धी पहिलो अमेरिका र दक्षिण कोरियाबीच हुन लागेको बैठकको पूर्वसन्ध्यामा उनकी बहिनीको यो भनाइ सार्वजनिक भएको हो । उत्तरविरुद्धको अमेरिकी–कोरियाली सैन्य गठबन्धनले वार्तालाई असम्भव बनाएको उनी बताउँछिन् ।

    उत्तर कोरियाले गत साता अहिलेसम्मकै सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेर शृङ्खलाबद्ध परीक्षणलाई निरन्तरता दिइरहेको छ ।

    अमेरिकाले प्योङयाङले निरन्तर गरेका त्यस्ता परीक्षणलाई सामान्य भन्दै त्यसबाट आश्चर्यचकित हुननपर्ने बताएको छ । उत्तरको हतियार परीक्षणको जवाफमा सोल र वासिङ्गटनले रक्षा सहयोगलाई सघन बनाएका छन् भने संयुक्त सैन्य अभ्यास पनि गर्दै आएका छन् ।

    अमेरिका र दक्षिण कोरियाबीच मङ्गलबार सोलमा आणविक परामर्शदाता समूहको बैठक हुँदैछ । कोरियाली राष्ट्रपति कार्यालयका अनुसार उत्तर कोरियाविरुद्ध आणविक प्रतिरोधलाई बलियो बनाउने बैठकको मुख्य लक्ष्य भएको बताइएको छ । एएफपी

  • अमेरिका र युरोपमा गर्मीले बेहाल

    अमेरिका र युरोपमा गर्मीले बेहाल

    काठमाडौं । अमेरिका र युरोपमा अत्यधिक गर्मी बढेको छ । अमेरिका पछिल्लो १६ दिनयता गर्मीबाट प्रभावित छ । पूरै दक्षिण-पश्चिम अमेरिकाका बासिन्दा गर्मीसँगै तातो हावाबाट प्रभावित भएका छन् ।

    गर्मीबाट अमेरिकामा करिब ११ करोड बासिन्दा प्रभावित भएको बीबीसीले जनाएको छ । फ्लोरिडादेखि क्यालिफोर्नियासम्म र अब वाशिङ्टन डिसीमा समेत तातो हावा (लु) बाट प्रभावित भएको बीबीसीले जनाएको छ ।

    अमेरिकाका मौसमविदहरुले तत्काल गर्मी नघट्ने भन्दै सावधानीका उपाय अपनाइराख्न आग्रह गरेका छन् । आगामी एक हप्तासम्म गर्मी कायम रहने पूर्वानुमान गरिएको छ

    बीबीसीका अनुसार विश्वको सबैभन्दा गर्मी स्थानमध्येको एक क्यालिफोर्नियाको डेथ भ्यालीको तापक्रम ५३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । लासभेगास, नाभादा लगायतका स्थानको अधिकतम तापक्रम ४७ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

    गर्मीबाट जोगिन मानिसहरुले घरमा एसीको अत्यधिक प्रयोग गरेकाले अमेरिकाको टेक्सस राज्यमा ऊर्जाको खपतमा नयाँ कीर्तिमान कायम भएको बीबीसीले जनाएको छ ।

    अमेरिकाको छिमेकी देश क्यानडाका अधिकारीहरुका अनुसार अत्यधिक गर्मीका जंगलमा डढेलो लागिरहेको छ । आगोबाट २.५ करोड एकड जंगल क्षेत्र जलिसकेको छ । डढेलोको धुवाँले अमेरिकाको केही भाग ढाकेको छ ।

    हाल अमेरिका, चीन, उत्तर अफ्रिका र जापानमा उष्णलहर देखापरेको छ । यीसँगै युरोपेली देशहरु इटली, स्पेन,ग्रिस, जर्मनी, पोल्याण्ड लगायत पनि केही दिनदेखि उच्च गर्मीका कारण प्रभावित छन् ।

    उपग्रहमार्फत् जमिन र समुद्रको तापक्रमको रेकर्ड राख्दै आएको युरोपेली अन्तरीक्ष एजेन्सी (ईएसए)का अनुसार गर्मी अझै केही दिन कायम रहने छ ।

    युरोपमा देखिएको उष्णलहरलाई इटलीको मेट्रोलोजिकल सोसाइटीले ‘सर्बरस’ नाम दिएको छ । उष्णलहरबाट इटलीका पर्यटकीय शहरहरु रोम, फ्लोरेन्स, बोलोन्या लगायत १६ शहरमा उच्च सतर्कता अपनाउन भनिएको छ । दिउँसोको समयमा घर बाहिर ननिस्किन भनिएको छ ।

    इटली सरकारले गर्मीका कारण स्वस्थ मानिस पनि बिरामी पर्नसक्ने भन्दै कफी र मदिरा नपिउन आग्रह गरेको छ । कफी र मदिराले शरीरमा पानीको मात्रा घटाउन सक्ने भन्दै त्यसको सट्टा दैनिक दुई लिटर पानी पिउन भनिएको छ ।

    गि्रसमा केही दिनयता तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । गर्मी अत्यधिक भएपछि गि्रसको लोकप्रिय पर्यटकीय केन्द्र एक्रोपोलिस गत शुक्रबार बन्द गरिएको थियो ।

    चेक रिपब्लिकको तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुग्ने चेतावनी जारी गरिएको छ । चेक रिपब्लिकमा यति धेरै तापक्रम असामान्य मानिएको छ ।

    तर युकेमा भने आँधीसहित ठूलो वर्षा हुने पूर्वानुमान मौसमविदहरुले गरेका छन् ।

    दक्षिण कोरियामा भने केही दिनयता अत्यधिक वर्षा भएको छ । वर्षासँगैको बाढी र पहिरोमा परी दक्षिण कोरियामा करिब दुई दर्जन मानिसहरुको ज्यान गएको बीबीसीले जनाएको छ । दक्षिण कोरियाको मौसम पूर्वानुमान कार्यालयले आगामी सातासम्मै वर्षा हुने प्रक्षेपण गरेको छ ।

  • अमेरिकी क्लबमा औपचारिक रुपमा आवद्ध भए लियोनल मेसि

    अमेरिकी क्लबमा औपचारिक रुपमा आवद्ध भए लियोनल मेसि

    काठमाडौं । अर्जेन्टाइन स्टार लिओनल मेसीले एमएसएल क्लब इन्टर मियामीसँग आधिकारिक रुपमा अनुबन्ध भएका छन् ।

    ३६ वर्षीय मेसीले इन्टर मियामीसँग शनिवार २०२५ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

    सात पटकको बाडोन डे’ओर विजेता मेसीले गत सिजनको अन्त्यपछि फ्रेन्च क्लब पीएसजी छाडेका थिए ।

    मेसीले नयाँ सुरुवातका लागि उत्साहित रहेको बताएका छन् । ‘ अमेरिकामा इन्टर मियीसँग आफ्नो खेल जीवनको नयाँ सुरुआतका लागि म निकै उत्साहित छु ।’ गत वर्ष आफ्नै कप्तानीमा अर्जेन्टिनालाई विश्व विजेता बनाएका मेसीले भने ।

    मेसीले पहिलो पटक युरोप बाहिरको लिग खेल्न लागेका हुन् । उनले भने, ‘यो उत्कृष्ट अवसर हो र हामी सबै मेलर यसलाई राम्रो प्रोजेक्ट बनाउनुपर्छ ।’

    इन्टर मियामीका को ओर डेभिड बेकहमले मेसी अनुबन्ध पछि सपना पूरा भएको बताएका छन् ।

    यहि जुलाई २१ मा क्रुज अजुल विरुद्ध हुने लिग कपको पहिलो खेलमा लागि मेसी उपलब्ध हुनेछन् ।

    बार्सिलोनामा दुई दशक बिताएपछि २०२१ मा पीएसजी पुगेका मेसीले त्यहाँ ७५ खेलमा ३२ गोल गरे । गत सिजन उनले १६ गोल र १६ असिस्ट गरे ।

    मेसीले बार्सिलोनाका लागि ६७२ गोल गरे र १० ला लिगा, चार च्याम्पियन्स लिग तथा सात स्पानिस कप जिते ।

  • अमेरिकी सहायक विदेश मन्त्री लु काठमाडौंमा

    अमेरिकी सहायक विदेश मन्त्री लु काठमाडौंमा

    काठमाडौं । दक्षिण तथा मध्यएसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका छन् । केही दिनदेखि दक्षिण एसियाको भ्रमणमा रहेका सहायक विदेशमन्त्री लु शुक्रबार बिहान नेपाल आइपुगेका हुन् । सहायक विदेशमन्त्री लुले एकदिने नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

    उनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम तय भएको छ । स्रोतका अनुसार उक्त भेटवार्ताको क्रममा लुले नेपालमा ऊर्जा र पूर्वाधार विकासमा अमेरिकी ५०० मिलियन डलर अनुदानको कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० को कार्यान्वयनको अवस्था, दुई मुलुकबीचको सम्बन्धलगायत विषयमा कुराकानी गर्नेछन् ।

    उनले दूतावासका कर्मचारीहरूलाई पनि भेट्ने कार्यक्रम छ । दूतावासका अनुसार लुले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्ने कार्यक्रम छ । नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सीप प्रदान गर्न उक्त संस्थाले गरेका प्रयासबारे पनि बुझ्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

    सहायक विदेशमन्त्री लु दक्षिण तथा मध्य एसिया मामिलामा दख्खल राख्ने अमेरिकी कूटनीतिज्ञमध्येमा पर्छन् । उनी २०७८ भदौ ३० मा दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्रीमा नियुक्त भएका हुन् । त्यसअघि लु दुई मुलुकमा राजदूत भइसकेका छन् । उनी किर्गिस्तान र अल्बानियामा राजदूत भइसकेका हुन् । साथै, उनलाई दक्षिण एसिया क्षेत्रबारे राम्रो ज्ञानसमेत रहेको छ ।

    ३० वर्षभन्दा बढी अमेरिकी कूटनीतिक सेवामा काम गरिसकेका लु नयाँदिल्लीस्थित अमेरिकी दूतावास र पाकिस्तानस्थित अमेरिकी दूतावासमा काम गरिसकेको अनुभव छ । दिल्लीमा उनले उपनियोग प्रमुखको रुपमा समेत काम गरिसकेका छन् । उनी मध्यएसिया तथा दक्षिण एसिया काकेस मामिला कार्यालयका उपनिर्देशकसमेत रहिसकेका छन् ।

    यसअघि सहायक विदेशमन्त्री लुले २०७९ साउन १२ र १३ मा दुईदिने नेपाल भ्रमण तथा त्यसअघि २०७८ मंसिर १ देखि ४ सम्म चार दिने भ्रमण गरेका थिए ।
    २०७९ असार ६ गते भ्रमणको सिलसिलामा अमेरिकी विदेश मन्त्रीद्वारा वार्षिक रुपमा प्रदान गरिने अवार्ड फर कर्पोरेस एक्सिलेन्स नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णालाई प्रदान गरेका थिए ।

    २०७८ को मंसिरमा नेपाल आएका लुले त्यस बेला नेपाली शीर्ष नेताहरुसँग एमसीसी सम्झौतालाई संसद्‌बाट अनुमोदन गराउने सम्बन्धमा कूटनीतिक र राजनीतिक भेटवार्ता गरेका थिए ।

  • अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउने

    अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउने

    काठमाडौं । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज शुक्रवार नेपाल आउँदैछन् । सहायक विदेशमन्त्री लुले एक दिने नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

    काठमाडौंस्थित अमेरिकी दूतावासले हिजो बिहीवारमात्रै लुको भ्रमणका विषयमा औपचारिक घोषणा गरेको हो । प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री साउदसँगको शिष्टाचार भेटमा लुले पाँच सय मिलियन अमेरिकी डलर अनुदानको एमसीसी परियोजना कार्यान्वयनको अवस्था, दुई देशबीचको सम्बन्धलगायत विषयमा कुराकानी गर्ने तयारी छ ।

    यसअघि नेपाल सरकारले अमेरिकी कार्यक्रम एसपीपी (स्टेट पार्टनरशिप प्रोग्राम) लाई अघि नबढाउने निर्णय गरेपछि लुले नेपाल भ्रमण गरेका थिए । एमसीसी सम्झौता नेपालको संसदबाट अनुमोदन हुनु चार महिनाअघि पनि लु नेपाल आएका थिए ।

  • युक्रेनलाई अमेरिकाले दिने क्लस्टर बमबारे अमेरिकाका सहयोगी मुलुकबीच नै मतभेद

    युक्रेनलाई अमेरिकाले दिने क्लस्टर बमबारे अमेरिकाका सहयोगी मुलुकबीच नै मतभेद

    काठमाडौं । युक्रेनलाई क्लस्टर बम उपलब्ध गराउने वाशिङ्गटनको निर्णयमाथि अधिकांश अमेरिकी सहयोगी राष्ट्रहरूले असन्तुष्टि व्यक्त गरेका छन्। शुक्रवार राष्ट्रपति जो बाइडनले “धेरै कठिन निर्णय”को सङ्ज्ञा दिँदै अमेरिकाले युक्रेनमा विवादास्पद अस्त्रहरू पठाउने विषय पुष्टि गरेका थिए। प्रतिक्रिया स्वरूप यूके, क्यानडा, न्यूजील्यान्ड र स्पेनले आफूहरू उक्त अस्त्र प्रयोगको विरुद्ध उभिएको बताएका छन्।

    क्लस्टर बमले आम नागरिकलाई निम्त्याउने जोखिमका कारण यो एक सयभन्दा बढी देशहरूमा प्रतिबन्धित छ। क्लस्टर उपकरणले ससाना बमहरू ठूलो क्षेत्रमा विस्फोट गराउँछ। यद्यपि तीमध्ये अधिकांश विस्फोट हुँदैनन् जसलाई ‘डड्स’भनिन्छ।

    विस्फोट नभएका यस्ता बमहरूमाथि कसैले कुल्चिँदा वा अन्य छेडखानी हुँदा विस्फोट हुने सम्भावना हुन्छ जसले मान्छे मार्न वा अङ्गभङ्ग पार्न सक्छ। बाइडनले शुक्रवार सीएनएनसँगको एक अन्तर्वार्तामा, आफूले ८० करोड अमेरिकी डलर बराबरको सैन्य राहत सामग्री अन्तर्गत अस्त्र दिने निर्णयबारे सहयोगी राष्ट्रहरूसँग छलफल गरेको बताएका थिए। राष्ट्रपतिले यस्तो निर्णय गर्न तयार हुन आफूलाई केही समय लागेको बताए। यद्यपि युक्रेनीहरूसँग अस्त्र कम हुँदै गएकाले” आफूले त्यस्तो कदम चालेको बताएका थिए।

    मानव अधिकार समूहहरूले उक्त निर्णयको तत्कालै आलोचना गरेका थिए। एमनेस्टी इन्टरन्याश्नलले क्लस्टर अस्त्रहरू द्वन्द्व समाप्त भएको लामो समयसम्म नागरिक जीवनका गम्भीर खतरा बन्न सक्ने बताएको छ। राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले पत्रकारहरू समक्ष अमेरिकाले युक्रेनमा पठाउन लागेको क्लस्टर बमहरूको असफलता दर रुसले युद्धमा प्रयोग गरेको उस्तै अस्त्रहरूको तुलनामा कम भएको बताएका थिए।

    तर अमेरिकाका केही पश्चिमी सहयोगी राष्ट्रहरूले यसको निर्णयमा समर्थन जनाउन अस्वीकार गरेका छन्। बाइडनको यस निर्णयले एक प्रतिशतभन्दा बढी असफलता दर भएका क्लस्टर अस्त्रहरूको उत्पादन, प्रयोग वा स्थानान्तरणलाई प्रतिबन्ध लगाएको विद्यमान अमेरिकी कानुनको उलङ्घन गर्छ।

    युद्धको प्रारम्भमा रुसले क्लस्टर तथा भ्याक्युम बमहरूको प्रयोग गरिरहेको आरोपबारे ह्वाइट हाउसलाई प्रश्न गरिँदा तत्कालीन प्रेस सेक्रेटरीले त्यो आरोप साँचो भएको खण्डमा त्यो सम्भावित ूयुद्ध अपराधू हुने जनाएका थिए। संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयका तर्फबाट बोल्दै मार्टा हुर्टाडोले भनिन्ः यस्ता अस्त्रहरूको प्रयोग अभिलम्ब रोकिनु पर्छ र यसलाई कुनै पनि स्थानमा प्रयोग गर्न हुँदैन।

    अमेरिकाको निर्णयबारे उनको अडानबारे प्रश्न गर्दा यूकेका प्रधानमन्त्री ऋषि सुनकले उक्त अस्त्रहरूको उत्पादन वा प्रयोगमा प्रतिबन्ध लगाउने र प्रयोगलाई निरुत्साहित गर्ने क्लस्टर अस्त्रसम्बन्धी अभिसन्धिमा हस्ताक्षर गरेका १२३ देशमध्ये यूके पनि एक भएको बताए। न्यूजिल्यान्ड उक्त अभिसन्धिका लागि जोड दिने राष्ट्रहरूमध्ये एक हो।

    स्थानीय सञ्चारमाध्यमहरूले प्रकाशित गरेको प्रतिक्रिया अनुसार त्यहाँका प्रधानमन्त्रीले अझै स्पष्ट रूपमा अमेरिकाको निर्णयविरुद्ध बोले। क्रिस हिप्किन्सले ती अस्त्रहरूले “अन्धाधुन्ध ढङ्गमा निर्दोष मानिसहरूलाई ठूलो क्षति पुर्‍याउने र सम्भवतः दीर्घकालीन प्रभाव पार्न सक्ने” बताए। उनले युक्रेनमा क्लस्टर बमको प्रयोगबारे न्यूजिल्यान्डको मत ह्वाइट हाउसलाई अवगत गराएको बताए।

    स्पेनकी रक्षामन्त्री मार्गारिटा रोबल्सले युक्रेनमा केही हतियार र बम पठाउन नपाइने कुरामा आफ्नो देशको “दृढ प्रतिबद्धता” रहेको बताइन्। “क्लस्टर बमको विपक्षमा र युक्रेनको वैध प्रतिरक्षाका लागि पक्षमा छौँ जुन हामीलाई लाग्छ क्लस्टर बमको प्रयोगबाट सम्भव छैन,” उनले भनिन्। क्यानडा सरकारले आफू त्यस्ता बमले बालबालिकामा पार्न सक्ने सम्भावित असरबारे चिन्तित रहेको बताएको छ।

    क्यानडाले पनि आफू क्लस्टर बमको प्रयोगको विपक्षमा रहेको र यससम्बन्धी अभिसन्धिको पूर्ण पालना गरिरहेको बताएको छ। हामी यस सम्झौतालाई विश्वव्यापी रूपमा आत्मसात् गर्न प्रोत्साहित गर्ने सन्धि अन्तर्गतको हाम्रो दायित्वलाई गम्भीरतापूर्वक लिन्छौँ, एक विज्ञप्तिमा जनाइएको छ। अमेरिका, युक्रेन र रुसले उक्त अभिसन्धिमा हस्ताक्षर गरेका छैनन् भने मस्को र किएभ दुवैले युद्धका क्रममा क्लस्टर अस्त्रहरू प्रयोग गरेका छन्।

    यसैबीच अभिसन्धिमा हस्ताक्षर गरेको जर्मनीले आफूले युक्रेनलाई त्यस्ता हतियार नदिने तर अमेरिकी अडानमा समर्थन रहेको जनाएको छ। युक्रेनका रक्षमन्त्रीले क्लस्टर अस्त्रहरू सहरी क्षेत्रमा नभई दुस्मनको प्रतिरक्षा सीमाहरू तोड्न मात्र प्रयोग गरिने बताएका छन्।

    अमेरिकाका लागि रुसी राजदूतले बाइडनको उक्त निर्णयको भर्त्सना गरेका छन्। क्रूरता र निन्दाबीच वाशिङ्गटनले किएभमा घातक अस्त्रहरू हस्तान्तरण गर्न अपनाएको नीति भर्त्सनायोग्य छ, अनातोली एन्टोनोभलाई उद्धृत गर्दै तास समाचार संस्थाले जनाएको छ।

    बीबीसीको सहयोगमा

  • १ सय २० भन्दा धेरै देशमा प्रतिवन्धित घातक बम अमेरिकाले युक्रेनलाई उपलब्ध गराउने

    १ सय २० भन्दा धेरै देशमा प्रतिवन्धित घातक बम अमेरिकाले युक्रेनलाई उपलब्ध गराउने

    काठमाडौं । अमेरिकाले सर्वसाधारणको ज्यान लिएको इतिहास भएको क्लस्टर बमहरू युक्रेनलाई उपलब्ध गराउने भएको छ । यस निर्णयको राष्ट्रपति जो बाइडनले बचाउ गरेका छन्। यसअघि अमेरिकाले विवादास्पद क्लस्टर बमहरू आपूर्तिका लागि युक्रेनले गरेको आग्रह स्वीकार गरेको विवरणहरू सार्वजनिक भएका थिए। विमानबाट खसालिने वा जमिनबाटै प्रक्षेपण गर्न सकिने यो अस्त्रबाट साना बमहरू निस्किन्छन्।

    राष्ट्रपतिले यस्तो निर्णय गर्न तयार हुन आफूलाई केही समय लागेको बताए। यद्यपि युक्रेनीहरूसँग अस्त्र कम हुँदै गएकाले” आफूले त्यस्तो कदम चालेको उनले बताए । युक्रेनका नेताले समयमै लिइएको यस कदमको प्रशंसा गरे भने मस्कोका कूटनीतिज्ञले वाशिङ्गटनको निन्दनीय कार्यको आलोचना गरेका छन्।

    क्लस्टर बमहरू माथि १२० भन्दा बढी देशहरूले प्रतिबन्ध लगाएका छन्। बाइडनले शुक्रवार सीएनएनसँगको एक अन्तर्वार्तामा यस निर्णयबारे आफूले सहयोगी राष्ट्रसँग छलफल गरेको बताए। लिथुआनिआमा आगामी साता हुने नेटो सम्मेलनभन्दा ठीक अघि उक्त निर्णय सार्वजनिक भएको थियो। राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले शुक्रवारको ह्वाइट हाउसको नियमित सम्बोधनमार्फत् अधिकारीहरूले विस्फोट नभएका क्लस्टर अस्त्रहरूबाट ूसर्वसाधारणलाई पर्न सक्ने जोखिमको पहिचान गरेको बताए।


    सुलिभानले युक्रेनमा तोपलगायत अस्त्रहरू सकिएको र अमेरिकाले अस्त्रहरूको उत्पादनमा जोड दिएको अवस्थामा आपूर्ति बढाउनु पर्ने मत राखे। यस द्वन्द्वकालको कुनै पनि घडीमा हामीले युक्रेनलाई प्रतिरक्षाविहीन अवस्थामा छोड्ने छैनौँ उनले भने। उक्त अस्त्रको प्रभावकारितालाई लिएर थुप्रै विवाद सिर्जना भएका छन्। विस्फोट नभएका साना बमहरू वर्षौँसम्म जमिनको सतहमा रहन सक्छन् र एक्कासि विस्फोट हुन सक्छन्।

    बाइडनको यस निर्णयले एक प्रतिशतभन्दा बढी असफलता दर भएका क्लस्टर अस्त्रहरूको उत्पादन, प्रयोग वा स्थानान्तरणलाई प्रतिबन्ध लगाएको विद्यमान अमेरिकी कानुनको उलङ्घन गर्छ। युद्धको प्रारम्भमा रुसले क्लस्टर तथा भ्याक्युम बमहरूको प्रयोग गरिरहेको आरोपबारे ह्वाइट हाउसलाई प्रश्न गरिँदा तत्कालीन प्रेस सेक्रेटरीले त्यो आरोप साँचो भएको खण्डमा त्यो सम्भावित युद्ध अपराध हुने जनाएका थिए।

  • अमेरिकामा अन्धाधुन्ध गोली काण्ड, कम्तिमा चार जना मारिए

    अमेरिकामा अन्धाधुन्ध गोली काण्ड, कम्तिमा चार जना मारिए

    काठमाडौं । अमेरिकाको पेन्सिलभेनिया प्रान्तको फिलाडेल्फियामा गोली चल्दा चार जनाको मृत्यु भएको छ । आक्रमणकारीलाई हिरासतमा लिइएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार बुलेटप्रुफ ज्याकेट लगाएका एक व्यक्तिले अन्धाधुन्द गोली चलाएका थिए । आठ जनालाई गोली लागेको थियो । तीमध्ये चार जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जना बालबालिका छन् ।

    गोली चलाउनेको व्यक्तिको पहिचान भएको छैन र उनले गोली किन चलाए भन्ने पनि खुलेको छैन । सोमबार राति साढे ८ बजेतिर फ्रेजियर स्ट्रिटको १८०० ब्लकमा गोली चलेको आवाज सुनेपछि प्रहरी घटनास्थल पुगेको थियो । त्यहाँ एक व्यक्तिले गोली चलाइरहेको र मानिसहरु भुइँमा लडेको दृष्य थियो । प्रहरीले तत्कालै स्थानीयवासीलाई घर बाहिर ननिस्किन आग्रह गर्दै हतियारधारी व्यक्तिलाई केही समयपछि नियन्त्रणमा लियो । घटनाको अनुसन्धानका लागि त्यहाँको सडकखण्ड प्रहरीले बन्द गराएको छ ।

  • साउदीमा अमेरिकी दूतावासबाहिर गोली चल्दा एक नेपालीको मृत्यु

    साउदीमा अमेरिकी दूतावासबाहिर गोली चल्दा एक नेपालीको मृत्यु

    काठमाडौं । साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको छ । बुधबार भएको यो घटनाको अमेरिका र साउदी अरबका अधिकारीहरुले पुष्टि गरेको अलजजिराले जनाएको छ ।

    समाचार अनुसार कारमा सवार एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएका थिए । त्यसपछि सुरक्षाकर्मीहरुले उनलाई नियन्त्रणको प्रयास गर्दा गोली चलेको थियो । त्यही गोलीबारीमा बन्दुकधारी र नेपाली सुरक्षा गार्ड गरी दुई जनाको मृत्यु भएको अलजजिरामा उल्लेख छ ।

    मृत्यु भएका नेपाली सुरक्षागार्डको नाम ठेगाना खुलेको छैन । साउदी प्रेस एजेन्सी (एसपीए)ले पनि घटनामा अमेरिकी वाणिज्य दूतावासको सुरक्षामा खटिएका नेपालीको मृत्यु भएको जनाएको छ । यो घटनामा अमेरिकी नागरिकलाई केही पनि नभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी अधिकारीहरु साउदी अरबका अधिकारीहरुसँग सम्पर्कमा रहेको र घटनाको अनुसन्धान गरिरहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

    जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास सन् २०१६ मा पनि निशानामा परेको थियो । अमेरिकी दूतावास नजिकै एक जनाले आत्मघाती बम विस्फोट गराउँदा आत्मघाती आक्रमणकारीको मृत्यु हुनुका साथै दुई जना घाइते भएका थिए ।

  • रुसमा वाग्नर विद्रोहपछि युक्रेनलाइ मिलेको राहत

    रुसमा वाग्नर विद्रोहपछि युक्रेनलाइ मिलेको राहत

    काठमाडौं । रुसमा अर्धसैन्य बल वाग्नर समूहको विद्रोहले ल्याएको उथलपुथलपछि रुससँग लामो समयदेखि युद्ध गरिरहेको युक्रेनले यही मौकामा बलियो प्रत्याक्रमणको योजना बनाउनुपर्ने युक्रेनी सेनाका उच्च अधिकारीले बताएका छन् । रुस आन्तरिक मामिलामा अल्झिरहेका बेला त्यसको फाइदा उठाएर युक्रेनले प्रत्याक्रमण गर्नुपर्नेमा उनीहरूले जोड दिएका हुन् ।

    युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले ‘दुश्मनतर्फ भएको कुनै पनि समस्या’ आफ्ना लागि अवसर भएको तर्क गर्छन् । उनले प्रत्याक्रमणका विषयमा छलफलका लागि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनसँग पनि फोनवार्ता गरेका छन् । युक्रेनका अवकाश प्राप्त लेफ्टिनेन्ट जनरल इहोर रोमानेन्कोले वाग्नर समूहको विद्रोहलाई अवसरका रूपमा लिएर विशेष प्रकारको रणनीति बनाउनुपर्नेमा जोड दिए । त्यसको एउटा कदम पश्चिम रुसमा आक्रमण हुन सक्ने उनको भनाइ छ । आफ्नो निजी अर्धसैनिक समूह ‘द वाग्नर ग्रुप’ को विद्रोहपछि रुस अहिले आफैं रक्षात्मक अवस्थामा आइपुगेको छ । एक दिनयताको घटनाले युक्रेनलाई भने आक्रमणको सही मौका दिएको रोमानेन्को भनाइ छ ।

    यता, वाग्नर समूहका प्रमुख यभगेनी प्रिगोजिन रुसको दक्षिणी सहर रोस्तोभ–अन–डन छाडेर आफ्ना सेनासहित बेलारुसतर्फ लागेका छन् । युक्रेनविरुद्धको आक्रमणमा रुसी सेनाले मोहराका रूपमा प्रयोग गर्दै आएको निजी अर्धसैनिक सेनाका प्रमुख प्रिगोजिन र उनका सैनिकमाथि रुसले लगाएका सबै आरोप हटाउने आश्वासन पाएपछि प्रिगोजिन बेलारुसतर्फ लागेको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेको छ ।

    बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोको मध्यस्थतामा शनिबारदेखि भएको छलफलमा वाग्नर समूह प्रमुख र उनका सेनामाथि लागेका सबै आरोप हटाउने रुसी पक्षले आश्वासन दिएपछि प्रिगोजिन बेलारुसतर्फ हिँडेका हुन् । यसबाहेक अन्य कुन–कुन विषयमा सहमति भएको हो भन्नेबारेमा भने अझै सार्वजनिक भइसकेको छैन ।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सहमतिसँगै वार्ता टुंगोमा पुगेको थियो । योसँगै वाग्नर समूह पनि आफूले नियन्त्रणमा लिएको रुसको रोस्तोभ–अन–डन सहर छोडेर फर्किएको बीबीसीले उल्लेख गरेको छ ।

    वाग्नर समूहले रुसका केही भूभाग नियन्त्रणमा लिन खोजेसँगै रुसले पनि राजधानी मस्कोको सुरक्षा व्यवस्था कडा पारेको थियो । मस्कोका मेयरले राजधानीवासीलाई जुलाई १ सम्म घरबाट बाहिर ननिस्कन निर्देशन दिएका छन् । रुसले युक्रेनमा आक्रमण गर्नका लागि सुरुदेखि नै बेलारुसको भूमि प्रयोग गर्दै आएको छ । राष्ट्रपति पुटिनका पूर्वसहयोगी यभगेनी प्रिगोजिन नेतृत्वका वाग्नर फौजलाई रुसी सरकारले भाडामा प्रयोग गर्दै आएको थियो । वाग्नर समूहले सुरुमा २०१४ मा पूर्वी युक्रेनमा रुस समर्थक पृथकतावादी समूहसँग मिलेर लडेको थियो । त्यसपछि नै यस निजी सैन्य कम्पनीको चर्चा बढेको हो । २०२२ मा पनि यस समूहमा ठूलो संख्यामा युवाहरू भर्ती भएका थिए ।

    युक्रेनमाथि रुसले आक्रमण गरेयता डेढ वर्षदेखि रुसी सेना र वाग्नर फौज एकाकार थिए । तर, पछिल्ला केही सातामा दुई समूहबीच अविश्वास बढेको थियो, रुसी सेनाले आफ्नो शिविरमा मिसाइल हमला गरेको भन्दै उत्तेजित वाग्नर सेनाले रुसी सेनाको नेतृत्व नै अपदस्थ गर्ने गरी युद्ध घोषणा गरेको थियो । प्रिगोजिनको वाग्नर सेनाले रुसका तर्फबाट युक्रेनमा सबैभन्दा रक्तपातपूर्ण लडाइँ लडेको थियो । तर, रुसी सेनाका शीर्ष अधिकारीहरूसँग महिनौंदेखि यो फौजको विवाद बढेको थियो । विद्रोही फौजले रुसी सेनाको दक्षिणी मुख्यालय कब्जा गरेको र सहरमा नियमित गस्ती सुरु भएको दाबी गरेको छ । तर, यसका लागि एउटा पनि गोली चलाउन नपरेको प्रिगोजिनका कमान्डरहरूले बताएका छन् ।

  • अमेरिकी होटेल ब्राण्ड विंडहाम होटल्स एण्ड रिसोर्ट्स नेपाल भित्रियो

    अमेरिकी होटेल ब्राण्ड विंडहाम होटल्स एण्ड रिसोर्ट्स नेपाल भित्रियो

    काठमाडौं । अमेरिकी होटल ब्राण्ड विंडहाम होटल्स एण्ड रिसोर्ट्सले इटहरीमा होटल सञ्चालन गर्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य तथा पर्यटन तथा हवाई यातायात समिति (एफएनसीसीआई)का अध्यक्ष देशबन्धु बस्नेत (अजित)ले इटहरीमा यो ब्राण्ड भित्राएका हुन् ।

    विंडहाम होटल्स एण्ड रिसोर्ट्ससँग ९५ देशमा ८ हजार ९०० भन्दा धेरै होटल र २४ ब्रान्डको पोर्टफोलियो छ । रमाडा ६० भन्दा बढी देशहरूमा ८५० भन्दा बढी होटलहरू भएको विंडहाम होटल्स एण्ड रिसोर्ट्स को मिडस्केल ब्रान्ड मध्ये एक हो । इटहरीमा रहेको ग्राण्ड सेन्ट्रल होटल प्राइभेट लिमिटेडले शुक्रबार नयाँ दिल्लीमा विंडहाम होटल्स एण्ड रिसोर्ट्ससँग नेपालको इटहरीमा ‘विंडहाम होटल बाइ रमाडा’ खोल्न फ्रान्चाइजी सम्झौतामा हस्ताक्षर गरेको छ ।

    सन् २०२४ मा होटल खोल्ने अपेक्षा गरिएको छ । यो नेपालका धेरै व्यापारिक केन्द्र र व्यावसायिक प्रतिष्ठान नजिकै अवस्थित हुने बताइएको छ । होटलमा ८० कोठा, एक दिनभर रेस्टुरेन्ट, एक बार र लाउन्ज, एक हेल्थ क्लब, स्पा र आउटडोर स्विमिङ पुल रहने छन् । यसले भोज हल र बैठक कोठा पनि प्रदान गर्ने बताइएको छ ।

    सम्झौतामा ग्राण्ड सेन्ट्रल होटल प्रालिका अध्यक्ष बस्नेत र युरेसियाका मार्केट प्रबन्ध निर्देशक निखिल शर्माले हस्ताक्षर गरे । बस्नेतले इटहरीमा विश्वस्तरीय ब्राण्ड ल्याउन पाउनु गौरवको विषय भएको बताए । यसले नेपालको पूर्वी क्षेत्रका आगन्तुकहरूलाई विश्वस्तरीय आतिथ्य सेवा प्राप्त गर्ने अवसर सिर्जना गरेको छ ।

    त्यसैगरी शर्माले सम्झौताले नेपालको पर्यटन विकासमा ठूलो टेवा पुग्ने बताउँदै विंडहामको रमादाले इटहरीका पाहुनालाई नेपाली परम्परागत आतिथ्यतासँगै विश्वस्तरको सेवा प्रदान गर्ने बताए । होटलमा जिम, स्पा, स्विमिङ पुललगायत पाँच तारे होटलमा आवश्यक सबै सुविधा उपलब्ध हुने बताइएको छ ।

  • विश्वकप छनोट : अमेरिकामाथि नेपालको सानदार जित

    विश्वकप छनोट : अमेरिकामाथि नेपालको सानदार जित

    काठमाडौं । विश्वकप छनोट क्रिकेटमा अमेरिकासँगको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । जिम्बाव्वेको हरारेमा जितका लागि पाएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपाललाई जिताउन भीम सार्की र दीपेन्द्रसिंह ऐरीले नट आउट ७४ रनको साझेदारी गरेका थिए । सार्की ७७ र ऐरी ३९ रनमा नट आउट रहे ।

    ओपनर कुशल भुर्तेल ३१ र आसिफ शेख १२ रनमा आउट भए । कप्तान रोहित पौडेल १६ र कुशल मल्ल १३ रनमा पभेलियन फर्केका थिए । यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर २०७ रन बनायो । उसका सयन जंहागीर १०० रनमा अविजित रहे । अमेरिकाको सुरुवात निकै खराब थियो ।

    पावर प्लेमा करण केसीले घातक बलिङ गरेपछि अमेरिकाले १९ रन जोड्दा महत्वपूर्ण चार विकेट गुमाइसकेको थियो । तर सुशान्त मदानी र गजानन्द सिंहले पारी सम्हाले । दुबैले पाँचौं विकेटका लागि ४७ रनको साझेदारी गरे । २२औं ओभरको तेस्रो बलमा दिपेन्द्र सिंह ऐरीले यो साझेदारी तोडे । २६ रन बनाएका गजानन्दलाई आरिफ शेखले स्लिपमा क्याच गरे ।

    तर सातौं नम्बरमा ब्याटिङ गर्न आएका जंहागीरले क्रिजमा डटेर खेले । उनले छैटौं विकेट मदानीसँग २९ रनको साझेदारी गरे । ४२ रन बनाएका मदानीलाई ललित राजवंशीले क्लिन बोल्ड गरे । निसर्ग पटेलले ३४ रनको साझेदारी गरे, पटेललाई गुल्सन झाले विकेटकिपर आसिफ शेखको हातबाट क्याच आउट गराए ।

    त्यसपछि आएका जेस्सी सिंहले जंहागीरसँग ४२ रनको साझेदारी गरे । जेस्सीलाई दिपेन्द्र सिंह ऐरीले कप्तान रोहित पौडेलको हातबाट क्याच आउट गराए । क्रिजमा टिकेर बाउण्ड्री समेत हानिरहेका जंहागीरले नवौं विकेटका लागि सौरभ नेत्रभालकरसँग ३७ रनको साझेदारी गरे । त्यसक्रममा उनले ४८.३ ओभरमा शतक पूरा गरे ।

    ५६ बलमा करियरमै पहिलो पटक ५० रन पूरा गरेका उनले थप २३ बलमा अर्को ५० रन थपेर शतक पूरा गरे । अर्को बलमा गुल्सनले नेत्रभालकरलाई बोल्ड गरे । अन्तिम ब्याट्सम्यानका रुपमा क्रिजमा आएका क्याल फिलिपले पहिलो बलमा रन जोड्न सकेनन् ।

    अर्को बलमा योर्कर फालेका गुल्सनले एलबीडब्लू धरापमा पारे र अमेरिका २०७ रनमा अलआउट भयो । नेपालका करण केसी एक्लैले ४ विकेट लिए भने गुल्सन झाले ३, दीपेन्द्र सिंह ऐरीले २ र ललित राजवंशीले एक विकेट लिए । सन्दीप लामिछाने भने आज पनि विकेटविहीन रहे । १० ओभर बलिङ गरेका उनले ५८ रन दिएका थिए । नेपालले समूह चरणको तेस्रो खेल बिहीबार बलियो टोली वेस्ट इण्डिजसँग खेल्दैछ ।