Category: अमेरिका

  • अमेरिकामा नेपाली दूतावासको रकम लुटपाट

    अमेरिकामा नेपाली दूतावासको रकम लुटपाट

    काठमाडौं । अमेरिकामा नेपाली दूतावासको रकम लुटपाट भएको छ । कर्मचारीको लापरबाहीको कारण अमेरिकामा नेपाली दूतावासको रकम लुटिएको बताइएको छ । वासिङ्टन डीसीस्थित नेपाली राजदूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै दूतावासले डिसेम्बर १५ देखि २० सम्म टेक्सासको डालस, अस्टिन र ह्युस्टन सहरहरुमा आयोजना गरेको कन्सुलर सेवा शिविरमा सेवाग्राहीले शुल्कबापत बुझाएको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ लुटिएको उल्लेख गरेको छ ।

    दूतावासले विज्ञप्ति जारी गर्दै आफ्ना कर्मचारीहरु डिसेम्बर २२ का दिन ह्युस्टनबाट वासिङ्टन डीसीतर्फ जाने क्रममा पार्किङमा राखिएको सवारी साधन स्थानीय समयअनुसार दिउँसो १२ बजेर तीन मिनेट जाँदा तोडफोड भई लुटिएको जनाएको छ ।

    साथै, दूतावासले यस घटनाको सम्बन्धमा तत्कालै ह्युस्टन प्रहरी विभाग तथा कुटनीतिक सुरक्षा महाशाखा ह्युटन लगायतका निकायहरुमा उजुरी गरी लुटिएको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ फिर्ता लिन प्रयास गरिरहेको जनाएको छ । विज्ञप्तिमा कति रकम बराबरका ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ लुटिएको भन्ने बारेमा उल्लेख गरिएको छैन । साथै, को–को कर्मचारी यात्रा गर्दा यस्तो घटनाभएको पनि उल्लेख छैन ।

    ‘यसबाट सेवाग्राहीहरुमा समय र स्रोत सधानको हिसाबले पर्न जाने असुविधाप्रति राजदूतावास क्षमाप्रार्थी छ । दूतावासले सेवाग्राहीहरुको नजिकै गइ सेवाप्रवाह गर्ने क्रममा भएको यस घटनाको अनुसन्धान गरी नेपाल सरकारको लुटिएको राजस्व रकम फिर्ता गर्ने कार्यमा अमेरिकावासी सम्बन्धित सबै नेपाली सेवाग्राहीहरुले यथाशक्य सहयोग गर्नुहुनेछ भन्ने दूतावास आशावादी छ,’ विज्ञप्तिमा भनिएको छ ।

    दूतावासले कन्सुलर सेवा शिविरहरुबाट सेवा प्राप्त गर्ने सबै नेपाली सेवाग्राहीहरुले सेवा प्राप्त गर्दा गर्नु भएको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ रद्दगर्न सम्भव भएसम्म गर्नको लागि पनि आग्रह गरेको छ । साथै, त्यसपछि दूतावासको नयाँ ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ बनाइ हाल्नको लागि पनि अनुरोध गरेको छ ।

  • अमेरिकी संसदमा युक्रेनका राष्ट्रपतिले के भने ?

    अमेरिकी संसदमा युक्रेनका राष्ट्रपतिले के भने ?

    काठमाडौं ­\बीबीसी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी कङ्ग्रेसको भरिभराउ संयुक्त सत्रलाई सम्बोधन गरेका छन् । उनले युक्रेनमा स्वतन्त्रताका लागि भएको लडाइँले आउँदा पुस्ता कस्तो विश्वमा जिउनेछन् भन्ने परिभाषित गर्ने बताए। जेलेन्स्कीले सबै प्रतिकूलताका विरुद्ध‘युक्रेन जीवित रहेको र मुकाबला गरिरहेकोू बताए। बारम्बारको ताली र उभिएर दर्साइएका सम्मानबीच जेलेन्स्कीले अमेरिकी जनता र कङ्ग्रेसलाई उनीहरूको सहयोगप्रति धन्यवाद दिए।


    उनले खुला रूपले सोच्ने विश्वसामु रुसी अत्याचारले नियन्त्रण गुमाएको र युक्रेनले कहिल्यै आत्मसमर्पण नगर्ने बताए। त्यसअघि राष्ट्रपति बाइडनले युक्रेनलाई थप सैन्य सहायताका रूपमा झण्डै दुई अर्ब अमेरिकी डलर दिने पुष्टि गरे जसमा युक्रेनले माग गरिरहेको अमेरिकी पेट्रोइट भनिने जमिनदेखि हवाई प्रहारको क्षेप्यास्त्र प्रहार सम्बन्धी प्रणाली समेत छ।

    यसअघि बुधवार बोलेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धका लागि आफ्नो देशलाई दोष दिन नहुने बताएका थिए। दुवै देशले शोक बाँडिरहेकोू बताएका पुटिनले युद्धका लागि तेस्रो देशका नीतिहरु जिम्मेवार रहेको बताए। बाइडनले युक्रेनका लागि व्यापक सहायताका रूपमा नयाँ वर्षमा झण्डै ४५ अर्ब डलरको सहायताको समेत बाचा गरेका छन् जसलाई कङ्ग्रेसले स्वीकृति दिन बाँकी छ।

    बाइडनले जेलेन्स्कीलाई रुससँगको युद्धमा आवश्यक पर्दासम्म अमेरिका युक्रेनसँग रहने बताए। तपाईँ कहिल्यै एक्लै उभिनुहुनेछैन, ह्वाइटहाउसमा बाइडनले जेलेन्स्कीलाई भने। जेलेन्स्की युक्रेनमा रुसले अतिक्रमण सुरु गरेपछि पहिलो विदेश भ्रमणका रूपमा अमेरिका पुगेका हुन्। जेलेन्स्कीले युक्रेनलाई सघाउन अमेरिकाले दिने आर्थिक प्याकेजहरूलाई विश्वव्यापी सुरक्षाका लागि भएको लगानीका रूपमा अर्थ्याए। ‘तपाईँहरूको पैसा परोपकार होइन’ उनले भने।

    जेलेन्स्कीले आफ्नो हालैको अग्र मोर्चामा पर्ने बक्मुत सहरको भ्रमणबारे बताउँदै त्यहाँ जमिनको हरेक इन्च रगतमा भिजेको बताए। उनले अमेरिकीहरूलाई क्रिसमसको शुभकामना दिने क्रममा युक्रेनीहरूले मैनबत्तिमा उक्त पर्व मनाउने बताए।

  • अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पलाई फौजदारी अभियोग चल्न सक्ने

    अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पलाई फौजदारी अभियोग चल्न सक्ने

    न्यूयोर्क । झण्डै दुई वर्षअघि अमेरिकाको संसद रहेको क्यापिटल हिलमा भएको दङ्गाको छानबिन गरिरहेको अमेरिकी कङ्ग्रेसको एक समितिले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले देशद्रोहसहितका फौजदारी अभियोगहरू सामना गर्नुपर्ने सिफारिस गरेको छ। डेमोक्र्याटिक नेतृत्वको उक्त समितिले न्याय मन्त्रालयलाई ट्रम्पमाथि अभियोजनको सिफारिस गर्न सर्वसम्मत रूपले मतदान गरेको हो। उक्त संसदीय समितिले ट्रम्पकी एकजना पूर्व सहयोगी होप हिक्सले ट्रम्पलाई उनको विरासतबारे दिएको चेतावनीको एउटा नयाँ क्लिप समेत सुनाएको छ।

    ट्रम्पका समर्थकहरूले सन् २०२१ को ज्यानुअरी ६ मा कङ्ग्रेसमा दङ्गा मच्चाउँदै जो बाइडनलाई राष्ट्रपति प्रमाणित गर्ने प्रक्रियामा अवरोध पुर्‍याएका थिए। ट्रम्पले आफूले कुनै गल्ती नगरेको एक विज्ञप्तिमार्फत् बताउँदै उक्त समितिलाई कङ्गारु कोर्ट को आरोप लगाएका छन्। उनले यस अनुसन्धानलाई आफूलाई पुनः राष्ट्रपति निर्वाचनमा भाग लिन रोक्ने प्रयास भएको बताएका छन्। उक्त दङ्गाबारे झण्डै १८ महिना अनुसन्धान गरेपछि तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सको उक्त समितिले सोमवारको आफ्नो अन्तिम बैठकमा ट्रम्पले चारवटा अभियोग सामना गर्नुपर्ने सिफारिस गरेको हो ।

    उनीमाथि देशद्रोहका निम्ति दुरुत्साहन, सहायता, सहयोग गरेको, औपचारिक प्रक्रियामा अवरोध पुर्‍याएको, अमेरिकालाई घात गर्ने षड्यन्त्र गरेको, झुटो वक्तव्य बनाउन षड्यन्त्र गरेको आरोप लागेको छ । यसअघि नै ट्रम्पलाई अभियोग लगाउने या नलगाउनेबारे विचार गरिरहेका न्याय मन्त्रालयका अभियोजनकर्ताहरूले संसदीय समितिको सिफारिसलाई मान्नु नै पर्छ भन्ने छैन।

    समितिका कदमहरू धेरैजसो साङ्केतिक हुने भए तापनि त्यसका सभापतिले प्रस्तावित अभियोगहरूलाई न्यायका लागि मार्गदिशा बताएका छन्। न्याय मन्त्रालयका प्रवक्ताले उक्त सिफारिसबारे प्रतिक्रिया जनाउन अस्वीकार गरे। सात जना डेमोक्र्याट र दुई जना रिपब्लिकन सदस्य रहेको उक्त समितिले सोमवार आफ्नो प्रारम्भिक १६१ पृष्ठ लामो कार्यकारी सारांश सार्वजनिक गरेको छ।

  • अमेरिकामा चिसोका कारण १ करोड ५० लाख मानिस बिरामी

    अमेरिकामा चिसोका कारण १ करोड ५० लाख मानिस बिरामी

    काठमाडौं\एजेन्सी । अमेरिकामा यस वर्ष चिसो याममा कम्तीमा एक करोड ५० लाख जना बिरामी भएको रिर्पोट सार्वजनिक भएको छ । अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)को प्रतिवेदनले यस्तो तथ्य देखाएको हो । सीडीसीको पछिल्लो प्रतिवेदन अनुसार यो अवधिमा एक लाख ५० हजार मानिस अस्पताल भर्ना भएका र नौ हजार तीन सय जनाको ज्यान गएको रिपोर्टमा उल्लेख छ ।

    अमेरिकामा मौसमी इन्फ्लुएन्जाको सङ्क्रमण उच्च रहेको तर केही क्षेत्रमा अहिले घट्दो देखिएको पनि सीडीसीको तथ्यांक छ । सीडीसीको तथ्याङ्कअनुसार पछिल्लो हप्तामा अमेरिकामा फ्लुका कारण २३ हजार पाँच सयभन्दा धेरै मानिस अस्पताल भर्ना भएका छन् । अमेरिका कोभिड १९ बाट समेत बढी प्रभावित मुलुकमा पर्छ ।

  • अफ्रिकी राष्ट्रहरूको भ्रमण गर्ने अमेरिकी राष्ट्रपतिको घोषणा

    अफ्रिकी राष्ट्रहरूको भ्रमण गर्ने अमेरिकी राष्ट्रपतिको घोषणा

    काठमाडौं । राष्ट्रपति जो बाइडेनले आगामी वर्ष अफ्रिकी राष्ट्रहरूको भ्रमण गर्ने घोषणा गरेका छन् ।

    यहाँ आयोजित अमेरिकी–अफ्रिकी नेताहरूको शिखर सम्मेलनलाई समापन गर्दै उनले उक्त घोषणा गरेका हुन् । राष्ट्रपतिले भ्रमणको घोषणा गरेपनि त्यसलाई औपचारिक भ्रमणसूचीमा समावेश गरिएको छैन ।

    विकासको पथमा अग्रसर भइरहेको अफ्रिकी महादेशप्रति आफ्नो ध्यान केन्द्रित रहेको बताउँदै उनले अफ्रिकी राष्ट्रहरूलाई सक्दो सहयोग गर्ने दृढता पनि व्यक्त गरे ।

    दश वर्षयता अमेरिकी राष्ट्रपतिबाट अफ्रिकाको औपचारिक भ्रमण भएको छैन । आगामी वर्ष राष्ट्रपतिबाट निजी भ्रमण हुनसक्नेछ । उनले सम्मेलनमा सहभागी ४९ देशका सरकार वा राष्ट्र प्रमुखसमक्ष भ्रमण गर्ने प्रतिबद्धता जनाएका हुन् ।

  • रुस-इरान सम्बन्ध न्यानो बन्दै छ : अमेरिका

    रुस-इरान सम्बन्ध न्यानो बन्दै छ : अमेरिका

    काठमाडौं । रुस र इरानबीचको सम्बन्धमा न्यानोपन देखिएको र त्यो पूर्णस्तरको रक्षा साझेदारीमा बदलिएको संयुक्त राज्य अमेरिकाले बताएको छ। अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीका अनुसार रुसले अभूतपूर्व तहको सैन्य सहयोग तेहरानलाई दिइरहेको छ। उनले दुई देशले घातक ड्रोनहरूको संयुक्त उत्पादन गर्ने विषयमा विचार गरिरहेको विवरण अमेरिकाको जानकारीमा रहेको बताएको बीबीसीले लेखेको छ ।

    अस्ट्रेलियाले युक्रेनविरुद्ध प्रयोग गर्न रुसलाई ड्रोनहरू आपूर्ति गरेकोमा तीन इरानी नागरिक र एउटा इरानी व्यवसायलाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ। पछिल्लो समयमा रुस र इरानबीच सहकार्य बढ्दै गएको छ र युक्रेनले रुसले आफूमाथि आक्रमण गर्न इरानी ड्रोनहरूको प्रयोग गरिरहेको आरोप लगाएको छ। प्रारम्भिक रूपमा रुसलाई ड्रोन उपलब्ध गराएको अस्वीकार गरेको उक्त मध्यपूर्वी देशले पछि युक्रेनमाथि आक्रमण हुनुअघि केही मात्रामा आपूर्ति गरेको उल्लेख गरेको थियो।

    कर्बी ले ड्रोनहरूको उत्पादनमा इरान र रुसको साझेदारी युक्रेन, इरानका छिमेकी र अन्तर्राष्ट्रिय समुदायका लागि घातक हुने टिप्पणी गरे। “रुसले इरानसँग अस्त्रको विकास र तालिमका क्षेत्रमा सहकार्य गर्न खोज्दैछ,” भन्दै उनले रुसले इरानलाई अत्याधुनिक सैन्य सामाग्री जस्तै हेलिकोप्टर र हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउने आशङ्का अमेरिकाको रहेको बताए।

    उनले थपे, “इरान रुसको प्रमुख सैन्य समर्थक बनेको छ‘ रुसले इरानी ड्रोनहरूको प्रयोग गरेर ऊर्जा केन्द्रहरूमा हमला गरेको छ र दशौँ लाख युक्रेनीहरूलाई ऊर्जा र अन्य संवेदनशील सेवाहरूबाट वञ्चित गरिरहेको छ। इरानको कदमका कारण अहिले युक्रेनमा मानिसहरूले ज्यान गुमाइरहनु परेको छ।”

    कर्बीको प्रतिक्रियामा धारणा राख्दै यूकेका विदेशमन्त्री जेम्स क्लिभर्लीले इरान रुसको प्रमुख सैन्य समर्थक बनिसकेको र ती दुई बीचको सम्बन्ध विश्व सुरक्षाका लागि खतरा भएको बताए। ‘कुत्सित सम्झौता’ अन्तर्गत रुसले सयौँ ड्रोनहरू रुसमा पठाएको उनले बताए। उनले रुसले इरानी सत्तालाई उपलब्ध गराउने सैन्य र प्राविधिक सहयोगले मध्यपूर्वका आफ्ना साझेदार र अन्तर्राष्ट्रिय सुरक्षामा जोखिम थप्ने टिप्पणी गरे।

    बलिस्टिक क्षेप्यास्त्रसहित थप अस्त्रहरू प्राप्त गर्ने प्रयास गरिरहेको रुसले आगामी दिनमा इरानलाई दिने सैन्य सहयोग थप बढ्ने अमेरिकी धारणामा आफ्नो मुलुक सहमत रहेको पनि यूकेका विदेशमन्त्रीले उल्लेख गरे। युक्रेनले इरानले रुसलाई ‘कामिकाजे’ ड्रोन उपलब्ध गराएको आरोप लगाएको छ। अक्टोबर १७ मा कम्तीमा ८ जनाको ज्यान जाने गरि भएको हमलामा उक्त ड्रोन प्रयोग भएको उसको भनाइ छ।

    सुरुमा यसलाई अस्वीकार गरेको भए पनि पछि इरानले ‘सीमित सङ्ख्यामा’ युक्रेन युद्धको कैयौँ महिनाअघि ड्रोनहरू पठाएको बताएको थियो। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यो झूटो भएको र युक्रेनले प्रत्येक दिन करिब १० वटा इरानी ड्रोनहरू खसालिरहेको धारणा राखेका थिए।

    शनिवार अस्ट्रेलियाकी विदेशमन्त्री पेन्नी वाङले एउटा विज्ञप्तिमा ‘ड्रोनहरूको आपूर्ति इरानले विश्व सुरक्षा अस्थिर बनाउन भूमिका खेलिरहेको प्रमाण भएको’ बताइन्। उनले तीन इरानी व्यक्ति र एउटा व्यवसायमा लगाइएको प्रतिबन्ध रुसलाई भौतिक समर्थन जनाउनेले त्यसको परिणाम बेहोर्नुपर्ने सन्देश भएको बताइन्

  • कतार विश्वकपको रिर्पोटिङ गरिरहेका अमेरिकी पत्रकारको निधन

    कतार विश्वकपको रिर्पोटिङ गरिरहेका अमेरिकी पत्रकारको निधन

    काठमाडौं । कतारको राजधानी दोहाबाट विश्वकप फुटबल २०२२ को रिपोर्टिङ गरिरहेका अमेरिकी पत्रकारको निधन भएको छ । पत्रकार ग्रान्ट वाह्लको निधन भएको अमेरिकी फुटबलले पुष्टी गरेको छ । यूए सकरले शनिबार वक्तव्य निकाल्दै उनको शुक्रबार निधन भएको पुष्टी गरेको छ । लुसेल रंगशालामा खेल हेर्ने क्रममा उनलाई हृदयघात भएको समाचारमा उल्लेख छ । गार्डियनका अनुसार उनी रंगशालाको प्रेस बक्समा बसेका थिए । उनी खेल चल्दाचल्दै नै एक्कासि ढलेका थिए ।

    पत्रकारहरूले त्यसपछि मेडिकल टिमलाई बोलाएका थिए । रंगशालामै उनलाई २० मिनेटसम्म सीपीआर गरिएको थियो । अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको क्वार्टफाइनलको खेलको रिपोर्टिङका क्रममा निधन भएको अमेरिकी मिडिया एनपीआरले जनाएको छ । त्यस्तै यूएस सकरले फुटबलका प्रशंसक र उच्च स्तरको पत्रकार गुमाउनु पर्दा दुःखी भएको उल्लेख गरेको छ ।

  • ट्रम्प अर्गनाइजेसन कर छलिमा दोषी ठहरिँदा ट्रम्पलाई राष्ट्रपति उम्मेदवारको होडमा के असर पर्छ ?

    ट्रम्प अर्गनाइजेसन कर छलिमा दोषी ठहरिँदा ट्रम्पलाई राष्ट्रपति उम्मेदवारको होडमा के असर पर्छ ?

    काठमाडौं । पूर्वअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको पारिवारिक घरजग्गा कम्पनी करछली र अन्य आर्थिक अपराधमा दोषी ठहरिएको छ। मङ्गलवार न्यूयोर्कको एक अदालतमा न्यायाधीशहरूले द ट्रम्प अर्गनाइजेसनलाई सबै अभियोगमा दोषी पाएका हुन्। उक्त कम्पनीमाथि १७ अभियोग लगाइएका थिए जसमा षड्यन्त्र, झुटा प्रतिवेदन र वर्षौँदेखि आफ्ना कार्यकारीका लागि करछलीका प्रकरण चलाएको कुरा समावेश रहेको बीबीसीले लेखेको छ ।

    उक्त व्यवसाय पूर्व राष्ट्रपतिको पर्यायका रूपमा छ तर सुनुवाइमा ट्रम्प र उनका परिवारका कुनै सदस्य सहभागी भएनन्। र उनीहरूमाथि कुनै अभियोग लगाइएको छैन। अभियोजनकर्ताहरूले ट्रम्पले कर छलीमा मन्जुरी दिएको स्पष्टसँग देखिएको आरोप लगाएका थिए। त्यस्तो अभियोगले उनको सन् २०२४ को राष्ट्रपतिमा उठ्ने प्रयासलाई असर पार्न सक्छ।

    उक्त फैसलाप्रति पुनरावेदन गरिने बताउँदै ट्रम्पले आफू ूनिराशू भएको बताउँदै उक्त घटनालाई पुनः ‘विच हन्ट’ अर्थात् बदलाको नियतले छानेर कारबाही गरेको को रूपमा व्याख्या गरे। उक्त कम्पनी एक दशकभन्दा बढी समयदेखि आफ्ना शीर्ष कार्यकारीहरूलाई अपारदर्शी ढङ्गले मुनाफा दिएकोमा दोषी पाइएको हो। कर समावेश नगरिएका मुनाफामा विलासी कार र निजी विद्यालयका शुल्कहरू रहेको अभियोजनकर्ताहरूले बताएका छन्।

    उनीहरूको तलब कम तय गरिँदा त्यसले व्यवसायले तिर्नुपर्ने कर कम गर्छ। उक्त कम्पनीले १६ लाख अमेरिकी डलर जरिबाना तिर्नुपर्ने हुनसक्ने अपेक्षा गरिएको छ। र उसले भविष्यमा ऋण सुनिश्चित गर्न र लगानी गर्न समेत कठिनाइ सामना गर्न सक्छ। लामो समय सँगै काम गरेका आफ्ना पूर्व प्रमुख आर्थिक कार्यकारी एलन विसेलवर्गले कम्पनीविरुद्ध बयान दिएपछि ट्रम्पले उनी विरुद्ध समेत रोष पोखेका थिए।

    आफ्नो सबैभन्दा पछिल्लो वक्तव्यमा आदेशप्रति रोष पोख्दै ट्रम्पले विसेलवर्गको ूव्यक्तिगत आचरणूका लागि किन ट्रम्प अर्गनाइजेसनमाथि अभियोजन चलाइएको भनेका थिए। ट्रम्पले विसेलवर्गलाई आफ्ना व्यक्तिगत करफिर्तीमा करछली गरेको आरोप लगाए। हामी त्यसबेला निकै सम्मानित र महँगो लेखा कम्पनी, र कानुनी कम्पनीमा यो काम गर्नका लागि भर परेका थियौँ, आफ्नो कार्यालयद्वारा जारी विज्ञप्तिमा ट्रम्पले भनेका छन्।

    छ साता लामो सुनुवाइमा अभियोजनकर्ताहरूले ट्रम्प अर्गनाइजेसनमा छल र कपटको संस्कृति रहेको आरोप लगाएका थिए। उक्त कम्पनीको विश्वभर होटलहरू, गल्फ कोर्सहरू र घरजग्गा सम्बन्धी सम्पत्तिहरू छन्। ट्रम्पले यसअघि उक्त सुनुवाइलाई राजनीतिक मनसायले प्रेरित बताएका थिए।

  • विश्वकप : अमेरिका प्रि-क्वाटरफाइनलबाटै घर फर्कियो, नेदरल्याण्ड्स अन्तिम ८ मा

    विश्वकप : अमेरिका प्रि-क्वाटरफाइनलबाटै घर फर्कियो, नेदरल्याण्ड्स अन्तिम ८ मा

    काठमाडौं । विश्वकप फुटबलमा अमेरिका प्रि क्वाटरफाइनलबाटै बाहिरिएको छ । शनिवार सम्पन्न अन्तिम १६ को पहिलो खेलमा अमेरिकालाई नेदरल्याण्ड्सले ३–१ गोलले हराएको हो । नेदरल्याण्ड्सका लागि मेम्फिस डिपाए, डाले ब्लिन्ड र डेन्जल डमफ्राइसले गोल गरे । अमेरिकाका हाजी राइटले एक गोल फर्काए । दोहास्थित खालिफा इन्टरनेशनल स्टेडियममा भएको खेलमा खेलको दशौँ मिनेटमा मेम्फिस डिपाएले डेन्जल डमफ्राइसको पासमा गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए ।

    पहिलो हाफको इन्जुरी टाइममा डाले ब्लिन्डले पेनाल्टी बक्सबाट डमफ्राइसकै पासमा गोल गर्दै नेदरल्याण्ड्सको अग्रता दोब्बर पारे । तर, ८१औं मिनेटमा डेन्जल डमफ्राइसले गोल गर्दै नेदरल्याण्ड्सलाई ३–१ को अग्रता दिलाएका थिए । नेदरल्याण्ड्सले अब क्यावटरफाइनलमा अर्जेण्टिनाको सामना गर्नेछ ।

  • न्यूयोर्क र सिंगापुर विश्वकै महंगा शहर

    न्यूयोर्क र सिंगापुर विश्वकै महंगा शहर

    काठमाडौं । विश्वको सबैभन्दा महँगा सहरहरू न्यूयोर्क र सिङ्गापुर रहेको वार्षिक रूपमा सार्वजनिक गरिने इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (इआईयू)को एक सर्वेक्षणले जनाएको छ। त्यस्तो सूचीमा न्यूयोर्क पहिलोपटक सबैभन्दा माथि राखिएको बीबीसीले जनाएको छ । गत वर्ष एक नम्बरमा रहेको तेल अभिभ अहिले तेस्रो नम्बरमा छ। इआईयू सर्वेक्षणका अनुसार विश्वका ठूला सहरहरूको जीवन धान्न लाग्ने खर्च औसत ८.१ प्रतिशतले बढेको छ।

    युक्रेन युद्ध र आपूर्ति शृङ्खलामा कोभिडले पारेको असर त्यसका कारण ठानिएका छन्। मुद्रास्फिति ८६ प्रतिशतले बढेर इस्तानबुलमा महँगी उच्च छ भने ब्युनस एरिज र तेहरानमा त्यो क्रमशः ६४ र ५७ प्रतिशतले बढेको छ। न्यूयोर्क सूचीको सबैभन्दा माथि रहनुमा अमेरिकामा बढेको उच्च महँगी एउटा कारण मानिएको छ।

    अमेरिकामा महँगी ४० वर्षयताकै उच्च तहमा पुग्दा यो वर्षको सुरुमा लस एन्जलस र सान फ्रान्सिस्को समेत शीर्ष १० मा परेका थिए। बलियो बनिरहेको अमेरिकी डलर समेत अमेरिकी सहरहरू अगाडि देखिनुका कारण हुन्। मस्को र सेन्ट पिटर्सबर्ग ८८औँ र ७०औँ सूचीबाट क्रमशः ३७औँ र ७३औँ स्थानमा उक्लिएका छन्। जसको आंशिक कारण रुसले युक्रेनमा गरेको आक्रमणपछि भएको पश्चिमा प्रतिबन्धलाई ठानिएको छ।

    उक्त सर्वेक्षणले १७३ सहरमा वस्तु र सेवामा हुने खर्चलाई अमेरिकी डलरमा तुलना गर्छ। यो वर्षको समीक्षामा किएभलाई समावेश गरिएको छैन। इआईयूले २०० भन्दा धेरै वस्तु तथा सेवाका ४०० भन्दा धेरै मूल्यलाई विश्वभरका १७२ सहरमा राखेर तुलना गरेको थियो।

    यस अध्ययनको नेतृत्व गरेकी उपासना दत्तले युक्रेन युद्ध, रुसमाथिको पश्चिमा प्रतिबन्ध र चीनको शून्य कोभिड नीतिले ूआपूर्तिचक्रको समस्या सिर्जना गरेकोू जनाएकी छन्। उनका अनुसार इयुआई सर्वेक्षणमा १७२ सहरमा बढेको औसत मूल्यवृद्धि हामीले डिजिटल डेटा प्रयोग गरेको २० वर्षमा देखिको सबैभन्दा कडा हो।

  • सान फ्रान्सिस्कोमा प्रहरीले पायो ‘ज्यानमारा रोबट’ खटाउन सक्ने अधिकार

    सान फ्रान्सिस्कोमा प्रहरीले पायो ‘ज्यानमारा रोबट’ खटाउन सक्ने अधिकार

    सान फ्रान्सिस्को । अमेरिकाको सान फ्रान्सिस्कोका विधायकहरूले शहरका प्रहरीलाई ‘ज्यानमारा रोबटहरू’ प्रयोग गर्न दिने प्रस्तावको पक्षमा मतदान गरेका छन्। यो निर्णयले एकदमै खराब परिस्थितिमा प्रहरीले विस्फोटक पदार्थ सहितका रोबटहरू खटाउनसक्ने बाटो खोलिदिएको बीबीसीले जनाएको छ । स्टप किलर रोबट नामक समूहकी डाक्टर क्याथरिन कोनोलीले अप्ठेरो निर्णय लिने काममा मानव संलग्न नहुने भएकाले यसको गलत प्रभाव पर्नसक्ने बताएकी छन्।


    सान फ्रान्सिस्को पोलिस डिपार्टमेन्ट (एसएफपीडी)का प्रहरीले अहिलेसम्म आफूहरूले घातक बल प्रयोग गर्ने रोबटहरूको प्रयोग नगरेको बीबीसीलाई बताएको छ । तर उनीहरूले भविष्यमा त्यस्तो घातक बल रोबटमार्फत् प्रयोग गर्नुपर्ने अवस्था भने आउनसक्ने उल्लेख गरेका छन्। प्रहरीका एक जना प्रवक्ताले ‘हिंसात्मक, सशस्त्र र खतरनाक संरचनाहरूलाई नष्ट गर्न रोबटहरूलाई विस्फोटक सामग्रीहरूले सुसज्जित बनाइनसक्ने’ बताए।

    प्रहरीले मानिसहरूको जीवनलाई जोखिम पुर्‍याउनसक्ने ठानिएका खतरनाक, हिंसात्मक र सशस्त्र सन्दिग्धहरूलाई निष्क्रिय बनाउनपनि रोबट खटाउन सकिने बताए। पैरवीकर्ताहरूले यी व्यवस्थाहरू एकदमै कठिन अवस्थाहरूमा मात्रै प्रयोग गरिने बताए। तर त्यसका विरोधीहरूले यस्तो अधिकारले प्रहरी बललाई थप सैन्यकरण गर्नसक्ने चेतावनी दिएका छन्। संशोधन सहित मङ्गलवार पारित भएको निर्णयले तनाव कम गर्ने वैकल्पिक रणनीति प्रयोग गरिसकेपछि मात्रै अधिकृतहरूले रोबटहरू प्रयोग गर्नसक्ने उल्लेख गरेको छ।

    बोर्ड अफ सुपरभाइजर्स भनिने शहरका लागि कानुन बनाउने निकायले यो निर्णय लिएको हो। उक्त बोर्डले सीमित सङ्ख्याका उच्च अधिकारीहरूले मात्रै रोबट प्रयोग गर्ने निर्णय लिनसक्ने जनाएको छ। विभिन्न प्रकारका घातक रोबटहरू अमेरिकाका अन्य शहरमा प्रयोगमा आइसकेका छन्। सन् २०१६ मा डलासका प्रहरीहरूले दुई जना अधिकारीको हत्या र अन्य कैयौँलाई घाइते बनाउने एक जना निशानेवाजको हत्या गर्न टेक्सस शहरमा सी-फोर विस्फोटक पदार्थको प्रयोग गरेका थिए।

    एसएफपीडीले उक्त विभागसँग घातक बल प्रयोग गर्ने क्षमताका कुनै पनि रोबटहरू नभएको उल्लेख गर्दै भविष्यमा आवश्यक पर्नसक्ने बताएका छन्। एक जना प्रवक्ताले भने, “कुनै पनि नीतिले अधिकृतहरूले भोग्नुपर्ने असामान्य परिस्थितिको कल्पना गर्न सक्दैन। एसएफपीडी तयार अवस्थामा रहनुपर्छ र त्यही अनुसार प्रतिक्रिया जनाउने क्षमता हुनुपर्छ।”

    सङ्घीय सरकारले यसअघि नै स्थानीय कानुन कार्यान्वयन गर्ने निकायलाई सैन्य स्तरको सामग्री, पोसाक, राइफलमा जडान गरिने धारिलो हतियार र बख्तर बन्द सवारी साधन वितरण गरिसकेको छ। क्यालिफोर्निया राज्यले यसै वर्ष पारित गरेको एउटा कानुनले शहरका प्रहरीहरूले सैन्य स्तरका सामग्रीको प्रयोग गर्न अनुमति लिनुपर्ने व्यवस्था गरेको छ। स्टप किलर रोबट नामक अभियानकी डाक्टर क्याथरिन कोनोलीले पछिल्लो निर्णयले बल प्रयोग गर्न र त्यसको परिणाम भोग्नबाट मानिसलाई अझ टाढा राख्न सक्ने टिप्पणी गरिन्।

  • अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनलाई कोरोना संक्रमण

    अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनलाई कोरोना संक्रमण

    एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनले बुधबार आफूलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको बताएका छन् ।

    ७६ वर्षीय क्लिन्टनले हल्का लक्षणहरू अनुभव गरेको तर घरमा आफूलाई व्यस्त राखेको ट्विटमार्फत बताएका छन् ।

    खोप र बुस्टर मात्रासम्म लगाएका सबैलाई विशेष गरी जाडो मौसममा सर्तक रहन क्लिन्टनले आग्रह गरेको सञ्चारमाध्यमले जनाएका छन् ।

  • परिजिता बास्तोला ‘अमेरिकी द भ्वाइस’को अन्तिम आठमा प्रवेश

    परिजिता बास्तोला ‘अमेरिकी द भ्वाइस’को अन्तिम आठमा प्रवेश

    काठमाडौं । नेपाली मूलकी परिजिता बास्तोलाले अमेरिकी गायन रियालिटी शो ‘द भ्वाइस’ को अन्तिम ८ मा प्रवेश गरेकी छिन् ।

    १७ वर्षीया बास्तोलाले २२‌‌औं संस्करणको ‘द भ्वाइस’को अन्तिम ८ मा प्रवेश गर्न सफल भएकी हुन् ।

    बुधबार बिहान भएको एपिसोडबाट दुई जना बाहिरिएका छन् भने परिजिता अन्तिम आठमा प्रवेश गरेकी छन् । यो एपिसोडमा उनले एलेसिया काराको गीत ‘स्कार्स टु योर ब्यूटीफुल’ गाएकी थिइन् ।

    परिजिता द भ्वाईस प्रतियोगितामा सहभागी हुने पहिलो नेपाली मूलकी अमेरिकन हुन् ।

    द भ्वाईसलाई संसारकै उत्कृष्ट गायन रियालिटी शोको रूपमा लिइन्छ। नेपालमा समेत यसको फ्रेन्चाईजी शो ‘द भ्वाईस अफ नेपाल’ निकै चर्चित रहेको छ।

  • नेटोले युक्रेनलाई थप हतियार उपलब्ध गराउने

    नेटोले युक्रेनलाई थप हतियार उपलब्ध गराउने

    काठमाडौं । उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोले युक्रेनलाई थप हतियार उपलब्ध गराउने र रुसी क्षेप्यास्त्र तथा ड्रोन हमलाका कारण क्षतिग्रस्त महत्त्वपूर्ण ऊर्जासम्बन्धी पूर्वाधार मर्मत गर्न सहयोग पुर्‍याउने भएको छ । बुकरेस्टमा भएको एक सम्मेलनमा उक्त सैन्य सङ्गठनका प्रमुख यान्स स्टोलटेनबेर्गले मस्कोले “जाडोयामलाई युक्रेन युद्धको हतियारको रूपमा प्रयोग गर्न खोजेको” आरोप लगाएको बीबीसीले लेखेको छ ।

    रुसी आक्रमणहरूका कारण लाखौँ युक्रेनी चिसोबीच विद्युत् र खानेपानीबाट वञ्चित भएका छन्। युक्रेनले नेटो समक्ष महिनौँदेखि परिष्कृत वायु प्रतिरक्षा प्रणालीको माग गर्दै आएको छ। जिनिभा महासम्धी अनुसार नागरिकमाथि वा उनीहरूको अस्तित्वलाई आवश्यक महत्त्वपूर्ण पूर्वाधारलाई आक्रमण गर्नु युद्ध अपराध हो। यसै साताको सुरुवातमा युक्रेनका अभियुक्तविरुद्ध कानुनी प्रक्रियाको नेतृत्व गर्ने एक जना सरकारी अधिकारीले बीबीसीसँग रुसी आक्रमणहरूलाई नरसंहारको संज्ञा दिएका थिए।

    बर्लिनमा आयोजित एक समारोहमा विश्वका धनी राष्ट्रहरूको जी सेभेन समूहका न्याय मन्त्रीहरूले युक्रेनमा भएको कथित युद्ध अपराधको अनुसन्धानमा समन्वय गर्ने बताएका छन्। ूयुक्रेनमा भएका अत्याचारहरूको न्यायिक जाँच हुन वर्षौँ लाग्न सक्छ वा दशकौँ लाग्न पनि सक्छ। तर हामी राम्रो तयारी गर्नेछौँ र जति समय लागे पनि त्यसलाई निरन्तरता दिनेछौँ, जर्मन न्यायमन्त्री मार्को बुशम्यानले भने।

    यसै वर्षको फेब्रुअरी २४ मा युक्रेनमाथि पूर्ण आक्रमणको आदेश दिएका रुसी राष्ट्रपति भ्लादिमिरले र क्रेमलिनका अन्य वरिष्ठ अधिकारीहरूले भने रुसी सेनामाथि युद्ध अपराधको आरोपको खण्डन गर्दै आएका छन्।

    मङ्गलवारको फरक घटनाक्रममा युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्काले यूकेको संसद्मा सांसदहरूसँग युक्रेनीहरू दोस्रो विश्वयुद्धमा यूकेले भोगेजस्तै आतङ्कबाट गुज्रिरहेको बताइन्। ‘हामीलाई जित मात्र चाहिएको होइन। हामीलाई न्याय चाहिन्छ,ू जेलेन्स्काले भनिन्। उनले आफू ून्यायका निम्ति त्यहाँ पुगेको र न्यायले युद्धको अन्त्य गर्ने” विश्वास व्यक्त गरिन्।

  • विश्वकप :अमेरिका र नेदरल्याण्ड्स अन्तिम १६ मा पुगे, इरान बाहिरियो

    विश्वकप :अमेरिका र नेदरल्याण्ड्स अन्तिम १६ मा पुगे, इरान बाहिरियो

    काठमाडौं । जारी विश्वकपमा अमेरिका र नेदरल्याड्सले अन्तिम १६ मा स्थान पक्का गरेका छन् । क्रिष्टियन पुलिसिचको एकमात्र गोल सहयोगमा अमेरिकाले इरानमाथि निर्णायक जित निकाल्दै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको हो । समूह बी बाट उपविजेता बनेको अमेरिकाले अन्तिम १६ मा समूह ए को विजेता नेदरल्याण्ड्सको सामना गर्नुपर्नेछ ।

    खेलको ३८औं मिनेटमा डिफेण्डर सेर्गिनो डेस्टको हेडर उपयोग गरी गोललाइनबाट गोल गरेका थिए । अन्तिम १६ पुग्न इरानका लागि बराबरी नै काफी थियो । तर, खेल अमेरिकाको पक्षमा आयो । उता, नेदरल्याण्ड्स भने आयोजक कतारलाई हराउँदै अन्तिम १६ मा पुगेको हो । आयोजक कतार भने सबै खेलमा पराजित भयो ।

  • विश्वकप : वेल्स र अमेरिकाले बराबरी खेले

    विश्वकप : वेल्स र अमेरिकाले बराबरी खेले

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा समूह ‘बी’ को खेलमा अमेरिका र वेल्सले १–१ गोलको बराबरी खेलेका छन् । दुबैले अक बाँडे । मंगलबार विहान सम्पन्न खेलमा अमेरिकाले अग्रता लिएको थियो। अमेरिकाका लागि टिम वेहले पहिलो गोल गरे। उनले खेलको ३६ मिनेटमा पुलिसिकले उपलब्ध गराएको पासमा गोल गरेका थिए।

    वेल्सका लागि ८२ मिनेटमा गारेथ बेलले पेनाल्टीमार्फत बराबरी गोल फर्काए। डिबक्समा बेलमाथि अमेरिकाका टिम रिएमले फल गरेपछि वेल्सले पेनाल्टी पाएका थियो। यो समूहको अर्को खेलमा सोमबार इंग्ल्यान्डले इरानमाथि ६–२ को जित निकालेको छ । आज पहिलो खेलमा साउदी अरेवीया र अर्जेण्टिना मैदानमा उत्रिँदैछन् ।

  • अमेरिकी सभामुख पेलोसीले किन दिइन् राजिनामा ?

    अमेरिकी सभामुख पेलोसीले किन दिइन् राजिनामा ?

    काठमाडौं । तल्लो सदनमा रिपब्लिकन पार्टीले बहुमत प्राप्त गरेको छ । यससँगै नयाँ पुस्तामा व्यवस्थापिकाको नेतृत्व सुम्पने भन्दै अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले अमेरिकी सभामुखबाट राजीनामा दिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । रोयटर्सका अनुसार उनले नयाँ पुस्तामा प्रतिनिधिसभाको नेतृत्व सुम्पने बताएकी हुन् । ‘मलाई दिइएको जिम्मेवारीप्रति म कृतज्ञ छु। नयाँ पुस्ता पनि यो अद्भुत जिम्मेवारी लिन सक्षम भएकी छिन्।

    उनीहरूको नेतृत्व चाहनाका लागि र युवा पुस्तालाई जिम्मेवारीको अवसर दिन चाहन्छु,’ पेलोसीले भनिन् । ८२ वर्षीय पेलोसीले सान्फ्रान्सिस्कोबाट सन् १९८७ बाट निरन्तर संसदमा प्रतिनिधित्व गर्दै आएका छिन्। सन् २०२१ मा कमला ह्यारिस उपराष्ट्रपतिमा चयन हुनुअघिसम्म अमेरिकाको सर्वोच्च पदमा पुग्ने एक मात्र महिला नेतृ पेलोसीनै थिइन् ।

  • मन्दीका बाबजूद अमेरिकी खुद्रा व्यापारमा सुधार, कारको विक्री बढ्यो

    मन्दीका बाबजूद अमेरिकी खुद्रा व्यापारमा सुधार, कारको विक्री बढ्यो

    वासिङ्टन । अक्टोबरमा अमेरिकी खुद्रा विक्रीमा अपेक्षा गरिएभन्दा वृद्धि देखिएको छ । ग्यासको उच्च मूल्य र कार विक्रीका कारण बढेको मूल्यको दबाबको प्रभावपछि खर्चमा लचिलोपन देखिएको सरकारी तथ्याङ्कले देखाएको छ ।

    अमेरिकी उपभोक्ताहरूले किराना सामानदेखि लुगाफाटासम्मका सबै चीजहरू महङ्गो बनाएको कारण बढ्दो लागतलाई समायोजन गर्दा एक महिना अघि विक्रीमा गिरावट आएको भएपनि अक्टोबरमा यसमा वृद्धि भएको छ ।

    दशकौंपछिको उच्च मुद्रास्फीतिको स्तरको सामना गर्दै, अमेरिकी फेडरल रिजर्भले यस वर्ष आफ्नो मानक ऋण दरलाई पटकपटक बढाएको छ । विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्थालाई मन्दीमा धकेल्ने जोखिमको बाबजुद पनि यसमा लगातार चार उच्चस्तरका वृद्धिहरू समावेश छन् ।

    तर अक्टोबरमा खुद्रा विक्री सेप्टेम्बरको तुलनामा १.३ प्रतिशतले बढेर ६९४.५ अर्ब डलर पुगेको वाणिज्य मन्त्रालयले जनाएको छ । कार विक्रीमा १.५ प्रतिशतले वृद्धि भएको र इन्धनको मूल्य बढेसँगै पेट्रोल पम्पमा विक्रीमा ४.१ प्रतिशतले वृद्धि भएको छ ।

    यस वर्ष युक्रेनमा रूसले गरेको आक्रमणपछि ग्यास पम्पहरूले उच्च मूल्यमा ग्यास बेचेका छन् भने हालका हप्ताहरूमा यो रेकर्ड क्रमशः कम भएको छ ।

    रेस्टुरेन्ट र बारको विक्री पनि अक्टोबरमा लचिलो रह्यो, जुन अघिल्लो महिनाको तुलनामा १.६ प्रतिशतले बढेको छ । तथ्याङ्क मौसमी रूपमा समायोजित गरिएको छ तर मूल्यमा परिवर्तनलाई ध्यानमा राख्दैन, त्यसैले लागत बढ्दै जाँदा, किनमेलले डलरको भाउ विस्तार गर्दैन र अमेरिकी परिवारहरूले मुख्य सामानहरूमा आफ्नो कमाईको अधिक प्रयोग गर्नुपरेको छ ।

    समग्रमा खुद्रा विक्री गत वर्षको सोही अवधिको तुलनामा ८.३ प्रतिशतले बढी हो । विशाल ई–कमर्स कम्पनी अमेजनसहित प्रविधि उद्योगमा समस्याको संकेतको बावजुद, अनलाइन खुद्रा विक्रेताहरूको विक्री गत महिना १.२ प्रतिशतले बढेको छ ।

    प्यान्थियन म्याक्रोइकोनोमिक्सका इयान सेफर्डसनले रिपोर्टअघि हालैको विश्लेषणमा भनेका छन्, ‘बढ्दो मूल्यका अलावा, वास्तविक आयमा उल्लेखनीय दबाबको बावजुद नागरिकले महामारीको समयमा जम्मा भएको बचतलाई उपभोग कायम राख्नका लागि कम गर्न चाहेका देखिन्छ ।’

    सेप्टेम्बरमा कोभिड–१९ को अवधिमा थप व्यक्तिगत बचत १.३ ट्रिलियन अमेरिकी डलर रहेकोले यो प्रक्रिया अझै केही समयका लागि जारी रहने उनको अनुमान छ ।उनले भने, ‘तर, मानिसहरू बचतलाई अझ कम गर्न इच्छुक छन् कि छैनन् भन्ने कुरा स्पष्ट छैन ।’एएफपी

  • पोल्याण्डमा मिसाइल खस्दा २  जनाको मृत्यु, कसले हानेको खुलेन

    पोल्याण्डमा मिसाइल खस्दा २ जनाको मृत्यु, कसले हानेको खुलेन

    काठमाडौं । पोल्याडमा अज्ञात स्थानबाट हानिएको एक मिसाइल खस्दा २ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार यो घटना पोल्याण्डको एक गाउँमा भएको हो । पश्चिमा मुलुकले यसमाथि रुसको हात रहेको आशंका गरेका थिए । रुसले भने आरोपको खण्डन गरेको छ ।

    अमेरिका तथा अन्य पश्चिममा देशले यसबारे छानविन गरिरहेको बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले समेत यस हमलामा रुसको हात रहने सम्भावना कम भएको बताएका छन् । पोल्याण्डले घटनापछि सैनिकलाई उच्च सतकर्तामा राखेको बताएको छ । इंडोनेशियामा जारी जी २० बैठकमा आज यसबारे समेत चर्चा हुने भएको छ ।

  • अमेरिकी ‘द भ्वाइस’को टप १६ मा परिजिता बास्तोलाको उत्कृष्ट प्रस्तुति

    अमेरिकी ‘द भ्वाइस’को टप १६ मा परिजिता बास्तोलाको उत्कृष्ट प्रस्तुति

    काठमाडौं । नेपाली मूलकी परिजिता बास्तोलाले अमेरिकी गायन रियालिटी शो ‘द भ्वाइस’ को टप १६ लाइभ शोमा उत्कृष्ट प्रस्तुति दिएकी छन्।

    १७ वर्षीया बास्तोलाले २२‌‌औं संस्करणको ‘द भ्वाइस’को टप १६मा चारैजना कोचको उठाउन सफल भएकी हुन्।

    कोच जोन लिजेन्डको तर्फबाट उनले लेडी गागाको ‘आई विल नेभर लभ अगेन’ बोलको गीत गाएकी थिइन्। उनको गीत सुनेर चारै जना कोचले तारिफ गरे।

    उनले ब्लाइन्ड अडिसन गायक ल्याब्रिन्थको ‘जेलस’ बोलको गीत गाउँदै चारै जना कोचको कुर्सी घुमाएकी थिइन् भने ब्याटल राउण्डमा द मेरिलाइन्ड अन द बी गीजका दुई युवतीसँग डुअल प्रस्तुति दिएकी थिइन् उनीहरू तीनै जनाले ‘हाउ डीप इज योर लभ’ बोलको गीत गाएका थिए। जसमा परिजिताले उत्कृत्ट प्रस्तुति दिएकी थिइन्।

    परिजिताको पर्फमेन्स अन्य प्रतियोगीभन्दा बलियो देखिन्छ । अब उनी कति अघि बढ्नेछिन् भन्ने टुंगो चाहिं दर्शकको भोटमा निर्भर हुने देखिन्छ । नेपालबाट समेत दर्शकले परिजितालाई भोट गर्न सक्छन् ।

  • अमेरिकामा तीन फुटबल खेलाडीको गोली हानी हत्या

    अमेरिकामा तीन फुटबल खेलाडीको गोली हानी हत्या

    काठमाडौं\एजेन्सी । अमेरिकामा तीन जना फुटबल खेलाडीको गोली हानी हत्या भएको छ । बीबीसीका अनुसार युनिभर्सिटी अफ भर्जिनिया फुटबल टोलीका सदस्यलाई गोली हानी हत्या गरिएको छ । आइतवार बेलुका फिल्ड ट्रिपबाट फर्किएका विद्यार्थीले भरिएको बसमा गोली चलेको हो ।

    ज्यान गुमाउनेमा विद्यार्थी डेभिन चन्डलर, डिसेन पेरी र रिच हिल रहेका छन् । घटनामा अरु दुई जना घाइते भएका बीबीसीले लेखेको छ । गोली चलाएको आरोपमा एक जना पक्राउ परेका र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

  • अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच राष्ट्र प्रमुखका हैसियतमा पहिलो पटक प्रत्यक्ष भेट

    अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच राष्ट्र प्रमुखका हैसियतमा पहिलो पटक प्रत्यक्ष भेट

    बाली । अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ समकक्षी सी जिन्पिङसँग राष्ट्रप्रमुखका हैसियतमा इन्डोनेशियाको बालीमा पहिलो प्रत्यक्ष भेटघाट गरेका छन्।
    दुई ठूला शक्तिबीचको सम्बन्धमा तिक्तता देखा परिरहेका बेला दुई नेताबीच झण्डै तीन घण्टा बैठक भएको हो। आफ्नो एउटा सुरुवाती मन्तव्यमा बाइडनले अमेरिका र चीनबीच द्वन्द्व टार्नुको आवश्यकताबारे बोलेका थिए। बाइडनले ताइवानप्रति चीनको बढ्दो आक्रामक व्यवहारबारे असन्तोष पोखेको बताइएको छ।

    स्वशासित टापु ताइवानलाई बेइजिङले आफ्नो भूभाग भएको दाबी गर्छ तर ताइवानले आफूलाई अलग्गै ठान्छ। बैठकअघि बाइडनले ताइवानका विषयमा आफूहरू दुईले आफ्ना रेड लाइन के हुन् भन्ने तय गर्ने बताएको बीबीसीले लेखेको छ । बैठकपछि चिनियाँ सञ्चारमाध्यमहरूले जनाए अनुसार सी जिन्पिङले ताइवान मामिलामा रेड लाइन नकाट्न चेतावनी दिएको बताइएको छ।

    बाइडनले आफूहरू दुईबीच खुला सम्पर्क सुत्र कायम गर्न प्रतिबद्ध रहेको भन्दै त्यसले दुई देशलाई जलवायु परिवर्तन र असुरक्षा सहितका आपत्कालीन विश्व मुद्दामा सहकार्य गर्न सम्भव गराउने बताए। उनले सी जिन्पिङसँगको वार्तामा युक्रेन युद्ध र उत्तर कोरियाको उक्साहटपूर्ण व्यवहारबारे चासो व्यक्त गरेका थिए।

    मङ्गलवार सुरु हुने जी२० बैठकका लागि विश्व नेताहरू यतिखेर इन्डोनेशियामा छन्। चिनियाँ राष्ट्रपतिले पाँच वर्षअघि आफूहरू स्विजरल्याण्डको डाभोसमा प्रत्यक्ष भेटेपछि अनलाइन संवादहरू जारी राखेको बताए। तर उनले प्रत्यक्ष भेट्ने कुराको बेग्लै महत्त्व हुने बताए।

  • अमेरिकी सिनेटमा बाइडेनको पकड कायमै

    अमेरिकी सिनेटमा बाइडेनको पकड कायमै

    काठमाडौं । नभाडामा भएको जितसँगै अमेरिकाको माथिल्लो सदन सिनेटमा डेमोक्र्याटिक दलले आफ्नो बहुमत कायम राख्ने भएको छ। तीव्र प्रतिस्पर्धामा उनीहरूकी उम्मेदवार क्याथरिन कोर्टेज मास्टोले डोनल्ड ट्रम्पले समर्थन गरेका रिपब्लिकन उम्मेदवार एडम ल्याक्सल्टलाई पराजित गरेको बीबीसीले लखेको छ ।
    मास्टो ६ वर्ष अघि अमेरिकी सिनेटमा चुनिने पहिलो ल्याटिन महिला बनेकी थिइन्। डेमोक्र्याटहरूसँग अब ५० सिट रहेको छ भने रिपब्लिकनहरूसँग ४९ सिट छ।

    जोर्जियामा डिसेम्बर महिनामा फेरी हुन लागेको चुनावले बाँकी एउटा सिट तय गर्नेछ। यदि सिनेटमा दुवै दलको बराबरीको अवस्था आएको खण्डमा उपराष्ट्रपति कमला ह्यारिसलाई मतदानको अधिकार हुनेछ। सर्वेक्षणहरूले कमजोर व्यक्तिगत समर्थन रहेको भनी देखाएका र ४० वर्ष यताकै ठूलो मूल्यवृद्धि नियन्त्रणका लागि सङ्घर्ष गरिरहेका राष्ट्रपति बाइडनका लागि यो महत्त्वपूर्ण उपलब्धि भएको समेत बीबीसीले लेखेको छ ।

    नभेडाको नतिजापछि बाइडनले चुनावमा देखिएको मतदाताको उत्साहजनक उपस्थितिप्रति आफू ज्यादै सन्तुष्ट रहेको बताए। उनले अब रिपब्लिकनहरूले ‘आफू को हो’ भनेर निर्क्योल गर्नुपर्ने अवस्था आएको उल्लेख गरे।

    डेमोक्र्याट दलका सिनेटका नेता चक सुमरले अमेरिकी नागरिकले चुनावी परिणामबाट मतदाताले रिपब्लिकन दलका ‘द्वन्द्व फैलाउने खालका अभिव्यक्ति’ अस्वीकार गरेको देखिएको बताए। नभेडामा मतगणना भइरहँदा पूर्व राष्ट्रपति ट्रम्पले डेमोक्र्याटले ‘सबै प्रकारको मत’ खोजेको आरोप लगाए तर त्यसलाई पुष्टि गर्ने कुनै प्रमाण भने दिएनन्।

    उनले प्रमाण नदिईकन रिपब्लिकनहरूको प्रभाव रहेका एरिजोनाका कैयौँ ठाउँमा मतदानमा प्रयोग गरिएका मेशिनहरूले पनि काम नगरेको बताए। रिपब्लिकन पार्टी हाउस अफ रेप्रिजेन्टेटिभमा जीत हासिल गर्ने दिशामा उन्मुख छ। त्यसले कानुन निर्माण सम्बन्धी बाइडनका कतिपय महत्त्वाकाङ्क्षा नियन्त्रण गर्नसक्छ। तर सिनेटमा बहुमत हुने दलले राष्ट्रपतिले गरेका सिफारिसका आधारमा सर्वोच्च अदालत सहित सङ्घीय अदालतहरूमा नियुक्तिहरू गर्न सक्छ।

    तल्लो सदनका सदस्यको कार्यकाल २ वर्षको हुन्छ भने सिनेट सदस्यहरूको कार्यकाल ६ वर्षको हुन्छ। हरेक दुई वर्षमा तिनको निर्वाचन हुन्छ। राष्ट्रपतीय निर्वाचन भएको दुई वर्षपछि हुने निर्वाचनलाई मिड टर्म इलेक्सन भन्ने गरिन्छ। मङ्गलवार हाउस अफ रेप्रिजेन्टेटिभ्सको सबै सदस्य अनि सिनेटको एक तिहाइ सदस्यको निम्ति निर्वाचन भएको थियो।

    साथै कतिपय राज्यले तिनको गभर्नर तथा स्थानीय अधिकारी चयन गर्न पनि मङ्गलवार निर्वाचन गराएका थिए। यी दुई सदनहरूले राष्ट्रव्यापी कानुन निर्माण गर्छन्। सिनेटलाई राष्ट्रपतिले गरेका नियुक्ति अनुमोदन गर्ने अधिकार हुन्छ भने राष्ट्रपतिमाथि छानबिनसमेत उसले गर्न सक्छ। प्रत्येक राज्यबाट २ जना सिनेटर निर्वाचित हुन्छन्।

  • अमेरिकामा ‘एयर शो’का दौरान दुई विमान आकासमै ठोक्किए

    अमेरिकामा ‘एयर शो’का दौरान दुई विमान आकासमै ठोक्किए

    डलास । अमेरिकी राज्य डलासमा एयर शोका दौरान द्वितीय विश्व युद्धकालिन दुई विमान आकासमै ठोक्किएका छन् । यस घटनामा कति मानिस हताहती भए वा जिवित छन् भन्ने खुलेको छैन । घटनाको समयमा दुबै विमान जमिनको नजिकबाट उडिरहेको अमेरिकी सञ्चारमाध्यमले लेखेका छन् । सोशल मीडियामा राखिएका भिडियोमा दुई विमान ठोक्किएपछि एक विमान दुई टुक्रा हुन्छ । जब यो जमिनमा खस्छ, त्यसपछि आगलागी हुन्छ ।

    दुई विमानमध्ये एउटा बोइङ बी १७ फ्लाइङ फोर्ट्रेस हो । दुबै विमानलेविंग्स ओवर डलास एयर शोमा भाग लिएका थिए । यसलाई द्वितीय विश्व युद्ध एयर शोका नामबाट समेत चिनिन्छ । अमेरिकी फेडेलर एविएशन एटमिनिस्ट्रेशनले शनिवार भएको यस घटनाको जाँच शुरु गरेको जनाएको छ । बोइङ बी १७ विमानले द्वितीय विश्व युद्धमा जर्मनी विरुद्ध युद्ध जित्न निर्णयक भूमिका निभाएको थियो ।

  • अमेरिकामा रिपब्लिकन दलले प्रतिनिधिसभाको नियन्त्रण खोस्ने प्रक्षेपण

    अमेरिकामा रिपब्लिकन दलले प्रतिनिधिसभाको नियन्त्रण खोस्ने प्रक्षेपण

    न्यूयोर्क । अमेरिकामा भएको संसदीय निर्वाचनमा रिपब्लिकन दलले तल्लो सदन प्रतिनिधिसभाको नियन्त्रण खोस्ने प्रक्षेपण गरिएको छ। सो परिणामले राष्ट्रपति बाइडनलाई धक्का लाग्ने ठानिएको छ। तल्लो सदनको सबै ४३५ सिटका निम्ति निर्वाचन भएको छ। बहुमत ल्याउन २१८ सिट आवश्यक पर्छ। मङ्गलवारको निर्वाचन अगाडि राष्ट्रपति बाइडनको दल डेमोक्र्याटको २२० सिटसहित बहुमत थियो। यो निर्वाचनमा सीबीएस न्यूजले हालसम्म गरेको प्रक्षेपणअनुसार १९० सिट रिपब्लिकनले जित्ने र १८० सिट डेमोक्र्याटले जित्ने देखिएको बीबीसीले जनाएको छ ।

    विश्लेषकहरूका अनुसार रिपब्लिकन दलले यसपालि प्रतिनिधिसभामा बहुमत जित्ने देखिन्छ। एकै सिटले रिपब्लिकन अगाडि भएपनि उसको नेता केभिन मक्कार्थी सभामुख चयन हुनेछन्। साथै बहुमत हुनासाथ रिपब्लिकनले डेमोक्र्याट दलका विधायिकी एजेन्डा अवरुद्ध पारिदिन सक्छन्। माथिल्लो सदन सिनेटको १०० सिटमध्ये ३५ मा मात्रै मङ्गलवार निर्वाचन भएको छ। अहिले सिनेटमा दुवै पार्टिका ५०(५० सिट छ तर सिनेटमा निर्णायक मताधिकार प्राप्त उपराष्ट्रपति कमला ह्यारिसलाई गन्दा डेमोक्र्याटको पक्षमा ५१ हुन्छ।

    यसपालिको सिनेटको दौडको नतिजा चाहिँ जोर्जिया, पेन्सलभ्यानिया, एरिजोना र निभाडा राज्यको परिणाममा भर पर्ने देखिएको छ। ती सबै राज्यमा कडा प्रतिस्पर्धा भइरहेकोले यकीन प्रक्षेपण भएको छैन। संसद्का दुईमध्ये कुनै एक सदनमा नियन्त्रण जमाउनासाथ रिपब्लिकन दलले राष्ट्रपति बाइडनका विधायिकी एजेन्डामा अवरोध उत्पन्न गरिदिन सक्छन्। अमेरिकाको संसदमा दुई सदन रहेका छन्। तल्लो सदनका सदस्यको कार्यकाल २ वर्षको हुन्छ भने सिनेट सदस्यहरूको कार्यकाल ६ वर्षको हुन्छ। हरेक दुई वर्षमा तिनको निर्वाचन हुन्छ।

    राष्ट्रपतीय निर्वाचन भएको दुई वर्षपछि हुने निर्वाचनलाई मिड टर्म इलेक्सन भन्ने गरिन्छ। मङ्गलवार प्रतिनिधिसभाको सबै सदस्य अनि सिनेटको एक तिहाइ सदस्यको निम्ति निर्वाचन भएको छ। साथै कतिपय राज्यले तिनको गभर्नर तथा स्थानीय अधिकारी चयन गर्न पनि मङ्गलवार निर्वाचन गराएका छन्। यी दुई सदनहरूले राष्ट्रव्यापी कानुन निर्माण गर्छन्। सिनेटलाई राष्ट्रपतिले गरेका नियुक्ति अनुमोदन गर्ने अधिकार हुन्छ भने राष्ट्रपतिमाथि छानबिनसमेत उसले गर्न सक्छ। प्रत्येक राज्यबाट २ जना सिनेटर निर्वाचित हुन्छन्।

  • अमेरिकामा आज मध्यावधिक निर्वाचन

    अमेरिकामा आज मध्यावधिक निर्वाचन

    काठमाडौं । अमेरिकामा आज मध्यावधि चुनाव हुँदैछ। अमेरिकामा राष्ट्रपति चुनावको दुई वर्षपछि यस्तो निर्वाचन हुने गर्छ । मध्यावधि अर्थात् मध्यान्तर चुनाव भनिन्छ । यो चुनावमा तल्लो सदनका सबै ४ सय ३५ र माथिल्लो सदन सिनेटको एक सयमध्ये ३५ ठाउँमा चुनाव हुँदैछ । राष्ट्रपतिको कार्यकाल तथा लोकप्रियता मापनको माध्यम यो चुनावलाई अमेरिकी नागरिकले निकै महत्त्वका साथ लिने गर्छन् ।

    अमेरिकी राष्ट्रपति जो वाइडेन र पूर्व राष्ट्रपति बाराक ओबामा चुनावी अभियानमा छन् । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पनि रिपब्लिकन उम्मेदवारलाई जिताउन लागि परेका छन् । अहिले अलास्का, इन्डियाना, केन्टुकी, लुजियाना, ओक्लोहामा, साउथ क्योरोलिनासहित १४ वटा राज्यमा रिपब्लिकन पार्टीको वर्चस्व छ। क्यालिफोर्निया, इलिनोई, मेरिल्यान्ड, न्युयोर्कलगायत आठ वटा राज्यमा डेमोक्रेटिक पार्टीको पकड छ ।

  • युक्रेन युद्धबारे अमेरिका र रुसबीच संवाद भइरहेको खुलासा

    युक्रेन युद्धबारे अमेरिका र रुसबीच संवाद भइरहेको खुलासा

    काठमाडौं । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले युक्रेनमा युद्धका जारी रहेका बेला वाशिङ्टन र मस्कोबीच सञ्चारका माध्यमहरू खुला रहेको पुष्टि गरेका छन्। न्यूयोर्कमा बोल्दै सुलिभानले क्रेमलिनसँग सम्पर्क कायम राख्नु अमेरिकाको हितमा रहेको बताएको बीबीसीले लेखेको छ ।

    तर अधिकारीहरू आफूहरू कोसँग व्यवहार गरिरहेका छौँ भन्ने कुरामा स्पष्ट रहेको बताए। ह्वाइट हाउसले युक्रेनमा पारमाणविक तीव्रता रोक्नको लागि सुलिभानले रुससँग वार्ताको नेतृत्व गरिरहेको विवरणको खण्डन गरे लगत्तै उक्त जानकारी सार्वजनिक भएको हो।

    वाल स्ट्रिट जर्नल पत्रिकाले उल्लेख गरे अनुसार सुलिभानले आफ्ना रुसी समकक्षी, सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभ र क्रेमलिनका विदेश नीति सहयोगी युरी उशाकोभसँग विगत केही महिनायता गोप्य वार्ताहरू गरेका छन्। वरिष्ठ अधिकारीहरूले उक्त पत्रिकासँग आफ्नो पक्षबाट युक्रेनको युद्धमा पारमाणविक वृद्धिको जोखिम कम गर्ने उपायहरूबारे छलफल गरेका बताए। उनीहरूका अनुसार द्वन्द्व अन्त्य गर्ने सम्बन्धमा उनीहरू कुनै वार्तामा संलग्न छैनन्।

    गत महिना सुलिभानले पारमाणविक हतियारको कुनै पनि प्रयोगले रुसमा विनाशकारी परिणाम निम्त्याउने मत राखेका थिए। उनले रुसी अधिकारीहरूसँगको निजी वार्ताहरूमा वरिष्ठ अधिकारीहरूले सम्भावित अमेरिकी प्रतिक्रियाको क्षेत्रहरूबारे उल्लेख गरेको प्रसारक एनबीसीसँग बताए।

    अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले समाचारको पुष्टि गर्न स्वीकार गरेनन्। उनले भने, ूमानिसहरू त धेरै कुराको दाबी गर्छन्। यद्यपि, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पश्चिमी पत्रिकाहरूले थुप्रै मिथ्या खबर प्रकाशित गरेको आरोप लगाए।

    तर ह्वाइट हाउसका प्रेस सचिव करिन जीन पियरले सोमवार अमेरिकाले रुससँग वार्ता गर्ने अधिकार सुरक्षित राखेको तर्क राखिन्। अमेरिकी राष्ट्रपति जो बाइडनका सबैभन्दा वरिष्ठ सल्लाहकारहरू मध्ये एक मानिने सुलिभानले मस्कोसँग सम्पर्क कायम राख्नु द्वन्द्वबाट प्रभावित प्रत्येक देशको हितमा भएको बताए।

  • ५००० मिटर भन्दामाथि खुम्बु क्षेत्रमा हिउँ चितुवा भेटियो

    ५००० मिटर भन्दामाथि खुम्बु क्षेत्रमा हिउँ चितुवा भेटियो

    काठमाडौं । सगरमाथा क्षेत्रको खुम्बुमा हिउँ चितुवा देखिएको छ। अमेरिकी राजदूतावासले सो तस्विरहरु सामाजिक सञ्जालमा सेयर गर्दै सो को जानकारी दिएको छ।

    एक अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले सगरमाथा क्षेत्रमा ५००० मिटर भन्दामाथि पुगेर हिउँ चितुवाका केही सुन्दर दृष्यहरू आफ्नो क्यामेरामा कैद गरेको लेखेकी छन् ।

    पवलोस्कीले हिउँ चितुवाको फोटो गत अक्टोवर ८ मा आफ्नो क्यामेरामा कैद गरेकी थिइन्। ५ हजार एक सय ६४ मिटर उचाइमा हिउँ चितुवाको पाइला देखेपछि आफूले फोटोका निम्ति पछ्याएको उनको भनाई छ ।

  • डोनाल्ड ट्रम्प सन् २०२४ को राष्ट्रपतीय निर्वाचन लड्ने तयारीमा

    डोनाल्ड ट्रम्प सन् २०२४ को राष्ट्रपतीय निर्वाचन लड्ने तयारीमा

    काठमाडौं । डोनल्ड ट्रम्पले उनी फेरि ह्वाइट हाउसमा फर्कन चाहेको हालसम्मकै सबभन्दा प्रस्टमध्येको एक सङ्केत दिएका छन्। आयोवा राज्यको सु सहरमा आयोजित र्‍याली सम्बोधन गर्दै उनले सन् २०२४ मा आफू ‘फेरि लड्ने एकदमै, एकदमै, एकदमै सम्भावना’ भएको बताएको बीबीसीले लेखेको छ । अमेरिकी संसद सदस्य तथा कैयन् सिनेट सदस्यहरू चुनिने आगामी साताको निर्वाचनका निम्ति तय भएका चारमध्ये पहिलो र्‍यालीलाई सम्बोधन गर्दै उनले उक्त भनाइ राखेका हुन्। सो निर्वाचनमा आफ्ना दलका उम्मेदवारका पक्षमा समर्थन जुटाउन राष्ट्रपति जो बाइडन पनि देशभरि घुमिरहेका छन्।

    आगामी मङ्गलवारको निर्वाचनमा न त बाइडन न त ट्रम्प उम्मेदवार छन् तर त्यसको नतिजाले भने अमेरिकी कङ्ग्रेस तथा महत्त्वपूर्ण राज्य गभर्नरका पदहरूमा फेरबदल ल्याइ शक्ति सन्तुलन बदल्दिन सक्छ। दुई वर्षपछि हुने राष्ट्रपतिय निर्वाचनको निम्ति उक्त परिणामले नौलो अमेरिकी राजनीतिक परिदृश्य स्थापित गरिदिनेछ।


    बिहीवार राति रिपब्लिकन दलका नेता ट्रम्पले सन् २०२० को राष्ट्रपति निर्वाचनमा व्यापक धाँधली भएको भन्ने उनका पुराना दाबी पुनः दोहोर्‍याए। “मैले दुई पटक चुनाव लडेँ,” उनले भने। “दुवै पटक मैले जितेँ। दोस्रो पटक त अझ पहिलो पटकभन्दा मेरो प्रदर्शन राम्रो थियो। सन् २०१६ मा भन्दा २०२० मा दशौँ लाख धेरै भोट पाएको थिएँ।” “साथै मैले हाम्रो देशको इतिहासमा कुनै पनि सत्तासीन राष्ट्रपतिले भन्दा धेरै भोट पाएँ।” “र अब हाम्रो देशलाई सफल, सुरक्षित र गौरवशाली बनाउन मैले त्यो फेरि गर्ने एकदमै, एकदमै, एकदमै सम्भावना छ। ” “अब चाँडै नै,” उनले भिडलाई भने। “तयार हुनुस्।”

    सन् २०२० मा ट्रम्पले सत्तासीन राष्ट्रपतिहरूको तुलनामा सबभन्दा धेरै भोट पाएका थिए। तर उनले पाएको ७ करोड २० लाख भोटभन्दा धेरै उनका डेमोक्र्याटिक दलका प्रत्याशी बाइडनले ८ करोड १० लाख भोट पाएका थिए। बिहीवार न्यू मेक्सिको र क्यालिफोर्नियामा प्रचार र्‍यालीमा सामेल बाइडनले सन् २०२४ को निर्वाचनमा आफू पुनस् उम्मेदवार हुनेबारे वरिष्ठ सल्लाहकारहरूसँग कुराकानी थालेका विवरण आएका छन्। त्यसो भयो भने सन् २०२४ मा पनि सन् २०२० मा जस्तै ट्रम्प र बाइडनबीच टक्कर हुनेछ।

    महिनौँदेखि ट्रम्पले फेरि राष्ट्रपतिको उम्मेदवार हुने कि नहुने भन्नेबारे उनको प्रस्ट भनाइ नराखिकन केवल सानातिना सङ्केतमात्रै दिँदै आएका थिए। अक्टोबरमा टेक्ससमा एउटा र्‍याली सम्बोधन गर्दै उनलेस् “शायद मैले फेरि लड्नुपर्छ” भनेका थिए। सेप्टेम्बरमा पेन्सलभ्यानियामा पनि उनले त्यस्तै टिप्पणी गरेका थिए।

    ट्रम्पकी पूर्व वरिष्ठ सल्लाहकार केल्यान कन्वेले बिहीवार वाशिङ्टन डिसीमा आयोजित एक कार्यक्रममा ट्रम्पले यसबारे चाँडै नै घोषणा गर्ने बताइन्। तर सन् २०२४ मा यदि उनले लड्ने विचार गरे भने उनको दलभित्र उनी चुनौतीविहीन भने हुने छैनन्। रिपब्लिकन दलबाटै उक्त पदका अन्य आकाङ्क्षीमा पूर्व उपराष्ट्रपति माइक पेन्स तथा फ्लोरिडाका गभर्नर रन डे सान्टिस रहेका छन्।

  • अक्टोवरमा साढे ८८ हजार पर्यटक नेपाल आए, अमेरिकी नागरिक दोस्रो स्थानमा

    अक्टोवरमा साढे ८८ हजार पर्यटक नेपाल आए, अमेरिकी नागरिक दोस्रो स्थानमा

    काठमाडौं । सन् २०२२ को दश महिनामा झन्डै पाँच लाख पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार जनवरीदेखि अक्टोबर सम्ममा चार लाख ७३ हजार ५६३ जना पर्यटक भित्रिएको पाइएको छ । अक्टोबरमा मात्र ८८ हजार ५८२ जना पर्यटक भित्रिएका हुन्।

    सेप्टेम्बरमा ५८ हजार पर्यटक आएका थिए। अक्टोबरमा घुम्न आउनेमध्ये सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन्। भारतबाट १६ हजार ९१०, अमेरिकाबाट ११ हजार ८५९, बेलायतबाट ७ हजार ११७, जर्मनीबाट चार हजार ९३५ र फ्रान्सबाट चार हजार ९२९ पर्यटक आएको बोर्डको तथ्यांकले देखाएको छ।

    कुन महिनामा कति पर्यटक नेपाल आए ?

    जनावरी : १६,९७५

    फेब्रुअरी : १९,७६६

    मार्च : ४२,००६

    अप्रिल : ६१,५८९

    मे : ५३,६०८

    जुन : ४६,९५७

    जुलाई : ४४,४६२

    अगस्ट : ४१,३०४

    सेप्टेम्बर : ५८,३१४

    अक्टोबर : ८८,५८२