Category: अमेरिका

  • अमेरिकासँग नेपालको आग्रह : ‘क्लाइमेट फन्ड’को रकम प्रयोग गर्न सहजीकरण गरिदिनुहोस

    अमेरिकासँग नेपालको आग्रह : ‘क्लाइमेट फन्ड’को रकम प्रयोग गर्न सहजीकरण गरिदिनुहोस

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पर्यावरणसम्बन्धी समस्या भोग्दै आएको नेपालले ‘क्लाइमेट फन्ड’को रकम प्रयोग गर्न नपाएको भन्दै यसमा सहजीकरण गरिदिन अमेरिकासँग आग्रह गरेका छन् । अर्थ मन्त्रालयमा मंगलबार बिहान नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर थम्प्सनसँगको भेटमा उनले यस्तो आग्रह गरेका हुन् । भेटमा अर्थमन्त्री शर्माले राजदूत थम्प्सनमार्फत् नेपाललाई संकटका बेला गरेको सहयोगप्रति अमेरिकी सरकार र जनतालाई धन्यवाद ज्ञापन गरेका थिए ।

    ‘अमेरिकाले नेपाललाई संकट परेका बेला महत्वपूर्ण सहयोग गर्दै आइरहेको छ,’ उनले भने, ‘महाभूकम्प, कोरोना महामारीलगायत संकटमा अमेरिकाले गरेको सहयोगप्रति धन्यवाद छ ।’ उनले नेपाललाई अहिले ठूला पूर्वाधार आवश्यक भएकाले त्यसमा समेत अमेरिकी सहयोगको अपेक्षा रहेको बताए ।

    यूएसएडलगायत अमेरिकी नियोगहरूमार्फत् नेपालमा निर्माण भइरहेका आयोजना सफलतापूर्वक सम्पन्न हुनेमा आफू विश्वास्त रहेको शर्माको भनाइ थियो । नेपालले पर्यावरण सम्बन्धी समस्या भोग्दै आइरहेको, तर पनि ‘क्लाइमेट फन्ड’ को रकम प्रयोग गर्न नपाएको भन्दै उनले त्यसमा अमेरिकाले सहजीकरण गरिदिन आग्रह गरेका हुन् ।
    राजदूत थम्प्सनले अमेरिका नेपालमा उत्पादित विभिन्न वस्तुको निर्यात लगायत क्षेत्रमा समेत सहयोग गर्न तयार रहेको बताए । उनले नेपाल र अमेरिकाको द्विपक्षीय हितका लागि अमेरिका कटिबद्ध रहेको उनको भनाइ छ ।

  • दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास थालेपछि भड्कियो उत्तर कोरिया

    दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास थालेपछि भड्कियो उत्तर कोरिया

    काठमाडौं । दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास नरोकेमा संयुक्त राज्य अमेरिकाविरुद्ध शक्तिशाली जबाफी कदम चालिने भन्दै उत्तर कोरियाले धम्की दिएको छ। वाशिङ्गटन र सउलले सोमवारदेखि तिनीहरूको सबैभन्दा ठूलो मध्येको संयुक्त हवाई सैन्य ड्रिल अभ्यास आरम्भ गरेका छन् जुन शुक्रवार समाप्त हुने बताइएको छ। उत्तर कोरियाले पनि त्यस्ता कतिपय ड्रिलहरूको जबाफमा भन्दै हालैका हप्ताहरूमा शृङ्खलाबद्ध रूपमा क्षेप्यास्त्रहरू प्रक्षेपण गरेको बीबीसीले जनाएको छ ।

    प्योङयाङले सन् २०१७ पछि पहिलो पटक परमाणुअस्त्र परीक्षणको तयारी गरिरहेको भन्ने गुप्तचर सूचनाहरूका माझ यी गतिविधिहरू भएका छन्। उत्तर कोरियाको विदेश मन्त्रालयले एउटा वक्तव्य जारी गर्दै भनेको छ, ‘यदि अमेरिकाले गम्भीर प्रकृतिको उक्साउने खाले सैनिक गतिविधिलाई निरन्तरता दिन कायमै राखेमा उत्तर कोरियाबाटे अझै शक्तिशाली जबाफी कदम चालिनेछ ।”यदि वाशिङ्गटने आफ्नो सुरक्षा चासोलाई नसुहाउने खालको कुनै गम्भीर गतिविधि चाहँदैन भने उसले यस्ता अनुपयोगी र अप्रभावी युद्ध अभ्यासहरू तत्काल बन्द गर्नुपर्छ। होइन भने, अगाडिका सबै परिणामहरूको सम्पूर्ण जिम्मेवारी उसैले लिनुपर्छ।’

    भिजिलन्ट स्टोर्म नाम दिइएको हालको सैन्य अभ्यासमा सयौँ लडाकु विमान सहभागी छन् र तिनीहरूले दिनको चौबीसै घण्टा नक्कली आक्रमणको अवस्थाको अभ्यास गरिरहेका छन्। अक्टोबर महिनाको आरम्भतिर वाशिङ्गटनले उत्तर कोरियालाई चेतावनी दिइएको अर्थमा बुझिएको कदममा उस्को परमाणुअस्त्र भएको विमानवाहक लडाकु पानीजहाज युएसएस रोनल्ड रेगनलाई कोरियाली प्रायःद्वीप नजिक परिचालन गरेको थियो।

    उक्त पानीजहाज पनि केही नौसैनिक युद्ध अभ्यासमा संलग्न भएको थियो। सउलले उक्त सैनिक पानीजहाजको ूविरलै गरिनेू परिचालनलाई उत्तर कोरियाबाट हुने भड्काउने खाले गतिविधिहरूलाई कडा रूपमा जबाफ दिइनेछ भन्ने दक्षिण कोरिया(अमेरिकी संयुक्त गठबन्धनको अठोटलाई अभिव्यक्त गरेको भनेको थियो। हाल उक्त सैन्य पानीजहाज फिलिपिन सागरमा सक्रिय रहेको छ। अक्टोबरमा प्योङयाङले आफूहरूहरूले गरेको क्षेप्यास्त्र प्रक्षेपण दक्षिणमा गरिन सक्ने परमाणु हमलाको दुरुस्तै अभ्यास भएको बताएको थियो।

    त्यस क्रममा दक्षिण कोरियाका सैन्य अखडा, बन्दरगाह र विमानस्थलहरूमा हमला गरिएको अवस्थाको अभ्यास सफलतापूर्वक सम्पन्न भएको दाबी गरिएको थियो। सेप्टेम्बर महिनामा उत्तर कोरियाली नेता किम जङ(अनले प्योङयाङ अब ूपछाडि फर्कनै नमिल्ने गरीू परमाणु शक्ति सम्पन्न राष्ट्र भएको घोषणा गर्दै आफूमाथि आक्रमण हुनुपूर्व नै अरू विरुद्ध परमाणुअस्त्र प्रयोग गर्न सक्ने गरी देशका कानुनहरूमा फेरबदल गरेका थिए।

    उक्त देशको पहिलेको नीति आफूविरुद्ध हमला भएमा मात्र परमाणुअस्त्रको प्रयोग गर्ने भन्ने रहेको थियो। यो वर्ष उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणहरूको सङख्या पनि बढाएर हालसम्म चालिसवटा भन्दा बढी क्षेप्यास्त्र प्रहार गरिसकेको छ। संकट पर्ने गरी विभिन्न प्रतिबन्धहरूको सामना गरिरहेको भए पनि प्योङयाङले सन् २००६ र २०१७ को बीचमा ६ वटा परमाणुअस्त्र परीक्षण गरेको थियो।

  • विश्वका २५ धनीको सूची सार्वजनिक, अम्बानी परिवार छैठौं स्थानमा

    विश्वका २५ धनीको सूची सार्वजनिक, अम्बानी परिवार छैठौं स्थानमा

    वासिङटन डिसी । ब्लूमबर्गले विश्वका २५ धनी व्यवसायिक घरानाको सूची सार्वजनिक गरेको छ। तीमध्ये प्रमुख ५ जनाको सूची यसप्रकार रहेको छ:

    २२४ अरब डलरको मालिक बालमार्ट चलाउने वाल्टन परिवार पहिलो नम्बरमा परेको छ। आम्दानी यति धेरै भएर पनि यो परिवार अमेरिकाको नर्थवेस्ट अर्कान्सास सहरमा बस्छ।

    अमेरिकाकै मार्स परिवार दोस्रो नम्बरमा छ। यस परिवारको कुल सम्पत्ति १६० बिलियन डलर छ। मार्स परिवारको मुख्य व्यवसाय कन्फेक्शनरी र पेट केयर हो। यो संसारको सबैभन्दा ठूलो पेट केयर उत्पादन कम्पनी हो। अहिले मार्स परिवारको पाँचौं पुस्ताले कारोबार गरिरहेको छ।

    तेस्रो नम्बरमा कोच इन्डस्ट्रियल घराना रहेको छ। यो परिवारको कुल सम्पत्ति १२८ अरब डलर छ।

    फ्रेडरिक कोचले पहिलो पटक १९४० मा ‘वुड रिभर आयल र रिफाइनिङ कम्पनी’को स्थापना गरेका थिए। अहिले यो परिवारको पनि तेस्रो पुस्ताले नै व्यापार गरिरहेको छ।

    साउदी अरबको अल साउद परिवार धनी व्यापारिक घरानाको सूचीमा चौथो नम्बरमा छ। यस परिवारको कुल सम्पत्ति १०५ अरब डलर छ।

    साउदी राजकुमार मोहम्मद बिन सलमानको नियन्त्रणमा १०० अरब डलरभन्दा बढीको व्यापारिक सम्पत्ति छ।

    पाँचौं नम्बरमा फ्रान्सको हर्म्स परिवार छ। यस व्यवसायिक घरानाको कुल सम्पत्ति करिब ९५ अर्ब डलर रहेको छ।

    यो सूचीमा छैटौं स्थानमा भारतको अम्बानी परिवार परेको छ। धीरुभाई अम्बानीले सन् १९५० को दशकमा रिलायन्स इन्डस्ट्रिजको स्थापना गरेका थिए। १९९५ मा, धीरुभाई अम्बानी यमनबाट फर्केर भारत आए र मुम्बईमा धागो व्यवसाय सुरु गरे।

    अम्बानी परिवारको कुल सम्पत्ति हाल ८५ अर्ब डलर नजिक छ। २००२ मा धीरुभाई अम्बानीको मृत्यु पछि उनको व्यवसाय अनिल अम्बानी र मुकेश अम्बानीमा विभाजित भयो। अहिले अम्बानी परिवारको तेस्रो पुस्ता व्यवसायमा छ। बीबीसी

  • अमेरिकाका विद्यालयमा बढ्यो बन्दुक आक्रमण

    अमेरिकाका विद्यालयमा बढ्यो बन्दुक आक्रमण

    काठमाडौं । संयुक्त राज्य अमेरिकामा विद्यालयमा हुने गरेका हिंसाका घटना सन् २०२२ मा झन् धेरै भएका छन्।

    अष्ट्रेलियाको एक संस्थाले गरेको अनुसन्धानबाट सो तथ्य पाइएको हो। सो अनुसन्धानका अनुसार अमेरिकामा पहिलेका वर्षहरुका तुलनामा यस वर्ष दुई महिना बाँकी छँदै विद्यालयमा बन्दुक आक्रमणका घटना बढी देखिएको हो।

    सन् २०२१ अमेरिकी इतिहासमै सबैभन्दा धेरै यस्ता हिंसाका घट्ना भएको वर्ष भनिएकामा सन् २०२२ का दुई महिना बाँकी छँदै अहिले नै दुई सय ५७ वटा घटना यसवर्ष मात्र भएको पाइएको समाचारमा जनाइएको छ।

    सन् २०२१ मा यहाँका विद्यालय तथा विश्वविद्यालयमा यस्ता घटना दुई सय ५० वटा भएका थिए। ती घटनाका तुलनामा अहिले बढेको अष्ट्रेलियाली मिडिया नेटवर्क संस्था द कन्भरसेसन्सले जानकारी दिएको हो।

    सो संस्थाले तीन जना अमेरिकी अपराध न्यायसम्बन्धी विज्ञसँग पनि अमेरिकामा विद्यालय, विश्वविद्यालयमा यहाँका किशोरकिशोरीहरुले गर्ने गरेका बन्दुक हमलाका विषयमा कुराकानी गरेर एक विश्लेषण पनि अनुसन्धानका क्रममा तयार पारेको जनाएको छ।

    अमेरिकी किशोरकिशोरीहरुले विद्यालयमा हुने गरेका सानातिना विवादमा पनि बन्दुक हमला गरेर आफ्ना साथीको हत्या गर्ने गरेका छन्।अमेरिकामा सन् २०१८ देखि २०२२ सम्ममा भएका यस्ता हिंसाका घटनाबाट कम्तीमा पनि ५२ जनाको ज्यान गएको छ। रासस/सिन्ह्वा

  • अन्ततः इलन मस्कले किने ट्विटर, खरिद प्रक्रिया सम्पन्न

    अन्ततः इलन मस्कले किने ट्विटर, खरिद प्रक्रिया सम्पन्न

    काठमाडौं । ट्विटर खरिद प्रक्रिया सम्पन्न भएको छ । संसारका सबैभन्दा धनी व्यक्ति इलन मस्कले ट्विटर किनेका हुन् । यससङ्गै उनले “पन्छी मुक्त”भएको लेखेका छन् । ट्विटर खरिद प्रक्रिया सकिएसँगै शुक्रबार एक ट्विट गर्दै उनले लेखेका छन्, ‘दि बर्ड इज फ्रिड’ ।

    गत अप्रिलमा ट्विटर किन्ने सम्झौता गरेका मस्कले बिहीबार मात्रै खरिद प्रक्रिया पूरा गरेका छन् । उनले ट्विटर किनेसँगै ट्विटरका सीईओ पराग अग्रवालसहित तीन उच्च पदाधिकारीलाई बर्खास्त गरे । अग्रवाल २०२१ नोभेम्बरमा ट्विटरको सीईओमा नियुक्त भएका हुन् ।

    बिहीबार एक ट्विट गर्दै मस्कले मानवताको सहयोगका लागि ट्विटर खरिद गरेको भन्दै मानव सभ्यताको भविष्यका लागि ट्विटरजस्तो प्लेटफर्म आवश्यक भएको बताएका थिए । 

    गत अप्रिलमा ट्विटर किन्ने सुरुवाती सम्झौता गरेका मस्क पछि उक्त सम्झौताबाट बाहिरिन खोजेका थिए । ट्विटर किन्ने सम्झौता गरे पनि पछि आनाकानी देखाएपछि ट्विटरले उनीविरुद्ध अदालतमा मुद्दा दर्ता गराएको थियो । मस्कले ट्विटर किन्नका लागि अदालतबाट अक्टोबरसम्मको समयसीमा पाएका थिए ।

    मस्कले वाक् स्वतन्त्रताको पक्षमा आफू रहेको भन्दै ट्विटरको कन्टेन्ट मोडेरेसन नीतिबारे पुनर्विचार गर्ने बताउँदै आएका छन् ।

    उनले ५४.२० डलर प्रतिसेयर मूल्यमा कुल ४४ बिलियन डलर (अहिलको विनिमय दरअनुसार ५३ खर्ब ६८ अर्ब) तिरेर ट्विटर किनेका हुन् ।

  • प्रधानमन्त्री देउवासँग नवनियुक्त अमेरिकी राजदूतको पहिलो भेट

    प्रधानमन्त्री देउवासँग नवनियुक्त अमेरिकी राजदूतको पहिलो भेट

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन रिचार्ड थम्पसनले शिष्टाचार भेट गरेका छन् । आफ्नो कार्यकालको सुरुवातमै प्रधानमन्त्री देउवासमक्ष उनले नेपालको आर्थिक विकासमा सघाउँदै दुईपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन भूमिका खेल्ने विश्वास दिलाएका छन् ।

    सो भेटवार्तामा दुई देशको औपचारिक कूटनीतिक सम्बन्धको लामो इतिहास स्मरण गर्दै विविध मुद्दामा थप साझेदारी गर्न पहल गर्ने राजदूत थम्पसनले प्रतिबद्धता जनाएका छन् । उनले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग समेत शिष्टाचार भेट गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो क्रममा नेपाल–अमेरिका र विश्व समुदायका महत्त्वपूर्ण मुद्दामा थप सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको मन्त्रालयको भनाई छ ।

  • अमेरिकी नियामक निकायले आजबाट नेपालको हवाई सुरक्षा अध्ययन गर्दै

    अमेरिकी नियामक निकायले आजबाट नेपालको हवाई सुरक्षा अध्ययन गर्दै

    काठमाडौं । नेपालमा अमेरिकाबाट सिधा हवाई उडानको तयारी चलिरहँदा त्यहाँको नियामक निकायले आजबाट नेपालमा हवाई सुरक्षा जाँच गर्ने भएको छ । अमेरिकी नागरिक उड्डयनको नियामक निकाय फेडेरल एभिएसन एडमिनिस्ट्रेसनको टोलीले नेपालको हवाई सुरक्षा अवस्थाबारे बिहीबारबाट अध्ययन थाल्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    सो टोलीले आइकाओले हेर्ने गरेका आठवटा क्षेत्रमा नेपालको वर्तमान अवस्थाबारे अध्ययन गर्ने जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले दिए । युुरोपेली सङ्घ इयूले हालै नेपालको अडिट गरिसकेको छ । नेपाल ईयूको कालोसूचीमा छ । नेपालमा हालै विश्व बैंकको टोलीले समेत सुरक्षा अडिट पुरा गरेको छ । उता, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संठगनको पूर्ण अडिटको अन्तिम रिपोर्ट समेत आइसकेको प्राधिकरणले जनाएको छ ।

  • ढोरपाटनमा शिकारको याम शुरु, अमेरिकी र रसियन शिकारीको आकर्षण

    ढोरपाटनमा शिकारको याम शुरु, अमेरिकी र रसियन शिकारीको आकर्षण

    काठमाडौं । नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा शिकारको याम शुरु भएको छ । असोज १५ देखि वैशाख १५ बीचको समयमा दुई सिजन शिकारको अनुमति दिइन्छ । कात्तिक÷मंसिरमा चल्ने पहिलो सिजनका लागि कुल ९ वटा नाउर र ७ वटा झारलको शिकार गर्न राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागले अनुमति दिएको छ । सोही अनुसार शिकारी पर्यटकहरु नेपाल आउने क्रम सुरु भएको व्यवसायीले बताएका छन् ।

    यसरी शिकार गर्न आउनेमा अमेरिकी र रसियन शिकारी धेरै हुने गरेका छन् । यूरोपमा स्पेनबाट बढी मात्रामा शिकारी नेपाल आउँछन् । नेपालमा शिकारी भित्राउन पाउने गरी अनुमति प्राप्त कम्पनी आधा दर्जनको संख्यामा मात्र छन् । विभागले शिकारका लागि बोलपत्र आह्वान गर्छ, यी कम्पनीहरुबीच प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धामा बढी बोलकबोल गर्ने कम्पनीले क्रमशः शिकारको अनुमति पाउँछ ।

    सोही अनुसार कम्पनीहरुले शिकारी नेपालमा भित्राउँछन् । विभागले एक नाउरका लागि न्यूनतम डेढलाखसम्म मूल्य राखेर बोलपत्र निकाल्छ । तर, तीव्र प्रतिस्पर्धाका कारण यो सिजन एक नाउरका लागि १६ देखि २० लाख रुपैयाँसम्ममा टेन्डर परेको छ । ढोरपाटन शिकार आरक्षमा कुल ६ वटा ब्लक छन् । ब्लक अनुसार फरक फरक मूल्यमा प्रतिस्पर्धा हुन्छ । एक झारलको शिकार गर्न विभागले तोकेको न्यूनतम मूल्य ७५ हजार रुपैयाँ हो ।

    तर, यस वर्ष १ लाख ६० हजारदेखि ६ लाख रुपैयाँसम्ममा झारल शिकारको अनुमति जारी भएको छ । नेपालमा शिकार याम सुरु भएपछि पर्यटकको आगमन सुरु हुन्छ । सोही अनुसार कम्पनीहरुले प्याकेज बिक्री गर्छन् । प्रबन्ध निर्देशक पराजुलीका अनुसार यसरी आउने पर्यटक कम्तीमा दुई साता फिल्डमा बस्छन् । उनीहरुलाई आधार शिविरसम्म हेलिकप्टरमा लैजाने गरिन्छ ।

    त्यसअगाडि नेपाली सहयोगीहरु फिल्डमा खटिसकेका हुन्छन् । अनुगमनमा खटिने आरक्षका कर्मचारी समेत साथमा रहन्छ । सोही दौरान तोकिएका जनावरहरुको शिकार गरिन्छ । अनुमति प्राप्त कम्पनीले अभियान सम्पन्न भएपछि जनावरहरुको संरक्षणका लागि स्थानीय समुदायका लागि समेत निश्चित रकम दिएर मात्र फिर्ता हुन्छन् ।

  • नेटोद्धारा युक्रेनको हवाई प्रतिरक्षा प्रणाली मजवुत पार्ने घोषणा

    नेटोद्धारा युक्रेनको हवाई प्रतिरक्षा प्रणाली मजवुत पार्ने घोषणा

    काठमाडौं\बीबीसी । नेटो नेतृत्वको गठबन्धनले किएभलाई परिष्कृत हवाई प्रतिरक्षा अस्त्रहरू उपलब्ध गराउने घोषणा गरेको छ। पछिल्ला क्षेप्यास्त्र हमलापछि यूके, क्यानडा, फ्रान्स र द नेदरल्याण्ड्सले क्षेप्यास्त्र र रेडारहरू सहितका त्यस्ता अस्त्रहरू युक्रेनलाई दिने बाचा गरेका हुन्। अमेरिकाले यसअघि नै त्यस्तो बाचा गरेको थियो। जर्मनीले दिएको एउटा उच्च प्रविधिको प्रणाली यसअघिदेखि नै युक्रेनमा छ।

    ब्रसल्सस्थित पश्चिमा सैन्य गठबन्धन नेटोको मुख्यालयमा युक्रेनलाई सघाउने ५० देशका नेताहरू जुटिरहँदा त्यस्ता बाचाहरू गरिएका हुन्। किएभले उक्त सम्मेलनलाई ऐतिहासिक भनेको छ । किएभका अनुसार गत सोमवार र मङ्गलवार रुसले युक्रेनी ऊर्जा पूर्वाधार र अन्य गैरसैनिक निशानामा १०० भन्दा धेरै क्षेप्यास्त्र र कैयौँ ड्रोनहरूमार्फत् हमला गरेको थियो। हमलाको पहिलो दिनमा कम्तीमा १९ जना मानिसहरू मारिएका थिए। त्यससँगै कैयौँ युक्रेनी सहरहरूमा व्यापक रूपमा विद्युत् अवरुद्ध हुनुका साथै पानीको आपूर्ति काटिएको छ।

    रुसी राष्ट्रपति पुटिनले ती हमलाहरू रुसलाई अधीनस्थ क्राइमियासँग जोड्ने एउटा मुख्य पुलमा भएको प्रहारको जबाफ भएको बताएका छन्। क्राइमियालाई मस्कोले सन् २०१४ मा आफूमा गाभेको थियो। रुसले शनिवार उक्त पुलमा भएका विस्फोटन युक्रेनको गुप्तचर निकायले गराएको बताउँछ जुन दाबीलाई किएभले खारेज गरेको छ। यूकेले हवाई प्रतिरक्षा सम्बन्धी क्षेप्यास्त्र प्रणालीहरू र सूचना सङ्कलन र बन्दोबस्त क्षमताका निम्ति सयौँ हवाई ड्रोनहरू युक्रेनलाई दिनेछ। उसले लामो दूरी प्रहार गर्ने १८ वटा हाविज्जर आर्टिलरी गन समेत दिनेछ।

    लण्डनले त्यस्ता ६४ वटा अस्त्र यसअघि नै दिएको छ। यूकेका रक्षामन्त्री बेन वालेस भन्छन्, ‘यी अस्त्रहरूले युक्रेनलाई हमलाहरूबाट आफ्नो आकाशको रक्षा गर्न र आफ्नो समग्र क्षेप्यास्त्र प्रतिरक्षा बलियो पार्न सघाउनेछ।’ बुधवार ब्रसल्समा बोल्दै अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले उनीहरू युक्रेनीेलाई प्रभावकारी बनाउन चाहिने कुरा सुनिश्चित गर्न हामीले सक्ने सबै कुरा गर्ने बताए।

    फ्रेन्च राष्ट्रपति एमानुएल माँक्रोले युक्रेनलाई हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउने बताए। तर फ्रान्स टू टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा उनले त्यो कुन प्रणाली हो भन्ने चाहिँ प्रस्ट पारेनन्। उनले त्यसको मुख्य काम भनेको मानिसहरूलाई ड्रोनबाट सुरक्षित राख्नु हुने बताए। द नेदरल्यान्ड्सले डेढ करोड युरो पर्ने हवाई रक्षा सम्बन्धी क्षेप्यास्त्र प्रणाली दिने जनाएको छ।

    क्यानडाले ४ करोड ७० लाख क्यानडेली डलर बराबरको सैन्य सहयोग उपलब्ध गराउने बाचा गरेको छ जसमा भूउपग्रह सञ्चार र ड्रोन क्यामेराहरू समेटिएका छन्। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले महिनौँदेखि आफ्ना साझेदारहरूलाई युक्रेनको अवाई सुरक्षा कवच सिर्जना गर्न हवाई प्रतिरक्षा प्रणालीहरू उपलब्ध गराउन आग्रह गर्दै आएका थिए।

  • अर्थमन्त्री शर्मा विश्व बैंकको वार्षिक बैठकमा सहभागी

    अर्थमन्त्री शर्मा विश्व बैंकको वार्षिक बैठकमा सहभागी

    काठमाडौं । अर्थमन्त्री शर्माले विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको दक्षिण पूर्वी एशियाली समूहको ५३ औँ गभर्नर्स सत्रको अध्यक्षता गरेका छन् । अमेरिकाको राजधानी वाशिङ्गटन डिसीमा आयोजित विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा आयोजित उक्त सत्रमा सदस्य राष्ट्रहरुले सामना गर्नुपरेको बहुपक्षीय विश्वव्यापी समस्याको विषयमा छलफल भएको थियो ।

    उक्त सत्रमा सहभागीले विश्वव्यापीरुपमा सिर्जना भएको समस्याको समाधान गर्न वित्तीय सहायता प्रदान गरेर नेपालजस्ता देशका समस्या सम्बोधन गर्नुपर्ने कुरामा जोड दिएको राससले जनाएको छ । यसैगरी अर्थमन्त्री शर्माले साइडलाइन कार्यकारी संवाद सत्रमा सहभागी भएर जलवायु उत्सर्जनको समस्यासँग जुध्न र सदस्य राष्ट्रहरुले चालेका कदमका बारेमा छलफल गरेका थिए ।

    कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव कृष्णहरि पुष्कर, अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीलगायत उच्च अधिकारी सहभागी थिए । विश्व बैंकको प्रक्षेपणअनुसार चालु वर्षमा नेपालको वृद्धि पाँच दशमलव एक प्रतिशतले हुने उल्लेख गरिएको छ । नेपालको पर्यटन र सेवा क्षेत्रको वृद्धि तथा जलविद्युत् क्षेत्रको उत्पादन वृद्धिले कोरोनापश्चातको आर्थिक वृद्धिदर सकारात्मक रहने उसको प्रक्षेपण छ ।

    नेपालको आर्थिक विकासका लागि संरचनागत चुनौती रहेको उल्लेख गर्दै विश्व बैंकले कर प्रणालीको आधुनिकीकरण, वैदेशिक प्रत्यक्ष लगानी र सङ्घीय बजेटको पूर्ण कार्यान्वयनले मात्र दिगो र समावेशी वृद्धिको मार्ग रहेको उसको ठम्याइ रहेको छ ।

  • अर्थमन्त्री शर्मा र अमेरिकी सहयोग नियोगका प्रमुखबीच वाशिङ्गटन डिसीमा भेट

    अर्थमन्त्री शर्मा र अमेरिकी सहयोग नियोगका प्रमुखबीच वाशिङ्गटन डिसीमा भेट

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमख प्रशासक समान्ता पावरबीच भेटवार्ता भएको छ । विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका पुगेका अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमख प्रशासक समान्ता पावरबीच भेटवार्ता भएको राससले जनाएको छ ।

    युएसएआडीको मुख्यालय वाशिङ्गटन डिसीमा भएको भेटघाटमा द्विपक्षीय हित र सहयोगका लागि मजबुद आधारशीला तय गर्ने विषयमा छलफल भएको थियो । भेटघाटमा अर्थमन्त्री शर्माले नेपालको आर्थिक, सामाजिक विकासमा अमेरिकाले पुर्याएको सहयोगबारे प्रशंसा गरेका थिए ।अर्थमन्त्री शर्माले उक्त अवसरमा आगामी दिनमा नेपालको आर्थिक विकासका लागि प्रभावकारी सहयोग गर्न अनुरोध गरे ।

    अर्थमन्त्री शर्माले सूचना प्रविधि, जलावयु परिवर्तनको चुनौती सामना गर्न र नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न आग्रह गरेको अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको छ । अर्थमन्त्री शर्माले प्रमुख प्रशासक समान्ता पावरलाई उपयुक्त समयमा नेपाल भ्रमणको हार्दिक निमन्त्रणासमेत दिए ।

    पावरले नेपालका अर्थमन्त्रीसँगको भेटघाट फलदायी रहेको, नेपाल अमेरिका साझेदारी र नेपालको प्रजातान्त्रिक अभ्यासको प्रगतिका लागि सहयोग रहने बताइन् । सामाजिक सञ्जालमार्फत पावरले लेखेकी छन्, ‘तत्कालका चुनौतीको सामना गर्न दुवै देश मिलेर काम गर्न तयार भएका छौँ ।’

    यस्ता चुनौती जलवायु परिवर्तन र खाद्य सुरक्षा गरेको युएसएआइडीका प्रमुख प्रशासक समान्ता पावरले उल्लेख गरेकी छन् । उक्त भेटघाट कार्यक्रममा नेपालको तर्फबाट अर्थसचिव कृष्णहरि पुष्कर, अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री तथा भ्रमणदलमा सहभागी अन्यको समेत उपस्थिति थियो ।

    नेपालको आर्थिक सामाजिक विकासमा युएसएआइडीको महत्वपूर्ण सहयोग रहेको छ । गत मे महिनामा मात्र उक्त नियोगले आगामी पाँच वर्षका लागि नेपाललाई ६५ करोड ९० लाख डलरको सहयोगको घोषणा गरेको थियो । उक्त सहयोग नेपालले आफूलाई अल्पविकसित देशबाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्न उपयोग गर्नेछ ।

  • रुसले युक्रेनमा गरेको क्षेप्यास्त्र हमलाको अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायद्धारा निन्दा

    रुसले युक्रेनमा गरेको क्षेप्यास्त्र हमलाको अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायद्धारा निन्दा

    काठमाडौं । रुसले युक्रेनको राजधानी किएभको केन्द्र भागमा पहिलो पटक गरेको क्षेप्यास्त्र हमलासहित कैयौँ सहरमा बमबारी गरेपछि रुसको व्यापक निन्दा भइरहेको छ। अमेरिकाले ती निर्मम हमलाहरू गैर सैनिक निशानाहरू गरिएको जनाउँदै सैन्य सहायता जारी रहने बाचा गरेको बीबीसीले लेखेको छ । जसमा एउटा विश्वविद्यालय र बालबालिकाको खेल मैदान समेत छ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले आफू स्तब्धमा परेको बताएका छन्।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती हमलाहरू रुस–क्राइमिया जोडिने मुख्य पुलमा शनिवार भएका विस्फोटनको जवाफ बताएका छन्। युक्रेनले त्यस घटनामा आफ्नो भूमिकाबारे कुनै पुष्टि गरेको छैन। युक्रेनका अनुसार ८३ वटा क्षेप्यास्त्रहरू प्रहार गरिएकामा ४३ वटालाई निष्क्रिय पारिएको थियो। एउटा भिडिओमार्फत् युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनलाई त्रसित हुन नसक्ने, यो थप एकताबद्ध मात्र हुने बताएका छन्।

    लभिभ, खार्किभ, डिनिप्रो र जापोरिजामा भएका ती घातक प्रहारहरू युक्रेनले हालैका महिनामा देखेका सबैभन्दा खराबमध्येका हुन्। अधिकारीहरूले कम्तीमा १४ जना मानिसहरू मारिएको र २० जनाभन्दा धेरै घाइते भएको जनाएका छन्। ऊर्जा सम्बन्धी पूर्वाधारमा क्षेप्यास्त्रहरू प्रहारसँगै कैयौँ क्षेत्रमा विद्युत् र पानीको आपूर्ति रोकिएको छ। राजधानी किएभका बासिन्दाहरूले सोमवार बिहानको मानिसहरू काममा फर्कने व्यस्त समयमा रुसले नागरिक क्षेत्रहरूमा निशाना गरेको बताएका छन्। जसमा बालबालिकाको खेलमैदान, विश्वविद्यालय र एउटा प्रख्यात पार्क समेत छ।

    युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन देर लेयनले रुसले आतङ्क र क्रूरताको पक्ष लिएको बताइन्। अमेरिकी राष्ट्रपति जो बाइडन भोलोदिमिर जेलेन्स्कीसँग फोनवार्ता गर्ने कैयौँ विदेशी नेताहरूमध्ये थिए। उनले युक्रेनलाई विशिष्ट हवाई प्रतिरक्षा प्रणाली सहित आफ्नो प्रतिरक्षाका लागि आवश्यक पर्ने सहायता दिने काम जारी राखिने बाचा गरेको ह्वाइटहाउसले जनाएको छ।

  • अमेरिकाका लागि डिभीको आवेदन खुला

    अमेरिकाका लागि डिभीको आवेदन खुला

    काठमाडौं । अमेरिकाले २०२४ को डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला गरेको छ । १९ असोज बुधबारको राति ९:४५ बजेबाट खुला भएको आवेदन २२ कार्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ ।

    स्पन्सर लगायतका कागजात नचाहिने र डीभीको आवेदन निःशुल्क भर्न सकिने छ । यसपटक पासपोर्ट समेत अनिवार्य गरिएको छैन ।

  • गाँजासँग सम्बन्धित कसुरमा थुनिएकालाई अमेरिकामा माफी

    गाँजासँग सम्बन्धित कसुरमा थुनिएकालाई अमेरिकामा माफी

    काठमाडौं । अमेरिमा गाँजासँग सम्बन्धित कसुरमा थुनिएकालाई आम माफी दिइएको छ । राष्ट्रपति जो बाइडेनले गाँजासँग सम्बन्धित सामान्य संघीय अपराधमा माफी दिने घोषणा गरेका छन् । बाइडेनले बिहीबार एक भिडियो सन्देशमा देशको संघीय कारागारमा गाँजा सेवन र राख्ने आरोपमा थुनिएका सबै मानिसलाई रिहा गर्ने घोषणा गरेका हुन् । यसअघि राष्ट्रपति चुनावको प्रचारप्रसारका क्रममा उनले उक्त निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    उनको यो कदमले गाँजासम्बन्धि संघीय अपराधमा सजाय भोगिरहेका हजारौं अमेरिकीहरू लाभान्वित हुने समाचार एजेन्सीहरुले लेखेका छन् । बाइडेनले गाँजा सेवन गरेको कसुरमा मात्रै कसैलाई जेल हाल्नु उचित नहुने बताएका छन् । बाइडेनले आफ्नो नयाँ निर्णयले गाँजाको अवैध खरिदबिक्री, व्यापार र कम उमेरमा बिक्रीमा आवश्यक प्रतिबन्ध कायमै रहने बताएका छन् ।

    उनले गाँजाप्रतिको गलत दृष्टिकोणका कारण धेरै जीवन बर्बाद भएकोले यो गल्ती सच्याउने समय आएको तर्क गरे । उनले गोरा र काला मानिसहरूले समान मात्रामा गाँजा प्रयोग गरे पनि काला मानिसलाई गोराहरू भन्दा बढी पक्राउ गरिने र सजाय दिइने अभ्यासको पनि विरोध गरेका छन् ।

  • रुसले अमेरिकालाई दियो प्रत्यक्ष युद्धको चेतावनी

    रुसले अमेरिकालाई दियो प्रत्यक्ष युद्धको चेतावनी

    काठमाडौं । युक्रेनलाई थप सैन्य सहायता पठाउने संयुक्त राज्य अमेरिकाको निर्णयले रुस र पश्चिमा देशबीच प्रत्यक्ष सैनिक द्वन्द्वको खतरा बढाएको मस्कोले चेतावनी दिएको छ। बीबीसीका अनुसार अमेरिका अहिलेको द्वन्द्वको एउटा पक्ष भएको भन्दै अमेरिकाका लागि रुसी राजदूत एनाटोली एन्टोनोभले अमेरिकी कदम मस्कोका लागि सीधा खतरा भएको बताए। अमेरिकाले युक्रेनलाई अर्को ६२५ मिलियन डलर बराबरको सैन्य सहायता घोषणा गरेको छ।

    अहिले जारी द्वन्द्वमा युक्रेनी फौजले रुसी फौजविरुद्ध सफलता हासिल गर्दै जानुको पछाडि अमेरिकी अस्त्रहरूको योगदान रहेको बताइन्छ। पछिल्ला साताहरूमा युक्रेनी फौजहरूले देशको पूर्वोत्तर र दक्षिणी क्षेत्रमा महत्त्वपूर्ण सफलता हासिल गरिरहेका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत फेब्रुअरी २४ तारिखमा युक्रेनमाथि आक्रमण शुरू गराएयता किएभलाई वाशिङ्गटन दिएको सैन्य सहायता करिब १७ अर्ब डलर बराबर पुगेको छ।

    बिहीवार एउटा वक्तव्यमार्फत्‌ रुसी राजदूत एन्टोनोभले किएथस्थित सत्तालाई अस्त्रहरू दिइराख्नुको अर्थ वाशिङ्गटन द्वन्द्वको एउटा पक्ष हुने चेतावनी दिएका हुन्। त्यसले अहिलेको रक्तपातलाई लम्ब्याउने र नयाँ हताहती निम्त्याउने उनले दाबी गरे। एकदमै गम्भीर परिणाम निम्त्याउन सक्ने उक्साहटपूर्ण कामहरू बन्द गर्न हामी वाशिङ्गटनलाई आग्रह गर्छौँ,’ रुसी रादजूतले भने।

    पछिल्ला हप्ताहरूमा युद्ध मैदानमा युक्रेनसँग ठूलो पराजय बेहोरिरहेको रुसले उपलब्ध सबै माध्यमबाट प्रतिरक्षा गर्ने बताएको छ। सो क्रममा उसले परमाणुअस्त्रको प्रयोगको सम्भावनालाई पनि नकारेको छैन। मस्कोले युक्रेनका चार क्षेत्र (डोनेट्स्क, लुहान्स्क, खेअरसन र ज्यापोरिज्यालाई रुसमा गाभ्ने प्रयासलाई बल दिइरहेको छ। यद्यपि उसले अहिलेसम्म कुनै क्षेत्रमाथि पूर्ण रूपमा नियन्त्रण गरिसकेको छैन र पछिल्ला दिनमा युक्रेनी फौजहरूले खेअरसन क्षेत्रमा प्रगति हासिल गरिरहेका छन्।

  • नेपालका लागि नयाँ अमेरिकी राजदूत डिन थम्पसनले लिए सपथ, बेरी बिदा भए

    नेपालका लागि नयाँ अमेरिकी राजदूत डिन थम्पसनले लिए सपथ, बेरी बिदा भए

    काठमाडौं । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसनले शुक्रबार शपथ ग्रहण गरेका छन् । थम्पसनलाई अमेरिकी उपविदेशमन्त्री वेन्डी आर शर्मनले शपथ गराएकी छन् । उनी केही साताभित्र आफ्नो कार्यकाल सम्हाल्न नेपाल आइपुग्ने बताइएको छ । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किएसँगै उनको नियुक्ती भएको हो ।

    अमेरिकाले उनलाई नामिबियाका लागि राजदूत नियुक्त गरेको छ । उनी आइतबार स्वदेश फर्किएका हुन् । ‘मेरो जीवनकथामा एउटा अध्याय नेपाली र अमेरिकीहरूको सम्बन्धको इतिहासको बारेमा पनि समाबेस हुने सौभाग्य प्राप्त गरेकोमा अत्यन्तै कृतज्ञ छु,’ बेरीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मैले यहाँहरूबाट व्यक्तिगत रूपमै अनुभव गर्न पाएको अनेकौं माया, सदभाव र सत्कारका क्षणहरूका लागि सदैव आभारी रहनेछु ।’

    उनले नेपालको भविष्यका विषयमा अत्यन्तै आशावादी रहेको भन्दै आफूले यहाँका नागरिक, भूभाग, विश्वास र संस्कृतिलाई अत्यन्तै राम्ररी बुझ्ने अवसर प्राप्त गरेको समेत उल्लेख गरेका छन् ।

  • युक्रेनका चार भू-भाग रुसमा गाभिए, अमेरिकाले गर्यो चर्को आलोचना

    युक्रेनका चार भू-भाग रुसमा गाभिए, अमेरिकाले गर्यो चर्को आलोचना

    काठमाडौं\बीबीसी । अन्तर्राष्ट्रिय निन्दा हुनेगरी रुसले युक्रेनका चारवटा अधीनस्थ क्षेत्रहरूलाई औपचारिक रूपमा रुसमा गाभेको छ। शुक्रवार क्रेम्लिनको सेन्ट जोर्जेज् हलमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती क्षेत्रमा मस्कोले स्थापना गरेका नेताहरूका साथ त्यससम्बन्धी सन्धिहरूमा हस्ताक्षर गरेका थिए। पुटिनले रुसले सबै तरिकाबाट आफ्नो नयाँ भूभागको रक्षा गर्ने र ती नयाँ क्षेत्रहरूमा सुरक्षा बढाउने बताएका छन्।

    कुलीन रुसी राजनीतिज्ञ र सेनासँगको भेलामा बोल्दै उनले त्यो कुरा बताएका हुन्। उनले युक्रेनलाई सैन्य कारबाही रोक्न र वार्ताको टेबुलमा फर्किन आह्वान पनि गरेका छन्। प्रतिक्रियास्वरूप किएभले भने उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको सदस्य हुनका लागि एउटा नयाँ र छिटो हुने प्रक्रियाका लागि प्रयास थालेको छ। आफ्ना प्रधानमन्त्री र संसदका सभामुखसाथ रहेर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन लामो समयदेखि उक्त सुरक्षा सङ्गठनको डी फ्याक्टो (विधानतः नभए पनि व्यवहारमा) सदस्य रहेको बताउँदै सीमालाई परिवर्तन गर्ने मस्कोले हत्या, झुक्काउने काम, गलत व्यवहार र झूट प्रयोग गरेको आरोप लगाए।


    शुक्रवारको घोषणापछि राष्ट्रपति जो बाइडनले रुसलाई चेतावनी दिँदै अमेरिका रुसको धम्कीबाट नडराउने बताएका छन्। राष्ट्रपति पुटिनले रुसमा बलपूर्वक गाभिएका रुसी भूभागको रक्षाका लागि परमाणुअस्त्र प्रयोग गर्ने अप्रत्यक्ष धम्की दिएको देखिन्छन्। राष्ट्रपति बाइडनले रुसी समकक्षीका दुस्साहसिक शब्द र धम्कीको आलोचना गर्दै पुटिनले आफूहरूलाई तर्साउन नसक्ने बताए।

    ‘अमेरिका र उसका साझेदारहरू भयभीत हुनेछैनन्’ राष्ट्रपति बाइडनले ह्वाइटहाउसमा भने। त्यसपछि उनले क्यामरातर्फ औँला ठड्याउँदै रुसी राष्ट्रपतिलाई चुनौती दिए। ‘नेटो भूभागको प्रत्येक इन्च रक्षाका लागि अमेरिका उसका साझेदारसँग पूर्ण रूपमा तयार छ’ उनले पश्चिमा सुरक्षा सङ्गठनको प्रसङ्ग निकाल्दै भने, ‘मिस्टर पुटिन, मैले भनिरहेको कुरालाई गलत नबुझ्नू, प्रत्येक इन्च।’


    त्यसको केही बेरमा बाइडनका एक वरिष्ठ राष्ट्रिय सुरक्षा सल्लाहकारले मस्कोले परमाणुअस्त्रको सहारा लिने सम्भावना रहेको रहेको त्यो तत्कालको जोखिम भने नरहेको जनाए। ती क्षेत्रमा गरिएका जनमतसङ्ग्रह छद्म भन्दै निन्दा भइरहेको छ । संयुक्त राष्ट्रसङ्घ, युक्रेन र उसका साझेदारहरूले ती जनमतसङ्ग्रहलाई गैरकानुनी भन्दै आलोचना गर्दै आएका छन्। गाभिएका क्षेत्र रुस नियन्त्रित डोनेट्स्क, लुह्यान्सेक, खेअरसन र जापोरीजा हुन्। ती क्षेत्रलाई रसियन फेडरेशनमा समाहित गर्ने औपचारिक प्रक्रिया आउँदा केही दिनमा हुनेछन् ।

  • फ्लोरिडामा इयान आँधी: सयौँ मानिस हताहतीको आशंका

    फ्लोरिडामा इयान आँधी: सयौँ मानिस हताहतीको आशंका

    फ्लोरिडा\बीबीसी । अमेरिकाको फ्लोरिडा राज्यस्थित एक प्रहरी अधिकारीले समुद्री इयान आँधीका कारण सयौँ मानिसको ज्यान गएको हुन सक्ने आफूले बुझेको बताएका छन्। ती अधिकारीले आँधीका कारण पुगेको क्षति फ्लोरिडा राज्यभरि नै देखिन थालेको र ज्यान गुमाउनेको सङ्ख्या सयौँमा हुनसक्ने बताएका हुन्। हजारौँ उद्धारको पर्खाइमा रहेको पनि उनले बताएका छन्।

    अमेरिकाको न्याश्नल हुरिकेन सेन्टरले बाढीको थप खतरा रहेको भन्दै चेतावनी दिएको छ। उक्त सेन्टरले उत्तरपूर्वी फ्लोरिडाको तटीय क्षेत्रलगायत जोर्जिया र साउथ क्यारोलाइनामा पनि घातक आँधी आउनसक्ने जनाएको छ। शक्तिशाली तुफानसहितको आँधीका कारण उक्त दक्षिणपश्चिमी तटीय क्षेत्रमा बाढी आएको छ। त्यहाँ तीव्र वेगले हावा चलिरहेको छ भने उच्च वर्षाका कारण कैयौँ घरहरू डुबेका छन्।

    उक्त राज्यका गभर्नरले यो आँधी फ्लोरिडामा बज्रिएका हालसम्मकै शक्तिशाली पाँच आँधीमध्येमा एक भएको बताएका छन्। उनका अनुसार आँधीले पूरै राज्यभरि क्षति पुर्‍याएको छ। अमेरिकी सीमामा गस्ती गर्ने सुरक्षाकर्मीले क्युबाबाट फ्लोरिडा कीज्‌तर्फ आप्रवासीलाई बोकेर आउँदै गरेको एउटा डुङ्गा डुब्दा २३ जना मानिसहरू हराएका थिए। उक्त राज्यभरि २५ लाखभन्दा बढी मानिस विद्युत आपूर्ति बन्द हुँदा अन्धकारमा बस्न बाध्य भएका छन्।

    इयान आँधी बुधवार फोर्ट मायर्स सहर नजिकै २४१ किलोमिटर प्रतिघण्टाको गतिमा बज्रिएको थियो। फ्लोरिडाका गभर्नर रोन डिसान्टिसले उक्त आँधीको चपेटामा पर्नसक्ने स्थानका मानिसलाई केही दिन नराम्रो अवस्थाका लागि तयार रहन चेतावनी दिएका छन्। उक्त आँधीकै कारण क्युबामा मङ्गलवार आएको तुफानले दुईजनाको ज्यान लिएको थियो भने त्यहाँ पनि विद्युत् आपूर्ति अवरुद्ध भएको छ।

    आँधीका कारण फोर्ट मायर्स सहरसहित ली काउन्टीमा कर्फ्यू घोषणा गरिएको छ। बुधवार बेलुका ६ बजेबाट सुरु भएको कर्फ्यु अर्को सूचना नभएसम्म कायम रहने काउन्टीले जनाएको छ। आँधीका कारण पेट्रोल स्टेशनहरूमा लुटपाट भएका भनी आएका विवरणमा फोर्ट मायर्स प्रहरीले कारबाही गर्न असमर्थ भएपछि कफ्यु लगाइएको हो।

    काउन्टीका प्रबन्धक रोजर डेजार्ली उक्त आदेश कानुन कार्यान्वयन गर्ने निकायद्वारा लागु गरिने बुधवार साँझ एक पत्रकार सम्मेलनमा बताए। उनले आफ्नो सहरमा लुटपाट र हिंसाका लागि शून्य सहनशीलताको नीति अपनाइने बताएका छन्।

  • फ्लोरिडामा शक्तिशाली इयान तुफान

    फ्लोरिडामा शक्तिशाली इयान तुफान

    फ्लोरिडा । अमेरिकाको फ्लोरिडा राज्यमा दक्षिण–पश्चिमी तटमा शक्तिशाली तुफान इयानको प्रकोप देखिएको छ। इयानको कारण भारी वर्षा र बाढी आएको छ। अमेरिकामा पछिल्लो एक दशकमा पहिलो पटक यति शक्तिशाली तुफान आएको बिबीसीले जनाएको छ। बुधबार आएको यो तुफानलाई तीव्रताको आधारमा पाँचौं श्रेणीमा राखिएको छ र यसमा प्रतिघण्टा २५० किलोमिटरको गतिमा हावा चलिरहेको छ। तुफानको कारण असर पर्न सक्ने घरहरू खाली गर्न आदेश दिइएको छ। लाखौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

    प्रभावित क्षेत्रको विद्युत आपूर्ति बन्द भएको छ। करिब १८ लाख मानिसको विद्युत आपूर्ति रोकिएको छ। फ्लोरिडाका गभर्नर रन डिसेनटिसले बुधबार यो निकै खराब दिन भएको भन्दै मानिसहरुलाई प्रार्थना गर्न आग्रह गरेका छन्। अन्तर्राष्ट्रिय हरिकेन रिसर्च सेन्टरका एसोसिएट डायरेक्टर एरिक सालनाका अनुसार अहिले नै तुफानको क्षतिबारे कल्पना गर्न कठिन छ। इतिहास हेर्ने हो भने हावाको कारण आउने पानीबाट धेरैको मृत्यु हुने गरेको छ। फ्लोरिडाको पूरै पश्चिमी क्षेत्रमा तुफान तीव्र हुन सक्ने चेतावनी दिइएको छ। तुफानको कारण अमेरिकाको आन्तरिक र बाह्य गरी चार हजारभन्दा धेरै उडान रद्द गरिएको छ।

  • विश्वचर्चित अमेरिकी स्की खेलाडी हिलारीको मनास्लुमा भेटियो शव

    विश्वचर्चित अमेरिकी स्की खेलाडी हिलारीको मनास्लुमा भेटियो शव

    काठमाडौं । विश्व प्रसिद्ध स्की खेलाडी हिलारी नेल्सनको मनास्लुमा शव भेटिएको छ । मनास्लु हिमालमा आरोहण र स्कीका लागि आफ्ना पार्टनरसँगै पुगेकी उनको बुधबार बिहान मनास्लु हिमालमा शव भेटिएको हो विश्वविख्यात स्की खेलाडी हिलारी नेल्सनले आफ्नो करिअरका ठूला सफलता नेपालकै अग्ला चुचुरामा पाएकी हुन् । उनी २४ घन्टाको अन्तरालमा सर्वोच्च शिखर सगरमाथा र ८ हजार मिटर भन्दा अग्लो अर्को हिमाल ल्होत्सेको सफल आरोहण गर्ने आरोही समेत हुन् । मनास्लु जाँदा हिलारी आफ्ना जीवन साथी जिम मोरिसन सँगै थिइन् । उनका पार्टनर समेत विश्वमा नाम चलेका स्की खेलाडीमध्ये एक मानिन्छन् ।

  • आकासियो अमेरिकी डलरको भाउ, प्रत्यक्ष असर नेपाली मुद्रामा

    आकासियो अमेरिकी डलरको भाउ, प्रत्यक्ष असर नेपाली मुद्रामा

    काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

    नेपाल राष्ट्र बैंकले मंगलवारका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिद दर १३० रुपैयाँ ३० पैसा र बिक्री दर १३० रुपैयाँ ९० पैसा रहेको छ।

    यो हालसम्मकै उच्च हो । यसअघि ९ असोज मा एक अमेरिकी डलरको १२९ रुपैयाँ ८९ पैसा (बिक्री दर) तोकेको थियो ।

    त्यस्तै युरो १ को खरिद दर १२५ रुपैयाँ ७४ पैसा तथा बिक्री दर १२६ रुपैयाँ ३२ पैसा तोकिएको छ। यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १३९ रुपैयाँ ८८ पैसा र बिक्री दर १४० रुपैयाँ ५२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

    यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको छ । नेपालको आयात घटेर वा नेपाली अर्थतन्त्रका कारण भने नेपाली मुद्रा अमेरिकी डलरको दाँजोमा कमजोर भएको होइन ।

    अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारण त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो। पछिल्ला दिनहरूमा डलरको भाउले नयाँ उचाइ कायम गर्दै गएको छ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दै गएको छ । विश्वबजारमा अमेरिकी डलरप्रतिको आकर्षण बढेसँगै नेरु कमजोर हुन थालेको हो ।

    डलरको भाउ अझै माथि जाने संकेतहरु देखिएको छ। पछिल्लो समय अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर भइरहेको छ ।

    नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेको छ । अमेरिकी डलरको भाउ उतारचढाव हुँदा भारुको मूल्य कमजोर हुँदा त्यसको सोझो प्रभाव नेपाली रुपैयाँमा पर्ने गरेको छ ।

    विदेशमा रहेका नेपाली कामदारहरुले रेमिट्यान्स डलरमा पठाउँछन् । डलरको भाउ बढ्दा रेमिट्यान्समा पनि केहि बृद्धि हुन्छ । त्यस्तै डलरको भाउ बढेसँगै पर्यटन क्षेत्र पनि राम्रो हुनेछ । नेपालमा आउने विदेशी पर्यटकले डलर बोकेर आउँछन् र खर्च गरेर जान्छन् ।

    अब डलरको भाउ बढ्ने वा घट्ने भन्ने कच्चा तेलको मूल्यमा भर पर्ने विज्ञ बताउँछन् ।

    त्यसको असर भारतीय मुद्रा (भारु) हुँदै नेपाली मुद्रासम्म आइपुगेको छ । नेरु र भारुबीच स्थिर विनिमय दर छ ।

    स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारतीय रुपैयाँको विनिमय दर घटबढ भएपछि नेपाली रुपैयाँ पनि प्रत्यक्ष प्रभावित हुन्छ । डलरको भाउ बढ्दा वस्तु तथा सेवाको आयातबापत हुने भुक्तानीमा असर पर्छ ।

    अहिले दशैँ/तिहार जस्ता मुख्य चाडपर्वका बेला नेपाल भित्रिने रेमिट्यान्समा सकारात्मक प्रभाव परे पनि आयात बढ्दो हुँदा त्यसबापतको भुक्तानीमा दायित्व बढेको छ।

  • नेपाली मुद्राको अवमूल्यन जारी, डलरको मूल्यले फेरी राख्यो कीर्तिमान

    नेपाली मुद्राको अवमूल्यन जारी, डलरको मूल्यले फेरी राख्यो कीर्तिमान

    काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ । शुक्रबार करिब २ महिना अगाडिको मूल्यबाट माथि लागेको डलरको मूल्य आइतबार फेरि बढेर १ डलर बराबर १२९ रुपैयाँ ८९ पैसा पुगेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार खरिद मूल्य १२९ रुपैयाँ २९ पैसा रहेको छ ।

    गत शुक्रबार १ अमेरिकी डलरको बिक्री मूल्य १२९ रुपैयाँ ६८ पैसा रहेको र खरिद मूल्य १२९ रुपैयाँ ८ पैसा रहेको थियो । बिहीबार १ अमेरिकी डलरको बिक्री मूल्य १२८ रुपैयाँ २७ पैसा रहेकोमा शुक्रबार एकैदिन १ रुपैयाँ ४१ पैसाले बढेको थियो ।

    आइतबार पनि डलरको मूल्य थप २१ पैसा बढेको छ । शुक्रबार डलरको मूल्य २ महिना अगाडिको रेकर्ड तोड्दै माथि लागेको थियो । यसअघि ५ साउन २०७९ मा १ अमेरिकी डलरको बिक्री मूल्य १२८ रुपैयाँ २९ पैसा र खरिद मूल्य १२७ रुपैयाँ ६९ पैसासम्म पुगेको थियो ।

    १८ साउनमा १ अमेरिकी डलरको बिक्री मूल्य १२६ रुपैयाँ २५ पैसा र खरिद मूल्य १२५ रुपैयाँ ६५ पैसासम्म झरेको थियो । त्यसपछि पुनः बढ्न लागेको डलरको मूल्यले शुक्रबार नयाँ उचाई कायम गरेको हो । अमेरिकी केन्द्रीय बैंक ‘फेडेरल रिजर्भ’ (फेड) ले ब्याजदर बढाउँदा अमेरिक डलर बलियो भएको हो ।

  • अमेरिकाको ओहायो राज्यमा नेपालीभाषीबीच फुटबल खेल महोत्सव शुरु

    अमेरिकाको ओहायो राज्यमा नेपालीभाषीबीच फुटबल खेल महोत्सव शुरु

    काठमाडौं । अमेरिकावासी नेपाली भाषी समुदायका लागि फुटबल खेलको महोत्सव अमेरिकाको ओहायो राज्यस्थित सिनसिनाटी सहरमा शुक्रबारदेखि सुरु भएको छ । ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनले’ आयोजना गरेको सो प्रतियोगिताको उद्घाटन शुक्रबार राति फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले एक समारोहबीच गर्नुभयो । प्रतियोगितामा भाग लिन अमेरिकामा बसोबास गर्ने नेपाली भाषी हुनुपर्ने प्रावधान राखिएको छ ।

    तीन दिनसम्म जारी रहने सो उत्सवमा अमेरिकाका विभिन्न राज्यबाट ३८ वटा फुटबल टिमको सहभागिता रहेको छ । युवा, महिला र ३५ वर्षमाथि उमेर समूहका भेट्रानका भिन्नभिन्न टिमबीच प्रतिस्पर्धामा हुने बताइएको छ । सो खेलको विजेतका लागि १५ हजार अमेरिकी डलर ९१९ लाख ४० हजार नेपाली रुपियाँ० पुरस्कार राखिएको छ । उद्घाटनलगत्तै युनिक ब्वाइज फुटबल क्लब र पथरी इ वान फुटबल क्लबबीच प्रतिस्पर्धा भएको थियो ।

    त्यसैगरी, कोलम्बस स्टार फुटबल क्लब र रिबोलुसन फुटबल क्लब तथा रोयल फुटबल क्लब र सिन्सी कुल क्याट फुटबल क्लबका बीच प्रतिस्पर्धा हुने कार्यक्रम रहेको छ । तीन वटा फुटबल मैदानमा एकै समयमा आइएन क्रिष्ट युनाइटेड भर्सेस एरो फुटबल क्लब, मिचिगन फुटबल क्लब भर्सेस ब्लाकलिक युनाइटेड, साङ्ग्रिला युथ फुटबल क्लब भर्सेस नर्थ डकोटा युनाइटेड फुटबल क्लबका बीच प्रतिस्पर्धा हुने कार्यक्रम रहेको छ ।

    त्यसैगरी, रोही कोलम्बस फुटबल क्लब भर्सेस एफसी युनाइट, इन्ट्रा फुटबल क्लब भर्सेस बेलडाँगी युथ फुटबल क्लब, एफसी नाइट भिजन भर्सेस बिवाइएससी, चुके फुटबल क्लब भर्सेस युनाइटेड ओन्टारियो फुटबल क्लब, टिमाइ स्क्वाड भर्सेस एफसी ओरेञ्ज, भरमण्ट एघार भर्सेस पीस जोन रिपोर्टिङ अफ बिसिएएका बीच रोचक प्रतिस्पर्धा हुँदै छ ।

    उद्घाटनकै दिन सम्पन्न भेट्रानतर्फको खेलमा ह्यारिसवर्ग भेट्रान्स भर्सेस एक्रन भेट्रान्स, सिन्सी इन्ट्रा भेट्रान्स भर्सेस मिनिसोटा भेट्रान्स, सिन्सी येल भेट्रान्स भर्सेस कोलम्बस इन्ट्रा भेट्रान्स, रिभाइभल भेट्रान्स भर्सेस् हिलसिटी भेट्रान्सका बीच पनि प्रतिस्पर्धा हुनेछ ।

    युवाका २६ वटा टिम सहभागी रहेकाले यो समूहको खेल नकआउट विधिबाट गरिएको खेल आयोजक समितिका संयोजक राजन चुहानले बताउनुभयो । भेट्रान्सतर्फ आठ वटा टिम र महिलातर्फ चार वटा टिम सहभागी छन् । महिला टिमबीच हुने प्रतिस्पर्धा भने अमेरिकी पूर्वीय समयानुसार शनिबार सुरु हुने आयोजना संयोजक चुहानले जानकारी दिनुभयो ।

    खेल सुरु हुनुअघि बिहीबार साँझ सिनसिनाटीको होटल मेरियटमा खेल टिमका म्यानेजर, क्याप्टेन र कोचलाई आयोजक संस्था इन्ट्रा फाउण्डेसनले स्वागत समारोहको आयोजना गरेको थियो । फाउण्डेसनका प्रवक्ता केशव आचार्य र सचिव गोपाल धितालले सहभागीको स्वागत गरेका थिए भने गायक तथा सङ्गीतकार केशव पौडेलले तयार गरेको इन्ट्राको खेल गीत पनि पहिलोपल्ट सार्वजनिक गरिएको थियो ।

    विभिन्न चरणमा खेल भई फाइनलमा पुग्न सफल टिमका बीच सेप्टेम्बर २५ मा अन्तिम प्रतिस्पर्धा हुने कार्यक्रम तय भएको छ ।

    रासस

  • अमेरिकी एनआरएनएमा तेश्रो धार

    अमेरिकी एनआरएनएमा तेश्रो धार

    बिष्णु सिंह\न्युयोर्क । गैरआवाशीय नेपाली संघ अन्तररास्ट्रिय समन्वय परिषद शेस घले पक्षले पनि अमेरिकी राष्ट्रिय परिषद गठन गरेसंगै न्युयोर्कमा एक पत्रकार भेटघाट तथा अन्तर्कृया आयोजना गरिएको छ । गैर आवासिय नेपाली संघ केन्द्रदेखी नै फुटे सँगै विभिन्न देशमा राष्ट्रिय परिषद फुट्ने क्रम जारी छ । एनआरएनए घले पक्षले अमेरिकामा सुर्य लम्सालको नेतृत्वमा ३५ जना संम्मिलित समिति घोषणा गरेको छ ।

    समिति घोषणा सँगै १९ तारिखमा न्युयोर्कमा अन्तर्कृया गरिएको हो । अन्तर्कृयामा अमेरिकाका अर्का एनआरएनए अध्यक्ष बुद्धी सागर सुबेदीलाई आफुहरु आफ्नो समुहमा जोडीन पटक पटक अनुरोध गर्दा समेत वास्ता नगरेपछी सुबेदीसगै निर्वाचनमा प्रतिस्पर्धा गरेर उपबिजयता बनेका सुर्य लम्सालको नेतृत्वमा अमेरिकि राष्ट्रिय परिषद गठन गरिएको जानकारी गराइयो । अमेरिकामा आफु खुशी राष्ट्रिय परिषद घोषणा गर्ने क्रम पछिल्लो पटक बढ्दै गएको छ । सुर्य लम्साल नेतृत्वमा घोषणा गरिएको यो एनआरएन तेश्रो धार हो ।

    स्थानिय ज्याक्सन हाईट्स थकाली किचेनमा आयोजित अन्तर्कृयामा आयोजकले एनआरएनमा साँचो अर्थमा काम गर्ने नेतृत्व ल्याउनै पर्ने कुरामा जोड दिइयो । यस अगाडि एनआरएन अन्तर्गत विभिन्न पदमा बसेर काम गरी सकेका सोनाम लामाले एनआरएनमा केहि लिनु नभएर दिने मात्र आफ्नो लक्ष्य रहेको बताए । त्यसैले साचो अर्थमा एनआरएनमा काम गर्ने नेतृत्व ल्याउन जरुरी रहेको उनको भनाई छ ।

    आयोजकले बिशेषत अन्तर्कृया कार्यक्रममा नयाँ समिति गठनको आवश्यकताबारे प्रस्ट पार्दै एनआरएन मुभमेण्टमा अमेरिकी एनआरएन अत्यन्त आवश्यक रहेको बताए । अन्तर्कृया कार्यक्रममा उपाधक्ष्य बिआर लामा र उत्तर अमेरिका क्षेत्रीय सयोजक कृष्ण पोखरेललयायत उपस्थित थिए ।

  • अमेरिकासम्म पुग्छ नेपाली पानी, एक वर्षमा ३० करोडको निर्यात,

    अमेरिकासम्म पुग्छ नेपाली पानी, एक वर्षमा ३० करोडको निर्यात,

    काठमाडौं । नेपालबाट एक वर्षमा ३० करोडको पानी विदेश निर्यात भएको छ। नेपाल बोटल वाटर उद्योग सङ्घको ‘१२ औँ वार्षिक साधारण सभा एवं दशैं, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम’मा आव २०७८\०७९ मा नेपालबाट ३० करोडको पानी निर्यात भएको जानकारी दिइएको हो।
    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष अन्जनकुमार श्रेष्ठले भूकम्प, नाकाबन्दी र कोरोना महामारीबाट पीडित व्यवसायीले चाडपर्वको मुखमा तरलताको अभाव झेल्नुपरेको बताए ।

    कोरोनाको समयमा व्यक्तिको घरघरमा पुगेर सेवा प्रदान गरेका पानी व्यवसायलाई राज्यले बेवास्ता गरेको उनको भनाई छ । खानेपानीको गुणस्तर मापन गर्न खाद्य गुणस्तर विभागले लिँदै आएको शुल्क महङ्गो भएको भन्दै त्यसलाई चाँडो घटाउन उनले माग गरे । सङ्घका अध्यक्ष ध्रुवबहादुर गौतमले खाद्य स्वच्छता ऐन व्यवसायीमैत्री नभएको भन्दै यसलाई तत्काल सच्याउन माग गर्नुभयो। अति आवश्यक वस्तुका रूपमा रहेको पानी व्यवसायीलाई ऐनले अपराधीको रूपमा हेरेको उहाँको भनाइ थियो। अध्यक्ष गौतमले ट्राफिक प्रहरीले पानी व्यवसायीलाई दुःख दिने गरेको गुनासो गरे ।


    नेपालबाट चीन, हङकङ, कतार, दुबई, अमेरिका, अष्ट्रेलियालगायतका देशमा पानी बिक्रीवितरण हुँदै आएको सङ्घका सचिव एवं हिमालयन वेभरेज प्रालिका सञ्चालक भरत बुढाथोकीले जानकारी दिए । उनका अनुसार हाल बोटलर्स नेपाल कम्पनी तराईबाट उत्पादित ‘किन्ले’, रसुवा ब्राण्डको ‘हिमालयन अनटप’, वेभ नेपाल प्रालिबाट उत्पादित ‘नेपाल स्प्रिङ’लगायतका पानी विदेशमा निर्यात हुँदै आएका छन्। विसं २०६५ मा स्थापित नेपाल बोटल वाटर उद्योग सङ्घमा काठमाडौंभित्रका १८२ र देशभरका ६०० भन्दा बढी पानी उत्पादन गर्ने कम्पनीहरु आबद्ध छन्।

  • संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्र सचिवको नेतृत्वमा टोली अमेरिका जाने

    संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्र सचिवको नेतृत्वमा टोली अमेरिका जाने

    काठमाडौं । परराष्ट्र सचिव भरत पौडेल आज अमेरिका जाँदैछन् । उनी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान लागेका हुन् । उनले महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । न्यूयोर्क बसाईमा उनले उच्चस्तरीय भेटवार्ता समेत गर्ने छन् ।

  • न्यूयोर्कमा नेपाली चेली सराहाना श्रेष्ठ एसेम्बली जेनेरल चुनाब लड्ने

    न्यूयोर्कमा नेपाली चेली सराहाना श्रेष्ठ एसेम्बली जेनेरल चुनाब लड्ने

    न्यूयोर्क । आगामी नोभेम्बरमा न्यूयोर्क स्टेट १०३, डिस्ट्रिक्ट मिड हडसन भ्यालीमा हुने एसेम्बली जेनेरल चुनाबमा नेपाली चेली सराहाना श्रेष्ठ उम्मेदवार बन्ने भएकी छिन् । यसबारे एक कार्यक्रम आयोजना गरी नेपाली समाजमा अबगत गराइएको छ । ड्रम सङ्गठनको भगिनी इकाई ज्याक्सन हाईटस्थित ड्रम बिट्सले अघिल्लो साता सराहाना श्रेष्ठसंग नेपाली समुदायको अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
    ड्रम बिट्सले ड्रम संगठनको भगिनी इकाईको हैसियतले नेपालीहरुको हरेक समस्याहरुलाई शसक्त रुपमा उठाउने गर्छ ।

    ड्रम बिट्स संगठनले दक्षिण एसिया र इन्डो(क्यारेबियन समुदायको मजदुर वर्गमा राजनीतिक शक्ति निर्माण गर्नको निमित्त काम गर्दै आएको छ । यस कार्यक्रमको मुख्य उदेश्य आगामी नोभेम्बर महिनामा न्युयोर्क स्टेट एसेम्बली डिस्ट्रिक १०३, मिड हड्सन भ्यालीमा हुने जेनेरल चुनाबको प्रतिस्पर्धामा उत्रेकी उम्मेदवार पहिलो नेपाली चेली सराहाना श्रेष्ठलाई अधिकतम भोटले जिताउनु रहेको संस्थाले जनाएको छ ।

    सो अवसरमा सामाजिक र मानवाधिकाका क्षेत्रमा आवाज उठाई रहेको संस्था ड्रम बिट्स टिम, कम्युनिटी भोलेन्टियर्स, ल्पानिंग टिम, नेपाली मिडिया, सामाजिक अभियन्ता, सामाजिक आयोजकको साथै डिस्ट्रिक ३६ एस्टोरिया क्षेत्रबाट बिधानसभाको सदस्य जोहराम मामदानी र डिस्ट्रिक ३० बाट विधानसभा सदस्य उम्मेदवार स्टेभन रागा समेत उपस्थित भए ।

    यस कार्यक्रममा खुल्ला रुपमा सामाजिक न्याय, मानब अधिकार, आर्थिक भेदभाब सम्बन्धमा चर्चा परिचर्चा गरिएको थियो । कार्यक्रममा नेपाली समुदाय र सराहना श्रेष्ठबीच खुला छलफल बाट उनलाई व्यक्तिगत रूपमा चिन्ने वातावरण बनाइएको थियो ।

  • अमेरिकामा आतंकवादी हमलाको २१ वर्ष पुरा

    अमेरिकामा आतंकवादी हमलाको २१ वर्ष पुरा

    न्यूर्योक । अमेरिकाका विभिन्न शहरमा भएको आतङ्ककारी हमलाको आइतबार २१ वर्ष पूरा भएको छ । न्युयोर्क, भर्जिनिया र पेन्सिलभिनियामा २१औँ स्मृति दिवस मनाइँदैछ । सन् २००१ को सेप्टेम्बर ११ मङ्गलवारका दिन आत्मघाती आक्रमणकारीले अमेरिकी विमानहरूलाई नियन्त्रणमा लिएर न्युयोर्कका दुई गगनचुम्बी भवनमा ठोक्काएका थिए । यो दुर्घटनामा झण्डै तीन हजार जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमा विभिन्न ७७ वटा देशका नागरिक थिए । संयुक्त राज्य मेरिकाको पूर्वी भेगमा उडिरहेका चारवटा विमान एकपछि अर्को गर्दै अपहरणमा परेका थिए ।

    अपहरणमा परेका विमान न्युयोर्क र वाशिङ्टनका भवनमा ठोक्काइएको थियो । आक्रमणको एक महिना नबित्दै तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुशले आक्रमणमा संलग्न अल कायदालाई उन्मूलन गर्न र ओसामा विन लादेनलाई पत्ता लगाउन अफगानिस्तानमा आक्रमण गर्न अनुमति दिएका थिए । पछि सन् २०११ मा छिमेकी पाकिस्तानमा अमेरिकी सेनाले लादेनलाई मारेको पुष्टि गरेका थिए । झन्डै दुई दशकपछि अमेरिकी सैनिक अफगानिस्तानबाट बाहिरिएका छन् ।

  • मेरिल्याण्डमा तीन बालबालिकासहित ५ जना मृत फेला

    मेरिल्याण्डमा तीन बालबालिकासहित ५ जना मृत फेला

    मेरिल्याण्ड । संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यको सेसिल काउन्टीको एक घरमा शुक्रबार पाँच जना मृत अवस्थामा फेला परेका छन् । मृतकहरूमा दुई वयस्क र तीन बालबालिका छन् । सेसिल काउन्टी शेरिफको कार्यालयले विज्ञप्तिमा जनाएअनुसार एक पुरुषले बिहान ९११ मा फोन गरी तीन बालबालिका र एक महिलालाई गोली लागेर मृत्यु भएको जानकारी दिएका थिए।

    सो जानकारीपछि सुरक्षा अधिकारीहरू सो निवासमा प्रवेश गर्दा मृतकहरूको शव विभिन्न स्थानमा फेला पारेका थिए। ‘यो हाम्रो काउन्टी र हाम्रो समुदायका लागि दुःखद र भयानक दिन हो, काउन्टी शेरिफ स्कट एडम्सले शुक्रबार दिउँसो पत्रकारहरूलाई बताएका छन् । घटना बारे सक्रिय रूपमा अनुसन्धान गरिरहेको अधिकारीहरूले बताएका छन्।

  • एमसीसी कार्यान्वयनबारे वासिंटनमा छलफल

    एमसीसी कार्यान्वयनबारे वासिंटनमा छलफल

    काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री र मिलेनियम च्यालेन्ज कर्पोरेसनका यूरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता भएको छ । राजदूत खत्री र सहायक उपाध्यक्ष ब्रुक्सबीच गत १ सेप्टेम्बरमा वासिङटन् डीसीस्थित नेपाली राजदूतावासमा भएको भेटमा नेपालमा एमसीसीको कार्यन्वयका विषयमा छलफल भएको थियो । दूतावासका एक अधिकारीले बताएअनुसार ब्रुक्सले नेपालले सदनबाट पारित गरेर कार्यन्वयनको चरणमा गइसकेको एमसीसी परियोजनाका विभिन्न विषयमा चासो राखेका थिए ।

    ब्रुक्सले एमसीसी नेपालको सदनबाट पारित गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । नेपालमा सदनबाट पारित गर्ने वा नगर्ने भन्ने विषयलाई लिएर बहस चलिरहेको अवस्थामा ब्रुक्स एमसीसी उपाध्यक्ष फातिमा सुमारसँगै गत वर्षको भदौ अन्तिम साता नेपालको चारदिने भ्रमणमा आएका थिए । एमसीसीको विषयलाई लिएर विभिन्न चर्चाहरू चलेपछि सरकारले एमसीसीलाई त्यस विषयमा स्पष्ट पार्न पत्र पठाएको थियो । अर्थमन्त्रालयमार्फत पठाइएका एमसीसीसम्बन्धी जिज्ञासाको जवाफसँगै उपाध्यक्ष सुमार र सहायक उपाध्यष ब्रुक्स नेपाल भ्रमणमा आएका थिए ।