Category: अमेरिका

  • अमेरिकाद्धारा सिरियाको इरानसमर्थित मिलिसिया अखडामा हवाई आक्रमण

    अमेरिकाद्धारा सिरियाको इरानसमर्थित मिलिसिया अखडामा हवाई आक्रमण

    बगदाद । संयुक्त राज्य अमेरिकाले सिरियामा सक्रिय मिलिसियाको एक अखडामा हवाई आक्रमण गरेको छ । सिरियामा इरानले समर्थन गरेको समुहविरुद्ध अमेरिकाले आक्रमण गरेको हो । अमेरिकी संचारमाध्यमहरुका अनुसार बिहीबार राष्ट्रपति जो बाइडेनले आक्रमणको अनुमति दिएका थिए ।

    यसअघि अघिल्लो साता इराकमा रहेको अमेरिकी सेनाको ब्यारेकमा इरानले रकेक आक्रमण गरेको थियो । यसको बदलामा बिहीबा सिरियास्थित मिलिसिया अखडामा आक्रमणको अनुमति बाइडेनले दिएका हुने । रोयटर्सका अनुसार गत साताको आक्रमणविरूद्ध अमेरिकाको यो पहिलो जवाफी हमला हो ।

    हमलाबाट भएको क्षतिको भने विवरण आइसकेको छैन । १५ फेब्रुअरीका दिन इराकमा रहेको अमेरिकी बेसमा इरानले गरेको रकेट आक्रमणमा एकजना गैरअमेरिकी ठेकेदारको ज्यान गएको थियो । गत वर्ष इरानी सेनाका जनरल कासिम सुलेमानीलाई अमेरिकाले ड्रोन हमलामा मारिदिएपछि अमेरिका र इरानको सम्बन्ध चिसिएको छ ।

  • शेर्पा किदुग अमेरिकालाई ५० हजार डलर सहयोग

    शेर्पा किदुग अमेरिकालाई ५० हजार डलर सहयोग

    न्युयोर्क

    न्युयोर्क सहरको ज्याक्सन हाइट्सस्थित युनाइटेड शेर्पा एसोसिएशन अर्थात् शेर्पा किदुग अमेरिकालाई किदुगका आजीवन सदस्य स्व. आङ् पासाङ् लामा (गोल्डेन) को परिवारबाट पचास हजार अमेरिकी डलर सहयोग प्राप्त भएको छ। उक्त दान रकम शेर्पा किदुगद्वारा गत साल न्युयोर्कको वालकिलमा खरीद गरिएको ६१.३ एकड जमिन माथि निर्माण हुने बौद्ध स्तूपकोलागि प्राप्त भएको हो।
    जम्मा कबोल गरिएको पचास हजार डलर मध्ये २५ हजार ५ पाँच सय ५५ डलर गत नोभेम्बर सात शनिवारका दिन आयोजित देव अवतरण दिवसको अवसरमा हस्तान्तरण गरिएको किदुगका अध्यक्ष उर्गेन शेर्पाले बताएका छन् ।
    शेर्पा किदुग अमेरिकाद्वारा प्रत्येक वर्ष मनाइने ‘ल्हाप्सो’ अर्थात सामुहिक देव पूजा कार्यक्रमको लागि अघिल्लो वर्षको डिसेम्बर महिनामा न्युयोर्क राज्यको वालकिलमा ६१.३ एकड जग्गा खरीद गरेको थियो। उक्त जग्गा माथि शेर्पा किदुगले विश्व शान्ति र पर्यावरणीय स्थिरताको लागि एक बौद्ध चैत्य स्थापना गर्न लागिएको जनाएको छ। शेर्पा किदुगका महासचिब कर्म लामा, उनका भाइ तेन्डी लामा र बहिनीहरु किन्जी शेर्पा र बिमला शेर्पाले आफ्ना दिवंगत पिता आङ् पासाङ् लामा र माता क्षोकी लामाको स्मरणमा उक्त दान गरेका हुन।
    दानी परिवारको तर्फबाट जेठो छोरो कर्म लामाले शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पालाई पच्चीस हजार पाँच सय पच्पन्न डलरको चेक हस्तान्तरण गर्नु भएको थियो। सोही अवसरमा बोल्दै किदुगका महासचिव समेत रहेका कर्म लामाले विश्व शान्ति र पर्यावरणका लागि दूरगामी प्रभाव पार्ने उक्त चैत्य निर्माणमा योगदान पुर्याउने अवसर पाउनुलाई आफ्नो परिवारको सौभाग्य सम्झेको बताए।
    भगवान बुद्धले दिनु भएको शान्ति र करुणाक शिक्षा आज युग अपरिहार्य देखिएको महसुस भएको हुनाले यस अभियानलाई साथ दिनको लागि समेत वहाँले सबैलाई आग्रह गर्नु भयो ।
    दानी परिवार प्रति धन्यवाद ज्ञापन गर्दै शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पाले वहाँहरुको योगदान ईतिहासमा अमिट छाप भएर रहने बताउनु भयो । विश्व शान्ति र पर्यावरणीय स्थिरताका लागि स्थापित हुने यस स्तूपको प्रारम्भिक नक्सा तयार भई सकेको र पूर्ण परिमार्जित नक्सा चाँडै सार्वजनिक गरिने भएकोले उक्त परियोजनामा सबैको साथ र सहयोगको लागि पनि अध्यक्ष शेर्पाले अपील गरेका छन् ।

  • नेपालसँग अमेरिका सुदृढ सम्बन्ध चाहन्छ : राष्ट्रपति बाइडेन

    नेपालसँग अमेरिका सुदृढ सम्बन्ध चाहन्छ : राष्ट्रपति बाइडेन

    काठमाडौं । अमेरिकाका राष्ट्रपति जो वाइडेनले अमेरिकाले नेपालसँग सुदृढ सम्बन्ध स्थापित गर्न चाहेको बताएका छन् । अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले अमेरिकी विदेश मन्त्रालयमार्फत पठाएको ओहदाको प्रमाणपत्र बुझ्दै राष्ट्रपति वाइडनले यस्तो बताएका हुन् । अमेरिकास्थित नेपाली दूतावासले यस्तो जानकारी गराएको छ ।

    ओहोदाको प्रमाणपत्र बुझ्दै राष्ट्रपतिले साझा एजेण्डाको आधारमा नेपालसँगको सम्बन्ध सुदृढ बनाउन चाहेको बताएका हुुन् । ओहदाको प्रमाणपत्रका साथ खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको शुभकामना सन्देश समेत राष्ट्रपतिलाई सुनाएका छन् ।

    राजदूत खतिवडाले अमेरिकाबाट प्राप्त सहयोगका लागि आभार व्यक्त गरेको दूतावासले जनाएको छ । नेपालका पूर्वअर्थमन्त्री डा. खतिवडा कार्यभार सम्हाल्न अमेरिका पुगिसकेका छन् ।

  • विश्वयुद्ध र भियतनाम युद्धमा भन्दा धेरै अमेरिकीको कोरोनाले ज्यान लिनु दुखदः बाइडेन

    विश्वयुद्ध र भियतनाम युद्धमा भन्दा धेरै अमेरिकीको कोरोनाले ज्यान लिनु दुखदः बाइडेन

    वासिंटन डिसी । संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट सोमबारसम्म ५ लाख मानिसको ज्यान गएको पुष्टी भएको छ । संसारमा सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा ५ लाख ७१ जनाको ज्यान गइसकेको पुष्टी भएको छ ।

    यो आंकडालाई अमेरिकी राष्ट्रपति जो बाइडेनले एक दुखद पक्ष भएको बताएका छन् । उनका अनुसार पहिलो र दोस्रो विश्वयुद्ध र भियतनामसँगको युद्धमा मृत्यु भएका सबै अमेरिकीभन्दा कोरोनाले बढी मानिसको ज्यान गएको छ । यो हृदयविदारक भएको उनको भनाई छ ।

    सोमबार ह्वाइटहाउसमा संचारमाध्यमसामु उपस्थित राष्ट्रपतिले एउटा राष्ट्रको रूपमा कठोर अवस्था स्वीकार गर्नुको विकल्प समेत नभएको बताए । उनले लामो समयदेखिको लडाईले अब अमेरिकालाई अझ बलियो बनाउनु पर्ने भन्दै विक्षिप्त हुने समय नभएको समेत बताए ।

    परिवार, समुदाय र देशलाई विभाजित गर्ने गलत सूचनाको राजनीति रोक्नुपर्ने भन्दै उनले सबै अमेरिकी एक भएमात्र लडाई जितिने उल्लेख गरे । बाइडेनले कोरोनाबाट ज्यान गुमाएकाहरूको सम्झनामा पाँच दिन राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन्।

    संघीय सरकारमातहतका सबै कार्यालय र सैनिक बेसमा अमेरिकी झन्डा झुकाइने भएको छ । कोरोनाबाट संसारभर २४ लाख ८४ हजार मानिसको मृत्यु भइसकेको छ । यसमध्ये १९ प्रतिशत मानिस अमेरिकाका ज्यान गुमाउने छन् ।

  • अमेरिकी जहाज निर्माता कम्पनी बोइङका ‘बी७७७’ मोडलका जहाज ग्राउण्डेड

    अमेरिकी जहाज निर्माता कम्पनी बोइङका ‘बी७७७’ मोडलका जहाज ग्राउण्डेड

    डेनभर । अमेरिकी जहाज निर्माता कम्पनी बोइङले आफ्नो बी ७७७ जहाज ग्राउण्डेड गरेको छ । शनिबार अमेरिकाको डेनभरबाट उडेको जहाजको एक इन्जिनमा अचानक आगो लागेपछि जहाजको आकस्मिक अवतरण गर्नु परेको थियो । तर, पाइलटको कुसलताले ठूलो दुर्घटना भने टरेको थियो । सोही समस्यापछि अमेरिकी विमान निर्माता बोइङले विश्वभर उडिरहेका दर्जनौँ बोइङ ७७७ विमान ‘ग्राउण्डेड’ गर्ने निर्णय गरेको हो ।

    युनाइटेड एअरलाइन्स र जापानका दुई मुख्य एअरलाइन्ससँग रहेका यस मोडलका ६२ जहाज बन्द भएका छन् । कोरियन एअरसँग रहेका ६ विमान समेत ग्राउण्डेड भएका छन् । बोइङका अनुसार यस मोडलका कुल १ सय २८ जहाज बनेका छन् । ती जहाजमा शनिबार भएको घटनाजस्तै इन्जिन प्रयोग भएको छ ।

    बोइङले जाँचपछि समस्या पत्ता लाग्ने र त्यसको समाधानको उपाय दिने बताएको छ । त्यतिन्जेल प्रेट एण्ड ह्विटनी ४०००–११२ इन्जिन प्रयोग भइरहेको ६९ र स्टोरमा राखिएका ५९ विमानको प्रयोग रोक्न सिफारिस गरिएको कम्पनीले जनाएको छ ।

  • अमेरिकाको डेनभरमा २४२ यात्रु बोकेको युनाइटेड एयरको जहाज ठूलो दुर्घटनाबाट बच्यो

    अमेरिकाको डेनभरमा २४२ यात्रु बोकेको युनाइटेड एयरको जहाज ठूलो दुर्घटनाबाट बच्यो

    डेनभर । अमेरिकाको डेनभरमा युनाइटेड एयरलाइन्सको एक जहाज ठूलो दुर्घटना हुनबाट बचेको छ । आकासमै इन्जिन फेल भई आगो लागेको जहाजलाई पाइलटले कुशलतापूर्वक अवतरण गराए । उनको यो बहादरीका कारण २३१ यात्रु र चालक दलका १० यात्रुको ज्यान बच्न सफल भएको छ । यो घटना शनिबारको हो ।

    २३१ यात्रु र १० जना चालक दलका सदस्य बोकेर डेनभरबाट होनोलुलुका लागि उडेको युनाइटेड एयलाइन्सको बोइङ ७७७-२०० जहाजको दाँयातर्फको इन्जिनमा टेकअफ हुनासाथ समस्या देखिएको थियो । इन्जिनमा समस्या आएको पत्ता पाएका क्याप्टेनले तत्काल एटीसीसँग सहयोग मागेका थिए ।

    पाइलटले यो जहाजलाई थप अगाडी बढाउने फैसला लिएनन र डेनभरमै आपतकालिन अवतरण गराए । अमेरिकी संचारमाध्यमहरुका अनुसार डेनभर अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार दिउँसो पौने १ बजे उडेको जहाज साढे १ बजे विमानस्थलमै आपतकालिन अवतरण गराइएको थियो ।

    आगो लागेका इन्जिनका टुक्रा आकासबाटै जमिनमा खसेको समेत बताइएको छ । डेनभर विमानस्थलले जहाजका सबै यात्रु र चालक दलका सदस्य सकुशल रहेको बताएको छ । अमेरिकाको नेशनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डले जहाजमा आएको खराबीबारे अनुसन्धान गर्ने समाचारमा उल्लेख छ ।

  • वैदेशिक व्यापार : नेपालको अमेरिकासँग सबैभन्दा सन्तुलित व्यापार

    वैदेशिक व्यापार : नेपालको अमेरिकासँग सबैभन्दा सन्तुलित व्यापार

    काठमाडौं । नेपाल उच्च व्यापार घाटा भएको मुलुक हो । नेपालले औसतः १ सय रुपैयाँको व्यापार गर्दा ९२ रुपैयाँ बराबरको आयात गर्छ भने ८ रुपैयाँ बराबरको मात्र निर्यात गर्छ । यसले व्यापार घाटा चुलिएको छ । तर, अमेरिकासँगको व्यापार भने सन्तुलित रहेको पाइएको छ ।

    भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ७ महिनामा नेपालले अमेरिकाबाट ९ अर्ब ४५ करोड रुपैयाँ बराबरको सामान आयात गरेको छ । यो अवधिमा नेपालबाट अमेरिका भने ७ अर्बको सामान निर्यात भएको छ । यसले नेपाल र अमेरिकाबीच सन्तुलित व्यापार रहेको देखाएको छ । दुई मुलुकबीचको व्यापारमा नेपालतर्फ मात्र २ अर्ब ४५ करोड रुपैयाँ हाराहारीको मात्र व्यापार घाटा रहेको छ ।

    तर, समग्र वैदेशिक व्यापार घाटा भने उच्च रहेको छ । नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार भारतसँग रहेको छ । सोहीकारण व्यापार घाटा समेत सोही मुलुकसँग ठूलो छ । ७ महिनामा नेपालले भारतबाट ५ खर्ब ३१ अर्ब ९५ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यसअवधिमा निर्यात भने मात्र ४९ अर्ब ९२ करोड बराबर रहेको छ । भारतसँग व्यापार घाटा ४ खर्ब ८२ अर्ब १ करोड रहेको छ ।
    यस अवधिमा चीनतर्फ मात्र ५५ करोडको सामान निर्यात हुँदा १ खर्ब १६ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । चीनसँग १ खर्ब १५ अर्ब ५६ करोड रुपैयाँ बराबरको व्यापार घाटा छ ।
    बढ्यो आयात
    नेपालमा वस्तु आयात भने कोरोना भाइरसको महामारी शुरु हुनु भन्दा अगाडि कै अवस्थामा पुगेको छ । चालु आर्थिक वर्ष २०७७\७८ को सातौं महिना (साउन-माघ)सम्म कुल ८ खर्ब ३ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आवको यसै अवधिमा ८ खर्ब ३ अर्ब ६० करोडको वस्तु आयात भएको थियो । ७ महिनामा नेपालबाट ६९ अर्ब ९१ करोड ७० लाख रुपैयाँ बराबरको मात्र वस्तु निर्यात भएको छ ।


    ७ महिनाको अवधिमा कुल वैदेशिक व्यापारको आकार ८ खर्ब ७३ अर्ब ५६ करोड पुगेको छ । तथ्यांकअनुसार ७ महिनाको अवधिमा नेपालको व्यापार घाटा ७ खर्ब ३३ अर्ब पुगेको छ । यो गत आवको तुलनामा मात्र ०.६६ प्रतिशत कम हो ।

  • नासाको यान मंगल ग्रहमा सफल अवतरण

    नासाको यान मंगल ग्रहमा सफल अवतरण

    काठमाडौं । अमेरिकी अन्तरीक्ष एजेन्सी (नासा)को अन्तरिक्ष यान मंगल ग्रहमा सफल अवतरण गरेको छ । बिबिसीका अनुसार यो यानलाई सात महिनाअघि जमिनबाट पठाइएको थियो । आधा अर्ब किलोमिटर पार गर्दै यान शुक्रबार बिहान मंगल ग्रहमा सफल अवतरण गरेको छ ।

    मंगल ग्रहमा अवतरण गरेसँगै यानबाट एक तस्वीर प्राप्त भएको छ । यो यानलाई ‘पिर्जाभियरेन्स मार्स रोभर’ नाम दिइएको छ । यो सफलतालाई वैज्ञानिकहरुले ठूलो उपलब्धीका रुपमा लिएका छन् ।

    मंगलग्रहमा यानको सफल अवतरण नै ठूलो उपलब्धी भएको उनीहरुको भनाई छ । उनीहरु मान्छन्, यो निकै चूनौतिपूर्ण काम हो । सन् १९७० पछि नासाको यो पहिलो मिसन हो, जसले मंगल ग्रहमा जीवनको संकेत खोजी गर्ने छ ।

    यो मिसनलाई नासाको सबैभन्दा महात्वाकांक्षी योजनाको रुपमा समेत लिइएको छ । यानले मंगल ग्रहमा सुकिसकेको एक खण्डहर पोखरी र अर्बौं वर्ष पहिले माइक्रो–अर्गानिज्मको कुनै पनि चिह्न वा गतिविधिको पनि अनुसन्धान गर्ने भएको छ ।

  • अमेरिकाको टेक्साससहित राज्यमा हिमआँधी, कम्तिमा २३ को मृत्यु

    अमेरिकाको टेक्साससहित राज्यमा हिमआँधी, कम्तिमा २३ को मृत्यु

    टेक्सास । अमेरिको टेक्सास र यस आसपासका क्षेत्रमा हिमआँधीमा परी कम्तिमा २३ जनाको ज्यान गएको छ । अमेरिकाका मध्य तथा दक्षिणी राज्य आँधिबाट प्रभावित बनेका छन् । टेक्सासमा विजुली काटिएको छ । यसले राज्यभर अन्धकार बनाएको अमेरिकी संचारमाध्यमले जनाएका छन् । मंगलबार आएको आँधीले कोरोना खोप वितरण अभियान प्रभावित बनेको छ । आगामी आइतबारसम्म नै आँधिको असर देखिने भएको छ ।


    टेक्सास, लुसियाना, केन्टुकी र मिजौरीसहितका राज्य आँधिबाट प्रभावित छन् । घटनामा कम्तिमा २३ जनाको मृत्यु भइसकेको रिर्पोट आएको छ । नर्थ क्यारोलाइना, ओरेगन राज्य समेत प्रभावित बनेका छन् । बिजुलीको अभावमा चिसो बढेको छ । संचार सम्पर्क समेत विच्छेद भएको छ । केही राज्यले मंगलबार विद्यालय समेत बन्द गराएका छन् ।

    चिसो मौसम र तीव्र हावाका कारण मागअनुसार बिजुली आपूर्ति नभएको सरकारी अधिकारीले जनाएका छन् । टेक्सासको तापक्रम माइनस १८ डिग्रीसम्म झरेको छ । हिमआँधीले मेक्सिकोमा पनि प्रभाव पारेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रभावित राज्यहरूमा आपतकालीन सहयोग गर्न प्रशासन तयार रहेको बताउँदै टेक्सासमा आपतकाल घोषणा गरेको संचारमाध्यमले लेखेका छन् ।

  • अमेरिकी ब्लगरको हत्या मुद्दामा इस्लामिक लडाकु समूहका ५ जनामाथि मृत्युदण्डको फैसला

    अमेरिकी ब्लगरको हत्या मुद्दामा इस्लामिक लडाकु समूहका ५ जनामाथि मृत्युदण्डको फैसला

    ढाका । बंगलादेशको अदालतले इस्लामिक लडाकु समूहका ५ सदस्यलाई मृत्युदण्डको फैसला सुनाएको छ ।

    अमेरिकी ब्लगर अभिजित रोयको ६ वर्षअघि हत्या गरेको अभियोगमा उनीहरुलाई मृत्युदण्डको फैसला गरेको हो । बंगलादेश मूलका अमेरिकी रोय २०१५ मा बंगलादेश फर्किएका बेला उनको हत्या भएको थियो ।

    उक्त घटनाको मुद्दामा एक जनालाई आजीवन कारावास तोकेको छ । अधिकारीहरुका अनुसार ती ६ जना व्यक्तिहरु नै अलकायदा सम्बद्ध घरेलु लडाकु समूह अन्सार उल्लाह बांग्लाका सदस्य हुन्। एक दर्जन ब्लगर र धर्मनिरपेक्षतावादी अभियन्ताहरुको हत्यामा उनीहरु संलग्न रहेको प्रहरीले जनाएको छ ।

    यद्यपि ती ६ अभियुक्तले उच्च अदालतमा निवेदन दिनसक्ने जनाइएको छ । इस्लामिक स्टेट वा अलकायदा सम्बद्ध समूहहरुले बंगलादेशमा २०१३ देखि २०१६ बीचमा धर्मनिरपेक्षतावादी अभियन्ता, ब्लगर, धार्मिक अल्पसंख्यकहरुमाथि लक्षित गर्दै सृंखलावद्ध हमला गरेको विभिन्न रिपोर्टले जनाएका छन् । २०१६ को जुलाइमा ढाकास्थित भएको गम्भीर हमलामा २२ जना मारिएका थिए ।

  • अमेरिकामा नेपाली सिकाउने एएनएचएस एकेडेमीको पाँचौ बार्षिकोत्सब सम्पन्न

    अमेरिकामा नेपाली सिकाउने एएनएचएस एकेडेमीको पाँचौ बार्षिकोत्सब सम्पन्न

    कल्पना घिमिरे/भर्जिनिया

    अमेरिका नेपाल सहयोगी समाजद्धारा सञ्चालित अमेरिका नेपाल शिक्षा सदन (एएनएचएस एकेडेमी)ले आइतबार आफ्नो पाँचौ बार्षिकोत्सब सम्पन्न गरेको छ । भर्जिनिया राज्यको मनाससस्थित सञ्चालित एकेडेमीले अमेरिकामा बसोबास गरिरहेका नेपाली बालबालिकालाई मौलिक नेपाली संस्कृति, परम्परा र नेपाली भाषा सिकाउने उदेश्यले नेपाली भाषा कक्षा सञ्चालन गर्दै आएको हो । बिगत वर्षहरुमा कक्षाकोठामै शिक्षण गर्दै आएको एएनएचएस एकेडेमीले अमेरिकामा कोभिड १९ को महामारी पछि जुम मार्फत अनलाइन कक्षा सञ्चालन गरिरहेको छ । अमेरिकाको स्कुलमा अध्ययनरत नेपाली बालबालिकाको बिदाको दिन पारेर हरेक आइतबार नेपाली कक्षामा सहभागी गराएर पढाउने गरिएको छ ।

    सन् २०१६ मा १०/१२ जना विद्यार्थी र एक शिक्षिकाबाट सुरु गरिएको एकेडेमीमा हाल १०० भन्दा बढी बिद्यार्थी र १०/१२ जना शिक्षक शिक्षिका सक्रिय छन् । कोभिड १९ को महामारी अघिसम्म स्थानीय स्कुलमै कक्षाकोठाहरु भाडामा लिएर कक्षा सञ्चालन गरिँदै आएको थियो । कोभिड १९ ले अमेरिकालाई निकै प्रभावित बनाएपछि स्थलगत कक्षा बन्द गरेर अनलाइन शिक्षणको ब्यवस्था मिलाएको हो ।

    एकेडेमीले हाल बिभिन्न ४ समुहमा बिभाजन गरी बिद्यार्थीलाई पढाइरहेको छ । ६ वर्षसम्मका बालबालिकालाई आधारभुत सिकाइका लागि अन्नपूर्ण कक्षा, ८ वर्ष सम्मका बालबालिकालाई मध्यमतहको सिकाइका लागि कन्चनजंगा कक्षा, १० वर्ष सम्मका बालबालिकालाई उच्च तहको सिकाइका लागि सगरमाथा कक्षा र ६ वर्ष भन्दा माथि उमेरका आधारभुत ज्ञानसमेत नभएका बालबालिकाको लागि ब्रिजकोर्स कक्षा सञ्चालन भइरहेको छ । भर्जिनिया राज्यसंगै न्युर्योक, न्यूजर्सी, नर्थ क्यारोलिना लगायत अन्य राज्यका बालबालिका पनि अनलाइन कक्षामा जोडिएका छन् ।

    बार्षिकोत्सब सम्पन्नसंगै यस वर्षको शैषिक सत्र सकिएको छ । एकेडेमीले आगामी मार्च महिनाको पहिलो आइतबारदेखि नयाँ शैक्षिक सत्र सुरु गर्नेछ । एकेडेमीले आफैँ पुस्तक प्रकाशन गरेर विद्यार्थीलाई निशुल्क पुस्तक वितरण गर्दै आएको छ । बिद्यार्थीलाई कक्षामा सहभागी हुन प्रोत्साहन मिलोस भनेर ‘स्टुडेन्ट अफ द मन्थ’, ‘स्टुडेन्ट अफ द इयर’ कार्यक्रम राखेर पुरस्कारहरु बितरण गर्ने गर्दछ ।

    कार्यक्रममा जुम मार्फत सहभागी नेपाल सरकार शिक्षा, बिज्ञान तथा प्रबृधि मन्त्रालयका सचिब तथा शिक्षाबिद् गोपीनाथ मैनालीले बिदेशमा बसेर पनि आफ्नो भाषा संस्कृति जोगाउन गरेको नेपाली समाजको योगदानको खुलेर प्रंससा गरे । ब्यक्तिगत तर्फबाट र सरकारको तर्फबाट आफुले गर्न सक्ने सहयोग गर्न प्रतिवद्ध रहेको पनि बताए । कार्यक्रममा बोल्दै सचिब मैनालीले भने, ‘नेपाल भन्दा बाहिर रहेर पनि माटो र मुटुको सम्बन्ध कायम गर्न, आफ्नो संस्कृति र पहिचान जोगाइरहन गरेको कार्य अति नै सराहनीय छ । नेपाली भाषा संस्कृति, पहिचान विश्वसामु फैलाउने एएनएचएस एकेडेमी परिवारप्रति बिशेष धन्यबाद ब्यक्त गर्दछु ।’

    बालबालिकाका अबिभावकहरुले मनैदेखि सहयोग र साथ दिएकाले आज यतिको सफलता हाँसिल भएको अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष केदार तिम्सिनाले बताए । ‘अबिभावकको साथ, शिक्षकहरुको निरन्तरको खटाइ र बालबालिकाको सक्रियताले आज हामी ५ औं बार्षिकोत्सब मनाउन सफल भएका हौं,’ उनले भने  ‘एकेडेमी परिवारले आँफैले पाठ्यक्रमको करिकुलम बनाएर बालबालिकाका लागि सहज हुने किसिमको पुस्तक प्रकाशन गरेको हो । लेखक शिब लामिछानेले बालबालिकाको सिकाइमा प्रयोग भइरहेको पाठ्यपुस्तक तयार पारेका हुन् । अनलाइन कक्षा सञ्चालन गर्नका लागि प्राबिधिक रुपमा सक्रिय शिब तिम्सिना लगायत सम्पूर्ण एकेडेमी परिवारकै मेहनत र लगनशिलताले नेपाली भाषा कक्षालाई निरन्तरता दिन सकिएको हो ।’

  • ट्रम्पको ट्वीटर खाता अब नखुल्ने

    ट्रम्पको ट्वीटर खाता अब नखुल्ने

    वासिंटन डिसी । अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर खाता अब सधैँका लागि बन्द भएको छ । ट्वीटरले फेरि नखोल्ने गरि उनको खाता प्रतिबन्ध गरेको अमेरिकी संचारमाध्यमले जनाएका छन् । ट्वीटरका प्रमुख वित्तीय अधिकारीका अनुसार पूर्वराष्ट्रपति ट्रम्पले अब कहिल्यै पनि ट्वीटर चलाउन पाउने छैनन् ।

    अघिल्लो महिना ह्वाइटहाउसमा ट्रम्प समर्थकलाई हिंसा भड्काउन उत्तेजित बनाएको भन्दै ट्वीटरले उनको ट्वीटर खाता प्रतिबन्धमा राखेको थियो । अमेरिकी राष्ट्रपति चुनावमा हार बेहोरेपछि ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत हिंसालाई प्रोत्साहित गर्ने ट्वीट गरेको आरोप लागेको छ । उनी चुनावमा धाँधली भएको दाबी गर्छन् । यसअघि अघिल्लो महिनामा ह्वाइटहाउसबाट बाहिरिनु अगाडी उनका समर्थकले अमेरिकी संसद भवनमा हिंसा मच्चाएका थिए ।

  • ट्रम्पमाथिको महाअभियोग प्रस्ताव सिनेटमा असफल

    ट्रम्पमाथिको महाअभियोग प्रस्ताव सिनेटमा असफल

    वासिंटन डिसी । अमेरिकी निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लगाइएको महाअभियोग प्रस्ताव अमेरिकाको माथिल्लो सदन सिनेटमा पुगेर असफल बनेको छ । अमेरिकी संसद भवन (क्यापिटल हिल)मा हिंसा भड्काएको आरोप उनीमाथि छ । सोहीकारण आगामी निर्वाचनमा उनको उमेदवारी रोक्न ट्रम्पमाथि महाअभियोग लगाउनु पर्ने प्रस्ताव सिनेटमा पेस भएको थियो ।

    सो प्रस्तावमा शनिबार भएको भोटिङबाट उनको महाअभियोग प्रस्तावको पक्षमा दुई तिहाई पुगेन । दुई तिहाइ बहुमत नपुगेपछि ट्रम्पमाथिको प्रस्ताव असफल भएको हो । ५७ सिनेटरले महाअभियोगको पक्षमा र ४३ सिनेटरले महाअभियोगको विपक्षमा मतदान गरे ।

    दुई तिहाइ पुग्न ६७ मत पक्षमा आउनु पर्ने थियो । यसअघि संसदले जो बाइडनलाई नयाँ राष्ट्रपति निर्वाचित भएको घोषणा गर्ने दिन ट्रम्पका समर्थकले संसद भवनभित्र वितण्डा मच्याएका थिए । घटनामा दुई जनाको ज्यान गएको थियो ।

  • अमेरिकाको टेक्सासमा भयानक सडक दुर्घटना, कम्तिमा ६ को मृत्यु

    अमेरिकाको टेक्सासमा भयानक सडक दुर्घटना, कम्तिमा ६ को मृत्यु

    टेक्सास । अमेरिकाको टेक्सासमा भएको एक भयानक सडक दुर्घटनामा कम्तिमा ६ जनाको मृत्यु भएको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार टेक्सासको अन्तरराज्य सडकमा बिहीबार बिहान करीव एक सय गाडी एक आपसमा ठोक्किएका छन् ।

    घटना बिहानको समयमा भएको हो । दुर्घटनामा कम्तिमा ६ जनाको मृत्यु पुष्टी भइसकेको र कैयौं मानिस घाइते भएको बताइएको छ । न्युयोर्क टाइम्सका अनुसार दर्जनौं मानिस सवारीभित्रै थुनिएको अवस्थामा उद्धार गरिएको हो । खासगरी हिँउ परेर लिप्लो भएको सडकमा गाडीहरु ठोक्किएको बताइएको छ ।

    फोर्ट वर्थ फायर डिपार्टमेन्टका अनुसार दुर्घटनामा १८ चक्के गाडी कार धेरै छन् । दुर्घटनामा कम्तिमा ३६ जना गम्भीर घाइतेको अस्पताल उपचार जारी छ । ६५ जना भने सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।

  • म्यानमारमाथि अमेरिकाले लगाउने भयो प्रतिवन्ध, कार्यकारी आदेशमा हस्ताक्षर

    म्यानमारमाथि अमेरिकाले लगाउने भयो प्रतिवन्ध, कार्यकारी आदेशमा हस्ताक्षर

    वासिंटन डिसी । अमेरिकाले म्यानमारमाथि प्रतिवन्ध लगाउने भएको छ । हालै निर्वाचित सरकारलाई अपदस्त गरी सेनाले सत्ता हत्याएपछि राष्ट्रपति जो बाइडेनले म्यानमारमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए । उनले यस्तो निर्णयको कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

    राष्ट्रपति बाइडेनले बुधबार म्यानमारमा सैनिक कूको योजना बनाउने, कू गर्ने सेनाका जनरल र उनीहरूका परिवारका सदस्यहरूलाई प्रतिबन्ध लगाउने गरी आदेशमा हस्ताक्षर गरेका हुन् ।


    राष्ट्रपतिले आदेशमा हस्ताक्षर गरेसँगै अमेरिकाले पहिलो चरणमा एक साताभित्र कसलाई कुन कुन काममा प्रतिबन्ध लगाउने भन्ने निश्चित गरिने भएको छ । म्यानमार सरकारको १ अर्ब अमेरिकी डलर अमेरिकामा छ । यस रकममाथि सेनाका जनरलहरुको पहुँचमा रोक लगाउने समेत तयारी अमेरिकाको रहेको छ ।

    यसबाहेक निर्यातमा कडाई गरिने छ । म्यानमार सरकारलाई फाइदा पुग्ने अमेरिकी सम्पत्ति फ्रिज हुने भएको छ । तर स्वास्थ्य हेरचाह, नागरिक समूह र म्यानमारका जनतालाई प्रत्यक्ष फाइदा पुग्ने अन्य क्षेत्रको सहयोग भने जारी नै रहने भएको छ ।

  • बाइडेन र मोदीबीच टेलिफोन वार्ता, कुन एजेण्डामा कुरा भयो ?

    बाइडेन र मोदीबीच टेलिफोन वार्ता, कुन एजेण्डामा कुरा भयो ?

    नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार वार्ता म्यानमारमा उत्पन्न परिस्थितिमा मुख्य केन्द्रित थियो । तर, प्रधानमन्त्री मोदीले राष्ट्रपति बाइडेनलाई राष्टपतिमा निर्वाचित भएकोमा बधाई ज्ञापन गरेका छन् ।

    बाइडेनले २० जनवरीमा अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेका हुन् । बाइडेन र भारतीय प्रधानमन्त्री मोदीबीच पहिलो पटक औपचारिक वार्ता भएको हो । वार्तामा क्षेत्रीय भू राजनीति, समसामयिक विश्व परिवेश, जलवायु परिवर्तन र आपसी सहकार्यका विषयमा छलफल भएको बताइएको छ ।


    भारतीय प्रधानमन्त्री मोदीले बाइडेनलाई बधाई र सफल कार्यकालका लागि शुभकामना दिए । उनले आफु भारत अमेरिका रणनीतिक सहकार्यमा आतुर रहेको आश्वासन समेत दिए । मोदीले मोदीले पेरिस जलवायु सम्झौतामा अमेरिका फेरि जोडिने विषय स्वागतयोग्य रहेको बताएका थिए ।

    बाइडेनले आगामी अप्रिलमा जलवायु सम्मेलनको समेत आयोजना गर्दैछन् । दुई नेताबीच कोरोना विरुद्ध सहकार्य गर्ने र विश्व आतंकवादका विरूद्ध एक ठाउँमा उभिने सम्बन्धमा समेत कुराकानी भएको छ ।

  • अमेरिकामा खोप अभियान सेनामार्फत

    अमेरिकामा खोप अभियान सेनामार्फत

    वासिंटन डिसी । संयुक्त राज्य अमेरिकाले कोरोना भाइरसको खोप अभियान सेनामार्फत परिचालन गर्ने भएको छ । अमेरिकामा हालै कोभिड १९ विरुद्धको खोप अभियान शुरु भएको छ । यसका लागि सहयोग गर्न सेना परिचालन गर्ने निर्णय भएको हो । अमेरिकामा कोभिडका कारण ज्यान जाने नागरिकको संख्या घटेको छैन । यसले यहाँ थप चिन्ता समेत बढाएको छ ।

    अमेरिका कोरोनाबाट सर्वाधिक प्रभावित मुलुक हो । अमेरिकाको फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीले सेना परिचालनका लागि गरेको अनुरोधलाई रक्षा मन्त्रालयले स्वीकार गरेको छ। अमेरिकी रक्षामन्त्री लियोद अस्टिनसँग फेडरल ब्युरोले सेनाको सहयोगका लागि अनुरोध गरेको थियो ।

    अमेरिकी संचारमाध्यमहरुका अनुसार यो प्रस्ताव स्वीकार भएको छ । सहयोगअन्तर्गत अमेरिकी रक्षा मन्त्रालयले सो इमर्जेन्सी विभागका लागि एक हजार ११० जना सैनिक खटाउने भएको छ ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले यही फेब्रुअरी १५ सम्ममा देशभर सबै नागरिकलाई आम रूपमा यो खोप दिने प्रयोजनका लागि कम्तीमा पनि १०० वटा खोप केन्द्रहरू सार्वजनिक स्थलमा राखिने जानकारी दिएका छन् ।

  • अमेरिकी सिनेटले अघि बढ्यो प्रतिव्यक्ति १४ सय डलर दिने प्रस्ताव, मार्चसम्ममा आउने

    अमेरिकी सिनेटले अघि बढ्यो प्रतिव्यक्ति १४ सय डलर दिने प्रस्ताव, मार्चसम्ममा आउने

    अमेरिकी संसदको माथिल्लो सदन सिनेटले यो बर्षको बजेट विधेयक पारित गरेको छ । राष्ट्रपति जो बाइडेनले प्रस्ताव गरेको झन्डै २० खर्ब (दुई ट्रिलियन) डलरको कोरोना भाइरस राहत प्याकेजलाई पनि बजेटमा समेट्ने व्यवस्था उक्त विधेयकले गरेको हो।

    अब रिपब्लिकन सिनेटरहरुको समर्थनबिना पनि उक्त राहत प्याकेज पारित हुन सक्छ । बाइडेनले कोरोना भाइरससँग जुध्न १‍‍.९ ट्रिलियन राहत प्याकेज प्रस्ताव गरेका छन् ।

    रिपब्लिकनहरुले उक्त प्याकेज धेरै खर्चिलो भएको भन्दै समर्थन गर्न मानेका छैनन् । १० रिपब्लिकन सिनेटरले केही दिन अघि ६०० अर्ब डलरको छुट्टै प्रस्ताव तयार पारेर राष्ट्रपति बाइडेनसँग भेट गरेका थिए । बाइडेन सहित डेमोक्रेटिक नेतृत्व उक्त प्रस्तावमा सहमत भएको छैन । यस्तोमा दलिय लाइन अनुसार मात्रै राहत प्याकेज पारित हुने सम्भावना पनि बढेको छ ।

    बाइडेनको प्रस्तावमा प्रत्येक अमेरिकीलाई १४ सय डलरको आर्थिक सहायता प्रदान गर्ने उल्लेख गरिएको छ । त्यस्तै मार्चमा अन्त्य हुने बेरोजगार भत्ताको अवधि पनि लम्ब्याइनेछ ।

    राहत प्याकेजलाई बजेटमा समेटेर मार्च १५ भित्र संसदबाट पारित गर्ने तयारी डेमोक्रेटहरुले गरेका छन् । बजेट पास गर्न संसदका दुबै सदनको साधारण बहुमत काफी हुन्छ। अन्य विधेयक भने तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभको साधारण बहुमत र सिनेटको ६० भोट हुँदा मात्र पारित हुन सक्छन् ।

    अहिले सिनेटमा डेमोक्र्याट र रिपब्लिकनका ५०/५० सिनेटर रहेका छन् । रातभर बहस भएर शुक्रवार विहान पारित भएको बजेट विधेयकमा दुबै दल आ-आफ्नो लाइन अनुसार मतदान गरेका थिए । उपराष्ट्रपति कमला ह्यारिसले बजेटको पक्षमा निर्णायक मत खसालेपछि विधेयक पारित भएको हो ।

    विधेयक सैद्धान्तिक रुपले पारित भएपनि राष्ट्रपति बाइडेन रिपब्लकिनहरुसँगको सहमतिमै राहत प्याकेज पास गर्ने प्रयासमा छन् । त्यसका लागि १४ सय डलर पाउने व्यक्ति र परिवारको आय सीमा घटाउने बारे आफुले पुनर्विचार गर्न सक्ने उनले बताइ सकेका छन् ।

    उनले सुरुमा बार्षिक ७५ हजार डलरसम्म कमाउने व्यक्ति या एक लाख ५० हजार डलरसम्म कमाउने परिवारलाई यो रकम दिने प्रस्ताव गरेका थिए । अहिले व्यक्तिको हकमा ५० हजार र परिवारको हकमा एक लाख डलरमा झार्ने पक्षमा डेमोक्र्याटहरु सहमत भएका हुन् । राहत प्याकेज पारित भए कोरोना भाइरस महामारी विरुद्धमा जुध्नका अलावा अर्थतन्त्रलाई ढल्नबाट जोगाउने सिनेटको बजेट कमिटी अध्यक्ष बर्नी स्यान्डर्सले बताएका छन् ।

    राहत प्याकेजमा नागरिकलाई नगद अनुदान र बेरोजगार भत्ता बाहेक साना तथा मझौला व्यवसाय एवं राज्य र स्थानीय सरकारहरुका लागि रकमको व्यवस्था गरिएको छ ।

  • यमनमा हुथी विद्रोहीविरुद्ध सेनालाई दिएको साथ अमेरिकाद्धारा फिर्ता

    यमनमा हुथी विद्रोहीविरुद्ध सेनालाई दिएको साथ अमेरिकाद्धारा फिर्ता

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले यमनमा सेनालाई दिएको समर्थन फिर्ता गर्ने घोषणा गरेका छन् । यमनले हुथी विद्रोहीविरुद्ध आक्रामक कारबाही गर्दा त्यसमा अमेरिकी सेनाले समेत साथ दिने गरेको थियो । छ वर्षभन्दा लामो समयदेखि यहाँ युद्ध जारी छ ।

    बीबीसीका अनुसार युद्धकै कारण यमनमा १ लाख १० हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ । यमनमा युद्ध अन्त्य हुनुपर्ने भन्दै राष्ट्रपति बाइडेनले विदेश नीतिबारे पहिलोपटक वक्त्व्य जारी गरेका छन् । हुथी विद्रोहीविरुद्ध यमनमा साउदी अरेबियाको नेतृत्वको गठबन्धनले युद्धमा भाग लिइरहेको छ ।

    यसमा अमेरिकाको समर्थन रहेको छ । सन् २०१४ मा यमनको कमजोर सरकार र हुथी विद्रोहीबीच लडाइँ सुरु भएपछि साउदी अरेबिया र आठ अन्य अरब देशसहित अमेरिका, यूके र फ्रान्सले हुथीविरुद्ध हवाई हमला थालेका हुन् । त्यसपछि नरसंहार शुरु भएको हो ।

    यो समर्थन फिर्ताले अलकायदाविरुद्धको कारबाहीलाई भने यसले नगर्ने बीबीसीले लेखेको छ । बाइडेनको घोषणासागै अब अमेरिकाले आक्रामक कारबाही रोक्ने भएको छ । अमेरिकाले साउदी अरेबिया र संयुक्त अरब एमिरेट्सलाई हतियार समेत बिक्रि गर्ने छैन ।

  • संयुक्त राष्ट्रसंघका प्रमुखद्वारा म्यान्मारको सैन्य ‘कू’ विफल पार्न आह्वान

    संयुक्त राष्ट्रसंघका प्रमुखद्वारा म्यान्मारको सैन्य ‘कू’ विफल पार्न आह्वान

    न्युयोर्क। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले गत सोमबार म्यान्मारमा भएको ‘कू’ विफल पार्न विश्व समुदायलाई आह्वान गरेका छन्। महासचिव गुटेर्रेसले म्यान्मारमा संवैधानिक व्यवस्था पुनर्स्थापित गर्न आह्वान गरेका हुन्। उनले यो विषयलाई लिएर सुरक्षा परिषद्मा एकता हुने आशा रहेको बताए।

    “यो ‘कू’ विफल बनाउन म्यान्मारमाथि पर्याप्त दबाब दिनका लागि अन्तर्राष्ट्रिय समुदायका प्रमुखहरूलाई परिचालन गर्न आवश्यक सबै हामी गर्नेछौँ,” उनले बताए। “जनचाहना र चुनावको परिणामलाई उल्ट्याउनु पूर्ण रूपमा अस्वीकार्य छ। म आशा गर्छु कि म्यान्मारको सेनालाई देश चलाउने तरिका यो होइन भनेर बुझाउन सम्भव छ,” गुटेर्रेसले बताए।

    सेनाले सत्ता हातमा लिनुअघि निर्वाचित नेतृ आङ सान सुकीलाई गिरफ्तार गरेको थियो। म्यान्मारको प्रहरीले सुकीविरुद्ध विभिन्न अभियोगहरू लगाएको छ र फेब्रुअरी १५ तारिखसम्म उनी हिरासतमा रहनेछिन्। सेनाले सत्ता हातमा लिएपछि सुकी र राष्ट्रपति विन मिनका तर्फबाट कुनै किसिमका प्रतिक्रियाहरू आएका छैनन्।

    म्यान्मारमा सेनाद्वारा एक वर्षका लागि सङ्कटकाल लागु गरेको र सेनाले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरिने बताएको छ। गत नोभेम्बरमा भएको चुनावमा धाँधली भएको आरोप सेनाले लगाएको छ। उक्त चुनावमा सुकीको दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)ले अत्यधिक मत ल्याएको थियो। गत नोभेम्बरको चुनावबाट संसदको तल्लो र माथिल्लो दुवै सदनका कूल ४७६ स्थानमध्ये सुकीको दल एनएलडीले ३९६ स्थान जितेको छ।

    सन् २००८ को संविधानबमोजिम सेनालाई संसदको कूल स्थानको २५ प्रतिशत छुट्याइएको छ। साथै कतिपय महत्त्वपूर्ण मन्त्रालय पनि सेनालाई नै दिइएको छ।

    सेनाले फेसबुकलाई बन्द गर्न निर्देशन दिएको पनि समाचारमा जनाइएको छ। सामाजिक सञ्जालहरूले स्थायित्वको पुनर्स्थापनामा बाधा पुर्‍याएको भन्दै सेनाले त्यस्तो निर्देशन दिएको हो।

    बिहीबार प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा पहुँच नभएको बताएका थिए। ‘कू’को विपक्षमा बनाइएको फेसबुक पेजमा दशौँ हजार लाइकहरू आएका छन्।

    एएफपी

  • अमेरिकामा संघीय जाँच ब्यूरोका दुई कर्मचारीको गोली हानी हत्या

    अमेरिकामा संघीय जाँच ब्यूरोका दुई कर्मचारीको गोली हानी हत्या

    फ्लोरिडा । संयुक्त राज्य अमेरिकामा संघीय जाँच ब्युरो (एफबिआई)का दुई कर्मचारीको गोली हानी हत्या भएको छ । कुनै केशको अनुसन्धानका सिलसिलामा घरमा गएका बेला उनीहरुमाथि गोली प्रहार भएको बताइएके छ । यो घटना फ्लोरिडा राज्यमा भएको हो ।

    घटनामा तीन जना घाइते भएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार सन् २००८ पछि अमेरिकामा काममा खटिएकै बेला एफबिआई कर्मचारीमाथि हमला भएको यो पहिलो घटना हो । मृत्यु हुनेमा डेनिअल अल्फिन र लाउरा च्वर्जेन्बर्गर रहेका छन् ।

    फ्लोरिडाको सनराइजस्थित एक घरमा बच्चामाथि अपराध भएको उजुरी परेको थियो । त्यसपछि अदालतबाट पक्राउ पुर्जी लिएर पुगेका एजेन्टमाथि नै गोली हानिएको हो । घटना स्थानीय समय अनुसार मंगलबार बिहान ६ बजे भएको थियो । पोर्नोग्राफी सम्बन्धी मुद्दामा उनीहरु त्यहाँ पुगेको बताईएको छ ।

    प्रहरीले अभियोग लागेका मान्छे समेत घरमा मृत भेटिएको बताएको छ । उद्दपी उनको मृत्युको कारण खुलेको छैन । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसकी प्रेस सेक्रेटरी जेन सोकीले घटनाबारे राष्ट्रपति जो बाइडेनलाई जानकारी गराइएको उल्लेख गरेकी छिन् ।

  • जनवरीमा भित्रिए ९ हजार पर्यटक, अमेरिकाबाट मात्र आए ८७४

    जनवरीमा भित्रिए ९ हजार पर्यटक, अमेरिकाबाट मात्र आए ८७४

    काठमाडौं । नेपालमा पर्यटक आगमन बढ्न थालेको छ । संसारभर कोरोना भाइरसको महामारी विरुद्ध खोप अभियान चलिरहेका बेला जनवरीमा पर्यटक आगमन सम्बन्धी सकारात्मक तथ्यांक सार्वजनिक भएको छ । अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जनवरी २०२१ मा ८ हजार ८ सय ७४ जना पर्यटक नेपाल भित्रिए ।

    यो संख्या गत वर्ष लकडाउन शुरु भएयताकै सबैभन्दा धेरै हो । यस अवधिमा ७ हजार २ सय ९२ जना पर्यटक नेपालबाट बाहिरिएको तथ्यांक छ । नेपाल आउने पर्यटकमा ठूलो संख्या भारतीय र चिनियाँ रहेको छ । तेस्रो स्थानमा अमेरिका छ ।

    नेपाल र भारतबीच हवाई यातायात संचालनमा आएसँगै जनवरीमा पर्यटक आगमन समेत वृद्धि भएको छ । विभागको आंकडा अनुसार भारतबाट जनवरीमा मात्र ४ हजार २८ जना पर्यटक भित्रिएका छन् । यस अवधिमा ३ हजार ५ सय ११ जना भारतीय पर्यटक बाहिरिएका छन् ।

    दोस्रो नम्बरमा रहेको चीनबाट यस अवधिमा १ हजार ८ सय ७७ जना पर्यटक नेपाल आए । तेस्रो स्थानमा अमेरिका रहेको छ । अमेरिकाबाट मात्र ८७४ जना पर्यटक नेपाल आएको तथ्यांक छ । बेलायतबाट १ सय ३६ जना पर्यटक नेपाल आए । एक महिनामा विभिन्न १ सय २१ मुलुकबाट पर्यटक नेपाल आएका छन् ।

  • अमेरिकाको न्यूर्योकसहित पूर्वी भेगमा हिमपात, जनजीवन प्रभावित

    अमेरिकाको न्यूर्योकसहित पूर्वी भेगमा हिमपात, जनजीवन प्रभावित

    न्यूर्योक । अमेरिकाको पूर्वी भेगमा आएको हिमआँधिले जनजीवन प्रभावित बनाएको छ । बीबीसीका अनुसार न्यूर्योक, न्यूजर्सीसहित पूर्वी भेगका अमेरिकी सहर भारी हिमपातबाट प्रभावित बनेका छन् । यी दुई शहरले आपतकाल घोषणा गरेका छन् ।

    अमेरिकी राष्ट्रिय मौसम सेवा विभागका अनुसार हिउँ आँधी न्यू इङ्ग्ल्यान्डतर्फ मोडिने क्रममा रहेको छ । हिमपातले न्यूजर्सीमा बस तथा रेल सेवा बन्द हुन पुगेको छ । न्यूयोर्कको हवाइ सेवा अवरुद्ध भएको छ । यस भेगमा कोरोना भाइरसको खोप वितरण अभियान समेत हिमपातका कारण प्रभावित भएको बताइएको छ ।

  • म्यानमारमा सैन्य कु बारे अमेरिकी राष्ट्रपति बाइडेनको चेतावनी, हस्तक्षेप हुन सक्ने संकेत

    म्यानमारमा सैन्य कु बारे अमेरिकी राष्ट्रपति बाइडेनको चेतावनी, हस्तक्षेप हुन सक्ने संकेत

    काठमाडौं । म्यानमारमा आम निर्वाचनबाट हालै निर्वाचित सरकारलाई हत्याएर सेनाले सत्ता आफ्नो हातमा लिएको छ । यस घटनाबारे अमेरिकी राष्ट्रपति जो बाइडनको प्रतिक्रिया सार्वजनिक भएको छ । बाइडेनले म्यानमारको सेनाविरुद्ध कदम चाल्ने चेतावनी दिएका छन् । उनले म्यानमारमा हस्तक्षेपको संकेत समेत गरेका छन् ।

    अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार म्यानमारको सेनाले सोमबार शासन सत्ता हातमा लिई नेतृ आङ सान सुकी, राष्ट्रपति विनमिन्टसहितका नेतालाई हिरासतमा राखेको छ । मुलुकमा एक वर्ष संकटकाल घोषणा भएको छ । रातमा मूख्य शहरमा कफ्र्यू घोषणा गरिएको छ ।

    म्यानमारी सेनाको यो कदमको विश्वभरका नेताले आलोचना गरिरहेका बेला बाइडनको कडा आलोचना सार्वजनिक भएको हो । उनले म्यानमारको सत्ता तत्काल फिर्ता गर्न सेनालाई आग्रह गरेका छन् । त्यसो नभए ‘उचित कदम’ चालिने उनको चेतानी छ । म्यानमारमा भएको कुको नेपालबाट पनि विभिन्न दलले चर्को विरोध गरेका छन् ।

  • न्युयोर्कका पशुपतीले नव गायक सुरेश लामालाई पठाए एक लाख भन्दा धेरै सहयोग

    न्युयोर्कका पशुपतीले नव गायक सुरेश लामालाई पठाए एक लाख भन्दा धेरै सहयोग

    न्युयोर्क  

    अमेरिकाको न्युयोर्क राज्यस्थित नेपाली समुदाय लक्षित एकाउन्टिङ सेवा प्रदान गर्दै आएका पशुपती श्रेष्ठले  हालै नेपालमा संचालन भइरहेको वाई वाई नेपाल स्टारमा टप ५ मा पर्न  सफल काठमाडौं तारेभिर निवासी सुरेश लामालाई एक लाख एक हजार एक सय एघार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।न्युयोर्कमा बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्ग संचालन गर्दै आएका  पशुपति श्रेष्ठले बिहीवार उक्त सहयोग पठाएका हुन्न् ।काठमाडौं जिल्ला तारेभिर निवासी सुरेश लामालाई एक लाख एक हजार एक सय एघार रुपैयाँ सम्मान स्वरुप नेपालका वरिष्ठ गायक रामकृष्ण ढकाल मार्फत सहयोग हस्तान्तरण गरेका हुंन् । 

    सि पि ए श्रेष्ठले नब गायक सुरेश लामाको गायनबाट आफु  प्रभाबित भएर भोलिका दिनमा देशकै इज्जत राख्न सक्ने ठानेर सहयोग गरेको प्रतिकृया दिएका छन् भने उनले सुरेश लामा  सहयोगको लागि समन्वय गर्नु हुने न्युयोर्कस्थित सामाजिक अभियन्ता  केशव राम राईलाई धन्यवाद दिएका छन् ।नेपालमा गोर्खा जिल्ला स्थाई घर भएका श्रेष्ठ अमेरिकामा  सर्टिफाईड पब्लिक एकाउन्टेन्ट ( सि पि ए )  हुन भने उनले यस अगाडि पनि यस्ता सकरात्मक अभियानको लागि पटक पटक सहयोग गर्दै आएका छन् । 

  • अमेरिकी र रुसी राष्ट्रपतिबीच टेलिफोन वार्ता

    अमेरिकी र रुसी राष्ट्रपतिबीच टेलिफोन वार्ता

    काठमाडौं । नवनियुक्त अमेरिकी राष्ट्रपति जो बाइडेनले र रूसी राष्ट्रपति भ्लादमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ । राष्ट्रपति बाइडेनले आफ्नो कार्यकाल शुरु गरेपछि पहिलो पटक पुटीसँग कुराकानी गरेका हुन् । उनी अहिले अघिल्लो प्रशासनले सम्बन्ध बिगारेका मुलुकसँग सम्बन्ध पुनस्र्थापना गर्ने अभियानमा छन् ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यी दुई विश्व नेताबीचमा दुबै मुलुकबाट फरक फरक विषय सार्वजनिक भएको बताएका छन् । खासगरी ह्वाइटहाउसको तर्फबाट वार्तामा पुटीनका आलोचक अलेक्सी नाभाल्नीको गिरफ्तारी, साइबर हमला र अफगानिस्तानमा अमेरिकी सैनिकमाथि हमला गर्न रूसले तालिबानलाई उक्साएको विषय उठाइएको छ ।

    उता, रुसको तर्फबाट भने जारी विवरणमा भने बाइडेनले अमेरिका, रूस हतियार नियन्त्रण सम्झौताको म्याद थप्न प्रस्ताव गरेको सार्वजनिक गरिएको छ । पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले रूससँग दुई वटा हतियार सम्बन्धी सम्झौता खारेज गरेको थियो ।

    न्यू स्टार्टलाई पनि नवीकरण नगर्ने पक्षमा उक्त प्रशासन थियो । यसै सम्झौतामा केन्द्रित भई दुई नेताबीच कुराकानी भएको बताइएको छ । बाइडेन र पुटिनबीच युक्रेन समस्याबारे समेत कुराकानी भएपनि यसबारे कुनै विवरण सार्वजनिक गरिएको छैन ।

    एजेन्सी

  • अमेरिका प्रवेश गर्न कोरोना नेगेटिभ रिपोर्ट अनिवार्य

    अमेरिका प्रवेश गर्न कोरोना नेगेटिभ रिपोर्ट अनिवार्य

    वासिङ्टन । अमेरिका उडान गर्न चाहने यात्रुहरुले कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनु पर्ने भएको छ।

    त्यस्तो रिपोर्ट यात्रा गर्नुभन्दा बढीमा तीन दिन अगाडिको हुनु पर्ने पनि अधिकारीहरुले जानकारी दिएका छन्। यात्रा अनुमति पास (बोर्डिङ पास) लिनु अगाडि नै कोरोना सम्बन्धी रिपोर्ट देखाउनु पर्ने व्यवस्था गरिएको हो।

    यात्रा गर्नुपूर्व कोरोना नेगेटिभ रहेको प्रमाण देखाउनु पर्ने व्यवस्था अमेरिकी वा गैर अमेरिकी सबै नागरिकलाई लागु हुने अधिकारीहरुले जनाएका छन्।

    अमेरिकी केन्द्रीय रोग नियन्त्रण केन्द्रले जनवरी २६ देखि यस्तो व्यवस्था कार्यान्वयनमा आउने जानकारी दिएको छ।

    ‘दुई वर्ष वा त्योभन्दा बढी उमेर भएका सबै यात्रुले अमेरिकी प्रवेश गर्नुअघि कोरोनाभाइरसबाट सङ्क्रमित नभएको वा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भइसकेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था गरिएको छ,’ राज्य विभागद्वारा जारी वक्तव्यमा लेखिएको छ।

    यस्तो प्रमाण पेश गर्न नसक्नेहरुलाई बोर्डिङ पासको व्यवस्था गर्न सकिने उनीहरुले स्पष्ट पारेका छन्।

    ‘यदि तपाइँले अन्तर्राष्ट्रिय उडानको योजना बनाउनु भएको छ भने तपाइँले बढीमा तीन दिन अगाडिको कोरोना नेगेटिभ भएको प्रमाण पेश गर्नु पर्दछ,’ वक्तव्यमा उल्लेख छ।

    न्यूनीकरण केन्द्रले यही जनवरी १२ मा यो व्यवस्था लागु गर्ने सम्बन्धी निर्णय गरेको थियो।

  • अमेरिका छिर्ने मेक्सिकन सीमा क्षेत्रमा १९ जनाको हत्या, विभत्स अवस्थामा भेटिए शव

    अमेरिका छिर्ने मेक्सिकन सीमा क्षेत्रमा १९ जनाको हत्या, विभत्स अवस्थामा भेटिए शव

    टेक्सास । मेक्सिको हुँदै अमेरिका छिर्ने सीमा क्षेत्रमा कम्तिमा १९ व्यक्तिको शव भेटिएको छ । स्थानीय प्रहरीका अनुसार मेक्सिकोको कार्मागो शहर नजिकै सडकमा दुई वटा गाडीमा मानव अवशेष भेटिएको हो । संचारमाध्यमले जनाए अनुसार शुरुमा मानिसहरुमाथि गोली हानेर त्यसपछि जलाइएको अवस्थामा शव भेटिएका हुन् ।

    घटनास्थलमा गोलीका छर्रा नभेटिएका कारण मानिसहरुलाई अन्यत्रै हत्या गरी सो स्थानमा जलाइएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । यो क्षेत्र लागु औषध ओसारपसारमा बढी प्रयोग हुने गरेको छ । गुण्डागर्दीका लागि बदनाम यो क्षेत्रमा हरेक दिन जसो झगडा हुने गरेको तामाउलिपास राज्यका अभियोजनकर्ताहरूको कार्यालयले उल्लेख गरेको छ ।

    अभियोजनकर्ताहरूको कार्यालयले शवको परीक्षण गरिरहेको बताएको छ । तर, शव जलिसकेका कारण पहिचानमा समेत समस्या रहेको बताइएको छ । कर्मागोमा करीव १५ हजार व्यक्ति बसोबास गर्छन् । यो शहर अमेरिकाको टेक्सास राज्यको सिमानामा पर्छ ।

  • करियरमा ५० हजार अन्तर्वार्ता लिएका चर्चित प्रस्तोता ल्यारी किङ रहेनन्

    करियरमा ५० हजार अन्तर्वार्ता लिएका चर्चित प्रस्तोता ल्यारी किङ रहेनन्

    लस एन्जलस । अमेरिकी टेलिभिजन इतिहासकै सर्वाधिक चर्चित टेलिभिजन प्रस्तोता ल्यारी किङको निधन भएको छ । उनले ८७ वर्षको उमेरमा धर्तिबाट बिदा लिएका हुन् । उनको अमेरिकाको लस एन्जलसमा रहेको सेडारस सिनाइ मेडिकल सेन्टरमा शनिबार उपचारका क्रममा ज्यान गएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् ।

    उनलाई कोरोना भाइरसको संक्रमण भएको थियो । उनी अमेरिकामा सर्वाधिक अन्तर्वार्ता लिने प्रस्तोता समेत हुन् । ६० वर्षे आफ्नो करियरमा ५० हजार अन्तर्वार्ता लिएको रेकर्ड उनले राखेका छन् । ६ दशक लामो करियरमा उनले अमेरिकाका सबै राष्ट्रपतिसहित हलिउड कलाकार र खेलकुद प्रतिभासहितको अन्तर्वार्ता लिएका छन् ।

    ल्यारी किङले लगातार २५ वर्ष सीएनएनमा प्रत्यक्ष कुराकानी हुने कार्यक्रम सञ्चालन गरेका थिए । उनल सबैजसो अन्तरवार्तामा सकारात्मक चर्चा कमाएका थिए । कम बोल्ने र अरुका कुरा सुन्ने उनको धैर्यले नै सफलता प्राप्त गरेको उनी स्वयमः बताउने गर्थे ।

  • बाइडेनलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको बधाई

    बाइडेनलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको बधाई

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई ज्ञापन गरेका छन् । राष्ट्रपति भण्डारीले बाइडेनलाई बधाई दिँदै उनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध अझ गहिरो र विस्तार हुने विश्वास व्यक्त गरेकी छन् ।

    नेपालको सामाजिक आर्थिक विकासका लागि अमेरिकी सहयोगको सह्राना गर्दै उनले कोभिड–१९ महामारीको समयमा बाइडनको कार्यकाल सफल होस भन्ने कामना गरेकी छिन् ।


    उता, प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई बधाई सन्देश पठाउँदै उनको नेतृत्वमा अमेरिकाले प्रगति र समृद्धि हासिल गर्ने कार्यलाई जारी राख्ने ओलीले विश्वास व्यक्त गरेका छन् ।

    उपराष्ट्रपति नन्दबहादुर पुनले अमेरिकी समकक्षी कमला ह्यारिसलाई बधाई सन्देश पठाएका छन् । उनले आफ्नो सन्देशमा नयाँ अमेरिकी प्रशासनको लैंगिक समानता, सामाजिक न्याय र जलवायु परिवर्तन जस्ता सामयिक मुद्दाको सह्राना गरेका समेत छन् ।


    राष्ट्रपति र उपराष्ट्रपतिले नेपाली समय अनुसार गतराती सपथ लिएका छन् । उनीहरुलाई संसारभरबाट बधाई आउने क्रम जारी छ ।