Category: डायस्पोरा

  • गायक जगदीश समालको न्यूयोर्कमा एकल प्रस्तुति हुने

    गायक जगदीश समालको न्यूयोर्कमा एकल प्रस्तुति हुने

    न्यूयोर्क । स्वस्ति इण्टटेनमेण्टको ब्यानरमा रचनाकार अनिता थापाले न्यूयोर्कको ज्याक्सन हाइट्समा ‘स्वस्ति साँझ’ आयोजना गर्ने भएको छ । यही मार्च १४ तारिख शनिबार साँझ ७ बजेदेखि ज्याक्सन हाइट्सस्थित ‘ह्वाइट हल’मा करिब १२ सयको हाराहारीमा नेपाली गीतहरु रेकर्ड गराइसकेका गायक जगदीश समालद्वारा गाइएका लोकप्रिय नेपाली सुगम संगीतहरु प्रस्तुत गरिने कार्यक्रमका संयोजक ओम कर्माचार्यले बताएका छन् ।

    दर्शक श्रोताको सहजतालाई ध्यानमा राख्दै प्रवेश शुल्क ५० डलरमा नै डिनर र ड्रिङ्ससमेत समावेश गरिएको जानकारी गराएका छन् । नेपाली संगीतका पारखीहरुको हितमा स्तरीय गीत संगीत र लाइभ गायनको माहोललाई गुणस्तर प्रदान गर्न ॐ मेगा डिजे एण्ड साउण्डले लाइट तथा ध्वनि व्यवस्थापन गर्ने भएको छ । करिब १०० मात्र टिकट विक्री गरिने भएकोले इच्छुकले फोन नम्बर ३४७७८४ १०२२ वा ६४६ ६८४ ७४४४ मा अग्रिम टिकट लिन सकिने आयोजकले बताएका छन् ।

  • एनआरएनएको १२औं बृहत एकता अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन कार्यतालिका सार्वजनिक

    एनआरएनएको १२औं बृहत एकता अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन कार्यतालिका सार्वजनिक

    न्यूयोर्क । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले १२औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ । एनआरएनएले दुई वर्षे कार्यकालका लागि ७४ जना पदाधिकारी चयन गर्न निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो । निर्वाचन यही फागुन ३० देखि चैत १ सम्ममा सम्पन्न गर्ने जनाएको छ । यसअघि निर्वाचन समितिको माघ २९ को निर्णयअनुसार कार्यतालिका तोकिएको हो ।


    निर्वाचन समितिको कार्यालयका अनुसार २० पदका लागि ७४ जना पदाधिकारीहरु निर्वाचित हुनेछन् । जसअन्तर्गत अध्यक्ष १, उपाध्यक्ष ६, महिला उपाध्यक्ष १, युवा उपाध्यक्ष १, महासचिव १, उपमहासचिव २, सचिव ६, महिला सचिव १, कोषाध्यक्ष १, सहकोषाध्यक्ष ३ र महिला सहकोषाध्यक्ष १ पद रहेका छन् ।


    त्यसैगरी महिला संयोजक १, युवा संयोजक १, क्षेत्रीय संयोजक ६ (प्रत्येक क्षेत्रमा १ जना, क्षेत्रीय उपसंयोजक १७ (अफ्रिका क्षेत्र २ र अन्य क्षेत्र ३ का दरले), क्षेत्रीय महिला संयोजक ६ (प्रत्येक क्षेत्रमा १ जना), क्षेत्रीय महिला उपसंयोजक ६ (प्रत्येक क्षेत्रमा १ जना), क्षेत्रीय युवा संयोजक ६ (प्रत्येक क्षेत्रमा १ जना), क्षेत्रीय युवा उपसंयोजक ६ (प्रत्येक क्षेत्रमा १ जना) र दोस्रो पुस्ताका गैरआवासीय नेपाली संयोजक १ रहने निर्वाचन समितिको कार्यालयले जनाएको छ ।


    एनआरएनएको १२औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन १४–१६ मार्च, २०२६ मा काठमाडौंमा आयोजना हुनेछ। यस निर्वाचनले संघको आगामी दुई वर्षे कार्यकालका लागि नेतृत्व चयन गर्नेछ ।

  • सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

    सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

    काठमाडौँ, २७ फागुनःजापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयलाई रु एक करोड २० लाख प्रदान गर्ने भएको छ । सचिवालय र जापान सरकार बीच सार्क–जापान विशेष कोषअन्तर्गतका कार्यक्रम कार्यान्वयन गर्न जापानले उक्त रकम प्रदान गर्न लागेको हो । सार्क सचिवालयका अनुसार उक्त सहयोगसम्बन्धी समझदारीपत्रमा सोमबार हस्ताक्षर भएको छ ।

    सचिवालयमा आयोजित कार्यक्रममा सार्कका महासचिव गोलाम सरवर र नेपालका लागि जापानका राजदूत माएदा तोरुले उक्त सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको सार्क सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । उक्त कार्यक्रमले जापान र सार्क मुुलुकबीचको मैत्री, सहकार्य तथा आपसी सम्बन्ध सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

  • प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा इजरायलको बधाई

    प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा इजरायलको बधाई

    काठमाडौँ, २६ फागुन । इजरायलले नेपालमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएको छ । नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बासले आज दिउँसो यहाँ ‘नयाँ पश्चिम एसियामा नव प्रभात’ विषयमा पत्रकार सम्मेलन गरेर नेपालसँगको द्विपक्षीय मैत्री र सहकार्य अझ सुदृढ बनाउने इजरायलको इच्छा व्यक्त गरे । साथै उनले सम्पन्न निर्वाचनलाई लोकतन्त्र सुदृढ पार्ने महत्वपूर्ण कदमका रूपमा वर्णन गरे ।


    इजरायली राजदूतले इजरायल पश्चिम एसियामा शान्ति चाहने र सम्पूर्ण क्षेत्रको शान्ति र प्रगतिका लागि आफ्ना सबै छिमेकी देशसँग वार्ता गर्न तयार रहेको बताए । उनले आफ्नो देशलाई हिज्बोल्लाह र हमासजस्ता कट्टरपन्थी समूहहरूले बारम्बार आक्रमण गरेका तथा ती समूहलाई इरानले वित्तीय तथा अन्य सहयोग गरेको आरोप लगाए ।

    इजरायलले ती अतिवादी समूहका कारण आफ्नो अस्तित्व सङ्कटका परेकाले आत्मरक्षाका निम्ति प्रतिकार गर्दै आएको स्पष्ट पार्दै उनले जारी हवाई हमलामा इजरायलले इरानी नागरिकलाई लक्षित गर्न नचाहेको बताए । उनले भने, “संयुक्त राज्य अमेरिका र इजरायलद्वारा गरिएका हवाई आक्रमण इरानको आणविक खतरालाई निष्प्रभावी बनाउने उद्देश्य हो । यो पश्चिम एसिया मात्र नभई विश्वव्यापी सुरक्षासँग जोडिएको विषय हो ।”

  • बालेन र रविसँग मोदीको टेलिफोन वार्ता, के भयो कुराकानी ?

    बालेन र रविसँग मोदीको टेलिफोन वार्ता, के भयो कुराकानी ?

    २५ फागुन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले टेलिफोन संवाद गरेका छन् । मोदी स्वयमःले यसबारे सामाजिक सञ्जालमा राखेका छन् । उनले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग हार्दिक टेलिफोन संवाद भयो।

    दुवै नेताहरूलाई उनीहरूको चुनावी विजय र नेपालको निर्वाचनमा रास्वपाले प्राप्त गरेको शानदार सफलताका लागि बधाई दिएँ। उनीहरूको आगामी नयाँ सरकारका लागि शुभकामना व्यक्त गर्दै हाम्रा दुई देशको पारस्परिक समृद्धि, प्रगति र हितका लागि उनीहरूसँग मिलेर काम गर्ने भारतको प्रतिबद्धता दोहोर्याएँ। म विश्वस्त छु कि हाम्रो संयुक्त प्रयासबाट आगामी वर्षहरूमा भारत र नेपालको सम्बन्धले नयाँ उचाइ चुम्नेछ।’

  • मोदीले दिए बधाई : के भने ?

    मोदीले दिए बधाई : के भने ?

    २३ फागुन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचन सफल बनाएकोमा नेपाली जनता र सरकारलाई बधाई दिएका छन् । उनले नेपालको लोकतान्त्रिक यात्रामा कोसेढुङ्गा सावित भएको समेत प्रतिक्रिया दिए । उनले नेपालको नयाँ सरकार सङ्ग मिलेर काम गर्ने समेत उल्लेख गरेका छन् ।

  • नारी दिवस: अधिकारदेखि आत्मसम्मानसम्मको यात्रा

    नारी दिवस: अधिकारदेखि आत्मसम्मानसम्मको यात्रा

    प्रत्येक वर्ष मार्च ८ का दिन विश्वभर ‘अन्तर्राष्ट्रिय नारी दिवस’ (महिला श्रमिक दिवस) मनाइन्छ। मार्च महिना Women’s History Month को रूपमा मनाइने भएकाले यस महिनाभर महिलाको इतिहास, संघर्ष र उपलब्धिलाई स्मरण गर्दै विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ। यस वर्ष २०२६ मा “Give to Gain” मूल नाराका साथ विश्वभर नारी दिवस मनाइँदैछ। विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले यस दिवसलाई अर्थपूर्ण र प्रभावकारी रूपमा मनाउन व्यापक तयारी गरिरहेका छन्।

    इतिहासको ऐना र वर्तमानको पदचाप:
    हामीले कुनै पनि अभियानको उत्सव मनाउँदा त्यसको जग र इतिहासलाई बिर्सनु हुँदैन। मानव सभ्यताको प्रात:कालदेखि नै महिलाहरूले पुरुषसरह श्रम गर्दै आएता पनि श्रमको उचित मूल्य नपाउनु, पुरुषको तुलनामा न्यून ज्याला र अत्यधिक कार्यघण्टाको मारमा पर्नुले महिलाहरूमा विद्रोहको चेतना जागृत गरायो। यही अन्याय र असमानताविरुद्ध आवाज उठाउँदै महिलाहरूले सन् १९०० को आसपासबाट आफ्ना अधिकारका लागि संगठित आन्दोलन प्रारम्भ गरेका थिए। जर्मन समाजवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपनहेगनमा भएको समाजवादी महिला सम्मेलनमा “अन्तर्राष्ट्रिय महिला दिवस” मनाउने प्रस्ताव राखेपछि सन् १९११ देखि विभिन्न देशहरूमा यसको औपचारिक शुरुवात भएको थियो।

    नेपाली सन्दर्भ: उपलब्धि र चुनौतीको दोभान
    नारी सशक्तीकरणको यो यात्रामा विश्वका महिलाहरू धेरै अगाडि बढिसकेका छन्। तर नेपाली समाजको दर्पण हेर्ने हो भने यो चित्र अझै धुमिल छ। आज पनि हाम्रा दिदीबहिनीहरू घरेलु हिंसा, बलात्कार, हत्या र आत्महत्या जस्ता जघन्य अपराध र कुरीतिको चक्रव्यूहबाट मुक्त हुन सकेका छैनन्। देशमा मात्र नभएर परदेशमा रहेका नेपाली महिलाहरू समेत यस्ता पीडाबाट अछुतो नरहेको यथार्थ हाम्रा सामु छ। केही वर्षअघि सम्म नेपालमा दाइजो वा अन्य बहानामा चेलीबेटीलाई ‘जलाइने’ वा ‘झुन्ड्याइने’ गरिन्थ्यो । आज पनि केही दिदीबहिनीहरूलाई विभिन्न निहुँमा स्वयं जल्न वा झुन्डिन बाध्य बनाइएका दुःखद घटनाहरू प्रायः दिनहुँजसो सार्वजनिक भइरहेका छन्। दुःखको कुरा, यस्ता घटना घट्दा हामी सामाजिक सञ्जालमा ‘हार्दिक श्रद्धाञ्जली’ लेखेरै आफ्नो कर्तव्य पूरा भएको ठान्छौँ। त्यसै गरि हाम्रो समाजको संकुचित सोचले आजको २१औं शताब्दीमा पनि हिंसा सहेर बाँच्नुभन्दा मर्नुलाई नै ‘निकास’ देख्ने प्रवृत्तिलाई मलजल गरिरहेको छ।

    सोच बदल्ने बेला:
    हिंसाको चपेटामा परेका चेलीहरूको आत्मबल टुट्नु र उनीहरूले मृत्यु रोज्नुमा हामी सबै कुनै न कुनै रूपमा जिम्मेवार छौँ। पीडितलाई सहानुभूति र मनोपरामर्श दिएर समाजमा पुनस्र्थापित गर्नुको सट्टा, हामी उनीहरूमै दोष खोज्न थाल्छौँ, जसले उनीहरूको मनोबल झन् गिराउँछ। सोचौँ, आज अरू कसैको घरमा घटेको घटना भोलि हाम्रो आफ्नै घरमा पनि दोहोरिन सक्छ, किनकि हरेक घरमा कुनै न कुनै रूपमा नारीको उपस्थिति हुन्छ। त्यसैले नारीप्रतिको सोच र व्यवहार परिवर्तन गर्नु आजको आवश्यकता हो।

    तथ्याङ्कले भन्छ, यस्ता हिंस्रक घटनामा अक्सर नजिकका साथी, पार्टनर वा आफन्तहरूकै संलग्नता बढी हुन्छ। यो हाम्रो समाजका लागि निकै लज्जास्पद कुरा हो।

    नेतृत्वमा महिला: अझै कति टाढा?
    ११६ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा पनि महिलालाई नेतृत्वदायी र निर्णायक भूमिकामा सहर्ष स्वीकार गर्न सक्ने उदारता समाजमा अझै विकास भइसकेको छैन। नेतृत्वमा पुगेका केही महिलाहरू पनि राजनीतिक आस्था, जातीयता र अन्य साँगुरो घेरामा विभाजित हुनु दुःखद छ।

    एक सर्वेक्षण अनुसार लैङ्गिक समानता पूर्ण रूपमा हासिल गर्न अझै पाँच पुस्ता निरन्तर सङ्घर्ष गर्नुपर्ने देखिन्छ। यो अभियान केवल सभा-सम्मेलनमा मात्र सीमित नभई आफ्नै घरबाट सुरु हुनुपर्छ। पुरुषले महिलाको सम्मान गर्ने, उनीहरूको नेतृत्वलाई स्वीकार्ने र निर्णायक तहमा सहभागिता सुनिश्चित गर्न भेदभाव नगरी हातेमालो गर्नु नै वास्तविक परिवर्तन हो। महिलाहरूले पनि आफ्नो व्यक्तित्व विकासका लागि विभिन्न तालिम र अवसरमा सहभागी हुन र सशक्तीकरणको मार्गमा हिँड्न हिचकिचाउनु हुँदैन।

    निष्कर्ष:
    जुन घर, समाज र राष्ट्रमा नारीको सम्मान हुँदैन, त्यहाँ कहिल्यै शान्ति र समृद्धि छाउँदैन। महिला आर्थिक, शैक्षिक, सामाजिक र राजनीतिक रूपमा सक्षम हुनु नै राष्ट्र विकासको मेरुदण्ड हो। भर्खरै नेपालको अन्तरिम सरकारको नेतृत्व गर्नुभएकी सम्माननीय प्रधानमन्त्री सुशीला कार्की ज्यूले छोटो समयमा र शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गराएर “महिलाले अवसर पाए पुरुषभन्दा उत्कृष्ट कार्य गर्न सक्छन्” भन्ने ज्वलन्त उदाहरण पेस गरिसक्नुभएको छ।

    यस वर्ष गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् अमेरिका ले ११६ औँ अन्तर्राष्ट्रिय नारी दिवस २०२६ को अवसरमा “GIVE TO GAIN” भन्ने मूल नाराका साथ घरेलु हिंसा, मानसिक स्वास्थ्य, आप्रवास र सांस्कृतिक जस्ता महत्त्वपूर्ण कार्यक्रमहरू आयोजना गर्दैछ।

    यस कार्यक्रममा यहाँहरू सम्पूर्णलाई महिला सशक्तिकरणको अभियानलाई अझ सशक्त बनाउन साथ र समर्थनका साथ सहभागी हुन म हार्दिक अनुरोध गर्दछु।

    Date: Saturday, March 7th, 2026
    Time: 1:00pm- 5:00pm
    Venue: 75-15 Woodside Ave,
    Elmhurst, NY 11373

    लक्ष्मी थापा
    सचिव
    गैरआवासीय नेपाली संघ
    राष्ट्रिय समन्वय परिषद्
    संयुक्त राज्य अमेरिका ।

    ११६ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सबैलाई हार्दिक शुभकामना ।

  • बहराइन, जोर्डन र इराक छाड्न अमेरिकी नागरिकलाई विदेश मन्त्रालयको निर्देशन

    बहराइन, जोर्डन र इराक छाड्न अमेरिकी नागरिकलाई विदेश मन्त्रालयको निर्देशन

    वासिङ्टन, २० फागुन (रासस–एएफपी) । अमेरिकाले बहराइन, जोर्डन र इराकमा सुरक्षा सेवामा रहेका कर्मचारीबाहेक अन्य गैर–आकस्मिक सेवामा कार्यरत अमेरिकी नागरिकलाई ती मुलुकबाट जतिसक्दो छिटो बाहिरिन सूचना जारी गरेको छ। अमेरिकी विदेश मन्त्रालयले मङ्गलबार बहराइन र जोर्डन छाड्न गैर–आकस्मिक सेवाका कर्मचारीहरूलाई आदेश दिएको हो ।

    इरानले अमेरिका–इजरायली आक्रमणको प्रतिकार गरिरहेको अवस्थामा नागरिकको सुरक्षालाई मध्यनजर गर्दै यो सूचना जारी गरिएको हो । मन्त्रालयले एक्समा गरेको पोष्टमा भनेको छ, “गैर–आकस्मिक सेवामा रहेका अमेरिकी सरकारी कर्मचारी र सरकारी कर्मचारीका परिवारका सदस्यहरूलाई प्रतिबिम्बित गदै विदेश मन्त्रालयले अमेरिकी नागरिकलाई बहराइन, जोर्डन र इराकमा यात्रा नगर्न सुझाब दिएको छ।

    एक छुट्टै पोस्टमा मन्त्रालयले भनेको छ, “अमेरिकाले इराक यात्रा निर्देशन अद्यावधिक गरिएको थियो कि यसले सोमबार “सुरक्षा चिन्ताका कारण गैर–आकस्मिक अमेरिकी सरकारी कर्मचारीहरूलाई इराक छोड्न आदेश दिएको थियो। त्यसमा उनीहरूका आफन्तको उल्लेख गरिएको थिएन।”
    अमेरिका–इजरायलले इरानमाथि गरेको संयुक्त आक्रमणमा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको तेहरानले बताएको छ ।

    इरानको रिभोलुसनरी गाड्र्सले बहराइनमा रहेको अमेरिकी हवाई अड्डालाई निशाना बनाएको इरानको रिभोलुसनरी गार्ड्सले मङ्गलबार जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ । इराकको राजधानी बग्दादमा कालो पोशाकमा सयौँ प्रदर्शनकारीले आइतबार अमेरिकी दूतावास रहेको ग्रिन जोनमा प्रवेश गर्ने प्रयास गरेका छन् ।

    जोर्डनको राजधानी अम्मानस्थित अमेरिकी दूतावासले सोमबार अज्ञात खतराका कारण अस्थायी रूपमा आफ्ना कर्मचारीहरूलाई खाली गरेको बताएको छ। साउदी अरबले शनिबार इरानले जवाफी आक्रमण सुरु गरेयता एक दर्जनभन्दा बढी क्षेप्यास्त्र पनि छेदन गरिएको जनाएको छ ।

  • खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

    खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

    काठमाडौँ, २० फागुनः मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र समन्वय गरेका छन् । नेपाली दूतावास रियादले नेपालीको नाम दर्ताका लागि पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिँदै आवश्यक सूचना उपलब्ध गराउन नेपाली श्रमिकलाई आग्रह गरेको छ ।

    दूतावासका अनुसार नेपाली नागरिकको अवस्थासम्बन्धी तथा आवश्यक कारबाहीको प्रयोजनका लागि सूचना सङ्कलनका लागि पोर्टल सञ्चालनमा ल्याइएको हो । परराष्ट्र मन्त्रालयको तयार पारेको सो पोर्टलमा साउदी अरेबिया, यमनमा रहेका नेपालीका बारेमा सूचना सङ्कलन गरिनेछ । यस्तै, विभिन्न राजनीतिक दलसम्बद्ध प्रवासी सङ्घसंस्थाले पनि नेपालीको सहयोगका लागि विभिन्न सम्पर्क व्यक्ति तोकिएको जनाएका छन् ।

  • खाडी युद्ध : नेपालीको सुरक्षा र सम्भावित उद्धारका लागि ‘र्‍यापिड एक्सन टिम’ गठन

    खाडी युद्ध : नेपालीको सुरक्षा र सम्भावित उद्धारका लागि ‘र्‍यापिड एक्सन टिम’ गठन

    काठमाडौँ, १९ फागुनः नेपाल सरकारले पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा रहेका लाखौँ नेपालीको सुरक्षा र सम्भावित उद्धारका लागि ‘र्‍यापिड एक्सन टिम’ गठन गरी काम सुरु गरेको छ । उक्त द्वन्द्वको अवस्थामा नेपाली नागरिकको अवस्था बारे नियमित जानकारी लिन, अन्तरसरकारी निकायसँग समन्वय गर्न तथा उद्धारका लागि आवश्यक र उपयुक्त कदम चाल्नका लागि सिफारिस गर्ने प्रयोजनले आज उक्त टिम गठन गरिएको हो ।

    परराष्ट्र मन्त्रीस्तरीय निर्णयबाट परराष्ट्रसचिवको संयोजकत्वमा गठन भएको उक्त टिमले त्यस प्रयोजनका लागि मित्रराष्ट्र तथा अन्य अन्तरराष्ट्रिय संस्थासँग समन्वय गर्नेछ । टिममा परराष्ट्र, गृह, अर्थ, कानुन, न्याय तथा संसदीय मामिला, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा विज्ञान प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रायललगायत निकायका प्रतिनिधि रहने व्यवस्था छ ।

    परराष्ट्र मन्त्रालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो टिम गठन र कार्यान्वयनका साथै पश्चिम एसियाको पछिल्लो अवस्थाबारेमा जानकारी दिइयो । मन्त्रालयको मध्यएसिया, पश्चिमएसिया तथा अफ्रिका महाशाखाका प्रमुख रामकाजी खड्काले उक्त टिमले कार्यादेशानुसार काम गर्न सुरु गरिसकेको जानकारी दिए । उनले सो क्षेत्रका ट्रान्जिट विमानस्थलमा रहेका नेपालीलाई खान बस्नको प्रबन्धका लागि सम्बन्धित विमान कम्पनी र निकायलाई आग्रह गरी समन्वय भइरहेको बताए ।
    संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि शनिबार गरेको संयुक्त सैन्य आक्रमणविरुद्ध इरानले प्रत्याक्रमण गरेपछि पश्चिम एसियाको स्थिति तनावपूर्ण भएको छ । सुरुमा सो क्षेत्रका मुुलुकमा रहेका अमेरिकी सेनाका अखडाहरूलाई निशाना बनाएको इरानले पछिल्लो दिनमा विभिन्न मुलुकका विमानस्थल, पेट्रोलियम प्रशोधन केन्द्रलगायत अतिसंवेदनशील स्थानमा आक्रमण गरेको छ । युद्धले त्यस क्षेत्रका विभिन्न मुलुकमा रहेका १९ लाखभन्दा बढी नेपाली नागरिकमा अन्योलमा परेका छन् । अर्कोतिर त्यस क्षेत्रका दर्जनौँ उडान रद्द हुँदा त्यहाँ जाने तयारी अवस्थामा रहेका र स्वदेश फर्कने तयारी अवस्थामा रहेका नेपाली नागरिक पनि अलपत्र परेका छन् ।

    मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाली नागरिकको सुरक्षा सरकारको पहिलो प्राथमिकतामा रहेको र सोहीअनुसार मन्त्रालयले काम गरिरहेको बताए । नेपाली नागरिकको सुरक्षा र समन्वयका लागि सो क्षेत्रका मुलुकमा अवस्थित नेपालका आठ दूतावास र दुई महावाणिज्य दूतावासबाट नियमित सूचना लिने र समन्वय भइरहेको उनले बताए । यसैगरी मन्त्रालयले एडभाइजरी जारी गर्दै सुरक्षासम्बन्धी निर्देशन तथा सूचना कडाइका साथ पालना गर्न आग्रह गरेको प्रवक्ता पौडेलको भनाइ छ ।

    मन्त्रालयले आजैदेखि सो क्षेत्रका नेपाली नागरिकलाई द्वन्द्वको अवस्थाबारे नियमित जानकारी दिन र समन्वयमा रहनका लागि अनलाइन पोर्टल बनाई फाराम भर्ने व्यवस्था गरेको छ । उक्त पोर्टलमा त्यहाँ रहेका नेपालीले आफूलाई परेको अप्ठेरो र जिज्ञासाबारेमा जानकारी गराउने काम सुरु भइसकेको कन्सुलर सेवा विभागका महानिर्देशक दुर्पदा सापकोटाले बताए । त्यस सूचना र जानकारीले सहायता गर्न तथा आगामी दिनमा सम्भावित उद्धारका लागि योगदान पुग्ने उनको भनाइ छ ।


    मन्त्रालयले त्यस क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित रहन, नाआत्तिन र सम्बन्धित मुलुकले जारी गरेको सुरक्षासम्बन्धी सूचना जानकारी लिई पालना गर्न आग्रह गरेको छ । मन्त्रालयले द्वन्द्वका क्रममा सर्वसाधारण नागरिकहरूको सुरक्षा, सुरक्षात्मक व्यवस्था तथा संरक्षण सुनिश्चित गर्न सम्बन्धित सबै पक्षसँग पुनः आग्रह गरेको छ । साथै सम्बन्धित जेनेभा महासन्धिहरू तथा अन्तरराष्ट्रिय मानवीय कानुनका प्रावधानहरूको सधैँ पूर्ण रूपमा सम्मान तथा पालना गरिनुपर्ने मन्त्रालयको जोड छ ।

    मध्यपूर्व र आसपासका मुलुकहरूमध्ये हाल इरानमा छ जना, इजरायलमा छ हजार ५००, इजिप्टमा ५००, ओमानमा २५ हजार, कतारमा तीन लाख ५७ हजार, कुवेतमा एक लाख ७५ हजार, जोर्डनमा तीन हजार, बहराइन २८ हजार, साउदी अरबमा तीन लाख ८४ हजार ८६५, संयुक्त अरब इमिरेट्समा श्रम स्वीकृति लिएर गएका चार लाख ७८ हजार १४४ र भिजिट भिसामा गएका चार लाख ३७ हजार ४४ जना, लेबनानमा एक हजार ५००, इराकमा ३० हजार र साइप्रसमा १७ हजार गरी हाल करिब १९ लाख ४४ हजार ४७२ जना नेपाली नागरिक रहेका छन् ।

  • पर्सामा मध्यरातदेखि भारतीय सीमानाका बन्द

    पर्सामा मध्यरातदेखि भारतीय सीमानाका बन्द

    वीरगन्ज (पर्सा), १९ फागुन । जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तरराष्ट्रिय नाका ७२ घण्टा बन्द गरेकोे छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले पर्सा जिल्लासँग जोडिएको भारतको विहार राज्यअन्तर्गतका पूर्वी चम्पारण र पश्चिम चम्पारण जिल्लाका सीमानाका निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै बन्द गरेकोे जानकारी दिए । “फागुन १८ गते राति १२ः०० बजेदेखि फागुन २१ गते राति १२ः०० बजेसम्मको अवधिमा सीमानाका बन्द गर्ने निर्णय भएको छ”, उनले भने, “निर्वाचनको समयमा दुवै मुलुकले ७२ घण्टा सीमानाका बन्द गर्ने परम्परा छ ।”

    सहायक प्रजिअ पोखरेलले फागुन १९ गते तराई–मधेसमा मनाइने होली पर्वलाई पनि सौहार्दपूर्ण र निर्वाचनमैत्री ढङ्गले मनाउनका लागि आह्वान गरेका छन् । “होली पर्वका अवसरमा सार्वजनिकस्थलमा भीडभाड गर्ने, होहल्ला गर्ने, जबर्जस्ती रङ दल्ने, मदिरा सेवन गरी सामाजिक सद्भाव खल्बलिने गतिविधि नगर्न अनुरोध गर्दछौँ”, उनले भने, “कुनै पनि राजनीतिक दल वा उम्मेदवारको झन्डा वा चुनाव चिह्नअङ्कित कपडा लगाएर पर्व मनाउनसमेत निषेध गरिएको छ ।”

    होलीको अवसरमा मोटरसाइकल दुर्घटनामा वृद्धि देखिएकाले फागुन २० गते मोटरसाइकल प्रयोग गरी होली मनाउन निषेध गरिएको सूचनामा उल्लेख छ । फागुन १९ गतेदेखि निर्वाचन परिणाम घोषणा नभएसम्म जिल्लाभर कुनै पनि राजनीतिक दलको प्रचारप्रसार, सभाजुलुस तथा धार्मिक, सांस्कृतिक र सामाजिक कार्यक्रममा डीजेलगायत ध्वनि प्रदूषण हुने खालका बाजा बजाउन निषेध गरिएको प्रशासनले जनाएको छ ।

  • दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

    दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

    प्रतीक्षा आले–रासस
    गोरखा, १९ फागुन । घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब इमिरेट्सको दुबई पुगेका थिए दिवस श्रेष्ठ । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षीय दिवस चामबहादुर र पवित्राको एकमात्र छोरा हुन् । दिवस गत वर्षको दशैँमा घर आएका थिए ।

    गाउँकै सरस्वती माध्यमिक विद्यालयबाट एसइई उत्तीर्ण श्रेष्ठले काठमाडौँबाट ‘ओभरसियर’को अध्ययन पूरा गरेका थिए । देशमै रोजगारी नपाएपछि विदेशिनुभएका उहाँले आगामी दशैँमा भने घर फर्केर विवाह गर्ने योजना सुनाएका थिए । श्रेष्ठ दम्पतीको पनि बुहारी भित्र्याउने सपना थियो । तर त्यो सपना सदाका लागि अधुरो मात्रै भएन छोरानै गुमाएपछि अहिले निशब्द छन् उनीहरु ।

    अघिल्लो दिन अर्थात् शनिबार साँझसम्म ‘भिडियो कल’ मा कुराकानी गरेको छोरा भोलिपल्टै सदाका लागि अस्ताउँलान् भन्ने बुबाआमालाई थाहा हुने कुरै भएन । तर आइतबार संयुक्त अरब इमिरेट्समा इरानको ड्रोन आक्रमणमा परी श्रेष्ठको निधन भयो । मृतक दिवसका काका प्रदीप श्रेष्ठका अनुसार दिवस मिडल इस्ट कम्पनीमार्फत सेक्युरिटी गार्डका रुपमा दुबई पुगेका थिए । “अस्तिको दिन बेलुकीमात्र घरपरिवारसँग भिडियोमा कुराकानी भएको रहेछ । त्यहाँको अवस्था सामान्य भए पनि आकाशमा मिसाइल पड्किरहेको छ भनेर बुबालाई भनेको थियो रे”, काका प्रदीपले भने, “त्यसपछि फोन सम्पर्क नभएको रहेछ । उसका साथीभाइसँग बुझ्दा भागदौड भएर मोबाइल हराएको र खुट्टामा चोट लागेको भन्ने खबर पाएका रहेछन् ।”

    युएईस्थित नेपाली दूतावासबाट आज मात्रै छोराको मृत्यु भएको खबर औपचारिक रुपमा उनीहरुले प्राप्त गरे । दिवसको मृत्युको खबरले अहिले ठाँटी गाउँ शोकमा डुबेको छ । प्रदीप भन्नुहुन्छ, “गाउँको युवा, सबैसँग मिल्ने, अत्यन्त इमान्दार, मिजासिलो थियो । उसको आमाबुबाको कोखै रित्तियो ।” हाल गाउँमा बुबा चामबहादुर र दिवसका हजुरआमा छन् । आमा पवित्रा भने छोरी भेट्न काठमाडौँ गएको बोर्लाङका वडाध्यक्ष नारायण श्रेष्ठले बताए । “घरमा बेहाल छ । आमा र दिदी पनि यतै आउने कि बाबुको शव लिएर आउने भन्ने सल्लाह हुँदैछ । उताबाट शव कहिले आउँछ त्यसको पनि ठेगान छैन”, उनले भने ।

    अबुधाबीस्थित नेपाली राजदूतावासले सोमबार एक सूचना जारी गर्दै अबुधाबीस्थित जायद अन्तरराष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु भएको पुष्टि गरिसकेको छ । उनको मृत्युबारे युएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको राजदूतावासले जनाएको छ ।

  • इरानको आक्रमणबाट मारिएका नेपाली गोरखा बोर्लाङका दिवस श्रेष्ठ रहेको पुष्टी

    इरानको आक्रमणबाट मारिएका नेपाली गोरखा बोर्लाङका दिवस श्रेष्ठ रहेको पुष्टी

    गोरखा, १८ फागुन । संयुक्त अरब इमिरेट्समा इरानको आक्रमणबाट गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं ७ बोर्लाङ ठाँटीका दिवस श्रेष्ठको मृत्यु भएको छ । अबुधाबीस्थित नेपाली राजदूतावासले दिएको जानकारीअनुसार २९ वर्षीय दिवस श्रेष्ठको आइतबार मृत्यु भएको हो । उनी मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत रहेको बताइएको छ । अबुधाविस्थित जायद अन्तरराष्ट्रिय विमानस्थलामा ड्रोन निष्क्रिय पार्ने क्रममा उनको निधन भएको खुलाइएको छ । राजदूतावासले मृतक श्रेष्ठको पार्थिव शरीर स्वदेश फर्काउन सहजीकरण गर्ने बताएको छ ।

  • युएई आक्रमणमा एक नेपालीको मृत्यु, सभापति थापाद्वारा दुःख व्यक्त

    युएई आक्रमणमा एक नेपालीको मृत्यु, सभापति थापाद्वारा दुःख व्यक्त

    काठमाडौँ, १८ फागुन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त अरब इमिरेट्स (युएई) मा भएको पछिल्लो आक्रमणमा परी एक नेपाली श्रमिकको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले आज शोक विज्ञप्तिमार्फत दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । सभापति थापाले उक्त क्षेत्रमा रहेका सम्पूर्ण नेपालीलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेका छन् ।

    सभापति थापाले द्वन्द्वग्रस्त र असुरक्षित क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षाका लागि आवश्यक सतर्कता र समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । उनले कूटनीतिक पहललाई थप तीव्र, प्रभावकारी र परिणाममुखी बनाउन आग्रह गर्दै विदेशमा रहेका नेपालीको सुरक्षालाई प्राथमिकतामा राखेर तत्काल पहल गर्न सरकारसँग माग गरेका छन् ।

    सभापति थापाले जनसम्पर्क समिति, गैरआवासीय नेपाली सङ्घ तथा समग्र नेपाली समुदायलाई अप्ठ्यारोमा परेका नेपाली नागरिकको पहिचान, सहयोग र आवश्यक समन्वयका लागि सक्रिय भूमिका निर्वाह गर्न अनुरोधसमेत गरेका छन् ।

  • कतारस्थित नेपाली दूतावासद्वारा सुरक्षाका निर्देशन पालना गर्न आग्रह

    कतारस्थित नेपाली दूतावासद्वारा सुरक्षाका निर्देशन पालना गर्न आग्रह

    काठमाडौँ, १८ फागुनः कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कतारी सरकारद्वारा जारी सुरक्षा निर्देशन पालना गर्न अनुरोध गरेको छ । दूतावासले पश्चिम एसियामा विकसित पछिल्लो परिस्थितिलाई दृष्टिगत गर्दै कतारमा रहेका सम्पूर्ण नेपालीलाई सतर्कता अपनाइ सुरक्षित रहन अनुरोध गरेको हो । कतारी अधिकारीहरूले जारी गरेका सुरक्षा सल्लाह र निर्देशनको पालना गर्न, घरभित्र रहन, उचित सावधानी अपनाउन, अज्ञात स्रोतबाट आएका अफवाह र अप्रमाणित सूचनालाई विश्वास नगर्न दूतावासले अनुरोध गरेको छ ।

    अप्रमाणित सूचना, समाचार र ‘भिडियो क्लिप’लाई प्रेषित नगर्न, आधिकारिक घोषणा र आपत्कालीन सतर्कता सन्देश निरन्तर हेरेर त्यसको पालना गर्न तथा दूतावाससँग नियमित सम्पर्क कायम राख्न दूतावासले अनुरोध गरेको छ । दूतावासले कतारमा रहेका नेपालीसँग टेलिफोनलगायत माध्यमबाट नियमित सम्पर्कमा रहेको जनाएको छ । कतारमा हाल तीन लाख ६० हजार श्रमिक छन् । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि शनिबार संयुक्त रूपमा सैन्य आक्रमण गरेपछि त्यसको प्रत्याक्रमणमा इरान उत्रिएपछि पश्चिम एसियमा तनाव बढेको छ ।

  • पश्चिम एसियाका नेपाली कामदारलाई नियमित सम्पर्कमा रहन आग्रह

    पश्चिम एसियाका नेपाली कामदारलाई नियमित सम्पर्कमा रहन आग्रह

    काठमाडौँ, १७ फागुनः नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसियसनले पश्चिम एसिया क्षेत्रमा आफूले पठाएका कामदारलाई नियमित सम्पर्कमा रहन आग्रह गरेको छ । एसोसियसनका केन्द्रीय अध्यक्ष दीपक थापाले आज एक विज्ञप्ति जारी गरी पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो सुरक्षा परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै आफूले पठाएका कामदारलाई नियमित सम्पर्कमा रहन आग्रह गरे ।

    उनले पश्चिम एसिया क्षेत्रमा बसोबास गर्ने एवं त्यहाँ कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई उच्च सतर्कता अपनाउन, सम्बन्धित देशका स्थानीय प्रशासनद्वारा जारी सुरक्षा निर्देशिकाको पूर्ण रूपमा पालना गर्न अनुरोध गरे । एसोसियसनले नेपाल सरकार तथा विदेशस्थित नेपाली दूतावास, कूटनीतिक नियोगलाई आफ्ना नागरिकको सुरक्षाका लागि आवश्यक समन्वय गर्न, नियमित सूचना प्रवाह गर्न तथा आपत्कालीन संयन्त्र प्रभावकारी रूपमा सञ्चालन गर्न आग्रह गरेको छ ।

    अध्यक्ष थापाले नेपाली नागरिकको जीवन र सुरक्षाको संरक्षण सर्वोपरि भएकाले नेपालस्थित सम्पूर्ण इजाजत प्राप्त संस्था, सम्बन्धित रोजगारदाता कम्पनीसँग निरन्तर समन्वय र सहकार्य गरी आफ्ना कामदारको अवस्थाबारे नियमित जानकारी लिन पनि अनुरोध गरे ।

  • खाडी क्षेत्रमा अलपत्र नेपालीलाई सरकारले त्यही सुरक्षा दिएर राख्ने

    खाडी क्षेत्रमा अलपत्र नेपालीलाई सरकारले त्यही सुरक्षा दिएर राख्ने

    काठमाडौँ, १७ फागुनः सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र परेका नेपाली नागरिकलाई सुरक्षा दिएर राख्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले तत्काल सबै विमानस्थल बन्द भएकाले फर्काउन वा अघि बढाउन नसकिने उल्लेख गर्दै तत्कालका लागि जहाँ छन् त्यहिँ सुरक्षा दिएर राख्नका लागि व्यवस्था मिलाउने निर्णय भएको परराष्ट्रमन्त्री बालानन्द शर्माले जानकारी दिए । सरकारले मध्यपूर्वमा बढ्दै गएको तनावलाई मध्यनजर गर्दै सम्बन्धित देशका नेपाली दूतावासलाई उच्च सतर्कतामा रहन र नागरिकको अवस्था निरन्तर अनुगमन गर्न पनि निर्देशन दिएको छ ।

    बैठकबारे जानकारी दिँदै उनले भने, “अवस्था सामान्य छैन, अहिलेलाई सबै विमानस्थल बन्द छन्, कसैलाई फर्काउन र ल्याउन सकिंदैन, त्यसैले अहिले जहाँ छन् त्यहीँ सुरक्षा दिएर राख्ने विषयमा छलफल भएको छ, सम्बन्धित मुलुकमा ट्रान्जिटमा परेका नेपाली यात्रुको असुविधाबारे छलफल भएको छ ।” क्षेत्रका लागि आधिकारिक ट्राभल एडभाइजरी जारी गरिएको मन्त्री शर्माले बताए ।


    राजदूतलाई सम्पर्क गरेर नेपाली नागरिकलाई गन्तव्यमा पुर्याउने र जान नसक्नेलाई होटलमा व्यवस्था गर्ने काम भएको उल्लेख गर्दै उहाँले सम्बन्धित व्यवसाय दिने कम्पनी अथवा एयरलाइन्सले रेखदेख गर्नेगरी समन्वय भएको बताउनुभयो । मन्त्री शर्माले नेपाली नागरिकलाई परेको असर र समाधानबारे बैठकमा छलफल भएको जानकारी दिए ।

  • नेपाली नागरिकको सुरक्षा गर्न नेताहरुद्धारा सरकारको ध्यानाकर्षण

    नेपाली नागरिकको सुरक्षा गर्न नेताहरुद्धारा सरकारको ध्यानाकर्षण

    काठमाडौँ, १७ फागुनः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली नागरिकको सुरक्षामा आँच आउन नदिन प्रभावकारी व्यवस्था मिलाउन सरकारसमक्ष माग गरेका छन् । इरानमाथि अमेरिका र इजरायलबाट भएका आक्रमण तथा त्यसपछि विकसित घटनाले मध्यपूर्व क्षेत्रमा गम्भीर तनाव सृजना भएको उल्लेख गर्दै संयोजक दाहालले यस परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गरेका हुन् ।

    “यस स्थितिमा मध्यपूर्वमा कार्यरत लाखौँ नेपालीको सुरक्षा हाम्रो प्रमुख प्राथमिकता हो”, संयोजक दाहालले भनेका छन्, “विकसित परिस्थितिको प्रत्यक्ष प्रभाव उनीहरूमा पर्न सक्ने भएकाले नेपाल सरकारलाई उच्च सतर्कता अपनाउन, आवश्यक कूटनीतिक पहल गर्न तथा कुनै पनि नेपाली नागरिकको सुरक्षामा आँच आउन नदिन प्रभावकारी व्यवस्था मिलाउन आग्रह गर्दछु ।”

    यस्तै पूर्वसभामुख देवराज घिमिरेले द्वन्द्वग्रस्त देशमा रहेका नेपाली दूतावासलाई त्यहाँ रहेका नेपाली नागरिकको अवस्था निरन्तर अनुगमन गर्न, आवश्यक परे आपत्कालीन सहायता तथा उद्धार तयारी अवस्थामा राख्न र सूचना प्रवाहलाई प्रभावकारी बनाउन अनुरोध गरेका छन् । मध्यपूर्व क्षेत्रमा पछिल्लो समय बढ्दो सैन्य तनाव तथा आक्रमण–प्रत्याक्रमणका घटनाले आफूलाई चिन्तित तुल्याएको उनले उल्लेख गरे ।

    संयुक्त अरब इमिरेट्स, इजरायल, इरान, कतार, साउदी अरब, कुवेतलगायतका मध्यपूर्वी देशमा विकसित परिस्थितिले त्यहाँ कार्यरत तथा बसोबास गरिरहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइको सुरक्षाप्रति थप संवेदनशील बनाएको पूर्वसभामुख घिमिरेको भनाइ छ ।

    विशेष परिस्थितिमा ती देशमा रहेका नेपाली नागरिकलाई सजग रहन, स्थानीय प्रशासनका निर्देशन पालना गर्न, अनावश्यक रूपमा भीडभाड र जोखिमयुक्त स्थानमा नजान तथा आफ्नो राहदानी र आपत्कालीन सम्पर्क विवरण अद्यावधिक राख्न उनले आह्वान गरेका छन् ।

    विश्व शान्ति, क्षेत्रीय स्थिरता र मानव सुरक्षाका पक्षमा नेपाल सधैँ दृढ उभिने पूर्वसभामुख घिमिरेले विश्वास व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका अन्तरराष्ट्रिय विभाग प्रमुख शिशिर खनालले पनि विज्ञप्तिमार्फत नेपाली नागरिकको सुरक्षा सर्वोपरी दायित्व भएकाले कूटनीतिक पहल, समन्वय र पूर्वतयारीमार्फत कुनै पनि आकस्मिक अवस्थासँग जुध्न सरकार पूर्ण रूपमा तयार रहोस् भन्ने ध्यानाकर्षण गराएका छन् । पूर्वप्रधानमनत्री डा भट्टराईले संवेदनशील घडीमा नेपाल सरकारले जिम्मेवार, दूरदर्शी र प्रभावकारी कदम चाल्ने विश्वास व्यक्त गरेका छन् ।


    त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मध्यपूर्वमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिप्रति चिन्ता व्यक्त गरेको छ । सो पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले त्यस क्षेत्रका विभिन्न देशमा रहनुभएका नेपाली नागरिकको सुरक्षा हाम्रो प्राथमिक चिन्ताको विषय भएकाले तनावपूर्ण क्षेत्रमा रहेका नेपालीको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन नेपाल सरकारसमक्ष आग्रह गरेका छन् ।

  • अनावश्यक यात्रा नगर्न इजरायलस्थित नेपाली दूतावासको आग्रह

    अनावश्यक यात्रा नगर्न इजरायलस्थित नेपाली दूतावासको आग्रह

    काठमाडौँ, १६ फागुनः इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई इजरायली अधिकारी र होम फ्रन्ट कमान्डद्वारा जारी सुरक्षा सल्लाह र निर्देशन कडाइका साथ पालना गर्न अनुरोध गरेको छ । दूतावासले आज सुरक्षा सचेतनासम्बन्धी सूचना जारी गर्दै अनावश्यक यात्रा नगर्न र नियमित सम्पर्कमा रहन त्यहाँ रहेका सबै नेपालीलाई आग्रह गरेको हो ।

    सूचनामा भनिएको छ, “सकेसम्म घरभित्रै बस्नुहोस्, सतर्क रहनुहोस्, पूर्ण सावधानी अपनाउनुहोस् र आआफ्ना स्थानमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनुहोस् ।” दूतावासले इजरायलका सम्बन्धित अधिकारीहरूको अनुमति नलिई यात्रा नगर्न, स्थानीय समाचार, आधिकारिक घोषणा र आपत्कालीन सतर्कताको निरन्तर निगरानी गर्न, नेपाली दूतावाससँग नियमित सम्पर्क र सञ्चार कायम राख्न र तोकिएका आश्रयस्थल वा सुरक्षित स्थानको नजिक रहन पनि अनुरोध गरेको छ ।

    दूतावासले आवश्यकताअनुसार नियमित रूपमा अद्यावधिक जारी गर्ने सूचनामा उल्लेख छ । आज अमेरिका र इजरायलले इरानमाथि संयुक्त रूपमा सैन्य आक्रमण गरेपछि मध्यपूर्वमा तनावपूर्ण स्थिति बनेपछि दूतावासले नेपालीका लागि सुरक्षा सचेतनासम्बन्धी सूचना जारी गरेको हो ।

  • विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ

    विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ

    काठमाडौँ, १३ फागुनः प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित एक जना स्वीडिस नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा राहदानी नम्बर एए ३८४६४९१ की ५१ वर्षीया स्वीडिस नागरिक कुन्चोक खान्ड्रो रहेकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ढुन्डीराज नेउपानेले जानकारी दिए ।

    उनले भने, “सिचुआन एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट चाइना जान लागेकी निज यात्रु स्वीडिस नागरिकले खैरो रङको साइड ब्यागभित्र विदेशी मुद्राहरू लुकाइ–छिपाइ लैजान लागेका अवस्थामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अन्तरराष्ट्रिय प्रस्थान कक्षबाट पक्राउ गरिएको हो ।”

    प्रहरीले निजको साथबाट युएस दश हजार ५००, युरो २६ हजार ७००, चिनियाँ युआन सात हजार ४०० तथा फेम हुन्ड्रा क्रोनर–स्वीडेन ४३ हजार बरामद गरेको जनाएको छ । पक्राउ परेकी निज स्वीडिस नागरिकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको सूचना अधिकारी नेउपानेले बताए ।

  • मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’

    मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’

    काठमाडौँ, १३ फागुनः नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला सइद मुवारक जरवान अल शाम्सीले प्राकृतिक विपत्तिलगायत सङ्कटका बेला आफ्नो देशले विश्वसमुदायलाई सहयोग गर्दै आएको र त्यसनिम्ति सधैँ तत्पर रहेको बताएका छन् ।

    मुसलमानहरुको पवित्र महिना रमादानका अवसरमा ‘युएई र मानवीय प्रयास : मानवताका निम्ति दिगो रणनीति’ शीर्षकमा आज यहाँ आयोजित कार्यक्रमा उनले ५० लाख बालबालिकालाई कुपोषणबाट जोगाउने अभियान यसै महिना प्रारम्भ गरिने जानकारी दिए । साथै राजदूत शाम्सीले गत वर्ष एक अर्ब ६० करोड अमेरिकी डलर मानवीय सहयोगका खातिर आवश्यकमा रहेका समुदायलाई प्रदान गरिएको बताए ।

  • अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

    अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

    भीष्मराज ओझा–रासस
    काठमाडौैँ, १३ फागुन । पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस र म्यान्माको सीमा क्षेत्र तथा कम्बोडियामा सञ्चालित अनलाइन ठगी (स्क्यामिङ) केन्द्र चलाउने सङ्गठित आपराधिक समूहको फन्दामा परी बन्धक बनाउने क्रम बढेको छ । कम्प्युटरसम्बन्धी ज्ञान भएका, युएई, मलेसियालगायत मुलुकमा पहिले नै वैदेशिक रोजगारीको अनुभव भएका नेपालीलाई आकर्षक तलब पाइने कामको प्रलोभन देखाई यस्ता ठगी केन्द्रमा लैजाने गरेको देखिएको हो ।

    परराष्ट्र मन्त्रालयका अनुसार सन् २०२२ देखि हालसम्म विभिन्न मितिमा थाइल्याण्ड तथा म्यान्मामा रहेका नेपाली राजदूतावासले ती राजदूतावास रहेका मुलुकका सरकारको सहयोग र समन्वयमा त्यस्ता स्क्यामिङ केन्द्रहरूबाट उद्धार गरिएको पीडित नेपालीको कूल सङ्ख्या ३९२ रहेको छ । त्यस्तै हाल ३०९ नेपाली नागरिक उद्धारका लागि प्रक्रियामा रहेका छन् । यस्तै, हाल म्यान्माको आदालतले १८ जना नेपालीहरूलाई गैरकानुनी रूपमा प्रवेश गरेको भनेर एक वर्ष कैद सयाज सुनाएको छ । सो सम्बन्धमा याङ्गुनस्थित नेपाली राजदूत हरिश्चन्द्र घिमिरेले म्यान्माको सरकारी पदाधिकारीहरूसँग भेटघाट गरी छलफल गर्नुभएको मन्त्रालयले जनाएको छ ।

    यसैगरी, उक्त मुलुकहरूका स्क्याम केन्द्रमा रहेका उद्धार गर्नुपर्ने नेपालीहरूको अनुमानित सङ्ख्या हजारौँ हुनसक्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार त्यस्ता व्यक्तिहरूलाई ती केन्द्रहरूमा सुरक्षा गार्ड, अनलाइन डेटिङ, अनलाइन क्यासिनो, गेमिङ तथा फिसिङ, क्रिप्टो ठगीलगायत क्रियाकलापमा जबर्जस्ती लगाउने गरिएको छ । उनीहरूलाई कामको लक्ष्य दिइने र सो पूरा गर्न नसकेको अवस्थामा विभिन्न तरिकाहरू अपनाइ शोषण गर्ने गरिएको पाइएको छ । लक्ष्य पूरा गर्न नसकेको अवस्थामा उनीहरूलाई कुनै अपराध गरेको झुटो आरोप लगाई चरम आर्थिक तथा शारीरिक शोषण गर्ने, निजहरूको सट्टामा अर्को व्यक्तिलाई नल्याएसम्म निजहरूले सो स्थानबाट छुटकारा नदिने गरेको पाइएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो ।

    त्यस्तै राहदानी खोसेर हिँडडुलमा प्रतिबन्ध लगाउने, बन्धक बनाई छुटकाराका लागि ठूलो रकम माग गर्ने, त्यस्तो रकम नतिरेमा गम्भीर शारीरिक तथा मानसिक यातना दिने गरिएकोसमेत पाइएको उनले बताए । “अनलाइन ठगी केन्द्रहरूमा फसेका नेपाली नागरिकहरूको उद्धार गरी नेपाल फर्काउनका लागि थाइल्याण्ड तथा म्यान्मामा रहेका नेपाली राजदूतावासमार्फत यस मन्त्रालयले सक्रिय रूपमा निरन्तर पहल गरिरहेको छ”, प्रवक्ता पौडेलले भने, “त्यस्ता कार्यलाई निरूत्साहन गर्न सम्बन्धित देशका सरकारी निकायसँग समन्वय पनि गरिरहेका छौँ । साथै जनचेतनाका लागि समय समयमा ट्राभल एडभाइजरी तथा सूचनाहरू जारी गर्ने गरेका छौँ ।”

    उद्धार गरिएकालाई छानबिनको दायरामा ल्याउनुपर्ने माग

    भारत, चीन, फिलिपिन्स, भियतनालगायत देशले यसरी ती ठगीबाट उद्धार गरी ल्याएका आफ्ना नागरिकलाई पक्राउ अनुसन्धान गरी कानुनी कारबाही पनि गर्ने गरेका छन् । विशेषगरी पीडित भनी उद्धार गरिएका त्यस्ता व्यक्तिहरू पीडक हुनसक्ने, त्यस्ता उद्योगमा साझेदार हुनसक्ने, कतिपयले त्यहाँ सिकेर स्वदेशबाटै त्यस्तो गैरकानुनी धन्दा सञ्चालन गर्नसक्ने आदि कारणले त्यस्ता व्यक्तिहरू कानुनको नजर र अनुसन्धानको दायरामा पर्ने गरेका छन् । तर नेपालको सन्दर्भमा त्यसतर्फ ध्यान पुगेको देखिदैन् । त्यस्ता व्यक्तिहरूबाटै गलत कार्य हुनसक्ने पनि सम्भावना रहेकाले आगामी दिनमा छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने माग उठेको मन्त्रालयको भनाइ छ ।

    उद्धारको प्रक्रियाका बारेमा मन्त्रालयको दक्षिणपूर्व एसिया तथा प्रशान्त महाशाखाका प्रमुख प्रकाश अधिकारीले पीडितहरू नेपाली राजदूतावासको सम्पर्कमा आएपछि सम्बन्धित देशको परराष्ट्र मन्त्रालयलाई उद्धारका लागि अनुरोध गर्ने गरिएको जानकारी दिए ।

    “उक्त देशको स्थानीय प्रक्रिया पूरा गरी स्वदेश फीर्तिका लागि तयार भएपश्चात् बैंकक हुँदै नेपालसम्म ल्याउन दूतावासहरूले सहजीकरण गर्ने गरेको छ”, उनले भने, “नेपाल फर्कने हवाई टिकटका कारणले कतिपय अवस्थामा उद्धारमा ढिलाइ हुने गरेको छ ।” उद्धारका लागि कर्मचारी खटाउन पनि आर्थिक स्रोतको अभाव रहेको हुँदा सम्बन्धित देशको प्रक्रियामा लामो समय लाग्ने गरेको मन्त्रालयको गुनासो छ । भारत, बङ्गलादेश, श्रीलङ्कालगायत मुलुकहरूले भने त्यस्तो अवस्थामा पीडितहरूलाई उद्धार गर्न सकिने सीमा क्षेत्रसम्मै आफ्ना राजदूतावासका कर्मचारीलाई खटाई शीघ्र उद्धार र स्वदेश फिर्ताको कार्य गर्ने गरेका छन् ।

    यसरी कर्मचारी आफैँ पुगी ती देशका सरकारी निकायहरूसँग छलफल तथा वार्ता गर्दा उद्धार प्रक्रिया छिटो र सहज हुने गरेको छ । नेपालका सन्दर्भमा पीडितहरू रहेको मुलुकमा रहेका गैरआवासीय नेपाली सङ्घ वा अन्य नेपाली समुदायका व्यक्तिहरूसँग सम्पर्क गरी उनीहरूमार्फत कार्य गर्दा लामो समय लाग्ने गरेको छ ।

    उद्धारमा सशस्त्र समूहरूबाट नियन्त्रित क्षेत्रमा थप समस्या

    यस्ता ठगी केन्द्रहरू प्रभावकारी कानुनी कारबाहीको पहुँच बाहिर रहेर काम गर्ने भएकाले पीडितलाई उद्धार तथा स्वदेश फिर्ता गर्ने कार्य अत्यन्त कठिन हुने गरेको छ । यस्ता स्क्याम केन्द्रहरू सरकारी नियन्त्रणरकाबुभन्दा बाहिर रहेका क्षेत्रमा सञ्चालित रहेका छन् । खासगरी म्यान्मामा थाइल्याण्डको सीमाक्षेत्र नजिक सशस्त्र समूहरूबाट नियन्त्रित क्षेत्रमा र कम्बोडिया तथा लाओसका केही क्षेत्रहरूमा सञ्चालित हुने गरेका छन् ।

    घरफीर्तिका लागि उक्त देशमा समय धेरै लाग्ने झञ्झटिलो प्रक्रिया रहेको मन्त्रालयको श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखाका प्रमुख पुष्पराज भट्टराईले जानकारी दिनुभयो । कतिपय पीडितहरू त्यस्ता अनलाइन ठगी केन्द्रहरूबारे जानकारी हुँदाहुँदै पनि प्रलोभनका कारण त्यसतर्फ गएको देखिएको छ ।

    उल्लेखित मुलुकहरूमा यात्रा गर्दा वा वैदेशिक रोजगारीमा जाँदा आकर्षक जागिर, उच्च तलब वा ‘सुनौलो अवसर’ देखाउने दलाल, एजेन्ट वा ब्रोकरहरूमाथि विश्वास नगर्न उनले आग्रह गरे । “यस किसिमका धेरै व्यक्ति ठगी केन्द्र सञ्चालन गर्ने आपराधिक समूहसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका हुनसक्छन्”, उनले भने ।
    वैदेशिक रोजगारीका बारेमा राम्ररी पूर्वजानकारी लिएरमात्र सम्बन्धित देशमा रोजगारीका लागि प्रस्थान गर्न, नेपाल सरकारले तोकेको मापदण्डबमोजिम श्रम स्वीकृति लिएरमात्र वैदेशिक रोजगारीमा जान, गन्तव्य देशसँग नेपालको औपचारिक श्रम सम्झौता छरछैन भन्ने पूर्वजानकारी लिन, भिजिट भिसामा रोजगारीका लागि उच्च जोखिम भएका देशमा नजान मन्त्रालयले आग्रह गरेको छ ।

  • धादिङ बस दुर्घटनाः युएईद्वारा दुःख व्यक्त

    धादिङ बस दुर्घटनाः युएईद्वारा दुःख व्यक्त

    काठमाडौँ, १२ फागुनः संयुक्त अरब इमिरेट्स (युएई)ले धादिङमा सोमबार भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको यहाँस्थित युएईको राजदूतावासले जनाएको छ । युएईको परराष्ट्र मन्त्रालयले आज एक वक्तव्य जारी गरेर नेपाल सरकार र नेपाली जनताप्रति सहानुभूति प्रकट गरेको हो ।

    संयुक्त अरब इमिरेट्सको परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा, पीडित परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै, नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता व्यक्त गरिएको छ । साथै, घाइते सबैको शीघ्र भएका स्वास्थ्यलाभको कामना गरिएको छ । उक्त दुर्घटनामा १९ जनाले ज्यान गुमाएका छन्भने अन्य २५ जना घाइते भएका छन् ।

  • नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक लिस्बनमा सम्पन्न

    नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक लिस्बनमा सम्पन्न

    लिस्बन (पोर्चुगल), ९ फागुनः नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्र ‘बिसिएम’को पहिलो बैठक पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भएको छ । लिस्बनस्थित परराष्ट्र मन्त्रालयमा शुक्रबार सम्पन्न बैठकमा द्विपक्षीय व्यापार, लगानी, पर्यटन, संस्कृति, शिक्षा तथा विज्ञान–प्रविधिको क्षेत्रमा सहयोग अभिवृद्धि र सहकार्य गर्ने सहमति भएको छ । बैठकमा नेपाल–पोर्चुगल सम्बन्धका राजनीतिक, आर्थिक तथा कन्सुलर मामिलालगायत समग्र पक्षहरूको समीक्षा गरिएको थियोे । दुवै पक्षले जलवायु परिवर्तन तथा साझा चासोका क्षेत्रीय तथा बहुपक्षीय मुद्दामा समेत विचार–विमर्श गरेका थिए ।

    बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राईले गर्नुभएको थियोे भने पोर्चुगलको तर्फबाट पोर्चुगलका परराष्ट्र तथा सहकार्य मामिला सचिव डा आना इसाबेल जेभियरले नेतृत्व गरेका थिए । नेपाली प्रतिनिधिमण्डलमा पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल, परराष्ट्रका सहसचिव एवं युरोप महाशाखा प्रमुख गणेशप्रसाद ढकाल, उपसचिव उत्तम घिमिरेसहित दूतावासका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो ।

    बैठकमा नेपाल–पोर्चुगलबीचको समग्र द्विपक्षीय सम्बन्धको समीक्षा गरिनुका साथै साझा चासो, आपसी हित, थप सहकार्य र सहयोग अभिवृद्धिबारे गहन विमर्श र छलफल भएको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले राससलाई जानकारी दिए । पोर्चुगलवासी नेपालीले भोगिरहेका कागजात प्रमाणीकरणसम्बन्धी समस्याको समाधानका लागि सहजीकरण गरिदिन पोर्चुगिज पक्षसँग विशेष आग्रह गरिएको उनले बताए । “नेपालमा पोर्चुगलको दूतावास स्थापनाका लागि समेत आग्रह गरिएको छ । बैठकले दुई देशबीच नयाँ सम्भावनाको ढोका खुलेको छ”, राजदूत पौडेलले भने ।


    त्यस अवसरमा परराष्ट्र सचिव राईले पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायप्रतिको सद्भावका लागि पोर्चुगल सरकारलाई धन्यवाद व्यक्त गरे । परराष्ट्र मामिला सचिव डा जेभियरले पोर्चुगलको अर्थतन्त्रमा नेपाली समुदायले पु¥याएको योगदानको प्रशंसा गरे । बैठकपश्चात् डा जेभियरले पोर्चुगल भ्रमणमा रहेका नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गरेका थिए । यस्तै, परराष्ट्र सचिव राईले पोर्चुगिज व्यापार तथा लगानी एजेन्सीमा नवीकरणीय ऊर्जा क्षेत्रसँग सम्बन्धित अधिकारीसँग अन्तक्र्रिया गरेका थिए ।

    उनले जलविद्युत् उत्पादन, प्रसारण र वितरणलगायत ऊर्जा क्षेत्रमा पोर्चुगिज लगानीकर्ताहरूसँग नेपालमा लगानीका लागि नेपालको लगानी बोर्डसँग छलफल गर्न सुझावसमेत दिए । यसअघि परराष्ट्र सचिव राईले पोर्चुगलको परराष्ट्र मन्त्रालयका महासचिव फ्रान्सिस्को मारिया डि सौसा रिबेरो टेलेससँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

    उक्त भेटमा द्विपक्षीय कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको दूतावासले जनाएको छ । भ्रमण सम्पन्न गरी परराष्ट्र सचिव राई नेतृत्वको प्रतिनिधिमण्डल आज स्वदेश फर्कने कार्यक्रम रहेको छ । नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको सन् २०१८ मा स्थापना भएको हो ।

  • अमेरिका पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

    अमेरिका पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

    ९ फागुन, काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीका लागि अमेरिका लैजाने भन्दै रकम गठी गर्ने एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका–११ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–४ बस्ने ३८ वर्षीया चन्द्रकला सापकोटा दाहाल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।

    उनले भने, “पक्राउ परेका निजले अमेरिका लैजाने भन्दै एक जनाबाट रु छ लाख ३० हजार रकम लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा आज पक्राउ गरिएको हो ।” निजलाई आज ललितपुर महालक्ष्मी नगरपालिका–४ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रवक्ता कार्कीले बताए ।

  • पोर्चुगलको लिस्बनमा नेपाली दूतावासको औपचारिक उद्घाटन

    पोर्चुगलको लिस्बनमा नेपाली दूतावासको औपचारिक उद्घाटन

    लिस्बन (पोर्चुगल), ८ फागुन : पोर्चुगलको राजधानी लिस्बनस्थित नेपाली दूतावासको उद्घाटन गरिएको छ । दूतावासको बिहीबार एक समारोहका बीच परराष्ट्र सचिव अमृतबहादुर राई र पोर्चुगलका विदेश मामिला तथा सहयोग राज्यसचिव डा आना इसाबेल जेभियरले संयुक्त रूपमा उद्घाटन गरे । गत अप्रिलमा स्थापना भई सेवा प्रवाह गर्दै आएको दूतावासको हाल औपचारिक रूपमा उद्घाटन गरिएको हो ।

    सो अवसरमा परराष्ट्र सचिव राईले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ र प्रगाढ बनाउन दूतावासले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । यसैगरी पोर्चुगलका विदेश मामिला सचिव डा जेभियरले खुसी व्यक्त गर्दै दूतावासलाई पोर्चुगल सरकारको निरन्तर सहयोग रहने आश्वासन दिए । पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले दूतावासले दुई देशबीचको द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन पुलको रूपमा काम गर्ने बताए । उद्घाटन समारोहमा पोर्चुगलको विदेश मन्त्रालयका उच्चपदस्थ अधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि, दूतावासका कर्मचारी तथा सञ्चारकर्मीको सहभागिता थियो ।

    यसैबीच, दूतावासले नेपाली समुदायसँग अन्तक्र्रिया गरेको थियो । अन्तक्र्रियामा सहभागी वक्ताहरूले पोर्चुगलवासी नेपालीले भोग्नुपरेका समस्या, दूतावासको सेवा र कागजी प्रक्रियामा देखापरेका समस्यालगायत विषयमा गुनासो गरेका थिए । उनीहरूले दलालले प्रहरी चारित्रिक प्रमाणपत्रमा (प्रहरी रिपोर्ट) दिल्लीस्थित पोर्चुगिज दूतावास र नेपाली दूतावासको नक्कली छाप र हस्ताक्षर प्रयोग गरी ठगी गर्दा पोर्चुगल बसाइको वैधानिकताको प्रक्रियामा रहेका सयौँ नेपाली समस्यामा परेको भन्दै सोको समाधानका लागि पहल गरिदिन सचिव राईसमक्ष गम्भीर ध्यानाकर्षण गराएका थिए । सहभागीहरूले नेपालमा पोर्चुगलको दूतावास नभएकै कारण दिल्ली धाउनुपर्ने बाध्यता रहेकाले नेपालमै पोर्चुगलको भिसा सेन्टर स्थापनाका लागि पहल गर्न आग्रह गरेका थिए ।

    सो अवसरमा सहभागीहरुको गुनासो र जिज्ञासालाई सम्बोधन गर्दै परराष्ट्र सचिव राईले पोर्चुगलवासी नेपालीका समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताए । दूतावासले गैरआवासीय नेपाली सङ्घलगायत यहाँ क्रियाशील नेपाली सङ्घसंस्थाका प्रतिनिधिको उपस्थितिमा ७६औँ प्रजातन्त्र दिवससमेत मनाएको थियो। सचिव राईको सहअध्यक्षतामा आज नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक लिस्बनमा बस्दैछ ।

  • इरानमा रहेका पोल्यान्डका सबै नागरिकले तत्काल देश छाड्नुपर्छ : प्रधानमन्त्री

    इरानमा रहेका पोल्यान्डका सबै नागरिकले तत्काल देश छाड्नुपर्छ : प्रधानमन्त्री

    तेहरान, ८ फागुन (रासस\एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक गणतन्त्रविरुद्ध सैन्य कारबाहीको सङ्केत गरेपछि पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले आफ्ना सबै नागरिकहरूलाई इरान छोड्न आह्वान गरेका छन् । उनले एक पत्रकार सम्मेलनमा भने, “इरानमा रहेका पोल्याण्डका सबै नागरिकले तुरुन्त देश छोड्नु पर्छ र कुनै पनि हालतमा कसैले पनि इरानको यात्रा गर्ने योजना बनाउनु हुँदैन ।

    उनले थपे, “तातो द्वन्द्वको सम्भावना धेरै छ । केही घण्टा वा केही दिन हुनसक्ला, इरानबाट बाहिरिने एक मात्र विकल्प हुनेछ ।” हालैका महिनाहरूमा पोल्याण्ड सरकारले आफ्ना नागरिकहरूलाई देश छोड्न आह्वान गरेको यो दोस्रो पटक हो । अमेरिकाले इरान नजिकै युद्धपोत, लडाकु विमान र इन्धन भर्ने विमानसहित सैन्य बल निर्माण गरिरहेको छ र ट्रम्पले आदेश दिएमा कुनै पनि समय युद्ध हुन सक्नेछ ।

  • युएईका नेताहरूद्वारा प्रजातन्त्र दिवसको शुभकामना

    युएईका नेताहरूद्वारा प्रजातन्त्र दिवसको शुभकामना

    काठमाडौँ, ८ फागुनः संयुक्त अरब इमिरेट्स (युएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई सन्देश पठाएका छन् । बिहीबार उनले सम्प्रेषण गरेको बधाई सन्देशमा राष्ट्रपति पौडेलसहित नेपाल सरकार तथा नेपाली जनताप्रति हार्दिक शुभकामना गरिएको यहाँस्थित युएईको राजदूतावासले आज जनाएको छ ।

    त्यसैगरी, युएईका उपराष्ट्रपति, प्रधानमन्त्री तथा दुबईका शासक शेख मोहम्मद बिन राशिद अल मक्तूम तथा उपराष्ट्रपति, उपप्रधानमन्त्री एवं राष्ट्रपति मामिलामन्त्री शेख मन्सुर बिन जायेद अल नाह्यानले पनि राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति पौडेललाई शुभकामना सन्देश पठाएका छन् ।

  • पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस

    पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस

    काठमाडौँ, ८ फागुनः नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठकमा भाग लिने सिलसिलामा लिस्बनमा रहनुभएका परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र पोर्चुगलका परराष्ट्र तथा सहयोग मामिलासम्बन्धी सचिव डा अना इसाबेल जेभियरले बिहीबार विशेष समारोहका बीच लिस्बनस्थित नेपाली दूतावासको चान्सरीको संयुक्त रूपमा उद्घाटन गरे ।

    त्यस अवसरमा परराष्ट्र सचिव राईले दूतावासको स्थापनामा पोर्चुगल सरकारले गरेको सहयोगप्रति हार्दिक कृतज्ञता व्यक्त गरे । दूतावासले दुवै देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउन सेतुका रूपमा काम गर्ने विश्वास व्यक्त गरे । उक्त दूतावासका अनुसार पोर्चुगलका परराष्ट्र सचिवले पोर्चुगलमा नेपाली दूतावासको आतिथ्य पाउँदा खुसी व्यक्त गर्दै दूतावासको सहज सञ्चालनका लागि पोर्चुगल सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।


    लिस्बनस्थित कूटनीतिक समुदायका ‘डिन’ एन्ड्रेस कारास्कोसा कोसोले कूटनीतिक ‘कर्पस्’मा नयाँ सदस्यका रूपमा नेपाली राजदूत प्रकाशमणि पौडेलाई स्वागत गरे । बिहीबार साँझ नेपाली दूतावासले ७६ औँ प्रजातन्त्र दिवसका अवसरमा पोर्चुगलमा रहेका आप्रवासी तथा नेपाली समुदायका संस्थाहरूका प्रतिनिधिहरूको उपस्थितिमा स्वागत समारोह पनि आयोजना गरेको थियो ।

  • खेलकुदमा एनआरएनएको सहभागिता गराउने कांग्रेसको लक्ष्य

    खेलकुदमा एनआरएनएको सहभागिता गराउने कांग्रेसको लक्ष्य

    काठमाडौं, ७ फागुन : नेपाली कांग्रेसले नेपालको राष्ट्रिय टिममा गैरआवासीय नेपाली खेलाडीलाई पनि समावेश गर्ने लक्ष्य लिएको छ । पार्टी सभापति गगनकुमार थापाले आज सार्वजनिक गरेको नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा यस्तो उल्लेख गरिएको छ । प्रतिज्ञापत्रमा भनिएको छ, “गैरआवासीय नेपाली युवालाई नेपालका राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा सहभागी गराई नेपालीत्वको भावना अभिवृद्धि गराउन र समग्र नेपालको खेलकुद क्षेत्रको विकास गर्न कानुनी व्यवस्था गर्छौं ।”

    विश्वका अन्य देशहरूमा बाहिरका खेलाडीले देशको प्रतिनिधित्व गरिरहेका बेला नेपालमा भने यो व्यवस्था नहुँदा डायस्पोरामा दोस्रो र तेस्रो पुस्ताका युवा खेलाडीहरूले देशको प्रतिनिधित्व गर्न नपाएको उल्लेख गर्दै कांग्रेसले गैरआवासीय नेपालीलाई राष्ट्रिय खेलमा सहभागीता गराउन विद्यमान खेलकुद विकास ऐन संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताएको छ ।