Category: डायस्पोरा

  • श्रमिक सचेतना तथा मानव बेचबिखनविरुद्ध भारतको चेन्नइमा अभिमुखीकरण

    श्रमिक सचेतना तथा मानव बेचबिखनविरुद्ध भारतको चेन्नइमा अभिमुखीकरण

    पाटन (ललितपुर), ३० चैतः भारतका लागि नेपाली राजदूतावास, नयाँ दिल्लीको आयोजना र सामाजिक संस्था किन इन्डिया दिल्लीको सहआयोजनामा चेन्नईमा ‘श्रमिक सचेतना तथा मानव बेचबिखनविरुद्ध अभिमुखीकरण’ कार्यक्रम सम्पन्न भएको छ । सामाजिक संस्था किन इन्डियाका ग्लोबल एम्बेस्डर सगरमाथा आरोही कल्पना महर्जनले दिएको जानकारीअनुसार भारतमा रहेका नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी कानुन र मानब बेचबिखन न्यूनीकरणबारे जानकारी दिनका लागि भारतको आज उक्त कार्यक्रम आयोजना गरिएको हो ।

    कार्यक्रममा भारतका लागि नेपाली राजदूत डा शङ्करप्रसाद शर्माले नेपाली श्रमिकहरूले भोगिरहेका कानुनी समस्याहरू समाधानका लागि दूतावासले प्रदान गर्ने सेवा र सहयोगबारे जानकारी गराउनुभएको महर्जनले बताए । राजदूत डा शर्माले भारतमा विभिन्न ठाउँमा मानव बेचबिखन र तस्करीमा परेका नेपालीहरूको उद्धार र स्वदेश फीर्ति गर्नका लागि दूतावासले किन इन्डिया जस्ता संस्थासँग सहकार्य गर्ने गरेको बताए ।


    कार्यक्रममा नेपाली दूतावासका काउन्सिलर मिनिस्टर अम्बिका जोशीले आधारकार्ड, बैङ्क खाता, नो अब्जेक्सन लेटरलगायत विषयमा नेपाली श्रमिकहरूका समस्या समाधानका लागि दूतावासले सदैव श्रमिकको पक्षमा काम गरिरहेको जानकारी गराए । यसैगरी, दूतावासका काउन्सिलर तथा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रकाश मल्लले आफू रहेको देश तथा राज्यको कानुन पालना गर्न नेपाली समुदायलाई सचेत गराउनुपर्नेमा जोड दिए ।

  • बहुपक्षीयताप्रति नेपाल प्रतिबद्ध छ’

    बहुपक्षीयताप्रति नेपाल प्रतिबद्ध छ’

    काठमाडौँ, २९ चैतः सरकारले बहुपक्षीयताप्रति नेपाल सधैँ प्रतिबद्ध रहेको बताएको छ । न्युयोर्कमा अन्तरराष्ट्रिय समुदायसमक्ष नेपालले बहुपक्षीयता र अन्तरराष्ट्रिय ऐक्यबद्धताप्रति दृढ प्रतिबद्धता व्यक्त गरेको हो । संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगले आज उक्त विश्व संस्थाको मुख्यालयमा २६३औँ नेपाली सेना दिवस तथा राष्ट्रसङ्घीय शान्तिसेनामार्फत द्वन्द्वग्रस्त विश्वका विभिन्न मुलुकमा शान्ति स्थापनामा ६८ वर्षदेखि निरन्तर योगदान गरेको सन्दर्भमा आयोजना गरेको विशेष स्वागत समारोहमा नेपालले राष्ट्रसङ्घलाई केन्द्रमा राखेर वर्तमान विश्वले झेलेका चुनौती बहुपक्षीयताको प्रवर्दनबाट सामाना गर्न सकिने बताएको हो ।

    संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले नेपाली सेनाको गौरवशाली इतिहासबारे जानकारी दिनुभएको उक्त नियोगले जनाएको छ । नेपाली सैनिकको सेवा, बलिदान र व्यावसायिकताबाट परिचित उक्त राष्ट्रिय संस्थाले राष्ट्रिय अखण्डताको रक्षा गर्नुका साथै विश्व शान्ति र सुरक्षाका खातिर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको राजदूत थापाले बताए ।

    हालसम्म एक लाख ६० हजारभन्दा बढी नेपाली शान्ति सैनिकले विभिन्न राष्ट्रसङ्घीय ‘मिसन’मा सेवा गरिसकेको उल्लेख गर्दै नेपालले बहुपक्षीयता र अन्तरराष्ट्रिय ऐक्यबद्धताप्रति आफ्नो दृढ प्रतिबद्धता निरन्तर प्रदर्शन गर्दै आएको उनले बताए ।
    राष्ट्रसङ्घका उपमहासचिव जिन पियर लाक्रोँले नेपाली शान्ति सैनिकको समर्पण र व्यावसायिकताको प्रशंसा गर्दै उनीहरूको योगदानप्रति आभार व्यक्त गरे । त्यस अवसरमा संयुक्त राष्ट्रसङ्घका लागि विभिन्न देशका राजदूत, कूटनीतिज्ञ, सैन्य तथा प्रहरी सल्लाहकार, राष्ट्रसङ्घका उच्चअधिकारी, नेपालका मित्र तथा पूर्वसैनिक अधिकारीहरूको उपस्थिति थियो ।

  • वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

    वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

    काठमाडौँ, २९ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति शृङ्खलामा अवरोध र बढ्दो असमानताले सहकार्य मात्र नभई सामूहिक जिम्मेवारीको माग गरिरहेको बताएका छन् । मौरिससको पोर्ट लुइसमा आजदेखि सुरु भएको नवौँ हिन्द महासागर सम्मेलनमा सम्बोधन गर्दै उनले मध्यपूर्वमा भइरहेका द्वन्द्वबाट नेपालसहित सिङ्गो विश्व नै प्रभावित भएको उल्लेख गरे । परराष्ट्रमन्त्री खनालले मध्यपूर्वमा भइरहेको द्वन्द्वका क्रममा नेपालले

    एक जनाको ज्यान गुमाइसकेको र अन्य केही घाइते भएको उल्लेख गरे ।
    “मध्यपूर्वमा भइरहेका घटना र त्यसबाट उत्पन्न समस्या नेपालका लागि टाढाका घटनाहरू होइनन् । लाखौँ नेपाली नागरिक त्यहाँ बसोबास तथा रोजगारीमा छन्, उनीहरूको सुरक्षा हाम्रो प्रमुख प्राथमिकताको विषय हो”, उनले भने । मन्त्री खनालले द्वन्द्वका असर क्षेत्रीय सीमाभन्दा बाहिर फैलिएका र त्यसले इन्धन मूल्य, आपूर्ति शृङ्खला र जीविकोपार्जनमा समेत प्रभाव पारेकाले हिन्द महासागरको स्थिरता विश्व शान्तिसँग जोडिएको धारणा राखे ।

    ‘हिन्द महासागर शासनका लागि सामूहिक संरक्षकत्व’ विषयक सम्मेलनमा उहाँले नेपालका लागि, सामूहिक संरक्षकत्वको सुरुआत एउटा सरल सत्यबाट हुने र हिमाल तथा महासागरको भविष्य एक–अर्कासँग अविच्छिन्न रूपमा जोडिएको उल्लेख गरे । “नेपाल सरकारको दृष्टिमा संरक्षकत्व भनेको संकीर्ण स्वार्थभन्दा माथि उठेर साझा उत्तरदायित्व बहन गर्नु हो । यसका लागि समावेशी, पारदर्शी र नियममा आधारित बहुपक्षीय प्रणाली आवश्यक छ, जसले अन्तरराष्ट्रिय कानुन, सार्वभौमिक समानता, पारस्परिक सम्मान र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तलाई मार्गदर्शन गर्छ”, मन्त्री खनालले भने ।


    उनले नेपाल संवादको साझेदार, भूपरिवेष्ठित राष्ट्रहरूको आवाज र पहाड तथा महासागरबीचको सेतु बन्न तयार रहेको बताए । नेपाल भुपरिवेष्ठित मुलुक भएपनि हिन्द महासागरसँग यसको सम्बन्ध प्राचीन, स्वाभाविक र अविभाज्य रहेको उल्लेख गर्दै मन्त्री खनालले इतिहासमा नेपाली व्यापारी, तीर्थयात्री र विद्वानहरूले हिमालदेखि महासागरसम्म जोड्ने मार्गहरू प्रयोग गरेको बताए ।


    “यी मार्गहरूले व्यापार मात्र होइन, विचार र दर्शन पनि प्रवाह गरेका छन् । विशेषगरी, लुम्बिनी (नेपाल) मा जन्मनुभएका गौतम बुद्धका शिक्षाहरू यिनै मार्गबाट फैलिएका हुन् । आज यही विचार आधुनिक विज्ञान र भू–राजनीतिमा पनि थप आवश्यक छ”, उनले भने । मन्त्री खनालले हिन्दुकुश हिमालय क्षेत्र विश्वका अर्बौँ मानिसका लागि पानीको मुख्यस्रोत भएको उल्लेख गर्दै यहाँका हिमनदीहरू अन्ततः हिन्द महासागरमा मिसिने भएकाले तिनको भविष्यबारे पनि सोच्नुपर्नेमा जोड दिए ।

    “जलवायु परिवर्तनले यस अन्तरसम्बन्धलाई अझ स्पष्ट र चिन्ताजनक बनाएको छ । नेपालमा हिमनदीहरू तीव्र रूपमा पग्लिरहेका छन्, जसले हिमताल विस्फोटको जोखिम बढाएको छ”, उनले भने, “अर्कोतर्फ, हिन्द महासागर तीव्र रूपमा तातिरहेको छ, जसले समुद्री सतह बढाएर टापु राष्ट्रहरूलाई खतरा पु¥याइरहेको छ । नेपालले संयुक्त राष्ट्रसङ्घ र कोप सम्मेलनहरूमा यस विषयमा आवाज उठाउँदै आएको छ । यसै सिलसिलमा ‘सगरमाथा संवाद’ नामक अन्तरराष्ट्रिय मञ्च स्थापना गरेको छ ।”

    नेपाल संयुक्त राष्ट्रसङ्घीय समुद्री कानुनको हस्ताक्षरकर्ता राष्ट्र रहेको र यसप्रति प्रतिबद्ध भएको उल्लेख गर्दै मन्त्री खनालले भूपरिवेष्ठित राष्ट्रहरूलाई समुद्रमा पहुँच र समुद्री अर्थतन्त्रमा सहभागिताको अधिकार हुने बताउए । यो विशेष सुविधा नभई कानुनी अधिकार भएको पनि उनको भनाइ थियो ।

    हिन्द महासागर विश्व व्यापार र ऊर्जा आपूर्तिको केन्द्र भएको बताउँदै मन्त्री खनालले नेपाल समुद्री आतङ्कवाद, डकैती, लागुऔषध र मानव तस्करी जस्ता चुनौतीप्रति चिन्तित रहेको उल्लेख गरे, “हामी विवाद समाधानका लागि संवाद र अन्तरराष्ट्रिय कानुनको समर्थन गर्छौँ । हामी भूगोलले मात्र होइन, साझा जिम्मेवारीले पनि जोडिएका छौँ”, उनले भने ।

  • वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

    वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

    काठमाडौँ, २८ चैतः अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान गर्दा नेपाली श्रमिकले रसिदलगायत कागजात पेस गर्नुपर्ने जनाएको थियो ।

    “वैदेशिक रोजगार विभागबाट जारी भएको श्रम स्वीकृति र राहदानीलगायतका न्यूनतम आधारभूत कागजातबाहेक नेपाली श्रमिकहरूले नेपालबाहिर प्रस्थान गर्दा अध्यागमन कार्यालयमा थप कुनै पनि कागजात तथा बिल\रसिद पेस गर्न नपर्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ”, अध्यागमन विभागद्वारा जारी सूचनामा भनिएको छ । विभागले विदेश यात्रा गर्ने नेपाली नागरिक कुनै पनि किसिमको भ्रममा नपरी गन्तव्य मुलुक र यात्राका बारेमा पूर्ण रूपमा सुसूचित भई निर्धक्क यात्रा गर्न अनुरोध गरेको छ ।

    ‘भिजिट भिसा’मा नेपालबाट प्रस्थान गर्ने नेपाली नागरिकले कम्तीमा छ महिना म्याद भएको राहदानी, गन्तव्य मुलुकसम्मको हवाई टिकट र सम्बन्धित मुलुक प्रवेशको अनुमति (भिसा) भएमा स्वघोषणासहित विदेश जान पाउने व्यवस्था यसअघिदेखि नै कार्यान्वयनमा रहेको विभागले जनाएको छ ।

  • सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

    सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

    काठमाडौँ, २६ चैतः सरकारले संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानबीच भएको युद्धविराम सम्झौताको स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गरेर दुई साताका लागि युद्धविराम गर्ने सहमति हुनु पश्चिम एसियाको तनाव घटाउने सकारात्मक कदम भएको बताएको छ । यसले संवाद, कूटनीति र मतभेदको शान्तिपूर्ण समाधानका लागि अवसर सृजना गरेको जनाइएको छ ।

    सरकारले युद्धविरामलाई क्षेत्रीय शान्ति र स्थायित्व प्रवद्र्धनतर्फ सकारात्मक पहलका रूपमा लिएको बताउँदै विवादको शान्तिपूर्ण समाधानका हुनुपर्नेमा जोड दिएको छ । विज्ञप्तिमा द्वन्द्वका कारण उत्पन्न मानवीय प्रभावप्रति चिन्ता व्यक्त गर्दै सर्वसाधारण नागरिकको सुरक्षा र हित सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

    सरकारले क्षेत्रीय तथा विश्वव्यापी रूपमा दिगो शान्ति र स्थायित्व प्रवद्र्धन गर्ने उद्देश्यले अन्तरराष्ट्रिय समुदायबाट भइरहेका सबै प्रयासप्रति समर्थन जनाएको छ ।

  • मन्त्रीहरूलाई ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ का विषयमा जानकारी

    मन्त्रीहरूलाई ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ का विषयमा जानकारी

    काठमाडौँ, २५ चैत । परराष्ट्र मन्त्रालयले ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ का सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वको सरकारका सबै मन्त्रीहरूलाई प्रस्तुती दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा सबै मन्त्रीहरूलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रस्तुती दिनुभएको प्रधानमन्त्री शाहकी प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन् ।

    सचिव राईले अन्तरराष्ट्रिय परिवेश, नेपालको अन्तरराष्ट्रिय सम्बन्ध, राष्ट्रिय हितको प्रवद्र्धन, नेपालको समग्र परराष्ट्र नीतिबारे विस्तृत प्रस्तुती दिएका थिए । उनले परराष्ट्र नीति सञ्चालन गर्दा अपनाउनुपर्ने विधि, सीमाहरू र कूटनीतिक मर्यादाका सम्बन्धमा सूक्ष्म ढङ्गले जानकारी गराए ।

    नेपालको परराष्ट्र नीतिका प्राथमिकता, सम्बन्धको सन्तुलन र कूटनीतिक आचारसंहिताका प्राविधिक पक्षहरूलाई उहाँले विशेष जोड दिए । साथै, विदेशी पदाधिकारीहरूसँग हुने भेटवार्ताका क्रममा पालना गर्नुपर्ने सामान्य शिष्टाचारदेखि कूटनीतिक आचारसंहिताका अनिवार्य विषयमा समेत मन्त्रीहरूबीच प्रस्तुती गरिएको थियो ।

  • मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह

    मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह

    काठमाडौँ, २५ चैत । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख एवं राजदूतहरूलाई उनीहरुले प्रतिनिधित्व गर्ने मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाल सरकार उत्सुक रहेको बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शिष्टाचार भेट गर्न पुग्नुभएका नियोग प्रमुखहरूलाई प्रधानमन्त्री शाहले सरकार सबै देशहरूसँगको सम्बन्धलाई उच्च महत्त्व दिनुका साथै विश्वासका आधारमा पारस्परिक लाभमा आधारित साझेदारी सुदृढ गर्न प्रतिबद्ध रहेको उल्लेख गरे ।

    “नेपालले सन्तुलित र व्यावहारिक वैदेशिक नीतिको अनुसरण गर्दै आएको छ । हाम्रो बाह्य सम्बन्ध साझा समृद्धिको लक्ष्यद्वारा निर्देशित छ,” प्रधानमन्त्री शाहले भने, “नेपालको विकास र समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग प्रदान गर्नुभएकामा हामी सबै साझेदार तथा मित्रहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।”

    विश्वमा जारी द्वन्द्वहरूले सर्वसाधारण नागरिकलाई सबैभन्दा बढी असर पार्ने भएकाले शान्ति साझा प्राथमिकता हुनुपर्नेमा उनको जोड थियो । प्रधानमन्त्री शाहले भने, “चलिरहेका द्वन्द्वहरूले सर्वसाधारण नागरिकलाई सबैभन्दा बढी असर पार्ने भएकाले शान्ति हाम्रो साझा प्राथमिकता रहनुपर्छ । यसमा हामी सबै सहमत छौँ भन्ने विश्वास लिएको छु र यस दिशामा सामूहिक प्रयासको अपेक्षा गर्दछु । यहाँ उपस्थित सबै मित्रहरूलाई नेपालको निरन्तर मित्रता र सहयोगका लागि धन्यवाद दिन चाहन्छु ।”

    प्रधानमन्त्री शाहले नेपाल सरकार लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न,उद्यमशीलतालाई प्रोत्साहन गर्न तथा दिगो विकासलाई समर्थन गर्न प्रतिबद्ध रहेको पनि बताए । उनले राष्ट्रिय हितअनुकूल हुनेगरी नेपाललाई क्षेत्रीय तथा वैश्विक आर्थिक संरचनामा अझ मजबुत रूपमा समेट्ने लक्ष्य राखिएको पनि उल्लेख गरे ।


    “नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन । हामी राजनीतिक स्थायित्व कायम राख्न तथा नीतिगत दिशालाई स्थिर र पूर्वानुमानयोग्य बनाइराख्न दृढ प्रतिबद्ध छौँ,” प्रधानमन्त्री शाहले भने । उनले विकास, व्यापार, लगानी, जलवायु अनुकुलनका कार्य तथा जनस्तरको सम्बन्धजस्ता विभिन्न क्षेत्रमा सहकार्य अघि बढाउन सरकार इच्छुक रहेको जानकारी दिए । यसैगरी विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हित सरकारको प्राथमिकतामा रहेको विषयमा उनले जोड दिए ।

  • प्रधानमन्त्रीले गरे राजदूत तथा कूटनीतिक नियोग प्रमुखसँग सामूहिक छलफल

    प्रधानमन्त्रीले गरे राजदूत तथा कूटनीतिक नियोग प्रमुखसँग सामूहिक छलफल

    काठमाडौँ, २५ चैतः प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख एवं राजदूतहरूले आज सामूहिक शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उहाँहरूले प्रधानमन्त्री शाहसँग भेट र संवाद गरेका छन् । सो अवसरमा भारत, पाकिस्तान, दक्षिण कोरिया, संयुक्त अधिराज्य, कतार, स्विट्जरल्याण्ड, फ्रान्स, इजरायल, जापान, बङ्गलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्र सङ्घका राजदूत एवं नियोग प्रमुखहरूको उपस्थिति रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    त्यस अवसरमा राजदूत एवं नियोग प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई ज्ञापन गर्दैै उहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे । उनीहरुलाई नेपाली जनताको हितमा परिणाम दिनेगरी नेपाल सरकारका कार्यहरूमा समर्थन र सहयोगको प्रतिबद्धता वक्त गरेका थिए । सन्तुलित र व्यवहारिक परराष्ट्र नीतिमा नेपाल स्पष्ट रहेको बताउँदै प्रधानमन्त्री शाहले छिमेकी, मित्र राष्ट्र र विकास साझेदारहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्धलाई अझ प्रगाढ बनाइने विश्वास व्यक्त गरे ।

    प्रधानमन्त्री शाहले शान्ति सबैको साझा प्राथमिकता हुनुपर्नेमा जोड दिँदै विश्वभर रहेका नेपाली समुदाय एवं श्रम गर्न गएका सबै नेपाली नागरिकको सुरक्षा र हित नेपाल सरकारको उच्च प्राथमिकतामा रहने स्पष्ट पारे । सुशासन, आर्थिक विकास र नेपाली जनताको जीवनस्तर सुधारमा सरकार दृढ प्रतिबद्ध रहेको उनले भनाइ छ । सो अवसरमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह, मुख्यसचिव सुमनराज अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई र अन्य सरकारी उच्च अधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।

  • प्रधानमन्त्रीसँग राजदूतहरूको सामूहिक भेट हुँदै

    प्रधानमन्त्रीसँग राजदूतहरूको सामूहिक भेट हुँदै

    काठमाडौँ, २५ चैत । प्रधानमन्त्री वालेन्द्र शाहसँग यहाँस्थित विभिन्न मुलुकका राजदूतहरूले सामूहिक रूपमा भेट गर्दै हुन् । भेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो हुनेछ । परराष्ट्रमन्त्री शिशिर खनालसहितको उपस्थितिमा हुने सामूहिक भेटमा प्रधानमन्त्रीले राजदूतहरूलाई सङ्क्षिप्त रूपमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    यसैबीच, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अशिम शाहले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “प्रधानमन्त्री वालेन शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्दै छन् । परराष्ट्रमन्त्री शिशिर खनालसहितको यो सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड सेट गर्नेछ । मर्यादित कूटनीति, बलियो नेपाल ।”

  • वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

    वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

    काठमाडौँ, २३ चैत ।वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने सम्पूर्ण श्रमिकहरुले विमानस्थल जाँदा देहाय बमोजिमका थप कागजात अनिवार्य रुपमा आफूसँग लिएर मात्र गन्तव्य मुलुकसम्मको यात्रा गर्न अनुरोध गरेको छ ।

    विभागले आज विज्ञप्ति जारी गरी यही चैत २९ गतेदेखि गन्तव्य मुलुकसम्मको हवाई टिकट र सो टिकटको बिलररसिद ९संस्थागत र व्यक्तिगत दुवैले अनिवार्य साथमा राखे० र म्यानपावर कम्पनी (इजाजतपत्र प्राप्त संस्था)मार्फत जाँदै हुनुहुन्छ भने सो संस्थालाई वैदेशिक रोजगारीका लागि बुझाएको सेवा शुल्कबापतको आधिकारिक रसिद राख्न अनुरोध गरेको हो ।

    साथै, सबै इजाजतपत्र प्राप्त संस्थाले वैदेशिक रोजगारीको सम्बन्धमा श्रमिकबाट प्राप्त गरेको सेवा शुल्कवापतको भौचरररसिदरभरपाइ अनिवार्य रुपमा श्रमिकलाई उपलब्ध गराउन विभागले अनुरोध गरेको छ ।

  • मातृभूमिमा लगानीका लागि अभिप्रेरित गर्न गैरआवासीय नेपालीलाई राष्ट्रपतिको आह्वान

    मातृभूमिमा लगानीका लागि अभिप्रेरित गर्न गैरआवासीय नेपालीलाई राष्ट्रपतिको आह्वान

    काठमाडौँ, २३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा रहेको लगानीको अपार सम्भावनाको सदुपयोग गर्न र आफू बसोबास गरेको मुलुकका लगानीकर्तालाई मातृभूमिमा लगानीका लागि अभिप्रेरित गर्न गैरआवासीय नेपालीलाई आग्रह गरेका छन् । राष्ट्रपति भवन शीलत निवासमा आज गैरआवासीय नेपाली सङ्घका नवनिर्वाचित पदाधिकारीसँगको भेटमा नेपाललाई सुशासन विकास र समृद्धितर्फ लैजान तथा अन्तरराष्ट्रिय जगत्मा नेपालको प्रतिष्ठा बढाउन आग्रह गरे ।


    राष्ट्रपति पौडेलले भने, “नेपालमा जलविद्युत्, पर्यटन, कृषि, पूवार्धार, सूचना तथा सञ्चार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना छ, भारत र चीनजस्ता विश्वकै ठूलो जनसङ्ख्या र बृहत् बजारहरू हाम्रा समीप र पहुँचमा छन्, यस्तो अवस्थामा, नेपाल आर्थिक विकासका लागि चाहिने पूर्वाधार, औद्योगिकिकरण र आन्तरिक उत्पादनलगायतको विकासमा केन्द्रित हुनुपर्दछ ।”

    भर्खरै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट मुलुकको विषम र जटिल परिस्थितिले एउटा निकास पाएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले अब मुलुकमा सुशासनको माध्यमबाट सामाजिक न्यायसहितको विकास र समृद्धितर्फ अग्रसर हुन जनताले मतादेश दिएको बताए । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका निश्चित मूल्य मान्यता, सिद्धान्त र दर्शनलाई अङ्गिकार गरेर अघि बढ्नुपर्ने खाँचो औँल्याएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

    राष्ट्रपति पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न गुरुयोजना बनाएर काम अघि बढेको उल्लेख गर्दै त्यसमा गैर आवासीय नेपाली सङ्घले आफ्नोतर्फबाट सहयोग गर्ने नै छ भन्ने विश्वास व्यक्त गरे ।

    उनले गैरआवासीय नेपाली विश्वसम्मेलनबाट भर्खरै निर्वाचित अध्यक्ष, पदाधिकारीलगायत सबैलाई हार्दिक बधाई दिँदै यो समितिले संसारभर रहेका सबै गैरआवासीय नेपालीलाई समेटेर यो संस्था सबैको साझा संस्था हो भन्ने भावना जागृत गराउन सफल होस् भन्ने शुभकामना पनि दिए । सो अवसरमा सङ्घका नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्माले संघका गतिविधि र भावी योजनाबारे प्रकाश पारेका थिए ।

  • जिपिके फाउन्डेसन र बाग्लुङ्ग समाजको सहकार्यमा न्युयोर्कमा निशुल्क खाद्यान्न बितरण सम्पन्न

    जिपिके फाउन्डेसन र बाग्लुङ्ग समाजको सहकार्यमा न्युयोर्कमा निशुल्क खाद्यान्न बितरण सम्पन्न

    न्युयोर्क

    न्युयोर्कमा सामाजिक सेवाको एक प्रेरणादायी उदाहरण प्रस्तुत गर्दै २०२५ अप्रिल १ तारिखका दिन गिरिजा प्रसाद कोईराला फाउन्डेसन र बाग्लुङ्ग सेवा  समाज अमेरिका न्युयोर्क च्याप्टरको संयुक्त आयोजनामा निःशुल्क खाद्य सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।

    यस कार्यक्रमले बहु-सांस्कृतिक समुदायलाई एकै ठाउँमा जोड्दै मानव सेवाको सशक्त सन्देश दिएको देखिन्छ। नेपाली, तिब्बती, बंगाली, स्पानिस तथा भारतीय मूलका करिब २५० देखि ३०० जनासम्मले प्रत्यक्ष रूपमा खाद्य सहायता प्राप्त गरेका थिए। आर्थिक रूपमा चुनौतीपूर्ण अवस्थामा रहेका परिवारहरूका लागि यो कार्यक्रम अत्यन्त राहतदायी बनेको सहभागीहरूले बताएका छन्।

    कार्यक्रम सफल बनाउन दुवै संस्थाका गरि करिब ३० जना स्वयंसेवकहरू सक्रिय रूपमा खटिएका थिए। उनीहरूले व्यवस्थापनदेखि वितरणसम्मको सम्पूर्ण प्रक्रिया संयोजन गर्दै अनुशासित र व्यवस्थित ढंगले सेवा प्रदान गरेका थिए। स्वयंसेवकहरूको सक्रियता र समर्पणले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको देखिन्छ।

    यस सामाजिक पहलको नेतृत्व श्री सोमनाथ घिमिरे ले गर्नुभएको थियो, जो गिरिजा प्रसाद कोईराला फाउन्डेसन का निवर्तमान अध्यक्षसमेत हुनुहुन्छ। उहाँको पहल र सक्रियताले समुदायमा सकारात्मक ऊर्जा थप्दै सहयोग र सहकार्यको भावना बलियो बनाएको छ। साथै, उहाँ न्युयोर्क असेम्ब्ली डिस्ट्रिक्ट ३० का उम्मेदवारका रूपमा समेत सामाजिक सेवामा निरन्तर अग्रसर देखिनु उल्लेखनीय छ।यो अभियानमा बाग्लुंग समाज नियुयोर्कका अध्यक्ष जीवनाथ कंडेल, वरिष्ठ ऊपाध्यक्ष विमल हमाल, माया मगर, महासचिब जीबनदास सुनार, संस्थाका शक्रिय युवा युवा अभियन्ता अनिल रोका, बिश्वास बोहोरा, नवराज सापकोटा, प्रभा रिजाल, बिना छन्त्याल, ख्याम पुन, ईश्वर बाबु,तुलासिदेबी कडेल लगाएतका साथीहरुको सक्रिय भुमिका र सहयोग रहेको थियो

    कार्यक्रमले आपसी सद्भाव, सहअस्तित्व र मानवताको भावना प्रवर्द्धन गर्नुका साथै आपतकालीन अवस्थामा समुदायले एकअर्कालाई कसरी साथ दिन सक्छ भन्ने सन्देश दिएको छ। आयोजकहरूले आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

    यो कार्यक्रम केवल खाद्य वितरणमा सीमित नरही, विविध समुदायबीचको सम्बन्ध सुदृढ गर्ने र मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो भन्ने सन्देश फैलाउने महत्वपूर्ण पहलका रूपमा स्थापित भएको छ।

  • खाडी मुलुकमा युद्धको अफवाह फैल्याएको आरोपमा ११ नेपाली पक्राउ

    खाडी मुलुकमा युद्धको अफवाह फैल्याएको आरोपमा ११ नेपाली पक्राउ

    काठमाडौँ, २० चैतः इजरायल–अमेरिका र इरानबीच चलेको युद्धबारे अफवाह फैलाउने श्रव्यदृश्य सामग्री, तस्बिरलगायत सामाजिक सञ्जालमा पोष्ट गरेका कारण पश्चिम एसियाका विभिन्न मुलुकमा ११ नेपाली पक्राउ परेका छन् । परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलन गरेर उक्त जानकारी गराएको हो ।
    पक्राउ पर्नेमा साउदी अरेबियामा चार, युनाइटेड अरब इमिरेट्स (यूएई) र कतारमा तीन÷तीन तथा ओमानमा एक जना रहेका छन् ।

    क्षेप्यास्त्र तथा ड्रोनमार्फत भइरहेको आक्रमणको तस्बिर तथा श्रव्यदृश्य सामग्री खिचेर कुनै पनि सामाजिक सञ्जालमा डर त्रास देखाउन पोष्ट गरे कानुनी सजाय भोग्नुपर्ने व्यवस्था छ । त्यही अनुरुप हालसम्म ११ नेपालीलाई सामाजिक सञ्जालमा त्यस्ता किसिमका सामग्री राखेर कानुन उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।


    “पक्राउ परेका नेपाली नागरिकको अवस्था र छुटाउन सकिने विषयमा सम्बन्धित देशका दूतावास र नियोगहरुसँग जानकारी दिने काम भइरहेको छ । पक्राउ परेका नेपाली नागरिक कुन कानुन उल्लङ्घनअन्तर्गत पक्राउ गरेका हुन् र कति जरिवाना लाग्छ भन्नेबारे जानकारी लिने काम भइरहेको छ”, प्रवक्ता क्षेत्रीले भने । मध्य पश्चिम मुलुकमा युद्धको प्रभावका कारण रोजगार गुमाउनुपर्ने जोखीम नरहेको प्रवक्ता क्षेत्रीले बताए ।

    उनका अनुसार खास गरी होटल, रेष्टुरेण्ट र पर्यटन जस्ता क्षेत्रमा नेपाली कामदारले जागीर गुमाउने चिन्ता बढेको भए पनि ठूलो क्षेत्रमा त्यसको खतरा नरहेको सम्बन्धित नियोगहरुले जानकारी दिएका छन् । खाडी मुलुकमा युद्धबाट प्रभावीत÷असुरक्षित भई घर फर्किन चाहने नेपालीलाई उद्धार गर्ने काम निरन्तर भइरहेको उनले बताए ।


    मन्त्रालयले जारी गरेको ‘कल सेन्टर’मा नेपाली नागरिकले उडानको अवस्था के छ रु घर फर्किन चाहने र श्रम स्वीकृतिबारे जिज्ञासा राख्ने गरेका प्रवक्ता क्षेत्रीले बताए । “अहिलेसम्म ८६ हजार ४२० जनाले नाम दर्ता गराएका छन् । असुरक्षित छु भन्नेको सङ्ख्या विस्तारै कम हुँदै गएको छ । असुरक्षित छु भन्नेहरुले पनि विस्तारै सुरक्षित भएर यहीँ काम गर्ने भनिरहेका छन् । ट्रान्जिटमा परेकाहरुको उद्धार लगभग पूरा भइसकेको छ”, उनले भने ।

  • पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

    पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

    नयाँदिल्ली, २० चैत (रासस–एएफपी) । अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा सुरक्षास्थितिलाई मध्यनजर गर्दै पश्चिम एसिया क्षेत्रबाट छ लाख बढी यात्रु भारत फर्किएको भारत सरकारका एक उच्च अधिकारीले बिहीबार जानकारी र्दिएका छन् । उनले बुधबार युएईमा घाइते भएका भारतीय नागरिकहरूको बारेमा पनि जानकारी दिए । यस क्षेत्रमा भारतीय समुदायको सुरक्षा र कल्याण सरकारको सर्वोच्च प्राथमिकता रहेको बताए ।


    भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव असीम आर महाजनले राजधानीमा भएको अन्तर–मन्त्रालय रिपोर्टिङ्का क्रममा उक्त जानकारी दिए । महाजनले भने, “फेब्रुअरी २८ यता करिब छ लाख २४ हजार यात्रुले यस क्षेत्रबाट भारत यात्रा गरेका छन् । एयरलाइन्सहरूले युएई र भारतबीच सीमित विशेष उडानहरू सञ्चालन गरिरहेका छन् ।

    बिहीबार युएईबाट भारतका विभिन्न गन्तव्यहरूमा लगभग ९० उडानहरू हुने अपेक्षा गरिएको छ। उनका अनुसार साउदी अरब र ओमानका विभिन्न विमानस्थलबाट भारतका विभिन्न गन्तव्यमा उडान भइरहेका छन् । महाजनले भने, “कतार एयरवेजले आज भारतमा ८ देखि १० वटा उडान गर्ने अपेक्षा गरिएको जनाएको छ । कुवेत र बहराइनका हवाई क्षेत्र बन्द रहेका छन् । कुवेतको जजिरा एयरवेज र बहराइनको गल्फ एयरले साउदीको दमाम विमानस्थलबाट भारतका विभिन्न गन्तव्यमा उडान भर्दै आएका छन् । यसले कुवेत र बहराइनबाट भारतीय नागरिकहरूको यात्रालाई सहज बनाएको छ।”

    हवाई क्षेत्र बन्द भएका कारण इरानबाट अर्मेनिया र अजरबैजान हुँदै भारतमा उडान भएका छन् । त्यस्तै, इजरायलबाट इजिप्ट र जोर्डन, इराकबाट जोर्डन र साउदी अरब, कुवेत र बहराइन हुँदै साउदी अरब र त्यहाँबाट भारत आवागमन गर्न सरकारले सहजीकरण गरिरहेको पनि उनले बताए । युएईमा बुधबार भएको घटनाबारे जानकारी दिँदै महाजनले भने, “युएईको उम्म अल क्वाइनमा हिजो भएको आक्रमणमा एक भारतीय नागरिक घाइते भएको र अहिले उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । हाम्रो वाणिज्य दूतावासले घाइते भारतीय नागरिकलाई सबै सहयोग गरिरहेको छ ।”

    गल्फ न्यूजका अनुसार उम्म अल थाउब क्षेत्रको एक औद्योगिक प्रतिष्ठान नजिकै ड्रोनको भग्नावशेष खस्दा एक भारतीय नागरिक घाइते भएका थिए । महाजनले आफ्नो टिप्पणीमा विदेश मन्त्रालयले खाडी र पश्चिम एसिया क्षेत्रमा विकसित भइरहेको स्थितिलाई नजिकबाट निगरानी गरिरहेको र यस क्षेत्रमा ठूलो भारतीय समुदायको सुरक्षा र उद्धार सुनिश्चित गर्नु सरकारको सर्वोच्च प्राथमिकता रहेको बताए ।

  • भारत–नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

    भारत–नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

    काठमाडौँ, २० चैतः भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने भएको छ । त्यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र यहाँस्थित भारतीय राजदूतावासबीच बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

    परियोजनाअन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका–२ मा तेह्रथुमको लालीगुराँस नगरपालिका–२ मा ‘कोल्ड स्टोर’ निर्माण, मुस्ताङको घरपझोङ गाउँपालिका–२ मा जनबल माध्यमिक विद्यालयको भवन, छात्रावास र चमेनागृहको निर्माण, कैलालीको गौरीगङ्गा नगरपालिका–११ मा कालिका प्राथमिक विद्यालय भवन निर्माण गरिनेछ ।

    यसैगरी, रौतहटको परोहा नगरपालिका–४ मा प्रसूति केन्द्रको भवन निर्माण, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ मा कस्तुरी माध्यमिक विद्यालय र बाँकेको खजुरा गाउँपालिका–४ मा जनकल्याण माध्यमिक विद्यालयको भवन निर्माण गरिनेछ ।

  • विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

    विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

    काठमाडौँ, २० चैत । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बैंकको विवरणअनुसार विप्रेषण आप्रवाहमा ३७.७ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.५ प्रतिशतले बढेको थियो ।

    गत फागुनमा विप्रेषण आप्रवाह रु एक खर्ब ८८ अर्ब ६४ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु एक खर्ब ५१ अर्ब १९ करोड बराबर थियो । सो अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१ प्रतिशतले वृद्धि भई रु १० अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले बढेको थियो ।

    केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु १५ खर्ब ९१ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु ११ खर्ब ४९ अर्ब ३० करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ७३ हजार ५३६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ५१ हजार ९८५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः तीन लाख १७ हजार ०६८ र दुई लाख १७ हजार ४०३ रहेको थियो ।

    त्यस्तै, समीक्षा अवधिमा चालु खाता रु पाँच खर्ब ५२ अर्ब ८५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब ९७ अर्ब ३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा रु एक अर्ब ४६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा रु तीन अर्ब ८८ करोडले बचतमा रहेको छ ।

    यस्तै, फागुन मसान्तस्म्म रु १० अर्ब ८४ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी ९इक्विटी मात्र० रु आठ अर्ब ४७ करोड रहेको थियो । सो अवधिमा शोधनान्तर स्थिति रु छ खर्ब ५८ अर्ब ३५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु तीन खर्ब १० अर्ब ३७ करोडले बचतमा रहेको थियो ।

  • अमेरिकाको म्यासाचुसेट्स राज्यको केप कडमा ल्होसार साँझ २०२६ सम्पन्न

    अमेरिकाको म्यासाचुसेट्स राज्यको केप कडमा ल्होसार साँझ २०२६ सम्पन्न

    म्यासाचुसेट्स

    संयुक्त राज्य अमेरिकाको म्यासाचुसेट्स राज्यको केप कडमा रहेको नेपालीहरूको साझा संस्था “केप कड नेपाली समाज” ले सधैंझै विभिन्न नेपाली मौलिक चाडपर्वहरू मनाउने क्रममा यस वर्षको ल्होसार पर्व ( ल्होसार, नयांबर्ष-२१५३) समाजका अध्यक्ष केबी राईको अध्यक्षतामा यही मार्च महिनाको २८ तारीख, शनिवारको दिन सेन्टरभिलस्थित Fraternal Lodge को सभाकक्षमा भब्यताका साथ सम्पन्न गरिएको थियो।

    समाजका महासचिव, इच्छा खड्का र सचिव सरस्वती खनालद्वारा संयुक्त रूपमा संचालित उक्त कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष बिष्णुमान प्रधानले कार्यक्रममा उपस्थिति सबैलाई स्वागत गर्नुको साथै ल्होसारको हार्दिक मंगलमय शुभकामना पनि ब्यक्त गर्नुभएको थियो।

    त्यसैगरि “लोसार साँझ”कार्यक्रमका संयोजक छेजी शेर्पाले लोसार पर्वको बारेमा प्रकास पार्दै यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने समाजका सबै पदाधिकारीहरू लगायत सम्पूर्ण अतिथिहरू साथै समुदायका सम्पूर्ण आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरूलाई धन्यवाद दिदै सबैमा ल्होसार वर्ष २१५३ को शुभकामना पनि ब्यक्त गर्नुभएको थियो।

    नेपाली संस्कृति झल्किने विभिन्न मौलिक भेषभुषामा सजिएका केप कडका स्थानीय कलाकारहरू साथै समाजका पदाधिकारीहरूले शेर्पा भाषाको स्वागत गान प्रस्तुत गरि “ल्होसार विशेष सांस्कृतिक कार्यक्रम” को शुरुआत गरिएको थियो।

    कार्यक्रममा स्थानीय कलाकारहरूको विभिन्न समुहले सामूहिक रूपमा प्रस्तुत गरिएका नेपाली समुदायको विभिन्न मौलिक भेषभुषा, परम्परा र सांस्कृतिलाइ प्रतिबिम्बित गर्ने शेर्पा, गुरूंग, तामागं साथै नेपाली भाषाका नाच गानहरूको प्रस्तुतिले ल्होसार सांझको विशेष रौनकता बढाएको थियो। ल्होसार विशेष सांस्कृतिक कार्यक्रमलाई सफल पार्न विशेष भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण स्थानीय कलाकारहरू, के. ओंगछु शेर्पा, आश्ना शेर्पा, सुस्मा क्षेत्री-शेर्पा, छेजी शेर्पा-एन्ड्रू, झरना अन्डरउड, ओंग्जु शेर्पा, मिंग्मा लामु शेर्पा, निमा शेर्पा लाई समाजका अध्यक्ष केबी राईले खादा लगाएर सम्मान गर्नुभएको थियो।

    स्थानीय दिदीबहिनी तथा दाजुभाईहरूले ल्होसार विशेष पुजा तथा अन्य सजावट सामाग्रीहरू ल्याई कार्यक्रम गर्ने सभाकक्षलाई सजाएर आकर्षक बनाएका थिय। त्यसैगरि पर्व विशेष परिकारहरूः खाप्से, ढेसे, नुन घ्यु हालेको चिया (Suchiya) र फलफुलहरूको पनि ब्यवस्था गरेका थिए।जस्ले कार्यक्रम स्थल लोसारमय बनेको थियो। समाजका उपाध्यक्ष कुवेर विन्दुकारको संयोजकत्वमा कार्यक्रमको लागि आवश्यक खानपिनको तयारी र ब्यवस्थापन कार्यक्रम स्थलमै गरिएको थियो।

    त्यसैगरि कार्यक्रममा बोष्टन तथा न्यू हाम्पसाएर बाट पनि अतिथिहरूको उपस्थिती रहेको थियो। अतिथि दोर्जे शेर्पाले पनि नेपाली मौलिक गीतहरू गाएर कार्यक्रमलाई थप मनोरंजन प्रदान गर्नुभयो।

    कार्यक्रमको समापन सत्रमा “ल्होसार साँझ” लाई सफल बनाउन नगद तथा जिन्सी सामाग्री उपलब्ध गराई सहयोग पुर्याउनुहुने सम्पूर्ण प्रायोजकहरूको नाम पढेर सुनाउनुको साथै सबैलाई धन्यवाद ज्ञापन गरिएको थियो। यस कार्यक्रमका प्रायोजन समितिका संयोजक संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहाकार हरी राई हुनु हुन्थ्यो ।

    कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष साथै यस कार्यक्रमको सभापति, केबी राईले उपस्थित सबैलाई ल्होसार नंयावर्ष २१५३ शुभकामना ब्यक्त गर्नुको साथै कार्यक्रमलाई सफल बनाउनको लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफ्नो अमुल्य समय, श्रोत, श्रम साथै बिचारहरू प्रदान गर्नुहुने समाजका सम्पूर्ण पदाधिकारीहरू, स्थानीय कलाकारहरू, प्रायोजकहरू, खाना आपूर्ति तथा ब्यवस्थापन गर्ने तथा ल्होसार विशेष परिकारहरू बनाएर ल्याउने स्थानीय समुदायका दाजुभाई – दिदीबहिनीहरू, कार्यक्रमको लागि हल उपलब्ध गराउने टिम, म्यूजिक ब्यवस्थापनमा सहयोग गर्ने DJ टिम साथै केप कड भन्दा बाहिरबाट यस कार्यक्रममा आउनुभएका सम्पूर्ण अतिथिहरूलाई समाजको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।

  • प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

    प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

    काठमाडौँ, १९ चैतः वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले हार्दिक बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई बुधबार एक सन्देश पठाएर रूसी प्रधानमन्त्रीले रूसको सङ्घीय सरकार तथा व्यक्तिगत रूपम बधाई ज्ञापन गरेका हुन् । सन्देशमा उनले प्रधानमन्त्री शाहको नेतृत्वमा रूस–नेपाल सम्बन्ध मित्रता, आपसी सम्मान र पारस्परिक हित संरक्षणको भावनाअनुसार अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।


    साथै प्रधानमन्त्री मिशुस्टिनले सरकारी तहमा हुने रचनात्मक सहकार्यले व्यापार, आर्थिक, लगानी, सांस्कृतिक तथा मानवीय सहयोग विस्तारमा टेवा पुग्ने उल्लेख गर्नुभएको यहाँस्थित रूसी राजदूतावासले जनाएको छ । रूसी प्रधानमन्त्रीले आपसी सहकार्य दुवै देशका दीर्घकालीन हितअनुकूल हुने विश्वास व्यक्त गर्दै सन्देशमा प्रधानमन्त्री शाहको सुस्वास्थ्य, सुख, समृद्धि तथा कार्यकालको सफलताको कामना गरेका छन् ।

  • अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार

    अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार

    काठमाडौँ, १८ चैतः कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा लगाइएका १२ नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ । विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अनलाइन ठगि तथा कम्बोडियामा बिना भिसा बसिरहेका १२ नेपालीको थाइल्याण्डस्थित नेपाली दूतावासको पहल र कम्बोडियाको सरकारको सहयोगमा उद्धार गरी आज स्वदेश फर्काइएको हो ।

    यसैगरी अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीलाई नेपाल फर्काउने पहल भइरहेको दूतावासले जनाएको छ । कम्बोडियामा नेपाली नागरिक अनलाईन ठगीलगायत गैर कानुनी काममा लगाइएको र बिना भिसा वा भिसा–अवधिभन्दा बढी समय बसिरहेको जानकारी प्राप्त भएको दूतावासले जनाएको छ ।

    कम्बोडियामा माथि उल्लेखित अवस्थामा बसिरहनुभएका नेपाली नागरिकलाई नेपाल फर्कन सहजीकरणका लागि नेपाली राजदूतावास बैंकक वा गैर–आवासीय नेपाली सङ्घ कम्बोडियाका प्रतिनिधिलाई सम्पर्क गर्न अनुरोध गरिएको छ । स्क्यामिङ केन्द्रमा काम लगाइएकाको राहदानी कम्पनीले जफत गर्ने गरेको वा स्क्यामिङ केन्द्रबाट ट्रान्सफर हुँदा राहदानी हराएको भनि धेरै जनाको गुनासो आएको छ । त्यस्तो अवस्थामा नेपाल फर्किनलाई नेपाली राजदुतावास बैंककले उद्धार गर्न बिना शुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गरिदिने गरेको छ ।

    कम्बोडियाको प्रयटनसम्बन्धी तथ्याङ्क अनुसार पछिल्लो समय सन् २०२१ मा १०१ जना नेपाली भ्रमण भिसामा कम्बोडिया गएकोमा सन् २०२२ मा एक हजार ९७७ जना, सन् २०२३ मा दुई हजार ९४० जना, सन् २०२४ मा छ हजार ४०४ जना तथा सन् २०२५ मा नौ हजार ६७६ जना नेपालीहरू कम्बोडिया गएको देखिन्छ ।

    नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार थाइल्याण्ड लगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावासले अनुरोध गरेको छ ।

  • थाइल्याण्डमा एएनओको समिति गठन

    थाइल्याण्डमा एएनओको समिति गठन

    काठमाडौँ, १६ चैतः विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपाली जाति र नेपालीभाषीबीच आफू बसेकै देशमा नेपाली भाषा र संस्कृतिको पहिचानका लागि अभियान सञ्चालन गरिरहेको एसोसिएसन अफ नेपाली ओरिजिन ९एएनओ० को थाइल्याण्ड समिति गठन गरिएको छ । थाइल्याण्डको बैंकक सहरमा आइतबार आयोजित एएनओको भेलाले सो समितिको अध्यक्षमा थाइल्याण्डमै जन्मेकी पाचौँ पुस्ताकी नेपाली मूलकी नागरिक अमरा राई चयन गरेको हो ।

    थाइल्याण्डमै जन्मेका र पुस्तौँदेखि थाइल्याण्ड र बर्मामा बसोबास गरिरहेका नेपाली जातिका नागरिकहरुको सहभागितामा सम्पन्न सो भेलाले उक्त समितिमा मिलन घिमिरे, नरेश पाण्डे, सोनिया राई, एमी राई, बसन्ती प्रधान, दीपा पौडेल, अस्मिता न्यौपाने, सुमन कार्की र विक्की सिन्च्यूरीलाई चयन गरेको छ । त्यस अवसरमा थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले नेपली कला, संस्कृति, भाषा र परम्परालाई नेपाली मूलका मानिसहरुमा पुस्तान्तरण गर्ने एएनओको अभियानले सकारात्मक परिणाम ल्याउने विश्वास व्यक्त गरे ।


    एएनओका अन्तरराष्ट्रिय महासचिव चूडामणि भट्टराईले एएनओको निवेदनलाई स्वीकार गर्दै नेपाल सरकारले कुनै पनि नेपाली मूलको मानिस नेपाल जाँदा अब विमानस्थलमा विदेशीको लाइनमा बस्नु नपर्ने व्यवस्था हालै मिलाएको जानकारी दिँदै यसबाट संसारभरका नेपालीले सम्मानित महसुस गरेका बताए ।


    कार्यक्रममा क्यालिफोर्निया स्टेट युनिभर्सिटीका प्राध्यापक डा मोहन डाँगीले नेपालीपनको विस्तारको एजेण्डाले मन छोएको बताए । बैंककलाई कर्मभूमि बनाएर प्राध्यापनरत नेपाल पोलिसी इन्स्टिच्युडका अध्यक्ष डा खगेन्द्र ढकालले गैरआवासीय नेपाली सङ्घले तीन पुस्ताभित्रका नेपालीमात्र समेट्ने भएकाले त्यस बाहिरका नेपालीलाई समेट्ने संस्थाको रुपमा एएनओ आएकोमा खुसी व्यक्त गरे ।


    थाइ नेपाली सङ्घका उपाध्यक्ष विनोद लामिछाने, गैरआवासीय नेपाली सङ्घ एशिया प्रशान्त क्षेत्रीय उपप्रमुख भविन्द्र बस्नेत, एएनओको बोर्ड अफ ट्रष्टी सदस्य वात्सना राई र केन्द्रीय कार्यसम्पादन समितिका सदस्य राज कर्माचार्य र प्राध्यापक भारती लिम्बूनीले थाइल्याण्डमा पनि नेपाली भाषा र संस्कृति विस्तारका लागि अर्को एक मञ्च बनेकामा खुसी व्यक्त गरे । सो भेलामा मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको सिजन एक र दुईमा थाइल्याण्ड र बर्माबाट सहभागी कलाकारहरुले पितृभूमि नेपालको सम्झनामा संस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

  • युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    ब्रसेल्स, १६ चैत (रासस–एपी) । युरोपेली सङ्घ (इयु)ले आप्रवासन नियन्त्रणलाई अझ कडा बनाउने दिशामा निर्णायक मोड लिँदै निगरानी, पक्राउ र निर्वासनको दायरा विस्तार गरिरहेको छ । यसलाई कतिपयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकालीन रणनीतिसँग तुलना गर्न थालेका छन् । सत्ताइस राष्ट्रहरूको यो समूहले आप्रवासीहरूलाई युरोप प्रवेश गर्नुअघि नै रोक्ने, तेस्रो देशहरू—विशेषगरी अफ्रिकी मुलुकहरू—मा पठाउने र भित्र प्रवेश गरेपछि छिटो निर्वासन गर्ने नीति अघि बढाइरहेको छ । सन् २०२४ मा विभिन्न देशहरूमा दक्षिणपन्थी दलहरूको उदयपछि यस्तो नीति झन् कडाइका साथ लागू गर्न थालिएको हो ।

    युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले नयाँ उपायहरूले सन् २०१५ मा सिरियाली गृहयुद्धका कारण उत्पन्न शरणार्थी सङ्कट दोहोरिन नदिने दाबी गरेका छन् । त्यसबेला करिब १० लाख मानिस युरोप पुगेका थिए । “हामीले विगतका पाठ सिकेका छौँ र अहिले हामी अझ तयार छौँ”, उनले भने । ‘माइग्रेसन र शरण सम्झौता’ नाम दिइएको नयाँ नीति जुन १२ देखि लागू हुने तय भएको छ ।

    यद्यपि, मानव अधिकार समूहहरूले यस्ता कदमप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनीहरूका अनुसार युरोपेली देशहरूले पहिलेदेखि नै सीमा क्षेत्रमा ‘पुशब्याक’ अर्थात् आप्रवासीहरूलाई कानूनी प्रक्रिया बिना फर्काउने अभ्यास गरिरहेका छन्, जसले अन्तर्राष्ट्रिय कानून उल्लङ्घन गर्ने जोखिम बढाएको छ ।
    इटालीले यसमा एउटा नमूना प्रस्तुत गरेको छ । प्रधानमन्त्री जर्जिया मेलोनीको नेतृत्वमा त्यहाँ कडा आप्रवासन नीति लागू गरिएको छ, जसअन्तर्गत अल्बानियामा शरण अस्वीकृत भएका आप्रवासीहरूका लागि हिरासत केन्द्र सञ्चालनमा छन् । त्यहाँ राखिएका आप्रवासीहरू भय र अन्योलमा रहेको एक सांसदले अवलोकनपछि बताउनुभयो ।

    मेलोनी सरकारको नयाँ प्याकेजले नौसेनालाई अन्तर्राष्ट्रिय पानीमै शङ्कास्पद जहाज रोक्ने अधिकार दिएको छ भने आप्रवासीहरूलाई उनीहरूको मूल देश वा तेस्रो देशमा फर्काउने प्रक्रिया पनि तीव्र बनाइएको छ । आपराधिक अभियोग लागेका विदेशी नागरिकहरूको निर्वासन झनै छिटो गरिने व्यवस्था गरिएको छ ।
    जर्मनी, अस्ट्रिया, नेदरल्यान्ड्स, डेनमार्क र ग्रिसलगायत देशहरूले पनि तेस्रो देशमा निर्वासन केन्द्र स्थापना गर्ने योजनामा छलफल अघि बढाइरहेका छन् । केही देशले केन्याजस्ता राष्ट्रहरूसँग यस विषयमा वार्ता गरिरहेको जनाइएको छ । यस्ता पहलहरू ट्रम्प प्रशासनले एल साल्भाडोरसँग गरेको सम्झौता जस्तै भएको टिप्पणी पनि गरिएको छ । विशेषगरी अफगानिस्तान र सिरियाबाट आएका मानिसहरूलाई लक्षित गर्दै स्विडेनले समेत युरोप बाहिर शरण खोज्नेहरूका लागि केन्द्र खोल्ने योजना अघि सारेको छ ।

    यसबीच, युरोपभित्रै ट्रम्प शैलीका कडा उपायहरूको समर्थन र विरोध दुवै देखिएको छ । केही समूहले अमेरिकी अध्यागमन निकाय आइसिईको कार्यशैलीको प्रशंसा गर्दै युरोपमा पनि त्यस्तै विशेष प्रहरी एकाइ गठन गर्नुपर्ने माग गरेका छन् । युरोपेली सीमा एजेन्सी फ्रन्टेक्सले बेल्जियममा आप्रवासी नियन्त्रणका लागि प्रहरीसँग संयुक्त छापा मार्न थालेको पनि जनाइएको छ ।

    इयुबाट बाहिरिए पनि बेलायतमा आप्रवासन नियन्त्रण प्रमुख राजनीतिक एजेन्डा बनेको छ । त्यहाँको सरकारले सन् २०२४ जुलाईदेखि अहिलेसम्म करिब ६० हजार मानिसलाई निर्वासित गरिसकेको जनाएको छ भने सन् २०२५ मा मात्रै करिब नौ हजार अवैध कामदार पक्राउ परेका छन् । मानव अधिकार समूहहरूले भने यस्ता नीतिहरूले कानूनी सुरक्षा कमजोर पार्ने चेतावनी दिएका छन् । उनीहरूका अनुसार सीमा क्षेत्रमा दैनिक औसत २२१ ‘पुशब्याक’ घटना हुने गरेका छन् र सन् २०२५ मा मात्रै विशेषगरी इटाली, पोल्यान्ड, बुल्गेरिया र लाटभियामा ८० हजारभन्दा बढी यस्ता घटना रेकर्ड भएका छन् ।

    प्रतिवेदनहरूमा आप्रवासीहरूमाथि कुटपिट, प्रहरी कुकुर प्रयोग, लुगा खोस्ने, नदी पार गर्न बाध्य पार्ने र व्यक्तिगत सामान लुट्ने जस्ता दुर्व्यवहार भएको उल्लेख गरिएको छ । निगरानीका लागि ड्रोन, थर्मल क्यामेरा र स्याटेलाइट प्रविधिको प्रयोग पनि बढ्दो छ । मानव अधिकारकर्मीहरूका अनुसार युरोपमा अझै पनि कानूनी र संस्थागत सुरक्षा अमेरिकाभन्दा बलियो भए पनि राजनीतिक रूपमा कडा नीतितर्फ झुकाव बढ्दो छ । “संस्थागत स्वतन्त्रता अझै कायम छ, तर नीतिगत दिशाले मानवीय परिणामहरूमा गम्भीर असर पार्न सक्छ”, एक विज्ञले चेतावनी दिए ।

  • अमेरिकामा नो किङ्ग्स’ आन्दोलनको लहर, कहाँ कस्तो छ अवस्था ?

    अमेरिकामा नो किङ्ग्स’ आन्दोलनको लहर, कहाँ कस्तो छ अवस्था ?

    मिनियापोलिस (संयुक्त राज्य अमेरिका), १६ चैत रासस–एएफपी) । अमेरिकी आप्रवासन नीतिविरुद्ध बढ्दो असन्तुष्टिका बीच ‘नो किङ्ग्स’ आन्दोलनले मिनियापोलिसलाई फेरि राष्ट्रिय ध्यानको केन्द्रमा ल्याएको छ । यस सहरमा शनिबार दशौँ हजार प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन् । सङ्घीय आप्रवासन छापापछि केही महिनाअघि हिंसात्मक घटनाले स्तब्ध बनेको यो सहरमा पुनः ठूलो सङ्ख्यामा नागरिकहरू भेला भएका हुन् ।

    आयोजकहरूका अनुसार करिब दुई लाख मानिस सहभागी भएको यो प्रदर्शन ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिको विरोधमा केन्द्रित थियो । जनवरीमा गरिएको विवादास्पद छापाका क्रममा सङ्घीय एजेन्टहरूको हातबाट दुई अमेरिकी नागरिक रेनी गुड र एलेक्स प्रिटीको मृत्यु भएपछि मिनियापोलिस राष्ट्रिय बहसको केन्द्र बनेको थियो । उक्त घटनाले राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीति विरुद्ध व्यापक आक्रोश जन्माएको थियो ।

    गत वर्षदेखि आम नागरिकको पहलमा सुरु भएको ‘नो किङ्ग्स’ आन्दोलन अन्तर्गत यो तेस्रो ठूलो प्रदर्शन हो, जसले ट्रम्पको नेतृत्व शैली र दक्षिणपन्थी एजेन्डाप्रति असहमति जनाउँदै आएको छ । प्रदर्शनमा सहभागीहरूले ‘कुनै राजा छैन, कुनै आइस छैन, कुनै युद्ध छैन ?’ जस्ता नाराहरू घन्काएका थिए, जसले आप्रवासन कार्यान्वयन निकाय ‘आइस’ (आइसिई) विरुद्धको असन्तोषलाई समेत प्रस्ट पारेको थियो ।

    कार्यक्रमको सांस्कृतिक पक्ष पनि प्रभावशाली देखिएको थियो । चर्चित सङ्गीतकार ब्रुस स्प्रिङ्गस्टीनले छिमेकी सेन्ट पल सहरमा आयोजित कार्यक्रममा प्रस्तुति दिँदै ‘स्ट्रिट्स अफ मिनियापोलिस’ गीतमार्फत मृतक गुड र प्रिटीप्रति श्रद्धाञ्जली व्यक्त गरे । उनले उनीहरूको बलिदान र साहसलाई स्मरण गर्दै उनीहरूको नाम कहिल्यै नबिर्सिने बताए ।


    ¥यालीमा सहभागी ७३ वर्षीया पामेला सिन्नेसले आफू सबै मानिसहरूको समान अधिकारको पक्षमा उभिन आएको बताइन् । उनका अनुसार, सहरले हालैको हिंसात्मक घटनाबाट गहिरो आघात भोगेको छ र त्यस्तो अवस्थाको पुनरावृत्ति नहोस् भन्ने भावना लिएर मानिसहरू सडकमा आएका हुन् । राजनीतिक नेतृत्वले पनि विरोधमा स्वर मिलाएको देखिएको छ । मिनेसोटाका गभर्नर टिम वाल्जले प्रदर्शनकारीहरूलाई धन्यवाद दिँदै ट्रम्पको आलोचना गरेका थिए । त्यस्तै, वामपन्थी नेता बर्नी स्यान्डर्सले पनि सम्बोधन गर्दै ट्रम्पमाथि संविधान र कानूनी शासनको अवमूल्यन गरेको आरोप लगाए ।


    प्रदर्शनमा सहभागी जिना बिलोटा–रेसेलिसले ट्रम्प नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै उहाँलाई अयोग्य रहेको टिप्पणी गरेकी थिइन् । उनले मध्यपूर्वमा भइरहेको युद्ध, बढ्दो तेल मूल्य र आन्तरिक नीतिगत विवादहरूले सरकारको विश्वसनीयता घटाएको धारणा राखिन् । उनका अनुसार आगामी नोभेम्बरको मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले आफ्नो सङ्कीर्ण बहुमत जोगाउन कठिन हुने देखिन्छ । “मतदानको प्रवृत्ति हेर्दा परिवर्तनको सङ्केत देखिन्छ”, उनले भनिन्, “मलाई लाग्छ उनीहरूले हार्नेछन् ।”

  • नेपाल बनाउन डायस्पोराका नेपालीलाई रातो कार्पेट बिच्छ्याऔं : कार्यबाहक राजदूत आरण

    नेपाल बनाउन डायस्पोराका नेपालीलाई रातो कार्पेट बिच्छ्याऔं : कार्यबाहक राजदूत आरण

    ईश्वरी न्यौपाने
    १५ चैत, सान फ्रान्सिस्को, क्यालिफोर्निया अमेरिका । नेपालका कार्यबाहक राजदूत शरदराज आरणले नेपाल बनाउन प्रवासका नेपालीलाई रातो कार्पेट बिच्छ्याउनु पर्ने बताएका छन् । विदेशमा रहेको नेपाली डायस्पोरा मुलुकको लागि सबैभन्दा ठुलो सम्पत्ती रहेको उल्लेख गर्दै उनले नेपाल निर्माण गर्न नेपाली डायस्पोरालाई स्वागत गर्नुपर्नमा जोड दिए ।

    अमेरिकामा ६ महिनादेखि कार्यबाहक राजदूतको जिम्मेवारीमा रहेका आरणले भने, नयाँ नेपाल बनाउने, समुन्नत नेपाल बनाउने समृद्धि नेपाल बनाउनको लागि नेपाली डायस्पोरालाई डिग्निटी सहित नेपालमा बस्ने वातावरण बनाएर उहाँहरुको पूँजी र सिपलाई नेपालमा एट्याक्ट गर्नैपर्छ ।’

    नेपाली महावाणिज्य दूताबास सान् फ्रान्सिस्कोद्वारा बुधवार यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा वासिंटन डिसीदेखि पुगेका आरणले आत्सम्मान महसुस हुनेगरी यो भूमि मेरो हो, मेरा पुर्खाहरुको पनि हो मेरा अरु सन्ततीहरुको लागि पनि हो भन्ने फिल गराउनु पर्ने बताए ।


    त्यसका लागि नीतिगत सुधार, प्रकृयागत सुधारमा जोड दिनुपर्ने उनको भनाई छ । त्यसो हुन सके स्वभाविक रुपमा प्रवासका नेपाली स्वदेश फर्कने उनको भनाई छ । ‘हामीले नेपाल नबुझेको, नेपाली नै नजान्नेलाई नेपाल गईदेउ, नेपालमा लगानी गरिदेउ, नेपालमा व्यापार गर भन्दा उसले नपत्याउने अवस्था छ,’ उनले भने । अब नेपालमा स्थायी सरकार आएको र पार्टीहरुको घोषणा पत्रले सकारात्मक दिशातर्फ नेपाली डायस्पोरालाई तान्न खोजिरहेको उनले बताए ।

    अहिले नेपालमा लगानीका लागि सही समय आएको उनको भनाई छ । डायस्पोरा नै सबैभन्दा ठुलो पूँजी भएको उल्लेख गर्दै उनले विश्वकै शक्तिशाली मुलुक अमेरिकामा रहेका नेपालीलाई नेपालमा उच्च दक्ष मानिने बताए । उनले ज्ञान, सूचना र पुँजी सबै हिसाबले उच्च दक्ष वर्गले नेपालको विकासलाई झन् ठुलो योगदान गर्न सक्ने उनले बताए ।

    नेपालीलाई पनि नेपालमा समान अधिकार हुनुपर्ने माग जायज रहेको पनि उनको भनाई छ । कानूनमा रहेका कमजोरीकै कारण लगानी भित्राउन र त्यहाँबाट मुनाफा फिर्ता लैजान समस्या रहेको उनको भनाई छ । विदेश बस्ने नेपालीलाई आफ्नो मुलुकमा जाँदा विभेद हुने गरेको भन्दै त्यसलाई समेत सच्याउनु पर्ने बताए । ‘भाई भिसा लिन लाग्नुपर्छ, दाई सिधै पाउँछ, यस्तो विभागको उदाहरण दिँदै उनले भने, ‘नेपाली भएर भिसा लिनुपर्ने अवस्थामा परिवर्तन गर्नुपर्छ ।’ उनले वंशजको नागरिकता लिएका आधारमा झनै विभेद हुन नहुने बताए ।


    नेपाल सरकारले दिएको गैरआवासीय नागरिकता र परिचय पत्र सरकारी अड्डामा नचल्ने भन्दै यसलाई समेत सच्याउनु पर्ने बताए । ‘त्यसबाट जग्गा किन्छु भन्दा पाइदैन, मेरो बाउ बाजेको सम्पत्ती हस्तान्तरण होस् न भन्दा पनि समस्या छ, यो के भएको भन्नेमै प्रश्न छ,’ उनले भने । नीतिगत स्पष्टटाको अभावले यस्तो भएको उनको भनाई छ । नेपालको भूमिमा टेक्ने वित्तिकै गर्व महसुस गराउनु पर्ने भन्दै उनले भने, ‘नेपाली दाजुभाई तिमीमा केही फरक छैन, बराबर व्यवहार हुन्छ भन्ने विश्वास दिलाउनुपर्छ ।’ लगानी गर्न पूर्ण अधिकार दिनुपर्ने उनको भनाई छ ।

    अहिले मुलुकले पाँच वर्षे स्थायी सरकार पाएको भन्दै उनले नयाँ सरकारसँग नयाँ ढंगले पुर्ण जोशका साथ काम गर्नुपर्ने बताए । राजनितिज्ञ सुध्रिएमा कर्मचारीतन्त्रमा समेत सुधार आउने उनको विश्वास छ । सो अवसरमा बे एरिया क्षेत्रमा बसोबास गर्ने विभिन्न उद्यम, पेशा, व्यवसाय तथा क्षेत्रसँग सम्बद्ध नेपाली समुदायका प्रतिनिधिहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको छ ।

    कार्यक्रममा हर्कुलस सिटीका काउन्सील सदस्य डिल्ली भट्टराई, सान् फ्रान्सिस्कोका महावाणिज्य दूत लक्ष्मण खनाल, उप महावाणिज्य दूत ऋषिराज आचार्य, युसिएसएपफका एशोशियट प्रोफेसर डा. तारा सिग्देल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष सर्वज्ञ वाग्ले, समाजसेवी चिनकाजी श्रेष्ठ, मदरल्याण्ड नेपालका अध्यक्ष अनील पाण्डे, अन्तरानेपाल तामांग संघका अध्यक्ष सूरज पाख्रिन, समाजसेवी कृष्ण गिरी, एनआरएनएका निवर्तमान अध्यक्ष हरी ओझा, क्यालिफोर्निया शेर्पा संघका अध्यक्ष गोम्बु शेर्पालगायतले आफ्नो धारणा राखेका थिए ।

  • इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई

    इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई

    काठमाडौं, १५ चैतः इजरायलका परराष्ट्रमन्त्री गिडियन सारले आफ्ना नेपाली समकक्षी शिशिर खनाललाई परराष्ट्रमन्त्री पदमा नियुक्त भएकोमा बधाई ज्ञापन गरेका छन् । मन्त्री खनाललाई आज एक सन्देश पठाउँदै उनले इजरायल र नेपालबीचको ऐतिहासिक मित्रतालाई थप सुदृढ बनाउन उनीसँग निकट सम्पर्कमा रहेर सहकार्य गर्न इच्छुक रहेको बताए । यहाँस्थित इजरायली दूतावासका अनुसार मन्त्री सारले प्रविधि, कृषि र श्रमजस्ता प्रमुख क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तारमा जोड दिँदै पारस्परिक हितका लागि नेपालसँगको सम्बन्ध अझ सुदृढ बनाउन इजरायल प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

  • नवनियुक्त प्रधानमन्त्री शाहलाई अमेरिकाको बधाई

    नवनियुक्त प्रधानमन्त्री शाहलाई अमेरिकाको बधाई

    काठमाडौँ, १४ चैत्र ।नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ । यहाँस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाह र नयाँ सरकारलाई बधाई दिँदै अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको उल्लेख गरेको छ ।

  • नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

    नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

    काठमाडौँ, १३ चैतः गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको छ । सङ्घका अध्यक्ष डा हेमराज शर्माले आज विज्ञप्तिमार्फत शाहलाई प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई ज्ञापन गर्दै सफल, प्रभावकारी तथा ऐतिहासिक कार्यकालको शुभकामना व्यक्त गरे । अध्यक्ष शर्माले प्रधानमन्त्री शाहको कार्यकालमा सङ्घ र विदेशमा रहेका नेपालीले सरकारसँग रचनात्मक सहकार्य गर्दै नेपालको विकास प्रक्रियामा दरिलो तथा विश्वसनीय साझेदारका रूपमा योगदान पु¥याउने अपेक्षा राखेको उल्लेख गरेका छन् ।

  • काठमाडौँ विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्‍याङ्किङ’मा १२२ औँ स्थानमा

    काठमाडौँ विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्‍याङ्किङ’मा १२२ औँ स्थानमा

    रासस
    काठमाडौँ, १० चैतः संयुक्त राज्य अमेरिकास्थित एक संस्थाद्वारा गरिएको ‘एचई उच्च शिक्षा र्‍याङ्किङ’ मा विश्वका पाँच सय सात विश्वविद्यालयमध्ये काठमाडौँ विश्वविद्यालय एक सय २२ औँ स्थानमा परेको छ । विश्वभरका ९५ देशका पाँच सय सात विश्वविद्यालय सहभागी ‘र्‍याङ्किङमा विश्वविद्यालयको उच्च शिक्षामा प्रभाव मापन गर्न २५ मापदण्डअन्तर्गत एक सय ३६ सूचक प्रयोग गरिएका थिए । यो ‘र्‍याङ्किङ’ मुख्यतः दक्षिण एसिया, दक्षिण अमेरिका र पूर्वी युरोपका उदीयमान विश्वविद्यालयको कार्यसञ्चालन क्षमता मूल्याङ्कनमा केन्द्रित रहेको जनाइएको छ ।

    उक्त संस्थाले विश्वविद्यालयहरूको वास्तविक सञ्चालन प्रक्रिया र कार्यसम्पादनका आधारमा मूल्याङ्कन गर्दै तथ्यमा आधारित समग्र चित्र प्रस्तुत गर्ने गरेको जनाइएको छ । उक्त मूल्याङ्कन प्रतिवेदनमा उल्लेख गरिएअनुसार सुविधा तथा स्रोत व्यवस्थापन, शैक्षिक पारदर्शिता र भविष्य उन्मुख योजनामा विश्वविद्यालयले विशेष सम्भावना देखाएको छ । ‘एचई उच्च शिक्षा ‘र्‍याङ्किङ’को विशेषता विश्वविद्यालयको सञ्चालनसँग सम्बन्धित नीति, प्रक्रिया, सेवा, उत्पादन र परिणामहरूको मापनमा जोड दिनु रहेको छ ।

    मूल्याङ्कनका लागि समावेश गरिएका सूचकहरूमा समावेशिता, दिगो विकास, पारदर्शिता, उत्तरदायित्व, अनुसन्धान प्रणाली, क्याम्पस सुरक्षा, अन्तरराष्ट्रियकरण, शैक्षिक निष्ठा तथा डिजिटल पहुँचलगायत छन् । शिक्षण, अनुसन्धान, सुशासन, समानता र सामाजिक प्रभावमा अर्थपूर्ण सुधारका लागि मार्गनिर्देशन गर्ने उद्देश्यले ‘र्‍याङ्किङ’ तयार गरिएको संस्थाले उल्लेख गरेको छ । काठमाडौँ विश्वविद्यालयलाई पठाइएको इमेलमा ‘एचई उच्च शिक्षा र्‍याङ्किङ’ की सचिव नूरा अब्दुलजलीलले उक्त उपलब्धि विश्वविद्यालयको नेतृत्व, प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा पूर्वविद्यार्थीको सामूहिक प्रयास र शिक्षाप्रतिको प्रतिबद्धताको परिणाम भएको जनाइएको छ । यो उपलब्धिले शैक्षिक उत्कृष्टता र नवप्रवर्तनप्रति काठमाडौँ विश्वविद्यालयको अटल प्रतिबद्धता झल्काउने इमेलमा उल्लेख गरिएको छ ।

    काठमाडौँ विश्वविद्यालय शैक्षिक उत्कृष्टता निर्देशनालय प्रमुख प्रा डा हेमराज काफ्लेले प्रतिवेदनले विश्वविद्यालयको संस्थागत सञ्चालनबारे महत्त्वपूर्ण अन्तरदृष्टि प्रदान गरेको बताए। उनले यसले आफ्नो विश्वविद्यालयको सञ्चालन प्रणालीबारे केही महत्त्वपूर्ण जानकारी दिएको र अन्य अन्तरराष्ट्रिय ‘र्‍याङ्किङ’ मा सहभागी हुन आवश्यक तथ्याङ्क सुदृढ गर्न मद्दत पुर्‍याउने धारणा राखे ।

  • थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

    थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

    वासिङ्टन, १० चैत (रासस–एएफपी) । अमेरिकी विदेश मन्त्रालयले कम्बोडिया, इथियोपिया र जर्जियासहित थप १२ देशका विदेशीहरूले भिसा प्राप्त गर्न १५ हजार डलर जम्मा गर्नुपर्ने बुधबार बताएको छ। अमेरिकी विदेश मन्त्रालयले भनेको छ, “पछिल्लो निर्णयले ट्रम्प प्रशासनको ‘भिसा बन्ड कार्यक्रम’ अप्रिल २ देखि लागू हुने गरी ५० राष्ट्रहरूमा ल्याउनेछ। यो कार्यक्रम, जुन छोटो अवधिको व्यापार र पर्यटन भिसा दुवैमा लागू हुन्छ, गत वर्ष अवैध आप्रवासनमाथि ट्रम्प प्रशासनको सामूहिक दमनको एक भागको रूपमा ‘भिसा अनुमतिभन्दा बढी’ समय बस्ने विदेशीलाई त्यसो गर्नबाट रोक्नका लागि सुरु गरिएको हो ।

    यदि आवेदकले सबै भिसा सर्तहरू पालना गरेमा रकम फिर्ता गरिनेछ। यदि आवेदक समय सीमा भन्दा धेरै समय संयुक्त राज्य अमेरिकामा रहेमा रकम जफत गरिनेछ। अमेरिकी विदेश मन्त्रालयले जारी गरेको तथ्यपत्रमा भनिएको छ, “यस कार्यक्रमअन्तर्गत करिब एक हजार विदेशीहरूलाई भिसा जारी गरिएको छ र सर्तमा बाँधिएका ९७ प्रतिशत यात्रीहरू समयमै अमेरिकाबाट स्वदेश फर्किएका छन् ।”

    कम्बोडिया, इथियोपिया, जर्जिया, ग्रेनाडा, लेसोथो, मौरिसस, मङ्गोलिया, मोजाम्बिक, निकारागुआ, पपुवा न्युगिनी, सेसेल्स र ट्युनिसिया गरी नयाँ राष्ट्रहरु यस कार्यक्रममा थपिएका छन् । अन्य ३८ देशमा अल्जेरिया, अङ्गोला, एन्टिगुवा र बार्बुडा, बङ्गलादेश, बेनिन, भुटान, बोत्सवाना, बुरुन्डी, काबो भर्दे, मध्य अफ्रिकी गणतन्त्र, आइभरी कोस्ट, क्युबा, जिबुटी, डोमिनिका र फिजी रहेका छन् । यो समूहमा गाम्बिया, गिनी, गिनी बिसाउ, किर्गिस्तान, मलावी, मौरिटानिया, नामिबिया, नाइजेरिया, साओ टोमे, प्रिन्सेपे, सेनेगल, ताजिकिस्तान, तान्जानिया, टोगो, टोंगा, तुर्कमेनिस्तान, तुभालु, युगान्डा, भानुआटु, भेनेजुएला, जाम्बिया र जिम्बावेलाई पनि समावेश गरिएको थियो ।

  • नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था

    नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था

    काठमाडौँ, ९ चैत । विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विमानस्थलको आगमन र प्रस्थान कक्षमा विशेष डेस्क स्थापना गरी सेवा दिन सुरु गरेको हो ।

    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत नरहरि घिमिरेका अनुसार पहिला एनआरएनए र भिसा फ्रि भएका मुलुक र व्यक्तिका लागि छुट्टै डेस्को व्यवस्था गरिएको थियो । अब नेपाली मूलका विदेशी नागरिकलाई पनि अध्यागमनमा छुट्टै डेस्कको व्यवस्था गरिएको छ । नेपाली भाषा, संस्कृति र मातृभूमिप्रतिको सम्बन्ध अझ सुदृढ बनाउने, साथै पर्यटन र लगानी प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो ।

    अध्यागमन विभागको यही चैत ८ गतेको निर्णयअनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको आगमन र प्रस्थानतर्फ नेपाली मूलका विदेशी नागरिकका लागि छुट्टै लाइन र अध्यागमन डेस्कको व्यवस्था गरिएको अध्यागमन कार्यालयद्धारा आज जारी विज्ञप्तिमा उल्लेख छ । विश्वमा रहेका नेपाली मूलका नेपालीहरुको संस्था एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले यसका लागि लामो समयदेखि सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो । गृह प्रशासनले आइतबार यो निर्णय गरेपछि संस्थाले स्वागत गरेको छ ।

  • न्यूयोर्कमा देवी प्रतिभाजीद्वारा वैदिक ज्ञानमय कथावाचन हुने

    न्यूयोर्कमा देवी प्रतिभाजीद्वारा वैदिक ज्ञानमय कथावाचन हुने

    योगेश आदी, न्युयोर्क

    नेपालको विभिन्नस्थानमा सामाजिक योगदानको लागि ज्ञान प्रवचन र धार्मिक कथावाचन गर्दै आउनुभएकी देवी प्रतिभाजीले क्रियापुत्री भवन गुम्बा निर्माणको हेतु न्युयोर्कको ज्याक्सन हाइट्सस्थित सत्यनारायण मन्दिरमा ३ दिने श्रीमद्भभागवत कथावाचन गर्ने भएको छ ।
    आगमी मे महिनाको १५ तारिखदेखि १७ तारिखसम्म गरिने वैदिक कथावाचन रेभेल इभेन्ट्सको सहकार्यमा हामी नेपाली इन्टरनेशनलले आयोजना गर्न लागेको रेभेल इभेन्ट्सको प्रवन्धक राजेश हमालले बताएको छ।
    कथावाचन यात्रा अमेरिकाको दौरान रहनु भएकी २३ वर्षीया देवी प्रतिभाजीले भारत तथा नेपालको विभिन्न स्थानमा वैदिक सनातन कथावाचन गर्दै आउनुभएकी छिन् । नेपालको काभ्रेमा जन्मनुभएकी देवीजीले नेपालको वाल्मिक विद्यापिठ हुँदै वृन्दावनसम्मको वैदिक ज्ञान हाँसिल गरेकी छिन् ।

    न्युयोर्कमा आयोजना हुने यस भागवत कथा अन्तर्गत कलश यात्रा, महाकलश यात्रा र रजतकलश यात्रा समेत हुने भएकोले सोको लागि स्थानसमेत बुक गर्न अनरोध गरिएको छ । कलश यात्रामा लाग्ने कलश इत्यादीवापत ३०१ देखि १००१ डलर सम्मको भेटी निर्धारण गरिएको छ ।