Category: डायस्पोरा

  • पोर्चुगलमा बुद्धजयन्तीका अवसरमा विशेष कार्यक्रम

    पोर्चुगलमा बुद्धजयन्तीका अवसरमा विशेष कार्यक्रम

    १७ वैशाख, लिस्बन (पोर्चुगल) । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्ती पोर्चुगलमा विशेष कार्यक्रमका साथ मनाउने तयारी गरिएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलको आयोजनामा यही मे १ तारिख शुक्रबारका दिन राजधानी लिस्बनमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाउन लागिएको छ । सो अवसरमा लिस्बनको आन्जोसस्थित जिनासीयो क्लबको हलमा बुद्धको विशेष पूजा–आराधना गरिने बताइएको छ । बौद्ध धर्मगुरुद्वारा ध्यान तथा प्रवचन पनि हुने छ ।

    बुद्धका शान्ति, करुणा र मैत्रीका सन्देश फैलाउने तथा बुद्ध र बुद्ध जन्मस्थलको प्रचार–प्रसार गर्ने उद्देश्यले विशेष कार्यक्रमका साथ जयन्ती मनाउन लागिएको महासङ्घका अध्यक्ष चोपकुमार रानामगरले जानकारी दिए । कार्यक्रममा सहभागी भई बुद्धजयन्तीलाई भव्य रूपमा सफल बनाउन पोर्चुगलवासी नेपाली समुदायलाई आग्रह गरिएको छ । पोर्चुगलमा हरेक वर्ष यहाँ क्रियाशील नेपाली सङ्घसंस्थाको संयोजनमा बुद्धजयन्ती मनाइँदै आइएको छ ।

  • रवि–बालेनलाई बाचापत्र सम्झाउन संघर्षमा उत्रिदै गैरआवासीय नेपाली

    रवि–बालेनलाई बाचापत्र सम्झाउन संघर्षमा उत्रिदै गैरआवासीय नेपाली

    १७ वैशाख, लण्डन । बालेन सरकार विरुद्ध गैरआवासीय नेपालीहरुले संघर्ष गर्ने भएका छन् । सरकारले चुनावी बाचा बिर्सेर राजनीतिक बैमानी गरेको भन्दै गैरआवासीय नेपालीहरुले विश्वभरबाट संगठित रुपमा सरकार विरुद्ध खबरदारी गर्न लागेका हुन् । त्यसको शुरुवात एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरको नेतृत्वमा बेलायतबाट हुने भएको छ । गाहाले सरकारले गरेको गैरआवासीय नेपालीहरुमाथि गद्धारी विरुद्ध देशविदेशबाट एकसाथ आवाज उठाउन लागिएको बताए ।


    देशमा समृद्ध नभएर रोजगारीका अवसर खोज्दै विदेशमा गएका नेपाली र सन १९४७ को त्रिपक्षीय सन्धी अनुसार बेलायतमा रहेका गोर्खाहरु र गोर्खाहरुको परिवारका लागि वंशजको नेपाली नागरिकता निरन्तरताको व्यवस्थाका लागि राजनीतिक लडाइँ जारी रहने गाहाको भनाइ छ । चुनावअघि गरेका बाचा, चुनावपछि बिर्सिने राजनीतिक प्रवृति देखिएकाले अर्को चुनावमा संसदमै पुगेर आफ्नै हक आफैं सुनिश्चित गर्ने बेला आएको गाहाले बताए ।


    गोर्खालीहरुको वंशजको नेपाली नागरिकताको हक अधिकारका लागि जवसम्म संविधानमा व्यवस्था गर्न सक्दैनौ तबसम्म हाम्रो नागरिकताको अधिकारबाट बञ्चित भइरहन्छौं, अध्यक्ष गाहाले भने, ‘राजनीतिक बैमानीबाट पाठ सिकेर सबै गोर्खाहरु एक भएर लाग्नुको विकल्प छैन’। बेलायतबाट शुरु हुने राजनीतिक अभियानमा सबै एकजुट हुन र साथ दिन अध्यक्ष गाहाको आग्रह छ । विदेशमा रहेका नेपाली तथा गोर्खाली अब चुप लागेर नबस्ने समेत गाहाले चेतावनी दिए ।


    चुनावअघि वंशजको नेपाली नागरिकताको निरन्तरता सुनिश्चित गर्ने बाचा गरेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले सत्तामा पुगेपछि बाचा चटक्कै बिर्सेको छ । गैरआवासीय नेपाली ९एनआरएन०लाई अप्ठ्यारो पर्ने गरीे ऐन संशोधनको प्रस्ताव ल्याएको भन्दै चर्को विरोध सुरु भएको हो । यसैसन्दर्भमा छलफलका लागि एनआरएनए (युके)ले २५ मे (सोमबार) एल्डरसटस्थित एम्पाएर हलमा विशेष कार्यक्रमको आयोजना गरेको छ । अधिकारको लडाइँ भएकाले नेपाल सरकार र सम्बद्ध निकायलाई दवाव दिन युकेबासी नेपाली तथा गोर्खालीसहित विश्वभर रहेका गैरआवासीय नेपालीहरुलाई साथका लागि अध्यक्ष गाहाको आह्वान छ ।


    (एनआरएनए) यूकेले परराष्ट्र मन्त्रालयमा बुझाएको ज्ञापनपत्रमार्फत सरकारको प्रस्तावित विधेयकप्रति स्पष्ट असहमति जनाउँदै सजिलो समाधान छाडेर जानीजानी जटिल कानुनी बाटो रोजिएको आरोप लगाएको छ । संविधान र नेपाल नागरिकता ऐन, २०६३ मा सामान्य संशोधन गरेर समाधान गर्न सकिने विषयलाई अलग्गै कानुनी संरचनामा लगेर कमजोर पार्ने प्रयास भइरहेको एनआरएनए युकेको ठहर छ ।


    रास्वपाले कर्णालीबाट सार्वजनिक गरेको आफ्नो बाचापत्रको ९९ नंम्बर बुँदामा एक पटकको नेपाली सधैको नेपाली हुने र विदेशमा रहेका गैरआवासीय नेपालीको अनुकुलतामा बंशजको नागरिता र मताधिकारको व्यवस्था गर्ने भनेको थियो । त्यस अनुसार नेपालको संविधान २०७२ मा रहेको व्यवस्था र नागरिकता ऐनमा सामान्य संशोधन आवश्यक छ ।


    तर, अहिले बालेन सरकारले गैरआवासीय नेपाली सम्बन्धी ऐन संशोधन गर्न भन्दै मस्यौदा तयार गरेर छलफलका लागि गैरआवासीय नेपाली संघसहितका संबद्ध निकायमा पठाएको छ ।


    नयाँ मस्यौदामा विभेदकारी प्रावधान
    सरकारले गैरआवासीय नेपाली (एनआरएन) सम्बन्धी ऐनलाई संशोधन गर्न तयार पारेको नयाँ मस्यौदामा समेटिएका कतिपय प्रावधानहरू विभेदकारी भएको भन्दै चर्को आलोचना भइरहेको छ । परराष्ट्र मन्त्रालयमा छलफलको चरणमा रहेको उक्त मस्यौदाले विदेशमा बस्ने लाखौँ नेपालीहरूलाई नेपालसँग जोड्नुको सट्टा थप टाढा बनाउन खोजेको भन्दै एनआरएनए प्रतिनिधिहरूले आपत्ति जनाएका हुन्।
    सम्पत्ति र राजस्वमा कडा व्यवस्था प्रस्तावित मस्यौदामा एनआरएनए हुनुभन्दा अगाडि नै नेपालमा रहेको चल–अचल सम्पत्ति बिक्री गर्दा ५० प्रतिशत राजस्व सरकारलाई बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

    यस्तै, गैरआवासीय नेपाली नागरिकता वा कार्ड लिएका व्यक्तिहरूले नेपालमा निश्चित क्षेत्रफलमा मात्रै जग्गा जमिन जोड्न पाउने र हदबन्दीभन्दा धेरै भएमा त्यसलाई बिक्री गर्नुपर्ने वा अधिकार हस्तान्तरण गर्नुपर्ने प्रावधान मस्यौदामा उल्लेख छ ।
    नागरिकताको स्तर फकर फरक बनाउँदा कानूनी झमेला र वंशजको नेपाली अधिकारमा विभेद हुने भएकाले त्यस्ता झन्झटिला प्रावधान राख्न नहुने अध्यक्ष गाहाको तर्क छ ।


    सहुलियत र सेवाबाट वञ्चित
    मस्यौदामा उल्लेख भएअनुसार, एनआरएनए नागरिकता वा कार्डवाहकले नेपालमा व्यवसाय वा उद्यम गर्न चाहेमा सरकारले दिने कुनै पनि सहुलियत, छुट वा अनुदान प्राप्त गर्न सक्ने छैनन् । यसका साथै अरु थुप्रै सेवाहरूमा पनि विभेदको प्रस्ताव गरिएको छ ।


    सरकारी सेवाः एनआरएनहरू सरकारी सेवामा प्रवेश गर्न पाउने छैनन् र राजदूत वा सो सरहका पदहरूका लागि योग्य हुने छैनन् । स्वास्थ्य र शिक्षाः नेपालमा स्वास्थ्य सेवा लिँदा कुनै पनि सहुलियत नपाइने र शिक्षा क्षेत्रमा पनि छात्रवृत्ति वा सहुलियतबाट वञ्चित गरिने व्यवस्था मस्यौदामा छ ।


    संविधानको भावना विपरीत भएको दाबी नेपालको संविधानले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नेहरूलाई राजनीतिक र प्रशासनिक बाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार हुने स्पष्ट व्यवस्था गरेको छ । तर, प्रस्तावित मस्यौदामा रहेका यी प्रावधानहरू संविधानको भावना विपरीत भएको सरोकारवालाहरूको तर्क छ ।


    एनआरएनएका प्रतिनिधिहरूका अनुसार यो मस्यौदाले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मूल मन्त्रलाई समेत चुनौती दिएको छ । संघले यसलाई अधिकार सुनिश्चित गर्ने होइन, नियन्त्रण कस्ने रणनीति भएको दाबी गरेको छ।
    गैरआवासीय नेपालीका लागि नागरिकता केवल कानुनी कागज नभई पहिचान, भावनात्मक सम्बन्ध र लगानी सुरक्षासँग जोडिएको विषय भएकाले यसमा कडाइ थप्नु उनीहरूलाई मातृभूमिबाट टाढा धकेल्ने कदम भएको उनीहरुको धारणा छ ।
    एनआरएनए यूकेले संविधानका धारा १४ र २९१ तथा नेपाल नागरिकता ऐनका सम्बन्धित प्रावधान व्यवहारिक रूपमा संशोधन गर्न माग गर्दै वंशज नागरिकता लिएका नेपालीले नागरिकता नत्यागी अन्य देशको नागरिकता लिन पाउने स्पष्ट व्यवस्था गर्नुपर्ने बताएको छ।


    ब्रिटिश गोर्खाका सन्तानको हकमा पनि हालको व्यवस्था अन्यायपूर्ण रहेको भन्दै सुधारको माग गरिएको छ। अहिले सरकार औपचारिक रूपमा मौन रहे पनि प्रवासी नेपाली समुदायबाट दबाब बढ्दो छ। विश्लेषकहरूका अनुसार यदि चुनावी प्रतिबद्धता अनुसार स्पष्ट र सरल समाधान नआएमा यो विषयले सत्तारुढ दलको विश्वसनीयतामै गम्भीर प्रश्न खडा गर्न सक्ने धेरैको बुझाइ छ ।


    रवि लामिछानेको राजनीतिक बैमानी
    बाचा पत्रमा मात्र हैन सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले संसदको पहिलो बैठकमा राखेको मन्तव्यमा समेत गैरआवासीय नेपालीहरुलाई सम्बोधन गर्दै एक पटकको नेपाली सधैको नेपाली हुने सुनिश्तिता गर्दै नेपालमा लगानीको वातावरण र मताधिकारको व्यवस्था गर्ने बताएका थिए । तर, आफैले गरेको प्रतिबद्धता विवरित रविले राजनीतिक बैमानी गरेपछि गैरआवासीय नेपालीहरु तातिएका हुन् ।


    राजनीतिक दलहरुले पटक पटक माछामाछा भ्यागुतो बनाएपछि आफ्ना राजनीतिक अधिकार सुनिश्चिताका लागि गैरआवासीय नेपालीहरुकै नेतृत्वमा संगठित हुन लागेका हुन् । यो विषय केवल कानुनी विवादमा सीमित छैन, यसमा स्पष्ट राजनीतिक स्वार्थ जोडिएको विश्लेषण पनि अघि आएको छ। यदि वंशज नागरिकता सहज बनाइयो भने विदेशमा रहेका लाखौं नेपालीको राजनीतिक र आर्थिक प्रभाव बढ्ने डरले सत्तामा रहेका शक्तिहरू पछि हटेको आकलन गरिएको छ । साथै नागरिकता जस्तो संवेदनशील विषयमा कडा रुख देखाएर ‘राष्ट्रवाद’को सन्देश दिने पुरानै शैली दोहोरिएको आरोप पनि लागेको छ ।


    “एक पटकको नेपाली सधैँको नेपाली” भन्ने भावनात्मक नारा हरेक चुनावमा अधिकांश राजनीतिक दलहरुले घोषणापत्रमा समेट्ने गरेका छन् । तर व्यवहारमा भने गैरआवासीय नेपालीलाई वंशजको नागरिकता र विदेशमा रहेका नेपालीलाई मताधिकार दिने विषय सधैँ चुनावी एजेण्डामै सीमित हुने गरेको छ ।
    राजनीतिक दलहरूले प्रवासी नेपालीको संख्या, लगानी क्षमता र भावनालाई बुझेरै चुनावअघि आश्वासन बाँड्ने, आर्थिक सहयोगसमेत जुटाउने तर सत्तामा पुगेपछि पुरानै राष्ट्रवादी कठोरता देखाएर नीति उल्ट्याउने प्रवृत्ति दोहोरिँदै आएको छ।


    नागरिकता जस्तो संवेदनशील विषयलाई राष्ट्रियता बचाउने नारासँग गाँसेर राजनीतिक फाइदा लिने खेल चलिरहँदा वास्तविक नेपाली—देशभित्रका वा विदेशमा रहेका—दुवैले अधिकारका लागि सरकारको मुख ताकेर बस्नुपर्ने बाध्यता छ । त्यसैले समस्या कानुनी जटिलता मात्र होइन, राजनीतिक इच्छाशक्ति र स्वार्थ जोडिएको प्रष्ट हुन्छ ।


    सधै राजनीतिक दलहरुले आश्वासन मात्र दिएर टार्ने गरेकाले गैरआवासीयन नेपालीहरुको अधिकारका लागि राजनीतिक सहभागिताको आवश्यकतालाई औंल्याउँदै ‘सेभ द नेशन विल्ड द नेशन अभियानले खबरदारीका लागि विदेशमा रहेका नेपालीहरुलाई एकताबद्ध हुन समेत आग्रह गरेको छ ।

  • परराष्ट्रमा एनआरएनएको सुझाव : गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग

    परराष्ट्रमा एनआरएनएको सुझाव : गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग

    १६ वैशाख, काठमाडौं । गैरआवासीय नेपाली संघको तर्फबाट गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न तयार पारिएको विधेयक, २०८३ सम्बन्धमा आफ्ना विस्तृत सुझावहरू परराष्ट्र मन्त्रालयमा औपचारिक रूपमा पेश गरिएको छ। उक्त सुझावहरू उपाध्यक्ष एवं गैरआवासीय नेपाली कल्याण विभागकी प्रमुख तथा नागरिकता निरन्तरता समितिकी संयोजक रोजिना प्रधान राईको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमार्फत पेश गरिएको हो।

    प्रतिनिधिमण्डलले विश्वभर रहेका गैरआवासीय नेपाली समुदायबाट संकलित सुझावहरू, सरोकारवाला निकायहरू तथा कानुनी विज्ञहरूसँग गरिएको बृहत् छलफल र परामर्शका आधारमा तयार पारिएको एकीकृत दस्तावेज मन्त्रालयसमक्ष बुझाएको हो ।

    यसका साथै श्रम, आप्रवासन तथा नेपाली डायस्पोरा सम्बन्धी महाशाखामा समेत उक्त सुझाव बुझाइएको छ। सुझावपत्र उपसचिव मधुसुदन भट्टराईमार्फत माननीय मन्त्री शिशिर खनाललाई तथा महाशाखा प्रमुख पुष्पराज भट्टराईलाई हस्तान्तरण गरिएको हो । प्रतिनिधिमण्डलमा उपाध्यक्ष बुद्धिसागर सुबेदी र महिला उपाध्यक्ष राधिका टीका गुरुङको सहभागिता रहेको थियो।

  • चक्रपथ विस्तारको दोस्रो चरणको काम गर्न नेपाल सरकार र चीनबीच सम्झौता

    चक्रपथ विस्तारको दोस्रो चरणको काम गर्न नेपाल सरकार र चीनबीच सम्झौता

    १६ वैशाख, काठमाडौं । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत चीनको सहायता सम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ । भौतिक पूर्वाधार, यातायात तथा शहरी विकास मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंगबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । सम्झौताअनुसार, चक्रपथ विस्तारको दोस्रो चरणमा कलंकीदेखि बसुन्धारासम्मको ८ दशमलव २ किलोमिटर सडक तथा पुल निर्माण गरिनेछ । यस परियोजनाका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउनेछ ।

    यसअघि सन् २०१९ देखि सुरु गरिएको पहिलो चरणमा कोटेश्वरदेखि कलंकीसम्मको सडक विस्तार सम्पन्न भइसकेको छ । सम्झौतापछि मन्त्री लम्सालले परियोजना कार्यान्वयनका क्रममा समस्या उत्पन्न भए एक दिनमै समाधान गरी आवश्यक सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरे । उनले उत्तर–दक्षिण जोड्ने सडक निर्माण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै नेपालको पूर्वाधार विकासमा चीन सरकारबाट थप लगानीको अपेक्षा व्यक्त गरे । चिनियाँ राजदूत माओमिंगले उपयुक्त लगानी वातावरण बनेमा धेरै चिनियाँ लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको बताए ।

  • टेक्ससको अस्टिनमा कन्सुलर घुम्ती शिविर : २७२ नेपालीले लिए सेवा

    टेक्ससको अस्टिनमा कन्सुलर घुम्ती शिविर : २७२ नेपालीले लिए सेवा

    टेक्सस (अमेरिका), वैशाख १६ गते । टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासले टेक्ससको राजधानी अस्टिनमा आयोजना गरेको दुईदिने कन्सुलर घुम्ती शिविरबाट २७२ नेपालीहरू सेवा लिएका छन् । टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासद्वारा ग्रेटर अस्टिन नेपाली समाजले यही वैशाख १४ र १५ गते आयोजना गरिएको राहदानी तथा कन्सुलर घुम्ती शिविरमा नयाँ राहदानी तथा नवीकरण २६७, वारेस नामा एक, एकतर्फी यात्रा कागजात तीन र एनआरएन कार्ड एक गरी २७२ जनालाई सेवा प्रदान गरिएको उपमहावाणिज्यदूत धना जोशीले जानकारी दिए ।


    अमेरिकाका विभिन्न नौ राज्यमा रहेका नेपालीलाई कन्सुलर सेवा पुर्याउने उद्देश्यले नेपाल सरकारले गत वर्ष टेक्ससको ड्यालसमा महावाणिज्य दूतावास स्थापना गरेको थियो । उपमहावाणिज्यदूत धना जोशीका अनुसार ड्यालसमा दूतावास स्थापना भएपछिको यो पहिलो घुम्ती शिविर हो । भौगोलिक रूपमा टाढा रहेका नेपालीलाई पायक पर्ने स्थानमै सेवा प्रदान गर्ने महावाणिज्य दूतावासको नीति रहेको छ ।

    भौगौलिक रुपमा ठूलो टेक्सस राज्यको अस्टिन क्षेत्रमा बसोबास गर्ने नेपालीले लामो समयदेखि राहादानी तथा कन्ुसलर शिविरको माग गर्दै आएका थिए । शिविरको स्थानीय व्यवस्थापनमा ग्रेटर अस्टिन नेपाली समाज अस्टिनले सहयोग गरेको थियो । शिविरमा महावाणिज्यदूत सुरेश अधिकारी, उपमहावाणिज्यदूत धना जोशी, उपवाणिज्यदूत हरिमाया अधिकारीलगायतका कर्मचारीहरूले सेवा प्रदान गरेका थिए ।

    अस्टिनमा सम्पन्न राहदानी तथा कन्सुलर घुम्ती शिविर सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने ग्रेटर अस्टिन नेपाली समाजसहित सम्पूर्ण स्थानीय नेपाली समुदायप्रति महावाणिज्य दूतावासले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै धन्यवाद व्यक्त गरेको छ । रासस

  • नेपालद्वारा एसियाव्यापी विरोध प्रदर्शनमा ऐक्यबद्धता

    नेपालद्वारा एसियाव्यापी विरोध प्रदर्शनमा ऐक्यबद्धता

    काठमाडौँ, वैशाख १६ । जीवाश्म इन्धन ९पेट्रोल(डिजेल०को अनियन्त्रीत खनन् र खपतले जलवायु परिवर्तनका घटनामा तीव्र वृद्धि गराउने भएकोले जीवाश्म इन्धनको विकल्पको उपयोगमा जोड दिँदै नेपालका नागरिक समाजले एसियाव्यापी विरोध प्रदर्शनमा ऐक्यबद्धता जनाएको छ । कोलम्बिया र नेदरल्यान्ड्स सरकारद्वारा संयुक्तरूपमा आयोजित “जीवाश्म इन्धन मुक्त रूपान्तरण” (ट्रान्जिसिनिङ वे फ्रम फोसिल फ्युल)सम्बन्धि पहिलो अन्तर्राष्ट्रिय शिखर सम्मेलनको अवसरमा एसियासहित अफ्रिका, ल्याटिन अमेरिका, उत्तर अमेरिका र युरोपमा समेत यस्ता प्रदर्शन भएका हुन् ।

    जीवाश्म इन्धनको अनियन्त्रित खनन्ले विश्वमा तीव्ररूपमा जलवायु परिवर्तनका घटनामा वृद्धि भइरहेकोले जीवाश्म इन्धनमुक्त भविष्यका लागि द्रुत, न्यायोचित र समतामूलक रूपान्तरणको माग गर्दै सोमबार एसियाली राष्ट्र नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश र फिलिपिन्सका हजारौं मानिसले प्रदर्शन गरेका छन् । एसियामा भइरहेको विरोध कार्यक्रमको नेतृत्व “एसियन पिपुल्स मुभमेन्ट अन डेब्ट एण्ड डेभलपमेन्ट”ले गरिरहेको छ ।

    नेपालको सन्दर्भमा, नेपाल ट्रेड युनियन महासङ्घका महासचिव लक्ष्मण शर्माले विकसित राष्ट्रले जलवायु परिवर्तनको असर कम गर्न योगदान दिनैपर्ने बताए । उनले जलवायु वित्तका नाममा ऋण नभई अनुदानमा आधारित खर्बौ डलरको सार्वजनिक वित्त उपलब्ध गराउनुपर्नेमा जोड दिए । सामाजिक अभियन्ता टिकाश्वरी राईले जीवाश्म इन्धनको मूल्यवृद्धिको प्रत्यक्ष असर साधारण नागरिक र विशेष गरी श्रमिक महिलामा परिरहेको बताए ।


    उनका अनुसार इन्धनको मूल्य बढ्दा उपभोग्य वस्तु महँगो हुने र श्रमिकको ज्यालाको क्रयशक्ति घट्दा श्रमिक वर्ग झनै गरिब हुँदै जाने बताए । विगत तीन दशकदेखि जलवायु परिवर्तन र यसले जनजीवनमा पारेको असरबाट जोगिन विश्वभर एकताबद्ध भएर विविध कार्यक्रमको माध्यमबाट जनजागरण फैलाउने काम भइरहेका छन् । यसै सन्दर्भमा कोलम्बियाको सान्ता मार्टामा आयोजित यस शिखर सम्मेलनले जीवाश्म इन्धनको अन्त्यका लागि सामुहिक ऐक्यबद्धतासहितका निर्णय हुने अपेक्षा गरिएको छ ।

    जलवायु परिवर्तनको मुद्दामा काम गरिरहेका नेपाली सङ्घ संस्था र नागरिक समाजको तर्फबाट श्रमिक, युवा तथा महिलाले सान्ता मार्टामा आफ्ना मागहरू पठाउँदै विश्वव्यापी ऐक्यबद्धतामा जोड दिएका छन् । सान्ता मार्टा सम्मेलनले “जीवाश्म इन्धन सन्धि” को विकासमा देशहरूलाई सहभागी गराउने लक्ष्य राखेको आयोजकले जनाएको छ ।

  • चीनको ल्हासास्थित महावाणिज्यदूतावासमा भृकुटीको प्रतिमा अनावरण

    चीनको ल्हासास्थित महावाणिज्यदूतावासमा भृकुटीको प्रतिमा अनावरण

    ल्हासा, वैशाख १६ । ल्हासास्थित नेपाली महावाणिज्यदूतावासमा नेपाली राजकुमारी भृकुटीको अर्धकदको प्रतिमा अनावरण गरिएको छ । प्रतिमाको अनावरण हालै गरिएको हो । उक्त प्रतिमा महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाको विशेष पहल र सक्रियतामा जेभी फाउण्डेसन नेपालको सौजन्यमा प्राप्त भएको हो । प्रतिमाको हस्तान्तरण यसअघि नै काठमाडौंमा जेभी फाउण्डेसन नेपालका केन्द्रीय अध्यक्ष जगदीश बैद्यले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलाई गरेका थिए । अनावरण कार्यक्रममा ल्हासास्थित नेपाली समुदायको उल्लेख्य उपस्थिति थियो ।

    कार्यक्रममा प्रतिमा उपलब्ध गराउने जेभी फाउण्डेशन नेपालका पदाधिकारी, प्रतिमा ल्हासासम्म ल्याउन र महावाणिज्यदूतावासमा स्थापना गर्न सहयोग गर्ने नेपाली दुःख निवारण कल्याण कोष लगायत सबैलाई महावाणिज्यदूत निरौलाले प्रशंसापत्र प्रदान गरे ।

    महावाणिज्यदूत निरौलाले प्रतिमा अनावरण गर्दै सातौं शताब्दीमा तात्कालीन तिब्बती राजा स्रङ्चङ् गम्पोसँग विवाह भएकी नेपाली राजकुमारी भृकुटीको नेपाल चीन सम्बन्ध स्थापना र सुदृढीकरणमा उल्लेखनीय योगदान रहेको, उनले चीनमा बौद्ध धर्म स्थापना र प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी, ल्हासाको योजनाबद्ध विकासमा पनि उनको योगदान रहेको र उनको प्रतिमा महावाणिज्यदूतावासमा स्थापना गरी अनावरण गर्न पाउनु खुशीको कुरा भएको बताए ।

    अनावरण कार्यक्रमलाई नेपाली दुःख निवारण कल्याण कोषका अध्यक्ष कुञ्जो धार्के नेपाली एवम् जेभी फाउण्डेसन नेपालका पदाधिकारीहरूले समेत सम्बोधन गरेका थिए ।

  • सञ्चारमन्त्री तिमिल्सिनासँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

    सञ्चारमन्त्री तिमिल्सिनासँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

    काठमाडौँ, वैशाख १४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनासँग नेपालका लागि झाङ माओमिङले आज शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपाल–चीन सम्बन्ध, आपसी हित तथा द्विपक्षीय सहकार्यबारे छलफल भएको सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ ।

    भेटका क्रममा राजदूत झाङ माओमिङले नेपालमा नयाँ सरकार गठन भएकामा बधाई दिँदै दुई छिमेकी राष्ट्रबीच विद्यमान मित्रतालाई आगामी दिनमा अझ प्रगाढ र मजबुत बनाउन विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने धारणा राखे । उनले नेपालमा राजनीतिक परिवर्तनपछि स्थायी र बलियो सरकार बनेकाले आर्थिक तथा सामाजिक विकासका लागि अभूतपूर्व अवसर सिर्जना भएको उल्लेख गर्दै त्यस किसिमको रुपान्तरणमा चीन सहकार्य गर्न इच्छुक रहेको बताए ।


    राजदूत झाङले चीनले प्रविधिमा आधारित गुणस्तरीय उत्पादनमुखी नीति अवलम्बन गरिरहेको जानकारी दिँदै कृत्रिम बौद्धिकता तथा नवीनतम् सूचना प्रविधिका क्षेत्रमा प्राथमिकता दिइएको बताए । नेपालले पनि यस्ता उन्नत प्रविधिका क्षेत्रमा चीनसँग सहकार्य गर्न सक्ने सम्भावनाबारे उनले अवगत गराए । साथै, चिनियाँ लगानीमा नेपालमा सञ्चालन भइरहेका विभिन्न कम्पनीका लागि सहज र अनुकूल वातावरण बन्ने अपेक्षा उनले व्यक्त गरे ।

    सो अवसरमा सञ्चारमन्त्री डा बिक्रम तिमिल्सिनाले नेपालले चीनसँगको निरन्तर सहकार्य, पारस्परिक हित र विकास साझेदारीलाई सधैँ प्राथमिकतामा राख्दै आएको बताए । उनले कनेक्टिभिटी पूर्वाधार निर्माण, डिजिटल पूर्वाधार विस्तार तथा सूचना प्रविधिमा आधारित क्षेत्रमा दुवै देशबीच सहकार्यको पर्याप्त सम्भावना रहेको उल्लेख गरे ।


    मन्त्री तिमिल्सिनाले नेपाल सरकारले प्रविधिमा आधारित सुशासनमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेको स्पष्ट पार्दै सूचना प्रविधि, साइबर सुरक्षा, दूरसञ्चार तथा डिजिटल सेवा विस्तारका क्षेत्रमा थप काम गर्ने बताए । पछिल्लो समय राज्य संयन्त्रलाई डिजिटल माध्यमबाट प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने नीति सरकारको प्राथमिकतामा रहेको पनि उनले उल्लेख गरे ।

    चिनियाँ लगानीका कम्पनीहरूले नेपालमा काम गर्ने क्रममा केही समस्या भोग्नुपरेको भए त्यसको समाधानका लागि सरकार सदैव तयार रहेको स्पष्ट पार्दै मन्त्री तिमिल्सिनाले नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्धलाई दुवै देशको आपसी हितका लागि अझ प्रगाढ बनाउन पहल आवश्यक रहेको बताए । रासस

  • सञ्चारमन्त्री र जापानी राजदूत भेट, के भयो कुराकानी ?

    सञ्चारमन्त्री र जापानी राजदूत भेट, के भयो कुराकानी ?

    काठमाडौँ, वैशाख १४ गते । नेपालका लागि जापानका राजदूत मायदा तोरुले सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेका छन् । आज सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरूबिच नेपाल र जापानको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको सन्दर्भमा आपसी सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको हो ।

    त्यस अवसरमा मन्त्री डा. तिमिल्सिनाले नेपाल र जापानबिचको ऐतिहासिक, मैत्रीपूर्ण र विश्वासमा आधारित सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गरे । नेपालले जापानलाई विकास साझेदार मात्र नभई विश्वसनीय मित्र राष्ट्रका रूपमा हेर्दै आएको उल्लेख गर्दै उनले बदलिँदो विश्व सन्दर्भमा प्रविधि र नवप्रवर्तनमार्फत सम्बन्धलाई नयाँ उचाइमा लैजान सकिने बताए ।


    मन्त्री डा. तिमिल्सिनाले नेपाल सरकारले सूचना प्रविधि, कृत्रिम बौद्धिकता, साइबर सुरक्षा, दूरसञ्चार सेवा विस्तार तथा डिजिटल सुशासनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै सार्वजनिक सेवा प्रवाहलाई छिटो, पारदर्शी र जनमैत्री बनाउन डिजिटल रूपान्तरणलाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाइएको बताए । यी क्षेत्रमा जापानको प्राविधिक सहयोग, लगानी, क्षमता विकास तथा अनुभव आदानप्रदान अत्यन्त उपयोगी हुने उनको भनाइ थियो ।

    मन्त्री डा. तिमिल्सिनाले नेपालमा राजनीतिक स्थिरता कायम भएको र बलियो सरकार बनेकाले क्रमशः लगानीमैत्री वातावरण निर्माण हुँदै गएको स्पष्ट पारे । नीतिगत सुधार, कानुनी संरचना सुदृढीकरण तथा प्रशासनिक प्रक्रियाको सरलीकरणमार्फत वैदेशिक लगानीकर्तालाई आकर्षित गर्ने सरकारको योजना रहेकोसमेत उनले बताए ।

    नेपालले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन चाहेको उल्लेख गर्दै उनले विशेषगरी सूचना प्रविधि, डिजिटल सेवा, ‘क्लाउड’ पूर्वाधार, ‘ई–गभर्नेन्स’ प्रणाली तथा नवप्रवर्तन उद्योगमा लगानी आवश्यक रहेको बताए । राजदूत तोरुले नेपालमा सूचना प्रविधि क्षेत्रको तीव्र विकासका लागि दुई देशबिच थप सहकार्य गर्न सकिने धारणा राखेका थिए । उनले डिजिटल पूर्वाधार विस्तार, प्राविधिक जनशक्ति विकास, नवप्रवर्तन तथा लगानी प्रवर्धनका क्षेत्रमा जापान र नेपालबिच सहकार्यको ठुलो सम्भावना रहेको उल्लेख गरे ।


    विशेषगरी नेपालका युवाशक्ति र जापानको प्रविधि तथा व्यवस्थापकीय अनुभवलाई जोडेर दुवै देशले पारस्परिक लाभ लिन सक्ने राजदूत तोरुको भनाइ थियो । उनले जापानमा करिब तीन लाख नेपाली बसोवास गरिरहेको उल्लेख गर्दै तीमध्ये ठुलो सङ्ख्या सूचना प्रविधि, इन्जिनियरिङ, सेवा तथा प्राविधिक क्षेत्रमा आबद्ध रहेको जानकारी दिए । जापानमा रहेका नेपाली डायस्पोराको सिप, अनुभव र पुँजीलाई नेपालतर्फ आकर्षित गर्न सके डिजिटल रूपान्तरणको अभियानलाई तीव्रता दिन सकिने धारणा राखे । विदेशमा बसेका नेपाली नागरिकलाई केवल श्रमशक्ति मात्र नभई ज्ञान, लगानी र नवप्रवर्तनका साझेदारका रूपमा उपयोग गर्नुपर्नेमा उनको जोड थियो ।

    राजदूत तोरुले नीतिगत स्थायित्व, प्रशासनिक सहजीकरण र पूर्वाधार विकासलाई थप गति दिन सके जापानी निजी क्षेत्रको चासो नेपालमा अझ बढ्न सक्ने बताए । नेपालमा प्रविधि–आधारित उद्योग, सफ्टवेयर विकास, स्टार्टअप इकोसिस्टम तथा डिजिटल सेवा क्षेत्रमा जापानी लगानी आकर्षित गर्न सकिने सम्भावना रहेको भनाइ थियो ।

  • पश्चिम एसियाको द्वन्द्वपछि ३० हजार नेपाली स्वदेश फर्किए

    पश्चिम एसियाको द्वन्द्वपछि ३० हजार नेपाली स्वदेश फर्किए

    काठमाडौँ, वैशाख ११ गते ।पश्चिम एसियामा उत्पन्न द्वन्द्वपछि हालसम्म ३० हजारभन्दा बढी नेपाली नागरिक सो क्षेत्रबाट स्वदेश फर्किएका छन् । संयुक्त राज्य अमेरिका र इरानबीचको युद्धले सो क्षेत्रमा तनाव उत्पन्न भएपछि वैदेशिक रोजगारीलगायत काममा गएकामध्ये ३० हजारभन्दा बढी नेपाली घर फर्किएका परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलनमार्फत जनाएको छ ।

    मन्त्रालयका अनुसार ती नागरिकहरू तत्कालको परिस्थितिका कारण र बिदामा घर फर्कनुभएको हो ।त्यसमध्ये २१ हजार नेपाली नागरिक कतारबाट फर्किएका मन्त्रालयको मध्येएसिया, पश्चिमएसिया तथा अफ्रिका महाशाखाका प्रमुख रामकाजी खड्काले जानकारी दिए । यसैगरी उक्त द्वन्द्वपछि मन्त्रालयको कन्सुलर सेवा विभागले सुरु गरेको अनलाइन पोर्टलमा हालसम्म सोक्षेत्रका ८७ हजार ८१९ जनाले आफ्नो अवस्थाका बारेमा दर्ता गराउनुभएको उनले बताए ।


    द्वन्द्वका क्रममा इरानको हर्मुज क्षेत्रमा पानीजहाजसहित पक्राउ परेका नेपाली नागरिक अमृत झाको रिहाईको पहल भइरहेको महाशाखाका प्रमुख खड्काले जानकारी दिए । उनी छिट्टै रिहाइ हुने मन्त्रालयले जनाएको छ ।

    यसैगरी कामको सिलसिलामा इरानमा रहेका १० नेपाली नागरिकमध्ये दुई जना स्वदेश फर्कने तयारीमा रहेको बताउँदै बाँकी आठ जना हाल सुरक्षित महसुस गरी इरानमा रहेको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए । मन्त्रालयले सो क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा र आवश्यक सहजताका लागि आपतकालीन प्रतिकार्य समूहमार्फत काम गरिरहेको जनाएको छ ।

    पत्रकार सम्मेलनमा प्रवक्ता क्षेत्रीले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका लागि भारत सरकारबाट निमन्त्रणा प्राप्त भएको जनाउँदै भ्रमणको प्रारम्भिक तयारी भइरहेको उल्लेख गरे । उनले हाल राहदानी वितरणको कार्य सहज रूपमा भइरहेको उल्लेख गर्दै जनतालाई घरमै गएर राहदानी पुर्‍याउने व्यवस्थाका लागि हुलाक विभागसँग समन्वय भइरहेको बताए ।

  • अब त्रिभुवन विमानस्थलमा श्रम सहायता कक्ष चौबिसै घण्टा खुला

    अब त्रिभुवन विमानस्थलमा श्रम सहायता कक्ष चौबिसै घण्टा खुला

    काठमाडौँ, वैशाख ११ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहजीकरण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको ‘श्रम सहायता कक्ष’ लाई थप व्यवस्थित गरी चौबिसै घण्टा सञ्चालनमा ल्याएको छ ।

    वैदेशिक रोजगारीमा जाने र फर्किने श्रमिकलाई सहजीकरण गर्ने उद्देश्यसाथ यसअघि दुई सिफ्टमा सञ्चालन भएको सहायता कक्षलाई तीन सिफ्टमा विस्तार गरेर चौबिसै घण्टा सञ्चालनमा ल्याएको हो । गत मङ्गलबारदेखि थप व्यवस्थित गरेको जनाइएको छ । श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड र प्रवासी नेपाली समन्वय समिति ९पिएनसिसी० सहकार्यमा ११ जना कर्मचारीमार्फत श्रम सहायता कक्ष सञ्चालन गरिएको छ ।

    श्रम मन्त्रालयका सहसचिव एवं प्रवक्ता पीताम्बर घिमिरेले वैदेशिक रोजगारीमा जाने श्रमिकको हकहितका लागि श्रममन्त्रीस्तरीय निर्णयबाट सहायता कक्षलाई थप व्यवस्थित गरी सञ्चालन गरिएको जानकारी दिए । उनले कुनै पनि बहानामा वैदेशिक रोजगारीमा जाने श्रमिक नठगिऊन् भनेर जानकारी दिने उद्देश्यसहित सहायता कक्ष चौबिसै घण्टा सञ्चालनमा गरिएको बताए ।

    सहसचिव घिमिरेका अनुसार मन्त्रालय, विभाग र बोर्डबाट खटाइएका कर्मचारीमार्फत वैदेशिक रोजगारीमा जाने श्रमिकलाई नेपालको कानुनी प्रक्रिया पूरा गरेर सहज रूपमा विदेश प्रस्थान गर्ने वातावरण बनाउने काम हुँदै आएको छ । विदेशमा अप्ठ्यारो परेमा सहयोग लिने दूतावासका कर्मचारीको नाम, नम्बर र ठेगानासमेत जानकारी गराइने गरेको छ ।

    श्रम सहायता कक्षमा नयाँ जानेभन्दा पनि यसअघि नै वैदेशिक रोजगारीमा गई फर्केर आएपछि पुनः जानेले बढी चासो राख्ने गरेको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले जानकारी दिए ।

  • परराष्ट्र मन्त्री खनाल र जोर्डनका उपप्रधानमन्त्री सफादीबीच टेलिफोन वार्ता

    परराष्ट्र मन्त्री खनाल र जोर्डनका उपप्रधानमन्त्री सफादीबीच टेलिफोन वार्ता

    काठमाडौँ, वैशाख १० गते । परराष्ट्र मन्त्री शिशिर खनाल र जोर्डनका उपप्रधानमन्त्री एवं परराष्ट्र तथा आप्रवासी मामिला मन्त्री आयमान सफादीबीच बिहीबार टेलिफोन वार्ता भएको छ । संवादका क्रममा उपप्रधानमन्त्री सफादीले परराष्ट्र मन्त्री खनाललाई कार्यभार सम्हाल्नुभएकोमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

    टेलिफोन वार्ताका क्रममा दुई देशका मन्त्रीबिच नेपाल र जोर्डनबीचको द्विपक्षीय सम्बन्धका विविध आयामका बारेमा छलफल भएको थियो । दुवै पक्षले आपसी हितका लागि द्विपक्षीय तथा बहुपक्षीय मञ्चमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पुनः दोहोर्‍याउनु भएको छ ।

    सो अवसरमा परराष्ट्र मन्त्री खनालले मध्यपूर्वमा जारी द्वन्द्वका बीच त्यहाँ रहेका धेरै नेपाली नागरिकको सुरक्षा र हित सुनिश्चित गरेकोमा जोर्डन सरकारलाई धन्यवाद ज्ञापन गरे । जोर्डन नेपाली श्रमिकका लागि एक प्रमुख गन्तव्य मुलुक रहँदै आएको सन्दर्भमा यो संवादलाई महत्त्वका साथ हेरिएको छ ।

  • कूटनीतिक राहदानी प्रयोगमा कडाइ गर्ने सहमति, कानुन संशोधनको तयारी

    कूटनीतिक राहदानी प्रयोगमा कडाइ गर्ने सहमति, कानुन संशोधनको तयारी

    काठमाडौँ, वैशाख ९ गते । कूटनीतिक राहदानी सिफारिस तथा प्रयोगलाई थप व्यवस्थित र मर्यादित बनाउन विद्यमान कानुनको कडाइका साथ पालना गर्ने सहमति भएको छ। बुधबार सिंहदरबारमा सभामुख डोलप्रसाद (डीपी) अर्यालको उपस्थितिमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतक तथा सचेतकहरूबिच भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो। छलफलका क्रममा सभामुख अर्यालले राहदानीसम्बन्धी कुनै पनि निर्णय कानुनको सीमाभित्र रहेर मात्र गरिने स्पष्ट पारे ।


    उनले कूटनीतिक राहदानीको प्रयोगलाई उत्तरदायी बनाउन आवश्यक परेमा सरोकारवाला र विज्ञहरूसँग परामर्श गरी कानुन संशोधनको प्रक्रिया अघि बढाउन सकिने धारणा व्यक्त गरे । विगतमा कूटनीतिक राहदानीको दुरुपयोग हुँदा राष्ट्रको छविमा नकारात्मक असर परेको भन्दै सहभागी सांसदहरूले यसलाई रोक्न कडा नियमन हुनुपर्नेमा जोड दिए । छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले हालको कानुनी व्यवस्थाको पूर्ण पालना हुनुपर्ने बताए । नेपाली कांग्रेसका सांसद योगेश गौचन थकालीले सुविधासँगै क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्ने उल्लेख गरे ।


    नेकपा (एमाले)का सांसद गुरु प्रसाद बरालले राहदानी दुरुपयोगले देश बदनाम भएको भन्दै नीतिगत पुनरावलोकनको खाँचो औँल्याए । त्यस्तै, नेकपाका प्रमुख सचेतक युवराज दुलालले विशेष गरी प्रतिनिधिमण्डलसँग जाने व्यक्तिहरूबाट हुने दुरुपयोग रोक्न विशेष ध्यान दिनुपर्ने सुझाव दिए । संघीय संसदका महासचिव पदम प्रसाद पाण्डेले सरकारी कामका लागि कूटनीतिक र निजी भ्रमणका लागि साधारण राहदानी प्रयोग गर्ने व्यवस्था स्पष्ट रहेको जानकारी दिए ।

    उनले तोकिएको प्रयोजनबाहेक अन्य क्षेत्रमा यस्तो राहदानी प्रयोग गर्न नहुने कुरामा जोड दिए । परराष्ट्र सचिव अमृत राईले राहदानी ऐन २०७६ र नियमावली २०७७ अनुसार सरकारी कामका लागि मात्र कूटनीतिक राहदानी प्रयोग गर्न मिल्ने कानुनी प्रावधानबारे प्रष्ट पारे । विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले कूटनीतिक राहदानीको विषयमा पार्टीभित्र थप छलफल गर्ने र अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन गरेर मात्र दीर्घकालीन निष्कर्षमा पुग्नुपर्ने धारणा राखेका छन्।
    छलफलले कूटनीतिक राहदानी प्रयोगको दायरा र मनोनयन प्रक्रियामा सुधार ल्याउन आवश्यक अध्ययनलाई निरन्तरता दिने सहमतिसमेत गरेको छ।

  • केप कड नेपाली समाजको अध्यक्षमा विष्णु मान प्रधान निर्विरोध निर्वाचित

    केप कड नेपाली समाजको अध्यक्षमा विष्णु मान प्रधान निर्विरोध निर्वाचित

    म्यासाच्युस्ट्स

    केप कड नेपाली समाजको बार्षिक साधारण सभा तथा चौथो अधिवेशन समाजका अध्यक्ष केबी राईज्यूको सभापतित्वमा यहि अप्रिल १९ तारीख २०२६ आईतवारका दिन म्यासाचुसेट्स राज्यको केप कड हायनस स्थित Courtyard by Marriott होटलको सभाहलमा सफलतापूर्वक सम्पन्न भएको थियो। उक्त कार्यक्रमको संचालन महासचिव ईच्छा खड्का र सचिव सरस्वती खनालले गरेका थिए। सभापतिबाट बत्तिवालेर उदघाटन गरिएको सभा नेपाल र अमेरिकाको राष्ट्रिय गान गाएर सुरु गरिएको थियो। अमेरिकाको राष्ट्रिय गान बिष्लेक्स मान प्रधानको एकल गायनमा भएको थियो ।

    समाजका बरिष्ठ उपाध्यक्ष तथा बार्षिक साधारण सभाका संयोजक विष्णु मान प्रधानले सभामा उपस्थित सम्पूर्ण सदस्यहरुलाई स्वागत गर्नु साथै कार्यक्रमका बारेमा प्रकाश पार्नु भएको थियो भने समाजका उपाध्यक्ष कृष्ण तिमल्सिना र संस्थापक अध्यक्ष तथा सल्लाहाकार हरी राईले शुभकामना मन्तव्य दिनु भएको थियो ।

    सभाले समाजका महासचिव इच्छा खड्काद्वारा प्रस्तुत गरिएको संस्थाको बार्षिक प्रगति प्रतिवेदन साथै संस्थाका कोषाध्यक्ष विमल खड्काद्वारा प्रस्तुत गरिएको बार्षिक आर्थिक विवरणलाई सर्वसम्मत पारित गरेको थियो।

    साधारण सभाको पहिलो सत्रमा केप कड नेपाली समाजको आजीवन सदस्यता लिनुहुने १२ जना नयां सदस्यहरूलाई समाजका अध्यक्ष केबी राईज्यूले खादा तथा प्रमाणपत्र प्रदान गरि स्वागत तथा सम्मान ब्यक्त गर्नुभयो। त्यसैगरि वर्ष भरि समाजले आयोजना गरेका विभिन्न कार्यक्रमहरूको मेरूदण्ड स्थानिय कलाकारहरू साथै उक्त कार्यक्रमहरूलाई सफलतापूर्वक सम्पन्न गर्न आर्थिक सहयोग (५०० डलर वा सो भन्दा बढी) प्रदान गर्नुहुने दाताहरूलाई समेत समाजका अध्यक्ष केबी राईज्यूले खादा तथा प्रमाणपत्र प्रदान गरि सम्मान ब्यक्त गर्नुभयो।

    साधारण सभाको अन्त्यमा, यस सभाका सभापति केबी राईज्यूले बर्तमान कार्य समितिले २ वर्षको निर्धारित कार्य अवधि सफलतापूर्वक सम्पन्न गरेकोमा सबै पदाधिकारी तथा सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै आजकै मितिदेखि यसलाई बिगठन गरिएको घोषणा गर्दै नंया कार्यसमिति चयनको लागि सभामा उपस्थित सबैलाई आव्हान समेत गर्नुभयो।

    चौथो अधिवेशनको बन्द सत्रलाई संचालन गर्दै कार्यक्रम संचालकले प्रमुख निर्वाचन आयुक्त, डा़ प्रदीप बज्राचार्यलाई निर्वाचन प्रक्रियालाई अगाडि बढाउन आग्रह गर्नुभयो। जसअनुसार प्रमुख निर्वाचन आयुक्त डा़ बज्राचार्यको नेतृत्वमा सदस्यद्वय दीर्घ राई र रोशन अधिकारीको सहितको ३ सदस्यीय निर्वाचन समितिले निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया पुरा गरी बिधिवत रुपमा निर्वाचन सम्पन्न गरेका थिए । उक्त निर्वाचनमा विधान सम्मत तपशिल बमोजिमको २१ सदस्यीय नयां कार्यसमिति (२०२६-२०२८) निर्विरोध निर्वाचित भएको थियो।

    नव निर्वाचित कार्यसमिति (२०२६-२०२८)

    1. बिष्णु मान प्रधान- अध्यक्ष
    2. कृष्ण तिमल्सिना- बरिष्ठ उपाध्यक्ष
    3. कुबेर बिन्दुकार- उपाध्यक्ष
    4. इच्छा खड्का- उपाध्यक्ष
    5. सरस्वती खनाल- महासचिव
    6. हर्कुलस कन्दंगवा- सचिव
    7. खगेन्द्र तिलुंग राई- सह-सचिव
    8. बिमल खड्का- कोषाध्यक्ष
    9. अजय खतिवडा- सह कोषाध्यक्ष
    10. पार्वती चालिसे- महिला संयोजक
    11. कुमार तामागं- युवा संयोजक
    12. छेजी शेर्पा एन्ड्रु सदस्य
    13. ज्योति केसी- सदस्य
    14. मंजु शर्मा- सदस्य
    15. दीक्षा थापा- सदस्य
    16. आदर्श राई- सदस्य
    17. ज्योति बुढाथोकी लिवागं
    18. हरि प्रसाद रिजाल- सदस्य
    19. सन्तोष श्रेष्ठ-सदस्य
    20. मिंग्मा शेर्पा- सदस्य
    21. के ओगंचुक शेर्पा- सदस्य

    कार्यक्रमको अन्त्यमा निवर्तमान अध्यक्ष केबी राईज्यूले नवनिर्वाचित अध्यक्ष बिष्णुमान प्रधान को नेतृत्वको कार्यकारी समितिलाई बधाई तथा शुभकामना दिदै आगामी दिनहरूमा पनि समाजका हरेक गतिविधिहरूमा कार्यसमिति बाहिरै रहेरपनि निरन्तर सहयोग गरिरहने प्रतिबद्धता जाहेर गर्नुभयो।

    यसैगरि नवनिर्वाचित अध्यक्ष बिष्णु मान प्रधानले पनि निवर्तमान अध्यक्ष लगायत सम्पूर्ण outgoing पदाधिकारी तथा सदस्यहरूलाई वहांहरूले आफ्नो २ वर्षको कार्यकालमा संस्थालाई र केप कड नेपाली समुदायलाई पुर्याउनुभएको योगदानको कदर गर्दै भविष्यमा पनि वहाहरूको सहयोग निरन्तरता रहने कुरामा विश्वास ब्यक्त गर्नुभयो । अध्यक्ष प्रधानले सम्पूर्ण नेपाली हरुलाई नयां बर्ष २०८३ को हार्दिक शुभकामना पनि ब्यक्त गर्नु भयो।

    अन्त्यमा सरल र सौहार्दपूर्ण वातावरणमा नंया कार्यसमिति चयन प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गराउनुहुने निर्वाचन प्रमुख डा. प्रदीप बज्राचार्यज्यू साथै निर्वाचन समितिका सदस्यद्वय दीर्घ राई र रोशन अधिकारीलाई पनि निवर्तमान अध्यक्ष केबी राईले खादा ओडाएर धन्यवाद ज्ञापन गर्नुभयो।

    निर्वाचन समितिका अध्यक्ष डा. प्रदिप बज्राचार्य, सदस्य दिर्घ राई र रोशन अधिकारीले नब निर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई खादा लगाई, प्रमाण पत्र प्रदान गरी पद तथा गोपनियताको सपथ गराउनु साथै बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको थियो।

    केप कड नेपाली समाज, नेपाली कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न २०११ मा केप कड, मासाच्युसेट्स, अमेरिकामा स्थापना गरिएको नेपालीहरुको साझा सामाजिक संस्था हो । यो संस्थाले नेपाली समुदायको हितका लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको छ।

  • सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता

    सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता

    जेनेभा, वैशाख ८ गते । सन् २०२५ मा आप्रवासन मार्गमा लगभग सात हजार ९०० व्यक्तिको मृत्यु भएको छ वा बेपत्ता भएका संयुक्त राष्ट्रसङ्घको आप्रवासन निकायले मङ्गलबार सार्वजनिक उक रिपोर्टमा भनेको छ । यससँगै आप्रवासनका क्रममा सन् २०१४ देखि सन् २०२५ को अन्त्यसम्म कुल मृतक र बेपत्ता व्यक्तिको सङ्ख्या ८० हजारभन्दा बढी भएको छ ।

    संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)ले सुरक्षित मार्ग पहुँच भन्दा बाहिर हुँदा मानिस खतरनाक, अनियमित यात्रामा जान बाध्य हुनेगरेको र ज्यान गुमाउने गरेको बताएको छ । सङ्गठनले देशलाई आप्रवासन मार्गहरूमा बढीभन्दा बढी जीवन बचाउन राजनीतिक इच्छाशक्ति खोज्न आग्रह गरेको छ । आइओएमले भनेको छ, “सन् २०२५ मा विश्वभर आप्रवासनका क्रममा करिब सात हजार ९०० मानिसको मृत्यु वा बेपत्ता भएको अभिलेख राखिएको छ ।”

    आइओएमको बेपत्ता आप्रवासी परियोजनाले सन् २०१४ यता आप्रवासनका क्रममा ८० हजारभन्दा बढीको मृत्यु र बेपत्ताको अभिलेख राखेको छ । “यद्यपि यी तथ्याङ्कले प्रभावित व्यक्तिको वास्तविक संख्याको सबैभन्दा कम सीमालाई प्रतिनिधित्व गर्दछ, तर पनि यसले आप्रवासी मृत्युको अन्त्य गर्न र पछाडि छोडिएका परिवारको जटिल आवश्यकतालाई सम्बोधन गर्न तत्काल प्रतिक्रियाको आवश्यकतालाई जोड दिन्छ,” आइओएमले भनेको छ ।

    आइओएमले सन् २०२५ मा भएको हजारौँको मृत्यु र बेपत्ताको अभिलेखले यी रोकथाम गर्न सकिने मृत्युलाई अन्त्य गर्न विश्वव्यापी असफलताको निरन्तरता र वृद्धिलाई सङ्केत गरेको बताएको छ । “सन् २०२५ मो सहायता कटौती र खतरनाक अनियमित मार्गको सूचनामा प्रतिबन्ध लगाइएको थियो, जसले धेरै भन्दा धेरै बेपत्ता आप्रवासीको गणनालाई कठिन बनाएको थियो, ” विज्ञप्तिमा भनिएको छ ।

    यसैबिच, आप्रवासीको वेपत्ता हुने समस्याले गर्दा अहिले कम्तिमा तीन लाख ४० हजार परिवारका सदस्य प्रत्यक्ष रूपमा प्रभावित भएको अनुमान गरिएको छ । उनीहरूले आफ्नो नातेदारको मनोवैज्ञानिक, सामाजिक, कानुनी र आर्थिक प्रभावको सामना गरिरहेका आइओएमले जनाएको छ । बेपत्ता हुने समस्या अझै पनि समाधान भएको छैन ।

    आइओएमले सन् २०२६ मेको अन्तर्राष्ट्रिय आप्रवासन समीक्षा मञ्च गतिशीलता परिवर्तन गर्ने अवसर भएको बताएको छ । “विश्वव्यापी आप्रवासन मार्गमा जीवन बचाउन र यी रोकथाम गर्न सकिने क्षतिबाट सबैभन्दा बढी प्रभावित परिवारलाई देख्न दिगो राजनीतिक इच्छाशक्ति आवश्यक छ,” आइओएमले भनेको छ । रासस-एएफपी

  • अर्थमन्त्री र अमेरिकी सहायक मन्त्रीबीच भेटवार्ता

    अर्थमन्त्री र अमेरिकी सहायक मन्त्रीबीच भेटवार्ता

    ८ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री एस पउल कपुरबीच भेटवार्ता भएको छ । मंगलबार अर्थ मन्त्रालयमा भएको भेटमा हालै सम्पन्न निर्वाचनपछि गठित वर्तमान सरकार र अमेरिकी सरकारबीच सम्भावित साझेदारीका क्षेत्र, लगानी प्रवर्द्धन र द्विपक्षीय सहयोगका विषयमा गहन छलफल भएको मन्त्रालयले जनाएको छ ।

    छलफलमा अर्थमन्त्री डा। वाग्लेले सरकारको मुख्य प्राथमिकता सुशासन, आर्थिक सुधार र गुणस्तरयुक्त भौतिक पूर्वाधार निर्माण रहेको उल्लेख गरे । उनले पुराना अनावश्यक कानुन खारेजी र नयाँ कानुन निर्माणबाट आर्थिक सुधार र लगानीको वातावरण सिर्जना गर्नु सरकारको प्राथमिकता रहेको प्रष्ट पारे ।

    अमेरिकी लगानीकर्ता तथा गैरआवासीय नेपाली लगानीकर्ताबाट पर्यटन, स्वच्छ ऊर्जा र सूचना प्रविधि क्षेत्रमा लगानी अपेक्षित रहेको समेत उनले बताए । अमेरिकी सहायक विदेशमन्त्री कपुरले नेपाल र अमेरिकाबीचको ऐतिहासिक सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विचार व्यक्त गरे । शान्तिपूर्ण निर्वाचनपछि गठित वर्तमान सरकारले लिएको सुधारका कार्यक्रमलाई अमेरिकी राष्ट्रपति र अमेरिकी जनताले सकारात्मक रूपमा नजिकबाट हेरिरहेको समेत उनले बताए ।

    सफल व्यापारिक सम्बन्ध र यूएस इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसनजस्ता संस्थासँगको साझेदारीमा दुवै राष्ट्रले लाभ लिन सक्ने विषयमा सहायक विदेशमन्त्री कपुरले जोड दिएको समेत अर्थले बताएको छ । बैठकमा अर्थ सचिव डा। घनश्याम उपाध्याय, अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका पदाधिकारी लगायत उपस्थित थिए ।

  • भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द

    भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द

    झापा, वैशाख ८ गते । भारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको छ । भारतको दार्जिलिङ जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ ६ बजेदेखि वैशाख १० गते मतदान सम्पन्न नभएसम्म काँकरभिट्टासँग सीमा जोडिएको पानीटङ्की नाकाबाट मानिस तथा सवारीसाधन आवतजावत पूर्ण रूपमा बन्द गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।


    भारतको पश्चिम बङ्गालमा वैशाख १० गते विधानसभाको चुनाव हुँदैछ । विगतमा पनि नेपाल र भारत दुवैतर्फ चुनावअघि सहमतिमा नाकामा आवागमन बन्द गरिँदै आइएको थियो । ‘बोर्डर शिल’ गरिएको अवधिमा पैदल हिँड्ने सर्वसाधारण र सवारीसाधनको आवतजावत पूर्ण रूपमा बन्द गरिने भए पनि उपचारका लागि बिरामी र अतिजरुरी कामका लागि परिचय देखाएर सीमामा आवतजावत गर्न दिइने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्काले जानकारी दिए । नेपाल र बङ्गलादेशका पर्यटकको हकमा आफ्नो मुलुक जानका लागि भारतीय प्रशासनले परिचय खुल्ने कागजपत्र देखाएमा आवतजावतमा सहजीकरण गरिदिने भएको उनले बताए । रासस

  • नवनियुक्त चार राजदूतद्वारा प्रमाणपत्र पेस

    नवनियुक्त चार राजदूतद्वारा प्रमाणपत्र पेस

    ८ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त चार गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार शाक्यका अनुसार सोमबार राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै समारोहमा नेपालका लागि गैर आवासीय राजदूतहरू गाम्बियाका मुस्तफा जवारा, क्यानडाका क्रिस्टोफर कुटर, स्लोभेनियाका टोमाज मेन्सिन् र अल्जेरियाका एब्डेनर खेरिफीले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको उनको भनाइ छ।

  • अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमणमा

    अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमणमा

    ७ वैशाख, काठमाडौं । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगेका छन् । उनी आज बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । भारतीय मूलका कपुर बालेन शाह नेतृत्वको नयाँ सरकारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित काठमाडौं आइपुगेको बताइएको छ ।

    काठमाडौं बसाइको क्रममा कपुरले उच्चस्तरीय भेटघाट गर्ने र सरकारका केही मन्त्रीहरुलाई पनि भेट्ने तयारी छ । गत वर्ष अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण एशियाली सुरक्षाका विज्ञ कपुरलाई दक्षिण एशिया मामिला हेर्ने सहायक विदेशमन्त्रीमा नियुक्त गरेका थिए । त्यसअघि डोनाल्ड लुले दक्षिण एशिया मामिला हेर्दथे ।

    कपुरको काठमाडौं भ्रमण तीन दिनको हुने बताइएको छ । उनी बुधबार फर्किनेछन् । नेपाल आएका कपुर बालेन नेतृत्वको सरकार बनेपछि काठमाडौं आउने सबैभन्दा वरिष्ठ विदेशी कूटनीतिज्ञ हुन् ।

  • राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट

    राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट

    काठमाडौँ, ६ वैशाखः राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधिसभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेट भएको छ । टर्कीको इस्तानबुलमा जारी अन्तर व्यवस्थापिका सङ्घको १५२औँ महासभामा सहभागी हुन त्यहाँ पुग्नुभएका उहाँहरुबीच भेट भएको हो । भेटमा उनीहरुबीच नेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र संसदीय सहकार्यका विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

    अष्ट्रेलियाले नेपालको विकास र समृद्धिका लागि विगतदेखि नै सहयोग गर्दै आइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले आगामी दिनमा अझ थप सहयोग र सहकार्यका लागि आग्रह गरेका थिए । सो क्रममा अष्ट्रेलियाका सभामुख मिल्टनले अष्ट्रेलिया र नेपालको सम्बन्ध विगतदेखि नै निकै सौहार्द्रपूर्ण रहेको चर्चा गर्दै संसदीय सहकार्यले दुई देशको सम्बन्ध अझ प्रगाढ र मजबुत बन्ने बताए । भेटमा नेपाली संसदीय प्रतिनिधिमण्डलका तर्फबाट राष्ट्रियसभाका सदस्यहरु कृष्णबहादुर रोकाया र डा अञ्जान शाक्य तथा राष्ट्रियसभा सचिव तुलबहादुर कँडेललगायत सहभागी थिए ।

  • राष्ट्रियसभा अध्यक्ष दाहाल र टर्किस सभामुख नुमानबीच भेट

    राष्ट्रियसभा अध्यक्ष दाहाल र टर्किस सभामुख नुमानबीच भेट

    काठमाडौँ, ६ वैशाखः राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र टर्कीको संसद ग्रान्ड नेसनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसबीच शिष्टाचार भेटवार्ता भएको छ । अन्तर व्यवस्थापिका सङ्घ (आइपीयू)को १५२औँ महासभामा सहभागी हुन इस्तानबुलमा रहनुभएका अध्यक्ष दाहालले शनिबार टर्कीको संसद्का सभामुखसँग शिष्टाचार भेट गरेका हुन् ।

    भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र संसदीय सहकार्यका विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । द्विपक्षीय भेटमा अध्यक्ष दाहालले संसदीय सहकार्यमार्फत दुई देशबीचको सम्बन्ध अझ बलियो र प्रगाढ बनाउनुपर्ने उल्लेख गर्दै संसदीय अनुभव आदानप्रदान, भ्रमण र संसदीयमैत्री समूह गठनका लागि आफूहरू आतुर रहेको बताए ।


    दुई देशबीचको कूटनीतिक सम्बन्ध छ दशकदेखि नै सौहार्द र आपसी सम्मानमा आधारित रहेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन नेपालमै टर्कीको दूतावास स्थापना गर्न आग्रह गरे । अहिले टर्कीसँग जोडिएका सबै काम गर्न नेपाली भारतको राजधानी दिल्ली धाउनुपर्ने स्थिति रहेको भन्दै अध्यक्ष दाहालले नेपाल र टर्कीबीच श्रम सम्झौता गर्नुका साथै नेपालमै टर्किस दूतावास स्थापना भए दुई देशबीचको सहकार्यमा थप सहज हुने विश्वास व्यक्त गरे ।


    आइपीयूको महासभामा टर्की सरकार र संसद्ले गरेको स्वागत र हार्दिकताका लागि अध्यक्ष दाहालले धन्यवाद व्यक्त गरे । सो क्रममा टर्कीको संसद् ग्रान्ड नेसनल एसेम्बलीका सभामुखले राष्ट्रियसभा अध्यक्षसहित नेपाली संसदीय प्रतिनिधिमण्डललाई इस्तानबुलमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । टर्की र नेपालबीच द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउन आफूहरू सदैव तत्पर रहेको उल्लेख गर्दै सभामुख नुमानले नेपालमा टर्किस दूतावास खोल्न सकारात्मक रहेको बताए ।


    टर्किस सरकारले नेपालका लागि सीमित कोटाको शैक्षिक छात्रवृत्तिको व्यवस्था गरेको उल्लेख गर्दै उनले छात्रवृत्तिको कोटा वृद्धि गर्ने र दुई देशबीचको व्यापार पनि बढाउने प्रतिबद्धता व्यक्त गरे । आगामी नोभेम्बरमा कोप–३१ टर्कीमा हुन लागेको उल्लेख गर्दै सभामुख नुमानले त्यसको नेतृत्वका लागि टर्कीलाई आवश्यक सहयोग गर्न अनुरोध पनि गरे । भेटमा आइपीयूमा सहभागी नेपाली संसदीय प्रतिनिधिमण्डलका सदस्यहरू पनि उपस्थित थिए ।

  • विभिन्न देशका राजदूतहरूद्वारा हात्तीवन–चम्पादेवीमा ‘आरोग्य पदयात्रा’

    विभिन्न देशका राजदूतहरूद्वारा हात्तीवन–चम्पादेवीमा ‘आरोग्य पदयात्रा’

    कीर्तिपुर (काठमाडौँ), ५ वैशाख । नेपालस्थित विभिन्न देशका राजदूतहरूले नेपालको स्वच्छ हावापानी र स्वस्थ्य जीवन शैलीको प्रशंसा गर्दै दक्षिणकाली नगरपालिका–३ मा आज पैदलयात्रा गरेका छन् । पहिलो अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा परराष्ट्र मन्त्रालयले हात्तीवन–चम्पादेवी पदमार्गमा ‘आरोग्य पदयात्रा’ गराइएको हो ।

    यात्रामा काठमाडौँस्थित राजदूतहरू, कूटनीतिक समुदायका अन्य सदस्य तथा सरकारका उच्च पदाधिकारीले नेपालले विश्वव्यापी रूपमा प्रवर्द्धन गर्न खोजेको आरोग्य र स्वस्थ जीवनशैलीको समर्थन गर्न आफूहरूले प्रतिबद्धता जनाएको उनीहरुको प्रतिक्रिया थियो ।


    सहभागी कूटनीतिज्ञहरूलाई बिहान हात्तीवन रिसोर्टमा भेला गराई योग र पूर्वीय दर्शनमा आधारित ध्यानबारे जानकारी दिइएको थियो । उनीहरुलाई जीवन विज्ञानका प्रशिक्षक प्रतीक शर्माले आसन, प्राणायाम र ध्यानका केही विधिबारे प्रशिक्षण दिए

    त्यसपछि सहभागी सबै कूटनीतिज्ञलाई हात्तीवन रिसोर्ट क्षेत्रबाट चम्पादेवीतर्फ जाने मार्गमा करिब दुई घण्टाको पदयात्रा गराइएको थियो । कूटनीतिज्ञलाई स्वागत गर्दै परराष्ट्र सचिव अमृतबहादुर राईले नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घले हरेक वर्ष अप्रिल १५ लाई अन्तररष्ट्रिय आरोग्य दिवसका रूपमा मनाउने निर्णय गरेको उल्लेख गरे ।


    साथै, उनले नेपाललाई विश्वकै उत्कृष्ट ‘आरोग्य पर्यटकीय गन्तव्य’ का रूपमा विकास गर्ने नेपाल सरकारको नीति रहेको समेत बताए । नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले आरोग्य पर्यटन रणनीति तयार गरेको जानकारी दिँदै उनले आगामी सन् २०२७ लाई नेपाली आरोग्य पर्यटन वर्षका रूपमा मनाउने त्यसका लागि आवश्यक लगानी भित्र्याउने तयारीमा सरकार रहेको जानकारी गराए । नेपालले विश्वका विभिन्न देशमा रहेका दूतावास कूटनीतिक नियोग र गैरआवासीय नेपालीको सञ्जाल प्रयोग गर्नेसमेत उनले बताए ।


    नेपालका लागि फिनल्याण्डका राजदूत पेट्री पुहकले उपत्यकाका कै प्राकृतिक डाँडामा गरिएको यात्रा सामान्य हिँडाइ वा शारीरिक अभ्यास मात्र नभई मानसिक शान्तिसमेत दिने किसिमको भएको बताए । नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय, शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का प्रतिनिधि जाको डु टोइटले नेपाली प्राकृतिक थलोमा नेपाली गीत सुन्दै हिँड्दा आफूले आरोग्य लाभ गरिरहेको प्रतिक्रिया दिए । आफ्नो देश दक्षिण अफ्रिकमा यहाँजस्ता उच्च हिमाल नभए पनि तर प्राकृतिक सम्पदाहरूले एकअर्को देशलाई जोड्नसक्ने धारणा उनको थियो ।

    नेपालका लागि राष्ट्रसङ्घीय विकास नियोग प्रतिनिधि क्योको योकोसुकाले सप्ताहन्तमा अत्यन्त स्वच्छ हावा युक्त हात्तिवन चम्पादेवी पदमार्गको पैदलयात्रा, योग र ध्यानले आफूलाई उत्साहित बनाएको बताए । आफ्ना आफन्त देशवासीलाई नेपाल प्राकृतिक र सांस्कृति सम्पदा मात्र नभई योग ध्यानमार्फत आत्मसन्तुष्टि प्राप्तिका लागि घुम्नैपर्ने मुलुक भएको सन्देश पु¥याउने बताए ।


    नेपालका लागि बेलायती राजदूत रोर्वट फेनले अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा नेपालले यसरी पदयात्रा आयोजना गर्दा आफूलाई खुसी लागेको बताए । आरोग्य दिवसमा तय गरिएको नारामध्ये लामो पैदलयात्राले श्वासप्रश्वासलाई अझ लामो समय स्वस्थ्य राख्छ भन्ने कुराले आफू प्रभावित भएको बताए ।


    बेलायतमा नेपाल पहिल्यै लोकप्रिय भएको बताउँदै बेलायतीहरूमा नेपालबारे जान्न चाहने र नेपाली भौगोलिक र सांस्कृतिक विविधताप्रति मोहित भएको बताए । रासससँग कुरा गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपालको आरोग्य पर्यटनका माध्यमबाट नेपाली ‘सप्ट पावर’ कूटनीतिलाई अगाडि बढाउन खोजेको बताउँदै पहिलो अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा आयोजित १३ देशका राजदूतहरूले महत्त्व दिनु कूटनीतिक हिसाबले महत्त्वपूर्ण भएको बताए । “नेपाललाई योग ध्यानजस्ता प्राकृतिक स्वास्थ्यलाभका पद्धतिहरूमार्फत विश्वकै उत्कृष्ट आरोग्य गन्तव्य बनाउने लक्ष्य सरकारको छ”, उनको भनाइ थियो ।

  • गैरकानुनी अभ्यास गर्ने अध्यागमनका कर्मचारीलाई कारबाही गरिने

    गैरकानुनी अभ्यास गर्ने अध्यागमनका कर्मचारीलाई कारबाही गरिने

    काठमाडौँ, ३ वैशाखः अध्यागमन विभागले कानुनभन्दा बाहिर गई सर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएकाले प्रचलित कानुन र विभागीय निर्णय बाहिर गई गैरकानुनी अभ्यास गर्ने कर्मचारीलाई कारबाही गर्ने भएको छ । विभागका प्रवक्ता निर्देशक टिकाराम ढकालले यसरी गैररकानुनी रूपमा प्रस्थान अनुमति दिने कर्मचारीमाथि आन्तरिक छानबिनको प्रक्रिया अघि बढाइएको बताए ।

    संयुक्त अरब इमिरेट्स प्रस्थान गर्न लागेका कुनै नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै ‘Employment is strictly prohibited Visit till’ लेखेको भनि विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका समाचारप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उहाँले छानबिन थालिएको बताए ।


    विभागले आज एक विज्ञप्ति जारी गरी आजको दिनमा धेरै नेपालीहरूको विदेश यात्रा रहर र राम्रो अवसरको खोजी मात्र नभई बाध्यता भएको यथार्थ हामी सबैलाई अवगत छ । नागरिकको यही बाध्यतालाई भजाएर विभिन्न तहमा हुने गरेका ठगी र शोषण नियन्त्रण गर्न अध्यागमन प्रशासनले आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको जनाएको छ ।

    विभागले अनावश्यक कागजात माग गर्ने र तजबिजीको आधारमा निर्णय गरी हुने गरेको अनियमिततालाई नियन्त्रण गर्न नेपाल सरकारको २०८२ कात्तिक १३ को निर्णयानुसार भिजिट भिसामा नेपालबाट प्रस्थान गर्ने नेपाली नागरिकको सन्दर्भमा कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी, गन्तव्य मुलुकसम्मको हवाई टिकट र सम्बन्धित मुलुकको भिसा भएमा स्वघोषणासहित विदेश जान पाउने गरी प्रस्थानलाई सरलीकृत र व्यवस्थित बनाइएको स्पष्ट पारेको छ ।

    विभागले यात्रुहरूको आगमन र प्रस्थानलाई झन्झटरहित बनाउन नीतिगत सहजीकरण र अध्यागमन प्रणालीलाई थप आधुनिकीकरण गरी राष्ट्रिय सुरक्षाको सुदृढीकरणका क्षेत्रमा काम गरिरहेको जानकारी गराएको छ ।

  • कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

    कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

    काठमाडौँ, ३ वैशाखः बैङ्ककस्थित नेपाली दूतावासले कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार गरेको छ । उद्धार गरिएका सबै स्वदेश फर्केका छन् । विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई गैरकानुनी काममा लगाइएको जानकारी प्राप्त भएपछि कम्बोडियाली सरकारको सहयोगमा उद्धार गरी स्वदेश फर्काइएको हो ।

    उक्त दूतावासका अनुसार आकर्षक रोजगारी पाइने विश्वासमा सन् २०२१ मा १०१, २०२२ मा एक हजार ९७७, सन् २०२३ मा दुई हजार ९४०, सन् २०२४ मा छ हजार ४०४ तथा सन् २०२५ मा नौ हजार ६७६ जना नेपाली कम्बोडिया पुगेका थिए । साथै दूतावासले श्रम स्वीकृति नलिइ कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड नजान अनुरोध गरेको छ ।

  • म्याग्दीमा घरमै पुुगेर राहदानी वितरण गर्न थालियो

    म्याग्दीमा घरमै पुुगेर राहदानी वितरण गर्न थालियो

    म्याग्दी, ३ वैशाखः म्याग्दीमा सेवाग्राहीको घरमै पुुगेर राहदानी वितरण गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालयले हुलाक कार्यालयका कर्मचारीमार्फत घरमै पुुगेर राहदानी उपलब्ध गराउन थालेको हो । नेपाल सरकारले अघि सारेको शासकीय सुधारका एक सय सूचीमध्ये २७ नम्बर बुँदामा उल्लेख भएको घरमै राहदानी उपलब्ध गराउने घोषणालाई कार्यान्वयन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए । “सरकारी सेवा घरमै उपलब्ध गराउने सरकारको नीतिअनुसार बुधबारदेखि काम सुरुआत गरेका छौँ,” उनले भने, “हुलाक कार्यालयमार्फत राहदानीलाई घरमै पुुगेर उपलब्ध गराउन कामलाई निरन्तर जारी राख्ने छौँ ।”

    पहिलो दिन बेनी नगरपालिका–२ का चार र वडा नम्बर ६ का दुई जनालाई घरै पुुगेर राहदानी उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । बेनी नगरपालिका–२, ज्यामरुककोटको बिमिराबोटका सरस्वती घिमिरे थापाको घरमा पुगेर प्रजिअ आचार्य, जिल्ला हुलाक कार्यालयका प्रमुख रमेश थापा र वडाध्यक्ष यामबहादुर कार्कीले राहदानी हस्तान्तरण गरी सेवाको शुभारम्भ गरे । यस्तै, कृषा थापा क्षेत्री, सरस्वती घिमिरे थापा, कियान थापा क्षेत्री र करिस्मा थापा क्षेत्रीले आफ्नै आँगनमा राहदानी प्राप्त गरे । यसअघि राहदानी लिन सदरमुकाम बेनीसम्म धाउनुपर्ने बाध्यता रहेकामा अब घरमै कागजात प्राप्त हुने भएपछि सेवाग्राहीको समय र खर्च दुवै बचत हुने विश्वास गरिएको छ ।

    घरमै राहदानी प्राप्त गरेपछि सेवाग्राहीहरू निकै खुसी भएका थिए । सेवाग्राही सरस्वतीले भनिन् । “पहिले राहदानी लिन बेनी जाँदा दिनभरको समय र गाडीभाडा खर्च हुन्थ्यो । अब घरमै सेवा पुगेपछि दुवै समस्याबाट मुक्ति मिलेको छ । सरकारप्रति भरोसा जागेको छ । यो सेवाले सरकारी सेवा प्रवाहलाई अझ सहज, प्रभावकारी र नागरिकमैत्री बनाउने अपेक्षा गरेका छौँ ।”

  • इरानमा पक्राउ परेका नेपाली नागरिक झा रिहा

    इरानमा पक्राउ परेका नेपाली नागरिक झा रिहा

    काठमाडौँ, २ वैशाखः पश्चिम एसियामा द्वन्द्वका क्रममा इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा रिहा भएका छन् । गत चैतको पहिलो साता इरानको होर्मुज क्षेत्रबाट इरानी सेनाको कब्जामा परेका उनी आज रिहा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार झा इरानमा रहेको नेपाली अवैतनिक महावाणिज्य दूतावास तथा कतारस्थित नेपाली दूतावासको सम्पर्कमा छन् । नेपाली अधिकारीको टोली उहाँलाई इरानबाट बाहिर ल्याउन काम गरिरहेको मन्त्री खनालले उल्लेख गरेका छन् ।

  • परराष्ट्रमन्त्री खनालसँग जर्मनीका राजदूतको भेट

    परराष्ट्रमन्त्री खनालसँग जर्मनीका राजदूतको भेट

    काठमाडौँ, २ वैशाखः परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि जर्मनीका राजदूत उडो यूजेन भोल्जले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच नेपाल–जर्मनी सम्बन्धका विविध विषयहरूमा छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा राजदूत भोल्जले जर्मनीका सङ्घीय विदेशमन्त्री डा योहान डेविड वाडेफुलको तर्फबाट नेपालका परराष्ट्र मन्त्रीमा नियुक्त भएकोमा मन्त्री खनाललाई शुभकामना व्यक्त गरेको अवगत गराएका थिए ।

  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेट

    काठमाडौँ, २ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखलेलसँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्री पोखरेलको कार्यकक्षमा आज भएको भेटमा नेपाल–बेलायत सम्बन्धका साथै आपसी सहयोग र सहकार्यका विविध विषयमा छलफल भएको थियो ।

    नेपालको शैक्षिक उन्ननयनका निम्ति बेलायत सरकारबाट प्राप्त सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दै मन्त्री पोखरेलले सातवटै प्रदेशमा सञ्चालन हुन लागेको ‘अटिजम’ स्कुललाई सघाउन आग्रह गरे । मन्त्री पोखरेलको निजी सचिवालयका अनुसार उक्त विद्यालयलाई स्रोत र जनशक्ति विकासमा सहयोग गर्न उनले राजदूतसमक्ष अनुरोध गरेका छन् ।

  • नेपाली महावाणिज्यदूतावास सान फ्रान्सिस्कोमा आरोग्य दिवस मनाइयो

    नेपाली महावाणिज्यदूतावास सान फ्रान्सिस्कोमा आरोग्य दिवस मनाइयो

    काठमाडौँ, १ वैशाख । नेपाली महावाणिज्यदूतावास सान फ्रान्सिस्कोले सोमबार विविध कार्यक्रम गर्दै अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाएको छ । नेपालको पहलमा संयुक्त राष्ट्रसंघको महासभाले १० मार्च २०२६ मा एक प्रस्ताव पारित गर्दै हरेक वर्ष अप्रिल १५ तारिखलाई अन्तर्राष्ट्रिय आरोग्य दिवसको रूपमा मनाउने घोषणा गरेको थियो । सोही सन्दर्भमा नेपाली महावाणिज्यदूतावास सान फ्रान्सिस्कोले उक्त दिवस मनाएको हो ।

    सान फ्रान्सिस्को वे एरियाको रिचमण्डस्थित नेपाली कम्यूनिटी सेन्टरमा एक औपचारिक कार्यक्रम आयोजना गरी प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइएको महावाणिज्यदूतावास कार्यालयले जनाएको छ । नेपाली एशोसियशन अफ नर्दन क्यालिफोर्निया र जीवन विज्ञान–युसएसँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा औपचारिक मन्तव्य, योग तथा प्राकृतिक चिकित्सा क्षेत्रका विज्ञहरूको प्रस्तुतिकरणलगायत सहभागीका लागि योग अभ्यास, ध्यान, प्राणायम र ध्वनी चिकित्सा सत्र सञ्चालन गरिएको जनाइएको छ ।

  • नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न

    नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न

    मस्को (रसिया), ३० चैतः नेपाली नयाँ वर्ष २०८३ का अवसरमा रुसको राजधानी मस्कोस्थित नागोर्नाया सांस्कृतिक केन्द्रमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् रुसको आयोजनामा आइतबार सम्पन्न सो कार्यक्रममा कलाकारहरु रामजी खाँड, भूमिका गिरीलगायतले गीत सङ्गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा करिब ३०० नेपाली सहभागी थिए ।

    कार्यक्रममा सहभागी नेपालीहरू ती कलाकारका साङ्गीतिक प्रस्तुतिसँगै रमाए । कार्यक्रमका प्रमुख अतिथि रसियाका लागि नेपालका कार्यवाहक राजदूत महेश्वरमणि त्रिपाठीले रुसमा कोभिड–१९ को महामारीपछि नेपालबाट कलाकार ल्याएर गरिएको यो कार्यक्रम पहिलो भएको उल्लेख गरे ।

    उनले यसप्रकारका कार्यक्रमले परदेशमा पनि नेपाली कला र संस्कृति जोगाउन सहयोग पुगेको बताए । उनले भने, “नेपालीहरु नेपालबाट बाहिर गए पनि आफ्नो हृदयबाट नेपालीपनलाई कहिल्यै भुल्न सक्दैनन्, यो कार्यक्रम त्यसैको प्रतिफल हो । नयाँ वर्षको अवसरमा आयोजना गरिएको यो कार्यक्रमले आगामी दिनमा पनि निरन्तरता पाउनेमा आशावादी छु ।”


    त्यस अवसरमा एनआरएनए रुसका अध्यक्ष सिताराम कट्टेल (मिलनंले कार्यक्रम आयोजनाका लागि सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिए । उनले यस्तो कार्यक्रम आगामी दिनमा पनि आयोजना गरिने र यसका लागि सबैको साथ सहयोग आवश्यक रहने बताए । उनले लामो समयपछि ठूलो मेहनतका साथ सांस्कृतिक कार्यक्रम आयोजना गर्न सफल भएको बताए ।


    एनआरएनएका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक संज्ञान कार्कीले विदेशमा नेपाली कला र संस्कृतिलाई जोगाइराख्न र यसको प्रवर्द्धनका लागि यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताए । उनले आगामी दिनमा पनि यसप्रकारका कार्यक्रम आयोजना गरी नेपाली भाषा, कला र संस्कृति प्रवर्द्धन गर्ने बताए । त्यस अवसरमा नेपालबाट यहाँ आएका कलाकारका साथै रुसमा रहेका नेपालीहरुले नेपाली संस्कृति झल्कने गीत र नृत्य प्रस्तुत गरेका थिए ।