Category: डायस्पोरा

  • ‘गाभी’को उच्चस्तरीय टोलीसँग स्वाथ्यमन्त्री मेहताको छलफल

    ‘गाभी’को उच्चस्तरीय टोलीसँग स्वाथ्यमन्त्री मेहताको छलफल

    काठमाडौँ, ९ जेठः स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नेपालमा खोपको प्रभावकारी उपलब्धताका बारेमा ‘खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)का उच्चस्तरिय टोलीसँग छलफल गरेकी छिन् । स्विट्जरल्यान्ड जेनेभामा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७९औँ विश्व स्वास्थ्यसभामा भाग लिनेक्रममा गाभीका उच्चस्तरीय टोलीसँगको छलफलमा उनले सङ्क्रमणकालमा खोप कार्यक्रमलाई प्रभावित हुन नदिन गाभीसँगको निरन्तर सहयोग अपरिहार्य रहेको बताइन् ।


    उनले नेपालको सार्वजनिक स्वास्थ्य खर्च अझै पनि कुल गार्हस्थ्य उत्पादनको करिब पाँच प्रतिशतको हाराहारीमा मात्र सीमित रहेको अवस्थामा गाभीसँगको निरन्तर सहयोग र घनिष्ठ समन्वय अपरिहार्य रहेको बताउनुभएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताए । मन्त्री मेहताले स्वास्थ्य क्षेत्रको स्तरोन्नतिसँगै अन्तरराष्ट्रिय अनुदानको ढाँचा परिवर्तन हुने र खोप खरिदमा नेपालले आफ्नै आन्तरिक लगानी क्रमशः बढाउँदै लगेर अन्ततः आफैँ सक्षम हुनुपर्ने अवस्था रहेको बताउनुभयो ।

    छलफलमा पारस्परिक सहकार्यलाई निरन्तरता दिने र सङ्क्रमणकालीन वित्तीय व्यवस्थापनलाई अवरोध नहुने विषयमा सहमति भएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए । बैठकले नेपालको राष्ट्रिय स्वास्थ्य प्रणालीलाई थप मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने मन्त्री मेहताले बताएको उनले जानकारी दिए । आर्थिक स्तरोन्नतिको समयमा पनि जीवनरक्षक स्वास्थ्य सेवामा सबै नागरिकको समतामूलक पहुँच सुनिश्चित गर्न र दुई दशकभन्दा लामो नेपाल र गाभीबीचको साझेदारीलाई अझ विस्तार गर्न छलफलमा दुवै पक्ष प्रतिबद्ध देखिएकोे थियो ।

    दुई पक्षको सहकार्यले समग्र नेपाली जनताको स्वास्थ्य र भलाइमा दीर्घकालीन योगदान पु¥याउने सुनिश्चित गरेको मन्त्री मेहताले उल्लेख गरेको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताए । गाभीले सन् २००० यता नेपालको राष्ट्रिय खोप कार्यक्रमको एक प्रमुख साझेदार रहँदै आएको छ । सन् २०२५ मा नेपालले हासिल गरेको ‘रुबेला निवारण’ लगायत एचपिभी र अन्य जीवनरक्षक खोपको सफल विस्तारमा गाभीको महत्त्वपूर्ण प्राविधिक तथा वित्तीय भूमिका रहेको मन्त्री मेहताले उल्लेख गरेकी छिन् ।

    “आगामी सन् २०२६ नोभेम्बरमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सङ्घारमा रहेको परिप्रेक्ष्यमा यो वार्ताले विशेष रणनीतिक महत्त्व राख्दछ,” मन्त्री मेहताले भनिन् । यही जेठ ३ गते सभामा सहभागी हुन गएकी मन्त्री मेहताले विभिन्न देशबाट आएका आफ्ना समकक्षी, दातृ निकायका प्रमुखसँग ‘साइडलाइन’ वार्ता गरिरहेकी छिन् ।

  • लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता

    लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता

    सिद्धार्थनगर (भैरहवा), ९ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र बेलायत सरकारकी इन्डो–प्यासिफिक मामिलामन्त्री सिमा मल्होत्राबीच आज रूपन्देहीमा भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा नेपाल र संयुक्त अधिराज्यबीच रहँदै आएको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्ध, विकास साझेदारी तथा लुम्बिनी प्रदेशको विकास प्राथमिकताबारे छलफल भएको थियो । मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकार दिगो, समावेशी तथा रोजगारीमुखी आर्थिक वृद्धिमा केन्द्रित रहेको बताए ।

    उनले उत्पादनमुखी लगानी प्रवर्द्धन, कृषि आधुनिकीकरण, पर्यटन विकास, औद्योगिक विस्तार, पूर्वाधार निर्माण तथा डिजिटल नवप्रवर्तनमार्फत प्रदेशको अर्थतन्त्र रूपान्तरण गर्ने लक्ष्य रहेको उल्लेख गरे । उनले गौतम बुद्धको जन्मस्थल लुम्बिनीले विश्वलाई शान्ति, सहिष्णुता र करुणाको सन्देश प्रवाह गरिरहेको उल्लेख गर्दै दिगो विकास, लगानी प्रवर्द्धन, पर्यटन विकास तथा मानव पूँजी विकासका क्षेत्रमा संयुक्त अधिराज्यसँग थप सहकार्य विस्तार हुने विश्वास व्यक्त गरे ।

    भेटमा संयुक्त अधिराज्यको सहयोग विशेषगरी मानव पूँजी विकास, सीप अभिवृद्धि, स्वास्थ्य प्रणाली सुदृढीकरण, जलवायु परिवर्तन अनुकूलन, कृषि रूपान्तरण, दिगो पूर्वाधार विकास, सुशासन तथा डिजिटल रूपान्तरणका क्षेत्रमा प्रभावकारी हुने विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

    मुख्यमन्त्री आचार्यले नेपालको सामाजिक–आर्थिक रूपान्तरण, शिक्षा, स्वास्थ्य, पूर्वाधार, विपद् व्यवस्थापन तथा सुशासन सुधारमा संयुक्त अधिराज्यले निरन्तर गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे । भेटवार्तामा लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री, प्रदेश योजना आयोगका उपाध्यक्ष डा डिल्लीराज अर्याललगायतको सहभागिता रहेको थियो ।

  • न्युयोर्कमा योगी आचार्य राजन शर्माको योगा थेरापि हुने

    न्युयोर्कमा योगी आचार्य राजन शर्माको योगा थेरापि हुने

    मेनका पराजुली, न्युयोर्क

    नेपाल तथा भारतमा समेत ख्यातिप्राप्त योग गुरु राजन शर्माको नि:शुल्क योगाभ्यास तथा ध्यान साधना न्युयोर्कमा हुने भएको छ।
    रिजउडस्थित नेपाली दुर्गा मन्दिर र उडसाइडमा अवस्थित दिव्यधाम मन्दिरमा यही सोमबार मे २५ तारिख विहान र साँझ गरेर दुइ चरणमा सम्पन्न गरिने छ ।
    आयोजकका अनुसार यो शिविर कोलाहल र चिन्तायुक्त जीवनशैलीबाट मुक्त हुने अत्यन्तै दिव्य सुनौलो अवसर तथा निशुःल्क सनातन संस्कृतिको अध्यात्म विज्ञान बुझ्ने अवसर समेत भएकोले सबैको उपस्थिति अपेक्षा गरिएको छ ।

    प्रभावशाली विश्व योग प्रशिक्षक, मोटिभेटर, रिसर्चर, प्रोफेसर आचार्य राजन शर्माज्यूको विशेष निर्देशन तथा सानिध्यमा रोग विशेष योग, ध्यान, आर्युवेद जीवन जिउने उच्च शैली, बालबालिकाका लागि गणित, विज्ञान मेमोरी तथा तनाव व्यवस्थापन खुसी र सुखी हुने कला सम्वन्धि जानकारी रहने भएकोले सबैको गरिमामय उपस्थितिको लागि आह्वान समेत गरेको छ ।
    दूर्गा मन्दिर न्युयोर्क परिवार र The Global Society For Peace & Spiritual Sciences (GSPSS) NY Chapter अमेरिकाको संयुक्त आयोजनामा गरिने कार्यक्रमको तालिका संप्रेषित फ्लायरमा राखिएको छ ।

  • शिक्षामन्त्री पोखरेल र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता

    शिक्षामन्त्री पोखरेल र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता

    काठमाडौं, ८ जेठ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपाल भ्रमणमा रहेकी बेलायतीमन्त्री सीमा मल्होत्राबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको भेटमा नेपाल र बेलायतबीचको लामो समयदेखिको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउँदै शिक्षा तथा खेलकुद क्षेत्रमा रणनीतिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

    समानता एवं इण्डो–प्यासिफिक हेर्ने बेलायतीमन्त्री मल्होत्रा तीनदिने भ्रमणका लागि आज बिहान नेपाल आएकी हुन् । भेटका क्रममा दुई देशबीच शिक्षा क्षेत्रको विकासका लागि भइरहेका साझेदारी कार्यक्रम तथा आगामी दिनमा गर्न सकिने सहकार्यका विषयमा विचार आदानप्रदान भएको थियो । साथै नेपाल सरकारले सातै प्रदेशमा सञ्चालन गर्ने लक्ष्य राखेको ‘अटिजम स्कुल’ को अवधारणा र कार्यान्वयनबारे महत्त्वपूर्ण परामर्श भएको बताइएको छ ।

    सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोखरेलले शिक्षा क्षेत्र सुधारका लागि मन्त्रालयले अघि सारेका प्राथमिकता र कार्ययोजनाबारे जानकारी गराउँदै अटिजम भएका बालबालिकाका लागि गुणस्तरीय शिक्षा तथा उपयुक्त वातावरण निर्माण गर्न बेलायत सरकारसँग प्राविधिक सहयोग, स्रोत व्यवस्थापन र दक्ष जनशक्ति विकासमा सहकार्यको आग्रह गरे । उनले शिक्षाको पुनःसंरचनामा ‘प्याराडाइम सिफ्ट’ आवश्यक रहेको उल्लेख गर्दै अपाङ्गता भएका तथा विशेष गरी अटिजम भएका बालबालिकाका लागि विशिष्ट शिक्षण प्रणाली र सहयोग व्यवस्था विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री पोखरेलले बेलायत सरकारबाट बजेटरी सपोर्ट र मौद्रिक सहायतासँगै विज्ञता तथा ज्ञान हस्तान्तरणमार्फत क्षमता विकासमा थप सहयोगको अपेक्षा व्यक्त गरे ।
    भेटमा बेलायतीमन्त्री मल्होत्राले नेपाल–बेलायतबीचको ऐतिहासिक सम्बन्ध, विकास साझेदारी तथा पारस्परिक हितका विषयमा चर्चा गर्दै आगामी दिनमा सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिइन् । उनले बेलायतको नयाँ सरकारले शिक्षा क्षेत्रमा आधुनिक सुधारका कार्यक्रम अघि बढाइरहेको जानकारी दिँदै नेपाल जस्ता मुलुकमा शिक्षामा थप लगानी र साझेदारी विस्तार गर्ने योजना रहेको बताइन् ।

    मन्त्री मल्होत्राले नेपालको उच्च शिक्षामा बेलायतीस्तरका गुणस्तरीय शैक्षिक कार्यक्रम सञ्चालन गर्न नेपालका विश्वविद्यालयसँग सहकार्य गर्ने प्रस्ताव राखिन् । अन्तरदेशीय शिक्षा प्रणालीको प्रवर्द्धनका लागि आवश्यक कानुनी प्रावधान परिमार्जन गरी साझेदारी विस्तार गर्न बेलायत सरकार तयार रहेको उनले बताइन् ।

  • ‘विश्व स्वास्थ्य सङ्गठन सधैँ नेपालसँग सहकार्य र सहयोगका लागि प्रतिबद्ध’

    ‘विश्व स्वास्थ्य सङ्गठन सधैँ नेपालसँग सहकार्य र सहयोगका लागि प्रतिबद्ध’

    काठमाडौँ, ८ जेठः स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम घेब्रेयेससबीच भेटवार्ता भएको छ । स्वीटजरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य सङ्गठनले आयोजना गरेको ७९औँ विश्व स्वास्थ्य सभाका क्रममा उनीहरुबीच भेटवार्ता भएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।


    मन्त्री मेहताले विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा टेड्रोससँगको भेट अत्यन्त फलदायी रहेको बताइन् । भेटमा महानिर्देशक डा टेड्रोसेले विश्व स्वास्थ्य सङ्गठन सधैँ नेपालसँग सहकार्य र सहयोगका लागि प्रतिबद्ध रहेको बताएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए । मन्त्री मेहताले सभामा नै यसअघि भारतीय र चिनियाँ समकक्षीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । मन्त्री मेहता तीन सदस्यीय टोलीको नेतृत्व गर्दै सभामा भाग लिन जेनेभा गएकी हुन् ।

  • अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन

    अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन

    अमेरिका, ६ जेठ । अमेरिकाको कोलोराडोमा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजना तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा यही मे २२ देखि २४ तारिखसम्म नवौँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन आयोजना हुने भएको छ । सम्मेलनमा नेपालसहित विश्वका विभिन्न मुलुकबाट करिब १२५ जना साहित्यकार, लेखक तथा पत्रकारको सहभागिता रहने जनाइएको छ । साथै, कोलोराडो राज्यमा रहेका ५० भन्दा बढी स्रष्टा तथा साहित्यप्रेमीहरूको पनि सम्मेलनमा उपस्थिति रहने अनेसासले जनाएको छ ।

    अनेसासका महासचिव राजु सिटौलाले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । सम्मेलनमा ५३ हजार अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ । मे २२ मा सम्मेलनका सहभागीहरूलाई स्वागत तथा विशेष रात्रिभोज आयोजना गरिनेछ भने सम्मेलनको औपचारिक उद्घाटन मे २३ मा हुनेछ । सम्मेलनको पहिलो दिन ‘इतिहासमा आख्यान र आख्यानमा इतिहास’ शीर्षकमा मदन पुरस्कार विजेता नीलम कार्की निहारिका, पत्रकार तथा लेखकद्वय सुधीर शर्मा र बसन्त बस्नेतबीच विशेष बहस कार्यक्रम सञ्चालन हुनेछ । उक्त सत्रको सहजीकरण पत्रकार नारायण श्रेष्ठले गर्नेछन् ।


    मे २३ र २४ मा सञ्चालन हुने विभिन्न सत्रहरूमा ख्यातिप्राप्त साहित्यकार तथा लेखकहरूबीच साहित्यका विविध विधामा बहस, छलफल तथा अन्तरक्रिया आयोजना गरिनेछ । सम्मेलनका दुई दिन बिहान योग अभ्यास तथा साँझ काव्य उत्सवसमेत आयोजना गर्ने गरि कार्यक्रम तय गरिएको छ । सम्मेलनको अन्तिम दिन विभिन्न सहयोगी व्यक्ति तथा सङ्घ संस्थाहरूलाई सम्मान गरिने नवौँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलनका मिडिया संयोजक दीर्घराज उपाध्यायले बताए । सम्मेलनका अवसरमा विभिन्न जातजाति तथा समुदायका सांस्कृतिक झाँकी, लोकसंस्कृति तथा सांगीतिक कार्यक्रमसमेत प्रस्तुत गरिनेछन् ।

    संयोजक उपाध्यायका अनुसार सम्मेलनको अन्तिम दिन सहभागी अतिथिहरूलाई कोलोराडोका ऐतिहासिक तथा पर्यटकीय गन्तव्यहरूको भ्रमण गराउने कार्यक्रमसमेत तय गरिएको छ । प्रवासी भूमिमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन नेपाली साहित्यिक जगत्को महत्वपूर्ण साझा मञ्चका रूपमा स्थापित हुँदै गएको छ ।

  • नेपाल-अष्ट्रेलिया सम्बन्धमा नेपाली डायस्पोराको भूमिका महत्वपूर्ण छ : परराष्ट्रमन्त्री

    नेपाल-अष्ट्रेलिया सम्बन्धमा नेपाली डायस्पोराको भूमिका महत्वपूर्ण छ : परराष्ट्रमन्त्री

    काठमाडौँ, ६ जेठ ः परराष्ट्रमन्त्री शिशिर खनालले अष्ट्रेलियामा रहेका नेपाली समुदायले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस) र नेपालस्थित अष्ट्रेलियन दूतावासको सहकार्यमा यहाँ आयोजित ‘नेपाली डायस्पोरा इन अष्ट्रेलिया’ प्रतिवेदन सार्वजनिक कार्यक्रममा मन्त्री खनालले गैरआवासीय नेपाली नागरिकताको व्यवस्थालाई थप प्रभावकारी बनाउने विषयमा सरकारभित्र छलफल भइरहेको जानकारी दिए ।

    उनले नेपालको संविधानमा दोहोरो नागरिकताको व्यवस्था नभएकाले त्यसमा कानुनी जटिलता रहेको उल्लेख गर्दै विद्यमान कानुनी संरचनाभित्र रहेर डायस्पोरासँगको सम्बन्ध थप सुदृढ बनाउने प्रयास भइरहेको बताए ।

    नेपालका लागि अष्ट्रेलियाली राजदूत सिमोन अर्नेस्टले नेपाली डायस्पोरा विप्रेषणको स्रोत मात्र नभई नेपाललाई विश्वसँग जोड्ने महत्वपूर्ण सञ्जाल भएकामा जोड दिए । उनले नेपाली समुदायले अष्ट्रेलियामा आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपमा प्रभाव विस्तार गरिरहेको उल्लेख गरे । “डायस्पोराको मूल्य केवल रेमिट्यान्समा सीमित छैन, यसले नेपाललाई विश्वव्यापी सम्बन्ध विस्तार गर्ने अवसर दिएको छ”, उनले भने ।


    प्रतिवेदनअनुसार सन् २०२५ जुनसम्म अष्ट्रेलियामा नेपाली मूलका व्यक्तिको सङ्ख्या दुई लाख १३ हजार ५८० पुगेको अनुमान छ । यो सङ्ख्या सन् २०२१ को तुलनामा उल्लेख्य वृद्धि हो । अध्ययनमा सहभागीमध्ये ६१ दशमलव १६ प्रतिशत उच्च शिक्षाका लागि अष्ट्रेलिया गएको उल्लेख छ । अध्ययनले नेपाली समुदाय अष्ट्रेलियामा स्वास्थ्य, सूचना प्रविधि, इञ्जिनियरिङ, आतिथ्य तथा वित्तीय क्षेत्रमा सक्रिय रहेको देखाएको छ । सर्वेक्षणअनुसार ४५ दशमलव २७ प्रतिशत उत्तरदाताको वार्षिक आम्दानी ६५ हजारदेखि एक लाख २० हजार अष्ट्रेलियन डलरसम्म रहेको छ ।

    आइआइडीएसका कार्यकारी अध्यक्ष डा विश्वास गौचनले नेपालमा आउने विप्रेषण मुलुकको कूल गार्हस्थ्य उत्पादनको ३० प्रतिशतभन्दा बढी रहेको उल्लेख गर्दै डायस्पोराको आर्थिक र बौद्धिक योगदानलाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने बताए । प्रतिवेदनले ३४ दशमलव ९९ प्रतिशत उत्तरदाताले औपचारिक लगानी गरेको देखाएको छ । तर अधिकांश लगानी अष्ट्रेलियामै केन्द्रित रहेको अध्ययनले जनाएको छ । नेपालमा लगानी विस्तारका लागि नीतिगत स्थायित्व, पारदर्शिता र लगानीमैत्री वातावरण आवश्यक रहेको कार्यक्रममा सहभागीहरूले बताएका थिए ।

    अध्ययन प्रस्तुत गर्दै आइआइडिएसकी वरिष्ठ कार्यक्रम तथा अनुसन्धान सहायक स्नेहा घिमिरेले नेपाली डायरपोराका भूमिका विप्रेषणमा मात्रै सीमित नरहेको बताइन् । उनका अनुसार लगानी, उद्यमशीलता, व्यापारिक सम्बन्ध, सांस्कृतिक आदानप्रदान र ज्ञान हस्तान्तरणमा नेपाली समुदायको योगदान बढ्दो छ ।

  • गैरकानूनी बसेका जापानी नागरिक अध्यागमन विभागको नियन्त्रणमा

    गैरकानूनी बसेका जापानी नागरिक अध्यागमन विभागको नियन्त्रणमा

    काठमाडौँ, ४ जेठ । भिसाको उद्देश्यविपरीत नेपालमा बसी शङ्कास्पद क्रियाकलापमा संलग्न एक जापानी नागरिकलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ । उनी सन् २०१२ मा पहिलो पटक पर्यटक भिसामा नेपाल प्रवेश गरेका थिए । नेपालमा अनुमति नलिई छ वर्षसम्म गैरकानुनी रुपमा व्यवसाय सञ्चालन गरेको र स्थानीय तहमा व्यवसाय दर्ता गरे पनि सरकारलाई बुझाउनुपर्ने कर तिरेको नदेखिएको विभागले जनाएको छ ।

    नेपाली महिलासँग विवाह गरेका नेपाली भाषा प्रष्टसँग बोल्न सक्ने जापानी नागरिक, निजले पोखरा लेखनाथ महानगरपालिकामा व्यवसाय दर्ता गरी पुम्दी पभुम्दीमा पिस अफ माइन्ड रेष्टुरेण्ट क्याफे सञ्चालन गरेका थिए । सम्बन्धित सरकारी कार्यालयमा व्यवसाय स्थानान्तरणसम्बन्धी प्रक्रिया पूरा नगरी विगत चार वर्षदेख ललितपुरको झम्सिखेलमासमेत कफी सप सञ्चालन गरिरहेका थिए ।

    उक्त कफी सप दर्ताविना सञ्चालन गरिरहेको विभागले जनाएको छ । नेपालमा पर्यटक भिसामा बसेको विदेशी नागरिकले विदेशी लगानी स्वीकृत गरी व्यवसाय सञ्चालन गर्न व्यावसायिक भिसा लिएको हुनुपर्ने वा काम गर्ने भएमा ‘वर्किङ’ भिसा लिएको हुनुपर्छ । भिसाको उद्देश्यविपरीत क्रियाकलापमा संलग्न बसेका विदेशीलाई महानिर्देशकले ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने र अवधि तोकी वा नतोकी नेपाल पुनः प्रवेश गर्न नपाउने गरी निष्काशन गर्ने कानुनी व्यवस्था छ ।


    नेपालमा भिसाको उद्देश्य विपरित बसेका वा शंकास्पद गतिविधिमा संलग्न निज विदेशी नागरिकलाई अनुसन्धान गरी कानुन बमोजिम कारबाही गरिने जनाइएको छ । विभागले उक्त नागरिकको नाम भने खुलाएको छैन ।

  • इरानमा पक्राउ परेका झा थुनामा, निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी

    इरानमा पक्राउ परेका झा थुनामा, निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी

    काठमाडौँ, ४ जेठ । परराष्ट्र मन्त्रालयले इरानको बन्दर अब्बासमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली नागरिक अमृत झाको निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी रहेको जनाएको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरी इरानको किश्म टापुमा अवैध सामान तस्करी एवं ओसारपसारको आरोपमा पक्राउ परी थुनामा रहेका झाको सम्बन्धमा निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी रहेको स्पष्ट गरेको हो ।

    सो मुद्दाको निरुपण इरानको कानुनअनुसार हुने भएकाले उपलब्ध सबै माध्यमको प्रयोग गरी निजको निष्पक्ष सुनुवाइलगायत आवश्यक कानुनी प्रक्रियाका लागि कूटनीतिक पहल जारी राखिएको मन्त्रालयले जनाएको छ । इरानको स्थानीय अदालतमा सोसम्बन्धी मुद्दा विचाराधीन रहेको जानकारी दिँदै मन्त्रालयले झा थुनामै रहेको अवस्थामा यसअघि निज रिहा भएको भन्ने अनौपचारिक जानकारी सार्वजनिक भएसँगै सिर्जना भएको अन्योल र असुविधाप्रति क्षमायाचना समेत गरेको छ ।

    अमेरिका–इजरायल र इरानबीच गत ‘२८ फेब्रुअरी’ २०२६ मा द्वन्द्व सुरु हुनुभन्दा अघि एक महिनाअघि झासहित अन्य छ जना विदेशीलाई इरानी सुरक्षाकर्मीहरूले उक्त टापुबाट नियन्त्रणमा लिएको थियो । गत ‘अप्रिल १५’ का दिन इरानका लागि नेपाली ‘अनररी कन्सल’ शाहराम शान्तियले कतारस्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई झा रिहा भएकोसम्बन्धी खबर पठाउनुभएको थियो । परराष्ट्र मन्त्रालयको सम्बन्धित महाशाखाले झा रिहाइ भएको व्यहोरासहितको प्रतिवेदन परराष्ट्रमन्त्री शिशिर खनाल र सचिव अमृतबहादुर राईलाई बुझाएको थियो । मन्त्रालयले सोही जानकारीका आधारमा उनी जेलमुक्त भएको भनी स्पष्ट गरेको थियो ।

    परारष्ट्रमन्त्री खनालले आफ्नो सामाजिक सञ्जालबाट सो विषय विषय सार्वजनिक गरका थिए । निजलाई नेपाल फिर्ता ल्याउने प्रक्रिया पूरा गर्ने प्रयोजनका लागि नेपाली राजदूतावास, दोहालाई निज रिहा भएको लिखित प्रमाण उपलब्ध गराउन निर्देशन दिइएको थियो । परराष्ट्रमन्त्री खनाल र मन्त्रालयका उच्च अधिकारीहरू तथा निज झाको परिवारसँग मन्त्रालयमा भएको भेटमा यस विषयमा जानकारी गराइएको मन्त्रालयले स्पष्ट गरेको छ ।

    यसै सन्दर्भमा निजलाई नेपाल ल्याउन आवश्यक कानुनी प्रक्रिया अघि बढिरहेको तर नेपाली नागरिक झा रिहा भइनसकेको र निज सम्बद्ध मुद्दामा अदालतले विज्ञ प्रतिवेदन तयार गर्न आदेश दिएको भन्ने जानकारीसमेत यसअघि नै सार्वजनिक गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

  • नेपाल–बङ्गलादेश सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल’

    नेपाल–बङ्गलादेश सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल’

    काठमाडौँ, २ जेठः बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा ढाकास्थित बङ्गलादेश शिल्पकला एकेडेमीमा ‘नेपाल फेस्टिभल–२०२६’ आयोजना गरेको छ । नेपालको विविध सांस्कृतिक तथा पाक परम्पराको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित उक्त महोत्सवमा ‘फुड फेस्ट’ तथा सांस्कृतिक कार्यक्रम समावेश गरिएको थियो ।

    त्यस अवसरमा बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले महोत्सवको उद्देश्य नेपालको संस्कृति र खानाका परिकारको विविधता तथा समृद्धिको प्रवद्र्धन गर्नुका साथै नेपाल र बङ्गलादेशबीच विद्यमान साङ्गीतिक, कलात्मक तथा पाक संस्कृतिको समानतालाई उत्सवका रूपमा मनाउनु हो भने । उनले साझा सांस्कृतिक सम्पदाले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाएको र जनस्तरको सम्बन्ध तथा आपसी समझदारीलाई निरन्तर मजबुत बनाइरहेको उल्लेख गरे ।


    कार्यक्रमका प्रमुख अतिथि बङ्गलादेशका संस्कृति मामिलामन्त्री निताइ रोयचौधरीले महोत्सवको प्रशंसा गर्दै यसले नेपाल र बङ्गलादेशका जनतालाई अझ नजिक ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले सांस्कृतिक तथा जनस्तरको आदानप्रदानमार्फत मित्रवत् सम्बन्धलाई थप सुदृढ गर्दै सहकार्यका नयाँ क्षेत्र पहिचान गर्न सकिने बताए ।


    बङ्गलादेश शिल्पकला एकेडेमीका महानिर्देशक एसके रेजाउद्दिन अहमद, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल तथा बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीका अध्यक्ष मोसिउर अहमदले पनि मन्तव्य व्यक्त गरेका थिए । साथै, पोखरा प्रज्ञा प्रतिष्ठानका कलाकार, बङ्गलादेश शिल्पकला एकेडेमीका कलाकार तथा बङ्गलादेशमा अध्ययनरत नेपाली विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा सोरठी, सङ्ख्या, लाठी, सालैजो–झ्याउरे तथा कौरालगायत नेपाली मौलिक नृत्य तथा सङ्गीत प्रस्तुत गरिएको थियो । बङ्गलादेशी कलाकारले नेपाली नृत्य र नेपाली गजलका साथै आफ्ना लोकनृत्य तथा साङ्गीतिक प्रस्तुति पनि प्रस्तुत गरेका थिए । महोत्सवमा सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, संस्कृति तथा पाककला पारखी, नेपालका शुभेच्छुक, सञ्चारकर्मी तथा बङ्गलादेशस्थित नेपाली समुदायको सहभागिता थियो ।

  • ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड

    ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड

    काठमाडौँ, २ जेठः नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा जोड दिएको छ । राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्को विशेष बैठकलाई श्रव्यदृश्यका माध्यमबाट शुक्रबार सम्बोधन गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले उक्त कुरामा जोड दिएका छन् । संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगका अनुसार मन्त्री खनालले वैश्विक ऊर्जा तथा आपूर्ति शृङ्खलामा आइरहेका अवरोधहरु र त्यसले दिगो विकासमा पार्ने असरहरुबारे मन्तव्य व्यक्त गर्दै पश्चिम एसियाको द्वन्द्वले नेपाललाई प्रभावित पारेको बताए ।

    मन्त्री खनालले भने, “पश्चिम एसिया द्वन्द्वले त्यहाँ काम गर्ने २० लाखभन्दा बढी नेपालीका परिवारलाई बढ्दो ऊर्जा मूल्य, घट्दो विप्रेषण र पर्यटनमा आएको सुस्तीले जीवनमा प्रत्यक्ष असर पारिरहेको छ ।” द्वन्द्वका कारण उत्पन्न सङ्कटमा सबैभन्दा बढी भार साना र अतिकम विकसित राष्ट्रहरुलाई परेकाले ती देशलाई एक्लै नछाडी हस्तक्षेप गर्नु अन्तरराष्ट्रिय समुदायको जिम्मेवारी भएको मन्त्री खनालले बताए ।

  • नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    काठमाडौँ, १ जेठः थाइल्यान्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले त्यहाँको परराष्ट्र मन्त्रालयअन्तर्गत दक्षिण एशिया, मध्यपूर्व तथा अफ्रिका मामिला विभागकी महानिर्देशक उरासा मोङकोलनाभिन सँग बिहीबार भेटवार्ता गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूले नेपाल र थाइल्यान्डबीचको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धप्रति दुवै पक्षले सन्तोष व्यक्त गर्दै व्यापार, लगानी, पर्यटन, संस्कृति, कृषि र शिक्षालगायत आपसी हितका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल गर्नुभएको ब्याङ्ककस्थित नेपालको राजदूतवासले जनाएको छ ।

    साथै उहाँहरूले गत वर्ष नेपाल र थाइल्यान्डबीच सम्पन्न आठवटा समझदारीको कार्यान्वयन अवस्थाबारे समीक्षा गर्दै ती सहमतिहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न दुवै पक्षले जोड दिनुभएको थियो । कृषि सहयोग तथा फौजदारी मामिलामा पारस्परिक कानुनी सहयोगसम्बन्धी प्रस्तावित द्विपक्षीय सम्झौता शीघ्र निष्कर्षमा पु¥याउने विषयमा समेत छलफल भएको थियो । दुवै पक्षले नेपाल–थाइल्यान्ड संयुक्त परामर्श संयन्त्रको आगामी बैठक पारस्परिक अनुकूल समयमा यथाशीघ्र नेपालमा आयोजना गर्ने सम्बन्धमा पनि विचार आदानप्रदान गरेका थिए ।

    नेपाल र थाइल्यान्डबीचको व्यापारिक परिपूरकतामा वृद्धि गर्दै नेपाली तथा थाइ उत्पादनबीच मूल्य शृङ्खला सुदृढ गर्ने तथा हिमाली र समुद्री स्रोतमा आधारित वस्तु तथा सेवाको एकीकरणमार्फत थप मूल्य अभिवृद्धि गर्ने विषयमा पनि जोड दिइएको थियो। दुवै पक्षले पारस्परिक आधारमा ‘भिसा’ प्रक्रियालाई सहज बनाउने, पर्यटन सेवामा सुधार गर्ने तथा मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण र साइबर अपराध नियन्त्रणका लागि सूचना तथा गुप्तचर आदानप्रदानमा सहकार्य सुदृढ गर्ने सहमति व्यक्त गरेका थिए ।

    यसैगरी, क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्य अभिवृद्धि गर्ने तथा अन्तर्राष्ट्रिय मञ्चमा एकअर्काको उम्मेदवारीलाई पारस्परिक समर्थन गर्ने प्रतिबद्धता दुवै पक्षले व्यक्त गरेका उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

  • ग्रिस र युएई पठाउने भन्दै २६ लाख ठगी गर्ने दुई जना पक्राउ

    ग्रिस र युएई पठाउने भन्दै २६ लाख ठगी गर्ने दुई जना पक्राउ

    काठमाडौँ, १ जेठः वैदेशिक रोजगारका लागि ग्रिस र युएई पठाउने भन्दै रु २६ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुल्लु नगरपालिका–१ का ५२ वर्षीय मधुसुदन पराजुली तथा पर्वत कुश्मा नगरपालिका–२ का ३२ वर्षीय प्रकाश बाँस्तोला रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । उनले भने, “पक्राउ परेकामध्ये मधुसुदन पराजुलीले ग्रिस पठाउने भन्दै रु २३ लाख तथा प्रकाश बाँस्तोलाले युएई पठाउने भन्दै रु तीन लाख रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”

    निजहरू दुवै जनलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आज वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता कार्कीले बताए । पछिल्लो समय वैदेशिक रोजगारका नाममा ठगीका घटना बढ्दै गएको भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत रहन आग्रह गर्दै आकर्षक तलब र छिटो विदेश पठाइदिने प्रलोभनमा नपरी आधिकारिक प्रक्रियामार्फत मात्रै वैदेशिक रोजगारमा जान सुझाव दिएको छ । साथै कुनै व्यक्ति वा संस्थाबाट ठगी भएको आशङ्का लागेमा तत्काल प्रहरी वा सम्बन्धित निकायमा उजुरी दिनसमेत आग्रह गरिएको छ ।

  • विदेश पठाउने भन्दै ठगी गरेको अभियोगमा तीन जना पक्राउ

    विदेश पठाउने भन्दै ठगी गरेको अभियोगमा तीन जना पक्राउ

    काठमाडौँ, ३० वैशाख । वैदेशिक रोजगारीका लागि विदेश पठाउने भन्दै ४४ लाख ४८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका–२ का ३७ वर्षीय सागर गौतम, दाङ घोराही उपमहानगरपालिका–१० का ३२ वर्षीय शम्भु गौतम तथा ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–४ का ३७ वर्षीय सनम गुरुङ रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

    उनले भने, “सागर गौतमले युएई पठाउने भन्दै चार लाख ५८ हजार रुपैयाँ, शम्भु गौतमले न्यूजिल्याण्ड पठाउने भन्दै १५ लाख ९० हजार रुपैयाँ तथा सनम गुरुङले क्यानडा पठाउने भन्दै २४ लाख रुपैयाँ रकम लिएको र विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने पीडितहरुका उजुरीका आधारमा पक्राउ गरिएको हो ।” उनीहरु तीनै जनालाई उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आज वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रवक्ता कार्कीले जानकारी दिए ।

  • नेपाल–भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

    नेपाल–भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

    काठमाडौँ, वैशाख २९ गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपाल सरकार र भारत सरकारबीच सम्पन्न फौजदारी मामिलामा पारस्परिक कानूनी सहायतासम्बन्धी सम्झौता प्रतिनिधि सभामा पेश गरेकी छिन् । नेपाल सरकार र भारत सरकारबीच २०८२ फागुन ५ गते नेपाल सन्धि ऐन, २०४७ को दफा ६ बमोजिम सम्पन्न भएको एग्रिमेन्ट बिट्विन द गभर्मेन्ट अफ नेपाल एण्ड द गभर्मेन्ट अफ द रिपब्लिक अफ इन्डिया अन म्युचुअल लिगल असिस्टेन्स इन क्रिमिनल म्याटर्स सम्बन्धी सम्झौता सोही ऐनको दफा १० बमोजिम प्रतिनिधि सभा समक्ष पेश गरिएको हो ।

    दुई राज्यबीच फौजदारी कसूरको अनुसन्धान, अभियोजनलगायतका न्यायिक कारबाहीलाई पारस्परिक कानूनी सहायताको माध्यमबाट प्रभावकारी र सहज बनाउने मुख्य उद्देश्य राखी यो सम्झौता सम्पन्न गरिएको हो । यो सम्झौता नहुँदा एक मुलुकमा भएका अपराधको अनुसन्धान गरी प्रमाण वा कागज ल्याउन, भ्रष्टाचार गरी अर्को मुलुकमा लुकाएका सम्पत्ति फिर्ता गर्न र अपराधीलाई सजाय दिन समस्या परेकोमा यो सम्झौता कार्यान्वयन पश्चात अपराधीलाई सजाय दिन तथा अपराधबाट कमाएको सम्पत्ति फिर्ता ल्याउनसमेत योगदान पुग्नेछ ।

    यस सम्झौताले कुनै पनि व्यक्तिको सुपुर्दगी गर्ने उद्देश्यका साथ गरिने पक्राउ, राष्ट्रिय कानूनले व्यवस्था गरेको बाहेकको फौजदारी मुद्दामा भएको फैसलाको कार्यान्वयन, सजाय भुक्तान गरिरहेका व्यक्तिहरूको आदान–प्रदान र फौजदारी मामिलामा चलिरहेको न्यायिक कारबाहीलाई स्थानान्तरण गर्ने विषयलाई भने समेट्दैन ।

    सम्झौताले विधिको शासन सुदृढीकरण गर्न तथा न्याय प्रशासनमा संस्थागत समन्वय अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ । पारस्परिक कानूनी सहायतासम्बन्धी सम्झौता नहुँदा विशेष गरी वित्तीय अपराधको अनुसन्धान तथा प्रमाण संकलनमा समस्या भोगिएको थियो ।

    यो सम्झौता कार्यान्वयनबाट नेपालमा हुने वित्तीय अपराध न्यूनीकरण गर्न तथा अनुसन्धान, अभियोजन र न्याय निरूपणलाई थप प्रभावकारी बनाउन मद्दत पुग्नेछ । साथै यसले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी गर्ने कार्यलाई निवारण गर्नेसम्बन्धी पारस्परिक मूल्याङ्कनमा थप मद्दत पुर्‍याउनुका साथै एफएटीएफको ग्रे लिस्टबाट हट्नसमेत महत्वपूर्ण योगदान पुर्‍याउने छ ।

  • नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

    नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

    टेक्सास (अमेरिका), वैशाख २८ गते । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना गरिएको छ । नेपाली कला, संस्कृति, वेशभूषा तथा परम्पराको प्रदर्शनमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले नेपाल उत्सव आयोजना गरिएको हो ।

    गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) क्यालिफोर्नियालगायत नेपाली सामाजिक संस्थाको संयुक्त आयोजनामा सम्पन्न उत्सवमा अमेरिकाका विभिन्न सहरमा रहेका नेपाली समुदायको उल्लेखनीय सहभागिता थियो । लस एन्जलस, सानडिएगो, साक्रामेन्टो, बेकर्सफिल्ड, लङबिचलगायत आसपासका राज्य र सहरबाट नेपालीहरू उत्सवमा सहभागी हुन सान फ्रान्सिस्को पुगेका थिए ।

    सान फ्रान्सिस्को सिटी हलबाटबाट सुरु भएको नेपाल डे परेड एम्बार्काडेरो प्लाजासम्म करिब १.६ माइल दूरीमा सञ्चालन गरिएको थियो । परेड अवधिभर सहरको मुख्य क्षेत्र मार्केट स्ट्रिटमा सवारी आवागमन बन्द गरी पैदलयात्रुका लागि खुला गरिएको थियो । विभिन्न जातीय तथा क्षेत्रीय संस्थाहरूले प्रस्तुत गरेका झाँकी, नेपाली वेशभूषा तथा सांस्कृतिक कार्यक्रमले सान फ्रान्सिस्कोको सडकलाई ‘नेपालमय’ बनाएको थियो । कार्यक्रममा प्रदर्शन गरिएका नेपाली कला र संस्कृतिलाई स्थानीय अमेरिकी समुदायले समेत रुचिपूर्वक अवलोकन गरेका थिए ।

    नेपाली समुदायलाई हौसला प्रदान गर्न अमेरिकाका विभिन्न स्थानीय जनप्रतिनिधिहरू समेत कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रमको आकर्षण पञ्चकन्या, पञ्चेबाजा, शङ्खध्वनि, कुमारी, धिमे तथा लाखे नाच रहेका थिए । उत्सवमा सान फ्रान्सिस्कोस्थित विभिन्न देशका महावाणिज्य दूतावासका कूटनीतिक अधिकारी, बे एरियाका मेयर तथा सिटी काउन्सिल सदस्यहरूको समेत सहभागिता रहेको एनआरएनए क्यालिफोर्नियाका सचिव कैलाश केसीले जानकारी दिए । रासस

  • एक महिनामा भित्रने रेमिट्यान्स चैतमा सर्वाधिक, अमेरिकी डलरको प्रभाव

    एक महिनामा भित्रने रेमिट्यान्स चैतमा सर्वाधिक, अमेरिकी डलरको प्रभाव

    २९ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को नौ महिना (साउनदेखि चैत) सम्म रेमिट्यान्स १६ खर्ब ५९ अर्ब भित्रिएको छ। चैत महिनामा मात्र २ खर्ब ९ अर्ब रेमिट्यान्स भित्रिएको छ । जुन कीर्तिमान हो । कुनै एक महिनामा सबैभन्दा बढी रेमिट्यान्स यस महिनामा भित्रिएको हो । गत आर्थिक वर्ष २०८१–८२ यही अवधिमा भने ११ खर्ब ९२ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको हो । गत आर्थिक वर्षको तुलनामा रेमिट्यान्स ३९.१४ प्रतिशतले बढेको हो। फागुनमा एक खर्ब ८८ अर्ब रूपैयाँ भित्रिएको थियो।


    साढे दुई वर्षदेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिरहेको छ। नौ महिनामा नौ अर्ब ५२ करोड रूपैयाँ रेमिट्यान्स बाहिरीएको छ। गत वर्षको यही अवधिमा ७ अर्ब ६८ करोड रूपैयाँ बाहिरिएको थियो। यो नौ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या पनि ३.३६ प्रतिशतले घटेको छ।

    गत आर्थिक वर्षको यही अवधिका ६ लाख ७ हजार जनाले नयाँ र पुन श्रम स्वीकृति लिएकोमा यस वर्ष लिनेको संख्या पाँच लाख ८७ हजार छन्। इरान र इसाराइलमा जारी द्वन्द्वको कारण वैदेशिक रोजगारी प्रभावित भएकोले जानेको संख्या घटेको हो। चैतको करिब दोस्रो साता केही दिन नेपालबाट मध्य पूर्वमा हुने हवाइ उडान नै रोकिएको थियो।

  • जाऔं है ‘नेपाल डे परेड’ न्युयोर्कमा

    जाऔं है ‘नेपाल डे परेड’ न्युयोर्कमा

    कल्पना घिमिरे, न्युयोर्क ।

    आगामी मे १७ तारिकका दिन न्युयोर्कको म्यानह्याटनमा नेपाल डे परेड हुने भएको छ । आगामी आईतबारका दिन हुन लागेको परेडको तयारी लगभग सकिएको आयोजक समुहले जनाएको छ । गैर आवासीय नेपाली संघ (NRNA) न्युयोर्क च्याप्टर र नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा हुन लागेको परेडमा नेपाली महाबाणिज्यदूतावासको समन्वय रहनेछ ।
    परेडमा न्युयोर्कस्थित कार्यरत ५० भन्दा बढी नेपाली संघ संस्थाको सहभागीता रहनेछ । आयोजक समुहले आईतबार ज्याक्सन हाईट्सस्थित पत्रकार सम्मेलन गर्दै सम्पुर्ण नेपाली समुदायलाई परेडमा सहभागी हुन आह्वान गरेको छ ।

    बिश्वकै राजधानी मानिने न्युयोर्कको व्यस्त शहर मानह्याटनमा हुने परेडमा नेपाल र नेपालीको संस्कृति र पहिचान झल्किने बिभिन्न झांकीहरु प्रस्तुत गरिनेछ । बिश्वसामु भगवान बुद्दको जन्म नेपालमा भएको जानकारी दिने उदेश्यले बुद्दको प्रतिमा सहित ‘बुद्द वाज बर्न ईन नेपाल’ लेखिएका ब्यानरहरु प्रदर्शन गरिनेछ । नेपाली समुदायका बिभिन्न जातजाति, भेषभुषा र पहिचान बोकेका झांकीहरु प्रस्तुत गरिनेछ । साथै बिभिन्न सांस्कृतिक कार्यक्रमहरु हुनेछन । परेडका लागि सबै ब्यवस्थापनको काम तिब्र भईरहेको आयोजकले जनाएको छ। म्यानह्याटनको ३८ स्ट्रिट र मेडिसन एभिन्युदेखि सुरु हुने परेड २३ स्ट्रिटमा पुगेर औपचारिक कार्यक्रम गर्दै टुंगिनेछ । परेडलाई ब्यवस्थित बनाउनका लागि १०० भन्दा बढी स्वयम् सेवकहरु खटाईनेछ ।
    यसपाली सबै संघ संस्स्थाहरु एकजुट भएर परेड आयोजना गरिएकाले बिगतका बर्षहरुमा भन्दा उपस्थिति व्यापक हुने अनुमान गरिएको एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष बासु लामिछाने बताए । ‘यसपाली नेपाली समुदायका सबै संघसंस्था एकजुट भएर परेडलाई भब्य बनाउने तयारी गरिरहेका छौं’ उनले भने, ‘धेरै मेहनत गरेर मात्रै सबै संघ संस्थालाई एकजुट गराउन सफल भएका हौ, अब सबै नेपाली मिलेर परेडलाई भब्य अनि सब्यताका साथ सफल बनाउनु पर्छ। सबैले साथ दिनुहोला ।’
    यसपाली पार्किङका लागि पासको ब्यबस्था गरिएको छ, ठुलो संख्यामा स्वयंसेवकको व्यवस्थापन भएकोले यसपाली परेड शान्त र सब्य हुनेछ । नेपाल नेपालीलाई बिश्वसामु चिनाउनु र नेपालमा बिदेशी पर्यटक भित्र्याउन टेवा पुर्याउने उदेश्यले परेड आयोजना गरिएको हो । सन् २०१६ देखि न्युयोर्कको म्यानह्याटनमा परेड हुंदै आएको छ ।

  • शिक्षामन्त्रीसँग अस्ट्रेलियाका राजदूतको भेटवार्ता, के भयो कुराकानी ?

    शिक्षामन्त्रीसँग अस्ट्रेलियाका राजदूतको भेटवार्ता, के भयो कुराकानी ?

    काठमाडौँ, २५ वैशाख । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत महामहिम साइमन अन्स्र्टले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त भेटमा उनीहरूबिच नेपाल र अस्ट्रेलियाबिचको सम्बन्ध, शिक्षा, विकास साझेदार तालगायत विषयमा कुराकानी भएको थियो । विशेष गरी उच्च शिक्षामा अन्तरदेशिय शिक्षा प्रबन्धका क्षेत्रमा दुई देशबिच सहकार्यको सम्भावनाका विषयमा छलफल भएको थियो ।


    भेटमा शिक्षामन्त्री पोखरेलले अष्ट्रेलियन उच्च शिक्षाका राम्र कार्यक्रममा सहकार्य र साझेदारीताका विषयमा सकारात्मक रहेको भन्दै ती विषयमा कानुनी प्रबन्धका लागि पहल गरिने विश्वास व्यक्त गरे । मन्त्री पोखरेलले विश्व स्तरीय शिक्षा नेपाल मै दिने गरी नीतिगत सुधार गरेर जानुपर्नेमा जोड दिए । उनले विद्यालय शिक्षा क्षेत्रमा सुधारका अरू विकास साझेदारहरूसँग जस्तै अस्ट्रेलियासँग पनि सहकार्य गर्न मन्त्रालय इच्छुक रहेको बताए । राजदूत महामहिम अन्स्र्टले उच्च शिक्षामा अन्तरदेशिय शिक्षा प्रवन्धकका बारेमा चासो व्यक्त गर्दै उनले उच्च शिक्षाका राम्रा अष्टे«लियन कार्यक्रमहरुमा साझेदारी गर्ने इच्छासमेत व्यक्त गरे ।

  • सरकारले विदेशस्थित १५ अवैतनिक दूतको पद खोस्यो

    सरकारले विदेशस्थित १५ अवैतनिक दूतको पद खोस्यो

    २५ वैशाख, काठमाडौं । सरकारले १५ जना अवैतनिक दूतहरुलाई पदमुक्त गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले भने, ‘परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सल जनरल तथा कन्सललाई पदमुक्त गर्ने ।’ पदमुक्त भएकाहरु कोको हुन् भन्ने चाहिँ सार्वजनिक गरिएको छैन ।

    बैठकले आगामी २८ गते अपराह्न चार बजे बस्ने संघीय संसद बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ । यसैगरी अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि १९३० सम्बन्धी २०१४ को प्रोटोकल नम्बर २९ र १९४७ को नम्बर ८१ अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको प्रवक्ता पोखरेलले जानकारी दिए ।

  • १६ युरोपेली देशसँग श्रम समझदारीको पहल

    १६ युरोपेली देशसँग श्रम समझदारीको पहल

    काठमाडौँ, वैशाख २५ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले १६ वटा युरोपेली देशसँग श्रम समझदारी अघि बढाउन परराष्ट्र मन्त्रालयमार्फत पहल गर्न लागेको जानकारी दिएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले श्रम समझदारीका लागि मन्त्रालयबाट पहल गर्दा सम्बन्धित देशबाट जवाफ आउन ढिलाइ भएकाले परराष्ट्र मन्त्रालयमार्फत पहल गर्न लागेको जानकारी दिए ।


    मन्त्रालयका अनुसार जिटुजी र बिटुबी गरी हाल १३ देशसँग मात्रै श्रम समझदारी गरेको छ तर नेपाली भने रोजगारीका लागि १७८ वटा देशमा श्रम स्वीकृति लिएर गएका छन् । श्रम समझदारी नभएका देशमा जाने श्रमिक आर्थिक शोषणमा पर्ने गरेका छन् । अझै युरोप जाने नेपालीमाथि हुने ठगी अझै डरलाग्दो रहेको छ । श्रममन्त्री यादवले युरोपमा वैदेशिक रोजगार प्रक्रियामा भइरहेको आर्थिक ठगी र श्रमशोषण नियन्त्रण गर्न सकेमा यी देशमा जाने नेपालीमाथि भएरहेको ठगी नियन्त्रण हुने बताए ।

    उनका अनुसार श्रमका लागि विभिन्न देशमा जाने नागरिकमध्ये ४८ प्रतिशतले व्यक्तिगत श्रम स्वीकृति लिने गरेका छन् । मन्त्री यादवले विभिन्न देशमा महिला घरेलु श्रमिक गैरकानुनी बाटोबाट जाने गरेकाले समस्या पर्दा राज्यले केही गर्न नसकेको पनि स्वीकार गरे ।

    बैठकमा उठेका प्रश्नको जवाफमा उनले पछिल्लो समय युद्धका कारण विदेशमा मृत्यु भएका श्रमिकको शव ल्याउन केही ढिलाइ भएको भन्दै अब भने ढिलाइ नहुने स्पष्ट पारे । बैठकमा समिति सदस्यले वैदेशिक रोजगारमा जाने नेपालीलाई ठगिनबाट रोक्नका लागि राज्य गम्भीर भएर लाग्नुपर्ने सुझाव दिए । बैठक सो समितिका सभापति रहबर अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

  • अमच्याम नेपालको प्रतिनिधिमण्डलद्वारा अमेरिकी उपविदेशमन्त्रीसँग भेटवार्ता

    अमच्याम नेपालको प्रतिनिधिमण्डलद्वारा अमेरिकी उपविदेशमन्त्रीसँग भेटवार्ता

    २५ वैशाख, काठमाडौं । सेलेक्ट युएसए इन्भेस्टमेन्ट समिटमा सहभागी हुन वासिङ्टन डीसी पुगेको अमेरिकन च्याम्बर अफ कमर्स इन नेपाल (अमच्याम नेपाल) को प्रतिनिधिमण्डलले संयुक्त राज्य अमेरिकाका उपविदेशमन्त्री क्रिस्टोफर लन्डौसँग विशेष भेटवार्ता गरेको छ । पूर्व कूटनीतिज्ञ तथा मेक्सिकोका लागि पूर्व अमेरिकी राजदूतसमेत रहेका उपविदेशमन्त्री लन्डौले नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई सुदृढ गर्ने विषयमा आफ्नो दृष्टिकोण राखेको अमच्याम नेपालले जनाएको छ ।


    राजनीतिक नेतृत्व परिवर्तन भइरहने भए पनि निरन्तरको नीतिगत ढाँचा र दिगो आर्थिक कूटनीतिले नै दीर्घकालीन समृद्धि ल्याउने कुरामा उनले जोड दिएका थिए । अमच्यामको विज्ञप्तिमा लान्डौंको भनाइ उद्धृत गर्दै भनिएको छ, ’नेपाल मेरो हृदयमा छ र म कुनै दिन त्यहाँ भ्रमण गर्न चाहन्छु ।’

    अमच्याम नेपालका कार्यकारी निर्देशक अमिर आर। थापाको नेतृत्वमा रहेको उक्त प्रतिनिधिमण्डलले उपविदेशमन्त्री लन्डौलाई नेपाल भ्रमणको औपचारिक निम्तोसमेत दिएको थियो । भेटमा प्रतिनिधिमण्डलले अमच्याम नेपालको बढ्दो प्रभावबारे जानकारी गराउँदै हाल १४ वटा क्षेत्रका ६६ वटा अमेरिकी-सम्बद्ध कम्पनीहरूको प्रतिनिधित्व गरिरहेको र यसले द्विपक्षीय व्यावसायिक संलग्नतालाई विस्तार गरिरहेको बताएको थियो ।

    अमच्याम नेपालले सेलेक्ट युएसए समिटमा नेपालको ऐतिहासिक सहभागितालाई सम्भव बनाउन अमेरिकी विदेश मन्त्रालय र वाणिज्य मन्त्रालयले गरेको निरन्तर साझेदारी र सहयोगप्रति हार्दिक आभार व्यक्त गरेको छ ।

    समिटको एक विशेष सत्रमा विलियम किमिटले सम्बोधन गर्दै मजबुत नीतिगत वातावरण, नवप्रवर्तन र बजारको अवसरलाई औंल्याउँदै अमेरिकालाई प्रत्यक्ष वैदेशिक लगानीको प्रमुख गन्तव्यका रूपमा प्रस्तुत गरेका थिए ।

    यसैबीच, अमच्याम नेपालले नीतिगत स्थिरता, निजी क्षेत्रको नेतृत्व र उद्यमका लागि अनुकूल वातावरणमार्फत नेपालको लगानीको वातावरण सुधार गर्न आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ । ‘सेलेक्ट युएसए’ जस्ता मञ्चहरूले नेपाल र अमेरिकाबीच लगानी र सहकार्यका नयाँ अवसरहरू खोल्न तथा विश्वसनीय साझेदारी निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विज्ञप्तिमा उल्लेख छ ।

    समिट र भेटवार्तामा नेपालको तर्फबाट सितेश भट्टराई, अभय पौडेल, सबिन थापा, अनिश श्रेष्ठ र दिनेश सिलवाल सहभागी थिए।

  • गोदावरी–अस्ट्रेलियाको विन्डम सिटीबिच ‘मित्रता शहर’ सम्झौता

    गोदावरी–अस्ट्रेलियाको विन्डम सिटीबिच ‘मित्रता शहर’ सम्झौता

    काठमाडौँ, वैशाख २३ गते । अस्ट्रेलियाको भिक्टोरियास्थित विन्डम सिटी र ललितपुरस्थित गोदावरी नगरपालिकाबिच औपचारिक रूपमा ‘मित्रता शहर’ सम्झौता भएको छ । विन्डम सिटीमा आयोजित एक विशेष कार्यक्रममा सहकार्यसम्बन्धी सम्झौता गरिएको हो । सम्झौतामा विन्डम सिटीको तर्फबाट मेयर प्रीत सिंह र गोदावरी नगरपालिकाको तर्फबाट प्रशासनिक प्रमुख मानबहादुर खड्काले हस्ताक्षर गरे ।

    उनीहरुले सम्झौताका लागि आवश्यक समन्वय गरेको भन्दै पर्यटन व्यवसायी तथा अभियन्ता डिएन घिसिङलाई धन्यवाद दिए । दुवै पक्षले यस सहकार्यलाई स्थानीय तहमा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने महत्त्वपूर्ण र ऐतिहासिक उपलब्धिका रूपमा उल्लेख गरे । “यस ऐतिहासिक सम्झौताले दुई नगरबिच आपसी सहकार्य, अनुभव आदानप्रदान तथा दीर्घकालीन सम्बन्ध विस्तार गर्ने उद्देश्य लिएको छ”, सम्झौतामा भनिएको छ ।

    ललितपुरको गोदावरी नगरपालिका प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा सांस्कृतिक सम्पदाले समृद्ध क्षेत्रका रूपमा परिचित छ । त्यस्तै, विन्डम सिटी आधुनिक पूर्वाधार, बहुसांस्कृतिक समाज र दिगो शहरी विकासको उत्कृष्ट उदाहरणका रूपमा चिनिन्छ । सम्झौतामा दुवै पक्षले भविष्यमा आपसी भ्रमण, सांस्कृतिक आदानप्रदान तथा संस्थागत सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् ।

    कार्यक्रममा नेपाली मूलका उद्यमी, व्यवसायी तथा स्थानीय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो । उपस्थित सहभागीहरूले सम्झौतालाई नेपाल र अस्ट्रेलियाबिचको दीर्घकालीन कूटनीतिक सम्बन्धलाई स्थानीय तहमा अझ सुदृढ बनाउने ऐतिहासिक कदमका रूपमा स्वागत गरेका छन् ।

    कार्यक्रममा वक्ताहरूले शिक्षा, पर्यटन, संस्कृति, वातावरण संरक्षण, आर्थिक विकास तथा समुदाय विकासका क्षेत्रमा सहकार्यले दुई सहरलाई दीर्घकालीन फाइदा पुग्ने अपेक्षा गरिएको छ । सम्झौताले नेपाल र अस्ट्रेलियाबिच विगत ६६ वर्षदेखि कायम रहेको कूटनीतिक सम्बन्ध स्थानीय तहमा विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । रासस

  • स्कटल्याण्ड र प्रेस्टनमा नेपाली दूतावासको राहदानी तथा कन्सुलर सेवा शिविर

    स्कटल्याण्ड र प्रेस्टनमा नेपाली दूतावासको राहदानी तथा कन्सुलर सेवा शिविर

    २२ वैशाख, लन्डन । लन्डनस्थित नेपाली राजदूतावासले स्कटल्याण्ड र प्रेस्टन क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको सुविधाका लागि राहदानी तथा कन्सुलर सेवा सम्बन्धी घुम्ती शिविर गरेको छ । गैरआवासीय नेपाली संघ स्कटल्याण्डको समन्वयमा सोमबार स्कटल्याण्डमा शिविर गरिएको हो । दिउँसो ११ देखि ४ बजेसम्म भएको उक्त शिविरबाट करिब ८० जनाले सेवा लिएका छन् ।

    उता, नेपाली समाज प्रेस्टनको समन्वयमा आइतबार पहिलोपटक सो क्षेत्रमा शिविर गरिएको छ । शिविरबाट करिब ३० जना लाभान्वित भएको दूतावासले जनाएको छ । प्रेस्टन र आसपासका क्षेत्रहरू म्यानचेस्टर, लिभरपुल, कार्लिस र बोल्टनमा बसोबास गर्ने सेवाग्राहीका लागि टार्गेट गरेर शिविर गरिएको थियो ।

    नेपाली समाज प्रेस्टनका अध्यक्ष हरिकृष्ण कार्कीले पहिलोपटक आफ्नो समुदायमा आएर दूतावासले अत्यावश्यक राहदानी तथा कन्सुलर सेवा प्रदान गरेकामा दूतावासप्रति आभार प्रकट गरेका छन् ।

    ‘हामीले यसअघि कहिल्यै बेलायतमा नेपाली दूतावास भएको अनुभूति गर्न पाएका थिएनौं’, अध्यक्ष कार्कीले भने, ‘तर महामहिम कार्यवाहक राजदूत विपिन दुवाडीले पहिलोपटक हामीलाई सम्झिएर शिविर प्रवन्ध गरिदिनु भयो, धेरै ऋणी छौं ।’ शिविरबाट सेवाग्राहीलाई लन्डनसम्म जान आउन समय र पैसा वचत भएको कार्कीले बताए ।

    दुवै घुम्ती शिविरमार्फत राहदानी नवीकरण, अधिकृत वारेसनामा, कागजात प्रमाणीकरण, एकतर्फी यात्रा अनुमतिपत्र र पर्यटक भिसा जस्ता सेवा प्रदान गरिएको कार्यवाहक राजदूत विपिन दुवाडीले जनाए । ‘वर्तमान सरकारको ‘स्प्रिट’ बमोजिम सबै नेपालीलाई सहज तरिकाले सेवा प्रवाह गराउने हाम्रो उद्देश्य हो’, दुवाडीले भने, ‘सेवाग्राहीका आवश्यकता अनुसार प्राथमिकतामा राखेर हामीले अभियानकै रुपमा यसलाई अगाडि बढाएका छौं । यसबाट समय र यातायात खर्च समेत वचत भएको छ ।’

    दूतावासले यही १० मे आइतबार आयरल्याण्डमा समेत शिविर गर्ने तयारी गरेको छ । दूतावासले केही साताअघि ब्रिटिश ओभरसिज टेरिटोरीका रुपमा रहेको केमन आइल्याण्डका नेपालीलाई लक्षित गरि शिविर गरेको थियो । सो क्रममा स्थानीय नेपालीहरुलाई त्यहांको सरकारका मन्त्रीहरु र गर्भनरसंग प्रत्यक्ष साक्षात्कार गराइ उनीहरुलाई आवश्यक सहयोग गरिदिन अपिल गरिएको दुवाडीले बताए । नेपालीहरु उल्लेख्य रहेको बेलायतको अल्डरसटमा शिविर गरिसकेको दूतावासले माग र आवश्यकता अनुसार संयुक्त अधिराज्य (यूके) का अन्य क्षेत्रहरुमा समेत शिविर गर्ने योजना बनाएको छ ।

  • भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी

    भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी

    दिपक चन्द-रासस
    भद्रपुर (झापा), वैशाख २१ गते । वर्षैभरि प्रायः सुनसान रहने देशकै पुरानो सहर भद्रपुर बजारमा यतिबेला भने चहलपहल बढ्न थालेको छ । नेपाल सरकारले सीमावर्ती भन्सार नाकामा कडाइ गरेसँगै स्थानीय बजारमा व्यापारिक सम्भावना देखिन थालेपछि यहाँका नेपाली व्यवसायीहरु खुसी भएका छन् ।


    लामो समयदेखि भारतीय बजारमा निर्भर रहेका उपभोक्ता र व्यापारीहरू क्रमशः स्वदेशी बजारतर्फ फर्किन थालेपछि भद्रपुरको व्यापारमा सकारात्मक सङ्केत देखिएको छ । भारततर्फबाट नेपाल ल्याउँदा रु एक सयभन्दा बढीका सामानमा भन्सार लाग्ने भएपछि नेपालतर्फबाट बजार चलायमान हुन थालेको स्थानीयहरु बताउँछन् ।

    झापाको भद्रपुर आसपासका स्थानीयका लागि भारतको विहार राज्यअन्तर्गत पर्ने गलगलिया बजार प्रमुख किनमेल केन्द्रका रूपमा स्थापित थियो । दैनिक उपभोग्य सामग्रीदेखि लत्ताकपडा र अन्य सामान सस्तो मूल्यमा पाइने भएकाले नेपाली उपभोक्ताको आकर्षण त्यहीँ केन्द्रित हुने गरेको थियो । तर पछिल्लो समय भन्सार नाकामा कडाइ गरिएपछि त्यसको प्रत्यक्ष प्रभाव सीमावर्ती बजारको व्यापारिक गतिविधिमा परेको देखिन्छ ।

    भद्रपुर–६ स्थित ‘रवि वस्त्रालय’का सञ्चालक रवि गुप्ताका अनुसार केही समयअघि सम्म व्यापार अत्यन्तै सुस्त अवस्थामा पुगेको थियो । “व्यापार छोडेर अन्य विकल्प खोज्नुपर्ने अवस्था आउँदै थियो,” उनले भने, “तर पछिल्ला केही दिनको व्यापारले फेरि आशा जगाएको छ ।” उनका अनुसार हालको व्यापार विगतको तुलनामा ३० देखि ४० प्रतिशतले वृद्धि भएको छ । यही अवस्था कायम रहिरहेमा व्यापार शत्प्रतिशतसम्म बढ्नेमा उनी विश्वस्त देखिन्छन् ।


    त्यस्तै, भद्रपुर–६ मै ‘राजेश स्टोर’का सञ्चालक शत्रुधन प्रसाद पनि पछिल्लो व्यापारिक अवस्थालाई आशाजनक मान्छन् । उनका अनुसार केही दिनको कारोबारले बजारमा सकारात्मक सङ्केत दिएको भए पनि यसको स्थायित्वबारे भने अझै अनिश्चितता रहेको छ । “यदि भन्सारमा कडाइ निरन्तर रह्यो भने व्यापार अझै बढ्न सक्छ,” उनले भने ।


    भद्रपुरका पुराना पत्रकार देवेन्द्रकिशोर ढुङ्गानाले भद्रपुरको ऐतिहासिक व्यापारिक महत्वबारे स्मरण गर्दै विगतमा यो क्षेत्र निकै चर्चित रहेको बताउँछन् । “२०३४ सालसम्म भद्रपुरमै झापाको प्रमुख भन्सार कार्यालय थियो,” उनले भने, “तर पछि त्यो काँकडभिट्टामा स्थानान्तरण भएपछि भद्रपुरको व्यापारिक चहलपहल क्रमशः घट्दै गयो ।” उनका अनुसार अहिलेको भन्सार कडाइले तत्काल विगतको जस्तो रौनक फर्काउन नसके पनि व्यापारमा केही सकारात्मक प्रभाव भने अवश्य पार्नेछ ।

    सीमापारिको अवस्थाले पनि यस परिवर्तनलाई पुष्टि गर्छ । भारतको गलगलिया क्षेत्रमा किराना पसल सञ्चालन गर्दै आएका प्रदीप घोषका अनुसार नेपाली ग्राहक घटेपछि व्यापारमा ठूलो गिरावट आएको छ । “हाम्रो मुख्य ग्राहक नेपाली नै थिए, उनीहरू आउन छाडेपछि व्यापार ६० देखि ७० प्रतिशतले घटेको छ,” उनले भने ।

    यही अवस्था लामो समयसम्म रहिरहेमा अन्य विकल्प खोज्नुपर्ने बाध्यता आउन सक्ने उनको भनाइ छ । तर सबै व्यापारीको अनुभव भने समान छैन । गलगलियामै ‘सेवारो कपडा पसल’ सञ्चालन गर्दै आएका नेपाली मूलका व्यापारी नारायण लिम्बूले भने व्यापार पुनः सामान्य अवस्थामा फर्किन थालेको बताउँछन् । “केही दिन फरक परे पनि अहिले ग्राहक फेरि आउन थालेका छन्,” उनले भने, “घरायसी प्रयोजनका लागि सानो परिमाणमा सामान ल्याउन दिइएकाले व्यापार पहिलेको जस्तै हुन थालेको छ ।”

    त्यस्तै, गलगलियाबाट केही पर फुटवेयर व्यवसाय सञ्चालन गर्दै आएका राजन चौधरीले भने भारतीय ग्राहककै भरमा व्यापार टिकाइराख्नुपरेको बताउँछन् । “नेपाली ग्राहकको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ,” उनले भने, “यसले हाम्रो व्यापारमा ३० प्रतिशतभन्दा बढी कमी ल्याएको छ ।” भन्सार कडाइको प्रभाव आवतजावतमा पनि देखिएको छ । भद्रपुर भन्सार कार्यालयका सूचना अधिकारी प्रेमबहादुर लामाका अनुसार सीमामा आवागमन घट्दा राजस्व सङ्कलनमा प्रत्यक्ष असर परेको छ । “मानिसहरूको आवागमन कम भएपछि भन्सारबाट हुने राजस्वमा पनि कमी आउँछ,” उनले बताए ।


    सुरक्षा निकायले पनि सीमामा निगरानी बढाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वार्टर झापाका सशस्त्र प्रहरी नायब उपरीक्षक शङ्कर शाहका अनुसार घरायसी प्रयोजनका लागि ल्याइने सामानमा केही सहुलियत दिइए पनि स्क्रिनिङ गरेर मात्र भित्रिन दिइन्छ । “व्यापारिक र व्यक्तिगत प्रयोजन छुट्याएर आवश्यक भन्सार तिराएर मात्र सामान भित्रिन दिइएको छ,” उनले भने ।

    उनका अनुसार अवैध चोरी निकासी नियन्त्रणका लागि सशस्त्र प्रहरीले निरन्तर प्रयास गरिरहेको भए पनि भारतसँगको खुला सीमाका कारण पूर्ण नियन्त्रण चुनौतीपूर्ण रहेको छ । “लामो खुला सीमा भएकाले पूर्ण नियन्त्रण सजिलो छैन, तर नियन्त्रणका प्रयासहरू निरन्तर जारी छन्,” उनले भने । भद्रपुर भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२÷८३ को वैशाख १९ गतेसम्ममा रु १३ करोड ४३ लाख ७९ हजार राजस्व सङ्कलन भएको छ । उक्त नाकाबाट कपडा, हार्डवेयर, खाद्यान्न, विद्युतीय सामग्रीलगायत वस्तु आयात हुने गरेको छ ।

    समग्रमा, भन्सार कडाइले सीमावर्ती व्यापारको ढाँचामा परिवर्तन ल्याएको देखिन्छ । एकातर्फ नेपाली बजारमा चहलपहल बढेको छ भने अर्कोतर्फ भारतीय बजारमा यसको प्रत्यक्ष असर परेको छ । यद्यपि, यो अवस्था दीर्घकालीन रूपमा कस्तो रहने भन्ने विषय अझै अनिश्चित छ । यदि सरकारले अपनाएको कडाइ निरन्तर र प्रभावकारी रूपमा कायम राख्न सकेमा भद्रपुरजस्ता पुराना बजारहरू पुनर्जीवित हुने सम्भावना देखिएको छ ।

  • कालापानी विवादमा भारतको प्रतिक्रिया : मानसरोवर जाने बाटो नयाँ होइन

    कालापानी विवादमा भारतको प्रतिक्रिया : मानसरोवर जाने बाटो नयाँ होइन

    २० वैशाख, काठमाडौँ । भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर जानेबाटो नयाँ नभएको र पुरानो भएको जवाफ फर्काएको छ । भारतले कैलाश मानसरोवर जानका लागि भारत र चीनले नेपाली भूभाग लिपुलेक हुँदै मार्ग खुला गर्ने घोषणा गरेको विषयमा नेपाल सरकारले पठाएको कूटनीतिक नोटको जवाफ फर्काएको हो । भारतको विदेश मन्त्रालयका प्रवक्ता रन्धिर जैसवालले भारतको धारणा सधैं स्पष्ट र स्थिर रहेको बताएका छन्।

    उनले भनेका छन्, ‘लिपुलेक पास हुँदै जाने कैलाश मानसरोवर यात्रा सन् १९५४ देखि निरन्तर चलिरहेको पुरानो मार्ग हो र यो कुनै नयाँ विषय होइन ।’
    भारतले नेपालका केही भू–भाग सम्बन्धी दाबीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको भन्दै त्यस्ता एकतर्फी दाबी अस्वीकार्य रहेको पनि बताएको छ।

    साथै, भारतले द्विपक्षीय सम्बन्धका सबै विषयहरूमा, विशेष गरी सीमा विवाद समाधानका लागि, संवाद र कूटनीतिमार्फत नेपालसँग रचनात्मक छलफल गर्न तयार रहेको पनि जनाएको छ। आजमात्रै परराष्ट्र मन्त्रालयले दुवै देशलाई कूटनीतिक नोट पठाएर यसबारे ध्यानाकर्षण गराएको हो । भारतले नेपालले पत्र पठाएको केही घण्टामै यसबारे जवाफ फर्काएको हो ।

  • लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोबर यात्रा सञ्चालन गर्न लागेकोमा नेपालको आपत्ति

    लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोबर यात्रा सञ्चालन गर्न लागेकोमा नेपालको आपत्ति

    २० वैशाख, काठमाडौं । सरकारले नेपाली भूमि नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोबर यात्रा सञ्चालन गर्न लागेको आपत्ति जनाउँदै भारत र चीनलाई पत्र पठाएको छ । सरकारले नेपाली भूमि नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोबर यात्रा सञ्चालन गर्न लागेको आपत्ति जनाउँदै भारत र चीनलाई पत्र पठाएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।

    सरकारले सबै राजनीतिक दलहरूसँग यो विषयमा सोधेर नेपालको पोजिसनबारे दुवै देशलाई अवगत गराएको परराष्ट्रमन्त्री शिशिर खनालले बताएका । ‘नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरोकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराएको छ’ परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस नोटमा छ ।

    १८१६ को सुगौली सन्धिबाट नै महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको तथ्यमा नेपाल सरकार पूर्णतः स्पष्ट र अडिग छ रहेको सरकारले स्मरण गराएको छ । ‘यसअघि पनि नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माण वा विस्तार, सीमा व्यापार र तीर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आएको छ’ परराष्ट्रको प्रेस नोटमा छ । नेपालले विगतमा पनि उक्त भूमिको विषयमा पटक पटक दुवै देशलाई स्मरण गराउँदै आएको थियो ।

    ‘लिपुलेक क्षेत्र नेपाली भू–भाग रहेको विषयमा मित्रराष्ट्र चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराई सकिएको बेहोरा स्पष्ट पारिन्छ’ सकारले भनेको छ,’नेपाल र भारतबीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावना अनुरूप, ऐतिहासिक सन्धि–सम्झौता, तथ्य, नक्सा र प्रमाणका आधारमा सीमा समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार सधैं प्रतिबद्ध छ।’

    भारतले नेपालको भूमि लिपुलेक पास हुँदै केही दिन अघि कैलाश मानसरोवर यात्रा खुल्ला गरेको थियो । भारत सरकारले आयोजना गर्ने कैलाश मानसरोवर यात्रा २०२६ जुनदेखि अगस्टसम्म सञ्चालन हुने छ । भारतीय विदेश मन्त्रालयद्वारा अप्रिल ३० मा जारी विज्ञप्तिमा यस वर्ष यात्राका लागि कुल २० समूह हुनेछन् । तीमध्ये १० समूह उत्तराखण्ड हुँदै लिपुलेख पासबाट र अन्य १० समूह सिक्किम हुँदै नाथु ला पासबाट यात्रा गर्नेछन् । प्रत्येक समूहमा ५० जना यात्रु रहने छन् ।

    यात्रामा सहभागी हुन इच्छुकहरूले आधिकारिक वेबसाइट मार्फत अनलाइन आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति मे १९ तोकिएको छ । धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने कैलाश मानसरोवर यात्रा हरेक वर्ष हजारौं श्रद्धालुहरूको आकर्षणको केन्द्र बन्ने गरेको छ ।

    यस्तो यात्राको रुट नेपालको भूमिमा पर्दा नेपाललाई जानकारी थिएन् । लिपुलेक पासबाट व्यापार अघि बढाउन भारत र चीन यसअघि सहमति गरिसकेका छन् । यो सहमतिमा पनि नेपाल बेखबर थियो । कोभिड महामारीका सुरू भएपछि सन् २०१९ बाट बन्द भएको मानसरोवर यात्रा गत वर्षबाट खुलेको थियो ।
    सन् २०२४ को डिसेम्बरमा चीनमा विदेशमन्त्री वाङ यी र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारबीच चीनमा भएको भेटवार्तामा यो नाकाबाट यात्रा पुन सुचारू गर्ने सहमति भएको थियो ।

    यस्तो छ प्रेस नोट–

    १. नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा विभिन्न सञ्चारमाध्यमबाट सोधिएका प्रश्न र चासोप्रति परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण भएको छ।

    २. १८१६ को सुगौली सन्धिबाट नै महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको तथ्यमा नेपाल सरकार पूर्णतः स्पष्ट र अडिग छ।

    ३. नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरोकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराएको छ।

    ४. यसअघि पनि नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माण वा विस्तार, सीमा व्यापार र तीर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आएको छ।

    ५ साथै, लिपुलेक क्षेत्र नेपाली भू(भाग रहेको विषयमा मित्रराष्ट्र चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराई सकिएको बेहोरा स्पष्ट पारिन्छ।

    ६. नेपाल र भारतबीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावना अनुरूप, ऐतिहासिक सन्धि(सम्झौता, तथ्य, नक्सा र प्रमाणका आधारमा सीमा समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार सधैं प्रतिबद्ध छ।

    परराष्ट्र मन्त्रालय
    सिंहदरबार
    २०८३ वैशाख २०

  • बेइजिङमा मनाइयो बुद्धजयन्ती

    बेइजिङमा मनाइयो बुद्धजयन्ती

    काठमाडौँ, वैशाख १८ गते । २५७० औँ बुद्ध जयन्तीको अवसरमा बेइजिङस्थित नेपाली राजदूतावासले विशेष कार्यव्रmमको आयोजना गरेको छ । सो अवसरमा नेपाली राजदुतावासकी कार्यवाहक राजदूत श्रीमती रोशन खनालले शाक्यमुनि बुद्धको जन्म, ज्ञान प्राप्ति र परिनिर्वाणको पवित्र दिनको रूपमा बुद्ध जयन्ती मनाइदैआएको चर्चा गर्दै युनेस्कोको विश्व सम्पदा स्थल र भगवान बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको महत्वबारे जानकारी गराए ।

    उनले शान्ति, सदभाव, उदारता र दुःखबाट मुक्तिका लागि भगवान बुद्धको गहन शिक्षा अझ महत्वपूर्ण भएको बताए । चीनको बौद्ध सङ्घका उपाध्यक्ष तथा बेइजिङ लिङआङ मन्दिरका प्रमुख भिक्षु चाङ जाङले बौद्ध धर्मद्वारा जोडिएको चीन–नेपालबिचको प्रगाढ मित्रतामाथि प्रकाश पार्दै यस सम्बन्ध दुई देशका जनताबिच पनि अझ बलियो बन्दै गएको बताए ।


    उनले नेपाल भगवान बुद्धको जन्मस्थल मात्र नभएर विश्वभरका बौद्धहरूको हृदयमा रहेको एक पवित्र र सम्मानित भूमि भएको बताए । राजदूतावास परिसरमा आयोजित कार्यव्रmममा बुद्धको मूर्ति अगाडि भिक्षुहरूले विश्वव्यापी शान्ति र सद्भावको लागि प्रार्थना गरेका थिए । प्रार्थनापछि योगगुरु रमेश सिटौलाले योग पनि प्रस्तुत गरेका थिए । कार्यव्रmममा जनवादी गणतन्त्र चीनको परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरू, राजदूतहरू, बेइजिङस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरू, नेपाली समुदायको उपस्थिति रहेको थियो ।

  • नेपाल सरकारसँग प्रवास विभाग अमेरिकाद्वारा गैरआवासीय नेपाली सम्बन्धि विवादास्पद विधेयक तत्काल फिर्ता लिन माग

    नेपाल सरकारसँग प्रवास विभाग अमेरिकाद्वारा गैरआवासीय नेपाली सम्बन्धि विवादास्पद विधेयक तत्काल फिर्ता लिन माग

    न्यूयोर्क ।

    रास्वपा समर्थकहरूको विश्व संजाल प्रवास नेपाली सम्पर्क विभाग अमेरिकाले झण्डै दुईतिहाईको आफ्नै दल रास्वपाको बालेन सरकारले छलफलको लागि भन्दै जारी गरेको विवादास्पद ‘गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ ले समस्त प्रवासी नेपालीहरूको सपना, आकांक्षा र योजनामा कुठाराघात गरेको भन्दै सो विधेयकमा समावेश विवादास्पद प्रावधानहरू तत्काल फिर्ता लिन आग्रह गरेको छ। साथै, सरोकारवालाहरूलाई संलग्न गराई प्राप्त हुने सुझावहरूलाई समावेश गरी प्रवासी नेपालीको आकाँक्षा अनुरूप बंशजको नागरिकताको निरन्तरता मैत्री विधेयक जारी गरी कार्यान्वयनमा ल्याउन समेत विभागले जोडदार माग गरेको छ। यसैबिच, अप्रिल ३० तारिख न्यू योर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारीलाई विभागका कार्यवाहक अध्यक्ष सम्मरबहादुर बुढाथोकीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले भेटेर ज्ञापनपत्र बुझाएको छ।

    सो ज्ञापनपत्रमा प्रवास विभागका केन्द्रिय र राज्य समितिका गरी ३२ जनाले हस्ताक्षर गरेकाछन्। प्रवासमा रहेका नेपालीहरूको हकअधिकारको सुनिश्चितताको निम्ति रास्वापाको नागरिक करार र सरकारको राष्ट्रिय प्रतिवद्धतामा उल्लेख बंशजको नागरिकताको निरन्तरता कार्यान्वयन गर्न ज्ञापनपत्र बुझाईएको हो।

    सो ज्ञापनपत्र प्रधानमन्त्री बालेन्द्र शाहका अलावा सभामुख डिपि अर्याल, रास्वपा सभापति रवि लामिछाने, परराष्ट्र मन्त्री शिशिर खनाल, कानून मन्त्री सोविता गौतम, कानून, न्याय तथा मानव अधिकार समिति सभापति समीक्षा बास्कोटा, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सम्पूर्ण सांसदहरू, संविधान संशोधन बहस पत्र तयारी समितिका संयोजक असीम शाह, राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सचिवालय सदस्यहरू र रास्वपा प्रवास नेपाली सम्पर्क विभाग, नेपालका प्रमुख दीपक बोहरालाई समेत विभिन्न माध्यमबाट बुझाईएको छ।

    प्रवास विभाग अमेरिकाले नेपाली महावाणिज्यदूत न्यूयोर्कको साथै नेपाली राजदूतावास वासिंगटन डिसि, महावाणिज्यदूत डालस, टेक्सास र महावाणिज्यदूत, सान फ्रान्सिस्को, क्यालिफोर्नियामार्फत पनि ज्ञापनपत्र बुझाएर थप दबाब सृजना गर्ने कुरा विभागका कार्यवाहक अध्यक्ष सम्मरबहादुर बुढाथोकीले जानकारी गराए।

    ज्ञापनपत्रमा उल्लेख गरिएको माग प्रकाशित पत्रमार्फत पूर्ण पाठ पढ्नुहोस्

  • विदेशी पासपोर्ट लिएका नेपालका १९ डाक्टरको दर्ता रद्द, सूचिसहित

    विदेशी पासपोर्ट लिएका नेपालका १९ डाक्टरको दर्ता रद्द, सूचिसहित

    १८ वैशाख, काठमाडौं । नेपाली नागरिकता त्यागेर विदेशी राहदानी लिएका १९ जना डाक्टरको दर्ता खारेज भएको छ । नेपाल मेडिकल काउन्सिलले आज सूचना जारी उनीहरुको दर्ता खारेज भएको जानकारी दिएको हो । सूचना अनुुसार उनीहरुले नेपाली नागरिकता त्यागेर ब्रिटिश, क्यानेडियन, अमेरिकन, न्युजिल्याण्ड, जर्मन, अष्ट्रेलियन र भारतीय पासपोर्ट लिएकाले दर्ता खारेज गरिएको हो ।

    दर्ता खारेज भएका डाक्टरहरुमा सुमिन्द्रा पुन, शैलेश कुमार जयसवाल, भूपेश खड्का, आरती रानाभाट, रमेश राज पहारी, सन्जोक घले, ऋषिराज बराल, प्रभु पाण्डे, तृप्ति महर्जन, सृजना श्रेष्ठ लगायत छन् ।

    यसैगरी सुनिता विष्ट, दिपा मल्ल, सौरब जीसी, जेनिशा श्रेष्ठ, प्रभास रेग्मी, दिपिका ज्ञवाली, हेमु चौरसिया, समिक्षा शर्मा र मनोरमा पाण्डेको पनि मेडिकल काउन्सिलले दर्ता खारेज गरेको छ ।