Category: डायस्पोरा

  • परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

    परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

    काठमाडौँ, २४ जेठः परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । भारतका विदेशमन्त्री डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा उनी शुक्रबार नयाँदिल्ली प्रस्थान गरेका थिए । भ्रमणका क्रममा मन्त्री खनालले शनिबार आफ्ना भारतीय समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरेका थिए ।

    वार्तामा विकास सहकार्य, सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहन, ऊर्जा र जनस्तरको सम्बन्धलाई अझ उन्नत तुल्याउनेलगायत विषयमा छलफल भएको थियो । नयाँदिल्लीमा रहँदा परराष्ट्रमन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाइवालेसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

  • कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन अनुरोध

    कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन अनुरोध

    काठमाडौँ, २४ जेठः थाइल्याण्डका लागि नेपाली दूतावासले विभिन्न प्रलोभनमा परी कानुनी आधारबिना कम्बोडियामा लुकिछिपी बस्ने नेपाली नागरिकलाई १२ जुन (यही जेठ २९ गते) भित्र नेपाल फर्किन अनुरोध गरेको छ । दूतावासले आज सूचना जारी गरी विभिन्न प्रलोभनमा परी कानुनी आधार बिना कम्बोडियामा लुकिछिपी बस्ने नेपाली नागरिकले कम्बोडियाको नयाँ कानुनी व्यवस्थाअनुसार तत्काल पक्राउ परी कठिन कानुनी सजाय व्यहोर्नुपर्ने अवस्था रहेको सम्बन्धित सबैमा सूचीत गराएको छ ।

    दूतावासले भनेको छ, “विभिन्न उद्देश्यले कम्बोडिया पुगी आफ्नो भिसाको अवधि समाप्त भएपछि पनि भिसा नवीकरण नगरी बसिरहेका ६०२ जना नेपाली नागरिकका लागि कम्बोडिया सरकारबाट भिसा शुल्क तथा जरिवाना रकम मिनाहा गराई नेपाल फर्कन सहजीकरण गरिएको थियो, तर इमेल, फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गर्दा आजसम्म निम्नबमोजिमका नेपाली नागरिकले नेपाल फर्किन तदारूकता नदेखाएको पाइएको छ ।”

    तोकिएका समयमा आफ्नो मुलुक नफर्कने विदेशी नागरिकउपर कम्बोडिया सरकारले तहाँको नयाँ कानुनअनुसार अनुसन्धान गरी कसुरको प्रकृतिअनुसार पाँच लाख अमेरिकी डलरसम्मको जरिवानाका साथै आजीवन काराबाससम्मको सजाय हुने व्यवस्था गरेको पनि दूतावासले जनाएको छ ।

    दूतावासले भनेको छ, “यसर्थ, सम्बन्धित सबै नेपाली नागरिकलाई यथाशीघ्र ‘कनेक्टिङ फ्लाइट’सहितको टिकटको व्यवस्था गरी १२ जुन २०२६ भित्र नेपाल फर्किन अनुरोध गरिन्छ, साथै, उनीहरूका परिवारजन तथा आफन्तजनमा यसै सूचनालाई आधार मानी आफ्ना प्रियजनलाई यथाशीघ्र नेपाल फर्काउने व्यवस्था मिलाउन अनुरोध गरिन्छ ।”

  • परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता

    काठमाडौँ, २३ जेठः भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाइवालेबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ । त्यस अवसरमा उनीहरूले दुई पक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने, पार्टी–पार्टी तथा जनता–जनताबीचको सम्बन्धलाई गाढा बनाउने विषयमा छलफल भएको नयाँदिल्लीस्थित नेपालको दूतावासले जनाएको छ । परराष्ट्रमन्त्री खनाल आफ्ना भारतीय समकक्षी एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा शुक्रबार नयाँदिल्ली पुगेका हुन् ।

  • सभापति लामिछाने भारत भ्रमण सम्पन्न गरी स्वेदश फिर्ता, विमानस्थलमा के भने ?

    सभापति लामिछाने भारत भ्रमण सम्पन्न गरी स्वेदश फिर्ता, विमानस्थलमा के भने ?

    काठमाडौँ, २२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछाने भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा जानुभएका सभापति लामिछाने विभिन्न उच्चस्तरीय भेटवार्ता सम्पन्न गरी आज साँझ स्वदेश फर्किएका हुन् । उनलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धि अन्तरराष्ट्रिय विमानस्थलमा नेपालका कार्यवाहक राजदूत डा सुरेन्द्र थापा तथा भारतीय जनता पार्टी (भाजपा)का विदेश मामिला विभागका प्रमुख डा विजय चौथाइवालेले बिदाइ गरेका थिए ।

    भ्रमणका क्रममा सभापति लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री डा एस जयशङ्कर, गृहमन्त्री अमित शाह र भाजपा अध्यक्ष नवीनसँग छुट्टाछट्टै भेटवार्ता गरेका थिए । सो अवसरमा दुई पक्षबीच द्विपक्षीय सम्बन्ध विस्तार तथा आपसी हितका विविध विषयमा छलफल भएको बताइएको छ । सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भाजपाको निमन्त्रणामा सोमबार नयाँ दिल्ली प्रस्थान गरेको थियो । सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी निकिता पौडेल, रास्वापाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीयसचिव प्रदीप आचार्य थिए ।

  • परराष्ट्रमन्त्री खनाल नयाँ दिल्लीमा

    परराष्ट्रमन्त्री खनाल नयाँ दिल्लीमा

    काठमाडौँ, २२ जेठः परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा नयाँ दिल्ली पुगेका छन् । यही जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणका लागि उनी आज नयाँ दिल्ली पुगेका हुन् । उनलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धि अन्तरराष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका कार्यवाहक राजदूत डा सुरेन्द्र थापा तथा भारतको परराष्ट्र मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले स्वागत गरे ।

    मन्त्री खनाल आज दिउँसो त्यसतर्फ प्रस्थान गरेका थिए । भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले उनका समकक्षी डा जयशङ्करसँग औपचारिक भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा उहाँहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत विषयमा छलफल हुनेछ । परराष्ट्रमन्त्री खनाल भ्रमण सम्पन्न गरी यही जेठ २४ गते काठमाडौँ फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

  • परराष्ट्रमन्त्री नयाँदिल्ली प्रस्थान

    परराष्ट्रमन्त्री नयाँदिल्ली प्रस्थान

    काठमाडौँ, २२ जेठः परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा आज नयाँदिल्ली प्रस्थान गरेका छन् । नयाँदिल्लीमा रहँदा उनले आफ्ना भारतीय समकक्षी डा जयशङ्करसँग औपचारिक भेटवार्ता गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार उनीहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल, ऊर्जा तथा आपसी हित र चासोका विविध विषयमा विचारविमर्श हुनेछ । परराष्ट्रमन्त्रीको यो भ्रमणबाट नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । परराष्ट्रमन्त्री खनाल यही जेठ २४ स्वदेश फर्कने कार्यक्रम छ ।

  • भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटमा के भयो कुराकानी ?

    भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटमा के भयो कुराकानी ?

    काठमाडौँ, २० जेठ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भेटपछि प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सभापति लामिछानेसँग भेट्न पाउँदा अत्यन्त खुशी लागेको उल्लेख गरेका छन् । उनले सभापति लामिछानेसँग साझा समृद्ध भविष्यका लागि नजिकबाट सहकार्य गर्ने र उनको चाहनालाई स्वागत र पूर्ण रूपमा समर्थन गर्ने उल्लेख गरेका छन् ।


    प्रधानमन्त्री मोदीले नेपाल ‘पहिलो छिमेकी’ नीतिअन्तर्गत एक प्राथमिक साझेदार राष्ट्र भएको र दुवै देशबीच रहेको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक उल्लेख गरेका छन् । भेटका अवसरमा उहाँहरूबीच नेपाल–भारत सम्बन्ध, रास्वपा र भारतीय जनता पार्टी (भाजपा)बीचको सम्बन्ध, दुई देशबीचको आपसी हितका साथै विविध आयामहरूका विषयमा छलफल भएको थियो ।

    त्यस अवसरमा भारतीय विदेशमन्त्री डा एस जयशङ्कर, प्रधानमन्त्री मोदीका प्रमुख सुरक्षा सल्लाहकार अजित डोभल, विदेशसचिव विक्रम मिश्रीलगायतको उपस्थिति थियो भने नेपालका तर्फबाट सभापति लामिछाने, उनकी धर्मपत्नी नीकिता पौडेल, रास्वपाका नेताद्वय विपीन आचार्य र दीपक बोहरा तथा नयाँ दिल्लीस्थित नेपाली राजदूताबासका उच्च अधिकारीको पनि सहभागिता थियो ।

    भाजपाका अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा सभापति लमिछाने भारतको पाँचदिने भ्रमणका लागि सोमबार नयाँ दिल्ली प्रस्थान गरेका हुन् । यसबीचमा सभापति लामिछानेले मङ्गलबार भारतका गृहमन्त्री अमित शाह, विदेशमन्त्री डा जयशङ्कर, भाजपाका अध्यक्ष नवीनलगायत उच्च पदाधिकारीसँग भेटवार्ता गरेका छन् ।

  • सांस्कृतिक सम्पदाका प्रतीकका साथ नेपाल प्रदर्शनीमा सहभागी

    सांस्कृतिक सम्पदाका प्रतीकका साथ नेपाल प्रदर्शनीमा सहभागी

    काठमाडौँ, २० जेठः सांस्कृतिक महत्वका सम्पदाका प्रतीकका साथ नेपाल अन्तरराष्ट्रिय प्रदर्शनीमा सहभागी भएको छ । सांस्कृतिक विविधता, मित्रता र मानवीय एकताको भावनालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घको प्रतिनिधिमण्डलका जीवनसाथीको क्लब (युएनडिएससी)ले आज न्युयोर्कमा आयोजना गरेको वार्षिक युएन इन्टरनेशनल बजारमा संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगले नेपालका समृद्ध सांस्कृतिक सम्पदा तथा मौलिक पहिचानका प्रतीकात्मक सामग्री प्रस्तुत गरेको छ ।

    उक्त नियोगका अनुसार बजारमा नेपालले परम्परागत कला, हस्तकला तथा विभिन्न सांस्कृतिक सामग्रीको आकर्षक प्रदर्शनीमार्फत आफ्नो सिर्जनशीलता, सीप र राष्ट्रिय पहिचान झल्काएको थियो । नेपाली स्टलमा राखिएका सामग्रीले आगन्तुकको ध्यान आकर्षित गरेको थियो ।

    बजारमा विश्वका विभिन्न मुलुकले आ–आफ्ना मौलिक उत्पादन, परिकार, संस्कृति र परम्परासँग सम्बन्धित सामग्री प्रदर्शन गरेका थिए । उक्त नियोगले संस्कृति, मित्रता र सहानुभूतिमार्फत अझ समावेशी, एकताबद्ध र आपसी सम्बन्धयुक्त विश्व निर्माणमा यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गरेको छ ।

  • राष्ट्रसङ्घीय प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    राष्ट्रसङ्घीय प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    रासस
    काठमाडौँ, २० जेठः नेपाल संयुक्त राष्ट्रसङ्घीय महासभा (युएनजीए) को ८१औँ अधिवेशनअन्तर्गत प्रथम समिति (निःशस्त्रीकरण तथा अन्तरराष्ट्रिय सुरक्षा) को अध्यक्षमा निर्वाचित भएको छ । यो मुलुकका निम्ति ठूलो कूटनीतिक उपलब्धि हो । बहुपक्षीयता, अन्तरराष्ट्रिय शान्ति, सुरक्षा तथा विश्वव्यापी निःशस्त्रीकरणका प्रयासप्रति सात दशकभन्दा लामो समयदेखि व्यक्त नेपालको प्रतिबद्धताप्रतिको अन्तरराष्ट्रिय मान्यता हो ।

    प्रथम समितिको अध्यक्षमा निर्वाचित भएपछि संयुक्त राष्ट्रसङ्का लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापाले सदस्य राष्ट्रहरूले नेपालमाथि गरेको विश्वास र समर्थनप्रति आभार व्यक्त गरेका छन् । उनले उक्त जिम्मेवारी निष्पक्षता, पारदर्शिता र समावेशिताका आधारमा प्रभावकारी ढङ्गले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको न्युयोर्कस्थित नेपालको स्थायी नियोगले जनाएको छ । उक्त समितिले निःशस्त्रीकरण, अन्तरराष्ट्रिय सुरक्षा तथा विश्व शान्तिसम्बन्धी विषयमा छलफल र निर्णय प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

  • न्युयोर्कमा प्रथम जिल्ला स्तरीय भलिबल प्रतियोगिता भव्यताका साथ सम्पन्न, पर्वत च्याम्पियन

    न्युयोर्कमा प्रथम जिल्ला स्तरीय भलिबल प्रतियोगिता भव्यताका साथ सम्पन्न, पर्वत च्याम्पियन

    न्युयोर्क, अमेरिका

    बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टर तथा बाग्लुङ स्पोर्ट्स क्लब न्युयोर्कको संयुक्त आयोजनामा सम्पन्न प्रथम जिल्ला स्तरीय भलिबल प्रतियोगिता २०२६ भव्य र ऐतिहासिक रूपमा सम्पन्न भएको छ। न्युयोर्कस्थित क्वीन्सब्रिज पार्कको भलिबल कोर्टमा आयोजित उक्त प्रतियोगिताले प्रवासी नेपाली समुदायमा खेलकुदमार्फत एकता, भाइचारा र जिल्लागत सम्बन्धलाई अझ सुदृढ बनाउने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

    दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि महाबाणिज्यदूत दधिराम भण्डारी तथा विशिष्ट अतिथि एनआरएनए अमेरिका उपाध्यक्ष आङ छिरिङ शेर्पाले संयुक्त रूपमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। उद्घाटन समारोहमा विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, व्यवसायी, कलाकार, पत्रकार तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    प्रतियोगितामा बाग्लुङ, म्याग्दी, पर्वत, सिन्धुपाल्चोक, दोलखा, स्याङ्जा, झापा, रुकुम र ताप्लेजुङ लगायत विभिन्न जिल्लाका गरी १२ टोलीको सहभागिता रहेको थियो। बाग्लुङ, म्याग्दी र पर्वतबाट दुई-दुई टोली तथा अन्य जिल्लाबाट एक-एक टोलीले प्रतिस्पर्धा गरेका थिए। सहभागी टोलीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै दर्शकहरूलाई रोमाञ्चक खेलको अनुभव गराएका थिए।

    दुई दिनसम्म चलेको कडा प्रतिस्पर्धापछि पर्वत जिल्ला टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भयो। फाइनल खेलमा आयोजक संस्था बाग्लुङको टोलीलाई पराजित गर्दै पर्वतले च्याम्पियन बन्ने गौरव प्राप्त गरेको हो। बाग्लुङले उपविजेतामा चित्त बुझाएको थियो।

    प्रतियोगिताको विजेता टोलीलाई ३,००० अमेरिकी डलर नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने उपविजेता टोलीलाई २,००० अमेरिकी डलर नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

    भलिबल प्रतियोगितासँगै नेपाली परम्परा र मनोरञ्जनलाई समेट्ने विभिन्न कार्यक्रमहरू पनि आयोजना गरिएका थिए। रस्साकस्सी, घैँटो फोड, म्युजिकल चेयर, भाग्यशाली चिठ्ठा, छेलो फाल्ने प्रतियोगिता तथा सामूहिक बनभोज कार्यक्रमले सहभागीहरूलाई थप मनोरञ्जन प्रदान गरेको थियो। विशेषगरी न्युयोर्क नौमती बाजा समूहद्वारा प्रस्तुत पञ्चेबाजा कार्यक्रमको मुख्य आकर्षण बनेको थियो। पञ्चेबाजाको धुनसँगै नेपाली संस्कृति र परम्पराको झल्कोले कार्यक्रमस्थललाई थप उल्लासमय बनाएको थियो।

    महासचिव जीवनदास सुनारका अनुसार प्रतियोगिता तथा अन्य कार्यक्रमहरूमा दुई दिनको अवधिमा करिब ९०० देखि १,००० जनासम्मको सहभागिता रहेको थियो। उहाँले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण प्रायोजक, स्वयंसेवक, खेलाडी, दर्शक, पत्रकार, कलाकार तथा समुदायका सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।

    कार्यक्रमका वक्ताहरूले यस्ता खेलकुदमूलक गतिविधिले प्रवासमा रहेका नेपालीहरूबीच आपसी सम्बन्ध, एकता, सहकार्य र सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए। उनीहरूले आगामी वर्षहरूमा प्रतियोगितालाई अझ व्यापक र व्यवस्थित रूपमा सञ्चालन गर्दै नेपाली समुदायको साझा उत्सवका रूपमा विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।

    प्रवासी नेपाली समुदायको उल्लेखनीय सहभागिता, खेलाडीहरूको उत्कृष्ट प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमहरूको आकर्षक प्रस्तुतिका कारण प्रथम जिल्ला स्तरीय भलिबल प्रतियोगिता २०२६ न्युयोर्कमा नेपाली समुदायको एक सफल, स्मरणीय र ऐतिहासिक खेल महोत्सवका रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

  • सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता

    सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता

    काठमाडौँ, १९ जेठ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ । उक्त भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा विचार विमर्श भएको रास्वपाले जनाएको छ ।

    सभापति लमिछाने भाजपाका अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा पाँच दिने भारत भ्रमणका लागि सोमबार भारत प्रस्थान गरेका छन् । सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी नीकिता पौडेल, रास्वापाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपीनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य छन् ।

  • अमेरिका-नेपाल साझेदारी विस्तारमा जोड

    अमेरिका-नेपाल साझेदारी विस्तारमा जोड

    काठमाडौँ, १८ जेठः संयुक्त राज्य अमेरिकाका सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपाललाई अमेरिकाले महत्वपूर्ण साझेदारका रूपमा हेरेको बताउँदै द्विपक्षीय साझेदारी विस्तारमा जोड दिएकी छिन् । आज यहाँ सञ्चारकर्मीसँग भएको छलफलमा उनले ५५ करोड अमेरिकी डलर बराबरको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमससी) कम्प्याक्टलाई नेपालको अर्थतन्त्र र ऊर्जा क्षेत्रका लागि महत्वपूर्ण लगानीका रूपमा उल्लेख गर्दै यसमार्फत दुई देशबीचको साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गरिन् ।


    गत वर्ष एक लाख १२ हजार अमेरिकी पर्यटक नेपाल भ्रमणमा आएका जानकारी दिँदै उनले अमेरिकालाई नेपालको दोस्रो ठूलो पर्यटक स्रोत बजारका रूपमा चित्रण गरिन् । नेपालमा नवप्रवर्तन र आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको बताउँदै उनले लगानी, व्यवसाय सञ्चालन र नवप्रवर्तनका लागि वातावरण थप अनुकूल बन्दै जाँदा अमेरिकी कम्पनीहरू नेपालका अझ बलिया साझेदार बन्न सक्ने धारणा व्यक्त गरिन् ।
    उनले नेपालको सार्वभौमसत्ता, आर्थिक वृद्धि तथा साझा समृद्धिलाई सहयोग गर्न नेपाल सरकार र नेपाली जनतासँगको साझेदारी अझ मजबुत बनाउन अमेरिका प्रतिबद्ध रहेको बताइन् । परराष्ट्रमन्त्री शिशिर खनाल तथा सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाभेट गरी आर्थिक सम्बन्ध सुदृढीकरण, व्यापारिक वातावरण सुधार तथा डिजिटल पहुँच विस्तारलगायत विषयमा आफूले छलफल गरेको उनले जानकारी दिइन् ।

    आइतबार यहाँ भएको ‘एसेन्ट समिट’ मा मुख्य वक्ताका रूपमा आफ्ना विचार प्रस्तुत गर्न पाउँदा आफ्ना लागि अवसरमा भएको बताउँदै उनले उक्त कार्यक्रममा नेपाली तथा अमेरिकी कम्पनी, पर्वतारोही र नवप्रवर्तकहरूले हिमालय क्षेत्रमा साहसिक पर्यटन र प्रविधिको भविष्यबारे छलफल भएको जानकारी दिइन् । उपविदेशमन्त्री रोजर्सले पाटन दरबार क्षेत्रको भ्रमण गरेर त्यहाँ रहेका सम्पदाको अभिरुचिपूर्वक अवलोकन पनि गरेकी थिइन् ।

  • नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छः सभामुख अर्याल

    नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छः सभामुख अर्याल

    काठमाडौँ, १८ जेठः सभामुख डोलप्रसाद (डिपी) अर्यालले विश्वका जुनसुकै देशमा छरिएर रहेका भए पनि नेपाली मूलका मानिसलाई नेपालले फरक एवं फराकिलो ढङ्गले समेट्नुपर्ने बताएका छन् । नेपाली मूलका नागरिकको छाता संस्था एसोसिएशन अफ नेपाली ओरिजिन (एएनओ)को प्रतिनिधिमण्डलसँग आज सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा भेट्दै सभामुख अर्यालले नेपाली मूलका मानिसलाई सम्बोधन गर्नेगरी नेपालको राष्ट्रिय हित अनुकूलको कानुन बनाएर अघि बढ्नुपर्ने जानकारी दिए ।


    भेटका अवसरमा एएनओका उपाध्यक्ष एवं वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले जतिसुकै पुस्ता भए पनि नेपाली मूलका मानिसलाई सांस्कृतिक रूपमा नेपालसँग जोड्ने र जहाँ बसे पनि नेपालीपनको संरक्षण गर्न सक्ने वातावरण बनाउन एएनओ क्रियाशील रहेको बताए । हाल छलफलमा रहेको गैरआवासीय नेपालीसम्बन्धी ऐनको मस्यौदामा उल्लिखित नेपाली उत्पत्तिका व्यक्तिको परिभाषालगायत विषयमा आफ्नो संस्थाका तर्फबाट पेस गरिएका सुझावलाई समेट्न उनले माग गरे ।


    त्यस अवसरमा प्रतिनिधिमण्डलले एएनओका तर्फबाट तयार पारिएको स्मरणपत्र सभामुख अर्याललाई पनि हस्तान्तरण गरेको थियो । स्मरणपत्रमा ऐनको मस्यौदामा भएका कतिपय बुँदा असान्दर्भिक, अव्यावहारिक र पुस्तौँदेखि विदेशमा रहेका नेपालीलाई नेपालसँग जोड्न अपर्याप्त रहेको भन्दै यस्ता प्रावधानहरु खारेज गर्न माग गरिएको छ । आजै सो प्रतिनिधिमण्डलले परराष्ट्र सचिव अमृत राईसँग पनि भेट गरी उक्त ऐनमा समेट्नका लागि एएनओका तर्फबाट तयार गरिएको सुझावपत्र प्रस्तुतथ गरेको थियो ।

  • सञ्चारमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच शिष्टाचार भेट

    सञ्चारमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच शिष्टाचार भेट

    काठमाडौँ, १८ जेठ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सार्वजनिक कूटनीतिसम्बन्धी अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्सबीच आज सूचना तथा सञ्चार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । त्यस अवसरमा द्विपक्षीय सम्बन्ध, सूचना प्रविधि, दूरसञ्चार, डिजिटल सुरक्षा तथा लगानी विस्तारलगायत विषयमा छलफल भएको थियो । साथै नेपाल–अमेरिका सहकार्यलाई सूचना प्रविधि, डिजिटल पूर्वाधार, साइबर सुरक्षा तथा लगानी विस्तारका क्षेत्रमा थप सुदृढ बनाउने विषयमा पनि विचारविमर्श भएको सञ्चार मन्त्रालयले जनाएको छ ।

    अमेरिकी उपविदेशमन्त्री रोजर्सले नेपाल–अमेरिका सम्बन्ध मैत्रीपूर्ण र सहयोगात्मक रहेको उल्लेख गर्दै सूचना प्रविधि तथा दूरसञ्चारका क्षेत्रमा सहकार्य विस्तार गर्न अमेरिका इच्छुक रहेको बताइन् । उनले अमेरिकी कम्पनीहरू नेपालमा लगानी विस्तार गर्न चाहिरहेका उल्लेख गर्दै त्यसका लागि लगानीमैत्री वातावरण, नीतिगत स्थिरता तथा आवश्यक सहजीकरणको अपेक्षा गरिन् ।


    उनले इन्टरनेट स्वतन्त्रताको संरक्षणसँगै डिजिटल माध्यमबाट हुने चुनौती व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याउँदै अनलाइन ठगी, अश्लील सामग्रीको प्रसार तथा संवेदनशील सामग्रीको नियन्त्रणमा सहकार्य गर्न सकिने बताइन् । लगानी विस्तार र डिजिटल पूर्वाधार विकासका क्षेत्रमा अमेरिका सहयोग गर्न तयार रहेको उनले बताइन् ।


    सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपाल सूचना प्रविधिमार्फत आर्थिक तथा प्रशासनिक रूपान्तरणको दिशामा अघि बढिरहेको उल्लेख गर्दै यस क्षेत्रमा हुने सबै प्रकारका द्विपक्षीय तथा बहुपक्षीय सहकार्यलाई नेपालले स्वागत गर्ने बताए । सञ्चारमन्त्री तिमिल्सिनाले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने विषय सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै दूरसञ्चार क्षेत्रमा लगानीका लागि हाल कायम रहेको नीतिगत तथा कानूनी व्यवस्थाबारे पनि जानकारी गराए ।


    सञ्चारमन्त्री डा तिमिल्सिनाले सरकार सामाजिक सञ्जाल नियन्त्रणको पक्षमा नरहेको स्पष्ट पार्दै जिम्मेवार र उत्तरदायी डिजिटल वातावरण निर्माणका लागि आवश्यक नियामकीय प्रबन्ध गर्न आवश्यक रहेको बताए ।

  • परराष्ट्रमन्त्रीसँग अमेरिकी उपविदेशमन्त्रीको भेट

    परराष्ट्रमन्त्रीसँग अमेरिकी उपविदेशमन्त्रीको भेट

    काठमाडौँ, १८ जेठः परराष्ट्रमन्त्री शिशिर खनालसँग संयुक्त राज्य अमेरिकाका सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्सले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेकी छिन् । त्यस अवसरमा उहाँहरुबीच नेपाल र अमेरिका बीचको सात दशकभन्दा लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउनेलगायत विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुवै पक्षले लगानी, व्यापार, संस्कृति तथा पर्यटनका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा पनि विचारविमर्श गरेका थिए ।

  • कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

    कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

    काठमाडौँ, १७ जेठः प्रधानमन्त्री वालेन्द्र शाहले भारतसँगका सीमासम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)की सांसद पद्मा अर्यालले भारत र चीनले नेपाली भूमि लिपुलेक भएर व्यापार गर्न सडक निर्माणलगायत संरचना बनाएको सन्दर्भमा प्रतिनिधिसभाको आजको बैठकमा गर्नुभएको प्रश्नको जवाफमा प्रधानमन्त्रीले उक्त जवाफ दिएका हुन् ।

    प्रधानमन्त्रीले नेपाल र भारतबीचको सीमा विवादमा इतिहासविद्सहितको संलग्नतामा समाधानको प्रयत्न भएको सदनलाई जानकारी दिँदै सम्बन्धितसँग बसेर वार्ताबाट निकास खोजिने जानकारी दिए । यस विषयमा बेलायत सरकासँग पनि छलफल गर्नुपर्ने प्रधानमन्त्री शाहले बताए ।


    “नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा कालापानी क्षेत्रको भूभागका सम्बन्धमा नेपाल सरकारले औपचारिक रुपमा कूटनीतिक ‘नोट’ भारत सरकारलाई पठाइसकेको छ । त्यसको जवाफ पनि आएको छ । त्यो जवाफमा दुवै सरकारले आफ्ना इतिहासविद्, ‘सर्भेयर’ र आफ्नो भूमिसम्बन्धी जानकारी भएका व्यक्ति राखेर संवादमार्फत यस कुरालाई समाधान गर्ने कुरा भएको छ,” प्रधानमन्त्री शाहले भने, “यस सम्बन्धमा भारत र चीनलाई मात्रै नभएर इङ्ल्याण्ड सरकारसँग पनि कुरा गरेका छौँ । ब्रिटिस इन्डियाले भारत छाडेको समयका समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदा यसमा इङ्ल्याण्डले पनि सरोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो । यी सबै कुरा टेबल टक डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउँछु ।”

    सांसदले राखेको धेरैजसो कुरालाई सल्लाह र सुझावका रुपमा लिने बताउँदै प्रधानमन्त्री शाहले नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन मात्र नभएर विभिन्न कालखण्डमा भएका आन्दोलनका प्रतिवेदन कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

    “विभिन्न कालखण्डमा भएका आन्दोलनको सम्बन्धमा धेरै प्रतिवेदन छन् । एउटा मात्रै प्रतिवेदन छैन । विभिन्न कालखण्डमा विभिन्न आयोग गठन भएका छन् । आजसम्म नेपाल सरकारलाई बुझाइएको जति पनि आयोगका प्रतिवेदनहरु छन् ती सबै प्रतिवेदनलाई एकमुष्ट नेपाल सरकारले अध्ययन गर्छ, त्यही अनुसार कामकारबाही गर्छ ।’’

  • सगरमाथा दिवसमा मस्कटमा शान्ति पदयात्रा

    सगरमाथा दिवसमा मस्कटमा शान्ति पदयात्रा

    काठमाडौँ, १६ जेठः ओमानस्थित नेपाली राजदूतावासले सगरमाथा दिवसका अवसरमा मस्कटको कुरुम समुद्र तटमा शान्ति पदयात्रा तथा समुद्र किनार सरसफाइ कार्यक्रम आयोजना गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा गैरआवासीय नेपाली सोसल क्लब, विभिन्न नेपाली सङ्घसंस्थाका प्रतिनिधि तथा नेपाली र विदेशी नागरिकको सहभागिता रहेको उक्त दूतावासले जनाएको छ ।

    त्यस अवसरमा ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले यस्ता गतिविधिले नेपाली समुदायबीच एकता र सद्भाव अभिवृद्धि गर्नुका साथै ओमानमा नेपाली समुदायको सकारात्मक छवि निर्माण गर्न सहयोग पुग्ने बताए । सगरमाथा र गणतन्त्र दिवस एकै दिन परेकाले राजदूतावासमा नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो । यसै अवसरमा दूतावासमा ई–सङ्ग्रहालय स्थापना गरिएको छ । सङ्ग्रहालयमा नेपाल–ओमान द्विपक्षीय सम्बन्धसँग सम्बन्धित ऐतिहासिक दस्तावेज राखिएका छन् ।

  • बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

    बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

    काठमाडौँ, १५ जेठः संयुक्त राष्ट्रसङ्घले विश्वभर बढ्दो द्वन्द्व, राजनीतिक अस्थिरता तथा सुरक्षा चुनौतीका बीच शान्ति स्थापनाको आवश्यकता झन् बढ्दै गएको बताएको छ । विगत ७८ वर्षदेखि यो विश्व संस्थाले द्वन्द्वप्रभावित क्षेत्रमा शान्ति सैनिकको उपस्थितिले हिंसा न्यूनीकरण, नागरिक सुरक्षा तथा दिगो शान्ति प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ ।

    महासचिव एन्टोनियो गुटेरेसले पनि वर्तमान समयमा शान्ति स्थापना स्थायित्व, सुरक्षा र आशा पुनःस्थापित गर्ने प्रभावकारी तथा कम खर्चिलो माध्यम भएको बताएका छन् । राष्ट्रसङ्घीय शान्ति सैनिक दिवसका अवसरमा आज एक सन्देश दिँदै उनले शान्ति ‘मिसन’लाई प्रभावकारी बनाउन सदस्य राष्ट्रहरूको निरन्तर राजनीतिक समर्थन र भरपर्दो आर्थिक सहयोग अपरिहार्य भएको बताए ।


    राष्ट्रसङ्घका अनुसार ‘शान्तिमा लगानी गरौँ’नाराका साथ यो दिवस आज विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदैछ । हाल विश्वका ११ वटा शान्ति मिसनमा ५१ हजारभन्दा बढी सैनिक, प्रहरी तथा नागरिक कर्मचारी कार्यरत छन् । बदलिँदो भू–राजनीतिक परिस्थितिबीच उत्पन्न जटिल चुनौती सामना गर्दै उनीहरूले द्वन्द्वग्रस्त समुदायमा शान्ति, सुरक्षा र आशाको सन्देश प्रवाह गरिरहेका छन् ।

    सन् १९४८ यता शान्ति स्थापनाका क्रममा हिंसा, दुर्घटना तथा रोगका कारण चार हजार पाँच सयभन्दा बढी शान्ति सैनिक, प्रहरी तथा नागरिक कर्मचारीले ज्यान गुमाइसकेका छन् । सन् २०२५ मा मात्रै ५९ जना शान्ति सैनिकले ज्यान गुमाएका थिए । राष्ट्रसङ्घले लाइबेरिया, नामिबिया, कम्बोडिया, सियरा लियोन र टिमोर–लेस्टेलगायत द्वन्द्वप्रभावित मुलुकमा शान्ति सैनिकको उपस्थितिले दीर्घकालीन शान्ति स्थापना तथा सामाजिक पुनर्निर्माणमा महत्वपूर्ण योगदान पुगेको जनाएको छ ।
    तस्बिरः संयुक्त राष्ट्रसङ्घ

  • संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना दिवस मनाइँदै

    संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना दिवस मनाइँदै

    काठमाडौँ, १५ जेठः संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले सन् १९४८ मा पहिलो संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना अभियान स्थापना गरेको दिनको स्मरणमा आज संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको अन्तरराष्ट्रिय दिवस मनाइँदैछ । यस वर्ष संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा आगामी जुन ५ मा दिवसको प्रमुख कार्यक्रम विशेष समारोहका साथ मनाइँदैछ । कार्यक्रममा महासचिव एन्टोनियो गुटेरेसले कर्तव्य पालनाका क्रममा ज्यान गुमाउनुभएका ६८ जना सैनिक, प्रहरी तथा नागरिकलाई मरणोपरान्त ‘ड्याग ह्यामार्शोल्ड पदक’ प्रदान गर्नेछन् । सम्मानित हुनेमध्ये गत वर्ष निधन भएका ५९ जना शान्ति सेना पनि रहेको नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयले जनाएको छ ।

    ‘ड्याग ह्यामार्शोल्ड पदक’बाट मरणोपरान्त सम्मानित हुनुहुने शान्ति सेनामध्ये नेपालका दुई जना पनि छन् । सन् २०२५ मा सेन्ट्रल अफ्रिकन रिपब्लिकमा कार्यरत रहँदा निधन भएका कर्पोरल सुरज लामिछाने तथा सन् २००० मा पूर्वी टिमोरमा सेवाका क्रममा निधन भएका सिपाही देवीराम जैसीलाई उक्त पदक प्रदान गरिनेछ ।

    हाल विश्वका सबैभन्दा जटिल परिस्थितिमध्ये केही क्षेत्रमा संयुक्त राष्ट्रसङ्घको झन्डामुनि ५० हजारभन्दा बढी नागरिक, सैनिक तथा प्रहरी शान्ति सेना कार्यरत छन् । द्वन्द्वहरू झन् विभाजित, दीर्घकालीन तथा डिजिटल उपकरणको दुरुपयोग र हानिकारक सूचनाको फैलावटजस्ता नयाँ चुनौतीबाट प्रभावित बन्दै गइरहेका सन्दर्भमा शान्ति सेनाहरूले सेवा प्रदान गरिरहेका छन् । हाल ११ वटा शान्ति स्थापना मिसनमा ११८ देशबाट सुरक्षाकर्मी खटिएका छन् ।

    शान्ति स्थापनामा सुरक्षाकर्मी योगदान गर्ने सबैभन्दा ठूलो मुलुक नेपाल

    नेपाल संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा सुरक्षाकर्मी योगदान गर्ने सबैभन्दा ठूलो मुलुक हो । हाल नेपालले ३६४ महिलासहित चार हजार ३०० भन्दा बढी सैनिक तथा प्रहरी कर्मचारी अबेई, मध्य अफ्रिकी गणतन्त्र, साइप्रस, कङ्गो लोकतान्त्रिक गणतन्त्र, कोसोभो, लेबनान, लिबिया, मध्यपूर्व, सोमालिया, दक्षिण सुडान तथा पश्चिमी सहारास्थित संयुक्त राष्ट्रसङ्घीय शान्ति अभियानहरूमा परिचालन गरेको छ ।

    शान्ति स्थापनाले राजनीतिक समाधानलाई सहयोग गर्ने, द्वन्द्व चर्किन नदिने, सर्वसाधारणको सुरक्षा गर्ने, युद्धविरामको अनुगमन गर्ने, मानवीय सहायता पुर्याउन सहयोग गर्ने, बारुदी सुरुङ हटाउनेलगायतका महत्त्वपूर्ण कार्य गर्दै आएको संयुक्त राष्ट्रसङ्घको भनाइ छ । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् २००२ मा यस दिवसको स्थापना गरेको थियो । सन् १९४८ मा सुरक्षा परिषद्ले मध्यपूर्वमा पहिलो संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना अभियान ‘संयुक्त राष्ट्रसङ्घ ट्रुस सुपरभिजन अर्गनाइजेसन’ स्थापना गरेको दिनको स्मरणमा मे २९ लाई यस दिवसका रूपमा चयन गरिएको हो ।

    यस वर्षको दिवसको मुख्य नारा ‘शान्तिमा लगानी’ रहेको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनहरूले घट्दो स्रोतसाधनको सामना गरिरहेका बेला यो नाराले द्वन्द्व समाधानका लागि शान्ति स्थापना अझै पनि अन्तरराष्ट्रिय समुदायसँग भएको सबैभन्दा प्रभावकारी माध्यममध्ये एक रहेको सन्देश दिन्छ ।

    शान्ति सेनामाथिका आक्रमण मानवीय कानुनको उल्लङ्घनः महासचिव गुटेरेस

    महासचिव गुटेरेसले दिवसका अवसरमा सन्देश जारी गर्दै शान्ति सेनामाथिका आक्रमण अन्तरराष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लङ्घन भएको र संयुक्त राष्ट्रसङ्घीय कर्मचारीको सुरक्षा सुनिश्चित गर्न सदस्य राष्ट्रहरूले आफ्नो दायित्व पूरा गर्नुपर्नेमा जोड दिएका छन् । उनले भनेका छन्, “यस अन्तरराष्ट्रिय दिवसमा हामी विगत र वर्तमानका सम्पूर्ण शान्ति सेनालाई सम्मान गर्दछौँ र उहाँहरूको कार्यप्रति सम्मान तथा सुदृढ समर्थन गर्ने साझा जिम्मेवारी पुनः दोहोर्याउँछौँ । सन् १९४८ यता शान्तिको सेवामा ज्यान गुमाएका झन्डै चार हजार ५०० शान्ति सेनाप्रति हामी श्रद्धाञ्जली अर्पण गर्दछौँ, जसमा गत वर्ष निधन भएका ५९ जना पनि समावेश हुनुहुन्छ । शान्तिको सेवामा कसैले पनि ज्यान गुमाउन नपरोस् ।”

    उनले थप भनेका छन्, “तनाव बढिरहेको यस समयमा शान्ति स्थापना स्थायित्व र आशा पुनःस्थापित गर्ने प्रमाणित तथा लागत–प्रभावकारी उपाय हो । तर यसका लागि निरन्तर राजनीतिक समर्थन र भरपर्दो वित्तीय सहयोग आवश्यक हुन्छ ।”

    विशेष समारोहका क्रममा महासचिव गुटेरेसले ‘असाधारण साहसका लागि क्याप्टेन म्बाये डियाग्ने पदक’ उरुग्वेका कर्पोरल माटियास रेयेसलाई प्रदान गर्नेछन् । उनले सन् २०२५ को प्रारम्भमा कङ्गो लोकतान्त्रिक गणतन्त्रको पूर्वी क्षेत्र गोमामा सङ्कट उत्कर्षमा पुगेका बेला साहसिक भूमिका निर्वाह गरेका थिए । त्यस्तै, दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसङ्घीय मिसनमा निजी ठेकेदारका रूपमा कार्यरत रहँदा गत वर्ष मार्चमा घेराबन्दीमा परेका सैनिकहरूको उद्धार अभियानका क्रममा मारिएका युक्रेनका स्वर्गीय सर्गी प्राइकोडकोलाई पनि उक्त पदक प्रदान गरिनेछ ।

    महासचिव गुटेरेसले सन् २०२५ का लागि ‘वर्षकै उत्कृष्ट सैन्य लैङ्गिक पक्षधर’ पुरस्कार लेबनानस्थित संयुक्त राष्ट्रसङ्घीय अन्तरिम बलमा कार्यरत भारतकी मेजर अभिलाषा बराकलाई तथा ‘वर्षकै उत्कृष्ट महिला प्रहरी अधिकारी’ पुरस्कार दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसङ्घीय मिसनमा कार्यरत जर्मनीकी स्टेफानी कोनिग्सलाई प्रदान गर्नेछन् ।


    संयुक्त राष्ट्रसङ्घको शान्ति अभियानसम्बन्धी उपमहासचिव जाँ–पियरे लाक्र्वाले पनि दिवसको पूर्वसन्ध्यामा सन्देश जारी गरी शान्ति स्थापनामा लगानी गर्नु भनेको स्थायित्व, रोकथाम र शान्तिको सम्भावनामै लगानी गर्नु हो भनी उल्लेख गरेका छन् । उनले भनेका छन्, “द्वन्द्व बढिरहेको र स्रोतसाधन खुम्चिँदै गएको समयमा पनि संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाले सर्वसाधारणको सुरक्षा गरिरहेका छन्, हिंसा फैलिनबाट रोकिरहेका छन् र विश्वका सबैभन्दा कठिन परिस्थितिहरूमा आशालाई जीवित राखिरहेका छन् ।”

  • एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छः परराष्ट्र मन्त्री

    एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छः परराष्ट्र मन्त्री

    काठमाडौँ, १४ जेठः परराष्ट्रमन्त्री शिशिर खनालले हाल छलफलका लागि सार्वजानिक गरिएको गैरआवासीय नेपालीसम्बन्धी विधेयकको मस्यौदमा सबै सरोकार भएका निकायका प्रतिनिधिसँग व्यापक छलफल हुने बताएका छन् । एशोसिएशन अफ नेपाली ओरिजिन (एएनओ) केन्द्रीय समितिका तर्फबाट उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त नेतृत्वको प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा भएको भेटमा उनले हाल सार्वजनिक भएको मस्यौदा एकप्रकारले ‘शून्य ड्राफ्ट’ भएको जानकारी दिँदै त्यसमा सबै पक्षसँग बृहत् छलफल गरेर मात्र संसद्मा पेस हुने बताए ।


    एएनओले ऐनको सार्वजनिक मस्यौदाका कतिपय बुँदा अव्यावहारिक रहेका र विदेशिएका नेपालीलाई नेपालसँग जोड्नका लागि पर्याप्त नरहेको भन्दै मन्त्री खनालको ध्यानाकर्षण गराएको थियो । एएनओको ध्यानाकर्षणपत्र ग्रहण गर्दै मन्त्री खनालले यो विधेयकका सम्बन्धमा आफूले प्रश्नावली तयार गरेको बताउँदै संसद्मा पेस गर्नुअघि यस विषयमा सरोकार भएकाहरू सबैसँग रायसुझाव लिइने आश्वासन दिए ।


    त्यस अवसरमा उपाध्यक्ष पन्तले उक्त प्रस्तावित कानुनले नेपाली पन र नेपाली मनलाई नेपालसँग दीर्घकालसम्म सेतुका रुपमा जोड्न सक्नुपर्ने धारणा राखे । उक्त पत्रमा नेपाली उत्पत्तिका व्यक्तिसम्बन्धी परिभाषामा संशोधनको आवश्यकता रहेको, तीनपुस्ताभित्र र त्यस बाहिरका पुस्ताका विदेशिएका नेपालीलाई सम्बोधन गर्न मस्यौदामा व्यापक छलफल र परिमार्जनको आवश्यकता रहेको उल्लेख छ । प्रतिनिधिमण्डलमा एएनओका महासचिव चूडामणि भट्टराई, बोर्ड अफ ट्रस्टी सदस्य बाबुकृष्ण कार्की, एएनओ नेपालका अध्यक्ष कृष्णप्रसाद सापकोटालगायत थिए ।

  • सभामुखले विदेशमा रहने नेपालीलाई भने : नेपाल फर्कन तयारी हुनुहोस

    सभामुखले विदेशमा रहने नेपालीलाई भने : नेपाल फर्कन तयारी हुनुहोस

    मलेखु (धादिङ), १४ जेठः सभामुख डोलप्रसाद अर्यालले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कन आग्रह गरेका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारस्थित नृसिंहधाममा आयोजित एक महिने पुरुषोत्तम महोत्सव अवलोकनमा पुगेका सभामुख अर्यालले सो धारणा राखेका हुन् । पुरुषोत्तम महोत्सव स्थलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभामुख अर्यालले देशको संविधान र कानुनको पूर्ण पालना गर्न सरकार कटिबद्ध रहेको धारण राखे ।

  • विभिन्न मुलुकका लागि राजदूत पदमा आवेदन-सिफारिस आह्वान

    विभिन्न मुलुकका लागि राजदूत पदमा आवेदन-सिफारिस आह्वान

    काठमाडौँ, १४ जेठः परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकहरूका लागि रिक्त नेपालको राजदूत पदमा आवेदन\सिफारिसका लागि आह्वान गरेको छ । मुलुकको परराष्ट्र नीति, अन्तरराष्ट्रिय सम्बन्ध र कूटनीतिको प्रभावकारी सञ्चालन तथा प्रवर्द्धन गर्नका लागि मन्त्रालयले आज राजदूत पदमा योग्य तथा इच्छुक नेपाली नागरिकको दरखास्त÷सिफारिस आह्वान गरेको हो । मन्त्रालयको सूचनाअनुसार यस नियुक्ति प्रक्रियाअन्तर्गत इच्छुक तथा योग्य उम्मेदवारहरूले स्वयंले पनि आफ्नो दरखास्त पेस गर्न सक्नेछन् । साथै अन्य कुनै व्यक्ति तथा निकायले योग्य उम्मेदवारको नाम सिफारिस गर्न सक्ने व्यवस्था गरिएको छ ।

    राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ को अधीनमा रही तयार गरिएको वेबसाइटमा उपलब्ध कार्यशर्तबमोजिमको आवश्यक योग्यता पुगेका उम्मेदवारको सिफारिस गर्न सकिनेछ । सम्भावित उम्मेदवारहरूको आवेदन÷सिफारिस गर्दा मन्त्रालयको वेबसाइटमा उपलब्ध फारममार्फत विस्तृत व्यक्तिगत विवरणलगायतका कागजातहरू पेस गर्नुपर्नेछ वा मन्त्रालयले दिएको इमेल ठेगानामा सम्पर्क पनि गर्न सकिने सूचनामा उल्लेख छ ।

    दरखास्त÷सिफारिस बुझाउने अन्तिम मिति यही जेठ २२ गते अपराह्न ५ः०० बजेसम्म निर्धारण गरिएको छ भने रीत नपुगेका वा तोकिएको म्याद नाघी आएका आवेदनहरूलाई छनोट प्रक्रियामा समावेश नगरिने सूचनामा उल्लेख छ । त्यसैगरी, मन्त्रालयले प्राप्त आवेदन तथा सिफारिसहरूबाट प्रारम्भिक सूची तयार गरी योग्यता र उपयुक्तताका आधारमा उम्मेदवारहरूको ‘सर्टलिस्ट’ गर्नेछ र ‘सर्टलिस्ट’मा परेका उम्मेदवारहरूलाई मात्र थप प्रक्रियाका लागि सम्पर्क गरिने छ ।

  • नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक सम्पन्न

    नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक सम्पन्न

    काठमाडौँ, १४ जेठः नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक बुधबार काठमाडौँमा सम्पन्न भएको छ । नेपाल र स्विट्जरल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसर पारेर आयोजित उक्त बैठकमा दुई देशबीचको समग्र सम्बन्ध र सहकार्यका विविध पक्षबारे समीक्षा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा दुवै पक्षले दुई देशबीचको लामो समयदेखिको मित्रता र घनिष्ठ साझेदारीको प्रशंसा गर्दै आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने तथा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार नेपाली पक्षले स्विस पक्षलाई नेपालको पछिल्लो राजनीतिक तथा आर्थिक अवस्थाबारे जानकारी गराउँदै सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, डिजिटल रूपान्तरण तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई नयाँ सरकारका प्राथमिकताका रूपमा प्रस्तुत गरेको थियो । साथै जलविद्युत् उत्पादन तथा प्रसारण, पर्यटन र सूचना प्रविधि क्षेत्रको विकास सरकारका प्रमुख आर्थिक लक्ष्य रहेको जानकारी पनि गराइएको थियो ।

    नेपाली पक्षले स्विस सरकारद्वारा स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसनमार्फत नेपाललाई निरन्तर प्राथमिकतामा राखिएकोप्रति आभार व्यक्त गरेको थियो । सङ्घीयता कार्यान्वयन, झोलुङ्गे पुल निर्माण, आप्रवासन व्यवस्थापन, सामुदायिक वन, प्राविधिक तथा व्यावसायिक शिक्षा र विपद् प्रतिरोधात्मक क्षमता अभिवृद्धिजस्ता क्षेत्रमा स्विट्जरल्याण्डले पु¥याएको सहयोगको प्रशंसा गर्दै नेपालको प्राथमिकताअनुसार सहयोगको दायरा अझ विस्तार गर्न आग्रह गरिएको थियो ।

    बैठकमा जलवायु परिवर्तनलगायत साझा चासोका क्षेत्रीय तथा विश्वव्यापी विषय र बहुपक्षीय मञ्चमा सहकार्यका विषयमा पनि विचार आदानप्रदान भएको थियो । दुवै पक्षले प्रस्तावित समझदारीपत्र तथा सम्झौताहरू शीघ्र निष्कर्षमा पु¥याउने सहमति जनाएका छन् । बैठकमा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयका युरोप महाशाखा प्रमुख तथा सहसचिव गणेशप्रसाद ढकाल र स्विट्जरल्याण्डको सङ्घीय परराष्ट्र विभागअन्तर्गत एसिया तथा प्रशान्त महाशाखाका प्रमुख मार्कस लाइटनरले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बैठकको सहअध्यक्षता गरेका थिए ।


    नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको युरोप महाशाखा तथा सम्बन्धित मन्त्रालयका अधिकारी सहभागी थिए भने स्विस प्रतिनिधिमण्डलमा नेपालका लागि स्विस राजदूत डानिएल मेउलीसहित उक्त महाशाखाका पदाधिकारी र यहाँस्थित स्विस दूतावासका अधिकारी सहभागी थिए ।

    यसैगरी, बुधरबार नै स्विस प्रतिनिधिमण्डलले परराष्ट्र सचिव अमृतबहादुर राईसँग उनको कार्यकक्षमा शिष्टाचार भेट गरेको थियो । उक्त अवसरमा दुवै पक्षले संयन्त्रको बैठकका उपलब्धिप्रति सन्तोष व्यक्त गरेका थिए । नेपाल र स्विट्जरल्याण्डबीच संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्रमा सन् २०१५ नोभेम्बर ४ मा हस्ताक्षर भएको हो ।

  • स्वच्छतामन्त्री मेहताको भूटानी समकक्षीसँग भेटवार्ता

    स्वच्छतामन्त्री मेहताको भूटानी समकक्षीसँग भेटवार्ता

    काठमाडौँ, १३ जेठः स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र भूटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुकबीच भेटवार्ता भएको छ । स्विट्जरल्याण्ड जेनेभामा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७९औँ विश्व स्वास्थ्यसभामा मङ्गलबार उनीहरुबीच भेटवार्ता भएको मन्त्रालय सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । सो अवसरमा नेपाल र भुटानको समस्या करिब उस्तै रहेकाले आपसी सहयोग र सहकार्यका आधारमा समाधान गर्नुपर्ने सहमति भएको मन्त्रालयले जनाएको छ ।

    भेटका क्रममा स्वास्थ्य क्षेत्रमा लचिलो, समावेशी र जनमुखी स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ पार्ने विषयमा पनि उनीहरुबीच छलफल भएको डा अधिकारीले बताए । सो क्रममा उनीहरुबीच दुई देशबीचको स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउन सहकार्य गर्ने विषयमा समझदारी भएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए । यसअघि मन्त्री मेहताले सभामा भारतीय र चिनियाँ समकक्षीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।

  • पोर्चुगलको कोइम्ब्रामा दूतावासको घुम्ती सेवा

    पोर्चुगलको कोइम्ब्रामा दूतावासको घुम्ती सेवा

    लिस्बन (पोर्चुगल), १३ जेठः लिस्बनस्थित नेपाली दूतावासले पोर्चुगलको कोइम्ब्रा क्षेत्रमा बसोबास गर्ने नेपालीलाई लक्षित गर्दै राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा प्रदान गरेको छ । दूतावासले कोइम्ब्राको मरिन्हा दास ओन्दासमा दुईदिने घुम्ती शिविर सञ्चालन गरेर त्यहाँ रहेका नेपालीलाई राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा प्रदान गरेको हो । घुम्ती शिविरबाट कूल ८२ जना सेवाग्राही नेपालीले सेवा लिएको दूतावासका प्रथम सचिव रामबाबु नेपालले जानकारी दिए ।


    जसमा ४० जना नेपालीको विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरिएको छ । यस्तै नौ जनाको प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) प्रमाणीकरण, ३१ जनाको शैक्षिक तथा अन्य कागजात प्रमाणीकरण र दुई जनाको राहदानी वितरण गरिएको नेपालले बताए । शिविरबाट छ हजार ७४५ युरो अर्थात् झण्डै रु १२ लाख राजस्व सङ्कलन भएको उनले बताए ।
    राजधानी लिस्बनदेखि टाढा रहेका नेपालीलाई सोही स्थानमै पुगेर सहज रुपमा दूतावासको सेवा उपलब्ध गराउने उद्देश्य अनुरुप घुम्ती सेवा सञ्चालन गरिएको नेपालले बताए ।

    शनिबार र आइतबार सञ्चालन भएको शिविरमा राहदानीको म्याद सकिएका, राहदानीको म्याद एक वर्षभन्दा कम भएका, क्षति भएका, हराएका र बालबालिकाको विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरिएको थियो । तयार भएर आएको राहदानी वितरण, प्रहरी रिपोर्टलगायतका अन्य कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा प्रदान गरिएको दूतावासले जनाएको छ ।

    दूतावासले मदेइराको फुन्चालमा आगामी जुन ५ र ६ तारिख र एजोरेसको पोन्टा डेलगाडामा आगामी जुन २० र २१ तारिखमा घुम्ती शिविर सञ्चालन गरी सो क्षेत्रका नेपालीलाई सेवा प्रदान गर्ने जनाएको छ । यसअघि दूतावासले पोर्चुगलको फारो, मदेइरा, पोर्तो र ओदिमिरामा घुम्ती शिविर सञ्चालन गरेर नेपालीलाई सेवा प्रदान गरेको थियो ।

  • परराष्ट्रमन्त्रीद्वारा ‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन आग्रह

    परराष्ट्रमन्त्रीद्वारा ‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन आग्रह

    काठमाडौँ, १२ जेठः परराष्ट्रमन्त्री शिशिर खनालले विदेशमा रहेका नेपालीलाई ‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन आग्रह गरेका छन् । कन्सुलर सेवा विभागले आज यहाँ आयोजना गरेको ‘मोफा मित्र’ मोबाइल एप शुभारम्भ कार्यक्रममा उनले सार्वजनिक सेवालाई थप सहज र नागरिकमैत्री बनाउन उक्त एप प्रभावकारी हुने विश्वास व्यक्त गरे । “विदेशमा काम गर्न जानेहरू गएको देशका नियम, कानुनका विषयमा जानकारी नहुने भएकाले कन्सुलर सेवाको काम बढेको छ,” उनले भने, “विदेशमा रहेकाका आफन्तलाई कुनै जानकारी दिन पनि यो सेवा सहयोगी हुने छ ।”

    यो सेवा ७७ वटै जिल्ला प्रशासन कार्यालय, विदेशस्थित सबै कूटनीतिक नियोगमा पनि पुगिसकेको छ । कानुनी सेवा अहिले ५०० स्थानीय तहमा पुगिसकेको जानकारी पनि कार्यक्रममा गराइएको थियो । आगामी आर्थिक वर्षमा यो सेवा सबै स्थानीय तहमा लैजाने कार्यक्रम रहेको मन्त्री खनालले बताए । ‘मोफा मित्र’ मोबाइल एपबाट सहजरूपमा अनलाइन निवेदन दिन सकिने व्यवस्था गरिएको छ । यसबाट सम्बन्धित नियोगबाट थप सहयोग लिन सकिने व्यवस्था एपमा गरिएको छ । प्रविधिमार्फत् सेवाको पहुँच बढाउने लक्ष्यअनुसार सुरु गरिएको सेवामा प्रविधिमा विकास आएसँगै विस्तार गर्दै जाने पनि उनको प्रतिबद्धता छ ।

    अनौपचारिक रूपमा भारतमा रहेका नेपाली बाहेक विधिवत् रूपमै ५० लाख नेपाली विभिन्न सेवामा विदेशिएका छन् । अप्ठ्यारो परेका विषयमा मोबाइल एप डाउनलोड गरेर गुनासो पनि राख्न सकिने छ । विभागका महानिर्देशक दुरपदा सापकोटाले विदेशमा रहेका नेपालीको हक हितको संरक्षण र अप्ठ्यारो परेका बेला सहयोग लिन एप प्रयोग हुने बताए । एप र मोबाइल प्रणालीमा लिङ्क गरिएको पनि उनले सुनाए । शव व्यवस्थापन, क्षतिपूर्ति, बीमा दावीलगायत विषयका लागि एपबाट सहज हुने विश्वास गरिएको छ । विदेश जाने नेपालीको सङ्ख्या बढिरहेकाले यो एप प्रभावकारी हुनेछ ।

    विभागका सूचना प्रविधि अधिकृत नवीनकुमार झाले विदेशमा भएका नेपाली नागरिक लक्षित मोबाइल एप आएको बताए । यसबाट सोधपुछ, उद्धार, गुनासो, शव व्यवस्थापनलगायत सेवा लिन सकिने बताए । मोबाइल एपबाट अपडेट गरेपछि सेवा लिनुपर्ने सम्बन्धित नियोगमै जाने गरी व्यवस्था मिलाइएको पनि सूचना प्रविधि अधिकृत झाले बताए । एपबाट निवेदन गरेपछि के के हुन्छ, मोबाइलबाट हेर्न सकिने गरी व्यवस्था गरिएको छ ।

  • शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतहरुको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतहरुको शिष्टाचार भेट

    काठमाडौँ, ११ जेठः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)मा आबद्ध विभिन्न मुलुकका राजदूतहरुले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज नेपालस्थित इयूको कार्यालयका डेपुटी हेड अफ मिसन थोमस मिलर तथा लिथुवानिया, साइप्रस, चेक रिपब्लिक, लक्जेम्बर्ग, रोमानिया, डेनमार्क र नेदरल्याण्डका गैरआवासीय राजदूतहरुले शिक्षामन्त्री पोखरेलसँग संयुक्त रुपमा भेटवार्ता गरेका हुन् । भेटमा द्विपक्षीय सम्बन्ध, शिक्षा क्षेत्रमा सहकार्यलगायत विषयमा विचार–विमर्श भएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।

    नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा इयूलगायत मुलुकले गर्दै आएको सहयोगका निम्ति धन्यवाद दिँदै आगामी दिनहरूमा यी देशहरुसँग थप साझेदारी बढाउन मन्त्रालय तत्पर रहेको बताए । मन्त्री पोखरेलले सरकारको नीति र प्राथमिकताबारे जानकारी गराउँदै विद्यमान शिक्षाका समावेशिता, पूर्वाधार विकास शिक्षक पेसागत विकास लगायतका क्षेत्रमा भविष्यमा थप सहकार्य गर्न सकिने विचार व्यक्त गरे । शिक्षामा प्रविधिको पहुँच विस्तार, उच्च शिक्षामा साझेदारिता आदि विषयमा एक अर्का मुलुकहरूबीचको समन्वयलाई बलियो बनाएर लैजानुपर्नेमा उनले जोड दिए ।

    मन्त्री पोखरेलले मन्त्रालयले चालेका कदमबारे थप प्रष्ट पार्दै शिक्षामा डिजिटाइजेसन, उच्च शिक्षामा विद्यार्थी मात्रै नभएर विश्वविद्यालयहरूका ‘फ्याकल्टी मेम्बर’ को एक्सचेन्जका कार्यक्रमहरू सञ्चालन गर्न तथा भविष्यमा शैक्षिक संस्था र विश्वविद्यालयहरूसँग थप सहकार्य तथा साझेदारीता बढाउन मन्त्रालय तयार रहेको उल्लेख गरे । मन्त्री पोखरेलले उच्च शिक्षाको पुनःसंरचना गर्न लागिरहेको सन्दर्भमा विभिन्न मुलुकको विज्ञता र अनुभव साझा गर्न आग्रह गरे ।

    उनले दुईदेशबीचमा खुला छलफलबाट आगामी दिनमा के कस्ता सहकार्य गर्न सकिने धारणा राखे ।
    युरोपेली सम्बद्ध मुलुकका प्रतिनिधिहरूले नेपालको परिवर्तित सन्दर्भमा सरकारको प्राथमिकताको क्षेत्रका साथै नेपालको शिक्षा, खासगरी उच्च शिक्षामा सहकार्य र साझेदारी गर्न चासो देखाउनुभएको थियो । साथै, उहाँहरूले नेपालको नयाँ सरकारको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न सिङ्गो इयू इच्छुक रहेको बताउँदै नेपालको शिक्षा क्षेत्रमा भइरहेको सहयोगलाई निरन्तरता दिने र उच्च शिक्षामा कसरी सहकार्य तथा साझेदारीलाई अगाडि बढाउने विषयमा जोड दिएका थिए ।

    साइप्रस, रोमानिया, नेदरल्याण्डलगायत मुलुकका राजदूतहरूले शिक्षाको क्षेत्र विशेषतः उच्च शिक्षाको क्षेत्रमा सहकार्य गर्न आफूहरू तत्पर रहेको बताए । नेपालबाट साइप्रस, रोमानिया लगायतका देशहरूमा उच्च शिक्षा अध्ययनका लागि नेपालीहरु जाने गरेका सन्दर्भमा दुई देशबिचको सम्बन्धलाई थप बिस्तार गरेर अगाडि बढ्नुपर्ने उनीहरुको जोड थियो ।

  • वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    काठमाडौँ, ११ जेठः सङ्गीत क्षेत्रमा ख्याति कमाउनुभएका वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्यायलाई भारतमा ‘कलाक्षेत्रम’ पुरस्कारबाट सम्मान गरिएको छ । राजोपाध्यायलाई महाराष्ट्रको पुणेमा अखिल लोककला कल्चरल अर्गनाइजेसनले आयोजना गरेको भारत उत्सव २०२६ मा पुरस्कार प्रदान गरेको हो ।
    अर्गनाइजेसनका महासचिव डा प्रमोद नानवरेका अनुसार भारत उत्सवमा भारतका विभिन्न राज्यका तीन हजार ५०० भन्दा बढी कलाकारले भारत नाट्यम, कत्थकलगायत लोककला प्रस्तुत गरेका थिए ।

    यही मे १६ देखि २२ तारिखसम्म भएको भारत उत्सवमा राजोपाध्यायलाई निर्णायकको जिम्मेवारी सम्हाल्न निमन्त्रणा दिएको थियो । निर्णायक भूमिका निर्वाह गर्न पुणे पुग्नुभएका उहाँलाई प्रतिष्ठित कलाक्षेत्रमबाट सम्मान गरिएको हो । यसभन्दा अघि पनि नेपालको कला र संस्कृतिलाई अन्तरराष्ट्रिय मञ्चसम्म पुर्‍याउँदै आएका उहाँलाई भारतको विभिन्न राज्यमा भएका कार्यक्रमहरूमा ‘सुरताल अन्तरराष्ट्रिय सम्मान पुरस्कार २०२५’, ‘विविधता मे एकता राष्ट्रिय सम्मान २०२०’, ‘इन्डियन बेस्टिज अवार्ड–२०१९’, पश्चिम बङ्गाल सरकारबाट ‘सङ्गीतमंजरी’ उपाधि लगायतका सम्मान प्रदान गरिएको थियो । त्यसैगरी, सन् २०१५ मा गुजरातमा सुरिल साँझका तर्फबाट ‘स्वर्णपत्र’ प्रदान गरिएको थियो ।

    नेपालका सन्दर्भमा उनले रेडियो नेपालबाट सन् २००२ मा भएको जिल्लाव्यापी सङ्गीत प्रतियोगितामा प्रथम पुरस्कार पाउनुभएको थियो भने शास्त्र सम्मान २०१८, सेभ दी नेसन अवार्डलगायत पुरस्कार तथा सम्मान पाएका थिए । सरोदवादनबाहेक उनका नेपालीमा पलपल, पानीसरी, त्यो रात, नेपाल भाषामा नसला, हसना, छन्हुनिन्हू, छगू मतिना, शास्त्रीय सङ्गीततर्फ वनडे रागाज, सोलफुल म्युजिक फर मेडिटेसन, भारतबाट सुरिल म्युजिक इन २०१५ लगायत सिडी तथा क्यासेटहरू प्रकाशित भएका छन् ।

  • चीनको ग्वाङ्झाउमा नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ सम्मान

    चीनको ग्वाङ्झाउमा नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ सम्मान

    १० जेठ, काठमाडौं । चीनको ग्वाङ्झाउमा आयोजित ग्वाङ्झाउ अन्तर्राष्ट्रिय ट्राभल फेयर ९जीआईटीएफ० २०२६ मा नेपालले ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ सम्मान प्राप्त गरेको छ । नेपालको प्राकृतिक सौन्दर्य, आध्यात्मिकता, सांस्कृतिक विविधता तथा साहसिक पर्यटनको आकर्षणको आधारमा नेपाललाई उक्त सम्मान प्रदान गरिएको हो ।

    नेपाल पर्यटन बोर्डले २१ देखि २३ मे २०२६ सम्म आयोजित तीनदिने अन्तर्राष्ट्रिय पर्यटन मेलामा “नेपालः अ लाइफटाइम एक्सपेरियन्स” भन्ने नारासहित नेपालको सहभागिता समन्वय गरेको थियो । मेलामा नेपालले वेलनेस, सांस्कृतिक, धार्मिक, साहसिक, आउटडोर तथा लक्जरी पर्यटनका विविध सम्भावनाबारे अन्तर्राष्ट्रिय आगन्तुक तथा ट्राभल ट्रेड व्यवसायीलाई जानकारी गराएको थियो ।

    चीनको ग्वाङ्झाउ सहर हङकङ तथा ग्रेटर बे एरिया नजिकको प्रमुख व्यापारिक तथा पर्यटन केन्द्र भएकाले नेपाली पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण बजारका रूपमा हेरिएको छ । विशेषगरी वेलनेस, धार्मिक, सांस्कृतिक र लक्जरी पर्यटनका क्षेत्रमा चिनियाँ पर्यटक आकर्षित गर्ने सम्भावना उच्च रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

    मेलाको उद्घाटन दिन २१ मेमा नेपाली सांस्कृतिक नृत्य प्रस्तुति तथा ‘डेस्टिनेसन नेपाल’ सम्बन्धी विशेष प्रस्तुति आयोजना गरिएको थियो । उक्त कार्यक्रममा नेपाली कला, संस्कृति र पर्यटन सम्पदाबारे चिनियाँ आगन्तुक तथा पर्यटन व्यवसायीलाई जानकारी गराइएको थियो ।

    २२ मे मा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक विमल कँडेलले नेपालको पर्यटन सम्भावना, गन्तव्य र प्रवर्द्धन रणनीतिबारे ‘कन्ट्री प्रेजेन्टेसन’ दिएका थिए । उनले नेपालको पर्यटन बजार विस्तार रणनीतिबारे आयोजित प्यानल छलफलमा समेत सहभागिता जनाएका थिए । बोर्डका वरिष्ठ अधिकृत प्रदीप बस्नेतसहितको टोलीले मेलामा नेपालको प्रतिनिधित्व गरेको थियो ।

    नेपालको स्टलमा ‘स्पिन एन्ड विन’ लक्की ड्र कार्यक्रम तथा वेलनेस पर्यटन प्रवर्द्धनअन्तर्गत नेपाली सिङ्गिङ बाउलको प्रदर्शन मुख्य आकर्षणका रूपमा रहेका थिए । मेलामा नेपालका आठ पर्यटन व्यवसायी कम्पनी सहभागी भएका थिए । सहभागी कम्पनीहरूले ट्रेकिङ, भ्रमण, होटल तथा आतिथ्य सेवासम्बन्धी प्याकेजहरूबारे चिनियाँ तथा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीलाई जानकारी दिएका थिए ।

    यसअघि नेपाल पर्यटन बोर्डले २० मे २०२६ मा ग्वाङ्झाउस्थित नेपाली महावाणिज्य दूतावाससँगको सहकार्यमा चीनको सेन्जेनमा आयोजित “नेपालः अ लाइफटाइम एक्सपेरियन्स” पर्यटन प्रवर्द्धन तथा बीटुबी नेटवर्किङ कार्यक्रममा पनि सहभागिता जनाएको हो ।

    हाल नेपाल वायुसेवा निगम र चाइना साउदर्न एयरलाइन्सले काठमाडौं–ग्वाङ्झाउ सिधा उडान सञ्चालन गरिरहेका छन् । यसले नेपाल र चीनबीचको पर्यटन पहुँच विस्तार हुनुका साथै चिनियाँ पर्यटक आगमन बढाउन सहयोग पुग्ने बोर्डको विश्‍वास छ ।

  • इबोला सङ्क्रमित मुलुकबाट अमेरिका प्रवेशमा कडाइ

    इबोला सङ्क्रमित मुलुकबाट अमेरिका प्रवेशमा कडाइ

    लस एन्जलस (अमेरिका), ९ जेठ (रासस–सिन्ह्वा) । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले कानुनी मान्यता प्राप्त स्थायी बासिन्दाहरू (ग्रीन कार्ड धारकहरू) लगायत अमेरिका प्रवेश गर्ने मानिसहरुलाई पूर्वी र मध्य अफ्रिकामा चलिरहेको इबोला प्रकोपका कारण अस्थायी प्रवेशमा कडाइ हुने जनाएको छ । विस्तारित प्रतिबन्ध अन्तरगत अमेरिकी मावन स्वास्थ्य विभागद्वारा जारी गरिएको अन्तरिम नियमको पालना गर्दछ जसले संयुक्त राज्य अमेरिकामा खतरनाक सङ्क्रामक रोगहरूको विस्तार रोक्न संघीय सार्वजनिक स्वास्थ्य निर्देशनहरू संशोधनसमेत गरेको छ ।

    नयाँ नियम अन्तरगत, विगत २१ दिन भित्रको समयमा कङ्गो, युगान्डा, वा दक्षिण सुडानमा रहेका मानिसहरूलाई अस्थायी रूपमा संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न प्रतिबन्ध लगाइने छ । एजेन्सीका अनुसार हाल यस हप्ताको सुरुमा घोषणा गरिएको इबोला प्रकोपसँग सम्बन्धित प्रवेश प्रतिबन्धहरूको दायरा विस्तार गरेको हो । सोमबार, सीडीसीले सार्वजनिक स्वास्थ्य संरक्षणार्थ ३०–दिनको प्रतिवन्द प्याकेजको अनावरण गरेको थियो जसमा यात्री स्क्रिनि र अनुगमनलाई सुदृढ पार्दै, केही गैर अमेरिकीहरुलाई अमेरिका प्रवेशमा प्रतिबन्धहरू लगाएको थियो ।

    नयाँ नियमले स्थायी रूपमा अमेरिका बसोबास गर्ने कार्ड भएकाहरुलाईसमेत अमेरिका फर्कन पूर्ण रुपमा निषेध गरेको जनाइएको छ । सार्वजनिक स्वास्थ्यको रक्षा गर्न र आपतकालीन प्रतिक्रिया स्रोतहरू व्यवस्थापन गर्न आवश्यक उल्लेख गर्दै अस्थायी रूपमा प्रवेश प्रतिबन्ध गर्ने अधिकार एजेन्सीलाई प्रदान गरेको जनाइएको छ । सीडीसीका अनुसार संयुक्त राज्य अमेरिकामा हाल सम्म इबोला प्रकोपसँग सम्बन्धित कुनै घटनाहरू रिपोर्ट गरिएको छैन, भने आम जनताका लागि तत्काल जोखिम कम रहेको जनाइएको छ ।