Category: डायस्पोरा

  • त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

    त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

    कैलाली, ३ पुुस । चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुुनः रोजगारीका लागि भारततर्फ लाग्ने क्रम बढेको छ । यहाँको त्रिनगर नाकाहुँदै दिनहुँ ठूलो सङ्ख्यामा नेपालीहरू रोजगारीको लागि भारततर्फ जाने क्रम बढेको हो । उनीहरू चाडपर्वसँगै खेतीपातीको काम सकेर फर्किन थालेका हुन् ।


    त्रिनगरसीमास्थित सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म धनगढीका अनुुसार यही एक सातामा तीन हजार ७०१ जना नेपाली भारततर्फ लागेका छन् । “नेपालमा सहजै रोजगारी पाइँदैन, यदि पाइहाल्यो भने पनि यहाँको कमाइले घरखर्च धान्न पनि धौधौ पर्दछ,” अछामको रामारोशनका मङ्ल परियारले भने, “भारतमा रोजगारी सहजै पाइने र कमाएको पैसा पनि एकमुुष्ट देखिने भएकाले धेरैजसो म जस्ता बेरोजगार भारत जाने गरेका छौँ ।”

    त्यस्तै सोही नाकाबाट मुम्बई तर्फ लाग्नुभएका चुरे गाउँपालिकाका झलक साउदले पनि आफू घरको सबै काम सकेर फेरि रोजगारीको लागि फकिएको बताउँनुुभयो । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका सर्वसाधारण मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबाद लगायत ठूला सहर जाने गर्छन् ।

  • नेपालको एपिएफ क्लब साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा

    नेपालको एपिएफ क्लब साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा

    काठमाडौँ, २ पुस । राजधानीमा जारी साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालको एपिएफ क्लब समूह उपविजेता बन्दै फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेरश्वरस्थित दशरथ रङ्गशालामा आज भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा भारतको इस्ट बङ्गालसँग गोलरहित बराबरीमा खेल्दै एपिएफ उपविजेताका रुपमा फाइनलमा प्रवेश गरेको हो ।

    त्यसैगरी बराबरी खेलसँगैँ इस्ट बङ्गाल पनि समूह विजेता बन्दै प्रतियोगिताको फाइनलमा पुग्यो । खेलको विभिन्न समयमा पाएको अवसर दुवै टोलीले सदुपयोग गर्न नसकेपछि खेलमा गोल हुन सकेन । फाइनल खेल यही पुस ५ गते हुनेछ ।

  • भैरहवाबाट जहाज चढेर कतार उडे खगेन्द्र प्रसाद र रुद्रकली (फोटो फिचर)

    भैरहवाबाट जहाज चढेर कतार उडे खगेन्द्र प्रसाद र रुद्रकली (फोटो फिचर)

    २ पुस, काठमाडौं । नेपाल सरकारले उपहार स्वरुप प्रदान गरेका जोडी हात्ती (खगेन्द्रप्रसाद र रुद्रकली) भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार उडेका छन् । कतार एयरवेजको उडान नम्बर क्यू आर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर जहाज मार्फत बुधबार दिउसो ५ बजेपछि खगेन्द्रप्रसाद र रुद्रकलीलाई कतार उडाइएको हो । दुई हात्ती मंगलबार चितवनबाट भैरहवा ल्याइएको हो ।

    चितवनको सौराहाबाट रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएका दुई हात्ती खगेन्द्रप्रसाद र रुद्रकलीलाई आज विमानमार्फत कतार पठाउने क्रममा । तस्बिर : कमल रायमाझी/रासस

    आज बिहान जहाज प्रतिकुल मौसमका कारण भैरहवामा अवतरण गर्न सकेन । सो जहाज भारतको कोलकाता डाइभर्ट गरियो । त्यसपछि सो जहाज पुनः भैरहवा ल्याइएको थियो । भैरहवाबाट ४ घण्टाको उडानमा जहाज कतार पुग्ने छ । हात्तीहरूसँगै चितवनका एक जना पशु प्राविधिक, रूद्रकलीका माउते बुद्धिलाल श्रेष्ठ तथा खगेन्द्रप्रसादका माउते पाचुखा थारु पनि कतार प्रस्थान गरेका छन् । केही समय हात्तीहरूको रेखदेख गर्नेदेखि त्यहाँका कर्मचारीहरूलाई हात्तीको स्याहारसुसार गर्न सिकाएर मात्रै उनीहरू फर्किने छन् ।

    चितवनको सौराहाबाट रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएका दुई हात्ती खगेन्द्रप्रसाद र रुद्रकलीलाई आज विमानमार्फत कतार पठाइँदै । तस्बिर : मनोज क्षेत्री/रासस

    नेपाल सरकारका तर्फबाट कतारलाई उपहारस्वरूप ६ वर्षको भाले हात्ती खगेन्द्रप्रसाद र ७ वर्षकै पोथी हात्ती रुद्रकली पठाइएको हो । २०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने बाचा गरेको थियो ।
    २०७६ माघमा खगेन्द्रमली पोस्टमा कोशीकलीबाट जन्मिएको खगेन्द्रप्रसाद हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसरमा हुर्किएको हो । खगेन्द्रमली पोस्टमा जन्मिएकोले उसको नाम पनि खगेन्द्रप्रसाद नै राखिएको हो ।

    चितवनको सौराहाबाट रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएका दुई हात्ती खगेन्द्रप्रसाद र रुद्रकलीलाई आज विमानमार्फत कतार पठाउने क्रममा । तस्बिर : कमल रायमाझी/रासस

    खगेन्द्रप्रसादकी आमा कोशीकलीलाई प्रशिक्षक हात्तीसमेत भन्ने गरिन्छ । छावाहरूलाई तालिम दिन कोशीकलीलाई प्रयोग गर्ने गरिन्छ । हात्ती प्रजनन तथा तालिम केन्द्रमा घुम्न पुग्ने पर्यटकहरूलाई फूलको माला लगाएर आर्शिवाद दिने काम खगेन्द्रप्रसादले गर्दै आएको थियो । हात्ती प्रजनन केन्द्रमा २०७५ सालमा पूजाकलीको कोखबाट रुद्रकली जन्मिएकी हुन् ।

    पूजाकलीको रुद्रकली जम्मा ३ महिनाको हुँदा नै मृत्यु भएको थियो । माउको मृत्यु भएपछि रुद्रकलीलाई माउतेहरूले रेखदेख गरेर हुर्काएका थिए । यी दुवै हात्तीको बाबु जंगली हात्ती ‘रोनाल्डो’ हो । २०४४ सालमा भारतले उपहारस्वरूप दिएका १६ हात्तीलाई राखेर सौराहामा हात्ती प्रजनन केन्द्र खोलिएको थियो । भारतले हात्ती दिएपछि नेपालले भारतलाई त्यतिबेला ४ वटा एकसिंगे गैंडा दिएको थियो ।

  • प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको बिदाई भेट

    प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको बिदाई भेट

    काठमाडौं, २ पुस । प्रधानमन्त्री सुशीला कार्कीसँग आज नेपालका लागि चिनियाँ राजदूत छन सोङले शिष्टाचार भेट गरेका छन् । आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लाग्नुभएका सोङले सिंहदरबार पुगेर आज प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटका क्रममा नेपाल र चीनबीचको सम्बन्धका विविध आयाम र द्विपक्षीय हितका विषयमा पनि कुराकानी भएको थियो ।

    सो अवसरमा राजदूत सोङले चीन नेपालको घनिष्टमित्र भएकोले नेपालको विकास निर्माणका हरेक पक्षमा सहयोग गर्दै आएको र सो क्रम भविष्यमा पनि निरन्तर रहने उल्लेख गरे । प्रधानमन्त्रीले राजदूत सोङलाई आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरी स्वदेश फिर्ता हुन लाग्नुभएकोमा बधाई तथा सुखद यात्राको कामना गरिन् ।

    साथै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहनुका साथै नेपालको भूमिबाट चीनको राष्ट्रिय हितविपरीत कुनै पनि गतिविधि हुन नदिने विश्वास दिलाइन् । चीनबाट सदाझैँ नेपालको विकास निर्माणमा साथ, समर्थन र सहयोग प्राप्त हुने आशा पनि उनले व्यक्त गरेकी छिन् ।

  • वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो

    वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो

    मोहम्मद सदरुल–रासस
    विराटनगर, १ पुसः सुनसरी रामधुनी नगरपालिका–१ की सकुन्तला अधिकारी १० वर्ष खाडीमुलुक कुवेतको एक घरमा श्रम गरेर फर्किनुभयो, तर घर फर्केपछि उहाँले चरम सङ्घर्ष गर्नुप¥यो । घरपरिवार र समाजले हेर्ने दृष्टिकोण सहज नहुँदा अन्तर्जातीय विवाह गरेकी सकुन्तलाले मानसिक तनावमा जीवन बिताउनुपरेको थियो । मोरङ केराबारी–१० की जीवनकुमारी राई पटकपटक वैदेशिक रोजगारमा जानुभयो । कमाइ पनि ठीकै भयो, तर घर फर्केपछि परिवारमा कुरा मिल्न सकेन र समाजमा पुनःस्थापित हुन निक्कै चुनौतीको सामना गर्नुप¥यो ।

    सकुन्तला र जीवनकुमारी मात्र होइन वैदेशिक रोजगारबाट फर्केकाहरूले समाजमा पुनःस्थापित हुनका लागि चुनौती खेप्नुपरिरहेको छ । जसले गर्दा उनीहरू मानसिक तनाव मात्र बढेको छैन, उनीहरूले विदेशमा सिकेको सीप र अनुभव पनि खेर गइरहेको छ ।वैदेशिक रोजगारीबाट फर्केकाहरूले पारिवारिक र सामाजिक समस्याका साथै आर्थिक समस्या पनि भोग्न परिरहेको देखिन्छ ।

    इलामको सूर्योदय नगरपालिकामा पारिवारिक परामर्शदाताका रूपमा कार्यरत ईश्वरी तामाङले वैदेशिक रोजगारीबाट फर्केकाहरूको समस्याका बारेमा भन्नुभयो, “विदेशमा बस्दा नियमित पैसा आउने, खर्च गर्ने शैली पनि फरक हुने तर यहाँ फर्केपछि नियमित आम्दानी नहुने, काम गर्दा पाउने पारिश्रमिक बचत नहुने र खर्च गर्ने योजना पनि नमिल्ने गरेकाले उहाँहरूमा आर्थिक तथा पारिवारिक समस्या आउँछ ।”

    यिनै समस्यालाई मनन गर्दै नेपाल सरकारले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूलाई समाजमा पुनः एकीकरणको कामलाई नीतिगत रूपमा प्राथमिकता दिएको छ । यसका लागि सरकारले हरेक स्थानीय तहमा स्थापना गरेको रोजगार सेवा केन्द्रले सङ्घीय सरकारको नीतिगत प्राथमिकतालाई कार्यान्वयन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।

    बोलचालमा ‘रिटर्नी’ भनिने वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूका लागि सहयोगको प्रारम्भिक विन्दुको रूपमा रोजगार सेवा केन्द्रले काम गर्न थालेको छ । कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार, रोजगार सेवा केन्द्रले उनीहरूलाई आर्थिक तथा सामाजिक रूपमा समाजमा पुनःएकीकरणका लागि आर्थिक, मनोसामाजिक तथा पारिवारिक परामर्श, रोजगारी र उद्यमशीलता मार्गदर्शन, वैदेशिक रोजगारीबाट ल्याएको सीप, अनुभव र बचतको स्वदेशमा प्रभावकारी उपयोग गर्न मद्दत गर्ने काम गर्छ ।

    कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख शम्भुप्रसाद साहले वैदेशिक रोजगारबाट फर्कनेहरूलाई समाजमा पुनःएकीकरण गर्नुपर्ने कार्यको गम्भीरतालाई मनन गर्दै मन्त्रालयले इमानदारीपूर्वक कार्यसम्पादन गर्दै आएको बताउनुभयो ।

    मन्त्रालयकी भगवती ढुङ्गानाका अनुसार मन्त्रालयले प्रदेशका १० वटा स्थानीय तह, मोरङको उर्लाबारी नगरपालिका, केराबारी गाउँपालिका, कानेपोखरी नगरपालिका र मिक्लाजुङ गाउँपालिका, सुनसरीको रामधुनी नगरपालिका, झापाको मेचीनगर नगरपालिका र कमल गाउँपालिका, उदयपुरको कटारी नगरपालिका, इलामको सूर्योदय नगरपालिका तथा खोटाङको दिक्तेल बरुवा मजुवागढी गाउँपालिकाका रोजगार सेवा केन्द्रमार्फत यी कामलाई अझ तीव्रताका साथ अगाडि बढाएको छ ।

    उक्त स्थानीय तहमा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको पुनः एकीकरण ९रेमी० परियोजनाअन्तर्गत यस्ता काम भएका हुन् । रेमी परियोजना हेल्भेटास नेपालको प्राविधिक सहयोगमा नेपाल र स्विट्जरल्याण्ड सरकारको द्विपक्षीय पहलबाट सञ्चालित छ ।

    मन्त्रालयका अनुसार, १० वटा स्थानीय तहका प्रत्येक रोजगार सेवा केन्द्रका चार जना कर्मचारीहरूले विदेशबाट फर्कनेहरूलाई समाजमा पुनःस्थापना गर्न विभिन्न किसिमका सुझाव, सल्लाह, उद्यमशीलता, स्वरोजगार र सीप विकास गर्न मद्दत गर्ने गरेका छन् ।

    अर्कोतिर वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरू आफ्नो सञ्जालमा आबद्ध भएर रिटर्नीहरूको पहिचान, परामर्श र पुनः एकीकरणका काममा रोजगार सेवा केन्द्रलाई सहयोग गरिरहेका छन् । यसै क्रममा सञ्जालमार्फत केन्द्रको सम्पर्कमा पुगेर मोरङ केराबारी–१० की जीवनकुमारी राई सामाजिक रूपमा पुनःस्थापना हुनुभएको छ । हाल उहाँ सञ्जालमा आबद्ध भएर आफूजस्तै महिलाहरूलाई सामाजिक पुनःस्थापनमा सहयोग गर्दै आफूले पनि किराना पसल सञ्चालन गर्न थाल्नुभएको छ ।

    सुनसरी रामधुनी नपा–१ की सकुन्तला अधिकारीचाहिँ सञ्जालमा जोडिएर नै आफ्नो जीवन जोगिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सञ्जालमार्फत पुनः एकीकरणमा जोडिन सफल भएँ, अझै पनि समाजसँग जुधिरहेकी छु ।”

    वैदेशिक रोजगारमा गएका महिलाहरूलाई समाजले हेर्ने दृष्टिकोण अझै सकारात्मक नहुँदा रिटर्नी महिलाहरूले अझै पुनःस्थापनामा चुनौती झेल्नुपरिरहेको हो । रिटर्नी महिलाहरूलाई हेर्ने दृष्टिकोणका लागि समाज सकारात्मक नभएकै कारण आजकल धेरै महिलाहरू सञ्जालमा जोडिएर सामाजिक पुनःस्थापनाका लागि सङ्घर्ष गर्न थालेका छन् ।

    समाजशास्त्री डा चन्द्र उपाध्याय वैदेशिक रोजगारमा गएर फर्केका महिलाहरूको सामाजिक पुनस्र्थापनामा अझै समस्या रहेकाले सबै तहका सरकारले उनीहरूले सिकेको सीप प्रमाणीकरण गराउने र मनोवैज्ञानिक परामर्श प्रदान गर्ने काममा तीव्रता दिन सके समाजको धारण चाँडै सकारात्मक हुँदै जाने बताउनुहुन्छ ।

    उहाँ भन्नुहुन्छ, “विदेशमा कमाएको धन, सीप तथा अनुभवलाई सरकारले ग्रहण गरेर सदुपयोग गर्न सके मात्र समाज चाँडै सकारात्मक बन्दै जान्छ । रिटर्नी महिलाहरूका लागि पुनस्र्थापना समस्या समाधानमा पनि योगदान पुग्छ ।”

    भुक्तभोगी रिटर्नी महिलाहरूका अनुसार वैदेशिक रोजगारमा गएर राम्रो कमाई ग¥यो भने घरपरिवार र समाजमा पुनःस्थापना सहज हुन्छ, तर बीचैमा फर्कनुप¥यो वा कुनै समस्या आएमा सामाजिक पुनःस्थापनामा निक्कै चुनौती झेल्नुपर्छ । यस्तै, रोजगारमा गएका र फर्केका महिलाहरूलाई समाजले अझै फरक दृष्टिकोणले हेर्ने गरेको उनीहरूको गुनासो छ । वैदेशिक रोजगारमा गएका सबै महिला यौन शोषणमा परेका हुन्छन् र मानसिक र शारीरिक रोग बोकेर आएका हुन्छन् भन्ने गलत धारणा समाजमा अझै व्याप्त छ ।

    सामाजिक विकास मन्त्रालयका अनुसार विदेशबाट विगत तीन वर्षदेखि कोशी प्रदेशमा फर्कनेको सङ्ख्या एक हजार ९३६ रहेको छ । यो सङ्ख्या खाडीमुलुक साउदी अरेबिया, दुबई, बहराइन, कतार र ओमनबाट फर्केकाहरूको हो, जबकि नेपाली नागरिक खाडी मुलुकबाहेक अन्य मुलुकमा पनि छन् । त्यहाँबाट फर्कनेहरूको सङ्ख्या उल्लेखनीय हुने अनुमान छ । खाडी मुलुकबाट फर्कनेमा शैक्षिक रूपमा स्नातक तहका ४० जना, प्रमाणपत्र तहका १२० भन्दा बढी, एसइईका ४०० भन्दा बढी, कक्षा ६ देखि ९ सम्मका ३०० हाराहारीमा रहेको र अन्य सामान्य लेखपढ गर्नसक्ने मात्र रहेको जनाइएको छ ।

    मोरङको उर्लाबारी नगरपालिकाका रोजगार परामर्शदाता सङ्गीता कार्कीले उर्लाबारीमा विगत पाँच वर्षदेखि एक हजार १७७ जना रिटर्नी रहेको जानकारी दिनुभयो । उहाँले रिटर्नीहरूमध्ये कृषि, पशुपालन र सिटी सफारी चलाउने काम गर्छन् भने कतिपयले मजदुरी गर्ने गरेको बताउनुभयो ।

    कार्कीले भन्नुभयो, “वैदेशिक रोजगारमा रहेको समयमा घर बनाउने, घडेरी किन्नेजस्ता कार्य गरे पनि आर्थिक बचतको क्षेत्रमा कमै काम गर्ने गरेकाले उहाँहरूमा समस्या देखिएको भन्नुभयो । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूलाई समाजमा पुनः एकीकरण गर्न तालिम, रोजगारीलगायतका कार्यक्रम सञ्चालनको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ ।”

    स्थानीय तहले स्वरोजगार एवं उद्यमशीलताका लागि दिने तालिमका लागि १८ देखि ४० वर्ष उमेर समूहका लागि मात्र तोक्दिनाले त्यसभन्दा माथिका मानिसलाई तालिम लिन समस्या भइरहेको सामाजिक परिचालकहरूको भनाइ छ ।

  • रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

    रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

    चितवन, १ पुस । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्ती कतार लैजाने तयारी गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका सात वर्षको रुद्रकली र छ वर्षको खगेन्द्रप्रसाद आज बिहान ४ः०० बजे भैरहवा पुगेका हुन् । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार अहिले ती हात्तीलाई विमानस्थलको छेउमा रहेका खाली जग्गामा राखिएको छ । ती हात्तीलाई सोमबार सौराहाबाट बिदाइ गरिएको थियो । ती हात्ती राख्नका लागि बनाइएको खोरमा राखी ट्रकमा पठाइएको हो ।

    बुधबार वन तथा वातावरण मन्त्रालयका सचिव एवं राष्ट्रिय निकुञ्ज विभागका उच्च अधिकारीहरूले भैरहवामा नै कतारी दूतावासलाई ती हात्ती हस्तान्तरण गर्नुहुने छ । हस्तान्तरण गरिएपछि कार्गो विमानमार्फत ती हात्तीलाई कतार पठाइनेछ । रुद्रकली पूजाकली र खगेन्द्र कोशी कलीको बच्चा हो । खगेन्द्र र रुद्रको बाबु जङ्गली भाले हात्ती रोनाल्डो भएको उनले बताए । हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका पोथी हात्ती जङ्गली भाले हात्ती रोनाल्डो, ध्रुवे, गोविन्देजस्ता शक्तिशाली हात्तीसँगको सहवासमा गर्भवती हुने गर्दछन् । सरकारले हात्ती दिने निर्णय गरेपछि सबै प्रक्रिया पूरा गरी पठाउन लागिएको हो ।

    यसअघि नेपालले विभिन्न देशलाई एकसिङ्गे गैँडा, हात्तीलगायत वन्यजन्तु उपहारस्वरूप प्रदान गर्दै आएको छ । दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन र नेपालको जैविक विविधताको महत्व अन्तरराष्ट्रियस्तरमा परिचित गर्न वन्यजन्तु उपहार दिँइदै आइएको छ । पहिलोपटक नेपालले हात्ती उपहारस्वरुप अन्य देशमा पठाउन लागेको हो ।

  • विदेशमा पढ्न चार महिनामा बाहिरियो ४२ अर्ब ९६ करोड

    विदेशमा पढ्न चार महिनामा बाहिरियो ४२ अर्ब ९६ करोड

    काठमाडौँ, १ पुस : देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनामा शिक्षातर्फको व्यय रु ४२ अर्ब ९६ करोड बराबर रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय रु ३२ अर्ब २२ करोड थियो । अघिल्लो आवको तुलनाका चालु आवको चार महिनामा करिब रु १० अर्ब बढी रकम शैक्षिक गतिविधिका लागि देशबाट बाहिरिएको हो ।

    समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १६ दशमलव चार प्रतिशतले वृद्धि भई रु ६४ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु ५५ अर्ब ४९ करोड रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय आठ दशमलव एक प्रतिशतले वृद्धि भई रु १९ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु १७ अर्ब ७६ करोड रहेको थियो । समीक्षा अवधिमा खुद सेवा आय रु ३२ अर्ब ६८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु २३ अर्ब एक करोडले घाटामा रहेको थियो ।

  • चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो

    चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो

    काठमाडौँ, १ पुस, चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो चौमासिकमा करिब रु सात खर्ब रेमिट्यान्स भित्रिएको छ । गत कात्तिक महिनासम्म विप्रेषण आप्रवाह ३१ दशमलव चार प्रतिशतले वृद्धि भई रु छ खर्ब ८७ अर्ब १३ करोड पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । गत कात्तिक महिनामा मात्रै रु एक खर्ब ३३ अर्ब ८२ करोड बराबर विप्रेषण आप्रवाह भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार यही अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु सात खर्ब ५४ अर्ब ९३ करोड पुगेको छ । चालु आवको पहिलो चौमासिकमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ४५ हजार ९७३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख २७ हजार ८३७ रहेको बैङ्कले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

  • भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने

    भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने

    काठमाडौँ, १ पुस, भारतीय रुपैयाँ २०० र ५०० दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने भएको छ । सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्काशनमा आएका ती दरका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजारसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने व्यवस्था गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए ।

  • कतार पठाउन लागेका दुई हात्तीको बिदाइ

    कतार पठाउन लागेका दुई हात्तीको बिदाइ

    चितवन, १ पुस । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई चितवनवासीले बिदाइ गरेका छन् । सोमबार सौराहामा बिदाइ कार्यक्रमको आयोजना गरिएको थियो । प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्त, रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटासहित संरक्षणकर्मीहरुले माला, अबिर लगाएर फलफूल खुवाएर हात्तीको बिदाइ गरे । हात्तीलाई आज साँझ भैरहवाका लागि पठाइने छ भने पुस २ गते गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट कार्गो विमानमार्फत कतार पठाइने छ ।

    विदेश पठाउन लागिएका हात्तीमा सात वर्षको रुद्रकली र छ वर्षको खगेन्द्रप्रसाद रहेका छन् । हात्तीसँगै माउतेहरू रुद्रकलीका बुद्धिलाल श्रेष्ठ र खगेन्द्रका पचुखाँ चौधरी एवं पशु स्वास्थ्य प्राविधिक दिनेश ढकालसमेत कतार जाने कार्यक्रम रहेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा पन्तका अनुसार दुवै जनाले कतारमा हात्तीको स्याहारसुसारका विषयमा त्यहाँका माउतेलाई तालिम दिएर फर्कने छन् ।

    नेपाल सरकार मन्त्रिपरिषद्को विसं २०८१ कात्तिक २ गतेको निर्णयअनुसार हात्तीलाई कतार पठाउन लागिएको हो । कतारमा नेपालको वातावरण अनुकूलित हुने गरी प्राविधिकहरु गएर अध्ययन गरेपछि हात्ती पठाउन लागिएको उनले जानकारी दिए । यी दुई हात्ती जन्मिएदेखि स्याहारसुसार गर्दै आउनुभएका हात्ती प्रजनन केन्द्र खोरसोरका प्रमुख मनिपुरण चौधरी अहिले हात्ती विदेश पठाउन भनेपछि नरमाइलो महसुस भएको बताउँछन् । उनले भने, “सुत्केरी हुँदादेखि स्याहारसुसार गरेर, तालिम गराएर निकुञ्ज पोष्टमा पठाइएको हो । मायाँ लाग्छ । विदेश पठाउँदा नरमाइलो महसुस भइरहेको छ”, उनले भने, “माथिको आदेशअनुसार पठाउनुप¥यो । जे होस् राम्रो होस् भन्ने आफ्नो चाहना रहेको छ ।”

    रुद्रकलीका माउते बुद्धिलाल श्रेष्ठले पनि विगत चार वर्षदेखि स्याहार हात्ती अर्को देश पठाउन लाग्दा दुःख लागेको बताए । यहाँबाट बिदाइ गरिएका हात्तीलाई ट्रकमा राखेर भैरहवा विमानस्थल पु¥याइने छ । भैरहवामा एक कार्यक्रमको आयोजना गरी कतार दुतावासलाई हस्तान्तरण गरिने जनाइएको छ । कतारको दोहास्थित अलखोर पार्ककको चिडियाखानामा राख्नका लागि यी हात्ती पठाउन लागिएको हात्ती प्रजनन केन्द्रका प्रमुख चौधरीले जानकारी दिए ।


    यसअघि नेपालले विभिन्न मित्र राष्ट्रलाई एक सिङ्गे गैँडा, हात्तीलगायत वन्यजन्तु उपहारस्वरूप प्रदान गर्दै आएको छ । दुई देशबीचको सम्बन्ध बलियो बनाउन र नेपालको जैविक विविधताको महत्त्व अन्तरराष्ट्रियस्तरमा परिचित गर्न वन्यजन्तु उपहार दिँदै आइएको छ । पन्तका अनुसार पहिलोपटक नेपालले हात्ती उपहारस्वरुप अन्य देशमा पठाउन लागेको हो ।

    विसं २०४४ मा भारतबाट १६, म्यानमार दुई र थाइल्यान्डबाट दुई गरी २० वटा हात्तीबाट स्थापना गरिएको हात्ती प्रजनन केन्द्रले हालसम्म ६८ हात्तीलाई जन्म दिइसकेको छ । यहाँ ६१ वटालाई तालिम दिइएको केन्द्रले जनाएको छ । यहाँ जन्मिएकामध्ये छ वटाको मृत्यु भएको छ । नेपालमा हाल सरकारी तवरबाट पालिएका १०५ वटा हात्ती रहेका छन्, जसमध्ये चितवनमा ५८ वटा रहेका निकुञ्ज प्रशासनले जनाएको छ । यस्तै, नेपालमा निजी क्षेत्रबाट पालिएका ७३ वटा हात्ती छन् भने जङ्गली हात्ती ४०० भन्दा बढी भएको अनुमान गरिएको छ ।

    यसअघि नेपालले सन् १९८५ देखि हालसम्म विभिन्न देशलाई २६ वटा गैँडा, १० वटा घडियाल गोही, एक ब्वाँसो र दुई चितुवा उपहार दिइसकेको तथ्याङ्क छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा विसं २०७५ मा नेपालले कतारलाई हात्ती उपहार दिने प्रतिबद्धता जनाएको थियो । सोही आधारमा कतार सरकारको कूटनीनिक निकायबाट माग भएअनुसार प्रक्रिया अघि बढाएर हात्ती पठाउन लागिएको हो ।

  • नेपाली शान्ति सैनिकको अदलीबदली

    नेपाली शान्ति सैनिकको अदलीबदली

    काठमाडौँ, २९ मङ्सिर । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदली गर्न गोरखनाथ गणका शान्ति सैनिकको टोली मिसन इलाका प्रस्थान गरेका छन् ।

    चौथो डफ्फाका एक सय ७५ जना शान्ति सैनिकको पहिलो टोली आइतबार राति त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका दुई सय २५ जना नेपाली शान्ति सैनिक स्वदेश फिर्ता भएका छन् । हाल उक्त मिसनमा नेपाली सेनाका एक हजार एक सय ८९ जना शान्ति सैनिकहरू कार्यरत रहेको नेपाली सेनाले जनाएको छ ।

  • एनआरएनएको १२औँ महाधिवेशन फागुन दोस्रो साता

    एनआरएनएको १२औँ महाधिवेशन फागुन दोस्रो साता

    काठमाडौँ, २९ मङ्सिरः गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशन आगामी फागुन ११ देखि १३ गतेसम्म हुने भएको छ । विगतमा भिन्नभिन्न समूहमा रहेका एनआरएनएको एकतापछि आइतबार बसेको ‘स्टेरिङ’ समितिको बैठकले एनआरएनएको १२औँ एकता महाधिवेशन काठमाडौँमा गर्ने निर्णय गरेको हो । सङ्घका महासचिवद्वय गौरीराज जोशी र बीआर लामाले संयुक्त विज्ञप्ति जारी गरी ‘स्टेरिङ कमिटी’ले महाधिवेशनको तयारीलाई तीव्रता दिँदै मिति घोषणा गरेको जानकारी दिए ।

    उक्त बैठकले महाधिवेशनको मिति तय गर्नुका साथै साङ्गठनिक एकता र आन्तरिक व्यवस्थापनका लागि विभिन्न निर्णयसमेत गरेको छ । बैठकले राष्ट्रिय समन्वय समिति (एनसिसी) बिचको एकतालाई निष्कर्षमा पु¥याउन गङ्गाधर गौतमको संयोजकत्वमा पाँच सदस्यीय ‘एनसिसी एकता समिति’ गठन गरेको छ । उक्त समितिको सहसंयोजकमा टीका गुरुङ र सदस्यमा शनि ओली, नारायण काफ्ले र चिरञ्जीवी खड्का छन् ।

    सङ्घले एनआरएनएको एकताको सन्देश विश्वभरका नेपालीमाझ पु¥याउन क्षेत्रीयस्तरमा अन्तरक्रिया तथा संवाद कार्यक्रम गर्ने भएको छ । सङ्घले १२औँ महाधिवेशनलाई ऐतिहासिक र सफल बनाउन विश्वभर छरिएका गैरआवासीय नेपाली समुदाय, राष्ट्रिय समन्वय परिषदहरू र सरोकारवाला सबै पक्षलाई सहयोगका लागि अपिल गरेको छ ।

  • कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

    कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

    मुस्ताङ, २९ मङ्सिर । नेपाल–चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती गरिएको छ । आइतबार अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङसहित सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले सीमाक्षेत्रको संयुक्त गस्ती सम्पन्न गरेको हो ।

    हिउँदयायमा नेपाल–चीन सीमाक्षेत्रमा हुनसक्ने सम्भावित वन्यजन्तुको चोरी सिकारी तथा तस्करीका साथै सीमाक्षेत्रमा हुनसक्ने सम्भावित अपराध, अवैध क्रियाकलाप र अवान्छित गतिविधि नियन्त्रणका लागि एक्याप लोमान्थाङ कार्यालयका कर्मचारी प्रतिनिधिसहित सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त सुरक्षा गस्ती गरेको एक्याप लोेमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए ।


    प्रमुख पौडेलसहित लोमान्थाङ–२ नेचुङमा रहेको सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट (बिओपी) र नेपाल प्रहरी गरी करिब एक दर्जन टोली सेताम्मे हिउँमा माइनस डिग्री तापक्रमको प्रवाह नगरी कोरलास्थित सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्तीमा खटिएका एक्याप लोमान्थाङले जनाएको छ । नेपाल–चीन उत्तरी सीमाक्षेत्रमा हिउँदयाममा पहिलो संयुक्त सीमा सुरक्षा गस्ती सुरु गरिएको हो । हिउँदयाममा सीमाक्षेत्र सुनसान हुने र यस्तो अवस्थामा सीमाक्षेत्रमा चोरी सिकारी र तस्करीलगायतका घटना हुनसक्ने भएकाले एक्यापसहितको सुरक्षा टोलीको कोरला क्षेत्रको संयुक्त सुरक्षा गस्ती गरेको एक्याप लोमान्थाङको भनाइ छ ।

    संयुक्त सुरक्षा गस्तीको टोलीले उत्तरी नेपाल–चीन कोरलानाकाको २४ नम्बर सीमास्तम्भदेखि मनाङतर्फ पर्ने सीमास्तम्भ २५, २६, २७ र २८ नम्बर सीमाक्षेत्रमा पुगेर गस्ती गरेको हो । उपल्लो मुस्ताङमा गत कात्तिक १० गते भारी हिमपात भए पनि त्यसयता भएको छैन । यद्यपि नेपाल–चीन सीमाक्षेत्रमा कात्तिक १० गते परेको हिउँ यथास्थितिमै छ । त्यहाँ सीमाक्षेत्रमा कार्यरत सुरक्षाकर्मीको सहयोगमा एक्याप लोमान्थाङले संयुक्त सुरक्षा गस्ती प्रारम्भ गरेको जनाएको छ ।

    हिउँदयामसँगै उपल्लो मुस्ताङमा चिसो अत्यधिक बढेको छ । उपल्लो मुस्ताङमा बिहान र बेलुकीपखको तापक्रम माइनस २० डिग्रीमा झर्ने गरेको छ । चिसोका कारण उपल्लो मुस्ताङका अधिकांश नागरिक जाडो छल्न बेँसी झरिसकेका छन् । सीमावर्ती क्षेत्रमा कार्यरत सुरक्षाकर्मी भने चिसो सहदै सीमा सुरक्षाका लागि खटिएका छन् ।

  • खोरसोरका दुई छावा पुस २ गते कतार पठाइने

    खोरसोरका दुई छावा पुस २ गते कतार पठाइने

    रासस
    चितवन, २८ मङ्सिरः चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई आगामी पुस २ गते कतार पठाइने भएको छ । प्रजनन केन्द्रमा हुर्किएर तालिमपछि सौराहा हात्तीसारमा लागिएका रुद्रकली र खगेन्द्र प्रसादलाई कतार पठाउन लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा हरिभद्र आचार्यका अनुसार यही डिसेम्बर १७ तारिखमा कतार पठाउन लागिएको हो । भैरहवा विमानस्थलबाट हात्ती पठाउन लागिएको हो । चार्टर कार्गो विमानमार्फत हात्ती पठाइने उहाँले बताउनुभयो । जहाजको समय मिलाएर बाटोको अवस्था हेरी सौराहाबाट अघिल्लो दिन हात्ती लगिने तयारी छ ।

    कतारको दोहास्थित अलखोर पार्कको चिडियाखानामा राख्नका लागि यी हात्ती पठाउन लागिएको हो । रुद्रकली सात वर्ष र खगेन्द्र प्रसाद छ वर्षका छावा हुन् । रुद्रकली पूजाकली र खगेन्द्र कोशीकलीको बच्चा हो । खगेन्द्र र रुद्रको बाबु जङ्गली भाले हात्ती रोनाल्डो भएको हात्ती प्रजनन केन्द्रका प्रमुख मनिपुरण चौधरीले जानकारी दिनुभयो ।

    हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका पोथी हात्ती जङ्गली भाले हात्ती रोनाल्डो, ध्रुवे, गोविन्देजस्ता शक्तिशाली हात्तीसँगको सहवासमा गर्भवती हुने गर्दछन् । सरकारले हात्ती दिने निर्णय गरेपछि सबै प्रक्रिया पूरा गरी पठाउन लागिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले हात्तीको नाप गरी हात्ती राख्न खोर निर्माण गरेको छ । खोरसहित ट्रकमा राखेर सौराहाबाट अन्तरराष्ट्रिय विमानस्थल लुम्बिनी लगिनेछ । लुम्बिनीबाट कार्गो विमानमा राखी कतार लगिनेछ । हात्तीसँगै निकुञ्जका पशु प्राविधिक दिनेश ढकालको नेतृत्वमा दुई जना हात्तीका माउते पनि कतार जाँदै हुनुहुन्छ ।

    उहाँहरुले हात्तीले त्यहाँ व्यवस्थापन मिलाएर फर्कनुहुनेछ । यसअघि नेपालले विभिन्न मित्र राष्ट्रलाई एकसिङ्गे गैँडा, हात्तीलगायत वन्यजन्तु उपहारस्वरूप प्रदान गर्दै आएको छ । दुई देशबीचको सम्बन्ध बलियो बनाउन र नेपालको जैविक विविधताको महत्व अन्तरराष्ट्रियस्तरमा परिचित गर्न वन्यजन्तु उपहार दिइँदै आइएको छ । आचार्यका अनुसार पहिलो पटक नेपालले हात्ती उपहारस्वरुप अन्य देशमा पठाउन लागिएको हो ।

    विसं २०४४ मा भारतबाट १६, म्यानमार दुई र थाइल्यान्डबाट दुई गरी २० हात्तीबाट स्थापना गरिएको हात्ती प्रजनन केन्द्रले अहिलेसम्म ६८ हात्तीलाई जन्म दिइसकेको छ । यहाँ ६१ वटालाई तालिम दिइएको केन्द्रले जनाएको छ । यहाँ जन्मिएका मध्ये छ को मृत्यु भएको छ । यसअघि नेपालले सन् १९८५ देखि हालसम्म विभिन्न देशलाई २६ गैँडा, १० घडियाल गोही, एक ब्वाँसो र दुई चितुवा उपहार दिइसकेको तथ्याङ्क छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा विसं २०७५ मा नेपालले कतारलाई हात्ती उपहार दिने प्रतिबद्धता जनाएको थियो । सोपश्चात् कतार सरकारको कूटनीतिक निकायबाट माग भएअनुसार प्रक्रिया अघि बढाएर हात्ती पठाउन लागिएको हो ।

  • धावक सनमाया र रनमाया थाइल्याण्डमा सम्मानित

    धावक सनमाया र रनमाया थाइल्याण्डमा सम्मानित

    काठमाडौँ, २८ मङ्सिरः थाइल्याण्डको प्रसिद्ध पर्यटकीय तथा साहसिक खेलकुद गन्तव्य च्याङ्गमाईमा गत साता आयोजित विश्वप्रसिद्ध अन्तरराष्ट्रिय ट्रेल रन प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेका नेपाली धावकद्वय सनमाया बुढा र रनमाया बुढालाई नेपाली राजदूतावास बैङ्ककले सम्मान गरेको छ ।
    उक्त अन्तरराष्ट्रिय ट्रेल रन प्रतियोगिता विश्वकै सबैभन्दा प्रतिष्ठित र चुनौतीपूर्ण अल्ट्रा ट्रेल रन प्रतियोगितामध्ये एक मानिन्छ । थाइल्याण्डको उत्तरी पहाडी भूभाग, जङ्गल उकालो–ओरालो तथा कठिन भौगोलिक संरचनालाई समेटेर आयोजना गरिएको उक्त प्रतियोगितामा विश्वका विभिन्न देशका व्यावसायिक तथा अनुभवी धावकको सहभागिता थियो ।

    सो कठिन र प्रतिष्ठित एक सय किलोमिटर लामो ट्रेल रनमा जुम्लाकी धावक सनमाया बुढाले चौथो स्थान हासिल गर्न सफल भएकी थिइन् । त्यस्तै, ५० किलोमिटर लामो ट्रेल रनमा सहभागी धावक सनमायाकी बहिनी रनमाया बुढाले सातौँ स्थान हासिल गर्दै नेपाली धावकको क्षमताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेकी थिइन् । उक्त सफलताको कदर गर्दै शनिबार नेपाली राजदूतावास, बैङ्ककमा आयोजित सम्मान कार्यक्रममा धावक सनमायाले जुम्लाको दुर्गम भूगोल, अभावपूर्ण जीवन अवस्था, निरन्तर सङ्घर्ष, कठोर अभ्यास र आत्मविश्वासको यात्राबारे आफ्नो प्रेरणादायी अनुभव सुनाइन् । उनको सङ्घर्षशील यात्राले कार्यक्रममा उपस्थित सबैलाई भावुक र प्रेरित बनाएको थियो ।

    कार्यक्रममा नेपाली राजदूतावासका उपनियोग प्रमुख मोतीबहादुर श्रीसले धावकद्वयलाई बधाई दिँदै खादा लगाई मायाको चिनो प्रदान गरी सम्मान गर्नुभयो । उहाँले नेपाली खेलाडीको अन्तरराष्ट्रिय सफलताले नेपाललाई विश्वमा चिनाउन महत्त्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै भविष्यमा पनि यस्ता प्रतिभालाई प्रोत्साहन गर्न राजदूतावास सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले दूतावासले आयोजना गर्न लागेको लुम्बिनी नेपाल मिनी म्याराथुनका बारेमा समेत प्रकाश पार्नुभएको नेपाली दूतावास बैङ्ककले जनाएको छ ।

    कार्यक्रममा नेपाली राजदूतावासका कर्मचारी, गैरआवासीय नेपाली सङ्घ, थाइ–नेपाली सङ्घ, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा शिक्षा, पेसा, व्यवसायमा संलग्न लब्धप्रतिष्ठितको उपस्थिति थियो । कार्यक्रममा सहभागी संस्थाका अध्यक्ष कुमार कार्कीले धावकद्वयलाई प्रोत्साहनस्वरुप रु एक लाख सहयोग प्रदान गर्नुभयो । साथै, कार्यक्रममा उपस्थित अन्य नेपाली तथा गैरआवासीय नेपाली सङ्घका पदाधिकारीले पनि आ–आफ्नो तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । राससबाट

  • नेपाल–चीन कूटनीतिक सम्बन्ध ७०औँ वार्षिकोत्सव : छोङछिङ महानगरमा सांस्कृतिक कार्यक्रम

    नेपाल–चीन कूटनीतिक सम्बन्ध ७०औँ वार्षिकोत्सव : छोङछिङ महानगरमा सांस्कृतिक कार्यक्रम

    काठमाडौँ, २७ मङ्सिरः नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा बिहीबार छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छन्दुस्थित नेपाली महावाणिज्यदूतावासले आज जनाएको छ । त्यस क्रममा नेपाली चिया, कफी, फेल्ट, पश्मिना, धूप, सिङिङ बाउल, थान्कालगायतका नेपाली उत्पादनहरूको प्रदर्शनी गरिएको थियो ।

    सांस्कृतिक आदानप्रदानअन्तर्गत चिनियाँ परम्परागत वाद्ययन्त्र ‘गुछिन’को वादन तथा नेपाली विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूद्वारा परम्परागत नृत्यहरू प्रदर्शन गरिएका थिए । महावाणिज्यदूतावासको संयोजनमा भएका ती कार्यक्रममा छोङछिङ युझोङ जिल्ला सरकार, छोङछिङ नगरपालिका र नेपाल पर्यटन बोर्डका पदाधिकारीलगातय ५० जना सहभागी थिए ।

  • एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक

    एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक

    काठमाडौँ, २७ मङ्सिरः नेपालका पारा टेबलटेनिस खेलाडी स्वीकृत न्यौपानेले युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भइरहेको एसियन युथ पारा गेम्समा रजत पदक प्राप्त गरेका छन् । उनले टेबलटेनिस यु–२३ पुरुष एकल (क्लास ७) तर्फ उक्त पदक प्राप्त गरेका हुन् । बिहीबार भएको फाइनल खेलमा न्यौपाने चाइनिज ताइपेइका खेलाडी रेन तिङ ह्वाङसँग ३–२ सेटमा पराजित भए । फाइनलमा न्यौपानेले चाइनिज ताइपेइका खेलाडीसँग पहिलो सेट १३–११ अङ्कले र तेस्रो सेट १२–१० ले जिते पनि दोस्रो सेटमा ११–६, चौथो सेट ११–५ र अन्तिम सेटमा १२–१० अङ्कले हार बेहोरेका थिए ।

    न्यौपानले सेमिफाइनलमा फिलिपिन्सका बार्गे काबनेरोेलाई ३–१ सेटमा पराजित गरेका थिए । उनले उक्त खेल ११–९, ११–८, ५–११ र ११–९ अङ्कले जितेका थिए । न्यौपानेले लिग चरणमा भने काजकिस्तान, कीर्गिस्तान र इराकका खेलाडीलाई पराजित गरी सेमिफाइनलमा स्थान बनाएका थिए । टेबलटेनिसमा महिलातर्फ निर्मला भण्डारीले सहभागिता जनाएकी युएइमा रहेका राष्ट्रिय पारा टेबलटेनिस सङ्घका अध्यक्ष गणेश केसीले जानकारी दिए । एसियन पारा युथ गेम्समा नेपालले टेबलटेनिससहित एथलेटिक्स, तेक्वान्दो र भारत्तोलनमा सहभागिता जनाएको छ । प्रतियोगिता यही मङ्सिर २८ गतेसम्म चल्नेछ ।

  • आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य

    आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य

    काठमाडौँ, २६ मङ्सिर । दुबईमा जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा नेपाली बक्सर चन्द्रबहादुर थापा मगरले काँस्य पदक जित्दै इतिहास रचेका छन् । सेमिफाइनलमा उनी काजकस्तानका खेलाडीसँग ५–० ले पराजित भए । पुरस्कारवापत बक्सर थापाले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् ।

    चन्द्रले राउन्ड ३२ मा इन्डोनेसियाका बस्तर माशिहोर योगुने होलीलाई ५–० अङ्कले, राउन्ड १६ मा आर्मेनियाका येगोरियन डेभिटलाई ५–० अङ्कले र राउन्ड ८ (क्वार्टर फाइनल) मा इरानका काजेमी मेहदीलाई ५–० अङ्कले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका थिए तर सेमिफाइनलमा काजकस्तानका खेलाडी बिबोसिनोभ साकेनसँग ५–० अङ्कमा पराजित हुँदै कास्य पदक जितेका हुन् ।

    प्रशिक्षक दीपक महर्जनले ऐतिहासिक उपलब्धि हासिल गरेकोमा खुसी व्यक्त गरे । उनले भने, “जापानमा हुने २० औँ एसियाली खेललाई लक्षित गर्दै यो प्रतियोगितामा सहभागी भएका हौँ । ऐतिहासिक उपलब्धि हासिल भएको छ । खुसी छौँ, मलाई लक्ष्य २०२६ का लागि योग्य ठानेर प्रशिक्षक बनाउने विश्वास गर्ने राखेप परिवारलगायत सबैलाई धन्यवाद ।”

  • राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस

    राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस

    काठमाडौँ, २५ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवनमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उहाँहरुले आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    नेपालका लागि उज्वेकिस्तानका राजदूत सर्दोर मिर्जायुसुपोभिच रुस्तामबायेभ, रोमानियाकी राजदूत सेना लतिफ, ताजिकिस्तानका राजदूत लुक्मोर बोबोकालोन्जोदा, आइसल्याण्डका राजदूत बेनेडिक्ट हेओस्कुल्द्सन र क्युवाका राजदूत हुवान कार्लोस मार्सान अगुइलेराले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।


    उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो ।

  • दोहोरो करमुक्ति सम्झौता खारेज भएकाबारे मौरिससलाई औपचारिक जानकारी

    दोहोरो करमुक्ति सम्झौता खारेज भएकाबारे मौरिससलाई औपचारिक जानकारी

    काठमाडौँ, २४ मङ्सिर । नेपाल सरकारले मौरिसससँग सन् १९९९ अगस्त ३ मा सम्पन्न भएको द्विपक्षीय दोहोरो कर मुक्ति सम्झौता खारेज गर्ने निर्णयको औपचारिक जानकारी कूटनीतिक माध्यमबाट पठाएको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले नेपालका तर्फबाट तोकिएका सक्षम अधिकारीको हैसियतमा सम्झौताको धारा २९, उपधारा १ बमोजिम खारेजीको सूचना औपचारिक पत्रमार्फत मौरिसस सरकारलाई प्रेषण गरेका हुन् ।

    विभागद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार यो कदम हालको घरेलु कर कानुन तथा विश्वव्यापी कर शासन व्यवस्थामा आएका महत्त्वपूर्ण परिवर्तनहरूसँग नेपाललाई मिलाएर लैजान आवश्यक भएकाले चालिएको रणनीतिक निर्णय हो । नेपालले आयकर ऐन, २०५८ ले कर प्रणालीमा व्यापक सुधार गरेको र ऐनमा कर दुरुपयोग नियन्त्रणसम्बन्धी आधुनिक प्रावधानहरू समावेश हुँदा विद्यमान दोहोरो करमुक्ति सम्झौताका केही धारासँग मेल नखाने अवस्था उत्पन्न भएको विभागले जनाएको छ ।

    विशेषगरी, ऐनको दफा ७३(५०)मा समावेश सीमित लाभको प्रावधानले सन्धि कार्यान्वयनमा प्रत्यक्ष प्रभाव पार्ने उल्लेख गरिएको छ । नेपालले पुरानो सन्धि खारेज गरेर समकालीन आवश्यकताका अनुरूप नयाँ कर सम्झौताका लागि मार्ग प्रशस्त गर्न खोजेको सरकारको भनाइ छ । नेपालले मौरिसससँग आर्थिक तथा कर सहयोगका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । सरकारका अनुसार दुवै पक्षबीच नयाँ तथा आधुनिक दोहोरो करमुक्ति सम्झौता र द्विपक्षीय लगानी संरक्षण सम्झौता मा वार्ता गर्ने सम्भावना खुला छ ।

    आगामी कुनै पनि सम्झौता पारस्परिक हित, पारदर्शिता र वर्तमान विश्वव्यापी आर्थिक परिवेशसँग मेल खाने आधारमा गर्नुपर्नेमा सरकार दृढ रहेको विज्ञप्तिमा उल्लेख छ । दोहोरो करमुक्ति सम्झौताको खारेजीको प्रभाव नेपालका लागि आर्थिक वर्ष २०८३–८४ को साउन १ गतेदेखि लागू हुनेछ । यो मिति सम्झौतामा उल्लिखित समाप्ति प्रावधानअनुसार निर्धारण गरिएको हो ।

  • निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता

    निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता

    काठमाडौँ, २३ मङ्सिर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न छिमेकी भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
    गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज गरेको भेटमा उनले निर्वाचनका लागि आवश्यक स्रोतसाधन र सुरक्षा बन्दोबस्तीका सामग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । भारतीय विदेश मन्त्रालयको उत्तर मामिला हेर्ने अतिरिक्त सचिव मुनु नेपाल भ्रमणको सिलसिलामा आइतबार काठमाडौँ आएका हुन् ।

    भेटमा भारतीय अतिरिक्त सचिवले जाजरकोट भूकम्पपछिको पुनर्निर्माण तथा विपद्बाट क्षति भएका संरचनाको पुनस्र्थापना र व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको गृहमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ । अतिरिक्त सचिव महावरले गृहमन्त्री अर्याललाई उपयुक्त समयमा भारत भ्रमणको निमन्त्रणासमेत दिए ।

    सो क्रममा गृहमन्त्री अर्यालले कञ्चनपुरको दोधारा–चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको कामलाई तीव्रता दिन आग्रह गरे । सीमा अपराध रोकथाम, चोरी तस्करी, अवैधवस्तुको ओसारपसार र आपराधिक गतिविधि नियन्त्रण गर्न दुवैतर्फका सीमा सुरक्षा सङ्गठनको क्षमता अभिवृद्धि र सूचना आदानप्रदान प्रभावकारी बनाउनुपर्नेमा गृहमन्त्रीले जोड दिए ।

  • ब्रिटिस र्‍यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार

    ब्रिटिस र्‍यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार

    बेलायत, २३ मङ्सिर । चर्चित ब्रिटिस र्‍यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन् । बेलायतको महानगरीय प्रहरी लन्डनले, दुर्घटनामा संलग्न भएका गेट्स नामले चर्चित कलाकार स्यामुयलले दुर्घटनामा आफ्नो संलग्नता स्वीकार गरेको जानकारी दिएको हो । आफ्नो आधिकारिक वेभसाइटमार्फत प्रहरीले भनेको छ,“३० माइल प्रतिघण्टा गति निर्धारण गरिएको सडकमा ४१ वर्षीय स्यामुयलले ६० माइलप्रति घण्टाभन्दा बढी गतिमा गाडी चलाइरहेका थिए र सडक पार गर्दै गरेका युविन तामाङलाई ठक्कर दिएका थिए ।”

    प्रहरीका अनुसार, स्थानीय समयअनुसार गत अक्टोबर १८ राति ११ः३० बजे इल्फोर्डको रेडब्रिजमा २० वर्षीय नेपाली विद्यार्थी युविन लामाङलाई ठक्कर दिएपछि स्यामुयल घटनास्थलमा नरोकिई भागेका थिए । ठक्कर दिएको दुई दिनपछि उपचारका क्रममा तामाङको मृत्यु भएको थियो । गतवर्ष सेप्टेम्बरमा बेलायत आएका उनी युनिभर्सिटी अफ रोह्याम्पटनमा ‘बिएस्सी विजनेश म्यानेजमेन्ट’ दोस्रो वर्षमा अध्ययनरत थिए ।


    दुर्घटनाको अनुसन्धानमा संलग्न महानगरीय प्रहरी इनिस्पेक्टर मार्क ब्रथवेटले भने, “हाम्रो समवेदना युविनको परिवारको साथ छ, यो क्षतिको कुनै पनि हालतमा भरपाई हुनसक्दैन, तर अपराधमा संलग्नता स्वीकार न्याय प्राप्तिको बाटोमा एक महत्त्वपूर्ण कदम हो । यसले युविनको परिवारलाई केही राहत मिल्ने हाम्रो विश्वास छ ।”

    बेलायतस्थित कार्यवाहक नेपाली राजदूत विपिन दुवाडिले घटनामा संलग्न व्यक्तिले स्वीकार गर्नु पीडित परिवारको न्यायका लागि सकारात्मक पाटो भएको बताए । तामाङको निधनपछि न्यायका लागि दूतावासले सक्रिय भूमिका खेलिरहेको पनि उनले बताए । दुर्घटनापछि भागेका स्यामुयलको वुडफोर्डस्थित घरमा खोजतलास गर्दा प्रहरीले भोलिपल्ट बिहानै उनको नाममा दर्ता र बिमा गरिएको कार क्षतिग्रस्त अवस्थामा फेला परेको थियो । यसैबीच यहाँको अदालतले स्यामुयललाई आगामी माघ २९ गते (फेब्रुअरी १२) मा सजाय सुनाउने जनाइएको छ।

  • सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की

    सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की

    काठमाडौँ, २३ मङ्सिर ः प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई पुनर्जीवित गर्ने, अझ गतिशील, समावेशी र कार्यमुखी बनाउने नयाँ संकल्प आवश्यक रहेकामा जोड दिएकी छिन् । सार्कको ४१औँ चार्टर दिवसको अवसरमा सदस्य राष्ट्रका सरकार र जनतामा शुभकामना व्यक्त गर्दै उनले साझा उद्देश्यमा एकताबद्ध भएर यस क्षेत्रका चुनौतीहरूको सामना गर्न, आम हितको रक्षा गर्न र जनताका आकांक्षा पूर्ण गर्न सकिने उल्लेख गरिन् ।


    “झण्डै चार दशकअघि हाम्रा संस्थापक नेताहरूले शान्ति, स्थिरता र साझा समृद्धिले एकीकृत दक्षिण एसियाको कल्पना गर्नुभएको थियो । उहाँहरूको सामूहिक दूरदृष्टिले सार्कको जन्म दियो, एक यस्तो मञ्चको रूपमा, जसले क्षेत्रीय सहयोग प्रवर्द्धन गर्ने, मित्रताको सम्बन्ध सुदृढ गर्ने र हाम्रा जनताको कल्याण वृद्धि गर्ने उद्देश्य राख्दछ”, उनले सन्देशमा उल्लेख गरेकी छिन् ।


    प्रधानमन्त्री कार्कीले विगत वर्षहरूमा सार्कले आपसी समझदारी अभिवृद्धि गर्ने, पारस्परिक विश्वास मजबुत पार्ने र यस क्षेत्रभर जीवनस्तर सुधार गर्ने लक्ष्यसहितका पहलहरू अघि बढाउन महत्वपूर्ण मञ्चको रूप लिन सफल भएको बताएकी छिन् । खाद्य तथा ऊर्जा सुरक्षा, जलवायु परिवर्तन, डिजिटल विभेद र गरिबी न्यूनीकरणजस्ता समयका जटिल चुनौतीहरूको सामना गर्न सामूहिक आत्मनिर्भरता गहिरो बनाउने, साझा क्षेत्रीय पहिचानलाई पोषित गर्ने कार्यमा सार्क चार्टर निरन्तर मार्गदर्शक बनेको उनले बताइन् ।


    उनले हालका अध्यक्षको रूपमा, नेपालले सार्क चार्टरमा निहित सिद्धान्तअनुसार मित्रता, एकता तथा सहमतिको भावनाअनुसार सबै सदस्य राष्ट्रहरूसँग नजिकबाट सहकार्य गर्ने दृढ प्रतिबद्धता पुनः व्यक्त गरेको उल्लेख गरेकी छिन् । संयुक्त प्रयासमार्फत साझा विकास लक्ष्यतर्फको प्रगतिलाई छिटो पार्न सकिने र यस क्षेत्रमा बसोबास गर्ने विश्वको एक चौथाइ जनताका लागि ठोस लाभहरू पु¥याउन सकिने प्रधानमन्त्री कार्कीको भनाइ छ । उनले यस चार्टर दिवसले सबैमा नयाँ प्रतिबद्धता, गहिरो सहकार्य र क्षेत्रीय एकताको पुनर्जीवित भावना जगाओस् भनी शुभकामना गरेकी छिन् ।


    सार्कको स्थापना ८ डिसेम्बर १९८५ मा बङ्गलादेशको ढाकामा सार्क चार्टरमा हस्ताक्षरसँगै भएको हो । सार्कमा अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का गरी आठ सदस्य राष्ट्रहरू समावेश छन । यस सङ्गठनको सचिवालय १७ जनवरी १९८७ मा काठमाडौँमा स्थापना गरिएको हो ।

    सदस्य राष्ट्रका राष्ट्रप्रमुख वा सरकार प्रमुखको बैठक सार्कअन्तर्गतको सबैभन्दा उच्च निर्णय–निर्माण निकाय हो । शिखर बैठकहरू सामान्यतया दुई–दुई वर्षको अन्तरालमा आयोजित गरिन्छन् र वर्णानुक्रमअनुसार सदस्य राष्ट्रहरूले आयोजना गर्छन् । शिखर सम्मेलन आयोजना गर्ने सदस्य राष्ट्रले उक्त अवधिमा सङ्गठनको अध्यक्षता ग्रहण गर्छ ।

    सार्कका हालसम्म १८ शिखर सम्मेलन भइसकेका छन् । सार्कको १८औँ शिखर सम्मेलन सन् २०१४ नोभेम्बर २६ र २७ मा काठमाडौँमा भएको थियो । त्यसयता र्साकको शिखर सम्मेलन हुन सकेको छैन । सङ्गठनका सबै तहका निर्णयहरू सर्वसम्मतिका आधारमा गरिने, साथै द्विपक्षीय तथा विवादास्पद विषयहरूलाई सङ्गठनको छलफलबाट बाहिर राखिनेलगायत सार्क चार्टरका उद्देश्य रहेका छन् ।

  • गोवाको क्लबमा भएको आगलागीमा चार नेपालीसहित २५ जनाको मृत्यु

    गोवाको क्लबमा भएको आगलागीमा चार नेपालीसहित २५ जनाको मृत्यु

    नयाँदिल्ली, २ ३मङ्सिर (रासस–एएफपी) । भारतको गोवा स्थित पर्यटकीय रिसोर्ट क्षेत्रमा रहेको भारतीय नाइटक्लबमा आगलागी हुँदा चार जना नेपालीसहित २५ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् । आइतबार गोवामा भएको आगलागीको घटनामा चार जना नेपाली नागरिकसहित २५ जनाको ज्यान गएको घटना प्रति दुःख व्यक्त गर्दै नेपालका राजदूत शङ्कर शर्माले विज्ञप्ति जारी गरेका छन् ।

    उनले विज्ञप्ति मार्फत शोकाकुल परिवारहरूप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गरेका छन् । मृतकहरू मध्ये अधिकाशं भारतीय नागरिक रहेको र मुख्यतया नाइट क्लबका कर्मचारीहरू, साथै नयाँ दिल्लीबाट छुट्टी मनाउन आएकाहरू रहेको जनाइएको छ ।

    गेवाको उत्तरमा रहेको अर्पोराको एउटा क्लबमा आगलागी भएको जनाउदै अधिकारीहरूले “विद्युतीय पटाखाहरूले आगलागी गराएको हुन सक्ने बताएका छन् । क्लबको काठका भागहरू बाट सुरु भएको आगलागीले फैलिए पछि अधिकांशको मृत्यु भएको जनाइएको छ । गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले घटनाको अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको तथा अन्य नाइट क्लबहरूमा अनुसन्धानको आदेश दिएको बताएका छन् ।

  • प्रधानमन्त्री कार्कीद्वारा वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न निर्देशन

    प्रधानमन्त्री कार्कीद्वारा वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न निर्देशन

    काठमाडौँ, २२ मङ्सिरः प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहतका निकायलाई निर्देशन दिएकी छिन् । विदेशमा गएर दुःख पाउने, ठगिने र सरकारले उद्धार गर्नुपर्ने अवस्था आउन नदिने गरी प्रणाली स्थापित गर्न उनले श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय र वैदेशिक रोजगार विभागका अधिकारीहरुलाई निर्देशन दिइन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा श्रम समस्याका विषयमा छलफलका क्रममा प्रधानमन्त्री कार्कीले कुवेतमा अलपत्र परेका महिला कामदारको छिटो उद्धार गर्न पनि ताकेता गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

    सरकारले नीति नियम बनाउँदा वैदेशिक रोजगार व्यवसायी र दलालको मात्र लाभ नहेरी श्रमका लागि विदेश जाने आफ्ना नागरिकको सुरक्षालाई पहिलो प्राथमिकता राख्नुपर्ने प्रधानमन्त्री कार्कीको भनाइ थियो । “म्यानपावर व्यवसायी मोटाउने काम मात्र नगरौँ । म्यानपावरलाई सचेत गराउनुप(यो । अलपत्र पार्न भएन”, उनले भनिन् । उनले वैदेशिक रोजगारीमा जानुअघि सम्बन्धित मुलुकको भाषा र कामको अभिमुखीकरण तथा तालिम लिएर मात्र जाने व्यवस्था कडाईका साथ लागू गर्नसमेत सरकारी अधिकारीहरुको ध्यानाकर्षण गराइन् ।


    “वैदेशिक रोजगारीमा जानेले पनि पढ्नुप(यो । तालिम लिनुप(यो । राज्यले कर लिन्छ भने सुरक्षित आप्रवासनको पनि सुनिश्चितता गर्नुप¥यो । सबै कुरा दलाललाई छाडिदिएर हुँदैन”, उनले भनिन्, “दलालले आफ्नो फाइदाका लागि उक्साउँछन् । गाउँदेखि सोझा मान्छेलाई लिएर आउँछन् । यता ठूलाबडाका म्यानपावर कम्पनी छन् । सबै मिलेर जनताको सोझोपनको फाइदा उठाएका छन् यो अवस्था अन्त्य गर्न राज्यले नै काम गर्नुपर्छ ।”

    कार्यक्रममा कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, मुख्यसचिव सुमनराज अर्याल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवद्वय राजकुमार श्रेष्ठ र गोविन्दबहादुर कार्की, श्रम मन्त्रालयका सचिव कृष्णहरि पुष्कर, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, कानुन मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानालगायत सरकारी अधिकारीहरुको उपस्थिति थियो ।

  • थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने

    थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने

    काठमाडौँ, २२ मङ्सिर । गौतम बुद्धको जन्मजयन्तीको अवसर पारेर थाइल्याण्डमा लुम्बिनी–नेपाल मिनी म्याराथन आयोजना गरिने भएको छ । विश्वशान्तिका अग्रदूत गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीलाई प्रचार प्रसार गर्ने लक्ष्यसहित आगामी वैशाखको तेस्रो हप्ता सो कार्यक्रम आयोजना गर्ने तयारी गरिएको नेपाली दूतावासले जनाएको छ । यो प्रतियोगितामा १० किलोमिटर तथा पाँच किलोमिटर दौड समावेश गरिनेछ ।

    नेपाली राजदूतावास, थाइल्याण्डमा सरोकारवाला सङ्घ संस्थाको सहभागितामा आइतबार एक छलफल कार्यक्रम आयोजना गरेको थियो । सो छलफलमा नेपाल एयरलाइन्स, गैर–आवासीय नेपाली संघ–थाइल्यान्ड राष्ट्रिय समन्वय परिषद्, पिपुल अफ नेपाली ओरिजिन एशोसिएसन, थाई–नेपाल संघ, थाई–नेपाल फ्रेन्डसिप एसोसिएसन, संयुक्त राष्ट्र संघीय निकायमा कार्यरत नेपाली, र विभिन्न पेशा सञ्चालन गरिरहेका नेपाली उद्यमीसहित म्याराथन सञ्चालन गर्ने केही थाई नागरिककोसमेत सहभागिता थियो ।

    कार्यक्रमका लागि थाईल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीको संरक्षणमा, उपनियोग प्रमुख मोतिबहादुर श्रीशको संयोजकत्वमा थाइल्याण्डमा स्थापित नेपालसँग सम्बन्धित सबै संघ–संस्थाका प्रतिनिधि समावेश हुनेगरी एक आयोजक समिति गठन गरिएको छ । कार्यक्रमले गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनी, नेपाली पर्यटन, नेपाली परिकार तथा नेपालको साँस्कृतिक र निर्यातयोग्य वस्तुहरूको प्रचारप्रसार गरी प्रभावकारी रुपमा नेपाल चिनाउने लक्ष्य राखिएको नेपाली दूतावासले जनाएको छ ।

  • मदेइरामा नेपाली दूतावासको घुम्ती शिविर

    मदेइरामा नेपाली दूतावासको घुम्ती शिविर

    लिस्बन (पोर्चुगल), २१ मङ्सिरः पोर्चुगलको लिस्बनस्थित रहेको नेपाली दूतावासले सामुद्रिक टापु ‘मदेइरा’मा राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा दिन सुरु गरेको छ । पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलको नेतृत्वमा गएको दूतावासको टोलीले मदेइरा आइल्याण्डको फुन्चालमा घुम्ती शिविर सञ्चालन गरेर शनिबारदेखि राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा दिन थालेको हो । घुम्ती सेवा सुरु भएसँगै शिविरस्थलमा सेवाग्राही आउने क्रम चलिरहेको र झण्डै २० नेपालीले सेवा लिइसकेको टोलीले जनाएको छ ।

    राहदानी नवीकरण तथा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई घुम्ती शिविरमार्फत मदेइरामै सेवा दिन सुुुुरु गरिएको राजदूत पौडेलले बताए । दुई दिनसम्म सञ्चालन हुने घुम्ती शिविरबाट मदेइरा क्षेत्रमा बसोबास गर्ने एक सय बढी नेपालीले सेवा लिने अपेक्षा गरिएको उनले बताए । आइतबारसम्म सञ्चालन हुने शिविरमा उपस्थित भई राहदानी नवीकरणलगायतका कागजात प्रमाणीकरणसम्बन्धी सेवा लिन मदेइरावासी नेपाली समुदायलाई विशेष आग्रहसमेत गरे ।


    शिविर अवधिभर दूतावासको टोलीले राहदानीको म्याद सकिएका, हराएका, क्षति भएका तथा राहदानीको म्याद छ महिनाभन्दा कम रहेकाको विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गर्नेछ । यस्तै प्रहरी रिपोर्ट, पारिवारिक कागजातलगायत अन्य कागजात प्रमाणीकरण, अधिकृत वारेसनामा प्रमाणीकरणलगायतका सेवा प्रदान गरिने दूतावासले जनाएको छ । दूतावासले मदेइरा टापुमा पहिलोपटक घुम्ती शिविर सञ्चालन गरेको हो ।

    घुम्ती शिविरले राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका मदेइराबासी नेपालीलाई राहत मिलेको गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका पूर्वमहासचिव निराजन सुवेदीले बताए । मदेइरामै राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी सेवा लिन पाउँदा मदेइरा क्षेत्रमा बसोबास गर्ने नेपालीहरूका लागि अत्यन्तै सहज भएको सुवेदीले बताए । यसअघि गत महिना पनि दूतावासले पोर्चुगलको फारो सहरमा घुम्ती शिविर सञ्चालन गरेर दुई सय नेपालीलाई सेवा दिएको थियोे ।

  • एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

    एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

    काठमाडौँ, १९ मङ्सिरः नेपालले अल्पविकसित राष्ट्रहरू ९एलडिसी०को विकासशील देशका रूपमा हुने रूपान्तरण समृद्ध समाज र दिगो विकासतर्फको गर्विलो यात्रा हुनुपर्नेमा जोड दिएको छ । साथै नेपालले अल्पविकसित देशलाई वित्तीय एवं एकीकृत सहयोग हुनुपर्नेमा विशेष जोड दिएको छ ।

    अल्पविकसित, भूपरिवेष्टित विकासशील तथा साना टापु राष्ट्रहरूका लागि राष्ट्रसङ्घीय उच्च प्रतिनिधिको कार्यालय र कतार कोषले दोहामा आयोजना गरेको अल्पविकसित देशहरूको दिगो विकासका लागि विश्वव्यापी साझेदारी निर्माणसम्बन्धी बैठकअन्तर्गत बिहीबार भएको उच्चस्तरीय छलफलमा एलडिसी समूह अध्यक्षका रुपमा परराष्ट्रसचिव अमृतबहादुर राईले ती विषयमा जोड दिए ।


    परराष्ट्र मन्त्रालयका अनुसार बैठकका क्रममा परराष्ट्रसचिवले संयुक्त राष्ट्रसङ्घको प्रविधि बैंकका प्रबन्ध निर्देशक देवदत्त महाराजलाई भेटेर अल्पविकसित मुलुकबाट विकासशील देशमा रूपान्तरण हुने नेपालको यात्रालाई सहज बनाउन बैंकको सहयोगको अपेक्षा नेपालले गरेको बताए । त्यस अवसरमा उनीहरुबीच बैंकको भूमिका र सहकार्यका अवसरहरूबारे पनि छलफल भएको थियो ।

  • प्रधानमन्त्री कार्की र श्रीलङ्काली समकक्षी डा अमरसुरियाबीच टेलिफोन वार्ता

    प्रधानमन्त्री कार्की र श्रीलङ्काली समकक्षी डा अमरसुरियाबीच टेलिफोन वार्ता

    काठमाडौँ, १७ मङ्सिर । प्रधानमन्त्री सुशीला कार्की र श्रीलङ्काली समकक्षी डा हरिणी अमरसुरियाबीच आज टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा श्रीलङ्काका प्रधानमन्त्री अमरसुरियाले नेपालबाट दुई लाख अमेरिकी डलर बराबरको सहायता प्राप्त भएकामा आभार व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    नेपाल सरकारले श्रीलङ्कामा आएको बाढीमा परी फसेका जनताको उद्धार तथा राहतका लागि दुई लाख अमेरिकी डलर सहयोग प्रदान गरेपछि श्रीलङ्काली प्रधानमन्त्री अमरसुरियाले टेलिफोन गरी भन्नुभयो, “हामी कहाँ विपद् परेकाबेला सहयोग पठाइदिनुभयो । यसका लागि धन्यवाद छ । आभारी छौँ ।”

    जवाफमा प्रधानमन्त्री कार्कीले भनिन्, “मित्रराष्ट्र हुनुको नाताले एउटालाई समस्या पर्दा अर्काले साथ दिनुपर्छ । त्यो हाम्रो कर्तव्य र धर्म नै हो । यो कठिन घडीसँग जुध्नका निम्ति हामी तपाईंहरूसँगै छौँ ।” प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलन र त्यसपछि मुलुकमा उत्पन्न परिस्थितिका विषयमा पनि जानकारी गराएकी छिन् । दुवै देशका प्रधामन्त्रीबीच आज साँझ ८ः१५ बजेदेखि करिब चार मिनेट कुराकानी भएको थियो ।

  • विदेशमा रहेका नेपालीले तीन महिनामा पाँच खर्ब ५३ अर्ब पठाए

    विदेशमा रहेका नेपालीले तीन महिनामा पाँच खर्ब ५३ अर्ब पठाए

    काठमाडौँ, १६ मङ्सिर । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाहमा ३५ दशमलव चार प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा रु पाँच खर्ब ५३ अर्ब ३१ करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ११ दशमलव नौ प्रतिशतले वृद्धि भई रु चार खर्ब आठ अर्ब ७७ करोड रहेको थियो । चालु आवको पहिलो महिना अर्थात् गत साउनमा विप्रेषण आप्रवाह २९ दशमलव नौ प्रतिशतले वृद्धि भई रु एक खर्ब ७७ अर्ब ४१ करोड बराबर पुगेको थियो ।

    यस्तै, गत भदौ महिनामा विप्रेषण आप्रवाह ३३ दशमलव एक प्रतिशतले वृद्धि भई रु तीन खर्ब ५२ अर्ब आठ करोड पुगेको थियो । चालु आवको पहिलो त्रैमासमा चालु खाता रु दुई खर्ब ३७ अर्ब ५९ करोड र शोधनान्तर रु दुई खर्ब ६४ अर्ब तीन करोडले बचतमा रहेको छ । अघिल्लो आवको सोही अवधिमा चालु खाता रु एक खर्ब १५ अर्ब ३६ करोड र शोधनान्तर रु एक खर्ब ८४ अर्ब ९९ करोडले बचतमा थियो ।

    यसैगरी, चालु आवको पहिलो तीन महिनामा कूल वस्तु निर्यात ८९ दशमलव छ प्रतिशतले वृद्धि भई रु ७२ अर्ब ७८ करोड कायम भएको छ । सो अवधिमा वस्तु आयात १९ दशमलव आठ प्रतिशतले बृद्धि भई रु चार खर्ब ६८ अर्ब आठ करोड कायम भएको छ । समीक्षा अवधिमा कूूल वस्तु व्यापार घाटा १२ दशमलव दुई प्रतिशतले वृद्धि भई रु तीन खर्ब ९५ अर्ब ३० करोड पुगेको छ ।