२३ पुस, यूएई । इनास यूएईको पाँचौं अधिवेशनले हरि मोक्तानको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको छ । गत २१ डिसेम्बरमा सम्पन्न अधिवेशनले मोक्तानलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशनबाट अस्मत घिमिरे उपाध्यक्ष र सुनिल पौडेल महासचिवमा निर्वाचित भएका छन् । संगठनको केन्द्रीय संरचनामा डोलेश्वर योगी, कुशल बुचा, बिना मानन्धर, सन्दीप लामा, भोला श्रेष्ठ लगायतका पदाधिकारी नियुक्त भएका छन् । विभिन्न विभागका संयोजक र १८ जना केन्द्रीय सदस्यसहित नयाँ कार्यसमिति औपचारिक रुपमा सक्रिय भएको जनाइएको छ ।
१८ सदस्यीय केन्द्रीय समितिमा क्रमशः कञ्चन देवकोटा, निर्मला भुजेल, राम गिरी, विकास तिवारी, राजकुमार खड्का, चित्रबहादुर कुँवर, अमृत नगरकोटी, पुरषोत्तम दाहाल, सुवास गुरुङ, चिरञ्जीवी अधिकारी, प्रिया कँडेल, लक्ष्मी सुनार, लोकबहादुर श्रेष्ठ, शोहेल लामा, इशा परियार, सीबी देउकाडी, उमा क्षेत्री र गिरिश भण्डारी रहेका छन् ।
अबुधाबी क्षेत्रीय समितिमा गंगा खड्का अध्यक्ष चयन भएका छन् भने रास अल खैमह क्षेत्रीय समितिको नेतृत्व सूर्यकुमार बोहोराले पाएका छन् । दुबै क्षेत्रीय समितिमा उपाध्यक्षदेखि सदस्यसम्म सबै पदहरुमा नयाँ टोली चयन गरिएको छ । निर्वतमान नेतृत्वले कार्यकालभर प्राप्त साथ–समर्थनप्रति आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनि संस्थाप्रतिको विश्वास कायम रहने अपेक्षा व्यक्त गरेको छ । यस्तो छ– इनास यूएईको नयाँ केन्द्रीय कार्यसमिति अध्यक्ष : हरि मोक्तान वरिष्ठ उपाध्यक्ष : कुशल बुचा प्रथम उपाध्यक्ष : अस्मत घिमिरे द्वितीय उपाध्यक्ष : डोलेश्वर योगी महिला उपाध्यक्ष : बिना मानन्धर महासचिव : सुनिल पौडेल सचिव : सन्दीप लामा सहसचिव : बीरेन्द्र दंगाल कोषाध्यक्ष : भोला श्रेष्ठ महिला विभाग प्रमुख : एलिना श्रेष्ठ प्रवक्ता : सञ्जीव खड्का सांगीतिक विकास तथा प्रवद्र्धन : रसाइली हास्यव्यङ्ग्य विकास तथा प्रवद्र्धन : इन्द सेन्चुरी चलचित्र विकास तथा प्रवद्र्धन : कृष्ण भट्टराई सूचना तथा प्रचारप्रसार : रञ्जित रिजाल
लक्ष्मण खनाल २२ पुस, दुबई संयुक्त अरब इमिरेट्स (यूएई) मानव निर्मित संसारकै अग्लो भवन बुर्ज खलिफाको देशबाट अब विश्वकै शिखर सगरमाथाको सन्देश बोकेर नेपाली प्रवासी समुदायको आवाज विश्वव्यापी बन्नेछ । सन् २००८ मा अमेरिकाको न्युयोर्कबाट यात्रा सुरु गरेको विश्वसन्देश मासिक पत्रिका नयाँ वर्ष २०२६ सँगै यूएईबाट प्रकाशन सुरु भएको छ । अंग्रेजी नयाँ वर्ष जनवरी १ देखि यूएई संस्करण प्रकाशित पत्रिका प्रवासमा नेपाली भाषामा नियमित रुपमा निस्कने सबैभन्दा पुरानो र एक मात्र स्थापित म्यागेजिन हो ।
विश्व सन्देशको यो नयाँ अध्यायले यूएईमा बसोवास गर्ने करिब ८ लाख नेपालीको सुख–दुःखलाई विश्वमाझ पु¥याउने र नेपालका घरपरिवारसँग जोड्ने मजबुत पुलको काम गर्नेछ । ‘बुर्ज खलिफा संसारको सबैभन्दा अग्लो भवन हो र यूएईको पहिचान बनेको छ,’ विश्व सन्देशका प्रधानसम्पादक रोसन पुरीले भने, ‘यहींबाट हामीले संसारकै शिखर सगरमाथाको सन्देश सुरु गरेका छौं । नेपाली समुदायलाई जोड्नेगरी यो पत्रिकाको यूएई संस्करण प्रकाशन गरेका हौं ।’
विश्व सन्देशको यात्रा सन् २००८ मा न्युयोर्कबाट सुरु भएको थियो । सुरुमा पाक्षिक रुपमा प्रकाशित यो पत्रिका छोटो समयमै साप्ताहिक बनेर अमेरिकाभरिका नेपाली समुदायमाझ लोकप्रिय भएको थियो । कोभिड–१९ महामारीपछि प्रकाशनको चुनौतीलाई ध्यानमा राख्दै यसलाई मासिक रुपमा रुपान्तरण गरियो, जसले गुणस्तर र स्थायित्व दुवैलाई मजबुत बनायो । डेढ दशकभन्दा बढी समयदेखि न्युयोर्कबाट निरन्तर प्रकाशित हुँदै आएको यो पत्रिका नेपाली डायस्पोराको विश्वसनीय माध्यम बनेको छ । नेपालबाहिर नेपाली भाषामा नियमित रुपमा प्रकाशित हुने यो एकमात्र पुरानो र स्थापित म्यागेजिन हो ।
यूएई नै किन रोज्यौं ? यूएई नेपाली श्रमिक तथा आप्रवासीको प्रमुख गन्तव्य हो । यहाँ बसोवास गर्ने नेपालीहरुको ठूलो हिस्साले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याइरहेका छन् । नेपालीहरु जहाँ गए पनि आफ्नो परिवार, संस्कृति र मातृभूमिसँग जोडिएर रहन चाहन्छन् । विश्व सन्देशले ठ्याक्कै यही आवश्यकतालाई सम्बोधन गर्नेछ । यो पत्रिका यूएईका नेपालीहरुलाई नेपालको घरआँगनसम्म जोड्ने सेतु बन्नेछ ।
‘यो पत्रिकाको प्रकाशनले नेपालमा रहेका घरपरिवारका कुरा दुबईमा पु¥याउने र दुबईमा समस्यामा परेका तथा सफल नेपालीका कथालाई विश्वव्यापी बनाउने हाम्रो मुख्य उद्देश्य हो,’ प्रकाशक विजयराम पौडेलले भने । यो संस्करणले प्रवासी नेपाली समुदायको आवाजलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ । उनी थप्छन्, ‘यहाँकै साथीहरु खासगरी नेपाल पत्रकार महासंघ यूएईका अध्यक्ष मेघराज सापकोटाले संयोजन गर्दा पत्रिका प्रकाशन भयो र हामीसँग साझेदारीका लागि अन्य साथीहरु जोडिनुभयो । प्रकाशनसम्म जानका लागि यहाँको नेपाली समुदायको योगदान अतुल्य छ ।’
पत्रिकाले केवल समाचार वाहकको भूमिका मात्र निर्वाह गर्ने छैन, बरु प्रवासी नेपालीहरुका समस्या, चुनौती र अवसरहरुको जीवन्त दस्तावेज बन्नेछ । श्रमिकहरुले भोग्ने विभिन्न खालका समस्या, कामको बारेमा जानकारी, स्वास्थ्य सुविधा, कानुनी जटिलता जस्ता मुद्दालाई प्राथमिकताका साथ उठान गरेर उनीहरुलाई सबै क्षेत्रमा सहयोग गर्ने हाम्रो उद्देश्य हुनेछ ।
यस्ता समस्याको समाधानका लागि सरोकारवाला निकायसँग पैरवी गर्ने र सफलताका कथाहरु प्रस्तुत गरेर नयाँ अवसरहरुको ढोका खोल्ने प्रयास पनि गरिनेछ । साथै, यूएईको नेपाली समुदायका सांस्कृतिक कार्यक्रम, सामाजिक गतिविधि, सफल भएका उद्यमीका अनुभव र नेपालका समसामयिक घटनाक्रमलाई पनि स्थान दिइनेछ । यसरी विश्व सन्देश प्रवासी नेपालीहरुको सुखदुःखको साझेदार बन्नेछ ।
भविष्यको योजना अझ महत्वाकांक्षी भविष्यको योजना अझ महत्वाकांक्षी छ । यूएईबाट सफलतापूर्वक प्रकाशन भएपछि नेपाली श्रमिकहरुको बाहुल्य रहेका साउदी अरब, कतार, मलेसिया र कुवेत जस्ता देशबाट पनि स्थानीय संस्करण निकाल्ने लक्ष्य राखिएको छ । युरोप र एसियाका अन्य ठाउँबाट पनि प्रकाशन गर्ने छलफल अगाडि बढाइएको छ । यसले विश्वभरि छरिएका नेपालीहरुलाई एक सूत्रमा बाँध्ने र नेपाली पत्रकारितालाई विश्वव्यापी बनाउने विश्वास गरिएको महासंघ अध्यक्ष सापकोटाले बताए ।
यो महत्वपूर्ण यात्रालाई सफल बनाउन सबैको साथ र सहयोग अपरिहार्य रहेको भन्दै प्रकाशक पौडेलले नेपाली समुदायको सहयोगबिना यो प्रयास अधुरो रहने बताए । विज्ञापनले पत्रिकालाई आर्थिक रुपमा मात्र मजबुत बनाउने छैन, नेपाली समुदायसँग व्यवसायलाई पनि जोड्नेछ । यूएईको टिममा यहाँका व्यवस्थापक र पत्रकारहरुको साथ, सहयोग रहेको छ ।
बुर्ज खलिफा निर्माणमा नेपाली पनि संलग्न बुर्ज खलिफा विश्वको सबैभन्दा अग्लो मानव निर्मित संरचना हो, जसले दुबईको महत्वाकांक्षी सपनालाई मूर्त रुप दिएको छ । यो टावर संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई शहरमा अवस्थित छ र डाउनटाउन दुबई परिसरको केन्द्रबिन्दु हो । यसको कुल उचाइ ८२९ दशमलब ८ मिटर (२,७२२ फिट) छ । वास्तुकलात्मक उचाइ ८२८ मिटर र स्पायरसहितको शिरसम्मको दूरी ८२९ दशमलव ८ मिटर छ ।
टावरमा कुल १६३ तला छन्, जसमध्ये १५४ तला प्रयोगयोग्य र ९ तला अन्य प्रयोजनका लागि प्रयोग गरिएको छ । जसमा आवासीय अपार्टमेन्ट, होटल, कार्यालय, रेस्टुरेन्ट र अवलोकन डेकहरु समावेश छन् । यो टावरले विश्वका कैयौं कीर्तिमान कायम गरेको छ । विश्वको सबैभन्दा अग्लो भवन, सबैभन्दा बढी तला भएको भवन, सबैभन्दा अग्लो अवलोकन डेक आदि ।
यो हलको अवलोकन गर्दा यसको निर्माणका सन्दर्भमा विभिन्न प्रकारको चासो र जिज्ञासा हुन्छ । यो निर्माणमा संलग्नहरुको चर्चा पनि बेलाबेलामा हुने गरेको छ । यसमा संलग्न कति नेपाली थिए भन्ने कुराको तथ्याङ्क नभए पनि बुर्ज खलिफा निर्माणमा नेपाली श्रमिकको महत्वपूर्ण भूमिका थियो । बुर्जखलिफा निर्माणमा झण्डै १०० देशका १२ हजार कामदार संलग्न थिए । बुर्ज खलिफा निर्माणमा संलग्न नेपालीहरुले स्काफोल्डिङ, क्रंक्रिटिङ, स्टिल फिक्सिङ लगायतका विभिन्न क्षेत्रमा नेपाली श्रमिकले काम गरेका थिए ।
बुर्ज खलिफामा राखिएका विभिन्न देशका कामदारका तस्बिरमध्ये नेपाली कामदार लक्ष्मण श्रेष्ठको पनि छ । बुर्जखलिफा निर्माणका क्रममा महत्वपूर्ण योगदान दिएका कामदारको तस्बिर राखिएकामा नेपाली कामदार श्रेष्ठको तस्बिर हामीले सहजै हेर्न सक्छौं । निर्माण सम्पन्न भएपछि पनि नेपाली श्रमिकहरु बुर्ज खलिफामा निरन्तर कार्यरत छन् । सरसफाइ, टावरभित्रका हरेकजसो संरचनामा नेपाली श्रमिक कार्यरत छन् । त्यसो त विभिन्न पेशा, व्यवसाय तथा रोजगारीका लागि यूएईमा झण्डै ८ लाख नेपाली रहेको अनुमान गरिएको छ ।
बुर्ज खलिफाको नाम बुर्ज खलिफाको अवधारणा २००० को दशकको सुरुवातमा ल्याइएको हो । यूएई सरकारले तेलमा आधारित अर्थतन्त्रलाई सेवा, पर्यटन र व्यापारतर्फ विविधीकरण गर्न चाहन्थ्यो । दुबईलाई विश्व मानचित्रमा स्थापित गर्न एउटा प्रतिष्ठित र आइकनिक संरचना आवश्यक ठानियो । यो परियोजनाको नेतृत्व इमार प्रोपर्टिजले गरेको थियो, जसका अध्यक्ष मोहम्मद अली अलाब्बार थिए । सुरुमा यसको नाम बुर्ज दुबई राखिएको थियो ।
डिजाइन इस्लामिक वास्तुकलाबाट प्रेरित छ, विशेष गरी इराकको सामर्रास्थित ग्रेट मस्जिदको स्पाइरल मीनारबाट । निर्माणकै क्रममा सन् २००८–२००९ को विश्वव्यापी आर्थिक मन्दीले दुबईको अर्थतन्त्रलाई गम्भीर रुपमा प्रभावित पा¥यो । इमार प्रोपर्टिजलाई ऋण तिर्न कठिनाइ भयो । उक्त समयमा यूएईका राष्ट्रपति शेख खलिफा बिन जायद अल नहयानले अरबौं डलरको आर्थिक सहयोग प्रदान गरे । उद्घाटनको दिन २०१० जनवरी ४ मा दुबईका शासक शेख मोहम्मद बिन राशिद अल मक्तुमले यो सहयोगको सम्मानमा टावरको नाम बुर्ज खलिफा राखे ।
डिजाइन र विकास टावरको डिजाइन अमेरिकी कम्पनी स्किडमोर, ओइङ्स एन्ड मेरिलले गरेको हो । मुख्य वास्तुकार एड्रियन स्मिथ र मुख्य संरचनात्मक इन्जिनियर बिल बेकर थिए । कम्पनीले यसअघि शिकागोको विलिस टावर पनि डिजाइन गरेको थियो । डिजाइनमा ‘बन्डल्ड ट्युब’ प्रणाली प्रयोग गरिएको छ, जसमा वाई आकारको आधार र २७ वटा सेटब्याकले हावाको प्रभावलाई न्यून बनाउँछ । केन्द्रीय कोरले मुख्य भार थेग्छ भने पखेटाहरुले स्थिरता प्रदान गर्छन् ।
बाहिरी भागमा २६,००० भन्दा बढी ग्लास प्यानल प्रयोग भएका छन । टावरमा ५७ वटा दोहोरो डेकसहितका लिफ्ट रहेका छन् । जसले १० मिटर प्रति सेकेन्डको गतिमा आफ्नो काम गर्छन् । निर्माण कार्य २००४ जनवरी ६ मा सुरु भएको थियो । मुख्य ठेकेदार दक्षिण कोरियाली कम्पनी सामसुङ सी एन्ड टी थियो, जसमा बेल्जियमको बेसिक्स र यूएईको अरबटेक पनि सहभागी थिए । प्रोजेक्ट व्यवस्थापन टर्नर कन्स्ट्रक्सनले गरेको थियो । बुर्ज खलिफा टावरको कूल लागत १ दशमलब ५ अर्ब अमेरिकी डलर रहेको थियो । बुर्ज खलिफाले कयौं कीर्तिमान कायम गरेको छ ।
प्रमुख ५ कीर्तिमान तथा विशेषता १. संसारको सबैभन्दा अग्लो भवन तथा संरचना । २. सबैभन्दा बढी तला भएको भवन । ३. सबैभन्दा अग्लो अवलोकन डेक ४. सबैभन्दा अग्लो रेष्टुरेन्ट ५. सबैभन्दा ठूलो लाइट र साउण्डसहितको शो (खासगरी नयाँ वर्षको अवसरमा) ।
बुर्ज खलिफाको नाम नसुन्ने सायदै कम व्यक्ति छन् । त्यसैले यसको अवलोकन गर्ने चाहना हरकसैलाई हुनु स्वाभाविक हो । त्यसैले हरेक नयाँ वर्षको आतिसबाजी संसारभर प्रसारण हुन्छ । बुर्ज खलिफा दुबईको महत्वाकांक्षा र आधुनिक इन्जिनियरिङको उत्कृष्ट नमुना मात्रै होइन, यो पर्यटकको प्रमुख आकर्षक पनि हो । जसले पर्यटक भित्राउने मात्र होइन, हजारौं आप्रवासीलाई रोजगारी पनि दिएको छ ।
२१ पुस, दुबई । युनाइटेड अरब इमिरेट्स (यूएई)मा नेपाली मासिक पत्रिका ‘विश्व सन्देश’ को औपचारिक प्रकाशन शुभारम्भ भएको छ । यूएईमा आइतबार आयोजित एक कार्यक्रममा यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले रिबन काटेर पत्रिकाको उद्घाटन गरे । उद्घाटन समारोहमा राजदूत क्षेत्रीले नेपाली समुदायलाई पत्रिका पढ्न, प्रवर्द्धन र संरक्षण गर्न आग्रह गर्दै ‘विश्व सन्देश’ नेपाली इतिहास, संस्कार र पहिचानको दस्तावेज भएको बताए । उनले नेपाली भाषा र सभ्यताको प्रवर्द्धनमा योगदान गर्ने यस्ता प्रयासमा कूटनीतिक नियोगको सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरे ।
कार्यक्रममा विश्व सन्देशका ग्लोबल अध्यक्ष विजयराम पौडेल र पत्रिकाका ग्लोबल कार्यकारी प्रमुख योगेश आदीसहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । ग्लोबल कार्यकारी प्रमुख आदीले न्यूयोर्कबाट प्रकाशित हुँदै आएको विश्व सन्देश पत्रिकालाई अब मध्यपूर्व, एसिया तथा अन्य महादेशहरूमा समेत क्रमशः प्रकाशन गर्दै लैजाने योजना रहेको जानकारी दिए ।
त्यसैगरी विश्व सन्देशका ग्लोबल अध्यक्ष पौडेलले प्रिन्ट मिडियाको महत्व प्रकाश पार्दै प्रवासमा रहेका लाखौं नेपालीहरूको इतिहास, संघर्ष र सफलताको कथालाई लिपिबद्ध गर्ने उद्देश्यका साथ विश्व सन्देश प्रकाशनमा आएको बताए । पौडेलले पत्रिकामार्फत नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण तथा संवर्द्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ यूएई शाखाका अध्यक्ष मेघराज सापकोटाले यूएईमा रहेका नेपाली समुदायका सफलताको कथा, व्यवसाय प्रवर्द्धन तथा जनचेतना अभिवृद्धिमा विश्व सन्देशले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा यूएईस्थित विभिन्न संघसंस्था, कलाकार, एनआरएनए तथा नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । झण्डै ८ लाख नेपाली बसोवास रहेको यूएईमा विश्व सन्देश नेपाली भाषाको मासिक म्यागाजिनका रूपमा सार्वजनिक भएको हो ।
बेलायत, २१ पुस । बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लण्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासले एक विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरु ठगीमा परेका गुनासो बढेकाले ठगीबाट बच्न आग्रह गरेको हो । ठगीमा परेको गुनासो गर्नेहरुमा नेपालबाट बेलायत आउन चाहनेहरुको सङ्ख्या धेरै रहेको दुतावासले जनाएको छ ।
कतिपय बेलायतमै रहेका तर कामको खोजी गरिरहेका नेपालीसमेत ठगीमा परेको गुनासो बढिरहेको दूतावासले जनाएको छ । “ठगी गर्नेहरु कतिपय नेपालीमूलका व्यक्तिहरु नै रहेको बुझिएको छभने चिनेजानेकै नेपालीहरुमार्फत तेश्रो मुलुकका व्यक्तिहरुसँगको सम्पर्कमा पुगी ठगीमा परेकाहरुको गुनासो पनि आएको छ”, विज्ञप्तिमा उल्लेख छ ।
यस्ता अपराधहरु नेपाल र बेलायत दुवै मुलुकमा दण्डनीय हुने हुनाले समस्या परेको खण्डमा नेपालका अनुसन्धान गर्ने निकायहरु तथा बेलायतमा रहेका स्थानीय प्रहरी एवं नेशनल एण्टी फ्रड नेटवर्क (एक्सन फ्रड) मा उजुरी गर्न समेत दूतावासको सुझाव छ । बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले प्रमाणसहित आउने पीडितको न्यायको लागि सहजीकरण गर्न दूतावास तयार रहेको बताए । समस्यामा परेका नेपालीलाई दूतावासको इमेल वा ं४४–७४०४९३९२७४ मा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।
काठमाडौँ, २० पुस । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भारतको नयाँ दिल्लीमा आयोजना हुने ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’मा सहभागी हुन आज साँझ त्यहाँ पुगेका छन् । नेपाली समाज भारतको आयोजनामा सोमबार हुने उक्त कार्यक्रममा उनी सहभागी हुने संयोजक दाहालको सचिवालयले जनाएको छ ।
नेपाली समुदायबीच आपसी सद्भाव, सहकार्य र साझा भविष्यप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाली समाजका महासचिव आरबी खड्काले जानकारी दिए । संयोजक दाहालले त्यस कार्यक्रममा नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्ध, प्रवासी नेपालीका समस्या र अवसरका साथै एकता र सहकार्यबारे समसामयिक सन्देश प्रदान गर्ने सचिवालयले जनाएको छ । दाहाल सोमबार साँझ नेपाल फर्कने कार्यक्रम छ ।
काठमाडौँ, २० पुसः नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्त राज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नुपर्ने सङ्घर्षसहितको प्रवासी जीवनको कथा बोकेको चलचित्र ‘प्रवासी जीवन’ आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने भएको छ । श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रूपमा निर्देशन गर्नुभएको उक्त चलचित्रमा अहिनेता राजेश हमाल, सरिता लामिछाने, बुद्धि तामाङ, महादेव त्रिपाठी, एञ्जेला बस्नेत, गगन सुवेदी, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरी, शिखा अधिकारीसँगै स्वयं निर्देशक क्षेत्रीले अभिनय गरेका छन् ।
प्रवासमा पुग्ने जोकोहीले चलचित्रको कथामा आफू वा आफ्नो समाजलाई पाउने निर्देशक क्षेत्रीले बताए । उनले भने, “हामीले भौतिक रूपमा देखिने दुःखका धेरै चर्चा गरे पनि मानसिक रूपमा भोहिरहेको यातनालाई बेवास्ता गर्छौँ । त्यसैले हामीले त्यो समय र त्यहाँबाट निस्किएपछिको सुन्दर भविष्यको कथालाई लिएर चलचित्र तयार गरेका छौँ । चलचित्रले प्रवासी जीवनको एउटा नदेखिएको सरलझैँ लाग्ने गम्भीर समस्यालाई चित्रण गरेको छ ।”
निर्देशक क्षेत्रीले मानसिक स्वास्थ्य समस्या र समाधानको विषयलाई केन्द्रित गरेर चलचित्र तयार गरेकाले प्रवासीको जीवनलाई नजिकबाट बुझ्न फलदायी हुने जानकारी दिए । छायाँकारसमेत रहेका निर्माता रविन आचार्यले निर्माण गर्नुभएको उक्त चलचित्रमा कथा, पटकथा तथा संवाद स्वयं निर्देशक क्षेत्रीले नै तयार गरेका छन् ।
१९ पुस, काठमाडौं । एक वर्षको अवधिमा विश्वका विभिन्न ७७ मुलुकबाट २७९० जना नेपाली डिपोर्ट भई नेपाल फिर्ता आएका छन्। अध्यागमन विभागका अनुसार सबैभन्दा बढी मलेशियाबाट ४९८, संयुक्त राज्य अमेरिकाबाट ४६२, यूनाईटेड अरब ईमिरेट्सबाट ३२३, दक्षिण कोरियाबाट २५७, जापानबाट १२८ डिपोर्ट भई आएका हुन्। सम्बन्धित मुलुकमा ओभरस्टे बसेको, अपराधमा संलग्न भई कैद भुक्तान गरेको, भिसा नलिई गैरकानूनी बसेको, सम्बन्धित मुलुकको अध्यागमन कानून विपरितको कार्य गरेको लगायतका कसूरमा डिपोर्ट गरिएको उल्लेख छ।
सन् २०२५ मा नेपालबाट ५०१ जना विदेशी डिपोर्ट भएका छन्। त्यसमध्ये ४३७ जना ओभरस्टे (नेपालमा १५० दिनभन्दा बढी पर्यटक भिसामा बसेका) र बाँकी ६४ विभिन्न अपराधमा संलग्न थिए। भिसाको उद्देश्यविपरित नेपालमा बसेका, लागूऔषध कारोवार, मानव बेचबिखन, संगठित अपराध, विदेशी मुद्रा अपचलन, अभद्र व्यवहार लगायतका कसूरजस्ता अपराधमा सजायँ भुक्तान गरी डिपोर्ट भएका हुन्। नेपालबाट वैदेशिक रोजगारीमा गएका युवाहरु विभिन्न कसुरमा फस्दा बढी डिपोट हुने गरेका छन् ।
१९ पुस, काठमाडौं । नेपालले एक वर्षको अवधिमा ११६ जना विदेशीलाई नेपाल प्रवेशमा अश्वीकार गरेको छ । अध्यागमन विभागका अनुसार सन् २०२५ मा नेपालको अध्यागमनले विभिन्न ३६ मुलुकका ११६ जनाको प्रवेश अस्वीकार (इन्ट्री रिफ्युज) गरेको हो । प्रवेश नदिई सम्बन्धित मुलुकमै फिर्ता गरिएकामा सबैभन्दा बढी भारत र चीनका नागरिक छन्।
भिसाको म्याद सकिएका, विगतमा शंकास्पद गतिविधिमा संलग्न भएका, आपराधिक अभिलेख भएका, सुरक्षा खतराको कारण वा विगतमा पटक पटक अध्यागमन नियम उल्लंघन गरेका विदेशी नागरिकलाई अध्यागमनले नेपालमा प्रवेश दिँदैन। यस अवधिमा नेपालबाट ५०१ जना विदेशी डिपोर्ट भएका छन्। त्यसमध्ये ४३७ जना ओभरस्टे (नेपालमा १५० दिनभन्दा बढी पर्यटक भिसामा बसेका) र बाँकी ६४ विभिन्न अपराधमा संलग्न थिए।
भिसाको उद्देश्यविपरित नेपालमा बसेका, लागूऔषध कारोवार, मानव बेचबिखन, संगठित अपराध, विदेशी मुद्रा अपचलन, अभद्र व्यवहार लगायतका कसूरजस्ता अपराधमा सजायँ भुक्तान गरी डिपोर्ट भएका हुन्।
काठमाडौँ, १८ पुसः यहाँस्थित बङ्गलादेशी राजदूतावासले पूर्वप्रधानमन्त्री खालिदा जियाप्रति समवेदना प्रकट गर्न बिहीबारदेखि दूतावासमा शोक पुस्तिका राखेको छ । गत मङ्गलबार बङ्गलादेशकी पूर्वप्रधानमन्त्री जियाको निधन भएको हो । उक्त दूतावासले बिहीबार नै परराष्ट्र मन्त्रालय, यहाँस्थित कूटनीतिक नियोग तथा अन्य अन्तरराष्ट्रिय संस्थाहरुलाई पत्र पठाएर शोक पुस्तिका राखिएको जनाएको छ ।
भोलि शनिबारबाहेक यही पुस २१ गते सोमबारसम्म प्रत्येक दिन बिहान १०ः०० बजेदेखि अपराह्न ५ः०० बजेसम्म शोक पुस्तिकामा हस्ताक्षर गर्ने व्यवस्था मिलाइएको उक्त दूतावासले बताएको छ । पत्रमा दूतावासले नेपालमा कार्यरत कूटनीतिज्ञ, सरकारी अधिकारी र अन्तरराष्ट्रिय समुदायका सदस्यलाई शोक व्यक्त गर्न र पुस्तिकामा हस्ताक्षर गर्न आमन्त्रित गरेको छ ।
काठमाडौँ, १८ पुस । रुसी महासङ्घका विदेशमन्त्री सर्गेई लावरोभले परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् । मन्त्री शर्मालाई बुधबार बधाई सन्देश पठाएर रुसी विदेशमन्त्रीले रुस र नेपालबीचको सम्बन्ध परम्परागत रूपमा मैत्रीपूर्ण र रचनात्मक रहँदै आएको उल्लेख गर्दै दुवै देशका जनताको हितमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन संयुक्त रूपमा काम गर्न आफू तयार रहेको बताएका छन् ।
रुसी विदेशमन्त्री लावरोभले परराष्ट्रमन्त्री शर्माको सुस्वास्थ्यको कामना गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको यहाँस्थित रुसी राजदूतावासले जनाएको छ ।
१७ पुस, काठमाडौं । विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा आएको छ । सरकारले आज १ जनवरी २०२६ को अवसर पारी यो प्रणाली कार्यान्वयनमा ल्याएको हो । गृहमन्त्री ओमप्रकाश अर्याल, नेपाल पर्यटन बोर्डका प्रमखु कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी लगायतको उपस्थितिमा अध्यागमन विभागले उक्त प्रणाली सुरुवात गरेको हो ।
यसअघि १ असोजदेखि कार्यान्वयनमा ल्याउने घोषणा गरेको अध्यागमन विभागले मुलुकभित्र परिवर्तित घटनाक्रमका कारण १ जनवरीदेखि अनिवार्य गरेको हो । विभागका अनुसार यस्तो प्रणाली दुई चरणमा अनिवार्य गर्न लागिएको छ । पहिलो चरणमा काठमाडौं उपत्यकाका तारे होटलमा अनिवार्य लागु गरिएको छ ।
दोस्रो चरणमा भने १ मार्च २०२६ (१७ फागुन २०८२) देखि देशैभरिका तारे होटल, वायुसेवा कम्पनी, टुर्स एन्ड ट्राभल कम्पनी, मनी एक्स्चेन्जमा लागु गरिने छ । यसैगरी सबै प्रकारका होटल, गेस्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा लागु गरिने विभागले जनाएको छ । विभागले विकास गरेको प्रणालीमा अनिवार्य आबद्ध हुने विदेशी नागरिकलाई सेवा प्रदान गर्ने सबै सार्वजनिक एवं निजी कम्पनीलाई अनुरोध समेत गरिएको छ ।
अध्यागमन विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले विदेशी नागरिक दर्ता तथा अनुगमन ९ट्र्याकिङ० प्रणाली विकास गरेको जनाएको छ । यस प्रणाली कार्यान्वयन मार्फत नेपाल प्रवेश गर्ने विदेशी नागरिकको बसोबास तथा गतिविधिको अभिलेख व्यवस्थित हुने भएको छ । यसले आपतकालीन अवस्थामा खोज, उद्धार र सुरक्षा सुनिश्चितता गर्न सहज हुने विश्वास लिइएको छ ।
त्यस्तै सुरक्षा निकाय, पर्यटन व्यवसायी तथा सरोकारवाला अन्य निकायबीच सूचना आदान–प्रदान प्रक्रिया प्रभावकारी हुने र पर्यटन क्षेत्रको सुरक्षित र व्यवस्थित विकासमा सहयोग पुग्ने जनाइएको छ । विभागले आफ्नो वेबसाइटमा यो प्रणालीमा आबद्ध हुने तरिकाबारे समेत जानकारी गराएको छ ।
काठमाडौँ, १७ पुसः ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो ।
Young couple share a tender moment celebrating the New Year’s with other people outside Red Square with the Spasskaya Tower and the St. Basil’s Cathedral, in the background, in Moscow, on Thursday, Jan. 1, 2026. (AP Photo)
नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँछन् । ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारमा मात्र निर्माण गरिएको बताइन्छ ।
People celebrate New Year’s Eve, in Rome, Thursday, Jan. 1, 2026. (AP Photo/Alessandra Tarantino)
यसको आलोचना गर्नेहरूले सोही आधारमा पात्रो वैज्ञानिक नभएको समेत भन्ने गरेका छन् । विभिन्न संवत्को अध्ययन अनुसन्धानमा लाग्नुभएका डा शास्त्रदत्त पन्तले सौरमास र चन्द्रमासको समन्वयबाट वैदिककालदेखि नै सुरु भएको विसं जति वैज्ञानिक नभए पनि हाल इस्वी सन्को प्रभाव विश्वव्यापी बन्दै गएको बताउँछन् ।
Fireworks explode around the Burj Khalifa, the world’s tallest building, during New Year’s Eve celebrations in Dubai, United Arab Emirates, Thursday, Jan. 1, 2026. (AP Photo/Fatima Shbair)
३६५ दिन छ घण्टा ४९ मिनेट छ सेकेन्डको एक वर्ष हुन्छ, तर दिनभन्दा सानो घण्टा मिनेट र सेकेन्डको एकाइले गणनामा असर पर्ने भएकाले उल्लेख गरिँदैन । त्यसको व्यवस्थापनका लागि विसंका आधारमा गणना हुने पात्रोमा तीन वर्षमा अधिकामासको व्यवस्था गरिएको छ ।
इस्वी संवतको नयाँ वर्षको स्वागतार्थ बुधबार राति पोखराको लेकसाइडमा आयोजित सडक महोत्सवमा रमाउँदै गरेका सर्वसाधारण । तस्बिर ः जमुनावर्षा शर्मा / रासस
इस्वी सन् अनुसारको पात्रोमा ‘लिपियर’ का रूपमा त्यसलाई व्यवस्थापन गर्न खोजे पनि पश्चिमा देशमै मतैक्यता हुन नसकेको डा पन्तले बताए । पछिल्लो समय नेपालमा पनि अङ्ग्रेजी नयाँ वर्ष उल्लासपूर्वक मनाउने चलन बढ्दै गएको छ ।
“Baesemanne” (broom men) with long-handled juniper brooms, scary wooden masks and air-filled pig bladders “Soeiblaatere”, participate in the 102nd traditional “Achetringele” procession in Laupen, Switzerland, on Wednesday, Dec. 31, 2025, held to drive away evil spirits for the new year. (Anthony Anex/Keystone via AP)
नयाँ वर्ष २०२६ का अवसरमा विदेशीको बढी उपस्थिति हुने काठमाडौँको ठमेल, बौद्ध तथा उपत्यका बाहिरका पोखरा, सौराहालगायत स्थानमा विभिन्न कार्यक्रम आयोजना गरी नयाँ वर्षको स्वागत भइरहेको छ ।
General view of the Hogmanay New Year’s Eve celebrations, in Edinburgh, Scotland, Wednesday, Dec. 31, 2025.(Steve Welsh/PA via AP)Police and the Rosguardia (National Guard) servicemen secure an area, closed for celebrations on New Year’s Eve, outside Red Square, in Moscow, on Wednesday, Dec. 31, 2025. (AP Photo)Fireworks light-up the sky in central London to celebrate the New Year on Thursday, Jan. 1, 2026. (AP Photo/Alberto Pezzali)Fireworks illuminate the night sky over Zurich, Switzerland, during the New Year’s Eve celebrations, on Thursday, Jan. 1, 2026. (Andreas Becker/Keystone via AP)इस्वी संवतको नयाँ वर्षकाे पहिलो दिन बिहीबार बिहान दाङको घोराही उपमहानगरपालिका–१३ स्थित मौलाकोटबाट देखिएको सूर्योदय। तस्बिर : कुलदीप न्यौपाने / रासस
१७ पुस, काठमाडौं । नेपालबाट एक वर्षको अवधिमा १५ लाख बढी नेपाली विदेशिएका छन् । सन् २०२५ मा १५ लाख २३ हजार नेपाली विदेशिएको अध्यागमन विभागको तथ्यांक छ । विभागका प्रवक्ता एवं निर्देशक टीकाराम ढकालका अनुसार यसै अवधिमा १३ लाख १३ हजार १९१ जना नेपाली विभिन्न देशबाट स्वदेश भित्रिएका छन् ।
नेपालीहरू अध्ययन र श्रमका साथ पर्यटन तथा व्यवसायका लागि पनि विदेश जाने गर्छन् । कोरोनाको समयमा विदेशिनेको संख्या कमी आए पनि त्यपछि पुनः बढिरहेको देखिएको छ । सन् २०१५ मा १० लाखभन्दा धेरै विदेशी पर्यटक पनि नेपाल भित्रिएका छन् भने ९ लाख ८२ हजार ५६१ जना विदेशी नेपालबाट फर्केको तथ्यांक छ । विदेशीको हकमा हवाई मार्ग प्रयोगकर्ताको मात्र तथ्यांक राखिएको छ ।
काठमाडौँ, ११ पुस । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य गर्ने बताएका छन् । मन्त्रालयमा आज पदबहालीका क्रममा उहाँले कुनै किसिमको सहकार्य गर्नुपर्ने लाग्यो भने त्यसलाई सही तरिकाले उठाउने काम आफ्नो हुने उल्लेख गरे । मन्त्री शर्माले भने, “दुई छिमेकी र अन्य मित्र राष्ट्रहरू नवोदित राष्ट्रहरू हुन् । उहाँहरूको अनुभव ज्ञान हामीहरूले लिनुपर्छ । सहकार्य गर्दै अगाडि बढ्ने वातावरण सिर्जना गर्न सकिन्छ भन्ने मलाई आशा छ ।”
नवनियुक्त परराष्ट्रमन्त्री शर्माले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले शर्माको सिफारिसमा राष्ट्रपतिले उनलाई परराष्ट्रमन्त्री नियुक्त गरेका हुन् । मन्त्रिपरिषद् विस्तारसँगै कार्की नेतृत्वको सरकार १५ सदस्यीय भएको छ ।
काठमाडौँ, ११ पुस । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा उनले शपथ लिएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपतिले शर्मालाई आजै परराष्ट्रमन्त्रीमा नियुक्त गरेका हुन् । मन्त्रिपरिषद् विस्तारसँगै कार्की नेतृत्वको सरकार १५ सदस्यीय भएको छ ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च पदस्थ कर्मचारी, कूटनीतिक नियोगका प्रमुख, संवैधानिक अङ्गका प्रमुखको सहभागिता थियो । नेपाली सेनाका पूर्वरथी शर्माले तत्कालीन सेना समायोजन विशेष समितिको सचिवालय संयोजकको भूमिका निर्वाह गरेका थिए । संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको फोर्स कमाण्डरको जिम्मेवारीसमेत सम्हालिसकेका उनी प्रतिरक्षा विश्वविद्यालयका अध्यक्ष हुन् ।
न्युयोर्क नेपाली जनसम्पर्क समिति अमेरिकाले करिव ११ वर्ष पछि शनिबार अमेरिकाका सबै राज्यहरुमा यो वर्ष भने अधिवेशन गरेको छ । लामो समयदेखि अधिबेशन हुन् नसककेका कारण नेपाली जनसम्पर्क समिति भित्र आन्तरिक बिबाद समेत देखिएकोमा यस पटक नेपाली काँग्रेस केन्द्रीय समितिको निर्देशन अनुसार अधिबेशनको गरिएको हो ।
नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टका अनुसार ३३ वटै राज्यमा सदस्यता वितरण, नबिकरण र अधिबेशन सम्पन्न भएको छ । नेपाली काँग्रेसको यही पौष २६–२८ गते नियमित महाधिवेशन गर्ने निर्णय भएसँगै विदेशमा रहेका आफ्ना क्रियाशील सदस्यहरु आबद्ध भातृ संगठन नेपाली जनसम्पर्क समितिको अधिवेशन यही पौष १५ गतेभित्र सम्पन्न गर्न निर्देशन दिएको थियो। सोही बमोजिम नेपाली जनसम्पर्क समिति, अमेरिकाले अधिवेशनमार्फत सर्वसम्मत रुपमा नयाँ कार्यसमितिहरु चयन गरेको हो ।
सम्पन्न अधिवेशनमार्फत न्युयोर्क च्याप्टरको सभापतिमा दीनदयाल भण्डारी चयन भएका छन् । च्याप्टरको बरिष्ठ उपसभापति द्वयमा दावा फिन्जु शेर्पा र उमेश थापा, उपसभापतिमा भिमसेन श्रेष्ठ, सचिबमा सुभाष केसी, सहसचिबमा रमेश पाठक र बिबेक अधिकारी, कोषाध्यक्षमा ललिता चन्द निर्बिरोध निर्बाचित भएका छन् । शुरुमा अध्यक्ष पदका लागि सात जनाले ईच्छा जाहेर गरेको भएपनि अन्तिममा सर्बसम्मत रुपमा कार्यसमिति चयन गरिएको थियो । कार्य समितिको सदस्यहरुमा अमन बागचन्द, लोकमणि न्यौपाने, महादत्त कंडेल,टासी शेर्पा, सनबहादुर पुन, रामकुमार गिरि, फुर्वा शेर्पा,र कृष्ण शर्मा रहेका छन्।
यसैगरी अमेरिकाको जर्जिया च्याप्टरको अधिबेशनले शिबकमल पौडेल अध्यक्ष रहेको नयाँ कार्यसमिति निर्बिरोध रुपमा निर्बाचित गरेको छ । समितिको उपाध्यक्षमा सबिता कुँवर केसी, महासचिबमा राजु खनाल, कोषाध्यक्षमा सुष्मा पहारी र सदस्यहरुमा दिपक केसी, जयलाल शर्मा, सरोज भण्डारी चयन भएका नेविसंघ पूर्व केन्द्रीय सदस्य (हाल अमेरिका) सन्तोष पहारीले जानकारी दिए । कार्यसमितिको सल्लाहकारहरुमा पहारीसहित केशव शर्मा, कुमार केसी, अनिल कोइराला, मदन घिमिरे, हरी भण्डारी र दिनेश राई रहेका छन् । त्यस्तै महाधिबेशन प्रतिनिधिहरुमा दिपक केसी, कपिल वाग्ले, दिनेश राई, विश्वमान आन्ग्दमबे, शिबकमल पौडेल, पारस थापा र सन्तोष पहारी चयन भएका छन् ।सम्पन्न अधिवेशनबाट मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा नेत्र केसी ड्यालस फोर्टवर्थ च्याप्टरमा उज्जल खत्री ,वेष्ट टेक्ससमा हरिप्रसाद ढकाल, नर्दन क्यालिफोर्नियामा हरि भट्ट,सेन्ट्रल टेक्ससमा विनोद श्रेष्ठ,कान्ससमा फिलिपी केसी, अस्टिनमा कोशल यादवको नेतृत्वमा कार्यसमिति चयन भएको छ । अन्यको नामावलि प्राप्त हुन बाँकी छ । नेपाली जनसम्पर्क समिति अमेरिकामा हाल नेपाली नागरिकता कायम रहेका (अमेरिकाको नागरिकता नलिएका) र अमेरिकाको नागरिकता लिएका गरी दुइ प्रकृतिका सदस्यहरु रहेका छन्। नेपाली नागरिकता कायम रहेका सदस्यहरुले मात्र नेपाली काँग्रेसको महाधिवेशन प्रक्रियामा भाग लिन पाउने छन्। तर, नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनमा भने दुबै प्रकृतिका सदस्यहरुले सहभागिता जनाउन पाउने व्यवस्था छ। नेपाली जनसम्पर्क समिति, अमेरिकाले बताए अनुसार हाल संस्थामा ४ हजार पाँच सय बढी सदस्यहरु रहेका छन्। सन् २०१४ मा अमेरिकाको टेक्सास राज्यमा एकताको अधिवेशन भएको थियो। त्यस पछि आन्तरिक बिबादको कारण अधिवेशन हुनसकेको थिएन। लामो समयसम्म अधिवेशन हुन नसक्दा संस्थाको नेतृत्वमा रहेकाहरुले धेरै आलोचना समेत खेप्नु परेको थियो । यस पटक अधिबेशन सम्पन्न भएसंगै पुरानो बिबाद अन्त्य हुने र नेपाली जनसम्पर्क समिति थप सक्रिय र गतिशील बन्ने बिश्वासमा समितिका सदस्यहरु रहेका छन् ।
काठमाडौँ, ९ पुस । राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै विभागले आवश्यक भएकालाई तत्कालै उपलब्ध गराइने जनाएको छ । विभागका अनुसार यसअघि अन्तरिम अवधिका लागि सात लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय भएको थियो ।
राहदानी पुस्तिकाको आपूर्तिसँगै विभागले पूर्ण क्षमतामा राहदानी आपूर्ति भएको छ । राहदानी पुस्तिकाको आपूर्तिसँगै विभागले पूर्ण क्षमतामा राहदानी वैयक्तिकरण गरी जिल्ला, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिएकालाई उपलब्ध गराइनेछ ।
गत मङ्सिर १५ सम्म आवेदन दिएकालाई यही पुस १५ गतेसम्म नयाँ राहदानी उपलब्ध गराइनेछ भने त्यसपछि आवेदन दिएकालाई क्रमशः उपलब्ध गराइँने विभागले जनाएको छ । अन्तरिम अवधिका लागि उपलब्ध भएको राहदानी पुस्तिकाका कारण अब भने सहज रुपमा वितरण हुने विभागले प्रष्ट पारेको छ ।
काठमाडौँ, ८ पुस । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले राष्ट्रपति भवनमा बिदाइ भेट गरेका छन् । त्यस अवसरमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपतिले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत छनप्रति धन्यवाद ज्ञापन गरे ।
काठमाडौँ, ८ पुस । वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणवापत वृद्धि गरिएको शुल्क सरकारले खारेज गरेको छ । सो खारेजी पश्चात साविककै दरमा शुल्क कायम गरिएपछि वैदेशिक रोजगार व्यवसायीले सरकारको निर्णय स्वागतयोग्य भएको बताएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत कात्तिक ३० गते शुल्क वृद्धि गरी नौ हजार पाँच सय पु¥याएको थियो । त्यस अघि छ हजार पाँच सय मात्र शुल्क थियो । सो निर्णय विरुद्ध व्यवसायीहरुले विरोध जनाएका थिए ।
श्रम मन्त्री राजेन्द्रसिंह भण्डारीले सो शुल्क खारेज गरिएको बताए । मन्त्रालयले ३४ वटा स्वास्थ्य परीक्षण आवश्यक भएको जनाउँदै शुल्क वृद्धि गरेकोमा सो आवश्यक नरहेको वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष भुवनसिंह गुरुङले बताए । “सरकारले अनावश्यक श्रमिकको खर्च बढाउने काम गरेको थियो”, उनले भने, “अहिले सो शुल्क खारेज गरी श्रमिकको हितमा निर्णय गर्नु प्रशंसनीय छ ।”
नयाँदिल्ली, ८ पुस (रासस–सिन्ह्वा) । अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको एक प्रकारको अमेरिकी भिसा लिएका र चाडपर्वको मौसममा स्वदेश फर्किएका हजारौँ भारतीय व्यवसायीहरू अमेरिकाले श्रम अनुमतिका लागि भिसा नवीकरणका लागि अन्तर्वार्ता १२ महिना वा त्योभन्दा बढी समयसम्म स्थगित गरेका कारण काममा फर्किन असमर्थ बनेका छन् ।
मिडिया रिपोर्टका अनुसार नयाँ दिल्लीस्थित अमेरिकी दूतावास र विशेष गरी चेन्नई र हैदराबाद लगायतक धेरै शहरहरूका वाणिज्य दूतावासहरूले यस्ता अन्तर्वार्ताहरूका लागि ‘एक्कासी पुनःतालिका’ बनाइ ढिलो गरेका कारण उनीहरू काममा फर्किन नसककेका हुन् । “विदेश मन्त्रालयले नियमित रूपमा संसाधनको उपलब्धतासँग मेल खाने आवश्यकताअनुसार वार्ताको तालिका परिवर्तन गर्दछ। हामी कुनै पनि परिवर्तनको बारेमा प्रभावित भिसा आवेदकहरूलाई सिधै सूचित गर्नेछौँ,“ नयाँदिल्लीस्थित अमेरिकी दूतावासका प्रवक्ताले भने ।
अमेरिकी विदेश मन्त्रालयले उच्च दक्ष भारतीय पेशेवरहरूलाई ‘अमेरिकी राष्ट्रिय सुरक्षा वा सार्वजनिक सुरक्षा’ सुनिश्चित गर्ने ट्रम्प प्रशासनको नयाँ सामाजिक मिडिया जाँचबुझ नियमहरू लागू भएपछि उनीहरूको अन्तर्वार्ता ढिलाइ भएको बताएको थियो। “विदेश मन्त्रालयले सबै भिसा आवेदकहरूको विस्तृत जाँच गर्छ, जसमा ‘एफ’, ‘एम’ र ‘जे’ गैर–आप्रवासी वर्गीकरणमा सबै विद्यार्थी र एक्सचेन्ज भिजिटर आवेदकहरूको अनलाइन उपस्थिति समीक्षा हुन्छ । डिसेम्बर १५ देखि हामी सबै विशेष व्यवसाय अस्थायी कामदार एच–न–बी भिसा आवेदकहरू र ‘एच–फोर’ भिसा वर्गीकरणमा उनीहरूका आश्रितहरूका लागि अनलाइन उपस्थिति समीक्षालाई विस्तार गर्दैछौँ,” प्रवक्ताले भने ।
उनले भने, “प्रत्येक भिसाको मामलामा आवेदकले संयुक्त राज्य अमेरिकाको रक्षा र सुरक्षाको लागि जोखिम उत्पन्न गर्दैन, उसले भिसाको लागि आफ्नो योग्यता विश्वसनीय रूपमा स्थापित गरेको छ र आवेदकले भर्नाका सर्तहरूसँग मिल्दोजुल्दो गतिविधिहरूमा संलग्न हुन चाहन्छ भन्ने कुराको सुनिश्चित गर्न हामी आवश्यक समय लिन्छौँ ।”
काठमाडौँ, ८ पुस । अमेरिकाका विभिन्न सात सहरमा बस्ने नेपाली जातिका प्रतिभाबीच भएको गायन प्रतियोगितामा कोलम्बसकी १३ वर्षीय किशोरी आर्या खनाल प्रथम भएकी छिन् भने नृत्य प्रतिस्पर्धामा कोलम्बसकै १३ वर्षीय खुसी अधिकारी विजयी भएकी छन् ।
नेपाली जातिहरुको बाक्लो बस्ती भएका ओहायोको कोलम्बस, एक्रोन, सिन्सिनाटी तथा पेन्सिलभेनियाको ह्यारिसवर्ग, ल्यानकास्टर, पिट्सवर्ग र स्क्रान्टनका प्रतिभाहरुले भाग लिएका थिए । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा ओहायोको एक्रोनमा भेला भएका यी प्रतिभाहरुबीच यही डिसेम्बर २० र २१ मा प्रतियोगिता आयोजना भएको थियो ।
प्रस्तुतिमा गायनतर्फ सिन्सिनाटीका दिगान्त गुरुङ दोस्रो भएका थिए भने नृत्यतर्फ ल्यानकास्टरकी आयुसा चापागाई दोस्रो भएको फाउण्डेसनले विज्ञप्तिमार्फत जनाएको छ । त्यसैगरी कोलम्बसकै कुञ्जन सुवेदी गायनतर्फ तेस्रो भइन भने ह्यारिसवर्गकी सामन्था क्षेत्री नृत्यतर्फ तेस्रो पुरस्कार जित्न सफल भइन । अमेरिकामै जन्मे हुर्केका नेपाली जातिका बालबालिका र किशोर किशोरीहरुलाई नेपाली कला संस्कृतितर्फ आकर्षित गर्ने चुनौतीपूर्ण कार्य विगत १० वर्षदेखि निरन्तर गरिहेको बताउँदै फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले भुटानबाट लखेटिनु पर्दा नछाडेको नेपाली संस्कृतिलाई पुस्तान्तरणको अभियानमा सबैको साथको अपेक्षा गरे । विजेताहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण गर्दै नेपाली जातिको पहिचान लिएर गर्वका साथ जीवन जीउन सिकाउन फाउण्डेसनले सात सहरहरुमा सातवटा नेपाली नृत्य र सङ्गीतका कक्षाहरु सञ्चालन गरिरहेको जानकारी दिए । यी कक्षाहरुमा एक हजार ३०० नेपाली मूलका बालबालिका, किशोर किशोरीहरु अध्ययनरत छन् ।
यी विद्यार्थीहरुबाट विद्यालयमै गइ अडिसन गराइ छानेर ल्याइएका १०–१० जनाका विद्यार्थीका समूहबीच गराइएको नृत्य प्रतियोगितामा पेन्सिलभेनियाको ल्यान्काष्टर समूह प्रथम भयो भने पेन्सिलभेनियाकै ह्यारिसवर्ग समूह दोस्रो र ओहायोको कोलम्बस समूह तेस्रो भएको छ । प्रतिस्पर्धामा एकल गायन, एकल नृत्य र समूह नृत्यमा प्रथम हुनेले तीन हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् भने दोस्रो हुनेले दुई हजार र तेस्रो हुनेले एक हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् ।
गायन प्रतियागिताको निर्णायकम अञ्जु पन्त, सुजता वर्मा र गायक अर्जुन रसाइली थिए । नृत्यतर्फका निर्णायकमा दिलीप रायमाझी, सारङ्गा श्रेष्ठ र नृत्यविद् आरती शर्मा थिए । कार्यक्रम संयोजक चन्द्र पराजुलीका अनुसार गायनतर्फ २२ जना प्रतिस्पर्धी र नृत्यतर्फ ३४ जना सहभागी थिए । सामूहिक नृत्यतर्फ छ वटा समूहले प्रतिस्पर्धा गरेका थिए ।
रियाद, ७ पुस (रासस–एपी) । साउदी अरेबियाले चुपचाप आफ्नो एक मात्र मदिरा बिक्री केन्द्रमा पहुँच विस्तार गरेको छ । यस निर्णयसँगै अब धनी गैर–मुस्लिम विदेशी बासिन्दाहरूले पनि मदिरा किन्न पाउने भएका छन् । यो कदमलाई एक समय अत्यन्त रूढीवादी मानिएको राज्यले अपनाइरहेको उदारीकरण नीतिको पछिल्लो चरणका रूपमा हेरिएको छ ।
यस विषयमा कुनै औपचारिक घोषणा गरिएको छैन । तर जानकारी बाहिरिएसँगै राजधानी रियादको डिप्लोमेटिक क्वार्टरमा रहेको विवेकपूर्ण र अचिह्नित स्टोर बाहिर कार र मानिसहरूको लामो लाइन देखिन थालेको छ । यो स्टोर सन् २०२४ जनवरीमा गैर–मुस्लिम कूटनीतिज्ञहरूका लागि मात्र खोलिएको थियो । हाल नयाँ नियमअनुसार प्रिमियम रेसिडेन्सी अनुमति प्राप्त गैर–मुस्लिम विदेशीहरूलाई पनि खरिद गर्न अनुमति दिइएको छ । यस्तो रेसिडेन्सी विशेष सीप भएका विज्ञ, लगानीकर्ता तथा उद्यमीहरूलाई प्रदान गरिन्छ ।
इस्लामका सबैभन्दा पवित्र स्थलहरूको घर साउदी अरेबियामा सन् १९५० को दशकदेखि मदिरा पूर्ण रूपमा प्रतिबन्धित छ । उक्त स्टोरलाई राज्यले मदिराको सीमित र नियन्त्रित बिक्री कसरी सम्भव हुन्छ भन्ने सावधानीपूर्वक परीक्षणका रूपमा लिएको विश्लेषकहरूको भनाइ छ ।
साउदी अरबका वास्तविक शासक क्राउन प्रिन्स मोहम्मद बिन सलमान र उनका ता राजा सलमानको नेतृत्वमा राज्यले पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय व्यापार विस्तार र तेलमा निर्भर अर्थतन्त्र घटाउने उद्देश्यले व्यापक सामाजिक–आर्थिक सुधार अघि बढाइरहेको छ । यसअन्तर्गत चलचित्र हल खोलिएका छन्, महिलालाई गाडी चलाउन अनुमति दिइएको छ र ठूला सङ्गीत महोत्सवहरू आयोजना हुन थालेका छन् । यद्यपि राजनीतिक अभिव्यक्ति र असहमतिको विषयमा राज्य अझै कडा छ, जहाँ कडा सजायसम्मको व्यवस्था छ ।
सामान्य जनताका लागि भने मदिरा अझै प्रतिबन्धित नै छ । उक्त अचिह्नित पसल शुल्क–मुक्त स्टोर जस्तै देखिन्छ र यसको स्वामित्व आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन । सुरक्षाको व्यवस्था कडा छ । आगन्तुकहरू प्रवेशअघि योग्यता जाँच र सुरक्षा परीक्षणबाट गुज्रनुपर्छ । भित्र मोबाइल फोन र क्यामेरा प्रतिबन्धित छन्, स्मार्ट चश्मासमेत जाँच गरिन्छ ।
एसोसिएटेड प्रेसले पसलबाट निस्किएका केही ग्राहकहरूसँग कुरा गरेको छ । मदिरासँग जोडिएको सामाजिक संवेदनशीलताका कारण उनीहरूले नाम नखुलाउने सर्तमा प्रतिक्रिया दिएका छन् । उनीहरूका अनुसार मूल्यहरू निकै महँगा छन् । कूटनीतिज्ञहरूलाई कर छुट दिइए पनि प्रिमियम रेसिडेन्सी धारकहरूलाई त्यो सुविधा छैन । पसलमा मदिराको सङ्ग्रह तुलनात्मक रूपमा राम्रो भए पनि बियर र वाइनको छनोट केही सीमित रहेको उनीहरूको भनाइ छ ।
प्रिमियम रेसिडेन्सी योजना विश्वव्यापी प्रतिभा र लगानी आकर्षित गर्ने साउदी रणनीतिअन्तर्गत सुरु गरिएको हो । यसका लागि साउदी प्रायोजक आवश्यक पर्दैन र यसले सम्पत्ति किन्न, व्यवसाय सुरु गर्न र परिवारलाई प्रायोजन गर्न पाउने अधिकार दिन्छ, तर उच्च आय वा ठूलो लगानी अनिवार्य छ । मदिरा चाहने धेरै साउदी र बासिन्दाहरू छिमेकी बहराइन जाने गर्छन् । त्यहाँ मदिरा कानूनी रूपमा उपलब्ध छ ।
सप्ताहन्त र बिदामा बहराइन साउदीसहित खाडी क्षेत्रका आगन्तुकले भरिने गर्छ । दुबई जानु अझ महँगो विकल्प मानिन्छ । कतिपयले तस्करी गरिएको महँगो वा जोखिमपूर्ण घरेलु मदिराको सहारा पनि लिन्छन् । यसका विकल्पका रूपमा कतिपय साउदीहरूले मदिरा–रहित पेय पदार्थ रोज्ने गरेका छन्, विशेष गरी ठूला कार्यक्रम र उत्सवहरूमा, जहाँ मदिरा–रहित बियर स्ट्यान्डमा लामो लाइन देखिनु असामान्य छैन ।
इतिहासमा फर्किँदा, साउदी अरबका संस्थापक राजा अब्दुलअजिजले सन् १९५१ मा आफ्ना छोरा राजकुमार मिशारीले नशामा जेद्दामा बेलायती उप–वाणिज्यदूत सिरिल ओसमानलाई गोली हानी हत्या गरेको घटनापछि मदिरा बिक्रीमा पूर्ण प्रतिबन्ध लगाएका थिए ।
चितवन, ६ पुसः नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ बढेको छ । गत साउनयता यहाँ ४० जनाले नागरिकता परित्याग गर्दा ४९ जनाले गैरआवासीय नागरिकता लिएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार नागरिकता परित्याग गर्नेमा १३ महिला र २७ पुरुष छन् । गैरआवासीय नागरिकता लिन नेपाल आएका समयमा नेपाली नागरिकता परित्याग गर्ने गरेको उनले बताए ।
जिल्लामा साउनयता २० महिला र २९ पुरुषले गैरआवासीय नागरिकता लिएका छन् । यो नागरिकताका लागि कार्यालयले जारी गरेको अनुसूची फर्म भरेर पासपोटको फोटोकपी, विदेशी नागरिकताको फोटोकपी, नागरिकता त्यागेको निस्सा र नातेदार वा चिनजानको व्यक्तिले सनाखत गर्नुपर्ने उनले बताए ।
विदेशमा बसेका नोपालीहरूले नेपालमा लगानी गर्न सहजताका लागि गैरआवासीय नागरिकता लिने गरेको उनले जानकारी दिए । जिल्लामा दुई जनाको नागरिकता रद्द गरिएको उहाँले बताउनुभयो । दोहोरो नागरिकता रहेको वा राज्यविरोधी गतिविधि गरेकाहरूको नागरिकता रद्द गरिएको हो । साउनयता यस कार्यालयबाट वंशजका आधारमा तीन हजार ७५९ जना र वैवाहिक अङ्गीकृत नागरिकता ११ जनाले लिएका छन् ।
काठमाडौँ, ६ पुसः दोस्रो विश्व ध्यान दिवसका अवसरमा नेपालले पहिलो पटक संयुक्त राष्ट्रसङ्घमा विशेष प्रस्तुती दिएको छ । नेपालको प्रतिनिधित्व गर्दै जीवन विज्ञान प्रतिष्ठानले ध्यान दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घमा शुक्रबार ध्यानसम्बन्धी अलग ÷अलग दुई कार्यक्रम आयोजना गरेको छ । नेपालको तर्फबाट जीवन विज्ञान प्रतिष्ठानका संस्थापकद्वय रमेश नेपाल र एलपी भानु शर्माले अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित विशेष कार्यक्रममा ‘विश्वव्यापी शान्ति र सद्भावका लागि ध्यान’ विषयमा विशेष प्रवचन,योगाभ्यास एवं ध्यान गराए ।
प्रतिष्ठानद्वारा जारी प्रेस विज्ञप्तिमा सो कार्यक्रमबाट नेपाल उद्गमस्थल रहेको योग, ध्यान, समाधिलगायतका आध्यात्मिक चेतना विश्वभर प्रचारप्रसार गर्न सहयोग पुगेको जनाइएको छ । ‘विश्वव्यापी शान्ति र सद्भावको लागि ध्यान’ कार्यक्रममा गुरु भानुले आधुनिक विश्वका चुनौतीहरूको सामना गर्न प्रत्येक मानवको मन स्थिर हुनुपर्ने स्पष्ट पार्दै त्यसका लागि ध्यान गर्न आह्वान गरे ।
संयुक्त राष्ट्रसङ्घले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसका रूपमा मनाउन थाल्नु वैश्विक चेतनाको ऐतिहासिक क्षण भएको जनाउँदै उनले परम्परागत कूटनीति र नीति निर्माणसँगै अब आन्तरिक जागरण, ध्यान र मानसिक स्वास्थ्यलाई पनि विश्व शान्तिको पूर्वाधारका रूपमा स्वीकार गरिएकामा खुसी व्यक्त गरे ।
उनले भने, “ध्यानको अभ्यासले मात्र विश्वव्यापी शान्ति निर्माणमा निर्णायक भूमिका खेल्छ । शान्ति र द्वन्द्व समाधानमा आन्तरिक रूपान्तरणको अपरिहार्यता हुन्छ । बुद्ध भूमि नेपाललाई पूर्वीय ज्ञान र आधुनिक विज्ञानको सेतुका रूपमा प्रस्तुत गर्नुपर्दछ । ध्यानको प्रायोगिक रूपान्तरण, नेपालद्वारा विश्वलाई जागरणको आह्वान र मानसिक स्वास्थ्यलाई वैश्विक पूर्वाधारका रूपमा विकास गरिनुपर्छ । ”
कार्यक्रममा नेपाल, भारत, श्रीलङ्का, एण्डोरा र मेक्सिकोका संयुक्त राष्ट्रसङ्घका लागि स्थायी प्रतिनिधिले ध्यान दिवसको महत्वबारे चर्चा गरेका थिए । कार्यक्रममा एलपी भानु शर्मासँगै भारतका रवि शङ्करलगायत विभिन्न देशका गुरु समेत प्रस्तुति थियो । यस्तै संयुक्त राष्ट्रसङ्घको मुख्यालयमै विभिन्न समुदायका लागि नेपालले आयोजना गरेको ‘जागृत मनः शान्ति, स्वास्थ्य र सद्भावको बाटो’ कार्यक्रममा सहभागीलाई गुरु रमेश नेपालले ध्यानका महत्वका बारेमा विशेष प्रवचन दिँदै सहभागीलाई ध्यान तथा योगाभ्यास गराए । सो अवसरमा उनले ध्यानले शरीरमा रहेको शक्ति जगाउने र सक्रिय गराउने बताए । उनले भने, “ध्यानले मनलाई शान्ति र सकारात्मकता दिन्छ । जीवनी शक्ति सबल बनाउने ध्यानको उद्देश्य हो । ”
उनले ध्यानको अभ्यासलाई मानिसको दैनिक जीवनसँग जोड्नसके संसारबाट अशान्ति, कलह र तनावको अन्त्य हुने जनाउँदै ध्यानलाई विश्वव्यापी बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा गुरु भानुले ध्यानका विभिन्न आयामको चर्चा गर्दै व्यक्तिभित्रका सम्भावना जगाउन शरीरका ऊर्जा केन्द्रहरू चिन्ने र सक्रिय गराउने स्वजागरण अभियान विश्वभर प्रयोग गर्नुपर्ने बताए ।
यसका लागि नेपालका तर्फबाट जीवन विज्ञानले स्वजागरण अभियान सुरु गरेको जानकारी दिए । सो कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका उपमहासचिव अटुल खरे, संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी प्रतिनिधि लोकबहादुर थापा, जीवन विज्ञान प्रतिष्ठानका अध्यक्ष देवी गुरुमालगायत विभिन्न देश र समुदायका प्रतिनिधिहरूको सहभागिता थियो । संयुक्त राष्ट्रसङ्घले सन् २०२४ मा घोषणा गरेको विश्व ध्यान दिवस हरेक वर्ष डिसेम्बर २१ मा मनाइन्छ ।
जीवन विज्ञानका सचिव किरण रुपाखेतीद्वारा जारी विज्ञप्तिमा यस कार्यक्रमबाट नेपाल उद्गमस्थल रहेको योग, ध्यान, समाधिलगायतको आध्यात्मिक चेतना विश्वभर प्रचारप्रसार हुने उल्लेख छ । साथै यसबाट परापूर्वकालदेखि प्रयोग र अभ्यास हुँदै आएका अध्यात्म, आयुर्वेद र प्राकृतिक चिकित्साबाट विश्वले लाभ लिन सक्ने जनाइएको छ ।
रासस भेरीगङ्गा (सुर्खेत), ६ पुसः कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका लागि वार्षिक ३० हजार जतिले श्रम स्वीकृति लिने गरेका छन् । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्र कर्णालीका १० जिल्लाका २८ हजार ४९ जनाले श्रम स्वीकृति लिएका छन् । जसअन्तर्गत सबैभन्दा धेरै सल्यानबाट छ हजार ९६७ पुरुष र ६२० महिला गरी सात हजार ७ हजार ५८७ जनाले श्रम स्वीकृति लिएका छन् ।
त्यसैगरी, सुर्खेतका पाँच हजार ८९ पुरुष र ५६८ महिलासहित छ हजार ३८७ जनाले श्रम स्वीकृति लिएको तथ्याङ्क छ । दैलेखका तीन हजार ९६५ पुरुष र ३२३ महिला गरी चार हजार २८८, रुकुमपश्चिमका दुई हजार ८५९, जाजरकोटका दुई हजार ५१८, कालिकोटका एक हजार २५, जुम्लाका एक हजार २५५ जनाले श्रम स्वीकृति लिएका छन् । मुगुका ६८६, हुम्लाका ६०८ र डोल्पाका ६८८ जनाले श्रम स्वीकृति लिएको पाइएको छ ।
पछिल्लो समय स्वदेशमा रोेजगारीका अवसर सृजना हुन नसक्नु र धेरै रकम कमाउने आशामा यहाँका नागरिक वैदेशिक रोजगारीमा जाने चलन बढेको सरोकारवाला बताउँछन् । वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्नेमा सरोकारवालाको जोड छ । अन्तरराष्ट्रिय आप्रवासन दिवसका अवसरमा कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सञ्चालन गरिरहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत अन्तक्र्रियाका सहभागी सरोकारवालाले यस्तो बताएका हुन् । उनीहरूले सकेसम्म स्वदेशमै रोजगारीका अवसर खोज्नुपर्ने, विदेश जानुपर्ने नै भए जानेर बुझेरमात्र जानुपर्ने सुझाव दिएका छन् ।
श्रम अधिकृत ध्रुव देवकोटाले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन गाउँगाउँसम्म सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । सुरक्षित आप्रवासन कार्यक्रमका प्रदेश व्यवस्थापक कमलबहादुर रोकायले वैदेशिक रोजगारीमा गएका कर्णालीका हालसम्म २६४ जनाको मृत्यु भएको जानकारी दिँदै वैधानिक र कानुनी प्रक्रियाबाट मात्र वैदेशिक रोजगारीमा जानुपर्ने सुझाव दिए । उनले पछिल्लो समय अवैधानिक बाटो भएर वैदेशिक रोजगारीमा जाने तथा विभिन्न प्रलोभनमा परेर ठगीका घटना बढिरहेको भन्दै सबै पक्षले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।
सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले देशमा रोजगारीको अवसर नहुँदा विदेश जानुपर्ने अवस्था रहेको भन्दै वैदेशिक रोजगारीमा जाने व्यक्ति सबै कुरा थाहा पाएरमात्र जानुपर्ने सुझाव दिए । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव अजितकुमार कर्णले सरकारले श्रम सम्झौता गरेका देशबाहेक अन्य देशमा जान नहुने विषयमा सबै गाउँमा चेतना फैलाउनुपर्नेमा जोड दिए । स्वीडेन सरकार र हेल्भेटासको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रम कर्णालीका ५१ पालिकामा लागू भएको छ ।
काठमाडौँ, ४ पुस । नेपाल–कम्बोडियाबीच व्यापार, लगानी तथा सांस्कृतिक सहकार्यलाई सुदृढ गर्ने उद्देश्यले कम्बोडिया–नेपाल बीटूबी व्यापारिक अन्तरक्रिया कार्यक्रम २०२६ आयोजना हुने भएको छ । आगामी पुसको अन्तिम साता कम्बोडियामा आयोजना हुन लागेको कार्यक्रम कम्बोडियाको जुवा सप्लाइज एण्ड मेन्टेनेन्स कम्पनी लिमिटेड (जेयसएम कम्बोडिया) द्वारा आयोजना हुने छ भने नेपालको सिजन मिडियाले कार्यक्रमको व्यवस्थापन गर्ने बताइएको छ ।
कार्यक्रममा नेपालतर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स,लगायत पर्यटन, उड्डयन, यात्रा–पर्यटन, उत्पादन, संस्कृति, प्रविधि तथा आयात–निर्यात क्षेत्रका व्यावसायिक प्रतिनिधिहरूको सहभागिता रहनेछ । कम्बोडियातर्फबाट कम्बोडिया चेम्बर अफ कमर्स, पर्यटन तथा आतिथ्य सङ्घ संस्था, उड्डयान कम्पनी, निजी लगानी समूह, व्यापारिक संस्था तथा सांस्कृतिक–सिर्जनात्मक क्षेत्रका प्रतिनिधि सहभागी हुने कार्यक्रम संयोजक रामप्रसाद पाध्याले जानकारी दिए । उनका अनुसार एसियन मुलुकका व्यवसायी, कलाकार, उद्यमी र नवप्रवर्तकहरूलाई नेटवर्किङ र अनुभव आदानप्रदानको प्लेटफर्म पनि प्रदान गर्नेछ ।
यसमार्फत नेपाल र कम्बोडियाबीचको द्विपक्षीय मित्रता, सांस्कृतिक कूटनीति र पर्यटन प्रवद्र्धनलाई थप बल मिल्ने अपेक्षा गरिएको गैरआवासीय नेपाली सङ्घ कम्बोडियाका पूर्व अध्यक्ष एवं व्यवसायी लालसिंह खड्काले बताए । कार्यक्रमअन्तर्गत नेपाल–कम्बोडियाका व्यवसायीकहरुबीच लगानी तथा व्यापारीक भेटघाट, क्षेत्रगत छलफल, व्यापारिक नेटवर्किङ तथा नीतिगत संवाद सञ्चालन गरिनेछ । पर्यटन तथा आतिथ्य, उड्डयन, यात्रा सेवा, कृषि, उत्पादन, रियल स्टेट, सांस्कृतिक तथा सिर्जनात्मक उद्योग र डिजिटल नवप्रवर्तन जस्ता उच्च सम्भावनायुक्त क्षेत्रमा संयुक्त लगानी र सहकार्यका अवसर पहिचान गरिनेछ ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा दुवै देशबीचको आर्थिक विकास, नवप्रवर्तन र द्विपक्षीय सहकार्यमा योगदान पु¥याउने उत्कृष्ट उद्यमी, उद्योगपति तथा संस्थाहरूलाई ‘इन्टरनेशनल एक्सिलेन्स अवार्डबाट सम्मान गरिनेछ । यो अवार्ड समारोहले कम्बोडियालगायत एसियन मुलुकका विभिन्न क्षेत्रमा सफल र सक्रिय उद्योगी, कलाकार, नवप्रवर्तन, पर्यटन, शिक्षा र स्वास्थ्यलगायत विभिन्न क्षेत्रका असाधारण योगदान दिएका व्यक्तित्व र संस्थाहरूलाई अवार्ड सम्मान प्रदान गर्नेछ ।
एसियन मुलुकभरका पेसागत र संस्थागत व्यक्तित्वको योगदानलाई मान्यता दिने र अन्तरराष्ट्रिय सहयोग तथा सांस्कृतिक आदानप्रदानलाई प्रवद्र्धन गर्न ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड प्रदान गर्न लागिएको कार्यक्रम व्यवस्थापक प्रदीपराज वन्तले बताए । अन्तरराष्ट्रिय व्यापार सम्मेलन २०२६ कार्यक्रम केवल व्यापारिक भेटघाट मात्र नभइ दुवै देशबीच दीर्घकालीन साझेदारी, जनस्तरको सम्बन्ध विस्तार र साझा समृद्धिको आधार निर्माण गर्ने महत्वपूर्ण मञ्चको रुपमा रहेको र यसले द्विपक्षीय व्यापार प्रवद्र्धन, पर्यटन विकास र लगानी विस्तारमा उल्लेखनीय योगदान पु¥याउने विश्वास गरिएको व्यवसायी खड्काले बताए ।
यसैबीच कम्बोडियाका चेम्बर अफ कर्मसका डाइरेक्टर जनरल डेपुटी डाइरेकटर जनरललगायत अन्य पदाधिकारी र नेपाल चेम्बरआफ कर्मसका अध्यक्षलगायत अन्य प्रतिनिधि र विभिन्न व्यवसायीहरुसँग भेटघाट भइसकेको छ । कम्बोडिया सरकारका पर्यटन उपमन्त्रीका राज्य सचिव डा थोक सोखोम, पर्यटन मन्त्रालयका सचिव कुच पन्नहासा र कम्बोडियन ट्रेड प्रमोशन एसोसिएसनका संस्थापक अध्यक्ष जेसी म्याककुलसँग दुई देशबीचको पर्यटन आदानप्रदान प्रवद्र्धन तथा नेपाल र कम्बोडियाका व्यवसायीबीच हुने व्यावसायिक भेटघाट कार्यक्रमलाई कसरी व्यवस्थित र सफलतापूर्वक सम्पन्न गर्ने भन्ने विषयमा विस्तृत छलफल भएको कार्यक्रम संयोजक पाध्याले जानकारी दिए ।
दोधारा चाँदनी (कञ्चनपुर), ३ पुसः प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएको अवस्थामा ज्यान गुमाएका कञ्चनपुरका २४ वर्षीय विद्यार्थी विपिन जोशीको स्मृतिमा भीमदत्त नगरपालिकाले शालिक स्थापना गर्ने निर्णय गरेको छ । स्वर्गिय विपिनको घर जाने सडक पूर्वपश्चिम राजमार्ग र ब्रह्मदेव लिङ्क सडकको मुख्य चोकको नाम विपिन जोशी चोक नामकरण गर्ने र सोही स्थानमा विपिनको शालिक निर्माण गर्ने कार्यपालिकाले निर्णय गरेको भीमदत्त नगरपालिका–३ का वडाध्यक्ष गगन धामीले जानकारी दिए । उनका अनुसार शालिक निर्माणका लागि नगरपालिकाले रु दुई लाख बजेट विनियोजन गरिसकेको छ ।
“कार्यपालिकाबाट विपिनको स्मृतिमा विपिन चोक नामकरण गरी शालिक बनाउने निर्णय भएको छ”, अध्यक्ष धामीले भने, “अहिले विनियोजित रकमले पूर्ण छैन, आगामी आर्थिक वर्ष थप बजेट विनियोजन गरेर शालिक स्थापना गर्ने कार्यलाई पूर्णता दिइन्छ ।” यसअघि भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले विपिनको स्मृतिमा शालिक स्थापना गर्ने प्रतिबद्धता जनाएका थिए ।
सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्कायका ४९ विद्यार्थी दुई वर्षअघि ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए । उनीहरु इजरायल पुगेको महिना दिन नपुग्दै हमासको आक्रमणमा परेका थिए । हमासको आक्रमणमा परेर १० विद्यार्थीले ज्यान गुमाएका थिए भने विपिनलाई बन्धक बनाइएको थियो । बन्धक बनाएकै अवस्थामा विपिनको निधन भएको हो ।
गत कात्तिकमा इजरायल र हमासबीच जारी युद्ध अन्त्य गर्ने क्रममा अमेरिकाले प्रस्ताव गरेको मध्यपूर्व शान्ति योजनाको पहिलो चरणअनुसार बन्धक र प्यालेस्टिनी कैदी रिहा गर्ने सहमति भएपछि हमासले विपिनको शव हस्तान्तरण गरेको थियो ।
काठमाडौँ, ३ पुस । विदेशबाट मतदानसम्बन्धी अधिकारबारे तयार पारिएको सर्वेक्षण अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । अन्तरराष्ट्रिय आप्रवासी दिवसको सन्दर्भ पारेर प्रतिवेदन सार्वजनिक गरिएको हो । श्रमिक सञ्जाल तथा सामाजिक न्यायका लागि कानुन तथा नीति मञ्चको संयुक्त समन्वयमा कार्यक्रम आयोजना गरिएको हो । प्रतिवेदनले नेपालमा हुने चुनावमा विदेशमा रहेका नेपालीको गम्भीर चासोलाई प्रकट गरेको छ । सो अवसरमा वैदेशिक रोजगारमा रहनुभएका नेपाली श्रमिकका साहित्य÷सिर्जना सङ्कलित पुस्तक ‘पुरानो पन्ना’ को विमोचन गरिएको थियो ।
‘पुरानो पन्ना’ पुस्तकमा नेपाली आप्रवासी श्रमिकका १०८ कविता, गजल र मुक्तक समेटिएका छन् । विप्रेषणमार्फत नेपाली अर्थतन्त्र धानिरहेका आप्रवासी श्रमिक आफ्नो संवैधानिक अधिकारबाट वञ्चित छन् र त्यस्तो अवस्थालाई उनीहरूले कसरी लिन्छन् भन्नेबारे यो अध्ययन प्रतिवेदनले तथ्याङ्क तथा प्रमाणमा आधारित रहेर नेपाली आप्रवासी श्रमिकको दृष्टिकोण प्रस्तुत गरेको छ ।
विप्रेषणमार्फत नेपाली अर्थतन्त्रलाई ठूलो योगदान पु¥याइरहेका आप्रवासी श्रमिक हाल आफ्नो संवैधानिक हक मतदानको अधिकारबाट वञ्चित रहेको अवस्थालाई उनीहरूले कसरी अनुभूति गरेका छन् भन्ने विषय प्रतिवेदनमा समेटिएको छ । नेपालमा हुने निर्वाचन प्रक्रियामा विदेशमा रहेका नेपालीको गहिरो चासो र सहभागिताको आवश्यकताबारे प्रतिवेदनले स्पष्ट रूपमा उजागर गरेको छ ।
पुस्तक ‘श्रमिक सञ्जाल’ को एकल प्रयास हो भने अध्ययन प्रतिवेदन ‘सञ्जाल’ सँगै ‘सामाजिक न्यायका लागि कानुन तथा नीति मञ्च’ले संयुक्त रूपमा तयार पारेको हो । विदेशबाट गर्ने मतदानबारे पहिलेदेखि नै चर्चा भए पनि यसको कार्यान्वयनमा सरकार जिम्मेवार नदेखिएको सन्दर्भमा प्रतिवेदनले औँल्याएका उपाय र गरेको सङ्केतको धेरै अर्थ छ । विदेशमा बस्नेहरूको निर्वाचन सहभागितामा अत्यधिक रुचि देखिन्छ । प्रतिवेदनअनुसार अधिकांशले विद्युतीय र दूतावास–आधारित मतदानप्रति रुचि देखाएका छन् । संवैधानिक र न्यायिक व्यवस्थामा विदेशबाट नेपाली आप्रवासी श्रमिकले मतदान गर्न पाउनेबारे धेरै पहिलादेखि वाचा गरिएको छ ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मुख्य वक्ताका रूपमा कुरा राख्दै मत हाल्न पाउने अधिकार नेपाली आप्रवासीको नैसर्गिक अधिकार रहेको र मानव अधिकारको वकालत गर्ने निकायका नाताले सो विषयलाई आफूहरूले सधैँ समर्थन गर्ने बताए । पुस्तक विमोचन तथा प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा वक्ताका रूपमा बोल्दै श्रम आप्रवासन विज्ञ डा मीना पौडेलले विदेशमा बसेर देशलाई योगदान गरिरहेका नेपालीले चुनावमा मत हाल्न पाउनुपर्ने बताइन् । नेपालका अधिकांश श्रमिक रहरले भन्दा बाध्यताले विदेशमा रहेका कारण मत हाल्न नपाउने अवस्था अन्यायपूर्ण हुने उनको भनाइ थियो ।
“साहित्यमार्फत आप्रवासनमा रहेका नेपालीले प्रेम र भावनाका कुरासँग विद्रोहसमेत बोलेका छन् । त्यो पक्ष सा¥है मन प¥यो”, उनले भनिन् । ‘ल्याप्सोज’का बरूण घिमिरेले विदेशबाट मत हाल्न पाउने विषय संवैधानिकसँगै अन्तरराष्ट्रिय अधिकारसँग जोडिएको बताए । कानुनी जटिलता देखाएर विदेशबाट मत दिने कुरालाई अड्काइएको सन्दर्भमा उनले भने, “सरकारसमेत संविधानभन्दा बाहिरबाट बनाउन मिल्दा त्यस्तै तत्परता विदेशबाट मत हाल्ने सन्दर्भमा हुनुपर्छ । ४०–५० लाख नेपली बाहिर राखेर हुने चुनावको वैधता कति हुन्छ ।”
ल्याप्सोजकै अनुराग देवकोटाले आफूले विदेशबाट मत दिने विषयलाई पहिले आप्रवासी श्रमिकको मुद्दाको रूपमा अदालतमा लगे पनि सर्वोच्च अदालतले विभिन्न कारणले मत दिन नपाएका बालिक नेपाली मतदाताका रूपमा त्यसलाई थप वृहत् बनाएको बताए । देशको ठूलो जनसङ्ख्या देशबाहिर रहेको अवस्थामा, तिनले मत हाल्न नपाउँदा असल अर्थमा नेपालमा लोकतन्त्रको अभ्यास नभएको देवकोटाको तर्क थियो ।
श्रमिक सञ्जालका भीम श्रेष्ठले भने, “विदेशमा रहेका नेपाली चुनावमा मत हाल्न इच्छुक छन् । विदेशमा रहेका श्रमिकको अधिकारमध्ये मत दिन पाउने र मनका भावना व्यक्त गर्न पाउने दुवै महत्वपूर्ण हो ।” नेपाल राजनीतिक सङ्क्रमणकालमा प्रवेश गरिरहेको बेला प्रवासी श्रमिक नेपालीले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्न पाउनुपर्ने विषय महत्वपूर्ण भएको उनको भनाइ थियो ।
काठमाडौँ, ३ पुसः नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयन, सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरण तथा तीनवटै तहका सरकारमा बजेट प्रणाली सुधारका लागि एसियाली विकास बैंक ९एडिबी० ले १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहयोग प्रदान गर्ने भएको छ । सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरण तथा सेवा प्रवाह सुधार कार्यक्रमअन्तर्गतको उपकार्यक्रम–२ का लागि यो ऋण उपलब्ध गराउन लागिएको हो ।
अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थसचिव डा घनश्याम उपाध्याय र एसियाली विकास बैंकका नेपालस्थित देशीय निर्देशक आर्नो कोस्वाबीच ऋण सम्झौतामा हस्ताक्षर भएको हो । एडिबीले नीतिमा आधारित ऋणका रूपमा प्रदान गर्ने उक्त रकम बजेटरी सपोर्टका रूपमा नेपाल सरकारलाई उपलब्ध गराइनेछ । सम्झौताअनुसार ऋणको भुक्तानी अवधि २४ वर्षको हुनेछ भने आठ वर्षको ग्रेस अवधि रहनेछ । सन् २०३४ फेब्रुअरी १ तारिखसम्म ग्रेस अवधिमा ब्याजदर एक प्रतिशत र त्यसपछि एक दशमलव पाँच प्रतिशत रहने व्यवस्था गरिएको छ ।
सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरण तथा सेवा प्रवाह सुधार कार्यक्रमलाई सङ्घीयतासँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै अर्थसचिव डा उपाध्यायले बलियो वित्तीय व्यवस्थापन प्रणाली निर्माण सरकारको मुख्य लक्ष्य रहेको बताए । उनले भने, “यो कार्यक्रम सङ्घीय संरचनाअनुसार तीनवटै तहका सरकारको बजेट निर्माण, कार्यान्वयन र नतिजामूलक व्यवस्थापन सुधारमा केन्द्रित छ । यसबाट समग्र बजेट प्रक्रिया सुधार भई सार्वजनिक सेवा प्रवाह प्रभावकारी बन्नेछ ।”
उक्त कार्यक्रममार्फत सार्वजनिक खरिद प्रणाली सुधार, वित्तीय अनुशासन प्रवर्द्धन, राजस्व सकलन, क्षमता अभिवृद्धि तथा स्थानीय तहलाई थप सक्षम बनाउँदै समावेशी र नतिजामुखी विकासलाई अघि बढाउने अपेक्षा गरिएको छ । कार्यक्रमबारे जानकारी दिँदै एडिबीका देशीय निर्देशक कोस्वाले यो सहुलियतपूर्ण ऋण नेपालको वित्तीय शासन सुधारमा केन्द्रित रहने बताए । उनका अनुसार सार्वजनिक वित्त व्यवस्थापनसँग सम्बन्धित कानुनी, संस्थागत तथा प्राविधिक सुधारमा सहकार्य गर्दै सबै तहका सरकारका लागि स्रोत योजना प्रणाली, सार्वजनिक संस्थान सूचना व्यवस्थापन प्रणाली निर्माण, मध्यमकालीन खर्च संरचना विकास तथा प्रविधिमैत्री कर प्रणाली निर्माणमा ऋण रकम प्रयोग गरिनेछ ।
उनले भने, “यो कार्यक्रममार्फत वित्तीय दिगोपना सुनिश्चित गर्नुका साथै राजस्व प्रणालीलाई थप प्रभावकारी बनाइनेछ । साथै सम्भावित वित्तीय जोखिम व्यवस्थापनमा सहयोग पुग्नेछ । यसले नेपालको समग्र अर्थतन्त्र सुधार र दिगो विकासमा महत्वपूर्ण योगदान पु¥याउनेछ ।” सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा अर्थ मन्त्रालयका कर्मचारी तथा अधिकारीका साथै एसियाली विकास बैंकका अधिकारीहरूको उपस्थिति थियो ।
वासिङ्टन, ३ पुस (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गर्नुभएको छ । यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशहरूको सङ्ख्या करिब ४० पुगेको छ । यसका साथै पश्चिमी देशहरूबाट हुने नियमित यात्रामा समेत नियमहरू थप कडा पारिएका छन् ।
आप्रवासनप्रति कठोर दृष्टिकोणलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डा बनाउँदै आउनुभएका राष्ट्रपति ट्रम्पले सामूहिक निर्वासनको आदेश जारी गरिसक्नुभएको छ भने गैर–श्वेत आप्रवासीहरूविरुद्धको कडा अभिव्यक्ति पनि तीव्र बन्दै गएको छ । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा ‘अमेरिकीहरूलाई धम्की दिन सक्ने’ विदेशी नागरिकहरूलाई रोक्न प्रतिबन्ध लगाइएको उल्लेख गरिएको छ । साथै, अमेरिकाको संस्कृति, सरकार, संस्था तथा संस्थापक सिद्धान्तहरूलाई कमजोर पार्न खोज्ने व्यक्तिहरूलाई देशभित्र प्रवेश नदिन चाहिएको भनिएको छ ।
लामो समयसम्म शासक बशर अल–असदको पतनपछि अन्तर्राष्ट्रिय समुदायमा पुनःस्थापना हुने प्रयासमा रहेको सिरियामाथि यो प्रतिबन्ध त्यतिबेला लगाइएको छ जतिबेला केही दिनअघि त्यहाँ दुई अमेरिकी सैनिक र एक सर्वसाधारण मारिएका थिए । सिरियाली अधिकारीहरूका अनुसार ती घटनाका आरोपी सुरक्षा बलका पूर्वसदस्य थिए, जसलाई ‘चरमपन्थी इस्लामवादी विचार’ का कारण बर्खास्त गरिएको थियो ।
यसैबीच, फ्रान्स र बेलायतलगायत केही पश्चिमी देशहरूले प्यालेस्टिनी राज्यलाई मान्यता दिएको विरोधमा ट्रम्प प्रशासनले इजरायलसँग ऐक्यबद्ध हुँदै प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूमा अनौपचारिक यात्रा प्रतिबन्ध लागू गरिसकेको थियो, जसलाई अहिले औपचारिक बनाइएको छ । पूर्ण यात्रा प्रतिबन्धमा परेका नयाँ देशहरूमा अफ्रिकाका बुर्किना फासो, माली, नाइजर, सिएरा लियोन र दक्षिण सुडान, साथै दक्षिणपूर्वी एसियाको लाओस रहेका छन् । यसबाहेक, नाइजेरिया, आइभोरी कोस्ट र सेनेगललगायत केही अफ्रिकी देशका नागरिकमाथि आंशिक यात्रा प्रतिबन्ध लगाइएको छ । यी देशहरू अमेरिका, क्यानाडा र मेक्सिकोमा आयोजना हुने आगामी विश्वकप फुटबलका लागि योग्य भए पनि ट्रम्प प्रशासनले खेलाडीहरूलाई मात्र प्रवेश अनुमति दिने स्पष्ट पारेको छ, प्रशंसकहरूका हकमा कुनै प्रतिबद्धता जनाएको छैन ।
आंशिक प्रतिबन्धमा परेका अन्य देशहरूमा एङ्गोला, एन्टिगुआ र बार्बुडा, बेनिन, डोमिनिका, ग्याबोन, गाम्बिया, मलावी, मौरितानिया, तान्जानिया, जाम्बिया, जिम्बाब्वे तथा पोलिनेसियाली देश टोङ्गा रहेका छन् । यीमध्ये केही देश अमेरिकाका महत्त्वपूर्ण साझेदारसमेत रहेका छन्, जसलाई पूर्वराष्ट्रपति जो बाइडेनले लोकतन्त्रप्रतिको प्रतिबद्धताका लागि प्रशंसा गर्नुभएको थियो । शरणार्थी अधिकारका पक्षमा काम गर्ने इसाई संस्था ग्लोबल रिफ्युजले यात्रा प्रतिबन्धले कमजोर र जोखिममा परेका मानिसहरूलाई झनै अप्ठ्यारो अवस्थामा धकेल्ने चेतावनी दिएको छ । संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत कृष ओ’मारा विग्नाराजाहले व्यक्तिगत र प्रमाणमा आधारित मूल्याङ्कनको सट्टा सम्पूर्ण जनसङ्ख्यालाई सजाय दिने नीति अपनाइएको आरोप लगाउनुभएको छ ।
राष्ट्रपति ट्रम्पले पछिल्ला सार्वजनिक कार्यक्रममा आप्रवासीहरूलाई लक्षित गर्दै विवादास्पद भाषा प्रयोग गर्दै आउनुभएको छ । यसअघि नै सोमाली नागरिकहरूको प्रवेशमा प्रतिबन्ध लगाइसकिएको छ भने अफगानिस्तान, इरान, लिबिया, सुडान, यमनलगायत देशहरू पनि पूर्ण यात्रा प्रतिबन्धमा रहेका छन् । यसै क्रममा ह्वाइट हाउसले तुर्कमेनिस्तानले गरेको ‘महत्त्वपूर्ण प्रगति’ लाई स्वीकार गर्दै त्यस देशका नागरिकलाई गैर–आप्रवासी भिसामा अमेरिका प्रवेशको अनुमति पुनः दिन थालिएको जनाएको छ । तर समग्रमा हेर्दा, राष्ट्रपति ट्रम्पको पछिल्लो निर्णयले अमेरिकी आप्रवासन नीतिलाई अझै कठोर बनाएको स्पष्ट देखिएको छ ।