Category: डायस्पोरा

  • अर्थमन्त्री खनाल अमेरिकामा भेटघाटमा व्यस्त

    अर्थमन्त्री खनाल अमेरिकामा भेटघाटमा व्यस्त

    वाशिङ्गटन डिसी, २९ असोजः विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन वाशिङ्गटन डिसीमा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सोमबार र मङ्गलवार विभिन्न भेटघाट तथा छलफलमा सहभागिता जनाए । मङ्गलबारमात्र मन्त्री खनालले अमेरिकाका उपव्यापार प्रतिनिधि व्रायन स्वीजरसँग भेटघाट गरे । उक्त भेटको अवसरमा द्विपक्षीय व्यापार र करका नीतिहरूका बारेमा छलफल भएको थियो । उक्त छलफल उपयोगी भएको यहाँस्थित राजदूतावासले जनाएको छ । उक्त भेटका अवसरमा अमेरिका तथा नेपालका अधिकारीहरूको सहभागिता रहेको थियो ।

    त्यसैगरी, मङ्गलबार नै मन्त्री खनालले विकासका लागि साउदी फण्डका अध्यक्ष अब्दुल रहमान अल मर्सदसँग सहकार्य गर्नेसम्बन्धी विषयमा छलफल गरे । यस अगाडि उनले नेपालको विकासमा साझेदारी गर्दै आएका विभिन्न अन्तरराष्ट्रिय निकायका प्रतिनिधिहरूसँगसमेत छलफल गरे । भेटका अवसरमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका प्रतिनिधि, मन्त्री खनालका भ्रमणदलका सदस्य तथा अन्य कर्मचारीको समेत सहभागिता थियो ।

  • अमेरिकामा अर्थमन्त्री खनाल र जाइकाका उपाध्यक्षबीच भेट

    अमेरिकामा अर्थमन्त्री खनाल र जाइकाका उपाध्यक्षबीच भेट

    वाशिङ्गटन डिसी, २९ असोजः अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी (जाइका)का वरिष्ठ उपाध्यक्ष हारा सोईबीच मङ्गलवार यहाँ भेटवार्ता भएको छ । त्यस अवसरमा जाइकाले नेपालमा सञ्चालन गर्दै आएको विभिन्न परियोजनाको प्रगति र चासोको विषयमा छलफल भएको थियो ।

    भेटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका प्रतिनिधिहरु, मन्त्री खनालका भ्रमणदलका सदस्य तथा जाइकाका अन्य कर्मचारीहरुको समेत सहभागिता थियो । विश्व बैंक समूहको वार्षिक बैठकमा भाग लिन अमेरिका पुगेका मन्त्री खनालले साइडलाइन भेटघाटअन्तर्गत जाइकाका उपाध्यक्षसँग भेटवार्ता गरेको यहाँ स्थित राजदूतावासले जनाएको छ ।

  • विदेश पढ्न जाने विद्यार्थीसँगै दुई महिनामा विदेशियो रु ३२ अर्ब ७६ करोड

    विदेश पढ्न जाने विद्यार्थीसँगै दुई महिनामा विदेशियो रु ३२ अर्ब ७६ करोड

    काठमाडौँ, २९ असोजः उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ठूलो मात्रामा रकम विदेशिएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो महिनाको आर्थिक विवरणअनुसार, भदौसम्म विदेश जाने विद्यार्थीले रु ३२ अर्ब ७६ करोड लगेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम रु २८ अर्ब २० करोड थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय नौ दशमलव छ प्रतिशतले वृद्धि भई रु ४७ अर्ब ३१ करोड पुगेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु ४३ अर्ब १८ करोड रहेको थियो । यस्तै, खुद सेवा आय रु ३१ अर्ब १६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु २७ अर्ब ९३ करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय नौ दशमलव आठ प्रतिशतले वृद्धि भई रु ११ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु १० अर्ब ५५ करोड रहेको थियो ।

  • पितृकार्यकै बेला छोरा विपीन अस्ताएको खबर सुनेपछि…

    पितृकार्यकै बेला छोरा विपीन अस्ताएको खबर सुनेपछि…

    महेन्द्रनगर, २८ असोजः महानन्द जोशीलाई हमासको नियन्त्रणबाट छोरा विपीन मुक्त होला भन्ने आशा सोमबार बिहानसम्मै थियो । गाजा क्षेत्रबाट हमासले २० जना बन्धकको नामावली सार्वजनिक गर्दा विपीनको नाम नदेखिएपछि परिवारसँगै उनको प्रतीक्षामा रहेका धेरैको मनमा चिसो पस्यो । सोमबार दिनभरजसो सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा विपीनबारे मिश्रित समाचारहरु आइरहेका बेला विपीनका बुबा महानन्द भने भीमदत्त नगरपालिका–१ स्थित दाजुको घरमा पितृकार्य (श्राद्ध)मा व्यस्त थिए ।


    तीन दाजु÷भाइमा महानन्द कान्छा हुन् । “उहाँ कान्छाबुबाको श्राद्धका लागि पितृकार्यमा जुटेकै बेला विपीन अस्ताएको खबर सुनेपछि सन्नाटा छायो”, जोशी परिवारका एक सदस्यले भने, “कान्छाबुबाको श्राद्धकै दिन दुई वर्षदेखि पर्खिरहेको छोरा सधैँका लागि नआउने खबरले परिवार स्तब्ध भएको छ ।” सोमबार बिहान विपीनका परिवारजन र इजरायलस्थित नेपाली दूतावाससँग भिडियो ‘कन्फेरेन्स’मा विपीन नरहेको विषयमा छलफल भए पनि विपीनका दाजु किशोर जोशीले भाइ फर्किन सक्ने आशा जीवितै रहेको बताइरहेका थिए । तर विपीन जीवित नरहेको खबरले परिवार मात्रै नभई सिङ्गो गाउँ स्तब्ध छ ।

    भीमदत्त नगरपालिका–३ का वडा सदस्य मीना ठगुन्नाले विपीनका विषयमा उनका परिवारलाई आधिकारिक जानकारी प्राप्त नभएको जानकारी दिए । “विपीन जिवित नरहेको विषय सार्वजनिक हुँदा हमासले शव इजरायललाई दिने प्रक्रिया अघि बढाएको भनिए पनि उनको परिवार शवको पुष्टि नहुँदासम्म आधिकारिक मान्न तयार छैन”, वडा सदस्य ठगुन्नाले भने, “हिजोदेखिको विपीनको खबरले सबैतिर सन्नाटा छाएको छ ।” उनले विपीनका परिवारजन एक–दुई दिनभित्र काठमाडौँ जाने तयारी रहेको जानकारी दिए । विपीनका आमा पद्म र बहिनी पुष्पा रिहाइका लागि दबाब दिन अमेरिका पुगेका थिए । उनीहरु अझै स्वदेश फर्किसकेका छैनन् ।

  • विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरू

    विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरू

    काठमाडौँ, २९ असोजः विगत दुई वर्षदेखि प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरू गरिएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी इजरायलस्थित नेपाली दूतावासका प्रतिनिधिले आज तेल अविवस्थित ‘नेशनल सन्ेटर फर फरेन्सिक मेडिसिन’को भ्रमण गरी विपिनको शवबारे थप पुष्टि गरेको र शव नेपाल ल्याउनेबारे प्रक्रिया सुरु भएको जनाएको छ ।

    मन्त्रालयले जोशीको शव नेपाल ल्याइसकेपश्चात् पनि निजको मृत्युको वास्तविक कारण र परिस्थितिका सम्बन्धमा सम्बन्धित सरकार तथा सरोकार भएकाहरूसँगको सहयोग र समन्वयमा सत्यतथ्य पत्ता लगाउन, न्याय दिलाउन र निजको परिवारले पाउने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बिमा, सुविधा आदिको लागि उचित पहल जारी राख्ने जनाएको छ ।

    मंगलबार अपराह्न परराष्ट्र सचिव अमृतबहादुर राईले इजरायलको परराष्ट्र मन्त्रालयका समकक्षी ‘डाइरेक्टर जनरल’ एडेन बार तलसँग टेलिफोन कुराकानी गरेको र उनले नेपाली नागरिक जोशीको निधन भएको औपचारिक जानकारी गराएको मन्त्रालयले उल्लेख गरेको छ । यसैगरी इजरायल र हमास समूहबीचको दुई वर्ष लामो द्वन्द्वपछि भएको यद्धविरामपश्चात् हमासले जोशीको शव सोमबार रेडक्रसमार्फत इजरायललाई हस्तान्तरण गरेको जनाइएको छ ।

    सन् २०२३ अक्टोबर ७ देखि हमासको कब्जामा रहेका इजरायलको सिक्दै र कमाउँदै कार्यक्रममा सहभागी नेपाली विद्यार्थी जोशीको सकुशल रिहाइका लागि नेपाल सरकारले सुरुदेखि विभिन्न तहबाट यथासम्भव सबै किसिमका प्रयासहरू गरेको थियो ।

    इजरायल र हमासबीच युद्धविराम भएपछि सन् २०२५ अक्टोबर १३ का दिन इजरायली सेनाले त्यहाँस्थित नेपाली राजदूत, विपिनका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीसहितको भर्चुअल बैठकमार्फत रिहा हुने बन्दीमा विपिन जोशीको नाम समावेश नरहेको र उहाँको अवस्था अज्ञात रहेको जानकारी गराएको थियो । परराष्ट्र मन्त्रालयले हमास समूहको नियन्त्रणमा रहेका विपिनको मृत्युको खबरले स्तब्ध भएको उल्लेख गर्दै यस दुःखद् घडीमा मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

  • राष्ट्रपति पौडेलद्वारा विपिनको निधनप्रति दुःख व्यक्त

    राष्ट्रपति पौडेलद्वारा विपिनको निधनप्रति दुःख व्यक्त

    काठमाडौँ, २९ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले सिक्दै र कमाउँदै कार्यक्रममा सहभागी हुन इजरायल गएका नेपाली विद्यार्थी विपिन जोशीको निधनको खबरले आफू मर्माहत भएको बताएका छन् । उनले आज सामाजिक सञ्जाल ‘एक्स’मार्फत प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका जोशीको रिहाइको लागि आफूले समेत पटकपटक अथक प्रयास गरेको स्मरण गर्दै अकस्मात् जोशीको निधन भएको खबरले स्तब्ध भएको उल्लेख गरे । राष्ट्रपति पौडेलले जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दुःखको यस घडीमा शोकाकूल परिवारजन र सबै शुभेच्छुकमा समवेदना प्रकट गरे ।

  • दुई महिनामा साढे तीन खर्ब रेमिट्यान्स भित्रियो

    दुई महिनामा साढे तीन खर्ब रेमिट्यान्स भित्रियो

    २८ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८२\८३ को सुरुआती दुई महिनामा साढे तीन खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो महिनाको तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार गत भदौ मसान्तसम्म विप्रेषण आप्रवाह ३३ दशमलव एक प्रतिशतले वृद्धि भई रू तीन खर्ब ५२ अर्ब आठ करोड पुगेको हो ।

    गत भदौ महिनामा मात्र रू एक खर्ब ७४ अर्ब ६७ करोड विप्रेषण भित्रिएको राष्ट्र बैंकले जनाएको छ । पछिल्लो दुई महिनामा खुद द्वितीय आय अर्थात् खुद ‘ट्रान्सफर’ रु तीन खर्ब ८४ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रू दुई खर्ब ८७ अर्ब ७६ करोड रहेको थियो । गत साउन र भदौ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८८४ रहेको राष्ट्र बैंकले जनाएको छ ।

  • विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न एनपीआईको सिफारिस

    विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न एनपीआईको सिफारिस

    राष्ट्रिय समाचार समिति (रासस)
    काठमाडौँ, २८ असोज । नेपाल पोलिसी इन्स्टिच्युट (एनपीआई)ले विदेशस्थित नेपाली नागरिकका लागि मतदानको व्यवस्था गर्न आग्रह गर्दै निर्वाचन आयोगलाई नौ बुँदे नीति सिफारिस गरेको छ । ‘विदेशस्थित नेपाली नागरिकका लागि बाह्य मतदानको व्यवस्था आगामी २०२६ को निर्वाचन र त्यसपछिका सम्भावित उपायहरू’ शीर्षकको नीति सिफारिस एनपीआईले निर्वाचन आयोगका आयुक्त जानकी तुलाधर र अन्य पदाधिकारीहरू तथा सचिव महादेव पन्थलाई बुझाएको छ ।

    विश्वका धेरै देशहरूले विभिन्न विधि प्रयोग गरेर विदेशमा रहेका नागरिकलाई मतदानको अधिकार कार्यान्वयन गरेको उल्लेख गर्दै एनपीआईले विदेशमा रहेका नेपालीका लागि मिश्रित प्रकारको बाह्य मतदान विधि सुझाएको छ । मेक्सिकोले सन् २०२४ को सङ्घीय निर्वाचनमा र फिलिपिन्सले सन् २०२५ को निर्वाचनमा विदेशस्थित नागरिकलाई मतदानको अधिकार प्रदान गरेका थिए । मेक्सिको र फिलिपिन्सका अनुभवबाट सिक्दै नेपालका लागि मिश्रित बाह्य मतदान मोडेल (दूतावासमा प्रत्यक्ष मतदान, हुलाकमार्फत मतदान र इन्टरनेटमा आधारित आइ–भोटिङ) अपनाउन सकिने एनपीआईले प्रस्ताव गरेको छ ।

    लाखौँ नेपाली नागरिक काम, अध्ययन वा अन्य प्रयोजनका लागि विदेशमा रहेको सन्दर्भमा उनीहरूलाई राष्ट्रिय निर्वाचनमा मतदान गर्ने मौलिक अधिकारबाट वञ्चित हुन नपरोस् भन्नका लागि उनीहरूलाई मतदानको अवसर प्रदान गर्नुपर्ने एनपिआईका अध्यक्ष डा खगेन्द्रराज ढकालले बताए । जानकारहरूका अनुसार इ–भोटिङ दूतावास वा मतदान केन्द्रमा इलेक्ट्रोनिक मेसिनमार्फत हुने प्रक्रिया हो भने आइ–भोटिङ इन्टरनेटको माध्यमबाट मतदाताले आफू बसेको स्थानबाटै सुरक्षित सर्भरमा मतदान गर्न सक्ने प्रणाली हो । डा ढकालका अनुसार आइ–भोटिङ प्रविधि इ–भोटिङभन्दा फरक र अधिक समावेशी समाधान हो ।

    काठमाडौँस्थित एनपीआई सचिवालयका अनुसार उक्त नीति सिफारिस प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयसहितका प्रमुख सरकारी निकायहरूमा पनि बुझाइएको छ । गत महिना जेनजीको नेतृत्वमा भएको आन्दोलनपश्चात् विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने मुद्दा पुनः प्राथमिकतामा परेको छ । विदेशमा काम गर्ने वा अध्ययनरत नेपालीलाई मतदान प्रक्रियामा समेट्नु उनीहरूलाई देशको भविष्यमा वास्तविक सरोकार दिनु पनि हो । यही सन्दर्भमा, सरकारले राजनीतिक इच्छाशक्ति प्रदर्शन गरी विदेशस्थित मतदानलाई यथार्थमा रूपान्तरण गर्ने अभूतपूर्व अवसर पाएको अध्यक्ष डा ढकालको भनाइ छ ।

    नेपालको संविधानले प्रत्येक नागरिकलाई निर्वाचनमा सहभागिता गर्ने अधिकार सुनिश्चित गरेको छभने सर्वोच्च अदालतले पनि विदेशमा रहेका नागरिकलाई मतदान गर्ने अधिकार सुनिश्चित गर्न आदेश दिएको छ । राजनीतिक दलहरूले बारम्बार विदेशस्थित नेपाली नागरिकलाई मतदानको अधिकार विस्तार गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म कार्यान्वयनमा आएको छैन ।

    बाह्य मतदानका लागि छुट्टै कानुनी प्रावधान तयार गर्दै डिजिटल मतदाता दर्ता र समानुपातिक निर्वाचनमा आइ–भोटिङमार्फत मतदान गर्न कानुनी मान्यता दिनु उपयुक्त हुने डा ढकालले बताए । साथै प्रभावकारी सहभागिताका लागि बहुदिवसीय मतदानबाट अधिकतम सहभागिता सुनिश्चित गर्न सकिने पनि उनको भनाइ छ ।

    एनपीआईले मध्यम र दीर्घकालीन अवधिका लागि नेपालले बाह्य मतदानका सिकाइबाट अगाडि बढ्दै आइ–भोटिङलाई निर्वाचनको मुख्य प्रणालीका रूपमा संस्थागत गर्नुपर्ने सिफारिस गरेको छ । यसले विदेशस्थित मात्र नभई आन्तरिक रूपमा सरेका जनसङ्ख्या ९जस्तै कार्यरत कर्मचारी, विद्यार्थी र असुरक्षित समुदाय०लाई समेत निर्वाचन प्रक्रियामा समेट्ने मार्ग खोल्नेछ ।

    नेपालका आप्रवासी नागरिकहरूको संवैधानिक अधिकार, आर्थिक योगदान, निर्वाचनको वैधता तथा अन्य कारणले पनि विदेशस्थित नेपालीका लागि मतदान आवश्यक भएको छ । मलेसिया र खाडीका देशमा आइ–भोटिङ सबैभन्दा उपयुक्त उपाय हुनसक्ने एनपीआईले दाबी गरेको छभने अष्ट्रेलिया, दक्षिण कोरिया, जापान, युरोपेली देश र उत्तरी अमेरिकाजस्ता मुलुकमा प्रभावकारी हुलाक प्रणालीका कारण हुलाकमार्फत मतदान उपयुक्त विकल्प हुनसक्ने जनाएको छ ।

    यो नीति सिफारिस ब्रीफले विश्वका एक सय १५ भन्दा बढी देशमा रहेका बाह्य मतदानका अभ्यासको तुलनात्मक अध्ययनमा आधारित रही नेपालका लागि मोडेलहरू प्रस्ताव गरेको संस्थाले जनाएको छ । उक्त नीति ब्रीफ पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, पूर्वनिर्वाचन आयोगका सचिव गोपीनाथ मैनाली, आप्रवासन विज्ञ शरू जोशी श्रेष्ठ, डा अम्बिका अधिकारीलगायतको सुझावका आधारमा एनपीआईका अध्यक्ष डा ढकाल र लीजा महर्जनले तयार गरेका हुन् । संस्थाले विगत आठ वर्षदेखि आप्रवासन र डायस्पोरा नीति अनुसन्धानलाई आफ्नो मुख्य कार्यक्षेत्रका रूपमा अघि बढाउँदै आएको छ ।

  • अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन, के भने ?

    अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन, के भने ?

    वाशिङटन डिसी, २८ असोज । विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अमेरिका चेम्बर अफ कमर्सले आयोजना गरेको बिजनेस डायलगलाई सम्बोधन गरेका छन् । उक्त चेम्बर अफ कमर्सले आयोजना गरेको ‘फ्रम द हिमालयज टु द हार्टल्याण्ड स् अमेरिका नेपालको साझेदारीको मजबुती विषयक संवाद कार्यक्रममा मन्त्री खनालले नेपालको आर्थिक अवस्थाका बारेमा चर्चा गरे । कार्यक्रममा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका कर्मचारी तथा युएस चेम्बर अफ कमर्सका सदस्यहरुसमेत उपस्थित रहेको थियो ।

    अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र अन्तरराष्ट्रिय मुद्रा कोषका उपप्रबन्ध निर्देशक बो लिबीच सोमबार यहाँ भेटवार्ता भएको छ । भेटका अवसरमा वित्त तथा आर्थिक विषयमा छलफल भएको यहाँस्थित राजदूतावासले जनाएको छ । भेटघाटका अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेल, दूतावासका प्रतिनिधि, मन्त्री खनालका भ्रमण दलका सदस्य तथा मुद्रा कोषका अन्य कर्मचारीको समेत सहभागिता थियो । विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री खनाल आइतबार डिसी आइपुगेका हुन् ।

  • अर्थमन्त्री खनाल र विश्व बैंकका उपाध्यक्षबीच अमेरिकामा भेटवार्ता

    अर्थमन्त्री खनाल र विश्व बैंकका उपाध्यक्षबीच अमेरिकामा भेटवार्ता

    वासिङ्टन डिसी, २८ असोज । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र विश्व बैंक समूहका क्षेत्रीय उपाध्यक्ष जोहानस जुटबीच सोमबार यहाँ भेटवार्ता भएको छ ।भेटवार्ताका क्रममा विश्वबैंकको सहयोगमा सञ्चालित विविध कार्यक्रमको सिंहावलोकन गर्नुका साथै आगामी दिनमा हुनसक्ने सहकार्य र साझेदारीको विषयमा छलफल भएको यहाँस्थित राजदूतावासले जनाएको छ ।


    भेटघाटका अवसरमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका प्रतिनिधिहरु, मन्त्री खनालका भ्रमण दलका सदस्य, विश्व बैंकको विभिन्न परियोजनाका कर्मचारीकोसमेत सहभागिता थियो । विश्वबैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री खनाल आइतबार वासिङ्टन डिसी आइपुगेका हुन् ।

  • विश्वकप छनोटः नेपालद्वारा कतार पराजित

    विश्वकप छनोटः नेपालद्वारा कतार पराजित

    काठमाडौँ, २८ असोजः ओमानमा जारी आइसिसी पुरुष ट्वान्टी–२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई पाँच रनले पराजित गर्दै विजयी भएको छ । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ१ मा आज भएको खेलमा नेपालले कतारलाई पाँच रनले पराजित गर्दै सुपर सिक्समा लगातार दोस्रो जित दर्ता गराएको हो । आइतबार भएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई एक रनले हराउँदै रोमाञ्चक जित हासिल गरेको थियो ।

    नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ दशमलव पाँच ओभरमा १४२ रनमा अलआउट भयो । कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा सर्वाधिक ५५ रन बनाए । त्यस्तै जुबेर अलीले ५२ रन बनाए । नेपालका लागि सन्दीप लामिछानले पाँच विकेट लिए । त्यस्तै नन्दन यादवले दुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४७ रनको योगफल बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५८ रनको योगदान दिए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले २६ रन बनाए भने गुल्शन झाले १६ रन जोडे । यता कतारका लागि कप्तान मिर्जा बेग र डानियल लुइसले समान तीन÷तीन विकेट लिए भने मुहम्मद असिमले १ विकेट लिए । नेपालले समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्सको यात्रा तय गरेको हो । समूह चरणमा नेपालले कुवेत र जापानलाई हराएको थियो ।

  • हमासको कब्जाबाट नफर्किने भए विपिन, मृत्यु भएको पुष्टी

    हमासको कब्जाबाट नफर्किने भए विपिन, मृत्यु भएको पुष्टी

    एजेन्सी
    २७ असोज, काठमाडौं । हमासले विगत ७३८ दिनदेखि आफ्नो नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको मृत्युको पुष्टी गरेको छ । उनको शव आजै इजरेललाई बुझाइने भएको छ । यसअघि उनको अवस्था अज्ञात रहेको बताइएको थियो। इजरेलसँग सङ्घर्षविराम भएपछि हमासले आफ्नो नियन्त्रणमा रहेका २० जीवित बन्धकलाई सोमवार मुक्त गरेको छ ।

    मृत्यु भएको ठानिएका २८ जनाको शव सोमवारै हस्तान्तरण गरिने सम्झौता भएको इजरेली दाबी भए पनि जोशीसहित चार जना बन्धकको शव हस्तान्तरण गर्न लागिएको हमासको सैन्य एकाइले जनाएको छ। इजरेलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार इजरेली सेनाले सोमवार हस्तान्तरण गर्न लागिएका चार शवमध्ये जोशीको पनि हुन सक्ने जानकारी दिएको छ। इजरेलस्थित नेपाली अवैतनिक महावाणिज्यदूत नद्दाब बेन यहूदालाई फोन गरेर चार जनामध्ये विपिनको पनि शव आउन सक्ने खबर गरेको बताइएको छ ।


    राजदूत पण्डितले इजरेली सरकारले परिवारलाई औपचारिक जानकारी दिएपछि मात्रै उनको मृत्यु भए नभएको आधिकारिक पुष्टि हुने बताए। विपिनका ठूलोबुवाका छोरा (दाजु) किशोर जोशीले इजरेलबाट नराम्रो खबर आएको सोमवार बेलुका बताएका छन्। परिवारसँग सम्पर्कमा रहेका इजरेली अधिकारीहरूले विपिनको अवस्थाबारे परिवारलाई जानकारी दिइसकेको उनले बताएका छन्। परराष्ट्र मन्त्रालले बन्दीहरूको रिहाइ र शव हस्तान्तरण प्रक्रियबारे निरन्तर जानकारी अद्यावधिक गरिरहेको जनाएको छ।

    परिवारलाई इजरेल नै बोलाएर शव हस्तान्तरण गरिने भएका कारण हमासले बुझाएका विदेशी नागरिकको शव बुझ्न केही दिने लाग्ने बताइएको छ। दुई वर्षअघि हमासले इजरेलबाट बन्धक बनाएर लगेका नेपाली विद्यार्थी विपिन जोशी जीवित रहेको प्रमाण फेला नपरेको औपचारिक जानकारी यसअघि इजरेली सेनाले परिवार र इजरेलस्थित नेपाली दूतावासलाई गराएको थियो।

    हमासको नियन्त्रणमा बाँकी रहेका ४८ जनामध्ये २० जीवित र २६ मृत बन्धकको नाम हमासले इजरेली पक्षलाई उपलब्ध गराएको थियो। तर विपिन जोशीको नाम जीवित वा मृत दुवै वर्गका बन्धकको सूचीमा थिएन। हमासले पहिलो चरणमा सात बन्धकलाई उत्तरी गाजाबाट र दोस्रो चरणमा १३ जनालाई दक्षिणी गाजाबाट मुक्त गरेको थियो। इजरेली सेनाले उनीहरू इजरेल पुगिसकेको जनाएको छ। ज्यान गुमाइसकेका बन्धकहरूको शव भने हस्तान्तरण हुन बाँकी नै छ।

    दुई पक्षबीच भएको सहमतिअनुसार इजरेलको हिरासतमा रहेका १,७०० जना कैदी र २५० बन्धक मुक्त हुन लागेका छन्। बन्धकहरू मुक्त हुनुअघि हमासले मृत र जीवित बन्धकहरूको सूची इजरेली पक्षलाई उपलब्ध गराएको थियो। तर विपिन जोशी र अर्का एक बन्धकको नाम दुवै सूचीमा थिएन। हमासले उपलब्ध गराएको सूची इजरेल डिफेन्स फोर्स आईडीएफले हेरेपछि त्यसमा विपिन जोशीबारे केही पनि जानकारी नपाएको भनी कलमार्फत् जानकारी दिएको पण्डितले बताएका थिए। सन् २०२३ मा हमासको नेतृत्वमा इजरेलमा भएको अप्रत्याशित आक्रमणपछि जोशीसहित २५१ जनालाई लडाकुहरूले बन्धक बनाएर लगेका थिए।

    इजरेलमा भएको आक्रमणमा १० नेपालीसहित १,२०० जनाको ज्यान गएको थियो। अक्टोबर २०२३ को घटनामा मृत्यु हुने सबै नेपाली सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान सङ्कायमा अध्ययनका क्रममा ुलर्न एन्ड अर्नु कार्यक्रमअन्तर्गत इजरेल पुगेका विद्यार्थी थिए। कञ्चनपुरका विपिन जोशी गाजाको सीमानजिकै एउटा कृषि फर्ममा कार्यरत थिए। कृषि फर्ममा कार्यरत १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणमा परेर मृत्यु भएको थियो।

    अरू चारजना घाइते भएका थिए भने जोशी सम्पर्कविहीन भएका थिए। अन्य दुई जना भने सकुशल थिए। विपिन जोशीसँग एउटै फर्ममा कार्यरत रहेका र उद्धार गरेर नेपाल फर्काइएका विद्यार्थीहरूले उनले हमासले प्रहार गरेको ग्रिनेड फालेर आफूहरूलाई बचाएको बताएका थिए। तर पछि उनलाई हमास लडाकुले लगेको ती विद्यार्थीहरूले सञ्चारमाध्यमलाई बताएका थिए।
    बीबीसीको सहयोगमा

  • हमासद्वारा गाजाबाट सबै २० जीवित बन्धकको रिहाइ

    हमासद्वारा गाजाबाट सबै २० जीवित बन्धकको रिहाइ

    जेरुसेलम, २७ असोज (रासस\एपी) । गाजा पट्टीमा दुई वर्षदेखि जारी विनाशकारी युद्ध अन्त्य गर्ने दिशामा एक ऐतिहासिक कदमस्वरूप हमासले सोमबार सबै २० जना जीवित इजरायली बन्धकलाई रिहा गरेको छ । यो कदम अमेरिकाको पहलमा भएको युद्धविराम सम्झौताअन्तर्गत आएको हो । यसले मध्यपूर्वमा स्थायी शान्तिको सम्भावनामा नयाँ आशा जगाएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायलमा रहनुभएका बेला उक्त अमेरिकी मध्यस्थताको युद्धविराम र बन्धक सम्झौता औपचारिक रूपमा लागू भएको घोषणा गरिएको थियो । राष्ट्रपति ट्रम्पले यस सम्झौताले युद्धलाई ‘प्रभावकारी रूपमा समाप्त गर्दै क्षेत्रीय शान्तिको ढोका खोलेको’ बताए । सम्झौताअनुसार इजरायलले एक हजार ९०० भन्दा बढी प्यालेस्टिनी कैदीलाई मुक्त गर्नेछ र गाजामा खाद्य सामग्री तथा मानवतावादी सहायता निर्बाध रूपमा आपूर्ति गर्न अनुमति दिनेछ । यो कदम युद्धपछिको पुनर्निर्माण र जनजीवन सामान्यीकरणतर्फको एक महत्त्वपूर्ण सुरुआतका रूपमा हेरिएको छ ।

    यसबीच, इजरायली सेनाले अन्तर्राष्ट्रिय रेडक्रस समितिमार्फत १३ जना बन्धक प्राप्त गरेको पुष्टि गरेको छ । यी बन्धकलाई दक्षिणी इजरायलको एक सैन्य आधारमा लगिएको छ । त्यहाँ उनीहरूलाई आफ्ना परिवारसँग पुनर्मिलन गराइनेछ । त्यसपछि हेलिकप्टरमार्फत तिनीहरूलाई इजरायलका विभिन्न अस्पतालमा स्वास्थ्य परीक्षणका लागि स्थानान्तरण गरिने योजना रहेको बताइएको छ ।

    हमासले पनि १३ जना जीवित बन्धकहरूलाई रेडक्रस अधिकारीहरूलाई आधिकारिक रूपमा हस्तान्तरण गरेको जनाएको छ । इजरायली सेनाका अनुसार सबै बन्धकलाई सुरक्षित रूपमा इजरायलमा ल्याइनेछ र उनीहरूको स्वास्थ्य अवस्थाको परीक्षणपछि आवश्यक सहयोग प्रदान गरिनेछ ।

    गाजा युद्धका कारण दशौँ हजार प्यालेस्टिनीको मृत्यु र व्यापक विनाश भएपछि यो सम्झौता शान्ति स्थापनातर्फको एक निर्णायक मोडका रूपमा देखिएको छ । सोमबारको रिहाइले युद्धविरामको व्यवहारिक कार्यान्वयनको सुरुवात गर्दै क्षेत्रीय स्थायित्वको नयाँ सम्भावना उजागर गरेको छ ।

  • विपिनका आफन्त भन्छन् : हामी अझै आशामा छौँ

    विपिनका आफन्त भन्छन् : हामी अझै आशामा छौँ

    महेन्द्रनगर, २७ असोज । विगत दुई वर्षदेखि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विद्यार्थी विपिन जोशीको अवस्थाका विषयमा विपिनका परिवारजन र इजरायलस्थित नेपाली दूतावाससँग ‘भिडियो कन्फरेन्स’ भएको छ । उक्त भिडियो कन्फरेन्समा जोडिएका विपिनका परिवारका सदस्य किशोर जोशीले आज नियन्त्रण मुक्त हुन लागेका २० जना बन्धकमा विपिनको नाम नरहेको इजरायली सरकारका तर्फबाट इजरायली डिफेन्स फोर्स (आइडिएफ) ले जानकारी गराएको बताए ।


    “आज छुट्ने लिष्टमा विपिनको नाम छैन फेरि पनि हामी निरन्तर अपडेट गर्छौँ भनेर इसरायलबाट भनिएको छ”, जोशीले भने, “अहिले छुट्नेमा विपिनको नाम नरहे पनि हामी उहाँ छुट्नेमा पूर्ण आशावादी छौँ, अहिले नै उहाँ छैनन् भन्न मिल्दैन ।” जोशीका अनुसार इजरायली प्रतिनिधि, संयुक्त राज्य अमेरिकाबाट विपिनका आमा र बहिनी, इजरायलस्थित नेपाली राजदूत र आफूसहितको भिडियो कन्फरेन्स आज बिहान भएको बताए । विपिनको नाम जीवित बन्दको सूचीमा नरहेको समाचारहरू प्रकाशित भइरहेका बेला विपिनको परिवारजनले भने अर्को चरणमा छुट्नेमा आशा रहेको जनाएको छ । दुई वर्षको अवधिमा भएका युद्धविराम र बन्दी साटासाट क्रममा हमासले २०० भन्दा बढी बन्धक यसअघि नै छाडेको थियो ।

    विपिनको सकुशल रिहाइका लागि उनको परिवार र नेपाल सरकार लामो समयदेखि प्रयासरत छन् । विपिनका आमा र बहिनी उनको खोजी कार्यमा पहलकदमी गरिदिन गुहार माग्न अमेरिका पुगेका छन् भने बुवा महानन्द जोशी महेन्द्रनगरमा छोरा विपिनको व्यग्र प्रतीक्षामा छन् ।

  • विपिन जोशीको अवस्था अज्ञात, अन्य बन्धक रिहा

    विपिन जोशीको अवस्था अज्ञात, अन्य बन्धक रिहा

    काठमाडौँ, २७ असोजः विगत दुई वर्षदेखि हमास समूहको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अज्ञात रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो सम्बन्धमा आज बिहान इजरायलको स्थानीय समयानुसार ७ः३० बजे इजरायली सेना (आइडिएफ)ले इजरायलका लागि नेपाली राजदूत, निज जोशीका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीसहितको भर्चुअल बैठक गरेको थियो ।

    उक्त बैठकमा इजरायली सेनाले आज रिहा हुने बन्दीमा जोशीको नाम समावेश नभएको र उहाँको अवस्था अज्ञात रहेको जानकारी दिएको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । इजरायल र हमासबीच ७ अक्टोबर २०२३ देखि सुरु भएको द्वन्द्व अन्त्यका लागि प्रस्तावित ‘मध्यपूर्व शान्ति योजना’ को प्रथम चरणअन्तर्गत आज बन्दी आदान–प्रदान गरिएको हो । उल्लिखित मितिदेखि नै हमासको कब्जामा रहेका इजरायलको ‘सिक्दै र कमाउँदै’ कार्यक्रममा सहभागी नेपाली विद्यार्थी जोशी पनि हमासले रिहा गर्ने बन्दीहरूको सूचीमा रहने अपेक्षा गरिएको थियो ।

    यस सन्दर्भमा निजको सकुशल रिहाइका लागि नेपाल सरकारले विगत दुई वर्षदेखि विभिन्न तहबाट कूटनीतिक प्रयास गरेको थियो । हमासको कब्जामा रहेका सबै जीवित बन्दीको रिहाइ र मृतक बन्दीको शव हस्तान्तरण प्रक्रिया पूरा नभएसम्म मन्त्रालयले यस विषयमा निरन्तर जानकारी अद्यावधिक गर्ने जनाएको छ ।

  • विपीन जोशी जीवित रहेका बन्धकमध्ये एक रहेको विश्वास

    विपीन जोशी जीवित रहेका बन्धकमध्ये एक रहेको विश्वास

    तेल अभिव, २७ असोज (रासस\एपी) । इजरायलले अझै जीवित रहेको विश्वास गर्ने २२ जना बन्धकमध्ये एकमात्र गैर–इजरायली नेपाली नागरिक विपीन जोशी पनि छन् । उनको कथा अहिले पनि इजरायल र नेपाल दुवै देशमा पीडा र आशाको प्रतीक बनेको छ । सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको विनाशकारी आक्रमणपछि दुई वर्ष लामो युद्ध सुरु भएको थियो । हमासको उक्त आक्रमणमा करिब एक हजार दुई सय जनाको मृत्यु भयो र २५१ जना अपहरणमा परे ।

    गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार सो लडाइँले हालसम्म ६७ हजारभन्दा बढी प्यालेस्टिनीहरूको ज्यान लिइसकेको छ । त्यसमा झण्डै आधा महिला र बालबालिका रहेका छन् । हाल गाजाको जनसङ्ख्याको करिब ९० प्रतिशत विस्थापित भइसकेको अनुमान गरिएको छ । गाजामा हाल ४८ जना बन्धकहरू रहेका छन् । तिनमा अघिल्ला युद्धका एक सैनिकको शव पनि समावेश छ । इजरायली अधिकारीहरूले कम्तीमा २५ जना बन्धक मरेको पुष्टि गरेका छन्, तर बाँकी २० जनामध्ये कति जीवित छन् भन्ने अझै स्पष्ट छैन । तिनै बन्धकमध्ये एक जना नेपाली विद्यार्थी विपिन जोशी पनि छन् । उनी जीवित रहेको विश्वास गरिएको छ ।

    चौबिस वर्षीय नेपाली युवा विपीन जोशी आक्रमण हुनुभन्दा एक महिनाअघि मात्र आफ्नो जन्मस्थान नेपालबाट इजरायल पुगेका थिए । उनी कृषि अध्ययनका लागि विद्यार्थी आदानप्रदान कार्यक्रममा सहभागी हुन गाजाको सीमामा रहेको किबुट्ज अलुमिममा कार्यरत थिए । कार्यक्रमका १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणका क्रममा मृत्यु भएको थियो । उनीहरू बम आश्रयमा लुकेका थिए र हमलाको क्रममा फ्याँकिएका जीवित ग्रेनेडहरूबाट बाँच्न सफल भए पनि विपीन जोशी घाइते भएर अपहरणमा परेका थिए ।


    विपीनका परिवारका अनुसार उनी गाजामा जीवित रहेको हुनसक्छ भन्ने विश्वास अझै बलियो छ । उनकी १७ वर्षीया बहिनी पुष्पा जोशीले आफ्ना दाजुको रिहाइका लागि अहोरात्र प्रयास गरिरहेकी छिन् । अधिकारीहरू र कूटनीतिक निकायहरूसँग भेट गरी दाजुको रिहाइका लागि आवाज उठाउन सकियोस् भनेर उनी पश्चिम नेपालको आफ्नो गाउँबाट प्रत्येक हप्ता काठमाडौँ आउन आठ–आठ घण्टाको बस यात्रा गरिन् । गत अगस्टमा जोशी परिवारले राष्ट्रपति आइज्याक हर्जोगलाई भेट्न र तेल अभिवको ‘होस्टेज स्क्वायर’ मा बन्धक परिवारहरूले आयोजना गर्ने प्रदर्शनमा सहभागी हुन इजरायल यात्रा पनि गरेको थियो । उनीहरूले नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायसँग पनि जोशीको उद्धारका लागि सक्रिय भूमिका खेल्न आग्रह गर्दै आएका छन् ।

    विपीन जोशी अहिले पनि गाजामा जीवित रहेको विश्वास इजरायली अधिकारीहरूले राखेका छन् । उनका साथीहरूले विपीन अध्ययनशील, मिलनसार र सहयोगी स्वभावका युवा रहेको बताएका छन् । विपीनले आफ्नो भविष्य कृषि विकासमा योगदान गर्ने सपनासँग इजरायल यात्रा गरेका थिए । इजरायलले युद्धविराम सुरु भएपछि बाँकी रहेका बन्धकहरूलाई ७२ घण्टाभित्र रिहा गरिने आशा व्यक्त गरेको छ । यसको बदलामा करिब दुई हजार प्यालेस्टिनी कैदीलाई रिहा गर्ने तयारी भइरहेको छ । विपीनको परिवार भने आशाको झिल्को निभ्न नदिई, दाजु–छोरा फर्किने दिनको प्रतीक्षा गर्दै अझै पनि प्रतीक्षामा छ । परिवारका अनुसार ‘विपिन फर्किए भने त्यो केवल हाम्रो परिवारको जित होइन, यो नेपाल र मानवताकै जित हुनेछ ।’

  • नेपाली सेनालाई बेलायतमा चौथो पटक स्वर्ण पदक

    नेपाली सेनालाई बेलायतमा चौथो पटक स्वर्ण पदक

    काठमाडौँ, २६ असोजः नेपाली सेनाले संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा सञ्चालन भएको एक्सरसाइज क्याब्रिअन पट्रोल, २०२५ मा स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ । यही असोज २३ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले सर्वोत्कृष्ट अङ्कसहित स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    उक्त अभ्यासमा बेलायतसहित ३३ राष्ट्रका एक सय १७ टोलीको सहभागिता थियो । सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रियस्तरको उक्त प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आइरहेको छ ।

    तोकिएको समयसीमा दुई दिनभित्रमा हतियार, करिब ७० पौण्ड तौलको उपकरण र बन्दोबस्तीका सामग्रीसहित ६० किलोमिटर दूरी पार गर्नुपर्ने त्यस अभ्यासमा सहभागी टोलीको विभिन्न तयारी, खबर सङ्कलन, घाइते–बिरामीको व्यवस्थापनलगायतका दक्षताको मूल्याङ्कन र परीक्षण गरिने निर्देशनालयले जनाएको छ । नेपाली सेनाले उक्त प्रतियोगितामा सन २०१७, २०१९ र २०२४ मा पनि स्वर्ण पदक प्राप्त गरेको थियो ।

  • एनआरएनएको स्थापना दिवसमा कवि गोष्ठी, नेपाली मौलिकता झल्काउने प्रयास

    एनआरएनएको स्थापना दिवसमा कवि गोष्ठी, नेपाली मौलिकता झल्काउने प्रयास

    राष्ट्रिय समाचार समिति
    काठमाडौँ, २६ असोज : नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले बहुभाषिक कविगोष्ठीले नेपाली मौलिकताको अनुहार झल्किने बताउनुभएको छ ।
    गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को २२औँ स्थापना दिवसको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा गैरआवासीय नेपाली सङ्घ र भाषा साहित्य समितिको सहकार्यमा यहाँ आयोजित ‘साहित्यिक गोष्ठी तथा बहुभाषिक सिर्जना’ वाचन कार्यक्रममा साहित्यिक गोष्ठी तथा बहुभाषिक सिर्जना’ वाचन कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले नेपालका सबै भाषाको प्रतिनिधित्वसहित गरिएको सिर्जना वाचनले नेपाली समाजको मौलिक अनुहार प्रतिबिम्बित भएको बताउनुभयो । उहाँले संसारभरि छरिएर रहेका नेपालीले आफ्नो भाषा, साहित्य र संस्कृतिलाई विस्तारित गरेको उल्लेख गर्नुभयो ।

    “यसबाट बहुभाषिक देश नेपाललाई समान रूपमा समृद्ध बनाउन सकिन्छ”, कुलपति राईले भन्नुभयो । प्रज्ञा–प्रतिष्ठानको संरचना विगतको जस्तो एकल भाषी नभई बहुभाषिक प्राज्ञिक केन्द्रको रूपमा अघि बढेको उहाँको भनाइ थियोे । प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा धनप्रसाद सुवेदीले नेपाली भाषा र साहित्यको विकासमा गैरआवासीय नेपाली सङ्घसँग सहकार्य गर्दै अघि बढ्न सकिने बताउनुभयोे । प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य मातृभाषा विभाग प्रमुख राजन मुकारुङले मुलुक चलाउन नेपालमा बोलिने सबै तहतप्का र समुदायका भाषालाई प्रवद्र्धन गर्दै राज्यले समान व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो ।

    गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेशकुमार श्रेष्ठले विदेशमा रहेका नेपालीका सन्तानलाई नेपाली भाषा, साहित्य, संस्कृतिप्रति आकर्षित गर्दै आफ्नो मौलिकताको संरक्षण गर्नुपर्ने बताउनुभयो । भाषा जोगाएनौँ, संस्कृति बचाएनौँ र साहित्य सिर्जना गरेनौँ भने सभ्यता तथा इतिहास नामेट हुने खतरा रहने उहाँको भनाइ थियो । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व महासचिव जानकी गुरुङले आफूहरू जहाँ रहे पनि नेपालप्रतिको अगाध स्नेह, माया र ममतामा कुनै कमी नआउने बताउनुभयोे । नेपाली भाषा प्रवासमा रहेका नेपालीका सन्तानलाई समयमै सिकाएर आफ्नो मातृभाषा जोगाउन सके मात्रै पहिचान बाँच्ने उहाँले बताउनुभयोे ।

    कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेशकुमार श्रेष्ठ, गैरआवासीय नेपाली सङ्घकी महिला संयोजक रश्मीकाली थापा, गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष तथा भाषा, साहित्य समितिका संयोजक विश्वासदीप तिगेला, एनआरएनए भाषा साहित्य समितिका सदस्य कथा कवि अमित थेबेलगायतले नेपाल बहुभाषिक देश भएकाले सबै भाषाको उत्तिकै समान हैसियत कायम गर्न बहुभाषिक सिर्जना वाचन महत्त्वपूर्ण हुने बताउनुभयोे ।

    बहुभाषिक सिर्जना वाचन कार्यक्रममा नेपाली भाषा, विभिन्न मातृभाषा र अङग्रेजी भाषामा गरी ५९ कविले आफ्ना कविता वाचन गर्नुभएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले नेपाली भाषा र अर्का प्राज्ञसभा सदस्य जनक रसिकले डोट्याली भाषामा कविता वाचन गर्नुभएको थियोे । कविगोष्ठीमा प्रा डा गोविन्दमान सिंह कार्की, विश्वासदीप तिगेला, मनोज न्यौपाने, स्वप्निल स्मृति, रमेश पौडेल, विमला तुम्खेवा, सन्ध्या पहाडी, मणिराज सिंह, देवेन्द्र सुर्केली, अमित थेबे, जनार्दन अधिकारी धड्कन, तीर्थराज भट्ट, सङ्गीता काली, मिथोच सुनुवार, विशाल नाल्बो, मिमबहादुर परियार, सोझो गाउँले, निरन्ती तुम्बापोलगायतले नेपाली भाषामा आ–आफ्ना कविता वाचन गर्नुभएको थियोे ।

    मातृभाषाका कवि अञ्जु राजवंशी, ओमकृष्ण श्रेष्ठ, जगत् वशिष्ठ, गणेश वाम्बुले राई, डम्बर थामी, निशेष आङ्देम्बे, पदम बालाहाङ राई, पेम्बा गेलु शेर्पा, भूमिका थारु, राकेशबहादुर बुढा मगर, आलोक तिवारी, शर्मिला राना थारु, शोभा सुनुवार, रचना मोक्तान तामाङ, स्नेहा झा, मनु ठाडा मगर, रितेश त्रिपाठी, प्रगति राई, विमला गुरुङ, प्रकृति थारू, शिलाखा वाम्बुले राई, निरा श्रेष्ठलगायतले कविता वाचन गर्नुभएको थियो ।

  • केप कड मासाचुसेट्समा दशैं शुभकामना साँझ २०८२ सम्पन्न

    केप कड मासाचुसेट्समा दशैं शुभकामना साँझ २०८२ सम्पन्न

    केप कड । नेपाली समाजले आयोजना गरेको दशैं शुभकामना साँझ, २०८२ समाजका अध्यक्ष, केबी राईको सभापतित्वमा यही सेप्टेम्बर महिनाको २६ तारीख, शनिवारका दिन केप कड, हायनिसस्थित Cape Cod Irish Village मा भब्यताका साथ सम्पन्न गरिएको थियो। समाजका महासचिव इच्छा खड्का र सचिव सरस्वती खनालले संयुक्त रूपमा कार्यक्रम संचालन गर्नुभएको थियो।

    हालसालै नेपालमा भएको जेन-जी हरूको आवाहनमा भएको आन्दोलनमा सदाहत प्राप्त गर्नुहुनेहरूको संझनामा १ मिनट मौनधारण गरि वहाँहरूको आत्माको चिरशान्तिको कामना गर्नुको साथै आन्दोलनको क्रममा घाइते हुनुभएकाहरूको शीघ्र पुर्ण स्वास्थ्यलाभको कामना गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो।

    समाजका बरिष्ठ उपाध्यक्ष बिष्णुमान प्रधानले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्नुको साथै बडा दशैं २०८२ को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्नुभएको थियो भने संस्थाका सल्लाहकार तथा संस्थापक अध्यक्ष हरी राईले पनि शुभकामना मनतब्य दिनु भएको थियो ।

    यसैगरि, केपकड नेपाली समुदायमा बसोबास गर्नुहुने ७० वर्ष वा सो भन्दा माथिका जेष्ठ नागरिकहरूलाई खादा ओडाएर सम्मान गरिएको थियो।

    साना नानी बाबुहरूद्वारा गाईएको नेपाली र अमेरिकी राष्ट्रिय गित तथा स्थानिय कलाकारहरूद्वारा प्रस्तुत गरिएको विभिन्न बिशेष सांस्कृतिक गतिविधिहरूले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो भने डीजेको बेजोड प्रस्तुतिले कार्यक्रमको रौनकता बढाएको थियो।

    कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष तथा यस कार्यक्रमका सभापति केबी राईले उपस्थित सबैलाई बडा दशैं २०८२ को हार्दिक मंगलमय शुभकामना दिनुको साथै यस कार्यक्रमलाई सफल पार्न आर्थिक सहयोग प्रदान गर्नुहुने सम्पूर्ण प्रायोजकहरू, खाना ब्यवस्थापन गर्ने टिम, सांस्कृतिक कार्यक्रममा सहभागि हुनुभएका सम्पूर्ण कलाकारहरू, स्वयंसेवीहरू साथै प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनुहुने समुदायका आदरणीय ब्यक्तित्वहरू, ब्यवसायीहरू, कार्यसमितिका सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई समाजको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको थियो।

  • ओहोदाको प्रमाणपत्र प्रस्तुत

    ओहोदाको प्रमाणपत्र प्रस्तुत

    काठमाडौँ, २३ असोजः इराकका लागि नेपालका राजदूत घनश्याम लम्सालले त्यहाँका राष्ट्रपति डा अब्दुल्लातिफ जमाल रसिदसमक्ष बुधबार बग्दादस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

    त्यसअवसरमा राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राष्ट्रपति रसिदको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै इराकका जनताको निरन्तर प्रगतिको कामना गरेको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ । प्रत्युत्तरमा इराकी राष्ट्रपतिले राजदूत लम्सालप्रति बधाई ज्ञापन गर्दै राष्ट्रपति पौडेलको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै नेपाली जनताको निरन्तर प्रगतिको कामना गरे । लम्साल कुवेतका लागि नेपालका आवासीय राजदूत हुन् ।

  • नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर

    नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर

    काठमाडौँ, २२ असोज । नेपाल सरकार र सङ्घीय गणतन्त्र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोगसम्बन्धी दुई महत्त्वपूर्ण सम्झौतामा आज हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा भएको उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट मन्त्रालयका सहसचिव धनिराम शर्मा र जर्मन सरकारको तर्फबाट काठमाडौँस्थित नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत उडो भोल्जले हस्ताक्षर गर्नुभयो । यी सम्झौताले नेपालको ऊर्जा, स्वास्थ्य, कृषि, शासन तथा समावेशी विकासका प्राथमिकतालाई सहायता गर्ने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ ।

    वित्तीय सहयोग सम्झौताअन्तर्गत जर्मन सरकारले “पावर डिस्ट्रीब्युसन स्ट्रेन्थेनिङ कार्यक्रम” मा सहयोगस्वरूप २० मिलियन युरो सम्मको प्रतिबद्धता जनाएको छ । यस परियोजना नेपालको विद्युतीय विवरण प्रणालीको स्तरोन्नति र सुदृढीकरणमा केन्द्रित हुने जनाइएको छ ।

    यो परियोजना नेपाल विद्युत् प्राधिकरणमार्फत कार्यान्वयन गरिने र त्यसका लागि नेपाल विद्युत् प्राधिकरण र जर्मन विकास बैंकबीच कार्यान्वयन सम्झौता पनि हुने उल्लेख छ । सम्झौताको कार्यान्वयन पाँच वर्ष भित्र अर्थात् ५ सेप्टेम्बर २०२९ सम्ममा सम्पन्न हुनुपर्ने उल्लेख गरिएको छ ।

    प्राविधिक सहयोग सम्झौता सन् १९७४ मा हस्ताक्षर गरिएको दीर्घकालीन ढाँचागत सम्झौता र सन् २००९ मा संशोधित सम्झौतामा आधारित रहेको जनाइएको छ । यसअन्तर्गत २१ मिलियन युरोसम्मको अनुमानित प्रतिबद्धतासहित जर्मनीले विभिन्न क्षेत्रमा सहयोग पु(याउने बताइएको छ ।

    उक्त परियोजना स्वास्थ्य क्षेत्रमा, राष्ट्रिय लैङ्गिक समानता तथा सामाजिक समावेशी रणनीतिका लागि निरन्तर समर्थन प्रदान गर्दै स्वास्थ्य प्रणालीमा गुणस्तरीय पूर्वाधारलाई थप स्तरीय बनाउन सहयोग गर्नेछ ।

    त्यसैगरी कृषि तथा निजी क्षेत्रको विकास, समावेशी र जलवायु–प्रतिकारशील आर्थिक विकासलाई प्रवर्द्धन गर्ने कार्यक्रममासमेत सहयोग पु(याउने परियोजनाको लक्ष्य छ । परियोजनाले थप अध्ययन तथा विज्ञ कोषमार्फत सल्लाहकार तथा प्राविधिक सहायता प्रदान गर्नेछ । यस प्राविधिक सहायता सम्झौताको कार्यान्वयन समेत पाँच वर्ष भित्रअर्थात् ५ सेप्टेम्बर २०२९ सम्ममा सम्पन्न हुने सम्झौतामा उल्लेख छ ।

    कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव शर्माले जर्मनीको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्नुभयो । नेपालका लागि जर्मन सङ्घीय गणतन्त्रका राजदूत भोल्जले यो नयाँ प्रतिबद्धताले ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रमा नेपाल र नेपाली जनतासँगको सहकार्यलाई अझ प्रगाढ बनाएको उल्लेख गर्नुभयो ।

  • विदेशमा हुने नेपालीलाई दशैंको उत्तम साइत कुन देशमा कति बजे ?

    विदेशमा हुने नेपालीलाई दशैंको उत्तम साइत कुन देशमा कति बजे ?

    १६ असोज, काठमाडौं । आज नेपालीहरुको महान चाड बडा दशैंको महादशमी पर्व मनाइदैछ । पञ्चाङ्ग निर्णय समितिले सनातन हिन्दू धर्मावलम्बीहरूका लागि विजया दशमी २०८२ को टीका लगाउने साइत विभिन्न देशका स्थानीय समयअनुसार सार्वजनिक गरेको छ । शास्त्रीय मान्यतानुसार पर्वहरू स्थानीय तिथि र समयअनुसार मनाउनुपर्ने भएकाले, विभिन्न देशमा फरक–फरक समय तोकिएको समितिले जनाएको छ ।


    नेपालमा टीका लगाउने उत्तम साइत

    काठमाडौंका लागि विजयादशमी टीकाको उत्तम साइत असोज १६ गते : बिहान ११ः५३ बजे निर्धारण गरिएको छ ।

    अन्य प्रमुख देशहरूमा टीकाको समय यस प्रकार छ

    भारत (दिल्ली) : ११ः४९ अक्टोबर २

    अमेरिका (न्यूयोर्क) : ११ः०५ अक्टोबर १

    अमेरिका (क्यालिफोर्निया) : ११ः२५ अक्टोबर १

    क्यानाडा (टोरन्टो) : ११ः५५ अक्टोबर १

    अष्ट्रेलिया (सिड्नी) : ११ः३१ अक्टोबर २

    अष्ट्रेलिया (मेलबर्न) : ११ः५३ अक्टोबर २

    जापान (टोकियो) : ११ः३१ अक्टोबर २

    दक्षिण कोरिया (सियोल) : १०ः५७ अक्टोबर २

    युएई (अबुधावी) : १०ः५५ अक्टोबर २

    कतार (दोहा) : १०ः१३ अक्टोबर २

    मलेसिया (क्वालालम्पुर) : ११ः११ अक्टोबर २

    सिंगापुरः ११ः०९ अक्टोबर २

    लन्डन (बेलायत) : ०९ः१७ अक्टोबर २

    पेरिस (फ्रान्स) : ०९ः५७ अक्टोबर २

    ओस्लो (नर्वे) : १०ः०३ अक्टोबर २

    लिस्बन (पोर्चुगल) : ०९ः२३ अक्टोबर २

    टेल अविभ (इजरायल) : ११ः३५ अक्टोबर २

    जिनेभा (स्विट्जरल्याण्ड) : १०ः२५ अक्टोबर २

    हङकङः ११ः४५ अक्टोबर २

    साउदी अरेबियाः १०ः५५ अक्टोबर २

    याङ्गुन (म्यानमार) : १०ः२७ अक्टोबर २

    माल्टाः १०ः५५ अक्टोबर २

  • यूनएन महासभामा नेपालको सम्बोधन : जेनजी आन्दोलनबारे विश्व समुदायलाई सूचित

    यूनएन महासभामा नेपालको सम्बोधन : जेनजी आन्दोलनबारे विश्व समुदायलाई सूचित

    १४ असोज, काठमाडौं । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकराज थापाले शान्ति, लोकतन्त्र र समावेशी सहभागितासहित विकासको बाटो अवलम्बन गरी नेपाल अघि बढिरहेको बताएका छन् । संयुक्तराज्य अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घ महासभाको ८०औँ अधिवेशनलाई सोमबार नेपालका तर्फबाट सम्बोधन गर्दै स्थायी प्रतिनिधि थापाले भने, “हाम्रो अघि बढ्ने एक मात्र सम्भावित बाटो भनेकै शान्ति, लोकतन्त्र र समावेशी विकासको बाटो हो ।”

    सम्बोधनका क्रममा उनले मुलुकमा विकसित पछिल्ला राजनीतिक घट्नाक्रमका बारेमा जानकारी गराउनुभएको अमेरिकास्थित नेपाली स्थायी नियोगले जनाएको छ । नेपाली युवा पुस्ता (जेन–जेड)ले पारदर्शी, जवाफदेही, जनउत्तरदायी र सुशासनका आधारस्तम्भमा टेकेर निष्पक्ष, न्यायपूर्ण र समृद्ध राष्ट्र निर्माणको माग गरेको स्थायी प्रतिनिधि थापाले बताए ।


    नेपालको इतिहासमा पहिलोपटक महिला प्रधानमन्त्रीको नेतृत्वमा राज्य सञ्चालन भइरहेको जानकारी दिँदै उनले सार्वभौम नेपाली जनताले नयाँ नेतृत्व छान्न पाउने अधिकारसहित आगामी फागुन २१ गते आम निर्वाचनको मिति तोकिएको बताए । संयुक्त राष्ट्रसङ्घलाई बहुपक्षीयताको आधार, शान्ति, न्याय, मानव स्वाभिमान, साझा समृद्धि तथा नियममा आधारित अन्तरराष्ट्रिय व्यवस्थाको आशा भएको उल्लेख गर्दै उहाँले त्यसका महत्वपूर्ण एवं आधारभूत मूल्यमान्यताहरूलाई जोगाउनुपर्नेमा जोड दिए ।


    संयुक्त राष्ट्रसङ्घ र यसको ‘चार्टर’लाई नेपालको परराष्ट्र नीतिको आधारस्तम्भका रूपमा व्याख्या गर्दै स्थायी प्रतिनिधि थापाले बहुपक्षीयताप्रति नेपालको अटुट विश्वासलाई पुनः पुष्टि गरे । उनले सन् १९५५ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बनेपछिको सात दशकभन्दा बढी समयदेखि विश्वभर शान्ति प्रवद्र्धन, मानव स्वाभिमान र दिगो विकासका क्षेत्रमा नेपालको उल्लेखनीय योगदान रहँदै आएको स्मरण गरे । “राष्ट्र सङ्घको आह्वानअनुसार विश्वकै सबैभन्दा ठूलो शान्ति सैनिक पठाउने देशका रुपमा नेपाल रहेको छ,” स्थायी प्रतिनिधि थापाले भने, “हाम्रा उच्च व्यावसायिक शान्ति सैनिकहरू जिम्मेवारी बोधसहित विश्वका द्वन्द्वग्रस्त विभिन्न क्षेत्रमा शान्ति र स्थायित्वका पक्षमा अहोरात्र खटिरहेका छन् ।”

    उनले जलवायु परिवर्तनका कारण उत्पन्न विकराल समस्यासहित विश्वमा देखिएका सङ्कटप्रति चिन्ता व्यक्त गर्दै सबै प्रकार र स्वरुपका आतङ्कवादको निन्दा गर्नुरे । सम्बोधनका क्रममा पूर्ण निःशस्त्रीकरणको आह्वान गर्दैै उनले विश्व शान्ति र समृद्धिका पक्षमा जोड दिए । प्यालेस्टाइनको गाजा क्षेत्रमा चर्किंदो मानवतावादी सङ्कट र हमासद्वारा निर्दोष नागरिकलाई बन्धक बनाइएका घटनाप्रति चिन्ता एवं आपत्ति व्यक्त गर्दै उहाँले सन् २०२३ अक्टोबर ७ देखि हमासद्वारा बन्धक बनाइएका नेपाली नागरिक बिपिन जोशीलाई तुरुन्त मुक्त गर्न आग्रह गरे ।


    महासभालाई सम्बोधन गर्दै स्थायी प्रतिनिधि थापाले विश्व शान्ति र सुरक्षाको प्रत्याभूति, बहुपक्षीयताको सुदृढीकरण र विश्वास पुनःस्थापना, दिगो विकास लक्ष्य कार्यान्वयनमा तीव्रता, अति कम विकसित देश तथा कमजोर मुलुकका लागि विकास तथा जलवायु वित्त, जलवायु न्याय, प्रविधि हस्तान्तरण, क्षमता अभिवृद्धि र समावेशी ‘डिजिटल’ रुपान्तरण प्रवद्र्धनलगायतका विषयमा विश्वव्यापी कार्यका लागि आह्वान गरे ।


    अतिकम विकसित राष्ट्र र आर्थिक तथा सामाजिक परिषद् समेतको अध्यक्षका हैसियतमा स्थायी प्रतिनिधि थापाले प्रभावकारी, विश्वासिलो र नतिजामुखी सहकार्यद्वारा सुरक्षित, समृद्ध र दिगो विश्व निर्माणमा नेपालको दृढ प्रतिबद्धता व्यक्त गरे । संयुक्त राष्ट्र सङ्घको ८०औँ महासभाको पहलले समावेशी, पारदर्शी र प्रभावकारी बहुपक्षीय प्रणालीतर्फको सामूहिक प्रतिबद्धता नवीकरण गर्ने अवसर दिएको बताउँदै उनले अतिकम विकसित मुलुक र भूपरिवेष्टित विकासशील देशहरुलाई प्राथमिकतासहित सहयोग एवं सहुलियतको व्यवस्था हुनुपर्नेमा जोड दिए ।


    स्थायी प्रतिनिधि थापाले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा सुधार गरी यसलाई अझ प्रतिनिधिमूलक, पारदर्शी र जवाफदेही बनाउनुपर्ने नेपालको मागलाई पुनः स्मरण गराए । वर्तमान विश्व यथार्थअनुसार विश्व वित्तीय संरचनाको सुधार आवश्यक रहेको पनि उनको जोड थियो । सामान्यतया राष्ट्रप्रमुख वा सरकारप्रमुखको नेतृत्वमा राष्ट्र सङ्घीय महासभामा भाग लिने परम्परा रहेकामा यस वर्ष भने स्थायी प्रतिनिधि थापा नेतृत्वको प्रतिनिधिमण्डल सक्रिय रहेको छ ।

  • ‘ट्राभल एड्‌भाइजरी’ खुकुलो बनाइदिन दूतावासहरुलाई पर्यटन बोर्डको आग्रह

    ‘ट्राभल एड्‌भाइजरी’ खुकुलो बनाइदिन दूतावासहरुलाई पर्यटन बोर्डको आग्रह

    ११ असोज, काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणका लागि जारी गरिएका विभिन्न देशका यात्रा सल्लाह (ट्राभल एड्भाइजरी) खुकुलो बनाइदिन आग्रह गरेको छ । दशैंको अवसरमामा काठमाडौंमा बिहीबार बेलुका आयोजित ‘मिट एण्ड ग्रीट विथ डिप्लोम्याटिक कोर्प्स’ कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले नेपाल अहिले सामान्य अवस्थामा फर्किएको र पर्यटक भ्रमणका लागि पूर्ण सुरक्षित रहेको स्पष्ट पारेका हुन् । यसअघि भदौ २४ र २५ गते भएको जेनजी आन्दोलनपछि नेपालस्थित विदेशी राजदूतावास तथा कूटनीतिक नियोगहरुले आफ्नो देशका यात्रुका लागि नेपाल भ्रमणबारे सचेत रहन भन्दै ट्राभल एड्भाइजरी जारी गरेका थिए ।

    हालैको जेनजी आन्दोलनले सिर्जना गरेको अस्थिरताबाट पर्यटन उद्योगमा देखिएको संकट छिट्टै सामान्य अवस्थामा आइसकेको उल्लेख गर्दै सीईओ जोशीले भने, “राजनीतिक स्थायित्व, सुरक्षा,सहज यातायात पहुँच, स्वास्थ्य सेवाको पहुँचजस्ता पक्षमा नेपाल अहिले पूर्ण रूपमा सामान्य भइसकेको छ ।” उनका अनुसार भदौ २४ र २५ गतेको अस्थिरतापछि सेनाले तत्काल स्थिति नियन्त्रणमा लिएको र नयाँ सरकार गठन भइसकेको अवस्थामा राजनीतिक स्थायित्वमा कुनै समस्या नरहेको, सुरक्षा निकाय र पर्यटक प्रहरीहरू पुनः सामान्य सेवामा फर्किसकेका छन् । साथै, सडक, विमानस्थल र यातायात संरचना तत्काल सञ्चालनमा आएका छन् भने अस्पताल र स्वास्थ्य सेवा पनि सामान्य अवस्थामा फर्किएको राजदूतहरुलाई उनले जानकारी गराए ।


    कार्यक्रममा सहभागी राजदूत र प्रतिनिधिहरूलाई सम्बोधन गर्दै सीईओ जोशीले थपे, “नेपाल संसारकै अद्वितीय प्राकृतिक र सांस्कृतिक गन्तव्य हो । तपाईंहरूको सहयोग र सन्देशले अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक प्रभाव पार्नेछ । हामी संयुक्त रूपमा नेपाललाई अझै विश्वकै आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्न सक्छौं ।” सीईओ जोशीले जेनजी आन्दोलनका क्रममा २५ होटलमा आंशिक भौतिक क्षति पुगेको र करिब २,००० भन्दा बढी रोजगार प्रभावित भएकोसमेत जानकारी गराएका छन् । उनले पर्यटन उद्योगको ‘रिजिलिएन्स’ (संकट सहने क्षमता)लाई उच्च मूल्यांकन गर्दै भने,“नेपालको पर्यटन उद्योग दशकौँदेखि अन्तर्राष्ट्रिय संकट व्यवस्थापनमा परिपक्व छ । यसबीच कुनै पनि पर्यटकलाई लक्षित आक्रमण भएको छैन, आगामी दिनहरूमा पनि पर्यटन सुरक्षित रहन्छ भन्ने विश्वास दिलाउन चाहन्छु ।”


    कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले नेपाल अहिले पूर्ण रूपमा भ्रमण–योग्य रहेको सन्देश आफ्ना देशमा पुर्‍याउन दूतावासका प्रतिनिधिहरूलाई आग्रह गरेका छन् । उनले भने, “नेपालको संस्कृति, सम्पदा र आतिथ्यका साथ हामी पर्यटक स्वागतका लागि तयार छौं । तपाईँहरूले आफ्ना सरकार र पर्यटकहरुमा ‘नेपाल खुला र सुरक्षित छ’ भन्ने सन्देश पुर्‍याइदिनुहोस् ।” विश्‍व पर्यटन दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा संयुक्त राज्य अमेरिका, भारत, इजिप्ट, नर्वे, कतार, मलेसिया, पाकिस्तानलगायत १५ देशका राजदूत र प्रतिनिधिहरूको सहभागिता थियो ।

    जसमा परराष्ट्र, पर्यटन, वन तथा वातावरण मन्त्रालय, अध्यागमन विभाग र पर्यटन उद्योगीहरुको सहभागिता रहेको थियो । सीईओ जोशीले दशैं, तिहार र नेपाल संवतजस्ता चाड–पर्वले नेपाललाई ‘मिलन र पुनर्जीवनको उत्सव’को रुपमा प्रस्तुत गरेका हुन् । सीईओ जोशीले पर्यटनले केवल अर्थतन्त्रमा योगदान गर्ने मात्र नभई, जन–जनबीचको सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने र नेपाल भ्रमणले मैत्री र कूटनीतिक सम्बन्ध थप बलियो हुनेसमेत उल्लेख गरे । उनले नेपालको पर्यटन पहिचानलाई विश्वभर प्रवर्द्धन गर्न निरन्तर सहकार्यका लागि तयार रहेको समेत राजदूतहरुलाई बताएका हुन् ।

  • सञ्चारमन्त्री खरेलसँग ‘एनआरएनए’ प्रतिनिधिमण्डलको भेट, मागे मताधिकार

    सञ्चारमन्त्री खरेलसँग ‘एनआरएनए’ प्रतिनिधिमण्डलको भेट, मागे मताधिकार

    ११ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । मन्त्रालयमा शुक्रबार भएको भेटमा एनआरएनका तर्फबाट अध्यक्ष डा केसीले संविधान संशोधनमार्फत गैरआवासीय नेपालीलाई पूर्ण अधिकारसहितको नागरिकता, मताधिकारको सुनिश्चितता, लगानी सुरक्षाको प्रत्याभूति, शिक्षा, स्वास्थ्य, प्रविधि, पर्यटनलगायत क्षेत्रमा सीप र ज्ञान हस्तान्तरणका लागि नीतिगत व्यवस्था गर्न आग्रह गरे ।

    त्यसैगरी वैदेशिक रोजगारमा जाने श्रमिकहरूको सामाजिक सुरक्षा र उनीहरूको सीप तथा पुँजीलाई स्वदेशमै उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न सहजीकरण गर्नुपर्ने एनआरएनएको माग थियो । एनआरएनएले जेनजी प्रदर्शनपश्चात गठित अन्तरिम सरकार सफल हुनेमा गैरआवासीय नेपालीहरू विश्वस्त रहेको उल्लेख गर्दै, मुलुकको समृद्धिका लागि सहकार्य गर्न आफूहरु सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरेको छ । भेटमा एनआरएनएका सल्लाहकार टिबी कार्की, पूर्व आइसिसी सदस्य सन्तोष भट्टराई, राष्ट्रिय समन्वय परिषद् इजरायलका पूर्व अध्यक्ष दीपक ओली, कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतलगायतको उपस्थिति थियो ।

  • विदेशमा रहेका नेपाली मतदातालाई मतदात गराउने उपाय खोज्दैछौं : प्रधानमन्त्री

    विदेशमा रहेका नेपाली मतदातालाई मतदात गराउने उपाय खोज्दैछौं : प्रधानमन्त्री

    ९ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै नेपाली जनताले चाहेअनुसार शासकीय प्रणालीमा परिवर्तन र सुशासनको अपेक्षा पूर्तिसहित छ महिनाभित्र निर्वाचन गराउने आफ्नो दायित्व भएको बताएकी छिन् । गत भदौ २३ र २४ गतेको जेनजी समूहको आन्दोलन र उत्पन्न परिस्थितिमा पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा भदौ २७ गते निर्वाचन गराउने जिम्मेवारीसहित आन्तरिक सरकार गठन भएको थियो ।

    सरकार गठनपछि प्रधानमन्त्री कार्कीले आज सिंहदरबारबाट पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गरेकी छिन् । उनका सम्बोधनअघि विस्तारित मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा सम्पन्न भएको थियो । तोकिएको मिति आगामी फागुन २१ गते स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित रुपमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउन सरकार कटिबद्ध रहेको उनको भनाइ थियो ।

    उनले विदेशमा रहेका नेपाली मतदातालाई मतदात गराउने उपायको समेत खोजी गरिरहेको जानकारी दिइन् । उनले उत्साहका साथ निर्वाचनमा भाग लिइ युवापुस्ताको मागबमोजिम योग्य व्यक्तिलाई निर्वाचित गराउन सबैलाई आग्रह गरिन् ।

  • विपिनको रिहाइका लागि आमा र बहिनी अमेरिका प्रस्थान

    विपिनको रिहाइका लागि आमा र बहिनी अमेरिका प्रस्थान

    ९ असोज, दोधारा चाँदनी । प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइको पहलका लागि आमा पदमा र बहिनी पुष्पा जोशी बुधबार साँझ अमेरिका प्रस्थान गरेका छन् । दाइ विपिनको सकुशल रिहाइका लागि अन्तरराष्ट्रिय दबाब बढाउनका लागि आमालाई लिएर अमेरिका जाने कार्यक्रम तय भएको बहिनी पुष्पाले जानकारी दिइन् । “यसअघि इजरायल गएझैँ अन्तरराष्ट्रिय मञ्चमा दाइको सकुशल रिहाइका लागि यसपटक अमेरिका जान लागेका हौँ” उनले भनिन्, “दाइको रिहाइको विषय अन्तरराष्ट्रिय विषय भएकाले अन्य देशका नागरिकलाई पनि यसमा आवाज उठाउन विनम्र अनुरोध गर्छु ।”

    विपिनको रिहाइका लागि यसअघि इजरायल सरकारले आमा पदमा र बहिनी पुष्पालाई इजरायल लगेको थियो । यसपटक पनि इजरायलले नै संयुक्त राष्ट्रसङ्घसम्म पुगाउने तयारीका साथ अमेरिका जान सहयोग गरेको जनाइएको छ । गत शनिबार हमासले नियन्त्रणमा रहेका विपिन जोशीसहित ४८ जना बन्धकको ‘बिदाइ तस्बिर’ भन्दै सार्वजनिक गरेको थियो । विपिनको परिवारले इजरायले आक्रमण बढाएपछि दबाब सिर्जना गर्न उक्त तस्बिर सार्वजनिक गरिएको हुनसक्ने आशङ्का गरेको छ ।

    “सरकारले कतारलगायतका देशसँग पहल गरिदिए रिहाइ हुन्थ्यो कि भन्ने लाग्छ”, विपिनका बुबा महानन्द जोशीले भने, “विपिन फर्किन्छन् कि भनेर आशामै दुई वर्र्ष बित्यो । अब छोराको सकुशल रिहाइका लागि सरकारले थप पहल गरोस् ।”सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिनसहित अन्य नेपाली विद्यार्थी हमासको आक्रमणमा परेका थिए । आक्रमणमा परी १० नेपाली विद्यार्थीको ज्यान गएको थियो ।

  • प्रधानमन्त्रीसँग निर्वाचन आयोगको छलफल, विदेशमा बस्ने नेपालीले पाउलान मताधिकार ?

    प्रधानमन्त्रीसँग निर्वाचन आयोगको छलफल, विदेशमा बस्ने नेपालीले पाउलान मताधिकार ?

    ७ असोज, काठमाडौं । निर्वाचन तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीले आज छलफल गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गतेका लागि निर्वाचन तोकिएको सन्दर्भमा सोका लागि आवश्यक कानुन संशोधन, निर्वाचन व्यवस्थापन र स्रोत परिचालनलगायत विषयमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीले छलफल गरेका हुन् ।


    छलफलमा सहभागी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको तयारी गर्नैपर्ने र तयारीका सम्बन्धमा कुनै अवरोधहरु छन्भने त्यसलाई पहिचान गरेर सम्बोधन गर्नुपर्ने विषयमा छलफल भएको जानकारी दिए । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनका लागि प्रभावकारी समन्वय गर्न प्रारम्भिक कुराकानी भएको जनाउँदै पछि आउने चुनौतीका विषयमा नेपाल सरकारसँग निरन्तर छलफल हुने बताए । निर्वाचनको कार्यभार पूर्ण रुपमा सम्पन्न गर्नुपर्नेमा सरकार र आयोग स्पष्ट रहेको बताउँदै उनले स्वच्छ, निष्पक्ष र स्वतन्त्र एवं मितव्ययी निर्वाचन गराउन आयोग प्रतिबद्ध रहेको स्पष्ट गरे ।


    आयोगले तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न मतदाता नामावली ऐन, २०७३ मा संशोधनलगायत आवश्यक स्रोतसाधनको सुनिश्चितताका लागि नेपाल सरकारसँग आग्रह गर्दै आएको छ । हाल आगामी कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताको सङ्ख्या एक करोड ८१ लाख ६८ हजार २३० रहेका छन् । यसअघि यही असोज २ गते आयोगले गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफल गरेको थियो ।

    उपनिर्वाचनको मिति तोकिएको सन्दर्भमा गत असार १६ गतेदेखि मतदाता नामावली सङ्कलन स्थगन भएकाले मध्यावधि निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावली सङ्कलन खुला गर्न कानुनी प्रबन्ध गर्नुपर्नेछ । उक्त ऐनको दफा ४ को उपदफा २ को सो व्यवस्था संशोधनका लागि अध्यादेशबाट कानुन संशोधन गर्न आयोग र सरकारबीच छलफल भएको हो । गृहमन्त्री अर्यालले सर्वोच्च अदालतको आदेशबमोजिम विदेशमा रहेका नेपालीलाई पनि मताधिकार दिने उपायबारे सोच्न भनेपछि आयोगले त्यसका लागि कानुनी विज्ञसँग छलफल गरेको छ ।

    गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शन र उत्पन्न परिस्थितिमा पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरिसकेको छ ।

  • काठमाडौँ–ग्वाञ्जाओ सिधा उडान बिहीबारदेखि

    काठमाडौँ–ग्वाञ्जाओ सिधा उडान बिहीबारदेखि

    राष्ट्रिय समाचार समिति (रासस)

    ५ असोज, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले यही असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने भएको छ । निगमले पहिलोपटक काठमाडौँ–ग्वाञ्जाओ–काठमाडौँ उडान सेवा सुरु गर्ने भएको हो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार उक्त प्रयोजनका निम्ति निगमले सबै प्राविधिक तयारी पूरा गरिसकेको छ । निगमले ग्वाञ्जाओ उडानका लागि अनुमति पाइसकेको छ ।

    निगमले हरेक हप्ता तीनवटा नियमित उडान भर्ने तालिका तय गरेको छ । पहिलो उडान असोज ९ गते, दोस्रो असोज १२ गते तथा त्यसपछि असोज ३०, कात्तिक २ र ६ गते उडान भर्ने तय भएको छ । त्यसपश्चात प्रत्येक आइतबार, मङ्गलबार र शनिबार ग्वाञ्जाओतर्फ सिधा उडान हुनेछ । काठमाडौँबाट ग्वाञ्जाओसम्मको एकतर्फी भाडादर रु ३० हजार र दोहोरो टिकट रु ५० हजार तोकिएको निगमले जनाएको छ ।

    अध्यक्ष अधिकारीले लामो समयको प्रयासपछि चीनको यस महत्त्वपूर्ण सहरमा उडान सेवा विस्तार गर्न सफल भएको बताए । निगमले निकट भविष्यमै काठमाडौँबाट दक्षिण कोरिया र अष्ट्रेलियातर्फ पनि सिधा उडान सुरु गर्ने तयारी गरिरहेको जानकारी दिएको छ । काठमाडौँ–ग्वाञ्जाओ गन्तव्यमा अहिले चीनको वायुसेवा कम्पनी चाइना साउदर्नले नियमित उडान भरिरहेको छ । नेपालबाट भने हिमालय एयरलाइन्सले यो रूटमा नियमित उडान भर्दै आएको छ । नेपालीको बाहुल्यता रहेको ग्वाञ्जाओ उडानले निगमलाई आर्थिक रूपमा लाभ हुनसक्ने अनुमान गरिएको छ ।

    नेपाली ध्वजावाहक वायुसेवा निगमको ग्वाञ्जाओ उडानसँगै अब नौ देशका ११ गन्तव्यमा नियमित उडान हुने भएको छ । हाल नेपाल वायुसेवा निगमसँग रहेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजमार्फत कतारको दोहा, मलेसियाको क्वालालम्पुर, संयुक्त अरब इमिरेट्सको दुबई, हङकङ, भारतका दिल्ली, मुम्बई र बैङ्गलुरु, थाइल्याण्डको बैङ्कक, साउदी अरबको दमाम र जापानको नारितामा अन्तरराष्ट्रिय उडान भइरहेको निगमले जनाएको छ ।

    देशको शान र पहिचानसँग जोडिएको निगमको अन्तरराष्ट्रिय गन्तव्यको उडानले कूटनीतिक सम्बन्ध विस्तार र बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन राष्ट्रिय ध्वजावाहकको ऐतिहासिक भूमिका रहँदै आएको छ र अगामी दिनमा पनि यो कायमै रहने निगमको विश्वास छ ।

  • यस्तो छ विभिन्न देशका लागि दसैँको टीका लगाउने साइत, अमेरिकाको कुन शहरमा कति बजे ?

    यस्तो छ विभिन्न देशका लागि दसैँको टीका लगाउने साइत, अमेरिकाको कुन शहरमा कति बजे ?

    ४ असोज, काठमाडौं । अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ । समितिको आज यहाँ बसेको बैठकबाट विभिन्न देशका लागि शुभ साइत सार्वजनिक गरेको समितिका सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले जानकारी दिए । विभिन्न देशमा बसोबास गर्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूबाट दसैँ टीकाको साइतबारे जिज्ञासा राखिएकाले तिथ्यादिको स्थानीयमानअनुसार सम्बन्धित देशको स्थानीय समयअनुसार शुभ साइत सार्वजनिक गरिएको उनले बताए ।


    समितिले नेपालका लागि असोज १६ गते बिहान ११ः५३ बजे, दिल्ली, भारतका लागि सोही दिन अर्थात् २ अक्टोबरका दिन ११ः४९, न्युयोर्क अमेरिकाका लागि अक्टोबर १ का दिन बिहान ११ः२५, फ्र्याङ्कर्फट केन्टुकी अमेरिकाका लागि बिहान ११ः५७, वोवेन्स्वोरो केण्टुकी अमेरिकाका लागि अक्टोबर ११ः०५, टेक्सासका लागि अक्टोबार ११ः३३, वासिङ्गटन डिसीका लागि ११ः३५, क्यालिफोर्नियाका लागि बिहान ११ः११, कोलोराडोका लागि ११ः२९ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष प्रा डा माधव भट्टराईले जानकारी दिए ।

    यसैगरी, टोरेण्टो क्यानडाका लागि १ अक्टोबरका दिन बिहान ११ः५५, भ्यानकुभरका लागि ११ः३३, टोकियो जापानका लागि २ अक्टोबरका दिन बिहान ११ः३१, सिड्नी अष्ट्रेलियाका लागि २ अक्टोबरका दिन बिहान ११ः४३, मेलबर्न अष्ट्रेलियाका लागि सोही दिन बिहान ११ः१९, व्रीसवेन अष्ट्रेलियाका लागि बिहान ११ः५३, एडिलेटका लागि ११ः३५, क्यानबेराका लागि ११ः५१, तास्मानियाका लागि ११ः४५, पर्थका लागि ११ः२५ र डार्बिन अष्ट्रेलियाका लागि बिहान ११ः४७ बजेको साइत शुभ रहेको छ ।

    यस्तै, बेलिङ्गटन न्यूजिल्यान्डका लागि २ अक्टोबरका दिन बिहान ११ः२३, लिस्बन पोर्चुगलका लागि सोही दिन बिहान ०९ः२३, लण्डन बेलायतका लागि बिहान ०९ः१७, पेरिस, फ्रान्सका लागि बिहान ०९ः५७, नर्वेको ओस्लोका लागि बिहान १०ः०३, क्वालालम्पुर मलेसियाका लागि बिहान ११ः११, अवुधावी युएइका लागि बिहान १०ः५५, दोहा कतारका लागि बिहान १०ः१३, बैंकक थाइल्याण्डका लागि बिहान १०ः४५, सियोल दक्षिण कोरियाका लागि बिहान १०ः५७, तेल अभिभ इजरायलका लागि बिहान ११ः३५ बजे टिका तोकिएको छ ।

    सिङ्गापुरका लागि बिहान ११ः०९, हङ्गकङ्गका लागि बिहान ११ः४५, साउदी अरेबियाका लागि बिहान १०ः५५, याङ्गून म्यानमारका लागि बिहान १०ः२७, जेनेभा स्विट्जरल्याण्डका लागि बिहान १०ः२५ र माल्टाका लागि बिहान १०ः५५ बजेको साइत स्थानीय समय अनुसार शुभ रहेकाले प्रकाशन गरिएको समितिका उपसभापति प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।