Category: डायस्पोरा

  • राप्रपा अध्यक्ष लिङ्देन बेलायत प्रस्थान

    राप्रपा अध्यक्ष लिङ्देन बेलायत प्रस्थान

    काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बेलायत प्रस्थान गरेका छन्। पार्टीको प्रवासी नेपाली एकता समाजको कार्यक्रममा भाग लिनका लागि लिङ्देन शुक्रबार राति बेलायत प्रस्थान गरेका हुन्। अध्यक्ष लिङ्देनले लण्डन र स्कटल्याण्डमा पानस युकेको आयोजनामा हुने छलफल र अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नेछन्। साथै, विभिन्न नेपाली संघसंस्थाद्वारा आयोजना हुने स्वागत तथा नेपाली समुदायसंग हुने छलफलमा सहभागी हुने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।


    अध्यक्ष लिङ्देनको भ्रमण टोलीमा उनकी श्रीमती सीता थापा लिङ्देन, प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य एवम् प्रवास विभाग प्रमुख आनन्द अधिकारी र केन्द्रीय सदस्य हिक्मतजंग कार्की छन्। लिङ्देन असोज १० गते स्वदेश फर्कनेछन्।

  • न्यूयोर्क पुगे प्रधानमन्त्री, के छ तालिका

    न्यूयोर्क पुगे प्रधानमन्त्री, के छ तालिका

    काठमाडौं । संयुक्त राष्ट्र सङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली स्थानीय समयअनुसार शुक्रबार राति न्युयोर्क पुगेका छन्। प्रधानमन्त्री ओलीलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमार खरेल तथा स्थायी नियोगका अधिकारीहरुले स्वागत गरेका थिए।

    प्रधानमन्त्री ओलीले यही असोज १० गते संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधन गर्ने कार्यतालिका छ। महासभामा कोही पनि पछाडि नछाडिने, वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाका लागि सबै मिलेर अघि बढ्नुपर्ने विषयमा बहस हुनेछ।

    प्रधानमन्त्री ओलीले यहाँस्थित नेपाली सङ्घसंस्थाले आयोजना गर्ने समारोहलाई आइतबार सम्बोधन गर्नेछन्। यसैगरी महासभामा सहभागी मित्रराष्ट्रका प्रतिनिधि तथा विकास साझेदारसँग ‘साइडलाइन’ वार्ता पनि गर्नेछन्। प्रधानमन्त्री ओलीले सम्मलेनमा अतिकम विकसित देशहरुको अध्यक्षको हैसियतले सम्बोधन गर्नुहुनेछ ।

    यसैगरी उहाँले कोलम्बिया विश्वविद्यालय र हार्वड विश्वविद्याललयमा नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा र नेपालको परिप्रेक्ष्यस् सङ्क्रमणकालीन न्यायबाट जलवायु न्यायका विषयमा सम्बोधन गर्ने कार्यक्रम छ।

  • अमेरिका प्रस्थान गरे प्रधानमन्त्री

    अमेरिका प्रस्थान गरे प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । उनलाई उपप्रधानमन्त्री प्रकाशमानसिंहसहित मन्त्रिपरिषद् सदस्यले बिदाइ गरे । प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू छन् । विमानस्थलमा प्रधानमन्त्री ओलीलाई नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको थियो ।


    प्रधानमन्त्री ओली अमेरिका प्रस्थान गरेपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले पाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले दैनिक प्रशासनिक कामकाज गर्ने गरी सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन् । प्रधानमन्त्री ओलीले असोज १० गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    संयुक्त राष्ट्रसंघको महासभामा यस वर्ष ‘कोही पनि पछाडि नछोडिने ः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषयमा छलफल हुने छ । प्रधानमन्त्री ओलीले असोज ७ गते कोलम्बिया विश्वविद्यालयमा आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा सम्बोधन गर्ने छन् । असोज ८ गते महासभाको साधारण बहसको उदघाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।

    साथै असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्य : सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयको कार्यक्रमलाई पनि सम्बोधन गर्ने तालिका छ । न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्ने छन् । साथै समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

    अमेरिका भ्रमण क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम छ ।
    प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कनेछन् ।

  • अमेरिकामा १५ वर्ष अगाडी ठगी, नेपालमा सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर

    अमेरिकामा १५ वर्ष अगाडी ठगी, नेपालमा सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर

    काठमाडौं । अमेरिकामा १० लाख डलर ठगेर नेपाल आएका एक व्यक्ति १५ वर्षपछि विशेष अदालतबाट सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर भएका छन् । विशेष अदालतले चिट्ठाको पैसा ठगेर नेपाल फर्केका पंकज जोशीलाई सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापको इजलासले जोशीलाई दुई करोड ६ लाख रुपैंया जरिवाना हुने फैसला गर्दै उनको खातामा रहेको रकम जफत हुने फैसला गरेको हो ।

    अध्ययनका लागि नेपालबाट अमेरिका पुगेका पंकज जोशीले १० लाख डलर चिठ्ठा परेका एक व्यक्तिलाई झुक्याएर उनको रकम हात पारेका थिए । उनले अमेरिकाको जेपी मोर्गन चेज बैंकबाट नेपालको बैंक अफ काठमाडौंमा रकम भित्र्याएका थिए । त्यसलगत्तै विभिन्न चरणमा नेपालमा रकम पठाएका उनी केही समयपछि नेपाल आए । उनी नेपाल फर्केलगत्तै सम्बन्धित अमेरिकी नागरिकले आफूलाई चिट्ठा परेको र जोशीले झुक्याएर रकम कुम्ल्याएको थाह पाएपछि प्रहरीमा खबर गरे । अमेरिकी प्रहरीले अमेरिकामा समेत जोशीविरुद्ध ठगी मुद्दा चलाएको थियो ।

    अपराधबाट आर्जित रकम नेपालमा भित्र्याएको थाह पाएपछि अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसले नेपालमा पत्र पठाएको थियो । त्यसपछि अनुसन्धान गरेर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा हालेको थियो । गैरकानूनी काम गरेर रकम आर्जन गरेको (सम्पत्ति शुद्धीकरण) गरेको अवस्थामा नेपालभित्र वा बाहिर जहाँ रहेको व्यक्तिहरुमाथि समेत अनुसन्धान हुनसक्ने भन्दै विशेष अदालतले पंकज जोशीमाथि मुद्दा दायर भएको घटनालाई स्वभाविक भनी व्याख्या गरेको छ ।

    गैरकानूनी स्रोतबाट आर्जन भएको रकम लुकाउने उद्देश्यले अमेरिकाबाट नेपालमा पैसा पठाएको, कसुर गरेर रकम कमाएको भन्ने थाह हुँदाहुँदै नेपालको खातामा रकम जम्मा भएको भन्दै विशेष अदालतले जोशीलाई दोषी ठहर गरेको हो । विशेष अदालतले सम्पत्ति शुद्धीकरण गर्नासाथ त्यो कसुर हुने भनी व्याख्या गरेको हो ।

    ‘मूल कसूरलाई लुकाई छिपाई त्यसबाट आर्जित सम्पत्तिलाई लुकाउन सम्पत्ति शुद्धीकरण गरिएको देखिन्छ । यो एउटा बहुआयामिक वित्तीय अपराध पनि हो’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘मूल अपराध लुकाउने हुनाले शुद्धीकरणको अपराध भएपछि उसले मूल अपराध गर्यो वा गरेन र उसको अपराध गर्ने मनसाय थियो वा थिएन भनी विचार गरिँदैन ।’

    अमेरिकाबाट नेपाल आएका पंकजले आफूविरुद्धको मुद्दाको प्रतिवाद नगरी मौन बसेका थिए । नेपालमै बसेर पनि मुद्दाको प्रतिवाद गर्ने अवसर हुदाहुदै उनी मौन रहेकोमा विशेष अदालतले प्रश्न उठाएको हो । विशेष अदालतले त्यहाँ मुद्दा चलेकाले मात्रै नेपालमा नेपालमा निर्णय नगरी बस्न नमिल्ने व्याख्या गरेको छ ।

    ‘एउटाले गरेको अपराधबाट दुई देशको दौत्य सम्बन्ध प्रभावित हुनु हुँदैन । तर यस्ता आपराधिक गतिविधिले नेपाल जस्ता मुलुकको अन्तर्राष्ट्रिय छविमा धक्का लाग्ने सम्भावना समेत रहन्छ’ विशेष अदालतले फैसलामा भनेको छ, ‘तसर्थ यस्ता अपराधमा संलग्नलाई अपराध प्रमाणित भएमा कानूनको कठघरामा उभ्याउनु कानूनी राज्यको उद्देश्य रहेको हुन्छ ।’

    विशेष अदालतले उनलाई कुनै कैद नगरी दुई करोड ६ लाख जरिवाना गर्दै उनको नेपालस्थित बैंकखातामा रहेका रकमहरु रोक्का हुने फैसला गरेको हो ।

  • इपीएस कोरियामा उत्पादनमुलकतर्फको रिजल्ट, ८ हजार भन्दा धेरै पास

    इपीएस कोरियामा उत्पादनमुलकतर्फको रिजल्ट, ८ हजार भन्दा धेरै पास

    काठमाडौं । वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाले उत्पादनमुलकतर्फको कोरियन भाषा (ईपीएस टोपिक २०२३ यूबीटी)को स्किल (सीप) र कम्पिटेन्सी (प्रतिस्पर्धी क्षमता) टेस्टको नतिजा सार्वजनिक गरेको छ । यो परीक्षामा ८ हजार १५१ जना परीक्षार्थी पास भएका छन् ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय कोरियाको श्रम तथा रोजगार मन्त्रालयबीच भएको भएको समझदारीअनुरुप रोजगार अनुमति प्रणाली अन्तर्गत प्रयोगात्मक परीक्षापछि कोरिया नेपाली कामदार पाउने गरी नतिजा सार्वजनिक भएको हो ।

    गत १८ देखि २४ भदौसम्म भएका सीप परीक्षणमा मा ८९३२ जना सहभागी भएका थिए । जसमा ८ हजार १५१ जना उत्तीर्ण भएको ईपीएस कोरिया शाखाले जनाएको छ । कोरियाको मानव संशासन विभागले ३ असोजमा यो नतिजा दिएपछि आज ४ असोजमा परीक्षाफल प्रकाशन भएको हो । अब कोरिया जानेहरुको रोस्टर तयार गर्नुअघि सबैको मेडिकल टेस्ट हुनेछ ।

  • कुन-कुन देशमा कसरी मनाईयो संविधान दिवस

    कुन-कुन देशमा कसरी मनाईयो संविधान दिवस

    काठमाडौं । विश्वका विभिन्न देशमा अवस्थित नेपालका राजदूतावासमा संविधान दिवस विविध कार्यक्रमका साथ आयोजना गरिएका समाचार प्राप्त भएका छन्।
    अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनस्थित नेपाली नियोगमा उक्त दिवस हर्षोल्लासपूर्वक मनाइएको ती दूतावासहरूले बेग्लाबेग्लै प्रेस विज्ञप्ति निकालेर जनाएका छन्।

    अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार बिहीबार आयोजित विशेष कार्यक्रम आयोजना गरिएको थियो। राष्ट्रियगान तथा ज्ञातअज्ञात सहिदहरूको सम्मान गरेर सुरु भएको कार्यक्रममा राजदूत तेजबहादुर क्षेत्री, राजदूतावासका कूटनीतिक कर्मचारी र तिनका परिवार र संयुक्त अरब इमिरेट्समा रहेका विभिन्न नेपाली सङ्घसंस्थाका प्रतिनिधि तथा कामको सिलसिलामा त्यहाँ रहेका नेपालीको उपस्थिति थियो।

    त्यस अवसरमा राजदूत क्षेत्रीले नेपाली जनताको ठूलो सङ्घर्ष र बलिदानपछि प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले प्रत्याभूत गरेका जनताका हक, अधिकार, मूल्य मान्यता र लोकतान्त्रिक शासन प्रणालीको संस्थागत विकास गर्दै मुलुकमा दिगो शान्ति, विकास, समृद्धि तथा सुशासन कायम गर्नु हामी सबैको दायित्व भएको बताए।

    यसैगरी बेइजिङस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्रकुमार यादवले संविधान दिवसको महत्वबारे चर्चा गर्दै नयाँ संविधानले मुलुकमा समानता, समावेशिता, एवं प्रजातान्त्रिक मूल्य, मान्यता स्थापनामा योगदान गरेको बताए। चिनियाँ परराष्ट्र मन्त्रालयको एसिया मामिला विभागका महानिर्देशक लिउ जिनसङको प्रमुख आतिथ्यमा भएको समारोहमा विविध सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो।

    समारोहमा बेइजिङस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, अन्तर्राष्ट्रिय सङ्घसंस्थाका प्रतिनिधि, चिनियाँ उद्यमी–व्यवसायी, सञ्चारकर्मीलगायत दुई सय ५० जनाको सहभागिता थियो। त्यसअघि दूतावास परिसरमा नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो। यसैगरी इजिप्टको राजधानी कायरोमा बिहीबार नै इजिप्टको परराष्ट्र मन्त्रालयका एसिया–प्रशान्त तथा अष्ट्रेलिया र न्यूजील्याण्ड मामिलासम्बन्धी सहायक विदेशमन्त्री अहमद शाहिनको उपस्थितिमा संविधान दिवस समारोह आयोजना गरियो।

    सहायक विदेशमन्त्री शाहीनले दुई देशबीच व्यापार, पर्यटन र शिक्षालगायत क्षेत्रमा आपसी सहयोग विस्तार हुँदै जाने विश्वास व्यक्त गरे। इजिप्टका लागि नेपालका राजदूत सुशीलकुमार लम्सालले नेपालको संविधान देशको आधुनिक इतिहासमा कोशेढुङ्गाका रूपमा रहेको बताउँदै नेपाल र इजिप्टबीचको राजनीतिक, आर्थिक र सांस्कृतिक सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गरे।

    त्यस अवसरमा इजिप्टमा अध्ययनरत नेपाली विद्यार्थीद्वारा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत भएको थियो। समारोहमा इजिप्टका फोटो पत्रकार यासेर आला मुबारकले गत वर्ष शिवरात्रिमा पशुपतिनाथ मन्दिर परिसरमा खिचेका तस्बिरहरूको प्रदर्शनी पनि गरिएको दूतावासले जनाएको छ। यसैगरी, कोपेनहेगनस्थित नेपाली नियोगमा आयोजित कार्यक्रममा नियोग प्रमुख सावित्रा ओलीले सात दशक लामो सङ्घर्षपछि जनताद्वारा निर्वाचित प्रतिनिधिले नेपालको संविधान बनाएको ऐतिहासिक दिनको सम्झना गर्दै लोकतन्त्रको संस्थागत विकासमा संविधानले योगदान गरेको बताए।

    नेपाल–डेनमार्क सम्बन्धबारे चर्चा गर्दै उनले व्यापार, पर्यटन तथा जनस्तरको सम्बन्ध वृद्धिमा जोड दिएका थिए । त्यस अवसरमा डेनमार्क सरकारका वरिष्ठ अधिकारी, कोपनहेगन नगरका प्रमुख, त्यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, अन्तर्राष्ट्रिय सङ्घसंस्थाका प्रमुख एवं तिनका प्रतिनिधि, प्राध्यापक, नेपालका मित्र, डेनमार्कमा बसोबास गर्दै आएका गैरआवासीय नेपाली तथा सञ्चारकर्मीसहित एक सयभन्दा बढी व्यक्तिको उपस्थिति थियो।

  • प्रधानमन्त्री आज अमेरिका प्रस्थान गर्दै

    प्रधानमन्त्री आज अमेरिका प्रस्थान गर्दै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज अमेरिकाको न्यूयोर्क जाँदै छन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अमेरिका प्रस्थान गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू हुनेछन् । संयुक्त राष्ट्रसंघको महासभामा यस वर्ष ‘कोही पनि पछाडि नछोडिने ‘वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषयमा छलफल हुने छ ।

    प्रधानमन्त्री ओलीले असोज ७ गते कोलम्बिया विश्वविद्यालयमा आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा सम्बोधन गर्ने छन् । असोज ८ गते महासभाको साधारण बहसको उदघाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । यसैगरी असोज १० गते उनले महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    साथै असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्य स् सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयको कार्यक्रमलाई पनि सम्बोधन गर्ने तालिका छ । न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्ने छन् । साथै समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

    अमेरिका भ्रमण क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले असोज ६ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन वार्ता गर्ने तयारी पनि गरेका छन् । यद्यपि यसको टुंगो भने लागिसकेको छैन । प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कनेछन् ।

  • संसदीय सुनुवाई समितिबाट १६ मुलुकका राजदूतको नाम पारित

    संसदीय सुनुवाई समितिबाट १६ मुलुकका राजदूतको नाम पारित

    काठमाडौं । संसदीय सुनुवाइ समितिले सरकारद्वारा विभिन्न १७ देशका लागि प्रस्तावित राजदूतमध्ये १६ जनाको नाम पारित गरेको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले विभिन्न देशका लागि प्रस्तावित १७ राजदूतमध्ये १६ जनाको नाम समितिबाट बहुमतले पारित गरेको हो ।

    बैठकको निर्णय सुनाउनुहुँदै समिति सभापति ईश्वरीदेवी न्यौपानेले उजुरीकर्ताहरूको उजुरी, प्रस्तावित राजदूतको स्पष्टीकरण, कार्यायोजना, भनाइ सुनेर निर्णय लिइएको जानकारी दिइन् । समितिमा छलफल गरी १६ देशका राजदूत बहुमतले पारित गरेको र श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको सम्बन्धमा केही कागजातहरू अपुरो लागेकाले सचिवालयलाई थप कागज मगाउन निर्देशन दिइएको बताइन् ।


    उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले इजरायलका लागि प्रस्तावित राजदूत प्राध्यापक धनप्रसाद पण्डित, दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्रा.डा. कपिल श्रेष्ठ र मलेसियाका लागि प्रस्तावित डा. नेत्रप्रसाद तिमल्सिनामाथि फरक मत राखेको बताइन् । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले भारतका लागि प्रस्तावित राजदूत शङ्कर शर्माका लागि फरक मत रहेको छ ।


    समावेशिता अझै अपूरो रहेको सांसदहरूको गुनासोपछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बोलाएर यस विषयमा स्पष्टीकरण लिएको बताइन् । अहिले दुई राजदूत सिफारिस गरिएकोमा मधेशी महिला चित्रलेखा यादव र परराष्ट्र सेवाबाट सेवा लम्साललाई सिफारिस गरिएको छ ।

  • नेपालमा क्यानडाको दूतावास स्थापना गर्न परराष्ट्र मन्त्रीको प्रस्ताव

    नेपालमा क्यानडाको दूतावास स्थापना गर्न परराष्ट्र मन्त्रीको प्रस्ताव

    काठमाडौं । परराष्ट्र मन्त्री डा आरजु राणा देउवा र क्यानडाली विदेश मन्त्री मेलानी जोलीबीच बुधवार क्यानडाको ओटावामा द्विपक्षीय भेटवार्ता भएको छ । भेटवार्तामा मन्त्री राणाले नेपालमा दूतावास स्थापना गर्न क्यानडालाई आग्रह गरेकी छिन् । नेपाल–क्यानडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै आर्थिक लगानी एवं साझेदारी लगायतका विषयमा कुराकानी भएको थियो । क्यानडाली विदेश मन्त्री जोलीको आमन्त्रणमा विश्वका महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुन परराष्ट्र मन्त्री डा राणा क्यानडा पुगेकी हुन् ।


    भेटका क्रममा उहाँहरूले दुई देशबिच सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर सम्बन्ध रही आएको बताएकी छिन् । नेपाल र क्यानडाले आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव मनाउँदै छन् । त्यस भेटमा परराष्ट्र मन्त्री डा राणाले नेपालको लोकतान्त्रिक प्रक्रिया र वर्तमान संविधान निर्माणमा क्यानडाले पुर्‍याएको सहयोगको सराहना गरिन् । नेपालको सांसदले हालै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पास गरेको र यसबाट अब बाँकी रहेका शान्ति प्रक्रियाका कामहरू पनि पूर्ण हुने जानकारी मन्त्री डा राणाले दिइन् ।


    साथै सो वार्तामा मन्त्री डा राणाले नेपालमा पछिल्लो महाभूकम्प, कोभिड महामारीजस्ता अप्ठेरो अवस्थामा पुर्‍याएको सहयोगका लागि क्यानडा सरकारलाई धन्यवाद ज्ञापन गरिन् । नेपाललाई विभिन्न क्षेत्रमा विभिन्न शीर्षकबाट विगत लामो समयदेखि क्यानडाले पुर्‍याउँदै आएको आर्थिक सहायता तथा विकास साझेदारका रूपमा गर्दै आएको सहयोगको त्यस अवसरमा मन्त्री डा राणाले स्मरण गरेकी छिन् ।

  • संविधान दिवसमा अमेरिकाको शुभकामना : के दियो सन्देश ?

    संविधान दिवसमा अमेरिकाको शुभकामना : के दियो सन्देश ?

    काठमाडौं । संविधान दिवसका अवसरमा नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्दै अमेरिकाले जलवायु परिवर्तनका असर कम गर्ने उत्थानशील उपाय अवलम्बन तथा स्वच्छ ऊर्जा प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्न प्रतिबद्ध रहेको बताएको छ । अमेरिकी सरकारकातर्फबाट विदेश मन्त्रालयले आज एक वक्तव्य जारी गरेर नेपालसँगको ७७ वर्ष पुरानो मैत्रीलाई आफ्नो देशले अधिक महत्व दिएको जनाएको छ ।

    विदेशमन्त्री एन्टोनी ब्लिङ्केनका तर्फबाट उक्त मन्त्रालयले जारी गरेको प्रेस वक्तव्यमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)लाई नेपालको आर्थिक वृद्धिमा सघाउने अनुदान परियोजनाका रूपमा व्याख्या गर्दै , न्याय र प्रजातान्त्रिक मूल्यमान्यताको प्रवरद्र्धनका साथै जनस्तरको सम्बन्ध विस्तार र आर्थिक वृद्धिका निम्ति भविष्यमा पनि निरन्तर सहकार्य गर्न अमेरिका प्रतिबद्ध रहेको जनाइएको छ ।

    ऐतिहासिक सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक हालै पारित भएकोलगायत लोकतान्त्रिक प्रणालीलाई सबल बनाउन नेपालले धेरै उपलब्धि हासिल गरेको महत्त्वपूर्ण क्षणमा अमेरिका पीडितहरूलाई न्याय दिलाउने दिशामा उक्त विधेयकको सफल कार्यान्वयनको प्रतीक्षा गरिरहेको वक्तव्यमा उल्लेख छ ।

  • नेपाली राजदूतले भेटे बंगलादेशका सरकार प्रमुखलाई, के भयो कुराकानी ?

    नेपाली राजदूतले भेटे बंगलादेशका सरकार प्रमुखलाई, के भयो कुराकानी ?

    काठमाडौं । नेपालले बङ्गलादेशसँगको आर्थिक सम्बन्ध विस्तारका साथै अल्पविकसित मुलुकको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नत हुन लागेका दुवै देशले सहज एवं दिगो स्तरोन्नतिका निम्ति उत्कृष्ट अभ्यास र अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिएको छ ।

    बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले त्यहाँको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुससँग मङ्गलबार भएको शिष्टाचार भेटमा द्विदेशीय सम्बन्धलाई नवीकृत गर्दैै आर्थिक सहकार्य र साझेदारीमा जोड दिएको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।

    राजदूत भण्डारीले व्यापार, पारवहन र सम्पर्क सञ्जालका क्षेत्रमा सम्भाव्यताको खोजी तथा दुवै देश र जनतालाई लाभ हुने गरी ऊर्जा सहयोगमा केन्द्रित रहेर छलफल गरेका छन् । भारतीय प्रसारण लाइनमार्फत नेपालबाट ४० मेगावाट बिजुली निर्यातका सन्दर्भमा उनले द्विपक्षीय साझेदारीमा जोड दिए । दुई देशबीच चाँडोभन्दा चाँडो विद्युत् निर्यात सम्झौता कार्यान्वयन हुनुपर्नेमा दुवै पक्षले सहमति जनाएका थिए ।

    प्रमुख सल्लाहकार युनुस र राजदूत भण्डारीबीच द्विपक्षीय सम्बन्ध विस्तारका साथै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)लगायत क्षेत्रीय सङ्गठनलाई नवजीवन प्रदान गर्दै अन्य क्षेत्रीय एवं अन्तरराष्ट्रिय सङ्गठनहरूमा सहकार्य गर्ने सम्बन्धमा पनि विचारविमर्श भएको थियो ।

    त्यस अवसरमा राजदूत भण्डारीले सरकार प्रमुखको रुपमा नियुक्त भएकामा बधाई ज्ञापन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको पत्र हस्तान्तरण गरेका थिए । नेपाल सरकारले बङ्गादेशप्रति दर्शाएको समर्थन र ऐक्यबद्धताको सरकार प्रमुख युनुसले प्रशंसा गर्दै दुई देशबीच राजनीतिक र जनस्तरमा सौहार्दपूर्ण सम्बन्ध रहेकोमा सन्तोष व्यक्त गरेको दूतावासले जारी गरेका विज्ञप्तिमा जनाइएको छ ।

    बङ्गलादेश सरकारले हालैको आन्दोलनका क्रममा नेपाली नागरिक तथा विशेष गरी नेपाली विद्यार्थीको सुरक्षाका निम्ति गरेको सहयोगप्रति कृतज्ञता ज्ञापन गर्दै राजदूत भण्डारीले आगामी दिनमा पनि यो सहयोग जारी रहने विश्वास व्यक्त गरे ।

  • उपसभामुख रुस प्रस्थान

    उपसभामुख रुस प्रस्थान

    काठमाडौं । उपसभामुख इन्दिरा रानामगर सेन्टपिटर्सवर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’मा सहभागी रूस प्रस्थान गरेकी छन् । कार्यक्रम असोज २ देखि ४ गतेसम्म हुँदैछ । उपसभामुख राना दुबई, रुस राजधानी मस्को हुँदै सेन्टपिटर्सवर्ग पुग्ने तालिका रहेको उनको निजी सचिवालयले जनाएको छ ।

    रूसी महासंघ र इन्टरपार्लियामेन्ट्री एसेम्बली अफ द कमनवेल्थ अफ इनिडपेन्डेन्ट स्टेट्सले आयोजना गरेको फोरमलाई उनले असोज ३ गते सम्बोधन गर्ने कार्यक्रम छ । उपसभामुखको निजी सचिवालयका अनुसार उनले असोज ५ गते स्वदेश फर्कने कार्यक्रम छ ।

  • यूरोपका विभिन्न शहरमा बाढी, कम्तिमा ८ जनाको मृत्यु

    यूरोपका विभिन्न शहरमा बाढी, कम्तिमा ८ जनाको मृत्यु

    काठमाडौं । मध्य तथा पूर्वी युरोपका विभिन्न देशमा दशकयताकै ठूलो बाढीका कारण कम्तीमा ८ जनाको ज्यान गएको छ । बाढीका कारण रोमानियामा ६ जनाले ज्यान गुमाएका बीबीसीले जनाएको छ । पोल्यान्ड र अस्ट्रियामा एक–एक जनाको मृत्यु भएको हो । रोमानियका गृहमन्त्री कटालिन प्रेडोयुले देशका विभिन्न सात क्षेत्रमा बाढीले निकै क्षति पुर्‍याएको जनाएका छन् ।

    उनले बाढीमा फसेका सयौं जनाको उद्धार गरिएको जनाएका छन् । उनका अनुसार गलाटी क्षेत्रमा कम्तीमा ५ हजार ४ सय घरमा क्षतिग्रस्त भएका छन् । त्यस्तै, बाढीले चेक गणतन्त्र, पोल्यान्ड, जर्मनी र स्लोभाकियाका विभिन्न सहरमा क्षति पुर्‍याएको छ । अस्ट्रियाको राजधानी भियना र नजिकैका प्रान्तहरूको अवस्था असामान्य रहेको अधिकारीहरूले जनाएका छन् ।

    बाढीपछि पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले देशमा ‘विपद् आपत्काल’ घोषणा गरेका छन् । उनले राजधानी भियना र नजिकैका प्रान्तहरूको अवस्था असान्य रहेको बताएका छन् । टस्कले पोल्याण्डको कोल्दज्को क्षेत्रबाट सहरबाट एकहजार ६ सयजनाको उद्धार गरिएको जनाए ।

    सीएनएनका अनुसार चेक गणतन्त्रका बाढी प्रभावित स्थानबाट कम्तीमा १० हजार ५ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ । क्रोनोभ सहरको ७० देखि ८० प्रतिशत क्षेत्र डुबानमा परेको छ । बाढीपछि युरोपका करिब ३ लाख घरमा विद्युत् आपूर्ति बन्द भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

  • अमेरिका जानु अघि प्रधानमन्त्रीले भने : नेपालको शिर ढल्ने कुनै काम गर्दिन

    अमेरिका जानु अघि प्रधानमन्त्रीले भने : नेपालको शिर ढल्ने कुनै काम गर्दिन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा आफूले नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम नगर्ने स्पष्ट गरेका छन् । महासभामा उठाइने विषयमा सोमबार प्रतिनिधिसभालाई जानकारी गराउँदै उनले राष्ट्रसङ्घको बडापत्रको पालना गर्दै अरूको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र अरूको हस्तक्षेप पनि स्वीकार नगर्ने नेपालको नीतिबारे स्पष्ट गराउने जनाए ।

    उनले नेपालको संविधान, लोकतान्त्रिक मान्यता, सार्वभौमसत्तासम्पन्न स्वतन्त्र राष्ट्रको पहिचान, न्यायोचित राष्ट्रिय हित र अन्तर्राष्ट्रिय प्रतिबद्धताका विषय राख्ने जनाए ।
    “विकास र समृद्धिको यात्रामा हाम्रा प्रयास र समस्याहरू जे छन् र हाम्रो प्रयासमा अपुग भएका विषयमा विश्वसँग हातेमालो कसरी गर्ने भन्ने विषय राष्ट्रसङ्घमा राखिनेछ,’’, प्रधानमन्त्री ओलीले भने, “नेपाल असल छिमेकी सम्बन्ध राख्न चाहन्छ । छुद्र र जाली छिमेकी होइन । हामी पनि छिमेकीप्रति त्यस्तै व्यवहार गर्छौँ । छैन कसैसँग शत्रुता, छ सबैसँग मित्रता भन्ने हाम्रो सोच हुनेछ ।’’

    प्रधानमन्त्री ओलीले आफूहरूले देश र जनताको लागि राजनीति गर्ने तथा आजका लागि र त्योभन्दा बढी भोलिका लागि राजनीति गर्ने भएकाले यस तथ्यलाई मनन गरेर अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने स्पष्ट गरे । प्रधानमन्त्री ओलीले महासभामा ‘फ्युचर समिट’ मा सम्बोधन गरी मानव जाति र धर्तीको सुरक्षा, हिमाल र समुद्रको इकोसिस्टमबारे नेपालको दृष्टिकोण प्रस्तुत गर्ने अवगत गराउँदै हिमाल पग्लिएर समुद्रको सतह वृद्धि भएको बताए ।

    उनले अमेरिकामा रहँदा न्युयोर्कस्थित कोलम्बिया विश्वविद्यालय र बोष्टनस्थित हार्वर्ड विश्वविद्यालयमा पनि सम्बोधन गरी आफूहरूले रोजेर ल्याएको लोकतान्त्रिक प्रतिस्पर्धाको प्रणालीबारे प्राज्ञिक दृष्टिकोण राख्ने जानकराी गराए ।

  • सहकारीको रकम दुरुपयोग गरी विदेश पलायन भएकाको खोज गर्न गृहलाई निर्देशन

    सहकारीको रकम दुरुपयोग गरी विदेश पलायन भएकाको खोज गर्न गृहलाई निर्देशन

    काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले नेपालबाट वित्तीय क्षेत्रमा ठगी, अपचलन र दुरुपयोग गरी विदेश फरार भएका २७ जनाको खोजविन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । शुक्रवार सिंहदरबारमा बसेको सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले विदेशमा फरार रहेका गितेन्द्रबाबु राई (जिबी राई), भरत महर्जनसहितका २७ जनाको खोजविनमा आवश्यक जनशक्ति परिचालन गरी अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएको हो ।

    बैठकको बारेमा जानकारी दिँदै समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले आजको पहिलो बैठकमा प्रतिवेदनलाई अन्तिम रुप दिने बारेमा महत्वपूर्ण छलफल गरेर छलफल प्रक्रियाको कार्यसूची, छलफलको योजना, वित्तीय विश्लेषणको बारेमा जानकारी, त्यसउपर छलफल, प्रश्तुत तथ्य तथ्यांकमा छलफल र प्रश्तुतीकरणको शैली ढाँचामा गर्ने छलफललाई व्यवस्थित गर्ने निर्णय भएको बताए ।

    उनले दोस्रो बैठकमा गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, प्रहरी नायव महानिरीक्षक जनक भट्टराईलाई आमन्त्रित गरिएको र विदेशमा फरार रहेका जिबी राई, भरत महर्जनसहितका २५ जना व्यक्तिहरुको बारेमा सरकारले खोजबिनका सन्दर्भमा केके प्रगति हासिल भयो भनेर जानकारी लिएको बताए ।

    उनले गृह मन्त्रालयले पहल गरेर नेपाल प्रहरीका दुईजना अधिकृतलाई मलेसिया पठाएको र त्यहाँ आवश्यक समन्वय र कोशिस गरेको जानकारी पाएको पनि बताए । उनले राजनीतिक नेतृत्व तहमा कुरा भइसकेको विषय भएकाले प्रहरी र इन्टरपोलको माध्यमबाट गरिने विषय भन्दा फरक स्थितिमा रहेको भन्ने जानकारी गृह मन्त्रालयले दिएको बताए ।

    विदेश फरार हुनेमा २५ जना रहेकोमा आज पुनः दुई जनालाई थप गरी (सूर्यदर्शन सहकारीको लेखा प्रमुख बुद्धि गुरुङ, आर्जन वचत तथा ऋण सहकारीको फरार सचिव विदेशमा रहेको भनिएको दीपक थापा) गृह मन्त्रालयलाई पत्राचार गरिएको बताए ।

  • नेपाली तरकारी कतार निर्यात

    नेपाली तरकारी कतार निर्यात

    काठमाडौं । नेपाली किसानले उत्पादन गरेको तरकारी कतार निर्यात भएको छ । काठमाडौँ उपत्यकाका किसानले उत्पादन गरेको सो तरकारी बिहीबार कतार निर्यात भएको हो । चीनको सहयोगमा सञ्चालित ग्रामीण विकासका लागि (सिएफआरडी) कार्यक्रम अन्तर्गत किसानले सो तरकारी उत्पादन गरेको हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार एक कार्यक्रमको आयोजना गरी दक्षिणकाली नगरपालिकाका किसानले उत्पादन गरेको तरकारी कतार पठाएको हो । सिएफआरडीबाट सञ्चालित कार्यक्रमबाट उत्पादित तरकारी नेपालबाट मध्यपूर्व देशमा निर्यात भएको यो पहिलो हो र यसलाई निरन्तरता दिने जनाइएको छ । सिएफआरडी सहयोगमा २० जना किसानले दैनिक एक हजार पाँच सय केजी तरकारी उत्पादन गर्छन् । ती किसानले उत्पादन गरेको तरकारी एक महिनासम्म लगातार निर्यात हुने बताइएको छ ।

    कृषि विभागका महानिर्देशक डा. नरहरिप्रसाद घिमिरेले नेपाली तरकारी कतारमा निर्यात गर्दा किसान उत्साहित भएको बताए । नेपाल तरकारीका लागि भारतमा निर्भर छ तर अहिले चिनियाँ गैरसरकारी संस्थाको प्राविधिक सहयोगमा नेपाली किसानले तरकारी उत्पादन गरेर निर्यात गर्ने अवस्थामा पुगेको उनले बताए ।
    नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अली अल अन्सारीले सिएफआरडीले सहयोग गरेको ताजा नेपाली तरकारी कतारका लागि निकै महत्वपूर्ण रहेको बताए ।

    कतारमा कार्यरत करिब चार लाख नेपाली कामदारले तातो सुक्खा मौसममा तरकारी खेती गर्न कठिनाइ भोग्नु परेको बताउँदै उनले ताजा तरकारीको आगमन कतारका जनताको हितका लागि महत्वपूर्ण सहयोग रहेको बताए । भविष्यमा पनि नेपाली कृषि उत्पादनको आयात बढ्ने आशा व्यक्त गर्दै यो निर्यातले कतारको बजारको गुणस्तरमा सुधार गर्दै द्विपक्षीय व्यापार सम्बन्धलाई थप मजबुत बनाउने उनले बताए ।

  • त्रिभुवन विमानस्थलमा खादा\माला प्रयोग नगर्न प्राधिकरणको आग्रह

    त्रिभुवन विमानस्थलमा खादा\माला प्रयोग नगर्न प्राधिकरणको आग्रह

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ड्यन प्राधिकरण कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनलमा खादा तथा माला देखिने गरी प्रयोग नगर्न आग्रह गरेको छ । कार्यालयले बिहीबार एक सूचना जारी गरेर यात्रुले लगाएर वा ब्यागमा भुन्ड्याएर खादा, माला नल्याउन आग्रह गरेको हो । यात्रुले लगाएको खादा, माला आदिले सुरक्षा जाँचका क्रममा विमानस्थलको जाँच उपकरण एक्सरे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किएर क्षति पु¥याइरहेको कार्यालयले जनाएको छ ।

    ‘साथै यात्रुले लगाएको खादा, माला विमानस्थलका विभिन्न भागमा छाडी जानेसमेत गर्नाले यसबाट विमानस्थलको सौन्दर्यतामा समेत नकारात्मक असर पुग्ने गरेको’, कार्यालयले सूचनामा भनेको छ । खादा, माला आफैंसँग लैजानै परे यात्रुले झोलाभित्र नदेखिने गरी राखेरमात्रै आउन पनि कार्यालयले अपिल गरेको छ ।

  • इटालीबाट स्वदेश फर्काइयो वाइडबडी जहाज

    इटालीबाट स्वदेश फर्काइयो वाइडबडी जहाज

    काठमाडौं । नियमित मर्मतमा इटाली पठाइएको नेपाल एयरलाइनसको वाइडबडी जहाज नेपाल फिर्ता ल्याइएको छ । जहाज २२ जुनमा इटाली पठाइएको थियो । नियमित मर्मत पुरा गरी जहाज आज बिहान काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो । यो जहाजको अभावले जापानसहित लामो दूरीमा निगमको उडान प्रभावित भएको थियो ।

    निगमका प्रवक्ता रमेश पौडेलले अब यी गन्तब्यमा पुनः उडान सूचारु गरिने जानकारी दिए । निगमसँग अर्ब तीन जहाज पुगेका छन् । एउटा वाइडबडी जहाज इटालीमै सीचेकका लागि पुगेको छ । सो जहाज अर्को एक महिनापछि मात्र नेपाल ल्याइने निगमले जनाएको छ । निगमले प्राधिकरणको नियम पुरा गरी जहाज फिर्ता ल्याएको जनाएको छ ।

  • ओलम्पियाड खेल्ने चेस टोलीलाई हङ्गेरीले भिसा दिएन

    ओलम्पियाड खेल्ने चेस टोलीलाई हङ्गेरीले भिसा दिएन

    काठमाडौं । नेपालबाट ओलम्पियाड खेल्न जाने तयारीमा रहेको चेस टोलीलाई हङ्गेरीले भिसा दिन अस्वीकार गरेको छ । नेपालस्थित जर्मन राजदूतावासले चेस टोली फर्कनेमा शङ्का गर्दै भिसा दिन अस्वीकार गरेपछि चेस टोलीले भारतबाट हङ्गेरीको भिसा लिन प्रयास गरेको थियो ।

    भारत पुगेको चेस टोलीलाई त्यहाँ पनि हङ्गेरी राजदूतावासले भिसा दिन अस्वीकार गरेको नेपाल बुद्धिचाल महासङ्घका प्रवक्ता राजु ताम्राकारले जानकारी दिए । नेपालमा हङ्गेरीको राजदूतावास छैन । खेलाडीभन्दा बढी पदाधिकारी देखिएका कारण यसअघि नेपालस्थित जर्मन दूतावासले बुद्धिचाल टोलीलाई भिसा दिन अस्किार गरेको थियो ।

    ४५औँ ओलम्पियाड बुधबार देखि नै हङ्गेरीको बुढापेष्टमा सुरु भएको छ । नेपालका धेरै खेलाडी र अफिसियलले भाग लिन नपाए पनि अष्ट्रेलियाबाट बुढापेष्ट पुगेका विवेक थिङले भने ओलम्पियाड खेल्ने बुद्धिचाल महासङ्घले जनाएको छ । ओलम्पियाडमा सहभागी हुन नेपालीस् हेड अफ डेलिगेट्सको रूपमा महासङ्घका अध्यक्ष हेराकाजि महर्जन, महासचिव धरम बहमदुर लामा, कोषाध्यक्ष ताराबहादुर रानाभाट र सदस्य राजु ताम्राकार हङ्गेरी जाने टोलीमा थिए ।

    यस्तै पुरुष खेलाडीहरूमा राजन सुवेदी, सिएम शुश्रुत दहाल, एफएम क्षितिज भण्डारी, सिएम रुपेश जैसवाल र २२८१ उच्च रेटेड विवेक थिङ थिए । महिलातर्फ सिन्दिरा जोशी, कृतिसरा अधिकारी, पूजा भण्डारी, शान्ति धिमाल र रिया श्रेष्ठ थिए । हङ्गेरी जाने टोलीमा महासङ्घका पूर्व उपाध्यक्ष नारायण दास गमाल, काठमाडौँ जिल्ला बुद्धिचाल सङ्घका पूर्व अध्यक्ष अमृत चन्द्र श्रेष्ठ र विश्वविद्यालय खेलकुद सङ्घका केन्द्रीय अध्यक्ष अनिल कुमार रिजाल र पत्रकार प्रदीप कुमार लेखीको पनि नाम थियो । तर भारतमा समेत हङ्गेरीको भिसा नपाएपछि नेपालका केही पदाधिकारी भारतबाटै नेपाल फर्किएको महासङ्घले जनाएको छ ।

  • कोरियाले नेपाललाई दिने भयो १ अर्ब भन्दा बढी सहायता

    कोरियाले नेपाललाई दिने भयो १ अर्ब भन्दा बढी सहायता

    कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले बर्दिया जिल्लाको समावेशी ग्रामीण विकासका लागि ८० लाख अमेरिकी डलर (रु एक अर्ब ७ करोड) प्रदान गर्ने भएको छ । कोइका र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच मङ्गलबार समावेशी ग्रामीण विकास परियोजना (आइआरडिपी) का निम्ति उक्त रकम प्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा कोरिया सरकारका तर्फबाट कोइकाका देशीय निर्देशक मोह्युन कोङ र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तर्फबाट सहसचिव कालीप्रसाद पराजुलीले हस्ताक्षर गरेका गरे । कोइकाले जारी गरेको प्रेस विज्ञप्ति अनुसार परियोजनाको कार्यक्षेत्र बर्दिया जिल्लाका आठ स्थानीय तह हुनेछन् ।

    परियोजनाको मुख्य उद्देश्य बर्दिया जिल्लाका समुदायको कृषि उत्पादनको लागि क्षमता अभिवृद्धि, बजार सम्बन्ध स्थापना गरी मूल्य अभिवृद्धिको एकीकरण मार्फत मूल्य शृङ्खलाको स्तरोन्नति गर्ने र पर्यावरणीय पर्यटन पहललाई बढावा दिई दिगो र लचिलो जीविकोपार्जन र स्थानीय अर्थतन्त्रको प्रवद्र्धन गर्नु हो ।

    त्यस अवसरमा देशीय निर्देशक मोह्युनले परियोजना नेपालको ग्रामीण विकासमा कोरियाली ज्ञान र प्रविधि ल्याउने अवसर हुने बताउँदै नवलपरासीमा पनि यस्तै परियोजनाको सफल कार्यान्वयन भएको जानकारी दिनुभयो । कोइकाको समावेशी ग्रामीण विकास परियोजना सन् २०१६–२०२२ सम्म नवलपरासीमा सफलतापूर्वक कार्यान्वयन भएको थियो । नेपालका अन्य भागमा पनि त्यस्ता परियोजनाको आवश्यकता महसुस भएकाले दोस्रो चरणको कृषि र ग्रामीण विकास परियोजना कार्यान्वयनमा ल्याइएको हो ।

    कार्यक्रममा नेपाल र कोरियाबीचको कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा भएको स्मरणसमेत गरिएको थियो । कोरिया सरकारले सन् १९९१ देखि कोइकामार्फत नेपाल सरकारलाई स्वास्थ्य, कृषि, शिक्षा (प्राविधिक), व्यावसायिक तालिम, ग्रामीण विकास र सूचना प्रविधिका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।

  • वन मन्त्री ब्राजिल प्रस्थान

    वन मन्त्री ब्राजिल प्रस्थान

    काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी ब्राजिल प्रस्थान गरेका छन् । को रियो दि जेनेरियो सहरमा हुने ‘वन प्लानेट नेटवर्क फोरम’को सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार राति उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । ब्राजिल सरकार तथा संयुक्त राष्ट्रसङ्घअन्तर्गत वातावरण संस्था ‘युएनइपी’को संयुक्त आयोजनामा हुने सम्मेलन यही भदौ २७ र २८ गतेसम्म हुने मन्त्रालयले जनाएको छ ।

    ‘दिगो उत्पादन तथा प्रयोग र चलायमान अर्थतन्त्र अवधारणा’ विषयक ज्ञानलाई सम्बोधन गरी समझदारी तथा अन्तर्राष्ट्रिय सहकार्य बढाउने उद्देश्यका साथ हुन लागेको सम्मेलनलाई मन्त्री शाहीले भदौ २८ गते सम्बोधन गर्नेछन् । न्यायोचित तथा दिगो भविष्य बनाउनका लागि जलवायु परिवर्तनजस्ता सङ्क्रमण अवस्थालाई गतिशील गर्न सरकार, निजी क्षेत्र, नागरिक समाज र सम्बन्धित सरोकारवालाबीच सहकार्य र समझदारीको विकास गर्ने सम्मेलनको उद्देश्य रहेको छ । मन्त्री शाही भदौ ३० गते स्वदेश फर्किनेछन् ।

  • न्युयोर्कमा सरल नेपाली भाषा तथा संकृति केन्द्रले आठौँ वार्षिक उत्सव मनायो

    न्युयोर्कमा सरल नेपाली भाषा तथा संकृति केन्द्रले आठौँ वार्षिक उत्सव मनायो

    दिपक राज पाण्डे, न्युयोर्क ।

    बिगत ८ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको सरल नेपाली भाषा तथा संस्कृति केन्द्र (www.SNLCC.org) ले सेप्टेम्बर ०८, २०२४ आइतबारका दिन संस्थाको आठौँ वार्षिक उत्सव एवम् वार्षिक पटलक वनभोज कार्यक्रम सम्पन्न गरेको छ। हरेक वर्ष कक्षामा सहभागी हुने विद्यार्थीहरु तथा परिवार सहित मनाउँदै आएको वार्षिक कार्यक्रम यो वर्ष पनि न्युयोर्कस्थित फरेष्ट पार्कमा सम्पन्न गरेको हो ।

    फोटो सौजन्य: हाम्रो फोटो डट् कम्

    २ जना शिक्षिका सरस्वती राई सहित ८ जना विद्यार्थीहरूबाट एउटा स्टुडियोमा शुरु भएको यस भाषा पाठशालामा हाल प्राविधिक, शिक्षक, बोर्ड, स्वयंसेवक गरी करिव २५ जनाको टिम छ भने १८० को हाराहारीमा अमेरिका, युरोप, फ्रान्स लगायतका विद्यार्थीहरू अनलाइनमा नै अध्ययन गर्दै आएका छन् । केन्द्रले नेपालवाहेक कुनै पनि राष्ट्रबाट विद्यार्थीहरूले नि:शुल्क अध्ययन गर्न पाउने व्यवस्था समेत मिलाइएको छ ।

    फोटो सौजन्य: हाम्रो फोटो डट् कम्

    शिक्षकको हकमा भने नेपालबाट पनि लिने गरिएको छ । विद्यार्थी शिक्षक दुवैमा प्रतिवद्धताको भने अवश्यकता देखिन्छ । शिक्षकको हकमा कुनै आकस्मिक अवस्थाबाहेक कम्तिमा एक वर्ष र ८० प्रतिशत हाजिर हुनै पर्ने नियम छ । त्यसैगरी विद्यार्थीहरूको हकमा कुनै खबर नगरी ३ पटकसम्म अनुपस्थित रहेमा स्वत: कक्षाबाट हटाउने नियम छ | किनकि हाजिर अनियमित हुँदा स्वयमको पढाइ छुट्ने तथा नियमित पढाइमा रहेका अन्य विद्यार्थीलाई पढाइमा वाधा पुग्ने देखिन्छ ।प्राविधिक समस्याले कुनै बाधा नहोस् भनेर एउटा लिड र एउटा सहायक (संस्थाकै पूर्व विद्यार्थी) गरी हरेक कक्षामा २ जना शिक्षकहरू रहन्छन् । सम्पूर्ण शिक्षकहरू स्वयंसेवक भएकोले नि:शुल्क पठनपाठन हुने यो संस्थामा इच्छुक शुभचिन्तक/ अभिभावकहरूले जुनसुकै ठाउँमा स्वेच्छाले सहयोग भने गर्न सक्छन् |

    फोटो सौजन्य: हाम्रो फोटो डट् कम्

    कार्यक्रममा भाषा स्कुलबाट यही महिना भएको वार्षिक परिक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई प्रमाण पत्र तथा गुडी व्याग वितरण गरिएको थियो । यसैगरि हरेक कक्षामा सबैभन्दा नियमित उपस्थित हुने र गृहकार्य गर्ने विद्यार्थीहरुलाई उनीहरूले प्राप्त गरेको स्टारको आधारमा पुरस्कार समेत बितरण गरिएको थियो । केन्द्रमा केही वर्ष यताबाट अहिलेसम्म स्वयंसेवक भइ सहयोग पुर्याउनु भएकोमा पूर्व विद्यार्थी निनिमा राई, पूजा श्रेष्ठ, समुन्द्र दाहाल एवं शुरुमा कक्षा संचालन गर्न स्थान उपलब्ध गराउनु हुने कराँते गुरुहरू (सेनसिइ शान्ता थोकर र पर्खी राई) लाई स-धन्यवाद मायाको चिनो प्रदान पनि गरिएको थियो ।

    फोटो सौजन्य: हाम्रो फोटो डट् कम्

    कार्यक्रममा अभिभावकहरू, वाणिज्यदुत बिष्णु कुमारी अधिकारीज्यू, सह-वाणिज्यदुत संगीता न्यौपानेज्यू लगायत, भाषा/ साहित्यको अभिभावक संस्था अनेसास बोर्ड अफ ट्रष्टी, न्यूयोर्क च्याप्टर, फोटोग्राफर अशोक पन्त, सन्चारकर्मीहरु लगायत न्यूयोर्कमा रहेका विभिन्न संस्थाका विशेष व्यक्तित्वहरूको पारिवारिक उपस्थिति राम्रै थियो ।

    यो कुनै औपचारिक कार्यक्रम नभइ नितान्त स्कुल परिवार र साथीभाइको जमघट कार्यक्रम भएकोले गर्दा संस्थागत नभइ पारिवारिक रूपमा नै सबैको सहभागिता रहेको थियो । करिव २५० भन्दा बढीको उपस्थिति रहेको कार्यक्रम विहान ११ बजेदेखि साँझ ५ बजेसम्म चलेको थियो ।

    फोटो सौजन्य: हाम्रो फोटो डट् कम्

    कार्यक्रमको उद्घोषण संस्थाकी उपाध्यक्ष यशोदा राईले गर्नु भएको थियो भने सदस्य हजुरी शाह कंडेलले गीत गएर तथा विद्यार्थीहरू गरिमा राना, आभा भण्डारी, प्राची बिसुन्के लिम्बू र एन्जेला शाहले नृत्य प्रस्तुत गरेर श्रोता/ दर्शकहरूलाई मनोरन्जन दिएका थिए । आठौँ वार्षिक उत्सवको केक काटेर कार्यक्रमको समापन गरिएको थियो ।

  • अमेरिकामा निर्यात बढाउन भन्सार रहित सुविधाको निरन्तरता आवश्यक

    अमेरिकामा निर्यात बढाउन भन्सार रहित सुविधाको निरन्तरता आवश्यक

    काठमाडौं । अमेरिकामा निर्यात बढाउन भन्सार रहित सुविधाको निरन्तरता आवश्यक रहेको सरोकारवालाले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, तयारी पोसाक संघ, नेपाल–अमेरिका चेम्बर अफ कमर्स, यूएसएड र निर्यात महासंघले संयुक्त रूपमा आयोजना गरेको नेपाल–अमेरिका व्यापार र लगानी अवसर र चुनौती विषयक कार्यक्रममा सरोकारवालाले यस्तो बताएका हुन् । कार्यक्रममा अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा निर्यात कायम राखी आगामी दिनमा बढाउन भन्सार रहित सुविधाको निरन्तरता आवश्यक रहेको बताए ।

    अमेरिकाले सन् २०१६ मा भूकम्पपछि ७७ वस्तुमा दिएको भन्साररहित सुविधा आगामी वर्ष सकिन लागेको र आगामी साता आयोजना हुने ‘व्यापार एवं लगानी सम्बन्धी सम्झौता’ (टिफा) परिषद् बैठक महत्त्वपूर्ण रहेको उनको धारणा छ । बैठकमा सुविधाको निरन्तरता र हाल निलम्बनमा रहेको जीएसपी सुविधाको निरन्तरतालाई प्राथमिकता दिइनुपर्ने अध्यक्ष ढकालको भनाइ छ ।

    नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति भइरहेको समयमा भन्सार रहित सुविधाको निरन्तरताका लागि सरकार र निजी क्षेत्रले संयुक्त रूपमा काम गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड थियो । कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण रावतले निजी क्षेत्रको सुझाव अनुरूप अमेरिकासँग छलफल गरिने बताए ।

    प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले अमेरिकामा सुविधाको निरन्तरताका लागि सदन र अन्य सम्बन्धित ठाउँमा पहल गर्ने बताए । यस अवसरमा, महासंघ वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अमेरिकामा निर्यात वृद्धि गर्न थप प्रयास गर्न आवश्यक भएको बताए । नेपाल तयारी पोसाक उद्योग संघ अध्यक्ष पशुपतिदेव पाण्डेले अहिले अमेरिकासँग पैरवी गर्ने उपयुक्त समय भएका कारण सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताए ।

    नेपाल–अमेरिका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री अध्यक्ष किरण साखले निर्यात बढाउनुका साथै व्यापारका लागि सहायता कार्यक्रममा पनि जोड दिनुपर्ने बताए । निर्यात व्यवसायी महासंघ नेपाल अध्यक्ष शंकर पाण्डेले अमेरिका तर्फको निर्यातको मात्रा बढाउन आवश्यक भएकोमा जोड दिए । नेपाल र अमेरिकाबीच सन् २०११ मा टिफा सम्झौता भएको थियो । यो सम्झौताको खाका भएको हुँदा द्विपक्षीय लगानी र व्यापारका लागि सम्झौता गर्न यसले आधार तयार पार्ने अपेक्षा गरिएको थियो ।

    तर, हालसम्म कुनै उपलब्धि हुन सकेको छैन । हाल सुविधा गुम्ने अवस्था आएको हुँदा अमेरिकाको निर्यात घट्न सक्नेमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । अमेरिका नेपालको दोस्रो ठूलो निर्यात गन्तव्य हो ।

  • राष्ट्रसङ्घको ७९औँ महासभा मंगलबारबाट, प्रधानमन्त्री ओलीको सम्बोधन १० असोजमा

    राष्ट्रसङ्घको ७९औँ महासभा मंगलबारबाट, प्रधानमन्त्री ओलीको सम्बोधन १० असोजमा

    काठमाडौं । कसैलाई पनि पछाडि नछाडौँः सँगसँगै कार्य गर्दै शान्तिको प्रगति, दिगो विकास र मानव सम्मान वर्तमान र भावी पुस्ताका लागि’भन्ने नाराका साथ संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा अमेरिकाको न्युयोर्कमा मंगलबारदेखि सुरु हुँदैछ । राष्ट्रसङ्घको महासभा मंगलबारदेखि सुरु भए पनि उच्चस्तरीय साधारण छलफल भने आगामी असोज ८ गतेदेखि हुनेछ । उक्त छलफल असोज १२ गतेसम्म हुने र समापन असोज १४मा हुने कार्यतालिकामा उल्लेख छ ।

    नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले असोज १० मा महासभालाई सम्बोधन गर्ने राष्ट्रसङ्घको कार्यतालिकामा उल्लेख गरिएको छ । विश्वव्यापी रूपमा देखापरेको युद्धको जटिल अवस्था र यसले विश्वव्यापी रूपमा पारेको असर, कोरोनापश्चातको मूल्यवृद्धि र गरिबी, जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य, मानव स्वास्थ्यको प्रतिकूलता, खाद्य सङ्कटलगायत विषयलाई केन्द्रमा राखेर विभिन्न चरणमा हुने छलफलमा विश्वका राष्ट्रप्रमुख तथा सरकार प्रमुखले महासभामा भाग लिनेछन् ।

    यसपटकको महासभा नेपालका लागि निकै महत्त्वपूर्ण रहेको जनाइएको छ । खासगरी संघीय संसदले हालै पारित गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकले विश्वसामु सकारात्मक सन्देश प्रेषित गर्न सक्नेछ । यसले नेपालले शान्ति प्रक्रियालाई निर्णायक बिन्दुमा पुर्याउन सफल भएको विश्वकै नमूनाका रूपमा प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछ ।

    नेपालले संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि खटाएको सुरक्षाकर्मी र उनीहरूको योगदान अर्को महत्त्वपूर्ण अवसरका रूपमा उक्त फोरममा प्रस्तुत गर्न सक्नेछ । न्युयोर्कस्थित नेपाली नियोगका अनुसार नेपालले उच्चस्तरीय राजनीतिक मञ्चमा सहभागिता र साइडलाइन बैठकहरूमा आफ्ना विकास साझेदारहरूसँगको छलफललाई उच्च प्राथमिकतामा राख्ने छ ।

    नेपालले दिगो विकासको लक्ष्य हासिलमा आफ्नो प्रतिबद्धताअनुसार काम गर्दै आएको विषयलाई समेत उच्च प्राथमिकतामा राखेको छ । त्यसैले ‘समिट अफ द फ्युचर २०२४’ मा नेपालले उच्चस्तरीय सहभागिता जनाएर भएरगरेका कामका बारेमा विश्व समुदायलाई जानकारी गराउनेछ ।

  • इपीएस सम्झौताको १७ वर्ष पुरा, १ लाख भन्दा धेरै नेपालीले पाए रोजगारी

    इपीएस सम्झौताको १७ वर्ष पुरा, १ लाख भन्दा धेरै नेपालीले पाए रोजगारी

    काठमाडौं । दक्षिण कोरियामा इपीएस प्रणालीबाट पछिल्लो १७ वर्षमा एक लाख भन्दा धेरै नेपालीले आकर्षक रोजगारी पाएका छन् । निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ आकर्षक रोजगार गन्तव्यका रूपमा चिनिन थालेको छ । सन् २००८ देखि दक्षिण कोरियाले इपिएसमार्फत रोजगारीका लागि नेपाली श्रमिक लैजाँदै आएको छ ।

    इपिएस सुरु भएयता लिइएका भाषा परीक्षामा सहभागी हुन नौ लाख बढीले आवेदन फारम भरेका छन् । वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाको तथ्याङ्कानुसार हालसम्म नौ लाख १९ हजार छ सय ३१ युवाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका छन् ।

    सन् २०२४ का लागि मात्रै हालसम्मकै बढी एक लाख ९९ हजार एक सय १३ जनाले भाषा परीक्षाका लागि आवेदन दिएका थिए । हालसम्म पाँच लाख ४८ हजार सात सय ७१ जना भाषा परीक्षामा सहभागी भएका छन् । इपिएसअन्तर्गत वैदेशिक रोजगारीमा दक्षिण कोरिया जाने सङ्ख्या लगातार वृद्धि हुँदै गइरहेको छ । हालसम्म ९८ हजार तीन सय १० पुरुष र सात हजार दुई सय ४३ महिला गरी एक लाख पाँच हजार पाँच सय ४४ जनाले दक्षिण कोरियामा रोजगारी प्राप्त गरिसकेका इपिएस शाखाका प्रमुख मैयाँ कँडेल बताउँछिन् ।


    इपिएसमार्फत नेपाली युवा रोजगारीका लागि दक्षिण कोरिया जान थालेको १७ वर्षका अवधिमा सबैभन्दा बढी सन् २०२३ मा १९ हजार छ सय ८९ जना दक्षिण कोरिया प्रस्थान गरेका छन् । सन् २०२३ मा नेपाल कामदार बढी पठाउने मुलुक बन्न सफल भएको थियो । सन् २०२४ को पछिल्लो सात महिनाभित्र चार हजार दुई सय ८५ नेपाली श्रमिक दक्षिण कोरिया गइसकेका छन् ।

    दक्षिण कोरियाले इपिएसअन्तर्गत नेपालसहित इण्डोनेसिया, भियतनाम, थाइल्याण्ड, फिलिपिन्स, श्रीलङ्का, मङ्गोलिया, उज्वेकिस्तान, पाकिस्तान, कम्बोडिया, चीन, बङ्गलादेश, कीर्गिस्तान, म्यानमार, टिमोर–लेस्टे, लाओस र ताजकिस्तानबाट श्रमिक भित्र्याउँदै आएको छ । नेपालले सन् २०१५ मा ‘वेष्ट प्राक्टिस आउटस्टयान्डिङ एवार्ड’समेत प्राप्त गरिसकेको छ ।

    नेपाल र दक्षिण कोरियाबीच सन् २००७ मा रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत नेपाली कामदार दक्षिण कोरिया पठाउन मन्त्रीस्तरीय सम्झौता भएको थियो । सन् २००८ देखि नेपाली श्रमिक रोजगारीका लागि दक्षिण कोरिया जान थालेका हुन् ।

    अहिले पनि दक्षिण कोरियामा करिब ५० हजार नेपाली श्रमिकले काम गरिरहेका शाखाका निर्देशक कँडेल बताउँछन् । दुई देशबीचको रोजगार सम्झौता प्रत्येक दुई–दुई वर्षमा नवीकरण हुँदै आएको छ । पछिल्लोपटक सन् २०२२ मा सो सम्झौता नवीकरण भएको थियो ।
    राससको सहयोगमा

  • प्रधानमन्त्री भन्छन् : भारतसँगका समस्या वार्ताबाटै समाधान हुन्छन्

    प्रधानमन्त्री भन्छन् : भारतसँगका समस्या वार्ताबाटै समाधान हुन्छन्

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो, सहनशील र न्यायोचित मनका साथ संवाद गरे नेपाल–भारतबिचका समस्या सहजै समाधान गर्न नसकिने बताएका छन् । जलस्रोत विकास संस्थाद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार आयोजित पूर्व प्रशासक सूर्यनाथ उपाध्यायको ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुन : नेपाल–भारत सहकार्यको दृष्टिकोण’ पुस्तकको विमोचन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपाल–भारतबिचमा धेरै नभए पनि केही समस्या रहेको र तिनको समाधानका लागि आफ्नो प्रस्तावमा दुवै प्रधानमन्त्रीबिचको सहमतिमा प्रबुद्ध व्यक्तिहरूको समूह (इपिजी) गठन गरिएको स्मरण गरे ।

    “इपिजीको प्रतिवेदन बुझ्ने–बुझाउने मौका अहिलेसम्म मिलेको छैन । नेपाली पक्षले प्रतिवेदन बुझ्न नभ्याउने कुरै भएन । भारतीय पक्षको पनि प्रतिवेदन बुझ्न अब समय मिल्ला भन्ने लाग्या छ । प्रतिवेदन बुझेपछि दुवै मुलुकका बिचमा थाँती रहेका विषयमा छलफल गर्न सहज हुन्छ ।”, प्रधानमन्त्री ओलीले भने, “भारत लामो संस्कृति भएको छिमेकी मित्र हो । हामीले खुल्ला खुलस्तरुपमा छिमेकीसँग कुरा गर्नुपर्छ । खुल्ला कुरा राख्न नसकेर भूराजनीतिको टाउकामा दोष थोपर्न मिल्दैन । सत्ता प्राप्त गर्न र टिकाउन जे पनि गर्ने र मुख बन्द गर्ने वा टाउको हल्लाउने काम हामीले गर्नु हुँदैन ।”

    भूराजनीति शब्दलाई आफ्ना स्वार्थी कामको ढाकछोप गर्न वा कायरपन प्रदर्शनका लागि प्रयोग गर्न नहुने तर्क राख्दै प्रधानमन्त्री ओलीले विदेशमा बसेर आफ्नो देशका प्रमुखलाई विरोध संस्कृति नेपाली संस्कृति नभएको बताए । उनले भने। “पहिला पहिलाका वैदेशिक सम्बन्धहरू बल हुनेले जसरी मिच्न सक्छ, त्यसैका आधारमा हुन्थ्यो । दोस्रो विश्वयुद्धपछि अनेक अन्तर्राष्ट्रिय सन्धि सम्झौता अनुसार रहेर कुनै पनि देशले आफ्ना राष्ट्रिय हितलाई तर्कपूर्ण र न्यायोचितरुपमा प्रस्तुत गर्नुपर्छ । साझा स्रोतमा काम गर्दा एकपक्षीयरुपमा काम गर्नु हुँदैन । दुवै पक्षको सहमति र छलफलका आधारमा गरिनुपर्छ ।”

  • इराक चाहन्छ नेपाली कामदार

    इराक चाहन्छ नेपाली कामदार

    काठमाडौं । आफूमाथि लगाउँदै आएको प्रतिबन्ध हटाउँदै नेपालबाट दक्ष कामदार लैजान इराकले इच्छा देखाएको छ । उसले नेपालसँग श्रम समझदारी गर्ने प्रस्ताव पनि गरेको छ । कुनै समय द्वन्द्व र युद्धका कारण थलिएको इराक अब पूर्वाधार विकासमा अघि बढ्ने भन्दै नेपालबाट दक्ष जनशक्ति लैजान नेपालसँग श्रम समझदारी गर्न खोज्दै छ । इराकमा श्रम गर्न वा घुम्न जान पनि नेपाली नागरिकलाई प्रतिबन्ध लगाइएको छ ।

    नेपालले सुरक्षाको कारण देखाउँदै ०६१ सालदेखि आफ्ना नागरिकलाई इराक भ्रमण गर्न वा त्यहाँ गएर काम नगर्न प्रतिबन्ध लगाएको छ । ०६१ भदौ १६ मा १२ जना नेपालीलाई एक इराकी विद्रोही समूहले हत्या गरेपछि नेपाल सरकारले उक्त निर्णय गरेको थियो । इराकीहरूले पटक–पटक विभिन्न माध्यममार्फत उक्त प्रतिबन्ध हटाउन खोजिरहेका छन् । नेपालले भने सुरक्षाकै कारण इराकमा नेपाली पठाउन मानेको छैन ।

    नेपालबाट दक्ष कामदार लैजान नयाँदिल्लीस्थित कार्यवहाक राजदूत सुरेन्द्र थापालाई नयाँदिल्लीस्थित इराकको राजदूतावासका नियोग उपप्रमुख नजम मिर्जानले आग्रह गरेका छन् । दिल्लीमै रहेको इराकको दूतावासले नेपाललाई पनि हेर्ने काम गर्छ ।

    गत मंगलबार दिल्लीमा भएको भेटवार्तामा उनीहरूबीच इराकमा नेपालबाट दक्ष कामदार लैजाने सम्बन्धमा कुराकानी भएको नेपाली दूतावासले जनाएको छ । ‘हामी अब पूर्वाधार विकासमा लागिरहेका छौं । त्यसका लागि धेरै कामदारको आवश्यकता पर्छ,’ मिर्जानले भने, ‘नेपालीहरूको राम्रो कामको हामीले जताततै सुनेका छौं । त्यसैले इराक नेपालबाट पूर्वाधार विकासमा काम गर्न सक्ने दक्ष कामदार लान चाहन्छौं ।’

    इराकमा श्रम पठाउनेसम्बन्धमा आवश्यक प्रक्रियाबारे आवश्यक विषय बुझेर जानकारी दिने कार्यवाहक राजदूत थापाले बताए । थापाले इराकको आग्रहलाई परराष्ट्र मन्त्रालयमा पठाइसकेका छन् । अब परराष्ट्र मन्त्रालयले श्रम मन्त्रालयसँग सहकार्य गरेर इराकलाई जवाफ दिने जनाइएको छ । नेपाली पक्षले इराकको वर्तमान सुरक्षा र भविष्यमा हुन सक्ने खतराको अध्ययन र समीक्षा गरेर मात्र कुनै पनि निर्णय लिने बताइएको छ ।

  • नेपाललाई जर्मनीले ५१ मिलियन युरो अनुदान सहायता उपलब्ध गराउने

    नेपाललाई जर्मनीले ५१ मिलियन युरो अनुदान सहायता उपलब्ध गराउने

    काठमाडौं । नेपाल सरकार र जर्मनी सरकारकारबीच विकास सहायता सम्बन्धी द्विपक्षीय वार्ता जर्मनीको राजधानी बर्लिनमा सम्पन्न भएको छ।

    वार्तामा जर्मनी सरकारको तर्फबाट आगामी दुई वर्षका लागि वित्तीय र प्राविधिक सहायता गरी ५१ मिलियन यूरो अनुदान सहायता परिचालन गर्ने सहमति भएको छ।

    सो सहायता रकम नेपालमा गुणस्तरीय स्वास्थ्य क्षेत्र पूर्वाधार एवं स्वास्थ्य सेवाको पहुँचलाई सर्वसुलभ बनाउने, हरित एवं नविकरणीय ऊर्जाको विकास तथा प्रवर्द्धन गर्ने, तहगत सरकारका विभिन्न निकायहरूको संस्थागत सुदृढीकरण गर्ने, आर्थिक सामाजिक विकास लगायतको क्षेत्रमा परिचालन गर्ने सहमति भएको हो।

    वार्ताको क्रममा नेपाली पक्षले सन् २०३० भित्र नेपालको दिगो विकास लक्ष्य हासिल गर्न र अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्ती भए पश्चात नेपालको विकास अभियानलाई निरन्तरता दिन विकास साझेदारको भूमिका महत्वपूर्ण हुने भएकोले जर्मनी सरकारको तर्फबाट प्राप्त हुने सहयोगलाई निरन्तरता दिन र थप सुदृढ बनाउन आग्रह गरेको छ। जर्मन सरकारले आगामी दिनमा नेपालको विकास प्रयासमा सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

    सो क्रममा जलवायु परिवर्तन, लैङ्गिक समता, वातावरणीय दिगोपना, गरिबी न्यूनीकरण लगायतका विविध विषयमा आगामी दिनमा सहकार्य गर्ने विषयमा समेत छलफल भएको छ ।

    नेपाली प्रतिनिधिमण्डको तर्फबाट वार्ताको नेतृत्व अर्थमन्त्रालयका सहसचिव धनिराम शर्माले गरेका थिए । जर्मनी सरकारको तर्फबाट आर्थिक सहायता तथा विकास सम्बन्धी सङ्घीय मन्त्रालयको संसदीय राज्य सचिव वार्वेल कोफ्लरले गरेका थिए । अवसरमा जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काको उपस्थिति थियो।

  • प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत

    प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको ११ दिने न्युयोर्क भ्रमण स्वीकृत गरेको हो । न्युयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभा बैठकमा भाग लिन जाने प्रधानमन्त्री ओली नेतृत्वको नेपाली टोलीलाई स्वीकृत दिएको सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

    ओली असोज ५ गते त्यसतर्फ प्रस्थान गर्नेछन् भने असोज १५ गते स्वदेश फर्किने कार्यक्रम छ । राष्ट्रसंघको महासभा सेप्टेम्बर १० देखि २८ ९२५ भदौदेखि १२ असोज० सम्म न्यूयोर्कमा हुँदैछ । त्यस्तै, समिट अफ द फ्युचर २२–२३ सेप्टेम्बर (६–७ असोज) मा हुने तय भएको छ । प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको महासभा र समिट अफ द फ्युचरलाई नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    प्रधानमन्त्रीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री आरजु देउवा राणा, प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल, यूएन तथा अन्तर्राष्ट्रिय संस्थाहरुको महाशाखा प्रमुख अमृतकुमार राई, निजी चिकित्सकलगायत छन् । ओलीले प्रधानमन्त्रीका रुपमा २०७५ असोजमा पनि राष्ट्रसंघ महासभालाई सम्बोधन गरेका थिए । पछिल्लो पटक गएको ३० असारमा प्रधानमन्त्री भएका ओलीको यसपटक यो पहिलो विदेश भ्रमण पनि हो ।

  • नेपाली महिला फूटबल टोलीकी कप्तान एञ्जिलाले यूरोपमा व्यवसायिक लिग खेल्ने

    नेपाली महिला फूटबल टोलीकी कप्तान एञ्जिलाले यूरोपमा व्यवसायिक लिग खेल्ने

    काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले युरोपियन लिग खेल्ने भएकी छन् । एञ्जिलालाई ग्रिसको महिला ए डिभिजन लिग क्लब निस अट्रोमिटोउले नयाँ सिजनका लागि अनुबन्ध गरेको छ । उनलाई क्लबले २०२४–२५ को सिजनका लागि सम्झौता गरेको जनाएको छ । सम्झौता रकम खुलाइएको छैन ।

    एक दशकभन्दा बढी समय एपीएफबाट घरेलु फुटबल खेलेकी एन्जिलाले पहिलो पटक युरोपियन लिग खेल्न लागेकी हुन् । उनले यसअघि नेपालबाहेक भारत र पाकिस्तानमा फुटबल खेलेकी थिइन् । पहिलो पटक युरोपियन लिग खेल्न अनुबन्ध भएकोले खुशी लागेको एन्जिलाले बताइन् ।
    ‘
    एन्जिला युरोपमा लिग खेल्ने सावित्रा भण्डारीपछि दोस्रो खेलाडी हुनेछिन् । सावित्रा भण्डारीले इजरायली क्लबबाट युरोपियन फुटबलमा इन्ट्री मारेकी थिइन् भने हाल फ्रान्सेली शीर्ष डिभिजनको क्लब गुइग्याम्पमा खेलिरहेकी छन् । एन्जिलाले यसअघि भारतीय क्लब सेथु एफसीबाट दुई सिजन र पाकिस्तानको मासा युनाइटेडबाट एक सिजन खेलेकी थिइन् । उनले दुवै क्लबमा कप्तानी समेत गरेकी थिइन् ।