Category: डायस्पोरा

  • युद्धग्रस्त लेवनानमा कहिलेसम्म पठाइन्छ नेपाली कामदार ?

    युद्धग्रस्त लेवनानमा कहिलेसम्म पठाइन्छ नेपाली कामदार ?

    काठमाडौं । इजरायल र हेजबुल्लाहबीचको लडाइँ चर्किंदै गए पनि सरकारले लेबनानमा त्यहाँ श्रमिक पठाउन बन्द गरेको छैन । लेबनानमा कार्यरत करिब ७ सय जना घरेलु महिला श्रमिकहरु त्रासमा रहेका बेला सरकारले लेबनानमा थप श्रमिक जान नदिने गरी कुनै निर्णय गरेको छैन ।

    वैदेशिक रोजगार विभागले त्यहाँको सुरक्षा अवस्था र थप श्रमिक पठाउँदा हुन सक्नेबारे परराष्ट्र मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिएको छ । विभागका महानिर्देशक सूर्यबहादुर खत्रीका अनुसार श्रम स्वीकृति रोक्नेबारे छलफल भइरहेको छ ।


    उनका अनुसार ‘परराष्ट्र मन्त्रालयले चासोका साथ त्यहाँको अवस्था हेरिरहेको छ । अहिलेसम्म सरकारले लेबनानमा रहेका नेपालीहरु असुरक्षित रहेको निष्कर्ष निकालिसकेको छैन। लेबनानी मन्त्रिपरिषको विपद् जोखिम व्यवस्थापन इकाइले मंगलबार जारी गरेको प्रतिवेदन अनुसार लेबनानमा इजरायली हवाई हमलाबाट मृत्यु हुनेको संख्या २ हजार ५३० पुगेको छ, आक्रमणहरुमा ११ हजार ८०३ जना घाइते भएका छन् ।

    लेबनानमा धेरैजसो महिला घरेलु श्रमिकहरु छन् । धेरैजसो बेरुत लगायतका शहरमा काम गरिरहेका छन् । सरकारले युद्धग्रस्त लेबनानमा रहेका नेपालीलाई अधिकतम सतर्कता अपनाउन अनुरोध गर्दै आएको छ । इजरायलसँगको युद्ध चर्किएपछि परराष्ट्र मन्त्रालयले गत १५ असोजमै सूचना जारी गरेर लेबनानमा अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको थियो । कुनै अप्ठ्यारो परेमा सम्पर्क गर्न इजिप्टको कायरोस्थित नेपाली राजदूतावास, अवैतनिक नेपाली वाणिज्यदूतावास बेरु र परराष्ट्र मन्त्रालयका कर्मचारीहरुको नाम, सम्पर्क नम्बर र इमेल ठेगाना सार्वजनिक गरिएको छ ।

    कायरोमा दीपक घिमिरेलाई २०१०७७७२३४८ नम्बरमा ह्वाट्सएपमार्फत् सम्पर्क गर्न सकिने छ । यसैगरी बेरुतमा मोहम्मद गोजायललाई ९६१३३०११८१, ९६१७१६८८८२१ र ९६१८१८८३७१३ नम्बरमा सम्पर्क गर्न सकिने छ । यसैगरी मन्त्रालयले परराष्ट्र मन्त्रालयका शाखा अधिकृत श्रीकृष्ण सिलवाललाई ९८४९१७९५२० नम्बरमा पनि सम्पर्क गर्न सकिने व्यवस्था गरेको छ ।

  • चाडबाडले समेत बढाउन सकेन आयात, रेमिट्यान्सले उछिन्यो

    चाडबाडले समेत बढाउन सकेन आयात, रेमिट्यान्सले उछिन्यो

    काठमाडौं । चाडबाड मुखमा वस्तु आयात सामान्यतया बढ्ने गर्छ । तर, कोभिड महामारीयता यसो हुन सकेको छैन । यसपालि चाडबाड मुखमा समेत आयात बढेन बरु घट्यो । भन्सार विभागका अनुसार यस वर्ष असोजमा भदौको दाँजोमा समेत कम वस्तु आयात भएको छ ।

    असोजमा १ खर्ब २८ अर्ब २० करोड रुपैयाँ बराबरको मात्र वस्तु आयात भएको छ । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमास (साउन–असोज) मा कुल वस्तु आयात ३ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँको मात्र भएको छ । यो अघिल्लो आव यसै महिनासम्मको तुलनामा ४.१७ प्रतिशत कम हो ।

    विज्ञहरुका अनुसार चाडबाडको मुखमा आयातमा उत्साह नदेखिनुमा मुलुकभित्र आन्तरिक माग कम हुनु एक कारण हो । किनकी उपभोक्ता विदेशिने क्रम रोकिएको छैन । अर्कोतर्फ मानिसको आम्दानी बढ्न सकेको छैन । भइरहेको आम्दानीले आधारभूत आवश्यकता नै खरीदमा ठिक्क हुने गरेको छ । असोजमा मात्र ५३ हजार ५ सय २५ नेपाली कामको खोजीमा विदेशिएका थिए । भदौमा यो संख्या ५० हजार ७ सय ७० थियो । साउनमा भने ५९ हजार ५ सय ७५ नेपाली रोजगारीका लागि विदेशिएका थिए ।

    यस वर्ष साउनमा १ खर्ब २८ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो । भदौमा केही बढेर १ खर्ब ३४ अर्ब रुपैयाँसम्म पुग्यो । असोजमा सामानको आयात घट्न गयो । जुन १ खर्ब २८ अर्बमा सीमित भयो । खासगरी चीनतर्फका धेरै सामान बाटोमा रोकिए । जुन चाडबाड लक्षित गरी मगाइएको थियो । यसको असर आयात तथ्यांकमा केही हदसम्म देखिएको छ । भारततर्फको व्यापार भने बाढीपहिरोले प्रभावित हुन पाएको थिएन ।

    भन्सार विभागका अनुसार यस वर्ष पहिलो त्रैमासमा आयातमात्र होइन, निर्यात अझ कमजोर बनेको छ । तीन महिनामा ३८ अर्ब ३७ करोडको वस्तु निर्यात भएको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा ६।११ प्रतिशत कम हो । अघिल्लो आवको पहिलो त्रैमासमा ४० अर्ब ८७ करोडको वस्तु निर्यात भएको थियो ।

    आयात र निर्यात दुवैमा आएको कमीले कुल वैदेशिक व्यापारको आकार नै खुम्चिएको छ । भन्सार विभागका अनुसार असोजसम्म कुल ४ खर्ब २९ अर्ब १३ करोडको कुल वैदेशिक व्यापार भएको छ । जुन अघिल्लो आवको तुलनामा ४।३५ प्रतिशतले कम हो । गत आवको तीन महिनामा ४ खर्ब ४८ अर्ब रुपैयाँ बराबर कुल वैदेशिक व्यापार भएको थियो ।

    चालु आव पहिलो तीन महिनामा व्यापार घाटा भने ३ खर्ब ५२ अर्ब रुपैयाँ बराबर भएको छ । व्यापार घाटा ३।९६ प्रतिशतले कम भएको देखिन्छ । यसो हुनुमा निर्यात बढ्दा व्यापार घाटामा सुधार आएको भने होइन, आयात कम हुँदा व्यापार घाटा समेत कम भएको विभागको तथ्यांकमा देखिन्छ ।

    अहिले नेपालको कुल वैदेशिक व्यापारमा आयात हिस्सा ९१.०६ र निर्यात हिस्सा ८.९४ प्रतिशत छ । पहिलो तीन महिनामा पेट्रोलियम पदार्थ आयातमै ६६ अर्ब ९१ करोड रुपैयाँ विदेशिएको छ । यस अवधिमा आइरन र स्टिल आयातमा ३३ अर्ब ११ करोड विदेशिएको विभागको तथ्यांक छ ।

    नेपालको कुल निर्यातले पेट्रोलियम पदार्थको मात्र आयात पनि थेग्न नसक्ने अवस्था छ । यस अवधिमा २५ अर्ब २३ करोड रुपैयाँ बराबर सवारीसाधन आयात भएको छ । विद्युतीय सामान र उपकरण आयातका लागि २७ अर्ब ५८ करोड विदेशिएको छ । त्यस्तै १० अर्ब २० करोड बराबर औषधिजन्य सामग्री नेपाल भित्रिएको छ । नेपालले १ सय ३२ भन्दा बढी देशसँग वैदेशिक व्यापार गरेको छ । जसमा सबैभन्दा धेरै भारतसँग छ ।

    भारतबाट तीन महिनामा २ खर्ब ४० अर्ब रुपैयाँको सामान नेपाल आएको छ । नेपालबाट २४ अर्ब ८५ करोड बराबरको सामान भारत गएको छ । चीनबाट ७८ अर्ब ६३ करोड रुपैयाँको सामान नेपाल आएको छ । नेपालबाट ५५ करोड रुपैयाँको मात्र सामान चीन गएको छ ।

  • राष्ट्रसंघको सैनिक सल्लाहकार पदमा नेपालले दियो उम्मेदवारी

    राष्ट्रसंघको सैनिक सल्लाहकार पदमा नेपालले दियो उम्मेदवारी

    काठमाडौं । संयुक्त राष्ट्र संघको सैनिक सल्लाहकार पदमा नेपालले उम्मेदवारी दिएको छ । संयुक्त राष्ट्रसंघका महसचिवलाई सिधै रिपोर्टिंङ गर्नुपर्ने तहको पदमा नेपाली सेनाबाट उम्मेदवारी परेको हो । रक्षा मन्त्रालयका प्रवक्ता सहसचिव मनोजकुमार आचार्यका अनुसार, संयुक्त राष्ट्र संघको मिलिटरी एड्भाइजर पदमा उम्मेदवारी दिन प्रतिस्पर्धात्मक प्रक्रियामा भाग लिन उपरथी प्रेमध्वज अधिकारीलाई अघि सारिएको छ । यदि प्रतिस्पर्धामा सफल भए रथी पदमा बढुवा गरेर कामकाज गर्न जान स्वीकृति दिएको उनले बताएका छन् ।

    न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयबाट यसअघि नेपाली सेनालाई सैनिक सल्लाहकारमा उम्मेदवारी दिन प्रस्ताव हुँदा नेपालले कसैलाई पठाएको थिएन । यो दर्जामा उम्मेदवारी दिन रथी तहको अधिकारी अनिवार्य भएपनि एक जना प्रधानसेनापति हुने लाइनमा र अर्का शान्ति मिसन फोर्स कमाण्डका रुपमा नेपाल बाहिरै भएकाले सम्भव भएको नभएको बताइएको थियो । तर, प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएलगत्तै उनले अधिकारीलाई उम्मेदवारको रुपमा अघि सारेका थिए । जंगीअड्डाका स्रोतका अनुसार, फेरि उम्मेदवारी दिने अवसर आएपछि हाल युद्धकार्य विभागमा रहेका उपरथी अधिकारीलाई अघि सारिएको थियो ।

    नेपाली सेनाले यो तहको भूमिका पाएमा शान्ति सेनामा नेपालीको उपस्थिति हालसम्मकै उच्च तहमा पुग्नेछ । हालसम्म नेपाली सैनिक अधिकारीहरुले फोर्स कमाण्डर तहसम्म मात्र जिम्मेवारी पाएका थिए । माथिल्लो तहमा भूमिका दिन नेपालले पटकपटक माग गर्दै आएको थियो । सैनिक सल्लाहकारको नियुक्ति संयुक्त राष्ट्र संघको महासचिवले गर्छन् ।

    महसचिव एन्टोनियो गुटेरसले सन् २०२१ मा सेनेगलका जनरल विरामे डियोपलाई सैनिक सल्लाहकार नियुक्त गरेका थिए । यो जिम्मेवारी पाउनुअघि डियोपले सेनेगलका राष्ट्रपतिका लागि राष्ट्रिय सुरक्षा सल्लाहकार र एयरफोर्स प्रमुखको जिम्मेवारी सम्हालिसकेका थिए । उनीभन्दा अगाडि उरुग्वेका जनरल कार्लोस हम्बर्टो सैनिक सल्लाहकार थिए ।

    सैनिक प्रवक्ता गौरवकुमार केसीका अनुसार, सामान्यतः सैनिक सल्लाहकारको कार्यकाल दुई वर्षको हुन्छ । तर, कहिलेकाहीँ आवश्यकता अनुसार म्याद थप समेत हुने गरेको छ ।

  • अभ्यास खेलमा अमेरिका ‘ए’सँग हार्यो नेपाल

    अभ्यास खेलमा अमेरिका ‘ए’सँग हार्यो नेपाल

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु को तयारीमा रहेको नेपाली क्रिकेट टोली अभ्यास खेलमा अमेरिका ए टिमसँग पराजित भएको छ । मंगलबार राति भएको पहिलो अभ्यास खेलमा नेपालले लज्जासपद ब्याटिङ गर्दा अमेरिका ए टिमसँग ४ विकेटले पराजित भयो । नेपालले दिएको ८२ रनको सामान्य लक्ष्य अमेरका ए ले २३.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । उसका लागि नितिश रेडीले सर्वाधिक २९ रन बनाए भने ओपनर राहुल जरिवालाले २६ रन योगदान गरे ।

    नेपालका लागि सन्दीप लामिछानेले चार विकेट लिए । रिजन ढकाल र ललित राजवंशीले समान एक–एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरको खेलमा आधा इनिङ मात्र ब्याटिङ गर्न सक्यो भने सय रन पनि पुर्‍याउन सकेन । २५.३ ओभरमा नेपाल ८१ रनमै अलआउट भएको थियो । नेपालका कुशल मल्लले १८, देव खनालले १२ र भीम सार्कीले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    अर्जुन साउद ५, अनिलकुमार साह ०, कुशल भुर्तेल २, रोहितकुमार पौडेल ८, दीपेन्द्रसिंह ऐरी ५, आरिफ शेख २ र सन्दीप लामिछाने ७ रन बनाएर आउट भए । करण केसी ७ रनमा अविजित रहे । अमेरिका ए का लागि आरिन नादकर्णीले चार तथा आयान देसाइले २ विकेट लिए ।

    नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित लिग टु सिरिज यही अक्टोबर २५ देखि अमेरिकाको डालासमा सुरु हुँदैछ । जहाँ नेपालले पहिलो खेल अक्टोबर २७ अर्थात आउने आइतबार अमेरिकासँग खेल्नेछ । लिग टु मा नेपालले खेल्न लागेको यो तेस्रो सिरिज हो ।

  • अमेरिका पुगे अर्थमन्त्री पौडेल

    अमेरिका पुगे अर्थमन्त्री पौडेल

    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेल विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन यहाँ आइपुगेका छन् । उनलाई डलेस अन्तरराष्ट्रिय विमानस्थलमा वासिङ्टनस्थित नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल तथा दूतावासका अधिकारीहरूले स्वागत गरे ।

    मन्त्री पौडेलले बैठकमा मन्तव्य व्यक्त गर्ने तथा त्यस क्रममा विभिन्न मुलुकका आफ्ना सकमकक्षीका साथै कोष र बैंकका अन्य अधिकारीहरूसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ । उनले अमेरिकी उद्यमी(व्यवसायीहरुसँग पनि छलफल गर्ने कार्यक्रम छ ।

  • केप कडमा दशैं शुभकामना साँझ भब्यताका साथ सम्पन्न

    केप कडमा दशैं शुभकामना साँझ भब्यताका साथ सम्पन्न

    म्यासाच्युसेट्स

    केप कड नेपाली समाजले आयोजना गरेको बडा दशैं २०८१ को “दशैं शुभकामना साँझ”, समाजका अध्यक्ष केबी राईको अध्यक्षतामा अक्टूबर महिनाको ११ तारीख, शुक्रवारका दिन हायानीस स्थित Cape Cod Irish Village मा भब्यताका साथ सम्पन्न गरिएको थियो। उक्त कार्यक्रम समाजका महासचिव, इच्छा खड्का र सचिव सरस्वती खनालले संयुक्त रूपमा संचालन गर्नुभएको थियो। कार्यक्रमको अध्यक्षता ग्रहण, विशेष अतिथि लगायत दशैं विशेष कार्यक्रमका संयोजकहरूको आशनग्रहण गरी दुवै देशको राष्ट्रीय गानबाट औपचारिक रूपमा कार्यक्रम शुरू गरिएको थियो ।

    समाजका वरिष्ठ उपाध्यक्ष तथा दशैं विशेष कार्यक्रमका प्रमुख संयोजक बिष्णुमान प्रधानले कार्यक्रममा उपस्थिति सबैलाई स्वागत गर्नुको साथै विजया दशमीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्नुभएको थियो।

    कार्यक्रममा विशेष अतिथिको रूपमा किथ रोजरीज इन्टरनेशनलका मार्शल आर्ट्स एकेडेमीका Grand Master, Sensi Keith Rosary को पनि उपस्थिति रहेको थियो। वहांले नेपालीहरूको महान चाडमा आमन्त्रण गरेकोमा धन्यवाद दिंदै उपस्थित सबैलाई दशैंको शुभकामना पनि दिनुभयो।

    यस कार्यक्रमलाई सभ्य अनि भव्यताका साथ सफल बनाउनको लागि आर्थिक सहयोग प्रदान गर्नुहुने ध्रुव थापा, Asian Bristo, Nantucket का भरत/प्रमिला बन्जारा, Barnstable Market का टेक लामा, क्षितिज गौतम, Pepper’s Pantry का घनश्याम रैला, अशोक पराजुली लाई खादा ओडाएर सम्मान गरिएको थियो। आर्थिक सहयोग समितिमा संयोजक प्रमिला धमला बन्जारा र सदस्यहरूमा केवी राई र कृष्ण तिमलसिना थिए ।

    युवा संयोजक कुमार तामाङको संयोजकत्वमा स-साना भाई-बहिनी खेलाडीहरूले एकल तथा सामूहिक रूपमा मार्शल आर्ट्सको प्रदर्शन गरेका थिए भने, स्थानीय कलाकार दिदी-बहिनी र स-साना नानीबावुहरूको धमाकेदार नाचगानका प्रस्तुतिहरूले भरिएको दशैं विशेष सांस्कृतिक कार्यक्रमलाई समाजका सल्लाहकार, संस्थापक अध्यक्ष तथा सांस्कृतिक कार्यक्रमका संयोजक, हरि राई एवं समाजका कार्यकारी सदस्य सीताराम राईले संयुक्त रूपमा बेजोड ढंगले संचालन गर्नुभएको थियो। उक्त कार्यक्रममा सांस्कृतिक समितिमा सदस्यहरू पार्वती चालिसे, ज्योति बुढाथोकी लिवांग र रवीना लामा थिए। खाना ब्यबस्थापन को संयोजन उपाध्यक्ष कुवेर विन्दुकार, हलको ब्यबस्थापन कार्यकारी सदस्य ज्योती केसी ईच्छा खड्का, विमल खड्का र ध्रुव थापा थिए भने सहभागीको दर्ता कोषाध्यक्ष विमल खड्का, सह-कोषाध्यक्ष सुशिला सिंह र कार्यकारी सदस्य अजय खतिवडाले गरेका थिए र स्वयंसेवक समितिमा संयोजक कुमार तामाङ र सदस्यहरूमा हर्कुलस कन्द्ङवा लिम्बु, कुमुदा पोख्रेल र खगेन्द्र राई थिए।

    कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष तथा कार्यक्रमको सभापति, केबी राईले उपस्थित सबैलाई विजया दशमीको शुभकामना ब्यक्त गर्नुको साथै आर्थिक सहयोग प्रदान गर्नुहुने सबै प्रायोजकहरू, सांस्कृतिक कार्यक्रमका कलाकारहरू, मार्शल आर्ट्सका खेलाडीहरू, स्वयमसेवीहरू लगाएत कार्यक्रमलाई सफल बनाउनको लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफ्नो अमुल्य समय, श्रम साथै बिचारहरू प्रदान गर्नुहुने सम्पूर्ण ब्यक्तिहरु, ब्यवसायीहरू र कार्यसमितिका सम्पूर्ण पदाधिकारी, सदस्यहरू लाई समाजको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको थियो। उक्त कार्यक्रममा २५० जना जतिको सहभागिता थियो ।

  • जापानमा नेपालीको जनसंख्या २ लाख माथि

    जापानमा नेपालीको जनसंख्या २ लाख माथि

    काठमाडौं । जापानमा सन् २०२४ मा नेपालीको संख्या २ लाख ६ हजार पुगेको छ । जापानको न्याय मन्त्रालयले सन् २०२४ को जुनमा सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालीको संख्या पछिल्लो एक वर्षमा ३० हजार बढेको छ । नेपालीको संख्या पछिल्लो ४ वर्षमा दोब्बर बढेको हो । सन् २०२१ मा ९७ हजार १०९ जना नेपाली रहेकामा सन् २०२२ मा १ लाख ३९ हजार ३९३ जना पुगेका थिए ।

    सन् २०२३ मा १ लाख ७६ हजार ३३६ रहेको नेपालीको जनसंख्या २०२४ मा २ लाख ६ हजार ८९८ पुगेको हो । जापानमा नेपालीहरु भाषा अध्ययन, उच्च शिक्षा अध्ययन र रोजगारीकै लागि पुग्ने गरेका छन् । नेपालीहरु उत्पादन, नर्सिङ केयर, कृषि र सेवा क्षेत्रमा कार्यरत छन् ।

  • मलेसियामा बढ्यो कामदारको न्यूनतम तलव

    मलेसियामा बढ्यो कामदारको न्यूनतम तलव

    काठमाडौं । मलेसियाको सरकारले कामदारको न्यूनतम तलब बढाएको छ । सन् २०२५ को बजेट भाषणमा सरकारले कामदारको तलब प्रतिमहिना १५०० बाट बढाएर १७०० मलेसियन रिङ्गेट पुर्‍याउने घोषणा गरेको हो । प्रधानमन्त्री दातुक सेरी अनवार इब्राहिमले पाँचभन्दा कम कामदार भएका रोजगारदाताहरूका लागि नयाँ न्यूनतम तलब आगामी १ अगस्ट २०२५ देखि लागू हुने बताए ।

    ‘सरकारले सधैं जनताको आम्दानीको मुद्दालाई प्राथमिकता दिन्छ । जनताले जीवनलाई अझ सहज बनाउन पर्याप्त तलब र पारिश्रमिक पाउँदा मात्र आर्थिक पुनर्संरचना सफल भएको मानिन्छ,’ उनले भनेका छन्, ‘सरकारले न्यूनतम तलब १५०० बाट १७०० मलेसियन रिङ्गेट प्रतिमहिना बढाउने निर्णय गरेको छ, जुन १ फेब्रुअरी २०२५ देखि लागू हुनेछ ।’

    नयाँ तलब कार्यान्वयन हुनुअघि त्यहाँको मान संशाधन मन्त्रालयले सबै क्षेत्रका लागि तलब निर्देशिका तयार गरी प्रकाशित गर्नेछ । त्यसैले नयाँ तलब कार्यान्वयनमा केही ढिला हुने भएको हो । मलेसियामा १९ मार्च २०२२ यता न्यूनतम तलब १५०० रिङ्गेट थियो । तर, उद्योग र उत्पादन प्राविधिकको सुरुआति तलब भने यसअघि नै करिब २३०० रिङ्गेट छ ।

  • टी-२० सिरिजमा नेपाल र अमेरिकाबीच खेल जारी, नेपालको प्रभावशाली प्रदर्शन

    टी-२० सिरिजमा नेपाल र अमेरिकाबीच खेल जारी, नेपालको प्रभावशाली प्रदर्शन

    काठमाडौं । नेपालले पहिलो टी–२० आई खेलमा घरेलु टोली अमेरिकालाई १६५ रनको लक्ष्य दिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकाले १२ रनमा २ विकेट गुमाइसकेको छ । यसअघि ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनाएको हो ।

    नेपालका कप्तान रोहित पौडेलले ३३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४९ रन बनाए । दीपेन्द्रले १७ बलमा २ चौका र १ छक्कासहित २८ रन बनाए । पाँचौं विकेटका लागि दीपेन्द्र र रोहितले ३८ बलमा ६६ रनको साझेदारी गरेका थिए ।

    नेपाललाई ओपनर आसिफ शेख र अनिल साहले ५.३ ओभरमा ४८ रन जोड्दै मध्यम सुरुवात दिलाएका थिए । अनिल २७ रनमा अली खानको बलमा एलबीडब्लू आउट भए । आसिफ शेख २७ बलमा ४ चौकासहित २७ रनमै स्पिनर हरम्रित सिंहको बलमा बोल्ड आउट भए ।

    हरमीतले गुल्सन झालाई ११ र नोष्थुस केंजिगेले कुशल भुर्तेललाई १० रनमा बोल्ड आउट गरे । अमेरिकाका हरम्रीत सिंहले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । सौरभ नेत्रवालकरले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । जसदीप सिंहले ४ ओभरमा ३५ रन खर्चेर २ तथा अली खान र नोष्थुश केंजिगेले १-१ विकेट लिए ।

  • चाडपर्वकै मुखमा कामको खोजिमा विदेशिए साढे ५३ हजार नेपाली

    चाडपर्वकै मुखमा कामको खोजिमा विदेशिए साढे ५३ हजार नेपाली

    काठमाडौं । दशैं पर्वका कारण असोज महिनामा रोजगारीका लागि विदेश जाने नेपालीको संख्या केही घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार असोज महिनामा ४७ हजार ४४३ पुरुष र ६ हजार ८२ जना महिला गरी ५३ हजार ५२५ नेपाली रोजगारीका लागि विदेश गएका छन् । यो संख्या नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या रहेको विभागले जनाएको छ । साउनमा ६० हजार र भदौमा ५७ हजार नेपाली वैदेशिक रोजगारीमा हरु वैदेशिक रोजगारीमा गएका थिए ।

    विभागका निर्देशक गुरुदत्त सुवेदीले चाडबाडको मुखमा पनि रोजगारीको खोजीमा वैदेशिक रोजगारीमा जानेक्रम नरोकिएको बताए । उनका अनुसार असोजमा रोजगारीको खोजीमा नेपालीहरु सबैभन्दा धेरै खाडी मुलुक गएका छन् । असोजमा १७ हजार नेपाली युएई गएका छन् । त्यस्तै साउदीमा १० हजार, कतारमा ९ हजार ७ सय, कुवेतमा ३ हजार ८ सय जना नेपाली रोजगारीका लागि गएका विभागका सूचना अधिकारी सुवेदीले बताए ।

    युरोपेली देश रोमानियामा २२ सय, क्रोएसियामा ७८३, साइप्रसमा ४८५ जना रोजगारीका लागि गएका छन् । त्यस्तै जापानमा १ हजार ४५६ र दक्षिण कोरियामा १ हजार १०६ श्रमिक रोजगारीको खोजीमा गएका छन् । असोजमा सबैभन्दा धेरै धुनषा जिल्लाका नागरिक वैदेशिक रोजगारीमा गएका छन् । विभागका अनुसार धनुषाबाट २ हजार ९४४ हजार ३६० विदेश गएका छन् । त्यस्तै झापाबाट २ हजार ५४५, सिरहाबाट २ हजार ३४१, मोरङबाट २ हजार १८६, महोत्तरीबाट २ हजार २८९, सुनसरीबाट १ हजार ८२८ जना वैदेशिक रोजगारीमा गएका छन् ।

  • नेपालबाट अस्ट्रेलियामा रोजगारीमा जानेले ५ सय सम्म डलर सटही सुविधा पाउने

    नेपालबाट अस्ट्रेलियामा रोजगारीमा जानेले ५ सय सम्म डलर सटही सुविधा पाउने

    काठमाडौं । अस्ट्रेलियामा वैदेशिक रोजगारीमा जानेले पनि युरोप अमेरिका र जापान जाने सरह नै राहदानी बापत सुविधा पाउने भएका छन् । हाल जापान, दक्षिण कोरिया, युरोप महादेश, संयुक्त राज्य अमेरिका र क्यानडा रोजागारीमा जानेले राहदानी बापत ५ सय अमेरिकी डलर सटही सुविधा पाउँदै आएका छन् । अन्य देश रोजगारीमा जानेले भने २ सय डलसम्म मात्रै उक्त सुविधा पाउँदै आएका छन् । अब भने अस्ट्रेलियामा रोजगारीमा जानेले पनि ५ सय डलरसम्मको सटही सुविधा पाउने भएका हुन् ।

    अब विदेश जानेले राहदानी बापत विदेशी मुद्रा सटही गर्दा भ्रमण उद्देश्य खुलाउनुपर्ने भएको छ । अब विदेशी मुद्रा सटही गर्दा विवरणमा भ्रमण उदेश्य के हो भन्ने खुलाउनुपर्ने छ ।

    त्यसका लागि व्यावसायिकरऔपचारिक भ्रमण, उपचार, स्थायी बसाइ (प्रथम पटक) अस्थायी रोजगार, शिक्षा, अध्ययन र अन्य व्यक्तिगत भ्रमणमध्ये के प्रयोजनका लागि जान लागेको हो, त्यसको विवरण खुलाउनुपर्ने छ । विदेशका अस्पतालमा औषधि उपचार गराउने र औषधि तथा उपचारजन्य उपकरण खरिद गर्न पाउने सटही सुविधा सीमा पनि बढेको छ ।

    हाल नेपालीले १० हजार अमेरिकी डलरसम्म यस्तो सुविधा पाउँदै आएकोमा अब १५ हजार डलरसम्म पाउने भएका छन् । परिवर्त्य विदेशी मुद्रा स्रोत भएको कम्पनीमा परिवर्त्य विदेशी मुद्रामा नै पारिश्रमिक पाउने गरी नेपालमा कार्यरत भारतीय नागरिकलाई परिवर्त्य विदेशी मुद्रामा नै पारिश्रमिक दिन पाउने भएको छ ।

    राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन सम्बन्धी एकीकृत निर्देशिका संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । ‘परिवर्त्य विदेशी मुद्राको स्रोत भएका संस्थाबाट परिवत्र्य विदेशी मुद्रामा पारिश्रमिक प्राप्त गर्ने गरी नेपालमा कार्यरत भारतीय नागरिकलाई त्यस्तो खाताको मौज्दातले खामेसम्म उपदफा १ र २ मा उल्लिखित सीमा र कागजातको अधीनमा रही परिवर्त्य विदेशी मुद्रामा समेत पारिश्रमिकको रिप्याट्रिएसन सुविधा प्रदान गर्न सकिने छ,’ राष्ट्र बैंकको निर्देशनमा छ ।

  • वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारले पाउने क्षतिपूर्ति रकम तीन लाख बढ्यो

    वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारले पाउने क्षतिपूर्ति रकम तीन लाख बढ्यो

    काठमाडौं । वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले पाउने राहत रकम तीन लाखले बढेको छ । सरकारले मृतक श्रमिकको परिवारलाई दिँदै आएको राहत बढाएर १० लाख रुपैयाँ पुर्‍याएको हो । यसअघि वैदेशिक रोजगारीमा पुगेर मृत्यु भएका श्रमिकका परिवारले ७ लाख पाउँदै आएका थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार १८ असोजमा मन्त्रिपरिषद्ले वैदेशिक रोजगार नियमावली संशोधन पारित गरेको छ । यससँगै आर्थिक सहायता रकम वृद्धि भएको छ ।

    वैदेशिक रोजगार बोर्डको २१ औ बैठकले राहत रकम वृद्धि गर्ने प्रस्ताव गरेको थियो । पछि रकम वृद्धिबारे अध्ययन गर्न श्रम मन्त्रालयका तत्कालीन सचिव केवलप्रसाद भण्डारीको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिले राहत रकम निर्धारण गरिने निर्णय गरेको थियो । पछि पूर्व श्रममन्त्री डीपी अर्यालले पनि राहत रकम वृद्धि गर्ने योजनालाई अघि बढाएका थिए ।

    वैदेशिक रोजगारीमा गएर विभिन्न क्रममा मृत्यु भएका परिवारलाई वैदेशिक रोजगार बोर्डले क्षतिपूर्ति उपलब्ध गराउँदै आएको छ । वैदेशिक रोजगारीमा जानुअघि श्रमिकहरुले कल्याणकारी कोषमा जम्मा गरेको रकम नै उनीहरुले राहतवापत् प्राप्त गर्दै आएका छन् । बोर्डले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएमा राहतसँगै श्रमिकको शव नेपाल झिकाउन र शवलाई घरसम्म पुर्‍याउन, दाहसंस्कारका लागि परिवारलाई २५ हजार र श्रमिकको दुइवटा छोराछोरीलाई छात्रवृत्ति दिँदै आएको छ ।

    सरकारले भने श्रमिकको कल्याणकारी कोषमा जम्मा गएको रकमबाट मृत्युको क्षतिपूर्ति रकम दिने गरेको छ । वैदेशिक रोजगारीमा जानुअघि श्रमिकले कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्छ । जस अनुसार खाडी तथा मलेशिया जाने श्रमिकहरुले कोषमा १५०० र जापान, कोरिया, लगायतका मुलुकहरुमा जादा २५०० रुपैयाँ जम्मा गर्नुपर्ने बोर्डले जनाएको छ ।

    बोर्डले श्रम स्वीकृति लिएको र त्यसअवधिभित्र मृत्यु भएका श्रमिकहरुको हकमामात्र मृतक परिवारलाई राहत उपलब्ध गराउँदै आएको छ । श्रम स्वीकृति बेगर र म्याद सकिएको अवस्थामा पुगेका श्रमिकहरुको हकमा भने परिवारले क्षतिपूर्ति पाउँदैनन् । वैदेशिक रोजगार बोर्डका अनुसार पछिल्लो तीन आर्थिक वर्षमात्र ३ हजार ८ सय श्रमिकको ज्यान गएको छ । प्रत्येक वर्ष वार्षिक एक हजारको श्रमिकले ज्यान गुमाएका छन् ।

    बोर्डको तथ्यांक अनुसार आर्थिक वर्ष ०७८–०७९ मा १ हजार ४७९ ज्यान गुमाए भने ०७९–०८० मा १ हजार ३० ज्यान गुमाए । आर्थिक वर्ष ०८०–०८१ मा भने १ हजार ३४६ जनाले ज्यान गुमाएका छन् । मृत्युको यो ग्राफ हरेक वर्ष उक्लिरहेको छ । वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको सडक दुर्घटना, हृदयघात, आत्महत्या, कार्यस्थल दुर्घटना र प्राकृतिक मृत्यु लगायतका विभिन्न कारणबाट श्रमिकहरुको ज्यान जाने गरेको छ ।

  • विदेशी विश्वविद्यालयको सम्बन्धनमा खुलेका शिक्षण संस्थाले २५ हजार डलरसम्म सटही सुविधा पाउने

    विदेशी विश्वविद्यालयको सम्बन्धनमा खुलेका शिक्षण संस्थाले २५ हजार डलरसम्म सटही सुविधा पाउने

    काठमाडौं । विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा खुलेका शिक्षण संस्थाले सम्बन्धन, परीक्षा लगायत शुल्क भुक्तानीका लागि २५ हजार अमेरिकी डलरसम्म सटही सुविधा बैंकबाटै पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन सम्बन्धी एकीकृत निर्देशिका संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । यसअघि १२ हजार डलरसम्म बैंक र त्यसभन्दा बढीका लागि राष्ट्र बैंकको स्वीकृति चाहिन्थ्यो । अब २५ हजार डलरभन्दा माथिको सटही सुविधाका लागि राष्ट्र बैंकले तोकेका कागजात सहित राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागको स्वीकृति चाहिने छ ।

    ‘बैंक तथा वित्तीय संस्थाहरूले विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपाल सरकारको अनुमति लिई खुलेका नेपालस्थित शिक्षण संस्थाहरूलाई सम्बन्धन, परीक्षा लगायतका शुल्कहरूको भुक्तानीका लागि देहाय बमोजिमका कागजात लिई अमेरिकी डलर २५ हजार वा सोबराबर अन्य परिवत्र्य विदेशी मुद्रासम्मको सटही सुविधा उपलब्ध गराउन सक्नेछन्,’ राष्ट्र बैंकको निर्देशनमा छ ।

    विदेशबाट फर्किएका वा विदेशी मुद्रा साथमा भएका नेपालीले विदेशी मुद्रा सटही गर्दा प्राप्तिको स्रोत खुलाउनुपर्ने भएको छ । प्राप्तिको स्रोतमा वैदेशिक भ्रमणबाट फिर्ता भएको भए व्यावसायिकरऔपचारिक, व्यक्तिगत भ्रमण, शिक्षा, उपचार कुन हो भन्ने खुलाउनुपर्ने हुन्छ । त्यस्तै पेन्सन, रेमिट्यान्स र अन्य स्रोत भए त्यसलाई खुलाउनुपर्ने व्यवस्था गरेको हो ।

  • झण्डै एक दशकपछि भारतीय विदेशमन्त्री पाकिस्तानमा

    झण्डै एक दशकपछि भारतीय विदेशमन्त्री पाकिस्तानमा

    काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकर मंगलबार पाकिस्तान पुगेका छन् । दुई देशबीच वर्षौंदेखि कायम तनावका बीच कुनै पनि शीर्ष भारतीय नेतृत्वको पाकिस्तान भ्रमण एक दशकपछि भएको हो । संघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को २३ औं समिटमा भाग लिन जयशंकर इस्लामावाद पुगेका हुन् ।

    एससीओका सदस्य राष्ट्रका सरकार प्रमुखहरुको बैठकको आयोजना पाकिस्तानले गरेको छ । पाकिस्तानले त्यसमा सहभागिताका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा गरेको थियो । तर, उक्त समिटमा मोदी नगएर विदेशमन्त्री जयशंकर गएका हुन् ।

    मोदी पहिलो पटक प्रधानमन्त्री भएको एक वर्षपछि २०१५ को डिसेम्बरमा आकस्मिक रूपले पाकिस्तानको यात्रा गरेका थिए । त्यतिबेला उनी पाकिस्तानका तत्कालिन प्रधानमन्त्री नवाज सरिफको लाहोरस्थित घरमै पुगेका थिए । त्यसयता भारतबाट भएको पहिलो उच्चस्तरीय भ्रमण जयशंकरकै भएको हो ।

    २०१६ मा उरीस्थिति भारतीय सेनाको ब्रिगेड मुख्यालयमा आतंकवादी हमला भएपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण बन्न पुग्यो । त्यसयता विभिन्न घट्नक्रमले दुई देशको सम्बन्ध तनावपूर्ण नै रहँदै आएको छ ।

    पाकिस्तानका तात्कालिन विदेशमन्त्री बिलवाल भुट्टो गतवर्ष एससीओको विदेशमन्त्रीस्तरीय बैठकमा भाग लिन भारत आएका थिए । भारतले गोवामा गतवर्ष उक्त बैठकको आयोजना गरेको थियो । भुट्टोको उक्त भारत भ्रमण पाकिस्तानबाट १२ वर्षपछि त्यहाँका विदेशमन्त्रीको भारत यात्रा थियो ।

  • नेपालबाट विद्यार्थीले दुई महिनामा लगे २८ अर्ब रुपैयाँ भन्दा बढी विदेशी मुद्रा

    नेपालबाट विद्यार्थीले दुई महिनामा लगे २८ अर्ब रुपैयाँ भन्दा बढी विदेशी मुद्रा

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो दुई महिना नेपालबाट विदेश पढ्न जाने विद्यार्थीसँगै २८ अर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा बाहिरिएको छ ।
    नेपाल राष्ट्र बैंकका अनुसार शिक्षामा २८ अर्ब १६ करोड रुपैयाँ विदेशिएको छ । अघिल्लो वर्ष साउन र भदौमा शिक्षामा २३ अर्ब ३३ करोड रुपैयाँमात्र विदेशिएको थियो । शिक्षामा अधिक रकम विदेशिँदा सेवा आय निरन्तर घाटामा छ । भदौसम्म खुद सेवा आय २८ अर्ब २० करोडले घाटामा देखिन्छ । अघिल्लो वर्ष सेवा आय २५ अर्ब २३ करोडले घाटामा थियो ।

    राष्ट्र बैंकका अनुसार सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय १२.१ प्रतिशतले बढेर १० अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सेवा आय ९ अर्ब ४० करोड रुपैयाँ थियो । पर्यटक आगमनको सकारात्मक प्रभाव भ्रमण आयमा पर्छ । उता, भ्रमण व्यय भने ४३ अर्ब ४९ करोड पुगेको छ ।

    यसमध्ये शिक्षा बाहेकको भ्रमण व्यय १५ अर्ब ३३ करोड रुपैयाँ थियो । यस आँकडा अनुसार नेपाल आउने पर्यटकको तुलनामा नेपालबाट विदेश भ्रमणमा जाने नेपालीले धेरे खर्च गरिरहेको देखिन्छ । अघिल्लो वर्ष भ्रमण व्यय ३५ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय २३ अर्ब ३३ करोड थियो ।

  • चाडबाडको मुखमा दुई महिनामै विदेशबाट नेपालीले घरमा पठाए पौने ३ खर्ब रेमिट्यान्स

    चाडबाडको मुखमा दुई महिनामै विदेशबाट नेपालीले घरमा पठाए पौने ३ खर्ब रेमिट्यान्स

    काठमाडौं । चालु आर्थिक वर्ष पहिलो दुई महिना (साउन–भदौ) मा २ खर्ब ६३ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । भदौमा मात्र १ खर्ब २७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ । साउनमा १ सय ३६ अर्ब भित्रिएको थियो । चाडबाडका बेला विदेशमा रहेका नेपालीले बढी रकम नेपाल पठाउने गरेको पाइन्छ । राष्ट्र बैंकका अनुसार भदौसम्मको रेमिट्यान्स आप्रवाह अघिल्लो आवको यसै महिनाको तुलनामा १८.७ प्रतिशतले बढी हो ।

    अमेरिकी डलरमा रेमिट्यान्स १ अर्ब ९६ करोड आएको छ । अघिल्लो वर्षको यसै महिनामा डलरमा रेमिट्यान्स १ अर्ब ७३ करोड थियो । यस महिनासम्म ७६ हजार ४ सय ८५ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । ४० हजार ५ सय ८३ जनाले पुनः श्रम स्वीकृति लिएको देखिन्छ । अघिल्लो आवको सोही अवधिमा यो संख्या क्रमशः ७४ हजार ४ सय ५५ र ३२ हजार ४ थियो ।

    यस वर्ष वैदेशिक रोजगारीमा जानेको संख्यामा समेत केही वृद्धि देखिन्छ । समीक्षा अवधिमा खुद द्वितीय आय (ट्रान्सफर) २ खर्ब ८६ अर्ब ४५ करोड रुपैयाँ बराबर भएको देखिएको छ । अघिल्लो वर्ष खुद ट्रान्सफर २ खर्ब ५१ अर्ब ६५ करोड थियो ।

  • लेबनानमा शान्ति सैनिकमाथि भएको आक्रमणको नेपालद्धारा निन्दा

    लेबनानमा शान्ति सैनिकमाथि भएको आक्रमणको नेपालद्धारा निन्दा

    काठमाडौं । नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आक्रमणको निन्दा गर्दै घटनाको जाँच गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह समेत गरेको छ । सामाजिक सन्जाल एक्समा मन्त्रालयले लेखेको छ, ‘नेपाल संयुक्त राष्ट्र संघको अन्तरिम बल (यू.एन.आई.एफ.आई.एल)का शान्ति सैनिकमाथि हालै भएको आक्रमणको कडा निन्दा गर्दछ । साथै संघर्षरत सबै पक्षलाई संयुक्त राष्ट्र संघकर्मीको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दछ । यस्ता आक्रमण तत्काल रोक्नुपर्दछ र घटनाको गहन अनुसन्धान गर्नुपर्दछ ।’

    संयुक्त राष्ट्रसंघका अनुसार दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सेना आइतबार जबर्जस्ती प्रवेश गरेका थिए । यस घटनाले शान्ति सेना र इजरायली सेनाबीच तनाव बढेको थियो । त्यसको भोलिपल्ट इजरायली सेनाले हिजबुल्ला लक्षित आक्रमण गर्दा ६ जना शान्ति सैनिकसमेत घाइते भएका थिए ।
    लेबनानमा नेपाली सेना पनि संयुक्त राष्ट्र संघको शान्ति सेनाको रुपमा खटिँदै आएका छन् । संयुक्त राष्ट्रसंघको शान्ति सेनामा योगदान दिने नेपालसहित ३३ देशले सोमबार संयुक्त विज्ञप्ति निकालेर इजरायली सेनाबाट भएको आक्रमणको न्दिा गरेका छन् । उनीहरुले दक्षिणी लेबनान र मध्यपूर्वमा शान्ति र स्थिरता कायम राख्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् ।

    संयुक्त विज्ञप्तिमा हस्ताक्षरकर्ता देशहरुले संघर्षरत पक्षलाई युद्धमा अन्तर्राष्ट्रिय कानुन पालना गर्न र शान्ति सुव्यवस्था कायम राख्न आह्वान गरेका छन् । यस्तो आह्वान गर्नेहरुमा नेपालसहित अर्मेनिया, अष्ट्रिया, बांगलादेश, ब्राजिल, कम्बोडिया, चीन, साइप्रस, एलसाल्भाडोर, इस्टोनिया, फिजी, फिनल्याण्ड, फ्रान्स, घाना, ग्वाटेमाला, हंगेरी, इन्डोनेसिया, आयरल्याण्ड छन् । यसैगरी इटली, कजाकिस्तान, कोरिया, लातभिया, मलेसिया, माल्टा, मंगोलिया, नेदरल्याण्ड, पोल्याण्ड, कतार, सियरालियोन, स्पेन, श्रीलंका, टर्की, युके र तान्जानिया छन् ।

  • लेवनानस्थित राष्ट्रसंघीय शिविरमा इजरायली सेना छिरेपछि…

    लेवनानस्थित राष्ट्रसंघीय शिविरमा इजरायली सेना छिरेपछि…

    काठमाडौं । संयुक्त राष्ट्रसंघले दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सैनिक जबर्जस्ती प्रवेश गरेको आरोप लगाएको छ। यस घटनाले लेबनानमा तैनाथ संयुक्त राष्ट्र अन्तरिम बल (यूनीफील) र इजरायली सेनाबीचको तनाव बढाएको छ। बीबीसीले यूनीफीललाई उद्धृत गर्दै लेखेको छ, इजरायली सेनाको ट्यांकले आइतबार मुख्य गेट तोडेर शिविरमा प्रवेश गरेको थियो र त्यसपछि गोलीबारी पनि गरेको थियो। यसबाट शिविरमा धुवाँ फैलिएको र १५ जना शान्ति सैनिकहरू घाइते भएका थिए। उनीहरूलाई छालामा जलन र पेट सम्बन्धी समस्या देखिएको छ।

    तर, इजरायली रक्षा बल (आईडीएफ) ले भने घाइते सैनिकहरूलाई उद्धार गर्न यूनीफीलको आधार शिविरमा प्रवेश गरेको जिकिर गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् । इजरायलले बारम्बार शान्ति मिसनलाई युद्ध चलिरहेको दक्षिणी लेबनानका क्षेत्रबाट हट्न आग्रह गर्दै आएको छ। तर, यूनीफीलले यी आग्रहहरूलाई अस्वीकार गर्दै आएको छ।

    लेबनानमा करिब ५० देशका १० हजार यूएन शान्ति सैनिक र ८०० जना सर्वसाधारण कर्मचारी तैनाथ छन्। सन् १९७८ देखि यी सैनिकहरू लितानी नदी र ‘ब्लू लाइन’ भनेर चिनिने लेबनान र इजरायलबीचको सीमा क्षेत्रमा गस्ती गर्दै आएका छन्। लेबनान र इजरायलबीचको संयुक्त राष्ट्रद्वारा मान्यता प्राप्त सीमालाई ब्लू लाइन भनिन्छ। लेबनानमा रहेको संयुक्त राष्ट्र शान्ति मिसनमा नेपाल पनि एक प्रमुख योगदानकर्ता देश हो।

  • बेल्जियमको स्थानीय निकायको निर्वाचनमा दुई नेपाली मुलका उम्मेदवारको जित

    बेल्जियमको स्थानीय निकायको निर्वाचनमा दुई नेपाली मुलका उम्मेदवारको जित

    काठमाडौं । बेल्जियममा आज भएको स्थानीय निकायको निर्वाचनमा दुई नेपालीमूलका उम्मेदवारले नयाँ इतिहास रच्दै निर्वाचित भएका छन् । बेल्जियमको राजनीतिमा नेपालीको नबिन छलाङ मार्दै तीन दशक यता नेपाली बसोबास गर्न थाले यता पहिलो पटक प्रत्यक्ष चुनाबी प्रतिस्पर्धामा नेपालीहरु बिजयी भएका हुन् । दोस्रो पुस्ताको सानदार आगमनसँगै भबिष्यको राजनीतिक बाटो उज्ज्वल बनेको छ ।

    स्वायत्त र भाषिक आधारमा तीन प्रान्त रहेको संघीय र राजतन्त्रात्मक मुलुक, युरोपको राजधानीको रूपमा समेत परिचित बेल्जियमको आज सम्पन्न स्थानीय निकायको निर्वाचनमा निर्वाचन अन्तर्गत ब्रुगे नगरपालिकाको सदस्यमा नेपाली दोस्रो पुस्ताकी प्रज्ञा तिमील्सिना र लुभेन नगरपालिका सदस्यमा पहिलो पुस्ताका सूर्य ढकाल निर्वाचित भएका छन् ।

    निर्वाचनमा अन्य नगरपालिका र अन्य क्षेत्रमा ११ नेपाली पनि उम्मेदवार बनेको भए पनि तिमिल्सिना ७८८ र ढकालले १०७४ मत प्राप्त गरी निर्वाचित भए । ब्रुगे नगरपालिकाको सदस्यमा निर्बाचित तिमिल्सिना सानो उमेरमा राजनीतिमा प्रवेश गरेका हुन् । उनी सबैभन्दा कम उमेरमा उक्त नगरको सदस्यमा निर्बाचित भएका हुन् ।

    कास्की नेपालमा जन्मिएकी सबैभन्दा कान्छी सदस्यको रुपमा निर्बाचित २५ बर्षीया प्रज्ञाले निर्बाचनमा सहयोग गर्नेहरुप्रति आभार प्रकट गरेकी छिन् । आफ्नो बुवाको प्रेरणाबाट आफुलाई राजनीतिमा प्रवेश गर्न मन लागेको उनले बताइन् । उनका बुवा पूर्ण तिमिल्सिना नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति बेल्जियमका निबर्तमान सभापति एबम नेपाल बिद्यार्थी संघ कास्कीका पूर्व सभापति हुन् ।

    बेल्जियमको स्थानीय निर्वाचन यस पटक करिब पैतालिस प्रतिशतको हाराहारीमा मात्र मत खसेको थियो। गत निर्बाचनमा ६० प्रतिशत मत खसेको थियो ।
    गाउँपालिका नगरपालिका सहित ५८१ स्थानमा भएको निर्बाचनमा सूर्य ढकाल सत्तारुढ पार्टीबाट लुभेन नगरपालिकामा बिजयी बनेका हुन् ।

    आधिखोला गाउँपालिका,फापरथुम निबुवाबोट स्याङजामा जन्मिएका ढकालले आफू बिजयी बनेपछी भने, “निर्बाचनमा मतदाता र सहयोगी सबैलाई नमन गर्दछु । नेपालीले बेल्जियममा नयाँ इतिहास रच्दै आउने पुस्तालाई बेल्जियमको राजनीतिमा झन ढोका खुला भएको छ ।” अनुमानित १५ हजार नेपाली बसोबासगर्ने बेल्जियमको लुभेन क्षेत्रबाट कृष्ण सगुन क्षेत्री र ब्रुज क्षेत्रबाट रमेश कडेल जितको नजिक पुगेर पराजित भए ।

  • क्यानडामा विदेशीका लागि स्थायी बसोबासको अनुमति खुला

    क्यानडामा विदेशीका लागि स्थायी बसोबासको अनुमति खुला

    काठमाडौं । क्यानडामा बसोबास गर्न चाहने विदेशीहरूका सरकारले स्थायी बसोबासका लागि आवेदन आह्वान गरेको छ । क्यानडाको सरकारी संघीय निकाय आप्रवासन, शरणार्थी र नागरिकता विभाग (आईआरसीसी) ले एक्सप्रेस इन्ट्री प्रणाली मार्फत यस्तो आह्वान गरेको हो ।

    अक्टोबर १० बाट गरिएको यस्तो आह्वानमार्फत फेडरल स्किल्ड वर्कर प्रोग्राम, क्यानेडियन एक्सपेरियन्स क्लास र फेडरल स्किल्ड ट्रेड्स प्रोग्राममा आवेदन दिन सकिनेछ। फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार, यस पटक १००० जना यो अवसरबाट लाभान्वित हुन सक्नेछन् ।

    रिपोर्टमा उल्लेख गरिएअनुसार, सबैभन्दा कम अंक पाउने आवेदकको सीआरएस (कम्प्रिहेन्सिभ र्‍याङ्किङ सिस्टम) स्कोर ४४४ थियो। क्यानडामा बस्न चाहनेहरूले दिनुपर्ने एक किसिमको भाषा परीक्षालाई सीआरएस भनिन्छ। यसपटक फ्रान्सेली भाषा जान्नेहरूलाई बढी प्राथमिकता दिइएको छ।

    एक्सप्रेस इन्ट्रीका लागि योग्य हुन आवेदकले स्वीकृत भाषा परीक्षा उत्तीर्ण गरी आफ्नो कार्यक्रमका लागि आवश्यक न्यूनतम अंक प्राप्त गर्नुपर्छ। साथै, आवेदन फारम भर्दा अंग्रेजी वा फ्रान्सेली भाषाको ज्ञान भएको प्रमाणित गर्नुपर्छ। आवेदकहरूको अंग्रेजी वा फ्रान्सेली भाषाको स्तर मापन गर्न आईएलसीबी र एनसीएलसी बेञ्चमार्क प्रयोग गरिन्छ। क्यानडा जान चाहनेहरूको अंग्रेजी वा फ्रान्सेली भाषा कति राम्रो छ भनेर जाँच गर्ने विधिलाई आईएलसीबी र एनसीएलसी बेञ्चमार्क भनिन्छ।

    क्यानेडियन सरकारले एक्सप्रेस इन्ट्री प्रणालीमार्फत हरेक दुई हप्तामा आवेदकहरू छनोट गर्दछ। प्रान्तीय नामांकन कार्यक्रम (पीएनपी) अन्तर्गत पछिल्लो चयन प्रक्रिया अक्टोबर ७, २०२४ मा भएको थियो। क्यानडाका विभिन्न प्रान्तहरूले आफ्नै आवश्यकताअनुसार मानिसहरूलाई छनोट गर्नेगर्दछ जसलाई त्यसबेला १६१३ जनालाई आवेदन दिन निमन्त्रणा गरिएको थियो।

    क्यानडामा बस्न चाहनेका लागि प्रान्तीय नामांकन कार्यक्रम (पीएनपी) एउटा राम्रो विकल्प हो। यस कार्यक्रममार्फत अन्य देशका नागरिकहरूले क्यानडाको कुनै निश्चित प्रान्तमा गएर स्थायी रूपमा बस्न सक्छन्। उनीहरूले त्यहाँ काम गर्न सक्छन्, पढ्न सक्छन् र आफ्नो परिवारसँग बस्न सक्छन्।

    क्यानडाका हरेक प्रान्तमा विभिन्न प्रकारका दक्ष कामदारको आवश्यकता पर्छ। जस्तै, कुनै प्रान्तमा इन्जिनियरको आवश्यकता छ भने अर्को प्रान्तमा नर्सको आवश्यकता पर्न सक्छ। प्रत्येक प्रान्तले आफ्नो आवश्यकताअनुसार विदेशी कामदारहरूलाई छनोट गर्छ। यसका लागि उनीहरूले शिक्षा, कार्य अनुभव, भाषाको ज्ञान जस्ता कुराहरू हेर्छन्।

    पीएनपी मार्फत क्यानडा आउने व्यक्तिहरूले स्थायी बसोबासको सुविधा पाउँछन्। यसको अर्थ, उनीहरूले क्यानडामा लामो समयसम्म बस्न सक्छन् र आफ्नो परिवारलाई पनि ल्याउन सक्छन्। यसले क्यानडाको अर्थतन्त्रलाई बलियो बनाउन र विभिन्न क्षेत्रमा दक्ष कामदारको अभावलाई पूरा गर्न मद्दत गर्छ भने यसले विदेशी कामदारहरूलाई राम्रो जीवनयापन र उज्ज्वल भविष्यको अवसर प्रदान गर्छ।

  • कृषि मन्त्री इटाली प्रस्थान

    कृषि मन्त्री इटाली प्रस्थान

    काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी विश्व खाद्य मञ्चको बैठकमा भाग लिन इटालीको राजधानी रोम प्रस्थान गरेका छन् ।
    संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको आयोजनामा हुने मञ्चको बैठकमा भाग लिन मन्त्री अधिकारीको नेतृत्वमा मन्त्रालयका अधिकारीसहितको प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्तान गरेको उनका प्रेस संयोजक प्रवीण पोखरेलले जानकारी दिए ।

    मञ्चको बैठक सोमबार अर्थात् अक्टोबर १४ देखि सुरु हुनेछ। बैठक १८ अक्टोबर सम्म सञ्चालन हुने जनाइएको छ । प्रतिनिधिमण्डलमा प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुम थापालगायत रहेको उनले जानकारी दिए । नेपाली प्रतिनिधिमण्डलले खाद्य सुरक्षा र खाद्य स्वच्छताका क्षेत्रमा गरेका कामका विषय मञ्चको बैठकमा प्रस्तुत गरिने जनाइएको छ ।

  • विदेशमा हुनेलाई कति बजे दशैंको उत्तम साइत ?

    विदेशमा हुनेलाई कति बजे दशैंको उत्तम साइत ?

    काठमाडौं । आज बडादशैंको अन्तिम दिन, मान्यजनबाट दुर्गादेवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ । नेपालका लागि टीकाको उत्तम साइत बिहान ११:३६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले भने नेपालसहित ३२ देशका लागि पनि बडादशैंको टीकाको साइत सार्वजनिक गरेको छ ।

    विभिन्न देशमा हुने बसोबास गर्ने नेपालीहरुको सुविधाका लागि समितिले टीकाको साइत तोकिदिएको हो । टीकाको साइत तय गर्दा स्थान विशेषको सूर्योदयको समय र दशमी तिथीको आधारमा गरिन्छ । त्यसैले टीकाको साइत विभिन्न देशमा फरक दिन र फरक समयमा पर्ने गरेको छ । उदाहरणका लागि अष्ट्रेलियामा दशैंको टीका नेपालभन्दा एक दिन ढिलो अर्थात् १३ अक्टुबर (असोज २७ गते) परेको छ ।

  • न्यूह्यामसरमा दशैं उत्सव, समाजसेवी थापा र गुरुङ सम्मान्नित

    न्यूह्यामसरमा दशैं उत्सव, समाजसेवी थापा र गुरुङ सम्मान्नित

    म्यानचेष्टर

    न्यूह्यामसर नेपाली समाजको आयोजनामा शनिबार बृहत दशैं उत्सव साँझ सम्पन्न भएको छ । राज्यका बिभिन्न भेगमा बसोबास गर्ने नेपालीहरु म्यानचेस्टरमा भेला भएर सामुहिक रुपले दशै साँझ मनाएका हुन् ।

    उत्सवमा बिभिन्न सांगितक एवं सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । साथै दशैं साँझको अवसर पारेर समाजले पूर्व अध्यक्ष एवं समाजवेसी रविन थापालाई सम्मान समेत गरेको छ । स्थानिय समिट न्यूह्यामसरका अध्यक्ष रहेका थापाले समाजले आयोजना गर्ने हरेक कार्यक्रमलाई खुलेर सहयोग गर्दै आएका छन्।

    समाजले बर्षेनी आयोजना गर्ने सकर (फूटबल) प्रतियोगितामा थापाले मुख्य प्रायोजकको रुपमा सघाउँछन् भने अन्य गतिविधीमा पनि उत्तिकै खुलेर सहयोग गर्दै आएका छन् । थापाको समिट न्यूह्यामसरसँगकै सहकार्यमा समाजले बार्षिक रुपले स्वयंसेवी (भोलुनटिअर) अवार्ड पनि वितरण गर्दै आएको छ ।

    थापालाई समाजका अध्यक्ष लाक्पा शेर्पा, संस्थापक अध्यक्ष मिन गौतम एवं पूर्व अध्यक्ष सोम गुरुङले दोसल्ला ओढाएर सम्मान गरेका हुन् । सम्मान पछि बोल्दै थापाले परदेशमा आएर नेपालीहरुलाई जोड्ने गतिविधीमा समाजले चालेको कदमको सह्राना गरेका थिए । ‘खेलकुद देखि सांस्कृतिक गतिविधीसम्मको प्रवर्धनमा न्यूह्यासर नेपाली समाज खटि रहेको छ, आगामी दिनमा यसले निरन्तरता पाओस्’ थापाको भनाइ थियो ।

    यस्तै समाजले गत बर्ष वितरण सुरु गरेको एनएचएनसी भोलुनटिअर अवार्ड न्यूह्यासर दिदी बहिनी समुहकी अध्यक्ष किरण गुरुङलाई प्रदान गरेको छ । हरेक सामाजीक गतिविधीमा अहोरात्र खट्ने गुरुङको सकृयतालाई कदर गर्दै समाजले उक्त अवार्ड प्रदान गरेको हो । गुरुङलाई समाजका अध्यक्ष शेर्पा एवं पूर्व अध्यक्षहरु गौतम, थापा र गुरुङले सम्युक्त रुपमा सम्मान एवं प्रोत्साहन स्वरुप एक हजार डलर नगद सहित अवार्ड प्रदान गरेका थिए ।

    कार्यक्रममा न्यूह्यामसरका बिभिन्न भेटमा रहेका फरक उमेर समूहका कलाकारहरुले गायन, नृत्य लगायतका कला प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागी सम्पुर्णलाई स्वागत गर्दै समाजका उपाध्यक्ष माधव गुरुङले दशैंको अवसरले बिदेशको व्यस्त समयमा पनि एक आपसमा भाइचारा र खुसीयाली साट्ने अवसर प्रदान गरेको बताए ।

    समाजका अध्यक्ष शेर्पाले यस्ता सांस्कृतिक चाडबाड र उत्सवमा सबैको सहभागिताले मात्र भावी पुस्तालाई आफ्नो संस्कार र संस्कृति सिकाउन सकिने उल्लेख गरे ।

  • गैरआवासीय नेपाली संघद्धारा काभ्रेमा राहत वितरण

    गैरआवासीय नेपाली संघद्धारा काभ्रेमा राहत वितरण

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काभ्रेको पनौतीका बाढी, डुबान तथा पहिरोबाट प्रभावित ४ सय १ परिवारका लागि राहत वितरण गरेको छ । अध्यक्ष डा बद्री केसीको नेतृत्वमा संघको तर्फबाट गएको टोलीले बाढी तथा डुबानका कारण प्रभावितहरुलाई गैरआवासीय संघ केन्द्रको आहवान तथा राष्ट्रीय परिषद यूकेको आर्थिक सहयोगमा खाद्य सामग्री, म्याट्रेस, त्रिपाल, सोलार बत्ती, प्राथमिक उपचार बक्सलगायतका सामग्रीहरु वितरण गरिएको हो । स्थानीय तहसँग समन्वय पश्चात वडा नम्बर १ का १२३ परिवार २ का ५३ परिवार ३ का २५ परिवार र १२ मा २०० परिवार लाई राहत वितरण गरिएको जानकारी दिइएको छ ।

    यसअघि संघले अविरल वर्षापछि आएको बाढी, डुबान तथा पहिरो प्रभावितका लागि १ करोड सहयोग गर्ने घोषणा गरेको थियो । जसअनुसार एनसीसी यूकेले रू १५ लाख सहयोग गरेको थियो । यसअघि आइतबार दक्षिणकाली, सिस्नेरीमा राहत वितरण गरिएको थियो । यस्तै, बुधबार ललितपुर ठोस्नेखोलामा राहत वितरण गर्ने तयारी पूरा भएको छ । संघले तराईका विभिन्न जिल्लामा पनि राहत वितरणका लागि स्तानीय तहसँग समन्वय गरिरहेको छ । यस्तै प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा समेत संघले आर्थिक सहयोग गर्ने निर्णय भइसकेको छ ।

  • स्वास्थ्य मन्त्री भारत भ्रमणमा, समकक्षीबीच भेट

    स्वास्थ्य मन्त्री भारत भ्रमणमा, समकक्षीबीच भेट

    काठमाडौं । भारत भ्रमणमा रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेलले भारतीय समकक्षी जेपी नड्डासँग भेटवार्ता गरेका छन् । विश्व स्वास्थ्य संगठनको कार्यक्रममा भाग लिन नयाँ दिल्ली पुगेका स्वास्थ्यमन्त्री पौडेलले भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डासँग भेटवार्ता गरेका हुन् । नड्डा भारतीय जनता पार्टी (भाजपा) का अध्यक्षसमेत हुन् । नयाँ दिल्लीस्थित निर्वाण भवनमा भएको भेटमा नड्डाले जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्र, तनहुँलाई ३०० शय्या बनाउने प्रतिबद्धता जनाएका छन् । साथै ट्रमा सेन्टरको स्तरोन्नति, डायलाासिस सेवा थप्नका लागि आवश्यक सहयोग गर्न पनि नड्डा सकारात्मक छन् ।


    अब केही समयमा यसबारे दिपक्षीय समझदारी गर्ने सहमति भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकास देवकोटाले जानकारी दिए । मन्त्री पौडेलले भारतीय समकक्षी नड्डालाई नेपाल भ्रमणको निम्तो समेत दिएका छन् । ‘नेपालको स्वास्थ्य पूर्वाधार विकासमा भारतले महत्वपूर्ण योगदान दिएको छ’, भेटपछि मन्त्री पौडेलले भने, ‘भारतीय पक्षबाट प्राप्त सहयोग प्रतिबद्धताले सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत गर्नेछ ।’

  • लेबनन घटनामा सर्तक रहन परराष्ट्र मन्त्रीको निर्देशन

    लेबनन घटनामा सर्तक रहन परराष्ट्र मन्त्रीको निर्देशन

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले इसराइल र लेबननमा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी लिएर ‘अपडेट’ भइरहन त्यहाँस्थित नेपली दूतावासहरूलाई निर्देशन दिएकी छन्। ती देशमा रहेका नेपाली राजदूतहरूसँग आइतबार मन्त्रालयबाट भर्चुअल बैठक गरी उनले इसराइल र लेबननमा विकसित पछिल्लो परिस्थितिबारे जानकारी लिएकी थिइन्। बैठकमा मन्त्री राणाले पछिल्लो समयमा विशेष गरी लेबननमा विकसित परिस्थितिका कारण त्यहाँ रहेका नेपालीको अवस्थाबारे नेपालमा चिन्ता बढिरहेको बताइन्।

    उनले त्यहाँ रहेका नेपाली र उनीहरूका परिवारको सम्पर्कमा रहेर आवश्यक सहयोग गर्न निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ।
    ‘कुनै पनि प्रकारले त्यहाँ रहेका सबै नेपालीहरुको सम्पर्कमा पुग्ने प्रयास गर्नु, कोही तत्कालै स्वदेश फर्कनका लागि सहयोग चाहनुहुन्छ भने त्यसका लागि समन्वय गर्नु र यदि त्यहाँबाट नेपाली नागरिकको उद्धार गरेर स्वदेश ल्याउनुपर्ने अवस्था आउनसक्छ भने त्यसका लागि पनि आवश्यक गृहकार्य गर्नुहोला,’ उनले भनिन्।

    मन्त्री राणाले सम्बन्धित देशका दूतावासहरूलाई सूचना जारी गरी सम्पर्क व्यक्ति तोक्न र आवश्यकताअनुसारका हेल्पडेस्क स्थापना गरेर समस्यामा परेका नेपालीहरूलाई आवश्यक सहायता र समन्वय प्रदान गर्न निर्देशन दिएकी छन्। इजिप्टका लागि नेपाली राजदूत सुशील लम्सालले लेबननको पछिल्लो अवस्थाको जानकारी गराउँदै त्यहाँ रहेका नेपालीहरुलाई अहिले नै त्यस्तो कुनै समस्या नरहेको बताए।

    लेबननमा करिब एक हजार २०० नेपाली रहेका अनुमान गरिएको छ। उनीहरूमध्ये अधिकांश घरायसी काममा रहेका जानकारी दिँदै दूतावासले जारी गरेको सूचनाका आधारमा तीन जना मात्र सम्पर्कमा आएको उनले बताएका थिए। उनीहरू पनि बेरुतमा सुरक्षित रहेको जानकारी दिएको उनले बताए।

    हाल कुनै पनि नेपालीले आफूलाई समस्या परेको भनी रिपोर्टिङ नगरेको तर नेपालमा रहेका आफन्तहरू बढी चिन्तित भएको पनि उनले जानकारी दिए।
    त्यसैगरी इसराइलका लागि नेपली कार्यवाहक राजदूत कुमार श्रेष्ठले पनि त्यहाँको अवस्था सामान्य रहेको बताए। इसराइलमा रहेका करिब चार हजार ५०० नेपाली सुरक्षित रहेको उनको कथन थियो। त्यस्तै पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इरानको पछिल्लो अवस्थाका बारेमा जानकारी दिएका दिए।

  • किन भुटान गएका थिए पूर्वराजा ज्ञानेन्द्र ?

    किन भुटान गएका थिए पूर्वराजा ज्ञानेन्द्र ?

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले हिमाली अधिराज्य भुटानको चार दिने भ्रमण सकाएर आइतबार स्वदेश फर्केका छन् । बिहीबार भुटान पुगेका पूर्वराजाको भ्रमण अनोपचारिक भनिए पनि विशिष्ट दर्जाको सम्मान उनले पाएका हुन् । भुटानको राजधानी थिम्पु उड्नुअघि उनले बाढीपहिरोमा ज्यान गुमाउने, घाइते र पीडितहरुप्रति ‘श्री ५ महाराजाधिराज’ कै हैसियतमा वक्तव्य निकालेर श्रद्धान्जली, समवेदना व्यक्त गरेका थिए । लगत्तै उनले भुटानका राजा तथा राजपरिवार भेटेको प्रसंगले यतिखेर चर्चा पाइरहेको छ ।


    भुटानी राजा जिग्मे खेर नामग्यालका पिता जिग्मे सिंगे वाङचुकको निम्तामा शाह छोरीहरु प्रेरणा र शीताष्मा सहित शाह थिम्पु पुगेका थिए । राजकुमारी पेमा वाङचुकले उनलाई एयरपोर्टमै स्वागत गरेकी थिइन् । शाहले पाएको रेडकार्पेटसहितको विशेष सम्मानलाई कुनै राष्ट्राध्यक्षले पाएकै बराबरको सम्मान भनी चर्चा गरिएको छ ।

    यद्यपि शाहका निजी सचिव फणिराज पाठकले भने यो निजी भ्रमण भएको बताएका छन् । शाहले पूर्व राजा जिग्मे सिंगेसँग भेटवार्ता गरेका थिए । राजा जिग्मे खेसरसँग पनि उनको कुराकानी भएको थियो । सबै भेटघाटहरुमा उनलाई विशिष्ट दर्जाको सम्मान दिइएको थियो । शाहले भुटानका महत्वपूर्ण धार्मिक स्थलमा पुजा आजा पनि गरे ।

    कुनै बेला दार्जिलिङको सेन्ट जोसेफ स्कुलमा पढेका पूर्वराजा ज्ञानेन्द्र शाह ले त्यहीँ पढेका भुटानी राजाले आयोजना गरेको पुनर्मिलन कार्यक्रममा अतिथि बनेर भाग लिएका थिए ।

  • मेक्सिकन प्रहरीले ग्वाटेमालामा गोली हानेको ट्रकमा ११ जना नेपाली रहेको पुष्टी

    मेक्सिकन प्रहरीले ग्वाटेमालामा गोली हानेको ट्रकमा ११ जना नेपाली रहेको पुष्टी

    काठमाडौं । मेक्सिकोग्वाटेमाला सीमा नजिक मेक्सिकोको सीमा बलले गोली हानेको ट्रकमा ११ जना नेपाली रहेको पुष्टि भएको छ । ती मध्ये ३ जनाको घाइते अवस्थामा उपचार भइरहेको छ । ११ जनानै मेक्सिको अध्यागमनको हिरासतमा रहेको बासिङ्टनस्थित नेपाली दूतावासले जनाएको छ । घटनामा कुनै पनि नेपालीको मृत्यु भएको छैन । दूतावास सम्बन्धित मेक्सिकन अधिकारीहरूसँग सम्पर्कमा छ र थप सान्दर्भिक जानकारी उपलब्ध हुनेवित्तिकै घटनाको बारेमा थप अपडेट गर्नेछ, दूतावासको प्रेसनोटमा छ ।

    नेपालीसहित ३३ आप्रवासी चढेको ट्रकमा मेक्सिकन सेनाले गोली हानेको थियोे ।उक्त घटनामा ६ जनाको ज्यान गएको थियो । मंगलबार साँझ ग्वाटेमालासँगको सीमाबाट करिब ४० किलोमिटर उत्तरमा भएको घटनामा थप १० घाइते भएको मेक्सिकोको रक्षा मन्त्रालयले जनाएको छ । ट्रकमा नेपालसहित भारत, पाकिस्तान, इजिप्ट, क्यूबा र अरबी नागरिक सवार थिए । मेक्सिकोको रक्षा मन्त्रालयका अनुसार आक्रमणमा मारिएकामध्ये ४ जनाको घटनास्थलमै र २ जनाको अस्पतालमा ज्यान गएको हो ।

    सैनिकहरू सीमा गस्तीमा रहेका बेला आप्रवासी चढेको गाडीबाट विस्फोटको आवाज सुनेपछि सेनाले गोली चलाएको जनाएको छ । समाचार संस्था रोयटर्सले भने अधिकारीहरूलाई उद्धृत गर्दै मेक्सिको–ग्वाटेमाला सीमाक्षेत्रको दक्षिण चियापास राज्यको हुइस्टलामा सैनिकहरूले आप्रवासी सवार ट्रकलाई चेकपोष्टमा रोक्न खोजेको तर नरोकिएपछि गोली चलाएको जनाएको छ । गोली चलाउने सैनिकहरूलाई निलम्बन गरिएको जनाइएको छ ।

    अवैध बाटो (डकं रुट) हुँदै अमेरिका प्रवेश गर्नेहरूले मेक्सिको–ग्वाटेमाला सीमाक्षेत्रको दक्षिण चियापाको रुट प्रयोग गर्दै आउने गरेका छन् । मानव तस्कहरूले नेपाललगायत मुलुकका युवाबाट ठूलो रकम लिएर जोखिमपूर्ण यात्रा गराउँदै उक्त बाटोबाट अवैध रूपमा अमेरिका छिराउने गरेका छन् ।


    पछिल्लो समय मेक्सिकोले त्यसरी प्रवेश गर्नेहरूमाथि कडा कारबाही गर्न थालेको छ । अमेरिकाले सीमामा हुने त्यस किसिमका गतिविधि रोक्न मेक्सिको सरकारलाई चेतावनी दिँदै आएको छ । अमेरिकी दबाबका कारण मेक्सिकोले सीमाक्षेत्रमा कडाई गर्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

  • अमेरिकामा प्रधानमन्त्रीले बोलेका शब्द सामाजिक सञ्जालमा ट्रोल, एमाले महासचिवको अझ हास्यास्पद स्टाटस

    अमेरिकामा प्रधानमन्त्रीले बोलेका शब्द सामाजिक सञ्जालमा ट्रोल, एमाले महासचिवको अझ हास्यास्पद स्टाटस

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका भ्रमणका क्रममा भनेका ‘गैंडाज्’ र ‘डाँफेज्’जस्ता शब्दलाई स्थापित गर्न निरन्तर प्रयास गर्नुपर्ने बताएका छन् । ज्ञान सिद्धान्त निर्माणमा पश्चिमाकरणको मान्यता मात्र ठिक भन्ने बौद्धिक मत उचित नहुने भन्दै महासचिव पोखरेलले विश्वज्ञान सिद्धान्तको विकासमा एशियाली दृष्टिकोण आवश्यक छ भन्ने सत्यलाई बुझ्नुपर्ने उल्लेख गरेका छन् ।

    संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन अमेरिका गएका बेला प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा ‘गैंडाज्’ र ‘डाँफेज्’ शब्द प्रयोग गरेका थिए । त्यसपछि सामाजिक सन्जालमा उनलाई ट्रोल बनाइएको थियो । यसै सन्दर्भमा शुक्रबार एमाले महासचिव पोखरेलले प्रधानमन्त्रीलाई अंग्रेजी नआएको भनेर उडाउने प्रयास भइरहेको गुनासो सामाजिक सन्जाल फेसबुकमा गरेका छन् ।

    तर प्रधानमन्त्री ओलीले केही समय पहिले नेपालमा पनि अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीहरुलाई सम्बोधन गर्ने क्रममा डाँफे र गैंडालाई अंग्रेजीमा समेत नेपाली नामबाटै सम्बोधन गर्न उचित हुने विषय उठाएको स्मरण पोखरेलले गरेका छन् । त्यसैले ओलीको अमेरिका भ्रमणका सन्दर्भमा प्रयोग गरिएको ‘गैंडाज्’ र ‘डाँफेज्’जस्ता शब्दलाई सोही परिप्रेक्षमा बुझ्नुपर्ने उनले बताएका छन् ।

    ‘यद्यपि उहाँको त्यो विचारले अहिले नै मान्यता पाइहाल्छ भन्ने होइन । तर ज्ञान सिद्धान्त निर्माणमा पश्चिमाकरणको मान्यता मात्र ठिक भन्ने बौद्धिक मत उचित होइन,’ एमाले महासचिव पोखरेलले फेसबुकमा लेखेका छन्, ‘विश्वज्ञान सिद्धान्तको विकासमा एशियाली दृष्टिकोण आवश्यक छ भन्ने सत्यलाई बुझ्नु पर्दछ र त्यसलाई स्थापित गर्न निरन्तर प्रयास गर्नु पर्दछ ।’

  • अमेरिका र कतार भ्रमण पुरा गरी परराष्ट्र मन्त्री स्वदेश फिर्ता

    अमेरिका र कतार भ्रमण पुरा गरी परराष्ट्र मन्त्री स्वदेश फिर्ता

    काठमाडौं । कतारमा आयोजित एशिया को-अपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा भाग लिई परराष्ट्रमन्त्री आरजु राणा देउवा स्वदेश फर्किएकी छन् ।
    क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक र अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री राणा कतार पुगेकी थिइन् । आफ्नो विदेश भ्रमण नेपालको छवि बढाउन र समृद्धिका लागि बाह्य लगानी भित्र्याउने काममा फलदायी रहेको उनले बताइन् ।

    ‘त्यहाँ स्पोर्टस् डिप्लोमेसीको कुरा पनि थियो । त्यसमा मैले नेपालमा माउन्टेरनियरिङ र वाटर र्‍याफ्टिङको एकदमै सम्भावना छ । हामी त्यसमा लिडरसिप लिनसक्छौं भन्ने कुरा राखेर आएको छु’, उनले भनिन् । अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि बढाउन, नेपालमा लगानी ल्याउन र नेपालको विकास गर्ने कामका लागि आफ्नो भ्रमण सफल भएको उनले बताइन् । तारमा आयोजित सम्मेलनमा एसिडी सम्मेलनको क्रममा परराष्ट्रमन्त्री राणाले विभिन्न देशका समकक्षीहरुसँग द्विपक्षीय हितका विविध विषयमा छलफल गरेकी थिइन् ।