Category: डायस्पोरा

  • राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट, चीन भ्रमणबारे व्रिफिङ

    राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट, चीन भ्रमणबारे व्रिफिङ

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति निवासमा भएको भेटमा आसन्न चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले छलफल गरेको उनको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले पनि प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिएको उनको सचिवालयले बताएको छ ।

    उनी परराष्ट्रमन्त्री आरजु राणा देउवालाई लिएर राष्ट्रपति पौडेललाई भेट्न पुगेका थिए । प्रधानमन्त्री ओली आगामी सोमबार चीनको औपचारिक भ्रमणमा जाँदैछन् । उनले आफ्नो भ्रमणबारे जानकारी गराएको उल्लेख गर्दै अन्य विविध विषयमा पनि छलफल भएको सचिवालयले बताएको छ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी भइरहेको बताएको छ ।

  • परराष्ट्र मन्त्री राणा आज स्वदेश फर्किने

    परराष्ट्र मन्त्री राणा आज स्वदेश फर्किने

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज स्वदेश फर्कँदै छिन्। चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ गएकी राणा चीनको छेङ्दुबाट आज बिहान स्वदेश फर्किने उनका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार चीनको सिचुआन प्रान्तस्थित छेङ्दु पुगेका उनले शुक्रबार अपराह्न चिनियाँ विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए।

    सो भेटवार्ता छेङ्दुमा भएको थियो। सो अवसरमा उनीहरुबीच नेपाल चीन सम्बन्ध र द्विपक्षीय हितका विविध पक्षका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका बारेमा कुराकानी भएको थियो। प्रधानमन्त्री ओली आगामी सोमबार चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्दैछन्। परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पनि सहभागी हुनेछन्।

  • ‘बीआरआई सहकार्य फ्रेमवर्क’मार्फत चीनसँग ६ पूर्वाधार निर्माणको प्रस्ताव गरिँदै

    ‘बीआरआई सहकार्य फ्रेमवर्क’मार्फत चीनसँग ६ पूर्वाधार निर्माणको प्रस्ताव गरिँदै

    काठमाडौं । सत्तारुढ दल कांग्रेस र एमालेले शुक्रबार ‘बीआरआई सहकार्य फ्रेमवर्क’मा सहमति जुटाएका छन् । सहमति अनुसार चीनलाई ६ वटा पूर्वाधार परियोजना निर्माणको लागि प्रस्ताव गरिने भएको छ । नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका दौरानमा पूर्वाधार विकास, खेलकुद विकास र सहरी विकास गरी ६ वटा परियोजनाको लागि प्रस्ताव गर्ने भएको छ ।

    परियोजना नेपालले चीनलाई अनुदानमा निर्माणको लागि आग्रह गर्नेछ । नेपालले प्रस्ताव गर्न लागेको परियोजनाहरुमा एक जलविद्युत् आयोजना, एक ट्रान्समिसन लाइन, नेपाल–चीन औद्योगिक फ्रेन्ड्स पार्क, मैत्रीपूर्ण पार्क, झापामा स्पोर्ट्स एन्ड एथलेटिक्स कम्प्लेक्स, मदन भण्डारी विश्वविद्यालय र काठमाडौं साइस्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम रहेको बताइएको छ । प्रधानमन्त्री ओली आगामी साता चीन भ्रमणमा जाँदैछन् ।

  • चिनियाँ विदेश मन्त्रीलाई नेपाल भ्रमणको निम्ता

    चिनियाँ विदेश मन्त्रीलाई नेपाल भ्रमणको निम्ता

    काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाल भ्रमणको निम्तो दिएकी छिन् । शुक्रबार चीनको शहर छेङ्दुमा भएको भेटमा परराष्ट्रमन्त्री राणाले विदेशमन्त्री वाङलाई नेपाल भ्रमणको निम्तो दिएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणको तयारीका लागि चीन पुगेकी परराष्ट्रमन्त्री राणाले शुक्रबार द्विपक्षीय भेटवार्ता गरेकी थिइन् ।

    भेटका क्रममा चीन सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोका विषयमा छलफल भएको बताइएको छ । परराष्ट्रमन्त्री राणा भोलि चीनबाट स्वदेश फर्कनेछिन् भने सोमबार प्रधानमन्त्री ओलीसँग पुनः त्यसतर्फ जानेछिन् । प्रधानमन्त्री ओलीले १७ मंसिरदेखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्दैछन् ।

  • अष्ट्रेलियामा १६ वर्ष मुनीकाले सामाजिक सञ्जाल चलाउन नपाउने

    अष्ट्रेलियामा १६ वर्ष मुनीकाले सामाजिक सञ्जाल चलाउन नपाउने

    काठमाडौं । अस्ट्रेलियाका सांसदहरूले फेसबुक, इन्स्टाग्राम र एक्स जस्ता लोकप्रिय साइटहरूमा विश्वको सबैभन्दा कडा नियन्त्रणमध्ये एकलाई अनुमोदन गर्दै बिहीबार १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने ऐतिहासिक नियमहरू पारित गरेका छन् । विधेयकलाई अब दुवै संसदीय सदनहरूलाई द्विदलीय समर्थनका साथ पारित गरेको छ र सामाजिक सञ्जाल कम्पनीहरूले चाँडै युवा किशोरहरूलाई खाता खोल्नबाट रोक्न ‘उचित कदम’ चाल्ने अपेक्षा गरिएको छ ।

    ऐनको पालना नगरे पाँच करोड अस्ट्रेलियन डलरसम्म जरिबाना तिर्नुपर्ने कम्पनीहरूले ऐनलाई ‘अस्पष्ट’, ‘समस्याग्रस्त’ र ‘हतार’ भनेर वर्णन गरेका छन् ।
    विधेयक बुधबार संसद्को तल्लो सदनबाट र बिहीबार साँझ सिनेटबाट पारित भएको छ । अब यो कानून बन्ने निश्चित छ ।

    केन्द्र–वाम प्रधानमन्त्री एन्थोनी अल्बानिजले अर्को वर्षको सुरुमा हुने चुनावलाई ध्यानमा राख्दै उत्साहपूर्वक नयाँ नियमहरूको समर्थन गरेका छन् । अस्ट्रेलियाका अभिभावकहरूलाई यसबाट टाढा रहन आह्वान समेत गरेका छन् । मतदानअघि उहाँले सामाजिक सञ्जाललाई ‘सहकर्मी दबावको मञ्च, चिन्ताको चालक, ठगीको वाहन र सबैभन्दा खराब, अनलाइन शिकारीहरूको उपकरण’ का रूपमा चित्रण गरे । कागजमा यो प्रतिबन्ध संसारमा सबैभन्दा कडामध्ये एक हो ।

    तर हालको विधेयकले नियमहरू कसरी लागू गरिनेछ भन्नेबारे लगभग कुनै विवरण प्रदान गर्दैन । त्यसैले यसले विशेषज्ञहरूमाझ यो केवल प्रतीकात्मक र लागू गर्न असम्भव कानून हो भन्ने चिन्ता जगाएको छ । नियामकहरूद्वारा विवरणहरू तयार हुन र प्रतिबन्ध लागू हुन कम्तीमा १२ महिना लाग्नेछ ।

    ह्वाट्सएप र युट्युब जस्ता केही कम्पनीलाई सम्भवतः छुट दिइनेछ । यिनीहरूलाई किशोरकिशोरीहरूले मनोरञ्जन, स्कूलको काम वा अन्य कारणका लागि प्रयोग गर्न आवश्यक पर्दछ । सरकारले जारी गरेको डिजिटल परिचय पहिचानको उमेर प्रमाणीकरणको माध्यमका रूपमा प्रयोग गर्न सकिँदैन भनेर सुनिश्चित गर्न ढिलो संशोधनहरू प्रस्तुत गरिएको थियो ।


    सामाजिक सञ्जाल विशेषज्ञ सुसान ग्रान्थमले बच्चाहरूलाई उनीहरूले अनलाइन हेरेका कुराहरूबारे ‘आलोचनात्मक’ रूपमा सोच्न सिकाउने डिजिटल साक्षरता कार्यक्रमहरू फिनल्यान्डमा प्रयोग गरिएको मोडेल जस्तै अपनाउनु पर्ने बताए । अन्य मुलुकहरूले यो विधेयकलाई नजिकबाट निगरानी गर्नेछन् र धेरैले समान प्रतिबन्धहरू लागू गर्ने विचार गर्नेछन् ।

    स्पेनदेखि फ्लोरिडासम्मका कानूनवेत्ताहरूले युवा किशोरहरूका लागि सामाजिक सञ्जाल प्रतिबन्धहरू प्रस्ताव गरेका छन् तर अहिलेसम्म कुनै पनि उपायहरू लागू भएका छैनन् । चीनले सन् २०२१ देखि किशोरहरूको पहुँच सीमित गरेको छ । त्यहाँ १४ वर्षमुनिका बालबालिकालाई टिकटकको चिनियाँ संस्करण डाउइनमा दैनिक ४० मिनेटभन्दा बढी बिताउन अनुमति छैन । चीनमा बालबालिकाहरूको अनलाइन गेमिङ समयसमेत सीमित गरिएको छ । रासस\एएफपी

  • नेपाल र फिनल्याण्डबीच लगानी सम्झौता

    नेपाल र फिनल्याण्डबीच लगानी सम्झौता

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबीच भेटवार्ता भएको छ। अर्थ मन्त्रालयमा बिहीबार भेटवार्ता भएपछि नेपाल सरकार र फिनल्याण्ड सरकारबीच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी खाका सम्झौतामा हस्ताक्षर भएको छ। फिनल्याण्डको सार्वजनिक लगानी सुविधा योजनाअन्तर्गत वित्त परिचालन हुने परियोजना अनर्गत नेपालसँग सम्झौता गरिएको हो।

    सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेइकाले हस्ताक्षर गरेका छन्। यो सम्झौताको नेपालमा सामाजिक–आर्थिक पूर्वाधार सुदृढ गर्न र दिगो विकासलाई प्रोत्साहन गर्न परियोजनामा आधारित सहुलियतपूर्ण वित्तीय परिचालन गर्ने लक्ष्य रहेको छ।

    अनुदान प्राप्त परियोजनाहरूमार्फत नेपालले खानेपानी, फोहोर व्यवस्थापन, ऊर्जा र विद्युत, डिजिटलाइजेसन, मौसम विज्ञान, स्वास्थ्य सेवा प्रविधि, विपद् व्यवस्थापन र उद्धार सामग्रीलगायत विविध सामाजिक–आर्थिक पूर्वाधारमा लगानी गर्न सक्ने उल्लेख गरिएको छ।

    आर्थिक परिचालन प्रक्रिया सार्वजनिक क्षेत्र लगानी सुविधा मार्गदर्शनद्वारा निर्देशित हुनेछ, जुन आर्थिक सहयोग र विकास संगठन (ओइसिडी) ढाँचामा आधारित छ। नेपाल अतिकम विकसित देश (एलडिसी_ को सूचीमा परेकाले ५० प्रतिशत आर्थिक सहायता अनुदानको रूपमा उपलब्ध गराइने अर्थमन्त्रालयले जनाएको छ।

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले यो सम्झौता नेपालको आर्थिक सामाजिक क्षेत्रको पूर्वाधार विकासका लागि महत्त्वपूर्ण उपलब्धि हुने बताए। फिनल्याण्डका विकासमन्त्री ताभियोले सार्वजनिक लगानी परिचालन नेपाल र फिनल्याण्डबीच आर्थिक सहकार्य विकासका लागि महत्त्वपूर्ण माध्यम बन्ने बताए।

  • प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत, टोलीमा ८७ जना

    प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत, टोलीमा ८७ जना

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने भएको छ । ३९ जना सरकारी र ४८ जना नीजि क्षेत्रका व्यक्ति प्रधानमन्त्री ओलीको चीन भ्रमणमा सहभागी हुने भएका हुन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण टोलीका सदस्यको टुंगो लगाएको हो ।

    प्रधानमन्त्री ओली आगामी १७ मंसिरमा चीनको औपचारिक भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री ओलीले १८ मंसिरमा चीनको बेइजिङमा उच्चस्तरीय भेटवार्ता गर्नेछन् । प्रधानमन्त्रीको भ्रमणबारे आवश्यक तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवा आजै चीन गएकी छिन् । उनी शनिबार नेपाल फर्कने र पुनः प्रधानमन्त्रीसँग चीन जाने कार्यतालिका छ ।

  • परराष्ट्र मन्त्री राणा छेङ्दुमा

    परराष्ट्र मन्त्री राणा छेङ्दुमा

    काठमार्डौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीनको छेङ्दु पुगेकी छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका लागि उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छेङ्दु पुगेकी हुन् । मन्त्री डा. राणालाई छेङ्दुमा चीनको विदेश मन्त्रालयको सिचुआन प्रान्तीय डेपुटी डाइरेक्टर जनरल लि हुछियाङ र चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले स्वागत गरे ।

    भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा. राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् । भेटवार्ता शुक्रबार चीनको छेङ्दु सहरमा नै हुनेछ । चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीस्वरूप डा. राणा चीन गएकी हुन् । परराष्ट्रमन्त्री डा. राणा शनिबार नै स्वदेश फर्किनेछिन् । प्रधानमन्त्री ओलीले यही १७ मंसिरदेखि २० मंसिरसम्म चीन भ्रमण गर्दैछन् । परराष्ट्रमन्त्री डा. राणा स्वदेश फर्किएर प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पुनः सामेल हुनेछिन् ।

  • परराष्ट्र मन्त्री आज चीन भ्रमणमा जाने

    परराष्ट्र मन्त्री आज चीन भ्रमणमा जाने

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज चीन जाँदैछिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ गतेदेखि सुरु गर्ने चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा आजै चीन जान लागेकी हुन् । मन्त्री राणाले शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीसँग छेङ्दुमा भेटवार्ता गर्ने तय भएको छ । ‘चिनियाँ विदेशमन्त्री पनि छेङ्दुमा आयोजित एक कार्यक्रममा आउने कार्यक्रम छ,’ स्रोतले भन्यो, ‘दुई समकक्षीबीच छेङ्दुमै भेटवार्ता हुनेछ ।’

    भेटमा प्रधानमन्त्रीको भ्रमण दुई देशको आपसी हितका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले बताएको छ । आगामी मंसिर १७ गते प्रधानमन्त्री केपी शर्मा ओली ४० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाँदैछन् । परराष्ट्रमन्त्री राणा सोही भ्रमणको तयारीका लागि आजै चीन जान लागेकी हुन् । उनी प्रधानमन्त्री ओलीको भ्रमण दलमा पनि सहभागी हुनेछिन् ।

  • इजरायलका लागि छनोट भएका सबै नेपाली कामदार लैजाने तयारी

    इजरायलका लागि छनोट भएका सबै नेपाली कामदार लैजाने तयारी

    काठमाडौं । नेपालका लागि इजरायली राजदूत शुमलिक एरी बासले ‘केयरगिभर’ का लागि छनोट भएका नेपाली कामदारहरू लैजाने प्रतिबद्धता जनाएका छन् । बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँगको भेटमा राजदूत बासले इजरायलमा युद्धविरामको घोषणा भइसकेकोले उत्तीर्ण भएका सबै नेपाली कामदारलाई लैजाने जानकारी गराए । सो क्रममा उनले केयरगिभिङका क्षेत्रमा नेपाली कामदार उत्कृष्ट रहेको पनि उल्लेख गरे । साथै, नेपाली कामदारहरूलाई कृषि, निर्माणलगायतका अन्य क्षेत्रमा समेत लैजान सकिने बताए ।

    भेटवार्ताका क्रममा नेपाल र इजरायलबीचको द्विपक्षीय श्रम सम्झौताको कार्यान्वयनको विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहायक प्रवक्ता वसन्तबहादुर बोहराले मन्त्री भण्डारी र राजदूत बासबीच कृषि, निर्माणलगायत अन्य क्षेत्रमा नेपाली कामदार पठाउन पहल गर्ने, कृषि प्रविधि हस्तान्तरण गर्ने, सीप विकास, भाषा तालिम, स्वास्थ्य परीक्षण, श्रमिकको हकअधिकार संरक्षण र सुरक्षालगायत विषयमा दुवै देशबीच थप कूटनीतिक पहल गर्ने लगायतका विषयमा छलफल भएको जानकारी दिए ।

  • नेपालीको उद्दार कार्यमा एनआरएनए एनसिसी पेन्सिलभानिया च्याप्टरको सक्रियता

    नेपालीको उद्दार कार्यमा एनआरएनए एनसिसी पेन्सिलभानिया च्याप्टरको सक्रियता

    न्युयोर्क

    नेपालको बेरोजगारीले आजित भएर संसारभरी काम खोज्दै हिडेका नेपाली युवायुवतीहरुले प्रदेशमा अनेकन दुख कष्ट भोग्नु पर्ने निश्चित नै छ। यसै शिलशिलामा अमेरिकाको पिट्स्बर्ग, पेन्सिलभानिया आएका एक युवा क्षितिज बहादुर सिंह कामबाट डेरा फर्कदै गर्दा बाटोमा अकस्मात बेहोस् भई आफ्नो पासपोर्ट, केही पैसा र अन्य समान गुमाएर अस्पतालको बिस्तारामा पुगेर होस् प्राप्त गरेका थिए। गत सेप्टेम्बर महिनामा आफु बेसाहारा भएपछि उनले नेपाली महाबाणीज्य दुतावास न्युयोर्कमा ट्रावल डकुमेण्टको लागि अनुरोध गरे। साथै उनले सो ट्रावल डकुमेण्ट लिन आवस्यक शुल्क लगायत सहयोग गरिदिन न्युयोर्कबासी एन आर एन अमेरिकाका आजीवन सदस्य एवं पत्रकार बिष्णु सिंह बैजुलाई अनुरोध गरे। समाजसेवी पत्रकारले तुरुन्तै नेपाली महाबाणीज्य दुतावासका अधिकृत नवराजसंग सम्पर्क गरि आवस्यक पर्ने सबै कागजात र सरकारी दस्तुर समेतको जानकारी लिए। तत्पश्चात उनले सबै कागजात र शुल्क तयार गरि दुताबासलाई बुझाए। अधिकृत नवराजले पनि ढिला नगरी ट्रावल डकुमेण्ट तयार गरि पत्रकारलाई दिए।

    एनआरएनए अमेरिकाका आजीवन सदस्य एवं पत्रकार बिष्णु सिंह बैजु


    तर बिरामी युवाको बिमारी लम्बिएपछि युवालाई पत्रकारले डकुमेण्ट पठाउन सकेनन। अनि पत्रकारले एन आर एन अमेरिका, पेन्सिलभानिया च्यापटरका अध्यक्ष जयन्द्र लामालाई सम्पर्क गरि युवाको रेखदेख र जानकारी लिन आग्रह गरे। अध्यक्ष लामाले पनि आफ्नो च्याप्टरका बोद्पुर्न बिस्वकर्मालाइ युवाको हालचाल बुझ्न पठाए। अनि आफैले पनि क्षितिजसंग फोनमा सम्पर्क गरि कुरा गरे। अनि अत्तालिएका युवाले अलि ढाढस पाएको अनुभूति हुन् थाल्यो।

    तिन महिना लामो बिमारी उपचारपछि गत हप्ता नोवेम्बर २२ मा युवालाई हस्पिटलले डिस्चार्ज गरिदियो। तर युवाको खल्तीमा न खाने पैसा थियो, न बस्ने ठेगाना नै थियो। उनले आफ्नो अवस्था पत्रकारलाई बताए। पत्रकारले अध्यक्ष लामासंग सम्पर्क गरि युवालाई उद्दार गर्ने बारे छलफल गरे। लामाले युवालाई नेपाल पठाउन आवस्यक पर्ने हवाई जहाज टिकट एन आर एनबाट दिलाई दिने बचन दिए। अनि पत्रकारले पनि युवालाई आवस्यक पर्ने केही रकम पोस्ट अफिसको मनि अर्डर, ट्रावल डकुमेण्ट, नोटबुक, कलम र केही सप्लाइज तुरुन्तै अस्पताल पठाईदिए। साथै अध्यक्ष लामासंग कुरा भएअनुसार कतार एरवेजको जहाज टिकट पनि पठाइ दिए। अनि पत्रकारले अस्पताललाई अनुरोध गरेर युवालाई अस्पतालबाट सिधै पिट्स्बर्ग एरपोर्ट पठाईदिन अनुरोध गरे। अनि युवाले खाने खर्च, टिकट, लुगा, फोन, ब्याग इत्यादि पाएपछि उनी अहिले सकुशल नेपाल पुगे ।
    उनी हवाई जहाजमा उड्नुअघि पत्रकारलाई फोन गरेर मुरीमुरी धन्यबाद भनि आभार व्यक्त गरे । साथै अध्यक्ष जयन्द्र लामा, बोद्पुर्ण बिस्वकर्मा, अध्यक्ष डा बन्जाडे र कोषाधक्ष्य सरोज सिग्देललाई हृदयदेखि धन्यबाद दिदै एन आर एन अमेरिकाले आफु लाचार र विवश हुदा पुर्याएको सहयोग जिन्दगीभारी याद रहने बताए।

    अध्यक्ष जयन्द्र लामाले केन्द्रका एन आर एन सभापति डा बन्जाडेसंग कुरा गरि युवाको लागि जहाज टिकट खरिदका लागि आवस्यक रकम संकलन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे।
    अध्यक्ष लामाको सल्लाह अनुसार पत्रकार बिष्णु सिंह बैजुले युवालाई अस्पतालबाट नेपाल फर्काउने सम्मको सबै कार्य हृदय खोलेर गरिदिए। एन आर एनको सबै च्याप्टरहरुमा यस्ता नेपालीहरुलाई आपद विपद पर्दा यस्ता सहयोगी उद्दार कार्यहरु गर्न सके संस्थाप्रति नेपालीहरुको अगाध श्रद्धा बढ्ने देखिन्छ।

  • परराष्ट्र मन्त्री राणा बिहीबार चीनको छेन्दु जाँदै

    परराष्ट्र मन्त्री राणा बिहीबार चीनको छेन्दु जाँदै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको गृहकार्य गर्न परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहीबार चीन जाँदै छिन् । उनले चीनका विदेशमन्त्री वाङ यीसँग छेन्दु सहरमा शुक्रबार भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार राणा बिहीबार छेन्दु पुगेर शनिबार काठमाडौं फर्कने छिन् ।

    त्यसपछि प्रधानमन्त्री ओलीसँग मंसिर १७ देखि २१ सम्म फेरि चीन भ्रमण गर्ने छिन् । परराष्ट्र मन्त्रालयले राणा र वाङ बीचमा द्विपक्षीय कुराकानी हुने उल्लेख गरेको छ । साथै, उक्त अवसरमा बृहत् रुपमा समान चासोको विषय तथा प्रधानमन्त्री ओलीको औपचारिक चीन भ्रमणको तयारीको कुराकानी हुने उल्लेख छ ।

  • विमानस्थलको भीड देखाएर अतिरन्जित गरियो : प्रधानमन्त्री

    विमानस्थलको भीड देखाएर अतिरन्जित गरियो : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैदेशिक रोजगारीमा जानेहरुको विमानस्थलको भीड देखाएर अतिरञ्जित प्रचार गरिएको गुनासो गरेका छन् ।
    सामाजिक सुरक्षा दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एयरपोर्टको भीड देखाएर अतिरञ्जित गरिएको बताएका हुन् । ‘एयरपोर्टमा भीड देखाउँछन् । जानेको कि आउनेको छुट्याउँदैनन्,’ ओलीले भने, ‘त्यो फर्किएको चाहिँ भन्दैनन् ।’

    रोजगारीका लागि विदेश गएकाहरु निश्चित अवधिपछि स्वदेश फर्किने बताउँदै उनले विदेश जानेहरुको मात्रै भीड देखाइएको गुनासो गरे । ‘जे पनि अतिरञ्जित गर्ने । तीलको पहाड बनाइएको छ । तील पनि चाहिँदैन । तील पनि गफैमा उत्पादन गर्छ,’ उनले भने, ‘तिललाई ताड र ताडको पहाड बनाउँछ ।’

    प्रधानमन्त्री ओलीले २०७८ सालको जनगणना अनुसार २ करोड ९२ लाख जति नेपालमा र २२ लाख मानिस बाहिर रहेको तथ्यांक सुनाए । उनले त्यहाँ पनि सामाजिक सुरक्षा प्रबन्ध लागू गर्ने बताए । ६ वर्ष देशको राजनीति, अर्थतन्त्र, सामाजिक जनजीवन, सांस्कृतिक गति सहज ढंगले नबढे पनि सामाजिक सुरक्षा अभियानले राम्रो गति लिएको भन्दै खुसी व्यक्त गरे ।

  • आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न नवनियुक्त राजदूतहरुलाई परराष्ट्र मन्त्रीको आग्रह

    आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न नवनियुक्त राजदूतहरुलाई परराष्ट्र मन्त्रीको आग्रह

    काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखी यसको विस्तार एवं प्रवर्द्धन गर्न नेपालका नवनियुक्त राजदूत एवं निर्यात व्यवसायीहरूलाई आग्रह गरेका छन् । नेपाल सरकारद्वारा हालै नियुक्त राजदूतहरू तथा नेपालका निर्यात व्यवसायीहरूसँग आज परराष्ट्र मन्त्रालयमा भएको अन्तरक्रियामा उनले मुलुकको विकास र राष्ट्रिय समृद्धिको आकांक्षालाई परिपूर्ति गर्न परराष्ट्र मन्त्रालयले नीतिगत रूपमा नै आर्थिक कूटनीतिलाई समग्र कूटनीतिको प्राथमिकतामा राखेको जानकारी गराउँदै आर्थिक कूटनीतिको प्रवर्द्धनमा लाग्न आग्रह गरेका हुन् ।


    ‘विविध कारणले नेपाली अर्थतन्त्रले अपेक्षित गति लिन नसकिरहेको वर्तमान अवस्थामा विदेशस्थित सबै नेपाली मिसनहरूले आर्थिक कूटनीति प्रवर्द्धन गर्नुपर्ने जरूरी देखिएको छ । आफू रहेका देशबाट नेपालमा लगानी आकर्षित गर्दै यहाँका सम्भावनाहरूलाई उजागर गरी निर्यात प्रवर्द्धनमा लाग्नुहोला,’ परराष्ट्रमन्त्री राणाले भनिन् ।

    उनले नियोगमार्फत् हुने आर्थिक कूटनीतिका कार्यक्रमहरूलाई प्रभावकारी र परिणाममुखी बनाउन आग्रह गर्दै यसका लागि नियोगमा पर्याप्त स्रोत साधन एवं जनशक्तिको समेत अभाव रहेकाले यसको वृद्धि गर्नेतर्फ आफू लाग्ने प्रतिबद्धता पनि व्यक्त गरिन् । मन्त्री डा राणाले परराष्ट्र मन्त्रालयका लागि तत्कालै आवश्यक रहेको थप जनशक्ति परिपूर्ति गर्न हालै संगठन तथा व्यवस्थापन सर्भे गरिएको र थपिएको सो जनशक्तिले परराष्ट्र मन्त्रालय र नियोगको कार्यसम्पादनमा चुस्तता र प्रभावकारिता ल्याउने अपेक्षा गरिएको पनि बताए ।

    नेपालका निर्यात व्यवसायी एवं उद्यमीहरूले आफ्ना उत्पादनहरूलाई विदेशी बजारमा प्रतिस्पर्धा गर्न सक्नेगरी ‘प्याकेजिङ’ गर्नुपर्ने उनको सुझाव थियो । मन्त्री डा राणाले विदेशी बजारमा नेपाली उत्पादनको विशिष्ट पहिचान रहेकाले माग पनि हुने गरेको भन्दै स्तरीय ‘प्याकेजिङ’ सहित निर्यात गर्न सुझाव दिए ।
    मन्त्री डा. राणाले आफ्ना उत्पादनको निर्यातका क्रममा कुनै समस्या भएमा नेपाली मिसनहरूका साथै परराष्ट्र मन्त्रालयसँग समन्वय गर्न निर्यातकर्ताहरूलाई आग्रह गरेका थिए ।

  • सरकारले ठोस योजना ल्याउन नसक्दा सामाजिक सुरक्षामा आवद्धता कम भयो : एनआरएनए

    सरकारले ठोस योजना ल्याउन नसक्दा सामाजिक सुरक्षामा आवद्धता कम भयो : एनआरएनए

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले सरकारले ठोस योजना र कार्यक्रम ल्याउन नसक्दा वैदेशिक रोजगारीमा रहेका र विदेशमा अनौपचारिक क्षेत्रमा रहेको ठूलो संख्या अझै पनि सामाजिक सुरक्षा कोषको दायराभन्दा बाहिर रहेको बताएका छन् ।

    सामाजिक सुरक्षा कोषको सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष केसीले सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सरकारले ठोस योजना र अभिमुखीकरण कार्यक्रम गर्नुभन्दा औपचारिकता र विदेश जानुपूर्वको अनिवार्य प्रक्रिया मात्रै सञ्चालन गरेको बताए । यसले विदेशमा रहेका श्रमिकले कोषको महत्त्व नै बुझ्न नसकेको उनको भनाइ छ ।

    ‘आजभन्दा तीन वर्षअघि नै गैरआवासीय नेपाली संघ र सामाजिक सुरक्षा कोषले मिलेर बढीभन्दा बढी श्रमिक र विदेशमा अनौपचारिक क्षेत्रमा रहेकालाई कोषमा समेट्ने सहमति नै गर्दा पनि आजसम्म एउटा पनि काम गर्न सकिएको छैन । एउटा पनि काम भएको छैन,’ केसीले भने ।

    उनले विदेश जानुपूर्व पैसा तिरेर अनिवार्य गर्नैपर्ने प्रक्रियाका रूपमा मात्रै सञ्चालन भइरहेको बताए । सोहीकारण ५० लाख बढी नेपाली वाह्य श्रम बजारमा हुँदा पनि १२ लाख मात्रै कोषमा आबद्ध भएको उनको भनाइ छ । कोषमा निरन्तर योगदान हुन नसकेको भन्दै उनले ठोस योजना ल्याउन आग्रह गरे ।

  • सिस्टम बिग्रिएपछि माल्टामा सञ्चालन हुने भनिएको राहदानी शिविर स्थगित

    सिस्टम बिग्रिएपछि माल्टामा सञ्चालन हुने भनिएको राहदानी शिविर स्थगित

    काठमाडौं । माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगन गरिएको छ । राहदानी प्रणालीमा प्राविधिक समस्या उत्पन्न भएको जनाउँदै माल्टामा हुने घुम्ती शिविर स्थगन गरिएको स्पेनस्थित नेपाली दूतावासले जनाएको छ ।

    माल्टाको बिरकिरकरामा यही मङ्सिर १५ गतेदेखि १९ सम्म शिविर सञ्चालन गरिने तयारी गरिएको थियो । यसअघि राहदानी नवीकरणलगायत कागजात प्रमाणीकरणसम्बन्धी कन्सुलर सेवा दिन राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोली माल्टा जाने तय भएको थियोे ।

  • मूख्य कार्यालयबाट राहदानी सेवा सूचारु

    मूख्य कार्यालयबाट राहदानी सेवा सूचारु

    काठमाडौं । बुधबारदेखि बन्द भएको राहदानी वितरण सेवा राहदानी विभागको त्रिपुरेश्वरस्थित मुख्य कार्यालयबाट सुरु भएको छ । अत्यावश्यक परेर विभागबाट सेवा लिन चाहने सेवाग्राहीले अनलाइन फाराम भर्न पाउने व्यवस्था गरिएको विभागले जनाएको छ । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै विभागले आफ्नो कार्यालयबाट सेवा लिने गरी आवेदन दिन सक्ने व्यवस्था मिलाइएको बताएको छ । जिल्लारइलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूमा क्रमशः सेवा विस्तार गरिने विज्ञप्तिमा उल्लेख छ । त्यसका लागि एक–दुई हप्ता लाग्न सक्ने विभागको भनाइ छ ।

    जिल्ला–इलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूमा सेवा थाल्न भोलिदेखि परीक्षणको काम थालिने विज्ञप्तिमा उल्लेख छ । यसअघि आवेदन गरिसकेका (बायोमेट्रिक समेत) सेवाग्राहीको राहदानी छपाइको काम नियमित प्रक्रियाबाट भइरहेको र सम्बन्धित जिल्ला\ईलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूमा पठाउन सुरु गरिएको विभागले जानकारी दिएको छ ।

    आ–आफ्नो जिल्लारइलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोगमा आवेदन दिने सम्बन्धी अध्यावधिक जानकारीका लागि सम्पर्क गर्नुहुन समेत सूचित गरिएको छ । ‘सेवाग्राहीलाई पर्न जाने असुविधा प्रति विभाग संवेदनशील रहेको र यथाशीघ्र समस्या समाधानका लागि आवश्यक सम्पूर्ण कार्यहरू गरिरहेको बेहोरा अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा सबै पक्षबाट सहयोगको अपेक्षा गर्दै सेवाग्राहीमा पर्न गएको असुविधा प्रति विभाग क्षमाप्रार्थी छ ।’

  • प्रधानमन्त्रीको चीन भ्रमणबारे नेताहरुले के दिए सुझाव ?

    प्रधानमन्त्रीको चीन भ्रमणबारे नेताहरुले के दिए सुझाव ?

    काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले विगतमा पहिला चीन भ्रमण गरेर परम्परा तोडेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बोलाएको पूर्वप्रधानमन्त्रीहरुकोसँगको छलफलमा उनले आफूले चीन कार्ड खेल्न खोजेको भन्ने आशयले नभई मुलुककै राजनीतिक उतारचढावका विषयमा कार्ड खेल्न नहुने भनी अभिव्यक्ति दिएको स्पष्ट गरे । उनले गत वर्ष आफू प्रधानमन्त्री हुँदा चीनसँग भएका सम्झौताहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।


    परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले चीन भ्रमणका सवालमा सत्तारुढ दुई दलीय संयन्त्रबाट एजेन्डाका विषयमा गृहकार्य भइरहेको छ र प्रधानमन्त्री तहबाट चाँडै सबै एजेन्डालाई अन्तिमरुप दिने बताइन् । उनले यस विषयमा दुई दलमा बाहिर आए जस्तो कुनै विवाद नरहेको बताइन् ।

    छलफलमा नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा काठमाडौँ उपत्यका बाहिर रहेका कारण अनुपस्थित भए । पूर्व प्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपाल, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, पूर्व परराष्ट्रमन्त्रीहरु ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, भेषबहादुर थापा, एनपी साउद, महेन्द्रबहादुर पाण्डे, डा प्रकाशचन्द्र लोहनी, डा विमला राई पौड्याललगायत सहभागी थिए । छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो यस पटकको औपचारिक चीन भ्रमणमा क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट पारे ।

  • पूर्वप्रधानमन्त्रीहरुसँग चीन भ्रमणबारे प्रधानमन्त्रीले के भने ?

    पूर्वप्रधानमन्त्रीहरुसँग चीन भ्रमणबारे प्रधानमन्त्रीले के भने ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने आफ्नो यस पटकको औपचारिक चीन भ्रमणमा क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट पारेका छन् । चीन भ्रमणका सम्बन्धमा सोमबार पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले बिआरआइ ऋणको परियोजना नभएको भन्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको स्पष्ट पारेका हुन् ।

    प्रधानमन्त्री ओलीले भने, “हामीलाई आवश्यक भएमा जुनसुकै मुलुक र निकायबाट राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिन सक्छौँ । ऋणको पासोमा पार्न ऋण लिइँदैछ भनेर गरिने अनावश्यक हल्लामा हामी लाग्नु हुँदैन । चीनसँग हाम्रो लामो र मित्रवत् सम्बन्ध छ । दुई देशको मित्रतालाई थप बहुआयामिक बनाउन यो भ्रमण गर्न लागिएको हो ।”

    उनले अगाडी भने, “हामी पहिला जुन मुलुकको भ्रमणमा गए पनि देशको सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रता अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रहितलाई सर्वोपरि प्राथमिकतामा राख्छौँ । त्यस कारण यो भ्रमण सफल हुन्छ । सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा (एमाले) का बिचमा भ्रमणका विषयमा विवाद छ भनेर भ्रम फिँजाउनुको कुनै अर्थ छैन । विश्व शान्ति र नेपालको हितमा बाहेक हामी अरू कुनै काम हामी गर्दैनौँ म साथीहरूलाई यसमा ढुक्क हुन आग्रह गर्दछु ।”

    उनले चीन भ्रमणमा विशेष गरी विगतमा भएका सहमति र सम्झौताको प्रभावकारी कार्यान्वयनका साथै प्रसारण लाइन विस्तार, नेपालको उत्पादन चीनमा निर्यात र अन्य सहयोगका विषयमा छलफल हुने गरी तयारी भएको जानकारी दिए । प्रधानमन्त्री ओलीले अर्को छिमेकी भारतसँग पनि उस्तै मित्रवत् सम्बन्ध रहेको स्पष्ट गर्दै दुई देशको मैत्री सम्बन्धको लाभ नेपालको आर्थिक विकासमा हुने गरी लिन सक्नुपर्नेमा जोड दिए ।

    उनले नेपालका कार्यकारी प्रमुखको औपचारिक भ्रमण पहिला कुन मुलुकबाट गर्ने भन्ने यहाँको आवश्यकता र निर्णयका आधारमा हुने भएकाले यस्ता विषयलाई कुनै देशविरुद्ध ‘कार्ड’ का रूपमा कसैले लिन नहुने बताए ।

  • परराष्ट्र मन्त्री देउवाको चीन भ्रमण स्वीकृत

    परराष्ट्र मन्त्री देउवाको चीन भ्रमण स्वीकृत

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत गरेको हो । परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको पूर्वतयारीका लागि चीन जान लागेकी हुन् ।

    उनले आफ्नो चीन भ्रमणबारे आजै बिहान पूर्वप्रधानमन्त्रीहरूसँगको छलफलमा पनि जानकारी गराएकी थिइन् । परराष्ट्र स्रोतका अनुसार उनी १३ मंसिरमा चीनतर्फ प्रस्थान गर्नेछिन् । प्रधानमन्त्री ओली आगामी १७ मंसिरमा चीनको औपचारिक भ्रमणमा जाँदैछन् ।

  • चीन भ्रमणबारे आज प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्रीहरुसँग राय लिँदै

    चीन भ्रमणबारे आज प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्रीहरुसँग राय लिँदै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग छलफल गर्दै छन् । छलफल आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने छ । प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदै छन् । यो मिति घोषणा उनले गत शुक्रबार दरबारमार्गमा आयोजित पार्टीको सभामार्फत् गरेका थिए ।

    सरकारको टोली १७ गते चीन जान लागेको छ र त्यो भ्रमण सफल हुने छ । कसरी सफल भयो भन्नेबारे म फर्केपछि सम्प्रेषण गर्ने नै छु,’ प्रधानमन्त्री ओलीले भनेका थिए । प्रधानमन्त्री ओलीले पछिल्लोपटक सत्ता सम्हालेको १०० दिनसम्म पनि भारतबाट भ्रमणको निम्तो नपाएपछि चीन भ्रमणको गृहकार्य सुरु गरेका थिए ।

    सोही गृहकार्यअनुसार नै प्रधानमन्त्री ओलीले आज पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग छलफल गर्न लागेका हुन् । चीन भ्रमणको क्रममा राख्ने एजेण्डाबारे प्रधानमन्त्री ओलीले छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

  • अमेरिकाको भर्जिनियामा कार दुर्घटना, २ नेपालीको ज्यान गयो

    अमेरिकाको भर्जिनियामा कार दुर्घटना, २ नेपालीको ज्यान गयो

    काठमाडौं । अमेरिकाको भर्जिनियामा चार जना नेपाली सवार कार दुर्घटनामा परेको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार २२ नोभेम्बर मध्यराति १२ बजे भर्जिनियाको च्यान्टिलीस्थित काउन्टी पार्क वे र ताल सेडार पार्क वे नजिक भएको कार दुर्घटनामा चार मध्ये २ जनाको मृत्यु भएको अमेरिकाबाट प्रकाशन हुने नेपाली पत्रिका नेपालमदर डटकमले लेखेको छ । मृत्यु हुनेमा रुकुमको आठबिसकोट नगरपालिका ७ का सुरेश केसी र बर्दियाका विवेक सुवेदी रहेको नेपालमदरले पुष्टी गरेको छ।

    कारचालक ३० वर्षीय विजय तामाङ सुरक्षित छन्। कारमा सवार काठमाडौंका मेहुल श्रेष्ठ घाइते रहेको र उनको उपचार भइरहेको पनि नेपालमदरले उल्लेख गरेको छ। त्यहाँको प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट कार तीव्र गतिमा रहेको र चालकले अत्यधिक मदिरा सेवन गरेर कार चलाएको भनिएको छ।

    त्यस्तै कारचालक तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको र दुई जनाको हत्या अभियोगमा मुद्दा चलाउने तयारी भइरहेको पनि नेपालमदरको समाचारमा उल्लेख छ। त्यहाँको प्रहरीसँग एनआरएनए भर्जिनियाका पदाधिकारीहरूले समन्वय गरिरहेको पनि बताइएको छ।

  • सभामुख घिमिरे आज कम्बोडिया जाने

    सभामुख घिमिरे आज कम्बोडिया जाने

    काठमाडौं । सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन् । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन (आईपीटीपी) मा सहभागी हुन घिमिरे कम्बोडिया जान लागेका हुन् । कम्बोडियाको नोम पेन्ह सहरमा नोभेम्बर २३ देखि २६ सम्म अर्थात् मंसिर ८गतेदेखि १० गतेसम्म उक्त सम्मेलन हुँदैछ ।

    सभामुख घिमिरे सम्मेलनमा सहभागी भएर ११ गते स्वदेश फर्कने कार्यक्रम छ । ग्लोबल काउन्सिल फर टोलरेन्स एन्ड पिसले विभिन्न मुलुकका सांसदबीच अन्तर्क्रियाका लागि सन् २०१७ देखि यो सम्मेलन आयोजना गर्दै आएको छ । सम्मेलनमा एक सय भन्दा बढी देशका जनप्रतिनिधि सहभागी हुनेछन् ।

  • भारतीय सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी चिन्ह प्रदान

    भारतीय सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी चिन्ह प्रदान

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थलसेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई बिहीबार नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
    राष्ट्रपति भवन शीतल निवासमा नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलले भारतीय स्थलसेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

    नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलको निमन्त्रणामा बुधबार द्विवेदी नेपाल भ्रमणमा आएका हुन् । उक्त मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राईलगायत थिए । नेपाल र भारतका सेनाबीच एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान गर्ने परम्परा छ ।

  • भारतीय सेनाध्यक्ष नेपाल भ्रमणमा

    भारतीय सेनाध्यक्ष नेपाल भ्रमणमा

    काठमाडौं । भारतीय स्थल सेनाका प्रमुख उपेन्द्र द्विवेदी काठमाडौं आइपुगेका छन् । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा उनी पाँच दिने भ्रमणका लागि काठमाडौं आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै द्विवेदीलाई नेपाली सेनाको युद्धकार्य विभागका महानिर्देशक उपरथी प्रेमध्वज अधिकारीले स्वागत गरेका थिए । अधिकारी नेपालको तर्फबाटसंयुक्त राष्ट्र संघको सल्लाहकार पदका लागि उम्मेदवार समेत हुन् ।

    उनले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न समेत प्राप्त गर्नेछन् । नेपाल र भारतीय सेनाबीच एकअर्काको देशमा मानार्थ महारथीको सम्मान दिने परम्परा छ । भारतीय सेनाध्यक्ष द्विवेदी ९ मंसिरसम्म नेपालमा रहने छन् । त्यसक्रममा उनले राष्ट्रपति पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानविर राई लगायतसँग भेटवार्ता समेत गर्नेछन् ।

    द्विवेदीले १ नोभेम्बर २०२४ देखि भारतीय स्थल सेनाको २९ औं प्रमुखको जिम्मेवारी सम्हालेका थिए । यसभन्दा अघि उनी उत्तरी क्षेत्रको सेनाको कमाण्डर थिए, त्यहाँ उनले जम्मु–कश्मिर र लद्दाखको रणनीतिक रुपमा महत्वपूर्ण मानिने क्षेत्रको नेतृत्व गरेका थिए ।

  • नेपालीले तीन महिनामा विदेश घुमफिरमा गरे साढे २३ अर्ब खर्च

    नेपालीले तीन महिनामा विदेश घुमफिरमा गरे साढे २३ अर्ब खर्च

    काठमाडौं । विदेशी पर्यटकले नेपालमा गर्ने खर्चको तुलनामा नेपालीले विदेश घुमफिरमा धेरै खर्च गर्ने गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१–८२ को आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चालु आव पहिलो तीन महिना (साउन–असोज) मा भ्रमण व्यय ५५ अर्ब ७८ करोड रुपैयाँ रहेको छ ।

    यसमध्ये शिक्षामा ३२ अर्ब १८ करोड रुपैयाँ विदेशिएको हो । बाँकी रकम नेपालीले घुमफिर प्रयोजनमा विदेश लगेका हुन् । जुन २३ अर्ब ६० करोड रुपैयाँ देखिन्छ । यस अवधिमा भ्रमण आय १७ अर्ब ७२ करोड रुपैयाँ छ । अर्थात्, यो विदेशी नागरिकले नेपालमा गरेको खर्च हो ।

    यस प्रकार तीन महिनामा विदेशी पर्यटकले नेपालमा गर्ने खर्चभन्दा नेपालीले विदेशमा गर्ने खर्चमाथि रहेको देखिएको छ । राष्ट्र बैंकका अनुसार तीन महिनामा भ्रमण आय सामान्य मात्र बढेको छ । अघिल्लो आव पहिलो तीन महिनामा भ्रमण आय १७ अर्ब १३ करोड थियो । भ्रमण व्यय भने उकालो लागेको छ । अघिल्लो वर्ष यसै अवधिमा भ्रमण व्यय ५१ अर्ब ८० करोड रुपैयाँमात्र थियो । जसमध्ये शिक्षामा ३२ अर्ब ९२ करोड विदेशिएको थियो । शिक्षामा विदेशिने रकम अघिल्लो आवको तुलनामा केही घटेको देखिन्छ ।

  • भिजिट भिसा दुरुपयोगबारे अध्ययन गर्दै सरकार

    भिजिट भिसा दुरुपयोगबारे अध्ययन गर्दै सरकार

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भम्रण भिसाको दुरुपयोगबारे अध्ययन गर्ने भएको छ । यस विषयमा अध्ययन गरी रोक्ने सम्बन्धमा मन्त्रालयले काम अगाडी बढाएको बताइएको छ । श्रममन्त्री शरतसिंह भण्डारीको संयोजकत्वमा भएको छलफलले श्रम मन्त्रालय सहसचिव एवं वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख जीवलाल भुसालको नेतृत्वमा भम्रण भिसा दुरुपयोग रोक्न अध्ययन गर्ने निर्णय गरेको छ ।

    श्रम मन्त्रालयका अनुसार छलफलमा श्रममन्त्री भण्डारी, श्रम मन्त्रालयका सहसचिव भुसाल अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजाल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराईलगायत सहभागि थिए ।


    मन्त्रालयका अनुसार भुसाल नेतृत्वको टोलीमा अध्यागमन विभाग, गृह मन्त्रालयलगायतका सरोकारवाला मन्त्रालयको प्रतिनिधि रहने छन् । उक्त टोलीले भम्रण भिसाको दुरुपयोग रोक्नेसम्बन्धमा १५ दिनभित्र अध्ययन गरी श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय गृह मन्त्रालयसमक्ष प्रतिवेदन पेस गर्ने छ ।

    पछिल्लो समयमा भ्रमण भिसामा वैदेशिक रोजगारीमा जाने प्रचलन बढेको छ । भ्रमण भिसामा वैदेशिक रोजगारीमा जान लाखौँ रकम ठगीमा पर्ने र भम्रण भिसामा गएर गन्तव्य देशमा भनेजस्तो काम नपाएर अलपत्र पर्नेको सङ्ख्या बढेपछि श्रम मन्त्रालयले अध्ययन टोली गठन गरेको जनाएको छ ।

  • ट्रम्पको घोषणा : गैरकानूनी आप्रवासी निकाल्न सेना प्रयोग, आपतकाल लगाइदै

    ट्रम्पको घोषणा : गैरकानूनी आप्रवासी निकाल्न सेना प्रयोग, आपतकाल लगाइदै

    काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा सुरक्षामा राष्ट्रिय आपतकाल घोषणा गर्ने र कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न अमेरिकी सेना प्रयोगको घोषणा गरेका छन् । राष्ट्रपति जो बाइडनको प्रशासनकालमा गैरकानुनी रूपमा आप्रवासीको संख्या बढेपछि ट्रम्पले कागजातविहीन लाखौं आप्रवासीलाई देश निकाला गर्ने र मेक्सिको जोडिएको सिमानालाई व्यवस्थित बनाउने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
    ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एक कन्जरभेटिभ कार्यकर्ताको हालैको पोस्टलाई पुनः पोस्ट गरेका छन् । त्यसमा लेखेका छन्, ‘नवनिर्वाचित राष्ट्रपति राष्ट्रिय आपतकाल घोषणा गर्न तयार हुनुहुन्छ र सामूहिक निर्वासन कार्यक्रम अघि बढाउन तयार हुनुहुन्छ ।’ पुनः पोस्ट गरेसँगै ट्रम्पले उक्त कुरा ‘साँचो’ भएको उल्लेख गरेका छन् ।

    गत नोभेम्बर ५ मा डेमोक्र्याटिक उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्पले अमेरिकी राष्ट्रपति पदमा पुनः निर्वाचित भएका थिए । उनले अध्यागमन र भन्सार प्रवर्तनका पूर्वकार्यवाहक प्रमुख टम होमनलाई आफ्नो ‘सीमा जार’ को रूपमा नामकरण गर्दै आप्रवासनबारे कट्टरपन्थी सोच राख्ने सदस्यहरूको एक क्याबिनेट घोषणा गरेका छन् । गत जुलाईमा रिपब्लिकन नेसनल कन्भेन्सनमा उपस्थित भएर उनले समर्थकहरूलाई भनेका थिए, ‘मैले लाखौं अवैध आप्रवासीलाई एउटा सन्देश दिन चाहन्छु कि जो बाइडनले भित्राएका उनीहरूलाई फिर्ता पठाइनेछ ।’

    अधिकारीहरूका अनुसार संयुक्त राज्य अमेरिकामा करिब एक करोड १० लाख मानिस गैरकानुनी रूपमा बसिरहेका छन् । ट्रम्पको निर्वासन योजनाले करिब दुई करोड परिवारमा प्रत्यक्ष असर पार्ने अनुमान गरिएको छ । अमेरिकी सरकारले मेक्सिकोसँगको दक्षिणी सीमा व्यवस्थापनका लागि वर्षौंदेखि संघर्ष गरिरहेको बेला ट्रम्पले आप्रवासीहरूले अमेरिकीहरूलाई बलात्कार र हत्या गर्ने गरेको आरोप लगाएका छन् ।

    आफ्नो चुनावी अभियानका क्रममा ट्रम्पले पटक–पटक गैरकानुनी आप्रवासीविरुद्ध आवाज उठाएका थिए । ट्रम्पले आफ्नो आप्रवासन कारबाहीको बारेमा विस्तृत विवरण दिएका छैनन् । तर आफ्नो चुनावी अभियानको क्रममा बारम्बार निर्वासनलाई गति दिन ‘एलियन एनिमिज एक्ट १७९८’ लागू गर्ने बताएका थिए ।

  • नेपाल–भारत सुरक्षा समन्वय बैठकमा के भयो निर्णय ?

    नेपाल–भारत सुरक्षा समन्वय बैठकमा के भयो निर्णय ?

    काठमाडौं । सीमा सुरक्षा र सीमा पार अपराध रोकथाम तथा नियन्त्रण गर्न ‘साझा संकल्प’सहित नेपाल–भारत ‘सीमा सुरक्षा समन्वय बैठक’ सम्पन्न भएको छ ।
    नेपालका सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) र भारतीय सशस्त्र सीमा बल (एसएसबी)का महानिर्देशक स्तरीय सीमा सुरक्षा समन्वय बैठक दुवै देश सीमापार अपराध रोकथाम तथा नियन्त्रणमा मिलेर काम गर्ने प्रतिबद्धतासहित सोमबार आठौँ सीमा सुरक्षा समन्वय बैठक सम्पन्न भएको हो ।

    बैठकबाट अनुमोदन भएका ११ वटा साझा एजेण्डामा दुवै पक्षबाट संयुक्त हस्ताक्षर भएको हो । बैठकले सीमा सुरक्षा समन्वय बैठक वर्षमा एक पटक आलोपालो हुँदै आएकोमा अवदेखि वर्षमा दुई पटक आलोपालो गर्ने सहमति भएको छ । यसले सीमापार अपराध नियन्त्रण गर्न चालिएका कदमको समीक्षा र थप रणनीति बनाउन मद्दत पुग्ने दुवै पक्षका अधिकारीले बताएका छन् ।

    तेस्रो देशका नागरिकको गैरकानुनी घुसपैठ, भन्सार छलीरतस्करी, लागूऔषध ओसारपसार, सुन तस्करी, अवैध हातहतियार कारोबार, एक देशमा अपराध गरेर अर्को देशमा लुक्नेलगायत अपराधविरुद्ध जुध्न र दुवैतर्फ सीमा क्षेत्रमा बसोबार गर्ने नागरिकबीच सुमधुर सम्बन्ध कायम राख्न बैठकमा सहभागी दुवै तर्फका सुरक्षा अधिकारीहरूले प्रतिबद्धता जनाएका हुन् ।

    सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र भारतीय एसएसबीका महानिर्देशक अमृतमोहन प्रसादले सीमा सुरक्षा र सीमापार अपराध रोकथाम र नियन्त्रणलाई आ–आफ्ना तर्फबाट प्रभावकारी बनाउने प्रतिबद्धतासहित साझा एजेण्डामा संयुक्त हस्ताक्षर गरेका छन् ।


    बैठकबाट अनुमोदन भएका एजेण्डा दुवै देशले आ–आफ्ना तर्फबाट कार्यान्वयनमा लैजानेछन् । त्यसका लागि एपीएफ र एसएसबी प्रमुखदेखि सीमा सुरक्षार्थ तैनाथ बोर्डर आउट पोष्ट (बीओपी) सम्मका संयन्त्रले आपसी सहकार्य र समन्वय गरेर अघि बढ्ने जनाइएको छ ।

    बैठकमा एपीएफ र एसएसबी प्रमुखसहित दुवै देशका तर्फबाट गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी, नापी विभागलगायतका अधिकारी सम्मिलित थिए । नेपाल–भारत सीमा लम्बाई करिब १ हजार ८ सय ८० किमी छ । नेपालको सशस्त्र प्रहरी र भारतको एसएसबी सीमा सुरक्षामा तैनाथ हुने दुवै देशका प्रमुख सुरक्षा निकाय हुन् ।

  • चार देशका राजदूतले लिए सपथ

    चार देशका राजदूतले लिए सपथ

    काठमाडौं । विभिन्‍न चार देशका लागि नियुक्त भएका राजदूतहरुले आइतबार शपथ लिएका छन् । पाकिस्तानका लागि नेपाली राजदूत रीता धिताल, कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल, इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित र चीनका लागि नेपाली राजदूत प्रा.डा. कृष्णप्रसाद ओलीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।

    सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि उनीहरुलाई राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेका थिए । शपथ समारोहमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।