काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा चीन भ्रमणमा जाने भएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको पूर्वतयारीका लागि उनी चीन भ्रमणमा जान लागेको बताइएको छ । प्रधानमन्त्री ओली मङ्सिर १७ देखि २१ गतेसम्म चीनको राजकीय भ्रमणमा जाँदै छन् । परराष्ट्रमन्त्री राणा मङ्सिर दोस्रो साता चीन जाने गरी मन्त्रालयले तयारी थालेको छ । चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन भ्रमण हुन लागेको जनाइएको छ ।
परराष्ट्रमन्त्री राणाका प्रेस सल्लाहकार एकराज पाठकका अनुसार यही नोभेम्बरको अन्तिम साता उनले चीन भ्रमण गर्ने तयारी छ । औपचारिक मिति भने तय भइसकेको छैन । चीन भ्रमणको तयारी अनुसारै केही दिनअघि मात्र उनले नेपालका लागि चीनका राजदूत छन् सोङसँग छलफल गरेकी हुन् ।
काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपालको ५ दिने भ्रमणमा आउने भएका छन् । नेपाली सेनाका अनुसार उनले मंसिर ५ देखि ९ सम्म नेपाल भ्रमण गर्नेछन् । भारतीय स्थल सेनाध्यक्ष जनरल नेपाली सेनाको मानार्थ महारथी दर्जाको सम्मान लिन आउन लागेका हुन् ।
उनलाई नेपाली सेना र भारतीय सेना बीचको परम्पराअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर ६ मा एक विशेष समारोहबीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्न लागेका हुन् । उक्त अवसरमा स्थल सेनाध्यक्षमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री लगायतसँग द्विपक्षीय औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले पारेका असरमा विकसित देशलाई गम्भीर बनाउन संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेरियो गुटेरेसलाई आग्रह गरेका छन् । उनले जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेको असरको न्यूनीकरणका लागि विकसित देशबाट अनुदान उपलब्ध गराउन पनि आग्रह गरे ।
सोमबारदेखि अजरबैजानको बाकुमा जारी कोप–२९ को सम्मेलन अन्तर्गत संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरेसले अल्पविकसित राष्ट्रहरूका राष्ट्ररसरकार प्रमुखसँग बुधबार गर्नुभएको सामूहिक भेटघाट कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो आग्रह गरेका हुन् ।
“जलवायु परिवर्तनले उत्पन्न समस्या अहिले नेपालजस्ता मुलुकले भोगिरहे पनि पछि विकसित देशमा पनि आउनेछ, यो कुरा राष्ट्र सङ्घमार्फत विकसित देशले बुझुन्, “ राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने, “यो समस्याको सिर्जनामा नेपालजस्ता मुलुकले नगरेको हुँदा यसको न्यूनीकरणका लागि उपलब्ध स्रोत ऋणमा लिन नसकिने भएकाले अनुदानमा उपलब्ध गराउन आग्रह गर्दछु।’’
राष्ट्रपति पौडेलले अल्पविकसित तथा विकासोन्मुख मुलुकले उनीहरूको कुनै योगदान नै नभएको विकराल समस्या बनेको जलवायु परिवर्तनबाट बच्न विकसित देशहरूबाट उल्लेख्य सहयोग पाउन नसकेको बताए । उनले अल्पविकसित तथा विकासोन्मुख देशहरूलाई अनुकूलन तथा न्यूनीकरणका लागि यथेष्ट आर्थिक तथा अन्य सहयोग जुटाउन संयुक्त राष्ट्रसङ्घले अझ प्रयास गनुपर्नेमा जोड दिए ।
राष्ट्रसङ्घका महासचिव गुटेरसले विपतको पूर्व चेतावनी प्रणाली स्थापनामा अल्पविकसित राष्ट्रलाई प्राथमिकतामा राख्नुभएकोमा राष्ट्रपति पौडेलले आभार व्यक्त गर्दै जलवायु परिवर्तनले आर्थिक र सामाजिक अवस्था कमजोर भएका अल्पविकसित देशहरूलाई सबैभन्दा बढी असर गरेको बताए ।
सो अवसरमा राष्ट्रसङ्घका महासचिव गुटेरसले जलवायु परिवर्तनको कारण उत्पन्न समस्या र जोखिम व्यहोनुपरेका मुलुकलाई सहुलियतपूर्ण स्रोत उपलब्ध गराउनुपर्ने धारणा राख्दै कोप २९ अन्तर्गत हुने बैठक, छलफल र वार्तामा यो विषयलाई जोडदार रूपमा उठाउन सुझाव दिए ।
बैठकमा बङ्गलादेशका अन्तरिम सरकारका प्रमुख, मालावीको उपराष्ट्रपति र गाम्वियाका मन्त्रीको सहभागिता रहेको थियो। अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा कोप–२९ सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल सोमबार बाकु पुगेका हुन् । उनलाई हैदर अलीएभ अन्तर्राष्ट्रिय विमानस्थलमा अजरबैजानका न्याय मन्त्री फरिद अहमदोले स्वागत गरेका थिए ।
काठमाडौं । वैदेशिक रोजगार व्यवसायी सङ्घले वैदेशिक रोजगारीमा श्रमिक पठाउनका लागि लाग्ने लागत खर्च निर्धारणका विषयमा सरकार स्पष्ट हुनुपर्ने माग सरकारसँग गरेको छ । सङ्घले मङ्गलबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी यस्तो माग गरेको हो ।
पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले खाडी र मलेसिया जाने श्रमिक पठाउँदा लाग्ने लागत शुल्क निर्धारण तथा व्यवसायीको सेवा शुल्कबारेमा स्पष्ट भएमा श्रमिकलाई यथार्थ लागतमा पठाउन सकिने बताए । सरकारले खाडी र मलेसियाका लागि न्यूनतम लागत शुल्क १० हजार रुपियाँ तोकेको एक दशकभन्दा बढी भयो तर त्यो नीति न कार्यान्वयन हुन सकेको न खारेज नै ।
अहिलेको महँगीमा विदेशबाट माग खरिद गरी ल्याएर १० हजार लागत सेवा शुल्क मात्रै लिएर श्रमिक पठाउन नसकिने भएकाले दक्षिण एसियाका देश (भारत, बङ्गलादेश, श्रीलङ्का) ले गर्दै आएका अभ्यासलाई कार्यान्वयन गरेमा हाल हुँदै आएको ठगीमा धेरै नियन्त्रण हुने सङ्घले दाबी गर्दै आएको छ । ती देशले खाडी र मलेसियामा श्रमिक पठाउँदा गन्तव्य देशमा श्रमिकले प्रतिमहिना प्राप्त गर्ने पारिश्रमिक बराबरको लागत खर्चबापत लिँदै आएको सङ्घले जानकारी गराएको छ ।
वैदेशिक रोजगार व्यवसायीले मलेसिया र खाडीमा जाने श्रमिकका हातमा १० हजार रुपियाँको रसिद थमाएर बिनाप्रमाण साढे दुई लाखदेखि चार लाख रुपियाँसम्म लिने गरेका छन् ।
सङ्घका अध्यक्ष भण्डारीले प्रतिश्रमिक १० हजार लागत शुल्क लिएर विदेश पठाउन सम्भव नभएको विषयमा सरकार जानकार हुँदाहुँदै मौन बस्दा सरकारको राजस्वमा नोक्सान, श्रमिकमाथि ठगी र इमानदार व्यवसायीलाई मर्का परेकाले लागत शुल्क निर्धारण गर्नु पर्ने बताए ।
काठमाडौं । श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाहिने भएको छ । दिल्लीस्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, ओमान, बहराइन, इराक, लिबिया र लेबनान जाँदा यस दूतावासबाट एनओसी लिनुपर्ने तर वैदेशिक श्रम स्वीकृति लिएका नेपाली नागरिकहरूलाई भने एनओसी आवश्यक नरहेको जनाएको हो ।
त्यसैगरी, नेपाली कूटनीतिकरआधिकारिकरसेवा राहदानी धारकहरू, संयुक्त राष्ट्र संघ लायसेज(पासर ९यूएनएलपी० भएका नेपाली नागरिकहरू र १६ वर्ष मुनिका नेपाली नाबालिगहरूलाई पनि एनओसी आवश्यक पर्ने छैन । अमेरिका, बेलायत तथा सेनजेन मुलुकको भिसा भएका नेपाली नागरिकहरूलाई पनि एनओसी चाहिने छैन भने रुस सरकारबाट छात्रवृत्ति प्राप्त गर्ने र व्यावसायिक भिसा हुनेहरू बाहेक रसिया जाने यात्रुहरूले भने दूतावास वा नेपालको कन्सुलर सेवा विभागबाट एनओसी प्राप्त गर्नुपर्ने छ ।
ट्राभल एनओसी आवश्यक पर्ने नेपाली नागरिकहरूलाई इमेलमार्फत दूतावासको वेबसाइटमा उल्लेख गरिएका सबै आवश्यक कागजातहरू सहित तोकिएको मितिभन्दा कम्तिमा सात दिन अगाडि सम्पर्क गर्न दुतावासले अनुरोध गरेको छ । यात्राको लागि सेवा शुल्क प्रति व्यक्ति १००० भारू तोकिएको छ ।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका दैनिक १० घण्टा बन्द भएपछि एयरलाइन्स कम्पनीहरुले हवाई भाडा दोब्बरले बढाएका छन् । त्यसैले म्यानपावर व्यवसायीहरुले भारतको बाटो हुँदै श्रमगन्तव्य मुलुक जाने व्यवस्था गर्न अनुरोध गरेपछि सरकारले यो व्यवस्था लागु गरेको हो ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिका र चीनका लागि नेपाली राजदूत नियुक्त गरेका छन् । पौडेलले आइतबार अमेरिकाको राजदूतमा लोकदर्शन रेग्मी र चीनको राजदूतमा कृष्णप्रसाद ओलीलाई नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा रेग्मी र ओलीलाई राजदूतमा नियुक्त गरिएको हो । उनीहरूको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गरेका हुन् । दुवै नेपालका लागि सम्बन्धित मुलुकमा आवासीय राजदूत हुन् ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार साँझ अजरबैजान प्रस्थान गरेका छन् । उनी अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप(२९) मा भाग लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।
उनलाई विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत संवैधानिक निकायका प्रमुख र उच्च पदस्थ कर्मचारीले बिदाइ गरे । अजरबैजानका राष्ट्रपति इल्हम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बाकु गएका हुन् ।
राष्ट्रपति पौडेलले कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’ लाई कात्तिक २७ गते सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनमा नेपालले आफ्ना एजेन्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन हुनेछ। सम्मेलनमा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानी तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठकसमेत हुनेछ। विश्वमै नेपाल जलवायुको असरबाट सबैभन्दा बढी प्रभावित मुलुकहरूमध्ये पर्छ।
बैठकमा नेपालले मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाडौँ उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमीजन्य घटनाका कारण आएको बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी गराउनेछ। नेपालले जलवायु परिवर्तनसम्बन्धी विभिन्न महासन्धिको पक्ष राष्ट्रका हैसियतले सन् २०५० सम्म कार्यान्वयन गर्ने राष्ट्रिय अनुकूलन कार्यक्रम तयार गरी कार्यान्वयन गरिरहेको छ। सम्मेलन कात्तिक २६ सुरु भई मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ। सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल कात्तिक ३० गते शुक्रबार स्वदेश फकिर्ने कार्यक्रम छ ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्दै छन् । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै बाकु जान लागेका हुन् ।
राष्ट्रपति पौडेलले यही कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन हुनेछ ।
सम्मेलनमा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठकसमेत हुनेछ । विश्वमै नेपाल जलवायुको असरबाट सबैभन्दा बढी प्रभावित मुलुकमध्ये पर्छ । बैठकमा नेपालले मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाडौं उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमीजन्य घटनाका कारण आएको बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी गराउनेछ ।
नेपालले जलवायु परिवर्तनसम्बन्धी विभिन्न महासन्धिको पक्ष राष्ट्रका हैसियतले सन् २०५० सम्म कार्यान्वयन गर्ने राष्ट्रिय अनुकूलन कार्यक्रम तयार गरी कार्यान्वयन गरिरहेको छ । सम्मेलन यही कात्तिक २६ सुरु भई आगामी मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल यही कात्तिक ३० गते शुक्रबार स्वदेश फर्कने कार्यतालिका छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ घर भएका ४३ वर्षीय गोकर्ण पराजुली र धादिङको गंगाजमुना गाउँपालिका–४ घर भएका ३० वर्षीय सञ्जिव गुरुङ छन् ।
पराजुली क्यानडा पठाउने नाममा ८ लाख १७ हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका हुन् । गुरुङ भने दुबई पठाउने भन्दै १९ लाख ७० हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका हुन् । उनीहरु दुवै जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको छ ।
काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । पोल्यान्ड हुँदै दुई वर्ष अघि पोर्चुगल आएका कैलालीस्थित धनगढी उपमहानगरपालिका–१२ का २८ वर्षीय सुरेशकुमार ओझा चार महिनादेखि बेपत्ता भएका हुन् । ओझा गत जुलाई ५ तारिखदेखि सम्पर्कविहीन भई बेपत्ता भएको सुदूरपश्चिमेली नेपाली समाज पोर्चुगलका अध्यक्ष दीपेश विष्टले जानकारी दिए ।
राजधानी लिस्बनस्थित एक रेष्टुराँमा काम गर्दै आएका उनी सात महिनाअघि एकाएक बेवारिसे भएका थिए । बेवारिसे भएका ओझालाई मेट्रो स्टेसनबाट नाजुक अवस्थामा उद्धार गरी लिस्बनस्थित एक होस्टेलमा खाने बस्ने व्यवस्था मिलाएर राखिएको भए पनि होस्टेलबाटै भागेर बेपत्ता भएको विष्टले बताए ।
‘हामीले धेरै पटक उनको उद्धार गर्यौँ। परिवारको आग्रहमा नेपाल पठाउने तयारी पनि गरेका थियौँ । तर, उनी एकाएक सम्पर्कविहीन भई बेपत्ता भए’, विष्टले भने। समाजको पहल र व्यवस्थापनमा होस्टेलमा बस्दै आएका उनी गत जुलाईदेखि सम्पर्कबिहीन भएका हुन् ।
हाल उनको खोजीकार्य भइरहेको र पोर्चुगलमा क्रियाशील नेपाली सङ्घ–संस्थालाई समेत उनको खोजबिनमा सहयोग गर्न आग्रह गरिएको विष्टले बताए । बेपत्ता भएका ओझा हालसम्म परिवार, आफन्तलगायत कोही कसैको सम्पर्कमा नआएको भन्दै उनको खोजी गरी नेपाल पठाइदिन परिवारले आग्रह गरेको उनले बताए । ओझाको परिवारमा वृद्ध आमा र पाँच दिदीबहिनी रहेका छन् ।
यसैबीच धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले समेत सामाजिक सञ्जालमार्फत बेपत्ता भएका ओझाको खोजबिन र उद्धार गरिदिन पोर्चुगलवासी नेपालीसँग आग्रह गरेका छन् । नगरप्रमुख हमालले एक सूचना जारी गर्दै बेपत्ता ओझाको खोजबिन र उद्धारका लागि आग्रह गरेका हुन् । रासस
केप कड नेपाली समाजले आयोजना गरेको २०८१ को तिहार शुभकामना तथा देउसी-भैलो कार्यक्रम, समाजका अध्यक्ष केबी राईको अध्यक्षतामा यही नोभेम्बर महिनाको १ तारीख, शुक्रवारका दिन हायानीस स्थित Cape Cod Irish Village को सभाकक्षमा भब्यताका साथ सम्पन्न गरिएको थियो।
समाजका महासचिव इच्छा खड्काद्वारा संचालित उक्त कार्यक्रम दुवै देशको राष्ट्रीय गानका साथै स- साना नानीबावुहरूले दीप प्रज्वलन गरि औपचारिक रूपमा शुरूआत गरिएको थियो ।
समाजका वरिष्ठ उपाध्यक्ष बिष्णुमान प्रधानले कार्यक्रममा उपस्थिति सबैलाई स्वागत गर्नुको साथै २०८१ सालको तिहार, नेपाल सम्वत् ११४५ र छठ पर्वको उपलक्ष्यमा, केप कड बासी र संसार भरीरहनु भएका सम्पूर्ण नेपालीहरूलाई हार्दिक मंगलमय शुभकामना पनि ब्यक्त गर्नुभएको थियो।
यसैगरि तिहार विशेष कार्यक्रमका संयोजक क्षेजी शेर्पाले यस कार्यक्रममलाई सफल बनाउन सहयोग गर्नुहुने समाजका सबै पदाधिकारीहरू लगायत समुदायका सम्पूर्ण आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरूलाई धन्यवाद दिदै सबैमा दीपावली २०८१ को शुभकामना पनि ब्यक्त गर्नुभएको थियो।
यस कार्यक्रमको खाना ब्यवस्थापन समुहकी संयोजक कुमुदा पोख्ररेलले पटलकमा सहभागी भएर आ-आफ्नो घर घरबाट विभिन्न परिकारहरू बनाई सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूको नाम पढेर सुनाउनुको साथै समाजको तर्फबाट विशेष धन्यवाद ज्ञापन गर्नुभएको थियो। समन्वय गर्नेक्रममा कुनै कमी कमजोरीहरू भएको भएमा आगामी दिनहरूमा सुधार गर्दै लैजाने कुरा प्रष्ठ पार्दै कार्यक्रममा उपस्थित सबैलाई तिहारको शुभकामना पनि ब्यक्त गर्नुभएको थियो।
समाजका आजीवन सदस्य डा. सरिता बज्राचार्यले विगतका दिनहरूको स्मरण गर्दै केप कडमा नेपाली समुदायको संख्या दिनानुदिन बढे संगै समाजले आयोजना गर्ने गरेका यस्ता कार्यक्रमहरूको महत्व अझै बढ्दै गइरहेको र सोही अनुसार केप कड नेपाली समाजले सह्रानिय काम गर्दै आएकोमा खुशी ब्यक्त गर्नुभएको थियो। अन्त्यमा वहांले उपस्थित सबैलाई तिहार, नेपाल सम्वत् ११४५ र छठ पर्वको शुभकामना दिनुभयो। त्यसैगरि समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार हरि राईले पनि सबैलाई तिहार, नेपाल सम्वत् ११४५ र छठ पर्वको शुभकामना ब्यक्त गर्दै समाजको संस्थागत विकास र प्रभावकारीतालाई बढाउन युवा पुस्ताहरूलाई प्रोत्साहित गर्दै लैजानुपर्ने बताउनुभयो।
तिहार विशेष देउसी- भैलो कार्यक्रमका सांस्कृतिक संयोजक खगेन्द्र राई, सदस्य सिताराम राई र ठग बहादुर तिमल्सिनाको अगुवाईमा समाजका सबै पदाधिकारीहरूलाई तिहारको स्वागत गीतमा सहभागी गराई देउसी भैलो सत्रको शुभारम्भ गर्नुभएको थियो। यसको साथ-साथै समाजका पदाधिकारीहरूबाट देउसी भैलोलाई दक्षिणा प्रदान गर्ने कार्य शुरू गरिएको थियो। समाजका पदाधिकारीहरू, आजीवन सदस्य लगाएत उपस्थितअन्य महानुभावहरूबाट देउसी भैलोलाई दक्षिणा प्रदान गर्ने क्रम कार्यक्रम भरी निरन्तर चलिरहयो। यसैगरि स-साना नानीबावुहरूले तिहार विशेष देउसी भैलो साथै अन्य गीतहरूमा सामूहिक तथा एकल नाचहरू प्रदर्शन गरि कार्यक्रमलाई थप रोचक र प्रभावकारी बनाएका थिए। यसरी नंया पुस्ताका नानी बावुहरूले आफ्नो कला संस्कृति प्रति देखाएको चासो, जोस जाँगर र अग्रसरताले यस्ता कार्यक्रमहरूको आवश्यकतालाई थप पुष्टि गरेको छ। स्थानीय कलाकार दिदीबहिनीहरूको धमाकेदार नाचगानका प्रस्तुति पनि अत्यन्त प्रशंसनीय थियो।
समाजका कोषाध्यक्ष विमल खड्का र सदस्य अजय खतिवडाको अगुवाईमा देउसी भैलोको दक्षिणा संकलन तथा ब्यवस्थापन गरिएको थियो। कार्यक्रममा नयाँ बनेका आजिबन सदस्य हरुलाई संस्थाका अध्यक्ष केबी राई र सचिब सरस्वती खनाल ले खादा माला लगाएर सम्मान गरी प्रमाण पत्र बितरण गर्नु भएको थियो भने सचिब खनाल ले आफैले रचना गरेको देउसी भैलोको गीत गाएर सबैलाई मनोरन्जन दिनु भएको थियो।
कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष साथै यस कार्यक्रमको सभापति, केबी राईले उपस्थित सबैलाई तिहार २०८१, नेपाल सम्वत् ११४५ र छठ पर्वको शुभकामना ब्यक्त गर्नुको साथै कार्यक्रमलाई सफल बनाउनको लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफ्नो अमुल्य समय, श्रम साथै बिचारहरू प्रदान गर्नुहुने सबै महानुभावहरू र कार्यक्रममा तिहारको मिठो मिठो खाना उपलब्ध गराउनु हुने सम्पूर्ण सदस्यज्यूहरूलाई समाजको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो। उक्त कार्यक्रममा २०० जना भन्दा बढी केप कड बासीको उपस्थिति रहेको थियो ।
काठमाडौं । साउदी अरेबियामा कार्यरत विदेशी महिला घरेलु श्रमिकले काम चित्त नबुझे स्वदेश फर्किन वा रोजगारदाता बदल्न पाउने भएका छन् । उनीहरुलाई २ महिनाको समय (ग्रेस अवधि) दिइने भएको छ । निर्धारित नियमहरुको पालना गर्ने सबै घरेलु श्रमिकले यस्तो सुविधा पाउने गरी साउदी अरेबिया सरकारले नीति बनाएको सञ्चारमाध्यमले जनाएका छन् । साउदी अरेबियाले घरेलु श्रमिकको प्रायोजन प्रणालीमा सुधार गर्दै रोजगारदाता र श्रमिकबीचको सम्बन्ध सुधार गर्ने गरी नयाँ नीति बनाइरहेको बताइएको छ ।
त्यहाँको मानव संशाधन मन्त्रालयले घरेलु श्रमिक आएको पहिलो २ वर्षभित्र सम्झौता भंग गरेमा त्यसको ६० दिन अर्थात दुई महिनाभित्र देश छाड्नुपर्ने व्यवस्था गरेको छ । यस्तै कुनै रोजगारदाताकोमा काम गर्ने श्रमिकले २ वर्षपछि आफैं काम गर्न छाडेमा ६० दिनभित्र नयाँ रोजगरदाता खोज्न र परिवर्तन गर्न पाउनेछन् ।
नेपाल लगायतका श्रमिक पठाउने मुलुकले साउदी अरेबियाको श्रम कानुन र त्यहाँ घरेलु श्रमिकमाथि हुने गरेको शोषणलाई देखाउँदै विभिन्न प्रतिबन्धात्मक व्यवस्था गरेका छन् । यसका कारण घरेलु श्रमिकको माग उच्च हुँदा पनि आपूर्ति प्रभावित भएसँगै साउदी अरेबियाले श्रम कानुनमा सुधार गरिरहेको छ ।
संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको निर्देशनका आधारमा नेपाल सरकारले ९ वर्षदेखि घरेलु श्रमिकका रुपमा विदेश जान श्रम स्वीकृति बन्द गरेको छ । घरेलु काम गर्न विदेश जानेहरु अवैध बाटो र फर्जी कागजपत्र प्रयोग गरेर जाने गरेका छन् ।
अहिले नेपालबाट साउदीमा पनि अवैध रुपमा घरलु श्रमिकमा रुपमा जानेहरु धेरै छन् । उनीहरु रोजगारदाताबाट ‘एक्जिट भिसा’को अनुमति नपाएर चाहेका बेला नेपाल फर्किन नसक्ने समस्या छ । यसले गर्दा श्रमिकले बन्धक भएर काम गर्न बाध्य भएको भन्दै नेपालले साउदीसँगको श्रम वार्ताहरुमा यो विषयलाई जोडतोडका साथ उठाउने गरेको छ ।
साउदी अरेबियाले श्रम वार्तामा घरेलु श्रमिक लैजाने मुद्दालाई प्रधानता दिने गरेको छ । तर, नेपालले घरमा काम गर्ने श्रमिक रोजगारदाताबाट मानसिक, शारीरिक र आर्थिक शोषणमा परेको भन्दै महिला श्रमिकको हकमा लागु हुने गरी श्रम समझदारी नभएका देशमा नपठाउने नीति लिएको छ ।
श्रम वार्ताहरुमा नेपालले सरकारको वैदेशिक रोजगारसम्बन्धी नीति, नेपालको श्रम कानुन, घरेलु श्रमिक विदेश पठाउनुअघि नेपालले खोजेको सुनिश्चितता र संसदको श्रम मामिला हेर्ने समितिले राखेको चासो र निर्देशनबारे ब्रिफिङ गर्दै आएको छ ।
काठमाडौं । मलेसिया सरकारले सबै विदेशी कामदारलाई कर्मचारी सञ्चय कोष (इपीएफ) मा योगदान अनिवार्य गर्ने नीति घोषणा गरेको छ । यसका लागि चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रस्ताव मलेसियाले आफ्नो वार्षिक बजेटमा उल्लेख गरेको सञ्चारमाध्यमले जनाएका छन् । सन् २०२५ को बजेट प्रस्तुत गर्दै प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले यस्तो घोषणा गरेका हुन् । उनले सबै आप्रवासी श्रमिकलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार उचित व्यवहार गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
मलेसिया सरकारको यो कदमले २० लाख विदेशी कामदारहरूलाई फाइदा पुग्ने अपेक्षा छ । जसमा झण्डै ५ लाख नेपाली श्रमिक रहेको अनुमान छ । विदेशी कामदारहरूलाई ईपीएफ योगदान अनिवार्य गर्ने योजनाको अधिकारवादीहरुले स्वागत गरेका छन् । उनीहरुले यो योजना सफल बनाउन बलियो अनुगमन आवश्यक रहेको बताएका छन् ।
काठमाडौं । पुनः एक पटक अमेरिकाको राष्ट्रपति बनेकोमा डोनाल्ड ट्रम्पलाई चीन सरकारले बधाई दिएको छ । चीनको विदेश मंत्रालयले आधिकारिक ‘एक्स’ अकाउन्टमा बुधवार एक पोस्ट राखेको छ ।
जसमा अमेरिकी जनताको छनोटको सम्मान गर्दै डोनाल्ड ट्रम्पलाई बधाई दिएको उल्लेख छ । अमेरिकाबारे चीनको नीति निरन्तर रहने समेत विदेश मन्त्रालयले उल्लेख गरेको छ । आपसी सम्मान, शांतिपूर्ण सह–अस्तित्व र दुबै मुलुकको फाइदाको सिद्धान्तलाई निरन्तरता दिइने सन्देशमा उल्लेख छ ।
काठमाडौं । फ्लोरिडास्थित आफ्नो निर्वाचन अभियानको मुख्यालयमा उपस्थित समर्थकहरूको भिडलाई सम्बोधन गर्दै डोनल्ड ट्रम्पले उनीहरूले भविष्यमा आजको दिनलाई फर्केर हेर्दा ‘आफ्नो जीवनको सबभन्दा महत्त्वपूर्ण दिनमध्ये एक मान्ने’ बताए।
“अमेरिकाले हामीलाई अभूतपूर्व र बलियो जनादेश दिएको छ,” उनले सिनेटमा पनि रिपब्लिकनको नियन्त्रण पुनर्स्थापित भएको तर्फ इँगित गर्दै भने।
अब सीमा व्यवस्थापन गर्ने, देशलाई (विभाजनको पीडाबाट) अघि बढाउने बताए।
उनले आफ्नी श्रीमति मेलानियाका साथै परिवारका सदस्यहरूलाई धन्यवाद दिएका छन्।
उनले समर्थकहरूलाई गरेको सम्बोधनलाई आफ्नो विजय भाषणको रूपमा प्रयोग गरेका छन्।
मतपरिणामको आधिकारिक घोषणा भइसकेको छैन तर निर्वाचन परिणामका प्रक्षेपणहरूले ट्रम्प जितको नजिक पुगेको जनाइरहेका छन्।
डोनल्ड ट्रम्पले फ्लोरिडामा भेला भएका आफ्ना समर्थकहरूलाई सम्बोधन गर्न थालेका छन्।
त्यसअघि उनका छोरा एरिकले ट्रम्पको यो तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।
भाषण गर्न मञ्चमा जाँदा ट्रम्पसँग उनकी पत्नी मेलानिया र उनको निर्वाचन अभियानका कर्मचारीहरू पनि छन्।
ट्रम्पले आफ्नो विजयलाई “भव्य” भनेका छन्।
उनले सीमासम्बन्धी विषय समाधान गर्ने घोषणा पनि गरे।
काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको प्रारम्भिक मत गणनामा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिएका छन् । ट्रम्पले ९९ स्थानमा र डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले २५ स्थानमा अग्रता लिएकी छन् । राष्ट्रपति निर्वाचनका लागि मंगलबार मतदान भएको थियो ।
बीबीसीका अनुसार प्रारम्भिक नतिजामा डोनाल्ड ट्रम्पले इण्डियाना, वेष्ट भर्जिनिया, केन्टकी, मिसौरी, ओक्लोहामा, अल्बामा, अर्कानास, टेनिसी, फ्लोरिडा, साउथ क्यारोलिना राज्यमा जित हासिल गरेका छन् । यसैगरी कमला ह्यारिसले भर्मोट, न्यूह्याम्प्सपायर, म्यासाचुयट्स, मेरिल्याण्ड, कोलम्बिया राज्यमा विजयी भएकी छन् ।
निर्वाचनमा पूर्वराष्ट्रपति ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिसबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ । केही मत सर्वेक्षणमा ह्यारिस ट्रम्पभन्दा थोरै अगाडि हुने नतिजा सार्वजनिक भएको छ ।
डेमोक्रेटिक पार्टीका नेता बर्नी स्यान्डर्स चौथो पटक बर्मोटका लागि अमेरिकी सिनेटर निर्वाचित भएका छन् । ८३ वर्षीय स्यान्डर्स अमेरिकी राजनीतिका प्रसिद्ध लिबरल अनुहार हो । उनले यो निर्वाचन आफ्नो जीवनकालका लागि सबैभन्दा महत्वपूर्ण हुने बताएका छन् ।
काठमाडौं । संयुक्त राज्य अमेरिकामा नयाँ राष्ट्रपति छान्न मङ्गलवार नोभेम्बर ५ का दिन मतदान हुँदै छ। प्रतिस्पर्धा कति कसिलो हुन्छ त्यसका आधारमा मतदान सकिएको केही घण्टा, दिन वा कहिलेकाहीँ कैयौँ दिनसम्म पनि विजेता को भएको छ भन्ने छुट्ट्याउन गाह्रो हुन सक्छ। डेमोक्र्याटिक पार्टीकी कमला ह्यारिस र रिपब्लिकन पार्टीका डोनल्ड ट्रम्पबीच निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ। ह्यारिस पदासीन उपराष्ट्रपति हुन् भने ट्रम्प पूर्वराष्ट्रपति हुन्।
सामान्यतया निर्वाचनको दिन दिइएको मत रुजु गरिन्छ। त्यसपछि क्रमशः पहिल्यै र हुलाकमार्फत् पठाइएको मत, दाबी विरोध भएको मत अनि विदेशमा र सैन्य सेवामा भएका मानिसले दिएको मतको पालो आउँछ। स्थानीय निर्वाचन अधिकृतहरूले प्रत्येक मतलाई प्रमाणीकरण गर्दै गणना गर्छन्। उक्त प्रक्रियालाई ुक्यान्भासिङु भनिन्छ। त्यस्ता अधिकृतहरू कहिलेकाहीँ नियुक्त र कहिलेकाहीँ निर्वाचित भएका हुन्छन्।
मत प्रमाणीकरण गर्दा जीवित मतदाताको कुल सङ्ख्या र खसेको मतको सङ्ख्याको तुलना (मतपत्र च्यातिएको वा त्यसमा मसी लतपतिएको छ कि छैन भनेर हेर्न प्रत्येक मतपत्र निकाल्ने, खोल्ने र जाँच्ने काम) अनि केही अस्वाभाविकता भए तिनको अभिलेख राख्ने र छानबिन गर्ने काम गरिन्छ। गणना गर्दा प्रत्येक मतपत्रलाई विद्युतीय स्क्यानरमा राखिन्छ।
कहिलेकाहीँ हातैले गन्नुपर्ने वा दोहोर्याएर रुजु गर्नुपर्ने पनि हुन सक्छ। प्रत्येक राज्य र स्थानमा क्यान्भासिङ प्रक्रिया, मत छुट्ट्याउने क्रम निर्धारण र गणना गर्ने स्थानमा कुन ठाउँसम्म सर्वसाधारण मानिस तथा पर्यवेक्षकहरू जान पाउँछन् भन्ने निर्णय गर्ने भिन्नाभिन्नै नियमहरू छन्।
काठमाडौं । अमेरिकाले डाइभर्सिटी भिसाको २०२६ को लागि आवेदन दिने समय दुई दिन थप गरेको छ । यसअघि ५ नोभेम्बर २०२४ सम्म कायम गरिएको समयावधि दुई दिन थपेर ७ नोभेम्बरसम्म बढाइएको नेपाल स्थित अमेरिकी राजदूतावासले जनाएको छ ।
अमेरिकी दूतावासका अनुसार असोज १६ गते बुधबार राति ९:४५ बजेदेखि डीभी कार्यक्रममा आवेदन खुलला गरिएको थियो । डिभी कार्यक्रमबाट अमेरिका लगिने व्यक्ति निष्पक्ष रूपमा छनोट गरिने अमेरिकी दूतावासले जनाएको छ । एउटा व्यक्तिले एउटा मात्र आवेदन दिनुपर्ने र एकभन्दा बढी आवेदन दिए अयोग्य ठहरिनेछन् ।
काठमाडौं\बीबीसी । अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि मङ्गलवार राती निर्वाचन हुँदैछ । मतदानलाई विश्वभरिका मानिसहरूले नजिकबाट नियालिरहेका छन्। अमेरिकी मतदाताले देशको राष्ट्रपतिसँगै कङ्ग्रेस भनिने त्यहाँको संसद्का सदस्य पनि चयन गर्दैछन् । जसले देशका नागरिकहरूको जीवनमा प्रभाव पार्ने महत्त्वपूर्ण कानुन पारित गर्न उल्लेख्य भूमिका निर्वाह गर्छन्।
अमेरिकी राष्ट्रपतीय निर्वाचन नोभेम्बर ५ मा हुँदैछ। नेपाली समय अनुसार मङ्गलवार राती हुने मतदानबाट चयन हुने विजेताको कार्यकाल जनवरी २०२५ बाट सुरु हुन्छ। अमेरिकी राष्ट्रपतिको कार्यकाल चार वर्षको हुन्छ । अमेरिकी राष्ट्रपतिले आफ्नै अधिकार प्रयोग गरी कानुन बनाउन सक्छन्। तर कानुन पारित गर्न उनले अधिकांश समय कङ्ग्रेससँग मिलेर काम गर्नुपर्छ।
अमेरिकी राष्ट्र प्रमुखलाई विश्व मञ्चमा देशको प्रतिनिधित्व गर्न र विदेश नीति तय गर्न उल्लेख्य स्वतन्त्रता हुन्छ। अमेरिकी निर्वाचनमा प्रमुख दुई पार्टीले आफ्ना उम्मेदवारहरू शृङ्खलाबद्ध मतदानबाट चयन गर्छन्। त्यो प्रक्रियालाई स्टेट प्राइमरी र ककसहरू भनिन्छ। जसमा पार्टी सदस्यहरूले आफ्नो दलको प्रतिनिधित्व गर्ने उम्मेदवार छान्छन्।
Getty images
रिपब्लिकन पार्टीबाट पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प आफ्ना प्रतिस्पर्धी भन्दा ठूलो अन्तरको समर्थन सहित राष्ट्रपतिको उम्मेदवार बनेका छन्। विस्कन्सिनमा आयोजित रिपब्लिकन राष्ट्रिय सम्मेलनबाट उनी राष्ट्रपतिको उम्मेदवार चयन भएका थिए। उनले जेडी भेन्सलाई उपराष्ट्रपतिमा अघि सारेका छन्।
राष्ट्रपति जो बाइडनले गत जुलाई महिनामा आफू उम्मेदवार नबन्ने घोषणा गर्दै उपराष्ट्रपति कमला ह्यारिसलाई अगाडि सारेपछि ह्यारिस डेमोक्र्याटहरूको उम्मेदवार बनिन्। उनलाई पार्टीबाट कसैले पनि चुनौती नै दिएन। उनले मिन्नेसोटाका गभर्नर टिम वाल्ट्जलाई उपराष्ट्रपति बनाउने घोषणा गरेकी छन्।
राष्ट्रपतीय निर्वाचनमा केही स्वतन्त्र उम्मेदवारहरूले पनि उम्मेदवारी दिएका छन्। जसमध्येका एक पूर्व राष्ट्रपति एक जोन एफ केनेडीका भतिजा रोबर्ट एफ केनेडी धेरै चर्चामा थिए। तर उनले अगस्ट अन्तिममा आफ्नो उम्मेदवारी फिर्ता लिएर ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेका थिए।
डेमोक्र्याट उदारवादी राजनीतिक पार्टीको रूपमा चिनिन्छ। यसका मुख्य नीतिहरूमध्ये नागरिक अधिकार, व्यापक सामाजिक सुरक्षा सञ्जाल र जलवायु परिवर्तनको असरलाई सम्बोधन गर्ने विषयहरू पर्छन्। रिपब्लिकन अमेरिकाको परम्परावादी राजनीतिक दल हो। ग्रान्ड ओल्ड पार्टी अर्थात् बुढो पार्टीको रूपमा पनि चिनिने रिपब्लिकन कम कर लगाउने, छरितो सरकार बनाउने, बन्दुक राख्ने अधिकार दिने र अध्यागमन तथा गर्भपातमा कडा प्रतिबन्धहरू लगाउने पक्षको दल हो। अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन मतदाताको सर्वाधिक मत ल्याएर मात्र पुग्दैन। सबैभन्दा धेरै मतदाताको समर्थन पाउने उम्मेदवार पनि राष्ट्रपतिको निर्वाचनमा पराजित हुने सम्भावना रहन्छ। अमेरिकामा मतदाताको प्रत्यक्ष मतबाट नभई ुइलेक्टोरल कलेजु भनिने निर्वाचक मण्डलले राष्ट्रपति छान्छ। त्यहाँ राज्यहरूलाई मतभार दिइएको हुन्छ, अनि त्यसकै आधारमा परिणामको छिनोफानो हुन्छ। त्यसकारण उम्मेदवारहरू सबै ५० राज्यको चुनाव जित्न आफ्नो सामर्थ्य प्रयोग गर्छन्।
कुनै राज्यमा निर्वाचन जित्नु भनेको उम्मेदवारले सो राज्यसँग भएका सबै इलेक्टोरल कलेज मत हात पार्नु हो। अमेरिकाका ५० राज्यसँग भएको इलेक्टोरल कलेज मतको कुल सङ्ख्या ५३८ छ। कम्तीमा २७० इलेक्टोरल कलेज मत पाउने उम्मेदवार राष्ट्रपति निर्वाचित हुन्छन्।
यसअघि भएका छ वटा निर्वाचनमध्ये दुइटामा आफ्ना प्रतिद्वन्द्वीको भन्दा कम मत ल्याउने दुई उम्मेदवार राष्ट्रपति बनेका थिए। सन् २०१६ मा डोनल्ड ट्रम्पले झन्डै ३० लाख मत कम पाए पनि इलेक्टोरल कलेजले उनलाई बहुमत दिएका कारण उनी राष्ट्रपति बने। अधिकांश राज्यले प्रत्येक निर्वाचनमा एउटै पार्टीलाई जिताउँछन्। त्यस कारण राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारहरूले स्विङ स्टेट भनिने परिणाम अनिश्चित हुने राज्यहरूमा आफ्नो ध्यान केन्द्रित गर्छन्।
सन् २०२४ को निर्वाचनमा एरिजोना, नोर्थ क्यारलाइना, जोर्जा, मिशिगन, नभाडा, पेन्सिल्भेनिया र विस्कन्सिनसहित सात राज्यमा उम्मेदवारहरूबीच उच्च प्रतिस्पर्धा हुने देखिएको छ। प्रत्येक राज्यमा त्यहाँको जनसङ्ख्याको आकारका आधारमा इलेक्टोरल मतको सङ्ख्या तोकिएको हुन्छ इलेक्टोरल कलेजको भेला प्रत्येक चार वर्षमा हुने निर्वाचन सकिएपछि केही सातामा आयोजना हुन्छ। त्यही भेलाले राष्ट्रपति र उपराष्ट्रपति छान्छ।
अमेरिकी राष्ट्रपति चयनका लागि हुने निर्वाचनमा १८ वर्ष वा सो भन्दा माथिका अधिकांश अमेरिकी नागरिकहरूले मत दिन पाउँछन्। तर नर्थ डाकोटा बाहेकका सबै राज्यमा निर्वाचनअघि अघि मतदाताको रूपमा दर्ता हुनुपर्ने नियम छ। प्रत्येक राज्यमा मतदाताको रूपमा दर्ता हुने आफ्नै प्रक्रिया र समयसीमा छ। विदेशमा रहेका अमेरिकी नागरिकहरूले पनि सङ्घीय हुलाक कार्यालयको प्रणालीमा निवेदन दिएर हुलाक मार्फत् मतदान गर्न सक्छन्।
अधिकांश राज्यमा चुनावको दिनअघि नै मतदाताहरूलाई अग्रिम मत दिने सुविधा दिइएको हुन्छ। राष्ट्रपतिबारे धेरै चर्चा हुने गरे पनि अमेरिकी मतदाताहरूले नोभेम्बर ५ मा अरू पदमा पनि मत दिँदैछन्। कङ्ग्रेस भनिने अमेरिकी संसद्का सदस्यहरू पनि त्यही दिनको निर्वाचनबाट चुनिन्छन्। अमेरिकामा कानुनको निर्माणमा उनीहरूको उल्लेख्य भूमिका हुन्छ। कङ्ग्रेसको संरचना ४३५ सिटको प्रतिनिधिसभा र ३४ सिटको सिनेट मिलेर बनेको हुन्छ।
अमेरिकी सरकारले गर्ने खर्चमा नियन्त्रण गर्ने प्रतिनिधिसभामा अहिले रिपब्लिकन पार्टीको बहुमत छ। सरकारका प्रमुख नियुक्तिहरूमा मतदान गर्ने सिनेटमा भने डेमोक्र्याटको नियन्त्रण छ। संसद्का यी दुई सदनले कानुनहरू पारित गर्नुका साथै ह्वाइट हाउसमाथि नियन्त्रणको काम गर्छन्। राष्ट्रपति योजना कुनै सदनमा बहुमत रहेको पार्टीलाई चित्त नबुझे त्यसको कार्यान्वयन गर्न ह्वाइट हाउसलाई अप्ठ्यारो पर्नसक्छ।
साधरणतया चुनाव सकिएकै रात अमेरिकी राष्ट्रपतीय निर्वाचनका विजेताको घोषणा हुन्छ। तर सन् २०२० मा सबै मत गणना सक्न केही दिन लागेको थियो। बहालवाला भन्दा फरक राष्ट्रपति निर्वाचित भएको अवस्थामा नयाँ राष्ट्रपतिको पदबहाली नहुँदासम्मको अवस्थालाई सङ्क्रमणकाल भनिन्छ।
यसले नयाँ प्रशासनलाई मन्त्रीहरू चयन गर्न र कार्यकालको योजना बनाउन समय दिन्छ। इन्यागुरेसन भनिने एक समारोहबीच नयाँ निर्वाचित राष्ट्रपतिले ज्यानुअरीमा पदबहाली ग्रहण गर्छन्। यो समारोह क्यापिटोल भनिने अमेरिकी संसद् भवनको खुड्किलाहरूमा हुन्छ।
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल साउदी अरेबियाको रियाद प्रस्थान गरेका छन् । सडक सुरक्षाबारे अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उनी शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन् । रियादमा २ देखि ४ नोभेम्बरसम्म हुने सडक सुरक्षासम्बन्धी सम्मेलन आयोजना हुँदैछ ।
मन्त्री दाहालसँगै पत्नी दिलमाया कार्की, सल्लाहकार हर्कराज राई र सूचना प्रविधि विज्ञ मनोज दाहाल पनि साउदी अरेबिया गएका छन् । इन्टरनेशनल रोड फेडेरेसन, आईआरएफ ग्लोबल र साउदी अरेबियाको यातायात मन्त्रालयले आयोजना गरेको उक्त सम्मेलनमा विभिन्न राष्ट्रका प्रतिनिधि एवं विज्ञले सडक सुरक्षासम्बन्धी कार्यपत्र पेश गरी छलफल हुने कार्यक्रम छ ।
काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा आयोजित विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिएर बिहीबार स्वदेश फर्किएका छन् । अर्थमन्त्री पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजस्व सचिव दिनेशकुमार घिमिरेले स्वागत गरे । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा अर्थमन्त्री पौडेलले जलवायु वित्तका क्षेत्रमा सहायता परिचालन गर्न स्थापित विश्वव्यापी वित्तीय कोषहरुको परिचालन प्रणालीलाई सरल र पहुँचयोग्य बनाउन विश्व समुदायसँग आग्रह गरे ।
त्यसैगरी, जलवायु न्यायका लागि विकास साझेदार र सिङ्गो अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवार र संवेदनशील बन्न आग्रह गर्नुका साथै जलवायु न्यायका लागि स्थापित हानी नोक्सानी तथा क्षतिपूर्ति कोषलाई प्रभावकारी रूपमा सञ्चालन गर्न अनुरोध गरेका थिए । अर्थमन्त्री पौडेलले नेपालले अघि सारेका विषयहरुप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक रहेको बताए ।
अमेरिकामा रहेका बेला अर्थमन्त्रीले विश्व बैंक, एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय वित्त निगमका उच्च पदस्थ पदाधिकारीहरुसँग अलग–अलग भेटवार्ता गरेका थिए । विभिन्न द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गरेका थिए । अमेरिका भ्रमणका क्रममा अर्थमन्त्री पौडेलले नेपाली दुतावासद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुका साथै अमेरिका चेम्बर अफ कमर्सका प्रतिनिधि, नेपाली समुदाय लगायतसँग भेटघाट गरेका थिए । अर्थमन्त्री पौडेल कात्तिक ५ गते अमेरिका गएका थिए ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको अजरबैजान भ्रमण मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्षराष्ट्रहरूको २९ औँ सम्मेलन (कोप २९) मा सहभागिताका लागि हुने राष्ट्रपतिको भ्रमण स्वीकृत गरेको हो । राष्ट्रपति पौडेल कात्तिक २५ देखि ३० सम्म अजरबैजान भ्रमणमा जाने कार्यक्रम स्वीकृत भएको एक मन्त्रीले जानकारी दिए ।
भ्रमण दलमा वन तथा वातावणमन्त्री ऐनबहादुर शाही अजरबैजान जाने कार्यक्रम स्वीकृत भएको हो । राष्ट्रपति पौडेलले अजरबैजानको बाकुमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्यक्रममा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । उक्त सम्मेलनका क्रममा राष्ट्रपतिले विभिन्न मुलुकका राष्ट्रप्रमुखसँग पनि छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।
काठमाडौं । रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा नेपाल प्रहरीले एक मलेसियन नागरिकसहित चार जनालाई पक्राउ गरेको छ । लहान नगरपालिका ४ स्थित एक होटलमा सरकारसँग अनुमति नलिई कतार पठाइदिन्छु भन्दै अन्तर्वार्ता लिइरहेका अवस्थामा मलेसियन नागरिक अन्दाजी ५१ वर्षीय मोहम्मद रिजुआन बिन अब्दुल्लाह, लहान २३ का ४२ वर्षीय रामाशङ्कर यादव, २५ वर्षीय रामभरत यादव र ३९ वर्षीय सूर्यनारायण दाव सोमबार पक्राउ परेका हुन् ।
पक्राउ परेका चारै जनालाई आवश्यक कारबाही सुरु भइसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले जानकारी दिए । उनीहरुले केही व्यक्तिसँग रकमसमेत असुल गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ । ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तयारी थालेका छन् । कात्तिकअन्तिम हप्ता वा मङ्सिर पहिलो हप्ता बेइजिङ भ्रमण हुन सक्ने उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री भएको एक सय दिनपछि ओलीले उत्तरी छिमेकी देश चीनको भ्रमण गर्न लागेका हुन् । सरकार बनेको एक महिनापछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भदौको शुरुमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दिल्लीमा शिष्टाचार भेट गरेकी थिइन् ।
गत असोजमा संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिका जाँदा प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन वार्ता भएको थियो । भेटमा प्रधामन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई नेपाल भमणको निम्तो दिएका थिए । मोदीले अनुकूल समय मिलाएर आउने जवाफ दिए पनि प्रधानमन्त्री ओलीलाई भने भारत भ्रमणको निम्तो दिएनन् ।
भारत भ्रमणका लागि तत्काल निम्तो आउने सम्भावना नदेखेपछि ओलीले आफ्नो पहिलो विदेश भ्रमण चीनबाट गर्न लागेका हुन् । यसअघि प्रधानमन्त्री हुँदा ओलीले भारतबाटै पहिलो विदेश भ्रमण गरेका थिए । चीन भ्रमणमा जानुअघि प्रधानमन्त्रीले बेल्ट एन्ड रोड इनीसीएटीभ (बीआरआई) परियोजनाको कार्यप्रगति के कति भयो भनेर सोधीखोजी थालेका छन् । सात वर्षअघि नै बीआरआई फ्रेमवर्कमा समझदारी भइसके पनि कार्यान्वयनमा ढिलासुस्ती भएको भन्दै चिनियाँ पक्षले चासो देखाइरहेको छ ।
यसअघि २०७५ सालमा तत्कालीन प्रधानमन्त्रीका रूपमा ओलीले चीन भ्रमण गर्दा केरुङ–काठमाण्डौ रेल्वेसम्बन्धी परियोजना, बेल्ट एन्ड रोड परियोजनामा गरिएको समझदारीपत्रको कार्यान्वयन, बन्दरगाह, सडक, रेल्वे, उड्डयनलगायतका विषयमा सम्झौता भएको थियो ।
काठमाडौं । रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित आजदेखि काठमाडौंमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ‘ग्लोबल’ सम्मेलन हुँदैछ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान साढे ९ बजे उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा नेपाल सरकारका मन्त्रीज्यूहरु, उच्च पदस्थ पदाधिकारीसहित स्वदेश तथा विदेशका पाँच सयभन्दा बढी व्यक्तिको सहभागिता रहने छ । साधारणसभामा सहभागी हुन विभिन्न देशबाट प्रतिनिधि काठमाडौंमा आइसकेका छन् । ‘ग्लोबल’ सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको परिषदले जनाएको छ ।
सम्मेलनमा सातवटा प्लेनरी सत्र रहने एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले जनाएको छ । कार्यक्रमको पहिलो दिन नेपालमा आर्थिक रूपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक (पिएनआ), जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरणसम्बन्धी विषयमा छलफल हुनेछ ।
दोस्रो दिन राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तीकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा तथा नेपाल पर्यटन प्रवर्द्धन नीति निर्माण, अपेक्षा चुनौती र एनआरएनएको भूमिकालगायत सत्रहरू रहने छन् ।
यस ‘ग्लोबल’ सम्मेलनले नेपाल सरकार, गैरआवासीय नेपाली समुदाय, र अन्य सरोकारवालाहरूबीच सहकार्यको वातावरण सिर्जना हुने अपेक्षा एनआरएनएले लिएको छ । यसैबीच कात्तिक १२ गते गैरआवासीय नेपाली संघको विधान अनुसार नियमित वार्षिक साधारण सभा पनि आयोजना हुनेछ । संघका ६० भन्दा बढी देशका प्रतिनिधिहरुले प्रत्यक्ष र भर्चुर्अल माध्यमद्धारा सहभागिता जनाउने छन् ।
कार्यक्रममा भौतिक रुपमा उपस्थित हुन नसक्नेको लागि भर्चुअल उपस्थितिका लागि विशेष व्यवस्था मिलाइएको हो । साधारण सभाबाट आर्थिक तथा वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने तयारी छ । यसका साथै विगतमा असन्तुष्ट समुहलाई एउटै फोरममा राखी असहमति, असमझदारीलाई छलफलमार्फत समस्या समाधानका लागि आह्वान गर्दै यस वार्षिक साधारणसभालाई एकताको सभा बनाइने एनआरएनएले जनाएको छ ।
जिपि कोइराला फाउन्डेसन न्युयोर्क च्याप्टरले अक्टोबर २४ अपरान्ह ज्याक्सन हाईटस्थित आफनै कार्यालय प्राङ्गणमा २०८१ दशैँ र दिपावलीको नेपालीबीच शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा बिभिन्न तह र तप्काका नेपालीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा बिभिन्न वक्ताहरुले नेपालमा हालै भएको बाढी पहिरो प्रकोपबाट पिडित आफ्ना नेपाली देशबासीहरु प्रति गहिरो समबेदना प्रकट गरेका थिए। दशैको अवसरमा चियापान कार्यक्रम आयोजना गरि नेपालीबीच भातृत्व बढाउने उद्देस्य सहित नेपाली काग्रेसले शुरु गरेको यो कार्यक्रम अहिले नेपालका बिभिन्न पार्टीहरुले पनि अनुशरण गरि रहेकाछन। तर पनि नेपालीबीच भातृत्व बढ्नुको साटो बैमनस्य बढेको स्पष्ट देख्न सकिन्छ। प्रवास आएर पनि नेपालीहरुले आफुलाई नेपाली नभनि कसैले दोलखा समाज, कसैले तामांग समाज, कसैले डोटी समाजका फलानो र ढिस्कानो भनेको सुनियो। यहाँ लेटिनो समाज, बंगलादेशीको समाज र अन्यहरुको समाज कति बलियो संगठित देखिन्छ। तर नेपालीको भने नेपालमा जस्तै जातपात कै समाज कायम छ। अनि नेपालीहरुको भेटघाट सिर्फ एकछिन चियापान र गफगाफ अनि सकियो। परेको बेला कुनै नेपालीलाई अर्को नेपालीले सहयोग सहायता गर्ने गुञ्जायस देखिदैन। त्यसैले अब अमेरिकामा सबै जातपात छोडेर नेपाली एक बलियो संगठन बनि नेपालीहरुको सबै एक दरिलो आशा र भरोसाको केन्द्र बन्नु पर्ने कुरामा बक्ता बैजुले जोड दिए।
कार्यक्रममा उपस्थित सबैलाई धन्यावाद दिदै सभापति सोमनाथाले कार्यक्रम बिसर्जन गरेका थिए। कार्यक्रमको संयोजन सुबर्ण लामाले गरेका थिएभने रामचन्द्र अधिकारिले कार्यक्रम संचालन गरेका थिए।
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबीच भेटवार्ता भएको छ । उक्त भेटका अवसरमा मिलेनियम च्यालेन्ज कर्पोरेसनको कम्प्याक्ट एग्रिमेन्टअन्तर्गत गत वर्षदेखि कार्यान्वयन भएको परियोजना तथा अन्तरदेशीय प्रसारण लाइनका बारेमा छलफल भएको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ ।
अर्थमन्त्री पौडेलसँग अन्तर्राष्ट्रिय मुद्रा कोषका उपकार्यकारी निर्देशक बो लीले पनि भेटवार्ता गरेका छन् । त्यस असरमा उहाँहरूबीच वित्तीय सहायता, परामर्श सेवा र प्राविधिक सहयोगबारे छलफल भएको थियो । उपकार्यकारी निर्देशक बोले नेपालको आर्थिक प्रगति सन्तोषजनक रहेको बताएका थिए । अर्थमन्त्रीका साथमा अर्थसचिव रामप्रसाद घिमिरे, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी तथा यहाँस्थित दूतावासका कार्यवाहक राजदूत कुमारराज खरेल थिए ।
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेका र त्यसको आकर्षक प्रतिफल पनि प्राप्त हुने भएकाले ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरेका छन् । अमेरिकी उद्योग वाणिज्य सङ्घले आज वासिङ्टन डिसीमा आयोजना गरेको छलफलमा उनले नेपालको भौतिक पूर्वाधार, पर्यटन, कृषि, ऊर्जालगायत क्षेत्रमा लगानी गरेर लाभ लिन अनुरोध गरे ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नेपालमा जलविद्युत् विकास तथा पर्यटन पूर्वाधार निर्माण क्षेत्रमा लगानीका पर्याप्त अवसर रहेकाले त्यसको उपयोग गर्न अमेरिकी लगानीकर्ताहरूलाई आग्रह गरे । छलफलमा बहुराष्ट्रिय कम्पनी गुगल, मेटा, कोकाकोलालगायत प्रतिष्ठित अमेरिकी कम्पनीका प्रतिनिधिको सहभागिता थियो ।
काठमाडौं । सरकारले इजरायलमा नेपाली श्रमिक तत्काल नपठाउने भएको छ । इजरायल र अन्य देशबीचको युद्ध साम्य नभएपछि सरकारले परिस्थिति सहज नहुँदासम्म श्रमिक नपठाउने भएको हो । इजरायलमा शान्तिपूर्ण अवस्था बनेपछि मात्रै श्रमिक पठाउने तयारी रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । जीटूजी प्रक्रियाबाट केयर गिभरको रुपमा इजरायल जाने २ हजार ११२ जना नेपाली श्रमिकको छनोट १४ असोजमा चिठ्ठा प्रणालीबाट गरिएको थियो ।
वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले इजरालयमा जाने नेपाली श्रमिकहरुको सुरक्षा सुनिश्चित भएपछि मात्रै पठाउने प्रक्रिया थाल्ने बताए । ‘नेपालीले त्यहाँ असुरक्षा भोग्नु नपरोस् भनेर सचेत छौं’, उनले भने, ‘परराष्ट्र मन्त्रालयसँग निरन्तर छलफलमा छौं, परिस्थिति सहज नदेखेसम्म पठाउँदैनौं ।’ इजरायल पछिल्लो एक वर्षयता समयदेखि प्यालेस्टाइनको हमाससँगको युद्ध लडिरहेको छ । पछिल्लो समय इजरायल–इरानबीच युद्ध चर्कंदो छ । दुवैले एक अर्कालाई लक्षित गरी क्षेप्यास्त्रहरु प्रहार गरिरहेका छन् । लेबनानसँग पनि इजरायल युद्धमा छ ।
निरन्तरको युद्धका कारण अहिले इजरायलमा कार्यरत नेपालीहरु त्रसित अवस्थामा छन् । यस्तो बेलामा सरकारले भने रोजगारीका लागि थप नेपालीलाई त्यहाँ पठाउने तयारी गरेपछि त्यसको आलोचना भएको थियो । केयर गिभरको काम गर्न इजरायलले गोला प्रथाबाट छनोट गरेका नेपालीमा एक हजार १५६ महिला र पुरुष ९५६ छन् । छनोट भएका श्रमिकलाई पठाउन स्वास्थ्य परीक्षणपछि पूर्वप्रस्थान अभिमुखीकरण तालिम दिनुपर्छ । तर, अहिले विभाग यी प्रक्रिया अघि बढाइहाल्ने पक्षमा छैन ।
गत वर्ष २१ असोजमा प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परेर इजरायलमा १० जना नेपालीको मृत्यु भएको छ । बेपत्ता भएका विपिन जोशीको अवस्था अझै अज्ञात छ । यो घटनापछि सरकारले विमान पठाएर २५३ जना र पछि भारत सरकारको सहयोगमा थप १८ जना नेपालीलाई स्वदेश फर्काएको थियो । हाल इजरायलमा करिब ४५ सय नेपाली रहेको अनुमान छ । त्यहाँ लेबनान र इरानले गरेको आक्रमणका कारण नेपालीहरु त्रासमा छन् ।
काठमाडौं । इजरायल र हेजबुल्लाहबीचको लडाइँ चर्किंदै गए पनि सरकारले लेबनानमा त्यहाँ श्रमिक पठाउन बन्द गरेको छैन । लेबनानमा कार्यरत करिब ७ सय जना घरेलु महिला श्रमिकहरु त्रासमा रहेका बेला सरकारले लेबनानमा थप श्रमिक जान नदिने गरी कुनै निर्णय गरेको छैन ।
वैदेशिक रोजगार विभागले त्यहाँको सुरक्षा अवस्था र थप श्रमिक पठाउँदा हुन सक्नेबारे परराष्ट्र मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिएको छ । विभागका महानिर्देशक सूर्यबहादुर खत्रीका अनुसार श्रम स्वीकृति रोक्नेबारे छलफल भइरहेको छ ।
उनका अनुसार ‘परराष्ट्र मन्त्रालयले चासोका साथ त्यहाँको अवस्था हेरिरहेको छ । अहिलेसम्म सरकारले लेबनानमा रहेका नेपालीहरु असुरक्षित रहेको निष्कर्ष निकालिसकेको छैन। लेबनानी मन्त्रिपरिषको विपद् जोखिम व्यवस्थापन इकाइले मंगलबार जारी गरेको प्रतिवेदन अनुसार लेबनानमा इजरायली हवाई हमलाबाट मृत्यु हुनेको संख्या २ हजार ५३० पुगेको छ, आक्रमणहरुमा ११ हजार ८०३ जना घाइते भएका छन् ।
लेबनानमा धेरैजसो महिला घरेलु श्रमिकहरु छन् । धेरैजसो बेरुत लगायतका शहरमा काम गरिरहेका छन् । सरकारले युद्धग्रस्त लेबनानमा रहेका नेपालीलाई अधिकतम सतर्कता अपनाउन अनुरोध गर्दै आएको छ । इजरायलसँगको युद्ध चर्किएपछि परराष्ट्र मन्त्रालयले गत १५ असोजमै सूचना जारी गरेर लेबनानमा अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको थियो । कुनै अप्ठ्यारो परेमा सम्पर्क गर्न इजिप्टको कायरोस्थित नेपाली राजदूतावास, अवैतनिक नेपाली वाणिज्यदूतावास बेरु र परराष्ट्र मन्त्रालयका कर्मचारीहरुको नाम, सम्पर्क नम्बर र इमेल ठेगाना सार्वजनिक गरिएको छ ।
कायरोमा दीपक घिमिरेलाई २०१०७७७२३४८ नम्बरमा ह्वाट्सएपमार्फत् सम्पर्क गर्न सकिने छ । यसैगरी बेरुतमा मोहम्मद गोजायललाई ९६१३३०११८१, ९६१७१६८८८२१ र ९६१८१८८३७१३ नम्बरमा सम्पर्क गर्न सकिने छ । यसैगरी मन्त्रालयले परराष्ट्र मन्त्रालयका शाखा अधिकृत श्रीकृष्ण सिलवाललाई ९८४९१७९५२० नम्बरमा पनि सम्पर्क गर्न सकिने व्यवस्था गरेको छ ।