Category: डायस्पोरा

  • आन्तरिक उडान भोली रातीबाट बन्द, भारतसँगको उडान रद्द

    आन्तरिक उडान भोली रातीबाट बन्द, भारतसँगको उडान रद्द

    काठमाडौं । सरकारले सोमबार मध्यरातिदेखि लागु हुने गरी आन्तरिक उडान बन्द गरेको छ । सोमबारका लागि निर्धारित उडान भने जारी रहने छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार सोमबार राती १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो । बैठकले भारतबाट हुने सम्पूर्ण उडान रद्द गरेको छ ।

    ब्राजिल र दक्षिण अफ्रिकाबाट समेत यात्रु नेपाल आउन पाउने छैनन् । अन्य अन्तर्राष्ट्रिय उडान यथावत रहने छन् । विदेशबाट आउने सबै व्यक्ति १० दिन अनिवार्य क्वारेन्टिनमा रहनु पर्छ । उनीहरुको साथमा पीसीआर नेगेटिभ अनिवार्य हुनुपर्छ ।

  • हङकङले रोक्यो नेपालसँगको हवाई उडान

    हङकङले रोक्यो नेपालसँगको हवाई उडान

    हङकङ । काठमाडौंबाट हङकङका लागि हुने हवाई उडान रोकिएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणका बीच हङकङले नेपालसँगको हवाई उडान रोक्ने निर्णय गरेको हो । संचारमाध्यमहरुका अनुसार शनिबारदेखि लागू हुने गरि नेपालसँगका सबै हवाइ उडान रोक्ने निर्णय त्यहाँको सरकारले गरेको छ । नेपालमा कोरोनाभाइरसको संक्रमण तिब्र छ । तर, हङकङमा भने विदेशबाट आएका मानिसहरुमा मात्र कोरोना देखिएको छ ।

    भारत र नेपालबाट गएका नागरिकमा कोरोना देखिएपछि हङकङले उडान रोक्ने निर्णय गरेको हो । अर्को सूचना जारी नभएसम्म काठमाडौंबाट हुने उडान रोकिएको हो । हङकङले नेपाललाई उच्च जोखिमपूर्ण मुलुकमा राखेको छ । हङकङले भारत, पाकिस्तान र फिलिपिन्सका समेत सबै उडान रोकिसकेको छ ।

  • भारत यात्रामा अष्ट्रेलियाको कडा नियम, स्वदेश फर्किए ५ वर्ष जेल

    भारत यात्रामा अष्ट्रेलियाको कडा नियम, स्वदेश फर्किए ५ वर्ष जेल

    सिड्नी । अष्ट्रेलियाको सरकारले अहिले भारत भ्रमणमा जानु गैरकानूनी भएको घोषणा गरेको छ । उसले आफ्ना नागरिकलाई भारत भ्रमणबाट फर्किएर अष्ट्रेलियामा आए ५ वर्षसम्मको जेल सजाय हुन सक्ने नियम ल्याएको बीबीसीले जनाएको छ । भारतमा कोरोनाभाइरस सङ्क्रमित भई क्वारन्टीनमा बसिरहेका अस्ट्रेलियाका नागरिकहरूको सङ्ख्याका आधारमा पछिल्लो निर्णय लिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यसै साताको शुरूतिर अस्ट्रेलियाबाट भारतबाट हुने सबै उडानमाथि प्रतिबन्ध लगाइएको थियो। भारतमा अहिले अनुमानित ९ हजार अस्ट्रेलियाली नागरिक रहेको र तीमध्ये ६०० जनालाई जोखिम समूहमा राखिएको छ। भारतबाट फर्किरहेका अस्ट्रेलियाका नागरिकको सङ्ख्यासँग सरकारको कदम भने असुहाउँदो भएको भन्दै आलोचना भइरहेको छ ।

    आफ्नो परिवार भारतमा मरिरहेको अवस्थामा सरकारले त्यहाँबाट निकाल्नुको साटो स्वदेश आएमा कारवाही गर्ने नीति ल्याएको छ । सोमवारबाट लागु हुने गरी अस्ट्रेलिया पुग्नु १४ दिनअघि भारतमा रहेको भए त्यस्ता मानिसहरूलाई स्वदेश फर्कन प्रतिबन्ध लगाइएको बीबीसीले लेखेको छ। त्यसको उल्लङ्घन गर्नेहरूलाई पाँच वर्षसम्म जेल सजाय वा ६६ हजार अस्ट्रेलियाली डलर जरिवाना अथवा दुवै सजाय हुन सक्छ।

  • नेपालमा रुसी खोप ल्याउने तयारी, दुबै मुलुक सकारात्मक

    नेपालमा रुसी खोप ल्याउने तयारी, दुबै मुलुक सकारात्मक

    काठमाडौं । नेपालमा रुसबाट कोरोना भाइरस विरुद्धको खोप ल्याउने तयारी शुरु गरिएको छ । दुबै मुलुक यससम्बन्धमा सकारात्मक भएसँगै रुसबाट खोप ल्याउने प्रक्रिया अगाडी बढाइएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रूसका राजदूत अलेक्सेइ नोभिकोभले सोही सिलसिलामा भेट गरेका छन् । उनले नेपाललाई कोभिडविरुद्धको खोप (स्पुतनिक भी) उपलब्ध गराउन आफ्नो मुलुक सकारात्मक रहेको जानकारी प्रधानमन्त्री ओलीलाई दिएको नेपाली संचारमाध्यमले जनाएका छन् ।


    प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपालले रुसबाट खरीद गर्ने क्रममा रहेको कोभिडविरुद्धको खोप (स्पुतनिक भी) तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न राजदूत नोभिकोभलाई आग्रह गरेको बताइएको छ । नेपालमा निजी क्षेत्रबाट चिनियाँ खोप ल्याउने समेत पहल भएको थियो । तर, सरकारले सरकारी स्तरमै खोप ल्याउने तयारी थालेको छ । भारतमा बढ्दो संक्रमणका कारण भारतबाट खरीद गरेको खोप ल्याउन सकिएको छैन । चीनले अनुदानमा दिएको खोप लगाइसकिएको छ ।

  • नेपाल र भारतका २२ नाका बन्द, १३ नाकाबाट आवतजावत गर्न सकिने

    नेपाल र भारतका २२ नाका बन्द, १३ नाकाबाट आवतजावत गर्न सकिने

    काठमाडौं । नेपाल र भारतबीचका २२ वटा नाका सरकारले बन्द गरेको छ । शुक्रबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले नेपाल र भारतबीचका ३५ नाकामध्ये २२ वटा बन्द गर्ने नाका बन्द गर्ने निर्णय गरेको हो । अब १३ वटा नाकाबाट भने आवतजावत गर्न सकिने छ ।

    अब काँकडभिट्टा, जोगबनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफान्टा र गड्डाचौकी नाका खुला हुनेछन् । यी नाका नजिकै होल्डिङ सेन्टर बनाएर नेपालीहरुलाई राख्ने निर्णय समेत भएको छ । बैठकले निषेधाज्ञामा अझै कडाई गर्ने निर्णय समेत गरेको छ ।

    अब उद्योगहरुले मजदुर कर्मचारीलाई उद्योग परिसरमै राख्नुपर्ने भएको छ । सार्वजनिक निर्माण काम रोक्ने र सरकारी कार्यालयमा समेत कर्मचारी घटाउने निर्णय सरकारले गरेको छ । सरकारले अब निजी अस्पताललाई पुनः कोभिड अस्पतालमा रुपान्तरण गर्ने तयारी समेत गरेको छ ।

  • हवाई यात्रुले विमानस्थलबाट प्रिपेड ट्याक्सी घरमै बोलाउन पाउने

    हवाई यात्रुले विमानस्थलबाट प्रिपेड ट्याक्सी घरमै बोलाउन पाउने

    काठमाडौं । त्रिभुवन विमानस्थलबाट मुलुक भित्र वा बाहिर जुनसुकै गन्तब्यमा यात्रा गर्ने यात्रुले निषेधाज्ञाको अवधिभर विमानस्थल भित्र अनुमति प्राप्त प्रिपेड ट्याक्सीलाई घरमै बोलाउन सक्ने भएका छन् । निषेधाज्ञाको समयमा काठमाडौंमा सार्वजनिक यातायात बन्द छ ।

    निजी सवारी र आफन्त समेत नहुनेहरुले विमानस्थलसम्म पुग्न सास्ती बेहोर्नु परेको छ । यस अवस्थामा नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयले प्रिपेड ट्याक्सीलाई विमानस्थलसम्म यात्रु ल्याउन पाउने गरी अनुमति दिएको छ ।

    त्रिभुवन विमानस्थल कार्यालयले अनुमति दिएका हरियो नम्बर प्लेटवाला एयरर्पोट प्रिपेड ट्याक्सीले मात्र यसरी हवाई यात्रु ओसार्न पाउने छन् । विमानस्थल कार्यालयका अनुसार हवाई यात्रुले वैधानिक हवाई टिकट, पासपोर्ट वा भिसा देखाएका आधारमा विमानस्थलमा आवतजावत गर्न सक्छन् ।

    कार्यालयका अनुसार प्रिपेड ट्याक्सीलाई फोन गरेपछि सम्बन्धित स्थानमा पुग्ने छन् । त्यसका लागि विमानस्थल कार्यालयले फोन नम्बर पनि सार्वजनिक गरेको छ ।

    यो हो फोन नम्बर

  • अब विदेश जानेको पीसीआर रिर्पोटमा फोटो अनिवार्य

    अब विदेश जानेको पीसीआर रिर्पोटमा फोटो अनिवार्य

    काठमाडौं । अब विदेश जाने यात्रुले गर्ने पीसीआर परीक्षणको रिर्पोटमा फोटो अनिवार्य राख्नु पर्ने भएको छ । सरकारले विदेश जाने प्रयोजनका लागि गरिने पीसीआर परीक्षण रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो राख्नुपर्ने नियम ल्याएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    विदेश जानेको पीसीआर परीक्षण ए वर्गका प्रयोगशालामात्र गर्नु पर्ने भएको छ । ती रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो र वारकोड राख्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारेको छ ।


    यसबाहेक आईएमयू अनलाइन प्रणालीबाट नाकामै हेर्न मिल्ने गरी उपलब्ध गराइएको रिपोर्ट मात्र मान्य हुने व्यवस्था गर्ने निर्णय भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।

    काठमाडौंका सुरिया ल्याबले गरेको पीसीआर परीक्षणको रिपोर्ट नक्कली फेला परेपछि सयौं नेपाली तथा विदेशी यात्रु पक्राउ परिसकेका छन् । उक्त ल्यावले नक्कली रिर्पोट दिने गरेको खुलेको हो । यसले नेपालमा गरेको परीक्षणको विश्वसनीयतामा नै प्रश्न उठेको थियो ।

  • निषेधाज्ञाको समयमा पनि विदेशबाट आएको रेमिट्यान्स निकाल्न सकिने

    निषेधाज्ञाको समयमा पनि विदेशबाट आएको रेमिट्यान्स निकाल्न सकिने

    काठमाडौं । बिहीबारबाट शुरु हुने निषेधाज्ञाको समयमा समेत विदेशबाट आएको रेमिट्यान्स भने निकाल्न सकिने भएको छ । सरकारले अत्यावश्यक सेवा भित्र राखेका कारण रेमिट्यान्स, बैंक तथा वित्तीय संस्थाहरुको सेवा नियमित सूचारु हुने भएको हो ।

    बैंक र बिमासँगै रेमिट्यान्स कम्पनी सूचारु हुने भएकाले सेवाग्राहीले विदेशबाट आएको रेमिट्यान्स ढुक्कसँग निकाल्न सक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । यद्दपी यी कम्पनीहरुले कारोबार गर्दा सुरक्षा सतर्कता भने अपनाउनु पर्ने छ ।

    त्यसो त राष्ट्र बैंकले यसअघि नै सेवाग्राहीलाई सकेसम्म डिजिटल कारोबार गर्न आह्वान गरिसकेको छ । सम्बन्धीत बैंक तथा रेमिट्यान्स कम्पनीका कर्मचारीले कम्पनीको परिचय पत्रको आधारमै आवात जावत गर्न सक्ने छन् । काठमाडौं उपत्यकामा बिहीबार बिहानैबाट निषेधाज्ञा शुरु हुँदैछ ।

  • किराँत याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा सुमन थाम्सुहाङ

    किराँत याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा सुमन थाम्सुहाङ

    न्यूयोर्क
    किराँत याक्थुङ चुम्लुङ अमेरिकाले सुमन थाम्सुहाङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

    अप्रिल २५ मा न्यूयोर्कमा सम्पन्न आठौं महाधिवेशनले थाम्सुहाङको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति सर्वसम्मतिमा निर्वाचित गरेको हो ।

    महाधिबेशनले आगामी २०२१\२३ को कार्यकालको लागि बरिष्ठ उपाध्यक्षमा युगेश लिङदेन लिम्बू, उपाध्यक्षमा ममता सुब्बा लाबूङ, महासचिवमा सुर्य लिङदेन लिम्बू, सचिवमा दिपक थेबे लिम्बू, कोषाध्यक्षमा पि के थक्लुङ लिम्बू, सहकोषाध्यक्षमा लाजिमा सुब्बा नाल्बोलाई चयन गरेको छ ।

    त्यसैगरी सदस्यहरुमा साबि लिङदेन लिम्बू, विमल चेम्जोङ लिम्बू, मणि लिबाङ लिम्बू, निर्मला कन्दङवा लिम्बू, बिवश माङमू लिम्बू, बानू तुम्बाहाम्फे लिम्बू, सम्झना लाबूङ लिम्बू, जिवन खजुम लिम्बू, सोनु पयाङगू लिम्बू र कृष्ण फोम्बो लिम्बू, निलम जबेगु योङ्हाङ सर्बसहमतिमा निर्वाचित भएका छन् भने बाकी ३ जना आगामी कार्यसमितिको पहिलो बैठकद्वारा मनोनित गर्ने बताइएको छ ।

    कियाचु निवर्तमान अध्यक्ष विरेन्द्रहाङ लाबुङ लिम्बुको अध्यक्षतमा सम्पन्न आठौ महाधिवेशनको प्रमूख अतिथीको रूपमा रहेका नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङले परदेशमा सामुदायिक संघ संस्थाले अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । उनले कियाचु अमेरीकाको अबको कार्यभार अमेरिकाको मूलधारमा लिम्बु कला संस्कृति र पहिचानलाई स्थापित गर्दै नयाँ पुस्तामा पुस्तान्तरण गर्दै लैजानु नै सबैको मुख्य कर्तव्य रहेको बताए ।

    चेम्जोङले नेपालमा याक्थुङ लाजेमाको पहिचान माथी राज्यसत्ताद्वारा गरिएको सांस्कृतिक अतिक्रमणको विरूद्धमा सशक्त आवाज उठाउनुपर्ने धारणा व्यक्त गरेका थिए ।

    कियाचु अमेरिकाका कानुनी सल्लाहकार दुर्गा सुब्बाको संयोजकत्वमा रहेको निर्वाचन समितिमा सदस्यहरू मुनिन्द्र नेम्बाङ र गणित सुब्बाले बन्दशत्रको संचालन तथा निर्वाचन प्रक्रियामा रहेर महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

    महाधिवेशनको उद्घाटन सत्रमा किराँत राई सोसाइटी अफ अमेरीकाका अध्यक्ष राम राई, तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका अध्यक्ष लक्यान लामा, युनाईटेड किराँत राई अर्गनाईजेसन अफ अमेरिका न्यूयोर्क च्याप्टरका अध्यक्ष केशवराम राई, कियाचु पूर्वअध्यक्ष देवेन्द्र सम्बाम्फे र कानुनी सल्लाहकार दुर्गा सुब्बाले महाधिवेशन सफलताको शुभकामना दिएका थिए ।

    त्यस्तै नवनिर्वाचित कार्यसमितीलाई तुम्याहाङ प्रेम मेयाङबो, मदत सम्बाम्फे, केशरमान लिम्बु, निर्वाचन समिति सदस्य मुनिन्द्र नेम्बाङ, गणित सुब्बा साथै कियाचु पूर्व उपाध्यक्ष पुष्पलत्ता थाम्सुहाङले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

    नवनिर्वाचित अध्यक्ष सुमन थाम्सुहाङ लिम्बुले आगामी आफ्नो कार्यकालमा कियाचुको आफ्नै चुम्लुङ हिम निर्माण गर्ने र यसको सुरूवात आफैबाट गर्ने भन्दै पाँच हजार डलर दिएर सुरूवात गरेको घोषणा गरेका थिए ।

    नेपाली अमेरिकन समुदायमा सधै एक ढिक्का भएर समुदायको सेवामा समर्पित चुम्लुङ सन २००४ सालमा स्थापना भएको हो ।

  • चीनले करीव १ अर्ब बराबरको स्वास्थ्य सामग्री नेपाललाई सहायता दिने

    चीनले करीव १ अर्ब बराबरको स्वास्थ्य सामग्री नेपाललाई सहायता दिने

    काठमाडौं । चीनले नेपाललाई करिब ९२ करोड रुपैयाँ भन्दा बढी (चिनियाँ मुद्रा ५० लाख) बराबरको स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गर्ने भएको छ। मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकाका विदेशमन्त्रीसँगको छलफलमा नेपाललाई कोरोना महामारीविरुद्धको लडाइमा सो सहयोगको घोषणा गरेको नेपाली संचारमाध्यमले जनाएका छन् ।

    उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ महामारी रोकथाम र आर्थिक पुनरुत्थानका लागि क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्य बढाउनुपर्ने बताएका थिए । उनले कोरोना महामारीविरुद्धको लडाइ, आर्थिक पुनरुत्थान र नागरिकको जीविका र जीवन रक्षाका लागि ठोस सहकार्य अगाडि बढाउनुपर्ने समेत बताए ।

  • नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान प्रतिबन्ध

    नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान प्रतिबन्ध

    काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र उक्त विमानस्थललाई पारगमनको रुपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाएको छ ।

    अध्यागमन विभागले मंगलबार एक सूचना निकाल्दै १५ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र उक्त विमानस्थललाई ट्रान्जिट बनाउन रोक लगाएको हो ।

    नयाँ प्रकारको कोभिड–१९ को बढ्दो जोखिमलाई दृष्टिगत गरी यही बैशाख १५ गते मध्यरातदेखि लागू हुने गरी उक्त विमानस्थलबाट अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाइएको विज्ञप्तिमा जनाइएको छ ।

    त्रिभुवन विमानस्थललाई अन्तिम गन्तव्य बनाएर विदेशबाट आउन तथा उक्त विमानस्थलबाट विदेश जान पाउने व्यवस्थामा भने कुनै फेरबदल नगरिएको पनि उक्त विभागले जनाएको छ ।

  • कोरोना फैलाएको पुष्टी भए साउदीमा आप्रवासीलाई देश निकाला गरिने

    कोरोना फैलाएको पुष्टी भए साउदीमा आप्रवासीलाई देश निकाला गरिने

    काठमाडौं । जानाजान कोरोना भाइरसको संक्रमण फैलाएको पुष्टी भएमा साउदी अरेवीयाले कडा कारवाही गर्ने भएको छ । आफ्नो मुलुकका नागरिकलाई ५ वर्ष जेल र विदेशीलाई देश निकाला गर्ने नीतिसहित साउदीले कडा नियमहरु सार्वजनिक गरेको छ । साउदीले जानाजानी कोरोना भाइरस संक्रमण अरूलाई सार्नेलाई कडा सजाय दिने बताएको हो ।

    साउदी सरकारले तोकेका कोरोना सङ्क्रमण नियन्त्रण सम्बन्धी मापदण्ड उल्लङ्घन गर्नेलाई कडा भन्दा कडा कारबाही गर्ने निर्णय गरेको हो । साउदी सार्वजनिक अभियोजनले जानाजान कोरोना सङ्क्रमण फैलाउनेलाई पाँच वर्ष जेल र पाँच लाख साउदी रियाल जरिवाना तोकेको छ । कोरोना सङ्क्रमण फैलाउने आप्रवासी श्रमिक भए पुनः साउदी फर्किन नपाउने गरि देश निकाला गरिने भएको छ ।

    साउदीमा अहिलेसम्म ४ लाख १२ हजार २१६ मानिसमा कोरोना फैलिएको छ । उपचारपछि निको हुनेको सङ्ख्या ३ लाख ९५ हजार ५५७ पुगेको छ । संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ हजार ९०० रहेको छ ।

  • एक सातामा विदेशमा कोरोनाबाट २३ नेपालीको मृत्यु, सबैभन्दा धेरै भारतमा

    एक सातामा विदेशमा कोरोनाबाट २३ नेपालीको मृत्यु, सबैभन्दा धेरै भारतमा

    काठमाडौं । अघिल्लो एक साताको अवधिमा विदेशमा कुल २३ जना नेपालीको कोरोनाका कारण मृत्यु भएको छ । यसमा सबैभन्दा धेरै २० जना भारतमा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । भारतमा २० जना नेपालीको मृत्यु भएको छ ।

    गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार भारतलगायत विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर समेत बढेको छ । यो साता भारतमा २०, कुवेतमा दुई र कतारमा एकजना नेपालीको कोरोनाका कारण ज्यान गएको छ ।

    भारतको नयाँ दिल्लीमा कार्यरत स्वास्थ्य समितिका सदस्यसमेत रहेका अल इन्डिया इस्न्टिच्युट अफ मेडिकल साइन्समा कार्यरत डा सागर पौडेलका अनुसार भारतको नयाँ दिल्लीमा १० र भारतका अन्य क्षेत्रमा थप १० गरी कूल २० जना नेपालीको निधन भएको हो ।

    निधन हुनेमा अधिकांश ५० वर्षभन्दा मुनिका रहेका छन् । योसँगै हालसम्म विश्वका विभिन्न २१ मुलुकमा सङ्क्रमणका कारण ३७२ जना नेपालीको निधन भएको छ । हालसम्म मृत्यु भएकामध्ये २४५ जना मध्यपूर्वका रहेका छन् । अहिलेसम्म विश्वका ५४ मुलुकमा कोभिड–१९ का कारण सङ्क्रमित हुने नेपालीको सङ्ख्या ६८ हजार ५०६ जना पुगेको छ ।

    कूल सङ्क्रमितमध्ये ९४ दशमलव ६ प्रतिशत अर्थात् ६४ हजार ७४४ जना सङ्क्रमणमुक्त भएका छन् । यो साता भारत, कुवेत, कतार, युएई, रोमनिया, रुस, फिनल्यान्ड, डेनमार्क, चेक रिपब्लिक, पोल्यान्ड रहेका नेपालीमा थप कोरोना भाइरसको सङ्क्रमण देखिएको गैरआवासीय नेपाली सङ्घ, कोभिड १९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिएका छन् ।

    नेपालमा हालसम्म दुई लाख ९७ हजार ८७ जना सङ्क्रमित पुगेकामा ९३ दशमलव तीन प्रतिशत अर्थात् दुई लाख ७७ हजार १२३ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणका कारण शनिबार साँझसम्म तीन हजार १३६ जनाको निधन भएको छ ।

  • विदेशबाट आउनेलाई पुनः अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गरिँदै

    विदेशबाट आउनेलाई पुनः अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गरिँदै

    विदेशबाट नेपाल आउने सबै व्यक्तिलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्ने सम्बन्धी निर्णय गर्न सिफारिस भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आज बसेको बैठकले हवाई मार्गबाट आउने सबैलाई क्वारेन्टिनमा राख्न सिफारिस गरेको हो । यसबारे मन्त्रीपरिषद्ले निर्णय गरेसँगै कार्यान्वयनमा आउने छ ।

    अहिले क्वारेन्टिन व्यवस्थापनमा निगरानी हुन सकेको छैन । सोहीकारण विदेशबाट आउनेहरु निर्वाध घुमफिर गरिरहेका छन् । सीसीएमसीको आइतबार बसेको बैठकले नेपालमा ट्रान्सजिटका लागि मात्र आउनेहरुलाई समेत रोक्न सिफारिस गरेको नेपाली संचारमाध्यमहरुले जनाएका छन् । स्थलमार्गमा समेत कडाई गर्ने तयारी सरकारले गरेको छ ।

  • विदेश जानेले कोरोना परीक्षण गर्ने ल्याव तोकियो

    विदेश जानेले कोरोना परीक्षण गर्ने ल्याव तोकियो

    काठमाडौं । सरकारले विदेश जाने व्यक्तिका लागि पिसिआर परीक्षण गर्ने ल्याव तोकेको छ । विदेश जाने क्रममा नक्कली परीक्षण रिर्पोट लिएर जाने गरेको रहस्य खुलेसँगै सरकारले प्रयोगशाला तोकेको हो । त्यस्ता व्यक्तिको पिसिआर सरकारी प्रयोगशाला तथा अस्पतालमा आधारित भएका ए वर्गका प्रयोगशालाले मात्र गर्ने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    विदेश जानेले कोभिड परीक्षण गर्ने सबै सरकारी अस्पतालबाट पिसिआर परीक्षण गर्न सक्ने छन्। निजीमा स्टार अस्पताल सानेपा, नेपाल मेडिसिटी हस्पिटल भैसेपाटी, मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल स्वयम्भू, यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेज एण्ड टिचिङ अस्पताल भैरहवा र ह्याम्स हस्पिटल मंडिखटारबाट पिसिआर परीक्षण गर्न सक्ने गरी तोकिएको छ ।

    पासपोर्ट वा भारत यात्रा गर्नेका हकमा पहिचान खुल्ने कागजात परीक्षण गरी मात्रै नमुना संकलन गर्ने व्यवस्था मिलाउन मन्त्रालयले प्रयोगशालाहरुलाई निर्देशन समेत दिएको छ।

  • अमेरिका बस्ने नन्द मायाले स्थापना गरिन् ताप्लेजुङको बिद्यालयमा पाँच लाखको अक्षय कोष

    अमेरिका बस्ने नन्द मायाले स्थापना गरिन् ताप्लेजुङको बिद्यालयमा पाँच लाखको अक्षय कोष

    ताप्लेजुङ

    आठराई त्रिवेणी गाउँपालिका ५ स्थित चाँगे माबिमा बिद्यालय संचालनार्थ पाँचलाख रुपैंयाँ बराबरको अक्षय कोषको स्थापना गरिएको छ । साबिक चाँगे गाबिस वडा नं.२ मा जन्मिएकी बिधालयकी पुर्व बिधार्थी नन्दमाया केदेम शेर्पाले अमेरिकाबाट आफ्नो बुबा खड्गधोज केदेम लिम्बु र आमा टिकामाया आङबुहाङ लिम्बुको नाममा शैक्षिक सुधारको निमित्त अक्षय कोष स्थापना गरेकी हुन ।
    अमेरीकाबाट पठाइएको उक्त रकम आमा टिकामाया आङबुहाङ लिम्बुले चाँगे माबिका प्रधानाध्यापक केशवप्रसाद गौतमलाई विद्यालयमा आयोजित एक कार्यक्रमका बीच हस्तान्तरण गरेकी थिईन ।
    अक्षय कोष स्थापनार्थ आयोजित कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक केशवप्रसाद गौतमले भाबुक हुँदै भने; “आउने दिनहरुमा पनि यो बिधालयबाट अध्ययन गरी प्रवासमा रहेका सबैले यसरी नै सहयोग गर्ने हो भने चाँडै नै बिधालयको मुहार फेरीने र सरकारी राहतमा मात्र भर पर्न नपर्ने हुन्थ्यो“


    कार्यक्रममा बिद्यालयका शिक्षक अमर लिम्बुले सहयोगी मनहरु प्रति आफ्नो फेसबुक मार्फत धन्यवाद ब्यक्त गरेका थिए ।आफ्नो दिदीको यो मानवीय कार्यले आफुहरु उत्साहित रहेको नन्दमायाका भाई रबिन लिम्बु र बहिनी सुमि लिम्बुले बताए ।

    बुबा खड्गधोज केदेम लिम्बु र आमा टिकामाया आङबुहाङले आफ्नो छोरीले गरेको यो समाजसेवाको कदमले आफुहरु अति नै खुसी अनि गौरवभान्वित भएको बताएका थिए ।आफुले कमाएको सानो अंशले आफुले पढेको स्कुलमा यसरी आफ्नो बुबा आमाको नाममा कोष स्थापना गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताउने नन्दमाया केदेम शेर्पा बिगत ३ बर्षदेखि अमेरिकामा बस्दै आएकी छिन् । उनको श्रीमान र एक छोरा छन् ।

  • गैरआवासीय नेपाली संघले लाप्राक बस्ती हस्तान्तरण गर्यो

    गैरआवासीय नेपाली संघले लाप्राक बस्ती हस्तान्तरण गर्यो

    गोरखा । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गोरखाको लाप्राकमा निर्माण गरेका घर बिहीबार हस्तान्तरण गरेको छ। भूकम्प प्रभावित लाप्राकीका लागि एनआरएनएले लाप्राकस्थित गुप्सीपाखामा ५ सय ७३ वटा घरको पुनर्निर्माण गरेको हो । निर्माण गरिएका घरहरू आज एनआरएनएले गाउँपालिकालाई हस्तान्तरण गरेको हो।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिईओ सुशील ज्ञवाली, सांसद हरिराज अधिकारीको उपस्थितिमा बिहीबार एनआरएनएका अध्यक्ष कुमार पन्तले धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरूङलाई बस्ती हस्तान्तरण गरेका हुन्। भूकम्प प्रभावित लाप्राकीका लागि एनआरएनएले दुई कोठाका दरले घर बनाइदिएको छ। पुरानो लाप्राक बस्तीभन्दा करिब आधा घण्टाको दूरीमा बस्ती बनाइएको छ।

  • नक्कली पीसीआर लिएर विदेश उड्न खोज्ने सयौं यात्रु पक्राउपछि नेपाली रिर्पोटमै सन्देह

    नक्कली पीसीआर लिएर विदेश उड्न खोज्ने सयौं यात्रु पक्राउपछि नेपाली रिर्पोटमै सन्देह

    काठमाडौं । कोरोना परीक्षणको पीसीआर रिर्पोट नक्कली बनाएर विदेश उड्न लागेका सयौं नेपाली तथा विदेशी नागरिक बुधबार पक्राउ परेका छन् । यसले नेपालमा पीसीआर रिर्पोटमा भइरहेको धन्दाको पर्दाफास भएको छ । यद्दपी यो घटनाले विदेशमा नेपाली रिर्पोटको विश्वसनीयता माथि भने प्रश्न उठेको छ ।

    प्रहरीले सुराकीका आधारमा एक हप्ताको अपरेशनपछि यो धन्दा हुने स्थान फेला पारेको हो । मङ्गलबार प्रहरीले काठमाडौँको सिनामङ्गलबाट आठ जनालाई पक्राउ गरेको थियो । उक्त नक्कली धन्दामा सुरिया हेल्थकेयर प्राली र मेरिट मल्टिकेयर मेडिकल सेन्टरको हात रहेको खुलेको छ । यी दुइ कम्पनीले होटल वा घरमै पीसीआर रिपोर्ट ल्याइदिने गरेको खुलेको छ ।

    त्यसका लागि स्वाव होइन, पैसा दिए पुग्थ्यो । प्रहरीका अनुसार वैदेशिक रोजगारमा जान बढी नक्कली रिपोर्ट बन्ने गरेको फेला परेको छ । बुधबार मात्र प्रहरीले त्यस्ता नक्कली रिपोर्ट बोकेर विदेश जान लागेका १७२ यात्रुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार स्वाब सङ्कलन गर्ने एउटा समूह छुट्टै दलालका रुपमा प्रयोग भएको समेत भेटिएको छ । बुधबार १२२ जनालाई भित्र बोर्डिङ पास लिएर जाँदै गर्दा पक्राउ गरिएको हो । थप ५० जनालाई विमानस्थल जाँदै गर्दा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ६८ भारतीय, दुई पाकिस्तानी र १०६ नेपाली छन् । सलाम एयर, जजिरा एयर र एयर अरेबियाबाट उनीहरु विभिन्न मुलुक जाँदै थिए ।

  • पाँच मुलुकमा अध्ययनमा जाने विद्यार्थीलाई नो अब्जेक्सन लेटर दिन बन्द

    पाँच मुलुकमा अध्ययनमा जाने विद्यार्थीलाई नो अब्जेक्सन लेटर दिन बन्द

    काठमाडौं । सरकारले जापान, अष्ट्रेलियासहित पाँच मुलुकमा वैदेशिक अध्ययन स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) दिन बन्द गरेको छ । बुधबारबाट लागु हुने गरी जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

    कोरोना संक्रमणको नयाँ भेरियन्ट फैलिरहेको र सरकारले हालै कोभिड–१९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश जारी गरेकाले ती ५ देशमा तत्कालका लागि नयाँ ‘नो अब्जेक्सन लेटर’ जारी गर्ने कार्य स्थगित गरेको मन्त्रालयको भनाई छ ।

    वैदेशिक अध्ययन अनुमति पत्र दिन बन्द गरिएका ५ देश धेरै नेपाली विद्यार्थी अध्ययनका लागि जाने मुलुक हुन् । मन्त्रालयले ती देशमा नै अध्ययन गरिरहेका विद्यार्थीको हकमा भने वैदेशिक अध्ययन स्वीकृतिपत्र दिइने बताएको छ ।

  • विदेश जाँदा प्रहरी प्रतिवेदन अनलाइनबाटै लिन सकिने

    विदेश जाँदा प्रहरी प्रतिवेदन अनलाइनबाटै लिन सकिने

    काठमाडौं । विदेश जाँदा आवश्यक पर्ने प्रहरी प्रतिवेदन लिन अब नेपाली नागरिकले कन्सुलर सेवा विभाग धाउनु नपर्ने भएको छ । विभागका अनुसार प्रहरी प्रतिवेदनलाई सम्बन्धित व्यक्ति आफैले रंगीन स्वरुपमा प्रिण्ट गरी काठमाडौंस्थित दूताबासहरुमा पेश गर्न सक्ने भएका छन् ।

    ‘नेपाल प्रहरीमार्फत् जारी हुने प्रतिवेदनलाई निवेदक स्वयंले अनलाइनबाटै रंगीन प्रिण्ट गरी काठमाडौंस्थित विदेशी नियोगहरुमा यस विभागको प्रमाणीकरण विनै पेश गर्न सक्ने छन्’, विभागद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

    यसबारे विभागले अघिल्लो मे ३१ मै विदेशी नियोगहरुलाई जानकारी गराएको थियो । यता, विदेशमा रहेका नेपालीले पनि अनलाइनकै प्रतिवेदन सम्बन्धित मुलुकका संस्थामा पेश गर्न सक्ने र ति संस्थाले अनलाइनमै त्यस्ता रिपोर्टको आधिकारिकता बुझ्न सक्ने बताइएको छ ।

    कोरोनाभाइरस महामारीका कारण यस्तो व्यवस्था गरेको विभागको भनाइ छ ।
    यसका साथै विभागले प्रमाणीकरणको समय बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म तोकेको छ । एक पटकमा २५ जनासम्मलाई मात्र सेवा दिइने पनि उसले बताएको छ ।

  • कतारी रियाल २७ वैशाखपछि नचल्ने, साट्न राष्ट्र बैंकको आग्रह

    कतारी रियाल २७ वैशाखपछि नचल्ने, साट्न राष्ट्र बैंकको आग्रह

    काठमाडौं । नेपालमा २७ वैशाखपछि कतारी रियाल नचल्ने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशित गरी आफुसँग कतारी रियाल भएमा वैशाख २७ गते भित्र साटिसक्नु आह्वान गरेको छ । नेपालमा कतारी रियालको कारोबार बन्द हुने जनाएको छ । राष्ट्र बैंकका अनुसार कतारको केन्द्रीय बैंकले चलनचल्तीमा रहेका बैंक नोट विस्थापित गर्दैछ ।

    आगामी असार १७ देखि कतारमा नयाँ नोट प्रकाशनमा ल्याउने भएको छ । सोहीकारण पुराना नोट नचल्ने निर्णय कतारको केन्द्रिय बैंकले गरेको छ । त्यस अवधिभन्दा अघि नै सटहीका लागि समयसीमा तोकिएको हो । वैदेशिक रोजगारीका लागि कतार गएका नेपालीले कतारी नोट ल्याएर राखेको हुन सक्ने भन्दै सटहीको लागि सूचना प्रकाशित गरिएको राष्ट्र बैंकले जनाएको छ ।

  • भारतमा एक दिनमै साढे २ लाख माथि संक्रमण

    भारतमा एक दिनमै साढे २ लाख माथि संक्रमण

    नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण उत्कर्षमा पुगेको छ । यहाँ दैनिक संक्रमण साढे २ लाख माथि पुगेको भारतीय संचारमाध्यमले जनाएका छन् । शनिबार २४ घण्टामा भारतमा २ लाख ६० हजार ८ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको तथ्यांक आएको छ । यो अहिलेसम्मकै सर्वाधिक ठूलो संख्या हो । शुक्रबार २ लाख ३४ हजार मानिसमा कोरोना पुष्टी भएको थियो ।

    संक्रमण बढेसँगै मृत्युदर समेत वृद्धि भएको । २४ घण्टामा यहाँ १५ सय भन्दा बढी मानिसको ज्यान गएको आंकडा रहेको छ । यद्दपी यो संख्या संक्रमणको तुलनामा भने मृत्यु कम भएको भारतीय संचारमाध्यमको विश्लेषण छ ।

    तर, भारतमा अधिक जनसंख्या रहेको र पहुँच नभएका मानिससम्म परीक्षण नै नपुगेका कारण कोरोनाबाट मृत्यु हुनेको संख्या कैंयौ गुणा बढी हुन सक्ने आंशका समेत गरिएको छ । उनीहरुको तथ्यांक समेत राख्ने गरिएको छैन । आजतकको एक रिर्पोट अनुसार अहिले नयाँ दिल्लीका सम्सानघाटमा साविकको तुलनामा दोब्बर भन्दा बढी शव ल्याउने गरिएको छ । उनीहरुमा कोरोना भएको हो वा होइन भन्ने कतै पनि रेकर्ड छैन ।

  • त्रिभुवन विमानस्थलमा ‘नो मास्क-नो इन्ट्री’

    त्रिभुवन विमानस्थलमा ‘नो मास्क-नो इन्ट्री’

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मास्क नलगाई जान नपाइने भएको छ । कोरोना भाइरसको बढ्दो महामारीका बीच विमानस्थल सुरक्षा कार्यालयले नो माक्स, नो इन्ट्री नियम ल्याएको हो । कार्यालयले विमानस्थलमा अतिआवश्यक नपरेसम्म यात्रु बाहेक अन्य व्यक्ति नआउन र आए पनि गेटबाटै फर्कन आग्रह गरिएको छ ।

    यात्रुलाई पिसिआर रिर्पोट अनिवार्य बोक्न भनिएको छ । भिडभाड नगर्न र सामाजिक दूरी कायम गर्न समेत कार्यालयले आह्वान गरेको छ । अहिले नेपाल आउन र यहाँबाट बाहिरिन जहाज चढ्नु अगाडी पिसिआर रिर्पोट अनिवार्य गरिएको छ । नेपालमा कोरोना भाइरसको दोस्रो लहर फैलन थालेसँगै सरकारले क्रमशः विभिन्न क्षेत्रहरुमा कडाई गर्दै लगेको छ ।

  • भारतमा कोरोनाको अर्को रेकर्ड, एकै दिन २ लाख संक्रमित

    भारतमा कोरोनाको अर्को रेकर्ड, एकै दिन २ लाख संक्रमित

    नयाँ दिल्ली । भारतमा कोरोना भाइरस संक्रमणको अर्को रेकर्ड बनेको छ । २४ घण्टाको अवधिमा सबैभन्दा बढी संख्यामा कोरोना भेटिएको छ । बुधबारमात्रै भारतमा एकैदिन झन्डै २ लाख मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको त्यहाँका संचारमाध्यमले लेखेका छन् ।

    यस दिन १ लाख ९९ हजार ६ सय २० जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म संसारमा एकैदिन दुई लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको मुलुक अमेरिका मात्र थियो । अमेरिकामा ८ जनवरीमा एकैदिन ३ लाख ९ हजार मानिसमा कोरोना संक्रमणको पुष्टी भएको थियो ।


    भारतमा एक लाख संक्रमित पुगेको १० दिनमै दैनिक संक्रमितको संख्या दोब्बर भएको संचारमाध्यमले जनाएका छन् । यद्दपी भारतमा ठूल्ठूला सभा सम्मेलन र मेलाहरु भने अहिले पनि जारी छन् । नेपालबाट पूर्वराजा सहभागी भएको हरिद्धारको कुम्भ मेला समेत आलोचित बनेको छ ।

    बुधबार कोरोना भाइरसको संक्रमतिसँगै मृत्युदर समेत उच्च विन्दुमा पुगेको छ । यहाँ एक दिनमा १ हजार ३८ जना संक्रमितको मृत्यु भएको तथ्यांक आएको छ । दैनिक मृत्युको यो संख्या गत अक्टोबर २ पछि सबैभन्दा माथिल्लो विन्दु हो ।

  • एक वर्षपछि राजदूत पाण्डेले राष्ट्रपति सीलाई बुझाए ओहोदाको प्रमाणपत्र

    एक वर्षपछि राजदूत पाण्डेले राष्ट्रपति सीलाई बुझाए ओहोदाको प्रमाणपत्र

    काठमाडौं । आफु नियुक्त भएको एक वर्षपछि चीनका लागि नेपालका राजदूत महेन्द्रबहादुर पाण्डेले राष्ट्रपति सी जिनपिङलाई ओहोदाको प्रमाणपत्र बुझाउने मौका पाएका छन् । नियुक्त भएर गएपनि उनीले ओहदाको प्रमाणपत्र भने बुझाउन पाएका थिएनन् ।

    बुधबार बेइजिङको ग्रेट हल अफ दि पिपुलमा आयोजित समारोहमा राजदूत पाण्डेले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । पाण्डे २०७७ वैशाख ५ मा चीनका लागि नेपाली राजदूतमा नियुक्त भएका हुन् । एकातर्फ कोरोना भाइरसको महामारी र अर्कोतर्फ कम प्राथमिकतामा पर्दा समेत राजदूतहरुले सम्बन्धित मुलुकका राष्ट्रपतिलाई ओहदाको प्रमाणपत्र बुझाउन निकै हम्मे पर्ने गरेको छ ।

  • यसै वर्ष नेपालमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने

    यसै वर्ष नेपालमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने

    काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणमा नेपालले प्राप्त गरेको सफलतालाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउने उद्देश्यले यसै वर्ष नेपालमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले परराष्ट्र मन्त्रालयको समन्वयमा सन् २०२१ को नोभेम्बरको अन्तिम साता वा डिसेम्बरको पहिलो साता नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने निर्णय गरेको हो ।

    यस वर्ष नेपालमा ‘सगरमाथा संवाद’ समेत आयोजनाको तयारी छ । यो सम्मलेन भने जलवायु परिवर्तनसँग सम्बन्धित हुनेछ । भूकम्पपछिको ५ वर्षको अवधिमा नेपालले आफ्नो क्षमता अनुसार तुलनात्मक रुपमा सन्तोषजनक प्रगति हाँसिल गरेको छ । प्राधिकरणले विपद् जोखिममुक्त नेपाल निर्माण सम्बन्धी दशवर्षे महाअभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

    Photo by wondersofnepal.com

    मंगलबार प्रधानमन्त्री एवम् प्राधिकरणको निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको निर्देशक समितिको १८ औं बैठकले यस सम्बन्धी कार्यक्रमको प्रस्ताव तयार पारी आगामी आर्थिक वर्षदेखि महाअभियान सुरु गर्ने निर्णय गरेको हो ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणको सहकार्यमा त्यस्तो कार्यक्रम सम्बन्धी प्रस्ताव तयार भइरहेको जानकारी दिए । भूकम्पपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाको कार्य सम्पन्नताको चरणमा पुगेकोमा निर्देशक समितिको बैठकले खुशी व्यक्त गरेको समेत प्राधिकरणले जनाएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणको सफलता नेपालको गौरव र सम्पत्ति भएको भन्दै यो विश्वलाई देखाउन लायक भएको बताएका थिए । बैठकले विपद् व्यवस्थापनको दीर्घकालीन कार्यअन्तर्गत प्राचीन वस्ती, विश्व सम्पदा क्षेत्रसहित समग्र शहरी क्षेत्र खासगरी काठमाडौं उपत्यकाको पुनर्निर्माण तथा पुनर्स्थापनाको कामलाई समेत ध्यानमा राखी शहरी क्षेत्रको दीर्घकालीन पुनर्निर्माण कार्यक्रमको प्रस्ताव तयार पारी आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममार्फत् अघि बढाउने निर्णय समेत गरेको छ ।

    प्राधिकरणले उक्त कार्यक्रम अन्तर्गत भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनर्निर्माण र भविष्यमा भूकम्पबाट क्षति हुनसक्ने निजी आवास, सार्वजनिक संरचना, सम्पदा एवं पूर्वाधारलाई एकीकृत ढंगले हेरी पुनर्निर्माण र पुनर्स्थापनाको कार्य अगाडि बढाउन मिल्ने गरी कार्यक्रमको खाका तयार गरिरहेको छ ।
    उनले बस्तीको प्राचीनता, मौलिकता र साँस्कृतिक पक्षलाई जोगाउँदै ती संरचनाहरुलाई भूकम्प प्रतिरोधी बनाउने कुरामा ध्यान दिनुपर्ने सुझाव समेत दिए ।

    निर्देशक समितिको बैठकले पुननिर्माण प्राधिकरणको अवधि २०७८ पुस १० गतेसम्म रहेकोमा चालु आर्थिक वर्षमा मूलभूत कामहरु सम्पन्न गर्ने र साउन १ गतेदेखि बाँकी अवधिमा हस्तान्तरणलगायतका कार्यहरुका लागि हस्तान्तरण गर्ने निकाय, योजना तथा कार्यक्रम र वित्तीय व्यवस्थापनको खाकासमेत स्वीकृत गरेको छ । प्राधिकरणले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड ३८ लाख रुपैयाँको बजेटका लगि नेपाल सरकारसमक्ष प्रस्ताव पेश गर्ने निर्णय पनि गरेको छ ।

  • जापानकालागि पर्यटनदुतमा राजनकुमार पौडेल नियुक्त

    जापानकालागि पर्यटनदुतमा राजनकुमार पौडेल नियुक्त

    काठमाडौं

    नेपाल सरकार पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नेपाल पर्यटन बोर्डले जापानका लागि पर्यटनदुतमा राजनकुमार पौडेललाई नियुक्त गरेको छ । स्याङ्जा जिल्लाको टक्सारमा जन्मेर बसाईं-सराईको क्रममा सानै उमेरदेखि पोखरामा पढे-हुर्केका राजनले त्रिभुवन विश्वबिधालय पृथ्वीनारायण क्याम्पस पोखराबाट स्तानक (Bachelor’s Degree) तह र त्रिभुवन विश्वबिधालयकै किर्तीपुर क्याम्सबाट Rural &Regional Development मा स्नातकोत्तर (Master’s Degree) तह प्रथम श्रेणीमा पास गरेका छन।

    राजनले नेपालमा रहँदा नेपाल सरकारको बिषेश अनुसन्धान ब्युरोमा करीब ५ बर्ष अनुसन्धान अधिकृतको रुपमा पनि काम गरेका थिए। उक्त बेला उनको बाहिर देखाउने पेशा भने रेडियो प्रस्तोता, टेलिभिजनका कार्यक्रम संचालक तथा अभिनेता थियो। त्रिभुवन युनिभर्सिटीबाट मास्टर्समा प्रथम भएपछि Scholarship मा जापानको नागोया युनिभर्सिटीमा आएर पिएचडीको लागि रिसर्चरको रुपमा रहदै गर्दा, उनका प्रोफेसरको अनुरोधलाई आत्मसाथ गरी पढाईलाई त्यतिकै बिटो मारी जाइका (जापान अन्तराष्ट्रिय सहयोग नियोग) मा काम गर्न शुरु गरे ।

    काम कै सिलसिलामा जाइकाको आउटसोर्सिङ कम्पनिहरुको बिबिध प्रोजेक्ट हरुमा पनि राजनले प्रोजेक्ट को-अर्डिनेटरका रुपमा संसारका बिभिन्न देशहरुमा काम गरिसकेका छन । बिश्वका १२२ वटा देशहरुमा पुगिसकेका राजनले जापान सरकारको अध्यागमन बिभाग, प्रहरी प्रशासन, परराष्ट्र, रक्षा, सँस्कृति तथा पर्यटन मन्त्रालयका बिबिध परियोजनाहरुमा समेत काम गरेको अनुभब छ । २०१७ देखि २०१९ को २ बर्षे कार्यकालमा NRNA, Japan को केन्द्रिय कमिटीमा समेत रहेर समाजसेवी कामहरु पनि गरेका राजन हाल जापान सरकारको बजेट मार्फत प्यासिफिक कन्सलटेन्ट कम्पनिबाट नेपाल, इण्डिया, बंगलादेश, म्यानमार र भियतनाममा बिभिन्न प्रोजेक्टहरु गरिरहेका छन ।

    जापान सरकारको बिभिन्न सरकारी तथा गैर-सरकारी क्षेत्रहरुमा सिधा सम्पर्क र सक्रियता रहेका राजनलाई उनको कार्यदक्षता र उनले नेपालको लागि गरेका कामको समेत मुल्याङकन गरी नेपाल सरकार पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयको नेपाल पर्यटन बोर्डले जापानका लागि पर्यटन दुत मा नियुक्त गरेको छ । आशा गरौं, उनको कार्यकालमा नेपालको GDP को मुख्य श्रोत मानिने पर्यटन उधोगले ठूलै फडको पार गरोस ।

  • कोरियामा बृहत रचनावाचन कार्य​क्र​म​ सम्पन्न

    कोरियामा बृहत रचनावाचन कार्य​क्र​म​ सम्पन्न

    चैत, ३० – सौल, कोरिया

    नेपाली भाषासाहित्य​, कला र​ संस्कृतिको उत्थान​मा निरन्तर लागि परिरहेको स​क्रिय​ संस्था अनेसास कोरिया च्याप्टरले नयाँवर्ष २०७८ को शुभ अवसर पारेर शुभकामना आदानप्रदान सहितको बृहत् रचनावाचन कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा यस अघि आयोजना गरिएको कोरियाव्यापी खुला कविता प्रतियोगिता २०७७ मा विजयी भएका कविहरूलाई पुरस्कार वितरण समेत गरिएको छ ।

    अनेसास कोरियाका अध्यक्ष प्रमोद सारंगको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाका वरिष्ठ उपाध्यक्ष डि. आर. न्यौपाने सूर्यले गरेका थिए भने कार्यक्रममा उपस्थित अतिथिहरूलाई स्वागत गर्दै स्वागत मन्तव्य कार्यक्रम संयोजक आर. एन. ले दिएका थिए । नेपाली भाषासाहित्यमा लामो स​म​य​देखि योगदान गर्दै आउनुभएका वरिष्ठ साहित्यकार शैलेन्द्र साकारल​गाय​त अन्य​ अतिथिह​रू रमेश श्रेष्ठ,गोवर्द्धन पूजा र महेश पौड्यालको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाली साहित्यमा सर्वाधिक लेखिने विधा कविता, गजल र मुक्तकको क्षेत्रमा कलम चलाइरहनु भएका वर्तमान समयका चर्चित साहित्यकारहरू रोशन परियार, मनोज विश्वकर्मा, लक्ष्मण गगन,कपिल अञ्जान, दिलु थापा मगर, प्राञ्जल, रामचन्द्र शर्मा र ऋद्धिमा रिजालले आफ्ना साहित्यिक रचना वाचन गरेका थिए ।

    कोरिया च्याप्ट​र​ले स्थाप​नाकालदेखि नै अनवर​त भाषासाहित्य​को विकास​ र​ विस्तार​मा योग​दान दिंदै आएको अतिथी स्र​ष्टाह​रूले स्मर​ण​ ग​र्दै स​बैमा न​याँ व​र्ष​को शुभ​काम​ना दिए।अतिथि स्र​ष्टाह​रू र​ वाच​कह​रूलाई च्याप्ट​रले स​म्मान -प​त्र​ वित​र​ण​ ग​रेको छ​। त्य​सैग​री गतवर्ष आयोजित कोरियाव्यापी कविता प्रतियोगिता २०७७ मा प्रथम, द्वितीय र तृतीय हुनुभएका कविहरू क्रमशः युवराज फुँयाल, निर्दोष शिव र माधव लम्साललाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ​।

    विग​त​ लामो स​म​य​देखि अनेसास​ कोरियाले कविता, ग​ज​ल,मुक्त​क ज​स्ता सबै विधामा सन्तुल​न राखेर​ विभिन्न साहित्यिक कार्य​क्र​म​हरू ग​रेको स्म​र​ण ग​र्दै य​स​ कार्य​क्र​ममा प​नि हरेक विधामा कलम चलाउने अधिक स्रष्टालाई उपस्थित गराएर नेपाली साहित्यको श्रीवृद्धिमा उल्लेखनीय कार्य गर्दै आएको छ ।

  • नुवाकोट अमेरिका सम्पर्क समिति अमेरिकाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

    नुवाकोट अमेरिका सम्पर्क समिति अमेरिकाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

    टेक्सस

    नुवाकोट अमेरिका संपर्क समिति र ब्लड डोनर्स अफ अमेरिकाको संयुक्त आयोजनामा टेक्ससको अर्भिङस्थित Carter Blood Care Center मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
    नुवाकोट अमेरिका सम्पर्क समितिका उपसभापति ज्योति पाण्डेको संयोजनमा सम्पन्न भएको कार्यक्रममा नुवाकोट अमेरिका संपर्क समितिका सल्लाहकार सन्तु तमाङ, ब्लड डोनोर्स अफ अमेरिकाका महसचिव अजय राज बगाले, जानकी सुबेदी, धर्म घिमिरे, इशा आचार्य, बिकास खत्री, रमेश तिमील्सिना, गणेश तिमील्सिना लगायतले रक्तदान गरेका थिए ।


    सो अवसरमा नयाँ बर्ष २०७८ को शुभकामना आदान प्रदान गर्नुका साथै कार्यक्रम समापन गर्दै ब्लड डोनर्स अमेरिकाका निबर्तमान अध्यक्ष डा. नन्द रेग्मीले नुवाकोट अमेरिका संपर्क समितिलाई धन्यवाद दिनुको साथै आगामी मे महिनाको २२ तारिखका दिन जुम मार्फत तेस्रो राष्ट्रिय सम्मेलन हुने जानकारी गराएका थिए । कार्यक्रममा नुवाकोट अमेरिका संपर्क समितिका उपसभापति ज्योति पाण्डेले समिति स्थापना भएको छोटो समयमा नै रक्तदान जस्तो पवित्र कार्य गर्न सफल भएकोमा ब्लड डोनर्स अफ अमेरिका र सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद दिनु भएका थिए ।

    ब्लड डोनर्स अफ अमेरिकाका पब्लिकेसन चिफ लीला श्रेष्ठ र समितिका सल्लाहकार उत्तम लमिछानेले पनि रक्तदानको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा ब्लड डोनर्स अफ अमेरिकाका सह-कोषाध्यक्ष कपिल अधिकारी र नेपाली समाज टेक्ससका उपसभापति कृष्ण भण्डारीको पनि उपस्थिति थियो। कार्यक्रमको संचालन ब्लड डोनर्स अफ अमेरिका टेक्ससका कोअर्डिनेटर शिव काफ्लेले गरेका थिए ।

  • ८ महिनामा विदेशबाट नेपालीले पठाए ६ खर्ब ४२ अर्ब १४ करोड रेमिट्यान्स

    ८ महिनामा विदेशबाट नेपालीले पठाए ६ खर्ब ४२ अर्ब १४ करोड रेमिट्यान्स

    काठमाडौं । नेपालमा वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिट्यान्स भने निरन्तर वृद्धि भइरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा ७५ प्रतिशत भन्दा बढीको गिरावट आएको छ ।

    तर, रेमिट्यान्स आप्रवाह भने सोही अवधिमा ८.६ प्रतिशतले बढेको छ । ८ महिनामा नेपालमा ६ खर्ब ४२ अर्ब १४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले बढेको थियो ।

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.० प्रतिशतले वृद्धि भई ५ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.५ प्रतिशतले मात्र बढेको थियो । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७४.८ प्रतिशत कम छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४.२ प्रतिशत बढी थियो ।
    वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६५.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.७ प्रतिशतले घटेको थियो ।