Category: डायस्पोरा

  • न्यूयोर्कको क्विन्स वर्ल्ड फिल्म फेस्टिभलमा दुई नेपाली चलचित्र छानिए

    न्यूयोर्कको क्विन्स वर्ल्ड फिल्म फेस्टिभलमा दुई नेपाली चलचित्र छानिए

    न्यूयोर्क । दुई नेपाली चलचित्र न्युयोर्कको प्रतिष्ठित क्विन्स वर्ल्ड फिल्म फेस्टिभलका लागि छानिएका छन् । इटालियन फिल्ममेकर सर्जियो बासोद्धारा निर्देशित सरिता, र अमेरिकन फिल्ममेकर इयान स्कटद्धारा निर्देशित बसन्जी, फेस्टिभलमा छानिएका हुन् । मिथिला शर्मा, सरिता गिरी लगायत कलाकारको अभिनय रहेको बसन्जी एक थ्रिलर चलचित्र हो । सरिता चलचित्रमा नेपालमा रहेका भुटानी शरणार्थीको कथा समेटिएको छ । जहा अधिकांश पात्र भुटानी छन् ।

    समिक्षकले दुबै चलचित्रलाई निकै राम्रो प्रतिक्रिया दिएका छन् । बसन्जी चलचित्रलाई प्रमुख अवार्डको दाबेदारको रुपमा हेरिएको छ । दुबै चलचित्र यहि जुन् २६ र २७ तारिखका दिन न्युयोर्कको क्विन्समा अवस्थित शेर्पा किदुगको हलमा देखाउने तयारी छ । फिल्म हेर्नका लागि आयोजकले फेस्टिभलको वेभसाइट queensworldfilmfestival.org बाट टिकट किन्न सकिने बताएको छ ।

  • मिस नेपाल नर्थ अमेरिकाको लागि आवेदन दिने अवधि थप

    मिस नेपाल नर्थ अमेरिकाको लागि आवेदन दिने अवधि थप

    न्यूयोर्क । मिस नेपाल नर्थ अमेरिकामा प्रतिस्पर्धा गर्न इच्छुकका लागि आवेदन दिने अवधि १० दिन थपिएको छ । कोरोना महामारीको कारण धेरै प्रतिस्पर्धीहरुले समय थप्न माग गरेपछी आवेदन दिने अवधि बढाएर जुन २५ सम्म पुर्‍याइएको आयोजकले बताएको छ ।

    विश्वकै आर्थिक राजधानी मानिने न्यूयोर्कमा आयोजना हुन लागेको मिस नेपाल नर्थ अमेरिकामा पूर्व मिस नेपालहरु शृंखला खतिवडा, सदीक्षा श्रेष्ठ, तथा मनिता देवकोटासमेत सहभागि हुँदैछन् । मिस नेपाल नर्थ अमेरिका आयोजक टिमका अनुसार सन् २०१८ की मिस नेपाल वर्ल्ड शृंखला खतिवडालाई अफिसियल मेन्टोरको रुपमा नियुक्त गरिएको छ ।

    पूर्वनेपाल सुन्दरी तथा पूर्वमिस नेपाल वर्ल्ड सदीक्षा श्रेष्ठले अफिसियल कोरियोग्राफरको जिम्मेवार पाएकी छिन् । त्यसैगरी पूर्व मिस नेपाल तथा मिस नेपाल युनिभर्स मनिता देवकोटाले प्रशिक्षक तथा प्रतियोगीलाई तालिम उपलब्ध गराउने भएकी छिन् ।

    आगामी अगस्ट ७ तारीखमा न्युयोर्क शहरमा ग्रान्ड फिनाले तय गरिएको मिस नेपाल नर्थ अमेरिकाको लागि प्रतिस्पर्धीले जुन २५ सम्म आवेदन दिन सक्नेछन् । नेपाल पर्यटन बोर्डले २०२१\२०२२ को लागि बिजेतालाई सद्भावना दूतमा मनोनित गर्ने भएको छ ।

    भावी पुस्तालाई सशक्त पार्न नेपाली महिलाहरूलाई सशक्तिकरण गरिदै भन्ने मुल नारा सहित सुन्दरी प्रतियोगिता आयोजना गरिएको आयोजक मध्येका एक सैलेश श्रेष्ठले बताए । मिस नेपाल नर्थ अमेरिका संयुक्त राज्य अमेरिकामा लगातार ३ बर्षदेखि आयोजना हुँदै आएको छ ।

  • नेप्लिज-अमेरिकन च्याम्बर अफ कमर्शद्वारा कोभिड राहतमा ९० हजार डलर बराबर सहयोग

    नेप्लिज-अमेरिकन च्याम्बर अफ कमर्शद्वारा कोभिड राहतमा ९० हजार डलर बराबर सहयोग

    टेक्सास । अमेरिकास्थित नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्शले नेपालको कोभिड राहतमा झण्डै ९० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान गरेको छ । यसमा ५० हजार नगद र ४० हजार डलर मूल्य बराबरका ५ वटा भेन्टिलेटर छन्।

    नेपालका विभिन्न अस्पतालहरुमा आवश्यक सहयोगका लागी नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्शले शनिबार महाबीर पुन प्रमुख रहेको संस्था राष्ट्रिय आविष्कार केन्द्रलाई २० हजार अमेरिकी डलर नगद र करिब ४० हजार अमेरिकी डलर मूल्य पर्ने ५ भेन्टिलेटर हस्तान्तरण गरेको छ ।

    सो अवसरमा च्याम्बर र आविष्कार केन्द्रबीच एक सम्झौता पत्रमा समेत हस्ताक्षर भएको छ । च्याम्बरका सभापति बाल जोशी र आविष्कार केन्द्रका प्रमुख पुनले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे । नेपालमा कोभिड महामारीको दोस्रो लहर सुरु भए पछि नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्शले अमेरिकामा सहयोग संकलन अभियान सुरु गरेको थियो।

    सहयोग संकलन अभियानका संयोजक सुरेस पोख्रेलका अनुसार च्याम्बरले मुख्यरुपमा नेपालमा झापाको बिर्तामोड, मेची अञ्चल अस्पताल, बाराको कलैया अस्पताल, गुल्मीको धुर्कोट स्वास्थ्य केन्द्र, बाँकेको भेरी अञ्चल अस्पताल, कैलालीको टिकापुर अस्पताल, सुर्खेतको पंचपुरी नगरपालिका तथा सालकोट स्वास्थ्य केन्द्र र अछाम जिल्लाका विभिन्न गाउपालिका स्थित स्वास्थ्य केन्द्रहरुमा सहयोग गरेको छ।

    यसै गरि बाँकेको नेपालगन्ज नगरपालिकामा निर्माणाधीन ‘आइसोलेशन सेन्टर’ का लागी च्याम्बरले नेपाली समाज टेक्सासको सहयोगमा १० लाख नेपाली रुपैयाको सहयोग गरेको संयोजक पोख्रेलले जानकारी दिए ।

    च्याम्बरले नेपाल स्थित बागेश्वरी असल शासन क्लब र भेरी अञ्चल अस्पतालसँगको समन्वयमा र टेक्सास नेपाली मेडिकल एसोसिएसनको सहयोगमा भेरी अञ्चल अस्पतालका कोभिड बिरामी र उनीहरूका परिवारलाई सहयोग गर्न एक सहायता कक्षको समेत स्थापना गरेको छ।

    च्याम्बरले सुरु गरेको कोभिड राहतमा अमेरिका स्थित नेपाली र अन्य समुदायलगायत नेपाली समाज टेक्सास, टेक्सास नेपाली मेडिकल एसोसिएसन, एभन्ट फाउन्डेशन, पुण्य फाउन्डेशनलगायत संस्थाले आर्थिक सहयोग गरेका थिए । संस्था स्थापनाको छोटो अबधि भित्रै विभिन्न परिमाणमुखी काम गरेर समुदायमा आफ्नो परिचय र औचित्य स्थापना गर्न सफल रहेको यो संस्था अमेरिकामा सक्रिय छ ।

    नेपाली ब्यबसायीहरुको संस्था नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्शको अनुरोध स्वीकार गरि नेपालको कोभिड राहतका लागी सहयोग गर्ने सबै संघसंस्था तथा समस्त समुदायप्रति संस्थाकी कोषाध्यक्ष स्मृती कार्कीले कृतज्ञता व्यक्त गरेकी छिन् ।

  • निषेधाज्ञाको समयमा अमेरिकाको डिभी परेकालाई दूतावास जान अवरोध नगरिने

    निषेधाज्ञाको समयमा अमेरिकाको डिभी परेकालाई दूतावास जान अवरोध नगरिने

    काठमाडौं । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा लम्बिएको छ । तर, यो बीचमा साविकको तुलनामा निषेधाज्ञा खुकुलो भने गराइएको छ । अब नेपालस्थित विदेशी कुटनीतिक नियोगका कार्यालय र दूतावासमा जानेहरुलाई बाटोमा प्रहरीले अवरोध गर्ने छैन ।

    आइतबार बसेको उपत्यकाका तीन जिल्लाका प्रजिअहरुको वैठकले विदेशमा अध्ययन गर्न र डिभी लोटरी विजेतालाई अन्तर्वार्ताको लागि दुतावास सम्म जान सहजीकरण गर्ने निर्णय गरेको छ ।

    नेपाल सरकारकाबाट जारी स्वास्थ्यका मापदण्ड परिपालना गरी कुटनीतिक नियोगले आवश्यक अन्तर्वार्ता लिन सक्नेछन् । काठमाडौं स्थित अमेरिकी दूतावासले डिभी विजेताहरुलाई भिसा जारी गरेको छैन । सोहीकारण सन् २०२१ मा डिभी विजेता नेपालीले अन्तर्वार्ता समेत दिन पाएका छैनन् । डिभी विजेताको २०२१ को म्याद तीन महिना बाँकी छ ।

    बिजेताहरुले आगामी सेप्टेम्बर अन्त्यसम्म भिसा पाइसक्नुपर्छ । नभए स्वतः खारेज हुन्छ । यो वर्ष ३८०१ जना नेपालीले डिभी लोटरी पाएका छन् । तर, निषेधाज्ञाको समयमा एउटा पनि भिसा जारी भएको छैन । जसले गर्दा नेपालीमा चिन्ता बढेको छ ।

  • गरिब मुलुकलाई १ अर्ब डोज कोरोना खोप उपलब्ध गराउन जी-सेभेन राष्ट्र सहमत

    गरिब मुलुकलाई १ अर्ब डोज कोरोना खोप उपलब्ध गराउन जी-सेभेन राष्ट्र सहमत

    लण्डन । धनी राष्ट्रहरू गरिब मुलुकलाई १ अर्ब डोज कोरोना खोप अनुदानमा उपलब्ध गराउन सहमत भएका छन् । यससँगै विश्वभर कम आयस्रोत भएका मुलुकका ५० करोड मानिसले यस्तो खोप प्राप्त गर्नेछन् । धनी राष्ट्रहरुको समूह जी-सेभेनको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले नेताहरूले विपन्न राष्ट्रहरूलाई कोरोनाभाइरसविरुद्ध एक अर्ब मात्रा खोप दिने वाचा गरेको बताएको बीबीसीले लेखेको छ ।

    ती खोप सीधै वा कोभ्याक्स सुविधामार्फत् दिन सकिने छ । उक्त परिमाणमा बेलायतले दिने भनेको १० करोड मात्रा पनि समावेश छ । ‘विश्वलाई खोप लगाउने यो अर्को महत्त्वपूर्ण कदम हो,’ जोनसनले भनेका छन् ।

    उनले अक्सफर्ड आस्ट्राजेनेकाले विकास गरेको खोपको भूमिकाको प्रशंसा गर्दै यसलाई विश्वकै सबैभन्दा लोकप्रिय खोपको संज्ञा समेत दिएका छन् । बीबीसीका अनुसार लागत मूल्यमै विश्वमा बेचिएको हुँदा यो निकै लोकप्रिय रहेको उनको भनाई छ । उनले कोभ्याक्स सुविधाअन्तर्गत दिइएका खोपमध्ये ९६ प्रतिशत अक्सफर्ड आस्ट्राजेनेका रहेको जानकारी समेत गराएका छन् ।

  • रोजगारीमा साउदी जानेको माग प्रमाणिकरण मंगलबारबाट सूचारु हुने

    रोजगारीमा साउदी जानेको माग प्रमाणिकरण मंगलबारबाट सूचारु हुने

    काठमाडौं । कोरोना महामारीपछि रोकिएको साउदी अरबको रोजगारीमा जाने नेपाली श्रमिकको मागपत्र प्रमाणीकरण पुनः सुरु हुने भएको छ । साउदीमा रहेको नेपाली दूतावासका अनुसार यो काम मंगलबार (जुन १५)बाट पुनः सूचारु हुनेछ । दूतावासका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि यो काम रोकिएको थियो ।

    साउदीस्थित नेपाली दूतावासका अनुसार माग पत्र प्रमाणीकरण गर्न आउँदा रोजगारदाता कम्पनीको ‘यूजर अकाउन्ट’मा पठाइएको माग पत्र स्वीकृति भएको म्यासेजको प्रिन्ट अनिवार्य ल्याउनु पर्नेछ ।

    दूतावासबाट प्रमाणीकरणको छाप लगाउँदा रोजगारदाता कम्पनीले अब अनलाइन प्रणालीमा अपलोड गरेकै कागजात दूतावासले नै प्रिन्ट गरी त्यसमा नै छाप लगाइदिने छ । कोरोना भाइरसको महाकारीका कारण वैदेशिक रोजगारीमा पुगेका नेपालीले निरन्तर सास्ती भोग्नु परेको छ ।

  • भारतीय राजदूतसँग भेट्दै परराष्ट्र मन्त्रीले भने ‘खोप ल्याउन सहजीकरण गरिदिनुहोस’

    भारतीय राजदूतसँग भेट्दै परराष्ट्र मन्त्रीले भने ‘खोप ल्याउन सहजीकरण गरिदिनुहोस’

    काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रघुवीर महासेठले भारतसँग नेपालमा कोरोना भाइरस विरुद्धको खोप निर्यात सहजिकरण गर्न आग्रह गरेका छन् । उनले बुधबार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासँग भेटका क्रममा यस्तो आग्रह गरेका हुन् । उपप्रधानमन्त्री महासेठलाई बधाई ज्ञापन गर्न पुगेका राजदूतसँग उनले कोरोना विरुद्धको खोप ल्याउन सहजीकरणका लागि आग्रह गरेका छन् ।


    भेटमा भारतीय राजदूत क्वात्राले महासेठलाई परराष्ट्रमन्त्री बनेकोमा भारतीय विदेशमन्त्री एस जयशंकरको बधाई सन्देश सुनाएका थिए । परराष्ट्र मन्त्रालयले खोपका सम्बन्धमा राजदूतले के भन्ने बारे चाँही खुलाएको छैन । मन्त्रालयका अनुसार सो अवसरमा खोप आपूर्तिसहित विभिन्न आपसी हितका विषयमा छलफल भएको छ ।

  • आजबाट श्रम स्वीकृति खुला, साताको एक दिन मात्र लिन सकिने

    आजबाट श्रम स्वीकृति खुला, साताको एक दिन मात्र लिन सकिने

    काठमाडौं । आजबाट श्रम स्वीकृति खुला भएको छ । वैदेशिक रोजगार कार्यालयले हरेक बुधबार मात्र अन्तिम श्रम स्वीकृति लिन सकिने गरि सेवा प्रारम्भ गरेको हो । सरकारले अन्तर्राष्ट्रिय गन्तब्यतर्फ कतारमा नियमित उडान खुला गरेसँगै सो मुलुकमा जाने कामदारको बाटो समेत खुलेको छ । सोहीकारण कार्यालयले आफ्नो सेवा शुरु गरेको हो ।

    वैदेशिक रोजगार कार्यालय ताहाचलबाट साताको एक दिन श्रम स्वीकृति लिन सकिन्छ । कार्यालयले २४ वैशाखपछि भौतिक रुपमा उपस्थित भई सेवा लिन बन्द गरेको थियो । अहिले अनलाइनबाट भने सेवा नियमित छ । निषेधाज्ञा र उडानमा लागेको प्रतिवन्धका कारण ठूलो संख्यामा कामदार रोकिएका छन् ।

  • अब विदेशी लगानी भित्राउन राष्ट्र बैंकको पूर्वस्वीकृति नचाहिने

    अब विदेशी लगानी भित्राउन राष्ट्र बैंकको पूर्वस्वीकृति नचाहिने

    काठमाडौं । नेपालमा वैदेशिक लगानी भित्र्याउन अब नेपाल राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिनु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले विनियमावली जारी गरि सहजिकरण गरेको हो । ‘विदेशी लगानी तथा विदेशी ऋण विनियमावली २०७८’ जारी गर्दै नेपालमा लगानी भित्र्याउन पूर्व स्वीकृति लिनु नपर्ने व्यवस्था गरेको जनाएको छ ।

    विनियमावली राष्ट्र बैंकबाट मंगलबार स्वीकृत भएको छ । अब विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरे पछि सोबापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिनु पर्ने छैन ।

    तर, विदेशी लगानी स्वीकृत भए पश्चात विदेशी मुद्रा भित्र्याउनु वा पठाउनु पूर्व लिखित जानकारी चाँही गराउनु पर्ने प्रावधान तोकिएको छ । नेपाल भित्रिएको विदेशी लगानी वापतको रकम बैंक तथा वित्तीय संस्थाले तोकिएका कागजात यकिन गरी सम्बन्धित कम्पनी वा उद्योगको खातामा जम्मा गर्न सक्नेछन् ।

    शेयर स्वामित्व परिवर्तन भई गरिने विदेशी लगानी बापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन भने राष्ट्र बैंकको पूर्व स्वीकृति लिनुपर्नेछ ।

    विदेशी लगानी हुने कम्पनी तथा उद्योगमा कम्पनी तथा उद्योगको दर्तालगायतका सम्भाव्यता अध्ययन खर्च र पूर्व सञ्चालन खर्च बापतको विदेशी मुद्रा इच्छुक विदेशी लगानीकर्ताले बैंकिङ्ग प्रणालीमार्फत नेपाल पठाउन\भित्र्याउन विदेशी लगानीको पूर्व स्वीकृति वा राष्ट्र बैंकको स्वीकृति अनिवार्य नहुने नियम ल्याइएको हो । यसले विदेशी लगानी भित्राउन सहज हुने अपेक्षा गरिएको छ ।

  • न्याकको अध्यक्षमा मदन उप्रेती निर्वाचित, एघार सदस्यीय समिति सर्वसम्मत

    न्याकको अध्यक्षमा मदन उप्रेती निर्वाचित, एघार सदस्यीय समिति सर्वसम्मत

    वासिङ्टन डिसी

    डिसी महानगर क्षेत्रमा सामाजिक कार्य गर्दै आएको नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक)को अध्यक्ष पदमा मदन उप्रेती निर्वाचित भएका छन् । साथै एघार सदस्यीय समिति सर्वसम्मत गठन भएको छ भने ११ सदस्यीय बोर्ड अफ ट्रस्टी समेत गठन भएको छ । ट्रस्टी सभापतिमा अरुण रुपाखेती निर्वाचित भएका छन् ।
    जुन ७ -८ तारिखका दिन मतदानको मितितय गरिए पनि अन्तिम अवस्थामा अध्यक्ष सहित सम्पूर्ण पद सर्वसम्मत चुनिएको थियो ।
    निर्वाचन समितिका प्रमुख डा श्याम कार्कीले सबै पदमा सर्वसम्मति भएकोमा खुसी व्यक्त गर्दै समितिलाई धन्यवाद दिनुका साथै निर्वाचित सबैलाई बधाई तथा शुभकामना दिएका छन् ।

    न्याकले सन् २०१९ मा श्रीमद् भागवत पुराण आयोजना गरी कार्यक्रम मार्फत २० लाख डलर सङ्कलन गरेको थियो भने अर्को बर्ष सामुदायिक भवन खरिद गरेको थियो ।

  • डेनमार्कबाट आउला नेपाललाई कोरोना खोप ?

    डेनमार्कबाट आउला नेपाललाई कोरोना खोप ?

    काठमाडौं । नेपाल सरकारले डेनमार्क सरकारसँग खोप उपलब्ध गराउन आग्रह गरेको छ । डेनमार्क सरकारले कोरोना खोप उपलब्ध गराउन सकारात्मक देखिएसँगै स्वास्थ्य सेवा विभागले समेत पत्र लेखेको नेपाली संचारमाध्यमले लेखेका छन् । डेनिस सरकारसँग स्वास्थ्य सेवा विभागले एस्ट्राजेनेकाको खोप १४ लाख डोज उपलब्ध गराउन आग्रह गरेको हो ।

    खोपको उपलब्ध गराउन सहजीकरणका लागि समेत सरकारले युनिसेफसँग आह्वान समेत गरेको छ । यो खोप कोभ्यासको अनुदान नभएको बताइएको छ । पछिल्लो समय अमेरिकाले नेपाललाई कोभ्याक्स कार्यक्रममार्फत खोप उपलब्ध गराउने घोषणा गरेको छ । यद्दपी यसको संख्या र मिति तय भएको छैन ।

    नेपालमा पहिलो खोप लगाएका करीव १४ लाख जेष्ठ नागरिक खोपको पर्खाइमा छन् । दोस्रो खोप समयमा नआउँदा उनीहरुमा मानसिक तनाव बढेको छ । भारतले खोप निर्यात रोकेपछि नेपालले पैसा पठाएपनि खोप आउन सकेको छैन ।

  • कतारमा चर्को घाममा काम लगाउने ५४ कम्पनीलाई कारवाही

    कतारमा चर्को घाममा काम लगाउने ५४ कम्पनीलाई कारवाही

    कतार । कतारमा मध्य दिउँसोको चर्को घाममा काममा लगाउन पाइदैंन । तर, सरकारको यो नियम अटेरी गरि काममा लगाएका ५४ कम्पनी कारवाहीमा परेका छन् । कतार सरकारले दिउँसोको चर्को घाममा काम लगाउने ५४ वटा कम्पनीलाई कारबाही गरेको हो ।

    मजदुरलाई दिउँसोको चर्को घाममा काम लगाउने कम्पनीलाई कारबाही गरिएको त्यहाँको प्रशासनिक विकास, श्रम तथा सामाजिक सुरक्षा मामिला मन्त्रालयलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् । कतारमा जुन १ देखि सेप्टेम्बर १५ सम्म बिहान १० देखि दिउँसो साढे ३ बजेसम्म घर बाहिर काम लगाउन पाइन्न । दिउँसो हुने उच्च तापक्रमबाट मजदुरलाई बचाउन यस्तो नियम बनाइएको हो ।

    खाडीका बहराइन, कुवेत र ओमनले १ जुलाईदेखि ३१ अगस्टसम्म, साउदी अरब र यूएईले १५ जुनदेखि १५ सेप्टेम्बरसम्म दिउँसोको समयमा मदजुरलाई बाहिर काम लगाउन नपाइने नियम कार्यान्वयनमा ल्याइसकेका छन् ।

    बहराइनमा मध्याह्न १२ देखि ४ बजेसम्म, कुवेतमा बिहान ११ देखि ४ बजेसम्म, ओमनमा मध्याह्न १२ः३० देखि ३ः३० सम्म, साउदीमा १२ देखि ३ बजेसम्म र यूएईमा १२ः३० देखि ३ बजेसम्म काममा लगाउन नपाइने नियम छ । यी मुलुक धेरै नेपाली नागरिक काममा पुगेको मुलुक हुन् ।

  • लायन्स क्लबको अन्तर्राष्ट्रिय डाइरेक्टरमा बालकृष्ण बुर्लाकोटी विजयी

    लायन्स क्लबको अन्तर्राष्ट्रिय डाइरेक्टरमा बालकृष्ण बुर्लाकोटी विजयी

    काठमाडौं । मानवीय सेवामा क्रियाशील परोपकारी अन्तर्राष्ट्रिय संस्था लायन्स क्लबको डिस्ट्रिक्ट ३२५ मल्टिपल कन्भेन्सनबाट इन्टरनेशनल डाइरेक्टरमा नेपालका बालकृष्ण बुर्लाकोटी विजयी भएका छन् । शुक्रबार र शनिबार भएको कन्भेन्सनबाट डाइरेक्टरमा बुर्लाकोटी बिजयी भएका हुन् ।

    निर्वाचित बुर्लाकोटीले १६४४ मत प्राप्त गरे भने उनको निकटतम प्रतिद्धन्द्धी खगेन्द्र सिटौलाले ११७८ मत प्राप्त गरे । नेपाल भरीको लायन्सलाई क्लब संख्या र भुगोलको आधारमा ए१, ए२, बी१ र बि२ गरी चार वटा डिस्ट्रिक्टमा बिभाजन गरिएको छ । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका पूर्वगभर्नर बुर्लाकोटी लायन्स क्लब मल्टिपल डिस्ट्रिक ३२५ नेपालका पूर्व चियरपर्सन हुन् ।नेपालबाट इन्टरनेशनल डाइरेक्टरमा सञ्जय खेतानले यसअघि नै नेतृत्व लिइसकेका छन ।

    तस्बिर : मेघा न्युज

  • अष्ट्रेलियाले नेपाली सेनालाई दियो स्वास्थ्य सामग्री

    अष्ट्रेलियाले नेपाली सेनालाई दियो स्वास्थ्य सामग्री

    काठमाडौं । अष्ट्रेलियाले नेपाली सेनालाई कोभिड–१९ महामारीविरुद्ध लड्न स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । नेपाललाई उपलब्ध गराएको ती स्वास्थ्य सामग्री काठमाडौं ल्याइएको छ । अष्ट्रेलियाको रक्षा मन्त्रालयको एयरक्राफ्टमा ल्याइएका ती सामग्रीलाई अष्ट्रेलियाली राजदूत फेलोसिटी भल्कले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई हस्तान्तरण गरेकी छिन् कोभिड–१९ प्रतिकार्यका लागि नेपाली सेनाबाट तैनाथ गरिने स्वास्थ्यकर्मीको सुरक्षार्थ आवश्यक पर्ने उक्त स्वास्थ्य सामग्रीहरु अष्ट्रेलियन एयर फोर्सको जहाजमार्फत ल्याइएको जंगी अड्डाले जनाएको छ ।

  • नेपाललाई खोप दिन प्रधानमन्त्रीद्धारा बेलायतसँग आह्वान

    नेपाललाई खोप दिन प्रधानमन्त्रीद्धारा बेलायतसँग आह्वान

    काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटिश समकक्षी बोरिस जोनसनसँग नेपाललाई कोरोना विरुद्धको खोप दिन आह्वान गरेका छन् । ओलीले बीबीसीकी दक्षिण एशिया संवाददाता रजनी वैद्यनाथनसँग कुरा गर्दै दुई देशको ऐतिहासिक सम्बन्धका आधारमा त्यसो गर्नु ब्रिटेनको दायित्व हुने समेत बताए । ओलीले यूकेका लागि नेपाली गोर्खा सैनिकहरूले गरेको त्याग र सेवाका कारण कोभिड सहायतामा नेपाल उसको प्राथमिकतामा पर्नुपर्ने जिकिर समेत छन् ।

    बीबीसीका अनुसार उनले छिमेकी भारतमा जस्तै नेपालले समेत अस्पतालका शय्या र अक्सिजनको आपूर्ति अभावसँग जुझिरहेको जानकारी गराए । राजधानी काठमाडौंसहित केही ठाउँमा अवस्था केही सामान्य भइरहे पनि यतिखेर भाइरस ग्रामीण क्षेत्रमा फैलिरहेको उनको भनाई छ । अब नेपाललाई विदेशबाट खोपको जरुरत रहेको बताए ।

    झन्डै तीन करोड जनसङ्ख्या भएको नेपालका तीन प्रतिशतभन्दा कम मानिसले मात्र पूर्ण मात्रा खोप लगाएका छन्। ओलीले मानिसहरूलाई खोप दिन सकेमा मात्र कोभिड १९ नियन्त्रण गर्न सक्ने भन्दै नत्र कठिन हुने समेत बताएका छन् । भारतको सङ्कटबीच उसले वाचा गरेको खोप नदिँदा आस्ट्राजेनेकाको पहिलो मात्र खोप लिइसकेका ज्येष्ठ नागरिकले यतिखेर दोस्रो मात्रा लिन पाइरहेका छैनन्। यस्तो संख्या करीव १४ लाख हाराहारी छ ।

  • बुद्ध जयन्तिको उपलक्ष्यमा ड्यालसस्थित नेपाली मन्दिरमा बिशेष कार्यक्रम सम्पन्न

    बुद्ध जयन्तिको उपलक्ष्यमा ड्यालसस्थित नेपाली मन्दिरमा बिशेष कार्यक्रम सम्पन्न

    टेक्सस

    २५६५ औं बुद्ध जयन्तिको उपलक्ष्यमा आइतबार बिहान ड्यालसस्थित नेपाली मन्दिरमा बिशेष कार्यक्रम सम्पन्न भएको छ। नेप्लिज बुद्धिस्ट ऐशोसिएसन टेक्सास तथा नेपाली कल्चरल एन्ड स्पिरिचुअल सेन्टरले संयुक्त रुपमा मनाएको उक्त कार्यक्रमका प्रमुख अतिथि डा आशिन आर्यधम्मले “बुद्ध धर्ममा बुद्ध जन्मभूमि नेपालको स्थान उच्च रहेको” उल्लेख गर्नु भएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि आर्यधम्म ऑस्टिन, टेक्सासस्थित सितागु बुद्ध बिहारका प्रमुख भन्ते हुनु हुन्छा । उक्त अबसरमा श्रद्धेय भन्तेले उपस्थित सबैलाई नवशील प्रदान गर्नुका साथै रत्न सुत्त तथा मेत्ता सुत्तको वाचन र प्रथम ध्यान बिधिको छोटकरीमा व्याबहारिक तालिम समेत दिनु भएको थियो।

    एशोसिएसनका अध्यक्ष स्वयम्भू शाक्यले संस्थाको बार्षिक गतिबिधि बारे जानकारी दिंदै बितेको बर्षमा कोभिडको प्रकोप हुँदा हुँदै पनि संस्थाको लक्ष्य अनुसार थुप्रै कार्यक्रम भएको बताउनु भयो। संस्थाको लक्ष्य अनुसार गत बर्ष बिशेष गरी तीन विधा; नेपालको पारम्परिक बौध धर्म, विपश्यना तथा समता ध्यान र ध्यानको वैज्ञानिक उपयोगितामा केन्द्रित रहेर विभिन्न कार्यक्रम भएको अवगत गर्नु भयो।

    यस्तै सेन्टरका सचिब छवि चापागाईले यूलेसमा निर्माण हुने नयाँ मन्दिरको बारेमा जानकारी दिंदै सबैको सहयोगको लागि अपिल गर्नु भएको थियो।

    यस्तैगरी एशोसिएसनका सचिव डा नीरज बज्राचार्यले धन्यवाद ज्ञापनका क्रममा भंतेको उपस्थितिले कार्यक्रम भब्य भएको भन्दै आभार ब्यक्त गर्नु भएको थियो । साथै भन्ते आर्यधम्म ध्यानविधिमा विशेष दख्खल राख्ने गुरु भएको हुँदा वहाँ तथा वहाँ आबद्ध सितागु बुद्ध बिहारसंग भबिस्यमा सहकार्य गर्ने जानकारी पनि गर्नु भएको थियो।

    उक्त कार्यक्रममा यूलेसमा निर्माण हुने स्वयम्भू चैत्यमा प्रतिस्थापनार्थ पांच वटा बुद्ध मुर्ति क्रमशः मकर बज्राचार्य, स्वयम्भू शाक्य, नीरज बज्राचार्य, महेन्द्र मानन्धर र सुनी शाक्यबाट उपलब्ध हुने जानकारी दिनु भयो। यस्तै ऐशोसिएसनका उपाध्यक्ष शैलेन्द्र मानन्धरका तर्फबाट पांच हजार डलर नगद तथा अन्य भक्तजन हरुबाट पनि मन्दिर निर्माणका लागि चन्दा संकलन भएको थियो।

    यस्तैगरि एशोसिएसनका नेवारी बौद्ध पुजारी उत्तम गुरुजुबाट दशापरमिता वाचन पनि भएको थियो।

  • टर्कीसहित तीन गन्तब्यमा उडान तालीका तोकियो

    टर्कीसहित तीन गन्तब्यमा उडान तालीका तोकियो

    काठमाडौं । टर्कीसहित सरकारले खोलेका नियमित गन्तब्यका लागि उडान तालीका तोकिएको छ । नेपाल एयरलाइन्ससहित चार वायुसेवा कम्पनीले तीन अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान गर्न अनुमति पाएका हुन । सरकारले भारतमा दुई र अन्य तीन मुलुकमा साताको एक नियमित उडान खुला गरेको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपाल वायुसेवा निगम, टर्किस एयरलाइन्स, कतार एयरवेज र एयर इण्डियाले नेपालमा नियमित उडानको अनुमति पाएका छन् । नियमित उडान खुलेकामध्ये चीनमा अझै उडान तोकिएको छैन । अनुमति पाएका उडानमध्ये टर्कीसले इस्तानबुलमा साताको एक उडानको अनुमति पाएको छ ।

    टर्कीका लागि ३ जुनबाट सातामा एक उडानको अनुमति दिइएको छ । यो उडान हरेक बिहीबारका लागि तोकिएको छ । नेपाल एयरलाइन्सले कतारको दोहा र भारतको नयाँ दिल्लीका लागि अनुमति पाएको छ । दोहामा कतार एयरवेजले समेत अनुमति पाएको हो ।

    कतारमा सोमबार उडान हुनेछ । कतारमा ७ जुनबाट जहाज उड्ने छ । नेपाल एयरलाइन्सले दिल्लीमा हरेक बुधबार उडान गर्नेछ । एयर इण्डियाले साताको शुक्रबार काठमाडौ उडान गर्नेछ ।

  • एनआरएनए अमेरिकाले आगामी कार्यकालका लागि नेतृत्वको बागडोर सुवेदीलाई सुम्पियो

    एनआरएनए अमेरिकाले आगामी कार्यकालका लागि नेतृत्वको बागडोर सुवेदीलाई सुम्पियो

    सुपेन्द्र बस्नेत, बोष्टन

    गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको हालै सम्पन्न निर्वाचनले आगामी कार्यकालका लागि नेतृत्वको बागडोर बुद्धि सागर सुवेदीलाई सुम्पेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार आगामी दुई वर्षे कार्यकाल (२०२१-२०२३) का लागि सुवेदी अध्यक्ष पदमा चयन हुनु भएको हो। सुवेदीले आफ्ना तीन प्रतिद्वन्द्वीहरु कृष्ण लामिछाने , डा.अर्जुन बन्जाडे र तिकल केसीलाई पछि पार्दै नेतृत्वको बागडोर सम्हाल्न सफल हुनु भएको हो । निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणाम अनुसार सुवेदीले -५,६ १८ , कृष्ण लामिछानेले -५,२००, अर्जुन बन्जाडेले – ४,१४८ र तिलक केसीले -५६७ मत प्राप्त गर्नु भएको छ ।अमेरिका भरी कुल २०,१३८ मतदाताहरु रहेको संघको मे २९ (शनिबार) र मे ३० आइतबार भएको निर्वाचनमा १५,७६८ मत खसेको थियो ।
    यसैगरी बरिष्ठ उपाध्यक्षमा कृष्ण जिबि पन्थ बिजयी हुनु भएको छ । ६,८५० मत सहित आफ्ना दुई प्रतिद्वन्द्वी बाबुराम लामा र चित्र कार्कीलाई पराजित गर्दै पन्थ बिजयी हुनु भएको हो । राष्ट्रिय उपाध्यक्ष पदका लागि १४ जना चुनावी मैदानमा उत्रिएकोमा , सुमन थापा (५,९७५), गोपेन्द्र राज भट्टराई (५,४९६) , दिलुराम पराजुली(५,०९७) र बिकास उप्रेति (४,४३३)विजयी हुनु भएको छ । राष्ट्रिय महिला उपाध्यक्षमा भने दिक्षा बस्नेतले बाजी मार्नु भएको छ । ८,२४५ मतले अग्रता लिदै बस्नेतले ६,४६६ मत प्राप्त गर्ने क्रान्ति अर्याल भण्डारीलाई पछि पार्न सफल हुनु भएको हो । निर्वाचनले राष्ट्रिय महासचिवमा अन्जन कुमार चौलागाई र खुल्ला राष्ट्रिय सचिवमा अनुप खनाललाई चयन गरेको छ । राष्ट्रिय महिला सचिवमा भने सुनिता सापकोटा कंडेल , राष्ट्रिय कोषाध्यक्षमा राजीव प्रसाद श्रेष्ठ र सह कोषाध्यक्षमा अग्नि प्रसाद ढकाल चयन हुनु भएको छ । राष्ट्रिय युवा संयोजकमा त्रिभुवन पाण्डे र राष्ट्रिय महिला संयोजकमा सुन्दरी गुरुङ चयन हुनु भएको छ । त्यसैगरी , १२ राष्ट्रिय बोर्ड सदस्य (बोर्ड अफ डाइरेक्टर) चयनका लागि भएको प्रतिस्पर्धामा ५४ जना उमेदवारहरु चुनावी मैदानमा आमनेसामने भएका थिए । जसमध्य , आशिश संग्रौला, बाला घिमिरे ,बिसाल राना , बिश्वराज बास्तोला , डोलनाथ घिमिरे , दुर्गेश जंग कार्की , ज्ञानेन्द्र गुरुङ , प्रभात राज सापकोटा ,
    प्रकाश श्रेष्ठ , राज ढुंगाना , सन्तोष पहरी र शान्ति पौड्याल बिजयी हुनु भएको छ। क्षेत्रीय समितिको अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा , किरण बहादुर बस्नेत ( मध्य पश्चिम), सम्मर बहादुर बुढाथोकी( उत्तर-पूर्व) , बादल कुमार भुजेल (दक्षिण) र श्रिराम थापा (पश्चिम) चयन हुनु भएको छ । आइसिसि सदस्य पदमा भने अमृतनाथ सापकोटा , बिन्दु निरौला , बिनोद कुमार तिवारी , गोविन्द सुबेदी , नाराणप्रसाद कंडेल , संजय थापा , संजिव कुमार श्रेष्ठ , सुरेन्द्र प्रकाश मल्ल र विष्णु बहादुर शाह बिजयी हुनु भएको छ । निर्वाचनको परिणाम सार्वजनिक भए लगतै निरन्तर न्यूजको प्रतिनिधिसंग कुराकानी गर्दै सुवेदीले आफ्नो अमुल्य मतदान गर्नु हुने मतदाताहरुलाई बिशेष धन्यवाद दिनु भएको छ । धन्यवाद दिने क्रममा खुशी ब्यक्त गर्दै उहाँले निर्वाचन सफलताका साथ सम्पन्न अहम भूमिका खेल्ने निर्वाचन आयोग, च्याप्टरदेखि केन्द्रसम्का पूर्व कार्य समितिहरु, सरोकारवालाहरु , सहयोगीहरु र पत्रकारहरुप्रति पनि आभार प्रकट गर्नु भएको छ । आफुसंगै सम्पन्न निर्वाचनबाट निर्वाचित हुनु हुने सबैलाई बधाई दिदै चयन हुन असमर्थ हुनु भएका उमेदवारहरुलाई पनि बिजयी भएको अनुभूति गराउने गरी आफुले भुमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले भन्नु भयो ,’ यो संस्थालाई सबैले अपनत्व ग्रहण गर्न सक्ने गरी , सबैको साँझा बनाउन म हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाउदछु । संस्थाको गरीमा बढाउन धेरै महत्वपूर्ण कामहरु गर्नु पर्ने देखिएको भन्दै सुवेदीले चुनावी दौरानमा आफुले देखेको तथा महसुस गरेको र मतदाताहरुबाट प्राप्त गरेको सुझावहरुलाई ब्यवहारमा उतार्न आफु सक्रिय रहने बताउनु भयो । उहाँले भन्नु भयो, ‘ च्याप्टर र केन्द्रका बिच , च्याप्टर-च्याप्टरका बिच र च्याप्टर भित्रै पनि समन्वयको निकै कमी रहेको महसुस गरेको छु । एक आपसमा समन्वय सुमधुर र बलियो बनाउन प्राथमिकताका साथ सबैसंग मिलेर काम गर्नेछु ।’
    आफ्नो चयनलाई पदग्रहणको अवसर भन्दा पनि जिम्मेवारी बहनको रुपमा लिएकोले आफ्नो दुई बर्षे कार्यकाल संस्था र संस्थामा आवद्धहरुको भलोका लागि सक्दो फलदायी बताउन प्रयास गर्ने भयो ।

    यसै क्रममा , यस निर्वाचनले आगामी कार्यकालका लागि अमेरिकाको विभिन्न राज्यहरुको कार्यसमितिको पनि चयन गरेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार , मासाचुसेट्स राज्यको नेतृत्वको जिम्मेवारी भने अध्यक्ष पदका प्रत्यासी हुनु भएका प्रेम तामाङले ग्रहण गर्नु भएको छ ।गत कार्यकाल (२०१९-२०२१)को अध्यक्ष समेत रहनु भएका तामाङले आफ्ना प्रतिद्वन्द्वी अध्यक्ष पदमा प्रत्यासी हरिप्रसाद काफ्लेलाई पराजित गर्दै च्याप्टरको दोश्रो कार्यकालका लागि पुनः निर्वाचित हुन सफल हुनु भएको हो । च्याप्टरको उपाध्यमा खुम (राजु) गुरुङ , सचिवमा प्रचण्ड श्रेष्ठ , सहसचिवमा सलोनी भण्डारी (निर्बिरोध), कोषाध्यक्षमा अजय कुश्वाह र महिला संयोजकमा अन्जु भट्टराई थापा चयन हुनु भएको छ । त्यसैगरी, सदस्यहरुमा अन्जना घले, कृष्ण बहादुर महत , प्रमिला बन्जरा , रुपक अधिकारी , समुन्द्र कुमार श्रेष्ठ र शिवराज मिश्र निर्वाचित हुनु भएको कुरा निर्वाचन आयोगले जनाएको छ ।

  • तीन मुलुकमा आगामी साताबाट मात्र नियमित उडान, नेपाल आउँदा पालना गर्नुपर्ने शर्त यस्ता छन्

    तीन मुलुकमा आगामी साताबाट मात्र नियमित उडान, नेपाल आउँदा पालना गर्नुपर्ने शर्त यस्ता छन्

    काठमाडौं । नेपालले टर्की, कतार र चीनबाट नेपाल आउन सक्ने गरि नियमित उडान उडान खुला गरेको निर्णय अब आगामी साताबाट मात्र कार्यान्वयनमा आउने भएको छ । यसअघि १८ जेठबाट उडान सूचारु गर्ने गरि मिति तोकिएको थियो । तर, मन्त्रिपरिषद् कार्यालयबाट यो पत्र आज मात्र सरोकारवाला निकायमा पुगेको छ । आजै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल आउने विदेशी र नेपाली नागरिकले पालना गर्नुपर्ने शर्तहरुबारे मापदण्ड सार्वजनिक गरेको छ ।

    सोही मापदण्डमा टेकेर हवाई कम्पनीहरुले उडान व्यवस्थापन गर्नुपर्ने भएको छ । बढीमा शर्तमा ७२ घण्टासम्मको पिसिआरदेखि खाडी मुलुकबाट आउनेलाई ५ दिनमात्र क्वारेन्टिन बसे पुग्ने व्यवस्था छन् । पिसिआरको शूल्क र होटेल क्वारेन्टिनको शूल्क व्यक्तिले स्वयमःले तिर्नुपर्नेछ ।


    यस्तो छ नेपाल आउन पाउने शर्त र पालना गर्नुपर्ने नियम

  • गैर आवासिय नेपाली संघ अमेरिकाको नयाँ नेतृत्वमा बुद्धी सुवेदी

    गैर आवासिय नेपाली संघ अमेरिकाको नयाँ नेतृत्वमा बुद्धी सुवेदी

    अमेरिका । गैर आवासिय  नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको सम्पन्न निर्वाचनमा बुद्धि सुबेदी अध्यक्षमा विजयी भएका छन्। आफ्ना निकटतम प्रतिष्पर्धी कृष्ण लामिछानेलाई पराजित गर्दै सुवेदी विजयी भएका हुन्। सुवेदीले ५ हजार ६ सय १८ मत प्राप्त गरी आगामी २ बर्षको लागि बिजयी भएका हुन । दुई दिनसम्म अनलाइन मार्फत सम्पन्न निर्वाचनमा १५ हजार ७ सय ६८ मत खसेको थियो। सँघमा २० हजार एकसय ३८ मतदाता थिए ।
    संघको बरिष्ठ उपाध्यक्षमा कृष्णजीवी पन्थ विजयी भए। उनले आफ्ना प्रतिष्पर्धी बीआर लामालाई १२ सय ८७ मतले पराजित गरे। पन्थले ६ हजार ८ सय ५० मत प्राप्त गरे भने प्रतिष्पर्धी लामाले ५ हजार ५सय ६३ मत प्राप्त गरेका छन्। विजयी पन्थ पपुलर मत ल्याउनेमध्येका एक हुन्।


    त्यसैगरी उपाध्यक्षमा सुमन थापा, गोपेन्द्र भट्टराई, विकास उप्रेती र डिलु पराजुली बिजयी भएका छन्।

    महासचिववमा अन्जनकुमार चौंलागाईं विजयी भएका छन्। उनले ६ हजार ३ सय १२ मत प्राप्त गरे। महिला उपाध्यक्षमा दीक्षा बस्नेत विजयी भइन्। उनले ८ हजार २ सय ४५ मत प्राप्त गरिन्।

    सचिवमा अनुप खनाल विजयी भए भने महिला सचिवमा सुनिता सापकोटा कंडेल, कोषाध्यक्षमा राजीव श्रेष्ठ, संयुक्त कोषाध्यक्षमा अग्निप्रसाद ढकाल, युवा संयोजकमा त्रिभुवन पाण्डे, महिला सयोजकमा सुन्दरी गुरुङले जित हात पारेका छन्।

  • चीनले अनुदानमा दिएको खोप लिन वाइडबडी जहाज सोमबार बेइजिंग जाने

    चीनले अनुदानमा दिएको खोप लिन वाइडबडी जहाज सोमबार बेइजिंग जाने

    काठमाडौं । चीन सरकारले अनुदानमा दिएको खोप लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज सोमबार चीन जाने भएको छ । नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेलले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार सोमबार जहाज पठाउने गरि तयारी भएको हो ।

    चीन सरकारले नेपाललाई थप १० लाख डोज खोप दिन लागेको छ । यसअघि चीनबाट ८ लाख डोज खोप आइसकेको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले हालै चिनियाँ समकक्षीसँग टेलिफोन वार्ता गरेलगत्तै चीनले खोप दिने घोषणा गरेको हो । चीनबाट ठूलो परिमाणमा स्वास्थ्य सामग्रि अनुदानमा भित्रिसकेको छ ।

  • न्युयोर्क नेपाली लायन्स क्लबको राफल चिट्ठाको नतिजा प्रकाशित

    न्युयोर्क नेपाली लायन्स क्लबको राफल चिट्ठाको नतिजा प्रकाशित

    न्युयोर्क

    नेपाली लायन्स क्लवहरु Lions Club of Queens Buddha र Lions Club of Queens KTM को संयुक्त आयोजनामा मे २६,२०२१ बुधवारको दिन बेलुकी ०७:०० वजे ज्याक्सन हाइट्समा राफल चिट्ठाको लक्की ड्र भएको छ ।
    लायन्स राफल चिट्ठा कार्यक्रम संयोजन समिति संयोजक लायन खड्ग बहादुर पुलामी ‘बिक्की’ का अनुसार उक्त चिट्ठाको लक्की ड्र बाट निम्नानुसारका पुरस्कार बिजेताहरू घोषित भएका छन् ।
    १) प्रथम पुरस्कार – MacBook Pro – टिकट नम्बर – ३४८९
    २) द्वितीय पुरस्कार – Iphone 12 – टिकट नम्बर – २४२४
    ३) तृतीय पुरस्कार – Apple Watch Series 6 – टिकट नम्बर – २७७६
    ४) सान्त्वना पुरस्कार – Apple Earpod 2nd Gen – २ जनालाई – टिकट नम्बर -२६५९ र ५५४७
    उपरोक्त बिजेताहरूले पुरस्कार घोषणा भएको मितिले २ हप्ताभित्र आफुले किनेको टिकटको अधकट्टी सहित Queens KTM लायन्स क्लब वा Queens Buddha लायन्स क्लबमा सम्पर्क गर्नुपर्नेछ ।

    लायन्स क्लब इंटरनेशनलको मानवीय सेवा गतिबिधि अन्तर्गत बच्चाहरूको मानसिक, शारीरिक स्वास्थ्य र शिक्षा सम्बन्धि कार्यक्रम सन्चालनको निम्ति आर्थिक स्रोत संकलन गर्ने उद्धेश्यले दुवै क्लबबाट गत ४ महीनादेखी चिट्ठा बिक्री बितरण गरिएको थियो । उक्त लक्की ड्र को फेसबुक तथा मकै हाउस TV बाट प्रत्यक्ष लाईभ प्रसारण समेत गरिएको थियो । दुवै लायन्स क्लबका अध्यक्षद्वय लायन रीमाया नेपाली र लायन रुद्र पुनको सभापतित्वमा संचालित कार्यक्रममा स्कुले बच्चाबाट चिट्ठाको लक्की ड्र गरिएको थियो । कार्यक्रम संयोजक लायन खड्ग बहादुर पुलामी ‘बिक्की’ ले चिट्ठा बिक्री कार्यमा सहयोग गर्नु हुने सबैमा आभार ब्यक्त गर्दै चिट्ठाको छपाई तथा अन्य कार्यमा आर्थिक सहयोग (sponsorship) गर्नुहुने नेपाली ब्यवसायिक कम्पनीहरूलाई धन्यवाद दिनुभयो भने लायन कृष्ण आचार्य र अशोक कार्कीले चिट्ठा कार्यक्रम सफल बनाऊँन नेपाली समुदायका ब्यवसायी, सामाजिक ब्यक्तित्व र समग्र लायनहरूको योगदानको प्रशंशा गर्दै यो चिट्ठाबाट संकलित आर्थिक स्रोतबाट नेपाली लायन्स क्लबले समाजमा उल्लेखनीय मानवीय गतिबिधि संचालन गर्ने अठोट ब्यक्त गर्नुभयो । कार्यक्रमको समापन गर्दै दुवै क्लबका लायन अध्यक्ष क्रमश: लायन रुद्र पुन र रीमाया नेपालीले चिट्ठा बिजेता सबैमा बधाई दिंदै भविष्यमा पनि यस प्रकारको आर्थिक संकलन (fund raising) गतिबिधिलाई निरन्तरता दिइने प्रतिबद्धता गर्नु भएको थियो ।

  • १८ जेठबाट कतार, टर्की र चीनमा नियमित उडान खुल्ने

    १८ जेठबाट कतार, टर्की र चीनमा नियमित उडान खुल्ने

    काठमाडौं । आगामी जेठ १८ गतेबाट चीन, कतार र टर्कीमा नेपालबाट नियमित उडान खुल्ने भएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको नेपाली संचारमाध्यमले जनाएका छन् । चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको पर्यटनमन्त्री भानुभक्त ढकालले संचारमाध्यममा जानकारी गराएका हुन ।

    अहिले सरकारले चार्टर्ड उडान मात्र गरिरहेको छ । चीनको सबै शहर, कतारको दोहा र टर्कीको इस्तानबुलमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला भएको छ । दुवै खोपको मात्रा पुरा गरेका र कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट लिएर आउने यात्रु घर पुगेर १० दिन अनिवार्य होम क्वारेन्टीन बस्ने शर्त राखिने भएको छ ।

    एउटा मात्र खोप लगाएको र कोरोना परीक्षण नेगेटिभ आएको यात्रु तीन दिन होटेल क्वारेन्टीन बस्नुपर्ने भएको छ । एउटा पनि खोप नलगाएको र रिपोर्ट नेगेटिभ आएका यात्रु भने आफ्नो खर्चमा १० दिन अनिवार्य होटल क्वारेन्टीन बस्नुपर्नेछ। पिसिआर पोजेटिभ आएका यात्रुलाई नेपाल आउने अनुमति मिल्नै छैन ।

  • यूएस नेपाल क्लाईम्वर्स एसोसिएशनको गम्भिर आपत्ति

    यूएस नेपाल क्लाईम्वर्स एसोसिएशनको गम्भिर आपत्ति

    न्युयोर्क

    आगामी मेई २९ का दिन मनाउन लागिएको नेपाल दिवसप्रति यूएस नेपाल क्लाईम्वर्स एसोसिएशनले घोर आपत जनाउँदै प्रेस विज्ञप्ति जारी गरेको छ । सँस्थाका अध्यक्ष पासाङ् शेर्पा र महासचिव मिङ्मार लामाले यो कार्य जनताको भावना बिपरित भएको समेत जनाएको छ ।

    जारी विज्ञप्तिको पूर्णपाठ;
    “आगामी मेई २९ का दिन मनाउन लागिएको भनिने कथित ‘नेपाल दिवस’ प्रति यू एस नेपाल क्लाईम्वर्स एसोसिएशनको गम्भिर ध्यान आकर्षित भएको छ ।

    अदम्य साहसका धनि तेन्जिङ् नोर्गे शेर्पा र सर एड्मन्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी एक अकल्पनीय कीर्तिमान कायम गरेको ऐतिहासिक दिन मेई २९ अन्तरराष्ट्रिय सगरमाथा दिवस (Everest Day) को रुपमा भव्यताका साथ मनाइँदै आईरहेको सर्वविदितै छ । विश्व मानव समुदाय सामु नेपाल र नेपालीको प्रतिष्ठा र स्वाभिमानलाई उँचो बनाउने मेई २९ अर्थात् सगरमाथा दिवस हाम्रो लागि एक गौरवशाली उत्सव हो । यस महोत्सवलाई न्युयोर्क राज्यमा दर्ता भई स्थापना भएको कृयाशील संस्था यू एस नेपाल क्लाईम्वर्स एसोसिएशनले नेपाली विगत आठ वर्ष अघि देखि निरन्तर रुपमा मनाउँदै आएको तथ्य जग जाहेरै छ । विगतका वर्षहरुमा यस दिवसलाई मनाउन यू एस नेपाल क्लाईम्वर्स एसोसिएशनले न्युयोर्क स्थित नेपाली महावाणिज्य दूतावास, American Alpine Club, Explorer Club of USA, New York City Outbound र United Sherpa Association जस्ता संस्थाहरु सँग सहकार्य गर्दै आएको कुरामा यहाँहरु नै साक्षी हुनुहुन्छ ।

    विश्व बिख्यात पर्वतारोहीहरुको साझा संस्था यू एस नेपाल क्लाईम्वर्स एसोसिएशनको प्रमुख वार्षिक कार्यक्रम हो । यसरी बिश्वब्यापी रुपमा लोकप्रियता हासिल गरी स्थापित भैसकेको अन्तरराष्ट्रिय सगरमाथा दिवसलाई नै ओझेल पार्ने दूषित मनसायले मेई २९ कै दिन पारेर केही तत्वहरुले कथित नेपाल दिवस मनाउनको लागि भित्र भित्रै षड्यन्त्र रच्दै गरेको अवस्था प्रति यू एस नेपाल क्लाईम्वर्स एसोसिएशनको ध्यान आकर्षित भएको हो । समग्र रुपमा विश्वभरका समस्त नेपाली दाजुभाई दिदीबहिनीहरुको प्रतिस्ठा सँग गाँसिएको सगरमाथा दिवसको अस्तित्व मेट्ने दुरासयपूर्ण कदमको यू एस नेपाल क्लाईम्वर्स एसोसिएशन घोर भर्त्सना गर्दछ । संसारभर छरिएर रहेका सम्पूर्ण स्वाभिमानी पर्वतारोहीहरुको शीर झुक्न नदिन यू एस नेपाल क्लाईम्वर्स एसोसिएशन प्रतिबद्ध रहनेछ । यस्ता षड्यन्त्रकारी तत्वहरुको जाल देखि सावधान रहन संबन्धित सबैलाई यू एस नेपाल क्लाईम्वर्स एसोसिएशन सजग गराउन चाहन्छ । “

  • कुवेतमा अब चर्को घाममा काममा लगाउन नपाइने, श्रमिकलाई राहत

    कुवेतमा अब चर्को घाममा काममा लगाउन नपाइने, श्रमिकलाई राहत

    कुवेत । कुवेतमा अब दिउँसोको चर्को घाममा श्रमिकलाई काममा लगाउन नपाइने भएको छ । यसले श्रमिका रुपमा त्यहाँ जाने नेपालीलाई समेत राहत हुनेछ । अत्यधिक तापक्रमबाट श्रमिकलाई बचाउन भन्दै आउँदो जुन १ देखि कुवेतले दिउँसोको समयमा सिधै घाम पर्ने खुल्ला ठाउँहरूमा काम गर्न रोक लगाउने निर्णय गरेको छ ।

    अगस्ट अत्यसम्म सबै कम्पनीले यसको पालना गर्नु पर्ने भएको छ । बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ला ठाउँमा काम गर्न नपाइने गरि नियम बनेको हो । नेपालको चिसो हावापानीबाट विदेश पुगेका धेरैजना एक्कासी चर्को घाममा काम गर्नुपर्दा रोगको शिकार हुने गरेका छन् । यसबाट सुतेकै स्थानमा ज्यान गुमाउनेहरुको संख्या बढिरहेको छ ।

  • गैरआवासीय नेपाली संघको पहलमा कोरियाबाट स्वास्थ्य सामग्री नेपाल आउँदै

    गैरआवासीय नेपाली संघको पहलमा कोरियाबाट स्वास्थ्य सामग्री नेपाल आउँदै

    काठमाडौं । नेपालमा फैलिएको कोरोना महामारी नियन्त्रण गर्न दक्षिण कोरियाबाट स्वास्थ्य सामग्री आउने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) दक्षिण कोरियाले यसको जानकारी गराएको हो । दक्षिण कोरियाबाट तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी आउने भएको हो ।

    यो रकम दक्षिण कोरियाली सरकारको तर्फबाट प्राप्त भएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाको पहलमा उक्त स्वास्थ्य सामग्री प्राप्त हुन लागेको विज्ञप्तीमा जनाइएको छ ।

    एनआरएनए कोरियाका तर्फबाट अध्यक्ष यज्ञराज सुवेदी र महासचिव डा. विमल सुवेदीले विभिन्न मितिमा दक्षिण कोरियाका सांसद एवं नेपाल दक्षिण कोरिया संसदीय समितिका सभापति इ साङ्ग ह्युन र दक्षिण कोरिया सत्तारूढ दलको प्रवासी सरोकार तथा योजना निर्माण प्रमुख एवं सांसद खो यङ् यिनलाई भेट गरी नेपालमा देखिएको कोरोना भाइरसको दोस्रो चरणको महामारीका विषयमा जानकारी गराउनुका साथै नियन्त्रणका लागि दक्षिण कोरिया सरकारका तर्फबाट आवश्यक सहयोगको अपेक्षासहित अनुरोध गरेको जनाइएको छ ।

    उक्त अनुरोधलाई स्वीकार गर्दै दक्षिण कोरिया सरकारले आकस्मिक सहयोगका रूपमा दुई लाख डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने निर्णय गरेको हो । निर्णयपश्चात कोरियाका सांसद खो यङ् यिनले फोन सम्पर्कमार्फत गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियालाई जानकारी गराएका छन् ।

    उक्त सहयोग समाग्री नेपाली राजदूतावास सउलसँगको समन्वयमा तत्काल नेपाल पठाइने भएको छ । त्यस्तै अन्य ठूला र दीर्घकालीन सहयोगको मात्रा र विकल्पमा नेपालमा रहेको कोरियाली राजदुतवासले नेपाल सरकारसँग थप समन्वय गरिरहेको समेत सांसद खो यङ् यिनले जानकारी दिएको विज्ञप्तीमा उल्लेख छ ।

  • नेपालसहित पाँच मुलुकबाट बहराइन जान नपाइने

    नेपालसहित पाँच मुलुकबाट बहराइन जान नपाइने

    काठमाडौं । बहराइनले एसियाका पाँच मुलुकबाट सो देशमा छिर्न नपाउने गरि प्रतिवन्ध लगाएको छ । कोरोना भाइरसको बढ्दो महामारीका कारण नेपालसहित पाँच मुलुकबाट आउन अस्थायी निषेध लगाइएको हो । राससका अनुसार भारत, पाकिस्तान, नेपाल, श्रीलङ्का र बंलादेशबाट बहराइन जान पाइने छैन । यी देशहरुलाई बहराइनले “रेड लिष्ट” मा राखेको छ ।

    आफ्नै देशका नागरिकलाई भने सशर्त आउन पाउने व्यवस्था गरिएको छ । बहराइनका नागरिक नै आउन चाहेको अवस्थामा भने कोरोना परिक्षण गरिएको पिसिआरको रिपोर्ट देखाउनु पर्ने र कम्तीमा १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ ।

    पाँच देश बाहेकका अन्य देशबाट आउने खोप लगाएका वा नलगाएका दुवै प्रकारका आफ्ना नागरिकहरुलाई पनि बहराइनले १० दिने क्वारेन्टाइन अनिवार्य गरेको छ । उनीहरुले पिसिआर रिपोर्ट नेगेटिभ देखाएमा क्वारेन्टाइनमा बस्नु पर्ने छैन । बहराइन धेरै नेपाली नागरिकले रोजगारी गर्ने मुलुक हो ।

  • इटलीमा यात्रुबाहक केवलकार दुर्घटना : कम्तिमा १४ को मृत्यु्

    इटलीमा यात्रुबाहक केवलकार दुर्घटना : कम्तिमा १४ को मृत्यु्

    रोम । इटलीमा यात्रुसवार केवलकार दुर्घटनामा पर्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार इटलीको माजीओरी तालनजिकै केबलकार खसेको हो । १४ जनाको मृत्यु भएको पुष्टी भएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा एक जना बालक छन् । अर्का एक बालक गम्भीर घाइते रहेको बताइएको छ ।

    स्ट्रेजा सहरबाट मोटारोने पर्वततर्फ जाँदै गर्दा केवलकार दुर्घटनामा परेको हो । ज्यान गुमाउनेमा पाँच जना इजरायली नागरिक छन् । दुर्घटनाको कारण खुलेको छैन । यसबारे अनुसन्धान थालिएको अधिकारीहरुले जनाएका छन । दुर्घटनापछि केवलकारको सेवा रोकिएको छ ।

  • भारतमा कोभिड जितेका ९ हजार मानिसमा देखियो आँखा बिगार्ने कालो ढुसी

    भारतमा कोभिड जितेका ९ हजार मानिसमा देखियो आँखा बिगार्ने कालो ढुसी

    नयाँ दिल्ली । भारतमा कोरोना भाइरसलाई जित्दै गरेका करीव ९ हजार मानिसमा म्यूकोर्माइकोसिस अर्थात् (कालो ढुसी) को सङ्क्रमण देखिएको छ । बीबीसीले स्थानीय स्रोतलाई उदृत गर्दै यसको पुष्टी गरेको हो । कुल ८,८०० जनाभन्दा बढी बिरामी अहिलेसम्म फेला परेको समाचारमा उल्लेख छ । यो रोग दुर्लभ मानिए पनि अहिले प्रकोपका रूपमा फैलिरहेको बताइएको छ ।

    नेपालमा समेत यो रोगका केही बिरामी भेटिएको आशंका छ । यो रोग देखिनेमा अधिकांश कोभिड भएर निको हुने क्रममा रहेका मानिस छन् । यो रोगमा मृत्युदर ५० प्रतिशत भएको समाचारमा उल्लेख छ । यस्तो संक्रमण भएमा सङ्क्रमितलाई जोगाउन शल्यक्रिया गरेर आँखा फाल्नुपर्ने अवस्था आउन सक्छ । चिकित्सकहरूका अनुसार मधुमेहका बिरामीमा यो ढुसीको सङ्क्रमण हुने जोखिम धेरै हुन्छ ।
    कोभिडबाट निको भएको १२ देखि १८ दिनमा ढुसीबाट सङ्क्रमण हुन सक्ने चिकित्सकहरूले बताएको बीबीसीको भनाई छ । अहिलेसम्म फेला परेका सङ्क्रमितमध्ये आधाभन्दा बढी पश्चिम भारतका गुजरात र महाराष्ट्र राज्यका छन्। अन्य १५ वटा राज्यमा पनि कालो ढुसीको सङ्क्रमण पुष्टि भएको छ।

    सङ्क्रमितको सङ्ख्या बढ्न थालेकाले भारतका २९ वटा राज्यलाई म्यूकोर्माइकोसिसलाई प्रकोप घोषणा गर्न भनिएको छ। म्यूकोर भनिने यो ढुसी माटो, वनस्पति, मलखाद र कुहिएका फलफूल र तरकारीमा पाइन्छ । यसको उपचार पनि महँगो छ तथा औषधिको समेत अभाव छ।

  • भारतबाट खोप नआएपछि बेलायतको आशमा नेपाल

    भारतबाट खोप नआएपछि बेलायतको आशमा नेपाल

    काठमाडौं । नेपालले ९ लाख भन्दा बढी जेष्ठ नागरिकलाई कोभिसिल्ड खोपको पहिलो डोज लगाएको छ । दोस्रो डोज खरीद गर्न भारतीय खोप निर्माता कम्पनी सिरमलाई रकम भुक्तानी गरिसकेको अवस्थामा पनि तत्काल खोप आउने सम्भावना छैन । किनकी भारत आफैले यतिबेला महामारीको सामना गर्नु परेको छ । यता नेपालमा पहिलो मात्रा लगाएकाहरुको दोस्रो डोज लगाउने अवधि सकिन लागेको छ । त्यसमाथि अधिकांश वृद्धवृद्धा छन् ।

    जसले गर्दा तत्काल दोस्रो डोजको जोहो गर्नुपर्ने चूनौति सरकार सामु रहेको छ । कोभिसिल्ड सोही खोप हो, जुन बेलायतमा अस्ट्राजेनेका रुपमा उत्पादन भएको छ । भारतमा कोभिसिल्ड नाममा स्थानीय उत्पादन गरिएको हो । सोहीकारण सरकारले बेलायतबाट यो खोपको प्राप्तिमा जुटेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बेलायती राजदूत निकोला पोलिटसँग भेट गर्दै खोप उपलब्ध गराउन आग्रह गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले नेपाली जनताको लागि अस्ट्राजेनेका कोभिड–१९ खोप उपलब्ध गराउन अनुरोध गरेका हुन् । त्यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवलीले बेलायती समकक्षीमार्फत खोप उपलब्ध गराइदिन अनुरोध गरिसकेका छन् ।

    बेलायतबाट भने कुनै प्रतिक्रिया आइसकेको छैन । कोभिसिल्ड अमेरिकासँग स्टकमा रहेको खोप समेत हो । उसले आफुसँग रहेको ८ करोड डोज कोभिसिल्ड अन्य मुलुकलाई दिने बताएको छ । तर, त्यो सूचिमा नेपाल पर्छ वा पर्दैन, निश्चित छैन ।