काठमाडौं । अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत १५ लाख डोज नेपाललाई उपलब्ध गराएको छ । आज नेपाल आइपुगेको यो खोप लगाउन सरकारले प्राथमिकता निर्धारण गरेको छ । सोमबार बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको बैठकले जोन्सनको खोप पाउने प्राथमिकता निर्धारण गरेको हो । मन्त्रालयका अनुसार यो खोप एक डोज मात्र लगाए पुग्ने छ ।
खोप ५०–५४ वर्ष उमेर समूहका नागरिकलाई दिइने भएको छ । यो उमेर समूहका नागरिक करिब १३ लाख छन् । यो खोप पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकले समेत पाउने छन् । नेपालमा बसोबास गरिरहेका शरणार्थीले समेत यो खोप पाउने भएका छन् ।
नेपालमा करीव २५ हजार शरणार्थी रहेको अनुमान छ । यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई समेत यो खोपमा प्राथमिकता दिइएको छ । सोमबार अमेरिकाबाट १५ लाख ३४ हजार ८५० डोज खोप काठमाडौं आइपुगेको छ ।
काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय उडानतर्फ उडान संख्या थप गरि दोब्बर पारेको छ । यसअघि उडान खुला गरेका गन्तब्यमा सिंगापुरमा सातामा एक उडान हुने गरि थप भएको छ । भारतमा भने साविककै सातामा दुई उडान कायम छ । यसबाहेकका मुलुकमा हुने उडान संख्या भने थप भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाई छ ।
अब सातामा कुल ५३ वटा उडान हुने छन् । यसअघि सातामा दुई दर्जन मात्र उडान गर्ने गरी तालिका तोकिएको थियो । नयाँ तालीका अनुसार भारतको राजधानी नयाँ दिल्लीमा नेपाल एयरलाइन्स (बुधबार) र एयर इण्डिया (सोमबार) उड्नेछन् । यूएईको दुबईमा नेपाल एयरलाइन्सले मंगलबार र बिहीबार, हिमालय एयरलाइन्सले आइतबार, मंगलबार र बिहीबार तथा फ्लाइ दुबइले आइतबार, बुधबार र शुक्रबार एक, एक उडान गर्नेछन् ।
कतारको दोहामा नेपाल एयरलाइन्स र कतार एयरवेजले हरेक दिन एक, एक उडान गर्नेछन् । दोहामा हिमालय एयरलाइन्स सोमबार, बुधबार र शनिबार जाने छ । साउदी अरेबियाको दमाममा हिमालय एयरलाइन्सले आइतबार, सोमबार, बुधबार र शुक्रबार गरि साताको चार उडानको अनुमति पाएको छ । मलेसियाको क्वालालाम्पुरमा नेपाल एयरलाइन्सले बुधबार र शनिबार गरि सातामा दुई उडान गर्नेछ। हिमालय एयरलाइन्सले बिहीबार, शुक्रबार र शनिबार क्वालालाम्पुर उडानको अनुमति पाएको छ ।
टर्किस एयरलाइन्सले टर्कीको इस्तानवुलमा सोमबार, बिहीबार र शनिबार जहाज उडाउने छ । जजिरा एयरवेजले कुवेतमा सोमबार, मंगलबार, बुधबार, बिहीबार र शनिबार गरि कुल पाँच उडानको अनुमति पाएको छ । सलाम एयरले ओमानको मस्कटमा सोमबार, बुधबार र शनिबार गरी कुल तीन उडान गर्ने गरि अनुमति पाएको तालीकामा उल्लेख छ । एयर अरेबियाले आबुधाबीमा आइतबार र मंगलबारको उडान तालिका पाएको छ । सिल्क एयरको जहाज हरेक आइतबार काठमाडौं आउने छ ।
काठमाडौं । इजरायलबाट नेपालमा विभिन्न स्वास्थ्य सामग्री आएको छ । नेपाल वायुसेवा निगमको जहाजले इजरायल पुगेर स्वास्थ्य सामग्री बिहीबार काठमाडौं ल्याएको हो । नेपाल वायुसेवाको २३५३ ‘चार्टड फ्लाईटमार्फत सामग्री बिहीबार विहान ११ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो।
नेपालका लागि इजरायली राजदूत हनान गोडेरसहितको टोलीले सो सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। इजरायलबाट ५८ थान भेन्टिलेटर, १ सय २० थान अक्सिजन कन्सन्ट्रेटर, आइसीयुसँग सम्बन्धित उपकरण, औषधि, पिपिई, थर्मल गनलगायतका कोरोनाको उपचारसँग सम्बन्धित छन्। करिब २० करोड रुपैयाँ मूल्य पर्ने सामग्री नेपाल आएको हो ।
काठमाडौं । द हन्ड्रेड क्रिकेट प्रतियोगितामा भाग लिन स्टार नेपाली क्रिकेटर सन्दीप लामिछाने बेलायत प्रस्थान गरेका छन् । उनी गएराति बेलायत प्रस्थान गरेका हुन् । सन्दीप बेलायत पुगेर १० दिन क्वरेण्टीन बस्नु पर्नेछ । त्यहाँ उनको दुई पटक कोरोना पीसीआर परीक्षण हुनेछ । नेगेटिभ रिपोर्ट आएपछि सन्दीप टिममा सहभागी हुने छ । द हन्ड्रेड प्रतियोगिताका लागि उनी ओभल इन्भिन्सिबलमा आवद्ध भएका छन् । प्रतियोगिता २२ जुलाईबाट शुरु हुँदैछ ।
काठमाडौं । अमेरिकी मुलुकहरुमा नेपालको प्रतिनिधित्व गर्ने नेपाली राजदूतहरूले विश्वमा कोभिड विरुद्धको खोपको प्रभावकारीसँगै अन्तर्राष्ट्रिय पर्यटन आगमन सहज हुने बताएका छन् । पर्यटक आगमन बढ्ने भन्दै उनीहरुले नेपालमा तयारी अवस्थामा रहन समेत आग्रह गरेका छन् । कोभिडविरुद्धको खोपको प्रभावकारीताले पर्यटकीय गतिविधिमा उत्साह थपिएको र त्यसलाई नेपालले पनि उपयोग गर्नुपर्ने उनीहरुको भनाई छ । नेपाल पर्यटन बोर्डले आगामी वर्षको बजेट सँगसँगै विश्वव्यापी रुपमा गर्न सकिने पर्यटकीय गतिविधि तथा विश्व परिवेशका सन्र्दभमा अमेरिका, क्यानडा र ब्राजिलका राजदूतहरुसँग बुधबार गरेको भच्र्युअल अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा उनीहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर विस्तारै पर्यटनलाई चलायमान बनाउन सकिने बताए । बोर्डले यस अघि कोभिड महामारीबीच पनि नेपालको पर्यटन प्रवर्द्धनका लागी के कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर मध्यपूव,उत्तरपूर्वी एशिया र युरोपका विभिन्न देशका राजदूलरहरुसँग पनि अन्तक्रिर्या कार्यक्रम सम्पन्न गरिसकेको छ ।
कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा।युवराज खतिवडाले छिमकी मुलुक भारत र चीन बाहेकका मुलुकहरुका लागि पनि पर्यटन बोर्डले छुट्टै प्रर्वधनात्मक कार्यक्रम आयोजना गर्नु पर्ने बताए । पूर्व अर्थमन्त्री समेत रहेका डा।खतिवडाले संघीय सरकार, प्रदेश तथा स्थानीय सरकारहरूसँग समन्वय गरी बजेटको अभावलाई परिपूर्ती गरी कार्यक्रम गर्न सुझाव दिए ।
‘अहिले पर्यटकीय गतिविधि शुन्यप्रायः रहकोले बजेट अभाव हुनु स्वाभाविक हो । तर प्रदेश र स्थानीय सरकारसँग पर्यटनका लागि बजेट छ । त्यसलाई प्रयोग गर्न सके बजेटको अभावलाई चिर्दै पर्यटनका थप काम गर्न सकिन्छ,’ उनले भने । यस्तै उनले नेपालमा स्वास्थ्य र सिने पर्यटनको पर्याप्त सम्भावना रहको भन्दै उनले सिने पर्यटनका लागि हलिउडसँग पहल गरिरहको दावी गरे ।
क्यानडाका लागि नेपाली राजदूत भृगु ढुङ्गानाले कोभिडको प्रभाव कम भएसँगै क्यानडाबाट पनि पर्यटकहरु भ्रमणमा निस्किरहेको भन्दै नेपालले स्वास्थ्य सुरक्षाको ध्यान दिँदै बाह्य पर्यटकलाई आर्कषित गर्नुपर्ने बताए । उनले पर्यटक आगमनमात्र नभएर पर्यटनमा वैदेशिक लगानी भित्र्याउने गरी दूतावासले पहल गरिरहेको र यसमा विभिन्न सरोकारवालाहरुसँग समन्वय र सम्पर्क भइरहेको जानकारी दिए । यस्तै ब्राजिलका लागि नेपाली राजदूतावासका डेपुटी चिफ अफ मिसन (सेकेन्ड सक्रेटरी० भरत खनालले नेपालको पर्यटनको अन्तरराष्ट्रिय प्रर्वद्धनका लागि विभिन्न भाषाका प्रचार सामग्री आवश्यक भएको बताए । उनले डिजिटल तथा परम्परागत दुवै खालका प्रर्वद्धनात्मक सामग्रीको उत्पादन र प्रचार गर्न बोर्डलाई सुझाव दिए ।
यस्तै न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका कार्यकारी कन्सुल जनरल विष्णुप्रसाद गौतमले न्युयोर्कबाट नेपाल जाने पर्यटकको संख्या विगतका वर्षहरुमा बढदै गईरहको सन्र्दभमा नेपालको बारेमा सहि सूचना प्रवाह गर्न सके यसलाई निरन्तरता दिन सकिने बताए । उनले विगतमा पर्यटन बोर्डले गराउने फ्यामट्रिपले नेपालको प्रचारमा सहयोग गरेकोले त्यहाँका विशिष्ट व्यक्तिहरुलाई नेपाल लैजाने गरी फ्यामट्रिपको व्यवस्था गर्न बोर्डलाई आग्रह गरे ।
पर्यटन बोर्डका कार्यकारी प्रमुख डा। धनन्जय रेग्मीले पर्यटनलाई चलायमान बनाउन नीतिगत सुधार देखि अन्तरनिकाय समन्वय र बजेटको सिमिततालाई ध्यानदिँदै बोर्डले काम गरिरहेको जानकारी दिए । उनले नेपाललाई सबै उमेर समूह र सबै सिजनको पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न नयाँ ढंगले गन्तव्य विस्तार आवश्यक भएको भन्दै त्यसका लागि बोर्डले हिमाल पहाड र तराईलाई समेट्ने गरी पर्यटकीय गन्तव्यको विकासमा लागेको जानकारी दिए ।
उनले कोभिडले गर्दा पहिले जस्तो अवस्था नभएपनि पुनरुत्थानका कार्यक्रकासाथ अघि बढ्नुको विकल्प नभएको र बताए । ‘अहिले अवस्था सजिलो पक्कै छैन सबैलाई जानकारी नै छ । तर कोभिडको दोस्रो चरणको संक्रमण र तेस्रो भेरियन्टको चर्चा हुँदै गर्दा स्वास्थ्य मापदण्डलाई ध्यान दिँदै सर्तकताकासाथ अघि बढ्नु पर्ने अवस्था छ । त्यसको लागि राजदूत र दूतावासको सहयोग आवश्यक छ ।’ उनले भने ।
बोर्डले कोभिड महामारीको परिवेशमा पनि के कस्ता नयाँ तरिका, प्रविधि र शैलि अपनाई नेपालको पर्यटकिय छविलाई अन्तराष्ट्रिय क्षेत्रमा कायम राखी प्रवर्द्धनात्मक कार्यहरु सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित गरेको थियो । यस्तै राजदूतहरुले यस विषम परिस्थितीमा परम्परागत शैलिका अतिरिक्त विद्युतिय माध्यमबाट नेपाल पर्यटन बोर्डले प्रवर्द्धनात्मक सामाग्रीहरु उपलब्ध गराई त्यहीँबाट उत्पादन गर्दा अझ बढी प्रभावकारी हुने धारणा राखेका थिए ।
काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा मेक्सिकोका लागि गैरआवासीय राजदूत नियुक्त भएका छन् । उनी अमेरिकामा बस्छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा युवराज खतिवडालाई मेक्सिकोका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी हुन् । नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयको भनाई छ । डा. खतिवडा विगत एक वर्षदेखि नेपाली राजदूत बनेका छन् । उनी नेपालका पूर्वमन्त्री हुन् ।
कनेक्टिकट नेपाली समाज (नेकोन) युएसएले हाल अमेरिका भ्रमणमा रहनु भएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष वैज्ञानिक डा. महावीर पुनलाई गत जुन २५ तारिखका दिन स्थानीय केनेडी पार्कमा एक औपचारिक कार्यक्रमका बीच सम्मान गर्दै सहयोग रकम हस्तान्तरण गरेको छ ।
उक्त कार्यक्रमको संयोजन संस्थाका सहकोषाध्यक्ष संजय पन्तले गर्नु भएको थियो भने सहयोगदाताहरु र सदस्यहरु गरी करिव १०० जनाको उत्साहजनक उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि डा. महावीर पुनलाई सम्मान गर्दै नेकोनका अध्यक्ष नारायण पौडेलले डा. पुनको सरल व्यक्तित्वको प्रशंसा गर्दै सहयोग गर्ने महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो । संस्थाको तर्फबाट उपाध्यक्ष रघुनाथ गिरीले स्वागत मन्तव्य र कार्यक्रमको सहजीकरण तथा संचालन संस्थाका सचिव राजन तिम्सिनाले गर्नु भएको थियो । सम्मानित व्यक्तित्व डा. महावीर पुनले अमेरिकी पूर्वराष्ट्रपति जोन एफ केनेडीको भनाई उद्धृत गर्दै विना स्वार्थ राष्ट्रका लागि सहयोग गर्नु पर्ने बताउनु भयो । साथै वहाँले सहाभागीहरुको जिज्ञासाको प्रतिउत्तर पनि दिनु भएको थियो । कार्यक्रमको अन्त्यमा नेकोनद्वारा संकलित १० हजार अमेरिकी डलर अध्यक्ष नारायण पौडेलज्यूले डा. पुनलाई हस्तान्तरण गर्नु भयो ।
स्मरण रहोस, डा. महावीर पुन म्याग्दीको दुर्गम गाउँ नागीमा जन्मिएर पनि अमेरिकाबाट विद्यावारिधि गर्न सफल भई अमेरिकाको सुविधा र अवसरलाई छाडेर पुन नेपालको दुर्गम गाउँमा फर्केर तार रहित ईन्टरनेट तथा भिओआईपी टेलिफोनको माध्यमबाट नेपालको दुर्गम गाउँलाई इन्टरनेटको विश्व संजालमा जोड्न सफल हुनु भयो । निस्वार्थ सामाजिक सेवामा वहाँको नेतृत्व क्षमताको उच्च सम्मान गर्दै सन् २००७ मा वहाँले फिलिपिन्सबाट ५०,००० डलरको रमण म्याग्सायसे पुरस्कार प्राप्त गर्नु भयो । त्यस यता पुरस्कारको सम्पूर्ण रकम र आफ्नो जायजेथा समेत संस्थागत गर्दै “राष्ट्रिय आविस्कार केन्द्र” को स्थापना गरि देशमा विज्ञान तथा प्रविधिको अध्ययन र अनुसन्धान मार्फत नेपाली माटो सुहाउँदो प्रविधीको विकासमा युवा जनशक्तिलाई परिचालन गरिरहनु भएको छ भने, हालै विद्यमान कोभिड-१९ को महामारीमा नागरिक स्तरमा अगुवा नेतृत्वको भूमिकामा वहाँ सतिसाल झैँ उभिनु भयो । अक्सिजन सिलिन्डर, यस संग सम्बन्धित पार्टपूर्जाहरु, अस्पतालका भेन्टिलेटरहरुको मर्मत सम्भार र पिपिईको निर्माण तथा वितरणको सहजीकरण गरेर वहाँ र वहाँको केन्द्र सम्बद्ध टिमले नेपाली जनतालाई बिर्सनै नसकिने गुण लगाउनु भएको छ । डा. पुन र वहाँको राष्ट्रिय आविष्कार केन्द्रलाई आफ्नो उदेश्य प्राप्तिमा निरन्तर सफलता मिलोस, कनेक्टिकट नेपाली समाज (नेकोन) युएसएको यही हार्दिक शुभकामना !
लण्डन । जर्मनीले कोभिड १९ को बढ्दो संक्रमणका कारण लगाएका प्रतिवन्ध हटाउने भएको छ । बीबीसीका अनुसार बेलायत, नेपालसहित अन्य तीन राष्ट्रका यात्रुमा लगाएको प्रतिबन्ध अब हट्नेछ । पोर्चुगल, रुस र भारतका नागरिकहरूमा समेत यो नियम लागु हुने र प्रतिबन्ध बुधवारबाट हट्ने बीबीसीले जनाएको छ । पूर्ण रूपमा खोप प्राप्त गरिसकेका मानिसहरू जर्मनी पुगेपछि क्वारन्टीन बस्नु पर्ने छैन ।
खोप नलगाएका मानिसहरूले भने १० दिनसम्म क्वारन्टीनमा बस्नुपर्ने नियम बनाइएको छ । उनीहरूले पाँचौँ दिनमा परीक्षण गर्दा नतिजा नेगेटिभ आए क्वारन्टीनबाट बाहिरिन पाउने छन्। जर्मनीका नागरिक र बासिन्दाहरूमाथि प्रतिबन्ध लागु नगरिएको भए पनि उनीहरू जर्मनी प्रवेश गर्दा १४ दिन क्वारन्टीनमा बस्नुपर्ने व्यवस्था भने थियो ।
यी पाँच राष्ट्रहरूलाई सङ्क्रमितहरूको सङ्ख्या अझै उच्च रहेको देशका रूपमा वर्गीकृत गरि निगरानी भने जारी राखिने भएको छ । उता, बेलायतले समेत अब मानिसहरुमाथिको प्रतिवन्ध र मापदण्डहरु क्रमशः खुकुलो बनाउँदैछ । आगामी दुई सातामा बेलायतमा सामाजिक दुरी कायम गर्ने र मास्क लगाउनुपर्ने नियम हटाउने तयारी छ ।
आजको युग विश्वव्यापिकरणको युग हो ।प्राविधिकरणसंगै विकसित आधुनिकिकरणले विश्वयात्रालाई निकै सजिलो बनाइदिएको छ । जसका करण विविध कारणले जन्मभूमि छोडेर अर्कै भूमिलाई कर्मभूमि बनाउनेको संख्या दिन प्रतिदिन बढ्दो छ । यसबाट नेपालीहरु पनि अछुतो रहन सकेका छैनन् । नेपालीहरुले संसारका ८१ भन्दा बढी देशहरुमा डेरा जमाइ सकेका छन् । तिनै विविध कारणले नेपाल बाहिर (सार्क राष्ट्रहरु बाहेक) विश्वभर छरिएर रहेका नेपालीहरु र नेपाली मूलको विदेशी नागरिकहरुको साझा छाता संस्था हो ‘गैर आवासीय नेपाली संघ’ । जन्मभूमि र कर्मभूम बीच आत्मीय सामिप्यता ल्याउन सेतुको काम गर्नु , प्रवासी नेपालीहरु हितका लागि सक्दो भूमिका निर्वाह गर्नु , नेपाल र नेपालीको समृद्धिका लागि सक्दो योगदान पुर्याउनु र नेपालीको समृध्दि मार्फत विदेशमा रहेका गैर आवासीय नेपालीहरुको प्रसिद्धि बढाउनु नै यस संस्थाको मुख्य उद्देश्यहरु रहेका छन्। सन् २००३ , अक्टोबर ११ तारिखका दिन एक गैरनाफामूलक सामाजिक संस्थाको हैसियतमा स्थापित यो संस्था , नेपाल सरकाबाट मान्यता प्राप्त आधिकारिक संस्था हो । जसलाई गैर आवासीय नेपाली नियम २०६४ लागू गरी नियमन गरिएको छ । संस्थाको विधानमा हरेक दुई बर्षमा नयाँ कार्यसमिति चयन गर्नु पर्ने व्यवस्था भए अनुसार , गैर आवासीय नेपाली संघ , अमेरिकाले पनि कोरोना कहरकैबीच जसोतसो निर्धारित मिति भित्रै विभिन्न राज्यहरुमा रहेका आफ्ना च्याप्टरहरुको र राष्ट्रिय समन्वय परिषद्को निर्वाचन सम्पन्न गर्यो। निर्वाचनका सम्बन्धमा लागेका अनेक खाले आरोपहरुलाई बेवास्था गर्ने हो भने , निर्वाचन सम्पन्न गर्ने कार्यसमिति र निर्वाचन आयोग धन्यवादको हकदार नै छन्। तर, निर्वाचनका दौरानमा लोकतान्त्रिक अभ्यासका नाममा भएका अलोकतान्त्रिक हर्कतहरु भने साच्चै जिब्रो कटाउने र नाक तथा निधार खुम्च्याउने स्तरको रहेको कुरा पनि जग जाहेर नै छ । यद्यपि, संस्थाको हित तथा नेपाल र नेपालीको उज्वल भविश्यको आसका खातिर, देखे पनि नदेखे झैं र सुने पनि नसुने झैं चैचुप मैचुप रहनेहरुको जमात पनि बलियो नै रह्यो । जसका करण तै चुप मै चुप, खुला दिसा गर्नेलाई देखिए-आफै लुकको अवस्थाबाट गुज्रदै संस्थागत निर्वाचन अभियान राष्ट्रिय वार्षिक साधारणसभातिर लम्कन सफल भयो। निर्वाचन पश्चात् पराजित भएकाहरुका आत्तिएका रुवावासी र विजयी हुनेहरुको मात्तिएका विजयोत्सवका हर्कतहरु संस्थाको गरिमा अनुसार विलकुल शोभनीय रहेनन्। हुनत सामान्यतया लोकतान्त्रिक निर्वाचन परिणाम सार्वजनिक भै सकेपछि ति हर्कतहरुले विश्राम लिनु पर्ने थियो । र, सबै तिता र असन्तुष्टिहरु बिर्सिएर पुनःसंस्थागत अभियानमा एकताबद्ध भइ अघि बढ्नु पर्ने हो । तर, ‘दुर्भाग्य’ त्यसले जुलाई ३-४ सम्म न्यू योर्कमा भएको गरिमामय ‘राष्ट्रिय साधारणसभा’सम्मको यात्रा तय गर्यो । उदघाटन समारोह मै विजयको दम्भ, पराजयको पिडा र घृणाको कुण्ठाले धारण गरेको पराकाष्ठा यसरी छताछुल्ल भयो कि, जसले संस्थाको गरिमा नराम्ररी चुकायो। गर्वीलो शिर झुकायो । र , मतदाहरुको आसा र भरोसा टुटायो। नवनिर्वाचितहरुलाई औपचारिक पद ग्रहणका लागि हतारो हुनु र पुरानाहरुलाई पद त्याग गर्ने बेला पसारो पर्नुले नराम्ररी जग हसायो । सुरक्षा दस्ताको चौघेरामा हतार हतार सपथ ग्रहण कार्यक्रम सम्पन्न हुँदाको क्षण, निकै दयनीय, टिठिलो र लज्जास्पद रह्यो । आयोजित गरिमामय साधारणसभालाई मुख्य गरी संस्थाको नीति नियम निर्माण गर्ने, आगामी कार्ययोजना तर्जुमा गर्ने, भए गरेका क्रियाकलापहरुको मुल्याङ्कन गर्ने र अग्रगामी कदम चाल्नका लागि पृष्ठपोषण गर्ने अमुल्य सुवर्ण अवसरका रुपमा भरपुर सदुपयोग गरिनु पर्ने थियो। तर, त्यसो नभएर साधारणसभा बदला लिने, लामो समयदेखि पालित पोषित कुण्ठा पोख्ने र एक अर्कालाई खुइल्याउने मौकाको रुपमा दुरुपयोग गरियो । यी सलबलाएका घटनाहरुका छनकहरु हेर्दा, यी समस्याहरुको समाधान तत्कालै त्यति सजिलो हुनेवाला देखिन्न। ज्ञान, बुद्धि, विवेक र सीपका दृष्टले विश्वकै अग्रपंक्तिमा रहेको मानिएको देश अमेरिकामा रहेर पनि, होनहार मानिएका संस्थाका जिम्मेवार व्यक्तित्वहरुबाटै यस्ता लज्जास्पद , निन्दनीय र खेदजनक व्यवहारहरु भएको सुनिनु र देखिनु, नेपाल र नेपालीका लागि निकै दुर्भाग्यको कुरा हो । यस घटनाले संस्था भित्र सामुहिक स्वार्थका खातिर चाहिने अपरिहार्य संस्थागत संस्कार, व्यवहार र अनुशासनको निकै अभाव र व्यक्ति स्वार्थका खातिर कुण्ठा,ठालुपन र दम्भको निकै प्रभाव रहेको पुष्टि गरेको छ। गैर आवासीय नेपाली संघ , एउटा गैरनाफामूलक सामाजिक संस्था हो ।तर, यस संस्थामा आवद्ध भएर समाजसेवा गर्ने अभियानमा किन हार्दिकता र एकता छैन ? नेतृत्व प्राप्तिका लागि लोकतान्त्रिक अभ्यासका नाममा किन अलोकतान्त्रिक क्रियाकलापहरुले प्रसय पाइरहेका छन् ? नेतृत्व प्राप्तिलाई किन जिम्मेवारी वहनका रुपमा नलिइ, पद र प्रतिष्ठा ग्रहणका रुपमा लिइन्छ ? ठेकेदारी प्रथा किन मौलादै छ ? निर्वाचन पश्चात् मतदाताहरुको अवमुल्यन किन गरिन्छ ? समाजिक कार्यमा सबैसंग हातेमालो गरी अघि बढ्न छोडेर, यस्ता लज्जास्पद संस्कार र व्यवहारहरु किन मौलाइरहेका छन् ? संस्थाको आदर्श वाक्य ‘नेपालीका लागि ,नेपाली’ लाई सार्थक बनाउने पथमा संस्था किन डोर्याउन सकिरहिएको छैन ? संस्थागत पारदर्शीता दिन प्रतिदिन किन संकुचित र कुण्ठित हुदै गइरहेको छ ? नीतिगत र आर्थिक भ्रष्टाचारको कुरा जोडदार किन उठिरहेको छ ? संस्थाप्रति लक्षित समुदायको आकर्षण किन बढ्न सकिरहेको छैन ? संस्थामा परिमाणात्क आबद्धतामा बृद्धि देखिए पनि , गुणात्मक आबद्धता किन खस्कदो छ ? छलछामे, बदनामे, पदलोलुपी, हुक्के चिलिमे र रमितेहरुको कब्जामा रहेको रत्यौली खेल्ने क्लवका रुपमा संस्थाको छवि किन संस्थागत हुदै गइरहेको छ ? संस्थामा आवद्ध जो कोही सदस्यहरुले किन अपनत्व ग्रहण गर्न सकिरहेका छैनन् ? हो अहिले संस्था हाक्ने अहोदामा रहेकाहरुलाई जोडेर यस्तै यस्तै यक्ष प्रश्नहरु खडा भइरहेका छन् । संस्थागत उद्देश्य प्राप्ति गर्ने र कार्यकाल बढी भन्दा बढी प्रभावकारी बनाउने हो भने , सबैभन्दा पहिला अग्रगामी कदमका बाधक यस्ता प्रश्नहरुको उत्तर तुरुन्त खोजी गरिनु पर्दछ । र, यि यक्ष प्रश्नहरुको सम्बोधन हुने र समस्या समाधानका लागि उपायहरु पहिचान गर्ने गरी आवश्यक एकिकृत ठोस कदम चालिनु पर्दछ।रुखका जराहरुका बाधकहरु नपन्छाइ , जति सुकै मलजल दिए पनि रुखले अपेक्षित फल दिन कदाचित् सक्दैन । त्यसैले, सर्वप्रथम संस्थागत सुदृढीकरण , सुद्धिकरण, एकिकरण र सबलीकरणका बाधकहरु पन्छाउनु अपरिहार्य छ।हैन भने सपथ ग्रहण, पदभार ग्रहण , यताउता भ्रमण, आशन ग्रहण , अर्थहीन भाषण, रासन ग्रहण र अन्तमा छेउटुप्पोको भेउ नै नपाउदै बागडोर हस्तान्तरण मै सकिने छ दुई वर्षे कार्यकाल। तसर्थ, संस्थाको एक साधारण सदस्यको हैसियतले विलम्ब नगरी संस्थाको गरिमा उच्च राख्न र सबैले गर्व गर्न लायक संस्था बनाउन, अति आवश्यक यिनै प्रमुख मद्दाहरुमा केन्द्रिकृत भएर आफ्नो अभियान प्रारम्भ गरिहाल्न नयाँ टिमलाई अनुरोध गर्दछु। साथै, प्राप्त अवसरलाई पद तथा प्रतिष्ठा ग्रहणका रुपमा नभई, संस्थागत हितार्थ जिम्मेवारी बहनका रुपमा बुझ्न र सोही अनुसार भूमिका निर्वाह गर्न अनुरोध गर्दै यि नै सदिच्छासहित कार्यकाल पूर्ण सफलताको कामना समेत गर्दछु ।
अमेरिकाको भर्जिनिया निवासी एलिजाबेथ ठकुरीले लगातार तेश्रो पटक अमेरिकी राष्ट्रपतिको हस्ताक्षर सहित प्रदान गरिने “राष्ट्रपति शिक्षा पुरस्कार” प्राप्त गरेकी छिन्।पिता उज्ज्वल ठकुरी र आमा प्रियंका नेपाल ठकुरीकी सुपुत्री प्रियंका भर्जिनियास्थित फ्रोष्ट मिडिल स्कुलमा अध्ययनरत छिन् ।
उनले प्रथम पटक कक्षा ६ मा राष्ट्रपति ट्रम्पद्वारा २०१९ “राष्ट्रपति शिक्षा पुरस्कार” प्राप्त गरेको थिइन् भने कक्षा ७ मा फेरी राष्ट्रपति ट्रम्पद्वारा “राष्ट्रपति शिक्षा पुरस्कार” २०२० प्राप्त गरेको थिइन्। यसपाली २०२१ कक्षा ८ मा पनि सो उत्कृष्ट पुरस्कार एलिजाबेथ ठकुरीले राष्ट्रपति जो बाइदेनबाट पनि प्राप्त गरेकी छिन् । यसले सम्पूर्ण नेपाली समुदाय र नयाँ पिढीलाई प्रत्साहन र उर्जा उत्पादन गरिदिएको पिता उज्ज्वल ठकुरी बताउँछन् ।
एलिजाबेथ बताउँछिन; “मैले पुरस्कार सोचेर पढेकी होइन, सधै अध्ययनलाई प्राथमिकता राख्दछु । मेहेनत गरे अमेरिकामा सबै सम्भव छ” । उनका पिताले कायम राखेका विश्व कीर्तिमानले आफुलाई पनि हौसला मिलेको समेत बताएकी छिन् ।
एनआरएन अमेरिका २०२१-२३ पदाधिकारी कार्यकालका लागि केन्द्र र राज्य निकायहरुको चुनावपूर्व नै सदस्यता दर्ता र नविकरण गर्ने कार्य सम्पन्न भई अब एनआरएन अमेरिकामा साधारण र आजीवन गरि २० हजार भन्दा बढी सदस्यहरु संगठीत भए । आफुपनि स्वतस्फुर्त रुपमा सदस्य बनाउन लागि परेकोले खुसी र गर्व लाग्छ। तर चुनाव हुदैगर्दा ५ अध्यक्ष्यका प्रत्याशी मध्ये एक प्रत्याशी चाँहि आफुले चुनावमा अध्यक्ष पदका प्रत्याशी हुन् शुल्क बुझाएको तर एनआरएनले आफुलाई चुनावमा भाग लिन बन्देज लगाएको र तिरेको २ हजार डलर फिर्ता पनि नगरेको खबर सुन्नमा आयो। तर एनआरएन भित्र कसैको पुच्छर नसमाएको र कुनै पदमा नबस्ने कुनै स्वतन्त्र, निष्पक्ष निकाय नहुदा सदस्यले आफुलाई परेको अन्याय बिरुद्ध अदालतमा मुद्दा दायर गरेको बुझियो। घरपरिवारमा बादबिवाद, मनमुटाव हुन्छ तर त्यसलाई समाधान गर्ने उपाय गरिएको छैन भने बलियाले निर्धालाई शारीरिक र मानसिक चोट पुर्याउन सक्छ । अनि निर्धोले न्याय खोज्दै हिड्नु कुनै अपराध हुदैन। उदाहरणको लागि हालसालै नेपालमा संचारकर्मी रुपा सुनारले आफुलाई जातीय विभेद गरी मानसिक पिडा दिएकोमा कानुनी उपचारमा गईन। राष्ट्रपतिले गैरसंबैधानिक कार्य गरिी १४६ को समुहलाई प्रधानमन्त्री नियुक्त नगरेको भनि अदालतमा मुद्दा दायर गरे। के अब रुपा सुनारलाई कतै कोठा भाडामा नदिने हो त? झलनाथ वा माधव नेपाललाई प्रधानमन्त्री वा एमालेको सभापति पदमा चुनाव लड्न नदिने हो त? त्यसो हो भने प्रजातान्त्रिक, गणतान्त्रिक मुलुक भन्नु भएन।
सदियौंदेखि दासत्व र सामन्ति प्रथाबाट जन्मे हुर्केका नेपालीहरु अमेरिका आएर अमेरिकन हुन् वा बेलायत गैर बेलायती हुन्; अनि जति डिग्री लिउन, शुट लगाउन वा गाडी चढुन। तर तिनका दिमागबाट मौका पायो कि अरुलाई दमन गर्ने र आफ्नो हैकम कायम राख्ने प्रयास गरि हाल्छन। यस्तै मौका अहिले बिद्यमान एनआरएन एनसीसी अमेरिकाको बिधानले सृजना गरेको छ। बर्तमान विधानको धारा ११०सी ले अध्यक्षको पदमा प्रत्याशी हुन् रोक लगएको छ। यसले भन्छ, “एन आर एन एनसीसी बिरुद्ध कानुनी कारवाहीको पक्षधरले चुनाव हुदैगर्दा अध्यक्ष पदमा चुनावमा भाग लिन नपाउने।” कति हास्यास्पद ! कि त एनआर एनले भन्न सक्नु पर्यो संस्था बिरुद्ध कानुनि कारवाहीका पक्षधरले संस्थाको चुनावमा तलदेखि माथिसम्म कुनैपनि पदमा भाग लिन नपाउने।
नत्र यो अध्यक्ष पदलाई मात्र तोकेर बन्देज गर्नु त नियतबस सक्षम र काबिल व्यक्तित्वलाई नेतृत्वमा आउँन नदिने गुटको षडयन्त्र भएन र ? फेरी कुनै अन्यायमा परेको सदस्यले संस्थाका बिरुद्ध मुद्दा हालेको त पक्कै हुदैन। किनकि उ आफै चुनाव लडेर संस्थालाई सबल नेतृत्व दिन्छु भनेर चुनावको माध्यमबाट संस्थामा आउँन खोजेको हुन्छ। त्यसैले त्यस्ता मुद्दा भनेको संस्थामा तानाशाही भएर, आफुलाई मन नपर्नासाथ अरुलाई दबाउने र आफु हैकम जमाउने पदाधिकारी विरुद्धको मुद्दा हुन्छ। त्यसकारण मुद्दा संस्था बिरुध्धको हो कि पदाधिकारी विरुद्धको हो त्यो निर्क्योल नगरी कुनै सक्षम व्यक्तित्वलाई चुनावमा बन्देज गर्नु नितान्त गलत र अप्रजातान्त्रिक र मानव अधिकार विरुद्ध हुन्छ। अमेरिका जस्तो प्रजातान्त्रिक देशमा बसेर यस्तो अप्रजातान्त्रिक बिधान बोकेर एनआरएन अमेरिका चल्नु के सुहाउला त ?
चालु एनआरएन १० औं बार्षिक साधारण सभाको विज्ञ सदस्य महानुभावहरुले यसलाई गहिरो छलफल र मनन गरि (१) विधानका यस्ता बुंदाहरु हटाउलान त ? अझै राम्रो पाईला टेकेर हिड्न नसकेको संस्थाले मुद्दा मामलालाई हटाउन संस्था भित्रै (२) ” समस्या समाधान समुह गठन गर्लान त ? साथै (३) न्याय माग्न स्वतन्त्र न्यायिक संस्थामा जान बिना रोकतोक स्वतन्त्रता देलान त ?
चालु एनआरएन एनसीसी अमेरिकाको १० औं बार्षिक ( जुलाई ३-४ ) साधारण सभामा भागलिन सदस्यहरुलाई जानकारी गराईयो। तर धेरै से धेरै सदस्यहरुले उपस्थित नहुन भन्ने नियत बोकी हवाईजहाजबाट आउनेहरुलाइ एयरपोर्टबाट सुगम तरिकाले नजिकैको तारे होटलमा पुग्न सुबिधा हुनेगरि तारे होटेल रोजियो। न्युयोर्कमा नेपालीहरुको बाक्लो बस्ति रहेको एनआरएन सदस्यहरुको सुबिधा हेरिएन।२० डलर तिरी सदस्य बनेकाहरुले १०० डलर रजिष्ट्रेसन शुल्क तिरी सभामा भाग लिनु पर्ने भयो। संस्थामा फण्डरेज कार्य प्रभावकारी देखिएको छैन। अनि “आम्दानि अठनि खर्च रुपिया” ठुलो तारे होटलमा महँगो खर्च गर्नु कति बुद्धिमानि ? के यसले संस्थामा सवल नेतृत्वको कमी छ भन्ने देखाउदैन ?
अनि सभामा भाग लिन सदस्यहरुलाई न कार्य प्रगतिको जानकारी छ, न आर्थिक बिवरण उपलब्ध गरिएको छ। अनि कुन आधारमा, के छलफल गर्ने ? के सभामा हाइई, हल्लो मात्र भन्ने हो ? कि गित गाएर नाच्ने ? यसबाट नेतृत्व सक्षमतामा प्रश्न उठदैन र? यो संस्थाको आर्थिक बर्ष के हो भन्नेसम्म यसले आईआरएसमा बुझाएको ९९० रिपोर्टमा देखिदैन। अनि २ लाख ५४ हजार ९३० डलर २०१९ मा कहाँ र के कार्यक्रममा खर्च गरेको भनि देखाएको छैन। के कार्यक्रम गरेको र कसले के कति लाभ पाए ? संस्थाको के कस्तो हित भयो ? कतै कुनै रिपोर्टमा उल्लेख छैन। जुलाई २०२१ मा सभा गर्दा २०२० को रिपोर्ट नै नल्याएर सभा गर्दा के बिषयमा सभा गर्ने ?
यी सबै गतिबिधिबाट एन आर एनमा सबल र सक्षम नेतृव र पदाधिकारी आवस्यक छ भन्ने स्पष्ठ छ। विज्ञ सदस्य साथीहरुले यी सबै बिषयमा गहन छलफल गरि संस्थालाई अग्रगामी र प्रगतिशील बनाउनु हुनेछ भन्ने धेरैले आशा गरेको बुझिएको छ।
अमेरिकाको टेक्सस राज्यस्थित डिस्ट्रिक्ट २ एक्स -१ अन्तर्गतको क्लब डलास एभरेस्ट लायन्स क्लबमा युवा ब्यवसायी तथा समाजसेवी केदार तिमल्सिनाको नेतृत्वमा नयाँ कार्य समितिले आफ्नो पद भार ग्रहण गरेको छ । सन २००३ मा स्वर्गिय अजय छोचोङ्को नेत्रित्वमा स्थापित डलास एभरेस्ट लायन्स क्लबको लायन्स बर्ष २०२१ र २०२२ का लागि लायन तिमल्सिना नेत्रित्वको लागि चुनिएका हुन ।
गत अप्रिल १४ तारिख सम्पन्न निर्वाचन प्रकृयाबाट डलास एभरेस्ट लायन्स क्लबको प्रथम उपाध्यक्षमा बिष्णु उपाध्याय र द्वितीय उपाध्यक्षमा सुर्य भण्डारी चुनिएका छन् । सचिवमा केदार बराल र कोषाध्यक्षमा बसन्त पन्त निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा थल राज पन्त, प्रभात दिक्षित, भेषराज सिवाकोटी, देबेन्द्र शाह, बिलस ऊपाध्याय र नारायण त्रीपाठी चुनिएका छन् । डलास एभरेस्ट लायन्स क्लब नेपाली आप्रबासीको नेत्रित्वमा खुलेको पहिलो लायन्स क्लब हो ।
काठमाडौं । निषेधाज्ञाको समयमा भिसा अवधि रोकिएपनि नविकरण गर्न नपाएका विदेशी पर्यटकको भिसा अवधि थप गर्ने कार्य शुक्रबारबाट शुरु हुने भएके छ । कोरोना भाइरसको महामारी फैलिएसँगै बन्द भएको भिसा सेवा शुक्रबारबाट सुचारु हुने अध्यागमन विभागले जनाएको छ । विभागका अनुसार शुक्रबारबाट आगामी एक सातासम्म नेपालमा रहेका पर्यटकले भिसा सम्बन्धी कामका लागि विभिन्न छुट तथा सहुलियतको सुविधा प्राप्त गर्न सक्ने छन् ।
२०७८ वैशाख १५ सम्म वैध भिसा भएका विदेशी नागरिक २४ असारभित्र नेपालबाट बाहिरिँदा अध्यागमन कार्यालय, त्रिभुवन विमानस्थलबाट निःशुल्क भिसा नियमित गरिने विभागको सूचनामा उल्लेख छ । नेपालमै रहन चाहने पर्यटकले भने २४ असार भित्र आवेदन गरेमा विलम्ब शूल्क र जरिवाना नलिई भिसा शुल्क मात्र लिएर नियमित गरिने विभागले जनाएको छ ।
२४ असारपछि आउने विदेशीको हकमा भने भिसा शुल्क, विलम्ब शूल्क र जरिवाना समेत लाग्ने छ । नेपालमा एक जना पर्यटकले एक वर्षमा पर्यटक भिसामा बढीमा १५० दिन मात्र रहन सक्छन् । तर, निषेधाज्ञा भएको समयलाई भने सरकारले पर्यटक भिसाको यो अवधिबाट छुट दिने भएको छ । यो वर्ष पर्यटकले २१० दिनसम्मको बसाईलाई पर्यटक भिसा लिन सक्ने गरि निर्णय भएको छ ।
काठमाडौं । अब चीन र दक्षिण कोरियामा समेत काठमाडौंका लागि नियमित उडान हुने भएको छ । पछिल्लो निषेधाज्ञापछि रोक लगाइएको यी गन्तब्यका लागि सरकारले विभिन्न कम्पनीलाई उडानको अनुमति दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यसअघि यी दुई मुलुकमा एयरलाइन्सहरुले अनुमति नमागेका कारण तालिका निकालिएको थिएन । प्राधिकरणका अनुसार दक्षिण कोरियामा प्रत्येक बुधबार एक उडान हुने छ । यो उडानको अनुमति कोरियन एयरले पाएको हो ।
चीनमा भने चेन्दु र ग्वाङझाउमा उडान हुने भएको छ । तालीका अनुसार छेन्दुबाट एयर चाइनाको जहाज हरेक आइतबार काठमाडौं आउने छ । चाइना साउदर्नले ग्वाङझाउमा प्रत्येक साताको मंगलबार उडान गर्ने अनुमति पाएको छ । अब नेपालमा प्रत्येक साता २४ उडान हुने भएको छ । यो तालिका जुलाई महिनाभरका लागि हो । सरकारले भारत, कतार, यूएई, टर्की, साउदी अरेवीया, कुवेत, जापान, ओमान, दक्षिण कोरिया र चीनमा नियमित उडान खोलेको छ ।
काठमाडौं । टर्कीले कोरोना भाइरसको महामारी फैलन सक्ने आंशका गर्दै सोमबारबाट नेपालसहित ६ वटा मुलुकबाट हुने सिधा उडानलाई रोकेको छ । टर्कीको आन्तरिक मामिला मन्त्रलयलाई उदृत गर्दै रोयटर्सले यस्तो जानकारी दिएको हो । तर अन्य देश जाने यात्रुले भने टर्की ट्रान्जिट बनाएर यात्रा गर्नेलाई भने कुनै रोकतोक नहुने नेपालस्थित टर्कीस एयरलाइन्सको कार्यालयले जनाएको छ । अहिले टर्कीबाट काठमाडौंका लागि टर्किस एयरलाइन्सले सातामा दुई उडान गरिरहेको छ ।
नेपाल सरकारले उडान खुला गरेपनि टर्की सरकारले भने नेपालसहित भारत, माल्दिम्भ, श्रीलंका, ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने सबै सिधा उडानमा रोक लगाएको हो । अन्य मुलुकबाट टर्की छिर्दा समेत यी ५ मुलुकमा पछिल्लो १४ दिन यता रहेको भए ७२ घण्टा भित्रको पिसिआर रिर्पोट अनिवार्य र १४ दिन क्वारेन्टिन बस्ने गरि मात्र टर्की प्रवेश गर्न दिने निर्णय त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । पाकिस्तान र अफगानिस्थानबाट जाने यात्रुलाई भने १० दिन क्वारेन्टिन अनिवार्य गरिएको छ ।
काठमाडौं । साउदी अरबमा विदेशी कामदारले संस्थागत क्वारेनटाइनमा बस्दा कामदार आफैले खर्च बेहोर्नु नपर्ने भएको छ । सम्बधित रोजगारदाताले खर्च बेहोर्ने त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । साउदीमा जाने नेपालीले स्वयमःले यस्तो खर्च बेहोर्नुपर्ने प्रावधानका कारण मारमा परिरहेका थिए ।
बिदामा घर आएका वा नयाँ विदेशी कामदारले साउदी प्रवेश गर्दा क्वारेनटाइन खर्च आफै व्यहोर्नुपर्ने प्रावधान रहेको थियो । अब भने क्वारेनटाइनमा ७ दिन बस्दा लाग्ने ३५ सय साउदी रियल खर्च रोजगारदाताले आफै तिरिदिनेछ । साउदीमा कोरोना विरुद्व खोप नलगाएका बाहिरी विदेशी कामदार प्रवेश गर्दा अनिवार्य संस्थागत क्वारेनटाइन बस्नु पर्ने प्रावधान रहेको छ ।
काठमाडौं । विदेशबाट कोरोना विरुद्धको खोपको मात्रा पुरा गरि नेपाल आउने यात्रुलाई सहज भएको छ । कोरोना खोपको मात्रा पूरा गरेका हवाई यात्रु सीधै घर तथा गन्तव्यमा जान सक्ने गरि सरकारले आदेश जारी गरेके छ । विदेशबाट नेपाल आउने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश २०७८ अनुसार कोभिड १९ विरुद्धको खोपको मात्रा पूरा गरी खोप प्रमाणपत्र भएका र कोभिड १९ परीक्षण रिपोर्ट नेगेटिभ लिएर हवाई मार्गबाट आउने यात्रुलाई १० दिन स्वक्वारेन्टिनमा बस्ने गरी सीधै गन्तव्यस्थलमा जान दिइने भएको छ ।
उनीहरुको अनुगमन स्थानीय सरकारले गर्नेछ । विदेशबाट आउने सबै यात्रुको साथमा ७२ घण्टा भित्रको पीसीआर परीक्षण गरी नेगेटिभ नतिजा आएको रिपोर्ट भने हुनुपर्छ । विदेशमा खोप नलगाए पनि नेपाल आउने यात्रुले अब ७ दिन मात्र होटल क्वारेन्टिन बसे पुग्नेछ। यसअघि यो नियम १० दिनको थियो । यात्रुले पीसीआर रिपोर्टसहित कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को वेबसाइटमा रहेको फारम भरेको यकिन भएका आधारमा जहाज चढ्न सकिने भएको छ ।
आफ्नो रीतिरिवाज अनुसार अन्तिम संस्कारमा भाग लिन आउने नेपाली यात्रुलाई स्थानीय तह वा सीसीएमसीको सिफारिशमा एन्टिजेन परीक्षण गरी नेगेटिभ रिपोर्ट आएमा सीधै घर जान दिइने नीति समेत सरकारले लिएको छ । अशक्त, दीर्घरोगी, फरक क्षमता भएका व्यक्ति र बिरामीको कुरुवा (कम्तीमा दुई जना)लाई समेत अस्पतालको आधिकारिक कागजातका आधारमा एन्टिजेन परीक्षण गरी घर जान दिइने छ ।
७० वर्ष माथिका ज्येष्ठ नागरिक, पाँच वर्ष मुनिका बालबालिका र नाबालकका बुबाआमालाई समेत एन्टिजेन परीक्षण गरी घर जान दिइनेछ ।
वैदेशिक रोजगारीबाट फर्कंदा होटल बुकिङ अनिवार्य नहुने होटल क्वारेन्टिनमा बसेको ७ औं दिनमा कोरोना परीक्षण गरी नेगेटिभ आएमा सीधै घर जान पाइने भएको छ । वैदेशिक रोजगारीमा गएका र करार अवधि सकिएर घर फर्कनेको हकमा भने अब होटल बुकिङ नभए पनि जहाज चढ्न सकिने प्रावधान ल्याइएको छ । तर, उनीहरु नेपाल आइसकेपछि भने सरकारले क्वारेन्टिन भनी तोकेका होटलमा बस्नुपर्नेछ । डिपोर्टेसन भएर फिर्ता भएका, जेलमुक्त भएर आएका बेखर्ची नेपालीलाई कूटनीतिक नियोगको सिफारिशमा सरकारी क्वारेन्टिनमा राखिनेछ । बस्ने, कोभिड परीक्षण गर्ने र घरसम्म पुग्ने खर्च सरकारले नै बेहोर्नेछ ।
न्यूयोर्कको क्विन्सस्थित एक क्याफेको एउटा टेवलमा म र निरा कफी पिऊदै थियौं । छोटो अवधिमै हामी दुइबीच अत्यन्तै गहिरो मित्रता भइसकेको थियो । तर आज निराको अनुहार धेरै अध्यारो थियो । हुन त उ जहिलेसुकै हतास र उदास देखिन्थी। म कारण खोतल्ने प्रयास गर्दथें। आज धेरैपछि भावुकहुदै उसले आफ्ना मनका कुरा भन्ने अठोट गर्दै थिइ।
“मिरा, मलाइ मेरो जीवनको परिभाषा नै हराए जस्तो लाग्छ। म बांचेको त छु, तर बाच्न नजानेको एउटा असफल मानिस हॅु जस्तो लाग्छ। मलाइ अब बांच्ने मन पनि छैन, मर्न पाएपनि हुन्थ्यो।”
मेरो मुटु ढक्क फुलेर आयो। के भनेकि यसले ? आख़िर किन ? दिक्क मान्दै सोधें- “तलाइ के भयो? आज तँ के भन्दैछस् ? खुलस्त भन्।”
निराले सुस्तरी भनि- “हुन त मेरो कहानी सुनाएर पनि अब केही फाइदा छैन तर पनि यो शहरमा तँ मेरो सबैभन्दा मिल्ने साथी! तलाइ भनेर मन हलुका बनाउन मनलाग्यो ……’नेपालबाट फाइनान्स र अंग्रेजी साहित्यगरी दुइ विषयमा डिग्री सकेपछि लोकसेवा आयोगको परराष्ट्र समूह शाखा अधिकृत पास गरें र मन्त्रालयमा काम गर्न लागे। तर हाइस्कुल देखिनै मेरो मनमा भने संसारको स्वर्ग अमेरिका आउने धोको मरेको थिएन । मेरो पढाइ सानो देखिनै राम्रो भएको हुनाले स्टुडेन्ट भिसा पाइपनि हालें। नोकरी गरेको धेरै नभएकोले परराष्ट्रले बिदा दिन अस्विकार गरेपछि राजिनामा दिएर यहाँ आएँ।”
“नजिकको नातेदारहरु कोहीपनि नभएकोले टाढा चिनजानका काका कहॅा केहिदिन बसेपछी वहांहरुको व्यबहार मेरो अनुकूल हुन छाड्यो। यसै बिच मनाड्गको मेरै जातिको दाइ प्रकाश गुरुड्ग संग चिनजान र मित्रता गाढ़ा हुदै गएपछि वहांले लिएको अपार्टमेन्टको लिभिड्ग रुममा गएर बसें । वहाँ उवर (एक प्रकारको टेक्सी) चलाउनु हुन्थ्यो।”
निहुरिएको टाउको उठाउदै उसले मलाइ पुलुक्क हेरी- उसका दुइवटै ॲाखामा ॲासु टिलपिल भरिइसकेका रहेछन्। मैले करुणाभावले उसको कपाल मुसारिदिए। केही क्षणपछि फेरी भन्न शुरुगरी-“केही महिनापछि एकदिन वहांले विवाहको प्रस्ताव राख्नु भयो। एकपटक त म झल्यास्स भएं । फेरि मेरो बिगत संझियें। न्यूयोर्क जस्तो विशाल शहरमा वहांको साथ र सहयोग नपाएको भए म आज कस्तो अबस्थामा कहाँ हुनेथिएं होला? म्याग्दी जिल्लाको एउटा विकट गाउंमा जन्मिएकि मलाइ ट्रेनमा मेट्रो कार्ड घोट्ने, कलेज पुराइदिने, ग्रोसरी(दैनिक उपभोग्य बस्तुको पसल), लण्ड्रि(लुगा धुनें ठाउं), नोकरी आदि/इत्यादिमा त वहांकै साथ/ सहयोग छ । हेर्दा अग्लो सुन्दर अनि जात पनि मिल्छ …मैले नाइ भन्न सकिन।”
“चार बर्षको बिचमा दुइ छोरा/छोरी जन्मिए ….तर यतिबेला म सोच्दैछु – आख़िर मैले चाहिं के पाएँ ? विवाह पश्चात पढाइ छुट्यो र मेरो अमेरिका आउनुको उदेश्य र सपना पनि भताभुड्ग भयो। कामनगरी बस्दा व्यक्तिगत खर्चको अभाब हुनलाग्यो। बच्चाहरुलाइ बेबीसिटर (धाइआमा) राख्नु त परको कुरा- तिनिहरुलाइ हेल्दी(पोसिलो) खानेकुरा समेत खुवाउन हम्मे हुनलाग्यो। आख़िर हामी दुइबिच दैनिक जसो कलह/ठाकठुक हुन थाल्यो। निद्रा लाग्न छाड्यो। डाक्टर कहां गएँ – डिप्रेशन भएकोछ भनेर औषधिका साथै थेरापी गराउनु पर्छ भन्यो, गराउदै छु। तर ठिक हुनुको सट्टा अझ बढ़ी तनाव र पिडा हुदैछ ….. ,”
“नेपालमैं भएको भए यतिबेला म परराष्ट्रको उपसचिव भइसक्थें होला। शायद यहिं न्यूयोर्कको कन्सुलर वा मिशनमा पनि हुन सक्थे….अनि सोचेर ल्याउदा आफूलाइ यहाँ भोगिरहेको जीवन व्यर्थको जस्तो लाग्दैछ। आफैंलाइ सम्हाल्न खोज्छु, सक्दिन। भित्र कता मुटुमै घाउ भएजस्तो लाग्छ। म त यहाँ मनोरोगी पो हुन आइपुगेंछु मिरा….।” यति भनेर निरा दुवै आंखाबाट बलिन्द्रधारा आँसु बहाउंदै रुन लागि। म किंकर्तव्यविमूढ भएं। क्रमश…
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र अमेरिकी सामाजिक संजालमा आधारित इकमर्स कम्पनी, सगुनबीच विभिन्न विषयमा सहकार्य गर्ने सम्बन्धमा एक समझदारीपत्र हस्ताक्षर भएको छ। समझदारीपत्रमा एनआरएनएले सामाजिक सञ्जालमा आधारित इकमर्स मार्फत नेपाल र नेपाली डायस्पोरालाई विश्वस्तरमा चिनाउन सगुनले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरेको जनाइएको छ । प्रवासमा रहेका नेपालीहरुद्वारा शुरु गरिएका नयाँ पुस्ताका स्टार्ट अप कम्पनीहरुलाई प्रोत्साहित गर्न सगुनले सघाउने भएको छ । गैर आवासीय नेपाली संघ र सगुन कल्याणकारी गतिविधिहरुमा सहकार्य गर्ने सम्भावनाको खोजी गर्न पनि सहमत भएको जनाइएको छ ।
गैरआवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष कुमार पन्तले ८२ मुलुकहरुमा फैलिएको गैरआवासीय नेपाली संघले आफ्नो स्थापना कालदेखि नै प्रवासमा रहेका नेपालीले शुरु गरेका नवीनतम विचार तथा परियोजनाहरुलाई सघाउंदै आएको बताए । उनले अमेरिकाजस्तो अत्यन्त कडा प्रतिस्पर्धा रहेको सूचना प्रविधि क्षेत्रमा एउटा विश्वासिलो कम्पनीको रुपमा आफूलाई स्थापित गरेर नेपाल, भारतलगायतका मुलुकहरुमा आफ्नो सेवा विस्तार गरिरहेको कम्पनी, सगुनसँग सहकार्य गर्न पाउँदा खुसी लागेको समेत बताएका छन् ।
सगुनका संस्थापक गोविन्द गिरीले संसारभरि फैलिएका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघसंग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे। उनका अनुसार अहिले ६५ लाख प्रयोगकर्ताहरुले सगुन एप चलाइरहेका छन् । ६५ राष्ट्रबाट ४,५०० भन्दा बढी लगानीकर्ता सगुनमा जोडिएका छन् ।
अमेरिकाको भर्जिनियास्थित फ्रेड्रिक्सबर्गमा गत जुन ५, २०२१ मा सम्पन्न एएयु भर्जिनिया स्टेट तेक्वाण्दो च्याम्पियनशिपमा नेपाली रेफ्री राजु नगरकोटीले अफिसियल निर्णायकको भुमिका निर्वाह गरेका छन् । सम्पूर्ण खेल अवधिभर प्रभावकारी कार्य गरेवापत रेफ्री नगरकोटीलाई टुर्नामेण्ट डाइरेक्टर मास्टर मार्क ग्रेनियरले विशेष सम्मान समेत गरेका छन् ।
राजु नगरकोटी नेपाली तेक्वान्दोको चर्चित नाम हो । सन् १९८९ देखि तेक्वान्दो खेलमा आफ्नो योगदान दिदै आएका नगरकोटीले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरी राष्ट्रको नाम उच्च राख्न सफल भएका छन् । मास्टर नगरकोटीले सन् १९९१ देखि १९९८ सम्म नेपाल आर्मीको त्रिभुवन क्लवबाट आफ्नो तेक्वाण्दो खेललाई निरन्तरता दिएका थिए भने सन् २००३ देखि २००९ सम्म नेपालमा युनाइटेड तेक्वान्दो डोजाङको प्रशिक्षक भई दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने खेलाडी उत्पादन गराएका छन ।
त्यसैगरी देश बाहिर हङकंग, जापान, बेलायत, थाईल्याण्ड, मकाउ लगायतका देशहरुमा आफ्नो क्षमता साबित गराइ सकेका छन् । सन् २०११ देखि २०२० सम्म मकाउ नेप्लिज तेक्वान्दो एकेडेमीमा प्रशिक्षक भई काम गर्दा आफुले उत्पादन गरेका खेलाडीहरुले अन्तर्राष्ट्रिय पदक जित्दा सबैभन्दा खुसी लागेको बताउँछन् ।
तामाङ समाज अमेरिकाको दोश्रो अधिवेशन आगामी शनिवार जून २६ का दिन न्युयोर्कस्थित क्विन्सब्रिज पार्कमा हुने भएको छ । समाजले बुधवार एक बिज्ञप्ति जारी गर्दै अधिबेशनको कार्यतालिका सार्वजनिक गरेको हो । सन् २०१८ मा न्युयोर्क राज्यमा दर्ता गरेर शुभारम्भ गरिएको तामाङ समाज अमेरिकाले कर्मभुमी तथा जन्मभूमी दुबैमा सन्तुलित ढंगले विभिन्न सामाजिक एवं सांस्कृतिक अभियानको लागि योगदान पुर्याउदै आएको छ। विगत तीन वर्षको अवधिमा दुई करोड रुपैयाँ बराबरको कारोबार गरिसकेको र बीस लाख रुपैयाँ बराबरको अक्षय कोष नेपालमा निकट भविष्यमा स्थापना गर्ने योजना रहेको समेत समाजले जनाएको छ । निजामति सेवामा युवा पुस्तालाई प्रवेश गराउन प्रोत्साहन गर्ने उद्देश्यले यो अक्षय कोष स्थापनाको घोषणा गत साल दोश्रो वार्षिकोत्सवमा गरिएको थियो।
अधिवेशनकै दिन तामाङ समाज अमेरिकाको तेश्रो स्थापना दिवस अर्थात तेश्रो वार्षिकोत्सव समेत पर्ने भएकोले सो अवसरमा समर बार्बिक्यु र अन्य अतिरिक्त मनोरन्जनात्मक कार्यक्रमहरु समेत आयोजना गर्ने बताएको छ । प्रबेश नि:शुल्क गरिएको अधिबेशन कार्यक्रममा शुभचिन्तक एवं सर्वसाधारणहरु सबैलाई निमन्त्रणा समेत गरिएको सचिब बिनिता तमाङद्वारा हस्ताक्षरित बिज्ञप्तिमा जनाईएको छ ।
काठमाडौं । सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान खोलेको छ । सोही अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित आन्तरिक र बाह्य उडान हुने मिति तोकेको छ । मन्त्रालयकाअनुसार आन्तरिक उडान १७ असारबाट शुरु हुने छ ।
मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीका अनुसार १ जुलाई अर्थातः १७ असारबाट आन्तरिकतर्फका नियमित उडान हुने भएका हुन् । साविकको तुलनामा ५० प्रतिशत मात्र हुने गरि उडान गरिनेछ । सोको व्यवस्थापन भने नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्नेछ ।
अन्तर्राष्ट्रिय गन्तब्यमा भने तोकिएको रुटमा बिहीबारबाटै उडान शुरु हुँदैछ । मन्त्रालयले जुन ३० सम्मका लागि उडान तालिका सार्वजनिक गरेको छ । यसअनुसार २४ जुनमा नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछ ।
२५ जुनमा नेपाल एयरलाइन्सको जहाज जापान जानेछ । यो दिन एयर इण्डियाको जहाज दिल्लीबाट काठमाडौं आउनेछ । २६ जुनमा कतार एयरवेजको जहाज दोहाबाट काठमाडौं आउनेछ । टर्की एयरलाइन्सको जहाज इस्तानबुलबाट काठमाडौं आउने छ । यो दिन एयर अरेवियाको जहाज आबुधावीबाट काठमाडौं आउने गरि उडान तालिका तय भएको छ ।
२७ जुनमा नेपाल एयरलाइन्सले दोहा उडान गर्नेछ । यो दिन हिमालय एयरलाइन्सले क्वालालाम्पुर र दुबईमा एक\एक उडान गर्नेछ । कतार एयरवेज दोहाबाट काठमाडौं आउने छ । जजिरा एयरवेज कुवेतबाट काठमाडौं आउने गरि तालिका तय भएको छ ।
२८ जुनमा नेपाल एयरलाइन्स दुबई जाने छ । हिमालय एयरलाइन्सले साउदीको दमाममा उडान गर्नेछ । कतार एयरवेजले दोहाबाट उडान गर्नेछ । २९ जुनमा नेपाल एयरलाइन्स दोहा जाने छ । सो दिन टर्कीबाट टर्किस एयरलाइन्स नेपाल आउने छ ।
फ्लाई दुबई दुबईबाट काठमाडौं आउने छ । ओमानबाट सलाम एयरको जहाज काठमाडौं आउने छ । ३० जुनमा नेपाल एयरलाइन्सले दुबई, हिमालय एयरलाइन्सले दमाम, कतार एयरवेजले दोहा र जजिरा एयरवेजले कुवेतबाट उडान गर्ने गरि तालिका तय भएको पर्यटन मन्त्रालयको सूचनामा उल्लेख छ ।
काठमाडौं । लगानी बोर्डले मंगलबार करीव १ खर्ब बराबरका दुई परियोजनामा आउने विदेशी लगानी स्वीकृति गरेको छ । मंगलबार प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको ४७ औं बैठकले यस्तो निर्णय गरेको हो । बैठकले २ जलविद्युत परियोजनाका लागि ९७ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको हो ।
५४ करोड अमेरिकी डलर लागतको माथिल्लो तमोर जलविद्युत परियोजना (२८५ मेगावाट) र ३३ अर्ब ४१ करोड ४० लाख लागत अनुमान गरिएको तल्लो मनाङ्ग मस्र्याङ्गदी जलविद्युत परियोजना (१३९.२ मेगावाट) का लागि लगानी स्वीकृत गरिएको हो ।
आजको बैठकले झापाको दमकमा निर्माण हुने सार्वजनिक निजी साझेदारी अवधारणामा अघि बढाइएको मुलुककै सबैभन्दा ठूलो नेपाल–चीन मैत्री औद्योगिक पार्कको विस्तृत परियोजना प्रतिवेदन समेत स्वीकृत गरेको छ । परियोजनाको विकासकर्तासँग परियोजना विकास सम्झौता गर्न आवश्यक तयारी गर्न समेत लगानी बोर्डको कार्यालयलाई निर्देशन दिइएको छ ।
आजको बैठकले संखुवासभामा निर्माण हुने तल्लो अरुण जलविद्युत परियोजना (६७९ मेगावाट) को विस्तृत सम्भाव्यता अध्ययन गर्न सर्वेक्षण अनुमति पत्र जारी गर्न परियोजना विकासकर्तासँग गरिने समझदारी पत्रको मस्यौदा स्वीकृत गरेको छ । बैठकले तमोर जलाशययूक्त जलविद्युत परियोजना (७५६ मेगावाट) को सर्वेक्षण अनुमति प्रदान गर्न देखिएको अस्पष्टता सम्बोधन गरी आवश्यक कानूनी सुधार गर्न ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयलाई निर्देशन दिएको छ ।
न्युयोर्क सहरको ज्याक्सन हाइट्समा विश्व संगीत दिवसको अवसर पारेर लाइभ संगीत सहित हिमालय सास्कृतिक प्रतिष्ठानले सामुहिक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । प्रतिष्ठानले नेपाली संगीत क्षेत्रका लागि इतिहासकै कालो कालखण्डको रुपमा गत ‘मे’ महिनालाई उदृत गर्दै नेपाली संगीत आकासका तीन नक्षत्रहरु अस्ताएको दु:खद क्षणको स्मरणमा उक्त कार्यक्रम गरेको हो ।
कार्यक्रममा वरिष्ठ गीतकार, निर्देशक, कथाकार साथै सिंगो कलाजगतका ज्ञाता आदरणीय चेतन कार्की वरिष्ठ गायक प्रेमध्वज प्रधान, वरिष्ठ गायिका लास्मित राइज्युका गीतहरु गाएर उहाँहरुप्रति श्रद्दाभाव प्रकट गरिएको थियो । लाइभ ब्याण्डका साथ सम्पन्न आजको कार्यक्रममा गायन तथा बाद्द्यबादनमा कलाकारहरु गायक डा. महेशराज ठाकुर, जगदिश समाल, संगीता मुखिया चोछोन, न्हुछे नारायण डंगोल, तिलक बम मल्ल, बिमल डाँगी, राम सिंह (बाँसुरी ) हेमराज राई (गिटार) र सुवर्ण शाक्य लगायतले प्रस्तुति दिएका थिए ।
काठमाडौं । सरकारले नियमित उडेका सिमित गन्तब्य र चार्टर्ड उडानमा अत्यधिक भाडा लिएको गुनासो पछि सरकारले छानविन समिति गठन गरेको छ । अहिले टर्की, कतार र भारतमा नियमित उडान खुलेको छ । तर यी गन्तब्यमा समेत चर्को शूल्कमा भाडा हसुल भइरहेको छ । सरकारले अन्तर्राष्ट्रिय नियमित उडान रोकेर चार्टर्ड उडानलाई प्रोत्साहन गरेको छ ।
टिकट काट्ने ट्राभल एजेन्सीले चर्को भाडा असुलेको गुनासो यात्रुबाट बढेपछि सरकारले छानविन समिति गठन गरेको हो । मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन भएको जानकारी गराएका छन् ।
उनका अनुसार समितिले गुनासोबारे छानविन गरि सम्बन्धित निकायमा आवश्यक कानूनी कारवाहीको सिफारिस गर्नेछ । सरकारले १९ वैशाखबाट टर्की र कतारमा नियमित उडान खोलेको हो । भारतमा यसअघि पनि उडान खुला थियो । लामो समयदेखि नियमित उडान नखोल्दा विदेशमा नेपाली यात्रु अलपत्र परेका छन् ।
काठमाडौं । विश्व बैंकले नेपाललाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरको छ । विश्व बैंकको तर्फबाट ९८२ थान अक्सिजन कन्सन्ट्रेटर नेपालले प्राप्त गरेको हो । विश्व बैंककअन्तर्गतको कोभिड–१९ आकस्मिक सम्बोधन र स्वास्थ्य प्रणाली तयारी परियोजनामार्फत १० लिटर क्षमताका कन्सन्ट्रेटर नेपालले प्राप्त गरेको नेपालस्थित विश्व बैंकको कार्यालयले जनाएको छ ।
कोरोना महामारीबाट जुध्दै दीर्घकालीन रूपमा नेपालको जनस्वास्थ्य सुविधाको क्षमता बढाउन कन्सन्ट्रेटर सहयोगी हुने विश्व बैंकको भनाई छ । उक्त परियोजनामार्फत नेपालका हरेक प्रदेशमा अक्सिजन प्लान्ट पनि स्थापना गर्ने तयारी भइरहेको छ । आगामी ६ देखि १५ हप्ताभित्र यस्ता प्लान्ट स्थापना भइसक्ने समेत विश्व बैंकले जनाएको छ ।
कोरोनासँग जुध्न तत्कालका लागि नेपाललाई १० करोड ४० लाख डलर सहायता उपलब्ध गराउने घोषणा गरिसकेको छ । सोही सहायताअन्तर्गत खोप खरिद, स्वास्थ्य संस्थाको क्षमता विस्तार, महामारीसम्बन्धी प्रविधिमा आधारित डिजिटल प्रणालीको क्षमता विस्तार तथा अनुगमन र निरीक्षणमा सहयोग गरेको बताइएको छ ।
काठमाडौं । भारतीय सेनामा नेपाली महिलालाई भर्ति लिइने सम्बन्धी सूचनालाई भारत सरकारले सच्याएको छ । गत साता काठमाडौंस्थित भारतीय राजदूतावासको कल्याणकारी शाखाबाट एक सूचना जारी गरि नेपाली महिलालाई भारतीय सैनिक सेवामा भर्ति लिइने उल्लेख थियो । यो सूचनाको व्यापक आलोचना भएपछि भारतले सूचना सच्याएको हो । अब नेपाली भाषि भारतीय महिलाले भर्ति पाउने गरि सूचना सच्याइएको हो ।
नेपालमा उक्त विषयबारे व्यापक चर्चा र आलोचना भएपछि भर्नासम्बन्धी सूचनामा भुलसुधार गरेको छ। हालै अपडेट भएको परिमार्जित सूचना अनुसार सबै गोर्खाहरू (नेपाली र भारतीय) भनिएको स्थानमा अब भारतीय गोर्खा मात्र भनिएको छ । यसबाट भर्ति हुन भारतीय महिला मात्र पाउने भएका हुन् ।
काठमाडौं । सरकारले मन्त्री भइसकेको व्यक्तिलाई राजदूत बन्न स्नातक पास हुनु नपर्ने गरि कानूनमा गरेको परिवर्तन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश गरेको छ । यससँगै स्नातक तह पास नगरेका पूर्वमन्त्रीलाई राजदूत नियुक्तिमा रोक लागेको छ । सरकारले गत २५ वैशाखमा राजदूत नियुक्तिसम्बन्धी निर्देशिका संशोधन गरि यस्तो प्रावधान ल्याएको थियो ।
त्यसविरुद्ध परेको रिटमा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले यस्तो आदेश गरेको हो । सर्वोच्चले राजदूत नियुक्तिको योग्यतामा कसैलाई उपाधि अनिवार्य हुने र मन्त्री भइसकेकालाई अनिवार्य नहुने निर्देशिकाको प्रावधान संविधानको धारा १८ ले प्रत्याभूत गरेको समानताको संवैधानिक बन्दोबस्तको प्रतिकुल भएको ठहर गरेको हो । राज्यको प्रतिनिधित्व गरिने संवैदनशील विषयमा शैक्षिक योग्यतालाई उपेक्षा गर्दा कूटनीतिक क्षेत्रमा गम्भीर र दुरगामी असर पर्ने समेत सर्वोच्चको निष्कर्ष छ ।
न्युयोर्क सिटीमा नेपाली-भाषीको संख्या तिब्र गतिमा बढेसंगै राजनैतिक चेतना र शक्ति पनि बढि रहेको छ। हरेक वर्ष नेपाल, ईण्डिया, भुटान, तिब्बत र बर्मा लगायतबाट आएका नेपाली-भाषीहरुको मतदाताहरुको संख्या बढ्दो छ। आउँदो प्रारम्भिक निर्वाचनले हामीलाई हाम्रो समुदायको आवाज उठाउन र हाम्रो प्रतिनिधित्व निश्चित गर्न एक विशेष अवसर दिएको छ।
न्यूयोर्क सिटीको प्रारम्भिक निर्वाचनमा कसले मतदान गर्न सक्छन्? तपाईं अमेरिकी नागरिक हुनैपर्छ, हाल मतदान गर्न रजिस्टर गरेको हुन पर्छ, र कुनै राजनैतिक पार्टीसंग रजिस्टर भएको हुन पर्छ। यदि यि कुराहरु तपाईंले पुरा गर्नु भएको छ या छैन हेर्न परेमा तपाईंले यो लिंकमा गएर हेर्न सक्नु हुन्छ: https://voterlookup.elections.ny.gov, या अधिकारलाई ७१८-९३७-१११७ मा फोन गर्न सक्नु हुन्छ।
कहिले र कहाँ मतदान गर्ने? ● प्रारम्भिक निर्वाचनको लागि चाँडै मतदान गर्ने अवधि: जुन १२ देखि २० सम्म ● प्रारम्भिक निर्वाचन: जुन २२ जानकारी: तपाईंको चाँडै मतदान गर्ने मतदान केन्द्र र प्रारम्भिक निर्वाचन (जुन २२) को मतदान केन्द्र फरक हुन सक्छ। तपाईंको मतदान केन्द्रको ठेगाना र खुला रहने समय हेर्न यो लिंकमा जानु होला: https://findmypollsite.vote.nyc
यदि तपाईंलाई दोभाषेको सेवा चाहिन्छ भने, न्यू योर्क सिटीमा मतदाता को हकमा तपाईंले दोभाषेको सहयोगको लागि कसैलाई (जस्तै, परिवारको सदस्य, या अन्य) मतदान केन्द्रमा लिएर जान सक्नु हुन्छ।
चाँडै मतदान गर्ने अवधि शुरु भई सकेको छ (जुन १२ देखि २० सम्म), र प्रारम्भिक निर्वाचन पनि अब केहि दिन मै हुनेछ (जुन २२)। यदि तपाईं मतदान गर्न रजिस्टर भई सक्नु भएको छ भने हामी चाहन्छौं कि तपाईं मतदान गर्नुहोस्! सिटीको जन प्रतिनिधिहरुले हाम्रो छर-छिमेक र हाम्रो शहरको विभिन्न मुद्दा र विषयहरुको प्रतिनिधित्व गर्छन्। उदाहरणको लागि, प्यान्डेमिकको बेला अधिकारले क्वारेन्टाईनमा बस्ने व्यवस्था र जन साधारणको लागि रासनको व्यवस्था गर्न सिटी काउनसिल सदस्य ड्यान्नी ड्रोमसंग प्रत्यक्ष काम गर्ने अवसर पाएका थियौं। काउनसिल सदस्य ड्रोमको हाम्रो समुदायसंग राम्रो सम्बन्ध भएको कारण, अनि अधिकार र अन्य संस्थाहरुले वहाँलाई यो कामको महत्व, क्षेत्र नम्बर २५ मा बस्ने समुदायको शक्ति, र खाँचो बुझाउन खेलेको सक्रिय भूमिकाले मात्र यो सम्भव भएको थियो। त्यस्तै गरेर, हामीले तत्कालीन अन्तरिम बोरो प्रेसिडेन्ट शारोन ली संग पनि मिलेर नेपाली समुदायहरुको लागि कोभिड १९ को बेला विभिन्न सहयोगहरु जुटाएका थियौं।
हाम्रो समुदायहरुको चासोको मुद्दाहरु प्रत्यक्ष रुपमा सिटी हलसम्म पुर्याउने जिम्मा सिटी काउनसिलको सदस्यहरुको हुन्छ। तुलना गर्दा, सिटी काउनसिल सदस्य भनेको नेपालको नगर र गाऊँहरुहरुको वडा अध्यक्ष जस्तो हो। न्यू योर्क सिटीमा तपाईंको जिप कोडको आधारमा सिटी काउनसिल सदस्यले तपाईंको छिमेकको प्रतिनिधित्व गर्छ, र तपाईंलाई कुनै कुराको चासो पर्यो भने सबभन्दा पहिला सम्पर्क गर्नु पर्ने वहाँहरु नै हुनुहुन्छ।
मतदाताहरुको हैसियतमा हामीलाई कसले प्रतिनिधित्व गर्नेछ भनेर हामीले रोज्न सक्छौं। यो हलुका संग लिने अवसर पक्कै होईन, र यो हाम्रो नागिक दायित्व मात्र पनि होईन – यो हाम्रो अधिकार हो, र हामीले यो प्रयोग गर्नै पर्छ। यो वर्षको प्रारम्भिक निर्वाचन झनै महत्वपूर्ण छ किनभने यसपालि न्यू योर्क सिटीको विधानसभाको सबै ५१ वटै सिटहरुको लागि प्रतिस्पर्धा हुँदैछ, र “टर्म लिमिट” (सिमित पदावधि) को कारण २०२२ को जनवरीमा जन प्रतिनिधिहरुले कार्य वहाली गर्ने बेला त्यो ५१ मध्ये ३५ वटा सित नयाँ अनुहार सम्हाल्नेछन्।
जुन २२ मा हुने निर्वाचनमा सिटी काउनसिल सदस्य वाहेक निम्न पदहरुको लागि पनि प्रतिस्पर्धा हुँदैछ:
● न्यू योर्क सिटी मेयर: मेयरको बारे सोंच्दा यो विचार गर्नुहोस् कि, मेयर भनेको सिटीको कार्यकारी निर्देशक हुन्। मेयरले थुप्रै सिटीको विभागहरुको प्रमुखहरु तोक्नेछन्, सिटीको निति परिवर्तनको प्राथमिकताहरु बारे निर्णय गर्छन्, र विधेयकहरुलाई स्वीकृति दिने या त्यस माथि “भिटो” (निषेधाधिकार) प्रयोग गर्न पाउनेछन्। न्यू योर्क सिटी मेयरको लागि जम्मा २२ जना उम्मेद्वारहरु छन् (१३ जना डेमोक्र्याट, २ जना रिपब्लिकन, र केहि स्वतन्त्र उम्मेद्वारहरु)। मेयरको उम्मेद्वार को को छन् भनेर जानकारी पाउन यो लिंकमा जानुहोस्: https://www.thecity.nyc/22233474/the-race-for-nyc-mayor-whos-running-to-run-this-town-in-2021
● कम्पट्रोल्लर: कम्पट्रोल्लर भनेको सिटी को पैसाको व्यवस्था गर्ने पद हो। कुन विभागले कति पैसा पाउने भनेर निर्णय उनले नै गर्छन्, सिटीको बजेट सम्हालछन्, र बोरो प्रेसिडेन्टहरुलाइ उत्तरदायी बनाउने जिम्मा पनि उनकै हुन्छ। कम्पट्रोल्लरको लागि १२ जना उम्मेद्वारहरु छन् (१० जना डेमोक्र्याट, र १-१ जना रिपब्लिकन र स्वतन्त्र उम्मेद्वारहरु जो निर्विरोध उठेका छन्। कम्पट्रोल्लरको उम्मेद्वारहरु को को छन् भनेर जानकारी पाउन यो लिंकमा जानुहोस्: https://www.thecity.nyc/22233698/what-to-know-about-the-2021-city-comptrollers-race-in-new-yor
● पब्लिक एड्भोकेट: सिटी सरकारको कार्यपालिकामा सम्पूर्ण सिटीको जनताको प्रतिनिधित्व गर्ने “पब्लिक एड्भोकेट” हो। हाम्रो एड्भोकेटको हैसियतमा हामीलाई जरुरी लागेको मुद्दाहरुमा उनले ध्यानाकर्षण गर्ने काम गर्छन्, विधेयकहरु प्रस्ताव गर्ने या समर्थन गर्ने गर्छन्, र यदि मेयरलाई केहि भएमा या केहि परेमा बहालवाला उत्तराधिकारी बन्न पहिलो क्रममा पब्लिक एड्भोकेट पर्नेछन्। पब्लिक एड्भोकेटको लागि जम्मा ४ जना उम्मेद्वारहरु छन् (२ जना डेमोक्र्याट र १-१ जना रिपब्लिक र स्वतन्त्र उम्मेद्वारहरु निर्विरोध उठेका छन्। सबै उम्मेद्वारहरुको बारे जानकारी पाउने यो लिंकमा जानुहोस्: https://www.thecity.nyc/22233762/what-you-need-to-know-about-the-public-advocate-race-in-2021
● बोरो प्रेसिडेन्ट: न्यू योर्क सिटीको हरेक बोरो को आ-आफ्नै प्रेसिडेन्टहरु हुन्छन्, र यो सबै पदको लागि निर्वाचन हुन्छ। विभिन्न संघ-संस्थाहरुको लागि पैसा छुट्याउने काम बोरो प्रेसिडेन्टले गर्छन्, कम्यूनिटी बोर्डको सदस्यहरु मनोनित गर्छन्, विधेयकहरु प्रस्ताव गर्न सक्छन् (उनीहरु आफैंले चाहिं त्यसमा भोट गर्न पाउँदैनन्, र शहर को जग्गा-जनिमहरु कसरी प्रयोग गर्ने भन्ने कुरामा उनिहरुको पहुँच हुन्छ। समुदायहरुको विभिन्न मुद्दाहरुमा ध्यानाकर्षण गर्ने (उदाहरणको लागि, जस्तै कोभिड र सो संग सम्बन्धित राहतको मुद्दाहरु) जिम्मा पनि उनीहरुको हुन्छ। हरेक बोरो मा को को यो पदमा उठेका छन् भनेर जान्न यो लिंकमा जानुहोस्: https://www.thecity.nyc/22233782/what-you-need-to-know-about-the-borough-president-races
यि जानकारीहरु धेरै हुन सक्छ, र बुझ्न गाह्रो लाग्न सक्छ। अनि कसको लागि मतदान गर्ने त? तपाईंले मतदान गर्ने बेला आफू, आफ्नो परिवार, र बृहत समुदायलाई असर पार्ने कुराहरुको बारे सोंच्नु जरुरी हुन्छ। के तपाईं कामदार हुनुहुन्छ? उम्मेद्वारहरुले कामदारहरुको अधिकारको बारे के भन्छन्? के तपाईं आप्रवासी हुनुहुन्छ? आप्रवासी मुद्दाहरुलाई सम्बोधन गर्ने उम्मेद्वारहरुको कस्तो योजना छ? के तपाईं अँग्रेजी बाहेक नेपाली, तिब्बती, या अन्य भाषाहरु बोल्नुहुन्छ? सार्वजनिक स्थलहरुमा भाषिक सेवाको सुधार गर्ने बारे उम्मेद्वारहरुको अडान कस्तो छ? उम्मेद्वारहरुको बारे जानकारी लिने सबभन्दा सजिलो ठाऊँ उनीहरु कै अनलाईन वेबसाईटमा हो (यदि तपाईंले उम्मेद्वारहरुको नाम गुगल गर्नुभयो भने सबैको आ-आफ्नै प्लेटफर्म को वेबसाईट भेटाउनुहुनेछ)। गएको केहि हप्तामा उम्मेद्वारहरुको फोरम (गोष्ठी) हरु पनि भएको थियो, जसमा उम्मेद्वारहरुले उनीहरुको प्लेटफर्मसंग सम्बन्धित प्रशनहरुको जवाफहरु दिनुभएको थियो। अधिकारले आयोजाना गरेको क्षेत्र नम्बर २५ (ज्याक्सन हाईट्स, एल्महर्स्ट) र क्षेत्र नम्बर २६ (वुडसाईड, सन्नीसाईड, लङ् आईलेन्ड सिटी) को फोरमहरु यो लिंकमा गएर हेर्न सक्नु हुन्छ: bit.ly/nycelections2021
यसपालिको निर्वाचनमा सबभनन्दा महत्वपूर्ण फरक कुरा के हुँदैछ भने, सिटीले यसपालि श्रेणी-वद्ध मतदान (“र्याङ्क चोईस भोटिङ्” – RCV) भन्ने मतदान गर्ने नयाँ तरिकाको शुरुवात गर्दैछ। RCV को प्रकृयामा मतदाताले आफ्नो ईच्छा अनुसार अधिकमा ५ जना सम्म उम्मेद्वारलाई श्रेणी-वद्ध गरेर मतदान गर्न सक्नेछन्, या चाहेमा १ जना मात्र, या २, ३, ४ जना मात्रमाई पनि श्रेणी-वद्ध गरेर मतदान गर्न सक्नेछन्। याद गर्नु पर्ने जरुरी कुरा के हो भने, तपाईंले अधिकमा ५ जना सम्म उम्मेद्वारहरुलाई मतदान गर्न सक्नु हुन्छ। अकसर गरेर साधारण निर्वाचनहरुमा २ भन्दा धेरै उम्मेद्वारहरु हुँदा ५०% भन्दा कम मत ल्याउने उम्मेद्वार पनि विजय हुन सक्छ। कसको विजय हुने भन्ने मामलामा मातदाताहरुको सरोकार अझ बढाउनको लागि, सिटीले सबै सिटी संग सम्बन्धित चुनावहरुमा RCV को नयाँ व्यवस्था शुरु गरेको हो। RCV लाई अझ राम्रो संग बुझ्न, र यसको विस्तृत जानकारीको लागि तपाईंले हामीले तयार पारेको छोटो कुराकानी भिडियो यो लिंकमा गएर हेर्न सक्नु हुन्छ: bit.ly/nycelections2021
हामीले आज मतदान दिने जन प्रतिनिधिहरुले नै पछि हाम्रो सरोकार भएको कुराहरु सुनिदिने जिम्मेवारी लिनेछन्। सिटीको स्थानिय चुनवाहरुमा कसको जित हुन्छ भन्ने कुरामा थोरै मतले पनि निर्णायक भूमिका खेल्न सक्छ। यसैले पनि यो हाम्रो लागि ठुलो अचसर हो, र फाईदा पनि। नेपाली-भाषी समुदाय अरु समुदायहरुको दाँजोमा सानै छ, तर हाम्रो संख्या तीब्र गतिमा बढ्दैछ। हाम्रो समुदायहरुले चासो राख्ने मुद्दाहरुको हितको लागि हामीले स्थानिय निर्वाचनहरुको नतिजाहरुमा अवश्य पनि केहि असर पार्न सक्छौं।
अधिकारको नागरिक सहभागिता अभियान बारे जानकारी: अधिकारले गत केहि महिना देखि मतदाताहरुमा निर्वाचनको बारे पहुँच पुर्याउने विभिन्न क्रियाकलापहरु गर्दै आएको छ। ति क्रियाकलापहरुको छन्: हाम्रो सदस्यता र सामाजिक संजाल मार्फत सुचनाहरु दिने, सिटी व्यापी मतदाताहरुलाई फोनहरु गर्ने, स्थानिय नेपाली व्यवसायहरु मार्फत आम सुचाना दिने, उम्मेद्वारहरुसंग भर्चुअल (अनलाईन) कार्यक्रमहरु गर्ने, र सडक अभियानमा विभिन्न सहभागी संस्थाहरुसंग सहकार्य गर्ने, आदि। मतदाताहरुलाई जानकारी दिने र वहाँहरुको प्रश्नहरुको जवाफ दिने स्रोतको रुपमा हामी काम गरि रहनेछौं। हाम्रो समुदायको सदस्यहरुले हामीलाई ७१८-९३७-१११७ मा फोन गर्न सक्नु हुन्छ, अथवा हामीलाई फेसबुकमा सिधै मेसेज पठाउन सक्नुहुन्छ।
काठमाडौं । नेपालले कोरोना भाइरसको महामारी बढेसँगै बन्द गरेको हवाई उडान गन्तब्य तोकेको खोल्ने भएको छ । यसअघि कतार, टर्की, चीन र भारतमा उडान खोलेको सरकारले अब साउदी अरेबिया, मलेसिया, जापानसहितका मुलुकमा उडान खोल्ने निर्णय गरेको हो । यो निर्णय आगामी साताबाट मात्र कार्यान्वयनमा आउने छ । कोभिड–१९ निर्देशक समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
समितिमा प्रधानमन्त्री अध्यक्ष रहने प्रावधान रहेको छ । लामो समयदेखि उडान नखुल्दा यी मुलुकमा जाने र त्यहाँबाट फर्कने नेपालीहरु प्रभावित भएका छन् । उडान खुलेका देशबाट सातामा दुई हजार यात्रु नबढ्ने गरी हवाई उडान सुचारु गरिने भएको छ । यसबारे विस्तृतमा निर्णय भने नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्नेछ ।