Category: डायस्पोरा

  • एनआरएनएको निर्वाचन प्रक्रिया रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन

    एनआरएनएको निर्वाचन प्रक्रिया रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन

    विश्वसन्देश संवाददाता

    नेपाल सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनसम्बन्धी प्रक्रिया अगाडि नबढाउन एनआरएनए आइसिसीलाई निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयले मताधिकारसहितका प्रतिनिधिको विवाद निरुपण नभएसम्मको लागि निर्वाचनसम्बन्धी प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको हो । यसअघि मन्त्रालयमा विधानविपरीत केन्द्रीय प्रतिनिधिको नामावली प्रकाशन गरिएको भन्दै १० आँै विश्व सम्मेलनमा अन्यायमा परेका एनआरएनए डेलिगेट्स राख्न माग गर्दै उजुरी परेको थियो । उजुरीमा विधान विपरीत आएका प्रतिनिधिलाई मान्यता दिएको र एनसीसीहरुले विधानसम्मत रुपमा चयन गरी पठाएको डेलिगेट्सहरुको नामावली सचिवालयले आफूखुसी हेरफेर गरेको भन्दै निर्णय नसच्चिएसम्म विश्व सम्मेलन अगाडि नबढाउन माग गरिएको थियो । त्यसैको आधारमा आइसिसीलाई मन्त्रालयले पत्राचार गरेर निर्देशन दिएको हो ।
    विभिन्न २५ देशका अध्यक्षलगायत प्रतिनिधिहरुको नाम संलग्न गरि गरिएको उजुरीमा विभिन्न १९ वटा कमजोरीहरु उल्लेख गरिएको थियो । एनआरएनए आइसिसी पूर्व सचिव जानकी गुरुङ, कतारबाट मानार्थ सदस्य नवराज ओली (शनि) र अमेरिकाका सल्लाहकार बेदप्रसाद खरेलले सो उजुरी दिएका थिए । मन्त्रालयले सो उजुरीलाई आधार मान्दै तत्काल निर्वाचनसम्बन्धी प्रक्रिया अगाडि नबढाउन र मतदाता नामावली छानवीन गर्न समेत एनआरएनए आइसिसीलाई निर्देशन दिएको छ ।

    परराष्ट्रको उक्त निर्देशनपछी आफु निवेदकहरुलगायत विश्वमा रहेका अन्यायमा परेका गैरआवासीय नेपालीहरुले केही भने पनि न्याय पाएको निवेदक वेद खरेलले बताए । खरेलले परराष्ट्रको निर्देशन तुरुन्त पालना गर्नुपर्ने बताए ।
    एनआरएनए आइसिसीको आइतबार बसेको बैठकमा परराष्ट्र मन्त्रालयले पठाएको पत्रका बारेमा बृहत छलफल गरिएको एक पदाधिकारीले बताएका छन् । उक्त बैठकमा उपाध्यक्ष बद्री केसी र महासचिब हेमराज शर्माले परराष्ट्र मन्त्रालयविरुद्ध अदालत जानुपर्ने आवाज उठाएका थिए । उनीहरुले राजनीतिक हस्तक्षेप गरिएको भन्दै कानुनी लडाई लड्नुपर्नेमा जोड दिएका हुन् । आइतबारको बैठकमा केसी र शर्माले मन्त्रालयले कुनै राजनीतिक पार्टीको दबाबमा सो पत्र पठाएको पनि आरोप लगाएको एक पदाधिकारीले विश्वसन्देशलाई बताए । तर, बैठकमा संघका उपाध्यक्ष सोनाम लामा, मन केसी, सहकोषाध्यक्ष लोक दाहाललगायतले नियमनकारी निकाय परराष्ट्र मन्त्रालयको निर्देशन मानेर अगाडि बढनुपर्ने बताए । उपाध्यक्ष मन केसीले पहिलेदेखि नै संघमा मोनोपोली भएकोले यो अबस्था आएको र तत्काल धैर्यतापुर्वक तवरले अहिलेको समस्या समाधान गर्नतर्फ लाग्नुपर्ने बताए ।
    अध्यक्ष कुमार पन्तले बैठकमा परराष्ट्रको पत्र पढेर मात्रै सुनाएका थिए । उनले पत्र अन्य पदाधिकारीलाई दिंदा बाहिर सार्बजनिक हुने डरले पढेर मात्रै सुनाएको बैठकमा बताएका थिए । पन्तले तुरुन्तै नेपाल आएर परराष्ट्र मन्त्रालयसँग छलफल गरेर अगाडि बढ़ने बताएका छन । यता परराष्ट्र मन्त्रालयका सहसचिब भरतकुमार रेग्मीले एनआरएनएका बारेमा उजुरी परेपछि छानबिन समितिले प्रतिनिधि विवाद नटुङ्गिदासम्म निर्वाचन प्रकृया अगाडि नवढाउन निर्देशन दिएको बताए ।
    नेपाल सरकारको गैरआवासीय नेपाली संबन्धि निमवाली २०६६ को नियम ५ को ब्यबस्था १ र २ मा संघ संचालन हुन नसके बिघटन हुने ब्यबस्था समेत रहेको छ । ५ को नियम २ को उपनियम १ मा परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघको अनुगमन गर्नसक्ने ब्यबस्था छ । उपनियम २ को २ मा यस्तो अनुगमन गर्दा संघको काम कारबाहीमा कुनै सुधार गर्न आवश्यक देखिएमा मन्त्रालयले आवश्यक निर्देशन दिन सक्नेछ भनिएको छ । सोहि खण्डको उपनियम २ को ३ मा दिएको निर्देशन पालना गर्नु संघको कर्तब्य हुनेछ भनिएको छ ।
    एनआरएनए विवादमा मिसियो परराष्ट्र मन्त्रालय ः गोलचक्कर प्रश्नको वर्षा !
    गैरआवासीय नेपाली संघको (एनआरएनए) महाधिवेशनलाई लिएर त्रिपक्षीय पत्राचार सुरु भएको छ । विभिन्न देशमा देखिएको प्रतिनिधि छनोट सम्बन्धी विवादमा परराष्ट्र मन्त्रालय पनि मिसिएको छ । महाधिवेशनका बारेमा मन्त्रालयले एनआरएनए आइसिसीलाई पत्राचार गरेर विवादमा चासो व्यक्त गरेको छ । आइसिसीलाई पत्राचार गरेर मन्त्रालयले आगामी निर्वाचन निष्पक्ष, स्वच्छ, धाँधलीरहित र विश्वसनीय बनाउने आधार माग गरेको मन्त्रालयका एक कर्मचारीले विश्वसन्देशलाई जानकारी दिए । परराष्ट्र मन्त्रालयका सहसचिव भरतकुमार शर्माले हस्ताक्षर गरेको पत्राचारमा पाँच दिनको समय दिइएको छ । आइसिसीलाई मन्त्रालयले पत्राचार गरेपछि वर्तमान महासचिव डा.हेमराज शर्मासहितको टोली असन्तुष्ट बनेको छ । महासचिव शर्माले छिट्टै पत्रको जवाफ दिने बताएका छन् ।
    एनआरएनए जापानको निर्वाचनका क्रममा देखिएको अनियमिततामा टेकेर मन्त्रालयले केन्द्रीय निर्वाचनका विषयमा प्रश्न उठाएको छ । त्यसो त एनआरएनए आइसिसीलाई चुनावको निष्पक्षतामा प्रश्न उठाएर पत्राचार गरिएको यो पहिलो घटना हो । पत्रमा महाधिवेशनमा मतदान गर्न पाउने प्रतिनिधिका विषयमासमेत प्रश्न गरिएपछि वर्तमान उपाध्यक्ष एवं अध्यक्षका प्रत्यासी डा. बद्री केसी समूहले असन्तुष्टि जनाएको छ । मन्त्रालयले मन्त्रालयमा प्राप्त गुनासोलाई पनि पत्रमा उल्लेख गरेको छ । मन्त्रालयको पत्र प्राप्त गरेपछि डा. केसीले केही व्यक्तिले नेतालाई गुहार्दा समस्या भएको प्रतिक्रिया दिएका छन् । महासचिव डा. शर्माले मन्त्रालयको भूमिकाप्रति प्रतिप्रश्न उठाएका छन् । उनले विभिन्न देशमा आन्तरिक कानून मान्ने एनसिसीमा मन्त्रालयको चासोले राम्रो नगरेको बताए । महासचिव शर्माले अनलाइन निर्वाचन प्रणालीमा केही समस्या आउने कुरामा आफूहरु सजग भएको बताएका छन् ।
    परराष्ट्र मन्त्रालयको पत्राचारलाई अध्यक्षका प्रत्यासी एवं पूर्वउपाध्यक्ष कुल आचार्य समूहले सकरात्मकरुपमा लिएको छ भने केसी समूहले नकरात्मकरुपमा लिएको छ । आचार्य समूहले मन्त्रालयको पत्रलाई स्वभाविकरुपमा लिनुपर्नेमा जोड दिएको छ । आचार्य समूहले प्रविधिको दुरुपयोग गर्दै एनसिसी जापानमा धाँधली गरेको कुरा पुष्टि भएकाले केसी समूहले आइसिसीको चुनावमा पनि त्यस्तै गर्नसक्ने आशंका व्यक्त गरेको छ । तर, महासचिव शर्मासहितका नेताहरुले भने नेपालमा कांग्रेसको नेतृत्वमा सरकार बनेको र त्यसको दुरुपयोग आचार्य समूहले गरेको आरोप लगाएका छन् । बेलायत, पोर्चुगल, साइप्रसलगायतका देशमा पनि छानबिन हुनुपर्नेमा केसी समूहको जोड रहेको छ ।
    प्रतिनिधिको विवाद उत्कर्षमा, अधिवेशन हुनेमा शंका ?
    एनआरएनए आइसिसीको प्रतिनिधि छनोटमा पनि तीब्र विवाद भएको छ । मंगलबार राति प्रतिनिधिको नाम सार्वजनिक भएपछि आचार्य समूहले संसारभरका एनसिसीमा एकाएक प्रतिनिधि परिवर्तन भएको, धाँधली गरिएको आरोप लगाएको छ । आचार्य निकट व्यक्तिहरुले परराष्ट्र मन्त्रालयमा थप उजुरी दिएर विवाद समाधान नभएसम्म महाधिवेशन प्रक्रिया अगाडि नबढाउन आग्रह गरेका छन् । युरोपका विभिन्न देशमा केसी समूहले धाँधली गरेको आरोप लगाइएको छ । सदस्यता थपिएको, प्रतिनिधिको हेरफेर गरिएको, आफू अनुकूल नभएका व्यक्तिलाई हटाइएको, कुनै देशमा एउटा र अर्को देशमा अर्कै मापदण्डमा प्रतिनिधि छनोटमा दबाब दिइएको लगायतका आरोप आचार्य समूहले लगाएको छ ।
    विभिन्न प्रकारका आरोप लगाएर परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि महासचिव शर्माले सबै प्रश्नको जवाफ दिनका लागि आफू तयार रहेको बताएका छन् । उनले झुटा आरोप र विधानमा हुँदै नभएका कुरा उल्लेख गर्दै परराष्ट्रको ढोका घचघचाउनु एनआरएन अभियानकै लागि ठूलो धक्का भएको प्रतिक्रिया दिएका छन् । आफूहरुले विधानलाई फलो गरेकाले नियम नमान्ने व्यक्तिहरुले परराष्ट्र मन्त्रालयमा उजुरी हालेको उनको भनाइ छ । तर, आरोपहरुको एक एक गरेर जवाफ दिनका लागि आफू तयार रहेको शर्माले बताएका छन् । जुलाई ३१ मा अन्तिम सदस्यको सूची तयार हुनुपर्नेमा केही ठाउँमा समस्या देखिएकाले एमआईएसमा इन्ट्री हुन छुटका धेरै मेम्बरलाई थप गरिएको उनको प्रष्टिकरण छ ।
    आचार्य समूहले परराष्ट्रमा दर्ता गरेको उजुरीमा १९ प्रश्न
    १.केन्द्रीय महाधिवेशनका लागि छनौट गरिएको भनिएका प्रतिनिधिको नाम प्रकाशन गर्नु पूर्व अन्तर्राष्ट्रिय समन्वय परिषद्को कूनै पनि बैठक नबसी छलफलसमेत नगरी नामावली प्रकाशित गरिएको ।
    २.अष्ट्रियाको वर्तमान कार्यसमितिका अध्यक्ष ,पूर्वकार्यसमितिका महासचिवलाई समेत प्रतिनिधि बन्नबाट बञ्चित गरिएको छ ।
    ३. ६५% प्रतिनिधि चयन प्रकृयामा चेक रिपब्लिकका संस्थापक अध्यक्ष जितेन्द्र रायमाझीलाई महाधिवेशन प्रतिनिधि चयन प्रकृयामा सहभागी नगराई एकतर्फि तवरबाट महाधिवेशन प्रतिनिधिको सिफारिसश गरिएको ।
    ४. समग्र राष्ट्रिय समन्वय परिषद्हरूमा ६५ र २५ प्रतिशत महाधिवेशन प्रतिनिधि छनोट गर्ने प्रकृया विधान विपरीत बाहालवाला कार्यसमितिका पदाधिकारीहरुको उम्मेदवारी घोषणा गरिसकेको अवस्थामा निवार्चनलाई प्रभावित पार्ने गरी छनोट प्रकृयामा सहभागी भएको ।
    ५. २५% को व्यवस्थालाई अपव्याख्या र संस्थागत अनुरुप विभिन्न देशमा विभिन्न प्रकारले छनौट ।
    ६. अमेरिका, बेलायत, अस्ट्रेलिया निर्वाचित समितिले पठाएको ६५% र २५% लाई मान्यता विनाकारण विधान विपरीत दिइएन ।
    ७. नेदरल्याण्डमा ६५% र २५% नामवली नराखी नामावली प्रकाशित गरिएको छ ।
    ८. रसियाको हकमा, सदस्यता बितरण मिति ३१ जुलाई कायम रहेको र त्यो मितिभित्र एमआईएसमा नामावली आएको हुनु पर्नेमा जम्मा ४७४ इन्ट्री भएको र पछिको मितिमा ८८९ को पैसा तिरिएको देखाएर थप डेलिगेट इन्ट्री गरेर थप गरिएको ।
    ९. लक्जेम्बरगमा जम्मा ६० सदस्य रहेकोमा २६५ बनाएरे थप डेलिगेट बनाइको छ ।
    १०. न्युजिल्याण्डमा ५३८ सदस्य रहेकोमा हाल ७२० सदस्य कायम गरी एमआईएसमा थप गरी तथा ८८९ जम्मा गरी पैसा तिरेको आधार देखाएर ९२ जना डेलिगेट बनाइएको छ ।
    ११. कोस्टारिका, मेक्सिको, रुवाण्डा , टर्की जस्ता देश जसको गठन यो वर्ष भएको र जसको अधिवेशन गठन भएको ६ महिना पनि नभएको हुनाले र विधानमा दुई वर्ष पहिला नै हुनु पर्ने र सोअनुसार नगरिएकोले उक्त देशहरुका डेलिगेट्सले भाग लिन नपाउने हुनु पर्दछ ।
    १२. हरेक रिजनको आरसीको सुपरविजन र सहमतिमा प्रतिनिधि कायम गर्नु पर्ने भनिएको मा युरोप रिजनका आरसी नारायण आचार्यलाई बेवास्ता गर्दै उनको क्षेत्र युरोपमा व्यापक धाँधली गरिएको छ ।
    १३. साइप्रसको ६५% मा थोरै संख्या पठाएकोमा नया कार्य समितिले नयाँ कार्यसमितिको नाम थपी ६५% पु¥याएर पठाएको तथा २५% मा नया नामहरू मनोनयन गरेर पठाएकोमा नया कार्य समितिले पठाएको कुनै कुरा सुनवाइ नभएको ।
    १४. आएरल्याण्डको २५% लिस्ट राखिएन, ६५% मा सहमति गरी पठाएकोमा नाम नराखी ‘इलिजिवेल ‘मानिसहरूको नामावली राखी ६५% प्रकाशित गरिएको छ । उक्त नामावली प्रकासन गर्दा एकपटक पनि एनसीसीमा न बसेका व्यक्तिहरू राखिएको छ । त्यसै गरी सभापतिले ६ पटकसम्म इमेल पठाउँदा पनि कुनै रेस्पोन्स नगरिएको, ६४२ जनाको ४२ हुनुपर्ने मा ४९ जना प्रतिनिधि बनाएर पठाएको ।
    १५. जापानको निर्वाचनमा एमआईएस सिस्टममा र निर्वाचनमा व्यापक धाँधली भएको प्रतिवेदन पेस भैसकेपछि त्यसमा छानबिन नै नगरी नामावली एकलौटी रूपमा प्रकाशन गरिएको छ ।
    १६. ६५% प्रतिनिधिमा नया कार्यसमितिलाई समेटिने भन्ने कुरा विधानमा वर्तमान कार्यसमिति भएकोमा त्यसलाई पालना नगरी आफ्नो अनुसार मनोमानि गरिएको । कति देशमा राखिएको कति देशमा जानी जानी फालिएको छ ।
    १७) एनआरएनए फ्रान्सका संस्थापक अध्यक्ष हरिहर अर्यालको नाम निवर्तमान कार्य समितिले ६५ प्रतिशत सूचीमा समावेश गरेन। यहाँ सम्मकी नवनिर्वाचित अध्यक्ष गीता शर्मा खनालको नामपनि उक्त सूचीमा जानी जानी छुटाइएको छ ।
    १८) महासचिव हेमराज शर्मा, सचिव गौरी राज जोशीको मातहतमा रहेको केन्द्रीय सचिवालयले युके, अमेरिका, अस्ट्रेलिया जस्ता ठूला राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुलाई जानी जानी दुःख दिने काम गरिरहेको छ ।
    १९) बहराइनमा प्रतिनिधि छनौटको कुनै पनि वैधानिक कुरा पूरा न गरिएको । आफू खुसी आईसीसीमा नामावली पठाएको र आरसीसँग कुनै समन्वय नगरेको ।

  • सेप्टेम्बरका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक, कुन गन्तब्यमा कति ?

    सेप्टेम्बरका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक, कुन गन्तब्यमा कति ?

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सेप्टेम्बर महिनाका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ । नयाँ तालीका अनुसार नेपालले उडान खुला गरेका र नेपालबाट हुने उडानलाई अनुमति दिएका मुलुकमा करीव साविककै हाराहारीमा उडान हुन थालिसकेको छ । अर्थातः अब वायुसेवा कम्पनीले यात्रुको माग अनुसार नै उडान अनुमति लिन थालिसकेका छन् । यसले उडान संख्या समेत वृद्धि भएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अब काठमाडौंबाट भारतको राजधानी नयाँ दिल्लीका लागि सातामा १० उडान हुनेछ । नेपाल एयरलाइन्सले दैनिक एक उडान र एयर इण्डियाले सातामा तीन (आइतबार, मंगलबार र शुक्रबार) उडानको अनुमति पाएको छ । यूएईको सारजहा विमानस्थलमा एयर अरेवियाले हरेक दिन दुई उडान गर्नेछ ।

    एयर अरेवियाले आबुधाबीमा समेत हरेक दिन उडान गर्न अनुमति पाएको छ । फ्लाई दुबईले दुबई इन्टरनेसनल एयरपोर्टबाट सातामा १० उडान गर्नेछ । हिमालय एयरलाइन्सले मलेसियाको क्वालालाम्पुर विमानस्थलमा साताको ६ उडान (सोमबारबाहेक) र दुबई विमानस्थलमा शुक्रबारबाहेक साताको ६ उडान गर्नेछ । कतारको हमाद इन्टरनेशनल विमानस्थटलमा हिमालयको जहाजले सातामा कुल ७ उडान गर्नेछ । जजिरा एयरवेज कुवेतबाट हरेक दिन काठमाडौं आउने छ ।

    कोरियन एयरले हरेक बुधबार काठमाडौं उडानको अनुमति लिएको छ । मालिन्दो एयरले क्वालालाम्पुरबाट साताको चार (सोमबार, बुधबार, शुक्रबार, शनिबार) काठमाडौं उडान गर्नेछ । मलेसिया एयरलाइन्स हरेक शनिबार क्वालालाम्पुरबाट काठमाडौं आउने छ । नेपाल एयरलाइन्सले कतारको हमाद इन्टरनेसनलमा हरेक दिन एक उडान गर्नेछ ।

    दुबई इन्टरनेसनल एयरपोर्टबाट नेपाल एयरलाइन्सले सातामार चार (सोमबार, बुधबार, बिहीबार र शनिबार) उडान गर्ने तालिकामा उल्लेख छ । मलेसियाको क्वालालाम्पुर विमानस्थलमा समेत नेपाल एयरलाइन्सले सातामा चार (आइतबार, मंगलबार, बिहीबार र शुक्रबार) उडान गर्ने तालीका छ । जापानको नारितामा नेपाल एयरलाइन्सले हरेक बिहीबार उडान गर्नेछ । हङकङमा हरेक मंगलबार नेपाल एयरलाइन्स जाने छ ।

    कतार एयरवेजले कतारको हमाद इन्टरनेसनल विमानस्थलमा दैनिक तीन उडान गर्नेछ । सलाम एयरले मस्कट विमानस्थलबाट साताको तीन दिन (आइतबार, मंगलबार र बिहीबार) काठमाडौं उडान गर्नेछ । टर्कीस एयरले सोमबार, बिहीबार र शनिबार काठमाडौंमा उडान गर्नेछ । सिंगापुर एयरलाइन्सले हरेक आइतबार र श्रीलंकन एयरलाइन्सले मंगलबार र शनिबार गरि सातामा दुई उडान गर्न अनुमति पाएको छ ।

  • नेकोन नेपाली विद्यालयको दीक्षान्त समारोह सम्पन्न

    नेकोन नेपाली विद्यालयको दीक्षान्त समारोह सम्पन्न

    कनेक्टिकट, अमेरिका

    कनेक्टिकट नेपाली समाज (नेकोन) द्वारा संचालित गृष्मकालीन नेपाली विद्यालयको दीक्षान्त समारोह गत अगस्ट २८ तारिख शनिवार वेस्ट हार्टफोर्डमा सम्पन्न भयो। वेस्ट हार्टफोर्ड पब्लिक स्कूलका सहायक सुपरिटेण्डेन्ट पाउल भिकिसनको प्रमुख आतिथ्यमा एक भव्य कार्यक्रमका साथ् ३५ जना छात्र-छात्रा दीक्षित भए ।

    अमेरिकामा रहेर पनि नेपाली भाषा, कला साहित्य र संस्कृतिको विस्तार र प्रवर्धन गर्ने उदेश्यले विगतको वर्षहरुमा झैँ यस वर्ष पनि नेकोनले गत जुलाई १० तारिख देखि गृष्मकालीन नेपाली भाषा विद्यालय संचालन गरेको थियो । नेपाली र अमेरिकी राष्ट्रिय गीतबाट शुरुवात गरिएको दिक्षान्त समारोहका प्रमुख आकर्षणका रुपमा विद्यालयमा अध्ययनरत छात्र-छात्राहरुको सांगीतिक प्रस्तुति रहेको थियो । जसको संयोजन संगीत प्रशिक्षक केशब शर्मा दाहालले गर्नु भएको थियो । समारोहमा उपस्थित महानुभावहरुलाई स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष रघुनाथ गिरीले दिनु भएको थियो भने विद्यालय र कार्यक्रमका बारेमा विद्यालयका संयोजक दिपेश भट्टले प्रकाश पार्नु भएको थियो ।

    उक्त विद्यालयमा सफल छात्र-छात्रालाई प्रमुख अतिथि सहायक सुपरिडेण्टेण्ड पाउल विकिसन जुनियर तथा संस्थाका अध्यक्ष नारायण पौडेलले संयुक्त रुपमा दीक्षित गर्नु भयो । नेपाली राष्ट्रिय टोपीमा सजिएका पाउलले हामी जहाँ भए पनि आफ्नो भाषा, ईतिहाँस, कला संस्कृतिको संरक्षण गर्नु पर्ने बताउँदै नेपाली विद्यालय संचालनको लागि नेकोनलाई विशेष धन्यवाद दिनु भयो । साथै वहाँले नेपाली समुदायको शैक्षिक विकासका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो।

    समारोहका सभापति एवं संसाथाका अध्यक्ष नारायण पौडेलले विद्यालय संचालनमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै आगामी वर्षहरुमा पनि नेपाली विद्यालय संचालन गर्ने जानकारी दिनु भयो । कार्यक्रमका समिक्षा समालोचक एवं समिक्षक वक्ता प्रो. डा. केशव आचार्यले गर्नु भयो भने प्रमुख सल्लाहकार कृष्ण अधिकारीले दीक्षित भाई बहिनीहरुको उज्वल भविष्यको कामना गर्नु भयो । कार्यक्रमको संचालन संस्थाका सचिव राजन तिम्सिनाले गर्नु भएको थियो भने शिक्षक प्रतिनिधिको रुपमा सानुमाया महर्जन, अभिभावक प्रतिनिधिको रुपमा डा. देवेन्द्र के.सी तथा विद्यार्थी प्रतिनिधिको रुपमा स्वस्तिक पन्तले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो । दुई महिनाको लागि संचालित गृष्मकालीन नेपाली भाषा विद्यालयमा ३६ जना विद्यार्थी भाइबहिनीहरुको सहभागिता थियो ।

  • तीज मनाउँदै तरकारी बारीमा रमाउँदै सुवेदी परिवार

    तीज मनाउँदै तरकारी बारीमा रमाउँदै सुवेदी परिवार

    सुपेन्द्र बस्नेत, बोष्टन

    चाहे नेपालमा हुन् या नेपाल बाहिर यतिबेला नेपाली नारीहरुलाई हरितालिका तीजका कारण भ्याइनभ्याइ छ । नेपाली महिलाहरुको महान चाडका रुपमा चिरपरिचित यो चाड नजिकिएका कारण नारीहरु आफ्नो अनुकूल मिलाउदै उत्साहका साथ चाड मनाउदै छन् । मुलत: हिन्दू धार्मिक तथा साँस्कृतिक क्रियाकलापहरुमा आधारित भएतापनि लामो समयदेखि यो चाडलाई बहूआयामिक रुपमा मनाउदै आइरहिएको छ । जस अन्तरगत हुने जमघट, मिष्ठान्न भोजन र नाँचगान जस्ता क्रियाकलापहरुले, यो चाडको अझ रौनक थप्न, महत्व बढाउन र हर्षोल्लासमय बनाउन महत्वपूर्ण योगदान पुर्याइरहेको छ । तीज मनाउने क्रममा केही दिन अघिदेखि नै नारीहरु रातो पहिरन र सौभाग्यका आभूषणहरुले सुसज्जित भएर जमघट हुने, दर खाने र नाँचगान गरी मनोरञ्जन गर्ने कार्यक्रमहरुमा सहभागी हुन व्यस्त छन् । जसमा पुरुषहरुको पनि प्रतक्ष्य अप्रतक्ष्य साथ सहयोग र सहभागिता रहेको छ । यसबाट अछुतो हुनुहुन्न – उषा खड्का सुबेदी र उहाँको परिवार । नेपालको हेटौंडा जन्मथलो भएकी सुबेदी अमेरिकाको न्यू हेम्पसायरमा बस्नु हुन्छ । १५ वर्षअघि सपरिवार अमेरिका छिर्नु भएकी यि नारी एक सशक्त कदरयोग्य परिचय बनाउन सफल व्यक्तित्व हुनुहुन्छ। नेपालमा रहदा प्रजातन्त्रको पुनर्स्थापनासंगै राजनीतिमा होमिनु भएकी सुबेदीले नेपाल महिलासंघ, मकवानपुरकी जिल्ला सभापतिको जिम्मेवारी सम्हाल्दा , राजनीतिक र महिला शसक्तिकरणको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो । सामाजिक क्रियाकलापहरुमा पनि त्यतिनै सक्रिय रहनु हुने उहाँ एक कृषि व्यवसायी पनि हो। झण्डै २० वर्ष अघि कुखुरा पालन व्यवसाय गरेर जिल्लाकै एक सफल व्यवसायीको परिचय बनाउदै मनग्य दाम र नाम कमाउन पनि सफल हुनु भएको थियो । जुन कर्म अरुका लागि पनि प्रेरणादायी बनेको थियो ।


    विवाह पश्चात मकवानपुर छोड्न बाध्य हुनु भएकी सुबेदीलाई परिस्थितिले परदेशको यात्रा गरायो । र सपरिवार अमेरिका भित्रिनु भयो । अमेरिका छिरेपछि पारिवारिक जिम्मेवारीका कारण राजनीतिलाई निरन्तरता दिन सक्नु भएन । तर, सामाजिक क्रियाकलापहरुमा भने आफूलाई सकभर सक्रिय बनाउन चुक्नु भएको छैन । जसले गर्दा उहाँ न्यु हेम्पसायरमा बसोबास गर्ने नेपाली समुदायबीच चिरपरिचित हुनुहुन्छ । नेपाली भाषा, धर्म, भेष भुषा, संस्कृति , परम्परा, रितिरिवाज, पहिचानको संरक्षण तथा संबर्धनमा उहाँ र उहाँको परिवारको अमुल्य योगदान रहदै आएको छ । यसै सिलसिलामा नेपालीहरुको महान चाड हरितालिका तीजलाई समय तथा अवस्था अनुसार भरसक उल्लासमय र यादगार बनाउनमा सक्रिय रह्यो यो सुवेदी परिवार । गत वर्ष कोरोनाको कहरका कारण एकान्तवासबाटै तीजलाई बिदाइ गर्नु परेको थियो । यस पटक भने गत वर्षको भन्दा अवस्था केही सहज भएकाले अमेरिकाको मजदुर दिवसको बिदाको मौका छोपी आफ्नै निवासमा नजिकका साथीसंगीहरु जमघट गरेर ‘दर’ खाने कार्यक्रम गरिएको सुबेदीले बताउनु भयो। हरितालिका तीजका सम्बन्धमा थप जिज्ञासा राख्दा अलग धारमा कुरा गर्दै यस पटकको ‘तीज’ नारी र करेसाबारी बिचको समिश्रण स्मरण योग्य रहेको बिचार व्यक्त गर्नु भयो । यस पटकको ‘दर’ लाई आफ्नै करेसाबारीको तरकारीले स्वस्थ्य , स्वादिष्ट र भरसक अर्ग्यानिक बनाउने कोसिस गरिएको उहाँले जिकिर गर्नु भयो । हरेक वर्ष झै यस वर्ष पनि उहाँ र उहाँको परिवारको कडाँ मेहनतले करेसाबारीमा लोभै लाग्दा विभिन्न प्रकारका तरकारीहरुले भरिभराउ भएका छन् । सुबेदी भन्नु हुन्छ ‘ यसपालीको तीजको ‘दर’ आफ्नै करेसाबारीको तरकारीले स्वस्थ्य , स्वादिष्ट र भरसक अर्ग्यानिक बनाउने कोसिस गरियो । पाहुनाहरुले प्रसंशा गरिदिएका कारण खुसीले सारै गदगद छु । दर खाने निम्तो मान्न आएका पाहुनाहरु स्वादिष्ट दर खादै जिब्रो पड्काउदै धित मर्ने गरी नाँचगान समेत गरेर रमेका थिए ।
    केही दिन यता कोरोना संक्रमण बढेकाका कारण ठूलो संख्यामा जमघट हुन पावन्दी लागेका कारण घरघरमा ससानै जमघट गरेर भएपनि नारीहरु वर्ष दिनको चाड मनाउन भने चुकेका छैनन् ।


    करेसाबारीमा तरकारी गत वर्षको भन्दा पनि सप्रिएको र पर्याप्त भएको सुबेदीले बताउनु भयो । सुबेदी परिवारले हरेक वर्ष गर्मी मौसम प्रारम्भ भएसंगै करेसाबारीमा तरकारी खेति गर्ने, त्यही तरकारीले आफ्नो भान्सा रमाइलो र स्वादिष्ट बनाउने, छरछिमेकीहरुलाई पनि बाँड्ने र बाँकी रहेको तरकारीहरुलाई जाडो महिनाका लागि संचित गरेर राख्ने गर्दै आएको छ । यस पटक भने तीजको अवसर पारेर ‘दर’ खाने कार्यक्रम मार्फत आफ्नै करेसाबारीको तरकारी आफैले पकाएर दर खाने निम्तो मान्न आएका पाहुनाहरुलाई खुवाउन पाँउदा खुसीको छुट्टै अनुभूति भएको सुबेदीको भनाइ छ । मेरो अहोभाग्य रहेछ । यस पटकको तीजमा आफ्नै घरमा आफ्नै करेसाबारीको तरकारी सदुपयोग गरेर पाहुनाहरुलाई ‘दर’ खुवाउन पाँए। उहाँ भन्नु हुन्छ दर त हरेक वर्ष खाएकै हो । खुवाएकै हो । तर , यस वर्ष भने नेपाली पहिचान बोकेका परिकारहरुका साथमा आफ्नै करेसाबारीको तरकारी सदुपयोग गरेर ‘दर’ खान र खुवाउन पाएकोमा छुट्टै खुशीको अनुभूति भइरहेको छ।”
    झट्ट सुन्दा सामान्य बिषय जस्तो लागे तापनि डलर फल्ने ठाँऊ भनि चिनिने अमेरिकाको सन्दर्भमा भने, करेसाबारीमा तरकारी खेति र ‘दर’ खाने कार्यक्रमा त्यसले पुर्याएको महत्वपूर्ण योगदान निकै महत्वपूर्ण , कदरयोग्य, प्रेरणादायी र अर्थपूर्ण रहेको छ । फलेका बोडी, लौका, काउली, खुर्सानी , घिरौला, फर्सी, आलु, चिप्लीभेडा, भन्टा , गोलभेडा , लसुन , प्याज , हरिया सागपात लगायत अर्ग्यानिक तकारीहरु लटरम्मै फलेको करेसाबारीबाट उत्प्रेरित हुदै पाहुनाहरुले करेसाबारीको सुन्दरता र दरको स्वादको खुलेर प्रशंसा गरिदिदा आफूमा थप उत्साह र उत्प्रेरणा जागेको सुबेदी बताउनु हुन्छ । दर खाने कार्यक्रममा सहभागी हुनु हुने गीता भट्टराईले सुबेदी परिवारको प्रशंसा गर्दै कार्यक्रम निकै रमाइलो भएको प्रतिकृया दिनु भयो । दरलाई करेसाबारीका ताजा तरकारीहरुको साथले स्वादिष्ट बनाएको उहाँको भनाइ थियो । करेसाबारी साह्रै लोभलाग्दो रहेको भनी प्रशंसा गर्दै उहाँले भन्नु भयो ,हामीले त करेसाबारीको अवलोकन पनि गर्यौ , तस्बिर पनि खिच्यौं, खायौ र नाँचगान गरेर रमाइलो पनि गर्यौं ।
    अमेरिकामा महिनौ अघिदेखि टिपेर चिसोमा भण्डारण गरिएका तरकारी खाएर छाक टार्न विवस जिन्दगीमा , आफ्नै करेसाबारीबाट ताजा र स्वस्थ्य तरकारी टिपेर भान्सा मिठो र रमाईलो बनाउन पाँउनु अमेरिकाबासी नेपालीका लागि अत्यन्त खुसी र आनन्दको कुरा हो । आर्थिक हिसाबले पनि करेसाबारीले तरकारीमा हुने ठूलो खर्चमा निकै कटौति गरिरहेको सुबेदी परिवारको जिकिर छ ।
    करेसाबारी लोभलाग्दो तरकारीहरुले भरिभराउ हुनुमा उहाँका श्रीमान घनश्याम सुबेदीको पनि महत्वपूर्ण योगदान छ । फुर्सद मिल्ने बितिकै करेसाबारीतिर टहलिन मनपराउने घनश्याम, त्यसको रेखदेखमा पनि त्यतिनै खटिने गर्नु हुन्छ । जाँगरिलो छोरा बबी सुबेदी र छोरी सूचना सबेदीको सहयोगी भूमिकाले पनि करेसाबारी मौलाउनमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ भनेर खुसी व्यक्त गर्न चुक्नु भएन सुबेदी । उहाँका अनुसार समग्रमा सपरिवारको योगदानको परिणाम हो, लटरम्मै तरकारी फलेको लोभलाग्दो करेसाबारी । अमेरिकामा आफ्नै घर भएका अधिकांश नेपालीहरुले सुबेदी परिवारले जस्तै धेरथोर करेसाबारीमा तरकारी लगाउने गरेका छन् । जसले आत्मसन्तुष्टि लिन , टहलिएर थकान मेटाउन , स्वस्थ र ताजा अर्ग्यानिक तरकारी खान , तकारी खरिदमा हुने खर्च कटौति गर्न र बालबालिकाहरुलाई कृषि सम्बन्धि सैद्धान्तिक ज्ञान र ब्यवहारिक सीप प्रदान गर्नमा यस्ता करेसाबारीले महत्वपूर्ण योगदान पुर्याइरहेको छ। अर्को कुरा करेसाबारीले नेपालीपन, पहिचान र बिशेषताहरुको प्रदर्शन, संरक्षण र संबर्धनमा महत्वपूर्ण योगदान पुर्याइरहेको तथ्यमा दुइमत छैन।

  • अमेरिकामा कलाकारहरुको अधिवेशन सम्पन्न

    अमेरिकामा कलाकारहरुको अधिवेशन सम्पन्न

    पुष्कर बराल, न्यूयोर्क

    उत्तर अमेरिकामा रहेका नेपाली कलाकारहरुको संस्था नेपाली अमेरिकन कलाकार संघको साधारण सभा तथा ५ औं महाधिवेशन सम्पन्न भएको छ।
    न्युयोर्कको क्विन्समा सम्पन भएको महधिवेशनले आगामी नयॉ कार्यसमिति अनेक बाधा बिरोध र अड्चनका बाबजुत पनि निर्विरोध चयन गरेको छ । नयाँ अध्यक्षमा लोक गायिका निसा सुनार निर्विरोध निर्वाचित भएका छन। हिजो न्यूयोर्कमा सम्पन्न संघको अधिबशनबाट निसा सुनार अध्यक्षमा सर्वसम्मत रुपमा अध्यक्ष चयन भएकी हुन् | यो कार्य समितिको कार्यकाल २ बर्षको रहने समितिले जनाएको छ ।
    १७ सदसिय कार्यसमितीमा प्रमुख संरक्षक अभए ढुङ्गेल सहित सम्पूर्ण पदमा सर्वसम्मत नेतृत्व चयन भएका छन् । ३ जनाको निर्वाचन समिति रहेको निर्वाचन समितिमा समाजसेवी जिपिके फ़ाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरे , तमु परिवारका अध्यक्ष मनिता गुरुङ, समाजसेवी बिष्णु राना मगर थिए । निर्वाचन प्रमुख सोमनाथ घिमिरेले सम्पूर्ण पदको लागी उमेद्वार दर्ता गर्न ३० मिनेट र उमेद्वारी दिन र फिर्ता गर्न दिईएको समय ५ मिनेटको समयमा सबै पदहरुको लागी पद सँख्या बराबर मात्रा उमेद्वारी परेको हुँदा उमेद्वारी दिनुहुने सबैजना निर्विरोध तथा स-सम्मातित रुपमा विजयी हुनुभएको घोषणा गर्नु भएको थियो ।

    कार्यक्रमका प्रमुख अथिति न्युयोर्कका कार्यवहाक महाबाणिज्यदुत बिष्णु प्रसाद गौतम तथा बिशेष अथिति फिप्नाका अध्यक्ष लोक चेम्जोङ, पर्यवेक्षक केशबराम राईको संम्योजकत्वमा समाजसेवी नवराज केसी गोमा योन्जन, सुमन टि लिम्बु रहेका थिए । सोहि असररमा नवनिर्वाचित पधादिकारीहरुलाई आ-आफ्नो पदको सपथग्रहण प्रमुख निर्वाचन आयुक्तद्वारा गरिएको थियो ।

    नव निर्वाचित कार्यसमितिमा अध्यक्ष-निसा सुनार, वरिष्ठ उपाध्यक्ष-बसन्ती राई , उपाध्यक्ष-बिमल डॉगी, उपाध्यक्ष-बिक्की पुलामी मगर, उपाध्यक्ष राजेन्द्र राई, उपाध्यक्ष ईत्ना कार्की, महासचिव-संगीता थापा मगर, सचिव-मधुर गिरी, कोषाध्यक्षमा पुष्कर बराल सह-कोषाध्यक्ष-पुजा न्यौपाने, र समितिको बोर्ड सदस्यहरुमा नविन श्रेष्ठ, चिनिया लाल श्रेष्ठ, बुद्धिमान घिसिङ, पुष्पा बस्नेत, माया राई रहेका छन् ।

    अधिवेशन कार्यक्रममा न्युयोर्कका समाजसेवि साहित्यकार पत्रकार कलाकर्मी र बिभिन्न संघसंस्थाका प्रतिनिघिहरुको उपस्थिति थियो ।
    नेपाली अमेरिकी कालाकार सँघले अहिलेको जस्तो बिसम परिस्थितिमा पनि सबैलाई उदाहरण प्रस्तुत गर्दै हामी नेपाली भनेको कर्ममा विश्वास गर्ने फ़ुटेर होईन जुटेर अघि बढ्नु पर्दछ भन्दै हामीले प्रजातांत्रिक पद्धतिबाट कर्मको विश्वास गर्दै न कुनै भोटिङ् न कुनै बिबाद न कुनै गुट उप-गुट, बिना नयाँ कार्यसमिति गठन गरेकोमा यसले सबैमा एउटा गतिलो पाठ सिक्न मद्दत गर्नेछ र आजको हाम्रो आवश्यकता पनि हो भन्ने कलाकारहरुले संदेश दिएका छन् ।

  • दार्चुला घटना र भारतीय हेलिकोप्टर नेपालमा उडेको घटनामा सरकारले भारतलाई पठायो कूटनीतिक नोट

    दार्चुला घटना र भारतीय हेलिकोप्टर नेपालमा उडेको घटनामा सरकारले भारतलाई पठायो कूटनीतिक नोट

    काठमाडौं । दार्चुलामा भारतीय सुरक्षा बलको उपस्थितिमा तुइन काटिँदा नेपाली युवा महाकाली नदिमा वेपत्ता भएको र नेपाली आकासमा बीना अनुमति भारतीय हेलिकोप्टर उडेको सम्बन्धमा सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ । परराष्ट्र मन्त्रालयको उच्च स्रोतलाई उदृत गर्दै नेपाली संचारमाध्यमले यसको पुष्टी गरेका छन् । दार्चुला तुइन घटना र नेपाली आकाशमा अनाधिकृत रुपमा हेलिकोप्टर उडाइएकोबारे भारत सरकारलाई छुट्टाछुट्टै कूटनीतिक नोट पठाइएको हो ।

    ती घटनामा सरकारले भारतको आलोचना गर्न नसकेको भन्दै सरकारले गाली खाइरहेको छ । साउन १५ मा महाकाली नदी तर्ने क्रममा भारतीय सशस्त्र सुरक्षा (एसएसबी)ले तुइन चुँडाउँदा दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका हुन् । उनी अझै भेटिएका छैनन् ।

  • विश्व शान्ति, सद्भाव र समानताका लागि न्यूयोर्कमा शान्तिपूर्ण प्रदर्शन हुने

    विश्व शान्ति, सद्भाव र समानताका लागि न्यूयोर्कमा शान्तिपूर्ण प्रदर्शन हुने

    न्युयोर्क

    सोलिड्यारिटी फोर डा. केसी अलाइन्सले न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको कार्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन गर्ने भएको छ ।
    आयोजकका अनुसार कार्यक्रम यही २० र २१ सेप्टेम्बर २०२१ का दिन बिहान ९ बजेदेखि ४ बजेसम्म विश्व शान्ति, सद्भाव र समानताका लागि गर्न लागिएको हो ।

    कार्यक्रमलाई लक्षित गर्दै सत्याग्रह अभियन्ता डा. गोविन्द केसीले सबै समक्ष अपील गरेका छन् । अनुरोधको पूर्णपाठ;

    “हामी एक दशकदेखि नेपालको स्वास्थ्य तथा चिकित्सा शिक्षाको सुधार र सुशासनका लागि लडिरहेको विदितै छ । हाम्रो सत्याग्रह आन्दोलनमा नागरिक समाजका सदस्यहरुको पनि सहयोग र सद्भाव रहदैं आएको छ । सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा न्यायोचित पहुँच सुनिश्चित गर्नु नै हाम्रो आन्दोलनको उदेश्य रहेको छ । नेपालका पछिल्ला सरकारहरुबाट भएका अनेक अवरोध र धोखापूर्ण कार्यका बावजुद पनि हाम्रो सत्याग्रह मार्फत स्वास्थ्य तथा शिक्षा क्षेत्रहरुमा केही महत्वपूर्ण उपलब्धिहरु हासिल गर्न देश सक्षम भएको कुरा म निवेदन गर्न चाहन्छु ।

    यसै क्रममा १९ औं पटकमा २५५ दिन अनशन आन्दोलनका रूपमा सत्याग्रह गर्नु परेको थियो । नेपालको समग्र स्वास्थ्य शिक्षा तथा सेवाको सुधारका अभियानलाई निरन्तरता दिदैं विगत दुई दशकदेखि विश्वका अन्य धेरै देशहरुमा भएका प्राकृतिक र मानव निर्मित प्रकोपका बेला मानवीय राहत कार्यमा पनि म निरन्तर संलग्न रहदै आएको कुरा पनि म स्मरण गराउन चाहन्छु ।

    यसै क्रममा युद्धग्रस्त यमनका जनताहरुलाई तीन महिना सेवा दिएर भर्खरै फर्किएको छु । म्यानमारबाट विस्तापित रोहिंग्या शरणार्थीहरुलाई बंगलादेशमा सन् २०१९-२०२० मा सेवा गर्ने अवसर पनि पाएँ । सन् २०१९ अफ्रिकाको मोजाम्विकमा आएको साइक्लोन इदाइका पीडित जनतालाई एक महिना राहत-सेवा पुर्याउने अवसर पाएँ । भारतको बद्रीकेदार बाढीपहिरो (सन् २०१३) पीडितको सेवामा रहँदा मृत्युको मुखबाट बच्न सफल भएँ । अन्य मानवीय कार्यमा फिलिपिन्सको टाक्लोबानको टाइफुन हैयान (सन् २०१३), हेटीको विनाशकारी भूकम्प (सन् २०१०) भारत गुजरातको महाभूकम्प (सन् २००१), पाकिस्तान नियन्त्रित कास्मिरको महाभूकम्प (सन् २००५), वर्माको आँधिबेरी साइक्लोन नर्गिस (सन् २००८) र पाकिस्तानको बाढीको विपद् (सन् २०११)का बेला पनि मानवसेवा-धर्म गर्नु मेरो कर्तव्य ठाने।
    यो पनि स्मरण रहोस्, नेपाल आफैंले एक दशक लामो सशस्त्र संघर्षको सामना गर्नुपरेको थियो । जसमा हजारौं मानिस मारिए, धेरै घाइते र लाखौं विस्थापित भए । त्यो दुर्दान्त सयममा पनि घाइतेहरुको उपचारमा म संलग्न भएको कुरा पनि विदितै छ भन्ने लागेको छ ।

    विश्वमा घटेका कहालिलाग्दा त्रादस घटनाको प्रत्यक्षदर्शी बन्नुले मानविय द्वन्दका कुरुपतासँगै दैवीय विनाश र त्यसबाट सृजित पीडा, निराशा र भयावहताको नजिकबाट अनुभव गर्ने मौका पाएँ । यस्तै बेलमा हामीले अनुपम मानवीय करुणा, माया र आशाको दीयो बाल्नु पर्छ भन्ने ठानेर देश–देशावर पुगेँ ।

    मैले नेपालका सुगममात्र हैन अनेक दूर्गम ठाउमा बसोवास गर्ने निसहाय जनताको सेवाका लागि पटकपटक भ्रमण गरेँ । राहत-सेवा र अध्ययन भ्रमणका क्रममा संसारमा भएको वातावरणीय विनाश र जलवायु संकटको प्रभावलाई पनि नजिकबाट नियाल्ने मौका पाएँ । संसारका सम्पूर्ण मावन तथा पशुप्राणीका लागि विनाशक बन्दै गएको जलवायु विनाशको यो विश्वव्यापी समस्याको सबैभन्दा बढी कष्ठ गरीवीमा बाँच्न वाध्य मानिसले नै भोग्नु परेको अनुभव गरेँ ।

    म यहाँ अर्को एउटा कुरा पनि ध्यानाकृष्ट गराउँन चाहन्छु- म आफैं पनि ‘कोभिड निमोनिया’ संक्रमित भएको थिएँ । आज म जस्तै धेरै डाक्टर, स्वास्थकर्मी र सर्वसाधरण मृत्युवरण गर्न वाध्य भए । यसको प्रमुख कारण खोपको अभाव नै थियो । अहिले पनि विकासशील देशहरुमा ९०% भन्दा बढी मानिस अझै पनि कोभिड खोपको पहुँचबाट वञ्चित छन् । यो निराशाजक अवस्थामा विकसित देशहरु आफ्ना नागरिकका लागी ‘बूस्टर जाब’ तिर लागेका छन् । खोप वितरण प्रणालीको यो असमानतालाई अन्याय मात्र हैन रंगभेदको रूपमा पनि तुलना गर्न सकिन्छ ।

    आज संसार एक ग्लोबल गाउँमा परिणत भएको छ । संसारको एक कुनामा जे भए पनि त्यसले हरेक कुनामा सबैलाई प्रभावित गर्छ । यो कुरा पनि कोभिड–१९ले पनि प्रमाणित गरेका छ तर मानवीय र प्राकृतिक साधन-स्रोतको वितरणमा निराशा लाग्दो असमानता छ ।

    आज विश्वभरिका मानिसहरु द्वन्दको अन्त्य, जलवायु कार्य, जलवायु न्याय, स्वास्थ्य र सबैका लागी शिक्षा तथा कोभिड खोपका लागि वकालत गर्दै आएका छन् । मलाई विश्वास छ- हामी सबैको सामूहिक प्रयासले मात्र मानवता र हाम्रो गृहग्रह पृथ्वीलाई बस्ने ठाउँको रूपमा बचाउन सकिन्छ ।

    आज हामीले देशव्यापीभन्दा माथि उठेर विश्वव्यापी नागरिकको हैसियतले केही गर्न जरुरी ठानेको छु । त्यसैले नेपालमा मात्र हैन यी मुद्दाहरु ग्लोबल फोरममा उठाउनु हाम्रो पनि दायित्व हो भन्ने लाग्छ ।

    अत: २१, सेप्टेम्बर २०२१ विश्व शान्ति दिवस हो । यसै समयमा संयुक्त राष्ट्र संघको महासभा पनि बस्दै छ । विश्वमा फैलिएको द्वन्द, पर्यावरणीय विनास, सबैका लागि स्वास्थ र शिक्षा तथा कोभिडको खोपका विषयमा विश्वको ध्यानाकर्षण गराउने उदेश्यले अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्र संघको मुख्यालय भवन नजिकैको क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गरिने भएको हुँदा सक्रियतापूर्वक भाग लिन म अमेरिकामा रहेका सम्पूर्ण नेपाली समुदायलाई संस्थागत तथा व्यक्तिगतरूपमा हार्दिक अपील गर्छु ।

    यो प्रदर्शनी एउटा नेपालीका तर्फबाट नभई संसारभर छरिएर रहेका सबै नेपालीको भावनात्मक प्रदर्शनी पनि हुने विश्वास मैले लिएको छु ।
    प्रदर्शनीका क्रममा हामी संयुक्त राष्ट्रको नियमका साथै कोभिड-१९ का लागि सिडिसी, अमेरिकाका प्रोटोकलको कडाईसंग पालन गर्नेछौं ।
    प्रदर्शनका विषयहरुः

    • जलवायु कार्य र जलवायु न्याय
    • सबैका लागि कोभिड खोप सहित सबैका लागि स्वास्थ्य र शिक्षा
    • यमन, सोमालिया, दक्षिण सुडान, इथियोपिया, सिरिया, र मध्य अफ्रिकी गणतन्त्र लगायत युद्धग्रस्त देशहरुमा स्थायी शान्ति स्थापना गर्न सबै देशले भूमिका खेल्नु पर्ने ।
    • म्यानमार, अफगानिस्तान, यमन इथियोपिया सोमालिया दक्षिण सुडान लगायत अन्य देशका शरणार्थीहरुलाई न्यायिक र मानवीय सहायता गर्नु पर्ने ।
      अन्त्यमा, विगतका सत्याग्रह तथा आन्दोलनमा भएको यहाँहरूको सक्रिय सहभागित, विश्वास, समर्थन र एकताका लागि सबैप्रति सादर धन्यवाद भन्न चाहन्छु”।

    सम्पर्कका लागि;
    सोलिड्यारिटी फोर डा. केसी अलाइन्स
    डा. गोविन्द केसी
    Ph: 984-009-6711
    Email: [email protected]
    सम्पर्क- शिव प्रकाश (अमेरिका)
    Ph: 781-325-2242
    Email: [email protected]

  • अमेरिका जाने डीभी भर्न तीन युवाले गरे नक्कली प्रमाणपत्र पेश

    अमेरिका जाने डीभी भर्न तीन युवाले गरे नक्कली प्रमाणपत्र पेश

    काठमाडौं । अमेरिकाको यूएस डाइभर्सिटी भिसा (डीभी) भर्न तीन युवाले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोप लागेको छ । उनीहरु प्रहरीको फन्दामा परेका छन् । डिभीमा नाम निकालेका उनीहरुले नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेको आरोप लागेसँगै प्रहरीले पक्राउ गरेको हो । भिषा प्रक्रिया शुरु भएपछि शैक्षिक प्रमाणपत्रमा शंका लागेसँगै नेपालस्थित अमेरिकी दूतावासले प्रहरीलाई अनुसन्धान गर्न पत्राचार गरेको थियो ।

    उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका अनुसार डीभी परे पनि नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेको आरोपमा पाल्पाका सुमित रत्न गुभाजु, मोरङका अमरबहादुर कटुवाल र नवलपरासीका नरेश केसी पक्राउ परेका हुन् । उनीहरुलाई शैक्षिक प्रमाण पत्र बनाउन सहयोग गर्ने लक्ष्मण पाठक, दिप विष्ट र सोहिली शाही समेत प्रहरीको फन्दामा परेका छन् । तीनै जनालाई सन् २०२० मा डिभी परेको हो ।

  • गैरआवासीय नेपाली संघको निर्वाचनबारे परराष्ट्र मन्त्रालयको प्रश्न

    गैरआवासीय नेपाली संघको निर्वाचनबारे परराष्ट्र मन्त्रालयको प्रश्न

    काठमाडौं । आसन्न गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन प्रक्रियाप्रति परराष्ट्र मन्त्रालयले प्रश्न उठाएको छ । प्रश्न उठाउँदै मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई पत्र समेत काटेको छ । चुनावी प्रक्रियामा प्रविधिको दुरुपयोग गरिएको, राष्ट्रिय समन्वय परिषद्को अधिवेशन तोकिएको समय भन्दा ढिला गरेको, अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिको विवरण १५ अगस्टसम्म अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिवालयमा पेश गर्नुपर्नेमा सो मिति भन्दा पछि त्यस्तो कार्य भएको सहितका विषयमा प्रश्न उठाउँदै मन्त्रालयले एनआरएनएलाई पत्र काटेको हो ।

    परराष्ट्र मन्त्रालयले पठाएको पत्रमा निर्वाचनको निष्पक्षतामाथि नै प्रश्न उठ्ने गरी गुनासा आएको उल्लेख छ । यी सन्दर्भमा उठेका विषयमा सत्यतथ्य जानकारी गराउन ५ दिनको समय सीमा समेत दिइएको छ । गैरआवासीय नेपाली संघ जापानको चुनावबारे समेत सरकारले प्रश्न उठाएको छ । यो चूनावको वैधतामाथि प्रश्न उठेको हो । संघको निर्वाचन आगामी कात्तिकमा नेपालमा हुँदैछ ।

  • नेपालका बाल अस्पताललाई अमेरिकाबाट सहयोग

    नेपालका बाल अस्पताललाई अमेरिकाबाट सहयोग

    सुरेश चाम्लिङ्ग
    न्युहेम्प्शायर

    नेपालमा गैर नाफामुलक संस्थाको रूपमा निर्माण भईरहेको “काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ” (KIOCH) लाई युनाईटेड किराँत राई अर्गनाईजेसन अफ अमेरिका (UKROA) न्यु इंग्ल्याण्ड च्याप्टरले आर्थिक सहयोग गरेको छ।
    मुटु रोग बिशेषज्ञ डा. भगवान कोईरालाको अध्यक्षतामा नेपालका बालवालिकाहरुलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा उपलव्ध गराउने पवित्र उदेश्यका साथ यो अस्पताल निर्माण भै रहेको छ।


    हालै न्यु हेम्प्शायर नेपाली कम्युनिटीद्वारा आयोजना गरिएको भर्च्युएल कार्यक्रममा डा. कोईरालाले हाल नेपालमा एक मात्र सरकारी बाल अस्पताल भएको र त्यो नेपाल भरीको बाल बालीकाको उपचारको लागी पर्याप्त नभएको हुदा हाल काठमाडौँ र झापाको दमकमा बाल अस्पताल निर्माण भइ रहेको र यसलाई ७ वटै प्रदेशमा बिस्तार गरीने बताउनु भयो। उहाँले बिभिन्न आंकडा प्रस्तुत गर्नु हुदै अहिले बाल मृत्यु दरको संख्या ठुलो रहेको र यो अस्पतालपछि यो संख्या घट्ने कुरा बताउनु भयो। उहाँको यो भर्च्युएल मन्तब्यबाट प्रभावित भई अर्गनाइजेसनले सहयोग संकलन गरेको कुरा अर्गनाइजेसनका महासचिव शेखर राईले बताउनु भयो। शेखर राईका अनुसार बिभिन्न १४ जना व्यक्ति हरुबाट अमेरिकी डलर $६९०७ (नेपाली रू ८ लाख १७ हजार) संकलन गरिएको र यो रकम सिधै काठमाण्डौमा प्राप्त हुनेगरी हस्तान्तरण गरिएको थियो।

    अर्गनाइजेसनका च्याप्टर अध्यक्ष मुक्ति नारायण राई र एन आर एन अमेरिकाका भू.पू. अध्यक्ष शिव कु. राईबाट संयुक्त रुपमा न्यु हेम्प्शायार नेपाली कम्युनिटीका पुर्व अध्यक्ष तथा उक्त बाल अस्पताल सम्बन्धि सरोकार राख्नु हुने समाजसेवी मीन गौतमलाई डमी चेक हस्तान्तरण गरिएको थियो। सोही समारोहमा हालसालै साँस्कृतिक परम्परा अनुसार प्रणय बन्धनमा बॉधिनु भएका अतिथी लुमन के.सी र रेखा गुरुङलाई सुखी र सफल दाम्पत्य जीवनको निम्ति अर्गनाइजेसनले बधाई तथा शुभकामना दिएको थियो।
    स्मरण रहोस, यस च्याप्टरका पूर्व कोषाध्यक्ष धनकुटा जिल्ला चुङ्गमांग घर भइ हाल ब्यारिंगटन न्युहेम्पशायर बस्नु हुने राजन कुथुमी राईले आफ्नो स्वर्गीय धर्मपत्नी अरूणा कुथुमी राईको स्मृतिमा रु. २५ लाख यसअघि नै यस बाल अस्पताललाई सहयोग गरि सक्नु भएको छ।

  • अफगानिस्तानबाट ८२८ नेपालीको उद्धार, ३४ नेपाली उद्धारको पर्खाइमा

    अफगानिस्तानबाट ८२८ नेपालीको उद्धार, ३४ नेपाली उद्धारको पर्खाइमा

    काठमाडौं । अफगानिस्तानबाट अमेरिकी सैनिक पूर्ण रुपमा फिर्ता हुनु अघिसम्म ८२८ जना नेपाली घर फर्किएका छन् । सो मुलुकमा कति नेपाली रहेको थिए यकिन तथ्यांक सरकारसँग थिएन । सोहीकारण सरकारले सम्पर्कमा आउन भनेको थियो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अझै ३४ जना नेपाली अफगानिस्तानमै छन् । उनीहरु नेपालमा उद्धार होस भन्ने पखाईमा छन् । बीबीसीका अनुसार अमेरिकी सेना पूर्ण रूपमा फिर्ता भए पनि त्यहाँ रहेका नेपालीको उद्धारको काम भने निरन्तर भइरहने छ ।

    अमेरिकासहित विभिन्न देशले अघि बढाएको उद्धार कार्य बन्द भपछि भने उनीहरु कुन माध्यमबाट घर फर्कन सक्छन् भन्ने अन्यौल कायम छ । अहिले काबुल विमानस्थललाई तालिबानले नियन्त्रणमा लिइसकेको छ । बीबीसीका अनुसार अफगानिस्तानमा रहेका नेपालीहरूको उद्धारमा द्रुत प्रतिकार्य टोली गठन गरी दिल्लीबाट नेपाली दूतावासले सघाइरहेको छ ।

    सम्पर्कमा आएका व्यक्तिहरूमध्ये अधिकांशको भने उद्धार भएको बताइएको छ । हालसम्म विभिन्न देश, कम्पनी र संयुक्त राष्ट्रसङ्घीय निकायहरूको सहयोग लिएर उद्धार कार्य अघि बढाइएको थियो । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यलाई उदृत गर्दै बीबीसीले जनाए अनुसार झन्डै एक हजार नेपाली अफगानिस्तानबाट बाहरिएका छन् ।

  • काठमाडौं-कोलम्बो हवाई संजालमा जोडिए, आजबाट नियमित उडान

    काठमाडौं-कोलम्बो हवाई संजालमा जोडिए, आजबाट नियमित उडान

    काठमाडौं । काठमाडौं र श्रीलंकाको राजधानी कोलम्बो हवाई संजालमा जोडिएका छन् । श्रीलङ्कन एयरलाइन्सले आजबाट काठमाडौँ–कोलम्बो रुटमा नियमित उडान शुरु गरेको छ । एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति दिइएकोछ । श्रीलङ्कन एयरले गृष्मकालीन समयका लागि अनुमति लिएको छ । मंगलबार र शनिबार गरि सातामा दुई उडान हुन लागेको हो । यो कम्पनी निर्माणाधिन गौतमबुद्ध विमानस्थललाई लक्षित गरि नेपाल आएको हो ।

    श्रीलंकमा बौद्धमार्गीको बाहुल्य बढी छ । नेपालमा जेनिथ ट्राभल प्रालिले यो कम्पनीको जीएसए लिएको छ । प्रारम्भमा वैदेशिक रोजगारीमा जाने यात्रुलाई लक्षित गर्ने र अवस्था सामान्य बनेपछि पर्यटन प्रवद्र्धनमा लक्षित हुने कम्पनीको योजना छ । अहिले यो एयरलाइन्सले साउदी अरेबिया, कतारको दोहा, माल्दिभ्स र दुबई उडान गर्छ ।

  • विदेशबाट एक वर्षमा आयो ९ खर्ब ६१ अर्ब रेमिट्यान्स

    विदेशबाट एक वर्षमा आयो ९ खर्ब ६१ अर्ब रेमिट्यान्स

    काठमाडौं । विदेशमा वैदेशिक रोजगारीमा गएका नेपालीले एक वर्षको अवधिमा साढे ९ खर्ब रुपैयाँ रेमिट्यान्स पठाएका छन् । गत आर्थिक वर्षमा नेपाल भित्रिने विप्रेषण रकम (रेमिट्यान्स) अघिल्लो वर्षको तुलनामा ९ दशमलव ८ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार यस आवमा ९ खर्ब ६१ अर्ब पाँच करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

    कोरोना महामारीका कारण विदेशमा धेरै नेपालीको रोजगारी गुम्ने र उनीहरूले पठाउने रेमिट्यान्स घट्ने अनुमानका बीच पनि नौ खर्ब ६१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । अमेरिकी डलरमा पनि रेमिट्यान्स ८ दशमलव २ प्रतिशतले बढेर ९ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।

    आर्थिक वर्ष २०७७\०७८ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ६२ दशमलव ८ प्रतिशतले घटेको छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या गत वर्ष ४६ दशमलव ८ प्रतिशतले घटेको छ ।

  • अफगानिस्तानबाट फर्किए कुल ७७० नेपाली

    अफगानिस्तानबाट फर्किए कुल ७७० नेपाली

    काठमाडौं । अफगानिस्तानबाट अहिलेसम्म कुल ७७० जना नेपाली घर फर्किएका छन् । सो मुलुकलाई विद्रोहीले कब्जा गरेसँगै साविकको सत्ताले देश छाडेर भागेको छ । सोहीकारण त्यहाँ असुरक्षित बनेको छ । नेपालले विभिन्न मुलुकको सहयोगमा मंगलबार बेलुकीसम्म ७७० नेपालीलाई अफगानिस्तानबाट उद्धार गरेर काठमाडौं ल्याएको परराष्ट्र मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मंगलबार जोर्डन एभिएसनको उडानबाट १०३ जना तथा कतार एयरबाट ९ जना समेत गरि ११२ स्वदेश फर्किए ।

    मन्त्रालयले अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लन्डन र नयाँ दिल्लीमा रहेका नेपालीलाई काठमाडौं ल्याउन निरन्तर समन्वय र सहजीकरण गरिरहेको उल्लेख गरेको छ । मन्त्रालयका अनुसार काबुलमा नागरिक उड्‌डयन सेवाको जहाजको आगमन अवतरण हालसम्म खुला भइसकेको छैन । सोहीकारण नेपालले आफ्नै विमान पठाएर त्यहाँ रहेका नेपालीको उद्धार गर्न सक्दैन । अब अफगानिस्तानमा कति नेपाली छन् भन्ने तथ्यांक भने यकिन भइसकेको छैन ।

  • शनिबार एकै पटक मलेसियाबाट ल्याइयो २४ नेपालीको शव र अस्तु

    शनिबार एकै पटक मलेसियाबाट ल्याइयो २४ नेपालीको शव र अस्तु

    काठमाडौं । शनिबार मलेसियाबाट एकै उडानमा २४ जना नेपालीको शव र अस्तु ल्याइएको छ । वैदेशिक रोजगारीमा जाँदा विभिन्न कारणले ज्यान गुमाएका नेपालीको शव एकै पटक नेपाल ल्याइएको हो । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट ती शव नेपाल ल्याइएको हो । वैदेशिक रोजगार बोर्डले यी शव नेपाल ल्याउन भूमिका खेलेको हो ।

    सचिवालयका अनुसार मलेसियाबाट ९ वटा शव र १५ वटा अस्थु गरी २४ जनाको शव नेपाल ल्याइएको हो । बोर्डका अनुसार कोभिडपछि मलेसियामा नियमित उडान नभएका कारण रोकिएका शव एकैपटक सङ्कलन गरेर ल्याउने गरिएको छ । कोभिडका कारण मृत्यु हुनेको अस्थुमात्रै ल्याइने र अन्य कारणले मृत्यु भएका श्रमिकको शव नै ल्याइने गरिएको छ ।

    विमानस्थल आइपुगेका नौवटा शव शनिबारै मृतकको घरसम्म पठाइएको छ । विदेशबाट आएका शवको बोर्डले निःशुल्क घरसम्म पु¥याउने काम गर्दै आएको छ । शवसँगै आएका अस्थु भने सम्बन्धित मृतकका आफन्तले विमानस्थलसम्म आएर लिनुपर्ने व्यवस्था छ । पछिल्लो पटक कोभिडका कारण उडान नियमित नहुँदा विदेशमा सङ्कलन भएका शव १५ देखि महिना दिनको बीचमा एकैपटक ल्याउने गरिएको छ ।

    वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७, ०७८ मा मात्र एक हजार २४२ जनाले ज्यान गुमाएका छन् । विदेशमा कारण थाहा नभएको, प्राकृतिक, अन्य, अनुसन्धान भइरहेकोजस्तो बाट मृत्यु भएको विवरण आउँछ । यसमा खासगरी हृदयाघात, आत्महत्या, सडक दुर्घटना, बिरामी, कार्यस्थल दुर्घटनाबाट नेपालीको मृत्यु हुने गरेको छ ।

  • अफगानिस्तानबाट फर्कने नेपालीको संख्या ५०४ पुग्यो

    अफगानिस्तानबाट फर्कने नेपालीको संख्या ५०४ पुग्यो

    काठमाडौं । अफगानिस्तानबाट नेपाल फर्कने नागरिकको संख्या ५०४ पुगेको छ । परराष्ट्र मन्त्रालयको तथ्यांक अनुसार शनिबार टर्किस एयरको जहाजमा २६ र जजिरा एयरको जहाजमा थप ९ जना गरि कुल ३५ जना नेपाली घर आएका छन् । कन्सुलर सेवा विभागको वेव पोर्टलमा शनिबार साँझसम्म ३ सय भन्दा बढी नेपालीले आफ्नो विवरण दर्ता गरेको तथ्यांक छ ।

    उद्धारको लागि सूचीकृत भएकामध्ये नाम र राहदानी नम्बर दोहोरिएको, एकै जनाको धेरै ठाउँबाट विवरण भरिएको र उद्दार भई सुरक्षित गन्तव्यसम्म पुगिसकेकाहरुको विवरण रुजु गरी बाँकी व्यक्तिहरूको उद्धार गरिने भएको छ । त्यसका लागि उद्धार उडान गरिरहेका देशहरुसँग समन्वय भइरहेको मन्त्रालयले जानकारी गराएको छ ।

    अफगानिस्तानमा विद्रोही समूह तालिवानले कब्जा गरेपछि विदेशीहरु धमाधम स्वदेश फर्किरहेका छन् । सोहीक्रममा नेपालीको समेत उद्धार भइरहेको छ । नेपालीलाई उनीहरु कार्यरत रहेको निकायले नै यूएई, कतारसहितका मुलुकमा ल्याउने गरेको छ । त्यहाँबाट उनीहरु जहाजबाट काठमाडौं आइरहेका छन् ।

  • गत वर्ष चीनबाट विद्यार्थी ल्याउँदा एकै उडानमा १३ करोड २८ लाख खर्च

    गत वर्ष चीनबाट विद्यार्थी ल्याउँदा एकै उडानमा १३ करोड २८ लाख खर्च

    काठमाडौं । गत वर्ष कोरोना भाइरसको उदगमस्थल चीनको बुहानबाट नेपाली विद्यार्थीलाई घर फिर्ता गराउँदा एकै उडानमा १३ करोड २८ लाख खर्च भएको पाइएको छ । यो उडान सरकारले निःशुल्क गरेको थियो । नेपाली नागरिकलाई उद्धार गरि काठमाडौं ल्याउँदा प्रतिव्यक्ति ७ लाख १० हजार रुपैयाँ खर्च भएको पाइएको हो । महालेखा परीक्षकको ५८ औं प्रतिवेदनले यस्तो हिसाव देखाएको हो । चीनको वुहानबाट १ सय ८७ नेपाली नागरिकलाई उद्धार गरिएको थियो । यस क्रममा नेपाल एयरलाइन्सको जहाज प्रयोग गरिएको थियो ।

    यो उडानबाट आएकालाई २०७६ फागुन ४ देखि २० सम्म १७ दिन सेनाले क्वारेन्टाइनमा राखेको थियो । सो क्रममा ५५ लाख खानामा र औषधि खरिदमा ६६ लाख ७१ हजार खर्च भएको हिसाव महालेखाको प्रतिवेदनमा देखिएको छ । क्वारेन्टाइन निर्माण, निर्मित क्वारेन्टाइनका लागि आवश्यक सामग्री खरिद, इन्टरनेट, बेड खरिद तथा निर्माणलगायत सहरी विकास मन्त्रालयले ७ करोड ५६ लाख ९५ हजार खर्च गरेको थियो । हवाई उद्धार र स्थानीय यातायातबापत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ४ करोड ४९ लाख ७९ हजार खर्च गरेको छ ।

  • गैरआवासीय नेपाली संघको १० औं विश्व सम्मेलन उच्चस्तरीय आयोजक समिति गठन

    गैरआवासीय नेपाली संघको १० औं विश्व सम्मेलन उच्चस्तरीय आयोजक समिति गठन

    काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को दसौं विश्व सम्मेलनको प्रयोजनका लागि उच्चस्तरीय आयोजक समिति गठन गरिएको छ । परराष्ट्रमन्त्री अध्यक्ष रहेनगरी २० सदस्यीय उच्चस्तरीय आयोजक कमिटि गठन भएको मन्त्रालयले जनाएको छ । सम्मेलन कात्तिक ६–८ मा काठमाडौंमा हुँदैछ ।

    समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, परराष्ट्र सचिव, विभिन्न मन्त्रालयका सचिवहरू, नेपाल लगानी बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, गैर आवासीय नेपाली संघ लगायत अन्य सरोकारवाला निकायका उच्चस्तरीय प्रतिनिधि रहने छन् ।

    नेपाल सरकारले विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप, पुँजी, प्रविधि, सञ्जाल र पहुँचलाई नेपालको आर्थिक–सामाजिक विकासमा परिचालन गर्ने नीतिलाई उच्च प्राथमिकता दिएको समेत मन्त्रालयको भनाई छ । हरेक दुई वर्षको अन्तरालमा नेपालमा विश्व सम्मेलन हुने गर्छ ।

  • लण्डनमा गोर्खाले तोडे आमरण अनसन, बेलायत सरकार वार्ता गर्न तयार

    लण्डनमा गोर्खाले तोडे आमरण अनसन, बेलायत सरकार वार्ता गर्न तयार

    लण्डन । समान पेन्सनसहितका विभिन्न माग राखी आमरण अनसनमा बसेका भूतपूर्व गोर्खाले अनसन तोडेका छन्। लण्डनमा विगत १३ दिनदेखि उनीहरु आमरण अनसनमा थिए । त्यहाँको सरकारले गोखाका मागबारे छलफल गर्न तयार रहेको बताएपछि गोर्खाको आन्दोलन स्थगित भएको हो । गोर्खा सत्याग्रह संघर्ष समितिलेका आह्वानमा आन्दोलन जारी छ । समितिका अनुसार गोर्खाको मागबारे बेलायत सरकार नेपाल सरकारसँग वार्ता गर्न तयार भएको हो ।

    लन्डनस्थित नेपाली दूतावासले आगामी डिसेम्बर भित्र वार्ता प्रारम्भ गर्ने प्रतिवद्धतासहितको बेलायती रक्षा मन्त्रालयको पत्र प्राप्त भएको जानकारी गराएको थियो । डिसेम्बर भित्र भुपू गोर्खा संगठनका प्रतिनिधिसहित नेपाल सरकारमार्फत वार्ता प्रारम्भ गरिने बेलायत सरकारको प्रतिवद्धता छ । गोर्खा सत्याग्रह संघर्ष समितिका अभियन्ता ज्ञानराज राई, धन गुरूङ र पुष्प राना घलेले बेलायती प्रधानमन्त्रीको कार्यालयबाहिर आमरण अनसनमा बसेका थिए ।

  • अफगानिस्तानबाट कुल २८८ नेपाली नेपाल फर्किए

    अफगानिस्तानबाट कुल २८८ नेपाली नेपाल फर्किए

    काठमाडौं । वैदेशिक रोजगारीका लागि अफगानिस्तान पुगेका २८८ जना नेपाली नेपाल आएका छन् । यो तालिवानले सत्तामा पकड जमाएयता आएका नेपालीको संख्या हो । परराष्ट्र मन्त्रालयका अनुसार मित्रराष्ट्रहरुको निरन्तर प्रयास र समन्वयमा २८८ जना नेपालीलाई उद्धार गरेर काठमाडौं ल्याइएको हो । भदौ १ गते विहान ११८ जना र राति ८४ जना तथा भदौ २ गते विहान ६१ जना र अपराह्न २५ जना काठमाडौं आइपुगेका हुन् ।

    अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिक नेपाल फर्कने प्रकृयामा रहेको समेत परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ । उद्धार गरिएकाहरूलाई सामाखुशीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा राखि आवश्यक प्रक्रिया पुरा गरेर घर पठाउने व्यवस्था मिलाइएको छ । नेपाल आएपछिको व्यवस्थापन सेनाले गरिरहेको छ । मन्त्रालयको कन्सुलर सेवा विभागको वेब पोर्टलमा बुधबार साँझ ५ बजेसम्म २९६ जना नेपालीहरुले आफ्नो विवरण दर्ता गराएका छन् ।

    दर्ता भएकामध्ये १६ जना नेपाली नागरिकको उद्धार भई नेपाल आइसकेका छन् । अफगानिस्तानमा उद्धारको पर्खाइमा रहेका नेपालीहरूले काबुलमा रहेका सुरेश चन्द्र शर्मालाई ं९३७८७८४५९९४ नम्बरमा भाइबर वा ह्वाट्सएप मार्फत् सम्पर्क गर्न सक्नेछन् । साथै भाइबर, ह्वाट्सएप सुविधा सहितको मोबाइल नम्बरहरु ं९७७ ९७४९३२६४५८, ं९७७ ९७४९३२६४५९, ं९७७ ९८४१७९२७७४ र ं९१ ८९२९६०१९२५ मा विवरण टिपाउन पनि सक्ने छन् ।

  • काबुलबाट फर्किएका ११८ नेपाली काठमाडौं आए, अमेरिकी अधिकारीले गरे स्वागत

    काबुलबाट फर्किएका ११८ नेपाली काठमाडौं आए, अमेरिकी अधिकारीले गरे स्वागत

    काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी राजदूतावासमा सुरक्षा गार्डको रूपमा काम गरिरहेका ११८ जना नेपाली मंगलबार काठमाडौं फर्किएका छन् । उनीहरुलाई अमेरिकी सेनाको जहाजले काबुलबाट उद्धार गरेको थियो । उनीहरूलाई नेपाली सेनाले राजधानीको सामाखुसीस्थित एक आइसोलेशन केन्द्रमा लगेर राखेको छ ।

    अमेरिकी सेनाले उनीहरूलाई उद्धार गरेर काबुलबाट कुवेत पठाएको थियो । त्यहाँबाट उनीहरू जजिरा एयरवेजको जहाज चढेर नेपाल आइपुगेका हुन् । उनीहरुलाई अमेरिकी दूतावासका कर्मचारीले विमानस्थलमै स्वागत गरे । उद्धार गरिएका नेपाली एक दिनअघि कुवेत पुगेका थिए। उनीहरुको आवश्यक कागजपत्रको परीक्षण गरिने, कोरोनाभाइरसको एन्टिजन जाँच गरिने र प्रक्रिया पुर्‍याएर होम आइसोलेशनमा जाने मिल्नेगरी सेनाले व्यवस्थापन मिलाउने भएको छ ।

    नेपालस्थित अमेरिकी दूतावासले सामाजिक संजालमा लेखेको छ, ‘काबुलस्थित अमेरिकी मिशनमा कार्यरत हाम्रा साथीहरू तथा गठबन्धनका सहकर्मीहरूसँग काम गर्नुभएका नेपालीहरूमध्ये पहिलो उडानमार्फत् आउनु हुनेलाई सकुशल काठमाण्डूमा स्वागत गर्न पाउनु हाम्रो लागि सम्मानको विषय हो, हामी यहाँहरूको सुरक्षा लगायतको सेवाको लागि अत्यन्तै कृतज्ञ छौँ। धेरै धन्यवाद।’

  • अफगानिस्तानबाट ३३० नेपालीको उद्धार, दोहामा अवतरण

    अफगानिस्तानबाट ३३० नेपालीको उद्धार, दोहामा अवतरण

    काठमाडौं । अफगानिस्तानको राजधानी काबुलबाट ३३० जना नेपालीको उद्धार भएको छ । नेपालबाट अफगानिस्तानमा नेपाली श्रमिक पठाउने दुई वटा म्यानपावर कम्पनीले ३३० जना नेपालीको उद्धार गरिएको जानकारी सरकारलाई दिएका छन् । देशिक रोजगार विभागमा यस्तो जानकारी प्राप्त भएको हो । नेपाली काम गरिरहेको विदेशी नियोग र कार्यालयकै समन्वयमा नेपालीको उद्धार भएको हो । उनीहरुले कतारको राजधानी दोहामा सुरक्षित अवतरण भएका छन् ।

    त्यहाँबाट प्रक्रिया पुरा गरि उनीहरु नेपाल आउन सक्ने छन् । काबुलस्थित विमानस्थलमा अझै साढे ४ सय हाराहारीको संख्यामा नेपाली नागरिक भने उद्धारको पखाईमा रहेका छन् । सरकारले आइतबार सार्वजनिक गरेको सम्पर्क रजिष्ट्रेसन फारम भरेर पोर्ट र विभिन्न सम्पर्क नम्बरबाट सोमबार साँझसम्म १३४ जनाले आफ्नो नाम टिाएका छन् ।

    अब सरकारले उनीहरुको समेत उद्धारको बन्दोबस्त गर्ने भएको छ । काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगहरु तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुमा कार्यरत नेपालीहरुलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन नेपाल सरकारले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्ट्रसंघको कार्यालयमा औपचारिक पत्राचारसमेत गरिसकेको छ ।

  • अमेरिकाको बोष्टनमा सभ्य तीज मनाउन भव्य तयारी

    अमेरिकाको बोष्टनमा सभ्य तीज मनाउन भव्य तयारी

    सुपेन्द्र बस्नेत, बोष्टन

    हिन्दुहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा अमेरिकामा पनि चर्चा, चहलपहल र तयारी सुरु भैसकेको छ।जसबाट अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोष्टन पनि अछुतो रहन सकेन। गत वर्ष कोरोना कहरका कारण परिवार र कोठामा सिमित भएको तीज,यस वर्ष भने अवस्था केही सुध्रिएकाले सामूहिक रुपमा मनाइने निर्णय भएसंगै तयारी थालिएको हो।यसका लागि बोस्टन स्थित नेपाली समुदायिक संस्थाहरु ग्रेटर बोस्टन नेपाली समुदाय,गैर आवासीय नेपाली संघ र हिमालय लायन्स क्लवको संयुक्त प्रयासमा सभ्य तीज हर्षोल्लासका साथ मनाउन भव्य तयारी थालिएको हो।’बोस्टन तीज महोत्सव-२०२१’ नाम दिइएको उक्त कार्यक्रम,वाटर टाउन सिटीको सेन्ट जेम्स अमेरिकन एपोष्टोलिक भवनमा यही आउदो सेप्टेम्बर ४ तारिख (शनिवार)का दिन संयुक्त रुपमा मनाउने गरी आवश्यक तयारी थालिएको आयोजकले जनाएको छ।आयोजकका अनुसार तीजको मूल मर्मलाई आत्मसात् गर्दै धार्मिक,साँस्कृतिक,परम्परा र नेपाली पहिचानको संरक्षण तथा संवर्धन गर्नु र हर्षोल्लास मनाउनु नै महोत्सवको मुख्य उद्देश्य रहेको छ।
    महोत्सवमा नेपालीपन झल्किने तीज लक्षित सांगीतिक कार्यक्रमका साथै विभिन्न नेपाली मिष्ठान्न परिकारहरु समेटेर दर खाने कार्यक्रमको पनि व्यवस्था गर्न लागिएको गैर आवासीय नेपाली संघ, म्यासाचुसेट्स च्याप्टरका अध्यक्ष प्रेम तामाङले जानकारी दिनु भयो।उहाँले भन्नु भयो ‘धार्मिक आस्था र विश्वासलाई जीवन्त राख्दै यस वर्षको तीजलाई सभ्य र मनोरञ्जनात्क रुपमा मनाउन हामी तिनै संस्था तयारीमा जुटेका छौं’।यस महोत्सवलाई पहलो पटक यसरी संयुक्त रुपमा मनाएर,परदेशमा रहेका नेपालीहरु बिचको आत्मीय एकताको सन्देश समेत दिन खोजिएको तामाङले बताउनु भयो।सहभागिताका लागि प्रति ब्यक्ति २५ डलर सहयोग शुल्क तोकिएको कार्यक्रममा,४ सय टिकट बिक्री गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ।
    कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न संस्थागत नेतृत्व गर्दै आवश्यक तयारीमा जुट्नु भएका ग्रेटर बोस्टन नेपाली कम्युनिटिका अध्यक्ष मिलन कुमार कार्कीका अनुसार,महोत्सवलाई चाडको मर्ममा केन्द्रिकृत गरेर नै मनाउने तयारी थालिएको छ।’ हिन्दुहरुको महान चाड हरितालिका तीजलाई धर्म,सँस्कृति, परम्परा,रितिरिवाजलाई सक्दो जिवन्त राख्ने प्रयास गर्ने छौं।’ उहाँले भन्नु भयो,’ देश,काल र परिस्थिति अनुसार उपलब्ध श्रोत साधनहरुको भरपुर उपयोग गरेर,महोत्सवलाई प्रभावकारी बनाउन सक्दो प्रयास गर्नेछौं।’ नेपालीहरु बिचको आत्मीय भातृत्वलाई एकताबद्ध र सुमधुर बनाउनमा कार्यक्रमले जोड दिने अध्यक्ष कार्कीको विश्वास छ।पहिलो पटक यसरी संयुक्त रुपमा मनाउन लागिएको तीज महोत्सवमा,अन्य संघ संस्थाहरुलाई पनि समेट्न कोसिस गरिएको भएतापनि, विविधकारणले सम्भव नभएकोमा भने अध्यक्ष कार्कीले दुःखेसो पोख्नु भयो ।
    सामाजिक,धार्मिक,साँस्कृतिक लगायत कार्यहरुमा सामूदायिक एकिकृत भूमिका निकै महत्वपूर्ण र प्रभावकारी हुने गर्दछ।यसै तथ्यलाई आत्मसात् गर्दै बेला बेलामा नेपालीहरु समेटिएका बोस्टन स्थित संघ संस्थाहरुले, आफ्नो एकता र सक्रियता प्रदर्शन गर्दै आइरहेका छन् । यसै क्रममा पहिलो पटक बोस्टन स्थित यि तीन संस्थाहरु ‘तीज पर्व’ सामूहिक रुपमा मनाउन एकजुट भएका हुन् ।
    महोत्सवलाई हर्षोल्लासमय बनाउन साँगितिक कार्यक्रमको पनि आयोजना गरिने महोत्सव संयुक्त आयोजक संस्था हिमालयन लायन्स क्लवकी कोषाध्यक्ष शान्ति जोशीले जानकारी दिनु भयो।’महोत्सवमा स्थानीय नेपाली कलाकारहरुद्वारा नेपालीपन झल्किने गरी तीज केन्द्रित गीतहरु र नृत्यहरु समेटेर साँगितिक कार्यक्रम पस्किने गरी तयारीमा जुटेका छौं ‘ जोशीले भन्नु भयो।नेपालीहरुको धार्मिक चाड ‘तीज’ महिला सशक्तिकरणको सुवर्ण अवसर हो भन्दै उहाँले त्यसका लागि एकता अपरिहार्य रहेको जिकिर गर्नु भयो।संयुक्त रुपमा तीज मनाउन लागिएको प्रति निकै खुशी व्यक्त गर्दै जोशीले एकता नै शक्ति भएकाले महोत्सवमा एकबद्ध भएर सक्रिय सहभागिता जनाउन, सबैलाई अनुरोध समेत गर्नु भएको छ।
    हिन्दुहरुको आराध्य देव मानिने शिव र पार्वतीको पूजा, प्रार्थना र आराधन गर्ने सर्वोत्तम महिनाका रुपमा मानिने श्रावण महिना प्रारम्भ भएसंगै,बोस्टन स्थित शिवालय र पशुपतिनाथ बुद्ध फाउण्डेशन शक्तिपीठहरुमा भक्तजनहरुको चहलपहल बढ्न थालेको छ।हिन्दु धार्मिक ग्रन्थ अनुसार पार्वतीले निराहार ब्रत बसी पूजा अर्चना सहित तपस्या गरेर भगवान शिव जस्तो होनहार वर पाएको धार्मिक मान्यता,आस्था र बिश्वासका आधारमा यो चाड मनाइदै आइएको छ।जस अनुसार हिन्दु धर्मावलम्बी महिलाहरुले विवाहित भए पतिको सुस्वास्थ्य,दिर्घायू र उत्तरोत्तर प्रगतिको कामना सहित सुखद् दामपत्य जीवनको र अविवाहित भए भगवान शिव जस्तै योग्य वर पाँऊ भनी पूजा,अर्चना,स्तुति र प्रार्थना गरी यो चाड भब्यताका साथ मनाउने गरिन्छ।यसका अलावा यस चाडलाई पूर्वीय दर्शन अनुसार माइती र चेली बिचको सम्बन्धलाई कसी लगाउदै सुमधुर बनाउने,ज्ञान शिक्षा आदानप्रदान गर्ने, महिला अधिकार र सशक्तिकरण गर्ने,गीत संगीतको संरक्षण तथा संवर्धन गर्ने र मनोरञ्जन गर्ने सुवर्ण अवसरका रुपमा पनि सदुपयोग गरिदै आइरहिएको छ।तर,पछिल्लो समयमा यो चाडलाई बृहत र नयाँ रुपमा मनाउने नाममा,भित्रिएका परिवर्तनहरुले भने चाडको मुख्य मर्म नै मर्न लागेको प्रति सर्वत्र चिन्ता बढेको छ । सामाजिक परिवर्तनका नाममा जानी नजानी भित्रिएका मनोरञ्जनमा मात्र केन्द्रिकृत क्रियाकलापहरुले,विभिन्न खाले विकृति र विसंगतिहरु भित्रिदा चाडको मुल मर्म मर्दै गएको कुरा जग जाहेर नै छ।तसर्थ, तीज मनाउदा त्यसप्रति सचेत र गम्भीर हुन जरुरी छ।

  • एक वर्षमा विदेशबाट नेपालीले पठाए ९ खर्ब ६१ अर्ब रेमिट्यान्स

    एक वर्षमा विदेशबाट नेपालीले पठाए ९ खर्ब ६१ अर्ब रेमिट्यान्स

    काठमाडौं । नेपालमा एक वर्षको अवधिमा विदेशबाट ९ खर्ब ६१ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीले सो परिमाणमा रेमिट्यान्स पठाएका हुन् । आर्थिक वर्ष २०७७\७८ मा सो मात्रामा रकम भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षको तुलनामा भने यो आवमा रेमिट्यान्स ९.८ प्रतिशतले बढेको छ । कोरोना महामारीका वावजुत भित्रिएको रेमिट्यान्सले अर्थतन्त्रमा भने उत्साह थपेको छ । यो रकम एक वर्षमा भित्रिएको सबैभन्द ठूलो रकम हो ।

    राष्ट्र बैंकका अनुसार गत साउनमा ९३ अर्ब, भदौमा ७३ अर्ब, असोजमा ९३ अर्ब, कात्तिकमा ७८.९ अर्ब, मंसिरमा ७९ अर्ब रुपैयाँ रकम भित्रिएको छ । पुसमा साढे ७८ अर्ब, माघमा साढे ७२ अर्ब, फागुनमा साढे ७४ अर्ब, चैतमा ८७ अर्ब, वैशाखमा ८१ अर्ब, जेठमा ६१ अर्ब र असारमा साढे ९० अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको देखिएको छ । कतार, दुबई, मलेसियालगायत मुलुकबाट नेपालमा बढी रेमिट्यान्स आउने गरेको छ ।

  • अफगानिस्तानको अमेरिकी दूतावासमा कार्यरत ३ सय नेपालीलाई अमेरिकी सेनाले उद्धार गर्ने

    अफगानिस्तानको अमेरिकी दूतावासमा कार्यरत ३ सय नेपालीलाई अमेरिकी सेनाले उद्धार गर्ने

    काठमाडौं । अफगानिस्तानस्थित अमेरिकी दूतावासमा खटिएका ३ सय नेपलाीलाई अमेरिकी सेनाले उद्धार गर्ने भएको छ । तालिवान विद्रोही यतिबेला राजधानी काबुलतर्फ अगाडी बढेको छ । सोहीकारण अमेरिकासहितका मुलुकले आफ्ना नागरिक र कूटनीतिज्ञको उद्धार थालेका छन् । सो प्रयोजनका लागि अमेरिकी सेना काबुल पुगेको छ । अमेरिकाले आफ्नो दूतावासमा कार्यरत नेपालीलाई स्वदेश फिर्ता गर्ने भएको कान्तिपुर दैनिकमा समाचार छ । समाचार अनुसार अमेरिकी दूतावासमा अहिले तीन सय जना नेपालीले सुरक्षा गार्डका रुपमा काम गरिरहेका छन् ।

    अमेरिकी दूतावासमा कार्यरत एक नेपालीले काबुलबाट सो बारे जानकारी गराइएको समाचारमा उल्लेख छ । उनीहरूलाई अमेरिकाले विमानमा कुनै पनि बेला नेपाल पठाउन सकिने जानकारी गराएको छ । तयार भएर बस्न भनिएपनि फिर्ता हुने दिन भने नतोकिएको उनले बताएका छन् । अहिले काबुलमा तालिवानले कब्जा जमाउन शुरु गरिएको छ । विद्रोही समूह राजधानी नजिकै आइसकेको छ । अमेरिकाले कुटनीतिज्ञहरुलाई समेत धमाधम उद्धार गरिरहेको छ ।

    यसअघि अमेरिकी सेनाका लागि काम गर्ने फ्लोर कम्पनीले आफूसँग भएका ‘सिभिलियन’ कामदारलाई भने फर्काइसकेको समेत समाचारमा जनाइएको छ । जसमा झन्डै १ सय ५० जना नेपाली थिए । उनीहरूलाई कम्पनीले दुबई लगेर राखेको बताइएको छ । उनीहरुमध्ये केही नेपाल फर्किसकेका छन् । फ्लोर कम्पनीले जुलाई अन्तिमदेखि नै कार्यालय सहयोगी, प्रशासनिक कर्मचारी, ड्राइभरजस्ता क्षेत्रमा कार्यरत नेपालीलाई काबुलबाट बाहिर निकालिसकेको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार अफगानिस्तानमा नेपालीहरू अमेरिकी दूतावास, युरोपेली संघ, राष्ट्रसंघ, क्यानडेली दूतावास, विश्व बैंक, बेलायती दूतावास, बरोन होटल र ग्रिन भिलेजमा कार्यरत रहेको समाचारमा उल्लेख छ ।

  • २ करोड ७१ लाख ठगी गरि पोर्चुगल भागेका मूख्य आरोपितलाई पक्राउ गरि नेपाल ल्याइयो

    २ करोड ७१ लाख ठगी गरि पोर्चुगल भागेका मूख्य आरोपितलाई पक्राउ गरि नेपाल ल्याइयो

    काठमाडौं । नेपालमा नक्कली कागजात बनाएर बैंकबाट ऋण लिई ठगी गरि पोर्चुगल भागेका एक जनालाई प्रहरीले पक्राउ गरि नेपाल ल्याएको छ । सवारी दर्ता प्रमाणपत्र नक्कली बनाएर तत्कालिन देव विकास बैंकबाट २ करोड ७१ लाख ७६ हजार रुपैयाँ ऋण लिएको आरोप उनीमाथि छ । प्रहरीले काभ्रे भुम्लु गाउँपालिका १ का ४३ वर्षका केदार ढुंगानालाई पोर्चुगलमा पक्राउ गरी साउन ३० गते नेपाल ल्याइएको हो ।

    प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले यसबारे जानकारी गराएको छ । नक्कली कागजातका आधारमा ऋण लिएर लिखतसम्बन्धी कसूर गरेको अभियोगमा जिल्ला अदालत ललितपुरले ढुगानासहित १२ जनालाई दोषी ठहर गर्दै १ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । हाल ढुंगानासहितका व्यक्तिहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा लिखतसम्बन्धी ५ वटा मुद्दा र उच्च अदालत पाटनमा बैंकिङ कसूरसम्बन्धी १६ वटा मुद्दा विचाराधीन छन् । मुख्य आरोपी ढुंगाना विदेशमा रहेको जानकारी पाएपछि प्रहरीले २०७५ पुस १७ गते इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको थियो ।

    ढुंगानाले पोर्चुगलमा आवास अनुमति लिन आवेदन दिएको जानकारी पाएपछि प्रहरी प्रधान कार्यालयले एनसीबी पोर्चुगलसँग समयन्वय गरी उनलाई पक्राउ गरेको हो । उनीहरुले काठमाडौं र ललितपुरका देवः विकास बैंकका विभिन्न शाखा कार्यालयमा विभिन्न सवारी साधन सुरक्षण वापत बैंकको नाममा पास गरी सवारी साधन कर्जा बापत २ करोड ७१ लाख ७६ हजार रुपैयाँ लिएका थिए ।

    उनीहरुले ऋण नतिरेपछि लिलामी गर्ने प्रयोजनको लागि बैंकले यातायात व्यवस्था कार्यालयसँग पत्राचार गर्दा उक्त सवारी साधनहरु बैंकको नाममा नरहेको जानकारी पाएका थिए ।

  • वैदेशिक रोजगारीमा जानेले खोप प्रमाणिकरण गर्न अब लाइन बस्नु नपर्ने, इमेलमै आउने

    वैदेशिक रोजगारीमा जानेले खोप प्रमाणिकरण गर्न अब लाइन बस्नु नपर्ने, इमेलमै आउने

    काठमाडौं । वैदेशिक रोजगारीमा जानेले क्यूूआर कोडसहितको विद्युुतीय खोप प्रमाणपत्र लिन अब लाइन बस्नुु नपर्ने भएको छ । वैदेशिक रोजगारमा जाने श्रमिकलाई क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले इमेलमार्फत पठाउने व्यवस्था गरिएको हो । यससँगै घण्टौं लाइनमा बस्नुपर्ने सेवाग्राहीको झण्झटबाट राहत मिलेको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मन्त्रालयबीच शुक्रबार भएको छलफलपछि उक्त खोप प्रमाणपत्र स्वास्थ्य सेवा विभागले म्यानपावर कम्पनीको इमेलमा पठाउने सम्झौता भएको हो ।


    क्यूूआर कोडसहितको विद्युुतीय खोप प्रमाणपत्र दिने कार्य श्रम मन्त्रालय र स्वास्थ्य मन्त्रालयबीच समन्वय नहुँदा विदेश जाने युवाले टिकटसमेत गुमाउनुपरेको थियो । स्वास्थ्य विभागअन्तर्गतको स्वास्थ्य सूचना तथा खोप केन्द्रका अनुसार नयाँ स्टिमको पनि विकास गरिएकाले अब एउटै व्यक्तिले १० पटकसम्म अनलाइन फर्म भर्ने समस्याको अन्त्य भएको छ । अब सेवाग्राहीले सबै कागजात अपलोड गरेपछि क्यूूआर कोडसहितको विद्युुतीय खोप प्रमाणत्रका लागि आवश्यक कागजात इमेल अवलोड गरेपछि क्यूूआर कोड म्यानपावरमा अटोमेट्रिक जाने व्यवस्था गरिएको छ । कोड नम्बर इजाजत संस्थामा आएको दुुई घण्टाभित्र सेवाग्राहीको इमेलमार्फत पुुग्ने व्यवस्था गरिने बताईएको छ ।

  • मौद्रिक नीतिमार्फत सरकारले भन्यो : रेमिट्यान्सलाई बैंकमा राखे अतिरिक्त एक प्रतिशत ब्याज पाइने

    मौद्रिक नीतिमार्फत सरकारले भन्यो : रेमिट्यान्सलाई बैंकमा राखे अतिरिक्त एक प्रतिशत ब्याज पाइने

    काठमाडौं । रेमिट्यान्सलाई औपचारिक च्यानलबाट भित्राउन र त्यसको औपचारिक क्षेत्रमै उपयोग बढाउन सरकारले प्रोत्साहन गर्ने भएको छ । मौद्रिक नीति सार्वजनिक गर्दै केन्द्रिय बैंकले विदेशबाट नेपाली श्रमिकले पठाउने रेमिट्यान्स रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरे एक प्रतिशत थप ब्याज दिने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बैंकिङ च्यानलबाट पठाएर बचत गरेमा थप ब्याज दिने व्यवस्था गरेको उल्लेख छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार नीति सार्वजनिक गरेका छन् । बैंकिङ च्यानलबाट आएको रेमिट्यान्स रकम बैंक तथा वित्तीय संस्थामा राखेमा थप एक प्रतिशत ब्याजदर दिने व्यवस्था गर्ने अधिकारीको भनाई छ ।

  • विमानस्थलमा र्‍यापिड पीसीआर टेस्ट नहुँदा यूएई जाने यात्रु अन्यौलमा

    विमानस्थलमा र्‍यापिड पीसीआर टेस्ट नहुँदा यूएई जाने यात्रु अन्यौलमा

    काठमाडौं । नेपालबाट यूएई प्रस्थान गर्ने यात्रुका लागि यूएई सरकारले कडा यात्रा नियम ल्याएसँगै त्यहाँ जानै पर्ने यात्रुको यात्रा प्रभावित बनेको छ । नेपालबाट टिकट काटेका सयौं यात्रु सो मुलुकमा जान पाएका छैनन् । अहिले नेपालबाट यूएई ट्रान्जिट हुने यात्रुलो मात्र पिसिआर रिर्पोट लिएर जान पाएका छन् । त्रिभुवन जसले गर्दा कम्पनीहरुले समेत खाली सीट जहाज उडाउनु परेको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार नेपालबाट यूएइ जानु अगाडि ४८ घण्टाभित्रको पीसीआर नेगेटिभ रिर्पोट अनिवार्य गरिएको छ । साथै विमानस्थलबाट प्रस्थान गर्नुभन्दा ४ घण्टाभित्र विमानस्थलभित्रै गरेको र्‍यापिड पीसीआर टेस्ट रिर्पोट समेत अनिवार्य गरिएको छ । यो सुविधा नेपालको विमानस्थलमा छैन । विमानस्थल कार्यालयका अनुसार सो प्रयोजनका लागि विमानस्थलले स्थान उपलब्ध गराउने र र्‍यापिड टेस्टका लागि व्यवस्था मिलाउन विमानस्थलले स्वास्थ्य विभागलाई अनुरोध गरेको छ ।

    विभागले ल्याव उपलब्ध गराएमा मात्र यो सुविधा विमानस्थलमा रहने भएको छ । नेपालमा छिटो परीक्षण हुने एन्टिजेन परीक्षणलाई भने यूएइ सरकारले अस्वीकार गरेको कार्यालयले जनाएको छ । विमानस्थलमा तत्काल हुने खालको र्‍यापिड पीसीआरको व्यवस्था नहुन्जेल यूएई सरकारले नेपालीलाई यात्रा खुला गरेको भएपनि जान नपाउने भएका हुन् ।

  • यूएईले स्वास्थ्य मापदण्ड छिनछिनमा परिवर्तन गर्दा यात्रु विमानस्थलबाटै फर्कन बाध्य

    यूएईले स्वास्थ्य मापदण्ड छिनछिनमा परिवर्तन गर्दा यात्रु विमानस्थलबाटै फर्कन बाध्य

    काठमाडौं । सोमबार राती संयुक्त अरव इमिरेट्स (यूएई) उडानका लागि तयार भएको हिमालय एयरलाइन्सले अचानक उडान बन्द भएको घोषणा गर्यो । यूएई जान विमानस्थल आएका सयौं यात्रु आक्रोसित बने र विमानस्थलमा तनावपूर्ण अवस्था सिर्जना भयो । यस्तो अवस्था आउनुमा एयरलाइन्स वा विमानस्थल प्रशासनको भने दोष थिएन । गन्तब्य मुलुकले कोभिड–१९ को परीक्षणमा थप कडाइ गरेसँगै यात्रुको यात्रा प्रभावित बनेको हो ।

    यूएई सरकारले ७२ घण्टासम्मको पोजेटिभ पिसिआर रिपोर्टलाई मान्यता नदिने निर्णय गरेको छ । युएइ सरकारले ५ अगष्ट देखि लागु हुने गरी ४८ घण्टाको पिसिआर रिपोर्ट नेगेटिभ हुनुपर्ने, नेपालको विमानस्थलमा र्यापिड टेष्ट, एन्टीजेन टेष्ट गरेको हुनुपर्ने प्रावधान अनिवार्य गरेको छ । यो प्रावधान विमानस्थलमा नभएपछि यात्रु फर्कन बाध्य भएका हुन् ।

    यूएई सरकारले यूएईको आवासीय भिसा भएको र यूएई भित्रै दुई मात्रामा कोभिड विरुद्धको खोप लगाएकालाई मात्र प्रवेश दिने जनाएको छ । तर प्रवेशका क्रममा यूएई विमानस्थलमा ओर्लिएपछि पुनः पिसीआर टेष्ट गर्नुपर्ने, क्वारेन्टीन र स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्नुपर्ने गरि कडा नियम ल्याइएको छ । जसले गर्दा नेपाली यात्रुको यात्रा प्रभावित बनेको हो ।