Category: डायस्पोरा

  • न्यू ह्यामसायर भेटरान्स कपको उपाधि म्यानचेस्टर दाजुभाइ टिमलाई

    न्यू ह्यामसायर भेटरान्स कपको उपाधि म्यानचेस्टर दाजुभाइ टिमलाई

    म्यानचेस्टर

    न्यू ह्यामसायरमा आयोजित भेटरान्स कप फुटबल (सकर) प्रतियोगिताको उपाधि म्यानचेस्टर दाजुभाइ टिमले जितेको छ । गुरुङ तमु समाज न्यू ह्यामसरको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा राज्यका बिभिन्न स्थानको प्रतिनिधित्व गर्दै चार टिमले भाग लिएका थिए । 

    प्रगियोगितामा सहभागिताका लागि न्यूनतम उमेर ३५ बर्ष तोकिएको थियो । प्रौढावस्था तर्फ प्रवेश गर्दै गरेको उमेर समुहमा खेलप्रतिको भावना जीवन्त राख्न प्रतियोगिता आयोजना गरिएको समाजका सदस्य एवं प्रतियोगिताका ‘को-अर्डिनेटर’ नरेन्द्र गुरुङले बताए । ‘बिषेश गरि हामी नेपालीहरुमा उमेर उकालो लाग्दै गएपछि खेलकुद आफ्नो लागि होइन भन्ने मान्यता रहेको छ, उनले विश्व न्यूजसँग भने- खेलकुद र स्वास्थ्य उमेरमा होइन आफ्नो मेहनत र लगावमा भर पर्छ भन्ने सन्देश स्थापित गर्न प्रतियोगिता आयोजना गरेका हौँ ।’

    स्थानीय इष्ट म्यानचेस्टर सकर मैदानमा आयोजित प्रतियोगितामा काठमाडौँ बजार कंकर्डलाई ४-१ गोल अन्तरले हराउँदै म्यानचेस्टर दाजुभाइ टिमले उपाधि हात पारेको हो । फाइनलमा बिजेता एवं उप बिजेता टोलीलाई समाजका अध्यक्ष हितमान गुरुङ र संस्थापक अध्यक्ष तोप गुरुङले नगद पुरस्कार सहित खादा लगाएर सम्मान गरेका थिए । प्रतियोगिताका सर्वाधिक गोलकर्ताहरु बिजेता टोलीका गोविन्द गुरुङ र तेन्जिङ उर्गेनलाई समेत नगद पुरस्कार सहित सम्मान गरिएको थियो । प्रतियोगितामा सम्पन्न गर्न कुशलता पुर्वक रेफ्रीको जिम्मेवारी निभाउने हेम गुरुङ, दिनेश गुरुङ र सुमन गुरुङलाई पनि सम्मान गरिएको थियो । 

    पुरस्कार वितरणपछि सम्बोधन गर्दै समाजका अध्यक्ष गुरुङले पहिलो चोटी राज्यमा आयोजित भेटरान्स कपमा नेपालीहरुले देखाएको सहभागिताले आफुहरुलाई उत्साहित बनाएको बताए ।  ‘भेटरान्स कपको अवधारणाले प्रौढ उमेरमा प्रवेश गरेका हामीजस्तामा पनि खेलकुदप्रति युवा जोश पलाएको छ, उनले भने – छोटो समयको तयारीमा समेत खेलाडीहरुको उत्साहजनक सहभागिताले हामीलाई यस्ता प्रतियोगितालाई निरन्तरता दिन प्रेरित गरेको छ ।’

  • न्यू ह्यामसर नेपाली समाजमा विष्ट

    न्यू ह्यामसर नेपाली समाजमा विष्ट

    म्यान्चेस्टर
    न्यू ह्यामसर नेपाली समाजको अध्यक्षमा शान्ता विष्ट चयन भएकी छिन् । हालै सम्पन्न समाजको निर्वाचनबाट विष्ट आगामी दूई बर्ष (२०२१–२०२३) का लागि सर्वसम्मत चयन भएकी हुन् ।
    समाजको उपाध्यक्षमा लाक्पा शेर्पा, महासचिव माधव गुरुङ, कोषाध्यक्ष भेष शर्मा, सचिव प्रभात भट्टराई एवं सह–कोषाध्यक्षमा कुमार भट्टराई चुनिएका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा रिकाश गुरुङ, सुजन केसी, शेखर राई, प्रदिप कार्की, राधिका भण्डारी, मुना कोइराला, शिवानी श्रेष्ठ, रन गुरुङ एवं विद्यार्थी सदस्यमा नेहा शर्मा चयन भएका छन् ।
    राज्यको सबैभन्दा ठूलो सहर म्यान्चेष्टरमा आयोजित एक समारोहमा बिभिन्न क्षेत्रका अगुवाहरुले नव निर्वाचित कार्यसमितिलाई बधाई एवं शुभकामना दिए । समाजका निवर्तमान अध्यक्ष सोम गुरुङले नयाँ कार्यसमितिले राज्यमा बसोबास गर्ने सबै नेपालीलाई समेट्दै भाइचारा बढाउनेमा आफुले विश्वास लिएको बताए । राज्यमा बसाइँ सरेर आउने नेपालीहरुको संख्या बढ्दै गएको परिप्रेक्षलाई ध्यानमा राखेर संस्थाले काम गर्नुपर्ने उनको सुझाव थियो । यस्तै संस्थाका पूर्व अध्यक्षहरु मिन गौतम, रविन थापा, सामाजिक अभियन्ता इश्वरी भट्ट, निर्वाचन समिति संयोजक शम्भू गुरुङ एवं सदस्य छत्र गुरुङलगायतले नव निर्वाचित कार्यसमितिलाई शुभकामना दिएका थिए ।

    कार्यक्रममा नव निर्वाचित अध्यक्ष विष्टले राज्यमा बसोबास गर्ने नेपालीहरुको छाता संस्थाको रुपमा समाजलाई अघि बढाउन अहिलेसम्मको नेतृत्वले पुर्याएको योगदानप्रति धन्यवाद दिइन् । समाजले सुरु गरेको नेपाली सामूदायीक भवन निर्माण अभियानलाई आफु नेतृत्वको कार्यसमितिले उच्च महत्व दिने प्रतिवद्धता उनले व्यक्त गरिन् । युवा पुस्तालाई समाजको गतिविधीमा समेट्दै उनीहरु माझ नेपाली संस्कृति चिनाउने र विस्तार गर्ने आफ्नो अर्को प्राथमिकता रहेको उनको भनाइ थियो ।

  • ‘रेमिट्यान्स पठाउने नेपालीलाई विमानस्थल र नाकामा किन सास्ती ?’

    ‘रेमिट्यान्स पठाउने नेपालीलाई विमानस्थल र नाकामा किन सास्ती ?’

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीबाट फर्कनेहरुले विमानस्थल र नाकाका भन्सारमा दुःख पाइरहेको गुनासोबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । आज भन्सार विभागमा निरीक्षण तथा ब्रिफिङमा पुगेका उनले जसले विदेशबाट विप्रेषण पठाएका छन्, घर फर्कदाँ उसैले बोकेर ल्याएको एउटा मोबाइल र एउटा टिभी सेटको विषयलाई लिएर भन्सारमा सास्ती नदिन आग्रह गरे ।

    उनले भने ,’वैदेशिक रोजगारीबाट फर्किने नेपालीले ल्याउने घरायसी प्रयोजनका सामानमा भन्सार छुट दिन सकिन्छ कि सकिँदैन ?’ अर्थसचिव मधुकुमार मरासिनीले विश्व व्यापार संगठनमा आवद्ध भएयता नेपालको निर्यात घटिरहेको र आयात बढिरहेको जानकारी गराए । त्यसयता नेपालमै उत्पादन हुने कृषिजन्य वस्तुहरुको समेत आयात हुने गरेको अवस्थाले व्यापार घाटा बढेको सचिव मरासिनीको भनाइ छ ।

    कार्यक्रममा राजश्व परामर्श समितिका अध्यक्ष महेश दाहाल र सदस्य निर्मलहरि अधिकारीले जिडिपिमा २५ प्रतिशत योगदान रहेको कृषि क्षेत्र राजश्वको दायरामा आउन नसकेको, ४० प्रतिशत कारोबार अनौपचारिक क्षेत्रमै सीमित हुने गरेको, साढे चार लाखभन्दा बढी कम्पनीहरुले विना दर्ता कारोबार संचालन गरिरहेको तथ्याङ्क प्रस्तुत गरे ।

    यस्तै ४८ अर्ब राजश्व बक्यौता रहेको, ५८ अर्ब करका मुद्दा अदालतमा विचाराधीन रहेको, १२ अर्ब मुल्य अभिवृद्धि कर वक्यौता रहेको र ५५ अर्ब राजश्व बेरुजु रहेको जानकारी दिए । भन्सार विभागका महानिर्देशक यामलाल भुसाल र उपमहानिर्देशक श्यामप्रसाद भण्डारीले २७ वटा भन्सार कार्यालय दक्षिणी सीमा र ९ वटा भन्सार कार्यालयहरु उत्तरी सीमा क्षेत्रमा रहेको भएपनि भन्सारको ९६ प्रतिशत हिस्सा आठ वटा भन्सार कार्यालयको मात्र रहेको जानकारी दिए ।

  • एनआरएनएको ६० मुलुकका राष्ट्रिय समन्वय परिषद्को निर्वाचन सकियो

    एनआरएनएको ६० मुलुकका राष्ट्रिय समन्वय परिषद्को निर्वाचन सकियो

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संसारभरका ६० मुलुकमा राष्ट्रिय समन्वय परिषद्को निर्वाचन सम्पन्न गरेको छ । संघका अनुसार आगामी २०२१,२०२३ कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै निर्वाचन भएको हो । विश्वभर विभिन्न ६ क्षेत्रका ८४ वटा मुलुकमध्ये २० वटा राष्ट्रिय समन्वय परिषद भने निस्क्रिय छन् । संघका महासचिव डा. हेम राज शर्माले बुधबार महाधिवेशन सम्बन्धी संक्षिप्त प्रतिवेदन सार्वजनिक गरेका छन् ।

    उनका अनुसार निर्वाचन सकिएका ४२ वटा राष्ट्रिय समन्वय परिषदहरुमा सर्वसम्मत कार्यसमिति आएको छ । ११ वटा राष्ट्रिय समन्वय परिषदहरुमा अनलाइनमार्फत र सात वटा राष्ट्रिय समन्वय परिषदमा भौतिक रुपमा उपस्थित भई निर्वाचन भएको छ । चार वटा राष्ट्रिय समन्वय परिषदमा कार्यसमिति चयन हुन बाँकी रहेको उनको प्रतिवेदनमा उल्लेख छ । यूएई, डेनमार्क, पोर्चुगल र स्लोभानियामा छिट्टै नयाँ नेतृत्व आउने बताइएको छ ।

    अफ्रिकी मुलुकमध्ये बोत्स्वाना, कंगो, इक्वेटोरियल गिनिया, घाना, केन्या, म्याडागास्कर, नाइजेरिया, सेसेल्स, दक्षिण अफ्रिका, तान्जानिया, युगाण्डा र जाम्बियामा सर्वसम्मत तथा निर्विरोध कार्यसमिति चयन भएको छ। अफ्रिकाको लेसोथो, लिविया, मालावी, दक्षिण सुडानमा निस्क्रिय छ ।

    अमेरिकी मुलुकमध्ये मेक्सिको र कोस्टारिकामा सर्वसम्मत कार्यसमिति चुनिएको छ । चिली र अमेरिकामा अनलाइनमार्फत निर्वाचन भएको छ । क्यानाडामा भौतिक रुपमा उपस्थित भई निर्वाचन सम्पन्न भएको छ । राष्ट्रिय समन्वय परिषद् ब्राजिल निस्क्रिय एनसीसीको सूचीमा राखिएको छ ।

    एसिया प्रशान्त क्षेत्रमा कम्बोडिया, हङकङ, मकाउ, मलेसिया, म्यानमार, फिलिपिन्स, सिंगापुर, ताईवान, थाइल्याण्ड र भियतनाममा सर्वसम्मत कार्यसमिति छानिएको छ । चीन, जापान र दक्षिण कोरियामा अनलाइनमार्फत चुनाव सम्पन्न भएको छ । ब्रुनाई, पूर्वी टिमोर, इण्डोनेसिया संघका निस्क्रिय एनसीसीको सूचीमा छ ।

    यूरोपमा बुल्गेरिया, ग्रिस, हंगेरी, रोमानिया, यूक्रेनजस्ता एनसीसी निस्क्रिय छन्। बेलारुस, चेक(रिपब्लिक, फिनल्याण्ड, आयरल्याण्ड, इजरायल, इटाली, लग्जेम्वर्ग, रसिया, टर्की, स्वीडेन र स्विट्जरल्याण्डमा सर्वसम्मत कार्यसमिति छानिएको छ । साइप्रस, जर्मनी, स्पेन, नर्वे, फ्रान्स, र यूकेले अनलाइनमार्फत चुनाव भएको छ । अष्ट्रिया, बेल्जियम, माल्टा, नेदरल्याण्डस्, पोल्याण्ड र पोर्चुगलले भौतिक रुपमा नै उपस्थित भएर निर्वाचन भएको हो ।

    मध्यपूर्व क्षेत्रमा कुवेत, ओमान र कतारमा सर्वसम्मत भएको छ । बहराइन र साउदी अरेबियाले अनलाइनमार्फत निर्वाचन सम्पन्न गरेका छन् । इजिप्ट, इराक, जोर्डन, लेबनान र यमन निस्क्रिय एनसीसी हुन्। ओसेनिया क्षेत्रमा अष्ट्रेलियाले अनलाइनमार्फत निर्वाचन सम्पन्न गरेको छ । पपुवा न्यूगिनी र न्युजिल्याण्डमा सर्वसम्मत तथा निर्विरोध कार्यसमिति चयन भएके छ । भानुआटु निस्क्रिय छ ।

  • करीव दुई किलो सुनसहित तीन भारतीय पक्राउ, विदेशबाट आउने नेपालीमार्फत तस्करी

    करीव दुई किलो सुनसहित तीन भारतीय पक्राउ, विदेशबाट आउने नेपालीमार्फत तस्करी

    काठमाडौं । प्रहरीले १ किलो ८ सय ६६ ग्राम सुनसहित काठमाडौंको एक होटेलबाट तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत राजस्थान नागौर जिल्ला छोटीखाटुका २७ वर्षीय साकिर अली, भारत राजस्थानकै २८ वर्षीय अब्दुल सतार र राजस्थानकै २४ वर्षीय प्यार मोहम्मद रहेको प्रहरीले जनाएको छ । उपत्यका अपराध अनुसनधान कार्यालययले सिनामंगलका अनुसार उनीहरुलाई सिरहा मल्हनिया होटलबाट पक्राउ गरिएको हो ।

    उनीहरुले वैदेशिक रोजगारीबाट आउने नेपालीमार्फत सुन तस्कर गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । वैदेशिक रोजगारीबाट फर्कनेहरुले विभिन्न घरायसी सामानमा लुकाएर सुन ल्याउने गरेको बताइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

  • यूएईले हटायो नेपालमाथिको यात्रा प्रतिवन्ध

    यूएईले हटायो नेपालमाथिको यात्रा प्रतिवन्ध

    काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालसहित विभिन्न मुलुकमाथि लगाएको यात्रा प्रतिवन्ध हटाएको छ । कोभिड १९ सङ्क्रमणको जोखिम रहेको भन्दै सो मुलुकले नेपाल र भारतलगायत विभिन्न ६ वटा मुलुकका यात्रुमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो । कोभिड १९ सङ्क्रमणको विश्वव्यापी महामारीको अवस्थालाई मध्यनजर राख्दै यूएईबाट र यूएईमा आउने-जाने यी मुलुकका लागि प्रतिबन्ध लगाएको हो ।

    नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, नाइजेरिया र युगान्डाका नागरिकले यूएईको भ्रमण गर्न सक्ने छन् । यसबाट नेपाली कामदार समेत लाभान्वित हुने भएका छन् । यूएईस्थित नेपाली दूतावासका अनुसार अब कोभिड १९ खोपको दोस्रो मात्रा लगाएका वैधरूपमा आवसीय अनुमति पाएका विदेशीले सो मुलुक छिर्न सक्ने छन् । उनीहरुले कोभिडविरूद्धको दोस्रो खोप लगाएको १४ दिन भने कटेको हुनुपर्छ । यहाँ कार्यरत चिकित्सक, नर्स, सरकारी कर्मचारीहरु भने खोप नलगाए पनि यो मुलुकमा छिर्न पाउने भएका छन् ।

  • गायक गम्बु शेर्पाको आत्मकथा ‘फर्किएका पाइला’ बिमोचित

    गायक गम्बु शेर्पाको आत्मकथा ‘फर्किएका पाइला’ बिमोचित

    न्युयोर्क

    गायक गम्बु शेर्पाले आफ्नो आत्मकथाको पुस्तक ‘फर्किएका पाइला’ लाई न्युयोर्कमा सार्वजनिक गरेको छ। पुस्तकलाई अतिथीहरु शिक्षाविद आडदाबा शेर्पा, कानुन व्यवसायी विनोद रोका र धर्मगुरु आचार्य नाग वङ्ग साङ्गेले सयुक्त विमोचन गरेका हुन् ।

    उनले बाल्यकालदेखि नेपालको राजधानी काठमाडौं हुँदै अमेरिकासम्मको आरोह अवरोहलाई पुस्तकमा समेटेका छन् । ग्रामिण परिवेशमा एउटा निम्न मध्यम परिवारले व्यहोर्नु पर्ने समस्यालाई ईमान्दारपूर्वक प्रस्तुत गरेका छन् । त्यसैगरी काठमाडौंमा पहाडबाट भर्खर झरेकाहरुले झेल्नुपर्ने झमेला र दुखलाई जस्ताको त्यस्तै उतारेका छन् । शुरुवाति दिनका अमेरिकी जीवन संघर्ष र दिनचर्याको दर्पण पुस्तकमा भेटिन्छ ।

    न्युयोर्कस्थित शेर्पा किदुकको सभाकक्षमा भएको कार्यक्रमको सभापतित्व विश्व शेर्पा सघंका उपाध्यक्ष निमा शेर्पाले गरेका थिए भने साहित्यकार किशनसिंह धामी र आङदावा शेर्पाले पुस्तक उपर समिक्षा गरेका थिए ।
    नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, योगगुरु डा़ राजु अधिकारी, जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङ, प्राडा गोविन्द कोइराला, कलाकार अभय ढुंगेल, साहित्यकार आनन्द श्रेष्ठ,, लोप्सा थिले सालक र आङ छिरिङ्ग शेर्पा लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    यस पुस्तकबाट आर्जित आम्दानि भने “पशी शेर्पा फाउण्डेशन” मार्फत सामाजिक कार्यमा खर्चिने कलाकार गम्बु शेर्पाले जानकारी गराएका छन् । समाजसेवामा समेत सकृय उनले “खाना, कपडा र शिक्षा” नामक संस्थालाई आफ्नो कमाईको केही अंश छुट्याउने गरेका छन् ।उनले विशेषगरी टुहुरा बच्चाहरूलाई खाना कपडा र शिक्षा दिने उद्देश्यले संस्था सञ्चालनमा ल्याएको बताएका छन् ।

  • नेजाको सातौं अधिवेशन सम्पन्न; नेतृत्वमा विकासराज न्यौपाने

    नेजाको सातौं अधिवेशन सम्पन्न; नेतृत्वमा विकासराज न्यौपाने

    सुपेन्द्र बस्नेत, बोष्टन

    नेपाल अमेरिका पत्रकार संघ (नेजा)अमेरिकाको सातौं अधिवेशन तथा चौधौं वार्षिक साधारणसभा सफलताका साथ सम्पन्न भएको छ । गत जुलाई २४ र २५ तारिखका दिन अमेरिकाको भर्जिनियामा सम्पन्न अधिवेशनले आगामी दुई वर्षीय कार्यकाल (सन् २०२१ -२३) का लागि विकासराज न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । नेजाको नेतृत्त्व लिनका लागि ६ जना चुनावी मैदानमा उत्रिएका थिए। तर, मतदान प्रक्रिया सुरु हुनु अगावै विष्णुहरि घिमिरे, निदेश अधिकारी र किरणबाबु मरहठ्ठाले सर्वसम्मतिमा नेतृत्व चयन हुने अपेक्षाका साथ उमेदवारी फिर्ता लिएर चुनावी मैदान छोडेका थिए ।तर,बाँकी तीन जना आकाँक्षीका बीच सहमतिमा नेतृत्व चयन गर्न हरसम्भव प्रयास गरिएको भएता पनि सफलता नमिलेपछि निर्वाचन समितिले ढिलो गरी मतदानको प्रक्रिया सुरु गरेको थियो । मतदान परिणाम अनुसार विकासराज न्यौपानेले मतदान प्रक्रियामा होमिएका आफ्ना दुई प्रतिस्पर्धीहरु अनुज थापा र गोकुल ढकाललाईपछि पार्दै नेतृत्वको बागडोर सम्हाल्न सफल हुनु भएको हो।यसैगरी, उपाध्यक्ष पदमा मच्छे देवी गुरुङ निर्वाचित हुनु भएको छ । गुरुङले आफ्नो प्रतिस्पर्धी किसान रेग्मीलाई पराजित गर्नु भएको हो । निर्वाचन प्रक्रियामा महासचिव पदकालागि ध्रुव कुँवर , सुरज भण्डारी र प्रसान (वीर) एलुङ राईले उमेदवारी दर्ता गराउनु भएको थियो । तर, सहमतिमा नेतृत्व चयन गर्न मार्ग प्रसस्त गरेको भन्दै ध्रुव कुँवरले आफ्नो उमेदवारी फिर्ता लिनु भएको थियो । अरु दुई उमेदवारका बीचमा सहमति जुट्न नसके पछि अन्ति टुंगो लगाउन अन्ततः प्रजातान्त्रिक अभ्यासको बाटो ‘मतदान ‘ प्रक्रियाकै सहायता लिनु पर्यो । निर्वाचनको अन्तिम मत परिणाम अनुसार भण्डारीले आफ्नो प्रतिस्पर्धी राईलाई पराजित गर्दै चयन हुन सफल हुनु भयो। कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरु भने निर्विरोध चयन भए । सचिव पदमा कल्पना घिमिरे र कोषाध्यक्ष पदमा प्रभात भट्टराई निर्विरोध निर्वाचित हुनु भयो । यसैगरी , क्षेत्रीय संयोजकहरु पनि निर्विरोध निर्वाचित हुनु भएका छन्।निर्वाचन परिणाम अनुसार सुजन पण्डित (दक्षिण) , शिव नेपाल (पश्चिम) , लिला देवी ओझा(डिसी मेट्रो) र गोकुल श्रेष्ठ (उत्तर पूर्व) चयन हुनु भएको छ । नयाँ कार्यसमितिमा ४ सदस्य पदका लागि ४ जनाको मात्र उमेदवारी परेकाले निर्वाचन समितिले चारै जनालाई निर्विरोध निर्वाचित भएको घोषणा गर्यो। जस अनुसार अनिल अधिकारी, बाबुराम दाहाल, संगम बानिया र ज्ञानप्रसाद शर्मा निर्विरोध निर्वाचित हुनु भएको छ।


    निर्वाचन परिणाम सार्वजनिक भए लगतै विश्व न्यूजका प्रतिनिधिसंग कुराकानी गर्दै न्यौपानेले आफ्नो अमुल्य मतदान दिएर निर्वाचित गराउनु हुने मतदाताहरुलाई बिशेष धन्यवाद दिदै आभार प्रकट गर्नु भयो।गत कार्यसमितिका कार्यवाहक अध्यक्ष समेत रहनु भएका न्यौपानेले खुशी ब्यक्त गर्दै निर्वाचन सफलताका साथ सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने,निर्वाचन समित , मतदाता,अग्रजहरु ,पूर्व कार्य समितिहरु, सरोकारवालाहरु , सहयोगीहरु र पत्रकारहरुलाई धन्यवाद व्यक्त गर्नु भयो।सातौं अधिवेशनबाट निर्वाचित हुनु हुने सबैलाई बधाई दिदै न्यौपानेले निर्वाचनको प्रक्रियामा सामेल हुनु भएका सम्पूर्ण उमेदवारहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो।उहाँले निर्वाचन एक गणितीय परिमाणात्मक परिणाम मात्र भएकाले,संस्थालाई संस्थागत गर्दै गुणात्मक उचाइमा पुर्याउन सबैको साथ र सहयोगका लागि अपिल गर्नु भयो।नव निर्वाचित अध्यक्ष न्यौपानेले सबैलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्दै गर्दा पराजित भएका उमेदवारहरुले पनि संस्थालाई आवश्यक पर्दा सक्दो सहयोगी भूमिका निर्वाह गर्ने बचनबद्धता गरेका थिए। निर्वाचन परिणाम पश्चात् विजयी हुने र पराजित हुने उमेदवारहरुका बिचमा देखिएको हार्दिकता, साच्चै उदाहरणीय र कदरयोग्य थियो । निर्वाचन परिणाम कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गर्न नेपालदेखि अमेरिका आउनु भएका नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले नव निर्वाचित कार्यसमितिलाई बधाई दिदै कार्यकाल पूर्ण सफलताको कामना गर्नु भयो । नेपाल र अमेरिकामा रहेर पत्रकारिता गर्ने पत्रकारहरुको स्तरउन्नति र प्रगतिका लागि नयाँ कार्यसमितिले आफ्नो कार्यकालमा कदरयोग्य काम गरेर देखाउने अपेक्षा गर्दै पोख्रेलले भन्नु भयो,’ संस्थागत हुदै गरेको नेजालाई अझ उचाइमा पुर्याएर संस्थाको गरिमा बढाउन नयाँ कार्यसमिति प्रतिबद्ध भएर लाग्ने छ भन्नेमा म विश्वस्त छु ।र, आगामी दिनमा नेपाल अमेरिका पत्रकार संघ र नेपाल पत्रकार महासंघका बीच अझ प्रभाकारी ढंगबाट सम्बन्ध स्थापित गर्न दुबै क्रियाशिल हुन जरुरी ठान्दछु ।’ उहाँले भन्नु भयो, ‘ दुबै संस्था र संस्थामा आबद्धहरुको भलोका लागि आवश्यकतानुसार ज्ञान र सीपहरु एक आपसमा आदानप्रदान गर्नु अरिहार्य भएको कुरामा जोड दिनु भयो ।


    निर्वाचन परिणाम लगतै आङ छिरिङ शेर्पा संयोजक तथा नारायण सापकोटा, भोला आचार्य र शैलेश पोखरेल सदस्य रहेको निर्वाचन समितिले नव निर्वाचितहरुलाई संस्थाको विधान अनुसार सपथग्रहण गराएको थियो।सपथग्रहण पश्चात् पुरानो कार्यसमिति र नयाँ कार्यसमितिका बिच बुझबुझारतको काम समेत सम्पन्न गरिएको थियो। यसैबीच नवनिर्वाचित कार्य समितिको पहिलो बैठक समेत सम्पन्न भएको छ । बैठकले सातौं अधिवेशन तथा चौधौ वार्षिक साधारणसभालाई सफलताका साथ सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्नु हुने प्रमुख अतिथि, अतिथिहरु, सरोकारवाला संस्था तथा प्रतिनिधिहरु, पूर्व कार्यसमिति, निर्वाचन समिति, संस्थाका सदस्यहरु , सल्लाकारहरु,सहयोगहरु लगायत सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

  • अगष्टमा अन्तर्राष्ट्रिय उडानको तालीका सार्वजनिक, कुन मुलुकमा कति उडान ?

    अगष्टमा अन्तर्राष्ट्रिय उडानको तालीका सार्वजनिक, कुन मुलुकमा कति उडान ?

    काठमाडौं । नेपाल नागरिक प्राधिकरणले अगष्ट महिनाका लागि उडान सार्वजनिक गरेको छ । अगष्ट २०२१ भर सातामा कुल ६७ उडान गर्ने गरी उडान तालीका तोकेको छ । पछिल्लो तालीका ३१ अगष्ट २०२१ सम्म कायम हुने छ । प्राधिकरणका अनुसार नेपाल एयरलाइन्सले दोहाको कतारमा दैनिक एक उडान गर्ने गरी अनुमति पाएको छ ।

    दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा साताको दुई (सोमबार र बुधबार), मलेसियाको क्वालालाम्पुरमा साताको दुई (मंगलबार र शुक्रबार), भारतको नयाँ दिल्लीमा साताको तीन (सोमबार, बुधबार र शनिबार) र जापानको नारितामा हरेक बिहीबार उडान गर्ने गरी अनुमति पाएको प्राधिकरणको तथ्यांक छ ।

    हिमालय एयरलाइन्सले मलेसियाको क्वालालाम्पुरमा आइतबार, बुधबार, बिहीबार, शुक्रबार र शनिबार गरी पाँच उडान गर्ने छ । दुबईमा हिमालयले साताको तीन (सोमबार, बुधबार र शनिबार) उडाउने गरि अनुमति पाएको छ । हिमालयले कतारको राजधानी दोहामा भने साताको पाँच (सोमबार, शुक्रबारसम्म) उडान गर्न अनुमति पाएको हो ।

    एयर इण्डियाले भारतको राजधानी नयाँ दिल्लीबाट हरेक आइतबार, मंगलबार र शुक्रबार नेपाल उडान गर्नेछ । फ्लाई दुबईले भने दुबईबाट मंगलबार, बुधबार र शुक्रबार गरि सातामा तीन उडान गर्न अनुमति पाएको छ । जजिरा एयरवेजले कुवेतबाट हरेक दिन नेपाल उडान गर्नेछ । कोरियन एयरले हरेक बुधबार काठमाडौं उडान गर्ने भएको छ ।

    मालिन्दो एयरको जहाज क्वालालाम्पुरबाट सोमबार, बुधबार र शनिबार काठमाडौं आउनेछ । मलेसिया एयरलाइन्सले हरेक शनिबार क्वालालाम्पुरबाट काठमाडौंमा उडान गर्ने गरि अनुमति पाएको छ । कतार एयरवेजले कतारको दोहाबाट काठमाडौंमा दैनिक २ उडान गर्ने गरि अनुमति पाएको छ ।

    सलाम एयरले ओमानको मस्कटबाट आइतबार, मंगलबार र बिहीबार नेपालमा जहाज ल्याउने छ । टर्किस एयरलाइन्सले सोमबार, बिहीबार र शनिबार नेपाल उडान गर्ने भएको छ । सिंगापुर एयरलाइन्सले भने हरेक आइतबार नेपाल उडानको अनुमति पाएको छ ।

  • विदेश जाँदा कन्सुलर विभागबाट खोप लगाएको प्रमाणिकरण लिनु नपर्ने

    विदेश जाँदा कन्सुलर विभागबाट खोप लगाएको प्रमाणिकरण लिनु नपर्ने

    काठमाडौं । नेपालबाट विदेश जाँदा कन्सुलर सेवा विभागमा खोप लगाएको प्रमाणिकरण अब लिनु नपर्ने भएको छ । विभागले विदेशस्थित सम्पूर्ण नेपाली नियोगलाई समेत यसबारे जानकारी गराइएको बताएको छ । कन्सुलरमा गएर थप प्रमाणिकरण गर्नु पर्ने झन्झटबाट भने मुक्ति मिलेको छ । आइतबार सिसिएमसीले पत्रमार्फत स्वास्थ्य मन्त्रालयले तोकेका ४ अस्पतालबाट जारी भएका खोप प्रमाणपत्र कन्सुलर विभागमा थप प्रमाणीकरण गर्नु नपर्ने बनाउन निर्देशन दिएको थियो ।

    यसअघि विदेश जाने कामदार र विद्यार्थीहरूले खोप लगाएको प्रमाणपत्र अस्पतालबाट लिएपनि त्यसलाई पुनः कन्सुलर विभागबाट प्रमाणीकरण गराउनु पर्ने नियम थियो । पछिल्लो समय विभिन्न देशहरूले बाहिरबाट आउने कामदार र नागरिकलाई खोप अनिवार्य गरेपछि अहिले खोप लगाएको प्रमाण पत्र लिनेको संख्या बढेको छ। खोप लगाएपछि विदेशमा जाँदा क्वारेन्टिन बस्नुनपर्ने नियम अधिकांश मुलुकमा छ । सबै कामदारहरूले खोप लगाएको प्रमाण पत्र लिने गरेका छन् । यसले विदेश यात्रामा झन्झट कम हुन्छ ।

  • इपीएस पास गरेकालाई कोरिया पठाउन संसदीय समितिको निर्देशन

    इपीएस पास गरेकालाई कोरिया पठाउन संसदीय समितिको निर्देशन

    काठमाडौं । संसदीय समितिले ईपीएस परीक्षा पास गरेर पनि कोरिया जान नपाएका नेपाली कामदारलाई कोरिया पठाउने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले ईपीएस परीक्षा पास गरेर बसेका कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा निर्देशन दिएको हो ।

    ईपीएस परीक्षा पास गरेर बसेका करिब १० हजार श्रमिक कोरिया जान पाएका छैनन् । श्रमिकले दक्षिण कोरिया पठाउने काममा सरकारले आलटाल गरेको भन्दै समितिमा उजुरी दिएपछि समितिले सुनुवाई गर्दै सम्बन्धित मन्त्रालयसँग छलफल गरी आवश्यक प्रक्रिया पूरा गरी तत्काल उनीहरुलाई दक्षिण कोरिया पठाउन निर्देशन दिएको हो ।

    बैठकमा ईपीएस परीक्षा पास गरेका श्रमिकहरुलाई समेत दक्षिण कोरिया पठाउने काममा आलटाल गरेको भन्दै समितिका सदस्यले सरकारको आलोचना गरे । मुख्य सचिव शंकरदास बैरागीले आवश्यक प्रक्रिया पूरा गरी ईपीएस परीक्षा पास गरेकाहरुलाई छिटो दक्षिण कोरिया पठाउन आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

  • इपीएसबाट नेपाली कामदार छिट्टै कोरिया लैजाने राजदूतको प्रतिवद्धता

    इपीएसबाट नेपाली कामदार छिट्टै कोरिया लैजाने राजदूतको प्रतिवद्धता

    काठमाडौं । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले इपीएएस प्रणालीबाट छिट्टै नेपाली कामदार कोरिया जान सक्ने बताएका छन् । बुधबार अर्थमन्त्री जनार्दन शर्मासँगको भेटवार्तामा उनले यस्तो जानकारी गराएका हुन् । बुधवार अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तिर्ण गरी कोरिया जान नपाएका युवालाई कोरिया जाने वातावरण बनाउन आग्रह गरेका थिए ।

    कोभिड महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट हुनुपर्ने काम गरिने प्रतिवद्धता जनाउँदै मन्त्री शर्माले कोरियाको तर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिन आग्रह गरेका हुन् । ‘इपिएस अन्तर्गत कोरियाली भाषा परीक्षा उत्तिर्ण गरेका हजारौं युवाहरु बेरोजगार बसेका छन्, यो समस्या चाँडै समाधान गरिनेछ भन्ने विश्वास लिएको छु’ मन्त्री शर्माले भने।

    जवाफमा राजदूत सुकले रोकिएको इपिएसको काम अघि बढाउन आफूले पहल गर्ने वचन दिए। नेपालीहरुको मेहेनती र इमान्दारिताबाट कोरियाली रोजगारदाताहरु खुशी रहेको प्रसंग उल्लेख गर्दै उनले भाषा परीक्षा उत्तिर्ण गरी पालोमा बसेका श्रमिकलाई काममा पठाउने प्रक्रिया अघि बढाइने बताए।

    भेटको क्रममा अर्थमन्त्री शर्माले कोभिड–१९ विरुद्धको खोप पहिलो प्राथमिकता भएको भन्दै त्यसको लागि कोरियाली जनताको तर्फबाट आवश्यक सहयोग रहने विश्वास व्यक्त गरे। उनले नेपालको स्वास्थ्य, शिक्षा र प्रविधिको क्षेत्रमा कोरियाले गरिरहेको सहयोगप्रति आभार प्रकट गरे। कोरियाले नेपालमा स्वास्थ्य, शिक्षा, जलविद्युत लगायतका क्षेत्रमा लगानी समेत गर्दै आइरहेको छ।

    कोरियाको लगानीमा भक्तपुरको ठिमी, नुवाकोट, धनगढी र मुगुमा सुविधासम्पन्न अस्पताल निर्माण भएको छ भने महोत्तरीको बर्दिवासमा मोडेल पोलिकेक्निक कलेजको स्थापना हुँदैछ। उक्त कलेजले निर्माण क्षेत्रको दक्ष जनशक्ति उत्पादन गर्नेछ। मन्त्री शर्माले कोरियासँग नेपालको ४८ वर्षदेखि सुमधुर सम्बन्ध कायम रहिआएको र यसलाई अझै प्रगाढ बनाउन कोशिस गरिने बताए।

    भेटको क्रममा राजदूतले कोरियाली लगानी रहेको माथिल्लो त्रिसुली–१ जलविद्युत आयोजनाको काममा भइरहेको ढिलाई बारे चासो राखे। आयोजनामा ढिलाई हुँदा लागत बढ्न जानेतर्फ चिन्ता रहेको उनले बताए।

  • न्यूयोर्कमा निधन भएका विपिन लम्सालको शव व्यवस्थापन गर्न समस्या, सहयोगको अपेक्षा

    न्यूयोर्कमा निधन भएका विपिन लम्सालको शव व्यवस्थापन गर्न समस्या, सहयोगको अपेक्षा

    न्यूयोर्क । अमेरिकाको न्युयोर्कस्थित ग्रान्डएभिन्युमा बस्दै आएका २८ वर्षिय विपिन लम्सालको असामयिक निधनपछि उनको शव व्यवस्थापनमा परिवारले सहयोगको अपेक्षा गरेको छ । लम्सालको आफ्नै अपार्टमेन्टमा निधन भएको हो । श्रीमती र साथिहरु संगै खाना खाइ बाथरुम गएका उनी लामो समयसम्म बाहिर ननिस्किएपछि ढोका ढकढक्याउदा कुनै रेस्पोन्स नगरेपछि बाहिरबाट खोलिएको थियो । त्यसक्रममा उनी भुइमा लडेको अवस्थामा फेला परेका सीता खरेलले सामाजिक संजाल फेसबुकमा लेखेकी छिन् ।

    खरेलका अनुसार अचेत अवस्थामा भेटिएका लम्साललाई तुरुन्तै एम्बुलेन्स बोलाई अस्पताल लगिएको थियो । अस्पतालमा लैजानासाथ उनलाई मृत घोषणा गरिएको थियो । श्रीमती बिनिता लम्साललाई उदृत गर्दै खरेलले विपदको समयमा आफन्त कोहि नभएका कारण शव व्यवस्थापनमा समस्या परेको उल्लेख गरेकी छिन् । विपिनको घर पर्बत, कुस्मा हो । उनका साथि म्याग्दीका नर्जुन थापालाई सम्पर्क गरेर सहयोग गर्न सकिने भएको छ ।

  • इजरायलमा एक हजार नेपालीलाई आकर्षक जागिर, कसरी जान सकिन्छ ?

    इजरायलमा एक हजार नेपालीलाई आकर्षक जागिर, कसरी जान सकिन्छ ?

    काठमाडौं । इजरायलले एक हजार नेपाली नागरिकलाई कामदारका रुपमा माग गरेको छ । नेपाली श्रमिकले वैधानिक च्यानलबाट इजरायलमा रोजगारी पाउने छन् । वैदेशिक रोजगार विभागले मंगलबार एक सूचना निकाल्दै औपचारिक रुपमा इजरायलमा रोजगारीका लागि खुला भएको जानकारी गराएको हो । सरकारी प्रक्रियाबाट कामदार पठाउने सम्झौतानुसार आवेदन खुला गरिएकामा पहिलो चरणमा इजरायलले सुसारे (केयरगिभर)को कामका लागि एक हजार नेपाली श्रमिक मागेको हो ।

    सूचना अनुसार ३ सय पुरुष र ७ सय महिला कामदारको माग भएको छ । उनीहरुको मासिक तलव ५३०० एनआईएस (रु १ लाख ९३ हजार) तय भएको छ । तलब सातामा ४२ घण्टाको हिसाबमा प्रदान गरिने छ । सरकारले गतवर्ष इजरायल र नेपालबीच श्रम सम्झौता गरेको थियो । त्यसबेला पहिलो चरणमा ५ सय कामदार पठाउने समझदारी भएको थियो । इजरायल जाने कामदारले खानाको प्रबन्ध आफैले मिलाउनुपर्ने तर बस्ने प्रबन्ध भने रोजगारदाताले नै उपलब्ध गराउने छ ।

    रोजगारमा जाने करार अवधि एक वर्षको हुनेछ । करार थपेर पाँच वर्षसम्म बस्न पाइनेछ । रोजगारीका लागि २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्ने छन् । उचाइ कम्तीमा एक दशमलव पाँच मिटर र ४५ किलो तौल हुनुपर्छ । कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सिएमएसम्बन्धी तालिम लिएको हुनुपर्छ ।

    १० जोड दुई सरहको शैक्षिक योग्यता हासिल गरी सरकारबाट मान्यताप्राप्त तालीम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी तीन महिना तालीम लिएको भएपनि हुने गरि योग्यता तोकिएको छ । आवेदन दिनेहरु विगतमा इजरालयलमा गई काम नगरेको र तिनका बुबाआमा, पतिपत्नी वा छोराछोरी त्यहाँ बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्ने शर्त रहेको छ ।

  • विदेशमा बेखर्ची भएर फर्कने नेपालीको क्वारेन्टिन खर्च सरकारले बेहोर्ने

    विदेशमा बेखर्ची भएर फर्कने नेपालीको क्वारेन्टिन खर्च सरकारले बेहोर्ने

    काठमाडौं । सरकारले विदेशमा बेखर्ची भई वा जेलमुक्त भई नेपाल फर्किएका नेपालीको क्वारेन्टिन खर्च बेहोर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारले जेलमुक्त र्भइ फर्केका, डिपोटेसन सेन्टरमार्फत फिर्ता भएका र बेखर्ची भई फर्केका नागरिक क्वारेन्टिनमा बस्दा लाग्ने खर्च बेहोर्ने भएको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार क्वारेन्टिनका लागि आवश्यक प्रबन्ध श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मिलाउने छ । आवश्यक रकम भने अर्थ मन्त्रालयले निकासा गर्ने छ ।

    बैठकमा राष्ट्र ऋण पाँचौं संशोधन नियमावली २०७८ र ऋणको प्राथमिक तथा दोस्रो बजार तेस्रो संशोधन नियमावली २०७८ स्वीकृत गरिएको छ । साथै, विश्वव्यायिक समूहको अन्तर्राष्ट्रिय विकास संस्था मार्फत आयोजना सञ्चालन गर्न ऋण स्वरुप प्राप्त हुने अमेरिकी डलर ६० मिलियन बराबरको ऋण सहायता स्वीकार गर्ने निर्णय समेत आजको बैठकले गरेको उनले जानकारी दिए । बैठकले कोरोना संक्रमणको दोस्रो लहर नियन्त्रणका लागि विभिन्न जिल्लामा लगाइएको निषेधाज्ञाको अवधिभित्र सम्झौता भएका तर काम सम्पन्न हुन नसकेका खरिद सम्झौताको म्याद आवश्यकताको आधारमा ६ महिना थप गर्न स्वीकृत प्रदान गरेको छ ।

  • कतार जान तोकिए खोप र क्वारेन्टिनका नयाँ शर्त, के-के पुरा गर्नुपर्छ नियम ?

    कतार जान तोकिए खोप र क्वारेन्टिनका नयाँ शर्त, के-के पुरा गर्नुपर्छ नियम ?

    काठमाडौं । कतार जानेहरुका लागि त्यहाँको सरकारले नयाँ प्रावधान ल्याएको छ । कतारस्थित नेपाली दुतावासले यसबारे जानकारी गराएको हो । अब कतार प्रवेश गर्ने व्यक्तिले खोपको मात्रा पुरा गरेको १४ दिनपछि प्रवेश गरेमा क्वारेन्टिन बस्नु पर्ने छैन । तर, यात्रुको साथमा कोरोना नेगेटिभ आएको ७२ घण्टा भित्रको रिर्पोट भने हुनुपर्छ । दूतावासका अनुसार कतारले फाइजर, वायोटेक, मोर्डेना, अष्ट्राजेनिका (कोभिशिल्ड, अक्सफोर्ड र जान्सेन (जोन्सन एण्ड जोन्सन)को खोपलाई मात्र कतारमा मान्यता दिइएको छ ।


    यो खोप लगाएका व्यक्तिको सातमा खोप लगाएको प्रमाणपत्र साथमा हुनुपर्छ । प्रमाणपत्रमा खोप लगाइएको मिति, खोपको नामरप्रकार, उपलब्ध भएमा खोपको लट नम्बर खोप लगाउने निकायको छाप हुनुपर्ने दूतावासले जनाएको छ । सिनोर्फम खोप लगाएका व्यक्तिले भने उनीहरुको एण्टिबडी परीक्षण गरिने छ । त्यसबेला पोजेटिभ आएमा क्वारेन्टिन बस्नुपर्छ । नेगेटिभ देखिएमा समेत होटेल क्वारेन्टिन बस्नुपर्ने छ ।

    कतारमा कोभिड संक्रमण भई निको भएको १२ महिनाभित्र कतार पुनः प्रवेश गर्ने यात्रुले क्वारेन्टिन बस्नु पर्ने छैन । खोपको मात्रा पुरा नगरेका, खोपको मात्रा लगाएको १४ दिन पुरा नभएको वा खोप नलगाएका यात्रुले भने अनिवार्य डिस्कोभर कतार वेवसाइटमा बुकिङ गरि १० दिन होटेल क्वोन्टिन वा १४ दिन मेखाइनिस क्वारेन्टिन बस्नु पर्ने नेपाली दूतावासले जनाएको छ ।

    कतारमा यात्रा गर्नुभन्दा कम्तिमा १२ घण्टा अगाडि वेवसाइटमा अनलाइन माध्यमबाट प्रि-रजिस्ट्रेसन गरे आवश्यक कागजात अपलोड गरेपछि प्राप्त हुने ट्राभल परमिट समेत साथमा बोक्नु पर्ने भएको दूतावासले जनाएको छ

  • मलेसियाबाट एकै पटक नेपालीका २४ शव आए, एक सातामा ३७ शव ल्याइयो

    मलेसियाबाट एकै पटक नेपालीका २४ शव आए, एक सातामा ३७ शव ल्याइयो

    काठमाडौं । आज मलेसियाबाट एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल आएको छ । विभिन्न समयमा विविध कारणले ज्यान गुमाएका नेपालीको शव आज राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको जहाजले नेपाल ल्याएको हो । मलेसियाको क्वालालाम्पुरबाट वाइडबडी जहाजबाट ती शव नेपाल ल्याइएको हो ।

    नेपाल एयरलाइन्सका महाप्रवन्धक डीम प्रसाद पौडेलका अनुसार एक साता भित्र ३७ जनाको शव नेपाल ल्याइएको छ । तीन जनाको अस्तु आएको छ । मलेसियास्थित नेपाली दूतावासका अनुसार अझै मलेसियामा १६ शव नेपाल ल्याउनु पर्ने अवस्थामा छन् । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका यी शव आजै आफन्तको जिम्मा लगाइएको छ ।

  • गोर्खा सत्याग्रह संघर्ष समितिले बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडी रिले अनसन शुरु

    गोर्खा सत्याग्रह संघर्ष समितिले बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडी रिले अनसन शुरु

    लण्डन । गोर्खाले उठाइरहेको माग पुरा नगरेको भन्दै बेलायतको लण्डनमा रिले अनशन थालिएको छ । गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिको नेतृत्वमा बुधबार दिउँसो १ बजेदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि टेन डाउनिङ स्ट्रिटमा अनशन थालिएको राससले जनाएको छ । बेलायत सरकार र नेपाल सरकारलाई पटक–पटक आफ्ना मागको सुनुवाइका लागि विभिन्न चरणमा र विभिन्न माध्यमबाट आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्यात्मक परिस्थितिले अनशन बस्न परेको अभियानकर्मी ज्ञानराज राईको भनाई छ ।

    बुधबारदेखि १३ दिनसम्म लगातार अनशन बस्ने र हरेक दिन एक, एक जना अनशन बस्ने योजना रहेको आयोजकको भनाई छ । १३ दिनभित्र बेलायत सरकारले वार्ताको पहल नगरेमा भने भोक हड्तालमा जाने योजना छ । गत महिना गोर्खाहरूका मागसँग सरोकार राख्ने पाँचवटा संस्था र गैरआवसीय नेपाली सङ्घ युकेलगायतले नेपाल सरकार र बेलायत सरकार दुवैलाई पत्र पठाएका थिए । पत्रमा भूपू गोर्खाहरूको समान पेन्सनलगायतका माग राखेर वार्ताका लागि आग्रह गरिएको थियो । यो अनशनलाई गोर्खा हकहितका लागि काम गर्दै आइरहेको गेसो नामक संस्थाले भने साथ दिएको छैन ।

  • स्टार क्रिकेटर सन्दीपलाई बेलायतमा अपमान, १० दिन होटेल क्वारेन्टिन बसेपछि भनियो : भिषा अवैध छ

    स्टार क्रिकेटर सन्दीपलाई बेलायतमा अपमान, १० दिन होटेल क्वारेन्टिन बसेपछि भनियो : भिषा अवैध छ

    काठमाडौं । नेपालका स्टार क्रिकेटर सन्दिप लामिछानेले बेलायतमा अपमान बेहोर्नु परेको छ । साथै उनले ‘द हन्ड्रेड’ प्रतियोगिता समेत गुमाएका छन् । बेलायतको क्रिकेट बोर्डले उनलाई तत्काल देश छोड्न समेत भनेको छ । यो सन्दीपले कुनै गल्ती गरेका कारण भने होइन । बेलायतले शुरुमा प्रवेश अनुमति दिएर १० दिन होटेल क्वारेन्टिन समेत बसिसकेपछि उनलाई भिषा अवैध भएको भन्ने जानकारी गराइएको छ । तर, यो कसरी भयो भन्ने बारे भने स्पष्ट नभनिएको सन्दीपले सामाजिक संजालमा सार्वजनिक गरेका छन् ।

    ‘द हन्ड्रेड’ प्रतियोगिता खेल्न उनी ९ जुलाईमा बेलायत पुगेका थिए । बेलायत पुग्दा अध्यागमनमा आफुलाई कुनै समस्या नभएको उनले जानकारी गराएका छन् । सामान्यता भिषा अवैध भएमा अध्यागमनले नै रोक्ने गर्छ । त्यसपछि उनी सरकारले व्यवस्थापन गरेको क्वारेन्टाइनमा गएर बसेका थिए । नियमानुसार क्वारेन्टाइन सकिनुभन्दा दुईदिन अघि उनलाई बेलायतको क्रिकेट बोर्डले भिसा बैध नभएको र चाँडोभन्दा चाँडो देश छोड्न भनेको उनले जानकारी गराएका छन् ।

    तर, किन यसो भयो भन्ने बारे भने कसैले पनि जानकारी नगराएको उनको गुनासो छ । यसअघि समेत बेलायतले समयमै भिषा नदिएपछि उनले टी २० ब्लास्ट प्रतियोगिता समेत गुमाएका थिए । एक करोड रुपैयाँ भन्दा बढी मूल्यमा आवद्ध भएका उनी अब प्रतियोगितामा सहभागी नै हुन नपाई घर फर्कनु पर्ने भएको छ ।

    यस्तो छ सन्दीपको स्टाटस

    I am extremely gutted for missing out on The Hundred. I was so looking forward to play for my team Oval Invincibles and followed all the instructions that was given to me by the ECB officials.

    Briefly, when I applied for the Tier 5 visa, I was told that one Certificate of Sponsorship would be enough for my gig at Vitality Blast and The Hundred. Due to COVID-19 situation, there was a delay in my visa and Worcestershire pulled out but it was again communicated to me by officials that as long as I come into the UK before July 10, I would be okay as my COS was still active.

    I came in the UK by July 9, had no issues whatsoever at the immigration and moved into the government managed quarantine facility to complete my quarantine. On July 18, two days before my quarantine completion, I was told by ECB that may visa is not valid and I have to leave the country ASAP. I have been asking what went wrong but apparently no one at the ECB have the correct answer. I can totally understand that things can go south at anytime, however I at least deserve a clear answer on why my valid visa is not valid anymore.

    I left a lot to be the part of this exciting tournament and totally pray and wish the best for all teams out there. I always got love from the lovely people of UK and I would urge ECB to look into the matter so that no one else has to go through this ordeal. I can also feel for my people who were so looking forward to my participation in this amazing tournament. There will be better days ahead.

    #TeamSandeepLamichhane

  • काठमाडौं-दिल्ली रुटमा अब साताको ६ उडान

    काठमाडौं-दिल्ली रुटमा अब साताको ६ उडान

    काठमाडौं । नेपाल र भारतबीचमा आवाज जावतको एक मात्र औपचारिक रुट काठमाडौं-दिल्लीमा अब उडान संख्या थप हुने भएको छ । २४ जुलाईबाट नेपाल एयरलाइन्सले तीन र भारतको ध्वजाबाहक एयर इण्डियाले तीन गरि सातामा कुल ६ उडान गर्ने भएका हुन् । अहिले भारतको नयाँ दिल्लीमा साताको दुई उडान भइरहेको छ । नेपाल एयरलाइन्सका अनुसार नयाँ दिल्लीमा काठमाडौंबाट सोमबार, बुधबार र शनिबार नेवानिको उडान हुने छ । भारतबाट एयर इण्डियाले उडान तालिका तय गर्नेछ ।

    यो उडान शुरु भएपछि भारतमा हवाई भाडा सस्तो हुने अपेक्षा छ । साविकमा ९ हजारसम्म तोकिएको भाडा अहिले एकतर्फी नै ३० हजार माथि पुगेको छ । नेपाल र भारतबीच एयर बबल सम्झौता अनुसार उडान भइरहेको छ । सो सम्झौतामा उडान थप गर्न नेपालले प्रस्ताव गरेको थियो । प्रस्ताव स्वीकृत भएसँगै उडान संख्या बढेको हो । भारतको बैंलौर र मुम्बईमा भने तत्काल उडानको सम्भावना छैन ।

  • प्रधानमन्त्री देउवा र मोदीबीच फोनवार्ता, के विषयमा भयो कुराकानी ?

    प्रधानमन्त्री देउवा र मोदीबीच फोनवार्ता, के विषयमा भयो कुराकानी ?

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । सोमबार दिउँसो प्रधानमन्त्री देउवा र मोदीबीच कुराकानी भएको प्रधानमन्त्री स्वयमःले सामाजिक संजालबाट जानकारी गराएका छन् । फोनवार्तामा मोदीले प्रधानमन्त्री देउवालाई कोभिड १९ विरूद्धको खोप भारतबाट नेपाल आउने आश्वासन दिएका छन् । देउवाले आज दिउँसो प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनवार्ता गरेको भन्दै द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउनेबारे छलफल गरेको जनाएका छन् ।

    आइतबार प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाको बैठकमा विश्वासको मत पाएसँगै मोदीले टुइटमार्फत बधाई दिएका थिए । उक्त बधाईको देउवाले धन्यवाद रिप्लाई समेत गरेका छन् । भारतले लगातार दुई दिन देखाएको सदासयताबाट नयाँ सरकारसँग समेत भारत सुमधुर सम्बन्ध बनाउन चाहेको रुपमा हेरिएको छ । भारतीय कम्पनीसँग नेपाल सरकारले किनेको खोप नआउँदा करीव १४ लाख जेष्ठ नागरिकले दोस्रो डोज खोज लगाउन पाएका छैनन् ।

  • गुरुङ ‘तमु’ समाज न्यू ह्यासमरमा हितमान

    गुरुङ ‘तमु’ समाज न्यू ह्यासमरमा हितमान

    न्यू ह्यामसर

    गुरुङ ‘तमु’ समाज न्यू ह्यामसरमा हितमान गुरुङको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । अघिल्लो साता सम्पन्न साधारणसभाबाट दुई बर्षे कार्यकालका लागि सर्वसम्मन नयाँ नेतृत्व चयन भएको हो ।

    नयाँ कार्यसमितिको उपाध्यक्षमा माधव गुरुङ, महासचिव विकास गुरुङ, कोषाध्यक्ष लक्ष्मी गुरुङ, सचिव वविता गुरुङ एवं सह कोषाध्यक्षमा निरा गुरुङ चुनिएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा पुष्पा गुरुङ घले, प्रकाश गुरुङ, इन्द्र गुरुङ, गंगा घले गुरुङ, दिनेश गुरुङ, सोनाम ग्याम्त्सो, गोविन्द गुरुङ, उषा गुरुङ, दिल गुरुङ, नरेन गुरुङ र सुमन गुरुङ चयन भएका छन् ।

    शुक्रबार राज्यको म्यानचेष्टर सिटीमा आयोजित समारोहमा नयाँ कार्यसमितिलाई निर्वाचन समिति संयोजक सोम गुरुङ, निर्वतमान अध्यक्ष छत्रकुमारी गुरुङ एवं सल्लाहकारहरु तोप गुरुङ, शेखर गुरुङ लगायतले बधाई एवं शुभकामना दिएका थिए ।

    कार्यक्रममा नव निर्वाचित अध्यक्ष हितमान गुरुङले राज्यमा बसोबास गर्ने गुरुङ तमुहरुको साझा संस्थाको रुपमा रहेको समाजले आफ्नो रिती थिती संरक्षण गर्दै नयाँ पुस्तालाई संस्कार र संस्कृति सिकाउने अभियानलाई निरन्तरता दिने बताए । समाजले राज्यमा बसोबास गर्ने बिभिन्न समुदायलाई समेटेर तमू ल्होछार, बुद्ध जयन्ती जस्ता पर्वहरु सार्वजनिक रुपले मनाउँदै आएको छ ।

  • देउवालाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

    देउवालाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक रुपमा बधाई ज्ञापन गरेका छन् । प्रतिनिधिसभाबाट विश्वासको मत पाउनासाथ भारतीय प्रधानमन्त्रीले ट्वीट गर्दै देउवालाई बधाई दिएका छन् । उनले प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । देउवाको कार्यकालमा द्विपक्षीय सम्बन्ध अझ गहिरो हुने उनको विश्वास छ । नियुक्त हुनासाथ मोदीको बधाई नआएको भन्दै नेपालमा चर्चा भइरहेको थियो ।

  • एनआरएनएको १० औं साधारणसभा कात्तिकमा तय

    एनआरएनएको १० औं साधारणसभा कात्तिकमा तय

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १०औँ एनआरएन ग्लोबल सम्मेलन तथा १०औँ साधारणसभा आगामी अक्टोबर २३–२५ (२०७८ कात्तिक ६–८) मा आयोजना हुने भएको छ । संघको शनिबार बसेको ७८औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले मिति तय गरेको हो । बैठकले अध्यक्ष कुमार पन्तको संयोजकत्वमा मुल आयोजक समिति समेत गठन गरेको छ ।

    अध्यक्ष पन्तका अनुसार बैठकले आगामी निर्वाचन अनलाइन प्रणालीबाट गर्ने निर्णय गर्दैै निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्कसमेत शून्य कायम गरेको छ । यसअघि निर्वाचनमा भाग लिने प्रतिनिधिले तोकिएको शुल्क तिर्नुपर्ने प्रावधान थियो । बैठकले निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क सन् २०१९ को निर्वाचनमा तोकिएबमोजिमकै कायम गर्ने निर्णय समेत गरेको छ ।

    बैठकले गैरआवासीय नेपाली सङ्घको निर्वाचनसम्बन्धी नियमावली, एनआरएन फाउण्डेशन, आर्थिक नियमावलीलगायतका विभिन्न १९ नियमावली संशोधन गरेको छ । बैठकले आर्थिक वर्ष २०७८,७९ को बजेट पनि पारित गरेको छ । कोरोना महामारीका कारण साधारणसभाको कसरी गर्ने भन्ने चाँही पछि तय हुने छ ।

  • यूरोपमा बाढी : ज्यान गुमाउनेको संख्या १२० भन्दा माथि

    यूरोपमा बाढी : ज्यान गुमाउनेको संख्या १२० भन्दा माथि

    काठमाडौं । यूरोपका विभिन्न मुलुकमा आएको भिषण वर्षा र बाढीका कारण ज्यान गुमाउनेको आंकडा १२० भन्दा माथि पुगेको छ । पश्चिम युरोपका विभिन्न मुलुक बाढीको चपेटामा आएका छन् । ज्यान गुमाउनेमा ठूलो संख्या जर्मनीमा छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहका अनुसार बाढीले पश्चिम र दक्षिण जर्मनीमा दुई गाउँ ध्वस्त बनेका छन् । त्यहाँका सयौँ घर बगेको र अझै सयौँ सर्वसाधारण हराएका छन् । यसले मृतकको संख्या बढ्न सक्ने आंशका छ ।

    बाढीको प्रभाव जर्मनीसँगै बेल्जियम, लक्जम्बर्ग र नेदरल्याण्ड्ससम्म परेको छ । जर्मनीको राइनल्यान्ड प्यालाटिनेट राज्यका १३ सय नागरिक सम्पर्कमा आएका छैनन् । उनीहरुको खोजि कार्य जारी छ । अधिकारीहरुका अनुसार पछिल्लो एक सय वर्ष यस प्रकारको बाढी त्यहाँ आएको थिएन । जर्मन चान्सलर एन्जेला मर्केलले विनासकारी बाढीबाट भएको क्षति न्यून गर्न, उद्धारमा तिब्रता र रहात बढाउन निर्देशन दिएकी छिन् ।

  • आजबाट अवैध रुपमा भित्रने मोवाइल नेपालमा नचल्ने, विदेशबाट ल्याए दर्ता गर्नुपर्ने

    आजबाट अवैध रुपमा भित्रने मोवाइल नेपालमा नचल्ने, विदेशबाट ल्याए दर्ता गर्नुपर्ने

    काठमाडौं । आजबाट नेपालमा अवैध रुपमा भित्रने मोवाइल फोन सेट नचल्ने प्रणाली कार्यान्वयनमा आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) कार्यान्वयनमा ल्याएको हो । यो सिस्टम कार्यान्वयनमा आएसँगै बिहीबारसम्म आएका सबै सेट भने संचालनमा आउने छन् । प्राधिकरणका अनुसार देशभर यो प्रणालीले पूर्ण रुपमा काम गर्न सक्ने छैन । तर, शुरुवात गरिएका कारण क्रमशः देशव्यापी बनाइने छ ।

    कर प्रणाली छलेर भित्रिएका, नक्कल गरिएका र चोरीका मोबाइल अब दूरसञ्चार सेवामा प्रयोग गर्न नमिल्ने गरि यो प्रणालीले काम गर्नेछ । प्राधिकरणका अनुसार सफ्टवेयरले वैध मोबाइललाई ह्वाइट लिस्ट र अवैधलाई कालोसूचीमा राखिने छ । एमडिएमएसको सफ्टवेयरलाई जीएसएमएको प्रणालीमा ‘लिङ्क’ गरि हेर्नासाथ मोवाइल बैध वा अबैध के हो भन्ने पत्ता लाग्छ । दर्ता नभएका मोबाइल सेट कालोसूचिमा पर्छन् । भन्सार विभागले अब नेपाल भित्रने सबै मोवाइललाई दर्ता गर्नेछ ।

    भन्सार र सेवाप्रदायको पहुँचमा एमडिएमएस भएपछि सहजै अवैध मोबाइल, ब्ल्याक लिस्ट अथवा ह्वाइट लिस्टमा राख्ने काम हुने प्राधिकरणको भनाई छ । बिहीबारसम्म चलिरहेका बैध तथा अबैध सबै मोवाइल सेट भने यथावत चल्छन् । विदेशमा रहेका नेपालीले आफन्तलाई मोबाइल पठाएमा त्यसलाई दर्ता गर्नुपर्छ । त्यसपछि चलाउन पाइन्छ । पहिले नै नेपाल आइसकेका फोन भने बन्द हुने छैनन् । उनीहरुले पनि फोन दर्ता भने गराउनु पर्नेछ । यो प्रणालीले खासगरी भन्सारबाट भित्रने अवैध मोवाइलको व्यापार बन्द हुनेछ ।

  • ड्यालसमा ‘बुद्ध र उनको शिक्षा’ बिषयमा निबन्ध प्रतियोगिता हुने

    ड्यालसमा ‘बुद्ध र उनको शिक्षा’ बिषयमा निबन्ध प्रतियोगिता हुने

    टेक्सस

    नेप्लिज बुद्धिस्ट ऐशोसिएसन, टेक्सासले स्कूलका विद्यार्थीहरुको लागी निबन्ध प्रतियोगिता गर्ने भएको छ। उक्त कार्यक्रममा किंडर-गार्टनदेखि १२ कक्षासम्मका विद्यार्थीहरुले भाग लिन पाउने छन् ।
    ऐशोसिएसनले आफ्नो फेसबुक पेज मार्फत उक्त प्रतियोगितामा भाग कसरी लिने, कुन कुन बिषयमा निबन्ध लेख्न पाउने, सहयोगी किताबहरुको लिंक, प्रतियोगिताका नियमहरु, प्रतियोगि निबन्धहरु कसरी मूल्यांकन हुने र मूल्यांकन समितिका सदस्यहरुको जानकारी दिएको थियो। उक्त प्रतियोगितामा भाग लिने विद्यार्थीलाई ४ हप्ताको तयारी समय रहेको छ।


    कार्यक्रमका संयोजक तथा ऐशोसिएसनका सचिब डा नीरज बज्राचार्यले कार्यक्रमको मुख्य उद्देश्य बुद्ध र उनको शिक्षा बारे विद्यार्थीहरुलाई आफै शोधकार्य गरी जानकारी दिने भएता पनि यस कार्यक्रमले उनीहरुको व्यक्तित्व विकासमा पनि टेवा पुग्ने जानकारी दिनुभयो।
    यस कार्यक्रमबाट विद्यार्थीहरुले कसरी सत्य तथ्य कुरा इन्टरनेट र अरु साधनहरुको उचित उपयोग गरी संकलन गर्ने, यसरी संकलित सत्य तथ्यलाई कसरी निबन्धको रुप दिने तथा आफुले तयार पारेको निबन्ध सबैको अगाडि कसरी आत्मविश्वासका साथ मौखिक रूपमा व्यक्त गर्ने भन्ने बारे व्यावहारिक ज्ञान पाउने छ।
    प्रतियोगिताका विजेताहरुलाई इनामको पनि व्यवस्था गरिएको छ।

  • एनआरएनए कनेक्टिकट च्याप्टरको कार्यभार हस्तान्तरण समारोह सम्पन्न

    एनआरएनए कनेक्टिकट च्याप्टरको कार्यभार हस्तान्तरण समारोह सम्पन्न

    हरिप्रसाद जोशी,कनेक्टिकट

    गैरआवासीय नेपाली संघ, अमेरिका कनेक्टिकट च्याप्टरको शपथ ग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । निवर्तमान अध्यक्ष हरि प्रसाद जोशीको कार्यकालमा निम्न कार्यहरु सम्पादन गरिएका थिए ।
    विवरणहरु :

    १) कार्य समिति तथा सल्लाहकार समितिको पूर्णता ।
    २) आर्थिक गतिविधीहरुको पारदर्शिताको लागि बैंक खाता खोलि कार्यक्रम गरिएको ।
    ३) दुई वर्षको वार्षिक कार्ययोजना पारित गरि संस्थाको गतिविधीहरुलाई निरन्तरता दिईएको ।
    ४) नेपालको एक बिद्यालय लाइ एक लाखको छात्रवृत्ति अक्षयकोष को स्थापना गरिएको ।
    ५) अमेरिकाको जनसंख्या गणनामा नेपालीको पहिचान विषयक गोष्ठी सम्पन्न गरेको छ ।
    ६) पवित्र समाज सेवा नेपालका बालबालिकाहरुलाई रु. ५०००० हजारको सहयोग ।
    ७) नेपाली विद्यार्थी सुरज खडकालाई स्वास्थ्य उपचार को लागि $926 सहयोग ।
    ८) Help Desk मार्फत Covid-19 को महामारीमा Connecticut र New york मा विशेष सहयोग ।
    ९) स्थानिय संस्थाले मनाउने नेपाली रितिरिवाज, चाडपर्ब र समर स्कूल तथा विभिन्न कार्यक्रमहरुमा उल्लेखनीय सहभागिता ।
    १०) Connecticut Chapter को आयोजनामा पहिलो पटक एनआरएनको उत्तर पूर्वीय क्षेत्रिय कार्यक्रम यस क्षेत्रका ५ वटा राज्यहरु CT, NY, MA, NH र NJ को विशेष भेला गरी क्षेत्रिय समितिको सपथ ग्रहण कार्यक्रममा च्याप्टरको अध्यक्ष, उपाध्यक्ष र सदस्यहरुको विशेष उपस्थिति थियो ।
    ११) Covid-19 को महामारीमा मानवीय सहयोग स्वरुप स्वर्गीय राज कुमार थापाको दाहसंस्कारको लागि $1530 आर्थिक सहयोग ।
    १२. नेपालको बझाङ जिल्लामा गएको बाढीको पिडित १० परिवारलाइ रु. ५०, ००० हजार राहत स्वरूप वितरण
    १३. स्थानिय संस्था नेकोनले अघि सारेको समुदायिक भवन निर्माणको लागि NRNA connecticut chapter ले $ 6000 तिरी संस्थागत सदस्यता लिएको ।
    १३. आदरणीय एन आर एन कनेक्टिकटका समाजसेवीहरुलाई एनआरएनको आजीवन सदस्यता प्रदान गरी यस राज्यको च्यापटरको गरिमा बढाउन सफल
    १४. स्थानिक एनआरएनका सदस्य लक्षमण गिरीका मित्रलाइ नेपालमा उपचारको लागि रु. ५५,००० हजार सहयोग ।
    १५. एनआरएनए कनेक्टिकट च्यापटरले यस च्यापटरकी सदस्य स्व.लक्ष्मी भट्टराई ओझाको स्वर्गारोहण भएको छ महिनाको पूण्यतिथिमा उहाँको बैकुण्ठबासको कामना गर्दै भावपूर्ण श्रद्धान्जलीका साथ 25 जना वाट रक्तदान कार्यक्रम सम्पन्न ।
    १६.सस्थालाई आर्थिक रुपमा बलियो बनाउन माथि उल्लेखित गतिविधीहरु गरी हाल बैकमा $ 2862.02 मौजाद रहेको र एनआरएन सदस्यज्यूहरूबाट वर्ष (2021-2023 )मा जम्मा $5 दरले भुक्तानी हुन बाँकी $1250.00 गरी जम्मा $4112.02 नयाँ कार्यसमितिलाई दिन सफल ।
    १७.सदस्यता वितरणमा उल्लेखनीय वृद्धि गरी आजीवन सदस्य ८ वाट ३० र साधारण सदस्यहरु १४८ बाट २२४ गरि जम्मा २५४ पुर्याएको ।

    उल्लेखनीय कार्यक्रमहरु सफल गर्न प्रमुख सल्लाहकार श्री पिताम्बर अधिकारीज्यूको विशेष योगदान रहेको, पूर्वअध्यक्षहरु लगायत अन्य सल्लाहकारहरु, कार्यसमितिक सदस्यहरु सहयोगी दाताहरु, स्थानिय संघ, संस्थाका प्रमुखहरु , स्थानिय बुद्धिजीवि , पत्रकारहरुको योगदान प्रति निवर्तमान अध्यक्षले हार्दिक व्यक्त गर्नु भएको थियो । सो कार्यक्रम संस्थाका प्रमुख सल्लाहाकार पिताम्बर अधिकारीज्यूको सभापतित्वमा स्थानिय संस्था नेकोनका प्रमुख सल्लाकार कृष्ण अधिकारीज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । च्याप्टरका निवर्तमान अध्यक्ष हरि प्रसाद जोशी ले सन्चालन गर्नु भएको थियो सो कार्यक्रम मा नेकोनका उपाध्यक्ष रघुनाथ गिरी, हार्टफोर्ट काउन्टी एभेरेष्ट सेण्टेनियल लाईन्स क्लबका अध्यक्ष प्रकाश ठाकुर, एनआरएन कनेक्टिकट च्यापटरका पूर्व अध्यक्ष घनश्याम खड्का, एनआरएन कनेक्टिकट च्यापटरका संस्थापक अध्यक्ष राम ओझा, च्याप्टरका सल्लाकार गणेश अर्याल, स्थानिय समाजसेवी, बुद्धिजीवि, आजिवन सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो भने सोहि समारोहमा १५ जना सदस्यहरुले आजिवन सदस्यता लिन घोषणा पनि गर्नु भयो,


    सो कार्यक्रममा च्यापटरका निवर्तमान अध्यक्ष हरि प्रसाद जोशीले वार्षिक प्रतिवेदन, निवर्तमान कोषाध्यक्ष नारायण मिश्र आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो ।
    नव निर्वाचित अध्यक्ष मुना तिवारीले आफ्नो अध्यक्षतामा नयाँ सदस्यहरुको परिचय र सपथ ग्रहण गराउनु भएको थियो । सो कार्यक्रममा यस राज्यमा पहिलो महिला अध्यक्ष हुन पाएकोमा खुशि व्यक्त गर्नु भएको थियो भने निवर्तमान अध्यक्षले सम्पूर्ण नयाँ टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।

  • नेकोनद्वारा कनेक्टिकटमा नेपाली भाषा पाठशाला संचालन

    नेकोनद्वारा कनेक्टिकटमा नेपाली भाषा पाठशाला संचालन

    धन लामा, कनेक्टिकट

    नेपाली भाषा, कला तथा साहित्यको संरक्षण र सम्वर्धन गर्ने पवित्र उदेश्यले कनेक्टिकट नेपाली समाज (नेकोन) अमेरिकाले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि एक भव्य कार्यक्रमका बीच नेपाली भाषा पाठशालाको शुभारम्भ संस्थाका अध्यक्ष नारायण पौडेल र नेपालका लागि संयुक्त राज्य अमेरिका, न्यूयोर्कका महावाणिज्यदूत बिष्णु प्रसाद गौतमले संयुक्त रूपमा गर्नु भयो ।

    अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्ने नेपालीहरुका बालबालिकाहरुलाई नेपाली भाषा सिकाउने उदेश्यका साथ नेकोनले हरेक वर्ष गृष्मकालीन नेपाली भाषा पाठशाला संचालन गर्दै आएको छ । यस वर्ष पनि विश्व व्यापी महामारी कोभिड-१९ ले बनाएको असहज परिस्थितिमा आएको सुधारसंगै कार्यक्रमको निरन्तरता स्वरूप भाषा पाठशाला पुन: सुन्चालन गरिएको छ। विद्यालय शुरुआतको औपचारिक कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष नारायण पौडेलले गर्नु भएको थियो भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष रघुनाथ गिरीले गर्नु भएको थियो । कार्यक्रममा उल्लेख्य मात्रामा नेपाली अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली महावाणिज्यदूत बिष्णु प्रसाद गौतमले नेपाली भाषा पाठशाला, देउसी, भैलो र वार्षिक मुखपत्र कनेक्टिकट चौतारी मार्फत नेपाली भाषा, कला र साहित्यको विकास तथा विस्तारमा नेकोनले गरेको योगदानको प्रशंशा गर्दै नेपाली पाठशालामा आवश्यक शैक्षिक सामाग्रीहरुको लागि महावाणिज्यदूतावासले सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भयो ।
    संस्थाका प्रमुख सल्लाहकार कृष्ण अधिकारीले नेपाली समुदायका सबैलाई पाठशाला संचालनमा सक्दो सहयोगको लागि आव्हान गर्नु भयो ।

    कार्यक्रमको बारेमा प्रकाश पार्दै नेपाली भाषा पाठशालाका संयोजक दिपेश भट्टले व्यवस्थित र गुणस्तरीय ढंगले पाठशाला संचालन गर्ने वचनवद्धता प्रकट गर्नु भयो भने कार्यक्रमको संचालन नेकोनका सचिव राजन तिम्सिनाले गर्नु भाको थियो । कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष नारायण पौडेले सम्पूर्ण सहभागी, विद्यार्थी तथा अभिभावकहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

  • वैदेशिक रोजगारीमा जानेले प्राथमिकताका आधारमा खोप पाउने

    वैदेशिक रोजगारीमा जानेले प्राथमिकताका आधारमा खोप पाउने

    काठमाडौं । गन्तब्य मुलुकमा खोप अनिवार्य भएसँगै नेपालबाट वैदेशिक रोजगारीमा जाने जागरिक प्रभावित भएका थिए । अब भने सरकारले वैदेशिक रोजगारीमा जानेलाई प्राथमिकताका आधारमा खोप लगाउने भएको छ । मंगलबार देशभर खोप अभियान शुरु हुँदैछ । मंगलबारबाट चीनबाट खरीद गरेको भेरोसेल खोप दिन लागिएको हो ।

    यो प्राथमिकतामावैदेशिक रोजगारीमा जाने नेपाली समेत परेका हुन् । खोप अनिवार्य गरेका देशमा जाने नेपालीहरूलाई भोलिदेखि चीनबाट ल्याइएको भेरोसेल खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । मन्त्रालयका अनुसार वैदेशिक रोजगारीमा जाने नेपालीलाई पासपोर्ट र भिसाको आधारमा खोप लाइनेछ ।

    सरकारले चीनबाट ल्याएको भेरोसेल खोप लगाउन शुरु गर्ने बताएको छ । मन्त्रालयका अनुसार भेरोसेल ५५ वर्ष र त्योभन्दा माथिका उमेर समूहका सबैलाई वितरण गरिने छ । विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरू, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक र नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्नहरूलाई पनि भेरोसेल खोप दिइने भएको छ ।


    खोप लगाउन जाँदा आधिकारिक प्रमाण नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाण पत्र, शैक्षिक प्रमाण पत्र वा पालिका, वडाबाट उमेर प्रमाणित कागजात लैजानुपर्ने मन्त्रालयले जनाएको छ । सार्वजनिक यातायातका चालक, सहचालकहरूलाई आधिकारिक परिचय पत्र र सवारी साधनसहित व्यवसायी सङ्घबाट तथ्यगत विवरण माग गरी प्रमुख जिल्ला अधिकारीबाट प्रमाणित सूचीको आधारमा खोप दिइने छ ।

    शिक्षक तथा कर्मचारीहरूले संस्थाको आधिकारिक परिचय पत्रको आधारमा खोप पाउने छन् । खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरूले पासपोर्ट र भिसाको आधारमा खोप पाउने मन्त्रालयले जनाएको छ ।