काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले संयुक्त अधिराज्यको भ्रमणका क्रममा रमाइलो किस्सा सार्वजनिक गरेका छन् । बिहिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवाले बेलायतमा रहँदा विश्वका नेताहरूसँग गरिएका भेटवार्ताका कुराकानीबारे आफ्नो अनुभव सुनाए। जसमा उनलाइ अमेरिकी रास्ट्रपति जो बाइडेनले चिन्नुमा नेपाली टोपी मुख्य कारण थियो ।
प्रधानमन्त्री देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भएको कुराकानीबारे बताउँदै भने, ‘बाइडेनले नेपाल खुब मनपर्छ भने।’ आफू टोपी लगाएर गएकोले देख्नेवित्तिकै बाइडेनले चिनेको प्रधानमन्त्री देउवाले बताए । ‘बाइडेनसँग विशेष रूपमा भेट भयो। म टोपी लगाएर गएको थिएँ देखेपछि चिनिहाले,’ प्रधानमन्त्री देउवाले भने, ‘पहिला नेपाल आएका पनि रहेछन्। नेपाल खुब मनपर्छ भने।’
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि आफू नेपाल बारे जानकार रहेको बताएको उनले जानकारी दिए । प्रधानमन्त्री बेलायत भ्रमण पूरा गरि काठमाडौं फिर्ता भएका हुन् ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजित जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा सहभागी भई आज स्वदेश फर्किंदै छन् । उनी नोभेम्बर १ र २ मा आयोजित सम्मेलनमा सहभागी भएका हुन् । उनले सम्मेलनलाई सम्बोधन समेत गरे । २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यही कात्तिक १२ गते लण्डन उडेका हुन् ।
प्रधानमन्त्री नेतृत्वको टोली इडेनवर्गबाट कतार एयरवेजमार्फत दोहा हुँदै काठमाडौं आउन लागेको हो । वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव भने कोप–२६ मा सहभागी छन् । भ्रमण टोलीका अन्य सदस्य प्रधानमन्त्रीसँगै फर्कने छन् । बेलायतमा रहँदा प्रधानमन्त्रीले उच्चस्तरीय भेटघाट समेत गरेका थिए ।
ग्लास्गो । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच औपचारिक भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भने देउवाको साइडलाइन भेट भएको हो । विश्व जलवायु सम्मेलन (कोप २६) मा भाग लिन स्कटल्याण्डको ग्लास्गो पुगेका बेला उनीहरुबीच भेटवार्ता भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत नोभेम्भर १ मा सुरु भएको दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा विभिन्न देशका नेताहरूसँग भेटघाट गर्ने क्रममा उच्च स्तरीय भेटमा आज व्यस्त रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मोदीसँगको भेटमा द्धिपक्षीय सम्बन्ध सुधारका विषयमा छलफल भएको बताइएको छ । दुबै प्रधानमन्त्रीले एक अर्कालाई भ्रमणको औपचारिक निमन्त्रण समेत दिएका छन् । देउवा सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार संयुक्त अधिराज्य पुगेका हुन् ।
ग्लास्गो । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच मंगलबार औपचारिक भेटवार्ता हुने भएको छ । दुबै ेता अहिले स्कटल्यान्डको ग्लास्गोमा जारी विश्व सम्मेलनमा भाग लिइरहेका छन् । जलवायु सम्मेलनका क्रममा दुई नेताबीच अनौपचारिक भेटवार्ता भने सोमबार नै भइसकेको छ ।
जलवायु सम्मेलनकै क्रममा प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीसहित बेलायतका प्रधानमन्त्री बोरिस जोनसन, राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसलगायत विश्वका नेताहरुसँग अनौपचारिक भेटघाट गरेका छन् ।
नेताहरुले कुहिनो जोडेर अभिवादन साटासाट गरे । यसो गर्नुमा कोरोनाबाट सचेत रहने सन्देश दिनु थियो । सम्मेलनलाई प्रधानमन्त्री देउवाले सोमबार राती सम्बोधन समेत गरिसकेका छन् ।
ग्लास्गो । प्रधानमन्त्री शेर बहादुर देउवाले जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई गत राती सम्बोधन गरेका छन् । सो क्रममा प्रधानमन्त्री देउवाले नेपालले कार्बन उत्सर्जन सन् २०४५ भित्र शून्यमा पुर्याउने लक्ष्य राखेको जानकारी गराएका छन् । विश्व जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता कार्यान्वयनका लागि नेपाल प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री देउवाले कार्बन उत्सर्जन शून्य पार्ने प्रतिबद्धता जनाएका हुन् ।
जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप २६ लाई स्कटल्याण्डको ग्लास्गोमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्र दिनप्रतिदिन प्रभावित हुँदै गएकाले यसको संवेदनशीलताप्रति विश्व समुदाय चिन्तित हुनुपर्ने बताए । उनले हिमाली क्षेत्रको विशिष्ट जलवायु संकटलाई पहिचान गर्न र जलवायुसँग सम्बन्धित हरेक छलफलमा हिमालय अजेण्डालाई उच्च प्राथमिकतामा राख्न विश्वका नेताहरुसँग आग्रह गरे ।
नेपालले आफ्नो अर्थतन्त्रको हरेक क्षेत्रलाई कार्बनरहित बनाउने महत्वाकांक्षी राष्ट्रिय निर्धारित योगदान (एनडिसी) पेस गरेको पनि उनले जानकारी दिए । नेपालले कूल ऊर्जाको मागको १५ प्रतिशत स्वच्छ ऊर्जा स्रोतबाट आपूर्ति गर्ने र सन् २०३० भित्र ४५ प्रतिशत वन क्षेत्र बनाउने पनि प्रधानमन्त्री देउवाले बताए ।
नेपालको करिब ८० प्रतिशत जनसंख्या प्राकृतिक र जलवायुजन्य प्रकोपबाट जोखिममा रहेको जानकारी गराउँदै प्रधानमन्त्री देउवाले विगत ४० वर्षको अवधिमा प्राकृतिक प्रकोपबाट नेपालमा करिब ६ अर्ब अमेरिकी डलर बराबरको भौतिक र आर्थिक क्षति पुगेको बताए । करिब चार मिनेट सम्बोधन गरेका देउवाले प्रकृतिको मूल्यलाई स्वीकार गर्दै प्रकृति संरक्षण र जलवायु परिवर्तनमा सँगै काम गर्नका लागि समर्पित संस्था स्थापना गर्ने निर्णय गरेको जानकारी पनि गराए ।
काठमाडौं । अफगानिस्तानबाट भागेर नेपाल आइपुगेका ११ जना अफगानी नागरिकभ्ये ५ जना मेक्सिको तर्फ लागेका छन् । उनीहरुकै रोजाईमा अध्यागमन विभागले आइतबार श्रीलंका हुँदै मेक्सिको पठाएको स्थानीय संचारमाध्यमले जनाएका छन् । उनीहरु भारतको बाटो हुँदै गैरकानुनी रूपमा नेपाल आएका थिए । कुल ११ जना आएकोमा ५ जनालाई नेपालबाट पठाइएको छ ।
६ जना अझै अध्यागमन विभागको नियन्त्रणमा छन् । नेपालबाट हिँडेकाहरु श्रीलंकाको राजधानी कोलम्बो हुँदै दक्षिण अमेरिकी मुलुक मेक्सिको लागेका हुन् । आइतबार साँझ श्रीलंकन एयरबाट कोलम्बो हुँदै त्यसतर्फ उडेको समाचारमा उल्लेख छ । उनीहरू एकै परिवारका हुन् ।
विभागले ४१ वर्षीय मोहम्मद जामराई स्तानिकजाई, उनकी पत्नी ३८ वर्षीया नाजिफा, छोरीहरू १७ वर्षीया मिसबाह जैनाव र १२ वर्षीया नुरुल हाया तथा ८ वर्षीय छोरा मोहम्मद रायनलाई उनीहरूकै रोजाइमा मेक्सिको पठाइएको उल्लेख छ । बिनाभिसा नेपाल आएको भएपनि उनीहरुको साथमा वैध राहदानी भेटिएको छ । सोहीकारण उनीहरुलाई विभागले अनअराइभल भिसा दिएर नेपाल बसाई सहज बनाइ दिएको छ ।
ग्लास्गो । प्रधानमन्त्री शेरबहादुर देउवा ग्लास्गो शहर पुगेका छन् । अब उनी सोमबार र मंगलबार (नोभेम्बर १ र २)मा ग्लास्गोमा संचालन भइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप २६)मा सहभागी हुने छन् । सम्मेलन अन्तर्गत वर्ल्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आइतबार राति त्यहाँ पुगेका हुन् । स्थानीय समयानुसार उनी सोमबार दिउँसो सम्मेलनको उद्घाटन समारोहमा सहभागी भई सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
साथै उनले विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्तासमेत गर्नेछन् । भ्रमणका क्रममा उनले मङ्गलबार बिहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । सोही दिन उनले श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता तथा विश्व बैंक, आइएमओ र युके एमओडीका पदाधिकारीसँग पनि साइडलाइन बैठक गर्नेछन् ।
सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपालबाट शुक्रबार राति संयुक्त अधिराज्यको लण्डन पुगेका प्रधानमन्त्री देउवासँग शनिबार र आइतबार लण्डनमा विभिन्न सङ्घसंस्थाका पदाधिकारीहरूले भेटवार्ता गर्नुका साथै उनले विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।
प्रधानमन्त्री देउवा आइतबार राति लण्डनबाट स्कटल्याण्डको इडिनवर्ग हुँदै ग्लास्गो आइपुगेका हुन् । अक्टोबर ३१ देखि ग्लास्गोमा सुरुआत भएको कोप२६ नोभेम्बर १२ तारिखसम्म चल्नेछ ।
लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी नागरिकता लिइसकेका नेपालीले नेपालमा मताधिकार नपाउने बताएका छन् । शनिबार गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेद्वारा नेपाली दूतावास लण्डनमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। राससका अनुसार विदेशी नागरिकता लिइसकेका नेपालीहरुलाई मताधिकार दिन नसकिने भन्दै त्यसका लागि संविधान नै बद्ल्नुपर्ने बताए । यो तत्काल सम्भव नभएको उनको भनाई छ ।
जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलनमा भाग लिन ब्रिटेन आइपुगेका प्रधानमन्त्री देउवाले प्रवासी नेपालीहरुलाई नेपालमा वैदेशिक लगानी भित्र्याउन मद्दत गर्न आह्वान गरेका छन् । ‘अरु के सुविधा चाहिन्छ, त्यो दिन म तयार छु,’ उनले भने। उनले पर्यटकहरुलाई विमानस्थलमै भिसा दिने सुविधा (अन एराइभल भिसा) सरकारले फेरि सुरु गरेको बताए ।
गत वर्ष कोभिड १९ रोकथामका लागि भन्दै पहिलो लकडाउन गरेपछि नेपाल सरकारले अन एराइभल भिसा दिन स्थगित गरिदिएको थियो। प्रधानमन्त्री देउवाले भूतपूर्व गोर्खा सैनिक समस्या समाधान गर्न सरकारले सक्दो पहल गर्ने बताए । त्यसअघि एनआरएनए यूकेको तर्फबाट अध्यक्ष प्रेम गाहा मगरले एक ज्ञापनपत्र प्रधानमन्त्री देउवालाई बुझाएका थिए।
ज्ञापनपत्रमा भूपू गोर्खा समस्या, नेपाली नागरिकताको निरन्तरता, नेपाल–बेलायत हवाई सेवा, लगानीमैत्री वातावरण र बेलायतमा नेपालीहरुले राखेको पैसा उच्च ब्याजमा नेपालमै राख्न पाउने र लैजान पाउने सहज वातावरण निर्माणका लागि आग्रह गरिएको छ ।
ज्ञापनपत्रमा भूपू गोर्खा समस्या, नेपाली नागरिकताको निरन्तरता, नेपाल–बेलायत हवाई सेवा, लगानीमैत्री वातावरण र बेलायतमा नेपालीहरुले राखेको पैसा उच्च ब्याजमा नेपालमै राख्न पाउने र लैजान पाउने सहज वातावरण निर्माणका लागि आग्रह गरिएको छ ।
सोही अवसरमा बोल्दै गैरआवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार कुल आचार्यले गैरआवासीय नेपाली नागरिकता विधेयक जति सक्दो छिटो संसदबाट पारित गरी लागू गर्न आग्रह गरेका थिए। प्र‘धानमन्त्री देउवा नेपालका लागि सर्वदलीय संसदीय समूह र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले उनको सम्मानमा आयोजना गरेको कार्यक्रममा पनि सहभागी भएका छन् ।
लण्डन । बेलायतको भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त अधिराज्यको माथिल्लो सदन हाउस अफ लर्डसका सदस्य स्वराज पल, शेख र लेडी शेखले भेटवार्ता गरेका छन् । राससले बेलायतस्थित नेपाली राजदूतावासमा भेटवार्ता भएको जनाएको छ । भेटमा नेपाल–बेलायत सम्बन्ध थप सुदृढ गर्ने सम्बन्धमा छलफल भएको भ्रमण दलका सदस्य परराष्ट्र सचिव भरतराज पौड्यालले बताएका छन् ।
द्विपक्षीय सम्बन्धका जानकार बेलायती सांसदले दुई देशबीच सम्बन्ध प्रगाढ तुल्याउन आफूहरूबाट सबै किसिमको सहयोग रहिरहने आश्वासन दिएका थिए। उनीहरूले बेलायतको संसद्मा नेपालका समस्या र सहयोग गर्ने विषयमा आवाज उठाउँदै आएका छन्। प्रधानमन्त्री देउवाले द्विपक्षीय सम्बन्ध विस्तारका साथै त्यसलाई प्रवर्द्धन गर्न आफू प्रतिबद्ध रहेको बताउँदै बेलायत सरकारबाट निरन्तररूपमा प्राप्त सहयोको सराहना गरेको सचिव पौड्यालले बताए।
कात्तिक १५ र १६ गते स्कटल्याण्डको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको पक्ष राष्ट्रको २६औं सम्मेलन (कोप–२६)मा भाग लिने सिलसिलामा यहाँ रहेका प्रधानमन्त्री अहिले बेतायतमा व्यस्त छन् ।
काठमाडौं । अफगानिस्तानमा तालिबानको सत्ता आएपछि त्यहाँ कार्यरत सबै नेपाल (संयुक्त राष्ट्रसंघीय निकायमा कार्यरत बाहेक) नेपाली घर फर्किएको अनुमा गरिएको छ । सरकारले अफगानिस्तानमा बाँकी रहेका ३२ जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फिर्ता ल्याएसँगै यस्तो दाव गरिएको हो ।
शनिबार बिहान अफगानिस्तानमा रहेका ३२ जना नेपाली नागरिक काठमाडौं आएका छन् । उनीहरु दुई साता अघि नै नेपाल आउने क्रममा थिए । तर, कागजात नपुगेपछि उतै रोकिएका थिए । परराष्ट्र मन्त्रालयका अनुसार अब अफगानिस्तानमा सरकारको सम्पर्कमा आई उद्धारको माग गरेका सबै नेपालीलाई घर ल्याइएको छ ।
अब सो मुलुकमा रहेका नेपाली संयुक्र राष्ट्रसंघको मातहतमा मात्र कार्यरत छन् । शनिबार नेपाल एयरलाइन्सको दुबईको उडानबाट २९ जना नेपाली अफगानिस्तानबाट फर्किएका थिए । शनिबार नै अन्य ३ जना अर्को उडानबाट काठमाडौं आएका हुन् । तालिवानीको कब्जापछि अफगानिस्तानबाट ९ सय ६ जना नेपालीको यसअघि उद्धार भएको छ ।
लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको राजधानी लण्डन ओर्लिएका छन् । स्टकल्याण्डको ग्लास्गो सहरमा आयोजना हुने ‘वल्र्ड लिडर समिट’मा नेपालको प्रतिनिधित्व गर्दै उनी शुक्रबार लण्डन उडेका थिए । उनी शुक्रबार राति लण्डन अवतरण गरेका हुन् । काठमाडौँबाट कतार एयरवेजको विमान चढेका उनी दोहा ट्रान्जिट गरि लण्डन पुगेका हुन् । विमानस्थलमा उनलाई नेपालका लागि सर्वदलीय संसदीय समूहका अध्यक्ष सांसद वीरेन्द्र शर्मा, बेलायतका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनालसहितले स्वागत गरे । प्रधानमन्त्री देउवा शनिबार र आइतबार लण्डनमै रहेर विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा वर्तमान कार्यकालको पहिलो विदेश भ्रमणका सिलसिलामा बेलायत प्रस्थान गरेका छन् । कात्तिक १५ र १६ (नोभेम्बर १ र २) मा ग्लास्गो शहरमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनअन्तर्गत वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी बेलायत प्रस्थान गरेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा गृहमन्त्री बालकृष्ण खाँण परराष्ट्रमन्त्री नारायण खड्का, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, मुख्यसचिव शङ्करदास वैरागी,सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुखले बिदाइ गरे ।
प्रधानमन्त्री देउवा नोभेम्बर १ मा कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी हुने छन् । उनले वल्र्ड लिडर समिटमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन साँझ उहाँ बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सहभागी राष्ट्र र सरकार प्रमुखको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा उनी सहभागी हुनेछन् । बेलायतमा रहँदा प्रधानमन्त्री देउवाले अक्टोबर ३० मा नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्ने स्वागत कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्रीले बेलायत–नेपाल समाजका प्रतिनिधि, गैरआवासीय नेपाली सङ्घ र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिसँग समेत भेट्ने छन् । अक्टोबर ३१ गते प्रधानमन्त्री देउवाको सम्मानमा लण्डनस्थित नेपाली दूतावासले सम्मान समारोह आयोजना गरेको छ । प्रधानमन्त्रीको साथमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन तथा वातावरण मन्त्रालयका सचिव डा प्रेमनारायण कँडेल, अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी, गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्की सहभागी छन् ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुन लागेको जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा यस पटक नेपालले आफ्नो दरिलो उपस्थिति जनाउने भएको छ । नेपालले जलवायु परिवर्तनसम्बन्धी महत्वपूर्ण तीन वटा नीतिगत दस्तावेज र कार्ययोजना स्वीकृत गरेको हो । स्कटल्याण्डको ग्लास्गो शहरमा शुरु हुन लागेको जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिका पक्ष राष्ट्रहरुको २६औं सम्मेलन (कोप २६) का लागि सरकारले दस्ताबेज स्वीकृत गरेको हो ।
नेपालको राष्ट्रिय अनुकुलन योजना २०२१–२०५०, हानी नोक्सानीसम्बन्धी राष्ट्रिय कार्याढाँचा र खुद शुन्य उत्सर्जनमा नेपालको दीर्घकालीन रणनीति मन्त्रिपरिषदबाट पारित भएको हो । सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउबासहित वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादव सहितको उच्चस्तरीय प्रतिनिधिमण्डल पनि सहभागी हुनेछ । मन्त्रिपरिषद्ले पारित गरेका तिनै नीतिगत दस्तावेज र कार्ययोजनाहरु अन्तर्राष्ट्रिय समुदायसँग समन्वय, सहकार्य र ज्ञान सीप आदान प्रदानका लागि सम्मेलनमा उच्च प्राथमिकताका साथ प्रस्तुत गर्ने नेपालको तयारी छ ।
नेपाल सरकारले यो सम्मेलनलाई जलवायु परिवर्तनका चुनौतीहरु सामना गर्न अन्तर्राष्ट्रिय समन्वय र सहकार्यका लागि एक महत्वपूर्ण अवसर हुने ठहर गरेको छ । नेपालले नेपालको पर्वतीय क्षेत्र, यहाँको जनजीविकामा जलवायु परिवर्तनको असर, हानी र नोक्सानीलाई अनुकूलन भन्दा थप अलग्गै कार्यक्रमहरुबाट सम्बोधन गर्नुपर्ने सवाल उठाउने भएको छ । यो मुद्दामा सुदृढ र दिगो वित्तीय व्यवस्था सुनिश्चित गर्न विश्व समुदायको ध्यान आकृष्ट गर्ने प्रयास गर्ने वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
‘राष्ट्रिय अनुकुलन योजना २०२१–२०५०’ बारे पनि सम्मेलनमा नेपालले जानकारी गराउनेछ । यो योजनामा नेपालको राष्ट्रिय जलवायु परिवर्तन नीति २०७६ ले पहिल्याएका ८ वटा विषयगत र ४ वटा अन्तर विषयगत क्षेत्रमा गरी कुल ६४ वटा प्राथमिकता प्राप्त अनुकूलनका कार्यक्रमहरु तय गरिएका छन् ।
प्राथमिकता प्राप्त अनुकूलन कार्यक्रमहरुको कार्यन्वयनको लागि सन् २०५० सम्म कूल ४७।४ विलियन अमेरिकी डलरको आवश्यकता पर्ने सरकारको ठहर छ । सो रकममध्ये नेपालले कूल १.५ विलियन अमेरिकी डलर आन्तरिक स्रोत परिचालन गरेर योगदान गर्न सक्नेछ भने बाँकी ४५।९ विलियन अमेरिकी डलर बाह्य स्रोतको आवश्यकता पर्नेछ ।
यसरी सन् २०३० सम्ममा प्रत्येक वर्ष नेपालको लागि २।१ विलियन अमेरिकी डलरको वित्त प्रवाह हुन जरुरी हुने योजनामा उल्लेख छ । जुन रकम समग्रमा २१ विलियन अमेरिकी डलर हो । सन् २०५० सम्ममा थप २६।४ विलियन अमेरिकी डलरको आवश्यकता पर्ने र २०३१ मा योजनाको मध्यकालीन समिक्षा पश्चात यो रकम थपघट हुन सक्ने योजनामा उल्लेख छ ।
त्यसैगरी नेपालको ‘हानी नोक्सानीसम्बन्धी राष्ट्रिय कार्याढाँचा’ बारे पनि सम्मेलनमा जानकारी गराइनेछ । जलवायु परिवर्तनको संकटासन्नता र जोखिममा रहेका मुख्य प्राकृतिक, सामाजिक र आर्थिक क्षेत्रहरु र सेवा प्रदायकहरुको अनुकूलन क्षमता र उत्थानशिलता वृद्धि गर्नेलक्ष्य सहित यो ढाँचा तयार गरिएको छ ।
स्थानीय, प्रादेशिक र संघीय तहका सबै विषयगत क्षेत्रहरुका नीति, रणनीति, योजना र कार्यक्रमहरुमा लैंगिक समानता, सामाजिक समावेशीकरण, जीविकोपार्जन र सुशासनका विभिन्न सरोकारलाई जोड दिँदै जलवायु परिवर्तनका मुद्दाहरुलाई एकीकृत गर्ने र जलवायु परिवर्तन अनुकूलन सम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रिय वित्तिय व्यवस्था, अध्ययन अनुसन्धान, प्रविधिको बिकास र बिस्तार मार्फत जलवायु परिवर्तन अनुकूलनका लागि स्रोत साधनको न्यायोचित परिचालन र वितरण सुनिश्चत गर्ने लक्ष्य पनि ढाँचामा लिइएको छ ।
काठमाडौं । सरकारले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरेको हो ।
शर्मा यसअघि अमेरिकाका लागि नेपाली राजदूत भइसकेको छन् । खत्री परराष्ट्र मामिलाका विज्ञ हुन् । आचार्य यसअघि संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि भइसकेका छन् । सरकारले हालै यी देशबाट राजदूत फिर्ता बोलाएको थियो । यसअघि अमेरिकामा डा. युवराज खतिवडा, भारतमा निलाम्बर आचार्य र बेलायतमा लोकदर्शन रेग्मी राजदूत थिए ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आगामी साता भेटवार्ता हुने भएको छ । स्कटल्यान्डको ग्लास्गो सहरमा आयोजित कोप–२६ मा दुबै नेता सहभागी हुँदैछन् । सो अवसरमा आयोजना हुने साइडलाइन वार्तामा देउवा र मोदी भेट्न लागेका हुन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन आगामी साता हुँदैछ । सम्मेलनमा नेपालको प्रतिनिधित्व प्रधानमन्त्री देउवाले गर्दैछन् ।
साइडलाइन वार्ताका लागि नेपालले अनुरोध गरेकोमा भारतले स्वीकार गरेको हो । प्रधानमन्त्री देउवा कात्तिक १३ लण्डन प्रस्थान गर्दैछन् । यो देउवाको पाँचौं प्रधानमन्त्री भएपछिको पहिलो विदेश भ्रमण हो । यसअघि नेपालमा प्रधानमन्त्री बन्नासाथ भारतले पहिलो निम्तो दिने गरेको थियो । देउवाले ग्लास्गोमा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग समेत भेट्ने छन् ।
काठमाडौं । गैरआवासीय नेपाली संघले आफ्नो स्थापनाकाल देखि परिकल्पना गरेसंगै नेपालमा सामाजिक तथा अन्य परोपकारी कार्यहरु गर्ने गराउने अभिप्रायले एनआरएन फाउण्डेशन नामक एक मुनाफा वितरण नगर्ने संस्था नेपालको कम्पनी रजिष्ट्रारको कार्यलयमा विधिवत रुपमा गत २०७८ आश्विन ४ मा दर्ता गरेको छ ।
यो फाउण्डेशन एक व्यावसायिक सिमित दायित्व भएको (Professional Limited Liability), गैर नाफामूलक (Non-Profit Making), गैर-राजनीतिक (Non-Political) तथा गैर–सरकारी (Non-Governmental) संस्थाका रुपमा रही सामाजिक तथा अन्य परोपकारी कार्यहरु (Social and Other Charitable Programs गर्ने एक व्यावसायिक फाउण्डेशन (Professional Foundation) हुने संघले उल्लेख गरेको छ ।
फाउण्डेशनका संस्थापक सदस्यहरुमा गैरआवासीय नेपाली संघको प्रतिनिधित्व गर्दै संघका हालका अध्यक्ष कुमार पन्त, संघका संरक्षक तथा पूर्व अध्यक्ष जीवा लामिछाने, संस्थापक महासचिव भीम उदास, पूर्व सल्लाहकारहरु कुलचन्द्र गौतम र एकनाथ खतिवडा, नेपाल सरकारका पूर्व मुख्यसचिव लिलामणि पौड्याल र प्रतिष्ठित अभिनेत्री मनिषा कोईराला रहेका छन् । फाउण्डेशनको पहिलो आधिकारीक बैठकले जिवा लामिछानेलाई फाउण्डेशनको अध्यक्षमा चयन गरेको छ । साथै अन्य सदस्यहरुमा संरक्षक राम प्रताप थापा (जर्मनी), पूर्व संरक्षक इन्द्रा वन (अष्ट्रेलिया) र अभियन्ता पुरु श्रेष्ठ (अमेरिका) लाई मनोनित गरेको छ ।
काठमाडौं । करीव दुई वर्षपछि मलेसियामा नेपालीका लागि रोजगारी आंशिक रुपमा खुलेको छ । कोरोना महामारी सुरु भएसँगै यहाँबाट कामदारको माग रोकिएको थियो । मंगलबारबाट मलेसियाले नेपाल र इन्डोनेसियाबाट नयाँ श्रमिक लिन थालेको हो । नयाँ प्रक्रिया अनुसार श्रमिक लैजाने रोजगारदाताले पीसीआर परीक्षण, कोरोना संक्रमण भए उपचार खर्च, क्वारेन्टाइनसहित सम्पूर्ण लागत खर्च बेहोर्नुपर्ने भएको छ । रोजगारदाताहरू विदेशबाट श्रमिक ल्याउन इच्छुक रहेको भन्दै मलेसियाको गृह र मानव संसाधन मन्त्रालयले लेबी भुक्तानी र क्वारेन्टाइनको खर्चसमेत रोजगार दाताबाटै बेहोर्ने गरि शर्त राखिएको छ ।
मलेसियाको गृह मन्त्रालयबाट श्रमिक भर्ना गर्न अनुमति पाएका रोजगारदाताहरूले तोकिएका सबै प्रक्रिया पूरा गरी नेपाली श्रमिक लैजान पाउने भएको नेपाली दूतावासका अधिकारीलाई उदृत गर्दै संचारमाध्यमले लेखेका छन् । मलेसियाले २०७६ चैत पहिलो साताबाट नेपाली श्रमिक लैजान रोकेको हो ।
त्यहाँ श्रमिक अभाव भएपछि मलेसियाका सबै क्षेत्रका रोजगारदाताहरूले नयाँ श्रमिक भर्नाको अनुमति दिन सरकारमाथि दबाब सिर्जना गरेका थिए । नयाँ रोजगारीमा रबर र पाम आयल उद्योग क्षेत्रले प्राथमिकता पाएको छ । उत्पादन र सुरक्षा गार्डमा समेत श्रमिक लैजाने तयारी छ । मलेसियामा सुरक्षा गार्ड नेपालीलाई मात्र भर्ति लिइन्छ ।
काठमाडौं । बेल्जियममा काममा पठाउने प्रलोभनमा एक महिलालाई बैंकक पु¥याई मानव बेचबिखन गरेको कसुरमा काठमाडौँबाट एक जना पक्राउ परेका छन् । प्रहरीले सिनामङ्गलबाट बागलुङ गल्कोट नगरपालिका–४ का ४४ वर्षीय राजेन्द्र खड्कालाई पक्राउ गरेको हो । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार खड्काले पीडित महिलालाई बेल्जियमको होटेलमा काममा लगाइदिने, मासिक एक लाखदेखि डेढ लाख तलब हुन्छ भनी प्रलोभन देखाएका थिए ।
तर, उनलाई थाइल्याण्ड पुर्याई विभिन्न मितिमा आठ लाख ५४ हजारसमेत लिई दुई वर्षअघि बेचबिखन गरेको ब्यूरोले विज्ञप्ती मार्फत जनाएको छ । गिरोहले भैरहवाबाट भारतको गोरखपुर, कोलकाता हुँदै थाइल्याण्डमा खड्काको कोठामा अर्का भारतीय अभियुक्त परविन्दर सिंहसमेतले यौनशोषण गरी धम्की दिई मलेशिया लगी अलपत्र पारेको बताइएको छ । उनी आफन्तको सहयोगमा एक वर्षअघि नेपाल आउन सफल भएकी छन् ।
उनीहरुले महिलालाई कम्बोडियासमेत पुर्याएको फेला परेको छ। त्यसपछि उनको जाहेरीका आधारमा ब्यूरोबाट खटिएको प्रहरीले फरार रहेका खड्कालाई लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत काठमाडौंबाट चार दिन म्याद थप गरी मानव बेचबिखन तथा ओसापसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गत अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
काठमाडौं । कतारमा गैरकानूनी रुपमा बसिररहेका नेपाली श्रमिकले आममाफी पाउने भएका छन् । रोजगार भिसामा कतार गएर विभिन्न कारणले कतारी आईडी प्राप्त नगरेका वा नवीकरण हुन नसकी अवैध रूपमा बसेका नेपालीसहित विदेशी श्रमिकलाई आममाफी दिने घोषणा कतार सरकारको तर्फबाट आएको छ । त्यहाँस्थित नेृपाली दूतावासका अनुसार कतार सरकारले कतारमा अवैध भएर बसेकालाई कतारमै रहेर वैध भई काम नियमित गर्ने वा स्वदेश फर्कने दुुवै विकल्प खुला गरेको छ ।
दूतावासका अनुसार अवैध भएका नेपाली नागरिकले २०७८ असोज २४ देखि पुस १६ सम्म घोषणामा उल्लेखित विभाग तथा सेवा केन्द्रमा गई आफ्नो कानुनी हैसियत नियमित गर्नसक्ने छन् । विभिन्न कारणले लामो समयदेखि बिनाकागजात काम गरिरहेका श्रमिकलाई कुनै रोजगारदाता कम्पनीबाट ‘जब अफर लेटर’ लिई आवश्यक कागजातसहित तोकिएका सेवा केन्द्रबाट वैधानिक हुन सक्ने व्यवस्था गरिएको पनि दूतावासले उल्लेख गरेको छ ।
यसका लागि कतार सरकारले तोकेका पाँचवटा सेवा केन्द्रमा गएर हालसम्मको जरिवाना छुट तथा मिनाहा गरी कम्पनीमा रोजगारीका लागि कागजात नियमित गर्न सकिने व्यवस्था रहेकाले यस अवसरलाई सदुुपयोग गर्न दूतावासले नेपाली श्रमिकलाई आग्रह गरेको छ । रोजगारी सुनिश्चित नभएकाको हकमा स्वदेश फिर्ता सहजीकरणका लागि सर्च एन्ड फलो अफ डिपार्टमेन्ट (एसएफडी)मा रहेको काउन्टरमा नेपाल फर्कने टिकटको बुकिङ लिएर गएमा दण्ड जरिवाना छुट तथा मिनाहा गरी स्वेदश फर्केने व्यवस्था गरेको छ ।
भ्रमण भिसामा कतार आएका तर भिसाको म्याद समाप्त भई कतार बसाइ अवैध भएकाको हकमा समेत नेपाल फर्कने टिकटको बुकिङ लिएर एसएफडीमा उपस्थित भएमा हालसम्मको दण्ड जरिवाना छुट तथा मिनाहा गरी स्वदेश फर्कन दिइने व्यवस्था रहेको दूतावासले जनाएको छ ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि ब्राजिल, इटाली, माल्टा र दक्षिणअफ्रिकाका नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा शुक्रबार नेपालका लागि ब्राजिलका आवासीय राजदूत कार्लोस अल्वेर्टो माइकल्सेन डेन हार्टोगसहित इटाली, माल्टा र दक्षिणअफ्रिकाका गैरआवासीय राजदूतहरू क्रमशः भिन्चेञ्जो डि लुक्का, रुबिन गाउची र जोएल सिबुसिसो एन्डेबेलेले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् । सो अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू उपस्थित थिए ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी साता बेलायत भ्रमणमा जाँदैछन् । जलवायु परिवर्तनसम्बन्धी वर्ल्ड लिडर समिट आयोजना हुने ग्लास्गो सहरमा नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री देउवा बेलायत जान लागेका हुन् । उनको टोलीमा दुई दर्जन प्रतिनिधि रहने भएका छन् । लण्डस्थित नेपाली दूतावासले भ्रमणको समन्वय गरिरहेको छ ।
प्रधानमन्त्रीको भ्रमण ५ दिने हुने छ । सो अवसरमा प्रधानमन्त्री देउवाले बेलायती मन्त्री तथा सरकारी अधिकारीसँग उच्चस्तरीय भेटघाट गर्ने भएका छन् । प्रधानमन्त्री आगामी शुक्रवार (अक्टोबर २९)मा साँझ लण्डन पुग्नेछन्। त्यहाँ पुगेको भोलिपल्ट देउवाले बेलायती मन्त्री र उच्च अधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । देउवाको सम्मानमा अल पार्टी पार्लामेन्ट्री ग्रुपले बेलायती संसद् भवनमा स्वागत तथा सम्मानको कार्यक्रम गर्ने छ ।
देउवाले नेपाली कांग्रेसका कार्यकर्ता, भूतपूर्व गोर्खा, गैर आवासीय नेपालीसँग छुट्टै अन्तरक्रियासमेत गर्ने सम्भावना रहेको छ । प्रधानमन्त्री देउवा आइतबार लण्डनबाट समिट आयोजना हुने ग्लास्गो सहर जाने छन् । उनीहरु नोभेम्वर १ र २ गरि दुई दिन ग्लास्को सहरमा रहने छन् । देउवाले समिटमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ ।
काठमाडौं । इटलीमा व्यावसायिक फुटबल खेल्दै आएका नेपाली मूलका युवा खेलाडी विकास मेराग्लिया नेपालमा ए डिभिजन लीग खेल्न च्यासल युथ क्लबमा आवद्ध भएका छन् । शहीद स्मारक ए डिभिजन लिग फुटबल खेल्दै उनी राष्ट्रिय टीममा स्थान बनाउने होडमा रहने छन् । शुक्रवार च्यासल युथ क्लबले इटलीमा व्यावसायिक खेल खेल्दै आएका युवा खेलाडी विकासलाई क्लबमा अनुबन्ध गरेको जानकारी गराएको छ ।
सम्झौता भएसँगै युवा स्ट्राइकर विकासले च्यासल क्लबको जर्सीमा ए डिभिजन लिग खेल्ने भएका हुन् । विकासले च्यासलसँग एक वर्षका लागि सम्झौता गरेका छन् । नेपालको शीर्ष डिभिजनको लिग कात्तिक २९ गतेदेखि सुरु हुँदैछ । च्यासलले विदेशी खेलाडीका रूपमा विकासलाई अनुबन्ध गरेको हो । विकासले च्यासलबाट खेल्दा १० नम्बरको जर्सी लगाउनेछन् । च्यासलमा अनुबन्ध भएका विकासले क्लबसँगको वातावरणले फुटबल खेल्न प्रेरित भएको समेत उल्लेख गरे ।
१८ वर्षीय विकासले इटालीको यू–१६ राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । विकास इटलीको चर्चित क्लब एट्लान्टाको युथ टिमबाट खेल्दै आएका छन् । विकासले भेनेजिया फुटबल क्लबको युवा टोली तथा काटोलिका र मारिग्लयानेसको सिनियर टोलीबाट पनि खेलिसकेका छन् । उनी सन् २००८ मा ६ वर्षको उमेरमा इटली पुगेका थिए ।
पर्सा । वैदेशिक रोजगारीका सिलसिलामा दुबई पुगेर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवाको उद्धार गरिएको छ । उनीहरु घर फर्केका छन्। राससका अनुसार बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुसल घर फकाईएको हो। दुबई गएकालाई नगरप्रमुख साहले त्यहाँ अलपत्र परेका हरिशङ्कर ठाकुर, प्रदीपकुमार, प्रकाश प्रसाद, बाबुचन पासवान, वशिष्ठ हजारा, मुकेश साह र रामअयोध्या कुर्मीलाई आफ्नै पहलमा घर फर्काएका हुन्।
एजेन्ट सुरेन्द्र यादवमार्फत झुक्याएर पर्यटक (टुरिष्ट) भिसामा वैदेशिक रोजगारीका लागि युवा केही समयअघि दुबई गएका थिए। दुबई भ्रमणमा गएका नगरप्रमुख साहको सम्पर्कमा आएर उनीहरुले आफ्नो समस्याबारे जानकारी गराएपछि साहकै प्रयासमा उनीहरु नेपाल फर्केका हुन्। नगरप्रमुख साहले दसैँ बिदामा दुबई घुम्न गएका बेला त्यहाँ आफ्नै गाउँका युवा अलपत्र परेको थाहा पाएपछि आफ्नो भ्रमण समयवाधि छोट्याएर उनीहरुलाई उद्धार गरी घर फर्काएका हुन्। नगरप्रमुख साहले अझै पनि आफ्नो गाउँका चार युवा दुबईमै अलपत्र परेको आफूले थाहा पाएकाले उनीहरुलाई पनि घर फर्काउन पहल गर्ने बताए।
काबुल । अफगानिस्तानमा तालिवानले सत्ता हातमा लिएसँगै विदेशी नागरिक धमाधम फिर्ता भइरहेको छन् । तर, त्यहाँ अवैधानिक रुपमा पुगेका ३२ जना नेपाली भने कानूनी रुपमा नेपाल आउन नपाएपछि उतै रोकिएका छन् । बुधबार अफगानिस्तानमा कार्यरत संयुक्त राष्ट्रसंघका निकायमा खटिएका नेपालीको एक समुहलाई घर फर्काउन जहाज काठमाडौं आएको थियो । विमानस्थल स्रोतका अनुसार यो जहाजमा वैधानिक कागजात भएका नेपाली मात्र आउन पाएका छन् । अफगानिस्तानमा अझै ३२ जना नेपाली छन्, उनीहरुको भिसाको अवधि सकिएको छ । सोहीकारण उनीहरुले चार्टर्ड जहाजमा उडान अनुमति पाएनन् ।
अफगानिस्तान रोकिएका ३४ मध्ये २ जना भने सोही समुहरुमा नेपाल आएको छ । दिल्लीस्थित नेपाली दूतावासको समन्वयमा ३२ जना नै एक स्थानमा बसेका छन् । उनीहरुलाई बेलायती संस्था आईडीजीले संरक्षण गरेको छ । आईडीजीले नेपालबाट पनि सुरक्षाकर्मी आपूर्ति गर्छ । राष्ट्रसंघीय निकायमा कार्यरत नेपाली सुरक्षाकर्मीमध्ये ८६ जना बुधबार बिदा मनाउन काठमाडौं आएका छन् । इरानको महान एयरमा ८८ नेपाली र अन्य भारतीय नागरिक गरी १ सय ५ जना सवार रहेका थिए ।
यस वर्षको नेपालीहरुको महान चाड बडा दशैं सम्पन्न भएको छ। नेपालमा रहने नेपालीहरुले मात्र हैन, विश्वभर छरिएर रहेका प्रवासी/आप्रवासी नेपालीहरुले पनि बडा दशैं सक्दो हर्षोल्लासका साथ मनाए। यसबाट अछुतो रहन नसकेका अमेरिकामा पनि अवस्था अनुसार व्यवस्था मिलाएर सक्दो हर्षोल्लासका साथ बडा दशैं मनाए। धार्मिक मुल्य, मान्यता र सामाजिक तथा पारिवारिक परम्परा, रितिरिवाज, चालचलनका दृष्टिकोणले निकै महत्वपूर्ण मानिने चाड बडा दशैं नेपालीहरुका लागि नेपाल र नेपालीको पहिचानका दृष्टिकोणले अझ महत्वपूर्ण र अर्थपूर्ण रहने गर्दछ।त्यसैले, प्रवासी नेपालीहरुले जागीर, काम, व्यवसाय, अध्ययन, घरयासी व्यवहार, सामाजिक अभियान लगायत व्यस्त जीवनमा भरसक चाँजो पाँजो मिलाएर महत्वका साथ दशैं हर्षोल्लासका साथ मनाउने प्रयास गरेका थिए। १५ वर्ष अघि सपरिवार अमेरिका भित्रिनु भएकी उषा सुबेदीका अनुसार सुबेदी परिवारको ‘बडा दशैं’ हर्षोल्लासमय नै भयो।श्रीमान, छोरी र छोराका साथ हाल अमेरिकाको न्यु हेम्पसारमा बस्दै आउनु भएकी सुबेदी भन्नु हुन्छ,’नेपालको जस्तो त कहाँ हुन्छ र। तर, अवस्था अनुसार चल्नै पर्यो।रमाउनै पर्यो। चाडबाड मनाउनै पर्यो।’ अमेरिकाको बसाई लामै भैसकेकाले परिस्थितिलाई स्विकार गरेर रमाउने बानी परिसकेको उहाँको जिकिर छ।’सुरुका वर्षहरुमा नेपाल संझेर निकै बिरक्ता लाग्थ्यो।धेरै वर्ष भयो, यतै दशैं मनाउन थालेको। पारिवारिक जिम्मेवारीका कारण अब त बानी पनि परिसकेकाले रमाइलै लाग्छ।’
सुवेदी परिवार
यसै सन्दर्भमा आफ्नो प्रतिक्रिया दिदै हिमाल अधिकारी भन्नु हुन्छ,’ यस पटकको दशैं नेपालमै गएर मनाउने योजना थियो।तर, सम्भव नहुँदा मन खिन्न त भयो नै। तरपनि, यतै बडा दशैं सक्दो हर्षोल्लासका साथ नै मनाइयो।’ नेपालको दशैं संझदै उहाँ थप्नु हुन्छ,’ नेपालमा पाउने नेपालीपनको उत्साह, उमङ्ग, स्वाद, रौनक, सुख र आनन्दको भने अभाव त खड्कियो नै।’ नेपालको प्यूठान जिल्ला प्यूठान नगरपालिका जन्मभूमि भइ, ६ वर्षदेखि अमेरिकाको न्यु योर्क हुदै बोस्टनलाई कर्मभूमि बनाउदै आउनु भएका अधिकारी भन्नु हुन्छ ,’ सक्दो धार्मिक विधि र मर्म अनुसार घटस्थापना तथा जमरा राखी नव दुर्गाको पूजा, अर्चना तथा आराधन गरियो। दशमीका दिन परिवारका बिच टिका तथा जमरा लगाइयो।’
बडा दशैंका अवसरमा अमेरिकास्थित विभिन्न हिन्दु धार्मिक शक्तिपीठहरुमा घटस्थापना गरी जमरा राख्नुका साथै देवी देवताहरुको पूजा, अर्चना र आराधन गरिएको थियो। यस धार्मिक कार्यमा अमेरिकाको विभिन्न राज्य स्थित पशुपति तथा बुद्ध मन्दिरहरुको बढि सक्रियता रहेको थियो। कोरोना कहर अझै साम्य नभइसकेकाले सुरक्षाका उपायहरु अपनाउदै मन्दिरमा धार्मिक क्रियाकलापहरु गरिनुको साथै भक्तजनहरुले मन्दिरको दर्शन तथा देवी देवताहरुको पूजापाठ गरेका थिए।
दशैंको अवसर पारेर साथीभाइसंग युटाहतिर घुम्दै रमाउदै बिशाल पौडेल
नेपालको मकवानपुर जिल्ला हेटौंडा जन्मथलो भइ ५ वर्ष अघि उज्वल भविश्यको खोजीमा अमेरिका छिर्नु भएका, हाल न्युयोर्कबासी विशाल पौडेलले पनि यस वर्षको दशैं गत वर्षको तुलनामा रमाइलोसंग नै मनाएको प्रतिक्रिया दिनु भयो । तुलनात्मक रुपमा गत वर्ष कोरोना कहरका कारण निरास र उदासका साथ दशैंलाई विदा गर्नु परेको भएतापनि, यस वर्ष भने साथी भाइहरुसंग भेटघाट र घुमघाम गरेर मनाउन पाएकोमा बडा दशैं उल्लासमय र उपलब्धिमूलक नै भएको पौडेलले जिकिर गर्नु भयो।’ यो वर्ष कोरोना भ्याक्सिन उपलब्ध भएसंगै कोरोना संक्रमण समस्यामा कमी आएकाले दशैंमा साथीभाइलाई भेट्ने, घुमघाम गर्ने र दशैं मनाउने योजना अनुसार अमेरिकाको युटाह राज्यतिर गइयो। र, साथीभाइसंगै घुमघाम गर्दै दशैं मनाइयो।’ लामो समय परिवारबाट टाढा रहन बाध्य हुनु भएका पौडेल भन्नुहुन्छ,’ तर, जम्मभूमितिरको घरपरिवार, साथीभाइ, इष्टमित्र, मठमन्दिर, नेपाली मिष्ठान्न परिकार, उमङ्गको माहोल आदिइत्यादि गुमाउनु पर्दा भने मन निकै दुःखी भयो।’ पौडेलले जस्तै आफ्नो घर परिवारबाट निकै टाढा रहनु परेको परिस्थितिलाई आत्मसात् गरेर दुःखी मन बुझाउदै थुमथुमाउदै अनि रमाउदै वर्ष दिनको महान चाड ‘बडा दशैं’ मनाउनेहरुको संख्या अमेरिकामा निकै नै छ। तरपनि, अमेरिकामा नेपालीहरुको बढ्दो जनसंख्या, संगठित सक्रियता, समिप्यता, नेपाली भाषा, धर्म, संस्कृति, भेषभुषा, परम्परा, रितिरिवाज, चालचलन आदिको संरक्षण, संवर्धन तथा व्यवहारिक प्रयोगमा आएको चासो, चिन्ता र सक्रियतासहितका गतिविधिहरुले गर्दा भने विगतको तुलनामा चाडबाडको महत्व र रौनक बढ्दै गएकाले नेपाली चाडबाडहरु मनाउने र रमाउनेहरुको संख्या बढ्दै गएको छ। जो भावी सन्ततिको खुशीका लागि शुभ संकेत हो। विविध कारणले चाहना हुदा हुदै पनि नेपाल जान नपाउदा परिवारका मुली, इष्टमित्र वा आफन्तजनलाई अमेरिकामा नै बोलाएर चाडबाड मनाउने र उनीहरुलाई अमेरिका घुमाउनेहरुको संख्या पनि दिन प्रतिदिन बढ्दै छ। सोही अनुसार, यस वर्षको बडा दशैंमा पनि नेपालबाट अमेरिका भित्रने क्रमले निरन्तरता पायो। यसको एक प्रतिनिधि पात्र हो, नेपालको मकवानपुर जिल्ला हेटौंडा निवासी ढकाल दम्पती। ४ वर्ष अघि सपरिवार अमेरिका छिरेर टेक्सासमा बसोवास गर्दै आएका कान्छो छोरा दिपक ढकाल, बुहारी सुस्मा गौतम ढकाल, नातिनी एकता ढकाल र नाति दिवस ढकालको अनुरोधमा ढकाल दम्पती दशैंको मुखैमा अमेरिका आइपुग्नु भएको हो। पारिवारिक भेटघाट गर्न र घुमघाम गर्न अमेरिका भित्रिएको भएतापनि, बडा दशैं परिवारका बिचमा नै मनाउने ढकाल दम्पतिको मुख्य उद्देश्यले रहेको थियो। कृष्ण प्रणामी धर्मावलम्वी ढकाल परिवारका मुली पिताम्बर ढकालले दिनु भएको प्रतिक्रिया अनुसार झण्डै ४ वर्ष पछि छोरा बुहारी, नाति नातिनीहरुसंग महान चाड ‘बडा दशैं’ मनाउन पाउदा ढकाल दम्पतिको खुशीको सिमा रहेन।’ यस बर्षको बडा दशैंको खुशीको सिमा नै छैन। लामो समय पछि छोरा, बुहारी, नाति, नातिनीहरुसंगको भेटघाट र कान्छो छोराको परिवारकाबीच मनाइएको दशैंले साच्चै हृदय सारै रमायो ।’ उहाँ भन्नु हुन्छ,’ भिन्न परिवेष रहेको परदेशमा पनि दशैंले पाएको महत्व देख्दा मन खुशीले सारै गदगद भयो।भाग्यले ४ वर्ष पछि परदेशमा भएपनि छोरा, बुहारी नाति नातिनीका बिच दशैं मनाउन पाउदा हर्षोल्लासको सिमा रहेन।नेपालकै झै देखिएको दशैंको रौनक र माहोलले नेपाल मै दशैं मनाए झै लाग्यो।’ आमा बुवासंगै दशैं मनाउन पाउदा अत्यन्तै खुशी लागेको प्रतिक्रिया छ छोरा दिपक ढकालको।पाको उमेरका भएकाले ढकाल दम्पतीबाट दशैंको टिका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गर्नेहरुको बाक्लै उपस्थिति रहेको थियो। समग्रमा अमेरिकाको दशैंको माहोल हेर्दा, प्रवासी /आप्रवासी नेपालीहरुको नेपाली चाड पर्वप्रति आकर्षण बढ्दै गएको र सम्भव भएसम्म तन, मन र धन लगाएर बडा दशैं हर्षोल्लासका साथ मनाउने प्रयास गरिएको पाइयो। हिन्दु धार्मिकग्रन्थ अनुसार, बडा दशैं रामले रावरणको र नव दुर्गा भवानीले महिसासुर राक्षसको बध गरेको खुशीयालीको महाउत्सव भएकाले दुःख पिडा भुलेर भएपनि यस चाडलाई सोही अनुसार मनाउने चलन चलिआएको छ।र, असत्य माथि सत्यले विजय प्राप्त गरेको महत्वपूर्ण क्षणका रुपमा स्मरण, चर्चा, चित्रण गर्नुका साथै देवी देवताको पूजन गर्ने गरिन्छ। यस अर्थमा धार्मिक दृष्टिकोणले बडा दशैंको मूल मर्म शक्ति र सत्यको पूजा, अर्चना, साधना र आराधन हो। सामाजिक, पारिवारिक, साँस्कृतिक, परम्परा, चालचलन र रहनसहनका दृष्टिकोणले बडा दशैंलाई पारिवारिक मिलन, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, एकता, पहिचान र मनोरञ्जनको एक महान महोत्सवको रुपमा चित्रण र व्याख्या पनि गर्ने गरिन्छ।तर, मुलत: बडा दशैंको मूल मर्म धार्मिक क्रियाकलाप, आस्था र विश्वासमा नै केन्द्रिकृत रहेको छ। हिन्दु धार्मिक पात्रो अनुसार सोह्र श्राद्ध (भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसी(जमरे औंसी) सम्मका १६ तिथि समाप्त भएर नौरथा प्रारम्भ भएसंगै बडा दशैं शुभारम्भ हु्न्छ।जमरा राख्ने दिन घटस्थापनादेखि टिका लगाउने दिन दशमीसम्मको दश दिनलाई बिषेश मानिन्छ। यद्यपि, पूर्णिमाको दिनसम्म दशैंको टिका लगाएर हर्षोल्लास मनाउने चलन छ। हिन्दु धर्मग्रन्थ अनुसार आश्विन शुक्लपक्षको प्रतिपदा अर्थात घटस्थापनादेखि नवमीसम्मको हरेक दिन नव दुर्गाको भिन्न भिन्न स्वरुपको पूजा, अर्चना, साधना र आराधना गरी दशमीको दिन मान्यजनबाट टिका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गर्ने परंपरा चलिआएको छ।
अमेरिकामा एक नेपालीको गोली हानि हत्या भएको छ । अमेरिकाको म्यासाच्युसेट राज्यस्थित आफनै पसलमा ५४ वर्षीय लालकिशोर महासेठको अज्ञात व्यक्तिले गोली हानि हत्या गरेको उनी आबद्ध संस्था मधेसी एसोसिएसन इन अमेरिकाले एक बिज्ञप्ति मार्फत पुष्टि गरेको छ । नेपालस्थित धनुषा जिल्ला जनकपुर घर भएका शाहको सोमबार हत्या भएको हो ।
विगत १५ वर्षदेखि परिवारसहित अमेरिकामा व्यवसाय गर्दै आएका महासेठको पत्नी, दुई छोरा र एक छोरी छन् । महासेठको हत्याको मधेशी एशोसिएसन अमेरिकाले शोक ब्यक्त गर्दै बिज्ञप्ति प्रकाशित गरेको छ ।
काठमाडौं । चीन सरकारले नेपाललाई थप २० लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा दिने भएको छ । परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी बीच मङ्गलवार भएको टेलिफोन वार्ताका क्रममा चीनले यस्तो घोषणा गरेको हो । चिनियाँ विदेश मन्त्री वाङले थप २० लाख मात्रा कोरोनाविरुद्धको खोप नेपाललाई दिने घोषणा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । चीनले नेपाललाई यसअघि २८ लाख मात्रा भेरोसेल खोप अनुदानमा उपलब्ध गराइसकेको छ भने सिनोभ्याक्सको १० लाख मात्रा उपलब्ध गराउने वचन दिएको छ । आज भएको एक घण्टा लामो फोन वार्तामा द्विपक्षीय सहयोग, वाणिज्य, व्यापार, विकास निर्माण लगायतका क्षेत्रमा मिलेर अघि बढ्ने र यसका लागि चीनले सहयोग गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्री खड्काले चीनमा पढ्न जाने विद्यार्थी जान नपाएको, चीनबाट नेपालमा सामान कम मात्रामा ढुवानी भइरहेको, नाका सहज बनाउनुपर्ने, चीनसँग नियमित हवाई उडान हुनुपर्ने लगायतका विषय उठाएका थिए । सबै विषयमा मिलेर अघि बढ्न सकिने चिनियाँ विदेश मन्त्री वाङको भनाइ थियो ।
उत्तराखण्ड । भारतको उत्तराखण्डमा पहिरोमा पुरिएर तीन नेपाली श्रमिकको ज्यान गएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार घटनामा दुईजना घाइते छन् । जिल्लाधिकारी विजयकुमार जोगदान्डेका अनुसार होटल निर्माणमा खटिएका श्रमिकहरु समखल भन्ने स्थानमा टेण्टमा बसेका थिए । लगातारको वर्षाका कारण माथिल्लो भागबाट जमिन खस्दा उनीहरु पुरिएको संचारमाध्यमले लेखेका छन् । घटनामा घाइते दुईजनालाई अस्पताल भर्ना गरिएको छ । राज्य सरकारले मौसममा सुधार नआउँदासम्म हिमालय क्षेत्रका मन्दिरमा नजान आग्रह गरेको छ ।
नयाँ दिल्ली । भारत भ्रमणमा रहेको नेपाली काँग्रेसको प्रतिनिधिभण्डलले शुक्रबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको छ । राससका अनुसार नेपाली कांग्रेसका सहमहामन्त्री डा।प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोलीले बिहीबार अपराह्न विदेशमन्त्रीसँग भेटवार्ता गरेको नयाँ दिल्लीबाट डा महतले जानकारी दिएका छन् । सो भेटका क्रममा नेपाल भारत सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो ।
वार्ता निकै फलदायी भएको र नेपाल भारत सीमा, हालै महाकाली नदीमा भएको तुइन प्रकरण, कोभिड समस्या तथा दुई देशबीचका सम्बन्धका विविध विषयमा कुराकानी भएको छ । दुई देशबीचमा पछिल्लो समयमा देखिएको सीमासम्बन्धी समस्याको बारेमा आफूले विदेशमन्त्री जयशंकरलाई जानकारी गराएको र सीमा समस्याको समाधानका लागि तत्कालै कूटनीतिक माध्यमबाट वार्ता गरी समाधानको खोजी गर्न आफूले गरेको आग्रहलाई विदेशमन्त्रीले सकारात्मकरुपमा यसको समाधानका लागि भारततर्फबाट छिट्टै अग्रसरता लिइने बताएको डा. महतले बताएका छन् ।
त्यसैगरी महाकालीको तुइन प्रकरणका विषयमा पनि आफूले विदेशमन्त्री जयशंकरसँग कुरा राखेको उनले बताए । यस विषयमा नेपाल सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा भारतलाई कूटनीतिक नोटसमेत पठाइएको र त्यस विषयमा अध्ययन गरेर निकास निकाल्न आग्रह गरेको उनले जानकारी दिए।
सो भेटका क्रममा यसअघि भएको सहमति बमोजिम नेपाललाई कोरोना विरुद्धको कोभिसिल्ड खोप पठाउन आग्रह गरिएको र ती खोप भारत सरकारले जतिसक्दो चाँडै नेपाल पठाउने जानकारी विदेशमन्त्री जयशंकरले दिएको पनि डा महतले बताए ।
उक्त द्धिपक्षीय भेटमा नेपालका तर्फबाट डा महतसहित नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशमशेर राणा तथा भारतका तर्फबाट विदेशमन्त्री जयशंकरसहित भारतीय जनता पार्टीका नेताद्वय विजय चौथाइवाले र आश्विन जोहर थिए ।
भारतीय जनता पार्टीको आमन्त्रणामा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका सहमहामन्त्री डा महत नेतृत्वको सो टोली बिहीबार भारत पुगेको हो ।
काठमाडौं । बेलायतले नेपाललाई कोभिडका कारण यात्रामा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । रेड लिस्टमा रहेको नेपाललाई बेलायतले सो सूचिबाट हटाएको हो । बिहीवार ब्रिटिश सरकारले रेड लिस्टमाराखिएका नेपाल लगायतका मुलुकलाई उक्त सूचीबाट हटाउने घोषणा गरेपछि अबनेपालबाट बेलायत जाने नेपालीलाई भने राहत हुने छ । यो नियम सोमवारदेखि लागु हुनेछ । नयाँ नियम अनुसार त्यहाको सरकारले पहेँलो सूची हटाएको छ । हरियो सूचीमा रहेका मुलुकको सङ्ख्या पनि ह्वात्तै बढाएको छ।
ब्रिटिश यातायातमन्त्री ग्रयान्ट शाप्सले नयाँ नियम ब्रिटेनमा अन्तर्राष्ट्रिय यात्रा खुला गर्ने दिशामा एउटा नयाँ पाइला भएको बताएका छन् । सरकारले बिहीवार एउटा सूचना जारी गर्दै अब पानामा, कोलम्बिया, भेनेजुएला, पेरु, इक्वेडर, हेइटी र डोमिनिक रिपब्लिकसहित सातवटा देश मात्रै रेड लिस्ट मा रहने घोषणा गरेको हो । यसअघि नेपालसहित ५४ ओटा मुलुक रेड लिस्टमा थिए। नेपाललाई रेड लिस्टबाट हटाइएकाले नेपालबाट विद्यार्थीहरू आउन र अनुसन्धानसम्बन्धी कामका लागि ब्रिटिश अनुसन्धानकर्ताहरू नेपाल जान सजिलो हुने भएको छ ।
साथमा नेपालमा भ्रमणमा जाने बेलायतीको संख्या पनि बढ्नेछ । बेलायतमा आफन्त भेट्न जाने नेपालीको यात्रा समेत सहज हुनेछ । अब यात्रुहरूले निगेटिभ पीसीआर रिपोर्ट देखाउनुपर्छ र प्यासेन्जर लोकेटर फर्म भर्नुपर्छ। यात्रा गर्नुभन्दा पहिला ब्रिटिश सरकारले जारी गरेको नियम पढेर वा आफ्नो ट्राभेल एजेन्टसँग राम्रोसँग बुझेर मात्रै यात्रा गर्नुपर्छ ।