Category: डायस्पोरा

  • अमेरिका जाने लोभमा दुई व्यक्तिको डुब्यो ३४ लाख

    अमेरिका जाने लोभमा दुई व्यक्तिको डुब्यो ३४ लाख

    काठमाडौं । अमेरिका जाने लोभमा पर्दा दुई व्यक्तिको ३४ लाख रकम डुबेको छ । राससका अनुसार रकम मात्र डुबेन, उनीहरु आफैँ मानव बेचबिखनको जालोमा समेत फसेका छन् । उनीहरु अहिले न्याय पाउँ भनी प्रहरीको शरणमा पुगेको छन् । मानव बेचबिखन गरेको आरोप लागेका दाङ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका बस्ने एक दम्पतिमध्ये श्रीमती सुधा देवकोटा पक्राउ परे पनि श्रीमान् मुक्तिनारायण केसी अझै फरार छन् ।

    अदालतको आदेशपछि देवकोटा पूर्वक्षका लागि जेल चलान भएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ । उनीहरु विरुद्ध विभिन्न मितिमा दुई पीडित व्यक्तिको जाहेरी परेको हो । उनीहरुले अमेरिकामा मासिक तीन लाख तलब हुने लोभ देखाएर २७ लाख मागेका थिए ।

    एक पीडितबाट उनीहरुले पटकपटक गरी रु १९ लाख लिएको समेत खुल्न आएको छ । सन् २०१९ को जनवरी २५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इण्डोनेसियाको बाली तथा जाकार्ता पु¥याइ बोलेभियाहुँदै अमेरिका जाने भनी लगेका थिए । तर विमानस्थलमा पु(याउदा सेटिङ नमिलेको भनी फर्काए ।

    उनीहरुले पछि पीडितलाई मेक्सिको हुँदै अमेरिका जानी भनी इथियोपिया पुर्याई कोठामा साँढे तीन महिना बन्धक बनाएको खुल्न आएको छ । आफू बेचिएको थाहा पाएपछि पीडितले घरबाट टिकट मगाइ फर्किएर विसं २०७६ कात्तिक २१ गते ब्यूरोमा जाहेरी दिएका थिए ।

    उनीहरुले अर्का एक व्यक्तिलाई पनि बेचबिखन गरेको भनी जाहेरी परेको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताएका छन् । उनीहरुले एक व्यक्तिलाई काठमाडौँको स्वयंम्भूबाट बसमार्फत भारतको नयाँ दिल्लीमा दुई महिना राखी फेरि काम नभएको भनी नेपाल फर्काएर मलेसिया हुँदै इण्डोनेसिया पुर्‍याइएको खुल्न आएको छ ।


    अमेरिका लैजाने बहानामा त्यहाँ सात महिना कोठामा बन्धक बनाइएको र पछि जाकार्ताको इमिग्रेसनबाट उनी पक्राउ परेका थिए । त्यसपछि उनलाई १४ दिन हिरासतमा राखेर नेपाल फर्काइएको थियो । वि।सं। २०७६ मङ्सिर १३ गते आएका पीडित व्यक्तिले १९ गते जाहेरी दिएका थिए । उनीबाट ती दम्पतीले रु १५ लाख लिएको समेत खुल्न आएको छ ।

  • नेपाली नर्स बेलायत लैजानेबारे शुक्रबारबाट वार्ता

    नेपाली नर्स बेलायत लैजानेबारे शुक्रबारबाट वार्ता

    काठमाडौं । नेपाली नर्सलाई बेलायतमा रोजगारीको अवसर प्रदान गर्ने सम्बन्धमा बेलायत र नेपालबीच औपचारिक वार्ता शुक्रबारदेखि शुरु हुने भएको छ । नेपाल र बेलायत सरकारले गठन गरेको वार्ता टोलीले शुक्रबारदेखि औपचारिक रुपमा नर्स बेलायत लैजानेबारे छलफल गर्न लागेको हो । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले यस्तो जानकारी गराएका हुन् । बेलायत सरकारले एक पत्र पठाएपछि मन्त्रालयले दुबै पक्षबाट कार्यदल बनाएर वार्ता अघि बढाउन बेलायत सरकारलाई प्रस्ताव गरेको थियो ।

    त्यसैअनुसार बेलायतले नेपालस्थित दूतावासका एक अधिकारीको नेतृत्वमा वार्ता टोली बनाएको छ । नेपाली वार्ता टोलीको नेतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्ने समेत बताइएको छ । बेलायतसँग करार अवधि, श्रमिकको हित, सुविधा र छनोट विधिसहितका प्रक्रिया बारेमा छलफल हुने छ । वार्ता सफल भएमा बेलायतले नेपालबाट चरणबद्ध रुपमा नर्सहरु लैजाने छ ।

  • अतिआवश्यक काम नपरि विदेश भ्रमण नगर्न अध्यागमनको आह्वान

    अतिआवश्यक काम नपरि विदेश भ्रमण नगर्न अध्यागमनको आह्वान

    काठमाडौं । कोरोना भाइरसको महामारी फैलिएसँगै अतिआवश्यक काम नपरी विदेश भ्रमणमा नजान सरकारले नागरिकलाई आह्वान गरेको छ । अध्यागमन विभागले बुधबार ट्राभल एडभाइजरी जारी गर्दै यस्तो आह्वान गरेको हो । विभागको ट्राभल एडभाइजरीमा भनिएको छ, ‘नयाँ भेरियन्टको संक्रमणको जोखिम भएको मुलुकहरुमा नेपालबाट यात्रा गर्न योजना बनाएका व्यक्तिहरुले अति आवश्यक अवस्था बाहेक यात्रा नगर्न अनुरोध गरिन्छ ।’

    गत सोमबारको गृहमन्त्रिस्तरीय निर्णय अनुसार विभागले बुधबार ट्राभल एडभाइजरी जारी गरेको छ । नेपाल सरकारले ओमिक्रोनको संक्रमण शुरुमै देखिएका दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाबे, नामिबिया, लेसोथो, इन्वाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट सिधै नेपाल आउन वा ती मुलुकलाई ट्रान्जिट बनाएर नेपाल आउन १६ मंसिरबाटै रोक लगाएको थियो । रोकको निर्णयले निरन्तरता पाएको छ । तीन साता भित्र ती मुलुकको भ्रमण गरेका यात्रुले समेत नेपाल आउन पाउँदैनन् ।

    यी दुई मुलुकबाहेकका देशबाट आउने विदेशी नागरिक (गैरआवासीय नेपालीसमेत)ले विदेशबाट ८ असोजमा जारी भएको नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८ का प्रावधानका आधारमा नेपालको भ्रमणमा आउन सक्छन् । जस अनुसार खोपको मात्रा पूरा गरेका र पीसीआर नेगेटिभ भएका विदेशी नागरिकले नेपालमा अनअराइभल भिसा सुविधासहित प्रवेशको अनुमति पाउँछन् ।

    अध्यागमन विभागका अनुसार पूर्ण खोप लगाएको १५ दिन पुगेको र बोर्डिङपास जारी हुनु भन्दा ७२ घण्टा भित्रको पीसीआर परीक्षण रिर्पोट नेगेटिभ भएका नेपाली नागरिक, कुटनीतिक वा अफिसियल पासपोर्ट बाहक वा आवासीय भिसा प्राप्त गरेका विदेशी नागरिकले कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण नदेखिएको अवस्थामा घरमै १० दिन क्वारेन्टिन बस्ने गरी प्रवेश अनुमति दिइने भएको छ ।

    पूर्ण खोपको मात्र पूरा नगरेका वा खोपको मात्रा पूरा गरेको १४ दिन नपुगेका नेपाली नागरिकले नेपाल प्रवेश विन्दुमा एन्टिजेट अनिवार्य परीक्षण गर्दा रिर्पोट पोजेटिभ देखिएकालाई संस्थागत आइसोलेसनमा पठाइने भएको छ । परीक्षण रिर्पोट नेगेटिभ आएकालाई भने १० दिन घरमै क्वारेन्टिन बस्ने गरी प्रवेशको अनुमति दिइने भएको छ ।
    खोपको मात्रा पूरा नगरेका वा खोपको मात्रा पूरा गरेको १४ दिन नपुगेका कुटनीतिक वा अफिसियल पासपोर्ट बाहक वा आवासीय भिसा पाएका विदेशीले नेपाल प्रवेश विन्दुमा एन्टिजेन अनिवार्य परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएमा संस्थागत आइसोलेसन वा सम्बन्धित कुटनीतिक नियोगको जिम्मेजारीमा होम आइसोलेसनमा पठाइने भएको छ । नेगेटिभ आएकालाई भने होम क्वारेन्टिन वा होटेल क्वारेन्टिनमा बस्ने गरी प्रवेश अनुमति दिइने भएको छ

  • लिपुलेकमा भारतले संरचना बनाउँदा सरकार नबोलेको भन्दै एमालेको खबरदारी

    लिपुलेकमा भारतले संरचना बनाउँदा सरकार नबोलेको भन्दै एमालेको खबरदारी

    काठमाडौं । भारतले लिपुलेकको नेपाली भूमिमा सडकसहितका संरचना बनाउँदा पनि सरकार नबोलेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले खबरदारी गरेको छ । एमालेको परराष्ट्र मामिला विभागका प्रमुख डा. राजन भट्टराईले मंगलबार विज्ञप्ति निकाल्दै सीमालगायत थाँती रहेका विषयलाई कूटनीतिक माध्यमबाट टुङ्ग्याउने सहमतिविपरित भारतले नेपाली भूभागमा सडकलगायत संरचा निर्माण गरेको उल्लेख गरेका छन् । यस विषयामा एमालेको ध्यानाकर्षण भएको समेत उनले उल्लेख गरेका छन् ।

    नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्ने एमालेको धारणा छ । सडकलगायत संरचना निर्माण रोकेर वार्ताको माध्यमबाट यो विषय टुङ्गो लगाउने भन्दै एमालेले विज्ञप्तीमा लेखेको छ, ‘राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान सरकारको सन्देहास्पद मौनताले अनेकौं प्रश्न जन्माएको छ ।’ भारतसँग अविलम्ब गम्भीर संवाद गर्न, सबैखाले बल मिच्याइँ रोक्न लगाउन र नेपाली भूभागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसँग माग गरेको छ ।

  • अर्थमन्त्रीले गैरआवासीय नेपालीलाई भने : नेपालमा डलर खाता खोल्नुहोस

    अर्थमन्त्रीले गैरआवासीय नेपालीलाई भने : नेपालमा डलर खाता खोल्नुहोस

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संसारभर बसोबास गर्ने प्रवासी नेपालीलाई नेपालमा डलर खाता खोल्न आह्वान गरेका छन् । यसले नेपालको समृद्धिमा योगदान गर्न र आफैँ लाभान्वित हुने समेत उनको भनाई छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) युके, अमेरिका, अष्ट्रेलियालगायत एनसिसीहरूद्वारा सोमबार आयोजित एक वेबिनारमा अर्थमन्त्री शर्माले एनआरएनले विदेशी मुद्रामा नेपालमा खाता खोल्दा राष्ट्रमा लगानी र रोजगारी बढ्ने बताए ।

    “तपाईँहरूले थोरै सेवा गर्दिनोस्, मेवा पनि प्राप्त हुन्छ, तपाईँहरूलाई पनि फाइदा पुग्ने छ ।” अर्थमन्त्री शर्माले सरकारले वैदेशिक लगानीको वातावरण सहज बनाइरहेको बताए । नेपाललाई अल्पविकसित मुलुकबाट स्तरोन्नति गर्न वर्षेनी अर्बौँ डलर लगानी आवश्यक पर्ने र त्यसका लागि लगानीकर्तालाई सेवा सुविधा दिनुपर्ने अवश्यकता रहेको उनको भनाई छ ।

    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले छोटो समयमै यो नियम ल्याइएको बताए । उनले यसअघि रहेको १० हजार डलरलाई घटाएर पाँच हजार डलर पु¥याएको, दुई वर्षलाई घटाएर एक वर्ष गरेको, केही बैंकहरूले विदेशी मुद्रामा खाता खोल्न सुरु गरिसकेको र यो प्रावधान विदेशमा हुर्किरहेकाले दोस्रो पुस्तलाई नेपालसँग जोड्ने माध्यम बन्ने आशा पनि व्यक्त गरे । अर्थसचिव मधु मरासिनीले यसभन्दा पहिला पनि डलरमा खाता खोल्न पाइन्थ्यो, तर यसपटक सरकारले त्यसलाई सहजीकरण गरेको बताए ।

    “तपाईँ जहाँ हुनुहुन्छ त्यहीँबाट खाता खोल्न पाइन्छ, फिर्ता लग्न पनि पाइन्छ, पैसासँगै भावना र माया पनि जोडिन्छ । तपाईँहरूले आर्जन गरेको ज्ञान, सीप, क्षमता मातृभूमिको हितमा लगाउन पनि वातावरण निर्माण गर्छ भन्ने हाम्रो अपेक्षा छ । यसरी जम्मा भएको रकमले नेपालमै रोजगारी सिर्जना गर्न मद्दत पुग्ने, स्वदेशी उत्पादनका लागि लगानी बढाउन उपयोग गर्ने हाम्रो ध्येय छ । देशलाई माया गर्दा बचत सुरक्षित हुने भएकाले व्यापक सहभागिताका लागि अनुरोध गरे ।


    गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तले नेपाल सरकारले ल्याएको नयाँ सुविधाका लागि सरकारलाई धन्यवाद दिँदै यसले संसारभरका नेपालीलाई नेपालमा खाता खोलेर आफूसँग रहेको बचत नेपाल भित्र्याउन सहज हुने विश्वास व्यक्त गरे ।

  • न्युयोर्कमा खुम्बु पासाङल्हामु शेर्पा समाज युएसए गठन

    न्युयोर्कमा खुम्बु पासाङल्हामु शेर्पा समाज युएसए गठन

    पासाङ शेर्पा, न्युयोर्क

    सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका तथा आसपासका क्षेत्रबाट अमेरिकाको न्युयोर्क तथा अन्य सहरहरुमा बसोबास गर्दै आएका शेर्पाहरुको गत शनिबार जनवरी ८ तारिख २०२२ मा प्रथम भेला भएको छ ।
    न्युयोर्कको ज्याक्सन हाइट्सस्थित सुम्निमा रेष्टुरेण्टमा सम्पन्न भेलामा महामारी कोरोना प्रकोपको त्रास र कामको व्यस्तताका बाबजुद पनि करिव ५० जनाले सहभागिता जनाएका छन् । उक्त भेलाले खुम्बु पासाङ ल्हामु गाउँपालिकाबाट यहाँ बसोबास गर्ने सम्पूर्ण गाउँबासीहरुलाई संगठित गरेर आफ्नो मौलिक रीतिरिवाज, भाषा, धर्म र संस्कृति जोगाउने उदेश्यका साथ ङवाङ शेर्पा गर्जा, ठमोको अध्यक्षतामा “खुम्बु पासाङल्हामु शेर्पा समाज यु एस ए” गठन भएको छ।

    भेलामा सहभागीहरुको सर्वसम्मतिले चुनिएका १२ सदस्यीय कार्यसमितिको कार्यकाल आगामी दुई बर्षको लागि हुने छ। उक्त नवगठित कार्यसमितिको अन्य पदाधिकारीहरुमा क्रमशः उपाध्यक्षमा फुर्वा ग्याल्जेन शेर्पा लुक्ला, महासचिव आङ ग्याल्जेन शेर्पा, सचिवमा छिङ्ग नुरु शेर्पा खुम्जुङ, कोषाध्यक्षमा आङ छेची शेर्पा, सहकोषाध्यक्षमा लाक्पा नुरु शेर्पा चयन भएका छन। त्यसैगरी कार्यसमितिको सदस्यहरुमा ल्हक्पा नुरु शेर्पा, हिलाज्युङ पासाङ् दिकी शेर्पा, थामे पासाङ दावा शेर्पा सुर्के,पासाङ दावा शेर्पा लुक्ला, मिङ्मा छेम्जी शेर्पा पाङगोम र मिङ्मा नुरु शेर्पा पैँया, चयन गरेको छन्।

    त्यसैगरी संगठनको नवगठित कार्यसमितिको सल्लाहकारमा क्रमशः शेर्वी रिक्स्युङ लोप्टाका धर्म गुरु लोपेन ग्युर्मे छोड्राक, खुम्जुङ समाजसेवी एवं व्यावसायी पासाङ नुरु शेर्पा, मुसे र समाजसेवी आङ छोङ्बा शेर्पा,बुम्बुरी चयन हुनुभएको छ।

    समाजको विभिन्न व्यक्तित्वहरु सहभागी भएको उक्त भेलामा “शेर्पा किदुक अमेरिका”का बोर्ड् अफ ट्रस्टीका कोअर्डिनेटर पेम्बा ग्याल्जेन शेर्पा, लाक्पा नुरु शेर्पा, पासाङ् नुरु शेर्पा, पासाङ दावा शेर्पा, आङ छेची शेर्पा, आङ ग्याल्जेन शेर्पा, निमा याङ्जी शेर्पा, मिङ्मा छेम्जी शेर्पा, ङवाङ छेतेन शेर्पा, मिङ्मा दोर्जी शेर्पा, आङ निमा शेर्पा, ङवाङ शेर्पा गर्जा, छिङ्ग नुरु शेर्पा, नोर्बु शेर्पा, पोमु दिकी शेर्पा, फुर्वा ग्याल्जेन शेर्पा, पासाङ छिरी शेर्पा, लाक्पा नुरु शेर्पा, आङ छिरी शेर्पा लगायतका वक्ताहरुले संस्थाको महत्वको र उदेश्यको बारेमा चर्चा गरेर सुरुवात गरेको कार्यक्रमलाई नवगठित कार्यसमितिकोको सदस्यहरुलाई खादा माला लगाएर बधाई अनि शुभकामना दिएर कार्यक्रमलाई समापन गर्नु भएको थियो।

    भेलाको आयोजना तथा संचालन न्युयोर्कका चर्चित मोडेल तथा डि जे लाक्पा जाङ्बु शेर्पाले गरेका थिए ।

  • परराष्ट्र मन्त्री र भारतीय समकक्षीबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

    परराष्ट्र मन्त्री र भारतीय समकक्षीबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

    काठमाडौं । परराष्ट्र मन्त्री डा. नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबीच बिहीवार टेलिफोन वार्ता भएको छ । जयशंकरले ट्वीट गर्दै यसबारे जानकारी गराएका छन् । उनका अनुसार टेलिफोन कुराकानीमा उहाँहरूबीच प्रधानमन्त्री शेरबहादुर देउवाको स्थगित भारत भ्रमण र द्विपक्षीय सम्बन्धका विषयमा चर्चा भएको छ ।

    ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ स्थगित भएपछि प्रधानमन्त्रीको भारत भ्रमण तत्कालका लागि स्थगित भएको छ । भारतका विदेशमन्त्री जयशंकरले आफूले नेपालका परराष्ट्रमन्त्री खड्कासँग नयाँ वर्षको अवसरमा टेलिफोनमा कुराकानी गरेको बताएका छन् । दुई देशबीचको विकास साझेदारी र कोभिड सहकार्य उल्लेखनीय रहेको भन्दै उनले सहयोगको दृश्यलाई फराकिलो बनाउन सहमत भएको समेत उल्लेख गरेका छन् ।

  • न्यूह्यामसायरमा आचार्यको उपन्यास ‘मोचन’ मन्थन

    न्यूह्यामसायरमा आचार्यको उपन्यास ‘मोचन’ मन्थन

    कंकर्ड

    युवा साहित्यकार डा. तुलसी आचार्यद्वारा लिखित उपन्यास मोचन माथिको समिक्षात्मक छलफल न्यूह्यामसायरमा सम्पन्न भएको छ । राज्यको राजधानी कंकर्डमा शनिबार सम्पन्न छलफलमा साहित्यकार महेश्वर पन्त एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका (अनेसास) केन्द्रिय उपाध्यक्ष गोवर्धन पूजा लगायतले कृति माथि समिक्षा गरेका थिए ।

    पन्तले उपन्यासले नेपाली मध्यम वर्गीय युवा पुस्ताको प्रतिनिधित्व गरेको बताए । किताबमा लेखकको गहिरो अध्ययन र मेहनत छचल्किएको उनको भनाइ थियो । किताबमा प्रस्तुत त्रिकोणात्मक प्रेम सम्बन्धले वर्तमान समय र समाजलाई प्रतिनिधित्व गर्ने समेत उनले बताए ।

    साहित्यकार पूजा उपन्यासले नारीमाथि गहिरो सम्मान दर्शाएको एवं समकालिन नेपाली लेखनमा आचार्यले फरक पहिचान स्थापित गरेको बताए । उपन्यास बौद्धिक एवं भाषाशैली सरल रहेको कारण सबै वर्गका पाठकलाई प्रभाव पार्ने उनको भनाइ थियो । समयअनुकुल जति आधुनिक बन्न खोजेपनि अन्त्यमा अध्यात्मलाई अनुशरण गर्ने मानवीय यथार्थ पनि उपन्यासमा प्रतिबिम्बित रहेको उनले उल्लेख गरे । ‘सुखान्त कथा रहेको उपन्यासले नेपाली आख्यान विधामा नयाँ इँटा थपेको छ’ उनले भने ।

    लेखक आचार्यले अग्रज साहित्यकारहरुको सुझाव र टिप्पणीले आफुलाई भावी लेखनमा सुधारको प्रेरणा मिलेको बताए । ‘हामीले बाँचेको समय गुरु प्रसाद मैनालीको परालोको आगोको युग होइन जहाँ एक महिलाले मुखमा पानी हालेपछि घर भित्रका सारा झै झगडा अन्त्य हुन्छन्, उनले प्रष्ट्याए- अहिले नारीले मुखमा पानी हालेर बस्ने होइन कुन तहको विद्रोह गर्न सक्छन् भनेर कितावमा देखाउन खोजेको छु ।’ आचार्यले आफ्नो उपन्यास एमाजोनमा समेत उपलब्ध रहेको जानकारी दिए ।

    अमेरिकामा विद्यावारिधी गरेर नेपाल फर्किएपछि आचार्यले आफ्नो पहिलो उपन्यासको रुपमा मोचन प्रकाशित गरेका थिए । मोचन मन्थनमा अनेसास न्यूह्यासायर च्याप्टरका प्रधान सम्पादक इश्वरी भट्ट, साहित्य अनुरागी राम भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सभापतित्व अनेसास न्यूह्यामसायर च्याप्टरका अध्यक्ष हरिमाया खतिवडाले गरेकी थिइन् ।

  • पोर्चुगल पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

    पोर्चुगल पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

    काठमाडौं । पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित यूनिवर्ल्ड इन्टरनेशनल टुर एण्ड ट्राभल्स प्रालिका सञ्चालक र व्यवस्थापक गरी दुई जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरूमा ट्राभल्सका सञ्चालक काठमाडौं मैतिदेवी बस्ने बाग्लुङ गल्कोट नगरपालिका–६ घर भएका २८ वर्षीय अमृत सोती मगर र व्यवस्थापक ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने सर्लाही बागमती नगरपालिका–१ घर भएका २४ वर्षीय समिर कार्की छन् ।

    वर्किङ भिषामा पोर्चुगल जानप्रति व्यक्ति १४ लाख रुपियाँ लाग्छ र पोर्चुगल पुगेपछि होटल तथा कम्पनीमा काममा लगाइ दिने र मासिक एक लाख रुपियाँभन्दा बढी कमाई हुन्छ भनेर प्रलोभनमा पारी चार जना व्यक्तिबाट प्रतिव्यक्ति १० लाखका दरले ४० लाख लिइ ठगी गरेको पाइएपछि महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकालाइ थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।

  • प्रधानमन्त्री देउवा आगामी आइतबार भारत भ्रमणमा जाने

    प्रधानमन्त्री देउवा आगामी आइतबार भारत भ्रमणमा जाने

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आउँदो आइतबार भारत भ्रमणमा जाने निश्चित भएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदन गरेको स्थानीय संचारमाध्यमले लेखेका छन् ।

    प्रधानमन्त्री देउवाको साथमा  २५ सदस्यीय टोली रहने छ । सोमबार गुजरातमा सुरु हुने भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन भारत जान लागेको हो । चार दिने भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता समेत गर्ने कार्यक्रम रहेको बताइएको छ । पछिल्लो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि देउवा पहिलोपटक भारत जान लागेका हुन् ।

  • रोजगारीका लागि विदेश जाने बढे

    रोजगारीका लागि विदेश जाने बढे

    काठमाडौं । वैदेशिक रोजगारीका विदेश जाने नागरिकको सङ्ख्या बढ्न थालेको छ । वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्न थालेको हो । कोरोनाका कारण रोकिएको कामदारको माग पुनः बढ्न थालेसङ्गै रोजगारीका लागि विदेशिने नेपालीको सङ्ख्या समेत बढेको हो ।

    वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो पाँच महिना (साउन-मङ्सिर)मा ९७ देशमा जान दुई लाख २३ हजार ५८३ जनाले श्रम स्वीकृति लिएका छन् ।

    विभागका अनुसार आव २०७८/७९ को यो पाँच महिनामा सबैभन्दा धेरै मङ्सिर महिनामा ७४ हजार ३५४ जना र कात्तिक महिनामा ५४ हजार ११८ जनाले श्रम स्वीकृति लिएका छन् । असोजमा ३९ हजार ६७१, भदौमा ३६ हजार ४० र साउनमा २५ हजार ४२८ जनाले श्रम स्वीकृति लिएर विदेश गएको विभागले जनाएको छ ।

    विभागका अनुसार मङ्सिर महिनामा वैदेशिक रोजगारी व्यवसायी म्यानपावर कम्पनीमार्फत ३१ हजार जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । कात्तिकमा २७ हजार ७०९ जना श्रमिकले वैदेशिक रोजगारीमा जानका लागि अन्तिम श्रम स्वीकृति लिएकामा मङ्सिर महिनामा त्यो सङ्ख्या बढेको हो ।

    असोजमा म्यानपावर कम्पनीमार्फत २६ हजार ९१ जना श्रमिकले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका थिए । मङ्सिर महिनामा व्यक्तिगत प्रयासमा नयाँ दुुई हजार २३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।

    सो अवधिमा वैधानिक माध्यमबाट एक हजार ४०४ जना, पुनः श्रम स्वीकृतिका माध्यमबाट ३९ हजार ८७७ जना गरी समग्रमा मङ्सिर महिनामा ६९ हजार ४४३ जना वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

    विभागका अनुसार गत मङ्सिर महिनामा ६५४ वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमध्ये ६१४ कम्पनीले श्रमिक पठाएका छन् । मङ्सिर महिनामा विश्वका ९२ मुलुकमा नेपाली श्रमिक गएकोमा म्यानपावर कम्पनीका तर्फबाट जम्मा १२ मुलुकमा श्रमिक गएका छन् ।

  • इपीएसबाट कोरिया गएकाको भिसा अवधि एक वर्ष थपियो

    इपीएसबाट कोरिया गएकाको भिसा अवधि एक वर्ष थपियो

    काठमाडौं । ईपीएसमार्फत दक्षिण कोरिया पुगि काम गरिरहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप भएको छ । दक्षिण कोरियन सरकारले कोरोना महामारीका कारण कोरियामा प्रवासी मजदुर भित्र्याउन नसकेपछि जनवरी १ देखि अप्रिल १२ सम्म प्रवेशाज्ञा सकिन लागेका नेपाली श्रमिकसहित यहाँ रहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप गरेको हो । राससका अनुसार कोरिया श्रम गर्न आउने श्रमिकले सुरुमा तीन वर्षसम्मको प्रवेशाज्ञा पाउने गर्छन् ।

    उक्त अवधि सकिएपछि पुनः एक वर्ष १० महिना थप गरी चार वर्ष १० महिना प्रवेशाज्ञा पाउने नियम छ । पछिल्लो वर्ष कोरोना महामारीका कारण कोरियाले आवश्यक मात्रामा प्रवासी मजदुर भित्र्याउन नसकेकाले यहा रहेका प्रवसी मजदुरलाई राहत मिलेको छ । प्रवेशाज्ञा तीनवर्षे अवधि वा चार वर्ष १० महिनाको अवधि सकिन लागेकालाई मात्र थपिएको प्रवासी श्रमिक युनियन ९एमटीयू०का अध्यक्ष उदय राईले जानकारी दिए ।

    यसरी प्रवेशाज्ञा थपिने भएपछि तीन वर्षको अवधि सकिने तथा हाल चार वर्ष १० महिनाको अवधि सकिने सम्पूर्ण श्रमिकको कोरिया बसाईं अवधि पाँच वर्ष १० महिना हुनेछ । तीन वर्षको कार्यकाल सकिने श्रमिकले एक वर्ष थपेर चार वर्ष पूरा गरेपछि पुनःपहिलेकै नियमानुसार एक वर्ष १० महिनाको प्रेवेशाज्ञा थप्न सक्नेछन् । यो निर्णयले दक्षिण कोरियामा अझै थप बसेर श्रम गर्दै कमाउँछु भन्नेका लागि अवसर मिलेको छ भने नेपाललगायत अन्य देशमा रहेर सम्पूर्ण प्रक्रिया पूरा गरी कोरिया जान पर्खिरहेकामा भने कोरोनाका कारण प्रक्रिया अझै लम्बिन सक्ने देखिएको छ

  • विदेशमा एमबीबीएस पढेका विद्यार्थीले नेपालमा इन्टर्नसिप दिन सक्ने

    विदेशमा एमबीबीएस पढेका विद्यार्थीले नेपालमा इन्टर्नसिप दिन सक्ने

    काठमाडौं । विदेशमा एमबीबीएस अध्ययन गरेका नेपाली विद्यार्थीले अब स्वदेशमै इन्टर्नसिप दिन सक्ने भएका छन् । सरकारले मन्त्रीपरिषद् बैठकबाटै यस्तो निर्णय गरेको हो । खासगरी चीनमा एमबीबीएस पढेकमा विद्यार्थीलाई कोरोना भाइरसको संक्रमणका कारण चीनले प्रवेश अनुमती दिएको छैन । यसबाट उनीहरुको अध्ययन नै प्रभावित हुने भएपछि सरकारले सहजिकरण गरिदिएको हो ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार मन्त्रिपरिषद्ले चीनसहितका मुलुकमा स्नातक तहमा चिकित्सा शिक्षा अध्ययनको क्रममा अप्ठ्यारोमा परेका विद्यार्थीलाई स्वदेशमै पढ्ने व्यवस्था मिलाउन सहमति दिइएको छ ।

    गत वर्ष कोरोना सङ्क्रमण बढेपछि चीनबाट सरकारले फिर्ता ल्याएका विद्यार्थीले बाँकी अवधि नेपालमै पढ्न पाउनुपर्ने माग गरि आन्दोलन नै गरेका थिए । चीन जान नपाएपछि नेपालबाटै अनलाइनबाट पढेर कोर्स सकाएको र एक वर्षको इन्टर्नसिप मात्र बाँकी रहेको विद्यार्थीको माग थियो ।

  • बिदेश जाने तयारीमा रहेका ९ युवा सामुहिक बलात्कारको अभियोगमा पक्राउ

    बिदेश जाने तयारीमा रहेका ९ युवा सामुहिक बलात्कारको अभियोगमा पक्राउ

    काठमाडौं । बिदेश जाने तयारीमा ९ जना युवा सामूहिक बलात्कारको आरोपमा पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई  काठमाडौको नयाँ बसपार्क, गोंगबुबाट पक्राउ गरेको हो । मङ्गलबार र बुधबार बिहान गरि ८ जना समातिएका थिए ।  एकजना फरार रहेकोमा उनी समेत बुधबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ ।
    पक्राउ पर्नेमा मुगुका सात तथा अर्घाखाँचीका एकजना रहेका छन् । उनीहरुले ३४ वर्षीया एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोप छ । महानगरीय प्रहरी परिसर काठमाण्डौका  प्रहरी प्रवक्ता एसपी दिनेश मैनालीलाई उदृत गर्दै संचारमाध्यमले जनाए अनुसार  पक्राउ परेकाहरु वैदेशिक रोजगारीका लागि विदेश जाने तयारीमा रहेका थिए ।  उनीहरुविरुद्ध प्रलोभनमा पारेर महिलाको सामुहिक बलात्कार गरेको आरोप छ । पीडित महिलाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको प्रहरीको भनाइ छ । प्रहरीले थप अनुसन्धान अगाडि बढाएको बताएको छ ।

  • सन्तोष साहले जिते बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’को उपाधि

    सन्तोष साहले जिते बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’को उपाधि

    लण्डन । सन् २०२० को बीबीसी मास्टरसेफ प्रतियोगिताका उपविजेता सन्तोष साहले आफ्नो दोस्रो पतिस्पर्धामा बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेका छन्। सोमबार सम्पन्न फाइनलमा नेपाली सेफ साहले अन्य तीन प्रतिस्पर्धीलाई उछिने । बीबीसीले विगतका मास्टरसेफ प्रोफेसनल्स फाइनलिस्टलाई भिडाएको थियो ।

    प्रतिस्पर्धामा सन् २०२० का फाइनलिस्ट सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली र सन् २०१७ का फाइनलिष्ट जेमी पार्क यो उपाधीका लागि प्रतिस्पर्धामा थिए । सन्तोषले १८ प्रकारका नेपाली खाना प्रस्तुत गरे ।

    दोस्रो चरणको ‘फेस्टिभ फिस्ट’ मा उनले कुखुराको तीते, बिरिया, तिलौरी, सात किसिमका तरुवा, भात, मासको दाल, गोलभेडांको चट्नी, कटर पोलेको, मालपुवा, बुनिया जस्ता नेपाली परिकार प्रस्तुत गरे । बीबीसीबाट प्रसारण हुने हस्पिटालिटी क्षेत्रको प्रतिष्ठित टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेसनल यूके’ मा नेपाली खाना लिएर उनले नेपालको इज्यत बढाइहेका छन् ।

  • विदेश जाँदै हुनुहुन्छ ? यी ठाउँमा लगाउनुहोस् कोरोना विरुद्धको खोप

    विदेश जाँदै हुनुहुन्छ ? यी ठाउँमा लगाउनुहोस् कोरोना विरुद्धको खोप

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेहरुका लागि उपत्यकाका चार वटा अस्पतालमा कोरोना विरुद्धको खोप लगाइने जनाएको छ ।

    मन्त्रालयले एक सूचना जारी गर्दै विदेश जानेको लागि छाउनीको वीरेन्द्र सैनिक अस्पताल, महाराजगञ्जको नेपाल प्रहरी अस्पताल, बलम्बुको सशस्त्र प्रहरी अस्पताल र टेकुको शहीद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा निःशुल्क खोप लगाउन पाउने जनाएको हो ।

    चारै अस्पतालमा जोन्सन एन्ड जोन्सन खोप लगाइनेछ। यो खोप एक डोज लगाए पुग्छ। खोप लगाउन पासपोर्ट र भिसा देखाउनुपर्नेछ।

    साथै खोप लगाउन जाँदा अनिवार्य रुपमा आफ्नो पासपोर्ट र भिसा लिएर जानु पर्ने समेत मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार, अहिलेसम्म दुई करोड ३१ लाख ७१ हजार ९७७ डोज खोप लगाइसकिएको छ। जसमा एक करोड ३१ लाख ७५ हजार ५९७ जनाले पहिलो डोज र ९९ लाख ९६ हजार ३८० जनाले पूर्ण खोप लगाइसकेका छन्।

    देशभर खोप अभियान सञ्चालन भइरहेको छ। विभिन्न उमेर समूहसँगै १२ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाउन थालिएको छ। विद्यार्थीलाई विद्यालयमै खोप लगाउन थालिएको छ।

  • नेवा: नख: न्यूयोर्कको चौंथो साधारण सभा र तेश्रो निर्वाचन सम्पन्न

    नेवा: नख: न्यूयोर्कको चौंथो साधारण सभा र तेश्रो निर्वाचन सम्पन्न

    न्युयोर्क

    नेपाल सम्बत ११४२ थिंलाथ्व: पुन्हि, य:मरि पुन्हिका दिन १९ डिसम्बर २०२१ मा नेवा: नख: न्यूयोर्कको चौंथो साधारण सभा र तेश्रो निर्वाचन सम्पन्न भएको छ ।
    नख:का महासचिव डा. नरेश मान शाक्यद्वारा जूमको माध्यमबाट संचालन गरिएको साधारण सभाको अध्यक्षता नख:का अध्यक्ष बिष्णुमान प्रधानले गरेका थिए भने प्रमुख अतिथिमा नख:का संस्थापक अध्यक्ष बीरेन्द्र प्रधान थिए । उक्त सभामा उपस्थित सबैलाई उपाध्यक्ष महेन्द्र बीर बज्राचार्यले आफ्नो मन्तव्य मार्फत स्वागत गरेका थिए । नख:का संस्थापक अध्यक्ष बीरेन्द्र प्रधान, संस्थापक सचिव संजय शिलाकार र सल्लाहाकार राज कुमार श्रेष्ठले कार्यक्रम सफलताको शुभकामना दिएका थिए । कार्यक्रमको शुरूमै उपस्थित सदस्यहरूको सहभागी दर्ताको कार्य, सचिव संगिता मुखिया छोंचू र सह-कोषाध्यक्ष सलोनी वन्त श्रेष्ठले गरेका थिए ।

    खुल्ला सत्रमा, महासचिव डा. नरेश मान शाक्यले संस्थाको कार्य प्रगति विवरण तथा गति-बिधीहरू फोटो र भिडियो प्रस्तुत गरी पेश गरेका थिए भने अध्यक्ष बिष्णु मान प्रधान र सह-कोषाध्याक्ष सलोनी वन्त श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

    सभामा, दिवंगत हुनुभएका नखःका पूर्व सल्लाहाकार अजय मान छोँचूको संझनामा एक मिनेट मौन धारणा गरिएको थियो भने उहॉंले संस्थालाई दिनु भएको अमुल्य योगदानको प्रशंसा गरिएको थियो र उहॉं सहभागी भएको कार्यक्रमको फोटो र भिडियो पनि प्रस्तुत गरिएको थियो । सबै सहभागीहरूले उहॉंको आत्माको चिर शान्तिको कामना व्यक्त गर्दै स-सम्मानका साथ हार्दिक श्रद्धांजली दिए । बक्ताहरूले उहॉंको बारेमा बोल्दै गर्दा केही क्षण सबै सहभागीहरू भावविह्वल भएका थिए ।

    नेवा: नख: न्यूयोर्कको तेश्रो निर्वाचन, प्रमुख निर्वाचन आयुक्त, संस्थापक अध्यक्ष बीरेन्द्र प्रधानले सम्हाल्नु भएको थियो। उक्त निर्वाचन कमिटीले नयॉं कार्यसमितिको निर्वाचन गरेका थिए । नयॉं कार्यसमितिको अध्यक्षमा महेन्द्र बीर बज्राचार्य, प्रथम उपाध्यक्षमा डा. नरेश मान शाक्य, द्वितीय उपाध्यक्षमा श्रुति अमात्य, महासचिवमा तुलसी नारायण चित्रकार, सचिवमा संगीता मुखिया छोंचू, कोषाध्यक्षमा सलोनी वन्त श्रेष्ठ, सह-कोषाध्याक्षमा मेनी श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् भने कार्यसमिति सदस्यहरुमा नम्रता प्रधान, दिपक कुमार प्रधान, महेन्द्र कुमार बज्राचार्य, संजन प्रधान, राधिका श्रेष्ठ, अभिषेक छोंचू र शोभना शाक्य निर्विरोध निर्वाचित भएका छन् । नखःको बिधान अनुसार स्वतः निर्वतमान अध्यक्ष बिष्णुमान प्रधान संस्थाको सल्लाहाकार भएका छन् ।

    बन्द सत्रमा, अध्यक्ष बिष्णुमान प्रधानले नव निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको लागि शुभकामना दिएका थिए भने सभामा उपस्थित सबै सदस्यहरूलाई उहॉंहरूको सहयोग, सपोर्ट र गरिमामय उपस्थितिको लागि हार्दिक धन्यवाद ज्ञापन गरेका थिए । साथै उहॉंले अहिलेसम्म नखःको विभिन्न कार्यक्रममा सहयोग गर्नुहुने सम्पूर्ण संघ-संस्था, महिला तथा पुरूष स्वयंमसेवी र सहयोगी दाताहरूलाई विशेष धन्यवाद दिएका थिए। बिदेशमा रहेर पनि नेवाः परम्परा, कला-संस्कृति, चाड-पर्व जोगाउन र प्रवर्द्धन गर्न हामी सबै एकजुट भई अगाडि बढ्नु पर्ने कुरामा जोड दिनु भएका थिए ।

    नेवा: कला संस्कृतिको क्षेत्रमा काम गर्दै सबै समुदायसँग हातेमालो र सहकार्य गर्दै सबै मिली सबैको सहयोगमा नख:लाई अगाडि बढाउने कुरा नव निर्वाचित अध्यक्ष महेन्द्र बीर बज्राचार्यले व्यक्त गरेका थिए भने अन्य पदाधिकारीहरू तथा सदस्यहरूले पनि आ-आफ्ना प्रतिवद्धता व्यक्त गरेका थिए ।

    नेवा: नख: न्यूयोर्क – नेवा: परम्परा, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि सन २०११ मा न्युयोर्कमा स्थापना गरिएको संस्था हो । यो संस्थाले समुदायको हितका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

  • विदेश जानेलाई प्राथमिकताका साथ जोन्सन एन्ड जोन्सनको खोप

    विदेश जानेलाई प्राथमिकताका साथ जोन्सन एन्ड जोन्सनको खोप

    काठमाडौं । नेपालमा सरकारले विदेश जानेलाई प्राथमिकताका साथ खोप वितरण शुरु गरेको छ । काठमाडौँका विभिन्न अस्पतालमा जोन्सन एन्ड जोन्सनको खोप दिन थालिएको हो । सैनिक अस्पताल छाउनी, शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीर अस्पताल, निजामती अस्पताल बानेश्वर, प्रसूति गृह थापाथली र टेकु अस्पतालबाट यो खोप लगाउन सकिने भएको छ ।

    यी सात अस्पतालबाट जोन्सनसँगै कोभिसिल्ड र भेरोसेलको खोप समेत पाइन्छ । जोन्सन खोप भने विदेश जानेलाई प्राथमिकतामा राखेर दिन थालिएको छ । जोन्सन खोप एक मात्रा मात्रै लगाउँदा हुन्छ । बिहीबार नेपालमा जोन्सन एन्ड जोन्सन खोप थप २१ लाख ७६ हजार ६५० मात्रा ल्याइएको हो । अमेरिकाबाट आएको यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक तथा अपाङ्गता भएका व्यक्ति, नेपालमा बसोबास गर्ने शरणार्थी, स्वास्थ्यकर्मी र सफाइकर्मीलाई दिइसकिएको छ ।

  • के विदेशमा बस्ने नेपालीले नेपालमा भोट हाल्न पाउलान् ?

    के विदेशमा बस्ने नेपालीले नेपालमा भोट हाल्न पाउलान् ?

    धुलिखेल । नेपालमा तीन वटै तहको निर्वाचन नजिकिएको छ । यसको तयारी समेत जोडतोडले गरिएको छ । सम्भवतः एक वर्ष भित्र तीन वटै तहको निर्वाचन भइसक्छ । यो निर्वाचनमा विदेशमा रहेका नेपालीलाई समेत भोट हाल्न पाउने व्यवस्था गर्न तयारी शुरु भएको छ । सो निर्वाचनमा विद्युतीय मतदानमार्फत विदेशमा रहेका नेपालीलाई) सहभागी गराउने तयारी भइरहेको निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले जानकारी गराएका छन् ।

    निर्वाचन आयोगले धुलिखेलमा आयोजना गरेको कार्यशालामा बोल्दै उनले सहज र विश्वसनीय परिणामका लागि विद्युतीय मतदानको पहल थालिएको समेत बताए । यसले विदेशमा रहेका नेपाली नागरिकको मताधिकारसमेत सुरक्षित गर्न सम्भव हुने छ । विदेशमा करिब ४० लाख नेपाली नागरिक रहेको अनुमान छ । यस पटक जनगणनामा समेत विदेशमा रहेका नेपालीको तथ्याङ्क विद्युतीय प्रविधिमार्फत संकलन गरिएको थियो ।

  • दुई महिना अगाडी ग्रिसमा सवारी दुर्घटनामा ज्यान गुमाउने ४ जना नेपाली को थिए ?

    दुई महिना अगाडी ग्रिसमा सवारी दुर्घटनामा ज्यान गुमाउने ४ जना नेपाली को थिए ?

    काठमाडौं । संगठित मानव तस्करले प्रहरीको आँखा छल्दै ग्रिस पु¥याएका ४ जना नेपालीको कात्तिक २५ मा भएको दुर्घटनामा ज्यान गएको थियो । तर, उनीहरुको पहिचान खुलेको थिएन । गत सोमबार उनीहरुको पहिचान खुलेको छ । ग्रिसको राजधानी एथेन्सबाट ५ सय २ किमि पूर्वमा दुर्घटनामा ७ जनाको ज्यान गएको थियो । जसमा चार जना नेपाली थिए ।


    प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) ले नेपालीको पहिचान गर्न दुर्घटनामा मृत्यु भएकाको तस्बिर नेपाल प्रहरीको इन्टरपोल शाखामा पठाएको थियो । इन्टरपोल नेपालमार्फत प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेका तस्बिरमा परिवारले सोमबार सनाखत गरेको स्थानीय संचारमाध्यमले लेखेका छन् ।

    ब्युरोका अनुसार दोलखाको भीमेश्वर नगरपालिका–६ का ३० वर्षीय राजु लामा, रसुवाको आमाछोदिङमो गाउँपालिका–४ की २१ वर्षीया शर्मिला भनिने रमिला घले, कैलालीको गौरीगंगा नगरपालिका–४ का ३८ वर्षीय लक्ष्मण सापकोटा र तनहुँको घिरिङ गाउँपालिका–५ का ओमबहादुर थापाको दुर्घटनामा ज्यान गएको छ । ग्रिस इन्टरपोलले पठाएको पत्रअनुसार सवारी लाइसेन्स नभएका मोल्दोभाली चालकले गाडी चलाएका थिए ।

    कालो कारमा १५ जना चढेका थिए । ग्रिस प्रहरीले रोक्न खोजेपछि तीव्र गतिमा हुइँकिएको कार पर्खालमा ठोक्किएको थियो । कारको डिक्कीमा मात्रै चार जना कोचिएको पाइएको छ । दुर्घटनामा घाइते भएका दोलखा, भीमेश्वर नगरपालिका–९ का मनु लामा र कैलालीको गौरीशंकर नगरपालिका–४ का लोकराज आचार्य केही दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

  • वैदेशिक रोजगारले निम्त्याएको यौन कुण्ठा : आफन्तसँगै यौन सम्बन्ध बढ्दो

    वैदेशिक रोजगारले निम्त्याएको यौन कुण्ठा : आफन्तसँगै यौन सम्बन्ध बढ्दो

    सप्तरी। राजविराज नगरपालिका–१ कि ३९ वर्षीया पानोदेवी खंग ( नाम परिवर्तन) को वैदेशिक रोजगारका लागि श्रीमान विदेशिएको नौ वर्ष भयो। श्रीमान विदेश गएपछि सासुससुरा र दुई छोरा र तीन छोरीसहित आठ जनाको जिम्मेवारी काँधमा बोकेकी पानोदेवीलाई हरेक समस्यामा श्रीमानका मितले सहयोग गर्न थाले।

    उनलाई आफ्ना सासुससुराले पनि सहयोग नगर्ने भने होइन। सँगै श्रीमानका मितले पनि केही समस्या पर्दा पानोदेवीलाई सहयोग गर्दै आए। सहयोग गर्ने क्रममा पानो र श्रीमानका मित नजिकिँदै जाँदा एकअर्कालाई प्रेम गर्न थाले। उनीहरूको अस्वाभाविक हिमचिमलाई सासुससुराले मन पराउन छाडे।

    तर, पनि उनीहरूले दूरी कायम गर्न सकेनन्। जस कारण श्रीमान विदेश रहँदा भएको यौन चाहनालाई पानोले श्रीमानका मितबाट पूरा गर्न थालिन्। श्रीमान विदेश गएको तेस्रो महिनाबाटै पानोदेवी र उनका श्रीमानका मितबीच यौन सम्बन्ध सुरु हुन थालेको र अहिले पनि निरन्तर यौन सम्बन्ध रहने गरेको छ।

    ‘यौन चाहना सबैमा हुन्छ, नौ वर्ष भयो श्रीमान नआएको, उसले (श्रीमानका मित) मलाई श्रीमानले भन्दा बढी माया गर्छ। हामी नजिक हुँदा जाँदा यौन सम्बन्ध पनि हुन थाल्यो। र अहिले पनि हामीबीच यौन सम्बन्ध हुने गरेको छ,’ पानोदेवी सुनाउँछिन्।

    उनीहरूबीचको सम्बन्धको आशंका पानोदेवीका सासुससुरालाई पनि रहेको बताउँछिन्। सासुससुरालाई छोराको मित आफ्नो घर आएर बुहारीको कोठामा घण्टौँसम्म बस्न थालेपछि बुहारी र सासुससुराबीच झगडा पनि हुने गरेको छ।

    ‘यौन चाहना मार्न सकिँदो रहेनछ। घरमा सासुससुराले गाली गर्न थालेपछि बिरामी छु भन्ने बाहना बनाएर लजमा गएर मितसँग (श्रीमानका मित) यौन चाहना मेटाउँदै आएकी छु,’ उनी भन्छिन्।

    उनीहरूबीचको सम्बन्धलाई लिएर घरमा मात्र होइन समाजमा पनि कुरा काट्न थालेको पानोदेवी बताउँछिन् । तर, यौन इच्छा मार्न नसक्दा घर र समाजको प्रतिक्रियालाई बेवास्ता गरेर मितसँग यौन सम्बन्ध राख्दै आएको पानोदेवी सुनाउँछिन् ।

    राजविराज नगरपालिका–२ कि ३६ वर्ष कल्पना यादव ( नाम परिवर्तन ) को श्रीमान पनि वैदेशिक रोजगारका लागि विदेश गएको १५ वर्ष भयो । बुबा विदेश जाँदा एक वर्षको छोरा अहिले १६ वर्षको भयो । यसबीचमा उनलाई सुखदुःखमा साथ दिन भन्दै देवर नजिकिए ।

    कल्पनालाई सहयोग गर्न उनको देवर अविवाहित हुन् । भाउजुलाई सहयोग गर्ने क्रममा नजिकिएका देवरसँग कल्पनाको यौन सम्बन्ध रहन थाल्यो । ‘यस्तो हुन्छ भनेर सोचेको थिइन,’ कल्पनाले भनिन्, ‘तर, नजिक हुने क्रममा यौन सम्बन्ध रहन गयो । यौन इच्छा धेरै दिन मार्न गाह्रो हुँदो रहेछ ।’

    देवर आउँदा कसले शंका नगर्ने र मन मिलेपछि यौन सम्बन्ध रहन सजिलो भएको कल्पनाको अनुभव छ । उनी भन्छिन्, ‘घरमा निर्धक्क भएर आउन सक्ने मान्छे पाएको र मन मिलेपछि यौन सम्बन्ध हुन थाल्यो । छोरा विद्यालय गएका बेला देवरसँग यौन सम्बन्ध राख्ने गरेको छु ।’

    वर्षमा एक महिनाका लागि आउने श्रीमानबाट सधैँका लागि यौन तृप्त हुन नसकिने कल्पना बताउँछिन् । ‘श्रीमान वर्षमा एक पटक एक महिनाका लागि आउनुहुन्छ,’ उनी भन्छिन्, ‘तर, फेरि श्रीमान विदेश गएपछि यौन चाहना बढ्ने त्यतिखेर देवरसँग यौन सम्बन्ध राख्छु ।’

    यौन चाहना सबैको हुन्छ, कसैले दबाएर राख्छ, कसैले दबाउन नसकेर आफूले चाहेअनुसारको वातावरण र साथी पायो भने यौन सम्बन्ध राख्ने गरेका घटना देखिएको राजविराज नगरपालिका–१ कि कविता यादवले बताइन्।

    ‘महिलालाई मात्र नभएर पुरूषलाई पनि यस्तो हुने गरेको छ। घरमा श्रीमती हुँदाहुँदै पनि अर्को महिलासँग सम्बन्ध राखेको देखिन्छ,’ उनले भनिन्।

    श्रीमती वैदेशिक रोजगारमा रहेका बेला स्वदेशमा रहेका श्रीमानले पनि परस्त्रीसँग यौन सम्बन्ध राख्ने गरेको केही घटना देखिन्छ । पुरुष वा महिलाले अवैध यौन सम्बन्ध राख्दा परिवारमा विचलन आउने गरेको छ । -न्युज कारखाना

  • भारतको उत्तर प्रदेशमा नेपाली मजदुर चढेको बस दुर्घटना, एक शिशुको मृत्यु

    भारतको उत्तर प्रदेशमा नेपाली मजदुर चढेको बस दुर्घटना, एक शिशुको मृत्यु

    कैलाली । भारतको उत्तर प्रदेशमा नेपाली मजदुर चढेको बस दुर्घटनामा परि एक शिशुको ज्यान गएको छ । नेपाली मजदुर सवार रहेको बस भारतको लखिमपुरखिरी जिल्लामा दुर्घटनामा परेको हो । दुघृटनामा ५ जना घाइते भएका छन् । उत्तर प्रदेशस्थित लखिमपुरखिरी जिल्लाको भिरा भन्ने ठाउँमा शुक्रबार भएको सो दुर्घटनामा बसमा सवार अछामको बान्नेगढी जयगढ नगरपालिकाका केशव थापाका चार महिने शिशुको मृत्यु भएको हो ।

    दुर्घटनामा घाइते पाँच जना नेपालीको अवस्था सामान्य रहेको छ । बसमा सवार ५६ जनामध्ये अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् । धनगढीको अछाम होटेलका सञ्चालकको कालिका मष्टाबण्डली टुर्र्स एण्ड ट्राभल्सबाट टिकट लिएर युपी ०३३० पी १३७५ नम्बरको बस भारतको राजकोट जान लागेका अवस्थामा दुर्घटना परेको हो ।

  • अध्यागमन विभागले यात्रा सम्बन्धि शुक्रबारको निर्णय स्थगित गर्यो

    अध्यागमन विभागले यात्रा सम्बन्धि शुक्रबारको निर्णय स्थगित गर्यो

    काठमाडौं । नेपालमा चर्को आलोचनाका बीच अध्यागमन विभागले शुक्रबारको नियम तत्कालका लागि हटाएको छ । कोरोनाको पछिल्लो ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम शुक्रबार सार्वजनिक गरेको थियो । शनिबार अर्को सूचना जारी गरि अर्को सूचना जारी नभएसम्मका लागि यो नियम स्थगित भएको जनाएको छ ।

    यात्रा प्रतिवन्ध र ७ दिन होटलमा अनिवार्य क्वारेन्टाइन सम्बन्धी सूचना अर्को सूचना नभएसम्मका लागि स्थगित गरि यसअघिका नियम भने यथावत राखेको विभागले जनाएको छ । ‘सेप्टेम्बर २४ र डिसेम्बर २ मा प्रकाशित ट्राभल एडभाइजरीसँग सम्बन्धित अन्य सूचना भने यथावत रहेको समेत सूचनामा उल्लेख छ । यसअघिको प्रावधानमा खोप लगाएका र पिसिआर नेगेटिभ आएका यात्रुले क्वारेन्टिन बस्नु पर्दैन ।

  • भारतबाट खुलेआम भित्रन्छन यात्रु, तेस्रो मुलुकमा मात्र किन कडाई ?

    भारतबाट खुलेआम भित्रन्छन यात्रु, तेस्रो मुलुकमा मात्र किन कडाई ?

    काठमाडौं । सरकारले अमेरिका र बेलायतसहित विश्वका ६७ मुलुकबाट नेपाल आउँदा अनिवार्य क्वारेन्टिन बस्नु पर्ने नियम ल्याएको छ । तर, भारतबाट नेपालमा आउँदा भने खुलेआम आउन पाउने नियम छ । यसले मुलुक भित्र सहजै भाइरस भित्राउने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । पर्यटन व्यवसायी ध्रुव सिखडाले सरकारको यो नियमले नेपालमा कोरोना रोक्ने नभई पर्यटक मात्र रोकिने चिन्ता व्यक्त गर्छन् । कोरोना भाइरसको नयाँ भेरियन्ट तुलनात्मक रुपमा बढी संक्रामक पाइएको छ । तर, घातक भने नभएको पुष्टी भएको छ ।

    आजसम्म बेलायतमा एक जनाको मृत्युको केश मात्र आएको रेकर्ड छ । तर, अर्कोतर्फ विकसित मुलुकका नागरिकले अधिकांशले खोप समेत लगाइसकेका छन् । यता, भारतमा भने ११ राज्यमा १ सय भन्दा बढी मानिसमा नयाँ भेरियन्ट पुष्टी भइसकेको छ । यसले छिट्टै उग्ररुप लिने चिन्ता भारतमा छ । तर, सरकारले भने तेस्रो मुलुकमा मात्र यात्रामा कडाई गरेको छ । यसले पर्यटक आगमनसहित नेपाली कामदार समेत प्रभावित हुने छन् ।

  • अमेरिका र यूरोपसहित ६७ मुलुकबाट नेपाल आउने सबै यात्रु आफ्नै खर्चमा होटेल क्वारेन्टिन बस्नुपर्ने

    अमेरिका र यूरोपसहित ६७ मुलुकबाट नेपाल आउने सबै यात्रु आफ्नै खर्चमा होटेल क्वारेन्टिन बस्नुपर्ने

    काठमाडौं । विश्वभर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि सरकारले नेपाल आगमनमा कडाई गरेको छ । अध्यागमन विभागले शुक्रबार एक सूचना जारी गरि यस्तो नियम लागु भएको जनाएको छ । अफ्रिकी मुलुकबाट फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट तीव्र गतिमा फैलिन थालेको छ । सरकारले अमेरिका, बेलायत तथा यूरोपका अधिकांश मुलुकबाट आउने यात्रुले अनिवार्य क्वारेन्टिन बस्नु पर्ने नियम लगाएको हो ।

    स्वास्थ्य संवेदनशीलतालाई ख्याल गर्दै अध्यागमन विभागले ओमिक्रोन फैलिएका ६७ मुलुकबाट नेपाल आउने यात्रुलाई सात दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने बताएको हो । मन्त्रिपरिषद्को मंसिर १३ को निर्णय अनुसार जोखिमयुक्त मानिएका देशबाट नेपाल प्रवेश गर्ने यात्रुले सात दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने भन्दै विभागले सूचना जारी गरेको छ ।

    ती देशबाट आएका यात्रुले आरटी-पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने छ । नतिजा नेगेटिभ आएपछि पनि ७ दिन होम क्वारेन्टिनमा बस्नुपर्नेछ । पोजेटिभ रिपोर्ट आएमा भने तोकिएको आइसोलेसन केन्द्र वा अस्पताल पठाइने विभागले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

  • बढेन विदेशबाट आउने रेमिट्यान्स

    बढेन विदेशबाट आउने रेमिट्यान्स

    काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको पहिलो महिना देखि नै रेमिट्यान्स आप्रवाह घटिरहेको छ । यो प्रवृत्ति चौथो महिनासम्म पनि कायम रहेको छ । साउनमा १८ प्रतिशतले घटेको रेमिट्यान्स मूख्य सिजन असोजमा ८ प्रतिशतले घटेको थियो । कात्तिकमा ७.५ प्रतिशतले घटेको छ। साउनदेखि कात्तिकसम्म ३ खर्ब १२ अर्ब ४२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । आर्थिक वर्ष ०७७\०७८ को साउनदेखि कात्तिकसम्म ३ खर्ब ३७ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

    यस वर्षको कात्तिकमा ७३ अर्ब रुपैयाँ र असोजमा ८४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । यो वर्षको साउनदेखि कात्तिकसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या बढेर ९६ हजार ३ सय ८२ पुगेको केन्द्रीय बैंकले जनाएको छ । पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या गत वर्ष भन्दा २४९.१ प्रतिशतले बढेर ५९ हजार ७२३ पुगेको छ ।

  • न्युयोर्केली नुवाकोटेका संस्था ‘फोन्ना’ गठन

    न्युयोर्केली नुवाकोटेका संस्था ‘फोन्ना’ गठन

    न्युयोर्क

    नुवाकोटबाट अमेरिकाको न्युयोर्क सहरमा बसोबास गर्दै आएका नेपालीहरुले भाइचारा र सामुदायिक एकता कायम गर्ने उद्देश्यले फोन्ना (फ्रेण्ड्स अफ नुवाकोट इन न्युयोर्क अमेरिका) नामक संस्था गठन गरेका छन् । न्युयोर्कको क्वीन्समा बसेको भेलाले थात्थलो एवम् भेगीय एक्यवद्दताको महत्व प्रवासमा अझ बढी हुने निस्कर्ष निकाल्दै उक्त संस्था गठन गरेको हो ।

    भेलालाई मुर्तरुप दिन पहल गर्ने बिज्ञान खनाल र बसन्त पाण्डेका अनुसार ‘करिव २ दशकभन्दा लामो समयदेखि एउटै सहरमा बस्दै आएका एक्कै मुलका पानी खाइहुर्केका साथीभाइ समेत विरानो जस्तो बन्न पुगेकाले संगठित हुनुपरेको’ दृष्टान्त व्यक्त गरेका छन् । सम्पन्न भेलाले बिष्णु राना मगरको संयोजकत्वमा ५ सदस्यीय तदर्थ समितिको चयन गरेका छन् ।

    भेलामा रामेश्वर खनाल ‘राम’, दीपक ब. पण्डीत, भुवनमान डंगोल, निरञ्जन पाण्डे, अच्युत सिग्देल, बुद्धिमान तामाङ्ग, राधिका पाण्डे, देबेन्द्र लो तामाङ्ग, उत्तम पाण्डे, बिष्णु राना मगर, बसन्त पाण्डे, बिज्ञान खनाल, योगेश आदी लगायतका नुवाकोटबासीका उपस्थिति थियो ।

    संस्थाको उद्देश्य र महत्वका बारेमा प्रकासपार्दै पहलकर्ता बिज्ञान खनालले; “संस्थालाई बिस्तारै अमेरिकाको अन्य सहरमा समेत बिस्तार गर्ने र नुवाकोटबाट अमेरिका आएका नुवाकोटेको हितमा कार्य गर्ने” बताए । संस्थाले नियमित गर्ने बार्षिक कार्यक्रम तथा संगठनलाई मजबुत तथा एकत्रित बनाउने कार्यनै प्रारम्भिक कार्यतालिकामा रहने संयोजक बिष्णु राना मगरले प्रष्ट पारे ।

  • युएस नेपाल क्लाइम्बर्स एसोसियसनको तेश्रो अधिवेशन सम्पन्न

    युएस नेपाल क्लाइम्बर्स एसोसियसनको तेश्रो अधिवेशन सम्पन्न

    डिसेम्बर १२, २०२१ न्यूयोर्क

    अन्तर्राष्ट्रिय पर्वतारोहण दिवसको अवसर पारेर युयस् नेपाल क्लाइम्बर्स एसोसियसनको तेश्रो अधिवेशन सम्पन्न भएको छ । न्युयोर्कको क्वीन्समा सम्पन्न अधिवेशनले पासाङ् निमा शेर्पाको नेतृत्वमा आगामी ३ वर्षका लागि १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

    संस्थाको भूपु अध्यक्ष तथा फाउण्डर सेराप जाङ्बु शेर्पाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शेर्पा किदुक अमेरिकाका प्रेसिडेन्ट छिरीङ शेर्पा, शेर्पा संघ अमेरिकाका प्रेसिडेन्ट आङ जाङ्बु शेर्पा, शेर्पा किदुक अमेरिका बोर्ड अफ ट्रष्टिजका कोअर्डिनेटर पेम्बा ग्याल्जेन शेर्पा, शेर्पा किदुक अमेरिकाका प्रबक्ता पासाङ् जि शेर्पा, गुरुङ सोसाइटी अमेरिकाका निबर्तमान सदस्य तथा युयस नेपाल क्लाइम्बर्स एसोसियसनका आजीवन सदस्य जीत गुरुङ, युयस् नेपाल क्लाइम्बर्स एसोसियसनका भूपु महासचिवद्वय लाक्पा नुरु शेर्पा र महासचिव आङ ग्याल्जेन शेर्पा लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

    उक्त कार्यक्रममा संस्थाका महासचिव मिङ्मार लामाद्वारा संस्थाले बिगत ३ बर्से कार्यकालमा गरेका कामको प्रतिबेदन प्रस्तुत गरेका थिए भने संस्थाका कोषाध्यक्ष लाक्पा गेलु शेर्पाले संस्थाको खर्च तथा आम्दानीको हिसाबकिताब प्रस्तुत गरेका थिए ।

    कार्यक्रमको अन्त्यमा प्रेसिडेन्ट पासाङ् निमा शेर्पाले संस्थाको बारेमा चर्चा गर्दै उपस्थित सबैलाई धन्यवाद दिएका थिए भने अधिवेशनका सभापति शेराप जाङ्बु शेर्पाले सम्पूर्ण नवनिर्वाचित नयाँ कार्यसमितिलाई सपथ ग्रहण गराएका थिए ।

    उक्त कार्यक्रममा नवनिर्वाचित नयाँ कार्यसमितिलाई युनाईटेड शेर्पा एसोसियसन इन्क अमेरिकाका प्रेसिडेन्ट छिरीङ शेर्पा तथा शेर्पा संघ अमेरिकाका प्रेसिडेण्टले प्रमाणपत्र बितरण गरेका थिए । कार्यक्रम संस्थाका सचिव कर्णबहादुर तामाङले गरेका थिए ।

    नवनिर्वाचित कार्यसमिति;

    १. पासाङ् निमा शेर्पा, प्रेसिडेण्ट
    २. मिङ्मार लामा, फष्ट भाईस प्रेसिडेण्ट
    ३. पासाङ शेर्पा, सेकेन्ड भाईस प्रेसिडेण्ट
    ४. आङ दावा शेर्पा, महासचिव
    ५. पासाङ् शेर्पा, सचिव
    ६. लाक्पा नुरु शेर्पा, ट्रेजरर
    ७. लाक्पा गेलु शेर्पा, भाईस ट्रेजरर
    ८. आङ काजी शेर्पा, बोर्ड् मेम्बर
    ९. लाक्पा जि शेर्पा, बोर्ड् मेम्बर
    १०. दा वोङ्छु शेर्पा, बोर्ड् मेम्बर
    ११. काजी शेर्पा, बोर्ड् मेम्बर
    १२. दोमे शेर्पा, बोर्ड् मेम्बर
    १३. छुरिम डोमा शेर्पा, बोर्ड् मेम्बर
    १४. पासाङ् शेर्पा, बोर्ड् मेम्बर
    १५. मिङ्मार टि शेर्पा, बोर्ड मेम्बर
    १६. ङिमा गेल्जेन शेर्पा, बोर्ड मेम्बर
    १७. दावा जाङ्बु शेर्पा, बोर्ड मेम्बर

  • अमेरिका जान हिँडेका एक नेपाली युवाको पेरुमा मृत्यु

    अमेरिका जान हिँडेका एक नेपाली युवाको पेरुमा मृत्यु

    काठमाडौं । अमेरिका जान नेपालबाट हिँडेका एक युवाको पेरुमा मृत्यु भएको छ। स्थानीय संचारमाध्यमले जनाए अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ३ गोटीखोलाका २२ वर्षीय साहिल बोहराको पेरुमा ज्यान गएको हो । उनको सोमबार बेलुका निधन भएको खबर छ । उनी कुन माध्यमबाट कसरी अमेरिका छिर्दै थिए भन्ने नखुलेको पारिवारिक स्रोतलाई उदृत गर्दै संचारमाध्यमले लेखेका छन् । उनको मृत्यु भएको बारे भने उनीसँगै रहेका अन्य दुई नेपालीले बताएका हुन् ।

    पेरुमा हिँड्दै गर्दा छाती दुख्यो भनेर ढलेको र अस्पताल लैजानासाथ मृत घोषणा भएको जनाइएको छ । सँगै हिँडिरहेका तीन नेपालीमध्ये साहिलको मृत्युपछि अन्य दुई जना युवालाई पेरुको प्रहरीले पक्राउ गरेको समेत समाचारमा उल्लेख छ । उनको शव नेपाल ल्याउने बारे समेत अन्यौल उत्पन्न भएको परिवार स्रोतको भनाई छ । पेरुमा नेपाली दूतावास छैन । यहाँ ब्राजिलमा रहेको दूतावासले काम गर्छ ।

  • बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

    बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

    काठमाडौं । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।
    राससका अनुसार समितिको सोमबार बसेको बैठकले भारतका लागि प्रस्तावित डा शङ्कर शर्मा, बेलायतका लागि प्रस्तावित ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रस्तावित श्रीधर खत्रीबाट आ–आफ्नो अनुभव, योग्यता, सोच र अवधारणासम्बन्धी जानकारी लिएको थियो ।

    त्यससँगै उनीहरुको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । समितिका सभापति लक्ष्मणलाल कर्णका अनुसार प्रस्तावित तीनैजना राजदूतको नाम समितिबाट सर्वसम्मतरुपमा अनुमोदन भएको छ ।