Category: डायस्पोरा

  • साउदी विदेशमन्त्री आज दिनभर उच्चस्तरीय भ्रमणमा व्यस्त रहने, के के कार्यक्रम

    साउदी विदेशमन्त्री आज दिनभर उच्चस्तरीय भ्रमणमा व्यस्त रहने, के के कार्यक्रम

    काठमाडौं । नेपाल भ्रमणका लागि सोमबार काठमाडौं ओर्लिएका साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद आज दिनभर व्यस्त रहनेछन् । उनले आजै उच्चस्तरीय भेटवार्ता गर्नेछन् । उनले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दैछन् । उनले आजै परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गर्ने र पारस्परिक सहयोग अभिवृद्धि सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । उक्त सम्झौतापछि नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न बाटो खुल्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    साउदी अरब नेपाली श्रमिकका निम्ति प्रमुख गन्तव्य देश हो । करिब चार लाख नेपालीले उक्त मुलुकमा रोजगारी पाएका छन् । साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल २३ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै निजी विमानमार्फत् फागुन ३० गते बेलुकी नेपाल आएका थिए । उनको सम्मानमा परराष्ट्रमन्त्री खड्काले दिवा भोज आयोजना गरेका छन् । त्यसपछि उनी आजै स्वदेश फर्कने छन् ।

  • साउदी अरेबियाका विदेशमन्त्री काठमाडौंमा

    साउदी अरेबियाका विदेशमन्त्री काठमाडौंमा

    काठमाडौं । साउदी अरेबियाका विदेशमन्त्री तथा राजकुमार फैसल बिन फहरान अल साउद काठमाडौं अवतरण गरेका छन् । उनी २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिने औपचारिक भ्रमणमा सोमवार काठमाडौं अवतरण गरेका हुन् । निजी विमानमार्फत उनी श्रीलङ्का हुँदै काठमाडौं अवतरण गरेका हुन् ।

    उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानी, परराष्ट्र मन्त्रालय र नेपालका रहेको साउदी अरबको दूतावासका उच्च अधिकारीले स्वागत गरे । भ्रमणका क्रममा साउदी अरबका विदेश मन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    मङ्गलवार परराष्ट्र मन्त्री डा. नारायण खड्काले साउदी समकक्षीसँग भेटवार्ता गर्नेछन् । भेटवार्तापछि दुवै देशका परराष्ट्र मन्त्रीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उनी मंगलबार नै स्वदेश फर्कनेछन् ।

  • नेपाली श्रमिक भएका मुलुकको भ्रमणमा निस्कदै श्रममन्त्री

    नेपाली श्रमिक भएका मुलुकको भ्रमणमा निस्कदै श्रममन्त्री

    काठमाडौं । नेपाली श्रमिक रहेका मुलुकको भ्रमणका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली आज प्रस्थान गर्ने भएको छ । मन्त्रालयका अनुसार यूएई, सेसेल्स र कतारको भ्रमणका लागि टोली त्यसतर्फ जान लागेको हो । नेपाल–यूएई संयुक्त समितिको बैठकका साथै रोजगारीका लागि पर्यटन भिसामा संयुक्त अरब इमिरेट्स पुगी अलपत्र परेका नेपालीको समस्या समाधान गर्न मन्त्री श्रेष्ठ नेतृत्वको टोली यूएई जान लागेको मन्त्रालयले जनाएको छ ।

    भ्रमण टोलीमा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा.थानेश्वर भुसाल, परराष्ट्र मन्त्रालयका उपसचिव प्रकाश अधिकारी र केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक रोशन खड्का समेत रहने छन् । भ्रमण भिसामा लैजाने व्यक्ति÷संस्थालाई कानुनी दायरामा ल्याउन केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षकलाई पनि टोलीमा समावेश गरिएको हो । भ्रमणका क्रममा मन्त्री श्रेष्ठले संयुक्त अरब इमिरेट्सका आफ्ना समकक्षीका अतिरिक्त त्यहाँका उच्चपदस्थ अधिकारी र नेपाली श्रमिकहरूसँग पनि छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।

    मन्त्री श्रेष्ठले भोलि भिजिट भिसा र त्यसबाट सिर्जित समस्या समाधानका उपायबारे यूएईका मानव संशाधनमन्त्री डा. अब्दुलरहमान अब्दुलमानन अल अवारसँग छलफल गर्ने भएका छन् । मंगलबार नेपाल–यूएई संयुक्त समितिको बैठक उद्घाटन सत्रमा मन्त्री श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम छ । नेपाल–यूएई संयुक्त समिति बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सहसचिव राजीव पोखरेलले गर्नुहुनेछ । नेपाल–यूएई संयुक्त समितिको बैठकमा सन् २०१९ मा भएको श्रम–सम्झौता कार्यान्वयनमा देखा परेका समस्या समाधानबारे छलफल हुनेछ ।

    बुधबार मन्त्री श्रेष्ठले आबुधाबीमा रहेको नेपाली दूतावासमा नेपाली श्रमिकले भोगेका समस्या र समाधानबारे नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम छ । त्यही दिन यूएईमा रहेका नेपाली समुदाय तथा श्रमिकहरुसँग अन्तर्क्रिया गर्ने कार्यक्रम राखिएको छ । मन्त्री श्रेष्ठ नेतृत्वको टोली बिहीवार बेलुका अफ्रिकी देश गणतन्त्र सेसेल्स प्रस्थान गर्नेछ । वैदेशिक रोजगारीका लागि नेपाली श्रमिक लैजान गणतन्त्र सेसेल्सबाट प्राप्त द्विपक्षीय श्रम सम्झौताको प्रस्ताव र रोजगारीका थप अवसरहरुबारे त्यहाँका उच्च अधिकारीहरुसँग छलफल हुने बताइएको छ ।

  • साउदी अरेबियाका राजकुमार तथा विदेशमन्त्री आज नेपाल भ्रमणमा आउँदै

    साउदी अरेबियाका राजकुमार तथा विदेशमन्त्री आज नेपाल भ्रमणमा आउँदै

    काठमाडौं । साउदी अरेबियाका राजकुमार तथा विदेशमन्त्री फैजल अल बिन फरहान अल साउद सोमबार नेपाल भ्रमणमा आउँदैछन् । परराष्ट्र मन्त्रालयले यस्तो पुष्टी गरेको हो । राजकुमार फैजल दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् । प्रवक्ता सेवा लम्सालका अनुसार राजकुमार फैजल सोमबार अपराह्न नेपाल आइपुग्ने छन् । उनको भ्रमणका अवसरमा नेपाल सरकारले गर्ने तयारीको काम पुरा गरिसकेको छ ।

    नेपाल भ्रमणका क्रममा राजकुमार फैजलले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छ । परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग राजकुमार तथा साउदी विदेशमन्त्री फैजलको मङ्गलबार द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।

    मन्त्री खड्काले राजकुमार फैजलसहितका साउदी प्रतिनिधिमण्डललाई नेपाल सरकारका तर्फबाट दिवा भोजको आयोजना गर्नेछन् । साउदी अरव धेरै नेपाली रहेको मुलुकमध्ये एक हो । यस भ्रमणमा दौरान नेपाली कामदारको हकहित र द्धिपक्षीय हितका विषयमा छलफल हुने बताइएको छ ।

  • मलेसियाबाट आउन थाल्यो श्रम स्वीकृति

    मलेसियाबाट आउन थाल्यो श्रम स्वीकृति

    काठमाडौ । नेपाली श्रमिकको मुख्य गन्तव्य मलेसियामा श्रम स्वीकृति प्रदान गर्ने काम पुनः सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिब दुई वर्षदेखि रोकिएकोमा प्रचलित कानुन अनुसार पुन: सुरु गर्ने मन्त्रीस्तरीय निर्णय गरेको उनको सचिवालयले जनाएको छ ।

    मलेसिया सरकारबाट नेपालीलाई प्राप्त रोजगारीको अवसर गुम्न नदिन प्रचलित वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल–मलेसिया श्रम सम्झौता प्रतिकुल नहुने गरी नेपाली कुटनीतिक नियोगबाट प्रमाणीकरण भई आएका मागपत्रलाई श्रम स्वीकृति दिने निर्णय भएको मन्त्रालयले जनाएको छ । कोरोना महामारीका कारण सन् २०२० मार्चदेखि मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेपछि नेपाली श्रमिकहरु जान पाएका थिएनन् ।

    तर गएको जनवरी २८ तारिखदेखि मलेसियाले विभिन्न मापदण्डसहित विदेशी श्रमिकको भर्ना प्रक्रिया सुरु गरेको थियो । योसँगै त्यहाँ रहेको नेपाली दूतावासले पनि कामदार माग पत्र प्रमाणीकरणको काम सुरु गरिसकेको र माग प्रमाणिकरण भई आएकोले श्रम स्वीकृति प्रदान गर्न थालिएको मन्त्रालयले जनाएको छ

  • भारतको सहयोगमा युक्रेनबाट चार जना नेपाली स्वदेश फर्किए

    भारतको सहयोगमा युक्रेनबाट चार जना नेपाली स्वदेश फर्किए

    काठमाडौं । भारतीय सरकारले चलाएको उद्धार अभियानमार्फत चार जना नेपाली समेत युक्रेनबाट स्वदेश फर्कन सफल भएका छन् । भारत सरकारको सहयोगमा चार जना नेपाली आज काठमाण्डौ आइपुगेका परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी गराएकी छिन् । भारत सरकारले युक्रेनमा रहेका आफ्ना नागरिकलाई अपरेशन गंगा कार्यक्रम मार्फत् स्वदेश फर्काइरहेको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली नागरिकलाई फिर्ता ल्याउन सहयोग गरेकोमा ट्विटरमार्फत् भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारलाई धन्यवाद दिएका छन् । युक्रेनबाट अहिलेसम्म पाँच सय ८४ जना नेपाली अन्य मुलुकमा छिरिसकेका छन् । अब थप नेपाली सो मुलुकमा छन् वा छैनन् भन्ने चाँही यकिन छैन । किनकी नेपालीले सम्पर्क भने गरेका छैनन् ।

  • भिजिट भिसामा विदेश जानेका लागि गृहले जारी गर्यो नयाँ नियम? के-के छन् प्रावधान ?

    भिजिट भिसामा विदेश जानेका लागि गृहले जारी गर्यो नयाँ नियम? के-के छन् प्रावधान ?

    काठमाडौं । नेपालबाट भिजिट भिसामा विदेश जाने र अलपत्र पर्ने प्रवृत्ति बढेपछि सरकारले यसमा कडाई गरिरहेको छ । तर, कडा प्रावधान लादिएको भन्दै अधिकारकर्मीले सरकारको आलोचना समेत गरिरहेका छन् । यसै सन्दर्भमा भिजिट भिसामा विदेश जाने नेपालीलाई लक्षित गरि सरकारले नयाँ प्रावधान सार्वजनिक गरेको छ । यसमा कम्तीमा दस लाख रुपैयाँ आय र ५ लाख रुपैयाँ बैंक बचत देखाउनुपर्ने व्यवस्था भने तत्काल लागू नहुने भएको छ। भिजिट भिसासम्बन्धी समस्या समाधानका उपाय खोज्न गठित कार्यदलले यस्तो व्यवस्था ल्याउन सिफारिस गरेको छ । तर, सो व्यवस्था तत्काल भने लागु हुने छैन ।

    नयाँ प्रावधान अनुसार भिजिट भिसामा जाने नेपालीले कम्तीमा पाँच लाख रुपैयाँ कर योग्य आय भएर कम्तीमा २ लाख ५० हजार रुपैयाँ बैंक बचत देखाउनुपर्नेछ। यी दुबै रकम विदेश जाने व्यक्तिको नाममा हुनुपर्छ । खाडी मुलुक भन्दा बाहिर कम्तीमा एक पटक र खाडी मुलुकको हकमा दुई पटक विदेश यात्राको अभिलेख भएका व्यक्तिहरू समेत विदेश यात्रामा जान सक्ने छन् । न्यूनतम २ वर्ष भन्दा बढी समय विदेशी मुलुकमा व्यतित गरेको अभिलेखबाट प्रमाणित हुने व्यक्तिलाई समेत यात्रामा रोक लगाइने छैन ।

    न्यूनतम माध्यमिक तहको (कक्षा १२) औपचारिक शिक्षा वा सो सरहको प्राविधिकरव्यावसायिक सीप दक्षता भई आधिकारिक निकायबाट प्रमाणिकरण भएका वा उच्च शिक्षा हासिल गरेका, अध्येता, विज्ञ, प्राविधिक, व्यक्तिलाई समेत नरोकिने गृहले जनाएको छ । अंग्रेजी वा गन्तव्य मुलुकमा बोलिने अन्तराष्ट्रिय भाषाको राम्रो सीप भएका व्यक्ति यो सूचिमा परेका छन् ।

    आफ्नो एकाघरको नातेदारका साथमा भ्रमणमा जाने तथा एकाघरको व्यक्तिको आमन्त्रण र प्रायोजनमा जाने व्यक्ति (एकाघरका आमा बाबु, सासु ससुरा, छोरा छोरी, श्रीमान श्रीमती) र वैदेशिक रोजगारमा रहेकाहरूको नातेदार समेतलाई जान पाउने सूचिमा राखिएको छ । गन्तव्य मुलुकमा रहेको राजदूतावास वा नियोगबाट प्रमाणित कागजातसहित सिफारिस भएका व्यक्ति र सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्ने सरकारी निकायका प्रतिनिधिलाई समेत रोकिने छैन ।


    अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तिय संघ संस्थाका प्रतिनिधि एवं अन्तराष्ट्रिय गैरसरकारी संघ संस्थाका प्रतिनिधि भई भ्रमण गर्न जाने प्रतिनिधिहरू
    नेपालमा सामान आयात(निर्यात गर्ने व्यावसायिक संस्थाका प्रतिनिधिहरू र व्यवसायिक कम्पनी र फर्मका सञ्चालक वा व्यवसायीलाई समेत जान रोकिने छैन ।

  • भारतको मुम्बई र बैंलौरमा नेपाल एयरलाइन्सले पुन: उडान सूचारु गर्ने

    भारतको मुम्बई र बैंलौरमा नेपाल एयरलाइन्सले पुन: उडान सूचारु गर्ने

    काठमाडौं । नेपाल एयरलाइन्सले कोरोना भाइरसको महामारी फैलिएपछि बन्द भएका भारतका दुई गन्तब्यमा पुनः उडान सूचारु गर्ने भएको छ । निगमले बिहीबार सूचना निकाल्दै यी दुई रुटमा उडान पुनः सुचारु गर्ने जानकारी गराएको हो । नेपाल एयरलाइन्सले १३ चैतदेखि भारतको मुम्बईमा नियमित उडान पुनः सुरु गर्ने भएको हो ।

    नेवानिले यो रुटमा साताको तीन वटा उडान गर्ने भएको छ । काठमाडौं–मुम्बई–काठमाडौं रुटमा बुधबार, शुक्रबार र आइतबार जहाज उड्नेछ । उता, बैंलौरमा भने १५ चैतबाट नियमित उडान हुने भएको छ । यो रुटमा शनिबार, मंगलबार र बिहीबार उडानको तालीका राखिएको छ ।

  • विदेशबाट नेपाल आउँदा पिसिआर वा खोप कार्ड मात्र देखाए पुग्ने

    विदेशबाट नेपाल आउँदा पिसिआर वा खोप कार्ड मात्र देखाए पुग्ने

    काठमाडौं । विदेशबाट नेपाल आउन सरकारले सहज प्रावधान बनाएको छ । अब स्वदेशी तथा विदेशी सबै यात्रुले पूर्ण खोप मात्रा पूरा गरेको खोप कार्ड वा पिसिआर नेगेटिभ रिपोर्ट देखाए पुग्ने भएको छ । मन्त्रिपरिषद्को सो निर्णय सरकारी निकायहरुले बिहीबार सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णय सरोकारवाला मन्त्रालयहरुलाई पठाएको हो । निर्णयअनुसार अब हवाई तथा स्थलमार्गबाट यात्रुहरु निर्वाध नेपाल आउन पाउने छन् ।

    नेपाल आउँदा यात्रुले खोप लगाएको प्रमाण पत्र पेश गर्नुपर्ने छ । प्रमाणपत्र पेश गर्न नसक्ने यात्रुले यात्रा शुरु गर्नु अगाडि ७२ घण्टाभित्रको परक्षिणको नतिजा नेगेटिभ आएको प्रमाणपत्र देखाएमा समेत नेपाल प्रवेश पाउने छन् । यससँगै यात्रा व्यवस्थापन सम्बन्धी यसअघि लागु गरिएका सबै निर्णय खारेज गर्ने निर्णय भएको समेत कार्यालयले जानकारी गराएको छ ।

    हवाई मार्ग वा स्थलमार्ग भई विदेशबाट नेपाल प्रवेश गर्ने यात्रुको सम्बन्धमा कोभिड १९ को जोखिम विश्लेषण आवश्यकताअनुसार परीक्षण गर्ने, थप कडाई गर्ने वा नगर्ने निर्णय अब कोभिड १९ संकट व्यवस्थापन केन्द्रबाटै हुने भएको छ । नेपालबाट हवाई मार्ग भई अन्य मुलुक जाने यात्रुको लागि गन्तब्य मुलुकको कोभिड १९ स्वास्थ्य प्रोटोकल सम्बन्धमा सम्बन्धित एयरलाइन्सले आफ्ना यात्रुलाई जानकारी गराउनु पर्ने छ । यसको अनुगमन गर्ने जिम्मेवारी भने पर्यटन मन्त्रालयले पाएको छ । निर्णय अनुसार युक्रेन द्वन्द्वका कारण स्वदेश फर्कने नेपालीलाई विमानस्थलमा प्राथमिकताका साथ सहजीकरण गरिने भएको छ ।

    पीसीआर परीक्षण नभएका वा सीसीएमसी फारम नभरेको र खोप समेत नलगाएको भए पनि उनीहरुलाई छुट्टै स्वास्थ्य कक्ष स्थापना गरि सहजिकरण गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको हो । उनीहरुको एन्टिजेन परीक्षण गरी यात्रुलाई होम क्वारेन्टिन पठाउने र पोजेटिभ आएका यात्रुलाई संस्थागत आइसोलेसनमा पठाउने निर्णय समेत भएको हो ।

  • एनआरएनएद्वारा महिलालाई आर्थिक सहयोगसहित सम्मान

    एनआरएनएद्वारा महिलालाई आर्थिक सहयोगसहित सम्मान

    सुपेन्द्र बस्नेत, बोष्टन

    अमेरिकास्थित गैर आवासीय नेपाली संघ (NRNA), मास्याच्युसेट्स राज्य समितिले
    ११२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर महिलाहरुलाई आर्थिक सहयोगसहित सम्मान गरेको छ। संस्थाले काठमाडौंको बनस्थली वरपर रहेका महिला श्रमिकहरुलाई आर्थिक सहयोग सहित सम्मान गरेको हो।
    आर्थिक अवस्था कम्जोर भएका तर निकै परिश्रमी दश जना श्रमिक महिलाहरुलाई उनीहरुले गर्ने श्रमको उच्च कदर सहित सम्मान गर्दै जनही पाँच हजारका दरले नगद रकम प्रदान गरिएको एनआरएनए अमेरिकाको मास्याच्युसेट्स राज्य समितिका उपाध्यक्ष राजु गुरुङले जानकारी दिनु भयो। उक्त कार्यक्रम काठमाडौं बनस्थलीस्थित मेची महाकाली महिला समूहको सक्रिय सहयोगमा सम्पन्न भएको थियो। हाल नेपालमा रहनु भएका संस्थाका सचिव प्रचण्ड श्रेष्ठले एक कार्यक्रमकाबीच श्रमिक महिलाहरुलाई संस्थाको तर्फबाट खादा लगाइदिएर सम्मान गर्दै उक्त सहयोग रकम हस्तान्तरण गर्नु भएको थियो।
    कार्यक्रममा सम्मानित महिलाहरुले सम्मानसहित सहयोग रकम उपलब्ध गराएकोमा खुसी व्यक्त गर्दै धन्यवाद प्रकट गरेका थिए। ११२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मास्याच्युसेट्स, बोष्टनमा विशेष कार्यक्रम गर्ने सोच रहेको भएतापनि कोरोना कहरका कारण आयोजना गर्न नसकिएको र सानै भएपनि नेपालमा श्रमिक महिलाहरुलाई आर्थिक सहयोग गरिएको उपाध्यक्ष गुरुङले बताउनु भयो। उहाँले भन्नु भयो, ‘विशेष कार्यक्रम गर्ने सोच त थियो।तर, कोरोनाका कहरका कारण सम्भव भएन। त्यसैले सानै भएपनि श्रमिक महिलाहरुलाई सम्मानसहित आर्थिक सहयोग गरेका हौं ।’ उक्त रहयोग रकम संस्थाकी महिला संयोजक अन्जु भट्टराई थापाको पहल कदमीमा भएको उपाध्यक्ष गुरुङले जानकारी दिनु भयो।


    संस्थाले बेलाबखत आफ्नो उद्देश्य अनुसार महिला सशक्त्तिकरण र विकासका लागि सक्दो महिला केन्द्रित कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने योजना रहेको उपाध्यक्ष गुरुङको भनाइ छ। ‘संस्थाले महिला सशक्तिकरण र महिला विकासका लागि सक्दो कार्यक्रमहरु गर्दै आइरहेको छ। र, भावि दिनहरुमा पनि गर्दै जाने छौं।’ उहाँले भन्नु भयो। संस्थाको विधान अनुसार दुइ वर्षीय कार्यकाल(सन् २०२१-२०२३)का लागि गत वर्ष, मे महिनाको २९-३० मा भएको अधिवेशनबाट निर्वाचन नयाँ कार्यसमितिले नेपाली समुदायलाई लक्षित गरी विविध कार्यक्रहरु गर्दै आइरहेको छ। कोरोनाको कहरका कारण केही समय यता सुस्ताएको कार्यसमिति, कोरोनाको कहरको अवस्था सुध्रिदै गएसंगै अन्तराष्ट्रिय नारी दिवसबाट पुन: सक्रियता देखाउन थालेको छ।

    विगतमा झैं यस वर्ष पनि ‘सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चितता’ भन्ने मुल नाराका साथ विविध कार्यक्रमहरु गरेर ११२ औँ अन्तराष्ट्रिय नारी दिवस संसार भर मनाइयो। हरेक वर्ष मार्च ८ तारिखमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर नारी दिवस मनाउन थालिएको हो । सन् १९७५ मा संयुक्त राष्ट्रसङ्घले मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा घोषणा गरेसंगै यसको महत्व र क्षेत्र बृहत बनेको छ। ११२ औं अन्तराष्ट्रिय नारी दिवससम्म आइपुग्दा लगानीका हिसावले परिणामको मुल्याङ्कन गर्दा महिलाहरुको सशक्तिकरण र विकासमा सन्तोष गर्ने अवस्था भने छैन। कनिका छराइ लगानी र औपचारिकतामा सिमित हुदै गएको महिला केन्द्रिकृत कार्यक्रमहरुले, सोचे जस्तो लक्ष्य भेटाउन सम्भव छैन।
    नारीलाई दयाको पात्र ठानी माछा मारेर खटाइ खटाइ खान दिने हैन कि, सक्षम ठानी आफै माछा मारेर खान र खुवाउन सक्ने गरी पर्याप्त अवसरसहित सीप सिकाउन जरुरी छ। र, नारीले पनि तदारुपताका साथ त्यसको अगुवाइका लागि सक्रियता देखाउनु अपरिहार्य छ।

  • अमेरिकाका लागि नेपालका राजदूत खत्रीले लिए पद तथा गोपनीयताको सपथ

    अमेरिकाका लागि नेपालका राजदूत खत्रीले लिए पद तथा गोपनीयताको सपथ

    काठमाडौं । अमेरिकाका लागि नेपालका आवासीय राजदूत प्रा. श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत खत्रीलाई शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएको कार्यालयलेृ जनाएको छ ।

    राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार समारोहमा सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारी उपस्थित थिए । नेपाल सरकारको सिफारिस र संसदीय समितिको अनुमोदनपछि राष्ट्रपतिबाट उनी राजदूत पदमा नियुक्त बनेका हुन् ।

  • नेपालमा हत्या गरि विदेश फरार व्यक्ति १६ वर्षपछि पक्राउ

    नेपालमा हत्या गरि विदेश फरार व्यक्ति १६ वर्षपछि पक्राउ

    काठमाडौं । नेपालमा एक जना व्यक्तिको हत्या गरि विदेश फरार भएका अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले १६ वर्षअघिको एक हत्या घटनाका फरार अभियुक्त अशोक गुरुङलाई पक्राउ गरेको जनाएको छ । १६ वर्षअघि सुनसरीबाट मजदुरी गर्न पोखरा आएका २० वर्षीय रोजन राईको हत्याको अभियोग गुरुङमाथि छ । उनी अहिले ४६ वर्षका छन् । गुरुङलाई प्रहरीले इन्टरपोलको सहयोगमा बहराइनबाट पक्राउ गरी मंगलबार नेपाल ल्याइएको हो । उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीको अनुमति लिइएको छ ।

    पोखरा सातमुहाने घर भएका गुरुङ हत्याको घटनापछि कुवेत र बहराइन पुगेका थिए । दुई जनाको झगडाका क्रममा गुरुङले राईको टाउकोमा दाउरा प्रहार गरेको र उनको उपचारका क्रममा २ जेठ २०६३ मा निधन भएको हो । घटनापछि फरार भएका गुरुङ पोखराबाट काठमाडौं पुगेको र त्यहाँ तीन महिना बसेर भारत हुँदै कुवेत पुगेको पाइएको छ । दुई वर्ष कुवेत बसेर नेपाल फर्किएका गुरुङ काठमाडौंमा केही समय बसेर बहराइन गएको देखिएको छ ।

  • त्रिभुवन विमानस्थलमा अब श्रमिकले छुट्टै लाइनमा बस्नु नपर्ने

    त्रिभुवन विमानस्थलमा अब श्रमिकले छुट्टै लाइनमा बस्नु नपर्ने

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब श्रमिकले छुट्टै लाइनमा बस्नु नपर्ने भएको छ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘श्रम डेस्क’ हटाउँदै यस्तो निर्णय गरेको हो । सही छाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकले दुःख पाएको जनगुनासो व्यापक आएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा राखिएको श्रम डेस्क हटाउने निर्णय गरेको मन्त्रालयले जनाएको छ । मन्त्री श्रेष्ठसहित मन्त्रालयका अधिकारीहरु बुधवार अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

    अनलाइन सूचना प्रणाली (फेमिस) आइसकेको अवस्थामा विमानस्थलमा श्रम डेस्क आवश्यक नभएको मन्त्री श्रेष्ठले बताए । अब अध्यागन विभागका कर्मचारीले नै श्रम स्वीकृति जाँच गरि यात्रुलाई जहाजतर्फ पठाउने छन् । वैदेशिक रोजगारीमा जान श्रमिकले एउटा मात्र प्रस्थानद्वार प्रयोग गर्न पाउने व्यवस्थालाई विभेदपूर्ण भन्दै आलोचना भएसँगै सरकारले यस्तो निर्णय लिएको हो । विमानस्थलमा श्रमिकहरूका लागि यसअघि अर्को दर्जा जसरी छुट्टै गेटबाट प्रवेश दिने गरिएकोमा अब जुनसुकै गेटबाट पनि प्रवेश गर्न पाउने छन् ।

  • काठमाडौं-दिल्ली रुटमा अब नेपाल एयरलाइन्सको दैनिक दुई उडान

    काठमाडौं-दिल्ली रुटमा अब नेपाल एयरलाइन्सको दैनिक दुई उडान

    काठमाडौं । नेपाल एयरलाइन्सले काठमाडौंबाट दिल्लीमा अब दैनिक दुई उडान गर्ने भएको छ । नेवानिको यो सबैभन्दा नाफामा चलेको रुट समेत हो । भारत सरकारले सबै अन्तर्राष्ट्रिय उडान खुला गरेसँगै नेवानिले समेत उडान बिस्तारको निर्णय गरेको हो । नेपाल वायुसेवा निगमका अनुसार १४ मार्च (३० फागुन)बाट यो रुटमा दैनिक दुई उडानको घोषणा गरेको हो ।

    अहिले दैनिक एक उडान भइरहेको छ । भारतबाट अहिले भिस्तारा एयर, इण्डिगो एयर र एयर इण्डियाले नियमित उडान गरिरहेका छन् । नेपाल र भारतका नागरिकले एक अर्का मुलुकमा भिसा बीना नै यात्रा गर्न सक्ने भएकाले यो रुटमा हवाई कम्पनीले सहजै यात्रु पाउँछन् ।

  • न्यूयोर्कका नेपाली लायन्स क्लबहरूबाट संयुक्त रक्तदान सम्पन्न

    न्यूयोर्कका नेपाली लायन्स क्लबहरूबाट संयुक्त रक्तदान सम्पन्न

    न्युयोर्क

    मानवीय सेवामा केही बर्षदेखि सक्रिय नेपाली लायन्स क्लवहरु Lions Club of Queens Queens Buddha र Lions Club of Queens KTM को संयुक्त आयोजनामा “Mission Lions Club: Blood Drive Event” यही मार्च ६ तारिखमा क्विन्स काउण्टीको ज्याक्सन हाइट्समा बृहद रक्तदान कार्यक्रम गरी सम्पन्न भएको छ ।

    क्विन्स र लंग आइल्यान्डमा रहेका नेपाली तथा अन्य बिभिन्न समुदायका ब्यक्तिहरू, दुवै क्लबका लायन्स पदाधिकारी र सदश्यहरू लगायतका सामाजिक ब्यक्तित्वहरूले कार्यक्रममा रक्तदान गरेका थिए । न्यूयोर्क ब्लड सेन्टरसंगको प्राबिधिक सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा दुवै क्लबका लायनहरूले स्वयंसेवी भई रक्तदाताहरूलाई आवश्यक सहयोग गरेका थिए ।

    लायन्स इन्टरनेशनल स्पेशल्टी संयोजक लायन कृष्ण आचार्य र डिस्ट्रिक्ट २०-१के का जोन चेयर लायन अर्जुन गौडेलको बिशेष उपस्थिति सहित उहाँहरूले गर्नुभएको रक्तदानले पनि रक्तदाताहरूमा थप उत्साह र प्रेरणा जगाएको थियो भने नेपालस्थित हेटौंडाको लायन्स क्लबमा हालै प्रेसिडेंट भै कार्य गर्नुभएकि लायन राधिका श्रेष्ठले समेत यो कार्यक्रममा स्वयंसेवी भै देखाउनुभएको लायन्सप्रतिको समर्पणले “Global Lionism” मा आवद्ध सबै लायनहरूको विश्व एकताको भावनाको तथ्य प्रकट भएको थियो ।

    दुवै लायन्स क्लबका संयोजकद्वय लायन हजुरी शाह र लायन शिवजी खड्काको संयोजकत्वमा दुवै क्लवका बरिष्ठ लायन्स सदश्य तथा बोर्ड सदश्यहरूबाट भएका ब्यवस्थापकीय र अन्य गतिबिधिहरू अत्यन्त प्रभावकारी रहेको थियो भने कार्यक्रम संचालनमा दुवै क्लबका लायन्स सदश्यहरूको सहभगिता र सक्रियतालाई दृष्टिगत गर्दा अब नेपाली डायस्पोराका लायन्स क्लबहरूमापनि नेतृत्व क्षमता क्रमश बिकास हुँदै गइरहेको प्रष्ट देखिन्थ्यो ।

    उक्त रक्तदान कार्यक्रममा कुल ४५ जनाले आफ्नो नाम दर्ता गरेतापनि प्रारम्भिक स्वास्थ्य परीक्षणबाट कुल ३५ जनाले मात्र रक्तदान गर्न छनौट भएका थिए । रक्तदान अवधिभर क्लब अध्यक्षद्वय लायन रीमाया नेपाली – Queens Buddha र लायन अशोक कार्की – Queens KTM ले सबै रक्तदाताहरूलाई प्रमाणपत्र बितरण गर्दै धन्यवाद ब्यक्त गर्नु भएको थियो । कोभिड शुरू भएदेखि नै यी दुई लायन्स क्लबहरूले नियमित रुपमा कम्तिमा प्रत्येक ३-३ महिनामा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेका छन् ।

  • परराष्ट्रमन्त्री टर्की जाँदै, के छ कार्यक्रम ?

    परराष्ट्रमन्त्री टर्की जाँदै, के छ कार्यक्रम ?

    काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का आज टर्की प्रस्तान गर्ने भएका छन् । मार्च ११–१३ मा आयोजना हुने अन्टाल्या कूटनीति मञ्च (एडीएफ)मा सहभागी हुन उनी टर्की जान लागेको मन्त्रालयले जनाएको छ । कार्यक्रममा ५० भन्दा बढी परारष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञले भाग लिने कार्यक्रम छ । ‘रिकोडिङ डिप्लोमेसी’ नाम दिइएको यस वर्षको फोरममा मन्त्री खड्काले ‘लोकतान्त्रिक शासन र सुरक्षा’ तथा ‘एशिया नयाँ – दिगो क्षेत्रीय विकासको लागि’ भन्ने विषयमा हुने छलफलमा भाग लिने छन् ।

    फोरमको साइडलाइन वार्ताको क्रममा मन्त्री खड्काले टर्कीका समकक्षी र अन्य देशका विदेशमन्त्रीहरुसँग पनि दुईपक्षीय भेट गर्ने परराष्ट्र मन्त्रालयको भनाई छ । ९ मार्चमा मन्त्री खड्काले टर्कीका अधिकारी, गैरआवासीय नेपाली र इस्तानबुलमा रहेका नेपाली उद्यमीहरुसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम छ । उनले इकोनोमिक चेम्बर्सिन इस्तानबुल र अन्टाल्याका सदस्यहरुसँग पनि अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको समेत बताइएको छ ।

  • नेपाल एयरलाइन्सले साउदी अरबमा पायो उडान अनुमति, अप्रिलबाट नियमित उड्ने

    नेपाल एयरलाइन्सले साउदी अरबमा पायो उडान अनुमति, अप्रिलबाट नियमित उड्ने

    काठमाडौं । साउदी अरब जाने र फर्कने यात्रुले अब नेपाल एयरलाइन्सको सेवा पाउने भएका छन् । नेपाल वायुसेवा निगमले साउदी अरेबियामा उडान अनुमति पाएको छ । सो मुलुकको नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सलाई आइतबार उडान अनुमति दिएको निगमकी प्रवक्ता अर्चना खड्काद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

    ‘साउदी अरेबियाको रियादस्थित कार्यालयबाट औपचारिक रुपमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको उपस्थितिमा निगमलाई उडान अनुमति प्राप्त भएको छ,’ खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उडान अनुमति अनुसार नेपाल वायुसेवा निगमले साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान गर्न सक्ने भएको छ । निगमले अप्रिल २०२२ देखि नै व्यवसायिक योजना अनुरुप काठमाडौं–रियाद–काठमाडौं सेक्टरमा साताको तीन वटा नियमित उडान सुरु गर्ने समेत जनाएको छ ।

  • युक्रेनबाट ५११ जना नेपाली सुरक्षित गन्तब्यमा पुगे, नेपालीको छैन यकिन संख्या

    युक्रेनबाट ५११ जना नेपाली सुरक्षित गन्तब्यमा पुगे, नेपालीको छैन यकिन संख्या

    काठमाडौं । रुस–युक्रेन युद्ध शुरु भएयता ५११ जना नेपाली नागरिक सम्पर्कमा आएका छन् । उनीहरु सुरक्षित स्थानमा पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्च स्तरीय समितिलाई उदृत गर्दै संचारमाध्यमले जनाए अनुसार ५११ जना नेपाली नागरिक युक्रेनबाट सुरक्षित गन्तव्यमा पुगेका छन् । यसमध्ये ४०३ जना पोल्यान्ड, ७१ जना स्लोभाकिया, २७ जना रोमानिया, छ जना हङ्गेरी र चार जना नेपाली नागरिक माल्दावामा सुरक्षित छन् । तीमध्ये चार जनामा युद्धको विकराल परिस्थितिको सामना गर्नुपर्दा मानसिक समस्या देखिएको समितिको भनाई छ ।

    युक्रेनमा रहेका धेरैजसो नेपाली तथा अन्य विदेशी नागरिक घण्टौँ पैदल हिँडेर युक्रेन र अन्य देशको सीमा क्षेत्रमा स्थापना गरिएको शरणार्थी क्याम्प पुगेका छन् । युक्रेनबाट बाहिरिएका मध्ये ४० जना नेपालीले मात्र यात्रा अनुमतिपत्र लिएको जर्मनस्थित नेपाली राजदूत रामकाजी खड्काले जानकारी गराएका छन् ।

    समितिका संयोजक तथा गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष बद्री केसीले युक्रेनमा स्थायी रूपमा बसोवास गरिरहेका ४० जनाको परिवारले युक्रेन छाड्न नसकेको बताएका छन् । यद्दपी युक्रेनमा ठ्याक्कै कति नेपाली थिए भन्ने खुलेको छैन । रुसले युक्रेनमा आक्रमण गरेयता झण्डै १० लाख मानिस विस्थापित बनिसकेका छन् ।

  • युक्रेन छाडेका नेपालीलाई भारत सरकारको सहयोगमा नेपाल ल्याउने तयारी

    युक्रेन छाडेका नेपालीलाई भारत सरकारको सहयोगमा नेपाल ल्याउने तयारी

    काठमाडौं । युक्रेनबाट बाहिर निस्किएका र युक्रेनमै रहेका नेपालीहरुलाई स्वदेश ल्याउन भारत सरकारको सहयोग मागिने भएको छ । युक्रेनबाट पोल्याण्ड लगायतका देशमा गएका नेपाली नागरिकहरुलाई भारत सरकारबाट सञ्चालित उडान मार्फत् स्वदेश फर्काइदिन नेपाल सरकारले अनुरोध गरेको हो । यसमा सकारात्मक जवाफ प्राप्त भएको परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ । भारतले युक्रेनबाट आफ्ना नागरिकहरुलाई स्वदेश फर्काउन केही मन्त्रीहरुसहित विमानहरू पठाएको छ ।

    तीनै भारतीय विमानहरुमा स्वदेश फर्किन इच्छुक नेपालीहरुलाई पनि ल्याउने प्रवन्ध मिलाउने प्रयास गरिएको छ । स्वदेश फर्किन इच्छुक नेपालीलाई नेपाली दूतावास बर्लिनको ठेगानामा आफ्नो नाम, सम्पर्क नम्बर र हाल रहेको स्थान टिपाउन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीहरु स्थानान्तरण भई सीमावर्ती मुलुकहरु पोल्याण्ड, स्लोभाकिया, रोमानिया, हंगेरी र मोल्दोभामा प्रवेश गरेका गरेका छन् ।

    बर्लिनस्थित नेपाली दूतावासका अनुसार युक्रेनबाट सबैभन्दा धेरै ५११ जना नेपालीहरु पोल्याण्डमा गएका छन् । यसैगरी स्लोभाकियामा ७१, रोमानियामा २७, हंगेरीमा ६ तथा मोल्दोभामा ४ जना नेपाली प्रवेश गरिसकेका छन् । युक्रेनको विभिन्न स्थानमा रहेका बाँकी केही नेपालीहरू तुलनात्मक रुपमा सुरक्षित रहेको पश्चिम क्षेत्र तर्फ जाँदै गरेको र केही सीमा क्षेत्रबाट बाहिरिने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।

    रोमानिया सरकारले रोमानिया पुगेका नेपालीहरुलाई भारततर्फ जाने विमानसम्म पहुँचका लागि आवश्यक सहयोग गरिने जानकारी दिएको र त्यहाँ रहेका नेपालीहरुलाई स्वदेश र्फकन सहयोग पुर्याउन अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोग लिने विषयमा पनि प्रयास भइरहेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    नेपाली दूतावास बर्लिनले पोल्यान्ड, हंगेरी, स्लोभाकिया र रोमानिया प्रवेश गरेका नेपालीलाई गैरआवासीय नेपाली संघ तथा नेपाली समुदायसँगको समन्वयमा आवश्यक सहजीकरण गरिरहेको छ । उद्दार कार्यमा युक्रेनका लागि समेत सहप्रमाणीकृत बर्लिनस्थित नेपाली दूतावास र मस्कोस्थित नेपाली दूतावासलाई परिचालन गरिएको छ ।

  • गैरआवासीय नेपालीले १ हजार डलरमा नेपालमा डलर खाता खोल्न सक्ने

    गैरआवासीय नेपालीले १ हजार डलरमा नेपालमा डलर खाता खोल्न सक्ने

    काठमाडौं । गैरआवासी नेपालीले एक हजार डलरमा नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्न सक्ने प्रावधान कार्यान्वयनमा आएको छ छ । यस अघि डलर खाता खोल्न न्यूनतम ५ हजार डलर वा सो बराबरको रकम चाहिन्थ्यो । बुधबार राष्ट्र बैंकले बैंकहरुका लागि परिपत्र जारी गर्दै यस्तो व्यवस्था भएको जनाएको हो । विदेशी मुद्रा सञ्चितिको अवस्था नाजुक बनेका बेला गरिएको यो व्यवस्थाले देशको अर्थतन्त्र र गैरआवासीय नेपालीहरु दुवैलाई फाइदा हुने राष्ट्र बैंकको विश्वास छ ।

    यो दीर्घकालिन महत्वको निर्णय भएको समेत राष्ट्र बैंकको भनाई छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको मौद्रिक नीतिको समीक्षा गर्दै राष्ट्र बैंकले विदेशी मुद्रामा खोलिने खातालाई केही सहजता प्रदान गर्ने नीति ल्याएको थियो । गैरआवासीय नेपालीको नाममा खाता खोल्दा तथा सञ्चालन गर्दा नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैरआवासीय नेपालीको अद्यावधिक परिचय पत्रको प्रतिलिपि पेश गरे पुग्ने छ ।

  • भिजिट भिसामा खाडी मुलुक जान कडाई गर्न सिफारिस

    भिजिट भिसामा खाडी मुलुक जान कडाई गर्न सिफारिस

    काठमाडौं । भिजिट भिसामा खाडी मुलुक जान कडाई गर्न सरकारले गठन गरेको कार्यदलले सिफारिस गरेको छ । भिजिट भिसााका कारण सिर्जना भएको समस्याबारे अध्ययन गर्न बनाएको कार्यदलले भिजिट भिसासम्बन्धी मापदण्ड तथा कार्यविधिलाई परिमार्जन गर्न भनेको हो । भिजिट भिसामा खाडी मुलुक गएका नागरिकहरु अलपत्र पर्न थालेपछि गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको नेतृत्वमा बनेको कार्यदलले कार्यविधि परिमार्जन गरेर भिजिट भिसामा पठाउन सक्रिय व्यक्ति तथा संस्थाहरुको गतिविधिलाई निगरानीमा राख्नुपर्ने निष्कर्ष निकालेको छ ।

    बुधबार गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाइएको प्रतिवेदनमा वैदेशिक रोजगारीका लागि अनुमति लिएका वैदेशिक रोजगार व्यवसायी संस्थाहरुले प्रलोभन देखाएर श्रम अनुमतिविना भिजिट भिसामा पठाउने गरेको निचोड निकाल्दै त्यस्ता संस्था तथा व्यक्तिलाई कानूनी दायरामा ल्याउनुपर्ने भनिएको छ । वैदेशिक रोजगारीको प्रलोभन देखाई श्रम अनुमति नलिई भिजिट भिसा वा अन्य तरिकाले व्यक्तिहरुलाई विदेश पठाएको पाइए, त्यस्ता संस्था तथा सञ्चालकहरुलाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ बमोेजिमको कारबाही गरी रोजगरीका लागि भिजिट भिसामा विदेश पठाउने कार्यलाई निरुत्साहित गर्नुपर्ने सुझाव समेत दिइएको छ ।

    भिजिट भिसा लिएर रोजगारीका लागि विदेश जानसक्ने शंकास्पद व्यक्तिले पेश गर्ने कागजातको आधिकारिता सुनिश्चितता गर्न स्वीकृत तथा प्रमाणिकरण गर्ने संस्था, निकाय र पदाधिकारीको विवरण पनि वेवसाइटबाट भेरिफिकेसन गर्ने व्यवस्था गर्नुपर्ने भनिएको छ । खाडी मुलुक, मलेसिया तथा जोखिम भएका अन्य मुलुकमा जाने यात्रुको विवरण सम्बन्धित कूटनीतिक नियोग तथा अध्यागमन विभागमा तोकिए बमोजिम सफ्वेयर प्रणाली वा अनलाइनमाध्यममा दर्ता गर्नुपर्ने पनि सिफारिसमा भनिएको छ ।

    ‘खाडी मुलुक, मलेसिया तथा जोखिम भएका मुलुकहरुमा पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकहरुका मापदण्ड बमोजिमका आवश्यक कागजात अपलोड गरी विमानस्थल जानुपूर्व प्रस्थान अनुमति पाउने वा नपाउने जानकारी प्रणालीबाटै पाउने सफ्टवेयर वा एप्स निर्माण गरी अध्यागमन विभागले कार्यान्वयनमा ल्याउनुपर्नेछ,’ कार्यदलको निष्कर्षमा भनिएको छ, ‘पर्यटक भिसामा जाने यात्रुले बैंकबाट विदेशी मुद्रा सटही गरेको विवरण अध्यागमन विभागबाट सञ्चालमा रहेको नेपाली पोर्ट सफ्टवेयरसँग आबद्ध गर्नुपर्नेछ ।’

    पोखरेल नेतृत्वको कार्यदलले विदेशमा आफन्तले बोलाउँदा वा भिजिट भिसा प्रयोजनमा भट्न जाने विषयलाई श्रीमानश्रीमती, बाबुआमा, दाजुभाइ, सासुससुरा र छोराछोरीमा मात्र सीमित गर्न भनेको छ । नागरिकताबाट नाता खुल्नेको हकमा प्रमाणीकरण आवश्यक नपर्ने पनि भनिएको छ । नाता प्रमाणित आवश्यक पर्ने हकमा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित भएको र त्यसको प्रति सम्बन्धित स्थानीय तहले अध्यागमन कार्यालयबाट हेर्नसक्ने गरी सूचना प्रणालीमा अपलोड गरेको हुनुपर्ने व्यवस्था गर्नुपर्ने भनिएको छ ।

    आफन्त भेटघाटका लागि विदेश भ्रमणमा जानेबाहेक अन्यका लागि कम्तिमा १० लाख रुपैयाँ बराबरको करयोग्य आय हुनुपर्ने प्रावधान राख्नुपर्ने कार्यदलले निष्कर्ष निकालेको छ । त्यसको ५० प्रतिशत रकम बैंकमा आफ्नै नाममा मौज्दात भएको हुनुपर्ने पनि भनिएको छ । सुझावमा भनिएको छ, ‘त्यसका लागि नेपाल राष्ट्र बैंकसँग समन्वय गरी अध्यागमन विभागले व्यवस्था गर्नुपर्नेछ ।’

  • युक्रेनबाट ३०३ जना नेपाली सुरक्षित स्थानमा सरे

    युक्रेनबाट ३०३ जना नेपाली सुरक्षित स्थानमा सरे

    काठमाडौं । युक्रेनबाट ३०३ जना नेपाली सुरक्षित स्थानमा सरेका छन् । बाहिरिने क्रममा केही नेपाली अलपत्र परेका खबर आएकाले उनीहरुलाई जर्मनीमा रहेको नेपाली दूतावासमा सम्पर्क गर्न सरकारले आग्रह गरेको छ । रुसले युक्रेनको राजधानी किभसहित पूर्वी क्षेत्रमा आक्रमण बढाएपछि त्यस क्षेत्रमा रहेका नेपाली सुरक्षित ठाउँको खोजीमा छन् ।

    हिजो बेलुकासम्ममा ३०३ जनाले युक्रेन छोडेको पुष्टि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । युक्रेन छोड्नेको संख्या यो भन्दा केही बढी हुन सक्ने सम्भावना रहे पनि औपचारिक जानकारी आइसकेको छैन । युक्रेनबाट सबैभन्दा धेरै पोल्याण्डमा गएका छन् । अहिलेसम्म दुई सय ३२ नेपाली पोल्याण्ड पुगिसकेका छन् । ३९ जना स्लोभाकिया, ९ जना हंगेरी र २३ जना रोमानिया पुगिसकेका छन् ।

  • कोरियामा नेपालीको प्रवेश खुला, आगामी साताबाट जान पाउने

    कोरियामा नेपालीको प्रवेश खुला, आगामी साताबाट जान पाउने

    काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान छनोट भएका युवालाई प्रवेश अनुमति पुनः खुला गरिएको छ । सो मुलुकले कोरोना महामारीका कारण माघ दोस्रो साताबाट कोरोनामा प्रवेश रोकेको थियो । २३ फागुुनबाट श्रमिकले कोरियामा प्रवेश पाउने छन् । वैदेशिक रोजगार विभागका अनुसार फागुुन २३ गते ईपीएसमार्फत दक्षिण कोरियामा रोजगारीका लागि छनोट भएर पनि जान नपाएका मध्येबाट २३६ जना एकैपटक कोरिया जाने तयारी छ ।

    सो दिन यसअघि रोकिएकासहित ९८ नियमित र १३८ प्रतिबद्ध श्रमिक कोरिया जाने छन् । प्रतिबद्ध श्रमिक भन्नाले ईपीएसमार्फत कोरिया गएर चार वर्ष १० महिना काम गरेर समयभित्रै फर्केका कामदार हुन् । विभागका अनुसार खुला भएसँगै नियमित र प्रतिबद्ध दुवै तरिकाबाट कोरिया जान छनोट भएका युवा कोरिया प्रवेश गर्न पाउने छन् । कात्तिकदेखि सुुरु भएको दक्षिण कोरिया उडानमा अधिकांश प्रतिबद्ध श्रमिकको तर्फका मात्र गएका थिए ।

    विभागअन्तर्गतको ईपीएस कोरिया शाखाका अनुसार नियमिततर्फका करिब सात हजार र प्रतिबद्ध श्रमिकतर्फबाट तीन हजार गरी दस हजार श्रमिक कोरिया जान छनोट भएका छन् । यीमध्ये एक हजार ७१ युवा कोरिया प्रवेश गरिसकेको र बाँकी जाने प्रतीक्षामा छन् ।

  • युक्रेनमा रहेका नेपालीलाई सरकारको आह्वान : छिमेकी मुलुकको सीमामा जानुहोस

    युक्रेनमा रहेका नेपालीलाई सरकारको आह्वान : छिमेकी मुलुकको सीमामा जानुहोस

    काठमाडौं । सरकारले युक्रेनमा रहेका नेपाली नागरिकलाई छिमेकी मुलुकको सीमा क्षेत्रमा जान आह्वान गरेको छ । राजधानी किभमा कर्फ्यु खुकुलो पारिएसँगै नेपालीहरुलाई समेत छिमेकी मुलुकको सीमानामा जान भनिएको हो । जर्मनीस्थित नेपाली दूतावासले युक्रेनको पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियाको सीमा क्षेत्रमा आउन आग्रह गरेको हो ।

    युक्रेनको पूर्वी, उत्तरी र मध्य क्षेत्रमा रहेका नेपालीलाई सीमा क्षेत्रको सुरक्षित स्थानमा आउने उपयुक्त मौका रहेको नेपाली दूतावासको भनाई छ । दूतावासले केही समस्या परेमा सम्पर्क गर्न दूतावासका अधिकारी र गैर आवासीय नेपाली संघका प्रतिनिधिहरुको टेलिफोन नम्बरहरु समेत दिएको छ । पछिल्लो समय सम्पर्कमा आएको २ सय भन्दा बढी नेपाली भने सुरक्षित रुपमा युक्रेनबाट अन्य मुलुक प्रवेश गरिसकेका छन् ।

  • अमेरिकाका लागि नेपाली राजदूतमा खत्री नियुक्त

    अमेरिकाका लागि नेपाली राजदूतमा खत्री नियुक्त

    काठमाडौं । एमसीसी पास भएकै दिन अमेरिकाका लागि नेपाली राजदूतको नियुक्ति भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्राध्यापक श्रीधर खत्रीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छिन् । नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उनले प्राध्यापक खत्रीलाई राजदूत पदमा आज नियुक्त गरेकी हुन् ।

    मन्त्रिपरिषद्को गत कात्तिक ११ गतेको बैठकले प्राध्यापक खत्रीलाई अमेरिकाका लागि राजदूतमा नियुक्त गर्न सिफारिस गरेको थियो। नवनियुक्त राजदूत खत्री परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक हुन् ।

  • धमाधम युक्रेन छाड्दै नेपाली, २२५ जना छिमेकी मुलुकमा पुगे

    धमाधम युक्रेन छाड्दै नेपाली, २२५ जना छिमेकी मुलुकमा पुगे

    काठमाडौं । रुसले आक्रमण गरेपछि युद्धग्रस्त बनेको युक्रेनबाट नेपालीहरु धमाधम छिमेकी मुलुक जान थालेका छन् । जर्मनीमा रहेको नेपाली दूतावासका अनुसार अहिलेसम्म २२५ जना नेपाली सम्पर्कमा आइसकेका छन् । उनीहरु सबै सुरक्षित रहेको जर्मनीको वर्लिनस्थित नेपाली दूतावासले जनाएको छ । कही नेपालीहरु युक्रेनबाट सुरक्षित तरिकाले सिमाना जोडिएका पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियामा समेत गएको दूतावासले उल्लेख गरेको छ ।

    दूतावासका अनुसार १५ जना नेपाली पोल्याण्डमा, ३ जना स्लोभाकियामा, २ जना हंगेरीमा र १ जना रोमानियामा प्रवेश गरेका छन् । २३ जना स्लोभाकिया जानका लागि र २ जना रोमानिया जानका लागि बाटोमा छन् । एक सय जनाभन्दा बढी पोल्याण्ड जानका लागि प्रक्रियामा रहेको पनि दूतावासले जनाएको छ ।

    रुसले आक्रमण थालेपछि युक्रेनमा फसेका विदेशी नागरिकहरुका लागि मानवीय सहायताको आधारमा पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियाले आ-आफ्ना देशका सिमाना खुल्ला गरिदिएका छन् । नेपालीहरुलाई पनि आवश्यक कागजपत्र बोकेरै तिनै देशतर्फ जान वर्लिनस्थित दूतावासले आग्रह गरेको थियो । पासपोर्ट, नगद, कोरोनाविरुद्धको खोप लगाएको भए सो खोपकार्डसमेत आफूसँग राखिराख्न दूतावासले भनेको छ ।

  • युक्रेन: आफ्ना नागरिक लिन भारतले विमान पठायो, नेपाल अन्यौलमै

    युक्रेन: आफ्ना नागरिक लिन भारतले विमान पठायो, नेपाल अन्यौलमै

    काठमाडौं । रुसी आक्रमणपछि युक्रेनमा अलपत्र परेका आफ्ना सयौँ नागरिकको उद्धारका लागि भारतले एक विमान पठाएको छ। बीबीसीका अनुसार एअर इन्डियाको विमान शनिवार रोमेनीयाको राजधानी बुखारेस्टमा अवतरण गरेको छ। युक्रेनबाट सीमा नाघेर सयौँ मानिस त्यहाँ पुगेको बताइन्छ। युक्रेनको हवाई क्षेत्र बन्द गरिएका बेला दिल्लीले आफ्ना नागरिकलाई बुखारेस्ट र बुडापेस्टबाट उद्धार गर्ने योजना बनाएको छ।

    युक्रेनमा लगभग २० हजार भारतीयहरू छन् जसमध्ये अधिकांश विद्यार्थी छन्। उनीहरूमध्ये धेरै जनाले सामाजिक सञ्जालबाट युक्रेन छाड्न आफूहरूलाई सहयोग गर्न अपील गरिरहेका छन्। उता, नेपाली नागरिकको उद्धारमा भने अन्यौल कायम छ । त्यसो त युक्रेनमा नेपाली नागरिकमा कुनै समस्या परेमा सम्पर्क गर्न रुस र जर्मनस्थित नेपाली दुतावासले आग्रह गरेका छन् ।

  • गोर्खा सैनिकमा ६ वर्ष सेवा गरेका नेपालीले बेलायतको नि:शुल्क भिसा पाउने

    गोर्खा सैनिकमा ६ वर्ष सेवा गरेका नेपालीले बेलायतको नि:शुल्क भिसा पाउने

    काठमाडौं । गोर्खा सैनिकमा ६ वर्ष सेवा गरेका नेपालीले बेलायतको निःशल्क भिसा पाउने भएका छन् । हालै बेलायतको अध्यागमन विभागले यहाँको भिसा सम्बन्धमा केही नयाँ नियम ल्याउँदै यस्तो सुविधा दिएको हो । राससका अनुसार बेलायती सेनामा कम्तीमा छ वर्ष सेवा गरेका विदेशीलाई बेलायतको भिसा आवेदन गर्न निःशुल्क गराइएको हो । यो नियमले बेलायती सेनामा कार्यरत गोर्खा सैनिकका लागि केही राहतको महसुस भएको छ ।

    बेलायत सरकारका रक्षामन्त्री बेन वालेस र गृहमन्त्री प्रिती पटेलले लण्डनस्थित सेनाको मुख्यालयमा गैरबेलायती सैनिकको भेलामा उक्त घोषणा गरेका हुन् । भिसा शुल्क छुटको सुविधा पहिले नै अवकाश लिएकाहरूका हकमा पनि लागू हुने जनाइएको छ । रक्षामन्त्री वालेसले विदेशी मुलुकका नागरिकले बेलायती सेनामा पु¥याएको योगदानको कदरस्वरूप भिसा शुल्क नलिने निर्णय लिइएको बताएका छन् ।

    सरकारको नयाँ नीतिपछि अब बेलायती सेनामा कम्तीमा छ वर्ष सेवा गरेका र सेवाकै क्रममा घाइते वा बिरामी परेर अवकाश लिने विदेशी नागरिकले बेलायतको भिसा लिन कुनै शुल्क तिर्नुपर्ने छैन । बेलायती सेनामा क्यानडा, फिजी, अष्ट्रेलिया, धाना, भारत, जमइका, नेपाल, न्यूजील्याण्ड, नाइजेरिया, सेन्ट लुसिया र दक्षिण अफ्रिकाका गरी नौ हजार जति गैरबेलायती रहेका बताइन्छ ।

    बेलायतमा सेटलमेन्ट भिसा आवेदन गर्दा अहिले प्रतिव्यक्ति दुई हजार ३८९ पाउन्ड शुल्क बुझाउनुपर्छ । बेलायतका लागि व्यक्तिगतरूपमा गरेको योग्दानको मूल्याङ्कनस्वरूप यो कदम चालिएको र यसबाट गोर्खा र कमनवेल्थका अन्यलाई पनि सहयोग पुग्ने गृहमन्त्री पटेलले बताए ।

  • विदेशमा रोकिएका नेपाली घरेलु कामदार स्वदेश फर्कन पाउने

    विदेशमा रोकिएका नेपाली घरेलु कामदार स्वदेश फर्कन पाउने

    काठमाडौं । सरकारले विदेशमा रोकिएका नेपाली घरेलु श्रमिकलाई स्वदेश फर्कन सक्ने गरि बाटो खोलेको छ । राम्रो जागिर भएका कारण छाडेर मात्र फर्कनु पर्ने बाध्यता हटाउँदै सरकारले घरेलु कामदारलाई पुनः श्रम स्वीकृति दिने निर्णय गरेको हो । सरकारले घरेलु कामदार जान प्रतिवन्ध लगाएको मुलुकमा २०७४ भन्दा अघिबाट कार्यरत रहेपनि नेपाल फर्किन नसकेका घरेलु कामदारका लागि पुनः श्रम स्वीकृति दिने विशेष व्यवस्था गरेको हो ।

    श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले २० चैत २०७३अघि त्यस्ता मुलुकमा काम गर्न गएका घरेलु कामदारहरुलाई नेपाल आएर पुनः श्रम स्वीकृति दिएर जान पाउने व्यवस्था गरेको बताएको छ । यही मितिबाट संसदीय समितिको निर्देशनअनुसार घरेलु कामदार विदेश जान र विदेशेमा कार्यरतहरुलाई नेपाल आएपछि फर्किनका लागि पुनःश्रम स्वीकृति दिन रोकिएको थियो ।

    नेपालबाट घरेलु कामदारका रुपमा विशेषगरी महिलाहरु खाडी देशहरुमा जाने गरेका छन् । सरकारले प्रतिवन्ध लगाएपछि धेरै महिला कामदार पुनःश्रम स्वीकृत नपाइँदा राम्रो जागिर गुम्ने भएपछि ५ वर्षदेखि नेपाल फर्किएका छैनन् । मन्त्री स्तरीय निर्णयमार्फत २० चैत २०७३ भन्दा उता विदेशमा गएका महिला श्रमिकलाई नेपाल फर्किमा पुनः श्रम सवीकृति दिने गरी निर्णय भएको छ ।

    पुनः श्रम स्वीकृतिका लागि दूतावासले महिला सम्बन्धित रोजगारदाताको घरमा सुरक्षित रहेको ब्यहोराको सिफारिस भने ल्याउनुपर्नेछ ।अब व्यवस्थाले वैधानिक रुपमा विदश गाएका सबै घरेलु महिलाले पुनः श्रम स्वीकृति पाउने भएका छन् ।

  • विदेशी पर्यटक आकर्षित गर्न प्याकेज बन्दै: हवाई यात्रा र होटेलमा छूट

    विदेशी पर्यटक आकर्षित गर्न प्याकेज बन्दै: हवाई यात्रा र होटेलमा छूट

    काठमाडौं । नेपालमा पर्यटक आकर्षित गर्न प्याकेज घोषणा गरिने भएको छ । यस क्रममा हवाईजहाज र होटेलमा सहुलियत दिने गरि तयारी शुरु भएको छ । विदेशी नागरिकलाई लिइने डलर फेयर हटाउने र होटेलमा २० प्रतिशतसम्म छूट दिइने भएको छ । विदेशी पर्यटकलाई नेपालमा आकर्षित गर्न पर्यटन मन्त्रालयले पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति गठन गरि यसबारे काम थालेको बताएको छ । मंगलबार समितिले अहिलेसम्म गरेका प्रयासबारे विवरण सार्वजनिक गर्दै सो जानकारी गराएको छ ।

    पर्यटकलाई होटलमा २० प्रतिशत छुट दिने निर्णय गरिएको छ । पर्यटन क्षेत्र पुनरुत्थानमा सहयोग गर्न होटल संघ नेपाल (हान) ले संस्थागत निर्णय गरी २० प्रतिशतसम्म होटलको कोठा भाडामा पर्यटकहरुलाई छुट दिने निर्णय गरेको जानकारी मन्त्रालयलाई गराएको छ । विदेशी पर्यटकलाई नेपाली नागरिकसरह आन्तरिक उडानमा लाग्ने भाडामा छुट दिन पर्यटन क्षेत्र पुनरुत्थान प्राविधिक समितिले आन्तरिक वायुसेवा कम्पनीलाई अनुरोध गरेको थियो ।

    बुद्ध एअर र यती एअरलाइन्सले छुट दिने प्रतिवद्धतासहित सूचना जारी गरेका छन् । पर्यटन उद्योगको पुनरुत्थान, नयाँ सम्भावनाको खोजि, पहिचान तथा प्रवद्र्धन गर्न तथा यस क्षेत्रमा लगानीको वातावरण तयार गरी रोजगारी सिर्जनाका लागि सरोकारवालासँग समन्वय तथा सहकार्य गरी नीतिगत राय, परामर्श र सल्लाह सुझाव उपलब्ध गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्री प्रेम आलेको अध्यक्षतामा २ माघमा निर्देशक समिति गठन भएको थियो ।


    मन्त्रालयका अनुसार कोभिड १९ संक्रमण घट्दो क्रममा रहेको अवस्थालाई मध्यनजर गरी नेपाल सरकार मन्त्रिपरिषदबाट जारी भएको विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश, २०७८ लाई परिमार्जन गरी यात्रा सम्वन्धी मापदण्डलाई थप सरलिकरण गर्न सीसीएमसीसीलाई सिफारिस गरिएको छ ।

    निर्देशक समितिले सिफारिस गरेको नीतिगत राय, परामर्श र सल्लाह सुझाव बमोजिम कार्यक्रम तयार गरी कार्यान्वयन गर्न राजाराम गिरीको संयोजकत्वमा पर्यटन क्षेत्र पुनरुत्थान प्रविधिक समिति समेत गठन गरिएको छ । पर्यटन क्षेत्र पुनरुत्थान प्रविधिक समितिको २४ माघको निर्णय अनुसार पर्यटन उद्योग सम्बन्धी सात वटा विषयगत क्षेत्रमा आवश्यक तयारी गरी सुझाब दिन छुट्टाछुट्टै कार्य समूह तथा प्रदेश स्तरबाट सल्लाह सुझाब लिन मधेश, गण्डकी, लुम्विनी र सुदुरपश्चिम प्रदेशहरुको प्रदेश प्रतिनिधि समेत तोक्ने निर्णय गरेको छ ।

    आगामी १ महिनाभित्र पर्यटन क्षेत्रका सरोकारवालहरु समावेश गरी एक बृहत अन्तरक्रिया कार्यक्रम काठमाडौंमा आयोजना गरिने र अन्तरक्रियाबाट प्राप्त सुझाव समेत समावेश गरी प्रर्यटन क्षेत्रको पुनरुत्थानको विस्तृत प्रतिवेदन तयार गरी सार्वजनिक गरिने समेत बताइएको छ ।