Category: डायस्पोरा

  • निर्वाचनको दिन हवाई यात्रुको सेवामा सटल बस चल्ने, यी हुन रुट

    निर्वाचनको दिन हवाई यात्रुको सेवामा सटल बस चल्ने, यी हुन रुट

    काठमाडौं । बैशाख ३० का दिन पर्यटक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुको सेवाका लागि काठमाडौंमा सःशुल्क सटल बस चलाइने भएको छ । नेपाल पर्यटन बोर्डले नेपाल पर्यटक यातायात व्यवसायीहरुसँगको समन्वयमा यस्तो सेवा सञ्चालन गरिने जनाएको छ । हवाई यात्रुलाई विमानस्थल र होटलबीच हुन सक्ने यातायातको असुविधालाई ध्यानमा राखी नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीको सहयोग र व्यवसायीको समन्वयमा यस्तो सुविधा दिन लागेको हो ।

    बस त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलदेखि विभिन्न होटल तथा होटलदेखि विमानस्थलसम्म चल्ने छ । यस्तो बसको शूल्क ३ सय रुपैयाँ तोकिएको छ । बोर्डका अनुसार एयरपोर्ट-एनएसी-होटल अन्नपूर्ण-होटल याक एण्ड यति-ठमेल चोक-लैनचौर चोक-शंकर होटल -एम्बासडर होटल -एयरपोर्ट हुँदै एक रुट तोकिएको छ ।

    एयरपोर्ट-होटल र्याडिशन-सांग्रिला होटल-नारायण गोपाल चोक-महाराजगंज चोक-हायात रिजेन्सी-चाबहिल चोक-होटल द्धारिका-एयरपोर्ट गुड्ने गरी अर्को रुट तय भएको छ ।

    एयरपोर्ट-तीनकुने चोक-होटल एभरेष्ट-माइतीघर चोक-होटल हिमालयन-होटल सोल्टी-ग्रान्ड होटल -एयरपोर्ट रुटमा समेत बस चल्ने छ । सटल बस सेवावापत तोकिएको शुल्क लाग्ने सेवा दिंदाका बखतमा सम्बन्धित सेवादाताले नै लिने गरि तोकिएको छ ।

  • नेपालमा उर्जा क्षेत्रमा जापानले सहयोग बढाउने प्रतिवद्धता

    नेपालमा उर्जा क्षेत्रमा जापानले सहयोग बढाउने प्रतिवद्धता

    काठमाडौं । नेपालको उर्जा क्षेत्रमा जापानले सहयोग बढाउने प्रतिवद्धता व्यक्त गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि जापानी राजदूत किकुता युताकाबीच भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटवार्ताका क्रममा राजदूत किकुताले मन्त्री भुसाललाई जापानमा अप्रिल २३ र २४ तारिखमा भएको एसिया प्यासिफिक जल सम्मेलनमा भिडियो सन्देशमार्फत सहभागिता जनाएकोमा धन्यवाद ज्ञापन गरे ।

    त्यस्तै किकुताले कुलेखानी जलविद्युतजस्ता आयोजनामा जापानको सहयोग रहेको स्मरण गर्दै नेपालको ऊर्जा क्षेत्र विकासका लागि थप सहयोग गर्ने प्रतिबद्धता जनाए । नेपालको दिगो विकास तथा आर्थिक वृद्धि स्तरोन्नतिका लागि जापानले आफ्नो नीतिमा पुनर्विचार गरेको उनले बताए । जापानले नेपालको ऊर्जा, मानव संशाधन विकास र विपत्ती तथा गरिबी न्यूनीकरणमा गर्ने सहयोगलाई निरन्तरता दिने उनले प्रतिबद्धता जनाए ।

  • अष्ट्रेलियाबाट लगानी भित्राउन सहजीकरण गर्न परिसंघद्धारा राजदूतसँग आग्रह

    अष्ट्रेलियाबाट लगानी भित्राउन सहजीकरण गर्न परिसंघद्धारा राजदूतसँग आग्रह

    काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालको तुलनात्मक लाभका क्षेत्रमा अस्ट्रेलियाका लगानीकर्ता आकर्षित गर्नेतर्फ सहजीकरण गरिदिन नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कसँग आग्रह गरेको छ । नेपालमा हरित ऊर्जा, खनिजजन्य उद्योग, सूचना प्रविधि र कृषि प्रशोधनसँग सम्बन्धित व्यवसायहरुमा उच्च प्रतिफलको सम्भावना रहेकाले त्यस्ता क्षेत्रमा अस्ट्रेलियाका लगानीकर्ता आउनेगरी सहजीकरण गर्न परिसंघले आग्रह गरेको हो ।


    कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा उत्पादन वृद्धिका लागि लगानी अभाव भएको भन्दै त्यसका लागि विदेशी लगानी आवश्यक रहेको उल्लेख गरे । ‘नेपालमा स्वास्थ्य र शिक्षामा लगानीका अवसरहरू छन्,’ उनले भने । उनले नेपाल र अस्ट्रेलियाबीचको मैत्रिपूर्ण सम्बन्धलाई झनै बलियो बनाउनका लागि संस्थागत रूपमा व्यावसायिक क्षेत्रहरूको पहिचान र पहलमा ध्यान दिनुपर्ने बताए ।

    कार्यक्रममा राजदूत भोल्कले नेपालमा सहयोग र सहकार्य विस्तारका लागि आफूले पहल गर्ने बताइन् । उनले अष्ट्रेलियाका लगानीकर्ताले छिमेकी देशका परियोजनाहरूमा काम गरिरहेको भन्दै भावी दिनमा त्यस्ता कार्यक्रम नेपालमा विस्तार गर्न पहल गर्ने पनि उल्लेख गरिन् ।

  • बुद्ध पूर्णिमामा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने

    बुद्ध पूर्णिमामा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाका दिन नेपाल भ्रमणमा आउने भएका छन् । उनी १६ मे (२ जेठ)का लागि नेपाल भ्रमणमा आउन लागेको भारतीय पत्रिका द हिन्दूमा मंगलबार समाचार छापिएको छ । समाचार अनुसार सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ ।
    मोदी बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा हुने समारोहमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदी सहभागी हुने सम्भावना छ ।
    एक महिना अघि मात्रै देउवाले भारतको औपचारिक भ्रमण गरेका थिए । त्यसैले मोदीको नेपाल भ्रमणको क्रममा राजनीतिक कुराकानी भने नहुने बताइएको छ ।
    नेपाल र भारतीय अधिकारीहरुले मोदीको भ्रमणको तयारी गरिरहेका छन् ।

    देउवा र मोदी मायादेवी मन्दिरमा दीप प्रज्ज्वलन समारोहमा सहभागी हुनेछन् । उनी दिल्लीबाट कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलमा आउने र त्यहाँबाट हेलिकप्टर चढेर लुम्बिनी आउने भएका छन् । प्रधानमन्त्री भएपछि मोदीले सन् २०१४ र २०१८ मा दुई पटक नेपालको भ्रमण गरेका थिए । २०१८ मा जनकपुर र मुक्तिनाथ भ्रमण गरेका थिए । तर समय अभावका कारण लुम्बिनीको भ्रमण गर्ने कार्यक्रम स्थगित भएको थियो ।

  • राहुल गान्धी सुटुक्क काठमाडौंमा

    राहुल गान्धी सुटुक्क काठमाडौंमा

    काठमाडौं । भारतीय राष्ट्रिय कंग्रेस पार्टीका नेता राहुल गान्धी सुटुक्क काठमाडौं आएका छन् । उनको नेपाल यात्रा बारे खुलाइएको छैन । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार उनी भिस्तारा एयरलाइन्सको नियमित उडानबाट सोमबार करीव ५ बजे काठमाडौं अवतरण गरेका हुन् । उनको यो भ्रमण निजी रहेको र बिदा मनाउन नेपाल आएको मानिएको छ ।

    नेपालमा उनी हिमाली भेगमा भ्रमणमा जाने बताइए पनि कहाँ जाने खुलेको छैन । भारतमा अत्यधिक गर्मी हुने मौसममा धेरै जसो भारतीयले भ्रमणका लागि पछिल्लो समय नेपाललाई गन्तब्य बनाउन थालेका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार अप्रिल महिनामा मात्र २२ हजार भारतीय नेपाल आएका छन् ।

  • कामदारको न्यूनतम पारिश्रमिक बढाउन मलेसियासँग नेपालको आग्रह

    कामदारको न्यूनतम पारिश्रमिक बढाउन मलेसियासँग नेपालको आग्रह

    काठमाडौं । नेपाल सरकारले मलेसियामा कार्यरत नेपाली मजदुरको पारिश्रमिक बढाउन त्यहाँको सरकारसँग आग्रह गरेको छ । मलेसिया भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियाका गृहमन्त्री हमजाह वीन जैनुदिनसँग द्विपक्षीय भेटवार्ता गर्दै यस्तो आग्रह गरेका हुन् । पुत्रजयास्थीत गृहमन्त्रालयमा भएको भेटवार्तामा उनीहरुबीच नेपाल– मलेसिया सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको हो ।

    मन्त्री श्रेष्ठले मलेसियामा रहेका नेपाली सुरक्षागार्डसहित अन्य श्रमिकको सेवा सुविधा र अधिकारको बिषयमा गृहमन्त्री जैनुदिनसँग छलफल भएको जानकारी दिए । श्रेष्ठले नेपाली सुरक्षागार्डको मासिक तलब तीन हजार मलेसियन रिंगेट हुनुपर्ने प्रस्ताव गरेका छन् । नेपाली कामदार मेहनेती र इमान्दार हुने चर्चा गर्दै गृहमन्त्री जैनुदिनले गोर्खा गार्ड्सका रूपमा मलेसियामा नेपालीहरूको राम्रो प्रभाव रहेको बताए ।

    नेपाली युवालाई सीपयुक्त बनाएर थप रोजगारीका अवसरहरू प्रदान गर्ने, शुन्य लागतको सिद्धान्तलाई प्रभावकारी बनाउने, स्वास्थ्य, सामाजिक सुरक्षा, चौबिसै घण्टा प्रभावकारी हुने वीमा सुविधाको व्यवस्थाबारे पनि उनीहरुबीच छलफल भएको छ । नेपालमा सुरक्षा गार्ड सम्बन्धी तालिमको व्यवस्था गरी सीपयुक्त बनाउनेबारे समेत उनीहरुबीचमा छलफल भएको हो ।

  • दक्षिण अफ्रिकाका बाढी-पहिरो पिडितलाई नेपालले दियो सहायता

    दक्षिण अफ्रिकाका बाढी-पहिरो पिडितलाई नेपालले दियो सहायता

    काठमाडौं । दक्षिण अफ्रिकामा वैशाख पहिलो साता आएको बाढी-पहिरोमा परेकालाई नेपालले सहायता प्रदान गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रेटोरियास्थित नेपाली राजदूतावासमा आयोजित एक कार्यक्रमबीच बाढी(पहिरो पीडितका लागि खाद्यान्न र लत्ता कपडा सहयोग गरिएको छ । दूतावासका उपप्रमुख ज्ञानबहादुर मगरले दक्षिण अफ्रिकाको सामाजिक विकास विभागकी उपप्रमुख क्याथे मातामेलालाई सहयोग सामग्री हस्तान्तरण गरेका छन् ।

    कार्यक्रममा नियोग उपप्रमख मगरले बाढी पहिरोमा परी ज्यान गुमाउनेप्रति गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरे। २०७२ को महाभूकम्पमा अफ्रिकाबाट नेपाललाई आएको सहयोगको स्मरण गर्दै उनले अहिलेको सहयोग एक मित्रका लागि अर्को मित्रका तर्फबाट भएको बताए। विभागकी उपप्रमुख मातामेलाले आवश्यक परेका बेला सहयोग गरेकोमा नेपाल र दक्षिण अफ्रिकास्थित नेपाली समुदायलाई आभार व्यक्त गरिन्।


    नेपालले दिएको सहयोगमा चामल, पिउने पानी, ब्लांकेट, तेल, दूध, जुसलगायत दैनिक उपभोग्य वस्तु छन्। वैशाख पहिलो साता दक्षिण अफ्रिकाको क्वाजुलु(नातान प्रान्तलगायत ठाउँमा आएको बाढीको बाढी पहिरोमा परी ४३५ जनाले ज्यान गुमाएका थिए भने लाखौं मानिस विस्थापित भएका छन्।

  • नेकोन युएसएले कनेक्टिकटमा मनायो पहिलो “नेपाल डे”

    नेकोन युएसएले कनेक्टिकटमा मनायो पहिलो “नेपाल डे”

    धन लामा,कनेक्टिकट

    नेप्लिज एसोसिएसन अफ कनेक्टिकट (नेकोन ) युएसए प्रमुख आयोजक र कनेक्टिकट राज्यमा भएका नेपालीहरु आवद्ध विभिन्न संघ संस्थाहरु (NRNA CT Chapter, HCEC Lions club, WHL Lions club, SNA Branford) को सह आयोजनामा यही अप्रिल २४ तारिख आइतवारका दिन कनेक्टिकटको इतिहासमा नै पहिलो पटक नेपाल डे समारोह तथा परेड सम्पन्न भएको छ ।

    स्थानीय समाजमा नेपाली-अमेरिकन समुदायको पहिचान, विभिन्न नेपाली भेषभुषा, सँस्कृति र बाजागाजा सहितको बलियो उपस्थिति रहेको सो समारोहमा सबैले आ-आफ्नो ठाउँबाट महत्वपूर्ण योगदान पुर्याएका थिए ।

    कनेक्टिकटको West Hartford लगायत विभिन्न शहरहरु Branford, Storrs, Windsor locks र अन्य Town बाट समेत आ-आफ्नो भेषभुषा सहित कार्यक्रममा ठूलो संख्यामा नेपालीहरू सहभागी भएका थिए ।

    उक्त दिनमा नेकोनको विशेष पहलमा West Hartford Town Mayor Ms. Shari G Cantor द्वारा अध्यक्ष नारायण पौडेललाई Proclamation letter हस्तान्तरण गरिएको थियो भने स्थानीय नेपाली बासिन्दाहरूको सम्मानमा West Hartford town ले officially आफ्नो प्राङ्गणमा अमेरिकी झण्डा संगै नेपाली राष्ट्रिय झण्डा पनि कनेक्टिकटको इतिहाँसमा पहिलो पटक फहराएको थियो ।

    कार्यक्रममा नेकोनको निमन्त्रणामा अमेरिकाको न्यूयोर्क स्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत महामहिम बिष्णु प्रसाद गौतम, वेस्ट हार्टफोर्ड Town Mayor Shari G Cantor, State Reps Kate Farrar र RTM Branford श्री राम चन्द्र श्रेष्ठ लगायतको विशेष उपस्थिति थियो ।

    त्यस्तै गरी यस कार्यक्रमलाइ सफल बनाउन महत्वपुर्ण भूमिका खेल्ने नेकोन उपाध्यक्ष तथा यस कार्यक्रम उपसमितिका संयोजक श्री रघुनाथ गिरी तथा सदस्यहरु , नेकोनका पदाधिकारीहरु, NRNA CT chapter का अध्यक्ष श्रीमती मुना तिवारी, HCEC lions club का अध्यक्ष श्री प्रकाश ठाकुर, WHL lions club का अध्यक्ष श्री नरेन्द्रदेव पन्त, SNA Branford का अध्यक्ष श्री पूर्ण लिम्बु लगायत उपस्थित समस्तजन प्रति नेकोन कार्यसमितिले हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

    यस कार्यक्रमको प्रत्यक्ष प्रसारण नून चिनी पानी-अमेरिकाको अभियन्ता संचारकर्मी श्री अर्जुन दाहाल, चिया नास्ताको निशुल्क व्यवस्था इश्वरी आचार्य, कल्पना दाहाल कार्की, माया अर्याल र टेस्ट अफ इंडियाले गरेको थियो भने कार्यक्रमको MC रुपेश पराजुली र साँस्कृतिक झाँकीमा सहभागीहरुको फोटोग्राफी एवम समाचार सम्प्रेषणमा सहयोग नेकोनका मिडिया को-अर्डिनेटर धन लामा रहेका थिए ।

  • प्रधानसेनापति र फ्रान्सेली तथा अमेरिकी उच्च सैनिक अधिकारीहरुबीच भेटवार्ता

    प्रधानसेनापति र फ्रान्सेली तथा अमेरिकी उच्च सैनिक अधिकारीहरुबीच भेटवार्ता

    काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मासँग फ्रान्सेली तथा अमेरिकी सेनाका उच्च अधिकारीबीच भेटवार्ता भएको छ। नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा मङ्गलबार भएको छुट्टाछुट्टै भेटवार्तामा फ्रान्सेली सेनाका सहायक रथी जेवोफ्रोरी डे लारोउजीरेलगायत सैनिक अधिकारी तथा नेपालका लागि फ्रान्सका राजदूत जीलेस वोर्बाओ को समेत सहभाता रहेको थियो। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भेटघाटले दुई पक्षीय तथा पारस्परिकहित तथा दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाएको छ।

    प्रधान सेनापतिसँग मङ्गलबार अमेरिकी सेनाका यूटा नेशनल गार्डको एडजुटेन्ट जनरल मेजर जनरल माइकल जे टर्लीले समेत भेटवार्ता गरेका छन् । जङ्गी अड्डामा मंगलबार भएको भेटमा दुई पक्षीयहित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो। भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास लिएको सेनाले जनाएको छ।

  • नयाँ उचाइमा नेपाल—अमेरिका सम्बन्ध

    नयाँ उचाइमा नेपाल—अमेरिका सम्बन्ध

    बीके नेवा, न्युयोर्क

    नेपाल र अमेरिकाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ । दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा भएको छ । सन् १९४७ मा नेपालको अमेरिकासँग कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । यसै सन्दर्भमा अमेरिकी संसदीय टोलीले नेपाल भ्रमण गरेर द्विपक्षीय सम्बन्धलाई नयाँ गति दिएको छ । नेपालले अमेरिकी मिलेनियम सहयोग एमसीसी पास गरेर लगानीका लागि विश्वासको वातावरण बनाएको छ ।
    विश्वको महाशक्ति राष्ट्र अमेरिकासित सम्बन्ध सुमधुर बनाउनु नेपालजस्ता विकासशील राष्ट्रका लागि महत्वपूर्ण अवसर हो । नेपालको आर्थिक विकासका लागि ठूलो मात्रामा विदेशी सहयोग आवश्यक छ । त्यसका लागि लगानीमैत्री वातावरण बनाउन जरुरी छ । एमसीसी सम्झौता गरेको ३१ महिनापछि नेपालको संसद्बाट यो सम्झौता पारित भएको हो । समयमै एमसीसी पास नहुँदा विभिन्न खाले आशंका उत्पन्न भएको थियो । सम्झौता पारित गरेर नेपालले ठूलो कूटनीतिक उपलब्धि हासिल गरेको छ ।
    प्रधानमन्त्री शेरबहादुर देउवाको विशेष सक्रियतामा एमसीसी पास भएसँगै नेपाल र अमेरिकाबीच नयाँ विश्वासको वातावरण बनेको हो । कूटनीतिक सम्बन्ध स्थापना भएदेखि अहिलेसम्म अमेरिकाले नेपाललाई आर्थिक तथा प्राविधिक सहयोग दिँदै आएको छ । अमेरिकी सहयोग र समर्थनले नेपाललाई ठूलो टेवा पुगेको छ । नेपाल र अमेरिकाबीचको सम्बन्ध सुधार गर्न बेलाबेलामा द्विपक्षीय भ्रमणले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
    पहिलोपटक औपचारिक भ्रमणमा नेपाल आउने अमेरिकी अधिकारी जर्ज आर मेरेल हुन् । त्यसबेला भारतको दिल्लीस्थित अमेरिकी दूतावासमा चार्जे डि’अफेयर रहेका मेरेल सन् १९४५ नोभेम्बर १६–२२ मा नेपाल आई तत्कालीन प्रधानमन्त्री पद्मशमशेर जबरासमक्ष दोस्रो विश्वयुद्धमा नेपालका गोर्खा सैनिकले बेलायती सेनाका तर्फबाट पु¥याएको योगदानको कदरस्वरूप अमेरिकी सेनाको लेजन अफ मेरिट चढाएका थिए ।
    त्यसअघि सन् १९४४ मा नयाँ दिल्लीबाट फरेन इकोनोमिक एड्मिनिस्ट्रेसनमा कार्यरत एन्ड्रयु कारी नेपाल आएका थिए । त्यस्तै सन् १९४५ मा फरेन इकोनोमिक एड्मिनिस्ट्रेसनकै ह्यारी विट र अमेरिकी सेनाका लेफ्टिनेन्ट अल्फ्रेड ब्राउन वाणिज्य सम्बन्ध स्थापनाका लागि छलफल गर्न नेपाल आएका थिए । सन् १९४५ मा अफगानिस्तानका लागि अमेरिकी मिनिस्टर कर्नेलियस वान एच इन्गर्ट नेपाल आएका थिए भने कलकत्ताका भाइस कन्सुल हेलेन निकोल्स १९४६ मा आएका थिए । इन्गर्ट र निकोल्स दुवै बेलायती मन्त्रीको पाहुनाको रूपमा यहाँ आएका थिए ।
    अमेरिकामा पहिलो नेपाली अधिकारीको भ्रमण चाहिँ सन् १९३९ को अन्त्यतिर भएको थियो । लण्डनस्थित नेपाली मन्त्री जनरल कृष्ण राणा घर फर्कने क्रममा अमेरिका हुँदै आएका थिए । उनका उत्तराधिकारी जनरल सिंह राणा १९४५ को अन्त्यतिर अमेरिका पुगेका थिए । सन् १९४६ को गृष्म ऋतुमा कमान्डिङ जनरल बबरशमेशर जबराको नेतृत्वमा अमेरिकी विदेश र सामरिक मन्त्रालयहरूको पाहुना भई गएको नेपाली मिसनले केही हप्ता अमेरिकामा बिताएको थियो । उक्त टोलीले जुलाई २५ देखि अगस्ट १ सम्म वासिङ्टनको भ्रमण गरेको थियो ।
    सन् १९४७ मार्च २२ तारिखमा विदेश मन्त्रालयले नेपालका लागि एक विशेष कूटनीतिक मिसन पठाउने घोषणा गरेको थियो । मिसनमा जोसेफ इकोनोमिक अफेयर्स काउन्सेलर, नयाँ दिल्ली, रेमन्ड ए हेयर, विलियम सी जोन्स्टन जुनियर प्रमुख सार्वजनिक मामिला अधिकारी, नयाँ दिल्ली, लेफ्टिनेन्ट कर्नेल नथानियल आर हास्कट सहायक सैनिक सहचारी, नयाँ दिल्ली, जे जेफर्सन जोन्स तृतीय भाइस कन्सुल, बम्बई, र चाल्र्स डब्लू बुथ भाइस कन्सुल, कराँची सम्मिलित थिए ।
    स्याटर्थवाइट अमेरिकी राष्ट्रपतिको व्यक्तिगत प्रतिनिधिका रूपमा मिनिस्टर स्तरीय हैसियतमा नेपाल मिसनमा आएका थिए । उनी अप्रिल १३ तारिखमा काठमाडौँ आइपुगेका थिए र अप्रिल २१ मा उनले राजा त्रिभुवनलाई अमेरिकी राष्ट्रपति ह्यारी एस टुम्यानको पत्र चढाएका थिए । यसरी अमेरिकाले नेपाललाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको थियो ।
    सन् १९४७ अप्रिल २५ तारिखमा काठमाडौंमा नेपाल र अमेरिकाबीच वाणिज्य तथा मैत्री सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त सम्झौताले दुई देशबीच कूटनीतिक र कन्सुलर सम्बन्ध स्थापित गर्ने ढोका खोलेको थियो, साथै अमेरिकी नागरिकप्रति गरिने व्यवहारको मापदण्ड स्थापित गर्दै भविष्यका वाणिज्य सम्बन्धहरूमा पक्षपातरहित व्यवहार अपनाइने नीति अवलम्बन गरेको थियो ।
    त्यही दिन गरिएको अर्को सहमतिले भारतका लागि अमेरिकी राजदूतलाई नेपालका लागि पनि मिनिस्टर तोकेको थियो । त्यस्तै, नयाँ दिल्ली र कलकत्तामा भएका अन्य कर्मचारी पनि नेपाल हेर्नेगरी तोकिएका थिए । त्यसैगरी नेपालले पनि वासिङ्टनमा चार्जे डि’अफेयरको नेतृत्वमा नेपाली लिगेसन र न्यूयोर्कमा कन्सुलेट स्थापना गर्ने सहमति भएको थियो ।
    स्याटर्थवाइटले नेपालमा मिसन खोल्ने कुराको वर्णन गर्दै ‘मिसन टु नेपाल’ लेखेका थिए जुन अमेरिकन फरेन सर्भिस जर्नलको अगस्ट १९४७ को अंकमा पृष्ठ ८–१०, ३२–४० मा प्रकाशित भएको थियो । उनका अनुसार त्यस बेला विदेशीहरू तत्कालीन प्रधानमन्त्रीका पाहुना भएर वा उनीहरूको अनुमति लिएर मात्र देशभित्र प्रवेश पाउँथे । नेपालमा आधिकारिक मिसन हुने एक मात्र युरोपेली राष्ट्र बेलायत थियो । नेपालसँग जोडिएको कुनै पनि सीधा मार्ग थिएन । उनीहरूको मिसन यहाँ आउँदा रेल र रोडको यात्रा तय गरी अन्तिममा घोडा र खच्चर साथै डोलीमा चढेर काठमाडौँसम्म आउनुपथ्र्यो ।
    १९४८ फेब्रुअरी ३ मा अमेरिकी विदेश मन्त्रालयले नेपाल र अमेरिका दुवैले एक अर्को देशमा मिनिस्टरहरू राख्ने घोषणा ग¥यो । बेलायतका लागि नेपाली राजदूत कमान्डिङ जनरल केशरशमशेर जबराले वाशिङ्टनमा पनि नेपालको प्रतिनिधित्व गर्ने निधो भयो । उनले वाशिङ्टनमा आफ्नो ओहदाको प्रमाणपत्र सन् १९४८ फेबु्रअरी १९ तारिखमा बुझाएका थिए ।

    १९४८ मे ३ तारिखमा भारतका लागि अमेरिकी राजदूत हेनरी एफ ग्रेडीले नेपालका लागि पहिलो मिनिस्टरका रूपमा ओहदाको प्रमाणपत्र बुझाए । सन् १९५९ सम्म नेपाल हेर्ने जिम्मेवारी पाएका अमेरिकी कूटनीतिक अधिकारीहरू भारतको पनि जिम्मेवारीमा हुन्थे र त्यहीँ बस्थे ।
    १९४८ डिसेम्बर ३ मा भारतका लागि अमेरिकी राजदूत र नेपालका लागि मिनिस्टर लोय डब्लू हेन्डर्सनले काठमाडौँमा ओहदाको प्रमाणपत्र बुझाए । उनको नियुक्ति जुलाई १४ मा भएको थियो ।
    अतः नेपाल र अमेरिकाबीचको सम्बन्धलाई आगामी दिनमा अझ बलियो बनाउनुपर्छ । अमेरिकासित असल सम्बन्ध स्थापना गरी नेपालले भरपुर फाइदा लिन सक्नुपर्छ । सानो मुलुक नेपालले सन्तुलित परराष्ट्र सम्बन्धबाट मुलुकलाई हित हुने काम गर्नुपर्छ । यसैमा नेपालको भलो हुन्छ ।

  • श्रममन्त्रीसहितको टीम बुधबार मलेसिया जाने, के छ एजेण्डा ?

    श्रममन्त्रीसहितको टीम बुधबार मलेसिया जाने, के छ एजेण्डा ?

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली बुधवार मलेसिया प्रस्थान गर्ने भएको छ । मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा मन्त्री श्रेष्ठ चार दिने मलेसिया भ्रमणमा जान लागेका हुन्। मलेसिया भ्रमणमा जानुअघि श्रममन्त्री श्रेष्ठसँग मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फ्याजलले शिष्टाचार भेटवार्ता गरे। सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरुबीच द्धिपक्षिय हितका साथै सहकार्यका बिषयमा छलफल भयो ।

    भेटमा मन्त्री श्रेष्ठले भ्रमणबाट दुई देशको मित्रता र आपसी सहयोगमा टेवा पुग्ने विश्वास व्यक्त गरे। मलेसियाका कार्यवाहक राजदूत फ्याजलले मन्त्री श्रेष्ठको मलेसिया भ्रमण र त्यसका एजेण्डाबारे छलफल गरेका थिए। मन्त्री श्रेष्ठ, मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा थानेश्वर भुसाल सहितको टोली बुधवार दिउँसो मलेसिया जाने कार्यक्रम छ ।

    भ्रमणका क्रममा मन्त्री श्रेष्ठले मलेसियाका समकक्षी मुरुगनसँग भेटवार्ता गर्नुहुनेछ भने सचिव अर्यालले मलेसियाको गृहमन्त्रालयका सचिव र सामाजिक सुरक्षा संगठनका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ । साथै भ्रमणका क्रममा नेपालमा आयोजना हुने नेपाल(मलेसिया संयुक्त समितिको वैठकका एजेण्डा तय गरिनेछ ।

    वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्ने श्रम सम्झौताको प्रावधान प्रभावकारी कार्यन्वयनको विषयमा मन्त्री श्रेष्ठले आफ्ना समकक्षीसँग छलफल गर्नेछन् । भ्रमणका क्रममा मलेसियामा रहेका नेपाली समुदायसंग समेत छलफल गर्ने कार्यक्रम छ । मलेसिया नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य मुलकका रुपमा रहेको छ ।

  • काठमाडौंमा २२ जना चिनियाँ नागरिक पक्राउ

    काठमाडौंमा २२ जना चिनियाँ नागरिक पक्राउ

    काठमाडौं । काठमाडौंको महाराजगञ्जबाट २२ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । अध्यागमन विभाग र उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त टोलीले उनीहरुलाइ पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरुमाथि अध्यागमन विभाग अनुसन्धान भइरहेको छ ।

    विजनेस भिसामा नेपाल आएका उनीहरुको भिसाको म्याद सकिइसकेको छ । उनीहरु भिसा अवधि सकिए पनि अनलाइन जुवा खेलाउन र विभिन्न किसिमको ठगीमा संलग्न भएको प्रहरीको अनुमान छ ।

  • फ्रान्सका राष्ट्रपतिलाई नेपाली समकक्षी र प्रधानमन्त्रीको बधाई

    फ्रान्सका राष्ट्रपतिलाई नेपाली समकक्षी र प्रधानमन्त्रीको बधाई

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले फ्रान्सका नवनिर्वाचित राष्ट्रपति एम्यानुयल माक्रोनलाई बधाइ ज्ञापन गरेका छन् । उनको दोस्रो कार्यकाल सफलताको कामना गर्दै बधाई दिएका हुन् । सोमबार अलग-अलगरुपमा बधाइ सन्देश दिँदै नवनिर्वाचित राष्ट्रपति म्याक्रोनको सफल कार्यकालको शुभकामना दिएका हुन् ।

    राष्ट्रपति भण्डारीले आगामी दिनहरूमा नेपाल-फ्रान्स सम्बन्ध र सहयोगको क्षेत्र थप प्रगाढ एवम् व्यापक हुँदै जानेछ विश्वास व्यक्त गरेकी छिन् । फ्रान्सको राष्ट्रपतिको रूपमा पुनःनिर्वाचित भएकोमा फ्रान्सेली जनताले अर्को प्रजातान्त्रिक अभ्यास पूरा गरेका छन् भन्दै प्रधानमन्त्री देउवाले नेपाल–फ्रान्स मैत्री सम्बन्धलाई थप सुदृढ गर्न मिलेर काम गर्न तत्पर रहेको बताएका छन् ।

  • काठमाडौंबाट जापान अब साताको तीन उडान हुने

    काठमाडौंबाट जापान अब साताको तीन उडान हुने

    काठमाडौं । काठमाडौं–नारिता (जापान) रुटमा अब साताको तीन उडान हुने भएको छ । नेपाल वायुसेवा निगमले अहिले काठमाडौं–नारिता सेक्टरमा सातामा दुई वटा उडान गरिरहेको छ । मे १, २०२२ देखि आइतबार, मंगलबार र शुक्रबार गरी साताको तीन उडान गर्न लागिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । उक्त सेक्टरमा जापान सरकारको नियमानुसार आइतबार र मंगलबारको उडानमा जम्मा १४० यात्रुहरु एवं शुक्रबारको उडानमा जम्मा १२० जना यात्रुहरु मात्र बोक्न पाइने उनले जानकारी गराइन् ।

    यात्रु चाप एवम मागको तुलनामा सिट संख्याको उपलब्धता ज्यादै न्यून रहेकोका कारण उडान संख्या थप्न लागिएको उनको भनाइ छ । जहाजको क्षमता भन्दा करिब आधा कम क्षमतामा काठमाडौं-नारिता यात्रु बोक्न परेको हुनाले भाडादर समेत मंहगो भएको नेपाल एयरलाइन्सको भनाइ छ ।

    काठमाडौैं-नारिता सेक्टरमा करसहित विजनेस क्लासमा रु. १ लाख ५२ हजार र इकोनोमी क्लासमा रु. १ लाख १९ हजार ७०० भाडादर कायम गरिएको छ । यसरी तोकिएको मूल्य भन्दा बढी भाडा लिई टिकटहरु बिक्री वितरण गरेको गुनासो प्राप्त भएको भन्दै खड्काले कसैले तोकिएको मूल्यभन्दा बढी मूल्य लिई विक्री वितरण गरेको पाइएमा नियमानुसार कारवाही हुने समेत चेतावनी दिएको छ ।

    कसैले बढी भाडा असुलेको पाइएमा यात्रु महानुभावहरुलाई प्रमाणसहित निगममा उजुरी गर्न समेत अनुरोध गरेको छ । काठमाडौं-नारिता सेक्टरमा सिट संख्या बढाउन नेपाल स्थित जापानी राजदुतावासलाई अनुरोध गरिसकिएको समेत निगमले जनाएको छ । नारिताबाट काठमाडौं उड्ने समयमा भने जहाज पूर्ण क्षमतामा उड्ने गरेको छ । जसले गर्दा नेपाल आउने यात्रुलाई भाडा समेत केही कम पर्छ ।

  • एक महिनामा कामको खोजीमा बाहिरिए साढे ५५ हजार नेपाली

    एक महिनामा कामको खोजीमा बाहिरिए साढे ५५ हजार नेपाली

    काठमाडौं । चैत महिनामा रोजगारीका लागि विदेशिने नेपाली श्रमिकको संख्यामा बढेको छ । फागुनको तुलनामा चैतमा विदेश जान श्रम स्वीकृति लिनेको संख्या २ हजारले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार चैत महिनामा ५५ हजार ५२३ जना नेपाली रोजगारीका लागि विदेश गएका छन् । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत जेठयता लगातार उकालो लागिरहेकामा पुसबाट घट्न सुरु गरेको थियो । चैत महिनामा बाहिरिएका साढे ५५ हजारमध्ये २७ हजार १५६ जनाले नयाँ श्रम स्वीकति लिएका हुन् ।

    अन्यले श्रम स्वीकृति नवीकरण गरेका हुन् । फागुन महिनामा ५३ हजार ४५७ जना विदेश जान श्रम स्वीकृति पाएका थिए । माघ महिनामा यस्तो संख्या ५४ हजार ४७० जना थियो । वैदेशिक रोजगार विभागका अनुसार कोरोना महामारीका कारण दुई वर्षयता वैदेशिक रोजगारीमा आएको संकट हट्दै गएपछि विदेशिने नेपालीको संख्या नियमित गतिमा फर्किएको छ । अहिले पनि खाडी मुलुक कतार, साउदी अरेबिया र यूएईमा जाने नेपालीको संख्या धेरै छ । कुवेत, ओमान लगायतका देशमा पनि नेपालीहरु गइरहेका छन् । चैत महिनादेखि मलेसियाबाट पनि माग आउन थालेकाले अब विदेसिने नेपालीको संख्या केही बढेको हो ।

  • प्रधानमन्त्री देउवा र अमेरिकी संसदको टोलीबीच भेटवार्ता, के भयो कुराकानी ?

    प्रधानमन्त्री देउवा र अमेरिकी संसदको टोलीबीच भेटवार्ता, के भयो कुराकानी ?

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी संसदीय टोलीबीच भेटवार्ता भएको छ। शनिबार सिनेटर किस्टर्न जिलिब्रान्डको नेतृत्वको संसदीय टोलीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवासँग भेटवार्ता गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । देउवाले ट्विट गर्दै अमेरिकी संसदीय टोलीलाई स्वागत गर्न पाउँदा खुसी भएको उल्लेख गरेका छन् । भेटका क्रममा नेपाल र अमेरिकाबीचको सम्बन्धबारे विचारहरू आदानप्रदान गरिएको थियो ।

    ‘नेपाल–अमेरिका मित्रता र सरकार, संसद र आम जनतालाई समावेश गरी बहुआयामिक साझेदारी अभिवृद्धि गर्ने उपायबारे विचार आदानप्रदान गरियो,’ ट्विटरमा भनिएको छ,‘जलवायु परिवर्तन जस्ता विश्वव्यापी मुद्दामा पनि छलफल भयो।’ चार जना अमेरिकी सिनेटर र एक जना सांसदको टोली शुक्रबार साँझ काठमाडौं आइपुगेको हो ।

    टोलीमा सिनेटरहरू सेल्डन ह्वाइटहाउस (रोड आइल्याण्ड), कोरी बुकर (न्यु जर्सी), मार्क केली (एरिजोना) र प्रतिनिधि सभा सदस्य मोन्डेयर जोन्स (१७ औं कङ्ग्रेसनल डिस्ट्रिक्ट, न्यूयोर्क) समावेश छन्। सो टोलीले शनिबार बिहान परराष्ट्र मन्त्री नारायण खड्कासँग भेटेका थिए। उनीहरूले आर्थिक विकासलगायत विभिन्न क्षेत्रमा सहयोग गर्ने विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

  • मनाङ होटेलको छतबाट खसेर आयरल्याण्डका नागरिकको मृत्यु

    मनाङ होटेलको छतबाट खसेर आयरल्याण्डका नागरिकको मृत्यु

    काठमाडौं । काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेमा एक जना विदेशी नागरिकको लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सोह्रखुट्टेस्थित मनाङ होटलको सातौं तलाबाट लडेर आयरल्याण्डका नागरिक राहदानी नम्बर पिएच ४९०५२३१ बाहक ३२ वर्षीय एलान फिलिप्स एमसीको बुधबार बिहान मृत्यु भएको हो ।


    सोधपुछका लागि उनका साथी ब्रिटेनी नागरिकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरु केही साता अगाडी नै नेपाल आएको पाइएको छ । अहिले नेपालमा पर्वतारोहण तथा पदयात्राको मौसम जारी रहेको छ ।

  • डब्लूएचओका महानिर्देशक गेब्रेयसस आज नेपाल आउँदै

    डब्लूएचओका महानिर्देशक गेब्रेयसस आज नेपाल आउँदै

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउने भएका छन् । उनी तीन दिने नेपाल भ्रमणका सिलसिलामा नेपाल आउन लागेका हुन् । उनी स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा दिउँसो साढे १२ बजे राजधानी काठमाडौं आउन लागेको मन्त्रालयले जनाएको छ । महानिर्देशक गेब्रेयससका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारी समेत रहने छन् ।

    डब्ल्यूएचओको प्रतिनिधि मण्डलको सम्मानमा आजै बेलुकी स्वास्थ्य मन्त्री खतिवडाले आयोजना गरेको रात्रिभोजमा महानिर्देशक गेब्रेयसस सहभागी हुने छन् । तीनदिने भ्रमणका क्रममा गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    त्यसैगरी उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्ने कार्यक्रम छ । नेपालमा रहँदा उनले नेपाल सरकारका उच्च अधिकारी, डब्ल्यूएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसंघका प्रतिनिधिसँग पनि छलफल गर्ने छन् । नेपाल भ्रमणकै क्रममा उनले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अवलोकन समेत गर्नेछन् ।

  • नेकोनले वार्षिक मुखपत्र “कनेक्टिकट चौतारी” विमोचन गर्दै नयाँ वर्ष २०७९ मनायो

    नेकोनले वार्षिक मुखपत्र “कनेक्टिकट चौतारी” विमोचन गर्दै नयाँ वर्ष २०७९ मनायो

    धन लामा, कनेक्टिकट

    कनेक्टिकट नेपाली समाज, नेकोन-युएसएले गत अप्रिल १७ तारिखमा “वार्षिक मुखपत्र कनेक्टिकट चौतारी” को विमोचन नयाँ वर्ष २०७९ को स्वागत सहित मनायो ।

    कोरोनाको विश्वव्यापी महामारीपछि “कनेक्टिकट नेपाली समाज, नेकोन युएसएले मनाएको यो नै वृहत कार्यक्रम हो । करिव ३०० जना कनेक्टिकटबासी नेपालीहरुको उपस्थितिमा मनाईएको सो नयाँ वर्ष कार्यक्रमलाई दुई चरणमा बाँडिएको थियो। कार्यक्रमको पहिलो चरणमा प्रमुख अतिथि तथा अतिथिहरुबाट संस्थाको मुखपत्र कनेक्टिकट चौतारी विमोचन गरिएको थियो भने, कार्यक्रमको दोस्रो चरणमा अतिथी कलाकारहरु वरिष्ठ गायिका कुन्ती मोक्तनको गायन, वरिष्ठ संगीतिकार शिला बहादुर मोक्तानको गायन, न्यूयोर्कका चर्चित नृत्यांगना बसन्ती राईको नृत्य तथा गायन र अन्य स्थानीय कलाकारहरु गायिका पुस्ताका खड्का, गायक तथा संगीतकर्मी केशव शर्मा दाहाल, साँस्कृतिक कार्यक्रम संयोजक रोमी योञ्जनको गायन, शंभी आचार्य, प्रकृति गिरी, प्रसंशा अर्याल, जेनी योञ्जन, रिदिमा खतिवडा, कुसुम कार्की, रिहाना घिमिरे, डोना गुरुङ र बाल-कलाकारहरु निश्चल दाहाल, कुशल दाहाल लगायतका सांगीतिक र नृत्य प्रतुतिहरु रहेका थिए ।

    महामारी पछिको विशाल कार्यक्रममा नेपालबाट आउनु भएका चर्चित गायिका कुन्ती मोक्तानको प्रस्तुतिमा सम्पूर्ण सहभागीहरु झुमेर नाँचेका थिए। साँस्कृतिक कार्यक्रमको अन्त्यमा डिजे जाङ्गबु को डिजे म्युजिकले विश्वव्यापी महामारीको पिडालाई केही समयको लागि भए पनि राम्ररी भुलाएको थियो ।

    नेपाली र अमेरिकी राष्ट्रिय गाना बजाएर शुरु गरिएको कार्यक्रमको प्रमुख अतिथि न्यूयोर्क स्थित नेपाली महावाणिज्यदूतावासका कायम मुकायम महावाणिज्यदूत बिष्णु प्रसाद गौतमले पानसमा बत्ति बालेर औपचारिक रुपमा शुभराम्भ गरि सकेपछि नयाँ वर्ष २०७९ को शुभकामना दिनु हुँदै वर्तमान परिप्रेक्षमा नेपाललाई विदेसिएका नेपालीहरुको अझ बढी माया र सहयोगको जरुरत रहेको बताउनु भयो । त्यस्तै गरि महावाणिज्यदूतावासबाट प्रदान गरिने सेवाहरु छिटो छरितो र प्रभावकारी बनाउन आफू प्रतिवद्ध रहेको जानकारी दिनु भयो ।

    कार्यक्रममा संस्थाका उपाध्यक्ष रघुनाथ गिरीले स्वागत मन्तव्य र अतिथिहरु एनआरएन कनेक्टिकट च्याप्टरका अध्यक्ष मुना तिवारीले नयाँ वर्ष २०७९ को उपलक्षमा शुभकामना मन्तव्य दिनु भएको थियो भने कनेक्टिकट चौतारी २०७९ का प्रधान सम्पादक पंकज पनेरुले मुखपत्र प्रकाशनले नेपाली समाजलाई दिएको सम्भावना र अवसरको बारेमा बोल्नु भएको थियो ।

    संस्थाका वर्तमान अध्यक्ष नारायण पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको औपचारिक सत्रको संचालन संस्थाका सचिव राजन तिम्सिनाले गर्नु थियो भने साँस्कृतिक कार्यक्रमको संचालन सानुमाया महर्जन र पंकज पनेरुले गर्नु भएको थियो । अन्त्यमा संस्थाका अध्यक्ष नारायण पौडेलले सम्पूर्ण कनेक्टिकट निवासी तथा स्वदेश र विदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपालीहरुलाई नयाँ वर्ष २०७९ को हार्दिक शुभकामना व्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नु भयो ।

    कार्यक्रममा नयाँ आजीवन सदस्य हिक्मत ब. थापा, कनेक्टिकट चौतारी २०७८ का सम्पादक तथा मिडिया कोअर्डिनेटर धन लामा, कनेक्टिकट चौतारी २०७९ का सम्पादक पंकज पनेरु, नयाँ वर्ष तथा बुद्ध जयन्ति संयोजक रोमी योञ्जन, नेपाली भाषा विद्यालय संयोजक दिपेश भट्ट, सम्मर पिकनिक संयोजक तेजेस बि. मल्ल, दशैं भलिबल संयोजक रिंकु श्रेष्ठ, तिहार कार्यक्रम संयोजक कुलदिप अधिकारी, कोभीड-१९ सहयोग तथा रक्तदान कार्यक्रम संयोजक संजय पन्त, पार्क रोड परेड संयोजक नारायण मिश्र, भानु जयन्ति संयोजक लक्ष्मी बजगाईं र दशैँ कार्यक्रम संयोजक बालकृष्ण कार्की लगायतलाई प्रमुख अतिथीको हातबाट प्रशंसा पत्र प्रदान गरिएको थियो।

  • कतारमा २१ जना नेपालीले पाए क्षमादान

    कतारमा २१ जना नेपालीले पाए क्षमादान

    काठमाडौं । कतारमा रमादानको अवसरमा २१ जना नेपालीले क्षमादान पाएका छन् । कतारका अमिर शेख तमिम बी हमाद अल थानीले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमादानको अवसरमा ती नेपालीहरुलाई क्षमादान गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ । यसरी क्षमादान पाउनेमा यौनजन्य क्रियाकलापमा ३, चोरीजन्य क्रियाकलापमा ११, मादक पदार्थ बिक्री वितरणमा २ र आर्थिक हिनामिनामा मुछिएका ५ जना दोषी ठहर भई सजाय भोगिरहेका थिए । क्षमादान पाएका व्यक्तिलाई सम्बन्धित निकायले जानकारी गराउने प्रक्रिया शुरु भएको समेत दूतावासको भनाइ छ ।

  • अनअराइभल भिसा लिने पर्यटकले नगद डलर बोक्नु पर्ने नियम हटाइयो

    अनअराइभल भिसा लिने पर्यटकले नगद डलर बोक्नु पर्ने नियम हटाइयो

    काठमाडौं । सरकारको चर्को आलोचना भएपछि अनअराइभल भिसामा नेपाल आउने पर्यटकले नगद डलर बोक्नु पर्ने नियम हटेको छद्ध । गृह मन्त्रालय मातहतको अध्यागमन विभागले मंगलबार सूचना प्रकाशित गरी यस्तो जानकारी गराएको हो । विभागकाअनुसार विदेशी नागरिकले तिर्नुपर्ने भिसा शुल्कको भुक्तानी गर्न नगद नै बोक्नु पर्ने डलर अब विद्युतीय माध्यमबाट समेत तिर्ने व्यवस्था यथावत रहने भएको छ ।

    सोमबार विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले त्रिभुवन विमानस्थल क्षेत्रमा अहिले सेवा दिइरहेको राष्ट्रिय वाणिज्य बैंकले अहिले सञ्चालनमा रहेको पीओएस मेसिन थप गर्ने, पेमेन्ट गेटवेलाई पूर्णरुपमा सञ्चालनमा ल्याउने र आगमन कक्षतर्फ एक र प्रस्थान कक्षमा एक वटा एटीएम मेसिन थप गर्ने निर्णय समेत भएको छ ।

    भिसा शुल्क सम्बन्धमा पर्यटकलाई असुविधा परे नपरेको विषयमा अध्यागमन कार्यालय, नेपाल नागरिक उड्डययन प्राधिकरण र राष्ट्रिय वाणिज्य बैंकले नियमित अनुगमन गर्ने निर्णय समेत बैठकले गरेको छ ।

  • चर्को आलोचनापछि अनअराभइल भिसा लिने विदेशीले नगद बोकेर आउनु पर्ने प्रावधान खारेज

    चर्को आलोचनापछि अनअराभइल भिसा लिने विदेशीले नगद बोकेर आउनु पर्ने प्रावधान खारेज

    काठमाडौं । एटीएम मेसिन र विद्युतीय भुक्तानीमा समस्या रहेको भन्दै अध्यागन विभागले अनअराइभल भिसा लिने पर्यटकलाक्षर्् नगद नै बोकेर आउनु पर्ने गरि ल्याएको प्रावधान खारेज गरेको छ । गत शुक्रबार विभागले यस्तो प्रावधानबारे सूचना जारी गरेपछि गृह मन्त्रालय र विभागको चर्को आलोचना भएको थियो । नेपाल आउँदा नेपाल आउने विदेशी पर्यटकहरूले विमानस्थलबाटै पाउने भिसा अर्थात् अनअराइभल भिसाका लागि दुई सय अमेरिकी डलर नगद साथमै बोकेर आउनुपर्ने प्रावधान खारेज भएको हो ।

    विमानस्थल अध्यागमन कार्यालयले सूचना निकालेर एटीएम मेशिन र विद्युतीय भुक्तानी सेवामा समेत समस्या आएको भन्दै नगदै बोेकेर आउन पर्यटकसँग आग्रह गरेको थियो । अध्यागमन कार्यालयको सूचनाको चौतर्फी आलोचना भएपछि गृह मन्त्रालयले अध्यागमन कार्यालयको निर्णय खारेज गर्दै सेवा प्रवाह चुस्त बनाउन निर्देशन दिएको हो । गृह मन्त्रालयको निर्देशनअनुसार विमानस्थलको अध्यागमन कार्यालयमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम मेशिन जडान गर्न समेत थालिएको छ । अध्यागमन कार्यालयमा राष्ट्रिय वाणिज्य बैंकका दुई वटा एटीएम मेशिन र दुई वटा पीओएस मेशिन थप गरिने भएको छ ।

  • रेमिट्यान्स बढाउन श्रम मन्त्रीले दिए १२ सुझाव

    रेमिट्यान्स बढाउन श्रम मन्त्रीले दिए १२ सुझाव

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल आउने रेमिटेन्स रकम औपचारिक माध्यमबाट ल्याउन सरकारले चाल्नुपर्ने कदमहरुबारे एक दर्जन प्रस्ताव गरेका छन् । अर्थ मन्त्रालयमा भएको सरोकारवाला निकायको वैठकमा मन्त्री श्रेष्ठले वैदेशिक रोजगार वा रेमिट्यान्सबाट अधिकतम लाभ लिन हुन्डीको सट्टा बैंकिङ च्यानल प्रयोग गरेर विदेशी मुद्रा ल्याउन आकर्षित गर्नुपर्ने बताए । नेपाल आउने रकम औपचारिक माध्यमबाट ल्याउन सके विदेशी मुद्रा सञ्चिति र बैंकहरूसँग लगानीयोग्य पुँजी अभावको समस्या हट्ने मन्त्री श्रेष्ठको भनाइ छ ।

    यस्तो छ मन्त्री श्रेष्ठले दिएका सुझाव

    वैदेशिक रोजगारीमा गएका श्रमिकलाई राज्यले सम्मानजनक व्यवहार गर्नुपर्ने


    विदेशबाट पैसा पठाउदा लाग्ने सेवा शुल्क हटाउनुपर्ने


    विदेशका प्रमुख शहरमा नेपाली बैंक स्थापना गर्नुपर्ने


    विदेशबाट सोझै नेपालको खातामा जम्मा हुने रकममा दुई प्रतिशतसम्म बढी ब्याजदर दिनुपर्ने


    औपचारिक माध्यमबाट नेपालमा पैसा पठाइरहेको प्रमाण पेस गरे नेपाल आउँदा ल्याउन पाउने सामान टिभि, गरगहनालगायतमा सहुलियत दिने


    औपचारिक माध्यमबाट नेपालमा पैसा पठाइरहेको प्रमाण पेस गरेमा पुनः श्रम स्वीकृति लिदा वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम दाखिला गर्नु नपर्ने

    वार्षिक रुपमा सवैभन्दा धेरै विप्रेषण पठाउनेमध्येलाई राष्ट्रिय सम्मान गर्ने


    औपचारिक माध्यमबाट नेपालमा रेमिट्यान्स पठाउनेलाई राज्यबाट सेवा शुल्क लिएर प्रदान गरिने सेवामा ५० प्रतिशत सहुलियत दिने


    नेपाल फर्केर उद्यम गर्नेलाई विदेशमा हुँदा पठाएको रकम बराबर नै रकम निश्चित समयका लागि विना ब्याज उपलब्ध गराउने

    वैदेशिक रोजगारीमा जाने श्रमिकको बैंक खाता अनिवार्य गर्ने


    सरकारले तोकेबाहेक अन्य तरिकाबाट वैदेशिक रोजगारीमा जान पूर्ण रोक लगाउने


    वैदेशिक रोजगारीमा जान विद्यमान प्रक्रियालाई सहज र सरल बनाउने

  • सरकारले २० मुलुकमा गर्यो राजदूत सिफारिस, कुन मुलुकमा को ?

    सरकारले २० मुलुकमा गर्यो राजदूत सिफारिस, कुन मुलुकमा को ?

    काठमाडौं । सरकारले विभिन्न २० मुलुकमा नेपाली राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञ गरी २० जनालाई राजदूतका लागि सिफारिस गरेको हो । सरकारले चीनका लागि विष्णुपुकार श्रेष्ठ, दक्षिण अफ्रिकाका लागि दानबहादुर तामाङ, स्पेनका लागि शर्मिला पराजुली ढकाल, श्रीलंकाका लागि बासुदेव मिश्र, रसियाका लागि मिलन तुलाधर, अष्ट्रेलियाका लागि कैलाश पोखरेल, मलेसियाका लागि डिल्लीराज पौडेल, इजरायलका लागि शान्ता रिजाल सिफारिस गरेको छ ।

    दक्षिण कोरियाका लागि ज्योति प्याकुरेल, डेनमार्कका लागि प्रा.डा. रामसोगरथ राय यादव, साउदी अरेबियाका लागि नवराज सुवेदी राजदूत सिफारिस भएका छन् । त्यस्तै नरेशविक्रम ढकाल पनि राजदूतमा सिफारिस भएको मन्त्रिपरिषद् स्रोतले जनाएको छ । परराष्ट्र मन्त्रालयका कर्मचारीहरु घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ अर्याल, सुशीलकुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले र दुर्गाबहादुर सुवेदी समेत राजदूत बनेका छन् । राजदूतमा सिफारिस भएकाको संसदीय सुनुवाइ सम्पन्न भएपछि नियुक्ती हुने प्रावधान छ ।

  • बीबीसी मास्टर सेफको टोली नेपाल आउँदै, के-के हुनेछन् कार्यक्रम ?

    बीबीसी मास्टर सेफको टोली नेपाल आउँदै, के-के हुनेछन् कार्यक्रम ?

    काठमाडौं । नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवद्र्धनका लागि ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोली आज नेपाल आउने भएको छ । प्यासिफिक एसिया ट्राभल एशोसिएशन ९पाटा० नेपाल च्याप्टरको आमन्त्रणमा ‘बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्टहरुलाई नेपाल ल्याउन लागिएको हो ।

    ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिने तयारी भएको पाटा नेपाल च्याप्टरले जनाएको छ । कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थान अभियानअन्तर्गत सेफ साहसहितको टोलीलाई नेपाल बोलाएर मौलिक खाना संस्कृति र गन्तव्य प्रवद्र्धनमा सहभागि गराइने पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सिइओ सुरेशसिंह बुडालले जानकारी दिए ।

    उनका अनुसार बीबीसी मास्टर सेफका चर्चित सेलिब्रेटी सेफलाई नेपाल भ्रमण गराई गन्तव्यको प्रचारप्रसार तथा मौलिक खाना र संस्कृतिको प्रवद्र्धन गर्न पाटाले गरेको पहलले महामारीपछिको पर्यटन पुनरुत्थानमा सहयोग पुग्ने छ । पाटाका सिइओसहितका पदाधिकारी, पर्यटन सम्बद्ध क्षेत्रका विभिन्न सङ्घ सङ्गठनका प्रतिनिधि, सेफ एशोसिएशन र हस्पिटालिटीका विद्यार्थीले विमानस्थलमा सेफ साहसहितको टोलीलाई भव्य स्वागत गर्ने कार्यक्रम छ ।

    नेपालको संस्कृति झल्कने पहिरनमा पञ्चेबाजासहित सेफ टोलीलाई स्वागत गर्नेछन् । सेफ साहको साथमा सेफ एलेक्स, सेफ बार्ट र सेफ फिलिपालगायतको टोली नेपाल आउने र नेपालका विभिन्न स्थानमा पर्यटन प्रवद्र्धनमा सहभागी हुनेछन् । मौलिक संस्कृति र खानामार्फत गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाल आमन्त्रण गरिएको पाटा नेपाल च्याप्टरले जनाएको छ । पाटा नेपालका अनुसार मास्टर सेफ टोली आज काठमाडौँ आइपुग्ने र नेपालमा १० दिनसम्म विभिन्न प्रचारात्मक गतिविधिमा संलग्न हुनेछ ।

    निर्धारित कार्यक्रम तालिका अनुसार सेफ टोली ८ तारिख पोखरा जानेछ भने ९ तारिखमा काठमाडौँ फर्केर १० तारिखमा जनकपुर जाने र त्यहाँ आयोजना हुने ‘मिथिला खाना तथा रेसिपी’ विषयक कार्यक्रममा सहभागी हुनेछ । उक्त टोली ११ तारिखका दिन काठमाडौँमा आयोजना हुने पाटा नेपाल च्याप्टरको ४५ औँ वार्षिक साधारणसभाको औपचारिक समारोहमा सहभागी हुनेछन् ।

    १२ तारिखमा काठमाडौँमा ‘फाइनडाइनिङ’ कार्यक्रममा सहभागी भई १३ तारिखमा लुक्ला जाने र सगरमाथा आधार शिविर कालापत्थर भ्रमणको कार्यक्रम छ । उक्त टोली लुक्लाबाट फर्केपछि १५ तारिखमा बर्दिया जानेछ । बर्दियामा थारु संस्कृति तथा खानासम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रमसहित मास्टरशेफद्वारा नेपालको खानाको लोभ र रहस्य पत्ता लगाउन वाइल्ड स्पाइसेस हंटिङ कार्यक्रम आयोजना गरिनेछ । १७ तारिखकमा सेफ एशोसिएशनको कुकिङ प्रतियोगितामा सहभागी भएर सेफ टोली फर्किनेछ ।

  • कंगोमा विद्रोहीको आक्रमणबाट घाइते एक नेपाली सैनिकको मृत्यु

    कंगोमा विद्रोहीको आक्रमणबाट घाइते एक नेपाली सैनिकको मृत्यु

    काठमाडौं । शान्ति स्थापनार्थ कंगोमा खटिएका नेपाली सैनिकमाथि भएको आक्रमणबाट घाइते भएका सैनिक जवानको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघका महासचिवको तर्फबाट जारी एक शोक विज्ञप्तीमार्फत यसको पुष्टी गरिएको छ । अपरेसन ‘बाली’को दौरान प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा खटिएको नेपाली शान्ति सेनाको टोलीमाथि मंगलबार विद्रोही मिलिसियाले आक्रमण गरेको सेनाले जनाएको थियो । आक्रमणबाट एक जना नेपाली सेनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघको शोक विज्ञप्तीमा उल्लेख छ ।

    सैनिकको परिचय भने गोप्य राखिएको छ । महासचिवले शोक विज्ञप्तिमा मृतक नेपाली सैनिकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले शान्ति सेनामाथि भएको आक्रमणको निन्दा समेत गरेका छन् । नेपाली सेनाको मुख्यालयका अनुसार कर्डन एण्ड सर्चको कारबाही सञ्चालन गरी विद्रोहीको स्थान कब्जा गरिसकेको अवस्थामा अज्ञात स्थलबाट आक्रमण भएको थियो । आक्रमणबाट घाइते सैनिकलाई हेलिकप्टरबाट उद्धार गरी बुनियाँस्थित लेबल–२ अस्पतालमा उपचार गर्न लगिएको थियो ।

    यस्तो छ विज्ञप्ती

    Statement attributable to the Spokesperson for the Secretary-General – on the Democratic Republic of the Congo 

    Farhan Haq, Deputy Spokesperson for the Secretary-General 

    The Secretary-General strongly condemns today’s attack against peacekeepers serving in the United Nations Organization Stabilization Mission in the Democratic Republic of the Congo (MONUSCO) in Bali, Djugu territory, Ituri province, by suspected members of the Coopérative pour le développement du Congo (CODECO) militia. The attack resulted in the killing of one peacekeeper from Nepal. 

    The Secretary-General expresses his deepest condolences to the family of the fallen peacekeeper, as well as to the Government and the people of Nepal.

    The Secretary-General recalls that attacks against United Nations peacekeepers may constitute a war crime. He calls on the Congolese authorities to investigate this incident and swiftly bring those responsible to justice. 

    The Secretary-General reaffirms that the United Nations, through his Special Representative in the Democratic Republic of the Congo, will continue to support the Congolese Government and people in their efforts to bring about peace and stability in the east of the country. 

  • कंगोमा शान्ती  स्थापनार्थ  खटिएका नेपाली सेनाका एक जवान विद्रोहीको आक्रमणमा परि घाइते

    कंगोमा शान्ती स्थापनार्थ खटिएका नेपाली सेनाका एक जवान विद्रोहीको आक्रमणमा परि घाइते

    काठमाडौं । कंगोमा नेपाली शान्ति सेनाको टोलीमाथि आक्रमण हुँदा एक नेपाली सैनिक घाइते भएका छन्। नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले एक नेपाली सैनिक घाइते भएको उल्लेख गरेको छ । नेपाली शान्ति सैनिकहरूले अपरेशन ‘बाली’ सञ्चालन गरेको थियो।

    मंगलबार प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा कर्डन एन्ड सर्चुको कारबाही सञ्चालन गरी विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमीन होल्ड गरेको निर्देशनालयले जनाएको छ। त्यसपछि विद्रोहीले अज्ञात स्थानबाट अचानक गरेको फायरबाट त्यहाँ कार्यरत एक सैनिक घाइते भएको नेपाली सेनाले जनाएको छ। घाइतेको हेलिकप्टरमार्फत् उद्धार गरी बुनियाँस्थिल लेबल २ अस्पतालमा उपचार भइरहेको सेनाले जनाएको छ। अरू बाँकी फौजहरू सुरक्षित रहेको समेत सेनाले जनाएको छ ।

  • नेपालका लागि भारतीय राजदुत क्वात्रा विदेश सचिव बने

    नेपालका लागि भारतीय राजदुत क्वात्रा विदेश सचिव बने

    काठमाडौं । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा सो मुलुकको विदेश सचिव नियुक्त भएका छन् । भारत सरकारले सोमबार क्वात्रालाइ विदेश सचिव नियुक्त गरेको जानकारी गराएको छ । क्वात्रा यसअघि फ्रान्सको राजदूत समेत थिए । उनी भारतको कुटनीतिक सेवामा ३२ वर्ष बिताएका अनुभवी कुटनीतिज्ञ हुन् ।

    उनले भारतीय प्रधानमन्त्रीको कार्यालयमा सहसचिवका रुपमा समेत काम गरेका छन् । भारतका अहिलेका विदेश सचिव हर्षवद्र्धन शृंगलाले अवकास पाउने भएपछि क्वात्राले यो जिम्मेवारी पाएका हुन् । क्वात्रा दुई वर्षअघि नेपालको राजदूत नियुक्त भएका थिए । भारतले नेपालमा महत्वपूर्ण व्यक्तिलाई राजदूत बनाउने गरेको छ ।

  • कोरोनाका कारण पढ्न विदेश जानबाट रोकिएकाले शुक्रबार सम्म पुनः निवेदन दिन सक्ने

    कोरोनाका कारण पढ्न विदेश जानबाट रोकिएकाले शुक्रबार सम्म पुनः निवेदन दिन सक्ने

    काठमाडौं । कोरोना महामारीका कारण विदेशमा अध्ययन गर्न पुगेर फर्केका र पुनः जान नपाएका विद्यार्थीले आगामी शुक्रबारसम्म निवेदन दिन सक्ने भएका छन् । सरकारले खासगरि चीनबाट फर्किएका विद्यार्थीलाई लक्षित गरि यस्तो सुविधा ल्याएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक सूचना निकाल्दै आगामी शुक्रबारसम्म पुनः निवेदन दिन भनेको छ ।

    कोरोना महामारीका कारण चीन लगायत देशबाट फर्किएका विद्यार्थीले अध्ययनका लागि पुनः सम्बन्धित देश जान आउँदो शुक्रबारसम्म मन्त्रालयमा निवेदन दिन सक्ने शिक्षा मन्त्रालयको सूचनमा उल्लेख छ । कोरोना महामारी र लकडाउनका कारण चीनलगायत देशमा पढ्न गएका विद्यार्थी स्वदेश फर्केका थिए । कोरोना र लकडाउनले पढाइलाई निरन्तरता दिन नपाएका उनीहरुलाई मन्त्रालयले निवेदन दिई सम्पर्कमा आउन भनेको छ ।

  • प्रधानमन्त्री देउवा भारत भ्रमण पुरा गरि काठमाडौं फर्किए

    प्रधानमन्त्री देउवा भारत भ्रमण पुरा गरि काठमाडौं फर्किए

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमण पुरा गरि काठमाडौं फिर्ता भएका छन् । आइतबार बिहान नयाँदिल्लीबाट बनारस पुगेका उनी बनारसमा धार्मिक यात्रामा व्यस्त रहे । उनले ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा वृद्धाश्रमको शिलान्यास गरे । त्यहाँ उनले कालभैरव मन्दिर र बाबा विश्वनाथको मन्दिरमा पूजा आरधना गरेका थिए ।

    उनलाई बनारसमा उत्तर प्रदेश राज्यका मूख्यमन्त्री योगी आदित्यनाथसहितको टीमले भब्य स्वागत गरेको थियो । उनी बनारसबाट नयाँदिल्ली फर्किएका थिए । त्यहाँबाट उनी काठमाडौं फर्किएका छन् । भारतको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री देउवा गत शुक्रबार नयाँदिल्ली गएका हुन् । शनिबार देउवाले समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए ।