Category: डायस्पोरा

  • मलेसियाको आइटी कम्पनी विस्टर्न टेक्नोलोजीले नेपालबाट शून्य लागतमा कामदार लैजाने

    मलेसियाको आइटी कम्पनी विस्टर्न टेक्नोलोजीले नेपालबाट शून्य लागतमा कामदार लैजाने

    काठमाडौं । मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने गरी सम्झौता गरेको छ । मंगलबार एक कार्यक्रममा मलेसियाको विस्टर्न टेक्नोलोजी र नेपालस्थित मेनपावर कम्पनी आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशनलबीच द्विपक्षीय सम्झौता भयो । सम्झौतापत्रमा विस्टर्न टेक्नोलोजीका तर्फबाट डेपुटी जनरल म्यानेजर डेभिड र आकर्षण इन्टरनेशनलका तर्फबाट अध्यक्ष विष्णुबहादुर केसी तथा लालधनुष इन्टरनेशनलका तर्फबाट अध्यक्ष दावा नवाङ शेर्पाले हस्ताक्षर गरे।

    सम्झौताअनुसार उक्त कम्पनीमा दुई मेनपावर कम्पनीमार्फत नेपाली श्रमिक शून्य लागतमा मलेसिया जान पाउनेछन् । मलेसियाको सो कम्पनीले पहिलो चरणमा ४५० श्रमिक लैजान लागेको छ । आकर्षण इन्टरनेशनलबाट १४० महिला र ६० पुरुष तथा लालधनुष इन्टरनेशनलबाट १७५ महिला र ७५ पुरुष श्रमिक मलेसिया जाँदैछन् । नेपाली श्रमिक मलेसिया लैजान कम्पनीको उच्च व्यवस्थापक टोली काठमाडौँमै आएको छ । बुधबार र बिहीबार श्रमिक छनोटका लागि अन्तर्वार्ता तोकिएको छ । छनोट भएर मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने विस्टर्न टेक्नोलोजीका डेपुटी जनरल म्यानेजर डेभिडले बताए ।

    ‘कामदारको सुरक्षा र स्वास्थ्यका बारेमा हामी अत्यन्त सजक छौँ,’ उनले भने, ‘नेपाली श्रमिक र मलेसियाका श्रमिकका बीचमा ज्याला तथा अवसरमा कुनै विभेद हुने छैन ।’ सो कम्पनीको विभिन्न चीन, भारत, ताइवान, मेक्सिको, चेक रिपब्लिक, फिलिपिन्सलगायत देशमा उद्योग रहेको छ । मलेसियामा मात्रै दुई उद्योग छन् । सो कम्पनीमा विभिन्न देशमा गरी करिब ८० हजार श्रमिक कार्यरत छन् । डेपुटी जनरल म्यानेजर डेभिडले श्रमिकको आरामदायी बसोबासका लागि आफ्नै अपार्टमेन्ट रहेको बताए ।

    उक्त कम्पनीले नेपाली श्रमिकलाई न्यूनतम एक हजार ५०० मलेसियन रि¬ङ्गेट तलब पाउनेछन् । त्यसका अतिरिक्त भत्ता र बोनसका साथै वार्षिक बिदाको पनि व्यवस्था रहेको छ । आकर्षण इन्टरनेशनलका अध्यक्ष केसीले श्रमिकको न्यायोचित भर्नाको सुरुआत गरिएको र नमूना मेनपावर लक्ष्यसहित लागि परेको बताए । १८ वर्षदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउँदै आएको सो मेनपावरले सन् २०१५ देखि शून्य लागतमा श्रमिक पठाउँदै आएको छ

  • रश्मी श्रेष्ठ क्विन्स केटिएम लायन्स क्लबको अध्यक्षमा

    रश्मी श्रेष्ठ क्विन्स केटिएम लायन्स क्लबको अध्यक्षमा

    न्युयोर्क ।

    क्विन्स केटिएम लायन्स क्लब, न्युयोर्कको भर्चुअली बसेको बैठकले अध्यक्षमा रश्मी श्रेष्ठलाई चयन गरेका छन् ।

    उहाँले यसअघि लायन अशोक कार्कीको कार्यकालमा एक कार्यकाल कोषाध्यक्षको रुपमा काम गरेको थियो ।

    लायन रश्मीसंगै उपाध्यक्ष पदमा लायन राजन आचार्य, सचिब पदमा लायन करुणा श्रेष्ठ र कोषाध्यक्ष पदमा लायन अरुणा लामालाई मनोनित गरेको हो । त्यस्तै गरी मेम्बरशिप चेयरपर्शनमा लायन बिष्णु तामांग, क्लब सर्भिस चेयरपर्शनमा रिना लामिछाने र कम्युनिकेशन/मार्केटिंग चेयरपर्शनमा भगवती कार्की चयन भएका छन् ।

  • कांग्रेस महामन्त्री शर्मा अमेरिका भ्रमणमा, के के छन् कार्यक्रम ?

    कांग्रेस महामन्त्री शर्मा अमेरिका भ्रमणमा, के के छन् कार्यक्रम ?

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अमेरिका भ्रमणमा पुगेका छन् । नर्थ क्यारोलिना गैरआवासीय नेपाली संघको साधारण सभा र ज्ञान सम्मेलनका लागि उनी केही दिनदेखि अमेरिकामा छन्। साधारण सभा उद्घाटन समारोहमा बोल्दै महामन्त्री शर्माले नेपालको हितका लागि दुरगामी ढंगले सोच्नुपर्ने बताए । संसारभर छरिएका नेपालीहरू एक छौं भन्ने भावनाका साथ अगाडि बढ्नुपर्ने महामन्त्री शर्माको भनाइ छ । ‘नेपालको रूपान्तरणमा एकखालको सन्देश दिनुपर्दछ, एनआरएनएले पनि यसमा भूमिका खेल्नुपर्छ,’ उनले भने ।

    एनआरएनले नेपालमा गर्ने लगानी स्वागतको विषय भएको उनले बताएका थिए। ‘नेपालको समुन्नतिका लागि तन, मन र धनले पूर्वाग्रहभन्दा माथि उठेर आउने एक दशक काम गरौं,’ एनआरएनएलाई नेपालमा लगानी गर्न आग्रह गर्दै महामन्त्री शर्माले भने। उक्त कार्यक्रममा राष्ट्रिय सभा सांसद कमला पन्त, कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतम, भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, नेताहरू मनोजमणि आचार्य, शंकर डाँगी, वंशलाल तामाङ, अमृत भट्टचन, महेश खनाललगायत पनि सहभागी छन्।

  • संयुक्त राष्ट्रसंघको मूख्यालयमा पुगे प्रधानसेनापति

    संयुक्त राष्ट्रसंघको मूख्यालयमा पुगे प्रधानसेनापति

    काठमाडौं । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमण दलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गरेका छन् । शर्माले मुख्यालयस्थित राष्ट्रसङ्घका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट तथा छलफल गरी दुई पक्षीय आपसी हित र पारस्परिक सम्बन्ध एवं युएन मिसनका विविध पक्षका बारेमा छलफल गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    उनले त्यहाँको सैन्य मामला कार्यालयका सैन्य सल्लाहकार बिरामे दिओप, शान्ति स्थापना कार्यसञ्चालन विभागका उपमहासचिव जाँ पिये लाक्रोइ, कार्य सञ्चालन सहायता विभागका उपमहासचिव अतुल खारे र राजनीतिक तथा शान्ति निर्माण मामिलाका उपमहासचिव रोजमेरी डिकार्लोसँग भेटवार्ता गरेका थिए ।

    प्रधानसेनापति शर्मा यही असार ४ देखि ८ गतेसम्म लेवनान तथा असार ९ र १० गते सिरियास्थित शान्ति मिसन क्षेत्रको भ्रमण सम्पन्न गरी असार १३ देखि संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा छन् । प्रधानसेनापति शर्मा भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

  • विदेश जाँदा अरुका बच्चा साथमा लैजान अब सिफारिस अनिवार्य

    विदेश जाँदा अरुका बच्चा साथमा लैजान अब सिफारिस अनिवार्य

    काठमाडौं । विदेश जाँदा साथमा आफ्नो बाहेक अरु कसैका बालबालिका लैजाने हो भने अब सिफारिस अनिवार्य साथमा बोक्नु पर्ने भएको छ । नभए अध्यागमनले विमानस्थलबाटै रोक्ने छ । अध्यागमन विभागको त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालय एक सूचना प्रकाशित गरी यसरी बालबालिका लैजानेहरुका लागि प्रक्रियाबारे सूचित गरेको छ ।

    बालबालिकाको कुनै आधिकारिक संरक्षकत्वबीना विदेश लगेर जाने विषय ज्यादै संवेदनशील भएको भन्दै कार्यालयले आफ्नो सन्तान बाहेक अरु कसैका नाबालक छोरा-छोरी साथमा लिएर विदेश जाँदा तोकिएको प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ ।

    अब छोराछारीबाहेक नाबालकलाई विदेश लैजाँदा नाबालकको अभिभावक-संरक्षक-संघ संस्थाले नाबालक स्थायी ठेगाना भएको सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा मन्जुरीनामा दिइएको व्यक्ति र नाबालकको विवरण खोली विवरण दिनु पर्ने भएको छ । सम्बन्धित वडा कार्यालय वा स्थानीय तह वा प्रशासनले मन्जुरीनामा पाउने व्यक्तिको नाम र नावालक दुबैको फोटो समेत राखी अभिभावक भएको गन्तव्यस्थल खोली यात्रा सहजीकरणका लागि सिफारिस गरेको अवस्थामा मात्र अध्यागमनले यात्राको अनुमति दिने छ ।

    यस्तो सिफारिस स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयले गरेमा समेत मान्य हुने भएको छ । यस्तो सिफारिस गर्ने पदाधिकारीको नाम, पद र सम्पर्क नम्बर सिफारिस पत्रमा राख्नु पर्ने समेत सूचनामा उल्लेख छ ।

  • बिक्की पुलामीको नेतृत्वमा लायन्स क्लब क्विन्स बुद्ध न्युयोर्क

    बिक्की पुलामीको नेतृत्वमा लायन्स क्लब क्विन्स बुद्ध न्युयोर्क

    न्युयोर्क

    लायन्स क्लब अफ क्विन्स बुद्धको सम्पुर्ण पदाधिकारीहरुको भर्चुअली बसेको बैठकबाट नयॅा नेतृत्वमा खडग बहादुर पुलामी (बिक्की) सर्बसम्मत चयन भएका छन् ।

    आगामी २ वर्षे कार्यकाल २०२२-२३ को लागी लायन खडग बहादुर पुलामी (बिक्की) लाई सर्बसम्मत अध्यक्ष पदको लागि चयन गरेको हो ।

    भर्चुअली बसेको बैठकबाट प्रथम उपाध्यक्षमा लायन बुद्ध पौड्याल, द्वितीय उपाध्यक्षमा लायन सोनु मल्ल र तृतीय उपाध्यक्षमा लायन शिबजी खड्का चयन हुनुभएको हो । त्यस्तै गरी सचिव पदमा लायन चन्द्र नेपाली, कोषाध्यक्षमा सुरेश कार्की, मेम्बरशिप चेयरमा सांग दोर्जे शेर्पा र सिग्नेचर कार्यक्रम संयोजकमा प्रकाश बस्नेत सर्बसम्मत चयन हुनु भएको हो ।

  • अमेरिका भ्रमणमा के गरिरहेका छन् प्रधानसेनापति ?

    अमेरिका भ्रमणमा के गरिरहेका छन् प्रधानसेनापति ?

    काठमाडौं । अमेरिकाको भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले पेन्टागनमा महत्त्वपूर्ण भेटवार्ता गरेका छन्। अमेरिकासँगको एउटा प्रमुख सुरक्षा साझेदारी स्टेट पार्टनरसिप प्रोग्रामबाट पछि हट्ने निर्णय नेपाल सरकारले लिएको केही दिनपछि उनले अमेरिकाको भ्रमण थालेका थिए। उक्त सम्झौतालाई लिएर नेपालमा चौतर्फी विरोध भएको थियो र सम्झौताबाट अलग हुने नेपालको निर्णयको चीनले स्वागत गरेको थियो। भ्रमणका क्रममा भएका छलफलहरूबारे नखुलाइए पनि नेपाल र अमेरिकाबीचको सैन्य सम्बन्धलाई थप बलियो बनाउने विषयमा छलफल गरेको अधिकारीहरूले जनाएका छन्।

    प्रधानसेनापति बिहीवार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा उच्च रक्षा र सैनिक अधिकारीहरूसँग भेट गरेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार प्रधानसेनापति शर्माले अमेरिकी जोइन्ट चिफ अफ स्टाफका भाइस चेअरमेन एडमिरल क्रिस्टोफर डब्ल्यु ग्राडी, दक्षिण एशिया तथा दक्षिण पूर्वी एशिया हेर्ने अमेरिकी रक्षा उपमन्त्री लिन्ड्जे डब्ल्यू फोर्ड र अमेरिकी सेनाका चिफ अफ द स्टाफ जेम्स चार्ल्स मकोनभिलसँग भेटवार्ता गरेका छन्।

    नेपाली सेनाले भनेको छ, ‘उक्त भेटघाटका क्रममा, नेपाल र मित्रराष्ट्र संयुक्त राज्य अमेरिका बीचको सैनिक सम्बन्ध तथा दुई राष्ट्रबीच रही आएको पारस्परिक सम्बन्ध एवं हितका विषयहरूमा छलफल तथा विचार विमर्श भएको थियो ।’ यसअघि उनले मङ्गलवार पेन्सिलभिनियामा रहेको अमेरिकी सेनाको वार कलेजको भ्रमण गरेका थिए। उनले बुधवार न्याश्नल डिफेन्स युनिभर्सिटीको भ्रमण गरेका थिए भने विभिन्न सैनिक निकायका प्रमुखहरूसँग भेटवार्ता गरेका थिए।

    अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले प्रधानसेनापतिको सम्मानमा आयोजना गरेको कार्यक्रममा अमेरिकी सरकार र विभिन्न राजदूतावासका प्रतिनिधि सहभागी भएको वाशिङ्टन डिसीस्थित नेपाली राजदूतावासले यसै हप्ता जनाएको थियो। प्रधानसेनापतिले अमेरिकी वार कलेजको पनि भ्रमण गरेका छन् । वाशिङ्टन डिसीबाट बिहीवार नै न्यूयोर्क पुगेका शर्माले त्यहाँ राष्ट्रसङ्घको शान्ति सेना हेर्ने निकाय सहितका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

    संयुक्त राज्य अमेरिका नेपाली सेनाको एउटा महत्त्वपूर्ण रक्षा साझेदार हो। दुई देशबीच सन् १९७० को दशकबाट नै सैन्य सम्बन्ध सुरु भएको अमेरिकी अधिकारीहरूले बताउने गरेका छन्। विदेश मन्त्रालय र रक्षा मन्त्रालयले नेपाली सेनासँग फलदायी सुरक्षा सहकार्य गरिरहेका छन् जसका क्रममा अमेरिकाले नेपाललाई हालैका दशकमा १० करोड डलरभन्दा बढीको सैन्य सहयोग उपलब्ध गराइसकेको छ।
    बीबीसी

  • काठमाडौं र बैंककलाई जोड्यो थाइ स्माइलले

    काठमाडौं र बैंककलाई जोड्यो थाइ स्माइलले

    काठमाडौं । थाइल्याण्डको वायुसेवा कम्पनी थाइ स्माइल एयरवेजले बैंकक–काठमाडौं–बैंकक रुटमा उडान थालेको छ । यो रुटमा शुक्रबारदेखि दुई तर्फी हवाई सेवा सुरु भएको हो । कम्पनीका अनुसार अब दैनिक एक उडान यस रुटमा हुनेछ । कम्पनीले एयरबस–३२० मा इकोनोमी क्लासमा १५० र प्रिमियम इकोनोमी क्लासमा १२ सिट गरी जम्मा १६२ सिटको क्षमताको जहाज उडाएको छ । जसमा अन–बोर्ड मिल सर्भिस (विमानभित्रै खानाको सुविधा) समेत रहेको कम्पनीले जनाएको छ ।

    थाइ स्माइलले थाइल्यान्डको फुकेट र पटाया लगायत अन्य सम्पूर्ण आन्तरिक विमानस्थलहरुमा उडान गर्दै आएको छ । थाइ एयरवेज इन्टरनेशनलले अष्ट्रेलिया, जापान र क्वालालम्पुरसहित अन्तर्राष्ट्रिय गन्तव्यमा सेवा दिइरहेको छ । आरआर ग्रुप अफ कम्पनिज अन्तर्गतको एक संस्था सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसले थाइ स्माइल एयरवेजका लागि बिक्री, मार्केटिङ र एयरपोर्ट सञ्चालन सेवाको साथै सम्पूर्ण ग्राहक र एजेन्सी सपोर्ट सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

  • दक्षिण कोरियामा अवैध रुपमा बसिरहेका १३ नेपाली पक्राउ

    दक्षिण कोरियामा अवैध रुपमा बसिरहेका १३ नेपाली पक्राउ

    काठमाडौं । दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ जना नेपाली पक्राउ परेका छन् । दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा नेपालीहरु पक्राउ परेका हुन् । पक्राउ परेका नेपालीहरुको नाम ठेगाना भने खुलेको छैन । ती सबै नेपालीहरुलाई नेपाल फर्काउने योजना बनाइएको अध्यागमन कार्यालयले जनाएको छ । अध्यागमन अधिकारीका अनुसार चार जना नेपालीहरु कृषि तथा माछा पालन मौसमी काम ९इ–८०को रुपमा प्रवेश गरी ठेक्का अवधि नपुग्दै गैरकानुनी रुपमा अर्को ठाउँमा काम गरिरहेको बेला पक्राउ परेका छन् ।

    अन्य नौ जना बसाइँ अवधि सकिएपछि पनि दक्षिण कोरिया नछाडेका कारण पक्राउ परेका हुन् । उनीहरुमध्ये दुई जनाले दक्षिण कोरियाका प्रतिनिधिसँग मिलेर मौसमी कामदारको रुपमा प्रवेश गर्ने नेपालीलाई गैरकानुनी रुपमा रोजगारीमा लैजाने र मध्यस्थता गरिदिएवाफत रकम असुल्ने गरेका थिए ।

  • नेपालका लागि भारतीय राजदुतले राष्ट्रपति समक्ष बुझाए ओहदाको प्रमाणपत्र

    नेपालका लागि भारतीय राजदुतले राष्ट्रपति समक्ष बुझाए ओहदाको प्रमाणपत्र

    काठमाडौं , नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।
    राष्ट्रपति भवन शितल निवासमा बिहिबार आयोजित एक समारोहमा राजदूत श्रीवास्तवले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्। ओहोदाको प्रमाणपत्र पेश गरेलगत्तै राजदूत श्रीवास्तवले प्रधानमन्त्री शेर बहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्। भेटमा उनले भारतका राष्ट्रपति र प्रधानमन्त्रीले पठाएका शुभकामना सन्देश सुनाएका थिए।

    राजदूत श्रीवास्तवले हालै भएको प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्धमा नयाँ गति प्रदान गरेको उल्लेख गरे। साथै उनले दुई देशबीचको मैत्री सम्बन्धलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। श्रीवास्तव नेपालका लागि भारतका २६ औं राजदूत हुन्। पूर्व राजदूत विनय मोहन क्वात्रा विदेश सचिवको कार्यभार सम्हाल्न २०२२ अप्रिलमा दिल्ली गएपछि श्रीवास्तव नयाँ राजदूतका रूपमा काठमाडौं आएका हुन्।

  • नेप्लिज-अमेरिका कन्भेन्सन सकर प्रतियोगिता खेल्न नवयुग र भरत अमेरिका प्रस्थान

    नेप्लिज-अमेरिका कन्भेन्सन सकर प्रतियोगिता खेल्न नवयुग र भरत अमेरिका प्रस्थान

    काठमाडौं । नेप्लिज अमेरिका कन्भेन्सन सकर प्रतियोगिता खेल्ने नेपालका फरवार्डद्वय नवयुग श्रेष्ठ र भरत खवास अमेरिका प्रस्थान गरेका छन्। दुई खेलाडी अहिले त्रिभुवन आर्मी फुटबल क्लबबाट व्यवसायिक फुटबल खेल्छन् । दुवै जनाले प्रतियोगिता खेल्नेछन्। उनीहरू एलए टिमबाट प्रतिस्पर्धा गर्नेछन् । भरत पछिल्लो समय राष्ट्रिय टिममा हटाएका छैनन् । उनी आर्मी फुटबल टिमका भने कप्तान हुन्। नवयुगले अघिल्लो महिना भएको एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपाली टिमको कप्तानी सम्हालेका थिए।

  • वैदेशिक रोजगारीमा ठगिएकालाई दिलाइयो २ करोड ४ लाख क्षतिपुर्ती

    वैदेशिक रोजगारीमा ठगिएकालाई दिलाइयो २ करोड ४ लाख क्षतिपुर्ती

    तनहुँ । सुरक्षित आप्रवासन (सामी) परियोजना तनहुँले वैदेशिक रोजगारीका क्रममा ठगिएकालाई दुई करोड चार लाख ६५ हजार क्षतिपूर्ति दिलाएको छ ।

    आव २०७७/७८ मा वैदेशिक रोजगारीका क्रममा ठगी, जालसाजी तथा पासपोर्ट होल्डमा राखिएका घटनाका पीडितलाई सामीले उक्त क्षतिपूर्ति रकम दिलाउन सहजीकरण गरेको हो ।

    वैदेशिक रोजगारमा गएका कामदार र उनीहरूका परिवारलाई कानुनी सहायताका लागि प्राप्त उजुरी एक सय पाँचमध्ये ५६ घटनाको पूर्ण रुपमा र ४९ वटाको आंशिक समाधान गरिएको परियोजनाले जनाएको छ । विसं २०७६ मङ्सिर १ गतेदेखि तनहुँमा सुरक्षित आप्रवासन सामी परियोजना सञ्चालन हुँदै आएको छ ।

  • शरणार्थीलाई परिचयपत्र वितरणको तयारी

    शरणार्थीलाई परिचयपत्र वितरणको तयारी

    काठमाडौं । सरकारले नेपालमा रहेका र विगतमा विभिन्न कारणले परिचयपत्र पाउनबाट छुटेका शरणार्थीहरुलाई परिचयपत्र दिने भएको छ । सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले यस्तो जानकारी गराए ।

    छुटेकाहरुलाई उनीहरुको परिचयपत्र बनाउने सन्दर्भमा गृहकार्य भइराखेको छ । उनीहरुले पनि नेपालमा सहज जीवन जिउन सक्नुहोस् भन्ने नै हाम्रो सद्भाव रहेको छ’ गृहमन्त्री खाँणले भने ।
    नेपालमा रहेका सबैको मानव अधिकारका विषयमा सरकार सजग रहेको उनले बताए ।
    मन्त्री खाँणले यसैमा थपे, ‘मान्छेहरु दुनियाँका जुनसुकै कुनामा जन्मिएको भए पनि उनीहरु मानव हुन्, नागरिकहरु नै हुन् । उनीहरुको पनि मानव अधिकार रहेको छ । नेपालमा पनि विभिन्न काल खण्डमा बिभिन्न भू-भागबाट आएर बसेका शरणार्थीहरु हुनुहुन्छ । ती हशरणार्थीहरु पनि मानव नै हुन् । त्यसकारण उनीहरुको जीवनयापन सहज होस्, उनीहरुले मानव अधिकार प्राप्त गरुन भन्ने नै सरकारको चाहना छ ।’

  • अष्ट्रेलिया र इजरायलका लागि नेपाली राजदूत नियुक्त

    अष्ट्रेलिया र इजरायलका लागि नेपाली राजदूत नियुक्त

    काठमाडौं । अस्ट्रेलिया र इजरायलका लागि नेपाली राजदूत नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज आइतवार दुई देशका लागि नेपाली राजदूत नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले कैलाशराज पोखरेललाई अस्ट्रेलिया र कान्ता रिजाललाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छिन् । उनले संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

  • अमेरिकी राष्ट्रपति बाइडेन र नेपाली राजदूत खत्रीबीच भेट

    अमेरिकी राष्ट्रपति बाइडेन र नेपाली राजदूत खत्रीबीच भेट

    काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका छन् । उनीहरुबीच जेठ ३० मा भेट भएको हो । राजदूत खत्रीले अमेरिका गएपछि कोभिड–१९ संक्रमणका कारण भर्चुअल रुपमै राजदूतको ओहदाको प्रमाणपत्र बुझाएका थिए । त्यसबेला व्यक्तिगत रुपमा भेटवार्ता भएको थिएन । राष्ट्रपति बाइडेनलले भर्चुअल रुपमै ओहदाको प्रमाणपत्र बुझाएका राजदूतहरूसँग व्यक्तिगत भेटवार्ता गर्न ह्वाइट हाउसमा बोलाएका थिए ।

    सोही क्रममा राजदूत खत्री र बाइडेनबीच भेट भएको हो । दूतावासले भेटबारे औपचारिक जानकारी भने सार्वजनिक गरेको छैन । छोटो भेटवार्तामा राष्ट्रपति बाइडेनले नेपालको विषयमा चासो राखेको र राष्ट्रपतिले नेपाल र नेपाली आफूलाई मन पर्ने बताएको खत्रीले प्रतिक्रिया दिएको कान्तिपुर दैनिकले समाचार प्रकाशित गरेको छ ।

  • वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या कोभिड अगाडीकै अवस्थामा

    वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या कोभिड अगाडीकै अवस्थामा

    काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीको संखया कोभिड महामारी भन्दा अगाडी कै अवस्थामा पुगेको छ । चालु आर्थिक वर्ष २०७८\७९ को पहिलो महिनाबाटै श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको देखिएको छ । यस आवको ११ महिना (जेठ मसान्त)सम्म श्रम स्वीकृति लिनेको सङ्ख्या पाँच लाख ७१ हजार ७७९ पुगेको छ । यो गत आवको ११ महिनाको तुलनामा करिब चार गुणा धेरै हो । वैदेशिक रोजगार विभागका अनुसार सो आवमा समिक्षा अवधिमा मात्र एक लाख ४६ हजार ४० जनाले श्रम स्वीकृति लिएका थिए । जेठमा मात्र ७२ हजार ३४९ जनाले श्रम स्वीकृति लिएका छन् ।

    आव २०७६\७७ मा एक लाख ९० हजार ४५३ जनाले श्रम स्वीकृति लिएका थिए । नेपालमा २०७६ चैत ११ गतेदेखि कोभिड–१९ का कारण बन्दाबन्दी प्रारम्भ भएको हो । त्यसपछि वैदेशिक रोजगारीमा जानलाई श्रम स्वीकृति लिएका र बिदामा आएर फर्किन लागेका सबै रोकिएका थिए । विभागको तथ्याङ्कअनुसार नेपालबाट वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या कोभिड अगाडिको अर्थात् आव २०७५\७६ को अवस्थामा पुगेको छ । विगत तीन आवको तथ्यांक हेर्दा कतार, संयुक्त अरब इमिरेटस्म, लेसिया, साउदी अरब, बहराइन, कुवेत र ओमानमा धेरै नेपाली पुगेका छन् ।

  • सिन्धुपाल्चोकको भिरमा खुल्यो अत्याधुनिक हेली रिसोर्ट, विदेश बस्ने नेपालीलाई बम्पर अफर

    सिन्धुपाल्चोकको भिरमा खुल्यो अत्याधुनिक हेली रिसोर्ट, विदेश बस्ने नेपालीलाई बम्पर अफर

    काठमाडौं । अरनिको राजमार्ग हुँदै पुगिने चर्चित तातोपानी कुण्ड र त्यही बाटो हुँदै पुगिने तिब्बतस्थित खासा बजार नेपाल र नेपालीको लागि नौलो गन्तब्य होईन । त्यही अरनिको राजमार्गको नपत्याउने, भिरमा अपत्यारिलो संरचना बनेको छ । जसमा निर्माण भएर हालै मात्र संचालनमा आएको छ, सुबिधा सम्पन्न “ भोटेकोशी हेली रिसोर्ट” । त्यहाँ पुग्नेहरु नेपालको पर्यटन क्षेत्रको आठौ आश्चर्यका रुपमा यसलाई लिन्छन् । देश भित्र अवसर अभाबका कारण हरेक दिन ठुलो संख्यामा नेपाली वैदेशिक रोजगारी र अवसरको लागि पलायन हुँदै गर्दा भोटेकोशीको भिरमा फुलेको करोडौको लगानीको ४ तारे होटेलले पर्यटन क्षेत्रमा अपार सम्भाबना मुलुक भित्रै भित्र्याएको छ ।

    कोरोना महामारी कल्पना नै नगर्दा, हेली रिसोर्ट संचालकले महामारी सुरु हुनु भन्दा केही महिना अगाडी मात्र होटल निर्माण सुरु गरेका थिए । झन्डै ६० करोड लागतमा सम्पन्न गरिने होटलको पहिलो चरणको तयारी स्वरुप २५ वटा सुबिधा सम्पन्न रुम संचालनमा ल्याईएको हेली रिसोर्टलाई कुल ६० कोठा सहित टुँग्याउने लक्ष्य रहेको प्रवन्ध निर्देशक छिरिङ् शेर्पा बताउछन् ।

    भोटेकोशी भिरको सय रोपनी जग्गामा सुबिधा सम्पन्न क्यासिनो ब्ल्याक स्टोन स्पा, तातो पानी कुण्ड कै तातो पानीको स्विमिङ पुल, ट्राउट फिसिङ् मात्र होईन रिजोर्टले होटल पारीको भित्तोमा २०० फिटको प्रोजेक्टर स्क्रिनमा विश्व कप फुटबल जस्ता विश्व प्रसिद्ध् कार्यक्रमहरुलाई लाईभ प्रसारण गरेर होटलकै बरण्डाबाट हेर्न मिल्ने जस्ता महात्वाकांक्षी योजना सुरु गर्न लागेको छिरिङ् शेर्पाले जानकारी दिए । होटल निर्माणको अनुभब सुनाउदै छिरिङ् भन्छन् ‘भोटेकोशी क्षेत्रमा नै आमुल परिवर्तन स्थानिय रोजगारी र विकासलाई मध्यनजर गर्दै त्यहा होटल निर्माण गरेका हौ ।’ उनका अनुसार सम्पन्न शहरका होटलसँग प्रतिस्पर्धा गर्नु भन्दा भुकम्पले क्षतविक्षत भएको सिन्धुपाल्चोकको बिकासमा पनि टेवा पुर्याउने हेतुले भोटेकोशीको भिरमा यती ठुलो लगानी गरिएको हो ।

    कोरोनाले बढायो लागत
    अकस्मात विश्व ठप्प पार्ने कोरोना महामारी सुरु भयो । कोरोना महामारीका कारण लागत रकम ३० प्रतिशतले बढेको लगानीकर्ताहरुले जानकारी गराएका छन् । होटल फुल फेजमा सुरु भए पछि चाईनिज पर्यटकको लागि सजिलो गन्तब्य हुने र क्यासिनो चाईनिज पर्यटकले नै भरिने विश्वास उनको छ । पोखरास्थित फिसटेल एकेडेमीका संचालक चिनु रानाभाट लगायतका ब्यापारिहरुको सन्लग्नता रहेको हेली रिजोर्टमा हाल २५ वटै रुमहरु प्याक हुने गरेको व्यवस्थापनले जनाएको छ । अहिले हेली रिजोर्टमा २५ रुम साजिसजाउ फाईन डाईनिङ् रेस्टुरेण्ट र दुई वटा स्विमिङ पुल लबी संचालनमा आएका छन् ।

    हेलिकप्टर किनेर प्याकेज बिक्रि गर्ने लक्ष्य
    रिसोर्टले छिट्टै हेलिकप्टर खरिद गरेर फरक फरक प्याकेज बजारमा ल्याउने जनाएको छ । काठमाण्डौ–रिसोर्ट, गोसाईकुण्ड, कालीन्चोक प्याकेज बिक्री गर्ने लक्ष्य राखेको कम्पनीको भनाई छ । अर्को प्याकेजमा माउण्टेन फ्लाईट हुने छ । हेलिकप्टर सहितको प्याकेज खरिद गर्न नस्कने ग्राहकका लागि भने काठमाडौंबाट गाडीमा रिसोर्टसम्म ल्याउने र एक रात राखेर कालिन्चोक घुमाउने अर्क्रो प्याकेजको पनि तयारी गरेको छ ।

    होटलका बिशेषता

    होटलका थुप्रै विशेषतामध्ये रुम फरक छन । होटलमा सुत्ने रुम भन्दा भन्दा ठुला बाथरुम छन् र रुम भन्दा बाहिरको बरण्डा कोठा जत्रै क्षेत्रफलका छन । रुम बाहिर रहेको बरण्डामा बस्नेले बाहिरको भ्यु मज्जाले देख्ने तर बाहिरबाट बरण्डा भने देख्दै नदेख्ने, ईन्जिनीयरिङमा निर्माण गरिएको छ । जापानिज प्रविधीको नेचुरल हट वाटर ब्ल्याक स्टोन स्पा नेपालमा नै हेली रिसोर्टमा नौलो प्रयोग हुने व्यवस्थापनको दाबी छ । हट वाटर ब्ल्याक स्टोन स्पालाई थेरापिस्ट सहित संचालन गरिने होटल व्यवस्थापनले जनाएको छ ।

    होटलको बरण्डामा बसेर पारी पट्टीको भित्तामा रहेको बिशाल प्रोजेक्टर स्क्रिनमा टि भि हेर्न सकिने छ । भोटेकोशी नदीमा संचालित चर्चित बन्जी जम्पिङको ठ्याक्कै माथि संचालित रिसोर्टले होटलमा बस्न आउने ग्राहक लाई आफ्नै जग्गामा उत्पादन गरिएको अर्ग्यानिक तरकारी खुवाउने मात्र होईन होटल आफैले पालेर तयार पारेको लोकल कुखुरा, कालिज, खसी–बोका खुवाउने समेत तयारी गरेको छ । बसाई सुबिधा सम्पन्न रिसोर्टको तर खुवाई पुरै नेपाली स्टाईलको अर्ग्यानिक खुवाउने होटलको दाबी छ ।

    एनआरएन लक्षित प्याकेज

    देशमा आर्थिक संकट गहिरिदै जाँदा विदेशमा बस्ने नेपालीहरुलाई विभिन्न किसिमले आकर्शित गर्ने योजना होटल व्यवस्थापनले सुरु गर्ने जनाएको छ । दोश्रो र तेश्रो देशका पर्यटक भन्दा आफ्नै देशका लाखौं नेपालीलाई लक्षित गरी रिसोर्टले प्याकेल ल्याउने तयारी छ । वर्षौदेखि बाहिर रहेका नेपालीलाई स्वदेश फर्कदाँको पहिलो गन्तब्य भोटेकोशी हेली रिसोर्टलाई बनाउन चाहेको छिरिङ् शेर्पाले बताए ।

    उनका अनुसार विदेशबाट फर्किएका नेपालीले स्वदेशमा घुमघाम गर्ने क्रम बढेको छ । हामी एनआरएनहरुलाई होटलको वार्षिक सदस्यता कार्ड वितरणको तयारी गरिएको छ । ‘हामी मुल्यको आधारमा सिल्भर, गोल्ड र डाईमण्ड मेम्बरसिप वितरण गर्दै छौ । त्यो मेम्बरसिप लिएपछी विदेशबाट नेपाल आउँदा विमानस्थलमा पिक अप, ड्रप अपदेखी रिसोर्टमा ल्याउने र लाने, त्यो क्षेत्रमा घुमाउने अनी आफ्नै घरमा बसे जस्तो महसुस हुने गरी रिसोर्टमा राख्नेछौ,’ उनले भने ।

    उनका अनुसार मेम्बरसिप लिएपछी मेम्बरसिपको क्याटागोरीको आधारमा सदस्य र उनका परिवार, नातागोतालाई सेवा निःशूल्क दिइने भएको छ । ‘चर्चित तातोपानी कुण्ड धार्मिक पौराणिक हिसाबले पनि प्रख्यात छ । थुप्रै एनआरएन साथीहरुको आफ्ना माता पितालाई तातोपानी, कालिन्चोक दर्शन गराउने ईच्छा हुन्छ । त्यसका लागी पनि हामीले मेम्बरसिप सुरु गर्न लागेका हौ,’ उनले भने ।

    सेयर किन्ने अवसर
    होटल प्रशासनले संसारभर रहेका एनआरएन लाई १०, २० र ३० लाखको सेयर खरिदको लागि आह्वान समेत गरेको छ । होटल व्यवस्थापनका अनुसार अहिले बितरण गर्न लागिएको १० देखी १५ करोड सेयर संस्थापक हुनेछ । खरिद गरिएको सेयर दुई वर्षपछी फिर्ता लिन चाहेमा होटलले १० प्रतिशत दरमा ब्याज समेत थपेर फिर्ता दिने ग्यारेण्टी गरेको जनाएको छ । वर्षको २० वटा होटलका कोठा त्यस्ता सेयर होल्डरलाई निःशूल्क दिईने छ । त्यस्ता सेयर होल्डरले वर्षमा निःशुल्क प्राप्त गर्ने २० वटा कोठालाई आफु र आफ्ना परिवार आफन्तका लागि प्रायोग गर्न सक्ने छन् ।

    सम्पादक\प्रकाशक विजय राम पौडेलले होटल व्यवस्थापकसँग गरेको सम्वादका आधारमा तयार रिर्पोट

  • नेवा: नख: न्युयोर्कको आयोजनामा सातौं सामुहिक ईही कार्यक्रम सम्पन्न

    नेवा: नख: न्युयोर्कको आयोजनामा सातौं सामुहिक ईही कार्यक्रम सम्पन्न

    न्यूयोर्क


    नेवा: नख: न्यूयोर्कको आयोजनामा नेपाल सम्वत ११४२ तछलाथ्व: एकादशी (Saturday, 11 June 2022) का दिन, सातौं सामुहिक ईही न्यूयोर्क स्टेटमा सम्पन्न भएको छ । नेवा: गुभाजु (पुरोहित) श्री समन्त बज्राचार्यज्यूले नेवा: विधिपूर्वक ईही सम्पन्न गराउनु भयो । उहाँलाई गुरूमा पुष्पा बज्राचार्यज्यू र नेवा: नख:का अध्यक्ष श्री महेन्द्र बीर बज्राचार्यज्यूले जजमान (मुख्य कर्ता) भै सहयोग गरि पुजा सम्पन्न गर्नु भएको थियो ।

    न्युयोर्कको ज्याक्सनहाइटमा रहेको शेर्पा किदुगंको भवनमा आयोजना गरिएको सामुहिक ईहीमा ४ वटा राज्यहरु न्युयोर्क, कनेटिकट, म्यासाचुसेट्स् र न्युजर्सीबाट जम्मा १२ जना बालिकाहरूको सहभागी थियो । सोफी सिंह, नेश्मा मास्के, इभलिन राजकर्णिकार, साम्राज्ञी सिंह, मलीहा श्रेष्ठ, आर्या श्रेष्ठ, तीसा श्रेष्ठ, सह्राना स्थापित, तिशा शाक्य, उर्वीना श्रेष्ठ, रोमा प्रधान र आब्या श्रेष्ठ सहभागी रहेका उक्त कार्यक्रममा सहभागी बालिकाका अभिभावक-आफन्तकहरू गरि सयौं जना जनाको उपस्थिति थियो ।

    नख:का महा-सचिव श्री तुलसी नारायण चित्रकारज्यूले सम्पूर्ण अतिथि र सहभागीहरूलाई स्वागत गरि सुरू गरिएको उक्त कार्यक्रममा नख:का प्रथम उपाध्यक्ष्य डा. नरेश मान शाक्यद्वारा इहीमा सहभागी बालिकाहरु, बालिकाहरुका अभिभावक-आफन्तकहरू, पाहुनाहरू तथा कार्यसमितिका पदाधिकारीहरूको परिचय गरिएको थियो भने नखःका कोषाध्यक्ष सलोनी वन्त श्रेष्ठ र सदस्य नम्रता प्रधानले कार्यक्रममा सहभागीहरूको उपस्थिति दर्ता गराउनु भएको थियो।उक्त कार्यक्रममा नख:का अध्यक्ष महेन्द्र बीर बज्राचार्य, प्रथम उपाध्यक्ष नरेश मान शाक्य, महा-सचिव तुलसी नारायण चित्रकार, कोषाध्यक्ष सलोनी वन्त श्रेष्ठ, सदस्यहरू नम्रता प्रधान, महेन्द्र कुमार बज्राचार्य तथा किरण रंजितज्यूले ईही गर्ने बालिकाहरूलाई प्रशंसा-पत्र प्रदान पनि गर्नुभएको थियो । अन्तमा, अध्यक्ष बज्राचार्यले कार्यक्रममा उपस्थित सबै अतिथि बालबालिका, अभिभावक, गुभाजु, गुरुमा, नखःका सम्पूर्ण सदस्य तथा सहयोगी, स्वयमसेवीहरूलाई धन्यवाद व्यक्त गर्नुका साथै सहभागी बालिकाहरूलाई उज्जल भविष्यको कामना गर्दै बधाई ज्ञापन गरेका थिए ।

    नखःका दितिय उपाध्यक्ष श्रुति अमात्यको संयोजनमा, कोषाध्यक्ष सलोनी वन्त श्रेष्ठ, सदस्य नम्रता प्रधान, अनिता बज्राचार्य, लघु शाक्य, मैना बज्राचार्य, लक्ष्मी शोभा चित्रकार, मोहिनी कर्माचार्य तथा उजिला प्रधानले इहीको पुजा सामाग्री तयारी गर्नुका साथै बालिकाहरूलाई मूलढोकाबाट लसकुस गरि इही गर्ने स्थलमा भित्र्याएको थियो । साथै वहाँहरूले सगुन सहित “थायभु” तयार गरेर बालिकाहरूलाई वितरण गरेका थिए । संस्थाका सदस्यहरू गौतम कर्माचार्य, पुष्प श्रेष्ठ, मुनिन्द्र बज्राचार्य, मृगेन्द्र बज्राचार्य, जेनिश कर्माचार्य, तुलासा चित्रकार, रोहण चित्रकार, ह्यारिसन बज्राचार्य र सिद्धार्थ बज्राचार्य, प्रज्वल रंजित, निराजन पाण्डेले अतिथीहरूको सत्कारका साथै नेवारी खाना समयबजीको व्यवस्थापन गर्नु भएको थियो । नेवा: नख: न्युयोर्क, नेवारी परम्परा, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि सन् २०११ मा न्युयोर्कमा स्थापना गरिएको नेवा: संस्था हो । यो संस्थाले समुदायको हितका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । अमेरिकामा रहेर पनि आफ्नो परम्परा र संस्कृतिक कार्यक्रम जगेर्ना गर्न र न्युयोर्कमै यसरी गरिएको नेवारी परम्परागत इहीबाट अभिभावक र बालिकाहरु लाभान्वित हुनुको साथै यस्ता कार्यक्रमबाट नेवारी मौलिक संस्कृति र परम्परा समेत संरक्षण र जगेर्ना हुने नेवा: नख: न्युयोर्कका निर्वतमान अध्यक्ष तथा सल्लाहाकार बिष्णुमान प्रधानले जानकारी दिनुभयो।

  • चीनका लागि नेपाली राजदूत बने श्रेष्ठ

    चीनका लागि नेपाली राजदूत बने श्रेष्ठ

    काठमाडौं । जनवादी गणतन्त्र चीनको आवासीय राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन्। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई चीनको राजदूत नियुक्त गरेकी राष्ट्रपतिको कार्यालयले उल्लेख गरेको छ । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा श्रेष्ठलाई चीनको राजदूत नियुक्त गरिएको हो।

  • रामायण सर्किटमा हिँडेको रेल बिहीबार जनकपुर आउँदै

    रामायण सर्किटमा हिँडेको रेल बिहीबार जनकपुर आउँदै

    काठमाडौं । नेपाल र भारतको संयुक्त पर्यटकीय अभियान रामायण सर्किटमा अब नियमित रेल चल्ने भएको छ । भारतीय रेल बिहीबार नेपालको धनुषाको जनकपुरधाम आउने भएको हो । ‘भारत गौरव पर्यटक रेल’ नाम दिइएको रेल भारतीय पर्यटक बोकेर मंगलबार साँझ भारतीय समय अनुसार साँझ साढे ५ बजे नयाँ दिल्लीको सफदरजंग रेल्वे स्टेशनबाट प्रस्थान गरेको छ । सो रेल भारतको अयोध्या, नन्दीग्राम हुँदै बिहीबार जनकपुरधाम आउने छ ।

    जनकपुरधामबाट सीतामढी, बनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नसिका, हम्पी, रामेश्वरम, काँचिपुरम, भद्राचलम हुँदै उक्त रेल पुनः दिल्ली फर्किने छ । भारतीय राजदूतावासको समन्वयमा ‘भारत गौरव पर्यटक रेल’मा करिब ५०० भारतीय पर्यटक जनकपुर आउने छन् । ती पर्यटकले जनकपुरधामका विभिन्न धार्मिकस्थलको भ्रमण गर्ने कार्यक्रम छ ।

    भारतीय राजदूतावासका अनुसार सो रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोककलाजस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदालगायत झल्को देख्न पाइन्छ ।

  • लेवनानका प्रधानमन्त्री र सेनापति शर्माबीच भेटवार्ता

    लेवनानका प्रधानमन्त्री र सेनापति शर्माबीच भेटवार्ता

    काठमाडौं । लेवनानको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले लेवनानका प्रधानमन्त्री नाजीव आदमी मिकातीसँग शिष्टाचार भेट गरेका छन् । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भेटमा लेवनानको शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकको भूमिका, नेपाल र लेवनानबीचको सैनिक सम्बन्ध तथा दुई राष्ट्रबीच रहिआएको पारस्परिक सम्बन्ध एवम् हितका विषयमा छलफल भएको छ।

    लेवनान भ्रमणमा रहनुभएका प्रधानसेनापति शर्माले त्यहाँका रक्षामन्त्री माउरिस स्लिम, सभामुख नाबी बेरी र त्यहाँको आर्मी फोर्सका प्रमुख जोसेफ खलिल औन सँगसमेत शिष्टाचार भेट गरेका छन् । असार ४ गते लेवनान प्रस्थान गरेका प्रधानसेनापति शर्मा लेवनानबाटै असार १३ गते अमेरिका जाने कार्यक्रम छ । अमेरिका भ्रमण सकेर शर्मा असार १९ गते स्वदेश फिर्ता हुनेछन् ।

  • अब कुटनीतिक पत्र परराष्ट्र मन्त्रालयबाट मात्र आदान-प्रदान

    अब कुटनीतिक पत्र परराष्ट्र मन्त्रालयबाट मात्र आदान-प्रदान

    काठमाडौं । सरकारले अब विदेशी कूटनीतिक नियोगलाई गरिने सबै पत्राचार परराष्ट्र मन्त्रालयबाट मात्र गर्ने निर्णय औपचारिक रुपमा गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले अब अरु निकायबाट पत्राचार गर्न नपाउने गरी निर्णय भएको छ । विदेशी कूटनीतिक नियोगलाई लेखिने पत्र परराष्ट्र मन्त्रालयबाट मात्र गरिने पनि बैठकले निर्णय गरेको हो । अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सँग सम्बन्धित नेपाली सेनाले अमेरिकी राजदूतावासमा गरेको पत्राचार विवादमा परेपछि सरकारले सबै पत्राचार परराष्ट्र मन्त्रालयबाट मात्र गर्ने निर्णय गरिएको बताइएको छ ।

    अन्य सरकारी निकायहरुले पनि आफ्ना सरोकारका विषयमा कूटनीतिक नियोगमा पत्राचार गर्दै आएका थिए । नेपाली सेनाले सन् २०१५ र २०१७ मा सरकारको तर्फबाट भन्दै अमेरकी राजदूतावासमा तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षत्रीको हस्ताक्षरसहितको पत्र पठाएको थियो । उक्त पत्रबारे आफूले जानकारी नै नपाएको भन्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । यससँगै सरकारले अब विदेशमा हुने पत्राचार औपचारिक माध्यमबाट मात्र गर्ने निर्णय गरेको हो ।

  • प्रवासी नेपालीलाई मताधिकार दिलाउनेबारे कांग्रेसले पहल गर्ने

    प्रवासी नेपालीलाई मताधिकार दिलाउनेबारे कांग्रेसले पहल गर्ने

    काठमाडौं । नेपाली कांग्रेसले प्रवासी नेपालीलाई मताधिकार दिलाउने बारे पहल गर्ने भएको छ । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीहरुलाई पनि मताधिकारको व्यवस्था मिलाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउन लागेका हुन् । उनीहरुले मंगलबार बिहान आयोगका प्रमुख आयुक्त दिनेश प्रसाद थपलियालाई भेटेर ध्यानाकर्षण गराउन लागेका हुन् । सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्थाका लागि कानुन निर्माण गर्न सरकारका नाममा परमादेश जारी गरेको छ ।

    सर्वोच्चको अदालतको परमादेश अनुसार प्रधानमन्त्रीलाई यस विषयमा ध्यानाकर्षण गराइसकेका उनीहरुले प्रमुख निर्वाचन आयुक्तलाई भेट्न लागेको बताएका छन् । विदेशमा बस्ने नागरिकको मताधिकार, मतदातामा नामावली दर्ता गर्दा नागरिकले पाएका समस्या लगायतका विषय कांग्रेसले उठाउने भएको छ ।

  • दुबईका राजकुमार नेपाल भ्रमणमा

    दुबईका राजकुमार नेपाल भ्रमणमा

    काठमाडौं । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीनदिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आएका छन् । उनी पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न शनिबार नै झापा पुगेका छन् । उनको भ्रमणबारे विस्तृतमा भने सार्वजनिक गरिएको छैन ।

  • प्रधानसेनापति शर्मा लेवनान उडे, उतैबाट अमेरिका जाने

    प्रधानसेनापति शर्मा लेवनान उडे, उतैबाट अमेरिका जाने

    काठमाडौं । प्रधानसेनापति महारथी पर्भुराम शर्मा औपचारिक भ्रमणका लागि लेवनान उडेका छन् । सात सदस्यीय टोलीसहित प्रधानसेनापति शर्मा आज लेवनान प्रस्थान गरेका हुन् । द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्नुका साथै यूएन मिसनको भावी योजनाका बारेमा जानकारी लिन शर्मा लेवनान गएका हुन् । प्रधानसेनापति शर्मा नेतृत्वको भ्रमणदललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गरेका छन् ।

    भ्रमणदलले यही असार १० गतेसम्म यूएनको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ मिसनहरूको निरीक्षण, मिसनको वस्तुस्थिति, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्थालगायतको जानकारी लिनेछ । भ्रमणको क्रममा, प्रधान सेनापति महारथी शर्माले लेवनान, सिरियाका विभिन्न मिसनका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ ।यो भ्रमण सकेर प्रधानसेनापति शर्माले यही असार १३ गते संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा जाने छन् । प्रधानसेनापति शर्मा असार १९ मा काठमाडौं आउने छन् ।

  • बोष्टनमा ‘प्रनेम’ अमेरिकाको राष्ट्रिय अधिवेशन हुँदै

    बोष्टनमा ‘प्रनेम’ अमेरिकाको राष्ट्रिय अधिवेशन हुँदै

    सुपेन्द्र बस्नेत, बोष्टन

    अमेरिकामा रहेका प्रवासी नेपालीहरुको संगठन ‘प्रवासी नेपाली मञ्च, अमेरिका’ को राष्ट्रिय अधिवेशन अमेरिकाको म्यासाचुसेट्स् राज्यको बोस्टन सहरमा हुन गइरहेको छ। बोस्टनस्थित होटल म्यारियटमा यही जुन १७ देखि १९ सम्म सञ्चालन हुन गइरहेको तीन दिने राष्ट्रिय अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न आवश्यक तयारी पुरा भएको आयोजकले जनाएको छ। ‘सवल प्रवासी, समृद्ध नेपाल’ भन्ने मुल नाराका साथ आयोजित मञ्चको तेश्रो अधिवेशनमा भाग लिनका लागि अतिथिहरु तथा प्रतिनिधिहरु बोस्टन आउनेक्रम जारी छ।

    कार्यक्रमका प्रमुख अतिथि रहनु भएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटिका सदस्य, विदेश विभाग प्रमुख यवं प्रवास इन्चार्ज तथा परराष्ट्र विज्ञ डाक्टर राजन भट्टराई र विशेष अतिथीद्वय नेकपा (एमाले) संसदीय दलका सचेतक एवं सांसद शान्ता चौधरी र पूर्व परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डे बोस्टनमा आइपुगिसक्नु भएको कुरा मञ्चका सचिव कृष्ण लामिछानेले जानकारी दिनु भयो। उहाँले जनाए अनुसार तीन दिने अधिवेशनलाई मुख्य गरी स्वागत तथा उद्घाटन सत्र , बन्द सत्र, निर्वाचन सत्र तथा समापन सत्रको ढाँचामा कार्यक्रम तालिका तय गरिएको छ। जस अनुसार स्वागत तथा उद्घाटन सत्रमा प्रमुख अतिथि तथा अतिथिहरुलाई स्वागत गर्नुका साथै मनोरञ्जनात्मक विविध साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिनेछ। बन्द सत्रमा मञ्चका आर्थिक तथा साँगठानिक गतिविधिहरुको प्रतिवेदन प्रस्तुत गरिने, त्यस उपर छलफल गरिने र पारित गरिनेछ। भने, निर्वाचन कार्यक्रम तालिका अनुसार आगामी कार्यकालका लागि प्रजातान्त्रिक अभ्यासबाट नयाँ नेतृत्व चयन गर्ने र नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पदै अधिवेशनको समापन गरिने कार्यक्रम तालिका रहेको सचिव लामिछानेले प्रस्ट्याउनु भयो।
    आयोजकले जनाए अनुसार अधिवेशनमा अमेरिकाको २४ राज्यहरुबाट १६३ जना प्रतिनिधिहरुले भाग लिदैछन्। अधिवेशनमा अतिथि, प्रतिनिधि, सदस्य, पत्रकार, परिवेक्षक तथा सुवेच्छुकहरु गरी कुल दुई सय भन्दा बढीको सक्रिय सहभागिता रहने आयोजकको अनुमान छ।
    मञ्चको विधान अनुसार प्रत्यक तीन वर्षमा अधिवेशन मार्फत नयाँ कार्यसमिति चयन गर्नु पर्ने भएतापनि, विविध कारणले समयमा गर्न नसकिएको मञ्चका अध्यक्ष प्रभु थापाले बताउनु भयो। सन् २०१२ मा स्थापना भएको मञ्चले दोश्रो अधिवेशन सन् २०१७ मा सम्पन्न गरेको थियो। विधानत: तेश्रो अधिवेशन सन् २०२२ मा सम्पन्न गर्नु पर्ने थियो। तर, कोरोना कहरसंगै अन्य विविध कारणले समयमा अधिवेशन गर्न नसकिएकोप्रति दुःख प्रकट गर्दै अध्यक्ष थापाले पाँच वर्षपछि हुन गइरहेको संस्थागत यस कुम्भ मेलामा सक्रिय सहभागिता जनाइ अधिवेशनलाई सफल बनाउन आवश्यक भूमिका निर्वाह गरिदिन हुन सम्बन्धित सबैलाई अनुरोध गर्नु भएको छ। अधिवेशनको तयारीका सम्बन्धमा जानकारी दिदै अध्यक्ष थापाले भन्नु भयो ,’अधिवेशनको सम्पूर्ण तयारी पूरा भैसकेको छ। कार्य विभाजन अनुसार साथीहरुले सम्पूर्ण तयारी पूरा गरिसक्नु भएको छ। अतिथि, प्रतिनिधि, पत्रकार, परिवेक्षक तथा शुभचिन्तकहरुलाई कार्यक्रममा सहभागिताका लागि निम्तो पुगिसकेको छ।र, कार्यक्रम स्थलमा पुग्ने क्रम सुरु भैसकेको छ।’ अध्यक्ष थापाले भन्नु भयो,’ सबैलाई स्वागत गर्न हामी आतुर छौं। कार्यक्रममा सहभागी भइ कार्यक्रम सफल बनाइदिन हुन सबैलाई अनुरोध गर्दछु ।
    ‘
    आन्तरिक विधानलाई संसोधन गरेर दुइ वर्षे कार्यकाल बनाएको मञ्चले, आगामी दुइ वर्षे कार्यकालका लागि सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गर्न आन्तरिक रुपमा आवश्यक तयारी समेत थालिसकेको छ। सर्वसम्मत हुन नसकेको खण्डमा प्रजातान्त्रिक अभ्यासबाट निर्वाचन गरेर नयाँ कार्यसमिति चयन गर्न मञ्च तम्तयार अवस्थामा रहेको जनाइएको छ।

  • गैरआवासीय नेपालीका माग सम्बोधन हुने प्रधानमन्त्री देउवाको आश्वासन

    गैरआवासीय नेपालीका माग सम्बोधन हुने प्रधानमन्त्री देउवाको आश्वासन

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले लामो समयदेखि उठाउँदै आएको नागरिकतासम्बन्धी विषय शीघ्र सम्बोधन गर्ने आश्वासन दिएका छन् । सङ्घले बिहीबार राजधानीमा आयोजना गरेको ‘नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार’ विषयक सेमिनारको उद्घाटन गर्दै उनले नागरिकताको विषय सबै सरोकारवालासँग छलफल गरेर टुङ्गो लगाइने बताए । उनले भने, “तपाईंहरुले गैरआवासीय नेपालीलाई नागरिकताको विषय जतिसक्दो चाडो सम्बोधन गर्न आग्रह गर्दै आउनुभएको छ, यस विषयलाई सबै पक्षसँग समन्वय गरी यथाशीघ्र सम्बोधन गर्ने कुरा पुनः म यहाँहरुलाई आश्वास्त तुल्याउन चाहन्छु।”

    प्रधानमन्त्री देउवाले एनआरएनएले उठाएका जायज मागप्रति सरकार संवेदनशील रहेको र उनीहरुको नेपाल आवागमन सहज गर्नेदेखि लगानी र सम्पत्तिको संरक्षण गर्ने काममा सरकारले आवश्यक सहयोग गर्ने बताए । उनले संसारभर छरिएर रहेका प्रवासी नेपालीलाई मातृभूमिप्रतिको दायित्व निर्वाह गर्न अपिल गर्दै विदेशमा आर्जन गरेको पूँजी, ज्ञान र सीपलाई नेपालको विकासमा उपयोग गर्न पनि आग्रह गरे ।


    प्रधानमन्त्री देउवाले गैरआवासीय नेपाली समुदायले विदेशमा नेपालमा उत्पादित वस्तुको उपभोगलाई प्रोत्साहन गर्नसके निर्यात प्रवद्र्धन हुने र नेपाली उद्योगधन्दाको सदुपयोग हुने भन्दै विदेशस्थित नेपाली दूतावास र कूटनीतिक नियोगसँग समन्वय र सहकार्य गरेर विदेशी पुँजी नेपाल भित्र्याउने कार्यमा पनि सक्रिय हुन आव्हान गरे । प्रधानमन्त्री देउवाले आगामी आर्थिक वर्षको बजेटमा नेपाल सरकारले विदेशी लगानीको न्यूनतम सीमा पाँच करोडबाट घटाएर दुई करोड कायम गरेको, त्यस्तै १० करोड सम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाउने कुरा उल्लेख गरेको गरे ।

    वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमार्फत योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आबद्ध गर्ने निर्णय भएको उनले जानकराी गराए । प्रधानमन्त्री देउवाले सरकारले विदेशमा बसोबास गरिरहेका नेपालीहरुलाई नेपालका बैंकमा डलर खाता खोल्न सहज गरेको साथै गत जुन १ देखि नेपाल राष्ट्र बैंकले ब्याज दिने गरी वैदेशिक रोजगार बचतपत्र निष्काशन गरेको बताए ।

    रासस

  • एसपीपीबारे संसदीय समितिले प्रधानसेनापति शर्मासँग छलफल गर्ने

    एसपीपीबारे संसदीय समितिले प्रधानसेनापति शर्मासँग छलफल गर्ने

    काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एसपीपी सम्झौताबारे प्रधानसेनापति प्रभुराम शर्मासँग छलफल गर्ने भएको छ । नेपाली सेनाले अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का लागि पत्राचार गरेको विषय सार्वजनिक भएपछि संसदीय समितिले शुक्रबार बिहानको बैठकमा प्रधानसेनापति शर्मालाई छलफलमा बोलाएको छ ।

    समिति सचिवालयका अनुसार एसपीपीकै विषयमा प्रधान सेनापतिसहित सरकारी अधिकारीहरुसँग जवाफ माग्न थालिएको हो । प्रधानसेनापति शर्मा निकट भविश्यमा मिसन मुलुक र त्यसपछि अमेरिका भ्रमणमा जाँदैछन् । सो भ्रमणमा एसपीपीमा सम्झौतामा हस्ताक्षर हुने सम्भावना समेत रहेको बाहिरिए पछि प्रतिनिधिसभामा यसबारे जवाफ माग भइरहेको छ ।

  • १ अर्ब भन्दा बढी मूल्य पर्ने लागु औषधसहित काठमाडौंबाट ७ अफ्रिकन महिला पक्राउ

    १ अर्ब भन्दा बढी मूल्य पर्ने लागु औषधसहित काठमाडौंबाट ७ अफ्रिकन महिला पक्राउ

    काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले एक अर्ब दुई करोड रुपैयाँ बराबरको सेतो हेरोइनसहित सात अफ्रिकन महिलालाई पक्राउ गरेको छ । बिहीवार पत्रकार सम्मेलन गर्दै गएको जेठ २६ देखि ३१ गते एक हप्ताको अवधिमा ५१ किलो सेतो हेरोइनसहित सात जना अफ्रिकी महिलालाई पक्राउ गरेको जानकारी गराएको हो । लागुऔषध नियन्त्रण ब्युरो कार्यालय प्रमुख जीवनकुमार श्रेष्ठका अनुसार नेपाललाई ट्रान्जिट बनाएर भारत लगायतका देशमा कारोबार गर्ने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी लागुऔषध कारोबार गर्नेहरू पक्राउ परेका हुन् ।

    उनका अनुसार विगतमा पनि लागुऔषध कारोबारीहरू पक्राउ गरिएको आधारमा निगरानी राख्दै जाँदा ५१ केजी हेरोइन फेला परेको हो । उनका अनुसार बरामद गरिएको ५१ केजी हेरोइन अहिलको बजार मूल्यअनुसार एक अर्ब दुई करोड रुपैयाँ बराबार हुन आउँछ । पक्राउ परेकाहरु विभिन्न मितिमा फ्लाई दुबईको विमानबाट नेपाल आएका थिए । प्रहरीले यो समूहलाई नियन्त्रणमा लिन त्रिभुवन विमानस्थल र ठमेल क्षेत्रमा सक्रियता बढाएर सात दिनभित्रमा सफल भएको हो । पक्राउ परेकाहरू मध्ये दुई जना नेपाल आउजाउ गरिरहने गरेका र पाँच जना पहिलो पटक नेपाल आएको अनुसन्धानबाट पत्ता लागेको छ ।

  • दुबई पठाउछु भनी ठगी गर्ने एक जना पक्राउ

    दुबई पठाउछु भनी ठगी गर्ने एक जना पक्राउ

    काठमाडौं । दुबई पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुबईको प्रतिष्ठित कम्पनीमा आर्म्स गार्डको काम लगाइदिन्छु भनी सात लाख रूपैयाँ ठगी गर्ने मुगु खत्याड गाउँपालिका घर भई काठमाडौंको मूलपानी बस्ने ३१ वर्षीय निराजन कार्कीलाई मंगलबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।

    काठमाडौंको सिफलस्थित भिजन मल्टिपर्पोज प्रालिका सञ्चालकसमेत रहेका कार्कीले दुबईको आर्म्स गार्डमा एक लाखसम्म मासिक तलब हुन्छ भनी पीडितसँग सात लाख ठगी गरेकाले निवेदनका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ।