Category: डायस्पोरा

  • जिपि कोईराला फाउन्डेशन अमेरिकाद्वारा नेपालबाट आएका पत्रकारहरुलाई बिशेष स्वागत

    जिपि कोईराला फाउन्डेशन अमेरिकाद्वारा नेपालबाट आएका पत्रकारहरुलाई बिशेष स्वागत

    न्युयोर्क

    गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरिकाले नेपालबाट अमेरिका भ्रमणमा आएका पत्रकारहरुलाई आफ्नो कार्यालयमा भेटघाट तथा स्वागत गरेको छ ।
    फाउण्डेशनले न्युयोर्क उडसाईडस्थित आफ्नो कार्यालयमा एक बिशेष कार्यक्रम आयोजना गर्दै भेटघाट एवं छलफल सम्पन्न गरेको हो ।

    सेप्टेम्बर एक तारिखका दिन फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालबाट ”आई भि एल पि” कार्यक्रमका लागि अमेरिका भ्रमणमा आएका आठ जना पत्रकारलाई बिशेष स्वागत कार्यक्रम गरेको हो ।
    अमेरिकी सरकार अन्तर्गतको “आई भि एल पि“ कार्यक्रममा नेपालका पत्रकार ८ जना सबै प्रदेशबाट छनौट भएर २१ दिने भ्रमणमा आएको समयमा सम्मान स्वरुप कार्यक्रम आयोजना गरिएको फाउण्डेशन अध्यक्ष सोमनाथ घिमिरेले बताए ।


    कार्यक्रममा फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले बिमला भण्डारी, प्रमिला देवकोटा, शिरोमणी ढुंगाना, जिना कार्की, प्रेमप्रसाद लामिछाने, पृथ्वीमान श्रेष्ठ, बिमला तुम्खेवा, दिर्घराज उपाध्याय, कमल अधिकारी र सौभाग्यलाल श्रेष्ठलाई खादामाला लगाई फाउण्डेशन कार्यालयमा स्वागत गरेका थिए ।
    यस स्वागत कार्यक्रममा जिपि कोईराला फाउण्डेशन अमेरिकाका उपाध्यक्ष सुवर्ण लामा, कार्यसमिति सदस्यद्वय ध्रुव कुवॅंर क्षेत्री र सुर्य सिमखडाको उपस्थिति रहेको थियो।

    सो अवसरमा फाउन्डेशन अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरेले फाउन्डेशनका गतिविधि र आगामी कार्यक्रमवारे छलफल गर्दै हामी सबै एक भएर समाजसेवामा लाग्नु पर्छ र फाउन्डेशन अमेरिका च्याप्टरले गरेको कार्य र कृयाशिलता सारा विश्वले नियालि रहेको तथा आगामी दिनमा अझै सशक्त भएर लागिपर्ने प्रतिवद्धता ब्यक्त गरे ।

    कार्यक्रममा नेपाली साहित्य समाज (अनेसास), केन्द्रीय बोर्ड अफ ट्रष्टीकीअध्यक्ष गिता खत्रीले श्रीमती बिमला भण्डारी-नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष एवम् गिरिजा प्रसाद कोईराला फाउन्डेशन-केन्द्रीय सदस्यलाई अनेसासले प्रदान गरेको नवरत्न पुरस्कार र नगद दुई सय डलर हस्तान्तरण गरिन । कार्यक्रममा बिमला भण्डारीले अनेसास केन्द्रीय सदस्य शकुन ज्ञवालीलाई रेडियो सफलता पोखराले सम्मान गरेको पुरस्कार नेपालदेखि ल्याएर हस्तान्तरण गरेकी थिईन् ।

    सम्मान कार्यक्रम लगत्तै विशेष अतिथीहरू र उपस्थित सबैले आ-आफ्नो अनुभव साट्दै परिचयात्मक कार्यक्रम राखका थिए ।

  • राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक राष्ट्रिय सभाबाट समेत जस्ताको तस्तै पास

    राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक राष्ट्रिय सभाबाट समेत जस्ताको तस्तै पास

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रिय सभाबाट समेत जस्ताको तस्तै पारित भएको छ । भदौ २ गते प्रतिनिधि सभाले पनि पुनर्विचार गर्न राष्ट्रपतिले फिर्ता पठाएको विधेयक जस्ताको तस्तै पारित गरेको थियो। राष्ट्रिय सभाले पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाएको भए पनि समितिले केही पनि परिवर्तन नगरी विधेयक राष्ट्रिय सभामा प्रतिवेदनको रूपमा पठाएको थियो।

    राष्ट्रिय सभाले पनि राष्ट्रपतिले फिर्ता पठाएको विधेयक जस्ताको तस्तै पारित गरेको हो । अब यो विधेयक कानून बन्ने निश्चित भएको छ । विधेयकले कानूनी हैसियत पाएसँगै जन्मसिद्ध नागरिकता पाएका नेपाली नागरिकका सन्तानले नागरिकता पाउनेछन्। पहिलोपटक विदेशमा रहेका गैरआवासीय नेपालीलाई नागरिकता लिन समेत बाटो खोलेको छ । यो विधेयक अब प्रमाणीकरणका लागि पुनः राष्ट्रपति समक्ष पुग्नेछ ।

  • डलरकार्ड प्रयोग गरी क्यासिनोदेखि अनलाइन जुवासम्मको भुक्तानी गर्न नपाइने

    डलरकार्ड प्रयोग गरी क्यासिनोदेखि अनलाइन जुवासम्मको भुक्तानी गर्न नपाइने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले डलर कार्ड प्रयोगमा कडाई गरेको छ । वाणिज्य तथा विकास बैंकहरुलाई निर्देशन जारी गर्दै राष्ट्र बैंकले तोकेरै डलर कार्डबाट १८ वटा कोडमा भुक्तानी बन्द गरेको हो । कोड नम्बरका आधारमा राष्ट्र बैंकले डलर कार्ड प्रयोग गर्न नपाइने भनेका भुक्तानीका क्षेत्रमा क्यासिनोदेखि अनलाइन जुवासम्म रहेका छन् । डलर कार्डबाट विदेशमा कसैलाई रकम स्थानान्तरण गर्न नपाइने व्यवस्था आएको छ ।

    प्रत्यक्ष बीमा सेवामा भुक्तानी गर्न, स्टाम्प तथा सिक्काको भुक्तानी गर्न, विदेशी वित्तीय संस्थाका सदस्यलाई नगद, व्यापारिक सामान तथा सेवाको भुक्तानी गर्न पनि डलर कार्डको प्रयोग रोकिएको छ । विदेशी धितोपत्र ब्रोकर तथा डिलरलाई भुक्तानी गर्न पनि पाइने छैन । विदेशी बिमाको अन्डरराइटिङ तथा प्रिमियमवापत भुक्तानी गर्न डलर कार्ड प्रयोग गर्न पाइने छैन ।

    विदेशका रियल स्टेट एजेन्ट तथा व्यवस्थापकलाई भाडा तिर्न, कोषवापत रकम स्थानान्तरण गर्न, डेटिङ सेवाको भुक्तानी गर्न, क्यासिनो तथा अनलाइन जुवा, घोडा तथा कुकुर दौड खेलको भुक्तानी गर्न, सट्टेबाजी तथा काल्पनिक खेलको भुक्तानी गर्न, राजनीतिक तथा धार्मिक संगठनलाई रकम दिन पनि डलर कार्ड प्रयोग गर्न पाइने छैन । हाल वाणिज्य तथा विकास बैंकहरुले एक व्यक्तिलाई वार्षिक ५ सय डलरसम्म खर्च गर्न पाउनेगरी डलर कार्ड दिन्छन् ।

  • प्रधानमन्त्री देउवासँग भारतीय नेशनल डिफेन्स टीमको भेट

    प्रधानमन्त्री देउवासँग भारतीय नेशनल डिफेन्स टीमको भेट

    काठमाडौं । भारतको नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कोर्स–६२ टोलीले प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेको छ । एयर भाइस मार्सल तेजवीर सिंहको नेतृत्वमा आइतबार नेपाल आएको भारतीय टोलीले सोमबार प्रधानमन्त्री देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग पनि भेटवार्ता गरेको हो । भारतीय टोलीले सोमबार नै जङ्गी अड्‍डाको भ्रमण गरेको थियो । भ्रमणको क्रममा भ्रमणदलका सदस्यहरु नेपाली सेनासँग सम्बन्धित विषयहरुमा आधारित प्रस्तुतिकरण तथा अन्तरक्रियात्मक कार्यक्रममा सहभागी भएका थिए ।

    सोही क्रममा, उक्त भ्रमणदलका प्रमुख सिंहले प्रधान सेनापति प्रभुराम शर्मासँग जङ्गी अड्‌डामा शिष्टाचार भेटघाट समेत गरेका छन् , उक्त भ्रमणदलले पोखरास्थित श्रीमध्य कमाण्ड हेड क्वार्टरको भ्रमण, पशुपतिनाथ मन्दिर, काठमाडौं, दरवार स्क्वायर, लुम्बिनी, नाम्चे बजार लगायत काठमाडौं र पोखराका विभिन्न पर्यटकीय स्थलहरुको अवलोकन गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । भारतीय टोली भदौ १६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

  • न्युयोर्क सहरमा मनाए भव्य संयुक्त तीज कार्यक्रम

    न्युयोर्क सहरमा मनाए भव्य संयुक्त तीज कार्यक्रम

    न्युयोर्क

    हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा न्युयोर्क सहरको ज्याक्सन हाइट्सस्थित सत्यनारायण मन्दिरमा एनआरएनए अमेरिका न्युयोर्क च्याप्टरको संयोजकत्वमा संयुक्त तीज कार्यक्रम भव्यताका साथ मनाएका छन् ।

    गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनआरएनए न्युयोर्क च्याप्टरको महिला कोअर्डिनेटर लक्ष्मी थापाको संयोनजमा स्याङ्जा समाज अमेरिका, नेपाली अमेरिकन कलाकार संघ, बागलुङ सेवा समाज अमेरिका, प्रवासी नेपाली एकता मंच न्युयोर्क च्याप्टर र दर्शन ठकुरी समाज अमेरिकाको संयुक्त आयोजनामा तीज मनोरञ्जनात्मक कार्यक्रम गरेको हो । प्रवेश नि:शुल्क गरिएको कार्यक्रममा आगन्तुक सबैलाई दर खुवाई सामुहिक मनोरञ्जन गराएका थिए ।

    च्याप्टरका अध्यक्ष आङ्ग छिरिङ शेर्पाको अध्यक्षतामा भएको कार्यक्रमको छोटो औपचारिक सत्रमा न्युयोर्कस्थित वाणिज्यदूत गणेश प्रसाद अधिकारी प्रमुख आतिथ्यता थियो । त्यसैगरी च्याप्टरका सचिव बासु लामिछाने (दण्डपाणी) ले सञ्चालन गरेको कार्यक्रममा सह-आयोजक संस्थाका अध्यक्षहरु मिलन शाही, बिमला हमाल, शंकर पौडेल, सोमेन्द्र रञ्जित, निशा सुनारको उपस्थिति थियो । अध्यक्षले सबैलाई कृतज्ञता जाहेर गर्दै शुभकामना दिएका थिए ।

    किम्वदन्ति अनुसार सत्ययुगमा पार्वतीले निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएको विश्वास गरिएसँगै अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान रहेको बताइन्छ । सोही पवित्र कार्यको खुसीमा तीजमा नाचगान मनोरञ्जन गर्ने गरिएको हो ।

    तजको दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि तीज समापन हुने चलन छ ।

    अमेरिकाको न्युयोर्क सहरमा मनाइने तीजलाई प्रवासमा मनाइने सबैभन्दा ठुलो तीज कार्यक्रमको रुपमा समेत हर्ने गरिएको छ । अघिल्ला वर्षहरूमा पनि न्युयोर्कमा यस्ता तीज कार्यक्रम निरन्तर गरिंदै आएका थिए ।

  • त्रिभुवन विमानस्थल हुँदै पर्यटक भिसामा खाडी मुलुक जान लागेका १९७ जना प्रहरीको नियन्त्रणमा

    त्रिभुवन विमानस्थल हुँदै पर्यटक भिसामा खाडी मुलुक जान लागेका १९७ जना प्रहरीको नियन्त्रणमा

    काठमाडौं । पर्यटक भिसामा खाडीका विभिन्न देशमा जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका १ सय ९७ जना नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आवश्यक कागजात शंकास्पद देखिएकोले थप अनुसन्धानका लागि तालुक नेपाल प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलमा बुझाइएको अध्यागमन विभागले जनाएको छ ।

    भदौको ८ देखि ११ गतेसम्म विभिन्न एयरलाइन्सको उडानद्वारा पर्यटक भिसा लिइ खाडी देशतर्फ प्रस्थान गर्न लागेका यात्रुहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान क्षेत्रमा जाँच गर्दा हवाई यात्रा अनुमति कागजातहरु शंकास्पद देखिएका महिला १ सय ३ र पुरुष ९४ गरी जम्मा १ सय ९७ जना यात्रुहरुलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोमा बुझाइएको हो ।

  • गहुँ र चिनीमा लगाएको प्रतिवन्ध हटाउने भारतीय राजदूतको संकेत

    गहुँ र चिनीमा लगाएको प्रतिवन्ध हटाउने भारतीय राजदूतको संकेत

    धरान । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भारत सरकारले गहुँ र चिनीमा लगाएको प्रतिबन्ध हटाउने बारे संकेत गरेका छन् । शनिबार धरानमा उद्योग वाणिज्य संघ सुनसरीले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले गहुँ र चिनी आयातमा भारतले लगाएको प्रतिबन्ध हटाउने विषयमा कुराकानी भइरहेको जानकारी गराए ।

    ‘नेपालसँग आर्थिक र वाणिज्यको सम्बन्ध झनै प्रगाढ र सुदृढ होस् भन्ने भारतका जनता र सरकार चाहन्छ । यो क्षेत्रमा भारतसँग नेपालको व्यापार धेरै नै छस उनले भने, ‘हामी चाहन्छौं कि यसलाई अझै बढाउनुपर्छ । यसमा मिरगञ्जको पुल, नयाँ आयात गहुँ र चिनीमा जुन आश छ, यसबारेमा पनि कुराकानी भइरहेको छ ।’ राजदूत श्रीवास्तवले मिरगञ्ज पुल निर्माणका लागि बिहार प्रदेश र केन्द्र सरकारसँग कुराकानी गरिसकेको पनि बताए । उनले पुल निर्माण कार्य चाँडै सकिने पनि जानकारी दिए ।

  • सरकारसंग प्रदिप गिरी क्यान्सर अस्पताल निर्माणको जोडदार माग

    सरकारसंग प्रदिप गिरी क्यान्सर अस्पताल निर्माणको जोडदार माग

    बिष्णु सिंह, न्युयोर्क

    गत अगष्ट २० तारिख स्वर्गीय हुनु भएका नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य माननीय प्रदिप गिरीको जनसम्पर्क समिति अमेरिकाले श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्यो। सयुक्त राष्ट्र संघको एक कार्यक्रममा भाग लिन आएका नेपालका माननीय खानेपानी मन्त्री उमाकान्त चौधरीको प्रमुख आतिथ्यमा अगस्ट २३,२०२२ ज्यक्सन्हाईट, न्युयोर्कमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो।
    कार्यक्रमको सभापतित्व जनसम्पर्क समितिका महासचिव मुनेंद्र नेम्वाङ्गले गरेका थिए भने कार्यक्रम संचालन अनिता परियारले गरेकी थिइन्।

    कार्यक्रमका बक्ताहरुमा श्यामकाजी गुरुङ, सुबास लामा, बिष्णु सिंह,
    बिनोद शाह लगायतले स्वर्गीय प्रदिप गिरीको स्वच्छ, सादगी जीवन, उच्च बिचार, र देशका सबै जनता र बिशेष गरि दलित, महिला, जनजाति, मधेशी र अन्य पिछडिएका जनतालाई बिकास र उत्थान गर्नुपर्छ भनि अडान लिने व्यक्तित्व भएको र आफ्नो अडानमा क्रियाशील रहेको बिभिन्न उदाहरणहरु बक्ताहरुले प्रस्तुत गरेका थिए। उनि राजनीतिक रुपमा काग्रेस पार्टीसंग जोडिएको भएपनि
    उनको समाजबाद, मार्क्सबाद, लेनिनबाद र बिभिन्न ज्ञान हाशिल गरेका व्यक्तित्व भएकाले सबै पक्षले उनको ज्ञानको लाभ उठाएको बुझिन्छ। त्यसैले उनको अन्त्यष्ठिमा सबै पक्षका नेताहरु उपस्थित भई श्रन्धाजली दिएको स्मरण गरिएको थियो। बास्तवमा उनि नेपाल राष्ट्रका सबै पक्षले मानेका राष्ट्रिय नेता थिए भन्ने स्पष्ट भएको छ।
    अन्तमा खानेपानी मन्त्री उमाकान्त, जो स्वर्गीय गिरीका चेला पनि हुन्, ले बिस्तृत रुपमा स्वर्गीय गिरीको विविध पक्षको सविस्तार बर्णन गर्दा कार्यक्रम सभा हाल निकै सुनसान रुपमा मन्त्रीको भनाईहरु सुनिरहेका थिए। अनि नेपालमा यस्ता त्यागी नेता पनि भएको सुन्दा निकै गर्व गरेका थिए।

    त्यस्तै अर्की स्वर्गीय प्रदिप गिरीकी चेली कार्यक्रम संचालिका अनिता परियारले स्वर्गीय गिरीको जीवनका बिभिन्न पक्षमा प्रकाश पारेको थिइन्। साथै गिरीको परिवार र बिभिनं पक्षका जनताले स्वर्गीय गिरीलाई सदाको लागि यादगार बनाउन सरकारले “प्रदिप गिरि क्यान्सर अस्पताल” स्थापना गर्न मन्त्री चौधरीलाई निवेदन गरिन। बिभिन्न पार्टिका नेताहरु लगायत नेपाली जनताहरु नेपालमा आधुनिक क्यान्सर अस्पतालको
    अभावले विदेश धाउनु पर्ने र आर्थिक अभावले ज्यान गुमाउनु परिरहेकोले देशमा नै गिरीको याद र सम्मानमा एक आधुनिक क्यान्सर अस्पताल स्थापना हुनु जरुरी भएको सभामा उपस्थित सबैले मन्त्री चौधरीलाई जानकारी गराए।
    मन्त्री चौधरीले अस्पताल स्थापनार्थ आफुले सरकार र कांग्रेस पार्टिमा जनताको माग र देशको आवस्यकता र स्वर्गीय गिरीको सम्मानार्थ जोडदाररुपमा प्रस्थाव लैजाने बचन दिनु भएको छ।

  • १९६० मा काठमाडौंबाट हराएको मूर्ति अमेरिकामा फेला, नेपाल फर्काइंदै

    १९६० मा काठमाडौंबाट हराएको मूर्ति अमेरिकामा फेला, नेपाल फर्काइंदै

    काठमाडौं । पुरातात्विक महत्वको दूर्गाको एक मूर्ति अमेरिकाबाट नेपाल फर्काइने भएको छ । म्यानहटन जिल्ला सरकारी वकिलको कार्यालयमा विशेष समारोह आयोजना गरी दूर्गाको १३।२५ इन्चको उक्त मूर्ति न्यूयोर्कस्थित नेपालको महावाणिज्य दूतावासका अधिकारीलाई हस्तान्तरण गरिसकिएको छ । समारोहमा म्यानहटन जिल्ला न्यायाधिवक्ता एल्भिन एल ब्रागले कार्यवाहक महावाणिज्यदूत विष्णु गौतमलाई मूर्ति हस्तान्तरण गरे ।

    १४ औंदेखि १८ औं शताब्दी पुरानो अनुमान गरिएको उक्त मूर्ति १९६० मा काठमाडौं उपत्यकाबाट हराएको थियो । उक्त मूर्तिलाई सन् २०२२ को मार्चमा एक निजी घरमा लिलामीमा राखेको पाइएको थियो । त्यसको मूल्य करिब १२ हजार अमेरिकी डलर तोकिएको थियो । महावाणिज्य दूतावास, म्यानहटन जिल्ला महान्यायाधिवक्ताको कार्यालय, अमेरिकाको होमल्याण्ड सेक्युरिटी अनुसन्धान विभाग र नेपालको पुरातत्व विभागले यसको पुनः प्राप्तीमा सहयोग गरेका थिए ।

  • भारतीय सेनाको ‘अग्नीपथ’ योजनामा नेपाली युवालाई भर्ति नगर्न नेपालको आग्रह

    भारतीय सेनाको ‘अग्नीपथ’ योजनामा नेपाली युवालाई भर्ति नगर्न नेपालको आग्रह

    काठमाडौं । भारतीय सेनाको ‘अग्निपथ’ योजनामा नेपाली युवालाई भर्ती नगर्न नेपाल सरकारले भारतलाई आग्रह गरेको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई मन्त्रालयमै बोलाएर यसबारे नेपाल सरकारको धारणा सुनाएका हुन् । उनले नेपाली युवा भर्ती गर्ने योजना स्थगित गर्न आग्रह गरेको मन्त्रालयले जनाएको छ । यो योजना भारतमै विवादित बनेको छ । यसबारे नेपालका सबै दलको एकीकृत धारणा समेत बनेको छैन । सोहीकारण सरकारले तत्काका लागि भर्ती रोक्न भनेको हो ।

    अग्निपथ योजना अन्तर्गत नेपाली युवालाई भर्ती गर्न भारतीय सेनाले बिहीबार रुपन्देहीको बुटवलमा र भदौ १६ गते धरानमा प्रारम्भिक छनौट प्रक्रिया सुरु गर्ने योजना बनाएको छ । भारतीय रक्षा मन्त्री राजनाथ सिंहले सन् २०२२ को जुन महिनामा अग्निपथ योजना सार्वजनिक गरेका थिए । योजना अन्तर्गत भारतीय सैनिकमा १७ देखि २३ वर्ष उमेर समूहका युवालाई चार वर्षका लागि भर्ना गरिने छ । सेनामा भर्ती भएकाहरुलाई ‘अग्निवीर’ भनिने छ । भर्ती भएकाहरुलाई पहिलो वर्ष ४ लाख ७६ हजार भारु दिइने छ ।

    यो चौथो वर्षसम्म बढेर ६ लाख ९२ हजार रुपैयाँसम्म पुग्ने छ । यसको अतिरिक्त जोखिम भत्ता पनि दिइने छ । चार वर्षपछि २५ प्रतिशत सेनामा स्थायी जागिरे हुनेछन् भने ७५ प्रतिशतको जागिर सकिने छ । चार वर्ष सेवा अवधि पूरा गरेर घर फर्किनेहरुलाई ११ लाख ७ हजार भारु उपदान दिइने छ । यसमा कर लाग्ने छैन । चार वर्ष सेवा गरेपछि फेरि बेरोजगार हुने र यसबाट भविष्य बिग्रिने भन्दै युवाहरुले भारतमा विरोध प्रदर्शन गरेका थिए ।

  • भिजिट भिसामा कुवेत जान खोजेका ३९ जना महिला विमानस्थलबाटै फर्काइए

    भिजिट भिसामा कुवेत जान खोजेका ३९ जना महिला विमानस्थलबाटै फर्काइए

    काठमाडौं । कुवेतमा भिजिट भिसामा जान लागेका ३९ जना महिलालाई नेपाल प्रहरीले त्रिभुवन विमानस्थलबाट फर्काएको छ । बुधबार बिहान जजिरा एयरवेजको जहाजबाट कुवेत जान लागेका महिलाहरुलाई प्रहरीले शंकास्पद कागजातका आधारमा फर्काएको छ । उनीहरुले बोकेको कागजात र सोधपुछमा समान नभएपछि प्रहरीले उनीहरुलाई रोकेको बताइएको छ ।

    उनीहरुले भने दुबईमा भिजिट भिसामा जान लागेको बताएका थिए । उनीहरुलाई विदेश लगेर श्रम भिसा दिलाउने प्रलोभन देखाइएको आशंका प्रहरीले गरेको छ । पछिल्लो समय भिजिट भिसामा विदेश लगेर अलपत्र पर्नेहरुको संख्या बढिरहेको छ ।

  • शेर्पा संघ अमेरिकाको अध्यक्षमा पासाङ दोर्जी शेर्पा चयन

    शेर्पा संघ अमेरिकाको अध्यक्षमा पासाङ दोर्जी शेर्पा चयन

    न्युयोर्क

    शेर्पा संघ अमेरिकाको तेश्रो महाधिवेशनले श्री पासाङ दोर्जी शेर्पालाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेका छन् । संघका निवर्तमान अध्यक्ष आङजाङबु शेर्पाको सभाध्यक्षतामा न्युयोर्कको क्वीन्समा सम्पन्न भेलाले कार्यसमितिका अन्य सदस्यहरुसहित सर्वसम्मत चयन गरेको हो ।

    न्यूयोर्कमा नेपाली महावाणिज्यदूतवास कार्यालय अमेरिकाका वाणिज्यदूत गणेशप्रसाद अधिकारीको प्रमुख आतिथ्य तथा बौंद्धधर्मगुरु टुल्कु उर्गेन शेर्पा, शेर्पा संघ नेपालका उपाध्यक्ष पसी शेर्पा, सह-कोषाध्यक्ष बाबुकाजी शेर्पा, एनआरएनए न्यूयोर्क च्याप्टरका अध्यक्ष आङछिरिङ शेर्पा, शेर्पा किदुग अध्यक्ष छिरिङ शेर्पा, युएस नेपाल क्लाईम्बर्स एशोसियसन अध्यक्ष पासाङ शेर्पा, शेर्पा संघ अमेरिका संस्थापक अध्यक्ष निमा शेर्पा लगायतका व्यक्तित्वहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
    कार्यक्रममा शेर्पाहरुको मौलिक संस्कृति झल्काउने श्याब्रु नृत्य तथा विभिन्न प्रस्तुतिहरु देखाइएका थिए ।

  • नेपालमा लगानी गर्न पाकिस्तानका उद्योगीलाई नेपालको आह्वान

    नेपालमा लगानी गर्न पाकिस्तानका उद्योगीलाई नेपालको आह्वान

    लाहोर । पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले लाहोरका उद्योगीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । लाहोर चेम्बर अफ कमर्स (एलसीसीआई) का प्रमुख मियान नौमान कबिरसहित अन्य सदस्यसँगको अन्तरक्रियामा राजदूत अधिकारीले यस्तो आग्रह गरेका हुन् ।

    भेटमा राजदूत अधिकारीले नेपाल र पाकिस्तानबीच द्विपक्षीय आर्थिक सम्बन्धलाई सुदृढ गर्नुपर्ने धारणा राखेका थिए । ‘दुई देशबीचको सम्बन्ध यसै पनि सुमधुर छ । साथै नेपाल र पाकिस्तान असल छिमेकी तथा दक्षिण एसियाली सहयोग संगठन (सार्क) का सदस्य र अन्य समान सामाजिक–सांस्कृतिक पृष्ठभूमि समेत छ,’ अन्तरक्रियाका क्रममा अधिकारीले एलसीसीआईका सदस्यहरूसँग भने ।

    राजदूत अधिकारीले काठमाडौं र लाहोरको ऐतिहासिक सम्बन्ध रहेको बताउँदै १९औं शताब्दीमा नेपालका पूर्व प्रधानमन्त्री माथवर सिंह थापाले लाहोरमा नै निर्वासन जीवन बिताएको स्मरण गरे । उनले नेपाल सरकारको आर्थिक नीतिले सिधै विदेशी लगानी गर्न पाउने व्यवस्था गरेको भन्दै पाकिस्तानका उद्योगीहरूलाई पनि नेपाल स्वागत गर्न तयार रहेको बताए । उनले त्यहाँका व्यापारीहरूलाई भ्रमणको निम्तो दिँदै व्यापार, पर्यटन उद्योग तथा साहासिक पयर्टनमा लगानी गर्नका लागि नेपाल उपयुक्त स्थान रहेको जानकारी दिए ।

    लाहोर चेम्बर अफ कमर्सका प्रमुख कबिरलगायत अन्य सदस्यले नेपालमा रहेको लगानीको अवसरको प्रशंसा गरेका थिए । उनीहरू लगानीको विषयमा बुझ्न र नेपालका व्यापारिहरूसँग अन्तरक्रिया गर्न नेपाल भ्रमणको कार्यक्रम गर्ने प्रतिक्रिया दिएका छन् । उनीहरूले पाकिस्तानी उत्पादनका विषयमा जानकारी गराउन नेपालमा व्यापार मेला गर्ने चाहना समेत व्यक्त गरे ।

    एलसीसीआई पाकिस्तानको सबभन्दा पुरानो चेम्बर अफ कमर्समध्ये एउटा हो । सन् १९२३ मा स्थापना भएको एलसीसीआई अहिले आफ्नो स्थापनाको सयौं वर्ष मनाइरहेको छ

  • अमेरिकाको न्युयोर्कमा २८ औं अन्तर्राष्ट्रिय  विश्व आदिवासी दिवस मनाइयो

    अमेरिकाको न्युयोर्कमा २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस मनाइयो

    न्यूयोर्क

    नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा २८ औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस अमेरिकाको न्युयोर्क सहरमा भब्यताका साथ मनाइएको छ । फिप्नाको १८ वटा सदस्य संस्थाहरु सहआयोजक थिए ।

     
    नेपाल आदिवासी जनजाति महासंघ अमेरिका(फिप्ना) का महासचिव टोमा लामाले ‘हाम्रो भाषा, हाम्रो धर्म, हाम्रो संकृति, हाम्रो पहिचान’, ‘आदिवासी ज्ञानको  संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका’ भन्ने मूल नारालाई उदघोष गर्दै संचालन गर्नुभएको कार्यक्रममा  फिप्नाको अध्यक्ष  राजकुमार बिष्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    कार्यक्रमको प्रमुख अतिथीको रुपमा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि महामहिम राजदूत अमृत बहादुर राई थिए भने विशेष अतिथीहरुमा नेपाल कन्सुलेट जनरल न्यूयोर्कका वाणिज्य दुत गणेश आधिकारी, न्यूयोर्क राज्य विधानसभा जिल्ला ३८ का सदस्य जेनिफर राजकुमार, नेपाल  आदिवासी  जनजाति अन्तर्राष्ट्रिय महासंघका अध्यक्ष मान बहादुर  राना मगर थिए ।

    अतिथिहरुमा Democratic Nominee for Assembly District 30 का Steven Raga, Member of New York City Council District 26 का Julie won को प्रतिनिधि chief of Staff Farah, Queens Community Board 2 का Chair person Morry Galonoy को प्रतिनिधि Danielle Asian advisory Council of City Mayor office/ council board district -3 का सल्लाहकार Potri Ranka Manis, न्यूयोर्क शहर मेयर एरिक आडम्सको एसिया मामिला सल्लाहकार बोर्ड सदस्य र College Point Civic & Taxpayers Association का अध्यक्ष नवराज केसी लगायतका अन्य थुर्पै न्युयोर्क स्थित क्रियाशिल नेपाली संघ संस्थाका अध्यक्षज्युहरु तथा प्रतिनिधिहरुको उपस्थिति थिए ।

    प्रमुख अतिथी राईले आदिवासी जनजातिको विश्व परिवेश, विकाश र महत्वको चर्चा गर्दै नेपाल सरकार पनि आदिवासी जनजातिको विकाश, उत्थान र सहभागिताका लागि प्रतिवद्द रहेको बताए । उनले नेपालको संवैधानिक व्यवस्था र नीति(नियमहरु समेत आदिवासी जनजातिको पक्षमा रहेको बताउनु भयो । 

    बिशेष अतिथि नेपाल कन्सुलेट जनरल न्युयोर्कका बाणिज्यदूत गणेश अधिकारीले आदिवासी उत्थान र आवाजका ज्ञापन पत्रहरुलाई नेपाल सरकार सम्म पुर्याउने र सुनुवाइका लागि भूमिका खेल्ने बताउनु भयो ।

    अतिथिहरुमा न्यूयोर्क सहर मेयर एरिक आडम्सको एसिया मामिला सल्लाहकार बोर्ड सदस्य र College Point Civic & Taxpayers Association का अध्यक्ष नवराज केसी, विदेशी अथितिहरुमा Democratic Nominee for Assembly District 30 का Steven Raga, Member of New York City Council District 26 का Julie won को प्रतिनिधि chief of Staff Farah, Queens Community Board 2 का Chair person Morry Galonoy को प्रतिनिधि Danielle Asian advisory Council of City Mayor office/ council board district -3 का सल्लाहकार Potri Ranka Manis लगायतका अतिथिहरुले मन्तव्य राखेका थिए । कार्यक्रमा विभिन्न आदिवासी समुदायको मौलिक नृत्यहरुको प्रस्तुतिले कार्यक्रममा थप रौनक थपिएको थियो ।
     
    औपचारिक कार्यक्रम सुरु हुनुअघि विभिन्न आदिवासी जनजाति सम्वद्ध संघ(संस्थाहरुले न्युयोर्क सहरको ज्याक्सन हाइटबाट आ(आफ्नो भेषभूषामा झाँकीसहितको र्याली सहित कार्यक्रम स्थल आएका थिए ।

  • नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई आह्वान

    नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई आह्वान

    काठमाडौं । सरकार एवं निजी क्षेत्रले नेपालमा लगानीका लागि भारतीय लगानीकर्तालाई आह्वान गरेका छन् । भारत उडिसाबाट नेपाल भ्रमण आएको उत्कल चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजका पदाधिकारी एवं उद्योगी व्यवसायीहरुको स्वागतमा आयोजित एक कार्यक्रममा यस्तो आग्रह गरिएको हो ।

    उद्योग मन्त्रालयको समन्वयमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले लगानीको सहजताका लागि कानूनी एवं प्रक्रियागत सुधार गरेको जानकारी दिए ।


    उनले चालु आवको बजेटले प्रत्यक्ष वैदेशिक लगानीको सीमा ५ करोडबाट घटाएर २ करोड कायम गरेको, एकद्वार नीति अवलम्बन गरेको समेत जानकारी दिए । उनले नेपालको आर्थिक विकासका लागि निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको समेत उल्लेख गरे । नेपालमा गरिने लगानीका लागि भारत एवं चीन लगायत प्रमुख बजार रहेको भन्दै उनले लगानीका लागि भारतीय लगानीकर्तालाई आग्रह गरे ।

    नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले भारतसँग राजनीतिकसँगै सामाजिक, सांस्कृतिक, आर्थिक सम्बन्ध रहेको वताउदै भारतीय लगानीकर्ताले निर्धक्क भएर लगानी गर्न सक्ने बताए । उनले भारतीय लगानीकर्ताका लागि नेपाल महत्वपूर्ण लगानी गन्तव्य मुलुक रहेको उल्लेख गरे ।

    नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा लगानी गरेका डाबर नेपाल, यूनिलिभर नेपाललगायत कम्पनीले सुरुमा गरेको लगानीको तुलनामा धेरै गुणा नाफा गरिसकेको उदाहरण दिदै लगानीका लागि आग्रह गरे ।

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले नेपाल र भारतबीचको सामाजिक, सांस्कृतिक एवं आर्थिक पक्षबारे चर्चा गर्दै पर्यटन, पूर्वाधारका क्षेत्रमा लगानीका लागि उचित वातावरण निर्माण भएको बताए ।

    कार्यक्रममा भारतीय तथा स्वदेशी लगानीकर्ताबीच उर्जा, खानी तथा रियल स्टेट, स्टील, कपडा, कृषि, खाना तथा प्याकेजिङ, सेवा तथा पर्यटन, शिक्षा, स्वास्थ्य, सूचना प्रविधिलगायतका क्षेत्रमा बीटूबी छलफल भएको छ ।

  • वैदेशिक रोजगारीमा जान एक महिनामा ६३ हजारले लिए श्रम स्वीकृति

    वैदेशिक रोजगारीमा जान एक महिनामा ६३ हजारले लिए श्रम स्वीकृति

    काठमाडौं । वैदेशिक रोजगारीमा जान एक महिनाको अवधिमा ६३ हजार मानिसले श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्षको पहिलो महिना (साउन)मा ६३ हजार ४२ ले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालय ताहचलले जनाएको छ । गत आवको साउनमा २५ हजार चार सय २८ ले मात्र श्रम स्वीकृति लिएका थिए ।

    साउनमा सबैभन्दा बढी मलेसियाका लागि २४ हजार चार सय ८४ श्रम स्वीकृति दिइएको छ । कतारमा १२ हजार पाँच सय ७०, संयुक्त अरब इमिरेट्समा आठ हजार एक सय ४०, साउदी अरेबियामा छ हजार सात सय पाँच र कुवेतमा चार हजार दुई सय ८४ श्रम स्वीकृति जारी भएको छ ।

    पाँच देशले मात्रै कूल श्रम स्वीकृतिको ९० प्रतिशत हिस्सा ओगट्छ । कूल श्रम स्वीकृति लिनेमध्ये पुनः श्रम स्वीकृति लिने ३२ प्रतिशत छन् भने पहिलोपटक लिने ६८ प्रतिशत छन् । श्रम स्वीकृति लिनेमध्ये करिब १० प्रतिशत महिला छन् ।

  • यात्रुमा कोरोना पुष्टी भएपछि हिमालय एयरलाइन्सको चीन उडान चार साता रोकियो

    यात्रुमा कोरोना पुष्टी भएपछि हिमालय एयरलाइन्सको चीन उडान चार साता रोकियो

    काठमाडौं । यात्रुमा कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि चीन सरकारले हिमालय एयरलाइन्सलाई चार साताका लागि उढान गर्न रोक लगाएको छ । नेपाल–चीन उडान चार साताका लागि रोक लगाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    अगस्ट २ मा सो एयरलाइन्सबाट चीन पुगेका १५ जना यात्रुलाई कोरोना देखिएको हो । चीनले अगस्ट २२ देखि लागू हुने गरी उडान बन्द गरेको हो । चीनको नियमअनुसार एउटा उडानमा १० जनाभन्दा बढीमा कोरोना देखिएपछि चार साता उडान रोकिन्छ । हिमालयले चीनको कुइमिङमा सातामा एक उडान गरिरहेको थियो ।

  • नागरिकता विधेयक राष्ट्रपतिबाट फिर्ता

    नागरिकता विधेयक राष्ट्रपतिबाट फिर्ता

    काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छिन् । विधेयकलाई संघीय संसदले पुनर्विचार गर्न आवश्यक रहेको भन्दै राष्ट्रपतिले फिर्ता पठाएको राष्ट्रपति कार्यालयले एक विज्ञप्ती जारी गरी जानकारी दिएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पास भएर विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पुगेको थियो ।

    आधारमा नेपाली नागरिकता पाएकाका सन्तानले वंशजका आधारमा नागरिकता पाउने र आमाको नामबाट पनि नागरिकता पाउने प्रावधान नयाँ विधेयकमा थियो । यसले गैरआवासीय नेपालीलाई समेत नागरिकता पाउने बाटो खोलेको थियो । विधेयक १५ साउनमा राष्ट्रपति समक्ष पुगेको थियो ।

  • मनिष डांडीले बहराइनबाट व्यवसायिक फुटबल खेल्ने

    मनिष डांडीले बहराइनबाट व्यवसायिक फुटबल खेल्ने

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर मनिष डाँगी बहराइनको क्लब इत्तेहाल अल रेफमा अनुबन्ध भएका छन् । क्लबले शनिबार मनिषसँग सम्झौता गरेको जनाएको छ । मनिष एक बर्षका लागि इत्तेहाल अल रेफमा अनुबन्ध भएका हुन् । उनको पारिश्रमिक खुलाईएको छैन । इत्तेहाल अल रेफ दोस्रो श्रेणीको क्लब हो ।

    नेपालको घरेलु लिगमा मनिषले मछिन्द्र क्लबबाट गतवर्ष ‘ए’ डिभिजन लिग खेलेका थिए । मच्छिन्द्रले लिगको उपाधि समेत जितेको थियो । उनले विश्वकप छनोटको तयारीका लागि इराकमा भएको मैत्रीपूर्ण खेलबाट नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् । उनले राष्ट्रिय टोलीबाट १४ खेले खेल्दै दुई गोल गरेका छन् ।

  • फिनल्याण्ड पुगेर प्रवाशी नेपालीसँग उर्जामन्त्रीले भनिन् : नेपालमै सुखी जीवन बिताउन सकिन्छ

    फिनल्याण्ड पुगेर प्रवाशी नेपालीसँग उर्जामन्त्रीले भनिन् : नेपालमै सुखी जीवन बिताउन सकिन्छ

    हेल्सिन्की । जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विदेशमा रहेका नेपालीका दक्षता र अनुभव नेपालको समृद्धिमा लगाउनुपर्ने बताएकी छन्। रोजगारी, शिक्षालगायत विभिन्न अवसरको खोजीमा विश्वभर छरिएका नेपालीले आफ्नो मातृभूमिको आर्थिक तथा सामाजिक विकासका लागि योगदान गर्नुपर्ने उनको भनाई छ ।

    फिनल्याण्डमा बसोबास गर्ने नेपाली समुदायले हेल्सिन्कीमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले भनिन्, ‘यहाँ बसेर तपाईंहरूले कामलाई पूजा गर्न सिक्नुभएको छ, नेपालमा पनि यो संस्कारलाई सम्मान गर्ने अवस्था सिर्जना गर्नुपर्छ, आत्मविश्वास र स्वाधिनताको भावना बोकेर नेपाल आउनुहोस्, यहाँ जत्तिको पसिना नबगाइकन स्वदेशमै सुखी जीवन बिताउन सकिन्छ।’ उनले अब नेपालको उद्देश्य आर्थिक र सामाजिक विकास भएको बताइन्।

    ‘सबैले शिक्षा, रोजगार, आवास र स्वास्थ्य पाउन सक्ने अवस्था हामीले संविधानमै व्यवस्था गरेका छौँ। यहाँहरू पनि नेपालमा आएर देशलाई समृद्ध बनाउने अभियानमा लाग्नुहोस्,’ उनले भनिन्।

    विकसित देशका राम्रा कुरा सिकेर आफ्नै देश निर्माणमा जुट्नुपर्नेमा जोड दिँदै उनले फिनल्याण्डवासीले आर्थिक समृद्धिमा अगाडि बढेजस्तै नेपालीले पनि आफ्नो देशलाई आर्थिकरूपमा सबल बनाउनका लागि विश्वभरका नेपाली लाग्नुपर्ने बताइन्। आफूले कृषियोग्य जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्यका साथ अगाडि बढेको र आगामी दिनमा पूरा हुने बताइन्।

    नेपाली समाजलाई एकीकृत गरेर आफ्ना हक अधिकारका लागि अगाडि बढ्न सुझाव दिँदै मन्त्री भुसालले भनिन्, ‘फिनल्याण्डमा बस्ने नेपाली एकीकृत हुनुपर्छ, आफ्ना अधिकारलाई सुनिश्चित गर्नका लागि सामूहिक पहल गर्नुपर्छ। विदेशमा बसेर आफूहरूबीच नै विभाजनको मनस्थिति राख्नु हुँदैन, राजनीति गर्न हुँदैन।’

    उनले कन्सुलर अफिस स्थापना गरेर नेपालीलाई भिसाका लागि हुने समस्यालाई समाधान गर्न पहल गर्ने विश्वास दिलाइन्। मन्त्री भुसालले युरोपेली सङ्घभित्रको फिनल्याण्डमा राजनीतिक तथा प्रशासनिक काममा महिला अगाडि बढेको अवस्थालाई अनुशरण गर्दै नेपाली महिलाले पनि आफ्ना क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिइन्।

  • बोस्टनमा तीज महोत्सव-२०२२ को तयारी तिब्र

    बोस्टनमा तीज महोत्सव-२०२२ को तयारी तिब्र

    तीजको लहर आयो बरी लै…

    बर्षौदेखि नेपालीहरुको महान चाड हरितालिका तीजको अवसरमा एकछत्र गुन्जने गीत हो यो। तीजका अवसरमा अन्य तीज लक्षित गीतहरु पनि गुन्जिने गर्दछन्। जब तीज नजिकिन थाल्छ, तब यस्ता गीतहरुले आफ्नो मौनता तोडदै गाँउदेखि शहरसम्म सर्वत्र गुन्जिन थाल्छन् । जसले नेपालीहरुमा हर्षोल्लास र उमङ्गको छुट्टै तरङ्ग पैदा गरिदिन्छ । यस वर्ष पनि हरितालिका तीज नजिकिसकेका कारण तीज लक्षित गीतहरु गाँउदेखि शहरसम्म, देशदेखि बिदेशसम्म गुञ्जिन थालिसकेका छन् । र, नेपाली समुदायमा उल्लास तथा उमङ्ग छाउन सुरु भैसकेको छ। कलाकार तथा संघ संस्थाहरुलाई पनि भ्याइ नभ्याइ हुन थालिसकेको छ। महिलादेखि पुरुषसम्म भुरादेखि बुढासम्म सबैलाई तीजले प्रतक्ष्य अप्रतक्ष्य रुपमा छोइ सकेको छ।यसबाट अमेरिकाको मासाचुसेट्स राज्यमा बसोबास गर्ने नेपाली/नेपाली भाषी समुदाय पनि यसबाट अछुतो रहन सकेका छैनन्।

    केही वर्षदेखि कोरोना कहरका कारण सामूहिक तीज कार्यक्रमहरु प्रभावित हुदै आइरहेका छन्। गत वर्ष मासाचुसेट्स बासी नेपाली/नेपाली भाषी समूदायले सामूहिक तीज कार्यक्रम गर्न निकै तयारी गरेका थिए। तर, दुर्भाग्य ! अन्तिममा गएर तय गरिएको तीज कार्यक्रम कोरोना कहरकै कारण देखाउदै रद्ध गर्न आयोजक बाध्य भएको थियो। यस वर्ष भने अवस्था केही सुध्रिएकाले तीज पर्व सामूहिक रुपमा मनाइने निर्णय भएसंगै तयारी थालिएको थियो। यसका लागि बोस्टन स्थित नेपाली समुदायको संस्थाहरु ग्रेटर बोस्टन नेपाली समुदाय र गैर आवासीय नेपाली संघको संयुक्त आयोजनामा ’बोस्टन तीज महोत्सव-२०२२’ भव्य र सभ्य रुपमा मनाउन आवश्यक तयारी तिब्र रुपमा गरिदै छ। उक्त कार्यक्रम वाटर टाउन सिटीको सेन्ट जेम्स अर्मेनियन चर्च भवनमा, यही आउदो अगष्ट २० तारिख (शनिवार)का दिन आयोजना गर्ने गरी आवश्यक तयारीलाई तिब्रता दिइरहेको आयोजकले जनाएको छ।
    तीजको मूल मर्मलाई आत्मसात् गर्दै धार्मिक, साँस्कृतिक, परम्परा र नेपाली पहिचानको संरक्षण तथा संवर्धन गर्दै मनोरञ्जन गर्ने तीज महोत्सव-२०२२को मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।

    आयोजक संस्था गैर आवासीय नेपाली संघ, म्यासाचुसेट्स च्याप्टरका अध्यक्ष प्रेम तामाङले जानकारी दिनु भए अनुसार, महोत्सवमा नेपाली पहिचानसहितका विभिन्न मिष्ठान्न परिकारहरु समेटेर दर खाने कार्यक्रम पनि समेटिएको छ। उहाँले भन्नु भयो,‘कोरोना कहर सुरु भएदेखि हाम्रो तीज कार्यक्रम प्रभावित भएको छ। यस वर्ष भने सहज वातावरण भएकाले भव्य र सभ्य रुपमा तीज मनाउन हामी तयारीमा जुटिरहेका छौं। यस वर्षको तीज महोत्सव मार्फत परदेशमा रहेका नेपालीहरु बिच आत्मीय एकताको अपरिहार्यता महसुस गरेर सोही अनुरुप आवश्यक एकताको सन्देश समेत दिने गरी तयारी गरिरहेका छौं।’
    अध्यक्ष तामाङले तीज महोत्सव-२०२२लाई लक्ष्य र उद्देश्य अनुसार सफल बनाउन, आवश्यक सहयोग र सहभागिताका लागि सरोकार वालाहरु र सम्पूर्ण बोस्टन बासी नेपाली/नेपाली भाषीहरुलाई अनुरोध समेत गर्नु भएको छ।

    तीज महोत्सवलाई चाडको मर्ममा केन्द्रिकृत गर्दै सक्दो मनोरञ्जनात्मक तथा उल्लासमय बनाउने गरी आवश्यक तयारीमा जुटेको कुरा अर्को आयोजक संस्था ग्रेटर बोस्टन नेपाली कम्युनिटिका अध्यक्ष मिलन कुमार कार्कीले जानकारी दिनु भयो। अध्यक्ष कार्कीले भन्नु भयो,’ हरितालिका तीजको मर्ममा केन्द्रिकृत भएर तीज महोत्सव-२०२२ मनाउन सक्दो प्रयास गर्ने छौं।’ अध्यक्ष कार्कीका अनुसार आयोजकले नेपालीहरु बिचको एकता र आत्मीय भातृत्वलाई सुमधुर बनाउनमा कार्यक्रमले अहम भूमिका खेल्ने आशा गरेको छ।’ उहाँले जिकिर गर्नु भयो,’ यो तीज महोत्सव कार्यक्रमले नेपाली/नेपाली भाषीहरुको बिच सामिप्यता, एकता र भातृत्वलाई थप मजबुत बनाउन अहम भूमिका खेल्छ भन्नेमा हामी आशावादी छौं।’

    आयोजकले जानकारी दिए अनुसार कार्यक्रममा सहभागिता जनाउनका लागि प्रति व्यक्तिले सहयोग स्वरुप अग्रिम टिकट खरिद गरेमा ३५ डलर र कार्यक्रम स्थलमै टिकट खरिद गरेमा ४५ डलर भुक्तान गर्नु पर्ने व्यवस्था गरिएको छ भने, १२ वर्ष मुनिका बाबालिकालाई शुल्क नलाग्ने र १२ वर्ष माथिकालाई पुरा शुल्क लाग्ने छ। उक्त कार्यक्रममा ३५० टिकट बिक्री गर्ने आयोजकको लक्ष्य रहेको छ।

    महोत्सवलाई मनोरञ्जनात्मक तथा हर्षोल्लासमय बनाउन, साँगितिक कार्यक्रमको पनि आयोजना गर्ने गरी तयारी गरिएको आयोजकले दावी गरेको छ। महोत्सवमा स्थानीय नेपाली कलाकारहरुद्वारा नेपालीपन झल्किने तीज केन्द्रित गीतहरु र नृत्यहरु समेत पस्किने छन्।

    हिन्दू धार्मिक ग्रन्थ अनुसार पार्वतीले निराहार व्रत बसी विधि पूर्व शिवको पूजा, अर्चना, आराधन र प्रार्थना गरेर भगवान शिव जस्तो होनहार शक्तिमान वर पाएको भन्ने बिश्वासका आधारमा सोही अनुसार यो चाड मनाइदै आइरहेको छ। जस अनुसार हिन्दु धर्मावलम्बी महिलाहरुले विवाहित भए पतिको सुस्वास्थ्य,दिर्घायू र उत्तरोत्तर प्रगतिको कामनासहित सुखद् दामपत्य जीवनको र अविवाहित भए भगवान शिव जस्तै योग्य वर पाँऊ भनी पूजा,अर्चना,स्तुति र प्रार्थना गरी यो चाड भब्यताका साथ मनाउने गरिन्छ।यसका अतिरिक्त यस चाडलाई माइती र चेली बिचको सम्बन्धलाई सुमधुर बनाउने, ज्ञान शिक्षा आदानप्रदान गर्ने, महिला अधिकार र सशक्तिकरण गर्ने, गीत संगीतको संरक्षण तथा संवर्धन गर्ने र मनोरञ्जन गर्ने सुवर्ण अवसरका रुपमा पनि सदुपयोग गरिदै आइरहिएको छ। तर,पछिल्लो समयमा यो चाडलाई बृहत र नयाँ रुपमा मनाउने नाममा, भित्रिएका परिवर्तनहरुले भने चाडको मुख्य मर्म नै मर्न लागेकोप्रति भने सर्वत्र चिन्ता बढ्दै गएको छ ।यस प्रति सबै सचेत हुन जरुरी छ।

    –सुपेन्द्र बस्नेत

  • वैदेशिक रोजगारीमा गएकालाई आइपीओमा आरक्षण स्वीकृत

    वैदेशिक रोजगारीमा गएकालाई आइपीओमा आरक्षण स्वीकृत

    काठमाडौं । सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले संगठित संस्थाले जारी गरेको प्राथमिक निष्कासन (आईपीओ) मा १० प्रतिशत आरक्षण पाउने निश्चित भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमै यस्तो घोषणा गरेको थियो । यो व्यवस्था कार्यान्वयनका लागि धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता तथा निष्कासन नियमावली’ संशोधन गरी स्वीकृतिका लागि पठाएको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली स्वीकृत गरेको हो ।

    मुलुकमा विदेशी मुद्रा सञ्चिति निरन्तर घट्न थालेपछि बैंकिङ प्रणालीबाट भित्रिने रेमिट्यान्सको परिमाण बढाउन सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओमा आरक्षण दिने व्यवस्था घोषणा गरेको थियो ।

    बोर्डले संशोधन गरी पठाएको नियमावलीमा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले आईपीओमा १० प्रतिशत आरक्षण पाउने उल्लेख छ । यो व्यवस्थाअनुसार अब संगठित संस्थाले आईपीओ जारी गर्दा सर्वसाधारणलाई छुट्याएको सेयरमध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा गएकालाई वितरण गर्नुपर्नेछ । यसरी छुट्याइएको सेयर बिक्री नभएको अवस्थामा मात्र अरूलाई बिक्री गर्न पाइनेछ ।

    वैदेशिक रोजगारीमा गएका नेपालीले आईपीओमा आवेदन दिन नेपालमा आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थामा रेमिट्यान्स खाता खोल्नुपर्नेछ । त्यही रेमिट्यान्स खातामार्फत सेयरमा आवेदन दिनुपर्नेछ । मन्त्रिपरिषद्बाट नियमावली स्वीकृत भएसँगै अब बोर्डले त्यससम्बन्धी निर्देशिका बनाउनेछ । निर्देशिकामा सेयरमा आवेदन दिने प्रक्रिया, आवश्यक कागजातलगायत सबै कुरा उल्लेख गरिने धितोपत्र बोर्डले जनाएको छ ।

  • चीनबाट फर्किएका परराष्ट्र मन्त्री खड्काले भने : चीनलाई विश्वास दिलाउन सफल भएँ

    चीनबाट फर्किएका परराष्ट्र मन्त्री खड्काले भने : चीनलाई विश्वास दिलाउन सफल भएँ

    काठमाडौं । परराष्ट्र मन्त्री नारायण खड्का तीन दिने चीन भ्रमण पुरा गरी काठमाडौं फर्किएका छन् । उनले नेपाली भूमि चीनविरूद्ध प्रयोग गर्न नदिनेमा चीनलाई विश्वास दिलाउन आफु सफल भएको प्रतिक्रिया दिए ।

    उनले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले समकक्षी वाङ यीलाई नेपालको भूमि चीनविरूद्ध प्रयोग गर्न नदिनेमा विश्वास दिलाएको बताएका हुन् । नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको समेत उनको भनाई छ । उनी मंगलबार चीन प्रस्थान गरेका हुन् ।

    नेपालले यस भ्रमणका सिलसिलामा नेपाललाई १५ अर्ब रुपैयाँ सहयोगको घोषणा गरेको छ ।

  • परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षीबीच भेट

    परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षीबीच भेट

    काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच बुधबार भेटवार्ता भएको छ । चीनको साङदोङ प्रान्तको छङ्दाओ सहरमा भएको उनीहरुबीच भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा दुई देशबीचको आपसी सम्बन्ध विस्तारको विषयमा कुराकानी भएको चिनियाँ सञ्चारमाध्यमले लेखेका छन् । छलफलमा यसअघि सम्झौता भएका भौतिक परियोजनालाई अघि बढाउने विषयमा छलफल भएको छ ।

    भेटमा काठमाडौं चक्रपथको दोस्रो खण्ड विस्तार, टोखा–छहरे सुरुङ मार्ग र काठमाडौं–केरुङ रेल मार्गको विषयमा चीनसँग छलफल भएको बताइएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री खड्का ११ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै मंगलबार राती चीनको साङदोङ प्रान्तको छङ्दाओ सहर पुगेका हुन् ।

  • परराष्ट्रमन्त्री खड्का चीनमा, आज समकक्षी वाङ यीसँग भेट

    परराष्ट्रमन्त्री खड्का चीनमा, आज समकक्षी वाङ यीसँग भेट

    काठमाडौं । परराष्ट्र मन्त्री तीन दिने औपचारिक भ्रमणका सिसिलामा चीन पुगेका छन् । आज नेपाल र चीनका परराष्ट्र मन्त्रीहरूबीच वार्ता हुँदैछ । परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच बुधबार द्विपक्षीय वार्ता हुन लागेको हो। नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै परराष्ट्र मन्त्री खड्का मंगलबार राती चीन प्रस्थान गरेका हुन् ।

    नेपाली प्रतिनिधि मण्डलमा परराष्ट्रसहित, गृह, भौतिक पूर्वाधार, वाणिज्य र अर्थ मन्त्रालयका उच्च अधिकारी सहभागी छन्। चीनको छिङताओ सहरमा हुने वार्तामा नेपाल(चीन सम्बन्धका विभिन्न विषयबारे छलफल हुने । गत वर्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि पहिलो पटक उच्चस्तरीय नेपाली टोली चीन गएको हो। नेपाली टोलीको सम्मानमा चिनियाँ विदेश मन्त्री यीले आजै भोज दिनेछन्। परराष्ट्र मन्त्री खड्कासहितको टोली बिहीबार स्वदेश फर्कने छ।

  • कोभिडपछि रोकिएको कोरियाको रोजगारी पुनः सूचारु गर्ने

    कोभिडपछि रोकिएको कोरियाको रोजगारी पुनः सूचारु गर्ने

    काठमाडौं । रोजगार अनुमति प्रणाली ईपीएसअन्तर्गत कोरिया रोजगारीका लागि कृषि तथा पशुपालनतर्फको पहिलो चरणमा भाषा, सीपसहितका अन्य प्रक्रियामा सफल भएका उम्मेदवारलाई कात्तिकभित्र दक्षिण कोरिया पठाउने प्रक्रिया थालिएको छ । वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले कृषितर्फको पहिलो चरणमा लिइएको भाषा र सीप परीक्षामा उत्तीर्ण भएका उम्मेदवारको नाम दक्षिण कोरिया मानव संशाधन विभाग (एचआरडी) को रोस्टरमा पठाउन लागेको हो ।

    ईपीएस कोरिया शाखाका अनुसार रोस्टरमा नाम पठाउने सूचीमा रहेका उम्मेदवारको व्यक्तिगत चारित्रिक विवरण ठीक भएको प्रहरी प्रतिवेदन र स्वास्थ्य परीक्षणको रिपोर्टसहित रोजगार आवेदन फारमसहितको नाम रोस्टरमा पठाइएको छ । दक्षिण कोरिया सरकारले कृषि तथा पशुुपालनतर्फ दुई हजार ७४१ जना श्रमिकको माग आएकोमा पहिलो चरणमा एक हजार ८०९ जना उत्तीर्ण भएका छन् । परीक्षाका लागि जम्मा छ हजार ५९७ जनाले आवेदन दिएकोमा छ हजार १०६ जनाले परीक्षा दिएका थिए ।

    कृषितर्फको दोस्रो चरणका लागि असार १३ गतेदेखि २२ गतेसम्म भएको परीक्षामा एक हजार १०३ जना उत्तीर्ण भएका छन् । दोस्रो चरणमा उत्तीर्ण भएका उम्मेदवारको स्वास्थ्य परीक्षण, व्यक्तिगत चारित्रिक विवरण ठीक भएको प्रहरी प्रतिवेदनसहित रोजगार आवेदन फारम भराउने काम भइरहेको छ । कृषि तथा पशुपालनतर्फको पहिलो र दोस्रो चरणमा गरेर दुई हजार ९१२ जना उत्तीर्ण भएका छन् । ईपीएस शाखाका उक्त क्षेत्रका लागि दुई हजार ७४१ जनाको माग रहेको छ । मागको सङ्ख्या र उत्तीर्ण सङ्ख्या हेर्दा १७१ जना बढी हुन आउँछ ।

    सन् २०२२ मा उत्पादनतर्फ ईपीएसमार्फत रोजगारीमा दक्षिण कोरिया जानेका लागि पहिलो चरणको परीक्षण साउन २ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन गरिनेछ । ईपीएस शाखाका अनुसार उत्पादनतर्फको पहिलो चरणको परीक्षाका लागि १५ हजार ३८३ जनाले आवेदन दिएका छन् । यस्तै उत्पादनतर्फको दोस्रो चरणको परीक्षा आउँदो भदौ २० गतेबाट असोज २१ गतेसम्म सञ्चालन हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।

    सो शाखाका अनुसार दोस्रो चरणको परीक्षाका लागि १८ हजार ९९५ जनाले आवेदन दिएका छन् । उक्त परीक्षाबाट यस वर्षका लागि उत्पादनतर्फ माग भएको छ हजार ९१३ जना छनोट गरिनेछ । सन् २०१९ पछि दुई वर्ष रोकिएको भाषा परीक्षा सन् २०२२ का लागि नौ हजार ६५४ जनालाई छनोट गर्ने योजनासहित आवेदन माग गरिएको थियो ।

  • जापानबाट प्रचण्डको घोषणा, चितवन ३ बाट चुनाव लड्छु

    जापानबाट प्रचण्डको घोषणा, चितवन ३ बाट चुनाव लड्छु

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । यसअघि उनको उम्मेदवारी कहाँ हुन्छ भन्ने बारे अनेक अड्कलबाजी गरिएको थियो । जापानमा नेपाली पत्रकारहरुसँगको कुराकानीमा विभिन्न जिल्लाबाट चुनाव लड्न प्रस्ताव आए पनि आफू चितवनबाटै उम्मेदवारी दिने जानकारी उनले गराए ।

    ‘मैले प्रष्टसँग ४–५ महिना अगाडिदेखि भनेको छु । म अन्तबाट होइन, चितवनबाटै लड्छु, चितवनको पनि क्षेत्र नम्बर ३ बाटै लड्छु’ उनले भने, ‘बरु तपाईंहरु जापानमा रहने साथीभाइहरुले पनि सहयोग गर्नुहोला ।’ देशको केन्द्रविन्दुमा रहेको र विकासको तीब्र गतिमा जाने सम्भवना भएकाले देशभरि सन्देश जाओस् भनेर चितवनलाई महत्व दिएको प्रचण्डले बताए । उनका अनुसार रुकुम, गोरखा, धनुषा, सिरहा, कालीकोटमा समेत चुनाव लड्न प्रस्ताव भने आएको उनले बताए ।

    उनले आफू प्रधानमन्त्री बन्ने दौडमा भने नरहेको समेत बताए । राजनीतिक स्थिरता र विकासको वातावरण बनाउन आफ्नो भूमिका भए पुग्ने उनले बताए । ‘प्रधानमन्त्री बन्ने अफर मलाई धेरै आयो २०७४ पछि आयो, म प्रधानमन्त्रीको रेसमा छैन भनेँ मैले’ उनले भने, ‘अहिले पनि छ, तर म प्रधानमन्त्रीको रेसमा छैन ।’

  • परराष्ट्र मन्त्री खड्का आज चीन भ्रमणमा जाँदै

    परराष्ट्र मन्त्री खड्का आज चीन भ्रमणमा जाँदै

    काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का मंगलबार चीन भ्रमणमा जाने भएका छन् । मन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको तीनदिने भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मन्त्री खड्काको भ्रमण ‘दुई मुलुकबीच विश्वासको वातावरण बढाउन’ केन्द्रित रहनेछ।

    उनले चिनियाँ समकक्षी वाङ यीसँग बुधबार चीनको सान्तोङ प्रान्तको छिङ्ताओमा भेट्नेछन् । चीनका परराष्ट्र मन्त्रीको निम्तोमा मन्त्री खड्का भ्रमणमा जान लागेका हुन्। एक वर्षअघि शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक नेपाल सरकारका उच्च कूटनीतिज्ञ चीन जान लागेका हुन्। मन्त्री खड्का बिहीबार स्वदेश फर्किनेछन् ।

  • जापान पुगेर प्रचण्डले भने : विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार दिनेबारे छलफल जारी छ

    जापान पुगेर प्रचण्डले भने : विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार दिनेबारे छलफल जारी छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा छलफल भइरहेको जानकारी गराएका छन् । जापान भ्रमणमा रहेका उनले शनिबार त्यहाँ आयोजित एक कार्यक्रममा भने, ‘अहिले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने तिर हामी बहस गरिरहेका छौं ।’ उनले हालै प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको नागरिकता संशोधन विधेयकले गैरआवासीय नेपालीको नागरिकताको समस्या पनि समाधान गरेको बताए ।

    ‘विधेयक संशोधन गर्दा विदेशमा रहेका नेपालीको नागरिकतालाई अझ सहज बनाउने गरी विधेयक संशोधनको प्रक्रिया अघि बढाएका छौं’ उनले भने । पूर्वप्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपालीहरुको सीप आर्जन र अनुभवलाई ठीक ढंले सम्बोधन गर्ने र एनआरएनसँग सम्बन्धित सबै नेपालीलाई नागरिकताको समस्याबाट मुक्त गर्ने पनि आश्वासन दिए । अहिले नेपालमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी भएको भन्दै प्रचण्डले चुनावपछि स्थिर र बलियो सरकार बन्ने बताए । ‘प्रदेश र संघको निर्वाचनपछि स्थिर र बलियो सरकार बन्नेछ । जननिर्वाचित बलियो सरकारले अब ढिलो नगरी आर्थिक विकासलाई प्राथमिकतामा राख्नेछ ।

  • न्युयोर्कमा चौंथौं विश्व नेवा सम्मेलन शुरु

    न्युयोर्कमा चौंथौं विश्व नेवा सम्मेलन शुरु

    न्युयोर्क । अगष्ट ५, २०२२

    नेवा संस्कृति, भाषा र परंपरालाई प्रवासमा पनि जीवन्त राख्दै निरन्तरता प्रदान गर्नका लागि अमेरिकाको न्युयोर्क सहरमा ३ दिने चौंथौं विश्व नेवा सम्मेलन २०२२ शुरु भएको छ । न्युयोर्कको क्वीन्सस्थित लग्वार्डिया प्लाजा होटलमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रस्तुति सहित ३ दिने सम्मेलन शुरु भएको हो ।

    नेवा गुठी न्युयोर्क र वर्ल्ड नेवा अर्गनाइजेशन न्युयोर्क च्याप्टरको आयोजनामा भएको सम्मेलनको शुरूवात नेवारी भाषाको चलचित्र “कर्म” को प्रदर्शन सहित गरिएको थियो । फिल्मको निर्माण र मर्म उपर निर्माता राजेन्द्र शाक्यले मन्तव्य राखेका थिए । विशेष अतिथी वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ तथा गायक यमन श्रेष्ठले कार्यक्रममा आफ्नो अनुभव तथा गीत प्रस्तुत गरेका थिए ।

    नेवारी भाषामा नै सम्मेलनका महासचिव बिशव राजोपाध्यायले कार्यक्रम सञ्चालन गरेका थिए भने कन्भेनर समिर महर्जनले कार्यक्रमको महत्वमाथि प्रकाश पारेका थिए ।

    सम्मेलनमा उपस्थित पाहुनाहरुलाई गाला डिनर सहित साँगीतिक माहोलले मनोरञ्जन प्रदान गरेका थिए । सम्मेलनको पहिलो दिन नेपालीहरुको उत्साहजन उपस्थिति देखिन्थ्यो । भोली र पर्सी हुने कार्यक्रमका बारेमा गुठीका अध्यक्ष बिजयमान सिंहले पर्चा सहित जानकारी गराएका थिए ।