Category: डायस्पोरा

  • प्रकाश दूतराजको सन्देश: कसरी मार्न सक्थे र यो शरीरलाई ?

    प्रकाश दूतराजको सन्देश: कसरी मार्न सक्थे र यो शरीरलाई ?

    काठमाडौं । आत्महत्या प्रयास गरेको समाचार आएपछि गायक प्रकाश दूतराजले त्यसको खण्डन गर्दै भावुक सदेश प्रकाशित गरेका छन् । दूतराजले आइतबार राति आत्महत्या प्रयास गरेको समाचार सोमबार प्रकाशित भएका थिए । उनी अहिले अष्ट्रेलियामा छन् । दूतराजले मंगलबा बिहानै सामाजिक सञ्जालमार्फत यो समाचारको खण्डन गरेका छन् । उनले भनेका छन्, ‘ म केही छिन् हराउँनु म मर्नु हैन नि ’ आफू कहिलेकाँही त्यतिकै हराइदिने गरेको, कहिले अँध्यारो बन्द कोठाभित्र घण्टौंसम्म आफैंलाई थुनिदिने गरेको पनि बताएका छन् ।

    ‘हजारौं कोसिस गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘ यसलाई रोग भनु या मेरो विशेषता ?’ यही कारणले पनि आफूले आफैंलाई दुस्खी बनाउने गरेको उनको भनाइ छ ।


    उनले समाचारपछि आफू र परिवारलाई असजिलो महसुस भएको गुनासो गरेका छन् । ‘समाचार पढें असजिलो महसुस भयो, ‘ उनले अघि लेखेका छन्, ‘ बोली मधुरो पार्दै आमाले फोन गर्नुभएको थियो – सानो दुस्खले जन्माएको हुर्काएको होइनौं नि तिमीहरू लाई ’ गलत बुझाइका कारण समाचार आएको दाबी दूतराजको छ । र, त्यसले शुभचिन्तकहरूमा परेको असरप्रति क्षमा माग्दै उनले अन्तिममा लेखेका छन्, ‘ माया गर्नेहरूको आँसुले सराप्छ, कसरी मार्न सक्थें र यो शरीरलाई ?’

  • क्यानडाले तीन वर्ष भित्र १४ लाख आप्रबासी भित्राउने

    क्यानडाले तीन वर्ष भित्र १४ लाख आप्रबासी भित्राउने

    काठमाडौं । क्यानडाले आगामी तीन वर्ष भित्र १४ लाख आप्रबासीलाई भित्राउने भएको छ । सो मुलुकका आप्रवासन मामिलामन्त्री सन फ्रेजरले आगामी तीन वर्षमा करिब १४ लाख आप्रवासीहरूलाई स्वागत गर्ने योजनाको घोषणा गरेका छन् । उनको घोषणा अनुसार क्यानडाले सन् २०२३ मा स्थायी बसोबासका लागि नयाँ चार लाख ५० हजार आप्रवासी भित्र्याउनेछ। त्यस्तै सन् २०२४ मा चार लाख ८५ हजार र २०२५ सम्ममा पाँच लाख आप्रवासीसम्मलाई त्यस्तो अनुमति दिनेछ। यो भनेको क्यानडा सरकारको प्रारम्भिक लक्ष्यभन्दा करिब १३ प्रतिशतको वृद्धि हो।

    त्यसरी क्यानडाले आप्रवासीहरूलाई स्वागत गर्ने नीति लिनुको कारण उक्त देशमा देखिएको कामदारको कमीलाई पूर्ति गर्नु भएको बीबीसीले लेखेको छ । अहिले पनि त्यहाँ हजारौँ जागिर खुले पनि दक्ष जनशक्तिको अभावमा त्यसको पूर्ति हुन सकेको छैन। क्यानडाको घोषणा ब्रिटेन जस्ता देशहरूले अपनाएको कडा आप्रवासी नीति विपरीत हो। अमेरिकामा पनि पछिल्ला निर्णयहरूले आप्रवासी नीति कडा पारिएको देखाएका छन्। कोभिड महामारीका बेलामा खुला भएका पदहरूमा पनि जनशक्ति पूर्ति नभएपछि अहिले क्यानडाले लचिलो नीति लिएको हो।

    तर क्यानडाको श्रम बजारको विवरणहरू विरोधाभासपूर्ण छन्। त्यहाँ विभिन्न क्षेत्रमा कुल साढे ९ लाख पदहरू खाली छन् तर १० लाख मानिसहरू बेरोजगार छन्। आवश्यक पर्ने खालको दक्षता र सीप नभएका कारण कतिपय क्षेत्रमा पदपूर्ति हुन सकेको छैन भने केही क्षेत्रमा कामदारहरूले दिगो रूपमा काम गरिरहेका छैनन्। त्यस्तै सरकारले सङ्केत गरे अनुसार धेरै क्यानेडियनहरूले जागिरबाट अवकाश लिइरहेका छन् र उनीहरूले छाडेपछि खाली भएको स्थान रिक्त नै रहेको छ। यो कार्यक्रमले हाल सरकारी सहायतामा निर्भर रहेका शरणार्थीहरूको पुनर्वास पनि बढाउन खोजेको छ।

  • अमेरिकी ट्राभल मेलामा नेपाली पर्यटन व्यवसायीहरु सहभागी

    अमेरिकी ट्राभल मेलामा नेपाली पर्यटन व्यवसायीहरु सहभागी

    न्युयोर्क

    पर्यटन र भ्रमणलाई लक्षित गरी अमेरिकाको न्यूयोर्कमा ‘न्यूयोर्क अन्तर्राष्ट्रिय ट्राभल्स शो’ सम्पन्न भएको छ।
    लामो समयको अन्तरालमा कोभिड – १९ का कारण थला परेको पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्काउने भन्दै नेपाली पर्यटन व्यवसायीहरु अमेरिकाको न्युयोर्कमा आयोजना गरिएको ट्राभल्स शोमा सहभागी भएका हुन् ।

    विश्व कै आर्थिक राजधानी र संसारका सबैभन्दा धेरै पर्यटक आउने सहरमा भएको “न्युयोर्क अन्तर्राष्ट्रिय ट्राभल शो”मा नेपालका लागि आधिकारिक कम्पनी ट्राभल ब्युरो अफ नेपाल सँगको सहकार्यमा भएको कायक्रममा नेपालका विभिन्न कम्पनीहरूले सहभागिता जनाएका थिए।

    उक्त ट्राभल्स शोमा नेपालको पशुपति मन्दिर र स्वयंभूको स्तुपा संगै बिभिन्न जातजातिका सांस्कृतिक भेषभुषा, कुमारी नृत्य, नेपाली लोक भाकाका सांस्कृतिक नृत्य, हिमाल आरोहणका समय प्रयोग गरिने सामग्रीहरु प्रदर्शन गरिएको थियो ।

    उक्त ट्राभल शोको संयोजक नेपाल पर्यटन बोर्डका अमेरिकाका लागि पर्यटन दूत प्रदिप श्रेष्ठले गरेका थिए । उक्त प्रदर्शनिमा मा विभिन्न देशका १२० भन्दा धेरै कम्पनीहरु सहभागी भएका थिए । हरेक बर्ष अक्टोबर महिनामा हुने उक्त शोको आयोजकले नेपालका लागि आधिकारिक एजेन्टमा ट्राभल ब्युरो अफ नेपाललाई नियुक्त गरेको उक्त कम्पनीका सिईओ साथै पर्यटन दुत प्रदिप श्रेष्ठले जानकारी दिएका थिए ।

    न्युयोर्कमा नै आगामी जनवरी २८-२९ , २०२३ मा ट्राभल एण्ड एडभेन्चर शो आयोजना गरिने भएको छ । उक्त शोको आयोजक कम्पनीले पनि ट्राभल ब्युरो अफ नेपाललाई नै नेपालका लागि आधिकारिक एजेन्ट नियुक्त गरेको पर्यटन दुत श्रेष्ठले जानकारी गराएका छन् ।

  • काठमाडौंमा इजरायलले खुल्ला व्यायामशाला बनाउन गर्यो लगानीको प्रस्ताव

    काठमाडौंमा इजरायलले खुल्ला व्यायामशाला बनाउन गर्यो लगानीको प्रस्ताव

    काठमाडौं । काठमाडौं महानगरसँग इजरायलले खुल्ला व्यायामशाला बनाउन स्थान माग गरेको छ । नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले, खुल्ला व्यायामशाला बनाउन चाहेको बताउँदै यसका लागि आवश्यक प्रक्रिया मिलाइदिन महानगरसँग अनुरोध गरेका हुन् । महानगरकी उपप्रमुख सुनिता डंगोलको कार्यकक्षमा भेट्दै राजदूत गोडेरले यस्तो प्रस्ताव गरेका हुन् । उपप्रमुख डंगोलले गोडेरलाई स्थानको विषयमा प्रश्न गरेपछि उनले वडा ३, ४ वा ८ का कुनै ठाउँ भए हुने बताएका थिए।

    भेटका क्रममा राजदूत गोडेरले, यसअघि महानगरसँग भएको सहकार्य प्रयास कार्यान्वयन गर्न नसकिएको गुनासो गरेका थिए । यस पटक सहरी स्वास्थ्यका लागि खुल्ला व्यायामशाला बनाउने कार्यक्रम सफल बनाउनुपर्ने बताए । इजरायलले नेपाली किसानका लागि तर्जुमा गरेको आयमा आधारित सीप विकासका कार्यक्रमलाई नतिजामुखी बनाउन आफूले प्रयास गरिरहेको राजदूत गोडेरको भनाइ थियो ।

  • राष्ट्रपति भण्डारी आइसल्याण्ड जाने

    राष्ट्रपति भण्डारी आइसल्याण्ड जाने

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आउँदो सोमबार आइसल्याण्ड जाने भएकी छिन् । विश्वभरका महिला नेताहरुको समूह वुमेन पोलिटिकल लिडर डब्लूपीएलका आयोजनामा हुने८–१० नोभेम्बरमा हुने रेक्जाभिक ग्लोबल फोरममा भाग लिन उनी सोमबार आइसल्याण्ड प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    डब्लूपीएलले भण्डारीलाई यो वर्षको डब्लूपीएल ट्राइलब्लेजर अवार्ड पनि प्रदान गर्ने मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपतिले ग्लोबल फोरममा अवार्ड ग्रहणसँगै आफ्नो मन्तव्य पनि राख्ने छिन् । १२ नोभेम्बरमा स्वदेश फर्कने राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी पनि सहभागी हुने छन् ।

  • वैदेशिक रोजगारीमा रहेका नागरिकले आइपीओमा आरक्षण पाउने निर्देशिका लागु

    वैदेशिक रोजगारीमा रहेका नागरिकले आइपीओमा आरक्षण पाउने निर्देशिका लागु

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने कम्पनीलाई वैदेशिक रोजगारीमा जाने नेपालीका लागि १० प्रतिशत कोटा छुट्याउने निर्देशन दिएको छ ।

    बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट (छैठौं संशोधन) निर्देशिका, २०७९ लागु गर्दै वैदेशिक रोजगारीमा रहेको युवालाई १० प्रतिशत आरक्षणको व्यवस्था कार्यान्वयनमा ल्याएको छ । संगठित संस्थाले सर्वसाधारणलाई निष्कासन गर्ने सेयरको १० प्रतिशत नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुलाई छुट्याउनु पर्ने व्यवस्था निर्देशिकामा गरेको छ ।

    यसरी छुट्याएको सेयर निष्कासन गर्दा निष्कासन तथा बिक्री प्रबन्धकले सर्वसाधारणका लागि निष्कासन गर्नु अगावै १५ दिनको अवधि तोकी आह्वान पत्र प्रकाशित गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

    उक्त सेयरमा आवेदन दिंदा बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलनसम्बन्धी कार्य गर्न अनुमति प्राप्त आस्वा सदस्य बैंक वा वित्तीय संस्थामा रहेको विप्रेषण बचत खाता मार्फत मात्र भुक्तानी गर्नु पर्ने व्यवस्था निर्देशिकाले गरेको छ । वैदेशिक रोजगारीमा रहेकोलाई छुट्याएको सेयर बाँडफाँट भए पश्चात मात्र सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन गर्नु व्यवस्था गरिएको छ ।

    तर, यसरी निष्काशित सेयर बिक्री नभई बाँकी रहन गएमा त्यस्तो सेयर सर्वसाधारण समूहमा थप गरी जारी गर्नु पर्ने व्यवस्था निर्देशिकाले गरेको छ । विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकका लागि हितग्राही खाता खोल्दा विद्युतीय माध्यमबाट समेत ग्राहक पहिचान विवरण रुजु गरी हितग्राही खाता खोल्न सक्ने व्यवस्था गर्न बोर्डले निर्देशन दिएको छ ।

    उक्त निर्देशिका १७ कात्तिकदेखि नै लागु हुने बोर्डले जनाएको छ । त्यस अनुसार अब आईपीओ निष्कासन गर्ने कम्पनीहरुले विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुलाई समेत कोटा छुट्याउनु पर्नेछ ।

  • नेपाललाई अमेरिका र स्वीट्जरल्याण्डसँग हवाई सेवा सम्झौताको बाटो खुला, सिधा उडान गर्न सहज

    नेपाललाई अमेरिका र स्वीट्जरल्याण्डसँग हवाई सेवा सम्झौताको बाटो खुला, सिधा उडान गर्न सहज

    काठमाडौं । अमेरिका र स्विट्जरल्यान्डसँग हवाई सेवा सम्झौता गर्न मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका
    अनुसार मन्त्रिपरिषद्को बैठकबाट यस्तो स्वीकृति प्राप्त भएको हो । यस अनुसार अब प्राधिकरणलाई दुवै मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने बाटो खुलेको हो । अब दुवै मुलुकको सहमतिमा समय तोकेर सम्झौता हुने भएको छ ।

    सम्झौतापछि दुवै मुलुकका वायुसेवा कम्पनीलाई एक अर्का मुलुकमा सिधा हवाई उडानको बाटो खुल्ने छ । नेपाल र स्विट्जरल्यान्डबीच यसअघि नै हवाई सेवा सञ्चालन गर्नेबारे समझदारी भइसकेको छ । अमेरिकी कम्पनीहरु नेपालमा आउन चाहेको प्राधिकरणको भनाई छ ।

  • जापानको टोकियोमा विदेशीहरुबीच झडप, दुई नेपाली गम्भीर घाइते

    जापानको टोकियोमा विदेशीहरुबीच झडप, दुई नेपाली गम्भीर घाइते

    काठमाडौं । सोमबार बिहान टोकियोको तोसिमा वार्डमा विदेशीको दुई समूहबीच झडप हुँदा दुई नेपाली पुरुषमाथि खुकुरी प्रहार भएको छ । सो क्रममा उनीहरू गम्भीर घाइते भएको सरकारी सञ्चारमाध्यम गोरखापत्रले उल्लेख गरेको छ ।

    तोशिमा वार्डको किता ओत्चुकामा रहेको रामेन पसलको अगाडि “विदेशी ग्राहकहरू झगडा गरिरहेका छन” भन्ने रिपोर्ट प्राप्त भएपछि घटनास्थलमा पुगेको महानगरीय प्रहरी विभागको टोलीले झडपपछि घाइते अवस्थामा दुईजना नेपाली नागरिकलाई अस्पताल लगेको जनाएको छ ।

    घटनास्थलबाट नजिकैको सडकमा प्रहरीले भेटाएका चारजना नेपालीमध्ये एकजना ३० वर्षका पुरुषको हात खुकुरीले काटेको र अर्का ३० वर्षकै पुरुषको टाउकोमा बियरको बोतल जस्तो लाग्ने धारिलो हतियारबाट चोट लागेको देखिएको र उनीहरूको हाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अस्पताल लगिएका ती दुई जना गम्भीर घाइते अवस्थामा छन् ।

    घटनास्थलबाट फरार रहेका अन्य समूहको अवस्थाबारे महानगरीय प्रहरी प्रभागले अनुसन्धान गरिरहेको छ । सुरुमा दुईजना घाइतेको अन्य दुई विदेशीसँग झगडा गरेका र त्यसपछि उनीहरुसहित १० जनाभन्दा बढी साथी मिलेर दुई समूहबीच हानाहान भएको बताइएको छ । महानगरीय प्रहरी महाशाखाले घाइतेहरूबाट सो घटनाको बारेमा जानकारी लिँदै घटनास्थलबाट फरार भएको समूहको अवस्थाबारे अनुसन्धान गरिरहेको छ ।

  • महाकाली पारी भारतले सडक खन्दा गराएको विस्फोटको ढुङ्गाले लागेर दार्चुलामा बालकको ज्यान गयो

    महाकाली पारी भारतले सडक खन्दा गराएको विस्फोटको ढुङ्गाले लागेर दार्चुलामा बालकको ज्यान गयो

    दार्चुला । महाकाली नदीपारि भारतले सडक चौडा पार्ने क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुङ्गा लागेर दार्चुलामा एक बालकको ज्यान गएको छ । अर्की बालिका घाइते भएकी छिन् । हिजो भएको घटनामा व्यास गाउँपालिका-२ दुम्लिङका हिक्मत महराका छोरा ९ वर्षीय पवनको ज्यान गएको हो ।

    हिक्मतकी छोरी १४ वर्षीया सरिना घाइते भएकी छिन् । उनकाे खुट्टामा चोट लागेकाे र अहिले जिल्ला अस्पताल खलङ्गामा उपचार भइरहेको व्यास गाउँपालिकाका अध्यक्ष मङ्गल सिंह धामीलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् ।  भारतले अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा विना सूचना विस्फोट गराउँदा घटना भएको उनले बताएका छन् ।

    अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कुनै भौतिक संरचना बनाउँदा दुवै देशले एकअर्कालाई असर पुर्याउने काम गर्न नपाइने र विस्फोट गराउनैपर्ने भए त्यसको सूचना दिनुपर्ने नियम छ । तर, हिजो भारतले सडक चौडा गर्ने क्रममा विस्फोट गराउँदा सूचना नै नदिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

    भारत पिथौरागढ जिल्लाको धार्चुलाअन्तर्गत तवाघाट–लिपुलेक सडक खण्डको लखनपुर क्षेत्रमा सडक चौडा गर्ने क्रममा भारतीय पक्षले विस्फोट गराएको हो । 

  • प्रधानमन्त्री देउवासँग नवनियुक्त अमेरिकी राजदूतको पहिलो भेट

    प्रधानमन्त्री देउवासँग नवनियुक्त अमेरिकी राजदूतको पहिलो भेट

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन रिचार्ड थम्पसनले शिष्टाचार भेट गरेका छन् । आफ्नो कार्यकालको सुरुवातमै प्रधानमन्त्री देउवासमक्ष उनले नेपालको आर्थिक विकासमा सघाउँदै दुईपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन भूमिका खेल्ने विश्वास दिलाएका छन् ।

    सो भेटवार्तामा दुई देशको औपचारिक कूटनीतिक सम्बन्धको लामो इतिहास स्मरण गर्दै विविध मुद्दामा थप साझेदारी गर्न पहल गर्ने राजदूत थम्पसनले प्रतिबद्धता जनाएका छन् । उनले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग समेत शिष्टाचार भेट गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो क्रममा नेपाल–अमेरिका र विश्व समुदायका महत्त्वपूर्ण मुद्दामा थप सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको मन्त्रालयको भनाई छ ।

  • स्पेनी राजा नेपाल भ्रमणमा आउन इच्छुक

    स्पेनी राजा नेपाल भ्रमणमा आउन इच्छुक

    काठमाडौं । स्पेनका राजा फिलिपे छैठौंले नेपाल भ्रमणको चाहना व्यक्त गरेका छन्। स्पेनका लागि नेपाली राजदूतका रूपमा नियुक्त शर्मिला पराजुली ढकालको ओहोदाको प्रमाणपत्र ग्रहणका क्रममा स्पेनी राजाले यसअघि अनौपचारिक रुपमा नेपालको भ्रमण गरेको स्मरण गर्दै उपयुक्त समयमा पुनः नेपाल भ्रमण गर्ने चाहना गरेको बताए। भेटका क्रममा स्पेनी राजाले नेपालमा कोभिड तथा हालैको बाढी पहिरोका कारण ज्यान गुमाएकाप्रति समवेदना प्रकट गर्दै राजदूत ढकालको कार्यकालमा दुई देशबीच परस्परको सहकार्य र सहयोगका आधारमा सम्बन्ध थप सुमधुर हुने विश्वास व्यक्त गरे।

    राजदूत ढकालले नेपालमा कोभिड संकटका बेला युरोपियन युनियनका देशमध्ये शुरुवाती चरणमा नै स्पेनबाट मानवीय सहायता प्राप्त भएको भन्दै आभार प्रकट गरिन्। उनले दुई देशबीचको सम्बन्ध विस्तारमा आफ्नो योजना तथा कार्यक्रमबारे राजालाई जानकारी गराएको स्पेनस्थित नेपाली दूतावासले जनाएको छ। भेटका क्रममा राजासँगै त्यहाँका परराष्ट्र सचिव, अन्य विशिष्ट अधिकारीहरुको सहभागी रहेको दूतावासले उल्लेख गरेको छ। राजदूत ढकालले यसअघि ओमनको राजदूतका रुपमा कार्यकाल सम्हालिसकेकी छन्।

  • अमेरिकी राजदूत थम्पसनले बुझाए ओहदाको प्रमाणपत्र

    अमेरिकी राजदूत थम्पसनले बुझाए ओहदाको प्रमाणपत्र

    काठमाडौं । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसनले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन् । शुक्रबार राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा थम्पसनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

    राजदूत थम्पसनले नेपालका लागि राजदूतका रुपमा काम गर्न पाउनु सम्मानको विषय भएको बताका छन् । ‘अमेरिका नेपाल साझेदारीको आगामी ७५ वर्षको सफलताले पछिल्लो ७५ वर्षका उपलब्धीलाई उछिन्नेछ भन्ने सुनिश्चित गर्न म नेपालको नेतृत्व र जनतासँग सहकार्य गर्न उत्सुक छु’, उनलाई उधृत गर्दै अमेरिकी दूतावासले भनेको छ ।

  • राष्ट्रिय खेलकुद : पदक तालीकामा विभागीय टोलीको दवदवा, एनआरएनए छैठौं स्थानमा

    राष्ट्रिय खेलकुद : पदक तालीकामा विभागीय टोलीको दवदवा, एनआरएनए छैठौं स्थानमा

    पोखरा । गण्डकी प्रदेशमा भइरहेको नवौं संस्करणको राष्ट्रिय खेलकुद अन्तर्गत चौथो दिनसम्ममा विभागीय टोलीको दवदवा कायम छ । जसमा नेपाल आर्मी १२८ पदकसहित शीर्षस्थानमा कायमै छ। आर्मीले ६१ स्वर्ण, ३९ रजत र २८ कास्यपदक सहित कुल १२८ पदक जितेको छ । अर्को विभागीय टोली नेपाल एपिएफ क्लब २३ स्वर्ण १७ रजत र २५ कास्य सहित कूल ६५ पदक जितेर दोस्रो स्थानमा छ।

    अर्को विभागीय टोली नेपाल पुलिस क्बल १६ स्वर्ण, २५ रजत र ३३ कास्य गरी कूल ७४ पदकसहित तेस्रो स्थानमा छ। चौथो स्थानमा रहेको बागमती प्रदेशले १४ स्वर्ण, २२ रजत र २३ कास्यसहित ५९६ पदक जितेको छ। घरेलु टोली गण्डकी प्रदेशले १० स्वर्ण, ८ रजत र २० कास्य गरी कूल ३८ पदक जितेर पाँचौ स्थानमा रहेको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) ६ स्वर्ण, ६ रजत र ४ कास्यसहित कूल १६ पदक जितेर छैठौं स्थानमा रहेको छ।

    चौथो दिन २ स्वर्ण थपेर सातौ स्थानमा उक्लिएको प्रदेश एकले ३ स्वर्ण, ८ रजत र २१ कास्यसहित कुल ३२ पदक जितेको छ। यस्तै मधेश प्रदशेले २ स्वर्ण, ३ रजत र ७ कास्यसहित कुल १२ पदक जितेको छ। सुदूरपश्चिम प्रदेशले २ स्वर्ण र १ रजत र ११ कास्य गरी कूल १४ पदक जितेर नवौं स्थानमा छ। लुम्बिनी प्रदेश र कर्णाली प्रदेशले १÷१ स्वर्ण पदक जितेका छन्। लुम्बिनी प्रदेशले १ स्वर्ण ९ रजत र १२ कास्य गरी कूल २२ पदक जित्दा कर्णाली प्रदेशले १ स्वर्ण १ रजत र २ कास्य सहित कुल ४ पदक जितेको छ।

  • अमेरिकाबाट फर्किएर सिधै राष्ट्रिय खेलकुदमा होमिएकी गौरिकाले जितिन् ४ स्वर्ण

    अमेरिकाबाट फर्किएर सिधै राष्ट्रिय खेलकुदमा होमिएकी गौरिकाले जितिन् ४ स्वर्ण

    पोखरा । अमेरिकाबाट फर्किएर सिधै राष्ट्रिय खेलकुदमा होमिएकी गौरिका सिंहले स्वर्ण पदक संख्या चार पुर्याएकी छिन् । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडीमा गौरिका सिंहले सोमबार थप दुई स्वर्ण जितेसँगै उनको स्वर्ण संख्या चार पुगेको हो । त्रिभुवन आर्मीकी गौरिकाले ५० मिटर ब्याकस्ट्रोमा स्वर्ण जितिन्। उनले ३०.८० सेकेन्डमा निर्धारित दूरी पौडिएर जारी स्पर्धामा तेस्रो स्वर्ण भित्र्याएकी हुन्।

    यो स्पर्धामा एनआरएनएकी एस्ले सापकोटा डंगोलले ३१.११ सेकेन्डका साथ रजत र बागमतीकी रोशा न्यौपानेले ३४.२४ सेकेन्डका साथ कास्य जितिन्। गौरिकाले अर्को स्वर्ण आठ सय मिटर फ्रिस्टायल रिलेबाट जितिन्। गौरिका, उपत्सी महर्जन, अनुसिया महर्जन र डुवाना लामाको आर्मीले ९ मिनेट २७.७३ सेकेन्डका साथ स्वर्ण जिते। यो स्पर्धामा नेपाल पुलिसले रजत र लुम्बिनीले कास्य जित्यो। यससँगै गौरिकाले जारी प्रतियोगितामा स्वर्ण संख्या ४ पुर्‍याइन।

    जारी पौडीमा आर्मीले १६ स्वर्ण जितिसकेको छ भने एनआरएनएले ६ स्वर्ण हात पारेको छ। यस्तै एपिएफले ३ स्वर्ण जित्दा पुलिस र प्रदेश एकले एक एक स्वर्ण जितेका छन्। जारी प्रतियोगिता गौरिकाले चार स्वर्ण जित्दा एनआरएनएकी एस्ले सापकोटा डंगोलले पाँच स्वर्ण जितिसकेकी छिन्। दुबै अमेरिकाबाट फर्किएका खेलाडी हुन् ।

  • राष्ट्रिय खेलकुद : पदक तालीकामा कुन टिम कहाँ ?

    राष्ट्रिय खेलकुद : पदक तालीकामा कुन टिम कहाँ ?

    काठमाडौं । अहिले नवौं राष्ट्रिय खेलकुद जारी छ । पोखरामा गत शुक्रबार औपचारिक उद्घाटन भएको प्रतियोगिता गण्डकी प्रदेशमा जारी छ । तेस्रो दिनका खेल सकिदासम्म पदक तालिकामा विभागीय टीमहरुको दवदवा देखिएको छ । पदक तालिकामा नेपाल आर्मी ८६ पदकसहित शीर्षस्थानमा छ । उसले ३८ स्वर्ण, २७ रजत र २१ कास्यपदक सहित कुल ८६ पदक जितेको छ । अर्को विभागीय टोली नेपाल एपिएफ क्लब १२ स्वर्ण १६ रजत र २२ कास्य सहित कूल ५० पदक जितेर दोस्रो स्थानमा छ। अर्को विभागीय टोली नेपाल पुलिस क्बल ११ स्वर्ण, ७ रजत र १७ कास्य गरी कूल ३५ पदकसहित तेस्रो स्थानमा छ । चौथो स्थानमा बागमती प्रदेश छ । उसले १० स्वर्ण, १६ रजत र १० कास्यसहित ३६ पदक जितेको छ। घरेलु टोली गण्डकी प्रदेशले ८ स्वर्ण, ५ रजत र १५ कास्य गरी कूल २८ पदक जितेर पाँचौ स्थानमा रहेको छ ।

    गैर आवासीय नेपाली संघ (एनआरएनए) ४ स्वर्ण, ३ रजत र ४ कास्यसहित कूल ११ पदक जितेर छैठौं स्थानमा रहँदा मधेश प्रदशेले २ स्वर्ण, २ रजत र ४ कास्यसहित कुल ८ पदक जितेको छ। आठौं स्थानमा रहेको प्रदेश १ ले १ स्वर्ण, ४ रजत र १३ कास्य गरी १८ पदक जितेको छ। सुदूरपश्चिम प्रदेशले समान १ स्वर्ण र १ रजत र ८ कास्य गरी कूल १० पदक जितेर नवौं स्थानमा छ। लुम्बिनी प्रदेश र कर्णाली प्रदेशले स्वर्ण पदक जित्न सकेका छैनन्। लुम्बिनी प्रदेशले ६ रजत र ४ कास्य गरी कूल १० पदक जित्दा कर्णाली प्रदेश १ कास्य मात्रै हात पारेको छ।

  • बेलायतमा कहिलेबाट जान पाउँछन् नेपाली नर्स ?

    बेलायतमा कहिलेबाट जान पाउँछन् नेपाली नर्स ?

    काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले नेपाली स्वास्थ्यकर्मीको छनोट, पदस्थापना र सेवा सुविधासम्बन्धी प्रोटोकल (मापदण्ड)को मस्यौदा बनाएको छ । मस्यौदा प्रोटकलमा बेलायतसँग सहमति गरेर मन्त्रिपरिषद्‍बाट पारित गर्ने तयारी छ । नेपाल र बेलायतबीच परीक्षणको रुपमा प्रथम चरणमा नेपाली नर्सहरुलाई बेलायतमा पदस्थापना गर्ने कार्यलाई ‘इम्प्लिमेन्टेसन प्रोटोकल’बारे स्पष्ट व्यवस्था गर्ने सहमित भएको थियो ।

    मन्त्रालयले आगामी पुस–माघसम्म्म बेलायतमा पठाइने नर्सका लागि आवेदन माग गर्नेछ । प्रोटोकलले तोक्ने व्यवस्था अनुरुप योग्य ठहरिएका नर्सले बेलायतमा रोजगारीका लागि आवसर पाउने मन्त्रालयका एक अधिकारीले बताए । गत ६ भदौमा नेपाल सरकार र बेलायत सरकारबीच बेलायतमा नेपाली नर्सलाइ रोजगारी दिने सम्बन्धी श्रम सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सम्झौताको कार्यान्वयन ढाँचा (इम्प्लिमेन्टेसन प्रोटोकल) बमोजिम नेपाली नर्सले बेलायतमा अवसर पाउने सहमति भएको छ।


    सम्झौता अनुसार स्वास्थ्यकर्मीको छनोट र पदस्थापना नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रिया बमोजिम हुनेछ । नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य सेवा (एनएचएस) मा सुरक्षित, मर्यादित र व्यवस्थित तवरले रोजगारीमा संलग्न हुने व्यवस्था मिलाउने सहमति भएको छ ।

    विश्व स्वास्थ्य संगठनको हेल्थ वर्कर सपोर्ट एण्ड सेफगार्ड लिष्ट २००० मा नेपाल समावेश रहेको अवस्थालाई मध्यनजर गरी स्वास्थ्यकर्मीको संख्या र प्रकारका सम्बन्धमा दुवै सरकारले संयुक्त निर्णय गर्ने सहमति छ । नियुक्ति प्रक्रियाका लागि कुनै शुल्क नलाग्ने एवम् रोजगारीका लागि छनोट भएका स्वास्थ्यकर्मीको लागतको शोधभर्ना हुने गरी समझदारी भएको छ । परीक्षण चरणको अन्त्यमा समग्र स्वास्थ्यकर्मी नियुक्ति प्रक्रियाको मूल्यांकन गरिने र थप नियुक्ति तथा विस्तारका सम्बन्धमा आवश्यक निर्णय लिने सम्झौतामा उल्लेख गरिएको छ ।

  • एनआरएनए टिमबाट राष्ट्रिय खेलकुदमा सनसनीपुर्ण प्रदर्शन गर्दै अमेरिकामा जन्मिएकी एस्ली

    एनआरएनए टिमबाट राष्ट्रिय खेलकुदमा सनसनीपुर्ण प्रदर्शन गर्दै अमेरिकामा जन्मिएकी एस्ली

    पोखरा । अमेरिकामा जन्मिएको १६ वर्षीय एस्लि सापकोटा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका दौरान नेपालमा छिन । उनले नेपालमा सनसनीपुर्ण प्रदर्शन जारी राख्दा नेपालबाट अन्तर्राष्ट्रिय प्रदर्शनको प्रस्ताव समेत शुरु भएको छ ।
    एनआरएनएको टिममा समावेश भएपछि एक महिनाको विषेश तयारीपछि एस्ली गत सोमबार नेपाल आइपुगेकी हुन् । शनिबारदेखि सुरु पौडी प्रतियोगितामा एस्लीले पहिलो दिन नै तीन स्वर्ण जितेर आफूलाई बलियो प्रतिस्पर्धीका रुपमा उभ्याएकी छन । चार दिनसम्म चल्ने राष्ट्रिय प्रतियोगितामा उनले आठ वटा स्पर्धामा सहभागिता जनाउनेछिन् ।

    अमेरिकामै जन्मेर उतै हुर्किएकी एस्लीले नेपालमा पहिलोपल्ट राष्ट्रिय च्याम्पियनसिप खेलेकी हुन् । क्यालिफोर्नियामा राज्यस्तरकी पौडी खेलाडी १६ वर्षीय एस्लीले चार वर्षअघि लिटिल एञ्जल्स स्कुलमा आयोजित प्रतियोगिता खेल्न पहिलोपल्ट नेपाल आएकी थिइन् ।

    नेपाली पौडीकी सर्वाधिक सफल खेलाडी गौरिका सिंह अस्वस्थ भएर खेल्न नसकेपछि राष्ट्रिय खेलकुदको पौडी प्रतियोगिताको रौनक एस्लीले कायम राखिन् । एस्लीले स्वर्ण जितेको तीन वटै स्पर्धाको राष्ट्रिय कीर्तिमान (सर्ट कोर्ष) गौरिकाको नाममा छ । तीनमध्ये दुई स्पर्धाको फाइनल खेलमा गौरिकाले स्वास्थ्यका कारण वाकओभर दिएपछि एस्लीलाई जित्न सहज भएको हो । तर, शनिबार बिहान भएको १०० मिटर फ्रिस्टाइलमा उनले गौरिकाभन्दा राम्रो टाइमिङ निकालेकी छिन् ।

    पोखराको फिस्टेल एकेडेमीको सर्ट कोर्ष (२५ मिटर पौडी पोखरी)मा उनले १०० मिटर फ्रिस्टाइलमा १ मिनेट ०१.४२ सेकेण्डको टाइमिङसहित स्वर्ण जितिन् । यो स्पर्धामा त्रिभुवन आर्मी क्लबकी अनुशिया तण्डुकार १ मिनेट ०१.६० सेकेण्डको टाइमिङसहित रजत र नेपाल पुलिसकी मेघन गुरुङले १ मिनेट ०६.२८ सेकेण्डको टाइमिङसहित कास्य जितिन ।

  • अष्ट्रेलियामा विदेशी विद्यार्थीलाई काम गर्न पाउने समय घट्यो, नेपाली पनि प्रभावित हुने

    अष्ट्रेलियामा विदेशी विद्यार्थीलाई काम गर्न पाउने समय घट्यो, नेपाली पनि प्रभावित हुने

    सिड्नी\एजेन्सी । अस्ट्रेलियामा कोभिड महामारीका बेला अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिएको पूर्णकालीन काम गर्न सक्ने अधिकार घटेको छ । यससँगै अब काम गर्न पाउने समय कम हुने भएको छ । जसका कारण त्यहाँ रहेका हजारौं नेपाली समेत प्रभावित हुनेछन् । गृह मन्त्रालयले आगामी आर्थिक वर्षबाट अन्तर्राष्ट्रिय विद्यार्थीलाई तोकिएको समयसम्म मात्र काम गर्न दिने भनेको छ । अस्ट्रेलियामा अध्ययन गर्न जानेले दुई सातामा ४० घण्टा काम गर्न पाउने छन् ।

    कोरोना कालमा कामदार अभाव भएका समयमा अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीको काम गर्ने पाउने सीमा हटाएको हो । गृह मन्त्रालयको अध्यागमन तथा नागरिकता विभागले एक सार्वजनिक सूचना जारी गर्दै कोरोना समयमा दिएको उक्त अधिकार आगामी सन् २०२३ जुन ३० पछि बन्द गरिने बताएका छन् । मन्त्रालयले विद्यार्थीलाई विद्यार्थी भिसाका सबै नियमलाई पालना गर्न भनेको छ ।

    शिक्षण संस्थामा सन्तोषजनक अध्ययनको प्रगति, कक्षा उपस्थिति हुनुपर्ने भएको छ । सरकारले विशेष क्षेत्रमा रहेको कामदार अभाव पूर्ति गर्न उच्च शिक्षा अध्ययन गरिसकेपछि दिइने ‘पोस्टस्टडी वर्क राइट्स’को समयसीमा गरिएको फेरबदललाई भने कायमै राखिएको छ ।

  • वैदेशिक लगानीको न्यूनतम सीमा २ करोडमा झारियो, गैरआवासीय नेपालीको लगानी बढ्न सक्ने

    वैदेशिक लगानीको न्यूनतम सीमा २ करोडमा झारियो, गैरआवासीय नेपालीको लगानी बढ्न सक्ने

    काठमाडौं । सरकारले नेपालमा प्रत्यक्ष विदेशी लगानीको न्यूनतम सीमा २ करोड रुपैयाँमा झारेको छ । यसअघि ५ करोड रुपैयाँ रहेको सीमा २ करोडमा झार्ने निर्णय भएको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

    शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारको पछिल्लो निर्णयले साना तथा मझौला उद्योगमा समेत अब विदेशी लगानी भित्राउन सम्भव भएको छ । यसले अब नेपालमा लगानी गर्न चाहने गैरआवासीय नेपालीलाई समेत सहज भएको छ । यसअघि ठूलो पूँजी नभएसम्म नेपालमा लगानी भित्राउन सक्ने अवस्था थिएन ।

  • नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत नेपाल आए

    नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत नेपाल आए

    काठमाडौं । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसन नेपाल आएका छन् । र्‍याण्डी बेरी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किएको एक सातापछि नवनियुक्त राजदूत थम्पसन नेपाल आएका हुन् । काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार बिहीबार नेपाल आइपुेगका राजदूत थम्पसनले केही दिन आराम गरेपछि नेपाल सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नेछन् ।

    ‘आउँदा केही दिनहरू राजदूत थम्प्सन, वहाँकी पत्नी जेनसमेत वहाँहरूको पारिवारिक कुकुर बोगीले नयाँ वातावरणमा अभ्यस्त हुन र नेपालस्थित अमेरिकी मिशन परिवारसँग भेटघाट गर्नमा बिताउनुहुनेछ,’ अमेरिकी दूतावासले भनेको छ, ‘त्यसपछि राजदूत थम्प्सनले नेपाल सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुहुनेछ।’

    राजदूत बेरी नामिबियाका लागि अमेरिकी राजदूत नियुक्त भएसँगै आफ्नो चार वर्षे कार्यकाल सकाएर गत आइतबार स्वदेश फर्किएका थिए । उनी फर्किएको दुई दिनअघि शुक्रबार मात्रै थम्पसनले नेपालका लागि नवनियुक्त अमेरिकी राजदूतको शपथ ग्रहण गरेका थिए । थम्पसन यसअघि अमेरिकाका लागि दक्षिण तथा मध्य एसियाली मामिला व्युरोका उपसहायक सचिवको जिम्मेवारीमा थिए । अमेरिकी नीति र सो क्षेत्रका देशहरूसँगको सम्बन्धबारे हेर्ने जिम्मा उनलाई थियो ।

    थम्पसनसँग अमेरिकी कूटनीतिमा २५ वर्षभन्दा बढी समयसम्म काम गरेको अनुभव छ ।उनले मलेसियाको क्वालालम्पुरस्थित अमेरिकी दूतावासमा डेपुटी चिफ अफ मिसनको रूपमा समेत काम गरेका थिए । उनीसँग रोमानियाको बुखारेष्टस्थित अमेरिकी दूतावास, भारतको कोलकातामा अमेरिकी कन्सुलर जनरल र श्रीलंकाको कोलम्बोस्थित अमेरिकी दूतावासको आर्थिक तथा वाणिज्य मामिला विभाग प्रमुखको रुपमा काम गरेको अनुभव छ ।

  • अर्थमन्त्री शर्मा विश्व बैंकको वार्षिक बैठकमा सहभागी

    अर्थमन्त्री शर्मा विश्व बैंकको वार्षिक बैठकमा सहभागी

    काठमाडौं । अर्थमन्त्री शर्माले विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको दक्षिण पूर्वी एशियाली समूहको ५३ औँ गभर्नर्स सत्रको अध्यक्षता गरेका छन् । अमेरिकाको राजधानी वाशिङ्गटन डिसीमा आयोजित विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा आयोजित उक्त सत्रमा सदस्य राष्ट्रहरुले सामना गर्नुपरेको बहुपक्षीय विश्वव्यापी समस्याको विषयमा छलफल भएको थियो ।

    उक्त सत्रमा सहभागीले विश्वव्यापीरुपमा सिर्जना भएको समस्याको समाधान गर्न वित्तीय सहायता प्रदान गरेर नेपालजस्ता देशका समस्या सम्बोधन गर्नुपर्ने कुरामा जोड दिएको राससले जनाएको छ । यसैगरी अर्थमन्त्री शर्माले साइडलाइन कार्यकारी संवाद सत्रमा सहभागी भएर जलवायु उत्सर्जनको समस्यासँग जुध्न र सदस्य राष्ट्रहरुले चालेका कदमका बारेमा छलफल गरेका थिए ।

    कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव कृष्णहरि पुष्कर, अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीलगायत उच्च अधिकारी सहभागी थिए । विश्व बैंकको प्रक्षेपणअनुसार चालु वर्षमा नेपालको वृद्धि पाँच दशमलव एक प्रतिशतले हुने उल्लेख गरिएको छ । नेपालको पर्यटन र सेवा क्षेत्रको वृद्धि तथा जलविद्युत् क्षेत्रको उत्पादन वृद्धिले कोरोनापश्चातको आर्थिक वृद्धिदर सकारात्मक रहने उसको प्रक्षेपण छ ।

    नेपालको आर्थिक विकासका लागि संरचनागत चुनौती रहेको उल्लेख गर्दै विश्व बैंकले कर प्रणालीको आधुनिकीकरण, वैदेशिक प्रत्यक्ष लगानी र सङ्घीय बजेटको पूर्ण कार्यान्वयनले मात्र दिगो र समावेशी वृद्धिको मार्ग रहेको उसको ठम्याइ रहेको छ ।

  • अर्थमन्त्री शर्मा र अमेरिकी सहयोग नियोगका प्रमुखबीच वाशिङ्गटन डिसीमा भेट

    अर्थमन्त्री शर्मा र अमेरिकी सहयोग नियोगका प्रमुखबीच वाशिङ्गटन डिसीमा भेट

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमख प्रशासक समान्ता पावरबीच भेटवार्ता भएको छ । विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका पुगेका अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमख प्रशासक समान्ता पावरबीच भेटवार्ता भएको राससले जनाएको छ ।

    युएसएआडीको मुख्यालय वाशिङ्गटन डिसीमा भएको भेटघाटमा द्विपक्षीय हित र सहयोगका लागि मजबुद आधारशीला तय गर्ने विषयमा छलफल भएको थियो । भेटघाटमा अर्थमन्त्री शर्माले नेपालको आर्थिक, सामाजिक विकासमा अमेरिकाले पुर्याएको सहयोगबारे प्रशंसा गरेका थिए ।अर्थमन्त्री शर्माले उक्त अवसरमा आगामी दिनमा नेपालको आर्थिक विकासका लागि प्रभावकारी सहयोग गर्न अनुरोध गरे ।

    अर्थमन्त्री शर्माले सूचना प्रविधि, जलावयु परिवर्तनको चुनौती सामना गर्न र नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न आग्रह गरेको अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको छ । अर्थमन्त्री शर्माले प्रमुख प्रशासक समान्ता पावरलाई उपयुक्त समयमा नेपाल भ्रमणको हार्दिक निमन्त्रणासमेत दिए ।

    पावरले नेपालका अर्थमन्त्रीसँगको भेटघाट फलदायी रहेको, नेपाल अमेरिका साझेदारी र नेपालको प्रजातान्त्रिक अभ्यासको प्रगतिका लागि सहयोग रहने बताइन् । सामाजिक सञ्जालमार्फत पावरले लेखेकी छन्, ‘तत्कालका चुनौतीको सामना गर्न दुवै देश मिलेर काम गर्न तयार भएका छौँ ।’

    यस्ता चुनौती जलवायु परिवर्तन र खाद्य सुरक्षा गरेको युएसएआइडीका प्रमुख प्रशासक समान्ता पावरले उल्लेख गरेकी छन् । उक्त भेटघाट कार्यक्रममा नेपालको तर्फबाट अर्थसचिव कृष्णहरि पुष्कर, अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री तथा भ्रमणदलमा सहभागी अन्यको समेत उपस्थिति थियो ।

    नेपालको आर्थिक सामाजिक विकासमा युएसएआइडीको महत्वपूर्ण सहयोग रहेको छ । गत मे महिनामा मात्र उक्त नियोगले आगामी पाँच वर्षका लागि नेपाललाई ६५ करोड ९० लाख डलरको सहयोगको घोषणा गरेको थियो । उक्त सहयोग नेपालले आफूलाई अल्पविकसित देशबाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्न उपयोग गर्नेछ ।

  • युक्रेनमाथि रुसले गरेको आक्रमणको विरुद्धमा नेपालको मतदान

    युक्रेनमाथि रुसले गरेको आक्रमणको विरुद्धमा नेपालको मतदान

    काठमाडौं । रुसले युक्रेनमाथि गरेको आक्रमणको विरुद्धमा नेपालले मतदात गरेको छ । संयुक्त राष्ट्रसंघको साधारणसभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भर्त्सना गर्दै खेद प्रस्ताव पारित गरे । नेपालले यस प्रस्तावको पक्षमा मतदान गरेको छ । बुधबार भएको मतदानमा १४३ देशले पक्षमा र पाँच देशले विपक्षमा मतदान गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ३५ देश मतदानको समयमा अनुपस्थित रहेका थिए ।

    उक्त प्रस्तावमा भनिएको छ, ‘रुसले गरेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र तथाकिथत रुपमा गरिएको जनमत सङ्ग्रहको निन्दा गर्दछौँ । साथै संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र र सङ्गठनले युक्रेनको सीमा परिवर्तनलाई मान्यता दिने छैन ।’उक्त प्रस्तावको रुसले तुरुन्त र बिना शर्त निर्णय फिर्ता लिनसमेत माग गरिएको छ ।

  • अमेरिकाका लागि डिभीको आवेदन खुला

    अमेरिकाका लागि डिभीको आवेदन खुला

    काठमाडौं । अमेरिकाले २०२४ को डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला गरेको छ । १९ असोज बुधबारको राति ९:४५ बजेबाट खुला भएको आवेदन २२ कार्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ ।

    स्पन्सर लगायतका कागजात नचाहिने र डीभीको आवेदन निःशुल्क भर्न सकिने छ । यसपटक पासपोर्ट समेत अनिवार्य गरिएको छैन ।

  • अमेरिकासहित कुन देशमा दशैंको टिकाको साइत कति बजे ?

    अमेरिकासहित कुन देशमा दशैंको टिकाको साइत कति बजे ?

    काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशको समयअनुसार २०७९ सालको विजया दशमीमा टीका-जमरा लगाउने उत्तम साइत सार्वजनिक गरेको छ । हरेक देशको स्थानीय समयअनुसार साइत निर्धारण हुने भएकाले नेपालमा टीकाका लागि शुभ मुहूर्त भए पनि अन्य देशमा त्यो समय उपयुक्त नहुन सक्ने भएकाले विभिन्न देशका लागि छुट्टाछुट्टै साइत सार्वजनिक गरिएको हो ।

    स्थानीय पञ्चाङ्गअनुसार एउटै प्रकृतिको मुहूर्त पनि फरक समयमा हुने भएकाले स्थानीय पञ्चाङ्गबाट मात्र शुभमुहूर्त यकिन हुने भएकाले भिन्न भिन्न देशका लागि त्यहाँको समयअनुसारको साइत तोकिएको समितिले जनाएको छ । गत असोज ४ गते समितिद्वारा जारी विज्ञप्तिमा नेपालका लागि बिहान ११ः५१ बजे, देहली, भारतका लागि बिहान १०:४५ बजे शुभ साइत तोकेको छ ।

    त्यस्तै न्युयोर्क, अमेरिकाका लागि अक्टोबर ४ तारिकका दिन बिहान ११:११, केन्टुकी, अमेरिकामा सोही दिन बिहान ११:५५, टेक्सासमा ११:३५ बजे, क्यालिफोर्नियामा ११:४५ बजे, वासिंटन डीसीमा बिहान ११:२५ बजे टीकाका लागि उत्तम साइत रहेको छ ।

    क्यानडाको टोरन्टोमा पनि सोही दिन बिहान ११:३९ बजे, क्यानडाको भ्यानकुभरमा बिहान ११:४५ बजे, स्विट्जरल्यान्डमा बिहान ९:५५, बेलायतमा बिहान ११:५७ बजे, पोर्चुगलको लिस्बनमा बिहान ११:३५ बजे, फ्रान्सको पेरिसमा बिहान ११:५५ बजे र नर्वेको ओस्लोमा टीकाको उत्तम साइत बिहान ११:५५ बजे रहेको समितिले जनाएको छ ।

    यसैगरी टोकियो, जापानका लागि अक्टोबर ५ मा बिहान १०:३९ बजे, न्युजिल्यान्डमा सोही दिन बिहान १०:५७, अस्ट्रेलियाको सिड्नीमा बिहान १०:४१, मेलबर्नमा बिहान १०:५५ बजे, ब्रिसबेनमा बिहान ११:०५ बजे, मलेसियाको क्वालालाम्पुरमा बिहान १०:२५ बजे, सिंगापुरमा बिहान ११:२७ बजे, थाइल्यान्डमा बिहान १०:२१ बजे, हङकङमा बिहाना १०:५५, दक्षिण कोरियामा बिहान १०:५१ बजे, साउदी अरेबियामा बिहान ९:५५ बजे, कतारमा बिहान ८:१५ बजे र यूएईमा सोही दिन बिहान ९:०१ बजे टीकाको उत्तम साइत रहेको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    त्यस्तै इजरायलमा पनि अक्टोबर ५ मा बिहान १०:२७ बजे, म्यानमारमा बिहान ९:५५ बजे टीकाको शुभ साइत रहेको छ ।

  • कतारस्थित नेपाली दूतावासले नेपाली नागरिकलाई टिका-प्रसाद वितरण गर्ने

    कतारस्थित नेपाली दूतावासले नेपाली नागरिकलाई टिका-प्रसाद वितरण गर्ने

    काठमाडौं । कतारस्थित नेपाली दूतावासले दशैंको टीका–प्रसाद वितरण गर्ने भएको छ । दोहास्थित दूतावासले कतारमा रहेका नेपालीलाई दूतावासमा टीका–प्रसाद ग्रहण गर्ने कार्यक्रम राखेको दूतावासले जनाएको छ । ऐन खालिदा दोहामा १९ असोज ९बुधबार०का दिन टीका–प्रसाद वितरण गर्नेछ । टिका ग्रहणको कार्यक्रम स्थानीय समय अनुसार साढे १० बजेबाट १२ बजेसम्म चल्ने दूतावासको भनाइ छ ।

  • अष्ट्रेलियादेखि अमेरिकासम्म निर्यात हुन्छ नेपाली अचार

    अष्ट्रेलियादेखि अमेरिकासम्म निर्यात हुन्छ नेपाली अचार

    काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा नेपालले पाँच मुलुकलाई ४८ हजार किलोभन्दा धेरै तयारी अचार निर्यात गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार घरेलु उद्योगमा बनेको विभिन्न प्रकारका अचार अष्ट्रेलिया, इटाली, दक्षिण कोरिया र अमेरिका निर्यात भएको हो । नेपालबाट मुला, मासु, टिम्मुर, मिक्स भेजिटेबल लागयतका परिकारबाट बनाइएको अचार धेरै बिक्री हुने गरेको छ ।

    साउन र भदौमा ४८ हजार ८९२ किलो अचार बिक्रीबाट नेपालले २ करोड ७१ लाख ८४ हजार रुपैयाँ नगरद आर्जन गरेको छ । जुन गत वर्षको वार्षिक अचार कारोबार बराबर हो । आर्थिक वर्ष २०७८–०७९ मा नेपालबाट ५९ हजार ९८४ किलो अचार निर्यात भएको थियो । उक्त निर्यातबाट नेपालले ३ करोड ८६ लाख ६४ हजार रुपैयाँ आर्जन गरेको थियो ।

  • फ्लोरिडामा इयान आँधी: सयौँ मानिस हताहतीको आशंका

    फ्लोरिडामा इयान आँधी: सयौँ मानिस हताहतीको आशंका

    फ्लोरिडा\बीबीसी । अमेरिकाको फ्लोरिडा राज्यस्थित एक प्रहरी अधिकारीले समुद्री इयान आँधीका कारण सयौँ मानिसको ज्यान गएको हुन सक्ने आफूले बुझेको बताएका छन्। ती अधिकारीले आँधीका कारण पुगेको क्षति फ्लोरिडा राज्यभरि नै देखिन थालेको र ज्यान गुमाउनेको सङ्ख्या सयौँमा हुनसक्ने बताएका हुन्। हजारौँ उद्धारको पर्खाइमा रहेको पनि उनले बताएका छन्।

    अमेरिकाको न्याश्नल हुरिकेन सेन्टरले बाढीको थप खतरा रहेको भन्दै चेतावनी दिएको छ। उक्त सेन्टरले उत्तरपूर्वी फ्लोरिडाको तटीय क्षेत्रलगायत जोर्जिया र साउथ क्यारोलाइनामा पनि घातक आँधी आउनसक्ने जनाएको छ। शक्तिशाली तुफानसहितको आँधीका कारण उक्त दक्षिणपश्चिमी तटीय क्षेत्रमा बाढी आएको छ। त्यहाँ तीव्र वेगले हावा चलिरहेको छ भने उच्च वर्षाका कारण कैयौँ घरहरू डुबेका छन्।

    उक्त राज्यका गभर्नरले यो आँधी फ्लोरिडामा बज्रिएका हालसम्मकै शक्तिशाली पाँच आँधीमध्येमा एक भएको बताएका छन्। उनका अनुसार आँधीले पूरै राज्यभरि क्षति पुर्‍याएको छ। अमेरिकी सीमामा गस्ती गर्ने सुरक्षाकर्मीले क्युबाबाट फ्लोरिडा कीज्‌तर्फ आप्रवासीलाई बोकेर आउँदै गरेको एउटा डुङ्गा डुब्दा २३ जना मानिसहरू हराएका थिए। उक्त राज्यभरि २५ लाखभन्दा बढी मानिस विद्युत आपूर्ति बन्द हुँदा अन्धकारमा बस्न बाध्य भएका छन्।

    इयान आँधी बुधवार फोर्ट मायर्स सहर नजिकै २४१ किलोमिटर प्रतिघण्टाको गतिमा बज्रिएको थियो। फ्लोरिडाका गभर्नर रोन डिसान्टिसले उक्त आँधीको चपेटामा पर्नसक्ने स्थानका मानिसलाई केही दिन नराम्रो अवस्थाका लागि तयार रहन चेतावनी दिएका छन्। उक्त आँधीकै कारण क्युबामा मङ्गलवार आएको तुफानले दुईजनाको ज्यान लिएको थियो भने त्यहाँ पनि विद्युत् आपूर्ति अवरुद्ध भएको छ।

    आँधीका कारण फोर्ट मायर्स सहरसहित ली काउन्टीमा कर्फ्यू घोषणा गरिएको छ। बुधवार बेलुका ६ बजेबाट सुरु भएको कर्फ्यु अर्को सूचना नभएसम्म कायम रहने काउन्टीले जनाएको छ। आँधीका कारण पेट्रोल स्टेशनहरूमा लुटपाट भएका भनी आएका विवरणमा फोर्ट मायर्स प्रहरीले कारबाही गर्न असमर्थ भएपछि कफ्यु लगाइएको हो।

    काउन्टीका प्रबन्धक रोजर डेजार्ली उक्त आदेश कानुन कार्यान्वयन गर्ने निकायद्वारा लागु गरिने बुधवार साँझ एक पत्रकार सम्मेलनमा बताए। उनले आफ्नो सहरमा लुटपाट र हिंसाका लागि शून्य सहनशीलताको नीति अपनाइने बताएका छन्।

  • विश्वचर्चित अमेरिकी स्की खेलाडी हिलारीको मनास्लुमा भेटियो शव

    विश्वचर्चित अमेरिकी स्की खेलाडी हिलारीको मनास्लुमा भेटियो शव

    काठमाडौं । विश्व प्रसिद्ध स्की खेलाडी हिलारी नेल्सनको मनास्लुमा शव भेटिएको छ । मनास्लु हिमालमा आरोहण र स्कीका लागि आफ्ना पार्टनरसँगै पुगेकी उनको बुधबार बिहान मनास्लु हिमालमा शव भेटिएको हो विश्वविख्यात स्की खेलाडी हिलारी नेल्सनले आफ्नो करिअरका ठूला सफलता नेपालकै अग्ला चुचुरामा पाएकी हुन् । उनी २४ घन्टाको अन्तरालमा सर्वोच्च शिखर सगरमाथा र ८ हजार मिटर भन्दा अग्लो अर्को हिमाल ल्होत्सेको सफल आरोहण गर्ने आरोही समेत हुन् । मनास्लु जाँदा हिलारी आफ्ना जीवन साथी जिम मोरिसन सँगै थिइन् । उनका पार्टनर समेत विश्वमा नाम चलेका स्की खेलाडीमध्ये एक मानिन्छन् ।

  • ३४ वर्षपछि जिबिएनसिमा निर्वाचन प्रकृयाद्वारा पहिलो पटक महिला नेतृत्व

    ३४ वर्षपछि जिबिएनसिमा निर्वाचन प्रकृयाद्वारा पहिलो पटक महिला नेतृत्व

    सुपेन्द्र बस्नेत, बोष्टन

    ग्रेटर बोस्टन नेपाली समुदाय'(GBNC-Greater Boston Nepali Community)मा ३४ वर्षपछि क्रमभंग भएको छ। सन् १९८९ मा स्थापित यस संस्थाको आगामी कार्यकाल(२०२२-२०२४)का लागि नयाँ कार्यसमिति चयन गर्न भएको निर्वाचनले क्रमभंग गरेको हो। यस क्रमभंगले संस्थाको आफ्नै पुरानो इतिहासलाई विस्थापित गरी नयाँ इतिहासलाई स्थापित गरेको छ।

    स्थापनाकालदेखि सन् २०२०-२०२२ को दुइ वर्षीय कार्यकालसम्म सहमति भनिदै नयाँ कार्यसमिति चयन गरिदै आइरहिएको थियो। यस पटक पनि सहमतिबाटै नयाँ कार्यसमिति चयन गर्ने भनि भरमग्दूर प्रयास भएकै थियो। तर, अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदका लागि आकाङ्क्षीहरुका बिच सहमति जुट्न नसकेपछि, छिनोफानो गर्नका लागि मतदान प्रक्रियाको सहायता लिनु परेको थियो। मतदान प्रक्रियाले स्थापना कालदेखि नै सहमति भन्दै नयाँ कार्यसमिति चयन गर्ने गरिएको अभ्यासको क्रमभंग मात्र गरेन, संस्थाको इतिहासमै पहिलो पटक महिलालाई अध्यक्ष पदमा चयन गरेर संस्थाको अभिभारा सुम्पिदिएको छ।

    ८६ वर्षीया जमुना अधिकारी मतदान गर्दै

    मतदाताहरुले अध्यक्ष पदकी प्रत्याशी अन्जु थापालाई आफ्नो अमुल्य मतदान गरेर निर्वाचित गराई नयाँ इतिहास स्थापित गरेका छन्।
    गत सेप्टेम्बर २५ तारिख आइतबारका दिन सम्पन्न निर्वाचनले, आगामी कार्यकालका लागि थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। संस्थाको नेतृत्व लिन अध्यक्ष पदका लागि अन्जु थापा, परशुराम फुयाल र जलप्रसाद घिमिरे चुनावी मैदानमा उत्रिनु भएको थियो। मतदान प्रक्रिया सुरु हुनु अगाडि नै जलप्रसाद घिमिरेले आफ्नो उमेदवारी फिर्ता लिनु भएको थियो भने, थापा र फुयालबिच कुनै एकमा सहमति जुटाउने प्रयास असफल भएपछि नेतृत्व चयनको अन्तिम टुङ्गो लगाउन मतदान प्रक्रियामा प्रवेश गरिएको थियो। विरोचन नेपालको संयोजकत्वमा प्रेम तामाङ र भुवन गुरुङ सदस्य रहनु भएको निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार, थापाले आफ्नो प्रतिस्पर्धी फुयाललाई ९५ मतान्तरले पछि पार्दै अध्यक्ष पदमा निर्वाचित हुन सफल हुनु भएको हो। निर्वाचन मत परिणाम अनुसार थापाले २५८ मत प्राप्त गरी संस्थाको बागडोर सम्हाल्न सफल हुदा, फुयालले १६३ मत प्राप्त गर्नु भएको थियो। निर्वाचित भए लगतै संक्षिप्त प्रतिक्रिया दिदै थापाले आफ्नो विजय सम्पूर्ण मासाच्युसेट्स वासी नेपाली समुदायको भएको बताउनु भयो।निर्वाचन परिणामप्रति खुशी व्यक्त गर्दै उहाँले भन्नु भयो,’ म खुशी छु। सहयोगी सबैलाई धन्यवाद ! यो मेरो मात्र विजय नभएर सबै नेपाली समुदायको विजय हो।अब हामी सबै मिलेर अघि बढ्नु पर्दछ। त्यसका लागि सबैबाट साथ र सहयोगको अपेक्षा गर्दछु।’ यसै सिलसिलामा थापाले निर्वाचन प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने सबैलाई धन्यवाद समेत दिनु भयो ।

    निकै रस्साकसी भएको चुनावी मैदानमा, मतदाताहरुको उत्साहसहितको सक्रिय सहभागिता साच्चै मननयोग्य रहेको थियो। उमेदवारहरु र मतदाताहरुले निकै महत्व दिएको मतदान प्रक्रियामा, ८६ वर्षीया जमुना अधिकारीले समेत भाग लिएर मतदान गरेपछि, प्रजातान्त्रिक अभ्यास निर्वाचन र मतदाताहरुको मतदानको महत्व थप उचाइमा पुगेको थियो। निकै उत्साहित रहेको चुनावी माहोलले संस्थाको गरिमा र निर्वाचित हुने नयाँ कार्यसमितिको जिम्मेवारीलाई दर्शाइरहेको थियो। निर्वाचन परिणाम अनुसार वरिष्ठ उपाध्यक्ष पदमा सन्दिप भट्टराई निर्वाचित हुनु भएको छ। भट्टराईले कुल झरेको ४२३ मत मध्ये ३१८ मत ल्याइ, १०४ मत ल्याउने आफ्नो प्रतिस्पर्धी राज कुमार थापालाई पराजित गर्दै विजय हुन सफल हुनु भयो।

    निर्वाचनले संस्थाको अन्य पदाधिकारी र सदस्यहरु भने निर्विरोध चयन गरेको छ। उपाध्यक्ष पदका लागि भने चिरञ्जीवी आचार्य, नवराज जमकट्टेल र सुनिल नेपाली चुनावी मैदानमा उत्रिनु भएको थियो। मतदान प्रक्रिया सुरु हुनुभन्दा अगाडि नै नवराज जमकट्टेलले चुनावी प्रक्रियाबाट आफ्नो उमेदवारी फिर्ता लिएपछि संस्थाको विधान अनुसार दुइ उपाध्यक्ष पदका लागि आचार्य र नेपाली निर्विरोध निर्वाचित हुन सफल हुनु भएको थियो। महिला उपाध्यक्ष पदमा भने सानु बर्मा अधिकारीको एकल उमेदवारी परेकाले निर्विरोध निर्वाचित हुनु भयो। यसैगरी, महासचिव पदमा सोनाम शेर्पा, सचिव पदमा मिलन बस्नेत, कोषाध्यक्ष पदमा अजय कुशवाहा र सह-कोषाध्यक्ष पदमा प्रकाश खड्का पनि निर्विरोध निर्वाचित हुनु भएको छ। संस्थाको विधान अनुसार २४ सदस्य पदका लागि भएको निर्वाचनले, चुनावी मैदानमा उत्रिएका १९ जना सदस्यहरुलाई पनि निर्विरोध निर्वाचित गरेको छ। निर्वाचन समितिका अनुसार, निर्वाचन प्रक्रियाका क्रममा १९ जनाले मात्र उमेदवारी दर्ता गरेकाले उमेदवारी दर्ता गर्ने सबै निर्विरोध निर्वाचित भएका हुन् । सदस्य पदमा निर्वाचित हुनेहरुमा
    भिम प्रसाद आचार्य, युवराज सुवेदी, प्रभा गौतम, प्रमिला धमला बञ्जरा, रोशन यादव, सौरभ अधिकारी, भरत बञ्जरा, दिपक कटुवाल, अभिषेक आचार्य, अजय कुमार ढकाल, नवराज जमरकट्टेल, आङ्दावा शेर्पा, अजित पोखरेल, राज लामा, बिराज गुरुङ, सुनिता भण्डारी, सुवर्ण केसी, अशोक काफ्ले र सजना अधिकारी रहनु भएको छ।

    नेपाली, आप्रवासी नेपाली र नेपाली भाषीहरुलाई संगठित गरी उनीहरुको उथ्थानका लागि यथासक्य काम गर्ने मूल उद्देश्य लिएर स्थापित यस संस्थामा, हाल ६४ जना आजीवन सदस्य र ६६२ जना साधारण सदस्य गरी, जम्मा ७२६ जना सदस्य रहेका छन्।