Category: डायस्पोरा

  • वन मन्त्री यादव अमेरिका प्रस्थान

    वन मन्त्री यादव अमेरिका प्रस्थान

    काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादव ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरमको कार्यक्रममा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन्। असोज ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरमको कार्यक्रममा सहभागी हुन मन्त्री यादव गतराति अमेरिका प्रस्थान गरेका हुन्।

    अमेरिकी सरकारको निम्तोमा त्यहाँ गएका मन्त्री यादवले नेपालको प्रतिनिधित्व गर्दै मिथेन ग्यास उत्सर्जन न्यूनीकरण गर्न राष्ट्रहरुले कस्ता प्राविधिक नीति बनाउने र मिथेनको प्रभावलाई न्यूनीकरण गर्दै यस्को प्रयोग कसरी गर्नेलगायतका विषयमा छलफल गर्ने उनको सचिवालयले जनाएको छ।

    उनले मिथेन र अन्य अल्पकालीन जलवायु प्रदूषणलाई कम गर्न विश्वव्यापीरुपमा भइरहेका उच्चस्तरीय प्रयास, विकसित मुलुकले यसको न्यूनीकरणका लागि उठाएका कदमका विषयमा पनि छलफल गरिने जनाइएको छ।

  • गैरआवासीयलाई नागरिकता दिन वैकल्पिक बाटो खोज्न एनआरएनएको आग्रह

    गैरआवासीयलाई नागरिकता दिन वैकल्पिक बाटो खोज्न एनआरएनएको आग्रह

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाली नागरिकता (पहिलो संशोधन) विधेयक २०७९, मा देखिएको समस्या वैकल्पिक बाटोबाट खोज्न सरकार समक्ष आग्रह गरेको छ ।

    राष्ट्रपति विद्या देवी भण्डारीले संसद्‍को दुवै सदनबाट पारित सो नागरिकता विधेयकलाई रोकेपछि संघले आइतबार एक विज्ञप्ति जारी गर्दै गैरआवासीय नेपाली नागरिकताको प्रावधानलाई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउन वैकल्पिक कानुनी बाटोको अवलम्बन गर्न नेपाल सरकार, नेपालका राजनीतिक दलहरू लगायत सम्बन्धित सबै समक्ष आग्रह गरेको हो ।

    संघका प्रवक्ताद्वय शिवकुमार बरुवाल र सोम सापकोटाद्वारा जारी विज्ञप्तिमा नेपाल र नेपालीको समृद्धिका लागि गैरआवासीय नेपाली संघ नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज लगायत समस्त नेपालीहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

    विज्ञप्तिमा दुवै सदनबाट पारित विधेयकमा व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकताका विषयमा नेपालका राजनीतिक दलहरूकाबीच सर्वसहमति हुँदा हुँदै पनि नागरिकता विधेयकले ऐनको रूप लिएर कार्यान्वयन हुन नसकेको अहिलेको अवस्थाले गैरआवासीय नेपालीहरूलाई दुखित बनाएको उल्लेख छ ।

    विज्ञप्तिको पूर्णपाठ

    नेपालको संविधान २०७२ को धारा १४ अनुसार गैरआवासीय नेपाली नागरिकताको व्यवस्था सुनिश्चित गरिएको नेपाली नागरिकता (पहिलो संशोधन) विधेयक २०७९, संसद्‍को दुवै सदनबाट पारित हुँदा हामी सम्पूर्ण गैरआवासीय नेपालीहरू अत्यन्तै हर्षित भएका थियौं ।

    दुवै सदनबाट पारित उक्त विधेयकले गैरआवासीय नेपालीहरूलाई मातृभूमिसँग जोड्नुका साथै नेपाली सरह सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार प्राप्त गर्ने बाटो सुनिश्चित गर्ने र गैरआवासीय नेपालीहरूसँग रहेको सीप, ज्ञान, साधन र श्रोतको लगानी नेपालमा भित्र्याउन सहज बनाउने कुरामा हामी विश्वस्त छौं ।

    दुवै सदनबाट पारित विधेयकमा व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकताका विषयमा नेपालका राजनीतिक दलहरूकाबीच सर्वसहमति हुँदा हुँदै पनि नागरिकता विधेयकले ऐनको रुप लिएर कार्यान्वयन हुन नसकेको अहिलेको अवस्थाले गैरआवासीय नेपालीहरूलाई दुखित बनाएको छ ।

    संविधान जारी भएको सात वर्ष सम्म पनि गैरआवासीय नेपाली नागरिकता सम्बन्धी कानून बन्न नसकिरहेको परिस्थितिमा सवै पक्षहरूको अथक प्रयासबाट नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ दुवै सदनबाट पारित भैसकेको अवस्थामा गैरआवासीय नेपाली नागरिकताको व्यवस्था सम्वन्धी ऐन, नियमहरू बन्न ढिलाई हुने अवस्थाको सिर्जना प्रति गैरआवासीय नेपालीहरू अत्यन्तै चिन्तित छन् र नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ ले ऐनको रुपमा कार्यान्वयन हुने अवस्थाको अन्यौलताले गैरआवासीय नेपाली संघलाई अत्यन्तै दुखित बनाएको छ ।

    संघ नेपालको संविधान २०७२ को धारा १४ ले व्यवस्था गरे अनुसार नै गैरआवासीय नेपाली नागरिकताका लागि निरन्तर प्रयासरत रहने छ र छिट्टै यो विषयले निकास पाउने कुरामा विश्वस्त छ ।

    गैरआवासीय नेपाली संघ वर्तमान अवस्थाप्रति सचेत छ र यसको गम्भीरतालाई ध्यान दिँदै सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई केही समय धैर्यधारण गरी दिनु हुन हार्दिक अपील गर्दछ ।

    नेपाल र नेपालीको समृद्धिका लागि गैरआवासीय नेपाली संघ नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज लगायत समस्त नेपालीहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै, संविधानले सुनिश्चित गरेको गैरआवासीय नेपाली नागरिकताको प्रावधानलाई छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउन वैकल्पिक कानुनी बाटोको अवलम्बन गर्न पनि गैरआवासीय नेपाली संघ नेपाल सरकार, नेपालका राजनीतिक दलहरू लगायत सम्बन्धित सबै समक्ष हार्दिक आग्रह गर्दछ ।

    शिव कुमार बरुवाल
    सोम सापकोटा
    प्रवक्ता

  • अमेरिकाको ओहायो राज्यमा नेपालीभाषीबीच फुटबल खेल महोत्सव शुरु

    अमेरिकाको ओहायो राज्यमा नेपालीभाषीबीच फुटबल खेल महोत्सव शुरु

    काठमाडौं । अमेरिकावासी नेपाली भाषी समुदायका लागि फुटबल खेलको महोत्सव अमेरिकाको ओहायो राज्यस्थित सिनसिनाटी सहरमा शुक्रबारदेखि सुरु भएको छ । ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनले’ आयोजना गरेको सो प्रतियोगिताको उद्घाटन शुक्रबार राति फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले एक समारोहबीच गर्नुभयो । प्रतियोगितामा भाग लिन अमेरिकामा बसोबास गर्ने नेपाली भाषी हुनुपर्ने प्रावधान राखिएको छ ।

    तीन दिनसम्म जारी रहने सो उत्सवमा अमेरिकाका विभिन्न राज्यबाट ३८ वटा फुटबल टिमको सहभागिता रहेको छ । युवा, महिला र ३५ वर्षमाथि उमेर समूहका भेट्रानका भिन्नभिन्न टिमबीच प्रतिस्पर्धामा हुने बताइएको छ । सो खेलको विजेतका लागि १५ हजार अमेरिकी डलर ९१९ लाख ४० हजार नेपाली रुपियाँ० पुरस्कार राखिएको छ । उद्घाटनलगत्तै युनिक ब्वाइज फुटबल क्लब र पथरी इ वान फुटबल क्लबबीच प्रतिस्पर्धा भएको थियो ।

    त्यसैगरी, कोलम्बस स्टार फुटबल क्लब र रिबोलुसन फुटबल क्लब तथा रोयल फुटबल क्लब र सिन्सी कुल क्याट फुटबल क्लबका बीच प्रतिस्पर्धा हुने कार्यक्रम रहेको छ । तीन वटा फुटबल मैदानमा एकै समयमा आइएन क्रिष्ट युनाइटेड भर्सेस एरो फुटबल क्लब, मिचिगन फुटबल क्लब भर्सेस ब्लाकलिक युनाइटेड, साङ्ग्रिला युथ फुटबल क्लब भर्सेस नर्थ डकोटा युनाइटेड फुटबल क्लबका बीच प्रतिस्पर्धा हुने कार्यक्रम रहेको छ ।

    त्यसैगरी, रोही कोलम्बस फुटबल क्लब भर्सेस एफसी युनाइट, इन्ट्रा फुटबल क्लब भर्सेस बेलडाँगी युथ फुटबल क्लब, एफसी नाइट भिजन भर्सेस बिवाइएससी, चुके फुटबल क्लब भर्सेस युनाइटेड ओन्टारियो फुटबल क्लब, टिमाइ स्क्वाड भर्सेस एफसी ओरेञ्ज, भरमण्ट एघार भर्सेस पीस जोन रिपोर्टिङ अफ बिसिएएका बीच रोचक प्रतिस्पर्धा हुँदै छ ।

    उद्घाटनकै दिन सम्पन्न भेट्रानतर्फको खेलमा ह्यारिसवर्ग भेट्रान्स भर्सेस एक्रन भेट्रान्स, सिन्सी इन्ट्रा भेट्रान्स भर्सेस मिनिसोटा भेट्रान्स, सिन्सी येल भेट्रान्स भर्सेस कोलम्बस इन्ट्रा भेट्रान्स, रिभाइभल भेट्रान्स भर्सेस् हिलसिटी भेट्रान्सका बीच पनि प्रतिस्पर्धा हुनेछ ।

    युवाका २६ वटा टिम सहभागी रहेकाले यो समूहको खेल नकआउट विधिबाट गरिएको खेल आयोजक समितिका संयोजक राजन चुहानले बताउनुभयो । भेट्रान्सतर्फ आठ वटा टिम र महिलातर्फ चार वटा टिम सहभागी छन् । महिला टिमबीच हुने प्रतिस्पर्धा भने अमेरिकी पूर्वीय समयानुसार शनिबार सुरु हुने आयोजना संयोजक चुहानले जानकारी दिनुभयो ।

    खेल सुरु हुनुअघि बिहीबार साँझ सिनसिनाटीको होटल मेरियटमा खेल टिमका म्यानेजर, क्याप्टेन र कोचलाई आयोजक संस्था इन्ट्रा फाउण्डेसनले स्वागत समारोहको आयोजना गरेको थियो । फाउण्डेसनका प्रवक्ता केशव आचार्य र सचिव गोपाल धितालले सहभागीको स्वागत गरेका थिए भने गायक तथा सङ्गीतकार केशव पौडेलले तयार गरेको इन्ट्राको खेल गीत पनि पहिलोपल्ट सार्वजनिक गरिएको थियो ।

    विभिन्न चरणमा खेल भई फाइनलमा पुग्न सफल टिमका बीच सेप्टेम्बर २५ मा अन्तिम प्रतिस्पर्धा हुने कार्यक्रम तय भएको छ ।

    रासस

  • अनेसास कविता महोत्सवमा ६७ कविता वाचन हुने

    अनेसास कविता महोत्सवमा ६७ कविता वाचन हुने

    काठमाडौं । राष्ट्रकवि माधव घिमिरेको जन्मजयन्तीका अवसरमा अनेसासद्वारा आयोजना गरिने कविता महोत्सव- २०२२ कालागि प्राप्त ३१८ कविता मध्ये ६७ जना सर्जकको कविता वाचनका लागि छनोट भएका छन् । २४ सेप्टेम्वर , शनिवार अमेरिकी पूर्वीय समयानुसार विहानको ९ बजे अर्थात् २४ असोज, शनिवार साँझ नेपालको ६.४५ बजेदेखि जुमका माध्यममा  हुने कार्यक्रममा सहभागी भएर प्रतियोगीले कविता वाचन गर्ने छन् ।
    प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने कविलाई क्रमशः ५ सय, ३ सय र २ सय अमेरिकी डलर नगद र प्रमाण-पत्रद्वारा सम्मानित गरिनेछ । यो महोत्सवको दोस्रो संस्करण हो । वाचनका लागि छनोट भएका कवि र कविताको शीर्षक निम्न लिखित रहेका छन् ।

    १.  कमला तामाङ- विचारको नक्शा
    २.जेबी खत्री- छोरालाई चिठ्ठी
    ३.मोहनप्रकाश- आमाको आश                       
    ४.रामचन्द्र ढकाल  ( आर.सी.अज्ञात )- सन्ताप
    ५. क्रिश गुल्मेली बाबू -कस्तो अचम्म
    ६.रूपा थापा-आरूका फूलहरू
    ७.निरज दाहाल-छायाहरूका विरुद्ध
    ८. राम अविरल विष्ट-स्वतन्त्रता
    ९.अजित उत्सव-नानीबाबुलाई शिक्षा
    १०.सानुराजा श्रेष्ठअञ्जान-आज म जागेको छु …
    ११.वविता घिमिरे-घुम्ने कुर्सीमा सहर
    १२.भोलानाथ सुबेदी-काभ्रेकी ठाहिँली                                    
    १३.डिल्ली अम्माई- बसन्ती गर्भवती भई
    १४.डा. अमर कार्की- बा र हजुरबा
    १५.सुन्दर कण्डेल-फर्क नेपाल साथी!        
    १६.प्रज्वल अधिकारी-पिरतीको आँगन
    १७.युवराज काफ्ले-जातको रंग
    १८. बन्दना भट्टराई -छोरीको आगमन
    १९.रुपेश कुमार सदाय~बाक्लो अन्धकार र घाइते राष्ट्रियता
    २०.गीता बजगाईॅ अधिकारी -भूस्वर्ग
    २१.शुभचन्द्र राई-समयचित्र
    २२.विक्रम चेतनशील राई-समृद्धिको रूख
    २३.रत्न विरही घिमिरे-कृष्णका तटमा बसी  
    २४.पूर्ण भण्डारी “पवित्रदीप”-चुच्चे नक्साका मेयर
    २५.प्रकाश बस्नेत गफाडी-बुद्धको देशबाट
    २६.विक्रमपवन परियार-बन्दीगृह
    २७.लक्ष्मी देवी गौडेल-एउटा प्रश्न ?
    २८.सुन्दर शिरीष- एक परदेशीको बकपत्र
    २९.अशोककुमार अर्याल-माटोका मनहरू
    ३०.डा. खगेन्द्रप्रसाद दाहाल-आमाको आह्वान
    ३१.राधिका कल्पित-सन्तानका लागि सङ्कल्प
    ३२.युवराज भण्डारी-मन स्नान
    ३३.राजेन्द्र कार्की-कृत्रिम रेखा
    ३४.निर्मला कोइराला-राष्ट्रकविको सम्झनामा
    ३५.कोमलप्रसाद भट्ट- सम्झनामा राष्ट्रकवि
    ३६.रविन खडका-पागल बा’को बयान
    ३७.रमेश भट्टराई ‘सहृदयी’-कर्मालाप
    ३८.विवेक दुलाल क्षेत्री’दमक’ – एक शुन्दर सुरुवात
    ३९.बन्धु पोखरेल -यो रगत
    ४०.प्रकाश खड्का “अभियान” -सन्तान
    ४१.हिरण्य पौडेल-तराजु
    ४२.उमा शर्मा- म जीवन्त बाग्मती भएर बग्नेछु
    ४३.गोमा रेग्मी पण्डित-आमा
    ४४.प्रभा पोखरेल- अठोट
    ४५.किरण सिवा- ठुले देश बिर्सिदैन “
    ४६.कमला न्यौपाने-कामना
    ४७.शुभद्रा भण्डारी-तड्पिएरै मर्छु क्यारे
    ४८.कपिल अर्याल- सिलौटो, लोहोरो र आमा
    ४९.प्रकाशप्रसाद पाण्डे-समयको शिलापत्र
    ५०.कमलराज केसी-समुद्री किनारको देशबाट
    ५१.हिमाोढ पहाडी -यादहरूको पहाड
    ५२.डा. मुकुन्द पथिक-राष्ट्रकवि घिमिरेप्रति
    ५३.अज्ञात युवक-भातको सपना
    ५४.अग्नि पराजुली -जिन्दगीको नाँउ
    ५५.प्रकाश नेपाली- नारी भइ उभिनु छ
    ५६.सयपत्री थुलुङ-गाउँ फर्कनुअघि
    ५७.सीता तुम्खेवा- के आत्मा हुन्छ ?
    ५८.शैलपुत्र-आमा, म आएँ
    ५९.खेमराज गैराघरे-तँ कविता नलेख्
    ६०.असफल गौतम-आमा ! यतिखेर म गाउँ बनाउँदैछु
    ६१.नारायण अधिकारी-मान्छेको अध्ययन
    ६२.प्रेम संग्रौला-मान्छे आफ्नो बाटो आफै खन्छ    
    ६३.रश्मि भट्ट-संसार  नै एक हो
    ६४.के:बी पारखी-गन्तव्य
    ६५.पूर्ण विश्व- आमा तपाई नहुदा
    ६६.पशुपति पराजुली “सालघारी”-शहीदको सपना
    ६७.सुजाता घिमिरे राउत -देश, मुर्ति र मान्छेहरु

  • गुल्मीका युवालाई यूएईमा पर्यो ३५ करोडको चिट्टा

    गुल्मीका युवालाई यूएईमा पर्यो ३५ करोडको चिट्टा

    काठमाडौं । नेपालका एक युवाले दुबईमा (एक करोड दिराम) झण्डै ३५ करोड नेपाली रूपैयाँ बराबरको चिठ्ठा जितेका छन्। केही वर्षदेखि दुबईमा कार सफा गर्ने काम गरिरहेका गुल्मीका ३१ वर्षीय भरत बिश्वकर्माले युएईको चर्चित मजुज चिठ्ठामा १ करोड दिराम जितेका हुन्। गल्फ न्यूजका अनुसार उक्त चिठ्ठा जित्ने भरत पहिलो नेपाली हुन्। मासिक १,३०० मात्रै कमाउने उनी सबैभन्दा कम कमाउने विजेता मध्येका एक बनेका छन् ।

    मजुजले साप्ताहिक रूपमा खुलाउने यो चिठ्ठामा भरतले दुई वर्षदेखि काटिरहेका थिए। अन्ततः उनको भाग्य खुल्यो र अहिले उक्त चिठ्ठा जित्न सफल भए। यो चिठ्ठा जित्नुअघिसम्म दुबईमा बैंक खातासमेत थिएन। चिट्टा जितेपछि उनले खुसी व्यक्त गरेका छन् । उनले भने, ‘शनिबार राति टिभीमा लाइभ हेरिरहेको थिएँ, मैले स्क्रिनमा आफ्नै चिठ्ठा नम्बर देखेँ, त्यसपछि खुसीले सुत्नै सकिनँ।’

    यो पैसाले भरत आफ्नो ऋण तिर्न र परिवारका लागि राम्रो बन्दोबस्तीको व्यवस्था गर्न चाहन्छन्। आफ्ना तीन र पाँच वर्षका दुई सन्तानका लागि यो रकम खर्च गर्ने उनको योजना छ। साथै उनले ब्रेन ट्युमरपछि प्यारालाइसिस भएका आफ्ना भाइको अपरेशनका लागि पनि केही पैसा खर्च गर्न चाहन्छन् । चिठ्ठा जिते पनि कार धुने काम नछाड्ने उनको भनाई छ ।

    युएईको दी नेशनल न्यूजसँग उनले भने, ‘युएईले मलाई धेरै अवसरहरू दिएको छ, त्यसैले म यहाँ बस्न चाहन्छु, अहिले छुट्टि लिएर परिवारलाई भेटेर आउँछु।’ तीन वर्षअघि दुबई आएका भरत त्यसअघि वैदेशिक रोजगारीकै सिलसिलामा साउदी अरबको पावर प्लान्टमा काम गर्थे। मजुजका सिईओ फरिद सामजीले चिठ्ठा जित्ने आशमा धेरै नेपालीले यसमा सहभागिता जनाउँदै आएको भन्दै भरतको जीतले नेपाली समुदायमा खुसी छाएको बताए।

    ‘अहिलेसम्म करिव ३ हजार दुई सय नेपालीले विभिन्न श्रेणीको मजुज चिठ्ठा जितिसकेका छन्, जसमध्ये २८ जनाले पहिलो र दोस्रो श्रेणीको चिठ्ठा जितेका छन्,’ सीईओ सामजीले भने।

    लामो समयदेखि चिठ्ठा किनिरहेका उनको यसपालिको लक्की नम्बर १६, २७, ३१, ३७ र ४२ हुन्। उनले हरेक पटक चिठ्ठा किन्दा दुई वटा नम्बर कहिल्यै छुट्टाउँदैन्। किनकि, भरतले जितेका दुई नम्बरमध्ये २७ आफ्नो जन्मदिन र १६ आफ्नो विवाह गरेको दिन हो।

    आफूले पाएको पुरस्कारले अब जीवननै परिवर्तन हुने उनले अपेक्षा गरे। धेरै मानिसहरूका लागि, डिएच ३५ पैसा कमाउने राम्रो अवसर हो, त्यसैले भरतजस्ता पात्रहरूले यो चिठ्ठा किन्ने मजुजका सिईओ फरिद सामजीले भने। ‘भरत हाम्रा विजेतामध्ये सबैभन्दा कम कमाउनेहरू मध्ये एक हुन्, त्यसैले यसले उनी र उनको परिवारमा ठूलो फरक पार्नेछ’, उनले भने, ‘हामीले यी विजेताहरू उत्पादन गरिरहनुको एउटै कारण छ, यो निष्पक्ष र विश्वसनीय, त्यसैले मानिसहरू भाग लिन चाहन्छन्। हामी सपना साकार बनाउँछौं।’

  • अमेरिकी एनआरएनएमा तेश्रो धार

    अमेरिकी एनआरएनएमा तेश्रो धार

    बिष्णु सिंह\न्युयोर्क । गैरआवाशीय नेपाली संघ अन्तररास्ट्रिय समन्वय परिषद शेस घले पक्षले पनि अमेरिकी राष्ट्रिय परिषद गठन गरेसंगै न्युयोर्कमा एक पत्रकार भेटघाट तथा अन्तर्कृया आयोजना गरिएको छ । गैर आवासिय नेपाली संघ केन्द्रदेखी नै फुटे सँगै विभिन्न देशमा राष्ट्रिय परिषद फुट्ने क्रम जारी छ । एनआरएनए घले पक्षले अमेरिकामा सुर्य लम्सालको नेतृत्वमा ३५ जना संम्मिलित समिति घोषणा गरेको छ ।

    समिति घोषणा सँगै १९ तारिखमा न्युयोर्कमा अन्तर्कृया गरिएको हो । अन्तर्कृयामा अमेरिकाका अर्का एनआरएनए अध्यक्ष बुद्धी सागर सुबेदीलाई आफुहरु आफ्नो समुहमा जोडीन पटक पटक अनुरोध गर्दा समेत वास्ता नगरेपछी सुबेदीसगै निर्वाचनमा प्रतिस्पर्धा गरेर उपबिजयता बनेका सुर्य लम्सालको नेतृत्वमा अमेरिकि राष्ट्रिय परिषद गठन गरिएको जानकारी गराइयो । अमेरिकामा आफु खुशी राष्ट्रिय परिषद घोषणा गर्ने क्रम पछिल्लो पटक बढ्दै गएको छ । सुर्य लम्साल नेतृत्वमा घोषणा गरिएको यो एनआरएन तेश्रो धार हो ।

    स्थानिय ज्याक्सन हाईट्स थकाली किचेनमा आयोजित अन्तर्कृयामा आयोजकले एनआरएनमा साँचो अर्थमा काम गर्ने नेतृत्व ल्याउनै पर्ने कुरामा जोड दिइयो । यस अगाडि एनआरएन अन्तर्गत विभिन्न पदमा बसेर काम गरी सकेका सोनाम लामाले एनआरएनमा केहि लिनु नभएर दिने मात्र आफ्नो लक्ष्य रहेको बताए । त्यसैले साचो अर्थमा एनआरएनमा काम गर्ने नेतृत्व ल्याउन जरुरी रहेको उनको भनाई छ ।

    आयोजकले बिशेषत अन्तर्कृया कार्यक्रममा नयाँ समिति गठनको आवश्यकताबारे प्रस्ट पार्दै एनआरएन मुभमेण्टमा अमेरिकी एनआरएन अत्यन्त आवश्यक रहेको बताए । अन्तर्कृया कार्यक्रममा उपाधक्ष्य बिआर लामा र उत्तर अमेरिका क्षेत्रीय सयोजक कृष्ण पोखरेललयायत उपस्थित थिए ।

  • वासिङ्टन डिसीमा दशैं तिहार मेला हुँदै

    वासिङ्टन डिसीमा दशैं तिहार मेला हुँदै

    काठमाडौं । संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा सेप्टेम्बर २५ तारिख (असोज ९ गते) दशैं तिहार मेला आयोजना हुने भएको छ । वासिङ्टन डिसी, भर्जिनिया र मेरिल्याण्डमा रहेका नेपाली डायस्पोरा तथा नेपाली भाषा, संस्कृति र चाडपर्वलाई मन पराउने विदेशीलाई लक्षित गरी वासिङ्टन डिसीको बुल रन पार्कमा दशैं तिहार फेस्टिबल आयोजना गर्न लागिएको हो । अमेरिकामा बसोबास गरिरहेका नेपाली र विदेशीमाझ नेपाली संस्कृतिको प्रवद्र्धन गर्नका लागि उक्त फेस्टिबल कोसेढुंगा सावित कार्यक्रम संयोजक राजश्री श्रेष्ठले बताइन् ।

    मेलामा दशैं बजार, नेपाली खानाका परिकार, नेवारी खाना, सेलरोटी, गहना पसल र अन्य विभिन्न सामानका स्टल रहनेछन् । मेलामा दिउँसोको समय मंगलधुन, लाखे नाच, रथ प्रदर्शनीलगायतका सांस्कृतिक कार्यक्रम तथा तामाङ, नेवार, गुरुङ र अन्य जातजातिका पहिचान झल्किने प्रस्तुति पनि हुने छन् । दिवा समयका सबै प्रस्तुति अवलोकन गर्न र सहभागी बन्नका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको कार्यक्रम संयोजनमा खटिएकी मनिषा प्रसाईं अधिकारीले जानकारी दिइन् ।

    साँझको समयमा प्रसिद्ध गायक एड्रिन प्रधान, निमा रुम्बा र अमेरिकामा रहेका स्थानीय नेपाली ब्याण्डका सदस्यले पनि सांगीतिक प्रस्तुति दिनेछन् । उक्त मेलामा नेपालको प्रसिद्ध प्रकाशन गृह फाइनप्रिन्टले नेपाली पुस्तक प्रदर्शन गर्नेछ ।

  • नेपालमा लगानी गर्न इण्डोनेसियासँग प्रधानमन्त्रीको आह्वान

    नेपालमा लगानी गर्न इण्डोनेसियासँग प्रधानमन्त्रीको आह्वान

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउने काममा सहजीकरण गर्न नेपालका लागि इन्डोनेशियाका राजदूतलाई आग्रह गरेका छन्। मंगलबार प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेपालका लागि इन्डोनेशियाका राजदूत हेरु हारतान्तो सुबोलोसँगको भेटमा प्रधानमन्त्री देउवाले उक्त आग्रह गरेका हुन्।

    ‘प्रधानमन्त्रीज्यूले पर्यटन, जलविद्युत् तथा अन्य सम्भावित व्यवसायमा इन्डोनेशियाको लगानी भित्र्याउन र नेपालको हिमाली पर्यटनलाई इन्डोनेशियाका पर्यटकबीच प्रवर्द्धन गर्न आग्रह गर्नुभयो’, प्रधानमन्त्रीलाई उद्धृत गर्दै सो भेटमा सहभागी नेपालका लागि इन्डोनेशियाका अवैतनिक वाणिज्यदूत एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताए। सो अवसरमा प्रधानमन्त्री देउवाले नेपालमा गणतन्त्र इन्डोनेशियाको आवासीय दूतावास स्थापनाका लागि इन्डोनेशियाको सरकारलाई आग्रह पनि गरे।

    प्रधानमन्त्री देउवाले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि नेपाल भ्रमणका लागि राजदूत सुबोलोमार्फत इन्डोेनेशियाली जनतालाई आग्रह गरेको ढकालले जानकारी दिए। उक्त भेटमा नेपालका लागि गणतन्त्र इन्डोनेशियाका राजदूत सुबोलोले नेपालमा आवासीय दूतावास स्थापनाका लागि आफू सकारात्मक रहेको र प्रधानमन्त्रीको यो सन्देश इन्डोनेशियाली सरकारसमक्ष पुर्‍याउने बताए।

    राजदूत सुबोलोले कूटनीतिक तथा सरकारी राहदानीबाहकलाई भिसा सहजीकरणका लागि दुई देशबीच छिट्टै सम्झौता हुने बताए। आगामी अक्टोबरमा इन्डोनेशियामा आयोजना हुने ‘ट्रेड एक्स्पो’ प्रवद्र्धनका क्रममा राजदूत सुबोलोले नेपाल र इन्डोनेशियाबीच द्विपक्षीय व्यापार तथा लगानीका लागि भूमिका निर्वाह गर्ने बताए।

  • बेलायती महारानीलाई श्रद्धाञ्जली दिन लण्डन पुगे परराष्ट्र मन्त्री खड्का

    बेलायती महारानीलाई श्रद्धाञ्जली दिन लण्डन पुगे परराष्ट्र मन्त्री खड्का

    काठमाडौं । परराष्ट्र मन्त्री नारायण खड्का लण्डन पुगेका छन् । उनले बेलायत पुगेर महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धाञ्‍जली अर्पण गरेका छन्। आइतबार बेलायतको वेष्टमिनिस्टर हलमा पुगेर उनले महारानी एलिबेथप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले साँझ नेपाल सरकारको प्रतिनिधित्व गर्दै लानक्यास्टर हाउसमा रहेको समवेदना किताबमा हस्ताक्षर समेत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    मन्त्री खड्का शनिबार बेलायत पुगेका हुन् । महारानीको सोमबार अन्तिम संस्कार हुँदैछ । अन्तिम संस्कारमा संसारभरबाट ५ सय भन्दा बढी सरकार प्रमुख, राष्ट्र प्रमुख तथा उच्च अधिकारी सहभागी हुँदैछन् । उनको अन्तेष्टीमा भाग लिन भारतले राष्ट्रपतिलाई लण्डन पठाएको छ ।

  • संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्र सचिवको नेतृत्वमा टोली अमेरिका जाने

    संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्र सचिवको नेतृत्वमा टोली अमेरिका जाने

    काठमाडौं । परराष्ट्र सचिव भरत पौडेल आज अमेरिका जाँदैछन् । उनी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान लागेका हुन् । उनले महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । न्यूयोर्क बसाईमा उनले उच्चस्तरीय भेटवार्ता समेत गर्ने छन् ।

  • जिबिएनसी(GBNC)लाई निर्वाचन तयारीको चटारो

    जिबिएनसी(GBNC)लाई निर्वाचन तयारीको चटारो

    सुपेन्द्र बस्नेत, बोष्टन

    अमेरिकाको म्यासाचुसेट्स राज्यमा बसोवास गर्ने प्रवासी नेपाली तथा नेपाली भाषीहरुको संगठन ‘ग्रेटर बोस्टन नेपाली सामुदय(GBNC-(Greater Boston Nepali Community) लाई यतिबेला निर्वाचन तयारीको चटारो परेको छ। विधान अनुसार प्रत्यक दुइ वर्षमा निर्वाचन गरी नयाँ कार्यसमिति चयन गर्नु पर्ने व्यवस्था भए अनुसार, वर्तमान कार्समितिको दुइ वर्षे कार्यकाल (२०२०-२०२२) सकिनै लागेकाले, आगामी कार्यकाल (२०२२-२०२४)का लागि नयाँ कार्यसमिति चयन गर्न निर्वाचन गर्नु पर्ने चटारो परेको हो। संस्थाले संस्थाको विधान अनुसार आगामी दुइ वर्षे कार्यकाल(२०२२-२०२४) का लागि नयाँ कार्यसमिति चयन गर्न विरोचन नेपालको संयोजकत्वमा, प्रेम तामाङ र भुवन गुरुङ सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरेर निर्वाचन सम्पन्न गर्न निर्वाचन समितिलाई पूर्ण जिम्मेवारी सुम्पिसकेको छ। सोही मुताबिक निर्वाचन समितिले पनि संस्थाको विधान अनुसार यही सेप्टेम्बर २५, २०२२ तारिखका दिन निर्वाचन सम्पन्न गर्ने भनी सूचना समेत जारी गरिसकेको छ। निर्वाचनको तयारी अन्तर्गत निर्वाचन समितिले निर्वाचन तालिका समेत सार्वजनिक गरेर आवश्यक तयारी थालिसकेको हो।

    निर्वाचन समितिका संयोजक बिरोचन नेपालका अनुसार समितिले आफ्नो तयारीलाई तिब्रता दिएको छ। निर्वाचन तयारीका सम्बन्धनमा जानकारी दिदै संयोजक नेपालले भन्नु भयो, ‘संस्थाको विधान अनुसार निर्वाचन सम्पन्न गरेर संस्थाले दिएको जिम्मेवारी पुरा गर्नमा हामी निर्वाचन समिति प्रतिबद्ध छौं। त्यसका लागि आवश्यक तयारी समेत थालिसकेका छौं।’
    निर्वाचन सम्पन्न गर्न आवश्यक चरण बद्ध तयारी अन्तर्गत निर्वाचन सम्बन्धि सूचना जारी गरिसकिएको र निर्वाचन कार्य तालिका समेत सार्वजनिक गरिसकिएको संयोजक नेपालले जानकारी दिनु भयो।

    निर्वाचन समितिले तोके बमोजिम 594 Washington st, Braintree MA-02184 स्थित पशुपतिनाथ बुद्ध फाउन्डेशनको भवनमा निर्वाचन सम्पन्न गर्न कार्यसमितिले पनि आफ्नो तर्फबाट आवश्यक तयारी थालेको संस्थाका अध्यक्ष मिलन कुमार कार्कीले जानकारी दिनु भयो।

    हुन गइरहेको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न म्यासाचुसेट्स वासी नेपाली, आप्रवासी नेपाली तथा नेपाली भाषी समुदायको सक्रिय सहभागिताको खाँचो अौल्याउदै अध्यक्ष कार्कीले सबैको सक्रिय सहभागिताका लागि अनुरोध गर्नु भयो। अधिवेशन मार्फत आगामी कार्यकालका लागि सक्षम नेतृत्वसहितको सक्रिय कार्यसमिति चयन गर्ने मात्र नभई, यो आपसी भाइचाराको सम्बन्धलाई अझ प्रगाढ, सामिप्य र कसिलो बनाउने सुवर्ण अवसर पनि भएको जिकिर गर्दै अध्यक्ष कार्कीले भन्नु भयो, ‘यो केवल औपचारिकताका लागि नयाँ कार्यसमिति बनाउने बेला मात्र नभएर, मुलभूत रुपमा संस्थालाई सही अर्थमा हाँक्न सक्ने सक्षम नेतृत्वसहितको सक्रिय कार्यसमिति चयन गर्ने सुवर्ण अवसर हो। जसमा संस्था र समुदायको भविश्य निर्भर हुनेछ।’
    अध्यक्ष कार्कीले समुदाय बिचको आपसी एकता र सामीप्यतामा जोड दिदै थप्नु भयो, ‘त्यति मात्र हैन, यस अवसरले नेपालीहरुलाई एकताबद्ध बनाएर हामी बिचको आपसी भाइचाराको सम्बन्धलाई अझ सामीप्य, आत्मीय, प्रगाढ र कसिलो बनाउछ। त्यसैले निर्वाचन सही अर्थमा सफल बनाउन निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउन सम्बन्धित सबैलाई अनुरोध गर्दछु।’

    अधिवेशनको तयारीका सम्बन्धमा जानकारी दिदै अध्यक्ष कार्कीले भन्नु भयो, ’हामीले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न, निर्वाचन समिति गठन गरी जिम्मेवारी सुम्पिसकेका छौं। निर्वाचन समितिले आफ्नो काम सुरु गरिसकेको छ।’ निर्वाचन प्रक्रियालाई सम्पन्न गर्न कार्य समितिले आफ्नो तर्फबाट पनि तयारी थालिसकेको जानकारी दिदै अध्यक्ष कार्कीले भन्नु भयो, ‘हामी पनि आवश्यक तयारीमा जुटिरहेका छौं। अहिले हामी अधिवेशनको प्रचार प्रसार गर्नमा र संस्थामा धेरै भन्दा धेरै नेपाली समुदायलाई आबद्ध गराउनमा बढी जोड दिइरहेका छौं।’

    आगामी दुइ वर्षे कार्यकालका लागि सम्भव भएसम्म सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गर्ने, यदि सर्वसम्मत हुन नसकेमा प्रजातान्त्रिक अभ्यासबाट निर्वाचन गरेर नयाँ कार्यसमिति चयन गर्ने, गरी घोषित तथा सम्भावित आकाङ्क्षीहरुका बिच आवश्यक छलफल चलिरहेको स्रोतले जनाएको छ। बिगतको तुलनामा संस्थाको नेतृत्व लिन र कार्यसमितिमा चयन हुनका लागि महत्वकाँक्षीहरु धेरै बढेकाले यस पटकको निर्वाचन प्रक्रियामा रस्साकासी कडै हुने श्रोतको दावी छ।

    संस्थाको विधान अनुसार अधिवेशनले आगामी दुइ वर्षे कार्यकाल(२०२२-२०२३) का लागि अध्यक्ष-१, वरिष्ठ उपाध्यक्ष-१,उपाध्यक्ष(दुइ जना), महिला उपाध्यक्ष-१, महासचिव-१, सचिव-१,कोषाध्यक्ष-१, सह-कोषाध्यक्ष-१ र सदस्य-२४ जना चयन गर्नेछ।

    नेपाली, आप्रवासी नेपाली र नेपाली भाषीहरुलाई संगठित गरी उनीहरुको उथ्थानका लागि यथासक्य काम गर्ने मूल उद्देश्यका साथ सन् १९८९ मा स्थापित यस संस्थामा हाल ५० जना आजीवन सदस्य र १८० जना साधारण सदस्य गरी, जम्मा २३० जना सदस्यहरु आवद्ध रहेका छन्। झण्डै बीस हजारको हाराहारीमा नेपाली तथा नेपाली भाषीहरुको बसोवास रहेको अनुमान गरिएको यस म्यासाचुसेट्स राज्यमा, परिमाणात्मक रुपमा हेर्दा संस्थामा आवद्ध हुनेहरुको संख्या भने निकै कम देखिन्छ। यद्यपि, गर्दै आएका क्रियाकलापहरु र चालिएका गुणात्मक कदमहरु भने कदरयोग्य, उत्प्रेरक र उत्साहजनक नै देखिन्छ। आगामी दिनहरुमा संस्थाले बढि भन्दा बढि सम्बन्धित समुदायलाई संस्थामा आवद्ध गराएर, उनीहरुलाई अपनत्व ग्रहण गराउन विशेष अभियान नै सञ्चालन गर्नु पर्ने आवश्यकता देखिन्छ।

  • न्यूयोर्कमा नेपाली चेली सराहाना श्रेष्ठ एसेम्बली जेनेरल चुनाब लड्ने

    न्यूयोर्कमा नेपाली चेली सराहाना श्रेष्ठ एसेम्बली जेनेरल चुनाब लड्ने

    न्यूयोर्क । आगामी नोभेम्बरमा न्यूयोर्क स्टेट १०३, डिस्ट्रिक्ट मिड हडसन भ्यालीमा हुने एसेम्बली जेनेरल चुनाबमा नेपाली चेली सराहाना श्रेष्ठ उम्मेदवार बन्ने भएकी छिन् । यसबारे एक कार्यक्रम आयोजना गरी नेपाली समाजमा अबगत गराइएको छ । ड्रम सङ्गठनको भगिनी इकाई ज्याक्सन हाईटस्थित ड्रम बिट्सले अघिल्लो साता सराहाना श्रेष्ठसंग नेपाली समुदायको अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
    ड्रम बिट्सले ड्रम संगठनको भगिनी इकाईको हैसियतले नेपालीहरुको हरेक समस्याहरुलाई शसक्त रुपमा उठाउने गर्छ ।

    ड्रम बिट्स संगठनले दक्षिण एसिया र इन्डो(क्यारेबियन समुदायको मजदुर वर्गमा राजनीतिक शक्ति निर्माण गर्नको निमित्त काम गर्दै आएको छ । यस कार्यक्रमको मुख्य उदेश्य आगामी नोभेम्बर महिनामा न्युयोर्क स्टेट एसेम्बली डिस्ट्रिक १०३, मिड हड्सन भ्यालीमा हुने जेनेरल चुनाबको प्रतिस्पर्धामा उत्रेकी उम्मेदवार पहिलो नेपाली चेली सराहाना श्रेष्ठलाई अधिकतम भोटले जिताउनु रहेको संस्थाले जनाएको छ ।

    सो अवसरमा सामाजिक र मानवाधिकाका क्षेत्रमा आवाज उठाई रहेको संस्था ड्रम बिट्स टिम, कम्युनिटी भोलेन्टियर्स, ल्पानिंग टिम, नेपाली मिडिया, सामाजिक अभियन्ता, सामाजिक आयोजकको साथै डिस्ट्रिक ३६ एस्टोरिया क्षेत्रबाट बिधानसभाको सदस्य जोहराम मामदानी र डिस्ट्रिक ३० बाट विधानसभा सदस्य उम्मेदवार स्टेभन रागा समेत उपस्थित भए ।

    यस कार्यक्रममा खुल्ला रुपमा सामाजिक न्याय, मानब अधिकार, आर्थिक भेदभाब सम्बन्धमा चर्चा परिचर्चा गरिएको थियो । कार्यक्रममा नेपाली समुदाय र सराहना श्रेष्ठबीच खुला छलफल बाट उनलाई व्यक्तिगत रूपमा चिन्ने वातावरण बनाइएको थियो ।

  • एक महिनामा विदेशमा रहेका नेपालीबाट भित्रियो ९२ अर्ब २१ करोड रेमिट्यान्स

    एक महिनामा विदेशमा रहेका नेपालीबाट भित्रियो ९२ अर्ब २१ करोड रेमिट्यान्स

    काठमाडौं । विदेशमा रहेका नेपालीले एक महिनाको अवधिमा ९२ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स स्वदेश पठाएका छन् । साउनमा विप्रेषण आप्रवाह बढेको पाइएको हो । अघिल्लो आर्थिक वर्षको साउनको तुलनामा चालू आर्थिक वर्षको साउनमा विपे्रषण आप्रवाह २०.३ प्रतिशतले बढेर ९२ अर्ब २१ करोड रुपियाँ पुगेको राष्ट्र बैङ्कले जनाएको छ ।

    अमेरिकी डलरमा भने विपे्रषण आप्रवाह १२.८ प्रतिशतले मात्र बढेको छ । यसअवधिमा वैदेशिक रोजगारीका लागि जान खोज्ने नेपालीको सङ्ख्यामा उच्च वृद्धि भएको छ । साउनमा मात्रै वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति २२२.८ प्रतिशतले बढेर ४४ हजार ५४० पुगेको छ ।

  • आउन थाल्यो रसुवागढी नाकाबाट चिनियाँ सामान

    आउन थाल्यो रसुवागढी नाकाबाट चिनियाँ सामान

    रसुवा ।  गत साउनको तेस्रो हप्तायता बन्द रसुवागढी नाकाबाट बिहीबारदेखि व्यापारिक सामग्री पुनःआयात हुन थालेको छ। 

    कोभिड–१९ नियन्त्रणका लागि भन्दै गत साउन २१ गतेदेखि चिनियाँ सुरक्षाकर्मीले बन्द गराएको रसुवागढी नाका, चिनियाँ जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शुको नेपाल भ्रमणपश्चात् आज बिहान ९ बजेदेखि सामान आयात हुन थालेको हो।
    रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार पहिलो चरणमा बिहान ठूला सात चिनियाँ कन्टेनरमा रसुवागढीस्थित नेपाली भूभागमा सामान ल्याइएको हो।

     मितेरी पुलबाट चिनियाँ मालबाहक कन्टेनर रसुवागढी इलाका भित्र्याउनुपूर्व  नेपाल तथा चीनबीच सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीले मोटर तथा सार्वजनिक स्थानमा औषधि छर्केका थिए। नेपाली सुरक्षाकर्मीले पहिलो चरणमा सामान पल्टी गर्ने स्थलदेखि मितेरी पुलसम्म औषधि छ्याप्ने र दोस्रो चरणमा चिनियाँ सुरक्षा अधिकारीले चीनको भूभागबाट सामान पल्टी गर्ने स्थानसम्म पुनःऔषधि छर्केको बताइएको छ। 

    दसैँका लागि नेपाली व्यवसायीले चीनबाट झिकाएको करिब रु दुई अर्ब ५० करोड बराबरको माल सामग्री कोरानाका कारण केरूङ क्षेत्रमै रोकिएको अवस्थामा ढिलै भए पनि आयात हुँदा ठूलो सहयोग मिलेको व्यवसायी धर्म पौडेलले बताए ।

    लिच्छवीकालको सातौँ शताब्दीतीर नेपालकी चेली भृकुटी र तिब्बतका राजा श्रङ्चङ्गोम्पोबीच विवाहपश्चात् व्यापारिक कारोवार सुरू भएको ऐतिहासिक नाकाबाट पहिला भरियाद्वारा सामान ढुवानी गरिन्थ्यो भने पछिल्लो समय यातायातको सुविधाले अधिकांश व्यवसायी चिनियाँ सामग्री आयातमा केन्द्रित भएका छन्।

    नेपालसँगको कारोबार गर्न रसुवागढी नाकालाई चीन सरकारले २०७२ को मङ्सिर १५ गतेदेखि औपचारिकरूपमा पूर्णता दिएपश्चात् व्यापारीले काठमाडौँ–रसुवागढी  छोटो मार्गबाट कारोबार सुरू गरेका हुन्। व्यापारीले रसुवागढी नाकाबाट व्यापारिक कारोबार गर्दा गत आर्थिक वर्षमा सात अर्ब १७ करोड ६३ लाख ९० हजार भन्सार शुल्कबापतको राजस्व राज्यकोषमा दाखिला भएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ।

    चालू आर्थिक वर्षको गत साउन २१ गतेसम्म आयात सामग्रीबाट एक अर्ब तीन करोड ५२ लाख ३७ हजार राजस्व सङ्कलन भएको भन्सार अपरेटर अधिकृत धनबहादुर प्रजापतिले जानकारी दिए ।

  • नेपाल भ्रमण पुरा गरी फिर्ता भए चिनियाँ जनकंग्रेस अध्यक्ष ली

    नेपाल भ्रमण पुरा गरी फिर्ता भए चिनियाँ जनकंग्रेस अध्यक्ष ली

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा सोमबार आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमण सम्पन्न गरी आज फिर्ता भएका छन् । उनी काठमाडौंबाट दषिण कोरिया प्रस्थान गरेका छन् । चिनका उच्चस्तरका नेता अध्यक्ष ली बिहान विशेष विमानबाट फिर्ता भएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख सापकोटाले विदाई गरे । सो अवसरमा विमानस्थलमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी उपस्थित भए ।

    उनी सोमबार विशेष विमानबाट काठमाडौँ आइपुगेका थिए । चार दिने नेपाल भ्रमणका क्रममा उनले उच्चस्तरीय विभिन्न भेटवार्ता गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग अध्यक्ष लीले बुधबार शिष्टाचार भेटवार्ता गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवासँग उनले मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरे ।

    सोमबार सभामुख सापकोटा र अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी छबुँदे सम्झौतापत्रमा हस्ताक्षरसमेत गरेका थिए । मङ्गलबार नै अध्यक्ष ली र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अध्यक्ष लीले शिष्टाचार भेटवार्ता गरे ।

  • भारतीय विदेशमन्त्री जयशंकर र परराष्ट्र सचिव पौड्यालबीच दिल्लीमा भेटवार्ता

    भारतीय विदेशमन्त्री जयशंकर र परराष्ट्र सचिव पौड्यालबीच दिल्लीमा भेटवार्ता

    काठमाडौं । तीन दिने भारत भ्रमणमा रहेका परराष्ट्र सचिव भरतराज पौड्यालले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सचिव पौड्याल द्विपक्षीय परराष्ट्र सचिवस्तरीय बैठकका लागि मंगलबार दिल्ली पुगेका थिए । भारतीय विदेश सचिव विनयमोहन क्वात्राको निमन्त्रणामा नयाँ दिल्ली पुगेका सचिव पौड्यालले बुधबार विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेको दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ। दुतावासका अनुसार भेटका क्रममा पौड्याल र विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय सम्बन्ध र सहकार्यको विषयमा कुरा भएको छ ।

    यसअघि मंगलबार पौडेल र क्वात्राबीच सचिवस्तरीय बैठक सम्पन्न भैसकेको छ। बैठकमा दुई देशबीच बाँकी रहेका सीमाका कामलाई द्विपक्षीय संयन्त्रमार्फत टुंग्याउने विषयमा छलफल भएको छ । अमलेखगञ्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन र भारतको मोतीहारीदेखि चितवनसम्म एलपी ग्यासको पाइपलाइन तीव्र रुपमा विस्तार गर्ने सहमति भएको छ । बैठकमा सीमा, कनेक्टिभिटी, पूर्वाधार विकास, व्यापार, संस्कृति, विद्युत सहकार्य र नागरिकस्तरको सम्बन्धका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

  • संविधानसँग राष्ट्रपतिको टकरावको संकेतः नागरिकता विधेयक के हुन्छ ?

    संविधानसँग राष्ट्रपतिको टकरावको संकेतः नागरिकता विधेयक के हुन्छ ?

    काठमाडौं । नेपालमा नागरिकता विधेयकका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले चाल्ने सम्भावित कदमका विषयमा चर्चा परिचर्चा सुरु भएको छ । विदेशमा बस्ने नेपाली मूलका नागरिकबीच पनि यो विधेयकका विषयमा महत्वपूर्ण हेराइ र चर्चा रहेको छ । गैरआवासीय नेपाली नागरिकताका विषयमा यो विधेयकले नै टुंगो लाग्ने भएका कारणले विदेशमा बस्ने नेपाली मूलका नागरिकलाई थप चासो र सरोकार रहनु स्वभाविक हो । नेपालमै रहेका अनागरिकका लागि त झन् यो महत्वपूर्ण हुने नै भयो ।
    नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता पहिलो संशोधन ऐन २०७९को विधेयक दोस्रो पटक राष्ट्रपति कार्यालय पुगेको १५ दिन पुग्नै लागेको छ । तर, राष्ट्रपतिबाट भएका विभिन्न प्रकारका परामर्सले विभिन्न प्रकारका आशंका व्यक्त भएका छन् । पहिलो पटक साउन १६ गते राष्ट्रपति कार्यालय पुगेको विधेयकमाथि विभिन्न प्रश्न उठाएर सन्देशसहित फेरि साउन २९ मा प्रतिनिधिसभामा पठाएइएको थियो । तर, प्रतिनिधिसभा र राष्ट्रियसभाले राष्ट्रपति भण्डारीको सन्देशमाथि कुनै पनि सुनुवाइ नगरेरै विधेयक जस्ताको तस्तै प्रक्रियागत हिसाबले फेरि राष्ट्रपति कार्यालय पठाइएको छ ।


    आउँदो हप्ता संवैधानिकरुपमा राष्ट्रपतिबाट प्रमाणीकरण गर्नुपर्ने विधेयकको भविष्य टुंगो लाग्ने देखिन्छ । तर, राष्ट्रपतिका पछिल्ला भेटघाट र नेताहरुसँगको सवालजवाफले उनले संविधानको पालना गर्छिन भन्नेमा शंकाहरु व्यक्त भएका छन् । राष्ट्रपतिले पाँचदलीय गठबन्धले आफ्नो अपमान गरेर विधेयक जस्ताको तस्तै पठाएको भन्दै विभिन्न भेटवार्तामार्फत उचित कदम चाल्ने बताउन थालेकी छन् । उनलाई प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले साथ दिने देखिएको छ ।


    के होला त राष्ट्रपतिको कदम ?
    नेपालको संविधानको धारा ११३ को उपधारा ५अनुसार कुनै पनि विधेयक कानूनकोरुपमा धारणा गर्नका लागि राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरेको छ । तर, धारा ११३अनुसार संघीय संसदबाट पारित भएर आएको विधेयक प्रमाणीकरण गर्ने, सुझावसहित फिर्ता पठाउने, त्यसरी फिर्ता पठाएको विधेयक संशोधन वा जस्ताको तस्तै आएमा १५ दिनभित्र प्रमाणीकरण गर्ने व्यवस्था गरेको छ । यो धारालाई आधार मानेर हेर्दा अब नागरिकता विधेयक संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ ।


    संवैधानिक कानूनका जानाकार कानुन व्यवसायी शालिकराम सापकोटाले राष्ट्रपति संविधानको पालक पनि भएकाले धारा ११३अनुसार विधेयक प्रमाणीकरण गर्नुको अन्य विकल्प नभएको बताउँछन् । तर, राष्ट्रपति भण्डारीले आफ्नो सुझावलाई व्यवास्था गरिएकाले जुनसुकै कदम उठाउन सक्ने उनी निकट स्रोतले बताएको छ । उनले विधेयक प्रमाणीकरण गरेमा सहज ढंगले नेपालको राजनीतिक बाटो र चुनावी वातावरण सहज तरिकाले अगाडि बढ्ने छ । तर, उनले अन्य कदम चालेमा नयाँ विवाद सुरु हुनेछ । जसले फेरि एक पटक नेपालमा राजनीतिक दलहरुबीच चर्को विवाद र बहस हुनेछ ।


    राष्ट्रपति भण्डारीले तीनवटा विकल्पमा छलफल गरिरहेको स्रोतको भनाइ छ । पहिलो विकल्पकारुपमा उनले १५ दिनको समयसीमाभित्रै राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नेछिन् । दोस्रो प्रमाणीकरण नगर्ने र तेस्रो विकल्पकारुपमा प्रमाणीकरण नगर्ने तथा राजीनामा दिने । पहिलो र तेस्रो विकल्पमा पुगेमा देशमा नयाँ प्रकारको द्वन्द्वको अवस्था आउँदैन् । तर, दोस्रो विकल्पले देशमा फेरि एक पटक अस्थिरता ल्याउने निश्चित छ । संवैधानिक कानूनका ज्ञाताहरुले राष्ट्रपतिलाई दोस्रो विकल्पमा जान संविधानले कुनै पनि छिद्रसमेत नदिएको बताउँछन् ।


    संविधान दिवसको दिन राष्ट्रपतिको कदम !
    नेपालमा संविधान दिवसको दिन आम नागरिकसम्म पुगेका यी प्रश्नको उत्तर आइसकेको हुनेछ । सरोकारवाला गैरआवासीय नेपालीसहित अनागरिकको पीडा भोगिरहेका व्यक्तिका लागि अबको हप्ता राष्ट्रपतिबाट आउने कदमले अर्थपूर्ण महत्व राख्नेछ । विधेयक प्रमाणीकरण भएमा नयाँ संविधान बन्नुअघि जन्मसिद्ध नागरिकता प्राप्त गरेका नागरिकको सन्तानलाई वंशजका आधारमा नागरिकता लिने बाटो खुल्नेछ । त्यस्तै गैरआवासीय नेपाली नागरिकलाई गैरआवासीय नागरिकता प्राप्त हुनेछ भने नेपाली आमाबाट नेपालमै जन्म भइ नेपालमा बसोबास गरेको र बाबुको पहिचान नभएका व्यक्तिले पनि वंशजको आधारमा नागरिकता पाउने छन् ।


    प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको विधेयक प्रमाणीकरण भएमा नेपालमा फेला परेका तर, बाबुआमाको ठेगाना नभएका नाबालकले पनि वंशजको आधारमा नागरिकता प्राप्त गर्नेछन् । गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले भने आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको मात्र प्रयोग गर्नेछन् । उनीहरुले नेपालको राजनीतिक अधिकार प्राप्त गर्न नसक्ने व्यवस्था गरिएको छ । गैरआवासीय नेपाली नागरिकले यसलाई दोस्रो दर्ताको नेपालीको पहिचान भएको टिप्पणी गरेका छन् ।


    असोज ४ गतेभित्र राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नुपर्ने हुन्छ । अहिले राष्ट्रपति भण्डारीले विभिन्न राजनीतिक दलका प्रतिनिधि, संवैधानिक कानूनका विज्ञ, नागरिक समाजका अगुवा, पूर्व सुरक्षा अधिकारीलगायतसँग नागरिकता विधेयकका विषयमा निरन्तर छलफल गरिनै रहेकी छन् । उनले वैवाहिक अंगीकृत र आमाका नाममा नागरिकता लिँदा स्वघोषणा गर्नुपर्ने लगायतका विधेयकका प्रावधानमा पुनर्विचार हुनुपर्ने तर्क गरिरहेकी छन् ।

    संविधानविद् राधेश्याम अधिकारीले समयमा नै राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण हुने बताउँछन् । तर, एमालेका केही नेताहरुले राष्ट्रपतिलाई विशेषाधिकार भएको दावी गरिरहेका छन् । यो विधेयक एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको थियो । त्यसलाई फिर्ता लिएर सरकारले नयाँ विधेयककोरुपमा दर्ता गरेको थियो ।


    एक पटकको नेपाली सधैँको नेपाली नारा हरायो
    नेपालको संविधान २०७२ ले व्यवस्था गरेअनुसार विधेयकमा गैरआवासीय नेपाली नागरिकताको प्राप्तिका आधारहरु तोकिएका छन् । ‘विदेशी मुलुकको नागरिकता प्राप्तगरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउनेगरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्नेछ ।’ उल्लेख गरिएको छ ।

    गैरआवासीय नेपाली नागरिकता लिनका लागि विभिन्न कागजात संलग्न राखेर मन्त्रालय समक्ष निवेदन दिनुपर्ने प्रावधान पनि राखएको छ । विधेयकअनुसार निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण, सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण, विदेशी मलुकको नागरिकता भएको प्रमाण, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्र बाहेकको देशमा बसोबास गरेको प्रमाण, नेपालको संविधान र कानूनको परिपालना गर्ने प्रतिबद्धतापत्र पनि उपलब्ध गराउनु पर्नेछ ।


    त्यस्तै साविकमा नेपालको नागरिकता लिइ नागरिकताको प्रमाणपत्र फिर्ता नबुझाएको व्यक्तिले गैर आवासीय नेपाली नागरिकताका लागि निवेदन दिँदा पहिले लिएको नेपाली नागरिकताको प्रमाणपत्रसमेत पेश गर्नुपर्नेछ । गैर आवासीय नेपाली नागरिकताका लागि निवेदन दिएपछि मन्त्रालयले आवश्यक सबुद प्रमाण बुझी निजलाई तोकिए बमोजिम गैर आवासीय नेपाली नागरिकता दिनेछ । त्यसरी नागरिकता प्राप्त गर्ने व्यक्तिले तोकिए बमोजिम सपथ गराउनु पर्ने व्यवस्था पनि विधेयकमा रहेको छ ।

    गैर आवासीय नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिले झुठ्टो विवरण लिइ त्यस्तो नागरिकता प्राप्त गरेमा वा निजले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्र हित विपरीत कार्य गरेको ठहरेमा नेपाल सरकारले त्यस्तो व्यक्तिले प्राप्त गरेको गैर आवासीय नेपाली नागरिकता रद्द गर्ने प्रावधान पनि विधेयकमा रहेको छ ।


    विधेयकअनुसार अब गैरआवासीय नेपाली संघ एनआरएनएले भनेजस्तै विदेशका नियोग तथा दूतावास अर्थात कन्सुलर सेवा लिईरहेका नेपालका कन्सुलर सेवा कार्यालय मार्फत गैर आवासीय नागरिकता प्राप्त गर्न अब नसकिने भएको छ । अर्को गैरआवासीय नागरिकता प्राप्त गर्ने व्यक्तिले नेपालको राहदानी प्राप्त गर्न सक्ने छैनन् । गैरआवासीय नागरिकता लिन नेपाल आउनु पर्ने भएको छ ।

    एक पटकको नेपाली सधैंको नेपाली भन्ने एनआरएनएको नारा अब सकिएको छ । पुरानै नागरिकताको निरन्तरताका लागि लड्नुपर्ने गैरआवासीय नेपाली संघ एनआरएनएका तीन तीन जना अध्यक्षले आफ्नो पदका लागि मात्रै लडिरहेका छन् । गैरआवासीय नेपालीलाई सजिलो र सहज हुने व्यवस्थाका लागि पहल गर्न एनआरएनए नेतृत्व चुकेकोछ ।

  • नेपालले पाकिस्तानलाई दियो राहत सामग्री

    नेपालले पाकिस्तानलाई दियो राहत सामग्री

    काठमाडौं । प्राकृतिक विपद्‍मा परेको पाकिस्तानलाई नेपाल सरकारले राहत हस्तान्तरण गरेको छ । नेपाल सरकारको टोली नेपाल वायुसेवा निगमको जहाजमार्फत राहत लिएर पाकिस्तान पुगेको हो । मंगलबार परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्सालको नेतृत्वमा उक्त टोली टोली कराँची पुगेको हो । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर परराष्ट्रमन्त्री नारायण खड्काले उक्त टोलीलाई बिदाइ गरेका थिए ।

    यस क्रममा नेपाल सरकारले पाकिस्तानलाई २ करोड रुपैयाँबराबरको राहत सामग्री हस्तान्तरण गरेको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार गत भदौ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले पाकिस्तानमा बाढीबाट प्रभावित नागरिकहरूलाई २ करोड रुपैयाँ बराबरको राहत सामग्री दिने निर्णय गरेको थियो। यस वर्षको जुन १४ यता वर्षासँगै आएको बाढीका कारण पाकिस्तानमा १२ सयभन्दा बढीको मृत्यु भएको छ । शनिबार मात्रै पाकिस्तानमा बाढीले ५७ जनाको मृत्यु भएको थियो ।

  • चिनियाँ जनकंग्रेसका अध्यक्षले राष्ट्रपति भण्डारीसँग भेट्दै

    चिनियाँ जनकंग्रेसका अध्यक्षले राष्ट्रपति भण्डारीसँग भेट्दै

    काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दैछन् । राष्ट्रपतिसँग अपराह्न चार बजे शीतल निवासमा भेट्ने कार्यक्रम तय भएको छ । त्यसअघि आज बिहान उनले भक्तपुर दरबार स्क्वायरको अवलोकन गर्ने कार्यक्रम छ । उनले भक्तपुरमा करिब एक घण्टा बिताउने छन् । मंगलबार उनले प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गरेका थिए ।

    ली चान्सु गत सोमबार काठमाडौं आएका थिए । सोही दिन उनले सभामुख अग्नि सापकोटासँग भेटवार्ता गरेका थिए । राष्ट्रपतिलाई भेटेपछि आज पनि उनले सभामुख सापकोटालाई भेट्ने कार्यसूची छ । उनी सापकोटाकै निमन्त्रणामा नेपाल आएका हुन् । चिनियाँ जनकंग्रेस अध्यक्ष ली नेतृत्वको प्रतिनिधिमण्डल बिहीबार बिहान काठमाडौंबाट दक्षिण कोरिया प्रस्थान गर्नेछ ।

  • एनडीसीको लक्ष्य भेटाउन २५ अर्ब डलर आवश्यक : अर्थमन्त्री

    एनडीसीको लक्ष्य भेटाउन २५ अर्ब डलर आवश्यक : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले जलवायुसम्बन्धी राष्ट्रिय स्तरमा निर्धारित योगदान (एनडीसी) अन्तर्गतका सशर्त न्यूनीकरण लक्ष्य भेटाउन नेपाललाई करिब २५ अर्ब अमेरिकी डलर आवश्यक पर्ने बताएका छन् । दक्षिण कोरियाको इन्चोनमा मंगलबार आयोजित दोस्रो हरित जलवायु कोष ग्लोबल प्रोग्रामिङ सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।


    पेरिस सम्झौता र जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघ फ्रेमवर्क कन्भेन्सनमा हस्ताक्षर गरिसकेको नेपालले ऊर्जा उत्पादन, यातायात, आवासीय खाना पकाउने र बायोग्याँस, कृषि, वन, भूमि प्रयोग र फोहोर व्यवस्थापन लगायतका क्षेत्रमा देशको महत्वाकांक्षी लक्ष्यहरूको रूपरेखा प्रस्तुत गर्दै डिसेम्बर २०२० मा दोस्रो राष्ट्रिय निर्धारित योगदान (एनडीसी) पेस गरेको उनले जानकारी दिए । नेपालले सन् २०४५ सम्ममा कुल शून्य उत्सर्जनको लक्ष्य हासिल गर्न जलवायु कार्यलाई तीव्रता दिने प्रतिबद्धता जनाएको समेत उनले बताए ।

    उनले विविध भू–जलवायु प्रणाली, जलवायु–निर्भर अर्थतन्त्र र सीमित अनुकूलन क्षमताका कारण नेपाल जलवायु परिवर्तनका लागि विश्वको सबैभन्दा जोखिममा रहेका देशहरूमध्ये एक रहेको समेत बताए । यसमा देशको नाजुक स्थलाकृतिले जलवायु परिवर्तनले निम्त्याउने जोखिमलाई थप गति दिएको समेत उनले बताए ।

    ‘ग्लोबल वार्मिङ’को वर्तमान परिदृश्यले विभिन्न प्राकृतिक प्रकोप हिमनदी, तालको विस्फोट, बाढी, पहिरो आदिको प्रभावलाई तीव्र बनाएको उनको भनाइ छ ।

    विश्वव्यापी हरितगृह ग्याँस उत्सर्जनमा न्यून योगदान भए पनि अल्पविकसित देशहरूले जलवायु परिवर्तनको प्रभाव महसुस गरिरहेको शर्माको भनाइ छ ।

    ‘हामीले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघ फ्रेमवर्क कन्भेन्सनको सदस्यका रूपमा जलवायु परिवर्तनसँग लड्न विश्वव्यापी कार्यलाई सक्रिय रूपमा अगाडि बढाइरहेका छौं, नेपालको हरितगृह ग्याँस उत्सर्जनमा योगदान विगत र वर्तमानमा उल्लेख्य रूपमा कम भएता पनि, हामीले विश्वव्यापी औसत तापक्रम वृद्धिलाई १।५ डिग्री सेल्सियसमा सीमित गर्ने हो भने सबै देशहरूले आफ्नो उत्सर्जन घटाउनका लागि ठोस कदम चाल्नुपर्छ’ शर्माले भने ।

    नेपाल एक महत्वाकांक्षी जलवायु सरोकारवाला देश भएको र यहाँ जलवायु परिवर्तनको प्रतिरोधी क्षमता बढाउन धेरै नीति फ्रेमवर्कहरु समर्पित भएको उनको भनाइ छ । देशका धेरै नीतिहरू मध्ये, राष्ट्रिय जलवायु परिवर्तन नीति २०१९ ले जलवायु उत्थानशील समाज निर्माण गरी राष्ट्रको सामाजिक–आर्थिक समृद्धिमा योगदान पुर्‍याउने लक्ष्य बोकेको उनले बताए । यस नीतिले कृषि तथा खाद्य सुरक्षा, वन, जैविक विविधता तथा जलाधार संरक्षण, जलस्रोत तथा जलविद्युत्, स्वच्छ यातायात, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलगायतका प्रमुख विषयगत क्षेत्रहरुमा नीति, रणनीति र कार्यनीतिहरू अवलम्बन गर्ने लक्ष्य राखेको उनले बताए ।

    नेपालको हरित जलवायु कोषको राष्ट्रिय प्राधिकरणको रुपमा अर्थ मन्त्रालयलाई जिम्मेवारी तोकिएको भन्दै उनले नेपालसँग तीन हरित जलवायु कोष अनुमोदित परियोजना रहेको जानकारी दिए । जसमध्ये ८७.८० मिलियन अमेरिकी डलर बराबर रकम प्रत्यक्ष रूपमा हरित जलवायु कोषले योगदान गरेको छ ।

  • कोरिया पुगेर अर्थमन्त्री शर्माले भने : सरकारकै कमजोरीले हुण्डी मौलाएको रहेछ

    कोरिया पुगेर अर्थमन्त्री शर्माले भने : सरकारकै कमजोरीले हुण्डी मौलाएको रहेछ

    सोल । दक्षिण कोरियामा मंगलबारदेखि हुने हरित जलवायु कोष सम्मेलनमा सहभागी हुन आएका अर्थमन्त्री जनार्दन शर्माले यहाँ रहेका धेरै नेपालीले हुन्डीमार्फत् पैसा पठाउनुमा सरकारको कमजोर नीति नै प्रमुख कारण रहेका बताएका छन् । सोमबार सोलमा भएको आत्मनिर्भर अर्थतन्त्र निर्माणमा प्रवासी नेपालीको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

    ‘वैधानिक बाटोबाट पैसा पठाउँदा देश र घर समाजलाई नै फाइदा हुने हो । अझ हामी पैसा पठाउने व्यक्तिलाई तत्काल र दीर्घकालमा फाइदा हुने खालका नीति पनि बनाउँदै छौं । अहिले भएका नीति कसरी सच्याउने भन्ने बारेमा छलफल गरिरहेका छौं । नयाँ र सहज नीति आएपछि वैधानिक बाटोबाटै नेपाल पैसा पठाउने वातावरण हुनेछ’ अर्थमन्त्री शर्माले भने ।

    दक्षिण कोरियामा काम गर्ने आधाभन्दा बढी कामदारले हुन्डीमार्फत् पैसा पठाइरहेको अनुमान छ । रोजगार अनुमति प्रणाली ९ईपीएस० मार्फत् आएका कामदार अहिले ४० हजारभन्दा बढी छन् । कोरियामा रहेका कामदारको न्यूनतम ज्याला मासिक झण्डै १ लाख ८० हजार हुन्छ ।

    ‘कोरियामा रहेका सबै नेपालीले वैधानिक बाटोबाट रकम पठाउने हो भने न्यूनतम नै एक महिनामा ६ अर्ब भन्दा बढी हुन्छ । अहिले त्यसको आधा जति पैसा मात्रै रेमिट्यान्समार्फत् नेपाल गएको पाइन्छ’ स्टार रेमिट नेपाल विभागका निर्देशक अशोक मैनालीले भने ‘हुन्डी अवैधानिक भए पनि रेमिट्यान्सको शुल्कभन्दा धेरै सस्तो भएकोले त्यसैमार्फत् रकम पठाउँछन् ।’

    अहिले यहाँबाट रेमिट्यान्समार्फत् पैसा पठाउने १२ वटा कम्पनी छन् । यहाँ रेमिट्यान्स कम्पनी खुलेको सन् २०१७ पछि मात्रै हो । यसअघि दक्षिण कोरियामा अधिकांश नेपालीले अवैधानिक बाटोबाटै नेपाल पैसा पठाउँथे । छल्लानाम्दोको प्लास्टिक कम्पनीमा काम गर्ने ईश्वर सापकोटाले भने ‘म सन् २०१४ मा कोरिया आउँदा कुनै रेमिट्यान्स कम्पनी थिएन । दुई चार वटा बैंकमार्फत् नेपाल पैसा त पठाउन सकिन्थ्यो तर अति महँगो । यता बैंकले पनि सेवा शुल्क काट्ने, उता नेपालमा पनि । त्यसमाथि झन्झटिलो थियो । विकल्प भनेकै अवैधानिक बाटोबाट पैसा पठाउनु पर्थ्यो । कति पैसा त हुन्डी गर्ने मान्छेले खाएर भाग्थे ।’

    अहिले भने नेपाल पैसा पठाउन सजिलो रहेको उनी बताउँछन् । सबै रेमिट्यान्स कम्पनीका मोबाइल एपमार्फत् नै कारोबार हुन्छ । तर पनि रेमिट्यान्स सेवातिर कामदारको आकर्षण बढेको छैन । दुई महिनाअघि मात्रै कोरिया आइपुगेका अजय सोडारी भने राज्यले वास्ता नगरेका कारण यस्तो अवस्था आएको महसुस गर्छन् । ‘यहाँ हुन्डी सस्तो हुने भयो । अनि वैधानिक बाटोबाट महँगोमा पैसा पठाउँदा पनि राज्यले केही सुविधा दिने होइन । त्यसैले सस्तोमै पैसा पठाउँ भन्ने महसुस धेरैलाई हुँदो रहेछ । अन्य देशका कामदारले रेमिट्यान्स कम्पनीबाटै पैसा पठाउँदा त्यहाँको सरकारले प्रोत्साहन स्वरुप विभिन्न प्रकारका स्किमहरु दिने रहेछ । हाम्रोमा छैन’ उनले भने ।

    फरक फरक रेमिट्यान्स कम्पनीका पैसा पठाउँदा लाग्ने शुल्क पनि फरक छन् । ‘नेपालमा भएको पार्टनर कम्पनीले डलरको भाउको आधारमा नै नेपाल पैसा पठाउने रेट निर्धारण गर्छ, त्यसैले कम्पनी अनुसार थोरै रेट फरक पर्न पनि सक्छ’ स्टार रेमिटका मैनालीले भने । रेमिट्यान्स कम्पनीमार्फत् नेपालमा एक लाख रुपैयाँ पैसा पठाउँदा सोमबारको दरअनुसार यहाँबाट १० लाख ८८ हजार वन पठाउनुपर्छ । तर हुन्डीमार्फत् पठाउने हो भने १० लाख २० हजारदेखि ३५ हजारसम्म मात्रै भए पुग्छ । एक लाख नेपाली रुपैयाँ पठाउँदा नै कम्पनी र हुन्डीबीच पाँच हजारदेखि सात हजार रुपैयाँसम्म फरक पर्ने गरेको छ ।

  • चिनियाँ जनकांग्रेसका अध्यक्ष आज दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त रहने

    चिनियाँ जनकांग्रेसका अध्यक्ष आज दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त रहने

    काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समिति अध्यक्ष ली झान्सु आज उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुने भएका छन् । उनले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन्। यस्तै परराष्ट्रमन्त्री नारायण खड्का, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेना तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन् । नयाँ बानेश्वरस्थित संसद भवनमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सेनासँग बिहान ९ बजे भेटवार्ताको तालिका छ ।

    यस्तै, उनले एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डलाई पनि सङ्घीय संसद् भवनमै भेट्ने कार्यक्रम तय भएको छ। त्यसपछि परराष्ट्रमन्त्री नारायण खड्कासँग होटल सोल्टीमा भेटवार्ता हुनेछ। त्यसपछि प्रधानमन्त्री देउवालाई भेट्न उनी बालुवाटार जानेछन्। उनले भोलि बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति भवन शीतल निवासमा भेट्ने कार्यक्रम छ। सङ्घीय संसद्का सभामुख अग्निप्रसाद सापकोटाले चीनको राष्ट्रिय जनकङ्ग्रेसका अध्यक्ष लीको सम्मानमा सोमबार साँझ रात्रिभोजको आयोजना गरेका थिए।

    त्यसअघि नेपालको सङ्घीय संसद्को प्रतिनिधि सभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस (नेसनल पिपुल्स कङ्ग्रेस) बीच अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। अध्यक्ष लीको नेतृत्वमा आएको ६ जना चिनियाँ उच्चअधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल बिहीबार फर्कने कार्यक्रम रहेको छ।

  • चिनियाँ जनकांग्रेसका प्रमुख र नेपाली सभामुखबीच ६ बुँदै समझदारी

    चिनियाँ जनकांग्रेसका प्रमुख र नेपाली सभामुखबीच ६ बुँदै समझदारी

    काठमाडौं । नेपाल र चीनबीच अन्तर संसदीय सहयोगसम्बन्धी समझदारी भएको छ । सभामुख अग्नि सापकोटा र नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकांग्रेसका प्रमुख ली चान्सुले समझदारीमा हस्ताक्षर गरेका हुन् । ली सोमबार मात्र काठमाडौं आएका थिए । काठमाडौं आएलगत्तै संसद भवन, परिसरमा सभामुख सापकोटासँग भेटवार्ता भएको थियो । त्यसक्रममा ल्ट एण्ड रोड इनिसिएटिभमार्फत दुई देशबीच अन्तरआवद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण गर्न महत्व दिने लगायतका ६ बुँदे समझदारी भएको छ ।

    १. दुवै पक्ष आपसी विश्वास सदृढ र विकास गर्न, एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न, एकअर्काको स्वतन्त्र रुपमा छनोट गरिएको सामाजिक प्रणाली र विकास पथको सम्मान गर्न तथा एकअर्काका मूल हित र महत्वपूर्ण सरोकारका विषयमा साथ दिन सहमत भएका छन् ।

    २. दुबै पक्षले दुई राष्ट्र र जनताबीचको द्विपक्षीय सम्बन्ध थप गहन बनाउन र सहयोगमा योगदान पुर्‍याउन बहुआयमिक माध्यमबाट सबै तहमा अन्तरसंसदीय आदानप्रदान र सहयोग सुदृढ गर्न प्रयास गर्नेछन् ।

    ३. दुबै पक्षले नेपाल र जनवादी गणतन्त्र चीनका दई व्यवस्थापिकाबीच उच्चस्तरीय भ्रमण र सम्पर्कको आदानप्रदानमा प्राथमिकता दिनेछन् । ।

    ४. दुवै पक्षले संसदीय मैत्री समूहहरुलाई उनीहरुको संलग्नता अभिवृद्धि गर्न प्रोत्साहन गर्नेछन् र साथ दिनेछन् तथा दुई व्यवस्थापिका बीच सदभाव र समझदारी प्रवर्द्धन गर्न सक्रिय भूमिका निर्वाह गर्न प्रोत्साहन गर्नेछन् ।

    ५. दुबै पक्षले एकअर्काको विधायिकी, सुपरिवेक्षकीय र शासन सञ्चालन सम्बन्धी अभ्यासका वारेमा जानकारी आदानप्रदान गर्ने र दुई सरकार बीच सहमति भएबमोजिम बेल्ट एण्ड रोड इनिसिएटिभ मार्फत समेत दुई राष्ट्रहरु बीच अन्तरआवद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण गर्न महत्व दिनेछन् ।

    ६. दुबै पक्ष साझा हितको विषयमा इन्टर पार्लियामेण्टरी यूनियन लगायतका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संसदीय संगठनहरुको खाका अन्तर्गत सहयोग सुदृढ गर्न सहमत भएका छन् ।

  • काठमाडौंबाट कतारको हमाद विमानस्थलमा भइरहेका उडान अब दोहा सरे

    काठमाडौंबाट कतारको हमाद विमानस्थलमा भइरहेका उडान अब दोहा सरे

    काठमाडौं । नेपाल एयरलाइन्सले काठमाडौबाट कतारमा गरिरहेको उडानको विमानस्थल परिवर्तन भएको छ । कतारको नागरिक उड्डयन प्राधिकरणले निगमलाई यस्तो जानकारी गराएको हो । निगमकाअनुसार अहिले हमाद इण्टरनेशनल एयरपोर्टबाट भइरहेको निगमको उडान अब दोहा इन्टरनेसनल एयरपोर्टमा सरेको हो ।

    यस्तो नियम १५ सेप्टेम्बर २०२२ बाट ३० डिसेम्बर २०२२ सम्मका लागि लागू हुने भएको हो । कतारमा विश्वकप नजिकिएसँगै हमाद विमानस्थल बढी व्यस्त हुन थालेको छ । यससँगै नेपालजस्ता मुलुकका उडानहरु कटौती गर्ने वा दोहामा सार्ने काम भइरहेको छ ।

  • प्रधानमन्त्री देउवाले दूतावास पुगेर दिए ब्रिटेन महारानीलाई श्रद्धान्जली

    प्रधानमन्त्री देउवाले दूतावास पुगेर दिए ब्रिटेन महारानीलाई श्रद्धान्जली

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंस्थित संयुक्त अधिराज्य बेलायतको राजदूतावास पुगेर बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेका छन्। शोक व्यक्त गर्न देउवा शनिबार दूतावास पुगेका हुन्। उनले त्यहाँ राखिएको शोक पुस्तिकामा शोक सन्देश लेखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पनि शुक्रबार दूतावास पुगेर शोक व्यक्त गरेकी थिइन्। महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा भदौ २३ गते राति निधन भएको हो।

  • ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा नेपालमा तीन दिन शोक घोषणा

    ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा नेपालमा तीन दिन शोक घोषणा

    काठमाडौं । ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा नेपाल सरकारले तीन दिन शोक घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यसबीचमा बिदा भने दिइएको छैन । निधन भएकी महारानीको सम्मानमा शनिवारदेखि तीन दिन नेपालभरिका सरकारी कार्यालय एवम् विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाएर शोक व्यक्त गर्ने निर्णय भएको हो ।

    यूकेमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा बिहीवार राति बाल्मोरलमा निधन भएको थियो। उनी ७० वर्षसम्म गद्दीनसीन थिइन्। महारानी एलिजाबेथले गद्दीमा रहेकै बेला विसं २०१७ र २०४२ सालमा दुई पटक नेपालको भ्रमण गरेकी थिइन्।

  • बेलायती दूतावास पुगेर राष्ट्रपति भण्डारीले दिइन महारानी एलिजावेथलाई श्रद्धान्जली

    बेलायती दूतावास पुगेर राष्ट्रपति भण्डारीले दिइन महारानी एलिजावेथलाई श्रद्धान्जली

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा शोक व्यक्त गर्दै बेलायती जनता र बेलायतका महाराज चार्ल्स तृतीयलाई समवेदना सन्देश पठाएकी छिन् । उनले महारानी एलिजावेथ विश्‍वले सम्मान गर्ने योग्य राजनेता भएको समेत बताइन् ।

    काठमाडौंस्थित बेलायती राजदूतावासमा राखिएको शोकपुस्तिकामा हस्ताक्षर गर्दै राष्ट्रपति भण्डारीले भनेकि छिन्, ‘‘बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनबाट मलाई अत्यन्तै दुःख लागेको छ । नेपाली जनता, नेपाल सरकार तथा म स्वयंको तर्फबाट दिवंगत महारानीप्रति हार्दिक श्रध्दाञ्जली अर्पण गर्दै महाराज चार्ल्स तृतीय, शाही परिवार, बेलायत सरकार र मैत्रीपूर्ण बेलायती जनताप्रति गहिरो समवेदना प्रकट गर्दछु ।’

    शोकको यस दुःखद घडीमा नेपाली जनता तथा नेपाल सरकारको सहानुभूति र साथ तपाईंहरूसँग रहेको पनि राष्ट्रपतिको शोक सन्देशमा उल्लेख छ । राष्ट्रपति भण्डारीले महारानीको निधनबाट बेलायतले आफ्नो समर्पित अभिभावक र नेपालले एक पुरानो मित्र तथा शुभचिन्तक गुमाएको उल्लेख गरेकी छन् ।

  • नेपाललाई माया गर्ने महारानी, जो गोर्खाको सुरक्षामा हुर्किइन्

    नेपाललाई माया गर्ने महारानी, जो गोर्खाको सुरक्षामा हुर्किइन्

    काठमाडौं । आफ्नो ७० दशक लामो शासनकालमा ११७ मुलुकको भ्रमण गरेकी बेलायत महारानी एलिजाबेथ द्वितीय दुई पटक नेपाल आएकी थिइन् । नेपाललाई अन्तराष्ट्रिृय रुपमा परिचित गराउने उनका दुबै भ्रमण महत्वपूर्ण थिए । किनकी पश्चिमा मुलुकमा भिडियो अडियो सञ्चारको राम्रो विकास भए पनि नेपालमा भने त्यो सुविधा थिएन । तर, महामारीको नेपाल भ्रमणलाई भब्य बनाउन नेपालले समेत कुनै कसुर बाँकी राखेको थिएन ।

    उनी पहिलो पटक सन् १९६१ मा नेपाल आएकी थिइन् । तत्कालिन राजा महेन्द्रले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । यसको व्यापक प्रचार भएको थियो । त्यसो त महामारी द्धितिया गोर्खालीकै सुरक्षा घेरामा बेलायतको राजदरबारमा हुर्के–बढेकी हुन् । नेपालमा नागरिकस्तरमा समेत उनी लोकप्रिय छिन् । परराष्ट्र मन्त्रालयको रेकर्ड अनुसार एलिजाबेथ द्वितीय र राजकुमार प्रिन्सले सन् १९६१ र १९८६ मा नेपालको दुई पटक भ्रमण गरेका छन् । दोस्रो विश्वयुद्धपछि अमेरिकाले नेतृत्व गरेको पश्चिमा र तत्कालीन सोभियत युनियनबीच शीतयुद्धको समय चलिरहँदा एलिजाबेथ–दम्पती नेपाल आएको थियो ।

    नेपाल र बेलायतबीच सन् १८१६ मा सुगौली सन्धि भएलगत्तै दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । नेपालले पहिलो कूटनीतिक सम्बन्ध स्थापना गरेको मुलुक बेलायत नै हो । त्यसपछि नेपालीहरू ब्रिटिस गोर्खामा भर्ती हुन थालेका हुन् । सन् १९४७ मा बेलायतीहरू भारतलाई स्वतन्त्र छाडेर फर्किने बेलामा तीन मुलुकबीच ब्रिटिस गोर्खामा नेपालीलाई भर्ती लिने त्रिपक्षीय सन्धि भएको थियो । त्यही सन्धिका आधारमा नेपाली अहिले पनि ब्रिटिस गोर्खा र भारतीय गोर्खामा भर्ना भइरहेका छन् । सन् १८१६ देखि नै बेलायतीको सुरक्षामा नेपाली गोर्खाले सहयोग गर्दै आइरहेका छन् । महारानी एलिजाबेथको सुरक्षा जिम्मेवारी पनि नेपालीकै हातमा रहँदै आएको छ ।

  • सुरक्षागार्डसँग झगडा गरेपछि पर्यटनमन्त्री श्रेष्ठ आलोचित, गार्डलाई ५ दिन थुनामा राख्न अनुमती

    सुरक्षागार्डसँग झगडा गरेपछि पर्यटनमन्त्री श्रेष्ठ आलोचित, गार्डलाई ५ दिन थुनामा राख्न अनुमती

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री जीवनराम श्रेष्ठसँग सुरक्षागार्डसँगको झगडामा आलोचित बनेका छन् । त्यसमाथि शक्तिको दम्भ देखाउँदै गार्डलाई पक्राउ गराएको भन्दै उनको आलोचना भएको हो । मन्त्रीसँगको विवादमा मुछिएका सुरक्षागार्डलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।

    जिल्ला प्रशासनले आइतबार छायाँ सेन्टरका सुरक्षा गार्ड शेरजङ्ग गुरुङलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । क्यानडा जान श्रीमतीको बायोमेट्रिक गराउन गत शुक्रवार ठमेलमा रहेको छायाँ सेन्टरमा पुगेका मन्त्रीलाई सुरक्षा गार्ड गुरुङले लाइनमा बस्न आग्रह गरेका थिए ।

    मन्त्री आउने पूर्व जानकारी नभएको भन्दै सुरक्षागार्ड गुरुङले अरु सेवाग्राही जस्तै उनले पनि लाइनमा बस्नु पर्ने बताएपछि विवाद भएको हो । त्यसपछि मन्त्रीका पीएसओ, मन्त्री र सुरक्षा गार्डको बीचमा धकेलाधकेल भएको बताइएको छ । प्रहरीले गुरुङलाई शुक्रवार नै पक्राउ गरेको हो ।

  • नेपाली मजदुर बोकेको बस भारतमा दुर्घटना, ४ जनाको मृत्यु

    काठमाडौं\एजेन्सी । भारतको बराबंकी जिल्लामा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिंदा ४ जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको छ । रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको बसलाई उत्तर प्रदेशको बाराबंकी जिल्लास्थित रामनगर थाना क्षेत्रको महंगुपुर गाउँ नजिक शनिबार बिहान ट्रकले ठक्कर दिएको थियो ।

    टाइम्स अफ इन्डियाका अनुसार घाइतेको बाराबंकी जिल्ला अस्पताल र लखनउस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गोवा जाँदै गर्दा युपी९३बि.टि. ९९४४ नम्बरको डबल सिटे बसको टायर पन्चर भएपछि सडक छेउमा रोकेर चालकले टायर फेर्दै थिए । त्यसैबेला पछाडिबाट ट्रकले ठक्कर दिएको हो । बसमा करिब ६० जना नेपाली मजदुर रहेको टाइम्स अफ इन्डियाले जनाएको छ