टोकियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापान पुगेका छन् । जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रचण्डलाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गरेका हुन् । नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड जापान गएका हुन् ।
सचिवालयका अनुसार आइतबार उनी नेपाली जनप्रगतिशील मञ्चको अन्तर्क्रिया कार्यक्रममा सहभागी हुने भएका छन् । प्रचण्डका अन्य कार्यक्रम भने सार्वजनिक गरिएको छैन । साउन २५ गते स्वदेश फर्किने सचिवालयले जानकारी गराएको छ । नेपालमा निर्वाचनको मिति टुंगो लगाएर उनी जापान पुगेका हुन् ।
काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेको यससँगै निर्वाचन आयोगसमेत तयारीमा जुटेको छ । निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार यस चुनावमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धश्रममा रहेको वृद्धवृद्धा र कैदीबन्दीलाई मतदान गर्न दिने तयारी गरिएको छ । तर, विदेशमा बस्ने नेपालीले भने यस पटक पनि मताधिकार पाउने छैनन् । नेपालको निर्वाचन प्रणाली अनलाइन माध्यममा नगएका कारण आफ्नो निर्वाचन क्षेत्रमा पुग्न नसक्ने आम नेपालीले जहाँ भए पनि भोट हाल्न पाउने छैनन् ।
तर, अस्थायी मतदाताको रुपमा कर्मचारी, सुरक्षाकर्मीहरुले भने समानुपातिक प्रणालीमा मात्र भोट दिन सक्ने छन् । सर्वोच्च अदालतले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्ने व्यवस्था गर्न आदेश दिएको थियो ।
अस्थायी मतदाता नामावलीमा नेपाल सरकार, प्रदेश सरकार स्थानीय तहमा कार्यरत कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा र आयोगले तोकेका अन्य व्यक्ति रहने उल्लेख छ ।
यसअघि गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धश्रम र कैदीबन्दीले मतदाना गर्न पाएका थिएनन्। तर, मङ्सिर ४ गते सर्वोच्चको आदेश अनुसार अस्थायी मतदातालाई समानुपातिक पद्धतितर्फ मतदानको व्यवस्था गर्ने तयारी गरिएको छ ।
काठमाडौं । नेपालबाट शून्य लागतमा जापानमा कामदार पठाउने बारे गृहकार्य शुरु भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो चरणमा जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेकामध्ये ८ सय ५० जनालाई जापान पठाउने तयारी गरेको छ । अहिले जापानको प्रक्रिया रोकिए पनि परीक्षा भने सञ्चालन भइरहेको छ । अहिलेसम्म झन्डै ५ हजार ३ सय जनाले जापानिज भाषा र सीप परीक्षा पास गरिसकेका छन् ।
जापानले विशिष्टीकृत दक्ष मोडल (एसएसडब्ल्यू) बाट कामदार लैजान्छ । सन् २०१९ मा नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसर प्रदान गर्ने गरी नेपाल र जापानबीच श्रम समझदारी भएको थियो । श्रम समझदारीअनुसार नेपाली युवालाई जापानको श्रम बजार प्रवेशमा सहजीकरण गर्ने उद्देश्यले आज संयुक्त कार्यसमितिको बैठक बस्दैछ ।
काठमाडौंमा बस्ने बैठकमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलको नेतृत्वमा परराष्ट्र र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सहभागी हुनेछन् । जापान सरकारका तर्फबाट त्यहाँका सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वमा जापानी प्रतिनिधिमण्डल बैठकमा सहभागी हुने छन् । बैठकले नेपाली नागरिकलाई जापानमा रोजगारी दिने सन्दर्भमा छलफल गरी उपयुक्त निर्णयका लागि दुवै देशका सरकारलाई सिफारिस गर्नेछ ।
काठमाडौं । नेपालबाट वैदेशिक रोजगारीका सिलसिलामा गएका मध्ये एक वर्षको अवधिमा १४३३ जनाले ज्यान गुमाउनु परेको छ । आर्थिक वर्ष २०७८-७९ मा वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये सो संख्यामा नेपालीको ज्यान गएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । बोर्ड सचिवालयको तथ्यां अनुसार एक वर्षमा एक हजार ४७९ जना मृतकका परिवारले क्षतिपूर्ति बुझेका छन् । मृत्यु हुनेमा ४६ जना महिला छन् । एक हजार ४३३ जना पुरुष छन् ।
अघिल्लो वर्ष आर्थिक वर्ष २०७७÷७८ मा एक हजार २४२ जनाले ज्यान गुमाएका थिए । सो वर्ष कोरोना महामारी समेत धेरै थियो । अहिले विदेशमा दैनिक औसत ४ जनाले ज्यान गुमाउने गरेको पाइएको छ । बोर्डले एक वर्षमा मृत्यु भएका श्रमिकका परिवारलाई क्षतिपूर्तिबापत ८३ करोड ६० लाख रुपैयाँ प्रदान गरेको छ ।
कुन आवमा कतिको मुत्यृ ? वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार आर्थिक वर्ष २०७१\७२ मा एक हजार ६ जनाको विदेशमा मृत्यु भएको थियो, आर्थिक वर्ष २०७२\७३ मा ८२६, २०७३\७४ मा ७५८, २०७४\७५ मा ८२६, आर्थिक वर्ष २०७५\७६ मा ७६३, २०७६\७७ मा ६७२ जना मृतक श्रमिकका परिवारले बोर्डबाट क्षतिपूर्ति बुझेका थिए । आर्थिक वर्ष २०७७\७८ मा १ हजार २४२ पुगेको संख्या अहिले करिब १५ सय नजिक पुगेको हो ।
काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू दुई दिने भ्रमणका सिलसिलामा आज काठमाडौं अवतरण गर्दैछन् । यसबारे परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा सार्वजनिक गरेको छैन । नेपालमा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री नारायण खड्का लगायतलाई भेट्ने छन् । नेपालले अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने निर्णय गरेको छ । यसबीचमा प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण समेत रोकिएको छ ।
यस अवस्थामा आकस्मिक रुपमा हुन लागेको अमेरिकी उच्च अधिकारीको यो आगमनले राजनीतिक वृत्तमा भने संशय सिर्जना गरेको छ । डोनाल्ड लुले यसअघि नेपालबाट एमसीसी पारित गराउन भूमिका खेलेका थिए । त्यसैले अहिले हुन लागेको उनको भ्रमणलाई चासोका साथ हेरिएको छ । उनी समसामयिक विश्व मामिला, एमसीसीसहित नेपाल–अमेरिका सम्बन्धका विषयमा छलफल गर्न २०७८ मंसिर १ गते नेपाल आएका थिए ।
साथै गत माघ २७ गते उनले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोन सम्वादसमेत गरेका थिए । उक्त सम्वादमा लुले एमसीसी अनुमोदन नगरे राम्रो नहुने भन्ने शैलीमा धम्कीपूर्ण अभिव्यक्ति दिएको समाचार सार्वजनिक भएका थिए । त्यसप्रति छिमेकी मुलुक चीनले अमेरिकाको ‘जबरजस्ती कूटनीति’ भन्दै आलोचना गरेको थियो ।
काठमाडौं । सरकारले कतारमा सञ्चालन हुने विश्वकप फुटबल प्रतियोगितालाई लक्षित गरी मौसमी श्रमिक लैजान अनुमति प्रदान गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रतियोगिता अवधिभर कतारका विभिन्न कम्पनीले छोटो अवधिका लागि नेपाली श्रमिक लिन चाहेकाले अनुमति दिएको हो । कतारमा सन् २०२२ को नोभेम्बर २१ (मङ्सिर ५ गते)देखि विश्वकप फुटबल प्रतियोगिता सञ्१चालन हुँदैछ । मन्त्रालयले सोमबार कतारमा रहेको नेपाली दूतावासलाई पत्राचार गर्दै नेपालबाट मौसमी श्रमिक सबै प्रक्रिया पूरा गरेर पठाउने निर्णयसमेत गरेको पत्रमार्फत जानकारी गराएको छ ।
विश्वकप फुटबल प्रतियोगिताका लागि १२ हजार आप्रवासी श्रमिकको माग गरेको र त्यसमा नेपाली श्रमिक पनि लैजानका लागि कतारका विभिन्न कम्पनीले कतारमा रहेको नेपाली दूतावासमा चासो राखेको थियो । सोही विषयलाई लिएर कतारमा रहेको नेपाली दूतावासले श्रम मन्त्रालयमा पत्र लेखेको थियो । श्रम मन्त्रालयले दुईतर्फी हवाई टिकटसहित भर्ना प्रक्रियामा लाग्ने सम्पूर्ण खर्चसमेत रोजगारदाताले नै बेहोर्ने गरी शून्य लागतमा छोटो अवधिका लागि श्रमिक लैजान अनुमति दिने निर्णय गरेको जनाएको छ ।
मन्त्रालयका अनुसार यसरी जाने श्रमिकले श्रम स्वीकृति लिएर नै जान पाउनेछन् । लागत खर्च सम्पूर्ण रोजगारदाताले नै बेहोर्ने छन् । श्रमिकले एक रुपियाँ पनि पैसा तिर्न पर्दैन । मन्त्रालयले दुईतर्फी हवाई टिकटसहित भर्ना प्रक्रियामा लाग्ने सम्पूर्ण खर्चसमेत रोजगारदाताले नै बेहोर्नुपर्ने निर्णय गरेको छ । त्यसरी जाने श्रमिकले कतारमा काम गर्ने अवधि छ महिनाभन्दा कम समयको हुनेछ । म्यानपावर कम्पनीबाहेक व्यक्तिगत रूपमा यसरी छोटो समयको रोजगारीका लागि जान खोज्नेले भिसा ल्याएर श्रम स्वीकृति लिन आएमा पनि श्रम स्वीकृति प्रदान गर्ने मन्त्रालयले जनाएको छ ।
नेवा गुठी न्युयोर्क तथा विश्व नेवा संघ अमेरिका च्याप्टरको संयुक्त आयोजनामा न्युयोर्कको क्वीन्सस्थित लग्वार्डिया प्लाजा होटलमा “4th World Newah Convention 2022” आगामी अगष्ट ५ देखि ७ तारिखसम्म गरिने भएको छ । नेवारी कला, संस्कृति, सम्पदा र परंपराको निरन्तरता प्रवासमा समेत महत्वपूर्ण भएकोले प्रवासी नेवारी समुदायको बाहुल्यताको आधारमा यसपटक न्युयोर्क सहरमा गर्न लागिएको हो ।
३ दिनसम्म चल्ने यस सम्मेलनमा नेपालबाट वरिष्ट कलाकार आदरणीय मदन कृष्ण श्रेष्ठ तथा परिवारलाई आमन्त्रण गरिएको अध्यक्ष बिजय मान सिंहले जानकारी गराएको छ । सम्मेलनमा नेवारी कला नृत्य, भेषभुषा, खाना परिकार, साँस्कृतिक झाँकी, धिमे बाजा, लाखे नाच तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु रहने समेत बताएका छन् ।
यस सम्मेलनले अमेरिकाभर छरिएर रहेका नेवारहरुलाई एक्यबद्द हुन सहयोग गर्नका साथै नयाँ पुस्तालाई नेपालभाषा, पहिरन तथा संस्कृतिसंग भावनात्मक सामिप्यता कायम राख्न महत्वपूर्ण भुमिका खेल्ने नेवा गुठीका पूर्व अध्यक्ष तथा संरक्षक समिर महर्जनले बताए । सममेलनलाई भव्य बनाउने सबैको भौतिक उपस्थितिको जरुरी भएकोले सबैलाई उपस्थितको लागि आह्वान गरेका छन् ।
साथै संस्थापक अध्यक्ष आदित्य महर्जनले अमेरिकी भूमीमा नेपाली नेवारहरूको एकता तथा सहकार्यको लागि यस सम्मेलनले नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका छन् ।
काठमाडौं । गैरआवासयि नेपाली संघले प्रतिनिधिसभाद्वारा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित भएकोमा स्वागत गरेको छ । सदनले गत शुक्रबार बहुप्रतिक्षित सो विधेयकलाई पारित गरेको थियो । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का कार्यकारी अध्यक्ष कुल आचार्यले विधेयक पारित भएसँगै विश्वभर रहेका नेपालीहरूलाई मातृभूमिसँग जोड्ने र नेपालमा विदेशी लगानी भित्र्याउन सहज हुने बताएका छन् ।
सङ्घको स्थापनाकालदेखि नै गैरआवासीय नेपाली सङ्घले प्रवासी नेपालीहरूसँग रहेको सीप, स्रोत र पूँजी नेपालको हित र उन्नतिमा परिचालन गर्न जोड दिँदै आएको स्मरण गरे । उनले भने , ‘विधेयक कार्यान्वयनमा आएपछि दोस्रो पुस्ता समेत नेपालसँग कसिलो गरेर जोडिने छन् ।’
अध्यक्ष आचार्यले प्रतिनिधिसभाबाट उक्त विधेयक पारित गर्न योगदान गर्नुहुने सम्पूर्ण सांसद, राजनीतिक दलका नेता, कानुनविद्, सञ्चारमाध्यमलगायत सङ्घका सम्पूर्ण साथीहरूलाई धन्यवाद पनि दिए । सङ्घका अर्का अध्यक्ष रविना थापाले पनि नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएकामा त्यसको स्वागत गरिन् । ‘हामी गैरआवासीय नेपाली )एनआरएन)हरूले मातृभूमिका लागि गर्नुपर्ने धेरै बाँकी छ । आशा गर्दछु सम्पूर्ण हामी गैरआवासीय नेपालीहरू एक भई जन्मभूमिका लागि जुट्ने छौं’, उनले भनिन् ।
सङ्घका उपाध्यक्ष डा हेमराज शर्माले यो विधयेकले गैरआवासीय नेपाली नागरिकले पाउने आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारबारे उल्लेख नगरेको बताए । ‘यी अधिकारको परिभाषा अर्को विधयेक (गैरआवासीय नेपालीसम्बन्धी विधयेक)मा आउने छ । दोहोरो नागरिकताको प्रावधान नभएका देशमा बस्ने नेपालीहरूलाई ‘गैरआवासीय नेपाली परिचयपत्र’को व्यवस्था हुनेछ । त्यसैले गैरआवासीय सङ्घले परिचयपत्र र नागरिकता पाउने व्यक्तिहरूको समान अधिकार दिलाउनका लागि लबिङ गर्नुपर्ने देखिन्छ’, उनले भने ।
सङ्घका अर्का उपाध्यक्ष नारायण आचार्यले पनि नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएकामा त्यसको स्वागत गरे । उनले अब मातृभूमिको ऋण तिर्न सबै गैरआवासीय नेपालीहरू एकजुट हुनुपर्ने बताए । सङ्घका महासचिव डा केशव पौडेलले समस्त गैरआवासीय नेपालीले लामो समयदेखि प्रतीक्षा गरिररहेकामा पहिलो सफलतास्वरूप गैरआवासीय नेपाली नागरिकताको सुनिश्चितता भएको बताए ।
’सम्पूर्ण एनआरएनहरूलाई हार्दिक बधाई छ । यो संसारभरि रहेका हामी नेपाली र हाम्रा सन्ततिलाई मातृभूमि नेपालसँग जोड्नका लागि कोसेढुङ्गा सावित हुने विश्वास छ’, उनले भने । उक्त विधेयकअनुसार विदेशमा रहेका कुनै पनि नेपालीका बाबु–आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण भए त्यस्ता व्यक्तिले गैरआवासीय नागरिकता प्राप्त गर्नेछन् । तर सार्क मुलुकमा रहेका र बसोबास गरेका नागरिकले यस्तो नागरिकता प्राप्त गर्न सक्ने छैनन् ।
काठमाडौं । नागरिकता विधेयक प्रतिनिधिसभाबाट पास भएको छ । यो विधेयक राष्ट्रियसभाबाट पास भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यानवयनमा आउने छ । यस विधेयक अनुसार अब गैर आवासीय नेपालीलाई नेपाली नागरिकता लिन ढोका खुलेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने नारा अघि सार्दै नागरिकताका लागि माग राख्दै आएको थियो । नयाँ संविधानले सार्क सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गर्ने गैरआवासीय नेपालीलाई राजनीतिक र प्रशासनिक बाहेकका अधिकार प्रयोग गर्न पाउने गरी नागरिकता प्रदान गर्न सकिने व्यवस्था गरेको छ ।
तर नागरिकता ऐन संशोधन नहुँदा गैरआवासीय नेपालीले नागरिकता लिन सकेका थिएनन् । सोमबार विधेयक पारित भएपछि गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको हो । संविधानमै साविकमा वंशज वा जन्मको आधारमा स्वयंले वा बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिकता लिई पछि विदेशी मुलुकको नागरिकता लिएको व्यक्तिलाई गैरआवासीय नेपाली नागरिकता दिने भनिएको छ ।
नागरिकता विधेयकले गैरआवासीय नेपाली नागरिकता लिन चाहने कागजात र पालना गर्नुपर्ने शर्तहरु तोकेको छ । जस अनुसार निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण हुनुपर्छ । सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण ल्याउनु पर्छ ।
विदेशी मुलुकको नागरिकता भएको प्रमाण समेत ल्याउनु पर्छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्र बाहेकको देशमा बसोबास गरेको प्रमाण समेत चाहिने भएको छ । नेपालको संविधान र कानूनको परिपालना गर्ने प्रतिबद्धतापत्र आवश्यक पर्नेछ । गैर आवासीय नेपाली नागरिकताको लागि निवेदन दिँदा पहिले लिएको नेपाली नागरिकताको प्रमाणपत्र समेत पेश गर्नुपर्नेछ । विधेयक अनुसार निवेदन प्राप्त भएपछि सम्बन्धित मन्त्रालयले आवश्यक सबुद प्रमाण बुझी गैर आवासीय नेपाली नागरिकता दिनेछ ।
गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिलाई सम्बन्धित मन्त्रालयले तोकिएको ढाँचामा शपथ गराउनेछ । झुटो विवरण दिई गैर आवासीय नेपाली नागरिकता लिएमा, नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्र हित विपरीत कार्य गरेको ठहरेमा भने त्यस्तो नागरिकता रद्द हुनेछ ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सामूहिक रुपमा नेपालमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई आह्वान गरेका छन् । गैरआवासीय नेपाली संघले बिहीबार आयोजना गरेको वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेपसम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् । कोभिड–१९ महामारी तथा रुस–युक्रेन युद्धका कारण मुलुकमा वैदेशिक मुद्रा सञ्चितिमा संकुचन देखिएको भन्दै उनले यो नेपालभित्र विदेशी मुद्रा भित्र्याउने र लगानी विस्तार गर्ने उपयुक्त अवसर भएको बताए ।
‘मुलुक अहिले वैदेशिक मुद्रा सञ्चितिको चापबाट गुज्रिएको छ । नेपालमा वैदेशिक मुद्रा भित्र्याउँदै लगानी विस्तारका लागि तपाईंहलाई यो उपयुक्त अवसर हो । प्रत्यक मुलुकको वा सहरको समूहहरु बनाई कलेक्टिभ रुपमा ठूलाठूला आयोजनाहरुमा लगानी विस्तार गर्नुहोस् । तपाईंहरुले त्यहाँ गरेको लगानी र प्रतिफलभन्दा नेपालमा पक्कै पनि राम्रो हुनेछ’ उनले भने । उनले लगानी गर्न तथा प्रतिफल लैजान केही समस्या भए क्रमशः समाधान गर्दै जान नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट पहल गर्ने समेत बताए ।
नेपालको अर्थतन्त्रका केही सूचकहरु नकारात्मक रहे पनि नेपाल र श्रीलंकाको आर्थिक अवस्था तुलना गर्न नमिल्ने उनको भनाइ थियो । ‘नेपाल र श्रीलंकाको आर्थिक अवस्था तुलना गर्न मिल्दैन । श्रीलंका ठूलो विदेशी ऋणमा छ । हामी त्यस्तो अवस्थामा छैनौं । अर्को कुरा उनीहरुको भन्दा हाम्रो अर्थतन्त्रमा रेमिट्यान्स भूमिका फरक खालको छ । त्यसैले हामी कुनै पनि हालतमा श्रीलंका हुँदैनौ र त्यो बाटोमा पनि छैनौं” उनले भने ।
साधरण सेयर (आईपीओ) मा गैरआवासीय नेपालीहरुलाई १० प्रतिशत कोटा छुट्ट्याउँदा यसले अहिलेको तरलता समस्या समाधान गर्न धेरै हदसम्म सहयोग पुग्ने भन्दै उनले नेपालमा गैरआवासीय नेपालीहरुको लगानी भित्र्याउन पनि यसबाट सहयोग पुग्ने बताए । उनले नेपालमा सम्भावना नै सम्भावना रहेको र यसलाई अवसरका रुपमा लिन गैरआवसीय नेपालीहरुलाई उनले आग्रह गरे ।
काठमाडौं । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध विमानस्थलमा वीज एयरले उडानको तयारी गरेको छ । यो कम्पनीले आबुधावीबाट भैरहवामा सिधा उडान गर्न प्रस्ताव राखेको हो । भैरहवा विमानस्थलका प्रमुख गोविन्द दाहाललाई उदृत गर्दै नेपाली सञ्चारमाध्यमले जनाए अनुसार आगामी सेप्टेम्बरबाट उडान गर्ने गरी विज एयरले अनुमति प्रक्रिया थालेको हो ।
आबुधावीबाट भैरहवामा साताको तीन उडान गर्ने गरी यो कम्पनीले अनुमति प्रक्रिया थालेको छ । कम्पनीको प्रस्ताव अनुसार ३० सेप्टरम्बरदेखि उडान शुरु हुने छ । अहिले यो विमानस्थलमा जजिरा एयरवेजले कुवेतबाट सिधा उडान गरिरहेको छ । जजिराले दुई महिनाको अवधिमा ६ हजार भन्दा बढी यात्रुलाई यस विमानस्थलबाट सेवा दिइसकेको छ ।
काठमाडौं । नेपाली किसानलाई कोरियामा कृषि कर्म सिक्ने अवसर सृजना गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्र (एईसी) र कोरियाली ग्लोबल मल्टी कल्चरल सेन्टर (जीएमसी) बीच सम्झौता भएको छ । कृषि सीप, प्रविधि आदानप्रदानसम्बन्धी सम्झौतामा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी र जीएमसीको तर्फबाट महासचिव योङ्सु (इरिक) मुनले सोमबार हस्ताक्षर गरे ।
सो सम्झौता अन्तर्गत जीएमसीले नेपाली कृषकलाई ५–५ महिना गरी दुईपटक कोरियाको सीप र प्रविधिको प्रयोगबारे तालिम प्रदान गर्नेछ । कोरियाको किम्जे र मुहानगुनमा नेपाली कृषकले काम गर्नेछन् । सम्झौता अनुसार कोरियाको विभिन्न नगरपालिकाले सो कार्यक्रममा सहभागी हुन चाहने कृषकसँग कृषि उद्यम केन्द्रमार्फत सहजीकरण गर्नेछ ।
नेपालमा भने कृषि उद्यम केन्द्रले यहाँको नगरपालिका तथा गाँउपालिकासँग समन्वय गरेर वास्तविक कृषक छनोट गर्नेछ । सो कार्यक्रमको लागि कोरिया जाने किसानले मापदण्ड अनुसारको सेवासुविधा पाउनेछन् भने न्यूनतम ८ घण्टा खेतीमा बिताउनु पर्नेछ । उक्त कार्यक्रममा नेपाली कृषकहरूलाई सहभागी गराउन पाउनु नेपाली कृषकका लागि महत्वपूर्ण खुट्किलो साबित हुने सभापति सुमार्गीले बताए ।
यो कार्यक्रमले कोरियन कृषि प्रविधि नेपालमा भित्र्याउन सहज हुने उनको भनाइ थियो । जीएमसीका मुनले ईपीएसबाट गएका नेपाली कामदारले गरेको कामबाट प्रभावित भएर नेपालमा कोरियन सीप तथा प्रविधि भित्र्याउन नेपाली कृषक लैजान आफूहरु तयार भएको बताएका थिए ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) १५औं साधारणसभाको तयारीमा जुटेको छ। नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीको प्रमुख आतिथ्यता रहने उक्त साधारणसभालाई, यहीँ आउँदो जुलाई २३ र २४ तारिखका दिन अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को सहरमा सम्पन्न गर्ने गरी तयारीमा जुटेको हो। गत वर्ष भर्जिनियामा सम्पन्न सातौं अधिवेशनबाट निर्वाचित कार्य समितिले १५औं साधारणसभामा संस्थाले गरेका क्रियाकलापहरु, भावि योजनाहरु र आर्थिक गतिविधिहरुलाई अनुमोदन गराउने गरी तयारी गरेको छ। त्यसैगरी, संस्थाका अध्यक्ष बिकासराज न्यौपानेले दिनु भएको जानकारी अनुसार साधारणसभाबाट, तयार पारिएको विधान संशोधन, पत्रकारिता आचारसंहिता र पुरस्कार तथा सम्मान विनियमावली समेत पारित गर्ने गरी आवश्यक तयारी गरिएको छ। अध्यक्ष न्यौपानेले तयारीका सम्बन्धनमा जानकारी दिदै भन्नु भयो, ‘हामी साधारणसभा सफलतापूर्वक सम्पन्न गर्न कार्य विभाजन गरी तिब्रताका साथ आवश्यक तयारीमा जुटिरहेका छौं। सबैले आ-आफ्नो जिम्मेवारी अनुसार काम गरिरहनु भएको छ।’अध्यक्ष न्यौपानेले सरोकारवालाहरुलाई साधारणसभामा उपस्थितका लागि विशेष अनुरोध गर्दै भन्नु भयो,’ यो वार्षिक साधारणसभा निकै महत्वपूर्ण छ। यसलाई संस्थागत रुपमा बढी भन्दा बढी उपलब्धिमूलक बनाइ सफलतापूर्वक सम्पन्न गर्न गरिमामय उपस्थितका लागि सम्पूर्ण सदस्यहरु तथा सम्बन्धित सबै सरोकारवालाहरुलाई हामी ‘नेजा’ परिवार विशेष अनुरोध गर्दछौं।’
अमेरिकामा सञ्चारकर्मी तथा सञ्चार माध्यमहरुले व्यवसायीक भन्दापनि सामाजिक पत्रकारितामा बढि केन्द्रिकृत भएर नेपाल र नेपालीको पहिचान तथा उथ्थानमा यथासक्य महत्वपूर्ण योगदान पुर्याउदै आइरहेका छन्। अमेरिकामा क्रियाशिल तिनै पत्रकारहरु आवद्ध रहेको संस्था हो -‘ नेपाल अमेरिका पत्रकार संघ(नेजा)।सन् २००७मा स्थापना भएको यस संस्थाले स्थापना कालदेखि नै सामाजिक क्रियाकलापहरुमा आफ्नो महत्वपूर्ण उपस्थिति जनाउनुका साथै संस्थागत रुपमा स्थापित हुन चरणबद्ध रुपमा काम गर्दै आइरहेको छ।
संस्थाका महासचिव सुरज भण्डारीले साधारणसभाका बारेमा दिनु भएको संझिप्त जानकारी अनुसार उद्घाटनसत्र, बन्दसत्र र समापनसत्र गरी तीन चरणमा साधारणसभा सञ्चालन गर्ने गरी कार्यक्रम तालिका बनाइने भएको छ। जस अनुसार उद्घाटन पश्चातको महत्वपूर्ण सत्र ‘बन्दसत्र’मा अनुमोदनका लागि प्रस्तुत हुने महासचिवको संस्थागत क्रियाकलापहरुको प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन, विधान संशोधन र पुरस्कार तथा सम्मान विनियमावली उपर आवश्यक छलफल गरी अन्तिम टुंगोमा पुग्ने लक्ष्य राखिएको छ। यस सम्बन्धमा महासचिव भण्डारीले जानकारी दिदै भन्नु भयो,’ साधारणसभामा महासचिव र कोषाध्यक्षहरुले प्रस्तुत गर्नु हुने प्रतिवेदनहरु उपल छलफल गरिने छ र पारित गरिने छ।’ उहाँले भन्नु भयो,’ यो साधारणसभालाई विधान संशोधन, पत्रकारिता आचारसंहिता र पुरस्कार तथा सम्मान विनियमावलीमा पनि विशेष रुपमा केन्द्रिकृत गर्ने छौं।विद्यमान विधान उपर आवश्यक छलफल गरी आवश्यकता अनुसार संशोधन समेत गर्ने छौं भने, पत्रकारितालाई थप व्यवस्थित तथा मर्यादित बनाउन तयार गरिएको आचारसंहिता र पुरस्कार तथा सम्मान विनियमावली उपर पनि आवश्यक छलफल गरी त्यसलाई मुर्तरुप दिनेछौं। यस अर्थमा यो साधारणसभा निकै महत्वपूर्ण भएकाले सदस्यहरु तथा सरोकारवाहरुको गरिमामय उपस्थिति र भूमिकाका लागि विशेष अनुरोध गर्दछौं।’
संस्थाले विधान संशोधनका लागि आवश्यक तयारी गर्न भनी, यस अघि नै गिरिश पोखरेलको संयोजकत्वमा, सदस्यहरु कल्पना घिमिरे, सुजन पण्डित, गोकुल श्रेष्ठ, प्रतिमा बाँस्कोटा, रामचन्द्र भट्ट र मधुकर अधिकारी रहेको सात सदस्यीय विधान संशोधन उपसमित गठन गरेको थियो। सोही जिम्मेवारी अनुसार विधान संशोधन उपसमितिले पनि तिब्रताका साथ आफ्नो जिम्मेवारीको काम गरिरहेको र सदस्यहरुलाई पनि अमुल्य सुझावहरुका लागि अनुरोध गरिएको महासचिव भण्डारीले जानकारी दिनु भयो। उहाँले भन्नु भयो, ‘ मेहनतको कदर स्वरुप वितरण गरिने पुरस्कार र योगदानको कदर स्वरुप गर्ने सम्मानलाई व्यवस्थित गर्न पुरस्कार तथा सम्मान विनियमावली पारित गर्ने तयारी गरेका छौं।’ उक्त विनियमावली तयार पार्न कार्यसमितिले सचिवालयलाई जिम्मेवारी प्रदान गरे अनुरुप, साधारणसभाबाट आवश्यक छलफल गरी पारित गर्ने गरी उक्त विनियमावली तयार पारिसकेको सचिवालयले जनाएको छ।
सन् २००७मा स्थापना भएको यस संस्थाले यसै वर्षदेखि आफ्नो संस्थागत गतिविधिहरुलाई समेटेर वार्षिक वुलेटिन प्रकाशित गर्ने तयारी पनि गरेको छ। त्यसका लागि बाबुराम दाहाल संयोजक तथा लेखनाथ भण्डारी, राजु आचार्य, सुपेन्द्र बस्नेत, रामचन्द्र भट्ट, प्रतिमा बाँस्कोटा र लेखनाथ गौतम सदस्य रहने गरी गठित सात सदस्यीय प्रकाशन उपसमितिलाई जिम्मेवारी सुम्पिएको छ। जस अनुसार प्रकाशन उपसमिले आफ्नो जिम्मेवारी पूरा गर्न सक्रियताका साथ आवश्यक कार्य गरिरहेको जनाइएको छ।
साधारणसभाको तयारीका सम्बन्धमा नेजा सदस्य तथा कन्भेनर शिव नेपालले दिनु भएको जानकारी अनुसार तयारी अन्तिम चरणमा पुगेको छ। संस्थाका सदस्य तथा पाहुनाहरुको स्वागत, खाना तथा बसाइ र कार्यक्रम स्थलको व्यवस्थापन लगायत कार्यहरु लगभग पुरा भैसकेको छ। कन्भेनर नेपालले भन्नु भयो,’ हाम्रो तयारी अन्तिम चरणमा पुगेको छ। स्वागतका लागि हामी आतुर छौं। सबैलाई पाल्नु हुन अनुरोध छ।’
यसैबीच, संस्थाले आफ्नो साधारणसभाको अवसर पारेर आमा फाउण्डेशनसंगको सहकार्यमा एक हजार एक सय डलर राशीको ‘नेजा सामुदायिक पत्रकारिता पुरस्कार’ समेत प्रदान गर्ने गरी आवश्यक तयारी गरिरहेको संस्थाले जनाएको छ। त्यसका लागि प्रक्रियामा भाग लिन संस्थाले इच्छुक क्रियाशिल पत्रकार तथा सञ्चार सम्वद्ध संस्थाहरुलाई आव्हान समेत गरिसकेको छ।
काठमाडौं । त्रिभुवन विमानस्थल भन्सारले ७ महिनामा हवाई यात्रुको साथबाट ४८० किलो अवैध सुन बरामद गरेको विवरण सार्वजनिक गरेको छ । जसबाट विमानस्थल भन्सार कार्यालयले ४५ करोड ५८ लाख राजस्व असुली गरेको छ । झिटीगुन्टा सुविधाको दुरुपयोग गर्दै हवाई यात्रुले ल्याउने सुनमा कडाइ थालेको ७ महिनामै यस्तो परिमाणमा सुन आउने गरेको खुलेको हो । विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक महेश भट्टराईकाअनुसार यस अवधिमा यात्रुहरुबाट ४८० किलो अवैध सुन बरामद भएको छ ।
विमानस्थलमा मंसिरबाट कडाइ थालिएको थियो । दैनिक २१ किलोसम्म सुन बरामद हुने गरेको थियो । अहिले दैनिक एक किलो हाराहारीमा सुन बरामद हुने गरेको छ । कानुनतः विदेशबाट नेपाल आउने यात्रुले आफ्नो साथमा अधिकतम १०० ग्रामसम्म काँचो सुन भन्सार राजस्व तिरेर ल्याउन पाउँछन्न् । सुनको गहनाको हकमा अधिकतम २५० ग्रामसम्म साथमा लगाएर आउन पाइने कानुनी व्यवस्था छ ।
जसमध्ये पहिलो ५० ग्रामसम्मको गहनामा राजस्व छुट सुविधा उपलब्ध हुन्छ भने सो भन्दा बढी २०० ग्रामसम्मको गहनाको हकमा भन्सार राजस्व तिरेर मात्र ल्याउन पाइन्छ । १०० ग्राम भन्दा बढी काँचो सुन र २५० ग्राम भन्दा बढी सुनका गहना ल्याएको हकमा त्यस्तो सुन तथा सुनका गहना जफत गरी भन्सार कानुन बमोजिम कारबाही गर्ने व्यवस्था छ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । तीन दिने भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट हुने योजना थियो । तर, अन्तिम समयमा रद्द भएपछि उनी मोदीलाई नभेटी स्वदेश फर्किएका हुन् । शुक्रबार उनी भारत प्रस्थान गरेका थिए । प्रचण्डले भारतीय जनता पार्टीको कार्यालयमा अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका छन् ।
अन्तिम समयमा आएर रोकिएको भेटबारे आफुलाई भने कुनै जानकारी नभएको उनले विमानस्थलमा बताए । बीजेपीका अध्यक्षले बोलाएर भारत गएको र उनलाई भेटेपछि क्लाइमेक्स त्यही हो भन्ने ठानेको हुनसक्ने उनको भनाई छ । भारतमा बाढीले जनधनको ठूलो क्षति भएको र मोदी त्यसमा व्यस्त भएकाले समेत भेट हुन नपाएको उनको अनुमान छ । उनले भारतीय विदेशमन्त्री एस जयशंकर सँग भने भेटघाट गरेका थिए ।
काठमाडौं । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आइतबार महत्वपूर्ण राजनीतिक भेटघाट गर्ने भएका छन् । उनले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सत्तारुढ भाजपाका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्ने भएका छन् । उनी भाजपा अध्यक्ष नड्डाकै औपचारिक निमन्त्रणमा गत शुक्रबार नयाँ दिल्ली पुगेका हुन् ।
शुक्रबार भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका प्रचण्डले शनिबार भारतीय विदेश सचिव एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका थिए । विदेश सचिव एस जयशंकरले प्रचण्डसँगको भेट फलदायी भएको जानकारी ट्वीटरमार्फत् दिएका छन् ।
त्यसअघि शनिबार बिहान नयाँदिल्लीस्थित नेपाली राजदूतावासले आयोजना गरेको ‘ब्रेक फास्ट’ बैठकमा प्रचण्ड सहभागी भएका थिए । प्रचण्डले आइतबार अपराह्न प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तयारी छ । त्यसपछि उनी काठमाडौं आउने छन् ।
काठमाडौं । भारत भ्रमणमा आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेका छन् । शुक्रबार भारत भ्रमणमा गएका उनले शनिबार नै भारतीय सुरक्षा सल्लाहकार अजित डोभललगायतसँग भेटवार्ता गर्दैछन् ।
भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नाड्डाको निमन्त्रणामा भारत भ्रमणमा गएका उनले शनिबार विहान भारतमै प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवासँग भेट गरेका थिए ।
काठमाडौं । नेपालबाट कामको खोजीमा विदेश जाने नेपालीको संख्या एक वर्षमै ६ लाख भन्दा माथि पुगेको छ । कोरोना महामारीका कारण लगातार दुई वर्ष वैदेशिक रोजगारीमा जाने क्रम घटेको थियो । महामारी कम भएसँगै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या छ लाख नाघेको हो । वैदेशिक रोजगार विभागको आंकडा अनुसार असार ३० सम्म ६ लाख २८ हजार ५०३ जनाले श्रम स्वीकृति लिएका छन् ।
यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको भन्दा चार लाख ६१ हजार ८०५ धेरै हो । यस वर्ष मङ्सिरमा मात्र ७४ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका थिए । गत साउनमा २५ हजार ४६८ जनाले श्रम स्वीकृति लिएका थिए । नेपाली साउदी अरब र कतारमा सबैभन्दा धेरै गएका छन् । साउदी अरबमा एक लाख ८८ हजार ३९६ र कतारमा एक लाख ८४ हजार ५०३ जनाले श्रमस्वीकृति लिएका छन् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सात वटा विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा शुक्रबार उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
राष्ट्रपति भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ लिने नवनियुक्त राजदूतहरुमा बहराइनका लागि नेपाली राजदूत तीर्थराज वाग्ले, ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याल, साउदी अरेवियाका लागि राजदूत नवराज सुवेदी, श्रीलंकाका लागि राजदूत वासुदेव मिश्र, अष्ट्रिया तथा संयुक्त राष्ट्रसंघ कार्यालय, भियनाका लागि नेपालको स्थायी प्रतिनिधि भरतकुमार रेग्मी, इजिप्टका लागि राजदूत सुशीलकुमार लम्साल, बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी छन् ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ दिल्ली पुगेका छन् । उनले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने निश्चित भएको छ । प्रचण्डले आइतबार भाजपा मुख्यालय भ्रमण गर्ने र भाजपा अध्यक्ष जे पी नड्डासँगको भेटघाट र भाजपा अध्यक्ष द्वारा आयोजित दिवाभोजमा सहभागी हुने तय भएको छ । शनिबार उनले भारतीय विदेश मन्त्री डा. एस जयशंकर भारतका राष्ट्रीय सुरक्षा सल्लाहकार अजीत डोभाल, विदेश सचिव विनय मोहन क्वात्रासँग छुट्टा छुट्टै भेट्ने तय भएको छ ।
प्रचण्डलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली राजदूत डा शंकरप्रसाद शर्मा, उपनियोग प्रमुख रामप्रसाद सुवेदी, भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले, भारतीय विदेश मन्त्रालयका नेपाल–भुटान डेस्कका सहसचिव अनुराग श्रीवास्तवले स्वागत गरेका छन् ।भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले होटल ताज मानसिंहमा प्रचण्डसँग शुक्रबार नै शिष्टाचार भेट गर्ने छन् । प्रचण्ड शुक्रबार नेपाली राजदूत द्वारा आयोजित रात्रिभोजमा सहभागी हुने छन् । उनी आइतबार नै काठमाडौं फिर्ता हुनेछन् ।
काठमाडौं । नेपाल र चीनबीच रसुवागढी नाका दुईतर्फी संचालन गर्ने सहमती जुटेको छ । कोभिड–१९ को कारण सुरुआतबाटै यो नाकामा अवरोध हुँदै आएको छ । रसुवागढी–केरुङनाकामा दुईतर्फी व्यापार सञ्चालन गर्न सहमति भएपनि कार्यान्वयनमा भने अझै शंका छ । किनकी लामो समयदेखि चीजले विभिन्न बाहना बनाउँदै एकतर्फी मात्र सामान पठाइरहेको छ । नेपाल–चीन सीमासम्बन्धी परामर्श बैठकमा चीनले कोरोना भाइरस मापदण्डलाई पालना गर्दै उक्त नाकाबाट सामग्रीहरु आयात र निर्यात गर्न सहमत भएका हुन् ।
नेपाल र चीन व्यापार सञ्चालन गर्न दुवै पक्षले महामारी रोकथाम र नियन्त्रण संयन्त्र स्थापना गर्न समेत सहमत भएका छन् । बिहीबार भएको सीमासम्बन्धी परामर्श बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका उत्तर पूर्वी एसिया महाशाखाका प्रमुख लोकबहादुर थापा र चिनियाँ टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयको सीमा तथा समुन्द्र सम्बन्धित मामिला विभाग महानिर्देशक होङ लियाङले गरेका थिए । यस्तै, दुवै पक्षले हुम्लाको हिल्सा–पुराङ सीमा बन्दरगाह खोल्ने निर्णय पनि भएको छ ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाने भएका छन् । उनी भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत जान लागेका हुन् । प्रचण्ड दिउँसो १ बजे तीन दिने भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्नेछन् । डेढ महिनाअघि नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले भारतकोतर्फबाट निम्तो दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार त्यसक्रममा प्रचण्डले जुलाइको दोस्रो सातासम्म भ्रमण सम्भव हुने बताए पनि भाजपाका अध्यक्ष जगतप्रकाश नड्डाले नै निम्तो दिएपछि औपचारिकरुपमा भ्रमण तय भएको थियो । प्रचण्डको भारत भ्रमणबारे बिहीबार बसेको माओवादीको स्थायी समिति बैठकमा पनि छलफल भएको थियो । उनी साउन १ मा स्वदेश फर्कनेछन् ।
काठमाडौं । पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना तर्जुमा समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई आफ्नो प्रतिवेदन बुझाएको छ । १३ असारमा मन्त्री श्रेष्ठले पदभार ग्रहणका क्रममा नेपालको पर्यटन क्षेत्र पुनरुत्थान गर्न तत्कालीन र दीर्घकालीन कार्ययोजना तयार गर्न समिति गठन गरेका थिए । मन्त्रालयमा आयोजित कार्यक्रममा कार्ययोजना तर्जुमा समितिका सदस्यहरुले मन्त्री श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरेका छन् ।
समितिले सरोकारवालाहरुसँग छलफल तथा विगतमा गठन भएका विभिन्न समितिका प्रतिवेदनहरु अध्ययन गरी कार्ययोजना तयार गरेको जनाएको छ । प्रतिवेदन बुझ्ने क्रममा मन्त्री श्रेष्ठले कार्ययोजनाले मन्त्रालयको कामलाई दिशानिर्देश गर्ने जानकारी गराए । कार्ययोजनामा एक महिनाभित्र गर्न सकिने काम, तीन महिनामा गर्न सकिने काम, छ महिनाभित्र गर्न सकिने काम, एक वर्षभित्र गर्न सकिने काम र निरन्तर गर्नुपर्ने कामका ५१ वटा योजना समावेश गरिएको छ । कार्ययोजना कार्यन्वयन गर्ने निकाय र कार्यन्वयनका लागि सहयोगी संस्थाबारे पनि प्रतिवेदनमा उल्लेख छ ।
पर्वतीय पर्यटन सुधारका लागि कानुन संशोधन गर्नुपर्ने, पर्यटकको नेपाल बसाई सुरक्षित बनाउन संकट व्यवस्थापन एकाइ स्थापना गर्ने, एक नेपाली एक विदेशी साथी नेपाल पठाउने अभियान’का लागि एनआरएनसँग सम्झौता गर्ने, काठमाडौंका ऐतिहासिक तथा पुरातात्विक सम्पदा जोड्न सम्पदा मार्ग निर्माण गर्ने, कोभिड(१९ पछि नेपाल सुरक्षित गन्तव्य रहेकोबारे बजारीकरण गर्ने कार्ययोजनामा उल्लेख छ । रात्रिकालीन सम्पदा यात्राको सुरुवात गर्ने, सगरमाथा सम्वाद पुनः सुरु गर्ने, अन्तर प्रदेश हवाई सेवा विस्तार गर्ने, प्रयोगमा नआएका विमानस्थललाई एयर स्पोर्टस एक्टिभिटी सेन्टरका रुपमा विकास गर्ने पनि कार्ययोजनामा उल्लेख छ ।
महत्वपुर्ण पर्यटकीय स्थलहरुमा राष्ट्रिय सरसफाई अभियान चलाउने, पर्यटन डिजिटल नक्सा बनाउने लगायत बिषय पनि कार्ययोजनामा उल्लेख छ । मन्त्री श्रेष्ठले कार्ययोजना अनुसार काम अघि बढाउने प्रतिवद्धता जनाएका छन् । मन्त्रालयका सहसचिव होमप्रसाद लुइंटेलको संयोजकत्वमा पर्यटन विभागका महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकण र नेपाल पर्यटन बोर्डका प्रतिनिधिका साथै तीन जना विज्ञ सम्मिलित समिति गठन गरिएको थियो ।
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार भारत भ्रमणमा जाने भएका छन्। माओवादी स्रोतलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाए अनुसार उनी नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक भेटवार्ताका लागि जान लागेका हुन् । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाले उनर्ला औपचारिक निमन्त्रणा गरेका छन् ।
त्यहाँ हुने भेटघाट र केही कार्यक्रमका लागि परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित भारतीय दूतावासले समन्वय गरिरहेको समेत खबर छ । प्रचण्ड दुई दिने भ्रमणका लागि भारत जान लागेका हुन् । प्रचण्डले भारतीय राजदूत नवीन श्रीवास्तवमार्फत भारत भ्रमणको निम्तो पाएका थिए । भ्रमणबारे सरकार र पार्टीले भने कुनै विषय सार्वजनिक गरेको छैन । प्रधानमन्त्री देउवाकी पत्नी आरजु राणा अहिले नयाँदिल्लीमै छिन् ।
काठमाडौं । नेपाली मौलिक गरगहना लगाएर विदेशबाट नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा अनावश्यक रुपमा कडाइ हुने गरेको भन्दै सुनचाँदी व्यवसायीले त्यसमा सहजीकरण गर्न भन्सार विभगसँग आग्रह गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा मंगलबार गएको महासंघको प्रतिनिधिमण्डलले विभागका महानिर्देशक कमलप्रसाद भट्टराईसँग भेट गरी यस्तो आग्रह गरेको हो ।
महानिर्देशक भट्टराईसँगको भेटका क्रममा अध्यक्ष शाक्यले नेपाली मौलिक गरगहना लगाएर विदेशबाट नेपाल आउँदा ५० ग्रामभन्दा बढीको सुनका गहना ल्याएमा त्यसको भन्सार लिने गरिएको प्रति असन्तुष्टि जनाउँदै विमानस्थल भन्सारबाट आवात–जावत गर्दा भन्सारमा अवरोध गर्न नहुने धारणा राखे । विद्यमान व्यवस्था अनुसार विदेशबाट नेपाल आउँदा प्रत्येक व्यक्तिले ५० ग्रामसम्म सुनका गहना भन्सार छुटमा ल्याउन पाउने व्यवस्था छ । तर गरगहनाको हकमा यस्तो सीमा निर्धारण गरिएको छैन ।
नेपालबाट बाहिर जाँदा गरगहना लगाएर जान पाइने तर विदेशबाट नेपाल आउँदा ५० ग्राम भन्दा बढी गरगहना लगाएको पाइए त्यसको समेत भन्सार लिने गरेको पाइएपछि व्यवसायीले त्यसको विरोध गरेका हुन् । भन्सार विभागका महानिर्देशक भट्टराईले व्यवसायीका समस्याको अध्ययनगरी त्यसलाई सम्बोधनगर्न पहल गर्ने बताए । कतिपय व्यक्तिले गरगहनाको बाहनामा सुन ल्याउन खोजेको भेटिएपछि यसका कडाइ गर्नु परेको उनको भनाइ छ ।
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवर्द्धनका लागि कुटनीतिज्ञहरुको भुमिका महत्वपूर्ण हुने बताएका छन् । नवनियुक्त तथा प्रस्तावित विभिन्न देशका राजदुतहरुसँग मन्त्रालयले सोमबार गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालमा विदेशी पर्यटकको आगमन बढाउन कुटनीतिज्ञहरुको भुमिका महत्वपुर्ण हुने बताए । उनले विदेशस्थित सबै नियोग परिचालन गरेर नेपालमा विदेशी पर्यटकको आगमन बढाउन सकिने बताए ।
सबैको पहलमा विदेशी पर्यटक भित्र्याउन सके महामारीबाट थलिएको पर्यटन क्षेत्रले गति लिने विश्वास उनको छ । राजदुतावास, स्थायी नियोग, महावाणिज्य दुतावास तथा अवैतनिक बाणिज्य दुतावासहरुले पर्यटक आकर्षित गर्ने खालका कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए । राजदुतहरुले व्यापार, लगानी , पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तारमा भुमिका खेल्नुपर्ने उनको भनाइ छ ।
नेपालको हवाई उडानलाई ईयूको ‘सुरक्षा चासो’को सूचीबाट हटाउन पहल गर्ने उनले बताए । उनले छिमेकी मुलुक भारतलाई नयाँ हवाई प्रवेश बिन्दु खुला गरिदिन आग्रह गरिएको जानकारी गराए ।
काठमाडौं । चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले आज पनि भेटघाटमा व्यस्त हुने भएका छन् । उनले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने भएका छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटघाट गरेका जियानचाओले सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतसँग भेटवार्ता गर्दैछन् ।
उनले प्रचण्डसँग अपराह्न चार बजे खुमलटारस्थित निवासमै पुगेर भेटवार्ता गर्ने कार्यक्रम छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतसँग पनि भेट्ने कार्यक्रम छ । मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेर उनी बुधबार स्वदेश फर्किने कार्यक्रम छ ।
काठमाडौं । नेपाली नेताहरूसँगको कुराकानीमा पलिटिकल पार्टीज् प्लस सहकार्यबारे चर्चा गर्दै आएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान छाओ राजनीतिक भेटवार्ताका लागि काठमाडौं आइपुगेका छन्। चार दिने नेपाल भ्रमणमा आएका लिउ गत महिना मात्रै चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय सम्पर्क विभाग प्रमुख भएका हुन्। यो विभागले चीनमा अन्तर–देशीय पार्टी कूटनीति हेर्दै आएको छ। सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको निमन्त्रणामा आएका भनिएका लिउलाई आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न कांग्रेस र एमाले नेताहरू पुगेका थिए।
चीनमा भ्रष्ट्राचार विरोधी नेताको छवि बनाएका लिउ चीनका मन्त्रीस्तरका नेता हुन्। उनले आइतवारै प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटवार्ता गरेका छन्। परराष्ट्र मन्त्री नारायण खड्कासँगको भेटपछि लिउले राष्ट्रपति विद्यादेवी भण्डारीसहित नेपालका मुख्य राजनीतिक दलका प्रमुखहरूसँग भेटवार्ता गर्ने योजना बनाएका छन्। उनले सोमवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी नेताहरूसँग भेट गर्ने तय भएको छ । मङ्गलवार लिउले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।
लिउले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट्ने योजना बनाएको बताइएको छ । तर, राष्ट्रपतिको भेटबारे निश्चित भइसकेको छैन । लिउ नेपाल आउनुअघि पनि परराष्ट्र मन्त्री नारायण खड्कासहित एमाले र माओवादी नेताहरूसँग भर्चुअल संवाद गरेका थिए।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता, विभिन्न देशमा राजदूत र चिनियाँ भ्रष्टाचार निवारण सम्बन्धी निकायको प्रमुख रहिरहेका लिउले यसअघि नेपालका नेताहरूसँगको भेटमा राजनीतिक दलहरू सहितको सहकार्यबारे कुरा गरेका थिए । यसअघि नेताहरूसँगको कुराकानीमा लिउले चिनियाँ कम्युनिस्ट पार्टीले अनुभव आदान प्रदान र शासन प्रशासनबारे साझा सिकाइका साथै दुवै पक्षबीच अन्तर घुलन बढाउनेमा जोड दिएका थिए।
काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनको सत्तारूढ दल चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। आइतबार दिउँसो प्रधानमन्त्री देउवालाई भेट्न आफ्नो टोलीसहित जियानचाओ बालुवाटार पुगेका थिए।
भेटवार्ताका क्रममा दुई पार्टी र दुई मुलुकबीचको सम्बन्धबारे छलफल भएको थियो। जियानचाओले काठमाडौंमा रहँदा जियानचाओले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
सोमबार उनले माओवादी अध्यक्ष प्रचण्डसँग र मंगलबार बिहान एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। यसअघि उनले यी दुबै नेतासँग भर्चुअल कुराकानी गरेका थिए। केही समयअघि मात्रै चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेका जियानचाओ चार दिने भ्रमणका लागि आइतबार बिहान काठमाडौं आइपुगेका हुन्।
काठमाडौं । सरकारले जापानका पूर्व प्रधानमन्त्री सिन्जु आबेको निधनमा एक दिने राष्ट्रिय शोक घोषणा गरेको छ । आबेको शुक्रबार हत्या भएको छ । चुनावी सभालाई सम्बोधन गरिहेका बेला उनीमाथि गोली प्रहार भएको हो । गोली लागेर ढलेका उनलाई हृदयघात समेत भएको थियो । नेपाल सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले आबे हत्याको घोर भत्सर्ना गरेको छ र उनको निधनप्रति भोलि शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । उता, नेताहरुले समेत उनको निधनमा शोक व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले आबेको निधनप्रति शोक जनाएका छन् । ‘ पूर्वप्रधानमन्त्री आबेको निधनको खबर सुनेर गहिरो दुःख लागेको छ । मेरो हार्दिक श्रद्धाञ्जली,’ देउवले ट्वीटमा लेखेका छन्, ‘उहाँ विश्वका चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि हुनुहुन्थ्यो । यस दुस्खद घडीमा जापानका जनता र शोक सन्तप्त परिवारजनसँग हाम्रो विचार र प्रार्थना छ ।’
ओलीले आबेको निधनप्रति दुख व्यक्त गर्दै ट्वीट गरेका छन्, ‘पूर्वप्रधानमन्त्रीको जघन्य हत्याको घोर भर्त्सना गर्दछु । आबे नेपालको मित्र हुनुहुन्थ्यो र उहाँले आफ्नो प्रधानमन्त्री हुँदा नेपाल(जापान सम्बन्धलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो, यस दुस्खद घडीमा उहाँको शोक सन्तप्त परिवारमा मेरो विचार र हार्दिक समवेदना छ ।’