Category: डायस्पोरा

  • दूतावासहरुमा पर्याप्त कर्मचारी छैनन् : परराष्ट्र सचिव

    दूतावासहरुमा पर्याप्त कर्मचारी छैनन् : परराष्ट्र सचिव

    काठमाडौं । परराष्ट्र सचिव भरतराज पौडेलले विदेशमा रहेका नेपाली राजदूतावासमा पर्याप्त जनशक्ति नहुँदा कूटनीतिक कामहरूमा ध्यान दिन नसकिएको बताएका छन् । बिहीबार राष्ट्रियसभा अन्गर्तगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सचिव पौडेलले नेपालका झन्डै आधाभन्दा बढी मिसनहरू वैदेशिक रोजगारीमा जाने नेपालीको सेवामा लाग्नुपरेको बताएका हुन् ।

    ‘हाम्रा दूतावासहरू धेरै साना साइजका छन् । पर्याप्त जनशक्ति छैन । भएको जनशक्ति नेपालीहरुको उद्धार लगायतका समस्या समाधानमा नै केन्द्रित हुने गरेको छ,’ सचवि पौडेलले समितिको बैठकमा भने, ‘जसकारण अन्य कुराहरुमा ध्यान दिन सकेको छैन भन्ने गुनासो छ । ३,४ जनाले कति काम गर्न सक्छन् रु’ उनले मुलुकको आर्थिक स्थितिलाई हेरेर धेरै वर्षअघि खुलेका संरचनाहरूको सुधार हुनुपर्ने आवश्यक्ता औंल्याए ।

    नेपालबाट वैदेशिक रोजागारीमा जानेहरूका समस्या समाधान गर्न समय लाग्ने भएकाले दूतावासहरूले आवश्यक जनशक्ति बिना अन्य आर्थिक गतिविधिका लागि सम्बन्धित राष्ट्रमा काम गर्न नसकिने अवस्था रहेको बताए । नेपालजस्तै वैदेशिक रोजगारीमा पठाउने अन्य मुलुकका दूतावासको क्षमता बढी भए पनि अरूको तुलनामा नेपाली दूतावासहरूले बढी काम गरेको दावी गरे ।

  • जिपी कोईराला फाउन्डेशन अमेरिका च्याप्टरका अध्यक्ष घिमिरे अमेरिकी डेमोक्रेटिक क्लबको उपाध्यक्षमा नियुक्त

    जिपी कोईराला फाउन्डेशन अमेरिका च्याप्टरका अध्यक्ष घिमिरे अमेरिकी डेमोक्रेटिक क्लबको उपाध्यक्षमा नियुक्त

    न्यूयोर्क । गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरे नयाँ अमेरिकी डेमोक्रेटिक क्लबको उपाध्यक्षमा मनोनित भएका छन् । उनको राजनीतिक सक्रियता, विगतमा जो वाईडेन र कमला ह्यारीस् राष्ट्रपति÷उपराष्ट्रपति जिताउँ अभियानमा खेल्नुभएको भुमिका, न्युयोर्कमा स्थानीय र राज्यस्तरीय चुनावमा गरेको विशेष भूमिकाका कारण उनलाई यो जिम्मेवारी दिइएको बताइएको छ ।

    साथै, जिपि कोईराला फाउन्डेशन अमेरिका च्याप्टर मार्फत लामो समयदेखी जुझारू र सशक्त टीम बनाई कोरोना कहरका बीच समेत समाजमा उल्लेखनीय योगदान पुर्याएको लगायत पक्षलाई मुल्यांकन गरी सो पदमा नियुक्त गगरिएको अमेरिकी डेमोक्रेटिक क्लबका संस्थापक अध्यक्ष मोर्सेद अलामले बताए ।

    नयाँ अमेरिकी डेमोक्रेटिक क्लब न्युयोर्क राज्यकै सबैभन्दा पुरानो राजनितिक संस्था दक्षिण एसियाली अमेरिकन मेर्सेद अलामले सन १९९८ मा स्थापना गरेका हुन् ।
    मोर्सेद अलाम पर्यावरण विज्ञ हुन् । उनी एनवाईसीमा पूर्व आयुक्त (मतदाता सहायता आयोग) र सामुदायिक विद्यालय बोर्डका उपाध्यक्ष र कोषाध्यक्षमा न्युयोर्क राज्यको इतिहासमा पहिलो पटक दक्षिण एसियाली पदाधिकारी निर्वाचित भएका थिए ।

    उनी सन १९९८ मा एनवाईएस सिनेटका लागि डेमोक्र्याटिक पार्टीका न्युयोर्क राज्यको इतिहासमा पहिलो पटक दक्षिण एसियाली उम्मेद्वार भएर रिपब्लीकन उम्मेद्वार विरुद्धमा ४२ प्रतिशत मत प्राप्त गरी विजयी भएका थिए ।

    अध्यक्ष आलमले, उपाध्यक्ष पदमा नियुक्त भएकोमा घिमिरेलाई बधाई दिँदै नयाँ अमेरिकी डेमोक्रेटिक क्लबलाई अझ ससक्त रुपले अगाडी बढाउने विश्वास व्यक्त गरे । उनले कार्यकारी सदस्यसँग सहकार्य गरी आगामी रणनीति एवं कार्यदिशामा सम्बद्द सबैलाई समेटी डेमोक्रेटिक पार्टीमा दक्षिण एसियाली मतदाताहरूको संख्या शसक्त ढंगले अझै धेरै बढाउॅंदै प्रभावकारीता थप उचाईमा पुर्याउनु पर्ने समेत बताए ।

    अमेरिकामा जिपी कोईराला फाउन्डेशन मार्फत सामाजसेवामा खटिएका घिमिरेको मुल्यांकन गरी नयाँ अमेरिकी डेमोक्रेटिक क्लबको उपाध्यक्ष पदमा मनोनयन गरिनु गौरवको विषय भएको जिपी कोईराला फाउन्डेशन अमेरिकाका उपाध्यक्ष सुवर्ण लामाले बताए ।

  • अमेरिकामा एक नेपालीको हत्या

    अमेरिकामा एक नेपालीको हत्या

    काठमाडौं । अमेरिकाको कोलोराडोमा एक नेपालीको हत्या भएको छ । सरकारी सञ्चारमाध्यम गोरखापत्रले लेखे अनुसार कोलोराडोस्थित एक कन्भिनियन्स स्टोरका मालिक भेषराज लामिछानेको गोली हानी हत्या भएको हो । तनहुँ, दमौली घर भइ करिब आठ वर्षदेखि कोलोराडोमा बसोबास गर्दै आएका भेषराजको बिहीबार राती साढे आठ बजेको समयमा एक बन्दुकधारीले गोली चलाउँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो । ५३ वर्षीय लामिछानेको हत्यामा संलग्न सन्दिग्ध अपराधीलाई प्रहरीले घटनास्थलभन्दा निकै पर शुक्रवार अर्कै राज्यमा समातेको छ ।

    सन्दिग्ध अपराधीले पहिले उनमाथि आक्रमण गरेको र त्यसपछि गोली चलाएर उनको हत्या गरेको कोलोराडोस्थित हुइट्रिज प्रहरीले जनाएको छ । सन्दिग्ध अपराधी २६ वर्षीय स्वानाथन डि एन्जेलो भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी आउँदा लामिछानेको मृत्यु भइसकेको जनाइएको छ । चार सन्तानका बाबु भेषराज कोलोराडोस्थित नेपाली कम्युनिटीका सक्रिय कार्यकर्ता भएको बताइएको छ ।

  • फिनल्याण्डमा रोजगारी मिलाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

    फिनल्याण्डमा रोजगारी मिलाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

    काठमाडौं । फिनल्‍याण्डमा रोजगारी मिलाइदिन्छु भनी ठगी गरेको आरोपमा प्रहरीलाई एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको मालिका गाउँपालिका १ घर भई हाल काठमाडौंको जोरपाटी बस्‍ने २६ वर्षीय मनिषा पुन रहेकी छिन् ।

    उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जोरपाटीबाट पक्राउ गरेको हो । पक्राउ परेको उनलाई ठगी सम्बन्धी कसूरमा आवश्‍यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको प्रहरीले जनाएको छ ।

  • वेल्सका लागि सदभावना दूत नियुक्त भए सोम सापकोटा

    वेल्सका लागि सदभावना दूत नियुक्त भए सोम सापकोटा

    काठमाडौं । गैरआवासीय नेपाल सङ्घ (एनआरएनए) का पर्यटन संयोजक सोम सापकोटा बेलायतको वेल्सका लागि पर्यटन सद्भावनादूत (टुरिजम गुडविल एम्बेस्डर) नियुक्त भएका छन् । नेपालको पर्यटन क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै सरकारले सापकोटालाई चार वर्षका लागि पर्यटन सद्भावना दूतमा नियुक्त गरेको हो । सापकोटालाई शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नियुक्तिपत्र हस्तान्तरण गरे ।

    सो अवसरमा सचिव अधिकारीले लामो समयदेखि पर्यटन क्षेत्रमा आबद्ध सापकोटालाई सरकारले दिएको जिम्मेवारीबाट यो क्षेत्र झनै बिस्तार र बलियो हुने विश्वास व्यक्त गरे । नवनियुक्त सद्भावनादूत सापकोटाले राज्यले आफूमाथि विश्वास गरेर दिएको जिम्मेवारीलाई मुलुकको हित र प्रवासी नेपालीको साथ लिएर सफलतापूर्वक निर्वाह गर्ने बताए ।

    ‘अन्य मुलुकका सदभावनादूतसँग पनि समन्वय र सहकार्य गर्दै पर्यटन मन्त्रालय, पर्यटन बोर्डसँगको साझेदारीमा सरकार–सरकारबीच प्रवर्द्धनात्मक अभियान चलाउने योजना बनाएको छु’ उनले भने ।

    सन् २००७ देखि सन् २००९ सम्म एनआरएनएको पर्यटन प्रवर्द्धन समितिका सदस्य भएका सापकोटा सन् २०१३ देखि सन् २०१५ सम्म उपसंयोजक थिए र हाल संयोजक छन् । त्यस्तै सन् २०१६ देखि सन् २०१८ सम्म डेनमार्कका लागि नेपाली टुरिजम बोर्डको मानार्थ जनप्रतिनिधि भएर काम गरे । सापकोटा सन् २०१९ देखि २०२१ सम्म माल्टाका लागि नेपाल टुरिजम बोर्डबाट मानार्थ जनप्रतिनिधिका रूपमा नियुक्त भएका थिए ।

  • आजदेखि सबै प्रदेशबाट श्रम स्वीकृति सेवा सुरु

    आजदेखि सबै प्रदेशबाट श्रम स्वीकृति सेवा सुरु

    काठमाडौं । आजबाट सबै प्रदेशबाट श्रम स्वीकृति सेवा पाइने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबारबाट विराटनगर र जनकपुरस्थित श्रम तथा रोजगार कार्यालयबाट वैदेशिक रोजगारीमा जान संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सुरु गर्ने जनाएको छ ।

    काठमाडौं केन्द्रित सेवालाई विकेन्द्रित गर्दै लैजाने नीतिअनुसार विराटनगर र जनकपुरबाट श्रम स्वीकृति प्रदान गर्ने सेवा थपिएको मन्त्रालयको भनाई छ । यसअघि संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृतिलगायत सेवा पोखरा र बुटवलबाट सुरु गरिएको थियो । सर्खेत र धनगढीबाट भने पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिइँदै आएको छ ।

    चार स्थानबाट संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति र दुई स्थानबाट पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति प्रदान भएको हो । श्रम स्वीकृतिका लागि भौतिक रूपमा उपस्थित हुनुपर्ने छैन । सबै सेवा अनलाइन प्रणालीमार्फत नै पाउने व्यवस्था गरिएको छ ।

  • अमेरिकाबाट शंकाष्पद रुपमा रकम भित्राउन खोजेका ६ जना पक्राउ

    अमेरिकाबाट शंकाष्पद रुपमा रकम भित्राउन खोजेका ६ जना पक्राउ

    काठमाडौं । अमेरिकाबाट शंकास्पद रूपमा नेपालमा रकम नेपाल भित्राउने खोजेका ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अछामका पृथ्वीबहादुर शाहसहित ६ जना छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालेको हो। उनीहरूलाई काठमाडौंको चावहिलबाट पक्राउ गरिएको प्रहरीको भनाई छ । शाह यसअघि माओवादी नेता जनार्दन शर्मा अर्थमन्त्री छँदा राष्ट्रबैंकमा दवाव दिएको भनी नाम मुछिएका व्यक्ति हुन् ।

    यसको तत्कालिन अर्थमन्त्रीको हैसियतमा शर्माले खण्डन गरेका थिए । प्रहरीका अनुसार उनीहरूमाथि ठगी मुद्दामा अनुसन्धान भइरहेको छ। शाहले अमेरिकाबाट ल्याउन लागेको शंकास्पद १२ लाख अमेरिकी डलर राष्ट्र बैंकले रोकेर राखिदिएको थियो। उक्त रकम फुकुवा गरिदिन शाहले विभिन्न निकायमा दवाव दिएका थिए । दर्जनौं कम्पनी खोलेर शंकास्पद कारोबार गरेको, कारोबार गर्न अनुमति पनि नलिएको, विदेशीहरूलाई प्रलोभन देखाएर झुक्याएको, यसअघि पनि शंकास्पद कारोबार गरेको भन्ने आरोप उनीहरूमाथि लागेको छ ।

  • राष्ट्रपति भण्डारीले पठाइन् रियल म्याड्रिड क्लवलाई उपहार

    राष्ट्रपति भण्डारीले पठाइन् रियल म्याड्रिड क्लवलाई उपहार

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रियल म्याड्रिडका अध्यक्ष एमिलियो बुट्रागुनोलाई उपहार पठाएकी छिन् । उनले पठाएको उपहार स्पेनका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले हस्तान्तरण गरेकी छिन् । स्पेनिस कोडा डेल रेको अन्तिम ३२ अन्तर्गत मंगलबार रियल म्याड्रिड र कासेरेन्योबीचको खेल अगाडि राजदूत पराजुलीले राष्ट्रपति भण्डारीले पठाएको गौतम बुद्धको मूर्ति हस्तान्तरण गरिन्।

    नेपालमा दुई मैत्रीपूर्ण खेल खेलेर फर्किएको स्पेनिस फुटबल टिम कासेरेन्यो सिपीले रियल म्याड्रिडसँग खेलेको हो। पोखरा र काठमाडौंमा स्थानीय टिमसँग एकरएक मैत्रीपूर्ण खेल खेलेर स्पेनिस टोली स्वदेश फर्किएको हो। राजदूत पराजुलीले लालिगाका उपाध्यक्ष, रियल म्याड्रिडका मार्केटिङ हेड रोबर्ट कार्लोस र दुवै फुटबल क्लबका अन्य प्रतिष्ठित व्यक्तित्व तथा प्रतिनिधि सभाका सभामुख र अन्य सरकारी उच्चपदस्थ व्यक्तिसँग पनि भेट गरेकी थिइन्।

    राजदूत भण्डारीले युनेस्को विश्व सम्पदास्थल (ओल्ड टाउन अफ कासेरेस) प्लासेन्सिया क्याथेड्रल लगायत कासेरेसको भ्रमण गर्नुका साथै लुम्बिनी गार्डेन फाउन्डेसनले बुद्धको मूर्ति उपलब्ध गराएको संग्रहालयकोसमेत भ्रमण गरेकी थिइन् ।

  • प्रधानमन्त्रीसँग यूरोपेली संघका राजदूतको भेट

    प्रधानमन्त्रीसँग यूरोपेली संघका राजदूतको भेट

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डिप्रेजले बुधबार भेटवार्ता गरेकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटवार्तामा उहाँहरुबीच आपसी हितका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    सोही दिन प्रधानमन्त्री दाहालसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भन क्याप्लरले पनि शिष्टाचार भेट गरेका छन् । सो क्रममा उनीहरुबीच द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको बताइएको छ ।

  • मेयर बालेन इण्डोनेसिया भ्रमणमा

    मेयर बालेन इण्डोनेसिया भ्रमणमा

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह इण्डोनेसिया भ्रमणमा निस्किएका छन् । उनी मंगलबार श्रीमतीसँग भ्रमणमा इन्डोनेसिया गएको उनको सचिवालयले जनाएको छ ।

    यो उनको व्यक्तिगत भ्रमण भएको बताइएको छ । बालेन २५ पुसमा स्वदेश फर्कने भएका छन् । भ्रमण पारिवारिक भएको बताइएको छ । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि उनी पहिलो पटक विदेश पुगेका हुन् । इण्डोनेसिया पर्यटकीय मुलुक हो ।

  • नेपाल-अमेरिका चलचित्र महोत्सव जुनमा हुने

    नेपाल-अमेरिका चलचित्र महोत्सव जुनमा हुने

    काठमाडौं । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण, २०२३ को जुन २२ बाट सुरु हुने भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष महोत्सव आयोजना गर्दै आइरहेको छ । महोत्सव जुन २५ सम्म चल्नेछ। वासिङ्टन डिसी, महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने छैठौं महोत्सवमा सहभागिताका लागि आवेदन पनि खुल्ला गरिएको छ ।

    फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका फिल्महरु महोत्सवमा प्रदर्शन गरिनेछन् । नेपाल बाहेक अमेरिका, दक्षिण एसिया सहित विभिन्न देशका स्वतन्त्र फिल्महरु यस महोत्सवको उच्च प्राथमिकतामा पर्नेछन् । वासिङ्टन डीसी, मेरिल्याण्ड र भर्जिनियाका स्थानीय चलचित्रकर्मीलाई प्रोत्साहन गर्न ‘डीएमभी क्लोजअप’ अन्तर्गत प्रदर्शन हुनेछन् ।

    स्थापना कालदेखि ुग्लोबल पिस फिल्म फेस्टिबल’ फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हुँदै आएका फिल्म यो वर्ष पनि समावेश हुने बताइएको छ । कोरोना महामारीको समयमा हाइब्रिड शैली९अनलाइन र भौतिक०मा आयोजना भएको यो महोत्सव भौतिक रुपमा आयोजना गर्न आयोजक टिम उत्साहित छन् ।

    ‘महोत्सवले सम्पुर्ण दर्शक तथा सहभागिहरुमा मनोरञ्जन र ज्ञान आदानप्रदानको फरक अनुभूति गराउने छ,’ महोत्सवका निर्देशक युवाकर राजकर्णिकारले बताएका छन् । महोत्सवमा प्रदर्शन गरिएका फिल्ममध्येबाट उत्कृष्ट फिल्महरुलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ । त्यस्तै चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे ‘प्यानल’ छलफल तथा कार्यशाला समेत आयोजना हुनेछ ।

  • अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको मृत्यु

    अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको मृत्यु

    काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा सडक दुर्घटनामा परेर एक नेपाली विलार्थीले ज्यान गुमाएका छन्। स्थानीय प्रहरीका अनुसार पश्चिम सिड्नीको हवरफिल्डमा मोटरसाइकल दुर्घटनामा परि नेपाली विद्यार्थीको ज्यान गएको हो। साथीको मोटरसाइकल मागेर चलाएका मृतकले सडकछेउको ट्राफिक पोलमा ठोक्किएर ज्यान गएको प्रहरीले जनाएको छ। यस्तै गर्मी बढेसँगै अष्ट्रेलियामा समुद्री किनारमा पुगेका नेपालीहरू दुर्घटनामा पर्ने क्रम बढेको छ।

    पछिल्ला वर्षहरूमा थुप्रै नेपाली विद्यार्थीले अस्ट्रेलियाको समुन्द्री किनारमा पानीमा डुबेर ज्यान गुमाएका छन्। सिड्नीको क्रोनाला बिचमा बुधबार साँझ पानीमा रमाइलो गर्न गएका तीन नेपाली विद्यार्थी दुर्घटनामा परेका छन्। समुन्द्री किनारमा पौडी खेल्ने क्रममा उनीहरूलाई समुद्री छालले बगाएको थियो। जसमध्ये एक जनालाई ढुंगामा र अर्कोलाई बालुवामा छालले हुत्याइदिएको थियो। लाइफगार्ड समेत नभएको समयमा गहिरो पानीमा डुबेकी ती छात्रलाई स्थानीय पौडीबाजले पानीबाट निकालेका थिए।

    पानीमा डुबेर गम्भीर घाइते भएकी उनलाई प्राथमिक उपचारपछि हेलिकप्टरद्धारा नजिकैको कोग्रा हस्पिटलमा भर्ना गरिएको छ। फोक्सोमा पानी जमेका कारण उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। ढुंगामा ठोकिएर सामान्य घाइते भएकी अर्की नेपाली युवतीलाई भने बिहिबार नै अस्पतालले सामान्य उपचार र चेकजाँचपछि डिस्चार्ज गरेको छ। बगरमा हुत्तिएकी अर्की युवतीको अवस्था सामान्य रहेको छ।

  • कम्बोडियामा नेपालीको ज्यान गएको प्रति प्रधानमन्त्रीद्धारा दुख व्यक्त

    कम्बोडियामा नेपालीको ज्यान गएको प्रति प्रधानमन्त्रीद्धारा दुख व्यक्त

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्बोडियाको क्यासिनोमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गरेका छन् । घटनामा मृत्यु भएका एक नेपालीसहित १९ जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

    आगलागीमा परेर झापाको बिर्तामोड नगरपालिका १ घर भएका ४० वर्षीय निराकार पाण्डे सहित १९ जनाको निधन भएको थियो । प्रधानमन्त्री प्रचण्डले पाण्डेको शव नेपाल ल्याउन पहल गर्ने बताएका छन् । उनले सम्बन्धित निकायलाई परिचालन गर्न मुख्यसचिवलाई भनेको उल्लेख गरेका छन् ।

  • कम्बोडियामा जल्दै गएको १२औँ तलाबाट हाम फाल्नु अघि निराकारले छोरालाई भने : बाबा अलवेज लभ्स यू

    कम्बोडियामा जल्दै गएको १२औँ तलाबाट हाम फाल्नु अघि निराकारले छोरालाई भने : बाबा अलवेज लभ्स यू

    काठमाडौं । कम्बोडियाको एक होटलमा भएको आगलागीमा परी एक जना नेपालीको ज्यान गएको छ । उनी झापा घर भएका निराकार पाण्डे रहेको थाइल्याण्डस्थित नेपाली दूतावासले जनाएको छ । ग्रान्ड डायमन्ड सिटीको भवनमा आगलागी हुँदा ज्यान गुमाएका १९ जनामध्ये एक जना झापाका पाण्डे हुन् । आगलागी भएको ठाउँ कम्बोडिया र थाइल्यान्डको सीमा नजिकै पर्छ ।

    विर्तामोड नगरपालिका वडा नम्बर १ झापाका पाण्डेले ज्यान जानुअघि आफ्नो परिवारसँग भाइवरमार्फत् गर्नुभएको भिडियो कलको रेकर्ड पनि सार्वजनिक भएको छ । भिडियो कलमा पाण्डेले आफू होटलको १२औँ तलामा रहेको र अब त्यहाँबाट हामफाल्नुको विकल्प नरहेको बताएका छन् ।

    उनले आफ्नो छोरालाई सम्बोधन गर्दै भनेका छन्, सानु, मेरो आँखाको नानी बाबु, म तिमीलाई धेरै माया गर्छु है । बाबा अल्वेज लभ्स यु । जहाँ भए पनि, जसरी बसे पनि बाबाले तिमीलाई सधैँ सम्झनुहुन्छ है, बाबु । आर्मन इज द बेस्ट है सानु ।’ उनले छोरालाई कसैलाई ‘चिट र फ्रडु नगर्न’ भन्दै सम्झाएका थिए ।

    भवनभित्र धुवाँभरिएपछि उद्धारमा समस्या भएको थियो भने विद्युत् बन्द हुँदा ढोकामा रहेको विद्युतीय प्रणाली बन्द हुँदा मानिसहरु बाहिर निस्कन नसकी झ्यालबाट हाम फालेका थिए । घटनामा झण्डै ५० जना घाइते भएका बीबीसीले जनाएको छ । उनी झण्डै ४ घण्टासम्म झ्यालमा बस्दा समेत उद्दार नभएपछि बाध्य भएर हाम फालेका थिए । सोही क्रममा उनको ज्यान गएको हो । घटनापछि कम्बोडियाको आपतकालिन उद्धारको् क्षमतालाई लिएर आलोचना समेत भइरहेको छ ।

  • प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ समकक्षीले पठाए लिखित बधाई सन्देश

    प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ समकक्षीले पठाए लिखित बधाई सन्देश

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङले चीनको पूर्ण साथ रहने बताएका छन् । प्रधानमन्त्री लीले प्रचण्डलाई लिखित बधाई सन्देश पठाउँदै कार्यकाल सफल हुने आशा व्यक्त गर्दै नेपालको स्थायीत्व, विकास र समृद्धी चीन सँधै साथमा रहने बताएका हुन् ।
    लीले नेपालस्थित चिनियाँ दूतावासमार्फत प्रचण्डलाई बधाइ पत्र पठाएका थिए । दूतावासले प्रधानमन्त्रीलाई उक्त पत्र शुक्रबार हस्तान्तरण गरेको हो ।

    पत्रमा लीले चीन प्रचण्ड नेतृत्वको सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको भन्दै दुवै मुलुकका जनताका लागि रणनीतिक साझेदारी कार्यक्रमलाई अघि बढाउने अपेक्षा समेत व्यक्त गरेका छन् । ‘तपाईं नेतृत्वको सरकारले नेपालको दिगो सामाजिक र आर्थिक विकासमा महत्वपूर्ण कदम चाल्ने छ भन्ने आशा छ ।

    नेपालको स्थायीत्व, विकास र समृद्धिको लागि चीन सँधै साथमा रहने छ,’ बधाई सन्देशमा भनिएको छ, ‘तपाईंको यो कार्यकाल सफल हुनेमा चीन विश्वस्त छ । साथै, पूर्ण सहयोग हुने कुरामा पनि विश्वस्त तुल्याउन चाहन्छ।’ दुई देशबीच लामो समयदेखि पृथक द्विपक्षीय सम्बन्ध रहेको भन्दै बधाई सन्देशमा यसलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ । यसअघि चिनियाँ दूतावासले प्रचण्ड प्रधानमन्त्री नियुक्त भएकै दिन र चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले बधाई दिएका थिए ।

  • प्रधानमन्त्रीले भेटे अमेरिकी राजदूत

    प्रधानमन्त्रीले भेटे अमेरिकी राजदूत

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थोम्पसनले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा दुई देशबीचको द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ।

    सो अवसरमा अमेरिकी राजदूतले प्रधानमन्त्रीमा नियुक्त भएकोमा दाहाललाई बधाई दिएका छन् । द्विपक्षीय सम्बन्धका बारेमा सो अवसरमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

  • उपहारस्वरुप ल्याउने फोनमा लगाउन लागिएको भन्सार शुल्कको प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको बिरोध

    उपहारस्वरुप ल्याउने फोनमा लगाउन लागिएको भन्सार शुल्कको प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको बिरोध

    न्युयोर्क

    बिदेशबाट नेपाल आँउदा नेपालीहरुले परिवार तथा आफन्तका लागि लिएर आउने एउटा फोन तथा ल्यापटपमा समेत भन्सार शुल्क लगाउने नेपाल सरकारको नयाँ नियमको प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले बिरोध गरेको छ ।
    नेपाल बाहिर प्रवासमा अवस्थित गैर आवासीय नेपालीहरुले घर फर्किंदा आफ्नो परिवारका लागि एउटा मोबाइल र ल्यापटप ल्याउँदा पनि भन्सार तिर्नुपर्ने नयाँ नियम प्रवासी नेपाली श्रमिकहरूको हित विपरितको भएको भन्दै नेकपा एमालेको अन्तररास्ट्रिय सँगठन प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले बिरोध गरेको हो ।

    मञ्चले डिसेम्बर २९ तारिखका दिन एक बिज्ञप्ति जारी गर्दै भनेको छ; विदेशमा वर्षौंसम्म रगत, पसिना बगाएर आफ्नो जहान परिवारलाई एउटा मोबाईल र छोराछोरीका लागि एउटा ल्यापटप ल्याउँदा पनि भन्सार लिनु भनेको प्रवासी श्रमजीवी नेपालीहरूमाथिको निर्मम शोषण हो ।

    लाखौं प्रवासी नेपालीहरुको “रेमिट्यान्स “ले देशको मुख्य अर्थतन्त्र धानेको अवस्थामा छ । यस्तो महत्त्वपूर्ण सहयोगलाई नजरअन्दाज गरी प्रवासमा रहेका नेपालीहरुलाई शोषण गर्ने खालको “उपहारको फोन र ल्यापटपमा भन्सार अनिवार्य” गर्ने नेपाल सरकारको निर्णय पक्षपातिपूर्ण एवम् अव्यवहारिक भएको भन्दै अध्यक्ष सञ्जय थापाद्वारा जारी बिज्ञप्तिमा मन्चले यस्तो अव्यवहारिक निर्णयलाई तत्काल खारेज गर्दै लाखौं प्रवासी नेपालीहरूको हितमा काम गर्न नेपाल सरकारलाई आग्रह समेत गरेको छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणले अगामी पुस १५ (शुक्रबार) देखि मोबाइल बजारलाई नियमन गर्ने मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू गर्दै छ । सोही प्रणाली पूर्णरुपमा कार्यान्वयनमा आउने भएपछि भन्सार कार्यालयले पनि त्रिभुवन विमानस्थल हुँदै नेपाल भित्रिने मोबाइल फोन ल्याउदा शुल्क तिनुपर्ने व्यवस्था ल्याएको हो ।

  • गृहमन्त्रीले राहदानी विभाग पुगेर लिए नागरिकको लामो लाइनबारे जानकारी

    गृहमन्त्रीले राहदानी विभाग पुगेर लिए नागरिकको लामो लाइनबारे जानकारी

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेर नागरिकको लामो लाइनबारे जानकारी लिएका छन् । राहदानी लिन सर्वसाधारण नागरिकले ठूलो सास्ती खेप्नुपरेको छ । मन्त्रिपरिषद्को पहिलो बैठकले राहदानीलगायतका सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेको थियो ।
    मन्त्रिपरिषद्को निर्णयका आधारमा मन्त्री लामिछानेले राहदानी विभागको अनुगमन गरेको गृह मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री नियुक्त नभएकाले प्राप्त जिम्मेवारीका आधारमा उनले बुधबार राहदानी विभागको अनुगमन गरेका हुन् । उनले त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए । गृहमन्त्री लामिछाने अहिले फिल्डमा उत्रिएर काम गरिरहेका छन् ।

  • पेन्सिलभेनियाको सदभावना दूत बने अधिकारी

    पेन्सिलभेनियाको सदभावना दूत बने अधिकारी

    काठमाडौं । अमेरिकाको पेन्सिलभेनिया राज्यका लागि पर्यटन तथा सद्‌भावना दूतमा विनोद अधिकारी नियुक्त भएका छन् । पर्वतीय पर्यटन प्रवर्द्धनमा सक्रिय अधिकारीलाई मन्त्रीस्तरीय निर्णयबाट पेन्सिलभनियाको पर्यटन सद्‌भावना दूतमा नियुक्ति गरिएको हो । चार वर्षे कार्यकालका लागि नियुक्त भएका अधिकारीलाई मंगलबार पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले नियुक्ति पत्र प्रदान गरे ।

    पर्यटन मन्त्रालयले सद्‌भावना दूत निर्देशिका २०७८ अनुसार पर्यटन गतिविधिमा संलग्न व्यक्तिलाई नियुक्त दिने गर्छ । अधिकारीले कीर्तिमानी आरोही कामिरिता शेर्पाको सगरमाथा आरोहणलाई समेटेर वृत्तचित्रसमेत बनाएका छन् ।

  • स्पेनका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडीहरु नेपालमा

    स्पेनका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडीहरु नेपालमा

    काठमाडौं । स्पेनका दुई पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडीसहितको टीम नेपाल आइपुगेको छ । स्पेन र नेपालका नागरिक मिलेर चलाएको संस्था लुम्बिनी गार्डेन फाउन्डेसनले स्पेनको क्याकेरेनो फुटबल क्लबलाई नेपाल भित्र्याएको हो । मंगलबार नेपाल आइपुगेको ५५ जनाको टोली सिधैं पोखरा पुगेको छ । क्लबले गण्डकी–११ सँग बुधबार पोखरा रंगशालामा मैत्रीपूर्ण खेल खेल्दैछ । स्पेनिस महारथी बार्सिलोना र रियल मड्रिडका पूर्व खेलाडी रुबेन डे ला रेड र युलियो सालिनास समेत उक्त टिममा छन् ।

    उनीहरुले दुई मैत्रीपूर्ण खेल नेपालमा खेल्ने छन् । बुधबार पोखरामा खेले पछि शुक्रबार काठमाडौं ११ सँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । टिममा स्पेनकै पूर्व राष्ट्रिय खेलाडी मिचेल सहित स्पेनको ‘ए’ डिभिजन क्लबबाट खेलिसकेका खेलाडी समेत छन् । क्रिसमस मनाइसकेपछि नयाँ वर्षभन्दा अगाडिको समय उपयोग गर्ने उद्देश्यसहित स्पेनिस टोलीले नेपाल भ्रमण गरेको हो । क्याकेरेनो टोलीलाई स्पेनस्थित नेपाली राजदूत डा. शर्मिला पराजुली ढकालले सोमबार बिदाइ गरेकी थिइन् ।

    ‘शान्तिका लागि फुटबल’ नाराका साथ लुम्बिनी गार्डेन फाउन्डेसनले आयोजना गर्न लागेको दुई मैत्रीपूर्ण खेलका लागि काठमाडौं र गण्डकीका दुवै टोली निर्माण भइसकेको छ । स्पेनिस टिमसँग खेल्ने गण्डकी ११ को टोली नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङको नेतृत्वमा मैदान उत्रिनेछ । गण्डकीको टोली राजेन्द्र तामाङको प्रशिक्षणमा रहनेछ ।

    टोलीमा गण्डकी प्रदेशका अन्य राष्ट्रिय खेलाडीहरूको सहभागिता रहनेछ । यसैगरी राष्ट्रिय टिमका अर्का पूर्वकप्तान विराज महर्जनले काठमाडौं ११ को कप्तानी सम्हाल्नेछन् । मेघराज केसीको प्रशिक्षणमा रहने टोलीबाट काठमाडौंमा रहेका अन्य राष्ट्रिय खेलाडीले खेल्ने आयोजकले जनाएको छ ।

  • काठमाडौं-केरुङ रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली काठमाडौं आयो

    काठमाडौं-केरुङ रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली काठमाडौं आयो

    काठमाडौं । काठमाडौं– केरुङ रेल मार्गको सम्भाव्यता अध्ययन गर्न चिनियाँ प्राविधिकसहितको उच्चस्तरीय टोली नेपाल आएको छ । यसअघि नै पूर्वसम्भाव्यता अध्ययन भइसकेको रेल मार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिक टोली काठमाडौं आएको रेल विभागले जनाएको छ । चिनियाँ विज्ञ र विभागको सहकार्यमा सम्भाव्यता अध्यनयको प्रक्रिया अगाडि बढ्नेछ । यसअघि पनि चिनियाँ सहयोगमा नै यो परियोजनाको पूर्वसम्भाव्यता अध्ययन भएको थियो ।

    चिनियाँले सम्भाव्यता अध्ययनलाई नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मान्दछन् । सरकारले सम्भाव्यता अध्ययनका लागि यसअघि नै चीनलाई आग्रह गरेको थियो । कोरोना कहरलगायतका कारणले चिनियाँ प्राविधिक टोली नेपाल आउन सकेको थिएन । सरकारको पटक–पटकको आग्रहपछि चिनियाँ प्राविधिक टोली नेपाल आएको हो । टोलीले नै समग्र आयोजनाको अध्ययन गर्नेछ । विभागले त्यसका लागि समन्वय गर्नेछ ।

    बेल्ट एन्ड रोड अवधारणामा निर्माण गर्ने गरी नेपालले चीनसँग प्रस्ताव गरेको विभिन्न नौ परियोजनामध्येको एक हो रेल मार्ग । गएको चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण र तत्कालीन परराष्ट्रमन्त्री डा। नारायण खड्काको चीन भ्रमणमा समेत यो परियोजनाको बारेमा छलफल भएको थियो । आयोजनाको सम्भाव्यता अध्ययनसमेत चिनियाँ सहयोगमा नै सम्पन्न हुनेछ ।

  • नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई चीन र भारतको बधाई

    नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई चीन र भारतको बधाई

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छिमेकी मुलुक चीन र भारतले बधाई तथा शुभकामना दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै बधाई ज्ञापन गरेका छन् । उनले दुई मुलुकबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास समेत लिएका छन् । चीनले समेत प्रधानमन्त्री प्रचण्डको सफल कार्यकालका लागि शुभकामना दिएको छ।

    प्रधानमन्त्री दाहाललाई यहाँस्थित चिनियाँराजदूतावासका तर्फबाट बधाई दिइएको छ । चीनका कार्यवाहक राजदूत वाङ सिनले टेलिफोनमार्फत उनलाई बधाई दिएका हुन्। चिनियाँ दूतावासका प्रवक्ताले पनि सामाजिक सञ्जाल ट्विटरमार्फत ‘नेपालको ४४औँ प्रधानमन्त्रीमा नियुक्त अध्यक्ष दाहाललाई बधाई’ दिएका छन्।

  • अध्ययनमा विदेशिने प्रयोजनका लागि ५ महिनामा ३८ हजारले लिए ‘नो अब्जेक्सन लेटर’

    अध्ययनमा विदेशिने प्रयोजनका लागि ५ महिनामा ३८ हजारले लिए ‘नो अब्जेक्सन लेटर’

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा अध्ययनका लागि विदेशिने प्रयोजनका लागि ३८ हजारले ‘नो अब्जेक्सन लेटर’ लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्याङ्क अनुसार मंसिंर मसान्तसम्म ३८ हजार ६१ जनाले यस्तो अनुमति लिएका हुन् । साउनदेखि मङ्सिर मसान्तसम्म ‘नो अब्जेक्सन लेटर’ लिएकाहरूबाट राज्यले आठ करोड २१ लाख ३२ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ।

    यस अवधिमा एक हजार ५५८ जनाको नो अब्जेक्सन लेटर रद्द भएको छ। शाखाका अनुसार गत आर्थिक वर्ष २०७८–७९ मा करिब एक लाख १४ हजार जनाले ‘नो अब्जेक्सन लेटर’ लिएका थिए। पछिल्लो समय यस अवधिमा ५९ मुलुकका लागि ‘नो अब्जेक्सन लेटर’ लिइएको छ। सबैभन्दा बढी अस्ट्रेलियाका लागि यस्तो पत्र लिएका छन्। अस्ट्रेलिया जान १० हजार ७९९ जनाले पत्र लिएका छन्।

    जापानका लागि छ हजार ६२५ जना, क्यानडाका लागि छ हजार ५३१ जना, बेलायतका लागि पाँच हजार ३०४ जनाले यस्तो पत्र लिएका छन्। भारतका लागि एक हजार ९० जना, यूएईका लागि ९१३ जना, रुसका लागि ९७२ जना, कोरियाका लागि ७४४ जना तथा न्युजिल्यान्डका लागि ३९६ जनाले ‘नो अब्जेक्सन लेटर’ लिएका छन्।

    सबैभन्दा कम अल्बानिया, अजरबैजान, आइसल्यान्ड, जर्जिया, पाकिस्तान र स्विट्जरल्यान्डका लागि एक–एक जनाले यस्तो पत्र लिएका छन्। अमेरिकाका लागि एक हजार ५५९ जनाले मात्र ‘नो अब्जेक्सन लेटर’ लिनुले विद्यार्थीको चाहना अमेरिकातर्फ घटेको देखाउँछ। कुनै बेला सबैभन्दा बढी ‘नो अब्जेक्सन लेटर’ लिने मुलुकमा अमेरिका पथ्र्यो। पछिल्लो तथ्याङ्कले विद्यार्थीको आकर्षण अस्ट्रेलियातर्फ बढेको प्रस्ट देखाएको छ। यस अवधिमा चीन, साइप्रस, डेनमार्क, फ्रान्स, जर्मनी, थाइल्यान्डमा जाने विद्यार्थीको सङ्ख्या पनि उल्लेखनीय रहेको पाइन्छ।

  • अमेरिकामा नेपाली दूतावासको रकम लुटपाट

    अमेरिकामा नेपाली दूतावासको रकम लुटपाट

    काठमाडौं । अमेरिकामा नेपाली दूतावासको रकम लुटपाट भएको छ । कर्मचारीको लापरबाहीको कारण अमेरिकामा नेपाली दूतावासको रकम लुटिएको बताइएको छ । वासिङ्टन डीसीस्थित नेपाली राजदूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै दूतावासले डिसेम्बर १५ देखि २० सम्म टेक्सासको डालस, अस्टिन र ह्युस्टन सहरहरुमा आयोजना गरेको कन्सुलर सेवा शिविरमा सेवाग्राहीले शुल्कबापत बुझाएको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ लुटिएको उल्लेख गरेको छ ।

    दूतावासले विज्ञप्ति जारी गर्दै आफ्ना कर्मचारीहरु डिसेम्बर २२ का दिन ह्युस्टनबाट वासिङ्टन डीसीतर्फ जाने क्रममा पार्किङमा राखिएको सवारी साधन स्थानीय समयअनुसार दिउँसो १२ बजेर तीन मिनेट जाँदा तोडफोड भई लुटिएको जनाएको छ ।

    साथै, दूतावासले यस घटनाको सम्बन्धमा तत्कालै ह्युस्टन प्रहरी विभाग तथा कुटनीतिक सुरक्षा महाशाखा ह्युटन लगायतका निकायहरुमा उजुरी गरी लुटिएको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ फिर्ता लिन प्रयास गरिरहेको जनाएको छ । विज्ञप्तिमा कति रकम बराबरका ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ लुटिएको भन्ने बारेमा उल्लेख गरिएको छैन । साथै, को–को कर्मचारी यात्रा गर्दा यस्तो घटनाभएको पनि उल्लेख छैन ।

    ‘यसबाट सेवाग्राहीहरुमा समय र स्रोत सधानको हिसाबले पर्न जाने असुविधाप्रति राजदूतावास क्षमाप्रार्थी छ । दूतावासले सेवाग्राहीहरुको नजिकै गइ सेवाप्रवाह गर्ने क्रममा भएको यस घटनाको अनुसन्धान गरी नेपाल सरकारको लुटिएको राजस्व रकम फिर्ता गर्ने कार्यमा अमेरिकावासी सम्बन्धित सबै नेपाली सेवाग्राहीहरुले यथाशक्य सहयोग गर्नुहुनेछ भन्ने दूतावास आशावादी छ,’ विज्ञप्तिमा भनिएको छ ।

    दूतावासले कन्सुलर सेवा शिविरहरुबाट सेवा प्राप्त गर्ने सबै नेपाली सेवाग्राहीहरुले सेवा प्राप्त गर्दा गर्नु भएको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ रद्दगर्न सम्भव भएसम्म गर्नको लागि पनि आग्रह गरेको छ । साथै, त्यसपछि दूतावासको नयाँ ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ बनाइ हाल्नको लागि पनि अनुरोध गरेको छ ।

  • विदेशबाट व्यक्तिगत रुपमा ल्याएका मोवाइल १५ पुस भित्र दर्ता नगरे नेपालमा नचल्ने

    विदेशबाट व्यक्तिगत रुपमा ल्याएका मोवाइल १५ पुस भित्र दर्ता नगरे नेपालमा नचल्ने

    काठमाडौं । विदेशबाट व्यक्तिगत रुपमा नेपाल ल्याएका मोवाइल सेट दर्ता नगरे १५ पुसबाट नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले आउँदो पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने भएको छ । शनिबार एक सूचना निकालेर प्राधिकरणले पुस १५ गतेभित्र मोबाइलहरु दर्ता गर्न आह्वान समेत गरेको छ ।

    मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्र्याकिङ र ब्लकिङ गर्न प्राधिकरणले यसअघि परीक्षणको रूपमा एमडीएमएस लागू गरेको थियो ।

    विदेशबाट आउने नेपालीहरूले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका तर एमडीएमएस प्रणालीमा दर्ता नभएका वा गएको भदौभन्दा अगाडि प्रयोगमा नरहेका मोबाइल सेटहरूको १५ डिजिट नम्बरसहितको भन्सार घोषणा गरी भन्सार ऐन, २०६४ अनुसार भन्सार कार्यालयबाट प्रज्ञापन पत्र लिइ प्रणालीमा अद्यावधिक गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

    नियमानुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट आउँदो पौष १५ गतेदेखि दर्ता नगरिने र यस्ता मोबाइल सेट सञ्चालनमा समेत रोक लगाइने हुँदा व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू प्रज्ञापन पत्रसहित राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्रको आधारमा मात्र एमडीएमएसमा गइ दर्ता गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

    नेपाल भित्रै मोबाइल खरिद गर्दा पनि खरिद मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता भए वा नभएको यकिन गर्न सकिने हुँदा त्यसअनुसार यकिन गरेर मात्र खरिद गर्न साथै मोबाइल आयातकर्ता र बिक्रेताहरूले मोबाइल आयात गर्नुअघि अनिवार्य रूपमा प्राधिकरणको पूर्व स्वीकृति लिइ प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री वितरण गर्न प्राधिकरणले भनेको छ ।

  • जुलमुक्त भएसँगै नेपालबाट निष्काशित भए चार्ल्स  शोभराज

    जुलमुक्त भएसँगै नेपालबाट निष्काशित भए चार्ल्स शोभराज

    काठमाडौं । जेल मुक्त भएसँगै बिकिनी किलरका नामबाट संसारभर कुख्यात चार्ल्स शोभराज नेपालबाट निकाशनमा परेका छन् । उनलाई नेपाल सरकारले डिपोर्ट गरी फ्रान्स पठाएको हो । नेपालमा उनले ५० हजार जरिवाना तिरेका छन् । साथै उनी अब १० वर्ष नेपाल आउन पाउने छैनन् । उनी कतार एयरवेजको जहाज चढेर फ्रान्स लागेका हुन् ।

    विमानस्थलसम्म उनलाई कढा सुरक्षाका बीच पुर्याइएको थियो । उनले आफ्नो अनुहार सञ्चारमाध्यमले खिच्न नपाउन भन्ने चाहना राखेका थिए । यो चाहना उनले पुरा गरेका छन् । कतार एयरवेजमार्फत डिपोर्ट भएका उनी साढे ४ घन्टा दोहामा ट्रान्जिट बसेर पेरिस उड्ने छन् । उनी फ्रान्सको समय अनुसार शनिबार बिहान ६ः३५ बजे पेरिसमा उत्रने छन् । उनले नेपालमा १९ वर्ष जेल जिवन बिताएका छन् । जन्मकैदको सजाय पाएर थुनामा रहेका चार्ल्स शोभराधलाई सर्वोच्च अदालतले बुधबार थुनामुक्त गर्ने आदेश दियो ।

    अदालतबाट थुनामुक्त गर्ने आदेश आए लगत्तै उनले केही दिन नेपालमै बस्न चाहेको बताएर त्यसको वातावरण बनाउन कारागार प्रशासनलाई आग्रह गरेका थिए । अदालतले पनि उनलाई १५ दिन भित्र स्वदेश फर्काउन आदेश दिएको थियो । तर उनको त्यो आग्रह नमानी अध्यागन विभागले शुक्रबार नै उनलाई फ्रान्स डिपोर्ट गरेको छ ।

  • विदेशमा काम गरिरहेका एक नेपालीलाई रवीले आफ्नो पार्टीको सीइओ बनाउने, प्रस्ताव आह्वान

    विदेशमा काम गरिरहेका एक नेपालीलाई रवीले आफ्नो पार्टीको सीइओ बनाउने, प्रस्ताव आह्वान

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले विदेशमा बसेर रोजगारी गरिरहेका एक जनालाई आफ्नो पार्टीको सीइओ बनाउने भएका छन् । उनले त्यसका लागि विदेशको काम त्यागेर नेपाल फर्कनु पर्ने शर्त राखेका छन् । उनले भनेका छन्, ‘यो देशमा मान्छे बाकसमा मात्र फर्किनु पर्छ भन्ने छैन। विदेशमा रहनु भएका व्यवस्थापनमा दखल राख्ने, स्वदेशमा केही गर्न इक्छुक ब्यक्तिको हामीलाई खाँचो परेको छ ।’

    उनका अनुसार चितवन कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सीइओ) भएर बिकास, सुसासन, ब्यवस्थापन लगायतका सम्पुर्ण कार्यभार सम्हाल्न सक्ने मान्छेलाई जागिर दिइने भएको छ । यसमा अति आकर्षक तलब तथा सुविधा रहने समेत उनको भनाई छ ।

    ‘म एयर्पोटमा स्वागत गर्न तयार छु, कति बाकसमा मात्र फर्किने ? उनले भनेका छन् । अब आकर्षक जागीरका लागि श्वास र आश लिएर नेपाल आउने नी भन्दै उनले शुरूवात एक जना बाट गरिएको समेत बताएका छन् । थप योजना सार्वजनिक गर्दै जाने समेत उनको भनाई छ ।

  • कुख्यात सिरियल किलर शोभराज थुनामुक्त, अध्यागमनमा बुझाइंदै

    कुख्यात सिरियल किलर शोभराज थुनामुक्त, अध्यागमनमा बुझाइंदै

    काठमाडौं । कुख्यात सिरियल किलरु चार्ल्स शोभराज कैदमुक्त भएका छन् । यद्दपी उनी खुला वातावरणमा आउन भने पाउने छैनन् । केन्द्रीय कारागार कार्यालयले शोभराजलाई शुक्रबार अध्यागमन विभागमा बुझाउने तयारी गरेको छ । १९ वर्षदेखि कैद सजाय काटिरहेका फ्रेन्च नागरिक चार्ल्स शोभराजलाई बुधबार छोड्न र १५ दिनभित्र देश फर्काउन सर्वोच्च अदालतले आदेश गरेको छ । शोभराजलाई कैदबाट छाडेर १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाएर फ्रान्स पठाइने भएको छ ।

    बुधबार सर्वोच्चले ‘अन्य मुद्दामा थुनामा राख्न नपर्ने भए आजै छोड्नु र १५ दिनभित्र आफ्नै देश पठाउने व्यवस्था गर्नु’ भन्ने आदेश गरेको थियो। अन्य मुद्दामा कैद बस्न पर्ने नपर्ने यकिन गर्न कारागार, काठमाडौं र भक्तपुर जिल्ला अदालतलाई सर्वोच्च प्रशासनले हिजै चिठी लेखेको थियो। शोभराजले ४७ वर्षअघि काठमाडौं र भक्तपुरमा अमेरिकी र क्यानडेली नागरिकको हत्या गरेको पुष्टी भएपछि १९ वर्षदेखि कैद काटिरहेका छन्।

    २०८० सालसम्म कैद सजाय पाएका उनलाई १९ वर्ष जेलमा बसिसकेको, मुटुरोगी भएको र ७८ वर्षका वृद्ध भइसकेको त्यसमाथि मानवअधिकारको मापदण्ड विपरित कैदभित्र पनि एकान्तवासमा राखिएको भन्दै अदालतले छोड्न आदेश दिएको हो।

  • राहदानी बनाउन लिनु पर्ने ‘अपोइन्टमेन्ट डेट’को समय परिवर्तन

    राहदानी बनाउन लिनु पर्ने ‘अपोइन्टमेन्ट डेट’को समय परिवर्तन

    काठमाडौं । राहदानी बनाउन आवेदन दिँदा सेवाग्राहीले राहदानी विभागबाट लिनुपर्ने ‘अपोइन्टमेन्ट डेट’को समय परिवर्तन गरिएको छ । राहदानी विभागले सोमबार एक सूचना जारी गर्दै यस्तो समय परिवर्तन भएको जानकारी गराएको हो । विभागले गत साउन १७ गतेदेखि दैनिक बिहान ११ बजे राहदानी आवेदनका लागि अपोइन्टमेन्ट डेटको बुकिङ खोल्ने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो । तर अब पुस ५ गतेदेखि लागू हुनेगरी अपराह्न साढे ३ बजेदेखि मात्र अपोइन्टमेन्ट डेट खोल्ने विभागले जनाएको छ ।

    अपोइन्टमेन्ट डेट लिनका लागि एकै समयमा धेरै सेवाग्राहीबाट माग भइआएको र यसले सर्भरमा चाप देखिएका कारण यस्तो समय परिवर्तन गरिएको पनि विभागले जनाएको छ । ‘प्रायःजसो जिल्ला र इलाका प्रशासन कार्यालयहरूले पनि सोही समयमा बुकिङ खोल्ने गरेको विभागमा जानकारी प्राप्त हुन आएको छ । जसकारण विभागको सर्भरमा अत्यधिक चाप पर्न गई वेबसाइटको पेज खुल्न समय लाग्ने र हाई ट्राफिक भोलुम भन्ने म्यासेज देखाउने गरेको छ’, विभागले सोमबार जारी गरेको सूचनामा भनिएको छ ।

    राहदानी लिनका लागि फाराम भरी अनलाइनबाट मिति र समय बुक गर्नुपर्छ । बुकिङ गरेको मिति र समयभन्दा अगाडि आएर लाइन बसेकै आधारमा विभागले सेवा दिँदैन । त्यसकारण आफ्नो बुकिङको दिन तोकिएको समयमा मात्र आउनुपर्ने व्यवस्था रहेको छ ।

    यसरी अपोइन्टमेन्ट बुक गर्नका लागि बिहान कार्यालय समयपछि विभागका सर्भरमा बढी चाप पर्ने गरेको थियो । अपराह्न साढे ३ बजेपछि अपोइन्टमेन्ट डेट लिने व्यवस्था कार्यान्वयन गर्दा सर्भरमा समस्या कम हुने विभागले जनाएको छ । रासस

  • नेपालको समृद्धिका लागि अमेरिकाको सहयोग सदैव रहन्छ : राजदूत

    नेपालको समृद्धिका लागि अमेरिकाको सहयोग सदैव रहन्छ : राजदूत

    नेपालगन्ज । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले नेपालको आर्थिक समृद्धिका लागि अमेरिकी सरकारले विशेष सहयोग गर्दै आएको बताएका छन् । उनले नेपालको समग्र विकासका लागि विभिन्न क्षेत्रअन्तर्गत परियोजनामार्फत विशेषगरी शिक्षा, स्वास्थ्य, कृषि, विपत्, वातावरणलगायत क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको बताए ।

    पश्चिम नेपालको भ्रमणका क्रममा नेपालगञ्ज आइपुगेका राजदूत थम्प्सनले नेपालमा सूचना, प्रविधि र अंग्रेजी भाषाका विशेष कार्यक्रम ल्याउने तयारी भइरहेको बताए । उनले भने, ‘नेपालमा धेरै काम गर्न अझ बाँकी छ, यहाँका सडक, जलविद्युत्, विभिन्न साना तथा मझौला उद्योगको विकासमा विशेष जोड दिन चाहन्छौं ।

    नेपालमा सञ्चालित विभिन्न कार्यक्रमले समुदायस्तरका नागरिकमा राम्रो परिवर्तन ल्याएको उदाहरण भ्रमणका क्रममा भेटिएको भन्दै राजदूत थम्प्सनले समावेशिताको कुरामा सुधार भएको र सीमान्तकृत तथा अल्पसंख्यक समुदायलाई पनि थप सहयोग पुगेको बताए । अमेरिकाले अब निजी क्षेत्रको सहकार्यमा लगानी गर्ने तयारी गरिरहेको उल्लेख गर्दै उनले भने, ‘नेपाललाई विकसित मुलुकको सूचीमा पार्नका लागि यहाँ विकासका पूर्वाधार तयार गर्न बाँकी छन्, त्यसलाई पूरा गर्न अमेरिकी सरकारको सहयोग निरन्तर रहनेछ ।’