Category: डायस्पोरा

  • कतारमा एक नेपालीलाई पर्यो ८२ करोड रुपैयाँको चिट्टा

    कतारमा एक नेपालीलाई पर्यो ८२ करोड रुपैयाँको चिट्टा

    काठमाडौं । कतारमा कार्यरत नेपाली युवा रञ्जित कुमार पाललाई ८२ करोड रुपैयाँको चिट्टा परेको छ । अबुधाबीमा आयोजित बिग टिकट र्‍याफल ड्रको सिरिज २४८ मा २ करोड ३० लाख दिराम अर्थात झन्डै ८२ करोड नेपाली रुपैयाँ जितेको कम्पनीले जनाएको छ । विगत सात वर्षदेखि कतारको राजधानी दोहामा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत उनले २३२९३६ नम्बरको टिकट जनवरी १६ मा खरिद गरेका थिए। पाँच र १० वर्षका दुई छोराका बुबा पाल बिग टिकटका प्रतिनिधिबाट यो अप्रत्याशित चिठ्ठा परेको खबर सुनेर निकै खुसी भएका प्रतिक्रिया दिएका छन् ।

    जितेको यो पैसा नेपाल फर्केर मेरो परिवारमा खर्च गर्ने उनले बताए । पालले विगत १५ महिनादेखि २० साथीहरूको समूहसँग मिलेर बिग टिकटहरू खरिद गर्दै आएका थिए। आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने उनको योजना छ।
    ड्रको क्रममा अन्य नगद र ड्रिम कार पुरस्कार भारतीय नागरिकले जितेका थिए। दोस्रो, तेस्रो र चौथो पुरस्कार विजेता विजेश विश्वनाथनले १ मिलियन दिराम, यस्तै शिबु म्याथ्यू ले १ लाख दिराम र अजित रामचन्द्रकैमल ५० हजार दिराम रकम चिठ्ठामा जितेका थिए।

    यस्तै सुमन मुथैया नाडर रागावनले नयाँ रेन्ज रोभर प्राप्त गरेका थिए। मार्च ३ मा हुने अर्को ड्रमा, एक भाग्यशाली विजेताले १ करोड ५० लाख दिराम पाउँनेछन्। दोस्रो पुरस्कार १० लाख दिराम, तेस्रो पुरस्कार १ लाख दिराम र चौथो पुरस्कार ५० हजार दिराम छ।

  • मलेसियामा रहेका नेपाली कामदारको सुरक्षामा प्रधानमन्त्रीको चासो

    मलेसियामा रहेका नेपाली कामदारको सुरक्षामा प्रधानमन्त्रीको चासो

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलेसियामा रहेका नेपाली कामदारको हित, सुरक्षा र कल्याणको विषय सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्माइलसँग शुक्रबार सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाली कामदारको हितका विषयमा छलफल गरेका छन् ।

    “मलेसिया सरकारले नेपाली श्रमिकलाई प्रदान गर्दै आएको वातावरणका लागि सरकारका तर्फबाट धन्यवाद दिन चाहन्छु’’ उनले भने, “यदि यो विषयमा केही समस्या भएमा कानुनी तथा संस्थागत सुधार गर्दै मलेसिया सरकारले नेपाली श्रमिकको हित, कल्याण र सुरक्षालाई सुनिश्चित गर्नेछ भन्ने विश्वास लिएका छौँ। यो विषयमा मलेसिया सरकारसँग सहकार्य गर्न हामी सदैव तत्पर छौँ।’’

    भेटमा प्रधानमन्त्री प्रचण्डले मलेसिया सरकारका तर्फबाट श्रमिकको न्यूनतम ज्याला, १२ सय रिंगेटबाट वृद्धि गरेर १५ सय बनाएकोमा धन्यवाद दिए । यसका साथै फ्रि भिसा र फ्रि टिकेटको व्यवस्थालाई अझै कडाइका साथ लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले यसो गर्न सके रोजगार क्षेत्रलाई थप व्यवस्थित बनाउन सकिने बताए । प्रधानमन्त्री प्रचण्डले मलेसियामा नेपाली श्रमिक इमान्दारिता र परिश्रमीका रूपमा सुपरिचित भएको उल्लेख गर्दै भविष्यमा नेपाली श्रमिकको संख्यामा वृद्धि गर्न मलेसिया सरकारलाई आग्रह गरे ।

    प्रधानमन्त्री प्रचण्डले मलेसियामा नेपाली श्रमिक र श्रम क्षेत्रलाई खुला, पारदर्शी, विश्वासिलो, प्रभावकारी र व्यवस्थित बनाउने विषयमा मलेसिया सरकारको सहयोग आवश्यक रहेकोमा जोड दिएका छन् ।

    प्रधानमन्त्री प्रचण्डले राखेको चासोप्रति मलेसियाका गृहमन्त्री नासुसन इस्मालीले मलेसिया सरकारले विदेशी श्रमिकलाई भित्र्याउने प्रक्रिया र मलेसियामा रहँदा कामदारको कल्याण र सुरक्षाका विषयमा गम्भीर रहेको बताएका छन् उनले मलेसियाको ५ वटा आर्थिक क्षेत्रमा कामदारको आवश्यकता रहेको जानकारी गराउँदै उनले कामदारको कल्याणका लागि नीतिगत तथा कानुनी ढाँचामा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

  • भिजिट भिषामा दुबई पुगेकी युवती बेचबिखनमा परेपछि…

    भिजिट भिषामा दुबई पुगेकी युवती बेचबिखनमा परेपछि…

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेत पुर्याई बेचबिखनमा परेको पाइएको छ । मानव बेचबिखनमा संलग्न गिरोहले १९ वर्षीया ती युवतीलाई पाँच लाख रुपियाँमा बिक्री गरेको सरकारी सञ्चारमाध्यम गोरखापत्रमा उल्लेख छ । बेचबिखनमा परेकी किशोरी कुवेतमा पुर्याई यौनजन्य क्रियाकलापसँगै श्रम शोषणमा परेको सूचनापछि कुवेतमा रहेको नेपाली दूतावासले उद्धार गरी नेपाल पठाएको छ ।

    मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उद्धार गरी नेपाल ल्याइएकी युवतीसँगै अन्य १२ जनाको उद्धारको प्रयास भइरहेको छ । गत मङ्सिर २६ गते भिजिट भिसाबाट दुबई पुगेका ती युवतीलाई कुवेत, इरान, सिरिया, इजिप्टलगायतका मुलुकमा पुर्याई जनही कम्तीमा पाँच लाखमा बिक्री गरिएको खुलेको छ ।

    मानव बेचबिखनमा संलग्न उदयपुरको उदयपुरगढी गाउँपालिका–२ का लालबहादुर मगर र इलाम फाकफोकथुम गाउँपालिका–५ का डम्बरबहादुर दर्लामीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले काठमाडौँबाट पक्राउ गरेको छ । उद्धार गरी नेपाल ल्याइएकी युवतीका अनुसार पोर्चुगल र अमेरिकालगायतका मुलुकमा पठाउने भन्दै कुवेतमा पुर्याएपछि एक हजार तीन सय कुवेती दिनारमा बिक्री गरिएको थियो । बेचबिखनमा परेपछि आफूहरूमाथि निरन्तर यौनशोषण तथा चर्को श्रम शोषणमा गरेका छन् ।

    पीडित युवतीले कुवेतमा पुगेपछि पाँच जना व्यक्तिले गर्नुपर्ने काम एक्लै गर्न बाध्य पारिएको तथा तोकिएको काम गर्न नसके कुटपिट हुने गरेको प्रहरीको बयानमा उल्लेख गरेका छन् । उपरीक्षक मल्लले बेचबिखनमा परेका युवतीलाई दैनिक १८ घण्टासम्म काममा लगाई श्रम शोषण गरेको तथा काम गर्न नसक्ने युवतीलाई चोरीलगायतका आरोपमा फसाउने गरिएको बताएका छन् ।

    कुवेतमा रहेका मानव तस्करका गिरोहले पीडितको मोबाइल नियन्त्रणमा लिई फेसबुकलगायतका सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिसँग अश्लील कुराकानी गरी त्यसलाई रेकर्ड गरेर परिवार तथा आफन्तलाई पठाइदिने धम्की दिई थप शोषण गरिएको थियो । यस्ता घटनामा संलग्न फरार अन्य व्यक्तिको खोजी जारी रहेको समेत ब्युरोले जनाएको छ ।

  • सिक्किमका नेपालीभाषी ‘विदेशी आप्रवासी’ भएको अदालतको फैसला

    सिक्किमका नेपालीभाषी ‘विदेशी आप्रवासी’ भएको अदालतको फैसला

    काठमाडौं । कुनै बेला अलग्गै देश रहेको सिक्किम भारतमा बिलय भएको चार दशक भइसक्यो । तर भारतीय सर्वोच्च अदालतले त्यहाँका नेपालीभाषी जनतालाई आप्रवासी विदेशीको हैसियत दिँदै फैसला गरेको छ । त्यसको विरोधमा अहिले सिक्किमभरी विरोध प्रदर्शन भइरहेको छ । भारतीय सर्वोच्च अदालतले पछिल्लो एक फैसलामा सिक्किममा रहेका नेपाली भाषा बोल्ने नागरिकलाई आप्रवासी र विदेशी करार गरेको भन्दै सिक्किमका नागरिक आक्रोशित भएका हुन् । गान्तोक लगायत मुख्य बजारहरुमा प्रदर्शन चर्केको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन् ।
    सिक्किम स्टुडेन्ट्स एशोसियसन दिल्लीलगायत संस्थाले सर्वोच्चको फैसलाविरुद्ध वक्तव्य जारी गर्दै यही रबैया कायम रहे ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

    ‘यसअघि समेत हामीलाई परदेशीजस्तो गरी व्यवहार गरिन्थ्यो, अब त अदालतकै फैसलामा हामीलाई गलत धारणा र परिभाषाको शिकार बनाउन खोजिएको छ,’ एशोसियसनका अध्यक्ष रिगेल तामाङले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘संविधानको आठौं अनुसूचीको खिलाफ हुनेगरी आएको फैसलाले नेपाली भाषा बोल्ने नागरिकको भावनामाथि अपमान भएको छ । हामी यसको विरोध गर्छौं र पुनरावेदनका लागि अपील पनि गर्छौं ।

    ’द प्रिन्ट डिजिटल पत्रिकाका अनुसार सिक्किमको सरकार चलाइरहेको पार्टी, विपक्षी सबै कार्यकर्ताहरुले अदालती कदमको विरोध गरेका छन् ।

  • नेपालको कालिगण्डकीबाट लगिएका दुई देवशिला अयोध्या पुर्याइयो, भब्य स्वागत

    नेपालको कालिगण्डकीबाट लगिएका दुई देवशिला अयोध्या पुर्याइयो, भब्य स्वागत

    अयोध्या । नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला भारतको उत्तर प्रदेशस्थित अयोध्या पु¥याइएको छ । सो क्रममा स्थानीयले भब्य स्वागत गरेका छन् । अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन शिला नेपालबाट लगिएको हो । यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको शिलासहितको टोली माघ १६ गते जनकपुरधामबाट अयोध्याका प्रस्थान गरेकामा दुई दिनपछि यहाँ पुगेको हो ।


    अयोध्या प्रवेशसँगै श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शिला ल्याएर यहाँ आइपुगेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिसहितको टोलीलाई भव्य स्वागत गरे । ठूलो सङ्ख्यामा उपस्थित स्थानीयले श्रद्धापूर्वक शिलालाई भित्र्याएका थिए । शिलालाई बुधबार नै यहाँस्थित राम सेवकपुरममा राखिएको छ भने आज बिहान विशेष समारोहबीच श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका महन्थ दासले जानकारी दिए ।

    ट्रस्टका महासचिव चंपत रायले विशेष अनुष्ठान पूजापछि आज देवशिला ग्रहण गर्ने बताए । उनले आयोध्यास्थित राम सेवकपुरममा नेपाल र भारतको द्विपक्षीय सम्मिलित अनुष्ठान पूजापछि ट्रस्टले औपचारिकरुपमा देवशिला बुझ्ने राससलाई जानकारी दिए । यसअघि बुधबार बिहान गोरखपुरस्थित गोरखनाथ मन्दिर परिसरमा विशेष हवन पूजापछि देवशिला अयोध्यातर्फ अगाडी बढाइएको थियो ।

  • त्रिभुवन विमानस्थलमा ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ

    त्रिभुवन विमानस्थलमा ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ

    काठमाडौं । त्रिभुवन विमानस्थलमा ९ केजी सुनसहित एक क्यानडेली नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ । उनी दुबईबाट आएका थिए । युएई मूलका क्यानडेली नागरिक मोहमद कमल मोहगोबलाई बुधबार राति विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको जनाइएको छ । मोहमदको साथबाट ९ केजी १३५ ग्राम अवैध सुन बरामद भएको हो ।

    ती क्यानेडियन नागरिकले कम्मरमा फल्स बटन बनाएर आठवटा बिस्कुट आकारका १ केजीभन्दा बढी मात्राको सुन ल्याएका थिए । उनको साथबाट बरामद गरिएको नीलो आवरणमा रहेको वस्तु पनि परीक्षण गर्दा सुन भएको पाइएको छ । उनीमाथि प्रहरीले अनुसन्धान थालेको छ ।

  • परराष्ट्र मन्त्री राई आज श्रीलंका प्रस्थान गर्ने

    परराष्ट्र मन्त्री राई आज श्रीलंका प्रस्थान गर्ने

    काठमाडौं । श्रीलंकाको ७५औं स्वतन्त्रता दिवसमा सहभागी हुन परराष्ट्रमन्त्री विमला राई पौड्याल आज श्रीलंकाको राजधानी कोलम्बो जाँदैछिन् । उनले त्यहाँ उच्चस्तरीय राजनीतिक भेटघाट समेत गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा परराष्ट्रमन्त्री पौड्यालको श्रीलंकन समकक्षीका साथै राष्ट्रपति रनिल बिक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबर्द्धनसँग शिष्टाचार भेट हुने भएको छ । श्रीलंकाका राष्ट्रपति बिक्रमासिंघेको सचिवालयले ७५औं स्वतन्त्रता दिवसको अवसरमा ‘लंकारेलंका’ कार्यक्रम राखेको छ, जसमा सहभागी हुन मन्त्री पौड्याल बिहीबार कोलम्बो प्रस्थान गर्ने कार्यक्रम छ ।

    भ्रमण तालिकाअनुसार शुक्रबार मन्त्री पौड्यालले श्रीलंकन समकक्षी अलि साब्रीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । सोही दिन मन्त्री पौड्याललगायत विभिन्न देशका पाहुनाहरूका लागि स्वागत लञ्चको कार्यक्रम राखिएको छ । लञ्चपछि मन्त्री पौड्यालको उच्चस्तरीय राजनीतिक भेटघाटका क्रममा श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग भेटघाट गर्ने कार्यक्रम छ । त्यसपछि मन्त्री पौड्याल अन्य समकक्षीसँगै ‘लंकारेलंका’ कार्यक्रममा सहभागी हुनेछिन् ।

    त्यसको अर्को दिन समारोहअन्तर्गत आयोजना हुने परेड र झण्डोत्तोलन कार्यक्रममा सहभागी हुने मन्त्रालयले जनाएको छ । उक्त कार्यक्रमपछि राष्ट्रपति रनिल बिक्रमासिंघेसँग मन्त्री पौड्यालको शिष्टाचार भेट हुनेछ । भेटपश्चात मन्त्री पौड्याल राष्ट्रपति भवनमा आयोजित हुने रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख रामप्रसाद सुवेदीका अनुसार भ्रमणका क्रममा विभिन्न मुलुकका विदेशमन्त्रीहरूसँग साइडलाइन भेटवार्ता हुनेछ ।

  • जनवरीमा आए ५५ हजार पर्यटक, अमेरिकी दोस्रो स्थानमा

    जनवरीमा आए ५५ हजार पर्यटक, अमेरिकी दोस्रो स्थानमा

    काठमाडौं । नेपालमा जनवरी २०२३ मा ५५ हजार ७४ जना पर्यटक भित्रिएका छन् । यसमा सबैभन्दा धेरै पर्यटक भारतीय छन् । नेपालमा कोरोना भाइरसको महामारी सुरु भएयता जनवरी महिनामा सबैभन्दा धेरै पर्यटक यस वर्ष आएका हुन् । बोर्डका अनुसार सन् २०२२ को जनवरीमा १६ हजार ४३६ जना पर्यटक आएका थिए । सन् २०२१ मा मात्र ८ हजार ६७४ जना पर्यटक यस महिनामा आएका थिए । सन् २०२० को जनवरीमा भने ७९ हजार ७०२ र सन् २०१९ को जनवरीमा ८१ हजार २७३ जना पर्यटक आएका थिए ।

    यी दुई वर्ष कोरोना महामारीको संकट सुरु भइसकेको थिएन् । सन् २०२० को मार्चपछि मुलुकमा लकडाउन सुरु भएको हो । तथ्यांक अनुसार जनवरी २०२३ मा भारतबाट मात्र १६ हजार ४३६ जना पर्यटक नेपाल आएका छन् । दोस्रो स्थानमा अमेरिका छ । अमेरिकाबाट ६ हजार ५६१ जना नेपाल आएको तथ्यांक छ । अष्ट्रेलियाबाट ३ हजार ४४१ र बंगलादेशबाट २ हजार ४६८ जना पर्यटक नेपाल आएका छन् ।

  • बिरामी पिटेको आरोपमा अष्ट्रेलियामा एक नेपाली नर्स पक्राउ

    बिरामी पिटेको आरोपमा अष्ट्रेलियामा एक नेपाली नर्स पक्राउ

    काठमाडौं\एजेन्सी । अष्ट्रेलियामा बिरामीमाथि हिंस्रक व्यवहार गरेको आरोपमा एक नेपाली नर्स पक्राउ परेकी छिन्। नाइनन्युज सिड्नीले यसबारे समाचार प्रकाशित गरेको छ ।

    समाचार अनुसार नेपाली नर्स अस्मिता पाण्डेलाई बिरामीलाई पिटेको र धक्का दिएको आरोपमा पक्राउ गरिएको छ । एस्थिया हेल्थमा काम गर्ने पाण्डेले वृद्ध अवस्थाका बिरामीलाई कुटेको भन्दै सहकर्मीले अस्पताल प्रशासनमा रिपोर्ट दिएका थिए । त्यसपछि उनी पक्राउ परेकी छिन् ।

  • अमेरिकी उपविदेशमन्त्री भिक्टोरियाले दिएको सन्देश के हो ?

    अमेरिकी उपविदेशमन्त्री भिक्टोरियाले दिएको सन्देश के हो ?

    काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपाल भ्रमण सम्पन्न गरेकी छिन् । उनले नेपाल भ्रमणका क्रममा न्युल्यान्डले सोमबार उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेकी छन् । आइतबार पुगेकी न्युल्यान्डले सोमबार बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेकी थिइन् ।

    त्यसलगत्तै धुम्बाराही पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेकी नुल्यान्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेकी थिइन् । यससँगै उनले परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग पनि भेटवार्ता गरेकी छन् । राजनीतिक भेटघाट सकिएपछि उनले पाटन दरबार स्क्वायरको अवलोकन गरेकी थिइन् भने त्यसपश्चता पत्रकार सम्मेलन गरेकी थिइन् ।

    भारतसँग अमेरिकाको सम्बन्ध सुमधुर रहेको र चीनसँग सम्बन्ध सुधारका लागि प्रयास जारी राखेको बताइन् । उनले राष्ट्रपति जो बाइडेन प्रशासनले चीनसँगको सम्बन्ध सुधारका लागि प्रयत्न गरिरहेको बताएकी छन् । ‘नेपालका दुईवटै ठूला छिमेकीसँगको असल सम्बन्ध अमेरिकाको चाहना हो । यसमध्ये भारतसँग हाम्रो सम्बन्ध सुमधुर नै छ ।

    चीनसँगको सम्बन्ध सुधारका लागि पनि राष्ट्रपति बाइडेन प्रशासन लागि नै रहेको छ,’ पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले भनिन् । उनले दुई ठूला छिमेकी मुलुकसँगको भूराजनीतिभन्दा पनि नेपालले आफ्नो हितका विषयमा सार्वभौम भएर निर्णय गरोस् भन्ने अमेरिकाको चाहना रहेको बताइन् । गत मंसिरमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएपछि पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेपछि नेपाल भ्रमण गर्ने उनी पहिलो उच्च अमेरिकी अधिकारी हुन् ।

  • परराष्ट्र मन्त्री राई पहिलो विदेश भ्रमणमा श्रीलंका जाने

    परराष्ट्र मन्त्री राई पहिलो विदेश भ्रमणमा श्रीलंका जाने

    काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्याल पहिलो विदेश भ्रमणकारुपमा श्रीलंका जाने भएकी छिन् । श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा सहभागी हुन परराष्ट्रमन्त्री पौड्याल यही बिहीबार कोलम्बो जान लागेकी हुन् । नेपालका लागि श्रीलंकाकी कार्यवाहक राजदूत निलुसा डिल्मिनीले सिंहदरबार पुगेर श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसको दिनमा सहभागी हुन निम्तो दिएकी छिन् ।

    कार्यवाहक राजदूत डिल्मिनीले श्रीलंकाका विदेशमन्त्री एमयूएम अली सब्रिलेले पठाएको निम्तोलाई परराष्ट्र मन्त्री पौड्याललाई हस्तान्तरण गरेकी छिन् । श्रीलंकाले ४ फेब्रुअरीलाई स्वतन्त्रता दिवसका रुपमा मनाउँछ । दक्षिण एसियाली मुलुक श्रीलंका अहिले आर्थिक संकटसँग जुधिरहेको छ ।

  • कनेक्टिकटको नेपाली संस्थामा नयाँ नेतृत्व छनोट

    कनेक्टिकटको नेपाली संस्थामा नयाँ नेतृत्व छनोट

    कनेक्टिकट । अमेरिकास्थित कनेक्टिकट राज्य आसपास बसोबास गर्दै आएका नेपालीहरुको साझा संस्था नेप्लिज एशोसिएशन अफ कनेक्टिकटमा नयाँ नेतृत्व छनोट भएको छ । समाज सेवामा आधारित रहेर यो संस्था क्रियासिल रहेको छ । संस्थाले आगामी दुई वर्षको लागि नयाँ कार्यकारी समिति चयन गरेको हो । वेस्ट हार्टफोर्डस्थित एल्मवुड कम्यूनिटी हलमा सम्पन्न साधारण सभाले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

    नयाँ कार्यसमितिमा सन्तोष लम्साल अध्यक्ष निर्वचित भएका छन् । उपाध्यक्षमा गोपाल अधिकारी, सचिवमा सुबाश बुढाथोकी र सहसचिव ईश्वर भण्डारी चयन भएका छन् । कोषाध्यक्षमा श्रुति मल्लिक, सह–कोषाध्यक्षमा राजन गुरुङ, महिला संयोजक चॅादनी केसी, यूवा संयोजक सुरज केसी, भाषाशिक्षा संयोजक हिमाल ज्ञवाली तथा सदस्यहरुमा गणेश अर्याल र ज्योती परियार निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यकारी समितिको कार्यअवधि २०२३\२४ का लागि हो ।

  • रवि लामेछानेको नागरिकता सम्बन्धी मुद्दाले गैरआवासीय नेपालीहरु कसरी प्रभावित हुन्छन् ?

    रवि लामेछानेको नागरिकता सम्बन्धी मुद्दाले गैरआवासीय नेपालीहरु कसरी प्रभावित हुन्छन् ?

    काठमाडौं\बीबीसी । रवि लामिछाने विरुद्धको मुद्दामा सर्वोच्च अदालतको फैसलापछि कतिपय गैरआवासीय नेपालीहरूले नेपालमा आफूहरूले पाउने अधिकार खुम्चिएको चिन्ता व्यक्त गरिरहेका छन्। अमेरिकी नागरिकता त्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्ति नगरेको सर्वोच्चको ठहरपछि रवि लामिछानेले शुक्रवार गृहमन्त्री, सांसद र पार्टी प्रमुखको पद गुमाएका थिए।

    अदालतको फैसलापछि गैरआवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष बुद्धि सागर सुबेदीले उक्त सङ्घको फेसबुक पेजमा “एक पटकको नेपाली सधैँको नेपाली” हुने ढोका बन्द गर्ने प्रयास भएको भन्दै आफू दुखित भएको उल्लेख गरेका छन्।

    उनीजस्तै धेरै गैरआवासीय नेपालीले आफूहरूलाई नेपालमा आइपर्नसक्ने झमेलाबारे सामाजिक सञ्जालमा चिन्ता व्यक्त गरिरहेका छन्। विशेष गरी गैरआवासीय नेपालीले नेपालमा खरिद गरेका जग्गा जमिन वा अचल सम्पत्तिमा आफ्नो अधिकारबारे धेरैको चासो र प्रश्न छ।

    गृह मन्त्रालयका एक जना अधिकारी र कानुनका जानकारहरू भने सर्वोच्चको फैसलाले उनीहरूलाई कुनै फरक नपर्ने दाबी गर्छन्। “यो फैसला गैरआवासीय नेपालीसँग जोडिएको विषय होइन। तर विदेशी पासपोर्ट र नेपाली नागरिकता दुवै लिएर व्यापार व्यवसाय, जग्गा खरिदबिक्री गरिरहेकाहरूलाई चाहिँ असर गर्छ,” लामिछानेका वकिल समेत रहेका वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले भने।

    “विदेशी राहदानी लिएका तर समानान्तर रूपमा नेपाली पासपोर्ट वा नागरिकताबाट काम गरिरहेकालाई मात्रै असर गर्ने हो। नेपालकै पासपोर्ट प्रयोग गरिरहेका गैरआवासीय नेपालीलाई यसले फरक पार्दैन,” पोखरेलले भने। जापान, जर्मनी र अन्य कतिपय युरोपेली देशहरूको नागरिकता लिन त्यसअघि नागरिकता लिएको देशको नागरिकता त्याग गरेको हुनुपर्ने नियम छ।

    त्यस्ता देशमा नागरिकता लिनेले नेपालको नागरिकता त्याग गरेर मात्रै अर्को देशको नागरिकता लिने गरेको गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष डाक्टर हेमराज शर्माले बताए। तर यूके, अमेरिका, क्यानडा, अस्ट्रेलिया जस्ता देशहरूको नागरिकता लिन अर्को देशको नागरिकता त्याग्नुपर्ने बाध्यकारी व्यवस्था छैन। दोहोरो नागरिकता लिन पाइने यस्ता देशहरूको नागरिकता लिएका सबैले नगरेपनि कतिपय गैरआवासीय नेपालीहरूले नेपाल आउँदा नेपालको नागरिकता पनि प्रयोग गर्ने गरेको शर्मा स्विकार्छन्।


    गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमरणी पोखरेल अर्को देशको नागरिकता लिइसकेका व्यक्तिको नेपाली नागरिकता स्वतः खारेज हुने भए पनि त्यसको अभिलेख नहुने भएकाले दुरुपयोग भए नभएको निगरानी कठिन भएको बताउँछन्। “कसैले उजुरी नगरेसम्म नेपाली नागरिकहरूले अर्को देशमा नागरिकता लिए वा नलिएको कुरा थाहा हुँदैन र त्यसको रेकर्ड पनि कतै हुँदैन,” उनले भने। “यसलाई हाम्रोमा व्यक्ति स्वयंको कर्तव्य मानिएको छ। अर्को देशको नागरिकता लिइसकेपछि उसले नेपाली नागरिकता पुन प्रयोगमा ल्याउँदैन भन्ने विश्वास राज्यले गर्छ। भोलि समस्या पर्न सक्छ भनेर आफैँले विचार गर्नुपर्ने विषय हो यो।”


    रवि लामिछाने प्रकरणमा पनि उनले खारेज भइसकेको नागरिकता प्रयोग गरेर मतदाता नामावलीमा नाम दर्ता गर्ने, उम्मेदवारी दिने लगायतका अन्य सरकारी काम गर्दा राज्यले निगरानी नगरेको भन्दै कतिपयले राज्य संयन्त्रको आलोचना गरेका छन्। तर गृह मन्त्रालयका प्रवक्ता पोखरेल नेपालको कानुनी संरचनाले नै उजुरी नपरेसम्म यस्तो विषयमा निगरानी गर्ने अधिकार ती संयन्त्रहरूलाई नदिएको बताउँछन्। “राज्यले किन हेरेन भनेर प्रश्न गर्ने ठाउँ छन्। तर हाम्रा नेपालीले विदेशमा कहाँ गएर नागरिकता लिएका छन् भनेर हेर्ने प्रणाली हाम्रोमा छैन,” उनले भने।

    रवि लामिछाने अमेरिकी राहदानीमा नेपालमा बसोबास गरिरहेको विषयमा प्रश्न उठेपछि उनले अमेरिकी नागरिकता त्यागेका थिए। तर अर्को देशको नागरिकता लिएपछि स्वतः खारेज भएको नेपाली नागरिकता पुन प्राप्त गर्न “प्रक्रिया पूरा नगरेको” सर्वोच्चले ठहर गरेको छ। लामिछानेले नेपालको नागरिकता पुन प्राप्तिको प्रक्रिया पूरा नगरेको विषयमा निर्वाचन आयोगमा उजुरी र सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो।


    रवि लामिछाने गृहमन्त्री नियुक्त भए लगत्तै गैरआवासीय नेपाली सङ्घका पदाधिकारी र प्रतिनिधिहरूले भेटेर गैर आवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन माग गरेका थिए । पहिलो देशको नागरिकता त्याग्नु नपर्ने देशमा नागरिकता लिइसकेका कतिपय गैरआवासीय नेपालीहरूले नेपालमा आउँदा नेपालको पनि नागरिकता प्रयोग गर्ने गरेको गैरआवासीय नेपाली सङ्घकै प्रतिनिधिहरू पनि स्वीकार गर्छन्।

    “कतिपयले कानुनी र प्रक्रियागत झन्झटका कारण पनि गैरआवासीय नेपाली परिचयपत्रको सट्टा आफूसँग भएको नेपाली नागरिकता प्रयोग गर्छन्। नेपालमा गैरआवासीय नेपाली परिचयपत्रबाट घरजग्गाको कारोबार गर्नुपर्दा झन्झट हुने गरेका कारण पनि नागरिकता प्रयोग गर्ने हुन्छन्,” शर्माले भने। अधिवक्ता पोखरेल पनि कतिपय नेपालीले विदेशको नागरिकता लिएर पनि नेपालको नागरिकता बुझाउनुपर्ने नियम नभएका कारण अनुकूलता अनुसार नेपाली नागरिकता पनि प्रयोग गरिरहेको हुनसक्ने बताउँछन्।

    “अब विदेशमा बस्नेले नेपाली नागरिकता प्रयोग गरेर जग्गा जमिन किनबेच गरिरहेको छ भने उनीहरूलाई अफ्ठेरो पर्न सक्छ। यो कुरालाई फैसलाले थप प्रस्ट गरेको छ,” उनले भने। अन्तर्राष्ट्रिय कानुन प्राध्यापन समेत गर्दै आएका अधिवक्ता प्रविन सुवेदीले पनि ट्विटरमा सर्वोच्चको फैसलाले कतिपय गैरआवासीय नेपालीलाई असर गर्न सक्ने भन्दै सचेत गराएका छन्। अहिलेको मुलुकी संहितामा विदेशी राहदानी लिइसकेका नेपालीहरूले जुनसुकै समयमा पनि आफ्नो पैतृक सम्पत्तिबाट अंश लिन पाउने व्यवस्था छ। तर ‘अपुताली’ पैतृक सम्पत्ति चाहिँ तीन वर्षभित्र नलिए स्वतः नेपाल सरकारको हुने भनिएको छ।

  • अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया आज नेपाल आउँदै

    अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया आज नेपाल आउँदै

    काठमाडौं । अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज नेपाल आउँदै छिन् । नुल्यान्ड नेपालमा सोमबार सम्म रहने छिन् । नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट पहिलो उच्चस्तरीय भ्रमण हुदैछ । भ्रमणमा नयाँ सरकारसँग अमेरिका र नेपालबीचको साझेदारीका बृहत् एजेन्डामा छलफल हुने बताइएको छ ।
    नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेतृत्वसँग भेट्ने कार्यक्रम छ ।

    अमेरिकी सरकारले नेपालको पुनर्निर्माणमा गरेको सहयोग र केही सांस्कृतिक सम्पदास्थलको समेत अवलोकन गर्ने कार्यक्रम छ । सोमबार दिउँसो पत्रकार सम्मेलन गरेर उनले आफ्नो भ्रमणबारे जानकारी दिनेछिन् । नुल्यान्ड सन् २०२१ मा राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्रीमा नियुक्त भएकी हुन् । नुल्यान्ड अमेरिकाका तीन जना राष्ट्रपति जो बाइडेन, बाराक ओबामा र जर्ज डब्ल्यू बुससँग निकट रहेर काम गरेकी कुटनीतिज्ञ हुन् ।

  • अमेरिकाबाट नेपालमा उच्चस्तरीय भ्रमण हुँदै, उपविदेशमन्त्री आइतबार काठमाडौं आउने

    अमेरिकाबाट नेपालमा उच्चस्तरीय भ्रमण हुँदै, उपविदेशमन्त्री आइतबार काठमाडौं आउने

    काठमाडौं । अमेरिकाको विदेश मन्त्रालयस्थित राजनीतिक मामिला सम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आइतबार नेपाल आउने भएकी छिन् । आमनिर्वाचनपछि नयाँ सरकार गठन भएसँगै अमेरिकाबाट नेपालमा हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । नेपालस्थित अमेरिकी राजदूतावासले दिएको जानकारीअनुसार भ्रमणका क्रममा उप–विदेशमन्त्री नुल्यान्डले नेपालका उच्च राजनीतिक नेतृत्वसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

    उनी सन् २०२१ मा राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्रीमा नियुक्त भएकी थिइन् । अमेरिकाका विश्वव्यापी रणनीतिक परामर्श तथा वाणिज्य कूटनीति सम्बद्ध अल्ब्राइट स्टोनब्रिज समूहमा वरिष्ठ परामर्शदाताका रूपमा काम गरेकी उपविदेशमन्त्री नुल्यान्डको नेपाल भ्रमणको उद्देश्य भने स्पष्ट छैन । हिलारी क्लिन्टन विदेशमन्त्री हुँदा उनी अमेरिकी विदेश मन्त्रालयको प्रवक्ता थिइन् ।

    पूर्वराष्ट्रपति जर्ज डब्लू बुसको दोस्रो कार्यकालमा नेटोका लागि अमेरिकी राजदूत, त्यसअघि युरोपमा पारम्परिक हतियार नियन्त्रण सन्धिसम्बन्धी विशेष दूत तथा वार्ताकार र सन् २००३ ताका तत्कालीन अमेरिकाका उपराष्ट्रपति चेनीको सुरक्षा सल्लाहकारका रूपमा उनले काम गरेकी छिन् ।

  • गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा यसकारण धेरै छ गैरआवासीय नेपालीको चासो

    गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा यसकारण धेरै छ गैरआवासीय नेपालीको चासो

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई जारी छ । जुन शुक्रबार समेत चल्ने छ । सुनुवाइमा गैरआवासीय नेपालीहरुको पनि चासो जोडिएको छ । अमेरिकी ग्रिनकार्ड त्यागेका लामिछानेले नागरिकता पुनःप्राप्तिको प्रक्रिया नै पूरा नगरेको भन्दै मुद्दा परेको हो । मुद्दामा संवैधानिक इजलासमा बुधबार अन्तिम सुनुवाइ सुरु भएको थियो, जसमा शुक्रबार फैसला आउने सम्भावना छ ।

    गैरआवासीय नेपाली संघका अनुसार यो मुद्दामा हुने फैसलाले गैरआवासीय नेपाली प्रभावित हुन्छन् । एनआरएनएले स्थापनाकालदेखि नै नेपाली नागरिकताको निरन्तरताको माग गर्दै आएको छ । अमेरिका, अष्ट्रेलिया र युरोपका देशहरुको नागरिकता (ग्रिन कार्ड) लिएको धेरैजसो सँग नेपाली नागरिकता पनि साथमै राखेको पाइन्छ ।

    नागरिकता ऐन २०६३ अनुसार आफुखुशी अर्को मुलुकको नागरिकता लिनासाथ नेपालको नागरिकता स्वतः खारेज हुनेछ । तर अर्को मुलुकको नागरिकता लिएको जानकारी न सरकारले खोजेको छ, न उनीहरुले नै दिएका छन् । बरु नेपाली नागरिकतालाई प्रयोग गरेर घर, जग्गालगायतका सम्पत्ति जोड्ने गरेका छन् ।

    रवि स्वयंले पनि २०७० सालमा अमेरिकी नागरिकता पाएका थिए, तर नेपाली नागरिकता पनि साथमै राखे । अमेरिकी पासपोर्टमा नेपाल आएका उनले पुरानो नेपाली नागरिकता प्रयोग गरेर १३ जेठ २०७२ मा नेपाली पासपोर्ट बनाए । प्रश्न उठेपछि ४ जेठ २०७५ मा बल्ल उनले अमेरिकी नागरिकता र पासपोर्ट त्याग गर्न काठमाडौंस्थित अमेरिकी दूताबासमा निवेदन दिएका थिए ।

    त्यसपछि पनि उनले नेपाली नागरिकता पुनःप्राप्तिका लागि औपचारिक प्रक्रिया सुरु गरेनन् । बरु पुरानै नागरिकताअनुसार आफ्नै नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरे, ४ मंसिरको निर्वाचनमा चितवन २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए ।
    यही कारण उनको रास्वपा सभापति र सांसद पद खारेज हुनुपर्ने माग गर्दै सर्वोच्चमा मुद्दा परेको हो ।

  • नेपाली युवा शिशिर बने युएसए नेशनल च्याम्पियन

    नेपाली युवा शिशिर बने युएसए नेशनल च्याम्पियन

    काठमाडौं । नेशनल फिजिक कमिटि युएसए नेशनल च्याम्पियनसिप (एनपीसी युएसए नेसनल च्याम्पीएनसिप)मा नेपाली युवा च्याम्पियन बनेका छन् । नेपाली युवा शिशिर राना इन्टरनेशनल फेडेरेशन अफ बडीविल्डिङ एण्ड फिटनेश (आईएफबीबी) प्रोकार्ड प्राप्त गर्ने पुरुषतर्फ पहिलो नेपाली बनेका छन्। डिसेम्बर पहिलो साता अमेरिकाको फ्लोरिडा राज्यमा सम्पन्न प्रतिस्पर्धाका लागि उनले विभिन्न क्षेत्रिय प्रतियोगिताहरु जितेर सोप्रतियोगितामा छानिएका थिए ।

    नेशनल च्याम्पियनसिपका लागि भएको कडा प्रतिस्पर्धामा रानाले आफ्नो वजन समूह, १४३.५पाउण्डका लागि १३ जनालाई उछिन्दै उपाधी जितेका हुन् । २५ वर्षीय रानाले सातवर्ष अघि शारीरिक सुगठनको यात्रा प्रारम्भ गरेका थिए। सामन्यतया प्रोकार्ड प्राप्त गर्न कम्तिमा १० देखि १५ वर्षको नियमित अभ्यास जरुरी हुने भएपनि रानाले छोटो समयमा यो सफलता प्राप्त गरेका हुन् । उनी कम उमेरमा प्रोकार्ड लिने केही सिमित विदेशी च्याम्पियनमा पनि परेका छन्।


    सात वर्षसम्मको निरन्तर अनुशासित खानपान र व्यायमले आफुलाई यो स्थानमा पुर्याएको राना बताउँछन्। ‘मैले यो सात वर्षसम्म कुनै पनि पारिवारीक भेटघाट र चाडपर्वमा सामेल हुन सकिन’उनले भने, ‘मैले पहिलो नेपाली पुरुष प्रोकार्ड होल्डर हुने सपना बोकेर अभ्यासमा होमिएको थिए।‘


    सन् २०१४ देखि आफ्नो परिवारसँग अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएका रानाले कक्षा १०सम्मको अध्ययन काठमाडौंबाटै गरेका थिए। उनी अहिले सिटी युनिभर्सिटी अफ न्युयोर्कमा मेकानिकल इन्जिनियरिङका विद्यार्थी हुन्। उनले यी दुवैलाई संगै लैजान आफुले कडा मेहनत गरिरहेको बताए।

    आइबीबी प्रोकार्ड प्राप्त गरेपछि राना समान कार्ड होल्डरसँग प्रतिस्पर्धाका लागि योग्य भएका छन् । त्यसमा छानिएमा उनले बडिबिल्डिङको उच्च स्थान मिस्टर ओलम्पियाका लागि प्रतिस्पर्धा गर्ने छन्।आफ्नो अबको सपना मिस्टर ओलम्पियामा नेपालको झण्डा फहराउनु रहेको रानाले बताए। नेपालमा बाग्लुङ स्थायी घर भएका राना सिंहबहादुर राना र चन्द्रिका देवी जिरेलका जेष्ठ छोरा हुन। उनका पिता सिंहबहादुर पनि नेपालमा करातेका राष्ट्रियस्तरका पुर्वखेलाडी हुन।

  • पर्यटनमन्त्रीले भारतीय राजदूतसँग भने : थप हवाईमार्ग उपलब्ध गराउ

    पर्यटनमन्त्रीले भारतीय राजदूतसँग भने : थप हवाईमार्ग उपलब्ध गराउ

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाललाई थप हवाई प्रवेश (रूट) मार्ग उपलब्ध गराउन भारतसँग अनुरोध गरेका छन् ।
    मन्त्रालयमा शुक्रबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेट गर्दै उनले यस्तो आग्रह गरेका हुन् । नेपालमा अहिले एक मात्र हवाई प्रवेश बिन्दु छ । यसमा अत्यधिक चाप छ ।

    सोहीकारण थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन आग्रह गरिएको मन्त्री किरातीले जनाएका छन् । भेटमा श्रीवास्तवले नेपाली जनता र नेपालको हितमा भारत सधै सकारात्मक रहेको बताएको समेत मन्त्री किरातीले उल्लेख गरेका छन् । नेपालमा अहिले सिमरा बिन्दुबाट मात्र जहाज प्रवेश गर्न सक्छन् । नेपालले लामो समयदेखि भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरबाट हवाईजहाज प्रवेश गर्न सक्ने गरी रुट मागिरहेको छ ।

  • जहाज दुर्घटनाका कारण इयूको कालोसूची अझै लम्बिने, नआउने भयो  मूल्यांकन टोली

    जहाज दुर्घटनाका कारण इयूको कालोसूची अझै लम्बिने, नआउने भयो मूल्यांकन टोली

    काठमाडौं । नेपालमाथि यूरोपेली यूनियनको कालोसूची अझै लम्बिने भएको छ । उड्डयन सुरक्षाबारे ‘अनसाइट मूल्यांकन’ गर्न नेपाल आउने योजनामा रहेको युरोपेली युनियनले तत्कालका लागि नेपाल भ्रमण रोकेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपालका लागि युरोपेली युनियनका राजदूत नोना डेप्रेजले शुक्रबार एक संयुक्त विज्ञप्ति जारी गर्दै ईयूको अनसाइट मूल्यांकन तत्कालका रोकिएको जनाएका छन् ।

    १ माघमा पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनापछिइयूले यस्तो निर्णय लिएको जनाएको छ । नेपालको उड्डयन सुरक्षाबारे ईयूले गत अक्टोबरमा एक टोली नेपाल पठाएर अध्ययन गरेको थियो । सो टोलीले उडान सुरक्षामा उल्लेख्य प्रगति भएको निष्कर्ष निकाल्दै अर्को टोलीलाई साइटमै खटाएर अध्ययन गराउने निर्णय गरेको थियो ।

    सोही अनुसार टोली पठाउने तयारी गरेको थियो । प्राधिकरणका अनुसार फेब्रुअरी वा मार्चमा यो टोली नेपाल आउने तयारी थियो । प्राधिकरण र ईयूको संयुक्त विज्ञप्तिमा उड्डयन सुरक्षाका लागि ईयूले नेपाललाई निरन्तर सहयोग जारी राख्ने उल्लेख गरेको छ । नेपाल सन् २०१३ यता युरोपेली युनियनको कालोसूचीमा छ ।

  • बसपार्कको होटेलबाट ७३१ थान राहदानी बरामद, तीन  जना पक्राउ

    बसपार्कको होटेलबाट ७३१ थान राहदानी बरामद, तीन जना पक्राउ

    काठमाडौं । प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–२६, गोङ्गबुमा रहेका दुईवटा होटलबाट ७३१ थान राहदानी (पासपोर्ट)सहित तीन जनालाई प्रक्राउ गरेको छ । गोङ्गबुको वीरेन्द्र–ऐश्वर्य मार्गमा रहेको होटल सोना र होटल पल्लीकोटबाट बिहीबार उक्त राहदानीसहित प्रहरीले प्रक्राउ गरी वैदेशिक रोजगार विभागलाई जिम्मा लगाएको हो ।

    प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश मैनालीले होटलमा शङ्कास्पद व्यक्ति भएको भन्ने सूचनाका आधारमा गोङ्गबु प्रहरी प्रभागबाट अनुसन्धानका लागि प्रहरी टोली खटाइएको जानकारी दिए । उनका अनुसार त्यसरी खटेको टोलीले होटल सोनाबाट शङ्कास्पद रूपमा रहेको ७१७ थान र होटल पल्लीकोटबाट १४ थान गरी ७३१ थान राहदानी बरामद गरेको थियो ।

    प्रक्राउ पर्नेमा कञ्चनपुर बेतकोट नगरपालिका–३ घर भई टोखा नगरपालिका–९, म्याग्दी चोक बस्ने ४८ वर्षीय लोकजङ खड्कासहित तीन जना रहेको प्रहरीले जनाएको छ । विभागका महानिर्देशक उमाकान्त आचार्यले ७३१ थान राहदानी र लोकजङ खड्कासहितका तीन जना विभागको नियन्त्रणमा रहेको जानकारी दिए । उनका अनुसार अनुसन्धान बाँकी रहेको छ । वैदेशिक रोजगार व्यवसायी वा तालिम प्रदायक संस्था हुन् वा स्वास्थ्य परीक्षण गर्ने संस्थान हुन् भन्ने बारे नखुलेको उनले जनाएका छन् ।

  • कम्बोडियामा आगलागीमा ज्यान गुमाएका निराकारको शव शुक्रबार नेपाल आइपुग्ने

    कम्बोडियामा आगलागीमा ज्यान गुमाएका निराकारको शव शुक्रबार नेपाल आइपुग्ने

    काठमाडौं । कम्बोडियास्थित पोइपेट सहरमा रहेको ग्राण्ड डायमण्ड सिटी होटल (क्यासिनो) मा पुस १५ गते बिहान आगलागीमा परी ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डेको शव शुक्रबार राति नेपाल आइपुग्ने भएको छ। होटलमा आगलागी हुँदा १२ औं तलाको आफू बस्ने कोठाको झ्यालबाट ज्यान बचाउन हामफाल्दा पाण्डेको ज्यान गएको थियो। कम्बोडियामा सरकारी पक्षबाट शवको प्रमाणीकरण नहुँदा शव ल्याउन ढिलाइ भएको थियो। तर शव ल्याउने प्रक्रियाका लागि नेपालबाट पाण्डेको आवश्यक कागजात पठाएसँगै कम्बोडियाले प्रमाणीकरण गरेपछि उनको शव शुक्रबार थाइल्यान्ड हुँदै नेपाल ल्याइने बताइएको छ।

    निराकारका बुवा अग्नि पाण्डेका अनुसार थाइल्यान्डबाट नेपाल एयरलायन्समा उनको शव नेपाल ल्याइँदैछ । शव शुक्रबार राति साढे दस बजे काठमाडौं आइपुग्ने र राति नै शव झापा ल्याउने तयारी गरिएको नेकपा (एमाले) का बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईले जानकारी दिए। नगर अध्यक्ष भट्टराईका अनुसार पाण्डेको शव शनिबार झापा आइपुग्ने भएको छ।

    निराकारको मृत्युपछि दुःख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिटो शव नेपाल ल्याउन सरकारी अधिकारीलाई यसअघि नै निर्देशन दिएका थिए। शव नेपाल ल्याउन सरकारले नै खर्च बेहोर्ने निर्णयसमेत भएको छ। सरकारको निर्णयानुसार सरकारी प्रक्रियाबाटै उनको शव नेपाल ल्याउन लागिएको हो। शव नेपाल ल्याउन कम्बोडियासमेत हेर्ने थाइल्यान्डस्थित नेपाली दूतावासले आवश्यक समन्वय गरिरहेको छ। दूतावासलाई एनआरएनए कम्बोडियाले सहजीकरण गरिरहेको बताइएको छ।
    रासस

  • मन्त्रीले विदेशीलाई भेट्दा परराष्ट्रको प्रतिनिधि राख्नु पर्ने

    मन्त्रीले विदेशीलाई भेट्दा परराष्ट्रको प्रतिनिधि राख्नु पर्ने

    काठमाडौं । अब मन्त्रीहरुले विदेशी कुटनीतिक नियोगका प्रतिनिधि वा विदेशबाट आएका प्रतिनिधिलाई भेट्दा अनिवार्य परराष्ट्र मन्त्रालयका प्रतिनिधि राख्नु पर्ने भएको छ । बुधबार सिंहदवारमा बसेको मन्त्रिपरिषद्‌को बैठकले मन्त्रीहरुले कूटनीतिक नियोगका प्रतिनिधि र विदेशी प्रतिनिधिहरुलाई भेटेको गुनासो बढेपछि यस्तो निर्णय गरेको हो ।

    कूटनीतिक नियोग तथा विदेशी प्रतिनिधिलाई भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधि अनिवार्य रुपमा राख्नु पर्ने निर्णय गरेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । सरकारका उच्च अधिकारीहरुले विदेशी कूटनीतिक आचारसंहिता २०६८ मा रहेको व्यवस्था अनुसार सो निर्णय भएको बताइएको छ ।

  • रोजगारी खोज्दै ६ महिनामा ४ लाख नेपाली विदेशिए

    रोजगारी खोज्दै ६ महिनामा ४ लाख नेपाली विदेशिए

    काठमाडौं । चालु आर्थिक वर्ष २०७९\८० को पहिलो ६ महिनामा रोजगारीको खोजीमा ४ लाख नेपाली विदेशिएका छन् । पुससम्म तीन लाख ९८ हजार जना श्रम स्वीकृति लिएर कामको खोजीमा विदेशिएको वैदेशिक रोजगार विभागको तथ्यांक छ । जसमध्ये सबैभन्दा धेरै मलेसिया र खाडी (कतार, साउदी, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन, ओमान)लगायत मुलुकमा गएका छन् । यी भेगमा ८० प्रतिशत मानिस पुगेका छन् । पछिल्लो समयमा संस्थागत र व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर १२० देशमा नेपाली पुगेका छन् ।

    श्रम स्वीकृति नलिई जानेको सङ्ख्या पनि हजारौँ छ । अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायतजस्ता मुलुकमा पनि नेपाली काम गर्न गएका छन् । यी मुलुकमा डिपेन्डेन्टका रूपमा काम गर्न जाने धेरै छन् । विभागका अनुसार चालू आर्थिक वर्षको साउनमा ६३ हजार, भदौमा ७६ हजार, असोजमा ५६ हजार, कात्तिक र मङ्सिरमा ६८–६८ हजार र पुसमा ६५ हजारले श्रम स्वीकृति लिएका छन् ।

    सरकारले केही दिनदेखि विराटनगर, जनकपुर, पोखरा, भैरहवा, सुर्खेत र धनगढीबाट वैदेशिक रोजगारीमा जान चाहनेका लागि सम्पूर्ण व्यवस्था गरेको छ । यी स्थानमध्ये केही स्थानबाट सेवा दिन सुरु गरिएको छ भने केही स्थानमा पूर्वाधारका सामान मिलाउने काम भइरहेको विभागले जनाएको छ । आव २०७८–७९ मा छ लाख ३० हजार जनाले श्रम स्वीकृति लिएर विदेशिएकामा चालू आर्थिक वर्षको छ महिनामै करिब चार लाख नेपाली युवा श्रम स्वीकृति लिएर विदेशिएका छन् ।

  • बेलायती शहर साउथ वार्कका मेयर पोखरामा, प्रकृति देखेर दंग

    बेलायती शहर साउथ वार्कका मेयर पोखरामा, प्रकृति देखेर दंग

    पोखरा । संयुक्त अधिराज्य बेलायतको साउथ वार्कका मेयर सुनील चोपरा नेपाल भ्रमणमा छन् । उनी बुधबार पोखरा पुगे । बुधबार उनलाई पोखरा महानगरपालिका वडा १३ मा वडाध्यक्ष किरण बरालसहितका जनप्रतिनिधिले उनलाई स्वागत गरे । त्यसपछि आयोजना भएको छलफलमा उनीहरुले अनुभव आदान–प्रदान तथा विकासका कामबारे कुराकानी गरे । मेयर चोपराले पोखराको सुन्दरताले आफूलाई मोहित बनाएको र योजनावद्ध विकास गर्ने हो भने यो सहर विश्वकै सुन्दर बन्ने बताए । उनले पोखरा देखेर रोमाञ्चित भएको पनि बताए ।

    वडाध्यक्ष बरालले महानगर तथा वडाले प्राथमिकताका साथ गरिरहेको कामबारे जानकारी गराएका थिए । उनीहरुबीच दुई स्थानीय तहबीच सम्बन्ध जोड्ने विषयमा पनि छलफल भएको छ । चोपराले आपसी भाइचारा कायम गर्न र यहाँको विकासमा सहयोग गर्न तयार रहेको बताएका थिए । पोखरा घुम्न आएका मेयर चोपराले विभिन्न पर्यटकीय ठाउँको भ्रमण गरिरहेका छन् । चोपराले बिहीबार बेलायतका राजकुमार चार्ल्स हिँडेको पोखरा–२६ को रुटमा पदयात्राका लागि जाँदैछन् ।

  • क्रोएसिया हिँडेका २१ जना त्रिभुवन विमानस्थलबाट पक्राउ

    क्रोएसिया हिँडेका २१ जना त्रिभुवन विमानस्थलबाट पक्राउ

    काठमाडौं । क्रोएसिया जान लागेका २१ जनालाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । राजकुमार लिम्बु, रोहित रायमाझी, गोविन्द राना लगायत २१ जना पक्राउ परेको बताइएको छ । प्रहरीका अनुसार दुबई हुँदै क्रोएसिया जान लागेका उनीहरुको साथबाट जनही २ हजार देखि ३ हजार युरो बरामद भएको छ । तर, राहदानीमा त्यति रकम दरपिट भएको थिएन ।

    सोधपुछका क्रममा पदमबहादुर विश्वकर्माले पठाएको बयान दिएपछि प्रहरीले उनलाई पनि विमानस्थलको गेट बाहिर पक्राउ गरेको छ । उनको साथबाट १ लाख २० हजार रुपैयाँ बरामद भएको छ। थप अनुसन्धान र कानुनी कारबाहीका लागि उनीहरुलाई राजश्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ ।

  • गैरआवासीय नेपाली संघले भेट्यो अर्थमन्त्री, के भयो छलफल ?

    गैरआवासीय नेपाली संघले भेट्यो अर्थमन्त्री, के भयो छलफल ?

    काठमाडौं । गैरआवासीय नेपाली संघले १० अर्ब बराबरको एनआरएन नेपाल डेभलपमेन्ट फन्ड कम्पनी कार्यान्वयनमा ल्याउन रहेका अप्ठ्यारा फुकाउन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल समक्ष माग गरेको छ । एनआरएनएका अध्यक्ष त्रयसहितको प्रतिनिधिमण्डलले पौडेललाई मंगलबार भेटेको हो । संघका अध्यक्षहरुले लामो समयदेखि संघले उठाउँदै आएका माग सम्बोधन गर्न आग्रह गरे ।

    गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रविना थापाले विदेशमा रहेका लाखौं नेपालीहरु नेपालमा लगानीका लागि उत्साहित भएपनि विभिन्न कानूनी र नीतिगत कठिनाईका कारण समस्या परेकोले त्यस्ता कठिनाई हटाउन आग्रह गरिन् । अध्यक्ष थापाले विदेशमा रहेका नेपालीलाईविना कुनै उल्झन लगानी गर्न पाउने वातावरण निर्माण गर्न अर्थमन्त्री समक्ष आग्रह गरिन् ।

    संघका अर्का अध्यक्ष डा। बद्री केसीले गैरआवासीय नेपालीहरुको लगानी अभिवृद्धि गर्न नेपाली नागरिक सरह लगानीको व्यवस्था गर्नुपर्नेमा जोड दिए । अध्यक्ष केसीले नेपाल सरकारको समन्वय, सहकार्य तथा लगानीसहित नेपालभित्र १० अर्ब बराबरको एनआरएन नेपाल डेभलपमेन्ट फन्ड लिमिटेड कम्पनी कार्यान्वयनमा ल्याउन विद्यमान समस्याबारे जानकारी गराएका थिए ।

    केसीले कम्पनीको कार्यक्षेत्र तथा एनआरएनले लगानी भित्राउन धितोपत्र सम्बन्धी नियम, लगानीको स्वीकृति विधि, लगानीको लेखाङकन विधि, लगानीको प्रतिफल फिर्ता विधि तथा धितोपत्रको कारोबार विधि लगायतको निर्माण तथा संशोधन गरी तुरुन्त काम अगाडि बढाउन अर्थमन्त्रीसमक्ष माग गरे ।

    अर्का अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकताको विषयलाई तत्काल टुंगो लगाउन आग्रह गरे । अध्यक्ष केसीले डलर खाता सञ्चालनमा देखा परेका प्राविधिक समस्या समाधान गर्न, ‘एनआरएन नेपाल डेभलपमेन्ट फन्ड’लाई अघि बढाउन देखा परेका कानूनी र व्यवहारिक कठिनाइ समाधानका लागि अन्तरमन्त्रालयगत समन्वय गरेर समस्या सम्बोधन गरिदिन आग्रह गरे ।


    जवाफमा अर्थमन्त्री पौडेलले गैरआवासीय नेपाली संघका प्रतिनिधिसहितको एउटा छुट्टै संयन्त्र बनाएर यथाशक्य छिटो समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका संघले जनाएको छ । गैरआवासीय नेपालीले नेपालमा गरिरहेको लगानीप्रति नेपाल सरकार जानकार रहेको भन्दै आगामी दिनमा पनि लगानीका लागि मार्ग प्रशस्त गर्न आफू प्रतिबद्ध रहेको अर्थमन्त्री पौडेलले बताए ।

  • डा. सन्दुक रुइतले पाए १३ करोड रुपैयाँ राशीको इशा अवार्ड

    डा. सन्दुक रुइतले पाए १३ करोड रुपैयाँ राशीको इशा अवार्ड

    काठमाडौं । डा. सन्दुक रुइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड पिाएका छन् । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित इसा अवार्डको मानवीय सेवातर्फको विधामा उनलाई सम्मान गर्न लागिएको हो । डा. रुइतले स्वर्ण पदकसहित १० लाख डलर अर्थात १३ करोड नेपाली रुपैयाँ भन्दा बढी हात पार्ने छन् ।

    मानवीय सेवा तर्फको इसा अवार्ड घोषणा गर्दै बहराइनका राजाका विशेष प्रतिनिधि र बोर्ड अफ ट्रस्टीजका अध्यक्ष शेख मोहम्मद बिन मुबारक अल खलिफाले भने, ‘नेपाली नेत्र रोग विशेषज्ञ डा। सन्दुक रुइतलाई समुदायमा गरेको सेवा र उपलब्धिको लागि सम्मान गर्ने निर्णय गरेका छौं ।’

    इसा अवार्डका महासचिव अली अब्दुल्लाह खलिफाले मोतियाबिन्दुको उपचारमा सरल विधिको विकास गरेकाले उनको योगदानको सम्मान गरिएको बताए । ‘उनले हजारौं मानिसहरूको दृष्टि बचाउन सफल भए, उनी नभएको भए उनीहरु सधैं दृष्टि बिहीन हुने थिए ।’

    डा. रुइतले विकास गरेको सर्वसुलभ दरको आँखाको लेन्स विश्वका धेरै देशमा पुगेको छ । जसले गर्दा गरिबहरुले पनि दृष्टि पाएका छन् । यस वर्ष यो विधाको पुरस्कारका लागि १३९ मनोनयनमा थिए । अवार्ड आउँदो महिना बहराइनमा विशेष कार्यक्रम गरेर प्रदान गरिने छ । रुइतले यसअघि सन् २००६ मा मलेसियाको रोमन मागासेसे अवार्ड, सन् २००७ मा अर्डर अफ अष्ट्रेलिया र सन् २०१८ मा भो पद्यश्री अवार्ड पाएका छन् ।

  • गैरआवासीय नेपाली संघका प्रतिनिधिसँग प्रधानमन्त्रीको भेट, के दिए सन्देश ?

    गैरआवासीय नेपाली संघका प्रतिनिधिसँग प्रधानमन्त्रीको भेट, के दिए सन्देश ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका लाखौँ नेपालीको मन जित्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमवार गैरआवासीय सङ्घका प्रतिनिधिसँगको छलफलमा उनले भने, ‘विदेशमा लाखौँ नेपाली छन्, मैले मेरो दोस्रो कार्यकालसम्म गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले उठाएका मागहरू सम्बोधनका लागि प्रयास गरेँ र अब मेरो तेस्रो कार्यकाल विदेशमा बस्ने बहुसङ्ख्यक नेपालीको मन जित्छु ।’

    प्रधानमन्त्री प्रचण्डले अघि थपे, ‘नेपालका कतिपय परम्परागत ऐन कानुन छन् जसले म नेपालका लागि केही गर्छु भन्नेलाई पनि बाधा व्यवधान खडा गरेको छ, तपाईँलाई विश्वस्त पार्न चाहन्छु कि म त्यस्ता खालका पर्खाललाई भत्काउनेछु ।’ भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालमा विद्यमान कतिपय कानुनी प्रावधानले सिर्जना गरेका अप्ठ्यारालाई नेपाल सरकारले क्रमशः सच्याउँदै आएको र अबका दिनमा पनि कानुनी उल्झनलाई पन्छाउने प्रयास आफ्नो तर्फबाट जारी रहने बताए ।

    विदेशमा रहेका नेपालीले नेपाल र नेपालीको पहिचान विश्वमाझ पुर्‍याउन ठूलो भूमिका निर्वाह गरेको भन्दै उनले गैरआवासीय नेपालीप्रति आभार व्यक्त गरे । राजनीतिक, आर्थिक, सांस्कृतिक र सामाजिकरूपमा विश्वभर नेपाललाई चिनाउन नेपालीहरू थप संवेदनशील र जिम्मेवार बन्दै गएकोप्रति उनले खुसी व्यक्त गरेका छन् । भेटका क्रममा प्रधानमन्त्री प्रचण्डलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सङ्घका तर्फबाट ज्ञापनपत्र हस्तान्तरण गरिएको थियो ।

  • प्रचण्डले भने : मेरो भारत भ्रमण छिट्टै हुन्छ

    प्रचण्डले भने : मेरो भारत भ्रमण छिट्टै हुन्छ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण छिट्टै हुने बताएका छन् । शनिबार सरकारी निवास बालुवाटारमा सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा उनले आफ्नो भारत भ्रमण छिट्टै हुने र दूतावासले त्यसको तयारी गरिरहेको जानकारी दिए । उनले पहिलो विदेश भ्रमण भारतबाट गर्ने संकेत समेत गरेका छन् ।

  • नयाँ चिनियाँ राजदुतले बुझाए ओहदाको प्रमाणपत्र

    नयाँ चिनियाँ राजदुतले बुझाए ओहदाको प्रमाणपत्र

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका लागि चिनियाँ राजदूत छन् सोङबाट ओहोदा प्रमाणपत्र ग्रहण गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा चिनियाँ राजदूत छन्‌ले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

    राजदूतले राष्ट्र प्रमुखलाई ओहोदो प्रमाणपत्र बुझाएपछि औपचारिकरुपमा जिम्मेवारी सुरु हुन्छ । चिनियाँ राजदूत छन् जिम्मेवारी सम्हाल्न गत आइतबार नेपाल आएका थिए । उनले नेपाल चीनबीच रणनीतिक साझेदारीको नयाँ अध्याय सुरु गर्ने बताएका थिए ।

    छन् यसअघि चीनको विदेश मन्त्रालयको एसिया मामिला विभागका उपमहानिर्देशकको रुपमा कार्यरत थिए । नेपालका लागि निवर्तमान चिनियाँ राजदूत होउ यान्छी दुई महिनाअघि फर्किएपछि राजदूतका रुपमा छन् आएका हुन् । नयाँ राजदूत छन् नेपालसहित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अन्तर्गतका मुलुकहरूलाई नजिकबाट नियालिरहेका कूटनीतिज्ञसमेत हुन् ।