Category: डायस्पोरा

  • अमेरिकी विदेश मन्त्रालयमा नेपालले बाघ संरक्षणमा गरेको कामबारे चर्चा

    अमेरिकी विदेश मन्त्रालयमा नेपालले बाघ संरक्षणमा गरेको कामबारे चर्चा

    काठमाडौं । अमेरिकाको विदेश मन्त्रालयमा बाघ संरक्षणमा नेपालले गरेका कामबारे चर्चा भएको छ । वन तथा वातावरण मन्त्रालयबाट भएको सचिवस्तरीय भ्रमणमा नेपालले बाघ संरक्षणमा गरेका अन्तर्राष्ट्रिय प्रतिबद्धता र कामको बारेमा छलफल भएको सचिव प्रेमनारायण कँडेललाई उदृत गदै स्थानीय संचारमाध्यमले जनाएका छन् ।

    सचिव कँडेल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेल र राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरद अधिकारीसहितको टोलीसँग बिहीबार उपसहायक विदेशमन्त्री केली केईडेर्लिङ र कार्यकारी सहायक विदेशमन्त्री जोन ई थम्पसनले बाघ संरक्षणको बारेमा नेपालले गरिरहेको कामको प्रशंसा गरेका थिए ।

    भेटमा नेपाली प्रतिनिमण्डल टोलीले प्रतिबद्धता अनुसार नेपालले बाघको संख्या दोब्बर बनाउने उद्देश्य नजिक रहेको बताएको थियो । उक्त भेटमा अमेरिकी अधिकारीहरुले एमसीसीको बारेमा समेत चर्चा गरेका थिए । एमसीसी वन क्षेत्र, जैविक विविधता, जलवायु परिवर्तन, वातावरणसँग पनि सम्बन्धित भएको उल्लेख गरेका थिए । एमसीसी परियोजनाले नेपालको ऊर्जा तथा क्लिन इनर्जीको क्षेत्रमा पनि सहयोग गर्ने अमेरिकी अधिकारीहरुले बताएको एनटीएनसीका सदस्य सचिव शरद अधिकारीले बताए ।

    जलवायु परिवर्तन र जैविक विविधता सम्बन्धी विविध सहयोग नेपाललाई आवश्यक पर्ने भन्दै अमेरिकी अधिकारीहरु सकरात्मक भएको सचिव कँडेलको भनाइ थियो । भेटमा अन्तर्राष्ट्रिय स्तरमा नेपालले जलवायु परिवर्तनको विषयमा गरेका प्रतिबद्धताको बारेमा प्रशंसा गरेका थिए । नेपाली प्रतिनिधिमण्डल टोलीले जोन ई थम्पसनलाई बाघको प्रतिमा दिँदै संरक्षण गर्न आग्रह गरेको थियो ।

  • प्रधानमन्त्री बनारस पुगेर आजै काठमाडौं फर्कने

    प्रधानमन्त्री बनारस पुगेर आजै काठमाडौं फर्कने

    काठमाडौं । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको आज भारतमा अन्तिम दिनका कार्यक्रम हुँदैछन् । उनी आजै स्वदेश फर्किंने कार्यक्रम छ । काठमाडौं फर्किनुअघि उनी आज उत्तर प्रदेशको बनारस जाने छन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवा आज बिहान नौ बजे नयाँदिल्लीबाट बनारस प्रस्थान गर्ने छन् ।

    उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री देउवालाई स्वागत गर्नेछन् । बनारसमा प्रधानमन्त्री देउवाले विश्वनाथ र पशुपतिनाथ मन्दिरको दर्शन गर्ने भएका छन् । साथै मूख्यमन्त्री योगीसँग भेटवार्ता समेत हुने छ । प्रधानमन्त्री देउवा बनारसबाट चार बजे नयाँदिल्ली आइपुग्ने र सवा चार बजे काठमाडौंका लागि प्रस्थान गर्नेछन् ।

  • भारतसँग नेपालले माग्यो तीन हवाई रुट

    भारतसँग नेपालले माग्यो तीन हवाई रुट

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदी समक्ष थप तीन वटा हवाई रुट उपलब्ध गराउन आग्रह गरेका छन् । पधानमन्त्री देउवाले महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट थप हवाई रुट उपलब्ध गराउन माग गरेका छन् । नयाँदिल्लीको हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उनले यस्तो जानकारी गराएका हुन् ।

    भारतीय समकक्षी मोदीसँगको भेटवार्ता सो विषयमा छलफल भएको जानकारी गराउँदै उनले महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट थप हवाई रुट माग गरेका हुन् । त्यस्तै, भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनका लागि सहयोगका लागि पनि प्रधानमन्त्री देउवाले आग्रह गरेका छन् ।

  • प्रधानमन्त्री देउवाले मोदी समक्ष उठाए सीमा विवादको सवाल

    प्रधानमन्त्री देउवाले मोदी समक्ष उठाए सीमा विवादको सवाल

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादबारे सवाल उठाएका छन् । उनले भेटमा सीमा समस्याबारे छलफल भएको बताएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र मोदीबीच हैदराबाद हाउसमा शनिबार भेटवार्ता भएको थियो । लगत्तै प्रतिनिधिमण्डलस्तरमा छलफल हुनुका साथै चार समझदारीमा हस्ताक्षर भएको छ । लगत्तै आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै देउवाले भने, ‘हामीले सीमा समस्याबारे छलफल गरेका छौं । र, मैले यसलाई द्विपक्षीय संयन्त्रहरुमार्फत समाधान गर्न प्रस्ताव गरेको छु ।’

    प्रधानमन्त्री देउवाले नेपालका लागि भारतसँगको सम्बन्ध महत्वपूर्ण रहेको भन्दै भारतले पछिल्लो समय हासिल गर्को व्यापक आर्थिक रुपान्तरणको फाइदा लिन नेपाल आतुर रहेको बताए । भारतसँग चाँदनी र दोधरामा एकीकृत भन्सार जाँच चौकी तथा सुख्खा बन्दरगाह बनाउने र नेपालगञ्जको एकीकृत भन्सार जाँच चौकी पूरा गर्ने विषयमा कुराकानी भएको पनि उनले उल्लेख गरे । प्रधानमन्त्री देउवाले मोदीसँगको कुराकानीमा महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट एयर इन्ट्री रुट माग गरेको पनि बताए ।

    त्यस्तै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन सहज बनाउन पनि भारतलाई आग्रह गरेको देउवाले बताए । प्रधानमन्त्री देउवाले नेपालको विद्युत उत्पादन र निर्यातका लागि दुई देशबीचको ऊर्जा निर्यातमा दुई देशबीच उच्चस्तरको सहकार्य आवश्यक भएको बताएका छन् । उनले द्विपक्षीय छलफलमा ऊर्जा निर्यात सहकार्यलाई महत्व दिएको पनि बताए । दुईपक्षीय छलफलमा जलविद्युत उत्पादन प्रशारण र अन्तरदेशीय व्यापारका लागि समझदारी भएको पनि बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको विजुली किन्न आग्रह पनि गरेका छन् ।

  • प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट, भाजपाको कार्यालयमा पनि स्वागत

    प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट, भाजपाको कार्यालयमा पनि स्वागत

    नयाँ दिल्ली । तीनदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । आजै प्रधानमन्त्री देउवालाई भारतीय जनता पार्टीको मूख्यालयमा समेत स्वागत गरिएको छ । नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा रहेका प्रधानमन्त्री देउवा र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता भएको हो । भेटमा दुइ पक्षीय हितका विषयमा कुरा भएको बताइएको छ । प्रधानमन्त्री देउवाले शनिबार समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । देउवा शुक्रबार अपरान्ह दिल्ली प्रस्थान गरेका हुन् ।

  • वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण पारदर्शी बनाउने श्रम मन्त्रीको घोषणा

    वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण पारदर्शी बनाउने श्रम मन्त्रीको घोषणा

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था पारदर्शी र व्यवस्थित गराइने बताएका छन् । स्वास्थ्य परीक्षण गर्ने संस्थासँग मन्त्रालयले बिहीबार आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले स्वास्थ्य संस्थाको सूचीकरण, नवीकरण र अनुगमन तथा निरीक्षणसम्बन्धी कार्यलाई प्रभावकारी, पारदर्शी, नियमित र व्यवस्थित गरिने बताएका हुन् । उनले विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य र सुरक्षाप्रति सरकार गम्भीर रहेको भन्दै सरकारले तोकेको मापदण्ड नपुगेका स्वास्थ्य संस्थामार्फत रिपोर्ट बनाउने प्रवृत्ति अन्त्य गरिने उल्लेख गरे ।

    श्रममन्त्री श्रेष्ठले वैदेशिक रोजगारीका लागि जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न निर्धारण गरिएको रकम समयानुकूल समायोजनका लागि मन्त्रालय तयार रहेको उल्लेख गरे । मन्त्रालयका सचिव एकनारायण अर्यालले गन्तव्य मुलुकमा गइसकेपछि श्रमिकलाई निम्तनसक्ने स्वास्थ्य समस्याबाट बच्न नयाँ मापदण्ड बनाएर कडाइका साथ अनुगमन गर्ने मन्त्रालयको योजना रहेको बताए । मन्त्रालयका सहसचिव राजीव पोखरेलले श्रमिकको स्वास्थ्य परीक्षणसम्बन्धी नीतिगत, संवैधानिक तथा कानुनी व्यवस्था, स्वास्थ्य संस्थाको मापदण्ड र सरोकारवाला निकायको भूमिकासम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाका प्रतिनिधि तथा सरोकारवालाले यस क्षेत्रका चुनौती तथा समाधानका उपायबारे बताएका थिए । प्रयोगशाला, रेडियोलोजी र स्वास्थ्य परीक्षण कक्षमा हुनुपर्ने आवश्यक औजार तथा उपकरण अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाउनुपर्ने सरोकारवालाको भनाइ छ । वैदेशिक रोजगार ऐन २०६४ ले जुनसुकै मुलुकमा जाने श्रमिकलाई स्वास्थ्य परीक्षण अनिवार्य गरेको छ । मन्त्रालयले स्वास्थ्य संस्थाको सूचीकरण, नवीकरण र अनुगमन तथा निरीक्षणसम्बन्धी काम गर्दै आएको छ ।

  • आज प्रधानमन्त्री भारत भ्रमणमा जाँदै, यस्तो छ भ्रमण तालीका

    आज प्रधानमन्त्री भारत भ्रमणमा जाँदै, यस्तो छ भ्रमण तालीका

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणमा शुक्रबार भारत जाँदै छन् । उनको साथमा कुल चार मन्त्रीसहित ५० सदस्यीय प्रतिनिधि मण्डल रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल एयरलाइन्सको जहाजबाट उनी भारतीय समय अनुसार दिउँसो २ः४५ बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । उनी विमानस्थलबाट चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा पुग्ने कार्यक्रम छ ।

    देउवा यसै होटेलमा बस्नेछन् । देउवाको पहिलो भेट भारतीय विदेशमन्त्री एस जयशंकरसँग हुने छ । विदेशमन्त्री जयशंकर देउवालाई भेट्न अपराह्न साढे चार बजे मौर्य होटलमा पुग्ने छन् । त्यसपछि देउवा पाँच बजे सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय कार्यालयमा पुग्ने तालीका छ । भाजपाका नेताहरुको स्वागतपछि देउवा नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा पुग्नेछन् । दूतावासले प्रधानमन्त्रीको सम्मानमा आयोजना गरेको रात्रिभोजमा देउवा सहभागी हुनेछन् ।

    शनिबारको बिहान १०ः४० बजे देउवा महात्मा गान्धीको समाधीस्थल राजघाट पुग्ने छन् । त्यहाँ पुष्पुच्छा अर्पण गरेपछि औपचारिक कार्यक्रममा सहभागी हुन देउवा हैदरावाद हाउस पुग्ने छन् । हैदरावाद हाउसमा समकक्षी नरेन्द्र मोदीसँग छुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । हैदरावाद हाउसमै नेपाली र भारतीय प्रतिनिधिमण्डलस्तरीय छुट्टै वार्ता पनि हुने छ ।

    शनिबार दिउँसो सवा १२ बजे जनकपुर–जयनगर रेल सेवा र सोलु करिडोर विद्युत प्रसारण लाइनको दुवै देशका प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट उदघाटन गर्ने कार्यक्रम छ । त्यसैगरी भारतको सहयोगमा निर्माण गरिएका १३२ वटा स्वास्थ्य चौकी भवन पनि नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम छ । संयुक्त पत्रकार सम्मेलनमा सहभागी भएपछि देउवाले अपराह्न साढे ४ बजे भारतका राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने छन् ।

    शनिबारसाँझ होटलमा भारतका उद्योगी व्यवसायीका प्रतिनिधिहरुले देउवालाई भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ । आइतबार बिहान ९ बजे विशेष जहाजमार्फत् बनारस जाने छन् । बनारसमा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले देउवालाई स्वागत गर्ने छन् । बनारसमा रहँदा देउवाले काशी विश्वनाथ मन्दिर र त्यहाँ रहेको पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेछन् । बनारसबाट अपराह्न चार बजे देउवा पुनः दिल्ली जाने र स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।

  • बधाई थाप्न एनआरएनएको टीम पुग्यो प्रचण्ड निवास

    बधाई थाप्न एनआरएनएको टीम पुग्यो प्रचण्ड निवास

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारी बधाई ग्रहण गर्न मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेका छन् । प्रचण्ड निवास खुमलटार पुगेका नवनिर्वाचित पदाधिकारीलाई उनले बधाइ तथा कार्यकालको शुभकामना व्यक्त गरे । प्रचण्डको निजी सचिवालयका अनुसार प्रचण्डले आफ्नो निवासमा आएका समूहतर्फ नै बहुमत संस्थापक भएकाले आधिकारिकता पाउने समेत दावी गरे ।अप्ठयारोमा पनि नेतृत्व क्षमता देखाएको भन्दै प्रचण्डले उनीहरुको प्रसंसा गरेका छन् ।

    ‘यो एनआएनएको होइन, यो नेपाली जनताको एकतालाई तपाईहरुले दिएको सन्देश हो,’ उनले भने, ‘अप्ठ्यारोको बीचबाट पनि नेपालीहरुले बाटो पहिल्याउन सक्छन् भन्ने एकता र क्षमताको सन्देश छ यसमा । नेपालीहरुले अप्ठ्यारोको बीचमा पनि नेतृत्व क्षमता राख्छन् भन्ने सन्देश यसमा छ ।’ भेटका अवसरमा चैतको १२ र १३ गते सम्पन्न विश्व सम्मलेलनले लिएका प्रतिवद्धताबारे पनि छलफल भएको प्रचण्डको सचिवालयले उल्लेख गरेको छ ।

  • परराष्ट्र मन्त्री खड्का कोलम्बोमा

    परराष्ट्र मन्त्री खड्का कोलम्बोमा

    काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक)को सम्मेलनमा सहभागी हुन परराष्ट्र मन्त्री नारायण खड्का श्रीलंकाको राजधानी कोलोम्बो पुगेका छन्। मन्त्री खड्का मंगलबार हुने बिमस्टेकका परराष्ट्र मन्त्रीस्तरीय बैठकमा सहभागी हुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । बैठकमा श्रीलंकासहित बंगलादेश, भारत, भुटान, नेपाल र थाइल्यान्डका मन्त्रीहरू सहभागी छन् । म्यानमारका विदेश मन्त्री भर्चुअल रूपमा सहभागी हुने बताइएको छ । सोमबार कोलोम्बोमा बिमस्टेक उच्च अधिकारीहरूको बैठक भएको थियो।

    उक्त बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव घनश्याम भण्डारीले गरे । श्रीलंकामा बुधबार बिमस्टेकको पाँचौं शिखर सम्मेलन हुँदैछ। राष्ट्रपति गोटवाया राजापाक्षेले अध्यक्षता गर्ने शिखर सम्मेलनमा सदस्य राष्ट्रका सरकार र राष्ट्रप्रमुख भर्चुअल्ली सहभागी हुने भएका छन् । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शिखर सम्मेलनमा भिडियोका माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम छ।

  • नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपाल टर्की प्रस्थान, के छ कार्यक्रम ?

    नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपाल टर्की प्रस्थान, के छ कार्यक्रम ?

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल टर्की प्रस्थान गरेका छन्। टर्कीको अंकारामा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी सोमबार बेलुकी १० बजे त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ। अध्यक्ष नेपाल टर्किस एअरलाइन्सको जहाजमार्फत् इस्तानाबुल हुँदै अंकरातर्फ प्रस्थान गरेको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी गराएका छन् । मार्च २९ देखि ३१ सम्म आयोजना हुने इकोक्लाइमेट सम्मेलनमा अध्यक्ष नेपालले सम्बोधन गर्नेछन् । अध्यक्ष नेपाल चैत १९ गते स्वदेश फर्कने कार्यक्रम छ।

  • नेपाल र दक्षिण सुडानबीच कूटनीतिक सम्बन्ध स्थापना

    नेपाल र दक्षिण सुडानबीच कूटनीतिक सम्बन्ध स्थापना

    काठमाडौं (रासस) । नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार भएको छ । नेपाल र गणतन्त्र दक्षिण सुडानबीच कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम भएका देशको संख्या १७५ पुगेको हो । द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा संयुक्त राष्ट्रसंघका लागि नेपालका राजदूत अमृतबहादुर राई र उक्त विश्व संस्थाका लागि गणतन्त्र दक्षिण सुडानका राजदूत अकुएई बोना मालवालले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा सोमबार आयोजित संक्षिप्त समारोहमा हस्ताक्षर गरे ।

    दुवै राजदूतले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाबारे जानकारी गराउने संयुक्त पत्रमा पनि हस्ताक्षर गरेको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

    त्यस अवसरमा दुवै राजदूतले राष्ट्रिय तथा बहुपक्षीय परिवेशमा विशेषगरी संयुक्त राष्ट्रसंघका मञ्चहरूमा दुई देशको आपसी हितका लागि द्विपक्षीय सहयोगलाई सुदृढ पार्न साझा हितका विभिन्न विषयमा विचार आदान–प्रदान गरेका थिए । उनीहरूले दक्षिण सुडानको चलिरहेको शान्ति प्रक्रियाको सन्दर्भमा द्वन्द्वबाट शान्तितर्फको सङ्क्रमणकाललाई कसरी सफल बनाउन सकिन्छ भन्नेबारे पनि छलफल गरेका थिए ।

    राजदूत राईले दक्षिण सुडानमा शान्ति स्थापना गर्न स्वदेशमा भएको शान्ति प्रक्रियामा आफ्नो अनुभव साझा गर्न नेपाल इच्छुक रहेको बताएका थिए । नेपालले दक्षिण सुडानमा संयुक्त राष्ट्रसंघीय शान्ति कार्यका लागि एक हजार ८०० नेपाली शान्ति सैनिक तैनाथ गरी दक्षिण सुडानको शान्ति र स्थायित्वका लागि योगदान पुर्याउँदै आएको छ ।

    पूर्वी–मध्य अफ्रिकामा अवस्थित दक्षिण सुडान ९ जुलाई २०११ मा सुडानबाट स्वतन्त्र भएको हो । नेपाल र दक्षिण सुडान दुवै अल्पविकसित देशहरूको समूह, भूपरिवेष्टित विकासशील देशहरूका साथै समूह ७७ र चीनका सदस्य हुन् । दक्षिण सुडान १४ जुलाई २०११ मा संयुक्त राष्ट्रसंघको १९३औं सदस्यका रूपमा सामेल भएको उक्त विश्व संगठनको कान्छो सदस्य देश हो ।

  • एनआरएनएका पूर्वअध्यक्ष भट्टले घोषणा गरे नेपालकै सर्वाधिक राशीको पुरस्कार

    एनआरएनएका पूर्वअध्यक्ष भट्टले घोषणा गरे नेपालकै सर्वाधिक राशीको पुरस्कार

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र बिबी फाउन्डेसनको संयुक्त पहलमा एक करोडको पुरस्कार घोषणा भएको छ । यो नेपालकै सबैभन्दा ठूलो राशी भएको पुरस्कार हो । यसै वर्षबाट प्रदान गर्न थालिएको यो पुरस्कार महावीर पुन तथा राष्ट्रिय अविष्कार केन्द्रलाई प्रदान गरिने घोषणा गरिएको छ। नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्‍याएको योगदानको कदरस्वरूप संघ तथा बिबी फाउन्डेसनद्वारा संयुक्त रूपमा एक करोडको ‘भवन कीर्ति रत्न’ पुरस्कार प्रदान गरिएको हो।

    बिबी फाउण्डेसनका अध्यक्ष एवं गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले एनआरएनको १०औं सम्मेलनका अवसरमा उक्त पुरस्कारको घोषणा गरेका हुन्। ‘भवन कीर्ति रत्न’ पुरस्कार हरेक दुई(दुई वर्षमा प्रदान गरिने छ। धन भएर मात्र हुँदैन त्यसभित्र ठूलो मन पनि हुनुपर्छ भन्दै एनआरएनका पूर्वअध्यक्ष भवन भट्टले एनआरएनको उदघाटन अवसरमा मुलुकको सेवामा समर्पीत व्यक्तित्वलाई सहयोग गर्नु सबै नेपालीको कर्तव्यसमेत भएको बताए।

    केही समयदेखि ओशोको भक्तिभावमा फरक शैलीमा देखिएका भवनको आध्यात्मिक नाम स्वामी आनन्ददेव पनि हो। गैरअवासीय नेपाली संघको अभिभावकत्वमा पुरस्कारको कार्यविधि बनाएर बिबी फाउण्डेसनले नेपाल तथा नेपालीका लागि योगदान गर्ने नेपाली वा गैरआवासीय नेपाली व्यक्ति वा संस्थालाई गैरआवासीय नेपाली संघको सम्मेलनको अवसरमा प्रदान गरिने बिबी फाउण्डेसनले जनाएको छ।

  • आज पनि भेटघाटमा व्यस्त रहनेछन् चिनियाँ विदेशमन्त्री, आजै स्वदेश फर्कने

    आज पनि भेटघाटमा व्यस्त रहनेछन् चिनियाँ विदेशमन्त्री, आजै स्वदेश फर्कने

    काठमाडौं । तीन दिने नेपाल भ्रमणका क्रममा अन्तिम दिन चिनियाँ विदेशमन्त्री वाङ यीको दैनिकी आज पनि व्यस्त रहनेछ । उनले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । मन्त्री वाङले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले आजै प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्नेछन् ।

    उनी आजै दिउँसो बेइजिङ प्रस्थान गर्नेछन् । विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा नेपाल र चीनबीच केरुङ–काठमाण्डौ रेलवेको विस्तृत सम्भाव्यता अध्ययनदेखि, कोभिड विरुद्धको खोप अनुदान र नेपालको आर्थिक विकासमा चिनियाँ अनुदान बढाउनेसम्मका ९ विषयमा सहमति भएको छ ।

  • चिनियाँ विदेशमन्त्री आज दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त रहने

    चिनियाँ विदेशमन्त्री आज दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त रहने

    काठमाडौं । शुक्रबार नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ यी आज भने दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त रहने भएका छन् । उनी तीन दिने भ्रमणका लागि विदेशमन्त्री शुक्रबार भारतको राजधानी नयाँदिल्लीबाट नेपाल अवतरण गरेका थिए । चिनियाँ विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल डा. दुर्गाबहादुर सुवेदीलगायतले स्वागत गरेका थिए ।

    विदेशमन्त्री वाङ अफगानिस्तान, पाकिस्तान र भारत हुँदै काठमाडौं आएका हुन् । उनि परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा चिनियाँ विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आएका हुन ।

    विमानस्थलबाट उहाँ बत्तीसपुतलीस्थित होटल द्वारिकामा पुगेका थिए । शुक्रबार कुनै औपचारिक कार्यक्रम राखिएन ।शनिबार उनि व्यस्त रहने छन । शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा चीन–नेपाल प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। प्रतिनिधिमण्डलको वार्तापछि दुई देशबीच पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ।

    शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चिनियाँ विदेशमन्त्री वाङको प्रतिनिधिमण्डलले भेटवार्ता गर्ने कार्यक्रम छ। शनिबार साँझ नै परराष्ट्रमन्त्री खड्काले चिनियाँ समकक्षीको सम्मानमा रात्रीभोजको आयोजना गर्नेछन् ।  आइतबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट हुनेछ।

    शनिबार साँझ पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेतासँग शिष्टाचार भेट हुनेछ। विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधि मण्डलसहित आइतबार बेइजिङ प्रस्थान गर्नेछ ।

  • चिनियाँ विदेश मन्त्री तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउदै

    चिनियाँ विदेश मन्त्री तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउदै

    काठमाडौं ।  चीनका विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा शुक्रबार  काठमाडौं अवतरण गर्दैछन् । बिहिवार अफगानिस्तानको काबुलबाट भारत झरेका उनी नयाँ दिल्लीबाट काठमाडौं आउन लागेका हुन् ।

    नेपालमा शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएपछि आउने उनी पहिलो उच्चस्तरीय पाहुना हुन् ।
    परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले बताएको छ । नेपाल बसाइको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री खड्का र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने छन् । उनी आइतबार स्वदेश फर्कने छन् ।

    भेटवार्ताको क्रममा चीनले अघि सारेको पूर्वाधार विकास परियोजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’अन्तर्गत सहयोगका परियोजना कार्यान्वयनका विषयमा केन्द्रित रहेर विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डलसँग नेपालले छलफल गर्ने भएको छ । उनी दोस्रोपटक नेपाल भ्रमणमा आउन लागेका हुन् ।

  • कोरियामा प्रवासी श्रमिकको भिसा एक वर्ष थपिने, नेपाली श्रमिक लाभान्वित

    कोरियामा प्रवासी श्रमिकको भिसा एक वर्ष थपिने, नेपाली श्रमिक लाभान्वित

    काठमाडौं (रासस) । ईपीएसमार्फत दक्षिण कोरिया आई श्रम गरिरहेका नेपालीसहित प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप हुने भएको छ। कोरोना महामारीका कारण कोरियामा प्रवासी श्रमिक भित्र्याउने रोकिएको प्रक्रिया पुनः खाेलिए पनि विभिन्न कारण सहज नभएपछि यही काम गरिरहेका मजदुरको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको हो।

    दक्षिण कोरिया सरकारले यहाँ श्रम गरिरहेकामध्ये सन् २०२२ अप्रिल १३ देखि डिसेम्बर अन्तिमसम्ममा प्रवेशाज्ञा सकिन लागेका नेपालीसहित सम्पूर्ण प्रवासी श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप गरेको हो।

    निर्णयअनुसार ईपीएस प्रक्रियामार्फत दक्षिण कोरिया आई ई–९ प्रवेशाज्ञामा श्रम गरी प्रवेशाज्ञा सकिन लागेकाले एक वर्ष थप प्रवेशाज्ञा पाउने छन्। ​

    ईपीएस नियमानुसार पहिलो कार्यकालमा तीन वर्ष प्रवेशाज्ञा पाउँछन्। तीन वर्षे अवधि समाप्त भएपश्चात् कम्पनी र श्रमिकको सहमतिमा थप एक वर्ष १० महिनासहित चार वर्ष १० महिना बस्न पाउँछन्।

    पहिलो कार्यकाल सकेर अनिवार्य आफ्नो देश फर्किनुपर्छ। पुनः प्रतिबद्ध श्रमिकका रूपमा दोस्रो कार्यकालका लागि कोरिया आएका श्रमिकको समयावधि पनि पहिलो कार्यकालको झैँ हुनेछ।

    हाल एक वर्ष प्रवेशाज्ञा थपिनेमा पहिलो वा दोस्रो जुनसुकै कार्यकालको भए पनि यही अप्रिल १३ देखि डिसेम्बर अन्तिमसम्ममा तीन वर्षे अवधि वा चार वर्ष १० महिना अवधि सकिन लागेका पर्छन्।

    अवधि सकिन लागेकालाई यहाँको इमिग्रेसनले आफैँ एक वर्ष बसाई अवधि थपिदिने छ। जसका लागि केही दिनपछि हाइकोरिया वेबसाइट वा आफ्नो इपीएस आइडीबाट आफ्नो थपिएको अवधिबारे जानकारी लिन सकिनेछ।

    दक्षिण कोरिया सरकारले यसअघि पनि गत वर्ष सन् २०२१ अप्रिलदेखि डिसेम्बरसम्म र सन् २०२२ जनवरीदेखि अप्रिल १२ सम्म प्रवेशाज्ञा अवधि सकिनेका लागि एक वर्ष प्रवेशाज्ञा थपिदिएको थियो।

    पहिल्यै एक वर्ष अवधि थपिनेबाट अप्रिलदेखि जुन अन्तिमसम्म थप अवधिसमेत सकिनेका लागिसमेत ५० दिन थप प्रवेशाज्ञा दिने निर्णय भएको छ।

    यो निर्णयले दक्षिण कोरियामा रहेका प्रवासी मजदुरमध्ये ७७ हजार ९४ को एक वर्ष अवधि थपिएको छ। त्यस्तै एक वर्ष थपिएर पनि सकिन लागेकाको हकमा थपिने ५० दिनको अवधि थप पाउनेमा पाँच हजार ६४४ छन्।

    कोरोनाका कारण थपिएको एक वर्षे प्रवेशाज्ञा पाउनेले अघिल्लो पटकको नियमझैँ यसपटक पनि कम्पनी चित्त नबुझेमा एक पटक कार्यस्थल परिवर्तन गर्न सक्नेछ।

    तीन वर्षे कार्यकालमा तीन पटक र पछि थपिने एक वर्ष १० महिनाको अवधिमा दुई पटक कार्यस्थल परिवर्तन गर्न पाउने भए पनि उक्त अवधिमा कार्यस्थल परिवर्तन गर्न कम्पनी मालिकको अनुमति चाहिने प्रावधान छ तर कोरोनाका कारण एक वर्ष थप अवधिमा भने कम्पनी मालिककले रोक्न नपाउने नियम रहेको प्रवासी मजदुर सङ्घ (एमटियुक)का अध्यक्ष उदय राईले बताए।

    यो निर्णयले कोरिया अझै बसेर श्रम गर्दै कमाउँछु भन्नेका लागि अवसर बन्न पुगेको छ भने नेपाललगायत अन्य देशमा रहेर सम्पूर्ण प्रक्रिया पूरा गरी कोरिया जान पर्खिरहेकामा कोरिया प्रक्रिया विस्तारै हुनेसक्ने अनुमान गरिएको छ ।

  • पाकिस्तानमा रहेका चिनियाँ विदेशमन्त्री वाङ भोली भारत पुग्दै, शुक्रबार नेपालमा

    पाकिस्तानमा रहेका चिनियाँ विदेशमन्त्री वाङ भोली भारत पुग्दै, शुक्रबार नेपालमा

    काठमाडौं । नेपालको तीन दिने औपचारिक भ्रमणमा आउन लागेका चिनियाँ विदेश मन्त्री वाङ यी अहिले पाकिस्तान पुगेका छन् । भारतीय संचारमाध्यमहरुका अनुसार पाकिस्तानमा प्रधानमन्त्री इमरान खानको सरकारविरुद्ध अविश्वासको प्रस्ताव आएको समयमा उनी पाकिस्तान पुगेका छन् । उनी बिहीबार भारत जाने कार्यक्रम रहेको छ । त्यहाँबाट उनी शुक्रबार नेपाल आउने छन् । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा यीले द्वीपक्षीय औपचारिक वार्तासँगै महत्वपूर्ण राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

    यो भ्रमणबारे भारतीय सरकारको तर्फबाट भने कुनै पनि खबर नबाहिरिएको त्यहाँका संचारमाध्यमले बताएका छन् । नयाँदिल्लीमा वाङले भारतीय समकक्षी एस जयशंकरसँग भेट्नेछन् । विदेश मन्त्री वाङ सोमबार पाकिस्तान पुगेका हुन् । विदेश मन्त्री वाङ यी शुक्रबार साँझ काठमाडौं आउने छन् । उनी शनिबार दिनभर व्यस्त रहने छन् । आइतबार स्वदेश फर्कने छन् ।

  • चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणमा शुक्रबार आउँदै

    चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणमा शुक्रबार आउँदै

    काठमाडौं । चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले शुक्रबारबाट नेपालको तीनदिने औपचारिक भ्रमण शुरु गर्ने भएका छन् । उनी परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार उनको भ्रमणको तयारी पुरा भएको छ । भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

    परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षीबीच शनिवार द्विपक्षीय वार्ता हुनेछ । भ्रमणका क्रममा पूर्वप्रधानमन्त्री तथा विपक्षी दलका नेता केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्ने कार्यक्रम रहेको बताइएको छ । यो चीनका तर्फबाट पछिल्लो समय हुन लागेको उच्चस्तरीय भ्रमण हो ।

  • नेपाल र कतारबीच श्रम सम्झौता नविकरण गर्ने सहमति

    नेपाल र कतारबीच श्रम सम्झौता नविकरण गर्ने सहमति

    काठमाडौं । नेपाल र कतारबीच श्रम सम्झौता नवीकरण गर्ने सहमति जुटेको छ । दुई देशबीच कार्यदलस्तरमा छलफल गरी तयार परिने मस्यौदालाई छिट्टै अन्तिम रूप दिने र नेपालमा हस्ताक्षर समारोह आयोजना गर्ने विषयमा दुवै देशका श्रममन्त्रीबीच सहमति भएको हो । कतार भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कतारका श्रममन्त्री डा. अल विन समिख अल मारीबीच सो सहमति भएको हो ।

    भेटमा श्रममन्त्री श्रेष्ठले नेपाल र कतारबीच श्रम सम्झौता नवीकरणका लागि नेपाल सरकारले पठाएको मस्यौदाबारे डा. मारीलाई जानकारी गराएका थिए । श्रेष्ठले डा. मारीलाई हस्ताक्षर समारोहमा उपस्थितिका लागि नेपाल आउन निमन्त्रणा समेत गरेका छन् । गत मङ्सिरमा काठमाडौँमा भएको नेपाल–कतार संयुक्त समितिको चौथो बैठकमा भएका निर्णय कार्यान्वयनबारे पनि सो अवसरमा छलफल भएको थियो ।

    नेपाल–कतार संयुक्त समितिको चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरवलोकन गर्ने सहमति भएको थियो । कतारमा काम गरेर फर्केका नेपालीको आर्थिक सामाजिक पुनः एकीकरणमा सघाउन नेपालले प्रस्ताव गरेको छ । नेपालबाट लैजाने श्रमिकको दक्षता वृद्धिका लागि कतार सरकारले नेपालका सातवटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्न सहयोग गर्ने जनाएको थियो ।

    भेटवार्तामा श्रमिकको सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने, कार्यस्थलमा सुरक्षा, स्वास्थ्य र बीमाको व्यवस्था, सामाजिक सुरक्षामा सहभागितालगायतका विषयमा पनि छलफल भएको जनाइएको छ । मन्त्री मारीले कतारमा आयोजना हुने विश्वकपमा नेपाली श्रमिक ल्याउन इच्छुक रहेको बताए ।

  • गैरआवासीय नेपाली संघको निर्वाचन तत्काल नगर्न उच्च अदालतको आदेश

    गैरआवासीय नेपाली संघको निर्वाचन तत्काल नगर्न उच्च अदालतको आदेश

    काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को चैत १० र ११ गते गर्ने भनिएको चुनावसम्बन्धी काम तत्काल नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको इजलासले सोमवार नेपालको संविधानअनुसार स्वच्छ प्रतिस्पर्धात्मकरूपमा चुनावमा भाग लिन पाउने अधिकारबाट वञ्चित हुने आशङ्का देखिएको उल्लेख गर्दै यस्तो आदेश गरेको छ ।

    अदालतले चैत ९ गते दुवै पक्षलाई बोलाएर छलफल गर्ने तय गरेको छ । यो आदेशसँगै सङ्घको यही चैत १० र ११ गते गर्ने भनिएको चुनाव अदालतको अर्को आदेश नआएसम्मका लागि स्थगित भएको हो । सङ्घको संस्थापन पक्षले एकपक्षीयरूफमा चुनाव गराउन लागको भन्दै चिन्तामणि सापकोटा र उमेशकुमार पुडासैनीले अदालतमा रिट निवेदन दायर गरेका थिए ।

  • परराष्ट्रमन्त्री खड्का श्रीलंका जाने

    परराष्ट्रमन्त्री खड्का श्रीलंका जाने

    काठमाडौं । परराष्ट्र मन्त्री नारायण खड्का १६ चैतमा श्रीलङ्का भ्रमणमा जाने भएका छन् । पाँचौं बिमस्टेक शिखर सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री खड्का श्रीलङ्का जान ल ागेका हुन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले परराष्ट्रमन्त्री खड्का र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालसहित नेपाली प्रतिनिधिमण्डल श्रीलङ्का जाने जानकारी गराएका हुन् ।

    मन्त्रिपरिषद् बैठकले श्रीलंका जाने प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ । बिमस्टेक वडापत्रलगायत दस्तावेजमा नेपालका तर्फबाट हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले जानकारी गराए । प्रवक्ता कार्कीका अनुसार बिमस्टेक बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल रुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

  • चार जना एमाले नेता चीनको बेइजिङ जाँदै, के छ कार्यक्रम ?

    चार जना एमाले नेता चीनको बेइजिङ जाँदै, के छ कार्यक्रम ?

    काठमाडौं । नेकपा एमालेका चार जना नेताहरु आज चीनको बेइजिङ जाँदैछन् । एमाले नेताहरुका अनुसार उपाध्यक्ष विष्णु पौडेलसहित चार जना नेता आज चीनको बेइजिङ जान लागेका हुन् । पौडेलको साथमा नेताहरू काशीनाथ अधिकारी, पुष्प कँडेल, मीना रखाल समेत टोलीमा समावेश छन् । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा पौडेलसहित नेताहरू चीन जान लागेका हुन्।

    उनीहरूले चिनियाँ विदेश विभागका प्रमुखसँग भेटवार्ता गर्ने भएका छन् । पौडेलसहित नेताहरू पाँच दिन चीनमा रहने भएका छन् । नेपालमा चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणको पूर्वसन्ध्यामा हुन लागेको यो भ्रमणलाई चासोका साथ हेरिएको छ । कोरोना भाइरसको महामारीपछि नेपाल र चीन दुबैतर्फबाट उच्चस्तरीय भ्रमण हुन सकेको छैन ।

  • ८ महिनामा १ लाख २५ हजार विदेशीले नेपालको भिसा पाउँदा २११ जना निस्काशित

    ८ महिनामा १ लाख २५ हजार विदेशीले नेपालको भिसा पाउँदा २११ जना निस्काशित

    काठमाडौं । चालु आर्थिक वर्षको ८ महिना (साउनदेखि–फागुन)को अवधिमा नेपाल आउन १ लाख २५ हजार ६५८ जना विदेशी नागरिकले भिसा लिएका छन् । यसमा नेपाली नागरिकता त्याग गरेका गैरआवासीय नेपालीको संख्या समेत समावेश छ । अध्यागमन विभागको तथ्यांक अनुसार यस अवधिमा नेपालले २११ जना विदेशी नागरिकलाई भने निष्कासन गरेको छ । नेपालमा भिसा सकिएपछि पनि बसिरहने र आपराधिक गतिविधिमा संलग्न विदेशी नागरिकलाई निष्कासन गरिन्छ ।

    विभागका अनुसार फागुन महिनामा मात्रै १३ जना विदेशी नागरिक निष्कासनमा परेका छन् । यो अवधिमा कुल १ लाख २५ हजार ६५८ जनालाई भने नेपाल आउन भिसा पाएका छन् । यसमध्ये पर्यटक भिसामा १ लाख १३ हजार ६२७ जना आएका छन् । २ हजार ४ जना विदेशी नागरिक व्यवसायिक भिसामा नेपाल आएका छन् । ६ जनाले नेपाललाई ट्रान्जिट बनाएर आएका छन् । वैवाहिक भिसामा ९४३ जना विदेशी नेपाल आएका छन् ।

    अध्ययन भिसामा भने ८९३ जना विदेशी नेपाल आएको देखिएको छ । आवासीय भिसामा ११, गैरआवासीय भिसामा १२८६, नाता भिसामा ३८०८, कामदार भिसामा १७८१, कुटनीतिक भिसामा ४३६, अफिसियल भिसामा ५३८, प्रेस भिसामा ३ र अन्यमा ३२२ जनाले भिसा पाएको देखिएको छ । फागुन महिनामा मात्र २४ हजार १९८ जनाले नेपाल आउन भिसा पाएको विभागको तथ्यांक छ ।

  • भारतका लागि नेपाली राजदूतमा शर्मा नियुक्त

    भारतका लागि नेपाली राजदूतमा शर्मा नियुक्त

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. शंकरप्रसाद शर्मालाई भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छिन् । संविधानको धारा २८२ बमोजिम राष्ट्रपति भण्डारीले शर्मालाई भारतका लागि आवासीय राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले उल्लेख गरेको छ । सरकारले गत कात्तिक ११ मा सिफारिस गरेका शर्माको संसदीय सुनुवाइ मंसिर २२ मा गरिएको थियो ।

    संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि मंसिर २४ मा परराष्ट्र मन्त्रालयले भारतलाई सहमतिका लागि पत्र पठाएको हो । भारतले तीन महिनापछि सहमति (एग्रिमो) पठाएपछि शर्माको नियुक्ति ढिलो भएको हो । डा. शर्मासँगै सिफारिस भएका ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्री अमेरिकाका लागि यसअघि नै राजदूतमा नियुक्त भई कार्यस्थलमा खटिएका छन् ।

  • नेपाल र सेसेल्सबीच श्रम सम्झौता हुने

    नेपाल र सेसेल्सबीच श्रम सम्झौता हुने

    काठमाडौं । नेपाल र गणतन्त्र सेसेल्सबीच श्रम सम्झौता हुने भएको छ । सेसेल्सको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्यहाँका रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिका फ्यानकोट र आन्तरिक मामिलामन्त्री इरोल फोन्स्कासँग द्विपक्षीय भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपाल र सेसेल्सबीचको द्धिपक्षीय हित र आपसी सम्बन्धबारे छलफल भएको श्रम मन्त्रालयले जनाएको छ ।

    रोजगार तथा सामाजिक मामिलामन्त्री फ्यानकोटसँगको भेटमा एक महिनाभित्र द्विपक्षीय श्रम सम्झौतालाई टुङ्गोमा पुर्याउन संयुक्त कार्यदल गठन गर्ने सहमति भएको छ । वैदेशिक रोजगारीका लागि नेपाली कामदार लैजान गणतन्त्र सेसेल्सबाट यसअघि प्राप्त भएको द्विपक्षीय श्रम सम्झौताको प्रस्तावका लागि मन्त्री श्रेष्ठले धन्यवादसहित सेसेल्ससँग द्विपक्षीय श्रम सम्झौता गर्न नेपाल तयार रहेको बताए । न्यूनतम योग्यता, भाषागत क्षमता, न्यूनतम पारिश्रमिक लगायत सेवा सुविधा, कामदार छनोट र स्वदेश फिर्ती लगायत विषयमा संयुक्त कार्यदलले तयारी गर्नेछ ।

    कार्यदलमा नेपालको तर्फबाट मन्त्रालयका उपसचिव डा. थानेश्वर भुषालले नेतृत्व गरेका छन् । अहिले १२ सय ५० भन्दा धेरै नेपाली सेसेल्समा रोजगारीको क्रममा रहेका छन् । सेसेल्स रहेका धेरै नेपाली अहिले सुरक्षागार्डका रुपमा कार्यरत छन् । यसबाहेक होटल तथा पर्यटन क्षेत्रमा पनि केही श्रमिक कार्यरत छन् । नेपाल र सेसेल्सबीच कुटनीतिक सम्बन्ध स्थापना भएको साढे तीन दशक भइसकेको छ ।

  • तीन दशक अगाडी नेपालबाट हराएका मूर्ति बेलायतमा भेटिए, नेपाललाई हस्तान्तरण

    तीन दशक अगाडी नेपालबाट हराएका मूर्ति बेलायतमा भेटिए, नेपाललाई हस्तान्तरण

    काठमाडौं (रासस) । नेपालबाट १९८० देखि १९९० को दशकमा हराएका प्राचीन मूर्तिमध्येका दुई मूर्ति बेलायत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ। नेपाली दूतावास लण्डनमा शुक्रबार आयोजित एक विशेष समारोहबीच बेलायत प्रहरीका तर्फबाट यहाँस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई उक्त मूर्ति हस्तान्तरण गरेको हो। सोह्रौँ शताब्दीमा काठमा कुँदिएको कलात्मक तोरणको मूर्ति काठमाडौंको हनुमानढोका कुमारी बहालबाट हराएको थियो। यसैगरी १८औँ शताब्दीतिर कुँदिएको घुँडा टेकेर नमस्ते मुद्रामा रहेको ढुङ्गाको मूर्ति काठमाडौँको ओमबहालस्थित मञ्जुश्री मन्दिरबाट हराएको थियो।


    गृह मन्त्रालय र सुरक्षा निकायको सहयोगमा ती मूर्ति तिनका वास्तविक हकदारलाई फिर्ता गर्ने बेलायती सरकारको नीतिअनुसार हराएका मूर्ति पुनःप्राप्त गरी नेपाललाई हस्तान्तरण गरिएको हो। मूर्ति हस्तान्तरण समारोहमा राजदूत आचार्यले बेलायत सरकार तथा प्रहरीलाई नेपाल सरकारको तर्फबाट कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि निरन्तर सहयोगको अपेक्षा रहेको बताए।

    बेलायत प्रहरीका तर्फबाट आफ्नो भनाइ राख्दै डिटेक्टिभ सुपरिटेन्डेन्ट जोन रोचले बरामद गरिएका प्राचीन सामग्री फिर्ता गर्न पाउँदा खुसी लागेको बताए। हस्तान्तरण गरिएका मूर्ति चाँडै नै नेपालको पुरातत्व विभाग पठाउने व्यवस्था मिलाइने राजदूत आचार्यले जानकारी गराएको नियोग उपप्रमुख रोशनी खनालले बताइन्। ग्लास्गो युनिभर्सिटीमा अपराध विज्ञानकी प्राध्यापक डा इमिलिन स्मिथले नेपाललाई सांस्कृतिक वस्तु फिर्ता गर्ने कार्यमा संलग्न हुन पाएकामा गर्व लागेको बताइन्।

  • अमेरिकामा ‘होबो’ भनिने होली कुन देशमा कसरी मनाइन्छ ?

    अमेरिकामा ‘होबो’ भनिने होली कुन देशमा कसरी मनाइन्छ ?

    काठमाडौं (रासस) । फागु पर्व नेपाल, भारतलगायत देशमा पनि मौलिक तरिकाले मनाउने गरिन्छ । जहाँ पानी र अबिरको अधिक प्रयोग गरिन्छ । आज देशभर सरकारले सार्वजनिक बिदा समेत दिएको छ । तराई भेगमा शुक्रबार होली खेलिँदैछ । इटालीमा ‘बेलियाकोनोन्स’ को नामले मनाइने यो पर्वमा एकापसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर खेल्ने गरिन्छ। चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मनाइन्छ। यस पर्वमा नयाँ लुगा र गहना लगाउने गरिन्छ।


    अमेरिकामा ‘होबो’ नामले मनाइने यो पर्वमा मानिस विभिन्न प्रकारका हास्यात्मक वेषभूषा लगाई प्रतियोगिताको आयोजना गरी विजयीलाई पुरस्कार दिइन्छ।
    श्रीलङ्का र इन्डोनेसियामा आगोको पूजा गरेर, म्यान्मा र थाइल्यान्डमा पानीको पूजा गरेर, बौद्ध मन्दिरमा भिक्षुलाई दान दिएर, जापान र इन्डोनेसियामा नयाँ अन्नलाई नाचगानका साथ स्वागत गरेर, चीनको युनानमा डाइनोसियस देवताको पूजा तथा नाचगान गरेर र इजिप्टमा हास्य, विनोद तथा नाचगान गरी यो पर्व मनाइन्छ।

    फरक फरक नाममा मनाइए पनि फागु खेल्ने परम्परा धेरै देशमा भएको पाइन्छ। सबैतिर आपसी सद्भाव एवं सामाजिक एकतालाई प्रवर्द्धन गर्ने मूल उद्देश्यले यो पर्व मनाउने गरिन्छ। नाम फरक भए पनि पर्वको उद्देश्य एकै छ।

  • भिजिट भिसामा आई समस्यामा परेका नेपालीको सहजीकरण गर्न यूएई  सहमत

    भिजिट भिसामा आई समस्यामा परेका नेपालीको सहजीकरण गर्न यूएई सहमत

    काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)ले भिजिट भिसामा पुगेर अलपत्र परेका नेपाली नागरिकको समस्या समाधान गर्न सहमति जनाएको छ । यूएई भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा. अव्दुलरहमान अव्दुलमानन अल अवारबीच मंगलबार भएको भेटवार्तामा यस्तो सहमति भएइको हो । राजधानी आबुधावीस्थित मानव संशाधन मन्त्रालयमा भएको भेटवार्तामा उनीहरूबीच दुई देशको आपसी सम्बन्ध र युएईमा कार्यरत नेपाली श्रमिकको हितका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्रेष्ठले युएई सरकारले हालै जारी गरेको श्रम कानुन आप्रवासी श्रमिकको पक्षमा रहेको भन्दै युएई सरकारको प्रसंशा गरे । भेटवार्ताका क्रममा उनीहरूबीच रोजगारीको प्रलोभनमा भिजिट भिसामा युएई आएर अलपत्र परेका नेपालीको समस्या समाधान गर्ने र दोषीलाई कारवाहीको दायरामा ल्याउन दुई देश मिलेर काम गर्ने सहमति भएको हो । रोजगारीको प्रलोभन देखाइ भिजिट भिसामा युएई ल्याउने गैरकानुनी एजेन्टलाई कारवाहीको दायरामा ल्याउन युएई सरकारले सहयोग गर्नेछ।

    मन्त्री अवारले युएई सरकारले नेपालमा सीप विकास तालिम केन्द्र स्थापना र क्षमता वृद्धिमा लगानी गरी दक्ष जनशक्ती उत्पादनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले नेपाल सरकारले स्थापना गर्न लागेको श्रमिक अस्पताल निर्माणमा पनि युएई सरकारले सहयोग गर्ने बताए। उनीहरूबीच युएईमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र वीमा, पारिश्रमिक वृद्धि लगायतका विषयमा पनि छलफल भएको मन्त्रालयले उल्लेख गरेको छ ।

  • अनुमति नलिई प्याराग्लाइडिङ उडाएका विदेशी नागरिक पक्राउ

    अनुमति नलिई प्याराग्लाइडिङ उडाएका विदेशी नागरिक पक्राउ

    बैतडी । अनुमति नलिई प्याराग्लाइडिङ उडाएका एक विदेशी नागरिक बैतडीमा पक्राउ परेका छन् । राससका अनुसार पक्राउ पर्नेमा अष्ट्रियाका ३२ वर्षीय फिलिप जेल्नर रहेका छन् । प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले दिएको जानकारी अनुसार जेल्नरलाई दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित सुक्खा फलफूल विकास केन्द्रको डाँडाबाट पक्राउ गरिएको हो । उनले कानुन विपरीत जिल्लाको मुस्याचौर क्षेत्र र पुर्चौंडी क्षेत्रमा पाराग्लाइडिङ गर्दै आएका थिए ।


    पाराग्लाइडिङ उडानका लागि अनुमति आवश्यक पर्ने भए पनि उनले विना अनुमति पाराग्लाइडिङ गरेकाले पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । जेल्नरसँग अष्ट्रियामा पाराग्लाइडिङ गर्ने अनुमतिपत्र रहेको छ । तर नेपालका लागि अनुमति नरहेको भारतीले बताए । मार्च ३० तारिखसम्म नेपालमा रहने पर्यटक प्रवेशाज्ञा रहेका उनलाई आवश्यक कारबाहीका लागि मंगलबार नागरिक उड्डयन कार्यालय, धनगढी पठाइएको छ ।

  • श्रममन्त्री श्रेष्ठ यूएईमा, के के छन् कार्यक्रम ?

    श्रममन्त्री श्रेष्ठ यूएईमा, के के छन् कार्यक्रम ?

    यूएई । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ विभिन्न तीन मुलुकको भ्रमणका क्रममा संयुक्त अरब इमिरेट्स यूएई पुगेका छन् । सो मुलुकमा मंगलबार नेपाल र संयुक्त अरब इमिरेट्स यूएईको संयुक्त समिति बैठक बस्दैछ । आबुधाबीमा बस्ने बैठकको उद्घाटन सत्रलाई मन्त्री श्रेष्ठले सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ । कार्यक्रममा यूएईका मानव संसाधन मन्त्री डा. अब्दुलरहमान अब्दुलमानन अल अवारले समेत सम्बोधन गर्नेछन् । उद्घाटन सत्रपछि सुरु हुने प्राविधिक समूहको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्ने कार्यक्रम छ ।

    बैठकमा नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् २०१९ मा भएको श्रम सम्झौता कार्यान्वयनबारे समीक्षा हुनेछ । बैठकमा वैदेशिक रोजगारीका लागि यूएई जाने नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र बीमाको व्यवस्था, सिप विकास, पारिश्रमिक वृद्धि लगायतका विषयमा पनि छलफल हुने मन्त्रालयले जनाएको छ । पर्यटन भिसामा आएर अलपत्र परेका नेपालीको समस्या समाधानबारे पनि छलफल हुने बताइएको छ । मन्त्री श्रेष्ठ नेतृत्वको टोली सोमबार यूएईको राजधानी आबुधाबी पुगेको हो । श्रममन्त्री श्रेष्ठ र यूएईका समकक्षी डा अब्दुलरहमान अब्दुलमानन अल अवारबीच भेटवार्ताको समेत कार्यक्रम छ ।