Category: डायस्पोरा

  • बेलायती राजदूत बेगनास ताल फेरोमा साइकलमा सरर…

    बेलायती राजदूत बेगनास ताल फेरोमा साइकलमा सरर…

    पोखरा । बेलायती राजदूत निकोला पोलिटले पोखरा–३१ स्थित वेगनास फेरोमा साइकल यात्रा गरेकी छिन् । साइकल सिटी पोखराको समन्वय र सुदृढ परियोजनाको आयोजनामा उनले सोमबार बिहान वेगनास फेरोको करिब १० किलोमिटर साइकल यात्रा गरेको राससले लेखेको छ । पोखरा महानगरपालिकाको कार्बन न्युटल डेभलपमेन्ट पथ कार्यक्रममा सहभागी हुन पोखरा आएका उनले कार्यक्रममा सहभागी हुनुपूर्व वेगनास फेरोमा साइकल यात्रा गरेको सृदृढ परियोजना पोखराका संयोजक होमनाथ गैह्रेले जानकारी दिए ।

    उनका अनुसार पोलिटले सोमबार बिहान साइकल सिटीका २० जना सदस्यसँगै लेखनाथका विभिन्न तालको दृश्यावलोकनसहित साइकल यात्रा गरेकी हुन् । पोलिटले आफ्नो साइकल यात्राबारे अनुभव सुनाउँदै भनिन् , ‘सोमबारको बिहान निकै रमाइलो भयो । माछापुच्छ्रेको सुन्दर दृश्य हेर्दै वेगनास वरिपरिको साइकल यात्रा मेरो लागि निकै रोमाञ्चक र अविस्मरणीय बन्यो ।’

    कोभिड–१९ का कारणले विश्वव्यापी रुपमै पर्यटन क्षेत्रमा गम्भीर असर पारेको जनाउँदै उनले अब भिसा प्रोटोकल लुज हुँदै र कोरोना सङ्क्रमण दर घट्दै गएपछि नेपालमा पर्यटकको सङ्ख्या बढ्ने विश्वाससमेत व्यक्त गरिन् । उनले भनिन्, ‘नेपाल भूबनोटले असाध्यै सुन्दर छ, यहाँका मानिसहरूका आत्मीयता निकै लोभलाग्दो छ । कोरोना कम हुँदै गएपछि धेरैको रोजाइको शहर पोखरा बन्ने छ ।’

    उनले नेपालमा धेरै सुन्दर ठाउँहरू रहेको यसको प्रवर्द्धनको आवश्यक रहेको बताइन् । उनले पर्यटकलाई साइकल रुटका बारेमा जानकारी दिन सके र साइकल मैत्री पूर्वाधार बनाउन सके पर्यटन प्रवद्र्धन हुँदै जाने विश्वास व्यक्त गरिन् । सो अवसरमा उनले नेपाल बिट्रिसको कूटनीतिक सम्बन्ध धेरै राम्रो भएको र बेलायतमा नेपाललाई हेर्ने दृष्टिकोण पनि निकै सकारात्मक रहेको बताइन् । उनले बिट्रिसहरूले नेपालका अग्लाअग्ला पहाड हेर्न र हिमाल आरोहण गर्न निकै मन पराउने गरेको बताइन् ।

  • कोरियाले श्रमिक लैजान लगायो रोक, नेपाली पनि प्रभावित

    कोरियाले श्रमिक लैजान लगायो रोक, नेपाली पनि प्रभावित

    काठमाडौं । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण दर बढेसँगै कोरियाले नेपालसहितका मुलुकबाट श्रमिक लैजान रोक लगाएको छ । सो मुलुकमा कोरोना भाइरसको सङ्क्रमण दर तीव्र गतिमा फैलिएको छ । सोहीकारण नेपाललगायतका देशबाट श्रमिक लैजान रोक लगाइएको हो । यसले फेब्रुअरी १४ मा तय भएको नियमित उडान तालिका समेत स्थगन गरिएको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार वैदेशिक रोजगारका लागि दक्षिण कोरिया जान भाषा परीक्षा पास गरी लामो पर्खाइपछि उडान तय भएका श्रमिकको अर्को उडान तालिका छिट्टै सार्वजनिक गर्न पहल भइरहेको छ । सङ्क्रमण दर कम हुनासाथ रोकिएका श्रमिकलाई तत्काल पठाउने व्यवस्था गरिने समेत मन्त्रालयको भनाई छ ।

  • टर्की र ग्रिसको सिमानामा चिसोका कारण मृत्यु भएका १९ आप्रवासीमा नेपाली पनि परेको आशंका

    टर्की र ग्रिसको सिमानामा चिसोका कारण मृत्यु भएका १९ आप्रवासीमा नेपाली पनि परेको आशंका

    इस्तानबुल । टर्की र ग्रिसको सिमा क्षेत्रमा गत साता चिसोले कठ्याग्रीएर १९ जना आप्रवासीको मृत्यु भएको छ । उनीहरु अवैध बाटोबाट टर्की हुँदै ग्रिस छिर्न आएका थिए । १९ आप्रवासीहरूको गत साता चिसोले ज्यान गएको अन्तर्राष्ट्रिय संचारमाध्यमले पुष्टी गरेका छन् । मृत्यु हुनेमा नेपाली समेत परेको आंशका गरिएको छ । १९ जनाको शव भेटिए पनि यो संख्या अझै बढ्न सक्ने अनुमान छ । ग्रीसको सीमा बलले आप्रवासीहरूलाई टर्कीतर्फ फर्काउँदै अलपत्र छोडिदिएपछि घटना भएको बताइएको छ ।

    घटनाप्रति युरोपेली युनियनले चिन्ता प्रकट गरेको छ । कञ्चनपुर मूल घर भएका ३० वर्षीय दिव्यदेव अवस्थी सम्पर्कविहीन रहेका कारण यहाँ नेपालीहरु समेत परेको हुन सक्ने एनआरएनए टर्कीका अध्यक्ष उज्ज्वलकुमार घिसिङ्लाई उदृत गर्दै संचारमाध्यमले लेखेका छन् । इस्तानबुल फर्किएका नेपालीहरूको भनाइलाई उदृत गर्दै ४१ जना आप्रवासीहरूको समूहलाई ग्रिस प्रहरीले समातेर टर्कीको सिमानामै फर्काइदिएको बताइएको छ । त्यो समूहमा ८ जना नेपाली थिए । जसमा ७ जना सम्पर्कमा आइसकेका छन् ।

  • ६ महिनामा विदेशबाट भित्रियो मात्र साढे ४ खर्ब रेमिट्यान्स

    ६ महिनामा विदेशबाट भित्रियो मात्र साढे ४ खर्ब रेमिट्यान्स

    काठमाडौं । चालु आर्थिक वर्षको शुरुवाती महिनाबाटै रेमिट्यान्स भित्रने क्रम शुरु भएकोमा छैठौं महिनासम्म समेत सोही प्रवृत्ति देखिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार विप्रेषण आप्रवाह ५.५ प्रतिशतले घटेको छ । ६ महिनामा कुल ४ खर्ब ६८ अर्ब ४५ करोड मात्र रेमिट्यान्स भित्रिएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.१ प्रतिशतले बढेको थियो ।

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.२ प्रतिशतले कमी आई ३ अर्ब ९३ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.७ प्रतिशतले बढेको थियो । ६ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत (नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या भने उल्लेख्य बढेको छ । यस अवधिमा कुल १ लाख ६७ हजार ५१३ ले यस्तो श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ८९ प्रतिशतले घटेको थियो ।

  • यूएई र साउदीबाट अलपत्र नेपाली श्रमिकको उद्धार

    यूएई र साउदीबाट अलपत्र नेपाली श्रमिकको उद्धार

    काठमाडौं । टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) गई अलपत्र परेका आठ नेपालीलाई सोही म्यानपावरले उद्धार गरी नेपाल ल्याएको छ । भिजिट भिसामा यूएई पुर्‍याइ उनीहरू अलपत्र पारेको खबर सार्वजनिक भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तत्काल उद्धार गर्न निर्देशन दिएका थिए । नेपाल फर्कनेमा तनहुँका राजीव सुनुवार र ज्ञानेन्द्र रानाभाट, गोरखाका सुनील पन्थ र रमेशजङ्ग शाह, डडेल्धुराका शिवराज पन्त, मोरङका चिरायु सरदार, सुर्खेतका झकबहादुर थापा र सङ्खुवासभाका सन्तोष चम्लागाईं गरेका छन् ।

    यूएईको ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट जनही सात लाख ५० हजारका दरले रकम लिएर यूएई पठाइ अलपत्र पारेको उजुरीका आधारमा म्यानपावरका सञ्चालक भीम गुरुङलाई मन्त्रालयले गठन गरेको ‘मार्शल टोली’ले पक्राउ गरेको थियो । यसैगरी केही समयअघि साउदी अरेवियामा बिरामी परी अलपत्र परेका जाजरकोटका आइस रानालाई स्वास्थ्य उपचार गरी सोमबार स्वदेश फर्काइएको छ । नेपाली दूतावासका कर्मचारी र श्रम सहचारीको टोलीले उनको उद्धार गरी स्थानीय अस्पतालमा उपचार गरेको थियो । रानासहित साउदी अरबमा अलपत्र परेका चार नेपालीलाई सोमबार स्वदेश फिर्ता गरिएको हो ।

  • अनुमति नलिइ विदेश पठाउने शैक्षिक परामर्शदाता संस्थामाथि सरकारले कारवाही गर्ने

    अनुमति नलिइ विदेश पठाउने शैक्षिक परामर्शदाता संस्थामाथि सरकारले कारवाही गर्ने

    काठमाडौं । इजाजत नलिई अनधिकृत रुपमा विदेश पठाउने शैक्षिक परामर्शदाता संस्थामाथि सरकारले कारवाही गर्ने भएको छ । गृह मन्त्रालयले यस्तो गरेको पाइए उजुरी दिन समेत सर्वसाधारणसँग आग्रह गरेको छ । विदेश जाँदा शैक्षिक संस्थाहरुले निर्णारण गरेको पक्रिया पूरा नहुने र अलपत्र पर्ने वा कतिपय अवस्थामा नेपालमै फिर्ता हुने गुनासो आएको भन्‍दै गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै त्यस्तो गैर कानुनी रुपमा काम गर्ने शैक्षिक परामर्शदाता संस्थाहरुविरुद्ध उजुरी दिन आग्रह गरेको हो ।

    त्यसरी गैर कानुनी रुपमा काम गरेको संस्थाहरु\व्‍यक्ति उपर सम्बन्धित व्‍यक्तिले नेपालमा भए जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालय र विदेशमा भए विदेशस्थित निपाली नियोगहरुमा जानकारी, सूचना, उजुरी दिनहुन गृहले भनेको छ । विज्ञप्तिमा भनिएको छ, ‘त्‍यस्ता गतिविधि सञ्‍चालन गरेको पाइएमा संलग्‍न संस्था, समूह र व्‍यक्ति जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने व्‍यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ ।’

    इजाजतपत्र नलिई अनधिकृत रुपमा सञ्‍चालन भएका शैक्षिक परामर्शदाता संस्थाहरु, अनधिकृत रुपमा इजाजत नलिई अनलाइन रुपमा विज्ञापन गर्ने शैक्षिक संस्थाहरु, अवैध रुपमा विदेशस्थित विभिन्‍न देशका शैक्षिक संस्थाहरुको प्रतिनिधि रुपमा कार्य गर्ने व्‍यक्तिहरु उपर सरकारले निगरानी गरिरहेकोसमेत गृहले उल्लेख गरेको छ । वैदेशिक अध्‍ययनका लागि जाने विलार्थीहरुले सम्बन्धित देश र उक्त देशको शैक्षिक संस्थाहरुले निर्धारण गरेको प्रक्रिया पूरा गरेर मात्र अध्‍ययनका लागि जानसमेत गृहले अनुरोध गरेको छ

  • भिजिट भिसामा यूएइ पुगेर अलपत्र परेका नेपालीको व्यवस्थापन गर्न श्रम मन्त्री जाने

    भिजिट भिसामा यूएइ पुगेर अलपत्र परेका नेपालीको व्यवस्थापन गर्न श्रम मन्त्री जाने

    काठमाडौं । वैदेशिक रोजगारीको खोजीमा ‘भिजिट भिसा’मा संयुक्त अरब इमिरेट्स (युएई) पुगेर अलपत्र परेका नेपालीको व्यवस्थापन गर्न श्रम मन्त्री स्वयमः खटिने भएका छन् । युएईमा अलपत्र परेका नेपालीको व्यवस्थापनका लागि आगामी साता सरकारको प्रतिनिधित्व गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ यूएई जाने राससले लेखेको छ । वैदेशिक रोजगारीको प्रलोभनमा परी भिजिट तथा अन्य भिसामा यूएई गई अलपत्र परेका नेपालीको व्यवस्थापनका विषयमा यूएई सरकारसँग छलफल गर्न मन्त्री श्रेष्ठ यूएई जान लागेको श्रम मन्त्रालयले जनाएको छ ।

    यूएई जाने मिति र समय भने खुलाइएको छैन । नेपाली नागरिकलाई यूएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन र पीडितलाई कसरी न्याय दिलाउन सकिन्छ भन्नेबारे मन्त्री श्रेष्ठले आइतबार नेपालका लागि (यूएई) का राजदूत साइद हमदान अल नाकीसँग छलफल गरेका थिए । छलफलमा उनले रोजगारीको प्रलोभनमा यूएई गई अलपत्र परेका नेपालीको समस्या समाधानमा सहयोग गर्न राजदूत साइदसँग आग्रह गरे ।

    मन्त्री श्रेष्ठले अलपत्र परेका नेपालीलाई युएईमै रोजगारीको अवसर प्रदान गर्ने, भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानुनी रुपमा बस्नुपर्ने बाध्यता भएकालाई आममाफी दिनुपर्ने तथा उद्धार गर्नुपर्नेलाई नेपाल फिर्ता गर्ने क्रममा यूएई सरकारबाट सहयोगको अपेक्षा गरिएको बताए ।

    नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानुनले तोकेको प्रक्रियाभन्दा बाहिरबाट नेपालीलाई यूएई पुर्‍याउने कार्यमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन युएई सरकारबाट सहयोगको अपेक्षा गरिएको मन्त्री श्रेष्ठको भनाइ छ । छलफलमा राजदूत साइदले अलपत्र परेका नेपालीलाई यूएईमा नै रोजगारी दिलाउन तथा उद्धार गर्नुपर्नेलाई पनि आवश्यक सहयोग गर्ने बताए ।

  • यूएईमा नेपालीसहित आप्रवासी श्रमिकमाथि विभेद, बाध्यकारी श्रम गर्न विवस

    यूएईमा नेपालीसहित आप्रवासी श्रमिकमाथि विभेद, बाध्यकारी श्रम गर्न विवस

    काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा कार्यरत नेपालीसहित आप्रवासी श्रमिकमाथि विभेद र बाध्यकारी श्रमको अभ्यास व्यापक रहेको पाइएको छ । अन्तर्राष्ट्रिय मानव अधिकार संस्था इक्विडेमले यूएईमा रहेका आप्रवासी श्रमिकको अवस्थाका बारेमा गरेको अध्ययनमा यस्तो पाइएको हो । विभेद र बाध्यकारी श्रमको अभ्यास विषयक सो प्रतिवेदन यूएईमा कार्यरत श्रमिकमाथि इक्विडेमका अनुसन्धाताले विगत छ महिनासम्म लागेर गरेको गोप्य अन्तर्वार्ताका आधारमा तयार गरिएको सरकारी संचारमाध्यम गोरखापत्रले लेखेको छ ।

    अन्तर्वार्ताका क्रममा इक्विडेमसँग श्रमिकले विभिन्न विभेद र धम्की भोग्नुपरेको र गैरकानुनी रूपमा भर्ना शुल्क तिर्नुपरेको, परीक्षण काल सकिएपछि पनि तलब नबढाएको, अतिरिक्त समय काम गरेबापतको रकम नपाएकोजस्ता गुनासो गरेको अध्ययनमा उल्लेख गरिएको छ । यस्तै रोजगारदाताले राहदानीलगायतका महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिने र गुनासो सुनुवाइ गर्ने संयन्त्रको असहजता भएको पनि सोही प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    इक्विडेमले यूएईलाई श्रमिकमाथिको विभेदलाई हटाउन प्रभावकारी रूपमा कानुन कार्यान्वयन गर्न माग गरेको छ । समान कामका लागि समान पारिश्रमिक लागू गर्न, एक्स्पोमा कार्यरत आप्रवासी श्रमिकमाथि शोषणमा संलग्न व्यक्ति तथा संस्थालाई अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डबमोजिमको कानुनी दायरामा ल्याउन पनि इक्विडेमले आह्वान गरेको छ ।

    प्रतिवेदनअनुसार ८३ प्रतिशतले आप्रवासी श्रमिकले गैरकानुनी भर्ना शुल्क तिर्नुपरेको र तलब वा अन्य सुविधा समयमा र पूरै नपाएको बताएका छन् । यस्तै ३७ प्रतिशत आप्रवासी श्रमिकले रोजगारीका क्रममा तीनभन्दा बढी बाध्यकारी श्रमका अवस्था भोग्नुपरेको र २० प्रतिशतले रोजगारीका क्रममा पाँचभन्दा बढी प्रकारका बाध्यकारी श्रम भोग्न परेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    इक्विडेम नेपालका प्रतिनिधि रामेश्वर नेपालले यूएईले पछिल्लो समय श्रम क्षेत्रमा सुधार गर्दै आएको भनिए पनि यो अध्ययनबाट आप्रवासी श्रमिकमाथिको शोषण कायमै रहेको पुष्टि गर्ने बताउनुभयो । यूएईले आफ्नो श्रम कानुनमा सुधार गर्दै ल्याएको नयाँ श्रम कानुन सन् २०२२ फेब्रुअरी २ देखि लागू भएको छ तर पनि यूएईमा श्रमिकले यस्ता विभिन्न समस्या भोग्न बाध्य हुनुपरेको छ ।


    प्रतिवेदनअनुसार यूएईमा ट्रेड युनियनलाई कानुनी मान्यता नदिँदा आप्रवासी श्रमिकले आफ्ना समस्या र चुनौतीका बारेमा बोल्दा प्रतिशोध खेप्नुपर्ने वा रोजगारी नै गुमाउनुपर्नेजस्ता भयको सामना गर्नुपरेको छ ।

  • अमेरिकामा राजनैतिक अधिकार प्राप्त जनसम्पर्क समिति दर्ता

    अमेरिकामा राजनैतिक अधिकार प्राप्त जनसम्पर्क समिति दर्ता

    क्यालिफोर्निया
    अमेरिकामा नेपाली कांग्रेस अधिनस्त निकायको रुपमा काम गर्ने गरी सुभाष घिमिरेको नेतृत्वमा राजनैतिक अधिकार प्राप्त नेपाली जनसम्पर्क समिति अमेरिका दर्ता भएको छ । क्यालिफोर्निया राज्यमा दर्ता भएको उक्त सस्था अमेरिकी कानून अनुसार ५०१ सि ४ अन्तर्गत बैधानिक रूपले दर्ता भएको सुचना प्राप्त भएको छ ।
    यस अघि गठित आनन्द बिष्ट नेतृत्वको जनसम्पर्क समितिले अमेरिकामा बस्ने नेपाली कांग्रेसमा आबद्द सबै नेपालीलाई समेट्न नसकेको, सँस्थालाई सात बर्षदेखि अधिवेसन नगरी अबैधानिक बनाएको, आफू पार्टीको आमन्त्रित केन्द्रीय सदस्य भएर पनि जनसम्पर्क समितिको सभापतिमा अवैधानिक रूपले कायमै रहेका थिए ‘जुन नेपाली कांग्रेसको विधान बिपरित हो । स्मरण रहोस ‘नेपाली कांग्रेसको बिधान अनुसार पार्टीको कुनै तल्लो निकायमा रहेको ब्यक्ति माथिल्लो निकायको लागि उम्मेदवार बनेमा मात्र पनि कायम रहेको पद स्वत: खारेज हुन्छ तर उनले पार्टीका केही नेताको संरक्षणमा बिधान बिपरित गतिविधि गर्दै आएका थिए । बिष्ट नेतृत्वको जनसम्पर्क समितिले नेपाली कांग्रेसको १४ औ महाधिवेसनमा अमेरिकी नागरिकलाई महाधिवेसन प्रतिनिधि बनाइ भोट् समेत हाल्न लगाइ नेपालको कानुन बिपरित काम गर्नुका साथै अन्य अवैध कामहरु समेत गर्दै आएको जानकारी प्राप्त भएको छ । उनको कार्यसमिति बिभिन्न कान्डहरुमा मुछिंदै आएको छ ।

    महामानव वि पि कोइरालाले परिकल्पना गरे अनुसार अमेरिकामा बस्ने सम्पूर्ण लोकतन्त्र प्रेमी नेपालीहरुलाई एकताबद्द बनाइ नेपाली कांग्रेसको विधान ’नीति र नियमलाई अक्षरस पालना गर्ने र सस्थालाई बैधानिक बाटोमा हिडाउने गरी नवगठित जनसम्पर्क समिति अमेरिकाले काम गर्ने संस्थाका उपसभापति एवम् संगठन बिभाग प्रमुख ईन्द्र सिटौलाले बताउनु भयो । उहाँले नेपाली कांग्रेसप्रति आस्थावान र नेपालको प्रजातान्त्रिक ब्यवस्थाप्रति सहयोग गर्ने र सद्भाव राख्ने सबैलाई समेट्दै जाने र संस्थालाई एउटा स्वच्छ र सबैले गर्व गर्न लायक संस्थाको रुपमा बिस्तारित गरिने जनाएका छन् । हाल यस संस्थाले २७ सदस्यीय केन्द्रीय समिति र ३ सदस्यीय सल्लाहकार समिति घोषणा गर्नुका साथै संगठन बिभाग ‘महिला बिभाग‘ ‘विज्ञ बिभाग’ ‘युवा बिभाग‘ सुचना तथा संचार बिभाग ‘स्वास्थ्य बिभाग र आर्थिक बिभाग गठन गरिसकेको छ । त्यस्तै हालै मात्र टेक्सासको मार्बल फल्समामा ७७ सदस्यीय कार्यसमिति र ५ जना सल्लाहकार समितिको गठन पनि गरेको छ । नबगठित जनसम्पर्क समितिको केन्द्रीय कार्यसमिति यस प्रकार रहेका छन्:

  • विदेशबाट फर्केर उद्यम गर्नेलाई सरकारले सम्मान गर्ने

    विदेशबाट फर्केर उद्यम गर्नेलाई सरकारले सम्मान गर्ने

    काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत गर्ने निर्णय गरेको छ । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार सूचना प्रकाशित गरी पुरस्कारका लागि वैदेशिक रोजगारबाट फर्केर उद्यम गरेका व्यक्तिसँग आवेदन आह्वान गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीले आगामी फागुन १० गतेभित्र आवेदन दिनसक्ने मन्त्रालयले जनाएको छ ।

    कामदार भिसामा विदेश गरी कम्तिमा एक वर्ष काम गरी फर्किएको, वैदेशिक रोजगारीबाट फर्केर व्यवसाय सञ्चालन गरेको न्यूनतम् एक वर्ष पूरा भएको र विगत पाँच वर्षभित्र श्रम मन्त्रालयबाट पुरस्कार प्राप्त नगरेका व्यक्तिले आवेदन गर्न सक्ने सूचनामा उल्लेख छ । पुरस्कार आवेदन फारम श्रम मन्त्रालयको वेभसाइटमा राखिएको छ ।

    आवेदनका साथमा नेपाली नागकिताको प्रमाणपत्र, श्रम स्वीकृति, भिसासहितको राहदानी, आयकर दर्ता प्रमाणपत्र र गत आवको करचुक्ता प्रमाणपत्रको प्रतिलिपि तथा यसअघि पुरस्कार प्राप्त नगरेको स्वघोषणा पेश गर्नुपर्नेछ । आवेदन फाराम मन्त्रालयको रोजगार समन्वय तथा सूचना शाखामा दर्ता गराउन वा इमेल गर्न सकिने सूचनामा जनाइएको छ ।

    प्राप्त आवेदनमध्येबाट उत्कृष्ठ उद्यमीलाई सम्मान गरिने मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीबाट फर्केका नेपालीले रोजगारीका सिलसिलामा आर्जन गरेका ज्ञान, सीप, अनुभव र पूँजीलाई सुदुपयोग गर्न राज्यबाट विशेष प्रोत्साहन गरी विदेश जाने वा विदेशमा नै अवैधानिक तवरबाट बस्ने प्रवृत्तिमा न्यूनीकरण गर्न सरकारले स्वदेश फर्की सफल उद्यम गर्ने व्यवसायीलाई सम्मान गर्न लागिएको मन्त्रालयको भनाइ छ । यसप्रकारका सम्मानबाट उनीहरुलाई आयमुलक तथा रोजगारमुलक कार्यमा लाग्न थप प्रेरणा मिल्ने मन्त्रालयको विश्वास छ ।

    प्राप्त आवेदनमध्येबाट रोजगारी सिर्जना, पूँजी लगानी, स्थानीय साधन, स्रोत र प्रविधिको प्रयोग, उत्पादन निर्यात गरेको, सामाजिक दायित्व वहन, वातावरणमैत्री प्रविधि प्रयोग तथा प्रदूषण व्यवस्थापन र उद्यम सञ्चालन गरेको भौगोलिक क्षेत्रका आधारमा छनोट गरिने छ ।

    छनोटका लागि विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६ बमोजिम श्रम मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखाका सहसचिवको संयोजकत्वमा छ सदस्यीय सिफारिश समितिको गठन गरिएको छ । सातै प्रदेशबाट न्यूनतम एक जना नछुट्ने गरी उद्यमी छनोट गरिनेछ । आवेदकमध्ये एक जनाले रु एक लाख ५० हजारसहित उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार र बढीमा सात जनाले रु ७५ हजारको उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गर्नेछन् ।

  • कोरोना बढेपछि पुसमा केही कम भयो विदेश जाने नेपालीको संख्या

    कोरोना बढेपछि पुसमा केही कम भयो विदेश जाने नेपालीको संख्या

    काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको फैलावटसँगै पुस महिनामा विदेशिने नेपालीको संख्यामा केही कमी आएको छ । पछिल्लो जेठयता लगातार बढिरहेको संख्या पुसमा केही कम भएको देखिएको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार पुसमा ६६ हजार ६२५ जना श्रमिकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । पुसमा दैनिक ओसतः २ हजार २२० जना श्रमिक विदेश गएको देखिन्छ ।

    मंसिरमा दैनिक औसतः करिब २ हजार ५ सय जना विदेश गएका थिए । पुसमा ६६ हजारमध्ये ३५ हजार ९९५ जनाले नयाँ श्रम स्वीकति र अन्यले पुरानो श्रम स्वीकृति नविकरण गरि विदेश गएका हुन् । मंसिरमा ७४ हजार ३५४ जना नेपाली श्रमिक वैदेशिक रोजगारीमा गएको तथ्यांक छ ।

    कतार, साउदी अरेबिया र यूएई नेपालीका लागि आकर्षक मुलुक हुन् । २०७८ वैशाखमा २४ हजार ३६३ जना नेपाली वैदेशिक रोजगारीमा उडेका थिए । जेठमा ४ हजार ८६ मात्र विदेश उडे । त्यसपछि भने संख्या बढ्न थालेको थियो । साउनदेखि मंसिरसम्म २ लाख ३० हजार जना नेपाली वैधानिक रुपमा वैदेशिक रोजगारीमा गएको तथ्यांक छ ।

  • नेपालको दार्चुला र भारतको धार्चुला जोड्न महाकाली नदीमाथि बन्ने भयो मोटरबेल पुल

    नेपालको दार्चुला र भारतको धार्चुला जोड्न महाकाली नदीमाथि बन्ने भयो मोटरबेल पुल

    काठमाडौं । नेपालको दार्चुला र भारतको धार्चुला जोड्न महाकाली नदीमाथि पहिलो मोटरबेल पुल बनने भएको छ । यसका लागि नेपाल र भारतबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले मंगलबार भौतिकमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । भारतीय राजदूत क्वात्राले नेपाल–भारतबीच जनस्तरमै सम्बन्ध रहेको भन्दै पुल निर्माणले समुदायमा थप सहयोग पुग्ने बताए ।

    भारतले नेपालको पूर्वाधार विकासमा लामो समयदेखि सहयोग गर्दै आएकामा धन्यवाद दिँदै मन्त्री यादवले पुल निर्माण छिटो सक्न दुवै देशका सम्बद्ध अधिकारीलाई अनुरोध गरेकी छिन् । पुल निर्माण भएपछि नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटीलाई सुदृढ बनाउने छ । यसले दुवैतर्फको सीमा समुदायबीच रहेको जनता–जनताबीचको सम्पर्कलाई थप मजबुत बनाउने पनि भारतीय राजदूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    परियोजना वाणिज्य, सांस्कृतिक तथा जनता–जनताबीचको सम्बन्धलाई सुव्यवस्थित बनाउन दुई देशका सरकारले प्राथमिकतासाथ अघि सारेको सीमापार कनेक्टिभिटीअनुरूप रहेको भारतको भनाई छ । भारतको उत्तराखण्ड राज्य सरकारको अनुदान सहयोगमा पुल बन्न लागेको मन्त्रालयका विकास सहायता समन्वय तथा गुणस्तर महाशाखाका सहसचिव केशवकुमार शर्माले जानकारी गराए । पुल ११० मिटर लामो बन्नेछ । । लागत ४० करोड रुपैयाँ अनुमान गरिएको छ । ठेक्का भएको तीन वर्षभित्र निर्माण सकिसक्नुपर्ने शर्त राखिएको छ ।

  • जापानले नेपाललाई दियो खोप चिस्यान सम्बन्धी उपकरण

    जापानले नेपाललाई दियो खोप चिस्यान सम्बन्धी उपकरण

    काठमाडौं । जापान सरकारले संयुक्त राष्ट्र सङ्घीय बाल कोष (यूनिसेफ) मार्फत नेपाललाई खोप चिस्यान प्रणाली सुधार गर्न विभिन्न सामग्री सहयोग गरेको छ ।
    यूनिसेफले नेपाललाई नौ वटा उच्च क्षमताका कुलर, सोलारबाट चल्ने ३८ वटा खोप रेफ्रिजेरेटर, लामो दुरीमा खोप बोक्न प्रयोग हुने ११ सय नौ वटा खोप बक्स र ५३ वटा खोप बक्स नेपाल सरकारलाई प्रदान गरेको छ । प्रदान गरिएका सामग्रीले नेपालमा कोरोनाविरुद्धको खोपको गति बढाउन सहयोग पुग्ने यूनिसेफले जनाएको छ ।

    यी सामाग्री गएको वर्षदेखि नै नेपाललाई प्रदान गर्न सुरु गरिएको र हिजो आइतवार पूरा भएको प्रेस विज्ञप्तिमा उल्लेख छ । नेपाललाई प्रदान गरेका सामग्रीको सञ्चालन र मर्मत पनि यूनिसेफले नै गरिदिनेछ । नेपालका लागि जापानी राजदूत किकुता युताकाले कोरोनाको तेस्रो लहर फैलिएको यो समयमा नेपाललाई प्रदान गरिएका सामग्रीले महामारी रोकथाम तथा खोपको भण्डारण र वितरण क्षमतामा व्यापक सकारात्मक नतिजा दिन सक्ने बताए ।

    नेपाललाई प्रदान गरिएका वाक इन कुलर यातायातको माध्यमबाट सजिलै अर्को ठाउँमा लैजान सकिने र बिजुली नभएको ठाउँमा सोलार रेफ्रिजेरेटरको सहायताले खोप भण्डारण गर्न सकिने हुँदा सहज हुने र खोपको पर्खाइमा रहेका नागरिकसम्म खोप पुर्‍याउन सहज हुने पनि राजदूत किकुताले उल्लेख गरेका छन् । जापान सरकारले कोरोनाविरुद्ध लड्न नेपाललाई खोप, एम्बुलेन्स, विभिन्न चिकित्सा सामग्री र १० अर्ब रुपैयाँभन्दा धेरै सहुलियत ऋण पनि दिइसकेको छ ।

  • हराएको भनि सूचना दिएपछि भेटिएमा पुरानो राहदानी बोकेर यात्रा नगर्न सरकारको आह्वान

    हराएको भनि सूचना दिएपछि भेटिएमा पुरानो राहदानी बोकेर यात्रा नगर्न सरकारको आह्वान

    काठमाडौं । नेपालबाट विदेश यात्रा गर्ने नेपाली नागरिकले साविकमा हराएको वा चोरी भएको भनी राहदानी विभागमा जानकारी गराएको राहदानी भेटिएमा त्यस्तो राहदानी बोकेर यात्रा नगर्न सरकारले सचेत गराएको छ । अध्यागमन विभागले शुक्रबार एक सूचना निकालेर यस्तो आह्वान गरेको हो । एक जना व्यक्तिसँग एउटा मात्र राहदानी हुने भन्दै एक भन्दा बढी राहदानी हुनु गैरकानूनी मानिने भन्दै अध्यागमनको भनाई छ ।

    यसरी कुनै व्यक्तिले यात्रा गरेको भेटिएमा जफत गर्न समेत मातहतका कार्यालयलाई निर्देशन दिएको छ । सूचनामा भनिएको छ, ‘विगतमा राहदानी हराएको वा चोरी भएको कारण देखाई नयाँ प्राप्त गरिसकेका नागरिकको साविकको राहदानी अरु कसैले दुरुपयोग नगरोस भनी सबै राहदानी हराएको जानकारी प्राप्त भइसकेपछि सम्बन्धित निकायमार्फत इन्टरपोलाई समेत जानकारी गराउने गरिन्छ ।’

    सोही कारण हराएको वा चोरी भएको भनी राहदानी विभागलाई जानकारी गराइसकिएका राहदानी पुनः फेला परेमा त्यसका आधारमा यात्रा नगर्न विभागले अनुरोध गरेको छ । हराएको वा चोरी भएको भनि अभिलेखमा जनाइएका नेपाली राहदानीको विवरण विदेशस्थित अध्यागमन विन्दु तथा सुरक्षा निकायबाट समेत चेकजाँच हुने भन्दै त्यस्ता राहदानी साथमा राख्दा कानूनी झण्झट आउनेतर्फ समेत अध्यागमनले सचेत गराएको छ ।

  • नेपाल र भारतबिच सातामा ५६ उडान गर्ने बाटो खुला

    नेपाल र भारतबिच सातामा ५६ उडान गर्ने बाटो खुला

    काठमाडौं । नेपाल र भारतबीच उडान संख्या थप गर्न बाटो खुलेको छ । अहिले नेपाल एयरलाइन्स र एयर इण्डियाले हरेक दिन एक/एक उडान गरिरहेका छन् । दुई मुलुकबीच सातामा ५६ उडान संख्या पुर्‍याउने र दुबै मुलुकका एयरलाइन्सले बराबरी संख्यामा उडान गर्ने सहमति जुटेसँगै उडान संख्या थप हुन लागेको छ । नेपालले भारत सरकारलाई उडान संख्या थप गर्न पठाएको प्रस्तावमा भारत सरकारले यसैसाता सहमति दिएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एयर बबल स्कीमका शर्त कायम राख्दै उडान संख्या थप गर्ने सहमति जुटेको छ । भारत सरकारले ३१ फेब्रुअरीसम्म यो स्किम कायम राखेको छ ।

    भारतले ओमिक्रोनको फैलावटसँगै जनवरी २०२२ भर एयर बबल स्कीममा शुरुवातमा दिएका उडान अनुमति मात्र कायम राखी अन्य उडान अनुमति रोकेको थियो । सोही अनुसार दुबै मुलुकका ध्वजाबाहक कम्पनीले दैनिक एक/एक उडान गर्दै आएका छन् ।

    अब निजी कम्पनीले समेत नेपाल र भारतमा उडान गर्न सक्ने भएका हुन् । भारतको निजी लगानीको भिस्तारा एयरले नेपालमा १६ फेब्रुअरी (४ फागुन)बाट दिल्ली-काठमाडौं-दिल्ली रुटमा उडान गर्ने गरि मिति तोकेको छ ।
    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भारतबाट तीन वटा कम्पनीले उडानका लागि नेपालसँग अनुमति मागेका छन् । यसमा एयर इण्डिया, भिस्तारासहित इण्डिगो एयर रहेको छ । एयर इण्डिया र भिस्ताराले दैनिक एक/एक र इण्डिगो एयरले दैनिक दुई उडानको अनुमति मागेका छन् । यो भारतीय कम्पनीले नेपालमा पाउने अनुमति संख्या साताको २८ उडान बराबर हो । नेपालबाट भारतमा नेपाल एयरलाइन्सले उडान गरिरहेको छ । तोकिएको उडान संख्या भित्र अब नेपाल एयरलाइन्सले समेत उडान थप गर्न सक्ने छ । विगतमा नेपाल एयरलाइन्सले मुम्बई र बैलौंरमा उडान गरिरहेको थियो ।

    एयर बबल स्कीम अनुसार एक अर्का मुलुकका नागरिकले तोकिएको कोभिड प्रोटोकलका प्रावधान पुरा गरि यात्रा गर्न सक्छन् । यी उडानमा तेस्रो मुलुकका पर्यटकलाई भने यात्राको अनुमति छैन । तर, कुटनीतिक नियोग र सम्बन्धित मुलुकले अनुमति दिएका तेस्रो मुलुकका नागरिकले भने यात्रा गर्न सक्छन् । ३१ फेब्रुअरीसम्म निजी कम्पनीले समेत यसै प्रावधान भित्र रहेर उडान गर्नुपर्नेछ ।

  • समस्यामा परे सिधै सम्पर्क गर्न भन्दै श्रम मन्त्रीले सार्वजनिक गरे फोन नम्बर

    समस्यामा परे सिधै सम्पर्क गर्न भन्दै श्रम मन्त्रीले सार्वजनिक गरे फोन नम्बर

    काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीले कुनै समस्या पर्दा सिधा सम्पर्क गर्न सक्ने गरि श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले फोन नम्बर सार्वजनिक गरेका छन् । पछिल्लो समय भिजिट भिसाको नाममा श्रमिकलाई अलपत्र बनाउने क्रम बढेपछि उनले आफ्नो फोन नम्बर सार्वजनिक गर्दै समस्या पर्दा टिपाउन आह्वान गरेका छन् । यस्तो काममा संलग्न कम्पनी वा व्यक्तिलाई तत्काल पक्राउ गरी कारवाहीको दायरामा ल्याउने उनको प्रतिवद्दता छ ।

    मंगलबार एक अपील जारी गर्दै उनले पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा यूएई पुर्‍याई दलालले अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारोमा परेको भनेर मलाई दिनहुँ कयौं गुनासो आउने गरेको बताए ।

    ‘नेपाली युवाहरु रोजगारी पाउने आशामा दलाललाई लाखौं रकम तिरेर भिजिट भिसामा जानेहरु ठगीमा पर्ने, अलपत्र पर्ने तथा नेपाल सरकारले रोजगारीका लागि प्रतिवन्ध लगाएका मुलुकहरुमा लैजाने तथा मानव तस्करहरुको सञ्जालमा समेत पर्ने देखिएको छ,’ उनले भनेका छन् ।

    आकर्षक रोजगारी लगाइदिने भन्दै ‘भिजिट भिसा’मा यूएई पुर्‍याएर अलपत्र पार्ने काममा मेनपावर कम्पनी, कन्सल्ट्यान्सीहरु ट्राभल्स सञ्चालकहरु, दलाल तथा विचौलियाहरु संलग्न रहेको पाइएको र उनीबहरुबारे उजुरी पनि आएको मन्त्रीले जानकारी दिएका छन् ।

    ‘अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारोमा पर्नुभएको छ भने त्यस्तो कार्यमा संलग्न कम्पनी वा ब्यक्तिलाई कारबाहीको दायरा ल्याउन उनिहरुबारे जानकारी गराइ सहयोग गरिदिनुहुन अनुरोध गर्दछु,’ मन्त्री श्रेष्ठले अपीलमा भनेका छन्,’ त्यसका लागि मेरो सचिवालयको मोबाइल नम्बर ९८२३२५६७०४ र ९८२३२५६७०६ मा सिधै सम्पर्क गरी गुनासो टिपाउन सक्नुहुनेछ ।’

  • भिजिट भिसामा खाडी मुलुकमा जाने युवाका समस्याबारे अध्ययन गर्न समिति गठन

    भिजिट भिसामा खाडी मुलुकमा जाने युवाका समस्याबारे अध्ययन गर्न समिति गठन

    काठमाडौं । नेपालबाट भिजिट भिसामा खाडी मुलुक पुग्ने नेपाली युवाका समस्याबारे अध्ययन गर्न सरकारले समिति गठन गरेको छ । भिजिट भिसामा दुबईलगायत खाडी मुलुकमा गई भोग्नु परेका कठिनाई र समस्या समाधान उपाय खोज्न गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न निकायको समन्वयात्मक परिचालन र व्यवस्थापनबारे सरोकारवाला निकायबीच छलफलबाट समिति गठन भएको हो । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, परराष्ट्रसचिव भरतराज पौड्याल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने, गृहसचिव टेकनारायण पाण्डेसहितका अधिकारीहरू बैठकमा सहभागी थिए ।

    नवगठित समितिका सदस्यहरूमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव शेषनारायण पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव हरिसचन्द्र घिमिरे, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका वरिष्ठ प्रहरी उपरीक्षक भीम ढकाल र अध्यागमन विभागका निर्देशक (उपसचिव) प्रकाशचन्द्र अधिकारी रहेका छन् ।

    समितिको सदस्यसचिवमा वैदेशिक रोजगार बोर्डका उपसचिव दिनबन्धु सुवेदी रहेका छन् । बैठकमा विदेशमा जाने नेपालीहरूका श्रमजन्य गतिविधि र श्रमका लागि भिजिट भिसाको प्रयोग, अध्यागमन प्रणाली र विदेशमा कार्यरत नेपालीहरूका समस्या समाधानबारे छलफल भएको गृह मन्त्रालयका सहसचिव मुकुन्दप्रसाद निरौलाले जानकारी दिए । बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ट्रान्जिट प्यासेन्जर्सको सहजताका लागि उपयुक्त संरचनात्मक सुधार तथा व्यवस्थापन गर्न संस्कृति पर्याटन तथा नागरिक उड्डयन मन्त्रालयले समन्वय गर्ने निर्णय निर्णय गरेको छ ।

    यस्तै पर्यटन मन्त्रालयले नै अन्तर्राष्ट्रिय उडानको आगमन तथा प्रस्थानलाई व्यवस्थित बनाउन उपयुक्त समय अन्तरालसहितको उडान तालिका व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ । कार्गो र लगेजको एक्सरेसहित स्क्यानिङ र आवश्यक नियमनका लागि भन्सार विभागसमेतको समन्वयनमा नेपाल प्रहरीले आवश्यक प्रबन्ध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

    बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित बनाउन सके मुलुकको प्रतिष्ठा बढ्ने बताए । नेपालको एयरपोर्ट प्रयोग भएर कुनै पनि मुलुक र मित्रराष्ट्रलाई असर पर्ने कामहरू हुन नहुने उनले बताएका थिए । नेपालको यएरपोर्ट प्रयोग गर्दा कुनै पनि मुलुक र मित्रराष्ट्रलाई असर पर्ने काम भए ठूलो मूल्य चुकाउनु पर्ने उनको भनाइ थियो । मुलुकलाई सुरक्षित रूपमा परिचित बनाउन पनि एयरपोर्टलाई व्यवस्थित बनाउनु पर्ने उनको भनाइ थियो ।

  • ग्रिसमा दुर्घटनामा मृत्यु भएका नेपालीको शव एनआरएनएको सहयोगमा नेपाल पठाइने

    ग्रिसमा दुर्घटनामा मृत्यु भएका नेपालीको शव एनआरएनएको सहयोगमा नेपाल पठाइने

    काठमाडौं । ग्रिसमा दुर्घटनामा परि अलपत्र अवस्थामा रहेका दुई नेपालीको शव गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहयोगमा नेपाल पठाइने भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सहकोषाध्यक्ष लोकप्रसाद दाहालले ७ हजार २०० युरो संकलन गरि ग्रिस पठाइएको जानकारी गराएका छन् । टर्कीबाट अवैध रुपमा ग्रिस जाँदा मंसिर पहिलो साता सडक दुर्घटनामा चार नेपालीको मृत्यु भएको थियो ।

    दुर्घटनामा मृत्यु भएका आमाछोदिङमो गाउँपालिका(३ रसुवाकी २१ वर्षीया शर्मिला भनिने रमिला घले र घिरिङ गाउँपालिका-५ तनहुँका ओम भनिने उमबहादुर थापामगरका परिवारजनले शव पठाउन सहयोगका लागि एनआरएनएको सहयोग मागेका थिए । टर्कीसम्म श्रम स्वीकृत लिएर आएका अन्य दुई जनाको खर्च भने श्रमिक कल्याणकारी कोषको रकमबाट नेपाल सरकारले ब्यहोरेको छ ।

    भीमेश्वर नगरपालिका-६ दोलखाका ३० वर्षीय राजु लामा र गौरीगंगा नगरपालिका-४ कैलालीका ३७ वर्षीय लक्ष्मण सापकोटाको शव बुधबारसम्म नेपाल पुग्ने नेपाली राजदूतावास भियानाले जानकारी गराएको छ । बाँकी दुईजनाको शव नेपाल पठाउन एनआरएनएले रकम संकलन गरेको हो ।

    गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदबाट २ हजार डलर, एनआरएन वैदेशिक रोजगार कल्याणकारी कोषबाट २ हजार डलर, संघका सचिव गौरी जोशीमार्फत ५ सय डलर, आरके शर्मा ५ सय डलर,राज रेग्मी ५ सय डलर लगायतबाट सहयोगको प्रतिवद्वता आएसँगै रकम जुटेको हो ।

  • उपचार अभावमा साउदीको कोठामा छट्पटाइरहेका युवाको श्रम मन्त्रीको पहलपछि उद्धार

    उपचार अभावमा साउदीको कोठामा छट्पटाइरहेका युवाको श्रम मन्त्रीको पहलपछि उद्धार

    काठमाडौं । शनिबार सामाजिक संजालमा एक भिडियो भाइरल भयो । जसमा साउदी अरेवीयमा उपचारको अभावमा एक युवा कोठामा छट्पटाइरहेका थिए । उनी थिए जाजरकोटका आइस राना । यो भिडियो भाइरल भएसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले उनका सम्बन्धमा चासो लिए । साउदी अरवको जेद्धामा कोठामा छटपटाइरहेका रानाको उपचार र उद्धारमा मन्त्री श्रेष्ठले नै चासो देखाएपछि साउदी अरेबियास्थित नेपाली दूतावास तात्तियो ।

    आइतवार नेपाली दूतावासका कर्मचारी र श्रम सहचारी सहितको टोली उनी रहेको स्थानमा गएर उनको अवस्थाबारे जानकारी लिएका छन् । श्रम सहचारी प्रेम उपाध्याय र भाषा अनुवादकसहित दूतावासको टोली राना भएको ठाउँमा गइ उपचारका लागि स्थानीय अस्पतालमा लगेको छ । नेपाली दूतावासले रानासहित जेद्धामा अलपत्र परेका आठ जना नेपाली श्रमिकहरुको दैनिक खानाको प्रवन्ध गर्दै आएको थियो । आठमध्ये एकजना नेपाल फर्किसकेका छन् भने अन्य छ जना मंगलवार नेपाल फर्कने भएका छन् ।


    रानाको पनि नेपाल फर्कने टिकटको व्यवस्था गरिएको थियो । उनीमाथि पुलिस केस भएकोले एक्जिट भिसाको लागि समय लाग्ने नेपाली दूतावासले जनाएको छ । उनी बिरामी परेपछि नेपाल फर्कने व्यवस्थाका लागि नेपाली दूतावासले आइतवार नै इमिग्रेसनलाई पत्राचार समेत गरेको नेपाली काउन्सिलर शत्रुधन पोखरेलले बताएका छन् । रानाको अवस्था अहिले सामान्य छ ।

  • विदेशमा बस्ने नेपालीले पनि क्रिप्टोकरेन्सीको कारोबार गर्न नपाउने

    विदेशमा बस्ने नेपालीले पनि क्रिप्टोकरेन्सीको कारोबार गर्न नपाउने

    काठमाडौं । सरकारले नेपालको पैसा विदेशिएको भन्दै नेपाल तथा विदेशमा सबै कुनै पनि नेपाली नागरिकले क्रिप्टोकरेन्सीको कारोबार गर्न नपाउने नियम कार्यान्वयनमा ल्याएको छ । अब विदेशमा रहेका नेपाली र नेपालमा बसोबास गर्ने विदेशी नागरिकले समेत क्रिप्टोकरेन्सीको कारोबार गर्न पाउने छैनन् । नेपाल राष्ट्र बैंकले आइतबार एक सूचना जारी गरी क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी भएको स्पष्ट पारेको छ ।

    छोटो अवधिमा उच्च प्रतिफलको लोभमा भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीको कारोबार तथा प्रयोग गर्ने तथा तीसँग सम्बद्ध हाइपर फन्ड जस्ता कोषमा लगानी गर्ने र जोसियन, क्राउड वान, सोलम्यास ग्लोबलजस्ता पिरामिडमा आधारित नेटवर्किङमा आबद्ध हुन प्रोत्साहन गर्ने, गराउन गरेको जानकारी प्राप्त भएकाले राष्ट्र बैंकको ध्यानाकर्षण भएको सूचनामा उल्लेख छ । ‘नेपालमा विदेशी मुद्राका रूपमा भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीले कानुनी मान्यता नपाएको सन्दर्भमा त्यस्ता गैरकानुनी वित्तीय औजारमा आबद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने र स्वदेशी पुँजी पलायन हुने राष्ट्र बैंकको भनाई छ ।

    निर्देशनमा भनिएको छ, ‘यसकारण त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकले समेत त्यस्तो कार्य गरे गराएको पाइए प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरा सबैका लागि जानकारी गराइन्छ ।’

    विदेशमा बस्ने नेपाली क्रिप्टोकरेन्सीलगायत गैरकानुनी काममा आबद्ध भएको सूचना राष्ट्र बैंकलाई प्राप्त भएसँगै यस्तो सूचना जारी गरिएको हो । उक्त कारोबारबाट कमाएको धन समेत नेपालमा अवैधानिक मानिन्छ । यसअघि राष्ट्र बैंकले गत भदौमा निर्देशन जारी गरेर नेपालमा क्रिप्टोकरेन्सीहरूका कारोबार, प्रयोग र माइनिङ जस्ता कार्य नगर्न, नगराउन निर्देशन दिएको थियो ।

  • पण्डित पीपलमणि एनआरएनए अमेरिकाको सँस्कृति संरक्षण तथा संवर्द्धन समितिको संयोजकमा नियुक्त

    पण्डित पीपलमणि एनआरएनए अमेरिकाको सँस्कृति संरक्षण तथा संवर्द्धन समितिको संयोजकमा नियुक्त

    न्युयोर्क

    एनआरएनए एनसीसी अमेरिकाको नेपाली सँस्कृति संरक्षण तथा संवर्द्धन समितिको प्रथम बैठकको प्रस्ताव अनुसार समितिको संरक्षकमा पण्डित पीपलमणि सिग्देललाई नियुक्त गरिएको छ । समितले प्रवासमा नेपाली सँस्कृति, भाषा, कला, परम्परा तथा साहित्यको संरक्षण र संवर्द्धनमा एनरएनएको भूमिका र महत्व टड्कारो रहेको जनाइएको छ ।

    संयोजक पीपलमणि सिग्देलले नेपाली सँस्कृति, भाषा, कला, परम्परा तथा साहित्यको संरक्षण र संवर्द्धनमा हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संयोजक सिग्देलले एनआरएनए एनसीसी अमेरिकाका पूर्व उपाध्यक्ष एवं समितिका पूर्व संयोजक, साहित्यकार सर्वज्ञ वाग्ले, एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदी, वरिष्ठ उपाध्यक्ष कृष्णजिवी पन्त, उपाध्यक्ष दीक्षा वस्नेत, उपाध्यक्ष गोपेन्द्र भट्टराई, महासचिव अन्जन चौंलागाईं, सचिव अनुप खनाल, सहकोषाध्यक्ष अग्नि ढकाल, प्रवक्ता तोया दाहाल, पूर्व उपाध्यक्ष सर्वज्ञ वाग्ले तथा बोर्ड अफ डाइरेक्टर विश्वराज वास्तोला,
    प्रथम बैठकमा महत्वपूर्ण विचार व्यक्त गर्ने राजेन्द्र प्रसाद अर्याल, कृष्ण गिरि, परशुराम भण्डारी, डिनार श्रेष्ठ, रेवती अधिकारी, चुडामणि पाठक, प्रकाश पाण्डे, मेनका पराजुली, रीतादेवि प्रधान, गीता बजगाई, अनार सिंह वस्नेत, विना लामा, सौरभ कँडेल, भावना खतिवडा, लोचना सुवेदी, रुद्र भण्डारी, शान्ता घिमिरे अधिकारी,
    बैठक पूर्व नै शुभेच्छा एवं विचार राख्नुहुने निरजमान श्रेष्ठ, यादव दाहाल, लक्ष्मण पन्थी, राजु कोइराला, आयुष रिजाल, कृष्णहरि कोइराला, टुल्को उर्गेन लामा, हेमन्त सिंह, शरद ढकाल, अग्नि पराजुली, प्राविधिक सहयोगका लागि परशुराम भण्डारी लगायत सबैप्रति आभार व्यक्त गरेका छन् ।

  • भिजिट भिसामा खाडी मुलुक जान नपाउने निर्णय परिवर्तन, को-को जान पाउने ?

    भिजिट भिसामा खाडी मुलुक जान नपाउने निर्णय परिवर्तन, को-को जान पाउने ?

    काठमाडौं । सरकारले १० माघबाट खाडी मुलुक र मलेसियामा भिटिज भिसामा जान लगाएको रोकको निर्णयमा परिमार्जन गरेको छ । अब तोकिएको व्यक्तिले भिजिट भिसामा जान पाउने निर्णय भएको छ । गृह मन्त्रालयले सूचनामा संशोधन गरि भिटिज भिसामा जान सबैलाई रोक लगाउने निर्णय परिवर्तन गरेको हो । सरकारले खाडी राष्ट्रबाहेक कम्तिमा दुई मुलुकको भ्रमण गरिसकेकालाई भिजिट भिसाको अनुमति दिने भएको छ ।

    गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार विरामीको कुरुवा वा रेखदेखका लागि जाने तीन पुस्ताभित्रका परिवारका सदस्यलाई पनि जान दिइने भएको छ । वैदेशिक रोजगारी व्यवसाय प्रबद्र्धनका लागि जाने मेनपावर कम्पनीका सञ्चालक र आधिकारिक प्रतिनिधिलाई पनि जान दिइने छ ।

    वार्षिक न्यूनतम ६ लाख रुपैयाँ कर योग्य आय भई आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आबद्ध व्यक्तिले पनि भिजिट भिसामा जान पाउने छन् । नेपालमा सामान आयात–निर्यात गर्ने व्यवसायिक संस्थाका प्रतिनिधि, सरकारी कामको सिलसिलामा जाने प्रतिनिधि र अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि लगायतलाई पनि यो सुविधा दिइने छ ।

  • खोपको मात्रा पुरा गरेर आउने विदेशीलाई नेपालमा अनअराइभल भिसा निरन्तर

    खोपको मात्रा पुरा गरेर आउने विदेशीलाई नेपालमा अनअराइभल भिसा निरन्तर

    काठमाडौं । कोरोना भाइरसको बढ्दो महामारीका बीचमा पनि नेपालमा खोपको मात्रा पूरा गरेका विदेशी नागरिकले अनअराइभल भिसा सुविधा निरन्तर पाउने भएका छन् । अध्यागमन विभागले नेपालमा आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुका लागि सूचना जारी गर्दै सो जानकारी गराएको छ । विभागका अनुसार अनअराइभल भिसा प्राप्त गर्न सक्ने मुलुकका नागरिकले खोपको पूर्ण मात्रा लगाएकालाई अनअराइभल भिसा सुविधा दिने कार्य निरन्तर जारी राख्नेछ ।

    विदेशी पर्यटकले खोपको मात्रा पूरा गरेको प्रमाण, हवाई उडानका लागि चेकइन हुनुभन्दा ७२ घण्टाभित्रको कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट, नेपालमा होटल बुकिङ गरेको प्रमाण, पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य निकाय भएका त्यसको अनुमतिको प्रतिलिपि समेत पेश गरेमा नेपाल प्रवेश विन्दुमै भिसा पाउने छन् । उनीहरुले यात्रा अगाडी सीसीएमसीसीको अनलाइन अराभइल फारम भने भर्नुपर्नेछ ।

    अनअराइभल भिसा नलिई सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाट समेत भिसा पाउन सकिन्छ । खोप नलगाएका तथा नेपाल आउनुपर्ने विदेशीहरुले समेत नेपाली नियोगबाटै भिसा लिनुपर्ने हुन्छ । उनीहरुले अनअराइभल भिसा पाउँदैनन् । खोप नलगाएका विदेशी नागरिकको नेपालस्थित अध्यागमन विन्दुमा एन्टिजेन परीक्षण गरिने छ । यस्तो परीक्षणबाट पोजेटिभ देखिएमा आइसोलेसन वा अस्पतालमा बस्नु पर्नेछ ।

    नेगेटिभ आएमा भने पाँच दिन होटल क्वारेन्टिनमा बस्नुपर्छ । अध्यागमनमा एन्टिजेन सम्भव नभएमा होटेल प्रवेश गर्नु अगाडि परीक्षण गर्नुपर्छ । ५ दिन होटेल क्वारेन्टिनमा बसेका विदेशी छैटौं दिनमा कोभिड १९ परीक्षण गरी आफ्नो उद्देश्य अनुसार भ्रमणमा जान सक्नेछन् । खोपको मात्रा पुरा गरेका पर्यटकले समेत होटेलमा चेक इन गरेको २४ घण्टाभित्र एन्टिजेन परीक्षण गर्ने र नेगेटिभ रिजल्ट आएपछि भ्रमणमा जान सक्नेछन् ।

    होटेल बाहिर रहेका पर्यटकले प्रत्येक ७२ घण्टामा एन्टिजेट परीक्षण गर्नुपर्ने भएको छ । कोभिड १९ को परीक्षण र आइसोलेसनमा लाग्ने खर्च र बीमा लगायतका अन्य खर्च विदेशी नागरिक स्वयमले बेहोर्नुपर्छ । विदेशी नागरिक नेपालमा रहँदा भने नेपाल सरकारले तोकेका मापदण्डहरु पालना गर्नुपर्नेछ ।

    नेपाली र गैरआवासीय नेपालीको हकमा के हुन्छ ?

    खोपको मात्रा पूरा गरेको १४ दिन पुरा भएका नेपाली र गैरआवासीय नेपालीले ७२ घण्टाभित्रको कोरोना परीक्षणको नेगेटिभ प्रमाणपत्र बोकेर आएमा सहर्ज घरमा जान दिइन्छ । तर, उनीहरुमा समेत लक्षण देखिएको अवस्थामा भने अध्यागमन विन्दुमा एन्टिजेन परीक्षण गर्नुपर्छ । उनीहरुले ५ दिन होम वा होटेल क्वारेन्टिनमा बस्ने गरी मात्र प्रवेश अनुमति पाउने छन् । खोपको मात्रा पुरा नगरेका नेपाली र गैरआवासीय नेपालीको हकमा भने एन्टिजेट परीक्षण गरि नेगेटिभ आएमा मात्र गन्तब्यमा जान दिइने भएको छ । पोजेटिभ आएमा आइसोलेसनमा जानु पर्नेछ । विदेशी कुटनीतिक नियोगको हकमा समेत यस्तै प्रावधान लागू हुने छ ।

  • भिजिट भिसामा खाडी मुलुक जान नपाइने

    भिजिट भिसामा खाडी मुलुक जान नपाइने

    काठमाडौं । सरकारले भिजिट भिसा लिएर खाडी मुलुकमा जान रोक लगाएको छ । गृह मन्त्रालयले भिटिज भिसामा खाडी मुलुक जान रोक लगाउने निर्णय गर्दै सूचना सार्वजनिक गरेको छ । बढ्दो कोरोना संक्रमणका कारण खाडी मुलुक र मलेसिया गई विचल्लीमा पर्ने नेपालीको संख्या बढेको भन्दै मन्त्रालयले भिटिज भिसामा भ्रमणमा जान रोक लगाएको हो । गृह प्रवक्ता फडिन्द्रमणि पोखरेलले यस्तो जानकारी गराएका हुन् ।

  • जीटूजी प्रक्रियाबाट नेपाली श्रमिक इजरायल लैजान शुरु

    जीटूजी प्रक्रियाबाट नेपाली श्रमिक इजरायल लैजान शुरु

    काठमाडौं । नेपाली श्रमिकलाई इजरायल लैजान शुरु गरिएको छ । दीर्घकालीन सहायक श्रमिक (केयर गिभर) का लागि छनोट भएका मध्ये पहिलो चरणमा ९९ जना नेपाली श्रमिक बुधबार इजरायल प्रस्थान गरे । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रमिकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका थिए । निजी क्षेत्र तथा बिचौलीयारहित सरकार(सरकार (जिटुजी) प्रक्रियामार्फत श्रमिक पहिलोपटक इजरायल प्रस्थान गरेका हुन् । सो क्रममा मन्त्री श्रेष्ठले नेपालको इज्यत रहने गरी अनुशासित भएर काम गर्न आग्रह गरे ।

    इजरायल नेपालीका लागि आकर्षक गन्तव्य मुलुक बन्ने विश्वास उनको छ । बुधबार ६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली श्रमिक इजरायल उडेका हुन् । यसपछि माघ १५ र १६ गतेका दिन दुई उडान हुँदैछ । वैदेशिक रोजगार विभागले गत कात्तिकमा पाँच सय र मङ्िसरमा छ सय ७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो । छनोटमा परेका एक हजार एक सय ७५ मध्ये आठ सय २१ महिला र तीन सय ५४ पुरुषको अन्तिम नामावली प्रकाशित भएको छ । नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो । इजरायल जाने नेपालीले मासिक करिव २ लाख रुपियाँ पारिश्रमिक पाउनेछन् ।

  • दैनिक राहदानी वितरण संख्या आधा कटौती

    दैनिक राहदानी वितरण संख्या आधा कटौती

    काठमाडौं । कोरोना भाइरसको संक्रमणका बीच राहदानी विभागबाट वितरण हुने दैनिक राहदानी वितरणको संख्या कतौती गरिएको छ । यसअघि दैनिक १२ सय राहदानी जारी हुने गरेकोमा विभागले अब ६ सयलाई मात्र वितरण गर्ने भएको छ । विभागमा एकै पटक १५ जना कर्मचारीमा कोरोना देखिएपछि सेवा प्रभावित बनेको हो । पासपोर्ट बनाउन ठूलो भिडभाड हुने र त्यसले जोखिम बढ्ने भन्दै दैनिक वितरणको कोटा घटाइएको हो । विभागमा ९० जना कर्मचारी छन् । पासपोर्टका लागि दैनिक साढे २ हजार भन्दा बढी विभागमा पुग्ने रेकर्ड छ ।

  • गैरआवासीय नेपाली संघद्धारा सुदुरपश्चिम प्रदेशलाई मोबाइल ब्लड बैंक बस हस्तान्तरण

    गैरआवासीय नेपाली संघद्धारा सुदुरपश्चिम प्रदेशलाई मोबाइल ब्लड बैंक बस हस्तान्तरण

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सुदुरपश्चिम प्रदेशलाई ‘मोबाइल ब्लड बैंक बस’ हस्तान्तरण गरेको छ । संघका अध्यक्ष कुमार पन्तले धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडमार्फत कैलाली रेडक्रसका अध्यक्ष उत्तम जोशीलाई सो बस धनगढीमा आयोजित एक कार्यत्रमकाबीच सोमवार हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा एनआरएनएका संरक्षक जीवा लामिछाने, उपाध्यक्ष डा बद्री केसी, महासचिव डा. हेम राज शर्मा, प्रवक्ता डिवी क्षेत्री, मानार्थ सदस्य धर्मराज अधिकारी, शनिकुमार ओली र सल्लाहकार कुल आचार्य, लगायत एनआरएन अभियन्ताहरु सहभागि थिए।


    विदेशस्थित गैरआवासीय नेपालीहरुको सहयोगमा खरिद गरिएको बसको कुल लागत ६० लाख रहेको संघले जनाएको छ । ‘मोबाइल ब्लड बस’ परियोजनामा हालका सचिव गौरीराज जोशी संयोजक र आइसिसी पूर्व कोषाध्यक्ष हिक्मत थापा सहसंयोजक थिए । आधुनिक प्रविधिसहितको बसबाट लामो दुरीका रक्त संकलन स्थलमा गएर बस भित्रै रक्त दान गर्ने, संकलन गर्ने र सुरक्षित रुपमा ब्लड बैंकसम्म ल्याउन सक्ने सुविधा रहेको छ । एनआरएनएले नेपालमा मानव कल्याणकारी योजना अन्तर्गत पहिलो घुम्ती रगत बस भरतपुर महानगरपालिकामार्फत् चितवन रेडक्रसलाई हस्तान्तरण गरिसकेको छ भने आगामी दिनमा सबै प्रदेशमा पुर्याउने लक्ष्य राखेको बताएको छ।

  • नेपाली नर्स लैजान बेलायत तयार, कहिलेबाट शुरु हुन्छ प्रक्रिया ?

    नेपाली नर्स लैजान बेलायत तयार, कहिलेबाट शुरु हुन्छ प्रक्रिया ?

    काठमाडौं । नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा दुई देशका अधिकारी सहमत भएका छन्। राससका अनुसार दुवै देशका अधिकारीबीच शुक्रबार भएको वार्तामा नेपालबाट श्रमिक पठाउने र बेलायतले उनीहरूलाई रोजगारीका अवसर प्रदान गर्ने सहमति भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

    बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेशनल हेल्थ सर्भिस’ का प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीचको वार्ताबाट दुवै देशबीच समझदारी गरी नेपाली श्रमिकलाई बेलायतमा रोजगारीको व्यवस्था गर्ने सहमति भएको श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए। दुवै देशका वार्ता टोलीबीच आगामी मार्चसम्म श्रम समझदारी सम्पन्न गर्ने सहमति भएको छ । सहमतिअनुसार समझदारीको मस्यौदा निर्माणमा दुवै पक्ष जट्नेछन्। समझदारी गरेर नेपालबाट बेलायतको स्वास्थ्य क्षेत्रमा श्रमिक लैजाने विषयलाई छिटो टुङ्गोमा पुर्‍याउने विषयमा बैठकमा सहमति भएको उनले जानकारी दिए।

    यद्यपि, नेपाली श्रमिक लैजाने मोडालिटीको बारेमा टुङ्गो भने लागेको छैन । नेपालमा विभिन्न तहका नर्सिङ जनशक्ति रहेका छन्। बेलायतले नेशनल हेल्थ सर्भिसेसअन्तर्गत नेपाली नर्सिङ जनशक्तिलाई रोजगारीको अवसर दिने बताइएको छ ।

    बैठकमा नेपालका तर्फबाट श्रम मन्त्रालयअन्तर्गतको रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजिव पोखरेल, उपसचिव थानेश्वर भुसाल, वैदेशिक रोजगार विभाग र परराष्ट्र मन्त्रालयका प्रतिनिधिको सहभागिता रहेको थियो । बेलायतका तर्फबाट डिपार्टमेन्ट अफ हेल्थ र नेशनल हेल्थका साथै काठमाडौँस्थित बेलायती दूतावासका प्रतिनिधिको सहभागिता थियो । बैठकमा बेलायतबाट उनीहरू ‘भर्चुअल’ रुपमा सहभागी भएका थिए ।

    बेलायतले दक्षिण एसियाली क्षेत्रबाट स्वास्थ्य क्षेत्रमा एक लाख श्रमिक भित्र्याउने घोषणा गरेको छ। नेपालबाट करिब १० हजार नर्सिङ जनशक्ति लैजाने बेलायतको तयारी छ। नेपाल नर्सिङ सङ्घका अनुसार हालसम्म नेपालमा ६६ हजार नर्स उत्पादन भएका छन् । ती मध्ये २५ हजार विदेशमा छन् । नौ हजार नर्स सरकारी सेवामा रहेको सङ्घको तथ्याङ्क छ । केही निजी अस्पतालमा कार्यरत छन्।

    वैदेशिक रोजगारीलाई विविधीकरण गर्ने लक्ष्य लिएको सरकारले आकर्षक गन्तव्यको खोजी गरिरहेको छ । यसअघि जापान, इजरायल, मरिससलगायत मुलुकसँग नेपालले विशिष्टकृत क्षमताका श्रमिक पठाउने समझदारी गरिसकेको छ । छिट्टै नेपाली श्रमिक इजरायलको स्वास्थ्य क्षेत्रमा काम गर्न त्यसतर्फ जाँदैछन्।

  • आइतबारबाट श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र वितरण हुने

    आइतबारबाट श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र वितरण हुने

    काठमाडौं । वैदेशिक रोजगार कार्यालय काठमाडौंले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुने राससले जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठका अनुसार अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति जारी हुने व्यवस्थाले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेर घर बिदामा आएका नेपाली कामदारले पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगार कार्यालयमा पुगेर घन्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको छ ।

    पुनः श्रम स्वीकृतिको अनलाइन सेवा लिन सेवाग्राहीले वैदेशिक रोजगार विभागको वेबसाइटको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत आवश्यक सबै कागजातसहित फाराम भर्नुपर्नेछ । यसका लागि सुरुमा विभागको वेबसाइट डब्लुडब्लुडब्लु डट डिओएफइ डट जीओभी डट एनपीमा गई अनलाइन श्रम स्वीकृतिमा क्लिक गर्नुपर्ने हुन्छ । अथवा सिधै ‘एफइआइएमएस डट डिओएफइ डट जीओभी डट एनपीमा गएर पनि खोल्न सकिनेछ ।


    श्रम स्वीकृतिको कागजात जाँच गर्दा कुनै कारणले आवेदन अस्वीकृत भएमा सो को कारणसहितको सूचना आवेदकको मोबाइल नं र आवेदन गर्दाको युजर एकाउण्टमा जाने हुँदा आफ्नो व्यक्तिगत मोवाइल नं र इमेल ठेगाना अनिवार्यरुपमा भर्नुपर्नेछ । युजरनेम र पासवर्ड प्रयोग गरी अर्कोपटक श्रम स्वीकृति लिन श्रम स्वीकृतिको अवस्था थाहा पाउन, विवरण हेर्न र उजुरी वा गुनासो गर्न सकिने भएकाले आवेदन गर्दाको युजरनेम र पासवर्ड सुरक्षित राख्नुपर्ने हुन्छ ।

    अनलाइनमा कागजात जाँच गर्न समय लाग्ने भएकाले कम्तीमा तीन दिन अगाडि अनलाइन फाराम भर्न र श्रम स्वीकृति लिइसकेपछि मात्र हवाई टिकटको प्रबन्ध गर्न कार्यालयले आग्रह गरेको छ । उडान हुने मितिसम्म श्रम स्वीकृतिको म्याद ९० दिनभन्दा बढी हुनुपर्ने भएकोले सो बमोजिम भए नभएको यकिन गर्न पनि कार्यालयले भनेको छ ।

    पुनः श्रम स्वीकृतिका लागि म्यादी जीवन बीमा र वैदेशिक रोजगार कल्याण कोषको रकम अनलाइन भुक्तानी प्रदायकमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । पुनः श्रम स्वीकृतिको लागि पासपोर्ट साइजको फोटोको स्क्यान कपी, राहदानीको स्क्यान कपी, सम्बन्धित देशबाट आएको भिसाको स्क्यान कपी, पुरानो श्रम स्वीकृतिको स्क्यान कपी र पुरानो भिसा भए सोको स्क्यान कपी आवश्यक पर्छ ।

    त्यस्तै अध्यागमन कार्यालयले राहदानीमा लगाएको डिपार्चर र अराइभल स्टाम्प भएको राहदानीको स्क्यान कपी, यसअघि श्रम स्वीकृति लिएको भन्दा फरक काम गर्न जाने भएमा कामदारका लागि रोजगारदाताले उपलब्ध गराएको जब अफर लेटर वा सम्झौतापत्रको स्क्यान कपी पनि आवश्यक पर्ने कार्यालयले जनाएको छ ।

    घरेलु कामदारको हकमा वैदेशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका, २०७२ को दफा १८ घ बमोजिम सम्बन्धित देशस्थित नेपाली राजदूतावास वा कूटनीतिक नियोगको अनुसूची ८ बमोजिमको सिफारिस पत्रको स्क्यान कपी आवश्यक पर्दछ ।

    कार्यालयले संस्थागत श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिने गरेको छ । संस्थागत श्रम स्वीकृतिका लागि सेवाग्राही कार्यालय आइरहनुपर्दैन, सम्बन्धित म्यानपावर व्यवसायी मात्र आउने गर्छन ।

    वैदेशिक रोजगार कार्यालयबाट चालु आर्थिक वर्षको पुससम्ममा पुनः श्रम स्वीकृतितर्फ करिब एक लाख जना, संस्थागततर्फ एक लाख ८० हजार र व्यक्तिगततर्फ आठ हजार जनाभन्दा बढीले सेवा लिएको कार्यालयले जनाएको छ ।

  • लिपुलेकमा भारतले संरचना बनाइरहेको बारे बोल्यो कांग्रेस

    लिपुलेकमा भारतले संरचना बनाइरहेको बारे बोल्यो कांग्रेस

    काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक भएको प्रतिक्रिया दिएको छ । यस विषयमा सरकारले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । सडक निर्माण रोक्न माग गर्दै कांग्रेसले नेपाल र भारतको सीमासम्बन्धी प्रश्नको समाधान ऐतिहासिक तथ्यका आधारमा उच्चस्तरीय कुटनैतिक माध्यमबाट खोजिनुपर्ने समेत बताएको छ ।

    कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले शुक्रबार वक्तव्य जारी गर्दै लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति पार्टीको ध्यानाकर्षण भएको समेत बताएका छन् । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग हो भन्नेमा कांग्रेस प्रष्ट रहेको भन्दै महामन्त्रीद्वयको वक्तव्यमा यी भूगोलमा नेपालको भोगाधिकार कायम हुनुपर्ने बताएका छन् ।

    कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने समेत उनीहरुको भनाई छ । कांग्रेसका महामन्त्रीद्वयको वक्तव्यमा भनिएको छ,‘नेपाल–भारत संयुक्त आयोगमा दुई देश बीचको सबै प्रश्नमा कुटनैतिक सम्वादबाट समाधानमा पुग्ने गरी भएको सहमति विपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको विषय गम्भीर छ, आपत्तिजनक छ र अविलम्ब यो रोकिनुपर्छ ।’

    यस्तो छ कांग्रेसको वक्तव्य

    पुस ३०, २०७८

    लिपुलेक प्रकरण उपर नेपाली कांग्रेसको धारणा

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ भनेर केहिदिन अघि एक कार्यक्रममा व्यक्त गर्नुभएको भनाइप्रति नेपाली कांग्रेसको ध्यानाकर्षण भएको छ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो र यसका सम्बन्धमा नेपाली कांग्रेसले विगत देखिनै संस्थागत रुपले आफ्नो धारणा र अडान स्पष्ट रुपमा राख्दै आएको छ ।

    नेपाली कांग्रेसले विगत देखिनै संस्थागत रुपले राख्दै आएको निम्न धारणा र अडानमा पार्टी प्रष्ट र दृढ रहेको व्यहोरा सार्वजनिक रुपले पुनः दोहोर्‍याउन चाहन्छ ।

    १. लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग हो ।

    २. नेपालको भोगाधिकार यी भूगोलमा कायम हुनुपर्दछ भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ ।

    ३. कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्दछ ।

    ४. नेपालको संसदले सर्वदलीय एकता साथ संविधान संशोधन मार्फत पारित गरेको नेपालको नक्सा सुगौली सन्धिपछिको नेपाल थियो, हो र त्यसको कार्यान्वयन हुनुपर्छ भन्ने बिषय राजनैतिक दलहरू एवं नेपाल सरकार समेतको साझा अभिमत हो भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ ।

    ५. दुई राष्ट्र बीचको सीमासम्बन्धी कुनैपनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा हुनुपर्दछ । १८१६ को सुगौली सन्धिको दस्तावेज दुवै राष्ट्रको साझा स्वीकारोक्तिको तथ्य हो भन्नेमा हामी प्रष्ट छौं ।

    ६. नेपाल–भारत संयुक्त आयोगमा दुई देश बीचको सबै प्रश्नमा कुटनैतिक संवादबाट समाधानमा पुग्ने गरी भएको सहमति विपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको बिषय गम्भीर छ, आपत्तिजनक छ र अविलम्ब यो रोकिनुपर्छ ।

    ७. दुबै छिमेकी राष्ट्रसँग नेपालको पुरानो र ऐतिहासिक सम्बन्ध रहि आएको छ । यस अर्थमा सिमा सम्बन्धी कुनैपनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा उच्च स्तरीय कुटनैतिक माध्यमबाट खोजिनु पर्दछ भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ ।

    जय नेपाल
    गगनकुमार थापा, महामन्त्री
    विश्वप्रकाश शर्मा, महामन्त्री